`

युवा सकारात्मक भएर अगाडि बढ्नुपर्नेमा मुख्यमन्त्री पाण्डेको जोड

दमौली (तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देश बनाउने जिम्मेवारी युवाको भएको भन्दै युवाहरू सकारात्मक भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

जेसीआई व्यास नगरको आयोजनामा आइतबार दमौलीमा आयोजित व्यास नगर साइनिङ स्टारको फाइनल कार्यक्रममा उहाँले देश बनाउने जिम्मेवारी युवाको भएकाले देशमा केही भएन भन्नुभन्दा पनि सकारात्मक सोचसहित मेहनत गर्नुपर्ने बताउनुभयो ।

देशमा केही भएन र केही हुँदैन भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “देशमा केही हुँदैन भनेर विदेश मात्र ताक्ने हो भने मुलुकको भविष्य नकारात्मकतातर्फ जान्छ । सकारात्मक सोचका साथ देश बनाउन युवा अगाडि आउनुपर्छ ।” युवा देश विकासको संवाहक भएको चर्चा गर्दै उहाँले युवाले चाहेमा पूर्वाधार निर्माण, विकाससँगै समृद्ध मुलुक सम्भव रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “ देशमा प्रशस्त सम्भावना र अवसर छन् । त्यसको सदुपयोग गर्नुपर्छ ।”

युवाहरूलाई जागरण गर्न र सक्रिय बनाउन जेसीआई स्थापित भएको भन्दै मुख्यमन्त्री पाण्डेले यसले सोहीअनुसार काम गरिरहेको बताउनुभयो । “युवाहरूमा नैराश्यता नकारात्मक सोचका कारण बढेर गएको छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय नेपालमा केही पनि गर्न सकिँदैन भन्ने युवाको भावना छ । त्यो सोचलाई सकारात्मकतर्फ लैजानुपर्छ । युवामा उत्साह र प्रेरणा दिने सन्दर्भमा जेसीआईको महत्त्वपूर्ण भूमिका छ ।”

गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले युवामा व्यक्तित्व र नेतृत्व विकासमा जेसीआईले सहयोग गरिरहेको बताउनुभयो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बालबालिकामा रहेका प्रतिभा प्रस्फुटनका लागि साइनिङ स्टारले सघाउँदै आएको बताउनुभयो । जेसीआईका राष्ट्रिय अध्यक्ष रविन पोख्रेलले समाजमा सकारात्मक सन्देश दिँदै युवालाई उत्प्रेरणा दिने काममा जेसीआई सफल भएको बताउनुभयो ।

साइनिङ स्टारको फाइनलमा २० जना बालबालिका प्रतिस्पर्धी छन् । एक महिनासम्म विविध प्रशिक्षणपश्चात् फाइनलमा सहभागी बालबालिकामध्येबाट विजयी घोषणा गरिने जेसीआई व्यास नगरका अध्यक्ष नवीन पुरीले जानकारी दिनुभयो ।

डोटीमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु

डोटी – सर्पले डस्दा डोटीमा एक महिलाको मृत्यु भएको छ । आदर्श गाउँपालिका–१ की २८ वर्षीया निर्मला खड्काको सर्पले डस्दा आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले सर्पको डसाइबाट घाइते भएकी खड्काको जिल्ला अस्पतालमा उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको हो । खड्कालाई दिउँसो बारीमा काम गर्ने बेला सर्पले डसेको थियो ।

सीपयुक्त शिक्षा समृद्धिको पहिलो खुड्किलोः मन्त्री भण्डारी

महोत्तरी – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सीपयुक्त शिक्षा समृद्धिको पहिलो खुड्किलो भएकाले नयाँ पुस्तालाई सोही अनुसारको शिक्षामा जोडिन अपिल गर्नुभएको छ । मटिहानी नगरपालिका–८ स्थित राम माध्यमिक विद्यालयमा कक्षा १२ का छात्राहरूलाई साइकल वितरण कार्यक्रममा उहाँले मुलुकको समृद्धिका लागि सीपयुक्त शिक्षा अपरिहार्य रहेको बताउनुभयो ।

अबको अर्जुनदृष्टि मुलुकको समृद्धि भएकाले त्यसका लागि सीपयुक्त जनशक्ति चाहिएकाले सोहीअनुसारको शिक्षा दिन विद्यालयलाई उहाँले आग्रह गर्नुभयो । “मुलुकको समृद्धिका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने आवश्यकता छ । अब शिक्षालाई सीप, सीपलाई श्रम र श्रमलाई समृद्धिसँँग जोड्ने गरी सबै लागौँ । अबको पुस्ताले औपचारिक शिक्षाभन्दा प्राविधिक शिक्षामा जोड दिनुपर्छ”, मन्त्री भण्डारीले भन्नुभयो । सरकार पनि यही भावना र मार्गचित्रका साथ अघि बढेको उहाँको भनाइ थियो ।

मन्त्री भण्डारीले यसअघिका स्थिर सरकार हुन नसक्दा आर्थिक गतिविधिसमेत बढ्न नसकेको उल्लेख गर्नुहुँदै हाल त्यो अवस्था अन्त्य भएकाले निर्धक्क भएर आआफ्नो जिम्मेवारी पूरा गर्न सम्बद्ध पक्षलाई आग्रह गर्नुभयो । “अहिलेको सरकार बनेपछि राजनीतिक स्थायित्व हुने सन्देश प्रवाह भएको छ”, उहाँले भन्नुभयो, “यससँगै आर्थिक गतिविधि बढेका छन् । प्रधानमन्त्रीले पनि बरम्बार अहिलेको सरकारलाई असफल हुने छुट नरहेको बताइरहनुभएकाले सोही अनुसार हामी सबैले आफ्नो क्षेत्रमा उत्कृष्ट काम गर्न लाग्नुपर्छ ।”

मटिहानी नगरपालिकाले उच्च शिक्षामा छोरीको पहुँच बढाउन विसं २०७५ देखि कक्षा ११ का छात्रालाई साइकल वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । नगरक्षेत्रमा कक्षा १२ सम्म पठनपाठन हुने राम माध्यमिक विद्यालयमा हालसम्म चार सय ८७ छात्राले साइकल प्राप्त गरिसकेका छन् । आज ६२ जनालाई साइकल वितरण गरिएको हो ।

नगरप्रमुख हरिप्रसाद मण्डलले अब राजकीय संस्कृत माध्यमिक विद्यालयमा ११ कक्षामा अध्ययनरत छात्राका लागि पनि लागू गरिने बताउनुभयो । साइकल प्राप्त गरेकी हीना खातुनले नगरपालिकाबाट साइकल पाएपछि अब आफूहरुलाई विद्यालय आउजाउमा निकै सहज हुने बताउनुभयो ।

साइकल वितरण समारोहमा श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्री र प्रधानमन्त्री रोजगार कार्यक्रमका डण्डुराज अधिकारीसहितको उपस्थिति रहेको थियो ।

स्वस्थ प्रतिस्पर्धासहित इन्जिनियर एसोसिएसनमा आफ्ना उम्मेदवारलाई जिताउन लाग्नूहोस्: सभापति देउवा

काठमाडौँ, ८ भदौः नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल इन्जिनियर एसोसिएसनको निर्वाचनमा पार्टीनिकट सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सिडेन)को उम्मेदवालाई जिताउन एकताबद्ध भएर लाग्न आग्रह गर्नुभएको छ । एसोसिएसनको ३४औँ केन्द्रीय कार्यकारिणी समितिका लागि लोकतान्त्रिक समूहको ‘बृहद् इञ्जिनियर भेला’लाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले एकताबद्ध भएर सिडेनका उम्मेदवारलाई जिताउन लाग्न आग्रह गर्नुभएको हो ।

कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले कुनै पनि निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने बताउनुहुँदै सभापति देउवाले नेपाल इञ्जिनियर्स एसोसिएसनको निर्वाचनमा पनि स्वस्थ प्रतिस्पर्धासहित जित हासिल हुनेगरी तयारी गर्नसमेत निर्देशन दिनुभयो । कार्यक्रममा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको विकास निर्माणको काममा जिम्मेवार भएर अघि बढ्न इञ्जिनियरहरूलाई आग्रह गर्नुभयो । उहाँले मुलुकमा विकास निर्माणको कामले प्राथमिकता पाएकाले त्यसको प्रभावकारिताका लागि इञ्जिनियरको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । पार्टी नेता सिंहले राजनीतिक स्थिरतासँगै अब मुलुकको विकास, निर्माणको काममा तीव्रता दिन इञ्जिनियरलाई सहयोगका लागि आग्रह गर्नुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ठूला जलविद्युत् आयोजनाको कामले गति लिन थालेको बताउनुभयो । “पञ्चेश्वर, बूढीगण्डकी, अपर अरुण जस्ता ठूलाठूला जलविद्युत् आयोजनाको कामले गति लिन थालेका छन्,” उहाँले भन्नुभयो,“यसका साथै सरकारले अधुरा आयोजनाको कामलाई सम्पन्न गर्नेगरी अघि बढाएको छ ।” सरकार स्वदेशमै रोजगारी सृजना हुने खालको आयोजनाको कामलाई समयमै सम्पन्न गर्न कटिबद्ध भएर लागेको भन्नुहुँदै मन्त्री खड्काले यसमा इञ्जिनियरहको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । कार्यक्रममा सिडेनका अध्यक्ष इञ्जिनियर लक्ष्मण केसी, निर्वाचन परिचालन समितिका संयोजक डा जगदीशचन्द्र पोखरेल, एसोसिएसन अध्यक्ष पदका उम्मेदवार इञ्जिनियर सुवासचन्द्र बराललगायतले इञ्जिनियरबिना देशको विकास सम्भव नभएको बताउनुभयो ।

उहाँहरूले विदेश पलायन हुन लागेका इञ्जिनियरलाई स्वदेशमै रोजगारी प्रदान गर्नका लागि सरकारले विशेष योजना ल्याउनुपर्नेमा जोड दिनुभयो । सरकारी क्षेत्रमा प्राविधिक सचिवको कोटा काटिँदा इञ्जिनियरहरू मारमा परेको वक्ताहरूको भनाइ थियो ।

सुनकोशी नदीमा गाडी खस्दा तीन जना बेपत्ता

कमलामाई (सिन्धुली), ८ भदौ : मध्यपहाडी लोकमार्गमा गुडिरहेको गाडी सुनकोशी नदीमा खसेर बेपत्ता भएको छ । आज साँझ खोटाङबाट भक्तपुर गइरहेको हाइलेक्स सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुडुलेमा अनियन्त्रित भएर नदीमा खस्दा तीनजना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार सवारी नम्बर नखुलेको हाइलेक्स गाडी चालक सूर्यविनायक नगरपालिकाका ३२ वर्षीय अबिन बके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता भएका हुन् ।

गाडीमा चारजना सवार थिए । अर्का सोही ठाउँ बस्ने घाइते २७ वर्षीय सुशान्त कक्षपतिको स्थानीय शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । नदीमा खसेर बेपत्ता भएको गाडीसहित सवार यात्रीको खोजीकार्यका लागि घटनास्थलमा हाल ४० जना प्रहरीको टोली खटिएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।

माओवादी बैठक : जनपरिचालनको स्पष्ट कार्ययोजना बनाउन पार्टी नेृत्वलाई सुझाव

काठमाडौँ, ८ भदौ : पार्टीलाई जनमुखी बनाएर सङ्गठन विस्तार गर्नुपर्ने, एकीकृत कार्ययोजनाका साथ जनपरिचालनको योजना बनाउन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेताहरूले पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठकमा सहभागी भएका नेताहरूले सरकारमा रहँदा भए/गरेका सकारात्मक कामकारबाहीलाई लिएर जनतामा जानुपर्ने, सुशासन समृद्धिको योजनामा भएको प्रगतिका बारेमा आम रूपमा जानकारी गराउनुपर्ने धारणा राख्नुभएको थियो । पार्टीभित्र आन्तरिक एकतालाई सवल बनाउनुपर्ने, नेताहरू एकीकृत रूपमा परिचालित हुनुपर्ने तथा कुनै पनि विवाद र द्वेष राख्न नहुनेमा जोड दिँदै नेताहरूले वर्गतर्फ फर्कने वातावरण बनाउन नेतृत्वलाई आग्रह गर्नुभएको थियो । एकीकृत प्रयास गरिएको खण्डमा र विगतको गल्ती तथा कमजोरी स्वीकार गरेर अगाडि बढ्ने सङ्कल्प भए पार्टी पूर्ण रूपमा पुनःनिर्माण भएर प्रमुख शक्ति बन्न सक्ने उहाँहरूको धारणा थियो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोही बैठकमा भएको छलफलका बारेमा आजै नुवाकोट–काठमाडौँ सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रममा बैठक फलदायी भएको जानकारी दिनुभएको थियो । उहाँले आफहरू लगातार बैठक र छलफलमा रहेको र पार्टीलाई थप सशक्त बनाउने दिशामा केन्द्रित रहेको बताउनुभएको थियो । बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय पम्फा भुसाल, अग्निप्रसाद सापकोटालगायत नेताहरूको उपस्थिति थियो ।

सर्पको डसाइबाट दुई जनाको मृत्यु, एक घाइते

सुदूरपश्चिम, ८भदौ : कैलालीको गौरीगङ्गा नगरपालिका–७ महुलिया गाउँमा गए राति ओछ्यानमा सुतिरहेको अवस्थामा सर्पको टोकाइबाट दुई बालिकाको मृत्यु भएको छ । बालिकाकी हजुरआमा अन्दाजी ७२ वर्षीया रिजु घर्तीमगरलाई सर्पले डसेको र उहाँको उपचार भइरहेको छ ।

मूलढोकामा रहेको प्वालबाट राति घरभित्र पसेको करेत नामक सर्पको डसाइबाट स्थानीय पाँच वर्षीया बालिका लिजा र छ वर्षीया काजल घर्तीमगरको मृत्यु भएको वडाध्यक्ष आशाराम डगौरा थारूले जानकारी दिनुभयो । करेतले पहिले ओछ्यानमा सुतेका दुवै बालिकालाई शरीरका दुई–तीन ठाउँमा डसेपछि बालिकाकी हजुरआमा रिजुको काँधमा डसेको थियो । शरीरमाथि हिँडिरहेको थाहा पाएपछि वृद्धा रिजुले सोही सर्पलाई हातले समातेर फ्याँक्ने बेला उहाँको हातमा समेत डसेको घटनास्थल पुग्नुभएका डगौरा थारूले बताउनुभयो ।

“सुतिरहेका बालिकालाई सर्पले डसेको रहेछ भन्ने थाहा नहुँदा घाइते हुनुभएकी वृद्धालाई मात्र राति नै नेपाली सेनाको कैलालीको बडैपुरस्थित सर्पदंश उपचार केन्द्र पुर्याइएको थियो”, वडाध्यक्ष डगौरा थारूले भन्नुभयो, “पछि दुई बालिकाले घरमा अचानक बान्ता गर्न थालेपछि उनीहरूलाई पनि सोही सर्पले डसेको थाहा भएको हो ।”

घाइते वृद्धालाई सर्पदंश उपचार केन्द्रबाट थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरिएको छ । मृतक बालिका घरमा आफ्ना हजुरआमा र हजुरबासँगै बस्ने गरेका थिए । बालिकाको बुबाको पहिले नै निधन भइसकेको र आमा कामको खोजीमा जिल्ला बाहिर रहनुभएको बताइएको छ । गर्मीयाममा खासगरी तराईका जिल्लामा विषालु सर्पको डसाइले धेरै व्यक्तिको मृत्यु हुने गरेको छ ।

सर्पले डसेपछि घरमै झारफुक गराउने र अन्तिम अवस्थामा मात्रै अस्पताल लैजाने कतिपय समुदायको प्रवृत्तिले सर्पको टोकाइका बिरामीको मृत्यु हुने गरेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठ बताउनुहुन्छ । अस्पतालमा सर्पको डसाइका बिरामीको निःशुल्क उपचार हुने गरेको छ । खानाको खोजीमा मानिसको घर वरिपरि आइपुग्ने सर्प काठ, इँटा वा ढुङ्गाको थुप्रो, दुलो, झाडी भएको ठाउँमा लुकेर बस्ने गर्छ । घरवरिपरि सरसफाइ गर्नमा लापरवाही गर्दा लुकेर बसेको सर्पले मानिसलाई डस्ने जोखिम रहन्छ । हिउँदयाममा जमिनमुनि लुकेर बस्ने सर्प गर्मीयाममा जमिनको सतहमा निस्किने गर्दछ ।

सर्पको टोकाइबाट हुनसक्ने जोखिम कम गर्न धनगढी क्षेत्रमा उपमहानगरपालिका कार्यालयको प्रहरी टोली (रेस्क्यू टोली) ले नगरवासीको घरपरिसरमा फेला पर्ने सर्पलाई समातेर जङ्गलमा लगेर छाड्ने गरेको छ । टोलीका प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र खड्काले यो वर्षमात्र नगरपालिका क्षेत्रभित्र विभिन्न व्यक्तिको घरपरिसरबाट सात सयभन्दा बढी सर्प समातेर सुरक्षित रूपमा जङ्गलमा छोडिएको जानकारी दिनुभयो ।

“हालको गर्मी मौसममा बढीमा दैनिक आठ वटासम्म सर्प समातेर जङ्गलमा छाड्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “मानिसको घरको कोठा, काठको ¥याक, पुरानो फ्रिज, दराज र घरबारीमा भेटिने सर्प समात्ने गरेका छौँ ।” सर्प समात्नका लागि सम्बन्धित परिवारले अनुरोध गरेलगत्तै आवश्यक सामग्रीसहित आफूहरूको ‘रेस्क्यू टोली’ परिचालित हुने गरेको उहाँले बताउनुभयो । गर्मी मौसममा तराईका जिल्लामा गोमन, करेत, पानीसर्प, धामन, अजिङ्गर बिगबिगी हुने गर्छ ।

प्रतिफल देखिनेगरी कार्यसम्पादन गर्नुपर्नेमा मन्त्री यादवको जोड

काठमाडौँ, ८ भदौः खानेपानीमन्त्री प्रदीप यादवले विद्यामान समस्या समाधान गर्ने क्रममा प्रतिफल देखिने गरी कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागले राष्ट्रिय खानेपानी सरसफाइ तालिम केन्द्र नगरकोटमा आयोजना गरेको चालु आर्थिक वर्षको आयोजना कार्यान्वयनसम्बन्धी दुईदिने ‘खरिद क्लिनिक कार्यशाला गोष्ठी’ मा मन्त्री यादवले हरेक निकायले आफ्नो जिम्मेवारी नागरिकप्रति इमान्दार भएर निर्वाह गर्नुपर्ने बताउनुभयो । यसरी काम गर्दा प्रतिफल देखिनुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका मन्त्री यादवले केपी शर्मा ओलीले नेतृत्वको वर्तमान सरकार विद्यमान समस्या समाधान गर्ने लक्ष्यसाथ आगडि बढिरहेको भन्दै सबै सरकोर भएका निकायले पनि नागरिकमैत्री सेवा प्रवाह मुख्य लक्ष्य बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो सरकार समास्या समाधान गर्न बनेको हो । सबैले आफूले कार्यसम्पदान गर्दा प्रतिफल देखिने गरी गर्नु आवश्यक छ ।”

मन्त्री यादवले विभागले आयोजना गरेको उक्त गोष्ठीबाट काम गर्ने सिलसिलामा थप ऊर्जा प्राप्त भएको भन्दै यहाँबाट सिकेका उपलब्धि कार्यसम्पादनमा देखिने बताउनुभयो । उहाँले भन्नुभयो, “विभागले आयोजना गरेको गोष्ठीमा विभिन्न विषयमा प्रशिक्षण, अनुभव आदानप्रदान भएको छ, यसले तपाईँहरूको काम गर्ने शैली तथा क्षेत्रमा थप ऊर्जा थपिएको मैले विश्वास लिएको छु ।”

मन्त्री यादवले विगतमा खुला दिसामुक्त क्षेत्रको घोषणा गरिएको भए पनि अझै सतप्रतिशत नपुगेकाले हामीले प्रतिफल देखिनेगरी काम गर्न जरुरी रहेको धारणा राख्नुभयो । नागरिक तथा विकासका काममा कुनै पनि ढिलासुस्ती नगर्न आग्रह गर्दै उहाँले जनगुनासो समाधानतर्फ सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा देशभरका २० वटा अस्थायी खानेपानी तथा सरसफाइ आयोजना कार्यालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी सङ्गठनलाई स्थायित्व दिन र लामो समयदेखि प्रक्रियामा रहेका कार्यलाई सम्पन्न गरिदिन माग गर्दै कर्मचारीद्वारा मन्त्री यादवलाई ज्ञापनपत्र पेस गरिएको थियो ।

ज्ञापनपत्र बुझ्दै मन्त्री यादवले उक्त विषय सबैको समस्या भएको उल्लेख गर्दै खानेपानी मन्त्रालयलेसमस्या समाधान गर्न योजना बनाएर कार्यान्वयन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो सबैको साझा समस्या हो, यस विषयमा गम्भीर छु । अर्थ मन्त्रालयको लिखित प्रतिबद्धता आवश्यक पर्छ । स्रोतको सहमति बिना विगतमा गरिएका काम, मन्त्रालयमा कर्मचारी, विज्ञसहित छलफल गरी यस विषयमा मन्त्रालयले धाराण र योजना तयार पारी स्रोतको सहमतिमा निर्माण गर्नेछौँ ।

मन्त्री यादवले कात्तिक मसान्तपश्चात् कार्यक्रम संशोधन भई रकमान्तरको प्रक्रिया सुरु हुने भएकाले यहाँहरूका जायज माग तथा वास्तविक आवश्यकता पूरा गर्न मन्त्रालयको बजेट र जनशक्ति थप हुने विश्वास दिलाउनुभयो । उहाँले सरोकार भएका निकायलाई अधुरा आयोजना पूरा गर्न निर्देशन दिनुभयो ।

मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्यले स्रोत सहमति, अस्थायी, बेरुजु संपरीक्षण, प्रक्रिया पालना, सार्वजनिक शौचालय, तराई क्षेत्रमा बसोबास गर्ने चमार÷मुसहर बस्तीमा खानेपानीलगायत थुप्रै समस्या रहेकाले ती समस्यालाई क्रमिक रूपमा सबै मिलेर समाधान गर्नुपर्ने धारणा राख्नुभयो ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रमुख एवं महानिर्देशक रामकुमार श्रेष्ठले आर्थिक वर्षको सुरुमा आयोजना गरिएको दुईदिने यस कार्यशाला गोष्ठीबाट समस्यासहित समाधानका उपाय आउनुका साथै विज्ञको प्रस्तुतीकरणले थप मार्गप्रशस्त गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मन्त्रीज्यू तथा सचिवज्यूको मार्गनिर्देशनले हामीमा थप ऊर्जा र उत्प्रेरणा थपिएको छ । पहिचान भएका समस्याको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपाय पहिचान भएका छन् । सरकार गठन भएको एक सय दिनका लक्ष्य निर्धारण भएका छन्, कामको नतिजा अवश्य दिनेछौँ ।”

गोष्ठीमा सङ्घीय खानेपानी मन्त्रालय मातहतका देशभरिका कार्यालयका प्रमुखको सहभागिता थियो ।

पोखरीमा नुहाउन गएका बालकको डुबेर मृत्यु

मलङ्गवा (सर्लाही), ८ भदौः सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा पोखरीमा नुहाउन गएका एक बालकको डुबेर मृत्यु भएको छ । ब्रह्मपुरी गाउँपालिका–२, निवासी सञ्जय साहको छोरा ६ वर्षीय अङ्कित साहको आज बिहान पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान ९ बजेतिर नुहाउन भनी घरबाट निस्किएका बालकको घर नजिकै रहेको रामजानकी मठको पोखरीमा डुबेर मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभएको छ । मृतक बालकको शव गाउँलेले पानीबाट निकालेर पोखरीको डिलमा राखिरहेको भन्ने सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । घटनास्थलको प्रकृति मुचुल्का गरी शवपरीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा ल्याइएको छ ।

मुग्लिन–पोखरा सडकः एघार करोड क्षतिपूर्ति वितरण

दमौली (तनहुँ), ८ भदौ: निर्माणाधीन मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पूर्वी र पश्चिम खण्डमा घरटहरा हटाउन रु ११ करोड आठ लाख क्षतिपूर्ति रकम वितरण गरिएको छ ।

गत आर्थिक वर्षमा पूर्वी खण्डमा रु पाँच करोड २० लाख र पश्चिम खण्डमा रु पाँच करोड ८८ लाख क्षतिपूर्ति वितरण गरिएको हो । पूर्वी खण्डअन्तर्गत तनहुँको जामुनेबाट आँबुखैरेनीसम्म छ सय ३१ घरटहरा हटाइने पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । गत आवमा क्षतिपूर्तिका लागि रु आठ करोड बजेट विनियोजन भएको थियो ।

यस खण्डअन्तर्गत व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र म्याग्दे गाउँपालिका पर्दछ । बन्दीपुरको डुम्रे बजार र दमौली बजारमा केही घरटहरा भत्काउन ढिलाइ भएको इनिजनियर पाण्डेले बताउनुभयो ।

पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखराको सेतीपुलसम्म पाँच सय ४९ घरटहरा भत्काइने पश्चिम खण्डका इन्जिनियर नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गत आवमा यस खण्डमा क्षतिपूर्तिवापत रु पाँच करोड ९० लाख विनियोजना भएकामा रु पाँच करोड ८८ लाख वितरण गरिएको छ ।

पूर्वी खण्डमा गत आवमा एकतर्फी रूपमा ५५ किलोमिटर दुई लेन कालोपत्र भएको छ । हालसम्म एकतर्फी रुपमा ६३ किमी सडक कालोपत्र सकिएको पाण्डेको भनाइ छ । उहाँका अनुसार यस खण्डका विभिन्न स्थानमा १४ वटा साना, दुई ठूला पुल र एक सय तीन कल्भर्ट निर्माण सकिएका छन् ।

पाण्डेले व्यास–४ र ५ जोड्ने मादी नदीमा निर्माणाधीन पुलअन्तर्गत दुई सय पाइल निर्माण सकिएको भन्दै अब स्ल्याब र बिम बनाउने चरणमा पुगेको जानकारी दिनुभयो । गत आवमा भूक्षय रोकथामका लागि विभिन्न ठाउँमा बायो इन्जिनियरिङको काम गरिएको भन्दै पहिराजन्य समस्याले कतिपय स्थानमा काममा अवरोध पुगेको उहाँले बताउनुभयो ।

पूर्वी खण्डको म्याद गत वैशाख २ गते सकिएपछि एक सय ५५ दिन पुनः म्याद थप गरिएको आयोजना कार्यालयले जनाएको छ । विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।

त्यस्तै पश्चिम खण्डतर्फ २० किलोमिटर सडक दुई लेनमा कालोपत्र भएको छ । कार्यालयले गत आवमा १० किमी कालोपत्र गर्ने लक्ष्य राखेकामा लक्ष्यबमोजिम काम सम्पन्न गरेको मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड)का इन्जिनियर पौडेलले जानकारी दिनुभयो ।

विसं २०७८ जेठ २ गते सम्झौता भई २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको पश्चिम खण्डको म्याद २०८१ भदौ १२ गतेसम्म छ । यसको निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो ।

सबै वामपन्थी एवम् माओवादी शक्तिहरू एक ठाउँमा आउनेगरी वार्ता चलिरहेको छ – अध्यक्ष दाहाल

काठमाडौँ, ८ भदौः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी आन्दोलनबाट फुटेर गएका सबै शक्ति एकै ठाउँमा आउने विश्वास व्यक्त गर्नुभएको छ ।

नुवाकोट काठमाडौँ सम्पर्क समन्वय समितिले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सबै वामपन्थी एवम् समाजवादी र विगतमा फुटेर गएका माओवादी शक्तिहरू एक ठाउँमा आउनेगरी निरन्तर एकता वार्ता चलिराखेको बताउनुभयो । उहाँले यसको परिणाम छिट्टै आउने दाबीसमेत गर्नुभयो ।

अध्यक्ष दाहालले पार्टीका सबै तह र तप्काले सार्थक प्रयास गरेमा २०६४ सालमा जस्तै जनमत माओवादीलाई पुनः प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले २०६४ मा माओवादी पार्टीलाई मतदान गर्नेहरूको सूची र तिनका सन्ततिको विवरणसमेत तयार गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । “हामी सबैले सार्थक प्रयास गरेमा माओवादीी जनमत फेरि फर्काउन सकिने विश्वास छ । केन्द्रीय समितिको बैठकपछि देशभर नै पार्टीले अभियान सञ्चालन गर्ने र जनतालाई एकीकृत गरेर सबल पार्टी निर्माण गर्ने विश्वास दिलाउन चाहन्छु । आत्मविश्वासका साथ जनतामा गएर आत्मसमीक्षा गर्दा उल्लेखनीय परिणाम हासिल हुनेमा कुनै द्विविधा छैन, त्यसैले पार्टीको पक्षमा केन्द्रित भएर अभियान सञ्चालन गर्नसमेत आह्वान गर्दछु”, अध्यक्ष दाहालले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले आफू सरकारबाट बाहिरिँदा विजयी भावमा रहेको र हाल सरकारमा गएकाहरूमा त्यस्तो नभएको समेत टिप्पणी गर्नुभयो । यसैगरी उहाँले समानुपातिक समावेशी मूल्य, मान्यतालाई कोही कसैले पनि हटाउन नसक्ने बरु त्यसलाई थप समृद्ध बनाइने बताउनुभयो । सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रक्रियासमेत अगाडि बढेको जानकारी दिनुहुँदै अध्यक्ष दाहालले त्यसका लागि नुवाकोटबाटै प्रतिनिधित्व गर्ने सांसद एवम् कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले नुवाकोटलाई पार्टीले सधैँ महत्व दिएको र आगामी दिनमा पनि उस्तै भूमिका दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री हितबहादुर तामाङले आफ्नो पार्टीको सरकार भएका समयमा विभिन्न जनपक्षीय काम भएको उल्लेख गर्नुभयो । उहाँले जनतालाई केन्द्रमा राखेर काम गरिएका कारण नै आफूहरूलाई सरकारबाट हटाइएको जिकिर गर्नुभयो ।

कार्यक्रममा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति सुवेदी, राष्ट्रियसभा सदस्य श्रीकृष्ण अधिकारी, राधिका तामाङलगायतको उपस्थित रहेको थियो ।

रूस र युक्रेनबीच २३० युद्धबन्दी आदानप्रदान

रुसको कुस्र्क क्षेत्रमा किएभले अचानक आक्रमण गरेको दुई साता नबित्दै रूस र युक्रेनले शनिबार २३० जना युद्धबन्दीको आदानप्रदान गरेको घोषणा गरेका छन् । आदानप्रदानमा दुबैतर्फका बराबर युद्धबन्दी रिहा भएका मध्यस्थकर्ता संयुक्त अरब इमिरेट्स (युएई) ले जानकारी गराएको छ ।

कुस्र्कमा युक्रेनले आफ्नो आक्रमण बढाउँदै गर्दा र रूसले पूर्वी युक्रेनी शहरलक्षित आक्रमणको तयारी गरिरहेको समाचार आइरहेका समय यो आदानप्रदान भएको हो । युक्रेनी स्वतन्त्रता दिवसमा पनि यस्तो आदानप्रदान भएको थियो ।

दुवै देशले कैदी अदलाबदली सम्झौतामा मध्यस्थता गरेको युएईप्रति आभार प्रकट गरेका छन् ।

“हाम्रा अन्य ११५ देशभक्त सुरक्षाकर्मी आज घर फर्किसकेका छन्,” युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भन्नुभयो । “यी सैनिकहरू नेशनल गार्ड, आम्र्ड फोर्सेज, नेभी, स्टेट बोर्डर गार्ड सर्भिसका सैनिक हुन्,” उहाँले युक्रेनको झन्डा बेरेर बसेका मानिसहरूको फोटोसहित जारी गरेको सन्देशमा भन्नुभएको छ ।

किएभले गत अगष्ट ६ मा भएको कुस्र्क आक्रमणमा सयौं रूसी सैनिकलाई बन्धक बनाएको यसअघि बताएको थियो ।मस्कोले उक्त आदानप्रदानको पुष्टि गर्दै कुस्कमा बन्दी बनाइएका ११५ सैनिकलाई फिर्ता गरिएको जनाएको छ ।

रूसी रक्षा मन्त्रालयले भनेको छ, “वार्ता प्रक्रियाको परिणामस्वरुप कुस्र्क क्षेत्रमा बन्दी बनाइएका ११५ जना रूसी सैनिकलाई किएभ शासनको नियन्त्रणमा रहेको इलाकाबाट फिर्ता गरिएको छ ।

“ती सैनिकहरू अहिले छिमेकी बेलारूसमा रहेका छन्, उनीहरूलाई ‘मनोवैज्ञानिक–चिकित्सा सहायता’ प्राप्त भइरहेको छ र चाँडै नै उनीहरूलाई स्वदेश ल्याइनेछ,” मन्त्रालयले भनेको छ ।

युएईले रूसी सङ्घ र गणतन्त्र युक्रेनबीच नयाँ बन्दी आदानप्रदानमा सफलतापूर्वक मध्यस्थता गरेको जनाएको छ ।

किएभ र मस्कोबीच दुई वर्षभन्दा लामो युद्ध जारी रहेपनि युद्धका क्रममा विपक्षीको नियन्त्रणमा गएका कैदीहरूको पटक पटक आदानप्रदान पनि हुँदै आएको छ ।

तालिबानद्वारा महिलालाई सार्वजनिक रुपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध

तालिबान सरकारको मन्त्रालयले महिलालाई सार्वजनिक रुपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध गर्ने नयाँ कानून लागु गरेको ग्लोबल न्यूजले जनाएको छ । यो कानुनले अफगानिस्तानमा महिलाको जीवन अझ सीमित गर्ने भएको छ ।

अफगानिस्तानमा तालिबानको कब्जापछि सन् २०२१ मा स्थापना भएको “सद्गुणको प्रचार र दुराचारको रोकथाम” मन्त्रालयले बुधबार नयाँ कानुन जारी गरेको हो ।

एक सय १४ पृष्ठको कानुनी दस्तावेजले अफगानिस्तानको सार्वजनिक जीवनका पक्षहरूलाई समेटेको छ ।

मन्त्रालयका प्रवक्ता मौलवी अब्दुल गफर फारूकले बिहीबार भन्नुभयो “ हामी आश्वासन दिन्छौं कि यो इस्लामिक कानूनले सद्गुणको प्रवर्द्धन र दुराचार उन्मूलनमा ठूलो मद्दत गर्नेछ ।”

दस्तावेजको धारा १३ मा महिलाले सार्वजनिक रूपमा प्रस्तुत हुँदा कसरी लुगा लगाउनु पर्छ र कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुराको व्याख्या गरिएको छ ।

महिलाले आफू प्रलोभनमा नपर्न र अरूलाई प्रलोभनमा नपार्न सार्वजनिक रूपमा प्रस्तुत हुँदा अनुहारसहित आफ्नो सम्पूर्ण शरीर ढाक्न आवश्यक रहेको नयाँ कानुनले जनाएको छ । महिलाहरुले सामान्यतया लगाउने हिजाब जसले कपाल र घाँटी मात्र ढाक्छ अब नयँ कानुनअनुसार स्वीकार्य नभएको ग्लोबल न्यूजले जनाएको छ ।

महिलाको आवाज बढी ‘लालाहित’ हुने व्याख्या गर्दै नयाँ कानुनले अब महिलालाई सार्वजनिक रूपमा गाउन वा चर्को स्वरमा बोल्न निषेध गरेको छ ।

महिलालाई रगत वा विवाहद्वारा सम्बन्धित नभएका पुरुषलाई हेर्ने अनुमति नभएको व्याख्या नयाँ कानुनले गरेको छ ।

यी नियमहरू उल्लङ्घन गर्दा सजायस्वरुप सम्पत्ति जफत वा तीन दिनसम्म हिरासतमा राख्न सकिने चेतावनी दिइएको छ । मन्त्रालयले पहिले नै समान नैतिक मापदण्डहरू लागू गर्दै यसको उल्लङ्घनका लागि हजारौंलाई हिरासतमा लिएको छ ।

ह्युमन राइट्स वाचको महिला अधिकार विभागका सहयोगी निर्देशक हिथर बारले नयाँ नियमको टिप्पणी गर्दै भन्नुभयो “यी नियमहरू पहिले नै थिए तर औपचारिक थिएनन्, अब औपचारिक बनाइएको छ । मलाई लाग्छ यो हामीले विगत तीन वर्षदेखि देखिरहेका कुराको सङ्केत हो, दमनको क्रमिक वृद्धि हो ।”

तालिबानले अफगानिस्तान कब्जा गरेदेखि महिलाको स्वतन्त्रतामा कडा प्रतिबन्ध लगाउदै आएको छ । सन् २०२२ मा तालिबानले महिलाहरूलाई छैटौँ कक्षाभन्दा माथि विद्यालय जानबाट प्रतिबन्ध लगाएको थियो ।

त्यसैगरी सन् २०२२ मा तालिबानले महिलालाई गैरसरकारी संस्था (एनजिओ)मा काम गर्न प्रतिबन्ध लगाएको थियो । ग्लोबल न्यूजसँग कुरा गर्ने एक महिलाले एनजिओमा जागिर गुमाएपछि आफ्नो परिवार गरिबीमा डुबेको बताउनुभएको छ ।

“म मेरो परिवारको आर्थिक भार बोक्ने एकमात्र आधार हुँ । हामी परिवारमा चार जना मात्रै छौँः म, मेरी बहिनी र मेरा आमाबाबु । मेरो बुबा अहिले बिरामी हुनुहुन्छ । हामीलाई बिहान बेलुका खान पनि समस्या छ”, उहाँले भन्नुभयो ।

महिलामाथि लगाइएको नयाँ प्रतिबन्धका अतिरिक्त बुधबार पारित भएको कानुनले सङ्गीत बजाउन पनि निषेध गरेको छ । यसले पुरुषलाई दाह्री काट्न पनि निषेध गरेको छ । यस कानुनले चालकहरूलाई पुरुष अभिभावकबिना महिलालाई ओसारपसार गर्न निषेध गरेको छ ।

गत महिना संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनले मन्त्रालयले आफ्नो आदेश र कार्यान्वयन विधिमार्फत अफगानीबीच डर र धम्कीको वातावरणलाई बढावा दिइरहेको सङ्केत गरेको थियो ।

तालिबानले संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनलाई अस्वीकार गरेको छ ।

भारतीय प्रधानमन्त्री मोदी पोल्याण्ड र युक्रेनको भ्रमण सकी स्वदेश फिर्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पोल्याण्ड र युक्रेनको दुई देशको भ्रमणपछि स्वदेश फिर्ता हुनुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पोल्याण्ड भ्रमण ४५ वर्षपछि भएको हो ।

उहाँले दुई दिने युरोप भ्रमणका क्रममा युक्रेनको पनि भ्रमण गर्नुभएको छ । युक्रेन भ्रमण गर्ने उहाँ पहिलो पदबहाल भारतीय प्रधानमन्त्री हुनुहुन्छ ।

युक्रेन भ्रमणका क्रममा प्रधानमन्त्री मोदी र राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको बडापत्रलगायत क्षेत्रीय अखण्डता र राष्ट्रको सार्वभौमिकताजस्ता अन्तर्राष्ट्रिय कानुनका सिद्धान्तहरू लागु गर्न आफू तयार रहेको बताउनुभएको थियो ।

यस सम्बन्धमा घनिष्ठ द्विपक्षीय वार्ताको वाञ्छनीयतामा उहाँहरू सहमत हुनुभएको छ । भारतीय पक्षले आफ्नो सैद्धान्तिक अडान दोहो¥याउँदै वार्ता र कूटनीतिको माध्यमबाट शान्तिपूर्ण समाधानमा ध्यान केन्द्रित गरेको छ । भारतले युक्रेनमा शान्तिका लागि जून २०२४ मा स्विट्जरल्याण्डको बर्गेनस्टकमा आयोजित शिखर सम्मेलनमा भाग लिएको थियो ।

युक्रेनी पक्षले भारतको यस्तो सहभागिताको स्वागत गर्दै आगामी शान्ति शिखर सम्मेलनमा भारतको उच्चस्तरीय सहभागिताको महत्वमाथि प्रकाश पारेको छ । भ्रमणका क्रममा भारत र युक्रेनले चार वटा सम्झौतामा हस्ताक्षर गरेका छन् ।

पोल्याण्ड भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले आफ्ना समकक्षी डोनाल्ड टस्कसँग द्विपक्षीय छलफल गर्नुभएको र दुई देशले आफ्नो सम्बन्धलाई ‘रणनीतिक साझेदारी’मा रुपान्तरण गर्ने निर्णय गरेका छन् । दुवै नेताले युक्रेनमा जारी युद्ध र यसको भयानक र दुःखद मानवीय परिणामप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।

उनीहरूले सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मानसहित संयुक्त राष्ट्रसङ्घको बडापत्रका उद्देश्य र सिद्धान्तअनुरूप अन्तर्राष्ट्रिय कानूनबमोजिम व्यापक, न्यायोचित र दिगो शान्तिको आवश्यकतालाई दोहो¥याएका छन् ।

मानसरोवर कैलास जाने राजमार्ग अवरुद्ध

रसुवा, ८ भदौः वर्षाका कारण चीनतर्फको सडकमा क्षति हुँदा मानसरोवर कैलास दर्शनका लागि जाने दर्शनार्थीहरू प्रभावित भएका छन् ।

रसुवाका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले रसुवागढीको मितेरिपुलबाट पाँच किलोमिटर उत्तर चिनियाँ भूभागअन्तर्गत केरुङ खोलामा आएको बाढीले राजमार्ग कटान गर्दा सवारी आवागमन बन्द भएको जानकारी दिनुभयो । यातायातका साधन बन्द भएपछि कैलासबाट नेपाल फर्किन लागेका करिब पाँच सय यात्रु केरुङमा र तीर्थ जाँदै गरेका एक सय यात्रु रसुवागढीमा रोकिएका छन् । उहाँहरूको सहयोगार्थ नेपाल प्रहरी र सशस्त्र प्रहरी बल २० नं गुल्म रसुवाले समन्वय गरिरहेको प्रजिअ खनालले जानकारी दिनुभयो ।

राजधानी काठमाडौँदेखि केरुङसम्म करिब एक सय ७१ किमी दूरी रहेको बताइएको छ । चाँडोे राजमार्ग खुलाई कैलास दर्शनका लागि हिँडेका यात्रुलाई सहज पारिदिन केरुङ प्रशासकलाई अनुरोध गरिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । टिमुरे क्षेत्रमा रोकिएका यात्रुहरूको सहयोगका लागि नेपाल प्रहरीले समन्वय गरिरहेको प्रहरी नायब उपरीक्षक केशव भट्टराईले जानकारी दिनुभयो ।

गौरा नजिएसँगै सीमा नाकाहरूमा भीड, घर फर्किंदै परदेशी

दार्चुला, ८ भदौः सुदूरपश्चिममा मनाइने प्रमुख चाड गौरा नजिएसँगै सीमा नाकाहरूमा भीडभाड बढेको छ । भारतसँग सीमा जोडिएका नाकाबाट घर फर्कनेको सङ्ख्या पहिलाको तुलनामा दोब्बरले बढेको हो ।

आजदेखि गौरा सुरु हुने हुँदा लामो समयसम्म रोजगारीको सिलसिलामा भारत गएका प्रदेशीहरू घर फिर्ता हुन लागेका हुन् । गौराका लागि सीमानाका खलङ्गाबाट स्वदेश भित्रिनेको सङ्ख्या निकै बढेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दैनिक तीन सयभन्दा बढी नेपाली दार्चुलाको दत्तु, जौलजीवी, लाली र खलङ्गा नाकाबाट स्वदेश फर्किरहेको कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

भारतमा रोजगारीका लागि जानेहरू विशेषगरी चाडपर्वको समय मिलाएर घर फर्कने गरेका छन् । सुदूरपस्चिममा गौराको समयमा परिवारका सबै सदस्य एकै ठाउँमा बसेर मनाउने चलन छ । यहाँका स्थानीयले गौरालाई बढी महत्वका साथ मनाउने गरेका छन् । गौराको समयमा परिवार र गाउँका मानिस एक ठाउँमा जम्मा भएर सुखदुःख साटासाट गर्छन् । यसले सामाजिक सद्भावमा पनि वृद्धि गरेको जानकारहरू बताउँछन् ।

भाद्र शुक्ल वा कृष्ण पक्षमा मनाइने सुदूरपश्चिममा मुख्य पर्वका रूपमा मनाइने गौराको अवसरमा बसाइँसराइ गरेर गएकाहरू पनि आफ्नो थातथलोमा फर्कने गर्छन् । पहाडी समुदायमा गौराको समयमा देवीदेवताका मन्दिर तथा गौराखालो (मन्दिर परिसर) मा खेल हुने भएकाले पनि बसाइँसराइ गरेकाहरू पुख्र्यौली थलोमा फर्किन गरेका हुन् ।

संस्कृतिका जानकार मोहनराज पन्तले गौरा वर्षौ विछोडिएका आफन्त तथा गाउँलेबीच भेटघाट तथा जमघट हुने भएकाले यसलाई सामाजिक सद्भावको पर्वका रूपमा समेत लिने गरिएको बताउनुभयो । उहाँकाअनुसार अष्टमी अर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मङ्गलगानका साथमा गौरा नचाइन्छ । त्यसैक्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ । जहाँ विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाका साथमा नचाउने गरिन्छ । आजकै दिनदेखि यहाँका ठाउँठाउँमा देउडासमेत खेलिने प्रचलन रहेको छ ।

तनहुँ दुर्घटनाः मृतकको शव भारत पठाइयो

भरतपुर (चितवन), ८ भदौः तनहुँको ऐनापहरामा बस दुर्घटनामा परेर मृत्यु भएकाहरूको शव भारत पठाइएको छ । भरतपुर अस्पतालमा शव परीक्षण सकेपछि भारतीय एयरफोर्सको जहाजबाट आज अपराह्न भरतपुर विमानस्थलबाट ती शव भारत पठाइएको हो ।

मृतक २७ मध्ये २५ जनाको शव जहाजबाट पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । उहाँका अनुसार बसका चालक र सहचालकको शव भने स्थलमार्गबाट गोरखपुरतर्फ पठाइएको छ ।

मृतकको शव लिन भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षानिखिल खड्से भरतपुर आउनुभएको थियो । मृतक यात्रुका शव शुक्रबार राति आँबुखैरेनीबाट भरतपुर ल्याइएको प्रजिअ यादवले बताउनुभयो । उहाँका अनुसार पशुपतिनाथ दर्शन गर्न जाँदै गरेको भारतीय पर्यटक बोकेको बस शुक्रबार बिहान तनहुँको आबुखैरेनी नजिकै सडकबाट मस्र्याङ्दी नदीमा खस्दा २७ पर्यटकको मृत्यु भएको हो । मृतकमध्ये १५ महिला, ११ पुरुष र एकजना चार वर्षीया बालिका रहेकी छन् । घाइते हुनेमा छ पुरुष र १० महिला छन् ।

प्रहरीका अनुसार बसमा ४३ जना सवार थिए । घाइतेहरूको काठमाडौँमा उपचार भइरहेको छ । मृतक र घाइते भारतको महाराष्ट्रको जलगाउँ जिल्लास्थित भुसावल गाउँका रहेका प्रजिअ यादवले जानकारी दिनुभयो । पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एसटी ७६२३ नम्बरको बस आँबुखैरेनी नजिकैबाट मस्र्याङ्दीमा खसेको थियो । दुर्घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले भारत सरकारका राज्यमन्त्री खड्सेलाई भरतपुर विमानस्थलमा भेटी सो घटनाप्रति दुःख व्यक्त गर्नुभएको थियो ।

सम्पदा संरक्षण गरेर भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी हो : पूर्वराष्ट्रपति भण्डारी

रक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी भएको बताउनुभएको छ । भक्तपुर विकास सहयोग सङ्घको ३०औँ वार्षिक साधारणसभा तथा ३०औँ खोपृङ सम्मान कार्यक्रममा मन्तव्य राख्नुहुँदै पूर्वराष्ट्रपति भण्डारीले मूर्त तथा अमूर्त कला, सम्पदाले सजिएको सांस्कृतिक रुपमा संरक्षित ऐतिहासिक दरबार क्षेत्र र यहाँका सांस्कृतिक सम्पदाका कारण भक्तपुर जीवित शहरको रुपमा परिचित भएको बताउनुभयो ।

“सांस्कृतिक धरोहर, ऐतिहासिक सम्पदाले सजिएको भक्तपुर पूर्खाको पौरखबाट सृजित उन्नत सहरको रुपमा स्थापित भएको छ, हाम्रा पुर्खाले सृजना गरेका ऐतिहासिक सम्पदाको संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी हो”, उहाँले भन्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले भक्तपुर विकास सहयोग सङ्घले सम्पदा संरक्षणका अतिरिक्त सामाजिक सेवाका क्षेत्रमा उल्लेखनीय काम गरेको बताउनुभयो । सङ्घले प्रकाशन गरेको खोपृङ पत्रिकामा विषय विज्ञद्वारा लिखित लेख रचनाले नेपाली वाङ्मयका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सङ्घले गरेका कार्यबाट पर्यटनको प्रचारप्रसारका साथै स्थानीयको आयआर्जनमा महत्वपूर्ण काम भइरहेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले प्रसिद्ध जुजु धौले देशभर प्रसिद्धि कमाएको स्मरण गर्नुभयो । दार्शनिक एवं सांस्कृतिक चिन्तक जगमान गुरुङ, वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठ, संस्कृति शिरोमणि हरिराम जोशी, वरिष्ठ वाङ्मय साधन तथा भाषासेवी तेजेश्वर बाबु ग्वंगः र वरिष्ठ गायक योगेशवर अमात्यलाई सम्मान गर्नुभएको थियो ।

बागमती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले समाजले सामाजिक क्षेत्रमा उत्कृष्ट कार्यहरू गर्दै आइरहेको उल्लेख गर्दै समाजले गरेको कामप्रति आभार व्यक्त गर्नुभयो । उहाँले समाजको भवन निर्माणका लागि जग्गाको व्यवस्थापन गर्न आग्रह गर्दै भवन निर्माणका लागि प्रदेश सरकारबाट बजेट विनियोजन गराउन लागि पर्ने बताउनुभयो । समाजका अध्यक्ष राजु मृगेन्द्र जोशीले सामाजिक कार्यका लागि गरिएको सानो कार्यले ठूलो परिवर्तन हुनसक्ने बताउनुभयो । 

भाद्र कृष्ण पञ्चमी : पाँच प्रकारका बिरुडा भिजाएर सुरु गरियो गौरा पर्व

काठमाडौँ, ८ भदौ ः यस वर्षको गौरा पर्व मनाउनका लागि केराउ, जौ, मस्याङ, मास र गुराँस गरी पाँच चीजको गेडा भिजाएर राखिएको छ । यसरी पाँच चीज मिलाएर भिजाउनुलाई बिरुडा भिजाएको भनिन्छ । अष्टमीमा भगवतीलाई पूजा गरेर प्रसादका रुपमा यसरी भिजाएको पाँच प्रकारको चीज अर्थात् बिरुडा चढाइन्छ । भक्तजनलाई पनि प्रसादका रुपमा बिरुडा नै बाँडिन्छ । पाँच किसिमका गेडागुडी भिजाउने दिनलाई बिरुडा पञ्चमीका नामले चिन्ने गरिएको छ ।

गौरा पूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा (सौँ), तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देवीलाई यस वर्ष भाद्र कृष्ण अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर वर्तालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको देउडा संस्कृतिविद् नन्दकृष्ण जोशीले बताउनुभयो ।

देवीलाई गाउँका नायकले भ्यिाउनुपर्ने चलन छ । यसरी भ्यिाउँदा कसैले पनि हेर्नु नहुने मान्यता छ । गौरा भ्यिाउने घरमा जम्मा भएका गाउँलेले खोज्दा नभेट्ने गरी नायकले लैजान्छन् । यसलाई गौरा पर्वको मौलिकताका रुपमा लिने गरिएको छ ।

यसरी दुई तीन दिन पूजा गरिसकेपछि मङ्गल र शनिबार नपारी देवीलाई नदी, कुवा, पोखरी वा जलाशयमा लगी सेलाइन्छ । जुठो, सुतक परेका बेला देवीलाई विसर्जन गर्नु नहुने परम्परा छ । देवीलाई विसर्जन गरेपछि मागल अर्थात् माङ्गलिक कर्ममा गाइने भजन, गीत आदि गाएर रमाइलो गर्ने परम्परा छ । 

 देशका अन्य भागमा तीज मनाए जस्तै पश्चिममा यो पर्व विशेषगरी नारीहरुले मनाउने गरेका छन् । उमा महेश्वर सहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले यस वर्ष अँध्यारी गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । 

 शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । यसैले यस वर्षको गौरालाई अँध्यारी भनिन्छ । पहिलो पटक व्रत बस्नेले भने शुक्लपक्षको अष्टमी अर्थात् उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ ।

कन्या राशिमा सूर्य गएपछि अर्थात् असोज महिना लागेपछि भने गौरा पर्व मनाउनु हुँदैन । सिंह राशिमा सूर्य भएका बेला अर्थात् भदौ महिनामा गौरा मनाउनुपर्ने मानसखण्ड, निर्णयसिन्धु, हेमाद्रि लगायत धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको छ ।

गौरालाई सुदूर पश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रुपमा मनाउने गरेका छन् । राजधानीमा पनि सुदूर पश्चिम र  मध्य पश्चिम क्षेत्रका मानिसको बसोवास बढेसँगै यो पर्व धुमधामका साथ मनाउन थालिएको छ । 

सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन सुरु गरिएको देउडा संस्कृतिविद् गायक जोशीले जानकारी दिनुभयो ।  पञ्चमीका दिन बिरुडा भिजाएर सुरु गरिएको गौरा पर्व चार दिनसम्म धुमधामका साथ मनाइन्छ । राजधानीमा पनि गौरासँगै देउडा गायन र नृत्यका साथ सुदूरपश्चिम एवं मध्यपश्चिमवासीले यो पर्व मनाउने गरेका हुन् ।

नेपाली समाज मर्यादित समाज हो, अश्लिलता फैलाउन सम्भव छैनः प्रधानमन्त्री

काठमाडौँ, ८ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाज मर्यादित समाज भएकाले यहाँ अश्लिलता र सामाजिक घृणा फैलाउन सम्भव नहुने बताउनुुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापा–काठमाडौँ सम्पर्क मञ्चद्वारा तीजका अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल फरक कला, संस्कृति र सभ्यताको देश भएकाले यहाँ अश्लिलता फैलाउन सम्भव नहुने बताउनुुभएको हो ।

“हामीले एकापसमा घृणा फैलाउने होइन, परस्पर माया फैलाउनुुपर्छ । देश, समाज, परिवार र आफैँलाई माया गर्नुपर्छ,” प्रधानमन्त्रीले भन्नुभयो, “मायाले निद्रा र थकाइ बिर्साउँछ । दिदीबहिनी र दाजुुभाइमा तीजले ममता बढाउँछ । यस्ता महत्त्वपूर्ण चाडले नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने काम गर्छ ।”

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, एमाले केन्द्रीय सदस्य इन्द्र भण्डारीलगायत सहभागी हुनुहुुन्थ्यो । मञ्चका उपाध्यक्ष पुुष्पा अधिकारीका अध्यक्षतामा भएको कार्यक्रममा महिला आन्दोलनमा योगदानकर्ता पृथ्वीशोभा मैनालीलाई सम्मान गरिएको थियो ।

ताप्लेजुङ गोल्डकपः बिर्तामोड फुटबल क्लब झापालाई पछि पार्दैै सिरहा फाइनलमा प्रवेश

फुङलिङ (ताप्लेजुङ), ८ भदौः अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको आज भएको दोस्रो सेमिफाइनल खेलमा सहलेश फुटबल क्लब सिरहा फाइनलमा प्रवेश गरेको छ । चार–दुई गोलअन्तरले बिर्तामोड फुटबल क्लब झापालाई पछि पार्दैै सिरहा फाइनलमा प्रवेश गरेको हो ।

खेलको १८औँ मिनेटमा सहलेश फुटबल क्लबका खेलाडी जुना ग्लोरीले पहिलो गोल गरेका थिए । त्यस्तै प्रतिरक्षाका लागि खेल सुरु भएको ५६औँ मिनेटमा बिर्तामोड क्लबका खेलाडी सञ्जय सुब्बाले गोल गरेसँगै खेल बराबर भएको थियो ।

निर्धारित समयमा बराबर भएपछि १५ मिनेट समय थप गरिएको थियो । थप समयमा पनि गोल हुन नसकेपछि पेनाल्टीमा ४–२ गोलअन्तरले सिरहा फाइनलमा प्रवेश गरेको हो । सिराहाका खेलाडी जय गुरुङ, आदित्य शाक्य, सन्तोष खत्री र प्रवेश दनुवारले गोल गरेका थिए । त्यस्तै झापाका खेलाडी प्रदीप भण्डारी र रोहन कार्कीले मात्र गोल गर्दा खेल सिरहाको पक्षमा भएको थियो । 

झापाले विभागीय टिम त्रिभुवन आर्मीलाई र सिरहाले पाँचथरलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा ताप्लेजुङको सङ्घर्ष स्पोर्टिङ फुटबल क्लबलाई २–१ ले पराजित गर्दै सगरमाथा युथ क्लब मोरङ फाइनलमा प्रवेश गरेको छ । सोमबार मोरङसँग फाइनल खेलमा प्रतिस्पर्धा गर्नेछन् ।     विजेताले रु पाँच लाख र उपविजेताले रु दुई लाख ५० हजार पाँच सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

देश विकासको मुख्य आधार गुणस्तरीय शिक्षा : सभामुख

चौतारा (सिन्धुपाल्चोक), ८ भदौ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देश विकासको मुख्य आधार गुणस्तरीय शिक्षा भएको बताउनुभएको छ । सिन्धुपाल्चोक सदरमुकाम चौतारास्थित चौतारा बहुमुखी क्याम्पसको २४ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले कुनै मुलुक समृद्ध छ भन्नुको तात्पर्य त्यो मुलुक शिक्षा क्षेत्रमा अब्बल छ भनेर बुझ्नुपर्ने बताउनुभयो ।

देशलाई आवश्यक पर्ने हरप्रकारका जनशक्ति उपलब्ध गराउन शिक्षा क्षेत्रमा उल्लेख्य लगानी गर्नुपर्नेमा जोड दिँदै सभामुख घिमिरेले नागरिकलाई गुणस्तरीय शिक्षा दिनका लागि राज्यको नीति इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

क्याम्पसमा शिक्षा लिनुभएका धेरैजसो व्यक्तिहरू राज्यको ठूलाठूला पदमा पुगेको थाहा पाउँदा आफूलाई खुसी लागेको बताउँदै उहाँले राज्यको शिक्षा नीति, युगानुकूल पाठ्यक्रम, सुविधायुक्त भौतिक पूर्वधार एवं प्रभावकारी अनुगमन मूल्याङ्कनजस्ता पक्षबाट मात्रै गुणस्तरीय शिक्षा प्राप्त हुने बताउनुभयो ।

वार्षिकोत्सवका अवसरमा क्याम्पसका संस्थापक कृष्णराज श्रेष्ठ, माधवलाल कर्मचार्य, बागमती प्रदेशका पूर्वमन्त्री तथा सभासदस्य युवराज दुलाललगायतलाई सभामुख घिमिरेले सम्मान गर्नुभयो ।

नेपालको शिक्षा प्रणाली कस्तो बनाउने भनेर बहस जरुरी छः मन्त्री भट्टराई

त्रिवेणी (नवलपरासी), ८ भदौः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले देशको राजनीति कस्तो हुने भन्ने विषय शिक्षा र चेतनामा निर्भर हुने भएकाले अब शिक्षा प्रणालीबारे बहस हुन जरुरी रहेको बताउनुभएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकाले सुरु गरेको ‘हाम्रो खुसी पाठ्यक्रम’ शुभारम्भ कार्यक्रममा आज उहाँले हालसम्म राजनीति कस्तो हुने भन्ने विषयमै बहसमा केन्द्रित हुने गरेको भन्नुहुँदै अब शिक्षाका बारेमा पनि गम्भीर बहस चलाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । “हामीले लामो समयसम्म राजनीति कस्तो हुने भनेर बहस, सङ्घर्ष र आन्दोलन ग¥यौँ तर शिक्षा कस्तो बनाउने भनेर कमै ग¥यौँ । त्यसैले अब शिक्षा कस्तो बनाउने भन्ने बहस हुन जरुरी छ”, मन्त्री भट्टराईले भन्नुभयो ।

उहाँले समाजको नेतृत्व तथा संस्कृति निर्माणमा शिक्षा र चेतनाले महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस क्षेत्रको विकासका लागि सबै गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो । “राजनीतिले नीतिगत नेतृत्व गरे पनि समाजको नेतृत्व शिक्षा र संस्कृतिले गर्ने हो । त्यो संस्कृति र राजनीति कस्तो हुन्छ भन्ने कुराको व्याख्या पनि शिक्षाले नै गर्छ । त्यसैले हामी शिक्षाका बारेमा अलि बढी गम्भीर बन्न आवश्यक छ”, मन्त्री भट्टराईको भनाइ थियो ।

उहाँले मध्यविन्दु नगरपालिकाले यो बहस उठान सुरु गरेकोमा धन्यवाद दिनुभयो । समाजमा विकासित हुँदै गरेको निराशा, असन्तोष अन्त्य गर्न खुसी दिन सक्नुपर्ने भन्नुहुँदै मन्त्री भट्टराईले खुसी दिन सकिए मात्र समाजलाई परिवर्तनउन्मुख गर्न सकिने धारणा राख्नुभयो । यसका लागि ‘हाम्रो खुसी पाठ्यक्रम’ सुरु गरी नगरपालिकाले अनुकरणीय काम गरेको उहाँले बताउनुभयो ।

नगरप्रमुख भीमलाल अधिकारीले बालबालिकाको सिकाइसँग जोडेर असल नागरिक उत्पादन गर्ने हेतुले नगरपालिकामा पाठ्यक्रम सुरु गरेको बताउनुभयो । पाठ्यक्रम पालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत गरी ६६ वटा विद्यालयमा कक्षा १ देखि ८ सम्म लागू हुनेछ । बालबालिकाको कल्याण, मानसिक स्वास्थ्य र समाजको दीर्घकालीन विकासलाई ध्यानमा राखेर पाठ्यक्रम लागू गरिएको नगरप्रमुख अधिकारीले बताउनुभयो ।

केन्द्रीय पदाधिकारीको टुङ्गो लगाउन एकीकृत समाजवादीको केन्द्रीय कमिटीको पूर्ण बैठक आह्वान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय पदाधिकारीको टुङ्गो लगाउन केन्द्रीय कमिटीको पूर्ण बैठक आइतबार बस्ने भएको छ ।

पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले त्यसलाई पूर्णता दिन बैठक आह्वान गरिएको केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए । नेताहरूको योगदान, कार्यक्षमताका आधारमा पदाधिकारी छनोट गरिने बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंकेटमा मङ्गलबारसम्म बस्ने जनाइएको छ ।

पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय रहेकामा दुई सय ५१ केन्द्रीय सदस्यको सपथ ग्रहण गर्न बाँकी रहेकाले सो बैठकमा उनीहरूलाई सपथ गराएर जिम्मेवारी तोकिनेछ । केही नेताहरुको जिम्मेवारी हेरफेर गरिनेछ ।

केन्द्रीय संरचनाहरुको निर्माण र विविध विषयमा छलफल गर्न पार्टीले केन्द्रीय कमिटी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको नेता पाण्डेयले जानकारी दिए ।

पदाधिकारीका आकाङ्क्षी धेरै भएपछि सातै प्रदेशबाट भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रीय कमिटीको पूर्ण बैठकले पदाधिकारी चयन गर्न मापदण्ड बनाउन लागिएको छ । बैठकले क्लष्टरका आधारमा केन्द्रीय कमिटीमा नेतालाई व्यवस्थापन गर्ने विषयमा छलफल गर्ने छ ।

पार्टीले युवा, दलित, जनजाति, अल्पसङ्ख्यक, पिछडिएका वर्गलाई पदाधिकारीमा समेट्ने जनाएको छ । केन्द्रीय कमिटीमा अहिले अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन् ।

मौरी जोनले चितवनका कृषक उत्साहित

नारायणगढ (चितवन), ८ भदौः प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ भरतपुरले चितवनलाई मौरी जोनका रुपमा विकास गरेसँगै यहाँका मौरीपालक किसान थप उत्साहित भएका छन् । जोन कार्यक्रममार्फत किसानलाई मौरीको घार, मह काढ्ने मेसिन, मैन बाक्सालगायतका सामग्री प्रदान हुँदा किसानलाई ऊर्जा थप्ने काम भएको छ ।

खैरहनी नगरपालिका–४ की सरस्वती गिरी विगत पाँच वर्षदेखि मौरीपालन पेसामा हुनुहुन्छ । उहाँले ५० वटा घारबाट मौरीपालन सुरु गर्नुभएको थियो । “व्यवसायकै क्रममा चरनमा लैजाने क्रममा मौरीलाई विष प्रयोग गरी मारियो, कुनै समय ९० वटा घार बनाएकी थिएँ तर अहिले २५ वटामा सीमित छ । घार अझै थप गर्ने योजनामा छु ।” उहाँले मौरी जोन कार्यक्रमले आफूहरुमा उत्साह थपेको बताउनुभयो ।   

भरतपुर महानगरपालिका–११ का दामोदर देवकोटा विगत १२ वर्षदेखि मौरीपालन व्यवसाय गर्दै आउनुभएको छ । उहाँ मौरी जोनमा जोडिएपछि थप उत्साह मिलेकोे बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पहिला एक सय घार मौरी थिए । अहिले यो बढाएर एक सय ३५ घार पु¥याएको छु ।” मौरी जोनमा जोडिएका कृषकलाई हरेक वर्ष कुनै न कुनै कार्यक्रम जोड्ने हुँदा आफूहरुमा उत्साह थपिएको देवकोटाले बताउनुभयो ।

स्थानीयस्तरमा उत्पादित महको मूल्य र भारतबाट आयातित महको मूल्यमा अन्तर रहेकाले बजारीकरणमा केही समस्या देखिए पनि प्राविधिक विषयमा जोन कार्यक्रमको सहयोगले सहज भएको उहाँको भनाइ छ । बजारमा यहाँको उत्पादन उधारोमा पठाउनुपर्ने बाध्यता रहेको देवकोटाले बताउनुभयो ।

जोन कार्यक्रममा जिल्लाका एक सय २७ जना कृषक सहभागी छन् । जिल्लामा आर्थिक वर्ष २०७५÷७६ वटा मौरी जोनको कार्यक्रम सुरु भएको हो । कार्यालयका सूचना अधिकारी इन्द्र शर्मा ढुङ्गानाले भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, कालिका नगरपालिका र राप्ती नगरपालिकाका किसान यो कार्यक्रममा जोडिएको बताउनुभयो ।

ढुङ्गानाका अनुसार जोन कार्यक्रमको सुरुआती समयमा जिल्लामा छ हजार तीन सय ५० मौरीका घार रहेकामा अहिले यो सङ्ख्या बढेर ११ हजार नौ सय पुगेको छ । जिल्लाबाट वार्षिक चार सय ४७ मेट्रिकटन मह बाहिर पठाउने गरिएको उहाँले बताउनुभयो । महको राष्ट्रिय प्रतिघार उत्पादन १६ दशमलव २६ किलो भए पनि जिल्लामा भने उत्पादन बढी हुने गरेको ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा प्रतिघार २५ दशमलव ६ किलो मह उत्पादन हुँदै आएको छ ।

उहाँले भन्नुभयो, “जोन कार्यक्रममा जोडिएका किसानलाई हामीले सहयोग गर्दै आएका छौँ । उहाँहरुमा उत्साह बढेको छ ।” यहाँ उत्पादित महको मुख्य बजार चितवनसहित बुटवल, काठमाडौँ र पोखरालगायत सहर रहेका छन् । यहाँ मेरीफेरा र सेरेना जातको मौरी पालन भइरहेको छ । जोनबाट वार्षिक तीन सय चार दशमलव ६४ मेट्रिकटन मह उत्पादन हुँदै आएको ढुङ्गानाले जानकारी दिनुभयो ।

असोज ११ मा प्रदर्शन हुने फिल्म ‘आँखा’को टिजर सार्वजनिक

काठमाडौं । यसैसाता पोस्टर सार्वजनिक गर्दै आगामी असोज ११ लाई सार्वजनिक प्रदर्शन मिति तोकेको फिल्म आँखा को टिजर सार्वजनिक भएको छ । बिहिबार निर्माण ब्यानर लामा सिनेमाजले फिल्मको डेढ मिनेट लामो टिजर युट्युवमार्फत वर्ल्ड प्रिमियर गरेको हो ।

सार्वजनिक टिजर मर्मस्पर्शी देखिन्छ । टिजरमार्फत निर्देशक जौन योन्जनले फिल्मले उठान गरेको विषयवस्तुलाई प्रकाश पार्ने कोशिश गरेका छन् । काठमाडौंको बागमती नदी किनारको सुकुम्बासी बस्तीमा बस्दै आएका मानिसको कथालाई फिल्मले भावनात्मक रूपमा उठाएको टिजरबाट प्रस्टिन्छ ।

पछिल्लो समय बागमती किनारको सुकुम्बासी बस्ती व्यवस्थापनको विषयमा राज्य संयन्त्र र काठमाडौं महानगरबीचको रस्साकस्सी अनि स्थानीय बासिन्दाहरूले गर्दै आएको आन्दोलनको झझल्को आँखा टिजरले दिन्छ ।लेखक तथा निर्देशक योन्जनले काठमाडौं महानगरका प्रमुख बालेन शाहले उठाइरहेको सुकुम्बासी व्यवस्थापनको मुद्धा र त्यसमा उत्पन्न भइरहेको परिस्थितिलाई कथावस्तु बनाएको भान हुन्छ ।

फिल्मको प्रमुख अभिनयमा रहेका प्रायः कलाकारहरूलाई टिजरमा स्थान दिइएको छ । यो फिल्ममा कलाकारहरू स्मिता लामिछाने, आरके मेहता, विजय बराल, नीशा अधिकारी, बुद्धि तामाङ, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा र अभयराज बराल मुख्य अभिनयमा छन् । बाल कलाकारको भुमिकामा प्रसन राई छन् ।

लामा सिनेमाजको ब्यानर तथा ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको फिल्मलाई आरआर फिल्मस्’ले प्रदर्शन तथा वितरण अधिकार लिएको छ । निर्देशक योन्जनकै कथा, पटकथा रहेको फिल्मको निर्माता पनि योन्जन नै हुन् भने नारायणप्रसाद बराल कार्यकारी निर्माता रहँदा राम बस्नेत लाइन प्रोड्यूसर छन् । सह(निर्मातामा रेनुका कार्की ढोली छिन् ।

फिल्ममा कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन छ । आलोक शुक्लाको छायांकन रहेको फिल्म ‘आँखा’मा संगीत दिपक आरजे र जयन जे वाइवाको छ । फिल्ममा पार्श्व संगीत गंगा थापाको र ध्वनी मुद्रण किशोर आचार्यको छ ।

बाढीबाट भजनीका पशुचौपाया जोखिममा

भजनी (कैलाली), ८ भदौः भजनीका सूर्यप्रसाद चौधरीलाई अहिले आफ्नोभन्दा बढी चिन्ता पशुचौपायाको छ । एक हलगोरु, दुई वटा भैँसी पाल्नुभएका सूर्यप्रसादलाई बाढीमा आफ्नो ज्यान जेनतेन चलाउनसके पनि चौपायाको आहारा खोज्न र सुक्खा ठाउँमा राख्न निकै समस्या छ । “घरमा भएको पराल डुबानमा प¥यो । कतै ओभानो नभएपछि गोरु भैँसीलाई हुलाकी सडक छेउमा राखेका छौँ”, उहाँ भन्नुहुन्छ, “जताततै डुबान छ । चौपायालाई खुवाउनलाई घाँस छैन । चरनका लागि ओभानो ठाउँ छैन ।”

वर्षात्को समयमा भजनीका अधिकांश क्षेत्र डुबानमा पर्ने गरेका छन् । यस वर्ष अहिलेको डुबान दोस्रोपटकको  हो । यसअघि गत असार २० गते आएको एक पटक भजनी विस्थापित भइसकेको थियो । डुबानका कारण महिनौँसम्म त्यस क्षेत्रका नागरिक  त्रासमा जनजीवन बिताउँदै आएका हुन्छन् । डुबान नहुने उच्च क्षेत्रको खोजीमा हुने बाढीपीडित पशुचौपाया र बालबालिकालाई सुरक्षामा बढी चिन्तित हुने गर्छन् ।

“कतिबेला डुबान हुन्छ पत्तै हुँदैन । यहाँ घाम लागेका बेला पनि बाढी आएको थुप्रै उदाहरण छन्”, स्थानीय जुगराम चौधरी भन्नुहुन्छ, “आफू त जसोतसो ज्यान जोगाउन विकल्प खोज्न सक्छौँ तर बालबालिका र चौपायालाई व्यवस्थापन गर्न निकै तनाव हुन्छ ।”

भजनीकै सागर चौधरीले यस वर्ष डुबानबाट समस्या नहुने गरी उच्च स्थानमा घर निर्माण गर्नुभयो । नगरपालिकाको आर्थिक सहयोगमा थप जनश्रमदान गरेर निर्माण भएको घर उच्च बन्यो तर जाने बाटो नहुँदा घर बनाएको कुनै अर्थ नभएको उहाँको भनाइ छ । 

“अहिलेसम्म बाढीले घर डुबानमा नपरे पनि घरसम्म जाने बाटो नहुँदा ट्युबको सहारामा घर जानुपर्ने बाध्यता बन्यो”, उहाँले भन्नुभयो, “घर वरिपरि डुबान हुँदा समस्या भएको छ ।”

सोही ठाउँका चुल्लुरामले चौधरीले एक दर्जन बाख्रा, भैँसी र एकहल गोरु पाल्नुभएको छ । उहाँलाई पनि बाढीमा पशुचौपाया जोगाउनकै चिन्ता छ । हुलाकी सडकमा आश्रय लिइरहनुभएका उहाँले चौपाया पनि हुलाकी सडकमा सार्नुभएको छ । 

“घरमा भएको चौपायाको आहारा सबै डुबानमा छ । कताबाट के ल्याएर चौपायाको पेट भर्ने भन्ने चिन्ता छ”, उहाँले भन्नुभयो, “आफू चाउचाउ, चिउरा खाएर पनि दिन काट्न सकिने भए पनि चौपायालाई देखेर निकै पीडा हुन्छ ।” गोरु नभए खेती लगाउन र केही सामानको ढुवानी गर्न समस्या हुने गरेको बताउने चुल्लुराम बर्सेनिको पीडाले आजित बनाएको बताउनुहुन्छ ।

पशुचौपाया अनि बालबालिकासँगै त्यस क्षेत्रको अर्को महत्वपूर्ण समस्या पिउने पानीको पनि छ । बाढी र डुबानले जमिन सतह जलमग्न हुँदा पिउने पानीको व्यवस्थापन गर्न समस्या हुने गरेको स्थानीय पर्देशु चौधरी बताउनुहुन्छ । प्यास मेटाउन फोहर पानी पिउनुपर्ने बाध्यतामा बाढीपीडित रहेको उहाँको भनाइ छ । 

“पानीका स्रोत डुबानमा पर्दा पिउने पानी नपाउँदा समस्या हुने गरेको छ । बोतल पानी किनेर खानसक्ने सबैसँग क्षमता पनि छैन”, उहाँ भन्नुहुन्छ, “राज्यले खानेपानीको व्यवस्थापन गर्न सकेको भए पनि बाढी प्रभावितलाई दूषित पानी पिउनुपर्ने बाध्यता हुने थिएन ।”

भजनी नगरपालिकामा हालसम्म पाँच वटा खानेपानी आयोजना रहेको भए पनि एउटा खानेपानी आयोजनामात्रै सञ्चालनमा छ । सो आयोजनाले बजार क्षेत्र अर्थात् बाढीको जोखिम कम भएको क्षेत्रका उपभोक्तालाई सेवा प्रदान गरेको छ । 

“समस्या कति छ भनेर साध्य छैन । वर्षात्ले भजनीमा दुःख ल्याएर आउने गरेको छ”, भजनी नगरपालिकाका नगरप्रमुख केवल चौधरी भन्नुहुन्छ, “स्थानीय तहले चाहेर भजनीको समस्या समाधान हुँदैन । सङ्घ सरकारले हाम्रो व्यथालाई बुझ्न सकेको छैन ।”

कन्सुलर सेवा दिन फ्रान्स दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल), ८ भदौः पोर्चुगलमा कागजात प्रमाणीकरणसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने भएको छ ।

कागजात प्रमाणीकरणलगायतका कन्सुलर सेवा दिन दूतावासको टोली यही अगष्ट २९ मा पोर्चुगल आउन लागेको दूतावासले जनाएको छ । प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई लिस्बनबाटै कन्सुलर सेवा दिने गरी टोली पठाउन लागिएको पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले राससलाई जानकारी दिनुभयो ।

पोर्चुगलमा कागजात प्रमाणीकरणसम्बन्धी हाल देखा परेको समस्यालाई मध्यनजर गरी परराष्ट्र मन्त्रालयसँगको समन्वयमा टोली पठाउने तयारी गरिएको राजदूत भट्टराईले बताउनुभयो । टोलीले कन्सुलर विभाग काठमाडौँले प्रमाणीकरण गरेको प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट), जन्मदर्ता, नाता प्रमाणित, विवाह दर्तालगायतका कागजात प्रमाणीकरणका साथै अन्य कन्सुलर सेवा प्रदान गर्ने उहाँले बताउनुभयो ।

राजदूत भट्टराईका अनुसार घुम्ती सेवाका लागि दूतावासका दुई जना कर्मचारी पोर्चुगल आउने तय भएको छ भने टोलीले करिब एक सातासम्म राजधानी लिस्बनमा रहेर कन्सुलर सेवा प्रदान गर्ने बताइएको छ ।

गैरआवासीय नेपाली सङ्घ पोर्चुगलको लिस्बनस्थित कार्यालयबाट प्रवाह गरिने घुम्ती सेवा सेप्टेम्बर ३ तारिखसम्म सञ्चालन हुने दूतावासले जनाएको छ । गैरआवासीय नेपाली सङ्घ पोर्चुगलसहित यहाँ क्रियाशील नेपाली सङ्घसंस्थाको समन्वय र सहजीकरणमा घुम्ती सेवा सञ्चालन गर्न लागिएको हो ।

टोली आउने भएपछि यहाँको आवास अनुमतिपत्र (रेसिडेन्सी कार्ड) का लागि बायोमेट्रिकको तयारीमा रहेका नेपालीहरु बढी लाभान्वित हुने भएका छन् । दुई साताअघि मात्रै राहदानी विभाग काठमाडौँ र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोलीले राजधानी लिस्बनमा राहदानी सेवासम्बन्धी घुम्ती शिविर सञ्चालन गरी तीन हजार आठ सयभन्दा बढी नेपालीलाई राहदानी सेवा दिएको थियो ।

आँबुखैरेनी बस दुर्घटनाः मृतकका शवको परीक्षण सुरु

चितवन, ८ भदौः पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण सुरु गरिएको छ । आज बिहानैदेखि भरतपुर अस्पतालमा शवको परीक्षण सुरु गरिएको हो ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको भरतपुरमा मृत्यु भएको हो ।

आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति नै चितवन ल्याइएको र अहिले शव परीक्षण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । शव परीक्षणपश्चात् भैरहवा हुँदै भारत पठाइने उहाँले जानकारी दिनुभयो ।

सो दुर्घटनामा १६ जना घाइते भएको र उनीहरुलाई शुक्रबार नै हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको थियो ।

एसिया–प्रशान्त क्षेत्रमा विपद्को जोखिम वृद्धि हुने प्रक्षेपण

संयुक्त राष्ट्र सङ्घको विपद् जोखिम न्यूनीकरण कार्यालय (युएनडीआरआर)ले एशिया–प्रशान्त क्षेत्रमा विपद्को जोखिम सन् २०३० सम्म ४० प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ ।

“यो प्रक्षेपणले सन् २०१५ मा ‘सेन्डाई फ्रेमवर्क’मा निर्धारण गरिएका विपद् जोखिम न्यूनीकरणको लक्ष्यबाट हामी टाढा गइरहेको सङ्केत गरेको छ । हामीले जोखिम न्यूनीकरणभन्दा पनि बढाउनुको साटो जोखिम बढाइरहेको बताएको छ”, युएनडीआरआरको एसिया प्रशान्त क्षेत्रका क्षेत्रीय प्रमुख मार्को टोस्कानो–रिभाल्टाले विपद् जोखिम न्यूनीकरणसम्बन्धी एसिया–प्रशान्त मन्त्रीस्तरीय सम्मेलनमा भन्नुभयो ।

सेन्डाई फ्रेमवर्क विपद् जोखिम न्यूनीकरणका लागि निर्धारण गरिएको विश्वव्यापी प्रतिबद्धता हो ।उक्त सम्मेलन आगामी अक्टोबरमा फिलिपिन्सले आयोजना गर्ने छ ।

चाडपर्वका समयमा दैनिक उपभोग्य वस्तुको अभाव हुँदैन – मन्त्री भण्डारी

काठमाडौँ – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडपर्वका समयमा दैनिक उपभोग्य वस्तुको कुनै अभाव नहुने स्पष्ट पार्नुभएको छ ।

प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबारको बैठकमा उहाँले उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री भण्डारीले चाडबाडका समयमा चिनी, चामललगायत दैनिक अत्यावश्यक वस्तुको अभाव नहुने गरी सहज आपूर्ति र सुपथ मूल्यमा बिक्री गर्न सरकारले कुनै कसर नराख्ने स्पष्ट पार्नुभयो । कालोबजारी र कृत्रिम अभाव हुन नदिन बजार अनुगमनलाई प्रभावकारी बनाइने उल्लेख गर्दै उहाँले बजारलाई व्यवस्थित बनाउन समितिले दिने निर्देशन सरकारले पूर्ण पालना गर्ने बताउनुभयो ।

“चिनीमा कालोबजारी र कृत्रिम अभाव तथा मूल्यमा तलमाथि नहोस् भनेर उत्पादन र आयातको परिणाम विश्लेषण गरेर एकीन गर्छौं”, मन्त्री भण्डारीले भन्नुभयो, “आगामी दिनमा चिनीको अभाव हुने अवस्थाका बारेमा समितिमा छलफलको विषय नै नबन्ने गरी मन्त्रालयले तयारी गर्नेछ ।” उहाँले अन्तरमन्त्रालय समन्वय गरेर आवश्यक प्रबन्ध मिलाइने विश्वास दिलाउनुभयो ।

सहज आपूर्ति र सुपथ मूल्य पसल सञ्चालन गर्न निर्देशन

समितिले दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति र सुपथ मूल्य पसल सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले चाडपर्वका समयमा उपभोग्य वस्तुको कालोबजारी र कृत्रिम अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको समिति सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो ।

प्रदेश सरकार सुशासनका लागि प्रतिबद्ध छ: मुख्यमन्त्री शाह

बाजुरा – सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको समृद्धि र विकासमा जोड्ने गरी सरकारले आफ्नो दायित्व र कर्तव्य पूरा गर्ने बताउनुभएको छ ।

उहाँले प्रदेशलाई समृद्धि र विकासमा लैजाने भ्रष्टाचार र अनियमितता हटाउँदै र सुशासनका लागि प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । धनगढीमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिले गरेको बधाई तथा चियापान कार्यक्रममा मुख्यमन्त्री शाहले प्रदेश सरकारले लिएको लक्ष्यलाई पूरा गर्नका लागि राजनीतिक दल र सर्वसाधारणलाई रचनात्मक सुझाव सल्लाह दिन आग्रह गर्नुभयो ।

उहाँले प्रदेश सरकारको आफू पहिलो पटक मुख्यमन्त्री हुँदा लिएका नीतिलाई कार्यान्वयन गर्न चुनौती भए पनि आफू नेतृत्वको वर्तमान सरकारले नीतिको कार्यान्वयन गर्ने जानकारी गराउनुभयो ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह थापाले प्रदेश सरकारले सञ्चालन गर्ने कुनै पनि योजनामा बिचौलियाको प्रभाव नपर्ने गरी सरकारले योजना छनोट गरी कार्यान्वयन गर्ने बताउनुभयो ।

भाद्र कृष्ण पञ्चमी: कोलमती घाटस्नान गरिँदै

काठमाडौँ, ८ भदौः प्रत्येक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन गरिने कोलमती घाट स्नान आज गरिँदैछ । यस दिन कागेश्वरी नगरपालिका–४ अन्तर्गत डाँछीमा कोलमती घाटस्नान गरे पाप पखालिएर पुण्य प्राप्त हुने स्कन्द पुराणअन्तर्गतको हिमवत्खण्ड (नेपाल माहात्म्य) लगायत पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ ।

वाग्मती नदीको तीर वर्णनका क्रममा नेपाल माहात्म्यको १२८ नं अध्यायमा कोलमती तीर्थ र कोलमतीघाटका बारेमा वर्णन गरिएको छ । कोलमतीघाटमा भाद्रकृष्ण पञ्चमीमा स्नान र दर्शन गरेमा करोडौँ गोदान गरेबराबरको फल मिल्ने वर्णन धार्मिक ग्रन्थमा गरिएको छ ।

कोललाई बराह भनिने भएकाले श्वेतबाराहीबाट बगेर आएको नदीलाई कोलमती भनिएको पण्डित बालमुकुन्द देवकोटा बताउनुहुन्छ । कोलमती वाग्मतीमा मिसिने घाटलाई कोलमतीघाट भनिन्छ ।

कोलमती र वाग्मती मिसिने स्थानमा चैलमती मिसिएर त्रिवेणीघाट बनेकाले यस स्थलको महत्व पौराणिक एवं शास्त्रीय ग्रन्थमा वर्णन गरिएको छ । वामन अवतार लिनुभएका भगवान् विष्णुलाई सृष्टिकर्ता ब्रह्माले जल चढाउँदा कपडामा परेर खसेकाले चैलमती नाम रहेको वर्णन ती ग्रन्थमा पाइन्छ । चैलमतीलाई हाल शब्द अपभ्रंश भई चौलमती पनि भनिन्छ । यहाँ ब्रह्माले वामन रूपी भगवान् विष्णुलाई जल चढाउँदा खसेको शिलालाई अहिले पनि चौलनारायणका रूपमा पूजाआराधना गरिन्छ ।

कोलमती घाटभन्दा केही माथि कोलमतेश्वर महादेव मन्दिर रहेको छ । हाल यहाँ नेपालकै पहिलो लक्ष्मी ह्यग्रीव मन्दिर पनि निर्माण गरिएको छ । रुरु पीठाधीश स्वामी जगदीश प्रपन्नाचार्यको सक्रियतामा यहाँ लक्ष्मी ह्यग्रीव मन्दिर निर्माण गरेपछि आन्तरिक एवं बाह्य धार्मिक पर्यटकको भीड लाग्न थालेको छ ।

मुलुकको समृद्धिका लागि सक्षम युवा नेतृत्व आवश्यक हुनेमा प्रदेश प्रमुख भट्टको जोड

गण्डकी – गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले मुलुकको समृद्धिका लागि सक्षम युवा नेतृत्व आवश्यक हुनेमा जोड दिनुभएको छ । पोखरा जेसीजद्वारा पोखरामा आयोजित चार दिवसीय व्यापार प्रशिक्षण कार्यक्रम ‘जेसीआई नेपाल बिजनेश एकेडेमी’को उद्घाटन गर्दै उहाँले सक्षम युवा नेतृत्वले राष्ट्रको समग्र विकासमा योगदान गर्न सक्ने बताउनुभयो ।

“सक्षम नागरिकको उत्पादन हुन सकेमा समाज र सिङ्गो राष्ट्रको विकास हुनेछ । असल र क्षमतावान व्यक्तित्वले मात्र मुलुकलाई सही नेतृत्व दिनसक्छ”, उहाँले भन्नुुभयो, “यस्ता नेतृत्व निर्माणमा जेसीज जस्ता संस्थाको महत्वपूर्ण हात रहेको छ ।”

कर्मठ युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जेसीजले असल, योग्य युवाहरुको उत्पादन गरी राष्ट्र, राष्ट्रियता र समाजप्रति जिम्मेवार नागरिक निर्माणमा योगदान गरेकोमा उहाँले प्रशंसा गर्नुभयो ।

‘जेसीआई नेपाल बिजनेश एकेडेमी’मा हुुने प्रशिक्षणले युवाहरूलाई व्यवसायको सुरुवात गर्न, व्यवस्थापन गर्न र प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक ज्ञान र सीपहरुको आर्जनमा ठूलो भूमिका खेल्ने विश्वास लिइएको छ ।

चितवनमा अण्डाको माग बढ्यो, मूल्य बढाइयो

चितवन, ८ साउनः भदौ लागेपछि चितवनमा अण्डाको माग बढेको छ । साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यतालगायतका कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन् ।

दाउन्ने एग्रो फार्म लिमिटेडका कार्यकारी निर्देशक विनोद पोखरेलले भदौ लागेसँगै अण्डाको माग बढेको बताउनुभयो । उहाँका अनुसार माग बढेसँगै फार्महरुले अण्डाको मूल्य बढाएका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादकले मात्रै मूल्य तय गर्न निर्देशन गरेपछि फार्महरुले आफैँ मूल्य निर्धारण गर्ने गरेका छन् ।

पोखरेलका अनुसार आजदेखि बिक्री मूल्य बढाइएको छ । दाउन्ने एग्रो फार्मले चितवनलाई आधार बनाएर एक्सल अण्डा प्रतिक्रेट (३० वटाको) रु पाँच सय पाँच तय गरेको छ । ठूलो अण्डा रु चार सय ९५ र मध्यम अण्डाको मूल्य रु चार सय २५ तोकिएको हो ।

हिमचुली पोल्ट्री फार्मका अध्यक्ष राजेन्द्र लामिछानेले आफ्नो फर्मले पनि अण्डाको मूल्य बढाएको बताउनुभयो । उहाँले एक्सेल अण्डाको मूल्य प्रतिक्रेट रु पाँच, ठूलो र मध्यमको रु १० ले बढाइएको बताउनुभयो । सबै फार्महरुले मूल्य बढाएको उहाँले जानकारी दिनुभयो । लामिछानेले भन्नुभयो “मूल्य बढ्दा पनि लागत मूल्यमा पुग्न अझै सकिएको छैन ।”

अण्डा उत्पादक कृषकहरु नेपाल लेयर्स कुखुरा पालक सङ्घ गठन गरेर बजारीकरणमा जुटेका छन् । सङ्घका अध्यक्ष समेत रहनुभएका पोखरेलले ७५ प्रतिशत किसान विस्थापित भइसकेको उल्लेख गर्दै केही किसानहरु फेरि व्यवसायमा फर्किएको बताउनुभयो । साउनमा बिक्री हुन बाँकी अण्डाहरु बिक्री भईसकेकाले अब केही सहज बन्ने पोखरेलको भनाई छ ।

खिलुङ काली पोल्ट्री फार्मका सञ्चालक भेषराज अर्यालले भदौ लागेसँगै व्रतहरु सकिएको, पहाडी क्षेत्रका केही भागका सडकमा केही सुधार आएको, चाडपर्व सुरु भएको, विद्यालय, क्याम्पस सञ्चालनमा आएका, पर्यटकको आगमन बढेकाले अण्डाको माग बढेको बताउनुभयो ।

उद्योग सङ्घ चितवनका पूर्वअध्यक्ष पोल्ट्री व्यवसायी त्रिलोचन कँडेलले माग बढेको तर उत्पादन घटेको बताउनुभयो । झण्डै दुई महिना अघि २५ देखि २६ लाख दैनिक अण्डा उत्पादन हुँदै आएकोमा अहिले घटेर २३ देखि २४ लाखमा झरेको उहाँले जानकारी दिनुभयो । केही महिनाअघि विज्ञहरुले अण्डाको लागत मूल्य प्रतिगोटा रु १६ दशमलव ५६ कायम गरेका थिए ।

तनहुँ बस दुर्घटनाः मृतक सबैको शव परीक्षण चितवनमा हुने

दमौली (तनहुँ), ८ भदौः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा हुने भएको छ ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति चितवन पठाइएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो ।

दुर्घटनामा १६ जना घाइते भएको र उनीहरुलाई शुक्रबार नै हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको थियो । उनीहरुको त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको प्रनाउ रायले बताउनुभयो । मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका रहेको प्रहरीले जनाएको छ ।

दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक शिव थापाको नेतृत्वमा दश जना र जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी उपरिक्षक वीरेन्द्रबहादुर शाहीको नेतृत्वमा ५१ जना, सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन गण कुरिनटारबाट प्रहरी नायब उपरीक्षक विजय हमालको नेतृत्वमा ३५, नेपाली सेनाको कालीभञ्जन गण (इ) बाट सेनाको टोली उद्धारमा जुटेको थियो ।

सुदूरपश्चिममा गौरा पर्व सुरु, आज बिरुडा पञ्चमी मनाइँदै

दोधारा चाँदनी (कञ्चनपुर), ८ भदौः सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने पर्वको आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै छ । आजको दिनलाई बिरुडा पञ्चमी समेत भनिन्छ । आज ब्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ ।

तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले शृङ्गारी त्यसभित्र पञ्च अन्न (मास, कलौँ, गहत, गहुँ र गुरुस) भिजाएर बिरुडा बनाउने चलन छ । बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ । गौरादेवीको पुजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ ।

पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रुपमा सुरु हुने जानकार गोमती भट्टले बताउनुभयो । “एक महिना अघिदेखि नै शुद्ध साकाहार र बह्मचार्यको पालना गरी बिरुडा पञ्चमीका दिन महिलाहरुले मास, कलौँ, गहत, गहुँ र गुरुस मिलाएर तामाको भाडामा भिजाउने गरिन्छ” उहाँले भन्नुभयो, “बिरुडा भिजाँइदा माङ्गलकि सगुन फाँग गाउँछौ ।” बिरुडा भिजाउने बेला महिलाले स्थानीय भाषामा रहेको सगुन तथा बिरुडा भिजााउने बेलाको फाग गाउने चलन छ ।

फागमा सबै नारीहरु गौरा पर्वको व्रत लिन लागेका र आफूले पनि यो व्रत लिने इच्छा गरेकाले बिरुडाका लागि आवश्यक दाल तथा अन्न सामग्री खोजीदिन महादेव (स्थानीय भाषामा मयासर भनिने) लाई नगरमा गएर मागिल्याउन आग्रह गरेको कुराकानीबाट कथाको आरम्भ हुने पण्डित कविराज भट्टले बताउनुभयो ।

“मयासरले यो वर्ष आफ्नो घरमा केही पनि नभएको हुनाले अर्को वर्ष सुरु गर्नभन्दा गौराले जिद्दि गरेपछि गौराको आग्रह बमोजिम नगरमा कलौं बिरुडी खोज्न गएको प्रसङ्ग यस फागमा आउँछ”, भट्टले भन्नुभयो, “यो पर्व पुरुषको व्रतबन्ध गरेजस्तै महिलाले दुवधागो लाउने पर्व पनि हो ।” यसरी भिजाएका बिरुडालाई षष्ठीका दिन पखाल्ने प्रचलन रहेको उहाँले बताउनुभयो ।

सप्तमी र अष्टमीका दुई दिन गौराका विशेष दिनका रुपमा लिइन्छ । सप्तमीका दिन धानसँगै उम्रिएको साउँ (धानजस्तै देखिने घाँस)बाट गौराको प्रतीमा बनाई ‘गौराघर’मा भित्र्याउन परम्परा रहेको सरस्वती अवस्थीले बताउनुभयो । “गौरा हाम्रो ठूलो पर्व हो पुरुषजस्तै नारीले पनि यज्ञोपवितका रुपमा दुवधागो लगाउने गछौँ”, उहाँले भन्नुभयो, “गौरामा व्रत बसी पूजाअर्चना गर्दा श्रीमान् तथा घरपरिवारका सदस्यहरु निरोगी, दीर्घायु, परिवारमा सुख समृद्धि हुने विश्वास छ ।”

अष्टमी अर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मङ्गलगानका साथमा गौरा नचाइन्छ । त्यसैक्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ । जहाँ विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाका साथमा नचाउने गरिन्छ । आजकै दिनदेखि ठाउँठाउँमा देउडा समेत खेलिने प्रचलन छ ।

प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान् शिवकी अर्धाङ्गिीनी पार्वतीलाई गौरा देवीका रुपमा पूजाअर्चना गरिँदै आइएको छ । शिवगौरीको स्थानीय लोकरीतिअनुसार पूजाअर्चना गरिने पर्व नै गौरा पर्व हो । यो पर्व अगस्ती ताराको उदयका हिसाबले शुक्ल या कृष्ण दुवै पक्षमा पर्ने गर्दछ । शुक्ल पक्षमा परेको गौरालाई ‘उज्याली गौरा’ भनिन्छ भने कृष्ण पक्षमा परेको गौरालाई ‘अन्यारी गौरा’ भनिन्छ । यी दुवै गौरालाई अति पवित्र मानिए पनि उज्याली गौरालाई विशेष महत्वका साथ हेर्ने गर्दछन ।

गौराकै अवसरमा आजदेखि सुदूरपश्चिमका विभिन्न स्थानमा गौरा कार्यक्रम राखिएको छ । कञ्चनपुरमा पनि महाकाली साहित्य सङ्गमलगायतका संस्थाहरुले गौराको अवसरमा विभिन्न कार्यक्रम राखेका छन ।

साहित्यकार रमेश पन्त मीतबन्धुले आजदेखि महेन्द्रनगरस्थित खुला मञ्चमा गौरा महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो । “गौराको अवसरमा सुदूरपश्चिमका लोकगीत देउडा डुस्को, धुमारीलगायतका गतिविधि गर्छौं”, उहाँले भन्नुभयो, “परम्परालाई जोगाउन र पुस्तान्तरणका लागि पनि महोत्सव आयोजना गरिएको हो ।”

रोपाइँलाई अनुकूलन मनसुन : देशभर ९८ प्रतिशत रोपाइँ

काठमाडौँ- यस वर्ष धान रोपाइँका लागि मनसुन अनुकूल रहँदा ९८ दशमलव पाँच प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार अघिल्लो वर्ष ९४ दशमलव ६ प्रतिशतमा रोपाइँ सम्पन्न भएकामा यस वर्ष झन्डै चार प्रतिशत रोपाइँ बढेको छ ।

मुलुकभर १३ लाख ९८ हजार नौ सय ८५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने क्षेत्रमध्ये १३ लाख ७८ हजार ६ सय ११ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार कोशी प्रदेशमा ९९ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कोशी प्रदेशमा करिब दुई लाख ७६ हजार तीन सय ८६ हेक्टर रोपाइँ हुने क्षेत्रफल रहेकामा हालसम्म दुई लाख ७५ हजार दुई सय ६७ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो । अघिल्लो वर्ष भदौ ७ सम्म कोशी प्रदेशमा ९७ दशमलव सात प्रतिशतमा रोपाइँ सम्पन्न भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी, मधेस प्रदेशमा ९७ दशमलव तीन प्रतिशतमा रोपाइँ सम्पन्न भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार यस प्रदेशमा तीन लाख ८६ हजार एक सय ५० हेक्टर रोपाइँ हुने क्षेत्र रहेकामा तीन लाख ७५ हजार ६ सय १४ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । अघिल्लो वर्ष मधेस प्रदेशमा ८९ दशमलव दुई प्रतिशतमा मात्रै रोपाइँ सम्पन्न भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी, बागमती प्रदेशमा यस वर्ष ९९ दशमलव दुई प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयले जानकारी दिएको छ । तथ्याङ्कअनुसार बागमतीमा एक लाख १२ हजार दुई सय ७३ हेक्टर खेतीयोग्य क्षेत्रफल रहेकामा एक लाख ११ हजार तीन सय ५१ क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको कृषि मन्त्रालयले जानकारी दिनुभयो । अघिल्लो वर्ष यस प्रदेशमा ९३ दशमलव तीन प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

यस वर्ष गण्डकी प्रदेशमा भने ९७ दशमलव ८ प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ । यस प्रदेशमा धान रोपाइँ हुने क्षेत्रफल ९६ हजार ५३ रहेकामा ९३ हजार नौ सय २१ क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो । अघिल्लो वर्ष गण्डकी प्रदेशमा ९५ दशमलव तीन प्रतिशतमा रोपाइँ सम्पन्न भएको थियो ।

यसैगरी, लुम्बिनी प्रदेशमा ९८ दशमलव तीन प्रतिशतमा यस वर्ष रोपाइँ सम्पन्न पनि मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार यस प्रदेशमा तीन लाख ११ हजार ६ सय ४३ हेक्टर धान रोपाइँ हुने क्षेत्रफल रहेकामा तीन लाख ६ हजार तीन सय ७७ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । अघिल्लोे वर्ष लुम्बिनी प्रदेशमा ९५ प्रतिशत मात्रै रोपाइँ भएको थियो ।

यसैगरी, कर्णाली प्रदेशमा यस वर्ष ९९ दशमलव दुई प्रतिशतमा रोपाइँ सम्पन्न भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । कर्णाली प्रदेशमा ४१ हजार नौ सय चार हेक्टर धान रोपाइँ हुने क्षेत्रफल रहेकामा यस वर्ष ४१ हजार पाँच सय ७८ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । अघिल्लो वर्ष ९८ दशमलव पाँच प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

यसैगरी यो वर्ष सुदूरपश्चिम प्रदेशमा शत्प्रतिशत नै रोपाइँ सम्पन्न भइसकेको मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । यस प्रदेशमा एक लाख ७४ हजार पाँच सय ७६ हेक्टर धान रोपाइँ हुने क्षेत्रफल रहेकामा एक लाख ७४ हजार पाँच सय एक हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । अघिल्लो वर्ष सुदूपश्चिम प्रदेशमा भने ९४ दशमलव ६ प्रतिशत रोपाइँ भएको थियो ।

कृषि मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले यस वर्ष रासायनिक मलको सहज उपलब्धता र किसानका लागि मनसुन सुखद रहेको कारण झन्डै चार प्रतिशतले रोपाइँ बढेको जानकारी दिनुभयो । “अघिल्लो वर्षहरूका तुलनामा यस वर्ष धान रोपाइँको अवस्था राम्रो रहेको छ,” उहाँले भन्नुभयो, “यदि अब खडेरी परेन र धान भित्र्याउने बेलामा ठूलो वर्षा भएन भने १० प्रतिशतले धान उत्पादन बढ्नेछ ।”

अधिकांश स्थानमा रोपाइँ गर्न आकाशे पानीकै भर पर्नुपर्ने अवस्था रहेको र वर्षा राम्रो भए रोपाइँ पनि समयमा नै सकिने जोशीले जानकारी दिनुभयो । “अधिकांश सिँचाइ सुविधा पुगेका क्षेत्रमा मात्रै धान रोपाइँ समयमा नै हुने गर्छ, नत्र आकाशे पानीकै भर पर्नुपर्छ,” उहाँले भन्नुभयो ।

तथ्याङ्कअनुसार सबैभन्दा बढी रोपाइँ सुदूपश्चिममा भएको छ भने कम रोपाइँ मधेस प्रदेशमा भएको देखिन्छ । पूर्व क्षेत्रमा ढिलोगरी धान राप्ने भएकाले पनि रोपाइँ कम भएको बताउनुहुन्छ, मन्त्रालयका सूचना अधिकारी जोशी । सबै प्रदेशमा नै अघिल्लो वर्षको तुलनामा यो वर्ष बढी रोपाइँ भएको छ । सुदूरपश्चिममा सबैभन्दा चाँडो रोपाइँ सुरु गर्ने भए पनि अन्य प्रदेशको तुलनामा सुदूरपश्चिममा बढी रोपाइँ भएको जोशीको भनाइ छ ।

“मुलुकका सबै क्षेत्रमा सिँचाइ सुविधा नै पुग्न सकिरहेको छैन, तसर्थ कृषि मन्त्रालयले सिँचाइ कुलो विस्तार गरेर धान रोपाइँलाई प्रवर्द्धन गरिने योजना छ,” जोशीले भन्नुभयो, “कहिले खडेरीले धानको बीउ सुक्ने, कहिले पानी नपर्दा धानले सिँचाइ नपाउनेजस्ता समस्याका कारण धान उत्पादन वृद्धिमा समस्या आउने गर्छ ।”

जोशीले किसानले समयमा नै मल पाउँदा धान पनि समयमा नै रोप्न सकिने जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा छ लाख मेट्रिक टन मल आह्वान गरेकामा चार लाख ७२ हजार दुई सय ८७ मेट्रिक टन आयात भएको थियो । बिक्री भने चार लाख ५५ हजार नौ सय ३९ मेट्रिक टन बिक्री भएको थियोे । हालसम्म ८७ हजार एक सय ५४ मेट्रिक टन मौज्दात रहेको अवस्था छ । चालु आर्थिक वर्षको साउनमा भने तीन लाख ७० हजार मेट्रिक टन रासायनिक मलका लागि ‘टेन्डर’ आह्वान गरिएको जोशीको भनाइ छ ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा जगदीश्वर कर्माचार्यले मनसुनयता अहिलेसम्म औसतभन्दा बढी पानी परेको जानकारी दिनुभयो । “आजसम्म ८४ दशमलव आठ प्रतिशत अर्थात् देशभर औसतमा १२ सय ५४ मिलिमिटर पानी परेको छ,” उहाँले भन्नुभयो, “कतिपय स्थानमा कम पानी र कतै बढी पानी परेको छ ।”

कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार झन्डै ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा सम्पन्न हुने गरेका छन् । सबै क्षेत्रमा सिँचाइको पहुँच पुग्न नसक्दा ५० प्रतिशतभन्दा बढी रोपाइँ आकाशबाट पर्ने पानीकै भरमा सम्पन्न हुने गरेको हो ।

राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा मथुरा यादवले राम्रो वर्षा हुँदा र समयमा नै धान रोपाइँ सम्पन्न भएमा धानको उत्पादनमा पनि वृद्धि हुने बताउनुभयो । उहाँले धान उत्पादन बढाएर आयात प्रतिस्थापन गर्न रासायनिक मलको सहज उपलब्धता र सिँचाइको व्यवस्था हुनुपर्नेमा जोड दिनुभएको छ ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्ममा ८८ करोड ६५ लाख मूल्य बराबरको धानको बीउ आयात भएको छ । यसैगरी, करिब ११ अर्ब ५५ करोड मूल्य बराबरको धान आयात भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार यस अवधिमा आठ अर्ब ६९ करोड मूल्य बराबरको चामल आयात भएको छ । करिब नौ लाख २० हजार मूल्य बराबरको कनिका आयात भएको छ ।

धान उत्पादनको अवस्था

कृषि मन्त्रालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा धानको कूल उत्पादन गत आवभन्दा ४ दशमलव ३३ प्रतिशतले वृद्धि भई ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिक टन पुगेको थियो । जुन विगत चार वर्षको औषत उत्पादनको तुलनामा ५ दशमलव ०८ प्रतिशतले बढी हो ।

कूल धानबाली भित्र्याइएको क्षेत्रफल आव ०७९/८० को तुलनामा शून्य दशमलव ६१ अर्थात् आठ हजार आठ सय हेक्टरले कमी भई १४ लाख ३८ हजार नौ सय ८९ हेक्टर कायम हुन पुगेको छ । यो क्षेत्रफल अघिल्लो चार आवको औसत क्षेत्रफलको तुलनामा एक दशमलव ७३ प्रतिशतले कम हो । धानबालीको औसत उत्पादकत्व गत आवको तुलनामा चार दशमलव ९७ प्रतिशतले वृद्धि भई तीन दशमलव ९८ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ जुन गत चार वर्षको औसत उत्पादकत्वभन्दा छ दशमलव ९२ प्रतिशतले बढी हो ।

गत आवमा धानको उत्पादन कोशी प्रदेशमा उच्च रहेको छ भने कर्णाली प्रदेशमा न्यून रहेको छ । गत आवमा उत्पादकत्वतर्फ कोशी प्रदेश चार दशमलव ४३ मेट्रिक टन प्रतिहेक्टरसहित अग्रस्थानमा रहन गयो भने मधेस प्रदेश तीन दशमलव ४९ मेट्रिक टन प्रतिहेक्टर मेट्रिक टनमा सीमित भई न्यून स्थानमा रहन पुग्यो । मुख्य धानको तुलनामा विगतका आवमा जस्तै चैते धानको उत्पादकत्व उच्च कायम रहेको छ ।

गत आवमा धान उत्पादन वृद्धि हुनुमा बीउको उपलब्धता र प्रयोग रोग कीराको प्रकोपमा कमी बाढी पहिरोबाट धान बालीमा पर्न जाने नकारात्मक असरमा कमी मलखादको उपलब्धतामा आएको सुधार, कृषि औजार र प्रविधिको प्रयोग र मौसमी अनुकूलतालाई लिइएको छ । मधेस प्रदेशका केही जिल्लामा धान रोप्ने समयमा पर्याप्त वर्षा नभएका कारणले समग्र मधेस प्रदेशको उत्पादन र उत्पादकत्वमा गत आवको तुलनामा ह्रास आएको छ ।

कांग्रेसद्वारा मर्स्याङ्दी नदीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँ- नेपाली कांग्रेसले पोखराबाट काठमाडौँतर्फ आइरहेको यूपी ५३ एफटी ७६२३ भारतीय नम्बरको बस तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट मर्स्याङ्दी नदीमा दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

बस मर्स्याङ्दी नदीमा खस्दा ४३ जना यात्रुमध्ये २७ जनाको मृत्यु र १६ जना गम्भीर घाइते भएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको  बैठकले उक्त घटनाले सबैलाई स्तब्ध बनाएको उल्लेख गर्दै दुःख व्यक्त गरेको छ ।

बैठकले  रौतहटबाट पोखरातर्फ जाँदै गरेको ग २ ख ४७ नम्बरको बस मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा माथिबाट खसेको ढुङ्गाका कारणले बस अनियन्त्रित भई पल्टिँदा २५ जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

उक्त दुवै घटनाका घाइतेहरूको उचित उपचारको प्रबन्ध गर्न कांग्रेसले सरकारसँग माग गरेको छ । बैठकले तनहुँ दुर्घटनामा परी मृत्युवरण गर्नु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । कांग्रेसले दुवै घटनाका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा  सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, जीवन परियार तथा केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा शशाङ्क कोइराला, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, अर्जुनप्रसाद जोशी, अजयकुमार चौरसिया, शङ्कर भण्डारी, डा आरजु राणा देउवा, जीतजङ्ग बस्नेत र आमन्त्रित केन्द्रीय सदस्य दिपक खड्काले धारणा राख्नुभएको थियो ।

गत साउन २३ गतेदेखि प्रारम्भ भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि पदाधिकारी र केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ । केन्द्रीय कार्यसमितिको अर्को बैठक यही भदौ १२ गते बुधबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

तनहुँ बस दुर्घटनामा मृत्यु भएकाको सनाखत

दमौली (तनहुँ- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा बस दुर्घटनामा मृत्यु भएकाको सनाखत भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा वतन नखुलेका १६ वर्षीय सुहास राय, १० वर्षीया परी भारते, ६० वर्षीय सल्बा भारन्दे भारते, ५० वर्षीया निलिमा जाउडे, ४२ वर्षीया सरला रानी, ४४ वर्षीय पङ्कज भङ्गाडे, ५० वर्षीय सन्दीप राजाराम सरादे, ५७ वर्षीया निलिमा झाण्डे, ५५ वर्षीय तुलसीराम ताइडे, ४० वर्षीय गणेश मानन्दे, ४३ वर्षीया पल्लादे सरादे, ४५ वर्षीया अनिता पाटेल, नाम नखुलेका ५० वर्षीया महिला, ५२ वर्षीया भारती जाउडे रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक केसीले जानकारी दिनुभयो ।

त्यस्तै, मृत्यु हुनेमा ५१ वर्षीया रोहिणी जाउडे, ६० वर्षीया सुलोमा भारण्डे, ४५ वर्षीय सुवास राणे, ५० वर्षीय प्रकाश नाथकोटी, ३५ वर्षीया लीना भारण्डे, नामथर नखुलेका ५०÷५५ वर्षीय पुरुष, ६० वर्षीय सुधाकर ताउडे, ३५ वर्षीय सागर जाउडे, ४५÷५० वर्षीया सरोज मनोज झिरुक, नामथर नखुलेका ३५÷४० वर्षीय पुरुष, २५ वर्षीय अनुद सरद, ५६ वर्षीया भारती जाउडे र ५१ वर्षीया सरला तुलसीराम तायडे रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

दुर्घटनामा घाइते हुनेहरूमा ६० वर्षीय सुनिल झाण्डे, ४५ वर्षीया भारती पटेल, ३२ वर्षीय अविनास पटेल, ४५ वर्षीया रेखा कोटी, ५५ वर्षीय न्यारेश्वर नोन्डे, ५८ वर्षीय आनन्द इक्ले, ६० वर्षीया आशा पाण्डुरा, ६० वर्षीया सारदा पटेल, ५५ वर्षीय प्रवीण पटेल, ४० वर्षीया मनिषा भङ्गाडे, ५६ वर्षीय हेमराज सरौती, ५८ वर्षीय आशा बोन्डे, ४३ वर्षीया रुपाली सरौदी, ४५ वर्षीया सीमा झिङ्गठे, ६० वर्षीय सुनोदिन झाउडे, ५५ वर्षीया नेलिमा घेरोङ रहेका छन् । दुर्घटनामा घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ लगिएको थियो ।