`

असोज बाढीपहिरो : काभ्रेमा पानीका मुहान पुनर्जिवित कार्यक्रम प्रभावित

Nepal One HD ३ फागुन २०८१ ७:३६
समाचार

काभ्रेपलाञ्चोक-गत असोजको बाढीपहिरोका कारण काभ्रेपलाञ्चोकको सात स्थानीय तहमा सञ्चालन गर्न लागिएको पानीका मुहान पुनर्जिवीत कार्यक्रम प्रभावित बनेको छ । कार्यक्रम सञ्चालनका लागि जिल्लाका चार नगरपालिका र तीन गाउँपालिकाले मध्यपहाडी क्षेत्रमा ब्याप्त पानीको समस्यालाई सम्बोधन गर्न तथा समुदायको नेतृत्वमा सोही क्षेत्रका पानीका मुहान संरक्षण गर्ने अभियानमा सम्झौता गरेका थिए् ।

प्रकृतिमा आधारित समाधानका माध्यमबाट मुलधार संरक्षण कार्यक्रमका लागि सन् २०२४ जनवरी पहिलो साता अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)सँग सात स्थानीय तहका जनप्रतिनिधिले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । कार्यक्रम सञ्चालनको तयारीस्वरुप स्थानीय तहमा विभिन्न समुदायमा छलफल चलाउने क्रममा रहँदा गत असोजमा आएको बाढीपहिरोका कारण उक्त अभियान रोकिएको जनाइएको छ । “केही स्थानमा सुकेको मुहान पहिचानसँगै छलफल चलाउँदै थियौँ, बाढीपहिरोले यो अभियान रोकिएको छ, बाढीपहिरोले हाम्रा मुहान तथा आयोजनानै क्षतिग्रस्त भएका छन्”, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले भन्नुभयो । उहाँका अनुसार क्षतिग्रस्त आयोजना पुनिर्निर्माणसँगै पानीका मुहान पुनर्जिवीत कार्यक्रमलाई समेटिनुपर्ने देखिएको छ ।

पानीका मुहान पुनर्जिवीत कार्यक्रमका लागि इसिमोडले प्राविधि सहयोग गर्ने गर्दछ भने स्थानीय तहका प्रमुखले उक्त कार्यमा आ–आफ्ना तर्फबाट सहयोग र सहकार्य गर्नुपर्ने सम्झौता गरिएको थियो । जिल्लाका धुलिखेल, पाँचखाल, नमोबुद्ध र पनौती नगरपालिका तथा रोशी, बेथानचोक र तेमाल गाउँपालिकाले पानीको असुरक्षालाई सम्बोधन गर्न समुदायको नेतृत्वमा स्थानीय पानीका मुलको पहिचान, अवस्थाको मुल्याङ्कन तथा सन्कटासन्न मुहानको पुर्नजिवित गर्ने नयाँ अभियानमा एक्यबद्धता जनाएका थिए । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् ।
नमोबुद्ध नगरपालिकामा भने वडा नं ३ र ५ मा सुकेको दुई मुहानमा सुकेको मुहान फर्काउन पोखरी निर्माण गरिएको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीका अनुसार अन्य दुई सुकेको मूल फर्काउन विषयमा प्रक्रिया भइरहेको छ । सन् २०२३ मा गरिएको सर्वेक्षण अनुसार नमोबुद्ध नगरमा रहेका ४ सय ४४ मुहानमध्ये २० प्रतिशत मुहान सुकिसकेको अवस्थामा रहेका छन् । भएका अधिकांश मुहनामा पानीको प्रवाहमा कमी हुँदै आएको जनाइएको छ ।

पाँचखालका नगरप्रमुख महेश खरेलले विभिन्न कारण जोखिममा परेका पानीका मुहान संरक्षण कार्यक्रमले सुकेका मुल पुनर्जिविह हुने अपेक्षा गरिएपनि अभियानका क्रममा मुहान पहिचान भइरहेको अवस्थामा बाढीपहिरो प्रभाभावितको राहत उद्धार तथा खानेपानीलगायत क्षतिग्रस्त संरचनामै समय दिनुपरेकाले अभियान पूभावित बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाल क्षति भएका खानेपानी आयोजनालाई संरक्षण गरौँ त्यसपछि थप मुहानको खोजी गर्नेतर्फ लाग्नेछौँ ।” उहाँका अनुसार मुहानको पुनरुत्थानले खानेपानी आयोजनाले अपुग पानीको मागलाईसमेत सम्बोधन गर्ने देखिएको छ ।
इसिमोडका अनुसार हिन्दुकुश हिमालयमा पानीको मुहान क्रमश सुक्दै जानु आजको प्रमुख समस्या भएको र पहाडी समुदायको पिउने पानी, गाईवस्तु तथा बालीनालीका लागि पानीको निरन्तर पहुँच सुनिश्चित गर्नु, पानीको अभाव विस्थापन गर्नु, पानीको विवाद न्युनिकरण गर्नु अहिलेको मुलभुत आवश्यकता देखिएको हो । तर, अहिलेसम्म उक्त विषयमा पर्याप्त ध्यान वा लगानी नभएकाले इसिमोडले अभियान थालेको जनाइएको छ ।

सम्झौतामा इसिमोडले पानीको मुहानको स्थान र स्थितिको विवरणसहित, जल तथा भौगर्भिक विज्ञानको अध्ययनको आधारमा पुनर्भरण क्षेत्र पहिचान, सुधारिएको मुहानको प्रवाह र पानीको गुणस्तर, जैविक विविधताको अवस्था, जलवायु सह–लाभको मूल्याङ्कनजस्ता गतिविधिहरु कार्यान्वयन गर्न सहयोग गर्ने उल्लेख गरिएको छ । यस्तै कार्यक्रम सफल भए काभ्रेपलाञ्चोकका अन्य छ स्थानीय तहमा क्रमशः लागू गर्दै जाने दीर्घकालीन लक्ष्य बनाइएको थियो ।

प्रतिवेदनहरुका अनुसार हिन्दुकुश हिमालय क्षेत्रमा रहेका लगभग ९० लाख मुहानले पानीको महत्वपूर्ण स्रोतको रूपमा सेवा प्रदान गर्दै आइरहेका छन् । तथापि, जलवायु परिवर्तन, भूमिगत पानीको अत्यधिक उत्खनन र भूमि प्रयोग परिवर्तनजस्ता गम्भीर समस्याका कारण पानीका मुहान जोखिममा पर्दै गइरहेको जनाइएको छ । इसिमोडको मुलाधार व्यवस्थापनका उदाहरणीय मुल संरक्षण तथा पुनरुत्थानका कार्यक्रममा स्थानीय सरकारसँग भएका सम्झौताले अन्य स्थानीय तहलाई आफ्नो बजेट र योजनामा मुलाधार व्यवस्थापन अपनाउन प्रेरित गर्ने अपेक्षा गरिएको पाइन्छ ।


प्रतिक्रिया