`

मुुस्ताङमा स्याउ टिप्ने समय तालिका बनाइयो,कुन प्रजातिको स्याउ कहिले टिप्ने

म्याग्दी- मुस्ताङको प्रमुख कृषि उपज स्याउ टिप्ने समय तालिका बनाइएको छ । उच्च घनत्वको गाला प्रजातिका स्याउ यही भदौ १० गते, रिङरोट जातको स्याउ भदौ १५ र स्थानीय रोयल, रेड, गोल्डेन डेलिसियस र फुजी जातको स्याउ आगामी असोज १ गतेदेखि टिप्ने समय तालिका बनाइएको हो ।

जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङको अध्यक्षतामा   जोमसोममा बसेको कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन, स्थानीय तहका जनप्रतिनिधि र कृषकको बैठकले स्याउ टिप्ने समय तालिका बनाएको कृषि ज्ञान केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिनुभयो । 

“जात र गुणको आधारमा छिटो पाक्ने जातलाई पहिले र ढिलो पाक्ने जातलाई पछि टिपेर बजार पठाउने तालिका बनाइएको छ”, उहाँले भन्नुभयो, “स्याउ पाक्ने बित्तिकै टिपेपछि बजारको समस्या हुँदैन र किसानले मूल्य पाउँछन ।” 

अघिल्ला वर्षमा मुस्ताङमा असोज १ गतेदेखि स्याउ टिप्ने गरिएको थियो । कृषक कर्म गुरुङले तापक्रम वृद्धिका कारण यसपाली स्याउमा छिटो गुलियो पसेकाले टिप्ने समय अघि सारिएको बताउनुभयो । 

अनुकूल मौसम, बगैँचा व्यवस्थापन, रोग कीराको समस्या कम देखिएकाले उत्पादन वृद्धिसँगै गुणस्तर पनि बढ्ने कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्रसार अधिकृत निशान खड्का मगरले बताउनुभयो । गत वर्षको तुलनामा २५ देखि ३० प्रतिशतले स्याउ उत्पादन बढ्ने अनुमान गरिएको उहाँले बताउनुभयो । 

मुस्ताङको एक हजार चार सय ७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकोमा पाँच सय ८० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ । ३८ हेक्टर क्षेत्रफल जमिनमा इटालीबाट ल्याइएको उच्च घनत्वको स्याउ खेती भएको छ । गत वर्ष चार हजार नौ सय ७५ मेट्रिक्टन स्याउ उत्पादन भएको र रु ४९ करोड २५ लाख बराबरको स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । 

म्याग्दी, बागलुुङ, पोखरा, चितवन, बुटवल, काठमाडौँलगायतका सहरका व्यापारी बगैँचामा नपाग्दै अग्रीम पैसा दिएर ठेक्कामा स्याउ खरिद गर्दछन् । मुस्ताङ घुम्न आउने पर्यटकले पनि कोशेलीको रुपमा स्याउ किनेर लैजाने गर्छन् । बिक्री नहुने साना दाना भएका स्याउ मदिरा र सुकुटी बनाउन प्रयोग हुन्छ ।

मुलुकमा वर्गीय विभेदको न्यूनीकरण गर्न असमान वितरण प्रणालीको अन्त्य गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान शोषण र वर्गीय विभेदको न्यूनीकरण गर्न असमान वितरण प्रणालीको अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

समाजवादी अध्ययन केन्द्रले कम्युनिष्ट विचारक लेलिनको निधनको एकसय वर्षको अवसरमाबिहीबारदेखि सुरु गरेको साताव्यापी विचार गोष्ठीको उद्घाटनका क्रममा अध्यक्ष नेपालले कम्युनिष्ट आदर्शका माध्यमबाट आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरी सामाजिक न्याय, न्यायोचित वितरण प्रणाली कार्यान्वयन गर्न सकिने बताउनुभयो ।

क्रान्तिका योद्धाबाट प्रेरणा पाउनुभएका लेलिनले देश र जनताको हितमा जस्तो सुकै जोखिम उठाएर अगाडि बढ्न विश्व समुदायलाई प्रेरित गरेको बताउँदै उहाँले जीवनको अन्तिम घडीसम्म अनेकौँ जोखिमपूर्ण सङ्घर्ष गरी आफ्नो आस्थाप्रति अटल र अविचलित रहेको विचार व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री रहनुभएका अध्यक्ष नेपालले माक्र्सवादलाई सिर्जनात्मक रूपमा ग्रहण गरी त्यसलाई वस्तुगत विश्लेषणसहित प्रयोगमा ल्याएका लेलिनले विश्व पुँजीवादको एकाधिकारलाई अन्त्य गर्न वैज्ञानिक समाजवादको सुरुआत गरेको बताउनुभयो । राजनीतिक क्रान्तिको विभिन्न चरणमा सङ्घर्ष गर्ने क्रममा भूमिगत जीवनमा पनि लेनिनले रचना गरेका कृति कम्युनिष्ट आन्दोलनको यात्रामा कालजयी रहेको उहाँको भनाइ थियो ।

नेपाली कम्युनिष्ट आन्दोलनमा लेलिनको क्रान्तिकारी आदर्शको प्रभाव रहेको बताउँदै अध्यक्ष नेपालले मुलुकमा कम्युनिष्ट नेतृत्वमा पटकपटक सरकार निर्माण भएकाले जनताको आर्थिक र सामाजिक रुपान्तरणका प्रयास भइरहेको विचार व्यक्त गर्नुभयो ।   यही भदौ १३ गतेसम्म लेलिनका जीवन तथा सङ्घर्षका विभिन्न आयामबारे छलफल गरिने जनाइएको छ ।

लोकतन्त्रमा कुनै असर नपर्ने गरी संविधान संशोधन हुनुपर्छ: नेता गच्छदार

विराटनगर, ६ भदौः नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री विजयकुमार गच्छदारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मुलभूत मान्यतामा कुनै असर नपर्ने गरी संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको भेटघाटमा उहाँले राजनीतिक स्थायित्व आउने गरी निर्वाचन प्रणालीमा सुधार गर्न पनि संविधान संशोधन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले राजनीतिकमा आइरहने उतारचढावका कारण मुलुकको विकास र समृद्धिमा अवरोध आइरहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “सबै दलको सहमतिमा संविधान संशोधन गर्नुपर्छ ।”

नेता गच्छेदारले संविधान संशोधन गर्दा समानुपातिक र समावेशी प्रतिनिधित्व हटाउने कुरा गलत अफवाह भएको भन्दै निर्वाचन प्रणाली सुधारका लागि संविधान संशोधन हुनुपर्ने जिकिर गर्नुभयो । उहाँले छुट्टै आयोग बनाएर संविधान संशोधन गर्नु भन्दा संसदीय समिति बनाएर संविधान संशोधन गर्दा उपयुक्त हुने धारणा व्यक्त गर्नुभयो ।

फरक प्रसङ्गमा नेता गच्छेदारले २०७९ को निर्वाचनको परिणाम आएपछि नै आफूले राजनीतिक स्थिरताका लागि एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने धारणा व्यक्त गरेको र उहाँले दुई ठूला दल मिल्दा मुलुकमा राजनीतिक स्थिरता आई विकास र समृद्धिको यात्रा पूरा हुने भएकाले अहिलेको गठबन्धनलाई २०८४ सालको निर्वाचन सम्म जारी राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले नेपाली कांग्रेस र नेकपा एमालेसहितको मोर्चाले मुलुकमा ठूलठूला परिवर्तन गरेको बताउँदै वर्तमान संविधानलाई परिमार्जित र परिष्कृत बनाउन पनि गठबन्धनलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

डोलेश्वरमा ३८ दिने मेला समापन, चार लाख बढी भक्तजनले गरे दर्शन, ८५ लाख सङ्कलन

भक्तपुर, ६ भदौ : केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा आजदेखि ३८ दिने श्रावणाी मेला सम्पन्न भएको छ । साउन १ गतेदेखि सुरु भएको मेला आजदेखि सम्पन्न भएको हो ।

सूर्यविनायक नगरपालिका‐८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरलाई भदौ ६ गते केदारनाथको शिर भाग घोषणा गरिएको दिन मन्दिरका चारै ढोका खुलागरी दर्शनार्थीले मन्दिरभित्र प्रवेशगरी डोलेश्वरको शिलामा स्पर्श गरेरै पूजा गर्न पाउने व्यवस्था गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिनुभयो ।

आज बिहान ४ बजेदेखि मन्दिरको चारवटै ढोका खुलागरी दर्शनको व्यवस्था गरिएकोमा आज १५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेको मन्दिरमा बताउँदै उहाँले यस मन्दिरमा महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते गरी वर्षमा तीन दिन मात्रै मन्दिरको चारै ढोका खुला गरेर दर्शनार्थीलाई मन्दिरभित्र पसेर शिला छोएर पूजा गर्नेे व्यवस्था गरेको बताउनुभयो ।

साउने मेलामा नेपाल, भारतलगायत देशका भक्तजनको आगमन भएको भन्दै भारतीय भक्तजनको उपस्थिति हरेक वर्ष बढ्दै गएको समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिनुभयो । श्रावणी मेला अवधिभर डोलेश्वरमा चार लाख भक्तजनको आगमन भएको जानकारी दिँदै उहाँले ३८ दिने साउनको चार सोमबारमा दैनिक ५० हजारभन्दा बढी भक्तजनको आगमन भएको जानकारी सिदनुभयो ।

श्रावणी मेलाको अवधिभर मन्दिर आउने भक्तजनबाट दानस्वरुप ८५ लाख ४७ हजार रुपैयाँ सङ्कलन भएको समितिका सचिव कविराम थापाले जानकारी दिनुभयो । त्यसमध्ये, ४५ लाख २० हजार रुपैयाँ भक्तजनहरूले रसिद काटेर सहयोग गरेको र ४० लाख २७ हजार रुपैयाँ मठ तथा मूर्तिमा चढाइएकोबाट संकलन भएको उहाँले जानकारी दिनुभयो । यस अवधिमा पण्डाल निर्माण, खाना आदिमा १२ लाख ३६ हजार रुपैयाँ खर्च भएको छ ।

मेला समापन कार्यक्रममा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले ३८ दिनसम्म चलेको मेला शान्तिपूर्ण रुपमा सम्पन्न भएको र कुनै झगडा एवं विवादविना नै सम्पन्न भएको बताउनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्यविनायक मन्दिर नगरपालिका मात्रै नभएर देश तथा विदेशका पनि हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र रहेको बताउनुभयो । धार्मिक तथा पर्यटकीय रुपमा पनि महत्त्व बोकेको मन्दिरको स्थापना दिवसका अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिने गरेको नगरप्रमुख थापाले बताउनुभयो ।

सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिमल्सिना भट्टराईले मेलाले मन्दिर नजिक बस्ने नगरवासीको स्थानीय उत्पादनको बजारीकरणमा सहयोग गरी आर्थिक विकासमा मद्दत पुर्‍याएको बताउनुभयो । वडाध्यक्ष पुष्पराज बस्नेतले स्वयंसेवक, स्वास्थ्यकर्मी साथै सबैको सहयोगले नै मेला सम्पन्न भएको भन्दै मेलाकै अवसरमा आयोजित रक्तदान शिविरमा पाँच सय जनाभन्दा धेरैले रक्तदान गरेको बस्नेतले जानकारी दिनुभयो ।

मिनी ट्रक दुर्घटना : एक जनाको मृत्यु, दुई जना घाइते

बैतडी, ६ भदौ : बैतडीमा आज बेलुका मिनी ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

कञ्चनपुरकमे शुक्लाफाँटा नगरपालिका–५ झलारी घर भएका मिनी ट्रक साहु जगदीश अवस्थीको घटनास्थलमा नै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।

धनगढीबाट बैतडीको दोगडाकेदार गाउँपालिका कफलकोट गइरहेको सुपप्र ०२ ००१ ख ०७३४ नम्बरको मिनी ट्रक कफलकोट नजिकै आज साँझ ७ बजे दुर्घटनामा भएको हो ।

ट्रक चालक अम्मर अवस्थी र सहचालक राजेन्द्र राना दुर्घटनामा परेर घाइते भएका छन् । उनीहरुको उपचारको लागि जिल्ला अस्पतालमा लगिएको छ ।

सरिया र सिमेन्ट बोकेको मिनी ट्रक अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त मिनी ट्रक सडकबाट ६० मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सीमा सुरक्षाका लागि अग्रस्थानमा रहन महानिरीक्षक अर्यालको निर्देशन

मुग्लिन (चितवन), ६ भदौ : सीमा सुरक्षा र विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरीलाई सधैँ अग्रस्थानमा रहन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले निर्देशन दिनुभएको छ ।

चितवनको भण्डारमा आज आयोजित सशस्त्र प्रहरी बल, नेपाल नं ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर, भण्डारा, चितवनको सातौँ स्थापना दिवसको उद्घाटन गर्दै महानिरीक्षक अर्यालले यस्तो निर्देशन दिनुभएको हो ।

राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाले विपद् र सीमा सुरक्षाका सवालमा सशस्त्र प्रहरीको भूमिका अनुकरणीय रहेको बताउनुभयो । कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले जनताको सेवामा सशस्त्र प्रहरीले पु¥याएको योगदानको उच्च प्रशंसा गर्दै पहाडी क्षेत्रसँग जोडिएका नगरपालिका र गाउँपालिकामा सशस्त्र प्रहरीको सक्रियता बढाउन माग गर्नुभयो ।

दोलखाको विगु गाउँपालिका प्रमुख सञ्जीव ओलीले सीमा सुरक्षाका सवालमा सशस्त्र प्रहरीको योगदान महत्त्वपूर्ण रहेको भन्दै प्रविधिमैत्री र कार्यालय व्यवस्थापनमा राज्यको लगानी बढाउन माग गर्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्यालले अवकाश प्राप्त सशस्त्र र सिमलताल घटनाको उद्धार तथा खोजमा महत्त्वपूर्ण योगदान दिएका सशस्त्र प्रहरी टोलीलाई प्रशंसापत्रबाट विशेष सम्मान गर्नुभएको थियो ।

स्थानीय तहका स्वास्थ्य संस्थामा चिकित्सक व्यवस्थापन गरिने

काठमाडौँ, ६ भदौ : दरबन्दी रिक्त रहेका गाउँपालिकाका स्वास्थ्य संस्थामा चिकित्सक व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समन्वय र सहजीकरण गर्ने भएको छ ।

मन्त्रालयमा आज आयोजित प्रदेश र स्थानीय तहको विषयगत समितिको बैठकमा स्थानीय तहमा कर्मचारी समायोजन विषयमा छलफल भएको हो ।

त्यसैगरी बैठकले कर्मचारी समायोजनमा छुट भएकालाई एक पटकका लागि प्रदेश र स्थानीय तहको सहमतिका आधारमा समायोजन संसोधन गरी मिलान गर्न सूचना आह्वान गर्ने निर्णय गरेको छ ।

बैठकले समायोजन पुल दरबन्दीमा रहेका स्वास्थ्यकर्मीलाई प्रदेश तथा स्थानीय तहमा पठाउने निर्णय गरेको छ । साथै स्थानीय तहमा समायोजन भएका एमडी तथा एमएस विशेषज्ञता हासिल गरेका चिकित्सकलाई प्रदेशभित्र आवश्यक परेको ठाउँमा खटाउन प्रदेश सरकारलाई अधिकार दिनेसमेत निर्णय गरेको छ ।

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आधारभूत स्वास्थ्य सेवा संविधानमा सुनिश्चित भए पनि त्यसलाई प्रभावकारी रूपमा कार्यन्वयन भएका छन् वा छैनन् भन्नेमा समीक्षा गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “उपलब्ध भएका साधन स्रोतलाई कसरी अधिकतम रुपमा प्रयोग गरेर लाभ लिन सक्छाँै’ भन्नेमा समीक्षा आवश्यक छ । एकीकृत कार्यप्रणालीबाट जाने हाम्रो लक्ष्य हो । कार्यक्रममा दोहोरोपना हुन नदिने हो ।”

बैठकले हैजा, डेङ्गी तथा झाडापखालालगायत सङ्क्रामक रोगको महामारी तथा अरु स्वास्थ्य जोखिमसँग जुध्न सङ्घदेखि वडासम्मै द्रुत प्रतिकार्य टोली सक्रिय राख्ने निर्णय पनि गरेको छ । अब स्थानीय तहका आधारभूत अस्पतालको नामकरण गाउँपालिकाको नाम, आधारभूत अस्पताल स्थान र जिल्ला रहनेगरी तय हुने निर्णय गरेको छ ।

माओवादी बैठक : सदन र सडकबाट प्रभावकारी भूमिका निर्वाह गर्ने

काठमाडौँ, ६ भदौ : नेकपा (माओवादी केन्द्र) ले देश र जनताका जल्दाबल्दा विषयमा सदन र सडकबाट प्रभावकारी भूमिका निर्वाह गर्नेभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बागमती प्रदेशका नेता तथा कार्यकर्ताको बैठकमा धारणा राख्ने ८२ जना नेताले जनताको कार्यसूचीमा पार्टीले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

पार्टीलाई प्रभावकारी बनाउनका लागि वर्गतिर फर्कनुपर्ने, विगतका गल्ती तथा कमजोरीलाई आत्मआलोचना गर्नुपर्ने, सङ्गठन निर्माणमा विशेष जोड दिनुपर्नेलगायत समसामयिक राजनीतिक विषयमा नेताहरूले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीचित्र निरन्तर बहस र छलफल भइहेको र केन्द्रीय समितिको बैठकसम्म जारी रहने जानकारी दिनुभयो । उहाँले पार्टीभित्र देखिएको भनिएको विवाद समाधान भइसकेको बताउनुभयो ।

आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीले निर्वाह गर्ने भूमिका तथा सङ्गठन विस्तारलगायतका विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।

उपमहासचिव जनार्दन शर्माले पनि आफूले स्थायी समिति बैठकमा राखेको लिखित धारणाका बारेमा जानकारी राख्दै पार्टीलाई सुधार र जनमुखी बनाउने आफ्नो ध्येय रहेको बताउनुभएको थियो ।

बुधबारदेखि सुरु भएको सो बैठकमा बागमती प्रदेशका नेता तथा कार्यकर्ताले पार्टीको समग्र अवस्था आगामी दिनको भूमिका, जनपरिचालन, सङ्गठन निर्माणलगायत विषयमा आफ्नो धारणा राख्नुभएको थियो । माओवादी केन्द्रको हालै सम्पन्न स्थायी समितिको बैठकले सात प्रदेश र सम्पर्क, सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चलगायतको बैठकको मिति तय गरेको थियो ।

बैठकमा उपाध्यक्ष पम्फा भुसाल, अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा एवं बागमती प्रदेशको नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

युक्रेनले कुर्स्क आणविक संयन्त्रमा आक्रमण गर्न खोजेको छ– पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनमाथि रुसी सीमा क्षेत्रमा लडाइँबाट करिब ५० किलोमिटर टाढा कुर्स्क आणविक संयन्त्रमा आक्रमण गर्न खोजेको आरोप लगाउनुभएको छ ।

उहाँले आफ्नो दाबीका लागि कुनै प्रमाण दिनुभएन वा कथित आक्रमणबारे थप विवरण दिनुभएन । टेलिभिजनमा प्रसारित सरकारी बैठकमा उहाँले भन्नुभयो, “दुश्मनले राति आणविक ऊर्जा संयन्त्रमा आक्रमण गर्ने प्रयास गरेको थियो, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) लाई सूचित गरिएको छ ।”

युक्रेनले अगस्ट ६ मा कुर्स्क क्षेत्रमा ठूलो सीमापार आक्रमण सुरु गरेपछि ध्यान केन्द्रीत भएको रुसी मिडियामा संयन्त्रमा आक्रमणको प्रयासबारे कुनै पनि पछिल्ला रिपोर्ट थिएनन् । आइएइए प्रमुख राफेल ग्रोसीले अर्को साता कुर्स्क आणविक संयन्त्रको भ्रमण गर्ने योजना बनाउनुभएको एजेन्सीका प्रवक्ताले बिहीबार बताएका छन् ।

किएभ र मस्कोले साढे दुई वर्षको द्वन्द्वका क्रममा आणविक सुरक्षालाई खतरामा पारेको आरोप लगाएका छन् । रुसी सैनिकहरूले आफ्नो पूर्णस्तरको सैन्य आक्रमणको प्रारम्भिक दिनहरूमा उत्तरी युक्रेनमा परित्यक्त चेर्नोबिनल विद्युत् संयन्त्र र युरोपको सबैभन्दा ठूलो जापोरिजिया आणविक ऊर्जा संयन्त्र कब्जामा लिएको थियो ।

रुसले अहिले पनि जापोरिजिया साइटलाई नियन्त्रण गर्दछ र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले ‘आणविक ब्ल्याकमेल’ को आरोप लगाउनुभएको छ ।बदलामा युक्रेनी सेनाले धेरै पटक ड्रोन आक्रमणमार्फत आणविक ऊर्जा संयन्त्रमाथि आक्रमण गर्न खोजेको मस्कोले दाबी गरेको छ ।

युक्रेनले कुर्स्क क्षेत्रमा आफ्नो सशस्त्र घुसपैठ गरेपछि आइएइएले रुस र युक्रेन दुवैसँग ‘गम्भीर रेडियोलोजिकल परिणामको सम्भावना भएका आणविक दुर्घटनाबाट बच्न’ ‘अधिकतम संयमता’ अपनाउन आग्रह गरेको छ ।

बोत्सवानामा विश्वको दोस्रो ठूलो हिरा फेला

बोत्सवानामा विश्वको दोस्रो ठूलो दुई हजार चार सय ९२ क्यारेटको विशाल हिरा फेला परेको क्यानेडाली उत्खनन कम्पनीले बिहीबार घोषणा गरेको छ ।उत्तरपूर्वी बोत्सवानाको कारोब हिरा खानीबाट एक्स–रे प्रविधि प्रयोग गरेर हिरा फेला पारेको हिरा अन्वेषण तथा खानीसम्बन्धी कम्पनी ‘लुकारा डायमन्ड कर्पोरेशन’ विज्ञप्तिमा जनाएको छ ।

लुकाराले हिराको मूल्य वा गुणस्तरबारे कुनै जानकारी उल्लेख गरेको छैन । तर क्यारेटको सन्दर्भमा यो सन् १९०५ मा दक्षिण अफ्रिकामा फेला परेको तीन हजार १६ क्यारेटको कलिनन हिरापछिको दोस्रो ठूलो हिरा हो ।

“यो असाधारण दुई हजार चार सय ९२ क्यारेटको हिरा फेला परेकोमा हामी अत्यन्तै खुसी छौँ”, लुकाराका अध्यक्ष विलियम ल्याम्बले विज्ञप्तिमा भन्नुभयो ।कम्पनीले सार्वजनिक गरेको तस्बिरले यो हिरा हातको हत्केलाजस्तै ठूलो भएको देखाएको छ ।

यो अहिलेसम्म पत्ता लागेको सबैभन्दा ठूलो कच्चा हिरामध्ये एक हो । ठूलो, उच्च मूल्यको हिरा पहिचान र संरक्षण गर्न सन् २०१७ मा स्थापना गरिएको कम्पनीको ‘मेगा डायमण्ड रिकभरी एक्स–रे’ प्रविधि प्रयोग गरेर यो हिरा पत्ता लगाइएको विज्ञप्तिमा जनाइएको छ ।

बोत्सवानाका राष्ट्रपति मोक्ग्वीत्सी मासिसीले बिहीबार यो विशाल ढुङ्गाको अवलोकन गर्नुभएको छ । उहाँको सरकारले यो विश्वको दोस्रो ठूलो हिरा भएको बताएको छ ।

युरोपको सबैभन्दा ठूलो अनलाइन हिरा व्यवसाय ‘७७ डायमण्ड’ का प्रबन्ध निर्देशक टोबियास कोर्मिन्डले यो कलिनन हिरापछि फेला परेको सबैभन्दा ठूलो कच्चा हिरा भएको बताउनुभयो ।

“यो खोजका लागि धेरै हदसम्म नयाँ प्रविधिलाई धन्यवाद दिनुपर्छ”, उहाँले भन्नुभयो ।बोत्सवाना विश्वको सबैभन्दा ठूलो हिरा उत्पादकहरू मध्ये एक हो । यसको आयको मुख्य स्रोत कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को ३० प्रतिशत र यसको निर्यातको ८० प्रतिशत हिरा व्यवसायसँग सम्बन्धित छ ।

बिहीबार खोजको घोषणा हुनुअघि बोत्सवानामा फेला परेको सबैभन्दा ठूलो हिरा सन् २०१९ मा कारोव खानीमा लुकाराले उत्खनन गरेको एक हजार सात सय ५८ क्यारेटको ढुङ्गा थियो र यसको नाम सेवेलो राखिएको थियो ।

लुकाराले सन् २०२१ मा पनि उही एक्स–रे प्रविधि प्रयोग गरेर बोत्सवानामा एक हजार एक सय ७४ क्यारेटको हिरा फेला पारेको थियो ।

स्वर्गीय नेता प्रदीप गिरि नेपाली राजनीतिमा सबैको मार्गदर्शक : गृहमन्त्री लेखक

सिरहा, ६ भदौ : गृहमन्त्री रमेश लेखकले समाजवादी चिन्तक तथा नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरि नेपाली राजनीतिमा सबैको मार्गदर्शक रहेको बताउनुभएको छ । आज सिरहाको लहान नगरपालिका–१४ स्थित ‘गिरि आश्रम’मा गिरिको दोस्रो वार्षिक स्मृति समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो ।

“समाज, दर्शन र अर्थशास्त्रमा स्व गिरिको अद्भुत् ज्ञान थियो । जसले हामी राजनीतिकर्मीलाई सधैँ मार्गदर्शन र उत्प्ररित गरिरहन्छ”, गृहमन्त्री लेखकले भन्नुभयो, “हामी त उहाँको अगाडि कुवा हौँ । एउटा कुवाले समुद्रको गहिराइको बखान गर्न सम्भव हुँदैन । त्यसैले प्रदीप गिरि हामी सबैको मार्गदर्शक रहिरहनुभएको छ ।” गिरिको व्यक्तित्व र निष्ठाको कारणले सबै पार्टीका नेता कार्यकर्ता तथा सिङ्गो देश र अन्य मुलुकले पनि उत्तिकै सम्मान दिएको लेखकको भनाइ थियो ।

गिरिलाई सम्झिँदै मन्त्री लेखकले भन्नुभयो, “उहाँको उच्च विचार र राजनीतिक निष्ठाबाट हामीले ऊर्जा लिनुपर्छ । उहाँ जस्तो अद्भुत र अलौकिक व्यक्ति गुमाउनु यो मुलुकका लागि अत्यन्त दुःखको विषय हो, जसको अभाव मुलुकलाई सधैँ खड्कीरहने छ ।” त्यसैगरी नेता गिरिको आउने पुस्ताको लागि समेत विचार, चिन्तन र ऊर्जा प्राप्तिमा अमर रहिरहने विश्वाससमेत मन्त्री लेखकले व्यक्त गर्नुभयो ।

प्रदीप गिरि मेमोरियल ट्रष्टले आयोजना गरेको उक्त कार्यक्रममा स्व. नेता गिरिको पूर्णकदको शालिकमा मन्त्री लेखकले माल्यार्पण गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रसको केन्द्रीय सदस्य एवं पूर्वमन्त्री पदम नारायण चौधरी, मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्री, कांग्रेसका मधेश प्रदेश सभापति तथा मधेश प्रदेश सरकारकै पूर्वभौतिक पूर्वाधार विकासमन्त्री कृष्ण यादव, नेपाली कांग्रेस सिरहा जिल्ला सभापति रामचन्द्र यादवलगायतले मन्तव्य राख्नुभएको थियो ।

लहान–१४ को खुट्टी खोलाको छेउमा स्व गिरि विसं २०४६ सालपछि बस्दै आउनुभएको ठाउँ जसलाई प्रदीप गिरिको आश्रम भनेर चिनिने गरिन्छ । स्वर्गीय गिरिलाई बिपीको समाजवादी चिन्तनको सच्चा व्याख्याताका रूपमा समेत हेर्ने गरिन्छ । नेता गिरिको ललितपुर नक्खुस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा दुई वर्षअघि २०७९ भाद्र ४ गते ७५ वर्षको उमेरमा निधन भएको थियो ।

भदौ २१ गते रिलिज हुने फिल्म ‘रावायण’को ट्रेलर रिलिज

काठमाडौं । यही भदौ २१ गते रिलिज हुने फिल्म ‘रावायण’को ट्रेलर रिलिज भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै फिल्म युनिट, पत्रकार तथा सञ्चारकर्मीको उपस्थितिमा ट्रेलर रिलिज गरिएको हो ।

एक्सनपूर्ण ट्रेलरमा प्रेम र द्वन्द्वको कथालाई चित्रण गरिएको छ । ट्रेलरमा नायिका पुजा शर्मालाई पत्रकारको भूमिकामा देखाइएको छ । फिल्ममा नायक पल शाहले दोहोरो भूमिका निभाएका छन् । ट्रेलरको अन्तिम दृश्यमा दुई पलको द्वन्द्वलाई देखाइएको छ । दुई पात्रको द्वन्द्व पुजाकै कारण हुने भन्ने प्रष्ट देखाइएको छ ।

कार्यक्रममा फिल्मका कथाकार, निर्माता र निर्देशक सुदर्शन थापाले फिल्मको नाम झट्ट सुन्दा धार्मिक लागे पनि फिल्म त्यस्तो नभएको खुलाए । ‘यो धार्मिक रावायणसँग सम्बन्धित छैन । रामायाणमा रामलाई प्राथमिकता दिइएको थियो । हाम्रो रावायणमा रावणलाई प्राथमिकता दिएका छौं’, उनले भने, ‘रावणलाई प्राथमिकता दिँदा फिल्म फरक स्वादको बन्छ भन्ने लागेर हामीले त्यस्तै कथामा फिल्म बनाएका छौं । टिजर, गीत, फस्टलुकले हाम्रो जुन हाइप बनाएको छ, त्यो हाइप ट्रेलरले बनाउनेमा ढुक्का छौं ।’

सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको फिल्मकी निर्माता पुजा शर्मा हुन् । फिल्ममा सुशन पाठक कार्यकारी निर्माता छन् ।

फिल्ममा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठको अभिनय छ ।

फिल्ममा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तव र राज गौरवको ओरिजिनल हिन्दी स्क्रिप्ट, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, प्रमोद श्रीनिवासनको साउण्ड डिजाइन, निरज सिंह, रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गान्जावाला, सोनु कक्करको स्वर, डा. कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द, रेवन आरती सिंहको ओरिजिनल ब्याकग्राउण्ड स्कोर, उमेश चौधरीको आर्ट डिरेक्सन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर, विजय बस्यालको पोस्टर डिजाइन, नविन पुरीको प्रोडक्सन डिजाइन छ ।फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनरको रुपमा ओएसआर डिजीटल रहेको छ ।

देउवाले गरे कांग्रेस महिला विभाग र शुभेच्छुक संस्था समन्वय विभागमा सदस्य थप

काठमाडौँ, ६ भदौ : नेपाली कांग्रेसले महिला विभाग र शुभेच्छुक संस्था समन्वय विभागमा सदस्य थप गरेको छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य पुष्पा भुसाल प्रमुख रहनुभएको महिला विभाग र केन्द्रीय सदस्य अब्दुल सत्तार प्रमुख रहनुभएको शुभेच्छुक संस्था समन्वय विभागमा सदस्य थप गर्नुभएको हो ।

कांग्रेसले महिला विभागमा रेणुप्रधान श्रेष्ठ (धनगढी), तुल्सा पन्त (झापा), कमला लामिछाने (गोरखा), झल विश्वकर्मा (काठमाडौँ), कविता इटानी (धादिङ), मिलन साह (महोत्तरी), आशा थापा मगर (तनहुँ), रामकुमारी थापा (सुर्खेत), देवका वेल्वासे (दाङ) र डा शशी थापा पण्डित (काठमाडौँ) लाई मनोनयन गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यस्तै, शुभेच्छुक संस्था समन्वय विभागमा राजु थापा (गोरखा), निर्मला क्षेत्री (अर्घाखाँची), आशिष खतिवडा (मोरङ), नरेन्द्र डीसी (रोल्पा), देवराज नेपाल (काठमाडौँ), मातृका शेर्पा (ताप्लेजुङ), सोनीकुमारी बम्जन (सर्लाही), रामदत्त जोशी (डडेल्धुरा), दिनेश सन्जयल, (कालिकोट) र लालमणि पाण्डे (कञ्चनपुर) रहनुभएको छ ।

बूढीगण्डकी जलविद्युत् आयोजनालाई तत्काल कार्यान्वयनमा लैजानुपर्छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ, ६ भदौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बूढीगण्डकी जलविद्युत् आयोजनालाई तत्काल कार्यान्वयनमा लैजानुपर्ने बताउनुभएको छ ।
बूढीगण्डकी जलविद्युत् आयोजनाको वर्तमान अवस्था, चुनौती र भावी कार्यक्रमको बारेमा आज मन्त्रालयमा आयोजित छलफलमा उहाँले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि बूढीगण्डकी परियोजनाभित्र देखिएका समस्यालाई समाधान गर्दै तत्काल कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो ।

ऊर्जामन्त्री खड्काले बूढीगण्डकी परियोजनालाई अगाडि बढाउनका लागि ४२ अर्बभन्दा बढी मुआब्जा वितरण गरिसकेकाले आयोजना निर्माणबाट पछाडि हट्ने कुनै ठाउँ नरहेको उल्लेख गर्नुभयो । “बूढीगण्डकी परियोजना अगाडि बढाउन परेको समस्यालाई समाधान गर्दै अगाडि बढाउनुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले बूढीगण्डकी परियोजनालाई अगाडि बढाउनका लागि अर्थमन्त्री, प्रधानमन्त्रीसँग छलफल गरेर अगाडि बढ्ने बताउनुभयो । मन्त्री खड्काले बूढीगण्डकी परियोजनाजस्तै समस्यामा रहेको पञ्चेश्वर बहुउदेश्यीय आयोजनासमेतलाई अगाडि बढाउन सरकारले पहल गर्ने उल्लेख गर्नुभयो ।

बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मधुप्रसाद भेटुवालले बूढीगण्डकी परियोजनालाई अगाडि बढाउनका लागि लगानी मोडालिटीलाई तत्काल टुङ्गोमा लगाउनुपर्ने बताउनुभयो । उहाँले बूढीगण्डकी परियोजनामा कार्यरत करारका कर्मचारीको समस्यासमेत समाधान गर्नुपर्ने उल्लेख गर्नुभयो ।

गोरखा र धादिङ जिल्लाका नौ स्थानीय तहलाई छुने गरी निर्माण हुन लागेको बूढीगण्डकी परियोजना एक हजार २०० मेघावाट क्षमताको रहेको छ । उक्त परियोजनाको कुल लागत रु तीन खर्ब ९८ अर्ब रहेको छ । उक्त आयोजना निर्माण हुँदा आठ हजार ११७ घरधुरी प्रभावित हुनेछन् । आयोजना प्रभावित अधिकांश बासिन्दालाई मुआब्जा वितरण गरिसकिएको कम्पनीले जनाएको छ ।

तनहुँको घाँसीकुवा–डुम्रे सडकखण्ड २४ घण्टापछि एकतर्फी सञ्चालनमा

दमौली (तनहुँ), ६ भदौ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको घाँसीकुवा–डुम्रे सडकखण्ड २४ घण्टापछि सञ्चालनमा आएको छ । व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार साँझ ५ बजे गएको पहिरो आज साँझ हटाइएपछि उक्त खण्ड एकतर्फी सञ्चालनमा आएको हो ।

सडकमाथिको डाँडा खसेर उक्त खण्डअवरुद्ध भएकामा आज बिहान ८ बजेदेखि पहिरो हटाउने काम सुरु गरिएको थियो । निर्माणाधीन मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)को सहयोगमा पहिरा हटाएर राजमार्ग पुनःसञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो । दुईतर्फी बाटो सञ्चालन गराउनका लागि काम भइरहेको उहाँले बताउनुभयो । 

निर्माणाधीन सो सडक विस्तारका क्रममा डाँडा खार्ने काम हुँदा यो क्षेत्रमा पहिराको जोखिम रहँदै आएको छ । पहिरोका कारण लामो समयसम्म सडक अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको थियो । पृथ्वी राजमार्ग भएर यात्रा गर्नेलाई दमौली हुँदै घाँसीकुँवा निस्कन तालघरे, दरैपधेँरा हुँदै घाँसीकुवाको बाटो प्रयोग गराइएको थियो ।

‘धर्म–धम्म’ सम्मेलनमा सहभागी हुन पर्यटनमन्त्री पाण्डे भारत प्रस्थान

काठमाडौँ, ६ भदौ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भारतको गुजरातमा आयोजना हुन लागेको ‘धर्म–धम्म’ सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

मन्त्री पाण्डे गुजरतामा हुने तीन दिने आठौँ ‘धर्म–धम्म’ सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको हो । भारत फाउण्डेशनको पहल एवं गुजरात विश्वविद्यालय, अमदाबादसँगको सहकार्यमा हुन लागेको ‘धर्म–धम्म’ सम्मेलनमा हिन्दू र बौद्ध सभ्यताबीच निकट रहेका विचारमाथि विमर्श हुने जनाइएको छ । सो सम्मेलनमा नेपालसहित भूटान र श्रीलङ्कालगायत देशका मन्त्रीहरूका सहभागिता रहने जनाइएको छ । 

 यसपटकको ‘धर्म–धम्म’ सम्मलेनको नारा ‘धर्म र धम्ममा ब्रह्माण्ड विज्ञान’ रहेको छ । सम्मेलनले शताब्दीयौंदेखिको सांस्कृतिक र सभ्यताको अन्तरसम्बन्धले प्रदान गरेको ‘धर्म–धम्म’ बीचको साझा विचारलाई एकीकृत गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

 सम्मेलनको उद्देश्य उदीयमान नयाँ विश्व व्यवस्थाको लागि दार्शनिक संरचना निर्माण गर्नका लागि ‘धर्म–धम्म’ परम्पराका धार्मिक, राजनीतिक र विचारधारा नेताहरूलाई एकसाथ ल्याउने रहेको छ । उक्त सम्मेलनमा विदेशका शोधकर्ताहरूले आफ्ना शोधपत्रहरू प्रस्तुत गर्ने जनाइएको छ । सम्मेलनमा १८ देशका तीन सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् ।

ताप्लेजुङ गोल्डकप : त्रिभुवन आर्मीलाई पछि पार्दै विर्तामोड सेमिफाइनलमा

ताप्लेजुङ, ६ भदौ : अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकपअन्तर्गत आज भएको पहिलो चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब काठमाडाँैलाई ३–० गोल अन्तरले पराजित गर्दै झापाको विर्तामोड युनाइटेड फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

अन्तिम क्वाटरफाइनलको खेलमा विर्तामोडका अभिसेक गुरुङ, देवेन्द्र कार्की र हिसुब थपलियाले गोल गर्नुभएको थियो । झापाले अब सेमिफाइनलको खेलमा सिरहाको सलहेस युवा क्लबसँगको भेट पक्का गरेको छ । सिरहाले पाँचथर फुटबल क्लबलाई १–० गोलले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । 

त्रिभुवन आर्मी क्लब काठमाडाँै भरत खवास, नवयुग श्रेष्ठका खेलाडी लिएर मैदानमा उत्रिएको थियो । यस्तै आसिक बाबु चौधरी, जितेन्द्र कार्की लगायतका चर्चित खेलाडी आर्मीको टिममा थिए । बुधबारको खेलबाट मोरङको सगरमाथा युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । मोरङले रूपन्देहीको बुटवल लुम्बिनी फुटलब क्लबलाई १–० गोलले हराउँदै सेमिफाइनलमा ताप्लेजुङसँगको भीडन्त सुनिश्चित गरेको हो । 

घरेलु टिम सङ्घर्ष स्पोटिङ युवा क्लब भारतको कञ्चनजङ्घा फुटबल क्लबलाई ७–५ गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । भोलि हुने सेमिफाइनलको पहिलो खेलमा सङ्घर्ष स्पोटिङ युवा क्लब र मोरङको सगरमाथा युवा क्लबबीच दिउँसो २ बजे खेल हुनेछ । लाखे जात्रा पर्वका अवसरमा आयोजित प्रतियोगिताको विजेताले नगद रु पाँच लाख र उपविजेताले रु दुई लाख ५० हजार पाँच सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल भदौ १० गते हुनेछ । 

दर्शकका लागि क्वाटरफाइनलमा एक सय, सेमिफाइनलमा दुई सय र फाइनलका लागि रु दुई सय ५० टिकट दर निर्धारण गरेको छ । गत वर्षको गोल्ड कपमा टिकटबाट मात्र करिब रु १९ लाख सङ्कलन भएको थियो ।

पोखरा विमानस्थल निर्माण गर्दा लिइएको ऋण अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह

काठमाडौँ, ६ भदौः सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको छ ।
अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले सो पत्र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेईकुनलाई हस्तान्तरण गर्नुभएको हो ।

पत्र हस्तान्तरण गर्नु अघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चीन नेपालको असल छिमेकी भएको र नेपालको अर्थतन्त्रको अवस्थालाई विशेष ध्यान दिँदै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा बदल्न चिनियाँ पक्षलाई आग्रह गर्नु भएको थियो । उहाँले नेपाल सरकारले गरेको आग्रह चिनियाँ पक्षबाट पूरा हुने विश्वास व्यक्त गर्नभुयो ।  

सो अवसरमा अर्थ सचिव डा रामप्रसाद घिमिरे, नेपालका लागि चीनका राजदूत चेन सोङलगायत उपस्थित हुनुहुन्थ्यो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि नेपाल सरकारले चीनको एक्जिम बैंकबाट करिब हालको विनिमय दरअनुसार करिब रु २५ अर्ब ८८ करोड ऋण लिने सम्झौता  गरेको थियो । 

विसं २०७२ चैत ८ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ऋण सम्झौता भइ २०७३ साल पुस २७ गतेबाट निर्माण सुरु भएको थियो । विसं २०७९  पुस १७ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिएको थियो । 

कार्यक्रममा काठमाडौँ चक्रपथको कलङ्कीदेखि बसुन्धरा महाराजगञ्जसम्मको आठ दशमलव दुई  किलोमिटर सडक निर्माण, हिल्सा–सिमिकोट सडक खण्डलाई दुई लेनमा स्तरोन्नति, मुस्ताङको कोरला नाकामा आइसिपी र आइसिडी निर्माण र अरनिको राजमार्गको मर्मत सुधार तथा पहिरो नियन्त्रणसम्बन्धी कार्यको सम्भाव्यता अध्ययनसम्बन्धी चारवटा छुट्टाछुट्टै सहयोग आदान प्रदानसम्बन्धी पत्रमा हस्ताक्षर भयो । 

सरकारको तर्फबाट अर्थ सचिव डा घिमिरेले र चीनको तर्फबाट चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइहुनले हस्ताक्षर गर्नुभयो ।

अर्थ मन्त्री पौडेलले वीर अस्पतालको पूर्वाधार निर्माण, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माणको सम्भाव्यता अध्ययन गरी डिपिआर तयार तथा पूर्वाधार निर्माण लगायतमा चीन सरकारको सहयोगका लागि अनुरोध गर्नु भयो । उपाध्यक्ष याङ वेइहुनले नेपाल सरकारको तर्फबाट अनुरोध प्राप्त भइसकेको र यसलाई चिनियाँ पक्षले अध्ययन गरी थप प्रक्रिया अगाडि बढाउने जानकारी दिनु भएको थियो ।

चीनका लागि जासुसी गरेको अभियोगमा चिनियाँ मुलका अमेरिकी ताङविरूद्ध मुद्दा दर्ता

सन् १९८९ मा चीनको प्रजातान्त्रिक आन्दोलनमा भाग लिएका न्यूयोर्कका एक व्यक्तिलाई संयुक्त राज्य अमेरिकामा चिनियाँ सरकारको अवैध एजेन्टको रूपमा काम गरेको आरोपमा बुधबार अभियोग लगाइएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ ।

करिब २० वर्षअघि पौडी खेलेर ताइवान नियन्त्रित टापुमा पुगेका ६७ वर्षीय ताङ युआनजुनलाई पछि अमेरिकाले राजनीतिक शरण दिएको थियो ।उहाँलाई बुधबार पक्राउ गरिएको थियो भने छिट्टै जिल्ला न्यायाधीशसमक्ष उपस्थित गराइने बताइएको छ ।

उहाँविरूद्ध सन् २०१८ देखि सन् २०२३ सम्म संयुक्त राज्य अमेरिकामा जनवादी गणतन्त्र चीनको एजेन्टको रूपमा काम गरेको अभियोग लगाइएको न्याय मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ताङले ‘जनगणतन्त्र चीनको प्रमुख नागरिक गुप्तचर निकाय, राष्ट्रिय सुरक्षा मन्त्रालय (एमएसएस) को निर्देशनमा काम गरेको देखिएको छ,” अमेरिकी न्याय मन्त्रालयलले भनेको छ ।

ताङले एमएसएसका अधिकारीहरूलाई ‘जनगणतन्त्र चीनले सम्भावित विरोधीका रूपमा हेरेका व्यक्ति र समूह’ को बारेमा जानकारी प्रदान गर्नुभएको र यसमा ‘अमेरकास्थित प्रमुख चिनियाँ प्रजातन्त्रवादी अभियन्ता र असन्तुष्टहरू’ समावेश छन् ।

उहाँले आफ्नो एमएसएससँग कुराकानी गर्न प्रयोग गरिने इमेल अकाउन्टमा पहुँच नभएको दाबी गर्दै सङ्घीय अनुसन्धान विभागमा झूट बोलेको आरोप पनि लगाइएको छ ।

बिहीवार एएफपीले यस मामिलाबारे सोधेको प्रश्नमा बेइजिङको विदेश मन्त्रालयले ‘उक्त विवरणबारे आफूलाई जानकारी नभएको’ बताएको छ ।

चीनको उत्तरपूर्वी जिलिन प्रान्तका बासिन्दा ताङलाई सन् १९८९ मा बेइजिङको तियानआनमेन स्क्वायरमा भएको हिंसात्मक झडपमा भाग लिएको आरोपमा २० वर्षको जेल सजाय सुनाइएको थियो ।
आठ वर्ष जेल बसाइपछि उहाँ रिहा हुनुभएको थियो ।

सन् २००२ मा ताइपेइस्थित एक अधिकार समूहका अनुसार ताङ चीनमा प्रजातन्त्रको पक्षमा वकालत गर्न सक्रिय रहे र ताइवान भाग्नुअघि उनलाई अधिकारीहरूले बारम्बार हिरासतमा लिने, सोधपुछ गर्ने र उत्पीडन गर्ने गरेका थिए ।

प्रशान्त क्षेत्रले जलवायु ‘विनाश’ को सामना गरिरहेको राष्ट्रसङ्घीय प्रमुखको भनाइ

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार प्रशान्त क्षेत्रले जलवायु परिवर्तनका कारण चक्रवात, सामुद्रिक गर्मीको लहर तथा बढ्दो समुद्री सतहबाट ‘विनाश’ को सामना गर्नुपरेको बताउनुभएको छ ।

सामोआको भ्रमणका क्रममा उहाँले प्रशान्त टापुहरूको अवस्था विश्वव्यापी उष्णताको पूर्व–औद्योगिक स्तरभन्दा एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित गर्नमा निर्भर रहेको बताउनुभयो

सन् २०१५ को पेरिस जलवायु सम्झौतामा करिब दुई सय राष्ट्र उक्त लक्ष्यका लागि प्रयास गर्न सहमत भएका थिए । तर राष्ट्रसङ्घले उक्त लक्ष्यलाई प्राप्त गर्ने बाटोमा हाल विश्व नभएको सङ्केत गरेको छ ।

“उच्च तथा बढ्दो समुद्री सतहले प्रशान्त र अन्य साना टापु विकासोन्मुख मुलुकहरूका लागि ठूलो खतरा हो र यी चुनौतीले दृढ अन्तर्राष्ट्रिय कार्यको माग गरेको छ”, गुटेरेसले भन्नुभयो ।

उहाँले विश्वव्यापी कार्बन उत्सर्जनमा शून्य दशमलव शून्य दुई प्रतिशत मात्र योगदान गर्ने प्रशान्त क्षेत्रले व्यापक रूपमा जलवायु परिवर्तनमा चुनौतीको सामना गर्नुपरेको बताउनुभयो ।

“समुद्रको सतह विश्वव्यापी रूपमा औसतभन्दा तीव्र गतिमा बढिरहेको छ, यसले लाखौँ प्रशान्त टापुबासीको अस्तित्वमा खतरा सिर्जना गरेको छ”, गुटेरेसले भन्नुभयो, “जनताले कष्ट भोगिरहेका छन्, अर्थतन्त्र ध्वस्त भइरहेको छ र सम्पूर्ण क्षेत्रले विनाशको सामना गर्नुपरिरहेको छ ।”

उहाँले विकासोन्मुख मुलुकहरूमा जलवायु परिवर्तनको परिणामको लागि भुक्तान गर्ने आफ्नो प्रतिबद्धता पूरा गर्नसमेत आग्रह गर्नुभयो ।

उहाँले प्रशान्त महासागरमा जलवायु परिवर्तन तथा प्लास्टिक प्रदूषणको प्रभावलाई नियन्त्रण गर्न अन्तर्राष्ट्रिय कारबाही गर्न पनि आह्वान गर्नुभयो ।

महासचिव गुटेरेसले यस क्षेत्रमा प्रमुख शक्तिहरूको चासो बढ्दै गएको उल्लेख गर्दै चीन, अमेरिका र यसका सहयोगीहरूबीच प्रशान्त क्षेत्रमा प्रभावको वैमनस्यता उत्पन्न भएको सङ्केत गर्नुभयो ।

“प्रशान्त क्षेत्रलार्ई प्रशान्त टापुबासीले सबैभन्दा राम्रोसँग व्यवस्थापन गर्दछन्, यस क्षेत्रलाई भू–रणनीतिक प्रतिस्पर्धाका लागि कहिल्यै मञ्च बनाउन हुँदैन”, उहाँले भन्नुभ

शरणार्थी शिविरमा इजरायली आक्रमण हुदाँ तीनको मृत्यु

वेस्ट बैङ्कस्थित प्यालेस्टिनी शरणार्थी शिविरमा बिहीबार भएको इजरायली आक्रमणमा तीन जनाको मृत्यु भएको कब्जा गरिएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली सेनाले भने सशस्त्र आतङ्कवादीहरूमाथि आक्रमण गरिएको बताएको छ ।

उत्तरी वेस्ट बैङ्कको तुलकेरेम शिविरमा भएको आक्रमणको क्रममा तीन जनाको मृत्यु भएको रमल्लाहस्थित मन्त्रालयका प्रवक्ताले विज्ञप्तिमार्फत बताउनुभयो ।इजरायली सेनाले तुलकेरेममा राति ‘आतङ्कवाद विरोधी अभियान’ सञ्चालन गरेको बताएको छ ।

विज्ञप्तिअनुसार इजरायली सैन्य विमानले सशस्त्र आतङ्कारीहरूमाथि आक्रण गरेको र स्थल सैनिकहरूले यस क्षेत्रमा सडकमुनि राखिएको विस्फोटक पदार्थहरू फेला पारेका थिए । अगस्टमा वेस्ट बैङ्कमा इजरायली आक्रमणले प्रति दिन औसतमा एकजना प्यालेस्टिनीको ज्यान गएको संयुक्त राष्ट्रसङ्ले जनाएको छ ।

सन् २००० को दशकको सुरुमा प्यालेस्टिनी विद्रोहको दोस्रो इन्तिफादाको समयमा वेस्ट बैङ्कमा इजरायली हवाई आक्रमणहरू बारम्बार हुने गरेको थियो ।

लामो समयको युद्धविरामपछि अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणले गाजा पट्टीमा पुनः युद्ध निम्त्याउँदा पछिल्लो समयमा इजरायली कब्जामा रहेको वेस्ट बैङ्कमा हिंसात्मक गतिबिधिहरू बढिरहेका छन् ।

स्वास्थ्य बीमाको सुविधा थैली कार्यान्वयनमा

काठमाडौँ, ६ भदौः स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने सुविधा थैलीअन्तर्गतका सेवाको परिमार्जित विवरण र दर कार्यान्वयन गरेको छ ।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने सुविधा थैलीअन्तर्गतका सेवासुविधा लागू गरिएको बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले जानकारी दिनुभयो । बोर्डले परिमार्जन गरिएको सुविधा थैली गत साउन १ गतेदेखि लागू गर्ने भने पनि तयारी नपुगेको कारणले भदौदेखि लागू गरिएको हो ।

बोर्डले विज्ञहरुको सुझावअनुसार र बजारको अवस्थालाई हेरेर सुविधा थैलीको सेवासुविधाको नयाँ दररेट कायम गरेको छ । नयाँ सुविधा थैलीमा स्वास्थ्य बीमाअन्तर्गत एक हजार दुई सय ९० प्रकारका औषधि छन् । अस्पताल टिकट रु ५० तोकिएको छ । शय्याको प्रतिदिन रु दुई सय ५० राखिएको छ । यसअघि साधारण शय्याको रु दुई सय थियो ।

स्वास्थ्य बीमा कार्यक्रममाअन्तर्गत पाँचजना परिवारसम्मका लागि रु तीन हजार पाँच सय बराबरको योगदानका आधारमा रु एक लाखसम्मको स्वास्थ्य सेवासुविधा उपलब्ध गराइन्छ ।

यस्तै, थप प्रतिसदस्य रु सात सयका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य रु २० हजार बराबरको सेवासुविधा थपिने प्रावधान छ । स्वास्थ्य बीमा कार्यक्रमको अधिकतम सेवा सुविधाको सीमा रु दुई लाखसम्म तोकिएको छ ।

बीमा कार्यक्रममा कूल बीमित परिवार सङ्ख्या २३ लाख ९२ हजार ६ सय ७६ जना र कूल बीमित जनसङ्ख्या ७७ लाख ४१ हजार चार सय ८३ जना रहेको छ ।

भ्रष्टाचार मुद्दामा पाँचवर्षे हद म्यादको विरोध

काठमाडौँ, ६ भदौ : भ्रष्टाचार मुद्दामा अनुसन्धानका लागि पाँचवर्षे हद म्यादको प्रावधान राख्न खोज्ने प्रमुख दलको नियतविरुद्ध नागरिक समाज आन्दोलित भएको छ ।

‘सुशासनको प्रत्याभूति गर, नागरिक निराशालाई आशामा अनुवाद गर’ भन्ने आग्रह गर्दै आज मानवअधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले जोरपाटी चोकमा शान्तिपूर्ण प्रदर्शनीको आयोजना गरेको हो ।

भ्रष्टाचारीलाई दण्डित गर्ने कानुन बनाऊ, भ्रष्टाचारमा चोख्याउने चेष्टा नगर, नीतिगत भ्रष्टाचारको श्रृङ्खला अन्त्य गर, हद म्यादको कसरत संसद् बद्नाम बनाउने अभ्यास बन्द गरजस्ता भ्रष्टाचार विरुद्ध विभिन्न नारा लेखिएका प्ले कार्डसहित पाँच दर्जन नागरिक अधिकारकर्मीको सहभागिता रहेको शान्ति समाज काठमाडौँ शाखाका सभापति भगवान् पुडासैनीले जानकारी दिनुभयो ।

कार्यक्रममा समाजका केन्द्रीय सभापति रामकृष्ण बराल, सल्लाकार उत्तम पुडासैनी र भ्रष्टाचार विरुद्धका अभियानकर्मी किरण केसीलगायतले अबको आन्दोलन भ्रष्टाचारविरुद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री छः सांसद गौतम

काठमाडाैँ, ६ भदौः राष्ट्रियसभाका सांसद वामदेव गौतमले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकले पीडितलाई न्याय प्राप्तिमा प्रशस्तै बाटो राखेको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलका क्रममा उहाँले पीडित केन्द्रित सङ्क्रमणकालीन न्याय संरचनाको गठन हुनुपर्नेमा जोड दिनुभयो ।

कानुन पारित गरेर मात्रै शान्ति प्रक्रिया पूरा नहुनेमा जोड दिँदै उहाँले सङ्क्रमणकालीन न्यायनिरुपण गर्ने आयोग बन्न नसक्नु विडम्बना भएको बताउनुभयो । “कानुन बनेपछि यो प्रक्रियालाई विश्वसनीय बनाउन सरोकारवालाको विश्वास र सहकार्य सुनिश्चित गर्नेतर्फ विशेष ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।

नेकपा (एकीकृत समाजवादी)का नेता बेदुराम भुसालले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकले शान्ति प्रक्रियालाई टुङ्ग्याउन सक्नुपर्नेमा जोड दिनुभयो । राजनीतिक दलबीच भएको सहमति तथा कार्यदलले गरेको सहमतिलाई विश्वास गरेर राष्ट्रियसभाबाट संक्षिप्त रुपमा विधेयक पारित हुन लागेको उल्लेख गर्दै उहाँले यो सहमतिले नेपालको शान्ति प्रक्रियालाई टुङ्ग्याउनका निम्ति योगदान गरोस् भन्नुभयो ।

जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले सङ्क्रमणकालीन न्यायका विषयलाई टुङ्ग्याएर मुलुकको समृद्धिमा सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानुन र संरचनाले पीडितलाई उन्मुक्ति दिने र पीडितलाई न्याय नदिने आशङ्का व्यक्त गर्नुभयो ।

शिक्षामा विभेद प्रजातान्त्रिक समाजवादको मान्यता विपरीत : प्रथम राष्ट्रपति

काठमाडौँ, ६ भदौ : सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले शिक्षा क्षेत्रमा देखिएको वर्गीय विभेद प्रजातान्त्रिक समाजवादको मान्यता विपरीत भएको बताउनुभएको छ ।

नेपाली कांग्रेस, केन्द्रीय पेशागत बुद्धिजीवि विभागले समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसरमा आज यहाँ आयोजना गरेको ‘प्रजातान्त्रिक समाजवाद ः वर्तमान र भविष्य’ सम्बन्धी विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले धेरै सामुदायिक विद्यालयमा दरबन्दीअनुसारका शिक्षक नहुँदा माध्यमिक शिक्षा परीक्षा (एसइई)को परिणाम कमजोर आउने गरेको बताउनुभयो । धनी र गरीबले बालबालिका पढाउने शिक्षालय फरक हुने व्यवस्था समाजवादको सिद्धान्त विपरीत भएको उहाँको भनाइ थियो ।

“शिक्षा विधेयक संसद्मा छ, यस्ता विषयमा प्रभावकारी कानुन बनाइनुपर्छ, संविधानले नै समाजवाद उन्मुख राज्यव्यवस्थाको कल्पना गरेकाले शिक्षा क्षेत्रमा रहेको यस्तो विभेदकारी व्यवस्था कानुनबाटै हटाइनुपर्छ”, प्रथम राष्ट्रपति डा यादवले भन्नुभयो । कृषि प्रधान देशमा ५० प्रतिशत खाद्यान्न अन्य मुलुकबाट आयात गर्नुपर्ने अवस्था पनि समाजवादविपरीत भएकाले यसमा सरोकार भएका निकायका अधिकारीले सोच्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कांग्रेस नेता डा चन्द्र भण्डारीले शिक्षामा विभेद गरेर समाजवाद नआउने भएकाले शिक्षा मन्त्रालय र विश्वविद्यालयले समाजवादी कार्यक्रम बनाउनुपर्नेमा जोड दिनुभयो । बिरामीले औषधी पाउनु समाजवाद भएको बताउनुहुँदै उहाँले स्वास्थ्य क्षेत्रमा पनि दुई थरी स्वास्थ्य संस्थाको व्यवस्थाले समाजवादलाई गिज्याएको बताउनुभयो ।

“संविधानमा लेखिएको समाजवाद कार्यान्वयन नहुने कागजको खोस्टो भएको छ, समाजवाद लागू गर्न निष्ठावान् व्यक्तिको खोजी हुनुपर्छ, जनताले गाडी नचढेसम्म सरकारले दिएको गाडी सुविधा नलिने पूर्व सांसद बिदुर पौडेल, शैलजा आचार्य र चक्रप्रसाद बास्तोला पराजित हुनुले समाजले के चाहन्छ भन्ने सन्देश दिएको छ”, सांसदसमेत रहनुभएको नेता भण्डारीले भन्नुभयो ।

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनालले बिपी कोइराला र प्रदीप गिरीजस्ता नेताको विचारमा कांग्रेस नचलेको बताउनुहुँदै प्रजातान्त्रिक समाजवादमा निजीकरणलाई प्रोत्साहन गर्दा समस्या भएको सुनाउनुभयो । धनी र गरीबलाई अलग शिक्षा दिने परिपाटीको अन्त्य गर्ने आँट नेतृत्वले गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । शिक्षा र स्वास्थ्यमा रहेको सबैभन्दा ठूलो विभेद नै समाजवादका लागि बाधक बनेको खनालको भनाइ थियो । विश्वमा तीन प्रतिशत सम्भ्रान्तले ८० प्रतिशत सम्पत्ति ओगटेकाले त्यसको अन्त्यका लागि प्रजातान्त्रिक समाजवादको सही कार्यान्वयन गर्न अहिलेको नेतृत्वले बिपीले जस्तै जोखिम मोल्नुपर्ने उहाँको विचार थियो ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा उद्धव सिग्देलले कांग्रेसका संस्थापक नेता बिपीले प्रतिपादन गर्नुभएको प्रजातान्त्तिक समाजवादको प्रचारप्रसारमा प्रदीप गिरीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनुभयो ।

विभाग प्रमुख एवं कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले प्रजातान्त्रिक समाजवादका बारेमा राम्रो ज्ञान भएका प्रदीप गिरीको स्मृतिमा कार्यक्रम गरिएको जानकारी दिनुभयो । प्रजातान्त्रिक समाजवादलाई कार्यान्वयनमा लैजान कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा उहाँको जोड थियो ।

संविधान सबैको सहमतिमै संशोधन हुन्छः प्रधानमन्त्री

काठमाडौँ, ६ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन सबैको सहमतिमा हुने विश्वास दिलाउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा जवाफ दिँदै उहाँले भन्नुभयो, “संविधान संशोधन आठ वर्षको कार्यान्वयनमा गरेको अनुभव र देशको आवश्यकताका आधारमा हुने हो । त्यसमा सरकारको मात्रै होइन, संसद्को पनि आँट चाहिन्छ ।”

उहाँले सङ्घीयता कार्यान्वयनपश्चात साविकमा रहेका जिल्लास्थित केही कार्यालयको काम स्थानीय तह र प्रदेशमा गएको जानकारी गराउनुभयो । प्रदेशले जिल्लास्थित साविक कार्यालयबाटै कृषि, पशु विकास, स्वास्थ्य, सहरी पूर्वाधार, खानेपानीलगायतका क्षेत्रमा सेवा दिइरहेको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले सङ्घीय सरकार मातहत रहेर गृह र भूमिप्रशासन, शिक्षा विकास तथा समन्वय, पूर्वाधार विकासका क्षेत्रमा जिल्ला सदरमुकामस्थित कार्यालयबाटै सेवा दिइरहेको बताउनुभयो ।

उहाँले सरकारले वित्त नीति र मौद्रिक नीतिमार्फत निजी क्षेत्रको मनोबल बढाउने, पुँजिगत खर्च क्षमता अभिवृद्धि गर्ने, सम्पन्न भएका आयोजनाको भुक्तानी गर्ने, उखु, दूध उत्पादक कृषकको भुक्तानीलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

भारतमा विद्युत् निर्यातका लागि कार्ययोजना तयार छः प्रधानमन्त्री

काठमाडौँ, ६ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १० वर्षमा भारतमा १० हजार मेगावाट विद्युत् निर्यातका लागि मार्गचित्र तथा कार्ययोजना तयार रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद नारायणप्रकाश साउदले सोध्नुभएको प्रश्नको जवाफ दिँदै उहाँले भारतमा विद्युत् निर्यात गर्ने गरी भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताबमोजिम ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८० तयार पारेको बताउनुभयो ।

प्रधानमन्त्रीले उक्त मार्गचित्र तथा कार्ययोजनामा आर्थिक वर्ष २०९१÷९२ सम्म करिब १३ हजार पाँच सय मेगावाट विद्युत् आन्तरिक माग पूर्तिका लागि र करिब १५ हजार मेगावाट विद्युत् छिमेकी मुलुक भारत र बङ्गलादेशमा निर्यात गरिने उल्लेख रहेको बताउनुभयो ।

साथै सो अवधिसम्म नेपालको कूल विद्युत् उत्पादन क्षमता २८ हजार पाँच सय मेगावाट पु¥याउने लक्ष्य लिइएको र उक्त मार्गचित्र तथा कार्ययोजना मन्त्रिपरिषद्मा पेस भइसकेको उहाँले बताउनुभयो ।

हाल नेपालको कूल विद्युत् उत्पादन क्षमता करिब तीन हजार दुई सय ४० मेगावाट पुगेको र आव २०९०÷९१ सम्ममा करिब २६ हजार मेगावाट विद्युत् थप उत्पादन हुने प्रक्षेपण सहितको कार्ययोजना तयार भएको उहाँले जानकारी दिनुभयो ।

कार्ययोजनामा विद्युत् खरिद सम्झौता सम्पन्न भएका आयोजनाबाट पाँच हजार आठ सय ७३ मेगावाट, विद्युत् खरिदको प्रक्रियामा रहेका आयोजनाबाट तीन हजार दुई सय पाँच मेगावाट, कनेक्सन एग्रिमेन्ट सम्पन्न आयोजनाबाट तीन हजार एक सय आठ मेगावाट विद्युत् उत्पादन हुने प्रक्षेपण छ ।

त्यसैगरी कनेक्सन एग्रिमेन्टको प्रक्रियामा रहेका आयोजनाबाट पाँच हजार छ सय ४८ मेगावाट तथा नेपाल सरकार एवं सरकारी स्वामित्वका कम्पनीबाट अध्ययन सम्पन्न भएका ठूला प्रकृतिका तथा विद्युत् खरिद सम्झौताको प्रक्रियामा हालसम्म सहभागी नभएका आयोजनाबाट चार हजार चार सय ३१ मेगावाट र भारतीय कम्पनीबाट प्रबद्र्धन भइरहेका आयोजनाबाट तीन हजार छ सय ७९ मेगावाट विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।

आगामी १० वर्षमा भारतसँग १० हजार मेगावाट विद्युत् व्यापारका लागि आवश्यक उच्च भोल्टेज स्तरका विभिन्न अन्तरदेशीय विद्युत् प्रसारण लाइन विकासका क्रममा रहेको उहाँले बताउनुभयो ।

“ढल्केबर–मुजफ्फरपुर ४०० केभी क्षमताको पहिलो नेपाल–भारत अन्तरदेशीय विद्युत् प्रसारण लाइन सन् २०१६ देखि सञ्चालनमा छ । अरुण–३ जलविद्युत् आयोजनाको प्रवद्र्धक भारतीय कम्पनी सतलजजल विद्युत् निगम लिमिटेडबाट निर्माण भइरहेको दुई हजार पाँच सय मेगावाट विद्युत् प्रसारण क्षमताको ढल्केबर–सितामढी ४०० केभी अन्तरदेशीय विद्युत् प्रसारण लाइन यसै वर्ष सम्पन्न गर्ने लक्ष्य छ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले दुई हजार पाँच सय मेगावाट विद्युत् प्रसारण क्षमताको बुटवल–गोरखपुर ४०० केभी अन्तरदेशीय विद्युत् प्रसारण लाइन सन् २०२५ सम्म सम्पन्न हुने गरी निर्माण भइरहेको बताउनुभयो ।

त्यसैगरी, दुई पाँच सय मेगावाट विद्युत् प्रसारण क्षमताका थप दुई वटा ४०० केभी अन्तरदेशीय विद्युत् प्रसारण लाइन इनरुवा–पूर्णिया र लम्की–बरेली कार्यान्वयनका चरणमा छन् । यी अन्तरदेशीय विद्युत् प्रसारण लाइन सन् २०२९ सम्ममा निर्माण सम्पन्न गर्ने गरी नेपाल र भारतबीच सहमति भएको उहाँको भनाइ छ ।

“नेपाल र भारत अन्तरदेशीय विद्युत् प्रसारण लाइनबाट १० हजार मेगावाट विद्युत् भारतमा निर्यात गर्न नेपालको आन्तरिक विद्युत् प्रसारण प्रणाली पनि सबल र सक्षम हुनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “यसका लागि हेटौडा–ढल्केबर–इनरुवा ४०० केभी विद्युत् प्रसारण लाइनअन्तर्गत ढल्केबर–इनरुवा खण्डको निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ भने हेटौडा–ढल्केबर खण्डको निर्माण कार्य अन्तिम चरणमा छ ।”

त्यसैगरी, लफ्सीफेदी–रातामाटे–न्यू हेटौडा र रातामाटे–न्यू दमौली–न्यू बुटवल ४०० केभी विद्युत् प्रसारण लाइन निर्माण कार्य छिट्टै सुरु गरिने उहाँले जानकारी दिनुभयो ।

“यी प्रसारण लाइनका सवस्टेसन निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । साथै, खिम्ती–बाह्रबीसे–काठमाडौं ४०० केभी, मस्र्याङ्दी करिडोर २२० केभी र चिलिमे–त्रिशूली २२० केभी विद्युत् प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले बुटवलबाट पश्चिम अत्तरियासम्म ४०० केभी विद्युत् प्रसारण लाइन र देशका प्रमुख लोड केन्द्र भएर जाने साउथ करिडोर विद्युत् प्रसारण लाइनको निर्माण प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।

“उत्पादन तथा प्रशारण आयोजना सम्पन्न हुँदा नेपाल–भारत बीच सम्पन्न दीर्घकालीन विद्युत् व्यापारका सम्झौतामा उल्लिखित परिमाणको विद्युत् निर्यात गर्न सकिने तथा नेपालको आन्तरिक खपत समेत बढाउन सकिनेछ”, उहाँले भन्नुभयो ।

नेपालले भारतीय विद्युत् ग्रीड प्रयोग गरी बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्न सम्झौता सम्पन्न गर्ने तयारी कार्य अन्तिम चरणमा रहेको पनि उहाँले जानकारी दिनुभयो ।

“गत साउन १३ गते नेपाल, भारत र बङ्गलादेशका ऊर्जा मन्त्रीहरुको उपस्थितिमा काठमाडौँमा नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभेलप्मेन्ट बोर्ड र भारतको एनटिपिसी विद्युत् व्यापार निगम लिमिटेडबीच विद्युत् बिक्री सम्झौता (पीएसए) हस्ताक्षरको तयारी भएको थियो । तर, बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण उक्त कार्यक्रम स्थगित भयो”, उहाँले भन्नुभयो ।

नेपाल र बङ्गलादेशबीच ऊर्जा सहकार्यसम्बन्धी समझदारी भएको छ वर्षपछि सार्थकता पाउन लागेको विद्युत् निर्यातसम्बन्धी सम्झौता नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको उहाँले स्पष्ट पार्नुभयो । बङ्गलादेशको सरकारले समेत नेपालबाट आयात गरिने विद्युत्को मूल्य स्वीकृत गरी सम्झौता गर्न नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरिसकेको उहाँले बताउनुभयो ।

बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमपछि भर्खरै अन्तरिम सरकार गठन भएको सन्दर्भमा नेपाल सरकारको परराष्ट्रमन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत उपर्युक्त सम्झौता यथाशक्य छिटो सम्पन्न गर्न पहल भइरहको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।

उहाँले निकट भविष्यमा उक्त समझदारीमा हस्ताक्षर भई नेपालबाट प्रथम पटक ४० मेगावाट विद्युत् बङ्गलादेशमा निर्यात हुने र यो दक्षिण एसियामा उप–क्षेत्रीय ऊर्जा सहकार्यको रुपमा पहिलो महत्वपूर्ण उपलब्धि हुनेछमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

भ्रमणले नेपाल–भारत आपसी सद्भाव अभिबृद्धि भएको छः परराष्ट्रमन्त्री देउवा

काठमाडौँ, ६ भदौः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफ्नो भारत भ्रमणले नेपाल र भातरबीचको आपसी सद्भाव अभिबृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

भारतको चार दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले यस भ्रमणबाट दुई मुलुकका बीचमा रही आएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुत तुल्याउन योगदान गरेको बताउनुभयो ।

मन्त्री डा राणाले भन्नुभयो, “भ्रमणले आगामी दिनमा उच्चस्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा द्विपक्षीय संयन्त्रहरु समेतका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य प्रबद्र्धन गर्न मार्गदर्शन समेत गरेको मैले विश्वास लिएको छु ।”

उहाँले भारतका विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा गत आइतबार नयाँ दिल्ली गएको र दुई देशको उच्चस्तरीय भ्रमण आदानप्रदानको कार्यक्रमअनुसार नै यो भ्रमण भएको बताउनुभयो । उहाँले भारतका प्रधानमन्त्री र विदेशमन्त्रीसँग सौहार्दपूर्ण रुपमा भेटवार्ता भएको तथा ती भेटमा नेपालको हित र चासोका साथै आपसी हितका विविध विषयहरुमा कुराकानी भएको जानकारी दिनुभयो ।

भ्रमणकाक्रममा सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँ दिल्लीमा शिष्टाचार भेट भएको र नेपाल र भारतबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने एवं आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्ने वषयमा विचारको आदानप्रदान भएको उहाँले जानकारी दिनुभयो ।

साथै त्यसअवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भारतका प्रधानमन्त्री मोदीलाई नेपालको राजकीय भ्रमणको निमन्त्रणा पत्र पनि हस्तान्तरण गरेको मन्त्री डा राणाले बताउनुभयो ।

सोही दिन मन्त्री डा राणाले भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करसँग पनि भेटवार्ता गर्नुभएको थियो । सो भेटवार्तामा द्विपक्षीय सम्बन्ध र आपसी हितका साथै ऊर्जा, व्यापार तथा पारवहन, कनेक्टिभिटी, लगानी, हवाईमार्ग, पूर्वाधार निर्माण, बाढी तथा डुबान समस्या, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, खेलकूद, सीमा पूर्वाधारलगायत सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको उहाँले जानकरी दिनुभयो ।

यो उहाँ परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो । मन्त्री डा राणा आज नियमित उडानबाट अपराह्न ४ बजे काठमाडौँ आइपुग्नुभएको हो ।

बाढीका कारण भजनी नगरपालिकाका अधिकांश क्षेत्र डुबानमा,अन्नपात जोगाउन कठिन

भजनी (कैलाली), ६ भदौः भजनी नगरपालिकाका अधिकांश क्षेत्र डुबानमा परेको छ । आफ्ना घरआँगन जलमग्न भएपछि नगरवासी प्रभावित भएका छन् । बुधबारको निरन्तरको वर्षाले कान्द्रा, मोहना, काढा र पथरैया नदी बस्तीमा पसेपछि नगर क्षेत्रको जनजीवन प्रभावित भएको हो । पूर्ण रुपमा डुबानमा परेकाहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको स्थानीय खेमराज पाण्डेले जानकारी दिनुभयो ।

नगरपालिकाको वडा नं ८ अधिक प्रभावित भएको छ । उक्त वडाका स्थानीयलाई नजिकका अग्ला भवन, विद्यालय र हुलाकी सडकमा व्यवस्थापन गरिएको छ । वर्षा नरोकिएकाले उनीहरुको व्यवस्थापनमा समस्या भएको छ ।

घरमा बाढी पसेपछि अन्नपात जोगाउन कठिन भएको स्थानीय कल्लु चौधरीले बताउनुभयो । केही छिमेकी अन्नपात छाडेर ज्यान जोगाउनतर्फ लागेकाले धेरै क्षति भएको उहाँले बताउनुभयो । भजनी नगरपालिका वडा नं ५ मा कान्द्राको बाढीले हुलाकी राजमार्गमा पनि क्षति भएको छ ।

बाढीबाट वडा नं ५ को लालभोझी क्षेत्रमा पनि सयौँ परिवार विस्थापित भएको दिपेश बुढाले जानकारी दिनुभयो । जोशीपुरको वडा नं ३ मा पनि बाढीबाट जनजीवन प्रभावित भएको छ । नगरपालिकाले आफ्नो स्रोत र साधनले भ्याएसम्म प्रभावितहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको नगरप्रमुख केवल चौधरीले बताउनुभयो ।

पुल नहुँदा जोखिम मोलेर विद्यालय जान्छन् चुरेका बालबालिका

कैलाली ।  कैलालीको चुरे गाउँपालिका–४ भएर बग्ने कालेखोलामा पुल नहुँदा यहाँका स्कुले बालबालिका जोखिम मोलेर विद्यालय जान बाध्य छन् । वर्षायाममा उनीहरू जोखिमपूर्ण यात्रा गरेर जगातिस्थित समैजी आधारभूत विद्यालय जान बाध्य छन् ।

कालेखोलामा पुल नहुँदा पानी परेका बेला तुडेपानी र बार्जुगडाका विद्यार्थीलाई अभिभावकले प्रत्येक बिहान र दिउँसो स्कुल लैजाने र ल्याउने गर्दै आएका छन् ।

विद्यार्थीले निथ्रुक्क भिजेर कक्षामा बस्नुपर्ने दयनीय अवस्था रहेको शिक्षक मदन विकले बताए । उनले भने, ‘कालेखोलामा पुल नहुँदा यस्तो बाध्यता परेको हो । ठूलो पानी पर्नेबित्तिकै केटाकेटी स्कुल नै आउँदैनन् ।’

गाउँलेहरूले वर्षौँदेखि कालेखोलामा झोलुङ्गे पुलको माग गर्दै स्थानीय तह, जिल्ला र प्रदेशका कार्यालय अनुरोध गरेको भएपनि त्यसको सुनुवाइ नभएको स्थानीय हेमबहादुर विष्टले बताए ।

चुरे–४ का वडाध्यक्ष चन्द्रबहादुर लामिछाने मगरले वडालाई प्राप्त हुने सीमित बजेटले सडक, पुल तथा तटबन्ध निर्माण गर्न नसकिएको बताए ।

ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण गल्छी–रसुवागढी सडक अवरुद्ध

त्रिशूली (नुवाकोट), ६ भदौः सडकमा ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण गल्छी–रसुवागढी सडकमा यातायात सञ्चालन बन्द भएको छ

।जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जेजङ्ग कार्कीका अनुसार नुवाकोटको बेलकोटगढी नगरपालिका–८ स्थित ठूलोखोला नजिक सडकमा खसेको ठूलो ढुङ्गासहितको पहिरोले ‘डेडिकेटेड डबल लेन’को सडक पूर्ण रूपमा बन्द भएको छ । देवीघाटबाट महादेवफाँट हुँदै गल्छी आवतजावत गर्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । सोही रुटको आसपासमा वैकल्पिक सडक नभएको हुँदा यातायातका साधन आवातजावत गर्न समस्या भएको छ ।

धादिङको गल्छीबाट नुवाकोटको त्रिशूली तथा रसुवागढी हँुदै केरुङ जानुपर्ने सवारीसाधन गल्छीबाट काठमाडाँै नै पुगेर टोखा–छहरे सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । बुधबार राति खसेको पहिरोसँगैको ठूलो ढुङ्गा हटाउन ‘ब्रेकर’ लगाउनुपर्ने भएकाले सडक सञ्चालन गर्न समय लाग्ने देखिएको गल्छी–रसुवागढी सडक योजना कार्यालयका प्रमुख धुव्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । पहिरो पन्छाउन आज बिहानदेखि भारी उपकरणसहितको जनशक्ति परिचालन गरिएको छ ।

चितवनको माडीमा माछाजोन कार्यक्रम लागु,१७ लाख बजेट विनियोजन

भरतपुर (चितवन), ६ भदौः माडी नगरपालिकामा माछा ‘जोन’ कार्यक्रम लागु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइमार्फत माडीमा चालु आर्थिक वर्षदेखि माछा जोन कार्यक्रम लागु भएको हो ।

परियोजना प्रमुख तथा वरिष्ठ कृषि अधिकृत महेश रेग्मीका अनुसार माछाको क्षेत्र विस्तार र उत्पादनलाई उद्योगसँग जोडेर किसानलाई व्यवसायीकिकरण गर्ने उद्देश्यले माडीमा जोन स्थापना गरिएको छ । यस वर्ष कार्यालयले मत्स्य पर्यटन प्रवर्द्धन, माछाको उन्नत प्रविधि प्रवर्द्धन, एकीकृत माछापालन, नश्ल सुधार, ह्याचरी सुदृढीकरण, पोखरी निर्माण तथा सिँचाइलगायत क्षेत्रमा परियोजनाले काम गर्ने छ । यो आर्थिक वर्षमा यी कामका लागि रु करोड १७ लाख बजेट विनियोजन गरिएको छ ।

माडीका सबै वडामा माछापालन हुने गरेको छ । यहाँ पाँच सय हेक्टर क्षेत्रफलमा माछापोखरी निर्माण गरिएको छ । माडीमा आठ सय हेक्टरमा माछापालन क्षेत्र विस्तार गर्ने योजना रहेको परियोजनाका कृषि अधिकृत इन्द्रशर्मा ढुङ्गानाले जानकारी दिनुभयो । कार्यक्रम सञ्चालन गर्न माडीमा सम्पर्क कार्यालय स्थापना गरिएको छ । जोन कार्यालय सञ्चालनका लागि कोपिला सिवाकोटीको संयोजकत्वमा नौ सदस्सीय मत्स्य जोन सञ्चालक समन्वय समिति गठन गरिएको छ ।

यस वर्ष कार्यक्रम सञ्चालनका लागि परियोजनाले किसानलाई सूचीकृतका लागि आह्वान गरेको छ । परियोजनाले माछाको सामुदायिक फिड मिल तथा भण्डारणगृह निर्माण, माछाको ह्याचरी सुदृढीकरण तथा सञ्चालन माछापोखरी सिँचाइ तथा मर्मतसम्भार, मत्स्य पोखरी क्षेत्र विस्तारलगायत कार्यक्रममा प्रस्ताव आह्वान गरेको छ । परियोजनाका कार्यक्रममा ५० देखि ८५ प्रतिशतसम्म अनुदान प्रदान गरिने अधिकृत ढुङ्गानाले जानकारी दिनुभयो ।

चितवनमा वार्षिक पाँच हजार मेट्रिक टन माछा उत्पादन हुने गर्छ । जिल्लाभर एक हजारभन्दा बढी हेक्टर क्षेत्रमा माछापालन गरिएको पशु सेवा कार्यालयका मत्स्य विकास अधिकृत भीमदत्त भट्टले जानकारी दिनुभयो । जिल्लामा प्रतिहेक्टर दुई दशमलव पाँच क्विन्टल माछा उत्पादन हुँदै आएको छ । परियोजनामार्फत चितवनमा सागसब्जी, धान, केरा, मौरी जोन कार्यक्रम सञ्चालनमा छन् ।

देउमाई नगरपालिकाका एकल पुरुषले पाए २३ लाख २७ हजार भत्ता

फिक्कल (इलाम), ६ भदौः देउमाई नगरपालिकाका एक सय ९८ जना एकल पुरुषले रु २३ लाख २७ हजार सामाजिक सुरक्षा भत्ता पाएका छन् । आर्थिक वर्ष २०८०÷८१ मा उनीहरूले उक्त रकम पाएका हुन् ।

देउमाईले नगरभित्रका ६० वर्ष पुगेका अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह नगरेका ६० वर्ष पुषेका र पत्नीको मृत्यु भई अर्को विवाह नगरेका ६० वर्ष पुगेका पुरुषलाई रु एक हजार मासिक भत्ता वितरण गरेको हो ।

देउमाईले आर्थिक वर्ष २०७९÷८० मा नगरक्षेत्रका दुई सय सातजना एकल पुरुषलाई रु २४ लाख ८४ हजार सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको थियो । देउमाईले ‘एकल पुरुष भत्ता वितरण सम्बन्ध कार्यविधि’ पारित गरी एकल पुरुषलाई भत्ता वितरण गरेको लेखा अधिकृत गजेन्द्र एक्तेनले जानकारी दिनुभयो ।

त्यसैगरी, आव २०८०÷८१ मा ४५ वर्ष पुगेका अविवाहित ९१ महिलालाई रु १० लाख ८९ हजार सामाजिक सुरक्षा भत्ता प्रदान भएको छ । ‘सामाजिक सुरक्षा कार्यक्रम’अन्तर्गत मासिक रु एक हजारका दरले भत्ता प्रदान गरिएको हो । आव २०७९÷८० मा देउमाईका ८८ जनाले रु १० लाख ५६ हजार भत्ता पाएका थिए ।

तेस्रो लिङ्गीका लागि मासिक रु पाँच सय भत्ता उपलब्ध गराउने व्यवस्था रहे पनि कोही नआएको लेखा अधिकृत एक्तेनले बताउनुभयो । ‘ग’ वर्ग अपाङ्तागता भएका ९२ जनालाई रु पाँच लाख ४५ हजार पाँच सय र आर्व २०८०÷८१ मा ‘ग’ वर्ग अपाङ्गता भएका ९२ जनाले रु पाँच लाख ४५ हजार पाँच सय भत्ता पाएका छन् ।

यसैबीच, देउमाई नगरपालिकाले चालु आव २०८१÷८२ का लागि नगरको तर्फबाट वितरण गर्दै आएको ‘सामाजिक सुरक्षा कार्यक्रम’ स्थगन गरेको छ । ‘सामाजिक सुरक्षा कार्यक्रम’अन्तर्गत वितरण गर्दै आएको एकल पुरुष भत्ता, एकल महिला भत्ता (४५ वर्षमाथि), तेस्रो लिङ्गी भत्ता, ‘ग’ वर्ग अपाङ्गता भत्ता र ज्येष्ठ नागरिक पोशाक भत्ता वितरण कार्यक्रम स्थगन गरेको हो ।

सामाजिक सुरक्षा भत्ता वितरण नगर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र प्राप्त भएपछि कार्यपालिका बैठकको निर्णयानुसार अर्को निर्णय नभएसम्मका लागि सामाजिक सुरक्षा कार्यक्रम स्थगन गरिएको नगरप्रमुख पोख्रेलले बताउनुभयो । देउमाईले सुत्केरी स्याहार, दाहसंस्कार र दीर्घरोगी सहयोग कार्यक्रमलाई भने निरन्तरता दिएको छ । सुत्केरी स्याहार कार्यक्रमअन्तर्गत रु पाँच हजारका दरले दुई पटकसम्म, दाहसंस्कारमा रु पाँच हजार र दीर्घरोगीलाई एकपटक रु पाँच हजार उपलब्ध गराउँदै आएको छ ।

नियमविपरीत नदीजन्य पदार्थ सङ्कलन गर्नेलाई १६ लाख जरिवाना

गलकोट (बागलुङ), ६ भदौः नियमविपरीत उत्खनन गरी नदीजन्य पदार्थ सङ्कलन गर्नेलाई जिल्ला समन्वय समितिले स्थानीय तहको सहयोगमा कारबाही थालेको छ । बागलुङ नगरपालिकाले कालाखोला बगर, भाटेखोला बगर, दब्ल्याङ बगर, खनियाघाटलगायत बगरबाट अवैध रूपमा उत्खननन गरी बालुवा तथा ढुङ्गा सङ्कलन गर्नेलाई कारबाही गर्न थालेको छ । नगरपालिकाले जरिवानास्वरुप क्रसर व्यवसायी तथा नदीजन्य पदार्थको अवैध दोहन गर्नेबाट रु १६ लाख २२ हजार राजस्व सङ्कलन गरेको छ ।

असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था तथा कालीगण्डकी नदीमा नदीजन्य पदार्थको ठेक्का लगाउन नपाइने सर्वोच्च अदालतको आदेशविरुद्धमा नदीजन्य पदार्थको उत्खनन भइरहेपछि जिल्ला समन्वय समितिले निगरानी बढाएको छ । जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले राज्यलाई कर छलेर अवैध रूपमा उत्खनन गरेर थुपारेका बालुका र ढुङ्गाको परिणाम मूल्याङ्कन गरी नगरपालिकालाई दण्ड तथा जरिवाना गर्न निर्देशन दिइएको बताउनुभयो ।

“अहिले कालीगण्डकीबाट बालुवा निकाल्ल पाइँदैन, तर मध्यरातमा दोहन भइरहेको छ, हामीले दोहन भएर बिक्रीका लागि राखिएको बालुवाको परिणामका आधारमा जरिवाना गर्न थालेका छौँ, यो अभियान बागलुङ नगरपालिकामा मात्र सीमित नभई जिल्लाभर चलाइनेछ, स्थानीय तहले राजस्व गुमाउने र नदीजन्य पदार्थको दोहन भइरहने परिपाटीको अन्त्य हुन आवश्यक छ”, जिसस प्रमुख थापाले भन्नुभयो । जिल्ला समन्वय समिति र बागलुङ नगरपालिकासहितको अनुगमनबाट १५ स्थानमा सङ्कलन गरिएको बालुवा तथा ढुङ्गाको दण्ड तथा जरिवाना सङ्कलनकर्तालाई तिराउनेगरी नापजाँच भइरहेको छ ।”

बागलुङ नगरपालिका राजस्व शाखा प्रमुख काशिराम शर्माका अनुसार१३ स्थानमा सङ्कलन गरेको बालुवा तथा ढुङ्गाको राजस्व सङ्कलनका लागि मूल्याङ्कन भइरहेको छ । आरएस कन्ट्रक्सनले बागलुङ नगरपालिकालाई अग्रिम आयकरवापत रु १८ हजार चार सय ६३, मूल्य अभिवृद्धि करवापत रु एक लाख ६० हजार पाँच र दण्ड तथा जरिवानावापत रु १२ लाख ५५ हजार आठ सय छ गरी रु १४ लाख ३४ हजार दुई सय ७४ र विष्णु चोखालमार्फत रु एक लाख ८७ हजार नौ सय ४४ दण्ड जरिवाना तिरेको छ ।

जिल्ला समन्वय समितिको रोहबरमा नगरपालिका क्षेत्रका १३ स्थानमा अवैध रूपमा उत्खनन गरिएको बालुवा तथा ढुङ्गा सङ्कलनकर्तालाई जरिवाना तिराउन मूल्याङ्कन भइरहेको नगरपालिकाका इन्जिनियर सोबिन घर्तीले जानकारी दिनुभयो ।

चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीको सङ्ख्या दोब्बरले वृद्धि

चितवन, ६ भदौः त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीको सङ्ख्या दोब्बर वृद्धि भएको छ । विसं २०७७ मा तीन हजार चार सय विद्यार्थी अध्ययन गरेको यस क्याम्पसमा हाल यो सङ्ख्या सात हजारमाथि पुगेको छ ।

क्याम्पस प्रमुख दयाराम पौडेलका अनुसार क्याम्पसमा नयाँ विषयको पठनपाठन थालेपछि विद्यार्थीको आकर्षण निकै बढेको हो । क्याम्पसमा मानविकी, विज्ञान, व्यवस्थापन र शिक्षा सङ्कायको स्नातक र स्नातकोत्तर तहमा पढाइ हुँदै आएको छ । स्नातकमा व्यवस्थापनतर्फ बिबिए र बिबिएसको पढाइ हुने गर्दछ । विज्ञानतर्फ बिएस्सी, बिएस्सी सिएसआइटी, बिआइटी, बिएस्सी जुओलजी र माइक्रोबायोलोजीको पढाइ हुने गरेको छ । शिक्षातर्फ बिएस र बिआइसिटीई विषयको पढाइ हुने गर्दछ ।

स्नातकोत्तरमा विज्ञानतर्फ फिजिक्स र क्यामेस्ट्री, व्यवस्थापनतर्फ एमबिएस, मानविकीतर्फ नेपाली, अङ्ग्रेजी, अर्थशास्त्र, समाजशास्त्र र जनसङ्ख्या शिक्षाको पढाइ हुँदै आएको छ ।

यसै वर्षदेखि एमसिए र एमएडको पढाइ सञ्चालन गर्ने तयारी क्याम्पसले गरेको छ । क्याम्पसमा नयाँ विषयको पढाइ थालेपछि पहिलो रोजाइ बन्न सकेको हो । क्याम्पस प्रमुख पौडेलले भन्नुभयो, “शुल्क कम र गुणस्तरीय पढाइ हुने भएकाले यहाँ कोटा पाएसम्म विद्यार्थी अन्यत्र पढ्न जाँदैनन् ।”

लोमान्थाङका दुई सय १० परिवारलाई विद्युतीय चुलो वितरण

म्याग्दी, ६ भदौः मुस्ताङको लोमान्थाङ गाउँपालिकाको दुईवटा वडाका बासिन्दालाई विद्युतीय चुलो वितरण गरिएको छ । दाउरा र ग्यासको खपत घटाएर जलवायु परिवर्तनका असर न्यूनीकरण तथा वातावरण संरक्षणका लागि लोमान्थाङ गाउँपालिकाले चुलो वितरण गरेको हो ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार वडा नं ३ फुवा र वडा नं ४ किमलिङका दुई सय १० परिवारलाई निःशुल्क एक–एक थान विद्युतीय चुलो वितरण गरिएको छ । उहाँले भन्नुभयो “दाउराको विकल्पमा विद्युतीय चुलोको प्रयोग बढाएर वातावरण संरक्षणको प्रयास गरेका हाँै ।” अध्यक्ष गुरुङ र उपाध्यक्ष छ्युमी विष्टसहित वडाका जनप्रतिनिधिले बुधबार सम्बन्धित वडामा पुगेर चुलो वितरण गर्नुभएको हो ।

विद्युतीय चुलो खरिदका लागि गत वर्ष रु आठ लाख विनियोजन गरेको लोमान्थाङ गाउँपालिकाले यस वर्ष पनि बजेट व्यवस्था गरेको र सोबाट खरिद गरेर बाँकी तीनवटा वडाका सबै परिवारलाई वितरण गरिने जनाएको छ ।

राजविराज–छिन्नमस्ता सडकखण्डको मर्मत कार्य यथाशीघ्र गर्न माग

राजविराज (सप्तरी)-राजविराज–छिन्नमस्ता सडकखण्डको मर्मत यथाशीघ्र सम्पन्न गर्न माग गर्दै सडक बहस तथा धर्ना कार्यक्रम गरिएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ कोचाबखारी सडकखण्डमा बुधबार बिहान १० बजेदेखि १२ ‘छिन्नमस्ता मन्दिरसम्म जाने मूल सडकको विषयमा प्रमुखसँग संवाद कार्यक्रम’ सहित सडकमा धर्ना कार्यक्रम गरिएको हो ।

राजविराजबाट १२ किलोमिटर दक्षिणमा रहेको छिन्नमस्ता मन्दिरसम्म पुग्ने बाटोको ठाउँठाउँमा खाल्डाखुल्डीका कारण पानी जमेर पोखरी बनेपछि धार्मिक पर्यटक तथा स्थानीयलाई सास्ती भएको छ । बाटो बिग्रेका कारण १२ किमीको यात्रा तय गर्न डेढ घण्टा लाग्ने गरेकाले अविलम्ब सडक मर्मत गर्नुपर्ने स्थानीयको माग छ । 

धर्नामा गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, पूर्वमन्त्री उमेशकुमार यादव, वडाअध्यक्षलगायत जनप्रतिनिधिका साथै भक्तजन तथा स्थानीयवासी सहभागिता थियो । अध्यक्ष विद्यानन्द चौधरीले सडक मर्मतको माग गर्दै गत असार ३० गते सडक डिभिजन कार्यालय लहानमा धर्ना तथा काठमाडौँ पुगेर मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको ध्यानाकर्षण गराउँदा पनि आश्वासनबाहेक केही नपाइएको सुनाउनुभयो ।

हिन्दूहरू चाड बडादसैँ नजिकिँदै गएकाले त्यसअघि नै सडक निर्माण तथा मर्मत गर्न दबाब स्वरुप आज सडकमै धर्ना बस्नुपरेको उहाँको भनाइ छ ।

राजनीतिप्रति नकारात्मक सोच त्यागौँ : नेता सिटौला

बनियानी (झापा)- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिप्रतिको नकारात्मक सोच त्याग्नुपर्ने बताउनुभएको छ । नेपाल महिला सङ्घ झापाको आयोजना र ३ नम्बर क्षेत्रीय समितिको संयोजनमा भद्रपुरमा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले सर्वोत्तम नीति नै राजनीति भएकाले राजनीतिप्रतिको नकारात्मक धारणा त्याग्नुपर्ने बताउनुभयो ।

“राजनीतिकविना विकास र परिवर्तन सम्भव छैन”, उहाँले भन्नुभयो, “म सबै कांग्रेस नेता–कार्यकर्ता र आमनागरिकलाई राजनीतिप्रतिको नकारात्मक सोच त्याग्न आग्रह गर्छु ।”

कांग्रेस लोकतन्त्रको सम्वाहक भएको बताउँदै पूर्वमहामन्त्री एवं राष्ट्रियसभा सदस्य सिटौलाले आगामी दिनमा पनि परिवर्तनको नेतृत्व कांग्रेसले नै गर्नुपर्नेमा जोड दिनुभयो । “परिवर्तनको पक्षमा अग्रमोर्चामा रहेर कांग्रेसले नेतृत्व गरेको छ”, उहाँले भन्नुभयो, “आगामी दिनमा पनि त्यसको नेतृत्व कांग्रेसले नै गर्नुपर्छ ।”

बस्ती डुबानमा परेपछि १० जनालाई वडा कार्यालयमा स्थानान्तरण

कैलाली – वर्षाका कारण कटैनी नदीमा पानीको बहाव बढ्न गई कैलारी गाउँपालिका–५ पुरानो मनिकापुर बस्तीमा रहेका २४ घर डुबानमा परेपछि १० जनालाई सोही स्थानको वडा कार्यालयमा स्थानान्तरण गरिएको छ ।

चौबिस घरधुरी डुबान भएको सोही बस्तीका एक सय २६ जनामध्ये १९ घरधुरीका एक सय १६ जना आफ्नै घरको माथिल्लो तलामा तथा आफन्तको घरमा सुरक्षित साथ बसेका र पाँच परिवारका १० जनालाई स्थानान्तरण गर्नुपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय आशिदेवी चौधरी, समली चौधरी, शीतलदेवी चौधरी, शान्ताराम चौधरी, टीकाराम चौधरी, रामजशनी चौधरी, रुनम चौधरी, साहिल चौधरी, सुरनी चौधरी र कोल्ला चौधरीगरी १० जनालाई स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।

उक्त स्थानमा बिओपी खोनपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक गान्धीपराज स्याङ्ताङको कमाण्डमा ११ जना र इलाका प्रहरी कार्यालय हसुलियाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लोकेन्द्रबहादुर चन्दको कमाण्डमा सात जनाको टोली खटिएको जनाइएको छ ।

जनताका कामलाई पहिलो प्राथमिकतामा राख्न खानेपानी मन्त्री यादवको निर्देशन

काठमाडौँ – खानेपानीमन्त्री प्रदीप यादवले जनताका कामलाई पहिलो प्राथमिकता राखेर काम गर्न निर्देशन दिनुभएको छ । बुधबार बालाजु पानीपोखरी, बालाजु पार्क, माछापोखरी तथा कीर्तिपुरमा निर्माणाधीन ट्याङ्कीको निरीक्षण एवं अवलोकन भ्रमणका क्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

अवलोकन भ्रमणका क्रममा मन्त्री यादवले बालाजु पानी पोखरी बालाजु पार्कमा निर्माण भइरहेका १० लाख र पाँच लाख लिटर क्षमताका खानेपानी ट्याङ्कीका काम समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

उहाँले सुन्दरीजलबाट काठमाडौँ जोड्ने ‘कनेक्टिङ पाइप’ माछापोखरीमा फुस्किएर पानी वितरणमा बन्द भएको खबर आएपछि आज उक्त क्षेत्रको निरीक्षण गरी यथाशीघ्र काम गरी पानी वितरण गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

मन्त्री यादवले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा निर्माण भइरहेको खानेपानीको नवनिर्मित ट्याङ्कीको निरीक्षण तथा अवलोकन गर्नुभयो । त्यसक्रममा उहाँले टियु खेल मैदानमा खेल हेर्न तथा अन्य कामका लागि आउने दर्शकका लागि पानीको उचित व्यवस्थापन गर्न निर्देशन दिनुभयो । “दर्शकलगायत खेलाडीका लागि यही ट्याङ्कीबाट पानीको व्यवस्थापन गर्नुस्, चाँडो काम सकेर खानेपानी प्रयोग गर्न पाउने अवस्था बनाउन मेरो आग्रह छ”, उहाँले भन्नुभयो ।

मन्त्री यादवले काठमाडौँका विभिन्न स्थानमा भइरहेको पानी चुहावट नियन्त्रण गरी जनताका घरमा शुद्ध र सफा पानी वितरण गर्नसमेत निर्देशन दिनुभयो । “शुद्ध खानेपानी पाउनु जनताको नैसङ्र्गिक अधिकार हो । त्यसैले सो अधिकार प्रत्यायोजनका लागि भूमिका खेल्नु हाम्रो दायित्व हो । त्यसैले काम गरेर देखाउनतर्फ लागौँ”, उहाँले कर्मचारीसँग भन्नुभयो ।