`

देशभर तिहारको झिलिमिली

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारका अवसरमा देशभर तिहारको झिलिमिली छाएको छ ।

सयपत्री र मखमली फूल, बत्तीको झिलिमिली तथा सप्तरंगी पर्वका रूपमा मानिने तिहारमा नागरिकका घर, निजी तथा सरकारी कार्यालय सरसफाइ गरी झिलिमिली बत्तीले सजिएका देखिन्छन् ।

विशेषगरी काठमाडौँ उपत्यकासहित प्रमुख सहरका व्यापारिक कम्प्लेक्स झिलिमिली बत्तीबाट सजिएका छन् । दीपावलीले काठमाडौँ उपत्यकालगायत प्रमुख सहर झिलिमिली बनेको छ ।

उज्यालोले घरबाहिरको वातावरण नै आज उल्ला समय बनेको छ । काठमाडौँको नयाँ सडक, नयाँ बनेश्वर, असन, इन्द्रचोकलगायत व्यापारिक क्षेत्रमा तिहारको किनमेलका लागि सर्वसाधारणको घुइँचो लागेको छ ।

सफा सुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिएको छ । घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली, भर्‍याङलगायत स्थानमा सरसफाइ गरिएका छन् ।

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाँड यमपञ्चक अर्थात् तिहार मंगलबारदेखि सुरु भएको हो । चान्द्रमास अनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ ।

प्रचण्ड निवासमा देउसीभैलो

काठमाडौँ, १५ कात्तिकः पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कला र संस्कृतिको जगेर्ना नगरी राष्ट्रको अस्मिताको जगेर्ना हुननसक्ने बताउनुभएको छ ।

खुमलटारस्थित निवासमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा देउसीभैलो खेल्न आइपुग्नुभएका कलाकारहरुसँग अध्यक्ष दाहालले शान्ति प्रक्रियामा आएदेखि कला र खेलकुद आफ्नो उच्च प्राथमिकतामा रहेको बताउनुभयो ।

“यहाँ देउसीभैलो खेल्न आउनुभएकामा तपाईं सम्पूर्णलाई धन्यवाद, हाम्रो संस्कृतिको जगेर्ना गरिने र ऐतिहासिक परम्परालाई सुदृढ गर्ने जिम्मेवारी हामी सबैको हो । यस्ता गतिविधिले नयाँ पुस्तालाई हाम्रो पर्वको महत्व र सांस्कृतिक पक्षसँग जानकार गराउँछ । यसले हाम्रो राष्ट्रिय एकतालाई थप बलियो बनाउने छ”, उहाँले भन्नुभयो । कलाकारहरू मञ्जु पौडेल, राधिका हमाल, आयुषा गौतमलगायत देउसीभैलो खेल्दा अध्यक्ष दाहाल पनि उहाँहरुसँगै छमछमी नाच्नुभएको थियो ।

तस्बिर स्रोत: गोपीकृष्ण चापागाईं।

तस्बिर स्रोत: गोपीकृष्ण चापागाईं।

स्नान, दीपदान गरेर मनाइयो नरक चतुर्दशी

काठमाडौँ, १५ कात्तिकः नरक चतुर्दशी पनि भनिने कार्तिक कृष्ण चतुर्दशीका दिन आज बिहान स्नान, दानका साथ दीपदान गरी मनाइएको छ ।

सूर्योदय अगावै स्नान गरेर सालको पातमा यमदीप दक्षिण दिशामा फर्काएर बगाइएको छ । यसलाई नरक स्नान गर्ने र नरक बगाउने पनि भनिन्छ । आज यसरी नरके बगाएमा नरकको दर्शन गर्नु नपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रका जानकार रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । यसैकारण आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।

आजै कुकुरको पनि पूजा गरिँदै छ । पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज अपराह्न ३ बजेर १३ मिनेटसम्म चतुर्दशी तिथि र त्यसपछि औँसी सुरु हुनेछ । लक्ष्मीपूजा औँसीमा गर्नुपर्छ ।

पर्साका ग्रामीण भेगमा गाँजाखेती फस्टायो

वीरगञ्ज (पर्सा), १५ कात्तिकः पर्सा प्रहरीले सखुवाप्रसौनी गाउँपालिका–१ सिद्धपुरस्थित कोइलाभार साझेदारी वन क्षेत्रभित्रको १० कट्ठामा लगाइएको गाँजा नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय एकटाँगा, प्रहरीचौकी रङ्गपुरटाडी र अस्थायी प्रहरी पोस्ट मनवाबाट बुधबार खटिएका प्रहरी र सशस्त्र प्रहरीबलको संयुक्त टोलीले गाँजाका बोट फँडानी गरे पनि त्यहाँ गाँजाखेती गर्नेको सुइँको पाउन सकेको छैन । पर्सा प्रहरीले पछिल्लो साता दिनहुँजसो गाँजाको खेती भएका ठाउँमा फँडानी गर्दै आएको छ ।

पर्सा प्रहरीले गाँजाखेती भएका स्थानको फँडानी गरे पनि त्यसको खेतीमा संलग्नलाई भने बुधबारसम्म पक्राउ गरेको छैन । पर्सा प्रहरी प्रमुख कुमोध ढुङ्गेलले सार्वजनिक वन तथा सार्वजनिक जग्गामा गाँजाखेती भएकाले पनि गाँजाखेतीमा संलग्न हुनेलाई पक्राउ गर्न नसकिएको दाबी गर्नुभयो ।

“पर्साका विभिन्न ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा गाँजाखेती भएका स्थानको पहिचान गरेर फँडानी गर्दै आइरहेका छौँ”, उहाँले भन्नुभयो, “अहिलेसम्म पेसेवर रूपमा गाँजाखेती गर्ने को भने पहिचान हुन सकेको छैन ।” यद्यपि पर्सा जङ्गलमा जोडिएका ग्रामीण भेगमा भने व्यावसायिक रुपमा नै गाँजाको खेती हुने गरेको छ । प्रहरीले ग्रामीण भेगमा जङ्गल नजिकका बस्तीमा गाँजाका केही बोट नष्ट गरे पनि स्थानीयको पहिचान गरेर कारबाही प्रक्रिया अघि नबढ्दा गाँजाखेती मौलाएको छ ।

पर्सा प्रहरीले कात्तिक १० गते पनि पर्सागढी नगरपालिका वडा नम्बर १ झबराहमा पनि दुई बिघा क्षेत्रफलमा लगाइएको करिब १५ हजार गाँजाका बोट फँडानी गरेको छ । गत कात्तिक ७ गते पनि पर्सा प्रहरीले पटेवासुगौली गाउँपालिका वडा नम्बर २ थरकटीमा एक बिघा क्षेत्रफलमा लगाइएको करिब सात हजार गाँजा नष्ट गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गाँजा विभिन्न मञ्चमा छलफल र बहसको विषय भए पनि हालसम्म कानुन बनिनसकेकाले यसको कारोबार र खेती अवैध भएकाले प्रचलित कानुनको पालना गराउनु आफ्नो कर्तव्य भएको बताउनुभयो ।

सङ्खुवासभाको मकालुमा टिपर दुर्घटनाः दुई जना मजदुरको मृत्यु, दुई घाइते

किमाथाङ्का । सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई जना भारतीय मजदुरको मृत्यु भएको छ ।

मकालु–५ फ्याक्सिन्दा दोभानमा एचपी ११–४९३३ नम्बरको टिपर बुधबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

दुर्घटनामा अरुण तेस्रो परियोजनामा कार्यरत टिपर चालक भारतीय नागरिक ५७ वर्षीय शैलेन्द्रप्रताप सिंह र टिपरमा सवार २९ वर्षीय सारुक महमद रहेको उनले बताए ।

दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । उनीहरु पनि भारतीय नागरिक नै हुन् । उनीहरुको खाँदबारीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

‘चाडपर्वले सामाजिक एकतालाई अझ मजबुत बनाएको छ’ : सभापति देउवा

काठमाडौँ, १५ कात्तिकः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वले सामाजिक एकतालाई अझ मजबुत बनाएको उल्लेख गर्नुभएको छ ।

तिहार तथा नेपाल संवत्को ११४५ का अवसरमा सबै नेपालीमा सुख, शान्ति, सुस्वास्थ, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै उहाँले चाडपर्वले सुमधुर र सौहार्दपूर्ण सम्बन्ध विकास गर्न सघाएको बताउनुभएको छ ।

नेपालमा विभिन्न जातजाति, भाषाभाषी, धर्म, विभिन्न चाडपर्व एवं विभिन्न संस्कृति भएको र यसले हामीमा निहित बन्धुत्व भावको विविधताका बीचमा पनि अनुपम एकता कायम गरेको सभापति देउवाले सन्देशमा उल्लेख गर्नुभएको छ ।

“तिहारले पनि हामीबीचको एकतालाई अझ मजबुत बनाएको छ । यमपञ्चकका हरेक दिनले समस्त नेपालीहरुमा नयाँ उमङ्ग सिर्जना गर्न, दिदीबहिनी र दाजुभाइबीच तथा आफन्तबीचमा सुमधुर र सौहार्द सम्बन्ध विकसित गर्न सघाएको छ”, उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

त्यसैगरी, बागमती सभ्यतालाई नेपालको भाषा, साहित्य, कला र संस्कृतिको उत्थान काल मानिन्छ । नेपाल संवत् त्यही जागरणकालको इतिहास र संस्कृतिको एक जीवन्त धरोहर भएको सन्देशमा उहाँले उल्ल्ेख गर्नुभएको छ । सभापति देउवाले नेपाल संवत्को नयाँ दिनले हरेक वर्ष हामी सबैलाई यसका प्रणेता शङ्खधर साख्वाःको योगदानलाई सम्झाउने बताउनुभएको छ । यसको प्रचलन तिनै समाजसेवी साख्वाः ले सबैको ऋण मोचन गरिदिएको अति परोपकारी कार्यको सम्झनामा भएको हो । सभापति देउवाले शङ्खधर साख्वाःलाई उहाँको उदारताको कदर गरेर, हामीले राष्ट्रिय विभूतिको रुपमा सम्मान गरेकोे उल्लेख गर्नुभएको छ ।

सभापति देउवाले अन्धकार विनास गर्ने उज्यालोको पर्व तिहार र हाम्रो आफ्नै धरतीबाट उठेको नेपाल संवत्को नयाँ दिनले हाम्रो पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन सकोस् भन्ने कामना गर्नुभएको छ ।

सागसब्जीबाट वार्षिक छ लाख आम्दानी

रामपुर (पाल्पा), १५ कात्तिक : गाउँ छाडेर युवा विदेशिने क्रम बढेको भए पनि रामपुरका विवेक गौतम भने आफ्नै खेतबारीमा श्रम गरेर समुज्ज्वल भविष्य निर्माणको अभियानमा हुनुहुन्छ ।

रामपुर नगरपालिका वडा नं ५ राङभाङ का २४ वर्षीय गौतमको बारीमा हुर्किएका सागसब्जी देखेर जोकोहीको मन लोभिन्छ । बाल्यावस्थादेखि नै खेतीकिसानीमा मातापितालाई साथ दिनुभएको उहाँ हाल व्यावसायिक रूपमा सागसब्जी उमार्ने किसान बन्नुभएको छ । उहाँको मेहनत छ रोपनी जग्गामा लटरम्म काउली, गोलभेँडाले प्रस्तुत गरेका छन् ।

उहाँले छ रोपनी जग्गामध्ये तीन रोपनी जग्गा भाडामा लिएर खेती गरिरहनुभएको छ । उहाँले पाँच वर्षअघि गौतम कृषि फर्म दर्ता गरी व्यवसाय सुरु गर्नुभएको हो । वार्षिक रूपमा रु छ लाख बराबरको आम्दानी गर्दै आएको उहाँ बताउनुहुन्छ । बेमौसमी खेतीलाई प्राथमिकता दिएर सागसब्जी लगाउने गरेको उहाँले बताउनुभयो । “बजारको चिन्ता छैन, उत्पादन हुनुपर्छ, व्यापारी घरमै आउँछन्, आकर्षक आम्दानी हुनेरहेछ”, उहाँले भन्नुभयो ।

वैदेशिक रोजगारीमा पसिना बगाउन भन्दा आफ्नै गाउँको माटोमा पसिना बगाएर भविष्य बनाउने सोचका साथ खेती थालनी गरेको उहाँले जनाउनुभयो । उहाँले ‘टनेल’भित्र र बाहिर खेती गर्नुभएको छ । टनेलभित्र उत्पादन धेरै हुने गरेको उहाँले सुनाउनुभयो ।

युवालाई प्रोत्साहन गर्दै यस व्यवसायका लागि रामपुर नगरपालिकाले ब्याज अनुदान कार्यक्रममा समावेश गरी दुई वर्षसम्मका लागि रु आठ लाख रकम ब्याज अनुदान उपलब्ध गराएको उहाँ बताउनुहुन्छ । सबैको साथ र हौसला पाएकाले उहाँ खेती विस्तार गर्नउत्साहित हुनुहुन्छ ।

तराईमा तिहारः बढ्दो केराका थामको बजार

महोत्तरी, १५ कात्तिकः दीपावली मुख्य दिन आज लक्ष्मीपूजाका सरसामान जोहो गर्नेहरूका महोत्तरीसहित मिथिला क्षेत्रमा बिहानैदेखि चहलपहल बढेको छ । यस भेगका बजारमा झिसमिसेदेखि नै केराका थाम किन्ने बेच्नेको बजार लागेको छ ।

लक्ष्मीपूूजाका लागि स्वागतद्वार बनाउन थम्बा प्रयोग गर्ने मैथिल परम्पराअनुसार जिल्लाका गाउँ,नगर र बस्तीका चोकचोकमा थम्बा किन्नेबेच्नेको भीड नै लागेको छ । लक्ष्मीपूजामा बनाइने स्वागतद्वारमा केराको थाम नभइ हुँदैन । त्यसैले अरुबेला खेर जाने थामको आज ठूलो महत्व छ ।
मिथिला क्षेत्रमा दीपावली र छठ पर्वका अवसरमा स्वागतद्वार बनाउन परम्परागतरुपमा अनिवार्यजस्तै रहँदै आएको केराको थाम लाभदायक हुने, केराका थामबाट बनाइएका स्वागतद्वारबाट लक्ष्मी गृह प्रवेश गर्ने विश्वासले यसको महत्व बढेको मिथिला संस्कृतिका जानकार जलेश्वर–४ सुगाका कृष्णचन्द्र झा बताउनुहुन्छ ।

प्रचुर प्रकाश र झिलीमिली भएको घरमा लक्ष्मी त्यही प्रवेशद्वारबाट रङ्गोली कुल्चदै गृहप्रवेश गरेर धनधान्यले पूर्ण गराइदिने विश्वासले यो पर्व परम्परा चलेको मटिहानी–७ स्थित लक्ष्मीनारायण मठका सन्त रवीन्द्र दास वैष्णव बताउनुहुन्छ ।

खासगरी व्यापारिक प्रतिष्ठानहरुले प्रत्येक पसलपसलमा केराका थामको स्वागतद्वार बनाउने गरेका छन् । यो परम्पराले आज महोत्तरीका जलेश्वर, बर्दिबास, औरही, सीतापुर, मटिहानी, रामगोपालपुर, सम्सी, गौशाला, पिपरा, बलवा र लोहारपट्टीसहितका नगरका बजार क्षेत्रमा किसानले बिक्रीका लागि केराका थाम पु¥याएका छन् । खर्चको अभावमा चाड कसरी मनाउने चिन्ता परेका बेला थाम बिक्रीबाट भएको आर्जनले पर्व टार्न सजिलो भएको गौशाला–११ का धनेश्वर महतोले बताउनुभयो ।

दिवाली पर्वमा एकजोडा केराका थाम रु चार सयसम्म बिक्री हुने गरेका किसानको भनाइ छ । दिवाली र यसलगत्तैको छठ पर्वमा केराका घरी र कोथा दुवै उत्तिकै बिक्री हुने भएकाले यो आफूहरुको आयआर्जन र गुजाराको राम्रो साधन बनेको केराखेतीका किसान बताउँछन् ।

केरा बर्सेनि गोडमेल गर्नपर्ने र झ्याङमा बढेका कोथा छ्याँस्नु पर्ने हुँदा किसान यो कामका लागि दिवाली पर्व पर्खन्छन् । अरु बेला कोथा छ्याँसिदा त्यो भकारामा फाल्नुपर्ने हुँदा आफूहरुले यो कामका लागि दिवाली पर्खेने गरेको केराखेतीका अर्का किसान भङ्गाहा–४ रामनगरका हरिदेव साह बताउनुहुन्छ । दिवालीमा सप्रेका कोथा नै बेचेर अतिरिक्त आम्दानी हुने भएको हुँदा यो बेला कुर्ने गरिएको उहाँको कथन छ ।

दिवाली र छठ पर्वसमेतमा जिल्लाभरि केराका घरी र थामसमेत लाखौँको कारोबार हुने गरेको छ । धेरैजसो चाडपर्वमा केरा फल चाहिने र अन्य बेला पनि राम्रो बिक्री हुन थालेपछि बर्सेनि केराखेतीको क्षेत्रफल बढ्दै गएको छ । हाल जिल्लामा तीन हजार हेक्टरमा केराखेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको सदस्यमा तीन सदस्य मनोनीत

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको सदस्यमा तीन सदस्य मनोनयन गरेको छ ।
पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठित सदस्यता व्यवस्थापन केन्द्रीय समितिमा तीन सदस्य मनोनयन गर्नुभएको हो ।

कांग्रेसले पार्टीका केन्द्रीय सदस्य सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली स्नेहीलाई सदस्य मनोनयन गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

डिकेटेड र ट्रङ्क लाइनको महशुल उठाउन आयोगको निर्देशन

काठमाडौँ- विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रङ्क लाइनसम्बन्धी महशुल उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । आयोगका सचिव मनदेवी श्रेष्ठले प्राधिकरणलाई पत्राचार गर्नुहुँदै विसं २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता महशुल असुल गर्न आग्रह गर्नुभएको हो ।

आयोगले प्राधिकरणबाटै उपयुक्त अनुपातमा रकम तोकिदिने र यसअघि महशुल नबुझाएको कारणबाट लाइन काटेको भए पनि ग्राहकले त्यस्तो रकम बुझाएपछि तत्कालै विद्युत् लाइन जोडिदिनसमेत आग्रह गरेको छ ।

विद्युत् महशुलको परिणाम वा अन्य कुनै पक्षउपर पछि आधिकारिक निकायबाट जाँचबुझ भई रकम फरक परेको पुष्टि भएमा उक्त रकम असुल भइसके पनि त्यसपछिका बिलमा समायोजन गर्दै जाने आयोगले उल्लेख गरेको छ ।

विद्युत् नियमन आयोग ऐन, २०७४ को दफा ३७ बमोजिम आयोगले आज उक्त निर्देशन दिएको हो । प्राधिकरणले महशुल नबुझाएको भन्दै यही कात्तिक ८ गते ३९ वटा उद्योग प्रतिष्ठानको लाइन काटेको थियो । तीमध्ये १४ वटा उद्योगले किस्ताबन्दीमा महशुल बुझाउन निवेदन दिएका छन् । केही बक्यौता रकमसहित निवेदन दिएका उद्योग प्रतिष्ठानको लाइन तत्कालै प्राधिकरणले जोडिदिएको छ ।

यस्तै प्राधिकरण सञ्चालक समितिको आजको बैठकले पनि डेडिकेटेड र ट्रङ्क लाइन महशुल उठाउने सम्बन्धमा थप केही लचिलो हुने गरी निर्णय गरेको बुझिएको छ । यसअघि प्राधिकरणले २८ किस्तामा महशुल तीर्न सकिने बताउँदै आएकामा आजको बैठकले त्यसलाई बढाएर ५६ किस्तामा तीर्न सकिने व्यवस्था गरिएको बताइएको छ । महशुल सङ्कलन नियमावलीमा केही संशोधन गरेर उक्त व्यवस्था गरिएको हो ।

अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

म्याग्दी, १५ कात्तिक : राहुगङ्गा नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणका अन्तिम चरणमा पुगेको छ । रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा बाँध र वडा नम्बर ४ दग्नामको फेदीमा विद्युत्गृह रहेको आयोजनाको चार हजार नौ सय मिटर लामो सुरुङ ‘लाइनिङ’ भइरहेको छ ।

तुँदी पावर कम्पनी प्रवद्र्धक रहेको अपर राहुघाटका इन्जिनियर नरोत्तम कार्कीले विद्युत्गृह, बाँध, सुरुङ र प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।

सन् २०२५ को जुन महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको र आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत पुगेको उहाँले जानकारी दिनुभयो ।

तुँदी पावरले राहुघाटमै अर्को ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ । रघुगङ्गा गाउँपालिका–८ को बन्दीमा बाँध, वडा नम्बर–७ को चिमखोलामा विद्युत्गृह र पाँच हजार तीन सय २८ मिटर लामो सुरुङ निर्माण पूरा भएको छ ।

मङ्गले राहुघाटको विद्युत्गृहबाट निस्कने र चिमखोलाको बगरखोलाको पानी मिनाउन मिल्ने गरी अपर राहुघाटको बाँध निर्माण गरिएको तुँदी पावरका इञ्जिनियर प्रकाश तिमिल्सिनाले बताउनुभयो । दुईवटै आयोजना निर्माणमा रु १३ अर्बभन्दा बढी लगानी हुने अनुमान गरिएको छ ।

अपर राहुघाट र मङ्गले राहुघाटबाट उत्पादित बिजुली केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगङ्गा–३ अम्बाङस्थित सवस्टेसनदेखि चिमखोलासम्म दुई सय केभी क्षमताको १४ किलोमिटर लामो प्रसारण लाइन निर्माण भइरहेको छ ।

यसैगरी, राहुघाट नदीको सहायक ठूलोखोलामा संयुक्त ऊर्जा प्रालिले २१.३ मेगावाट क्षमताको ठूलोखोला र ठूलोखोला हाइड्रोपावर लिमिटेडले २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण गरिरहेका छन् । राहुघाट नदीमै नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

तिहारले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउन सहयोग पुग्नेछ: उपराष्ट्रपति

काठमाडौँ, १५ कात्तिकः उपराष्ट्रपति रामसहायप्रसाद यादवले तिहारलगायत पर्वले मुलुकको अर्थ व्यवस्थालाई चलायमान बनाउनमा सहयोग पुग्ने बताउनुभएको छ ।

तिहार पर्व, २०८१ को पावन अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुहुँदै उहाँले पर्यावरणको दृष्टिकोणले शुभ दीपावली मनाउने क्रममा पटाका पड्काउनुले पर्यावरणमा नकारात्मक प्रभाव पर्नेतर्फ सचेत रहन अनुरोध गर्नुभयो ।

उपराष्ट्रपति यादवले यस पर्वले सामाजिक सौहार्दता, भाइचारा एवं राष्ट्रिय तथा सामुदायिक एकताको भावनालाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । “तिहार धार्मिक, सांस्कृतिक र सामाजिकताको दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण पर्व हो । यो एउटा पर्व मात्रै होइन नेपाली संस्कृति र परम्पराको अभिन्न हिस्सा पनि हो । मुख्यतः हिन्दू, जैन र सिख धर्मावलम्बीले अत्यन्तै आस्था र श्रद्धाभावका साथ यो पर्व मनाउँछन् । नेपालमा विभिन्न धर्मावलम्बीको बसोबास रहेकाले अन्य धर्मका अनुयायीहरू पनि आफ्ना इस्टमित्र र छरछिमेकीसँग मिलेर यो पर्व सौहार्दताका साथ मनाउनु हामो मौलिक विशेषता हो”, उहाँले उल्लेख गर्नुभयो ।

तिहार विभिन्न रीतिरिवाज, रहनसहन, परम्परा र अनुष्ठान समावेश भएको विविधतामा एकताको सन्देशवाहक पर्व पनि भएको उपराष्ट्रपति यादवको भनाइ छ । यस पर्वका अवसरमा गरिने घरआँगनको सरसफाइ, घरघरमा दीप प्रज्वलन, धनतेरस, देउसीभैलो, कागतिहार, कुकुरतिहार, लक्ष्मी पूजा, गाई पूजा, गोवर्धन पूजा, हुर्राहुर्री, डाढ, म्हः पूजा र भाइटीका  (भ्रातृ द्वितीया) आदि यसका सांस्कृतिक विशेषताका रहेका सन्देशमा उल्लेख छ । 

“पारम्परिक वेशभूषामा देउसी भैलो खेल्ने, मिठाई बाँड्ने, बजडी खुवाउने र सांस्कृतिक कार्यक्रमको आयोजना गर्नुले हाम्रा मौलिक संस्कृतिलाई जर्गेना गर्दै त्यसलाई जीवन्त बनाई राख्न सहयोग पुग्दछ । स्थान, भूगोल र क्षेत्र विशेषअनुसार यो पर्व फरक–फरक तर मौलिक परम्पराअनुसार मनाइन्छ”, उहाँले भन्नुभएको छ, “मनाइने परम्परा र अनुष्ठानमा विविधता भए पनि त्यसको मूल उद्देश्य अज्ञानतामाथि ज्ञान र अन्धकारमाथि प्रकाशको जीतको सन्देश सञ्चार गर्नु नै हो, मुलुकमा एकता र सामन्जस्यताको सन्देश प्रवाहित गर्नु हो ।” प्रकाशमय यो पर्वमा देवी लक्ष्मीको पूजाआराधना गरे धन, समृद्धि र सफलता प्राप्त हुने एवं दरिद्रताको नाश हुने जनविश्वास रही आएको छ ।

पर्यटकीय यामसँगै पर्यटकको चहलपहल बढ्दो,सगरमाथामा असोजमा मात्रै नौ हजारले भ्रमण गरे

काठमाडौँ, १५ कात्तिक : सर्वोच्च शिखर सगरमाथामा अघिल्लो असोज महिनामा करिब नौ हजार पर्यटकले भ्रमण गरे । उक्त महिना आठ हजार नौ सय दुई जना पर्यटक खुम्बु क्षेत्रमा गएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ । खुम्बु क्षेत्रमा भित्रिएका पर्यटकबाट रु दुई करोड तीनलाख ४८ हजार पाँचसय ५३ राजश्व सङ्कलन भएको छ । लुक्लादेखि सगरमाथाको आधार शिविरसम्म पर्यटकीय चहलपहल बढ्दो छ ।

 म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिएका तथ्याङ्क छ । हाल आन्तरिक र विदेशी पर्यटकले अन्नपूर्ण आधार शिविर भरिभराउ छ । त्यहाँ पुग्ने पदमार्गको पहिचान भएको १३ वर्षको अवधिमा यसपटक धेरै पर्यटक आएको पदमार्गका अभियन्ता तेज गुरुङले बताउनुभयो । उहाँका अनुसार दसैँपछि मात्रै यहाँ करिब तीन हजार पर्यटकले आधार शिविरको भ्रमण गरेका छन् ।

 अहिले मुख्य पर्यटकीय याम चलिरहेकाले पनि देशभरका गन्तव्यहरूमा  पर्यटकीय चहलपहल बाक्लिएको हो । पदयात्रा र पर्वतारोहणका लागि शरद ऋतु उपयुक्त मानिन्छ । वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहण र पदयात्रामा सबैभन्दा धेरै विदेशी पर्यटक आउने गरेका छन् । साहसिक पर्यटनका लागि अति उपयुक्त मानिने यस याममा हिमाल र पहाडी डाँडापाखाको दृश्यावलोकनको मज्जा लिन पदयात्री औधी रुचाउँछन् ।

 मुख्य पर्यटकीय सिजन तथा दसैँ र तिहारको बिदाको समयलाई सदुपयोग गर्दै आन्तरिक पर्यटक उल्लेख्य रूपमा गन्तव्य पुग्ने गरेका छन् भने पदयात्रा र पर्वतारोहणका लागि विदेशी पर्यटकले  विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्र, खुम्बु, मनास्लु, लाङ्टाङलगायत गन्तव्यमा पुगेका छन् । अन्य पर्यटकीय गन्तव्यहरूमा पाहुनाको घुइँचो छ ।

 नेपाली पर्यटनको महत्वपूर्ण हिस्सा ओगट्ने संसारकै आकर्षण पर्वतारोहणका लागि पनि यो याम उपयुक्त मानिन्छ । यतिखेर धेरै आरोहीहरू पर्वतारोहणका लागि नेपाल आएका छन् । मनास्लु, अमादब्लम, अन्नपूर्णलगायतका उच्च हिमशृङ्खला आरोहण उनीहरुको रोजाइमा पर्छ । अनुपम प्राकृतिक विविधताले भरिपूर्ण नेपालको सौन्दर्यता अवलोकनका लागि विश्वभरका पर्यटक यतिखेर नेपालका विभिन्न पर्यटकीय गन्तव्यको मज्जा लिइरहेका छन् । भू–धरातलीय स्वरुप, हरिया डाँडाकाँडा, मनमोहक झरना तथा उत्तरतर्फ चाँदीका घेरा झैँ टल्किएका हिमालले पदयात्री पर्यटकको आकर्षण बढाएको छ । विदेशी पर्यटकको उत्साहबद्र्धक आगमनले व्यवसायी पनि उत्साहित भएका छन् ।

होटल सङ्घ नेपालका महासचिव साजन शाक्यका अनुसार अहिले ७० देखि ८० प्रतिशत होटलको ‘अकुपेन्सी’ रहेको छ । “होटेल क्षेत्रमा बुकिङ राम्रो छ । अक्टोबर र नोभेम्बर अन्तिमसम्म राम्रो छ । धेरै पदयात्री र पर्वतारोही आएका छन् । ठमेललगायत मुख्य गन्तव्यमा ८० प्रतिशत अकुपेन्सी छ, देशभरका होटलमा ७० प्रतिशतसम्म अकुपेन्सी रहेको जानकारी प्राप्त भएको छ”, उहाँले भन्नुभयो ।
उहाँका अनुसार खुम्बु, अन्नपूर्णलगायत गन्तव्यका होटलहरूमा पर्यटक खचाखच छन् । पोखरा, चितवन, लुम्बिनीमा पर्यटकको चहलपहल बढेको छ । काठमाडौँ उपत्यका आसपासका नगरकोट, धुलिखेललगायत गन्तव्यका होटलहरू भरिभराउछन् ।

 नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२४ को नौ महिनामा अर्थात्  वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म आठ लाख १६ हजार तीनसय ३९ पर्यटकले नेपाल भ्रमण गरेका छन् । समग्रमा अघिल्लो वर्ष सन् २०२३ को तुलनामा छ प्रतिशत र सन् २०१९ भन्दा चार प्रतिशतले पर्यटक आगमन बढेको छ ।

 नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) अध्यक्ष कुमारमणि थपलियाले पर्यटन क्षेत्र चलायमान बनिरहेको बताउनुभयो । उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार तथा मर्मतको कामले उडान कटौती हुँनेहुँदा पर्यटन क्षेत्रलाई असर पर्नसक्ने सम्भावना औँल्याउनुभयो । “पर्यटकीय याम चलिरहेको समयमा विमानस्थलको मर्मतको कामले हवाई उडान  खुम्चिन्छ र ट्राभल कम्पनीहरूको अकुपेन्सी घट्नजान्छ । त्यसैले हामीले विमानस्थल मर्मतको काम केही पर सार्न वा उडान अवधि बढाउन सम्बन्धित निकायमा पहल गरिरहेका छौँ”, अध्यक्ष थपलियाले भन्नुभयो ।

 नेपाल नागरिक उड्डयन प्राधिकरणले कात्तिक २३ गतेदेखि काठमाडौँ विमानस्थल मर्मतको काम सुरु गर्दैछ । करिब छ महिना विमानस्थलको उडान १० घण्टा बन्द हुनेछ । यसले अन्तर्राष्ट्रिय एयरलाइन्सको उडानमा भारी कटौति हुनेछ ।  नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले पर्यटकीय सिजनमा देशका अधिकांश गन्तव्यहरू पर्यटकले भरिभराउ भएको बताउनुभयो । “गन्तव्यहरूमा विदेशी तथा स्वदेशी पर्यटकको घुइँचो लागेको छ । होटल तथा रिसोर्टहरुमा अकुपेन्सी एकदमै राम्रो रहेको पाइएको छ”, उहाँले भन्नुभयो,“अक्टोबरको सुरुआतमा वर्षाले एकसाता समस्या गरे पनि हाल सबै चिज सामान्य भएर पर्यटन पुरानै लयमा फर्किएको छ ।”निर्देशक लामिछानेका अनुसार सेप्टेम्बरमा हालसम्मकै सबैभन्दा धेरै पर्यटक आएका र अक्टोबरमा पनि त्यो सङ्ख्या बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए

म्याग्दी (बेनी), १५ कात्तिकः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्मा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा हालसम्मकै धेरै पर्यटकले भ्रमण गरेका छन् । दसैँतिहारको बिदाको समयलाई उपयोग गर्दै उल्लेख्य रूपमा आन्तरिक पर्यटक अन्नपूर्ण हिमाल आधार शिविरमा पुगेका हुन् । यहाँ पुग्ने पदमार्गको पहिचान भएको १३ वर्षको अवधिमा यसपटक धेरै पर्यटक आएको पदमार्गका अभियन्ता तेज गुरुङले बताउनुभयो ।

उहाँका अनुसार दसैँपछि अहिलेसम्म करिब तीन हजारले अन्नपूर्ण आधार शिविरको भ्रमण गरेका छन् । यो सिजनमा आन्तरिक सँगसँगै विदेशी पर्यटकसमेत उल्लेख्य मात्रामा आधार शिविरमा पुगेको गुरुङले जानकारी दिनुभयो । बुधबारदेखि शिविरमा आन्तरिक र विदेशी गरी करिब तीन सय पर्यटक रहेको उहाँले बताउनुभयो । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको नर्थ आधार शिविरबाट यो हिमाल आरोहण गर्ने गरिएको छ ।

सन् १९५० जुन ३ तारिकका दिन अन्नपूर्ण प्रथममा पहिलो मानवपाईला परेको थियो । फ्रान्सेली आरोही मौरिस हर्जोग र लुइस लचेनलले अन्नपूर्ण प्रथम हिमालमा पहिलोपटक आरोहण गरेर इतिहास रचेका थिए । उक्त आरोहण दलको नेतृत्व गरेका मौरिस हर्जोगको सम्मानमा नारच्याङदेखि अन्नपूर्ण प्रथमको नर्थ आधार शिविर पुग्ने पदमार्गलाई ‘मौरिस हर्जोग’ नामकरण गरिएको छ ।

मनमोहक पञ्चकुण्ड ताल, झरना र जैविक विविधता युक्त भूगोल अन्नपूर्ण पदमार्गका मुख्य आकर्षण हुन् । हर्जोगले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै विस २०६८ मा यस पदमार्गको पहिचान गरिएको थियो । तत्पश्चात् पदमार्ग, आश्रयस्थललगायत पूर्वाधार बनेर प्रचारप्रसार हुन थालेपछि ठूलो सङ्ख्यामा पर्यटकको आगमन भइरहेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको भनाइ छ ।

‘‘पर्यटकको आगमन बढेको छ, हुमखोलादेखि आधार शिविरसम्मको दुई दिनको पदयात्रामा होटल सुविधा नभएकाले हामीले सामुदायिक लज बनाउने अवधारणा अघि सारेका छौँ, त्यसको लागि जग्गा प्राप्ति प्रक्रिया अघि बढेको छ, मन्त्री परिषद्कै निर्णय आवश्यक पर्ने भएकाले तिहारलगत्तै सङ्घीय सरकारमार्फत निर्णय गराउन पहल गर्छौँ”, उहाँले भन्नुभयो ।

गाउँपालिकाले गतवर्ष अन्नपूर्ण आधार शिविर क्षेत्रको पर्यटन विकासका लागि एकीकृत गुरुयोजना तयार गरिसकेको छ । गुरुयोजनाअनुसार आधार शिविर र भुसकेट मेलामा लज बनाउन चालु आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरिएको र त्यसको लागि जग्गा व्यवस्थापनको पहल थालिएको गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो ।

यस पदमार्गअन्तर्गत पोखरेबगरदेखि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटोमा सडकको पहुँच पुगेको छ भने हुमखोलादेखि १६ किलोमिटर दूरीमा पदमार्ग बनाइएको छ । सडकको पहुँच पुगेको हुमखोलासम्म होटल सुविधा रहे पनि त्यहाँदेखि आधार शिविरसम्म होटल, लजको सुविधा नभएकाले पर्यटक आफैँले खाना बस्नको लागि बन्दोबस्त मिलाएर जानुपर्ने बाध्यता छ ।

आधार शिविरमा आरोही टेन्ट टाँगेर बस्छन् भने शिविरमै रहेको आश्रयस्थलले आन्तरिक पर्यटकका लागि बास बस्न सहज बनाइदिएको छ । पदमार्गअन्तर्गत छोटेपा, हुमखोला, संधिखर्क, गुफाफाँट, भुसकेटमेला, धरमढु्ङ्गा र आधार शिविरमासमेत आश्रयस्थल निर्माण भएको छ । ठाउँठाउँमा खोला वारपार गर्न झोलुङ्गे पुलनिर्माण भएका छन् । आधार शिविर र पदमार्गको व्यवस्थित पूर्वाधार निर्माण गर्न गाउँपालिकाले एकीकृत गुरुयोजना निर्माण गरेर अघि बढेको छ । गाउँपालिकाले अन्नपूर्ण प्रथम हिमालको पर्यटन प्रवर्द्धन गर्न अभियान नै सञ्चालन गरिरहेको जनाएको छ ।

हिमाल आरोहणमा सबैभन्दा कठिन मानिने अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्न सहज भएपछि यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो । पर्यटकको आगमनलाई थप वृद्धि गर्दै पर्यटन विकासका लागि पालिकाले पदमार्गलाई थप स्तरोन्नति गर्ने, सञ्चार, खानेपानीलगायत सुविधाको पहुँच विस्तार गर्ने योजना अघि सारेको गाउँपालिका उपाध्यक्ष क्षदिवाकुमारी तिलिजापुनले बताउनुभयो । पूर्वाधार निर्माण र सुविधाको विस्तार गर्दै अन्नपूर्ण आधार शिविरलाई सुरक्षित, साहसिक र उत्कृष्ट गन्तव्यको रूपमा विकास गर्ने अभियान सार्थक बन्दै गएको उहाँको भनाइ छ ।

पिताको आरोहणमार्ग पछ्याउँदै माथिएस आधारशिविरमा

अन्नपूर्णमा पहिलो मानवपाइला टेक्ने मौरिस अर्जोगका छोरा माथिएस पिताको मार्ग पछ्याउँदै अन्नपूर्ण आधार शिविरमा पुग्नुभएको छ । अन्नपूर्ण हिमालको पहिलो आरोहण गरेर कीर्तिमानी बनाउनुभएका फ्रान्सेली आरोही हर्जोगका छोरा माथिएस बुबाले आरोहण गरेको पदमार्ग हुँदै आरोहण आधार शिविर पुग्नुभएको हो । ७५ वर्षअघि पिता हिँडेको मार्ग हुँदै शनिबार उहाँ उहाँ पुगेर फर्किनुभएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले जानकारी दिनुभयो । माथिएसले आधार शिविरस्थित पञ्चकुण्ड तालनजिक राखिएको पितामौरिसको सालिकमा माल्यार्पणसमेत गर्नुभएको थियो ।

आगामी सन २०२५ जुन ३ मा अन्नपूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पूरा हुने र त्यस अवसरमा माथिएसले ८२ वर्षीया आमासहित सम्पूर्ण परिवार अन्नपूर्णको पदयात्रामा आउने प्रतिबद्धता व्यक्त गरेको गुरुङले बताउनुभयो । माथिएसले आफ्नो बुबाले आरोहण गरेको ठाउँमा आउन पाउँदा आफूलाई गौरबको अनुभूति भएको बतानुभएको थियो । पिताले लेखेको ‘द अन्नपूर्ण’ किताबलाई नेपालीलगायत अन्य भाषाहरूमा पनि अनुवाद गरेर प्रकाशित गर्ने माथिएसले बताउनुभएको छ । सर्वोच्च शिखर सगरमाथामा मानवपाइला पुग्नुभन्दा तीन वर्षअघि ३ जुन १९५० मा मौरिससहितको फ्रान्सेली टोलीले अन्नपूर्ण प्रथमको सफल आरोहण गरेको थियो । हर्जोगले अन्नपूर्ण आरोहण गरेको सम्झनामा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्गलाई ‘मौरिस हर्जोग ट्रेल’ नामकरणसमेत गरेको छ भने आधार शिविरमा रहेको पञ्चकुण्ड तालन जिकमौरिसको सालिकसमेत राखेको छ ।

विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर स्थिर, यूरो बढ्यो

काठमाडौँ, १५ कात्तिक: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर स्थिर रहेको छ । बुधबार र बिहिबारको अमेरिकी डलर समान रहेको छ । दुवै दिन अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

युरोपियन यूरो भने थोरै वृद्धि भएको छ । बुधबार यूरो एकको खरिददर एक सय ४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५८ पैसा रहेकामा आज एकको खरिदर एक सय ४५ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ३ पैसा कायम गरिएको छ । युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ १२ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ८९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३० पैसा र बिक्रीदर ८८ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ४० पैसा र बिक्रीदर ९६ रुपैयाँ ८३ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७८ पैसा र बिक्रीदर आठ रुपैयाँ ८२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ९७ पैसा र बिक्रीदर नौ रुपैयाँ ७९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२ रुपैयाँ ६४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९ रुपैयाँ ५७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ८३ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ७९ पैसा, बहराइन दिना र एकको खरिददर तीन सय ५६ रुपैयाँ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५९ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीकोश्रद्धा भक्तिपूर्वक पूजाआराधना गरी लक्ष्मीपूजा मनाइँदै

काठमाडौँ, १५ कात्तिकः यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ ।

सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्‍याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । यस पर्वलाई दीपमालिका पनि भनिन्छ ।

लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ ।

पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ । हाल पालामा दीयोको स्थानमा मैनबत्ति बाल्ने प्रचलन पनि बढ्न थालेको छ । दीयोमा तेल राखेर बत्ति बाल्नु नै वैदिक परम्परा भएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउनुहुन्छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दीयो, कलश र गणेशसहित लक्ष्मी, कुबेर स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ ।

लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धन धान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् गौतमको भनाइ छ ।
आज साँझ युवतीले समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान बलिराजालाई दिनुभएको विभिन्न हिन्दू धर्मग्रन्थमा उल्लेख छ । वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । ‘भलो होस्’ भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि धर्मशास्त्रविद् गौतमले बताउनुभयो ।

आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । यस्तो दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
लक्ष्मी पूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कुल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीयरुपमा भने औँसीपछि कात्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी गराउनुभयो ।

देशभरको मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ, १५ कात्तिकः हाल देशभर पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकीमा भागमा मौसम सफा रहेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भागका केही तथा बाँकी प्रदेशका पहाडी भागका एक÷दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी प्रदेशलगायात बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ, १५ कात्तिकः नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उहाँले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिनुभयो । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा समेत चिनाउनुभयो ।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका उहाँको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उहाँका सृजनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।

भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गर्नुभएको भनेर चर्चा हुने गरेको छ । नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताउनुभएको थियो ।

विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उहाँले महत्वपूर्ण योगदान दिनुभएको थियो । महाकवि देवकोटाले अंग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यासजस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गर्नुभयो ।

विसं २०१६ मा उहाँ शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नु–गराउनु भएको थियो । हाल त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको जग्गा पनि उहाँकै शिक्षामन्त्रीत्वकालमा व्यवस्था गरिएको हो । जसले विश्वविद्यालयको पूर्वाधारका लागि काम गरेको छ । वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनुभएको थियो ।

तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्नुभएका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने आँसु कविको क्षमता थियो भन्ने गरिएको छ । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ ।

चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक रूपमा पनि देवकोटा सक्रिय हुनुभएको थियो । यसका बाबजुद पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उहाँको साहित्यिक विशेषता हो  । विसं २००२ मा किनेर २००४ सालमा सर्नुभएको मैतीदेवीस्थित देवकोटाको घरलाई विसं २०७९ असोजदेखि महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयका रूपमा स्थापित गरिएको छ ।

महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गर्नुभएको थियो । उहाँले पाश्चात्य ग्रीसेली स्रोतबाट अनेकौँ गाथाको नेपालीकरण गर्नुभएको छ । विसं २०२४ मा प्रकाशित भएको ‘मायावीनी’ ‘सुन्दरी प्रोजर्पिना’जस्ता खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य यसका उदाहरण हुन् । देवकोटाको एकमात्र उपन्यास ‘चम्पा’ हो ।

नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका देवकोटाको निधन २०१६ साल भदौ २९ गते भएको थियो । महाकवि देवकोटा जयन्तीका अवसरमा गत हप्तादेखि नै साताव्यापी कार्यक्रम भइरहेको छ । यस अवसरमा आज पनि विभिन्न कार्यक्रम गरी देशभर देवकोटा जयन्ती मनाइने जनाइएको छ ।

तिहारको तेस्रो दिन आज कुकुरको पूजा आराधना गरी मीठा-मीठा खानेकुरा दिएर मनाइँदै

काठमाडौँ, १५ कात्तिकः नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठा—मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ ।कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राडा देवमणि भट्टराई नरके चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउनुहुन्छ ।

कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरूको सङ्ख्यासमेत बढ्न थालेको छ ।

नरक चतुर्दशी
आज बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बालेर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधिसमेत रहेको धर्मशास्त्रविद् भट्टराईले बताउनुभयो । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ ।

यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ । यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मत रहेको आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउनुहुन्छ । यसैले तिहार स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्वपूर्ण पर्वका रूपमा मनाइन्छ ।

प्रधानमन्त्रीद्वारा नेपाली महिला फुटबल टोलीलाई धन्यवाद

काठमाडौँ, १४ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुुटबलको उपाधि जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन भन्दै प्रशंसा गर्नुभएको छ ।

आज भएको फाइनल खेलमा बङ्गलादेशले नेपालविरुद्ध २–१ गोलले जितेपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालबाट अब अर्काे खेल जित्ने गरी मेहनत हुने विश्वास व्यक्त गर्दै नेपाली टोलीलाई धन्यवाद दिनुुभएको हो । प्रधानमन्त्री ओलीले खेलमा विजयी खेलाडीलाई ट्रफी र पुरस्कार प्रदान गर्नुुभएको थियो ।

निलम्बित मुख्यसचिव अर्याललाई भ्रष्टाचारको मुद्दामा सफाइ

काठमाडौँ, १४ कात्तिक : विशेष अदालतले भ्रष्टाचारको मुद्दामा निलम्बित मुख्यसचिव डा वैकुण्ठ अर्याललाईक सफाइ दिएको छ ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्यहरु न्यायाधीशद्वय खुशीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले आज अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा डा अर्यालले सफाइ पाउने फैसला गरेको हो ।

फैसलामा भनिएको छ, “प्रतिवादी डा अर्यालले सूचना तथा सञ्चार मन्त्रालयको सचिवको हैसियतमा गरेको निर्णय पूर्वअभ्यास र विनियमावली नबनेको भन्ने आधारमा गरेको देखिएको र सो निर्णय गर्दा मिलेमतो र बदनियत राखी आफूलाई लाभ वा सरकारलाई हानिनोक्सानी निजकै कारणबाट भएको भन्ने प्रमाणबाट पुष्टि हुन आएन ।”

 अदालतले राष्ट्रिय सुरक्षण मुद्रण केन्द्रका लागि राष्ट्रिय बजेटबाट नै ‘एलएमबीएस’ माध्यमबाट बजेट विनियोजन भएको देखिएको जनाएको छ । सुरक्षण मुद्रण केन्द्रका निर्देशक प्रतिवादी विकल पौडेलले सो बजेट र खरिद योजना स्वीकृतिका लागि प्रतिवादी रहेका निज सचिवसमक्ष पेस गरेको, निजले मन्त्रालयको सचिवको हैसियतमा बजेट र खरिद गुरुयोजना स्वीकृत गर्दा सो बजेट हुबहु स्वीकृत गरेको देखिँदा बजेटको भावनामा तात्विक फरक पर्ने अवस्था देखिन नआएको ठहर अदालतको छ ।

“राष्ट्रिय आवश्यकता र महत्वको आयोजना कार्यान्वयन गर्ने सदनियतले काम गरेको देखिँदा निज प्रतिवादीबाट नेपाल सरकारको सम्पत्ति हानिनोक्सानी गरेको र आफूलाई निजी लाभ लिने बदनियत लिएको भन्ने आरोपदाबी पुष्टि हुन नसकी निज प्रतिवादीले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ”, फैसलामा भनिएको छ ।

मुख्यसचिव डा वैकुण्ठ अर्यालसहित सफाइ पाउनेमा सुरक्षण मुद्रण केन्द्रका परामर्शदाता शक्ति श्रेष्ठ, उक्त केन्द्रका लेखा अधिकृत विष्णुप्रसाद गौतम, शाखा अधिकृत हलिबल्लभ घिमिरे, प्रिन्ससेल प्रालि र उक्त प्रालिका निर्देशक केशव शर्मा रहनुभएको छ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशकुमार शाक्य र सोही विभागका उपमहानिर्देशक टङ्कप्रसाद पाण्डेय, उपसचिव गणेशविक्रम शाही र शाखा अधिकृत रवीन्द्रप्रसाद पौडेलको हकमा समग्र मिसिल अध्ययनबाट आन्तरिक राजश्व विभागले अर्थ मन्त्रालयसँग अन्तःशुल्क स्टिकर छपाइको सैद्धान्तिक सहमतिको लागि मात्र अनुरोध गरिएकोमा अर्थ मन्त्रालयबाट नै छपाइको लागत र खर्चको विषय उठान गरी पत्राचार गरेको देखिएको तर उक्त कार्यका लागि प्रक्रियामा संलग्न रहेका अर्थ मन्त्रालयका अधिकारीहरुउपर कुनै अनुसन्धान भएको नपाइको फैसलामा उल्लेख छ ।

अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठलाई दोषी ठहर गरेको छ । दोषी ठहर भएका पौडेल र श्रेष्ठलाई अदालतले सजाय निर्धारण गर्नेछ । उक्त प्रकरणमा ११ व्यक्ति र एक कम्पनीसहित १२ जनाविरुद्ध अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ३८ करोड ६७ लाख १७ हजार छ सय ४० बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो । यही कात्तिक ५ गतेदेखि निरन्तर सुनुवाइ गर्दै आज अदालतले फैसला सुनाएको हो ।

साफ महिला च्याम्पियनशिपको उपाधि बङ्गलादेशले जित्यो

काठमाडौं – साफ महिला च्याम्पियनशिप फुटबलको उपाधि बङ्गलादेशले जितेको छ । आज त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई पराजित गरेको हो । खेलमा बङ्गलादेशले नेपाललाई २–१ गोलले पराजित गरेको हो ।

खेलको ५२ औं मिनेटमा मोनिका चक्माले र त्यसको तीन मिनेटमै नेपालकी अमिशा कार्कीले ५५ औं मिनेटमा गोल गरिन् । त्यसपछि खेलको ८१ औं मिनेटमा बङ्गलादेशकी रितु पोर्ना चक्माले गोल गरेर आफ्नो टिमलाई जित दिलाइन् ।

सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय

काठमाडौँ, १४ कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पताललाई विद्युत् महसुलमा २० प्रतिशत छुट दिने भएको छ ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आज मन्त्रीस्तरीय निर्णय गर्दै सरकारी अस्पताललाई विद्युत् महसुलमा २० प्रतिशत छुट दिने निर्णय गर्नुभएको हो । नेपाल विद्युत् प्राधिकरण विद्युत् महसुल सङ्कलन विनियमावली २०७८ मा भएको सरकारी अस्पताल तथा स्वास्थ्य चौकीले पाउने विद्युत् महसुल छुटको व्यवस्थाअनुसार उहाँले उक्त निर्णय गर्नुभएको हो ।

आजै मन्त्रालयले सबै सरकारी अस्पतालमा समयमै महसुल भुक्तान गरेर छुट सुविधा लिन मातहतका संस्थामा पत्राचार गरेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीेले जानकारी दिनुभयो । उहाँले समयमै महसुल भुक्तानी नहुँदा एकातिर लाइन काटिनेसम्मको समस्या हुने र जरिवानासमेत उच्च हुने तर २० दिनभित्रै भुक्तानी हुँदा ठूलो रकम बचत हुने भए पछि व्यवस्था मिलाउन निर्णय गरिएको बताउनुभयो ।

व्यक्तिवाद, स्वार्थी र भ्रष्टीकरण प्रवृत्ति वामपन्थी आन्दोलनको बाधक : अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको जन्म शताब्दीको अवसरमा माओवादी केन्द्रले आज यहाँ आयोजना गरेको ‘नेपाली कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार’ विषयक गोष्ठीमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पछिल्लो समय कम्युनिष्ट आन्दोलनभित्र वैचारिक स्खलन, दक्षिणपन्थी सोच हाबी तथा जडसुत्रवादी प्रवृत्ति देखापर्न थालेकामा चिन्ता व्यक्त गर्नुभयो ।

“वामपन्थी दलहरुबीच एकता हुनु राम्रो हो, तर कम्युनिष्ट आन्दोदलनभित्रै जडसुत्रवादी र दक्षिणपन्थी धारा हाबी हुँदै गइरहेको छ”, उहाँले भन्नुभयो, “कम्युनिष्ट आन्दोलन अघि बढाउन कति योगदान गरेका छौँ, बहस र आत्मसमीक्षा गरौँ ।”

‘कम्युनिष्ट’ नै देशभक्तिको पर्याय हुन् भन्ने तथ्य पुष्टि भइसकेको जनाउँदै अध्यक्ष नेपालले स्वाधिनता, सार्वभौमसत्ताको रक्षा, राष्ट्रिय अखण्डताको पक्ष तथा वैदेशिक हस्तक्षेपको विरुद्धमा एकताबद्ध भएर उभिनुपर्नेमा जोड दिनुभयो । कम्युनिष्ट आन्दोलनमा देखिएका कमीकमजोरी सुधार गरेर अघि बढ्नुपर्छ भन्दै उहाँले लोकतन्त्र र गणतन्त्रको रक्षा कम्युनिष्टले मात्रै गर्न सक्ने दाबी गर्नुभयो ।

“व्यक्तिवाद, स्वार्थी र भ्रष्टीकरण प्रवृत्ति वामपन्थी आन्दोलनको बाधकका रुपमा देखापरेको छ, कम्युनिष्ट आन्दोलनमा दूरगामी सोचको अभाव छ”, पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, “कम्युनिष्ट पार्टीले जनताको समस्या पहिचान र प्राथमिकीकरण गरेर सम्बोधन गर्ने नीति लिनुपर्छ ।”

जनतामा देखिएको निराशालाई आशामा बदल्न वामपन्थी दलले नयाँ ढङ्गबाट सोच्नुपर्नेमा जोड बताउनुभयो । “विगतको समीक्षा र वर्तमानको मूल्याङ्कन गरौँ, नयाँ ढङ्गले कसरी जान सक्छौँ भन्ने बारे सोचौँ”, उहाँले भन्नुभयो । अध्यक्ष नेपालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना र विभिन्न कालखण्डको परिवर्तनमा संस्थापक सदस्य कर्मचार्यको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

कम्युनिष्ट आन्दोलनभित्र रहेको दक्षिणपन्थी र जडसूत्रीय चिन्तनका विरुद्ध संघर्ष गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले उपलब्धि र कमजोरीको समीक्षा गरेर जानुपर्नेमा जोड दिनुभयो । जनवादी क्रान्तिको चरण सकिएकाले अब समाजवादी क्रान्तिको कार्यक्रम सुरु गर्नुपर्ने र नेपाली मोडलको समाजवादको खाकामा बहस केन्द्रित हुनुपर्ने बताउनुभयो ।

कम्युनिष्ट आन्दोलनको रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौँ, १४ कात्तिक : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनको एकता र रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक रहेकामा जोड दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको जन्म शताब्दीको अवसरमा माओवादी केन्द्रले आज यहाँ आयोजना गरेको ‘नेपाली कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उहाँले त्यस्तो आत्मसमीक्षा पार्टीको दस्तावेज, नेता र कार्यकर्ताको तहमा हुनुपर्ने बताउनुभयो ।

“कम्युनिष्ट आन्दोलनमा लागेका हरेक नेता कार्यकर्ताले आफैँभित्र र पार्टीभित्र आत्मसमीक्षा गरौँ । अनि बल्ल कम्युनिष्ट पार्टीहरुको बीचमा आत्मसीक्षा गरौँ”, अध्यक्ष दाहालले भन्नुभयो । क्रान्तिकारीहरूले आफ्नो गल्ती स्वीकार गर्न सक्नुपर्ने उल्लेख गर्दै उहाँले आत्मसीक्षाले मात्रै कम्युनिष्ट पार्टीहरुमा एकता, रुपान्तरण र नयाँ क्रान्तिको प्रक्रिया सुरु हुने बताउनुभयो ।

“म देशभरिका कम्युनिष्टहरुलाई गम्भीर आत्मसीक्षाका लागि अपिल गर्न चाहन्छु”– अध्यक्ष दाहालले भन्नुभयो, “म आदर्शका रुपमा मात्र यसो भनिरहेको छैन, हाम्रो पार्टीभित्र गम्भीर आत्मसीक्षा सुरु गरेर मात्रै अरुलाई अपिल गर्न थालेको हुँ ।” सिद्धान्ततः दलाल नोकरशाहीविरुद्ध लड्नुपर्छ भनिए पनि हामीभित्रै सुरु हुँदै गरेको खराबीविरुद्ध नलडी अरुलाई परास्त गर्न नसकिने उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले, भन्नुभयो, “हिजो व्यापक कम्युनिष्ट एकता गरेर समावादमा अघि बढ्न सकिन्छ कि भनेर अभ्यास गर्यौं । सँगै मिलेर चुनाव पनि लड्यौँ तर वैचारिक स्पष्टता कायम गर्न नसक्दा क्षति व्यहोर्नुपर्यो । अब पहिले आफैँभित्रै वैचारिक स्पष्टताका लागि संघर्ष गरौं । त्यही संघर्षको बीचमा रुपान्तरणसहितको एकताको थालनी गरौँ ।”

मन्त्रिपरिषद्को निर्णय : फालेलुङ विस्फोटमा परी मृत्यु भएका परिवारलाई पाँच लाख आर्थिक सहायता दिने

काठमाडौँ, १४ कात्तिक : मन्त्रिपरिषद्ले पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा नं ५ मा भएको विस्फोटमा परी मृत्यु भएका दिप्सन साँवा र प्रिन्सा साँवाको एकाघरको परिवारलाई प्रतिपरिवार बिलबमोजिम बढीमा रु पाँच लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा यही कात्तिक ८ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्तासमेत रहनुभएका पृथ्वीसुब्बा गुरुङले सो आर्थिक सहायता दिने निर्णय गरेको जानकारी दिनुभयो ।

त्यस्तै मन्त्रिपरिषद्ले बबई सिँचाइ आयोजनाका लागि बर्दिया जिल्ला, गुलरिया नगरपालिकामा करिब ६५ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । बैठकले विसं २०८१ कात्तिक २१ देखि २७ सम्म मेक्सिकोमा दुईपक्षीय र बहुपक्षीय बैठकहरूमा सहभागी हुन कृषि तथा पशुपन्छी विकासमन्त्रीलाई स्वीकृति प्रदान गर्ने गरेको छ ।

मन्त्रिपरिषद्ले स्लोभानियासमेतका विभिन्न ११ स्थापनका अवैतनिक वाणिज्यदूत÷ महावाणिज्यदूतहरूको पदावधि एक अवधि चार वर्षका लागि थप गर्ने निर्णय गरेको छ । विसं २०८१ मङ्सिर २५ देखि २७ सम्म फिलिपिन्सको मनिलामा आयोजना हुने एसियास्तरको १६ औँ क्षेत्रीय वातावरणीय दिगो यातायात मञ्चमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

यही कात्तिक १३ देखि १५ सम्म कतारमा आयोजना हुने ‘फेम्ली एन्ड कन्टेम्पोररी मेगाट्रेन्ड’ विषयक सम्मेलनमा माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत ठूलो खोला जलविद्युत् आयोजनाको २२० केभी प्रसारण लाइन आयोजना निर्माणका लागि म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिकामा रहेको राष्ट्रिय वनको कूल ६ दशमलव ०६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको छ ।

सरकारले जनकशिक्षा सामग्री केन्द्र लिमिटेडलाई हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पुर्जा र भिसा स्टिकर छपाइ गर्न स्वीकृति दिने निर्णय गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत सञ्चालित तराई मधेस समृद्धि कार्यक्रमअन्तर्गत आव २०८१/८२ का लागि अधिकृतस्तरका तीन अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णयसमेत गरेको छ ।

सोही मन्त्रालयअन्तर्गतको सीमा प्रशासन कार्यालय व्यास छाङरु दार्चुला, सीमा प्रशासन कार्यालय पशुपतिनगर इलाम र अध्यागमन कार्यालय पशुपतिनगर इलाम खारेज गर्नुका साथै अध्यागमन कार्यालय कोरोला मुस्ताङ, अध्यागमन तथा सीमा प्रशासन कार्यालय टिङ्कर दार्चुला र अध्यागन तथा सीमा प्रशासन कार्यालय पशुपतिनगर इलामको सङ्गठन संरचना र दरबन्दी तैरिज स्वीकृत गर्ने निर्णय भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको नेपाल फार्मेसी परिषद्को सदस्य पदमा डा सभ्यता गौतम, काठमाडौँ र विष्णुप्रसाद कँडेल, बागलुङलाई मनोनयन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

बैठकले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त एक पदमा कायममुकायम प्रमुख सचिव रघुराम विष्टलाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशमा पदस्थापन गर्ने, डा जगत्बहादुर बस्नेत, सिन्धुपाल्चोक सदस्य (विज्ञ), टेकबहादुर शाह, कैलाली–सदस्य (विज्ञ), गोवर्द्धन कोली, दार्चुला–सदस्य (दलित), आरती भण्डारी, तनहुँ (महिला)–सदस्य रहेको छ ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको माछा खोला जलविद्युत् आयोजना निर्माणका लागि गोरखा जिल्लाको धार्चे गाउँपालिकामा रहेको राष्ट्रिय वनको ४ दशमलव ९५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नेपाल संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको म्याद दुई महिना थप गर्ने निर्णय गरेको छ ।

बैठकले २०८१ कात्तिक २८ र २९ मा स्पेन सरकारको आयोजनामा स्पेनको म्याड्रिडमा आयोजना हुने ‘टुवार्ड ए लेबर इन्टरनेसनल’ को सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीलाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा ‘युनाइटेड नेसनक हुमन सेटलमेन्ट प्रोग्रा(युन–ह्याविटाट) को आयोजनामा इजिप्टको कायरोमा २०८१ कात्तिक १९ देखि २३ सम्म आयोजना हुने कार्यक्रममा सहभागी हुन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।

सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण नियमावली, २०८१ स्वीकृत गर्ने र विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ स्वीकत गर्ने निर्णय गरेकोसमेत मन्त्री गुरुङले जानकारी दिनुभयो ।

त्यस्तै मन्त्रिपरिषद्को यही कात्तिक १३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरूमा अर्थ मन्त्रालयको प्रस्तावमा नेपाल सरकार र भारतीय एक्जिम बैंकबीच भएको ऋण सम्झौताको ‘लाइन अफ क्रेडिट’ संशोधन गरी क्रमशः ३५० मिलियन अमरिकी डलर र ५० मिलियन अमेरिकी डलर कायम गर्न स्वीकृति दिने निर्णय भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा नयाँ बुटवल लमही ४०० केभी प्रसारण लाइन आयोजनाको टावर प्याड निर्माण गर्न रूपन्देही, कपिलवस्तु, अर्घाखाँची र दाङ जिल्लामा करिब शून्य दशमलव २६ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय भएको छ ।

गृह मन्त्रालयको प्रस्तावमा नेपाल प्रहरीको जनपद समूहतर्फको रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक पदमा प्रहरी नायब महानिरीक्षक किरण राणालाई बढुवा गरी प्रदेश समन्वय विभाग र नक्सालमा र प्राविधिक स्वास्थ्य समूहतर्फको रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक पदमा प्राविधिक प्रहरी नायब महानिरीक्षक डा सुन्दरप्रसाद ह्योजुलाई बढुवा गरी नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा पदस्थापन गर्ने निर्णय भएको छ ।

परराष्ट्र मन्त्रालयको प्रस्तावमा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा अजरबैजानको बाकुमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि पक्षराष्ट्रहरूको २९औँ सम्मेलनअन्तर्गत ‘वल्र्ड लिडर्स क्लाइमेट एक्सन समिट’ मा सहभागी हुन मित २०८१ कात्तिक २५ देखि कात्तिक ३० सम्मको भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय भएको छ ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत सञ्चालित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयको आयोजना कार्यान्वयन गर्न आर्थिक वर्ष २०८१/८२ का लागि अधिकृतस्तरको थप १० अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको छ ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा भूमि समस्या समाधान आयोगको अध्यक्ष, उपाध्यक्ष र सदस्य पदमा देहायबमोजिमका व्यक्तिहरूलाई नियुक्त गर्ने निर्णय भएको छ । अध्यक्षतमा प्यूठानका हरिप्रसाद रिजाल, उपाध्यक्षमा जाजरकोटका सनतकुमार कार्की, सदस्यहरुमा महोत्तरीका गुञ्जबहादुर खड्का, झापाका अनिलकृष्ण प्रसाईं रहनुभएको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

साफ महिला च्याम्पियनसिप : मध्यान्तरसम्म नेपाल र बङ्गलादेशबीच गोलरहित बराबरी

काठमाडौँ, १४ कात्तिक : साफ महिला च्याम्पियनसिप २०२४ फुटबल प्रतियोगिताको फाइनल खेलको मध्यान्तरसम्म नेपाल बङ्गलादेशसँग गोलरहित बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । नेपालले विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न सकेन । खेलको पहिलो हाफको १० मिनेटमा नेपालकी अनुशा कार्कीले गरेको उत्कृष्ट प्रहार गोल पोस्टको माथिल्लो बारमा लागेर बाहिरियो । खेलको २४ औँ मिनेटमा बङ्गलादेशको प्रहार नेपालकी गोल किपर अञ्जली तुम्बापो सुब्बाले उत्कृष्ट बचाऊ गरिन् ।

त्यस्तै खेलको २९औँ मिनेट सावित्रा भण्डारी (साम्बा) ले दिएको सुन्दर पासलाई अमिशा कार्कीले गोल गर्नबाट चुकिन् । त्यसपछि खेलको ४१औँ मिनेटमा बङ्गलादेशले कर्नर पायो तर नेपाली खेलाडीले त्यसलाई विफल पारिदिए । उक्त कर्नर फाइनल खेलको पहिलो कर्नर हो ।

कांग्रेस महामन्त्री शर्माको संयोजकत्वमा ‘स्थानीय तह उपनिर्वाचन संयोजन समिति गठन

काठमाडौँ, १४ कात्तिक : सत्तारूढ दल नेपाली कांग्रेसले ‘स्थानीय तह उपनिर्वाचन– २०८१ केन्द्रीय संयोजन समिति’ गठन गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै पार्टी महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा समिति गठन गरेको जानकारी दिनुभयो ।

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) बमोजिम पार्टीका महामन्त्री शर्माको संयोजकत्वमा उक्त समिति गठन गर्नुभएको हो ।

समितिको सदस्यमा पार्टीका सहमहामन्त्रीहरु महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव र जीवन परियार साथै प्रवक्ता डा प्रकाशशरण महत, केन्द्रीय सदस्य पुष्पा भुसाल, मीन विश्वकर्मा र मधु आचार्य रहनुभएको छ । यस्तै, उक्त समितिको सदस्य सचिवमा प्रकाश शर्मा रहनुभएको मुख्यसचिव पौडेलले बताउनुभयो ।

लमहीमा कार दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर

दाङ, १४ कात्तिक : राप्ती राजमार्गअन्तर्गत तुलसीपुरबाट अमेलियातर्फ जाँदै गरेको बा१६च ७६४३ नम्बरको कार लमही नगरपालिका–९ भञ्ज्याङको भिरबाट खस्दा गम्भीर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–६ का ४५ वर्षीय कर्णबहादुर थापाको आज लमही अस्पतालमा उपचारका लागि पु¥याएलगत्तै अस्पतालले मृत घोषणा गरेको अस्पतालका प्रशासन प्रमुख हरि खनालले जानकारी दिनुभयो । सोही दुर्घटनामा परी गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका–७ झुमरे चोक निवासी ३३ वर्षीय पूर्णबहादुर खत्रीको भने उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिल ठकुरीका अनुसार दुर्घटना भएलगत्तै इलाका प्रहरी कार्यालय अमेलियाका प्रहरी निरीक्षक भवानीप्रसाद धमलासहितले घाइतेको उद्धार गरी अस्पताल पठाएको हो ।

‘मुलुकको विकास गर्न सबै एकजुट हुनुपर्ने छ’ – पशुपति शमशेर जबरा

काठमाडौँ, १४ कात्तिक : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता पशुपति शमशेर जबराले मुलुक बनाउन र विकास गर्न आम नेपाली एकजुट हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्र रक्षार्थ, एकता, अभियान काठमाडौँले आज यहाँ आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रममा बोल्दै वरिष्ठ नेता जबराले राष्ट्रलाई जोगाउन सबै एकजुट हुनुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “बुद्धको देश, विश्वको सर्वोच्च शिखर सगरमाथा भएको देश, सीतामाताको देश र मुक्तिनाथ भएको देश हो, हामीले हाम्रो मुलुक जोगाउन एकजुट हुनुपर्छ ।”

नेतृत्व तहमा इमान्दारिताको खडेरी भएको बताउँदै नेता जबराले भन्नुभयो, “हामीसँग विकास गर्न सबै चिज छ, नभएको केही छैन तर नेतृत्व गर्ने तहमा इमान्दारिताको खडेरी छ । सबैले इमान्दारिता देखाउन जरुरी छ ।”

सुशासन कायम गर्न मिडियाको महत्त्वपूर्ण भूमिका रहन्छ : सञ्चारमन्त्री

काठमाडौँ, १४ कात्तिक : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकमा सुशासन कायम गर्न मिडियाको महत्त्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घले आयोजना गरेको २०८१ सालको बडादशैँ, तिहार, छठपर्व र नेपाल संवत् ११४५ को अवसरमा आज काठमाडौँमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सुशासन कायम गर्न मिडिया निरन्तर लाग्नुपर्ने बताउनुभयो ।

यसैगरी मन्त्री गुरुङले मिडिया काउन्सिल विधेयकको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । “मिडिया काउन्सिल विधेयक कार्यान्वयनमा आएपछि मिडिया स्वायत्त र स्वतन्त्र हुने छन्”, उहाँले भन्नुभयो, “समानतामूलक समाज निर्माण र विविधताबीच एकता कायम गर्न मिडियाले भूमिका खेल्नुपर्छ ।”

समाज तथा जनताको लागि काम गर्न सञ्चार जगत्ले सरकारलाई सुझाव दिनुपर्नेमा जोड दिँदै मन्त्री गुरुङले सुशासनको पक्षमा पत्रकारले गम्भीररूपमा कलम चलाउनुपर्ने बताउनुभयो । विद्युतीय अपराधलाई कडाइका साथ निगरानी गर्नुपर्नेमा उहाँको जोड रहेको छ ।

शुभकामना कार्यक्रममा नेपाल पत्रकार महासङ्घको कार्यवाहक अध्यक्ष बाला अधिकारीले आगामी मङ्सिर २८ का लागि महासङ्घको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन तोकिएको भन्दै जसरी पनि तोकिएकै समयमा निर्वाचन सम्पन्न गरिने प्रतिबद्धता जनाउनुभयो ।

महासङ्घकै पूर्वअध्यक्ष एवं राष्ट्रिय समाचार समिति(रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दीपावली तथा छठपर्वको शुभकामना व्यक्त गर्दै महासङ्घको निर्वाचन समयमा नै सम्पन्न गर्न सुझाव दिनुभयो ।

पूर्वअध्यक्ष महेन्द्र विष्टले नेपालमा मिडिया सङ्कटको अवस्थामा रहेको भन्दै समस्या सम्बोधन गर्न आवश्यक पहल गर्नुपर्नेमा जोड दिनुभयो । महासङ्घका अर्का पूर्वअध्यक्ष विष्णु निष्ठुरीले पनि महासङ्घमा देखिएका समस्या समाधानमा सबैको पहल आवश्यक रहेको बताउनुभयो ।

यसैगरी महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहालले नेपाल पत्रकार महासङ्घलाई निरन्रता र जीवन्तता दिन आवश्यक रहेको बताउनुभयो । सञ्चारिका समूह नेपालको केन्द्रीय अध्यक्ष श्री विमला तुम्खेवा, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्का, महासङ्घका सल्लाकार निर्मला शर्मा सदस्यलगायतले महासङ्घमा देखिएका समस्या निराकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

साफ महिला च्याम्पियनसिप : नेपाल र बङ्गलादेशबीचको फाइनल खेल सुरु

काठमाडौँ, १४ कात्तिक : दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनिसपअन्तर्गत नेपाल र बङ्गलादेशबीचको फाइनल खेल सुरु भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा फाइनल खेल सुरु भएको हो । फाइनल खेल अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसमेत दशरथ रङ्गशालामा उपस्थिति हुनुहुन्छ ।

सन् २०१० मा बङ्गलादेशबाट सुरु भएको साफ महिला च्याम्पियनसिपमा नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन । यसअघि पटक पटक फाइनलसम्म पुगे पनि नेपाल उपविजेतामै चित्त बुझाउन बाध्य बनेको थियो । नेपालले साफ महिला च्याम्पियनसिपमा चार पटक भारतसँग तथा एक पटक बङ्गलादेशसँग फाइनलमा पराजित भएको थियो ।

यसपटक भने घरेलु मैदानमा अघिल्लो संस्करणमा बङ्गलादेशसँगको हारको बदला लिन चाहन्छ । नेपाल र बङ्गलादेश दुवै अपराजित रहँदै साफको फाइनल पुगेका हुन् । नेपालले भारत र बङ्गलादेशले भुटानलाई हराउँदै प्रतियोगिताको फाइनल यात्रा तय गरेका हुन् ।

नेपालले समूह चरणको खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्सलाई ११–० गोलअन्तरले हराएको थियो । त्यसैगरी नेपालले श्रीलंकालाई ६–० गोलअन्तरले पराजित गरेको थियो ।

यस्तै बङ्गलादेशले समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग १–१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा भारतलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो ।

डढेलो र वायु प्रदूषणको जोखिम घटाउने कदम चाल्न सरकारको ध्यानाकर्षण

काठमाडौँ, १४ कात्तिक : नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले मनसुन सकिएसँगै काठमाडौँ उपत्यकासहित मुलुकका अन्य सहरमा वायु प्रदूषणको ग्राफ उकालो लागेको र आगलागी–डढेलोका घटनामा वृद्धि भइरहेकाप्रति तिनै तहका सरकारको ध्यानाकर्षण गराएको छ ।

नेफेजले आज एक विज्ञप्ति जारी गरी काठमाडौँको वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य सङ्गठनको मापदण्डभन्दा १० गुणा बढी पुग्ने गरेको तथा सुक्खायाममा डढेलो र प्रदूषणका कारण शैक्षिक संस्थाको पठनपाठन स्थगित गर्नुपरेको विगतबारे स्मरण गराएको छ ।

“वनजङ्गलमा डढेलो लाग्न सुरु भइसकेको छ भने एक सातामा मात्र ३२ ठाउँमा आगलागी भएको गृह मन्त्रालय, आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कले देखाउँछ”, महासचिव कमलदेव भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राज्य संयन्त्रले डढेलोको जोखिम घटाउन र वायु प्रदूषण रोकथामका लागि समयमा नै कदम चाल्न नेफेजले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग र सरोकारवाला निकायले ‘वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६’ प्रभावकारी कार्यान्वयनमा चासो दिनुपर्ने नेफेजको सुझाव छ । सवारी साधनको प्रदूषण जाँच पनि मौसमी हुने गरेको भन्दै नेफेजले यसलाई निरन्तरता दिन माग गरेको छ ।

आगामी मनसुनअघिसम्म वायु प्रदूषण र आगलागी, डढेलोले विपद्को रुप लिने गरेको विगतका दृष्टान्त रहेकाले नेफेजले जोखिम घटाउने गरी प्रभावकारी कदम चाल्न सङ्घ, प्रदेश र स्थानीय सरकारलाई अपिल गरको छ । नेफेजले संविधानअनुसार वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानुनबमोजिम क्षतिपूर्ति पाउने हकसमेत उल्लेख रहेको स्मरण गराउँदै रोकथाम र क्षति न्यूनीकरणका लागि अहिले नै तयारी थाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।

उम्मेदवारको सुनुवाइ र पृष्ठभूमि अध्ययन गर्न सुझाव

काठमाडौँ, १४ कात्तिक : जवाफदेहिता निगरानी समितिले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारी छनोट प्रक्रियामा उम्मेदवारको सार्वजनिक सुनुवाइ र पृष्ठभूमि सार्वजनिक गर्नुपर्ने सुझाव दिएकोे छ ।

‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको छनोट प्रक्रिया, २०८१’ को प्रारम्भिक मस्यौदा तयार पारी सुझाव तथा प्रतिक्रियाका लागि सार्वजनिक गरिनुलाई समितिले सकारात्मक रूपमा लिँदै उक्त सुझाव दिएको हो ।

समितिका संयोजक राजुप्रसाद चापागाईसहितले आज दिएको सुझावपत्रमा पदाधिकारी नियुक्तिका लागि गठित सिफारिस समितिले छनोट प्रक्रियाको मस्यौदामा सुधार गरेर छनोट प्रक्रियाको पारदर्शिता र विश्वसनीयतालाई सुदृढ पार्न आग्रह गरिएको छ ।

सिफारिससम्बन्धी छनोट समितिले आयोगमा पदाधिकारी छनोट गर्दा पारदर्शिताको मान्यतालाई पनि आत्मसात् नगरेको हुँदा मिडिया, पीडित समुदाय तथा नागरिक समाजका प्रतिनिधिसमेतको प्रतिनिधिमूलक सहभागिता रहने गरी सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरी प्रस्तुतीकरण गराउनुपर्ने व्यवस्था राखिनु उपयुक्त हुने सुझाव दिएको हो ।

समितिले दफा ६ मा अध्यक्ष वा सदस्य पदमा नियुक्तिका लागि सिफारिस हुन इच्छुक व्यक्तिले आवेदन दिन सक्ने र अन्य व्यक्ति वा संस्थाले अध्यक्ष वा सदस्यमा सिफारिस गर्न उपयुक्त हुने भनी मनोनयन वा प्रस्ताव गर्न सक्ने व्यवस्थालाई एउटै दफामा समेट्न सुझाव दिएको छ ।

दफा ७ मा आवेदन प्राप्त सबै आवेदकको न्यूनतम योग्यता पुगे नपुगेको जाँच तथा मूल्याङ्कन नगरी सोलोडोलो नामावली प्रकाशन गर्नु जरुरी र उपयुक्त नभएकाले प्रारम्भिक मूल्याङ्कनको आधारमा तयार गरिएको संक्षिप्त सूचीमा रहेकाको नामावली मात्र सार्वजनिक गर्ने व्यवस्था राख्न उपयुक्त हुने सुझाव दिएको छ ।

समितिले सुझावमा भनेको छ, “दफा ८ मा सम्बन्धित उमेदवारबाट ‘प्राप्त आवेदन र सोसँग संलग्न कागजात तथा विवरणका आधारमा’ मात्र योग्य व्यक्तिहरूको संक्षिप्त सूची तयार गर्नु उपयुक्त हुँदैन, संक्षिप्त सूचीमा नाम समावेश गर्नु अघि अनिवार्य सम्बन्धित उमेदवारको पृष्ठभूमि (चरित्र, ख्याति, सान्दर्भिकता, अनुभव तथा योगदान आदि) को स्वतन्त्र मूल्याङ्कन गर्ने व्यवस्था गरिनुपर्दछ ।”

समितिले द्वन्द्वपीडितका सङ्घसंस्था तथा नागरिक समाज÷संस्थाले पदाधिकारीमा नियुक्तिका लागि उपयुक्त भनी मनोनयन गर्नसक्ने व्यवस्था राखिनु उपयुक्त हुने, त्यसरी नाम मनोनयन गर्दाकै बखत सम्बन्धित व्यक्तिको सहमतिको प्रमाण दिनुपर्ने व्यवस्था उपयुक्त नहुने सुझाव दिएको छ ।

समितिले दफा १० मा दिएको सुझावमा भनिएको छ, “‘योग्य व्यक्तिको मूल्याङ्कनका आधार निर्धारण गरी सोहीबमोजिम सूची प्रकाशित गर्न सक्ने’ भनिएको व्यवस्था स्पष्ट र पर्याप्त छैन, योग्य व्यक्तिहरू पहिचान गरी संक्षिप्त सूची प्रकाशन गर्ने प्रयोजनका लागि वस्तुगत मूल्याङ्कनका आधारहरू यसै प्रक्रियामा निर्धारण गर्न उपयुक्त हुन्छ, साथै समितिले प्राप्त गरेको ‘प्रतिक्रियालाई गम्भीरतापूर्वक अध्ययन तथा मनन गर्नुपर्नेछ’ भन्ने भन्दा ‘सम्बन्धित उमेदवारको उपयुक्तताको मूल्याङ्कन गर्दा प्राप्त प्रतिक्रियालाई विचार गर्ने र त्यस्तो प्रतिक्रियाबारे आवश्यक सत्यापन गर्ने’ व्यवस्था राख्न उपयुक्त हुन्छ ।”

समितिका संयोजक चापागाईले स्वतन्त्र, निष्पक्ष, पारदर्शी र परामर्शयुक्त छनोट प्रक्रियाको अवलम्बनमा नै समग्र सङ्क्रमणकालीन न्याय प्रक्रियाको वैधता र विश्वसनीयता निर्भर हुने भएकाले छनोट प्रक्रियाको सन्दर्भमा विगतका त्रुटी तथा कमजोरीहरू दोहोरिन नदिन सिफारिस समितिले प्रारम्भदेखि सजगता अपनाउनुपर्ने बताउनुभयो ।

दुवै आयोगमा पदाधिकारी सिफारिस गर्न गठित समितिले आजसम्म उक्त मस्यौदामा राय र प्रतिक्रिया दिनका लागि समय दिएको थियो ।

लुम्बिनी प्रदेश सरकारद्वारा सय दिनको उपलब्धि सार्वजनिक

लुम्बिनी, १४ कात्तिक : लुम्बिनी प्रदेश सरकारले एक सय दिनको अवधिमा सम्पादन गरेका एक सय उपलब्धि सार्वजनिक गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार गठनको एक सय दिनको अवधिमा सम्पादन भएका एक सय एक उपलब्धि पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गर्नुभएको हो ।

नागरिकमा बढ्दै गएको निराशालाई आशामा रुपान्तरण गर्न, प्रदेश सरकारको भूमिकालाई स्थापित गर्न, सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन प्रदेश सरकार सफल भएको मुख्यमन्त्री आचार्यले बताउनुभयो । “प्रदेश सरकारको फजुल खर्च रोक्न, मितव्ययिता कायम गर्न नवीनतम सन्देश जनस्तरमा प्रवाह भएको छ”, मुख्यमन्त्री आचार्यले भन्नुभयो, “यस अवधिमा प्रदेश सरकारले नीतिगत र कानुनी सुधार, शासकीय सुधार र सुशासन, विकास व्यवस्थापन, वित्तीय प्रबन्ध, शिक्षा, स्वास्थ्यलगायतका सामाजिक क्षेत्र, कृषि र स्वरोजगारको क्षेत्र, पर्यटन, संस्कृति र पर्यावरण, सूचना प्रविधिको विकास र प्रयोग, गुनासो व्यवस्थापन, जनतासँगको संवाद लगायतलाई प्राथमिकतामा राखेर कामकारबाही गर्दै आएको छ ।”

प्रदेशको आन्तरिक आयस्रोत वृद्धि गर्न राजस्वको दायरा फराकिलो बनाउने, आर्थिक अनुशासनलाई कडाइका साथ कार्यान्वयन गर्ने, अघिल्लो वर्षको दायित्व भुक्तानीलाई अघि बढाउने आधार तयार गरिएको मुख्यमन्त्री आचार्यको भनाइ छ । उहाँले गत साउन ९ गते पद तथा गोपनियताको शपथ लिनुभएको थियो । त्यसपछि एक सय दिनको अवधिमा प्रदेश सरकारले गरेका नीतिगत एवं कानुनी सुधार, साङ्गठनिक तथा व्यवस्थापन, शासकीय तथा सुशासन, प्रदेश गौरवका आयोजनाको कार्यान्वयन, अर्थतन्त्र र राज्यको क्षेत्रमा सुधारका विषय उठान गरिएका छन् ।

यस अवधिमा प्रदेश सरकार नीतिगत एवं कानुनी सुधार गर्ने काममा अघि देखिएको छ । प्रदेशसभा तथा प्रदेश सरकारबाट नीतिगत एवं कानुनी सुधारका लागि विभिन्न कानुन, कार्यविधि एवं निर्देशिका जारी गरिएको, कानुनमा आवश्यक संशोधन, परिमार्जन गरिएको र केही अत्यावश्यक कानुन एवं कार्यविधि स्वीकृतिको अन्तिम चरणमा रहेका उल्लेख छ । विषयगत मन्त्रालय÷निकायबाट बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि आन्तरिक कार्यविधि तर्जुमा गरी कार्यान्वयन समेत गरिएको छ । प्रदेश सरकारको एक सय दिनमा प्रदेशसभा तथा प्रदेश सरकारबाट स्वीकृत कानुन, कार्यविधि, निर्देशिकामा प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक, स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१, औद्योगिक प्रवद्र्धन विधेयक, २०८१, अस्पताल विकास समिति (गठन तथा सञ्चालन) नियमावली, २०८० (संशोधन), अवकाश प्राप्त राष्ट्रसेवकको ज्ञान, सीप र अनुभवको उपयोग गर्नेसम्बन्धी कार्यविधि, व्यावसायिक तथा सीपमूलक तालिम कार्यक्रम कार्यान्वयन कार्यविधि, प्रदेश राजपत्र तथा कानुनको सम्पादन र प्रकाशन नियमावली, स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका, २०७८ परिमार्जन गरिएको छ ।

सङ्गठनलाई चुस्त, छरितो र नतिजामुखी बनाइ सेवा प्रवाहको प्रभावकारिता अभिवृद्धि गर्न प्रदेशका सबै मन्त्रालय तथा कार्यालयको संक्षिप्त रुपमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण कार्य सम्पन्न गरिएको छ । यसबाट प्रदेशको जम्मा कर्मचारी दरबन्दी सङ्ख्या चार हजार ७८ कायम भएको छ । प्रदेशको सङ्गठन संरचना, कार्यबोझ, जिम्मेवारी, दरबन्दीको आवश्यकता, सरकारको आर्थिक सबलता लगायतका विषयमा ध्यान दिई संरचना तथा दरबन्दी पुनरावलोकन गरी उद्देश्योन्मुख एवं नतिजामूलक बनाउन विस्तृत रुपमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी प्रतिवेदन गर्न प्रदेश सरकारको निर्णयबाट विज्ञसहितको समिति गठन भई कार्यादेश समेत दिइएको छ ।

पूर्व विशिष्ट पदाधिकारीको नाममा दिइदै आएको सेवा सुविधा (सवारी, इन्धन, मर्मतलगायत) फिर्ता गराउने सम्बन्धी प्रदेश सरकारको निर्णय कार्यान्वयनमा आएको छ । पूर्व विशिष्ट पदाधिकारीले चढ्दै आएका सवारीसाधन फिर्ता भइसकेका छन् । लुम्बिनी प्रदेशको सुशासन प्रवद्र्धन तथा भ्रष्टाचार न्यूनीकरणसम्बन्धी पाँच वर्षे रणनीतिक कार्ययोजना प्रदेश सरकारबाट स्वीकृत भएको छ । कार्ययोजनामा नैतिकता र सदाचारिता प्रवद्र्धनसम्बन्धी विभिन्न ११ प्रमुख विषय क्षेत्र, सो अन्तर्गतका रणनीति, रणनीति कार्यान्वयनका लागि एक सय बढी क्रियाकलाप, जिम्मेवार निकाय, नतिजा सूचक र कार्यान्वयन संयन्त्र समावेश गरिएका छन् ।

प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुका लागि आचारसंहिता जारी गरी लागू गरिएको छ । सुशासन र सदाचारिता प्रवद्र्धनका लागि अनियमितता नियन्त्रण, भ्रमण कार्यको व्यवस्थापन, सार्वजनिक, पदीय एवं पेसागत आचरणका विविध व्यवस्था आचारसंहितामा समावेश गरिएको छ । प्रदेश सरकारबाट प्रदेश मन्त्रालय÷निकायका लागि १४ बुँदे निर्देशन जारी गरी कार्यान्वयनमा गइसकेको छ ।

प्रदेश गौरवका आयोजना कार्यान्वयन

बुटवलस्थित सुविधासम्पन्न १२ तले एक हजार दुई शय्या रहेको अस्पताल भवन रु ६ अर्ब १८ करोडको लागतमा २०८५ पुससम्ममा निर्माण सम्पन्न गर्नेगरी शिलान्यास भई कार्यारम्भ गरिएको छ ।

प्रदेश राजधानी राप्ति उपत्यका (देउखुरी) मा रु तीन अर्ब नौ करोडको लागतमा प्रशासनिक केन्द्र (जसमा मुख्यमन्त्री कार्यालयसहित १० वटा मन्त्रालय) रहने गरी कार्य तीव्र रुपमा अघि बढेको छ । विसं २०८२ भित्रै निर्माण सम्पन्न हुने लक्ष्यसहित हाल ६५ प्रतिशत काम पूरा भएको छ । साथै, रु एक खर्बको लागतमा २० वर्षभित्र आधुनिक सहर निर्माण सम्पन्न गर्ने लक्ष्य अनुसार सरकारले नदी सभ्यतामा आधारित नमूना सहरका लागि साझेदार एवं लगानीकर्ता खोज्न पहल गरेको छ ।

बाँकेको खजुरामा प्राविधिक विश्वविद्यालय स्थापना गरी सूचना प्रविधि, इञ्जिनियरिङ, कृषिलगायत विषय अध्यापन गराइँदै छ । प्राविधिक, दक्षजनशक्ति उत्पादनका लागि थप पहल गर्ने प्रदेश सरकारको योजना छ । प्रदेश सरकारले यस सडक आयोजनालाई गौरवको आयोजनाको रुपमा अघि बढाउँदै विभिन्न सडकलाई बहुवर्षीय आयोजनाका रुपमा काम अघि बढाउने निर्णय गरिएको छ ।

आर्थिक मामिला तथा राजस्व सुधार

चालु आर्थिक वर्ष २०८१÷८२ देखि रु पाँच लाख वा सोभन्दा माथिका सबै आयोजना कार्यक्रम अनिवार्य रुपमा प्याकेजिङ गरी बोलपत्र प्रक्रियाबाट सार्वजनिक प्रतिस्पर्धाका आधारमा गर्नुपर्ने व्यवस्था कार्यान्वयन गरिएको छ । यसरी बचत हुने रकमलाई गत आर्थिक वर्षको दायित्व भुक्तानी गर्नेगरी व्यवस्थापन गरिएको छ ।

प्रदेशलाई आर्थिक रुपमा बलियो बनाउन राजस्वको दायरा वृद्धि गरिनुका साथै चालु खर्च कटौती गरिएको छ । गत वर्षको बजेटभन्दा यस वर्ष रु दुई अर्ब २९ करोड चालुतर्फ कम र पुँजीगततर्फ रु एक अर्ब ३२ करोड बजेट बढाइएको छ ।

सूचना तथा सञ्चार प्रविधिको अवलम्बन र विकास

प्रदेशसँग सम्बन्धित समग्र तथ्याङ्क समेटेर प्रयोगकर्तामैत्री अनलाईन डेटा पोर्टलको निर्माण गरी सञ्चालन गरिएको छ । प्रदेश मन्त्रालय÷निकायमा विद्युतीय प्रणालीको अवलम्बनलाई प्राथमिकता दिई एकीकृत कार्यालय व्यवस्थापन प्रणाली प्रयोगको सुरुआत गरिएको छ ।

प्रदेशको राजस्व सङ्कलनसम्बन्धी सफ्टवेयर प्रदेश मातहत रहने गरी विकास तथा व्यवस्थापन गर्ने तयारी भइरहेको छ । यस्तै प्रदेश सरकारको एक सय दिनमा प्रदेश सरकारले जनगुनासो व्यवस्थापनको काम गरेको छ । जनताका गुनासा सुन्ने, आलोचनालाई आत्मसात गर्दै सुधारका काम अघि बढाएको छ ।

भौतिक पूर्वाधार विकास

यस अवधिमा पुँजीगत तर्फको कूल विनियोजन भएको रु नौ अर्ब ७३ करोड १२ लाख ५१ हजारमध्ये रु ५८ करोड आठ लाख दुई हजार खर्च भएको छ । जम्मा दुई हजार ४७ आयोजनामध्ये नौ सय ७७ आयोजनाको बोलपत्र आह्वान भएको छ । जसमध्ये तीन सय २४ वटाको सम्झौता सम्पन्न भइसकेको छ भने चार सय सातको मूल्याङ्कन भइरहेको प्रदेश सरकारले जनाएको छ ।

सडक पूर्वाधारअन्तर्गत १५ किलोमिटर सडक कालोपत्र गरिएको छ । सडक पुल ६ निर्माण सम्पन्न भएका छन् । झोलु्गे पुल दुईवटा निर्माण सम्पन्न भएका छन् । प्रदेशको सडक सञ्जाल गुरुयोजना निर्माणको काम द्रुत गतिमा अगाडि बढेको छ । सो अवधिमा प्रदेशका चार ठाउँमा प्रदेशसभाका सदस्यसँग सडक सञ्जाल गुरुयोजनाबारे अन्तरक्रिया गरी जिल्लागत सडक सञ्जालको विवरण अद्यावधिक गरिएको छ ।

चालु आर्थिक वर्षमा अख्तियारी प्राप्त आयोजनामध्ये दुई सय २५ आयोजना बोलपत्र प्रक्रियामा गएका, जसमध्ये ६५ आयोजनाको सम्झौता सम्पन्न भएको, २१ आयोजना सम्झौताको प्रक्रियामा छन् । भीम अस्पताल भैरहवा, पृथ्वीचन्द्र अस्पताल नवलपरासी पश्चिम र आयुर्वेद अस्पताल, कपिलवस्तुको भवन निर्माण कार्य सम्पन्न भएका छन् । साथै, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रुपन्देहीको भवन निर्माण कार्य अन्तिम चरणमा छ ।

प्रादेशिक सरुवा रोग अस्पताल, शिवराज कपिलवस्तु र क्षयरोग उपचारकेन्द्र, बाँकेको भवन निर्माण कार्य द्रुत गतिमा भइरहेको छ । प्रदेश राजधानी परिसरमा निर्माणाधीन ६ मन्त्रालयको भवनको काम अन्तिम चरणमा छ भने अन्य दुई मन्त्रालयको काम पनि सम्पन्न हुने अवस्थामा छ । एउटा मन्त्रालयको दोस्रो तला ढलाइको अवस्थामा छ । पुस्तकालय भवनको काम सम्पन्न भएको छ । बस्ती विकास कार्यक्रम अन्तर्गत चार किलोमिटर ढल निर्माण गरिएको छ ।

चालु आर्थिक वर्षमा अख्तियारी प्राप्त आयोजनामध्ये ४२ आयोजना बोलपत्र प्रक्रियामा गइसकेका छन् । प्रदेश राजधानी परिसरको खानेपानी व्यवस्थापनका लागि निर्माणाधीन खानेपानी आयोजनाअन्तर्गत ओभरहेड ट्याङ्कीको निर्माणकार्य करिब ६० प्रतिशत सम्पन्न भएको छ । लुम्बिनी प्रदेशको विपद् व्यवस्थापनसम्बन्धी खानेपानी तथा सरसफाइ र स्वच्छता क्षेत्रको भइपरी योजना अध्यावधिक गरिएको छ । बर्दिया, रोल्पा र नवलपरासी पश्चिममा थप कार्यालय स्थापना गरी सेवा सुरु गरिएको छ ।

लुम्बिनी आउने पर्यटकलाई लुम्बिनी पर्यटन सर्किटको माध्यमबाट हिमाल, पहाड र तराई भ्रमणको व्यवस्था मिलाउने गरी तथा पर्यटन सर्किटको योजनालाई कार्यान्वयन गर्नेगरी तयारी गरिएको छ । पाल्पा दरबार सङ्ग्रहालयको संरक्षण एवं प्रवद्धर्नका लागि आवश्यक बजेटसमेत विनियोजन गरिएको, नुवाकोट डबली स्थानीय तहमा हस्तान्तरणको प्रक्रिया अघि बढाउने निर्णय भएको छ । बजारलाई स्वस्थ र प्रतिस्पर्धी बनाउने उद्देश्यका साथ पहिलो पटक बजार नियमन तथा प्रवद्र्धन परिषद्को बैठक सम्पन्न गरी कालोबजारी नियन्त्रण लगायतका विषयमा नियमित बजार अनुगमनमा जोड दिइएको छ ।

लुम्बिनी प्रदेशको पर्यटन क्षेत्रको विकास, सम्बद्र्धन र प्रवद्र्धनमा टेवा पु¥याउन पर्यटन दु्रत नियुक्त गर्ने निर्णय गरिएको छ । लुम्बिनीमा पर्यटकको सङ्ख्या वृद्धि गरी प्रदेशको आर्थिक समृद्धिका लागि बर्दियाका पर्यटकीयस्थललाई पर्यटन गन्तव्यको रुपमा लिई २०८१ लाई ‘घुम्न जाउँ बर्दिया’ अभियान घोषणा गर्नका लागि पूर्व तयारी सम्पन्न भइसकेको छ ।

स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरित कृषि तथा पशुपक्षी विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०८१ स्वीकृत गरी कार्यान्वयनका लागि पठाइएको छ । सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रम, बीउ बाली निरीक्षण, बीउ प्रमाणीकरण र बीउ नमूना परीक्षण, बाली वस्तु सघन व्यावसायिक उत्पादन क्षेत्र विकास कार्यक्रम, बफर स्टकमा रहेको अनुदानको रासायनिक मलको कोटा निर्धारण, कृत्रिम गर्भाधान सेवा कार्यक्रम, पशुपक्षीमा लाग्ने सङ्क्रामक रोग नियन्त्रणका लागि खोप सेवा कार्यक्रमलगायत महत्वपूर्ण कार्यक्रमको कार्यान्वयन प्रारम्भ गरिएको छ ।

कुष्ठरोग र हात्तीपाइलेका कारण अपाङ्गता भएका व्यक्तिको भेद्भावको अन्त्य तथा जीविकोपार्जन र आत्मनिर्भता अभिवृद्धिका लागि स्वयं हेरचाहसम्बन्धी कार्यविधि, २०८१ स्वीकृत गरी कार्यान्वयनमा लगिएको छ । बिरामीको अत्यधिक चाप हुने अस्पतालमा ई–टिकेटिङ, टोकन प्रणाली र बीमा काउन्टर सेवा थप गरिएको छ । स्वास्थ्य सेवामा देखिएका विकृति रोक्न सरकारले अनुगमनमा कडाई गरेको छ । नसर्ने रोगहरु मुटु, क्यान्सर, मिर्गाैला जस्ता स्वास्थ्य समस्या निदान र उपचारका लागि प्रदेश सरकारले दिँदै आएको प्रतिव्यक्ति रु दुई लाख प्राप्त गर्न प्रदेश राजधानीमा सिफारिस लिन आउने बाध्यताको अन्त्य गर्न जिल्लास्थित स्वास्थ्य कार्यलयमार्फत नै सिफारिस उपलब्ध हुने व्यवस्था मिलाइएको छ ।

चालु आर्थिक वर्षमा निर्माणसम्बन्धी ३३ आयोजनाको ठेक्का सम्झौता भइसकेको, ६९ आयोजनाको ठेक्का आह्वान गरिएको र बाँकी आयोजना बोलपत्र प्रक्रियामा रहेका छन् । सामाजिक विकास तर्फको बजेट कार्यान्वयनका लागि पाँच कार्यविधि स्वीकृत गरिएको र दुई कार्यविधि तर्जुमा अन्तिम चरणमा रहेको छ ।

प्रदेशका विभिन्न सामुदायिक विद्यालय तथा क्याम्पसमा आर्थिक वर्ष २०७७÷७८ देखि २०८१÷८२ सम्मको बजेट विनियोजनको मस्यौदा तयार गरिएको छ । युवाका लागि गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम परियोजनाअन्तर्गत प्रदेशस्तरीय प्रोफाइल तयार गरिएको छ । संविधान प्रदत्त प्रदेशको अधिकार अन्तर्गत प्रदेशमा शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्ने उद्देश्यका साथ निर्माण गरिएको प्रदेश प्रहरी ऐनको कार्यान्वयनका लागि आवश्यक प्रहरी समायोजन कार्यमा सङ्घीय सरकारलाई अनुरोध गर्ने गरी भएको मन्त्रीस्तरीय निर्णय बमोजिम नेपाल सरकार, गृह मन्त्रालयलाई अनुरोध गरी पत्राचार गरिएको छ ।

प्रदेशमा विपद् व्यवस्थापनमा सूचना तथा सञ्चार प्रणालीलाई व्यवस्थित गर्न सञ्चालित प्रदेश आपतकालीन केन्द्रका काममा प्रभावकारिता ल्याई विपदजन्य घटनासम्बन्धी सूचनामा आम नागरिकको पहुँचलाई सुनिश्चित गर्न टोल फ्रि तथा हटलाईन सञ्चालन गर्न मन्त्रीस्तरीय निर्णय भई कार्यान्वयनको अन्तिम चरणमा रहेको बताइएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा चाडपर्वको समयमा मात्रै चारवटा गैँडा मृत भेटिए

चितवन, १४ कात्तिकः चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा चाडपर्वको समयमा चारवटा गैँडा मृत भेटिएका छन् । कात्तिक १ गतेदेखि आजसम्म निकुञ्जका विभिन्न क्षेत्रमा ती गैँडा मृत भेटिएका निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार नवलपुरको मध्यविन्दु नगरपालिका–दाउन्नेदेवी मध्यवर्ती सामुदायिक वनमा अन्दाजी २० वर्षको पोथी गैँडा कात्तिक ५ गते मृत अवस्थामा भेटिएको जानकारी दिनुभयो । अनुसन्धानपछि उक्त गैँडा कालगतिले मरेको पाइएको उहाँले बताउनुभयो ।

कात्तिक ६ गते निकुञ्जको कलकत्ता टापुमा एउटा बच्चा र एउटा वयस्क गैँडा सडेगलेको अवस्थामा र कात्तिक १३ गते अन्दाजी २५ वर्षको पोथी गैँडा निकुञ्जको भिम्ले पोष्ट नजिक मृत अवस्थामा भेटिएको उहाँले बताउनुभयो । उक्त पोथी गैँडा दलदलमा फसेर मरेको अनुसन्धानबाट खुलेको उहाँले जानकारी दिनुभयो ।

“चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म छवटा गैँडा मरेका छन् । तीमध्ये एउटा करेन्ट लागेर र अन्य प्राकृतिक कारणले मरेका हुन् । यीसहित चालु आवको हालसम्म मात्र मृत भेटिएका गैँडाको सङ्ख्या १० पुगेको छ”, सूचना अधकारी मगरले भन्नुभयो ।

यसैबीच, निकुञ्ज र मध्यवर्ती क्षेत्रमा विभिन्न गतिविधि गर्ने १० जनालाई पक्राउ गरिएको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जले कात्तिक १ गतेदेखि हालसम्म उनीहरुलाई पक्राउ गरी कारबाही गरेको हो ।

निकुञ्जका सूचना अधिकारी मगरका अनुसार अनुमतिविना निकुञ्ज क्षेत्रभित्र प्रवेश गर्ने तीन, बालुवा चोरीनिकासी गर्ने चार र तियारी जालको प्रयोग गरी माछा मार्ने तीनजनालाई पक्राउ गरी नियमानुसार कारबाही गरिएको छ । 

तिहार विशेष मौसम बुलेटिन, झरी पर्ने देखिँदैन

काठमाडौँ, १४ कात्तिक – जल तथा मौसम विज्ञान विभागले आज तिहार लक्षित विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै भारी वर्षा एवं झरी नपर्ने बताएको छ ।सार्वजनिक बुलेटिनअनुसार यस वर्ष तिहारको चतुर्दशी (१५ गते), औँसी (१६ गते), प्रतिपदा (१७ गते) र द्वितीया (१८ गते भाइटीका) का दिनहरूमा देशको कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहने उल्लेख छ ।

बुलेटिनमा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने देखिएको विभागले जानकारी गराएको छ । बुलेटिनमा देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ । उक्त दिनहरूमा अधिकांश स्थानहरूमा अधिकतम तथा न्यूनतम तापक्रम घट्दो क्रममा रहने सम्भावना विभागले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बदली हुने बादलहरू लाग्ने देखिए पनि ठूलो झरीको सम्भावना भने नदेखिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ती प्रदेशका केही ठाउँमा हल्का बदली हुने, बादल लाग्ने, हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिन्छ, पहाडी भूभागका एक/दुई स्थानमा मध्यमसम्म पनि वर्षा हुनसक्छ कि भन्ने जस्तो छ तर सोचेभन्दा कम पानी पर्ने देखिन्छ ।”

मौसमविद् अर्यालका अनुसार ठूलो झरी नै पर्ने खालको अवस्था छैन । पानी कम पर्ने अवस्था रहेको अहिलेसम्मको मोडलले देखाएछ । उहाँले तीनदिने मौसम बुलेटिन दैनिक सार्वजनिक हुने भएकाले कुनै नयाँ अवस्था सिर्जना भएमा नियमित रुपमा सार्वजनिक हुने पनि जानकारी दिनुभयो ।विभागले मौसम पूर्वानुमान महाशाखाबाट जारी गरिने ३ दिने मौसम पूर्वानुमान बुलेटिनमा मौसमसम्बन्धी अद्यावधिक जानकारी हुने भएकाले महाशाखाको वेबसाइट हेर्नसमेत अनुरोध गरेको छ ।

सावित्रा भण्डारीका आमाबुबा भन्छन्, ‘हाम्रो आँखा छलेरै फुटबल खेल्थिन्, प्रगति गरेको देख्दा दङ्ग छौँ’

लमजुङ, १४ कात्तिक : नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खम्बा मानिएकी सावित्रा भण्डारी ‘साम्बा’ यतिबेला काठमाडौँमा साफ च्याम्पियनसिप प्रतियोगिताको फाइनलका लागि व्यस्त हुनुहुन्छ । उहाँ नेपालकी मात्र नभई दक्षिण एसियाकै चर्चित महिला फुटबल खेलाडी हुनुहुन्छ । गोल गर्ने उत्कृष्ट कला, ‘सेलिब्रेसन’ गर्ने शैली अनि ‘हेयर स्टाइल’ले ‘साम्बा’ अरु नेपाली खेलाडीभन्दा बढीजसो चर्चामा हुनुहुन्छ ।

हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आउनुभएकी भण्डारी सोमबार नेपाल र भारतबीचको सेमिफाइनलपछि झन चर्चामा हुनुहुन्छ । नेपाललाई विजयी गराउँदै फाइनलमा पु¥याएसँगै भण्डारीको चर्चा चुलिएको छ । खेलमार्फत नेपाललाई विश्वसामु चिनाउन सफल भण्डारी लमजुङको तत्कालीन सिम्पानी गाविस–७ हाल मस्र्याङ्दी गाउँपालिका–९ पामचोक गाउँमा हुर्किनुभएको हो । थमन भण्डारी र मुना भण्डारीको कोखबाट माइली छोरीका रुपमा जन्मिनुभएकी उहाँको जन्म भने २०५३ जेठ १५ गते हिमाली जिल्ला मनाङस्थित चामेमा भएको हो । 

भण्डारीका बुबा थमन र आमा मुना छोरीको प्रगति देखेर दङ्ग हुनुहुन्छ । उहाँकी आमा मुनाले भन्नुभयो, “हामीले दुःख गरेर हुर्काएकी छोरी हो, केही गर्छिन् भन्ने त लाग्थ्यो । तर फुटबल खेखेर यति प्रगति गर्छिन् भन्ने हामीले सोचेकै थिएनौँ ।” भण्डारी नौ÷दश वर्षको उमेरदेखि साथीभाइ बटुलेर फुटबल खेल्नुहुन्थ्यो । “जति बेला पनि फुटबल मात्र खेल्ने, काम गर्न लगायो भने काम गरेजस्तो गर्ने, हाम्रो आँखा छलेरै फुटबल  खेल्थिन ।”

भण्डारीका बुबा–आमाले अह्राएको काम नगरेर खाली फुटबल मात्र खेलेको देख्दा उहाँलाई दिनुहुँ गाली गर्नुहुन्थ्यो । उहाँलाई भने बुबा–आमाको गालीको कुनै पर्वाह हुन्थेन । साम्बाको एउटै मात्र उद्देश्य थियो, जसरी पनि सफल फुटबल खेलाडी बन्ने र नेपालको टोलीबाट खेल्ने । 

“काम छोडेर खेल्न मात्र जाने भनेर हामी छोरीलाई सधैँ कराउँथ्यौँ, हामीलाई त्यति बेला सबैभन्दा ठूलो घरको काम गर्नु नै हुन्थ्यो, तर ऊ काम, पढ्नभन्दा फुटबल खेल्न मात्र खोज्ने” भण्डारीकी आमा मुनाले रासससँग भन्नुभयो, “काली धेरै बल मात्र खेल्न खोज्ने भन्दै कुट्ने पनि गरेँ, हामीलाई त्यति बेला यस्तो राम्रो फुटबल खेलाडी हुन्छिन जस्तो लाग्दैनथ्यो ।” 

आमा मुना साम्बालाई निकै दुःखले हुर्काएको बताउनुहुन्छ । “सानैदेखि हामीले साँझ बिहान घाँस काट्न मात्र लगाउँथ्यौँ, अरु धेरै काम त हँुदैनथ्यो, केटीले गर्नेभन्दा केटाहरुले गर्ने काम बढी गर्न खोज्ने बानी थियो । १४÷१५ वर्षको उमेरमा उसले गोरु जोत्न थालिन, आली लगाउने, चाडपर्वमा गाउँमा अरूको खसीबोका मार हान्दै हिँड्थिन्”, आमा मुनाले गाउँमा छँदा साम्बाको दिनचर्या सुनाउनुभयो । 

सावित्रा जतिबेला पनि मोजाको बल लुकाएर विद्यालय जानुहुन्थ्यो । अरु बेला पनि बलसँगै लैजाने गर्नुहुन्थ्यो । गाउँमा  साथीभाइ बटुलेर जतिबेला पनि फुटबल खेल्ने गरेकी उहाँका बुबा थमन बताउनुहुन्छ । “प्रायःजसो केटी साथीहरुभन्दा पनि केटा साथीहरु । अझ ठूल्ठुला दाइहरुसँगै बल खेलेर हुर्किएकी  हुन्”, उहाँले भन्नुभयो । 

सावित्राका लागि सबैभन्दा महत्वपूर्ण काम फुटबल खेल्नु मात्र हुन्थ्यो । “जति बेला पनि बल खेल्ने । त्यो पनि बढीजसो केटाहरुसँग खेल्ने हुँदा गाउँलेहरुले छोरी मान्छे भएर पनि केटाहरुसँग बल खेलेर हिँड्छ भन्दै तेरो छोरी बिग्रियो भनेर कुरा काट्ने गर्दथे, तर अहिले उसैले गाउँको जिल्लाको र देशकै नाम राखेको छ, आज समय बदलियो, हिजो कुरा काट्ने उनै  गाउँलेहरु प्रशंसा गर्दै हिँडेका छन्”, बुबा थमनले भन्नुभयो । 

पहिला पनि र अहिले पनि सावित्राको काम फुटबल खेल्नु मात्रै भयो । उहाँले देशकै नाम राख्न सफल भएकामा बुबा आमा औधी खुसी हुनुहुन्छ । बुबा थमनले भन्नुभयो, “सावित्राको स्वभाव छोरा मान्छेको जस्तो छ, १० वर्षको उमेरदेखि नै छोटो छोटो कपाल बनाउने, सर्ट पाइन्ट लगाउने, कुर्ता सुरुवाल लगाउन मान्दैन थिइन् । छोरी मान्छेले भन्दा छोरा मान्छेले गर्ने काम नै गर्न बढी रुचाउँथ्यो ।”

सावित्राका बुबा थमन स्वास्थ्य कार्यालय मनाङमा कार्यालय सहयोगीको जागिरे हुनुहुन्थ्यो । मनाङमै हुँदा सावित्राको जन्म भएको हो । उहाँ चामेस्थित लोकप्रिय माध्यमिक विद्यालयमा नर्सरीमा भर्ना हुनुभयो । पछि पाँच वर्षको उमेर हुँदा आमा मुनासँगै लमजुङ फर्किनुभयो । बुबा थमन भने जागिरका सिलसिलामा मनाङमै बढीजसो बस्नुभयो । 

उहाँले मनाङमा २०४४ सालमा जागिर खानुभयो । विसं २०४६ मा उहाँ स्थायी भएर ३४ वर्ष सेवा गरेर मात्र थमन लमजुङ फर्किनुभयो ।

“त्यो बेलामा मेरो एउटा जागिरले घर व्यवहार चलाउनेदेखि चार छोरी, दुई छोरालाई पढाउन हुर्काउन निकै समस्या थियो । तर अहिले हामीलाई छोरी सावित्राले हेरेको छ । अब हामीलाई पहिलाको जस्तो दुःख छैन”, बुबा थमनले खुसी हुँदै भन्नुभयो ।  

सावित्राले  गाउँकै सरस्वती सदन आधारभूतमा नर्सरीदेखि कक्षा ७ सम्म पढ्नुभयो । गणेश माविमा कक्षा ८ देखि ९ सम्म पढ्नुभयो । “उक्त विद्यालयमा ९ कक्षा पढ्दै गर्दा खुदीस्थित अमर माविका शिक्षक श्यामबहादुर थापाले राम्रो फुटबल खेल्दोरहेछ, यस्तो खेलाडी हाम्रो विद्यालयमा पढ्नुपर्छ भन्दै आफ्नो विद्यालयमा भर्ना गरिदिनुभयो”, बुबा थमनले भन्नुभयो, “जतिबेला पनि फुटबल खेले पनि सावित्राको पढाइ पनि राम्रै  थियो ।”

सावित्रालाई आफ्नै गाउँ नजिकै रहेको खुदीस्थित मनास्लु युवा क्लबको टोलीमा सहभागी भएर फुटबल खेल्ने अवसर मिल्यो । उक्त क्लबमा आबद्ध भएर उहाँ क्व्होलासोथर गाउँपालिका–३ स्थित दक्षिण एसियाकै नमूना घलेगाउँमा आयोजना गरिएको फुटबल प्रतियोगितामा सहभागी हुनुभएको थियो । महिला फुटबल प्रतियोगितामा उहाँ सहभागी भएको मनास्लु युवा क्लब प्रथम भयो । 

बुबा थमनले भन्नुभयो, “छोरीको खेल उत्कृष्ट देखेर तत्कालीन रेफ्री शुक्र लामाले महिला फुटबल खेलाडीका रूपमा राष्ट्रिय स्तरसम्म पुग्ने अवसर दिनुभयो । काठमाडौँ जान्छु भनेर खबर गरिन् । म मनाङमै थिए । दुईचार दिन खेत रोपेर जाने सल्लाह दिएँ, म घर आएपछि काठमाडौँ पठाएँ ।”

काठमाडौँ गएपछि सावित्राले सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा जागिर खानुभयो । तर बुबा आमालाई भने छोरीले जागिर खाएको दुई वर्षपछि मात्र थाहा भयो । “दुई वर्षपछि मात्र जागिर खाएको खबर दिइन्”, बुबा थमनले सुनाउनुभयो । 

सावित्रा सशस्त्र प्रहरी बलमा सहजै भर्ती भएका उहाँका बुबा आमा खुसी हुनुभयो । “मैले भर्ती भएपछि किन यही फुटबल क्षेत्र रोजेको भनेर सोधेँ । तर सावित्राले फुटबल खेल्न पाउने र आफूले चाहेको क्षेत्रमा काम गर्न सजिलो हुने भन्दै जवाफ दिइन्”, उहाँले भन्नुभयो । सावित्राको खेल बुबा आमाले मोबाइलबाट हेर्ने गर्नुहुन्छ । साँझ सधैँ मोबाइलबाटै खेलकुद  गतिविधि हेर्ने गरेको बुबा थमनले बताउनुभयो । सावित्राले कक्षा ६ देखि खेल्दै आएको मोजाको बल बुबाआमाले घरमा सुरक्षित राखेका छन् । 

सावित्राका छिमेकी मधुराम भण्डारी उहाँले मोजाको बल बनाएर खेल्ने गरेको सम्झिनुहुन्छ । उहाँले भन्नुभयो, “सावित्राको प्रगति देखेर खुसी लागेको छ, देशको नाम राखेको छ । अझै राज्यले खेलकुद क्षेत्रको विकास गर्नुपर्छ । हामी पहिला सँगै बल खेल्थ्यौँ, हामीले उसलाई बल टिप्न लगाउँथ्यौँ, उसको चन्चले स्वभाव थियो, केही गर्लाजस्तो लाग्थ्यो, निडर स्वभाव थियो ।”  

गाउँमा केटाहरु खेलिरहँदा पनि सावित्रा एक्लै मिसिएर बल खेल्न सहभागी हुने गर्नुहुन्थ्यो । सावित्राको भाइ आषिस भण्डारीले भन्नुभयो, “दिदी बल समाएर हिँडेपछि हामीहरु पनि पछिपछि लागेर खेल्ने गर्दथ्र्यौं । कहिलेकाहीँ हामीले खेल्न मन नलागेको बेलामा दिदीले कुटेर भए पनि खेल्नज लगाउनुहुथ्यो ।” सावित्राका आफन्तजन तथा गाउँलेको धोको साफ महिला फुटबल च्याम्पियनसिपको उपाधि नेपालले जितेको हेर्ने छ ।  सावित्राले लमजुङस्थित गाउँको खेतका गहरादेखि दशरथ रङ्गशाला हुँदै युरोपको रङ्गाशालासम्मको यात्रा तय गरेकामा  गाउँका सबै खुसी छन् ।

भरतपुर महानगरमा छोरी बीमा कार्यक्रम, आठ सय ९१ जना छोरीको बीमा

चितवन, १४ कात्तिकः भरतपुर महानगरपालिकाले सञ्चालन गरेको छोरीको जीवन बीमा कार्यक्रममा आठ सय ९१ जना छोरीको बीमा भएको छ । भरतपुर महानगरपालिकाका स्थायी बासिन्दाबाट सरकारी स्वास्थ्य संस्थामा जन्मिएका छोरीको बीमा गरिएको हो ।

स्वास्थ्य तथा सामाजिक विकास महाशाखा निर्देशक शान्ताकुमारी पौडेलका अनुसार आर्थिक वर्ष २०७९/८० मा तीन सय ३८, आव २०८०/८१ मा चार सय १३ र चालु आवको हालसम्म एक सय ४० जना छोरीको बीमा भएको छ ।

महानगरपालिकाले राष्ट्रिय बीमा कम्पनीमा बीमाबापत १५ वर्षसम्ममा रु ५० हजार बुझाउने गर्दछ । सोपश्चात बीमा कम्पनीले बिमितलाई रु एक लाख प्रदान गर्ने उहाँले बताउनुभयो । पौडेलले भन्नुभयो, “अहिले हामीले बीमा भइसकेका छोरीहरूका लागि वार्षिक रु तीन हजार तीन सय २७ नवीकरण शुल्क बुझाउने गरेका छौँ ।”

समाजमा छोराछोरी बराबरी हुन् भन्ने सन्देश दिँदै छोरी गर्भमा भएमा गर्भपतनसम्म गराउने परिपाटीको अन्त्य गराउन बीमा कार्यक्रम प्रभावकारी हुने उहाँले बताउनुभयो । महानगरपालिकाले छोरी लक्षित विभिन्न कार्यक्रम विद्यालयमार्फत पनि सञ्चालन गर्दै आएको छ ।

सुडानमा जारी गृहयुद्धका कारण यौन हिंसामा आश्चर्यजनक वृद्धि

संयुक्त राष्ट्रसङ्घको अनुसन्धानले मङ्गलबार विशेष गरी अर्धसैनिक बलहरूलाई आश्चर्यजनक स्तरमा यौन हिंसा गरेको आरोप लगाउँदै सुडानमा जारी गृहयुद्धमा बलात्कार व्यापक बढेको जनाएको छ ।

सुडानका लागि संयुक्त राष्ट्र स्वतन्त्र अन्तर्राष्ट्रिय तथ्य–खोजी मिसनले प्रकाशित गरेको नयाँ प्रतिवेदनमा बालबालिकाहरू दुर्व्यवहारको सिकार भइरहेका र महिला र युवतीहरू यौन दासत्वका लागि अपहरण भइरहेको जनाएको छ ।

“सुडानमा अहिले कुनै सुरक्षित स्थान छैन”, अनुसन्धानका अध्यक्ष मोहम्मद चन्डे ओथम्यानले एक विज्ञप्तिमा बताउनुभयो ।

देशको वास्तविक शासक अब्देल फताह अल–बुरहानको नेतृत्वमा रहेको सुडानी सेना (एसएएफ) र उहाँको पूर्व सहायक मोहम्मद हमदान डाग्लोको नेतृत्वमा रहेको अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) बीच सन् २०२३ को अप्रिलदेखि युद्ध चलिरहेको छ।

सुडानको गृहयुद्धले विश्वको सबैभन्दा खराब मानवीय सङ्कट निम्त्याएको छ ।

संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले सोमबार सुडानले भोकमरी, हिंसा, रोग र अकथनीय अत्याचारको “दुःस्वप्न” सहिरहेको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीका अनुसार युद्धका कारण करिब ११.३ मिलियन मानिस आफ्नो घरबाट विस्थापित भएका छन् । दुई करोड ५० लाखभन्दा बढी मानिसहरू तीव्र भोकमरीको सामना गरिरहेका छन् ।

एसएएफ, आरएसएफ र यसका सहयोगीहरुले “ठुलो मात्रामा मानव अधिकार र अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लङ्घन गरेका छन्, जसमध्ये धेरै युद्ध अपराध र मानवता विरुद्धको अपराध हुनसक्ने मिसनको निष्कर्षले जनाएको छ ।

“सुडानमा हामीले दस्तावेज गरेको यौन हिंसाको मात्रा आश्चर्यजनक छ”, तान्जानियाका पूर्व मुख्य न्यायाधीश ओथम्यानले भन्नुभयो , “कमजोर नागरिक, विशेष गरी सबै उमेरका महिला युवतीहरूले सामना गरिरहेको अवस्था चिन्ताजनक छ र तत्काल सम्बोधनको आवश्यकता छ ।”

संयुक्त राष्ट्र मानव अधिकार परिषद्ले सन् २०२३ को अक्टोबरमा सुडानका लागि ओथम्यानको अध्यक्षतामा तीन सदस्यीय मिसन स्थापना गरेको थियो ।