`

उपराष्ट्रपति यादवद्धारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना

काठमाडौँ, १० भदौ : उपराष्ट्रपति रामसहायप्रसाद यादवले श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वमा श्रद्धा, भक्तिभावले गरिने पूजा र प्रार्थनाले नकारात्मक प्रभावलाई कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

श्रीकृष्ण जन्माष्टमी र गौरा पर्व २०८१ का अवसरमा उहाँले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभयो । “हाम्रो पूर्वीय वैदिक सभ्यतामा समाजलाई सभ्य र सुसंस्कृत बनाइ समाजमा एकता, सद्भाव र सहिष्णुता कायम राख्न विभिन्न पर्व–त्योहार, संस्कार–संस्कृति एवं परम्परा–रीतिरिवाज परापूर्वकालदेखि प्रचलनमा रही आएका छन्, तीमध्ये श्रीकृष्ण जन्माष्टमी र गौरा पर्व पनि हुन्”, सन्देशमा भनिएको छ,“बहुरङ्गी र विविधतायुक्त संस्कृति भएको नेपालमा अनेकन पर्व–त्योहार मनाइन्छ, यी सबै हाम्रो समाजमा धार्मिक एवं आध्यात्मिक चिन्तन तथा प्रेरणा र जागरणको दृष्टिलाई प्रादुर्भाव गर्ने ज्यावल हुन्, जसले हामीलाई पारस्परिक रूपमा जोड्ने मृदुल माध्यमको काम पनि गर्छन् ।”

श्रीकृष्ण जन्माष्टमी पर्व प्रत्येक वर्षको भाद्र कृष्णपक्षको अष्टमी तिथिमा भगवान श्रीकृष्णको जन्मोत्सवका रूपमा धुमधामका साथ मनाइन्छ । यस पर्वको धार्मिक, सांस्कृतिक, सामाजिक र आध्यात्मिक महत्व रही आएको छ । भगवान् श्रीकृष्णले सिङ्गो मानवताको भलाइका लागि अपनाएका नवआचार र विचारलाई अवलम्बन गर्न अभिप्रेरित गर्दछ । यस अवसरमा श्रीकृष्णले महाभारतमा अर्जुनलाई दिएको गीता उपदेशले धर्म, कर्म र मोक्षको मार्ग देखाउँछ । गीता उपदेशमा श्रीकृष्णले राजयोग, कर्मयोग, भक्तियोग र ज्ञानयोग जस्ता विभिन्न योगमार्गहरूको महत्व र अभ्यासबारे विस्तृत वर्णन गरेका छन् ।

यसले जीवनका विभिन्न पक्षमा मार्गदर्शन गर्नुका साथै आत्मज्ञानको मार्ग पनि देखाउँछ । श्रीकृष्ण जन्माष्टमी पर्वमा सामूहिक रूपमा नृत्य, सङ्गीत, झाँकी, नाटक र कृष्णलीलामार्फत कृष्ण र राधाको प्रेमका कथा प्रस्तुत गर्ने परम्परा छ । श्रीकृष्णको जीवन र शिक्षालाई सम्झने अवसर प्राप्त हुने भएकाले मानिसलाई आफ्नो आध्यात्मिक यात्रामा अघि बढ्न उत्प्रेरित गर्दछ ।

यस्तै, नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशसहित मुलुकका विभिन्न भूभागमा परापूर्वकालदेखि हर्षोल्लासका साथ गौरा पर्व पनि मनाइदै आइएको छ । यस पर्वका अवसरमा पाँच किसिमका अन्नको सामूहिक स्वरुप ‘बिरुडा’ प्रसादका रूपमा बाँड्ने चलन छ । पुरुष र महिला छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोकभाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् ।

मूल रुपमा गौरी महेश्वरको उपासना गरिने गौरा पर्व हिन्दू नारीद्वारा आफ्नो सुसौभाग्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र शुद्धताका लागि गरिने सुसंस्कृत र संस्कारजन्य अनुष्ठान हो ।

गौरा पर्वले आपसी भाइचाराको सम्बन्धमा वृद्धि गरेको छःराष्ट्रपति

काठमाडौँ, १० भदौः राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभएको छ ।

गौरा पर्वको अवसरमा शुभकामना दिँदै उहाँले हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म नेपालको सुदूरपश्चिम क्षेत्रमा विशेषरुपमा मनाइने यस पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यवद्धता र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पु¥याउँदै आएको बताउनुभएको छ ।

यस पर्वमा शिव र पार्वतीको पूजा अर्चना गरी व्रत बस्ने गरिन्छ । जसको फलस्वरूप शिव र पार्वती तथा ईष्ट र कुल देवता प्रशन्न भई सुख शान्ति प्राप्त हुने जनविश्वास रहेको छ । साथै, पाँच प्रकारका अन्नबाट बनेको ‘बिरुँडा’ अर्पण गरी प्रसादको रुपमा ग्रहण गरेर यो पर्व मनाउने गरिन्छ ।

यस पर्वको अवसरमा स्थानीय गोलबद्ध भई लोक भाषामा देउडा, धमारी र चैत आदिका माध्यमबाट एक अर्काका दुःख, सुख बाड्ने गर्दछन् । साथै, यस पर्वले बिछोडिएका जोडीको मिलन हुने, आपसी भाइचाराको सम्बन्धमा वृद्धि हुने र पति–पत्नीबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास रहेकोले यसलाई धुमधामपूर्वक मनाउने प्रचलन रहिआएको छ ।
राष्ट्रपति पौडेलले यस साँस्कृतिक चाड गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सम्पूर्ण नेपालीमा आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावना अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

आज श्रीकृष्ण जन्माष्टमी, देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

काठमाडौँ, १० भदौः वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् भगवान् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्दछ ।

यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्छ ।

बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर परिसरमा रहेको श्रीकृष्ण मन्दिरमा पनि आज श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा झुलनोत्सव कार्यक्रम आयोजना गरिएको छ । यसैगरी राजधानीका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ ।

यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । शोभायात्रा आज मध्यरातमा श्रीकृष्णको जन्म भएपछि मङ्गलबार निकाल्ने गरिन्छ । यस पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा सामुदायिक एवं संस्थागत विद्यालयले बालबालिकालाई श्रीकृष्ण एवं राधाका रुपमा शृङ्गार गरेर विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन् । यसबाट बालबालिकामा यस पर्वको महत्व बुझ्न सहयोग पुग्ने गरेको छ ।

गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा पाँचौँ दिन पश्चिमी सीमा नाका गड्डाचौकी पुगेर समापन

कञ्चनपुर,- महिलाको मौलिक पहिरन गुन्यु चोली जगेर्ना गर्ने सन्देश बोकेर मेची–महाकाली यात्रामा निस्कनुभएकी ५५ वर्षीया सुशीला उप्रेती तिवारीले यात्रा समापन गर्नुभएको छ ।

भदौ ५ गते मेचीको बुद्धशान्ति गाउँपालिकाबाट मोटरसाइकल यात्रा सुरू गर्नुभएकी तिवारीले पाँचौँ दिन पश्चिमी सीमा नाका कञ्चनपुरको गड्डाचौकी पुगेर यात्रा समापन गर्नुभएको हो । परापूर्वकालदेखि महिलाले पहिरिँदै आएको गुन्यु चोली लगाउने चलन विस्तारै हराउँदै जान थालेकाले जगेर्ना गर्नुपर्ने सन्देश बोकेर मेची महाकाली यात्रामा निस्कनुपरेको उहाँले बताउनुभयो । “संस्कृति र पहिचान पोसाकबाट पनि झल्की छ, त्यो नै हरायो भने पहिचान गुम्छ । त्यसैले गुन्यु चोली लगाएर यात्रा गरेको हुँ”, उहाँले भन्नुभयो ।

झापाको बुद्धशान्ति–३ बस्ने तिवारीलाई कालिका लाइन्स क्लब महेन्द्रनगरकी अध्यक्ष तथा समाजसेवी हेलन श्रेष्ठले स्वागत गर्नुभएको थियो ।

भरतपुर महानगरको दुई सय ६६ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाए

भरतपुर (चितवन), १० भदौः भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत दुई सय ६६ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति गरेको छ । ती विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधिअनुसार छात्रवृत्तिमा छनोट गरिएको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आइतबार आयोजित कार्यक्रममा विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताउनुभयो ।

उहाँले शिक्षा क्षेत्रमा भरतपुर महानगरले उल्लेख्य फड्को मारेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “महानगरले शिक्षा क्षेत्रमा शैक्षिक तथा भौतिक रूपमा ठूलो फड्को मारेको छ ।” शिक्षामा सबैको पहुँच पुर्याउने उद्देश्यले महानगरपालिका अघि बढिरहेको उहाँले बताउनुभयो । सरकारी विद्यालयको सुधार गर्दै संस्थागत विद्यालयसरह बनाउनेगरी महानगरले शिक्षा क्षेत्रमा काम गर्दै आएको उहाँको भनाइ थियो ।

छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीलाई सिफारिसपत्र वितरण गरिएको छ । अल्पसङ्ख्यक र सीमान्तकृत समुदायका विद्यार्थीलाई पनि छात्रवृत्ति वितरण गरिएको छ । “जेहेन्दार विद्यार्थीलाई पढाइमा प्रोत्साहन गर्ने नीति लिएका छौँ”, शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र आचार्यले भन्नुभयो । तीसवटा संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको छ । छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ एक सय ८९ र अन्य ७७ जना छन् ।

छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ ९९, गरिब तथा विपन्नतर्फ ९६, आदिवासी जनजातितर्फ २६, दलिततर्फ १३, अपाङ्गता भएका आठ, जनआन्दोलनका घाइते तथा सहिदका सन्ततितर्फ २४ रहेका छन् । महानगरले वार्षिक रूपमा छात्रवृत्ति वितरण गर्दै आएको छ । गत वर्ष महानगरले दुई सय ७४ जनालाई छात्रवृत्ति दिएको थियो ।

बागमती प्रदेशका पर्यटन मन्त्री निवासमा आगलागी

मकवानपुर, ९ भदौः बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीको निवासमा आज साँझ आगलागी भएको छ ।

मन्त्री बस्ने भवनको माथिल्लो तलामा रहेको सभाहलमा आगलागी हुँदा इन्भर्टर ब्याट्री चार थान, पावर सप्लाइ बक्स, वाइफाइ राउटर, गलैचा, जिप्सन बोर्डमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आइतबार साँझ ७ं बजेर ४० मिनेट जाँदा आगलागी सुरु भएको र ७ बजेर ५५ मिनेटमा निभाइएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

आगलागी हेटौंडा उपमहानगरको वारुणयन्त्र प्रयोग गरिएको थियो । विद्युत सर्ट भएका कारण आगलागी भएको प्रहरीले जनाएको छ । हेटौंडा–९ लामसुरेस्थित हेटौंडा सिमेन्ट उद्योगको कर्मचारी आवासलाई नै मन्त्री निवास बनाइएको थियो ।

बायो इथानोल उत्पादन तथा प्रयोगका लागि आवश्यक प्रबन्ध मिलाउन निर्देशन

काठमाडौँ, ९ भदौ: बायो इथानोल उत्पादन तथा प्रयोगका लागि आवश्यक प्रबन्ध मिलाउन प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकले नेपालमा बायो इथानोल उत्पादकसँग तोकिएको गुणस्तर तथा मूल्यमा बायो इथानोल खरिद सम्झौता गरी आन्तरिक उत्पादन, वैदेशिक मुद्रा सञ्चिति र रोजगारीका साथै कूल गार्हस्थ्य उत्पादन बढाउन सकिने भन्दै यस्तो निर्देशन दिएको हो ।

समिति सभापति अब्दुल खानले स्वदेशी उत्पादकलाई आह्वान गरी बायो इथानोलको उत्पादन तथा प्रयोगमा ल्याउन निर्देशन दिने निर्णय भएको जनाउनुभयो ।

खनिज इन्धनमा रहेको निर्भरतालाई घटाउने तथा यसको प्रयोगबाट वातावरणमा पर्न गएको प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विसं २०६० मङ्सिर महिना २९ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी पेट्रोलमा इथानोल मिश्रण गरी बिक्री गर्नुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार निगमले ‘पेट्रोलमा इथानोल मिश्रणसम्बन्धी विनियमावली, २०८१’ तयार पारेको छ ।

विनियमावलीले इथानोल भन्नाले उखु, न्यापिर घाँस, सिमल तरुल, सजिवनजस्ता कार्बोहाइडे«टयुक्त जैविक प्राकृतिक स्रोतबाट प्राप्त हुने कच्चापदार्थलाई कुहाएर अल्कोहलमा परिणत गरी पेट्रोलियम पदार्थमा मिश्रण गर्न सकिने वा बायोइथानोल सम्झनुपर्छ भनेको छ ।

ईथानोल स्रोतका रुपमा न्यापियर घाँस, सिमल तरुल, बाज्रा सजीवन, उखु र चिनी कारखानाबाट निस्कने खुदो, सुइरो घाँस, मकैको ढोड, धानको पराल तथा भुस, गहुँको छ्वाली, चामल उद्योगबाट प्राप्त हुने कनिकालगायतका वस्तु प्रयोग हुने गरेका छन् । उखु, चुकन्दर, जौ, आलु, चामल, मकैबाट पनि इथानोल उत्पादन गर्न सकिन्छ ।

समितिका सांसदले पेट्रोलमा इथानोलमा मिसाउने विषयमा छलफल चलेको वर्ष दिन बित्दा पनि कार्यान्वयनमा किन ढिलाइ भनेर प्रश्न गर्नुभयो साथै छिटो कार्यान्वयनमा ल्याउने राय राख्नुभयो ।

उद्योग, वाणिज्य तथ आपूर्ति मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले इथानोल आवश्यक रहेको बताउँदै भन्नुभयो, “अभ्यासअनुसार १० देखि २० प्रतिशत इथानोल मिसाउने अभ्यास छ । यही महिनाभित्र सरोकारवालाहरुसँग छलफल गर्छौँ । असोज महिनाभित्र कार्यविधि पारित गर्छौँ । कात्तिक दोस्रो साताबाट सूचना निकाल्छाँै ।”

नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको निगमको इन्धन भण्डारणको स्थानन्तरणका सम्बन्धमा जग्गा उपलब्ध नभइसकेकाले काम अघि बढाउन नसकेको प्रष्ट्याउनुभयो ।

इथानोलको उत्पादक कियान केमिकल इन्डस्ट्रिज प्रालिका संस्थापक सदस्य दिनेश पौडेलले उत्पादनका लागि सबै सम्भाव्यता अध्ययन सकिएको र निगमको स्वीकृतिको पर्खाइमा रहेको बताउनुभयो ।

अरुण तेस्रो आयोजना चाँडो सम्पन्न गर्न ऊर्जामन्त्रीको आग्रह

काठमाडौँ, ९ भदौः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण तेस्रो जलविद्युत् आयोजनालाई चाँडो सम्पन्न गर्न आग्रह गर्नुभएको छ ।

अरुण तेस्रो जलविद्युत् आयोजनाका पदाधिकारीलाई आज मन्त्रालयमा बोलाएर उक्त आयोजनामा भएको ढिलासुस्तीलाई चाँडो सम्बोधन गर्न आग्रह गर्नुभएको हो ।

सङ्खुवासभाबाट निर्वाचित सांसदसमेत रहनुभएका मन्त्री खड्काले उक्त आयोजना चाँडो निर्माण भएमा सङ्खुवासभालगायत पूर्वी जिल्लाको विकासले गति लिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले राखेकाले उक्त लक्ष्यलाई पूरा गर्न यस्ता आयोजनालाई समयमै सम्पन्न गर्नुपर्ने बताउनुभयो । ऊर्जामन्त्री खड्काले परियोजना निर्माणका क्रममा देखिएका समस्यालाई समाधान गर्न सरकारले पहल गर्ने बताउनुभयो ।

ऐन कार्यान्वयनको पाँच वर्षपछि सङ्घीय भूउपयोग परिषद् गठन

काठमाडौँ, ९ भदौ : भूउपयोग ऐन २०७६ कार्यान्वयनमा आएको पाँच वर्षपछि सङ्घीय भूउपयोग परिषद् गठन भई कार्यारम्भ गरेको छ । ऐनको दफा १४ ले परिषद् गठनसम्बन्धी व्यवस्था गरेको भए पनि करिब पाँच वर्षपछि उक्त व्यवस्था कार्यान्वयनमा आएको हो ।

परिषद् गठन भएसँगै गत बिहीबार पहिलो बैठकसमेत बसिसकेको छ । पहिलो बैठकले परिषद्को काम, कर्तव्य अधिकार, बैठकसम्बन्धी कार्यविधि निर्माण, ऐनको प्रभावकारी कार्यान्वयनलगायत विषयमा छलफल गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले जानकारी दिनुभयो । “परिषद् गठन भएर पहिलो बैठक बसिसकेको छ । भूउपयोग ऐन कार्यान्वयनमा देखिएका समस्यालाई विश्लेषण गरेर लैजाने, परिषद्का सदस्यलाई कार्यजिम्मेवारीका बारेमा जानकारी दिने, बैठक सञ्चालनसम्बन्धी कार्यविधि बनाउनेलगायत निर्णय सो बैठकबाट भएका छन्”, उहाँले भन्नुभयो ।
]
ऐनको व्यवस्थाअनुसार परिषद्ले भूउपयोगसम्बन्धी दीर्घकालीन तथा आवधिक विकास योजना बनाइ लागू गर्ने, भूउपयोग योजना सञ्चालन गर्न विभिन्न निकायबीच आवश्यक समन्वय गर्नेलगायत महत्वपूर्ण अधिकार पाएको छ । भूउपयोग नक्सा ‘डाटा’ तयार गर्ने, भूउपयोग क्षेत्र वर्गीकरण, योजना तर्जुमा र कार्यान्वयनसम्बन्धी अन्य आवश्यक आधार तथा मापदण्ड तयार गर्ने, अन्तरप्रदेशमा देखिने भूउपयोगसम्बन्धी जग्गा विवाद समाधान गर्नेलगायतका अधिकार पनि परिषद्लाई दिइएको छ । प्रदेश र स्थानीय तहमा पनि भूउपयोग परिषद् गठन गर्नुपर्ने प्रावधान ऐनमा राखिएको छ तर उक्त व्यवस्था अझै कार्यान्वयनमा आउन सकेको छैन ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अध्यक्ष रहने सङ्घीय भूउपयोग परिषद्मा विभिन्न विषयगत मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ । सरकारले चार जना सदस्य नियुक्त गर्ने ऐनको प्रावधानअनुसार गत साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले पूर्वसचिव डा रेवतीरमण पौडेल, खाद्य सुरक्षाविज्ञ डा यमुना श्रेष्ठ, भूउपयोग योजनाविज्ञ डा रेश्मा श्रेष्ठ र भूमि विशेषज्ञ जगतबहादुर देउजालाई सदस्य मनोनित गरेको थियो । परिषद् गठनले पूर्णता पाएसँगै ऐनले तोकेको कार्यादेशअनुसार काम थालिएको हो ।

सरकारी योजना कार्यान्वयनमा परस्पर सहयोग गर्ने मन्त्रीद्वय यादव र शाहीबीच सहमति

काठमाडौँ, ९ भदौः खानेपानी मन्त्री प्रदीप यादव र वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीबीच सरकारी योजनालाई सरल र प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न परस्पर सहयोग गर्ने विषयमा भद्र सहमति भएको छ ।

आज खानेपानी मन्त्रालयमा भएको शिष्टाचार भेटमा दुवै मन्त्रीबीच उक्त सहमति भएको हो । मन्त्रालयका सहसचिव तथा प्रवक्ता मिना श्रेष्ठका अनुसार भेटका क्रममा मन्त्री यादवले शिवपुरी राष्ट्रिय निकुञ्जबाट बागमती नदीको पानी ल्याउने योजना कार्यान्वयनका लागि वन मन्त्रालयको सहयोग आवश्यक भएको जनाउँदै सहजीकरणको आग्रह गर्नुभएको थियो ।

मन्त्री यादवले सुर्खेतस्थित भेरी पम्पिङ परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) स्वीकृत गराउने प्रक्रिया छिटो सम्पन्न गर्न वनमन्त्री ठकुरीसँग आग्रह गर्नुभयो । वनमन्त्री ठकुरीले यस कार्यमा सहयोग पु¥याउन आवश्यक निर्देशन दिने प्रतिबद्धता जनाउनुहुँँदै खानेपानी मन्त्रालयलाई आवश्यक पर्ने सबै प्रकारका सहयोग उपलब्ध गराउने आश्वासन दिनुभयो ।

वन ऐन संशोधन गर्दा खानेपानी क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्ने कुरामा पनि मन्त्री ठकुरीले जोड दिनुभएको थियो । भेटका क्रममा बुटवलमा निर्माणाधीन खानेपानी आयोजनाको जग्गा व्यवस्थापनलगायत विषयमा छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त भेटवार्तामा खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, वन मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्मा, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक पौडेल र खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, मन्त्री यादवका सल्लाहकार अवधेशकुमार दासलगायतका उच्च अधिकारीको उपस्थिति थियो ।

भेनेजुएलाकोे राजनीतिक सङ्कटप्रति ईयूद्वारा चासो व्यक्त

युरोपेली सङ्घ (इयू) का विदेश नीति प्रमुख जोसेप बोरेलले भेनेजुएलामा गहिरिँदै गएको राजनीतिक सङ्कटप्रति आफूहरु ‘अत्यन्त चिन्तित’ रहेको बताउनुभएको छ ।

बोरेलले भन्नुभयो “काराकासले अझै पनि चुनावी प्रक्रियाको मूल्याङ्कन गर्न आवश्यक प्रमाण उपलब्ध गराएको छैन । विपक्षीले आफ्नो उम्मेदवारले जित हासिल गरेको दाबी गर्दै आएका छन् ।

ईयूका उच्च कूटनीतिज्ञले भन्नुभयो “पूर्ण र स्वतन्त्र रूपमा प्रमाणित गर्न सकिने नतिजालाई मात्र स्वीकार र मान्यता दिइनेछ ।”

बोरेलका अनुसार मतदान केन्द्रको केही रेकर्डअनुसार विपक्षी नेता एडमण्डो गोन्जालेज उरुटिया राष्ट्रपति चुनावमा महत्वपूर्ण बहुमतका साथ विजयी भएको देखिन्छ ।

उहाँले भेनेजुएलाका जनताको इच्छाको सम्मान सुनिश्चित गर्न मतदान केन्द्रको रेकर्ड पूर्ण रूपमा प्रकाशन गर्न आग्रह गर्नुभयो ।

यसैबीच, देशका शक्तिशाली नेता निकोलस मडुरोले गोन्जालेज उरुटियालाई पक्राउ गर्न निर्देशन गर्नुभएको छ । जुलाई ३० मा विपक्षी समूहले भब्य जुलुश निकालेपछि उरूटिया सार्वजनिक रूपमा देखिनुभएको छैन । अभियोजकहरूले उहाँलाई शनिबार सोधपुछका लागि बोलाएका थिए ।

जुलाई २८ मा भएको मतदान विवादित भएपछि भएको प्रदर्शनमा २७ जनाको मृत्यु भएको थियो भने १९२ जना घाइते भएका थिए । मतदानका क्रममा भएका झडपका क्रममा करिब दुई हजार ४०० व्यक्ति पक्राउ परेका थिए ।

कोशी प्रदेशमा भदौ १२ गतेभित्र मन्त्रिमण्डल विस्तार हुन्छ : मुख्यमन्त्री कार्की

मोरङ, ९ भदौ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यही भदौ १२ गतेभित्र प्रदेशमा मन्त्रिमण्डल विस्तार हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले नेपाली कांग्रेसले मन्त्रीको नाम दिनासाथ मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीले यही भदौ १४ गतेदेखि सुरू हुने प्रदेशसभा बैठकमा सहभागी हुने गरी सबै मन्त्री नियुक्त हुने बताउनुभयो । उहाँले विगतमा भएको सहमतिअनुसार प्रदेशमा मन्त्रालयको सङ्ख्या वृद्धि नहुने र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट मुख्यमन्त्रीसहित पाँच र कांग्रेसबाट चार मन्त्री रहनेसमेत स्पष्ट पार्नुभयो । मुख्यमन्त्री कार्कीले भन्नुभयो, “एक/दुई राज्यमन्त्री थप हुन सक्ने सम्भावना रहे पनि पूर्वसहमतिअनुसार बाँकी मन्त्री रहन्छन् ।”

पहिचानवादीहरूका मागका सन्दर्भमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा उहाँले प्रदेशको नामकरण भइसकेकाले परिवर्तन नहुने र मन्त्री रामबहादुर रानाको नेतृत्वमा रहेको वार्ता टोलीले आवश्यकतानुसार विभिन्न विषयमा वार्ता गर्ने जानकारी दिनुभयो ।

जनताको मुद्दालाई सम्बोधन गर्न सङ्घर्ष जरूरी छ : अध्यक्ष यादव

काठमाडौँ, ९ भदौः जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनचाहनालाई सम्बोधन गर्न पार्टीले सङ्घर्ष गर्ने बताउनुभएको छ ।

पार्टीको बागमती प्रदेश समितिले आज यहाँ आयोजना गरेको जनतासँग जसपा नेपाल अभियान अभिमुखीकरणको उद्घाटन गर्नुहुँदै उहाँले अभियानको समापनसँगै जनतालाई साथमा लिएर सडक सङ्घर्षमा जाने उल्लेख गर्नुभयो । “जनतालाई अधिकार सम्पन्न बनाउन पुनः जनताका मुद्दा लिएर घरदैलोमा पुग्छौँ, परिवर्तनको सङ्घर्षमा होमिन अपिल गर्छौं”, उहाँले भन्नुभयो ।

अध्यक्ष यादवले सङ्गठनलाई चुस्तदुरुस्त र बलियो बनाउन, उत्पीडित समुदायको हक अधिकारको पैरवी गर्ने उद्देश्यले अभियान सुरू गर्न लागिएको जानकारी दिनुभयो । यसैगरी उहाँले संविधानलाई समयसापेक्ष परिमार्जन गर्न अपरिहार्य रहेको र सबै राजनीतिक दलको समझदारीबाटै त्यसलाई अगाडि बढाइनुपर्ने धारणा राख्नुभयो । क्षेत्र, जनसङ्ख्याको आधारमा राज्यका निकायमा सहभागी गराउनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा कार्यकारिणी समिति सदस्य राजकिशोर यादव, गोविन्द चौधरी, प्रकाश अधिकारी, विद्युत् बज्राचार्य, लीला सिटौलालगायतले आफ्नो धारणा राख्नुुभएको थियो ।

जसपा नेपालले आजबाट सङ्गठन विस्तारको चार महिने अभियान शुभारम्भ गरेको छ । पाँच लाख नयाँ सङ्गठित क्रियाशील सदस्य थप्ने लक्ष्यसहित आगामी मङ्सिर मसान्तसम्म आधारभूत सङ्गठन निर्माण अभियान सुरू गरिएको जसपाले जनाएको छ । चार महिने सङ्गठन निर्माण अभियानका लागि केन्द्रीय सदस्यलाई सम्बन्धित क्षेत्रमा खटाइएको छ । अभियान सञ्चालन गर्न समयावधि निर्धारण गरी केन्द्रीय सदस्यलाई प्रदेश, जिल्ला, क्षेत्र, पालिका, वडा, बुथलगायत स्थानीयस्तरमा अभियान सञ्चालन गरिनेछ । प्रदेशस्तरीय अभियान तालिकानुसार भदौ १५ मा जनकपुर, १६ मा वीरगञ्ज, १८ मा विराटनगर, १९ गते पोखरा, २३ गते भैरहवा, २४ गते नेपालगञ्ज र २५ गते धनगढीमा कार्यक्रम हुनेछ । प्रदेशस्तरीय कार्यक्रम सकेर स्थानीयस्तरको कार्यक्रम सञ्चालन हुनेछ । देशव्यापी रूपमा हुने जनपरिचालन अभियानमा सदस्यता वितरण, सङ्गठन निर्माण र परिचालन, प्रशिक्षण, सेमिनार, गोष्ठी, जनसभालगायत आवश्यक कार्यक्रम तय भएको जसपा नेपालले जनाएको छ ।

टेलिग्रामका मालिक पावेल फ्रान्समा पक्राउ, अनुसन्धानलाई छरितो बनाउन रूसको आग्रह

पेरिसस्थित रूसी दूतावासले टेलिग्राम म्यासेजिङ प्लेटफर्मका मालिक पावेल डुरोभको पक्राउपछि अदालती प्रक्रियालाई छिटो गर्न फ्रान्सेली अधिकारीहरूले ‘सहयोग गर्न इन्कार गरेको’ आरोप लगाएको छ ।

अन्य राष्ट्रियतासमेत भएका रूसी नागरिक डुरोभलाई शनिबार फ्रान्सको पेरिसस्थित पेरिसले बोर्जेट विमानस्थलबाट पक्राउ गरिएको थियो । उहाँलाई टेलिग्रामसँग सम्बन्धित मुद्दामा आइतबार अदालतमा उपस्थित गराइने अपेक्षा गरिएको भएपनि यस प्रक्रियामा ढिलाइ गरिएको दूतावासले बताएको छ ।

दूताबासद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामीले तुरुन्तै फ्रान्सेली अधिकारीहरूलाई उहाँको पक्राउ र यो हिरासतको कारण बताउन आग्रह गर्यौं र उहाँको अधिकारको रक्षा गर्न र कन्सुलर पहुँच प्रदान गर्न माग गरेका छौँ ।”

“अहिलेसम्म फ्रान्सेली पक्षले यस प्रश्नमा सहयोग गर्न अस्वीकार गरिरहेको छ,” विज्ञप्तिमा उल्लेख छ ।

अफगानिस्तानी सदाचार कानुनप्रति राष्ट्रसङ्घद्वारा चासो व्यक्त

अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय नियोगले तालिबानले हालै पारित गरेको सदाचारसम्बन्धी कानुनप्रति ‘चिन्तित’ रहेको बताएको छ ।

तालिवान अधिकारीहरूले बुधबार इस्लामी कानूनको कडा व्याख्याको आधारमा व्यापक व्यवहार र जीवनशैलीबारे प्रतिबन्धहरूको वर्णन गर्दै ३५ धाराहरू थप गरी कानूनको संशोधन गरेको घोषणा गरेका थिए ।

कानूनमा व्यवस्था भएका धाराहरूको उल्लङ्घन गरेमा मौखिक चेतावनीदेखि, जरिवाना र हिरासतसम्मको प्रावधानको घोषणा सदाचार मन्त्रालय अन्तर्गतका नैतिकता अधिकारीले गरेका हुन् ।

अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घीय सहायता नियोग (यूएनएएमए) का प्रमुख रोजा ओतुनबायेभाले भन्नुभयो, “यो अफगानिस्तानको भविष्यका लागि एक कष्टप्रद दृष्टिकोण हो । यहाँ नैतिक निरीक्षकहरूले उल्लङ्घनको विस्तृत र कहिलेकाहीं अस्पष्ट सूचीको आधारमा कसैलाई धम्की दिने र हिरासतमा राख्ने ‘विवेकपरक’ अधिकार छ ।”

“दशकौंको युद्धपछि र भयानक मानवीय सङ्कटका बीच अफगानी जनता प्रार्थनाका लागि ढिला भएमा, परिवारको सदस्यभन्दा बाहिरको विपरीत लिङ्गीलाई हेरेमा वा प्रियजनको फोटो राखेमा कारबाही व्यहोर्ने वा जेल जानुपर्नेछ,” ओटुनबायेभाले भन्नुभयो ।

सन् २०२१ को अगष्टमा तालिवान सत्तामा फर्किएदेखि नै कानुनका धेरै बुँदाहरू अनौपचारिक रूपमा लागू भइसकेका छन् र तालिवानले औपचारिक कानुनी संहितालाई कडाइका साथ लागू गर्नेछ वा गर्नेछैन भन्ने स्पष्ट छैन ।

‘लैङ्गिक विभेद’ को संज्ञा दिएको प्रतिबन्धका कारण महिलाहरू सार्वजनिक जीवनबाट वञ्चित भएका संयुक्त राष्ट्रसङ्घले बताएको छ ।

ओतुनबायेभाले भन्नुभयो, “यो कानूनी संशोधनपछि पहिले नै असहनीय प्रतिबन्धहरू विस्तार गरेको तालिवान प्रशासनद्वारा लगाइएका अफगान महिला र बालिकाहरूको अधिकार, घर बाहिर महिलाको आवाजको अधिकारलाई पनि नैतिक उल्लङ्घन मानिएको छ ।”

कानुनअनुसार महिलाले घरबाट बाहिर निस्कँदा आफ्नो अनुहार र शरीर छोप्नुपर्छ र आफ्नो आवाज नसुनिएको सुनिश्चित गर्नुपर्छ ।

संयुक्त राष्ट्रसङ्घले कानूनमा धार्मिक र प्रेस स्वतन्त्रतामाथिको प्रतिबन्धप्रति पनि चिन्ता व्यक्त गरेको छ । कानूनमा मिडियाले ‘शरिया कानून र धर्मको प्रतिकूल सामग्री’ प्रकाशन गर्न बन्देज लगाएको छ ।

यद्यपि, कानूनमा केही सकारात्मक धाराहरू पनि समावेश भएका छन् । अनाथ र केटाकेटीलाई खेलौनाको रूपमा व्यवहार गर्नबाट प्रतिबन्ध लगाइएको छ ।

अफगानिस्तानमा वृद्ध पुरुषहरूले केटाहरूलाई केटीहरूको रूपमा लुगामा सजाएर उनीहरूको यौन शोषण गर्ने गरेको पनि सुनिने गरिएको छ ।

यमनको तटीय क्षेत्रमा डुङ्गा पल्टिँदा १३ जनाको मृत्यु, १४ जना बेपत्ता

यमनको तटमा आप्रवासीहरूको डुङ्गा पल्टिँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने अन्य १४ जना बेपत्ता भएका छन् ।

जिबुटीबाट प्रस्थान गरेको डुङ्गामा २५ जना इथियोपियाली आप्रवासी र दुई यमनी नागरिक रहेको आप्रवासीका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) ले जनाएको छ । डुङ्गा मङ्गलबार बानी अल–हकम उप–जिल्लाको दुबाब जिल्ला नजिकै पल्टिएको थियो ।

मृत्यु हुनेमा ११ पुरुष र दुई महिलाको शव फेला परेको छ भने बाँकी बेपत्ताको खोजी कार्य जारी रहेको आइओएमले जनाएको छ । डुङ्गा पल्टिनुको कारण स्पष्ट भएको छैन ।

आइओएमले द्वन्द्व, गरिबी र जलवायु सम्बन्धी चुनौतीलगायत अनियमित बसाइँ सर्ने मूल कारणको समाधान गर्न सबै पक्षलाई आह्वान गरिरहेको छ ।

पलायनको वार्षिकोत्सव मनाउँदै रोहिङ्ग्या शरणार्थीहरू

बङ्गलादेशका शिविरहरूमा बस्ने म्यान्माका दशौँ हजार रोहिङ्ग्या शरणार्थीहरूले आइतबार आफ्नो सामूहिक पलायनको सातौँ वार्षिकोत्सव मनाएका छन् । उनीहरूले म्यान्माको रखाइन राज्यमा सुरक्षित फिर्तीको मागसमेत गरेका छन् ।

कक्स बजार जिल्लाको कुटुपलोङ शिविरको खुला मैदानमा ‘रोहिङ्ग्या नरसंहार दिवस’ भनेर चिनिने दिन आइतबार शरणार्थीहरू वर्षाको पर्वाह नगरी ‘होप इज होम’ र ‘हामी रोहिङ्ग्या म्यान्माका नागरिक हौँ’ लेखिएको ब्यानर र तोरण बोकेर भेला भएका थिए । सन् २०१७ अगस्ट २५ मा म्यान्माको रखाइन राज्यमा अन्धाधुन्ध हत्या र हिंसाका बीच दशौँ हजार शरणार्थीहरू पैदल र डुङ्गाबाट सीमा पार गरेर बङ्गलादेश जान थालेका थिए ।

विद्रोही समूहले सुरक्षा चौकीमा आक्रमण गरेपछि म्यान्मामा क्रुर कारवाही सुरु भएको थियो । सङ्गठन र उग्रताका कारण कारबाहीको मापनलाई संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय समुदायले जातीय सफाया र नरसंहारको आरोप लगाएका थिए ।

बङ्गलादेशका तत्कालीन प्रधानमन्त्री शेख हसिनाले सीमा रक्षकहरूलाई सीमा खोल्न आदेश दिनुभएपछि सात लाखभन्दा धेरै शरणार्थीहरूलाई मुस्लिम बहुल बङ्गलादेशमा शरण लिन अनुमति दिइएको थियो । उक्त आगमन पहिलानै म्यान्माको सेनाले गरेको हिंसाबाट दशकौँदेखि बङ्गलादेशमा बस्दै आएका तीन लाख अतिरिक्त शरणार्थीबाहेकको थियो ।

सन् २०१७ पछि बङ्गलादेशले शरणार्थीहरूलाई फर्काउन कम्तीमा दुई पटक प्रयास गरेको छ र अन्तर्राष्ट्रिय समुदायसँग म्यान्माभित्र शान्तिपूर्ण वातावरणका लागि दबाब सिर्जना गर्न आग्रह गरेको छ । हसिनाले मध्यस्थताका लागि चीनसँग पनि सहयोग माग्नुभएको थियो ।

तथापि हालका दिनमा अराकन आर्मी (एए) नामक समूहले म्यान्माको सुरक्षा बलविरुद्ध लडाइँ सुरु गरेपछि रखाइन राज्यमा अवस्था अझ अस्थिर बनेको छ । नयाँ सिराबाट फैलिएको अराजकताले थप शरणार्थीहरूलाई आफ्नो ज्यान बचाउन बङ्गलादेश र अन्य स्थानमा भाग्न बाध्य बनाएको छ ।

म्यान्माका सयौँ सैनिक र सीमा रक्षकहरूले पनि हिंसाबाट बच्नका लािग बङ्गलादेशभित्र शरण लिएका छन् तर पछि बङ्गलादेशले उनीहरूलाई शान्तिपूर्वक म्यान्मालाई हस्तान्तरण गरिदियो ।आइतबार बङ्गलादेशका शिविरहरूमा विरोध प्रदर्शन हुँदै गर्दा संयुक्त राष्ट्रसङ्घ र अन्य अधिकार समूहहरूले म्यान्मामा चलिरहेको अराजकताप्रति चिन्ता व्यक्त गरेका छन् ।

वासिङ्टनस्थित शरणार्थी इन्टरनेसनलले आइतबार विज्ञप्तिमा अवस्थाको वर्णन गरेको छ । “रखाइन राज्यमा पछिल्लो वर्षमा म्यान्माको सैन्य जुन्टा र एएबीच बढेको लडाइँले रोहिङ्ग्याहरूलाई बीचमा पारेको छ र उनीहरूलाई निशाना बनाएको छ”, विज्ञप्तिमा भनिएको छ, “एएले हालै गाउँहरूमा बमबारी गर्न ड्रोनको प्रयोग गर्दै बुथिडाउङ, मङ्डाउ र अन्य सहरहरूमा घरहरू जलाइदिएको छ ।”

“जुन्टाले रोहिङ्ग्यालाई जबर्जस्ती भर्ती गरेको छ र जवाफी कारबाहीमा गाउँहरूमा बमबारी गरेको छ, दशौँ हजार रोहिङ्ग्या भर्खरै विस्थापित भएका छन् र तीमध्ये धेरैजसो बङ्गलादेशमा भाग्न खोजेका छन्”, विज्ञप्तिमा उल्लेख छ ।

युनिसेफले सर्वसाधारण विशेषगरी बालबालिका र परिवारहरूलाई गोलीबारीमा निशाना बनाइँदा मृत्यु र गम्भीर चोटका चिन्ताजनक रिपोर्ट प्राप्त भएको बताएको छ । युनिसेफले रखाइनमा मानवीय पहुँचलाई अत्यन्त चुनौतीपूर्ण बनाएको बताएको छ ।

लेबनानमा आक्रमण ‘अन्तिम शब्द होइन’– नेतान्याहु

इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले लेबनानमा आइतबारको आक्रमण लेबनानी सशस्त्र समूह हिजबुल्लाहविरुद्ध आफ्नो मुलुकको सैन्य अभियानमा ‘अन्तिम शब्द नभएको’ चेतावनी दिनुभएको छ ।

“हामी हिजबुल्लाहमाथि अचम्मका साथ प्रहार गर्दैछौँ, यो उत्तरको अवस्था परिवर्तन गर्न र हाम्रा बासिन्दाहरूलाई सुरक्षित रूपमा उनीहरूको घर फर्काउने दिशामा थप अर्को कदम हो, र म दोहोर्याउँछु कि यो अन्तिम शब्द होइन”, उहाँले मन्त्रिपरिषद् बैठकमा भन्नुभयो ।

उहाँले ‘हाम्रा नागरिक र बलहरूलाई नोक्सान पुर्याउने उद्देश्यले प्रहार गरिएका हजारौँ छोटो दूरीका रेकटहरूलाई सेनाले नष्ट गरेको’ बताउनुभयो ।

“यसबाहेक आइडिएफ (इजरायली सेना) ले मध्य इजरायलमा रणनीतिक लक्ष्यमा हिजबुल्लाहले प्रहार गरेका सबै ड्रोनलाई रोकेको छ”, लक्ष्य के हो भन्नेबारे पहिचान नगरी प्रधानमन्त्री नेतान्याहुले भन्नुभयो ।

यद्यपि इजरायली सञ्चार माध्यमहरूले हिजबुल्लाहले तेल अभिव नजिकै रहेको इजरायली मोसाद जासुसी एजेन्सीको मुख्यालयमा आक्रमण गर्न खोजेको बताएका छन् ।

अदालतमा रिक्त पदमा न्यायाधीश सिफारिस गर्न बसेको न्याय परिषद्को बैठक निष्कर्षबिहीन

काठमाडौँ, ९ भदौः सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त पदमा न्यायाधीश सिफारिस गर्न प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको न्याय परिषद्को बैठक बिना निष्कर्ष सकिएको छ ।

हाल सर्वोच्चमा चार र उच्च अदालतमा १६ न्यायाधीशको पद रिक्त छ । समयमा न्यायाधीश नियुक्ति हुँदा नसक्दा अदालतमा मुद्दाको चाप दिनप्रतिदिन बढ्दै गएको छ । न्यायालयको छिटो सुनुवाइ र समयमै न्याय दिने कार्ययोजना भएपनि न्यायाधीश नियुक्ति नहुँदा कार्यान्वयनमा ढिलाइ भएको छ ।

वातावरणीय प्रभावलाई ध्यानमा राखेर विकास निर्माणलाई अगाडि बढाउनुपर्छः उपप्रधानमन्त्री सिंह

काठमाडौँ, ८ भदौः उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले वातावरणीय प्रभावलाई ध्यानमा राखेर विकास निर्माणको कामलाई द्रुतगतिमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

सहरी विकास मन्त्रालयले आज आयोजना गरेको वातावरणीय अध्ययन कार्यको सहजीकरणसम्बन्धी छलफलमा उहाँले वातावरण नाश कम हुने गरी विकासको गतीलाई तीव्रता दिनुपर्ने बताउनुभएको हो ।

“जलवायु परिवर्तनको कारण वातावरणमा ठूलो प्रभाव पारेको छ, यसलाई ध्यानमा राखेर विकास निर्माणको कामलाई अगाडि बढाउनुपर्छ,” उपप्रधानमन्त्री सिंहले भन्नुभयो । उहाँले वातावरण मूल्याङ्कनको नाममा विकास निर्माणमा भएको ढिलाइसुस्तीलाई हटाउनुपर्ने बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले वातावरणीय अध्ययन मूल्याङ्कमा हुने ढिलासुस्तीले आयोजना महङ्गो हुँदै गएको भन्दै जनशक्ति थप गरेर भएपनि काम समयमै सक्नुपर्ने बताउनुभयो । समस्यामात्र देखाउनुभन्दा समाधान दिनतर्फ सबै विकाससँग सम्बन्धीत मन्त्रालय लाग्नुपर्ने उहाँको भनाइ थियो ।

त्यस अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले राखेकाले लक्ष्य प्राप्तिका लागि हुने वन र जग्गाप्राप्तिको समस्यालाई सम्बोधनमा लाग्नुपर्ने आवश्यक रहेको बताउनुभयो । “मुलुकमा भएको स्रोत र साधनको अत्यधिक प्रयोग गर्दै हाम्रो लक्ष्य प्राप्त गर्न लाग्नुपर्छ,” उहाँले भन्नुभयो ।

ऊर्जामन्त्री खड्काले मुलुकको आर्थिक विकासको मुख्य स्रोत ऊर्जाक्षेत्र भएकाले यसको विकासका लागि बाधा पु¥याएका ऐन, कानुन संशोधन गर्न सरकार लागिरहेको बताउनुभयो । कामलाई छिटो, छरितो रुपमा सम्पन्न गर्नका लागि एकद्वार प्रणालीबाट अगाडि बढ्नुपर्ने मन्त्री खड्काको भनाइ थियो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वन ऐन र राष्ट्रिय निकुञ्ज ऐनको कतिपय प्रावधानलाई सच्याएर अगाडि बढाउनुपर्ने बताउनुभयो । मुलुकको विकासका लागि आवश्यक पर्ने ऐन, कानुनलाई संशोधन गरेर अगाडि बढ्नुपर्ने मन्त्री दाहालले उल्लेख गर्नुभयो ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले विकाससँग जोडिएका मन्त्रालयका समस्या समाधानमा वन तथा वातावरण मन्त्रालय सकारात्मक रहेको बताउनुभयो । उहाँले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न वन जोगाउनुपर्ने अवस्था सिर्जना भएपनि विकासको काम पनि सँगै अगाडि बढाउनुपर्ने उल्लेख गर्नुभयो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मुलुक निर्माणका लागि वाधक बनेका ऐन, कानुनलाई परिमार्जन गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । “देश निर्माणको निम्ति कसरी छिटो, छरितो सेवा गर्न सकिन्छ, त्यसतर्फ मन्त्रालयहरु लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्मा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मालगायतले विकास निर्माणको क्षेत्रमा बाधक रहेका समस्यालाई पहिचान गरी त्यसको समाधान गर्नतर्फ लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

बैठकले जल तथा ऊर्जा आयोग सचिवालयका सचिव सुरेश आचार्यको संयोजकत्वमा विकास निर्माणका क्षेत्रमा रहेका वन, वातावरण र जग्गा प्राप्ति समस्या पहिचान र समाधानका उपायसम्बन्धी सुझाव दिनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन मन्त्रालयले वनाएको कार्यदललाई अनुमोदन गरेको छ ।

उक्त कार्यदलमा सबै मन्त्रालयका सहसचिवलाई सदस्य रहने व्यवस्था गरिएको छ । उक्त कार्यदलले २० दिनभित्र यस क्षेत्रका समस्या समाधानका लागि अध्ययन गरेर प्रतिवेदन तयार गर्नेछ ।

दशैँअघि नै दूग्ध र उखु किसानले भुक्तानी पाउँछन्ः कृषिमन्त्री अधिकारी

काठमाडौँ, ९ भदौः कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले दशैँअघि नै दूग्ध र उखु किसानले भुक्तानी पाइसक्ने बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले कृषकको रकम भुक्तानीलाई मन्त्रालयले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको हो ।

बजारको अभावमा किसान आहतमा पर्ने अवस्थाको अन्त्य गरिने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो । मन्त्रालयले रैथाने उत्पादनलाई प्रोत्साहन गर्ने भएको छ । उद्योग मन्त्रालयसँग समन्वय गरेर कोदोबाट हुने उत्पादनको प्रवर्द्धन गर्ने कार्यक्रमलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको छ ।

विषादीमुक्त अनाज उत्पादनमा जोड दिने कार्यक्रमलाई पनि अघि बढाउने तयारीमा मन्त्रालय रहेको उहाँले बताउनुभयो । कृषि अनुदानको दुरुपयोग भइरहेको गुनासो बढिरहेका बेला अनुदान लैजानेको नाम सार्वजनिक गरिने उहाँले सुनाउनुभयो ।

“व्यावसायिक खेतीमा युवा आकर्षण बढाइने छ, वडास्तरमा कृषिका नमूना फार्म निर्माण गरेर त्यसलाई सिकाइ केन्द्रका रुपमा स्थापित गरिने छ, स्थानीय तहमा पशु अस्पताल बनाइने छ, साना किसानलाई मन्त्रालयसम्म आउने वातावरण तयार पार्ने मन्त्रालयको योजना छ”, मन्त्री अधिकारीले भन्नुभयो ।

मध्यपहाडी जिल्लामा रैथाने बाली संरक्षणका लागि विशेष कार्यक्रम ल्याउने, कृषिसँग सरोकार भएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, वन तथा वातावरण, ऊर्जा तथा सिँचाइ, अर्थलगायत मन्त्रालयसँग समन्वय गरेर कृषि क्षेत्रको विकासमा काम गर्नेमा उहाँले प्रतिबद्धता जनाउनुभयो ।

हाल ३० लाख हेक्टर खेती योग्य जमिनमा मात्र खेती भएको उल्लेख गर्नुहुँदै मन्त्री अधिकारीले बाँकी १० हेक्टर जमिनमा पनि खेती गराउने गरी नीति निर्माण गरिने योजना सुनाउनुभयो ।

धान, चामल आयातलाई घटाउन उत्पादन वृद्धि गर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत् तरकारीमा थप आत्मनिर्भर बनाउने, दुग्ध विकास संस्थानको पुनःसंरचना गर्ने कार्यक्रमलाई पनि रहेको उहाँले जानकारी दिनुभयो । रासायनिक मलमा अनुदान, उखु किसानलाई भुक्तानी र बीमा प्रिमियमका लागि मन्त्रालयसँग पर्याप्त बजेट रहेको सो अवसरमा जानकारी दिइयो ।

डेडिकेडेट ट्रंकलाइन विवादमा सांसदबीच मत बाँझिएपछि लेखा समितिको बैठक निष्कर्षविहीन

काठमाडौँ । डेडिकेटेड फिडर र ट्रङ्कलाइन बक्यौता उठाउने विषयमा सांसदबीच समान धारणा भएपनि प्रक्रिया र आगामी रणनीतिका बारेमा मतैक्य नभएपछि सार्वजनिक लेखा समितिको आजको बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।

आइतबार भएको पाँच घण्टा लामो बैठकको अन्त्यमा सभापति ऋषिकेश पोखरेलले राखेको निष्कर्षमा सांसदबीच मत बाँझिएपछि बैठक बिना निष्कर्ष टुङ्गिएको हो ।

सभापति पोखरेलले तत्कालीन लेखा समितिले गरेको निर्णय र प्रतिवेदनको अवस्थाबारे जानकारी लिने, डेडिकेटेड फिडर र ट्रङ्कलाइनको महसुलसम्बन्धी महालेखाको प्रतिवेदनमा उल्लेख गरेको बक्यौतामा पछिल्लो निर्णय के हो ? भनि लेखी पठाउनेलगायतका विषयमा राखेको निष्कर्षप्रति प्रतिपक्षी दलका सांसदले विरोध गरे ।

खासगरी नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदसँग अन्य दलका सांसदबीच बक्यौता उठाउने विषयमा सहमति भएपनि प्रक्रिया र अपनाइने विधिलगायतका विषयमा विवाद सृजना भएको हो ।

नेपाल कांग्रेसका सांसद अर्जुननरसिंह केसीले महालेखा परीक्षकको कार्यालयले २१ अर्ब ८८ करोड बक्यौता भनि उल्लेख गरेको रकम निश्चित अवधि तोकेर असुल उपर गरौँ भन्ने निर्देशन नेपाल विद्युत प्राधिकरणलाई दिने विषयमा भने समितिमा विवाद नभएको प्रतिक्रिया दिए ।

अघिल्लो पटक यसै समितिले उपसमिति नै बनाएर गरेको छानबिन र अन्य आयोगसमेतले दिएको सिफारिसअनुसार कारवाही गर्नुपर्नेमा त्यो किन कार्यान्वयन भएन भनी प्रश्न सोध्ने विषयमा सबै एकठाउँमा रहेको उनले जानकारी दिए । एउटै मितिमा प्रधानमन्त्री कार्यालयबाट अलग–अलग रायको पत्राचार भएकाले त्यसबारे जानकारी लिऔँ भन्ने विषय पनि सदस्यहरुबीच समान धारणा बनेपनि बैठक बिना निष्कर्ष अन्त्य भएको उनको भनाइ छ ।

नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले बैठकमा समिति सभापतिले प्रस्तुत गरेको निष्कर्षका ६ वटा बुँदामा असहमति जनाए । उनले तीन बुँदा अन्तैबाट निर्देशित र योजनाबद्ध रुपमा आएको आरोप लगाए । उनले भने, “यो मुद्दालाई फेरि अख्तियार र अदालतमा पठाएर समय लिने, विद्युत् महसुल तिर्नुपर्ने गरी बनेको वातावरणलाई अलमल्याउन खोजिएको छ ।”

समिति सभापति पोखरेलले विभिन्न आयोग र समितिका निर्णय, तत्कालीन लेखा समितिले दिएको निर्देशन, वैधानिकता पुष्टि हुने विद्युत् खपत अवधि, विद्युत् सङ्कलन नियमावलीका आधारमा महालेखाको ६१औँ प्रतिवेदनका आधारमा डेडिकेटेड फिडर र ट्रङ्कलाइनतर्फको महसुल उठाउन निर्देशन दिने प्रस्ताव गरेका थिए । उनले भने, “समिति महालेखाले उठाएका विषयवस्तुलाई छलफल गर्ने निकाय हो । यो कसैलाई लक्षित गरी दण्ड र कारवाही गर्ने संस्था होइन र रहन सक्दैन ।”

उद्योगी तथा व्यवसायीले डेडिकेटेड फिडर र ट्रङ्कलाइनबाट बिजुली उपभोग गरेको २०७२ साउनदेखि २०७७ जेठसम्मको अवधिलाई तीन चरणमा विभाजन गरिएको छ । त्यसमा ०७२ साउनदेखि पुससम्म सुरुको अवधि र ०७५ जेठदेखि ०७७ जेठसम्मको तेस्रो अवधिमा रुपमा लिइएको छ ।

यी दुई वटा अवधिको विवादको विषयसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ । यी दुई अवधिको बक्यौता १३ अर्ब चार करोड ८२ लाख छ । बीचको अवधि २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिको बक्यौता जरिवानासहित आठ अर्ब ५० करोड बराबर छ ।

प्राधिकरणका अनुसार २०७२ साउनदेखि पुससम्मको ९७ करोड ४३ लाख, २०७२ माघदेखि २०७५ वैशाखसम्मको ६ अर्ब ४१ लाख बराबरको महशुल उठाउन बाँकी छ । सरकारले २०७५ वैशाख मसान्तदेखि लोडसेडिङ अन्त्यको घोषणा गरेको थियो । सो घोषणा पछि २०७५ जेठदेखि २०७७ जेठसम्मको आठ अर्ब ४४ करोड ९६ लाख बराबरको बाँकी छ ।

विद्युत् नियमन आयोग गठनसम्बन्धी ऐन आएपनि आयोगका पदाधिकारी नियुक्त नहुँदा सो अवधिको आवश्यक निर्णय हुन सकेको थिएन । सो अवधिको गरी १५ अर्ब ४२ करोड ८० लाख बक्यौता उठ्न बाँकी छ  । यसमा मासिक २५ प्रतिशत जरिवानासमेत जोड्दा २२ अर्बभन्दा बढी हुन जाने प्राधिकरणको विवरणमा उल्लेख छ ।

कांग्रेसद्वारा पहिरो र दुर्घटनाबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त

काठमाडौँ, १० भदौः नेपाली कांग्रेसले रामेछापको शैलुङ्गमा गएको पहिरो, सिन्धुलीको गोलन्जोरमा भएको जीप दुर्घटना र विभिन्न स्थानमा भएका बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । आज विज्ञप्तिमार्फत कांग्रेसले पहिरोमा परी निधन हुनुभएका प्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो ।

रामेछापको शैलुङ्ग गाउँपालिका–३ लेखर्क पहरीगाउँमा गएरातीको पहिरोमा परी छ जनाको मृत्यु भएको छ भने चार जना हराइरहेका छन् । यस्तै खोटाङको हलेसीबाट काठमाडौँतर्फ आउँदै गरेको प्र नं ३–०१–०२३च ६३६६ को जीप हिजो मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुँडुले नजिकबाट सुनकोशीमा खस्दा तीन यात्रु बेपत्ता भएका छन् ।

यसैगरी बाराबाट भारतको झारखण्ड देवघरमा जल अर्पण गर्न गएका नेपाली तीर्थयात्री सवार बस बिहारको समस्तीपुर जिल्लामा दुर्घटना हुँदा ४३ यात्रु मध्ये ३५ भन्दा बढी यात्रु घाइते भएका छन् । आजै महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस मुग्लिङ–नारायणगढ सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

कांग्रेसले उक्त सबै घटनाप्रति दुःख व्यक्त गर्दै शैलुङ्गको पहिरो र सुनकोशीमा हराइरहेकाको खोजीकार्य तीव्र पार्न र बस दुर्घटनाका घाइतेको उचित उपचारको प्रबन्ध मिलाउन सरकारसँग माग गरेको छ ।

ओमानका विदेशमन्त्री दुई दिने नेपाल भ्रमणमा आउदै

काठमाडौँ । ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि सोमबार काठमाडौं आउँदैछन् ।

उनी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको निमन्त्रणामा दुई दिनका लागि (भदौ १० र ११ गते) काठमाडौँ आउन लागेका मन्त्रालयले जनाएको छ । भ्रमणका दौरान दुई विदेश मन्त्रीबीच नेपाल–ओमान सम्बन्ध र अन्य विविध विषयमा द्विपक्षीय भेटवार्ता तथा छलफल हुनेछ ।

ओमानका विदेशमन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टचार भेट गर्नेछन् । उनी भदौ ११ गते काठमाडौँबाट स्वदेश फर्किने कार्यतालिका छ ।

सेयर बजारका समस्या समाधान गर्न सरकारले सार्थक प्रयास गरिरहेको छ: अर्थमन्त्री पौडेल

काठमाडौँ, ९ भदौ : सेयर बजारविज्ञ तथा विश्लेषक एवं लेखक रवीन्द्र भट्टराईको नयाँ पुस्तक ‘सेयर सुत्र’ सार्वजनिक गरिएको छ ।

बुकहिलले प्रकाशन गृहले आज काठमाडौँमा सार्वजनिक गरेको उक्त पुस्तकबारे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले भिडियो सन्देशमार्फत सेयर बजारको परिपक्व विकासका निम्ति ‘सेयर सुत्र’ पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने आफूले विश्वास लिएको बताउनुभयो । “सेयर बजारका समस्यालाई नीतिगत र व्यावहारिक रूपमा समाधान गर्दै परिपक्व ढङ्गले अगाडि बढाउनका निम्ति सरकारले सार्थक प्रयास गरिरहेको छ । सेयर बजारविज्ञ लेखक भट्टराईको पुस्तकले सेयरबारे अझै चेतना अभिवृद्धि गर्नेछ”, उहाँले भन्नुभयो ।

सट्टेबाजी नगरी सेयरबाट पैसा कमाउने वेञ्जामिन ग्राहमका एक सय वर्ष अघिका सुत्रलाई आधार बनाउँदै सेयरबाट धनसम्पत्ति बढाउने सुत्र र रणनीति यस पुस्तकमा प्रस्तुत भएका बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिनुभयो । उहाँले बजारमा लगानी गर्न चाहने तथा गरिरहेका सबैका लागि यी सुत्र उपयोगी हुन सक्ने बताउनुभयो । “आफ्नो जोखिम लिने क्षमता मूल्याङ्कन गरी सेयर बजारमा तनाबमुक्त तरिकाबाट कसरी पैसा कमाउन सकिन्छ भन्ने विभिन्न आधार सुत्रात्मक तबरले समेटिएको पुस्तक हो, सेयर सुत्र”, उहाँले भन्नुयो ।

सेयर बजारबारे आधा दर्जन पुस्तक प्रकाशन गरिसकेका लेखक भट्टराईको यस पुस्तकको बजार मूल्य रु चार सय ९९ तोकिएको छ ।

चितवनमा ८५६ वटा उद्योग तथा व्यावसायीक फर्महरु बन्द

चितवन, ९ भदौः जिल्लामा दर्ता भएर सञ्चालमा रहेका ८५६ वटा उद्योग तथा व्यावसायीक फर्महरु बन्द भएका छन् । गत आर्थिक वर्षमा उद्योगतर्फ ३७६ र व्यवसायीक फर्मतर्फ ४८० बन्द भएका हुन् ।

उद्योग तथा वाणिज्य कार्यालय चितवनका अनुसार जिल्लामा दर्ता हुने उद्योग तथा व्यावसायीक फर्मभन्दा खारेज हुनेको सङ्ख्या बढेको हो । गत आर्थिक वर्षमा यहाँ उद्योगतर्फ ४३९ वटा दर्ता भएका छन् भने व्यावसायीक फर्मतर्फ ४५१ वटा दर्ता भएका छन् । 

कार्यालयका सूचना अधिकारी नारायणप्रसाद खनालका अनुसार उद्योगतर्फ खारेज हुनेमा एक सय ७७ वटा कृषि तथा वनजन्य उद्योग छन् । यस्तै उत्पादनमूलक उद्योग ८३ वटा, पर्यटनमूलक उद्योग ४२ वटा र सेवामूलक उद्योग ७४ वटा बन्द भएको खानालले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा दुई हजार एक सय नौ वटा उद्योगहरु नवीकरण गरिएको छ । वाणिज्यतर्फ दुई हजार छ सय ८९ वटा व्यवसाय नवीकरण भएको उहाँले जानकारी दिनुभयो । जिल्लामा हालसम्म १६ हजार तीन ५० उद्योगको अभिलेख रहेको र २० हजार एक हजार ४१ वटा व्यावसायीक फर्म रहेको छन् । 

भरतपुरमा बसाइसराइँ गरी आउनेको चाप बढी

चितवन, ९ भदौः भरतपुर महानगरपालिकामा भएको तीव्र विकाससँगै यहाँ बसाई सरेर आउनेको सङ्ख्या बढ्दो पाइएको छ । गत आर्थिक वर्षमा महानगरपालिकामा विभिन्न जिल्लाबाट सात हजार नौ सय १२ परिवार बसाई सरी आएका छन् । त्यसैगरी दुई हजार पाँच सय ७६ परिवारले बसाइसराइँ दर्ता गराएको महानगरको तथ्याङ्क छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार यहाँबाट बसाई सरी अन्यत्र जानका लागि एक हजार दुई सय १५ परिवारले दर्ता गराएका छन् । यन्यत्र जाने परिवारको सङ्ख्या दुई हजार आठ सय १४ रहेको छ । महानगरको सहरी क्षेत्रमा बसाई सरेर घर बनाउनेको सङ्ख्या उच्च छ ।  

जनगणना २०७८ अनुसार महानगरभित्र ३६ हजार नौ सय ३९ घरधुरी छ । महानगरपालिकामा रहेका घरधुरीमध्ये ३३ हजार सात सय २५ घरधुरीको व्यक्तिहरु बैदेशिक रोजगारीमा छन् । विशेष गरी गोरखा, लमजुङ्, तनहुँ, बाग्लुङ गुल्मीलगायतका जिल्लासँगै छिमेकी पालिकाबाट समेत बसाई सरी आउने गरेको महानगर उपप्रमुख चित्रसेन अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार महानगरका वडा नं १०, ११, १२, ७, ८ र ९ वडाका बजार क्षेत्रहरुमा बसाई सरेर आउने बढी छन् । कतिपय छिमेकी जिल्लाबाट बसाई सरेर आएका परिवारहरु महानगरका ग्रामीण क्षेत्रमा आई कृषि तथा पशुपालन पेशामा समेत संलग्न रहेको उहाँको भनाइ छ । 

माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क बनाउने योजना छ : मन्त्री भट्टराई

काठमाडौँ, ९ भदौ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क बनाउने सरकारको योजना रहेको बताउनुभएको छ ।

राष्ट्रिय शिक्षा दिवस–२०८१ मूल समारोह समितिको आजको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले सो व्यवस्था कार्यान्वयनका लागि शिक्षासम्बन्धी ऐन÷कानुनको प्रभावकारी कार्यान्वयन र समयानुकूल परिमार्जन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।   

मन्त्री भट्टराईले दिवसलाई आआफ्नो तहबाट सप्ताहव्यापी कार्यक्रम तय गरी मनाउन अनुरोध गर्नुभयो । यसैगरी उहाँले प्रदेशस्तरमा शिक्षा दिवसका कार्यक्रम तर्जुमा गरी सञ्चालन गर्न प्रदेश सरकार, मुख्यमन्त्रीको कार्यालयलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत अनुरोध गरी पठाउने र प्रदेशका शिक्षा हेर्ने मन्त्रालयलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पत्राचार गर्ने बताउनुभयो ।

 दिवसलाई भव्य र सभ्य बनाउने उद्देश्यले सरोकार भएका  मन्त्रालय, सङ्घ÷संस्था र अन्य सम्बन्धित निकायसँग आज छलफल गरिएको हो । बैठकमा राष्ट्रिय शिक्षा दिवस मनाउने सम्बन्धमा मन्त्रालयबाट हालसम्म भएका कामकारबाही, दिवसका आदर्श वाक्य तय, विभिन्न उपसमिति गठन गर्ने सम्बन्धमा छलफल भएको थियो । 

आजको बैठकले राष्ट्रिय शिक्षा दिवस मनाउने सन्दर्भमा सम्बन्धित विभिन्न निकाय र तहलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ । दिवसको मूल आयोजक समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरू, विभिन्न पालिकाका प्रमुख, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, त्रिभुवन विश्वविद्यालयका उपकुलपति र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिसहित एक सय ३० जना विभिन्न सरोकारवाला सङ्घ/संस्थाका प्रतिनिधिहरु सदस्य रहनुभएको छ । 

नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका, २०७७ बमोजिम दिवशका अवसरमा प्रदान गरिने पुरस्कारका लागि यसअघि नै निवेदन माग तथा सम्बन्धित निकायबाट नाम सिफारिस गरी पठाउन सार्वजनिक सूचना जारी गरिनुका साथै सम्बन्धित निकायमा पत्राचार गरिसकेको त्यस अवसरमा जानकारी दिइयो ।

दशगजा क्षेत्रमा भारतीयले बाटो खन्न थालेपछि स्थानीयवासीले अवरोध गरे

बनियानी, ९ भदौ: झापाको कचनकवल गाउँपालिका–१ घेराबारीस्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतीय नागरिकले बाटो खन्न थालेपछि स्थानीयवासीले अवरोध गरेका छन् ।

गए रातिदेखि भारतीय नागरिकले बाटो खनेपछि अवरोध गरिएको कचनकवल–१ का वडाध्यक्ष रञ्जित लिम्बूले जानकारी दिनुभयो । “दशगजामा भारतीय नागरिकले बाटो खनेको थाहा पाएपछि हामीले रोकेका हौैँ”, उहाँले भन्नुभयो, “मान्छे नभएको बेला राति–राति बाटो खन्ने गरिएको रहेछ ।” यसअघि पनि पटक–पटक बाटो खन्न खोज्दा अवरोध गरिएको उहाँले बताउनुभयो ।

हाल उक्त स्थानमा करिब १५० मिटर बाटो खनिसकिएको उहाँले बताउनुभयो । “हामीले खनिएको बाटो पुर्ने प्रयास गरेका छौं”, उहाँले भन्नुभयो, “तर, हामीलाई दिइएको छैन ।” कचनकवल–१ को वडा कार्यालयदेखि करिब चार सय मिटर बाटो दशगजामा खनिएको उहाँले बताउनुभयो ।

झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले दशगजा नजिकै सडक खनिएपछि दुवै पक्षबीच विवाद भएको बताउनुभयो । विवाद बढेपछि काम बन्द गरेर छलफल भइरहेको जानकारी उहाँले दिनुभयो ।

सवारी दुर्घटनामा वडाध्यक्ष यादवको मृत्यु

जलेश्वर, ९ भदौः महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको सवारी दुर्घटनामा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष यादवको मोटरसाइकल दुर्घटनामा आज बिहान मृत्यु भएको हो ।

जलेश्वर–बर्दिबास सडकअन्तर्गत बर्दिबास नगरपालिका–८ स्थित कल्भर्टमा वडाध्यक्ष यादव चढेको लु प्र ०१–००१प ६३६२ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । वडाध्यक्ष यादवको शव कल्भर्टसँगै भेटिएको हो ।     वडाध्यक्ष यादव नेपाल कम्प्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित हुनुभएको थियो । 

मङ्गलसेन–ठाटीखाँद सडकखण्ड पहिरोले अवरुद्ध

अछाम, ९ भदौः मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत मङ्गलसेन–ठाटीखाँद खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । शनिबार रातिदेखि भएको अविरल वर्षाका कारण पहिरो खस्दा मङ्गलसेन–ठाटीखाँद सडक अवरुद्ध भएको हो । उक्त सडकको ठूलासैन नजिकैको चिण्डे वनमा केही भाग भासिएको छ ।

अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीका अनुसार अवरुद्ध सडक खुलाउन सडक कार्यालय र मङ्गलसेन नगरपालिकासँग समन्वय भइरहेको छ । 

सेती नदी कटानले अन्त्यकर्मका लागि सतीघाट पुग्न समस्या

गण्डकी, ९ भदौः सेती नदीको कटानका कारण पोखरा महानगरपालिका–३२ स्थित सतीघाटमा बाटो भत्कँदा समस्या भएको छ ।परापूर्वकालदेखि तल्लो गगनगौडा, लामेआहाल, कालिकानगर, मजुुवा र आसपासका व्यक्तिको अन्तिम संस्कार गरिने घाटमा पुग्ने बाटो सेती नदीको कटानसँगै भत्केपछि समस्या भएको हो ।

घाटसम्मको बाटोलाई विगत दुुई वर्षयता लगातार रुपमा बजेट विनियोजनगरी ढलान गरिएको भए पनि नदीको कटानका कारण बाटो नै भत्कँदा त्यहाँबाट आवतजावत पूर्ण रुपमा अवरुद्ध भएको पोखरा महानगरपालिकाका वडाध्यक्ष अक्कलबहादुुर कार्कीले बताउनुुभयो ।

“घाटसम्मको बाटो ढलानका लागि यसअघिका दुुई आर्थिक वर्षमा क्रमशः १५ लाख र २३ लाख रुपैयाँ बजेट विनियोजन भई काम भएको थियो”, उहाँले भन्नुुभयो, “नदी कटानले बाटोको धेरै भाग भत्किएको छ ।” वडामा बाढी नियन्त्रणका लागि रु ७० लाख  बजेट विनियोजन भए पनि उक्त रकमले त्यहाँको समस्या समाधान गर्न असम्भव भएको बताउँदै उहाँले घाटसम्मको आवतजावत सहज बनाउन धेरै रकम चाहिने जानकारी दिनुुभयो । 

बाढीपछि मालीमा ‘राष्ट्रिय विपत्तिको अवस्था’ घोषणा

मालीको सङ्क्रमणकालीन सरकारले स्थानीय समय अनुसार शुक्रबार एक विज्ञप्ति जारी गर्दै हालैका दिनहरूमा भारी वर्षाका कारण आएको बाढीपछि ‘राष्ट्रिय विपत्तिको अवस्था’ घोषणा गरेको जनाएको छ ।गत जुन महिनामा वर्षायाम सुरु भएयता देशभरका करिब सात हजार ७७ घरधुरी बाढीबाट प्रभावित भएका छन् भने ४७ हजार ३७४ जना विस्थापित वा प्रभावित भएका छन् ।

शुक्रबार मन्त्रिपरिषद्को असाधारण बैठकको अन्त्यमा जारी गरिएको निर्णयअनुसार सङ्क्रमणकालीन राष्ट्रपति असिमी गोइटाले यस ‘प्राकृतिक विपत्ति’सँग जुध्न सरकारलाई करिब ६८ लाख अमेरिकी डलर बराबरको राहत सहयोग उपलब्ध गराउने निर्णय गर्नुभएको छ ।

सुरक्षा तथा नागरिक सुरक्षा मन्त्री दाउद अली मोहम्मदिनले सञ्चारमाध्यमसँग भन्नुभयो , “राष्ट्रिय विपत्तिको अवस्था ‘एउटा धेरै महत्त्वपूर्ण निर्णय’ हो । यसले “विभिन्न विपत्तिहरूको सामना गर्ने सबै मानिसहरूको सहायता र सुरक्षाको सन्दर्भमा राज्यको सबै स्रोतहरू परिचालन गर्न अनुमति दिन्छ ।”

युक्रेनद्वारा रूसको बेलगोरोडमा रहेका ३० भन्दा बढी बस्तीमा आक्रमण

युक्रेनको सशस्त्र सेनाले पछिल्लो २४ घण्टामा रूसको सीमा क्षेत्र बेलगोरोडका ३० भन्दा बढी बस्तीमा आक्रमण गरेको बेल्गोरोडका गभर्नर व्याचेस्लाभ ग्लाडकोभले शनिबार बताउनुभएको छ । आक्रमण उक्त क्षेत्रका नौ जिल्लाहरूमा लक्षित गरिएको र पाँच जना घाइते भएका ग्लाडकोभले सामाजिक सञ्जाल टेलिग्राममा गरेको पोस्टमा उल्लेख छ ।

रूसले गत हप्ता बेलगोरोड क्षेत्रमा सङ्घीय स्तरको आपतकालको घोषणा गरेको थियो । यहाँ युक्रेनी सेनाले रूसी सिमाना नजिक आफ्नो आक्रमण जारी राखेको छ ।

रूसी सेनाले युक्रेनी सशस्त्र सेनाको आक्रमणलाई आफ्नो क्षेत्रमा पन्छाउन जारी राखेको र युक्रेनले पछिल्लो २४ घण्टामा ३६० भन्दा बढी सैनिक र २९ वटा सशस्त्र सवारीसाधन गुमाएको रूसको रक्षा मन्त्रालयले जनाएको छ ।

पोखराबाट बेनी जाँदै गरेको गाडी बाढीले बगायो, यात्रु र चालकले भागेर ज्यान जोगाए

म्याग्दी । शनिबार रातिको मुसलधारे वर्षाले बेनीबजार आसपासका क्षेत्रमा बाढीबाट प्रभावित भएका छन् । यहाँका विद्यालय, ज्येष्ठ नागरिक आश्रमको भवन, सडकलगायत भौतिक संरचनामा क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पोखराबाट बेनीतर्फ आइरहेको ग२च ९३५५ नम्बरको बोलेरो जिपलाई बागलुङ–बेनी सडकअन्तर्गत बेनी नगरपालिका–१ हुलाकेको खोल्साको बाढीले बगाएको छ ।

यात्रु र चालकले भागेर ज्यान जोगाएका छन् । बेनी नगरपालिका–९ मा रहेको जडभरत संस्कृत माध्यमिक विद्यालयको पाँचकोठे भवनको कक्षाकोठाभित्र बाढी पसेर पुरिएको छ ।

सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरका प्रहरी नायब उपरीक्षक नवराज नेपालका अनुसार बेनी–जोमसोम सडकमा पहिरो खसेपछि खोल्सा र नालीको पानी बस्तीतर्फ सोझिँदा विद्यालयसँगै रहेको पुलहपुलत्स्य अन्नक्षेत्र र गलेश्वर ज्येष्ठ नागरिक आश्रमको भोजनालयमा बाढी पसेको छ ।

राति नै बाढी तर्काएका सशस्त्र प्रहरी, स्थानीयवासी बिहानैदेखि कक्षाकोठा र भोजनालयमा पसेको बाढी पन्छाउन जुटेका प्रनाउ नेपालले बताए ।

बेनी नगरपालिका–८ कालीपुल बसपार्क र प्रवेशद्वार क्षेत्रमा पनि खोल्सामा आएको बाढीले क्षति भएको छ । बाढी र पहिराका कारण म्याग्दीका प्रमुख सडक अवरुद्ध भएका छन् ।

बागलुङ–बेनी सडक हुलाकेमा, बेनी–जोमसोम सडक गलेश्वरमा, बेनी–दरबाङ सडक अग्निखेत, सिङ्गा, घुमाउनेमा, मालढुङ्गा–बेनी सडक जलजला गाउँपालिकाको विभिन्न ठाउँमा खसेको पहिराका कारण अवरुद्ध बनेको प्रहरी निरीक्षक राजन रायमाझीले बताए ।

सम्बन्धित स्थानीय तह, पूर्वाधार विकास कार्यालय, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत पहिरो पन्छाउने र सडक मर्मत गरेर यातायात सञ्चालनका लागि समन्वय भएको प्रहरी निरीक्षक रायमाझीले बताए ।

जिल्ला सदरमुकाम बेनीदेखि ग्रामीण क्षेत्र, छिमेकी जिल्ला बागलुङ, पर्वत र मुस्ताङसँगै म्याग्दीको यातायात सम्पर्कविच्छेद भएको छ ।

महिला उद्यमीबाट उत्पादित सामग्रीको बिक्री तथा प्रदर्शनी

त्रिशूली (नुवाकोट), ९ भदौः तीज पर्वका अवसरमा नुवाकोट उद्योग वाणिज्य सङ्घले ‘महिला उद्यमीले उत्पादन गरेको कृषि उब्जनी तथा हस्तकलाको सामग्री बिक्री तथा प्रदर्शनी’मा राखेको छ ।

तीज विशेष कार्यक्रमसहित जिल्लाका किसान तथा उद्यमी महिलाले तयार गरेको स्थानीय उत्पादनलाई शनिबारदेखि प्रदर्शनी तथा बिक्री कक्षमार्फत उद्यमी र उपभोक्तालाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम सञ्चालनमा ल्याएको सचिव मधुसुदन थपलियाले जानकारी दिनुभयो ।

सचिव थपलियाका अनुसार तीजपर्व सुरु हुनुभन्दा धेरैअघिदेखि उत्पादित सामग्रीको बिक्री तथा प्रदर्शनीबाट उद्यमी र उपभोक्ता दुवै पक्ष लाभान्वित भएका छन् । “प्रदर्शनीमा हस्तकला, साना तथा घरेलु उद्योगबाट उत्पादित ढाका सरसफाइलगायत दैनिक उपभोगका  सामग्रीको कारोबार उत्साहजनक छ ।” सहुलियतमा स्थानीय उत्पादन उपलब्ध भएकामा महिला उद्यमीलाई प्रोत्साहन मिलेको विदुर नगरपालिका–२ शेराका सरस्वती अधिकारीले बताउनुभयो ।

सुक्खा पहिरो खस्दा अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक, ९ भदौः अरनिको राजमार्गअन्तर्गत काभे्रपलाञ्चोकको भुम्लु गाउँपालिका–८ बन्देउमा र हेलम्बु राजमार्गको पाँचखाल नगरपालिका–४ स्थित फेदीमा सुक्खा पहिरो खस्दा अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान पहिरो खस्दा दुवै राजमार्ग अवरुद्ध भएका हुन् । बाटो खुलाउने प्रयास जारी छ । वैकल्पिक मार्गबाट साना सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको उक्त कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनुभयो । उक्त राजमार्गको जिरोकिलो–दोलालघाट खण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ । 

बाराका सरकारी कार्यालयको पुँजीगत खर्च ८४ प्रतिशत

वीरगञ्ज (पर्सा), ९ भदौः मधेस प्रदेश सरकार मातहत रहेका बाराका सरकारी कार्यालयले गत आर्थिक वर्ष २०८०÷८१ मा कूल विनियोजित बजेटको ८३ दशमलव ६९ प्रतिशत अर्थात् रु दुई अर्ब २७ करोड दुई लाख ३७ हजार आठ सय ३४ रकम पुँजीगत खर्च गरेका छन् ।

मधेस प्रदेश सरकारले गत आवमा प्रदेश सरकार मातहतका १५ वटा सरकारी कार्यालय र १६ वटा स्थानीय तहका लागि पुँजीगत र चालुतर्फ दुवै गरेर रु तीन अर्ब ७० करोड ८० लाख सात हजार तीन सय ७० रकम विनियोजन गरेको थियो ।

प्रदेश लेखा एकाइ कार्यालयका प्रदेश कोष नियन्त्रक श्यामउदय ठाकुरले बाराका सरकारी कार्यालयले गत आवमा विनियोजित बजेटको चालु र पुँजीगत दुवैतर्फ गरेर ८१ दशमलव ०९ प्रतिशत अर्थात् रु तीन अर्ब ६९ लाख ५४ हजार तीन सय ९५ रकम खर्च भएको जानकारी दिनुभयो । “गत आवमा बाराका सरकारी कार्यालयको चालु र पुँजीगत दुवैतर्फ गरेर समग्रमा ८१ दशमलव ०९ प्रतिशत खर्च भएको छ । गत आवको समग्रमा खर्च उत्साहप्रद रहेको छ”, उहाँले भन्नुभयो, “बाराका सरकारी कार्यालयको चालु खर्च ७४ दशमलव ०२ प्रतिशत छ ।” उहाँले बाराका सरकारी कार्यालयले गत आवमा पुँजीगत खर्च पनि उत्साहजनक ढङ्गले गरेको जानकारी दिनुभयो ।

प्रदेश सरकारले बाराका १६ पालिकाका लागि रु २० करोड ४२ लाख ३६ हजार बजेट विनियोजन गरेकामा सो अवधिमा रु १६ करोड ४२ लाख ३५ हजार छ सय ७९ रकम खर्च गरेका छन् । बाराका सरकारी कार्यालयले गत आवमा रु ११ करोड ११ लाख ७७ हजार चार सय २७ रकम सङ्कलन गरेका छन् । प्रदेश लेखा एकाइ कार्यालयको कार्यक्षेत्र बारा र पर्सा हुन् ।

७० लाखको लागतमा छाब्दीवाराही मन्दिरको पुनर्निर्माण सम्पन्न

दमौली (तनहुँ), ९ भदौः व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिर रु ७० लाखको लागतमा पुनर्निर्माण भएको छ । पाली निकालेर पुनर्निर्माण भएको मन्दिर आकर्षक देखिएको छ ।

गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग र छाब्दीवाराही विकास कोषको आन्तरिक कोषबाट मन्दिरको पुनर्निर्माण गरिएको कोषका अध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिनुभयो । एक वर्षमा पुनर्निर्माण पूरा भएको मन्दिरमा गत शुक्रबार छाब्दीवाराहीको मूर्ति प्रतिस्थापन गरिएको छ । मन्दिर निर्माणका लागि गण्डकी प्रदेश सरकारले रु २४ लाख सहयोग गरेको छभने कोषले रु ४६ लाख लगानी गरेको छ ।

छाब्दीबाराहीमा सुनको टीका भएको माछाको रूपमा जलदेवी बसेको जनविश्वास छ । मन्दिर बाहिर खोलामा हजारौँ माछा छन् । मन्दिरमा तीन जना मगर जातिका पुजारी छन् ।

यहॉ साउन, एकादशी र औँसी बाहेकका दिन हाँस, परेवा, बोका, राँगाको बलि दिइने गरिन्छ । छाब्दीवाराही मन्दिर परिसरमा पुरानो छाब्दी वाराही मन्दिर, माछाको मुखको धारा, पोखरीमा माछा, पोखरीको बीचमा मस्त्यगन्धाको मूर्ति छ । यो मन्दिर दमौली बजारबाट सात किलोमिटर ढाढा छ । मन्दिरमा पूजाअर्चनाका लागि देशका विभिन्न भागबाट भक्तजन आउने गरेका छन् ।

कोशी मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ, ९ भदौः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका सबै भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ ।

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र मधेस प्रदेशका एक दुई स्थानमा भारी वर्षाको वर्षाको सम्भावना छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।