`

योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताएका छन् ।

विश्व योग दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले योगसम्बन्धी ज्ञानविज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरे ।

योग शारीरिक अभ्यासमात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन योगले सहयोग पुर्याउने बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

“शरीरलाई स्वस्थ र फूर्तिलो बनाउने तथा मनलाई स्वच्छ र शान्त बनाउने सर्वोत्तम उपाय योग हो”, प्रधानमन्त्रीले भने, “नियमित योगाभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनावमुक्त भई कार्यक्षमताका साथै रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि, व्यक्तिमा सकारात्मक सोचको विकास, व्यक्तिमा अनुशासन र आन्तरिक ऊर्जा प्राप्त हुनेजस्ता गुणको विकास हुन्छ ।”

तनावमुक्त शान्त मन र रोगमुक्त स्वस्थ शरीर विकासमा योगको महत्त्वपूर्ण भूमिका रहने बताउँदै प्रधानमन्त्रीले योग र ध्यानका अभ्यासहरूबाट नसर्ने रोगहरूको रोकथाम, उपचार र पुनःस्थापनाका लागि महत्त्वपूर्ण योगदान पुग्ने विचार व्यक्त गरे ।

“नेपाल योग पर्यटनका निम्ति अत्यन्त सम्भावनायुक्त देश हो”, प्रधानमन्त्री दाहालले भने, “तसर्थ, हामीले योगको विश्वव्यापीकरणमा जोड दिनुपर्दछ । यस दिशामा योजनाबद्ध पहल लिन योगका अभियन्ताहरू र योग गुरूहरूमा म हार्दिक अपील गर्दछु ।”

योग नेपालको आम जीवनपद्धति एवं अमूल्य निधि भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले प्रस्तावित योगमाया आयुर्वेद विश्वविद्यालय भविष्यमा विश्वस्तरीय विश्वविद्यालयका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे ।

एडिबीबाट भुटानलाई चार करोड अमेरिकी डलर ऋण स्वीकृत

एसियाली विकास बैङ्क (एडीबी)ले बिहीबार भुटानलाई सार्वजनिक वित्तीय व्यवस्थापन र हरित विकासलाई सुदृढ पार्न मद्दत गर्न नीतिमा आधारित चार करोड अमेरिकी डलरको ऋण स्वीकृत गरेको छ ।

रियायती ऋणको उद्देश्य घरेलु स्रोत परिचालन विस्तार गर्न, निजी क्षेत्रको विकासलाई बढावा दिन र जलवायु परिवर्तन अनुकूलनका उपायहरू लागू गर्न नीतिगत सुधारहरूलाई समर्थन गर्नु हो ।

कार्यक्रम अन्तर्गत भन्सार, सम्पत्ति कर प्रशासनमा सुधार, मध्यम अवधिको राजस्व रणनीति कार्यान्वयन ,राज्यको स्वामित्वका उद्यमको प्रशासन तथा व्यवस्थापन बढाई घरेलु स्रोत परिचालन सुदृढ पार्ने अपेक्षा गरिएको छ ।

यसले वर्तमान खर्च र कर राजस्व बिचको अन्तरलाई उल्लेखनीय रूपमा कम गर्ने अपेक्षा गरिएको छ । एकीकृत वित्तीय व्यवस्थापन सूचना प्रणालीको थालनीले सार्वजनिक वित्तीय प्रबन्धनमा सुधार गर्ने एडीबीले जनाएको छ ।

कार्यक्रमले निजी क्षेत्रको विकासलाई बढावाका साथ सुव्यवस्थित गर्न, लगानी, व्यापार प्रक्रिया र व्यापार सेवाहरूको आधुनिकीकरण तथा डिजिटाइजेसन गरी व्यापार प्रवर्दनमा मद्दत गर्नेछ ।

मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द

पर्वत ७ असारः उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गतको मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न सुरु गरिएको छ ।

तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकको मालढुङ्गा–फर्से पाँच किलोमिटर खण्डमा मात्र कालोपत्र गरिने जोमसोमस्थित कालीगण्डकी करिडोर मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले जनाएको छ । पहिलो चरणमा यो खण्ड कालोपत्र गरिसकेपछि सात किलोमिटर बाँकी रहने छ ।

सडक कालोपत्र गर्न १३ दिन यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकमा भएको सहमतिअनुसार एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारी साधनबाहेक अन्य सवारी साधनलाई भोलि असार ८ गते शनिबारदेखि २० गतेसम्म अन्य सवारीसाधनले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने छ । मौसम अनुकूल भएमा १३ दिनमा कालोपत्रको पूरा हुने उहाँले बताउनुभयो ।

उक्त सडक स्तरोन्नतिका लागि २०७७ चैतमा संयुक्त लगानीको एपेक्स–खड्का–कृष्णले रु ५२ करोड ८६ लाखमा सडक विभागसँग सम्झौता गरेको थियो ।

करिब छ मिटरको हाराहारीमा रहेको सडकलाई नौ मिटर फराकिलो बनाएर एक मिटरको नाली र दुई लेनमा आठ मिटर चौडाइका दरले कालोपत्र गरिने आयोजनाले जनाएको छ ।

कर्णाली प्रदेशसभामा बिहीबार जे देखियो…

कर्णाली, ७ असारः कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको १५औँ बैठक बस्नुपूर्व बिहीबार प्रदेशसभा सदस्यहरु भवन परिसरमा एक आपसमा गफ गरिरहेका थिए । उनीहरुको गफ आर्थिक वर्ष २०८१/०८२ को विनियोजित बजेट र त्यसको सन्तुलन तथा समन्यायिकतामा केन्द्रित थियो ।

उनीहरू गफीइरहेका बेला सभाबैठक प्रारम्भ भएको जनाउ दिने घण्टी बज्यो, सबै प्रदेशसभा सदस्यहरू बैठककक्षमा प्रवेश गरे । त्यहाँ पुगेपछि मर्यादापालक महिला प्रहरीले सभामुख र सम्पूर्ण सभा सदस्यलाई सधैँझैँ अभिवादन गरे । राष्ट्रिय गान बज्यो । सबैले आफ्नै स्थानमा उभिएर राष्ट्रिय गान गाए । त्यसपश्चात् सबै आ–आफ्नो स्थानमा बसे । जब सभामुख नन्दा गुरुङले ‘अब बैठकको कारबाही प्रारम्भ हुन्छ’ भन्नुभयो तब प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरू चुपचाप एकाएक बाहिरिए ।

सभामुख गुरुङ र सत्तापक्षका प्रदेशसभा सदस्य उनीहरू बाहिरिएको टुलुटुलु हेरिरहे । बैठककक्षमा रहेका सदस्यले केही बेरसम्म मुखामुख गरिरहे । प्रतिपक्षी दलका सदस्य नै नभएपछि बैठक सञ्चालन हुने अवस्था रहेन । त्यसपछि बैठक सभामुखले बैठक स्थगन भएको घोषणा गर्नुभयो ।

सभामुखका अनुसार प्रदेशसभाको अर्को बैठक असार १२ गते बुधबार दिउसो ३ः०० बस्नेछ ।

‘अफ्रिकी खोप बजार’ बनाउन एक अर्ब डलरभन्दा बढीको प्रतिबद्धता

विश्व नेताहरू, स्वास्थ्य समूहहरू र औषधि कम्पनीहरूले बिहीबार शिखर सम्मेलनमा अफ्रिकामा खोपहरू उत्पादन गर्न एक अर्ब २० करोड डलरको कोषको घोषणा गरेका छन् । अफ्रिकाले बढ्दो हैजाको प्रकोपसहित विभिन्न स्वास्थ्य सङ्कटको सामना गरिरहेको छ ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले पेरिस शिखर सम्मेलनको उद्घाटनमा भन्नुभयो, “अफ्रिकी खोप उत्पादन उत्प्रेरक वास्तविक अफ्रिकी खोप बजारको दिशामा आवश्यक कदम हुनेछ ।उक्त कोषको तीन चौथाई हिस्सा युरोबबाट आउने भन्दै म्याक्रोनले बताउनुभयो । सम्मेलनमा बोत्स्वाना, रुवान्डा, सेनेगल र घानाका नेताहरूका साथै मन्त्रीहरू, स्वास्थ्य समूह र औषधि कम्पनीहरूले भाग लिएका छन् ।

जर्मन चान्सलर ओलाफ सोल्सले भिडियो सन्देशमा जर्मनी यो योजामा ३१ करोड ९० लाख डलर योगदान गर्ने जानकारी दिनुभयो । फ्रान्सले १० करोड डलर र बेलायतले छ करोड डलर लगानी गरेका छन् भने अन्य दाताहरूमा अमेरिका, क्यानाडा, नर्वे, जापान र गेट्स फाउन्डेसन रहेका छन् ।

“यो योजना अफ्रिकामा औषधि उद्योगलाई प्रवर्द्धन गर्न र सदस्य मुलुकहरूबीचको सहकार्यलाई बढावा दिन उत्प्रेरक बन्न सक्छ”, अफ्रिकी सङ्घ आयोगका अध्यक्ष मौसा फाकी महामतले शिखर सम्मेलनमा भन्नुभयो, “अफ्रिकाले यसको ९९ प्रतिशत खोपहरू अत्यधिक मूल्यमा आयात गर्दछ ।”

कोभिड–१९ महामारीले खोपहरूको विश्वव्यापी असमान वितरणमाथि प्रकाश पारेको छ । कोभिड–१९ महामारीको समयमा ठूलो औषधि कम्पनीहरू भएका धनी मुलुकहरूले अधिकांश खुराक खोसेका थिए । यसबाट अफ्रिका अत्यन्त पछाडि परेको थियो । नयाँ योजनाको उद्देश्य अफ्रिकालाई थप सार्वभौम प्रदान गर्नका लागि खोपको उत्पादलाई अफ्रिकामा स्थानान्तरण गर्नु हो र इतिहास दोहोरिनबाट बचाउनु हो ।

बेलायती विदेशमन्त्री डेभिड क्यामरुनले शिखर सम्मेलनमा भन्नुभयो, “जब अर्को महामारी आउँछ, धनी पश्चिमी देशहरूमा हाम्रा नेताहरू देवदूत भए पनि आफ्नै मानिसका लागि आफ्नै खोपहरू कायम राख्ने दबाब सधैँ अपरिहार्य हुनेछ ।”हालै अफ्रिकाका धेरै भागमा हैजाको पुनरुत्थानले धेरै स्थानीय खोप उत्पादकहरूको आवश्यकतालाई दर्शाएको छ । विश्वमा एउटै मात्र कम्पनी दक्षिण कोरियाको युबायोलजिक्सले घातक बिमारीका लागि सस्तो र प्रभावकारी खोपको खुराक बनाउँछ ।

युक्रेनलाई हतियार बिक्री गर्ने प्रतिबन्धमा दक्षिण कोरियाले ‘पुनरविचार गर्ने’

प्रमुख हतियार निर्यातक दक्षिण कोरियाले युक्रेनलाई सिधै हतियार आपूर्ति गर्न प्रतिबन्ध लगाउने लामो समयदेखिको नीतिलाई ‘पुनरविचार’ गर्ने भएको छ । उत्तर कोरिया र रुसबीच रक्षा सम्झौतामा हस्ताक्षर भएपछि दक्षिण कोरियाली राष्ट्रपतिका एक अधिकारीले बिहीबार उक्त कुरा बताउनुभएको हो ।

बुधबार प्योङयाङको उच्च प्रोफाइल भ्रमणका क्रममा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनले बढ्दो सम्बन्धलाई जोड दिँदै ‘ब्रेकथ्रु’ सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । सम्झौतामा आक्रमण भए एकअर्कालाई सहयोग गर्ने वाचा समावेश गरिएको छ ।

सम्झौता भएको केही घन्टापछि ‘सोलले युक्रेनलाई हतियार सहायता प्रदान गर्ने मुद्दामा पुनरविचार गर्ने योजना बनाइरहेको’ राष्ट्रपतिका एक अधिकारीले पत्रकारहरूलाई बताउनुभयो । दक्षिण कोरियालाई सक्रिय द्वन्द्व क्षेत्रहरूमा हतियार बिक्री गर्न रोक्ने सोलको लामो समयदेखिको नीति छ । वासिङ्टन र किएभबाट उक्त नीतिमाथि पुनरविचार गर्न आग्रह भए पनि सोल यसमा अडिग छ ।

विश्वको शीर्ष हतियार निर्यातकहरूमध्येको एक बन्ने लक्ष्य राखेको दक्षिण कोरियाले किएभका सहयोगी पोल्यान्डलगायत युरोपेली मुलुकहरूलाई आफ्ना ट्याङ्क र होविट्जर तोपहरू बिक्री गर्नका लागि अर्बौं डलरको सम्झौतामा हस्ताक्षर गरेको छ ।

सोलले मस्को–प्योङयाङ सम्झौताप्रति आफ्नो ‘गम्भीर चिन्ता’ व्यक्त गरेको छ । सम्झौताअनुसार दुवै मुलुक आफ्नो सैन्य र आर्थिक सहयोगलाई बलियो बनाउन सहमत भएका छन् । यसमा सशस्त्र आक्रमणको सामना गर्न तत्काल सैन्य सहायता पनि समावेश छ ।

“उत्तर कोरियाको सैन्य क्षमतालाई बलियो बनाउन सहयोग गर्ने कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावहरूको उल्लङ्घन हो”, राष्ट्रिय सुरक्षा सल्लाहकार चाङ हो–जिनले पत्रकारहरूसँग भन्नुभयो, “रुसले प्रस्तावको उल्लङ्घन र उत्तर कोरियालाई समर्थन गर्दा अनिवार्यरूपमा दक्षिण कोरिया–रुस सम्बन्धमा नकारात्मक असर पर्नेछ ।”

पुटिनले प्योङयाङमा रुस उत्तर कोरियासँग ‘सैन्य–प्राविधिक सहयोगलाई अस्वीकार गर्दैन’ भन्नुभएको थियो । यो प्रतिबन्धित आणविक र ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमहरूलाई लिएर किमको शासनमाथि राष्ट्रसङ्घीय प्रतिबन्धको उल्लङ्घन हुनेछ ।

पुटिनको भ्रमणसँगै रूस र भियतनामबीचको सम्बन्ध थप प्रगाढ हुने

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्धलाई लिएर मस्कोको बढ्दो एक्लोपनको सामना गर्न आफ्नो गठबन्धनलाई बलियो बनाउने उद्देश्यले भियतनामको भ्रमण गरी रूस र भियतनामबीचको सम्बन्धलाई प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनसँगको शिखर वार्तापछि पुटिनले शीतयुद्धका दिनदेखि मस्कोको नजिकको सहयोगी रहेको अर्को एशियाली मुलुक भियतनामको भ्रमण गर्नुभएको हो ।

रूसी नेताले हनोईमा समर्थनको स्पष्ट सार्वजनिक घोषणा नगरेपनि भियतनामी राष्ट्रपति तो लामले रक्षा सहयोग बढाउने इच्छा व्यक्त गरेको भियतनामी सञ्चारमाध्यमले जनाएका छन् ।

“अन्तर्राष्ट्रिय कानुनका आधारमा गैरपरम्परागत सुरक्षा चुनौतीको सामना कसरी गर्ने, यस क्षेत्र र विश्वमा शान्ति र सुरक्षाका लागि कसरी सामना गर्न सकिन्छ भनी दुवै पक्ष रक्षा र सुरक्षामा सहयोग बढाउन चाहन्छन्,” लामले पुटिनसँगको वार्तापछि सञ्चारकर्मीसँग भन्नुभयो ।

सन् १९९५ देखि २०२३ को बीचमा भियतनामको मुख्य हतियार आपूर्तिकर्ता मस्कोले ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ, तर युक्रेन द्वन्द्वसँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रतिबन्धहरू तीव्र भएपछि हालैका वर्षहरूमा माग सङ्ख्या घटेको छ ।

लाम र पुटिनले शिक्षादेखि न्याय र असैनिक आणविक परियोजनासम्मका करिब एक दर्जन सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन् ।

पुटिनले पत्रकारहरूसँग कुरा गर्दै वार्ता रचनात्मक रहेको र महत्वपूर्ण अन्तर्राष्ट्रिय मुद्दाहरूमा दुवै पक्षको ‘समान वा धेरै नजिकको’ अडान रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “उनीहरूले एशिया–प्रशान्त क्षेत्रमा पर्याप्त र भरपर्दो सुरक्षा संरचना निर्माण गर्ने विषयमा छलफल गरेका छन् । यो बल प्रयोग नगर्ने र मतभेदलाई शान्तिपूर्ण तरिकाले समाधान गर्ने सिद्धान्तमा आधारित छ ।

पुटिनको एसिया भ्रमण पश्चिमा शक्तिहरूले युक्रेनमा रुसको युद्धलाई रोक्ने उद्देश्यले प्रतिबन्धहरू बढाएका बेला भएको हो ।

संयुक्त राज्य अमेरिका, बेलायत र युरोपियन युनियनले गत हप्ता नयाँ प्रतिबन्धहरूको घोषणा गरेका थिए भने जी–७ ले रोक्का गरिएको रूसी सम्पत्तिबाट प्राप्त मुनाफाबाट किएभलाई ५० अर्ब डलरको नयाँ ऋण प्रदान गर्न प्रयोग गर्न सहमत भएका थिए ।

गङ्गादशहरा मेलामा एक लाख बढी भारतीय भक्तजन

कैलाली : गङ्गादशहरा पर्वका अवसरमा धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा लागेको धार्मिक मेलामा एक लाख बढी भारतीय भक्तजन आएका छन् ।

असार १ देखि ५ गतेसम्म सञ्चालन भएको मेलामा एक लाख ५० हजारको हाराहारीमा भारतीय भक्तजन आएको बेहडाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिनुभयो ।

बेहडाबाबामा गङ्गादशहरा मेलाका लागि छिमेकी मुलक भारतबाट प्रत्येक वर्ष दर्शनार्थी ठूलो सङ्ख्यामा आउने गरेका छन् । “वर्षौदेखि यहाँ भारतीय भक्तजन आउने गरेकामा विसं २०६२/६३ को आन्दोलन पछि भक्तजनको सङ्ख्या घटेको थियो । यसपालि सङ्ख्या बढेको छ”, अध्यक्ष जोशीले भन्नुभयो ।

बेहडाबाबा मन्दिरको दर्शनले मनमा शान्ति एवं इच्छाएको कुरा पुग्ने भक्तजनको विश्वास छ । यहाँ प्रत्येक वर्ष भारतको लख्खीमपुर, पलिया, पिलीभित, युपी, उत्तराखण्डलगायतका विभिन्न क्षेत्रबाट भक्तजन आउने गरेका छन् ।

परापूर्व कालदेखि गङ्गादशहरा, महाशिवरात्रिलगायतका पर्वमा बेहडाबाबा मन्दिर दर्शनका लागि भक्तजन आउने गरेका छन् । यहाँ आउने भक्तजनका लागि निःशुल्क खाना र पानीको व्यवस्था गरिएको थियो । उक्त मेलामा चार सयको सङ्ख्यामा व्यापारिक स्टल राखिएका थिए ।

आइसिसी टि–२० विश्वकप : भारतद्वारा अफगानिस्तान पराजित

काठमाडौँ, ७ असारः आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको छ ।

भारतले प्रस्तुत गरेको एक सय ८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय ३४ रनमा समेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अफगानिस्तानका लागि अजमतुल्लाह ओमरजाईले सर्वाधिक २६ रन बनाए । उनले २० बलमा दुई चौका र एक छक्का प्रहार गरे ।

यसैगरी, नजिबुल्लाह जादरानले १७ बलमा १९ रन जोडे । गुलबर्बादन नाइबले २१ बलमा १७ रन बनाए भने मोहम्मद नाबीले १४ तथा रहमतुल्लाह गुरबाजले ११ रन बनाए ।

भारतका लागि जसप्रित बुमराह र अर्शदीप सिंहले समान तीन–तीन विकेट लिए । त्यस्तै कुल्दीप यादवले दुई विकेट लिँदा रवीन्द्र जडेजाले एक विकेट झारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनाएको थियो । भारतका लागि सूर्यकुमार यादवले २८ बलमा पाँच चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ५३ रनको योगदान दिए । त्यस्तै विराट कोहलीले २४ रन बनाउँदा ऋषभ पन्तले २० रन बनाए । हार्दिक पाण्ड्याले ३२ रन बनाए ।

अफगानिस्तानका लागि फजलहन फारुकी र रासिद खानले समान तीन–तीन विकेट लिए । विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले बङ्गलादेश र अस्ट्रेलियाबीचको खेल जारी छ ।

रसुवा भन्सारले उठायो ५८ करोड ५५ लाख जरिवाना

रसुवा, ७ असारः चीनबाट आयात गरिएका सामग्रीको परिमाण कम देखाएर राजस्व छल्न खोज्ने व्यापारीबाट यहाँस्थित भन्सार कार्यालयले रु ५८ करोड ५५ लाख जरिवाना असुल गरेको छ ।

प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा उक्त रकम असुल गरिएको हो । चालु आवको साउनदेखि जेठ मसान्तसम्म रु ५९ अर्ब ७८ करोड ७५ लाख बराबरका मालसामान चीनबाट आयात भएको तथा रु एक अर्ब ८४ करोड ७६ लाख बराबरका सामग्री निर्यात भएको छ ।

राजस्व सङ्कलनतर्फ भने वार्षिक लक्ष्यको तुलनामा एक सय ६५ प्रतिशतले वृद्वि भएको उहाँले बताउनुभयो । जेठ मसान्तसम्ममा रु १९ अर्ब १७ करोड २१ लाख असुली भएको छ ।

‘राष्ट्रिय महाअधिवेशनले वैज्ञानिक समाजवाद पारित गर्ने’ – झलनाथ खनाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको आसन्न राष्ट्रिय महाअधिवेशनले वैज्ञानिक समाजवादको कार्यक्रमलाई पारित गराउने बताउनुभएको छ ।

महाधिवेशन प्रतिनिधि छनौट गर्न देश र प्रवासमा निर्वाचन सम्पन्न भएपछि नेता खनालले एक सन्देश जारी गर्दै पार्टीलाई वैचारिक र सङ्गठनात्मक दुवै हिसाबले सक्षम र गतिशील नेतृत्व निर्माण गर्न महाअधिवेशन ऐतिहासिक हुने उल्लेख गर्नुभयो । उक्त महाधिवेशनले समाजवादी क्रान्ति र रूपान्तरणको ऐतिहासिक कार्यक्रमलगायत दस्तावेज पारित गर्ने बताउँदै नेता खनालले देश र जनतालाई यथास्थितिवादबाट मुक्त गराउन कम्युनिष्ट आन्दोलनको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पु-याउन निर्वाचित सबै प्रतिनिधिको ठूलो जिम्मेवारी हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पार्टीका कार्यदिशा, नीति र सिद्धान्तलाई क्रान्तिकारी जगमा उठाउन, समाजवादी क्रान्तिलाई मार्गदर्शन गर्नेछ । त्यसैका आधारमा हाम्रो पार्टीको कार्यदिशा, नीति र सिद्धान्तहरू परिष्कृत र परिमार्जित हुँदै जानेछन् ।” करिब एक हजार चार सय प्रतिनिधि छनौटका लागि निर्वाचन सम्पन्न गरिएको छ । यही असार १६ गते काठमाडौंँँमा पार्टीको महाधिवेशन हुँदैछ ।

पर्यटक बसका चालक र सहचालकलाई पोशाक वितरण

काठमाडौँ – पर्यटक सवारी साधनमा कार्यरत चालक र सहचालकलाई (रिफ्लेक्सन ज्याकेट) पोशाक वितरण गरिएको छ ।नेपाल पर्यटन बोर्ड र पर्यटक बस व्यवसायीहरुको छाता संस्था टुरिष्ट बस एशोसियशन अफ नेपाल (टिवान) को टोलीले बिहिबार पर्यटक सवारी साधनमा कार्यरत एक सय भन्दा बढी चालक र सहचालकलाई पोशाक वितरण गरेको हो । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले आन्तरिक तथा बाह्य पर्यटकलाई विशिष्ट सेवा प्रदान गर्न चालक तथा सहचालकको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

उहाँले पर्यटक सवारी साधनलाई देशको पूर्वदेखि पश्चिमसम्मका पर्यटकीय गन्तव्यमा पु¥याउन एशोसियशन लाग्नुपर्नेमा जोड दिनुभयो । वरिष्ठ निर्देशक ऐरले काठमाडौँमा पर्यटक सवारी साधनका लागि छुट्टै बसपार्क निर्माण गर्न नेपाल पर्यटन बोर्डले काम गरिरहेको जानकारी दिनुभयो । टिवानका अध्यक्ष कृष्ण आचार्यले पर्यटक बसलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन चालक तथा सहचालकको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । उहाँले देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रलाई अगाडि बढाउन पर्यटक बसले महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा राख्नुभयो । टिवानका सल्लाहकार केदारनाथ शर्माले पर्यटक बस चालकले देशको पर्यटकीय गन्तव्यमा दूतका रुपमा काम गरिरहेको बताउनुभयो ।

चार दशकदेखि आन्तरिक तथा बाह्य पर्यटकलाई टिवानले बस सेवा प्रदान गर्दै आइरहेको छ । हाल काठमाडौँदेखि पोखरा, सौराहा, लुम्बिनी र जनकपुरलगायतका स्थानमा सेवा प्रदान गर्दै आइरहेको टिवानका उपाध्यक्ष भीष्म न्यौपानेले जानकारी दिनुभयो ।

शिक्षाको विकासका लागि एकीकृत कार्यक्रम आवश्यकः मुख्यमन्त्री कँडेल

काँक्रेविहार (सुर्खेत) – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले शिक्षा क्षेत्रको विकासका लागि कर्णाली प्रदेशमा एकीकृत परियोजना आवश्यक रहेको बताउनुभएको छ ।

सामाजिक विकास मन्त्रालय र स्थानीय सरकारसँगको सहकार्यमा ‘युनिसेफ र समाज जागरण केन्द्र (स्याक नेपाल)’ले सञ्चालन गर्न लागेको कर्णाली प्रदेशमा शिक्षाको गुणस्तर अभिवृद्धि परियोजनाको प्रदेशस्तरीय सुरुआती बैठकलाई वीरेन्द्रनगरमा बिहिबार सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले प्रदेशका अधिकांश नागरिकको आर्थिक अवस्था कमजोर रहेकाले शिक्षामा पनि पछि परेको उल्लेख गर्नुभयो ।

उहाँले अभिभावकहरु कामकाजका सिलसिलामा विभिन्न स्थानमा जाँदा बालबालिका पनि सँगै जाने गरेकाले उनीहरुको पढाइ प्रभावित भएको बताउनुभयो । मुख्यमन्त्री कँडेलले कर्णालीमा शिक्षाको अवस्था विगतभन्दा सुधार हुँदै गए पनि धेरै काम गर्न बाँकी रहेको धारणा राख्नुभयो । शैक्षिक गुणस्तर सुधारका लागि कर्णालीमा सञ्चालन गर्न लागिएको परियोजनालाई प्रदेश सरकारले सहयोग गर्ने उहाँको प्रतिबद्धता थियो ।

सामाजिक विकास मन्त्री वीरबहादुर शाहीले शिक्षा परियोजनाबाट कर्णालीको शैक्षिक गुणस्तर सुधार हुने अपेक्षा गर्नुभयो । उहाँले कर्णालीको शैक्षिक गुणस्तरका लागि महत्वपूर्ण परियोजना रहेकाले प्रदेशका सबै स्थानीय तहसम्म सञ्चालन गर्न आग्रह गर्नुभयो ।

प्रदेशसभा सदस्य सुरेश अधिकारीले समुन्नत प्रदेश बनाउनका लागि शिक्षामा लगानी अपरिहार्य रहेकोमा जोड दिनुभयो । उहाँले शिक्षा परियोजनाबाट प्रदेशको शैक्षिक सूचकमा सुधार हुने अपेक्षा व्यक्त गर्नुभयो ।

कम्युनिष्ट पार्टी पुनःगठनको विकल्प छैन : उपाध्यक्ष सापकोटा

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नीप्रसाद सापकोटाले बृहत् वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टी पुनःगठनको विकल्प नरहेको बताउनुभएको छ ।

उहाँले समाजवादी व्यवस्था कम्युनिष्टको बलियो उपस्थितिमा मात्रै सम्भव हुने बताउनुभयो । ४७औँ जुगेडी किसान सङ्घर्ष दिवस तथा ३३औँ किसान सङ्घर्ष दिवसको अवसरमा अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) ले आयोजना गरेको कार्यक्रममा बोल्दै सापकोटाले आफ्नो पार्टी अध्यक्ष दाहाल नेतृत्वको सरकारले आशा जगाएको जिकिर गर्नुभयो । पार्टीका प्रवक्ता सापकोटाले जनताले स्थायी सरकार र सत्ता चाहेकाले कम्युनिष्ट एकताले मात्रै जनताको सपना पूरा गर्ने धारणा राख्नुभयो ।

पछिल्लो समयमा सस्तो लोकप्रियतावादीहरुले जनतामा भ्रम फैलाएको बताउँदै उहाँले भन्नुभयो, “लोकप्रियतावादीहरुले ठूलठूलो स्वरमा देश भक्तिको नौटङकी गरिरहे पनि त्यसको वास्तविक पहरेदार माओवादी मात्रै हो भ्रमित हुनुहुँदैन ।”

आयोजक सङ्गठन अखिल नेपाल किसान महासङघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठले जुगेडी किसान विद्रोहको स्मरण गर्दै अहिले पनि जनतालाई शोषण र दमन गर्र्ने प्रक्रिया नरोकिएकोप्रति रोष व्यक्त गर्नुभयो ।

योगले विश्वलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्छः उपराष्ट्रपति

काठमाडौँ, ७ असार: उपराष्ट्रपति रामसहायप्रसाद यादवले अन्तर्राष्ट्रिय योग दिवसले विश्वलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्नेमा विश्वास व्यक्त गर्नुभएको छ । साथै योगको अनुकूलतामा समावेशीतालाई अक्षुण्ण राख्न तथा स्वस्थ एवं खुशियाली मानव जीवनमा योगदान पुग्ने उहाँको भनाइ छ ।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले मानव जातिलाई आफ्नो स्वास्थ्यप्रति जागरुकता प्रदान गर्दै योगाभ्यासबाट लाभान्वित हुने अवसर प्रदान गर्न बताउनुभयो । उपराष्ट्रपति यादवले अन्तर्राष्ट्रिय योग दिवस शारीरिक अभ्यासलाई बढावा दिने उत्सव मात्र होइन कालजयी हाम्रा परम्परालाई स्मरण गर्ने महत्वपूर्ण दिन पनि हो भन्नुभयो । दिवसले योगाभ्यासको फाइदाबारे विश्वव्यापी जागरुकता बढाउँदै राम्रो स्वास्थ्यका लागि आदर्श जीवनशैली अपनाउनका लागि पनि प्रोत्साहित गर्ने उहाँको भनाइ छ ।

उपराष्ट्रपति यादवले योगबाट हुने फाइदाबारे सबैलाई दीक्षित गर्दै सिङ्गो मानव समुदायलाई योगाभ्यासप्रति थप प्रोत्साहित गर्नसके मात्र यो दिवसको सार्थकता, आवश्यकता र औचित्यताको पुष्टि हुनसक्ने धारणा राख्नुभयो ।

“अन्तर्राष्ट्रिय योग दिवसको उद्देश्य योगाभ्यास र यसको फाइदाबारे जनचेतना र जागरुकता बढाउने नै हो । त्यसैले योगको विभिन्न अभ्यासका माध्यमबाट शारीरिक, मानसिक एवं आध्यात्मिक लाभको प्रचारप्रसार गर्ने विशेष अवसरका रुपमा हामीले यो दिवसलाई उपयोग गर्न सक्नुपर्दछ । दिवसले विश्वका सम्पूर्ण मानिसलाई राष्ट्रियता, धर्म र संस्कृतिभन्दा माथि उठेर सबैलाई एउटै मञ्चमा ल्याउँदै विश्वव्यापी एकता अभिवृद्धि गर्न सहयोग गर्दछ”, शुभकामना सन्देशमा भनिएको छ ।

उहाँले योगको समग्र दृष्टिकोण आमनागरिक र पृथ्वीको कल्याण गर्नु नै रहेकाले यसमा अन्तर्निहित अहिंसा, करुणा तथा सबै जीवित प्राणीप्रति सम्मान प्रकट गर्ने सिद्धान्त–विश्वव्यापी शान्तिको बृहत्तर एव व्यापक लक्ष्यअनुरुप हामी सबै सक्रियताका साथ अघि बढ्न जरुरी रहेको बताउनुभयो । योगले मुटुरोग, क्यान्सर र मधुमेहजस्ता नसर्ने रोगको मुख्य जोखिमको कारक ‘शारीरिक निष्क्रियता’लाई निरुत्साहित गर्दै योगाभ्यासलाई नियमित दिनचर्यामा समावेश गर्न उत्प्रेरित पनि गर्ने उहाँको भनाइ छ ।

उपराष्ट्रपति यादवले दिवसका अवसरमा देश र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । “विश्वसमुदाय र प्रकृतिबीच एकताको भाव खोज्ने एउटा माध्यम पनि योग भएकोले यसबाट विश्वमा शान्ति र शान्तिको आदर्शलाई बलियो एवं सुदृढ बनाउनमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ ।

हरेक वर्षको जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा नेपालसहित विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइन्छ । योग एउटा समग्र अभ्यास हो जसमा शारीरिक आसन, प्राणायाम (श्वास अभ्यास), ध्यान र नैतिक सिद्धान्त (यम र नियम) समावेश रहेको हुन्छ । यो मन, शरीर र आत्माबीच तादम्यता एवं सद्भावको भावलाई विकसित एवं त्वरित गर्ने प्रतीक पनि हो । यसले हामीलाई वर्तमानमा केन्द्रित हुँदै तनाव एवं नकारात्मकताबाट बच्न सिकाउँदछ । साथै हामीलाई आफ्नो जीवनमा शान्ति र सद्भाव खोज्नमा सघाउँदछ ।

विश्वभरका अध्येताका लागि नेपाल योगको मूल गन्तव्य बन्नसक्छ – राष्ट्रपति

काठमाडौँ, ७ असारः राष्ट्रपति रामचन्द्र पौडेलले योग विज्ञानको अध्ययन गरिरहेका विश्वभर कै अध्येताका लागि नेपाल योगको मूल गन्तव्य बन्न सक्ने बताउनुभएको छ ।विश्व योग दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले विश्व योग दिवसले योग परम्परालाई सर्वत्र व्यापक बनाई सबैलाई शारीरिक र मानसिकरूपमा स्वस्थ एवं खुसी रहन प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले विश्व योग दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धिएवम् सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ का दिन पारित प्रस्तावअनुसार सन् २०१५ देखि हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउन सुरू गरिएको हो । यस वर्ष हामी ‘आफू र समाजका लागि योग’ भन्ने नाराका साथ विश्व योग दिवस मनाइरहेका छौँ ।

राष्ट्रपति पौडेलले योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवम् जीवनपद्धति समेत हो भन्दै योग, ध्यान र साधनाका कारण तनावबाट मुक्त भई सकारात्मक उर्जा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

“यससँग सँगै हाम्रो दैनिक कार्य क्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने, सकारात्मक सोचको विकास हुने, आन्तरिक उर्जा प्राप्त हुनेर आत्मप्रेरणा हासिल हुने लगायत सकारात्मक गुणको विकास हुन्छ ।योगले मन र शरीरलाई जोड्नुका साथै ज्ञान, कर्म, चेतना, सबलता एवम् स्थिरता तर्फ डोर्‍याउँछ । साथै, योगले स्वस्थ्यकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन सहयोग पुर्‍याउँछ”, शुभकामना सन्देशमा भनिएको छ ।

राष्ट्रपति पौडेलले हाम्रा योग गुरुहरू र अध्येताका साथै ऐतिहासिक तथा पुरातात्विक तथ्यहरूले नेपाल योग भूमिको देश भन्ने पुष्टि गर्दछ भन्नुभयो । भौतिक विकास गरी सुख प्राप्त गर्ने आकाङ्क्षामा रहेका संसारका मानिसहरू मानसिकरूपले तनावग्रस्त भई अनेक मानसिक एवम् मनोशारीरिक समस्याबाट पीडित बन्दै गइरहेको वर्तमान अवस्था छ ।

“नेपालको सांस्कृतिक इतिहासलाई खोतल्ने हो भने यहाँका प्राचीन भवन, शहर, ढुङ्गेधारा, कुवा, इनार र राजकुलोहरूको निर्माणमा पनि योग विज्ञान एवम् वास्तु शिल्पको प्रयोग गरिएको देखिन्छ । साथै, हाम्रा मठमन्दिर, मूर्तिकला र चित्रकलामा समेत योगको प्रभाव रहेको छ”, राष्ट्रपतिको सन्देशमा भनिएको छ ।

योगलाई आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गरौँः प्रधानमन्त्री

काठमाडौँ, ७ असार: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग र साधनालाई शिक्षा, जीवन र व्यवहारमा जोड्दै आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गर्न आवश्यक रहेको बताउनुभएको छ । दसौँ विश्व योग दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै योगाभ्यासलाई जीवनको अभिन्न क्रियाकलापका रूपमा अवलम्बन गरी स्वथ्य जीवनयापनको मार्गमा अघि बढ्न आह्वान गर्नुभयो ।

नागरिकलाई स्वस्थ, नैतिकवान् र जिम्मेवार बनाउन योगको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नियमित योगाभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै तनावमुक्त भई कार्य क्षमतामा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

“योगाभ्यासबाट रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने, व्यक्तिमा अनुशासन र आन्तरिक ऊर्जा प्राप्ति हुने, आत्म ज्ञान प्राप्ति र आत्मप्रेरणा हासिल भई काममा प्रभावकारिता आउनेलगायतका सकारात्मक गुणको विकास हुनेछ”, शुभकामना सन्देशमा प्रधानमन्त्रीले भन्नुभएको छ ।

प्रधानमन्त्रीले नेपाल शिव, जनक र बुद्ध सभ्यताको त्रिवेणीका रुपमा रहेको र यस हिमवत् क्षेत्रमा बस्ने प्राचीन योगी, ऋषि, महर्षिले दीर्घ तपः साधनाको माध्यमबाट योगअभ्यासको विकास र प्रवद्र्धन गरेका उल्लेख गर्नुभयो ।

“उहाँहरूले प्रदान गरेको योग अभ्यासको ज्ञान र परम्परा अहिले पनि उत्तिकै सान्दर्भिक र जीवनका लागि ऊर्जा प्रदायक छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “त्यसैले, वर्तमान परिवेशमा योगाभ्यास र शिक्षासम्बन्धी उचित नीतिको प्रबन्ध, प्रभावकारी संरचनात्मक व्यवस्था र नेपालको अभ्यासको विश्वव्यापीकरणमा ध्यान दिनुपर्दछ ।” यसबाट योग पर्यटन विस्तार गर्न सकिने उहाँको भनाइ थियो । ‘आफू र समाजका लागि योग’ भन्ने नाराका साथ यसवर्ष विश्व योग दिवस मनाइँदै छ ।

बुटवलको डेल्टा मार्टमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा

लुम्बिनी – बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा बिहिबार साँझदेखि लागेको आगो नियन्त्रणमा आएको छ । तीन तलाको मार्टको माथिल्लो तलाबाट सुरु भएको आगलागी झण्डै पाँच घण्टापछि नियन्त्रणमा आएको हो ।

आगलागी नियन्त्रणमा स्थानीय र प्रहरी जुटेका थिए । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । मार्टको वरपर घना बस्ती भएकाले बस्ती जोगाउन वारुणयन्त्र प्रयोग गरिएको थियो तर मार्टमा भने पूर्णरुपमा क्षति पुगेको छ ।

आगलागीबाट करोडौँ रकम बराबरको क्षति भएको अनुमान गरिएको तर यकिन विवरण नआइनसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितले बताउनुभयो । आगो निभाउनका लागि रुपन्देहीका तिलोत्तमा, सैनामैना, सिद्धार्थ, देवदह, सुनवल नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दमकल ल्याइएको थियो ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र, स्थानीयलगायतको प्रयासका कारण बस्तीमा आगा सल्कनबाट जोगिएको प्रहरीको भनाइ छ । बुटवल उपमहानगरपालिका-८ स्थित मिलनचोकमा रहेको उक्त मार्टमा शैक्षिक सामग्रीसहित जुत्ताचप्पल र नेपालमा उत्पादित कपडालगायतका पसल तथा केही कम्पनीका कार्यालय थिए ।

गण्डकी प्रदेशका केही स्थानमा मुसलधार वर्षाको चेतावनी

काठमाडौँ, ७ असारः हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा तथा लुम्बिनी प्रदेशका पूर्वी भागमा रहेको तथा बाँकी भेगमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

साथै विभागले आज राति गण्डकी प्रदेशका केही स्थानमा मुसलधार वर्षा हुनसक्ने जनाउँदै ती स्थानका सर्वसाधारणलाई सम्भावित बाढीपहिराको जोखिमबाट पनि सचेत रहन आग्रह गरेको छ ।

कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली बदलीदेखि मौसम मुख्य सफा रहेको छ । गण्डकी प्रदेशका केही तथा कोशी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही, मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थान तथा बाँकी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली, लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी इलाकामा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशका केही स्थान, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका केही भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र मधेस प्रदेशका केही स्थान तथा बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । साथै गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव तथा बाढीपहिरोको जोखिम रहेको विभागले बताएको छ ।

भारी वर्षाको सम्भावना रहेका ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि मनाइँदै

काठमाडौँ, ७ असारः आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । सरकारले दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ । समितिले भक्तपुरको एसओएस बालग्राममा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । कार्यक्रममा सरकारका विशिष्ट पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि र योगाभ्यासकर्ता सहभागी हुनेछन् ।

मूल कार्यक्रमअघि पेप्सीकोला, गठ्ठाघर, लोकन्थली र मध्यपुरथिमि चोकबाट बालग्रामसम्म प्रभातफेरी हुने उक्त मन्त्रालयका प्रवक्ता केशव दाहालले जानकारी दिनुभयो । मूल समारोह समितिको गत जेठ ३० गतेको बैठकले दिवसको आदर्श वाक्य ‘महिला सशक्तीकरणका लागि योग’ चयन गरेको थियो ।

सोही बैठकले प्रदेश र स्थानीय तहमा पनि योग दिवस मनाउन पत्राचारका साथै विद्यालयस्तरमा दिवस मनाउन सबै शिक्षा विकास तथा समन्वय एकाइमार्फत विद्यालयहरूलाई अनुरोध गर्ने निर्णय गरेको थियो । संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि यो दिवस मनाउन थालिएको हो । महासभामा उक्त प्रस्ताव भारत सरकारले प्रस्तुत गरेको थियो ।

पशुपतिनाथमा भेटी चोरीको अभियोगमा पक्राउ परेका पाँच जनालाई थुनामा पठाउने आदेश

काठमाडौँ, ६ असारः जिल्ला अदालत काठमाडौँले पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गरेको अभियोगमा पक्राउ परेका छ जनामध्ये पाँच जनालाई थुनामा पठाउने आदेश गरेको छ ।

न्यायाधीश कपिलमणि गौतमको इजलासले उक्त अभियोगमा पक्राउ परेकामध्ये एक जना सत्यनारायण जोशीलाई धरौटीमा रिहा गर्ने आदेश गरेको र अन्य पाँच जना प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पशुपतिनाथको भेटी चोरी प्रकरणमा सोधपुछका लागि प्रहरीले पक्राउ गरेका सत्यनारायण जोशीलाई मात्रै काठमाडौँ जिल्ला अदालतलले धरौटीमा रिहा गर्ने आदेश गरेको र अन्य सबै प्रतिवादीलाई थुनामा पठाउने आदेश दिएको छ ।”

गत जेठ ७ गते पशुपतिनाथमा भेटी गणनाका क्रममा चोरी गरेको सिसिटिभी फुटेजमा देखिएपछि विकास कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरे, सञ्जय कपाली, कुमार दमाईं र अनिल परियारलाई विकास कोषले प्रहरीलाई खबर गरी पक्राउ गरेको प्रवक्ता अधिकारीले बताउनुभयो ।

उक्त प्रकरणमा सत्यनारायण जोशीलाई भने सोधपुछका लागि भन्दै केही दिन ढिला प्रहरीले पक्राउ गरेको थियो । पशुपतिनाथ मन्दिरको भेटी चोरी गरेको खुलेसँगै प्रहरीवृत्त गौशालाले प्रतिवादीलाई हिरासतमा राखेर अनुसन्धान गरिसकेपछि मुद्दा अदालतमा पेस गरेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले पक्राउ परेका छ जनाविरुद्ध रु दुई करोड ३० लाख १० हजार बिगो माग दाबी गरेर मुद्दा दायर गरेको विकास कोषका प्रवक्ता अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “भेटी चोर्ने सबैलाई पाँच वर्षदेखि १० वर्षसम्म कैद र रु ५० हजारदेखि रु एक लाखसम्म जरिवानाको माग दाबी गरिएको छ ।”

‘सञ्चारमाध्यममार्फत विपद्सम्बन्धी पूर्वसूचना दिइने’

काठमाडौँ, ६ असार : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्राकृतिक विपद्बाट हुनसक्ने क्षतिको न्यूनीकरण गर्न रेडियो नेपालबाट सूचना र दूरसञ्चार सेवा प्रदायकमार्फत एसएमएसद्वारा पूर्वसूचना दिइने बताउनुभएको छ ।

निजी तथा सामुदायिक रेडियो, टेलिभिजन र इन्टरनेट सेवा प्रदायकलाई पनि यसप्रकारको पूर्वसूचना दिने व्यवस्था मिलाउन आग्रह गरिएको उहाँले बताउनुभयो । उहाँले प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षक माथिको छलफलअन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको छलफलमा सांसदहरुले राख्नुभएको जिज्ञासाको सम्बोधन गर्नुभएको थियो ।

गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनबाट तथ्यमा आधारित समाचार प्रकाशन प्रसारण एवं गुणस्तर अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो । पत्रकारको न्यूनतम पारिश्रमिकका सम्बन्धमा न्यूनतम पारिश्रमिक निर्धारण समिति, नेपाल पत्रकार महासङ्घ, सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिलले अनुगमन गरिरहेको जानकारी दिनुभयो ।

न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सूचना तथा प्रसारण विभागबाट उपलब्ध हुने सेवासुविधा प्राप्त गर्दा सम्बन्धित सञ्चार प्रतिष्ठानले पत्रकारलाई भुक्तानी गरेको पारिश्रमिकको पेरोलसमेत बुझाउनुपर्ने व्यवस्था रहेको उहाँको भनाइ छ ।

“सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न निर्देशिका जारी भएको छ । थप व्यवस्थित गर्न विधेयक तर्जुमा अन्तिम चरणमा छ । प्रचलित कानुन र सामाजिक सद्भाव प्रतिकूल नहुने गरी सञ्चालन हुने सामाजिक सञ्जालप्रति सरकारको आग्रह पूर्वाग्रह छैन”, उहाँले भन्नुभयो ।

मन्त्री शर्माले युट्युबको व्यवस्थित अभिलेख, सूचीकरण र नियमित अनुगमन गर्ने कार्य प्रेस काउन्सिलले गरिरहेको बताउनुभयो । मोबाइल र इन्टरनेट सेवा गुणस्तरीय र सुलभ बनाउने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । हाल दुई वटा मोबाइल सेवा प्रदायक र एक सय १५ वटा इन्टरनेट सेवा प्रदायकले अनुमति लिइ सेवा दिइरहेका छन् ।

मन्त्री शर्माले मध्यपहाडी लोकमार्ग र अन्य लोकमार्गमा अप्टिकल फाइबर बिछ्याइ इन्टरनेट सेवाको गुणस्तर वृद्धि गरिने बताउनुभयो । गण्डकी र लुम्बिनी प्रदेशमा ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तार सम्बन्धमा दूरसञ्चार सेवा प्रदायकद्वारा अदालतमा दायर मुद्दा खारेज भएकाले रोकिएका कार्य अगाडि बढाइने जानकारी दिनुभयो ।

उहाँले प्रत्येक प्रदेशका न्यूनतम दुई जिल्ला रहने गरी १९ जिल्लालाई नमुना जिल्ला घोषणा गरी गुणस्तरीय दूरसञ्चार सेवा विस्तार भइरहेको बताउनुभयो । “सूचना तथा सञ्चारको पहुँच वृद्धि गर्ने उद्देश्यले सुरू गरिएको ब्रोडव्याण्ड इन्टरनेट सेवा सबै वडामा पुगेको छ, त्यसैगरी चार हजार सात सय चार स्वास्थ्य केन्द्र र १० हजार सात सय ८४ सामुदायिक विद्यालयमासमेत ब्रोडव्याण्ड इन्टरनेट जडान भएको छ”, उहाँले भन्नुभयो ।

उहाँले मन्त्रालयको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट मूलतः आमसञ्चार, दूरसञ्चार, सूचना प्रविधि, हुलाक सेवा, चलचित्र र मुद्रण गरी छ वटा क्षेत्रमा आधारित रहेको स्पष्ट पार्नुभयो ।

राष्ट्रपतिको युरोप भ्रमणः जलवायु परिवर्तनमा नेपालको प्राथमिकता केन्द्रमा रहनुपर्ने मुद्दा स्थापित

काठमाडौँ, ६ असारः राष्ट्रपति रामचन्द्र पौडेलको स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणले जलवायु परिवर्तनको असर न्यूनीकरणको मुद्दा अन्तर्राष्ट्रिय जगतमा स्थापित भएको छ । नेपालजस्ता अति कम विकसित पर्वतीय मुलुकले लामो समयदेखि उठाउँदै आएको उक्त मुद्दाबारे भ्रमणका क्रममा छलफल भएको थियो ।

राष्ट्रपति पौडेलले सामाजिक न्यायका लागि विश्वव्यपायी गठबन्धनसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको उद्घाटन सत्रमा मुख्य वक्ताका रुपमा व्यक्त विचार, जर्मनीमा वैज्ञानिकसँग भएका छलफल र उक्त छलफलपछि जर्मन राष्ट्रपति डा फ्राङ्क वाल्टर स्टाइनमेयरले दुईपक्षीय वार्तामा जलवायु परिवर्तनको असर न्यूनीकरणका सम्बन्धमा उक्त विषयमा सकारात्मक प्रतिक्रिया दिनुभएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार जलवायुसम्बन्धी जर्मनीका विभिन्न अनुसन्धान केन्द्रहरूको अवलोकनका क्रममा त्यहाँका बैज्ञानिकसँगको छलफलमा राष्ट्रपति पौडेलले हालसम्मको अनुसन्धानको प्रशंसा गर्नुभएको थियो । साथै जलवायु परिवर्तनको असर न्यूनीकरणका उपायमा अनुसन्धान केन्द्रित गर्न पनि उहाँले सुझाव दिनुभएको थियो ।

राष्ट्रपति पौडेलले बढी कार्बन उत्सर्जन गर्ने देशहरूले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि के–के गर्नुपर्छ र मार परेका कम विकासित मुलुकहरूले के–के गर्नुपर्छ भन्ने सुझाव पनि विश्वजगतलाई दिन आग्रह गर्नुभएको थियो ।

“जलवायु परिवर्तनका सम्बन्धमा तपाईंहरूले हालसम्म गरेको अनुसन्धान प्रशंसनीय छ । तर अब अनुसन्धानलाई कसरी जलवायु परिवर्तनको असरबाट जोगाउने भन्नेमा केन्द्रित गराउनुपर्छ भन्ने मलाई लाग्छ”, राष्ट्रपति पौडेलको भनाई उदृत गर्दै सल्लाहकार पोखरेलले भन्नुभयो ।

त्यसपछि भएको दुईपक्षीय वार्तामा जर्मनीका राष्ट्रपति स्टाइनमेयरले बैज्ञानिकहरूसँग राष्ट्रपति पौडेलले व्यक्त गरेका विचार र सुझावको प्रशंसा गर्नुभएको थियो । साथै नेपालजस्ता पर्वतीय मुलुकले उठाएको मुद्दामा आफूहरूको सकारात्मक धारणा रहेको र आगामी दिनमा नेपाललाई हरतरहले सहयोगको प्रतिबद्धता जनाउनुभएको थियो । सो अवसरमा राष्ट्रपति पौडेलले कृषि क्रान्ति, जलस्रोत उपयोग र पर्यटनको विकासमा लगानीको अपेक्षासहितको अभिव्यक्त गर्नुभएको थियो ।

राष्ट्रपति पौडेलले युक्रेनको सैन्य हिरासतमा बन्दी हुन पुगेका छ जना नेपालीलाई रिहाइ तथा स्वदेश फिर्ताका लागि सहजीकरण गरिदिन जर्मनीसँग आग्रह गर्नुभएको थियो राष्ट्रपति पौडेलले स्वीटजरल्याण्डको जेनेभामा शुरु भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको गत उद्घाटन सत्रमा मूख्य वक्ताकारुपमा सम्बोधन गर्नु भएको थियो ।

सो क्रममा राष्ट्रपति पौडेलले भन्नुभएको थियो, “विश्व समुदाय खास गरेर विगतदेखिका र हालका ठूला उत्सर्जनकर्ताहरु यो जिम्मेवारीबाट विमुख हुनुहुँदैन, हामीले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन मिल्दैन । जलवायु परिवर्तनका नकारात्मक असरहरूको सन्दर्भमा जलवायु जोखिममा रहेका देशहरूलाई पर्याप्त कोष र आवश्यक प्रविधि उपलब्ध गराएर जलवायु न्याय तुरुन्तै सुनिश्चित गरिनुपर्छ ।”

कार्बन उत्सर्जनमा नगण्य योगदान दिए पनि नेपालले जलवायु परिवर्तनको सबैभन्दा खराब असरहरूको मार खेपिरहेको र यसमा नेपालको कुनै दोष नभएको उहाँले उल्लेख गर्नुभएको थियो । “पछिल्ला वर्षहरूमा संसारकै सर्वोच्च शिखर सगरमाथालगायतका हाम्रा हिमालयहरू आफ्ना हिउँ गुमाउँदै काला पहाडहरूमा परिणत हुन थालेका र हिमनदीहरू अभूतपूर्व परिमाण र गतिमा पग्लिरहेका छन्”, उहाँले भन्नुभएको थियो ।

राष्ट्रपतिले जलवायु परिवर्तनले स्वच्छ पानी, बाली, जैविक विविधता र स्वास्थ्यमा गम्भीर असर पुग्न गई लाखौँ मानिसहरूलाई चरम गरिबी र असमानतामा धकेलेको छ बताउनुभएको थियो । साथै, जलवायु परिवर्तनबाट सिर्जित विपद्का कारण परिवार, समुदायको विस्थापन र जीविकोपार्जनमा हुने क्षतिले समस्या थप जटिल बनाएको छ उहाँको भनाइ थियो । राष्ट्रपति पौडेलबाट व्यक्त विचारप्रति त्यहाँ आइएलओको कार्यक्रममा उपस्थित विश्व समुदायले गरेको स्वीकारोक्ति गौरवलाग्दो भएको पनि पोखरलेको भनाइ थियो ।

कोशी प्रदेशसभाः आर्थिक विधेयकमाथिको छलफल सकियो

विराटनगर, ६ असारः कोशी प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक वर्ष २०८१/८२ को आर्थिक विधेयकमाथिको छलफल सकिएको छ ।

कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम १२५(४) बमोजिम आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले सो विधेयक सदनमा पेश गर्नुभएको थियो । मन्त्री मगरले समयको अभावमा आर्थिक विधेयकमा बृहत छलफल गर्न नसकेपनि विधेयक निर्माण गर्दा विभित्र क्षेत्र, सांसद, राजनीतिक दलहरुसँग छलफल गरेर नै ल्याएको जानकारी दिनुभयो ।

छलफलमा उठेको प्रश्नहरुको जवाफ दिँदै मन्त्री मगरले वर्तमान आर्थिक विधेकयले ढुङ्गा सङ्कलन र बिक्री मूल्यलाई व्यवस्थित गरेको बताउँदै करका दायरा र क्षेत्रमा विशेष अध्ययन गरिने कुरामा जोड दिनुभयो ।

उहाँले प्रदेशमा भएका तारे होटेल र क्यासिनोबाट व्यवस्थित ढङ्गले राजस्व उठाउने विधि अपनाउने भन्दै पहाडी र हिमाली क्षेत्रमा पर्यटकको पहुँच पु¥याउन र जलयात्रालाई सरकारले उचित व्यवस्था गर्ने स्पष्ट पार्नुभयो ।

सरकारले कर सङ्कलन गर्ने संयन्त्र र स्थानीय तहबाट प्राप्त हुने राजस्वलाई अझ फराकिलो बनाउने उल्लेख गर्दै मन्त्री मगरले राजस्वको स्रोत नखोज्ने र बाँडफाँटमा मात्र केन्द्रित भइयो भने विकासका योजनाहरु आगाडि बढाउन नसकिने जिकिर गर्नुभयो ।

छलफलमा प्रदेशसभा सदस्यहरु खड्गबहादुर बस्नेत, रमेशकुमार बस्नेत, गोपाल तामाङ्गले आर्थिक विधेयकलाई अपनत्व ग्रहण गर्न बृहत छलफलको आवश्यकता औल्याउनुभएको थियो ।

बैठकको विशेष समयमा सदस्य तिलकुमार मेन्याङ्बो(लिम्बू)ले अबिरल बर्षाका कारण यसप्रदेशमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त्त गर्नुभयो । उहाँले अहिले पनि यस प्रदेशको पहाडी क्षेत्रमा बाढी र पहिरोको कारण कतिपय परिवारको घर जोखिममा रहेकाले सुरक्षित बासका लागि सरकारको ध्यानाकर्षण गराउँदै बाढीले खेतबारी बगाएको, विस्थापित भएका परिवार र चौपायाहरु मरेकाले पीडित परिवारलाई आवश्यकत क्षतिपूर्ति गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रदेशसभा सदस्य विद्या चाम्लिङ्ग राईले सरकारले ल्याएको आगामी आर्थिक वर्षका लागि बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै बजेटले नागरिकका समस्या समाधान नहुने तर्क गर्नुभयो ।

साथै बैठकका शून्य समयमा सदस्यहरु किशोरचन्द्र दुलाल, रोहित कार्की, खगेनसिं हाङ्गाम, प्रेमराज थाम्सुङ्हाङ्ग, भीम पराजुली र राधाकृष्ण खनालले पनि प्रदेशको समसामयिक विषयमा बोल्नु भएको थियो ।

रकम भुक्तानीको माग गर्दै दुग्ध किसानद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

झापा, ६ असारः दुग्ध किसानको बक्यौता रकम तत्काल भुक्तानी दिने व्यवस्था मिलाउन माग गर्दै नेपाल किसान महासङ्घ झापाले प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पठाएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलामार्फत महासङ्घका अध्यक्ष रतन थिङ्लावोको नेतृत्वमा गएको किसानको टोलीले ज्ञापनपत्र पठाएको हो । ज्ञापनपत्रमा नेपाली किसानले उत्पादन गरेको दूध खरिद गरी ‘मिल्क होलिडे’को अन्त्य गरिनुपर्ने, उत्पादनका आधारमा दिइँदै आएको अनुदान कार्यक्रम पुनःसञ्चालनमा ल्याइनुपर्ने, सहुलियत कृषि ऋण र पशु बीमा अनुदान कार्यक्रम परिणाममुखी बनाइनुपर्ने, कृषि बीमामा सरकारकोतर्फबाट दिइने अनुदान तत्काल उपलब्ध गराएर किसानलाई बीमाबापतको रकम पाउने अवस्था सिर्जना गर्न माग गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादन पु¥याउनुपर्ने, दुग्धजन्य पदार्थको आयात रोकेर आत्मनिर्भर बनाउन पहल गर्नुपर्ने, पाउडर दूध उत्पादन केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने, नेपालको आन्तरिक खपत आन्तरिक उत्पादनबाटै गर्ने अनिवार्य व्यवस्था गर्नुपर्ने, लम्पीस्किन रोगबाट पशुको क्षति व्यहोराका किसानलाई तत्काल अनुदान दिइनुपर्ने, बर्खे धानको उचित मूल्य तोकी सरकारले नै खरिद गर्ने व्यवस्था मिलाउन ज्ञापनपत्रमा माग गरिएको छ ।

सरकारले तत्काल सम्बोधन गर्नुपर्ने उक्त माग पूरा नभए सडक आन्दोलनमा निस्कन बाध्य हुने चेतावनी दिँदै ज्ञापनपत्रमा किसानको समुन्नतिले मात्रै समग्र राष्ट्रको समुन्नति हुनेतर्फ सरकारलाई सचेत गराइएको छ ।

नेपालमा कृषि पेसामा आबद्धमध्ये ८६ प्रतिशत पशुपालन क्षेत्रमा संलग्न रहेको, देशको अर्थतन्त्रमा लगभग छ प्रतिशत योगदान दुग्धजन्य उत्पादनको रहेको, ३० लाख घरपरिवार प्रत्यक्ष÷अप्रत्यक्षरुपमा दुग्धजन्य उत्पादनमा रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

दुग्ध उत्पादनतर्फ किसानको आकर्षण बढ्दै गएर स्वरोजगारी सिर्जना हुने अवस्थामा सरकारी बेवास्ताका कारण पेसा नै धरासायी हुनेतर्फ गम्भीर हुन सरकारको ध्यानाकर्षण गराइएको छ । सो ज्ञापनपत्र आजै प्रधानमन्त्री कार्यालयमा पठाइदिने प्रजिअ बास्तोलाले आवश्वासन दिनुभयो ।

किसान २ परियोजनाले कृषि विकास रणनीतिको पुनरावलोकन र प्राथमिकीकरणमा सहयोग पुर्‍यायो: मन्त्री साह

काठमाडौँ, ६ असारः कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले संयुक्तराज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग ‘युएसएआइडी’ द्वारा नेपालमा सञ्चालित किसान २ परियोजनाले कृषि विकास रणनीतिको पुनरावलोकन र प्राथमिकीकरणमा सहयोग पु¥याएको बताउनुभएको छ ।

युएसएआइडीले आज आफ्नो किसान २ परियोजना सम्पन्न भएको अवसरमा आयोजना गरेको आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले सो कुरा बताउनुभयो । उहाँले भन्नुभयो, “किसान २ परियोजनाले कृषि विकास रणनीतिको पुनरावलोकन र प्राथमिकीकरणमा सहयोग पु¥याउँदै संयुक्त क्षेत्र समीक्षामा पनि सयोग पु¥यायो । नेपाल सरकारले अहिले दीर्घकालीन प्रयोगका लागि यस समीक्षा संयन्त्रलाई संस्थागत गरिरहेको छ ।”

यसैगरी उहाँले उक्त परियोजनाले कृषकलाई उत्पादनदेखि बिक्रीवितरण एवं बजारीकरणका लागि पनि सहज भएको बताउनुभयो । कृषि उत्पादकत्व र कृषक तथा कृषि व्यवसायको आयवृद्धिको दिशामा परियोजनाले महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएको उहाँले बताउनुभयो ।

सोही कार्यक्रममा अमेरिकी दूतावासका उपप्रमुख जेसन मिक्सले नेपाली किसानलाई उनीहरुको आयवृद्धि गर्न, स्थानीय बजारमा स्वस्थकर खाद्यपदार्थमा उनीहरुको पहुँच विस्तार गर्न र मुलुकको समग्र खाद्यसुरक्षा तथा समृद्धिमा सुधार ल्याउन नेपाली कृषकको सम्भाव्यतालाई उपयोग गर्न मद्दत गर्न पाउँदा आफू गौरवान्वित भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्वस्थकर खाद्यपदार्थमा उनीहरुको पहुँच विस्तार गर्न र मुलुकको समग्र खाद्यसुरक्षा तथा समृद्धिमा सुधार ल्याउन नेपाली कृषकको सम्भाव्यतालाई उपयोग गर्न मद्दत गर्न पाएकामा हामी गौरवान्वित छौँ ।”

जुलाई २०१७ देखि जुलाई २०२४ सम्म सञ्चालित किसान २ परियोजनाले ७३ प्रतिशत महिला र ६३ प्रतिशत सिमान्तकृत समूहका गरी दुई लाख ७० हजार छ सयभन्दा बढी किसानलाई सहयोग गरेको आजको कार्यक्रममा जानकारी दिइएको थियो । युएसएआइडी, नेपाल सरकार र निजी क्षेत्रबीचको साझेदारीले नेपालका २५ जिल्लामा कृषि उत्पादकत्व र बिक्रीमा उल्लेखनीय वृद्धि गरिएको बताइएको छ ।

उक्त परियोजनाले एक सय ७७ फार्मसँग साझेदारी गरी लगभग छ सय कृषि सल्लाहकारलाई किसानलाई बजार र वित्तमा पहुँच पाउन र थप प्रतिस्पर्धी बन्न मद्दत पु¥याउनुका साथै तीन हजार पाँच सयभन्दा बढी कृषक परिवारलाई सिँचाइ प्रणाली उपलब्ध गराइएको र उक्त सहयोगले उत्पादन एक सय ३९ प्रतिशतले बढाउन र ४७ करोड ६० लाख अमेरिकी डलर बराबरको कृषिजन्य बिक्री गर्न मद्दत गरेको जानकारी दिइएको थियो ।

जलवायुका दृष्टिले उपयुक्त कृषि अभ्यास र नयाँ डिजिटल प्रविधिको प्रयोगलाई प्रवद्र्धन गर्दै युएसएआइडीले किसानलाई जलवायु परिवर्तनका प्रभावको राम्रोसँग सामना गर्न सक्नेगरी सशक्त बनाएको बताइएको छ ।

उक्त परियोजनाको आजको समापन समारोहमा नेपाल सरकारलाई सहयोग पु¥याउन ज्ञानसामग्री र प्रविधि हस्तान्तरण गरिएको थियो । यसैगरी सन् २०११ देखि अमेरिकी सरकारको ‘फिड द फ्युचर’ कार्यक्रमले आठ लाखभन्दा बढी नेपाली किसानलाई कृषि उत्पादकत्वमा सुधार र बिक्री वृद्धिमार्फत आय बढाउन मद्दत गर्न १८ करोड १० लाख अमेरिकी डलरभन्दा बढी सहयोग प्रदान गरिसकिएको आजको कार्यक्रममा जानकारी दिइएको थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा दीपक खरालले युएसएआइडीको किसान २ परियोजनाले किसानलाई कृषि उत्पादकत्वदेखि अन्य विभिन्न कृषि उत्पादन एवं व्यापारीकरणमा निकै सहज वातावरण सिर्जना गरी किसानको आयस्तरमा वृद्धि गराउन सफल भएको बताउनुभयो ।

सगरमाथा आरोहणलाई व्यवस्थित बनाउन माग

काठमाडौँ, ६ असार : सगरमाथा आरोही सङ्घले सगरमाथा आधार शिविरभन्दा माथि हुने हेलिकप्टर उडानको प्रभावकारी अनुगमन गर्न माग गरेको छ । सङ्घले आज एक विज्ञप्ति जारी गर्दै सगरमाथा क्षेत्रमा हेलिकप्टर कसरी र किन उडे भन्ने विषयमा नियामक नेपाल नागरिक उडड्यन प्राधिकरणले अनुगमन बढाउनुपर्ने खाँचो औँल्याएको हो ।

साथै सङ्घले सगरमाथालगायत हिमाली क्षेत्रलाई संरक्षण गर्न कडा कानुनी व्यवस्था गर्न पनि सरकार समक्ष माग गरेको छ । हिमाल आरोहणलाई व्यवस्थित गर्न तथा आगामी दिनमा आठ हजार मिटरको हिमाल आरोहण गरेकालाई मात्र सगरमाथा आरोहणको अनुमति दिन सङ्घले सुझाएको छ । सगरमाथा क्षेत्रबाट समाचार सम्प्रेषणमा एकद्वार प्रणाली कायम नहुँदा सगरमाथाबारे गलत प्रचार प्रसारको जोखिम बढिरहेकोमा पनि सञ्चारमाध्यमहरुलाई ध्यानाकर्षण गराएको छ ।

सगरमाथा आधार शिविरमा पर्यटन विभाग, खुम्बु पासाङल्हामु गाउँपालिका, सुरक्षाकर्मीसहितको कमाण्ड र सरोकारवाला सङ्घ–संस्था संलग्न अनुगमन टोली बनाएको खण्डमा सगरमाथा आधार शिविर र सो भन्दा माथिको कार्य प्रभावकारी हुने सङ्घले विज्ञप्तिमा जनाएको छ । सङ्घको एक प्रतिनिधिमण्डलले हालै गरेको अध्ययन अनुसन्धानबाट सगरमाथाको दोस्रो शिविरमा प्रति आरोही न्यूनतम आठ केजी र सो भन्दा माथि थप आठ केजी फोहर जम्मा हुने देखिएको थियो । ती फोहोर आरोहणमा संलग्न व्यक्तिहरुले आधार शिविरमा ल्याए नल्याएको अनुगमन गनुपर्नेमा सङ्घले जोड दिएको छ ।

झुटो उद्धारलाई निरुत्साहित गर्न उद्धारमा प्रयोग भएका हेलिकप्टरको आवश्यक बिल तथा भरपाइ नेपाल सरकार तथा सरोकार भएका निकायले निरीक्षण गर्ने व्यवस्था मिलाउन पनि माग गरिएको छ । यस वर्ष सङ्घका प्रथम उपाध्यक्ष दिवस घिमिरे र महासचिव शिवबहादुर सापकोटासहितको टोलीले सगरमाथा आधार शिविरमा आरोहणमा हुने विविध विषयबारे अध्ययन तथा अनुसन्धान गरेको थियो ।

शिक्षक सरुवा र काजका नाममा हुने बेथिति रोकिँदै

प्रकाश सिलवाल, काठमाडौं ।  ‘विद्यालयमा शिक्षकको दरबन्दी रिक्त नहुँदा पनि विभिन्न पक्षबाट ‘खाली छ?’भनेर सोध्ने गरिन्छ,’ भक्तपुरको सिरुटारस्थित सोमलिङ्गेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक मञ्जु बस्नेतको प्रश्न छ, ‘पद खाली भएको अवस्थामा कस्तो परिस्थितिको सामना गर्नुपर्ला यो पर्याप्त छैन र?’

शिक्षकले दलीय सदस्यता त्याग्न लगाउने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको कदम प्रधानाध्यापक बस्नेतलाई मन परेको छ । उनी आफूहरुको दल भनेको अध्ययन–अध्यापन मात्र हो भनेर लागेमा शिक्षा क्षेत्रमा धेरै सुधार हुने बताउछन्।

‘तर दलको झोला बोकेर र नेताको पछि लागेर शिक्षक सङ्गठनको काम भनेर राजनीतिक काममा हिँड्नेका कारण आफूहरुलाई पनि असर परेको छ । सङ्गठनमा लागेर शिक्षकका हक हितमा काम गरिदिए हुन्थ्यो’, प्रअ बस्नेतले भने, ‘नेताको पछि लागेर वा दलको सङ्गठनका नाममा अन्य शिक्षकलाई हप्कीदप्की गर्ने काम भएको छ। त्यसैले शिक्षामन्त्री श्रेष्ठको निर्देशन सही छ । बरु विगतमा सदस्य भएका शिक्षकलाई अहिले कारबाहीभन्दा अबका दिनमा बन्देजको नीतिमा जाँदा ठीक हुन्छ।’

शिक्षामन्त्री श्रेष्ठले ल्याएको ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका २०८१’ भने कार्यान्वयनमा ल्याउन गाह्रो हुने उनको बुझाइ छ। व्यावहारिकरुपमा प्रअले निष्पक्ष निर्णय गर्ने अवस्था नरहेको अवस्थामा निर्देशिकाका असल प्रावधानलाई पनि पालना गर्न कठिनाइ हुने उनले बताए।

सामुदायिक विद्यालयमा उचित शिक्षक व्यवस्थापन नहुँदा गुणस्तर खस्किएको भन्ने आम गुनासोबीच पछिल्ला समयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुगमन र कारबाहीमा प्राथमिकता दिन थालेपछि शिक्षा क्षेत्रमा एक प्रकारको बहस चलिरहेको छ । यो बहसले हरेक शिक्षक र विद्यालय कर्मचारीलाई पनि छोएको छ ।

शिक्षामन्त्री श्रेष्ठले जिम्मेवारी सम्हालेपछि कानुनविपरीत राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न दिइएको निर्देशन, गत जेठ १३ गते जारी भएको शिक्षक सरुवासम्बन्धी निर्देशिका र बेथितिपूर्ण काज फिर्ता गराउने पहल सकारात्मक मानिएको छ।

नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले भने सङ्घीयताको मर्मविपरीत हुने भन्दै शिक्षक सुरुआसम्बन्धी निर्देशिका कार्यान्वयन नगराउने चेतावनी दिए । नेपाल शिक्षक महासङ्घ, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपाललगायत संस्थाले पनि निर्देशिकामा असन्तुष्टि जनाए।

नेपाल शिक्षक महासङ्घ र आबद्ध घटकले सरकारले शिक्षकको आस्था र विचारमाथि प्रहार गर्न नहुने प्रतिक्रिया दिए पनि कानुनी प्रबन्धका कारण दलको सदस्यता कायम राखेर शिक्षकको जागिरलाई निरन्तरता दिन अब शिक्षकलाई पहिलाजस्तो सजिलो छैन।

नेपाल शिक्षक सङ्घका महासचिव ज्ञानेन्द्रबहादुर रावलले कानुनी व्यवस्थाको पालना गराउँदा आफूहरुको आपत्ति नहुने तर शिक्षकलाई त्रसित गराउने गरी ‘स्टन्ट’ गर्न नहुने तर्क गरे।

उनले शिक्षक र कर्मचारीका विषयमा कानुन वा नीति ल्याउँदा आफूहरुसँग परामर्श गरिनुपर्ने उल्लेख गरे । महमासचिव रावलले सङ्घका सदस्यहरु कुनै पनि दलको सदस्य नरहेको स्पष्ट गर्दै शिक्षकहरुको विचार र आस्था हुन सक्ने जनाए।

शिक्षक–कर्मचारीले राजनीतिक दलको सदस्यता लिई जिल्ला तहमा दलको कार्यकारिणी समितिका सदस्यसमेत भएको भन्ने गुनासोका शिक्षामन्त्री श्रेष्ठको गत वैशाख ४ गतकोे निर्णयबाट मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत दलीय राजनीतिक आबद्धता त्याग्न निर्देशन दिएको थियो ।

केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेको शिक्षक र कर्मचारीलाई कारबाही गर्न सबै जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको थियो।

शिक्षा ऐन २०२८ (नवौँ संशोधन), राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र शिक्षा नियमावली २०५९ ले शिक्षकलाई राजनीतिक दलमा आबद्धता हुन नपाइने व्यवस्था गरेको छ । सो सम्बन्धमा पाटन उच्च अदालतले २०७९ जेठ ४ मा उक्त कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न–गराउन सरकारका नाममा परमादेश जारी गरेको थियो।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ र दफा ५७, शिक्षा ऐन, २०२८ को दफा १६ (ङ) को उपदफा (५) को खण्ड (छ) मा रहेको कानुनी व्यवस्थाको स्पष्ट उल्लेखसहित जिल्ला तहमा पत्राचार भएपछि दलीय आबद्धतामा रहेका शिक्षकले राजीनामा दिन थालेका हुन्।

कालीगण्डकी करिडोरको लमाए खोलाको निर्माणाधीन पुल बाढीले बगायो

पर्वत, ६ असार : उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वतखण्डमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगाएको छ । पर्वतको फलेवास नगरपालिका–६ देविस्थान र फलेवास नगरपालिका–१० कुर्घा भएर बग्ने लमाए खोलामा निर्माणाधीन पुल गए रातिको बाढीले बगाएको हो ।

दुवैतर्फको संरचना निर्माण सकिएर स्ल्याब ढलानको तयारीमा रहेको पुलका सबै निर्माण सामग्री बगाएको पाल्पास्थित कालीगण्डकी करिडोर आयोजना कार्यालय जनाएको छ । उक्त पुलको स्ल्याब भोलि शुक्रबार ढलान गर्ने तयारी गरिएको थियो । बाढीले निर्माणस्थलमा रहेको सयौँ बोरा सिमेन्ट, बालुवा, रड, फर्मा, पाइप र अन्य टेवा सामग्री पूरै बगाएको निर्माण कम्पनी नयाँबाटो गौचन जेभीका प्रतिनिधि दिनेश थापा मगरले जानकारी दिनुभयो । बाढीबाट रु डेढ करोड बराबरको क्षति भएको छ ।

यो पुल दुई वर्षमा सम्पन्न हुने गरी २०७४ असार २८ गते सम्झौता भई २०७५ पुस १९ गतेदेखि निर्माण सुरु भएको थियो । अहिलेसम्म जम्मा ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ । विसं २०७६ असार मसान्तभित्र सम्पन्न हुनुपर्ने पुल गलत डिजाइन र निर्माण व्यवसायीको लापर्वाहीका कारण पूरा हुन नसकेको स्थानीयले बताउँदै आएका छन् । पाँच करोड ८९ लाख ८९ हजार दुई सय ७७ को लागतमा बन्ने पुल निर्माणको जिम्मा नयाँबाटो गौचन जेभी निर्माण कम्पनीले पाएको थियो । तर उक्त कम्पनीले सहायक ठेकेदार दीपज्योति निर्माण सेवालाई जिम्मा लगाएको थियो । पच्चीस मिटर लामो र ११ मिटर चौडाइको पुल निर्माण सम्पन्न नहँुदा कालीगण्डकी लोकमार्गमा सीधा यातायात सञ्चालन हुन सकेको छैन ।

यो पुल निर्माणका लागि चौथोपटक थप गरिएको म्याद आगामी असोज मसान्तसम्म रहेको छ । कालीगण्डकी लोकमार्ग आयोजना कार्यालयका इन्जिनियर सुरेन्द्र गौतमले आजभन्दा १५ दिनअगावै ढलान गर्नुपर्नेमा ढिलाइ गरेकाले निर्माण व्यवसायीले क्षति व्यहोर्नुपरेको बताउनुभयो । उहाँका अनुसार कार्यालयको टोलीले अनुगमन गरेपछि वास्तविक क्षतिबारे बताउन सकिने उहाँले बताउनुभयो ।

इन्जिनियर गौतमले ठेकेदारलाई एक÷दुई महिनाको जरिवाना गराएर भए पनि आगामी मङ्सिरभित्र पुल सम्पन्न गरिने बताउनुभयो । हालसम्म पुलको दुवैतर्फका पिल्लरको काम पूरा भएको छ । करिडोरअन्तर्गत स्याङ्जाको मिर्मिदेखि पर्वतको अर्मादीसम्म सडकको ट्रयाक खुलिसकेको छ भने पर्वतको सेतीवेणीदेखि लमाए खोलासम्मको सडक कालोपत्र भइसकेको छ । लमाए खोलामा पुल निर्माण सम्पन्न नहुँदा करिडोरमा सीधा यातायात सञ्चालन हुन नसकेको हो ।

कालीगण्डकी करिडोर आयोजनाका इन्जिनियरले सुरुमा डिजाइन गरेको पुल खोलाको दुवैतर्फको किनारमा ढुङ्गा माथिबाट बनाइने जानकारी दिइएको थियो । डिजाइनकै क्रममा स्थानीयले विरोध गरे पनि इन्जिनियरहरूले गलत डिजाइनलाई नै निरन्तरता दिँदै ठेक्का खुलाएका थिए । विसं ०७४ को अत्यतिर गरिएको प्रतिस्पर्धामा छानिएको नयाँ बाटो गौचन जेभीले दुई वर्षभित्रै पुल सम्पन्न गर्ने जानकारी दिएको थियो ।

विसं २०७५ पुसमा काम सुरु गरेका व्यवसायीले २०७६ जेठमा पुल निर्माण सकेर आयोजना हस्तान्तरण गर्ने तयारी थियो । दुवैतर्फका पिलर उठाएर स्ल्याब ढलान गर्ने समयमा पुनः आयोजना कार्यालयले पुलको निर्माण रोक्न भनेको थियो । त्यही बेलादेखि अलपत्र छाडिएको पुल गत मङ्सिरदेखि काम सुरु भएको थियो । यो पुलसँगै सुरु भएको मोदीखोलाको पुल दुई वर्षअघिनै सम्पन्न भएको थियो । पुल निर्माणमा ढिलाइ भएपछि यस क्षेत्रकमा सांसद, नगरप्रमुखलगायत स्थानीयवासीले दबाब दिँदै आएका थिए ।

‘लेसर ग्रे स्राइक’ जातको नयाँ पन्छी पहिलोपटक भक्तपुरमा देखियो

भक्तपुर, ६ असार : युरोप, दक्षिण तथा पश्चिम एसियाको रैथाने पन्छी ‘लेसर ग्रे स्राइक’ पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको छ ।

तापक्रम वृद्धिसँगै गर्मी भेगमा मात्रै हुने यो पन्छी असार लागेपछि भक्तपुरको मनोहरास्थित मिनि कोशी टप्पुमा भेटिएको चरा अन्वेषणकर्ता सञ्जय थाश्रेष्ठले राससलाई जानकारी दिनुभयो । उहाँले काठमाडौँ उपत्यकामा पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको बताउनुभयो ।

पन्छी पथ प्रदर्शक शङ्कर तिवारीले मनोहरामा ‘लेसर ग्रे स्राइक’ भेटेपछि तस्बिर कैद गर्दै काठमाडौँ उपत्यकासँगै नेपालको पहाडी भेगका लागि पहिलो अभिलेख गरिएको जानकारी दिनुभयो ।

नेपालमा पहिलोपटक गत वर्षको वैशाख अन्तिम साता राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक देवराज जोशीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी तटीय क्षेत्रमा यो चरा देख्नुभएको थियो । उक्त चरालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विज्ञहरूको टोलीले नेपालका लागि पहिलो भएको पुष्टि गरेको पन्छी अनुसन्धानकर्ता थाश्रेष्ठले जानकारी दिनुभयो ।

गौथलीझैँ देखिने, निधार र टाउकोमा कालो रङ तथा कालो पखेटाको मध्य भागमा सेतो रङ हुने र लामो दूरीसम्म उड्न सक्ने यो चरा भक्तपुरमा असार लागेपछि जोडीनै देखिएको उहाँले बताउनुभयो ।

युरोप र पश्चिम एसियाका पानी कम पर्ने स्थान मरुभूमि आसपासका भेग र भारतको राजस्थान, पाकिस्तान, अफगानिस्तानका सुक्खा भेगमा लेसर ग्रे पाइने उहाँले जानकारी दिनुभयो । यो सँगै मनोहरामा पन्छीका करिब तीन सय प्रजाति अभिलेख भएका छन् ।

एक महिनाअघि मनोहरामा ‘जल कुखुरा’ पनि देखिएको थियो । नेपालका अन्य भेगमा प्रायः नपाइने ‘ठूलो कस्दरी’ जलपन्छी २०७९ भदौमा, सोही वर्ष ७ भदौमा मनोहरामा सेतो पङ्खे फ्यालफ्याले र २०७८ असोज अन्तिम साता मनोहरा खोला किनारमा एक सय ९२ वर्षपछि पानी गौथली देखिएको अनुसन्धानकर्ता थाश्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

बागमती प्रदेशसभाः आजदेखि बजेटमा छलफल

बागमती, ६ असार : बागमती प्रदेशसभा बैठकमा आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदैछ ।

आज बिहान ११ बजे सुरु हुने बैठकमा आगामी आवको बजेट वक्तव्य तथा विभिन्न मन्त्रालयलाई विनियोजन भएको बजेटमा छलफल हुने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खडकाले बताउनुभयो । असार ८ गतेभित्र बजेट पारित गर्ने कार्यसूची छ ।

यही असार १ गते प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आवका लागि लागि रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो ।

बलान नदीमा अस्थायी तटबन्ध निर्माण गर्दै सुरक्षाकर्मी

गोलबजार, ६ असार : सिरहा र सप्तरी जिल्लाको सिमाना रहेको बलान नदीको पूर्वी किनाराको कटान रोक्न सुरक्षाकर्मीले अस्थायी तटबन्ध निर्माण थालेको छ ।

सप्तरी जिल्ला विपद् व्यवस्थान समितिको निर्णयअनुसार मनसुन प्रतिकार्य योजनाअन्तर्गत बलान विहुल गाउँपालिका– ४ बेल्हीस्थित निर्माणाधीन बाँधमा बाढीबाट कटान भएपछि सशस्त्र प्रहरी बल नेपाल ६ नम्बर गणबाट सशस्त्र प्रहरी निरीक्षक महेश कार्कीको नेतृत्वमा ३० जना सशस्त्र प्रहरी र नेपाली सेना बरख गण राजविराजबाट १५ जना नेपाली सेनाका जवान र नेपाल प्रहरी चौकी बेल्ही, सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बेल्हीका प्रहरीसहितको टोलीले तटबन्ध निर्माण थालेको हो ।

गत वर्ष जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले बलान नदी नियन्त्रण योजनाअन्तर्गत रु तीन करोड ९९ लाख १७ हजार आठ सय ८५ को लागतमा बाँध बनाएको थियो तर गत वर्षको अविरल वर्षाले बाँध भत्काएपछि जिल्ला विपद् व्यवस्थान समितिको अगुवाइमा तटबन्ध निर्माण थालिएको हो ।

सर्लाहीमा रोकेर राखेको लरीमा यात्रीबाहक बस ठोक्किँदा तीन जनाको मृत्यु

बरहथवा (सर्लाही) । बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिक–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रीबाहक बस ठोक्किँदा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै उद्धार गरी उनीहरुलाई हरिवनस्थित नमूना अस्पताल पुर्याएकामा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।

रुपन्देहीबाट जनकपुरतर्फ आइरहेको बस दुर्घटना भएको हो । बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

सहिद लालध्वज मोटरमार्गको स्तरोन्नति गरिँदै

दमौली (तनहुँ), ६ असार: शुक्लागण्डकी नगरपालिकादेखि व्यास नगरपालिकासम्म जोडिने शहीद लालध्वजमार्ग स्तरोन्नतिको काम सुरु भएको छ । शुक्लागण्डकी नगरपालिका–१ थप्रेकदेखि व्यास नगरपालिका–६ सिन्धुसम्म जोडिने उक्त मार्ग स्तरोन्नतिका लागि जिल्ला पूर्वाधार विकास कार्यालय बोलपत्र आह्वान गरेको छ । पूर्वाधार विकास कार्यालय रु १५ करोडको लागतमा उक्त मोटरमार्गको स्तरोन्नतिका लागि बुधबार सूचना प्रकाशित गरेको हो ।

चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट रु चार करोड बजेट विनियोजन गरी विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको हो । सडकका लागि प्रदेश भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र आर्थिक मामिला मन्त्रालयले रु १५ करोडको स्रोत सुनिश्चित गरेको छ । विसं २०५२ पुस २८ गते यो सडकको ‘ट्रयाक’ खुलेको थियो ।

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तरः सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहाल

काठमाडौँ, ६ असार : प्रतिनिधिसभाको आजको बैठकका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदका जिज्ञासाको जवाफ दिनुहुने भएको छ । प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ प्रधानमन्त्रीले दिनुहुने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ ।

आजको बैठकमा नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूचि छन् । विनियोजन विधेयकमा छलफलका क्रममा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले बुधबारदेखि दिन थाल्नुभएको हो ।

गण्डकी प्रदेशमा छ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण

गण्डकी, ६ असार : गण्डकी प्रदेश सरकारको लगानीमा बितेका छ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण भएका छन् भने दश वटा झोलुङ्गे पुल निर्माणाधीन छन् ।

प्रदेश पूर्वाधार निर्देशनालयका अनुसार चालु आर्थिक वर्षमा थप चार झोलुङ्गे पुलको बहुवर्षीय ठेक्काका लागि स्रोत सुनिश्चित गरिएको छ । प्रदेशका ११ वटै जिल्लामा गरी थप ५१ झोलुङ्गे पुल निर्माण सुरु हुने चरणमा छन् ।

प्रदेश सरकारको आगामी आव २०८१/०८२ को बजेटमा हिमाली र पहाडी क्षेत्रका पर्यटकीय पदमार्गबाट नजिक रहेका बस्तीसँग सहज पहुँच पु¥याउन नदी तथा खोलामा झोलुङ्गे पुल बनाउन विशेष जोड दिइने उल्लेख छ । निर्देशनालयका निमित्त निर्देशक महेन्द्र बानियाँले “स्थानीवासीको माग र आवश्यकता पहिचान गरेर झोलुङ्गे पुल निर्माण गर्ने गरिएको छ, झोलुङ्गे पुलले कृषिउपजलाई बजार ल्याउन पनि सहज भएको छ, गाउँका किसानको दैनिकी पनि फेरिएको छ”, भन्नुभयो ।

पोखरा महानगरपालिका–२५ हेम्जाका ६४ वर्षीय ऋषिराम पौडेलले आफूहरुका लागि याम्दी खोलामा हालै बनेको झोलुङ्गे पुल वरदान सावित भएको बताउनुभयो । याम्दीपारिको टिमिरेचौरमा बाँझो पल्टिएको सयौँ रोपनी जग्गामा झोलुङ्ले पुल बनेपछि किसानले खेतीबाली लगाउन सुरु गरेको उहाँले सुनाउनुभयो ।

“हाम्रा बाउबाजेको मुख्य कृषि उब्जनी गर्ने ठाउँ नै टिमिरेचौर थियो, त्यहीँ घरगोठ थिए, गाईबस्तुपालन हुन्थ्यो”, उहाँले भन्नुभयो, “पछि सबै हेम्जातिर सरेपछि त्यहाँको जग्गा बाँझै थियो, पुल बनेपछि अहिले फेरि हराभरा भएको छ ।” प्रदेश सरकारले यसै वर्ष त्यहाँ झोलुङ्गे पुल निर्माण गरेपछि विशेष गरी किसानलाई प्रत्यक्ष लाभ पुगेको छ । उहाँले पुल बनाउन जग्गादान गर्नुभएको थियो ।

खेतमा आवातजावतको समस्या, बढ्दो लागत, कृषि गर्ने जनशक्ति अभावजस्ता कारणले पछाडि परेको टिमिरेचौरमा अहिले चहलपहल देखिन्छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार निर्देशनालयमार्फत रु ९१ लाखको लगानीमा उक्त पुल बनेको हो । तल्लो टिमिरचौरमा पनि झोलुङ्गे पुल बनिसकेको छ । चिसाखोलामा प्रदेश सरकारका लगानीमा अर्को पुल निर्माणको तयारी थालिएको छ ।

चितवनको खैरहनीमा चैते धान उत्पादनमा वृद्धि

नारायणगढ (चितवन)- चितवनको खैरहनी नगरपालिका–११, सुन्डीका किसान राम बहादुर केसीले यस वर्ष आफ्नो खेतमा पूरै चैते धान लगाए । चैतै धानका लागि यस वर्ष मौसम उपयुक्त हुँदा धान उत्पादन वृद्घि भयो । केसी भन्छन्, ‘गत वर्ष २४ कट्ठामा लगाएको धान ४२ क्विन्टल भएको थियो, तर यसपालि बढेर ५० क्विन्टल हाराहारी पुग्यो ।’

धान उत्पादन बढेको देखेर उनी मख्ख छन् । धानको मूल्यमा एकरुपता नहुँदा भने उनलाई चिन्ता लागेको छ । उनले गतवर्ष धानको मूल्य क्विन्टलको रु एक हजार आठ सयबाट सुरु भएर तीन हजार पुगेकोमा यसवर्ष ३२ सयबाट सुरु भइ घट्दो क्रममा रहेको बताए ।

उनले भने, ‘चैते–५ जातको धान खानको लागि निकै मीठो हुन्छ । आफूलाई खाने राखेर सबै बेच्ने हो, एक वर्षपछि यसको भात मीठो हुन्छ ।’ उत्पादन भएका धान खरिदका लागि खेतमै व्यापारी आउने हुँदा बिक्रीमा समस्या नहुने उनको भनाइ छ ।

खैरहनी–१० का श्रीराम महतोले यस वर्ष झण्डै दुई बिघा खेतमा चैते–५ धान मेसिन प्रयोग गरेर लगाए । उनले भने, ‘मैले डेढ बिघा खेतमा मेसिन प्रयोग गरेर धान लगाएँ, बाँकी जग्गामा पुरानो तरिकाले लगाउँदा मेसिन प्रयोग गरेको स्थानमा बढी धान फलेको छ । रोग कीरा पनि लागेको छैन ।’उनले आफूले लगाएको दुई बिघा जमिनमा यसवर्ष प्रतिकट्ठामा दुई दशमलव पाँच क्विन्टलभन्दा बढीका दरले धान फलेकाले उत्पादनबाट सन्तुष्ट रहेको बताए ।

खैरहनी १२ का वडा सदस्यसमेत रहेका किसान श्याम रेग्मीले यस वर्ष उत्पादन भएको चैते धानले किसानलाई निकै उकासेको जानकारी दिए । उनले भने, ‘चैते धानको उत्पादनबाट हामी सन्तोषजनक छौँ ।’उनले चैतै धानको उत्पादनबाट यस वर्ष एक सय २२ बिघा खेत भएको वडा नम्बर १२ मा मात्रै रु १४ करोडको चैते धान बिक्री भएको जानकारी दिए । यस क्षेत्रमा प्रतिकट्ठा तीन क्विन्टलभन्दा बढी धान उत्पादन भएको उनको भनाइ छ ।

खैरहनी नगरपालिकाका कृषि विकास अधिकृत गौरव न्यौपानेले यस वर्ष समग्र पालिकाको चैतेधान उत्पादन वृद्धि भएको बताए । उनले यस पटक पालिकामा दुई हजार तीन सय ५१ हेक्टर क्षेत्रफलमा चैते धान लगाएको जानकारी दिए ।

यसवर्षको चैते धान ४० प्रतिशतले वृद्घि भएको कृषि शाखाले जनाएको छ । खैरहनी नगरपालिकाको खेतीयोग्य जमिन पाँच हजार आठ सय ८२ दशमलव चार हेक्टरमध्ये पाँच हजार आठ सय ९९ हेक्टरमा धान खेती गरिँदै आएको छ ।न्यौपानेका अनुसार तीन हजार पाँच सय ४८ हेक्टर क्षेत्रफलमा बर्खे धान लगाईन्छ । चैते धान काट्ने समयमा धानको दानामा लाग्ने डडुवा र ‘नेक ब्लाष्ट’ नामको रोग नदेखिएको कारण पनि यस वर्ष धान उत्पादन बढेको हो ।

यस वर्ष चैते धान १४ हजार दुई सय ७० दशमलव ५७ मेट्रिक टन उत्पादन हुने आँकलन गरिएको छ ।गत वर्ष यहाँ नौ हजार आठ सय ७६ मेट्रिक टन चैते धान उत्पादन भएको थियो ।
स वर्ष बढी मात्रामा चैते–५ जातको धान उत्पादन भएको छ । त्यसैगरी पिआर, बिजी–१४४२, हर्दिनाथजस्ता चैते धानहरु पनि लगाइएको अधिकृत न्यौपानेले जानकारी दिए

विश्वकपको सुपर आठमा दक्षिण अफ्रिकाद्वारा अमेरिका पराजित

काठमाडौँ, ६ असार : आइसिसी टी–ट्वान्टी विश्वकप २०२४ को पहिलो सुपर–आठमा दक्षिण अफ्रिकाले अमेरिकालाई पराजित गरेको छ । दक्षिण अफ्रिका अमेरिकालाई १८ रनले पराजित गर्दै विजयी भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार एक सय ९५ रनको लक्ष्य पछ्याएको अमेरिका निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ७६ रनमा समेटियो । अमेरिकाका एन्ड्रिस गौसले सर्वाधिक ८० रन बनाए । उनले ४७ बलमा ५ चौका र ५ छक्कासहित ८० रनका योगदान दिए ।

त्यस्तै हरमीत सिंहले २२ बलमा २ चौका र ३ छक्कासहित ३८ रन बनाए । स्टिभन टेलरले २४, नितेश कुमारले ८ तथा कोरी एन्डरसनले १२ रन जोडे । दक्षिण अफ्रिकाका कागिसो रबाडाले तीन विकेट लिए भने केशव महाराज, एनरिच नोर्किया र तबरेज शाम्सीले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ९४ रनको योगफल बनाएको थियो । क्विन्टन डि ककले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ४० बलमा ७ चौका र ५ छक्कासहित ७४ रन बनाएका हुन् ।

कप्तान एडेन माक्ररमले ३२ बलमा ४ चौका र १ छक्कासहित ४६ रन जोडेभने हेनरिक क्लासेन २२ बलमा ३ छक्कासहित ३६ रनमा बनाए । ट्रिस्टन स्टब्सले १६ बलमा २ चौकासहित २० रन बनाए । अमेरिकाका हरमीत सिंह र सौरभ नेत्रवालकरले समान दुई दुई विकेट लिए ।

ठूलो ढुङ्गासहितको पहिरो खसेपछि बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ, ६ असार : पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइका अनुसार खरखरेभिरमा सडक माथिबाट एउटा ठूलो ढुङ्गासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोही बाटोमा पर्ने अक्टोसप झरनामा पानी बढेपछि आवागमन रोकिएको छ ।

हरेक वर्ष वर्षायाममा यो सडक पहिरोले अवरुद्ध हुने गरेको छ । बाढी पहिरोको सबैभन्दा बढी जोखिम रहेको स्थान खरखरेभिर नै हो । यहाँ पहिरो नियन्त्रणका निम्ति सङ्घीय सरकारले रु १६ करोड ४८ लाखको लागतमा आयोजना सञ्चालन गरेको भए पनि त्यो पूरा नहुँदा समस्या भएको छ ।

युक्रेनले छिट्टै इयु सँग सुरक्षा सम्झौतामा हस्ताक्षर गर्ने

युक्रेनले चाँडै नै युरोपेली सङ्घ (इयु) सँग सुरक्षा सम्झौतामा हस्ताक्षर गर्ने बुधबार बताएको छ । सम्झौताहरूको शृङ्खलामा पछिल्लो सम्झौताले युक्रेनले आगामी वर्षमा रुससँगको लडाइँमा सैन्य सहयोग सुनिश्चित हुने आशा गरेको छ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले गत साता संयुक्त राज्य अमेरिकासँग आफ्नो युद्धग्रस्त मुलुकको नाटो सदस्यताका लागि ‘सेतु’ का रूपमा सहमति भएको ‘अभूतपूर्व’ १० वर्षको सुरक्षा सम्झौताको प्रशंसा गर्नुभयो ।

युक्रेनी सञ्चारमाध्यमका अनुसार किएभले इयुका सदस्य मुलुकसहित १७ मुलुकसँग सुरक्षा सम्झौतामा हस्ताक्षर गरेको छ र अन्य १० मुलुकसँग सम्झौतामा वार्ता गर्ने प्रक्रियामा छ ।
“युक्रेनी र इयुका वार्ता टोलीहरूले सुरक्षा सम्झौताको पाठलाई अन्तिम रूप दिएका छन् र निकट भविष्यमा यसमा हस्ताक्षर गर्ने सहमति व्यक्त गरेका छन्”, युक्रेनी राष्ट्रपतिले एक विज्ञप्तिमा भन्नुभयो । सुरक्षा सम्झौता युक्रेनका लागि खतरनाक समयमा भएको छ । युक्रेनी सेना रुसी आक्रमणविरुद्ध मुलुकको पूर्व र दक्षिणमा सीमामा पकड कायम गर्नका लागि सङ्घर्ष गरिरहेको छ र उसको हतियार कमजोर भएको छ ।