`

अँध्यारोबाट ‘उज्यालो’ समृद्धिको यात्रामा ऊर्जा क्षेत्र

रमेश लम्साल, काठमाडौँ । कुनैबेला हप्ता नबिराइ ‘लोडसेडिङ’को तालिका परिवर्तन हुन्थ्यो । उस्तै परे सातामा नै दुई पटक तालिका बदलिन्थे । कहिले बिजुली आउला भन्दै बस्नुपर्ने बाध्यता आममानिसमा थियो । अँध्यारोसँगै जनजीवन चलाउनुपर्दा मुलुकको अर्थतन्त्र पनि त्यस्तै सुस्त थियो । औद्योगिक वातावरण थिएन । मानिसमा आशा थिएन, केबल निराशा थियो ।

लोडसेडिङको तालिका मात्रै सार्वजनिक गर्ने र आममानिसलाई एकाध घण्टा मात्रै बिजुली उपलब्ध गराउने नेपाल विद्युत् प्राधिकरण यतिबेला भने गौरव गर्न लायक संस्थाको रुपमा स्थापित भएको छ ।

सरकारको लगानी रहेका सार्वजनिक संस्थानमध्ये सबल र सक्षम संस्थाका रुपमा स्थापित भएको छ । यस्तै, सरकारले ऊर्जा क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधारस्तम्भका रुपमा मान्यता दिएर सोहीअनुसारको योजना अगाडि सारेको छ । खासमा उज्यालो नेपालको अवधारणा वास्तविक रुपमा साकार हुँदै गएको छ ।

सरकारले भारतसँग दीर्घकालीन विद्युत् व्यापार सम्झौता गरेको छ । जसअनुसार आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्यका साथ काम भइरहेको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा सो सम्झौता गर्ने सहमति भएको थियो । बङ्गलादेशमा पनि निकट भविष्यमा ४० मेगावाट बिजुली निर्यातका लागि आवश्यक पहल भइरहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र बङ्गलादेशको प्रशासनिक नेतृत्वबीच सम्झौताका लागि पहल भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

देशभित्रै ठूला क्षमताका प्रसारण लाइन निर्माणका क्रममा छन् । कतिपय सम्पन्न पनि भइसकेका छन् । ढल्केबर–इनरुवा चार सय केभी प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । हेटौँडा–ढल्केबर चार सय केभी प्रसारण लाइनको निर्माण जारी छ ।

सरकारले चालु आर्थिक वर्षको अन्त्यसम्म नौ सय मेगावाट विद्युत् थप गर्ने लक्ष्य राखेको छ । हालसम्म केन्द्रीय प्रसारण प्रणालीमा तीन हजार तीन सय मेगावाट बराबर विद्युत् उपलब्ध भइसकेको छ । प्रसारण लाइनको अभावमा निर्माण सम्पन्न भइसकेका रसुवागढी र मध्य भोटेकोसीजस्ता आयोजनाको बिजुली जोड्न सकिएको छैन । ती प्रसारण लाइन पनि निकट भविस्यमा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

हाल सरकारी स्वामित्वका र निजी क्षेत्रका ऊर्जा प्रवद्र्धकको गरी झण्डै तीन हजार मेगावाट क्षमताका आयोजना निर्माणका विभिन्न चरणमा छन् । यस्तै, तीन हजार पाँच सय मेगावाट क्षमता बराबरका विभिन्न आयोजना निर्माणमा जान ठिक्क अवस्थामा छन् ।

प्राधिकरणले निजी क्षेत्रका आयोजनासँग १० हजार मेगावाटभन्दा बढीको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरिसकेको छ । झण्डै १९ हजार मेगावाट क्षमता बराबरका आयोजना अध्ययनका विभिन्न चरणमा छन् । झण्डै १० हजार मेगावाट क्षमताका आयोजना पिपिएको पर्खाइमा भएकाले विद्युत् बिक्रीका लागि थप बजार सुनिश्चितता गर्नु जरुरी भइसकेको छ । आन्तरिक खपत बढाउँदै बढी भएको विद्युत् छिमेकी देशको बजारमा बिक्रीका लागि राजनीतिक तथा कूटनीतिक तहमा पहल भइरहेको छ ।

उज्यालो नेपालको संवाहक बन्दै प्राधिकरण

यही भदौ १ गते प्राधिकरणले आफ्नो स्थापनाको ३९औँ वार्षिकोत्सव मनायो । कुनै बेला प्राधिकरण भन्नेबित्तिकै आममानिसको दिमागमा नकारात्मक र त्यसमा अँध्यारोको तस्विर आउँथ्यो । अब ती दिन सकिएका छन् । उज्यालो नेपालको संवाहकका रुपमा प्राधिकरण परिचित मात्रै भएको छैन स्थापित पनि भएको छ । झण्डै १८ घण्टासम्मको लोडसेडिङ व्यहोर्नु परेको अवस्थाबाट क्रमशः अगाडि बढेको प्राधिकरणले हाल देशभित्र खपतगरी बढी भएको विद्युत् दैनिक एक हजार मेगावाटभन्दा बढी निर्यात गर्ने अवस्थामा आइपुगेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

विसं २०७३ को तिहारको लक्ष्मीपूजाको दिनदेखि काठमाडौँ उपत्यकाबाट प्रारम्भ भएको लोडसेडिङ अन्त्यको अभियान २०७५ वैशाखसम्म आइपुग्दा देशभर नै विस्तारित भयो । वर्षायाममा भारततर्फ विद्युत् निर्यातगरी उल्लेख्य विदेशी मुद्रा आर्जन गरी व्यापार घाटा कम गर्न सफल भएको छ ।

हिउँदमा अझै केही वर्ष सीमितमात्रामा विद्युत् आयात गर्नु परे पनि आयातको परिमाण क्रमशः घट्दै गएको छ । गत आर्थिक वर्षदेखि देशभित्र खपतगरी बढी भएको विद्युत् भारतीय बजारमा बिक्रीगरी खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बन्न सफल भएको छ ।

कार्यकारी निर्देशक घिसिङका अनुसार आठ वर्षअघि करिब ५८ प्रतिशत घरधुरीमा मात्र पुगेको विद्युत् सेवा हाल करिब ९९ प्रतिशतमा छ । सरकारले सञ्चालन गरेको ‘उज्यालो नेपाल’ अभियानको यो नै सबैभन्दा ठूलो सफलता हो । चालु आवको अन्त्यसम्म मुलुकलाई पूर्ण रुपमा विद्युतीकरण भएको घोषणा गर्ने तयारीमा पुगेको छ ।

विद्युत् पुर्‍याउनका लागि विकट बस्तीको खोजीगरी सुकुम्बासी, चेपाङ, मुसहरलगायत विपन्न वर्गलाई निःशुल्क मिटरसहितको विद्युत् सेवा उपलब्ध गराइएको छ । धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्डमा समेत विद्युतीय लाइन पुर्‍याएर बत्ती बालिसकेको छ ।

आन्तरिक खपत १० अर्ब दुई करोड युनिट

आर्थिक वर्ष २०७२/७३ मा तीन अर्ब ७२ करोड युनिट ऊर्जा खपत भएकामा गत आव २०८०/८१ मा १० अर्ब दुई करोड युनिट पुगेको छ । आठ वर्षमा देशभित्रको विद्युत् खपत छ अर्ब ५१ करोड युनिटले बढेको छ ।

गत आवमा सबैभन्दा बढी गार्हस्थतर्फ चार अर्ब ३१ करोड र औद्योगिक ग्राहकतर्फ तीन अर्ब ६९ करोड युनिट विद्युत् खपत भएको छ । बाँकी विद्युत् अन्य समूहका ग्राहकले खपत गरेका हुन् । आठ वर्षअघि एक सय ३१ युनिट रहेको प्रतिव्यक्ति ऊर्जा खपत गत आवसम्म आइपुग्दा ४०० युनिट बराबर पुगेको छ । यो विवरणले पनि मुलुकको ऊर्जा क्षेत्रमा गुणात्मक परिवर्तन हुँदै गएको स्पष्ट हुन जान्छ ।

उपभोक्तालाई भरपर्दो गुणस्तरीय, सुरक्षित विद्युत् आपूर्तिका देशका प्रमुख सहरलाई ११ वटा क्षेत्रमा विभाजन गरी सन् २०५० सम्मको मागलाई आपूर्ति गर्न सक्ने प्रसारण र वितरण संरचनाको गुरुयोजना तयार गरेर क्रमिक रुपमा कार्यान्वयन गरिरहेको छ । आन्तरिक रुपमा विद्युत्को खपत बढाउने, उत्पादन वृद्धिगरी आयात घटाउने र निर्यात वृद्धि गर्ने गरी काम भइरहेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा रु १६ अर्ब ९३ करोडको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले गत आवको साउनदेखि असारसम्म एक अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारततर्फ निर्यातगरी रु १६ अर्ब ९३ करोड २६ लाख आम्दानी गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को ‘डे अहेड’ तथा ‘रियल टाइम मार्केट’मा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ । निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट आठ रुपैयाँ ७२ पैसा छ ।

प्राधिकरणले गत आवमा रु १६ अर्ब ८१ करोड तीन लाखको विद्युत् आयात गरेको थियो । सुक्खायाममा खोला तथा नदीमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत् गृहबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न गत आवमा भारतबाट एक अर्ब ८३ करोड ३५ लाख युनिट विद्युत् आयात गरिएको थियो ।

५३९ स्थानीय तह पूर्ण विद्युतीकरण

नेपालका सात सय ५३ स्थानीय तहमध्ये पाँच सय ३९ स्थानीय तह सारभूत रुपमा पूर्ण विद्युतीकरण भएका छन् । एक सय ९६ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण भएको छ । राष्ट्रिय प्रसारण ग्रीड नपुगे पनि १८ स्थानीय तहका बासिन्दाले लघु जलविद्युत् र सौर्य ऊर्जाबाट विद्युत् उपभोग गरिरहेका छन् ।

विद्युतीकरण तथ्याङ्क, २०८१ अनुसार कुल जनसङ्ख्याको ९९ प्रतिशतमा विद्युत् पुगेको छ । विद्युत्का ग्राहक सामुदायिक सहित ५९ लाख ३५ हजार पुगेको छ । देशका सात सय ५३ स्थानीय तहमध्ये पाँच सय ९० स्थानीय तहमा ९५ देखि शतप्रतिशतसम्म विद्युतीकरण भएको छ । यस्तै, ७२ स्थानीय तहमा ७५ देखि ९५ प्रतिशतसम्म विद्युतीकरण भएको छ भने ३३ स्थानीय तहमा ५० देखि ७५ प्रतिशतसम्म, २६ स्थानीय तहमा २५ देखि ५० प्रतिशतसम्म र ३२ स्थानीय तहमा २५ प्रतिशतसम्म विद्युतीकरण गरिएको छ ।

आर्थिक वर्ष २०७२/७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो । अहिले ९९ प्रतिशत पुग्नु यस अवधिमा हासिल भएको महत्वपूर्ण उपलब्धि भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको भनाइ छ । विद्युत् पुगेका ठाउँमा भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रणाली सुधार तथा विस्तार गर्नुपर्ने छ भने नपुगेका ठाउँलाई विद्युत् पुर्‍याउने कार्यलाई उच्च प्राथमिकता राखी प्रक्रिया अगाडि बढाउनुपर्ने चुनौती छ ।

भौगोलिक रुपमा कठिन र विकट कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाका सबैको घरधुरीमा एक वर्षभित्रमा विद्युत् पुर्‍याउने गरी काम भइरहेको छ, त्यसका लागि बजेट व्यवस्थापन गरी निर्माण व्यवसायी छनोट भई काम सुरु भइसकेको छ ।

प्राधिकरणले एसियाली पूर्वाधार लगानी बैंक र युरोपेली लगानी बैंकबाट २२ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा विद्युतीकरणका लागि निर्माण व्यवसायी छनोट गरी काम सुरु भइसकेको छ ।

सात प्रदेशमध्ये मधेसमा शतप्रतिशत विद्युतीकरण भएको छ । कोशीमा ९९ दशमलव ३० प्रतिशत, बागमतीमा ९९ दशमलव ९७ प्रतिशत, गण्डकीमा ९९ दशमलव ४० प्रतिशत र लुम्बिनीमा ९८ दशमलव ४९ प्रतिशत विद्युतीकरण भएको छ । कर्णाली प्रदेशमा सबैभन्दा कम अर्थात ७४ दशमलव ३८ प्रतिशत मात्र विद्युत् उपलब्ध छ । सुदूरपश्चिम प्रदेशमा ८६ दशमलव ५८ प्रतिशत विद्युतीकरण गरिएको छ ।

कूल ७७ जिल्लामध्ये हुम्लामा अझै राष्ट्रिय प्रसारण ग्रीड पुग्न सकेको छैन । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालका अनुसार आंशिक विद्युतीकरण भएका र विद्युतीकरण हुन बाँकी स्थानीय तहमा विद्युत् पुर्याउन हाल भइरहेका कामको प्रगति राम्रो छ ।

२८ हजार पाँच सय मेगावाट उत्पादन गर्ने महत्वाकाङ्क्षी लक्ष्य

सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्यसहितको ‘ऊर्जा विकास मार्गचित्र र कार्ययोजना’ तयार पारेर कार्यान्वयनमा लैजाने अन्तिम तयारी गरेको छ । सो कार्ययोजना अनुसार १३ हजार मेगावाट आन्तरिक खपतमा प्रयोग हुनेछ । यस्तै, १५ हजार मेगावाट भने विदेश निर्यात गर्ने लक्ष्य राखिएको छ ।

यस्तै, अमेरिकी सहयोग परियोजना एमसीसीमार्फत झण्डै दुई सय ९७ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन निर्माण हुने चरणमा छ । नुवाकोटको रातमाटे, तनहुँको दमौली र रुपन्देहीको नयाँ बुटवलमा अत्याधुनिक सबस्टेशन निर्माण हुनेछ ।

यस्तै, नेपाल र भारतबीच दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणको लागि आवश्यक प्रक्रिया सुरु भइसकेको छ । न्यू बुटवल–गोरखपुर चार सय केभी क्षमताको प्रसारण लाइनमध्ये भारततर्फ निर्माण सुरु भइसकेको छ । भारतीय ऊर्जा प्रवद्र्धक कम्पनी सतलज विद्युत् निगमले नौ सय मेगावाट क्षमताको अरुण तेस्रो आयोजना निर्माण गरिरहेको छ ।

सो आयोजनाको भौतिक प्रगति झण्डै ७५ प्रतिशत बराबर पुगेको छ । सोही आयोजनाको विद्युत् प्रवाहका लागि महत्वपूर्ण मानिएको चार सय केभी क्षमताको प्रसारण लाइनमध्ये ढल्केबर–सीतामढी खण्डको निर्माण अन्तिम चरणमा पुगेको छ । यस्तै, अन्य अन्तरदेशीय प्रसारण लाइन निर्माणको काम जारी छ ।

अघि बढाइँदै जलाशययुक्त आयोजना

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले मधेस प्रदेश बाहेकका अन्य छ वटा प्रदेशमा जलाशयुक्त आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ । एक हजार दुई सय मेगावाट क्षमताको बूढीगण्डकी र एक हजार ६२ मेगावाट क्षमताको माथिल्लो अरुण निर्माणमा लैजाने अन्तिम तयारी भइरहेको छ ।

यस्तै, छ सय ३५ मेगावाट क्षमताको दूधकोसी पनि निर्माणमा जाने तयारीमा छ । चार सय १७ मेगावाट क्षमताको नलगाड, दुई सय १० मेगावाट क्षमताको चैनपुर सेती जलविद्युत् आयोजनाले हालै विद्युत् विकास विभागबाट विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेको छ ।

यसैगरी एक सय छ मेगावाट क्षमताको जगदुल्ला निर्माणमा जाने तयारीमा छ । निर्माण व्यवसायी छनोटको प्रक्रिया जारी छ । अन्य ठूला र जलाशयुक्त आयोजना निर्माणका लागि आवश्यक पहल भइरहेको ऊर्जा मन्त्रालयले जनाएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीका अनुसार सरकारले ऊर्जा क्षेत्रमा थप लगानी भित्र्याउनका लागि निजी क्षेत्रसँग मिलेर थप काम गर्नु आवश्यक छ । निजी क्षेत्रलाई ऊर्जा व्यापारमा अनुमति दिनुपर्ने तथा लगानी विस्तारका लागि थप सहजीकरण गर्नुपर्ने उनीहरुको माग छ ।

यस्तै, सरकारले वैदेशिक रोजगारीमा रहेका नागरिकलाई ऊर्जा उत्पादनमा सहभागी गराउने लक्ष्यका लागि ‘रेमिट हाइड्रो’ अवधारणा अगाडि सारेर ‘ऊर्जा बण्ड’, ‘रेमिट बण्ड’ बिक्री गर्ने लक्ष्य राखेको छ । यसबाट अनुत्पादक क्षेत्रमा खर्च भइरहेको विप्रेषणलाई ऊर्जा उत्पादनमा प्रयोग गर्न सकिने सरकारको विश्वास छ ।

कानुन निर्माणमा पनि उस्तै गति

त्यस्तै, सरकारले ऊर्जा क्षेत्रको विकासका लागि कानुन निर्माणलाई पनि उत्तिकै प्राथमिकतामा राखेको छ । विद्युत् विधेयक र जलस्रोत विधेयक प्रतिनिधिसभाको पूर्वाधार विकास समितिमा छलफलको क्रममा छ । यस्तै, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक राष्ट्रियसभामा विचाराधिन अवस्थामा छ । ती तीन वटै विधेयक तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सङ्घीय संसदमा पेस गरेका थिए ।

सरकारले ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर वन क्षेत्रको जग्गा प्रयोग, रुख कटान, प्रसारण लाइन निर्माणमा थप सहजीकरण गर्ने एवं जग्गा प्राप्तिमा रहेको समस्या समाधानका लागि पनि विशेष पहल थालेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका उच्च राजनीतिक र प्रशासनिक नेतृत्वबीच समस्या समाधान गर्ने लक्ष्यका साथ यही भदौ ५ गते छलफल भएको छ । ऊर्जामन्त्री दीपक खड्काका अनुसार तीन महिनाभित्र वनसँग जोडिएका समस्या समाधानका लागि पहल गर्ने उद्देश्यका साथ छलफल भएको हो । ऊर्जा क्षेत्रसँग जोडिएका कुनै पनि परियोजनामा समस्या र जटिलता उत्पन्न हुने नदिने उद्देश्यका साथ छलफल भएको र नतिजा हासिल हुने उनको विश्वास छ ।

सरकारले २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ तर वन र जग्गा प्राप्तिमा रहेको समस्याले समयमा काम नहुने, आयोजना पनि महँगो बन्ने स्थितिको अन्त्यका लागि संरचनागत सुधार गर्नैपर्ने आवश्यकता देखिएको उल्लेख गर्दै मन्त्री खड्काले त्यसका लागि सार्थक पहल सुरु भएको जानकारी दिए ।

निजी क्षेत्रको बलियो साथ

सरकारको सार्थक प्रयास निजी क्षेत्रको बलियो साथका कारण पछिल्ला दिनमा ऊर्जा क्षेत्रमा सार्थक प्रगति भएको छ । प्राधिकरणको हाल प्रणालीमा उपलब्ध भएको कूल ऊर्जामध्ये निजी क्षेत्रको मात्रै ३५ हजार एक सय १४ मेगावाट घण्टा बराबर छ । कूल माग भने ५७ हजार पाँच सय ९४ मेगावाट घण्टा छ ।

प्राधिकरणको आफ्नै नौ हजार दुई सय ७६ मेगावाट घण्टा बराबरको ऊर्जा उपलब्ध छ । प्राधिकरणका सहायक कम्पनीका आयोजनाले १३ हजार ५४ मेगावाट घण्टा बराबरको ऊर्जा उपलब्ध गराएको छ । यस आधारमा निजी क्षेत्रको उपस्थिति बलियो र प्रभावकारी छ ।

निर्माणको चरणमा रहेका अधिकांश आयोजना पनि निजी क्षेत्रकै छन् । विगतको अध्यारा दिनहरु ऊर्जा क्षेत्रमा भएको विकास र विस्तारले क्रमशः उज्यालो र सबल बन्दै गएको छ । यसबाट ऊर्जा क्षेत्र नै आर्थिक विकासको खास अर्थमा संवाहक रहेकोसमेत पुष्टि हुन जान्छ । निजी क्षेत्रले अब ठूला आयोजनासमेत निर्माण गर्नसक्ने क्षमतामा आफूलाई विस्तार गरेको छ । त्यसबाट ऊर्जा क्षेत्रमा थप प्रगति हुने सहजै अनुमान गर्न सकिन्छ ।

वाणिज्य बैंकको ‘काउन्टरसाइक्लिक बफर’ शून्य प्रतिशत कायम

काठमाडौँ, १२ भदौः नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको काउन्टरसाइक्लिक बफर शून्य प्रतिशत कायम गरेको छ । नेपाल राष्ट्र बैंकले मङ्गलबार इजाजतप्राप्त ‘क’, ‘ख’, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

यसअघि वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्ममा यस्तो बफर शून्य दशमलव पाँच प्रतिशत कायम गर्नुपर्ने प्रावधान रहेकामा केन्द्रीय बैंकले चालु आवको साउनदेखि लागू हुने गरी शून्य प्रतिशत कायम गरेको हो । 

साथै २०८४ साल असार मसान्तसम्ममा बैंकहरुले न्यूनतम १५ प्रतिशत कर्जा लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा प्रवाह गर्नुपर्नेछ । जसमा यसअघि रु एक करोडभन्दा कम रकमका कर्जा उल्लेख भएकामा संशोधन गरी रु दुई करोड कायम गरिएको छ ।    यसबाट लघु, घरेलु तथा साना  एवम् मझौला उद्यमका क्षेत्रमा थप कर्जा प्रवाह भइ आर्थिक गतिविधि चलायमान हुने विश्वास लिइएको छ ।

मुसहर बालबालिकालाई विद्यालय पठाउन मुख्यमन्त्री सिंहको आग्रह

गोदार (धनुषा), १२ भदौः मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले मङ्गलबार साँझ धनुषाको विदेह नगरपालिकास्थित वैदेही स्कुल टोलको मुसहर बस्ती पुगी बालबालिकालाई विद्यालय पठाउन आग्रह गर्नुभएको छ ।

प्रत्येक महिना दलित बस्ती अवलोकन गरी त्यहाँको विकास निर्माण, शिक्षा, स्वास्थ्य तथा जीविकोपार्जनलगायत समस्याबारे स्थानीयसँग छलफल गर्ने कार्यतालिकाअनुसार मुख्यमन्त्री सिंह मङ्गलबार वैदेही स्कुल टोलको मुसहर बस्ती पुग्नुभएको थियो । 

उहाँले मुसहर बस्तीका महिला, बालबालिका, युवा तथा वृद्धसँग त्यहाँका समस्याबारे जानकारी लिनुभएको थियो । सो अवसरमा उहाँ बस्तीका घरघरमा पुगेर बालबच्चाको पढाइ, स्वास्थ्योपचार, सरसफाइ, आयआर्जनलगायतका विषयमा जानकारी लिनुभएको थियो । 

मुख्यमन्त्री सिंहले सङ्घीयताका कारण स्थानीय तहमा दलित महिलाको प्रतिनिधित्व सम्भव भएको उल्लेख गर्दै वर्तमान व्यवस्थालाई संस्थागत गर्ने जिम्मेवारी सबै समुदायको भएको बताउनुभयो । 

बनिबुतो गरेर जीविकोपार्जन गर्ने मुसहर समुदायका अधिकांश पुरुष रोजगारका लागि भारत जाने गर्छन् भने अधिकांश महिला कृषिसम्बद्ध श्रममा आबद्ध छन् । 

आयआर्जनका दृष्टिले लत्ताकपडा र छाक टार्न समस्या नरहे पनि यस समुदायका पुरुषमा जाँडरक्सीको लत रहेको महिलाहरुले मुख्यमन्त्री सिंहसँग गुनासो गरेका थिए । मुख्यमन्त्री सिंहले समस्या समाधानका लागि समुदाय स्तरबाटै पहल हुनुपर्नेमा जोड दिनुभएको थियो । 

उहाँले मुसहर बस्तीका बच्चाको शिक्षामा पहुँच सुनिश्चित गर्न राज्य र समुदाय दुवै स्तरबाट पहल गर्ने बताउनुभयो । उहाँले छोरा र छोरी दुवैको शिक्षामा ध्यान दिन आग्रह समेत गर्नुभएको थियो । 

“बालकालिकालाई घाँसदाउरा र मेलापात गराउने, बस्तुभाउका हेरालु बनाउने र अन्य घरका कामकाज गराउनेतिर नलाग्नुस्, विद्यालय  पठाउनुस्”, उहाँले भन्नुभयो, “शिक्षामा लगानी भयो भने समुदायको मुहार फेरिन्छ ।”

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चाँडै सञ्चालन हुनेछ : मुख्यमन्त्री आचार्य

रामपुर (पाल्पा), ११ भदौः लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चाँडै सञ्चालनमा आउने बताउनुभएको छ ।आज नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा मुख्यमन्त्री आचार्यले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न पहल भइरहेको र अब चाँडै नतिजा आउने बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी आएका पर्यटकलाई पाल्पा, गुल्मी हुँदै बाँके, बर्दियासम्म लुम्बिनी सर्किटका रुपमा जोड्ने योजना बनाउनुपर्नेमा जोड दिनुभयो । पहाड र तराई क्षेत्र जोड्नका लागि सो योजना रहेको बताउँदै उहाँले लुम्बिनी प्रदेशको पर्यटकीय क्षेत्र अगाडि बढाउन पहल गरिरहेको जानकारी दिनुभयो ।

भ्रष्टाचार न्यूनीकरण गर्न, सुशासन कायम गर्न प्रदेश सरकार लागेको बताउँदै उहाँले पाँच लाखभन्दा माथिका योजना प्रतिस्पर्धाका माध्यमबाट अगाडि बढाउने तयारी गरिएको जानकारी दिनुभयो । नयाँ सरकार बनेको एक महिनाको अवधिमा प्रदेश सरकारले केही सुधारात्मक काम गरेको र अघिल्लो सरकारको कामलाई पनि निरन्तरता दिइने मुख्यमन्त्री आचार्यले स्पष्ट पार्नुभयो । 

सरकार स्थिर भए नीतिगत स्थिरता कायम हुन्छ : अर्थमन्त्री पौडेल

काठमाडौँ, ११ भदौः उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार स्थिर हुनसके मुलुकमा नीतिगत स्थिरता पनि कायम हुने बताउनुभएको छ । आजदेखि काठमाडौँमा सुरु भएको ‘नाडा अटो शो २०२४’ को उद्घाटन समारोहमा अर्थमन्त्री पौडेलले विद्यमान व्यवस्थामा बन्नसक्ने स्थिर र मजबुद सरकारका रुपमा वर्तमान सरकार रहेको दाबी गर्नुभयो ।

“राजनीतिक परिस्थिति अस्थिर भयो भने नीतिगत स्थिरता कायम हुन सक्दैन । अहिले बनेको यो सरकार स्थिर हो, यसले नीतिगत स्थिरताको पनि बलियो आधार दिएको छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो । सरकारको स्थिरतासँगै अब नीतिगत स्थिरता पनि कायम हुने उहाँको भनाइ छ ।

निजी क्षेत्रले व्यापारभन्दा पनि उद्योग र आन्तरिक उत्पादन बढाउनेतर्फ केन्द्रित हुनुपर्नेमा अर्थमन्त्री पौडेलको जोड थियो । उद्योग क्षेत्रमा लगानी बढाउने  र आन्तरिक उत्पादन प्रवर्द्धन गरेर मात्र मुलुकको अर्थतन्त्र सुदृढ हुँदै जाने उहाँको भनाइ छ । अर्थमन्त्री पौडेलले सरकारका मन्त्रीहरू औपचारिक कार्यक्रममा बढी अल्झिँदा मन्त्रालयका काम प्रभावित हुनसक्ने भएकाले महत्त्वपूर्ण कार्यक्रमबाहेकमा मन्त्रीहरूलाई आमन्त्रण नगर्न पनि आग्रह गर्नुभयो ।

नाडा अडो सो उद्घाटन कार्यक्रममा निजी क्षेत्रले सवारीसाधनलाई विलाशिताका वस्तुभन्दा पनि आवश्यकताको वस्तुका रुपमा लिइनुपर्ने धारणा राखेको छ । साथै, नीतिगत स्थिरता कायम हुनुपर्ने माग पनि निजी क्षेत्रको छ । 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अटोमोबाइल क्षेत्रलाई बिसाली वस्तुका रुपमा भन्दा पनि आवश्यक वस्तुका रुपमा लिइनुपर्ने बताउनुभयो । त्यसका लागि सरकारको नीति परिवर्तन हुनुपर्ने उहाँको भनाइ छ ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवालले मुलुकको समग्र अर्थतन्त्र सुस्ताकएका कारण अटोमोबाइल क्षेत्र सुस्ताएको बताउनुभयो । सरकारको वित्त नीति तथा मौद्रिक नीतिबाट केही सहज व्यवस्था गर्नसके अटोमोबाइल क्षेत्रको बजार केही चलायमान हुने उहाँको भनाइ छ । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले पनि अटोमोबाइल क्षेत्रलाई आवश्यक वस्तुका रुपमा परिभाषित गर्नेगरी नीति निर्माण गरिनुपर्ने बताउनुभयो ।

नाडाका अध्यक्ष करण चौधरीले अटोमोबाइल क्षेत्रको कारोबार पारदर्शी रहेको बताउँदै अटोमोबाइल क्षेत्रमा सरकारको नीतिगत स्थिरता आवश्यक रहेको बताउनुभयो । खुला सीमानाका कारण हुने अवैध व्यापार रोक्न सरकार जिम्मेवार भएर लाग्नुपर्ने पनि उहाँको भनाइ छ । 

अटोमोबाइल क्षेत्रमा रु एक खर्बभन्दा बढी लगानी रहेको बताउँदै उहाँले मुलुकको अर्थतन्त्रलाई पनि यो क्षेत्रले महत्त्वपूर्ण टेवा पु¥याउँदै आएको बताउनुभयो । नेपालमा विद्युतीय गाडीको प्रयोग बढाउन थप पूर्वाधार आवश्यक रहेको पनि उहाँको भनाइ छ ।  

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा आजदेखि भृकुटीमण्डपमा ‘नाडा अटो शो, २०२४’ सुरु भएको छ । प्रदर्शनीमा विभिन्न सवारीसाधन तथा त्यसका पाटपुर्जा, बैंक तथा वित्तीय क्षेत्र, बीमा कम्पनीलगायतका स्टल राखिएका छन् । प्रदर्शनी साउन १६ गतेसम्म चल्नेछ ।

बाढीपहिरोमा परी २०८ जना जनाको मृत्यु, ५३ जना बेपत्ता

काठमाडौँ, ११ भदौः मनसुनी वर्षाका कारण गएको जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्परी आज दिउँसोसम्म दुई सय आठजनाको मृत्यु भएको छ ।

बाढी, पहिरोलगायत विपद्परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २९, मधेस प्रदेशमा आठ, बागमती प्रदेशमा ४५, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३७, कर्णाली प्रदेशमा १४ र सुदूरपश्चिम प्रदेशमा १६ जना गरी जम्मा दुई सय आठजनाको मृत्यु भएको हो ।

साथै काठमाडौँ उपत्यकामा ११, कोशी प्रदेशमा ४२, मधेस १२, बागमतीमा ३१, गण्डकीमा ४७, लुम्बिनीमा २५, कर्णालीमा ६७ र सुदूरपश्प्रदेशमा ३६ जना गरी जम्मा दुई सय ७१ जना घाइते भएका प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकामा ३३ जना, कोशी प्रदेशमा ४९, बागमतीमा १२, गण्डकीमा १४, लुम्बिनीमा चार, कर्णालीमा दुई र सुदूरपश्चििम प्रदेशमा एक सय एकजना गरी जम्मा दुई सय १५ जनाको उद्धार गरिएको छ ।

बाढीपहिरोमा परी कोशी प्रदेशमा तीन, मधेस एक, बागमतीमा ४४, गण्डकीमा दुई, लुम्बिनीमा एक, कर्णालीमा एक र सुदूरपश्चििम प्रदेशमा एकजना गरी ५३ जना बेपत्ता भएका छन् । बाढीको कारण जम्मा चार सय आठ घर डुबानमा परेका छन् । तीन सय ६४ वटा घर, एक सय २६ गोठ, ५२ पुल, छवटा विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । नौ सय ७२ वटा पशु चौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्घटनाबाट छ हजार ४९ घरपरिवार विस्थापित भएका छन् ।

रोजगारी सृजना गर्न मधेस सरकार लागिपरेको छ : मुख्यमन्त्री सिंह

महेन्द्रनगर (धनुषा), ११ भदौ : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशमा सुशासन, प्रभावकारी सेवा प्रवाह तथा रोजगारी सृजना गर्ने पक्षमा वर्तमान सरकार लागिपरेको बताउनुभएको छ ।मङ्गलबार मुख्यमन्त्री सिंहले प्रेस स्वतन्त्रता सेनानी एवं वरिष्ठ पत्रकार स्वर्गीय राजेश्वर नेपालीको प्रथम पुण्यतिथिको अवसरमा जनकपुरधाम उपमहानगरपालिका–२३ बेलामा वृक्षारोपण अभियानको शुभारम्भ गर्दै नकारात्मक कुरालाई मात्र समाचारको विषय बनाएको खण्डमा सिङ्गो समाज नै नकारात्मक बन्ने भएकाले सकारात्मक सोचका साथ पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले गलत व्यक्तिका क्रियाकलापका कारणले सङ्घीयतालाई बदनाम गराउने कुचेष्टा भए पनि जनताको घरदैलोमा सेवा सुविधा प्रदान गर्ने सङ्घीय गणतन्त्र जस्तो अरू कुनै शासन व्यवस्था नभएकाले सङ्घीयताको पक्षमा कलम चलाउनका लागि पत्रकारहरूलाई आग्रह गर्नुभयो ।

मुख्यमन्त्री सिंहले स्वर्गीय राजेश्वर नेपालीले सधैँ लोकतन्त्र तथा गणतन्त्रका लागि सङ्घर्ष गर्नुभएको बताउँदै उहाँको निर्भिक पत्रकारिता अहिलेका युवापुस्ताका पत्रकारका लागि प्रेरणाको स्रोत बनेको बताउनुभयो ।

सङ्घीयताको संस्थागत विकासका लागि जनताले सङ्घीयताको अनुभूति गर्नेगरी प्रदेश सरकारले काम गर्न चाहेको उहाँले उल्लेख गर्नुभयो । जनकपुरधाम उपमहानगरपालिका–२३ का वडाध्यक्ष राघवेन्द्रप्रसाद साहको अध्यक्षतामा भएको सो कार्यक्रममा मुख्यमन्त्री सिंहले बरको वृक्ष रोपेर वृक्षारोपण अभियानको शुभारम्भ गर्नुभयो ।

जनकपुरधाम–भिठामोड चार लेन विद्यापति सडक जनकपुरधामको वेला पुलबाट महोत्तरीको बनौली मोडसम्म आँप तथा चम्पाको फूल गरेर चार सय ५० वटा बिरुवा रोप्ने कार्यक्रम रहेको वडा नंं २३ का वडाध्यक्ष राघवेन्द्र साहले बताउनुभयो ।

गणतन्त्र स्थापनापछि महिला सशक्तीकरण बढेको छ : मन्त्री सुडी

काठमाडौँ, ११ भदौः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर सुडीले गणतन्त्र स्थापना भएपछि महिला सशक्तीकरणका क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताउनुभएको छ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजना गरेको दोस्रो महिला नेतृत्व कन्क्लेभमा उहाँले गणतन्त्र स्थापनापछि महिलाको सहभागिता र सशक्तीकरणमा उल्लेख्य उपलब्धि हासिल भएको बताउनुभयो ।

उहाँले गणतन्त्रपछि नै स्थानीय तहमा महिलाको प्रतिनिधित्व ४० प्रतिशत सम्भव भएको उल्लेख गर्नुभयो । “संविधानमार्फत हामीले महिलाका लागि ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेका छौँ, तर त्यो पर्याप्त छैन, आजका दिनसम्म जेजति उपलब्धि हासिल भएका छन् । त्यसलाई संस्थागत गर्दै ५० प्रतिशत सहभागिता बढाउनु आवश्यक छ”, उहाँले भन्नुभयो ।

पछिल्लो समय दूरदराजमा महिलामा पछिल्लो समय जागरुकता बढेको र त्यसलाई थप प्रोत्साहन गर्दै अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । मन्त्री सुडीले आफूलाई मतदान गर्ने कूल मतदातामध्ये ५६ प्रतिशत महिला रहेको उल्लेख गर्दै भन्नुभयो, “मलाई महिलाले विजयी बनाउने र उनीहरुको हकहितका लागि काम नगर्ने भन्ने हुँदैन, यो मेरो जिम्मेवारी पनि हो । म सरकारको प्रतिनिधिका हैसियतमा महिलाको अर्थपूर्ण सहमगिता बढाउनका लागि पहल गर्ने प्रतिबद्धता जनाउँछु ।”

आफू पाँच वर्ष प्रदेशमा मन्त्री रहँदा प्रदेश लोकसेवा आयोगको परीक्षामा ५० प्रतिशत कोटा महिलाका लागि छुट्याइनुपर्ने विषयमा कानुन निर्माण गरेको उहाँले स्मरण गर्नुभयो । मन्त्री सुडीले आगामी असोज ६ गतेसम्म देशभरमा विभिन्न क्षेत्रमा क्रियाशील एक हजार महिलालाई राजधानी काठमाडौँमा जम्मा गरेर नेतृत्व विकास र संविधान तथा कानुनबारे जानकारी दिनेगरी मन्त्रालयले तयारी गरिरहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा इक्यानका अध्यक्ष शेषराज भट्टराईले महिलाको उपस्थितिले कुनै पनि क्षेत्रलाई बलियो बनाउनसक्ने विषय शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील महिलाले प्रमाणित गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “महिला र पुरुष सबै उत्तिकै क्षमतावान् छौँ, अवसर प्राप्त भएका बखतमा विभिन्न क्षेत्रमा महिलालाई आफूलाई प्रमाणित गरिसक्नुभएको छ, इक्यानको यो कार्यक्रम यही यथार्थलाई थप प्रमाणित गर्नु हो ।”

उहाँले कुनै पनि क्षेत्रमा महिलाको सहभागिता मात्रै नभई अर्थपूर्ण सहभागिताले मात्रै वास्तविक प्रतिनिधित्व हुने उल्लेख गर्दै राज्यका नीति निर्माणका तहमा पनि उहाँहरुको उपस्थिति बलियो हुनुपर्छ भन्ने इक्यानको मत रहेको बताउनुभयो । उहाँले महिलाको उपस्थितिले व्यवसायलाई थप बलियो बनाउनेमा आफू विश्वस्त रहेकोसमेत उल्लेख गर्नुभयो ।

त्यस अवसरमा शैक्षिक परामर्श क्षेत्रमा लामो समयदेखि क्रियाशील भई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा महत्त्वपूर्ण योगदान दिने विभिन्न उद्यमी महिलालाई सम्मान गरिएको थियो । मन्त्री सुडीले उनीहरुलाई प्रमाणपत्र र अध्यक्ष भट्टराईले खादा ओढाएर सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा डा नम्रता पाण्डेले सहभागीलाई काम र व्यक्तिगत जीवनलाई कसरी सन्तुलित राख्ने भन्ने विषयमा ‘मोटिभेसन’ दिनुभएको थियो । उहाँले महिलाका लागि निजी जीवन, परिवार र व्यावसायिक जीवनबीचको सन्तुलन कायम गर्न चुनौतीपूर्ण भए पनि आध्यात्मिकताका माध्यमबाट त्यसलाई सन्तुलनमा राख्न सकिनेमा जोड दिनुभयो । सम्मानित हुनेमा डा सन्तोष अग्रवाल, रश्मी भण्डारी, विजया चापागाईं, सन्ध्या भण्डारी, सफला ताम्रकार, उषा श्रेष्ठ, कविता पाण्डे पौडेल, सलिना थापा र सुष्मा आचार्य थिए ।

महिलालाई नेतृत्व तहमा ल्याउन नीतिगत तहमै सुधार आवश्यक

सरोकारवालाले महिलालाई नेतृत्व तहमा ल्याउनका लागि नीतिगत तहबाटै सम्बोधन हुनुपर्नेमा जोड दिनुभएको छ । आजै आयोजित ‘महिला नेतृत्वमा सशक्तीकरण’ विषयक अन्तरक्रियामा उहाँहरूले नेतृत्व तहमा महिलाको प्रतिनिधित्व मात्रै नभई अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।

महिला उद्यमी महासङ्घका अध्यक्ष शोभा ज्ञवालीले महिलालाई अवसर दिनसके नेतृत्व तहमा रहेर धेरै काम गर्नसक्ने धारणा व्यक्त गर्नुभयो । उहाँले नीतिगत तहदेखि कार्यान्वयन तहसम्म महिलामैत्री वातावरण बनाउनसक्ने हो भने महिलालाई नेतृत्व तहमा स्थापित गर्न सकिने बताउनुभयो । यसका लागि महासङ्घले पनि काम गरिरहेको उहाँको भनाइ थियो । उहाँले पछिल्लो समय उद्यममा लाग्ने महिलाका लागि कर्जा प्रवाहदेखि क्षमता अभिवृद्धि र सञ्जाल विस्तारका लागि महासङ्घले काम गरिरहेको उल्लेख गर्नुभयो ।

“महिलालाई स्थानीय तहदेखि नै प्राविधिक जानकारीसहितको तालिम, डिजिटल साक्षरता, नेटवर्क स्थापना तथा राष्ट्रिय र अन्तर्राष्ट्रियसम्मको पहुँच स्थापित हुनेगरी सहजता प्रदान गर्नु आवश्यक छ, त्यसो हुन सकेको अवस्थामा महिलालाई नेतृत्व तहमा पनि स्थापित गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

नेपाल पुँजीबजार लगानी सङ्घकी अध्यक्ष राधा पोखरेलले सरकारले घरजग्गामा कारोबारमा जस्तै पुँजीबजारमा पनि महिलाका लागि छुटको व्यवस्था जरुरी रहेको बताउनुभयो । “पुँजी बजारका ६२ लाख लगानीकर्तामा महिलाको सङ्ख्या २० प्रतिशत मात्रै छ”, उहाँले भन्नुभयो, “घरजग्गा कारोबारमा राजस्वमा छुट दिँदा महिलाका नाममा सम्पत्ति राख्ने चलन बढेको छ, पुँजीबजारमा पनि सोही प्रकारको व्यवस्था भए सहभागिता बढाउन सकिन्छ ।” उहाँले शेयर बजारका कारण सम्पत्तिमाथि महिलाको पहुँच र उनीहरुको निर्णय गर्ने क्षमता बढाएको बताउनुभयो ।

ब्रिटिस काउन्सिल नेपालकी शैक्षिक तथा परीक्षा प्रमुख प्रतीशा थापा रायमाझीले ग्रामीण तहदेखि नै महिलालाई शिक्षाको सहज पहुँच सुनिश्चित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले महिलालाई नेतृत्व तहमा आफूलाई स्थापित गर्नका लागि सपना देख्न र त्यसलाई दृढताका साथ कार्यान्वयन गर्न सुझाव दिनुभयो । हरेक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागितामा जोड दिँदै महिलाले नेतृत्व गरेका क्षेत्रमा तुलनात्मक रुपमा राम्रो काम भइरहेको आफूले पाएको अनुभव उहाँको अनुभव थियो ।

हस्पिटालिटी क्षेत्रकी उद्यमी सुनिता अधिकारीले महिला नेतृत्व तहमा आउनका लागि सबैभन्दा पहिले आत्मविश्वास र लगनशीलता जरुरी रहेको बताउनुभयो । उहाँले अहिले विभिन्न क्षेत्रमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित भए पनि त्यो अर्थपूर्ण हुनुपर्नेमा जोड दिनुभयो ।

विश्वभरका नेपाली स्वास्थ्यकर्मीको संलग्नतामा ‘नेपाल हेल्थ समिट’ आयोजना गर्ने निर्णय

काठमाडौँः ११ भदौः नेपालको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाउन सरकारले स्वास्थ्य क्षेत्रमा विश्वभर क्रियाशील नेपाली विज्ञहरूका सहभागितामा ‘नेपाल हेल्थ समिट’ आयोजना गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज यससम्बन्धी निर्णय गर्नुभएको हो । गत साउन २७ गते उहाँले सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा ‘नेपाल बाहिर विभिन्न देशमा विज्ञता र अनुभव हासिल गरिरहेका स्वास्थ्य जनशक्तिको सीप र दक्षतालाई नेपालको स्वास्थ्य सेवा प्रणालीसँग आबद्ध गर्न आवश्यक प्रबन्ध गरिने’ उल्लेख थियो ।

विश्वभरका नेपाली चिकित्सक, अनुसन्धानकर्ता, प्राज्ञिक व्यक्तित्व तथा नर्सहरुको सीप र दक्षतालाई देशको स्वास्थ्य सुधारमा उपयोग गर्न आवश्यक सुझाव लिनका लागि सम्मेलन गर्न लागिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “समिटमा सहभागी नेपाली विज्ञबाट प्राप्त सुझावका आधारमा मन्त्रीको लक्ष्यअनुसार स्वास्थ्य क्षेत्रमा सुधारको कार्ययोजना तयार पारिनेछ ।” मन्त्रालयले यसका लागि आवश्यक तयारी गर्न डा प्रकाश थपलियाको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा स्वास्थ्य विज्ञ डा शम्भु आचार्यसँगै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सङ्क्रामक रोग विशेषज्ञ डा जनक कोइराला तथा धुलिखेल अस्पतालका डा विराज कर्माचार्यलाई सदस्य छन् ।

यसैगरी विज्ञहरु डा रुना झा, डा अर्चना अमात्य, वरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुङ्गाना र प्रमुख जनस्वास्थ्य प्रशासक डा भीमप्रसाद सापकोटा र नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिलाई सदस्य तोकिएको छ ।   कार्यदलको सुझावका आधारमा मन्त्रालयले सम्मेलनको मिति तथा आवश्यक कार्यढाँचा तय गर्ने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

ऊर्जा क्षेत्रको विकासका लागि ऊर्जामन्त्री खड्काद्वारा पूर्वमन्त्रीहरूसँग छलफल

काठमाडौँ, ११ भदौः पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीहरूले मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आज मन्त्रालयमा आयोजना गर्नुभएको पूर्वमन्त्रीसँगको छलफलमा उहाँहरूले ऊर्जा क्षेत्रको विकासमा सबै राजनीतिक दलले एउटै धारणा बनाएर अगाडि बढ्नुपर्ने बताउनुभएको हो ।

छलफलमा ऊर्जामन्त्री खड्काले सरकारले आगामी १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले यसलाई पूरा गर्न पूर्वमन्त्रीको राय र सुझाव आवश्यक रहेको बताउनुभयो ।
“मुलुकले सबैभन्दा ठूलो आयस्रोतका रूपमा ऊर्जा क्षेत्रलाई लिएको छ, यसलाई कसरी अगाडि बढाउन सकिन्छ, यहाँहरूजस्ता पूर्वमन्त्रीको अनुभव, राय र सल्लाह मन्त्रालयलाई आवश्यक पर्छ”, उहाँले भन्नुभयो ।

मन्त्री खड्काले बुढीगण्डकी, दूधकोशी, नलगाड, फुकोट कर्णाली, पञ्चेश्वर, माथिल्लो अरुण जलविद्युत्जस्ता आयोजनालाई लगानी कसरी जुटाएर अगाडि बढाउन सकिन्छ, उच्च क्षमताको विद्युत् प्रसारण लाइन निर्माण र विस्तारमा निजी क्षेत्रलाई कसरी आकर्षण गर्न सकिन्छ भन्नेबारे पूर्वमन्त्रीको राय सुझाव माग्नुभएको थियो ।

यस्तै छिमेकी मुलुक भारत, चीन र बङ्गलादेशसँग विद्युत् व्यापारमा सन्तुलन कायम गर्ने र अधिकतम लाभ लिने विषय, विद्युत् निर्यातमा भारत, चीनबाहेक अन्य मित्रराष्ट्रसँगको लगानीका लागि सम्भावनाका विषय, संसद्मा दर्ता भएको विद्युत् विधेयकसम्बन्धी विषयलाई अगाडि बढाउनेबारे छलफल गर्नुभएको थियो ।

पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको समृद्धिको क्षेत्र जलस्रोत क्षेत्र भएकाले यसलाई अधिकतम् प्रयोग गरेर देशले फाइदा लिनुपर्ने बताउनुभयो । “समयमै आयोजना नसकिँदा लागत बढेर गएको छ, यसलाई सुक्ष्म रूपमा विश्लेषण गरेर समाधानतर्फ लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।

पूर्वमन्त्री कार्कीले जलविद्युत् निर्यात गर्ने मुलुकका रूपमा नेपाललाई स्थापित गर्नका लागि मुलुकको ध्यान जलविद्युत् क्षेत्रको विकासमा हुनुपर्ने उल्लेख गर्नुभयो । विद्युत् क्षेत्रको विकास नभई मुलुकको विकास हुन नसक्ने उहाँको भनाइ थियो ।

पूर्वमन्त्री डा प्रकाशशरण महतले विद्युत् उत्पादनसँगै प्रसारण लाइनको विकासलाई समेत प्राथमिकता दिनुपर्ने बताउनुभयो । “जलविद्युत्गृहमा समयमै प्रसारण लाइन नजोडिँदा उत्पादित बिजुली खेर जाने अवस्था आएको छ, यसलाई सम्बोधन गर्न मन्त्रालयले विशेष ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।

डा महतले डेडिकेटेड र ट्रङ्कलाइनका सम्बन्धमा देखिएको विवादलाई कानुनबमोजिम टुङ्ग्याउनुपर्ने बताउनुभयो । उहाँले जलस्रोतसँगै सौर्य ऊर्जालाई समेत प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो ।

पूर्वमन्त्री जनार्दन शर्माले प्रसारण लाइन निर्माणको जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने बताउनुभयो । राज्यको नेतृत्व रहनेगरी प्रसारण लाइन निर्माणको जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने उहाँको भनाइ थियो । “प्रसारण लाइनको जिम्मा निजी क्षेत्रलाई दिनु उपयुक्त हुन्छ, किनकि हामीलाई हाइभोल्टेज आवश्यकता छ”, उहाँले भन्नुभयो ।

पूर्वमन्त्री वर्षमान पुनले मुलुकको राष्ट्रिय प्राथमिकता ऊर्जा क्षेत्र भएकाले ऊर्जा विकासमा सबै पार्टीको एउटै धारणा हुनुपर्ने बताउनुभयो । उहाँले ऊर्जा क्षेत्रको विकासका लागि आवश्यक नीतिलाई ग्यारेन्टी गरेर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । पूर्वमन्त्री पुनले भू–राजनीतिकको संवेदनशीलता हेरेर छिमेकी मुलुकबाट लगानी भित्र्याउन सरकार लाग्नुपर्ने बताउनुभयो । विद्युत् विधेयकलाई तत्काल अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो ।

पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र विद्युत् विकास विभागबीच समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले ऊर्जा क्षेत्रलाई अगाडि बढाउन जलाशययुक्त आयोजनालाई अगाडि बढाउनुपर्ने उल्लेख गर्नुभयो ।

पूर्वमन्त्री गोकर्ण विष्टले मुलुकमा ऊर्जा सन्तुलनका लागि जलाशययुक्त आयोजनालाई अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले ऊर्जा क्षेत्रको समस्या समाधानका लागि ऊर्जा विधेयकलाई चाँडो पास गर्नुपर्ने उल्लेख गर्नुभयो ।

पूर्वमन्त्री महेन्द्रबहादुर शाहीले निजी क्षेत्रलाई ऊर्जा क्षेत्रमा आकर्षण गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । नेपालको ठूलो आर्थिक स्रोत जलस्रोत भएकाले यसको विकासमा मन्त्रालय योजना बनाएर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो । उहाँले विद्युत् विधेयकलाई तयार गर्दा विद्युत् क्षेत्रका विज्ञसँग छलफल गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । पूर्वमन्त्री शाहीले ऊर्जाको विकासका लागि वैकल्पिक ऊर्जालाई समेत ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

झापामा जङ्गली हात्तीबाट धानबाली जोगाउन ‘मोबाइल फेन्सिङ’

झापा, ११ भदौः जङ्गली हात्तीबाट धानबाली जोगाउन कोशी प्रदेशमा पहिलोपटक मेचीनगरमा ‘मोबाइल फेन्सिङ’ लगाउन सुरु गरिएको छ । मेचीनगर नगरपालिका–१ र ४ को पाँच सय बिघा जमिनमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को आर्थिक सहयोग र उज्यालो नेपाल बर्दियाको प्राविधिक सहयोगमा मोबाइल फेन्सिङ (घुम्ती घेराबेरा) सुरु गरिएको वडा नं ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले बताउनुभयो ।

उहाँले मोबाइल फेन्सिङका कारण तीन सयभन्दा बढी किसानको धानबाली हात्तीबाट जोगाउन सकिने बताउनुभयो । “धान पाक्न सुरु भएपछि भारतबाट हुल बाँधेर आउने जङ्गली हात्तीबाट जोगाउन मुस्किल छ”, उहाँले भन्नुभयो, “किसानहरूको बाली जोगाउन मोबाइल फेन्सिङ गरेका हौँ । कति सफल हुन्छ हेर्न बाँकी छ ।”

उहाँका अनुसार मेचीनगर नगरपालिका–४ को आलेटुङ्गबाट आमडाँगी बिजुवासम्म मेचीखोलातर्फको धानखेतीमा तीन बिघा तीनतिरबाट फेन्सिङ गरेर घेरिनेछ । बाँकी वडा नं १ मा दुई सय बिघा यसैगरी घेराबेरा गरिने उहाँले बताउनुभयो ।

उहाँले स्थानीय क्षेत्रमा पाइने बाँसको पोल, खानेपानीको पाइप र विद्युत् प्रवाह हुने नाङ्गो तारबाट फेन्सिङको संरचना निर्माण गरिएको जानकारी दिनुभयो । सौर्य ऊर्जामार्फत सञ्चालित यो प्रविधि हात्ती धपाउन यसअघि बर्दिया जिल्लामा मात्र प्रयोग भएको थियो । यसबाट प्रवाह हुने विद्युतीय करेन्टले बाली खान आउने हात्तीलगायत जनावरलाई झट्का दिएर धपाउने उहाँले जानकारी दिनुभयो ।

उज्यालो नेपाल बर्दियाका प्रतिनिधि रमेशकुमार थापाले बर्दियाको मधुवन नगरपालिकामा यो प्रविधिको सफल परीक्षण भइसकेको हुँदा झापामा पनि प्रयोग गरिएको बताउनुभयो । उहाँले इसिमोडको रु १३ लाखको आर्थिक सहयोगमा मोबाइल फेन्सिङ गरिएको बताउनुभयो ।

“हामी बर्दियामा पहिलोपटक गरिएको परीक्षणमा सफल भयौँ, यहाँ दोस्रोपटक परीक्षण गर्दैछौँ, सफल हुनेमा हामी ढुक्क छौँ”, उहाँले भन्नुभयो । धानखेती मात्र नभएर अन्य खेतीमा समेत सो प्रविधिको प्रयोग गर्न मिल्ने हुँदा आवश्यकतानुसार यसलाई ठाउँ सारेर प्रयोग गर्न मिल्ने बताउनुभयो ।

हाल झापाको जङ्गल वरिपरि सयौँ किलोमिटर लामो स्थायी सोलार फेन्सिङ निर्माण भइसकेको छ । भारतबाट हात्तीको हुल प्रवेश गर्न नसकोस् भनेर मेची नदीको किनारस्थित मेचीनगर–१, २, ३ र ४ मा १९ किलोमिटर लामो स्थायी सोलार फेन्सिङ रहेको छ ।

इरानका पूर्वविदेशमन्त्री जरिफद्वारा उपराष्ट्रपतिमा फर्किने घोषणा

इरानका पूर्वविदेशमन्त्री मोहम्मद जवाद जरिफले मङ्गलबार उपराष्ट्रपति पदमा फर्किने घोषणा गर्नुभएको छ । उहाँले यसै महिनाको प्रारम्भमा राष्ट्रपति मसुद पेजेस्कियानसमक्ष उपराष्ट्रपति पदबाट राजीनामा दिनुभएको थियो । पेजेस्कियानले अगस्ट १ मा जरिफलाई रणनीतिक मामिलाका लागि आफ्नो उपराष्ट्रपतिमा नियुक्त गर्नुभएको थियो । तर जरिफले १९ सदस्यीय मन्त्रिपरिषद्को ‘लाइन–अप’ का बारेमा आफ्नो निराशालाई उद्धृत गर्दै दुई साताभन्दा पनि कम समयमा राजीनामा दिनुभएको थियो ।

 उहाँले आफ्ना छोराछोरीसँग दोहोरो अमेरिकी नागरिकता भएकाले आफूले दबाबको सामना गर्नुपरेको बताउनुभयो ।

इरानमा कन्जरभेटिभहरूले जरिफलाई उपराष्ट्रपति पदमा नियुक्त गरेकामा राष्ट्रपति पेजेस्कियानको आलोचना गरेका छन् । जरिफ विश्व शक्तिहरूसँग सन् २०१५ को ऐतिहासिक आणविक सम्झौताको वार्तामा आफ्नो महत्त्वपूर्ण भूमिकाका लागि अन्तर्राष्ट्रिय मञ्चमा परिचित हुनुहुन्छ ।

जरिफले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भन्नुभएको छ, “राष्ट्रपतिले गर्नुभएको अनुगमन र परामर्श तथा उहाँको लिखित आदेशपछि म रणनीतिक उपराष्ट्रपतिका रूपमा आफ्नो कर्तव्यहरू जारी राख्नेछु ।”    मङ्गलबार इरानका सर्वोच्च नेता आयातुल्लाह अली खमेनीसँगको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकमा भाग लिनुभएका जरिफले पनि आफ्नो पदमा नयाँ मन्त्रिपरिषद्को प्रशंसा गर्नुभयो ।

गत साता इरानको नयाँ मन्त्रिपरिषद्का सबै सदस्यलाई संसद्बाट विश्वासको पूर्ण मत प्राप्त भएको थियो ।    संयुक्त राष्ट्रसङ्घमा इरानको प्रतिनिधित्व गरिसक्नुभएका जरिफले उदारवादी राष्ट्रपति हसन रुहानीको नेतृत्वमा सन् २०१३ र सन् २०२१ को बीचमा मुलुकको शीर्ष कूटनीतिज्ञका रूपमा सेवा गर्नुभएको थियो । 

अमेरिका एकपक्षीय रूपमा बाहिरिएपछि सन् २०१५ को आणविक सम्झौता तीन वर्षपछि प्रभावकारीरूपमा भङ्ग भएको थियो । तर यसलाई जरिफको जुझारु वार्ताकारका रूपमा प्रतिष्ठालाई बलियो बनाउन सहयोग प्राप्त भएपछि इरानलाई पश्चिममा पुनः खुला गर्यो । 

रुसद्वारा युक्रेनमा दोस्रो दिन पनि ठूलो आक्रमण

रुसले युक्रेनमा ८१ साहेद लडाकु ड्रोन र १० वटा क्रुज र ब्यालेस्टिक मिसाइलले मङ्गलबार राति दुई दिनमा दोस्रो आक्रमण गरेको युक्रेनी वायुसेनाले एक विज्ञप्तिमा जनाएको छ । वायु रक्षाले १६ क्षेत्रमा ६० ड्रोन र पाँच क्रुज मिसाइल खसालेको विज्ञप्तिमा उल्लेख छ । स्थानीय समयानुसार बिहान ९ बजेसम्ममा १० वटा लडाकु ड्रोन युक्रेनी हवाई क्षेत्रमा थिए ।

   मध्य युक्रेनी सहर क्रिभी रिहस्थित एक होटलमा भएको आक्रमणमा दुई जनाको ज्यान गएको र पाँच जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।     क्षेत्रीय गभर्नर इभान फेदोरोभका अनुसार दक्षिणी सहर जापोरिज्जियामा एक पुरुष र एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

पूर्वी खार्किभ क्षेत्रमा दुईवटा पूर्वाधार संरचनामा आक्रमण हुँदा ४१ वर्षीय व्यक्तिको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । किएभ सिटी सैन्य प्रशासनका अनुसार लगभग १५ ड्रोन र धेरै केएच–१०१ मिसाइलहरूले युक्रेनी राजधानीलाई निशाना बनाएको तर सबै हवाई लक्ष्यलाई रोकिएको थियो । 

   सोमबार रुसले युक्रेनमा द्वन्द्व सुरु भएयताकै सबैभन्दा ठूलो आक्रमणमा एक सय २७ मिसाइल र एक सय नौ लडाकू ड्रोन प्रहार गरेको थियो । युक्रेनको आपत्कालीन राज्य सेवाका अनुसार आक्रमणमा सात जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् ।  

भारतीय प्रहरीद्वारा प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहोरा प्रहार

भारतको कोलकातामा यसै महिना बलात्कार र हत्या गरिएकी चिकित्सकको न्यायका लागि माग गरिरहेका हजारौँ प्रदर्शनकारीसँगको झडपमा प्रहरीले मङ्गलबार अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ । कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको रगतले लतपतिएको शव प्राप्त भएपछि महिलाविरुद्ध हिंसाको दीर्घकालीन मुद्दामा मुलुकभर आक्रोश बढेको छ ।

मङ्गलबारको प्रदर्शनमा पश्चिम बङ्गालका मुख्यमन्त्री ममता बनर्जीको राजीनामा माग गर्दै हजारौँ मानिसले कोलकाताको एक सरकारी भवनसम्म जुलुस निकाले । उनीहरूले नारा लगाउँदै प्रहरीसँग झडप गरेपछि प्रहरीले भीडलाई तितरबितर गर्न लाठीचार्ज गर्यो ।    विरोध प्रदर्शनमा सहभागी कलेज छात्रा नमिता घोषले भीडले लाठीचार्जअघि ‘शान्तिपूर्ण विरोध’ गर्ने उद्देश्य राखेको बताउनुभयो । 

नाम उल्लेख नगर्ने शर्तमा एक वरिष्ठ प्रहरी अधिकारीले भन्नुभयो, “हिंसा फैलाएको आरोपमा कम्तीमा एक सय प्रदर्शनकारीलाई पक्राउ गरिएको छ ।” अपराधबाट प्रेरित कोलकातामा धेरै विरोध प्रदर्शन अनियन्त्रित राजनीतिक जुलुसहरूमा परिणत भएका छन् । यसमा राज्य सरकारसँग असन्तुष्ट सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का प्रदर्शनकारीहरूसँग प्रहरीको झडप भएको छ ।

भाजपा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी हो तर यो पश्चिम बङ्गालको राजधानी कोलकातामा विपक्षी दल हो । भाजपाका प्रदर्शनकारीहरूले बनर्जी सरकारमाथि महिलाका लागि असुरक्षित वातावरण बनाएको आरोप लगाएका छन् । असुरक्षित वातावरणले चिकित्सकको हत्यालगायतका अपराध हुन दिएको उनीहरूले बताएका छन् । चिकित्सकको शव शिक्षण अस्पतालको सेमिनार हलमा पाइएको थियो । उनी ३६ घन्टाका सिफ्टका क्रममा विश्रामका लागि त्यहाँ गएको थाहा भएको छ । 

धेरै सहरमा चिकित्सक सङ्घहरूले हत्याको विरोधमा हडताल सुरु गरेका छन् । यसबाट गैर–आवश्यक सेवा बन्द भएका छन् तर पेशाकर्मी चिकित्सकहरू काममा फर्किएका छन् ।  उक्त हत्यामा एक जनालाई हिरासतमा लिइएको छ ।  आक्रमणको विभत्स प्रकृतिको तुलना सन् २०१२ मा दिल्ली बसमा एक युवतीमाथि भएको भयानक सामूहिक बलात्कार र हत्यासँग गर्न थालिएको छ । 

तिखेढुङ्गाबाट हराएका दुई स्पेनिस नागरिकमध्ये एकजनाको शव फेला

कास्की, ११ भदौः कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट आइतबार हराएका दुई स्पेनिस नागरिकमध्ये आज एकजनाको शव फेलापरेको छ । अन्नपूर्णको उल्लेरी हुँदै घोरेपानी जाने क्रममा पर्यटकद्वय ३७ वर्षीय इरिक कासानोभास र ३२ वर्षीया मोलास जुन्का मेसी बेपत्ता भएका थिए ।

खोजीका क्रममा इरिकको शव उनीहरूको झोला भेटिएको स्थान मौजाखोलाभन्दा अन्दाजी एक किमी तल भुरुङ्दी खोलाको बीचमा ढुङ्गामा अड्किएको अवस्थामा फेलापरेको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिनुभयो । महिलाको अवस्था भने झै पत्ता लाग्न नसकेको उहाँले बताउनुभयो ।

सशस्त्र प्रहरीको खोताखोरसहितको टोली, नेपाल प्रहरी, जनप्रतिनिधि, पर्यटन व्यवसायी तथा स्थानीयवासीले विहानदेखि नै खोजी गरेका थिए । गत भदौ ९ गते बिहान अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को बिरेठाँटी चेकपोष्टमा घोरेपानी जाने भनेर पर्यटकले विवरण दर्ता गरेका थिए ।

सोही दिन साँझ बाटोमा दुईवटा झोला बेवारिस अवस्थामा भेटिएपछि पर्यटक हराएको आशङ्कामा खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार फेलापरेका झोला बिरेठाँटी प्रहरी चौकीमा ल्याएर खोलेर हेर्दा पर्यटकको भएको पुष्टि भएको थियो ।

पदयात्रामार्गमा पर्ने भुरुङ्दी खोला नजिकको झरनामा तस्बिर लिने क्रममा पर्यटक खोलामा खसेको अनुमानका आधारमा सोमबार झरनाको आसपास र नदी किनारमा खोजी गरे पनि फेला पर्न सकेको थिएन । खोजीका क्रममा झरना नजिक आल्मुनियमका दुईवटा स्टिक (लौरी) भेटिएको थियो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना विरेठाँटी चेकपोष्टका इन्चार्ज यामबहादुर गुरुङले बेपत्ता महिला खोजीलाई बुधबार पनि निरन्तरता दिइने बताउनुभयो । पर्यटकको हराएको सूचना सम्बन्धित देशको राजदूतावासमा जानकारी गराइएको उहाँले बताउनुभयो ।

राधाकृष्ण रथयात्रा प्रदेशको पहिचान बनेको छः मुख्यमन्त्री कार्की

मोरङ, ११ भदौः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राधाकृष्ण रथयात्रा प्रदेशको पहिचान बनेको बताउनुभएको छ । भगवान् राधाकृष्ण रथयात्राको आज अपराह्न शुभारम्भ गर्दै उहाँले रथयात्रा यस क्षेत्रको परिचय र पहिचान बनेको धारणा राख्नुभयो ।

मुख्यमन्त्री कार्कीले रथयात्रा सिङ्गो नेपाल राष्ट्रको पहिचान बन्ने क्रममा रहेकामा राधाकृष्ण रथयात्रा परिवारलाई बधाई एवं शुभकामना दिनुभयो । उहाँले सनातन धर्म, संस्कृतिको रक्षा गर्नुपर्छ भन्दै मुलुकमा बसोबास गर्ने सम्पूर्ण जातजातिका धर्म, संस्कृति हाम्रो सम्पत्ति भएकाले यसको संरक्षण र प्रस्फुटन गराउन सदैव कार्य गर्ने बताउनुभयो ।

मुख्यमन्त्री कार्की कृष्णजन्मष्टमी र रथयात्रा पर्व एउटा जाति र सम्प्रदायको नभएर सम्पूर्ण नेपाली र विश्वका मानवजातिको संस्कृति र पहिचान बनेको विचार राख्नुभयो । उहाँले यो रथयात्रा विश्व शान्ति, मानवजातिको हित र प्राणी जगत्को रक्षाका लागि भएको चर्चा गर्दै विश्वमा देखापरेका जलवायु परिवर्तन समस्या समाधान, पृथ्वीको रक्षा र मानवजातिको पक्षमा रहेको बताउनुभयो । उहाँले प्रदेश सरकार राधाकृष्ण रथ, मन्दिर र धर्मशालाको भौतिक पूर्वाधार निर्माणमा साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले भगवान् राधाकृष्णको नयाँ रथ बनाउने आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभयो । रथयात्रा आयोजक समितिका संयोजक कैलाश रेग्मीले ९३औँ संस्करण यो रथयात्रा एसियाको दोस्रो ठूलो भएको जानकारी दिनुभयो ।

यात्राका क्रममा नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नुका साथै ड्रोन र सिसी क्यामेरा सुरक्षा व्यवस्था कायम गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो ।

प्यागोडा शैलीमा बनाइएको उक्त रथको लम्बाइ २२ फिट, चौडाइ १४ र उचाइ १८ फिट छ भने रथको अग्रभाग जुआबाट ७५ फिट लम्बाइका दायाँ र बायाँपट्टि फैलिएका लठ्ठा (डोरी)लाई पुरुष र महिला भक्तजनले रथलाई तानी सञ्चालन गरिएको थियो ।

रथको अग्रभागमा विभिन्न धार्मिक, जातजाति, सम्प्रदायका संस्कृति झल्कने झाँकी एवं भजनमण्डली रहेको रथयात्रा समारोहका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिनुभयो ।

उक्त रथयात्राको पूजाअर्जना गर्न, हेर्न तथा सहभागी हुन मोरङ, सुनसरी, झापा, सप्तरी र सीमावर्ती भारतीय जिल्लाका समेत गरी करिब सात लाख भक्तजनको सहभागिता रहेको अनुमान आयोजक समितिले जनाएको छ ।

विसं १९८८ देखि खटयात्रा र २०२७ सालबाट रथयात्रा सुरु गरिएको अध्यक्ष रेग्मीले जानकारी दिनुभयो । विराटनगरमा निकालिएको यो यात्रा भारतको उडिसा पुरीमा निकालिने भगवान् जगन्नाथपछि दोस्रो ठूलो रहेको आयोजकले जनाएका छन् । ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भदौ १६ गते बस्ने

काठमाडौँ, ११ भदौः नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही भदौ १६ गते दिउँसो २ बजे बस्ने भएको छ । उक्त बैठक यसअघि भदौ १२ गते बस्ने निर्धारण गरिएकामा यस अवधिमा सङ्घीय संसद् बैठक नियमित भएकाले कांग्रेसको बैठक भदौ १६ गतेका लागि तोकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उक्त बैठकमा कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ

कडाइका साथ राजस्व चुहावट नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ११ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीले कडाइका साथ राजस्व चुहावट नियन्त्रण गर्न निर्देशन दिनुभएको छ ।सिंहदरबारमा आज सम्बन्धित मन्त्रालय र निकायका प्रतिनिधिको छलफलमा प्रधानमन्त्री ओलीले चोरीपैठारी, भन्सार छली, भन्सार छुट वा न्यून बीजक गर्नेजस्ता गलत कार्यलाई रोक्न निर्देशन दिनुभएको हो ।

उहाँले रु १५ खर्बसम्म राजस्व सङ्कलन हुने अर्थतन्त्रको क्षमता भएकाले लक्ष्यअनुसार सङ्कलन हुन केके गर्नुपर्छ, त्यसको ठोस योजना ल्याउन आग्रह गर्नुभयो ।

छलफलमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव लीलादेवी गड्तौला, गृह र अर्थ मन्त्रालयका सचिवहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकहरु, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान अधिकृत, राजस्व अनुसन्धान विभाग, भन्सार विभागका महानिर्देशकलगायत सहभागी हुनुहुन्थ्यो ।

साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बङ्गलादेश भिड्ने

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुने भएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा बुधबार फाइनल भिडन्तमा दुवै टोलीले उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् ।

नेपाली राष्ट्रिय यु–२० टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले करिब ४५ दिन एन्फा मुख्यालयमा नै साफ च्याम्पियनसिपका लागि तयारी गरेको हुँदा फाइनल खेल पनि सोही स्थानमा हुने भएकाले आफ्नो टोलीलाई फाइदा पुग्ने बताए ।

यही भदौ ६ गते भएको समूह चरणको खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । प्रशिक्षक श्रेष्ठले समूह चरणको जितले केही अर्थ नराख्ने भन्दै फाइनल खेलका लागि आफ्नो टोलीको तयारी अवस्थामा रहेको बताए ।

श्रेष्ठले भने, “बङ्गलादेश एकदमै राम्रो टोली हो । हिजो भारतजस्तो बलियो टोलीलाई उसले हराएको छ । त्यसैले भोलि निकै प्रतिस्पर्धात्मक खेल हुने अनुमान गरेको छु ।” हिजो भएको सेमिफाइनल खेलमा बङ्गलादेशले भारतलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

त्यस्तै बङ्गलादेशका मुख्य प्रशिक्षक एकेएम मरुफुल हाकीले नेपाललाई मैदानको फाइदा रहे पनि आफूहरुको मनोबल उच्च रहेको र जितकै लागि खेल्ने प्रतिक्रिया दिए ।

प्रशिक्षक हाकीले यसअघि समूह चरणको खेलमा नेपालसँग आफ्नो टोली पराजित भए पनि भोलिको खेलमा उपाधि जित्ने मनोबलका साथ खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल र बङ्गलादेशबीचको फाइनल खेल दिउँसो २ः३० बजेदेखि सुरु हुनेछ ।

ब्राजिलमा ट्रान्जिटमा रहेका १७६ नेपाली सकुशलः नेपाली दूतावास

काठमाडौँ, ११ भदौः ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा रहेका एक सय ७६ नेपाली नागरिक सकुशल रहेका र उनीहरूलाई आवश्यकताअनुसार मानवीय सहायता पुर्‍याउन तयारी अवस्थामा रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले आज विज्ञप्तिमार्फत विमानस्थलको ट्रान्जिटमा नेपालीसहित करिब सात सय विदेशी रोकिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै नेपाली नागरिकलाई मानवीय सहायता पुर्‍याउन तयारी अवस्थामा रहेको उल्लेख गरेको छ ।

दक्षिण अमेरिकाका ब्राजिललगायत मुलुक हुँदै अवैध रुपमा संयुक्तराज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकमा आउने प्रवृत्ति बढ्दो छ । सङ्गठित रुपमा सञ्चालित मानव तस्करको प्रलोभन र उक्साहटमा परी नेपालबाट युवा यस क्षेत्रमा आउने गरेको जानकारी बेलाबेलामा हुने गरेको दूतावासले जनाएको छ । कैयौँले अकल्पनीय पीडा व्यहोर्नुका साथै ठूलो धनराशि खर्च गर्नुपर्ने परिस्थितिमा फस्न पुगेको पाइएको छ ।

“यसैबीच ब्राजिल सरकारले तत्काल लागू हुनेगरी नेपाललगायत केही देशका राहदानीबाहकलाई प्रवेशाज्ञा लिएको भएमा मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको छ”, विज्ञप्तिमा उल्लेख छ, “अब उप्रान्त नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने र त्यसरी नगएमा सोही विमानमार्फत फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइएको छ ।”

मानव तस्करको सञ्जाल प्रयोगगरी गरिने यस प्रकारको यात्रा अवैध, जोखिमपूर्ण र अनिश्चित हुने सन्दर्भमा जायज कारण भएमा सो पुष्टि गर्ने कागजात र प्रवेशाज्ञा लिई मात्र ब्राजिल वा ब्राजिल हुँदै अन्य मुलुकको भ्रमणमा निस्कनु हुन दूतावासले अनुरोध गरेको छ ।

पदाधिकारीसहित एक सय पाँच पोलिटब्यूरो सदस्य छनोटका लागि मतदान सुरु/ अध्यक्ष नेपालबाट मतदान

काठमाडौँ, ११ भदौः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को पदाधिकारीसहित एक सय पाँच पोलिटब्यूरो सदस्य छनोटका लागि मतदान सुरु भएको छ ।
पार्टीको निर्वाचन आयोगले उम्मेदवारी दर्ता, दाबी विरोध, उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशनलगायत कार्य पूरा गरेपछि मतदान साँझ ६ बजेदेखि सुरु भएको हो ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालले मतदान गर्नुभएको छ । मतदानलगत्तै मतगणना गरी परिणाम आजै रातिसम्म घोषणा गर्ने केन्द्रीय सदस्य ताजमोहम्मद मियाँले जानकारी दिनुभयो ।

सात उपाध्यक्ष, चार उपमहासचिव, सात सचिव गरी १८ पदमा पदाधिकारीसहित बाँकी पोलिटब्यूरो सदस्यका छनोटका लागि निर्वाचन गर्न लागिएको हो । एक सय पाँच पदका लागि भएको निर्वाचनमा करिब दुई सय उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित हुनुभएको छ ।

पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ । केन्द्रीय कमिटीको सदस्यले मात्र निर्वाचन प्रक्रियामा सहभागी हुन पाउनेछन् । सचिवालय सदस्य, स्थायी समिति सदस्य, विभागलगायत संरचना केही दिनपछि निर्माण गर्ने जनाइएको छ ।

केन्द्रीय कमिटीमा अहिले अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन् । केन्द्रीय कमिटीमा अहिले अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन् ।

नेपालको दुईदिने औपचारिक भ्रमण सम्पन्न गरी ओमानका विदेश मन्त्री स्वदेश प्रस्थान

काठमाडौँ, ११ भदौः ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुईदिने औपचारिक भ्रमण सम्पन्न गरी आज काठमाडौँबाट प्रस्थान गर्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले बिदाइ गर्नुभयो ।

उहाँ परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको निमन्त्रणामा यही भदौ १० र ११ गते नेपाल भ्रमणका क्रममा सोमबार यहाँ आउनुभएको थियो । भ्रमणका दौरान विदेशमन्त्री अल्बुसैदीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

त्यस्तै परराष्ट्रमन्त्री डा राणा र विदेशमन्त्री अल्बुसैदीबीच आज द्विपक्षीय भेटवार्ता भएको थियो । उहाँहरूबीच नेपाल र ओमानको द्विपक्षीय हित, सम्बन्ध विस्तार र साझा चासोका विविध विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

त्यसै वार्तामा हवाई कनेक्टिभिटी, श्रमसमबन्धी विषयहरू, लगानी, पर्यटन, कूटनीतिक आदानप्रदान एवं आवश्यक सबै प्रकारका सहयोग र समन्वयका विषयमा छलफल भएको थियो ।

‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मत स्वीकृत

काठमाडौँ, ११ भदौ : प्रतिनिधिसभाको बैठकले ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको बैठक उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

अर्थमन्त्री पौडेलले उक्त ऐन संशोधन आवश्यक रहेको उल्लेख गर्दै आजसम्मको अभ्यासका क्रममा शेयर मार्केटको सन्दर्भमा प्रशस्त अनुभव आर्जन गरेको बताउनुभयो ।

“खासगरी बजार विस्तार हुँदैछ, विस्तारित बजारलाई स्थिर ढङ्गले बढाउनुपर्ने, प्रभावकारी नियमनको प्रबन्ध, शेयरबजारका सम्बन्धमा नयाँ अभ्यासलाई हाम्रो परिपेक्ष्यअनुसार लागू गर्न यो विधेयक जरुरी छ”, मन्त्री पौडेलले भन्नुभयो, “यो धितोपत्र संशोधन विधेयक प्रस्तुत भएको हो, बजारमा अराजकता, अन्ुशासनहीनताको क्रियाकलाप हुन नदिन र लगानीकर्ताहरूलाई पीडित हुन नदिनका लागि प्रभावकारी नियमनको प्रबन्ध गरिएको छ ।”

उक्त विधेयकमाथिको छलफलमा सांसदहरू विराजभक्त श्रेष्ठ, डा प्रकाशशरण महत, वासुदेव घिमिरे, जुलीकुमारी महतो, रोशन कार्की, स्वर्णिम वाग्ले, हरि ढकाल, राजेन्द्रकुमार केसी, सुमना श्रेष्ठ, प्रेम सुवाल, मनिष झा, माधव सापकोटा, नारायणी शर्मा, नागिना यादवहरूले छलफलमा भाग लिनुभएको थियो ।

प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पति भएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ १२ दिनको १ बजे बस्नेछ ।

डेडिकेटेड र ट्रङ्क लाइनको महसुल उठाउने मन्त्री खड्काको प्रतिबद्धता

काठमाडौँ, ११ भदौः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रयोगका आधारमा डेडिकेटेड र ट्रङ्क लाइन विद्युत् महसुल उठाउने प्रतिबद्धता जनाउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले डेडिकेटेड र ट्रङ्क लाइनबारे आवश्यक प्रमाण दिने जिम्मा नेपाल विद्युत् प्राधिकरणको भएको उल्लेख गर्नुभयो ।

उहाँले लाल आयोगको प्रतिवेदनपछि प्राधिकरणले २०७२ साल माघदेखि २०७५ वैशाखसम्म प्रिमियम महसुलको बिल जारी गरेको पनि संसद् समक्ष प्रस्तुत गर्नुभयो । उहाँले डेडिकेटेड र ट्रङ्क लाइनको विद्युत् महसुल असुलउपरबारे संसद्को लेखा समितिमा छलफल चलिरहेकाले सरकारले सो समितिको निर्णयको प्रतीक्षा गरिरहेको बताउनुभयो ।

बुढीगण्डकी जलविद्युत् आयोजनाबारे सांसदहरूले सोध्नुभएको प्रश्नको जवाफ दिँदै उहाँले २०७९ साल भदौ १७ मा बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेड दर्ता भएको जानकारी दिनुभयो । “रु ४२ दशमलव ६५ अर्ब मुआब्जा रकम वितरण भएको छ, विस्तृत आयोजना प्रतिवेदन तथा वातावरणीय अध्ययन प्रतिवेदन तयार र स्वीकृत भएको छ”, उहाँले भन्नुभयो ।

उहाँ अनुमानित लागत रु सात खर्ब ७७ अर्ब रहेको उल्लेख गर्दै अधिकांश प्राविधिक विषयमा सहमति भएको बताउनुभयो । आयोजना कार्यान्वयन गर्न सोको सिद्धान्त र नेपालको हितलाई ध्यान दिई वार्ता र छलफलबाट सहमतिमा पुग्न भारतसँग कूटनीतिक पहल भइरहेको उहाँले जानकारी दिनुभयो ।

‘मन्दिरको भेटी व्यवस्थापन र सदुपयोग हुनुपर्नेमा सांसदहरूको जोड

काठमाडौँ, ११ भदौः सांसदहरूले मन्दिरमा चढाइएको भेटी व्यवस्थापन, गुठीको सम्पत्ति संरक्षण र सदुपयोग हुनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उहाँहरुले भेटीको पारदर्शिताबारे चर्चा गर्र्दै सदुपयोगमा हुनुपर्नेमा जोड दिनुभएको हो ।

‘विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्र, बौद्ध मेलम्ची घ्याङ गुठीको जग्गाको अवस्था, समस्या र चुनौती, बौद्धनाथ क्षेत्रको पुजारी नियुक्ति, आयआर्जन र भेटी व्यवस्थापन, विविध’ विषयक छलफलमा उहाँहरुले भेटीको सदुपयोग र पारदर्शी व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभएको हो । गुठीका नाममा रहेको जग्गाको संरक्षरण र व्यवस्थापन गरेर राज्यको सम्पत्तिको सदुपयोग गर्नुपर्नेमा उहाँहरूको जोड थियो ।

समितिका सभापति सोनाम गेल्जेन शेर्पाले विश्व सम्पदा सूचीमा सूचीकृत सबै सम्पदाको सम्पत्तिलाई गुठीमा ल्याउन नसकिएको बताउनुभयो । “गुठीलगायत मन्दिरका भेटीका सन्दर्भमा पारदर्शिता आवश्यक छ । यस विषयमा हामी छलफल गर्दैछौँ”, उहाँले भन्नुभयो ।

समिति सदस्य गोपीबहादुर सार्की आछामीले मन्दिरको भेटी व्यवस्थापन र गुठीको सम्पत्ति संरक्षणसम्बन्धी नीति आवश्यक रहेको बताउनुभयो । “अहिले मन्दिरका पुजारी र विकास समिति सदस्यबीच समन्वय देखिँदैन, आपसी असमझदारी हटाएर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले गुठीको सम्पत्तिको अभिलेखमा आउनुपर्ने आवश्यकता औँल्याउनुभयो । “हाम्रो धर्म संस्कृतिको सम्पत्ति संरक्षण गरेर मात्र पर्यटकीय विकास गर्न सकिन्छ, यसका संरक्षणका लागि सबैको समन्वय जरुरी छ”, उहाँले भन्नुभयो ।

‘एलडिसी’ स्तरोन्नतिपछिका प्रभाव, असर र चुनौती सम्बोधन गर्न प्रबन्ध गरिनेछ : मन्त्री भण्डारी

काठमाडौँ, ११ भदौ : सरकारले मुलुक सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएपछि अर्थतन्त्र र व्यापार क्षेत्रमा पर्नसक्ने सम्भावित चुनौतीलाई सम्बोधन गर्न यथोचित प्रबन्ध गरिने स्पष्ट पारेको छ । राष्ट्रियसभा, विकास तथा आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा ‘विकाशील राष्ट्रमा स्तरोन्नतिपछि नेपाललाई पर्ने प्रभाव, असर र चुनौती’ का बारेमा सरकारको धारणा राख्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विकाशील राष्ट्रमा सूचीमा अग्रसर हुन सरकारले सबै खालको प्रयत्न गर्ने बताउनुभयो ।

“विकाशील राष्ट्रमा स्तरोन्नति हुँदा कतिपय सहुलियत कटौती हुँदा नेपालको उत्पादन, अर्थतन्त्र र उद्योग क्षेत्रमा पर्न सक्ने दबाब थेग्न मन्त्रालयले तयारी गरिरहेको छ”, मन्त्री भण्डारीले भन्नुभयो, “यस सम्बन्धमा सरकार संवेदनशील छ, चुनौती सामना गर्न यथोचित प्रबन्ध गरिनेछ ।” उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने योजना अघि बढाइएको जानकारी दिँदै उहाँले कृषि उत्पादन र कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान बढाइने बताउनुभयो ।

राष्ट्रिय अर्थतन्त्रमा उद्योगको योगदान वृद्धि गर्न लगानीमैत्री वातावरण आवश्यक रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले वर्तमान सरकार नीतिगत सुधार गरी स्वदेशी तथा वैदेशिक लगानी बढाउन केन्द्रित रहेको बताउनुभयो । “लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ”, उहाँले भन्नुभयो, “नेपाल लगानी सम्मेलनको पूर्वसन्ध्यामा लगानी सजहीकरणसँग सम्बन्धित केही कानुन संशोधन गरिएको छ ।”

मन्त्री भण्डारीले ऊर्जा, कृषि, सूचना प्रविधिलगायत क्षेत्रलाई आन्तरिक तथा बाह्य लगानीका लागि प्राथमिकीकण गरिएको स्पष्ट पार्नुभयो । सरकारको एक सय दिनलाई नीतिगत सुधारमा केन्द्रित गरिएको उल्लेख गर्दै उहाँले एकीकृत व्यापार रणनीति तथा वाणिज्य नीति र उद्योग व्यवसायसम्बन्धी ऐन, कानुन समयानुकूल परिमार्जन गरिने जानकारी दिनुभयो ।

‘चुनौती सम्बोधन गर्न स्पष्ट योजना बनाऔँ’

बैठकमा सांसदहरूले एलडिसी स्तरोन्नतिपछि नेपालको अर्थतन्त्रमा पर्न सक्ने असरलाई न्यूनीकरण गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउन सुझाव दिनुभयो । सांसद वामदेव गौतमले विकाशील राष्ट्रमा स्तरोन्नतिपछिका असर र प्रभावबारे सरकारको नीति कार्यक्रममा समावेश गरेरै जानुपर्ने बताउनुभयो । स्तरोन्नतिका लागि दुई वर्षको मात्रै अवधि रहेको जनाउँदै उहाँले स्पष्ट कार्ययोजना बनाएर अघि बढ्न सरकारलाई सुझाव दिनुभयो ।

सांसद घनश्याम रिजालले निर्यात अभिवृद्धि, आयात प्रतिस्थापन र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई प्रवर्द्धन गर्न सरकारसँग आग्रह गर्नुभयो । सांसद उर्मिला अर्यालले सन् २०२६ मा नेपाल विकाशील मुलुकमा स्तरोन्नति हुने सन्दर्भमा अहिलेसम्म सरकारको तयारी अत्यन्तै कमजोर रहेको दाबी गर्नुभयो । सांसद झक्कुप्रसाद सुवेदीले एलडिसी स्तरोन्नतिअघि गरिबी र भोकमरीको अन्त्य, स्वास्थ्य र गुणस्तरीय शिक्षाजस्ता आधारभूत लक्ष्य पूरा हुनेगरी योजना बनाइनुपर्ने बताउनुभयो ।

आलुले बजार पाउन थालेपछि उत्साहित छन् सिन्धुपाल्चोकको जुगल गाउँका किसान

चौतारा, ११ भदौ : सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा उत्पादन भएको आलुले काठमाडौँमा बजार पाउन थालेपछि किसान उत्साहित भएका छन् । हिमाली क्षेत्र भएका कारण अन्य बालीको उब्जनी राम्रो नहुने र आलु खेतीको सम्भावना प्रचुर रहेका कारण गत वर्षबाट किसान आलु खेतीतर्फ आकर्षित भएका थिए ।

जुगल गाउँपालिका–६, स्याउजेका देवीबहादुर श्रेष्ठले झण्डै यहाँबाट तीन टन आलु बिक्री वितरणका लागि काठमाडौँ पुर्‍याइएको बताउनुभयो । उहाँले स्थानीय जनप्रतिनिधिले सहजीकरण गरेपछि यसअघि घरायसी प्रयोगका लागि मात्र उत्पादन गर्दै आएका किसानले आलुको व्यावसायिक खेती गर्न थालेका बताउनुभयो ।

आलु उत्पादक किसान वसन्त श्रेष्ठले पालिकाको वडा नं ६ कार्यालयले व्यावसायिक आलुखेती गर्न हौसला दिँदै बजार व्यवस्थापनमा सहजीकरण गरेपछि आफूहरू यसतर्फ आकर्षित भएको बताउनुभयो । यसअघि यहाँका किसानले निर्वाहका लागि मात्र आलुखेती गर्दै आएकामा पछिल्लो समय धेरैले व्यावसायिक रूपमा खेती गर्न थालेका वडाध्यक्ष टङ्क तामाङले बताउनुभयो । उहाँले वडा कार्यालयले यहाँ उत्पादित आलु काठमाडौँ उपत्यकासम्म निःशुल्क ढुवानीको व्यवस्था मिलाएको जानकारी दिनुभयो ।

वडाध्यक्ष तामाङकानुसार चालु आर्थिक वडा न ६ मा मात्र करिब १२ टन आलु उत्पादन भएको छ । बर्खा मासमा गाउँसम्म गाडी नजाने हुँदा बर्खाअघि नै आलु ढुवानीलाई लक्षित गरी बाटो सोलिङ र स्तरोन्नति गरेको उहाँले जानकारी दिनुभयो । वडालाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै विषादीरहित अर्गानिक उत्पादनमा स्थानीयलाई जोडने र आर्थिक उपार्जनमा टेवा पु¥याउने कार्यालयको योजना रहेको अध्यक्ष तामाङ बताउनुहुन्छ । “आलु मात्र होइन विषादीरहित, प्राङ्गारिक मलको प्रयोग गरेर रैथाने बाली र तरकारी उत्पादनका लागि किसानलाई प्रोत्साहित गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

गाउँपालिका अध्यक्ष रेशमा स्याङ्वोले आलु उत्पादनले स्थानीयको आयआर्जनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । जुगलको मुख्य बजार ढाडेमा कृषिउपज सङ्कलन केन्द्र निर्माण भइरहेको जानकारी दिँदै उहाँले केन्द्र निर्माणपछि किसानलाई थप राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मुडेको आलु जेठलको सिलढुङ्गामा सङ्कलन गरेर प्याकिङ र ट्यागिङ सकेर मात्रै राजधानी ढुवानी गर्ने गरिएको छ । लामोसाँघु जिरी सडकखण्ड निर्माणका क्रममा स्वीस सरकारले दुर्लभ मानिने रोजिटा जातको आलुको बीउ बाँडेपछि खेती सुरु भएको स्थानीय बताउँछन् । जिल्लाका विभिन्न स्थानमा पनि मुडेको आलुको माग उच्च हुँदै गएको छ । राजधानीबाहेक बाह्रबिसे, लामोसाँघु, खाडीचौरदेखि दोलालघाटमा राम्रो मूल्यमा यो आलु बिक्ने गरिएको स्थानीय किसान खडगबहादुर श्रेष्ठले बताउनुभयो  । “आलु बेचेरै वर्षको रु दुई लाखसम्म आम्दानी गर्ने गरेको छु”, उहाँले उत्साहित हुँदै भन्नुभयो, “पाँच हजार धार्नी आलु यस वर्ष फल्यो, अघिल्लोे वर्षको तुलनामा अहिले राम्रै कमाइयो । आलु बेचेरै घरबार चलाइरहेको छु ।”

मुडे र निगालेको एक टोलमा नै तीन हजार धार्नी आलु उत्पादन हुने गरेको छ । यी दुई गाउँबाट मात्रै झन्डै १० लाख किलो आलु उत्पादन भएको श्रेष्ठको भनाइ छ । “यस क्षेत्रका आठ सय परिवार आलु खेतीबाट परिवार धानिरहेका छन् । एक परिवारले आलुबाटै वार्षिक रु ५० हजारदेखि रु दुई लाखसम्म आम्दानी गर्छन्”, उहाँले भन्नुभयो ।
आलुका लागि उर्वरभूमि मानिएको जेठलका झन्डै ९५ प्रतिशत घरधुरी आलुको व्यावसायिक खेतीमा होमिएका छन्

संसद्देखि सडकसम्मबाट खबरदारी गर्छौं : अध्यक्ष प्रचण्ड

काठमाडौँ, ११ भदौः प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको गठन प्रक्रिया र कामकारबाहीप्रति विरोध जनाउनुभएको छ ।

वर्तमान सरकार राजनीतिक बलमिच्याइबाट बनेको आरोप लगाउँदै उहाँले यसअघि विभिन्न आपराधिक काण्डमा मुछिएकालाई जोगाउन र गल्ती कमजोरीलाई ढाकछोप गर्न लागिपरेको भनी सरकारप्रति आक्रोश व्यक्त गर्नुभयो ।

आफू कसैलाई नैतिकता सम्झाउने पक्षमा नरहेको भन्दै प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता दाहालले भ्रष्ट, बिचौलिया र माफियाको पक्षपोषणमा उद्यत भइरहे सरकारको प्रतिष्ठा आफैँ समाप्त हुने धारणा व्यक्त गर्नुभयो ।

उहाँले सरकार सुशासनसँग तर्सिएर, सुशासनको बेगलाई रोक्न तथा आफू र आफ्नालाई जोगाउन बनेको भनी आरोप लगाउनुभयो । “आफ्नो नेतृत्वको यसअघिको सरकारले भुटानी शरणार्थी, बाँसबारी र बालमन्दिर जग्गा प्रकरणलगायत थुप्रै काण्डको सफल छानबिन गरिरहेको अवस्थामा अकस्मात नयाँ सरकार गठन भएको प्रसङ्ग उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले विभिन्न अनियमित घटनाक्रमसहित भ्रष्टाचार काण्डको छानबिन गरिरहेका प्रहरी अधिकृतमाथि नै छानबिन सुरु गरी सुशासनको रटान लगाउनु हाँस्यास्पद हुने धारणा व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले सरकारसँग इमान नभएको आरोप लगाउँदै भन्नुभयो, “यो किन र कसरी बनेको कसको सरकार हो भन्ने कुरा छर्लङ्ग हुँदैछ, जनता र प्रतिपक्षको सामना गर्न इमान चाहिन्छ, यो सरकारसँग त्यो इमान र नैतिक धरातल छैन ।”

उहाँले वर्तमान सरकारको नियत र गन्तव्यको सुक्ष्म अवलोकनपछि आफू यस किसिमको निष्कर्षमा पुगेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यो सरकार सङ्ख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर छ, प्रमुख प्रतिपक्षी दलका नेताका हैसियतले रचनात्मक खबरदारी नगरे धेरै क्षति हुने देखिएकाले मुलुक र जनताका पक्षमा यसरी बोल्न बाध्य भएको छु ।”

“अहिले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का साथीहरू आफूमात्र मिल्नुभएको छैन, आफैँले सिध्याउने भनेका जातीय–क्षेत्रीय प्रकृतिका साना दललाई पनि कतै फकाएर, कतै तर्साएर सत्तापक्षको कित्तामा उभ्याउनुभएको छ”, अध्यक्ष दाहालले भन्नुभयो, “सङ्ख्यात्मक रूपमा प्रतिपक्षीय बेञ्च सानो भएको बेला सङ्ख्याको बलमा सरकारले जे गरे पनि हुन्छ र गर्न सक्छ भन्ने सत्तापक्षका साथीहरूलाई लागेको हामीले देख्यौँ ।”

प्रमुख प्रतिपक्ष दलका हैसियतले जनतालाई साथमा लिएर अब संसददेखि सडकसम्मको मोर्चा प्रयोग गरी सत्तापक्षलाई खबरदारी र नियन्त्रण गर्न आफ्नो दल सक्रिय रहने उहाँले स्पष्ट गर्नुभयो ।

मकवानपुरमा पूर्णखोप लगाउने बालबालिकाको सङ्ख्या ९५ प्रतिशत पुग्यो

बागमती, ११ भदौ : मकवानपुर जिल्लामा पूर्ण खोप लगाउने बालबालिकाको सङ्ख्या ९५ प्रतिशत पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरकानुसार आर्थिक वर्ष २०८०/८१ मा पूर्णखोप लगाउने बालबालिकाको सङ्ख्या नौ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा मकवानपुरमा पूर्णखोप लगाउने बालबालिकाको सङ्ख्या ८६ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा त्यो सङ्ख्या वृद्धि भई ९५ प्रतिशत पुगेको कार्यालय प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिनुभयो । खोप लगाउने बालबालिकालाई लक्षित गरी ‘‘खोज र खोप” कार्यक्रम सञ्चालन गर्नु, स्वास्थ्यकर्मीको सक्रियता बढ्नु र अभिभावकसमेत खोपप्रति सचेत हुनु जस्ता कारणले पछिल्ला वर्षमा पूर्ण खोप लगाउने दरमा वृद्धि भइरहेको प्रमुख मिजारको भनाइ छ ।

तीव्र रुपमा बढ्ेको सहरीकरण र त्यससँगै बाहिर जिल्लाबाट समेत मकवानपुरमा बसाइँसराइ गरी आउने क्रम बढ्ेकाले पनि खोप लगाउने बालबालिकाको सङ्ख्या बढ्ेको उहाँले बताउनुभयो । जिल्लामा दारुरा रुबेला र जापनीज इन्सिफ्लाईटिस(जेरी) खोप लगाउने दरमासमेत विगत वर्षको तुलनामा केही सुधार भएको छ । आव २०८०/८१ मा शतप्रतिशत बालबालिकालाई जेरी र ९९ प्रतिशत बालबालिकालाई दादुरा रुबेला खोप लगाइएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै जन्मिएदेखि १५ महिनासम्म लगाइने बिसिजी खोप, पाँचथरी खोप लगाउने बालबालिकाको दरमा केही कमी आएको छ । सो कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा बिसिजी खोप लगाउने बालबालिकाको सङ्ख्या ९३ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा ८१ प्रतिशतमा झरेको छ ।

यस्तै, पेन्टा लगायतका विभिन्न पाँच प्रकारको खोप रहेको पाँचथरी खोप लगाउने दर आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा शतप्रतिशत रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा त्यो झरेर ९३ प्रतिशतमा पुगेको प्रमुख मिजारले बताउनुभयो । बाहिर जिल्लाबाट हेटौडा लगायत मकवानपुरका विभिन्न स्थानमा आउने जाने क्रम भइरहेको र शिशु जन्मिने दरसमेत घटेकाले ती खोप लगाउने दर केही घटेको उहाँको कथन छ ।

डढेलाे नियन्त्रणका लागि दक्ष जनशक्तिको कमी छः मन्त्री ठकुरी

काठमाडौँ, ११ भदौः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले डढेलोको प्रभावकारी नियन्त्रणका लागि दक्ष जनशक्ति र आगो निभाउन अति आवश्यक अवस्थामा हेलिकप्टर र रसायनको कमी रहेकोे बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदको मौखिक प्रश्नहरुको जवाफ दिँदै उहाँले डढेलो नियन्त्रण गर्न उद्धारका लागि हेलिकप्टर अत्यावश्यक र प्रभावकारी हुने भएपनि सीमित स्रोत तथा साधन र बजेट पर्याप्त नभएको जानकारी गराउनुभयो ।

मन्त्री ठकुरीले डढेलो नियन्त्रणका लागि पूर्वतयारी सम्बन्धमा सचेतना सप्ताह सञ्चालन गर्दै आइएको, हरेक जिल्लामा तालिम प्राप्त जनशक्तिको व्यवस्था गरिएको, अग्निपथ एवं अग्निरेखा निर्माण गरेको र सम्पूर्ण सरोकारवालालाई तालिम तथा गोष्ठी सञ्चालन गर्दै आएको जानकारी गराउनुभयो ।

उहाँले डढेलो लाग्ने मौसममा हरेक जिल्लामा ‘डढेलो नियन्त्रण दस्ता’ भर्ना, तालिमको व्यवस्था, साधनहरु उपलब्ध गराई काममा लगाउने गरिएको जानकारी गराउनभुयो ।
उहाँले सबै स्थानीय तहमा यस वर्षभरी वृक्षारोपण अभियान कार्यक्रम सञ्चालन गरिने र एक करोड बिरुवा रोप्ने लक्ष्य लिएको उल्लेख गर्नुभयो ।

नेपालमा दूतावास खोल्न ओमानका विदेशमन्त्री सकारात्मक

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलसँग ओमानका विदेशमन्त्री सैयद बद्र बिन हमाद बिन हमुद अल्बुसइदीले शिष्टाचार  भेट गरेका छन् ।

नेपालको दुई दिने औपचारिक भ्रमणका क्रममा सोमबार काठमाडौं आएका विदेशमन्त्री अल्बुसइदीले राष्ट्रपति भवन शीतल निवासमा मंगलबार राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।

भेटका क्रममा राष्ट्रपति पौडेलले नेपालले सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नति भइ सन् २०३० सम्म मध्यम आय भएको मुलुक बन्ने लक्ष्य लिएको उल्लेख गर्दै त्यसका लागि ओमनबाट सहयोगको अपेक्षा गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

नेपाल र ओमानको परराष्ट्र नीतिमा धेरै समानता रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले दुई देशबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने राम्रो सम्भावना रहेको बताए ।

राष्ट्रपति पौडेलले ओमानमा काम गर्ने नेपालीहरूको सङ्ख्या बढ्दै गएको अवस्थामा काठमाडौँमा ओमानको राजदूतावास स्थापना गर्नु दुवै देशका लागि उपयुक्त हुने उल्लेख गरे । त्यस्तै उनले दुई देशबीचको प्रत्यक्ष हवाई सम्पर्कले व्यापार सहजीकरण, पर्यटन प्रवद्र्धन र जनस्तरमा सम्बन्ध बढाउनका लागि मद्दत मिल्ने धारणा व्यक्त गरे ।

भेटमा ओमनका विदेशमन्त्री अल्बुसइदीले भ्रमणका क्रममा नेपाल सरकारसँग दुई पक्षीय सम्बन्धका विविध आयाममा छलफल भएको जानकारी गराउँदै ओमानले खुल्ला हृदयले नेपालसँग सम्बन्धलाई थप सुमधुर बनाउन चाहेको बताएका थिए ।

विदेशमन्त्री अल्बुसइदीले नेपालमा ओमानको दूतावास खोल्ने र दुई देशबीच सिधा हवाई सम्पर्क स्थापित गर्ने सन्दर्भमा आफ्नो सरकार सकारात्मक रहेको उल्लेख गर्दै शान्त, सौम्य र कडा परिश्रम गर्ने नेपालीहरूले ओमानको विकासमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गरे ।

‘उधारो सामानको पैसा उठाउँनै मुस्किल पर्न थाल्यो’

वीरगञ्ज (पर्सा) ११ भदौ : इलामको पञ्चकन्या छ स्थायी घर भएका उद्यमी प्रेमप्रसाद आचार्यले उधारो लेनदेन नउठेको भन्दै २०७९ माघ १० गते काठमाडौँको नयाँ बानेश्वरमा आ त्मदाहको प्रयास गर्नुभयो । आ त्मदाहको प्रयास गरेर गम्भीर घाइते हुनुभएका आचार्यको माघ ११ मा मृत्यु भयो ।

उद्यमी आचार्यको मृत्युसँगै मुलुकभरि नै जोडतोडले उधारो लेनदेन तथा कारोबारलाई व्यवस्थित गर्ने कानुन बनाउनुपर्ने विषय उठान भयो । तर, सो घटना घटेको १९ महिना बित्दा पनि अहिलेसम्म सो कानुन निर्माण गर्ने विषय ओझेलमा पर्दै आइरहेको छ ।  उद्यमी आचार्य जस्तै अहिले उद्योगधन्दा र व्यवसाय गर्दै आइरहेका धेरै उद्यमी– व्यवसायी भने उधारो दिएको वस्तु तथा सामानको रकम फिर्ता नभएकै कारणले विभिन्न खालका समस्या र चुनौती झेल्दै आइरहेका छन् । 

सङ्घीय संसद्ले पनि उधारो कारोबार सम्बन्धित कानुन बनाउने विषयमा अहिलेसम्म पनि गृहकार्य गरेको छैन । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले नेपालको बजारको चक्र नै उधारोमा चल्ने भएकाले पनि उधारो कारोबारसँग सम्बन्धित कानुनको आवश्यकता परेको बताउनुहुन्छ । 

‘‘नेपालको समग्र बजारको चक्र नै उधारोमा चलेको छ । उधारोमा वस्तु तथा सामान दिन्न भनेर कोही उद्योग लागेको खण्डमा व्यापार नै नहुने अवस्था छ’’, उहाँले भन्नुभयो, ‘‘उधारो नदिइकन एउटा बिल पनि काट्दिैन । उधारो नदिई सुखै छैन । विगतमा व्यापारमा इमान हुन्थ्यो । उधारो दिएको सामानको पैसा पनि सहजै उठ्ने गथ्र्याे । तर, कोभिड–१९ को महामारीपछि इमानबाट चलेको व्यापार–व्यवसाय बेइमानी ढङ्गले चल्न थाल्यो । यसको कारणले उधारोमा दिएको सामानको पैसा उठाउँनै मुस्किल पर्न थाल्यो ।’’ 

वरिष्ठ उपाध्यक्ष गौतमले उधारोमा वस्तु तथा सामान लैजाने व्यापारी तथा सप्लायर्सलाई धेरै ताकेता गर्दा उल्टै आत्महत्या दुरुत्साहनको मुद्दा लगाइ दिउँला भन्ने खालका चुनौति थपिएको गुनासो गर्नुहुन्छ ।

‘‘उधारोमा वस्तु तथा सामान दिने उद्योगी–व्यवसायी टाट् पल्टिने र उधारोमा समान लिने व्यवसायी तथा सप्लायर्सले कानुनी उन्मुक्ति पाउँदै आइरहेका छन् ।’’ उहाँले भन्नुभयो,‘‘उधारोमा सामान दिने उद्योगी व्यवसायी आफू डुब्ने तर, लिने  कहिल्यै पनि कानुनी दायरामा नआउने समस्याको अन्त्य गर्न पनि उधारो कारोबारसँग सम्बन्धित कानुन आवश्यकता परेको हो ।’’

अर्थशास्त्री दीपेन्द्रकुमार चौधरी पनि उधारो कारोबारलाई व्यवस्थित गर्ने खालको कानुन तत्कालै बनाउनुपर्ने बताउनुहुन्छ । ‘‘बजार उधारोमा नै चलेको छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने, उद्योगधन्दा लगाउने, व्यवसाय गर्ने, त्यसको भन्सार तिर्ने, भ्याट तिर्ने, श्रमिकको तलब तथा सेवा सुविधा दिने, आयकर तिर्ने लगायतका सबै काम गर्ने गर्छन्”, उहाँले भन्नुभयो, ‘‘उद्योगी व्यवसायीको पैसा भने बजारमा गएर फस्ने समस्या रहेको छ । त्यसलाई राज्यले उधारो कारोबारसँग सम्बन्धित कानुन ल्याएर सम्बोधन गर्न आवश्यक भइसकेको छ ।’’ 

तत्कालीन अर्थमन्त्री वर्षमान पुनले चालु आव २०८१÷८२ को बजेट वक्तव्यको बुदाँ नम्बर ९३ को अन्तिम वाक्याशंमा उधारो कारोबार सम्बन्धि कानुन तर्जुमा गरिनेछ भन्ने उल्लेख गर्नुभएको पनि छ । 

अर्थशास्त्री चौधरी सरकारले बजेट वक्तव्यमा पनि उधारो कारोबार सम्बन्धित कानुन बनाउने कुरालाई समावेश गरेकाले सो कानुन निर्माण गर्न अर्थमन्त्रालय सक्रिय हुनुपर्ने बताउनुहुन्छ । बैंक तथा वित्तीय विश्लेषक अनलराज भट्टराई पनि सरकारले उधारो कारोबारलाई व्यवस्थित गर्ने खालको कानुन बनाउन ढिलासुस्ती गर्न नहुने बताउनुहुन्छ । ‘‘विदेशी मुलुकमा ‘कर्पाेरेट डेब्थ रिकभरी एक्ट’ प्रचलनमा आए जस्तै नेपालमा पनि सोसँग सम्बन्धित कानुन बनाउन जरुरी भइसकेको छ’’, उहाँले भन्नुभयो, ‘‘अहिले उद्योगी व्यवसायीले सरकारलाई १३ प्रतिशत सामानको भ्याट तिरेर उधारोमा दिनुपर्ने बाध्यता रहेको छ । त्यसैले व्यापारी र उद्योगीले उधारोवापत पैसा सहजै असुलउपर गर्न सक्ने खालको कानुन बनाउने बेला भइसकेको छ ।’’ बैंक तथा वित्तीय विश्लेषक भट्टराईले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर नतिर्नेलाई बैंक तथा वित्तीय ऐनबाट ऋणीलाई कारवाही भएजस्तै उधारो सामान लिएर रकम फिर्ता नगर्नेका लागि उधारो कानुन सम्बन्धित ऐन ल्याएर व्यवस्थित गर्नुपर्ने बताउनुहुन्छ । 

नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षत्री पनि उधारो कानुन आएको खण्डमा न्यूनबिलविजकीकरणको समस्या अन्त्य हुने बताउनुहुन्छ ।‘‘अहिले न्यून बिलविजकीकरणको निकै ठूलो समस्या रहेको छ,’’ उहाँले भन्नुभयो,‘‘कानुन समाज र अर्थतन्त्रको आवश्यकता अनुसार बनाउनुपर्ने हुन्छ । अब उधारो कारोबार सम्बन्धित कानुन बनाएर अघि बढ्दा पक्कै पनि राम्रो हुने थियो ।’’ 

उधारो कारोबार सम्बन्धित कानुन बनेसँगै निजी क्षेत्रका लगानीकर्ताले पनि आफ्नो लगानी सुरक्षित हुन्छ भन्ने विश्वाससहित लगानी गर्नेछन् । जसले मुलुकमा लगानी गर्ने वातावरण मात्र नभएर उद्योगधन्दा पनि फस्टाउने अवसर पाउनेछन् । 

‘‘उधारोको रुपमा आफ्नो लगानी नडुब्ने भै सकेपछि उसले बजारमा प्रतिस्पर्धात्मक रुपमा काम गर्न पनि सक्नेछन्,’’ संघका वरिष्ठ उपाध्यक्ष गौतमले भन्नुभयो,‘‘ उद्यमीले सरकारलाई अग्रिम तिरेको भंसार, मूल्य अभिवृद्धि कर, आयकर आदि पुनरप्राप्ति हुने कुरामा सुरक्षित हुन्छ । छ । स्वच्छ औद्योगिक वातावरण कायम हुने भएकोले लगानीकर्ताले नयाँ नयाँ प्रविधि सहितको औद्योगिक प्रतिष्ठान स्थापना गर्नेछ ।’’

अर्थशास्त्री चौधरी उधारो कारोबार सम्बन्धित कानुन बनेपछि व्यवसायीलाई मात्रै नभएर सरकारलाई पनि फाइदा हुने दावी गर्नुहुन्छ । ‘‘अहिले उधारो कारोबारको ‘रोटेसन’ नौं महिनामा चल्दै आइरहेको छ । उधारो कारोबार सम्बन्धित कानुन आएसँगै यो रोटेसन कम्तिमा पनि एक महिनामा आउनेछ,’’ उहाँले भन्नुभयो,‘‘उद्योगी तथा व्यवसायीले आफ्नो पैसा छिटो उठ्ने भएसँगै थोरै नाफा खाएर प्रतिस्पर्धी मूल्यमा उपभोक्तालाई वस्तु तथा सामान बिक्री गर्नेछन् । जसले गर्दा उपभोक्ताले पनि सरल र सुलभ मूल्यमा सामान प्राप्त गर्ने वातावरण बन्नेछ ।’’  

कुनै पनि उद्योगधन्दा तथा व्यापार गर्दा बैंक तथा वित्तीय संस्थाबाट ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीमा व्यापार तथा उद्योग स्थापना गर्ने गरिन्छ ।  संघका वरिष्ठ उपाध्यक्ष गौतमले कुनै व्यापारी वा सप्लायर्सले उधारोमा लागेको सामान निश्चित समयभित्रै तिर्ने कानुन भएसँगै उधारो नउठ्ने समस्याको समाधान हुने बताउनुहुुन्छ । ‘‘बैंक तथा वित्तीय संस्थाले उद्योगधन्दामा अधिकतम ७० प्रतिशतसम्म ऋण लगानी गरेका हुन्छन्’’,  उहाँले भन्नुभयो, ‘‘कोही सप्लायर्सले उधारोमा सामान लगेर तिरेन भने त्यसको जिम्मेवार भने सधैँ उद्योगी मात्रै हुने अहिलेको परिपाटी रहेको छ । त्यसैले पनि उधारो कानुन बनेसँगै सप्लायर्सले पनि जिम्मेवारीबाट भाग्न नपाउने वातावरण सिर्जना हुनेछ ।’’ बैंक तथा वित्तीय संस्थाले यो कानुन बनेसँगै विस्तारै बैंकको प्रिमियम शुल्क र अन्य अतिरिक्त शुल्क पनि कम गरेर सस्तोमा ऋण पाउने वातावरण बन्नेछ ।

सडकको नक्साङ्न टुङ्गो लगाउन नसक्दा करोडौँको योजना कार्यान्वयनमा समस्या

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल भुरुङ–तातोपानी कुण्डमा पूर्वाधार निर्माणका भित्रिएको करोडौँको योजना कार्यान्वयन हुन सकेको छैन ।

अन्नपूर्ण चक्रीय पदमार्ग र मुस्ताङ जाने पर्यटकका लागि विश्रामस्थलको रुपमा रहेको तातोपानी कुण्डलाई व्यवस्थित बनाउन सङ्घीय सरकारले पठाएको एक करोड ३० लाख बजेटको योजना कार्यान्वयन भएको हो ।

अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानीका वडाध्यक्ष ओमप्रकाश फगामीले तातोपानी कुण्ड छेउमा रहेको बेनी–जोमसोम–कोरला सडकको नक्साङन टुङ्गो लगाउन भएको ढिलाइका कारण पर्यटकीय पूर्वाधार निर्माणका लागि भित्रिएको बजेट र योजना कार्यान्वयन गर्न नसकिएको बताए ।

भुरुङ–तातोपानी पूर्वाधार निर्माण शीर्षकमा आर्थिक वर्ष २०७९-८० मा रु ८० लाख र २०८०-८१ मा प्राप्त भएको रु ५० लाख बजेट कार्यान्वयन नभएको हो ।

“यसअघिका दुई आवमा बजेट आए पनि बेनी–जोमसोम–कोरला सडक आयोजनाले कताबाट सडक बनाउने भन्ने टुङ्गो नलगाएपछि तातोपानी कुण्डमा पूर्वाधार बनाउन सकिएन”, उनले भने, “सडक आयोजनाले अहिले तातोपानी कुण्ड मुनी कालीगण्डकी नदीको किनारै किनार सडक बनाउने नक्शाङ्कन टुङ्गो लगाएको छ ।” तर सङ्घीय सरकारले यसपाली भुरुङ तातोपानीको पूर्वाधार योजनाका लागि बजेट र योजना कटौटी गरेको छ ।

जमिनभित्रको मुहानबाट करिब ५० डिग्री तापक्रममा निस्कने प्राकृतिक तातोपानी सङ्कलन गरिएको दुई वटा पोखरी र धारामा स्नान गर्न सकिने भुरुङ–तातोपानी पूर्वाधार अभावमा व्यवस्थित बन्न सकेको छैन ।

खुला आकाशमुनि रहेको कुण्डमा घाम र पानी छेक्ने छानो छैन । खुला रुपमा धारामा स्नान गर्नुपर्छ । कपडा, सामग्री राख्ने र कपडा फेर्न व्यवस्थित ठाउँ आवश्यक छ । सवारीसाधन पार्किङ गर्ने ठाउँ छैन ।

तातोपानीमा शरीर डुबाएर स्नान गर्दा शारीरिक स्फूर्ति बढ्ने, थकान मेटिने, चोट पटक लागेको, सुन्निएको, बज्रिएको समस्या निको हुने जनविश्वास छ । अन्नपूर्ण चक्रीय पदमार्ग र मुस्ताङ जाने आउने पर्यटकका लागि भुरुङ–तातोपानीलाई थकान मेटाउने विश्रामस्थल हो । मुस्ताङको चिसो हावापानीबाट आएका तातोपानीमा स्नान गरेर न्यानो महसुस गर्छन् ।

यसअघि कुण्डको कुनातर्फबाट खोलीएको बेनी–जोमसोम–कोरला सडक विस्तार गरेर ११ मिटर फराकिलो बनाउँदा कुण्डको मुहान र पोखरी पुरिने भएकाले नक्शाङ्कन परिवर्तन गर्न स्थानीयवासी, जनप्रतिनिधि र सरोकारवालाले माग गरेका थिए । तातोपानीको मुहान र पोखरीलाई असर नपर्ने तथा कालीगण्डकी नदीको कटान पनि नियन्त्रण हुने गरि कुण्डमुनिबाट सडकको नयाँ नकङ्कन गरिएको छ ।

अन्नपूर्ण अध्यक्ष भारतकुमार पुनले नयाँ नक्शाङ्कन अनुसार भुरुङ–तातोपानी कुण्ड क्षेत्रमा सडक स्तरोन्नतिका लागि बेनी–जोमसोम–कोरला सडक आयोजनालाई ताकेता गरिएको बताए। सङ्घीय सरकारले पठाएको बजेट कार्यान्वयन हुन नसके पनि गाउँपालिकाको स्रोतबाट तातोपानी कुण्डमा पूर्वाधार निर्माण गरेर व्यस्थित गरिने उनले बताए।

बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले भुरुङ–तातोपानी क्षेत्रमा बाँकी रहेको सडक स्तरोन्नतिका लागि ठेक्का आह्वानको तयारी गरेको जनाएको छ ।

मुख्य बाली कोदोको उत्पादन घट्दै, माग बढ्दै

इलाम, ११ भदौ : दश वर्षअघि साउन–भदौमा कोदो काम रोप्ने धमाधम हुन्थ्यो । सूर्योदय नगरपालिका–१ मकरजुङका रमेश राईले भन्नुभयो, “अर्मपर्म गर्दै एक डेढ महिनासम्म गाउँभरि कोदो रोपिन्थ्यो । आजकाल त कोदो रोप्न छाडियो ।”

कोदोबाट भन्दा चिया, अलैँची, अकबरे लगायतका कृषि उपजबाट राम्रो आम्दानी हुने भएपछि यहाँका किसानले कोदो खेती छोड्दै गएका छन् । “कसै–कसैले घरमा जाँड बनाउन, पूजा गर्न भनेर अलिअलि लगाए पनि बिक्री गर्ने उद्देश्यले खेती हुन छोडेको छ ।” माइजोगमाई गाउँपालिका–३ का मिलन खड्काले भन्नुभयो, “पैले–पैले हाम्रै गाउँभरि कोदो हुन्थ्यो । अहिले खेतबारीमा कतै चिया, कतै अलैँची भरिएको छ । कोदोबाट नगद आम्दानी छैन । बरु अकबरेको व्यावसायिक खेती गर्छन् । कोदो भटिँदैन ।

कृषि ज्ञान केन्द्र इलामका अनुसार जिल्लाको सबै क्षेत्रमा कादोको उत्पादन बर्सेनि ओरालो लागि रहेको छ । “जिल्लाको एक हजार चार सय ३२ हेक्टर क्षेत्रमा कोदो खेती हुन्छ ।” ज्ञान केन्द्रका प्रमुख राम जुगन यादवले भन्नुभयो, “त्यसबाट एक हजार सात सय ४७ टन कोदो उत्पादन हुने गरेको छ ।” इलामका १० स्थानीय तहमै आंशिक रुपमा कोदो खेती हुने गरेको छ । तर, उत्पादन भने वार्षिक रूपमा ओरालो लागेको प्रमुख यादवले बताउनुभयो । 

इलामका बजारमा भारतबाट आयात गरिएको कादो पाइन्छ । सूर्योदय–४ का प्रदीप गिरीले पर्यटकलाई खुवाउने कोदो पनि स्थानीय भनेर भारतबाट ल्याउनुपरेको बताउनुभयो । मकरजुङका टीकाराम अधिकारीले पोहोर नौला बुझाउन गाउँभरि कोदो खोज्दा कतै नभेटेपछि यसवर्ष बारीको एकछेउमा एक मानाको बीउ रोप्नुभएको छ । “दुई वर्ष नौलो बुझाउन पुग्ला त्यसपछि फेरि राप्नुपर्छ । यति रोप्नलाई बारी खन्ने खेताला नभेटेर बिजोग भयो । जमाना फेरिएछ अब ।” उहाँले भन्नुभयो, “रोप्ने पनि थिइन । पोहोर एक मुठी कोदो खोज्न गाउँ डुल्दा कतै नभेटेपटि यसपाली झ्वाँक चलाको ।”

कृषि निर्देशनालयका अनुसार कोशी प्रदेशका १४ जिल्लामा कोदो खेती हुने गरेको छ । प्रदेशभरमा ६५ हजार तीन सय ७२ हेक्टरमा कोदो खेती हुने गरेको छ । त्यसबाट एक लाख आठ हजार तीन सय ७५ टन कोदो उत्पादन हुने गरेको छ । यो करिब रु पाँच अर्ब २० करोड २० लाख बराबरको उत्पादन हो । तर यो वर्षदेखि कोशी प्रदेश सरकारले रैथाने बालीको प्रवर्द्धनका लागि विनियोजन गर्दे आएको बजेट कटौती गरेको छ ।

सरकारको बेवास्तामा परेसँगै कोदो बाली हेलाँमा परेको खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रयासको प्रभावस्वरूप जनस्तरमा चेतना अभिवृद्धि भई हाल बजारमा कोदोको माग बढिरहेको पाइन्छ तर विडम्बना उत्पादन भने घटिरहेको छ ।”

पूर्वीनाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार २०८०÷८१ मा रु ८५ करोड ४२ लाख ५६ हजार मूल्य बराबरको १७ हजार ७ सय ९७ टन कोदो भारतबाट आयात भएको छ । कार्यालयका अनुसार आव २०७९÷८० मा रु ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको १६ हजार ३५ टन कोदो भारतबाट आयात भएको थियो । नेपालमा कोदो बाली उत्पादन घट्दै जाँदा भारतलगायत तेस्रो देशबाट कोदोको आयात बढेको हो ।

कोदो नेपालको चौथो मुख्य बाली हो । कोदोलाई पहाडी क्षेत्रको मकैपछिको दोस्रो मुख्य बालीका रूपमा लिइन्छ । कोदोबाट ढिँडो, रोटी, सातु, लिटो, खोले, पुवालगायत परिकार बनाएर खान सकिन्छ । संयोजक अधिकारी भन्छन्, “खाद्य सुरक्षाको दृष्टिकोणले कोदो ज्यादै महत्वपूर्ण बाली हो”, उहाँ भन्नुहुन्छ, “पछिल्ला दिनमा जनचेतना वृद्धि र स्वास्थ्यको दृष्टिकोणले कोदो लाभदायक भएकाले यसको महत्त्व तथा उपयोगिता दिनदिनै बढ्दै गइरहेको छ ।”

कोदोमा क्याल्सियम, कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो पदार्थ, थाइमिन तथा रेसादार वस्तु पाइने विभिन्न अध्ययनले देखाएको छ । कोदोमा चामल र मकैभन्दा ३५ गुणा र गहुँभन्दा आठ गुणा बढी क्याल्सियम पाइने विज्ञहरू बताउँछन् । सामान्य स्वस्थ व्यक्तिमात्र नभई बालबालिका, गर्भवती, मधुमेह, रक्तचापका बिरामीलाई कोदो खानाले उल्लेख्य फाइदा पुग्ने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको जनाइएको छ ।

पाल्पामा ऐतिहासिक भगवती रथजात्रा आज

लुम्बिनी, ११ भदौ : पाल्पामा हरेक वर्ष निकालिने ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा आज हुँदैछ । नेपालले अङ्ग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा कृष्ण जन्माष्टमीको भोलीपल्ट उक्त जात्रा निस्कने परम्परा रही आएको छ ।

२०५ औँ विजयोत्सव एवं भगवती रथजात्रालाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा अवलोकन गर्नुहुने कार्यक्रम रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार आज नै अमननारायणको रथ निकालिने भएको छ । यसवर्ष भगवती र अमननारायणको रथ निकाल्न तीथिले एकैदिन परेकाले आजै अमननारायणको रथ निकालिने भएको हो । प्रजिअ काफ्लेले भगवतीको रथ निकाल्नु अघि तानसेनको नारायणथान मन्दिरबाट अमननारायणको रथ निकालेर उक्त रथले भगवतीको परिक्रममा पछि मात्र भगवतीको रथ निकालिने परम्परा रहेको जनाइएको छ । 

तानसेन स्थित ऐतिहासिक रणउजीरेश्वरी भगवती मन्दिरमा हरेक वर्ष भगवती रथ यात्रा हुने गरेको छ । लुम्बिनी प्रदेश सरकारले भगवती यात्राको दिन पाल्पा जिल्लामा सार्वजनिक बिदा दिएको छ । नेपालले अङ्ग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलीपल्ट धुमधामका साथ विजय उत्सव स्वरुप रणउजीरेश्वरी भगवतीको रथ जात्रा निकाल्ने प्रचलन रहँदै आएको छ । 

तत्कालीन ब्रिटिश सेनालाई नेपाली फौजले पराजित गरेको सम्झनामा पाल्पामा विजय उत्सव स्वरुप सो जात्रा निकालिदै आएको छ । तत्कालीन समयमा नेपाली फौजले चलाएको उक्त विजयी जात्रा हालसम्म आइपुग्दा पाल्पाको सबैभन्दा ठूलो पर्व र जात्राको रुपमा परिचित छ । कर्णेल उजीर सिंह थापाले विसं १८७६ मा निर्माण गरेको रथलाई नै हालसम्म विजय जात्राको रुपमा सञ्चालन गरिँदै आएको छ । 

प्राङ्गारिक मल तथा बायोग्यास उद्योग : करोडौँ लगानी, उपलब्धि शून्य

खोटाङ, ११ भदौ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित ओखरबोटेमा स्थापना गरिएको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग तत्कालीन १ नं. प्रदेश (हाल कोशी प्रदेश)का तत्कालीन मुख्यमन्त्री शेरधन राईले वि.सं. २०७७ चैत–२१ गते उद्घाटन गर्नुभएको थियो । तत्कालीन नगर प्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले विसं २०७६ असार–१ मा शिलान्यास गर्नुभएको प्राङ्गारिक मल तथा बायोग्यास प्लान्ट अर्थमन्त्रालयको विशेष अनुदानवापत रु तीन करोड ३२ लाख तथा नगरपालिकाको रु एक करोड ५६ लाख लगानीमा स्थापना गरिएको हो ।

रासायनिक मल प्रयोग हुँदै आएको नगरपालिकालाई अर्गानिक नगर बनाउने अभियानमा स्वतःस्फूर्त लागेका नगरवासी आफ्नै ठाउँमा प्राङ्गारिक मल उद्योग सञ्चालन भएपछि हर्षित बनेका थिए । प्रतिघण्टा एक हजार केजी मल उत्पादन गर्न सकिने क्षमताको प्राङ्गारिक मल उद्योग तथा गोबरग्यास उत्पादन गर्ने र त्यसलाई सिएनजी ग्याँसमा परिवर्तन गरेर एलपी ग्याँसकै रुपमा सिलिण्डर भरेर उपभोक्तालाई वितरण गर्नेगरी स्थापना गरिएको बायोग्याँस प्लान्ट अहिले अलपत्र छ ।

पन्ध्र वडा रहेको यस नगरपालिकालाई अर्गानिक नगर बनाउँदै आन्तरिक आम्दानीको स्रोतको रुपमा विकास गर्ने उद्देश्यसहित रु चार करोड ५६ लाख लगानीमा स्थापना गरिएको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग लामो समयदेखि अलपत्र बनेपछि नगरपालिकाका वर्तमान जनप्रतिनिधि आलोचित बनेका  छन् । राज्यको करोडौँ लगानीमा स्थापना गरिएको दुई उद्योग उद्घाटन गरेको तीन वर्ष पाँच महिना बितिसक्दा पनि सञ्चालनमा ल्याउने नगरपालिकाको कुनै योजना नभएपछि जिल्लावासीले अलपत्र उद्योगको तस्बिर सामाजिक सञ्जालमा राख्दै आलोचना गर्ने गरेका छन् । 

आफ्नो गाउँमा प्राङ्गारिक मल उद्योग तथा बायोग्यास प्लान्ट स्थापना हुने भएपछि आफूले छ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको तत्कालीन नगरकार्यपालिका सदस्य गङ्गाबहादुर विश्वकर्माले बताउनुभएको छ । “उद्योगबाट उत्पादन भएको मललाई नगरपालिकाकै अगुवाइमा थोकमार्फत बिक्री तथा वितरण गर्ने लक्ष्य राखिएको थियो । “उद्घाटन गरेको चार वर्ष हुन लाग्यो । अहिलेसम्म सञ्चालनमा ल्याउने वर्तमान जनप्रतिनिधिको कुनै तयारी छैन”, जिल्लाका अगुवा कृषक रहनुभएका विश्वकर्माले भन्नुभयो, “उद्योगमा राज्यको ठूलो लगानीमा फसेको छ । वर्तमान जनप्रतिनिधिले यसलाई तत्काल सञ्चालनमा नल्याएको खण्डमा त्यो लगानी खेर जानेवाला छ ।”

उद्योगबाट उत्पादित प्राङ्गारिक मल मलिलो र राम्रो हुने भएकाले पहिलो चरणमा नगरपालिकाभित्रकै कृषकलाई अनुदानमा वितरण गर्ने भनिएको थियो । तीन हजार पाँच सय घनमिटर क्षमताको अण्डरग्राउण्ड डुम (ट्याङ्की) मा कच्चापदार्थ हालेर गोबरग्यास उत्पादन गर्ने र त्यसलाई सिएनजी ग्याँसमा परिवर्तन गरेर एलपी ग्याँसकै रुपमा सिलिण्डर भरेर उपभोक्तालाई वितरण गर्ने लक्ष्य राखिएको थियो ।  

दिक्तेल बजारका शौचालयको ट्याङ्कीमा रहेका दिसापिसाबलाई सक्सन मेसिनले तानेर बायोग्याँस प्लान्टमा लैजाने नगरपालिकाको तयारी थियो । आवश्यक गोबर र स्याउलाका लागि कम्पोष्ट मल उद्योग र बायोग्यास प्लान्ट रहेको स्थानभन्दा केहीमाथि सुधारिएको गोठमा भैँसीपालनसमेत गरिएको थियो । 

नगरपालिकाले उद्योगमा स्थानीय चार युवालाई पूर्णकालीन तथा २५ जनालाई अल्पकालीन रुपमा रोजगारीसमेत दिएको थियो । लामो समयसम्म बिना काम जागिर खाएका ती कर्मचारी तथा गोठमा बाँधिएका भैँसी अहिले उद्योगमा छैनन् । 

कर्मचारीका लागि कति रकम भुक्तानी दिइयो भन्ने नगरपालिकासँग यकिन तथ्याङ्क छैन । मलमूत्रका लागि रु दुई लाखमा खरिद गरिएका तीन भैँसीमध्ये एउटा मरेको र दुई वटा रु ९० हजारमा लिलाम गरिएको नगरपालिकाले जनाएको छ । 

दश स्थानीय तह रहेको जिल्लाको सबैभन्दा ठूलो यस नगरपालिकालाई पाँच वर्षभित्र पूर्ण अर्गानिक बनाउने तयारी स्वरुप प्राङ्गारिक मल उद्योग स्थापना गरिएको तत्कालीन नगरप्रमुख रिजालले बताउनुभएको थियो । अघिल्लो स्थानीय सरकारले दीर्घकालीन कार्ययोजना नबनाइ विभिन्न संरचना निर्माण गरेकाले यस्तो अवस्था आएको वर्तमान नगरप्रमुख तीर्थराज भट्टराईको दाबी छ ।  उद्योग परिसरमै निर्माण निर्माण गरिएका पोखरी र हाइटेक ग्रिन हाउस पनि अलपत्र अवस्थामा छ । पोखरी र हाइटेक ग्रिन हाउस निर्माणमा नगरपालिकाको ठूलो मात्रामा रकम खर्च भएको स्रोतको दाबी छ । 

प्राङ्गारिक मल उद्योगका लागि खरिद गरिएको एउटा सक्सन मेसिन, दुईवटा ट्याक्टर र एउटा गाडी भने नगरपालिकाले उपयोग गरिरहेको छ । बनेका संरचना व्यवस्थित गरेर सञ्चालन गर्न नसक्नुले वर्तमान जनप्रतिनिधिको कार्यक्षमताप्रति प्रश्नचिन्ह खडा भएको नगरवासीको गुनासो छ । मल उत्पादनका लागि आवश्यक कच्चापदार्थका लागि भैँसी खरिद, उद्योगको कम्पाउण्डमा गार्डेनिङका लागि विभिन्न किसिमका फूलका बिरुवा तथा सजावटका सामग्रीमा पनि खर्च भएको छ ।  

काभ्रेको खानीखोलामा तीन सय २३ परिवारलाई ‘एक–घर–एक धारा’

काभ्रेपलाञ्चोक, ११ भदौ : काभ्रेको खानीखोला गाउँपालिकाको तीन सय २३ परिवारलाई घरघरघै खानेपानी उपलब्ध गराइएको छ । गाउँपालिकाको ‘एक–घर–एक धारा’ अभियान कार्यक्रमअन्तर्गत दुई खानेपानीका योजना सम्पन्न भएपछि दुई सातामा वडा नं ३, ४ र ५ को परिवारका घरमै खानेपानी उपलब्ध गराएको जनाइएको छ ।

योजना सम्पन्न भएपछि यही भदौमा दुई चरणमा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङद्वारा शुभारम्भ गरिएको हो । गाउँपालिकाको वडा नं ३ र ४ मा १ सय ७८ धारा निर्माण सम्पन्न भएको छ भने वडा नं ५ मा एक सय ४५ घरमा धारा जडान गरी खानेपानी उपलब्ध गराइएको अध्यक्ष थिङले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै खानेपानी आयोजना नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को संयोजन, च्यारिटी वाटरको सहयोग र गाउँपालिकाको साझेदारीमा निर्माण सम्पन्न भएको हो । 

गाउँपालिकाले  ‘दिगो र गुणस्तरयुक्त संरचना हाम्रो पहिचान, सुरक्षित पानी सफा र स्वच्छ गाउँ हाम्रो अभियान’ नाराका साथ खानेपानी आयोजना सञ्चालन गरिरहेको छ । अध्यक्ष थिङले खानीखोलाका दुई हजार चार ४ सय परिवारमा स्वच्छ र सफा खानेपानीको व्यवस्था गर्ने क्रममा हालसम्म सात सय घरधुरीमा योजनामार्फत पु¥याइएको बताउनुभयो । “बाँकी परिवारमा क्रमशः योजनामार्फत नै खानेपानी व्यवस्था गर्ने लक्ष्य लिएका छौँ”, थिङले भन्नुभयो । 

वडा नं ३ को आहाले जुरे, भाङ्टार, सौरे र चित्रे बस्ती र ४ डाँडागाउँ, बाँसघारी, सिरुटारमा नेवाको रु एक करोड २५ लाख आठ हजार, गाउँपालिकाको तर्फबाट रु ४९ लाख आठ हजार नौ सय, जनश्रमदानबाट रु २४ लाख ७६ हजार पाँच सय ५० गरी कूल रु एक करोड ७६ लाख ८३ हजार पाँच सयको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको थियो । उक्त खानेपानी आयोजना विसं विसं २०७९ मा सुरु गरिएको थियो । 

यस्तै खानिखोला–५ गैरीखोला तालढुङ्गामा ‘एक घर–एक धारा’ कार्यक्रमअन्तर्गतनै एक सय ४५ घरमा धारा जडानका लागि गाउँपालिका, नेपाल स्वास्थ्यका लागि पानी (नेवाः) सिन्धुली तथा स्थानीय जनश्रमदान गरी रु एक करोड छ लाख निर्माण सम्पन्न भएको हो । उक्त खानेपानी आयोजनाको विसं २०८० साउन १ गते सम्झौता गरिएको र समयमै निर्माण सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष थिङले जानकारी दिनुभयो ।

पर्यटकीयस्थल घोरेपानी हिँडेका स्पेनिस पर्यटक बेपत्ता

कास्की, ११ भदौ : चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) सम्पर्कविहीन भएको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिनुभयो ।

भुरुङदी खोलाको पुल नजिक पर्यटकका दुई  झोला आइतबार साँझ बाटोमा बेवारिसे अवस्थामा भेटिएपछि सोमबार दिनभर खोजी गरेपनि अवस्था पत्ता लाग्न नसकेको उहाँले बताउनुभयो । पर्यटकलाई भुरुङदी खोलाले बगाएको हुन सक्ने आशंका गरिएको छ । 

“पुरानो बाटोबाट हिँड्दा खोलाले बगाएको हुनसक्छ । उहाँहरुले विरेठाँटीमा रहेको  एक्यापको चेकपोस्टमा घोरेपानी जान लागेको भनेर दर्ता गर्नुभएको रहेछ”, प्रवक्ता गुरुङले भन्नुभयो ।  एक्याप विरेठाँटी चेकपोष्टका प्रमुख यामबहादुर गुरुङले आइतबार बिहान पर्यटकले कार्यालयमा नाम दर्ता गराएको जानकारी निदुभयो । उहाँले बाटोमा झोला राखेर छहरामा फोटो खिच्ने क्रममा खोलामा खसेर बेपत्ता भएको हुन सक्ने आशंकाले दिनभर खोजी गरिएको बताउनुभयो ।

प्रवक्ता गुरुङले भन्नुभयो, “पर्यटकको झोला भेटिएको नजिकै बाटोमा सुन्दर छहरा छ, त्यही फोटो खिच्ने क्रममा लडेर खोलामा परेका हुनसक्छन् । प्रहरी, जनप्रतिनिधि तथा स्थानीयवासीसहित  खोज्ने क्रममा छहरामा दुई वटा स्टिक(लौरी) भेटिएको छ । अन्य कुरा फेला पार्न सकेका छैनौँ ।”   मङ्गलाबार  गोताखोरसहितको टोलीले खोलामा खोजी गरिने जानकारी दिनुभयो । पर्यटक हराएको जानकारी दूतावासलाई गराइ सकिएको प्रवक्ता गुरुङले बताउनुभयो ।

पोखरीमा डुबेर एकैघरका दाजुबहिनीको मृत्यु,गाउँ नै शोकमा

खोटाङ, १० भदौ: हलेसी तुवाचुङ नगरपालिका–३ च्याम्टिारस्थित बाङमाका दुई बालबालिकाको एउटै सिँचाइपोखरीमा डुबेर मृत्यु भएको छ । च्याम्टिारस्थित बाङमाका स्थानीय गइन्द्र राईको छ वर्षीय छोरा सङ्गम राई र तीन वर्षीया छोरी समृद्धि राईको आज साँझ सिँचाइपोखरीमा डुबेर मृत्यु भएको हो ।

दिनभर घरैमा खेलिरहेका दाजुबहिनी बेलुकीपख हराएपछि खोजी गर्नेक्रममा घरदेखि केही पर रहेको भुतियाखोला नजिकै बनाइएको सिँचाइपोखरीमा डुबिरहेको आवस्थामा फेला पारिएको थियो । बेलुका पौने छ बजे फेला पारिएका दुवैजनालाई हातखुट्टा चलाउँदै गरेको अवस्थामा सिँचाइपोखरीबाट उद्धार गरेर घरमा ल्याएको केही समयमा दुवैजनाको मृत्यु भएको वडाध्यक्ष भूपालसिंह राईले जानकारी दिनुभयो ।  

घटना भएको जानकारी पाएलगत्तै प्रहरी चौकी च्यास्मिटारबाट प्रहरी सहायक निरीक्षक जबरबहादुर बस्नेतको नेतृत्वमा प्रहरी टोली खटिएका छन् । घटनास्थलमा खटिएका प्रहरी टोलीलाई घटनास्थल सुरक्षित राख्न लगाएर थप अनुसन्धान तथा कानूनी प्रकृयाका लागि जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थालतर्फ गएको सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो । 

खानेपानीको मुहानसमेत रहेको उक्त स्थानमा सिँचाइका लागि पोखरी निर्माण गरिएको थियो । सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसीस्थित च्यास्मिटारका स्थानीय बासिन्दा हिउँदको समयमा उक्त मुहानमा खानेपानी लिन जाने गरेका थिए । 

अहिले वर्षाद्को समयमा गाउँमै अर्को मुहानमा पानी भएकाले उक्त पोखरी भएको ठाउँमा खासै मान्छे जाँदैन थिए । सुनसान ठाउँमा रहेको पोखरीमा डुबेर दुई बच्चाको ज्यान गएको स्थानीय बासिन्दा एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का युवा नेता रसकुमार राईले जानकारी दिनुभएको छ । 

मृतक सङ्गम स्थानीय कलङ्का आधारभूत विद्यालको कक्षा–२ मा अध्ययनरत थिए । बुबा गइन्द्र रोजगारीका लागि हाल विदेशमा छन् । गइद्र र ममताको दुवै सन्तानको पोखरीमा डुबेर मृत्यु भएपछि अहिले गाउँ नै शोकमा डुबेको छ । 

यसअघि यही भदौ– ७ गते ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलस्थित खिरुका ११ वर्षीय अर्जुन राई र नौँ वर्षीय राज राईको खोलाको दहमा डुबेर मृत्यु भएको थियो । विद्यालयबाट घर फर्कनेक्रममा गर्मी छल्न भन्दै पौडी खेल्न स्थानीय चङ्खुखोलाको दहमा पसेका दुई बालकको डुबेर मृत्यु भएको हो । 

खिरुका स्थानीय टङ्कराम राईका छोरा अर्जुन र भोजकुमार राईका छोरा राजको शुक्रबार दिउँसो खोलाको दहमा डुबेर मृत्यु भएको स्थानीय पुरुषोत्तम राजभण्डारीले जानकारी दिनुभएको छ । राजभण्डारीका अनुसार मृतकद्वय अर्जुन र राजको बुबाहरु टङ्कराम र भोजकुमार एकाघरको दाजुभाइ हुन् । मृतक अर्जुन सोही स्थानका जनहित आधारभूत विद्यालयको कक्षा–५ मा तथा राज कक्षा–४ मा अध्ययनरत रहेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

सिड्नीमा गुञ्जिदै गायक रामकृष्ण ढकाल

सिड्नी -नेपाली गीतसङ्गीतमा प्रसिद्ध नाम बनिसकेका गायक रामकृष्ण ढकाल अष्ट्रेलिया जाने भएका छन् । उनी एक महिना लामो साङ्गीतिक प्रस्तुती लिएर दर्शक तथा स्रोतासँग साक्षात्कार गर्ने तयारी गरिरहेका छन् । उनको ‘रामकृष्ण ढकाल अष्ट्रेलिया टुर’ नामक साङ्गीतिक भ्रमणको सुरुआत अष्ट्रेलियाको प्रमुख सहर सिड्नीबाट हुँदैछ । ए टू जेट क्लिनिङ सप्लाएर्स क्लिनिङ् एण्ड हस्पिटालिटी टाईटल स्पोन्सर रहेको उक्त टुरका लागि आफू उत्साहित रहेको गायक ढकालले बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत आफ्नो खुसी साट्दै भनेकाछन्,‘केही समयको अन्तरलापछि सिड्नी आउँदैछु । मेरा नयाँ र पुराना गीतसङ्गीतसँगै हाम्रो जमघट हुनेछ । हामी छिटै भेट्नेछौँ ।’

सिड्नीको रकडेलमा रहेको इन्द्रेणी फन्सन सेन्टरमा उनको सुमधुर प्रस्तुती हेर्न सकिने छ । पाल्पा सर्भिसेसको प्रस्तुति रहेको यो कार्यक्रममा गोल्ड स्पोन्सरको रुपमा सर्च एजुकेसन र सिल्भर स्पोन्सरको रुपमा गोर्खाज सुपरमार्केट जोडिएको छ ।
गायक ढकालको प्रस्तुती हेर्न ९९ अष्ट्रेलियन डलर तोकिएको छ । उक्त रकममा रात्रीकालिन खानासमेत उपलब्ध हुने आयोजकले जनाएका छन् ।