`

गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगन, अर्को बैठक फागुन ५ गते बस्ने

Nepal One HD ४ फागुन २०८१ १९:४७
राजनीति

काठमाडौँ, ४ फागुन : प्रतिनिधिसभाको आजको बैठक गणपुरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ । सञ्चालन भएको करिब ६ घण्टापछि गणपुरक सङ्ख्या अपुग हुँदा बैठक स्थगन भएको हो ।

‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले गणपुरक सङ्ख्या नपुगेको भनी गणना गर्न सभामुख देवराज घिमिरेलेसमक्ष आग्रह गर्नुभयो । सभामुख घिमिरेले तीन मिनेटको जनाउ घण्टी बजाई गणपुरक सङ्ख्या यकीन गर्न सचिवालयलाई निर्देशन दिनुभयो । सो प्रस्ताव निर्णायार्थ पेस गर्न गणपुरक सङ्ख्या ६९ हुनुपर्नेमा सांसद्को सङ्ख्या ६८ रहेकाले गणपुरक सङ्ख्या नपुग भएको जनाउँदै आजको कार्यसूचीको बाँकी कार्यक्रम सूचीबाट हटाइएको सभामुख घिमिरेले जानकारी गराउनुभयो ।

बैठकमा गृहमन्त्री रमेश लेखकले राख्नुभएको ‘नेपाल नागकिता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची थियो । नेपालको संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निणयार्थ पेस गर्न प्रतिनिधिसभाको एक चौथाइ सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ ।

प्रतिनिधिसभाको अर्को बैठक यही फागुन ५ गते अपराह्न १ बजे बस्नेछ ।


प्रतिक्रिया