`

गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, १४ कात्तिकः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)लाई गुणस्तरीय गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला भएको सहायता रकमबारे जानकारी दिन प्रधानमन्त्री कार्यालय पुगेको टेलिकमको टोलीलाई प्रधानमन्त्रीले नेपाल टेलिकम राष्ट्रको सम्पत्ति भएकाले जनतालाई सेवा दिने सवालमा कुनै कमजोरी नगर्न निर्देशन दिनुभयो । उहाँले उपकरण र प्रविधिका लागि सहयोग आवश्यक परेमा सरकारले सहयोग गर्ने आश्वासन दिँदै संस्थाको साख उच्च राख्न आग्रह गर्नुभयो ।

त्यस अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ रसञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालसमेत सहभागी हुनुहुन्थ्यो । टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता अर्यालले रु एक करोड दुई लाख ७० हजार कोषमा दाखिला गरिएको जानकारी दिनुभएको थियो ।

रसुवागढी–केरुङ राजमार्ग सञ्चालनमा आएसँगै रसुवागढी नाकाबाट आयात सुरु

रसुवा, १४ कात्तिकः रसुवागढी–केरुङ राजमार्ग सञ्चालनमा आएसँगै रसुवागढी नाकाबाट आयात सुरु भएको छ । हालैको भीषण वर्षा र बाढीका कारण अवरुद्ध राजमार्ग मर्मतसम्भारपछि खुलेसँगै आयात पनि प्रारम्भ भएको हो ।

मङ्गलबार चार कन्टेनर स्याउ, दुई कन्टेनर नस्पाति र तीन कन्टेर ओखर यो मार्गबाट आयात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ । केरुङबाट ७६ वटा मालवाहक कन्टेनर मितेरी पुलबाट नेपाल प्रवेश गरेको र नेपाली उत्पादन बोकेको तीनवटा मालवाहक र सामान आयात गर्ने एक गरी ४९ वटा नेपाली कन्टेनर चीनतर्फ गएका छन् ।

राजमार्ग बन्द भई आयात ठप्प हुँदा राजस्व असुली पनि घटेको छ । भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलले रु दुई अर्ब ५० करोड राजस्वमा ह्रास आएको जानकारी दिनुभयो ।

युक्रेन र दक्षिण कोरियाबीच सुरक्षा सहयोग सुदृढ बनाउने सहमति

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मङ्गलबार दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलसँग रुसले युक्रेनमा आक्रमण बढाउन उत्तर कोरियाली सेना तैनाथ गरेको विषयमा छलफल भएको र दुई देशबीच सुरक्षा सहयोग सुदृढ पार्ने सहमति भएको बताउनुभएको छ ।

मस्कोको आक्रमण प्रयासलाई बलियो बनाउन हजारौं उत्तर कोरियाली सैनिकलाई रुसमा स्थानान्तरण गरेकोमा युक्रेनका सहयोगीबीच चिन्ता बढ्दै जाँदा दुई देशका शीर्ष नेताबीच टेलिफोन वार्ता भएको हो ।

“हामीले युक्रेनमा रुसी आक्रमणलाई सघाउन उत्तर कोरियाली सैन्य बलको संलग्नता बारे छलफल गर्यौं। निष्कर्ष स्पष्ट छः यो युद्ध अन्तर्राष्ट्रियकरण हुँदै गइरहेको छ, दुई देशभन्दा बाहिर फैलिएको छ”, जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत बताउनुभएको छ ।

यसैबिच राष्ट्रपति युनले उत्तर कोरियाली सेनाको स्थानान्तरणलाई अभूतपूर्व र खतरनाक भनेर वर्णन गर्नुभएको छ ।जेलेन्स्की र युनले दक्षिण कोरिया र युक्रेनले दुई देशबीचको सुरक्षा सहयोगलाई सुदृढ बनाउन एक अर्काको देशमा प्रतिनिधिमण्डल पठाउने कुरा पुष्टि गर्नुभयो ।

राष्ट्रपति युनले दक्षिण कोरियाले “युक्रेनका जनताका लागि थप सहयोगका उपायहरू खोज्न सहकार्य गर्ने र शान्तिलाई समर्थन गर्न जारी राख्ने बताउनुभएको छ । उत्तर कोरियाली विदेशमन्त्री चोए सोन हुई आधिकारिक भ्रमणका लागि रुस आइपुग्नु भएपछि उहाँहरुबीच नेताहरूको टेलिफोन कलको खबर आएको हो ।

श्रीलङ्काद्वारा सन् २०३० सम्ममा सेवा क्षेत्रको राजस्व बढाउने लक्ष्य

श्रीलङ्काको निर्यात विकास बोर्ड (इडीबी) ले सन् २०३० सम्ममा सेवा क्षेत्रको राजस्व पाँच अर्ब अमेरिकी डलर पु¥याउने लक्ष्य राखेको छ ।योजनाले सफ्टवेयर इन्जिनियरहरूको सङुख्या बढाउने, प्रमुख संस्थाहरूलाई एकीकृत गरेर स्वीकृति प्रक्रियालाई सुव्यवस्थित गर्ने र डलर राजस्व बढाउन नयाँ बजारहरूमा पहुँच गर्न निर्यातकर्ताहरूले सामना गर्ने विद्यमान चुनौतीहरूलाई कम गर्ने समावेश गर्दछ ।

श्रीलङ्काको सेवा क्षेत्रको राजस्व सन् २०२३ मा करिब तीन अर्ब पुग्ने अपेक्षा गरिएको थियो । यसमा आईसीटी क्षेत्रको योगदान करिब एक अर्ब रहेको छ । देशले हाल दुई हजार ९०० उत्पादनहरू निर्यात गरेको छ । इडीबी ले सन् २०३० सम्म यसलाई पाँच हजार पु¥याउने लक्ष्य राखेको छ ।

नदीजन्य फोहर बढ्दा बञ्चरेडाँडामा बढ्यो फोहर,दैनिक तीन सय गाडी उपयोग हुँदै

काठमाडौँ, १४ कात्तिकः नदीजन्य फोहर बढ्दा बञ्चरेडाँडामा व्यवस्थापन गरिने फोहरको मात्रा बढेको छ । काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागका अनुसार काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा बाढीले ल्याएको फोहर पनि विसर्जन गर्नुपरेको हो । दैनिक लगिने फोहर निकै बढेको छ ।

यसअघि उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जनमा दुई सय गाडी प्रयोग हुँदै आएकामा असोज १२ को वर्षापछि दैनिक तीन सय गाडी उपयोग हुँदै आएका छन् । हाल दैनिक रूपमा एक हजार छ सय मेट्रिक टन फोहर व्यवस्थापन भइरहेको छ ।

साविकको सिसडोलमा व्यवस्थापन हुँदै आएको फोहर उक्त स्थान भरिएपछि विगत दुई वर्षदेखि अन्तिम फोहर व्यवस्थापनस्थलका रुपमा बञ्चरेडाँडालाई गरिँदै आएको छ । यसरी उपत्यकामा उत्पादन भएको सबै फोहर व्यवस्थापन गर्दा उक्त स्थानको आयु घट्ने भन्दै कामपाले स्रोतमा नै फोहर व्यवस्थापन गर्नुपर्नेमा जोड दिएको छ ।

“पुनः प्रयोग गर्न सकिने फोहर पनि बञ्चरेडाँडामै पुगेको छ । कुहिएर मल हुने कच्चा पदार्थ पनि त्यही लगिन्छ । उत्पादन भएकै ठाउँमा बेच्न मिल्ने सामान पनि फोहर बनाएर बञ्चरेडाँडामा नै लगिएको छ । यसलाई रोक्न सकेमात्र पनि बञ्चरेडाँडाको आयु बढाउन सकिन्छ”, वातावरण प्रमुख सरिता राई बताउनुहुन्छ ।

तेह्रथुमको लालीगुराँसका महिला जैविक सागसब्जी उत्पादनमा रमाउँदै

तेह्रथुम, १३ कात्तिकः जिल्लाको लालीगुराँस नगरपालिका–१ की किसान दीपा पौडेलको बारी र बगैँचामा मौसमी तथा बेमौसमी सागसब्जी बाह्रै महिना हेर्न पाइन्छ ।

आफूले लगाउने सागसब्जीमा उहाँ रासायनिक मल र विषादीको साटो कम्पोष्ट मल र जैविक विषादी प्रयोग गर्नुहुन्छ । दश रोपनी जग्गामा जैविक सागसब्जी उमार्दै आउनुभएकी उहाँले सागसब्जी बिक्रीबाट वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्दै आएको बताउनुभयो । स्थानीय तीनजुरे महिला किसान समूहकी सचिव दीपा त्यस क्षेत्रकी जैविक सागसब्जी उत्पादक किसान हुनुहुन्छ ।

लालीगुराँस नगरपालिका–७ ओखरबोटे महिला किसान समूहकी अध्यक्ष मेनुका पोख्रेलले पनि उहाँजस्तै सागसब्जीमा रासायनिक मल र विषादीको प्रयोग गर्नुहुन्न । यसैगरी लालीगुराँस नगरपालिका–३ की किसान गीता राईले पनि विगत पाँच वर्षदेखि रासायनिक मलबिना सागसब्जी फलाउँदै आउनुभएको छ ।

रासायनिक मल प्रयोग नगर्दा उत्पादन केही कम भए पनि उपभोक्ताका लागि स्वस्थकर हुने भएकाले त्यसतर्फ बढी ध्यान दिएको कृषक गीता बताउनुहुन्छ । दीपा र गीतामात्र होइन लालीगुराँस नगरपालिकाको वडा नम्बर १, ३ र ७ प्रयोग गरी सागसब्जी उत्पादन आएका छन् । रासायनिक मल प्रयोगकर्ता उहाँहरूलाई पाँच वर्षअघि तेह्रथुममा क्रियाशील गैरसरकारी संस्था दलित सचेतना समाज (ड्यास)ले
त्यसको प्रयोग बिना पनि खेती गर्न सकिने यथेष्ट जानकारीसँगै तालिम दिएपछि उहाँहरू गाईभैँसीको गोबर र पत्करबाट बनेको मल प्रयोग गरी सागसब्जी उत्पादनतर्फ आकर्षित हुनुभएको हो ।

ड्यासले सञ्चालन गरेको तालिममा सहभागी भएपछि रासायनिक मलको प्रयोगबाट उत्पादित सागसब्जीले मानव स्वास्थ्यमा पार्ने असरबारे थाहा पाएको लालीगुराँस नगरपालिका–३ चित्रेकी किसान सुशीला राईले बताउनुभयो । तालिममार्फत रासायनिक मलको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने, माटो बिग्रिने र सागसब्जीमा पनि रोग निम्तिने जानकारी पाएपछि जैविक खेतीमा लागेको उहाँले बताउनुभयो ।

“पहिले सागसब्जीमा विषादी छर्किँदा दुई–तीन दिन बिरामी नै परिन्थ्यो, हातखुट्टा झम्झमाउने, दुख्ने हुन्थ्यो”, लालीगुराँस नगरपालिका–१ की गीता पौडेलले भन्नुभयो, “त्यो विषादीले असर गरेको रहेछ ।” ड्यासको तालिम पाएपछि पाँच वर्षदेखि रासायनिक मल र विषादीको प्रयोग बन्द गरेको उहाँले बताउनुभयो । पाँच वर्षदेखि कम्पोष्ट मलमात्र प्रयोग गर्न थालेपछि बल्ल माटोमा सुधार आउन थालेको उहाँले बताउनुभयो ।

तालिममा कम्पोष्ट मल बनाउने तरिका सिक्यौँ र अहिले छ–छ महिनामा समूहमा मिलेर वाष्पीकरण विधिबाट मल बनाउँछौँ, समूहका सबै सदस्यले एक–एकथरि मल बनाउने झारपात ल्याएर सामूहिक रूपमा मल बनाएर आपसमा बाड्छौँ किसान गीताले जानकारी दिनुभयो । यसबाट हाम्रो धेरै बचत भएको छ र सीप पनि सिक्न पाएका छौँ उहाँहरू भन्नुहुन्छ । जैविक मल प्रयोग भएको सागसब्जी छिट्टै नकुहिने र स्वाद पनि बेजोड हुने स्थानीय उपभोक्ता भूमि राईले बताउनुभयो ।

चिनी मलको अत्यधिक प्रयोग हुने सो क्षेत्रमा त्यसको प्रयोग शून्य बनाउन निकै गाह्रो भएको अनुभव ओखरबोटे महिला किसान समुहकी अध्यक्ष मेनुका पोख्रेलले सुनाउनुभयो । चिनीमल नहालेको सुरुको वर्ष अन्य वर्षको तुलनामा चार भागको एक भाग पनि सागसब्जी उत्पादन नभएको उहाँले बताउनुभयो । नगरपालिकाको भकारो र गोठ सुधार कार्यक्रमले कम्पोष्ट मल बनाउने तरिका सिकाएको उहाँको बताउनुभयो । मललाई छाना लगाएर राखिने गाईवस्तुको पिसाब ट्याङ्कीमा जम्मा गरी सागसब्जीमा लगाउँदा चिनीमलको जस्तै काम गर्छ भन्ने थाहा पाएपछि आफूहरूले त्यसै गरेको किसानहरूले सुनाउनुभयो ।

आर्थिक वर्ष २०७५÷७६ देखि ड्यासले सो क्षेत्रमा जैविक खेतीसम्बन्धी जनचेतनामूलक तालिम सञ्चालन गरेको थियो । तालिम लिएपछि २०७६ सालमै ड्यासको नै समन्वयमा तीनवटा वडामा ३७ वटा महिला किसान समूह गठन गरिएको ड्यासका कार्यक्रमका संयोजक कुमार विशङ्खेले बताउनुभयो । “अधिकांश घरका पुरुष रोजगारीका सिलसिलामा विदेशमा छन्, घरमा भएका महिला नै कृषि उत्पादन कार्यमा संलग्न छन्, त्यसैले हामीले महिला किसान समूह गठन गरी चरणबद्ध रूपमा जैविक उत्पादनका लागि कार्यक्रम गरेका छौँ”, उहाँले भन्नुभयो ।

लालीगुराँस नगरपालिकाको वडा नम्बर १, ३ र ७ मा नगरपालिकासँगको सहकार्यमा ड्यासले भकारो सुधार, गोठ सुधार कार्यक्रम, मल बनाउने तालिम सञ्चालन गरेको थियो । अहिले पनि ड्यासले रासायनिक मलको प्रयोगलाई कम गर्ने र जैविक मलको मात्रालाई बढाउँदै लाने विषयमा सचेतनामूलक कार्यक्रम गरिरहेको पाइएको छ ।

त्यसैगरी नगरपालिकासँगको सहकार्यमा जैविक खेतीका लागि किसानकै खेतबारीमा गएर ब्याड नर्सरीदेखि उत्पादनसम्म गरिने जैविक प्रक्रिया (किसान पाठशाला) पनि सञ्चालन गरिएको थियो । गाईवस्तुको भकारो सुधार, भकारोमा छाना लगाउने अभियान, विभिन्न विद्यालयका आठ सय बढी बालबालिकाका लागि जैविकखेतीको विषयमा कक्षा सञ्चालन, जैविकखेतीको महत्वका विषयमा वक्तृत्वकला प्रतियोगिताजस्ता कार्यक्रम ड्यासले सञ्चालन गरेको थियो ।

जैविकखेती गर्न चाहने विपन्न लक्षित महिलाहरूलाई अनुदान, जैविक सागसब्जी बिक्री केन्द्र, जैविक सागसब्जी सङ्कलन केन्द्र स्थापना, लालीगुराँस जैविक सहकारी संस्था स्थापना गरी त्यसमार्फत जैविक सागसब्जी मेलाजस्ता कार्यक्रम सञ्चालन गरिएको ड्यासले जनाएको छ । अधिक मात्रामा चिनीमल प्रयोग हुने सो क्षेत्र हाल जैविक सागसब्जीको केन्द्रका रूपमा विकास भएको छ ।

शताब्दी पुरानो झोलुङ्गे पुल मर्मतसम्भार

म्याग्दी- विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधन प्रयोग गरेर मङ्गलाघाटमा बनाइएको झोलुङ्गे पुल मर्मतसम्भार भएको छ । मर्मतसम्भार गरेपछि पुल नयाँजस्तै देखिएको छ ।

प्रादेशिक झोलुङ्गे पुल कार्यक्रमको सहयोग, मिलन म्याग्दीको सामाजिक परिचालनमा बेनी नगरपालिकाले पुल ममत गरेको हो । एक सय ३७ वर्षअघि बागलुङको गलकोटका लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दीको रुमगाउँका स्थानीयको सीप प्रयोग गरी उक्त पुल बनाइएको स्थानीय बुढापाकाको कथन छ ।

पूर्वअर्थमन्त्री वर्षमान पुनको नेतृत्वमा रोल्पाको लिवाङदेखि जलजलासम्मको पदयात्रा

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तको नेतृत्वमा रोल्पाको लिवाङदेखि प्रसिद्ध पर्यटकीय स्थल जलजलासम्मको पदयात्रा सुरु गरिएको छ ।

उत्कृष्ट पर्यटकीय गन्तव्य जलजला क्षेत्रको प्रवद्र्धनका लागि ‘घुम्न जाऔँ जलजला’ भन्ने नारासहित आवासीय पदयात्रा सुरु गरिएको हो । सोमबार सदरमुकाम लिवाङबाट हिँडेको करिब ५० जनाको टोली सोही  ति ओखरेनीमा बास बसेर मङ्गलबार अपराह्न जलजलाको टाकुरमा पुगेको छ । 

टोलीमा नेता पुनसहित पूर्वसभामुख ओनसरी घर्ती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा, लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्र पुन, रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र घर्ती थापासहित १० वटा पालिकाका प्रमुख र उपप्रमुख, जिल्ला समन्वय समिति रोल्पाकी प्रमुख सीता आचार्य, उपप्रमुख कर्मलाल परियार, प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझी प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भरत लामा, उद्योग वाणिज्य सङ्घ रोल्पाका अध्यक्ष केशव आचार्यसहित व्यवसायी, सञ्चारकर्मी, साहित्यकार, कलाकार सहभागी छन् । 

पदयात्राको व्यवस्थापन रोल्पा नगरपालिकाका साथै थवाङ र सुनछहरी गाउँपालिकाले गर्ने वर्षमान पुनको सचिवालयले जनाएको छ । 

पूर्वअर्थमन्त्री पुनले जलजलालाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने तथा स्थानीय उत्पादन वृद्धि, बजार विस्तार र प्रचार–प्रसार गर्ने उद्देश्यले पदयात्रा आयोजना गरिएको बताउनुभयो  । 
आफूहरुको पहलमा सरकारले गत वर्ष जलजलालाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा समावेश गरेको भन्दै उहाँले स्वदेशी र विदेशी पर्यटकीय गन्तव्यका रुपमा जलजलालाई स्थापित गर्न आवश्यक पूर्वाधार निर्माणका कामहरु अघि बढिरहेको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, “सांस्कृतिक सम्पदाको सम्बद्र्धन, स्थानीय उत्पादन वृद्धि, बजार व्यवस्थापन र पर्यटकीय क्षेत्रका रुपमा जलजलाको विकासका लागि पदयात्राले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरेको छु ।” 
आज साँझ जलजलामा विशेष सांस्कृतिक साँझ आयोजना गरिएको छ । कार्यक्रममा गीत र नृत्य प्रस्तुतिका साथै कविता, गजल र हाइकु वाचन गरिएको छ । 

पदयात्राको पहिलो दिन सोमबार साँझ ओखरेनीमा पनि त्यस्तै कार्यक्रम भएको थियो । पदयात्रा बुधबार थबाङ पुगेर समापन हुने जनाइएको छ । 

जलजला पहाड समुन्द्र सतहबाट करिब तीन हजार छ सय मिटरको उचाइमा अवस्थित छ  । जलजला थवाङ नगरपालिका, सुनछहरी गाउँपालिका र रोल्पा नगरपालिकाको सङ्गमस्थलका रुपमा रहेको छ । 
जलजला पुग्नेलाई अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरी, नीलगिरि र पुथाजस्ता हिमालको मनोरम दृष्यले लोभ्याउने गरेको छ । यहाँबाट जिल्लाको अधिकांश भू–भाग देख्न सकिन्छ । 

जलजला लोपोन्मुख रेड पान्डाको बासस्थानका रुपमा पनि परिचित छ । जलजलामा चितुवा, भालु, बँदेल, हरिण, घोरल, थार र रतुवाजस्ता जङ्गली जनावरका साथै डाँफे, मुनाल, कालिज, प्यूरासहित सयौं प्रकारका चराचुरुङ्गी पाइन्छ । यस्तै १४ प्रजातिका लालीगुराँस फुलेर हिउँदमा जलजला दुलही झैं सिँगारिएको हुन्छ । लोपोन्मुख सेतो लालीगुराँस पनि यहाँ पाइन्छ ।

जलजला पाँचऔले, जटामसी, चिराइतो, सुनगाभा, सुगन्धवाल, दालचिनी, सुनाखरी, पदमचाल, बोजो, कचुर, पुदिना, टिमुरजस्ता बहुमूल्य जडीबुटीको प्राकृतिक भण्डार पनि हो । 

कुल ४७ हेक्टर क्षेत्रफलमा फैलिएको जलजलामा घाँसे मैदान पनि छ । जलजलालाई यसअघि  ‘गामा’ भनिन्थ्यो ।  मगर खाम भाषामा गामाको अर्थ ‘अग्लो लेकको बुकी पाटन’ भन्ने हुन्छ । आजभोलि ‘गोङ’ पनि भन्ने गरिएको छ । 

जलजलामा  भामा गुफा र बराह मन्दिर आकर्षकका रुपमा छ । यहाँ बराहका तीनवटा मन्दिर छन् । ती मन्दिरलाई कैलु बराह, बजु बराह र सहदे बराहका नामले चिन्ने गरिएको छ । जसलाई बराहको उत्पत्तीस्थलसमेत मानिन्छ । मगर खामभाषाबाट जलजलालाई गोङ भनिन्छ ।

सल्यान, दाङ, प्यूठान, र सुर्खेत छिमेकी जिल्लाबाट मानिसहरु धार्मिक उद्देश्यले त्यहाँ पुग्ने गर्दछन् । वैशाख पूर्णिमा, जेठ पूर्णिमा र श्रावण पूर्णिमा गरी वर्षमा तीनपटक बराहमा मेला लाग्ने गर्दछ । मनोकाङ्क्षा पूरा हुने, परिवार शान्ति र सन्तान प्राप्ति हुने विश्वासमा ती मेलामा भेडा र कुखुराको बली दिने चलन छ ।

मानवसेवा आश्रममा रहेका २७ भारतीय नागरिकलाई पारिवारिक पुनर्मिलनका लागि पठाइयो

वीरगञ्ज(पर्सा), १३ कात्तिकः मानवसेवा आश्रममा आश्रय लिदै आइरहेका २७ भारतीय नागरिकलाई पारिवारिक पुनर्मिलनका लागि भारत पठाइएको छ ।
मानवसेवा आश्रम वीरगञ्जमा एक कार्यक्रम गरी २७ जना भारतीय नागरिकलाई रेलमार्फत आआफ्नो घरमा पुनःमिलनको लागि पठाइएको हो । भारतीय महावाणिज्य दूतावास वीरगञ्जका एएसओ मनोज मिश्र, मानवसेवा आश्रमका सचिव समुन बर्ताैला, मानव सेवा आश्रम वीरगञ्जका अभिभावक परिवारका संयोजक हरि गौतम, सहसंयोजक प्रकाश थारुलगायतले बिदाइ गर्नुभएको थियो ।

मानवसेवा आश्रमका सचिव बर्तौलाले विभिन्न सेवाकेन्द्रमा रहेका २७ जना भारतीय नागरिकलाई पारिवारिक पुनःमिलनका लागि पठाइएको जानकारी दिनुभयो । “भारतका आधा दर्जनभन्दा धेरै राज्य तथा प्रदेशका भारतीय नागरिकलाई स्वदेश फर्काउन लागेका हौँ”, उहाँले भन्नुभयो, “पारिवारिक पुनर्मिलन गराउन लागेकामध्ये २१ जना पुरुष र छ जना महिला छन् ।”

पारिवारिक पुनःमिलनका लागि पठाइएका भारतीय नागरिकको स्थायी ठेगाना भने विहार, उत्तरप्रदेश, आन्द्रप्रदेश, उडिसा, महाराष्ट्र, तेलगंना रहेको छ । 

भारतीय महावाणिज्य दूतावास वीरगञ्जका एएसओ मिश्रले मानवसेवा आश्रमले भारतीय नागरिकलाई आआफ्नो घरमा पुनर्मिलन गराउन लागेको कार्य निकै सराहनीय रहेको बताउनुभयो । “भारतीय नागरिकको उद्धार गरेर पारिवारिक मिलन गराउन लागेकामा मानवसेवा आश्रमलाई धन्यवाद व्यक्त गर्न चाहन्छु”, उहाँले भन्नुभयो । 

मानव सेवा आश्रम वीरगञ्जका अभिभावक परिवारका संयोजक गौतमले भारतीय दूतावासबाट सडकमा आश्रित भारतीय नागरिकको लागि आवश्यक सहयोग र साथको आवश्यकता रहेको बताउनुभयो । “सडकमा आश्रित नेपाली नागरिकको लागि त हामीले काम गरिरहेका छौँ, भारतीय नागरिकका लागि दूतावासबाट आवश्यक व्यवस्थापनको काम भइदिए सहज हुने थियो”, उहाँको भनाइ थियो ।  

मानव सेवा आश्रमले हालसम्म एक हजारभन्दा धेरै भारतीय नागरिकलाई पारिवारिक पुनर्मिलन गराइसकेको त्यस अवसरमा जानकारी दिइएको थियो ।

पाल्न छोडे किसानले हल गोरु, आधुनिक हलोले जोत्छन् खेतबारी

ढोरपाटन (बागलुङ), १४ कात्तिकः एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा पुग्दा खेतबारी जोत्न हल गोरु नै प्रयोग गरिन्थ्यो । खेतबारी जोत्ने हली पनि प्रशस्त हुन्थे । तर हिजोआज जनशक्ति अभावमा खेतबारी बाँझोमा परिणत हुँदै गएका छन् । सीमित खेतबारीमा मात्रै किसानले खेती गर्ने छन् ।

पहिले हल गोरुको काम अहिले मिनिटेलर (आधुनिक हलो)बाटै हुन थालेको छ । बजार क्षेत्रमा एक दशक अगाडिदेखि नै आधुनिकको प्रयोग गरेर खेतबारी खनजोत गरिए गाउँमा त्यो सुविधा थिएन । 

अहिले यो सुविधा गाउँगाउँ र टोलटोलसम्मै पुगेपछि हल गोरु पाल्न छोडिएको हो । अहिले ग्रामीण क्षेत्रका किसानले अगाल्दै आएको परम्परागत खेती प्रणाली फेरिँदै गएपछि गाउँमा अचेल हल गोरु पाउन मुस्किल हुन्छ । 

जिल्लाको ढोरपाटन, गलकोट, जैमिनी नगरपालिका, निसीखोला, तमानखोला, ताराखोला गाउँपालिकाका एउटै परिवारले दस हलसम्म गोरु पाल्ने गरेको पाइन्थ्यो तर अहिले त्यो अवस्था छैन । 

अहिले बारी खनजोत र बाली लगाउने तथा भित्र्याउने कामका लागि अर्मपर्म गर्ने चलन पनि हटेको छ । पछिल्लो समय खनजोतका लागि मिनिटेलर हलो बढी प्रयोगमा आएपछि गोरुले दुई दिनमा सक्ने काम मिनिटेलरले दुई घण्टामै सकिदिन्छ । त्यसले गर्दा किसानको आधुनिक हलोप्रति आकर्षण बढेको गलकोट नगरपालिका–५ का कृष्णबहादुर खत्रीले बताउनुभयो । मिनिटेलर हलोले छिटोछिटो जोत्दा समयको बचत हुने र खर्च पनि कम हुने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “पाँच÷सात वर्ष पहिला गाउँमा धेरै मान्छे थिए, वरपरका छरछिमेकी भएर अर्मपर्म गथ्र्यौ, गोरु नपाल्ने कोही हुन्थेन, अहिले त युवा जति विदेश गए, हामी बुढाबुढी भयौँ, गोरु पाल्न सक्ने अवस्था छैन, बजारमा गएर हलो किनेर ल्यायो, गोरुले दिन भरि लगाउने काम एकै छिनमा सकिन्छ ।”

निसीखोला गाउँपालिका–४ का मनप्रसाद पौडेलले गोरुले खेतबारी जोत्दा समय लाग्ने भए उत्पादन राम्रो हुने तर मिनिटेलरले छिटो भए उत्पादनमा ह्रास आउने बताउनुभयो । मिनिटेलरले बारी गहिरो गरी नजोत्दा मकै, धान धल्ने गरेको सुनाउँदै पहाडी क्षेत्रमा हल गोरु नै ठीक हुने उहाँको अनुभव छ । 

“अहिले गाउँमा गोरु पाल्ने किसान निकै कम छन्, पहिले प्रत्येकको घरमा एक हल गोरु हुन्थे, अहिले मिनिटेलर हलो छ, गोरुले जोत्दा खेतीपाती सप्रिन्थ्यो, उत्पादन राम्रो हुन्थ्यो, तर अहिले धान, गहुँ, मकै कम उब्जनी हुन्छ”, उहाँले भन्नुभयो, “सुरुसुरुमा गाउँमा मिनिटेलर आउँदा प्रयोग गरियो, तर उत्पादन घटेपछि अहिले त ओल्लोपल्लो गाउँमा गएर भए गोरु खोजेरै जोत्ने गरेको छु ।”

बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएपछि बागलुङ नगरपालिकाले हल गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्न थालेको छ । अघिल्लो वर्षदेखि नै किसानले रु पाँच हजारका दिन थालेको हो । 

गत वर्ष नगरपालिकाले ८१ किसानलाई प्रोत्साहन रकम प्रदान गरेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । हाते ट्रयाक्टर तथा प्रविधिको बढ्दो प्रयोगका कारण पुस्तौँदेखि चल्दै आएको गोरुले जोत्ने परम्परा पनि हराउँदै गएकाले त्यसको संरक्षणका लागि हल गोरु पाल्ने किसानलाई प्रोत्साहन गरिएको उहाँको भनाइ छ । 

नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “आधुनिकीकरणको नाममा हाम्रो परम्परागत खेती प्रणालीलाई अन्त्य गर्नुहुँदैन, आवश्यकताको आधारमा हेरेर आधुनिकीकरण गर्ने हो, व्यावसायिक खेती गर्न परम्परागत खेती गर्नका लागि हल गोरु नै राम्रो हुन्छ, नगरपालिकाले प्रोत्साहन गर्न थालेपछि किसान पनि खुसी हुनु भएको छ ।”

देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौँ, १४ कात्तिकःहाल देशभर पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भेगमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको बताएको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मौसम सफा रहने छ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सङ्खुवासभामा निर्माणाधीन तल्लो अरुण जलविद्युत् आयोजनाको मुआब्जा वितरण सुरु

खाँदबारी (सङ्खुवासभा), १४ कात्तिकः सङ्खुवासभामा निर्माणाधीन छ सय ६९ मेगावाट क्षमताको अरुण तल्लो जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जा रकम वितरण सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले तल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि जग्गा अधिग्रहणमा परेकालाई मुआब्जा दिनका लागि प्रक्रिया अघि बढाएको हो । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले रु पाँच लाखदेखि ३४ लाखसम्म जग्गाको मूल्याङ्कन गरी वितरण सुरु गरिएको जानकारी दिनुभयो ।

तल्लो अरुण जलविद्युत् आयोजना बन्ने क्रममा तीन सय ३८ घरधुरी प्रत्यक्ष प्रभावित हुनेछन् । जसमा १६ घर पूर्णरुपमा विस्थापित हुनेछन् । आयोजना निर्माणका लागि करिब ६५ दशमलव ९६ हेक्टर निजी जमिन अधिग्रहण गरिनेछ । प्रभावित स्थानीयलाई करिब रु एक अर्ब ४० करोड मुआब्जा वितरण गर्ने सतलज कम्पनीले जनाएको छ ।

मकालु गाउँपालिकामा निर्माण भइरहेको नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत्को उत्पादनपछि खेर गएको पानीबाट खाँदबारी नगरपालिका–२ चेवाबेसीमा करिब १७ दशमलव चार किलोमिटर सुरुङमार्गबाट पानी ल्याएर तल्लो अरुण निर्माण गर्न लागिएको एसजेभीएन लोअर अरुण पावर डेभलपमेन्ट कम्पनीका उपमहाप्रबन्धक आरसी सुलेरियाले बताउनुभयो ।

सतलजले अहिले नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । अरुण तेस्रोको निर्माण ढाँचा मै तल्लो अरुण निर्माण गर्न सतलज तयार भएको हो ।

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १४ कात्तिक: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २५ र बिक्रीदर एक सय ७५ रुपैयाँ ०३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४३ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ०९ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७५ पैसा र बिक्रीदर आठ रुपैयाँ ७९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६८ पैसा र बिक्रीदर नौ रुपैयाँ ७२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२ रुपैयाँ ६४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९ रुपैयाँ ३५ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २८ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ६० पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ५६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५९ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । 

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

कार्तिक कृष्ण त्रयोदशीः काग तिहार,कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदै

काठमाडौँ, १४ कात्तिक : कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो–मीठो खान दिई खुसी पार्ने चलन छ ।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।

‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रहिआएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ । यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ ।

 दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम पनि आज बुधबार साँझदेखि नै सुरु गरिँदैछ । यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ । यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता रहेको पनि उहाँले बताउनुभयो ।  

यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक मङ्गलबार बेलुकीदेखि नै सुरु भएको हो । यसैगरी लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि मङ्गलबार नै मनाइएको छ । यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ । यस दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशी नामले पनि चिनिन्छ ।

नेपालद्वारा स्कटल्याण्ड पाँच विकेटले पराजित

काठमाडौँ, १४ कात्तिक: नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत आज सम्पन्न एकदिवसीय खेलमा स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्याण्ड ४१ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटियो ।

स्कटल्याण्डलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए । साथै करन केसी, सोमपाल कामी, गुल्सन झाले २/२ विकेट तथा आरिफ शेखले एक विकेट लिए । स्कटल्याण्डका लगि मार्क वाटले ३४ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय रन बनाउन सकेनन् ।

स्कटल्याण्डले प्रस्तुत गरेको उक्त लक्ष्य नेपालले २९ दशमलव पाँच ओभरमा पूरा गर्यो । नेपालको जितमा आरिफ शेखले ५१ रनको योगदान दिए । साथै कुशल भुर्तेल र गुल्शन झाले २५/२५ रन बनाए भने आसिफ शेखले २१ रन बनाए ।

स्कटल्याण्डका लागि ब्राण्डम म्याकुलमले २ विकेट लिए । साथै ब्राड कुरी, मार्क वाट र ज्याक जार्विसले समान १/१ विकेट लिए ।लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । त्यस्तै स्कटल्याण्डले आफ्नो पहिलो खेलमै अमेरिकालाई १० विकेटले पराजित गरेको थियो ।

मुलुक निर्माणका लागि सुशासनमा जोड दिन आवश्यकः अध्यक्ष यादव

इनरुवा (सुनसरी), १३ कात्तिकः जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुक निर्माणका लागि सुशासनमा जोड दिन आवश्यक रहेको बताउनुभएको छ ।

यहाँस्थित देवानगञ्ज गाउँपालिकामा जसपा नेपालले आयोजना गरेका दिपावली, छठ, सामा-चकेवा पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले विकास र समृद्धिका लागि हरेक क्षेत्रमा सुशासन र पारदर्शिता आवश्यक रहेको बताउनुयो ।

अध्यक्ष यादवले आफ्नो पार्टीले सङ्घीयता र समावेशीसहितको उपलब्धिको रक्षा, मधेशी, मुस्लिम, आदिवासी, जनजाति, पिछडिएको क्षेत्र र समुदायका आवाज उठाएको धारणा राख्नुभयो ।

कार्यक्रममा जसपा सुनसरी अध्यक्ष भगिरथ खत्वे, देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहता, पूर्वशिक्षा राज्यमन्त्री प्रमिला यादवसहितको सहभागिता रहेको थियो ।

रोल्पा कलाकार समाजले गर्यो वालयोगेश्वर महाराजलाई सम्मान

काठमाडौँ । यज्ञ शिरोमणी राष्ट्र गुरु वालयोगेश्वर विजय श्री कृष्ण मूर्ती जी महाराजलाई रोल्पा कलाकार समाजले एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ । नेपालकै चर्चित कार्यक्रम इन्द्रेणीमा समाजले वालयोगेश्वर महाराजलाई सम्मान गरेको हो ।

विगत १७ बर्ष देखि निरन्तर रुपमा सामाजिक,सास्कृतीक,सांगितीक,धार्मिक तथा आध्यात्मिक क्षेत्रमा पुराएको अतुलनिय योगदानको उच्च मूल्याङकन गर्दै समाजले वालयोगेश्वर महारजलाई सम्मान गरेको रोल्पा कलाकार समाजकी अध्यक्ष राधिका हमालले बताएकी छन् ।

वालयोगेश्वर महाराजलाई पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनले सम्मान गरेका हुन् । त्यस्तै मानव सेवा फाउण्डेसनले पनि पूर्व उपराष्ट्रपति पुन सहित रोल्पा कलाकार समाजलाई सम्मान गरेको छ । नेपालकै इतिहासमा हालसम्मकै ठूलो ऐतिहासिक पशुपति कोटिहोम महायज्ञको आयोजना गरेर वालयोगेश्वर महाराजले सनातन धर्मको क्षेत्रलाई ठूलो योगदान पुराएका थिए । त्यस्तै उनै वालयोगेश्वर महाराजको संकल्पमा ललितपुरको गोदावरी नगरपालिकामा मामाघर आश्रम र भक्तपुरको ताथलीमा छोरीको घर आश्रम पनि सञ्चालनमा रहेका छन् ।

अनुसन्धान गर्न पाइँदैन भनेर जुलुस निकाल्ने पार्टीले सुशासनको कुरा गर्न मिल्दैनः महासचिव पोखरेल

भरतपुर, १३ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले सहकारी प्रकरणमा परेका नेतालाई छानबिन गर्न पाइँदैन भनेर जुलुस निकाल्ने पार्टीले सुशासनको कुरा गर्न नसुहाउने बताउनुभएको छ । विभिन्न चाडपर्वका अवसरमा एमाले चितवनले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले एमालेले पार्टीका कुनै पनि नेतालाई अनुसन्धान नगर भनेर आन्दोलन र जुलुस ननिकालेको तर नयाँ भनिएकाले यस्तो गरिररहेकामा विरोध जनाउनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, “सहकारी प्रकरणमा एमाले नेतृत्वको सरकारले कसैलाई अन्याय ग¥यो कि भन्ने लाग्नसक्छ तर व्यक्ति केन्द्रीत छानबिन नगरौँ भन्ने पार्टीले त्यस्तो गर्न सक्दैन । छानबिन समिति सबै दलको सहभागितामा निर्माण गरिएको हो । तीमध्ये दुई पार्टी सत्ता र तीन पार्टी प्रतिपक्षमा रहेका छौँ, सबैको सर्वसम्मतिमा प्रतिवेदन तयार भएको र सरोकारवाला निकायले अनुसन्धान अघि बढाएको कुरालाई प्रतिशोध भनेर उचाल्नु राम्रो होइन ।”

यसैगरी उहाँले नयाँ भनेका पार्टीभन्दा पुरानै पार्टीले बरू न्यायालयप्रति सम्मान गरेर सहयोग गर्दै आएको धारणा राख्नुभयो । “काँग्रेस एमालेले कुनै पनि काण्डमा अनुसन्धानको प्रक्रिया रोक्न नाराजुलुस गरेका छैनन् तर नयाँ भनिएका पार्टीले ठगी प्रकरणमा परेकालाई छानविन गर्न पाइँदैन भनेर आन्दोलन गरिरहेका छन् । यो राम्रो भएन”, महासचिव पोखरेलको भनाइ थियो । पटकपटक नेपालको लोकतान्त्रिक परिवर्तनको अगुवाइ गरेको चितवन कुनै पनि बहकाउमा नलाग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

स्कटल्याण्डविरुद्धको खेलमा नेपालले टस जित्यो

काठमाडौँ, १३ कात्तिक : आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपालले टस जितेको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा भर्खरै भएको टसमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । यससँगै स्कटल्याण्डले अब पहिला ब्याटिङ गर्नेछ ।

लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । त्यस्तै स्कटल्याण्डले आफ्नो पहिलो खेलमै अमेरिकालाई १० विकेटले पराजित गरेको थियो ।

नेपालको प्लेइङ–११ कप्तान पौडेलसहित अनिल शाह, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, आरिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी र करण केसी छन् ।

काउन्सिलका नवनियुक्त सदस्यद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौँ, १३ कात्तिकः प्रेस काउन्सिल नेपालका नवनियुक्त बोर्ड सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण तथा पदबहाली गर्नुभएको छ । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले नवनियुक्त सदस्यद्वय केशवशरण लामिछाने र विजयराज अधिकारी तथा नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष बाला अधिकारीलाई आज यहाँ आयोजित एक कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । काउन्सिलमा पत्रकार महासङ्घको अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ ।

यसैबीच अध्यक्ष बस्नेतले अराजकतालाई मलजल गर्ने कुनै पनि मिडियालाई कारबाहीको दायरामा ल्याउने दृढता व्यक्त गर्नुभएको छ । नयाँ खुलेका अनलाइन सञ्चारमाध्यमका सम्पादकका लागि आज काउन्सिलमा आयोजित अभिमुखीकरणमा उहाँले सामाजिक सद्भाव बिथोल्ने, जातीय विद्वेष फैलाउने गरी गलत सूचना सम्प्रेषण गर्नेलाई काउन्सिलले कानुनी कारबाही गरिरहेको बताउनुभयो ।

अध्यक्ष बस्नेतले पत्रकार आचारसंहिता उल्लङ्घन गर्नु प्रेस स्वतन्त्रताको दुरुपयोग हुने भएकाले जिम्मेवारीपूर्ण ढङ्गले पत्रकारिता गर्न सबैलाई आग्रह गर्नुभयो । “केही मिडियाबाट एकपक्षीय भनाइ, पूर्वाग्रही अभिव्यक्ति, सुनियोजित ढङ्गले तथ्यहीन आरोप लगाउने काम भइरहेका छन् । सामाजिक सद्भाव बिथोल्न सकिन्छ कि भनेर त्यसरी आइरहेका सामग्रीप्रति काउन्सिल सचेत छ र आवश्यक कानुनी कारबाही भइरहेको छ”, उहाँले भन्नुभयो । अध्यक्ष बस्नेतले डिजिटल दुनियाँमा हाल फस्टाइरहेका अनलाइन र युट्युब सञ्चार माध्यमहरू कुनै स्वार्थ समूहबाट प्रयोग हुनसक्ने अवस्थाबाट सधैँ सचेत रहनुपर्नेमा जोड दिनुभयो ।

प्रेस काउन्सिलले दुई साताअघि मात्रै पत्रकारिताको आवरणमा गलत काम गर्ने ४३ वटा युट्युब माध्यमलाई कानुनी कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पठाएको थियो । केही सञ्चारमाध्यमलाई कालोसूचीमा राखी थप कारबाही बढाइरहेको छ ।

पत्रकार अभिमुखीकरणमा विषयगत विज्ञका रूपमा गोरखापत्र संस्थानका डिजिटल प्रमुख नारदमुनि गौतमले पत्रकार आचारसंहिता र सूचना विभागका निर्देशक एवं प्रवक्ता भरत गौतमले विभिन्न सञ्चार निर्देशिका र पत्रकारका जिम्मेवारीबारे सहजीकरण गर्नुभएको थियो ।

चाडवाडका लागि भित्रियो ३२ करोडको नरिवल

काठमाडौँ, १३ कात्तिकः चालु आर्थिक वर्षको तीन महिनामा चाडवाड लक्षित गरी रु ३२ करोड नौ लाखको नरिवल भित्रिएको छ । आर्थिक वर्ष २०८१/८२ को साउनदेखि असोजसम्म दसैँतिहार र छठ लक्षित गरी ६० लाख ६३ हजार पाँच सय ९५ केजी नरिवल आयात भएको हो ।

भन्सार विभागका निर्देशक एवं सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठको तथ्याङ्कअनुसार पछिल्लो तीन महिनामा करिब रु एक अर्ब बढीको ‘ड्राई फ्रुटस्’ भित्रिएको जानकारी दिनुभयो । भारत र चीनलगायत देशबाट नरिवलसँगै, काजु, बदाम, अलमण्ड, पिस्ता, सुपारी, खजुर, छोकडा, अन्जिर र किसमिस पनि भित्रिएको उहाँले बताउनुभयो ।

विभागका तथ्याङ्कअनुसार रु २६ करोड दुई लाखको दुई लाख ९८ हजार नौ सय ४६ केजी काजु, रु १८ करोड ६० लाखको दुई लाख ३२ हजार छ सय ९३ केजी बदाम र अलमण्ड आयत भएको छ । रु २० करोड ९८ लाखको छ लाख सात हजार दुई सय २५ केजी ओखर आयात भएको छ ।

यस्तै, पिस्ता १२ हजार सात सय ७७ केजी रु रु एक करोड ४५ लाखमा, रु २१ करोड ६२ लाखमा १७ लाख १४ हजार चार सय १९ केजी सुपारी,रु एक करोड ३० लाखमा एक लाख २४ हजार एक सय ७७ केजी खजुर र छोकडा आयात भएको छ । ४१ हजार पाँच सय ५० केजी अंजिर रु दुई करोड ६५ लाख, तीन लाख २४ हजार छ सय ७५ केजी किसमिस रु १० करोड ६२ लाखमा आयात गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो । यस्तै, रु चार करोड ७४ लाख मूल्यमा दिपावलीमा प्रयोग गरिने विभिन्न किसिमका बत्ती आयात भएका छन् ।

विभागका अनुसार यसवर्ष अघिल्लो वर्षको तुलनामा बदाम, अलमण्ड र ओखरको आयात कम भएको छ । तुलनात्मकरुपमा बदाम र अलमण्डको आयात सात प्रतिशतले कम छ । यस्तै ओखर ४४ दशमलव ६ प्रतिशतले कम आयात भएको छ ।

अघिल्लो वर्षको तुलनामा यसवर्ष बत्तीको आयात ५८ प्रतिशतले कम भएको तथ्याङ्कले देखाउछ । अघिल्लो वर्ष तीन महिनामा सात लाख ७८ हजार पाँच सय ८२ थान बत्ती रु नौ करोड ८४ लाख मूल्यमा आयात भएको थियो ।

खानेपानीमन्त्री यादवसँग एडिबीका देशीय निर्देशकको शिष्टाचार भेट

काठमाडौँ, १३ कात्तिक : खानेपानीमन्त्री प्रदीप यादवसँग एसियाली विकास बैंक (एडिबी) का देशीय दिर्नेशक अर्नाउड कौकोइसले आज मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ । सो अवसरमा उहाँहरूबीच एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना निर्माणलगायत विविध विषयमा छलफल भएको छ ।

भेटमा वीगञ्ज, विराटनगर, धरान, जनकपुरमा स्वच्छ खानेपानी तथा ढल व्यवस्थापनको उचित प्रबन्ध गर्ने विषयमा छलफल भएको खानेपानीमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा मन्त्री यादवले नेपालको तराई–मधेसमा देखिएको खानेपानीको समस्या एवं जलवायु परिर्वतनका कारण भूमिगत पानीको सतह घट्दो क्रममा रहेको विषय उजागर गर्नुभएको थियो ।

मन्त्री यादवले तराईका चापाकल सुकिरहेकाले त्यहाँका नागरिकले आर्सेनिकयुक्त प्रदूषित खानेपानी प्रयोग गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको भेटमा सहभागी सहसचिव रमाकान्त दुवाडीले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्री यादव एवं कन्ट्री डाइरेक्टर कौकोइसबीच काठमाडौँ उपत्यकामा मेलम्चीको खानेपानी वितरण गर्नका लागि सुन्दरीजलमा थप दैनिक २५ करोड ५० लाख लिटर क्षमताको नयाँ पानी प्रसोधन केन्द्र निर्माण कार्य अगाडि बढाउने विषयमा विचारविमर्श भएको छ ।

एडिबीले नेपालका महत्त्वपूर्ण विकासका आयोजनामा गरेको सहयोगप्रति धन्यवाद दिँदै मन्त्री यादवले आगामी दिनमा समेत सहकार्य हुने आशा व्यक्त गर्नुभयो ।

सो अवसरमा निर्देशक कौकोइसले एडिबीले नेपाल सरकारलाई विगतदेखि सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस प्रकारका सहयोगको निरन्तरता रहने प्रतिबद्धता गर्नुभएको सहसचिव दुवाडीले जानकारी दिनुभयो ।
–––

नर्सरी व्यवसायीले देशमै बसेर केही गर्न सकिन्छ भन्ने उदाहरण दिनुभएको छः उपाध्यक्ष सापकोटा

काठमाडौँ, १३ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले नर्सरी व्यवसायीले देशमा बसेर केही गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताउनुभएको छ ।भृकुटीमण्डपमा नर्सरी व्यवसायी सङ्घ नेपालको आयोजनामा चलेको तिहार फ्लोरा एक्स्पो २०८१ को समापन कार्यक्रममा उहाँले अधिकांश युवा विदेशीने क्रम चलिरहेको अवस्थामा नर्सरी व्यवसायीले स्वदेशमै बसेर काम गर्नु प्रशंसनीय भएको बताउनुभयो । “यहाँहरूले देशमै केही गर्न सकिन्छ भन्ने सम्भावनालाई वास्तविकतामा रुपान्तरण गर्नुभएको छ । विदेश जाने लहर चलेका बेला देशमै उद्यम गर्ने विषय धेरै महत्वपूर्ण छ”, उपाध्यक्ष सापकोटाले भन्नुभयो ।

कात्तिक ९ गतेदेखि सुरु भएको मेलामा ६५ वटा व्यवसायिक स्टललगायत वनस्पति विभाग, पुष्प विकास केन्द्रका तीन र प्रतिस्पर्धात्मक दुईवटा गरी ७० स्टल रहेका थिए ।
सङ्घका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले एक्सपो अपेक्षा गरेभन्दा राम्रो भएको बताउनुभयो । उहाँले भन्नुभयो,“पाँचदिने मेलामा ४० हजारले अवलोकन गरे र ७२ लाखभन्दा माथिको कारोबार भएको छ । जुन हामीले सोचेको भन्दा राम्रो हो ।”

मेलामा तिहारलाई लक्षित गरी गोदावरी, मखमलीलगायत फलफूल तथा कृषि सामग्री, बीजविजन, अर्गानिक तथा रसायनिक मल प्रर्दशनी तथा बिक्री वितरणका लागि राखिएका थियो ।

सूचनादाताको संरक्षणसम्बन्धी विधेयकमा संशोधन गर्न सुझाव

काठमाडौँ, १३ कात्तिक : नेपाल कानुन आयोगको वेबसाइटमा राखेको सूचनादाताको संरक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा गरिनुपर्ने संशोधनका लागि सरोकार भएका निकायलाई सुझावसहितको प्रतिवेदन पेस गरिएको छ ।

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले तीन चरणमा सरोकार भएका निकायका अधिकारी र यस क्षेत्रका विज्ञसँग अन्तक्र्रिया गरी तयार पारेको सुझाव आज प्रतिनिधिसभा, कानुन न्याय तथा मानवअधिकार समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल कानुन आयोग, राष्ट्रिय सूचना आयोग र राष्ट्रिय सतर्कता केन्द्रलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अमरबहादुर थापाले कानुनको मस्यौदा हुँदादेखि नै देशलाई हित हुनेगरी गरिनुपर्ने बताउनुभयो ।

नेपालले भ्रष्टाचारविरुद्धको महासन्धि अनुमोदन गरे पनि यसपछि बनाउनुपर्ने सूचनादाताको संरक्षणसम्बन्धी कानुन बनाउने क्रम अझै पूरा नभएको उहाँले सुनाउनुभयो । यो कानुन छिटो बनाउन सके भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुग्ने उहाँको भनाइ थियो ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सार्वजनिक निकायमा हुने भ्रष्टाचारलाई कर्मचारीले टुलुटुलु हेरेर बस्ने अवस्थाको अन्त्यका लागि सूचना दाताको संरक्षणसम्बन्धी विधेयक छिटो निर्माण हुनुपर्ने भनाइ राख्नुभयो । सूचनाको हकसम्बन्धी ऐन, २०६४ कै आधारमा पनि आयोगले सूचनादाताको संरक्षणका लागि विभिन्न आदेश जारी गरेको जानकारी पनि कार्यक्रममा उहाँले दिनुभएको थियो ।

महासङ्घका अध्यक्ष उमीद बागचन्दले विधेयकको मस्यौदालाई संशोधन नगरी पारित गर्न नहुने भएकाले चरणबद्ध रुपमा छलफल गरी सुझावलाई प्रतिवेदनका रुपमा हस्तान्तरण गरिएको बताउनुभयो । यो कानुन नबनेसम्म नागरिक समाज संस्थाका तर्फबाट खबरदारी जारी रहने उहाँको भनाइ थियो ।

विधेयकमा भएका व्यवस्थाका बारेमा प्रस्तुति गर्नुहुँदै महासङ्घका वरिष्ठ उपाध्यक्ष ताराबहादुर भण्डारीले यही रुपमा विधेयक पारित हुने वातावरण भए नेपालमा सूचनाको हक पनि कमजोर हुने बताउनुभयो ।

ढकाल जलवायुविज्ञ सल्लाहकार नियुक्त

काठमाडौँ, १३ कात्तिकः जलवायुविज्ञ मञ्जित ढकाल वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको अवैतनिक जलवायु विज्ञ सल्लाहकार नियुक्त हुनुभएको छ ।

मन्त्रालयको नाम परिवर्तन गरी वन, वातावरण तथा जलवायु परिवर्तन मन्त्रालय राख्ने तयारीसँगै शाहीले जलवायु विज्ञ सल्लाहकार नियुक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

विगत दुई दशकदेखि यस क्षेत्रमा क्रियाशील ढकालले जलवायु परिवर्तनका बहुपक्षीय वार्तामा अतिकम विकसित राष्ट्रको जलवायुविज्ञ सल्लाहकार भई काम गरिसक्नुभएको छ ।

उपप्रधान तथा सहरी विकासमन्त्री सिंहद्वारा पनौतीको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण

धुलिखेल, १३ कात्तिक : उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आज काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ कलाँती भूमिडाँडास्थित रोशी बजार क्षेत्रको निरीक्षण गर्नुभएको छ ।

बाढीपहिरो गएको एक महिना बितिसक्दा पनि अझै क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बेला मन्त्री सिंहले प्रभावित क्षेत्रको निरीक्षण गरी आवश्यक जानकारी लिनुभएको हो । उहाँले वडा नं १२ को कार्यालयमा पुगेर नागरिकको अवस्था र भइरहेको सहयोगका बारेमा जानकारी लिएपश्चात् उपप्रधानमन्त्री सिंहले आवश्यक प्रक्रिया पूरा सहयोगका लागि जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।

बागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र बादे श्रेष्ठले जनप्रतिनिधिले विपद्मा उद्धार, राहत वितरण र व्यवस्थापनका लागि धेरै सहयोग गरेको बताउनुभयो । पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले यहाँको पहिलो आवश्यकता आवास भए पनि सोको व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुभयो । यसो गर्नसके वस्तुभाउ पालेर जीवनयापन गर्न र विस्तारै पुरानै लयमा फर्काउन सकिने उहाँको भनाइ थियो । “यहाँको क्षतिका बारेमा मन्त्रीज्यूलाई पनि जानकारी छ । तत्काल बसोबासको व्यवस्थापन गर्नुपर्नेछ, यो हाम्रो समथ्र्यले भ्याउँदैन । त्यसैले राज्यले सुरक्षित रूपमा बसोबासको व्यवस्थापन गर्न आवश्यक छ । सङ्घीय सरकारबाट नै यो समस्या समाधान हुन्छ । त्यसैले चाँडै आवश्यक काम गरी जनतालाई राहत मेरो आग्रह छ”, नगरप्रमुख भण्डारीले भन्नुभयो ।

त्यस क्रममा उहाँले मन्त्री सिंहलाई बस्ती विकास, खानेपानी र सिँचाइलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । पनौती नगरपालिका–१२ का वडाध्यक्ष जयराम केसीले सडक, विद्युत्, खानेपानीलगायतका कामलाई व्यवस्थित गर्ने काम भइरहेको बताउनुभयो ।

स्थानीय राजेन्द्र केसीले घर तथा खेतबारी बगाएपछि विचल्लीमा परेका नागरिकलाई सुरक्षित ठाउँमा आवासको व्यवस्थापन मिलाउन आग्रह गर्नुभयो । “भएको घरबार बगायो, कमाइ खाने ठाउँ छैन न त छानो नै । विपद्पछि उद्धार र राहत सहयोगसँगै बाटोघाटो त बन्यो अब राज्यले अब एकीकृत आवासको व्यवस्थापन गर्न आवश्यक छ”, उहाँको आग्रह थियो ।

पनौती नगरपालिकाभित्रमा करिब छ सय घरमा आंशिक क्षति भएको छ भने नगरभित्रका मुख्य मुहान रहेका खानेपानी आयोजना, करिब ७० किलोमिटर मोटरबाटोमा समेत क्षति भएको नगरपालिकाले जनाएको छ ।

अल्जेरियामा सवारी दुर्घटना हुदाँ ११ जनाको मृत्यु

मङ्गलबार दक्षिणी अल्जेरियाको ओउर्गला प्रान्तमा एक यातायात बस र सेमी ट्रेलर एक आपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको राष्ट्रिय गेन्डरमेरी विभागले एक विज्ञप्तिमार्फत जनाएको छ ।

अल्जियर्सबाट करिब ८०० किलोमिटर दक्षिणमा रहेको ओअर्गला प्रान्तको हसी मेसाउद र एल बोर्मा नगरपालिका जोड्ने सडकमा उक्त दुर्घटना भएको हो ।दुर्घटनामा संलग्न बसले नजिकैको तेल क्षेत्र कम्पनीका कामदारहरू बोकेको थियो । यो क्षेत्र प्राकृतिक ग्यासको समृद्ध भण्डारको लागि परिचित छ ।

घटनामा एक जना घाइते भएको स्रोतले जनाएको छ ।अल्जेरियामा ९० प्रतिशत भन्दा बढी ट्राफिक दुर्घटनाहरू मानव त्रुटिका कारणले गर्दा हुन्छ ।

पाकिस्तानमा पोलियो खोप अभियान सुरु

पाकिस्तानमा लाखौं बालबालिकालाई पोलियोबाट बचाउन राष्ट्रव्यापी अभियान सुरु भएको छ ।

देशभरका चार करोड ५० लाखभन्दा बढी बालबालिकामा पुग्ने लक्ष्य राखिएको यो अभियान सोमबारबाट सुरु गरिएको हो । यो नोभेम्बर ३ सम्म जारी रहने राष्ट्रिय स्वास्थ्य संस्थानले जनाएको छ ।

यो वर्ष पाकिस्तानको पोलिया सम्बन्धी तेस्रो राष्ट्रव्यापी अभियान हो । यहाँ सन् २०२४ मा हालसम्म ४१ पोलिया सम्बन्धी घटनाहरू रिपोर्ट गरिएको छ ।

स्वास्थ्य अधिकारीहरूले अभिभावकलाई खोपमार्फत बालबालिकालाई सुरक्षित राख्न पोलियोकर्मीहरूलाई पूर्ण रूपमा सहयोग गर्न आग्रह गर्नुभयो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार पाकिस्तान र अफगानिस्तान अन्तिम दुई देश हुन्,जहाँ पोलियो महामारीको रूपमा रहेको छ ।

विश्वकप क्रिकेट लिग–२ : नेपालले स्कटल्याण्डको सामना गर्ने

काठमाडौँ, १३ कात्तिक : अमेरिकामा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक सिरिजअन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा स्कटल्याण्डको सामना गर्दैछ ।

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा आज राति हुने खेलमा नेपालले जित हासिल गर्दै उक्त सिरिजमा पहिलो जित दर्ता गराउने दाउमा रहेको छ । यसअघि यही कात्तिक ११ गते भएको पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो ।

त्यसो त स्कटल्यान्ड पनि उक्त सिरिजमा दोस्रो जितको खोजीमा रहेको छ । यसअघि भएको पहिलो खेलमा स्कटल्यान्डले अमेरिकालाई १० विकेटले पराजित गर्दै पहिलो जित दर्ता गराइसकेको छ । नेपाल र स्कटल्याण्डविचको खेल नेपाली समयानुसार आज राति ९ः१५ बजेदेखि सुरु हुनेछ ।

नेपाल र स्कटल्याण्डबीच हालसम्म छ एकदिवसीय खेल भएका छन् । जसमा दुवै टोलीले समान तीन/तीन खेल जितेका छन् । आगामी सन् २०२७ सम्म चल्ने विश्वकप लिग २ क्रिकेटमा नेपालले नौ वटा त्रिकोणात्मक सिरिज खेल्नेछ । जसमा हरेक सिरिजमा नेपालले चार एकदिवसीय खेल खेल्नेछ ।

लिग–२ मा नेपालले ९ खेलमा सात ७ हार, १ मा जित तथा १ खेल रद्द हुँदा ३ अङ्कका साथ अङ्क तालिकाको सातौँ स्थानमा छ । यता स्कटल्याण्ड ८ खेलमा पाँच जित दुई हार र एक खेल रद्दसँगै ११ अङ्कका साथ चौथो स्थानमा रहेको छ ।

त्यसैगरी १२ खेल खेलेको क्यानडा आठ खेलमा जित तथा चार खेलमा हार बेहोर्दै १६ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा छ । विश्वकप क्रिकेट लिग–२ मा नेपालसहित स्कटल्याण्ड, अमेरिका, क्यानडा, नेदरल्याण्डस्, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स (युएई) सहभागी छन् ।

देशभरका तीन हजार एकसय ७५ गुम्बालाई मान्यता प्रदान

काठमाडौँ, १३ कात्तिक : बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिले तीन हजार एकसय ७५ गुम्बालाई मान्यता दिएको छ ।

देशभर सार्वजनिक गुम्बा तीन हजार ७० र निजी एकसय पाँच गुम्बा दर्ता गरेको समितिले पुराना ऐतिहासिक, पुरातात्विक महत्वका आधारमा गुम्बालाई मान्यता दिएको हो ।

लामा धर्म गुरुको बौद्ध दर्शन सम्बन्धि अध्ययन तथा विकासका लागि कार्यक्रम सञ्चालन गर्दै आइरहेको कार्यकारी निर्देशक होमबहादुर दोङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार बौद्ध गुम्बा तथा विहारहरुको संरक्षण, संवर्द्धन, तथा बौद्ध दर्शनको अध्ययन र विकास गर्न स्थापित समितिले पञ्च वर्षीय रणनीतिक योजना–२०७१ समेत तयार गरी त्यसका आधारमा भौतिक रुपले जीर्ण गुम्बाको जीर्णोद्धार गरी राष्ट्रको अमूल्य सम्पत्तिको संरक्षण गरिएको छ ।

समितिले बौद्ध दर्शनको संरक्षण, प्रवर्द्धन तथा नेपालमा रहेका गुम्बा, विहार, वहा, वहीलगायत बौद्ध सम्पदाको संरक्षण गर्दै तीनको व्यवस्थित सञ्चालनका लागि देशमा रहेका गुम्बा तथा बहाः बहीको दर्ता गर्दै आइरहेको छ ।

बौद्ध दर्शनको संरक्षण, विकास र बौद्ध धर्म संस्कृतिको संवर्द्धन गर्नका लागि स्थापना गरिएका गुम्बा तथा विहारको संरक्षण संवर्द्धन तथा बुद्धको शान्तिका सन्देशलाई मानवहितका लागि उपयोग गर्ने नीति समितिले लिएको छ ।

बौद्ध दर्शन, धर्म, संस्कृति, कला तथा भाषाको संंरक्षण र देशमा भएका गुम्बा, बिहार तथा लामा, भिक्षु, भिक्षुणीहरूलाई आत्म निर्भर बनाउनका लागि विभिन्न प्रकारका सीपमूलक तालिम पनि यस समितिले सञ्चालन गरेको जनाएको छ ।

समितिको तथ्याङ्कअनुसार भूकम्पबाट देशभरका एक हजार तीन सय १८ गुम्बा क्षतिग्रस्त भएका छन् । जसमध्ये एक हजार एक सय ३१ गुम्बा अनुदानको व्यवस्था गरिएको थियो ।

भूकम्पबाट प्रभावित गुम्बा तथा बिहारको संरक्षण, जीर्णाेद्वार तथा पुनः निर्माणसम्बन्धी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग समन्वयमा समितिले क्षतिग्रस्त करिब एक हजार एक सय गुम्बा तथा बिहार पुनःनिर्माण गरेको जनाएको छ ।

एकसय वर्ष पुगेका सम्पदा पुनःनिर्माणका लागि प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार पुरातत्व विभागले पुनःनिर्माण गर्ने प्रावधान छ ।

समितिको तथ्याङ््कअनुसार अनुदान पाउने गुम्बाको सूचीमा सबैभन्दा बढी सिन्धुपाल्चोकका एक सय ५४ वटा थिए । त्यस्तै, गोरखाका ७९, रामेछापका ६३, धादिङका ६८, काभ्रेपलाञ्चोकका ८१, रसुवाका ४५, मकवानपुरका ८०, नुवाकोटका ९५, दोलखाका ७५, ओखलढुङ्गाका १७, सिन्धुलीका ३९, चितवनका ३९, नवलपरासीका ९, कास्कीका ५, बाग्लुङको १, तनहुँका १४, खोटाङका १३, भोजपुरका १७, धनकुटाका ६, सोलुखुम्बुका ४९, लमजुङका १४, संखुवासभाका ११, काठमाडौँका १४, ललितपुरका ११ र भक्तपुरका २ गुम्बा÷बिहार अनुदानको सूचिमा राखिएको थियो ।

भक्तपुर अस्पतालमा आजदेखि आँखाको शल्यक्रिया सुरु

भक्तपुर, १३ कात्तिक : भक्तपर अस्पतालमा आजदेखि आँखाको शल्यक्रिया सेवा सुरु गरिएको छ । बागमती प्रदेशअन्तर्गत १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पतालमा आजदेखि आँखाको शल्यक्रिया सेवा सुरु गरेको बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले जानकारी दिनुभयो ।

मन्त्री थापाले प्रदेशका अन्य अस्पतालमा पनि यो सेवा विस्तारै सञ्चालनमा ल्याउने स्वास्थ्य मन्त्रालयको तयारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बागमती प्रदेशका अस्पतालमध्ये भक्तपुर अस्पतालमा आजदेखि आँखाको शल्यक्रिया सेवा सुरु गरेका छाँै, यो सेवा अब निरन्तर भक्तपुर अस्पतालमा चल्ने छ । यो सेवालाई विस्तार गर्ने नीति स्वास्थ्य मन्त्रालयले लिएको छ, अन्य अस्पतालमा पनि यो सेवालाई विस्तार गर्नेछौँ ।”

मन्त्री थापाले आँखाको शल्यक्रिया सेवा सञ्चालन गर्न मन्त्रालयले बजेटको व्यवस्थापन गरेको बताउँदै दरबन्दीसहितका चिकित्सकीय सेवा प्रदेशका सबै अस्पतालमा विस्तार गर्न मन्त्रालयले बजेटको व्यवस्था गर्ने पनि बताउनुभयो ।

अस्पतालकी मेडिकल डाइरेक्टर डा सुमित्रा गौतमले आँखाको ओपिडी सेवा पहिलादेखिनै सञ्चालन भए पनि शल्यक्रिया सेवा नहुँदा बिरामीलाई बाध्य भएर तिलगङ्गा आँखा अस्पताल पठाउनुपर्ने बाध्यता आजदेखि हटेको बताउनुभयो । उहाँले आज सफलतापूर्वक बिरामीको आँखाको शल्यक्रिया गरेको बताउँदै यसका लागि नेत्र विशेषज्ञ डा अनुपमा अमात्यको नेतृत्वमा दुई जना आँखा रोग विशेषज्ञ र एकजना प्राविधिक गरी तीनजना जनशक्ति खटिएको बताउनुभयो । उहाँले अब आँखाका उपचारका लागि अन्य अस्पताल धाउनुपर्ने बिरामीको बाध्यता अन्त्य भएको बताउनुभयो ।

समस्याग्रस्त सहकारीका ६ हजार भन्दाबढी बचतकर्ताको शतप्रतिशत बचत फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले हालसम्म ६ हजार १५५ बचतकर्ताको शतप्रतिशत बचत फिर्ता गरिएको जनाएको छ ।

कात्तिक १२ गते सोमबारसम्म चार सय ३८ मागदावी कर्ताको आंशिक भुक्तानी भएको छ । शतप्रतिशत भुक्तानी भएका र आंशिक गरी हालसम्म एक अर्ब ५१ करोड ५३ लाख ३६ हजार आठ सय ९९ समस्याग्रस्त घोषणा भएका २२ वटा सहकारीका ऋणीबाट उठाएर भुक्तानी गरिएको मंगलबार आयोजित कार्यक्रममा जानकारी गराइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीबाट समस्यामा परेकाको समस्या समाधानका लागि कानुन संशोधनको तयारी गरिएको जानकारी दिए । ऋण नतिर्ने र एकाघरका परिवारका सदस्यको सम्पत्ति र राहदानी रोक्का गर्ने तयारी गरिएको पनि उनले बताए ।

मन्त्रालयले अन्य केही सहकारीलाई पनि समस्याग्रस्त घोषणा गर्ने तयारी गरेको जानकारी पनि मन्त्री अधिकारीले कार्यक्रममा गराए । अहिलेसम्म तीनवटा सहकारीका माग दावीकर्ताको रकम फिर्ता गरी राफसाफ गरिएको भन्दै उनले चालु आर्थिक वर्षको अन्त्यसम्म अन्य नौवटा सहकारीका मागदावीकर्ताको पनि बचत रकम राफसाफ गर्ने तयारी भएको मन्त्री अधिकारीले बताए ।

मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले बचत फिर्ता गर्ने र समस्या नआउने गरी कानुन संशोधनको तयारी भइरहेको बताए । समस्याग्रस्त सहकारीका समस्या समाधानका लागि समितिको कार्यालयलाई जनशक्ति र साधनस्रोतको पनि व्यवस्था गर्न लागिएको पनि उनले बताए ।

बचत पीडितसँग गरिएको समझदारी कार्यान्वयन गरिने प्रतिबद्धता जनाउँदै सचिव पोखरेलले अब कुनै पनि आन्दोलन जरुरी नभएको बताए ।

समितिका अध्यक्ष श्रीमणकुमार गौतमले समस्याग्रस्त तीन वटा सहकारीका पीडितको बचत फिर्ता गरी हिसाब राफसाफ गरेपछि बाँकी १९ वटा समस्याग्रस्त सहकारीको समस्या समाधानका लागि काम भइरहेको बताए ।

बाँकी १९ वटा सहकारीका ऋणीलाई यही कात्तिक १५ गतेसम्म लिएको ऋण चुक्ता गर्न सार्वजनिक सूचना प्रकाशन गरिएको उल्लेख गर्दै उनले चुक्ता नगर्ने ती सहकारीका ऋणीको एकाघरका सदस्यको सम्पत्ति, राहदानी रोक्का गर्ने तयारी भएको पनि उनले जानकारी दिए । ऋण नतिर्ने ऋणीका परिवारका सदस्यको सम्पत्ति र राहदानी तिहारपछि नै रोक्का गरिने छ ।

निर्मला कुर्मी प्रकरण : गृह र आन्दोलनरत पक्षबीच तीनबुँदे सहमति

काठमाडौँ, १३ कात्तिक : निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरीको विषयलाई लिएर गत साउन २५ गतेदेखि आन्दोलनरत रुबी खान र गृह मन्त्रालयका प्रतिनिधिबीच आज तीनबुँदे सहमति भएको छ ।

आज साँझ भएको सहमतिपत्रमा गृह मन्त्रालयका तर्फबाट उपसचिव दिलकुमार तामाङ र आन्दोलनरत पक्षका तर्फबाट रुबी खानले हस्ताक्षर गर्नुभएको छ । उक्त सहमतिसँगै आन्दोलनरत पक्षले आजैदेखि आन्दोलन स्थगित गरेको छ ।

सहमतिपत्रमा निर्मला कुर्मीको अपहरण शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरीसँग सम्बन्धित अनुसन्धान सम्बन्धमा गृह मन्त्रालय र आन्दोलनरत पक्षबीच गत असार १० गते भएको सहमतिअनुसार शीघ्र निरुपण गर्न नेपाल प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय, बाँकेलाई लेखी पठाउने र विगतमा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीलाई थप अनुसन्धानका लागि आवश्यकताअनुसार प्रहरी प्रधान कार्यालयले तत्काल काजमा खटाउने उल्लेख छ ।

यस्तै आन्दोलनरत पक्ष र उनीहरुको परिवारको सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालय बाँकेलाई लेखी पठाउने तथा उल्लिखित प्रकरणका सम्बन्धमा विभिन्न माग राखी आन्दोलनरत पक्षले आजैदेखि आन्दोलन अन्त्य गर्ने सहमति भएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य मोहना अन्सारी अधिकारकर्मी विजयबाबु शिवाकोटीसहित आन्दोलनरत पक्षका तर्फबाट मोहम्मद शेर वागवान, वसन्त रन्जितकार, मनकुमारी गुरतालको रोहबरमा उक्त सहमति भएको वार्ताको नेतृत्व गर्नुभएका गृह मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव दिलकुमार तामाङले जानकारी दिनुभयो ।

यसअघि दुवै पक्षबीच गृह मन्त्रालयमा एक चरणको वार्ता गरी सहमति नजिक पुगेपछि साँझ पुनः आन्दोलन गरिरहेकोस्थल माइतीघरमै पुगेर गृहको टोलीले सहमति गरेको हो ।

कार्तिक कृष्ण त्रयोदशी : दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चक सुरु, किनियो नयाँ भाँडा

काठमाडौँ, १३ कात्तिक : कार्तिक कृष्ण त्रयोदशीका दिन आज नयाँ भाँडा किनी धनतेरस पर्व मनाइएको छ ।
धनतेरस पर्व आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखी मनाइएको छ । यसैगरी आज धनका रक्षक देवता कुबेरको जयन्तीका अवसरमा कुबेरको विशेष पूजा आराधना पनि गरिएको छ । केहीले आज कुबेरको पूजा गरे पनि कूल परम्पराअनुसार कसैले भने लक्ष्मीपूजाकै दिन गर्छन् ।

आजको दिन ल्याइएको भाँडाकुँडामा कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ । यसरी पूजा आराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीको परम्परादेखिको विश्वास छ । धनतेरसका दिन सुनचाँदीको गहना किनेर ल्याउने प्रचलनसमेत छ । धार्मिक विश्वासकै कारण आज भाँडाकुँडा एवं गरगहना किन्नेको भीड लाग्ने गर्छ ।

आजको दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशीजस्ता नामले समेत चिनिन्छ । आजका दिन नयाँ भाँडा किनेमा लक्ष्मीले सधैँ घरमा बास गर्छिन् भन्ने धार्मिक विश्वास छ । यस विश्वासका आधारमा भाँडा पसलमा बिहानैदेखि ग्राहकको भीड लागेको थियो । भाँडा पसलमा एक साताअघिदेखि नै तामा, पित्तललगायत धातुका भाँडा आकर्षक रुपमा साज सज्जा गरी राख्ने गरिन्छ । नयाँ भाँडा एवं गरगहना किन्ने क्रम लक्ष्मीपूजाका दिनसम्म जारी रहन्छ ।

आजैदेखि घर, व्यापारिक प्रतिष्ठानलगायत स्थानमा दीपावली गरिएको छ । तिहारलाई दीपको पर्व पनि भनिन्छ । यो नेपालीको दोस्रो ठूलो चाड हो । बुधबार कागको पूजा गरी मीठा, मीठा कुरा खाना खान दिइन्छ । बिहीबार बिहान जलाशय, नदी, कुवामा गई स्नानसहित बत्ती बालेर बगाइन्छ । यसलाई नरक चतुर्दशी पनि भनिन्छ । यसै दिन बेलुकी लक्ष्मीपूजा गरिन्छ । शुक्रबार यस वर्ष तिहारको कुनै पर्व परेको छैन ।

राष्ट्रिय मानवअधिकार आयोग तिहार र छठ पर्वमा खुला रहने

काठमाडौँ, १३ कात्तिक : राष्ट्रिय मानवअधिकार आयोग तिहार र छठ पर्वमा खुला रहने भएको छ । आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय तिहार र छठ बिदामा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।
आयोगले आमनागरिकको मानवअधिकारको संरक्षण कार्यलाई ध्यानमा राखी विगतमा झै यस वर्षको बिदा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाइएको जनाएको छ ।

“यस अवधिमा आयोगले मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमनसमेत गर्नेछ”, प्रेस नोटमा भनिएको छ ।

नेपाली र भारतीय कलाकारहरूको अभिनयमा ‘ह्रस्व दीर्घ’

काठमाडौँ, १३ कात्तिक : निर्देशक चन्द्र पन्तले नेपाली र भारतीय कलाकारहरूले अभिनय रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ ले कला, संस्कृतिसँगै एक आपसमा सामीप्यता बढाउने बताउनुभएको छ । चलचित्रको निर्माण प्रारम्भ गर्दा नेपाली कलाकार नै रहे पनि पछि भारतीय कलाकारहरूलाई प्रस्ताव गरिएको उहाँले जानकारी दिनुभयो ।

“हामीले नेपाली धेरै कलाकारलाई प्रस्ताव गरेका थियौँ । यहाँ सहकार्य नजुटेपछि चलचित्रको बजार विस्तार गर्न भारतीय कलाकारलाई प्रस्ताव गर्यौँ । उहाँहरूले स्वीकार गरेपछि अहिलेको सहकार्य सम्भव भएको हो”, निर्देशक पन्तले भन्नुभयो । 

उहाँले अहिलेसम्म चलचित्र नदेखाइएको विषयमा आफ्नो समूहले कथा तयार गरेर ‘ह्रस्व दीर्घ’ तयार गरेको दावीसमेत गर्नुभयो । उहाँले दुई देशका प्रसिद्ध कलाकारको सहकार्यले नेपाली चलचित्रको बजारलाई दक्षिण भारतमा विस्तार गर्न टेवा पुग्ने विश्वाश व्यक्त गर्नुभयो ।

“हामीले दक्षिण भारतका प्रसिद्ध कलाकारसँग काम गरेका कारण त्यहाँ चलचित्रको चर्चा छ । हामीले छिटै त्यहाँ प्रदर्शनको बारेमा जानकारी दिने छौँ । त्यो चलचित्र उद्योगमा नेपाली चलचित्रको चर्चा भएको सुन्दा खुसी लाग्छ”, निर्देशक पन्तले भन्नुभयो ।

अभिनेत्री विपना थापाले पनि निर्देशक पन्तकै कुरामा सहमति जनाउँदै भारतीय पत्रपत्रिकामा नेपाली चलचित्र चर्चाले आफूलाई हर्षित बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो एउटा सपना नै थियो, कि हाम्रो चलचित्रको विषयमा भारतमा चर्चा होस्, हाम्रो काम र मेहनत त्यहाँका कलाकारले देखुन् र बुझुन्, त्यो यसपटक पूरा भयो । यो चलचित्र ‘ह्रस्व दीर्घ’ मार्फत भएको नेपाली चलचित्रको प्रवर्द्धन आउँदो समयमा सबैले महसुश गर्नुहुने छ ।”

एउटै नक्षत्र, ग्रह र भाग्य भएका जोडीको सम्बन्ध र उनीहरूका जीवनमा आउने आरोह–अवरोहको कथामा आधारित चलचित्रलाई ज्योतिष हरिहर अधिकारीले लेख्नुभएको हो । उहाँले यो विषय दर्शकलाई रोचक लाग्ने भएकाले आफूले चलचित्रमा ल्याउने आट गरेको बताउनुभयो ।

“यो पूर्णरुपमा ज्योतिषशास्त्रमा आधारित चलचित्र होइन्, तर विषयवस्तुसँग जोडिएको छ । हामीले आफ्नोपन दिन पनि यसमा नेपाली धर्म र संस्कृतिको प्रयोग गरेका छौँ । यद्यपि यो पूर्णरुपमा मनोरञ्जनात्मक चलचित्र हो”, ज्योतिष अधिकारीले भन्नुभयो ।

चलचित्रमा ज्योतिष अधिकारीसँगै अभिनेत्री नीता ढुङ्गाना, गरिमा शर्मा, रेखा थापा, प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, सरोज खनाल, रवीन्द्र झासँगै भारतीय कलाकार ब्रह्मानन्दम, अली, सुनिल वर्मा, प्रदीप रावत, कबीर दुहन सिंहलगायतले अभिनय गर्नुभएको छ ।  कात्तिक ३० गतेदेखि यो चलचित्र नेपालीसँगै हिन्दी, तेलुगु भाषासमेतमा प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ । 

अमेरिकी चुनावमा राष्ट्रपति बाइडेनद्वारा प्रारम्भिक मतदान

अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ को आम निर्वाचन आउन एक साता बाँकी रहदै प्रारम्भिक मतदान गर्नुभएको छ। आफ्नो स्वास्थ्यको बारेमा बढ्दो चिन्ता र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउने न्यून सम्भावनाको बारेमा डेमोक्र्याटहरूको चिन्ताको कारण जुलाईमा आफ्नो पुनःनिर्वाचन अभियान समाप्त गर्ने निर्णय गर्नुभएको बाइडेनका लागि यो तितोमिठो क्षण हो ।

राष्ट्रपति बाइडेनले सोमबार डेलावेयर राज्यको निर्वाचन केन्द्रमा मतदान गर्नुभएको हो ।राष्ट्रपति बाइडेनले मतदानका लागि लाइनमा पर्खिरहेका मतदाताहरूसँग कुराकानी गर्दै मतदानका लागि करिब ४० मिनेट लाइनमा पर्खनुभएको थियो ।अमेरिकामा राष्ट्रपति निर्वाचनका लागि नोभेम्बर ५ मा मतदान हुँदैछ ।

विपद्मा परेकालाई सहयोग गर्नेहरूको पार्टीले उच्च मूल्याङ्कन गर्नेछः सभापति देउवा

पाटन (ललितपुर), १३ कात्तिक: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विपद्मा परेकालाई सहयोग गर्नेहरूको पार्टीले उच्च मूल्याङ्कन गर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस ललितपुरको समन्वय र सहजीकरणमा ‘सुखदुःखमा कांग्रेस, सहयात्राको सन्देश’ भन्ने नारासहित आज ललितपुरमा आयोजित राहत सहयोग वितरण कार्यक्रममा उहाँले विपद्का समयमा भाषण गर्नेभन्दा पनि पीडितहरूलाई सहयोग र समस्या समाधान गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

सभापति देउवाले भन्नुभयो,“देशभर विपद्का कारण धेरै नोक्सानी भएको छ, कैयौँले ज्यान गुमाएका छन्, यस्तो अवस्थामा सबै मृतकका परिवारजनप्रति समवेदना प्रकट गर्न चाहन्छु । साथै विपद्का समयमा उद्धार र राहत सामग्री वितरणमा महत्वपूर्ण भूमिका खेल्ने सबैलाई पार्टीको तर्फबाट धन्यवाद दिन चाहन्छु ।”

उहाँले पार्टीका नेता, कार्यकर्ताका साथै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निरन्तर राहत र पुनःस्थापनाका लागि खट्न आग्रह गर्नुभयो ।

पूर्वमन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले बाढीपहिरा तथा विपद्का समयमा सहयोग गर्नु आफूलगायत हरेक व्यक्तिको दायित्व भएको बताउनुभयो ।

कांग्रेस ललितपुरका सभापति जीतेन्द्रकुमार श्रेष्ठले विपद्बाट भएको मानवीय र भौतिक क्षतिमा पार्टी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले पार्टीका तर्फबाट बाढीपहिरो पीडितका लागि सङ्कलन गरेको रु दुई लाख २७ हजार पाँच सय पाँच बागमती गाउँपालिका आश्राङमा बाढीले घर बगाएका पीडित परिवारलाई प्रदान गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा बाढीपहिरोबाट मृत्यु भएका ४६ र बेपत्ता पाँच गरी ५१ जनाका परिवारलाई नगद रु २५ हजारका दरले राहत रकम वितरण गरिएको थियो ।

नेपालमा डेङ्गीका तीन प्रकारका भाइरस सक्रिय

काठमाडौँ, १३ कात्तिक : नेपालमा डेङ्गीका तीन प्रकारका भाइरस सक्रिय रहेको पाइएको छ । डेङ्गीका भाइरसका स्वरुप सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सक्रिय रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जानकारी दिनुभयो ।

विगत सात वर्षअघि भने सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सेरोटाइप–४ सक्रिय रहेका थिए । “भाइरसको जीन अध्ययन गर्दा अहिले तीन प्रकारका भाइरसका स्वरुप सक्रिय रहेको पाइएको छ”, उहाँले भन्नुभयो ।    शाखाका प्रमुख डा दाहालका अनुसार कात्तिकसम्म लामखुट्टे सक्रिय हुने भएकाले जोखिम हुने बताउनुभयो । उहाँले कात्तिकपछि जाडो अलि बढ्ने र त्यसपछि डेङ्गी सार्ने लामखुट्टे पनि हराउँदै जाने बताउनुभयो । 

डेङ्गी सङ्क्रमण हुम्ला बाहेक सबै जिल्लामा देखिएको छ । यस्तै देशभर २७ हजार एक सय ५३ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ भने सङ्क्रमणको कारणले अहिलेसम्म ११ जनाको निधन भइसकेको छ । 

सबैभन्दा बढी कास्कीमा सात हजार ८० जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस्’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्दछ । 

उपत्यकामा डेङ्गी सङ्क्रमण पाँच हजार सात सय ४८ जनामा देखिएको छ । काठमाडौँ जिल्लामा चार हजार ६० जना,  भक्तपुर छ सय २८ र ललितपुर एक हजार ६० जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । 

वर्षाको बेला पानीका सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गुको सङ्क्रमण बढेको हो । 

डेङ्गी रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सचालन गर्न निर्णय सरकारले गरेको छ ।

‘सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाइने’ : गृहमन्त्री लेखक

काठमाडौँ, १३ कात्तिकः गृहमन्त्री रमेश लेखकले युग सुहाउँदो तालिम र प्रविधिसहितको परिचालनले मात्र अबका सुरक्षा चुनौती सामना गर्न सकिने बताउनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा आज आयोजित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोहमा उहाँले सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउन मन्त्रालयले काम गरिरहेको बताउनुभयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, “७७ वटै जिल्लामा परिचालित सशस्त्र प्रहरीलाई थप जनशक्ति व्यवस्थापनका साथै भौतिक पूर्वाधार, युग सुहाउँदो बन्दोबस्ती सामग्रीले सुसज्जित गर्दै लैजान गृहमन्त्रालय प्रयासरत छ । ”

नीतिगत व्यवस्था र कार्यान्वयनको तहमा गर्नुपर्ने आवश्यक सम्पूर्ण सहयोग गर्न मन्त्रालयबाट तयार रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले राज्यले सुम्पिएका जिम्मेवारीलाई विषम परिपस्थितिमा समेत सशस्त्र प्रहरीले व्यावसायिक दक्षता प्रदर्शन गर्दै आएको बताउनुभयो ।

मौजुदा स्रोतसाधनको प्रयोग गरी नतिजा हासिल गर्नेतर्फ विगत र वर्तमान जस्तै क्रियाशील रहिरहन सशस्त्र प्रहरीलाई गृहमन्त्री लेखकले निर्देशन दिनुभयो । “सुरक्षा निकायका हरेक सदस्यले संविधान र प्रचलित ऐन–नियमको परिधिभित्र रही मानवअधिकारको संरक्षण र परिपालनामा कर्तव्यनिष्ठ भई कार्य गरेमा लोकतान्त्रिक संस्कार र विधिको शासन स्थापित हुँदै जान्छ”, उहाँले भन्नुभयो, “विधिको शासन र कानुनी राज्यको मूल मर्मलाई आत्मसात् गर्दै कानुन पालना गर्ने/गराउने निकायले चनाखो एवम् होसियार रहेर आफ्ना काम कारबाही सञ्चालन गर्नु/गराउनु अहिलेको आवश्यकता हो ।”

प्रशिक्षणलाई समयानुकूल आधुनिक र वैज्ञानिक बनाई राज्यलाई दक्ष अधिकृत निर्माणमा सङ्गठनले खेलेको भूमिकाको प्रशंसा गर्दै मन्त्री लेखकले सशस्त्र प्रहरी एउटा निश्चित, स्पष्ट, वैज्ञानिक किसिमले सबैको हित हुने ढङ्गले अगाडि बढ्ने व्यवस्था गरिने बताउनुभयो । 

सशस्त्र प्रहरीको नयाँ ऐनले सशस्त्र प्रहरीको सेवालाई विशिष्टीकृत गर्दै लैजाने बताउँदै उहाँले त्यो विधेयक आगामी सङ्घीय संसद् अधिवेशनमा पेस गरिने बताउनुभयो । “सशस्त्र प्रहरी बलको मौजुदा कानुनलाई परिवर्तन गरेर नयाँ कानुन निर्माणमा अगाडि बढेको छौँ । यसले बललाई थप सक्षम, सबल र व्यवसायिक बनाउने विश्वास लिइएको छ”, उहाँले भन्नुभयो । 

गृहमन्त्री लेखकले नयाँ कानुनका सम्बन्धमा परामर्शको काम अन्तिम चरणमा रहेकाले आगामी सङ्घीय संसद्को अधिवेशनमा पेस गरेर कानुन निर्माण गरिने जानकारी दिनुभयो । सशस्त्र प्रहरीले खेलकुदको क्षेत्रमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो । “सशस्त्र प्रहरीका  खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रदर्शन गरेको हुँदा सरकारले खेलाडीका लागि विशेष पद सिर्जना गरी नियुक्त गर्न सक्नेगरी नीति बनाउन लागेका छौँ”, उहाँले भन्नुभयो ।