`

‘फूड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’ प्रतियोगितामा नेपाललाई सफलता

ललितपुर (गोदावरी), १९ असोज : ‘फूड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’ प्रतियोगितामा नेपालका आशीर्वादराज झाले दोस्रो स्थान हासिल गर्नुभएको छ ।
नेदरल्याण्डमा सम्पन्न सो प्रतियोगितामा विश्वका विभिन्न नौ देशका १८ टोलीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा झाले ‘समूह इकोग्रब’ बाट भाग लिनुभएको थियो ।

काठमाडौँ फरेस्टी कलेजको स्नातक तहमा अध्ययनरत विद्यार्थी आशीर्वादले नेतृत्व गर्नुभएको उक्त समूहले प्रतियोगितामा दोस्रो स्थान हासिल गरेको उहाँका भाइ अभिनमले जानकारी दिनुभयो । 

‘समूह इकोग्रब’का तर्फबाट आशीर्वादले आफ्नो परियोजनामा कालो सैनिक झिङ्गाको अनुसन्धानमा आधारित ‘इनोभेटिभ’ समाधान प्रस्तुत गर्नुभएको थियो । यो अनुसन्धानले खाद्य प्रणालीमा टिकाउ र दिगो समाधान खोज्नमा सहयोग पु¥याउने विश्वास लिइएको छ । 

कालो सैनिक झिङ्गाको प्रयोगले फोहोर व्यवस्थापन र पोषक तत्व पुनः प्राप्त गर्न मद्दत गर्दछ । जसले वातावरणीय र कृषिसम्बन्धी समस्या समाधान गर्न महत्त्वपूर्ण योगदान दिने विश्वास लिइएको छ ।

यस प्रतियोगितामा हासिल गरेको सफलतापश्चात, ‘इकोग्रब’ समूह युवा खाना प्रयोगशाला कार्यक्रमको तयारीमा जुटेको छ । यो कार्यक्रम अक्टोबर २०२५ मा इटलीको रोममा आयोजना हुनेछ । जहाँ जित हासिल गरेका टोलीहरू आफ्नो परियोजनालाई थप विस्तार गर्न र कार्यान्वयन गर्न अवसर प्राप्त गर्नेछन् ।

राहत कोषबाट बाढी पहिरोपीडितलाई सहयोगका लागि पहल गर्ने अध्यक्ष नेपालको प्रतिबद्धता

काठमाडौँ, १९ असोजः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काभ्रेको मण्डनदेउपुर नगरपालिकामा बाढीपहिरो प्रभावित परिवारसँग भेटघाट गरी राज्यको राहत कोषबाट सहयोगका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण पहिरोमा परी ज्यान गुमाएका यहाँका सातजनाका परिवरसँग भेटघाट गरी उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष नेपालले बाढीपहिरोबाट क्षतिग्रस्त क्षेत्रको निरीक्षण गर्नाका साथै मृतकप्रति श्रद्धाञ्जलि तथा परिवारजनमा समवेदना व्यक्त गर्नुभयो । त्यसअवसरमा उहाँले नगरपालिकाको तर्फबाट मृतकका परिवारलाई रु ५०/५० हजार आर्थिक सहयोग हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा नगरप्रमुख टोकबहादुर वाइवाले पीडित परिवारलाई तत्काल आवश्यक खाद्यन्न, भाँडाकँुडा वितरण गर्नाका साथै दुःखको घडीमा नगरपालिकाले प्रभावित परिवारलाई सक्दो सहयोग गर्ने बताउनुभयो ।

काभ्रेमा विपद्मा परी ७५ जनाको मृत्यु हुनुका साथै विभिन्न भागमा धेरै भौतिक क्षति भएको छ । यहाँका भुम्लु, रोशी, बेथानचोक, तिमाल, चौरी गाउँँपालिकामा सवारीसाधन, सञ्चार, विद्युत्, खानेपानीलगायत अत्यावश्यक सेवासमेत अवरुद्ध छ ।

लेबनानबाट २१५ चिनियाँ नागरिकको उद्धार

इजरायलले गत महिनादेखि लेबनानमा तीव्र गोलाबारी गरेपछि चीनले आफ्ना २१५ जना नागरिकलाई उद्धार गरेको छ ।लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणमा शनिबारसम्ममा एक हजार १०० भन्दा बढीको मृत्यु भएको छ ।यसै साता इजरायलले इरान समर्थित हिजबुल्लाहको पकड रहेको दक्षिणी लेबनानको केही भागमा आफ्नो सेनाले ‘स्थलगत आक्रमण’ गरेको बताएको थियो ।

इजरायलले हालै लेबनानसँगको आफ्नो उत्तरी सीमाको सुरक्षामा आफ्नो ध्यान केन्द्रित गरेको छ । यहाँ हिजबुल्लाहले आफ्नो प्यालेस्टिनी सहयोगी हमासको समर्थनमा आक्रमण सुरु गरेयता दैनिकजसो भिडन्त हुनेगरेको छ।

रूस, फ्रान्स, स्पेन, जर्मनी र बेलायतलगायतका विभिन्न देशले पनि लेबनानबाट आफ्ना नागरिकलाई हटाउने अभियान सुरु गरेका छन् ।बेइजिङको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “चीन सरकारको संगठन र व्यवस्थाअन्तर्गत लेबनानबाट हालसम्म दुई समूहमा २१५ जना चिनियाँ नागरिकलाई सकुशल उद्धार गरिएको छ ।”

“लेबनानस्थित चिनियाँ दूतावासले लेबनानमा आफ्नो उद्धार अभियान जारी राखेको छ र त्यहाँ रहेका चिनियाँ नागरिकलाई सुरक्षा उपाय अपनाउन निर्देशन दिएको छ,” विज्ञप्तिमा भनिएको छ।

उद्धार गरिएका चिनियाँ नागरिकलाई कहाँ लगिएको हो भन्ने बारे मन्त्रालयले केही बताएको छैन ।लेबनानी अधिकारीहरूका अनुसार सेप्टेम्बर २३ मा इजरायली बमबारीमा वृद्धि भएयता लेबनानमा एक हजार ११० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने १० लाखभन्दा बढी मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् ।इरानले इजरायलमाथि क्षेप्यास्त्र प्रहार गरेपछि चीनले बुधबार विश्वशक्ति राष्ट्रहरूसँग द्वन्द्वलाई थप अगाडि बढ्न नदिन पहल गर्न आग्रह गरेको थियो ।

ऋण गरेर हात्तीको आक्रमणबाट ज्यान गुमाएका जदुको किरिया गर्दै परिवार, कतार जाने सपना अधुरै

बरहथवा (सर्लाही), १९ असोज : गत बिहीबार साँझ गोविन्द नामको जङ्गली हात्तीको आक्रमणबाट ज्यान गुमाएका सर्लाही, हरिपुर नगरपालिका–७, निवासी जदु सिंहका परिवार अहिले विचल्लीमा छ । आर्थिकरूपमा अत्यन्त विपन्न परिवारको एक मात्र भरोसा जङ्गली हात्तीको आक्रमणबाट गुमेपछि सिंहको छ जनाको परिवार सङ्कटमा परेको हो ।

“जदु घरको एकमात्र कमाउने सदस्य हुनुहुन्थ्यो ।” उहाँका बुवा ७० वर्षका पञ्चलाल सिंहले रासससँग भन्नुभयो, “श्रीमती दुई छोरा, एक छोरी र हामी बुढाबुढीको लालनपालन उसैले गरेको थियो । हाम्रो विचल्ली भयो, घरबार धान्ने एकमात्र छोरालाई हात्तीले मारिदियो, अब कसको सहारामा बाच्नु ?”

जदुले केही वर्ष पहिला जेठी छोरीको चितवनमै विवाह गरिदिनुभएको थियो । बाँकी १९ र छ वर्षका दुई छोरा र १६ वर्षकी एक छोरी, श्रीमती र आमाबुवाको सम्पूर्ण जिम्मेवारी उहाँकै काँधमा थियो । आफूको औषधी खर्चमात्र मासिक रु. तीन हजार बढी लाग्ने आमा पहुनिया देवीले दुखेसो पोख्नुभयो ।

“छोराको किरिया कर्म गर्नसमेत ऋण माग्नुपरेको छ,” उहाँले भन्नुभयो, “अब हामीलाई कसले हेर्छ ?” जदुको परिवारसँग सम्पत्तिको नाममा एउटा काठको सानो घर बाहेक केही छैन । बुबाको किरियामा १९ वर्षका छोरा रित्तिक बस्नुभएको छ । घरको अवस्था कमजोर भएका कारण आफूले पढ्न नपाएको उहाँले गुनासो पोख्नुभयो । रितिकले ट्रकमा सहचालकको रुपमा काम गर्दै आउनुभएको छ । अहिले सीप सिक्न बसेको कारणसमेत आफ्नो कमाइ नभएको उहाँको भनाइ छ ।

घटनापछि गाउँबाट पुगेका युवाले आपसमा सहयोग गरेर शनिबार जदुको शव गाउँ ल्याएर अन्तिम संस्कार गरेको परिवारको भनाइ छ । एउटा भएको छोरासमेत हात्तीले खोसेको भन्दै आमा पहुनिया देवी डाँको छाडेर रुनुभयो । छोराले १६ वर्षसम्म सेवा गर्दा पछि सौराहास्थित हात्ती प्रजनन केन्द्रले उसको सेवाको कदर नगरेको परिवारको गुनासो छ ।

खगेन्द्रसँगै कतार जाने जदुको सपना अधुरै

जदु चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सौरहाको हात्ती प्रजनन केन्द्रका अनुभवी माउते हुनुहुन्थ्यो । सौरहाको हात्ती प्रजनन केन्द्रमा जदुले २०६५ सालदेखि करारमा सेवा सुरु गर्नुभएको उहाँका बुवा पञ्चलालले बताउनुभयो । “२० वर्षको उमेर गाउँका एक जना आफन्तसँग पछि लागेर सौराहामा काम गर्न गएको हो,” उहाँले भन्नुभयो, “हात्तीले बच्चा पाएको बेलामा लामो समय घर आउन पाउँदैन थियो ।”

जदुले हात्ती प्रजनन केन्द्रमा काम गर्न थालेका १६ वर्ष भएको थियो । “हात्तीको स्वभावदेखि हरेक कुरामा उहाँ जानकार हुनुहुन्थ्यो ।” केन्द्र प्रमुख मनपुरण चौधरीले भन्नुभयो, “बिहीबार साँझ तरकारी लिएर स्याहार केन्द्रतर्फ आउँदै गर्दा उहाँलाई गोविन्दे नामको जङ्गली हात्तीले आक्रमण गर्यो । उहाँको घटनास्थलमै ज्यान गयो । केन्द्र शोकमा छ । हाम्रो अपुरणीय क्षति भएको छ ।”

यही २०८१ वैशाख ११ गते नेपाल सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने नेपाल भ्रमणमा आउनुभएको मौकामा एक जोडी हात्ती उपहार दिने घोषणा गरेको थियो । हात्ती कतार जाने भएपछि खगेन्द्र प्रसादलाई जन्मेदेखि रेखदेख गर्ने, तालिम दिने जदु पनि सँगै कतार जाने तय भएको थियो । कतारका अमिरलाई सौरहामा जदुले तालिम दिनुभएको खगेन्द्र प्रसादले नै माला लगाइ ढोग तथा नमस्कार गरी भव्य स्वागत गरेको थियो ।

हात्ती विधिवतरुपमा हस्तान्तरण भए पनि प्रकृयागत कुराका कारण तत्काललाई पठाउने काम भने रोकियो । तत्कालका लागि हात्ती कतार नलगिने भएपछि उहाँको कतार जाने चाहना रोकिएको थियो ।

खगेन्द्रप्रसाद र रुद्रकलीसँगै सौराहास्थित चितवन राष्ट्रिय निकुञ्ज हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसरबाट छ जना कतार जाने तयारी भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको थियो । आफूले हुर्काएको खगेन्द्रसँगै कतार जाने कुराले जदु पनि उत्साहित हुनुहुन्थ्यो । कतार जाने तयारीबारे उहाँले घरमासमेत बताउनुभएको आमा पहुनिया देवीले बताउनुभयो । जदुले आफू कार्यरत रहँदा दर्जनौँ हात्तीका छावा हुर्काउनु भएको थियो ।

“हात्ती लिएर कतार जान्छु, भनेको थियो,” उहाँले भन्नुभयो, “पैसा पनि राम्रो कमाइ हुन्छ भन्दै खुसी भएको थियो । मेरो बाबुलाई हात्तीले मारिदियो ।” छोराको मृत्यु पछि परिवारको हात मुख जोर्नेसमेत कुनै उपाए छैन । कसरी काजकिरिया टार्नु, तीन नाती नातिनाको लालनपालन विवाहदान कसरी गरौँ । हजुरबुबा पञ्जलालले भन्नुभयो, “म दमको रोगी छु, हिडडुलसमेत सक्दीन कसलाई गुहार्नु ?”बिहीबार गोविन्दे हात्तीको आक्रमणमा परेका दुई जना मध्य अर्का एक जना माउते भने, भागेर बाच्न सफल हुनुभएको थियो ।

दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक

पाल्हीनन्दन (नवलपरासी ब.सु.प), १९ असोजः पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा आए पनि ट्रकलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

गएराति बर्दघाट‐४ स्थित दाउन्ने जङ्गलको खुुर्सानी खोला नजिकै सडक भासिएपछि यातायात सञ्चालन हुनसकेको थिएन । सडक मर्मतपश्चात् आज बिहानदेखि एकतर्फी सञ्चालनमा आए पनि हाल यात्रुुवाहक बस र साना सवारीसाधलाई मात्र आवतजावत गर्न दिइएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिनुभयो । उहाँले मर्मत गरिए पनि सडक भासिने जोखिम कायमै रहेकाले ट्रक, टिप्परजस्ता ठूला सवारीसाधन आवतजावत गर्न रोक लगाएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ज्ञानप्रसाद फुुयालले दाउन्ने सडक अहिले पनि पूर्ण रूपमा सञ्चालनमा नरहेको र सडक मर्मत कार्य भइरहेको जानकारी दिनुभयो ।

ऊर्जामन्त्री खड्काद्वारा समाजसेवी शाक्यको ‘अनुभवका पाइलाहरू’ कृति विमोचन

काठमाडौँ, १९ असोजः वरिष्ठ समाजसेवी गङ्गा पन्तको ‘अनुभवका पाइलाहरू’ कृति विमोचन गरिएको छ । सङ्खुवासभाको चैनपुरमा जन्मेर पन्तले आफ्नो जीवनमा गरेका सङ्घषबारे लेखेको उक्त पुस्तकको आज उहाँले विमोचन गर्नुभयो ।

कार्यक्रममा ऊर्जामन्त्री खड्काले मातृभूमिलाई माया गरेर आफ्नो जीवनमा गरेका सङ्घर्षलाई आगामी पुस्ताका लागि मार्गदर्शन बन्ने बताउनुभयो । “माओवादी द्वन्द्वकालमा धेरै मानिसहरू आफ्नो जन्मभूमि छाडेर विभिन्न स्थानमा हिँडेको अवस्थामा लेखकले आफ्नो जन्मभूमिलाई सम्झेर पुस्तक लेख्नु अरूका लागिसमेत प्रेरणाको स्रोत बनेको छ”, मन्त्री खड्काले भन्नुभयो ।

आफ्नो भूगोललाई सम्झेर लेखिएको पुस्तकले समाजप्रति उत्तरदायी बन्न पुस्तकले प्रेरणा प्रदान गरेको उहाँको भनाइ थियो । मन्त्री खड्काले मानिस भएर जन्मेपछि केही न केही सम्झने कुरा छाडेर जाँदा नयाँ पुस्तालाई खोज र अनुसन्धानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पुस्तकका लेखक शाक्यले आफ्नो जीवनका भोगाइ र ग्रामीण जीवनशैलीलाई पुस्तकमार्फत प्रकाशनमा ल्याएको बताउनुभयो । एक सय ५० वर्षपहिले ललितपुरको पाटनबाट बसाइँ सरेर सङ्खुवासभाको चैनपुरमा पुगेको शाक्य परिवारले गरेको योगदानलाई समेत पुस्तकमा समावेश गरिएको उहाँको भनाइ थियो ।

दसैँ आइसक्यो, न बस्ने, न त खानाको जोहो भएको छ’

काठमाडौँ, १९ असोजः हिन्दूहरूको मुख्य पर्व बडादसैँ सुरु भइसकेको छ तर देशका विभिन्न भूभागमा हालैको बाढीपहिरो तथा डुबानले दिएको पीडा ताजै छ । वर्षभरिको दुःख बिसाउने, विछोडिएका आफन्तजन जमघट भएर उत्साह र उमङ्ग साट्ने यो पर्वमा यसपटक धेरै परिवारको ओत लाग्ने छानोसमेत छैन । त्यसैले धेरैका लागि यो दसैँ उमङ्गविहीन हुने भएको छ ।

हुन त बाढिपहिरो र डुबान प्रभावित क्षेत्रमा हाल उद्धार तथा राहत सामग्री वितरण कार्य काम भइरहेका छन् । यस कार्यमा सरकार मातहतका निकाय र विभिन्न गैरसरकारी सङ्घसंस्थाहरु निरन्तर जुटिरहेका छन् तर काठमाडौँ उपत्यकाको ललितपुर जिल्लाभित्रकै स्थानीय तहहरूमा अझै पनि पर्याप्त राहत सामग्री पुर्याउन कठिनाइ भरहेको स्थानीय जनप्रतिनिधिको गुनासो छ । “हामी सुगम भनिएको ललितपुर जिल्लामा छौँ तर विपद्को समयमा हामीलाई त्यो महसुस हुन सकेको छैन”, ललितपुरको महाङ्काल गाउँपालिका उपाध्यक्ष डोल्मामाया गोलेले भन्नुभयो ।  

बाढीपहिराले क्षतिग्रस्त भएको आठ दिनपछि बल्ल गाउँपालिकामा मोबाइल फोनको नेटवर्क टिप्न थालेको छ ।  विपद्ले अस्तव्यस्त बनेको गाउँपालिका क्षेत्रमा नेटर्वक नहुने र फोन नलाग्ने समस्याले केही दिनसम्म गाउँपालिकाबाहिर सम्पर्कविच्छेदको समस्या भोग्नुपरेको उहाँले बताउनुभयो । “यहाँ धेरै नै दर्दनाक अवस्था छ । सञ्चारमा देखिएको अवरोधले हाम्रो गाउँपालिकामा भएको क्षति बाहिर आउन सकेको छैन । जसले गर्दा पीडितको पीडाबारे सञ्चार गर्न सकिएन । त्यसैले सहयोगीको साथ पनि समयमा पाउन सकिएन”, उपाध्यक्ष गोलेले समस्या व्यक्त  गर्नुभयो ।  

छ वडा रहेको यस गाउँपालिकामा बाढीपहिरोमा परी १३ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी वडा नं २ विपद्बाट प्रभावित भयो । यहाँ घर, गोठ, विद्यालय, चर्चित धार्मिकस्थल वैतरणीधाम क्षतिग्रस्त हुन पुग्यो भने अन्य भौतिक क्षतिको यकिन विवरण अझै आउन सकेको छैन । व्यक्ति र परिवारमा परेको पीडाको व्यथा त छँदैछ, त्यसैमा सडक बाटोमा पुगेको क्षतिबाट गाउँपालिकावासीले थप सास्ती भोग्नुपरेको छ । “प्रकोपमा सबै गुमाएर एउटा ज्यान मात्र बाँचेकाहरु पनि छन् । उहाँहरूसँग अब केही बाँकी छैन । उहाँहरुलाई गाँस, बास र कपासको व्यवस्था मिलाउन लागिपरेका छौँ । दातृ निकायको सहयोगका लागि अपिल गरिरहेका छौँ । आवतजावतका लागि गाउँपालिकाले मर्मसम्भार गरी अवरुद्ध बाटो सञ्चालनमा ल्याएको छ”, उपाध्यक्ष गोलेले भन्नुभयो, “गाउँपालिकासँग आफ्नै आन्तरिक स्रोत छैन । सङ्घ र प्रदेश सरकारबाट आएको निश्चित योजनाको बजेट कार्यान्वयन गर्ने अवस्थामा मात्रै छौँ । जेनतेन बाटो खुलाइएकाले अब सहयोगी सङ्घसंस्थाहरूले राहत सामग्री उपलब्ध गराउने अपेक्षा गरेका छौँ ।”

यहाँको कोन्ज्योसोम गाउँपालिकामा पनि विद्युत् तथा सञ्चार सेवा अवरुद्ध भएकाले जनजीवन अझै सामान्य हुनसकेको छैन । गाउँपालिका अध्यक्ष कृष्णमान लामाले विपद्का समयमा भोगेको पीडाबाट अझै राहत महसुस भइनसकेको बताउनुभयो । “खोनपानी ट्याङ्की र पाइपलाइन क्षतविक्षत भएका छन् । कृषि, तरकारी, दुग्धजन्य उत्पादनमा क्षति पुगेको छ”, उहाँद्वारा सहयोगका लागि जारी गरिएको अपिलमा भनिएको छ, “विपद्पश्चात् पनि जनजीवन सामान्य हुनसकेको छैन । विद्युत् सेवा र सञ्चार सम्बन्ध टुटेका कारण थप समस्या भएको छ ।”

यस गाउँपालिका क्षेत्रमा तीनजनाको मृत्यु भएको थियो । बाढीका कारण पालिकाका पाँचवटा वडामा करिब १५० घर पूर्ण तथा एक सयभन्दा बढी घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । पालिकाभित्रका मुख्य तथा वैकल्पिक सडक पूर्ण रूपमा क्षतिग्रस्त छन् । विद्यालय, पसल, पानीघट्ट, विद्युत् पोल, माछा फर्म, कल्भर्ट, साँघु र प्रहरी चौकीमा समेत क्षति पुगेको छ । पालिकामा भएको सम्पूर्ण क्षतिको पूर्ण विवरण आउन बाँकी नै छ । 

यस्तै, गोदावरी नगरपालिका पनि विपद् प्रभावितलाई उद्धारपछि राहत वितरणमा जुटिरहेको छ । सँगसँगै प्रभावितलाई पुनःस्थापना र पुनःनिर्माणको योजना बनाउने काम भइरहेको तर दसैँअघि सम्म पुनःनिर्माण गर्नसक्ने अवस्था नरहेको उपप्रमुख मुना अधिकारीले बताउनुभयो । “अहिले हामीले प्रभावित र प्राविधिकको राय सङ्कलनको काम गरिरहेका छौँ । तत्पश्चात् पुनःनिर्माणबारे योजना बनाएर काम अगाडि बढाउँछौँ”, उहाँले भन्नुभयो, “हामीले आफ्नो स्रोतसाधनले भ्याएसम्मको काम गर्छौं । बाँकी कामका लागि सङ्घीय र प्रदेश सरकार तथा विभिन्न सङ्घसंस्थालाई आग्रह गर्छौं ।”  

बाढीपहिरोका कारण यस नगरपालिका– वडा नं ७, ५, ६, ३ र १० मा बढी क्षति भएको छ । विपद्का कारण २० जनाको मृत्यु भएको छ । वडा नं ७ मा अझ बढी समस्या छ । यहाँ झन्डै ३०० परिवार विस्थापित भएको नगरपालिकाले अनुमान गरेको छ । “यो पालिका पहाडी भूभागसँग जोडिएको छ । दुर्गम ठाउँ छ । विगतदेखि नै पहिरोको जोखिम  रहेका स्थानमा यसपटक निकै क्षति भयो । बाटोघाटा अवरुद्ध छन्”, उपप्रमुख अधिकारीले भन्नुभयो, “शुक्रबारदेखि प्रायः जस्तो वडामा ‘ट्र्याक’ खोलेर एकतर्फी सडक सञ्चालनमा आएका छन् । कतिपय वडामा सडक अवरुद्ध हुँदा क्षतिको यकिन विवरण आउन बाँकी छ । टीकाभैरवको अवस्था नाजुक छ । घर, विद्यालय, पुललगायत सडक पहिराले क्षतिग्रस्त छ ।” 

यहाँ नगरपालिकाले विभिन्न गैरसरकारी सङ्घसंस्थासँग समन्वय गरेर प्रभावितहरूलाई खाद्यान्न, म्याट्रेस, त्रिपाल, लत्ताकपडा वितरण गरिएको जनाएको छ ।    

दक्षिणकालीका स्थानीय तहलाई मन्त्री यादवको आग्रह : ललितपुरमा खानेपानी उपलब्ध गराउन सहयोग गरिदिनुहोस्

काठमाडौँ, १९ असोज : खानेपानीमन्त्री प्रदीप यादवले दक्षिणकालीका जनप्रतिनिधि एवं नागरिकलाई ललितपुरका नागरिकका लागि तत्काल खानेपानी आपूर्तिमा सहयोग गर्न आग्रह गर्नुभएको छ । दक्षिणकाली नगरपालिकामा आज आयोजना गरेको जनप्रतिनिधि, स्थानीय नागरिकसँगको गहन छलफल कार्यक्रममा मन्त्री यादवले हालैको बाढीपहिराले खानेपानीका थुप्रै आयोजनामा क्षति पुगेको र ललिपुर क्षेत्रमा दक्षिणकालीबाट जाने पानी रोकिएकाले उक्त पानी तत्काल आपूर्तिमा सहयोग गरिदिन आग्रह गर्नुभयो ।

खानेपानीको प्यासामा कोही तड्पाई रहेका छन्भने त्यसलाई आफूसँग भएको पानी दिनु सबैको कर्तव्य हुने भएकाले दक्षिणकालीका जनप्रतिनिधि एवं नागरिकले ललितपुर क्षेत्रका नागरिकलाई पानी आपूर्ति गर्ने विषय एउटा मानवीय धर्मको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा हाम्रा कर्मचारी, केयुकेएलका कर्मचारी एवं प्रतिनिधिबाट केही समस्या भएको होला । त्यसैले अहिले दक्षिणकालीका नागरिक ललितपुरमा पानी पठाउन रुष्ट भएका हुन सक्छन् । तपाईँका समस्या के हुन् ? समाधानका लागि म पहल गर्नेछु । कृपया म हात जोडेर भन्छु । ललिपुरमा पानी आपूर्तिमा सहयोग गरिदिनुस् ।”

बाढीपहिरोलगायत समस्याले अहिले देश बिपद्मा र समस्यामा परेकाले हामी सबै नेपालीले एक अर्कालाई मानवीय सहयोग गर्नका लागि एकजुट हुनुपर्ने मन्त्री यादवको भनाइ थियो । “अविरल वर्षाका कारण गएको बाढी पहिराले देशका २१ जिल्ला प्रभावित भएका छन् । हामी बिपद्को घडिमा छौँ, नागरिक पानीका लागि तड्पिइ रहेका छन् । तपाईरूसँग पानी छ । अहिले नागरिकलाई पानी दिन तपाईहरूको सहयोग आवश्यक छ,” उहाँले भन्नुभयो ।

यसैगरी मन्त्री यादवले केही दिन पहिले गएको बाढीपहिरोका कारण दक्षिणकालीमा खानेपानीको क्षेत्रमा भएका तथा अन्य समस्याका विषयमा सरकारले मन्त्रीपरिषद्को निर्णयबाट आवश्यक सहयोग गर्ने निर्णयसमेत गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाढीपहिरोले भएको क्षतिका विषयमा सरकारद्वारा आवश्यक सहयोग गर्ने निर्णय भएको छ । सम्पूर्ण क्षतिको लागत तयार गर्नुहोला, मैले जतिसक्दो चाडो समस्या समाधान गराउन पहल गर्ने छु ।” 

दक्षिणकालीमा खानेपानीका भएका क्षतिको मर्मत सम्हारका लागि तत्काल काम थाल्न आफूले मातहतका निकायलाई निर्देशन दिइसकेकाले बाढीले भत्काएका र बिगारेका खाने पानीका मुहानका काम सूचारु हुनेमा ढुक्कसमेत हुन मन्त्री यादवले सबैमा आग्रह गर्नुभयो । 

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा तोसिमा कार्कीले दक्षिणकाली नगरपालिकाका समस्या सम्बोधन गर्न आफूले सङ्घीय सरकारसँग सहजीकरण र समन्वय गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “दक्षिणकालीमा बाढीपहिरोका कारण भएका क्षतिका समस्या समाधन गराउन हामी हाम्रातर्फबाट सङ्घीय सरकारसँग सहजीकरण गछौँ, पानी पठाउन तपाईहरु सहयोग गर्नुस् ।”

ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले दक्षिणकाली नगरपालिकासँग सहकार्य गर्न आफू सदैब तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दक्षिणकाली नगरपालिकासँग सहकार्य गर्न हामी सदैब तयार छौँ, आजैदेखिण् पानी सञ्चालन गरी दिन म तपाईँलाई विषेश अनुरोध गर्दछु ।”

आजै मन्त्री यादवले फर्पिङ र दक्षिणकाली क्षेत्रको अवलोकन भ्रमण गरेर पानीको स्रोत र वितरण प्रणालीको वर्तमान अवस्थाबारे विस्तृत जानकारी लिनुभएको थियो । भ्रमणका क्रममा हालैको अविरल वर्षाले ल्याएको बाढीले क्षति पुर्‍याएका सुन्दरीजल पानी प्रशोधन केन्द्र, फर्पिङ जलाशय (हेड पण्ड), पेनस्टक पाइप, कुटुरी मूल र फर्पिङ पम्प हाउसमा भएको क्षतिको विवरण लिँदै ती क्षेत्रमा पानी आपूर्तिमा देखिएका समस्या समाधान गर्न आवश्यक कदमको बारेमा स्थानीय जनप्रतिनिधिसँग गहन छलफल पनि गर्नुभएको थियो ।

खानेपानीको स्रोतको उत्पादन क्षमता बढाउँदै वितरणलाई अझ प्रभावकारी बनाउन, ललितपुर र दक्षिणकाली नगरपालिकामा स्वच्छ र नियमित पानी आपूर्ति सुनिश्चित गर्नका लागि रहेका राजनीतिक र प्राविधिक चुनौतीको समाधान गर्न आफू प्रतिवद्ध रहेको जानउनु हुँदै मन्त्री यादवले आफ्नोे लक्ष्य स्थायी र दिगो समाधानमार्फत हरेक नागरिकलाई स्वच्छ पानी उपलब्ध गराउनुभएको बताउनुभयो ।

सो कार्यक्रममा दक्षिणकाली नगरपालिकाका नगरप्रमुख मोहन बस्नेत, उपप्रमुख बसन्ती तामाङ डङ्गोल, जनप्रीतनिधिलगायतका आम नागरिकले बाढीबाट खानेपानीका क्षेत्र तथा आम नगरिकका भएका क्षतिलाई राज्यले तत्काल सम्बोधन गरी आवश्यक पर्ने सबै सहयोग गर्नु पर्ने, दक्षिणकाली क्षेत्रका मुहानबाट खानेपानी लैजाँदा सङ्घीय सरकारले दक्षिणकाली नगरपालिकालाई वार्षिक बजेटमार्फत थप बजेट पठाउनुपर्ने माग राख्नुभएको थियो ।

आफ्ना मागका विषयमा राज्यले सम्बोधन गरे दक्षिणकालीबाट ललितपुरमा पानी पठाउनका लागि आफूहरू जतीबोला पनि तयारसमेत रहेको उहाँहरूले प्रतिबद्धता जनाउनुभएको थियो ।

आगामी उपनिर्वाचनबाटै माओवादी केन्द्र एक्लै प्रतिस्पर्धामा जान्छः अध्यक्ष दाहाल

काठमाडौँ, १९ असोजः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी उपनिर्वाचन र २०८४ को आमनिर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने बताउनुभएको छ ।

पार्टी सम्बद्ध दोलखा काठमाडौँ सम्पर्क समन्वय समितिले आज यहाँ आयोजना गरेको भेटघाट तथा अन्तरक्रियामा उहाँले देशव्यापी रुपमा एकल प्रतिस्पर्धामा जानेगरी पार्टीले तयारी थालेको र त्यसको सुरुआत आगामी मङ्सिरमा हुने उपनिर्वाचनबाट गरिने बताउनुभयो । अध्यक्ष दाहालले आफ्नो पार्टीले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा थालेको अभियानले पार्टीप्रति नयाँ आशा र आकर्षण पैदा भएको र त्यसैको बलमा आगामी निर्वाचनमा जनमतबाट पहिलो पार्टी बन्ने दाबी गर्नुभयो । उहाँले जनताको आशा र आकर्षणलाई सङ्गठन निर्माण र जनपरिचालनसँग जोडेर अगाडि बढ्न पार्टीपङ्क्तिलाई अपिल गर्नुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले पछिल्लो समय प्राकृतिक प्रकोपका कारण सिर्जित सङ्कट समाधानका लागि पार्टीले महत्वपूर्ण पहलकदमी लिएको र यसलाई प्रभावकारी रूपमा अगाडि बढाउन आग्रहसमेत गर्नुभयो । “जनताको सेवा गर्न सरकारमा रहने वा नरहने कुराले अर्थ राख्दैन । बाढीपहिरोका कारण सिर्जना भएको सङ्कट समाधानका लागि हाम्रो पार्टीले अग्रपङ्क्तिमा रहेर काम गरिरहेको छ । त्यसैले मुलुक र जनताको पक्षमा काम गर्नु पनि एकप्रकारको आन्दोलन नै हो । यसमा सबैले सक्दो सहयोग गरौँ”, उहाँले भन्नुभयो,“जनताप्रतिको निष्ठाका कारण पार्टी नेतृत्वमा आत्मविश्वास पैदा हुँदै गएको छ । भूकम्पको बेलामा होस् वा संविधान निर्माण र कार्यान्वयनको बेलामा हामीले सत्तापक्ष र विपक्षको आँखाले कहिल्यै हेरेनौँ । अहिले पनि त्यही आवश्यकता छ ।”

कार्यक्रममा पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाले आगामी केन्द्रीय समितिको बैठकले सङ्गठन निर्माण र जनपरिचालनका कार्यक्रम अघि सार्ने बताउनुभयो । उहाँले माओवादी केन्द्रका हरेक सदस्य मुलुक र जनताको हितमा गम्भीर हुनुपर्ने बताउनुभयो ।

पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुल्यो

खोटाङ, १९ असोज : अविरल वर्षासँगै विभिन्न ठाउँमा गएको पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुलाइएको छ । हलेसी तुवाचुङ नगरपालिकाको विभिन्न ठाउँमा बिहीबार राति गएको पहिरोले अवरुद्ध भएको सडक नगरपालिका र मध्यपहाडी लोकमार्गको स्काभेर प्रयोग गरेर तथा स्थानीय बासिन्दा र सुरक्षाकर्मीले पहिरो पन्छाएपछि आज खुलाइएको हो ।

हलेसी–जयराघाट सडकखण्डको बाहुनीडाँडास्थित कदुवा क्षेत्रमा पर्ने गोरुमारेमुनि, त्यसभन्दा मुनि डौँठेखोलामाथिको पहिरो हटाइएपछि अवरुद्ध यातायात खुलेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिनुभयो । “अवरुद्ध सडक खुलाउन दिनरात नभनी दुईवटा डोजर प्रयोग गरेका थियौँ । तीन दिन लगाएर पहिरो पन्छाइएपछि रोकिएका सबै गाडी पार गराइएको छ”, उहाँले भन्नुभयो, “पहिरोले विभिन्न ठाउँमा सडक अवरुद्ध भएपछि गाडीमा सवार एक हजारभन्दा बढी यात्रु अलपत्र पर्नुभएको थियो । पहिरो पन्छाएर सडक खेलेसँगै अलपत्र परेका यात्रु गन्तव्यतर्फ लागेका छन् ।”

सडक अवरुद्ध भएपछि राजधानी काठमाडौँ तथा तराईका विभिज्ज जिल्लाबाट खोटाङ आएका साना तथा ठूला यातायातका सवारी साधन (गाडी) जयरामघाट, डौँठेखेला र दिक्तेल–भोजपुरतिरबाट छुटेको गाडी हलेसी, च्यास्मिटारलगायतका ठाउँमा रोकिएका थिए । पहिरोले सडक अवरुद्ध भएर बीच सडकमा गाडी रोकिएपछि त्यसमा सवार एक हजारभन्दा बढी यात्रु अलपत्र परेका थिए । 

दिक्तेल–हलेसी–जयरामघाट हुँदै राजधानी काठमाडौँ तथा तराईका जिल्ला जोड्ने सडक पटकपटक अवरुद्ध हुँदै आएपछि विकल्पको रुपमा दिक्तेल–चखेवाभञ्ज्याङ सडकलाई निर्वाधरुपमा सञ्चालन गर्ने प्रयास गरिएको छ । त्यसका लागि प्रतिनिधिसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य रामकुमार राई ‘पासाङ’ नेतृत्वको टोलीले स्थलगत अध्ययन गरेर मर्मतकार्य शुरु गरिएको छ । 

मध्यपहाडी लोकमार्ग बाहेक जिल्लाका सबै स्थानीय तहसँग जोडिएका अन्य सबै ग्रामीण सडक अझै सञ्चालनमा आएका छैनन् । दसँैतिहार मान्न राजधानी काठमाडौँ तथा तराईका विभिन्न शहरबाट घर फर्किएका स्थानीय बासिन्दालाई सहजरुपमा घरसम्म पुग्ने वातावरण मिलाउन जिल्लाका दशवटै स्थानीय तहले अवरुद्ध सडक मर्मत सुरु गरेपनि अहिलेसम्म सम्भव भएको छैन । 

अवरुद्ध ग्रामीण सडक सञ्चालनमा ल्याउन १५ दिनअघि पहल थालिए पनि अविरल वर्षाका कारण सम्भव नभएको स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् । दसँैतिहारअघि सबै ग्रामीण सडक सञ्चालनमा ल्याउन सम्बन्धित स्थानीय तहलाई जिल्ला विपद् व्यवस्थापन समितिसमेतले आग्रह गरेको थियो । 

अवरुद्ध ग्रामीण सडक सञ्चालनमा नआएपछि दसैँतिहार मान्न विभिन्न शहरबाट घर फर्किएका स्थानीय बासिन्दा जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट घण्टौँ पैदल यात्रा गर्न बाध्य भएका छन् । ग्रामीण सडकमा यातायात सञ्चालन नभएपछि जिल्लाका यातायात व्यवसायीसमेत मारमा परेका छन् । 

ग्रामीण सडकमा यातायात सञ्चालन नभएपछि अधिकांश यातायातका सवारी साधन दिक्तेल बजारमै थन्क्याएर राखिएका छन् । कमाइ हुने समयसमेतमा अवरुद्ध सडकका कारण यातायातका सवारी साधन थन्क्याएर राख्नुपर्दा व्यवसायीलाई ठूलो क्षति भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताउनुभयो । तस्वीर उपलब्ध छ । 

बडादसैँको तेस्रो दिनः गरियो चन्द्रघण्टा देवीको पूजाआराधना

काठमाडौँ, १९ असोज : नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिएको छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ ।

दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । देशभरका शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड लाग्ने गरेको छ । नवरात्रको पहिलो दिन बिहीबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो । दोस्रो दिन शुक्रबार पूजास्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन आज चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरिएको हो ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् । यो नेपालको राष्ट्रिय पर्वका रुपमा स्थापित भएको छ ।

गृह मन्त्रालय र अनशन बसेका दीपक सिलवालबीच पाँचबुँदे सहमति, अनशन तोडियो

काठमाडौँ, १९ असोज : विगत एक महिनादेखि हवाई उद्धार प्रभावकारी बनाउन हवाई एम्बुलेन्सको माग गर्दै काठमाडौँको शान्तिवाटिका अनशन बसेका तेह्रथुमका दीपक सिलवालले आजदेखि अनशन तोड्नुभएको छ ।

गृह मन्त्रालयका उपसचिव दिलकुमार तमाङ र सिलवालबीच आज पाँचबुँदे सहमति भएसँगै उहाँले अनशन तोड्नुभएको हो । गृह मन्त्रालयमा आज आयोजित एक समारोहबीच गृहमन्त्री रमेश लेखकले उहाँलाई जुस पिलाएर अनशन तोडाउनुभएको हो ।

समारोहमा गृहमन्त्री लेखकले सिलवालले उठाएको विषय गम्भीर र महत्त्वपूर्ण रहेको बताउँदै सहमति कार्यान्वयनमा मन्त्रालय प्रतिबद्ध रहेको जानकारी दिनुभयो । सरकारको पनि ध्यानाकर्षण गराउने उद्देश्यका साथ अनशन बसेर सिलवालले लोकतन्त्रको असल अभ्यास गर्नुभएको भन्दै मन्त्री लेखकले प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “आमाहरू, तिनका सन्तानहरूको जीवन जोगाउनका लागि जुन तपस्या गर्नुभयो र हामीलाई झक्झक्याउनुभयो र हाम्रो ध्यान गम्भीरतापूर्वक आकर्षण गराउनुभएको छ, तपाईंलाई धन्यवाद छ ।”

गृहमन्त्री लेखकले अहिले सरकारले दिइरहेको सेवाले सबै ठाउँलाई समेट्न नसकिएको अवस्थामा त्यस्तो हुनुहुँदैन र सबै पीडामा रहेकाहरूको उद्धार गर्नुपर्छ भनेर उहाँले राख्नुभएको माग जायज भएको पनि बताउनुभयो । हवाई उद्धारसँग सम्बन्धित कार्यविधिलाई संशोधन गरेर सिलवालले उठाएको कुरालाई समावेश गरी अघि बढ्ने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो । उहाँले तोकतान्त्रिक ढङ्गले गरिएको दीपक सिलवालको दबाब शान्तिवादी अभ्यास भएको प्रतिक्रिया दिनुभयो ।

उक्त कार्यक्रममा गृह मन्त्रालयका सूचना अधिकारी तामाङले यसअघिको हवाई उद्धारको समीक्षा गर्दै आपत्कालीन हवाई उद्धारलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र गृह मन्त्रालयले आवश्यक स्रोत, साधन तथा प्रतिबद्ध संयन्त्रको व्यवस्थान गरी थप प्रभावकारी बनाउनेलगायत पाँचबुँदे सहमति भएको जानकारी दिनुभयो । 

हिजोको छलफलबाट सहमति गरी आज औपचारिक रुपमा हस्ताक्षर भएको जानकारी गराउँदै उहाँले सहमतिसँगै आजैका मितिबाट सिलवालको अनशन पनि अन्त्य भएको जानकारी दिनुभयो । 

कार्यक्रममा एक महिना अनशन बस्नुभएका सिलवालले आफ्नो माग हवाई एम्बुलेन्स नै रहेको जानकारी दिँदै अहिलेको हवाई उद्धार प्रभावकारी नभएकोतर्फ गृहमन्त्री लेखकको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले सके हरेक प्रदेशमा एक÷एकवटा नसके कम्तीमा पनि चार ठाउँमा हवाई एम्बुलेन्स राख्न जरुरी रहेको औँल्याउनुभयो ।

उहाँलाई सहयोग गर्दै आउनुभएका पूर्वप्रदेश सांसद नरोत्तम वैद्यले तत्काल कार्यविधि संशोधन गरेर हवाई उद्धार प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले यो सहमति कागजमा मात्रै सीमित हुन नहुनेमा जोड दिनुभयो । 

खान समर्थकको प्रदर्शनका कारण पाकिस्तानको राजधानी ठप्प

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकले प्रदर्शनका क्रममा सडक कब्जा गर्ने प्रयास गरेपछि शनिबार पाकिस्तानको राजधानी इस्लामाबादको सामान्य जनजीवन प्रभावित बनेको छ । पाकिस्तानको सत्तारूढ गठबन्धनमाथि धाँधलीको आरोप लागेको फेब्रुअरीको चुनावमा खानलाई उम्मेदवारी दिनबाट रोक लगाइएको थियो ।

निर्वाचनपछि खानविरूद्ध लगाइएका दर्जनौं कानुनी अभियोगहरूमा अदालतले खानलाई सफाई दिएको छ । तर पूर्व प्रधानमन्त्री खानको पार्टी पाकिस्तान तेहरीक–ए–इन्साफ (पिटिआई) ले नियमित प्रदर्शनका साथ सरकारको प्रदर्शनमाथि रोक लगाउने निर्देशनको अवज्ञा गरेको छ।

उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा रहेको उनको पावरबेसबाट पिटिआई कार्यकर्ताहरू शुक्रबार इस्लामाबादतर्फ जान थालेका छन् तर उनीहरूलाई कन्टेनर अवरोध र अश्रुग्यासको झोँकाको सामना गर्नुपरेको छ।

अक्टोबर १५ मा सुरु हुने साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनअघि सुरक्षाको प्रत्याभूति गर्नुपर्ने आवश्यकता औंल्याउँदै शनिबार साना र छरिएर रहेका काफिलाहरूले इस्लामाबादमाथि दबाब दिएका थिए।

“मलाई हाम्रा सबै जनताप्रति गर्व छ”, खानले शनिबार दिउँसो सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको सन्देशमा भनिएको छ, “हिजो बाहिर (सडकमा) निस्कँदा र अविश्वसनीय बाधाहरू पार गर्दै तपाईंले अविचलित लचिलोपन र साहस देखाउनुभयो।”

लाहोरमा शनिबार पनि विरोध प्रदर्शन भएको थियो, तर पूर्वी मेगासिटीलाई राजधानीसँग जोड्ने मुख्य मोटरमार्ग अवरुद्ध गरिएको थियो।

यसैबीच, एम्नेस्टी इन्टरनेसनलले सञ्चार कटौती र सडक अवरोधले जनताको अभिव्यक्ति स्वतन्त्रता, सूचनामा पहुँच, शान्तिपूर्ण भेला हुने र हिँडडुल गर्ने अधिकारको हनन गरेको जनाएको छ ।

“यो प्रतिबन्ध पाकिस्तानमा विरोध प्रदर्शन गर्ने अधिकारमाथिको चिन्ताजनक दमनको एक हिस्सा हो,” अधिकारवादी समूहले भनेको छ।

सामाजिक सञ्जाल एक्सलाई पनि चुनावपछि पाकिस्तानमा प्रतिबन्ध लगाइएको छ । मतदानको दिन मोबाइल इन्टरनेट पनि काटिएको थियो र पिटिआईले निर्वाचनमा व्यापक रूपमा अनियमितता भएको आरोप लगाएको थियो।

खानले सन् २०१८ देखि २०२२ सम्म प्रधानमन्त्रीका रूपमा पाकिस्तानको नेतृत्व गर्नुभएको थियो भने उहाँलाई पाकिस्तानको राजनीतिक ‘किङमेकर’ मानिएको शक्तिशाली सैन्य संस्थापनसँग सम्बन्ध विच्छेद भएपछि संसद्मा अविश्वासको प्रस्ताव ल्याई अपदस्थ गरिएको थियो ।

यसैबीच चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बल र सशस्त्र लडाकू समूहबीच भएको झडपमा छ सैनिक र त्यति नै सङ्ख्यामा सशस्त्र आक्रमणकारीको मृत्यु भएको सेनाले शनिबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उक्त घटना प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा भएको र त्यहाँ दुई पक्षबीच गोली हानाहान भएको इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) नामक सेनाको सञ्चार शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल पत्रकार महासङ्घको राष्ट्रिय भेला जारी

भक्तपुर, १९ असोजः नेपाल पत्रकार महासङ्घका प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा जारी छ । महासङ्घ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको व्यवस्थापनमा बोडेमा आज बिहानदेखि भेला सुरु भएको हो ।

महासङ्घको सदस्यता विवादका कारण पटकपटक तोकिएको निर्वाचन मिति सारेर अन्योल बनेको अवस्थामा प्रदेश तथा जिल्ला अध्यक्षहरूसहितको भेलाले समस्या समाधानका उपाय खोज्नेबारे छलफल सुरु भएको महासचिव रोशन पुरीले जानकारी दिनुभयो । सदस्यतासम्बन्धी विवाद समाधानका लागि महासङ्घका ५३ जिल्लाका अध्यक्षहरूले राष्ट्रिय भेलाको माग गर्दै केन्द्रीय समितिलाई ज्ञापनपत्र बुझाएका थिए ।

कार्यवाहक अध्यक्ष बाला अधिकारीको अध्यक्षतामा भएको भेलामा विभिन्न जिल्लाबाट सहभागी प्रदेश तथा जिल्ला अध्यक्षहरूको सहभागिता रहेको छभने विपद्का कारण भेला हुन नसकेका अध्यक्षहरूसँग ‘भर्चुअल’ माध्यमबाट छलफल एवं परामर्श गरिएको छ । राष्ट्रिय भेलामा पूर्वकेन्द्रीय अध्यक्षहरु डा सुरेश आचार्य, डा महेन्द्र बिष्ट, तारानाथ दाहाललगायतको सहभागिता रहेको छ । 

भेलामा निर्वाचन मिति, सदस्यता विवाद सुल्झाउनेबारे फरक फरक प्रस्तावहरूमाथि छलफल भइरहेको महासचिव पुरीले जानकारी दिनुभयो । जिल्ला अध्यक्षहरूका तर्फबाट पत्रकार महासङ्घ भक्तपुर अध्यक्ष जगतकृष्ण प्रजापतिले जिल्ला शाखाले सर्वसम्मत पारित गरेर प्रदेशले अनुमोदन गरेको नामावलीलाई मान्यता दिनुपर्ने, विधान विपरीत स्थानान्तरण गरिएका सदस्यता स्वतः रद्द हुनुपर्ने, पुस २० गते निर्वाचन गर्नुपर्ने प्रस्ताव भेलामा राख्नुभएको छ ।

स्थानीय सरकार प्रमुख भन्छन् : –सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ

नारायण न्यौपाने, काठमाडौँ । बाढीपहिरोका घटनाबाट प्रभावित क्षेत्रका अवरुद्ध सडक खुलाउने, क्षतिग्रस्त खानेपानीका मुहान मर्मत गर्ने, विच्छेद भएको विद्युत् आपूर्ति सञ्चालन गर्नेलगायत कार्यलाई स्थानीय सरकारहरूले प्राथमिकतामा राखेका छन् ।


यस पटक बाढीपहिरोबाट बढी प्रभावित काभ्रे र सिन्धुलीका स्थानीय जनप्रतिनिधिले मुख्यतया बिपी राजमार्ग र ग्रामीण भेगसँग जोडिने अवरुद्ध सडक मर्मत गरेर जनतासँग पहुँच स्थापित, विद्युतका ढलेका पोल मर्मतसम्भार गर्ने तथा क्षतिग्रस्त खानेपानीका मुहान सफा गरी पानी वितरणजस्ता आधारभूत सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा राखेको प्रतिक्रिया दिएका छन् ।


बाढी प्रभावित क्षेत्रमा भएका क्षति तथा राहत र पुनःनिर्माणका विषयमा केन्द्रित रही राससका प्रतिनिधिले राखेको जिज्ञासा उनीहरूले आ–आफनो क्षेत्रमा मानवीय तथा भौतिक पूर्वाधारमा भएका क्षतिको विवरण सङ्कलन तथा राहत वितरणलगायतका  प्राथमिकताबारे व्यक्त गरेको धारणाको सम्पादित अंशः


सडक पहुँच पहिलो प्रथमिकतामा राखेको छुः  दिनेश लामा, अध्यक्ष रोशी गाँउपालिका


मुख्यतया बिपी राजमार्ग र ग्रामीण भेगसँग जोडिने अवरुद्ध सडकमा यातायात पहुँच स्थापित, ढलेका विद्युत् पोलको मर्मतसम्भार, क्षतिग्रस्त खानेपानीका मुहान सफा गरी पानी वितरण कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम सुरु गरिएको छ ।


बाढी प्रभावित क्षेत्रमा सडकको पहुँच स्थापित नभएसम्म केही नहुँदो रहेछ । विद्युतको ट्रान्सफर्मर ढुवानी, ढलेका पोल फेर्न बाटो नभई बोकेर लैजान सकिएन । त्यसकारण पहिले बिपी राजमार्ग र त्यसपछि पालिका जाने भित्री सडक दसँैअघि नै जसरी पनि सञ्चालन गरौँ भनेर अघि बढेका छौँ । बाढीपहिरोमा रोशी गाउँपालिका मात्रै १२ को मृत्यु भएको छ ।


भौतिक पूर्वाधारतर्फ दश शय्याको अस्पताल, पक्की र झोलुङ्गे पुल बगेका छन्भने औद्योगिक ग्रामको प्रशासनिक भवन पूर्ण रुपमा क्षति भएको छ । त्यहाँको भर्खरै तयार भएको चिस्यान केन्द्र पनि बाढीले बगाएको छ । तामाङ समुदायको जीवन्त झल्कने रोशीको तटीय क्षेत्रमा रहको डम्फु सङ्ग्रहालय र पार्क पनि बगेको छ ।


बाढी र पहिरोबाट पालिकाभित्र १२ वटा विद्यालय भवनमा क्षति पुगेको छ । एक दर्जन पक्किीसहित करिब ३०० घर पूर्ण क्षति भएका छन् । रोशी खोलाभित्रका धान उत्पादनमा मुलुकमै कहलिएका फाँटमा बढी पसेर सखाप भएको छ । बारीका कान्ला भत्किएर भित्राउन ठिक्क परेका मकैमा नोक्सानी पुगेको छ । रोशीलगायत खोला र खहरले धानबालीमा पुर्याएको क्षतिको आंकलन गर्न सकिने अवस्था नै छैन । एउटै व्यक्तिकै १५ रोपनीसम्म खेत रोशीले कटान गरेको छ, पुरेको छ ।


निजी सम्पत्ति र सडक बाहेक सार्वजनिक सम्पतिको क्षति मात्रै पनि अर्बाैं मूल्य बराबरको छ । राजमार्ग छाडेर अस्पताल, औद्योगिकग्राम, डम्फु पार्कमा भएको नोक्सानी जोड्दा अर्बको क्षति अनुमान गर्न सकिन्छ । निजी सम्पत्ति पनि सोही हाराहारीमा नोक्सानी भएको छ ।


प्राकृतिक विपद्पछि आउँदै गरेका दसँैलगायत चाडबाड यस पटक खल्लो हुने भएको छ । कतिपय स्थानमा चामलसमेत पु¥याउन सकिएलाजस्तो लाग्दैन । तथापि कोसिस भने जारी छ । तुलनात्मक रुपमा बाढीले फलामे साँगु, नारायणटार र नार्केमा बढी तहसनहस बनाएको छ ।


कृषिमा क्षेत्रमा भएको क्षतिमा ध्यान केन्द्रित गर्छौँ : दीपा दहाल (बोहरा), अध्यक्ष, सुनकोशी


बाढीपहिरोपछिको अवस्था निकै जटिल छ । स्थानीय तह र सङ्घसंस्थाबाट पीडित परिवारलाई राहत पु¥याउने काम तदारुकताका साथ भइरहेका छन् । विपद्मा स्थानीय तह र ती संस्था सारथी भएर जनताका घरदैलोमा पुगेका छन् । छिमेकी पालिका कमलामाई, दुधौली र मरिणले केही आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरिसकेका छन् ।


रेडक्रस, रिलिफ र वर्डभिनका प्रतिनिधिले प्रभावित क्षेत्रमा पुगेर सहयोग गरिरहेका छन् । उनीहरूमध्ये कसैले खानेपानी, कसैले स्वास्थ्य, कसैले आवासमा सहयोग पुर्याएका छन् ।  अप्ठेरोमा परेका व्यक्ति र समाजका लागि कुनै न कुनै माध्यमबाट सहयोग पुर्याउन स्थानीय सरकार प्रदेश र सङ्घ सहकार्य गर्दै अगाडि बढेको छ । साथै त्यसका लागि सङ्घ र प्रदेश सरकारबाटै शीघ्र सहयोग, समन्वय र योजनाको अपेक्षा गरिएको छ ।


बाढीबाट क्षतिग्रस्त जग्गाजमिन, घरजग्गा, खेतीबाली, पुलपुलेसा, खानेपानी, सडकमा बढी क्षति पुगेको छ । गड्तिर भेगका कैयौँ फाँटमा बाढी पसेर बाली नष्ट भएको छ । माटो थुप्रिएका ठाउँमा केही समयपछि त्यसलाई सम्याएर उब्जाउ गर्न सकिएला तर बगाएर लगेका स्थानमा भने गम्भीर समस्या हुन्छ । स्थानीय तहका सबै पदाधिकारी बसेर अब कसरी अघि बढ्ने भनी छलफल भइरहेको छ । सङ्घीय र प्रदेश सरकारले कृषिमा नै बढी ध्यान दिएर अघि बढ्नुपर्छ भन्ने हाम्रो माग छ ।


यस विपद्बाट सुनकोशी गाउँपालिकामा तीन अर्ब नौ करोड मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । मानवीयसँगै बाटो, बाली, विद्युत् र खानेपानीमा बढी क्षति भएको छ । पालिकाभित्र १३ वटा विद्यालयमा पूर्णरुपमा क्षति भएका छन् । दसँै लगत्तै कसरी विद्यालय सञ्चालनमा ल्याउने भन्ने अहिले गम्भीर  प्रश्न उठेको छ । यो ठूलो समस्या हो ।


बाढीले मुहान बगापछि गाउँमा खानेपानीको गम्भीर समस्या देखिएको छभने बाटो पनि त्यस्तै छ । रोग र महामारीको डर र भय पनि उत्तीकै छ । बाढीले गाउँपालिकाभित्रका ३७ वटा लिफ्टिङ खानेपानी आयोजनामा क्षति पुर्याएको छ । मुहान सफा गरी पानी वितरण गरिए पनि उपलब्ध पानी गुणस्तरीय र शुद्धताको प्रश्न रहन्छ । यस पटक दसैँलगायत चाडपर्व अघिल्ला वर्षजस्तै हर्षाेल्लास नभई खल्लो हुने स्वतः पूर्वानुमान गर्न सकिन्छ ।


बाढीसँगैको लेदो माटो पन्छाउन निकै समस्या भइरहेको छ । प्रभावित भेगमा शौचालय जाने पानी छैन । हामीले पहिला सडकको पहुँच स्थापित गर्ने, खानेपानी आपूर्ति गर्ने, विद्युत् सञ्चालनको कामलाई एकैसाथ लिएर जानेगरी प्राथमिकता निर्धारण गरिएका छौँ । विद्युत् प्राधिकरणले यस क्षेत्रमा द्रूत गतिमा काम गरिरहेको छ । केही दिनमै अब विद्युत आपूर्ति हुन सक्छ ।


सुनकोशी गाउँपालिकाभित्र १०६ घरमा बाढीपहिरोले नोक्सानी पु¥याएको छ । स्थानीय तहले १० वर्षसम्म भित्र आधारभूत रुपमा सबै काम सम्पन्न गर्ने कार्यतालिका निर्धारण गरेको थियो । तर यस पटकको बाढीले त्यो योजना चकनाचुर बनाइदियो । फेरि शून्यदेखि सुरु गर्नुपर्ने अवस्था आएको छ ।


बिपी राजमार्ग फेरि नयाँ बनाउनुपर्ने भयोः शङ्करराज बराल अध्यक्ष, गोलञ्जोर गाउँपालिका


खुर्कोट बजारमा सुनकोशी बाढी पसेर ३५ भन्दा बढी घर र पसल डुबान परे । पुरिएका भौतिक संरचनाभित्र र वरपरको बालुवा हटाउने र घर सफा गर्ने कार्य स्थानीय तह तथा नेपाल प्रहरी खटिरहेको भइरहेका छन् । बाढीले बगाएको सुनकोशीको पुलको स्थानमा बेलिबृज जडानका लागि नेपाली सेनाबाट अध्ययन भइरहेको छ ।


पहिलो चरणकोे तत्कालीन मानवीय सहायता करिब ८५ घरपरिवारलाई वितरण गरियो । पुरिएर नोक्सानी भएका धान खेत सम्याउने र मिलाउने काम स्थानीय सरकारबाट हुनुपर्छ भन्ने जनताको माग छ । जनअपेक्षाअनुरुप नै त्यो काम गर्ने प्रतिबद्धता स्थानीय तहले जनाएका छन् ।


सुनकोशीबाट खानेपानी र सिँचाइका लागि लिफ्ट गरिएका आयोजनामा बाढीले ठूलो क्षति पुर्याएको छ । त्यसको सरसफाइ र मर्मत कार्यमा तत्काल केही समस्या भएको छ । विकल्पका रुपमा पाइपको व्यवस्थापन गरी अघि बढ्ने प्रक्रिया भने सुरु भइसकेकोे छ । बाढीले गाउँपालिकाभित्रका १६ भन्दा बढी लिफ्ट आयोजनामा नोक्सानी पु¥याएको छ । त्यसबाट खुर्काेटको बजार क्षेत्र, हैवारबँेसी, बलेनीलगायत क्षेत्र खानेपानीबाट बढी प्रभावित छन् ।


यस पटकको विपद्बाट पालिकाभित्र गड्तिर भेगका करिब ८५ घर क्षति भएको प्रभारम्भिक तथ्याङ्क आएको छ । बाढीबाट गड्तिर भेग मात्र नभई महाभारत क्षेत्रका घरहरू पनि जोखिममा छन् । अलिकति पानी पर्ने बित्तिकै घर लड्ने, बग्ने र पहिरोमा पर्ने सम्भावना निकै ठूलो छ । त्यस्ता सङ्कटउन्मुख घरको सङ्ख्या डेढ समय माथि रहेका छन् ।


बाढीबाट बढी प्रभावित खुर्काेट बजारमा व्यपार–व्यवसाय गर्ने व्यक्ति स्थानीय नभई अन्य जिल्लाका भएकाले उनीहरूलाई हामीले तीन दिन मेस चलाएर खाना खुवाइयो । पहिलो चरणको राहत पाएपछि उहाँहरू आफ्ना स्थायी बसोबास भएको ठाउँमा फर्किएका छन् । बाँकी रहेका व्यक्ति पनि बजार वरपर रहेका आफ्ना पुराना घर सफा सुग्घर गर्दैछन् । यस पटकको दसैँ त्यही पुरानै घरमा मनाउनेजस्तो देखिएको छ ।


भौतिक पूर्वाधारका क्षेत्रमा बढी नोक्सान भनेको खुर्काेट बजार नै हो । दसैँ नजिक बाढी आएकाले व्यापारीले धेरै सामान खरिद गरेर राखेका थिए । त्यसमा ठूलो नोक्सानी भयो । डुबानमा परेका घर बस्न योग्य छैनन् । बढीपहिरोबाट पालिका भित्रका खेतमा लगाएको धानबाली पुरिएर नोक्सानी भएको छ । धानबाली नै खतम भएकाले वर्षभर के खाने भन्ने किसानलाई चिन्ता छ । खेत सफा गर्दिएर अर्काे बालीनाली लगाउने वातावरण बनाउने र यातायात सञ्चालन गर्नुपर्ने चुनौती छ ।


अर्कातर्फ बिपी राजमार्ग फेरि नयाँ बनाउनुपर्ने गरी भत्किएको छ । अहिले तत्कालका लागि मध्यपहाडी सडक आयोजनाको सहयोगमा अहोरात्र खटिएर साना गाडी छिचोल्ने ढङ्गबाट मात्र राजमार्ग सञ्चालनमा ल्याइएको छ ।

यस वर्षको भैरव पुरस्कार हास्य व्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई

काठमाडौँ, १९ असोजः यस वर्षको भैरव पुरस्कार हास्य व्यङ्ग्यकार लक्ष्मीप्रसाद भट्टराई (लक्ष्मण गाम्नागे) लाई प्रदान गरिएको छ । भैरव पुरस्कार गुठीले आज यहाँस्थित जोरपाटीमा आयोजना गरेको पुरस्कार अर्पण कार्यक्रममा उहाँलाई सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि नगद रु एक लाख ११ हजार १११ रहेको छ । सोही कार्यक्रममा भैरव वाङ्मय पुरस्कार कोशकार एवं नेपाली भाषा साहित्यको शुद्धीकरण अभियानी चूडामणि गौतमलाई प्रदान गरिएको छ । यस पुरस्कारको राशि पनि नगद रु एक लाख एक हजार १११ रहेको छ ।

यसैगरी, रु ५१ हजार १११ राशिको भैरव प्रतिभा पुरस्कार कलाकार लक्ष्मी गिरीलाई प्रदान गरिएको छ । पुरस्कृत व्यक्तित्वका बारेमा क्रमशः प्राडा रामप्रसाद ज्ञवाली, साहित्यकार ज्ञाननिष्ठ ज्ञवाली र मेनका पोखरेलले प्रकाश पार्नुभएको थियो । पुरस्कृत व्यक्तित्वत्रय गाम्नागे, गौतम र गिरीले नेपाली हास्य व्यङ्ग्य साहित्यमा भैरव अर्यालको योगदानबारे चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री एवं संविधानसभा सदस्य रामेश्वर फुयाँलले साहित्यकारले समाजमा भएको वास्तविकतालाई ऐनाका रूपमा देखाउनुपर्ने बताउनुभयो । काठमाडौँको उत्तरपूर्वी भेग साहित्यको उर्वर भूमि भएकाले यहाँ धेरै साहित्यिक क्रियाकलाप हुने गरेको उहाँले सुनाउनुभयो ।

वरिष्ठ पत्रकार विजय चालिसेले हास्य व्यङ्ग्य साहित्यमा भैरव अर्यालको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । आफूलाई साहित्य क्षेत्रमा अघि बढाउन पनि अर्यालको योगदान रहेको चालिसेले चर्चा गर्नुभयो ।
कार्यक्रममा गुठीका अध्यक्ष रोचक घिमिरे, सचिव वसन्त रिजाललगायतले संस्थाले प्रत्येक वर्ष हास्य व्यङ्ग्य साहित्य र कला क्षेत्रमा योगदान गर्नेलाई भैरव अर्यालका नामको पुरस्कार वितरण गर्ने गरिएको जानकारी गराउनुभएको थियो ।

भारतको मेघालयमा बाढी र पहिरोमा परी दश जनाको मृत्यु

भारतको उत्तरपूर्वी राज्य मेघालयमा बाढी र पहिरोका कारण कम्तीमा दश जनाको मृत्यु भएको अधिकारीले शनिबार जानकारी दिएका छन् ।शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले राज्यको ‘गारो हिल्स’ क्षेत्रमा ठूलो क्षति पुगेको छ ।

मेघालयका मुख्यमन्त्री कोनराड सङ्गमाले बाढीको अवस्थाको समीक्षा गर्दै जिल्ला प्रशासनलाई स्थानीय सरकारसँग सहयोग लिन र प्रभावित क्षेत्रमा राहत कार्य सुनिश्चित गर्न निर्देशन दिनुभएको छ ।

पश्चिम गारो हिल्स जिल्ला दलु–३ र दक्षिण गारो हिल्स जिल्ला ग्यासुआपारा–७ मा बाढी र पहिरोमा परी १० जनाको मृत्यु भएको मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अधिकारीहरूका अनुसार स्टेट डिजास्टर रेस्पोन्स फोर्स (एसडीआरएफ) का कर्मचारीहरूले प्रभावित क्षेत्रमा उद्धार कार्य गरिरहेका छन् ।
पाँच जिल्लाका प्रभावित क्षेत्रमा व्यापक क्षति भएको जनाइएको छ ।पानी बढेपछि काठका पुल भत्किएका छन् । बगेका पुल तत्काल पुनर्निर्माण गर्न मुख्यमन्त्रीले निर्देशन दिनुभएको छ ।

मेघालयको पश्चिमी गारो हिल्सबाट बगेको वर्षाको पानीले छिमेकी आसम राज्यको मानकाचरमा बाढी आएको र धेरै गाउँहरू डुबानमा परेको रिपोर्टहरूमा उल्लेख गरिएको छ ।

कुनै पनि ठाउँबाट विपद्पश्चात् सङ्क्रमणजन्य रोग फैलिएको सूचना आएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौँ, १९ असोजः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका कुनै पनि ठाउँबाट विपद्पश्चात् महामारीजन्य रोग फैलिएको जानकारीमा नआएको बताएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आजको मितिसम्म रोग फैलिएकोबारे मान्त्रालयमा कुनै जानकारी नआएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पखालालगायत हैजाजस्ता कीटजन्य तथा पानीजन्य रोगहरू एकै ठाउँमा धेरै जनालाई सङ्क्रमण भएको देखिए जानकारी गराउन भनेका छौँ । हालसम्म त्यस्तो खबर आएको छैन ।”

अघिल्लो साता देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण बाढीपहिरो, डुबानलगायत विपद्का कारण जनधनको क्षति भएको छ । विपद्ले पानीका स्रोतहरू प्रदूषित हुने हुँदा महामारीजन्य रोगको सम्भावना अधिक रहने र यस्तो अवस्थामा सबैले सतर्कता अपनाउन जरुरी रहेको प्रवक्ता डा बुढाथोकीको भनाइ छ ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा विमल चालिसेले विपद्पश्चात् एकैपटक महामारीजन्य रोग फैलिएर हालसम्म कोही पनि बिरामी नआएको बताउनुभयो । “विपद्पश्चात् महामारीजन्य रोगबाट सङ्क्रमित बिरामीहरू यहाँ आउनुभएको छैन यद्यपि महामारीजन्य रोग बढ्न सक्नेतर्फ सचेत रहँदै उपचारका लागि तयारीमा रहेका छौँ”, उहाँले भन्नुभयो, “विपद्पछि पानीजन्य तथा कीटजन्य रोगहरू बढ्ने हुन्छ । खानेपानीको स्रोत दूषित हुँदा पखाला, हेपाटाइटिस र स्क्रब टाइफसको सङ्क्रमण हुने सम्भावना रहन्छ । त्यसकारण यस्तो बेला उच्च सतर्कता आवश्यक हुन्छ ।”

साथै लामखुट्टेको टोकाइ, सर्पदंशको घटना पनि बढ्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउने, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने, खानेपानीको शुद्धता ख्याल गरेर प्रयोग गर्ने, तरकारीलगायत फलफूलहरू राम्ररी सफा गरेर मात्र प्रयोग गर्नेबारे सबैले ध्यान दिनुपर्नेमा डा चालिसेको जोड छ । 

हाल स्वास्थ्य मन्त्रालयले विपद् प्रभावित, घाइतेहरू र जनघनत्व बढी भएका क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिरहेको जनाएको छ । धेरै ठाउँमा स्वास्थ्य संस्थाहरू आंशिक तथा पूर्ण रूपमा क्षति भएकाले टेन्ट राखेर भए पनि उपचार दिइरहेको मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मन्त्रालयले पालिका तथा प्रादेशिक तहसँग मिलेर विभिन्न ठाउँमा स्वास्थ्य शिविरहरू सञ्चालन गरिरहेका छौँ । जनघनत्व तथा बढी विपद् प्रभावित क्षेत्र काभ्रे, सिन्धुली, पनौतीमा शिविर सञ्चालन भइरहेका छन् ।”

डा बुढाथोकीले महामारीजन्य रोगहरू सम्भाव्य जोखिम आकलन गरी सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई यी रोगबारे जानकारी दिएर सोहीअनुसार सावधानी अपनाएर उपचार र जनचेतना फैलाउन भनिएको बताउनुभयो । विपद् प्रभावित क्षेत्रबाट करिब छ सय जनाले बहिरङ्ग उपचार सेवा लिएको जानकारी दिनुहुँदै प्रवक्ता डा बुढाथोकी भन्नुहुन्छ, “उपचार गराउनुपर्ने घाइतेहरू अझै बढ्ने देखिन्छ । धेरैलाई निःशुल्क उपचार भइरहेको जानकारी नहुन पनि सक्छ, त्यसैले पनि हाल धेरैजना स्वास्थ्य संस्थासम्म आउन सकेका छैनन् । स्वास्थ्य शिविर सञ्चालन भइरहेका छन् । उपचारबारे थाहा हुनेले चिनेजानेकालाई जानकारी गराउन सक्नुहुन्छ ।”

मन्त्रालयले विपद्बाट घाइतेहरुको निःशुल्क उपचार हुने बताएको छ । आपत्कालीन अवस्थामा स्वास्थ्यसम्बन्धी कुनै समस्याका बारेमा जानकारी आवश्यक परेमा कल सेन्टरको हटलाइन नं. ‘१११५’ मा सम्पर्क गर्न सक्ने छन् ।

बाढी, पहिरो प्रभावितको पीडाः ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’

राधिका बुढाथोकी, सिन्धुली ।  पाँच जनाको परिवार खुसी थियो । दसैँ मनाउन खर्च जुटाइसकेका थिए । तर, दसैँ आउनुअघि दशा बनेर आयो बाढीपहिरो । बाढीले धान खेत बगर बनायो । घरमा भएका सामान केही निकाल्न पाएनन् । पहिरोले घर ध्वस्त पार्‍यो ।

बाढीपहिरोले घरखेत सखाप पारेर सुकुम्बासी बनाए पनि परिश्रम गरेर पुरानै लयमा फर्किने हिम्मत जुटाउथे । पहिरोले बुढेसकालको साहारा लुट्यो । घर माथिबाट झरेको पहिरोले घर थिच्यो । घरले विनय कोइरालालाई किच्यो ।

बचाऊ ! बचाऊ ! भनेर छोरोले हारगुहार गरेको आवाज बोधकुमार कोइराला र बिन्दा कार्कीको कानमा अहिले पनि तरङ्गिरहन्छ । हाँसिरहने छोरो आँखा अगाडि छाँया बनेर नाचिरहन्छ । छाँयामा छोरोलाई छुन खोज्दा पाउँदैनन् । झर्छन् आँशु, भक्कानो फुट्छ ।

यो कथामात्रै होइन, वास्तविक यथार्थ हो, सिन्धुलीको सुनकोसी गाउँपालिका–१ नेपालथोकका कोइराला परिवारको । यतिबेला यो परिवार शोकमा डुबेका छ । ‘माथ्लो घरले लगाएको पर्खाल खसेर मेरो घर डल्यो, घरले थिचेर छोरोको ज्यान गयो’, आमा बिन्दाले भक्कानिँदै दुःखेसो गरिन्, ‘हामीले तत्काल निकाल्न सकेनौँ । प्रहरीले २४ घण्टापछि निकाल्दा शरीर गन्हाउन थालिसकेको थियो ।’

बिन्दा र बोधकुमारका दुई छोरा थिए । जेठो सन्तान १२ वर्षीय विनयको १२ असोजमा पहिरोका कारण मृत्यु भयो । ज्वालादेवी सेकेन्डरी स्कुलमा कक्षा ६ मा पढ्दै गरेका विनय बितेपछि बिन्दा र बोधकुमारका काखमा कान्छो सन्तान विजय छन् । दुवैको काँधमा १० वर्षे विजयको पढाई र कपाल सेतै फूलेकी आमाको पालनपोषणको जिम्मेवारी छ ।

साढे तीन रोपनीमा लगाएको धान थन्क्याउने बेला भएको थियो । बाढीले सबै धानबाली सखाप बनाएको छ । गाईसहित गोठमा भएका पशुबस्तु पुरिए । दुई आनामा ढुङ्गामाटोले बनाएको घरगोठसहितको जग्गा पहिरोले प्रयोग नै गर्न नमिल्ने गराएको छ । यतिबेला यो परिवारको न बस्ने बाँसको ठेगान छ, न छ खाने गाँसको ।

‘एउटा छोरो दैवले लगे पनि चार जना बाँचेका छौँ । खान त बनिबुतो गरेर खाउँला । बस्ने बासको व्यवस्था गरिदिए हुन्थ्यो’, बोधकुमारले भने । बाढी, पहिरोले घरगोठ रित्याएर विस्थापित भएका कोइराला परिवार हाल एक स्थानीयकै घरमा आश्रय लिएर बसेका छन् ।

यही असोज १० र ११ गते परेको मुसलधारे वर्षाका कारण आएको बाढी, पहिरोमा परेर जिल्लामा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार एक जनाको बाढीमा र दुई जनाको पहिरोमा परेर मृत्यु भएको हो । मृत्यु हुनेमा कमलामाई नगरपालिका–९ भिमानका ४६ वर्षीय कृष्णबहादुर बोगटी, सुनकोसी गाउँपालिका–१ नेपालथोकका १२ वर्षीय विनय कोइराला र सुनकोसी–२ गोख्रेनीका ४५ वर्षीय गणेश गुर्मछाने छन् ।

सिन्धुलीमा भौतिक क्षतिको अवस्था भयानक छ । सुनकोसी–१ नेपालथोक, दुम्जामा भुपाल घिसिङले दुई वर्षअघि नमुना पेट्रोलपम्पको अवधारणमा २० करोड लगानी गरेर सञ्चालनमा ल्याएका नमोबुद्ध आयलस्टोर बाढीले बगायो । पाँच रोपनीमा पेट्रोल व्यवसाय सुरु गरेको एक दशक बिते पनि लगानी थप गरेर नमुना बनाएको दुई वर्ष बितेको थियो ।

‘जापानमा १२ वर्ष बगाएको पसिनाको पौरख शुक्रबार र शनिबार रोशी खोलामा आएको बाढीले बालुवामा मिलाइदियो । नगद पैसा पनि निकाल्न पाइनँ । अघिल्लो दिन मात्रै तेल लोड गरेको थिएँ । त्यो तेलको तीन वटा टयाङ्की, चार वटा मेसिनसहित आयलस्टोर, अफिस कोठा, शौचालय, क्याफे केही बाँकी राखेन, सबै बगायो’, व्यवसायी घिसिङले भक्कानिँदै पीडा सुनाए ।

सुनकोसी गाउँपालिका–२ रम्तेल टोलीकी सीता सार्कीको यतिबेला रुबाबासी छ । वडा सदस्यसमेत रहेकी सीताको टोल नै पहिरोको जोखिममा छ । घरमाथि र आँगन तलबाट पहिरो खसिरहेको छ । केही घरमा क्षति भइसकेको छ । ‘यो विपद्को बेलामा म एक्लै छु । दुई छोराबुहारी काठमाडौं छन् । बिहे गरेर दिएका छोरी आफ्नै घर छन् । आफू बसेको गाउँ नै पहिरोको चपेटामा छ । सुनकोसी नदीतिरको बस्ती बाढीले डुबाएको छ । अब म सुरक्षितसँग बस्न कहाँ जानु ?’, पहिरो प्रभावित सीता सार्कीले दुःखेसो गरिन् ।

ठाउँठाउँमा खसेको पहिरो, खोला, खहरे र नदीमा आएको बाढीले गाउँबस्ती, बजार, होटल तथा रिसोर्ट, सडक, विद्यालय भवन, विद्युत् आयोजना, खानेपानीका आयोजना, ठूलासाना पक्की तथा झोलुङ्गे पुललगायत सरकारी वा गैरसरकारी भवनमा हानी गरेको छ । बस्दै आएको घर भत्काउँदा तथा बगाउँदा बाढी, पहिरो प्रभावित विचल्लित भएका छन् ।

फिक्कल गाउँपालिकामा मात्रै तीन सय छ घरपरिवार बाढी, पहिरोका कारण प्रभावित छन् । उपाध्यक्ष राजु बरालका अनुसार पहिरोका कारण वडा नं ३ पोखरीमा ६० घर, वडा नं २ खोलागाउँमा २९ घर, वडा नं ४ खाङ्साङमा ६२ घर, वडा नं. ५ सोल्पाठानामा ७५ घर, वडा नं ६ रत्नावतीमा ७९ र वडा नं १ महादेवडाँडामा एक घरपरिवार पहिरोबाट प्रभावित छन् ।

छ सय ४६ रोपनीमा किसानले लगाएको धानबालीमा क्षति छ । एक सय २० रोपनी खेतीयोग्य जमिन कटान भएको छ । पाँच सय २६ रोपनी जमिन पुरिएको छ । बाढीले कृषि तथा पशुपक्षीका पाँच वटा फर्म, सात वटा फलफूल बगैँचा बगाएको छ । बाढी, पहिरोले ५० वटा विद्युतका खम्बामा क्षति गरेपछि असोज ११ गतेदेखि विद्युत् अवरुद्ध छ । विद्युत् अवरुद्ध हुँदा फिक्कल गाउँपालिकामा आठ हजार नागरिक एक सातादेखि अँध्यारोमा बस्न बाध्य छन् ।

सुनकोसी नदीमा आएको बाढीले फिक्कलका पाँच वटा झोलुङ्गे पुलमा क्षति गर्दा ओखलढुङ्गासँगको सीधा सम्पर्क टुटेको छ । सुनकोसी नदीबाट लिफ्टिङ गरी खानेपानी तान्ने १५ वटा मोटर बगाउँदा पिउने पानीको समस्या भएको छ ।

सुनकोसी र गोलञ्जोरमा बाढी, पहिरोले गरेको क्षति विवरण सङ्कलन भइरहेको छ । सुनकोसी गाउँपालिका उपाध्यक्ष कपिलकुमार कोइरालाका अनुसार पालिका र प्रहरीले क्षति विवरण सङ्कलन गरिरहेका छन् । हालसम्म सुनकोसी गढ्तीर क्षेत्र र आसपासमा बसोबास गरिरहेका दुई सय छ घरपरिवार बाढी, पहिरोका कारण विस्तापित भएको विवरण सङ्कलन भएको छ । घर पूर्ण रूपमा क्षति हुनुका साथै धानबाली भएको खेत बाढी, पहिरोले सखाप बनाएपछि विस्थापित भएका हुन् । यहाँ पनि खानेपानीको चरम समस्या छ ।

सुनकोसी गाउँपालिका–५ मुल्कोट बजार क्षेत्रका मात्रै चार वटा रिसोर्ट, ३५ वटा होटललगायत विद्यालयको भवन र घरको पहिलो तल्ला बाढीको बालुवा माटोले पुरिएको स्थानीय व्यवसायी पुर्छमान श्रेष्ठले बताए । उनका अुसार नदी किनारका अधिकांश संरचनाहरू बाढीले कटान गरेर बगाएको छ ।

यता, गोलञ्जोर गाउँपालिका–७ खुर्कोट बजार क्षेत्रको अवस्था पनि उस्तै छ । गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने (पुकार) का अनुसार यहाँ मात्रै ३५ घरका ६० परिवार विस्थापित भएका छन् । बाढीले विस्थापित भएका परिवार बजार क्षेत्रमा व्यापार, व्यवसाय गरेर बसेका थिए ।

सुनकोसी नदीमा आएको बाढीले गोलञ्जोर–६ मा ११ वटा घर पूर्ण रूपमा क्षति भएको वडाध्यक्ष रविनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार वडा कार्यालयको दुई वटा भवन, विद्यालयको भवन, र्‍याफ्टिङसहित सरकारी भवन १४ वटा, तीन वटा मन्दिर र दुई वटा पार्टीमा क्षति भएको छ । हैवारदेखि बलेनीसम्मको लिफ्टिङ खानेपानीको नौ वटा इनार बगाउँदा तीन सय घरधुरीलाई खानेपानीको समस्या भएको छ ।

विपद्को यो दुःख घडीमा नागरिकको प्रतिरक्षा गर्न स्थानीय तहको स्रोतसाधनले मात्रै नभ्याउने गोलञ्जोर गाउँपालिका उपाध्यक्ष न्यौपानेले बताए । बाढी, पहिरो प्रभावितको जीवनस्तरलाई पुरानै लयमा फर्काउन प्रदेश र संघीय सरकारको भूमिका विशेष हुन आवश्यक रहेको उनको भनाइ छ । गैरसरकारी सङ्घसंस्थालाई पनि यो विपद्को समयमा सकेको सहयोग गर्न उनको अनुरोध छ ।

बाढी, पहिरोले पारेको क्षति र प्रभावितको अवस्था बुझ्न बाढी, पहिरो प्रभावित क्षेत्र पुगेकी जिल्ला समन्वय समिति, सिन्धुली उपप्रमुख शान्ता कार्कीले आआफ्नो ठाउँबाट सकेको सहयोग गर्न सबैलाई आग्रह गरिन् । उनले भनिन्, ‘बाढी, पहिरोले सिन्धुलीका सबै पालिका प्रभावित छन् । बाली लगाएको खेतीयोग्य जमिन सखाप भएको छ । सयौँ घरपरिवार विस्तापित छन् । बाढी, पहिरो प्रभावितको यतिबेला विचल्ली भएको छ । खानेपानीको समस्या बढेको छ । यो दुखद् घडीमा प्रदेश, सङ्घ र स्थानीय तह, गैरसरकारी सङ्घसंस्थालाई सहयोग गर्न आह्वान गर्दछु ।’

विपद्ले विचल्ली बनाएको अवस्थामा पनि सरकार भएको अनुभूति गर्न नसकिएको बाढी, पहिरो प्रभावितको गुनासोसँगै आक्रोश पनि छ । यहाँका स्थानीय सरकार, सुरक्षा निकाय र गैरसरकारी सङ्घसंस्थाले आआफ्नो ठाउँबाट सकेको सहयोग गरिरहेका छन् । यद्यपि, स्रोत साधनको अभाव हुनुका साथै कतिपय सेवा प्रवाह गर्ने निकाय आफैँ बाढी, पहिरोबाट प्रताडित हुँदा नागरिकले आवश्यकताबमोजिमको सहयोग पाउन सकेका छैनन् ।

च्याङ्ग्रा व्यापारीको यात्राः रारादेखि फेवा तालसम्म

ढोरपाटन (बागलुङ), १९ असोजः उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गर्नुभएका मुगुका छिरिङ छोर्वे लामा शुक्रबार दिउँसो लुम्लेमा भेटिनुभयो । साढे दुई सय च्याङ्ग्रा लिएर आफू आठ दिनअघि उपल्लो मुस्ताङबाट हिँडेको सुनाउनुभयो ।

मुस्ताङ, म्याग्दी, पर्वत हुँदै लुम्ले आइपुग्नुभएका उहाँका साथमा दुई साथी पनि थिए । लामो यात्राले थकित शरीरलाई ठाउँठाउँमा विश्राम दिँदै उहाँ दसैँको मुखमा च्याङ्ग्रा बेच्न लुम्ले आइपुग्नुभएको होे । च्याङ्ग्रा बिक्री गर्दै आइतबार बिहानसम्म पोखरा पुग्ने उहाँको योजना छ । 

लामाले दसैँमा च्याङ्ग्रा बेच्न यो मार्गमा यसरी हिँडेको पहिलो पटक भने होइन । विगत एक दशकदेखि नियमित जसो च्याङ्ग्राको व्यापार गर्न उहाँ मुगुबाट यहाँ आउनुहुन्छ । 

“यसपाली दुई महिनाअघि मुगुको राराबाट हिँडेको थिए, मुगुबाट नेपालगञ्ज जहाज र त्यहाँदेखि पोखरा हुँदै गाडीको यात्रामा मुस्ताङ पुगेको थिएँ”, उहाँले भन्नुभयो । लामो समयदेखि यहाँ आइ च्याङ्ग्रा बिक्री गर्दै आउनुभएका छिरिङलाई मुस्ताङदेखि पोखरासम्मका हरेक ठाउँबारे राम्रो जानकारी छ । मुस्ताङ र म्याग्दीका अग्ला भिरपहरा छिचोल्दै लुम्मेसम्म आइपुग्दा उहाँले १८ वटा च्याङ्गा बिक्री भइसकेको बताउनुभयो । 
लामाभन्दा अगाडि केही व्यापारीले च्याङ्ग्रा पोखरा पु¥याइसकेका छन् । अघिल्लो वर्षको तुलनामा मूल्य कम हुँदा च्याङ्ग्राको माग बढेको उहाँको अनुभव छ । यही असोज २२ गतेसम्म सबै च्याङ्ग्रा बिक्री गरेर गाउँ फर्कने उहाँको योजना छ । 

मुगुको रारा तालदेखि कास्कीको फेवा तालसम्म च्याङ्ग्रा व्यापारमा वर्षौँ बिताउनुभएका लामाले यही पैसाले परिवारको पालनपोषण र छोराछोरी पढाउन सहज भएको उहाँले बताउनुभयो । उहाँले मुस्ताङको उच्च हिमाली क्षेत्रदेखि डोल्पासम्म पुगेर च्याङ्ग्रा ल्याउनुहुन्छ । 

“दसैँको बेला पोखरामा बस्ने दाजुभाइहरुले च्याङ्ग्राको मासु धेरै रुचाउनुहुन्छ, यो बेला च्याङ्ग्रा लिएर उहाँहरुलाई मासु खुवान पाउँदा हामीहरुलाई पनि खुसी लाग्छ”, लामाले भन्नुभयो, “राराबाट पोखरा आउन सजिलो छैन, म पोखरा, मुस्ताङ र रारा ओहोरदोहोर गर्न लागेको धेरै वर्ष भयो, दुःख छ भनेर काम नगरे के खाने ?, केही न केही काम त गर्नु प¥यो ।”

अघिल्लो वर्ष मूल्य अचाक्ली बढ्दा बजारमा माग कम आएको हुँदा यस वर्ष करिब रु १० देखि १२ हजारले मूल्य घटाएको लामा बताउनुहुन्छ । लामाको व्यवसायिक साझेदार हुनुहुन्छ मुस्ताङका कर्मा लामा । यउहाँले भने यस वर्ष हिमालबाट ढिला झर्दा सोचे अनुसारको बिक्री नभएको बताउनुभयो । 

यस वर्ष च्याङ्ग्राको अधिकतम मूल्य रु ४० देखि ४५ हजार रहेको कर्माले जानकारी दिनुभयो । आफूहरुले बथानमा रहेका रोज्जा (रोजेको) च्याङ्ग्रालाई रु ४२ हजारमा दिने गरेको उहाँ बताउनुहुन्छ ।
कर्मा भन्नुहुन्छ , “देख्दा सुन्दा यसको मूल्य बढी भयो भन्ने लाग्नसक्छ तर तुलनात्मक रुपमा पोखरासम्म ल्याउँदा त्यस्तो महङ्गो होइन, पोहोर सालको दसैँमा रु ४८÷५० हजार भन्थे अहिले रु ३८÷४० हजारमा पाउनुहुन्छ, गाउँमा भन्दा सहर बजारमा च्याङ्ग्राको माग बढी हुने हुँदा हामीहरुले हिमालमै पुगेर ल्याउने गरेका छौँ ।”

दसैँका बेला म्याग्दी, बागलुङ, पोखरा र काठमाडौँका व्यापारी मुस्ताङको माथिल्लो क्षेत्रमा रहेका गोठमै पुगेर च्याङ्ग्रा खरिद गरेर ल्याउने गर्छन् । यस वर्ष पनि धेरैको सङ्ख्यामा व्यापारी मुस्ताङ पुगी च्याङ्ग्रा लिएर बजार पुग्न थालेका छन् ।

‘छैटौँ नेशनल किड्स अफ दि इयर २०२४’ मा फरक उमेरका चार विजेता घोषणा

काठमाडौं,-‘छैटौँ चोकोफल नेशनल किड्स अफ दि इयर २०२४’को उपाधि सिनियर बलिकातर्फ क्यारिङ दोङ र जुनियर बालिकातर्फ प्रान्भी आचार्यले जितेका छन् । यस्तै सिनियर बालकतर्फ उत्सर्ग भट्टराईले र जुनियर बालकतर्फ प्रणय मानन्धरले जितेका छन् । बिहिबार अबेर साँझ राष्ट्रिय नाचघरमा सम्पन्न यो प्रतियोगितामा एकै स्टेजमा चार विजेताको घोषणा गरिएको हो । बिजेताहरुले २५ हजार रुपैयाँ बराबरको अन्तराष्ट्रिय हवाई टिकट सहुलियत र विभिन्न उपहारसहित बैंककमा हुने ‘इन्टरनेशनल किड्स’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् ।

प्रतियोगितामा ४५ भन्दा बढी विद्यालयका ६० प्रतियोगीले भाग लिएका थिए । जसमा बिजेता बालिकामध्य दोङ एनआइसी एकडेकी कक्षा ५ मा, आचार्य माछापुच्छ्र आईबी स्कुलमा कक्षा ३ मा पढ्छिन् । यस्तै बालकतर्फका बिजेता भट्टराई ग्यालेक्सी स्कुलमा कक्षा ७ मा र मानन्धर रोजबर्ड स्कुलमा कक्षा २ मा अध्यायनरत छन् ।
यो प्रतियोगितामा सिनियर समूहमा बालकतर्फ निशान उलक र आरोग्य श्रेष्ठ क्रमशः फष्ट र सेकेन्ड रनरअप बने भने बालिकातर्फ परिसा सिटौला र इक्सिता तन्डुकार क्रमशः फष्ट र सेकेन्ड रनरअप भए । यस्तै जुनियर बालक तर्फ अविग्न डंगोल र ड्यारियन कुवँरले फस्ट र सेकेन्ड रनरअप बने भने बालिका तर्फ साइना थापा र आयुजा चौधरीले क्रमशः फष्ट र सेकेन्ड रनरअपको उपाधि जिते ।

यो प्रतियोगिताको निर्णायकमा चलचित्र र सांगीतिक क्षेत्रमा व्यक्तित्वहरू थिए । निर्णायक मण्डलमा मिस वल्र्ड ट्रिजम नेपालकी सजिना खनाल, अन्तराष्ट्रिय मोडल दीपक घिमिरे, कोरियोग्राफर जयनसुब्बा मानन्धर, डान्स कोरियोग्राफर महेश केसी, कस्मोलोजिष्ट परिषी कारँजित, फेशन डिजाईनर इन्ता श्रेष्ठलगायत थिए ।
सोफिया महर्जन कार्की र रोजिन शाक्यले सञ्चालन गरेको सो कार्यक्रमको पर्सनल डेभलपमेन्टमा स्वस्तिका राजभण्डारी, अभिनय प्रशिक्षकमा अशान्त शर्मा थिए । इभेन्ट बेटर ग्यालेक्सी ईन्टरटेनमेन्ट प्रा.लि.ले आयोजना गरेको सो कार्यक्रममा आयोजक संस्थाकी एमडी लीजा श्रेष्ठको नृत्य प्रशिक्षण दिएकी थिईन् ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले उद्घाटन गरेको सो ग्रान्ड फिनाले समारोहमा अभिनेत्री तथा चलचित्र निर्देशक दीपाश्री निरौला, प्रतियोगितामा मेमोरी किङ डा.नबल पजियार, अभिनेता गजित बिष्ट, रोज ब्युटी एकेडेमीकी अध्यक्ष सोनी कारँजितलगायतका विभिन्न व्यक्तिहरु सो कार्यक्रमका अतिथि थिए ।

नेपाल एरलाइन्सको सहकार्यमा सम्पन्न सो प्रतियोगिताको अफिसियल ड्रेस डिजाइनमा इन्ता अटायर, थियो । प्रत्यक्ष धिमे बाजाको प्रस्तुतिबाट सुरु भएको प्रतियोगितामा विविध सांस्कृतिक पहिरनमा प्रतियोगीहरू आफ्ना अभिभावकसहित मञ्चमा उत्रिएका थिए

प्रतियोगितामा गायक धिरज राई, सन्दीप कार्की, राजेन्द्र गिरी र युग श्रेष्ठले सांगीतिक प्रस्तुति दिँदै कार्यक्रमलाई संगीतमय बनाए । आयोजक इभेन्ट बेटर ग्यालेक्सी ईन्टरटेनमेन्टका अध्यक्ष धिरज तन्डुकारले यो कार्यक्रमले बालबालिकलाई नेपाली संस्कृतिको जानकारीसहित उनीहरूको प्रतिभा निखार्न र भविष्य निर्माणमा सक्षम बनाउने यो कार्यक्रम आयोजना गर्दै आएको बताए । प्रतियोगिताको ग्रान्ड फिनाले प्रत्यक्ष प्रसारण काष्ठमण्डप गोल्ड एचडी मार्फत गरिएको थियो ।

बाढीपीडित किसानको गुनासो- स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन

सप्तरी । सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई बिघामा लगाएको धानखेती बाढीले बगायो । कोशी किनारमै मजदुरी गर्दै आएका उनी बाढीले धानखेती ध्वस्त बनाएपछि अब के गर्ने भन्ने चिन्तामा छन् ।

“अहिलेसम्मको सबै मेहनत बाढीले बगायो, खेतमा गोडमेल, रोपाइँ, सिँचाइलगायतमा मात्रै प्रतिबिघाको रु ३५ हजारसम्म खर्च भएको थियो”, उनले भने।

असाेज ११ र १२ गते परेको अविरल वर्षासँगैको कोशी नदीमा आएको भिषण बाढीका कारण उनी मात्रै होइन अधिकांश किसान पीडामा छन् । त्यसैमध्येका एक छन् उमेश माझी । “घुटराज जातको धान लगाएको थिए । पाकेर स्याहार्ने बेलामा कोशीको बाढीले सबै लग्यो, यहाँका किसानको लाखौँको लगानी डुब्यो”, उनले भने ।

कोशी ब्यारेजकै किसान लक्षमण प्रमाणीले दसैँ लगत्तै धान काट्ने सोचमा थिए। तर अघिल्लो साता लगातार परेको वर्षाका कारण आएको बाढीले घरदेखि पश्चिम कोशी किनारमै रहेको खेत माटोले भरिएको छ । “चार बिघामा लगाएको सबै धान बाढीले पुरिदियो, घर खर्च कसरी चलाउने भन्ने चिन्ता थपिएको छ”, उनले भने, “हामी खेतीमै निर्भर परिवार हो । अब के गरी परिवारको पेट पाल्ने भन्ने चिन्ता थपिएको छ ।”

त्यहाँका अधिकांश घरपरिवार सुकुमबासी छन । कोशी ब्यारेजमा करिब ४५ परिवार मजदुरी गरी जीविकोपार्जन गर्दै आएका छन् । उनीहरु अधिकांशको दैनिकी कोशी नदीमा बगाएर ल्याएका दाउरा छान्दैमा बित्ने गरेको छ ।

यहाँ करिब पाँच सय बिघा जमिनमा धान रोपाइँ भएको स्थानीय वीरेन्द्र कबिरले बताए । जिल्लाका विभिन्न स्थानमा घुटराज धान लगाउने किसान अहिलेको वर्षाबाट बढी प्रभावित भएको उनले बताए ।

किसान सुकदेव राउतको अवस्था पनि उस्तै छ । बाढीले २५ कठ्ठा खेतमा रोपेको धान काट्नै नमिल्ने गरी कोशी नदीको बाढीले पाँगो हालेर पुरिदिएको छ । पाकेको धान समेत नदीले पुरिदिएपछि कसरी परिवार पाल्ने भन्ने चिन्ता थपिएको छ ।

त्यस्तै पूर्व–पश्चिम राजमार्गको उतरपट्टी हनमाननर कङ्कालिनी नगरपालिका–१ भारदहमा पाँच सय बिघामा लगाइएको धानखेत बगरमा परिणत भएको छ ।

स्थानीय बुदुर राम र फुदुर रामको दुई/दुई बिघाको धानबाली पूर्णरुपमा नष्ट भएको छ । यस्तै भारदह गाउँकै अनिल माझी, पारस माझी, बथुह माझी, मोहन संत, मुसहरु राम, सुनिल राम, महेश माझी, सकलदेव लोगी र अशोक खड्गा, बासुदेव खड्गा तथा मनवोध झासहित करिब एक सय परिवारको धान खेती कोशीको बाढीका पानीका कारण नष्ट भएका छन् ।

धानखेतीमा पानी निकासी हुने कुनै ठाउँ नरहेकाले पाँच सय बिघामा लगाइएको धान पूर्णरुपमा गलेर नष्ट भएको वडा अध्यक्ष सुरेन्द्र मण्डलले जानकारी दिए । उक्त ठाउँमा कोशी नदीबाट भासेर आएका जलकुम्भी, बिभिन्न झारपातले भरिएको छ ।

पूर्वी पहाडी जिल्लामा परेको अविरल वर्षाका कारण विभिन्न नदी हुँदै सप्तकोशी नदीमा आएका बाढीले केही घरमा क्षति पुर्याउनका साथै कैयौँ बिगाहा जमिनमा रोपेको धान बाली नष्ट भएको छ । कृषि ज्ञान केन्द्र राजविराजका सप्तरीका अनुसार जिल्लाको पूर्वीभेगका हनुमाननगर कङ्कालिनी नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ८, ९, ११ र १४ वडामा बाढीले धान खेतिमा क्षति गरेको छ ।

त्यस्तै जिल्लाको तिलाठी कोइलाडी, कञ्चनरुप नगरपालिका, तिरहुत गाउँपालिकामा समेत हजारौँ बिघाको धानबाली नष्ट भएको छ । यस क्षेत्रमा कोशी, जीता, मोहुली जस्ता नदीहरुमा आएको बाढी पसेको हो ।

बाढीपहिरामा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु

काठमाडौँ, १९ असोजः अघिल्लो साता आएको बाढीपहिरामा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन् । अन्य एक सय ७८ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिनुभयो ।

हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताउनुभयो ।

ऊर्जामन्त्री खड्काको सक्रियतामा मन्त्रालयको फोहर व्यवस्थापन

काठमाडौँ, १-ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का मन्त्रालयको फोहर व्यवस्थापनमा खटिनुभएको छ । उहाँले मन्त्रालय परिसरभित्र सरसफाइ गर्दै कर्मचारीलाई समेत हौसला प्रदान गर्नुभयो । सरसफाइ गर्ने क्रममा मन्त्रालय, मन्त्रालयअन्तर्गत रहेका सबै कार्यालयलाई सफा उहाँले राख्न आग्रह गर्नुभयो ।

मन्त्री खड्काले पुराना प्रयोगमा नआएका सवारीसाधनलाई कानुनबमोजिम लिलामी प्रक्रिया अगाडि बढाउन पनि कर्मचारीलाई निर्देशन दिनुभयो । आज सरसफाइको सुरुआत गरिए पनि यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै उहाँले स्वस्थ हुन सबैले सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । “भोलिका दिनमा मन्त्रालय स्वच्छ र सफा भएको अनुभूति आम सेवाग्राहीले महसुस गर्न पाउनुपर्छ”, उहाँले भन्नुभयो ।

मन्त्रालयका सहसचिव शम्भुप्रसाद मरासिनीले मन्त्रीको नेतृत्वमा भएको सरसफाइले मन्त्रालयका सबै कर्मचारीलाई हौसला प्रदान गरेको बताउँदै आगामी दिनमा पनि यसले निरन्तरता पाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मन्त्रालय मात्र नभई देशभरका मन्त्रालयअन्तर्गतका कार्यालयमा पनि सरसफाइलाई प्राथमिकता दिएर योजनाबद्ध रुपमा अगाडि बढ्ने उल्लेख गर्नुभयो ।

स्थलगत रिर्पोटः ‘प्राथमिकताका आधारमा राहत वितरण गर्नुपर्छ’

धुलिखेल (काभ्रेपलाञ्चोक), १९ असोजः बेथानचोक गाउँपालिका–४ सलान्दुबगरका मदन लामाको यही असोज ११ गते राति सलान्दुखोलासँगै मिसिएर आएको बाढीले घर, टेलर्ससहित कस्मेटिक पसल र फर्निचर उद्योगलगायत सबै सामान बगाएको छ । बाढीले सबै सामान बगाएपछि लामाले असोज १३ गतेदेखि बस्नका लागि कोठा खोज्नुभएको हो ।

गहभरि आँसु, ओँठमा रोधन थरथर काँपेको शरीर । “न बस्ने ठेगान छ, न खानेकुरा र पैसा नै । ज्यान बाँचे पनि बस्ने र खाने व्यवस्था नहुँदा सास्ती भएको छ । एकपट्टि चुँडिएको चप्पलमा पनौती र खोपासीको बजार कोठा खोजे पनि पाइएन”, मगरले सुनाउनुभयो ।

घरबार, पसल, उद्योग र नगद सबै बाढीले बगाएपछि आफन्तले किएको एकजोर कपडा र चप्पलमा बसिरहेको मदनले बताउनुभयो । उद्धारपछि बाढीपहिरो पीडितको व्यवस्थापन र अवस्थाका विषयमा ‘रिपोर्टिङ’ गर्न शुक्रबार सलान्दुबगरमा पुग्दा बगाएको घरको अवशेष देखाउँदै उहाँले भन्नुभयो, “ज्यानबाहेक मसँग केही छैन, सबै बगाएपछि पनौतीमा कोठा खोजेर आमा र छोराछोरीलाई राखेको छु । खानेकुरा र लाउने लुगासमेत छैन ।”

बाढी आएको रातिदेखि दुई दिनसम्म भिजेको लुगा लगाएर बसेको भन्दै मदनले आफन्तले दिएको कपडाले धेरै राहत महसुस भएको बताउनुभयो । लगाएर आङ छोपेर राहत लिन उभिएको बताउनुभयो । “स्थानीय सरकार र राज्यले बढी समस्यामा भएकालाई प्राथमिकतामा राखेर राहत तथा पुनःस्थापनमा गर्नुपर्छ । वृद्धा आमा र बालबच्चासहित कोठामा बसे पनि खानाको व्यवस्था नहुँदा समस्या भएको छ”, उहाँले भन्नुभयो ।

दसैँका लागि टेलर्समा सिलाइका कपडा, कस्मेटिक पसलमा सामान हालिसकेको बताउँदै मदनले फर्निचर उद्योगमा माग अनुसार सामान बनाएर गोदाम राखेकामा सबै बगाएको जानकारी दिनुभयो । घर, बारी जग्गाजमिन पसल र फर्निचर उद्योग गरी करिब दुई करोडमाथिको क्षति भएको उहाँले बताउनुभयो ।

सोही ठाउँकी कान्छी बोमजनले घरको दायाँबायाँ पहिरोले लगेपछि रातभरि नजिकैको जङ्गलमा रूखमुनि बसेको सुनाउनुभयो । केही दिनदेखि पनौतीमा कोठा लिएर बस्दै आउनुभएका उहाँ राहतको पर्खाइमा हुनुहुन्छ । सरकारले पीडितको अवस्था, प्रथमिकता र आवश्यकताका आधारमा राहत उपलब्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सोही ठाउँका विनोद सिङ्तानले घरबार सबै बगाएपछि आफूहरु बिचल्लीमा परेको बताउनुभयो । भएको घरबार, कुखुरापालन व्यवसाय, खाद्यान्न, लत्ताकपडा र नागरिकता, लालपुर्जालगायत सबै कागजात बगाएको उहाँले बताउनुभयो । पुरेको घरभित्र हिलोमाटो लतपतिएको लत्ताकपडा निकाल्दै खोल्साको पानीमा पखाल्दै गरेकी सरस्वती लामाले बस्ने घर, खाने अन्नपात नभएको भन्दै पीडितलाई पुनःस्थापनाका लागि स्थानीय सरकारले तत्काल पहल थाल्नुपर्ने बताउनुभयो ।

बाढीले पुरिएको घरभित्रका सामान निकाल्दै बचेको सामान सार्नमा व्यस्त खहरे खोलाका सुरेन्द्र वाइबाले विपद्मा परेका नागरिकलाई चाँडो राहत उपलब्ध गराउन सरकारलाई आग्रह गर्नुभयो । सरकारले यस्तो बेलामा प्राथमिकता र आवश्यकता हेरेर सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

सलान्दुबगरका लिलाबहादुर लामाको परिवार अहिले खोपासीमा कोठा लिएर बस्दै आउनुभएको छ । रातिको समयमा गएको बाढीपहिरोले घरको सबै सामान, डम्फु, खैँचडी र ढ्याङ्ग्रो बनाउने उद्योगसमेत पुरेको उहाँले बताउनुभयो । “अहिले पनि घरमा बस्न सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “अब वर्षा भएन भने घरमा बस्न मर्मत गर्नुपर्छ, त्यसका लागि रु आठ÷१० लाख लाग्छ ।”

बस्ने ठाउँमा असुरक्षित भएको र भएको ठाउँ पनि बाढीले बगाएर विस्थापित हुनुपर्ने अवस्था आएको लिलाबहादुरले बताउनुभयो । आपत्को बेलामा उद्धार गर्न स्थानीय सरकारलाई आग्रह गर्दै उहाँले जनतालाई ‘सरकार छ’ भन्ने महसुस गराउने समय आएको उल्लेख गर्नुभयो ।

सोही ठाउँका कृष्णकुमार लामाले भएभरको सबै बगाएको बताउँदै सरकारले पीडितलाई तत्काल अस्थायी बासको व्यवस्था गरिदिनुपर्नेमा जोड दिनुभयो । “बस्ने घर, जग्गाजमिन सबै बाढीले बगायो । ज्यालामजदुरीको काम पाए पनि खानाको व्यवस्था हुने थियो”, उहाँले भन्नुभयो ।

बेथानचोक–४ पाटीखर्कका विद्या खड्काको पक्की तीनवटा घर बाढीले बगाएर बिचल्ली भएपछि अहिले खोपासीमा कोठा लिएर बस्दै आउनुभएको छ ।

सलान्दुबगरमा मात्रै करिब २० घर पूर्ण रुपमा क्षति भएका छन् । खहरेखोला, सलान्दुबगर, पाटीखर्क र चलालगणेशस्थानका नागरिकले अहिलेसम्म राहत नपाएको गुनासो गर्दै सरकारले प्राथमिकता हेरेर राहत रपलब्ध गर्नुपर्ने बताउनुभएको छ ।

बेथानचोक गाउँपालिकाका उपाध्यक्ष तारा राना तिमल्सिनाले समस्यामा परेका नागरिकलाई राहत उपलब्ध गराउन पहल भइरहेको बताउनुभयो । विशेषगरी अहिले प्राथमिकताका आधारमा उद्धार, राहत र पुनःस्थापनाका लागि योजनाबद्ध काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

पालिकाका अध्यक्ष भगवान अधिकारीले पालिकामा सडक, विद्युत् र सञ्चारको सेवाबाट वञ्चित रहेकालाई पहिलो प्राथमिकता राखी ती सेवा सञ्चालनका लागि मर्मतसम्भारको काम थालिएको बताउनुभयो । “हाम्रो क्षमताले मात्रै यहाँका नागरिकको समस्याको सम्बोधन गर्न नसकिने अवस्था रहेकाले सङ्घ, प्रदेश र स्थानीय सरकारको समन्वयमा अगाडि बढ्नुको विकल्प छैन”, उहाँले भन्नुभयो ।

अहिले सडक निर्माणका लागि पालिकाको केन्द्र ढुङ्खर्क जोड्ने खोपासी–सलान्दुबगर, चलाल, ढुङ्खर्क सडकलगायत विभिन्न वडाका शाखा बाटोहरु मर्मत गर्न स्काभेटर, लोडर, डोजरलगायत उपकरणसहितको जनशक्ति परिचालन गरिरहेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाभित्रमा बाढीपहिरोमा परी १२ जनाको मृत्यु भएको छभने एकजना बेपत्ता भएका छन् । बेपत्ताको खोजीकार्य भइरहेको छ ।

गाउँपालिका कार्यालय डुबानमा परेको भन्दै अध्यक्ष अधिकारीले कतिपय महत्वपूर्ण कागजात नष्ट भएका बताउनुभयो । अधिकांश आवश्यक कागजात र विवरण क्षति भएकाले अडिटका क्रममा आउने समस्याका बारेमा सम्बन्धित निकायलाई उक्त समस्या समाधान गर्न अहिले नै ध्यानाकर्षण गराइने उहाँको भनाइ छ ।

बेथानचोक गाउँपालिकाभित्र पूर्ण रुपमा पाँच सय घर र आंशिक रुपमा पाँच सय घरमा क्षति हुनुका साथै कुखुरा नौ हजार, पशुचौपाया गाई, भैँसी र बाख्रा गरी एक हजारको हाराहारीमा क्षति भएको पालिका कार्यालयले जनाएको छ ।

विश्व द्वन्द्वमा ‘दोहोरो भूमिका’ नखेल्न फ्रान्सेली राष्ट्रपतिको चेतावनी

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले शुक्रबार फ्रान्सेली भाषा बोल्ने देश ’फ्रान्कोफोन’ शिखर सम्मेलनको उद्घाटन गर्दै मध्यपूर्व र युक्रेनलगायत विश्वव्यापी द्वन्द्वमा ‘दोहोरो भूमिका’ नखेल्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ ।

म्याक्रोनले फ्रान्सेली भाषी देशले मिलेर विश्वव्यापी शान्तिमा ठूलो योगदान दिनसक्ने कुरामा जोड दिनुभएको छ । “फ्रान्कोफोन संसारको यस्तो ठाउँ हो, जसले कुटनीतिको माध्यमबाट विश्वभरको सार्वभौमत्व र क्षेत्रीय अखण्डताको रक्षा गर्न सक्षम छ”, म्याक्रोनले भन्नुभयो ।

फ्रान्सेली भाषा बोल्ने युक्रेनमा आज आक्रमण भइरहेको छ, यसको सिमाना र क्षेत्रीय अखण्डतामा रूसी आक्रमणको खतरामा छ”, उहाँले बताउनुभयो ।

म्याक्रोनले यसअघि लेबनानमा शिया उग्रवादी समूह हिजबुल्लाह विरुद्ध इजरायली आक्रमणको विषयमा चिन्ता व्यक्त गर्दै नागरिक हताहतको सङ्ख्यामाट स्तब्ध भएको बताउनुभएको थियो ।

“इजरायल र प्यालेस्टाइन दुई–राज्यबीचको समाधानबिना मध्यपूर्वमा शान्ति हुन सक्दैन”, उहाँले भन्नुभयो ।

नेताहरू शुक्रबार पेरिसको उत्तरपूर्वमा र शनिबार फ्रान्सको राजधानीमा “फ्रान्कोफोनी“ शिखर सम्मेलनका लागि भेला भएका छन् । फ्रान्समा ३३ वर्षमा पहिलोपटक यो कार्यक्रम आयोजना गरिएको हो।

सम्मेलनमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोका राष्ट्रपति फेलिक्स शिसेकेदीदेखी क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसम्म दर्जनौँ नेताहरूको सहभागीता रहेको छ ।

चीनले शेन्झाउ-१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष प्रक्षेपण गर्ने

चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र शेन्झाउ–१८ लाई पृथ्वीमा स्वागत गर्ने कार्यक्रम रहेको चिनियाँ अन्तरिक्ष विभागले जनाएको छ ।

यस हप्ता जारी गरिएको विभागको अक्टोबर मिशन योजनाअनुसार, चीनको परिक्रमा गर्ने टियाङगोङ अन्तरिक्ष स्टेशनमा चढेका शेन्झाउ–१८ चालक दलले यसै महिना अन्तरिक्षमा आफ्नो छ महिना अभियान पूरा गरी पृथ्वीमा फर्किनेछन् ।

शेन्झाउ–१८ चालक दलमा तीन पुरुष रहेका छन् । चालक दललाई अप्रिल २५ मा अन्तरिक्षमा पठाइएको थियो ।

शेन्झाउ–१८ दल नियमित र व्यवस्थित कार्य–जीवन सन्तुलन कायम राख्न प्रयासरत छन् । यद्यपि, उनीहरूको समय प्रायः वैज्ञानिक प्रयोग, डाटा सङ्कलन र नयाँ टोलीको आगमनको लागि तयारी र हस्तान्तरण कार्य सहितको भारी कार्यभारले ओगटेको छ ।

मङ्गल ग्रहबाट पृथ्वीमा सङ्केत पठाउदै नासाको ‘साइकी मिशन

नासाको ‘साइकी मिसन’ले मङ्गल ग्रहको कक्षबाट पृथ्वीमा सङ्केत पठाएको छ । यो मिसनको महत्वपूर्ण कोसेढुङ्गा भएको नासाले जनाएको छ ।

गत वर्ष अक्टोबरमा फ्लोरिडामा नासाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको साइकी अन्तरिक्ष यान, मङ्गल र बृहस्पतिबीचको मुख्य क्षुद्रग्रह बेल्टको टाढाको भागमा रहेको धातुयोग्य क्षुद्रग्रहको अध्ययन गर्ने पहिलो अमेरिकी मिसन हो ।

प्रक्षेपण भएको लगभग एक वर्षपछि, नासाको डीप स्पेस अप्टिकल कम्युनिकेसन प्रयोगले पृथ्वीबाट साइकी स्पेसक्राफ्टमा लगभग ४६० मिलियन किलोमिटर टाढा लेजर सिग्नल पठाएको नासाले जनाएको छ ।

नासाका अनुसार यो उपलब्धी मानवले एक दिन लेजरकोमाध्यमबाट मंगल ग्रहमा र त्यहाँबाट पृ्थ्वीमा सुञ्चार गर्न सकिन्छ भन्ने प्रमाण हो ।

बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण

जानकी (बाँके), १९ असोजः खजुरा गाउँपालिका–६ स्थित गिजरा सामुदायिक वनबाट शुक्रबार एउटा चितुवालाई नियन्त्रणमा लिइएको छ । चितुवा बस्तीमा पस्न थालेको स्थानीयको गुनासो आएपछि बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज र एनटिएनसीको सहयोगमा उक्त चितुवालाई नियन्त्रणमा लिइएको हो ।

“शुक्रबार खजुराको गिजरा सामुदायिक वनको जङ्गलबाट चितुवालाई नियन्त्रणमा लिएका छौँ”, डिभिजन वन कार्यालय बाँकेका प्रमुख शङ्करप्रसाद गुप्ताले भन्नुभयो, “चितुवाले समस्या पारेको जनगुनासो आइरहेको थियो । वन्यजन्तुबाट हानिनोक्सानी हुन आएको पुष्टि भएपछि बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज तथा एनटिएनसीको सहयोगमा उक्त चितुवालाई नियन्त्रणमा लिएका हौँ ।”

सोही गाउँपालिका–६ का वीरेन्द्र पुन मगरकी साढे दुई वर्षीया छोरी लक्ष्मी पुन मगर गत भदौ ३० गते बेलुका घरको आँगनबाट एक्कासि हराएकी थिइन् । खोजी गर्दा घटनाको दुई दिनपछि नजिक रहेको गिजरा सामुदायिक वन क्षेत्रमा आधा शरीर खाएको अवस्थामा बालिकाको शव फेला परेको थियो । उक्त घटना घटेको १८ दिनपछि सोही ठाउँबाट शुक्रबार भाले चितुवालाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयका प्रमुख गुप्ताले बताउनुभयो ।

खेजीका क्रममा नाबालिकालाई जङ्गलमा मृत अवस्थामा फेला परेकामा स्थानीयले सोही चितुवाले उनलाई मारेको हुनसक्ने अनुमान गरेका थिए । एउटा चितुवा नियन्त्रणमा दिए पनि बच्चा खाने चितुवा यही हो भन्ने यकिन हुन नसकेको डिभिजन वन प्रमुख गुप्ताले बताउनुभयो । “कुन चितुवाले लगेर मा¥यो भन्ने पुष्टि हुन सकेको छैन । बच्चाको ‘पोष्टमार्टम रिपोर्ट’ पनि अझै आइपुगेको छैन”, उहाँले भन्नुभयो, “अनुसन्धानका क्रममा भएको कुरा पुष्टि नहुँदै यकिनका साथ भन्न सक्दैनौँ ।”

उक्त चितुवा नियन्त्रण गर्न कार्यालयले सामुदायिक वनको विभिन्न स्थानमा क्यामेरासमेत जडान गरेको थियो । चितुवा नियन्त्रणमा लिन बाँके राष्ट्रिय निकुञ्जका दुईवटा हात्तीलाई नौ दिनसम्म गिजरा वन क्षेत्रमा परिचालन गरिएको थियो ।

ठाउँठाउँमा क्यामेरा जडान गरी जङ्गलमा आहारा राखेर खोरमा फसाउन सफल भएको डिभिजन वन कार्यालयले जनाएको छ । नियन्त्रणमा लिइएको चितुवालाई डिभिजन वन कार्यालय बाँकेमा राखिएको छ । चितुवाको स्वास्थ्य परीक्षण गरेपछि उक्त चितुवालाई कहाँ छाड्ने भन्ने विषमा सम्बन्धित पक्षबीच छलफल गरी निर्णय गरिने डिभिजन वन प्रमुख गुप्ताले जानकारी दिनुभयो ।

उजाड अवस्थामा रहेको खाली जमिनमा वृक्षरोपण गरेर करिब तीन दशकअघि यहाँका स्थानीयले वन संरक्षण गर्दै आएका हुन् । वन, जङ्गल बढ्दै गएपछि स्थानीयले गिजरा सामुदायिक वन उपभोक्ता समूह स्थापना गरेका थिए । अहिले उक्त वन क्षेत्र विभिन्न वन्यजन्तुको बासस्थान बनेको छ ।

राँझा सबडिभिजन वन कार्यालयका प्रमुख एवं सहायक वन अधिकृत राजबहादुर चौधरीले चितुवालाई नियन्त्रणमा लिन निकै सास्ती बेहोर्नु परेको बताउनुभयो । “धेरै दिनको प्रयासपछि चितुवालाई नियन्त्रणमा लिन सक्यौँ”, उहाँले भन्नुभयो, “यसलाई नियन्त्रणमा लिएसँगै स्थानीयमा केही सहजता महसुस भएको पाएका छौँ ।”

खजुरा गाउँपालिकाका अध्यक्ष डम्मर विकले चितुवा नियन्त्रणमा लिन खटिएका सबैलाई धन्यवाद दिँदै पीडित परिवारलाई राज्यले आवश्यक राहत तथा क्षतिपूर्ति दिनुपर्नेमा जोड दिनुभयो । आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सबैले सजगता अपनाउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

‘चाडपर्वको नजिक बाढीपहिरोको घटनाले यातायात क्षेत्र समस्यामा’

काठमाडौँ, १९ असोजः यातायात व्यवसायीहरुले बाढीपहिराले मुलुकभरका विभिन्न राजमार्गका पुल र बाटो बगाउँदा यातायात क्षेत्र समस्यामा परेका बताएका छन् ।

नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घ, नेपाल कम्युनिष्ट पार्टी (एमाले)निकट नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठन र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)निकट गणतान्त्रिक यातायात व्यवसायी सङ्गठनले आज संयुक्त विज्ञप्ति जारी गरी चाडपर्वको नजिक भएका विपद्जन्य घटनाले नेपालको यातायात क्षेत्र समस्यामा परेका बताएका हुन् ।

व्यवसायी सङ्घसङ्गठनले बाढी र पहिरोबाट निधन भएकाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनाका साथै हराएकाको यथाशीघ्र खोजी गर्न सरकारसँग आग्रह गरेका छन् । घाइतेको उपचार, उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

यातायात सङ्घसंस्थाहरुले बाढीपहिराको घटनाले चाडपर्वको सम्मुखमा व्यवसायीको नियमित गतिविधिमा असर पुग्नाका साथै बिपी राजमार्ग पूर्ण रुपमा अवरुद्ध हुँदा सयौँ सार्वजनिक सवारीसाधन र मजदुर अलपत्र परेको बताउँदै तत्काल अलपत्र सवारीसाधन तथा यात्री उद्धार गर्नुपर्ने व्यवसायीको माग छ ।

व्यवसायीहरुले दसैँ अगावै समस्या समाधान गर्ने पहलकदमी लिनाका साथै यातायात व्यवसायी तथा मजदुरलाई तत्काल राहत पुग्ने किसिमको वित्तीय सहयोगको कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षसमेत गरेका छन् ।

संयुक्त विज्ञप्तिमा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठनका अध्यक्ष श्रीप्रसाद मैनाली र गणतान्त्रिक यातायात व्यवसायी सङ्गठनका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

चाडबाडलाई लक्षित गरी पोखरामा बजार अनुगमन, अखाद्य वस्तु जफत

गण्डकी, १९ असोजः दसैँ, तिहारलगायत ठूला चाडबाडलाई लक्षित गरी पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । अखाद्य वस्तुको किनमेल र मनपरी मूल्य लिने प्रवृत्ति रोक्न बजार अनुगमन थालिएका महानगरका उपप्रमुख एवं उपभोक्ता संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङले बताउनुभयो ।

उहाँका अनुसार शुक्रबार पोखरा–२ को भवानी पूजा सामग्री, महालक्ष्मी पूजा सामग्री भण्डार, सेलवेज क्यास एण्ड क्यारी प्रालि, एसएए स्टोर्स, गौचन स्टोर्स, ओझा किराना पसल, पोखरा–३ मा रहेको साथी सपिङ सेन्टर र पोखरा–८ मा रहेको सहारा ट्रेडिङमा अनुुगमन गरिएको हो ।

अनुुगमनका क्रममा म्याद गुु्ज्रेका खाद्य सामग्री, सरकारले प्रतिबन्ध लगाएका प्लाष्टिकको माला तथा फूलका गुुच्छालगायत गरी रु ११ हजार एक सय ७९ बराबरको सामग्री जफत गरी नष्ट गरिएको संयोजक गुरुङले जानकारी दिनुभयो । ती पसलमा प्याकेजिङ अनुमति पत्र नलिई सामान प्याकेजिङ गरेको, व्यवसाय नवीकरण नगरेको, नापतौल दर्ता नभएको पाइएको उहाँको भनाइ छ ।

अनुुगमन गरिएका आठ वटै पसलका सञ्चालकलाई यही असोज २१ ग्ते महानगरमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले बताउनुभयो । चाडबाडका बेला बजारमा हुने उपभोक्ताको भीडभाडको मौका छोपेर व्यवसायीले म्याद गुज्रेका सामान बेच्ने गरेको गुनासो आउने गरेको गरेको छ । बजारमा कृत्रिम अभाव देखाएर मनलाग्दी रुपमा सामानको भाउ बढाउने व्यवसायीलाई कारबाही गरिने अधिकृत सापकोटाले बताउनुभयो ।

तिहारसम्मै बजार अनुगमनलाई तीव्रता दिइने महानगरले जनाएको छ । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयलगायतका प्रतिनिधि सहभागी छन् ।

‘बाढीपहिरोबाट जोगिन चुरे संरक्षण गर्नुपर्नेमा जोड’

जनकपुर (धनुषा), १९ असोजः नेपाली कांग्रेसका मधेस प्रदेश संसदीय दलका नेता कृष्ण यादवले अतिवृष्टि तथा अनावृष्टि भई बाढीपहिरो जस्ता मनसुनजन्य विपद् हुनुको प्रमुख कारक चुरे पर्वतको विनाश रहेको बताउनुभएको छ ।

नेपाल भारत खुला सीमा संवाद समूह धनुषाद्वारा जनकपुरधाममा आयोजित ‘बाढ–विपद् आर और पार’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनुभएको यादवले प्रत्येक वर्ष आउने बाढी तथा पहिरोको प्रमुख करण चुरे पर्वत विनाश भएकाले यसको संरक्षणमा सबै जुट्नुपर्ने बताउनुभयो ।

“प्रत्येक वर्ष बाढी आउँछ, यस वर्ष अरु वर्षको तुलना बढी क्षति पु¥याएको छ”, संसदीय दलका नेता यादवले भन्नुभयो, “अब सबै मिलेर खाली जमिनमा वृक्षारोपण गर्ने, चुरे पर्वतको संरक्षण गर्ने, अवैध बालुवा तथा गिट्टी उत्खनन रोक्नेलगायत काम गरेर बाढीपहिरो जस्ता विपद्बाट बच्न सक्छौँ । मनसुनजन्य विपद्का समस्या चुरेको विनाशले नै भएको हो ।”

पूर्वमन्त्रीसमते रहनुभएका नेता यादवले सङ्घीयतापछि भएको प्रदेशहरुको सीमाङ्कनमा कमी रहेको औँलयाउँदै प्रदेशको विभाजन गर्दा पहाड र तराईका जिल्ला समेटेर गर्नुपर्नेमा जोड दिनुभयो । आफू सङ्घीय सांसद रहेको बेला चुरे क्षेत्रको अनुगमन गरेको स्मरण गर्दै उहाँले भन्नुभयो, “राजमार्ग छेउमा रहेका अधिकांश वनजङ्गल अतिक्रमण गरी बस्ती बसालिएका छन्, रूखबिरुवा कम हुँदै गएका छन्, यसले विनाश निम्ताइरहेको छ ।”

नेता यादवले चुरिया पर्वतमा हराभरा खेती भइरहेको भन्दै यस्ता अतिक्रमण तत्काल हटाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । नदीको प्राकृतिक स्वरुप बिग्रने गरी गरिएको अवैध उत्खननले चुरे क्षेत्रको क्षति हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

नेता यादवले नेपाल भारत सीमा क्षेत्रको सुरक्षाका लागि दुवै देशका सरकार, सरोकार भएका निकाय, नागरिक समाज तथा अभियन्ताले सहकार्य र समन्वय गर्दै चुरे समस्याको समाधान गर्न नीतिगत रुपमा योजनाबद्ध काम गर्नुपर्न उल्लेख गर्नुभयो ।

नेपाल भारत खुला सीमा संवाद समूहका केन्द्रीय अध्यक्ष राजीव झाले बाढीको समस्या र नेपाल भारतबीचको सम्बन्धबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । नेपालबाट बग्ने छ हजारभन्दा बढी नदीनाला उत्तर भारतसम्म पुग्ने गरेका र सुक्खायाममा गङ्गा नदीको जलप्रवाहमा ७० प्रतिशत योगदान नेपालका नदीनालाले दिने गरेको उक्त कार्यपत्रमा उल्लेख गरिएको छ ।

अध्यक्ष झाले चुरे दोहनका कारण पहाडमा अधिक वर्षा हुने गरेको भन्दै पानीको अत्यधिक चाप अनियन्त्रित भई बाढीपहिरो जस्ता विपद् आउने गरेका बताउनुभयो । बर्खायामभन्दा पहिले बाढी नियन्त्रणका लागि संयुक्त रुपमा काम गर्न भारत सरकारसँग समन्वय गर्न उहाँले नेपाल सरकारलाई अनुरोध गर्नुभयो ।

नागरिक समाजका अगुवा मुरली मनोहर मिश्राले प्राकृतिक स्रोतसाधनको अवैध दोहनका कारण यस्ता विपद् आउने गरेका बताउनुभयो । उद्योग वाणिज्य सङ्घ जनकपुरधामका पूर्वअध्यक्ष जीतेन्द्र महासेठले राजनीतिक दल एकजुट भई नदी दोहन, अव्यवस्ति बस्ती तथा सडक विस्तार रोक्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा वरिष्ठ पत्रकार श्यामसुन्दर शशि, जनकपुधाम उपमहानगरपालिका–३ का वडाध्यक्ष दीपेन्द्र साह, शिक्षक सत्रुधन साह, सञ्जय सिंह, विनोद ठाकुर, सन्तोषलाल कर्ण, प्रा डा वीरेन्द्रलाल कर्ण, प्राध्यापक ईश्वरकान्त झालगायत व्यक्ताले बाढीपहिरोलगायत मनसुनजन्य विपद्बाट जोगिन चुरे संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

दसैँका बेला सडक अवरुद्ध हुँदा जनतालाई सास्ती, एक सातादेखि बुद्धसिंह मार्ग अवरुद्ध

दमौली (तनहुँ), १९ असोजः एक सातादेखि पहिराले अवरुद्ध भएको तनहुँको बुद्धसिंह मार्गमा पहिरा पन्छाउन सुरु गरिएको छ । पृथ्वीराजमार्गको वैकल्पिक खण्डका रुपमा रहेको बुद्धसिंह मार्गमा गत बिहीबारको वर्षासँगै पहिरा आउँदा विभिन्न ठाउँ अवरुद्ध भएको थियो अवरुद्ध सडक सञ्चालन गर्न पहिरा पन्छाउने काम सुरु गरिएको हो ।

हालसम्म व्यास नगरपालिका–१४ मास्दीघाटबाट बन्दीपुर गाउँपालिका–६ खहरेसम्मको पहिरा पन्छाइएको स्थानीय अगुवा सिद्धान्त थापा मगरले जानकारी दिनुभयो । बन्दीपुरस्थित नाल्दीघाटमा ठूलो पहिरा गएको र सानो जेसिभी भएकाले पहिरा पन्छाउन समस्या भएको उहाँले बताउनुभयो ।

“नाल्दीघाटबाट साराङघाटसम्म सडक खुलाउन बाँकी छ । ठूलो क्षमताको जेसिभी ल्याएर बाँकी खण्ड खुलाउने प्रयास गरिरहेका छौँ”, मगरले भन्नुभयो, “यो विपद्को घडीमा स्थानीय सरकार र पूर्वाधार कार्यालयले संवेदनशील भई सहकार्य र समन्वय गर्नुपर्छ ।”

दसैँका बेला सडक अवरुद्ध हुँदा यहाँका जनताले सास्ती खेपेका छन् । “ठाउँठाउँमा गएको पहिराले हिँड्डुल गर्न समस्या भएको छ । कोही बिरामी भयो भने स्वास्थ्य संस्थासम्म लैजान सक्ने अवस्था छैन । दसैँका लागि किनमेल गर्न जाने सर्वसाधारणलाई सास्ती भएको छ”, उहाँले भन्नुभयो ।

गण्डकी प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको बुद्धसिंह मार्गले तनहुँको सदरमुकाम दमौली र चितवनको घुमाउने जोड्छ । उक्त सडक हुँदै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिका केही वडाका हजारौँ नागरिक दैनिक आवतजावत गर्ने गर्छन् । गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटो दूरीको वैकल्पिक सडकका रुपमा उक्त सडकलाई लिने गरिएको छ ।

उक्त मार्गलाई मुग्लिन–नारायणगढ सडकसँग जोड्ने चितवनको घुमाउनेमा पक्की पुल निर्माणाधीन अवस्थामा छ । सो पुलको निर्माण सम्पन्न पश्चात् बाटो अझ छोटिन्छ । पुल निर्माणपछि सो सडक हुँदै यात्रा गर्दा हाल सञ्चालनमा रहेको पृथ्वीराजमार्गको मुग्लिन हुँदै नारायणगढ जानुभन्दा करिब २५ किलोमिटर छोटो पर्दछ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १९ असोजः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ५६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ५५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ३४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५७ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ १७ पैसा कायम गरिएको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ३१ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १५ पैसा र बिक्रीदर नौ रुपैयाँ १९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०५ पैसा र बिक्रीदर चार रुपैयाँ सात पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९१ पैसा कायम छ । साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ एक पैसा र बिक्रीदर १० रुपैयाँ पाँच पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ चार पैसा र बिक्रीदर १० रुपैयाँ आठ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १९ रुपैयाँ ९२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १२ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ आठ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ४८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ सात पैसा तोकेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

शुक्लाफाँटा निकुञ्जमा वयस्क पोथी हात्ती मृत फेला

कञ्चनपुर, १९ असोजः शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पडाव क्षेत्रमा वयस्क पोथी हात्ती शुक्रबार मृतावस्थामा फेला परेको छ । प्राकृतिक कारणले हात्तीको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताउनुभयो ।

निकुञ्जको पशु चिकित्सको टोलीले मृत हात्तीको बाह्य र भित्री भागको चिरफार गरेर हेर्दा केही पनि फेला नपरेको उहाँले बताउनुभयो ।

बस्तीभन्दा झन्डै तीन–चार किलोमिटरभित्र हात्ती मृतावस्थामा फेला परेपछि करेन्ट लागेर वा विषादीका कारण मरेको भन्नेबारे पशु चिकित्सकको टोलीले चेकजाँच गर्दा त्यस्तो केही पनि फेला नपारेको निकुञ्जका सूचना अधिकारी ऐरले जानकारी दिनुभयो ।

निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको गस्ती टोलीले हात्ती मृतावस्थामा फेला पारेको उहाँले बताउनुभयो । “सेनाको टोलीले दैनिक निकुञ्ज क्षेत्रमा गस्ती गर्छ”, उहाँले भन्नुभयो, “त्यही क्रममा शुक्रबार दिउँसो पडाव क्षेत्रमा हात्ती मृतावस्थामा देखेपछि निकुञ्ज कार्यालयमा खबर गरेको हो ।”

हात्तीको मलद्वारबाट गोवर र आन्द्रा निस्केको अवस्थामा रहेको पाइएको जानकारी दिँदै निकुञ्जका सूचना अधिकारी ऐरले पशु चिकित्सकले चेकजाँच गर्दा पेटभित्र ग्यास भरिएर त्यसो भएको जनाएका बताउनुभयो । हात्ती गर्भवती भने नरहेको उहाँको भनाइ छ । हिन्दू परम्पराअनुसार सरोकार भएकाहरुको रोहवरमा हात्तीको सद्गत गरिएको उहाँले राससलाई जानकारी दिनुभयो ।

नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड, ‘लिफ कोलिजन’मा सम्झौता गर्दै

काठमाडौँ, १९ असोजः विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट रु एक अर्ब ६० करोड प्राप्त गर्र्दैछ । सन् २०१८ देखि २०२४ सम्म नेपालले तराईका १३ जिल्लाका वनजङ्गलमार्फत कार्बनडाइअक्साइड घटाएबापत सो रकम प्राप्त गर्न लागेको वन तथा वातावरण मन्त्रालयअन्तर्गतको रेड कार्यान्वयन केन्द्रले जनाएको छ ।

नेपालले तराई भूपरिधि कार्यक्रमअन्तर्गत बागमती नदीबाट महाकाली नदीसम्मका तराईका १३ जिल्लामा छ वर्षमा दुई दशमलव चार मिलियन टन कार्बन सञ्चिति गरेबापत सो रकम पाउन लागेको हो । प्रतिटन कार्बनको पाँच अमेरिकी डलरका दरले नेपालले यही अक्टोबरभित्र रु एक अर्ब ६० करोड प्राप्त गर्ने मन्त्रालयले जनाएको छ ।

वन मन्त्रालयका प्रवक्ता एवं सहसचिव बद्रीराज ढुङ्गानाका अनुसार विश्व बैङ्कसँग सुरुमा सम्झौता गर्दा उक्त रकम वन विकास कोषमार्फत आउनेगरी सम्झौता भएको थियो । अर्थ मन्त्रालयले मुलुकको कानुनी प्रावधानअनुसार त्यस्तो रकम सर्व सञ्चिति कोषमार्फत आउनुपर्ने र त्यसपछि मात्र वन विकास कोषमा हस्तान्तरण हुने भनेपछि विश्व बैङ्कले त्यसबारेमा स्पष्ट पार्न सरकारसँग अनुरोध गरेको उहाँले जानकारी दिनुभयो ।

कार्बन व्यापारबाट प्राप्त हुने रकम स्थानीय लाभग्राही आदिवासी÷जनजाति समुदायमा ८० प्रतिशत खर्च गर्नुपर्ने प्रावधान छ । “यसका लागि सरकारले योजना बनाएर स्वीकृत गरिसकेको छ”, प्रवक्ता ढुङ्गानाले भन्नुभयो ।

कार्बन व्यापारका सम्बन्धमा खासगरी सन् २०१८ मा नेपालको राष्ट्रिय रेडप्लस रणनीति, राष्ट्रिय वन आधार तह स्वीकृत भएको थियो । त्यसपछि सन् २०१९ देखि २०२४ सम्म तराई भूपरिधिका १३ जिल्लामा कार्बन उत्सर्जन न्यूनीकरण कार्यक्रमअन्तर्गत कार्बन व्यापारबाट प्राप्त लाभको बाँडफाँड योजना तयार गरिएको थियो ।

उक्त कार्यक्रम १३ जिल्लाका एक दशमलव सात मिलियन हेक्टरमा लागू भएको केन्द्रका प्रमुख एवं सहसचिव नवराज पुडासैनीले जानकारी दिनुभयो । नेपालको वन क्षेत्रबाट औसतमा प्रतिहेक्टर एक सय ६७ टन कार्बन सञ्चिति भएको छ । सहसचिव पुडासैनीले भन्नुभयो, “नेपालको तराई भूपरिधि क्षेत्रका १३ जिल्लामा कार्बन उत्सर्जन न्यूनीकरण कार्यक्रम सञ्चालन गरी सन् २०२८ सम्म करिब तीन करोड ४२ लाख टन कार्बनडाइअक्साइड ग्यास उत्सर्जन कम गर्ने लक्ष्य लिइएको छ । पहिलो चरणमा २०२३ मा मापन गर्दा २३ लाख टन कार्बन उत्सर्जन कटौती भएको छ ।”

‘लिफ कोलिजन’मा सम्झौता गर्दै नेपाल

पहिलो चरणको कार्बन व्यापारपछि नेपालका तर्फबाट ‘उत्सर्जन घटाउन वन वित्त बढाउने साझेदारी कार्यक्रम’ (लिफ कोलिजन) सम्बन्धी प्रस्ताव पेस भई सन् २०२१ नोभेम्बर ३ मा हस्ताक्षर भएको थियो । लिफ कोलिजन बजारमुखी तथा नतिजामा आधारित संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, नर्वे र दक्षिण कोरियासहित २६ निजी कम्पनीको साझेदारी संयन्त्र हो ।

घाना, ब्राजिल र कोष्टारिकाले यसमा कार्बनको मूल्य निर्धारण गरी सम्झौता गरिसकेका छन् । नेपालले आगामी नोभेम्बर ११ देखि २२ सम्म अजरबैजानको बाकुमा हुने जलवायुसम्बन्धी २९औँ अन्तर्राष्ट्रिय सम्मेलनका बेला त्यस्तो सम्झौता गर्ने तयारी गरेको मन्त्रालयले जनाएको छ । यसमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशस्थित वनमा सञ्चित कार्बन बिक्री गर्नका लागि आवश्यक तयारीसम्बन्धी क्रियाकलाप सञ्चालन गरिएको सहसचिव पुडासैनीले जानकारी दिनुभयो ।

नेपालले सन् २०२८ सम्मका लागि हुने यस सम्झौताअनुसार उक्त तीन प्रदेशमा तीन दशमलव दुई मिलियन हेक्टर वन क्षेत्रमा सात मिलियन टन कार्बन सञ्चिति गरिनेछ । यस कार्बन सञ्चितिबापत नेपालले एक सय मिलियन अमेरिकी डलर रकम प्राप्त गर्नेछ । यस सम्झौतामा कार्बनको मूल्य निजी कम्पनीसँग प्रतिटन २५ डलर र सार्वभौम मुलुकसँग १० डलर प्रतिटन निर्धारण हुनेछ ।

कार्बन व्यापारसम्बन्धी विज्ञ तथा मन्त्रालयका पूर्वसहसचिव पुरुषोत्तम घिमिरेले कार्बन व्यापारका सम्बन्धमा वन मन्त्रालयले निजी क्षेत्रलाई स्वागत गरेर अघि बढ्न सके मात्र सफलता प्राप्त हुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “कार्बन व्यापार गर्र्न निजी क्षेत्रलाई नल्याई सम्भव हुँदैन । निजी क्षेत्रलाई यसमा अनुमति दिइसकेपछि कानुनी दायरामा राखेर नियमन गर्दा हुन्छ, बाँकी काममा भने स्वतन्त्रता दिनुपर्छ । हरेक पटक मन्त्रालयले काममा हस्तक्षेप गर्न हुँदैन ।” निजी क्षेत्रका जग्गामा वन जङ्गल उत्पादन गरेर कार्बन व्यापारका लागि प्रोत्साहन गर्नुपर्ने उहाँको भनाइ छ ।

‘रेडप्लस’ के हो ?

पृथ्वीको सबैभन्दा बाहिरी सतहमा रहेर पृथ्वीबाट परावर्तन भई बाहिर निस्किने तापिए किरणहरुलाई रोक्ने र पृथ्वीको तापक्रम क्रमिक रुपमा बढाउन भूमिका खेल्ने ग्यासहरुलाई हरितगृह ग्यास भनिन्छ । हरितगृह ग्यासहरुमा सबैभन्दा बढी भूमिका खेल्न सक्ने ग्यासका रुपमा कार्बनडाइअक्साइड ग्यासलाई मानिएको छ ।

त्यस्तै, जलवायु परिवर्तनको मुख्य कारण पनि विभिन्न स्वरुपमा रहेको हरितगृह ग्यासहरु वायुमण्डलमा प्रवेश गर्नुलाई मानिएको छ । वन विनाश तथा वन क्षयीकरणबाट हुने कार्बन उत्सर्जनलाई न्यूनीकरण गर्ने, वनको प्रभावकारी संरक्षण गर्ने र यसको दिगो व्यवस्थापनमार्फत कार्बन सञ्चिति क्षमता अभिवृद्घि गराउने कार्य गरेबापत विकासोन्मुख मुलुकलाई विकसित राष्ट्रहरुबाट प्रोत्साहनस्वरुप प्राप्त हुने भुक्तानीको अवधारणालाई समग्रमा रेडप्लस भनिएको हो ।

यस कार्यक्रमअन्तर्गत वन विनाशका माध्यमबाट हुने उत्सर्जन न्यूनीकरण, वन क्षयीकरणका माध्यमबाट हुने उत्सर्जन न्यूनीकरण, वन कार्बन सञ्चितिको संरक्षण, वनको दिगो व्यवस्थापन र वन कार्बनको सञ्चितिमा अभिवृद्धि गर्ने कार्य गरिन्छ ।

नेपालले पनि रेडमार्फत सन् २००८ देखि विभिन्न क्रियाकलाप गर्दै आइरहेको छ । सन् २०१८ मा तयार भएको राष्ट्रिय रेड रणनीति कार्बन व्यापार तथा रेडप्लस कार्यक्रमको कोसेढुङ्गा हो । रेडप्लस कार्यक्रमको सिलसिलामा नेपाल तयारी चरणबाट कार्यान्वयन चरणमा प्रवेश गर्न लागेको छ ।

आजको मौसम : कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा

काठमाडौँ, १९ असोजः देशभर मनसुनी वायुको प्रभाव कायमै छ । देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भू–भाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विभागका अनुसार कोशी, मधेस र बागमती प्रदेशको पूर्वी भू–भागमा साधारण बदली रही बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । कोशी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

काठमाडौँ, १९ असोजः बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ ।

नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजाआराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजाआराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिनुभयो ।

मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उहाँको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको सापकोटाले बताउनुभयो । चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ । यस्ती देवीले अत्याचारी दानवी स्वरुपलाई नाश गर्नुहुन्छ । चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास गरिन्छ ।

चन्द्रघण्टा देवीबाट कृपा भए समग्र पाप नाश हुने देवीको वर्णन गरिएका विभिन्न पुराण एवं ग्रन्थमा व्याख्या गरिएको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले बताउनुभयो । चन्द्रघण्टा देवीको स्वरुप सामान्य, शान्त एवं करुणामयी छ । गीत सङ्गीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन् । आजका दिन चन्द्रघण्टा देवीको विशेष पूजा आराधनासहित ध्यान गर्नाले ललाटमा चमक प्राप्त हुने पनि उहाँले सुनाउनुभयो ।

नवरात्रको पहिलो दिन बिहीबार दसैँ घर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । घटस्थापनाको अर्थ देवीको ध्यान साधनामा स्थापित हुनु पनि हो भन्ने श्रीमद्देवीभागवतलगायत पुराण एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यही शास्त्रीय वचनका आधारमा धेरै भक्तजनले नवरात्रमा घर एवं शक्तिपीठमा देवीको साधना गरेर बिताउँछन् ।

घटस्थापना गरिएको दिन घडामा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो । दोस्रो दिन शुक्रबार पूजास्थलमा नवदुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो । तेस्रो दिन आज चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिँदैछ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।

दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ । यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा भनिएको हो ।

नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको विशेष घुइँचो लाग्छ । बडादसैँका दिनबाहेक पनि बुधबार, बिहीबार, शुक्रबार र शनिबार देवीको विशेष रुपमा आराधना गर्न मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

एभरेस्ट महिला भलिबल लिग : ललितपुरले चितवनलाई हरायो

काठमाडौँ, १८ असोजः एभरेस्ट महिला भलिबल लिगअन्तर्गत आजको खेलमा ललितपुर क्विन्सले चितवन शक्तिलाई पराजित गरेको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको खेलमा ललितपुरले चितवनलाई ३–१ सेटले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै ललितपुरको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।

खेलमा पहिलो सेट १९–२५ ले गुमाएको ललितपुरले त्यसपछिका तीन सेट आफ्नो पक्षमा पा¥यो । ललितपुरले चितवनमाथि दोस्रो सेट २५–२१, तेस्रो सेट २५–१६, तथा अन्तिम सेट २५–१९ ले आफ्नो पक्षमा पा¥यो । 

यस जितसँगै पाँच खेलमा १० अङ्क जोडेको ललितपुर दोस्रो स्थानमा उक्लिएको छ । अब लिग चरणको अन्तिम खेलमा कर्णाली यसभिएसले काठमाडौंँ स्पाइकर्सलाई सोझो सेटमा पराजित गरे ललितपुर फाइनल पुग्नेछ । 

यसअघि काठमाडौँ र मधेस युनाइटेडलाई समान ३–१ को सेटमा हराएको ललितपुर कर्णालीसँग ३–० तथा गण्डकीसँग ३–२ को सेटमा पराजित भएको थियो । हारसँगै पाँच खेलमा सात अङ्क जोडेको चितवनले चौथो स्थानमा रहेर लिग अन्त्य गरेको छ ।

यसअघि गण्डकी र मधेशलाई समान ३–१ को सेटमा हराएको चितवन काठमाडौँसँग ३–१ तथा कर्णालीसँग ३–२ को सेटमा पराजित भएको थियो ।

चितवन शक्ति र ललितपुर क्विन्सको खेल दिउँसो ३ः४५ बजे हुने तय भएको थियो तर ट्यालेन्ट हन्टबाट कर्णाली एसभिएस, गण्डकी थन्डर्स र काठमाडौँ स्पाइकर्सले नियमविपरीत खेलाडी छनोट गरेको भन्दै चितवन र ललितपुर कोर्टमा उत्रिन अस्वीकार गरेपछि खेल निर्धारित समयभन्दा ढिलो सञ्चालन भएको थियो । 

कोर्टमा उत्रिन अस्वीकार गरेपछि आयोजक इन्फिनिटी ड्रिम्सले दुवै टोलीका व्यवस्थापक, प्रशिक्षक र कप्तानसँग छलफल गरेपछि खेल सञ्चालन भएको थियो । काठमाडौँले ट्यालेन्ट हन्टबाट रितिका भट्ट र कर्णालीले सितासेन ठकुरीलाई छनोट गरेको थियो । तर यी दुवै खेलाडीले यसअघि नै राष्ट्रियस्तरको प्रतियोगिता खेलिसकेको भन्दै चितवनले आपत्ति जनाएको थियो ।

पुलिस एन्फा लिगको दोस्रो चरणमा प्रवेश

काठमाडौँ, १८ असोजः यहाँ जारी एन्फा महिला लिग–२०२४ फुटबल प्रतियोगताअन्तर्गत पहिलो चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबले सङ्कटा महिला फुटबल क्लबलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा पुलिसले सङ्कटामाथि २–१ गोलअन्तरको जित निकालेको हो । 

पुलिसका लागि अनुष्का शेर्पाले तेस्रो मिनेटमा गोल गर्दै खाता खोलिन । त्यसपछि खेलको सातौ मिनेटमा पुलिसकी समीक्षा घिमिरे पेनाल्टीमा गोल गर्न चुके पनि त्यस लगत्तै गोल गर्न सफल भइन् । 

खेलको ७३औँ मिनेटमा सङ्कटाकी सेलेना अनिमाले एक गोल फर्काए पनि हार टार्नका लागि त्यो पर्याप्त भएन । यस खेलसँगै महिला लिगको पहिलो चरणका खेल सकिएका छन् । 

प्रतियोगिताको दोस्रो चरणमा पाँच टोली प्रवेश गरेका छन् । दोस्रो चरणको सुपर लिगमा आजको विजेता नेपाल पुलिसक्बलसँगै एपिएफ, त्रिभुवन आर्मी क्लब, वालिङ नगरपालिका र कोशी प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।