`

विद्युत् प्राधिकरणले समन्वय नगर्दा बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुट्यो : मन्त्री यादव

Nepal One HD ३० माघ २०८१ २१:११
राजनीति

काठमाडौँ, ३० माघ : खानेपानीमन्त्री प्रदीप यादवले नेपाल विद्युत् प्राधिकरणले मन्त्रालय तथा मातहाका निकायसँग समन्वय नगरेका कारण बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुटेर क्षति भएको बताउनुभएको छ ।

विद्युत्का तारहरू जमिनमा बिछ्याउनका लागि खन्ने क्रममा बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि पानी जमेर जलमग्न भएको सो क्षेत्रको अनुगमन तथा निरीक्षणका लागि त्यहाँ पुग्नुभएका मन्त्री यादवले बताउनुभयो । सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्नु हुँदै मन्त्री यादवले भन्नुभयो, “विद्युत् प्राधिकरणले सधैँ हामीसँग समन्वय गर्दै आएका थियो । आज समन्वय नगरेका कारण पाइप फुटेर क्षति हुन पुग्यो ।”

मन्त्री यादवले पाइपलाइन तत्काल मर्मत गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुखलाई निर्देशन दिइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “फुटेको पाइप चाँडै मर्मत गरी पानी पठाउने छौँ ।” काठमाडौँ उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख टीकाबहादुर चौधरीले पानी बन्द हुनासाथ फुटेको पाइप मर्मत गरी सेवा सञ्चालन गरिने जानकारी दिनुभयो । पाइप फुटेर पानी पसेपछि बबरमहलस्थित विशेष अदालत लगायतका सरकारी भवनहरू जलमग्न भएका थिए ।


प्रतिक्रिया