`

मनसुनी वायुको प्रभाव कायमै, केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौँ, ८ भदौः हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ ।

विभागका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली छ । बागमती प्रदेशका केही स्थान, मधेस प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने विभागको अनुमान छ । सबै प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।

युएईद्वारा तालिबान सरकारको राजदूतलाई स्वीकार

संयुक्त अरब इमिरेट्स (युएई) ले अफगानिस्तानको तालिबान सरकारका राजदूतको ओहोदाको प्रमाणपत्रलाई स्वीकार गरेको अधिकारीहरूले बताएका छन् । चीनपछि राजदूत स्वीकार गर्ने युएई दोस्रो मुलुक बनेको छ ।

अबुधाबीमा आयोजित एक समारोहमा नयाँ राजदूत मावलवी बदरुद्दिन हक्कानीलाई स्वागत गरिएको काबुलको विदेश मन्त्रालयले सामाजिक सञ्जालमा घोषणा गरेको छ । समारोहपछि तेल समृद्ध खाडी मुलुक युएईले अफगान जनताको मद्दतका लागि ‘पुल निर्माण’ गर्न प्रतिबद्ध रहेको बताएको छ ।

तालिबान सरकारसँग युएईको बढ्दो सम्बन्धमा अमेरिकी सेना फिर्ता भएपछि र सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि इमिराटी फर्म जिएएसीद्वारा अफगान विमानस्थलहरूको विमानस्थल समावेश छ ।

अन्तर्राष्ट्रियरूपमा धेरै हदसम्म पृथक, संयुक्त राष्ट्रसङ्घद्वारा मान्यता प्राप्त नगरेको र छात्राहरूलाई माध्यमिक शिक्षासम्म पहुँचमा अस्वीकार गरेको तालिबान अधिकारीहरूका लागि राजदूतको स्वीकृतिलाई जीतका रूपमा हेरिएको छ ।

“विगत केही वर्षमा अफगानिस्तानले सामना गरेका चुनौतीहरूलाई विश्वले स्वीकार गरेको छ”, बिहीबार राति ढिलो गरी एएफपीलाई पठाइएको विज्ञप्तिमा युएईका अधिकारीहरूले भनेका छन्, “अफगानिस्तानका राजदूतको ओहोदाको प्रमाणपत्रलाई स्वीकार गर्ने निर्णयले अफगान जनताको सहयोगका लागि पुलहरूको निर्माणमा योगदान गर्ने हाम्रो प्रतिबद्धतालाई पुष्टि गर्दछ ।”

‘विकास र पुनर्निर्माण परियोजनाहरूमार्फत मानवीय सहायता’ प्रदान गर्ने र ‘क्षेत्रीय तनाव कम गर्ने र स्थिरता’ तर्फका प्रयासहरूलाई समथर्न गर्ने युएईको योजना रहेको विज्ञप्तिमा उल्लेख छ ।

सन् २००१ मा अमेरिकी नेतृत्वको आक्रमणबाट पतन भएको तालिबान सरकारलाई मान्यता दिने पाकिस्तान र साउदी अरबका साथमा तीन मुलुकमध्ये युएई एक थियो ।

इरान, पाकिस्तान, उज्बेकिस्तान, तुर्कमेनिस्थान र कजाकिस्तानसहित तालिबानको कूटनीतिक उपस्थितिको आयोजना गर्ने केही मुलुकहरूमा युएई एक हो ।

देशभर चिकित्सक पठाउँदै जुम्ला

कर्णाली, ७ भदौ : जुम्लामा पनि डाक्टरी पढाइ हुन्छ र भन्ने धेरैको प्रश्न हुन सक्छ । प्रश्नकर्ता कतिलाई जुम्लामा चिकित्सक पढाइ हुन्छ भन्ने पनि थाहा छैन । केहीले पढाइ हुन्छ भन्नेमा विश्वास गर्दैनन् । थाहा पाउनेहरूले त्यहाँ चिकित्सकको कस्तो पढाइ हुन्छ होला ? भनेर खिसी गरेको पाइन्छ ।

ती प्रश्न एवं जिज्ञासा राख्ने र खिसिट्युरी गर्नेहरूले जुम्लाले स्नातक मात्र होइन, अब स्नातकोत्तर तहको चिकित्सक उत्पादन गरेको खबर सुन्न धेरै समय कुर्नुपर्ने छैन । प्रगती र विकासका लागि भूगोल बाधक हुन सक्दैन अनि दुर्गमले दुःख मात्र होइन, समृद्धिको इँटा थप्न सक्दोरहेछ भन्ने गतिलो उदाहरणस्वरुप अब देशलाई चाहिने चिकित्सक तथा जनस्वास्थ्यविज्ञ जनशक्ति पठाउँदैछ ।

मध्यपश्चिम नेपालको हिमाली क्षेत्रमा अवस्थित स्वास्थ्य विश्वविद्यालयका रुपमा परिचित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले यही भदौ २३ गते चिकित्साशास्त्रमा विभिन्न सङ्कायमा स्नातकोत्तर तह उत्तीर्ण पाँच विशेषज्ञ चिकित्सक र स्नातक तहका ५१ जनालाई विद्यार्थीहरु दीक्षित गर्दैछ ।

यसका लागि प्रतिष्ठान जुम्लामा भदौ २३ गते ‘प्रथम दीक्षान्त समारोह’ हुने भएको छ । जसको तयारीमा प्रतिष्ठान जुटेको छ । दीक्षान्त समारोहमा प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली र सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको समुपस्थिति कार्यक्रम रहेको उपकुलपति डा मङ्गल रावलले जानकारी दिनुभयो ।

स्थापनाकालको १३ वर्षपछि पहिलोपटक हुन थालेको दीक्षान्त समारोह सञ्चालनका लागि कुलपति एवं प्रधानमन्त्रीबाट स्वीकृति पत्र आइसकेकाले त्यसको तयारीमा जुटेको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रतिष्ठानका जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र सङ्कायका स्नातक र स्नातकोत्तर तहका गरी कूल ५६ उत्तीर्ण विद्यार्थीहरू दीक्षित हुनका लागि योग्य छन् ।

उपकुलपति रावलले भन्नुभयो, “प्रथम दीक्षान्त समारोह गर्न स्वीकृतिका लागि यही साउन ३२ गते कुलपतिसमक्ष पत्र पठाएका थियौँ । सोही पत्रको जवाफमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रतिष्ठानलाई २३ भदौ आइतबार बिहान १०ः३० बजे जुम्लामा दीक्षान्त समारोह गर्नका कुलपतिले स्वीकृत गरेको व्यहोरासहितको पत्र प्राप्त भएको छ । सोही अनुसार तयारी गर्दैछौँ ।”

कर्णालीको इतिहासमा पहिलोपटक ऐतिहासिक दीक्षान्त समारोह आयोजना गर्न पाउँदा खुसी लागेको उहाँले बताउनुभयो । प्रतिष्ठानका परीक्षा शाखा प्रमुख नृपेश बुढथापाका अनुसार यहाँ अध्ययनरत विद्यार्थीहरूमा स्नातकतर्फ बिपिएचमा पहिलो र दोस्रो ब्याच गरी ३८, बिएमएसमा दुई ब्याचको १३ र स्नातकोत्तरतर्फ एमडिजिपीमा तीन, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी पाँचजनासहित कूल ५६ जना विद्यार्थीहरू उत्तीर्ण भएका छन् ।

दीक्षान्त समारोहको अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानको नवनिर्मित अत्याधुनिक शैक्षिक भवन (एकेडेमिक बिल्डिङ) र तिलगङ्गा आँखा अस्पतालको सहयोगमा सञ्चालनमा आउन लागेको आँखा केन्द्र उद्घाटन गर्ने कार्यक्रम रहेको उपकुलपति रावलले बताउनुभयो । समारोहमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सहयोगमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर) उपकरण हस्तान्तरण गर्ने कार्यक्रम राखिएको छ ।

सो अवसरमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा अञ्जनी झा, स्वास्थ्य सचिव डा रोशन पोखरेल, वरिष्ठ आँखा विशेषज्ञ डा सन्दुक रुइत, विश्व स्वास्थ्य सङ्गठन नेपाल प्रमुख डा राजेश सम्भाजीराव पाण्डवसमेत सहभागी हुने जनाइएको छ ।

प्रधानमन्त्री मोदीद्वारा युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई भारत भ्रमणको निम्तो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भारत भ्रमणको निम्तो दिनुभएको छ ।

युक्रेनको राजधानी कीभमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय विदेश मन्त्री एस जयशङ्करले भन्नुभयो, “भारतीय प्रधानमन्त्रीको युक्रेन भ्रमण सन् १९९२ पछि पहिलो हो । भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले युक्रेनी राष्ट्रपतिलाई भारत भ्रमणको निम्तो दिनुभएको छ । आफ्नो सुविधा अनुसार राष्ट्रपति जेलेन्स्कीले भारत भ्रमण गर्नुहुनेछ ।”

जयशङ्करले युक्रेनलाई भारतले दिएको मानवीय सहयोगबारे पनि चर्चा गर्नुभएको थियो । “विगतमा पनि भारतले युक्रेनलाई मानवीय सहयोग गरेको थियो । आजसम्म युक्रेनलाई भारतले स्वास्थ्यसँग सम्बन्धित विभिन्न १७ प्रकारका सहयोग गरिसकेको छ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री मोदी र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच शुक्रबार मारिन्स्कीमा द्विपक्षीय वार्ता भएको थियो । भेटमा भारतीय प्रधानमन्त्री मोदीसँग विदेशमन्त्री एस जयशङ्कर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायत विशिष्ट व्यक्ति सहभागी हुनुहुन्थ्यो ।

प्रधानमन्त्री मोदीले कीभमा युक्रेनको राष्ट्रिय सङ्ग्रहालयमा पनि भ्रमण गर्नुभएको जनाइएको छ ।

लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्का सदस्यलाई आचारसंहिता, मितव्ययिता अपनाउने रणनीति

लुम्बिनी, ७ भदौ : लुम्बिनी प्रदेश सरकारले मन्त्रिपरिषद् सदस्यहरूले पालना गर्नुपर्ने आचारसंहिता लागू गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सदस्यले पालना गर्नुपर्ने आचारसंहिता, २०८१ लागू गर्ने निर्णय गरिएको हो । आचारसंहिता पालनाका लागि सरकारले स्वनियमनको रणनीति बनाएको छ ।

प्रदेश राजधानीबाहिर भ्रमणमा जाँदा मुख्यमन्त्रीबाट भ्रमणको पूर्वस्वीकृति लिएर मात्र जानुपर्ने, जिल्ला भ्रमणमा जाँदा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई भ्रमण कार्यक्रमबारे अग्रिम जानकारी गराउनुपर्ने, भ्रमण टोली सानो र भ्रमण खर्च मितव्ययी हुनुपर्ने, अनावश्यक र औचित्यहीन भ्रमण कार्यक्रममा संलग्न हुन नहुने, एक जिल्लामा एक पटकमा दुई दिनभन्दा बढी नबस्ने गरी व्यवस्था मिलाउनुपर्ने र उपलब्ध भएसम्म सरकारी अतिथिगृहको प्रयोग गर्नुपर्ने आचारसंहितामा उल्लेख छ ।

यस्तै, सरकारी कामको सिलसिलामा भ्रमणमा जाँदा भएको खर्चको विवरण सार्वजनिक गर्नुपर्ने, निजी प्रयोजनका लागि भ्रमणमा जाँदा मुख्यमन्त्रीलाई जानकारी गराई जान सकिने र त्यस्तो भ्रमणमा भएको कुनै पनि खर्च सरकारी कोषबाट भुक्तानी लिन नपाइने उल्लेख छ ।

भ्रमणबाट फर्केपछि मुख्यमन्त्रीसमक्ष प्रतिवेदन पेस गरेपछि मात्र भ्रमण खर्च भुक्तानी लिनुपर्ने र सदाचारयुक्त व्यवहार गर्नुपर्ने उल्लेख छ । मन्त्रिपरिषद् सदस्यका हरेक क्रियाकलाप र व्यवहार उच्च आदर्शयुक्त, अनुकरणीय, सम्मानित र सदाचारपूर्ण हुनुपर्ने तथा मन्त्रिपरिषद् सदस्यले सदाचार विपरीतका कार्य गर्न नहुने उल्लेख छ । पदीय हैसियतको दुरुपयोग गर्न नहुने विषयलाई प्राथमिकतामा राखिएको छ ।

मन्त्रिपरिषद् सदस्यले शपथ लिएको ६० दिनभित्र सम्पत्ति विवरण पेस गर्नुपर्ने आचारसंहितामा उल्लेख छ । मन्त्रिपरिषद् सदस्यले आफ्नो र परिवारका नाममा रहेको चलअचल सम्पत्तिको विवरण शपथ लिएको ६० दिनभित्र तोकिएको ढाँचामा दुईप्रति मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमक्ष पेस गर्नुपर्ने, पेस भएको उक्त सम्पत्ति विवरण सर्वसाधारणको जानकारीका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट वेबसाइटमा राख्ने तथा सञ्चारका अन्य माध्यमबाट समेत सार्वजनिक गर्ने व्यवस्था मिलाउनुपर्ने, मन्त्रीले पदमुक्त हुँदासमेत सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने विषय समेटिएको छ ।

मितव्ययिता अपनाउने रणनीति

लुम्बिनी प्रदेश सरकारले पूर्वविशिष्ट व्यक्तिहरूलाई दिँदै आएको सेवासुविधा कतौटी गरेर सुशासन कायम गर्ने योजनालाई कार्यान्वयन गर्ने भएको छ । विसं २०७९ भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकबाट पूर्वविशिष्ट पदाधिकारीका लागि सेवासुविधा उपलब्ध गराउने निर्णय गरेको थियो ।

आर्थिक सङ्कट निम्तिएको समयमा मितव्ययिता अपनाउनका लागि पूर्वविशिष्ट व्यक्तिहरूलाई दिँदै आएको सेवासुविधा फिर्ता गर्ने निर्णयले प्रदेशको आर्थिक स्रोत जोगिनेछ । पूर्वविशिष्ट व्यक्तिलाई एउटा गाडी, महिनाको एक सय ५० लिटर इन्धन, सवारी चालक तलब र मासिक अतिरिक्त रु आठ हजार रुपैयाँ दिने गरेको थियो ।

कार्यविधि र कार्ययोजना निर्माण

लुम्बिनी प्रदेश सरकारले मातहतका मन्त्रालय र योजना कार्यान्वयन गर्ने निकायहरूलाई साउन महिनाभित्र कार्यविधि र कार्ययोजना निर्माण गर्न दिएको निर्देशनअनुसार सबै मन्त्रालय र निकायहरूले वार्षिक कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि र कार्ययोजना निर्माण सम्पन्न गरेका छन् ।

प्रदेश सरकारले भदौ महिनाभित्र योजनाहरूको बोलपत्र सार्वजनिक गर्ने र असोज महिनादेखि वार्षिक स्वीकृत योजना कार्यान्वयन गर्नेगरी कामलाई तीव्रता दिइएको जनाइएको छ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि रु ३८ अर्ब ९७ करोडको बजेट सार्वजनिक गरेको छ ।

सुनकोशी-मरिन डाइभर्सन आयोजना समय अगावै सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ, ७ भदौः उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई समय अगावै सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

आयोजनाको प्रगतिबारे आज मन्त्रालयमा भएको छलफलमा उहाँले राष्ट्रिय गौरवको आयोजनालाई समयभन्दा अगाडि सक्नेगरी काम गर्न निर्देशन दिनुभएको हो । “यो देशकै महत्वपूर्ण आयोजना हो । यसलाई तोकिएको समयअगावै सम्पन्न गरेर मुलुकले अधिकतम लाभ लिनुपर्छ”, मन्त्री खड्काले भन्नुभयो ।

मन्त्री खड्काले मुलुकको सिँचाई र जलविद्युत् माग पूरा गर्न वैदेशिक ऋण लिएर निर्माण गर्न लागिएको आयोजनालाई तीन चरणमा काम गरेर भएपनि समयमै सक्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले आयोजना निर्माणको काम राज्य एक्लैले गर्न नसक्ने भएकाले सबैको साथ र सहयोग उत्तिकै आवश्यक रहेको उल्लेख गर्नुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले चालू आर्थिक वर्षभित्र ४० प्रतिशत काम सम्पन्न गर्नेगरी आयोजना निर्माणको कामलाई तीव्रता दिनुपर्ने बताउनुभयो । “आयोजना निर्माणका क्रममा देखिएका समस्या समाधानमा मन्त्रालय लाग्छ, काम तीव्र गतिमा हुनुपर्छ”, राज्यमन्त्री तामाङले भन्नुभयो । उहाँले प्रत्येक हप्ताको कामको प्रगति मन्त्रालयमा पठाउनसमेत निर्देशन दिनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयकी सचिव सरिता दवाडीले राष्ट्रको भविष्यसँग जोडिएको यस आयोजनालाई चाँडो सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रधानमन्त्रीको समेत उक्त आयोजना निर्माणको बारेमा विशेष चासो रहेकाले दिनरात नभनी काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।

आयोजना निर्देशक मित्र बरालले धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पु¥याउने र ३१ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सुरु भएको उक्त आयोजनाको हालसम्म भौतिक प्रगति ३४ प्रतिशत भएको बताउनुभयो ।

उक्त आयोजनाको १३ दशमलव दुई किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ । सुरुको लागत रु ४६ अर्ब २२ करोड रहेपनि उक्त आयोजना सम्पन्न हुँदा रु ४९ अर्ब ४२ करोड लागत लाग्ने अनुमान आयोजनाले गरेको छ । उक्त आयोजना पट्टेल–रमन जेभीले निर्माण गरिरहेको छ ।

बेलायती प्रधानमन्त्रीसँगको पहिलो कुराकानीमा सीको ‘साझा जित’ को चाहना

चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार बेलायतका नयाँ प्रधानमन्त्री केइर स्टार्मरसँगको पहिलो कुराकानीमा बेलायतसँग ‘साझा जित’ हासिल गर्ने आशा व्यक्त गर्नुभएको सरकारी टेलिभिजन सिसिटिभीले बताएको छ ।

बेलायतको आधिकारिक तथ्याङ्कअनुसार सन् २०२३ सम्म चीन बेलायतको पाँचौँ सबैभन्दा ठूलो व्यापारिक साझेदार थियो तर पूर्वबेलायती उपनिवेश हङकङकमाथि बेइजिङको कडा नियन्त्रणलाई लिएर दुवै मुलुकबीच विवाद भएपछि हालैका वर्षहरूमा कूटनीतिक सम्बन्ध चिसिएको छ ।

सिसिटिभीका अनुसार शुक्रबार दिउँसो दुवै नेताबीच फोनमा भएको कुराकानीमा सीले गत महिना प्रधानमन्त्रीको भूमिका ग्रहण गरेकामा स्टार्मरलाई बधाई दिनुभयो ।

सीलाई उद्धृत गर्दै भनिएको छ, “बेलायत पक्षसँग चीन आपसी सम्मानको आधारमा समान वार्ता गर्न इच्छुक छ र वित्त, हरित अर्थतन्त्र, कृत्रिम बौद्धिकता आदिका क्षेत्रमा सहयोग विस्तार गर्नेछ ।”

राष्ट्रपति सीले ‘चीन–बेलायत सम्बन्धहरूको आधारभूत स्वरलाई पारस्परिक लाभ र साझा जित बनाउनु’ आफ्नो लक्ष्य रहेको बताउनुभएको सिसिटिभीले उल्लेख गरेको छ ।

चिनियाँ प्रधानमन्त्री लि छ्याङ जुलाई ७ मा दुई दिनअघि स्टार्मर प्रधानमन्त्री बन्नुभएकामा सार्वजनिक रूपमा बधाई दिने मुलुकको पहिलो वरिष्ठ नेता हुनुहुन्थ्यो ।

फिल्म ‘रावायण’को ट्रेलर ट्रेन्डिङको पहिलो स्थानमा

काठमाडौं । यही भदौ २१ गते रिलिज हुने फिल्म ‘रावायण’को बिहीबार सार्वजनिक ट्रेलर यतिबेला युट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ । ट्रेलर सार्वजनिक भएका १९ घण्टामा १० लाख ६३ हजार ३ सय ६० बढी दर्शकले ट्रेलर हेरिसकेका छन् । ट्रेलरमा ३९ हजार ‘लाइक’ र ४ हजार ७ सय ४२ कमेन्ट छन् ।

फिल्मका कथाकार र निर्देशक सुदर्शन थापाले टिजर र गीतसँगै ट्रेलरमा प्राप्त प्रतिक्रियाले आफूहरु उत्साहित भएको बताए । ‘टिजर र गीतले हामीलाई जुन किसिमको हौसला दिएको थियो । ट्रेलर रिलिज पछि त्यसमा बढोत्तरी भएको छ । १९ घण्टामा १० लाख बढी दर्शक पाउनु भनेको अहिलेको अवस्थामा चानचुने कुरा होइन’, सुदर्शनले भने, ‘तीन वर्षमा हामीले जुन मेहनतका साथ फिल्म बनाएका थियौं । अहिले त्यो मेहनतले सार्थकता पाउँदै गएको छ ।’

एक्सनपूर्ण ट्रेलरमा प्रेम र द्वन्द्वको कथालाई चित्रण गरिएको छ । ट्रेलरमा नायिका पुजा शर्मालाई पत्रकारको भूमिकामा देखाइएको छ । फिल्ममा नायक पल शाहले दोहोरो भूमिका निभाएका छन् । ट्रेलरको अन्तिम दृश्यमा दुई पलको द्वन्द्वलाई देखाइएको छ । दुई पात्रको द्वन्द्व पुजाकै कारण हुने भन्ने प्रष्ट देखाइएको छ ।

सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको फिल्मकी निर्माता पुजा शर्मा हुन् । फिल्ममा सुशन पाठक कार्यकारी निर्माता छन् ।

फिल्ममा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठको अभिनय छ ।

फिल्ममा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तव र राज गौरवको ओरिजिनल हिन्दी स्क्रिप्ट, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, प्रमोद श्रीनिवासनको साउण्ड डिजाइन, निरज सिंह, रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गान्जावाला, सोनु कक्करको स्वर, डा. कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द, रेवन आरती सिंहको ओरिजिनल ब्याकग्राउण्ड स्कोर, उमेश चौधरीको आर्ट डिरेक्सन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर, विजय बस्यालको पोस्टर डिजाइन, नविन पुरीको प्रोडक्सन डिजाइन छ ।फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनरको रुपमा ओएसआर डिजीटल रहेको छ ।

हिउँपहिराले थुनिएको बोक्सी खोला बग्न थाल्यो, पूरै नपग्लीदाँसम्म सतर्कता अपनाउन आग्रह

म्याग्दी, ७ भदौ : धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट खसेको हिमपहिराले थुनिएको मुस्ताङको बोक्सी खोला बग्न थालेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मुलखर्क भन्ने ठाउँमा हिमपहिरोले थुनिएको बाक्सीखोला तीन घण्टापछि बग्न थालेको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले जानकारी दिनुभयो । “आज दिउँसो करिब १ः३० बजेतिर खसेको पहिरो थुप्रिएर बोक्सी खोला थुनिदा दुई तिहाई पानीको मात्रा घटेको थियो,” उहाँले भन्नुभयो “दिउँसो ४ः३० बजेपछि खोलामा पानीको मात्रा बढेको छ । हाल तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेका छौँ ।”

खोचमा थुप्रिएको हिउँलाई खोलाको पानीले पगालेर बग्न थालेको अध्यक्ष गौचनले बताउनुभयो । बोक्सी खोला हिमपहिरो खसेको ठाउँभन्दा करिब १५ किलोमिटर तल आएर कालीगण्डकी नदीमा मिसिन्छ । आसपासमा बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्सी खोलामा पर्दछ । गाउँपालिका अध्यक्ष गौचन, मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, प्रहरी नायब उपरीक्षक भोजराज पाण्डे, सशस्त्र प्रहरी, नेपाली सेनाका अधिकारी, जनप्रतिनिधि र स्थानीयवासीसहित सुरक्षाकर्मीको टोलीले पहिरो खसेको ठाउँको निरीक्षणसमेत गर्नुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी पन्तले तलाउ नदेखिएकाले जोखिम कम हुने अनुमान गरे पनि हिउँ पूरै नपग्लीदाँसम्म तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको बताउनुभयो । यसअघि विस २०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिराले एक सय ५० भन्दा बढी चौरीगाई मरेका थिए । पछिल्लो पहिराबाट मानवीय र पशुधनको क्षति भने नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पार्टीलाई लोकप्रिय बनाउने गरी काम गर्छुः नेता सिंह

काठमाडौँ, ७ भदौः नेपाली कांग्रेसका नेता एवं उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारमा रहँदा पार्टीलाई लोकप्रिय बनाउने गरी काम गर्ने बताउनुभएको छ ।

कांग्रेस केन्द्रीय समिति बैठकमा आज धारणा राख्दै उहाँले पार्टीको प्रतिष्ठा बढाउने र लोकप्रिय बनाउने गरी काम गर्ने बताउनुभएको हो । उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई सरकारलाई सफल बनाउन रचनात्मक सल्लाह र सुझाव दिन पनि आग्रह गर्नुभयो । उपप्रधानमन्त्री सिंहको नेतृत्वमा कांग्रेस वर्तमान सरकारमा सहभागी छ ।

“पार्टीले जिम्मा दिएर सरकारमा पठाएको छ । पार्टी र पार्टीका साथीहरुको शीर उच्च हुने गरी काम गर्नेछु,” उपप्रधानमन्त्री सिंहलाई उद्धृत गर्दै उहाँको सचिवालयले जनाएको छ ।

फरक सन्दर्भमा उपप्रधानमन्त्री सिंहले पार्टीमा लोकप्रिय भएसम्म पार्टीको आन्तरिक चुनाव र जनतामा लोकप्रिय भएसम्म आमनिर्वाचन लड्न पाउनुपर्ने मत राख्नुभएको छ ।

नेतृत्वमा कति कार्यकालसम्म निर्वाचन लड्न पाउने भन्ने प्रस्तावमाथि आफ्नो धारणा राख्ने क्रममा उहाँले कार्यकर्ता र जनतामा लोकप्रिय रहँदासम्म चुनाव लड्न पाउनुपर्ने बताउनुभएको हो ।

माओवादी बैठकः जनपरिचालनका कार्यक्रम तय गर्न पार्टी नेतृत्वलाई सुझाव

काठमाडौँ, ७ भदौः नेकपा (माओवादी केन्द्र)का नेताहरुले सङ्गठन विस्तारलाई विशेष ध्यान दिन एवं प्रभावकारी तवरले जनपरिचालनका कार्यक्रम तय गर्न पार्टी नेतृत्वलाई सुझाव दिनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठकमा आफ्नो धारणा राख्दै नेताहरुले पार्टीभित्र आन्तरिक एकतालाई सुदृढ गरेर संगठन विस्तारलाई ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो ।

आजको बैठकमा नेताहरु झक्कु सुवेदी, श्रीकृष्ण अधिकारी, विष्णु सापकोटा, लेखनाथ न्यौपानेलगायत नेताहरुले पार्टीको पछिल्लो अवस्था, संगठन विस्तार एवम् आन्तरिक एकतामा जोड दिनुभएको थियो ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई बलियो बनाउनका लागि खुल्ला छलफल भएको र त्यसलाई अन्यथा रुपमा लिन नहुने बताउनुभएको थियो । उहाँले अब व्यापक रुपमा पार्टी निर्माणतिर जाने र समाजवादी धारका शक्तिलाई सहकार्यको बाटो पहिल्याउने गरी अग्रसर हुने बताउनुभएको थियो ।

बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपाध्यक्षद्वय पम्फा भुसाल, अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा र नेता हितमान शाक्यलगायतको उपस्थिती थियो ।

मुलुकको अग्रगतिका लागि अहिलेको सरकार बनेको होः मन्त्री भण्डारी

महोत्तरी, ७ भदौः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वर्तमान सरकार मुलुकको अग्रगतिका लागि बनेको बताउनुभएको छ । स्थिर सरकार नबन्दा जनतामा बढेको निराशा चिर्न वर्तमान गठबन्धन सरकार बनेको उहाँको भनाइ छ ।

वैदेशिक रोजगार विभागले आज महोत्तरीको बर्दिबासमा आयोजना गरेको रोजगार अनुमति प्रणाली (इपिएस) सम्बन्धी छलफल कार्यक्रममा उहाँले वर्तमान गठन्धनको सरकार बनेदेखि नै जनतामा अब राजनीतिक स्थायित्व हुने आशा जागेको पनि उल्लेख गर्नुभयो । “जनतामा एउटा भरोसा जागेको छ, अब सरकार र राजनीतिक दलले त्यो भरोसालाई विश्वासमा परिणत गरेर देखाउनुपर्छ,” मन्त्री भण्डारीले भन्नुभयो ।

वैदेशिक रोजगारीमा जाने मधेसको सङ्ख्या उल्लेख्य भए पनि त्यो खाडी मुलुक र मलेसियामा सीमित रहेको भन्नुहुँदै उहाँले आकर्षक रोजगारको अवसरमा सबैको पहुँच बढाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको वैदेशिक रोजगार विभागले सचेतना बढाउन जरुरी रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा इपिएसमार्फत दक्षिण कोरिया जान चाहने नेपाली नागरिकका लागि अनिवार्य मानिने कोरियन भाषा परीक्षा र यससँग जोडिएका प्रक्रियाबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा मधेस प्रदेशका श्रम तथा यातायातमन्त्री कौशलकिशोर राय, शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारी र जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्णसहितले वैदेशिक रोजगारी क्षेत्रका चुनौती र अवसरबारे चर्चा गर्नुभयो । कार्यक्रममा मधेस प्रदेशसभाका सदस्यहरू जयनुल अन्सारी, रमिला प्रधान र शारदा थापा, महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, महोत्तरीका १५ वटै स्थानीय तहका प्रमुख, रोजगारसम्बन्ध संस्था (म्यानपावर) का प्रतिनिधिको सहभागिता रहेको थियो ।

ज्यानू–वसन्तराज मिश्र फाउण्डेशनको पुरस्कार तीन जनालाई

काठमाडौँ, ७ भदौ : ज्यानू–वसन्तराज मिश्र फाउण्डेशनले समाजका विभिन्न क्षेत्रमा सकारात्मक योगदान गर्ने व्यक्तिहरूलाई विभिन्न तीन विद्यामा पुरस्कृत गर्ने भएको छ ।

फाउण्डेशनले हरेक वर्ष वातावरण संरक्षण पुरस्कार, दुर्गादेवी मिश्र शिक्षा पुरस्कार र ज्यानू–वसन्तराज मिश्र पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । जनही रु ३ लाखको सो पुरस्कार यही भदौ १३ गते प्रदान गरिने आयोजकले जनाएको छ ।

फाउण्डेशनका अध्यक्ष वरिष्ठ पर्यटन व्यवसायी वसन्तराज मिश्रले समाजका विभिन्न क्षेत्रमा सकारात्मक योगदान दिने व्यक्ति तथा संस्थाहरूलाई प्रत्येक वर्ष तीन क्षेत्रमा पुरस्कार प्रदान गरिने बताउनुभयो । फाउण्डेशनले सामाजिक कार्य, पर्यावरण, शिक्षा, कलासाहित्य, पत्रकारिता तथा अन्य क्षेत्रमा अनुसन्धान र विकास कार्य गर्ने र त्यस क्षेत्रमा कार्यरत व्यक्ति तथा संस्थालाई सहयोग गर्ने उद्देश्य लिएको उहाँले जानकारी दिनुभयो ।

पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले फाउण्डेशनले दिने पुरस्कारको महत्त्व र गरिमालाई ध्यान दिएर देश समाजमा महत्त्वपूर्ण योगदान दिने व्यक्तिलाई पुरस्कृत गरिनुपर्नेमा जोड दिनुभयो । फाउण्डेशनले पुरस्कारभन्दा माथि उठेर अनुसन्धान र नवप्रवर्तनमा विशेष ध्यान दिएर आगामी दिनमा काम गर्नुपर्ने उहाँले सुझाउनुभयो । पत्रकार प्रतीक प्रधानले फाउण्डेशनले प्रदान गर्ने पुरस्कारलाई पारदर्शी र विवादरहीत बनाइने विश्वास व्यक्त गर्नुभयो ।

क्याप्टेन रामेश्वर थापाले पत्रकारिता, पर्यावरण, शिक्षालगायत क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरूलाई प्रदान गरिने पुरस्कारलाई गरिमामय बनाउन फाउण्डेशनले प्रयास गर्ने भन्दै पर्यटन र पर्यावरणलाई सँगसँगै लैजान जरुरी रहेको बताउनुभयो ।

नवीनतम विषयमा खोज तथा अनुसन्धान गर्न चाहने व्यक्तिहरूलाई आवश्यक सहयोग उपलब्ध गराउन, अनुसन्धान तथा विकासको क्षेत्रमा फाउण्डेशनले विभिन्न विश्वविद्यालय तथा विशेषज्ञसँग मिलेर सहकार्य गर्ने लक्ष्य लिएको छ । नेपालको पर्यटन क्षेत्रमा चार दशक बढी सक्रिय रहनुभएका पर्यटन व्यवसायी वसन्तराज मिश्रले फाउण्डेशन स्थापना गर्नुभयो ।

मिश्रले सञ्चालन गर्नुभएको टेम्पलम टाइगर ग्रुप अफ कम्पनीले कर्पोरेट सामाजिक दायित्वअन्तर्गत सामाजिक सेवा गर्दै आइरहेको छ । विसं २०७८ मङ्सिर २४ गते स्थापना भएको फाउण्डेशनको संस्थापक अध्यक्षक्ष वसन्तराज मिश्र र संस्थापक ज्यानू मिश्र रहनुभएको छ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ विशेष सल्लाहकार रहनुभएको छ ।

संस्थाका ट्रष्टिजमा मनदेवी भण्डारी, क्याप्टेन रामेश्वर थापा, आर्टिटेक्ट अरुण पन्त, पत्रकार प्रतीक प्रधान, डा मधु आचार्य, पियुष मिश्र, ब्रजेश मिश्र तथा रिता जे प्रधान रहनुभएको छ । संस्थाको सचिव राजेन्द्रकुमार महर्जन हुनुहुन्छ ।

‘सूचनाको दुरुपयोग भए ठूलो क्षति हुन्छ’ – मुख्यन्यायाधीश पाण्डेय

तुलसीपुुर (दाङ), ७ भदौः उच्च अदालत तुलसीपुरका मुख्यन्यायाधीश नित्यानन्द पाण्डेयले सूचनाको दुरुपयोग भए ठूलो क्षति हुने भएकाले सचेत रहन सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ ।

आज यहाँ आयोजित एचआर मिडिया प्रालिको प्रथम वार्षिकोत्सव कार्यक्रममा उहाँले सूचना तथा सञ्चारको भूमिका फराकिलो र शक्तिशाली भएकाले यसलाई सही सदुपयोग गरेमा मुलुकलाई समृद्धिको मार्गमा लैजान सघाउ पुग्ने धारणा राख्नुभयो । “एउटा हतियारको दुरुपयोग भयो भने त्यसले जति क्षति पु¥याउँछ, सूचनाको दुरुपयोगले त्योभन्दा बढी क्षति हुन्छ । त्यसैले सूचनाको सही सदुपयोग गर्नुपर्छ”, मुख्यन्यायाधीश पाण्डेयले भन्नुभयो । सञ्चारमाध्यमले गुण र दोषका आधारमा समाचार सम्प्रेषण गर्नुपर्ने उहाँको भनाइ थियो ।

तुलसीपुर उपमहानगरपालिका कार्यवाहक प्रमुख भीमबहादुर योगीले सञ्चार क्षेत्र विकासको बाटो देखाउने माध्यम भएकाले समाजलाई सही मार्गमा डो¥याउने गरी सञ्चारमाध्यमले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । यस्तै, कपुरकोट गाउँपालिकाका अध्यक्ष प्रकाश भण्डारीले पछिल्लो समय डिजिटल सञ्चारमाध्यमको युग रहेको अवस्थामा मर्यादित पत्रकारिता गर्नतर्फ अनलाइन सञ्चारमाध्यम लाग्नुपर्ने बताउनुभयो ।

गाजामा युद्धविराम वार्ताका लागि कायरो पुगे इजरायली वार्ताकार

गाजामा जारी युद्ध रोक्ने उद्देश्यका साथ आह्वान गरिएको युद्धविराम वार्ताका लागि सहभागीता जनाउन इजरायली वार्ता टोली शुक्रबार कायरोमा पुगेको छ ।

गाजाको दक्षिणी सीमामा इजरायली सेनाको उपस्थिति रहने पूर्वअडानमा वार्ताकारहरू अडिग रहेको एक प्रवक्ताले बताउनुभएको छ ।

“मोसाद जासुसी निकायका प्रमुख डेभिड बार्निया र ‘सिन बेट घरेलु सुरक्षा सेवा’का प्रमुख रोनेन बार बन्धक रिहाई सम्झौता अगाडि बढाउन इजिप्टको राजधानी पुग्नुभएको छ,” प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका प्रवक्ता ओमर डोस्ट्रीले बिहीबार बताउनुभयो ।

इजिप्टलगायत मध्यस्थकर्ताले गाजामा जारी १० महिनाभन्दा बढीको युद्ध अन्त्य गर्ने सम्झौतामा पुग्न पहल गरिरहेका छन् ।

शीर्ष अमेरिकी कूटनीतिज्ञ एन्टोनी ब्लिन्केनले यस हप्ता मध्यपूर्वक्षेत्रको भ्रमण गरी वार्ताको पर्खाईको समय अन्तिम चरणमा पुगेको र तत्काल युद्धविराम सम्पन्न गर्न आवश्यक रहेको कुरामा जोड दिनुभएको थियो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार इजरायली सेनाले वस्ती खाली गर्न दिएको आदेशपछि यस हप्ता देइर अल–बलाह र दक्षिणी सहर खान युनिसबाट दशौँ हजार नागरिकहरू विस्थापित भएका छन् ।

युद्धले गाजाको करिब ९० प्रतिशत जनसङ्ख्यालाई विस्थापित गरेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

साफ च्याम्पियनसिपमा भारत सेमिफाइनलमा, माल्दिभ्स पराजित

काठमाडौं, ७ भदौ : माल्दिभ्सलाई पराजित गर्दै भारत साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको समूह ‘बी’ अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । भारतले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गोल ग¥यो । भारतका किपगेनले डिबक्स बाहिरबाट हानेको प्रहारले जाली चुमेको थियो ।

यस खेलसँगै सेमिफाइनलमा पुग्ने चार टोलीको टुङ्गो लागेको छ । समूह ‘बी’ बाट भारत समूह विजेता बनेको छभने भूटान उपविजेता बनेको छ ।

यसैगरी समूह ‘ए’ बाट नेपाल विजेता र बङ्गलादेश उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् । अब पहिलो सेमिफाइनल खेलमा नेपाल र भूटानबीच यही भदौ ९ गते प्रतिस्पर्धा हुनेछ । त्यस्तै, दोस्रो सेमिफाइनलमा भारत र बङ्गलादेश भिड्नेछन् । उक्त खेल भने भदौ १० गते हुनेछ ।

भारतमा वर्षाका कारण २२ को मृत्यु, १७ लाख व्यक्ति विस्थापित

भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा विगत चार दिनदेखि परेको भारी वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण कम्तीमा २२ जनाको मृत्यु हुनुका साथै अन्य दुई जना बेपत्ता भएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।

स्थानीय राजस्व विभागका अनुसार बाढीका कारण त्रिपुरा राज्यमा करिब १७ लाख मानिस प्रभावित भएका छन्भने बाढीले आवास, पूर्वाधार, सडक तथा कृषिमा गम्भिर क्षति पु¥याएको छ ।

बाढी प्रभावित राज्यमा ४५० राहत शिविरहरू स्थापना गरी ६५ हजारभन्दा बढी मानिसहरूलाई शरण दिइएको अधिकारीले बताएका छन् ।

राज्यका नदीहरूको पानीको स्तर उच्च रहेको छ । बाढीले गोमती, दक्षिण त्रिपुरा, उनाकोटी र पश्चिम त्रिपुरा जिल्लालाई गम्भीर रूपमा असर गरेको स्थानीय अधिकारीले जनाएका छन् ।

प्रारम्भिक रिपोर्टअनुसार बाढीका कारण भौतिक पूर्वाधार र कृषि बालीलगायतका क्षेत्रमा व्यापक क्षति भएको वरिष्ठ स्थानीय अधिकारी बृजेश पाण्डेले बताउनुभयो ।

अल इन्डिया रेडियोका अनुसार त्रिपुरामा चार दिनसम्म परेको लगातारको वर्षाले कृषि र ऊर्जा क्षेत्रमा गम्भिर क्षति पु¥याएको छ ।

स्थानीय सरकारले भारतीय वायु सेनासँगको सहकार्यमा बाढी प्रभावित क्षेत्रहरूमा सहयोग तथा उद्धार कार्यका लागि राष्ट्रिय विपद् प्रतिक्रिया बलको टोली पनि तैनाथ गरेको छ ।

बाढीले त्रिपुराको राजधानी अगरतलाबाट रेल सेवामासमेत असर पारेको छभने गोमती, दक्षिण त्रिपुरा र अन्य बाढी प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पनि अवरुद्ध भएको छ ।

अर्को निर्देशन नआउँदासम्मका लागि प्रभावित क्षेत्रका शैक्षिक संस्थाहरू हाललाई बन्द गरिएका छन् ।

यसैबीच, भारतीय मौसम विभागले त्रिपुरा राज्यका धेरै भागहरूमा भारी वर्षाको पूर्वानुमानपछि ‘रेड अलर्ट’ को चेतावनी पनि जारी गरिएको छ ।


इरानका नयाँ विदेशमन्त्री अराग्चीद्वारा ईयूसँग वार्ताको आह्वान

इरानका नवनियुक्त विदेशमन्त्री अब्बास अराग्चीले युरोपेली सङ्घ (ईयू) का शीर्ष कूटनीतिज्ञसँग टेलिफोन वार्तापछि द्विपक्षीय समस्या समाधानका लागि वार्ता गर्न आह्वान गरेका छन् ।

“इस्लामिक गणतन्त्र इरानले पारस्परिक सम्मानमा आधारित वातावरणमा युरोपेली संघसँगको सम्बन्धविकासको स्वागत गर्दछ,” अराग्चीले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।हालैका वर्षहरूमा युरोपेली सङ्घ र इरानबीचको सम्बन्ध बिग्रिएको छ ।

तेहरानले आफ्नो आणविक गतिविधिमा लगाम लगाउन असफल भएको, प्यालेस्टाइनी लडाकू समूह हमासलाई सहयोग गरेको, युक्रेनमा रूसको युद्धलाई समर्थन गरेको र मानवअधिकार उल्लङ्घन गरेको आरोप ईयू लगाएको छ ।

अराग्चीले भन्नुभयो, “सम्बन्धको विकासका लागि दुई पक्षबीचको समस्या समाधान गर्न र युरोपेली देशहरूको भ्रामक नीतिहरूको सुधारगर्न संवादको आवश्यक पर्छ ।”

यसैबीच, ईयूका विदेश नीति प्रमुख जोसेप बोरेलले सामाजिक सञ्जाल एक्समा आफूले आफ्ना इरानी समकक्षीसँग ‘पारस्परिक हितका सबै फाइलमा नयाँ संलग्नताका सम्भावनाबारे’ छलफल गरेको बताउनुभएको छ ।

उक्त छलफलमा युक्रेन र आणविक अप्रसारविरुद्ध रूससँगको सैन्य सहयोगलाई रोक्नुका साथै तनाव कम गर्ने र संयमता अपनाउने विषयमा छलफल भएको उहाँले बताउनुभयो ।
बोरेलले क्षेत्रीय तनाव कम गर्न यस्तो ‘महत्वपूर्ण वार्ता’ आवश्यक रहेको बताउनुभएको छ ।

तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हनिया र बेरुतमा हिजबुल्लाहका एक शीर्ष कमाण्डर मारिएपछि इरान र उसको लेबनानी सहयोगी हिजबुल्लाहले इजरायलविरुद्ध प्रतिशोधको धम्की दिएका थिए ।

बुधबार पदभार ग्रहण गरेका अरागची पश्चिमा मुलुकप्रतिको खुलापनका लागि चिनिनुहुन्छ ।

उहाँले सन् २०१५ मा इरानको तर्फबाट मुख्य आणविक वार्ताकारको रूपमा काम गर्नुभएको थियो । उहाँले इरानको आणविक गतिविधिलाई नियन्त्रण गर्नको लागि एक सम्झौतामा पुग्न महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

सन् २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौता रद्द गर्नुभएको थियो भने सन् २०२२ देखि यसलाई पुनर्जीवित गर्ने प्रयास भएपनि अहिलेसम्म असफल भएको छ ।

उत्तर कोरियाद्वारा दक्षिण कोरिया र अमेरिकाको सैन्य हेलिकप्टर बिक्री सम्झौताको आलोचना

उत्तर कोरियाले शुक्रबार एसियामा अमेरिकी हतियार बिक्रीको आलोचना गर्दै दक्षिण कोरियासँगको अपाचे हेलिकप्टर बिक्री सम्झौतालाई “लापरवाह र उत्तेजक कार्य” भएको बताएको छ ।

“हामी अमेरिकाको हतियार बिक्री सम्झौताको कडा विरोध र अस्वीकार गर्दछौँ”, प्योङयाङका विदेश मन्त्रालयले दक्षिण कोरियालाई उल्लेख गर्दै एक विज्ञप्तिमा भनेको छ ।

“यो जानाजानी यस क्षेत्रमा सुरक्षा अस्थिरता बढाउने लापरवाह र उत्तेजक कार्य हो”, जापान र वासिङ्टनका अन्य एसिया–प्रशान्त सहयोगीलाई हालैको अमेरिकी बिक्रीको आलोचना गर्दै प्योङयाङले बताएको छ ।

अमेरिकाले दक्षिण कोरियालाई सोमबार ३६ एएच–६४ई अपाचे हेलिकप्टर र मिसाइलसहित सम्बन्धित सैन्य उपकरणहरू तीन अर्ब ५० करोड डलरमा बिक्री गर्ने घोषणा गरेको हो ।

अमेरिकी रक्षा सुरक्षा सहयोग निकाय (डिएससिए) ले यस्ता बिक्रीले दक्षिण कोरियालाई वर्तमान र भविष्यका खतराहरू सामना गर्न, विपक्षीहरूको आक्रमण रोक्न र क्षेत्रीय कारबाहीमा भाग लिन सक्षम बनाउने बताएको छ।

सियोलको एकीकरण मन्त्रालयले शुक्रबार उत्तर कोरियाले “कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरतालाई खतरामा पारेको” आरोप लगाएको छ । “प्योङयाङले अन्तर–कोरियाली सम्बन्धलाई ‘दुई शत्रु राष्ट्र’ का रूपमा परिभाषित गरेको छ र निरन्तर अवैध आणविक र मिसाइलहरूको विकास अगाडि बढाइरहेको छ”, मन्त्रालयले भनेको छ ।

दक्षिण कोरियाली सरकारले उत्तर कोरियाको गतिविधि नजिकबाट निगरानी र राम्ररी मूल्याङ्कन गरिरहेको मन्त्रालयका उप प्रवक्ता किम इन–एईले पत्रकारहरूलाई बताउनुभयो ।

वासिङ्टन सियोलको प्रमुख सुरक्षा सहयोगी हो र यसले दक्षिण कोरियामा लगभग २८ हजार पाँच सय सैनिक परिचालन गरेको छ ।

वासिङ्टन र सियोलले उत्तर कोरियालाई नियन्त्रण गर्ने उद्देश्यले नयाँ अभ्यासका साथ प्रमुख वार्षिक संयुक्त सैन्य अभ्यास सुरु गरेको दिन नै हेलिकप्टर बिक्रीको खबर आएको हो ।

किमाथाङ्का नाका खुलेपछि सात सय बढी नागरिकलाई सीमा पास वितरण

किमाथाङ्का (सङ्खुवासभा), ७ भदौ : सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाका सञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालयले सीमा पास वितरण गरिरहेको छ । गत जेठ १२ मा १४ नाकासहित एकैसाथ सञ्चालनमा आएको किमाथाङ्का नाका आवतजावतका लागि सात सय ९९ सीमा पास वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भोगेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । भोटखोलामा मात्र घुम्ती टोलीमार्फत पाँच सय ६४ वटा सीमा पास वितरण गरिएको उहाँले बताउनुभयो ।

भोटखोला र मकालु गाउँपालिकाभित्र नागरिकले सीमा पास र परिचयपत्रका आधारमा किमाथाङ्का नाका पारी पुगेर चिनियाँ बजारबाट दैनिक उपभोग्य वस्तु खरिद गर्दै आइरहेका छन् । नाका खुलेसँगै सीमा पास वितरण भएपछि भोटखोलाका नागरिकलाई खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि र रोजगारीका लागि सीमावर्ती नाका आवतजातवत गर्न सहज भएको छ । भोटखोला गाउँपालिकाका वडा नं १, २ र ३ छिमेकी चीनको भूभागसँग जोडिएका छन् । यस क्षेत्रमा करिब पाँच हजारको बसोबास रहेको छ भने यहाँ आलु र कोदो मात्र उत्पादन हुँदै आएको छ । किमाथाङ्कावासी सीमापारिको चाँगा बजारमा गएर दैनिक रोजगारी गरेर जीविका चलाउँदै आएका छन् । कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले विसं २०७६ माघ ५ देखि किमाथाङ्कासहित चीनसँग जोडिएका विभिन्न नाका बन्द गरेको थियो ।

विसं २०३५ मा भन्सार कार्यालय स्थापित किमाथाङ्का नाका द्वन्द्वलगायत कारणले विसं २०५७ देखि सदरमुकाम खाँदबारीमा सारिएको थियो । खाँदबारीदेखि किमाथाङ्काको दुरी एक सय ६२ किलोमिटर छ । यहाँ अझै पनि सडक सञ्जाल नपुगेकाले सडक पुगेको स्थानबाट दुई दिन हिँडेर नाकासम्म पुग्न सकिन्छ । खाँदबारी किमाथाङ्का सडक निर्माणाधीन अवस्थामा छ ।

तनहुँ दुर्घटना : मृतकको संख्या २७पुग्यो, १६ घाइेतलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो

काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा शुक्रबार भएको यात्रु बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट अन्दाजी दुई सय मिटर तल मर्यस्याङ्दी नदीमा खस्दा १६ जना घाइते भएका छन् ।


घाइतेमध्ये १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ । उनीहरुको महारागन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । प्रहरीका अनुसार सो बसमा चालक र सहचालकसहित ४३ यात्रु सवार थिए ।

हदम्यादका आधारमा उन्मुक्ति हुने गरी ऐन संशोधन नगर्न आयोगको अनुरोध

काठमाडौँ, ७ भदौ : राष्ट्रिय मानव अधिकार आयोगले भ्रष्टाचारजन्य कसुरमा हदम्यादका आधारमा उन्मुक्ति हुने गरी ऐन संशोधन नगर्न प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई अनुरोध गरेको छ ।

आयोगले आज भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचारजन्य कसुरमा हद म्यादका आधारमा उन्मुक्ति हुने गरी ऐन संशोधन प्रस्ताव अगाडि बढाइएको उल्लेख गर्दै समितिलाई पत्राचार गरेको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिनुभयो । उहाँले हद म्यादका आधारमा उन्मुक्ति हुने गरी ऐन संशोधन प्रक्रिया अगाडि नबढाउन समितिलाई पत्राचार गरेको बताउनुभयो ।

“भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचारजन्य कसुरमा त्यस्तो कार्य भएको थाहा पाएको मितिले पाँच वर्षभित्र मुद्दा चलाउनुपर्नेछ भनी गरिएको संशोधन प्रस्तावप्रति यस आयोगको गम्भीर ध्यानाकर्षण भएको छ”, पत्रमा भनिएको छ, “भ्रष्टाचारजन्य कार्य जुनसुकै अवधिमा गरेको भए पनि त्यो गम्भीर अपराध भएको र त्यस्तो विषयमा हद म्याद कै कारणले भ्रष्टाचारजन्य कसुर गर्नेले उन्मुक्ति पाउने सम्भावना बढ्नुका साथै सुशासन र मानव अधिकारको उपभोगमा बाधा उत्पन्न हुन जान्छ, अतः भ्रष्टाचार गर्ने व्यक्तिलाई हद म्यादका आधारमा उन्मुक्ति हुने गरी ऐन संशोधन प्रक्रिया अगाडि नबढाउन आयोग समितिलाई अनुरोध गर्दछ ।”

रवि लामिछानेसहित गोरखा मिडिया नेटवर्क प्रालिका पूर्व पदाधिकारीसँग सोधपुछ

काठमाडौँ, ७ भदौः सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज गोरखा मिडिया नेटवर्क प्रालिका पूर्व सञ्चालक एवं प्रबन्ध निर्देशक रवि लामिछानेसँग सोधपुछ गरेको छ ।

समितिको आज बसेको बैठकमा समितिको कार्यविधिअनुसार विभिन्न सहकारी र कम्पनीको रकम दुरुपयोगमा संलग्नका रुपमा आरोपितमध्ये पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग सोधपुछ गरिएको समिति सभापति सूर्य थापाले जानकारी दिनुभएको छ ।

समिति सचिव बविता मिश्रकाअनुसार आजै गोरखा मिडिया नेटवर्क प्रालिका पूर्व सञ्चालक छविलाल जोशीसँग पनि सोधपुछ गरिएको थियो । 

समितिले विभिन्न सहकारी र कम्पनीको रकम दुरुपयोगमा सङ्लग्नको रुपमा आरोपित व्यक्तिहरुसँग सोधपुछ तथा बयान लिइरहेको छ । विभिन्न सहकारी संस्थाका सदस्य (शेयरधनी) एवम् बचतकर्ताको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन भएको विषयमा अध्ययन गर्ने कार्यादेश समितिले पाएको छ ।

 विभिन्न सहकारी संस्थाहरुबाट प्रवाह भएको रकमको स्थिति, सो रकम गैरकानुनी रुपमा प्रवाह भए वा नभएको र त्यस्तो गैरकानुनी वा अनुचित कार्यमा कोही संलग्न देखिएमा त्यस्ता व्यक्तिहरुको बारेमा अध्ययन छानबिन गरी जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिलाई कानून बमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने कार्यादेश समितिले पाएको छ ।

छानबिन समितिले समस्याग्रस्त घोषणा भएका र सामाजिक रुपमा प्रश्न उठेका सहकारी संस्थाहरुको अध्ययन गरिरहेको छ । समस्याग्रस्त घोषणा भएका बाहेक स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, इमेज बचत तथा ऋण सहकारी, आइडियल यमुना बहुउद्देश्यीय संस्थाको रकम हिनामिना भएको विषयमा समितिले अध्ययन गरिरहेको छ । 

मर्स्याङ्दी बस दुर्घटनाप्रति अध्यक्ष दाहालद्धारा दुःख व्यक्त

काठमाडौँ, ७ भदौ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तनहुँमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उद्धार र उपचारलाई प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ । अध्यक्ष दाहालले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पछिल्ला समय बढिरहेका सवारी दुर्घटना न्यूनीकरणका लागि जुट्न सबै पक्षलाई आग्रह गर्नुभयो ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले भन्नुभएको छ, “तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खस्दा भएको ठूलो मानवीय क्षतिले स्तब्ध बनाएको छ । थप मानवीय क्षति हुन नदिन घाइतेको शीघ्र उद्धार र प्रभावकारी उपचारका लागि सरकारसहित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छु ।”

बाढी, पहिरोलगायतका विपद्मा परी आजसम्म १९५ को मृत्यु

काठमाडौँ, ७ भदौः अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी आज दिउँसोसम्म एक सय ९५ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २७, मधेस प्रदेशमा आठ, बागमती प्रदेशमा ३६, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३७, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १५ गरी एक सय ९५ जनाको मृत्यु भएको केन्द्रीय प्रहर िप्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाढी पहिरोमा परी काठमाडौँ उपत्यकामा ११, कोशी प्रदेशमा ३८, मधेस प्रदेशमा १२, बागमती प्रदेशमा २७, गण्डकी प्रदेशमा ४७, लुम्बिनी प्रदेशमा १९, कर्णाली प्रदेशमा ५९ र सुदूरपश्चिम प्रदेशमा ३४ गरी दुई सय ४७ जना घाइते भएका छन् ।

बाढीपहिरोका कारण काठमाडौँ उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा एक सय एक जना गरी आज सम्म जम्मा दुई सय दश जनाको उद्दार गरिएको प्रवक्ता कार्कीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई जना, मधेस प्रदेशमा एक जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा दुई जना, लुम्बिनी प्रदेशमा एक जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी ४९ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।” 

बाढीका कारण हालसम्म जम्मा चार सय आठ घर डुबानमा परेका प्रहरीले जनाएको छ । तीन सय ४२ वटा घर, एक सय २१ वटा गोठ, ५१ वटा पुल, छ वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । बाढी पहिरोले नौँ सय नौँ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट पाँच हजार आठ सय ८३ घर परिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

युएनडिपीका नवनियुक्त आवासीय प्रतिनिधिद्वारा ओहदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ, ७ भदौः संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)का नवनियुक्त आवासीय प्रतिनिधि क्योको योकोसुकाले परराष्ट्रमन्त्री डा आरजु राणा देउवासमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।

परराष्ट्रमन्त्री डा राणाले नवनियुक्त आवासीय प्रतिनिधि योकोसुकालाई बधाई ज्ञापन गर्दै नेपाल सरकार र युएनडिपीबीच दिगो विकास लक्ष्य हासिल गर्नेतर्फको यात्रामा लामो समयदेखि रहँदै आएको सहकार्यको सराहना गर्नुभएको थियो ।

मन्त्री डा राणाले भन्नुभयो, “सामाजिक तथा आर्थिक, वातावरणीय र राजनीतिक चुनौतीहरूका बाबजुद नेपालले आफ्नो विकास यात्रामा उल्लेखनीय प्रगति हासिल गरेको छ । कम विकसित मुलुकहरूको सूचीबाट स्तरोन्नति हुने क्रममा नेपाललाई आर्थिक रूपमा सबल र दिगो, सामाजिक रूपमा समावेशी बनाउन युनएनडिपीको भूमिका अझ बढी महत्वपूर्ण रहेको छ ।”

दिगो विकास लक्ष्यहरू हासिल गर्न युएनडिपी प्रतिबद्ध रहेको बताउँदै योकोसुकाले भन्नुभयो, “उत्थानशीलताको निर्माण, रोजगारी सिर्जना र प्रजातान्त्रिक शासन व्यवस्थाको प्रवर्द्धन गर्ने क्षेत्रमा कार्यशील युएनडिपी, सरकार, नागरिक समाज र निजी क्षेत्रसँग सहकार्यमा राष्ट्रिय विकास प्राथमिकताहरूलाई सम्बोधन गर्न र ‘कसैलाई पनि पछाडि नछाड्ने’ वाचा पूरा गर्न तत्पर छ ।”

नवनियुक्त आवासीय प्रतिनिधि योकोसुकासँग विभिन्न नेतृत्वदायी भूमिकामा रहेर अन्तर्राष्ट्रिय विकासको क्षेत्रमा काम गरेको २५ वर्षभन्दा बढीको अन्तर्राष्ट्रिय अनुभव रहेको छ । नेपालका लागि नियुक्त हुनुअघि उहाँ जर्मनीको बोनस्थित युएन भल्युन्टिर्यस् (युएनभी)का लागि उपकार्यकारी संयोजकका रूपमा कार्यरत हुनुहुन्थ्यो ।

उहाँले उज्बेकिस्तान, लाओ गणतन्त्र र बङ्लादेशमा युएनडिपीको उपआवासीय प्रतिनिधि भएर काम गरिसक्नुभएको छ । संयुक्त राष्ट्रसङ्घसँगको लामो आबद्धताका क्रममा योकोसुकाले युएनडिपीका लागि रोमानिया, युरोपस्थित युएनडिपीको क्षेत्रीय कार्यालय र न्युयोर्कस्थित युएनडिपी मुख्यालयमा रहेर काम गरिसक्नुभएको छ । जापानी नागरिक योकोसुकाले युनिभर्सिटी अफ लन्डनको स्कूल अफ ओरियन्टल एन्ड अफ्रिकन स्टडिजबाट विकास अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।

पार्टीप्रतिको असन्तुष्टि सामाजिक सञ्जालमा व्यक्त नगर्न निर्देशन

काठमाडौँ, ७ भदौः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आफ्ना नेताहरूलाई पार्टीप्रतिको असन्तुष्टि सामाजिक सञ्जालमा व्यक्त नगर्न निर्देशन दिएको छ ।

पार्टीका महासचिव घनश्याम भुसालले आज एक विज्ञप्ति जारी गर्दै पार्टीसम्बद्ध कुनै पनि नेताले अबदेखि सामाजिक सञ्जालमा पार्टी, कमिटी र अरु नेताहरूका बारेमा कुनै पनि नकारात्मक कुरा नलेख्न, शेयर नगर्न निर्देशन दिनुभएको हो ।

पछिल्लो समय पार्टीका जिम्मेवार नेताबाट सामाजिक सञ्जालमा आएका अभिव्यक्तिले पार्टी सङ्गठन सुदृढीकरणमा समस्या आउने बताउँदै उहाँले भन्नुभयो, “राजनीतिक व्यक्ति आफूप्रति मात्रै उत्तरदायी भएर पुग्दैन, हामीसँग समाजले, पार्टीले, कमिटीले र अरु नेताहरूले पनि उत्तरदायित्वको बोध गर्नुपर्छ ।”

महासचिव भुसालले दशौँ राष्ट्रिय महाधिवेशनपछि केन्द्रीय सदस्य चयनका क्रममा देखिएको असन्तुष्टिले पार्टीका नेताहरूको मर्यादासमेत नराख्नेगरी सामाजिक सञ्जालमा टिप्पणी भएकामा आपत्ति प्रकट गर्दै पार्टी पद्धतिअनुसार नेताले आफूलाई लागेका सबै कुरा बैठकमा उठाउन आग्रह गर्नुभयो ।

यसैबीच, पार्टीले क्षमता र योगदानका आधारमा छिट्टै नेताहरूको जिम्मेवारी हेरफेर गरी १८ जना केन्द्रीय पदाधिकारी छनोट तथा विभिन्न नेतालाई विभागीय प्रमुखको जिम्मेवारी तोक्ने जनाइएको छ । तीन सय ४४ केन्द्रीय कमिटी मनोनित गरेको पार्टीले यही भदौ ९ देखि ११ गतेसम्म केन्द्रीय कमिटीको पूर्ण बैठक काठमाडौँमा आह्वान गरेको छ ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएकामा राष्ट्रसङ्घद्वारा स्वागत, नेपाल सरकारलाई सघाउने प्रतिबद्धता

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले सङ्क्रमणकालीन न्यायसम्बन्धी शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिन बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगलाई आवश्यक पर्ने ऐन, कानुन बनाउने विधेयक सङ्घीय संसद्का दुवै सदनबाट पारित भएकामा स्वागत गरेको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्का उच्चायुक्त भोल्कर टर्कले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक नेपालका दुवै सदनबाट पारित भएकामा त्यसको स्वागत गर्दै विधेयकको कार्यान्वयन पीडितकेन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

शान्ति सम्झौता भएको १८ वर्षपछि पारित भएको उक्त विधेयक नेपालमा दिगो शान्ति स्थापनामा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै उनले सत्य निरुपण र मेलमिलापसम्बन्धी सबै मुद्दा निरुपण गर्न सहज हुने बताए ।

बिहीबार राति जेनेभामा जारी गरेको वक्तव्यमा उच्चायुक्त टर्कले पारदर्शी ढङ्गले स्वतन्त्र व्यक्तिहरू दुवै आयोगमा पदाधिकारीहरू नियुक्त हुनुपर्नेमा जोड दिएका छन् ।

शान्ति प्रक्रियालाई सफलतापूर्वक तार्किक निष्कर्षमा पुर्याउने उदाहरणीय मुलुकका रुपमा नेपाल क्षेत्रीय एवं अन्तर्राष्ट्रिय जगतमा स्थापित भएको उल्लेख गर्दै उनले शान्ति प्रक्रियाको यो महत्त्वपूर्ण चरणमा नेपाल सरकारलाई हरतरहले सहयोग गर्न आयोग तत्पर रहेको बताएका छन् ।

कान्तितालमा मोटरबोट सञ्चालनले चराको बासस्थान सङ्कटमा पर्ने

नेपालगञ्ज (बाँके), ७ भदौः सीमसार क्षेत्रका रूपमा रहेको नेपालगञ्जको कान्तितालमा दुर्लभ सारसलगायत चराको बासस्थान सङ्कटमा पर्ने जोखिम बढेको छ । तालको स्वरुप परिवर्तन गरेर त्यहाँ मोटरबोट चलाउन प्रयास भएकाले चराको बासस्थान सङ्कटमा परेको संरक्षणकर्मीले बताएका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं २१ र २२ मा पर्ने २५ बिघा क्षेत्रफलमा फैलिएको तालमा संरक्षित चराका रूपमा रहेको दुर्लभ सारसलगायत परम्परागत र आगन्तुक चराको बासस्थान सङ्कटमा परेको ‘फ्रेन्ड्स फर वाइल्ड लाइफ कन्जरभेसन’का अध्यक्ष आशिष चौधरीले बताउनुभयो । सो स्थानमा साइबेरिया, थाइल्याण्ड र मलेसियाबाट आगन्तुक चरा आउने गर्छन् ।

पक्षी संरक्षण समाज र नेपाल चराविज्ञ एशोसिएसनको विज्ञ टोलीले डेढ घण्टासम्म सर्भे गर्दा ३२ प्रकारका परम्परागत र आगन्तुक चराको बासस्थान रहेको तालमा तीन प्रजातिका कमलका फूल फेला परेको उल्लेख गरेको छ । “यसलाई जैविक विविधता र बर्ड पार्कका रूपमा विकास गर्नुपर्छ”, संरक्षणकर्मी चौधरीले भन्नुभयो । मोटरबोट चल्दा त्यसले पर्यावरणमा नोक्सानी हुने औँल्याउँदै उहाँले कान्तिताल चराको आहाराको स्रोत भएको बताउनुभयो । “तालमा चराको प्राकृतिक आवास भएकाले त्यहाँ धेरै चरा रमाउँछन्”, उहाँले भन्नुभयो ।

अध्यक्ष चौधरीले इन्धनबाट चल्ने मोटरबोटले चराको प्राकृतिक बासस्थान नष्ट हुने उल्लेख गर्दै ‘प्राकृतिक सिमसारका रूपमा रहेको तालमा मोटरबोट चलाउन लागेको कुराले आफूलाई चिन्तित बनाएको बताउनुभयो । “यसले तालबाट आश्रित दुर्लभ चराको प्राकृतिक बासस्थान स्वतः नष्ट हुने निश्चित छ”, उहाँले भन्नुभयो । मोटरबोट चलाउन अनुमति दिने नेपालगञ्ज उपमहानगरपालिका र चलाउन खोज्ने ठेकेदारको कदमप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको संरक्षणकर्मी चौधरीले बताउनुभयो ।

उक्त तालमा आश्रय लिइरहेका चराको हरेक वर्ष गणना हुँदै आएको छ । दुई वर्षअघि गरिएको गणनाअनुसार पहिलो वर्ष यहाँ २५ प्रजातिका चरा फेला परेका थिए । दोस्रो वर्ष घटेर २२ प्रजातिका चरा फेला परेका छन् । आगामी हिउँद सिजनमा पनि चरा गणना गर्ने संरक्षणकर्मीको योजना छ ।

तालमा दुर्लभ पक्षी सारस, अन्य परम्परागत चरा, विभिन्न प्रजातिका सरीसृप, दुर्लभ प्रजातिको मलाहा बिरालो (फिसिङ क्याट)लगायतको बासस्थान छ । यहाँ गर्मीयाममा युरोप, मध्यपूर्वी एसिया, इण्डोनेसियाबाट आएका चराले बासस्थान बनाउँछन् भने जाडोयाममा साइबेरिया, उत्तरी चीनलगायत देशबाट चरा आउँछन् । बसाइँ सरेर आउने आगन्तुक चराले पनि तालमै बच्चा उत्पादन गर्ने गर्छन् । सारसले पनि कान्तिताललाई प्रजननस्थल बनाउँदै आएको छ । “सारसको प्रजननस्थल पनि हो कान्तिताल”, अध्यक्ष चौधरीले भन्नुभयो, “ताल सारसका लागि बाँके र बर्दियाकै राम्रो बासस्थान मानिन्छ ।” उहाँका अनुसार सारसको बासस्थान बाँकेस्थित राप्ती नदीको तटीय क्षेत्र, कान्तिताल र मानखोला रहेको छ । तर यीमध्ये सबैभन्दा राम्रो बासस्थान सो ताल रहेको बताइएको छ । यस स्थानमा विभिन्न जलचर र वनस्पपति छन् ।

दुर्लभ सारस पाइने जिल्ला रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया र कैलाली हो । यसअघि गणना गर्दा बाँकेमा ३३ वटा सारस फेला परेका थिए । पक्षीविद् रामबहादुर शाहीले प्राकृतिक सिमसारमध्ये कान्तिताल सबैभन्दा राम्रो सिमसार क्षेत्र भएको उल्लेख गर्दै सरकारले संरक्षित सूचीमा राखेको चरा सारस प्रत्यक्ष देखिएको बताउनुभयो ।

पक्षीविद् शाहीले अफ्रिकाबाट आएको जुरे कोइली पनि सो तालमा रहेको जानकारी दिँदै अन्य सयौँ स्थानका स्थानीय प्रजातिका चराको पनि बासस्थान उक्त ताल भएको बताउनुभयो । नेपालगञ्जका अभियन्ता डा विनोद कर्णले तालमा मोटरबोट चलाउने प्रयास घातक हुने उल्लेख गर्दै भन्नुभयो, “अनुरोध गर्दागर्दै पनि मोटर बोट चलाउन खोजियो भने त्यो राम्रो हँुदैन ।” नेपालगञ्ज उपमहानगरपालिकाले २०७८ सालमा १० वर्षका लागि स्थानीय ठेकेदारलाई मोटरबोट चलाउन ठेक्का दिएको थियो ।

मेचीनगरमा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न त्रिपक्षीय सम्झौता

झापा, ७ भदौः मेचीनगरमा नसर्ने रोगको जोखिम भएका ४० वर्षमाथिका उमेर समूहका बासिन्दाको मिर्गौला, उच्च रक्तचाप, मधुमेह, मुटु र फोक्सोसम्बन्धी रोगको, जाँच र जोखिम कम गर्न स्वास्थ्य कार्यक्रम सञ्चालन गरिने भएको छ ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मिर्गौला, उच्च रक्तचाप, मधुमेह, मुटुरोग नियन्त्रणमा क्रियाशील सामुदायिक संस्था केएचडिसी नेपाल र मेचीनगर नगरपालिकाबीच स्वास्थ्य कार्यक्रम सञ्चालनका लागि बिहीबार त्रिपक्षीय सम्झौता भएको छ । सम्झौतापत्रमा मेचीनगर नगरपालिकाका तर्फबाट नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरी र केएचडिसी अध्यक्ष डा राजेन्द्रप्रसाद पोखरेलले हस्ताक्षर गर्नुभएको छ ।

केएचडिसी नेपालको कार्यक्रम संयोजक तथा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष शर्माले मेचीनगरका १५ वटै वडामा यो कार्यक्रम लागु हुने सम्झौतापत्रमा हस्ताक्षर गरेपछि बताउनुभयो । कार्यक्रमअनुसार प्रतिष्ठान र केएचडिसी नेपालले मेचीनगरका घरघरमा पुगेर मुटुरोग, मधुमेह, उच्च रक्तचाप र दीर्घकालीन मिर्गौला रोगको उच्च जोखिम भएका बिरामी खोजेर स्थानीय स्वास्थ्यकर्मीलाई प्राविधिक उपकरण उपलब्ध गराउँदै सीप र क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने छ ।

कार्यक्रमअन्तर्गतमा नगरका सबै अस्पताल, स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकीमा कार्यरत जनशक्तिलाई तालिम दिएर प्रशिक्षित गरिने डा शर्माले बताउनुभयो । कार्यक्रमको संयोजन प्रतिष्ठानको इनटरनल मेडिसिन विभागका प्राध्यापक डा शर्माले गर्नुहुने सम्झौतामा उल्लेख छ । नगर क्षेत्रमा घरदैलो गरेर फेला परेका नसर्ने रोगका बिरामीको विशेषज्ञ चिकित्सक र आवश्यकतानुसार टेलिमेडिसिनको माध्यमबाट उपचार गरिने छ ।

हाल केएचडीसीका स्वास्थ्य कार्यक्रम झापा, मोरङ, सुनसरी र धनकुटामा सञ्चालित छन्भने विगत तीन वर्षमा मेचीनगरका ४० वर्षमाथिका १० हजार आठ सय ५७ जनाको स्वास्थ्य परीक्षण गरिसकेको जनाएको छ ।

भोगाधिकार विवाद समाधान नहुँदा अस्पताल निर्माणमा विलम्ब

घोडाघोडी (कैलाली),७ भदौः जमिनको भोगाधिकार विवाद समाधान नहुँदा घोडाघोडी नगरपालिकामा निर्माणाधीन १५ शय्याको नगर अस्पताल भवन अलपत्र परेको छ ।

घोडाघोडी नगपालिका प्रमुख खडकबहादुर रावतले जमिन भोगाधिकार नगरपालिकामा कायम गर्न नभएकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरिएको जानकारी दिँदै सकारात्मक परिणाम आउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

जमिनको स्वामित्व निक्र्योल नगरी सरकारले स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नतिका क्रममा १५ शय्याको आधारभूत अस्पताल निर्माण थालनी गरेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल मङ्सिर १५ गते देशभरका तीन सय ९६ अस्पतालको एकसाथ शिलान्यास गर्नुभएको थियो । सोही अनुरुप घोडाघोडी नगरपालिकाले पनि वडा नं २ साडेपानीमा १५ शय्याको नगर अस्पताल बनाउने निर्णय भएको हो ।

नगर अस्पताल निर्माणको सम्झौता राजेन्द्र निर्माण सेवा प्रालि डडेलधुरासँग गरिएको थियो । कम्पनीले रु नौ करोड ८६ लाख पाँच हजार पाँच सय ७० मा दुई वर्षभित्र भवन निर्माण गर्न २०७८ वैशाख २९ गते सम्झौता गरेको थियो । अस्पताल भवन निर्माण अलपत्र परेपछि पालिकाले स्वास्थ्यचौकीको भवनमा नगर अस्पताल सञ्चालन गरेको छ ।

जापानी दम्पतीले गरे विद्यालयलाई पाँच लाख सहयोग

पर्वत, ७ भदौ : मोदी गाउँपालिका–५ बाजुङस्थित सरस्वती माध्यमिक विद्यालयलाई बस खरिद गर्न जापानी नागरिकले रु पाँच लाख ३५ हजार प्रदान गरेका छन् ।

जापानी नागरिक मात्सुसिता हिरोयुकी र उहाँकी पत्नी रियो मितोको आर्थिक सहयोगमा २० वर्ष अगाडि उक्त विद्यालयका दुईवटा भवन निर्माण भएका थिए । यसपटक उहाँहरूले बस खरिद गर्न उक्त रकम विद्यालयका प्रधानाध्यापक अजय लामिछानेलाई बिहीबार हस्तान्तरण गर्नुभएको हो ।

प्रधानाध्यापक लामिछानेका अनुसार यसअघि जापानको नागासाकी निची लायन्स क्लबले बस खरिद गर्न रु १० लाख प्रदान गरेको थियो । उक्त रकबाट बस खरिद गर्न अपुग भएपछि विद्यालयले स्थानीय मोदी गाउँपालिकासँग रु १५ लाख सहयोग मागेको थियो ।

उक्त पालिकाबाट ऋण सहयोग प्राप्त नभएका बेला जापानी दम्पतीबाट सहयोग भएको हो । यो दम्पतीले विद्यालयका लागि पाँचकोठे भवन निर्माण गरिदिएका थिए भने हरेक दुई वर्षमा विद्यालयमा नै आएर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । उनीहरूले गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, सीप र कला सिकाउने गरेका छन् ।

स्थानीयवासी डा खड्गबहादुर केसीमार्फत जापानी दम्पती विद्यालयसँग जोडिएका हुन् । डा केसी त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष हुनुहुन्छ ।

बहुवर्षीय ठेक्का लगाएको योजना नै बजेटविहीन !

म्याग्दी, ७ भदौः गण्डकी प्रदेश सरकारले मुस्ताङमा स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का लगाएको योजना नै वार्षिक कार्यक्रमबाट हटाइएपछि समस्या भएको छ ।भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको सिफारिसमा आर्थिक मामिला मन्त्रालयले स्रोत सुनिश्चितता र स्वीकृति दिएर बहुवर्षीय ठेक्का सम्झौता भएको योजना सम्पन्न नहुँदै चालु आर्थिक वर्षको वार्षिक कार्यक्रममा समावेश नगरेकाले समस्या भएको हो ।

मुस्ताङको पूर्वाधार विकास कार्यालयले ठेक्का लगाएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ को समर–घ्याकर–ढुम्बाक कृषि सडक आयोजनालाई गण्डकी प्रदेश सरकारको चालु आवको वार्षिक योजनाबाट हटाएकाले काम सम्पन्न गरेका निर्माण व्यवसायीलाई भुक्तानी गर्न बजेट अभाव भएको उक्त कार्यालयका सूचना अघिकारी घनश्याम रोकाले बताउनुभयो ।

गत आवमा रु एक करोड बजेट विनियोजन भएको सो योजना निर्माणका लागि २०८० साल चैत १४ गते डिआर इन्फ्रास्ट्रक्चर प्रालि काठमाडौँले रु ५३ लाख ९१ हजार तीन सय ५६ मा ठेक्का सम्झौता गरेको थियो । विसं २०८१ चैत १२ गतेसम्मको ठेक्का अवधि रहेको योजना लक्ष्यभन्दा आठ महिनाअघि गत साउनमा सम्पन्न गरे पनि प्रदेश सरकारको चालु आवको वार्षिक कार्यक्रमबाटै योजना हटाएकाले भुक्तानी पाउन नसकेको निर्माण कम्पनीका प्रतिनिधि नवराज कार्कीले बताउनुभयो ।

“मुस्ताङको प्रतिकूल भूगोल र आर्थिक मन्दीको असहज अवस्थामा पनि पर्याप्त मजदुर र उपकरण परिचालन तथा निर्माण सामग्री जुटाएर एक वर्षको सम्झौता म्याद भएको आयोजना चार महिनामै सम्पन्न गरेका छौँ”, उहाँले भन्नुभयो, “सरकारले पुरस्कृत गर्नुपर्नेमा वार्षिक कार्यक्रमबाटै योजनालाई हटाएर निर्माण व्यवसायीलाई निरुत्साहित गरेको छ ।”

सूचना अघिकारी रोकाका अनुसार ९१ प्रतिशत भौतिक प्रगति भएको उक्त योजनाका निर्माण कम्पनीले रु २९ लाख भुक्तानी लिएको छ । चालु आवमा उक्त योजनाका निम्ति बजेट नभएकाले भुक्तानी गर्न सकेका छैनौँ । निर्देशनालय, मन्त्रालय र जिल्लाका प्रदेशसभा सदस्यलाई यो समस्याबारे जानकारी गराएका छौँ ।

भारतको प्रमुख अस्पतालहरूमा जारी हडताल ११ दिनपछि अन्त्य, चिकित्सकहरूको विरोध प्रदर्शन भने अझै जारी

सहकर्मीको बलात्कार र हत्याको विरोधमा भारतीय चिकित्सकहरूले सरकारी अस्पतालमा गरेको हडताल ११ दिनपछि बिहीबार अन्त्य गरेका छन् । तर कोलकातामा भने अझै उग्र विरोध प्रदर्शन जारी नै छ । यही अगस्ट ९ मा भारतको पूर्वी सहर कोलकाताको सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको शव फेला परेपछि महिला विरुद्धको हिंसाको दीर्घकालीन मुद्दामा देशव्यापी आक्रोश बढेको हो ।

भारतका विभिन्न सहरमा सरकारद्वारा सञ्चालित अस्पतालका चिकित्सक सङ्घहरूले अस्पतालको आकस्मिक सेवा बाहेकका सेवा बन्द गर्दै स्वास्थ्यकर्मीहरूले हडताल सुरु गरेका थिए ।

महिलाविरुद्ध हिंसाको दीर्घकालीन मुद्दामा मात्र नभई उनीहरूलाई सुरक्षित काम गर्ने अवस्था प्रदान गर्न असफल भएकोमा पनि आक्रोश व्यक्त दशौँ हजार सर्वसाधारण विरोध प्रदर्शनमा सहभागी भएका छन् । 

एक अर्ब ४० करोड जनसङ्ख्या भएको भारतमा सन् २०२२ मा दैनिक औसत ९० वटा बलात्कारका घटना दर्ता भएका थिए । 

बलात्कारपछि हत्या गरिएकी चिकित्सकलाई शिक्षण अस्पतालको सेमिनार हलमा फेला पारिएको थियो । शव परीक्षण प्रतिवेदनबाट यौन उत्पीडनको पुष्टि भएको छ भने अदालतमा दर्ता भएको निवेदनमा पीडितका आमाबाबुले छोरीलाई सामूहिक बलात्कार गरेको आशङ्का व्यक्त गरेका छन् ।   प्रदर्शनकारीहरूले पीडित चिकित्सकलाई ‘अभय’ उपनाम दिएका छन् । यसको अर्थ ‘निडर’ हो । 

बङ्गलादेश : पूर्वप्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानी खारेज

बङ्गलादेशको अन्तरिम सरकारले बिहीबार अपदस्थ प्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानी रद्द गरेको छ । हसिनाको राहदानीका साथै पूर्वसरकारका मन्त्री र पूर्वसांसदहरूको राहदानी ‘रद्द गरिनुपर्ने’ गृह मन्त्रालयले विज्ञप्तिमा बताएको छ । ढाकामा हसिनाको सरकारी निवासमा भीडले आक्रमण गर्दा उहाँलाई सत्ताबाट अपदस्थ गर्नुअघिका हप्ताहरूमा धेरैजसो प्रहरीको गोलीबाट गरी चार सय ५० भन्दा बढीको मृत्यु भएको थियो ।

विरोध प्रदर्शनका क्रममा कथित मानवाधिकार उल्लङ्घनको अनुसन्धान गर्ने कि नगर्ने भन्नेबारे मूल्याङ्कन गर्न संयुक्त राष्ट्रसङ्घको टोली बिहीबार बङ्गलादेश पुगेको छ ।

“पूर्वप्रधानमन्त्री, उहाँका सल्लाहकार, पूर्वमन्त्रिपरिषद र विघटन भएको संसद्का सबै सदस्य आफ्नो पदका आधारमा कूटनीतिक राहदानीका लागि योग्य थिए”, गृह मन्त्रालयले विज्ञप्तिमा भनेको छ, “यदि उनीहरूलाई पदबाट हटाइएको छ वा सेवानिवृत्त गरिएको छ भने उनीहरू र उनीहरूको पति÷पत्नीको कूटनीतिक राहदानी रद्द गरिनुपर्छ ।”हसिनाको सरकारमाथि ठूलो मात्रामा दुर्व्यवहार गरेको आरोप लगाइएको थियो । यसमा राजनीतिक विरोधीहरूको सामूहिक हिरासत र गैरन्यायिक हत्या थियो ।

हसिना र उहाँको कार्यकालमा अन्य पूर्व शीर्ष अधिकारीहरूले मानक राहदानीका लागि आवेदन दिनसक्ने तर ती कागजातहरू स्वीकृतिमा निर्भर रहने ढाकाका नयाँ अधिकारीहरूले बताएका छन् । “उपर्युक्त व्यक्तिहरूले सामान्य राहदानीका लागि नयाँ आवदेन दिँदा दुईवटा सुरक्षा निकायले उनीहरूको राहदानी जारी गर्नका लागि निवेदनलाई मञ्जुरी दिनुपर्छ”, मन्त्रालयले भनेको छ ।

बाढीका कारण कञ्चनपुरमा चारजनाको मृत्यु, एक अर्ब ५० करोडको क्षति

दोधारा चाँदनी(कञ्चनपुर), ७ भदौः असार तेस्रो साताको बाढीबाट जिल्लामा रु एक अर्ब ५० करोडको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार भौतिक पूर्वाधार, कृषि बाली, उद्योग तथा पशुधनमा उक्त रकम बराबरको क्षति भएको हो ।

“बाढी र डुबानबाट भएको क्षतिको मूल्याङ्कन गरेर यहाँका कार्यालयहरुलाई विवरण पठाउन भने बमोजिम हामीलाई क्षतिको विवरण प्राप्त भएको छ । जिल्लाभर रु एक अर्ब ५७ करोड १० लाख २१ हजार चार सय २९ मूल्य बराबरको क्षति भएको छ”, निमित्त प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलले भन्नुभयो ।

कृषि क्षेत्रमा रु ६५ करोड ४० लाख ८३ हजार पाँच सय ४६ बराबरको क्षति भएको छभने महाकाली सिँचाइ व्यवस्थापन कार्यालयमा रु २९ करोड २२ लाख, महाकाली सिँचाइ तेस्रो चरण कार्यालयमा रु दुई करोड ३२ लाख ५२ हजार नौ सय, सडक डिभिजन कार्यालयमा रु तीन करोड ८८ लाख ७० हजार, पूर्वाधार विकास कार्यालयतर्फ रु सात करोड १९ लाख ७५ हजार बराबरको क्षति भएको छ ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमा र २२ लाख, जनताको तटबन्ध कार्यालयको रु ४७ करोड ४२ लाख ८३ हजार नौ सय ८३, घरेलु तथा साना उद्योग कार्यालयको रु १७ लाख ६५ हजार, कृषि ज्ञान केन्द्रको रु ६५ करोड ४० लाख ८३ हजार पाँच सय ४६ र पशुधनमा रु एक करोड २३ लाख ९१ हजार गरी जम्मा रु एक अर्ब ६७ करोड १० लाख २१ हजार चार सय २९ बराबरकोे क्षति भएको छ । बाढीका कारण कञ्चनपुरमा चारजनाको मृत्यु भएको थियो ।

असार २३ र २४ गते कञ्चनपुरमा भीषण वर्षा भएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसअघि देशमा त्यति धेरै पानी कहिल्यै परेको थिएन । भारी वर्षाबारे स्थलगत अध्ययन गर्न कञ्चनपुर आएको मौसमविद्को टोलीले पनि कञ्चनपुरमा ‘क्लाउड ब्रस्ट’का कारण मुसलधारे वर्षा भएको निष्कर्ष निकालेको थियो ।

सडक डिभिजन दमौलीद्वारा ५३ किलोमिटर सडक मर्मत

दमौली (तनहुँ), ७ भदौ : सडक डिभिजन कार्यालयले गत आर्थिक वर्षमा ५३ दशमलव ५४ किलोमिटर सडक मर्मत गरेको छ । उक्त कार्यालयका इन्जिनियर बबिता शर्माका अनुसार सडक बोर्ड नेपाल तथा विश्व बैंकको सहयोगमा राष्ट्रिय राजमार्गमा आवधिक मर्मत तथा रिसिलिङ कार्य सम्पन्न गरिएको छ ।

उहाँले सोही अवधिमा आठ दशमलव पाँच किलोमिटर सडक कालोपत्र गरिएको जानकारी दिनुभयो । सो अवधिमा आठ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य थियो भने चार किलोमिटर ट्रयाक निर्माण गर्ने लक्ष्य रहेकामा तीन दशमलव पाँच किलोमिटर ट्रयाक निर्माण भएको शर्माले बताउनुभयो । उहाँका अनुसार आठ दशमलव पाँच किलोमिटर ग्राभेल सडक निर्माण गर्ने लक्ष्य राखिएकामा आठ किलोमिटर ग्राभेल सडक निर्माण भएको छ ।

इन्जिनियर शर्माले विगतका वर्षमा खसेका दुई ठूला पहिरामध्ये पृथ्वीराजमार्गअन्तर्गत साँखर पहिरा रोकथामका लागि ठेक्का व्यवस्थापन गरिएकामा निर्माणकार्य अन्तिम चरणमा पुगेको बताउनुभयो । गोरखाको घ्याम्पेसालअन्तर्गत कोखे आहालेको पहिरा रोकथामसम्बन्धी निर्माण सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

सडक डिभिजन कार्यालयका लागि उक्त आर्थिक वर्षमा पुँजीगततर्फ रु ४३ करोड ४७ लाख बजेट विनियोजन भएकामा रु ३९ करोड बजेट खर्च भएको जनाइएको छ । कार्यालयमार्फत बिर्ता हुँदै भानु नगरपालिका–६ टुहुरेपसल–अर्चले भञ्ज्याङ–रम्घाटार– मनटेहटिया सडकका लागि रु चार करोड ५० लाख विनियोजन भएकामा ४० प्रतिशत भौतिक र ३५ प्रतिशत प्रगति भएको छ ।

श्रृङ्गपथ–गाईघाट–ऋषिङ–चापाकोट–गल्याङ सडकको पोखरीछापबाट कटहरे हुँदै मोहमी खण्डका लागि रु ५० लाख विनियोजन भएकामा शतप्रतिशत भौतिक र ९९ दशमलव चार प्रतिशत वित्तीय प्रगति भएको छ । खैरेनीटार–भिमाद–भूमरीघाट–कावासोती सडकका लागि रु तीन करोड विनियोजन भएकामा शतप्रतिशत भौतिक र ७० प्रतिशत वित्तीय प्रगति भएको छ ।

भिमाद–रामपुर–मित्याल–आरुङखोला सडकको भिमाद रामपुर सडकका लागि रु तीन करोड विनियोजन भएकामा शतप्रतिशत भौतिक र ८६ प्रतिशत वित्तीय प्रगति भएको छ । नौबिसे–मुग्लिन–पोखरा सडकका लागि रु एक करोड ५० लाख विनियोजन भएकामा एक सय प्रतिशत भौतिक र ९८ प्रतिशत वित्तीय प्रगति भएको उक्त कार्यालयले जनाएको छ ।

बागीश्वरी मार्गका लागि रु दुई करोड ५२ लाख ६८ हजार विनियोजन भएकामा शतप्रतिशत भौतिक र ५० प्रतिशत वित्तीय प्रगति भएको छ । त्यस्तै व्यास बुद्धर्सि मार्गका लागि रु ७० लाख विनियोजन भएकामा एक सय प्रतिशत भौतिक र ९८ प्रतिशत वित्तीय प्रगति भएको छ ।

सेतीगण्डकी पुलका लागि रु एक करोड ६६ लाख ४२ हजार विनियोजन भएकामा ९४ प्रतिशत भौतिक र ९४ प्रतिशत वित्तीय प्रगति भएको कार्यालयले जनाएको छ । त्यस्तै त्रिशूली नदी पुलका लागि ८९ लाख ३० हजार बजेट विनियोजन भएकामा ४५ प्रतिशत भौतिक र ३८ प्रतिशत वित्तीय प्रगति भएको छ । मस्र्याङ्दी नदीमा मोटरेबल पुलका लागि रु ८९ लाख ३० हजार विनियोजन भएकामा ४५ प्रतिशत भौतिक र ३५ प्रतिशत वित्तीय प्रगति भएको छ ।

चालु आवका लागि ७३ करोड बजेट

इन्जिनियर शर्माका अनुसार सडक डिभिजन कार्यालयका लागि चालु आवमा रु ७३ करोड ८२ लाख ८३ हजार बजेट विनियोजन भएको छ । स्थानीय सडक पुल निर्माणका लागि रु दुई करोड ८० लाख, वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमका लागि रु ३२ करोड ६८ लाख ८३ हजार विनियोजन भएको छ ।

यसैगरी, राजमार्ग स्तरोन्नति तथा पुनःस्थापनाका लागि रु एक करोड ३५ लाख, निर्वाचन क्षेत्र रणनीतिक सडकका लागि रु एक करोड ६२ लाख, सडक तथा ट्राफिक सुरक्षाका लागि रु ७० लाख र सडक बोर्ड नेपालअन्तर्गत रु सात करोड ९४ लाख विनियोजन भएको छ ।

कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ, ७ भदौः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका सबै भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ ।

कोशी र मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मधेस प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भइरहेको विभागले आज बिहान जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।

विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।

वन, वातावरण र जग्गा प्राप्तिको समस्या पहिचानका लागि कार्यदल

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका आयोजना निर्माणका क्रममा देखिएका वन, वातावरण र जग्गा प्राप्तिका समस्या पहिचान तथा समाधानका लागि कार्यदल गठन गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, वन तथा वातावरण राज्यमन्त्री रुपा विश्वकर्मालगायत दुवै मन्त्रालयका सचिव तथा सहसचिवको बैठकले पूर्वाधार विकासलाई द्रूत गतिमा अगाडि बढाउन र यसभित्र देखिएका समस्या समाधानका लागि कार्यदल गठन गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा रहेका वन, वातावरण र जग्गा प्राप्ति समस्या पहिचान र समाधानका उपायसम्बन्धी सुझाव दिनका लागि जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव सुरेश आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गर्नुभएको हो ।

कार्यदलको सदस्यमा ऊर्जा, जलस्रोत तथा सिँचाइ विभागका सहसचिवद्वय सुशीलचन्द्र आचार्य र इन्दिरा दाहाल, वन तथा वातावरण मन्त्रालयका सहसचिवद्वय डा महेश्वर ढकाल र मेघनाथ काफ्ले, विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंह तथा सदस्य–सचिवमा जल तथा ऊर्जा आयोगको सचिवालयका सहसचिव कलानिधि पौड्याल रहनुभएको छ ।

उक्त कार्यदलले आयोजना कार्यान्वयनमा वन र वातावरण क्षेत्र तथा जग्गा प्राप्तिका समस्या समाधान गर्न गर्नुपर्ने नीतिगत, कानुनी, कार्यविधिगत र कार्यप्रक्रियागत समस्या समाधानार्थ रायको प्रतिवेदन पेस गर्नेछ ।

अहिले आयोजना कार्यान्वयनका क्रममा समय धेरै लाग्ने गरेको, वातावरणीय अध्ययन प्रतिवेदनस्तरीय हुने नगरेको, प्रक्रियागत झण्झटिलो रहेको, सरोकारवाला निकायबाट समयमा सुझाव सहमति प्राप्त हुन सकेको छैन । वन क्षेत्रको रुख हटाउन धेरै समय लाग्ने गरेको, रुख कटानपछि पनि लामो समय लाग्ने गरेको छ ।

जग्गा प्राप्तिमा ऐलानी जग्गा प्राप्तिका सम्बन्धमा कानुनी आधारको अभाव रहेको, जग्गा मूल्याङ्कन, पूर्वाधार, घर टहरा, रुख आदीको क्षतिपूर्ति मूल्याङ्नको लागि निर्देशिका मापदण्डको अभाव रहेको, प्रसारण लाइनको जग्गा प्राप्ति, कित्ताकाट र मूल्याङ्कनमा समस्या छ । जग्गा प्राप्तिका लागि जनशक्तिको समस्या, निकायगत समन्वय र सहयोग प्राप्ति हुनुपर्ने अवस्था रहेको छ ।

उक्त कार्यदलले वन, वातावरण र जग्गा प्राप्तिको समस्या समाधानार्थ कानुनी, कार्यविधिगत, संस्थागत र कार्य प्रक्रियागत सुझावसहित २५ दिनभित्र प्रतिवेदन पेस गर्नेछ ।

गोरखामा छतमा काम गरिरहेका बेला करेन्ट लागेर एकको मृत्यु, एक घाइते

गोरखा – गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

गोरखा नगरपालिका–६, पाटेचौरस्थित निर्माणाधीन घरको छतमा रेलिङ राख्ने क्रममा करेन्ट लागेर गोरखा नगरपालिका–९ लक्ष्मीबजार घर भएका २४ वर्षीय सुनील मगरको मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते हुनुभएका मगरको तत्काल उद्धार गरी गोरखा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि भरतपुर मेडिकल कलेजमा पु¥याइएको थियो ।

उहाँका उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी)रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

करेन्ट लागेसँगै काम गरिरहेका भारत घर भई गोरखा नगरपालिका–८, पेट्रोल पम्प बस्दै आएका २८ वर्षीय अर्मन खान घाइते हुनुभएको छ । उहाँको एपोलो अस्पतालमा उपचार भइरहेको डिएसपी श्रेष्ठले बताउनुभयो ।

छतमा काम गरिरहेका बेला फलामको रडले नजिकै रहेको बिजुलीको नाङ्गो तारमा छोइन पुग्दा दुवैलाई करेन्ट लागेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।