`

मध्यभोटेकोसी जलविद्युत् आयोजनालाई चाँडो सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

बाह्रबीसे (सिन्धुपाल्चोक) १२ भदौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको बाह्रबीसेमा निर्माणाधीन मध्यभोटेकोसी जलविद्युत् आयोजनालाई चाँडो सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

 सिन्धुपाल्चोकको बाह्रबीसेस्थित पलाँतीमा निर्माणाधीन मध्यभोटेकोसी जलविद्युत् आयोजनको पावरहाउस तथा सवस्टेशनको आज स्थलगत निरीक्षण गर्दै उहाँले दुई महिनाभित्र विद्युत् उत्पादन हुनेगरी आयोजनाको काम तीव्र गतिमा सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।

“आयोजना निर्माणका क्रममा देखिएको समस्या समाधानमा मन्त्रालयले काम गर्छ, तपाईंहरू दिनरात नभनी आयोजना सम्पन्न गर्न लाग्नुहोस्”, उहाँले भन्नुभयो । ऊर्जामन्त्री खड्काले मध्यभोटेकोसी जलविद्युत् आयोजना चाँडो सम्पन्न गर्नसके देशले आर्थिक उन्नतिका क्षेत्रमा उल्लेखनीय प्रगति गर्ने बताउनुभयो ।

मन्त्री खड्कासँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम), नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, मन्त्रालयका सहसचिव सन्दीप देवलगायतले पावरहाउस तथा सवस्टेशनको निरीक्षण गर्नुभएको थियो ।

चिलिमे जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणको मुख्य लगानी तथा जनताको शेयर रहेको उक्त आयोजनाको लागत २० अर्बभन्दा बढी रहेको छ । कूल १०२ मेगावाट क्षमताको उक्त आयोजना सन् २०१२ बाट निर्माण सुरु भएको थियो । मध्यभोटेकोसी नदीबाट कूल सात दशमलव एक किलोमिटर मुख्य टनेल हुँदै पावरहाउसमा पानी ल्याइएको छ । उक्त पावरहाउसबाट उत्पादित विद्युत् २२० केभीको ट्रान्समिसन लाइनमार्फत चार किलोमिटर सिङ्गल सर्किट हुँदै बाह्रबीसे सवस्टेशनमा लगेर जोडिनेछ । 

भारतमा मुसलधारे वर्षाका कारण आएको भीषण बाढीमा परी १५ को मृत्यु

भारतमा मुसलधारे वर्षाका कारण आएको भीषण बाढीमा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बुधबार जानकारी दिएका छन् । रिपोर्टअनुसार तटीय पश्चिमी राज्य गुजरातमा नदीहरूले किनारा भत्काउँदा २३ हजारभन्दा बढी मानिसलाई उनीहरूको घरबाट विस्थापित गरिएको छ ।

बिजनेस स्ट्यान्डर्ड पत्रिकाले सोमबारदेखि राज्यका आठ जिल्लामा १५ जनाको मृत्यु भएको बताएको छ । मुख्यमन्त्री भूपेन्द्र पटेलले सामाजिक सञ्जाल पोस्टमा मछुवाहरूलाई समुद्रमा यात्रा नगर्न सल्लाह दिनुभएको छ । मनसुनी वर्षाले हरेक वर्ष व्यापक विनाश निम्त्याउँछ । जलवायु परिवर्तनले मौसमको ढाँचालाई बदलिरहेको र चरम मौसमी घटनाहरूको सङ्ख्या बढिरहेको विज्ञहरूले बताएका छन् ।

उत्तरपूर्वी राज्य त्रिपुरामा गत हप्ता बाढी र पहिरोमा परी २० जनाभन्दा बढीको मृत्यु भएको थियो ।   बङ्गलादेशमा भारी बाढीले कम्तीमा ४० जनाको मृत्यु भएको र करिब तीन लाख बासिन्दा आपत्कालीन आश्रयहरूमा शरण लिएका थिए ।

परराष्ट्रमन्त्रीले भनिन्- सुदूरपश्चिमको विकासका लागि भारतसँग कुरा गरेर आएकी छु

काठमाडौँ, १२ भदौ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मुलुकको सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । गौरा पर्व मनाउन आज धनगढी पुग्नुभएकी परराष्ट्रमन्त्री डा राणाले क्षेत्रको विकासबारे हालै भारत भ्रमणका क्रममा भारत सरकारसँग कुरा उठाएको बताउनुभयो ।

धनगढी उपमहानगरपालिका वडा नं ४ मा निर्मित आधारभूत स्वास्थ्य केन्द्र एवं वडा कार्यालय भवनको आज उद्घाटन गर्दै उहाँले सो धारणा राख्नुभएको हो । आफ्नो हालै सम्पन्न भारत भ्रमणका क्रममा यहाँको गौरीफन्टा नाकालाई पूर्ण क्षमताका साथ सञ्चालन गर्नेगरी स्तरोन्नति गर्ने विषयमा आफूले कुरा राखेको उहाँले जानकारी गराउनुभयो ।

मन्त्री डा राणाले भन्नुभयो, “केही वर्षमात्र अघि पनि तत्कालीन प्रधानमन्त्री श्रद्धेय शेरबहादुर देउवा भारत भ्रमण गएका बेला यो नाकाका बारेमा कुरा राख्नुभएको थियो । यो नाका हाम्रो सुदूरपश्चिम क्षेत्रकै एक ‘लाइफा लाइन’ नै हो । त्यसैले यस पटकको भ्रमणमा मैले हाम्रा तर्फबाट यस विषयमा कुरा राखेको छु । भारतीय पक्षबाट पनि केही लिखित प्रस्ताव आओस् भन्ने कुरा आएको छ । हामी यो नाकाको स्तरोन्नति गरी पूर्ण क्षमतामा सञ्चालन गर्नेगरी प्रक्रिया अघि बढाउने छौँ ।”

त्यसैगरी भारत भ्रममणकै क्रममा धनगढीको फाप्लुमा निर्माण हुने बहुउद्देश्यीय खेलमैदानका विषयमा पनि आफूले कुरा उठाएको उहाँले जानकारी दिनुभयो । मन्त्री राणाले बिगत लामो समयदेखि नै नेपाली कांग्रेसको नेतृत्वको सरकारले नेपालमा विकास निर्माणका कामहरू गर्दै आएको स्मरण गर्दै स्थानीय सरकारलाई बलियो बनाउने गरी संवैधानिक व्यवस्था गर्ने, स्थानीय सरकारलाई सशक्त र सुविधासम्पन्न बनाउने एवं महिलाको प्रतिनिधित्वसहित समावेशी प्रकृतिको स्थानीय सरकार बनाउने अभियानको नेतृत्व कांग्रेसले नै गरेको चर्चा गर्नुभयो ।

भवन तथा अन्य संरचनाहरुको निर्माण पनि एक प्रकारको विकासको सूचक भएको बताउँदै उहाँले निर्माण भएका यी सरकारी सम्पत्तिको संरक्षण गर्न तथा समय समयमा तिनको मर्मत सम्भार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कुनै पनि संरचना निर्माण गरेर मात्र नहुने र ती भवन अथवा संरचनाहरूबाट नागरिकले स्थानीय स्तरमा दिइने सेवा सुविधाहरू प्राप्त गर्न पाउनुपर्ने धारणा पनि राख्नुभयो ।

धनगढी उपमहानगरपालिकामा विकास निर्माणका कामहरू भइरहेका बताउँदै मन्त्री डा राणाले भन्नुभयो, “विकास निर्माण एक प्रक्रिया हो र यो विस्तारै हुँदै जान्छ । यस उपमहानगरमा यहाँका मेयरको नेतृत्वमा विकासका कामहरू भइरहेका छन्, मलाई खुसी लागेको छ ।”

बजेटको सही व्यवस्थापन गर्न आवश्यक छ : अर्थमन्त्री पौडेल

काठमाडौँ, १२ भदौ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलले आयोजनाको छनोट र त्यसको कार्यान्वयनमा सही बजेट व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आज बसेको बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथिको छलफलमा सांसदहरूले उठाउनुभएको प्रश्नको जवाफ दिँदै पौडेलले बहुउद्देश्यीय योजनासमेत काटछाँट गर्न जरुरी रहेको जानकारी गराउनुभयो ।

सभामा मन्त्री पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भनी राख्नुभएको प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

सांसद राजेन्द्रकुमार केसी, जुलीकुमारी, वासुदेव घिमिरे, दामोदर पौडेल वैरागी, स्वर्णीम वाग्ले,  विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, सोविता गौतम, मनिष झा, रोशन कार्की, प्रतिमा गौतम, देवेन्द्र पौडेल, सुमना श्रेष्ठ, प्रतिमा गौतम, माधव सापकोटा, मनिष झा, कुसुमदेवी थापा, सोविता गौतम, नागिना यादव, दयालबहादुर शाही, नारायणी शर्मा, अच्युतप्रसाद मैनाली, प्रेम सुवाललगायतले विधेयकमाथि विचार राख्नुभएको थियो ।  

जनतालाई शुद्ध खानेपानी वितरण गर्नु हाम्रो प्रमुख दायित्व हो: मन्त्री यादव

काठमाडौँ, १२ भदौः खानेपानीमन्त्री प्रदीप यादवले नेपाली जनतालाई शुद्ध एवं सफा खानेपानी वितरण गर्नु मन्त्रालय र सम्बद्ध पक्षको प्रमुख दायित्व भएको बताउनुभएको छ ।

खानेपानी मन्त्रालयले आज मन्त्रालयमा आयोजना गरेको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष २०८०/०८१को वार्षिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले जनतालाई शुद्ध खानेपानी वितरण गर्ने पहिलो प्राथमिकतासहित आफूले काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पानी जीवनका लागि नभइ नहुने चिज हो, पर्याप्त बजेट नभएका कारण त्यही पानी पनि जनतालाई खुवाउन सकिएको छैन । त्यसैले हाम्रो पहिलो उद्देश्य जनतालाई शुद्ध खानेपानी वितरण गर्नु हो भनेर सबैले मिलेर काम गर्नुपर्छ ।”

मन्त्री यादवले जनताका जायज मागलाई मन्त्रालयले आवश्यकताका आधारमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसैगरी उहाँले चुरे दोहोन तथा जलवायु परिवर्तनका कारण खानेपानीका स्रोत सुक्दै जाँदा अनेकन समस्या आउनथालेको बताउनुभयो । उहाँले भन्नुभयो, “मधेसमा चुरेको दोहनका कारण चापाकलमा पानी आउँदैन । पानीका स्रोत सुकेर देखिएका समस्या समाधानका लागि देशभरि नै जलस्रोतकोे अध्ययन गरेर आवश्यक काम गर्न आवश्यक छ ।”

खानेपानी मन्त्रालयको बजेट बर्सेनी घट्दै जानथालेको प्रति मन्त्री यादवले दुःखसमेत व्यक्त गर्नुभयो । “अर्थ मन्त्रालयले हामीले पठाएका फाइल नै खोल्दैन, गर्न नसकिने कामका फाइल यो कारणले नसकिने भनेर लेखेर फिर्ता पठाइ दिए पनि हुन्थ्यो नी ! यो विषयमा अब प्रधानमन्त्रीसँग कुरा राख्छु ।”कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा जयबहादुर टण्डन, मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यलगायत कर्मचारीको सहभागिता रहेको थियो ।

अर्थतन्त्रलाई चलायमान बनाउन सबै ढोका खुला गरौँ: प्रमुख सचेतक घिमिरे

काठमाडौँ, १२ भदौः नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक विकासका लागि सम्भावनाका सबै ढोका खुला गरिनुपर्नेमा जोड दिनुभएको छ ।

संसदीय विटसँग सम्बन्धित पत्रकारसँगको भेटमा आज उहाँले मुलुकको आर्थिक विकास र समृद्धिका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्यमा लक्ष्य निर्धारण गरी अघि बढेको खण्डमा मात्र असल नतिजा हाँसिल गर्न सकिने बताउनुभयो । प्रमुख सचेतक घिमिरेले भन्नुभयो, “विकास र समृद्धिका लागि सरकार उदार हुनुपर्छ । सरकार, निजी क्षेत्र र जनतासहित सबै मिलेर पूर्वाधार निर्माणलगायतका गरेमा मात्रै चाहेको प्रतिफल हासिल गर्न सकिन्छ ।”

उहाँले मुलुकलाई तीव्र आर्थिक समृद्धिमा लैजान निजी क्षेत्रमा उत्साह जगाउन आवश्यक रहेको बताउनुभयो । “राज्य करले चल्छ भने निजी क्षेत्र नाफाले चल्छ । यो कांग्रेसको अवधारण हो, कसैले होइन भन्छ भने त्यसले कांग्रेसले बुझेकै छैन”, उहाँले भन्नुभयो ।

देशलाई विकास र समृद्धिमा लैजान आर्थिक उदारवादका माध्यमबाट विश्व समुदायसँग जोडिनुको विकल्प नभएको बताउनुहुँदै प्रमुख सचेतक घिमिरेले जनसहभागिताविना सरकारले चाहेर मात्र आर्थिक उपलब्धि हाँसिल हुन नसक्ने तर्क प्रस्तुत गर्नुभयो ।

कांग्रेस वर्तमान सत्ता गठबन्धनको ठूलो दल भएपनि संसद्मा पार्टीको भूमिका प्रभावकारी हुन नसकेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “किन भने हामी प्रधानमन्त्रीको दल र प्रतिपक्ष पनि होइनौँ । त्यो हिसाबले हाम्रो भूमिका धेरै ठूलो नहुन सक्छ तर पनि हरेक निर्णय र प्रक्रियामा कांग्रेसको भूमिका महत्वपूर्ण र प्रभावकारी हुन्छ नै । त्यो भूमिका निर्वाह गर्नुपर्छ ।”

अहिले पनि कांग्रेसले केही विषय र सैद्धान्तिक पक्षमा स्पष्ट हुनुपर्ने आवश्यक औल्याउनुहुँदै प्रमुख सचेतक घिमिरेले रुग्ण उद्योग सरकारले चलाउनुपर्छ भनी आएका विषयमा राज्यले व्यापार गर्न हुन्न भन्नेमा कांग्रेस दृढतापूर्वक उभिनुपर्छ भन्नुभयो । “राज्य व्यावसायिक संस्था होइन, नियमनकारी निकाय हो । नियमनकारी र व्यावसायिक संस्था एउटै हुन सक्दैन, यसमा पार्टी स्पष्ट हुनुपर्छ । रुग्ण उद्योग सञ्चालन गर्ने नाममा फेरी सरकारले लगानी गर्नुपर्छ भन्ने कुरा उठिरहेको छ । राज्य कोषलाई त्यसरी प्रयोग गर्ने छुट छैन भन्ने कुरा पनि सँगसँगै उठिरहेको छ । यसमा कांग्रेस चनाखो हुनुपर्ने छ”, उहाँले भन्नुभयो ।

मुलुकमा देखिएका अनियमिता र भ्रष्ट्राचारका विरुद्धमा तथा सुशासनको मामिलामा कांग्रेस दृढताका साथ उभिदै आएको र अहिले पनि सरकारबाट कतै पनि कम्जोरी हुन नदिन सक्दो सहयोग पुर्‍याउँदै आएको उहाँको स्पष्टोक्ति थियो ।

माइभ्याली सामुदायिक वनका तत्कालीन अध्यक्ष र कोषाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, १२ भदौः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा माइभ्याली सामुदायिक वन उपभोक्ता समूह इलामका तत्कालीन अध्यक्ष डोलबहादुर कार्की र कोषाध्यक्ष रीता सम्बहाम्फेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

वन उपभोक्ता समितिका तत्कालीन अध्यक्षले २०७० सालदेखि ठेकेदार र अध्यक्षसमेत रही काबेली करिडोर विस्तारका क्रममा कटान आदेशभन्दा बाहिर आफूखुसी रुख कटान गरी घाटगद्दी लिलाम प्रक्रिया अगाडि बढाएको, लेखापरीक्षण नगरेको तथा बैंकिङ कारोबार नगरी आफुखुसी कारोबार गरेको पाइएपछि आयोगले अनुसन्धानको प्रक्रिया अगाडि बढाएको थियो ।

अध्यक्ष कार्कीले उपभोक्ता समूहको निर्णय पुस्तिका तथा चेक बुकलगायतका कागजात आफँैले लिई समूहको रु ३० लाख ७८ हजार छ सय बराबरको कार्ययोजना प्रक्रिया नपु¥याइ स्वीकृत गरेको आरोप छ । कटान आदेशभन्दा बढी रु आठ लाख ५५ हजार पाँच सय चारको वन विनास गरी अवैध घाटगद्दी गरेको पाइएको आयोगको ठहर छ ।

आयोगले रु ३० लाख ७८ हजार छ सय बराबरको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगका प्रवक्ता नरहरि घिमिरेले बिगोबमोजिम कैद, सजायको माग गर्दै अध्यक्ष र कोषाध्यक्ष दुवै जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी दिनुभयो ।

दक्षिण एसियाको वायु प्रदूषणमा कमी

सन् २०२२ मा दक्षिण एसियाको वायुको गुणस्तरमा देखिएको आश्चर्यजनक सुधारले विश्वव्यापी प्रदूषणमा पनि सुधार आएको वायुको गुणस्तर र जीवन सुचकाङ्क (एक्यूएलआई)को बुधबार सार्वजनिक नयाँ प्रतिवेदनमा जनाइएको छ । यद्यपि, तत्कालिन समयको अनुकुल मौसमले सुधारका लागि सम्भावित भूमिका खेलेको हुनसक्ने बताइएको छ ।

तत्कालिन समयमा भएको नियमित बर्षा र कोभिडका कारण विश्वव्यापीरूपमा भएको लकडाउनका कारण प्रदुषणमा भूमिका खेल्न जिम्मेवार सवारी साधनको कम प्रयोग हुनु, कलकारखानामा गतिविधि रोकिनु र वातावरण सुधारका लागि गरिएका पहलहरूले काम गर्नुलगायतले वायुको गुणस्तर सुधारमा भूमिका खेलेको हुनसक्ने अध्ययनले देखाएको छ ।

यस क्षेत्रमा खतरनाक वायु प्रदुषणका कारण यहाँका बासिन्दाको औसत आयु ३.५ वर्षभन्दा बढीले घट्ने एक्यूएलआईले चेतावनी दिएको छ ।

सन् २०२२ को भू–उपग्रहको तथ्याङ्कले वायुप्रदुषणमा आश्चर्यजनक रूपमा १८ प्रतिशतले गिरावट देखाएकोबाहेक दुई दशकदेखि दक्षिण एसियामा वायु प्रदूषण वार्षिक रूपमा बढिरहेको छ ।

युनिभर्सिटी अफ सिकागोको एनर्जी पोलिसी इन्स्टिच्युट(इपीआईसी) ले तयार पारेको प्रतिवेदनअनुसार श्रीलङ्काबाहेक यस क्षेत्रका हरेक देशमा वायु प्रदूषण घटेको छ ।

“दक्षिण एसियामा वायुको गुणस्तर मापन गर्ने ‘पार्टिकुलेट म्याटर (पीएम २.५) को स्तर कुन कारणले घट्यो भन्ने निर्णायक रूपमा निर्धारण गर्न गाह्रो भएपनि अनुकूल मौसमी अवस्थालाई यसको श्रेय दिन सकिन्छ,” प्रतिवेदनमा भनिएको छ।

सन् २०२२ मा यस क्षेत्रमा औसतभन्दा बढी वर्षा र अनुकुल मौसमी अवस्थाले प्रतिवेदनको सिद्धान्तलाई समर्थन गर्दछ ।

दक्षिण एसियाका मानिसहरूले अझै पनि विश्व स्वास्थ्य सङ्गठनले सुरक्षित ठानेको भन्दा आठ गुणा बढी प्रदूषित हावामा श्वास लिइरहेका छन् । “नीति परिवर्तनले प्रभाव पारेको छ कि छैन भनेर समयले मात्र बताउनेछ,” प्रतिवेदनमा जनाइएको छ ।

“निरन्तर अवलोकन, नीति कार्यान्वयनका लागि प्रयास र नीतिगत हस्तक्षेपका प्रभावहरूको अनुगमन प्रदुषण गिरावटको कारक बुझ्न र कायम राख्न महत्वपूर्ण हुनेछ,” प्रतिवेदनमा भनिएको छ ।

दक्षिण एसियामा मापन भएको गिरावटसँगै वायु प्रदूषणमा नौ प्रतिशत विश्वव्यापी गिरावट मापन भएको छ । खराब वायु गुणस्तरका कारण मध्यपूर्व र उत्तरी अफ्रिकासहित अन्य ठाउँमा एक वर्ष अघिको तुलनामा वायु प्रदूषण १३ प्रतिशतले बढेको छ।

प्रतिवेदनले वायुको गुणस्तरको नियमित तथ्याङ्कको अभावले नीति निर्माण र कार्यान्वयनमा बाधा पु¥याइरहेको बताएको छ ।

यस वर्षको सुरुमा, ‘इपीआईसी’ को स्वच्छ हावा कार्यक्रमले विश्वव्यापी वायु प्रदुषणबारे खुला तथ्याङ्क प्रदान गर्ने वायुको गुणस्तर अनुगमन केन्द्रहरूको स्थापनाको लागि १.५ मिलियन डलर रकमको कोष सुरु गरेको हो । वायु प्रदूषणले मानव स्वास्थ्यमा पार्ने गम्भीर प्रभावको तुलनामा यो अपेक्षाकृत थोरै रकम हो ।

उदाहरणका लागि, अफ्रिकाका केही सबैभन्दा प्रदूषित देशहरूमा “एचआईभी÷एड्स, , मलेरियाजस्ता घातक रोगभन्दा वायु प्रदुषणले मानिसको आयुमा बढी गम्भीर खतरा निम्त्याउने प्रतिवेदनमा जनाइएको छ ।

तथापि, प्रदुषित हावासँग लड्नका लागि चीनले उल्लेखनीय प्रयासहरू जारी राखेको छ । यसले ठूला सहरमा सवारीसाधनको सङ्ख्या सीमित गर्ने, उद्योगको क्षमता घटाउने र केही क्षेत्रबाट नयाँ कोइलाखानी प्रतिबन्धित गर्नेजस्ता उपायहरू अवलम्बन गरेको छ । सन् २०१३ देखि चीनको वायु प्रदूषण ४१ प्रतिशतले घटेको र यहाँका नागरिकहरूको औसत आयु दुई वर्षले बढेको एक्युएलआईले बताएको छ । तथापि, अझै पनि चीनमा प्रदूषण विश्व स्वास्थ्य सङ्गठनको दिशानिर्देशभन्दा पाँच गुणा बढी छ ।

जिम्बाब्वेबाट आउँदै गरेको बस दक्षिण अफ्रिकामा पल्टिँदा १० को मृत्यु

जिम्बाब्वेबाट आउँदै गरेको एउटा बस दक्षिण अफ्रिकाको उत्तरपूर्वी लिम्पोपो प्रान्तमा नियन्त्रण गुमाएर पल्टिँदा १० जनाको मृत्यु र ३५ जना घाइते भएको स्थानीय यातायात मन्त्रालयले बुधबार बताएको छ । मङ्गलबार मध्यरातअघि जोहानेसबर्ग गइरहेको बस दुर्घटना हुँदा ‘कथित रूपमा विदेशी नागरिक’ पाँच पुरुष र पाँच महिलाको मृत्यु भएको सरकारले विज्ञप्तिमार्फत जनाएको छ ।

“तीव्र गतिमा रहेको बस घुमाउरो सडकमा नियन्त्रण गुमाएर पल्टिएको थियो र दुर्घटनामा यात्रीहरूको मृत्यु भयो र अन्य घाइते भए”, विज्ञप्तिमा उल्लेख छ । 
अधिकारीहरूका अनुसार बस चालक नयाँ थिए र वरपरको अवस्थासँग अपरिचित थिए । घाइते यात्रीहरूलाई स्थानीय अस्पतालमा लगिएको छ । 

दक्षिण अफ्रिका अफ्रिका महादेशमा सबैभन्दा विकसित सडक सञ्जाल भएका मुलुकमध्ये एक हो तर सबैभन्दा खराब सडक सुरक्षा रेकर्डमध्येको पनि एक हो । यसको एउटा कारण लापरवाहीपूर्वक ड्राइभिङ र सडकमा चलाउन योग्य सवारी साधन नहुनु हो ।    यस वर्ष दक्षिण अफ्रिकामा सबैभन्दा भयानक सडक दुर्घटना मार्चमा भएको थियो । एक धार्मिक कार्यक्रममा जाँदै गरेको बस पुलबाट खोलामा खस्दा ४५ जनाको मृत्यु भएको थियो । 

मकवानपुरमा नयाँ उद्योग दर्ता घट्दो र बन्द गर्ने क्रम बढ्दो

बागमती, १२ भदौ : पछिल्लो पाँच वर्षयता मकवानपुर जिल्लामा नयाँ उद्योग व्यापार दर्ता घट्दो र बन्द गर्ने क्रम बढ्दै गएको छ । विश्वव्यापी रुपमा देखिएको आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी कम हुनु, पुँजीको अभाव, दोहोरो दर्ताको व्यवस्था लगायतका कारण यहाँ बर्सेनी नयाँ उद्योग व्यापार दर्ता घट्दै र बन्द हुने क्रम बढ्दै गएको हो ।

उद्योग तथा वाणिज्य कार्यालयका अनुसार मकवानपुरमा आर्थिक वर्ष २०८०÷८१ मा उद्योगतर्फ तीन सय ६६ र वाणिज्यतर्फ तीन सय ३५ नयाँ उद्योग व्यापार दर्ता भएको छ, भने सो आवमा उद्योगतर्फ दुई सय ६८ र वाणिज्यतर्फ तीन सय ३६ उद्योग व्यापार बन्द भएको उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरका प्रमुख रामप्रसाद भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७९÷८० मा उद्योगतर्फ पाँच सय ७९ र वाणिज्यतर्फ चार सय ३० नयाँ उद्योग व्यापार दर्ता हुदाँ उद्योगतर्फ र वाणिज्यतर्फका गरी दुई सय ८३ वटा उद्योगको लगतकट्टा गरिएको थियो ।

यसअघि आव २०७८÷७९ मा उद्योगतर्फ सात सय ६७ र वाणिज्यतर्फ सात सय ७० नयाँ दर्ता भएको थियो । सो आर्थिक वर्षमा उद्योगतर्फ र वाणिज्यतर्फ गरी एक सय १० वटा उद्योग व्यापारको मात्र लगतकट्टा भएकोे थियो । आव २०७७÷७८ मा उद्योगतर्फ आठ सय २० र वाणिज्यतर्फ आठ सय १० नयाँ उद्योग व्यापार दर्ता भएकामा सो आवमा उद्योगतर्फ र वािण्ज्यतर्फ गरी तीन सय ४० उद्योगको लगतकट्टा गरिएको सो कार्यालयको तथ्याङकले देखाएको छ ।

आव २०७६÷७७ मा उद्योगतर्फ एक हजार पाँच सय ३६ र वाणिज्यतर्फ एक हजार पाँच सय २५ नयाँ उद्योग व्यापार दर्ता भएको थियो । सो आवमा उद्योगतर्फ र वाणिज्यतर्फका गरी दुई सय ४० उद्योग व्यापारको लगतकट्टा गरिएको थियो । यसरी पछिल्लो पाँच वर्षको अवधिमा नयाँ उद्योग व्यापार दर्ता घट्दै जाँदा उद्योग व्यापार बन्द हुने क्रम बढ्दै गएको छ ।

विभिन्न निकायबाट अनुदान प्राप्त गर्न उद्योग व्यवसाय दर्ता गराउने र अनुदान पाइसकेपछि बन्द गर्ने प्रवृति, छोराछोरीलाई विदेश पठाउन व्यावसायिक पुँजी देखाउनका लागि मात्र व्यापार व्यवसाय दर्ता गराउने र पछि छोराछोरी विदेश गएपछि व्यापार व्यवसाय बन्द गर्ने, व्यापार घाटा हुनु र उद्योग कार्यालयमा दर्ता भएपछि स्थानीय तहमासमेत दर्ता गराउनुपर्ने दोहोर व्यवस्थाका कारण पनि उद्योग व्यापार दत्र्ता भन्दा बन्द गराउने क्रम बढ्ेको प्रमुख भुसालको भनाइ छ । लामो समयदेखिको आर्थिक मन्दिका कारण हेटौँडामा सटरको भाडा तिर्न नसक्दा व्यापारी सम्पर्कविहीन हुने क्रम बढदै गएको छ । यसरी सम्पर्कविहीन हुनेमा धेरैजसो सहकारी, स्कुल, सुन पसल, किराना पसल, टेलरिङ, मदिरा पसललगायत चलाएर व्यापार व्यवसाय गर्ने रहेका छन् ।

तीन करोड २२ लाख राजस्व सङ्कलन

उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरले आर्थिक वर्ष २०८०÷८१ मा विभिन्न शीर्षकमा रु तीन करोड २२ लाख ४९ हजार राजस्व सङ्कलन गरेको छ । सो कार्यालयका अनुसार उद्योगतर्फ नयाँ उद्योग दर्ता, नवीकरण, नामसारी, पुँजी वृद्धि खारेजी, ठाउँसारी लगायतका शीर्षकबाट रु एक करोड ५१ लाख २५ हजार तथा वाणिज्यतर्फ नयाँ दर्ता, नवीकरण, नामसारी, ठाउँसारी, पुँजीवृद्धि, प्रतिलिपी लगायतका शीर्षकबाट रु एक करोड ६१ लाख ९९ हजार राजस्व सङ्कलन भएको छ । सो अवधिमा एक सय ७६ महिला र एक सय ९० पुरुष नयाँ उद्यमीका रुपमा थपिएका प्रमुख भुषालले बताउनुभयो ।

रावणलाई जितेको खुसियालीमा नाचिन्छ हनुमान नाच

गलकोट (बागलुङ), १२ भदौः गालामा अनेकथरी पोतिएको रङ, शिरमा श्रीराम लेखिएको रातोपट्टी, शरीरको माथिल्लो भागमा रातो र तल्लो भागमा सेतो पहिरन, पछाडि पुच्छर जोडेर हनुमान जस्तै देखिने एक हूल मानिस जोडी बनेर बागलुङ बजारमा नाच्दै हिँड्छन् ।

एकापसमा लौरो ठोक्दै हनुमानको भेषमा सजिएका युवाहरू २६ जना युवा १० तालको सुरुमा नाच्दै हिँड्ने परम्परा यहाँका नेवार समुदायले झन्डै तीन सय वर्षदेखि बचाउँदै आएका छन् । नाच्नेहरू ‘हनुमानको स्वरूप’मा उत्रिन्छन् भने विभिन्न तालमा बाजा बजाउँदा अन्य व्यक्तिहरूको पनि शरीरमा कम्पन पनि हुने गर्छ । उनीहरूले ‘वीर चढेको भनिन्छ । उनीहरू अचेत जस्तै बनेर हल्लिन्छन् । नाचमा सहभागी पुजारीले वीर उठेका हनुमानलाई नियन्त्रणमा लिन्छन् । हनुमान नाचमा संलग्न पुजारीले सेता गन्जी र कछाड बाँध्ने गर्छन् । 

दुई÷दुई जनाको जोडी बनाएर सङ्गीतको तालमा नाच्नुलाई हनुमान नाचको रूपमा लिइन्छ । हनुमान नाच नेवार समुदायमा प्रचलित सांस्कृतिक नाच हो । भूपतिन्द्र मल्लको पालामा भक्तपुरबाट सुरु गरेको ‘हनुमान नाच’ बागलुङका नेवार समुदायले संरक्षण गरेका हुन् । खर्चिलो नाचको रूपमा रहेको यो नाच व्यवस्थापनमै कठिन भएपछि तीन वर्षमा देखाइने नाच बिस्तारै पाँच वर्ष, सात वर्ष र अहिले नौ वर्षमा पुगेको स्थानीय मुकेशचन्द्र राजभण्डारी बताउनुहुन्छ । पुर्खाले आफ्नो उद्गमस्थलबाट लिएर आएको धार्मिक संस्कार जोगाउन मुस्किल भएको श्रेष्ठको भनाइ छ ।

यस नाच रामायण कथामा आधारित रहेको हनुमान नाच र देखाउने तालका कारण बुझ्न र देख्न सकिन्छ । रामको सेवकका रूपमा रहेको हुनमान रहेको भन्दै नाच शुभारम्भको दिन बागलुङ बजार परिक्रमासँगै बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित राम मन्दिर परिक्रमा गरेर फर्कने राजभण्डारीको भनाइ छ । अष्टचिरञ्जीवीका रूपमा हनुमानलाई पूजा गर्ने र उनैको नाच प्रदर्शन गर्दा जीवनभर शक्ति प्राप्त हुने विश्वास रहेको छ ।

भक्तपुरका नेवार समुदाय १७६८ सालमा व्यापार तथा व्यवसाय गर्नका लागि बागलुङ आएसँगै हनुमान नाच नाच्न थालिएको इतिहास रहेको पाइन्छ । बीचमा केही वर्ष हराएको नाचले २०१३ सालदेखि निरन्तरता पाउन थालेको हो । बागलुङ बजारको नारायण चोकबाट सुरु हुने उक्त नाचमा बागलुङ बजार हुँदै उपल्लाचौरको राम मन्दिर पुगेर फर्कने गरिन्छ । मङ्गलबारदेखि सुरु गरिएको हनुमान नाच चैतसम्म नाचिने हनुमान नाच संरक्षण परिषद् बागलुङले जनाएको छ । 

कोरोना कहरलगायतका कारण बीचमा केही वर्ष नाच रोकिएको मूल व्यवस्थापक ईश्वर मलेपतीले जानकारी दिनुभयो । २०७२ सालमा विधिवत नाचिएको नाच अहिले आएर नाचिन थालिएको छ । हनुमान नाच संरक्षण परिषद् बागलुङको पहलमा यहाँका नेवार समुदायका युवाहरू साउन महिनादेखि नै यसको तयारीमा जुटेका थिए ।

यस नाचमा कम्तीमा १३ र बढीमा १५ जोडी युवा हनुमानको भेषधारण गरी नाच्ने गर्दछन् । पुस्तान्तरण नहुँदा हनुमान नाच संरक्षणमा चुनौती बढेको भन्दै यसवर्ष नेवार समुदायका युवा पुस्तालाई हनुमानको रूपमा अगाडि सारिएको हनुमान नाच संरक्षण परिषद् बागलुङका अध्यक्ष तीर्थप्रसाद श्रेष्ठले बताउनुभयो । हनुमान नाचमा कलाकार बनेर सहभागी हुन कडा अनुशासन र आचारसंहिता पालना गर्नुपर्ने हुन्छ । नाचमा सहभागी हुने कलाकारलाई शपथ खुवाएर मात्रै सहभागी गराउने गरिन्छ ।  

बागलुङ नगरपालिका–३ नारायणचोकको भीमसेन मन्दिरभित्र नास्योध्योलाई पूजा गरेर हनुमान पौवामा गएर हुनमानको पूजा गरेपछि विधिवत् रूपमा हनुमान नाच शुभारम्भ हुने मूल व्यवस्थापक मलेपतीले बताउनुभयो । “यो नाच नेपालबाटै लोप हुने अवस्थामा छ, संरक्षणका लागि ढिलै भएपनि नाच देखाउन थालिएको छ” उहाँले भन्नुभयो । उहाँका अनुसार हुनमानको मूर्ति लिएर बजार परिक्रममा गरी नारायणचोक चौतारीमा स्थापना गर्ने र नाच विर्सजन गरेपछि पुनः मूर्तिलाई हनुमान मन्दिरमा लगेर राख्ने परम्परा रहेको छ । 

बाजाको तालमा एक अर्काले लठ्ठी ठोकेर पुच्छर हल्लाउदै हनुमानको भेषमा हिड्नु पर्दछ । हनुमान नाचमा विभिन्न प्रकारका ताल छोपेर नाच्नुपर्छ । हनुमान नाचमा १० ताल हुने गरेको मलेपतीको भनाइ छ । कुनै पनि ताल बजाउँदा कलाकारहरूले बरिब दुई इन्चको मोटाइ भएको १.५ फिट लामो गोलो आकारको डण्डीको एक छेउको टुप्पा भूईंमा टेकाई अर्को छेउमा आफ्नो दुवै हातले टेकी घोप्टो अवस्थामा अनुशासित र मर्यादित ढङ्गबाट अखेडामा रहनु पर्दछ । यसमा पहिलो ताल, सलामी ताल, छ ताल, १२ ताल, १६ ताल, घेरा हाल्ने ताल, आठ ताल, भजन ताल र २४ ताल र प्रस्थान ताल रहेका छन् । 

आर्थिक रूपमा र कलाकार जोहो गर्न पनि कठिन हुन थालेपछि जोगाउनै मुस्किल परेको मंकाः खल बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो । हुनमान नाचमा यस पटक रु १५ लाखसम्म खर्च हुने अनुमान गरिएको छ । जनशक्तिको हिसाबले धेरै जना कलाकार आवश्यक पर्ने र आर्थिक रूपमा पनि खर्चिलो हुने गरेको हनुमान नाच जोगाउन कठिन भएको उहाँको भनाइ छ ।

रामायण कथामा रहेको राम वनवास भएको समयमा सीतालाई हरण गरेपछि रावणले रामसँग गरेको टकरावलाई लिएर नाचको उदय भएको मानिन्छ । पौराणिक ग्रन्थ रामायणअनुसार मर्यादा पुरुष भगवान रामचन्द्रकी पत्नी सीतालाई लङ्काका राजा रावणले हरण गरी लग्दा हनुमानको सहयोगबाट सीतालाई फर्काउन सफल भएको खुसीयालीमा हनुमान नाचिएको इतिहास रहेको छ । 

हनुमानले रामका भाइ लक्ष्मण बेहोस हुँदा सञ्जीवनी बुटीका लागि पर्वतै उचाली उनको प्राण बचाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । वीर हनुमानमा निहित पराक्रम, विरता, अनुशासन, भक्तिभावलाई नृत्यको माध्यमबाट आराधना र प्राथना गर्नाले शक्ति मिल्छ भन्ने हिन्दू धर्मावलम्बीहरूको विश्वासले मल्लकालदेखि नै यो नाच नाचिने गरेको छ । 

बागलुङ नगरभित्र मात्रै नाचिने हनुमान नाचलाई बागलुङ नगरपालिकाले विश्व सम्पदामा सूचीकरण गर्न पहल गर्ने जनाएको छ । नगरपालिकाले हनुमान नाचलाई विश्व सम्पदामा सूचीकरणको आवश्यक काम अगाडि बढाइने जनाउँदै संरक्षणका लागि बजेटसमेत विनियोजन गरेको नगर उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो । पर्यटन प्रवद्र्धनका लागि उक्त नाचको संरक्षण र पुस्तान्तरण गर्न आवश्यक भएकाले नगरपालिकाले चासो दिएको हो । 

प्रतिनिधिसभा बैठक : दिगो र भरपर्दो सिँचाइ गर्नुपर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, १२ भदौः प्रतिनिधिसभा सांसदहरूले दिगो र भरपर्दो सिँचाइ, चुरे संरक्षण, सुरक्षित आवास निर्माण तथा भ्रष्टाचार नियन्त्रणलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले राष्ट्रको समृद्धिका पक्षमा सबै पार्टी एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका सांसद दिनेशकुमार यादवले पूर्वी तराई मधेसको सप्तरी जिल्लामा दिगो र भरपर्दो सिँचाइ आयोजना नभएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सप्तरी जिल्लामा सिँचाइ आयोजनाका लागि बजेट प्राप्त भए पनि कार्यालय स्थापना हुन नसक्दा समस्या परेकाले समाधानका लागि आग्रह गर्नुभयो । चुरे संरक्षण, वर्षातको समयमा बाढीको जोखिम र हुलाकी राजमार्गको विस्तार एवं मर्मतका लागि द्रुतगतिमा काम गर्न उहाँले सरकारसँग माग गर्नुभयो ।

सोही दलका सांसद देवप्रसाद तिमल्सेनाले विभिन्न आयोजनाका काममा भइरहेको ठिलाइप्रति सरकारको ध्यानाकर्षण गराउनुहुँदै समयमा काम गर्ने व्यवसायीको भुक्तानी समयमै दिने र काम नगर्नेलाई कारबाहीको दायरामा ल्यानुपर्नेतर्फ धारणा राख्नुभयो । उहाँले स्वदेशी काठको खपत, सुरक्षित आवास कार्यक्रमको प्रभावकारिता, दूध उत्पादक किसानलाई समयमा भुक्तानी र संस्थागत भ्रष्टाचारको अन्त्यका लागि ध्यानाकर्षण गराउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद रणेन्द्र बराइलीले सत्तापक्ष र प्रतिपक्ष संसद्मा जुहारी खेल्नुभन्दा राष्ट्र समृद्ध बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्र निर्माणको सवालमा राजनीतिक दलबीच समान धारणा जरुरी रहेको उल्लेख गर्नुहुँदै एउटा सरकारले ल्याएको योजना अर्को सरकारले भत्काउने प्रवृत्तिको विरोध गर्नुभयो । सिङ्गो दलित समुदायको हक स्थापित गर्न गठन गर्ने भनिएको दलित विकास प्राधिकरणलगायत विषयको तत्काल कार्यान्वयन गर्न माग गर्नुभयो ।

नेकपा (एमाले)का सांसद जुलीकुमारी महतो (महासेठ) ले वर्तमान सरकारसँग जनताको अपेक्षा र विश्वास रहेकाले असफल हुने छुट नरहेको बताउनुभयो । उहाँले नेपाल विद्युत् प्राधिकरणको सबै बक्यौता उठाउनुपर्नेमा जोड दिनुभयो । सांसद महासेठले चुरे संरक्षणका लागि सचेत हुन सबै पक्षलाई आग्रह गर्नुभयो ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद चन्दा कार्की भण्डारीले भ्रष्टाचार निवारण ऐन संशोधन गर्न बनेको विधेयकमा पाँचवर्षे हदम्याद राख्ने विषयको विरोध गर्नुभएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले जनताको मनोभावना सम्बोधन गरेर राजनीतिक स्थिरता ल्याउन सुझाव दिनुभयो ।

जनता समाजवादी पार्टीका सांसद सुशीला श्रेष्ठले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि सरकारले पहल गर्नुपर्ने बताउनुभयो । जनमत पाटीका सांसद अनिता देवीले सवारी दुर्घटना नियन्त्रण गर्न ध्यानाकर्षण गराउनुभयो ।

जनता समाजवादी पार्टी(जसपा) नेपालका सांसद राजकिशोर यादवले राजदूत नियुक्ति समावेशी हुनुपर्नेमा जोड दिनुभयो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका रामप्रकाश चौधरीले वैदेशिक रोजगारीमा जाने युवाका लागि आप्रवासी नीति ल्याउनुपर्ने बताउनुभयो ।  

नागरिक उन्मुक्ति पार्टीका सांसद रञ्जिता श्रेष्ठले स्वास्थ्य सुविधालाई थप व्यवस्थित बनाउन सुझाव दिनुभयो । स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले सिख धर्म संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

हेटौँडा उपमहानगपालिकाको चालु आवको पहिलो महिनामै राजस्व सङ्कलनमा कमी

बागमती, १२ भदौः मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो एक महिनामा रु चार करोड ५० लाख १४ हजार राजस्व सङ्कलन गरेको छ ।उपमहानगरपालिकाका राजस्व शाखाका प्रमुख मनोज सुवेदीका अनुसार गत साउनमा उपमहानगपालिकाले सम्पत्ति करबाट रु एक करोड ४४ लाख ८५ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट रु एक करोड १८ लाख ७५ हजार, घरबहाल करबाट रु ५० लाख ६५ हजार, सिफारिस दस्तुरबाट रु ३३ लाख ४० हजार, बहाल बिटोरी करबाट रु १८ लाख ७८ हजार, व्यवसाय करबाट रु ४१ लाख २१ हजार र प्रशासकनिक दण्ड जरिवाना र जफतबाट रु पाँच लाख ९६ हजार राजस्व सङ्कलन भएको छ ।

यो अघिल्लो आव २०८०/८१ को साउनको तुलनामा रु २५ लाख ६२ हजार कम राजस्व सङ्कलन भएको हो । आव २०८०/८१ को साउनमा उपमहानगरपालिकाले रु चार करोड ७५ लाख ७६ हजार राजस्व सङ्कलन गरेको थियो । चालु आव २०८१/८२ को पहिलो महिनामा व्यवसायीले कर वृद्धिको विरोधमा गरेको आन्दोलन, कबाडी सङ्कलन तथा बिक्री कर लगाउन नसक्नुजस्ता कारण अघिल्लो आवको तुलनामा चालु आवको पहिलो महिनामा कम राजस्व सङ्कलन भएको प्रमुख सुवेदीले बताउनुभयो ।

यस्तै विश्वव्यापी आर्थिक मन्दीका बाबजुद हेटौँडा उपमहानगरले आव २०८०/८१ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । उपमहानगरले आव २०८०/८१ मा रु ३० करोड ९४ लाख पाँच हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा विभिन्न शीर्षकमा रु ३४ करोड सात लाख ६४ हजार छ सय ४० राजस्व सङ्कलन गरेको छ ।

उपमहानगरपालिकाले आव २०८०/८१ मा एकीकृत सम्पत्ति करबाट रु सात करोड ३० लाख २८ हजार, घरबहाल करबाट रु छ करोड एक लाख ६८ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट रु पाँच करोड २३ लाख नौ हजार, बहाल बिटोरी करबाट रु दुई करोड ४९ लाख ७४ हजार, सिफारिस दस्तुरबाट रु तीन करोड ४१ लाख ९६ हजार, व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट रु दुई करोड ३२ लाख ३१ हजार, नक्सापास दस्तुरबाट रु एक करोड छ लाख ३० हजार, सरकारी सम्पत्ति बहालबाट रु पाँच लाख ८६ हजार, ढुङ्गागिट्टी बालुवा बिक्रीबाट रु ८० लाख र प्रशासनिक दण्ड जरिवानावापत रु ८६ लाख ७३ हजार राजस्व सङ्कलन भएको राजस्व शाखा प्रमुख सुवेदीले बताउनुभयो ।

भारतमा मृत्यु भएका चितवन माडीका तीन युवाको परिवारलाई आर्थिक सहयोग

भरतपुर (चितवन), १२ भदौः भारतमा पहिरोमा परी मृत्यु भएका चितवन माडीका तीनजनाको परिवारलाई माडी नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । गत बिहीबार भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा परेर मृत्यु भएकाका परिवारलाई किरिया खर्च र अन्य आवश्यक सहयोग गर्ने भएको हो ।

शव ल्याउन पहल गरेको नगरपालिकाले किरिया खर्चबापत प्रत्येक परिवारलाई रु २५ हजार तत्काल उपलब्ध गराइने माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तत्कालका लागि रु २५ हजार किरिया खर्च सहयोग गरेका छौँ, अन्य आवश्यक सहयोग कार्यपालिकाको बैठकपछि निर्णय गरेर गर्नेछौँ ।” उहाँले सबै परिवारको अवस्था नाजुक रहेको जनाउँदै उनीहरूले काम गरेको कम्पनीबाट समेत राहत दिलाउन पहल गरिरहेको बताउनुभयो ।

बद्रीनाथबाट केदारनाथ जाने सडकमा पर्ने फाटा क्षेत्रमा गत बिहीबार मध्यराति खसेको पहिरोमा परी चितवन माडीका तीनजना र दैलेखका एकजना मजदुरको मृत्यु भएको थियो । उनीहरू सुतेको अवस्थामा पहिरो खसेको जनाइएको छ । पहिरोमा परेर माडी नगरपालिका–२ शीतलपुरका ५८ वर्षीय तुलबहादुर दमाई, वडा नं १ भङ्गताका २६ वर्षीय कृष्णबहादुर परियार र वडा नं ५ छरछरेका २८ वर्षीय पूर्णबहादुर नेपाली तथा दैलेखका दीपक बुढाको पहिरोमा पुरिएर घटनास्थलमा मृत्यु भएको हो । उनीहरूको शव शनिबार राति ल्याइएको थियो । पेट्रोलपम्प र बाटो निर्माणमा श्रमिकका रूपमा काम गर्दै आएका उनीहरू पवनहंश हेलिप्याड नजिकको शिविरमा बस्ने गरेका थिए ।

बग्न थाल्यो थासाङ हिउँपहिरोले थुनिएको बोक्सीखोला

म्याग्दी । धवलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मङ्गलबार साँझ खसेको हिमपहिरोले पूर्ण रूपमा थुनिएको मुस्ताङको थासाङ गाउँपालिकामा रहेको बोक्सीखोला बग्न थालेको छ ।

मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मुलखर्कबाट बोक्सीखोला क्षेत्रमा हिउँपहिरोले थुनिएको खोला करिब १३ घण्टापछि आज बिहानदेखि बग्न थालेको हो । थासाङ–२ का वडाध्यक्षसमेत रहेका गाउँ कार्यपालिकाका प्रवक्ता गौतम शेरचनले आज बिहानदेखि थुनिएको ठाउँबाट खोला बग्न थालेको जानकारी दिए ।

“मङ्गलबार साँझ ५ः४५ बजेतिर खसेको हिउँपहिरो थुप्रिएर बोक्सी खोला पूरै सुकेको थियो”, उनले भने, “सामान्य अवस्थाको तुलनामा आधा जति बगेको खोलामा विस्तारै पानीको मात्रा बढ्दै गएकाले तटीय क्षेत्रमा सतर्कता अपनाएका छौँ ।”

खोँचमा थुप्रिएको हिउँलाई खोलाको पानीले पगालेर विस्तारै बग्न थालेको शेरचनले बताए । तटीय क्षेत्रका नौवटा घरलाई राति सुरक्षित ठाउँमा सारिएको थियो । पाखो र खोला किनारमा थुप्रिएको हिउँ पहिरोले मानवीय र भौतिक क्षति नगरेको थासाङ गाउँपालिका–२ का वडा सदस्य भीमप्रसाद थकालीले बताए ।

बोक्सीखोलाको मूलखर्कदेखि तल करिब एक किलोमिटरसम्म हिउँपहिरो थुप्रिएको छ । सो ठाउँमा यही भदौ ७ गते दिउँसो पनि हिउँ पहिरो खसेको थियो । हिउँ पहिरोले थुनिएको बोक्सीखोला तीन घण्टापछि बग्न थालेको थियो । यसअघिकै हिउँको थुप्रो पग्लिएर नसकिँदै पुनः पहिरो आएर हिउँ थपिएको हो ।

बोक्सीखोला कालीगण्डकीको सहायक खोला हो । तीनवटा ठाडो खोला मिसिएर बोक्सीखोला बग्ने गर्छ । आसपासमा बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्सीखोलामा पर्दछ । थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचन, वडाध्यक्ष शेरचनसहित सुरक्षाकर्मीको टोलीले हिउँपहिरो थुप्रिएको ठाउँको निरीक्षण गरेका थिए । हिउँ पहिरो थुप्रिएको ठाउँमा तलाउ छैन । हिउँ विस्तारै पग्लने भएकाले जोखिम कम हुने अनुमान गरिए पनि पूरै नपग्लिँदासम्म तटीय क्षेत्रमा सतर्कता अपनाउनुपर्ने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।

यसअघि विसं २०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिरोले एक सय ५० भन्दा बढी चौँरीगाई मरेका थिए । पछिल्लो हिउँपहिरोबाट मानवीय र पशुधनको क्षति भने नभएको जिल्ला प्रशासनले जनाएको छ ।

भजनमा अजित घिमिरेको ‘पिर हरिदेउ’ ( भिडियो)

काठमाडौं- कृष्णाष्टमीको अवसर पारेर गायक तथा संगीतकार अजित घिमिरेको स्वर तथा संगीतमा सजिएको ‘पिर हरिदेउ’ शीर्षकको भजन यूट्युबमार्फत सार्वजनिक भएको छ । यो भजनको संगीत संयोजन वरिष्ठ संगीतकार शिला बहादुर मोक्तानले गरेका छन् ।

अमेरिकामा वातावरण विज्ञानमा पिएचडी गरेका संगीतकर्मी घिमिरेका ‘कालीको ठुम्का’, ‘बाँध मायाले’, ‘धिन्तनाक्धीन’, ‘लभ मास्टर’, ‘जब साथ तिम्रो न्यानो’ जस्ता गीतहरुले यसअघि नै दर्शक तथा स्रोताको मन जितिसकेका छन् ।

पिर हरिदेउ’ भजन काठमाडौंस्थित नागार्जुन नगरपालिकाको आदेश्वर शिव मन्दिरमा छायांकन गरिएको हो । भजनको भिडियोमा छायांकन, सम्पादन तथा निर्देशन सुवर्णकुमार श्रेष्ठ तथा रञ्जन कार्कीले संयुक्त रुपमा गरेका छन् ।भजनको रेकर्डिङमा अमेरिका निवासी किशोर सिवाकोटीले सहयोग गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका छन् ।

अरुणिमा-बिमलेश अभिनीत वेब सिरिज ‘घर बट इन अमेरिका’को फस्ट लुक पोस्टर सार्वजनिक

काठमाडौं। अमेरिकामा रहेका नेपाली कलाकारहरूको विशेष प्रस्तुतिमा बनेको वेब सिरिज ‘घर बट इन अमेरिका’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ।यस सिरिजको निर्देशन बिमलेश अधिकारीले गरिरहेका छन्, जसले हालै सामाजिक सञ्जालमार्फत फस्ट लुक पोस्टर सार्वजनिक गर्दै सिरिजको औपचारिक घोषणा गरेका छन्। पोस्टर सार्वजनिक गर्दै बिमलेशले लेखेका छन्, “नमस्कार! हाम्रो वेब सिरिज ‘घर बट इन अमेरिका’को फस्ट लुक प्रस्तुत गर्दैछु। यो विदेशबाट नेपाली कथा वाचनमा एउटा महत्त्वपूर्ण कोशेढुंगा हुनेछ। यस पवित्र दिन श्रीकृष्ण जन्माष्टमीको अवसरमा, हामी सृजनशीलता र संस्कृतिको उत्सव मनाउँदै छौँ। यो सपना साकार गर्न सहयोग पुर्‍याउने सबैलाई हार्दिक धन्यवाद। आगामी वेब सिरिजले विश्वभरका मनहरूलाई जोड्नेछ। जय श्रीकृष्ण!”

यस सिरिजबाट नेपाली चलचित्रकी एक समयकी चर्चित अभिनेत्री अरुणिमा लम्साल १० वर्षपछि अभिनयमा फर्किएकी छन्। यसमा अरुणिमासहित बिमलेश अधिकारी, राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल, समारोह मैनाली, र रोजिना थापा लगायतका कलाकारहरूको प्रमुख भूमिका रहनेछ।

‘घर बट इन अमेरिका’ सिरिजको सम्पूर्ण छायाङ्कन संयुक्त राज्य अमेरिकामा नै भइरहेको छ। सिचुएशनल कमेडी-ड्रामा विधामा निर्माण भइरहेको यो सिरिजलाई विवेक चम्लागाईंको लेखेका छन्। सिरिजमा गोप्य रूपमा लिभ-इन रिलेशनसिपमा रहेकी छोरी र नेपालबाट पहिलो अमेरिकी भ्रमणमा पुगेका आमाबुवाको वरपरका घटनाहरूलाई प्रस्तुत गरिएको छ।

सिरिजको निर्माण सेभेन कलर्स डिजिटलले गरेको हो। निर्देशक तथा कलाकार बिमलेश अधिकारीले यस सिरिजको अवधारणासमेत तयार पारेका छन्। सिरिजमा रोशन घिमिरे लाइन प्रोड्युसर, विवेक रसाइली सहायक निर्देशक, पशुपति बस्याल छायाङ्कनकर्ता, र अप्सरा कटुवाल मेकअप आर्टिस्टको रूपमा छन्।

सिरिजको पहिलो सिजनको छायाङ्कन सकिएको छ, जसको केही दिनमा टिजर सार्वजनिक गर्ने तयारी छ। यो सिरिज कुन प्लेटफर्ममा स्ट्रिमिङ हुनेछ भन्ने जानकारी भने दिइएको छैन।

भौतिक संरचनाले कुरुप बन्दै पर्यटकीयस्थल मझुवागढी

खोटाङ । खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट करिब ४५ मिनेटको पैदलयात्रा गरेर उकालो चढ्दा धार्मिक एवं पर्यटकीयस्थल मझुवागढी पुगिन्छ । उक्त स्थानमा किरात ऐतिहासिकस्थल मझुवागढी तथा हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र बुद्धेश्वर गुफा र कालिका भगवती देवीको मन्दिर छ ।

चारैतिर हरियाली जङ्गलले घेरिएको मझुवागढीमा घुमफिर गर्ने, वनभोज खाने, अध्ययन भ्रमण गर्ने, साहित्यिक तथा साङ्गीतिक कार्यक्रम गर्नेलगायत व्यक्ति तथा समूह पुग्ने गरेका छन् ।

प्राकृतिक रूपमै अग्लो डाँडामा रहेको मझुवागढीमा विसं १८०४ सम्म राजा रणवीर हाङले राज्य गरेको प्रमाण छ । किरात ऐतिहासिकस्थल मझुवागढीको उत्तरी दिशामा बारुद ढुङ्गा र हतियार निर्माण गर्ने भट्टी रहेको छ । गढीको पूर्वमा फूलपातीडाँडा, राँगा आहल र दमाहा ढुङ्गा रहेको छ । त्यस्तै, गढीको बीच भागमा मौली रहेको छ ।

तत्कालीन समयमा रणवीर राजाका रैतीहरूले दसैँ मान्नका लागि ल्याएका राँगा बोका राख्ने ठाउँलाई मौली भन्ने गरिन्थ्यो । मौलीभन्दा अलिक अगाडि पूजाआजा गर्ने ठाउँ छ । यसको केहीमाथि राजाको दरबार र कोट गार्ड (सुरक्षाकर्मी) बस्ने ठाउँ छ । गढीको दक्षिण दिशामा तारा खसेको ठाउँ छभने गढीवरिपरि बङ्कर घेरासमेत रहेको छ । मझुवागढीको केही तल कालिका भगवती मन्दिर छ । भगवती मन्दिरमा दैनिकजसो बाख्राको पाठी बलि दिने गरिन्छ ।

बुद्धेश्वर गुफामा रामनवमी, बालाचतुर्दशी, शिवरात्रि, हरितालिका तिजलगायत चाडपर्वमा ठूलो मेला लाग्ने गर्दछ । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ ।

मझुवागढीमा हरेक वर्षको उँभौली र उँधौली चाड अर्थात् वैशाखे र मङ्सिरे पूर्णिमामा तीन चुल्हाको पूजा गर्दै साकेला नाच्ने गरिन्छ । मझुवाको अर्थ माझ अर्थात् बीच भन्ने बुझिन्छ । मझुवागढीको पश्चिम दिशामा महुरेगढी, हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा पर्छ ।

त्यस्तै, पूर्वमा चुइचुम्मागढी दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा पर्छ भने दक्षिणमा खाम्तेल गढी हाल हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा पर्दछ । चारैतिर गढी नै गढीले घेरिएको मझुवागढी बीचमा पर्ने भएकाले उक्त ठाउँको नाम मझुवागढी भनिएको जानकार बताउँछन् ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल, वडा नं ४ खाल्ले र वडा नं ५ लफ्याङको सिमानामा पर्ने मझुवागढी पछिल्लो समय कुरुप बन्दै गएको छ । प्राकृतिक रूपमै पर्यटकीय क्षेत्र रहेको मझुवागढीलाई पर्यटन प्रवर्द्धनको नाममा अनावश्यक भौतिक संरचना निर्माण गर्दा कुरुप बन्दै गएको हो ।

धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण गर्नुपर्नेमा त्यसलाई असर गर्नेगरी भौतिक संरचना बनाएर अनुत्पादक क्षेत्रमा लगानी गरेको जनाउँदै आलोचना सुरु भएको छ । कोशी प्रदेश सरकार तथा नगरपालिकाको साझेदारीमा कालिका भगवती देवीको मन्दिरभन्दा केही तल अवस्थित बुद्धेश्वर गुफा नजिकै सिमेन्टको कङ्क्रिट प्रयोग गरेर भौतिक संरचना निर्माण गरेपछि आलोचना सुरु भएको हो ।

समपूरक अनुदानअन्तर्गत कोशी प्रदेशको ६५ प्रतिशत र नगरपालिकाको ३५ प्रतिशत गरी एक करोड ३६ लाख ८४ हजारमध्ये ९६ लाख ६६ हजार दुई सय ८९ लागतमा ठेक्कामार्फत बुद्धेश्वर गुफा अगाडि टावर निर्माण गरिएको छ । निर्माणाधीन टावरका लागि २०८१ साल असार २४ गतेसम्म सक्नेगरी निर्माण कम्पनीले २०८० साल माघ ९ गते सम्झौता गरेको थियो ।

निर्माणाधीन आयोजनाको रु ७५ लाख सात हजार चार सय ९६ भुक्तानी भएको नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले जानकारी दिए । मझुवागढी सौन्दर्यकरणका चालु आर्थिक वर्षमा पनि कोशी प्रदेश सरकारले एक करोड रकम विनियोजन गरेको नगरपालिकाले जनाएको छ ।

अघिल्लो स्थानीय सरकारले विभिन्न ठाउँमा टावर, आँखा पोखरी, देवीथानलगायत अन्य अनुत्पादक क्षेत्रमा लगानी गरेको र वर्तमान स्थानीय सरकारले पनि बुद्धेश्वर गुफा अगाडि टावरलगायत संरचना निर्माण गरेको उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष राजु लयालुले आरोप लगाए ।

“सम्पदा नै सङ्कटमा पर्नेगरी टावर बनाइएको छ । टावर बन्दैमा पर्यटन प्रवर्द्धन हुन्छ भन्ने धारणा गलत हो । त्यसमाथि पनि सिमेन्टको कङ्क्रिट प्रयोग गरेर बनेको संरचना बनाइएको छ । त्यो अझै गलत हो”, उनले भने,“अहिले बनाइएको टावरले त दिक्तेल बजारतिरको दृश्य छलिएको छ । पहिले देवीथान क्षेत्रको जहाँबाट हेर्दा पनि दिक्तेल बजार देखिन्थ्यो । अहिले पूर्वी–दक्षिणबाट हेर्दा टावरले छलिएको छ । टावर त देखिनुको लागि होइन र ? कहाँ के गर्ने भन्ने बुझ्नुपथ्र्याे । प्राकृतिक संरचना भत्काउनुअघि पुरातत्वक विभागसँग अनुमति लिनुपर्छ । यो विषयमा नगरपालिकाले चासो दिएन । अहिले बनेका संरचनाले पुस्तौँसम्म असर गर्छ ।”

मझुवागढी आसपासका क्षेत्रमा भ्यूटावर, धर्मशाला, प्रतिक्षालय, खानेपानीको ट्याङ्कीलगायत करोडौँका संरचना निर्माण भइरहेका छन् । दिक्तेलबजारस्थित हाटडाँडाबाट नै सिमेन्ट र बालुवा प्रयोग गरेर कङ्क्रिटको पदमार्ग निर्माण गरिएका छन् ।

नगरप्रमुख तीर्थराज भट्टराईले भने पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटकलाई आकर्षित गर्न मझुवागढी आसपासका क्षेत्रमा भौतिक संरचना बनाइएको दाबी गरेका छन् ।

“मझुवागढीलाई पर्यटन प्रवर्द्धन गर्दै नगरको आम्दानीको स्रोत बनाउने उद्देश्यले पर्यटकलाई आकर्षित गर्ने संरचना बनाइएको हो । सुविधासम्पन्न भौतिक संरचना निर्माण गर्नु अनुत्पादक क्षेत्रमा लगानी गर्नु होइन”,उनले भने, “भौतिक पूर्वाधार अभाव रहेको मझुवागढी क्षेत्रमा सुविधासम्पन्न संरचना निर्माण भइरहेका छन् । निर्माणाधीन संरचना सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटक आउने र नगरको आन्तरिक आम्दानीको स्रोत वृद्धि हुने भएकाले अनुत्पादक भन्न मिल्दैन ।”

मझुवागढी क्षेत्र किरात ऐतिहासिकस्थल तथा धार्मिक पर्यटकीय क्षेत्र भएकाले संवेदनशील भएर संरचना बनाउनुपर्ने जिल्लावासीको सुझाव छ । तर, नगरपालिकाले प्राकृतिक संरचना भत्काउनुका साथै करोडौँ रकम खर्चेर सिमेन्टको कङ्क्रिट तथा फलामे डण्डी र जस्तापाता प्रयोग गरेर धमाधम भौतिक संरचना निर्माण गरिरहेको छ ।

आजको मौसम : देशभर आंशिक वर्षाको सम्भावना

काठमाडौँ, १२ भदौः हाल देशभर मनसुनी वायुको प्रभाव जारी रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाद्वारा आज बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, बाग्मती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको केही भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छभने कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ ।

यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

कोशी, मधेस, बागमती, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

पर्यटकीय नगर धुलिखेल नेपालको पहिलो र एसियाको दोस्रो स्वस्थ सहर घोषणा

काभ्रे । विश्व स्वास्थ्य सङ्गठनले काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेललाई ‘नेपालको पहिलो स्वस्थ सहर’ घोषणा गरेको छ । सङ्गठनले तोकेका मापदण्ड पूरा गरेको धुलिखेल एसियाको दोस्रो स्वस्थ सहर भएसँगै पाँच हजार डलर पुरस्कार प्राप्त गर्न पनि सफल भएको छ ।

सङ्गठनका प्रमुख डा सुभाजी गुडले मङ्गलबार नेपालको पहिलो स्वस्थ सहर र एसियाको दोस्रो स्वस्थ सहर भएको घोषणा गरेका हुन् ।

गुडद्वारा घोषणासँगै धुलिखेललाई नेपालको पहिलो स्वस्थ सहर भएकामा पाँच हजार डलर पुरस्कार घोषणा भएको थियो । एसियामा पहिलो स्वस्थ सहर भारतको पुणे नगर बन्दा र ६५ दशमलव ४८ अङ्क प्राप्त गरी धुलिखेल दोस्रो स्थानमा रहेको घोषणा भएको हो ।

एसियाको दोस्रो र नेपालको पहिलो स्वस्थ सहर घोषणा भएको तथा पाँच हजार डलर पुरस्कार प्राप्त भएको धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जूले जानकारी दिए ।

सङ्गठनको मापदण्ड पूरा गरेर स्वास्थ्य क्षेत्रको नीतिगत सुधार, स्वास्थ्य क्षेत्रको दिगो विकास लक्ष्य, वातावरणीय सुधार, गरिब नागरिकको स्वास्थ्यमा पहुँच, दीर्घरोग र सरुवा रोग अनि सामुदायिक स्वास्थ्यमा सुधार ल्याउनुका साथै स्थानीय सरकारको प्राथमिक स्वास्थ्योपचारमा गरेको प्रगतिलाई आधार मानेर सो घोषणा गरिएको जनाइएको छ ।

धुलिखेल नगरले आगामी दिनमा पनि सङ्गठनमार्फत सर्ने र नसर्ने रोग, ज्येष्ठ नागरिक स्वास्थ्य, दलित र गरिब जनसमुदायको स्वास्थ्यमा दिगो विकासको स्वास्थ्य अनि सहरी स्वास्थ्य सुशासनमा काम गर्ने ब्याञ्जूले बताए ।

“यो घोषणाले सिङ्गो नेपाल र काभ्रेपलाञ्चोक जिल्लावासीका साथै धुलिखेल नगरवासी खुसी भएका छौँ, खुसीसँगै अवसर र चुनौती पनि महसुस गरेका छौँ”, ब्याञ्जूले भने । नगरले अपाङ्गता क्षेत्र, स्वच्छ खानेपानी, वातावरणीय प्रभाव न्यूनीकरण खोप, सामुदायिक स्वास्थ्य तथा डिजिटल स्वास्थ्य अभिलेख तयार गरी काम गर्दै आएको थियो ।

पर्यटकीय धुलिखेल नगर हाल ‘आरोग्य सहर’ अभियानमै छ । धुलिखेलले सहस्राब्दी दिगो विकास लक्ष्य (एसडिजी)अन्तर्गतका १७ मध्ये शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानी चार लक्ष्य पूरा गरेपछि स्वास्थ्यमा क्षेत्रमा फड्को मारेको हो ।

नगरले ती चार लक्ष्यको प्रतिवेदन गत अक्टोबर पहिलो साता थाइल्याण्डस्थित संयुक्त राष्ट्रसङ्घमा पेश गरेको थियो । त्यतिबेला उक्त ‘स्वेच्छिक समीक्षा प्रतिवेदन’ सार्वजनिक गर्नेमा दक्षिण एसियामै धुलिखेल पहिलो नगर भएको दाबी गरिएको थियो । नगरले हाल १२ वडामा १५ स्वास्थ्य केन्द्र स्थापना गरिसकेको छभने सबै नागरिकलाई स्वस्थ बनाई आरोग्यता प्रदान गर्न स्वास्थ्यकर्मीलाई घरदैलो पुर्याउने कामसमेत सकेको जनाएको छ ।

नागरिकको अवस्था के छ, के–कस्तो उपचार आवश्यक छ पत्ता लगाउन नगरले सर्वेक्षण गरेको हो । केन्द्रमा निःशुल्क उपलब्ध गराइने ६५ थरिका औषधि पर्याप्त बनाइएको छ । नगरले हाल ‘हाइपरटेन्सन, मधुमेह र मानसिक स्वास्थ्य’ कार्यक्रमलाई केन्द्र तथा निरन्तरका शिविरमार्फत प्राथमिकताका साथ अघि सारिएको छ ।

धुलिखेल विश्व स्मार्ट दिगो सहर सङ्गठनको सन् २०२१ देखि २०२३ सम्मको कार्यसमिति सदस्यमा निर्वाचित नगर हो । विश्वका एक सय ३६ देशका सहर सदस्य रहेको सङ्गठनको विश्व स्मार्ट दिगो सहर सङ्गठनको पाँचौँ महासभाबाट १७ सदस्यीय कार्यसमितिमा पनि धुलिखेल निर्वाचित भएको थियो ।

यस्तै धुलिखेल नगरले नगरक्षेत्रभित्र कोइला प्रयोग गर्न प्रतिबन्ध लगाएको खबर गत सन् २०२२ नोभेम्बर पहिलोसाता स्कटल्याण्डको ग्लास्गो सहरमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२६)मा चर्चाको विषय बनेको थियो ।

नगरले कोइलामुक्त बनाउने अभियानलाई अन्य निकाय तथा मुलुकले पनि अनुमोदन गर्न आग्रह गरिरहेको अवस्थामा उक्त सम्मेलनमा विश्वका अधिकांश राष्ट्रले कोइला प्रयोग रोक्ने घोषणा गरेका थिए ।

तनहुँबाट एक वर्षमा तीन अर्बभन्दा बढी बजेट खर्च नभएर फिर्ता

दमौली (तनहुँ- तनहुँमा एक वर्षको अवधिमा रु तीन अर्बभन्दा बढी बजेट खर्च नभएर फिर्ता भएको छ । आर्थिक वर्ष २०८०/८१ मा सङ्घ तथा प्रदेश सरकारबाट विनियोजित बजेटमध्ये रु तीन अर्ब ७३ लाख २९ हजार एक सय ४० खर्च हुन नसकी फिर्ता भएको हो ।

सङ्घ सरकारतर्फ रु एक अर्ब ९१ करोड पाँच लाख १२ हजार पाँच सय ४९ र प्रदेश सरकारतर्फ रु एक अर्ब नौ करोड ६८ लाख १६ हजार पाँच सय ९१ खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक नकुल सापकोटाले जानकारी दिनुभयो । 

उहाँका अनुसार सङ्घ सरकारमार्फत चालुतर्फ रु ७८ करोड ४४ लाख ४७ हजार पाँच सय ९८ र पुँजीगततर्फ रु एक अर्ब १२ करोड ६० लाख ६४ हजार नौ सय ५० खर्च हुन सकेन । उक्त अवधिमा चालुतर्फ रु नौ अर्ब ३८ करोड ४५ लाख २३ हजार छ सय ४० र  पुँजीगततर्फ रु तीन अर्ब ९६ करोड १४ लाख ५७ हजार तीन सय ९९ गरी रु १३ अर्ब ३४ करोड ५९ लाख ८१ हजार ३९ विनियोजन भएको थियो । 

प्रदेशतर्फ चालुतर्फ रु २७ करोड २१ लाख ४८ हजार नौ सय ७८ र पुँजीगततर्फ रु ८२ करोड ४६ लाख ६७ हजार छ सय १२ खर्च हुन नसकेको कार्यालयले जनाएको छ । त्यसअवधिमा चालुतर्फ रु ८७ करोड ४० ला ५३ हजार नौ सय ८० र पुँजीगततर्फ रु तीन अर्ब २६ करोड ६० लाख १६ हजार गरी रु तीन अर्ब ९० करोड ६९ हजार नौ सय ८० विनियोजन गरिएको थियो । 

विकास खर्चमा वृद्धि

जिल्लामा उक्त अवधिमा विकास बजेट ७२ प्रतिशत खर्च भएको छ । त्यसक्रममा पुँजीगततर्फ विनियोजित रकममध्ये ७२.०८ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय तनहुँले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा पुँजीगततर्फ ६५ प्रतिशत मात्रै विकास बजेट खर्च भएको थियो । 

सङ्घतर्फ पुँजीगतमा ७१.५७ र प्रदेशतर्फ ७२.७४ प्रतिशत बजेट खर्च भएको उहाँको भनाइ छ । सङ्घ सरकारबाट रु तीन अर्ब ९६ करोड १४ लाख ५७ हजार तीन सय ९९ विनियोजन भएकामा रु दुई अर्ब ८३ करोड ५३ लाख ९२ हजार चार सय ४९ खर्च भएको छ । 

गण्डकी प्रदेश सरकारमार्फत जिल्लाका लागि विकासतर्फ रु तीन अर्ब दुई करोड ६० लाख १६ हजार विनियोजन भएकामा रु दुई अर्ब २० करोड १३ लाख ४८ हजार तीन सय ८८ खर्च भएको कार्यालयले जनाएको छ । 

योजना छनोट गरेर लागू गरेपछि बोलपत्र प्रक्रिया हुने, बोलपत्र प्रक्रिया पूरा भएर काम सुरु गर्दा सुरुका केही महिनामा काम ढिला हुने गरेकाले सुरुका महिनामा कम खर्च देखिने सापकोटाको भनाइ छ । 

तनहुँमा करिब एक चौथाइ विकास बजेट अन्तिम असार महिनामा मात्रै खर्च हुने गरेको विगतको तथ्याङ्कले देखाएको छ । गत आव २०७९/८० को असार महिनामा मात्रै सङ्घ र प्रदेश सरकारबाट पुँजीगततर्फ विनियोजित बजेटमध्ये २२ दशमलव ३९ प्रतिशत बजेट खर्च भएको थियो । 

गत आव २०७९/८० मा सङ्घ तथा प्रदेश सरकारबाट रु १६ अर्ब ७२ करोड ५८ लाख एक हजार छ सय ४६ विनियोजन भएकामा रु १३ अर्ब ८५ करोड ९१ लाख ८१ हजार पाँच सय खर्च भएको थियो । 

त्यस वर्ष पुँजीगततर्फ सङ्घ सरकारबाट रु तीन अर्ब ३२ करोड २७ लाख ९६ हजार तीन सय ९० विनियोजन भएकामा रु दुई अर्ब १९ करोड नौ लाख ७४ हजार दुई सय छ खर्च भएको थियो । त्यस वर्ष ६५ प्रतिशत मात्रै विकास बजेट खर्च भएको थियो ।   प्रदेश सरकारबाट रु दुई अर्ब ९४ करोड पाँच लाख १५ हजार एक सय ८७ विनियोजन भएकामा रु एक अर्ब ९६ करोड १२ लाख २१ हजार नौ सय ९४ खर्च भएको थियो । 

बिजुली निर्यातः महिना दिनमै प्राधिकरणले कमायो चार अर्ब १९ करोड आम्दानी

काठमाडौँ,-आठ वर्ष पहिले लोडसेडिङको तालिका सार्वजनिक गर्ने नेपाल विद्युत् प्राधिकरणले यतिबेला महिना दिनमै बिजुली बिक्री गरी रु चार अर्ब १९ करोड बराबरको आम्दानी गर्न थालेको छ ।

प्राधिकरणको प्रणालीमा हाल झण्डै तीन हजार तीन सय मेगावाट बराबरको बिजुली उपलब्ध छ । त्यसमध्ये आन्तरिक रुपमा कूल एक हजार नौ सय २९ मेगावाट बराबरको खपत भइरहेको छ । यस्तै देशभित्रको कूल माग भने दुई हजार छ सय ३३ मेगावाट बराबर रहेको प्राधिकरणले जनाएको छ । यस प्रकारको माग भने एकाध घण्टाको मात्रै हो ।

साँझ र बिहान बिजुलीको बढी माग भएपनि रातको समयमा माग घट्न जाँदा निर्यात गर्नुको विकल्प प्राधिकरणसँग छैन । रातको समयमा बढी भएको बिजुली भारत निर्यात गर्दा त्यसबाट प्राधिकरणले उल्लेख्य मात्रामा आम्दानी गर्न सफल भएको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको पहिलो महिनामा नै प्राधिकरणले उक्त मूल्य बराबरको बिजुली निर्यात भएको विवरण सार्वजनिक गरेको हो ।

मुलुकभित्र खपत गरी बढी भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गरी अतिरिक्त आम्दानी गर्न प्राधिकरण सफल भएको हो । दैनिक हिसाब अनुसार साउनमा रु १३ करोड ११ लाख बराबरको बिजुली निर्यात भएको छ ।

भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँमा हुने गरेको छ । त्यसैले साउन महिनामा विद्युत् बिक्रीबाट मात्रै दुई अर्ब ६२ करोड १२ लाख तीन हजार भारु आम्दानी भएको छ । साउनमा निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट आठ रुपैयाँ ५१ पैसा छ ।

प्राधिकरणका कार्यकारी निर्देशक  घिसिङले आठ वर्षअघिसम्म वर्षायाममा दैनिक ८÷९ घण्टा र सुक्खायाममा १८ घण्टासम्मको लोडसेडिङ बेहेर्नुपर्ने अवस्थाको अन्त्य भई हाल वर्षायाममा देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रुपमा ७ सय मेगावाटभन्दा बढी निर्यात गर्ने अवस्थामा आइपुगेको बताउनुभयो ।

प्राकृतिक र प्राविधिक कारणले यदाकदा केही क्षण बत्ति जाने आउने भएपनि हाल मागअनुसार विद्युत् आपूर्ति गर्न नसकेर लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको उहाँले उल्लेख गर्नुभयो । 

कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “हाम्रो पहिलो प्राथमिकता देशभित्रको विद्युत् खपत बढाउने नै हो, खपत बढाउन प्रसारण र वितरण प्रणाली सुधार एवम् विस्तारका कार्य अभियानकै रुपमा कार्यान्वयन भइरहेको छ । आन्तरिक रुपमा खपत गरी अतिरिक्त भएको विद्युत् छिमेकी देश भारत र बङ्गलादेशलाई निर्यात गरिने छ ।”  

घिसिङले वर्षायाममा भारततर्फ विद्युत् निर्यात गरी उल्लेख्य विदेशी मुद्रा आर्जन हुँदा देशको विदेशी मुद्राको सञ्चिति एवम् नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न समेत सकारात्मक योगदान पुगिरहेको जानकारी दिनुभयो ।

“हिउँदयाममा केही महिना अझै विद्युत् आयात गर्नु परे पनि आयातको परिमाण क्रमशः घट्दै जाने छ, गत आवबाट देशभित्र खपत गरी बढी भएको विद्युत् भारतीय बजारमा बिक्री गरी खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनिसकेका छौं” उहाँले भन्नुभयो ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को ‘डे अहेड’ तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन)लाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।

प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित नौ सय ४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ ।

केही दिनअघि द्विपक्षीय सम्झौतमा बमोजिम भारतका बिहार र हरियाणा राज्यलाई थप दुई सय ५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको थियो ।  यसमध्ये एनभिभिएनमार्फत हरियाणा राज्यलाई थप दुई जलविद्युत् आयोजनाबाट उत्पादित एक सय २५ दशमलव ८९ मेगावाट बिक्री गरिने छ । हाल दुई आयोजनाबाट उत्पादित एक सय नौ  दशमलव ६१ मेगावाट विद्युत् हरियाणा राज्यमा बिक्री हुँदै आएको छ ।

कूल १० जलविद्युत् आयोजनाबाट उत्पदित एक सय २५ मेगावाट विद्युत् मध्यकालीन सम्झौता बमोजिम पिटिसी, भारतमार्फत बिहार राज्यमा निर्यात हुने छ । बिहारलाई पहिलो पटक र हरियाणालाई थप विद्युत् निर्यातका लागि प्राविधिक प्रक्रिया पूरा गरी छिट्टै निर्यात सुरु हुने छ ।

हाल १४ आयोजनाबाट उत्पादित पाँच सय ८० दशमलव ८९ मेगावाट विद्युत् प्रतिस्पर्धी दरमा बिक्री भइरहेको छ । केही दिनअघि स्वीकृति पाएको परिमाणको विद्युत् निर्यात सुरु भइनसकेकाले हाल आइएक्स र हरियाणालाई गरी दैनिक रुपमा छ सय ९० दशमलव ५० मेगावाट विद्युत् निर्यात भइरहेको छ । स्वीकृत परिमाणको १० प्रतिशत थप विद्युत् निर्यात गर्न सकिन्छ । त्यसैले हाल दैनिक रुपमा सात सय मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ ।

गत आवमा भारतबाट रु १६ अर्ब ९३ करोडको विद्युत् आयात गरिएको थियो । यही अवधिमा रु १७ अर्ब ६ करोडको विद्युत् निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा रु १३ करोड बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो । 
प्राधिकरणले २०७९ जेठ २० गतेदेखि विद्युत् निर्यात सुरु गरेको थियो । पहिलो चरणमा ३९ मेगावाट निर्यात गरेको थियो । सुरुआती चरणमा त्रिशुली र देवीघाट जलविद्युत् केन्द्रबाट उत्पादित बिजुली भारत निर्यात भएको थियो ।

दुई देशबीच १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने गरी दीर्घकालीन विद्युत् सम्झौता समेत भइसकेको छ । यस्तै, बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण तत्कालका लागि ४० मेगावाट निर्यात गर्ने अन्तिम तयारी भएपनि स्थगित भएको छ ।

जनैपूर्णिमा पर्वको मेला भर्न गएका भक्तजनले चढाएको भेटी सामाजिक काममा

म्याग्दी, १२ भदौः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दाले धार्मिकस्थल खयरभारानी तालमा सङ्कलन भएको भेटी र गाउँमा नाचगानबाट जुटाएको रु आठ लाख ५० हजारभन्दा बढी रकम सामाजिक काममा परिचालन गरेका छन् ।

समुन्द्री सतहदेखि चार हजार छ सय मिटर उचाइमा रहेको खयरभारानी तालमा जनैपूर्णिमा पर्वको मेला भर्न गएका भक्तजनले चढाएको भेटी र पाउद्वार गाउँमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा सङ्कलन भएको सो रकम विभिन्न सङ्घ संस्थालाई सहयोग गरिएका जनाइएको छ । 

पाउद्वार टोल विकास संस्थाका अध्यक्ष हरिप्रसाद तिलिजाले खयरमा सङ्कलन भएको रु चार लाख ४९ हजार छ सय ४५ भेटी, गाउँमा भएको सांस्कृतिक कार्यक्रममा सङ्कलन भएको रु दुई लाख ६८ हजार आठ सय ८५ र दाताहरुले गरेको रु एक लाख ३५ हजार विकास निर्माण, संस्कृति संरक्षण, खेलकुद र स्वास्थ्य क्षेत्रमा परिचालन गरिएको बताउनुभयो । 

“गाउँभेलाको निर्णयअनुसार सांस्कृतिक कार्यक्रमको पुरस्कार, खयरभारानीको पुजा व्यवस्थापनलगायत शीर्षकमा रु तीन लाख १७ हजार नौ सय ५५ खर्च भएको थियो”, उहाँले भन्नुभयो, “खर्च कटाएर बेचेको रु पाँच लाख ३४ हजार पाँच सय ७५ विभिन्न सङ्घसंस्था र योजनाका लागि उपलब्ध गराएका हौँ ।” 

पाउद्वारको कोतलेखोरेदेखि चिमीका जोड्ने सडक निर्माणका लागि रु दुई लाख ५० हजार, पाउद्वार माविलाई रु ७० हजार, पाउद्वार आमा समूहलाई रु ४५ हजार, भलिबल खेल कोषमा रु ३० हजार, टोलविकास समितिलाई २९ हजार पाँच सय ७५, पुख्र्याैली नृत्य समूहलाई रु ३० हजार, खयरभारानी युवाक्बलाई रु २५ हजार, गिबाङ टोललाई रु २५ हजार, पाउद्वार ढल निकासका लागि रु २५ हजार र पाउद्वार स्वास्थ्य इकाइका लागि रु १० हजार सहयोग गरिएको तिलिजाले जानकारी दिनुभयो ।

खयरभारानीमा यही भदौ ३ गते लागेको जनैपूर्णिमा मेलामा दुई सय ३८ वटा भेडाको पाठा र साढीको बलि चढाएका थिए । खयरभारानीमा मागेको वर पूरा भएपछि भेडाको पाठा र साढ बलि चढाउने चलन छ । अन्नपूर्ण हिमशृङ्खलामा पर्ने बराह शिखर हिमालको फेदमा रहेको खयरभारानीमा जनैपूर्णिमाका दिन पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।     प्राकृतिक हिसाबले सुन्दर र रमणीय खयरभारानी ताल, त्यहाँबाट देखिने हिमाल, भेडा र चाँैरीगाईको गोठ र पहाडी भूगोलको दृष्यले पर्यटकलाई लोभ्याएको छ । 

नागपञ्चमीका दिन ताप्लेजुङको भीमसेन मन्दिरमा सुरु भएको लाखे जात्रा सम्पन्न

फुङ्लिङ (ताप्लेजुङ), १२ भदौः यस वर्षको लाखे जात्रा सम्पन्न भएको छ । गत नागपञ्चमीका दिन ताप्लेजुङको भिन्तुना डाँडामा अवस्थित भीमसेन मन्दिरमा विशेष कार्यक्रमगरी सुरु भएको जात्रा कृष्ण जन्माष्टमीको दिनमा जात्रा समापन भएको हो ।

नेपाल भाषा तथा सांस्कृतिक समाजको नेतृत्वमा विगत लामो समयदेखि सदरमुकाम फुङ्लिङमा नाच प्रदर्शन गर्दै आएको छ । मङ्गलबार दिनभर लाखे र कृष्णको लडाईंको खेल देखाएर राति १० बजे कृष्णले लाखेलाई मारेको खेल देखाएपछि जात्रा सम्पन्न भएको समाजका अध्यक्ष शङ्खर श्रेष्ठले बताउनुभयो । 

भीमसेन मन्दिरमा विधिवत् पूजागरी लाखेमा प्रयोग हुने ढोल, भ्याम्टा, मुकुन्डो, लाखेले लगाउने कपडालगायत सामग्रीकोसमेत पूजागरी जात्रा सुरु गरिएको थियो । द्वापरयुगमा भगवान् श्रीकृष्ण र उहाँको मामा कंशबीचको लडाईंको झल्को दिनेगरी विभिन्न गतिविधि गर्दै नेवार समुदाय भएका बजार क्षेत्रमा लाखे जात्रा प्रदर्शन गरिएको थियो । 

समाजका अनुसार लाखे जात्रा नेपालको सांस्कृतिक वैभवको महत्वपूर्ण अंश हो । विशेषगरी नेवार समुदायको परम्परागत संस्कार र संस्कृतिसँग प्रत्यक्ष रूपमा जोडिएको यो पर्व ताप्लेजुङलगायत नेवार समुदाय भएको जिल्लामा मनाइन्छ । 

यो जात्रामा लाखे नाच मुख्य आकर्षण हुन्छ, जसमा डरलाग्दो मुखुण्डो लगाएर नाच्ने पात्र (लाखे)लाई दुष्ट आत्माहरूको प्रतीकका रूपमा चित्रण गरिन्छ । लाखे जात्रा जनैपूर्णिमा, गाईजात्रा, र इन्द्रजात्राका अवसरमा विशेष उत्साहका साथ मनाइने परम्परा हो ।

जात्राको पृष्ठभूमि

गणेशराम लाछीको एक अनुसन्धन लेखअनुसार लाखे जात्राको उत्पत्ति र यसको इतिहासबारे विभिन्न किंवदन्ती प्रचलित छन् । तीमध्ये एक लोकप्रिय कथाअनुसार काठमाडौँ उपत्यकामा कुनै समय एक विशाल राक्षस (लाखे) आतङ्क मच्चाउँदै हिँड्थ्यो । स्थानीयलाई डर देखाउन र दुःख दिन आएको यो राक्षसलाई देवताहरूले हराएपछि लाखेको स्वरूपलाई मुखुण्डोमा कैदगरी त्यसलाई सांस्कृतिक पर्वका रूपमा प्रस्तुत गर्न थालियो । लाखे नाचका माध्यमबाट दुष्ट प्रवृत्तिलाई परास्त गर्ने सन्देश जनमानसमा प्रवाहित गर्न खोजिएको हो ।

यो जात्रा मुख्य रूपमा नेवार समुदायसँग सम्बन्धित भए पनि यसको सांस्कृतिक महत्व सम्पूर्ण नेपाली समाजका लागि महत्वपूर्ण छ । नेवार समुदायले लाखे जात्रालाई आस्थाका पर्वका रूपमा मनाउँछन् । जसमा स्थानीय देवी–देवताहरूको सम्मान, सांस्कृतिक विरासतको जगेर्ना, र समुदायबीच एकताको भावना प्रबल हुन्छ ।

लाखे नाचको विशेषता

लाखे नाच लाखे जात्राको प्रमुख आकर्षण हो । यो नाचमा सहभागी पात्रले राक्षसको रूप धारण गर्छन् । जसका लागि ठूलो र डरलाग्दो मुखुण्डो, रातो वा कालो रङको विशेष पोशाक, र विशाल आकारका माला तथा अन्य आभूषण प्रयोग गरिन्छ । लाखेले गरेको आक्रामक नाचका माध्यमबाट दुष्ट शक्तिहरूलाई परास्त गरिन्छ भन्ने मान्यता छ ।

लाखे नाचको विशेषता भनेको यसको भव्य र अद्वितीय प्रस्तुति हो । लाखे पात्रले गाउँको भित्रिभागसम्म हिँड्दै मानिससँग आन्तरिक संवाद गर्दै डर र उत्सुकता उत्पन्न गराउँछ । लाखेको नृत्य शैली आक्रामक, उत्तेजित र निकै गतिशील हुन्छ, जसले जात्रामा एक अलग र रहस्यमय माहौल सिर्जना गर्छ ।

सांस्कृतिक महत्व

लाखे जात्रा केबल धार्मिक पक्षमा मात्र सीमित छैन । यसले समाजलाई एकता र सद्भावको सन्देश दिन्छ । लाखे जात्रामा विशेषगरी नेवार समुदायका मानिसको ठूलो सहभागिता हुने भए पनि यसमा अन्य समुदायका मानिसको पनि उत्तिकै चासो र भागेदारी हुन्छ । यसले विभिन्न जातजातिहरूबीचको आपसी समन्वय र एकअर्काको संस्कृतिप्रतिको सम्मानलाई प्रोत्साहित गर्दछ ।

लाखे नाचले धर्म, कला, र संस्कृतिबीचको गहिरो सम्बन्धलाई उजागर गर्दछ । लाखे नाचको एक अर्को महत्वपूर्ण पक्ष भनेको यो संस्कारले प्राचीन नेपाली समाजको जीवनशैली र रीतिरिवाजलाई जगेर्ना गर्नु हो । लाखे नाचको समय मानिसहरू देवीदेवताहरूलाई पूजा गर्दै लाखे नाच्ने पात्रलाई वरिपरि घेरेर मौनता र भक्ति भावमा सहभागी हुन्छन् ।

आधुनिक समयको चुनौती

लाखे जात्राको महत्त्व आधुनिक समाजमा घट्दै गएको देख्न सकिन्छ । बढ्दो सहरीकरण, पश्चिमा संस्कृतिको प्रभाव र आधुनिक मनोरञ्जनका साधनका कारण गर्दा पुराना परम्परागत पर्वहरूमा युवापुस्ताको चासो कम हुँदै गएको छ । सहरीकरणले गर्दा लाखे जात्रालाई पूर्ण रूपमा व्यवस्थित गर्न चुनौती थपिँदै गएको छ ।

तथापि, लाखे जात्रा र लाखे नाचको संरक्षणका लागि विभिन्न संस्थाहरू, विशेषगरी नेवार समुदायका जातीय संस्थाहरूले ठोस पहल गरिरहेका छन् । यो जात्रालाई राष्ट्रिय रूपमा चिनाउन र यसले बोकेको सांस्कृतिक सम्पदालाई जगेर्ना गर्नका लागि स्थानीय समुदाय र सरकारबीचको सहकार्य आवश्यक छ ।

लाखे जात्रा नेपालका परम्परागत पर्वहरूमध्ये एक हो, जसले धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामुदायिक एकतालाई सशक्त बनाएको छ । यस पर्वको माध्यमबाट नेपाली समाजले पुरानो संस्कारको जगेर्ना मात्र गर्दैन, सांस्कृतिक पुनःजागरणको अभियानलाई पनि अघि बढाउँछ । 

बेनी–जोमसोम–कोरला सडकः सिरुबारीको पहिरोमा दुर्घटनाको जोखिम

म्याग्दी, १२ भदौः चीन र भारत जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुबारी क्षेत्रको पहिरोले दुर्घटनाको जोखिम बढेको छ । कालीगण्डकी किनारको पाखोमा निर्माण भएको सडकमा खस्ने पहिरोका कारण बेनी–जोमसोम सडकमा नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम बढेको हो ।

स्तरोन्नतिका क्रममा रहेको बेनी–जोमसोम–सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले गत वर्षदेखि सृजना भएको सिरुबारीको पहिरोले दुःख दिइरहेको बताउनुभयो । “करिब एक किलोमिटरमाथिको पाखो बगेको छ”, उहाँले भन्नुभयो “खसेको पहिरो पन्छाउदै सावधानी अपनाएर यातायात सञ्चालन गरिएको छ ।” आकाशबाट पानी पर्नेबित्तिकै पाखोबाट ढुङ्गा, लेदो र गेगरसहितको पहिरो खसेर सडकमा थुप्रिन्छ । हिलोमा सवारीसाधन फस्ने, गुुडिरहेका सवारीमाथि ढुङ्गा खस्ने, यात्रीलाई चोटपटक लाग्ने जोखिम छ ।

यही भदौ ४ गते पोखराबाट बेनी हुँदै जोमसोमतर्फ जाँदै गरेको ग१ख ७७१७ नम्बरको बस सिरुबारीको पहिरोमा गुडिरहेको अवस्थामा ठूलो ढुङ्गा खसेर च्यापिदा दुईजना यात्रा घाइते भएका थिए । पहिरोले सयौँ रोपनी खेतीयोग्य जमिन र जङ्गल नष्ट भएको छ ।

सवारी चालक तम परियारले त्रासैत्रासमा गाडीलाई पहिरो पार गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । सिरुबारी क्षेत्रमा करिब पाँच सय मिटर सडक पहिरोले छियाछिया बनाएको छ । मुस्ताङ जिल्ला, म्याग्दीको अन्नपूूर्ण गाउँपालिकाका बासिन्दाका साथै पर्यटक र तिर्थयात्रीलाई पहिरोका कारण जोखिम र सास्ती भएको छ ।

सिरुबारी, महभिर, बैसरी, गुइँठेभिरलगायत ठाउँमा पहिरोको उच्च जोखिम भएकाले रातको समयमा यात्रा नगर्न र सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय, रघुगङ्गा, अन्नपूूर्ण गाउँपालिका र बेनी–जोमसोम–कोरला सडक आयोजनाले अपिल गरेका छन् । ती ठाउँमा खस्ने पहिरो पन्छाएर यातायात सञ्चालन गर्न सडक विभागको डोजर, लोडर, ब्याकुहोलोडर तयारी अवस्थामा राखिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख धु्रवकुमार झाले बताउनुभयो ।

पहिरो, कटान र बाढीको जोखिम भएको ठाउँमा दीर्घकालीन समाधानका लागि अध्ययन गरेर भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा योजना माग गरिएको उहाँले बताउनुभयो । योजना र बजेटको अभावमा पहिरो रोकथामका लागि दीर्घकालीन काम गर्न नसकेको झाले बताउनुभयो ।

आगामी निर्वाचन एक्लै एक्लै लड्ने अवस्थामा पुर्याउन कार्यकर्तालाई नेता शर्माको निर्देशन

तुलसीपुर (दाङ), १२ भदौः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य रेखा शर्माले पार्टीलाई आगामी चुनावमा एक्लै लड्ने अवस्थामा पु¥याउन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

मङ्गलबार माओवादी केन्द्र तुलसीपुरले आयोजना गरेको भेटघाट कार्यक्रममा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रहनुभएका शर्माले एक्लै चुनाव लड्नका लागि माओवादी घटकबीच एकता आवश्यक रहेको बताउनुभयो ।

“आगामी निर्वाचनसम्म सरकारको नेतृत्व नगर्ने र माओवादी घटकबीच एकताबद्ध गरेर एक्लै चुनाव लड्ने वातावरण निर्माण गर्नेगरी पार्टीले छलफल अघि बढाएको छ”, उहाँले भन्नुभयो । पार्टीभित्र अन्तरविरोध रहने विषयलाई ठूलो रुप बनाउन नहुने उल्लेख गर्दै उहाँले पार्टीभित्रको छलफललाई स्वाभाविक रुपमा लिनुपर्नेमा जोड दिनुभयो । 

त्यस अवसरमा पार्टीका निर्वाचन आयोग संयोजक कुवेर वलीले पार्टीभित्र गुटबन्दी हुन नहुने बताउनुभयो । पार्टी केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वअर्थमन्त्री धनबहादुर मास्कीले माओवादी केन्द्रको जनमत घट्दै गएकोप्रति समीक्षा हुनुपर्ने बताउनुभयो । 

नेपालगञ्जमा बरामद सुनचाँदी सार्वजनिक,एउटा गाडीसहित चार जना नियन्त्रणमा

नेपालगञ्ज, १२ भदौः प्रहरीले बरामद गरेको अवैध सुनचाँदी आज सार्वजनिक गरेको छ । करिब ३५ तोला सुन, १० किलो ६१३ ग्राम चाँदी, एउटा गाडीसहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । 


नेपालगञ्ज उपमहानगरपालिका–११ बिपी चोक आसपासमा अवैध सुनचाँदीको अवैध कारोबार भइरहेको सूचनाका आधारमा जाँच गर्ने क्रममा उक्त परिणामको अवैध सुनचाँदीसहित चार जनालाई पक्राउ गरिएको हो । वडा नं २ स्थित महेश मुराउले सञ्चालन गरेको पशुपति सुनचाँदी रिफाइन कारखानाबाट केही सुनचाँदी बरामद भएको बताइएको छ । बरामद भएको सुनचाँदी र सवारी साधनसहित रु एक करोड पाँच लाख ३३ हजार चार सय ४७ मूल्य बराबरको भएको प्रहरीले जनाएको छ ।

बर्दियाको राजापुर नगरपालिका–८ बस्ने ४० वर्षीय नेपाली थारुले चलाएको प्रदेश ०३०१०२४ च ६७६३ नं को कारमा सवार रहेका राजापुर नगरपालिका ४ बस्ने ४२ वर्षीय नीमप्रकाश सुनार, नेपालगञ्ज–१९ निवासी २१ वर्षीय राहुल सुनार, बाँकेको राप्तीसोनारी–४ बस्ने २४ वर्षीय ओमजङ्ग चौधरी प्रक्राउ परेको प्रहरीले जनाएको छ । बरामद सुनचाँदी र गाडीलाई राजस्व अनुसन्धान कार्यालय, कोहलपुरमा बुझाइएको छ । 

बागमती प्रदेश स्वास्थ्य ऐन यसै महिनाभित्र कार्यान्वयनमा ल्याइँदै

चितवन, १२ भदौः बागमती प्रदेशको स्वास्थ्य संस्था स्थापना, स्तरोन्नति तथा नवीकरणसम्बन्धी ऐन यसै महिनाभित्र कार्यान्वयनमा ल्याइने भएको छ । लामो समयदेखि ऐन बन्न नसक्दा यहाँका अधिकांश स्वास्थ्य संस्था नवीकरण हुनसकेको छैनन् ।

ऐन नहुँदा स्वास्थ्यका नयाँ संस्था दर्ता रोकिएको, प्रादेशिक अस्पतालका समिति निष्क्रिय भएको र वातावरणीय प्रभाव मूल्याङ्कनको काम हुनसकेका छैनन् । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले यो महिनाभित्रमा ऐन ल्याइने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी अन्तिम चरणमा छौँ । प्रदेशको संसदीय समितिमा छ । अबको संसद्मा आउँछ”, ऐन नबन्दा धेरै काम प्रभावित भएको भन्दै उहाँले थप्नुभयो, “भदौभित्रमा ऐन आउँछ ।”

मन्त्रालयका सूचना अधिकारी डा रविन भुसालका अनुसार मन्त्रालयले विसं २०८० भदौ १२ गते प्रदेशसभामा ऐन पठाएको थियो । त्यसपश्चात बागमती प्रदेशको शिक्षा, स्वास्थ्य तथा कृषि समितिले ऐन अनुमोदन गरेर संसद्मा पठाउनुपर्नेमा ढिलाइ भएको हो । लामो समय समिति नबन्दा ऐनमाथि छलफल हुन ढिलाइ भएको छ ।

समितिका सदस्य एवं प्रदेशका पूर्वस्वास्थ्यमन्त्री उत्तम जोशीले आफू मन्त्री भएलगत्तै ऐन प्रदेशसभामा पठाएको बताउनुभयो । समितिको यही भदौ १३ गते दिउँसो २ बजे बैठक डाकिएको भन्दै उहाँले त्यसै बैठकले अनुमोदन गरेर पठाएपछि संसद् बैठकबाट अनुमोदन हुने बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै काम रोकिएकाले यथाशीघ्र ऐन ल्याउन हामी लागिरहेका छौँ ।” प्रदेश सरकारले ल्याएको अध्यादेश संसद् खुलेको ६० दिनभित्र अनुमोदन हुन नसक्दा निष्क्रिय भएपछि २०७९ फागुन १२ गतेबाट बागमती प्रदेशमा ऐनविहीन छ ।

मन्त्रालयका सूचना अधिकारी भुसालका अनुसार ऐन नबन्दा ८० प्रतिशतभन्दा बढी २६ देखि दुई सय शय्यासम्मका अस्पताल नवीकरण हुनसकेका छैनन् । प्रदेशका १३ वटा अस्पताल, १३ वटा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको समिति निष्क्रिय बनेको छ । नयाँ अस्पताल दर्ता र वातावरणीय प्रभाव मूल्याङ्कनका काम रोकिएका छन् । स्तरोन्नतिमा पनि यसको प्रभाव परेको छ । बागमती प्रदेशमा सबैभन्दा बढी स्वास्थ्य संस्था रहेका छन् । अस्पतालसँगै ऐनमार्फत काम हुने अन्य स्वास्थ्य संस्थाहरूको पनि नवीकरण र स्तरोन्नतिलगायत काम प्रभावित भएका छन् ।

निजी अस्पताल समन्वय समिति चितवनका सचिव रघुनाथ सापकोटाले ऐन नबन्दा अस्पतालसहित स्वास्थ्यसँग सम्बन्धित संस्थाहरूको दर्ता, नवीकरण, स्तरोन्नतिसँगै बैंकिङ कारोबार रोकिएको बताउनुभयो । लामो समयदेखि ऐनविहीन हुँदा स्वास्थ्य क्षेत्रमा काममा निकै कठिनाइ भएको उहाँको भनाइ छ । अस्पताल नवीकरण नहुँदा एम्बुलेन्सका सिफारिस, सिटी, एमआरआइजस्ता उपकरण खरिदका काम रोकिएका छन् । प्रयोगशालाहरूको अनुगमन हुनसकेका छैनन् ।

अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ बढ्यो

काठमाडौँ, १२ भदौः आज अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङलगायतको विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मङ्गलबारको तुलनामा बुधबार ती मुद्राको भाउ बढेको हो ।

बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ९९ पैसा कायम छ । मङ्गलबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५५ पैसा थियो । 

त्यसैगरी मङ्गलबार युरो एकको खरिददर १४९ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५० रुपैयाँ २३ पैसा रहेकामा आज खरिददर १४९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५० रुपैयाँ ३३ पैसा तथा बेलायतको पाउण्ड स्ट्रलिङकाे मूल्य आज एकको खरिददर १७७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९६ पैसा कायम छ । मङ्गलबार पाउण्ड स्ट्रलिङको भाउ एकको खरिददर १७६ रुपैयाँ ६० पैसा र बिक्रीदर १७७ रुपैयाँ ३९ पैसा थियो । 


स्वीस फ्रयाङ्क एकको खरिददर १५८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५९ रुपैयाँ १७ पैसा कायम छ । अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ९२ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ८० पैसा र बिक्रीदर १०३ रुपैयाँ २६ पैसा कायम छ । 

बैंकका अनुसार जापानी येन १० को खरिददर ९ रुपैयाँ २६ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८० पैसा र बिक्रीदर १८ रुपैयाँ ८८ पैसा कायम छ । 

त्यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९२ पैसा, थाइ भाट एकको खरिददर ३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३ रुपैयाँ ९५ पैसा, यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६४ पैसा कायम छ । 

केन्द्रीय बैंकका अनुसार मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ८२ पैसा र बिक्रीदर ३० रुपैयाँ ९६ पैसा, कोरियन वन १०० को खरिददर १० रुपैयाँ ७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १४ पैसा र बिक्रीदर १३ रुपैयाँ २० पैसा कायम छ । 

डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ६ पैसा र बिक्रीदर २० रुपैयाँ १५ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७ रुपैयाँ २५ पैसा, कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४४० रुपैयाँ ८७ पैसा र बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५७ रुपैयाँ १५ पैसा कायम छ । केन्द्रीय बैंकले खुला बजारमा भने मूल्य फरक पर्न सक्ने जनाएको छ ।

धरानमा प्रथम महिला उद्यमी प्रदर्शनी हुँदै

धरान (सुनसरी), १२ भदौः स्थानीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यका साथ धरानमा प्रथम महिला उद्यमी प्रदर्शनी आयोजना हुने भएको छ । महिलाले उत्पादन गरेका वस्तुको व्यापार प्रवर्द्धन तथा बजारीकरणको लक्ष्यसहित प्रदर्शनी आयोजना हुन लागेको हो ।

सुनसरी उद्योग वाणिज्य सङ्घको ६१औँ स्थापना दिवसका अवसरमा पहिलो पटक महिला उद्यमी प्रदर्शनी मेला हुन लागेको आयोजकले जनाएको छ ।

मङ्गलबार आयोजक सङ्घको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष विजय श्रेष्ठले मेला भदौ १३ देखि १५ गतेसम्म सञ्चालन हुन लागेको जानकारी दिनुभयो । महिला उद्यमशीलतामा जोडिए पनि व्यवस्थित बजारीकरणको अभावले अघि बढ्न कठिन भएकाले प्रदर्शनी आयोजना गरिएको उहाँको भनाइ छ ।

मेलामा स्थानीय उत्पादन प्रवद्र्धनका लागि ४५ वटा प्रदर्शनी कक्ष राखिनुका साथै स्थानीय घरेलु उत्पादन, कृषिजन्य उत्पादन, हस्तनिर्मित सामान, दैनिक उपभोग्य सामान, गरगहना, सौन्दर्य सामग्रीलगायत राखिने सङ्घका सचिव महेन्द्र प्रधानले बताउनुभयो ।

उहाँले भन्नुभयो, “महिला उद्यमीलाई प्रोत्साहन गर्दै स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो । यसबाट महिला उद्यमीको कार्यक्षमता, दक्षता र पेसा तथा व्यवसायमा उत्साह बढ्ने विश्वास लिइएको छ ।” मेला १० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

लिम्बू समुदायको मौलिक संस्कृति धान नाच सङ्कटमा

फुङ्लिङ (ताप्लेजुङ), १२ भदौः लिम्बू (याक्थुङ) समुदायको प्रसिद्ध धाननाच (याःलाङ) संरक्षणको कमीका कारण सङ्कटमा परेको छ । पम्परागत रूपमा लिम्बू समुदायले विशेष अवसरमा आयोजना गर्ने यो नाच आधुनिकता र पछिल्लो पुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको हो ।

धाननाच (याःलाङ) संरक्षण तथा प्रवद्र्धन गर्न आज ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लिम्बू समुदायले भव्य रूपमा धान नाच प्रस्तुत गर्दै मौलिक संस्कृतिलाई उजागर गर्ने प्रयास गरेका छन् । नेवार समुदायको लाखे पर्वका अवसरमा आयोजना गरिएको यस कार्यक्रममा किशोरदेखि वृद्धसम्मको उत्साहजनक उपस्थिति रह्यो । 

याक्थुङ चुम्लुङ ताप्लेजुङले आयोजना गरेको कार्यक्रममा सहभागीहरूले जुहारी शैलीमा लिम्बू भाषामा गाइने पाःलाम गीतसँगै सामूहिक रूपमा गोलाकार र लामबद्ध भएर नाच प्रस्तुत गरेका थिए ।

धान नाच लिम्बू समुदायको मात्र नभई अन्य समुदायमा समेत लोकप्रिय छ । विशेषगरी विवाह, मेला र अन्य उत्सवमा धान नाच प्रचलित रहँदै आएको छ । 

लिम्बू समुदायमा धान नाचले सामाजिक सम्बन्धलाई सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । चेली माइती र नाता नलाग्ने युवक युवतीबीच माया प्रेम साट्ने माध्यमका रूपमा पनि धान नाच चर्चित छ । तर, पछिल्लो समय नयाँ पुस्ताले आफ्नो मौलिक संस्कृतिप्रति चासो नदिँदा धान नाच लोप हुने अवस्थामा पुगेको जानकार टिप्पणी गर्छन् । 

नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् ताप्लेजुङका अध्यक्ष भद्र बोखिम लिम्बूका अनुसार पश्चिमा संस्कृतिको प्रभाव र युवाको घट्दो रुचिका कारण यो संस्कृति सङ्कटमा परेको हो । “मौलिक संस्कृतिको संरक्षणका लागि युवापुस्तालाई सचेत पार्नुपर्ने आवश्यकता छ उहाँले भन्नुभयो ।

याक्थुङ सांस्कृतिक परिषद्का जिल्ला अध्यक्ष हाङमाया लेछर्बो लिम्बूले पनि धान नाचको महत्वमा जोड दिँदै भन्नुभयो, “युवा आधुनिकतामा रमाइरहेका छन्, जसका कारण हाम्रो मौलिक संस्कार सङ्कटमा परेको छ ।” उहाँले यस्ता कार्यक्रमले संस्कृतिको संरक्षणमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

किरात याक्युङ चुम्लुङ, याक्थुङ सांस्कृतिक परिषद्लगायत सङ्गठनले संस्कृति संरक्षणको प्रयास गर्दै आए पनि यो निरन्तरतालाई संस्थागत रूपमा सशक्त पार्न अझै धेरै कामगर्न बाँकी रहेको उहाँले बताउनुभयो । 

धान नाचले सांस्कृतिक गौरवमात्र होइन, सामाजिक एकताको सन्देश पनि प्रवाहित गरिरहेको छ । यस्ता प्रयास जारी रहँदामात्र यो मौलिक नाचले पहिचान बचाइराख्नसक्ने उहाँको बुझाइ छ ।

प्रहरीमा ३० वर्षे सेवा अवधि लागू नगर्ने सर्वाेच्चकाे आदेशविरुद्ध गृह मन्त्रालयद्वारा भ्याकेट निवेदन दर्ता

काठमाडौँ, १२ भदौः गृह मन्त्रालयले नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि लागू नगर्नु भनी सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशविरुद्ध मङ्गलबार भ्याकेट निवेदन दर्ता गराएको छ ।    गृह मन्त्रालयले महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्च अदालतमा भ्याकेटको निवेदन दर्ता गराएको गृहमन्त्रालय कानुन महाशाखाका प्रमुख भरतमणि रिजालले जानकारी दिनुभयो ।

कार्यपालिकाबाट भई आएको कानुनबमोजिमको कामलाई बिनाकानुनी आधार एकतर्फी सुनुवाइबाट जारी भएको अन्तरिम आदेश रद्द गर्न सर्वोच्चमा भ्याकेट निवेदन दर्ता गरिएको कानुन महाशाखाका प्रमुख रिजालले जानकारी दिनुभयो ।

प्रहरीको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै प्रहरी अधिकृत एकसाथ सर्वोच्च अदालत पुगेका थिए । यही भदौ १६ गते अवकाश हुन लागेका प्रहरीहरूले गत बुधबार सर्वोच्च अदालतमा ३० वर्षे सेवा अवधि खारेजीको माग गर्दै रिट दायर गरेका थिए भने सोही प्रकारको दाबीसहित सर्वोच्च अदालत पुगेका सशस्त्र प्रहरीका केही अधिकारीको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।   मङ्गलबार सर्वोच्चले सशस्त्र प्रहरी अधिकारीहरुको रिटमा कारण देखाऊ आदेश मात्र जारी गरेको हो ।

लघुवित्तका ऋणीलाई कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौँ, १२ भदौः लघुवित्त वित्तीय संस्थाले परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीलाई एक पटकका लागि कर्जाको पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सक्ने सुविधा प्रदान गरेको छ ।

नेपाल राष्ट्र बैंकले मङ्गलबार ‘घ’ वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०७९ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । यस्तो सुविधाले लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिएका असल ऋणीलाई थप सुविधा उपलब्ध हुनेछ ।

“नियतवश कर्जा नतिर्ने ऋणीको विवरण तयार गरी त्यसबाहेकका परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीहरुलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी आवश्यकता र औचित्यको आधारमा विभिन्न सर्त बमोजिम एक पटकका लागि कर्जाको पुनरतालिकीकरण र वा पुनरसंरचना गर्न सक्नेछन्”, संशोधित व्यवस्थामा उल्लेख छ ।

यस्तो पुनरतालिकीकरण वा पुनरसंरचना २०८१ पुस मसान्तभित्र गरिसक्नु पर्नेछ । कर्जा भुक्तानी अवधि बढीमा तीन वर्ष थप हुने गरी पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ । 

सो व्यवस्था बमोजिम पुनरतालिकीकरण वा पुनरसंरचना गरिएका कर्जालाई पाँच प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । तर, निष्किृय वर्गमा वर्गीकरण भैसकेका कर्जालाई पुनरसंरचना वा पुनरतालिकीकरण गर्दा पूर्ववत् कायम गरिएको कर्जा नोक्सानी व्यवस्था कायम राख्नुपर्ने व्यवस्था पनि गरिएको छ । 

यसरी कायम गरिएको कर्जा नोक्सानी व्यवस्था लगातार एक वर्षसम्म कर्जा नियमित भएको अवस्थामा बाहेक कुनै समायोजन गर्न नपाइने राष्ट्र बैंकले स्पष्ट पारेको छ । संशोधित व्यवस्थाअनुसार कर्जा पुनरतालिकीकरण वा पुनरसंरचना गरेमा समेत सम्बन्धित संस्थाले ऋणीलाई कालोसूचीबाट हटाउन कर्जा सूचना केन्द्रलाई सिफारिस गर्नुपर्नेछ ।

अँध्यारोबाट ‘उज्यालो’ समृद्धिको यात्रामा ऊर्जा क्षेत्र

रमेश लम्साल, काठमाडौँ । कुनैबेला हप्ता नबिराइ ‘लोडसेडिङ’को तालिका परिवर्तन हुन्थ्यो । उस्तै परे सातामा नै दुई पटक तालिका बदलिन्थे । कहिले बिजुली आउला भन्दै बस्नुपर्ने बाध्यता आममानिसमा थियो । अँध्यारोसँगै जनजीवन चलाउनुपर्दा मुलुकको अर्थतन्त्र पनि त्यस्तै सुस्त थियो । औद्योगिक वातावरण थिएन । मानिसमा आशा थिएन, केबल निराशा थियो ।

लोडसेडिङको तालिका मात्रै सार्वजनिक गर्ने र आममानिसलाई एकाध घण्टा मात्रै बिजुली उपलब्ध गराउने नेपाल विद्युत् प्राधिकरण यतिबेला भने गौरव गर्न लायक संस्थाको रुपमा स्थापित भएको छ ।

सरकारको लगानी रहेका सार्वजनिक संस्थानमध्ये सबल र सक्षम संस्थाका रुपमा स्थापित भएको छ । यस्तै, सरकारले ऊर्जा क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधारस्तम्भका रुपमा मान्यता दिएर सोहीअनुसारको योजना अगाडि सारेको छ । खासमा उज्यालो नेपालको अवधारणा वास्तविक रुपमा साकार हुँदै गएको छ ।

सरकारले भारतसँग दीर्घकालीन विद्युत् व्यापार सम्झौता गरेको छ । जसअनुसार आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्यका साथ काम भइरहेको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा सो सम्झौता गर्ने सहमति भएको थियो । बङ्गलादेशमा पनि निकट भविष्यमा ४० मेगावाट बिजुली निर्यातका लागि आवश्यक पहल भइरहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र बङ्गलादेशको प्रशासनिक नेतृत्वबीच सम्झौताका लागि पहल भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

देशभित्रै ठूला क्षमताका प्रसारण लाइन निर्माणका क्रममा छन् । कतिपय सम्पन्न पनि भइसकेका छन् । ढल्केबर–इनरुवा चार सय केभी प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । हेटौँडा–ढल्केबर चार सय केभी प्रसारण लाइनको निर्माण जारी छ ।

सरकारले चालु आर्थिक वर्षको अन्त्यसम्म नौ सय मेगावाट विद्युत् थप गर्ने लक्ष्य राखेको छ । हालसम्म केन्द्रीय प्रसारण प्रणालीमा तीन हजार तीन सय मेगावाट बराबर विद्युत् उपलब्ध भइसकेको छ । प्रसारण लाइनको अभावमा निर्माण सम्पन्न भइसकेका रसुवागढी र मध्य भोटेकोसीजस्ता आयोजनाको बिजुली जोड्न सकिएको छैन । ती प्रसारण लाइन पनि निकट भविस्यमा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

हाल सरकारी स्वामित्वका र निजी क्षेत्रका ऊर्जा प्रवद्र्धकको गरी झण्डै तीन हजार मेगावाट क्षमताका आयोजना निर्माणका विभिन्न चरणमा छन् । यस्तै, तीन हजार पाँच सय मेगावाट क्षमता बराबरका विभिन्न आयोजना निर्माणमा जान ठिक्क अवस्थामा छन् ।

प्राधिकरणले निजी क्षेत्रका आयोजनासँग १० हजार मेगावाटभन्दा बढीको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरिसकेको छ । झण्डै १९ हजार मेगावाट क्षमता बराबरका आयोजना अध्ययनका विभिन्न चरणमा छन् । झण्डै १० हजार मेगावाट क्षमताका आयोजना पिपिएको पर्खाइमा भएकाले विद्युत् बिक्रीका लागि थप बजार सुनिश्चितता गर्नु जरुरी भइसकेको छ । आन्तरिक खपत बढाउँदै बढी भएको विद्युत् छिमेकी देशको बजारमा बिक्रीका लागि राजनीतिक तथा कूटनीतिक तहमा पहल भइरहेको छ ।

उज्यालो नेपालको संवाहक बन्दै प्राधिकरण

यही भदौ १ गते प्राधिकरणले आफ्नो स्थापनाको ३९औँ वार्षिकोत्सव मनायो । कुनै बेला प्राधिकरण भन्नेबित्तिकै आममानिसको दिमागमा नकारात्मक र त्यसमा अँध्यारोको तस्विर आउँथ्यो । अब ती दिन सकिएका छन् । उज्यालो नेपालको संवाहकका रुपमा प्राधिकरण परिचित मात्रै भएको छैन स्थापित पनि भएको छ । झण्डै १८ घण्टासम्मको लोडसेडिङ व्यहोर्नु परेको अवस्थाबाट क्रमशः अगाडि बढेको प्राधिकरणले हाल देशभित्र खपतगरी बढी भएको विद्युत् दैनिक एक हजार मेगावाटभन्दा बढी निर्यात गर्ने अवस्थामा आइपुगेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

विसं २०७३ को तिहारको लक्ष्मीपूजाको दिनदेखि काठमाडौँ उपत्यकाबाट प्रारम्भ भएको लोडसेडिङ अन्त्यको अभियान २०७५ वैशाखसम्म आइपुग्दा देशभर नै विस्तारित भयो । वर्षायाममा भारततर्फ विद्युत् निर्यातगरी उल्लेख्य विदेशी मुद्रा आर्जन गरी व्यापार घाटा कम गर्न सफल भएको छ ।

हिउँदमा अझै केही वर्ष सीमितमात्रामा विद्युत् आयात गर्नु परे पनि आयातको परिमाण क्रमशः घट्दै गएको छ । गत आर्थिक वर्षदेखि देशभित्र खपतगरी बढी भएको विद्युत् भारतीय बजारमा बिक्रीगरी खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बन्न सफल भएको छ ।

कार्यकारी निर्देशक घिसिङका अनुसार आठ वर्षअघि करिब ५८ प्रतिशत घरधुरीमा मात्र पुगेको विद्युत् सेवा हाल करिब ९९ प्रतिशतमा छ । सरकारले सञ्चालन गरेको ‘उज्यालो नेपाल’ अभियानको यो नै सबैभन्दा ठूलो सफलता हो । चालु आवको अन्त्यसम्म मुलुकलाई पूर्ण रुपमा विद्युतीकरण भएको घोषणा गर्ने तयारीमा पुगेको छ ।

विद्युत् पुर्‍याउनका लागि विकट बस्तीको खोजीगरी सुकुम्बासी, चेपाङ, मुसहरलगायत विपन्न वर्गलाई निःशुल्क मिटरसहितको विद्युत् सेवा उपलब्ध गराइएको छ । धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्डमा समेत विद्युतीय लाइन पुर्‍याएर बत्ती बालिसकेको छ ।

आन्तरिक खपत १० अर्ब दुई करोड युनिट

आर्थिक वर्ष २०७२/७३ मा तीन अर्ब ७२ करोड युनिट ऊर्जा खपत भएकामा गत आव २०८०/८१ मा १० अर्ब दुई करोड युनिट पुगेको छ । आठ वर्षमा देशभित्रको विद्युत् खपत छ अर्ब ५१ करोड युनिटले बढेको छ ।

गत आवमा सबैभन्दा बढी गार्हस्थतर्फ चार अर्ब ३१ करोड र औद्योगिक ग्राहकतर्फ तीन अर्ब ६९ करोड युनिट विद्युत् खपत भएको छ । बाँकी विद्युत् अन्य समूहका ग्राहकले खपत गरेका हुन् । आठ वर्षअघि एक सय ३१ युनिट रहेको प्रतिव्यक्ति ऊर्जा खपत गत आवसम्म आइपुग्दा ४०० युनिट बराबर पुगेको छ । यो विवरणले पनि मुलुकको ऊर्जा क्षेत्रमा गुणात्मक परिवर्तन हुँदै गएको स्पष्ट हुन जान्छ ।

उपभोक्तालाई भरपर्दो गुणस्तरीय, सुरक्षित विद्युत् आपूर्तिका देशका प्रमुख सहरलाई ११ वटा क्षेत्रमा विभाजन गरी सन् २०५० सम्मको मागलाई आपूर्ति गर्न सक्ने प्रसारण र वितरण संरचनाको गुरुयोजना तयार गरेर क्रमिक रुपमा कार्यान्वयन गरिरहेको छ । आन्तरिक रुपमा विद्युत्को खपत बढाउने, उत्पादन वृद्धिगरी आयात घटाउने र निर्यात वृद्धि गर्ने गरी काम भइरहेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा रु १६ अर्ब ९३ करोडको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले गत आवको साउनदेखि असारसम्म एक अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारततर्फ निर्यातगरी रु १६ अर्ब ९३ करोड २६ लाख आम्दानी गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को ‘डे अहेड’ तथा ‘रियल टाइम मार्केट’मा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ । निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट आठ रुपैयाँ ७२ पैसा छ ।

प्राधिकरणले गत आवमा रु १६ अर्ब ८१ करोड तीन लाखको विद्युत् आयात गरेको थियो । सुक्खायाममा खोला तथा नदीमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत् गृहबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न गत आवमा भारतबाट एक अर्ब ८३ करोड ३५ लाख युनिट विद्युत् आयात गरिएको थियो ।

५३९ स्थानीय तह पूर्ण विद्युतीकरण

नेपालका सात सय ५३ स्थानीय तहमध्ये पाँच सय ३९ स्थानीय तह सारभूत रुपमा पूर्ण विद्युतीकरण भएका छन् । एक सय ९६ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण भएको छ । राष्ट्रिय प्रसारण ग्रीड नपुगे पनि १८ स्थानीय तहका बासिन्दाले लघु जलविद्युत् र सौर्य ऊर्जाबाट विद्युत् उपभोग गरिरहेका छन् ।

विद्युतीकरण तथ्याङ्क, २०८१ अनुसार कुल जनसङ्ख्याको ९९ प्रतिशतमा विद्युत् पुगेको छ । विद्युत्का ग्राहक सामुदायिक सहित ५९ लाख ३५ हजार पुगेको छ । देशका सात सय ५३ स्थानीय तहमध्ये पाँच सय ९० स्थानीय तहमा ९५ देखि शतप्रतिशतसम्म विद्युतीकरण भएको छ । यस्तै, ७२ स्थानीय तहमा ७५ देखि ९५ प्रतिशतसम्म विद्युतीकरण भएको छ भने ३३ स्थानीय तहमा ५० देखि ७५ प्रतिशतसम्म, २६ स्थानीय तहमा २५ देखि ५० प्रतिशतसम्म र ३२ स्थानीय तहमा २५ प्रतिशतसम्म विद्युतीकरण गरिएको छ ।

आर्थिक वर्ष २०७२/७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो । अहिले ९९ प्रतिशत पुग्नु यस अवधिमा हासिल भएको महत्वपूर्ण उपलब्धि भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको भनाइ छ । विद्युत् पुगेका ठाउँमा भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रणाली सुधार तथा विस्तार गर्नुपर्ने छ भने नपुगेका ठाउँलाई विद्युत् पुर्‍याउने कार्यलाई उच्च प्राथमिकता राखी प्रक्रिया अगाडि बढाउनुपर्ने चुनौती छ ।

भौगोलिक रुपमा कठिन र विकट कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाका सबैको घरधुरीमा एक वर्षभित्रमा विद्युत् पुर्‍याउने गरी काम भइरहेको छ, त्यसका लागि बजेट व्यवस्थापन गरी निर्माण व्यवसायी छनोट भई काम सुरु भइसकेको छ ।

प्राधिकरणले एसियाली पूर्वाधार लगानी बैंक र युरोपेली लगानी बैंकबाट २२ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा विद्युतीकरणका लागि निर्माण व्यवसायी छनोट गरी काम सुरु भइसकेको छ ।

सात प्रदेशमध्ये मधेसमा शतप्रतिशत विद्युतीकरण भएको छ । कोशीमा ९९ दशमलव ३० प्रतिशत, बागमतीमा ९९ दशमलव ९७ प्रतिशत, गण्डकीमा ९९ दशमलव ४० प्रतिशत र लुम्बिनीमा ९८ दशमलव ४९ प्रतिशत विद्युतीकरण भएको छ । कर्णाली प्रदेशमा सबैभन्दा कम अर्थात ७४ दशमलव ३८ प्रतिशत मात्र विद्युत् उपलब्ध छ । सुदूरपश्चिम प्रदेशमा ८६ दशमलव ५८ प्रतिशत विद्युतीकरण गरिएको छ ।

कूल ७७ जिल्लामध्ये हुम्लामा अझै राष्ट्रिय प्रसारण ग्रीड पुग्न सकेको छैन । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालका अनुसार आंशिक विद्युतीकरण भएका र विद्युतीकरण हुन बाँकी स्थानीय तहमा विद्युत् पुर्याउन हाल भइरहेका कामको प्रगति राम्रो छ ।

२८ हजार पाँच सय मेगावाट उत्पादन गर्ने महत्वाकाङ्क्षी लक्ष्य

सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्यसहितको ‘ऊर्जा विकास मार्गचित्र र कार्ययोजना’ तयार पारेर कार्यान्वयनमा लैजाने अन्तिम तयारी गरेको छ । सो कार्ययोजना अनुसार १३ हजार मेगावाट आन्तरिक खपतमा प्रयोग हुनेछ । यस्तै, १५ हजार मेगावाट भने विदेश निर्यात गर्ने लक्ष्य राखिएको छ ।

यस्तै, अमेरिकी सहयोग परियोजना एमसीसीमार्फत झण्डै दुई सय ९७ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन निर्माण हुने चरणमा छ । नुवाकोटको रातमाटे, तनहुँको दमौली र रुपन्देहीको नयाँ बुटवलमा अत्याधुनिक सबस्टेशन निर्माण हुनेछ ।

यस्तै, नेपाल र भारतबीच दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणको लागि आवश्यक प्रक्रिया सुरु भइसकेको छ । न्यू बुटवल–गोरखपुर चार सय केभी क्षमताको प्रसारण लाइनमध्ये भारततर्फ निर्माण सुरु भइसकेको छ । भारतीय ऊर्जा प्रवद्र्धक कम्पनी सतलज विद्युत् निगमले नौ सय मेगावाट क्षमताको अरुण तेस्रो आयोजना निर्माण गरिरहेको छ ।

सो आयोजनाको भौतिक प्रगति झण्डै ७५ प्रतिशत बराबर पुगेको छ । सोही आयोजनाको विद्युत् प्रवाहका लागि महत्वपूर्ण मानिएको चार सय केभी क्षमताको प्रसारण लाइनमध्ये ढल्केबर–सीतामढी खण्डको निर्माण अन्तिम चरणमा पुगेको छ । यस्तै, अन्य अन्तरदेशीय प्रसारण लाइन निर्माणको काम जारी छ ।

अघि बढाइँदै जलाशययुक्त आयोजना

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले मधेस प्रदेश बाहेकका अन्य छ वटा प्रदेशमा जलाशयुक्त आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ । एक हजार दुई सय मेगावाट क्षमताको बूढीगण्डकी र एक हजार ६२ मेगावाट क्षमताको माथिल्लो अरुण निर्माणमा लैजाने अन्तिम तयारी भइरहेको छ ।

यस्तै, छ सय ३५ मेगावाट क्षमताको दूधकोसी पनि निर्माणमा जाने तयारीमा छ । चार सय १७ मेगावाट क्षमताको नलगाड, दुई सय १० मेगावाट क्षमताको चैनपुर सेती जलविद्युत् आयोजनाले हालै विद्युत् विकास विभागबाट विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेको छ ।

यसैगरी एक सय छ मेगावाट क्षमताको जगदुल्ला निर्माणमा जाने तयारीमा छ । निर्माण व्यवसायी छनोटको प्रक्रिया जारी छ । अन्य ठूला र जलाशयुक्त आयोजना निर्माणका लागि आवश्यक पहल भइरहेको ऊर्जा मन्त्रालयले जनाएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीका अनुसार सरकारले ऊर्जा क्षेत्रमा थप लगानी भित्र्याउनका लागि निजी क्षेत्रसँग मिलेर थप काम गर्नु आवश्यक छ । निजी क्षेत्रलाई ऊर्जा व्यापारमा अनुमति दिनुपर्ने तथा लगानी विस्तारका लागि थप सहजीकरण गर्नुपर्ने उनीहरुको माग छ ।

यस्तै, सरकारले वैदेशिक रोजगारीमा रहेका नागरिकलाई ऊर्जा उत्पादनमा सहभागी गराउने लक्ष्यका लागि ‘रेमिट हाइड्रो’ अवधारणा अगाडि सारेर ‘ऊर्जा बण्ड’, ‘रेमिट बण्ड’ बिक्री गर्ने लक्ष्य राखेको छ । यसबाट अनुत्पादक क्षेत्रमा खर्च भइरहेको विप्रेषणलाई ऊर्जा उत्पादनमा प्रयोग गर्न सकिने सरकारको विश्वास छ ।

कानुन निर्माणमा पनि उस्तै गति

त्यस्तै, सरकारले ऊर्जा क्षेत्रको विकासका लागि कानुन निर्माणलाई पनि उत्तिकै प्राथमिकतामा राखेको छ । विद्युत् विधेयक र जलस्रोत विधेयक प्रतिनिधिसभाको पूर्वाधार विकास समितिमा छलफलको क्रममा छ । यस्तै, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक राष्ट्रियसभामा विचाराधिन अवस्थामा छ । ती तीन वटै विधेयक तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सङ्घीय संसदमा पेस गरेका थिए ।

सरकारले ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर वन क्षेत्रको जग्गा प्रयोग, रुख कटान, प्रसारण लाइन निर्माणमा थप सहजीकरण गर्ने एवं जग्गा प्राप्तिमा रहेको समस्या समाधानका लागि पनि विशेष पहल थालेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका उच्च राजनीतिक र प्रशासनिक नेतृत्वबीच समस्या समाधान गर्ने लक्ष्यका साथ यही भदौ ५ गते छलफल भएको छ । ऊर्जामन्त्री दीपक खड्काका अनुसार तीन महिनाभित्र वनसँग जोडिएका समस्या समाधानका लागि पहल गर्ने उद्देश्यका साथ छलफल भएको हो । ऊर्जा क्षेत्रसँग जोडिएका कुनै पनि परियोजनामा समस्या र जटिलता उत्पन्न हुने नदिने उद्देश्यका साथ छलफल भएको र नतिजा हासिल हुने उनको विश्वास छ ।

सरकारले २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ तर वन र जग्गा प्राप्तिमा रहेको समस्याले समयमा काम नहुने, आयोजना पनि महँगो बन्ने स्थितिको अन्त्यका लागि संरचनागत सुधार गर्नैपर्ने आवश्यकता देखिएको उल्लेख गर्दै मन्त्री खड्काले त्यसका लागि सार्थक पहल सुरु भएको जानकारी दिए ।

निजी क्षेत्रको बलियो साथ

सरकारको सार्थक प्रयास निजी क्षेत्रको बलियो साथका कारण पछिल्ला दिनमा ऊर्जा क्षेत्रमा सार्थक प्रगति भएको छ । प्राधिकरणको हाल प्रणालीमा उपलब्ध भएको कूल ऊर्जामध्ये निजी क्षेत्रको मात्रै ३५ हजार एक सय १४ मेगावाट घण्टा बराबर छ । कूल माग भने ५७ हजार पाँच सय ९४ मेगावाट घण्टा छ ।

प्राधिकरणको आफ्नै नौ हजार दुई सय ७६ मेगावाट घण्टा बराबरको ऊर्जा उपलब्ध छ । प्राधिकरणका सहायक कम्पनीका आयोजनाले १३ हजार ५४ मेगावाट घण्टा बराबरको ऊर्जा उपलब्ध गराएको छ । यस आधारमा निजी क्षेत्रको उपस्थिति बलियो र प्रभावकारी छ ।

निर्माणको चरणमा रहेका अधिकांश आयोजना पनि निजी क्षेत्रकै छन् । विगतको अध्यारा दिनहरु ऊर्जा क्षेत्रमा भएको विकास र विस्तारले क्रमशः उज्यालो र सबल बन्दै गएको छ । यसबाट ऊर्जा क्षेत्र नै आर्थिक विकासको खास अर्थमा संवाहक रहेकोसमेत पुष्टि हुन जान्छ । निजी क्षेत्रले अब ठूला आयोजनासमेत निर्माण गर्नसक्ने क्षमतामा आफूलाई विस्तार गरेको छ । त्यसबाट ऊर्जा क्षेत्रमा थप प्रगति हुने सहजै अनुमान गर्न सकिन्छ ।

वाणिज्य बैंकको ‘काउन्टरसाइक्लिक बफर’ शून्य प्रतिशत कायम

काठमाडौँ, १२ भदौः नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको काउन्टरसाइक्लिक बफर शून्य प्रतिशत कायम गरेको छ । नेपाल राष्ट्र बैंकले मङ्गलबार इजाजतप्राप्त ‘क’, ‘ख’, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

यसअघि वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्ममा यस्तो बफर शून्य दशमलव पाँच प्रतिशत कायम गर्नुपर्ने प्रावधान रहेकामा केन्द्रीय बैंकले चालु आवको साउनदेखि लागू हुने गरी शून्य प्रतिशत कायम गरेको हो । 

साथै २०८४ साल असार मसान्तसम्ममा बैंकहरुले न्यूनतम १५ प्रतिशत कर्जा लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा प्रवाह गर्नुपर्नेछ । जसमा यसअघि रु एक करोडभन्दा कम रकमका कर्जा उल्लेख भएकामा संशोधन गरी रु दुई करोड कायम गरिएको छ ।    यसबाट लघु, घरेलु तथा साना  एवम् मझौला उद्यमका क्षेत्रमा थप कर्जा प्रवाह भइ आर्थिक गतिविधि चलायमान हुने विश्वास लिइएको छ ।

मुसहर बालबालिकालाई विद्यालय पठाउन मुख्यमन्त्री सिंहको आग्रह

गोदार (धनुषा), १२ भदौः मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले मङ्गलबार साँझ धनुषाको विदेह नगरपालिकास्थित वैदेही स्कुल टोलको मुसहर बस्ती पुगी बालबालिकालाई विद्यालय पठाउन आग्रह गर्नुभएको छ ।

प्रत्येक महिना दलित बस्ती अवलोकन गरी त्यहाँको विकास निर्माण, शिक्षा, स्वास्थ्य तथा जीविकोपार्जनलगायत समस्याबारे स्थानीयसँग छलफल गर्ने कार्यतालिकाअनुसार मुख्यमन्त्री सिंह मङ्गलबार वैदेही स्कुल टोलको मुसहर बस्ती पुग्नुभएको थियो । 

उहाँले मुसहर बस्तीका महिला, बालबालिका, युवा तथा वृद्धसँग त्यहाँका समस्याबारे जानकारी लिनुभएको थियो । सो अवसरमा उहाँ बस्तीका घरघरमा पुगेर बालबच्चाको पढाइ, स्वास्थ्योपचार, सरसफाइ, आयआर्जनलगायतका विषयमा जानकारी लिनुभएको थियो । 

मुख्यमन्त्री सिंहले सङ्घीयताका कारण स्थानीय तहमा दलित महिलाको प्रतिनिधित्व सम्भव भएको उल्लेख गर्दै वर्तमान व्यवस्थालाई संस्थागत गर्ने जिम्मेवारी सबै समुदायको भएको बताउनुभयो । 

बनिबुतो गरेर जीविकोपार्जन गर्ने मुसहर समुदायका अधिकांश पुरुष रोजगारका लागि भारत जाने गर्छन् भने अधिकांश महिला कृषिसम्बद्ध श्रममा आबद्ध छन् । 

आयआर्जनका दृष्टिले लत्ताकपडा र छाक टार्न समस्या नरहे पनि यस समुदायका पुरुषमा जाँडरक्सीको लत रहेको महिलाहरुले मुख्यमन्त्री सिंहसँग गुनासो गरेका थिए । मुख्यमन्त्री सिंहले समस्या समाधानका लागि समुदाय स्तरबाटै पहल हुनुपर्नेमा जोड दिनुभएको थियो । 

उहाँले मुसहर बस्तीका बच्चाको शिक्षामा पहुँच सुनिश्चित गर्न राज्य र समुदाय दुवै स्तरबाट पहल गर्ने बताउनुभयो । उहाँले छोरा र छोरी दुवैको शिक्षामा ध्यान दिन आग्रह समेत गर्नुभएको थियो । 

“बालकालिकालाई घाँसदाउरा र मेलापात गराउने, बस्तुभाउका हेरालु बनाउने र अन्य घरका कामकाज गराउनेतिर नलाग्नुस्, विद्यालय  पठाउनुस्”, उहाँले भन्नुभयो, “शिक्षामा लगानी भयो भने समुदायको मुहार फेरिन्छ ।”

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चाँडै सञ्चालन हुनेछ : मुख्यमन्त्री आचार्य

रामपुर (पाल्पा), ११ भदौः लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चाँडै सञ्चालनमा आउने बताउनुभएको छ ।आज नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा मुख्यमन्त्री आचार्यले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न पहल भइरहेको र अब चाँडै नतिजा आउने बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी आएका पर्यटकलाई पाल्पा, गुल्मी हुँदै बाँके, बर्दियासम्म लुम्बिनी सर्किटका रुपमा जोड्ने योजना बनाउनुपर्नेमा जोड दिनुभयो । पहाड र तराई क्षेत्र जोड्नका लागि सो योजना रहेको बताउँदै उहाँले लुम्बिनी प्रदेशको पर्यटकीय क्षेत्र अगाडि बढाउन पहल गरिरहेको जानकारी दिनुभयो ।

भ्रष्टाचार न्यूनीकरण गर्न, सुशासन कायम गर्न प्रदेश सरकार लागेको बताउँदै उहाँले पाँच लाखभन्दा माथिका योजना प्रतिस्पर्धाका माध्यमबाट अगाडि बढाउने तयारी गरिएको जानकारी दिनुभयो । नयाँ सरकार बनेको एक महिनाको अवधिमा प्रदेश सरकारले केही सुधारात्मक काम गरेको र अघिल्लो सरकारको कामलाई पनि निरन्तरता दिइने मुख्यमन्त्री आचार्यले स्पष्ट पार्नुभयो । 

सरकार स्थिर भए नीतिगत स्थिरता कायम हुन्छ : अर्थमन्त्री पौडेल

काठमाडौँ, ११ भदौः उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार स्थिर हुनसके मुलुकमा नीतिगत स्थिरता पनि कायम हुने बताउनुभएको छ । आजदेखि काठमाडौँमा सुरु भएको ‘नाडा अटो शो २०२४’ को उद्घाटन समारोहमा अर्थमन्त्री पौडेलले विद्यमान व्यवस्थामा बन्नसक्ने स्थिर र मजबुद सरकारका रुपमा वर्तमान सरकार रहेको दाबी गर्नुभयो ।

“राजनीतिक परिस्थिति अस्थिर भयो भने नीतिगत स्थिरता कायम हुन सक्दैन । अहिले बनेको यो सरकार स्थिर हो, यसले नीतिगत स्थिरताको पनि बलियो आधार दिएको छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो । सरकारको स्थिरतासँगै अब नीतिगत स्थिरता पनि कायम हुने उहाँको भनाइ छ ।

निजी क्षेत्रले व्यापारभन्दा पनि उद्योग र आन्तरिक उत्पादन बढाउनेतर्फ केन्द्रित हुनुपर्नेमा अर्थमन्त्री पौडेलको जोड थियो । उद्योग क्षेत्रमा लगानी बढाउने  र आन्तरिक उत्पादन प्रवर्द्धन गरेर मात्र मुलुकको अर्थतन्त्र सुदृढ हुँदै जाने उहाँको भनाइ छ । अर्थमन्त्री पौडेलले सरकारका मन्त्रीहरू औपचारिक कार्यक्रममा बढी अल्झिँदा मन्त्रालयका काम प्रभावित हुनसक्ने भएकाले महत्त्वपूर्ण कार्यक्रमबाहेकमा मन्त्रीहरूलाई आमन्त्रण नगर्न पनि आग्रह गर्नुभयो ।

नाडा अडो सो उद्घाटन कार्यक्रममा निजी क्षेत्रले सवारीसाधनलाई विलाशिताका वस्तुभन्दा पनि आवश्यकताको वस्तुका रुपमा लिइनुपर्ने धारणा राखेको छ । साथै, नीतिगत स्थिरता कायम हुनुपर्ने माग पनि निजी क्षेत्रको छ । 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अटोमोबाइल क्षेत्रलाई बिसाली वस्तुका रुपमा भन्दा पनि आवश्यक वस्तुका रुपमा लिइनुपर्ने बताउनुभयो । त्यसका लागि सरकारको नीति परिवर्तन हुनुपर्ने उहाँको भनाइ छ ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवालले मुलुकको समग्र अर्थतन्त्र सुस्ताकएका कारण अटोमोबाइल क्षेत्र सुस्ताएको बताउनुभयो । सरकारको वित्त नीति तथा मौद्रिक नीतिबाट केही सहज व्यवस्था गर्नसके अटोमोबाइल क्षेत्रको बजार केही चलायमान हुने उहाँको भनाइ छ । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले पनि अटोमोबाइल क्षेत्रलाई आवश्यक वस्तुका रुपमा परिभाषित गर्नेगरी नीति निर्माण गरिनुपर्ने बताउनुभयो ।

नाडाका अध्यक्ष करण चौधरीले अटोमोबाइल क्षेत्रको कारोबार पारदर्शी रहेको बताउँदै अटोमोबाइल क्षेत्रमा सरकारको नीतिगत स्थिरता आवश्यक रहेको बताउनुभयो । खुला सीमानाका कारण हुने अवैध व्यापार रोक्न सरकार जिम्मेवार भएर लाग्नुपर्ने पनि उहाँको भनाइ छ । 

अटोमोबाइल क्षेत्रमा रु एक खर्बभन्दा बढी लगानी रहेको बताउँदै उहाँले मुलुकको अर्थतन्त्रलाई पनि यो क्षेत्रले महत्त्वपूर्ण टेवा पु¥याउँदै आएको बताउनुभयो । नेपालमा विद्युतीय गाडीको प्रयोग बढाउन थप पूर्वाधार आवश्यक रहेको पनि उहाँको भनाइ छ ।  

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा आजदेखि भृकुटीमण्डपमा ‘नाडा अटो शो, २०२४’ सुरु भएको छ । प्रदर्शनीमा विभिन्न सवारीसाधन तथा त्यसका पाटपुर्जा, बैंक तथा वित्तीय क्षेत्र, बीमा कम्पनीलगायतका स्टल राखिएका छन् । प्रदर्शनी साउन १६ गतेसम्म चल्नेछ ।

बाढीपहिरोमा परी २०८ जना जनाको मृत्यु, ५३ जना बेपत्ता

काठमाडौँ, ११ भदौः मनसुनी वर्षाका कारण गएको जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्परी आज दिउँसोसम्म दुई सय आठजनाको मृत्यु भएको छ ।

बाढी, पहिरोलगायत विपद्परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २९, मधेस प्रदेशमा आठ, बागमती प्रदेशमा ४५, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३७, कर्णाली प्रदेशमा १४ र सुदूरपश्चिम प्रदेशमा १६ जना गरी जम्मा दुई सय आठजनाको मृत्यु भएको हो ।

साथै काठमाडौँ उपत्यकामा ११, कोशी प्रदेशमा ४२, मधेस १२, बागमतीमा ३१, गण्डकीमा ४७, लुम्बिनीमा २५, कर्णालीमा ६७ र सुदूरपश्प्रदेशमा ३६ जना गरी जम्मा दुई सय ७१ जना घाइते भएका प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकामा ३३ जना, कोशी प्रदेशमा ४९, बागमतीमा १२, गण्डकीमा १४, लुम्बिनीमा चार, कर्णालीमा दुई र सुदूरपश्चििम प्रदेशमा एक सय एकजना गरी जम्मा दुई सय १५ जनाको उद्धार गरिएको छ ।

बाढीपहिरोमा परी कोशी प्रदेशमा तीन, मधेस एक, बागमतीमा ४४, गण्डकीमा दुई, लुम्बिनीमा एक, कर्णालीमा एक र सुदूरपश्चििम प्रदेशमा एकजना गरी ५३ जना बेपत्ता भएका छन् । बाढीको कारण जम्मा चार सय आठ घर डुबानमा परेका छन् । तीन सय ६४ वटा घर, एक सय २६ गोठ, ५२ पुल, छवटा विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । नौ सय ७२ वटा पशु चौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्घटनाबाट छ हजार ४९ घरपरिवार विस्थापित भएका छन् ।

रोजगारी सृजना गर्न मधेस सरकार लागिपरेको छ : मुख्यमन्त्री सिंह

महेन्द्रनगर (धनुषा), ११ भदौ : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशमा सुशासन, प्रभावकारी सेवा प्रवाह तथा रोजगारी सृजना गर्ने पक्षमा वर्तमान सरकार लागिपरेको बताउनुभएको छ ।मङ्गलबार मुख्यमन्त्री सिंहले प्रेस स्वतन्त्रता सेनानी एवं वरिष्ठ पत्रकार स्वर्गीय राजेश्वर नेपालीको प्रथम पुण्यतिथिको अवसरमा जनकपुरधाम उपमहानगरपालिका–२३ बेलामा वृक्षारोपण अभियानको शुभारम्भ गर्दै नकारात्मक कुरालाई मात्र समाचारको विषय बनाएको खण्डमा सिङ्गो समाज नै नकारात्मक बन्ने भएकाले सकारात्मक सोचका साथ पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले गलत व्यक्तिका क्रियाकलापका कारणले सङ्घीयतालाई बदनाम गराउने कुचेष्टा भए पनि जनताको घरदैलोमा सेवा सुविधा प्रदान गर्ने सङ्घीय गणतन्त्र जस्तो अरू कुनै शासन व्यवस्था नभएकाले सङ्घीयताको पक्षमा कलम चलाउनका लागि पत्रकारहरूलाई आग्रह गर्नुभयो ।

मुख्यमन्त्री सिंहले स्वर्गीय राजेश्वर नेपालीले सधैँ लोकतन्त्र तथा गणतन्त्रका लागि सङ्घर्ष गर्नुभएको बताउँदै उहाँको निर्भिक पत्रकारिता अहिलेका युवापुस्ताका पत्रकारका लागि प्रेरणाको स्रोत बनेको बताउनुभयो ।

सङ्घीयताको संस्थागत विकासका लागि जनताले सङ्घीयताको अनुभूति गर्नेगरी प्रदेश सरकारले काम गर्न चाहेको उहाँले उल्लेख गर्नुभयो । जनकपुरधाम उपमहानगरपालिका–२३ का वडाध्यक्ष राघवेन्द्रप्रसाद साहको अध्यक्षतामा भएको सो कार्यक्रममा मुख्यमन्त्री सिंहले बरको वृक्ष रोपेर वृक्षारोपण अभियानको शुभारम्भ गर्नुभयो ।

जनकपुरधाम–भिठामोड चार लेन विद्यापति सडक जनकपुरधामको वेला पुलबाट महोत्तरीको बनौली मोडसम्म आँप तथा चम्पाको फूल गरेर चार सय ५० वटा बिरुवा रोप्ने कार्यक्रम रहेको वडा नंं २३ का वडाध्यक्ष राघवेन्द्र साहले बताउनुभयो ।