`

राजनीतिप्रति नकारात्मक सोच त्यागौँ : नेता सिटौला

बनियानी (झापा)- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिप्रतिको नकारात्मक सोच त्याग्नुपर्ने बताउनुभएको छ । नेपाल महिला सङ्घ झापाको आयोजना र ३ नम्बर क्षेत्रीय समितिको संयोजनमा भद्रपुरमा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले सर्वोत्तम नीति नै राजनीति भएकाले राजनीतिप्रतिको नकारात्मक धारणा त्याग्नुपर्ने बताउनुभयो ।

“राजनीतिकविना विकास र परिवर्तन सम्भव छैन”, उहाँले भन्नुभयो, “म सबै कांग्रेस नेता–कार्यकर्ता र आमनागरिकलाई राजनीतिप्रतिको नकारात्मक सोच त्याग्न आग्रह गर्छु ।”

कांग्रेस लोकतन्त्रको सम्वाहक भएको बताउँदै पूर्वमहामन्त्री एवं राष्ट्रियसभा सदस्य सिटौलाले आगामी दिनमा पनि परिवर्तनको नेतृत्व कांग्रेसले नै गर्नुपर्नेमा जोड दिनुभयो । “परिवर्तनको पक्षमा अग्रमोर्चामा रहेर कांग्रेसले नेतृत्व गरेको छ”, उहाँले भन्नुभयो, “आगामी दिनमा पनि त्यसको नेतृत्व कांग्रेसले नै गर्नुपर्छ ।”

बस्ती डुबानमा परेपछि १० जनालाई वडा कार्यालयमा स्थानान्तरण

कैलाली – वर्षाका कारण कटैनी नदीमा पानीको बहाव बढ्न गई कैलारी गाउँपालिका–५ पुरानो मनिकापुर बस्तीमा रहेका २४ घर डुबानमा परेपछि १० जनालाई सोही स्थानको वडा कार्यालयमा स्थानान्तरण गरिएको छ ।

चौबिस घरधुरी डुबान भएको सोही बस्तीका एक सय २६ जनामध्ये १९ घरधुरीका एक सय १६ जना आफ्नै घरको माथिल्लो तलामा तथा आफन्तको घरमा सुरक्षित साथ बसेका र पाँच परिवारका १० जनालाई स्थानान्तरण गर्नुपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय आशिदेवी चौधरी, समली चौधरी, शीतलदेवी चौधरी, शान्ताराम चौधरी, टीकाराम चौधरी, रामजशनी चौधरी, रुनम चौधरी, साहिल चौधरी, सुरनी चौधरी र कोल्ला चौधरीगरी १० जनालाई स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।

उक्त स्थानमा बिओपी खोनपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक गान्धीपराज स्याङ्ताङको कमाण्डमा ११ जना र इलाका प्रहरी कार्यालय हसुलियाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लोकेन्द्रबहादुर चन्दको कमाण्डमा सात जनाको टोली खटिएको जनाइएको छ ।

जनताका कामलाई पहिलो प्राथमिकतामा राख्न खानेपानी मन्त्री यादवको निर्देशन

काठमाडौँ – खानेपानीमन्त्री प्रदीप यादवले जनताका कामलाई पहिलो प्राथमिकता राखेर काम गर्न निर्देशन दिनुभएको छ । बुधबार बालाजु पानीपोखरी, बालाजु पार्क, माछापोखरी तथा कीर्तिपुरमा निर्माणाधीन ट्याङ्कीको निरीक्षण एवं अवलोकन भ्रमणका क्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

अवलोकन भ्रमणका क्रममा मन्त्री यादवले बालाजु पानी पोखरी बालाजु पार्कमा निर्माण भइरहेका १० लाख र पाँच लाख लिटर क्षमताका खानेपानी ट्याङ्कीका काम समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

उहाँले सुन्दरीजलबाट काठमाडौँ जोड्ने ‘कनेक्टिङ पाइप’ माछापोखरीमा फुस्किएर पानी वितरणमा बन्द भएको खबर आएपछि आज उक्त क्षेत्रको निरीक्षण गरी यथाशीघ्र काम गरी पानी वितरण गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

मन्त्री यादवले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा निर्माण भइरहेको खानेपानीको नवनिर्मित ट्याङ्कीको निरीक्षण तथा अवलोकन गर्नुभयो । त्यसक्रममा उहाँले टियु खेल मैदानमा खेल हेर्न तथा अन्य कामका लागि आउने दर्शकका लागि पानीको उचित व्यवस्थापन गर्न निर्देशन दिनुभयो । “दर्शकलगायत खेलाडीका लागि यही ट्याङ्कीबाट पानीको व्यवस्थापन गर्नुस्, चाँडो काम सकेर खानेपानी प्रयोग गर्न पाउने अवस्था बनाउन मेरो आग्रह छ”, उहाँले भन्नुभयो ।

मन्त्री यादवले काठमाडौँका विभिन्न स्थानमा भइरहेको पानी चुहावट नियन्त्रण गरी जनताका घरमा शुद्ध र सफा पानी वितरण गर्नसमेत निर्देशन दिनुभयो । “शुद्ध खानेपानी पाउनु जनताको नैसङ्र्गिक अधिकार हो । त्यसैले सो अधिकार प्रत्यायोजनका लागि भूमिका खेल्नु हाम्रो दायित्व हो । त्यसैले काम गरेर देखाउनतर्फ लागौँ”, उहाँले कर्मचारीसँग भन्नुभयो ।

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १९औँ संस्करण घोषणा

गण्डकी – १९औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आगामी फागुन ३ गते हुने भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्च पोखराले बुधबार पत्रकार भेटघाटमार्फत उक्त जानकारी दिएको हो ।

यो संस्करणमा २१ किमिको पुरूष म्याराथन थपिएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताउनुभयो । विसं २०५८ मा स्थापित उक्त संस्थाले वर्सेनि अन्तराष्ट्रियस्तरको म्याराथन प्रतियोगिता गर्दै आएको छ ।

‘स्वास्थ्यका लागि, पोखराका लागि’ आदर्श वाक्यसहित हुँदै आएको उक्त प्रतियोगिताको गत १८औँ संस्करणमा रु ७५ लाख २४ हजार आम्दानी र रु ७१ लाख ५२ हजार खर्च भई रु तीन लाख ७२ हजार बचत भएको सो अवसरमा जानकारी दिइयो ।

आगामी १९औँ संस्करणमा कूल नगद पुरस्कार रु २१ लाख ३४ हजार प्रस्ताव गरिएको मञ्चले जनाएको छ ।

आयात न्यूनीकरण गर्न स्वदेशी उत्पादन वृद्धिमा जोड दिनुपर्छ: मन्त्री अधिकारी

काठमाडौँ – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आयात न्यूनीकरण गर्न स्वदेशी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ ।

मन्त्रालयद्वारा राष्ट्रिय आविष्कार केन्द्रका प्रतिनिधिसँग बुधबार यहाँ आयोजित छलफलमा उहाँले निर्यातजन्य स्वदेशी उद्योगलाई संरक्षण गर्न सरकारले नीतिगत सुधारका साथै आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री अधिकारीले मुलुकको आर्थिक विकासका लागि कूल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान वृद्धि गर्नुपर्ने र किसान लक्षित कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले आविष्कार केन्द्रले उत्पादन गर्ने कृषि औजार सामग्रीको बजारीकरण कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “ आविष्कार केन्द्रले कृषकको मागअनुसारका औजार उत्पादन गरे त्यसको बजारीकरणका लागि सरकारले सहयोग गर्छ”, मन्त्री अधिकारीले भन्नुभयो,“ वीरगञ्जस्थित कृषि औजार कम्पनी सञ्चालनका लागि पनि केन्द्रलाई सक्दो आर्थिक सहयोग उपलव्ध गराउन पहल गर्नेछु ।”

केन्द्रका अध्यक्ष महावीर पुनले कृषि औजार कम्पनी पुनःसञ्चालनका लागि केन्द्रले आफ्नो पुस्तक बिक्री गरी चन्दा सङ्कलन गर्ने क्रममा रहेको जानकारी दिनुभयो । उहाँले कम्पनी सञ्चालनले कृषि अर्थतन्त्रको विकासमा योगदान गर्ने र त्यसले मुलुकको अर्थतन्त्रलाई सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।

मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले कृषि उत्पादन वृद्धि गर्न किसान लक्षित कार्यक्रम कार्यान्वयन गरिने बताउनुभयो ।

‘स्थानीय सेवा गठन ऐन कर्मचारीको हित प्रतिकूल नहोस्’

कर्णाली, ६ भदौः स्थानीय तहमा कार्यरत कर्णाली प्रदेशका कर्मचारीहरुले ‘स्थानीय सेवा गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८१’ कर्मचारी हकहित प्रतिकूल नहुनेगरी जारी गर्न आग्रह गरेका छन् ।

राजधानी सुर्खेतमा उनीहरुले बुधबार शान्तिपूर्ण र्याली गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि कोणसभा पनि गरे । त्यसअघि उनीहरूले मुख्यमन्त्री यामलाल कँडेललाई ज्ञापनपत्र बुझाएका थिए ।

स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल कर्णाली प्रदेश समितिका संयोजक विक्रम शाहीले विधेयक जारी चरणमा रहेको जनाउँदै विधेयक उपर कर्णाली प्रदेशसभाका सदस्यहरुले संशोधन प्रस्ताव दर्ता गरी प्रदेश मामिला समितिमा छलफल भइरहेको बताउनुभयो ।

सङ्घीय तथा प्रदेश लोक सेवा आयोगबाट पदपूर्ति भएका बाहेक कामकाजमा स्थानीय तह वा अन्य प्रदेशबाट आएका कर्मचारीको स्तरवृद्धि उपदानलगायत व्यवस्था हुनुपर्नेमा संयोजक शाहीले जोड दिनुभयो ।

नेपालको संविधानको धारा २२७ बमोजिम कर्णाली प्रदेशका स्थानीय तहबाट हुने सेवा प्रवाहको लागि आवश्यक कर्मचारीको व्यवस्था गर्दै स्थानीय सेवालाई व्यावसायिक बनाउने लक्ष्यका साथ कर्णाली प्रदेशसभाले विधेयकमार्फत ऐन जारी गर्ने तयारी गरेको छ ।

कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ, ६ भदौः देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशामा अवस्थित रहेको छ जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

त्यसैगरी आज राति देशभर आंशिक देखि साधारणतया बदली रहने तथा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।

घाटामा जाने उद्योगहरू नचलाउनुस् – प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चलाएका कुनै पनि उद्योग र संस्थान घाटामा जान नहुने बताएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित विषयमा भएको ब्रिफिङमा प्रधानमन्त्री ओलीले उद्योगका लागि सडक बाटो, बिजुलीलगायत पूर्वाधारका वातावरण तयार भइसकेकाले अब औद्योगिकीकरणमा लाग्न आग्रह गरे ।

“साना साना लगानीमा धेरै कृषिमा आधुनिकीकरण र स्टार्टअप उद्योग खोलेर बेरोजगारीलाई रोजगारी दिन सकिन्छ । उत्पादन बढाएर आयात विस्थापन गर्न सकिन्छ,” प्रधानमन्त्री ओलीले भने, “नचल्ने र घाटामा जाने उद्योग चलाउन बल नगरौँ । डुब्ने र प्रतिफल नदिने उद्योग नचलाऔँ ।’’

मद्यपान र धुमपानसँग सम्बन्धित उद्योगलाई भन्दा रोजगारी सृजना गर्ने र समाजलाई सभ्य तथा स्वस्थ्य बनाउने खालका उत्पादनमा जोड दिन आग्रह गर्दै प्रधानमन्त्री ओलीले उद्योगका नाममा भएका बेथिति रोक्न र राम्रा काम गर्नेलाई संरक्षण गर्न निर्देशन दिए ।

उद्योगमन्त्री दामोदर भण्डारी, नेपाल सरकारका मुख्यसचिव लीलादेवी गड्तौला, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठ, उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहितको छलफलमा प्रधानमन्त्री ओलीले खनिज र पेट्रोलियम पदार्थको अन्वेषण र उत्खनन् कार्यलाई निरन्तरता दिँदै यसका आधारमा विकास गर्न सकिने उद्योगको योजना ल्याउन आग्रह गरे ।

यसअघि प्रधानमन्त्री ओलीले शिक्षा, सञ्चार, पर्यटन, स्वास्थ्य, कृषि मन्त्रालयसँग सम्बन्धित विषय र सुधारका योजनाका विषयमा सम्बन्धित मन्त्री र सचिवसँग बेग्ला बेग्लै ब्रिफिङ लिइसकेका छन् ।

नेपाल सङ्गीत उद्योग सङ्घको कार्यालयमा मानव बेचबिखन ब्यूरोद्वारा छापा

काठमाडौँ, ५ भदौ : नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले काठमाडौँको अनामनगरस्थित नेपाल सङ्गीत उद्योग सङ्घको कार्यालयमा आज छापा मारेको छ ।

आज दिउँसो ब्यूरोको टोलीले सङ्घको कार्यालयमा छापा मारी केही कागजात तथा कम्प्युटरको ‘हाडडिक्स’ बरामद गरेको मानव बेचबिखन ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक गौतम मिश्रले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “तीनदेखि सङ्घको कार्यालय बन्द थियो, आज खुलेपछि हाम्रो टोलीले त्यहाँबाट माइनुटबुक, लेटरप्याड र कम्प्युटरको हाडडिक्स बरामद गरी ल्याएका छौँ ।” नक्कली कागजात बनाएर मानिसलाई विदेश पठाउने गरेको सूचनाका आधारमा ब्यूरोले आज छापा मारेको प्रवक्ता मिश्रले बताउनुभयो ।

“नक्कली कागजात बनाएर मानिसलाई विदेश पठाउने गरेको सूचना पाएका छौँ”, उहाँले भन्नुभयो, “सोही विषयमा छानबिन गर्न आज छापा मारेर सङ्गीत उद्योग सङ्घका पदाधिकारीको रोहबरमा कागजपत्र नियन्त्रणमा लिएका छौँ ।”

सुशासन प्रवर्द्धन र भ्रष्टाचार रोक्नका लागि सदाचार नीतिबारे सुझाव सङ्कलन जारी

काठमाडौँ, ५ भदौ : राष्ट्रियसभाको विकास, आर्थिक मामिला र सुशासन समितिले सुशासन प्रवर्द्धन र भ्रष्टाचार रोक्नका लागि सदाचार नीतिको मस्यौदामाथि समयसापेक्ष सुधार गर्न सुझाव सङ्कलन जारी राखेको छ ।

समिति सभापति कमलादेवी पन्तले सदाचार नीतिलाई थप प्रभावकारी बनाउने विषयमा सुझाव सङ्कलन जारी रहेको र योक्रम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । सरकारले सदाचार नीतिको मस्यौदा निर्माण गरेको सात वर्ष भए पनि कार्यान्वयनमा नआएकाले हाल संसदीय समितिले घनीभूत रूपमा छलफल अघि बढाएको र आज पनि सोही विषयमा छलफल भएको उहाँले बताउनुभयो ।

समितिले गृह र कानुनमन्त्रीका साथै समाजकल्याण परिषद् र विभिन्न गैरसरकारी संस्थाहरूसँग सुझाव लिइ सकेको छ । “विसं २०७४ मा सदाचार नीतिको मस्यौदा बनेको र त्यसमा सुधार गर्ने क्रममा सुझाव लिने काम चलिरहेको छ । अब पार्टीगत रूपमा सुझाव लिने र त्यसपछि प्रधानमन्त्रीसँग पनि सुझाव लिने तयारी गरिरहेका छौँ”, सभापति पन्तले रासससँग भन्नुभयो ।

आजको छलफलमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले बदमासी गर्नेलाई कारबाहीका लागि कडा कानुन तर्जुमा गर्न जरूरी रहेको आवश्यकता औँल्याउनुभयो । उहाँले सदाचार नीतिलाई चाँडो टुङ्गोमा पु¥याउन लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद घनश्याम रिजालले सदाचार नीति लागू गर्न ढिला गर्न नहुने र पहिले संसद् र सरकारबाटै यो नीति लागू हुनुपर्नेमा जोड दिनुभयो ।

पूर्वउपप्रधानमन्त्री एवं सांसद वामदेव गौतमले नीति लागू गर्न र कार्यान्वयन नगर्नेलाई कडा कारबाही गर्ने गरी अघि बढ्न जरुरी रहेको धारणा राख्नुभयो । माओवादी केन्द्रका सांसद विष्णुबहादुर विश्वकर्माले पनि सदाचार नीतिको मस्यौदालाई आवश्यक सुधार गरी कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
समितिले उद्योग वाणिज्य महासङ्घ र सहकारीका प्रतिनिधिहरूसँग पनि सुझाव लिएको छ । उहाँहरूबाट पनि नीति कार्यान्वयन जरूरी रहेको सुझाव आएको बताउनुहुँदै समिति सभापति पन्तले सुझाव समेटेर प्रतिवेदनसहित सभालाई बुझाउने जानकारी दिनुभयो ।

भारतको झारखण्डमा हराएको विमानको खोजी सुरु

पूर्वी भारतको झारखण्ड राज्यका अधिकारीहरूले बुधबार दुई पाइलटसहित हराइरहेको एउटा प्रशिक्षार्थी विमान पत्ता लगाउन राष्ट्रिय प्रकोप प्रतिक्रिया बलसँग मद्दत मागेको बताएका छन् ।

भारतको जमशेदपुरको सोनारी विमानस्थलबाट उडेको विमान मङ्गलबार बेपत्ता भएको थियो ।

अधिकारीहरुका अनुसार विमान अन्तिम पटक झारखण्डको राजधानी सहर राँचीबाट एक सय १६ किलोमिटर दक्षिणपूर्वमा सराइकेला खरसावन जिल्लाको निमदिह नजिकै गएको थियो ।

स्थानीय सञ्चारमाध्यमले एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै विमान केही दूरीमा पानीमा खसेको बताएको छ । प्रहरीले चण्डिल बाँधमा विमान दुर्घटना भएको हुनसक्ने आशङ्का गरेको छ ।

दुई सिटको उक्त विमान ससेना १५२ रहेको र फ्लाइङ स्कुल अफ अल्केमिस्ट एभिएसन कम्पनीको स्वामित्वमा रहेको बताइएको छ । विमानमा एक पाइलट र एक प्रशिक्षक थिए । विमानको ट्राफिक कन्ट्रोलसँग सम्पर्क विच्छेद भएपछि तत्काल अलार्म बजेको थियो ।

फजूल खर्चलाई निरुत्साहित गर्न सामूहिक विवाह समारोह

चीनमा फजुल खर्च निरुत्साहित गर्न सेप्टेम्बर २२ मा सामुहिक विवाह कार्यक्रम आयोजना गरिएको ‘अल चाइन विमिन फेडेरेसन’ ले जनाएको छ । हङकङ, मकाउ र ताइवानका कुल पाँच हजार दम्पतीले उक्त सामूहिक विवाह समारोहमा भाग लिन सक्ने जनाइएको छ ।

फेडेरेसनलगायत अन्य पाँच संस्थाद्वारा सार्वजनिक लाभ गतिविधिको रूपमा आयोजना गरिएको परम्परागत चिनियाँ विवाह समारोहको उद्देश्य सरल विवाहलाई बढावा दिई असाधारण विवाहको चलनलाई निरुत्साहित गर्नु हो ।

कार्यक्रम बेइजिङमा हुने तथा भिडियोमार्फत देशभरि एकैसाथ समारोह आयोजना गरिने स्रोतले जनाएको छ । सामूहिक विवाहमा भाग लिन इच्छुक जोडीले महासङ्घको आधिकारिक विच्याटमार्फत विवाह प्रमाणपत्रका साथ आवेदन दिन सक्नेछन् ।

नागरिक मामिला मन्त्रालयको तथ्याङ्क अनुसार चीनमा सन् २०२३ मा करिव ७६ लाख विवाह दर्ता भएका छन् ।

हाल चीनले विवाह दर्ता प्रक्रियालाई सरल बनाएको घोषणा गर्दै दम्पतीहरूले अब विवाहको लागि दर्ता गर्दा दर्ता पुस्तिका प्रस्तुत गर्न आवश्यक नपर्ने जनाएको छ ।

अड्किएका फाइल २४ घण्टाभित्र छिनोफानो गर्न पर्यटनमन्त्री पाण्डेको निर्देशन

काठमाडौँ, ५ भदौः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहतका निकायले आफ्ना काम चुस्त र परिणाममुखी बनाउन निर्देशन दिनुभएको छ ।

आज मन्त्रालयको संस्कृति महाशाखाअन्तर्गतका निकायका पदाधिकारीसँग ‘समस्या, चुनौती र समाधानका उपाय’ विषयक छलफल कार्यक्रममा मन्त्री पाण्डेले असोज महिनाभित्र प्रत्येक निकायले कार्य प्रगति विवरण पेस गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । “मन्त्रालयमा कुन फायल कहाँ अड्किएको छ त्यसको २४ घण्टाभित्र छिनोफानो गर्नुहोला ।

यसैगरी त्रैमासिक समीक्षा गर्ने बेलासम्म बजेट भाषण र रेडबुकमा परेका कार्यक्रमका बारेमा अनिवार्य रूपमा जानकारी गराउनुहोला”, उहाँले भन्नुभयो, “असोज महिना आउनुअघि नै योजना कार्यान्वयनका लागि के के गर्छाैं ? गर्नसक्ने कार्यक्रम केके हुन् ? गर्न नसक्ने काम केके हुन् ? यस सन्दर्भमा अनिवार्य रूपमा गृहकार्य गर्दै अघि बढ्नू ।”

मन्त्री पाण्डेले कामको प्राथमिकता निर्धारण तथा नीतिगत सुधारका लागि चुस्त शैलीमा काम गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “गर्नुपर्ने कामको प्राथमिकीकरण, नीतिको सूचीकरण, काुनन निर्माणको प्राथमिकताका साथै संरचनागत रूपमा कहाँ—कहाँ त्रुटि छ ? त्यसबारेमा संवेदशील भएर अघि बढ्नुपर्छ”, उहाँको भनाइ थियो ।

जलविद्युत्मार्फत आर्थिक समृद्धि हासिल गर्न आन्तरिक खपत बढाउनुपर्छः अर्थमन्त्री पौडेल

काठमाडौँ, ५ भदौः उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले जलविद्युत्मार्फत आर्थिक समृद्धि हासिल गर्न आन्तरिक खपत बढाउनुपर्नेमा जोड दिनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र उपाय नामक संस्थाको संयुक्त आयोजनामा आज यहाँ भएको ‘अनलकिङ इन्भेष्टमेन्ट’ कार्यक्रममा उहाँले ऊर्जा क्षेत्रमा निजी लगानीलाई प्रोत्साहन गर्ने योजना आवश्यक रहेकोसमेत बताउनुभयो ।

अर्थमन्त्री पौडेलले सरकारले जलविद्युत् क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको र यस क्षेत्रको विकासका लागि विदेशी लगानी ल्याउन सरकारले वातावरण बनाउने प्रतिबद्धता जनाउनुभयो । “नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी ल्याउनका लागि सरकारले वातावरण निर्माण गर्नेछ । नेपालको समृद्धिका लागि जलस्रोतको उच्चतम उपयोग गर्न ऊर्जा उत्पादन र आन्तरिक खपतमा जोड दिनुपर्छ”, मन्त्री पौडलले भन्नुभयो, “नेपालको अधिकतम उत्पादन नेपालमै खपत हुनेगरी ठूलाठूला बहुर्राष्ट्रिय कम्पनीलाई नेपाल लगानीका लागि प्रोत्साहन गर्ने नीति सरकारले लिनेछ ।”

ऊर्जा उत्पादनमा आफ्नो सम्पूर्ण समय र लगानी लगाएका ऊर्जा उद्यमीले समस्या छन् भनेर थाक्न नपाइने भन्नुहुँदै उहाँले हाल देखिएका समस्या बृहत छलफलमार्फत समाधान गर्न सकिने धारणा राख्नुभयो । नेपालको ऊर्जा क्षेत्रमा थप प्रगति हासिल गर्न र हिउँदमा पनि अन्यत्रबाट विद्युत् आयात गर्न नपर्ने ठाउँमा नेपाललाई पु¥याउन सबैले मिलेर काम पर्नेमा उहाँको जोड थियो ।

इप्पानका अध्यक्ष गणेश कार्कीले नेपाली बैंकले विदेशी लगानीका ठूला विद्युत् आयोजनामा ऋण लगानी गरेका कारण स्वदेशी आयोजनाले लगानी नपाएको धारणा राख्नुभयो । “बैंकसँग जलविद्युत्मा गर्ने लगानीको सानो सीमा छ । विदेशी लगानीका आयोजनामा गरिएको ऋण लगानी देखाउँदै स्वदेशी जलविद्युत् आयोजनामा लगानी गर्न सीमा सकियो भन्छन् । यसले हामी स्वदेशी लगानीकर्ता मारमा परेका छौँ”, उहाँले भन्नुभयो,“त्यसविदेशी लगानीका आयोजनामा गरिएको लगानीलाई सीमाभन्दा बाहिर राख्ने वा विदेशी लगानीका आयोजनामा नेपाली बैंकले लगानी गर्न नपाउने व्यवस्था गर्न आवश्यक भइसकेको छ ।”

विद्युत् विधेयकले नेपाली निजी क्षेत्रलाई निस्तेज गर्न खोजेको, निर्माणाधीन ३० भन्दाबढी जलविद्युत् आयोजनाले आइपिओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएकामा लामो समयदेखि अनुमति नदिएकोे, स्थानीय तहबाट दोहोरो कर माग गरिएको, एक प्रतिशतमा हुने काममा २८ प्रतिशत भन्सार पु¥याइएको र सरकारले दिन्छु भनेको प्रतिमेगावाट रु ५० लाख भ्याट छुट अहिलेसम्म पनि नपाएको भन्नुहुँदै अध्यक्ष कार्कीले अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराउनुभएको थियो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का नेपाल निर्देशक बाबाकर फायले आइएफसीले नेपालको निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएको बताउनुभयो । उहाँले ऊर्जा परियोजनामा लगानी गर्दै आएको र भोलिका दिनमा पनि नेपालको ऊर्जा क्षेत्रमा लगानी बढाउन तयार रहेको बताउनुभयो ।

कार्यक्रममा डोल्मा इम्प्याक्ट फण्डका कार्यकारी निर्देशक विद्यावारिधि सिग्देलले नेपाली बैंकले बर्सेनि रु ४०÷५० अर्ब मात्रै ऊर्जामा लगानी गर्नसक्ने भएकाले स्वदेशी लगानीबाटै १० हजार मेगावाट उत्पादन गर्न ४० वर्षभन्दा बढी समय लाग्ने बताउनुभयो । उहाँले विदेशी लगानीमा ऊर्जाको दिगो विकास गर्न सकिने र त्यसका लागि नेपाली जलविद्युत् उद्यमीले वातावरण, समाज र सुशासनमा जोड दिनुपर्ने बताउनुभयोे ।

उपायका कार्यकारी निर्देशक सुमन रायमाझीले आफ्नो संस्थाले विदेशी लगानी नल्याएको भए आज यो उचाइ लिन नसकिने भन्दै ऊर्जा आयोजनाले पनि विदेशी लगानी ल्याउन आवश्यक रहेको बताउनुभयो ।

एमसिसी कार्यान्वयनको एक वर्ष, अपेक्षाकृत उपलब्धि

काठमाडौँ, ५ भदौः संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसिसी) नेपाल कम्प्याक्ट कार्यान्वयनको एक वर्षमा अपेक्षाकृत उपलब्धि भएको जनाइएको छ ।

एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयनको एक वर्ष पूरा भएका अवसरमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजनाको प्रगतिबारे जानकारी गराएको छ ।

कार्यक्रममा एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले यस अवधिमा १८ किलोमिटर लामो सीमापार विद्युत् प्रसारण लाइनका लागि ठेकेदार छनोट भएको र ठेकेदारको पहुँचका लागि साइट तयार गर्नमा उल्लेखनीय प्रगति भएको बताउनुभयो ।

त्यस्तै दुई सय ९७ किमी प्रसारण लाइनका लागि यस वर्ष पुनःबोलपत्र आह्वान गरिने उहाँले उल्लेख गर्नुभयो । तीन वटा सबस्टेशनका लागि ठेक्का सम्झौता सम्पन्न भएको जानकारी दिँदै उहाँले वैशाख २७ गते तीन करोड ५५ लाख १० हजार अमेरिकी डलर रकम बराबरको नयाँ बुटवल, नवलपरासीपश्चिम सम्झौता सम्पन्न भएको उल्लेख गर्नुभयो ।

गत असार १ गते पाँच करोड १६ लाख अमेरिकी डलर बराबरको रातमाटे, नुवाकोट तथा गत साउन १६ गते तीन करोड ८८ लाख ९० हजार डलर बराबरको नयाँ दमौली, तनहुँ सम्झौता सम्पन्न भएको जनाइएको छ ।

सडक मर्मतसम्भार आयोजनाका लागि सडक विभागलाई प्रयोगशाला स्तरोन्नति, सडक परीक्षण उपकरण र प्राविधिक तालिमलगायत सहयोग प्रदान गरिएको एमसिसीले जनाएको छ । धानखोलादेखि लमहीसम्म फूल डेप्थ रिक्लेमेसन (एफडीआर) प्रविधि प्रयोग गर्न ४० किलोमिटर लामो सडकखण्ड स्वीकृत भएको र यसैवर्ष बोलपत्र आह्वान गरिनेछ । आवधिक मर्मतसम्भारका लागि दुई वटा सम्भावित सडक खण्डको पहिचान गरी स्वीकृत भएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै निर्माणस्थलमा पहुँच र जीविकोपार्जन पुनःस्थापनाअन्तर्गत १० जिल्लामा आठ सय ५६ वटा प्रसारण टावरका जग निर्माणका लागि जग्गाप्राप्तिमा प्रगति भएको, दुईवर्षे जीविकोपार्जन पुनःस्थापना कार्यक्रममार्फत दुई सय ७० जनालाई तालिम प्रदान गरिएको छ । जग्गाको मुआब्जा निर्धारण गर्न नौ जिल्लामा मुआब्जा निर्धारण समिति गठन भएको तथा धादिङ, मकवानपुर र नवलपरासीपश्चिम गरी तीन जिल्लामा जग्गाको मुआब्जा निर्धारण गरिएको छ । नौ जिल्लामा पहिलो चरणको रुख गणना कार्य सम्पन्न भएको छ ।

कार्यक्रममा एमसिसीका देशीय निर्देशक डियान एल फ्रान्सिस्केले समयमै एससिसी परियोजना कार्यान्वयनमा आइसक्ने विश्वास व्यक्त गर्दै परियोजना अघि बढाउन नेपाल सरकारको तर्फबाट पनि सहजीकरण भइरहेको बताउनुभयो ।

कार्यक्रमले गरिबीबाट हटाउन मद्दत गरेको उल्लेख गर्दै उहाँले आफूहरूसँग काम गर्ने सिलसिलमा विविध चुनौतीको सामना गर्ने, नवीन समाधान खोज्ने र सफलता हासिल गर्ने समृद्ध र विविध अनुभव रहेको बताउनुभयो ।

यसैगरी डीन नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले एमसिसी परियोजना समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्दै यसमा सरोकारवालाको सहयोग भइरहेको उल्लेख गर्र्नुभयो । उहाँले आयोजना कार्यान्वयनका लागि नेपाल सरकारबाट आवश्यक सहयोग र समन्वय भइरहेको बताउँदै अमेरिकी सरकारले यस आयोजनालाई महत्त्वका साथ अघि बढाएको जानकारी गराउनुभयो ।

विगत एक वर्षमा एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा वास्तविक गति आएको बताउँदै तीन वटा सबस्टेसनको ठेक्कामा हस्ताक्षर, विद्युत् नियामक प्राधिकरणलाई प्राविधिक सहयोगको व्यवस्था, आयोजना प्रभावित समुदायलाई सहयोग गर्न एमसीए साझेदारी कार्यक्रमको थालनी, १८ किमी प्रसारण लाइनको ठेक्कामा हस्ताक्षर र उल्लेखनीय प्रगति भएको जनाएको छ ।

समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘के हेरेको टुलु टुलु’ को भिडियो सार्वजनिक

काठमाडौं । गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘के हेरेको टुलु टुलु’ को भिडियो सार्वजनिक भएको छ । गीतमा नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको संगीत, श्यामस्वेत रसाइलीको एरेन्ज र गोविन्द अनेकको रेकर्डिङ छ ।

गीतको भिडियोमा सलोन बस्नेत, नाजिर हुसेन र आश्मा विश्वकर्मा फिचर्ड छन् । भिडियोमा आश्माको प्रेम पाउन सलोन र नाजिरले गरेको संघर्षलाई देखाइएको छ । भिडियोमा तीनै जना कलाकारलाई रोमान्टिक भावमा देख्न सकिन्छ । रोमान्टिक भावको गीतको भिडियोमा गायिका समीक्षा पनि फिचर्ड छिन् ।

गम्भीर विष्टको निर्देशन रहेको भिडियोमा सुबास तिमल्सिनाको मेकअप, कुसुम बुटिकको पहिरन, मनिक पाख्रिनको कला निर्देशन, सुभम भुजेलको कोरियोग्राफी, सुरेन्द्र बसेलको सहायक निर्देशन र शम्भु श्रेष्ठको प्रोडक्सन छ ।भिडियो समीक्षा अधिकारी अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

‘हरेक रात मेरो अन्तिम हुन सक्ने सोच्दै निदाउँथे’ :इजरायलबाट अपहरित जापानी बन्धक

अक्टोबर ७ मा हमासले बन्धक बनाएको २५१ जना मध्येकी एक इजरायली युवतीले बुधबार आफू कैदमा रहँदा हरेक रात आफ्नो अन्तिम रात हुन सक्ने सोच्दै सुत्ने गरेको बताएकी छन् । “हरेक रात म सुत्न खोज्दा यो मेरो जीवनको अन्तिम रात हुन सक्ने सोच्दै निदाउँथे ”, नोआ अर्गामानीले जापानमा आफ्नो बुबासँग भेट्दा भन्नुभयो ।

“मेरो उद्धार नहुँदासम्म मलाई म बाच्छु भन्ने विश्वास थिएन”, २६ वर्षीया अर्गामानीले टोकियोमा जी–७ राष्ट्रका वरिष्ठ कूटनीतिज्ञसँगको भेटमा बताउनुभयो । “म तपाईंसँग यहाँ बसिरहेको छु, यो एउटा चमत्कार हो ।”

अर्गामानी इस्लामवादीहरूको अक्टोबर ७ को आक्रमणको समयमा नोभा सङ्गीत महोत्सवबाट हमासद्वारा अपहरण गरिएका मध्ये एक हुनुहुन्थ्यो । त्यस समयमा उहाँले मोटरसाइकलको पछाडिबाट ‘मलाई नमार्नुहोस !’ भनेर चिच्याइरहेको भिडियो भाइरल भएको थियो ।

भिडियोमा उहाँका प्रेमी इन्जिनियर अविनातन ओरलाई छुट्टै लगिएको देखाइएको छ । इजरायली विशेष फौजले जुन ८ मा गाजाको नुसिरात शरणार्थी शिविरमा छापा मार्दा अर्गामानीसहित अन्य तीन जना २२ वर्षीया अल्मोग मीर जान, २७ वर्षीयस आन्द्रे कोज्लोभ र ४१ वर्षीया श्लोमी जिवको उद्धार गरेका थिए ।

इजरायली सेनाले मङ्गलबार दक्षिणी गाजाको सुरुङ्गबाट छ जना बन्धकहरूको शव फेला परेको बताएको छ । त्यस दिन बन्धक बनाइएका २५१ जनामध्ये १०५ जना अझै पनि गाजापट्टीभित्र बन्धक बनाइएका छन् । उनीहरूमध्ये ३४ जनाको मृत्यु भएको सेनाले जानकारी गराएको छ ।

“मेरा प्रेमी अविनातन अझै पनि बन्धक हुनुहन्छ । धेरै ढिला नगरी उनीहरूको उद्धार गर्न आवश्यक छ । हामीले पहिले नै धेरै मानिस गुमाइसकेका छौँ, अझै गुमाउन चाहँदैनौँ,” अर्गामानीले भन्नुभयो ।

चीनको कोइला खानी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तमा बुधबार एउटा कोइला खानी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको स्थानीय आपत्कालीन व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

बुधबार बिहान करिब १० बजे सिचुआनको लेसान सहरको वुटोङकियाओ जिल्लामा रहेको कोइला खानीमा एयर शाफ्ट सिल गर्ने क्रममा आठ जना कामदार फसेका थिए ।

दिउँसो २ बजेसम्म बुधबार सात जनाको मृत्यु भएको पुष्टि भएको थियो । साँझ ७ बजेसम्म बुधबार थप एकको मृत्यु भएको वुटोङकियाओ जिल्लाको आपत्कालीन व्यवस्थापन ब्युरोले जनाएको छ । दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ ।

भारतीय प्रधानमन्त्री मोदी ऐतिहासिक भ्रमणका क्रममा पोल्यान्डमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ऐतिहासिक भ्रमणका क्रममा बुधबार पोल्यान्ड पुग्नुभएको छ । रुस–युक्रेन युद्धको ‘शान्तिपूर्ण समाधान’ का लागि अभियान सुरु गर्न यसै साताको अन्त्यमा युक्रेनको भ्रमण गर्नुअघि उहाँ पोल्यान्ड पुग्नुभएको हो ।

युक्रेनको भ्रमण गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री हुनुहुनेछ । साथै उहाँ ४५ वर्षमा पोल्यान्डको भ्रमण गर्ने पनि पहिलो भारतीय प्रधानमन्त्री हुनुहुनेछ । पोल्यान्ड युक्रेनको कट्टर सहयोगी तथा छिमेकी देश हो र किएभ जाने विदेशी नेताहरूका लागि पोल्यान्ड महत्त्वपूर्ण ‘ट्रान्जिट’ पनि हो ।

मोदीले बिहीबार पोलिश प्रधानमन्त्री डोनाल्ड टस्क र राष्ट्रपति आन्द्रेज डुडाका साथै यस मुलुकमा रहेका भारतीय नागरिकहरूसँग भेट्ने अपेक्षा गरिएको छ । उहाँको भ्रमणअघि पोल्यान्डका उपप्रधानमन्त्री व्लादिस्लाव कोसिनियाक–कामिजले पत्रकारहरूसँग भन्नुभयो, “पोल्यान्डलाई भारतसँग दिगो साझेदारीको आवश्यकता छ ।”

मोदीले रुससँग भारतको ऐतिहासिक रूपमा न्यानो सम्बन्ध कायम राख्नुका साथै क्षेत्रीय प्रतिद्वन्द्वी चीन विरुद्ध पश्चिमी मुलुकहरूसँग घनिष्ठ सुरक्षा साझेदारी गरेर नाजुक सन्तुलन बनाउनुभएको छ ।

उहाँको सरकार युक्रेनमा रुसको सन् २०२२ को आक्रमणको स्पष्ट निन्दा गर्न पन्छिएको छ । यसको सट्टा उसले दुवै पक्षसँग वार्तामार्फत आफ्ना मतभेदहरू समाधान गर्न आग्रह गरेको छ । पोल्यान्ड प्रस्थान गर्नुअघि बुधबार प्रकाशित विज्ञप्तिमा मोदीले भन्नुभयो, “एक मित्र र साझेदारका रूपमा हामी यस क्षेत्रमा चाँडै शान्ति र स्थिरता फर्किने आशा गर्दछौँ ।”

किएभमा प्रधानमन्त्री मोदीले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग छलफल गर्नुहुने र ‘युक्रेनमा जारी द्वन्द्वको शान्तिपूर्ण समाधानमा दृष्टिकोण साझा गर्नुहुने’ विज्ञप्तिमा उल्लेख छ ।सोमबार जेलेन्स्कले मोदीको भ्रमणका क्रममा ‘धेरै दस्तावेजमा हस्ताक्षर हुने अपेक्षा गरिएको’ बताउनुभयो ।

जुलाईमा रुसले युक्रेनका धेरै सहरमा आक्रमण गरेको केही घन्टापछि मोदीले मस्कोको भ्रमण गर्नुभएको थियो र आफ्नो निवासमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अङ्कमाल गर्दै फोटो खिच्नुभएको थियो । जेलेन्स्कीले यसको निन्दा गर्नुभएको थियो ।मोदीले सन् २०१९ मा पनि रुसको भ्रमण गर्नुभएको थियो र दुई वर्षपछि मस्कोले युक्रेनविरुद्ध आफ्नो आक्रामक अभियान सुरु गरेको केही साताअघि नयाँदिल्लीमा पुटिनलाई स्वागत गर्नुभएको थियो ।

भारत धेरै हदसम्म रुसको स्पष्ट निन्दा गर्न र क्रेमलिनलाई लक्षित गर्ने संयुक्त राष्ट्रसङ्घीय प्रस्तावहरूबाट टाढा रहेको छ ।

म्याग्दी युवती बेपत्ता घटना : सत्यतथ्य छानबिन र दोषीलाई कारबाहीको माग

म्याग्दी, ५ भदौः बेनी नगरपालिका–९ घतानकी १९ वर्षीय मिना परियारलाई बेपत्ता बनाइ ह त्या गरेको घटनाको सत्यतथ्य छानबिन र दोषीलाई कारबाहीको माग गर्दै आज बेनीमा प्रदर्शन गरिएको छ ।

दलित एकता सञ्जाल, परियार सेवा समाज र मिजार समाज म्याग्दीको संयुक्त आयोजनामा भएको ¥याली बेनी बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।

गैरदलितसँगको प्रेम सम्बन्धका कारण गर्भवती अवस्थामा बेपत्ता बनाइ ह त्या गरिएकी मिनाको क ङ्काल भेटिए पनि सबै आरोपीलाई पक्राउ गरी अनुसन्धान छिटो अगाडि बढाउन दबाबका लागि प्रदर्शन गर्नु परेको परियार सेवा समाजका अध्यक्ष प्रेम परियारले बताउनुभयो ।

“छ महिनाकी गर्भवती मिनालाई बेपत्ता बनाउने उनका प्रेमी राम खत्रीलगायत पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका छौँ”, मिनाकी भाउजु कमला बर्देवाले भन्नुभयो, “जङ्गलमा गा डिएको अवस्थामा भेटिएको क ङ्काल, गहना र कपडा मिनाकै भएको पहिचान गरेर जाहेरी दिए पनि प्रक्रियाको बहानामा सबै आरो पीलाई पक्राउ नगर्दा दोषी उम्कने खतरा छ ।”

विसं २०८० पुस १६ गतेदेखि मिना बे पत्ता थिइन् । गत साउन २७ गते बेनी नगरपालिका–९ आँखखेत कालीमुलको जङ्गलमा गाडिएको अवस्थामा भेटिएको मानव क ङ्काल, सुनको सिक्री, कपडा र चप्पल उनकै भएको दाबीसहित आफन्तले गत साउन ३० गते प्रेमी राम खत्रीलगायत पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन रायमाझीले भने जाहेरीका आधारमा अनुसन्धानका लागि चार जनालाई पक्राउ गरी हिरासतमा राखिएको र एक जना फरार रहेको बताउनुभयो । मिनाका प्रेमी भनिएका रामलाई यसअघि नै पक्राउ गरी अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको उहाँले जानकारी दिनुभयो ।

विधिविज्ञान प्रयोगशालामा पठाइएको क ङ्काल, सामग्री र शव परीक्षण प्रतिवेदनका आधारमा थप अनुसन्धान अघि बढाइने प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो ।

मानव कङ्का लको परीक्षण गरेर आफन्तलाई बुझाइए आफन्तहरुले भने क ङ्काललाई सद्गद नगरी बेनी अस्पतालको शवगृहमा राखेका छन् ।

‘कानुन बनाउँदा मानवीय पक्षलाई बढी ध्यान दिनुपर्छ’

काठमाडौँ, ५ भदौः जैविक विविधता संरक्षणसम्बन्धी कानुन निर्माण गर्दा मानवीय पक्षलाई बढी ध्यान दिनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको समन्वयमा असल शासन संरक्षण मञ्चले आज यहाँ आयोजना गरेको ‘रेखाङ्कित पूर्वाधारको विकासमा प्राकृतिक सम्पदाको सुरक्षा’ विषयक कार्यक्रममा सरोकार भएकाहरूले यस्तो जोड दिएका हुन् ।

समितिका सभापति दिपकबहादुर सिंहले प्रकृतिमा भएका सबै प्राणीलाई बाँच्न पाउने उत्तिकै अधिकार भए पनि मानवीय पक्षलाई विशेष ध्यान दिएर कानुन बनाउनुपर्ने बताउनुभयो । “प्रकृतिमा भएका सबै प्राणालीलाई बाँच्ने उत्तिकै अधिकार छ, त्यसमा पनि मानवीय पक्षलाई बढी ध्यान दिनुुपर्छ । कानुन बनाउँदा विकासलाई प्रोत्साहन र विनाशलाई निरुत्साहन हुनेगरी बनाउन आवश्यक छ”, उहाँले भन्नुभयो ।

सभापति सिंहले पूर्वाधार विकास गर्दा भावी पुस्तालाई केन्द्रमा राखेर बनाउनुपर्ने र त्यसका लागि सरोकार भएका सबैपक्ष एकजुट भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । “आज सबै पक्षलाई विचार गरेर कानुन बनाएनौँ भने भोलिका सन्ततिले धिर्कानेछन्”, उहाँले भन्नुभयो, “कम्तीमा एकपटक बनाएको कानुन ५० वर्ष पुगोस्, त्यो कानुनका कारण भएको संरक्षण र पूर्वाधार विकासलाई हेरेर भावी पुस्ताले धन्यवाद दिउन् ।”

पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पूर्वाधार विकास गर्दा वन, वातावरण र जैविक विविधतालाई असर नपर्ने गरी बनाउनुपर्ने बताउनुभयो । उहाँले प्राकृतिक स्रोतसाधनको संरक्षणका साथै त्यसको उपयोग पनि गर्नुपर्नेमा जोड दिनुहुँदै सङ्घ, प्रदेश र स्थानीय तहको कानुनलाई समेत सन्तुलनमा राखेर काम गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।

पूर्ववन तथा वातावरणमन्त्री शङ्कर भण्डारीले वन्यजन्तु संरक्षण गर्दा मानवीय पक्षलाई ध्यान दिनुपर्ने र समस्या मात्र नभएर समाधानमुखी बहस जरुरी भएको बताउनुभयो । उहाँले आफूले वनमन्त्री हुँदा केही गर्ने प्रयास गरे पनि पर्याप्त हुन नसकेको बताउनुभयो ।

पूर्वसहरी विकासमन्त्री सीता गुरुङले जैविक विविधताको संरक्षण गर्ने सन्दर्भमा वन्यजन्तु जोगाउनका लागि ठूलो मानवीय क्षति भइरहेको बताउनुभयो । “वन्यजन्तु जोगाउनका लागि मानवीय पक्षको ठूलो क्षति भइरहेको छ । बाँदरका कारण बस्ती नै विस्तापित भइरहेका छन्, अन्य वन्यजन्तुको पनि त्यतिकै त्रास छ”, उहाँले भन्नुभयो, “नेपालमा कानुन बनाउँदा व्यावहारिक पक्ष र मानवीय पक्षलाई बढी ध्यान दिनुपर्ने देखिएको छ ।”

सांसदहरू प्रतिमा गौतम, सुशीला श्रेष्ठ, राजेन्द्र बजगाईं र प्रेम महर्जनले मानव-वन्यजन्तु द्वन्द्वका विषय पटकपटक सदनमा उठ्ने गरे पनि समाधान हुनेगरी काम हुन नसकेको धारणा राख्नुभयो ।

नीतिविज्ञ कमल सुवेदीले नीति तथा कानुन बनाउँदा वर्तमानलाई मात्र नभएर भावी पुस्तालाई समेत समेटेर बनाउनुपर्ने र त्यसमा पनि स्थानीय आवश्यकतालाई ख्याल गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

मञ्चका अध्यक्ष जयदुर्गा बुढाथोकीले मुलुकमा सुशासन, जैविक विविधता, जलवायु परिवर्तन, दिगो विकास क्षेत्रमा मञ्चले काम गर्दै आएको जानकारी गराउनुभयो । उहाँले जैविक विविधता संरक्षण गर्दा मानवीय पक्षलाई बढी ध्यान दिनुपर्ने र नीतिगत व्यवस्थाका लागि समन्वय गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा प्राकृतिक जैविक विविधता संरक्षण, प्राकृतिक संरक्षण र त्यसका कानुनी पक्षलगायत विषयमा विभिन्न चार वटा कार्यपत्र प्रस्तुत गरिएका थिए ।

उपचारका क्रममा मृत्यु भएको घटना छानबिनका लागि समिति गठन

चितवन, ५ भदौः भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी भरतपुर महानगरपालिका–१२ घर भई हाल गैँडाकोट बस्ने सम्झना काफ्लेको घटना छानबिन गर्न नौ सदस्यीय समिति गठन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आज बसेको बैठकले भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा प्रकाश खतिवडाको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको हो । समितिमा बिपी कोईराला मेमोरियल क्यान्सर अस्पतालका ऐनेस्थेसियोलोजिष्ट डा प्रदीप थापा, प्रहरी निरीक्षक विवेक घिमिरे, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत अजय शर्मा, जिल्ला प्रशासन कार्यालयका अधिकृत अन्तिम सिञ्जाली तथा पीडितको तर्फबाट रमेश काफ्ले, राजेन्द्र ढकाल, मन्दिरा काफ्ले सदस्य रहनुभएको छ भने तुलसीराम आचार्य सदस्य सचिव रहनुभएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । समितिलाई एक साताभित्र अध्ययन प्रतिवेदन बुझाउने गरी कार्यादेश दिइएको उहाँले बताउनुभयो ।

अस्पताल प्रशासनले पनि आन्तरिक रूपमा छानबिन समिति गठन गरेको छ । छानबिन समितिको प्रतिवेदनपछि आवश्यक कारबाही अगाडि बढाउने र मृतकको शव आफन्तले अन्तिम संस्कारका लागि लैजाने निर्णयसमेत भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मृतकका परिवारले चिकित्सकको लापर्वाहीले घटना भएको भन्दै शव बुझ्न मानेका थिएनन् ।

‘नरसिंहाः अवतार’ मा अभिनेता प्रशान्त ताम्राकार पनि जोडिए

काठमाडौं । एक्सन तथा सोसल ड्रामामा बन्ने फिल्म ‘नरसिंहाः अवतार’ मा कलाकारहरुको रोचक लाइनअप तयार हुने क्रम जारी छ। निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्मका लागि अहिलेसम्म पाँचजना मुख्य पात्रहरु फाइनल भइसकेका छन् ।

कलाकाको लाइनअपमा अभिनेता प्रशान्त ताम्राकार पनि जोडिएका छन् । निर्माण पक्ष र ताम्राकारबीच मंगलबार लिखित सहमति भएको हो ।

निर्देशक भट्टराई र अभिनेता ताम्राकारले यस अघि ‘ऐश्वर्या’ र ‘मायावी’मा पनि सहकार्य गरेका थिए । ‘नरसिंहाः अवतार’मा ताम्राकारको कस्तो भूमिका हो भन्ने विषयमा केही नखुलाइए पनि फिल्मको शीर्षमध्ये एक भूमिकामा अनुबन्धित गराइएको निर्देशक भट्टराईले जनाकारी गराए ।

यस अघि यो फिल्ममा महानायक राजेश हमाल, नीति शाह, सरोज खनाल, सनिशा भट्टराई र दीपा शाही अनुबन्धित भएका छन् । निर्माणपक्षले यो फिल्ममा यी सबैजना कलाकारको के कस्तो भूमिका छ भन्ने बिषयमा पनि केही खुलाइएको छैनन् ।

यही फिल्मबाट ८ वर्षपछि महानायक हमालले कम्ब्याक गर्दैछन् । आठ वर्ष भन्दा धेरै समय पछि हमाल फिल्ममा फर्किने खबरले यतिबेला नेपाली फिल्मवृत तताएको छ । यो फिल्म उनीसँगै दर्शक दुवैका लागि विशेष हुने पक्का छ । जस कारण यो फिल्म प्रतिक्षित बन्ने निश्चित छ ।

यता, क्याप्टेनपछि निर्देशक भट्टराईको फिल्ममा अभिनेता सरोजले अभिनय गर्न लागेका छन् भने हमाल र खनाल ३० वर्षपछि सँगै एउटै फिल्ममा देखिन लागेका हुन् । उनीहरुले सन् १९९४ सेप्टेम्बर २७ मा रिलिज भएको फिल्म ‘सडक’मा सँगै काम गरेका थिए । तीर्थ थापाले निर्देशन गरेको उक्त फिल्मपछि यी दुईले सँगै काम गरेका छैनन् ।

क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने फिल्म यही भदौको अन्तिम साता बाट छायाङ्कनमा जाने तयारीमा रहेको छ । फिल्मको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ ।निर्देशक भट्टराईको अर्को फिल्म ‘मायावी’ प्रदर्शनको तयारीमा छ । निर्देशक भट्टराईका अनुसार अब यो फिल्मको केही दिनमै प्रदर्शन मिति तय गरिने छ ।

लुकाई छिपाई राखेको अबस्थामा अवैध कटुवा पेस्तोलसहित एक जना पक्राउ

झापा, ५ भदौ- अर्जुनधारा नगरपालिका-४ दहिझोडा बस्ने ६२ वर्षीय ईन्द्र बहादुर आङ्देम्बेलाई १ थान अवैध कटुवा पेस्तोल सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा अवैध हात हतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा कुखुराको खोरमा प्लास्टिकमा पोका पारी लुकाई छिपाई राखेको उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

‘संसदीय मामिला’ सांसदको मुख्य जिम्मेवारी : सभामुख

काठमाडौँ, ५ भदौ : सभामुख देवराज घिमिरेले ‘संसदीय मामिला’ सांसदको मुख्य जिम्मेवारी हो भनेर महसुस गर्नेगरी काम गर्न संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूलाई आग्रह गर्नुभएको छ । प्रमुख सचेतकहरूसँग आज भएको छलफल उहाँले संसद् बैठक नभएका दिन संसदीय समितिका बैठक गरेर विचारधीन विधेयकलाई निष्कर्षमा पु¥याउन प्रमुख सचेतकहरूले ख्याल गर्नुपर्ने बताउनुभयो ।

बैठकमा भएको छलफलबारे जानकारी दिँदै नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले भोलि भदौ ६ गते बिहान ११ः३० बजे कार्यव्यस्था परामर्श समितिको बैठक बोलाइएको बताउनुभयो । 

भोलिको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर गर्ने कार्यसूची रहेको बताउँदै उहाँले यस कार्यक्रमलाई मर्यादित, व्यवस्थित र प्रभावकारी बनाउनका लागि भूमिका निर्वाह गर्न सभामुखले आग्रह गर्नुभएको बताउनुभयो ।

बैठकमा प्रतिनिधिसभाको आगामी बैठक भदौ ११, १२, १३ गते गर्नेगरी प्रस्ताव गरिएको छ । यसैगरी प्रत्येक १५ दिनमा संसद् बैठकको कार्यतालिका बनाएर प्रभावकारी रुपमा सञ्चालन गर्नेगरी छलफल भएको मुख्य सचेतक बर्तौलाले बताउनुभयो ।  संसदीय समितिमा विभिन्न विधेयक विचाराधीन अवस्थामा सभामुख घिमिरेले समितिले निर्णयार्थ काम गर्नेगरी संसदीय समितिका बैठकलाई पनि प्रभावकारी बनाउन आग्रह गर्नुभएको थियो ।

जिप दुर्घटनाका गम्भीर घाइतेलाई थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत पठाइयो

सिमकोट (हुम्ला), ५ भदौः हुम्लाको चङ्खेली गाउँपालिकामा बोलेरो जिप दुर्घटनामा परी गम्भीर घाइते भएका चार जनालाई थप उपचारका हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ ।

आज बिहान पालिकाको दार्मा गौरी सल्ला मोडमा जिप दुर्घटना भएको थियो । दुर्घटनामा परेका चालकसहित तीन जनाको दार्मा स्वास्थ्यचौकीमा उपचार भइरहेको भने गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।  

गम्भीर घाइते भएका चङ्खेली गाउँपालिका–२ सुरेन्द्रबहादुर शाही, तिलबहादुर शाही र रारा छायाँनाथ नगरपालिका– १३ का रमेश मल्ल र रारा छायाँनाथ–१ का पृथ्वी राउतलाई सिम्रिक एयरको हेलिकप्टरबाट उद्धारगरी प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । स्थानीय स्वास्थ्यचौकीमा उपचार सम्भव नभएपछि उहाँहरूलाई सुर्खेत पठाइएको हो । 

यस्तै दुर्घटनाका घाइते बाजुराको बूढीनन्दा नगरपालिका–४ का सवारी चालक महेन्द्रविक्रम शाह, १५ वर्षीय रविन शाही र चङ्खेली गाउँपालिका–२ का मायादेवी शाहीको अवस्था सामान्य रहेको छ । तीनै जनाको दार्मा स्वास्थ्यचौकीमा उपचार भइरहेको मिमी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बालकृष्ण खड्काले जानकारी दिनुभयो । 

कर्णाली प्रदेश ०२–००१ च ०९२२ बोलेरो जिप आज बिहान ८ बजेतिर दुर्घटनामा परेको थियो । सडकबाट एक सय ५० मिटर तल खसेको जिप स्थानीय खड्कबहादुर शाहीको घर पछाडिपट्टी अड्एिको छ ।

रोजगारी र लगानीका नयाँ गन्तव्य बन्दै ‘स्टार्टअप’, यी हुन् सरकारले तोकेका १९ क्षेत्र

काठमाडौँ, ५ भदौ : नवप्रवर्तनमा आधारित उद्योग सेवा तथा व्यवसायलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ सरकारले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१’ कार्यान्वयनमा ल्याएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यान्वयनमा ल्याएको सो कार्यविधिले स्टार्टअप गर्न चाहनेलाई मार्ग प्रशस्त गरेको छ ।

सो कार्यविधिले नवप्रवर्तनमा आधारित उद्योग व्यवसाय सञ्चालन गर्न चाहनेलाई सहज वातावरण मात्रै बनाएको छैन, रोजगारी र लगानीको थप क्षेत्रसमेत पहिचान गरेको छ ।

सरकारले गत साउन ३० गते मात्रै उक्त कार्यविधि स्वीकृत गरेको थियो । कार्यविधि अनुसार रु पाँच लाखदेखि २० लाखसम्मको कर्जा परियोजना नै धितो राखेर पाइन्छ । त्यसमा तीन प्रतिशत मात्रै ब्याज लाग्नेछ । पछिल्ला दिनमा यसप्र्रकारको व्यावसायिक अवधारणाका बारेमा सरकार र निजी क्षेत्रले साझा छलफल मात्रै अगाडि बढाएका छैनन् । त्यसका लागि मिलेर काम गर्ने सङ्कल्पसमेत गरेका छन् । 

सोही क्रममा आज ‘स्टार्टअप नेसन २०३०’ विषयक कार्यक्रम  आयोजना गरियो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सानासाना पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योग स्थापना र विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले नवीन र सिर्जनशील सोचका साथ युवा र महिलाले कामका लागि विदेश नगई स्वदेशमै रोजगारी र आम्दानीका अवसर खोज्नसक्ने मात्र बताउनुभएन, नवप्रवर्तनमा आधारित व्यवसायमा लाग्न युवा पुस्तालाई आह्वानसमेत गर्नुभयो ।

सोही कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि स्टार्टअप ‘बिजनेस’ लाई अघि बढाउन सरकारका तर्फबाट सबै प्रकारको सहयोग उपलब्ध गराउने दृढता व्यक्त गर्नुभयो । सिर्जनशील युवालाई स्टार्टअप बिजनेसका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान दिन आग्रह गर्दै अर्थमन्त्रीले देशभित्र भविष्य खोज्न र राष्ट्र निर्माणको वाहक बनेर योगदान गर्न आग्रह गर्नुभयो । अर्थमन्त्री पौडेलले स्टार्टअप उद्यममा सुरुमा सफलताभन्दा असफलता बढी हुने भन्दै नआत्तिनसमेत अनुरोध गर्नुभयो ।

राससँगको अन्तर्वार्ताका क्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्टार्टअपलाई सरकारले आकर्षक कार्यक्रमका रुपमा अगाडि बढाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्टार्टअपलाई कहिले राष्ट्रिय योजना आयोग र अन्य निकायबाट सञ्चालन गर्ने प्रयत्न गरिएको थियो, पछि मात्रै उद्योग मन्त्रालयमा पठाइयो । अब यो कार्यक्रम सघन रुपमा कार्यान्वयनमा जान्छ ।” रु २५ करोडबाट सुरु भएको स्टार्टअप कोष अहिले रु एक अर्ब बराबर पुगेको मन्त्री भण्डारीले उल्लेख गर्नुभयो ।

वस्तु–सेवा र प्रक्रियाको विकास, उत्पादन, सञ्चालन र वितरणमा नवीन अन्वेषण एवं सिर्जनशील सोचको प्रयोगगरी व्यवसायका रुपमा सञ्चालन भएका र स्तरोन्नतिको सम्भावना रहेको उद्यमलाई स्टार्टअपका रुपमा लिइन्छ । सूचना प्रविधिको उपयोग एवं सिर्जनशील सोच नै यस्तो व्यवसायको खास मर्म रहने गरेको छ ।

सरकारले कार्यान्वयनमा ल्याएको कार्यविधिमा उद्यम व्यवसाय दर्ता भई १० वर्ष ननाघेको, प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी वा सहकारी संस्था उद्योगका रुपमा दर्ता भएको, व्यवसाय स्थापना भएपछि कुनै पनि आर्थिक वर्षमा वार्षिक कारोबार रु १५ करोड ननाघेको हुनुपर्नेछ । नवीन सिर्जनशील सोचलाई उद्यम व्यवसायका रुपमा रुपान्तरणगरी तीव्र वृद्धिको सम्भावना पनि हुनुपर्ने स्टार्टअप उद्यमको योग्यताका रुपमा चित्रण गरिएको छ ।

यी हुन् स्टार्टअप उद्यमका क्षेत्र

सरकारले सार्वजनिक गरेको कार्यविधिअनुसार विभिन्न १९ वटा क्षेत्रलाई स्टार्टअप उद्यमका क्षेत्रका रुपमा निर्धारण गरेको छ । त्यसमा कृषि, सिँचाइ तथा पशुपन्छीमा आधारित उद्यम, उत्पादनमूलक उद्यम, वन (जडीबुटी, वन पैदावार) मा आधारित उद्योग व्यवसाय समावेश छ । यस्तै पर्यटन प्रवर्द्धन तथा मनोरञ्जन र अतिथि सत्कारसँग सम्बन्धित क्षेत्र, विज्ञान, प्रविधि, सञ्चार तथा सूचना प्रविधिमा आधारित उद्यम पनि यसैमा समावेश छ ।

मानव स्वास्थ्य सेवासँग सम्बन्धित क्षेत्र, शिक्षा तथा शिक्षण सिकाइसँग सम्बन्धित उद्यम सहज र सुरक्षित यातायात तथा पारवहन सेवा, पूर्वाधार निर्माण कार्यसँग सम्बन्धित क्षेत्र, विद्युतीय सवारी साधन तथा अटोमोबाइलसँग सम्बन्धित उद्यम स्टार्टअपमा समावेश छ ।

परम्परागत तथा ग्रामीण प्रविधि, स्थानीय स्रोत तथा साधनमा आधारित उद्यम, सार्वजनिक सेवा प्रवाह, उत्पादन तथा सेवा प्रक्रियामा सुधारसँग सम्बन्धित उद्यम, खानी तथा खनिजको अनुसन्धान र विकाससँग सम्बन्धित उद्यम पनि त्यसमा उल्लेख छ ।

घरायसी वा दैनिक जीवनयापनलाई सरल, सहज, सुरक्षित बनाउन सहयोग पुग्ने प्रकृतिका कार्यसँग सम्बन्धित उद्यम, वस्तु वा सेवाको वितरण प्रणालीसँग सम्बन्धित उद्यम, परम्परागत पेसा तथा उद्यमको पुनर्जागरणसँग सम्बन्धित उद्यम, खाद्य प्रविधि तथा पोषणसँग सम्बन्धित उद्यम तथा फोहरमैला व्यवस्थापनसँग सम्बन्धित उद्यमलाई सरकारले स्टार्टअपमा समावेश गरी आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा स्थापित लगानी कम्पनीले स्टार्टअपमा लगानी गर्ने बताउनुहुन्छ । महासङ्घको पहलमा रु १० अर्ब बराबरको लगानीमा लगानी कम्पनी स्थापना भएको छ । यो स्वतन्त्र रूपमा सञ्चालन हुने र जुनसुकै लगानीकर्ताले कम्पनीमा लगानी गर्नसक्ने ढकालको भनाइ छ ।

महासङ्घले प्रदेश सरकारसँगको सहकार्यमा आवश्यक केन्द्र स्थापना गर्ने तयारी गरेको छ । महासङ्घको केन्द्रीय कार्यालयमा पनि केन्द्र स्थापना गर्ने तयारी भइरहेको छ । स्टार्टअप कार्यक्रमका लागि एक दशकअघि बजेट विनियोजन गर्न थालिएको भएपनि पछिल्ला दिनहरूमा मात्रै यसले औपचारिक रुपमा परिभाषित भएको महासङ्घको बुझाइ छ ।

तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले चार महिनाअघि लगानी सम्मेलनमा परिमार्जन गरेका आठ ऐनमध्ये एउटा औद्योगिक व्यवसाय ऐनमा स्टार्टअपको कानुनी परिभाषा समावेश थियो । त्यसपछि मात्रै स्टार्टअप नीति पारित भएको थियो ।

स्टार्टअप र नयाँ उद्यमीलाई सहज बनाउन युवालाई सहयोग गर्न ‘इन्क्युवेशन र इनोभेसन सेन्टर’ हरू स्थापना गर्नुपर्ने माग पनि उस्तै रुपमा उठेको छ । प्रारम्भिक चरणका रूपमा नेपाल उद्योग वाणिज्य महासङ्घले सुदूरपश्चिम प्रदेश सरकार र कैलाली उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा इन्क्युवेशन सेन्टर स्थापनाको प्रक्रिया अघि बढाएको छ ।

कार्यविधिअनुसार, उद्यमीले उद्देश्यबमोजिम कर्जा रकमको प्रयोग गर्ने, सम्झौताबमोजिम कर्जाको साँवा र व्याज भुक्तानी गर्ने, नियामक निकाय वा बैंकबाट हुने अनुगमनका क्रममा आवश्यक सूचना तथा तथ्याङ्क उपलब्ध गराउने, आफ्नो स्टार्टअप उद्यमको प्रगति प्रतिवेदन चौमासिक रुपमा कर्जा प्रवाह गर्ने बैंकमा पेस गर्नुपर्नेछ ।

यस प्रकारको अवधारणामा  ‘परियोजना’ धितो राखेर तीन प्रतिशत व्याजदरमा रु पाँच लाखदेखि रु २० लाखसम्म कर्जा पाउने प्रबन्ध गरिएकाले पनि नयाँ उद्यम गर्न चाहने युवालाई सहज हुने विश्वास गर्न सकिन्छ । बैंकले कर्जा प्रवाह गर्दा रु पाँच लाखसम्मको कर्जा एक किस्तामा, रु १५ लाखसम्मका लागि दुई किस्ता र सोभन्दा माथिको हकमा तीन किस्तामा कर्जा उपलब्ध गराउने व्यवस्था छ । स्टार्टअप कर्जाको अवधि अधिकतम पाँच वर्षको हुनेछ । परियोजनाले दोस्रो वर्षदेखि साँवा र ब्याजबापतको रकम तिर्न सुरु गर्नुपर्ने व्यवस्था कार्यविधिमा छ ।

हालसम्म एक सय ६७ परियोजनाले स्टार्टअप कर्जा लिएका छन् । नेपाल औद्योगिक प्रतिष्ठानका अनुसार, हालसम्म रु १७ करोड बराबर कर्जा वितरण भइसकेको छ ।

कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै सञ्चालन हुनेछः मन्त्री चौधरी

खजुरा (बाँके), ५ भदौः युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमा सञ्चालन हुनेगरी तयारी भइरहेको बताउनुभएको हो ।

मन्त्री चौधरीले प्रदेश राजधानी सुर्खेतमा हुने प्रतियोगिताका खेलहरू समयमै सुरू गर्नेगरी रङ्गशाला निर्माण प्राथमिकताका साथ भइरहेको बताउनुभयो । “प्रतियोगितामा सहभागी हुने खेलाडीको व्यवस्थापन गर्न गाह्रो हुने भएकाले केही खेलहरू नेपालगञ्जमा गर्ने विषयमा पनि छलफल भइरहेको छ, त्यसका लागि आवश्यक तयारी सुरू गरिएको छ । सुर्खेतमा खेल पूर्वाधार निर्माण धमाधम भइरहेका छन्”, उहाँले भन्नुभयो । 

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको शिष्टाचार भेट, आपसी सहयोग र सम्बन्धका विषयमा कुराकानी

काठमाडौँ, ५ भदौ : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि चिनियाँ राजदूत छेन सोङले शिष्टाचार भेट गर्नुभएको छ । राजदूत सोङले आज सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको हो ।

भेटमा द्विपक्षीय साझेदारी, आपसी सहयोग र सम्बन्धका विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । सो भेटमा अध्यक्ष दाहालले नेपाल र चीनबीचको सम्बन्ध वर्षौं पुरानो भएको चर्चा गर्दै दुई देशबीचको सम्बन्ध कूटनीतिक तहमा मात्रै नभई जनस्तरमा समेत बलियो र प्रगाढ रहेको बताउनुभयो ।

दुई देशबीचका राष्ट्रपतिज्यका तहबाट भ्रमण भएको र विभिन्न समयमा संसदीय टोली, राजनीतिक टोली लगायतको नियमित भ्रमण भइरहेको चर्चा गर्दै अध्यक्ष दाहालले यस्ता भ्रमणले सांस्कृतिक विविधताबारे जानकारी हुने, विकासका नयाँ आयामहरूको विस्तार हुने र पर्यटन प्रवर्द्धनमा सघाउने बताउनुभयो ।

चीनले नेपालको हितका लागि आर्थिक, सामाजिक क्षेत्रमा गरेको सहयोग अतुलनीय रहेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा पनि सहयोग निरन्तर भइरहने विश्वास व्यक्त गर्नुभयो । बिआरआइलगायत दुई देशबीच विभिन्न समयमा भएका समझदारी र सहमति प्राथमिकताका साथ कार्यान्वयन हुनेमा आफ्नो गहिरो विश्वास रहेको भन्दै अध्यक्ष दाहालले यसले दुई देशको सम्बन्ध थप मजबुत र बलियो हुने बताउनुभयो ।

नेपालको पर्यटन प्रवर्द्धनमा चिनियाँ पर्यटकहरूको ठूलो भूमिका रहेको चर्चा गर्दै अध्यक्ष दाहालले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट नियमित उडान सञ्चालन गर्न सके नेपालको पर्यटन उद्योगको वृद्धि हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

जलवायु परिवर्तनबाट हिमाली देशहरू निकै प्रभावित भएको भन्दै अध्यक्ष दाहालले हिमाल र प्रकृति बचाउन पनि हिमाली देशहरूबीच सहकार्य, सहयोग र साझा समझदारी जरुरी रहेको बताउनुभयो । नेपालको शान्ति प्रक्रिया टुङ्गोमा पु¥याउन विश्व समूदायको महत्त्वपूर्ण सहयोग रहेको र त्यसमा चीनको विशिष्ट भूमिका रहेको भन्दै अध्यक्ष दाहालले धन्यवाद व्यक्त गर्नुभयो ।

सो अवसरमा राजदूत सोङले राष्ट्रियसभा अध्यक्ष निर्वाचित भएकोमा बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो । दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्पारिक लाभमैत्री सम्बन्ध कायम रहेको भन्दै राजदूत सोङले चिनियाँ राष्ट्रपति सि चिनपिङको नेपाल भ्रमणपछि दुई देशबीचको सहकार्य र सहयोगमा उल्लेख्य वृद्धि भएको र सम्बन्ध नयाँ उँचाइमा उठेको बताउनुभयो ।

शान्ति प्रक्रियाको बाँकी कामको रूपमा रहेको टिआरसी विधेयक संसद्बाट पारित हुन लागेकोमा निकै खुसी लागेको भन्दै राजदूत सोङले यसले नेपालको शान्ति, स्थिरता र विकासमा नयाँ फड्को हान्ने बताउनुभयो ।

नेपालमा हालै निर्माण सम्पन्न भएका पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका विभिन्न सहरबाट सिधा उडान गर्न चीन इच्छुक रहेको भन्दै राजदूत सोङले त्यसले नेपालमा चिनियाँ पर्यटक आगमनमा उल्लेख्य वृद्धि हुने बताउनुभयो ।

साफ च्यापियनसिप फुटबल : भुटानले माल्दिभ्सलाई हरायो

काठमाडौँ, ५ भदौः राजधानीमा जारी साफ यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा भुटानले माल्दिभ्सलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा भुटानले माल्दिभ्सलाई २–१ गोलअन्तरले पराजित गरेको हो । यस जीतसँगै समूह ‘बी’ मा रहेका भुटान र भारतले समान तीन/तीन अङ्क जोडेका छन् । पराजित माल्दिभ्स भने अङ्कविहीन छ । यसअघि भारतले पहिलो खेलमा भुटानलाई १–० गोलअन्तरले पराजित गरेको थियो ।

भुटानको जितमा जिग्नम दोर्जी र नोवाङ चोपेलले समान एक/एक गोल गरे । यता माल्दिभ्सको लागि भने फिरकले एक गोल फर्काए ।

खेलमा पहिलो अग्रता भुटानले लियो । खेलको २२ औँ मिनेटमा भुटानका जिग्नमले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए । त्यस्तै खेलको ५१औँ मिनेटमा भुटान १० खेलाडीमा समेटिएको थियो । गोलकिपर तेञ्जिङले डिबक्स बाहिर बल छोएपछि रेफ्रीले रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए ।

सोही समयमा प्राप्त फ्रिकिकको सदुपयोग गर्दै माल्दिभ्सले बराबरी गोल फर्कायो । माल्दिभ्सका फिराकले डिबक्स बाहिरबाट प्रहार गरेका बलले जाली चुमेको थियो ।

त्यसपछि खेलको ८९ औँ मिनेटमा भुटानले पुनः अग्रता लियो । भुटानका नोवाङले गोल गर्दै खेललाई २–१ गोलको अग्रतामा ल्याए । त्यसपछि खेलमा अर्को गोल हुन सकेन र अन्तत भुटानको जीत पक्का भयो ।

उक्त प्रतियोगिताअन्तर्गत भोलि नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो ३ बजेदेखि सुरुआत हुनेछ ।

नयाँ सहरलाई सुरक्षित र व्यवस्थित गर्ने काम अगाडि बढेको छ – उपप्रधानमन्त्री सिंह

काठमाडौँ, ५ भदौः उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले आमनागरिकका लागि चाँडै धरहरा खुला गर्ने तयारी गरिरहेको बताउनुभएको छ । आज सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार विषयमा लेख्ने पत्रकारसँगको अन्तरक्रियाका क्रममा उहाँले सरकारको सय दिनभित्रै धरहरा चढ्न मिल्नेगरी व्यवस्था मिलाउन लागिएको जानकारी दिनुभयो ।

उहाँले धरहराको सबै काम नसकिए पनि धरहरा चढ्न चाहनेहरूका लागि आवश्यक बन्दोबस्त भने चाँडै हुने विश्वास व्यक्त गर्नुभयो । “धरहरा चढ्न चाहनेका लागि सरकारले एक सय दिनभित्रै केही व्यवस्था गर्नेछ । धरहराको सबै होइन केही भाग खुला गर्नका लागि हामी लागिरहेका छौँ”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।

यसअघि सरकार अस्थिर हुँदा नयाँ सहर निर्माण प्रक्रियामा ढिलाइ भएको भन्नुहुँदै उहाँले हाल संसद्कै दुई ठूला दल मिलेर सरकार बनेकाले नयाँ सहरलाई सुरक्षित र व्यवस्थित गर्ने काम अगाडि बढ्ने बताउनुभयो । 

काठमाडौँ उपत्यकाको फोहरमैला व्यवस्थापनका लागि पनि मन्त्रालयले स्थानीय तहसँग आवश्यक छलफल गरिररहेको उपप्रधानमन्त्री सिंहले जानकारी दिनुभयो । सरकारले नीति निर्माणमा बढी जोड दिइरहेको पनि उपप्रधानमन्त्री सिंहको भनाइ थियो ।

मकैको चनाचटपटे बेचेर आत्मनिर्भर बन्दै सारती, मासिक २५ हजार बढीको कारोबार

घोराही (दाङ), ५ भदौः मकैबाट पनि चटपटे बनाइन्छ भन्दा आश्चर्य लाग्नसक्छ । देशका अधिकांश स्थानमा भुटेका चना, भुजा, चाउचाउलगायत खाद्यपदार्थ मिसाएर बनाइने चनाचटपटे मकैबाट पनि तयार गर्नसकिन्छ भन्ने सबैलाई थाहा छैन । तर, दाङको देउखुरी क्षेत्रमा व्यावसायिक रूपमा मकैखेती हुने भएकाले सारती अधिकारी मकै चटपटे बेच्दै आउनुभएको छ । राप्ती गाउँपालिका–३ मसुरिया निवासी अधिकारी मकैको चटपटेबाट आम्दानी पनि प्रशस्त गर्दै आउनुभएको छ ।

सुरुमा आफूले पनि भुजा, चाउचाउको चनाचटपटे बनाउने गरेको तर पछि यसमा प्रयोग हुने मेसिन र तालिम गाउँपालिकाबाट निःशुल्क पाएपछि नयाँकाम सुरु गरेकोे बताउनुभयो । “घरमा त्यसै बस्नुभन्दा व्यवसायमा जोडिएपछि दुई–चार पैसा आवश्यक परेका बेला अरुसँग माग्नुपर्ने बाध्यता अन्त्य भएको छ”, उहाँले भन्नुभयो । चटपटे बनाउन प्रयोग गरिने मेसिन निःशुल्क पाएपछि अझ सहज भएको उहाँ बताउनुहुन्छ । मेसिन मकै उसिन्ने, अचार बनाउनेलगायत काममा प्रयोग हुने गरेको छ । अन्यको भन्दा मकैको चटपटे सबैले मन पराएर खाइदिने हुँदा व्यवसाय गर्ने हौसला पनि उहाँमा बढ्दै गएको छ । २८ वर्षीया सारती सोही वडाको खुरुरिया पुलनिर विगत चार वर्षदेखि चटपटेसँगै पानीपुरीको व्यवसाय पनि गर्दै आउनुभएको छ ।

यो व्यवसायबाट दैनिक रु एक हजारदेखि एक हजार पाँच सयसम्म आम्दानी हुने भएकाले मासिक रु २०–२५ हजार बढीको कारोबार गर्दै आएको उहाँले बताउनुभयो । “ मासिक रु १०–१२ हजार बचत हुने गरेको छ”, उहाँले भन्नुभयो । अघिपछिको तुलनामा शनिबार अझ अलि बढी व्यापार हुने उहाँले बताउनुभयो ।

विदुर नगरपालिकाभित्र मृत्यु भएको ३५ दिनभित्र घटना दर्ता गराए पाँच हजार राहत

त्रिशूली (नुवाकोट), ५ भदौः विदुर नगरपालिका–५ कार्यालयले वडाभित्र हुने घटना दर्ताअन्तर्गत जन्म र मृत्युमा रु पाँच हजार उपलब्ध गराउने भएको छ ।गत आर्थिक वर्षदेखि शिशु जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराए रु पाँच हजार उपलब्ध गराउन सुरु गरेको वडाले चालु आवदेखि मृत्यु भएका व्यक्तिको परिवारलाई पनि रु पाँच हजार उपलब्ध गराउन सुरु गरेको हो । उक्त कार्यक्रम नगरसभाबाट स्वीकृत गराई वडाले आफ्नै बजेटमा सहयोग रकम उपलब्ध गराउन सुरु गरेको वडाध्यक्ष लीलानाथ न्यौपानेले जानकारी दिनुभयो ।

“गत वर्ष बच्चा जन्मेको ३५ दिनभित्र दर्ता गराए उक्त बच्चाको नाममा बैंक खाता खोल्न लगाई परिवारले रु पाँच हजार जम्मा गरेपछि वडाले त्यति नै रकम जम्मा गर्न ल्याएको कार्यक्रम प्रभावकारी बन्यो । यस वर्षदेखि वडाबासी कोही व्यक्तिको निधन भएमा ३५ दिनभित्र घटना दर्ता गराए परिवारलाई रु पाँच हजार राहत दिन लागिएको छ ।

बच्चा जन्मेपछि ३५ दिनभित्र जन्मदर्ता गराउनेलाई प्रोत्साहन गर्न र वयस्क हुने समयमा बैंक खातामा केही रकम सुनिश्चित होस् भन्ने उद्देश्यले बच्चाको जन्मदर्तासँगै रु पाँच हजार बैंक दाखिला गराउँदै आएका छौँ”, वडाध्यक्ष न्यौपानेले भन्नुभयो, “वडामा विपन्न तथा आर्थिक अवस्था कमजोर भएका परिवारलाई मृत्युपश्चात्का संस्कार गर्न गाह्रो छ । सुखमा मात्र होइन, दुःखमा पनि सरकारको साथ हुनुपर्छ भनेर राहतस्वरुव पाँच हजार प्रदान गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याएका हौँ ।”

फिल्म ‘कार्साङ’को छायांकन सम्पन्न

ठमाडौं । फिल्म ‘कार्साङ’को छायांकन सकिएको छ । यम शेर्पाले निर्देशनमा निर्माण भएको फिल्मको छायांकन २२ दिन लगाएर पुरा गरको हो ।फिल्मको सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा र बाँकी एक दृश्य खिचिएसँगै सम्पूर्ण छायांकन सकिएको निर्माण पक्षले जानकारी दिएको छ ।

‘फिल्मको सम्पूर्ण टिम राम्रो रहेकाले सबैको मेहनतका साथ समयमै छायांकन सम्पन्न गर्न पाइयो’, निर्देशक शेर्पाले भने, ‘अब पोस्टको काम त्यही अनुरूप गर्दैछौँ, सोचे जस्तै भयो भने हामी चाँडै प्रदर्शन गर्न सक्छौँ ।’कलाकारहरूको बलियो लाइनअप रहेको फिल्म ‘कार्साङ’लाई यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण गरिएको हो ।

फिल्मका मुख्य कलाकारहरु केही दिन अधि फिल्मको छायांकन सेटबाट क्यारेक्टर लुक्स सार्वजनिक गरिएको थियो, जसमा अभिनेता दयाहाङ राई र नव(अभिनेत्री सिर्जना निङ्लेखु देखिएका थिए । उक्त तस्वीरमा उनीहरुलाई रैथाने चरित्रमा रहेको अनुमान लगाउन सकिन्छ ।

दयाहाङ र सिर्जनाले फिल्ममा उनीहरू जोडीको भूमिका निर्वाह गरेका छन् । केही म्युजिक भिडियोमा काम गरेकी सिर्जनाको यो डेब्यु फिल्म हो ।सामाजिक कथावस्तुमा निर्माण हुने यो फिल्ममा निर्देशक शेर्पा स्वयंको कथा, पटकथा तथा संवाद रहेको छ। यसअघि थुप्रै सर्ट फिल्म निर्देशन गरिसकेका शेर्पाको यो डेब्यु निर्देशकीय फिल्म हो ।

यस फिल्ममा दयाहाङ र सिर्जनासहित जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित, कर्मा शेर्पाको अभिनय रहेनछ। बाल कलाकारमा राशी लिम्बु र सोहन थापाले अभिनय गर्दैछन्।

यस फिल्मको निर्माता पुरूषोत्तम प्रधान हुन्। फिल्ममा उनकै डिओपी रहेको छ। फिल्मका प्रोडक्सन म्यानेजर दिलीप पन्त हुन् ।‘कार्साङ’ प्रदर्शन मिति भने तय गरिएको छैन। फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स्ले लिएको छ ।
टीकापुरमा हप्ताको पाँच दिन कृषि हाटबजार सञ्चालन हुँदै आएको छ । हरेक मङ्गलबार र शुक्रबार सागसब्जीका बेर्नासहित उत्पादन भएको कृषिउपज बिक्रीका लागि कृषि हाटबजार पुग्ने गरेका छन् ।

अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला,५ भदौ : अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत – जुम्ला सडक खण्ड अन्तर्गत गएराती आएको अविरलले कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सुचना अधिकारी वीर बहादुर जिटीले जानकारी दिनुभयो । सो ठाउँमा आएको बाढी पहिराले बन्द भएका सडक खुलाउने काम भइरहेको छ ।

छिटोभन्दा छिटो सडक सञ्चालनमा आउनेगरी काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी जिटीको भनाइ छ। विशेषगरी वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ। यी जोखिम ठाउँहरुमा सडकको स्तरउन्नती सम्बन्धि निकायको ध्यान जान नसक्दा बर्षेदेखि कर्णालीका आम नागरिकले दुख पाउने गरेका छन् ।

सडक बन्द हुँदा जुम्ला,मुगुबाट सुर्खेत,नेपालगन्ज र काठमाडौ जाने सवारीसाधन बिच बाटोमा रोकिदा सयौं यात्रुहरू अलपत्रमा परेका

मनग्य आम्दानी हुने भएपछि ‘ड्रागनफ्रुट’ खेतीप्रति किसानको आकर्षण बढ्दै

फिक्कल (इलाम), ५ भदौः पछिल्लो समय इलाममा किसानको ‘ड्रागनफ्रुट’ (सिउँडी) खेतीप्रति आकर्षण बढ्दै गएको छ । मनग्य आम्दानी हुने भएपछि परम्परागत खेती छाडेर उनीहरु व्यावसायिक ड्रागनफ्रुट खेती गर्न थालेका छन् ।

जिल्लाको चुलाचुली गाउँपालिका–३ पेल्टीमारीका किसान प्रवीण लिम्बूले ड्रागनफ्रुट खेतीबाट वार्षिक रु १२ लाख आम्दानी गर्नुभएको छ । एक बिघामा लगाइएका तीन हजार बिरुवाबाट उहाँले फलेका फल बेचेर रु आठ लाख र बिरुवा बिक्रीबाट रु चार लाख आम्दानी गर्नुभएको हो । “गत वर्षसम्म फल र बिरुवाबाट रु १२ लाख आम्दानी गरेको थिएँ”, उहाँले भन्नुभयो, “यस वर्ष बिरुवा हलक्क बढेकाले उत्पादन अझ बढ्नेछ, जसबाट आम्दानी बढ्ने अपेक्षा गरेको छु ।”

उद्यमी लिम्बूले आफ्नै ठाउँमा बसेर गुणस्तरीय ड्रागनफ्रुटको फल र बिरुवा उत्पादन गर्दै आउनुभएको छ । तीन वर्षअघि ‘भिलेज एग्रो फार्म’ दर्ता गरी सुरु गर्नुभएका उहाँले मलेसियन प्रजातिको रातो ड्रागनफ्रुट रोप्नुभएको छ । उहाँले उत्पादन गर्नुभएको ड्रागनफ्रुट र बिरुवाको बजारीकरणमा समस्या छैन । व्यापारीहरु बगानमा नै आएर खरिद गरी लैजाने गरेका छन् । उहाँले उत्पादन गर्नुभएको ड्रागनफ्रुट झापाको दमकमा खपत हुने गरेको छ ।

“उत्पादन गरेको फल बिक्दैन कि भन्ने चिन्ता छैन, फल किन्न झापाका व्यापारी बगानमा नै आउँछन्”, उहाँले रासससँग भन्नुभयो, “बगानबाट प्रतिकलोग्राम रु दुई सयदेखि रु तीन सय सम्ममा बिक्री हुने गरेको छ ।” उहाँले उत्पादन गर्नुभएको बिरुवा भने गाउँपालिका, वडा कार्यालय, स्थानीय फार्म तथा किसानले नै खरिद गर्ने गरेका छन् । बिरुवा सरकारी मूल्यअनुसार प्रतिगोटा रु एक सयका दरले बिक्री हुने गरेको उहाँले बताउनुभयो । उहाँले सुरुमा परीक्षणका लागि केही बिरुवा रोप्नुभएको थियो । त्यसबाट राम्रो फल उत्पादन भएपछि फार्म दर्ता गरी परम्परागत खेतीलाई विस्थापन गरी व्यावसायिक रुपमा ड्रागनफ्रट खेती सुरु गर्नुभएको हो । अहिले लिम्बूको व्यावसायिक ड्रागनफ्रुट खेतीले पाँच जनाको परिवारलाई स्वरोजगार बनाएको छ । आगामी दिनमा खेती विस्तार गर्ने योजनामा रहेको बताउनुभयो ।

राम्रो आम्दानी हुने भएपछि चुलाचुली गाउँपालिका–२ का अर्का किसान माइतराज लिम्बूले पनि व्यावसायिक ड्रागनफ्रुट खेती थाल्नुभएको छ । उहाँले छ कठ्ठा जमिन भाडामा लिएर चार सय बोट ड्रागनफ्रुट रोप्नुभएको छ । उहाँले लगाएका सबै बोटबाट उत्पादन हुन थालेका छन् । ‘छथरे ड्रागनफ्रट कृषि फार्म’ दर्ता गरी व्यावसायिक ड्रागनफ्रुट खेती सुरु गर्नुभएको हो । “मैले ड्रागनफ्रुट खेतीबाट वार्षिक रु दुई लाख ५० हजार आम्दानी गर्दै आएको छु”, उहाँले भन्नुभयो, “अन्य परम्परागत खेतीको तुलनामा मेहनत कम र फाइदा पनि बढी हुनेरहेछ ।”

ड्रागनफ्रुट खेती इलामको चुलाचुलीसहित माई नगरपालिका, रोङ गाउँपालिका, माइजोगमाई गाउँपालिका र इलाम नगरपालिकाको तल्लो क्षेत्रमा खेती विस्तार हुँदै आएको छ । ड्रागनफ्रुट फलेको ३०औँ दिनमा खानयोग्य हुन्छ । टिपेर राख्दा १०–१५ दिनसम्म नबिग्रने हुन्छ । ड्रागनफ्रुट वर्षमा छ महिनासम्म निरन्तर फल्ने गर्दछ । यसमा फूल फुल्ने, कोपिला लाग्ने, फल फल्ने क्रम एकसाथ चलिरहन्छ । गर्मी समयको जेठ दोस्रो सातादेखि मङ्सिर दोस्रो सातासम्म मुख्य रुपमा फल दिने गर्दछ । ड्रागनफ्रुटको बिरुवा रोपेको १६ वर्षसम्म उत्पादन लिन सकिन्छ ।

समथर जमिनमा ड्याङ बनाएर पिलर गाडेर, पातलो हारमा मिलाएर लगाउन सकिने ड्रागनफ्रुट पूर्वी नेपालमा नौलो फल हो । यसको बोटको हाँगा कटिङ गरेर रोपिन्छ । एउटै बोटबाट पनि अरु बिरुवा वृद्धि गर्न सकिन्छ । एकपटक बिरुवा लगाएपछि समय–समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको दुई वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्य खेतीको तुलनामा यसको खेतीबाट राम्रो आम्दानी लिन सकिने लिम्बूले बताउनुभयो ।

ड्रागनफ्रुटका लागि उष्ण क्षेत्र उत्तम मानिन्छ । यसको खेती दक्षिण मोहडा भएको प्रशस्त घाम लाग्ने र समुद्री सतहबाट एक हजार पाँच सय मिटर उचाइसम्म भएको जमिनमा गर्न सकिन्छ । यो फल वार्षिक ५० देखि एक सय ५० सेन्टिमिटर वर्षा र २० देखि ३० डिग्री सेल्सियस तापक्रम हुने ठाउँमा खेती गर्दा धेरै लाभ लिन सकिन्छ । नेपालमा यो फललाई सिँचाइ भएको ठाउँ तराई, भित्री मधेस र मध्यपहाडी क्षेत्रमा खेती गर्न सकिने कृषिविज्ञहरु बताउँछन् ।

हुप्सेकोटमा २५६ छोरीलाई पाँच हजारसहितको बैङ्क खाता उपहार

मध्यविन्दु (नवलपरासी), ५ भदौः नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले हालसम्म दुई सय ५६ जना बालिकालाई रु पाँच हजारसहितको बैङ्क खाता उपहार दिएको जनाएको छ । गाउँपालिकाले ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रममार्फत चार वर्षमा सो सङ्ख्यामा बालिकाको बैङ्क खातामा रकम जम्मा गरिदिएको हो ।

आर्थिक वर्ष २०७७/७८ देखि सुरु गरिएको उक्त कार्यक्रममार्फत गाउँपालिकामा जन्म लिने छोरीहरूको बैङ्क खातामा रकम जम्मा गर्न सुरु गरिएको थियो । हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले हालसम्म त्यसप्रकारका बैंक खातामा रु १२ लाख ८० हजार जम्मा भइसकेको जानकारी दिनुभयो ।

“आर्थिक वर्ष २०७७/७८ मा ३८, आव २०७८/७९ मा ५९, आव २०७९/८० मा ९७ जना र आव २०८०/८१ मा ६२ जना बालिकाको बैङ्क खातामा रकम जम्मा गरिएको छ”, उहाँले भन्नुभयो, “वडा कार्यालयमा जन्मदर्ता गराएपछि छोरीका नाममा बैङ्क खाता खोल्ने र त्यसमा गाउँपालिकाले रु पाँच हजार र अभिभावकलाई पनि रु पाँच हजार जम्मा गर्नुपर्ने व्यवस्था गरेका छौँ ।”

छोरीका नाममा हुने बैङ्क खाताको संरक्षक अभिभावक हुनेछन् । उक्त रकम उच्च शिक्षा अध्ययनका बेला उपयोग हुने अपेक्षासहित उक्त कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष पाण्डेले बताउनुभयो ।

“यसरी बैङ्कमा जम्मा हुने रकमले छोरीको सुनौलो भविष्यका लागि बचत गर्ने बानीको विकास हुनुका साथै अध्ययन तथा अन्य कार्यका लागि छोरीलाई सक्षम बनाउन प्रोत्साहन हुने अपेक्षा छ”, उहाँले भन्नुभयो, “छोरी जन्मँदा खुसी नहुने समाजमा छोरीप्रति सम्मान र आत्मनिर्भरताको विकास गर्नुका साथै भ्रूण हत्या रोक्नका लागि पनि यो अभियान सुरु गरिएको हो ।”

उक्त कार्यक्रम सञ्चालनपछि शिशुको नामकरणपछि समयमै जन्मदर्तासँगै बैङ्क खाता खोल्न जुट्ने गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीले बताउनुभयो ।

“छोरी जन्माउने अभिभावक खुसी हुँदै गाउँपालिका र बैङ्क जाने गरेको पाएका छौँ”, उहाँले भन्नुभयो, “छोरीप्रतिको सम्मान र भविष्यको सुनिश्चितताका लागि पनि यसले केही सन्देश दिएको छ ।”

हुप्सेकोट गाउँपालिकाले ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रम कार्यविधिमार्फत यसका लागि केही सर्तहरू पूरा गर्नुपर्ने मापदण्ड पनि बनाएको छ । कार्यक्रमबाट सुविधा लिनका लागि हुप्सेकोट गाउँपालिकाभित्र स्थायी बसोबास गरेका गर्भवतीले नियमित स्वास्थ्य परीक्षण गरेको, अस्पतालमा सुत्केरी भएको हुनुपर्ने छ । उक्त कार्यक्रमपछि उमेर पुगेपछि बच्चा जन्माउने, नियमित स्वास्थ्य चौकी आएर गर्भ परीक्षण गर्ने, अस्पतालमा नै सुत्केरी हुने, बच्चाको समयमै जन्म दर्ता गरिदिनेलगायतका सुरु भएको प्रमुख प्रशासकीय अधिकृत पराजुलीलले बताउनुभयो ।

लाइन काटेपछि धमाधम विद्युत् महसुल बुझाउँदै उपभोक्ता, दुई करोड ५० लाखभन्दा बढी बक्यौता सङ्कलन

दमौली (तनहुँ), ५ भदौ : बिजुलीको लाइन काटेपछि यहाँका उपभोक्ताले धमाधम विद्युत् महसुल बुझाउन थालेका छन् । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले लाइन काटेर रु दुई करोड ५० लाखभन्दा बढी बक्यौता सङ्कलन गरेको छ । उक्त कार्यालयले आर्थिक वर्ष २०८०÷८१ मा लाइन काटेर रु दुई करोड ६८ लाख ४५ हजार सात सय बक्यौता सङ्कलन गरेको हो ।

केन्द्रका प्रमुख विजय रेग्मीका अनुसार एक हजार चार सय ३६ जना ग्राहकको लाइन काटिएकामा एक हजार दुई सय ७३ ग्राहकले बक्यौतावापतको रकम बुझाएका छन् । एक हजार चार सय ३६ ग्राहकबाट रु तीन करोड ५० लाख ५६ हजार छ सय ७४ बक्यौता उठ्नुपर्ने थियो तर, ७६ दशमलव ५७ प्रतिशत बक्यौता असुली भएको छ ।

आर्थिक वर्ष २०७९÷८० मा कार्यालयले नौ सय १८ ग्राहकको लाइन काटेकामा रु एक करोड ८४ लाख ६५ हजार चार सय ५२ बक्यौता सङ्कलन गरेको थियो । उक्त आर्थिक वर्षमा सात सय ८६ ग्राहकको लाइन बक्यौता रकम तिरेपछि पुनः जडान गरिएको थियो । त्यतिबेला रु तीन करोड ६४ लाख ५७ हजार छ सय ८२ बक्यौता उठ्नुपर्ने थियो ।

केन्द्रले आर्थिक वर्ष २०८०÷८१ मा रु ५३ करोड ९४ लाख ३१ हजार छ सय १३ बराबरको विद्युत बिक्री गरेको छ । रेग्मीका अनुसार त्यस अवधिमा रु ५४ करोड २० लाख ६० हजार दुई सय ७८ विद्युत रकम सङ्कलन भएको थियो । केन्द्रले त्यस वर्ष सात दशमलव ९२ प्रतिशत विद्युत् चुहावट नियन्त्रणको लक्ष्य राखेकामा १२ दशमलव ७९ प्रतिशत विद्युत् चुहावट नियन्त्रण गरेको थियो ।

विद्युत् चुहावट नियन्त्रणका लागि केन्द्रले नचलेका मिटर निःशुल्क बदली, नाङ्गो तार हटाइ केबल विस्तार, कन्डक्टर साइज स्तरोन्नति, ट्रान्सफर्मर लोड सेन्टर थपलगायत काम गरेको प्रमुख रेग्मीले बताउनुभयो ।

सोमालियालाई राष्ट्रसङ्घबाट २ करोड ८६ लाख अमेरिकी डलर मानवीय सहायता

संयुक्त राष्ट्र सङ्घीय राहत एजेन्सीले सन् २०२४ को मानवीय आवश्यकता र प्रतिक्रियाका लागि सोमालियालाई दुई करोड ८६ लाख अमेरिकी डलर विनियोजन गरेको जनाएको छ ।

सोमालिया मानवीय कोष (एसएचएप) ले यो रकम विशेषगरी समाजबाट अवहेलित र दुरदराजमा रहेकाहरुको सहायताका लागि प्रयोग गरिने मानवीय मामिला समन्वयको लागि राष्ट्रसङ्घीय कार्यालय (ओसीएच) ले बताएको छ ।

यस कोषले ओसीएच र आफ्ना ५४ साझेदारलाई सोमालियामा बाढी, पहिरो, खडेरीजस्ता सम्स्याहरुबाट सुरक्षा र समन्वय बढाउनको लागि तत्काल सहयोग प्रदान गर्न सक्षम बनाएको जनाएको छ ।

कोषले रकमलाई आपतकालिन परियोजना र एक विशिष्ट परियोजनाका लागि विनियोजन गरेको छ । साथै केन्द्रीय आपतकालीन प्रतिक्रिया कोषका लागि २० लाख अमेरिकी डलर विनियोजन गरिएको छ ।

“सबै परियोजनामा महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षा सुनिश्चित गरिएको छ । साथै, ९० प्रतिशत परियोजनाले लैङ्गिक समानताका विभिन्न क्षेत्रहरुमा योगदान पुर्याउनेछ” ओसीएचले उल्लेख गरेको छ ।

गाजाको विद्यालयमा इजरायली आक्रमण हुँदा १२ जनाको मृत्यु

गाजाको नागरिक सुरक्षा विभागले मङ्गलबार आश्रय शिविरको रुपमा प्रयोग भइरहेको एक विद्यालयमा इजरायली आक्रमण हुदाँ कम्तिमा १२ जनाको मृत्यु भएको बताएको छ ।इजरायली सेनाले भने हामासको कमाण्ड सेन्टरमा आक्रमण गरेको बताएको छ ।

“हाम्रो टोलीले गाजा सहरको पश्चिममा इजरायली सेनाले बम प्रहार गरेको मुस्तफा हाफिज विद्यालयबाट १ जनाको शव फेला पारेका छौँ”, विभागका प्रवक्ता महमुद बस्सालले बताउनुभयो ।

गाजापट्टीमा जारी इजरायल–हमास युद्धकाबीच हजारौं विस्थापित प्यालेस्टिनी नागरिकले विद्यालयमा शरण लिइरहेको उहाँले बताउनुभयो ।इजरायली सेनाले भने हमासले विद्यालयलाई ‘ कमाण्ड–एन्ड–कन्ट्रोल’को रुपमा प्रयोग गरिरहेको र कमाण्ड सेन्टर लक्षित आक्रमण गरेको बताएको छ । “हमास लडाकु समुहले इजरायली सेना र इजरायल राज्यमाथि आक्रमणको योजना बनाउन र कार्यान्वयन गर्न विद्यालयलाई कमाण्ड–एन्ड–कन्ट्रोल सेन्टरको रुपमा प्रयोग गरिरहेका थिए”, सेनाले एक विज्ञप्तिमार्फत जनाएको छ ।

इजरायली सेनाले विद्यालयभित्र सक्रिय रहेका आतङ्ककारीहरूमाथि सटीक आक्रमण गरेको बताएको छ । एएफपीले प्रसारण गरेको तस्बिरहरूमा विद्यालय भग्नावशेषमा परिणत भएको र आक्रमणपछि विस्थापित प्यालेस्टिनी पुरुष र महिलाहरु बच्चा बोकेर उक्त स्थानबाट भागिरहेको देखाइएको छ । हालैका हप्ताहरूमा इजरायली सेनाले हमासले कमाण्ड सेन्टरको रुपमा प्रयोग गरिरहेको बताउँदै गाजाभरका धेरै विद्यालयहरूमा आक्रमण गरेको छ ।