`

कुवेतद्वारा ग्यास आपूर्तिका लागि कतारसँग १५ वर्षे सम्झौता

कुवेतको सरकारी तेल कम्पनीले सोमबार कतारबाट प्राकृतिक ग्यासको आपूर्तिका लागि १५ वर्षको सम्झौताको घोषणा गरेको छ । यद्यपि कम्पनीले सम्झौताको लागत खुलासा गरेको छैन । कतारइनर्जीले सम्झौताअन्तर्गत प्रतिवर्ष ३० लाख टन तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) आपूर्ति गर्ने कुवेत पेट्रोलियम कर्पोरेसन (केपिसी) ले विज्ञप्तिमार्फत बताएको छ ।

केपिसीका प्रमुख कार्यकारी शेख नवाफ साउद अल–सबाले भन्नुभयो, “छोटो समयमै कतारइनर्जीसँगको यो दोस्रो दीर्घकालीन सम्झौताले हाम्रो दीर्घकालीन सहयोगलाई पुष्टि गर्दछ ।”

कुवेतले सन् २०२० मा राज्यको स्वामित्वमा रहेको कतारी ऊर्जा फर्मसँग यस्तै प्रकारको सम्झौता गरेको थियो ।   शेख नवाफले सम्झौताले ऊर्जा सङ्क्रमणका लागि कुवेतको दीर्घकालीन रणनीति अनुरूप ‘ऊर्जाको स्वच्छ स्रोत उपलब्ध गराउने’ बताउनुभयो । 

जुनको मध्यदेखि तेल समृद्ध कुवेतले गर्मीमा बढ्दो विद्युत् खपतलाई सम्बोधन गर्न आवासीय र औद्योगिक क्षेत्रहरूमा बिजुली राशन लागु गरेको छ । 

नयाँ सम्झौताअन्तर्गत कुवेतको अल–जौर रिफाइनरीमा एलएनजी डेलिभरी सन् २०२५ देखि सुरु हुने तालिका रहेको केपिसीले बताएको छ । कतारइनर्जीका प्रमुख कार्यकारीसमेत रहनुभएका कतारका ऊर्जामन्त्री साद अल–काबीले भन्नुभयो, “यो नयाँ दीर्घकालीन साझेदारी हो, यो कुवेतको दिगोपन लक्ष्यहरू विशेषगरी विद्युत् उत्पादन क्षेत्रमा समर्थन गर्ने एक केन्द्रीय तत्व हो ।”

कतार अमेरिका, अस्ट्रेलिया र रुससँगै विश्वको शीर्ष तरलीकृत प्राकृतिक ग्यास उत्पादकमध्ये एक हो । 
फेब्रुअरीमा कतारले उसको नर्थ फिल्ड प्रोजेक्टबाट उत्पादन विस्तार गर्ने योजना घोषणा गर्दै सन् २०३० भन्दाअघि क्षमतालाई प्रतिवर्ष १४ करोड २० लाख टनसम्म बढाउने बताएको थियो । 

जर्मनीले अफ्रिकालाई एक लाख एमपक्स खोप दान गर्ने

जर्मनीले अफ्रिकाका एमपक्सबाट पीडित देशहरूलाई एक लाख एमपोक्स खोपको खुराक दान गर्ने सरकारले जनाएको छ । सरकारका प्रवक्ता स्टिफन हेबेस्ट्रेटले पत्रकारहरूलाई खोपहरू जर्मन सैन्य स्टकहरूबाट आउने र ‘छोटो अवधिमा’ उपलब्ध गराइने जानकारी दिनुभयो ।

उहाँले यसको उद्देश्य ‘अफ्रिकी महादेशमा एमपक्स नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूको ऐक्यबद्धतामा समर्थन गर्नु हो’ भन्नुभयो ।

रक्षा मन्त्रालयलका अनुसार उक्त कदमबाट जर्मनीले आफ्नो करिब सबै एमपक्स खोप भण्डार अर्थात करिब एक लाख १८ हजार खुराक दान गर्नेछ ।

जर्मनीले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) लाई वित्तीय सहयोग प्रदान गर्नुका साथै गाभी भ्याक्सिन अलायन्समार्फत अफ्रिकामा साझेदारहरूलाई सहयोग गरिरहेको हेबेस्ट्रेटले बताउनुभयो ।

मध्यम अवधिमा जर्मनीले अफ्रिकी सङ्घलाई स्थानीय खोप उत्पादन स्थापनार्थ सहयोग गर्न युरोपेली साझेदारहरूसँग काम गर्नेछ ।

डब्लुएचओले यस महिना प्रजातान्त्रिक गणतन्त्र कङ्गोबाट अन्य अफ्रिकी राष्ट्रहरूमा एमपक्स केसहरूको वृद्धिलाई विश्वव्यापी स्वास्थ्य आपत्कालीन घोषणा गरेको छ । सङ्गठनले खोपको उत्पादन र साझेदारीका लागि पनि आह्वान गरेको छ ।

प्रभावित देशहरूलाई एक लाख एमपक्स खोप खुराक दान गरिरहेको फ्रान्सले गत हप्ता घोषणा गरेको थियो । अमेरिकाले कङ्गोलाई ५० हजार खोप दान गर्ने बताएको छ ।

उक्त भाइरस सम्पूर्ण कङ्गोमा फैलिसकेको छ । यस वर्ष हालसम्म कङ्गोमा पाँच सय ७० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । बुरुन्डी, केन्या, रुवान्डा र युगान्डा जस्ता अन्य देशमा जुलाईदेखि प्रकोप रिपोर्ट गरिएको छ । युरोपमा पहिलो केस यस महिनाको सुरुमा स्विडेनमा रिपोर्ट गरिएको थियो ।

देशकै पुरानो भद्रपुर नाकाबाट वर्षाैदेखि निर्यात शून्य

झापा-विगत छ वर्षदेखि मुख्य भन्सारको मान्यता पाएको भद्रपुर नाकाबाट निर्यात व्यापार शून्य छ । सीमावर्ती भारतीय नाका गलगलियाको स्तरोन्नति नहुँदा भद्रपुरबाट नेपाली सामान निर्यात हुन नसकेको हो । विसं २००७ भन्दाअघिदेखि राणाकालीन व्यापारिक नाकाका रुपमा परिचित भद्रपुरको भन्सार नेपालकै पुरानो मानिन्छ । तर विसं २०७५ भदौ १९ गते मात्र यसले छोटी भन्सारबाट स्तरोन्नति हुँदै मुख्य भन्सारको मान्यता पाएको हो ।

मुख्य भन्सारको मान्यता पाएपछि भद्रपुर भन्सार कार्यालयको भौतिक पूर्वाधार, जनशक्ति र क्षेत्राधिकार बढेको छ । तर, निर्यात व्यापारको ढोका भने अहिलेसम्म खुल् नसकेको जनाइएको छ ।

नेपालले भन्सारको स्तरोन्नति गरे जस्तै सीमापारिको गलगलियास्थित भारतीय नाकाको स्तरोन्नति हुन सकेको छैन । गलगलिया अहिले पनि छोटी भन्सारका रुपमा सञ्चालन भइरहेको छ । त्यहाँ सामान भण्डारण गर्ने गोदाम र जाँचपास गर्ने एजेन्टलगायत सुविधा नभएको जनाइएको छ । 

विसं २००७ पछि नेपालबाट चामल, काठलगायतका सामान भारत निर्यात गर्ने मुख्य नाकाका रुपमा भद्रपुर चिनिएको थियो । काँकडभिट्टामा मेची पुल र राजमार्ग विस्तार भएपछि भद्रपुरको व्यापार क्रमशः ओरालो लागेको हो । आर्थिक वर्ष २०७६/७७ देखि गत आव २०८०/८१ सम्म पाँच वर्षको अवधिमा भद्रपुर भन्सार कार्यालयले रु ९९ करोड ७७ लाख राजस्व असुली गरेको कार्यालयका प्रमुख भन्सार अधिकृत अर्जुनप्रसाद सिटौलाले बताउनुभयो ।

उहाँका अनुसार आव २०७६/७७ मा रु १४ करोड ४९ लाख, आव २०७७/७८ मा रु २७ करोड ३४ लाख, आव २०७८/७९ मा २४ करोड १३ लाख, आव २०७९/८० मा रु नौ करोड ४७ लाख र आव २०८०/८१ मा रु २४ करोड ३४ लाख राजस्व असुली भएको छ ।

चालू आव २०८१/८२ मा भद्रपुर भन्सारले रु ३३ करोड १३ लाख राजस्व असुलीको लक्ष्य निर्धारण गरेको छ । आव २०८०/८१ मा रु १२ करोड सात लाख असुलीको लक्ष्य लिएको कार्यालयले आश्चर्यजनक उपलब्धि हासिल गर्दै रु २४ करोड ३४ लाख राजस्व असुली गरेको थियो ।

विगत पाँच वर्षमा असुली भएको रु ९९ करोड ७७ लाख भन्सारबाट आयात भएको मालसामानको महसुलबापत हो । हालसम्म यस भन्सारबाट नेपाली कुनै पनि सामान निर्यात नभएको हुँदा निर्याततर्फको राजस्व शून्य रहेको भन्सार प्रमुख सिटौलाले स्वीकार गर्नुभयो ।

व्यापारिक नाका भनेकै दोस्रो र तेस्रो मुलुकसँग सामानको आयात र निर्यात गर्ने स्थान हो । तथापि भद्रपुर नाका नेपालका लागि सामान भित्र्याउने नाकामा सीमित हुन पुगेको छ । 

सीमावर्ती गलगलिया नाका भारतको विहार प्रान्तअन्तर्गतको कम प्राथमिकतामा परेको भन्सारको सूचीमा रहेको छ । गलगलिया भन्सारमा भौतिक पूर्वाधार, गोदाम, भन्सार एजेन्ट लगायतको सुविधा छैन । स्थानीय व्यवसायीका अनुसार रु पाँच लाखभन्दा बढी मूल्यका सामान नेपाल ल्याउनसमेत गलगलिया भन्सारले दिएको छैन । पाँच लाखभन्दा बढी मूल्यका सामान फारवेसगञ्ज नाकाबाट जाँचपास गराएर मात्र नेपाल ल्याउन पाइने नियमका कारण नेपाली व्यवसायी हैरान छन् । 

भद्रपुर भन्सार कार्यालयका प्रमुख सिटौलाले यस नाकाबाट लत्ताकपडा, चिया उद्योगका पार्टपूर्जा, प्याकिङ मेटेरियल, प्लाइउड उद्योगमा प्रयोग हुने रेजिनलगायतका केमिकल र बालीनालीमा प्रयोग हुने विषादीजन्य वस्तुहरु आयात हुने गरेको जानकारी दिनुभयो ।

झापा उद्योग सङ्घका अध्यक्ष यामबहादुर श्रेष्ठले भारतीय नाकाको भन्सारलाई स्तरोन्नति गरिने हो भने नेपालबाट चिया, प्लाइउडलगायत बर्सेनि अर्बौं मूल्यका नेपाली उत्पादन निर्यातको बाटो खुल्ने सम्भावना रहेको बताउनुभयो ।

“भारतीय पक्षलाई विभिन्न माध्यमबाट गलगलिया भन्सारको स्तरोन्नति गर्नका लागि दबाब दिइरहेका छौँ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो, “यही दबाबका कारण भारतको विहार सरकारले गलगलिया भन्सारलाई स्तरोन्नति गर्दै भन्सार कोड प्रदान गरेको खबर आएको छ । अब चाँडै निर्यात व्यापारका लागि ढोका खुल्ने आशा गरेका छौँ ।”

उहाँले भारतीय भन्सारले कोड प्राप्त गरेपछि क्वारेन्टाइनलगायत अन्य कार्यालय स्थापना गर्न जरुरी रहेको बताउनुभयो । गलगलिया भन्सारमा चाँडै भन्सार एजेन्टहरु नियुक्त हुने जानकारी आएकोसमेत उहाँले बताउनुभयो ।

नेपालकै पुरानो भन्सार भए पनि विगतमा मेची नदीमा पुल नभएका कारण व्यापार प्रभावित भएको थियो । विसं २०७६ मा मेची नदीमा पक्की पुल निर्माण भइसकेको छ । नेपालतर्फ छोटी भन्सारलाई स्तरोन्नति गरेर मुख्य भन्सार घोषणा भएपछि भन्सारमा जनशक्ति थप गरेर २० जना पुर्याइएको छ ।

भद्रपुर भन्सार कार्यालय मातहतमा पाठामारी, घेराबारी, पन्थापाडा, केचना र कुमरखोद गरी पाँच वटा छोटी भन्सार छन् । कुमरखोदबाहेक अरु छोटी भन्सारको गतिविधि ठप्प रहेको छ ।

मधेस प्रदेशका चार जिल्लामा तीन सय ३५ किमी हुलाकी सडक निर्माण

जनकपुरधाम,-मधेस प्रदेशको चार जिल्लामा हालसम्म तीन सय ३५ किलोमिटर हुलाकी सडक निर्माण भएको छ । प्रदेशका धनुषा, महोत्तरी, सिरहा र सर्लाहीमा तीन सय ९३ किमी सडक निर्माण गर्नुपर्नेमा हालसम्म तीन सय ३५ किमी सडक निर्माण भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामले जनाएको छ ।

यहाँ आर्थिक वर्ष २०७२÷७३ बाट सुरु भई आव २०८०÷८१ सम्म उक्त सडक निर्माण भएको कार्यालयका सूचना अधिकारी रञ्जीतकुमार रायले जानकारी दिनुभयो । अब यी जिल्लामा ५८ किमी सडक निर्माण गर्न बाँकी छ । 

यहाँ सडक निर्माणका लागि रु आठ अर्ब ५१ करोड ७९ लाख ३९ हजार तीन सय खर्च भएको कार्यालय प्रमुख कृष्णकुमार महतोले जानकारी दिनुभयो । सडक निमार्णले करिब ३५ लाख जनता लाभान्वित हुनुका साथै हुलाकी सडक छेउछाउका जमिनको मूल्यवृद्धि, आर्थिक गतिविधिमा बढोत्तरी भएको उहाँले बताउनुभयो । निमार्णका क्रममा केही स्थानमा विवाद भएकाले सम्पूर्ण काम गर्न नसकिएको महतोको भनाइ छ ।

प्राप्त विवरणअनुसार सिरहामा २९ दशमलव ९८ किमी कमला बलान सडक, २७ दशमलव ४६ किमी गोलबजार जमदह लवदी र गरियानी खडग सडक र धनुषामा ३५ दशमलव ५८ किमी कदम चाृक, कप्टौल, निकौरिया सडक, १० किमी यदुकोहा, खजुरीमहुवा सडक तथा १० दशमलव २६ किमी जनकपुरधाम–जलेश्वर भिट्ठामोड सडक निर्माण सम्पन्न भएको छ ।

यसैगरी महोत्तरीमा २० किमी जनकपुर, बसविटी, बलुवा, हर्दिपोखरी, भिण्डा, सङ्ग्रामपुरसडक निर्माण गरिएको छ । सर्लाहीमा २२ दशमलव ४८ किमी बेल्ही त्रिभुवन नगरसडक, २१ दशमलव २० किमी फुलजोड त्रिभुवन नगरसडक तथा ४० दशमलव ३७ किमी शितलपुर, मलङ्गवा खरैयाटोल सडक, २६ दशमलव ५९ किमी नवलपुर– मलङ्गवा  तथा ४० दशमलव ५८ किमी नयाँरोड–बरहथवा र मधुवनी सडक तथा बरहथावादेखि पश्चिम ५२ किमी सडक निमार्ण सम्पन्न भएको सूचना अधिकारी रायले जानकारी दिनुभयो । यी खण्डमा ५१ वटा पुलसमेत निर्माण गरिएका छन् ।

ताप्लेजुङ गोल्डकपः टिकटबाट एकै दिनमा १० लाखभन्दा बढी सङ्कलन

ताप्लेजुङ- अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकपको फाइनल खेलमा टिकट बिक्रीबाटै रु १० लाखभन्दा बढी सङ्कलन भएको छ । फाइनल खेल हेर्नका लागि चार हजार ५६ जना दर्शकले टिकट लिएका थिए ।

प्रतिव्यक्ति रु दुई सय ५० का दरले टिकट बिक्री गरिएको थियो । उक्त टिकट बिक्रीबाट रु १० लाख १४ हजार सङ्कलन भएको आयोजकले जनाएको छ । फाइनल खेल करिब १२ हजार दर्शकले अवलोकन गरेको आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ ।

पहिलो चरणका खेल हेर्न रु एक सय, सेमिफाइनलका खेल हेर्न रु दुई सय र फाइनल खेल हेर्नका लागि रु दुई सय ५० दरका टिकट निर्धारण गरिएको थियो । दर्शकको सुविधाका लागि प्याराफिट निर्माणसहितका काममा मोटो रकम खर्च हुने भएकाले टिकट काट्नुपर्ने बाध्यता रहेको आयोजकले बताएको छ ।

श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइयो श्रीकृष्ण जन्माष्टमी

काठमाडौँ, १० भदौः प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज वैदिक सनातन धर्मावलम्बीले देशभर भगवान् श्रीकृष्णको विधिअनुसार पूजा आराधनागरी श्रद्धा–भक्तिपूर्वक मनाएका छन् ।

श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा देशभरका कृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम रहने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा वासुदेव र देवकीको पुत्रका रुपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको पौराणिक मान्यता छ ।

जन्माष्टमीका दिन पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लागेको छ । प्राचीनकालदेखि नै पाटनको कृष्णमन्दिरमा भक्तजनको ठूलो उपस्थिति रहने गर्छ । यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ स्थित गोठाटारमा रहेको नवतनधाममा पनि भक्तजनको भीड लागेको छ ।

उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको अन्तर्राष्टिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन) को कार्यालय परिसरमा रहेको कृष्णमन्दिरमा पनि भक्तजनको भीड लागेको छ । यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । शोभायात्रा तथा रथयात्रा भने भाद्र कृष्ण नवमीको दिन निकाल्ने गरिन्छ । अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको खुसीयालीमा नवमीका दिन रथयात्रा निकाल्ने गरिएको हो ।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाईंमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामलेसमेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको महाभारतलगायत शास्त्रीय र पौराणिक ग्रन्थमा उल्लेख छ । धर्म स्थापनाका लागि युगयुगमा जन्म लिन्छु भनी कुरुक्षेत्रमा अर्जुनलाई सत्यको पक्षमा लाग्नेको रक्षा असत्यका पक्षमा लाग्नेको संहार गर्न अवतार लिने गरेको प्रसङ्ग पनि विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ ।

घरघरमा बालबालिकालाई श्रीकृष्णको स्वरुपमा सिँगार्ने प्रचलन पनि नेपाली समुदायमा बढ्न थालेको छ । विद्यालयले पनि बालबालिकालाई श्रीकृष्ण र राधाका रुपमा सिँगारेर यो सांस्कृतिक पर्व मनाउँछन् । आज दिनभर व्रत गरेका भक्तजन रातिमा भने जाग्राम बसेर श्रीकृष्णको स्वागत गर्छन् । यस अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा पनि दिएको थियो ।

घाइते अवस्थामा भेटिएका स्नुकर हाउसका सञ्चालकको मृत्यु

काठमाडौँ, १० भदौ : काठमाडौँको शङ्खमूलमा आफ्नै स्नुकर हाउस तथा खाजा घरको सोफामा घाइते अवस्थामा भेटिएका सञ्चालक रुपक बान्तवाको आज मृत्यु भएको छ ।

जिल्ला पहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीकानुसार काठमाडौँ महानगरपालिका–१० शङ्खमूलस्थित बागमती कोरिडोर सुकुम्वासी बस्तीमा रहेको ‘द टाइम पास स्नुकर एण्ड खाजा घर’का सञ्चालक बान्तवाको मृत्यु भएको हो ।

अधिकारीकानुसार बान्तवा आज बिहान करिब २ बजेको समयमा खाजा घरको सोफामा घाइते अवस्थामा भेटिएका थिए । उक्त जानकारी प्राप्त हुने बित्तिकै घटनास्थल पुगेर प्रहरीले उद्धार गरी उपचारका लागि सिभिल अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनाको सुक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।

कृष्ण जन्माष्टमीको‌ अवसरमा मणिग्राममा लाखेनाच

नारायन भुसाल/बुटवल – रुपन्देहीको मणिग्राममा रहेका नेवार समुदायले श्रीकृष्ण जन्माष्टमीको‌ पूर्व सन्ध्यामा नाचगान तथा परम्परागत लाखे नाच कार्यक्रम गरेका छन् । नेवारी भाषाको पहिचान कला सस्कृतीको संरक्षण भन्ने मुल नाराका साथ पर्बतको वहाकी बाट बसाइँसराइ गरी मणिग्राम आएका नेवार समुदायको सस्था झिगु: नेवा: खल: ति न पा ६ मणिग्राम द्वारा नेवारी सस्कृतिको रक्षार्थ एवं प्रचार-प्रसार गर्ने उद्देश्यले श्रीकृष्ण जन्माष्टमीको‌ पूर्व सन्ध्यामा मणिग्राम स्थित बाह्र नम्बर चोकमा कार्यक्रम गरिएको थियो।

कार्यक्रममा विभिन्न नेवारी भाषाका गितहरुमा नाचगान तथा परम्परागत लाखे नाच सहित विभिन्न कार्यक्रम गरी भब्य रूपमा कार्यक्रम सम्पन्न भएको थियो।

श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइएको छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ। यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

सम्पदा संरक्षणमा स्थानीय तहको सहभागिता हुनुपर्छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, १० भदौः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुरातात्विक महत्व बोकेका सम्पदा संरक्षणमा स्थानीय तहको सहभागिता हुनुपर्नेमा जोड दिनुभएको छ ।

काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१३ स्थित चुनीदेवी मन्दिर पुनर्निर्माण समितिले श्रीकृष्ण जन्माष्टमीका अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले सम्पदा संरक्षणमा स्थानीय तहको प्रयासको सराहना गर्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले स्थानीय कला संस्कृतिको संरक्षण र विकासको आवश्यकतामा जनताको उत्साहपूर्वक सहभागिता हुनुलाई आफूले ठूलो शिक्षाका रूपमा लिएको बताउनुभयो । उहाँले नेपालमा कला र संस्कृति जोगाउने सवालमा युवा र महिलाको भूमिका बढेको समेत बताउनुभयो । “मुलुकमा युवा तथा महिलाको उपस्थिति विकास निर्माण मात्रै नभई कला र संस्कृतिको जगेर्नाका लागिसमेत अपरीहार्य रहेको छ । त्यसैले स्थानीय कला र संस्कृतिको संरक्षणमा युवा पुस्तालाई जोड्न सोहीअनुसारका कार्यक्रम ल्याउनुपर्छ”, उहाँले भन्नुभयो ।

जनप्रतिनिधिलाई समेत जनताको भावना बुझेर अघि बढ्न सुझाव दिनुहुँदै पूर्वराष्ट्रपति भण्डारीले पार्टीका प्रतिनिधि र जनप्रतिनिधि मिलेर काम गर्दा झनै राम्रो नतिजा आउने विश्वास व्यक्त गर्नुभयो ।
अब भौतिक पूर्वाधार र मानवीयतालाई जोडेर विकासको अवधारणा (मोडल)लाई अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । “भौतिक पूर्वाधार मात्र होइन, मानवीय विकासका लागि अब शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकतालाई समेत अगाडि बढाउनुपर्छ”, पूर्वराष्ट्रपति भण्डारीले, “जनप्रतिनिधिलाई अहिलेसम्म भएको विकासको समीक्षा गरेर अगाडि बढ्न पर्दछ ।”

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य राजन भट्टराईले स्थानीय तहले सम्पदा संरक्षणमा अझ बढी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । बूढानीलकण्ठ नगरपालिका प्रमुख मीठाराम अधिकारीले नगरभित्रका सबै सम्पदाको पुनःनिर्माण अन्तिम चरणमा रहेको जानकारी दिनुभयो ।

पाख्रिनका गीतसङ्गीतले आमश्रमिकलाई उद्वेलित र सङ्ठगित हुन प्रेरित गर्थ्यो : अध्यक्ष दाहाल

काठमाडौँ, १० भदौ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनसङ्गीतज्ञ खुसीराम पाख्रिनका गीतसङ्गीतले आमनेपाली श्रमिकलाई उद्धेलित र सङ्गठित हुन प्रेरित गर्दै आएको स्मरण गर्नुभएको छ ।

जेबी टुहुरे फाउन्डेसनले आज यहाँ आयोजना गरेको कार्यक्रममा पाख्रिनलाई ‘जनगायक जेबी टुहुरे सम्मान–२०८१’ प्रदान गर्नुहुँदै उहाँले पाख्रिनले राजनीतिक परिवर्तनमा गीतसङ्गीतका क्षेत्रबाट खेल्नुभएको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । “हामीले दर्शन, सिद्धान्त र राजनीतिकका कुरा गरेर धेरै जनतालाई सङ्गठित ग¥र्यौं भन्ने लाग्दैन, जति खुसीरामले देशभर र प्रवासमा गाएका गीतले नेपाली श्रमिकलाई उद्धेलित बनाउथ्यो र सङ्गठित गर्न प्रेरित गथ्र्यो”, अध्यक्ष दाहालले भन्नुभयो । पाख्रिनले आफैँ गीत रचना गर्ने, सङ्गीत भर्ने र गाउने गरेको स्मरण गर्नुहुँदै उहाँले खुसीराम आफ्नो गाउँले साथीका रूपमा असाध्यै मिलनसार योद्धाका रूपमा रहेको बताउनुभयो ।

अध्यक्ष दाहालले जनगायक जेबी टुहेरेले गीतसङ्गीतका माध्यमबाट देशभर जनतामा जागरण पैदा गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको स्मरण गर्नुभयो । “पञ्चायतकालमा टुहुरेका गीत जनतामा जाने मुख्य सामग्री हुन्थे । वैचारिक राजनीतिक रूपमा भन्दा पनि श्रमजीविका गीत गाएपछि जनतालाई आकर्षित गर्न सकिन्थ्यो”, उहाँले भन्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष गुरु बरालले जनगायकद्वय पाख्रिनले टुहुरे एकै सिक्काका दुई पाटाका रूपमा जीवनभर जनताको पक्षमा गीतसंगीत गायन र सिर्जना गर्दै आउनुभएको स्मरण गर्नुभयो । माओवादी केन्द्रका केन्द्रीय सदस्य पूर्णबहादुर घर्तीले जीवनभर जनताका गीत गाएर पाख्रिनले नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान दिनुभएको बताउनुभयो ।

त्यस अवसरमा जेबी टुहुरे फाउन्डेसनको वेबसाइट सार्वजनिक गरिएको थियो । कार्यक्रममा कलाकारहरूले जनगायक पाख्रिनले सिर्जना गर्नुभएका गीतसङ्गीत प्रस्तुत गरेका थिए ।

पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक अवरुद्ध

बागमती, १० भदौ : वर्षासँगै खसेको पहिराका कारण आज दिउँसोदेखि हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङस्थित सिस्नेरी कुलेखानी फर्पिङ काठमाडाँै सडकखण्डमा वर्षाका कारण लेदो खसेर बाटो पूर्ण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

कान्तिलोकपथस्थित मकवानपुरको भिमफेदी गाउँपालिका–८ महादेवटार सडकखण्डमा पनि वर्षासँगै खसेको लेदोसहितको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । अवरुद्ध भएका दुवै सडकमा पहिरो हटाउने कार्य भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो ।

इरानद्वारा इजरायलमा हिजबुल्लाहको आक्रमणको प्रशंसा

इरानले सोमबार लेबनानको हिजबुल्लाह समूहद्वारा इजरायलमा ड्रोन र मिसाइल आक्रमणको प्रशंसा गरेको छ । इरानले उसको कट्टर दुश्मन इजरायलले बढ्दो क्षेत्रीय तनावका बीच यस्ता आक्रमण रोक्ने क्षमता गुमाएको बताएको छ ।

हिजबुल्लाह नेता हसन नसरल्लाहले आइतबार तेहरान समर्थित समूहले ‘गिलोट बेस–मुख्य इजरायली सैन्य गुप्तचर आधार’ लाई निशाना बनाउँदै इजरायलमाथि ठूलो मात्रामा आक्रमण गरेको बताउनुभएको थियो ।

इजरायली सेनाले प्रतिष्ठानमा कुनै प्रहार नभएको बताएको छ । “यहुदी शासन लेबनानी हिजबुल्लाह अभियानका सम्बन्धमा केही तथ्यलाई लुकाउन, विकृत गर्न वा सेन्सर गर्न सक्षम हुनसक्छ तर विद्यमान तथ्य परिवर्तन हुँदैन भन्ने उसलाई राम्ररी थाहा छ”, इरानको विदेश मन्त्रालयका प्रवक्ता नासिर कनानीले सामाजिक सञ्जाल एक्समा भन्नुभयो, “इजरायली आतङ्कवादी सेनाले आफ्नो प्रभावकारी आक्रमण र निवारक शक्ति गुमाएको छ र अब उसले रणनीतिक आक्रमणहरू विरुद्ध आफ्नो रक्षा गर्नुपर्दछ ।”

कनानीले हिजबुल्लाहको आक्रमण ‘कब्जा गरिएका क्षेत्रहरूमा गहिराइसम्म फैलिएको’ र इजरायलको क्षतिका लागि ‘रणनीतिक सन्तुलनमा आधारभूत परिवर्तन’ भएको बताउनुभयो । उहाँले इजरायलका लागि ‘व्यापक’ समर्थन गरेकामा संयुक्त राज्य अमेरिकाको पनि आलोचना गर्नुभयो । अमेरिका हिजबुल्लाहको कार्यका लागि ‘समय र स्थानको भविष्यवाणी’ गर्न असफल भएको थियो ।

संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले आइतबार उक्त आक्रमणको तुलना हिजबुल्लाहसँग सन् २००६ को युद्धमा इजरायली सेनाको ‘हार’ सँग गर्नुभयो । “इजरायली शासनको आजको हार सन् २००६ को अपरेसनमा हार जत्तिकै थियो र उसले यो हारलाई लुकाउन सक्तैन”, उहाँले एक्समा पोस्ट गर्नुभयो ।

इजरायलले आइतबार लेबनानमा हवाई आक्रमण गरेको भन्दै हिजबुल्लाहका ‘हजारौँ’ रकेट लन्चरलाई नष्ट गरेको र ठूलो आक्रमणलाई विफल बनाएको बताएको छ ।

टेलिभिजनमा प्रसारित सम्बोधनमा नसरल्लाहले आफ्नो समूहले दुई चरणमा आक्रमण गरेको बताउनुभयो । पहिलो उत्तरी इजरायल र ११ सैन्य स्थानमा र गोलान हाइट्समा ‘२४० कत्युशा रकेट’ प्रक्षेपण गरिएको थियो ।

अक्टोबर ७ मा प्यालेस्टिनी सहयोगी हमासको आक्रमणसँगै गाजामा युद्ध सुरु भएपछि हिजबुल्लाह लडाकूहरूले इजरायलसँग सीमापार दैनिक गोलीबारी गरेका छन् ।तेहरानमा हमासका राजनीतिक प्रमुख इस्माइल हानिया र बेरुतमा हिजबुल्लाहका कमान्डर फआद शुक्रको हत्यापछि व्यापक क्षेत्रीय द्वन्द्वको त्रास बढेको छ ।

इरान र उसको सहयोगी हमास तथा हिजबुल्लाहले दुवै हत्यामा इजरायलको हात रहेको आरोप लगाएका छन् र बदला लिने वाचा गरेका छन् । इजरायलले हानियाको हत्याप्रति कुनै टिप्पणी गरेको छैन तर शुक्रमाथि आक्रमण गरेको पुष्टि गरेको छ ।

दोस्रो ताप्लेजुङ गोल्डकपको उपाधि सगरमाथा यूथ क्लबलाई

ताप्लेजुङ, १० भदौ : अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकपको उपाधि सगरमाथा युथ क्लब मोरङले जितेको छ । सलहेस यूथ क्लब सिरहालाई १–० गोल अन्तरले पराजित गर्दै मोरङले उपाधि जितेको हो । सगरमाथा युथ क्लबलाई उपाधिका लागि खेलको तीन मिनेटमै विजय भुजेलले गरेको गोल नै निर्णायक बन्यो ।

विजेता मोरङले नगद रु पाँच लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजेता टिमलाई पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईलगायतले पुरस्कार वितरण गर्नुभयो । उपविजेता सलहेस युथ क्लब सिरहाले नगद रु दुई लाख ५० हजार पाँच सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उक्त पुरस्कार कोशी प्रदेशसभा सदस्यहरू तिलकुमार मेन्याङ्बो, खगेनसिं हाङ्गाम, निर्मला तावालगायतले हस्तान्तरण गर्नुभयो ।

सगरमाथाले घरेलु टोली सङ्घर्ष स्पोर्टिङ युवा क्लबलाई २–१ गोल अन्तरले र सलहेस युथ क्लबले विर्तामोड युनाइटेड फुटबल क्लब झापालाई ट्राईबेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए ।

प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब, बुटवल लुम्बिनी फुटबल क्लब, भारत सिलगढीको कञ्चनजङ्घा फुटबल क्लबसहित आठ टिम सहभागी थिए । लाखेजात्राका अवसरमा भदौ ३ गतेदेखि प्रतियोगिता शुभारम्भ भएको थियो ।

हरेक वर्ष लाखेजात्राका अवसरमा आयोजना हुँँदै आएको प्रतियोगिताले खेल पर्यटनको विकाससँगै जिल्लाको पहिचान थप बलियो हुँदै गएको आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले बताउनुभयो ।

अवकाशप्राप्त इञ्जिनियरको कृषि कर्ममा रमाउदै सुकदेव

सिरहा, १० भदौः जल तथा ऊर्जा आयोगबाट प्राविधिक उपसचिव (इलेक्ट्रोनिक इञ्जिनियर)बाट दुई वर्षअघि अवकाश भएयता लहान–१६ का सुकदेव चौधरी कृषि कर्ममा रमाइरहनुभएको छ ।

अध्ययन र अनुभवको क्षेत्र फरक भए पनि कृषि कर्म मनमा शान्ति दिने अस्त्र भएको उहाँले सुनाउनुभयो । उमेरले छ दशक पूरा गर्नुभएइका उहाँको लोभलाग्दो व्यावसायिक फलफूल खेती देख्दा धेरैले प्रशंसा गर्ने गरेका छन् ।

उहाँले लहान बजारबाट १० किलोमितर उत्तरतर्फ चुरेको काखमा अवस्थित करिब चार बिघा आफ्नै जमिनमा ‘कालिका कृषि फर्म’ दर्ता गरी ड्रागन फ्रुट, आँप, लिची, कागती, अम्बा, स्याउ, मेवालगायत फलफूल खेती गरिरहनुभएको छ । त्यसबाहेक चारवटा माछा पोखरी पनि छन् ।

विसं २०६५ मा ऊर्जासम्बन्धी विदेश भ्रमणमा छिमेकी मुलुक चीन गएको बेला ऊर्जा र कृषिसम्बन्धी अवलोकनबाट कृषिमा नेपालमा पनि केही गर्न सकिने सङ्कल्प लिएर अवकाश हुनुभन्दा चार वर्ष अगाडि नै कृषि फर्म दर्ता गराएर पूर्वाधार तयार गरिएको चौधरीले जानकारी दिनुभयो ।

प्राविधिक क्षेत्रमा सिद्धहस्त चौधरीलाई आकाशपछि पनि सोही क्षेत्रमा काम गर्ने अवसरको कुनै कमी थिएन । तर पनि उहाँ अवकाशपछि कृषि कर्ममै समर्पित हुनुभयो । “एउटै पेसा जीन्दगीभर गरिरहदा दिक्क लाग्ने हुँदो रहेछ । शरीर र दिमागलाई पनि कुनै फरक पेसा र व्यवसायको स्वाद लिने रहर लाग्ने रहेछ सायद । मलाई पनि त्यही रहरले डोहो¥यायो”, चौधरीले भन्नुभयो ।

सामाजिक रुपमा इञ्जिनियरिङ पेसालाई निकै प्रतिष्ठित पेसाका रुपमा हेरिन्छ । तर कृषि कर्ममा रमाउनेहरुले त्यसप्रकारको सम्मान पाइसकेका छैनन् । विभिन्न देशमा भ्रमण गर्दा त्यहाँको आधुनिक कृषि प्रणाली र कृषकलाई सरकारले दिएको महत्वले आफूलाई प्रभावित बनाएको चौधरीकोद भनाइ छ ।

चौधरीको घर वरिपरि फलफूको आकर्षक र लोभलाग्दो खेतीले जो कसैको मन मोहित बनाउँछ । करिब रु ३० लाख लागतमा सुरु गर्नुभएको व्यावसायिक कृषि खेतीबाट चौधरीले मुनाफा प्राप्त गर्न थालिसक्नुभएको छ ।

“जागिरबाट अवकाश हुनुभन्दा केही वर्षअघिदेखि नै ड्रागन खेती सुरु गरिसकेको थिए । त्यसपछि फलफूल खेती, माछा र माहुरीपालन पनि एकसाथ सुरु गरेको छु”, चौधरीले भन्नुभयो, “दुई वर्ष अघिदेखि १४ कठ्ठा क्षेत्रफलमा लगाइएको व्यावसायिक ड्रागन फ्रुटका खेतीले सोचेभन्दा राम्रो सफलता पाएको छु, अन्य फलफूलका बिरुवा हुर्कैदैछन् ।”

चौधरीले ड्रागन खेतीबाट जति आम्दानी गर्नुभएको छ, त्यति नै आम्दानी ड्रागनको बोट मुनी लगाएका अन्य अन्तरबालीले दिइरहेको छ । उहाँले अन्तरबालीका रुपमा सिजनअनुसार लसुन, प्याज, भेण्डी, खुसार्नीलगायत तरकारी तथा फलफूल लगाउनुभएको छ । त्यसबाहेक व्यावसायिक तरकारी खेती गर्नुभएको छ । अन्तरबालीले ड्रागन फ्रुट खेतीलाई राम्रो स्याहारसुसार पुग्ने र त्यसबाट लाभ लिएको चौधरीको भनाइ छ ।

कृषि कर्ममा चौधरी सक्रियताका साथ आफँै बिहानदेखि बेलुकासम्मै खट्नुहुन्छ । उहाँलाई श्रीमति हरिदेवी चौधरीले साथ दिनुभएको छ । एक जना छोरा भने वैदेशिक अध्ययनमा रहेको उहाँले जानकारी दिनुभयो । जागिरे जीवन हुँदा काठमाडाँैमा करिब १६ वर्ष श्रीमतीले सुगर र प्रेसरको औषधि खानुपरेको भएता पनि अहिले खेतबारीमा श्रम गर्दा उक्त रोग अहिले सामान्य अवस्थामा रहेको र कुनै औषधि खानु नपरेको चौधरी बताउनुहुन्छ ।

“केही नगरी बसेर दिन कटाउनु भनेको रोग पाल्नु जस्तै रहेछ । त्यो भन्दा त कृषि कर्मले शरीर पनि फुर्तिलो, खाने कुरा पनि अग्र्यानिक उत्पादन हुने । विभिन्न रोगबाट छुटकारा पनि”, चौधरीले भन्नुभयो ।

चौधरीले खेतीमा अर्गानिक कम्पोष्ट मल प्रयोग गर्नुभएको छ । उहाँले अहिले पाँच जना स्थानीयलाई नियमित रोजगारीमा काम पनि दिलाउनुभएको छ । युवाहरु बेरोजगार भएर भौतारिने समस्या देख्दा आफूलाई दुःख लाग्ने चौधरी बताउनुहुन्छ ।

“मेहिनत गर्ने हो भने जीविकोपार्जन गर्न कुनै समस्या छैन । तर, त्यसको लागि स्पष्ट दृष्टिकोण र सरकारको स्पष्ट नीति चाहिन्छ । नेपालमा जमिनको महत्व नबुझेर विदेश जाने प्रवृत्ति छ । किन विदेश जानु ? खेतबारी बाँझै किन छोड्नु ? विदेशमा गर्ने जति मेहनत यही गर्ने हो भने यहाँको माटोमा सुन फलाउन सकिन्छ”, चौधरीले भन्नुभयो ।

अवकाश प्राप्त कर्मचारी तथा अन्य कृषि कर्ममा लाग्न चाहनेका लागि सुकदेव चौधरी उदाहरण भएको लहान नगरपालिका कृषि शाखाका संयोजक तथा वडा नम्बर १२ का वडाध्यक्ष बद्रीनारायण चौधरीको भनाइ छ । उहाँ भन्नुहुन्छ, “म आफैँ कृषिको निर्देशक भएर अवकाश पाएको व्यक्ति हुँ । अवकाश पश्चात राजनीतिमा जोडिए । अहिले दोस्रो कार्यकालको रुपमा वडाध्यक्ष भएको छु । लहान नगरपालिकाको कृषिलाई उद्योग र रोजगारीसँग जोड्न गृहकार्यमा लागेको बेला अवकाश प्राप्त उपसचिव शुकदेव चौधरीले थाल्नुभएको नमूना कृषि फर्मबाट लहान नगरपालिकाले एउटा कृषि प्रयोगशाला भेटाएको अनुभूति गरेका छौँ ।” साथै उहाँले चौधरीको कृषि फार्मलाई नगरपालिकाका तर्फबाट अनुदान दिलाएको र नगरको उत्कृष्ट कृषक घोषणा गरी सम्मान गरेको पनि जानकारी दिनुभयो ।

आफूले अर्कै पेसामा जानेको सीप र कलाको सट्टा इन्टरनेटबाट प्राप्त ज्ञानलाई कृषि कर्ममा प्रयोग गरिरहेको चौधरीले बताउनुभयो । जागिरबाट अवकाश लिएपछि पनि मनलाई खुसी राख्न मानिसले आफूलाई कुनै न कुनै रुपमा सक्रिय राख्नुपर्छ भन्ने मान्यता चौधरीको छ ।

अवकाशपछि प्राप्त हुने सेवा सुविधाले जीवन धान्न मुस्किल हुने भन्दै त्यसको लागि पूर्वतयारी हुन चौधरीको सुझाव छ । उहाँले भन्नुभयो, “म यो कृषिकर्म आफ्नो आय आर्जनको लागि मात्रै होइन, अरू अवकाश प्राप्त कर्मचारी तथा देशमा केही हुँदैन र केही छैन भनी निराश हुने आमयुवालाई कृषि पेसालाई सम्मान गर्दै आफ्नै गाउँ ठाउँमा आय आर्जन गर्ने यस्तो उपाय छन् भन्ने सन्देश प्रवाह गर्न चाहन्छु ।”

शान्तिपूर्ण समाज निर्माणका लागि शिक्षाले योगदान गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, १० भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित, आधुनिक र शान्तिपूर्ण समाज निर्माणका लागि शिक्षाले योगदान गर्न सक्नुुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित सुदूरपश्चिम विश्वविद्यालयको १२औँ सभामा कुलपति ओलीले गुणवान व्यक्तित्व तयार गरेर विश्वविद्यालयले समाजलाई योगदान पुर्‍याउनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “गुरुहरूले ऋषिमन र भावका साथ काम गर्नुपर्छ । त्यसो भएमा चेलाले गुरुलाई मान्छन् । विद्यार्थीलाई शिष्ट, नम्र र शालीन हुन सिकाउन सक्नुपर्छ नत्र समाज अनुकूल शिक्षा हासिल भएको मान्न सकिँदैन ।”

सुदूरपश्चिम विश्वविद्यालयको स्थापनापूर्वको छलफलमा आफू सहभागी भएको उल्लेख गर्दै उहाँले सुदूरपश्चिमको संस्कृति र पन झल्कने खालको शिक्षा दिन पनि पदाधिकारीलाई सुझाव दिनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराई सहभागी सभामा उपकुुलपति प्रा डा हेमराज पन्तले विश्वविद्यालयको समग्र अवस्था र रजिष्ट्रार प्रा यज्ञराज पाठकले कार्यक्रम तथा बजेटसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुुभएको थियो ।

कृष्ण जन्माष्टमीको अवसरमा काभ्रेमा १० हजार कन्या पुजिए

काभ्रेपलाञ्चोक, १० भदौ : कृष्ण जन्माष्टमीको अवसरमा आज काभ्रेपलाञ्चोकमा करिब १० हजार कन्या पुजिएका छन् । बनेपामा मात्रै करिब सात हजार कन्या पुजिएका सनातन कन्या पुजा प्रबन्ध समितिले जनाएको छ ।

बनेपामा एक सय २२ वर्षअघि सुरू गरिएको ‘कन्या–पूजा’ लाई हरेक वर्ष यही दिन पुज्दै आइएको छ । आज मध्याह्नबाट सुरू गरिएको पुजामा बनेपा नगरको भोलाखाँ टोलदेखि लायकु दरबार तथा पुरानो बजार हुँदै चारदोबाटोसम्म सडकको दायाँबाँया पेटीमा कन्या लस्करै बस्छन् । कन्यालाई पुज्न काठमाडौँ, भक्तपुर र ललितपुर तथा छिमेकी जिल्लाबाट भक्तजन आउने गरेका छन् ।

बनेपा नपा–३ भोलाखाँ टोलमा गणेश र कुमारको पूजा भएपछि मात्र कन्या–पूजा सुरू हुने गर्दछ । समितिका मूलकर्ता सुरकृष्ण बैद्यकानुसार कन्या–पूजामा समितिमार्फत एक सय ३५ जना भक्तजनले दानदक्षिणा तथा प्रसाद, स्वारी र मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु एवं विभिन्न प्रकारका मिठाइ वितरण गर्ने गरिएको छ । पूजामा सामेल प्रत्येक कन्याको टाउकोमा शुद्ध तोरीको तेल खन्याएर देवीसरह रातो टीका लगाइ दिने प्रचलन रहँदै आएको छ ।

पछिल्ला वर्षदेखि काभ्रेपलाञ्चोकको नाला, जनागाल, पाँचखाल, पनौती, साँगा, दोलालघाटलगायत विभिन्न बजार तथा बस्तीमा कन्यालाई श्रीकृष्ण जन्माष्टमीको दिन पुज्दै आइएको छ । बनेपाबाहेकका स्थानमा करिब तीन हजार कन्यालाई पुजिएको बताइएको छ ।

बनेपाको पुरानो बजारमा विसं १९५९ देखि हरेक वर्ष कृष्ण जन्माष्टमीका दिन कन्या–पूजा गर्दै आइएको हो । १० वर्षमुनिका कन्यालाई पुज्दा उनीहरूको स्वास्थ्य राम्रो हुने तथा पुज्ने व्यक्तिलाई धर्म प्राप्त हुने जनविश्वास रहिआएको छ ।

किंवदन्तीअनुसार रजस्वला नभएका तथा वेल–विवाह नगरिएका कन्याको लाममा देव–कन्या, नाग–कन्या, गन्धर्व–कन्यालगायत मानव–कन्या भेषमा आउने भएकाले उनीहरूलाई आराध्यदेवी चण्डेश्वरी देवीकी कुमारी मानेर पूजा गरिन्छ । बनेपा सात गाउँलाई राक्षशबाट मुक्त गराउन सफल चण्डेश्वरी देवीको रूपमा ‘कन्या’ नै भएकाले कन्यालाई पुज्दै आइएको जनाकारहरू बताउँछन् । कन्याको स्वागत एवं सम्मानका लागि बनेपाका नेवार समुदायले विभिन्न प्रकारका झाँकी र बाजासमेत बजाउँछन् ।

बनेपाका भोछिभोया खलक चण्डेश्वरीका सन्तति मानिने भएकाले कुनै जाति या वर्गको आधारमा भेदभाव नराखी उपस्थित कन्याको पूजा गरिँदै आइएको छ । किंवदन्तीअनुसार कुनै समय बनेपाका एक नेवार समुदायका व्यक्तिले धेरै दुःख पाएपछि घरको बुइगलमा राखेर आफ्ना घरका कन्यालाई पूजा गरेका थिए ।

बस दुर्घटनाः उपचाररत १६ मध्ये सात जना डिस्चार्ज

काठमाडौँ, १० भदौः तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा शुक्रबार बिहान भएको बस दुर्घटनामा घाइते भइ काठमाडौँ महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत १६ जनामध्ये सात जनालाई आज डिस्चार्ज गरिएको छ ।

पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको भारतीय पर्यटक सवार युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस आँबुखैरेनीको ऐना पहरामा दुर्घटनामा परेको थियो ।

अस्पतालका डा रोहित सिंहले रासससँग भन्नुभयो, “बस दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि अस्पतालमा ल्याइएकामा आज सात जनालाई डिस्चार्ज गरेका छौँ, बाँकी नौ जनाको अस्पतालमै उपचार भइरहेको छ, सबैको अवस्था सुधारोउन्मुख छ ।”

आज डिस्चार्ज हुनेमा ५६ वर्षीया भारती पाटील, ४२ वर्षीया बर्षाभङ्गाणे, ७० वर्षीया कुमुदिनी झाम्रे, ४९ वर्षीया रुपाली सरोदे, ५९ वर्षीय हेमराज सरोदे, ४५ वर्षीया निलिमा भिरुड, ६५ वर्षीय सुनिल धाण्डे रहेको अस्पतालले जनाएको छ ।

बाँकी नौ जना घाइतेमध्ये चार जनाको आइसियुमा उपचार भइरहेको छ । हाल ५१ वर्षीय प्रविन पाटील, ५३ वर्षीय अविनास पाटील, ५९ वर्षीय अनन्त इङ्णे, ४७ वर्षीया सिमा इङ्णे, ५८ वर्षीया आशा बोण्डे, ६२ वर्षीय नैनेश्वर बोण्डे, ५० वर्षीया शारदा पाटील, ४७ वर्षीया रेखा सुरवाडे तथा ५८ वर्षीया आशा पाटील उपचाररत रहेको अस्पतालले जनाएको छ ।

डा सिंहले भन्नुभयो, “घाइतेहरु अधिकांशको हात, खुट्टा, निधार, टाउको, छाती, ढाडलगायतका ठाउँमा गहिरो चोट लागेको छ, उहाँहरुको अवस्था सुधारोन्मुख छ ।” उपचार गराइरहेका ५९ वर्षीय अनन्त इङ्णेले आफूहरुको स्वास्थ्य अवस्थामा सुधार आइरहेको बताउनुभयो । “हामीले राम्रो उपचार पाएका छौँ, समयमै राम्रो उपचारका कारण हाम्रो ज्यान बच्यो, सबैलाई धन्यबाद छ ।”

दुर्घटनामा २७ जना भारतीय पर्यटकहरुले ज्यान गुमाएका थिए । मृत्यु भएकाहरुको शव परीक्षण गरी भारतीय वायु सेनाको जहाजमार्फत भारत लगिएको छ । घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ ल्याइएको थियो । भारतीय पर्यटकहरु यही भदौ ४ गते पशुपतिनाथको दर्शनका लागि काठमाडौँ आउँदै गर्दा दुर्घटनामा परेको जनाइएको छ ।

बङ्गलादेशमा बाढीबाट २३ जनाको मृत्यु, झण्डै ६० लाख प्रभावित

बङ्गलादेशका केही भागमा आएको बाढीका कारण २३ जनाको मृत्यु, करिब ६० लाख मानिस प्रभावित र हजारौँ परिवार विस्थापित भएका छन् ।

विपद् व्यवस्थापन तथा राहत मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् व्यवस्थापन समन्वय केन्द्र (एनडिआरसिसी) को दैनिक विपद् अवस्था प्रतिवेदनअनुसार सोमबार दिउँसोसम्म देशका ६४ जिल्लामध्ये ११ जिल्लामा बाढीका कारण ५७ लाख एक हजार दुई सय चार जना प्रभावित भएका छन् ।

मन्त्रालयको वेवसाइटमा प्रकाशित प्रतिवेदनमा देशमा बाढीका कारण २३ जनाको मृत्यु भएको छ भने ११ जिल्लामा १२ लाख ३८ हजार ४८ परिवार अलपत्र परेका छन् । दुई जना बेपत्ता समेत भएको बताइएको छ ।

गत हप्तादेखि प्रमुख नदीहरू ‘ओभरफ्लो’ हुँदा बङ्गलादेशका केही भागमा जमिनको ठूलो क्षेत्र जलमग्न भएको छ ।बाढीले देशको ठूलो भू–भागमा बस्तीहरू, बाली, सडक र राजमार्गहरूमा व्यापक क्षति पु¥याएको बताइएको छ ।

बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले आइतबार सबै सरोकारवालाहरूलाई अलपत्र परेका मानिसहरूलाई उद्धार गर्न, आपत्कालीन स्वास्थ्य सेवा प्रदान गर्न र बाढी पीडितहरूका लागि हरसम्भव सहयोग गर्न आफ्नो बलियो प्रयास जारी राख्न आग्रह गर्नुभयो ।

अधिकारीहरूले उद्धार कार्यहरू सञ्चालन गर्न, राहत सामग्री वितरण गर्न र करिब पाँच लाख बाढी प्रभावित मानिसले आश्रय लिएका केन्द्रहरूको निरीक्षण गर्न विपद् प्रतिकार्य बलका टोलीहरूलाई पठाएका छन् ।

बङ्गलादेशमा आएको बाढीका कारण उत्पन्न भएको महत्त्वपूर्ण चुनौतीको सामना गर्दै बङ्गलादेशस्थित चिनियाँ दूतावासले आइतबार फेनीको सबैभन्दा बढी प्रभावित क्षेत्रमा तयारी खाना, पिउने पानी र जीवनयापनका अत्यावश्यक सामग्री उपलब्ध गराएको छ ।

यसबाहेक चीनको रेडक्रस सोसाइटीले बङ्गलादेश रेड क्रिसेन्ट सोसाइटीलाई आपत्कालीन मानवीय सहायताका लागि एक लाख अमेरिकी डलर सहयोग गरेको छ ।साथै यहाँको चिनियाँ दूतावासले प्रमुख सल्लाहकार राहत तथा कल्याणकारी कोषमा २० हजार अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।

रूसद्वारा युक्रेनमा ड्रोन तथा मिसाइल आक्रमण कम्तिमा तीनको मृत्यु

रूसले सोमबार युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी गरेको ड्रोन तथा सिसाइल आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको जनाइएको छ ।

स्रोतका अनुसार मध्यरातमा सुरु भएको उक्त आक्रमण युक्रेनविरुद्ध रूसको ठूलो आक्रमण हो ।

युक्रेनी वायु सेनाका अनुसार रूसी ड्रोनका धेरै समूहहरू युक्रेनको पूर्वी, उत्तरी, दक्षिणी र मध्य क्षेत्रहरूतर्फ प्रहार भएका थिए । प्रहार भएका हतियारमध्ये केही क्रुज र ब्यालेस्टिक मिसाइलहरू पनि थिए ।

आक्रमणका कारण भएका विस्फोटको आवाज राजधानी किएभमा समेत सुनिएको र आक्रमणका कारण युक्रेनका मुख्य सहरमा विद्युत र पानीको आपूर्ति अवरुद्ध भएको किएभका मेयर भिटाली क्लिट्स्कोले बताउनुभएको छ ।

युक्रेनको पश्चिमी शहर लुत्स्कका मेयर इहोर पोलिशचुकले आक्रमणले एक बहुमंजिला आवासीय भवन र पूर्वाधारमा प्रहार हुनुका साथै एक व्यक्तिको मृत्यु भएको बताउनु भयो ।

मध्य ड्निप्रोपेट्रोभस्क क्षेत्रमा आक्रमणले अर्का एक व्यक्तिको मृत्यु हुनुका साथै आगलागी निम्त्याएको क्षेत्रीय प्रमुख सेरही लिसाकले बताउनु भयो ।

जापोरिझियाको दक्षिणपूर्वी, आंशिक कब्जा गरिएको क्षेत्रमा पनि एक व्यक्तिको मृत्यु भएको क्षेत्रीय प्रमुख इभान फेडोरोभले बताउनु भयो ।

युक्रेनको निजी ऊर्जा कम्पनी डिटेकेले “आपतकालीन ब्ल्याकआउट” को घोषणा गर्दै विज्ञप्ति मार्फत “देशभरका ऊर्जा कामदारहरूले युक्रेनीको घरमा उर्जाको पुनर्स्थापना गर्न लागि पर्न निर्देशन दिनु भयो ।

सेनाले आक्रमण पछि छिमेकी देश पोल्याण्डमा, देशको पूर्वी भागमा प्रहरी र नेटो हवाई सुरक्षा सक्रिय भएको जनाएको छ ।

टिआरसी विधेयक पारित भएपछि सहिद तथा बेपत्ता परिवारलाई सम्मान र परिपूरणको ढोका खुल्यो: अध्यक्ष प्रचण्ड

कास्की, १० भदौ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सङ्क्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक संसद्का दुवै सदनबाट पारित भएपछि सहिद तथा बेपत्ताका परिवारलाई सम्मान र परिपूरणको ढोका खुलेको बताउनुभएको छ ।

सहिद तथा बेपत्ताका परिवारसँगको भेटमा आज पोखरामा उहाँले लामो समयको मेहिनतपछि टिआरसी विधेयक टुङ्गो लागेको बताउनुभयो । अध्यक्ष दाहालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पारित भएसँगै बेपत्ता योद्धाका बारेमा आयोगले छानबिन गर्ने र अब अवस्था पत्ता लगाउन धेरै समय नलाग्ने विश्वास व्यक्त गर्र्नुभयो । उहाँले भन्नुभयो, “सहिदका लागि मात्र होइन, बेपत्ता योद्धाको अवस्था पत्ता लगाउने बाटो खुलेको छ । आयोगले छानबिन गर्छ, अब धेरै समय लाग्दैन । बेपत्ताले पनि सहिदको सम्मान र परिपूरण पाउँछन् ।”

माओवादी केन्द्रको नेतृत्वमा रहेको अघिल्लो सरकारले जनयुद्धका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गरेर राजपत्रमा प्रकाशित गरेको बताउनुभयो । “अरु सबै सहिद हुने, जनयुद्धका सहिद राष्ट्रिय सहिद नहुने, यसले तपाईं हामी सबैलाई टेन्सन थियो । त्यो पनि यो पटक सरकारले सबैलाई राष्ट्रिय सहिद घोषणा मात्रै गरेको होइन, राजपत्रमै प्रकाशित गरियो । सबै सहिद राष्ट्रिय सहिदको दर्जामा जानुभयो”, अध्यक्ष दाहालले भन्नुभयो ।

बेपत्ता योद्धा परिवार कास्कीका अध्यक्ष अणनाथ बरालले बेपत्ता भएकाको अवस्था लामो समयसम्म पत्ता लाग्न नसक्दा आफूहरू अहिले पनि पीडामा रहेको बताउनुभयो । “हाम्रा परिवारका सदस्यको अवस्था अहिलेसम्म पनि हामीलाई केही थाहा हुन सकेन । हामीले जातीय परम्परा अनुसारको कर्म गर्न पाएका छैनौँ । परिवार पीडामा बाँचिरहेका छौँ”, उहाँले भन्नुभयो ।

थाइल्यान्डमा बाढीबाट २२ जनाको मृत्यु

थाइल्यान्डमा व्यापक मनसुनी वर्षाका कारण आएको बाढीबाट हालै दिनहरूमा २२ जनाको मृत्यु भएको छ । प्रकोप व्यवस्थापन अधिकारीहरूले सोमबार यो साता अचानक बाढी आउने चेतावनी दिएका छन् ।

विपद् रोकथाम तथा न्यूनीकरण विभागले पछिल्लो १० दिनमा १३ प्रान्तमा अन्य १९ जना घाइते भएको र ३० हजारभन्दा धेरै घर प्रभावित भएको विज्ञप्तिमा जनाएको छ ।

गत साता थाइल्यान्डको लोकप्रिय रिसोर्ट टापू फुकेटको एक आवासीय क्षेत्रमा पहिरोमा परी मृत्यु हुनेहरूमा एक रुसी दम्पतीसहित १० जना रहेका छन् ।

विभागले राज्यको उत्तर र उत्तरपूर्वका ३१ प्रान्तमा बिहीबारसम्म सम्भावित बाढीको सामना गरिरहेको पनि चेतावनी दिएको छ ।

“विभागले स्थानीय अधिकारीहरूलाई मौसमको नजिकबाट अनुगमन गर्न तथा टोली र उपकरणहरूलाई तयार राख्न आदेश दिएको छ”, विज्ञप्तिमा भनिएको छ, “मानिसहरूले पनि मौसमको पूर्वानुमानको पालना गर्नुपर्छ र चेतावनीहरूलाई गम्भीरतापूवर्क लिनुपर्छ ।”

बैङ्ककमा स्थानीय अधिकारीहरूले सहरका बाहिरी क्षेत्र र नदी किनारका बासिन्दाहरूलाई आफ्नो सामान उच्च स्थानमा लैजानका लागि तयार रहन चेतावनी दिएका छन् ।

नाखोन रत्चासिमाको पाक चोङ जिल्लामा निर्माणाधीन उच्चगतिको रेल सुरुङमा माटो खसेपछि सोमबार दुई चिनियाँ नागरिक र एक म्यान्मालीसहित तीन मजदुर पनि बेपत्ता भएका छन् ।

थाइल्यान्डमा वार्षिक मनसुनी वर्षा हुने गरे पनि मानव निर्मित जलवायु परिवर्तनले अधिक तीव्र मौसमी ढाँचाहरू निम्त्याउँदा विनाशकारी बाढीलाई अझ बढी सम्भावित बनाउन सक्छ ।

खानेपानीका क्षेत्रमा देखिएका समस्या सबै मिलेर समाधान गर्नुपर्छ : मन्त्री यादव

नारायणगढ (चितवन), १० भदौ : खानेपानीमन्त्री प्रदीप यादवले देशैभरि खानेपानीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपालको २२औँ स्थापना दिवसका अवसरमा आज सौराहामा आयोजित ‘खानेपानी तथा सरसफाइ क्षेत्रको सवाल र समाधान’ विषयक राष्ट्रिय गोष्ठीमा मन्त्री यादवले जलवायु परिवर्तनका कारणले गर्दा खानेपानीका स्रोत सुक्दै जाँदा अनेकन समस्या आएको उल्लेख गर्नुभयो । “आज सेता हिमाल काला हुँदैछन्, हिउँ पग्लिएको छ । पहाडमा पानीका मुहान सुक्न थालेका छन् । मधेसमा चुरेको दोहनका कारण चापाकलमा पानी आउँदैन”, उहाँले भन्नुभयो,“चुरे दोहन तथा जलवायु परिवर्तनका कारण पानीका स्रोत सुकेर देखिएका समस्या समाधानका लागि देशभरि नै जलस्रोतकोे अध्ययन गरेर आवश्यक काम गर्न जरुरी छ ।”

आउँदो दिनमा पानीकै लागि विश्वले ठूलो समस्या भोग्नुपर्ने अवस्था सक्ने भन्नुहुँदै मन्त्री यादवले नेपालमा समस्या आउनुअघि नै सजग हुनपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले खानेपानीका लागि बनेका ऐन, नियमावलीमा कुनै समस्या भए समाधान गरेर अगाडि बढ्न सकिने धारणा राख्नुभयो । “ऐन, नियमावलीमा के लेखिएको छ यस कुरालाई लिएर तपाईहरू डराउनुपर्दैन । नियमवाली परिर्वतन नहुने ग्रन्थ होइन, यो परिवर्तन हुने कुरा हो । जनताको हकहितका लागि आवश्यकतानुसार यसलाई परिवर्तन गर्न पर्छ । उपभोक्ता तथा जनताको अहितमा हुने काम सरकारले कहिल्यै गर्दैन र अहित हुने प्रावधान परिवर्तन गर्न सकिन्छ”,मन्त्री यादवको भनाइ थियो ।

उपभोक्ता महासङ्घलाई जनताको घरसम्म पुगेर लाखौँ जनतालाई खानेपानी उपलब्ध गराएकामा धन्यवाद दिनुहुँदै उहाँले खानेपानीमा बिजुलीलगायत छुटको व्यवस्था गर्नुपर्ने बताउनुभयो । मन्त्री यादवले साना उपभोक्ता संस्थालाई काम तथा कार्यक्षेत्रका आधारमा गाभेर अगाडि बढ्नुपर्नेसमेत बताउनुभयो ।

कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठले खानेपानी उपभोक्ता समितिले व्यावसायिक उद्देश्य राखेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले खानेपानीको अधुरो आयोजना पूरा गर्न विभाग लागेको र जलवायु परिवर्तनलगायत कारणले पानीको स्रोत घट्दै जाँदा यसमा समस्या आएको उल्लेख गर्नुभयो ।

महासङ्घका अध्यक्ष राजेन्द्र अर्यालले खानेपानीमा राज्यले लगाउने कर, बिजुली र इन्धनमा छुटको व्यवस्था गर्नुपर्ने बताउनुभयो । विभिन्न निर्माण तथा मर्मतकार्य गरिँदा वा खानेपानीको पाइप विछ्याउँदा समन्वय हुनपर्ने उहाँको भनाइ छ । महासङ्घले सरकारले गरेका राम्रो निणर्यमा सदैव साथ दिने प्रतिबद्घता व्यक्त गर्नुहुँदै अध्यक्ष अर्यालले सबैसँग सहकार्य गरेर उपभोक्तालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउनुभयो ।

महासङ्घका उपाध्यक्ष जनक गिरीले खानेपानीको विद्यमान अवस्था, चुनौती र रणनितिका बारेमा प्रस्तुती राख्नुभएको थियो । अधिवक्ता दिलराज खनालले खानेपानी तथा सरसफाइका कानुनी व्यवस्था र उपभोक्ता संस्थाको नीतिगत कुराहरू प्रस्तुत गर्नुभयो । खानेपानी तथा सरसफाइविज्ञ विनोद शर्माले खानेपानी तथा सरसफाइ दिगो विकासका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रमम खानेपानी महासङ्घ रत्ननगरका अध्यक्ष माधव अर्याल, चितवन खानेपानी महासङ्घका अध्यक्ष धनराज गुरुङ, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलागयतले बोल्नुभएको थियो । त्यस अवसरमा देशभरबाट खानेपानी तथा सरसफाइको क्षेत्रमा काम गर्ने विभिन्न विधाका चार जना पत्रकारलाई सम्मान गरिएको थियो ।

गोष्ठीमा केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समिति गरी दुई सय ५० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको थियो ।

छिमेकी मुलुकसँगका समस्याबारे खुलस्त संवाद गरेर समाधान गर्न सकिन्छ : प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्माले छिमेकी मुलुकका बीचमा यदाकदा समस्याहरु देखिनु सामान्य भएकाले ती विषयमा खुलस्तरुपमा संवाद गरेर समाधान गर्न सकिने बताएका छन् । 

राप्रपा नेपालका अध्यक्ष कमल थापाद्वारा लिखित ‘कूटनीति र भूराजनीति’ पुस्तकको सोमबार विमोचन गर्दै प्रधानमन्त्री ओलीले जायज र न्यायोचित राष्ट्रिय हितका साथै अन्तर्राष्ट्रिय उत्तरदायित्व बहन गरेर तथ्य–प्रमाणका आधारमा समाधान खोजिएमा समस्या उत्पन्न नहुने बताए ।

‘नेपालले सन्तुुलत, इमानदारिता र पक्षधरताबिहीनताका आधारमा दुवै छिमेकीसँग असल सम्बन्ध राख्छ । हामी एउटा छिमेकीविरुद्ध अर्काे छिमेकीको कुनै कार्ड प्रयोग गर्दैनौँ । कसैको कुुभलो चिताउँदैनौँ । हाम्रो भूमि कुनै पनि छिमेकीका विरुद्ध प्रयोग हुन दिँदैनौँ’, प्रधानमन्त्री ओलीले भने, ‘हामी तटस्थता र शान्तिपूर्ण समाधानको बाटो खोज्छौँ । संयुक्त राष्ट्रसङ्घका सिद्धान्तको पालना गर्छाैँ । त्यसको उलङ्घन भएमा हामीले अनुचित भयो भनेर भन्न सक्नुपर्छ । तर्कलाई भन्दा तथ्यलाई अगाडि सार्न सक्नुपर्छ । हामी विश्वशान्ति र आफ्ना नागरिकको सुरक्षाका सवालमा संवेदनशील छौँ । कुनै पनि देशले आफ्नो स्वार्थका लागि अरुको स्वाभिमानाका धक्का लगाउने काम गर्नु हुँदैन ।’

प्रधानमन्त्री ओलीले देशभित्रको कमजोरी र स्वार्थ लुकाउन ‘भूराजनीति’को प्रभाव भन्ने सोच उचित नहुने भन्दै राष्ट्रलाई शीरमा राखेर राष्ट्रिय स्वाभिमानको झण्डालाई फहराउन आग्रह गरे ।

उनले नेपाल र भारतबीचको शीर्ष तहको सहमतिबाट सन् १९५० का सन्धीलगायतका विषयमा पुनरावलोकनका लागि गठित प्रबुद्ध व्यक्तिहरुको समूह (इपिजी)को प्रतिवेदन बुुझ्न भारतीय पक्षलाई आग्रह गर्दै त्यसपछि सीमा विवादलगायत विषयमा थप संवाद गर्न सहज हुने स्पष्ट गरे ।

प्रधानमन्त्री ओलीले २०७२ सालमा भारतले नेपाललाई नाकाबन्दी लगाएका बेला आफू प्रधानमन्त्री हुँदा चीनसँग व्यापार तथा पारबहन सन्धी हुनु युगान्तकारी काम भएको पनि स्मरण गरे ।

तत्कालीन परराष्ट्रमन्त्री थापाले चीनसँगको उक्त सम्झौता कार्यान्वयन गर्न आग्रह गर्दै राष्ट्रिय हित र स्वाभिमानका सवालमा अन्तर्राष्ट्रिय मञ्चमा खुलस्त र निडररुपमा कुरा राख्न सक्ने नेताका रुपमा प्रधानमन्त्री ओलीलाई आफूले पाएको बताए ।

विद्यालयदेखि कार्यालयसम्म ह्विल चियरमा

मङ्गलबारे (इलाम), १० भदौः आलोक खतिवडा २३ वर्षको हुनुभयो । उहाँको कम्मर चल्दैन अर्थात् बसेको एक ठाउँबाट अर्को ठाउँमा सर्न सक्नुहुन्न । उहाँ हालै लोकसेवा आयोगले लिएको खरिदार पदको परीक्षामा उत्तीर्ण भएर जिल्ला हुलाक कार्यालयमा कार्यरत हुनुहुन्छ ।

आलोकका दाजु २६ वर्षीय भुपालले पनि लोकसेवा आयोगले लिएको नायब सुब्बाको परीक्षामा पहिलो पत्र उत्तीर्ण गरेर त्यसपछिका परीक्षा दिइसक्नुभएको छ । आलोकले गत वर्ष स्नातक पूरा गर्नुभएको हो भने दाजु भुपालले तीन वर्षअघि स्नातक सक्नुभएको हो । उहाँहरु दुवैले इलामबाटै आफ्नो अध्ययन पूरा गर्नुभएको हो ।

बुबाआमा बजारमा सामान्य तरकारी पसल गर्नुहुन्छ । तरकारी बेचेर बुबा भुवन र आमा तेजकुमारीले आलोकलाई सरकारी सेवामा प्रवेश गराउनुभयो । अपाङ्गता भएका धेरैले सामान्य अपाङ्गता हुँदा पनि माग्दै हात थापेर जीविकोपार्जन गरिरहेको अवस्थामा आलोक मेहनत गर्दा सफल भइन्छ भन्ने उदाहरण बन्नुभएको छ । आलोकले कार्यालयमा कम्प्युटर चलाउने र दर्ता गर्ने काम गर्र्दै आएको बताउनुभयो ।

“मेहनत गर्‍यो भने सफलता मिल्दोरहेछ”, आलोकले भन्नुभयो । दुईजना सन्तानमध्ये दुवैजना शरीरिक अपाङ्गता छ । दुवैजनाको कम्मर नचल्ने समस्यम रहेको आमा तेजकुमारीले बताउनुभयो । कम्मर नचलेपछि एक ठाउँमा बसेका उहाँहरु अर्को ठाउँमा सर्न सक्नुहुन्न । दिशा पिसाब गराउन दुवै छोरालाई बुबाआमाको सहारा चाहिन्छ ।

कान्छो छोराले लोकसेवा पास गरी सरकारी प्रवेश गरेसँगै परिवारमा एउटा खुसी प्रवेश गरेको आमा तेजकुमारीले बताउनुभयो । जन्मिएको करिब नौ वर्षको उमेरदेखि दुवै छोरा हिँड्न नसक्ने भएपछि बुबाआमाले ह्विल चियरको सहारामा विद्यालयसम्म लैजानुहुन्थ्यो । दैनिक विद्यालय पुर्‍याउने र ल्याउने गर्दै उच्च शिक्षासमेत त्यसरी नै पढाएको बुबा भुवनले बताउनुभयो ।

इलामको सन्दकपुर घर भएका उहाँहरु छोराहरु हिँड्न डुल्न नसक्ने भएकाले इलाम बजारमा सर्नुभयो । छोराहरुको शिक्षाका लागि भनेर लामो समय दुःख र सङ्घर्ष गर्नुपरेको उहाँले दुःसेसो सुनाउनुभयो । “उपचारका लागि नेपालका धेरै अस्पतालमा लगे पनि उपचार सम्भव भएन । ह्विल चियरमा भए पनि विद्यालय र उच्च शिक्षा हासिल गराउपर्छ भनेर हामीले निरन्तर सङ्घर्ष गर्यौँ”, उहाँले भन्नुभयो ।

“आफ्नो आफ्नो लेखान्त रहेछ । जे भए पनि एउटा खुसी पाएका छौँ”, आमा तेजकुमारीले भन्नुभयो । अहिले पनि बजारमा तरकारी पसल गरिरहेको भन्दै छोरालाई कार्यालय लैजाने र ल्याउने काममा बुबा दैनिक खटिनुपर्ने उहाँले जानकारी दिनुभयो । “म तरकारी पसलमा बस्छु । बुबाले कान्छो छोरालाई कार्यालय छोडेर आएपछि पालैपालो गरेर घरमा भएको छोरोलाई दिसापिसाब गराउने र खान दिने गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

गत जेठमा नियुक्त लिएर पाँचथरको अमरपुरमा हाजिर गर्न जानुभएका आलोक इलाममा सरुवा लिएर हाल जिल्ला हुलाक कार्यालयमा कार्यरत हुनुहुन्छ । अमरपुरमा हुँदा पनि चारैजनाको परिवार उतै बस्दै आउनुभएको थियो ।

आलोक जिल्लामा एक उदाहारण बन्नुभएको छ । मेहनतले सफल भइने उहाँको बुझाइ छ । उहाँ अरूलाई पनि मेहनत गर्ने सल्लाह दिनुहुन्छ । उहाँले दोस्रो पटकमा नाम निकाल्नुभएको हो । १२ जनाको कोटामा करिब तीन हजारको प्रतिस्पर्धा रहेको उहाँले बताउनुभयो । “दोस्रो चरणमा पनि दुई सय ८४ जनाले परीक्षा दिएकामा खुल्ला तेस्रो नम्बरमा नाम निकाल्न सफल भएको हुँ”, आलोकले भन्नुभयो । लोकसेवा आयोग धेरैको सपना जस्तै बनेको छ । उहाँहरुले मेहनत गरेकाले सफलता मिलेको बताउनुभयो ।

भुपाल योसहित तीन पटक लोकसेवाको परीक्षामा सहभागी भइसक्नुभएको छ । अबको पटक नाम निस्कनेमा उहाँ पनि ढुक्क हुनुहुन्छ । मेहनती र इमान्दार खतिवडा कार्यालयमा समेत राम्रो काम गर्ने कर्मचारीका रुपमा हुनुहुन्छ ।

अपाङ्गतामैत्री कार्यालय निर्माण गरेर उहाँको सहजतामा समेत आफूहरु लागेको जिल्ला हुलाक कार्यालय इलामका निमित्त प्रमुख गणेश घिमिरेले बताउनुभयो । “केही व्यक्ति अझै पनि सामान्य अपाङ्गता हुँदा केही गर्न सक्दिन भन्ने सोचमा हुन्छन् । आलोक उहाँहरु सबैका लागि प्ररणाको स्रोत बन्नुभएको छ”, उहाँले भन्नुभयो, “उहाँको पदोन्नति होस् अनि भुपाल पनि आगामी परीक्षामा सफल बन्नुहोस् भन्ने हाम्रो कामना छ ।”

सहकारीपीडितको बचत फिर्ता गर्न माग

काठमाडौँ, १० भदौ : सहकारीपीडितको बचत छिटो फिर्ता गर्न सरकारले पहल गर्नुपर्ने अभियानकर्मीले बताएका छन् ।

सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ)ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बचतकर्ताले जम्मा गरेको पैसा फिर्ता नहुँदा उपचार गर्न कठिनाइ भएकाले यथासीघ्र बचत पाउनुपर्नेमा जोड दिएको हो ।

महासङ्घले तेस्रो चरणको आन्दोलन सुरु गरेको ९५ औँ दिनसम्म पनि सरकारले विगतका सहमति कार्यान्वयनमा कुनै चासो नदेखाएकाले सडकमा शान्तिपूर्ण प्रदर्शन गर्न बाध्य भएको जानकारी गराइएको थियो ।

महासङ्घका अध्यक्ष कुशलव केसीले १६ महिनादेखिको आन्दोलनका क्रममा चार जना पीडितहरूले ज्यान गुमाइसकेको बताउनुभयो । सहकारी पीडितले आफ्नो बचत फिर्ता पाऊन् भनी तेस्रोपटकको आन्दोलन सुरू गरेको १०१ औंँ दिन पुग्ने अवसरमा भदौ १६ गतेदेखि शान्तिपूर्ण प्रदर्शन गरिने जानकारी पनि उहाँले दिनुभयो ।

महिला, बालबालिका तथा सामाजिक न्याय समितिद्वारा खेलकुद विधेयक पारित

जनकपुर, १० भदौः मधेस प्रदेशसभाको महिला, बालबालिका तथा सामाजिक न्याय समितिले प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गरी पारित गरेको छ । सो विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय समितिले गरेको छ ।

समितिका सभापति रूपा यादवको अध्यक्षतामा आज जनकपुरधाममा उक्त विधेयकमाथी दफावार छलफल भएको थियो । विधेयकमा प्रदेश खेलकुद परिषद् गठन, जिल्ला खेलकुद विकास समितिको गठन, खेलाडीको वृत्तिविकास, सेवासुविधा, व्यावसायिक सुरक्षा बीमा, खेलकुद प्रशिक्षण प्रतिष्ठान, खेलकुद प्रतियोगितालगायत विषय समावेश गरिएको छ ।

समितिका सदस्य रामसरोज यादवले विधेयकमा स्थानीय तहदेखि अन्तर्राष्ट्रियस्तरसम्म खेलाडी उत्पादन गर्नेगरी कानुनी व्यवस्था प्रस्ताव गरिएको जानकारी दिनुभयो । सोमबार बिदाका दिन भए पनि विधेयकको महत्वलाई दृष्टिगत गरी छलफल गरिएको समितिकी सभापति यादवले बताउनुभयो ।

बैठकमा प्रदेशसभा सदस्यहरू रामसरोज यादव, कुँवरकान्त झा, अञ्जना पण्डित र किशोरीदेवीको सहभागिता रहेको थियो । विधेयक गत वर्ष छलफलका लागि समितिमा पठाइएको थियो ।

मौलिक संस्कृति बिर्सिने होइन, विश्वव्यापी बनाउने हो – प्रधानमन्त्री

काठमाडौँ, १० भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रहेका अनेकौँ सांस्कृतिक तथा मौलिक परम्पराहरूको जगेर्ना गर्दै तिनीहरूको विश्वव्यापीकरण गर्नुपर्ने बताउनुभएको छ ।

गौरापर्वको अवसरमा आज टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा उपलब्ध प्राकृतिक र सांस्कृतिक विविधता जगेर्ना गर्न सबैले जिम्मेवारीबोध गर्नुपर्ने बताउनुभयो ।

“हामीसँग अनेकौँ साँस्कृतिक विविधता र मौलिक संस्कृति छन् । त्यसलाई बिर्सिने होईन, विश्वव्यापी बनाउने हो”, उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले सुदूरपश्चिम क्षेत्र नेपालको सभ्यताको उद्गमस्थल रहेकोसमेत उल्लेख गर्नुहुँदै त्यहाँको संस्कार शैली र परम्परालाई संरक्षण र सम्वर्द्धन गर्न सक्नुपर्ने बताउनुभयो ।

सोही अवसरमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गौरापर्व सुदूरपश्चिम र कर्णालीको मौलिक चाँड रहेको बताउँदै यसले एकता र भातृत्वको सन्देश दिएको बताउनुभयो ।

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौरापर्वले आत्मअनुशासन, मर्यादा, सद्भाव र आत्मियताको सन्देश बोकेको बताउँदै सबैले त्यसलाई व्यवहारमा पनि त्यो देखाउन सक्नुपर्ने बताउनुभयो ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सुदूरपश्चिम क्षेत्रमा निकै सम्मान र आत्मियताका साथ गौरापर्व मनाउने गरेको उल्लेख गर्दै राष्ट्रिय एकता र सद्भावका लागि यो पर्वले भूमिका खेल्ने बताउनुभयो ।

मुलुकका हरेक चाडवाड र पर्वहरूले राष्ट्रियता एकतालाई अझ मजबुद बनाउने उहाँको भनाइ छ । पूर्वउपप्रधानमन्त्री डा भीमबहादुर रावलले गौरापर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूको सुख, शान्ति, समृद्धिको कामना गर्नुभयो ।

हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म सुदूरपश्चिम क्षेत्रमा विशेष रुपमा मनाइने यस पर्वमा भगवान् शिव र पार्वतीको पूजा अर्चना गरी व्रत बस्ने गरिन्छ । राजधानीमा बसोबास गर्दै आएका सुदूरपश्चिमवासीले आज टुँडिखेलमा गौरापर्व मनाएका छन् । सो अवसरमा टुँडिखेलमा सुदूरपश्चिम र कर्णाली क्षेत्रका मौलिक नाँचगान गरी पर्व मनाइएको हो । डेउडा खेलेर, फाग तथा धमारी गाएर गौरा मनाइएको हो ।

प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण

काठमाडौँ, १० भदौः प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौँ जिल्ला कमिटीले काठमाडौँको स्वास्थ्य, खानेपानी, ढल, सडक, खाद्यान्न, वातावरण लगायत अन्य सुधार गरिनुपर्ने क्षेत्रका सन्दर्भमा ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ एमाले बाग्मती प्रदेशका इन्चार्ज डा राजन भट्टराई, जिल्ला कमिटी अध्यक्ष दीपक निरौला, काठमाडौँ महानगरपालिकाका उपप्रमुुख सुनिता डङ्गोल, पूूर्वप्रमुुख विद्यासुन्दर शाक्यसहितको प्रतिनिधि मण्डलले मेलम्ची खानेपानी आयोजनाको सहज आपूर्ति नभएको अवस्थामा काठमाडाँै क्षेत्र नं ३ स्थित सुन्दरीजलको नागमती ड्याम परियोजनाको बाँकी कामलाई तत्काल अगाडि बढाउन र उपत्यकाको विभिन्न भागमा पुनःभरणको योजना अगाडि बढाउन माग गरेको छ । यस्तै यहाँका नदीहरूको सौन्दर्यीकरण र फोहरमैलाको दीर्घकालीन समाधान गर्न पनि माग गरिएको छ ।

प्रतिनिधि मण्डलले काठमाडौँ महानगरपालिकाभित्र नदीको दायाँबायाँ छोड्न निर्धारण गरिएको भन्दा अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिनेसम्बन्धी सर्वाेच्च अदालतको फैसलामा न्यायिक पुनरावलोकनका लागि आग्रह समेत गरेको छ । उक्त उत्प्रेषणको आदेशका आधारमा गत साउन २४ गतेको महानगरपालिकाका प्रमुुखस्तरीय निर्णयबाट नक्सा अनुमति रोक्काको सूूचना प्रकाशन गरिएको जनाइएको छ ।

सो अवसरमा एमालेका अध्यक्षसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले जनजीवनमा समस्या सम्बोधनका लागि सरकारका तर्फबाट गर्नुपर्ने पहल गर्ने जनाउँदै कुनै पनि निकाय र व्यक्तिले व्यावहारिकतालाई ध्यान नदिई निर्णय गर्न नहुने बताउनुुभएको थियो ।

यसकारण आवश्यक छ ‘पोडवे सेवा’

काठमाडौँ, १० भदौः सहर सहरजस्तो हुन सहज रूपमा सार्वजनिक यातायात उपलब्ध हुनुपर्छ । आम मानिसको विश्वास र भरोसा दुवै हुनुपर्छ । तर, काठमाडौँ उपत्यकामा सहज रूपमा सार्वजनिक यातायात सेवा पाउन आम मानिसलाई मुस्किल छ । बढ्दो सहरीकरणले सृजना गरेको जनघनत्वमा भएको वृद्धिका कारण निजी सवारीसाधन प्रयोग गर्नेको सङ्ख्यामा पनि उत्तिकै बढोत्तरी भएको छ । तर, सङ्घीय राजधानीमा सर्वसूलभ रूपमा सार्वजनिक सवारीसाधन प्रयोग गर्न नागरिकलाई मुस्किल छ ।

सडक विस्तार भए पनि निजी सवारीसाधन त्यसमा पनि दुईपाङ्ग्रे सवारीमा भएको बढोत्तरीका कारण काठाडौँका चोकचोकमा लामो र कष्टप्रद जाममा बस्नुपर्ने बाध्यता उस्तै छ । सरकारले सार्वजनिक सवारीसाधन व्यवस्थापनका लागि अनेकन उपाय अवलम्बन गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुनसकेको छैन । ठूला सवारीसाधन सञ्चालनमा ल्याउने प्रयासले पनि उल्लेखनीय रूपमा सार्थकता पाउन नसक्दा नागरिकले पाएको भुक्तमान भनीसाध्य छैन ।

सार्वजनिक सवारीसाधन व्यवस्थापनका लागि काठमाडौँ उपत्यकामा मेट्रोरेलको अवधारणा ल्याइए पनि प्राविधिक र आर्थिक रूपमा रहेको कठिनाइका कारण कार्यान्वयनमा ल्याउन सकिएको छैन । सरकारले व्यक्तिगत सवारीसाधन प्रयोगलाई निरुत्साहित गर्ने हो भने सबैभन्दा उपयुक्त प्रविधिको रूपमा पोडवे सञ्चालन गर्न सकिने विभिन्न सम्भावना देखिएको छ । यो हालसम्मकै नयाँ र गुणस्तरीय प्रविधि भएको यसमा संलग्नहरूले बताएका छन् ।

काठमाडौँ उपत्यकाका अधिकांश स्थानीय तहले पोडवे सञ्चालनका लागि तयार रहेको बताइसकेका छन् । नेपालको सार्वजनिक यातायात क्षेत्रमा रहेको चुनौती, असुविधा र यसको दुर्बल पक्षलाई निस्तेज गर्दै आम नेपाली जनतालाई सर्वसुलभ रूपमा यातायात सेवा प्रदान गर्ने लक्ष्यका साथ आफूहरूले पोडवे सञ्चालनका लागि प्रयास थालेको काठमाडौँ पोडवेका उपाध्यक्ष निल भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत यो विषयलाई समावेश गरिएको छ । केही स्थानमा त सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीको काम अगाडि बढाउनका लागि आग्रह भइसकेको छ ।

खासगरी पोडवे तार (केवल)मा आधारित प्रविधि हो । यो केवलकारको अर्को र अत्याधुनिक स्वरुप भएको बताइन्छ । अर्को शब्दमा भन्दा यो रेलको पछिल्लो र अत्याधुनिक संरचना पनि हो । सार्वजनिक यातायातका क्षेत्रमा विकास गरिएको नयाँ प्रविधिका रूपमा यसलाई लिइएको छ । उपाध्यक्ष भट्टराईका अनुसार सरकारले अनुमति दिएको खण्डमा विद्यमान चक्रपथभित्र सहजै रूपमा पोडवे सञ्चालन गर्न सकिन्छ । त्यसका लागि सरकारले उक्त प्रविधिको यातायात सेवा सञ्चालनका लागि कानुनी प्रबन्ध गरिदिनुपर्ने टड्कारो आवश्यकता बनेको छ ।

सरकारले हालसम्म परम्परागत यातायात सेवा सञ्चालनका लागि मात्र कानुनी प्रबन्ध गरेकाले पनि नयाँ नीति जरुरी रहेको उपाध्यक्ष भट्टराईको भनाइ छ । सार्वजनिक सवारी क्षेत्रको सुधारका लागि तारमा आधारित उक्त प्रविधिको अवलम्बन गर्न सकिएको खण्डमा क्रान्तिकारी परिवर्तन हुने उहाँको दाबी छ । हाल दुबई र बेलारुसले उक्त प्रविधिमा आधारित पोडवे सञ्चालनमा ल्याइसकेका छन् । अमेरिका र भारतमा सञ्चालनमा हुने क्रममा छ । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले दुबईमा सञ्चालनमा रहेको पोडवेमा यात्रासमेत गरेर आएपछि कर्णाली प्रदेशमा त्यसलाई कार्यान्वयमा नै लैजाने घोषणा गर्नुभएको थियो । पूर्वमुख्यमन्त्री शर्मा नेपालको हकमा यो प्रविधि नै सबैभन्दा उत्तम र सहज प्रविधिका रूपमा लिन सकिने र कार्यान्वयन गर्न ढिलाइ गर्न नहुने बताउनुहुन्छ ।

स्वदेशी बिजुलीको प्रयोग गरेर सञ्चालन गर्न सकिने भएकाले पेट्रोलियम पदार्थको आयातमा वार्षिक रूपमा खर्च हुने ठूलो विदेशी मुद्रा देशभित्रै राख्न सकिने सहजै अनुमान गर्न सकिन्छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा नै पोडवे यातायात प्रणालीको विषयमा सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम समावेश गरेको छ । तत्कालीन अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको बजेटमा उक्त कार्यक्रम समावेश गरिएको छ ।

पृथ्वी राजमार्गको विमलनगरबाट गोरखाको लिगलिगकोट–भच्चेक–बारपाक–बुङकोट–गोरखाबजार–मनकामना–बेनीघाटसम्म पोडवे यातायात प्रणालीको सम्भाव्यता अध्ययन र लगानी ढाँचा तय गरी निर्माण अगाडि बढाउने बजेटमा घोषणा गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयले छुट्टाछुट्टै आयोजनाको प्रस्ताव गरेका छन् ।

नेपालका लागि पोडवे यातायात प्रविधि नितान्त नौलो प्रविधि हो । अस्तव्यस्त मुलुकको सार्वजनिक यातायातको विकल्प बन्न सक्ने दाबी गर्दै काठमाडौँ पोडवेका उपाध्यक्ष भट्टराईले लुम्बिनी प्रदेशमा पाइलटका रूपमा सञ्चालन गर्ने तयारी गरिएको भए पनि अनुमति सङ्घीय सरकारले दिनुपर्ने भएकाले प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

पोडवेको गति प्रतिघण्टा एक सय ५० किमी

मेट्रोरेलको जस्तै सुविधा दिने पोडवेको गति प्रतिघण्टा एक सय ५० किलोमिटर बराबर हुनेछ । भारतमा सञ्चालनमा रहेको रेलको गति एक सय किलोमिटर प्रतिघण्टा बराबर छ । पोडवे रेलभन्दा उच्च गतिमा सञ्चालन हुने भएकाले पनि थप सहज मानिन्छ ।

पोडवे सञ्चालनका लागि छुट्टै ट्रयाकको आवश्यकता पर्छ । स्वचालित प्रविधिमा आधारित भएकाले पनि त्यसका लागि छुट्टै मार्ग निर्माण गर्नुपर्ने हुन्छ । पोडवे कृत्रिम बौद्धिकता (एआइ)ले नै नियन्त्रण गर्ने र सेवा अटोमेटिक हुने उपाध्यक्ष भट्टराईको भनाइ छ । एउटा विशेष नियन्त्रण कक्षले त्यसको सञ्चालन गर्नेछ । त्यसका लागि हरेक दुई– दुई किलोमिटरमा स्टेशन निर्माण गरिने छ । यात्रु चढाउन र ओराल्न अकासे पुलजस्तै संरचना तयार गर्नुपर्नेछ । केवलकारमा जस्तै पोडवे स्टेशनमा रोक्ने तथा झर्ने समयमा स्वचालित (अटोमेटिक) सुविधा प्राप्त हुनेछ ।

पोडवे निर्माणका लागि जग्गा प्राप्ति वा मुआब्जाको विषय प्रधान नहुने भएकाले पनि थप सहज हुने अनुमान गर्न सकिन्छ । हाल निर्माण भएका सडकको किनारा वा सडकको माथिबाट हिँड्ने भएकाले पनि थप सजिलो हुनेछ । “पोडवे सञ्चालनका लागि सडकको माथि वा करिडोर भए पनि हुन्छ । पोडवे आकासमा नै चढ्ने तथा ओराल्ने हुँदा जग्गाको विवाद आउँदैन । सहज रूपमा सेवा दिन सकिन्छ”, भट्टराईले भन्नुभयो ।

सडकको माथिबाट हिँड्ने भए पनि पेटी वा करिडोरमा सञ्चालनका लागि सङ्घीय सरकारले अनुमति दिनुपर्ने कानुनी बाध्यता छ । सङ्घीय सरकारले आवश्यक नीति तयार गरी अनुमति दिएको खण्डमा बढीमा तीन वर्षभित्रै काठमाडौँ उपत्यकामा पोडवे सञ्चालन गर्न सकिने उहाँको भनाइ छ ।

यातायातविज्ञ आशिष गजुरेल नेपालको यातायात क्षेत्रलाई गुणस्तरीय र जोखिमरहित बनाउने हो भने पोडवे नै उत्तम विकल्प भएको बताउनुहुन्छ । “यसलाई कार्यान्वयन गर्न ढिलाइ गरिनुहुन्न । पहिलो चरणमा अध्ययन हुने भएकाले त्यसमा विशेष ध्यान दिनुपर्छ । सरकारले नै यसका लागि पहलकदमी लिनुपर्छ । निजी क्षेत्रले चासो लिएको अवस्थामा उसलाई काम गर्ने वातावरण बनाइदिनुपर्छ”, उहाँले भन्नुभयो । गजुरेलका अनुसार यो रेलको पछिल्लो विकसित प्रविधि हो । जुन सुरक्षाका हिसाबले पनि महत्त्वपूर्ण र कम जोखिम छ । त्यसका साथसाथै वातावरणमैत्री पनि छ ।

पोडवेका लागि पहिलो चरणमा आवश्यक अध्ययन तथा वातावरणीय प्रभाव मूल्याङ्कनलगायत काम गर्नुपर्ने उल्लेख गर्दै उपाध्यक्ष भट्टराईले तत्कालका लागि नमूना परियोजनाका रूपमा काम गर्न पनि अनुमति आवश्यक रहेको बताउनुभयो । पोडवे बेलारुस, अमेरिकाका अलावा मौरिसस, मलेसियामा सञ्चालनमा ल्याउने तयारीमा रहेको बताइन्छ । भारत सरकारले पहिलो चरणमा तीन सय किलोमिटर क्षेत्रमा पोडवे सञ्चालनको तयारी गरेको छ ।

एउटा पोड (डिब्बा)मा एकपटकमा ४२ यात्रुले यात्रा गर्न सक्छन् । एक घण्टाको समयमा ५० हजार यात्रुले आवतजावत गर्न सक्ने यसको क्षमता हुन्छ । कम्पनीले ५० वटा पोडको व्यवस्था गरेमा एकपटकमा दुई हजार मानिसले सहज रूपमा यात्रा गर्न सक्छन् । हालको मूल्यअनुसार प्रतिकिलोमिटर रु १० मा यात्रा गर्न सक्छन् ।

सामान्यता मेट्रोरेल एउटा स्टेशनमा बढीमा पाँच मिनेटसम्म रोकिन्छ भने पोडवे १५ देखि २० सेकेण्डसम्म मात्रै रोकिन्छ । सोही समयभित्रै यात्रु चढ्ने र ओर्लने गर्नुपर्ने हुन्छ । पोडवेको गति केन्द्रीय नियन्त्रण कक्षले एआइका माध्यमबाट गर्ने भएकाले वास्तविक समयमा नै यात्रु तोकिएको स्थानमा पुग्न सक्छन् । यसबाट समयको बचत हुने र बिजुलीबाट चल्ने भएकाले वातावरण संरक्षणमा योगदान पुग्ने भट्टराईको दाबी छ ।

मालसामान ढुवानीका लागि उपयुक्त

पोडवे यातायातका लागि मात्र नभई मालसामान ढुवानीका लागि पनि उत्तिकै उपयुक्त साधनका रूपमा प्रयोग गर्न सकिन्छ । सार्वजनिक सवारीसँगै सामान ढुवानीका लागि प्रयोग गर्दा लागत घट्न गई बजारभाउ नियमन हुन जानेछ ।

दुर्घटनाको जोखिम कम हुने भएकाले समयमै सामान ढुवानी हुने तथा एकैपटक सय टन बराबरको सामान एक स्थानबाट अर्को स्थानमा लैजान सकिन्छ । यस प्रकारको यातायात सञ्चालनले बिजुलीको खपत बढाउन सहयोग पुर्याउनेछ । हाल आन्तरिक रूपमा बिजुली खपतको विषयले प्राथमिकता पाइरहेको बेला पोडवे अर्को उपयुक्त माध्यम बन्न सक्ने देखिन्छ । यो प्रविधिमा ढुवानी खर्च कम लाग्ने र कम समयमै पुर्याउन सकिन्छ । त्यसबाट पेट्रोल, डिजेलको खपत पनि कम हुन जान्छ । हाल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस प्रणालीका बारेमा आवश्यक अध्ययन गर्ने र आवश्यक नीतिगत प्रबन्ध गर्ने विश्वास दिलाएको लामै समय भए पनि परिणाम भने प्राप्त हुन नसकेको उपाध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

सरकारले २०८० मङ्सिर ७ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी पोडवे, स्काई रेल, स्काई ट्रलिबस, जलमार्गलगायत वैकल्पिक यातायातसम्बन्धी नीति कानुन, मापदण्ड कार्यान्वयन गर्ने उल्लेख गरेको छ । लुम्बिनी विकास कोषले २०८० मङ्सिर २५ गते काठमाडौँ पोडवेसँग विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) माग गर्ने निर्णय गरी यथाशीघ्र पेश गर्न अनुरोध गरेको थियो । कोषका सदस्यसचिव सानुराजा शाक्यले काठमाडौँ पोडवेलाई डिपिआर पेश गर्न आग्रह गर्दै पत्राचारसमेत गर्नुभएको छ ।

अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले २०८० जेठ १२ गते नै काठमाडौँ उपत्यकाको नदी करिडोरमा ट्राफिक जाम कम गर्न माइक्रो रेल, पोडवे सञ्चालनका लागि आवश्यक निर्णय गरिसकेको छ । तत्कालीन आयोजना प्रमुख रवीन्द्र बोहोराले काठमाडौँ उपत्यकाका १३ नगरपालिकाले पोडवेको आवश्यकता र महत्वका बारेमा छलफल गरी आवश्यक नीतिगत व्यवस्थाका लागि सहरी विकास मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरी पत्राचार गर्नुभएको छ ।

त्यस्तो प्रविधिबाट यातायात व्यवस्थापन गर्दा प्रदूषणरहित छिटोछरितो, नदी किनारमा ट्राफिक जाम कम गर्न सहयोग गर्ने र विश्वसनीय प्रविधिको उपयोग गरी सवारी व्यवस्थापनमा सहयोग पुग्ने उक्त निर्णयमा उल्लेख छ । जनघनत्व बढी भएको काठमाडौँ उपत्यकालगायत प्रमुख सहरमा सहज, छिटो एवं भरपर्दोे यातायातको व्यवस्था गर्ने उद्देश्यका साथ आफूहरूले नयाँ प्रविधि भित्र्याउन लागेको उपाध्यक्ष भट्टराईले दाबी गर्नुभयो ।

राजपत्रमा सूचना प्रकाशित भएपछि उक्त प्रविधिले कानुनी मान्यता पाएको भए पनि नीतिको अभावमा काम गर्न कठिनाइ भएको उहाँको भनाइ छ । सडक र नदी एवं नदी करिडोर सङ्घीय सरकार मातहत हुने भएकाले अनुमति लिन नै समस्या भएको जानकारी दिँदै सरकारले कानुनी प्रबन्ध गरिदिए नमूना परियोजनाका रूपमा काम गरेर देखाउन आफूहरू तयार रहेको भट्टराईले उल्लेख गर्नुभयो ।

करिब चार दशकको अध्ययनपछि विश्वमा सन् २०२० मा मात्र यस प्रविधिले मान्यता पाएको हो । पोडवेमा दुईजनादेखि ४२ जनासम्मले एकपटकमा यात्रा गर्न सक्ने भएकाले यो सार्वजनिक यातायातको क्षेत्रमा एउटा वरदान सावित हुने विश्वास लिइएको छ । साथै, एकपटकमा ४८ टनसम्म सामान ढुवानी गर्न सक्ने प्रविधि विकास भएकाले यो रणनीतिक महत्वको पनि रहेको छ ।

नेपालमा यस प्रकारको यातायात सेवा दिने उद्देश्यले सन् २०१९ मा उद्योग दर्ता गरिएको थियो । विश्वका विभिन्न मुलुकले सुरु गरिसकेको भए पनि पोडवे नेपालमा सञ्चालन गर्न तत्काल कानुनी एवं संरचनागत जटिलता भने कायम छ । काठमाडौँ पोडवेले बेलारुसमा सञ्चालनमा रहेको प्रविधिबाट प्रभावित भई नेपालमा भित्र्याउने प्रयास गरेको जनाएको छ । रेललगायत प्रविधिभन्दा पोडवे सञ्चालन खर्च पनि कम पर्ने दाबी गरिएको छ ।

रेल सञ्चालनका लागि ठूलो जनशक्ति र पूर्वाधारको आवश्यकता पर्छ । लगानी पनि ठूलो नै पर्नेछ तर, पोडवेमा जनशक्तिको आवश्यकता पर्दैन । त्यसमा न त ड्राइभर हुन्छ, न त सहचालक नै । कम्पनीले सुरुमा नेपालको वातावारणमा सम्भव छ वा छैन भनी अध्ययन गराएको थियो । सो कार्य सन् २०२० मा सम्पन्न भएको थियो । त्यसप्रकारको अध्ययनका लागि बेलारुस र क्यानडाबाट इन्जिनियर आएका थिए । सोही अध्ययनका आधारमा सर्वसुलभ मूल्यमा सार्वजनिक यातायात सेवामा प्रयोग गर्न सकिने पत्ता लागेको थियो ।

सरकारले अनुमति दिएमा एकैपटकमा देशका विभिन्न छ–सात स्थानबाट पोडवे सञ्चालन गर्ने योजना कम्पनीको छ । पहिलो चरणमा लुम्बिनी प्रदेशबाट पोडवे सञ्चालनको प्रस्ताव गरिएको छ । यस्तै, कोशी प्रदेशमा ८३ किलोमिटर क्षेत्रमा सञ्चालनका लागि प्रस्ताव गरिएको छ । काठमाडौँ उपत्यकामा विभिन्न चरणमा गरी एक सय किलोमिटर क्षेत्रमा तत्काल पोडवे सञ्चालन गर्न सकिने अध्ययनबाट देखिएको छ ।

लुम्बिनीमा ‘पाइलट प्रोजेक्ट‘का रूपमा रु दुई अर्ब ४० करोड लगानी गर्ने प्रस्ताव गरिएको थियो । सामूहिक एवं प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर आगामी १० वर्षभित्र देशभर उक्त सेवा विस्तार गर्न सकिने उहाँको भनाइ छ । सरकारले नीतिगत व्यवस्था गरे देशभित्र पनि लगानीको जोहो गर्न सकिने र थप लगानी विदेशबाट भित्र्याउन सकिने उहाँको भनाइ छ । दुर्घटना नहुने, जाम नहुने, समयमा पुग्ने सकिने भएकाले नेपालले यो प्रविधिलाई तीव्रगतिमा विकास गर्नैपर्ने उपाध्यक्ष भट्टराईको दाबी छ ।

सहजै हेर्दा केबुलकारजस्तो देखिने यो सेवा निर्माणमा केबुलकारभन्दा निकै सस्तो पर्न जान्छ । दुईवटा पोलबीचको दूरी दुई किलोमिटर रहने, विद्युत्को सहायताले सञ्चालन हुने भएकाले पनि वातावरणीय दृष्टिले निकै प्रभावकारी मानिएको छ । उपाध्यक्ष भट्टराईका अनुसार, पोडवे सेवा केबलकार निर्माण लागतको ५० प्रतिशत, मेट्रोरेलको चार र मोनोरेल निर्माणको २० प्रतिशतमा निर्माण गर्न सकिन्छ । एक सय किलोमिटर पोडवे निर्माणमा करिब रु ४० अर्ब बराबर खर्च हुने अनुमान छ ।

सरकारले पोडवे सेवाका सम्बन्धमा आवश्यक अध्ययनको अनुमति दिए पनि नीति तथा आवश्यक कार्यनीति सहजीकरण गरिदिनुपर्ने उपाध्यक्ष भट्टराईको भनाइ छ । स्पष्ट कार्यविधिका साथ कुन स्थानमा यो सेवा विस्तार गर्ने हो भन्नेबारेमा आवश्यक निर्णय भएको खण्डमा आफूहरू काम गर्न तयार रहेको उहाँको भनाइ छ । सरकारबाट आवश्यक सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दै उपाध्यक्ष भट्टराई नमूना परियोजना बनाउनका लागि पहिलो चरणमा प्रारम्भि अनुमति पाए पनि काम गरेर देखाउने विश्वास व्यक्त गर्नुभयो ।

सुक्खाबन्दरगाह भन्सारको राजस्व लक्ष्य घटाइयो

वीरगञ्ज (पर्सा), १० भदौः पर्सास्थित सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकेपछि आव २०८१÷८२ मा पाँच अर्ब लक्ष्य घटाइएको छ । कार्यालयले विगत दुई वर्षदेखि लक्ष्यानुसारको राजस्व सङ्कलन गर्न नसकेपछि भन्सार विभागले गत आवको तुलनामा चालु आवमा पाँच अर्बले लक्ष्य घटाएको हो ।

भन्सार विभागले सुक्खाबन्दरगाह भन्सार कार्यालयलाई चालु आवमा रु ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिदिएको छ । सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनवहादुर बरुवालले भन्सार विभागले कार्यालयलाई चालु आवमा रु ६० अर्ब चार करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको बताउनुभयो । “कार्यालयले गत आवमा लक्ष्यको ७१ दशमलव ७५ प्रतिशत राजस्व असुली गरेको थियो । आव २०७९÷८० को तुलनामा आव २०८०÷८१ म रु पाँच अर्बभन्दा धेरै राजस्व सङ्कलन गर्न सकिएको थियो”, उहाँले भन्नुभयो, “गत आवमा लक्ष्यानुसारको राजस्व सङ्कलन हुन भने सकेन ।”

भन्सार विभागले आव २०८०÷८१ मा कार्यालयलाई रु ६५ अर्ब ९४ करोड एक लाख २२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर कार्यालयले सो अवधिमा लक्ष्यको लक्ष्यको ७१ दशमलव ७५ प्रतिशत अर्थात् रु ४७ अर्ब ३१ करोड एक लाख ९० हजार राजस्व सङ्कलन गरेको थियो । विभागले कार्यालयलाई आव २०७९÷८० मा पनि रु ६७ अर्ब ४३ करोड ८६ लाख ९४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिदिएको थियो । तर कार्यालयले सो आवमा पनि लक्ष्यको ६२ दशमलव ८८ प्रतिशत अर्थात् रु ४२ अर्ब ४० लाख २२ हजार ९३ रकम राजस्व सङ्कलन गरेको थियो ।

श्रीकृष्ण जन्माष्टमी : रजस्वला तथा बेल विवाह नभएका कन्यालाई पुजिँदै

काभ्रेपलाञ्चोक, १० भदौः श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज काभ्रेमा करिब १० हजार कन्यालाई पुजिँदैछ । प्राचीन, ऐतिहासिकता बोकेको बनेपा सहरमा एक सय २२ वर्षअघि सुरु गरिएको ‘कन्यापूजा’ (रजस्वला नभएका १० वर्षमुनिका कन्यालाई)लाई हरेक वर्ष यही दिन पुजिँदै आइएको छ ।

आज मध्याह्नबाट सुरु गरिने पूजामा बनेपाका करिब सात हजार कन्या पुजिने सनातन कन्या–पूजा प्रबन्ध समितिले जनाएको छ । यस्तै केही वर्षदेखि जिल्लाका विभिन्न स्थानमा पनि कन्या पूजालाई निरन्तरता दिन थालिएको छ । कन्या–पूजा बनेपा नगरको पुरानो बजारमा विसं १९५९ देखि वर्षैपिच्छे कृष्ण जन्माष्टमीका दिन गर्दै आइएको हो ।
बनेपा नगरको भोलाखाँ टोलबाट लायकु दरबार तथा पुरानो बजार हुँदै चारदोबाटोसम्म सडकको दायाँबायाँ पेटीमा कन्या लस्करै बस्छन् । कन्यालाई पुज्न काठमाडौँ, भक्तपुर र ललितपुर तथा छिमेकी जिल्लाबाट पनि भक्तजन आउने गरेका छन् । समितिका सदस्य प्रकाश कायस्थका अनुसार कन्यापूजामा समितिमार्फत एक सय ३५ जना भक्तजनले दानदक्षिणा तथा प्रसाद, स्वारी र मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु एवं विभिन्न प्रकारका मिठाई वितरण गर्दछन् । पूजामा सामेल प्रत्येक कन्याको टाउकोमा शुद्ध तोरीको तेल दलेर देवीसरह रातो टीका लगाइदिने प्रचलन छ ।

रजस्वला नभएका तथा बेल–विवाह नगरिएका कन्यालाई पुज्ने व्यक्ति निरोगी भई ‘मनले चिताएको’ पुग्ने मान्यता रहिआएको छ । यस मान्यताका साथ पछिल्ला वर्षदेखि काभ्रेपको नाला, पनौती, साँगा, दोलालघाटलगायत विभिन्न बजार तथा बस्तीमा कन्यालाई श्रीकृष्ण जन्माष्टमीको दिन पुज्दै आइएको हो ।

बनेपामा काभ्रे तथा छिमेकका जिल्लाबाट बर्सेनि करिब सात हजार कन्या सहभागी हुने गर्दछन् । दश वर्षमुनिका कन्यालाई पुज्दा उनीहरूको स्वास्थ्य राम्रो हुने तथा पुज्ने व्यक्तिलाई समेत धर्म प्राप्त हुने जनविश्वास रहिआएको छ । यसकारण पनि कन्यालाई पुज्नेको ठूलो भीड हुने गर्दछ ।

अर्को किंवदन्तीअनुसार रजस्वला नभएका र बेलविवाह नगरिएका कन्याहरूको लाममा देवकन्या, नागकन्या, गन्धर्वकन्या, किन्नरकन्या र किचकन्यासमेत मानवकन्याका वेशमा आउने भएकाले उनीहरूलाई आराध्यदेवी चण्डेश्वरी देवीकी कुमारी मानेर पूजा गरेमा सार्थक हुने तथा बनेपा सात गाउँलाई राक्षसबाट मुक्त गराउन सफल चण्डेश्वरी देवीका रूपमा ‘कन्या’नै भएकाले कन्यालाई पुज्दै आइएको हो । कन्याहरूको स्वागत एवं सम्मानमा लागि बनेपाका नेवार समुदायले विभिन्न प्रकारका झाँकी र बाजासमेत बजाउँछन् ।

बनेपाका भोछिभोया खलक चण्डेश्वरीका सन्तति मानिने भएकाले कुनै जाती या वर्गका आधारमा भेदभाव नराखी उपस्थित कन्याको पूजा गरिन्छ । बनेपा–३ भोलाखाँ टोलमा गणेश र कुमारको पूजा भएपछि मात्र कन्यापूजा सुरु हुने गर्दछ । किंवदन्तीअनुसार कुनै समय बनेपाका एक नेवार समुदायका व्यक्तिले धेरै दुःख भएपछि घरको बुइँगलमा राखेर आफ्ना घरका कन्यालाई पूजा गरेका थिए । सोहीलाई सुरुका वर्षमा प्रचलनस्वरुप नेवार समुदायका रजस्वला नभएका कन्या मात्र पुजिँदै आइए पनि केही समयपछि सबै जातजातिका कन्यालाई पूजामा सामेल गराउँदै आइएको हो

झारखण्ड भाजपा प्रमुख सहित १२ हजार व्यक्तिविरुद्ध एफआइआर दर्ता

भारतीय जनता युवा मोर्चा (बिवाइजेडएम) को ¥यालीमा प्रहरीसँगको झडपमा संलग्न भएको आरोपमा शनिबार १२ हजार अज्ञात र ५१ पहिचान व्यक्तिविरुद्ध एफआइआर दर्ता गरिएको छ ।

भारतीय जनता पार्टी (भाजपा) को झारखण्ड एकाइले अगस्ट २३ (शुक्रबार) झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनको सरकारविरुद्ध राँचीमा ‘युवा आक्रोश ¥याली’ निकालेको थियो ।

भाजपा झारखण्डका सबै नेता, केन्द्रीय मन्त्री सञ्जय सेठ, पूर्व केन्द्रीयमन्त्री अर्जुन मुन्डा, बाबुलाल मरान्डी र अन्य नेताहरू यस युवा विरोध ¥यालीमा सहभागी थिए ।

केन्द्रीय मन्त्री सेठले भन्नुभयो, “झारखण्डमा भ्रष्टाचार चरम सीमामा छ । युवाहरूले रोजगारी पाएका छैनन् र महिलाको सुरक्षा सबैभन्दा ठूलो मुद्दा हो । यी सबैको जवाफ हेमन्त सोरेन सरकारले दिनुपर्छ ।”

यस वर्ष झारखण्डमा विधानसभा चुनाव हुन गइरहेको छ र भाजपाले सरकारलाई घेराबन्दी गर्न पूर्ण तयारी गरेको छ ।

एयर फ्रान्सले तेल अभिव र बेरुतका उडानहरू सोमबारसम्म निलम्बन गर्ने

इजराइलले लेबनानमाथि हवाई आक्रमण सुरु गरेपछि एयर फ्रान्सले आइतबार र सोमबार तेल अभिव र बेरुतका लागि निर्धाति उडानहरू निलम्बन गरेको छ ।

फ्रान्सेली वाहक एयर फ्रान्सका प्रवक्ताले भन्नुभयो, “आज र भोलि उडानहरू निलम्बन गरिएका छन् ।” उहाँले मध्यपूर्वको अवस्थाको आधारमा निलम्बनलाई विस्तार गर्न सकिने बताउनुभयो ।

सामान्यतया दुवै सहरका लागि दैनिक सेवा सञ्चालन गर्ने एयर फ्रान्सले पहिला नै जुलाई २९ देखि अगस्ट १५ को बीचमा बेरुतका लागि उडानहरू रोकेको थियो तर तेल अभिवका लागि उडानहरू जारी राखेको छ ।

दुवै गन्तव्यमा सेवा दिने एयर फ्रान्सको सहायक कम्पनी ट्रान्सभियाले पनि आफ्ना उडानहरू रोकेको प्रवक्ताले जानकारी दिनुभयो ।

दुवै गन्तव्यका लागि सेवा पुनः सुरु गर्न सुरक्षा स्थितिको नयाँ आकलनको परिणाममा निर्भर रहने एयर फ्रान्सले बताएको छ ।

जर्मन एयरलाइन्स लुफ्थान्साले शुक्रबार उसको बेरुत उडानको निलम्बनलाई सेप्टेम्बरको अन्त्यसम्म बढाएको छ । एयरलाइन्सले सेप्टेम्बर २ सम्म तेल अभिव र तेहरानका लागि उडान नभर्ने बताएको छ ।

नासाले अर्को वर्ष अन्तरिक्षबाट बोइङको स्टारलाइनर अन्तरिक्ष यात्रीहरूलाई फिर्ता गर्ने

नासाले सेप्टेम्बरमा बोइङको स्टारलाइनरलाई पृथ्वीमा फिर्ता ल्याउने निर्णय गरेको छ । अन्तरिक्षमा फसेका दुई अन्तरिक्ष यात्री बुच विल्मोर र सुनिता विलियम्स अर्को फेब्रुअरीसम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा रहनुहुनेछ ।

   नासाका अन्तरिक्ष यात्री विल्मोर र विलियम्स जुन ६ मा बोइङ स्टारलाइनरमा आइएसएस पुग्नुभएको थियो । उहाँहरू आठ दिनपछि फर्किने योजना भए पनि अन्तरिक्ष यानको प्राविधिक समस्याका कारण दुई महिनाभन्दा बढी समयदेखि अन्तरिक्षमा अलपत्र पर्नुभएको छ ।

   नासा र बोइङले जुन ६ मा स्टारलाइनर अन्तरिक्ष स्टेशनमा पुग्दा हिलियम चुहावट र अन्तरिक्ष यान प्रतिक्रिया नियन्त्रण थ्रस्टरहरूसँग समस्या अनुभव गरेका थिए । 

   त्यसबेलादेखि इन्जिनियरिङ टोलीहरूले डेटाको सङ्कलन समीक्षा गर्न, उडान र ग्राउन्ड परीक्षणहरू सञ्चालन गर्न, एजेन्सी प्रोपल्सन विशेषज्ञहरूसँग स्वतन्त्र समीक्षाहरू होस्ट गर्न र विभिन्न फिर्ती आकस्मिक योजनाहरू विकास गर्न प्रयासहरू गरेका छन् ।

   नासाले विल्मोर र विलियम्सले सन् २०२५ फेब्रुअरीसम्म औपचारिक रूपमा आफ्नो काम जारी राख्ने बताएको छ । उहाँहरूले एजेन्सीको स्पेसएक्स क्रु–९ मिसनमा तोकिएका दुई अन्य चालक दलका सदस्यसँग स्पेसएक्स ड्र्यागन अन्तरिक्ष यानमार्फत घरका लागि उडान भर्नुहुनेछ ।

  क्रु–९ मिसन मूल रूपमा चालक दलका चार सदस्यसहित मङ्गलबार सेप्टेम्बर २४ भन्दा पहिले सुरु हुनेछ ।

   “नासा र बोइङ टोलीहरूले ठूलो मात्रामा परीक्षण र विश्लेषण पूरा गरिसकेका छन् । यो उडान परीक्षणले अन्तरिक्षमा स्टारलाइनरको कार्यसम्पादनमा महत्त्वपूर्ण जानकारी प्रदान गरिरहेको छ । हाम्रो प्रयासले बिना चालक दलको फिर्तीका लागि तयारी गर्न मद्दत गर्ने र अन्तरिक्ष यानका लागि भविष्यका सुधारात्मक कार्यहरूलाई धेरै फाइदा पुर्याउनेछ”, नासाको कमर्सियल क्रु कार्यक्रमका प्रबन्धक स्टिभ स्टिचले भन्नुभयो ।

उत्तरी मालीमा ड्रोन आक्रमणमा कम्तीमा १५ सर्वसाधारणको मृत्यु

मालीको उत्तरी क्षेत्रमा आइतबार भएको ड्रोन आक्रमणमा बालबालिकासहित कम्तीमा १५ सर्वसाधारणको मृत्यु भएको स्थानीय स्रोतहरूले बताएका छन् । उक्त क्षेत्रमा सेना र उसका रुसी सहयोगीहरूले पृथकतावादी र जिहादीहरूसँग लडिरहेका छन् । पृथकतावादीहरूले अल्जेरिया नजिकै तिन्जाउओटेनमा आक्रमणका लागि ‘मालियन जुन्ताको सेना र वाग्नर समूहका रुसी भाडाका सेनालाई’ दोष दिएका छन् । उक्त आक्रमणमा ११ बालबालिकासहित २१ सर्वसाधारणको मृत्यु भएको छ ।

पृथकतावादीका प्रवक्ता मोहम्मद एलमाउलउद रमादानले भन्नुभयो, “यिनीहरूले सुरुमा एक फार्मेसीलाई निशाना बनाए, त्यसपछि अर्को आक्रमण गरे जसमा पहिलाको क्षति भएको स्थान नजिकै मानव भीडलाई निशाना बनाए ।”

एक स्थानीय राजनीतिज्ञले आक्रमणमा कम्तीमा १५ जना मारिएको बताए । यसैबीच स्थानीय एक गैरसरकारी संस्थाका अधिकारीले आइतबारको ड्रोन आक्रमणमा ‘बालबालिकासहित कम्तीमा २० सर्वसाधारण’ को मृत्यु भएको बताए । 

आठ वर्षको शान्तिपछि बामाको र स्वतन्त्र मातृभूमिका लागि लडिरहेका पृथकतावादीहरूबीचको शत्रुता सन् २०२३ अगस्टमा पुनः सुरु भयो । 

सन् २०२० को सैन्य विद्रोहबाट सत्ता कब्जा गरेका मालीका सैन्य नेताहरूले अल–कायदा र इस्लामिक स्टेट समूहसँग जोडिएका पृथकतावादी र जिहादी शक्तिहरूबाटद सम्पूर्ण देशलाई फिर्ता लिनुलाई प्राथमिकता दिएका छन् । 

कर्नल असिमी गोइताको नेतृत्वमा जुन्ता पूर्वऔपनिवेशक शासक फ्रान्ससँगको आफ्नो परम्परागत गठबन्धन तोडेर रुसतिर फर्किएको छ । जुन्ताले वाग्नर भाडा समूहका सैनिकहरूलाई मुलुकमा तैनाथ गरेको छ । यद्यपि जुन्ताले उनीहरू ‘प्रशिक्षक’ का रूपमा मात्र रहेको बताएको छ । 

दुर्घटनामा परेको बस निकाल्न मुग्लिन-ऑबुखैरेनी सडकखण्ड चार घण्टा अवरुद्ध हुने

दमौली (तनहुँ), ९ भदौः पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको ऑबुखैरेनी–मुग्लिन सडकखण्ड चार घण्टा अवरुद्ध हुने भएको छ । ऑबुखैरेनी-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको भारतीय बस दुर्घटना भएकामा उक्त बस निकाल्नका लागि आज बिहान ६ः३० देखि चार घण्टा उक्त सडक अवरुद्ध हुन लागेको हो ।

राजमार्गमा सवारीको चाप हुने भएकाले सडक बन्द गरी उक्त बस निकाल्न लागिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो । शनिबार क्रेनको सहायताबाट बस निकाल्ने प्रयास गरिएपनि दश मिटरमात्रै तानिएको उहॉको भनाइ छ । उहॉले भन्नुभयो, “सडक बन्द नगर्दा काम गर्न अप्ठ्यारो हुने भएकाले चार घण्टा सवारी आवागमन रोकिनेछ ।“ 

पोखराबाट काठमाडौतर्फ जॉदै गरेको बस नदीमा खस्दा २७ जनाको मृत्Þयु भएको थियो । दुर्घटनामा घाइते १६ जनाको काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बेपत्ता एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पाटनस्थित कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो(फोटोफिचर)

पाटन (ललितपुर) ।  ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै  मन्दिर दर्शनार्थीको घुइँचो लागेको हो ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जजन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् भगवान् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ ।

पूजाअर्चनाका लागि मन्दिरका दक्षिण र उत्तर तर्फ दर्शनार्थीका लागि लाइनको व्यवस्था गरिएको छ ।   भक्तजनको लाइन व्यवस्थापनका लागि नेपाल स्काउट, ललितपुर महानगर प्रहरी परिचालित छन् ।

तस्बिर : हरिराम भेटुवाल / रासस

आजको मौसम : देशभर वर्षाको सम्भावना

काठमाडौँ, १० भदौः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानमा दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जनाइएको छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज जारी मौसम बुलेटिनका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ भने कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सातै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोबुलेटिनमा उल्लेख छ ।

यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोे बुलेटिनमा उल्लेख छ ।

सबै प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि जनाइएको छ । कोशी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम वा क्षतिबाट बच्न विभागले आग्रह गरेको छ । साथै यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध छ ।

दोरम्बामा पहिराको जोखिममा रहेका ६५ घरपरिवारलाई अन्यत्र सारियो

मन्थल, (रामेछाप)-दोरम्बा शैलुङ्ग गाउँपालिका–३ मा गएरातिको पहिराका कारण विस्थापित भएका ६५ परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । विस्थापित भएका करिब एक सय ८० जनालाई टोकरपुरमा रहेको कण्ठेश्वर मावि र गाँउपालिकाको खाली कोठामा सारिएको पालिकाका अध्यक्ष मैनकुमार मोक्तानले जानकारी दिनुभयो ।

आज घटनास्थल पुग्नुभएका ऊर्जा, सिँचाइ तथा जलस्रोत राज्यमन्त्री पूर्णबहादुर तामाङले जोखिमयुक्त बस्ती तत्काल सुरक्षित स्थानमा सार्न निर्देशन दिनुभएको थियो । पहिरोमा परी मृत्यु भएकाका परिवारलाई राज्यमन्त्रीद्वारा जनही रु १०÷१० हजार प्रदान गर्नुभएको थियो ।

घटनामा परी सोही स्थानकी ३० वर्षीया चण्डीका श्रेष्ठ र निजका १८ महिनाका छोरा आयुष श्रेष्ठ, सोही वडाका ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दिप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरीको मृत्यु भएको थियो भने ११ वर्षीया अञ्जना श्रेष्ठ घाइते भएकी थिइन् । घाइतेको श्रेष्ठको सम्पूर्ण उपचार खर्च आफूले व्यहोर्ने पनि मन्त्री तामाङले घोषणा गर्नुभयो ।

पहिरामा परी सोही वडाका ५५ वर्षका काले पहरी, ५० वर्षका झाइपुरी पहरी ६५ वर्षीया पुड्की पहरी र २१ वर्षीया बिन्दा पहरी हराइरहेको र उनीहरूको खोजतलास भइरहेको दोरम्बा शैलुङ्ग गाउँपालिकाकी उपाध्यक्ष खमला थापामगरले बताउनुभयो ।

सबै पर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर हुन्ः सभापति देउवा

काठमाडौँ, १० भदौः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै पर्व हाम्रा सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहर भएको उल्लेख गर्नुभएको छ ।

श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले पर्वले समाजलाई भावनात्मक एकताको सूत्रमा बाँधी धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम गर्दै सत्कर्म र मानव कल्याणमा लाग्न प्रेरित गर्दै आएको बताउनुभएको छ । “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विविधतायुक्त विशेषताले भरिपूर्ण सुन्दर देश हो । यहाँ विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रितिरिवाज र चाड–पर्व छन्, तिनले नेपालीलाई एकताको सूत्रमा बाँध्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्”, सन्देशमा भनिएको छ ।

सभापति देउवाले भगवान श्रीकृष्ण जन्मनुभएको पावन दिनको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी र विशेष गरी सुदूरपश्चिमा मनाइने गौरा पर्वको अवसरमा समस्त नेपालीमा आफ्नो पार्टी र व्यक्तितर्फबाट सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।