`

पार्टीसँग ‘जादु’ नम्बर छ, सरकार पूरै अवधि टिक्छ : अध्यक्ष दाहाल

काठमाडौँ, ८ असारः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार संसद्को पूरा अवधिसम्म टिक्ने भएकाले कुनै दुविधा नराख्न आग्रह गर्नुभएको छ । उहाँले पार्टीको इतिहास, आन्दोलनको योगदान, आवश्यकता र संसद्को अङ्कगणितका आधारमा समेत यही सरकारले पूर्ण कार्यकाल काम गर्ने बताउनुभयो ।

तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको सातौँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले संसद्मा माओवादी केन्द्रको थोरै सङ्ख्या छ भनेर चिन्ता नगर्न र दुविधा नलिन अनुरोध गर्नुभयो । “सरकार कति दिनको होला, चल्छ कि चल्दैन, केही दिनपछि सरकार जाँदैछ रे भनेर दुविधा उत्पन्न गराउने कोसिस भएको देख्छु तर हामीलाई हटाउन सजिलो छैन, संसद्मा हाम्रो जादुवाला नम्बर छ, त्यो जादुले अनेक गरेर मिलाइहाल्छ”, उहाँले भन्नुभयो ।

राजनीतिक दलहरूसँग भएका समझदारीको पूर्ण पालनाप्रति आफूहरू जहिल्यै पनि इमान्दार रहेको जनाउँदै उहाँले भ्रष्टाचारविरुद्ध, सामाजिक न्याय र समृद्धिका लागि काम गर्न आफू दत्तचित्त रहेको बताउनुभयो । माओवादी केन्द्रले नयाँ विचारका लागि महाधिवेशनतर्फ जाने तयारी गरिरहेको जानकारी दिँदै अध्यक्ष दाहालले केन्द्रीय समितिको आगामी बैठकबाट महाधिवेशनको मिति तोकिने बताउनुभयो । “महाधिवेशनमा नयाँ विचार संश्लेषण गर्छौँ, नयाँ अभियान र विचारसहित पार्टीलाई अघि बढाउँछौँ । गणतन्त्रलाई सुदृढ गरी मुलुकलाई सुशासन र समृद्धिको नयाँ युगतिर लैजान महाधिवेशनले थप दिशानिर्देश गर्नेछ”, उहाँले भन्नुभयो ।

देशमा रहेको विविधताका आधारमा नयाँ राष्ट्रिय एकताका लागि आत्मनिर्णयको अधिकारसहितको विशेष व्यवस्था गर्न विगतमा पार्टीले भूमिका बारे उल्लेख गर्दै अध्यक्ष दाहालले सरकार, संसद् र सडकको मोर्चाबाट पनि फेरि एकपटक पार्टीलाई नयाँ उचाइमा लैजाने बताउनुभयो । त्यसका लागि पार्टीका मोर्चालाई बलियो बनाउने र अभियानको रूपमा जनतासँग जोड्न सकरात्मक, रचनात्मक र ऐतिहासिक सङ्कल्प सुरु गरिसकेको छु उहाँले भन्नुभयो ।

अध्यक्ष दाहालले काठमाडौँ उपत्यकाका नेवार समुदाय र आसपासका तामाङ समुदायबाट भएको त्याग, तपस्या र बलिदानले मुलुकमा गणतन्त्र सम्भव भएको स्पष्ट पार्दै संविधान जारी भएपछि निष्क्रिय रहेका पार्टीका जातीय मुक्ति मोर्चा पुनः सक्रिय हुन थालेका बताउनुभयो । उत्पीडित जाति तथा क्षेत्रलाई आन्दोनलमा केन्द्रित गरी युद्धलाई अघि बढाइएको स्मरण गर्दै उहाँले उनीहरुको माग र मुद्दालाई जनयुद्धको अभिन्न अङ्ग बनाएर गोलबन्द गरेको उल्लेख गर्नुभयो ।

उपाध्यक्ष अग्निप्रसाद सापकोटाले राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याइरहेका तामाङ समुदायले जनयुद्धमा बलिदानीपूर्ण योगदान गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “माओवादी चिल हो, कुुखुराजस्तो आँगनबाट उडेर दलानमा मात्र पुग्ने होइन, समयको माग र आवश्यकतानुसार चिलले जस्तै बेगमा जान सक्छ ।”

बृहत् वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनःगठनका लागि विचारको खोजी र मन्थन गरिरहेको जनाउँदै उपाध्यक्ष सापकोटाले जस्तो राजनीति त्यस्तै कार्यदिशा हुने भएकाले पार्टीले स्वतन्त्रता, न्याय र समृद्धिको आधारका रूपमा समाजवादको मार्गलाई अङ्गीकार गरी अगाडि बढिरहेको बताउनुभयो ।

उपमहासचिव तथा अर्थमन्त्री वर्षमान पुनले नेपाल विविधतायुक्त देश भएकाले राजनीतिलगायत राज्यका सबै संरचनामा जातीय, भाषिक र सांस्कृतिक विविधता देखिनुपर्ने आवश्यकता औँल्याउनुभयो । “कुनै पनि राजनीतिक दलले देशको इतिहास र गौरवलाई सम्मान गर्नुपर्छ । पार्टीको विगतको युद्धले उत्पीडित जातजातिलाई जागरुक र गोलबन्द बनाएको छ । जनवादी क्रान्तिले उठाएका मुद्दालाई आत्मसात् गर्दै थप उपलब्धिका लागि सङ्घर्ष गर्नुपर्छ”, उहाँले भन्नुभयो । प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्ने पक्षलाई नजरअन्दाज गर्दै आलोचना र गुनासो मात्र गर्न हुँदैन भन्दै पुनले पार्टीले उठाएका बाँकी मुद्दालाई वैज्ञानिक र वस्तुगत ढङ्गले पूरा गर्नेतर्फ सबैको जोडबल आवश्यक रहेको बताउनुभयो ।

प्रदेश र स्थानीय तहमा निर्वाचित पदाधिकारीले पार्टीको उद्देश्य र जिम्मेवारीलाई पूरा गर्ने सन्दर्भमा पछि परेको वर्ग समुदाय र उत्पीडितको पक्षमा कानुन निर्माणलाई तीव्रता दिनुपर्ने आवश्यकता औँल्याउँदै उपमहासचिव पुनले धनी र गरिबबीचको खाडल घटाउने, पुराना ज्ञान र सीपलाई वैज्ञानिक र आधुनिकतासँग जोडेर लैजान सक्नु नै समाजवाद भएको स्पष्ट पार्नुभयो ।

सांसद मीना तामाङले जनयुद्धका समयमा पार्टीले उठाएका मुद्दा र गरेको दिशानिर्देशलाई कार्यान्वयन गर्न सकिए वर्गीय र जातीय मुक्ति सम्भव रहेको बताउनुभयो ।

माओवादी केन्द्रको भातृ सङ्गठन तामाङ मुक्ति मोर्चा नेपालले ‘पूर्ण ताम्सालिङ प्रदेश स्थापना गराँै, समाजवादी क्रान्तिको बाटोमा अघि बढाँै’ भन्ने मूल नाराका साथ दुई दिवसीय सातौँ राष्ट्रिय महाधिवेशन गरिरहेको छ । महाधिवेशन आयोजक समितिका अध्यक्ष एवं सांसद सूर्यमान दोङले मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका आन्दोनलमा तामाङ जातिले गरेको योगदानको राज्यले सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसअवसरमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री दाहाल, उपाध्यक्ष सापकोटा, उपमहासचिव एवं अर्थमन्त्री वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्तीलगायतलाई सम्मान गरिएको थियो । नेपालको कुल जनसङ्ख्याको छ प्रतिशत रहेका तामाङ समुदायको काठमाडाँै उपत्यका आसपास र बागमती प्रदेशमा सघन बसोबास रहेको छ ।

उपप्रधानमन्त्री महासेठद्वारा निर्माणाधीन मुग्लिन–पोखरा सडक अनुगमन

दमौली (तनहुँ), ८ असार : उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाको आज अनुगमन गर्नुभएको छ । महासेठले मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) अन्तर्गत तनहुँको आँबुखैरेनीदेखि बन्दीपुर गाउँपालिका–१ डुम्रेसम्म अनुगमन गर्नुभएको हो ।

त्यस क्रममा महासेठले आयोजनाको प्रगतिबारे चासो राख्दै बाँकी कामलाई तीव्रता दिन निर्देशन दिनुभएको छ । उहाँले पूर्वी खण्डको म्याद सकिएर पुनः थप भएकाले थपिएको म्यादभित्रै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई सुझाव दिनुभयो ।

मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पौडेलले आँबुखैरेनीदेखि जामुनेसम्म ६२ प्रतिशत प्रगति भएको जानकारी दिनुभयो । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । आँबुखैरेनीदेखि जामुनेसम्म २२ दशमलव पाँच किलोमिटर चार लेन र सात दशमलव पाँच किलोमिटर दुई लेनमा कालोपत्र सकिएको छ ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

भरतपुर विमानस्थल विस्तार चाँडै गरिने

चितवन । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा विजयी भएपछि भरतपुर महानगरको परिषद्को पहिलो बैठकमा भरतपुर विमानस्थल विस्तार तथा स्तरोन्नतिको पहल गर्ने निर्णय गरिएको थियो । यो काम गर्न त्यति सहज थिएन । विमानस्थल विस्तार गर्न नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरण गर्नुपर्ने थियो । सहजै काम हुन्छ भन्नेमा विश्वास थिएन । तर निरन्तर प्रयास गरिरहे सम्भव हुन्छ भन्ने उदाहरणको रुपमा भरतपुर विमानस्थल विस्तार रहेको छ ।

महानगरपालिकाका धेरै बैठक विमानस्थल विस्तार र स्तरोन्नतिका लागि गरिएका छन् । विमानस्थलको विस्तारका लागि महानगरपालिकाको कार्यपालिकाको निर्णय र अनुरोध पछि पहिलो २०७५ माघ २० गते पहिलो बैठक भरतपुर विमानस्थलमा बस्यो ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित महानगर प्रमुख रेनु दाहाललगायतको उपस्थितिमा विमानस्थलको कार्यालयमा बसेको उक्त बैठकले विमानस्थल विस्तार गर्न प्रयास गर्ने निर्णय गरेको थियो ।

प्रमुख दाहालको भनाइमा त्यसपछिका सबै पर्यटन मन्त्रीहरुसँग पटकपटक विमानस्थल विस्तारका लागि छलफल गरिँदै आएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका पालामा उनकै कार्यकक्षमा पर्यटनमन्त्री, रक्षामन्त्रीसहितको उपस्थितिमा बैठक बसेको थियो । यसका अतिरिक्त प्रधानमन्त्री, पर्यटनमन्त्री, रक्षामन्त्रीलगायतका उपस्थितिमा पटकपटक बैठक बसेका थिए ।

विसं २०७६ भदौ २८ गते प्रमुख दाहालको अध्यक्षतामा भरतपुर महानगरपालिकाको कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (त्यतिखेर पूर्वप्रधानमन्त्री), तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराई, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायतको उपस्थिति थियो ।

उक्त बैठकले विमानस्थलको स्तरोन्नतिका लागि नजिकै रहेको नेपाली सेनाको गणलाई स्थानान्तरण गर्न वैकल्पिक स्थानको खोजी गर्ने निर्णय गरेको थियो । जग्गा उपलब्ध गराउने जिम्मेवारी महानगरपालिकालाई दिएको थियो ।

यस विषयमा प्रतिवेदन तयार गर्न पर्यटन मन्त्रालयले सह–सचिव वुद्धिसागर लामिछानेको संयोजकत्वमा समिति बनाएको थियो । लामो प्रयासपछि २०८० माघ १८ गतेको मन्त्रिपरिषद्को वैठकले विमानस्थल विस्तार गर्ने निर्णय गरेको हो ।

नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा पनि समावेश गरेपछि अब भरतपुर विमानस्थल विस्तार हुने निश्चित भएको छ । सात वर्षपछिको निरन्तर प्रयासले विमानस्थल स्तरोन्नति र विस्तार हुने निश्चित बनेको प्रमुख दाहाल बताउँछिन् ।

भरतपुर विमानस्थल विस्तार र स्तरोन्नतिका लागि चार अर्ब ५० करोडभन्दा बढी लगानी हुँदैछ । बन्दै गरेको टर्मिनल भवन सम्पन्न गर्न दुई अर्बभन्दा बढी खर्च हुँदैछ । नेपाली सेनाको घोडा प्रजनन केन्द्र स्थानान्तरण, धावन मार्ग विस्तार लगायतमा अरु रु दुई अर्ब ५० करोडभन्दा बढी खर्च गरेर सुविधासम्पन्न विमानस्थल बनाइँदै छ । प्रमुख दाहालले भनिन्, “अहिले विमानस्थल विस्तार अति आवश्यक छ, धावन मार्ग छोटो हुँदा निकै जहाज उडान गर्न जोखिमपूर्ण छ ।”

चितवन र छिमेकी जिल्लाका लागि यो सधैँका लागि महत्वपूर्ण आयोजना भएको उनी बताउँछिन् । बिहीबार श्री एयरले परीक्षण उडान गर्दै गर्दा यहाँ उपस्थित उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सार्वजनिक रुपमा नै प्रमुख दाहालको निरन्तर प्रयासको प्रशंसा गरे ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आगामी साउनमा विमानस्थल विस्तारका लागि बोलपत्र आह्वान हुने जानकारी दिए । ढिलोमा सन् २०२५ जनवरीसम्ममा विस्तारको काम थालिसक्ने उनी बताउँछन् । विस्तारपछि भरतपुरमा रात्रिकालीन उडान सुरु हुने उल्लेख गर्दै चौबिसैँ घण्टा जहाज अवतरण गर्न सकिने बताए ।

उनले विमानस्थलको स्तरोन्नतिपछि बुद्ध, यती लगायतका एयरलाइन्सका एटिआर–७२ जहाजहरु पनि सहजै अवतरण गर्न सकिने बताए । हाल एक हजार दुई सय मिटर लामो धावनमार्ग रहेको भरतपुर विमानस्थललाई नेपाली सेनाको घोडा प्रजनन केन्द्रसम्म विस्तार गरेर एक हजार आठ सय मिटर लामो बनाउने लक्ष्य छ ।

झापामा मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा एक युवकको मृत्यु

बनियानी (झापा), ८ असार : झापाको मेचीनगर नगरपालिका–१५ मा आज बिहान मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा एक युवकको मृत्यु भएको छ । अन्य दुईजना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा मेचीनगर–१० का २२ वर्षीय राजीव दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । मेचीनगर–१५ लालझोडास्थित भित्री सडक खण्डमा भद्रपुरबाट धुलाबारीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प ४१८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा उक्त दुर्घटना भएको हो ।

मोटरसाइलकमा तीन जना सवार थिए । दुर्घटनामा घाइते मेचीनगर–१० का २१ वर्षीय अभिषेक राई र सोही स्थानका २१ वर्षीय विवेक दनुवार घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जडीबुटीलाई औषधिजन्यमा प्रोत्साहन गर्न मेला

काठमाडौँ, ८ असार : आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले जडीबुटीलाई औषधिजन्य पदार्थको प्रयोग गर्न अभिप्रेरित गर्ने उद्देश्यले आज ‘औषधिजन्य जडीबुटी मेला’ आयोजना गरेको छ ।

चिकित्सालयका प्रमुख डा पुनम नेपालले औषधिजन्य जडीबुटीको ज्ञानलाई जानकारी दिने उद्देश्यले नेपाल प्रज्ञा–प्रतिष्ठानमा मेलाको आयोजना गरिएको बताउनुभयो । मेलामा नेपालको हिमाल, पहाड र तराईमा उब्जेका बहुमूल्य जडीबुटी प्रदर्शनी, आयुर्वेद तथा हाम्रा परम्परामा रहेका विभिन्न जडीबुटीबाट मिश्रित पथ्य आहार एवं खानपानको जानकारी गराइने छ ।

चिकित्सालयका प्रमुख डा नेपालले मेलामा जडीबुटीको पहिचान र उपयोगसम्बन्धी जानकारी, रैथाने एवम् लोपोन्मुख बहुमूल्य जडीबुटीको जानकारी, स्वास्थ्य प्रवद्र्धन तथा उपचारका लागि स्थानीय जडीबुटी पहिचान, उपयोग र उत्पादनको जानकारी दिइने बताउनुभयो । यसैगरी, प्राविधिक सत्रमा सम्बन्धित विषयविज्ञहरुद्वारा औषधिजन्य जडीबुटी र पोषण, जलवायु परिवर्तन, पर्यावरणीय स्वास्थ्य, जडीबुटीहरुको दिगो संरक्षणसम्बन्धी वैज्ञानिक सत्रहरु पनि राखिएको छ ।

मेलामा औषधिजन्य जडीबुटीको व्यावसायिकखेती, वैज्ञानिक पद्धतिबाट सङ्कलन, दिगो संरक्षणमा प्रयास एवम् किसानबाट उत्पादनकर्तासम्म स्थिति, सम्भाव्यता र चुनौतीका बारेमा पनि छलफल हुनेछ । मेलाबाट औषधिको प्रयोग भए पनि लोपोन्मुख रहेका जडीबुटीको संरक्षण गर्न सहयोग मिल्नेछ । चिकित्सालयका प्रमुख डा नेपालले नेपालमा करिब पाँच हजार छसय जडीबुटीबाट औषधि उत्पादन हुने गरेका अध्ययनले देखाएको बताउनुभयो ।

पाकिस्तानद्वारा अर्थतन्त्र, नवप्रवर्तनलाई बढावा दिन आर्थिक रूपान्तरण एकाइ स्थापना

पाकिस्तानको योजना, विकास र विशेष पहल मन्त्रालयले अर्थतन्त्र, उत्पादकत्व र नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने सरकारको प्रयासको हिस्साका रूपमा राष्ट्रिय आर्थिक रूपान्तरण एकाइ (नेटु) स्थापना गरेको शुक्रबार घोषणा गरेको छ ।

नयाँ पहलले पाकिस्तानमा व्यापक आर्थिक सुधार र दिगो विकासलाई अगाडि बढाउने लक्ष्य राखेको छ । यसले आर्थिक वृद्धिलाई सहजीकरण गर्ने, उत्पादकत्व बढाउने र नवप्रवर्तनलाई बढावा दिने रणनीतिक निकायका रूपमा सेवा गरिरहेको मन्त्रालयले एक विज्ञप्तिमा बताएको छ ।

नेटुले सन् २०३५ सम्ममा पाकिस्तानको १० खर्ब डलरको अर्थतन्त्र बन्ने दीर्घकालीन आर्थिक लक्ष्यअनुरूप प्रमाणमा आधारित नीति र पहलहरू कार्यान्वयन गर्न सरकारी निकायहरू, निजी क्षेत्रका संस्थाहरू, शिक्षाविद्हरू र अन्तर्राष्ट्रिय साझेदारहरू लगायत विभिन्न सरोकारवालाहरूसँग नजिकको सहकार्यमा काम गर्नेछ ।

नयाँ पहलअन्तर्गत आर्थिक विविधीकरण, नवप्रवर्तन र प्रविधि, मानव पूँजी विकास, दिगो विकास, सार्वजनिक–निजी साझेदारी र आधुनिक पूर्वाधारलगायतका प्रमुख क्षेत्रलाई प्राथमिकतामा राखिने मन्त्रालयले जनाएको छ ।

“आर्थिक चुनौतीहरू सम्बोधन गर्न, समावेशी वृद्धिलाई पुनरुत्थान र प्रवर्द्धन गर्न र हाम्रो विकास रणनीतिहरू दिगो र अग्रगामी सोचाइ सुनिश्चित गर्न नेटुले महत्त्वपूर्ण भूमिका खेल्नेछ । नेटुले उत्कृष्ट पाकिस्तानी प्रतिभाहरूलाई आकर्षित गर्नेछ र राष्ट्र निर्माणमा आफ्नो भूमिका खेल्न सक्षम बनाउने छ” मन्त्री आसान इकबालले भन्नुभयो ।

श्रीलङ्काले इको टुरिजम, सिमसार संरक्षण प्रवर्द्धधन गर्ने

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले सिमसारको संरक्षणमार्फत इको–टुरिजमलाई अगाडि बढाउन श्रीलङ्काको प्रतिबद्धतालाई जोड दिनुभएको छ ।

राष्ट्रपतिले जलवायु परिवर्तन र वातावरणीय चुनौतीहरू विरुद्ध लड्न बाह्य कोष पर्खनुको व्यर्थतालाई जोड दिँदै उष्णकटिबन्धीय देशहरूलाई वातावरणीय परियोजनाहरूसँग सम्बन्धित आत्मनिर्भर वित्तीय मोडेलहरू खोज्न आह्वान गरेको उहाँको कार्यालयले जनाएको छ ।

उहाँले डब्ल्यूएलआई एशिया ओशिनिया सम्मेलन सन् २०२४ को समापन समारोहमा उक्त टिप्पणी गर्नुभएको हो ।

सिमसारको दिगो व्यवस्थापनका लागि सहकार्यलाई बढावा दिन कोलम्बोमा जुन १७ देखि जुन २१ सम्म ‘पर्यावरणमैत्री पर्यटनका लागि सिमसार र सिमसार केन्द्रहरू’ विषय रहेको सम्मेलन आयोजना गरिएको थियो ।

पोखरामा इन्ड्राइभलगायतका ‘राइड सेयरिङ’ सञ्चालनमा रोक

गण्डकी । कास्कीको पोखरामा अनधिकृत रुपमा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने कार्य तत्कालका लागि बन्द गरिएको छ । यातायात व्यवस्था कार्यालय कास्कीले उक्त एपमार्फत यात्रु ओसारपसार गर्ने कार्य तुरुन्त बन्द गर्न शुक्रबार सार्वजनिक सूचना जारी गरेको हो ।

सूचनाको अटेर गरी यात्रु बोक्ने कार्य जारी राखेमा यसमा संलग्नलाई कारबाही गरिने सूचनामा उल्लेख छ । यातायात कार्यालय पोखराका प्रमुख डिल्लीराम रिजालले कानुनविपरीत निजी सवारीसाधनले ‘राइड सेयरिङ’ सेवा सञ्चालन गरिरहेको पाइएकाले त्यसलाई रोक लगाइएको बताए ।

अनधिकृत रुपमा एपको प्रयोग गरी यात्रु बोकेमा सवारी तथा यातायात व्यवस्था ऐनअनुसार कारबाही हुन्छ,’ उनले भने, ‘प्रकाशित सूचना अनुसार काम भए नभएको बारेमा प्रहरीको सहयोगमा कडाइका साथ अनुगमन गर्छौं ।’

गण्डकी प्रदेशमा ‘राइड सेयरिङ’ एपमार्फत हुने यातायात सेवालाई वैधानिक बनाउन सवारी तथा यातायात व्यवस्था नियमावली–२०८० मा व्यवस्था भए पनि नियमनका लागि कार्यविधि भने बनेको छैन । नियमावलीमा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधनले यात्रु बीमासहित तोकिएको प्रक्रिया पूरा गरेर यात्रु बोक्न पाउने व्यवस्था छ ।

‘नियमवली बनेपछि मापदण्ड नबन्दा गण्डकी प्रदेशमा राइड सेयरिङ सेवालाई नियमन गर्न सकिएको छैन,’ कार्यालय प्रमुख रिजालले भने, ‘अहिले यातायात कार्यालयको अनुमतिसमेत नलिई आफूखुसी एपमार्फत यात्रु ओसारपसार गर्ने कार्य भइरहेको छ, आफैं भाडा तोकेर सञ्चालन भएको छ । यातायात कार्यालयले समायोजन गर्ने गरेको भाडाबमोजिम छ कि छैन भनेर पनि निजी सवारीसाधनले हेर्ने गरेका छैनन् । गण्डकी प्रदेशमा राइड सेयरिङ सेवा गैरकानुनी छ ।’

मापदण्ड र कार्यविधि बनेपछि मात्र निजी सवारीसाधन ‘राइड सेयरिङ’मा दर्ता हुन पाउने छन् । मोबाइल एपको प्रयोगमार्फत यातायात सेवा लिन सकिने ‘राइड सेयरिङ’हरु पोखरामा यात्रु भने बढ्दै छन् । यहाँ यी सवारीसाधन लोकप्रिय बन्दै गएका भए पनि नियमन गर्न र वैधानिक बनाउन भने सकिएको छैन । नेपालमा पठाओ, टुटल, सहारा, इनड्राइभ, सजिलो, ट्याक्सिमान्डु, क्याब ट्याक्सीलगायत राइड सेयरिङ एप सञ्चालनमा छन् ।

गण्डकी प्रदेशको राजधानी पोखरामा कम्पनी रजिष्ट्रारको कार्यालय तथा उद्योग विभागमा दर्ता भएको इनड्राइभलगायत ‘राइड सेयरिङ’ चलिरहेको छ । यातायातसम्बन्धी कानुनअनुसार यसले गण्डकीमा हालसम्म वैधानिकता पाएको छैन । ‘राइड सेयरिङ’ सेवाका लागि दुई पाङ्ग्रे सवारीसाधन दर्ता गर्न २५ हजार र नवीकरण शुल्क प्रतिवर्ष १२ हजार पाँच सय रुपैयाँ तोकिएको छ । चार पाङ्ग्रे सवारी साधनको दर्ता तथा अनुमति शुल्क ५० हजार र नवीकरण शुल्क २५ हजार रुपैयाँ कायम गरिएको छ ।

दुई पाङ्ग्रे र चार पाङ्ग्रेको दर्ता अनुमतिका लागि ७० हजार र वार्षिक नवीकरण ३५ हजार रुपैयाँ तोकिएको छ । सार्वजनिक यातायात क्षेत्रमा यात्रु ठगिने र दुःख पाउने अवस्थाको अन्त्यका लागि ‘राइड सेयरिङ’लाई वैधानिकता दिनुपर्ने माग हुँदै आएकाले राइड सेयरिङ एपहरुको नियन्त्रण र व्यवस्थापन जरुरी रहेको बताइएको छ ।

यातायात व्यवसायी महासंघ गण्डकी प्रदेशका संयोजक केदार पौडेलले राइड सेयरिङ सेवालाई कानुनको दायरामा ल्याउनुपर्ने बताए । ‘जसलाई मन लाग्यो उसैले एप राखेर यात्रु बोक्न पाइँदैन, सरकारले नियमन गर्नुपर्छ,’ उनले भने, ‘निजी सवारीसाधनले आफूखुसी यात्रु बोकेपछि सार्वजनिक यातायात किन चाहियो ?’

अमेरिकामा ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’

काठमाडौँ, ८ असार : अमेरिकाको मेरिल्याण्डमा ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को सातौँ संस्करण सुरू भएको छ ।

नवीन सुब्बाले निर्देशन गर्नुभएको चलचित्र ‘गाउँ आएको बाटो’ को अमेरिका प्रदर्शनी (युएसए प्रिमियर) सँगै सुरू भएको उक्त महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका चलचित्र, वृत्तचित्र, छोटा र सजीवता (एनिमेसन) विधाका गरी ३५ चलचित्र प्रदर्शन गरिने महोत्सव निर्देशक पूर्णसिंह बराइलीले जानकारी दिनुभयो ।

“नेपाल र अमेरिकाको कला, संस्कृति, परम्परा, ज्ञानलाई चलचित्रमार्फत जोड्ने उद्देश्यले महोत्सव आयोजना गरेका हौँ । यसपटकको संस्करणमा हामीले छनोट गरेका चलचित्रले नेपालको आम जनजीवन र प्रवास नियतिलाई प्रष्ट्याउने छ”, उहाँले भन्नुभयो ।

यही असार ९ गतेसम्म चल्ने उक्त महोत्सवमा प्रदर्शन गरिएकामध्येबाट उत्कृष्ट चलचित्रलाई विभिन्न अवार्ड प्रदान गरिने छ । महोत्सवको उद्घाटन समारोहमा निर्देशक सुब्बासँगै सहभागी हुनुभएका अभिनेता दयाहाङ राईले यस्ता गतिविधिले नेपाली चलचित्रको प्रवद्र्धनमा मद्दत पुग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अमेरिकामा बस्ने नेपालीको सक्रियतामा आयोजना हुने महोत्सवले नेपाली चलचित्रका दर्शक बढाउने छन् । यसले नेपाली मात्र नभई विदेशी दर्शकलाई पनि आकर्षित गरेको छ । साथै, यस्ता महोत्सवमा देखाउन योग्य चलचित्र गाउँ आएको बाटो लिएर आउन पाउँदा झनै हर्षित छु ।” महोत्सवलाई नेपाल अमेरिका फिल्म सोसाइटीले आयोजना गरेको हो ।

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

मुग्लिन (चितवन), ८ असार : पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार उक्त सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा गए राति १ः३० बजेदेखि सडक दुइतर्फी अवरुद्ध भएको थियो । पहिरो पञ्छाएसँगै अवरुद्ध सडक आज बिहान ५ः३० बजेदेखि दुइतर्फी सञ्चालनमा आएको हो । सडक अवरुद्ध हुँदा रोकिएका सबै सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

आजको मौसम : पाँचवटा प्रदेशमा मनसुनको प्रभाव

कठमाडौँ, ८ असार ः मुलकका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । कोशी प्रदेशबाट भित्रिएको मनसुन मधेस, बागमती र गण्डकी प्रदेशको अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको छ ।

जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य प्रदेशमा भने अझै पश्चिमी वायु र स्थानीय वायुको प्रभाव न्यून छ । मनसुन र पश्चिमी वायुको प्रभावले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा शनिबार बिहान हल्कादेखि पूर्णतया बदली छ भने बाँङ्की भूभागमा आंशिक बदली छ।

महाशाखाका अनुसार अहिले गण्डकी प्रदेशका केही भूभाग तथा बागमती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

शनिबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने पनि महाशाखाले जनाएको छ।

दिउँसो बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही, कोशी र मधेश प्रदेशको थोरै तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।

बागलुङमा ठूला राजमार्गसँग जोडिएका ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै

गलकोट (बागलुङ), ८ असार : बागलुङमा ठूला राजमार्गसँग जोडिएका ग्रामीण सडक कालोपत्र भइसक्दा पनि जिल्लाका मुख्य सडक भने कालोपत्र हुनसकेका छैनन् । यहाँका तीन मुख्य सडक वर्षौंदेखि कालोपत्र हुन सकेका छैनन् ।

विसं २०७२ मा कालोपत्र गर्न ठेक्का सम्झौता भएको मध्यपहाडी पुष्पलाल राजमार्ग अझै धुलाम्य अवस्थामा छ । गण्डकी प्रदेश सरकार अन्तरगतका चार सडक सम्पन्नको चरणमा छन् । एउटा सडक अझै अधुरै छ । गलकोटको हटियादेखि ताराखोला जोड्ने सडक, बागलुङ नगरपालिका–४ कुडुलेदेखि मालिका हुँदै पञ्चकोट पुग्ने सडक र ढोरपाटनदेखि म्याग्दी जोड्ने सडक निर्माण सम्पन्न भइसकेका छन् ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तरगत बागलुङ बजारदेखि घोडाबाँधे सम्मको २५ किमि सडक पाँच पटक म्याद थप्दासमेत सम्पन्न हुन सकेको छैन । बागलुङ नगरपालिका–४ कुडुँलेदेखि मालिका हुँदै पञ्चकोट पुग्ने सडक सम्पन्न भएको छ । गलकोटको हटियादेखि ताराखोला जोड्ने सडक र ढोरपाटनदेखि म्याग्दी जोड्ने सडक कालोपत्र गरिएको छ । राङ्खानी–बरेङ सडकमा कालोपत्र गर्ने काम अन्तिम चरणमा छ । पछिल्लो तीन महिनायता ग्रामीण सडक ४० किमि कालोपत्र गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले ग्रामीण सडक धमाधम कालोपत्र गरिँदा मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ सदरमुकाम खण्ड र राष्ट्रिय प्राथमिकताको आयोजनाको रुपमा रहेको शालझण्डी ढोरपाटन सडक र राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोर अझै कालोपत्र हुन नसक्नु दुःखद भएको बताउनुभयो ।

“कतै निर्माण व्यवसायीको लापरबाही त कतै सरकारले भुक्तानी नदिँदा ठूला सडक कालोपत्र हुन सकेका छैनन्”, उहाँले भन्नुभयो । सिगानाको एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक र कालीगण्डकी करिडोरको बागलुङ खण्ड सरकारले भुक्तानी दिन नसक्दा कालोपत्र भएको छैन । कुश्मिसेरादेखि राङ्खानीसम्मको १० किमि सडक पनि अधुरै छ ।

विसं २०७२ मा दुई वर्षमा सक्ने गरी ठेक्का सम्झौता भए पनि पाँच पटकसम्म म्याद थप गर्दासमेत बागलुङ बजारदेखि बिहुँ खण्डको १३ किमि सडक ६ किमि मात्रै कालोपत्र भएको छ । बिहुँदेखि घोडाबाँधे सम्मको १२ किमि सडक कालोपत्र सम्पन्न नहुँदै ठेक्का रद्द गरेर नयाँ ठेक्का लगाइएको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतका इञ्जिनीयर उज्जल शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– “सम्झौताको नौ वर्षसम्म सडक कालोपत्र भएको छैन ।”

‘बाह्रौँँ नेपाल–अफ्रिका चलचित्र महोत्सव’ काठमाडौँमा

काठमाडौँ -: ‘कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन’ र ‘विलक्षण क्रियसन’को आयोजनामा शुक्रबारदेखि सुन्धारास्थित सिनेडी सेफ चलचित्र भवनमा तीनदिने ‘बाह्रौँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४’ सुरु भएको छ । यही असार ९ गतेसम्म चल्ने उक्त महोत्सवमा १० देशका २८ चलचित्र, वृत्तचित्र र लघु चलचित्र प्रदर्शन गरिनेछन् ।

महोत्सवमा नेपालबाहेक दक्षिण अफ्रिका, इजिप्ट, तान्जानिया, टर्की, जिम्बाबे, क्यामरुन, मरिसस, जमैकालगायत देशका आठ चलचित्र प्रदर्शन गरिने महोत्सवका निर्देशक डब्बु क्षेत्रीले जानकारी दिनुभयो । “हामीले नेपालमा पनि अन्तर्राष्ट्रियस्तरको चलचित्र प्रदर्शन हुनुपर्छ भन्ने आवश्यकता महसुस गरेर यसको सुरुआत गरेका हौँ । महोत्सवले हामीलाई विभिन्न देशबारे बुझ्न मद्दत गर्छ”, उहाँले भन्नुभयो । नेपाल र दक्षिण अफ्रिकाको संस्कृति आदनप्रदानसँगै चलचित्रबाट दुई फरक महाद्वीपलाई जोड्ने उद्देश्यले महोत्सव आयोजना हुँदै आएको निर्देशक क्षेत्रीले बताउनुभयो ।

उद्घाटन समारोहका प्रमुख अतिथि अभिनेता शिव श्रेष्ठले यस्ता गतिविधिमा सरोकारवाला पक्षले चासो दिएर सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “महोत्सवमा समावेश चलचित्रले त्यहाँको समाजलाई बुझ्न मद्दत गर्छ । विश्वमा कस्ता चलचित्र बनिरहेका छन् भन्ने विषयमा जानकारी दिनुका साथै ती चलचित्रकर्मीसँग साक्षात्कार गर्ने अवसर दिन्छ ।”

महोत्सवमा अभिनेता श्रेष्ठसँगै अभिनेता धिरेन शाक्य र गजित विष्ट, निर्देशक माधवराज खरेल, अभिनेत्री तथा गायिका सरिता भारतीलगायत सहभागी हुनुहुन्थ्यो । महोत्सवमा विदेशी चलचित्र, लघु चलचित्र र वृत्तचित्रर्फ गणेश पाण्डेको संयोजकत्वमा राहुल वर्मा, एमडी शाहारिअर कमल, राजु केसी र रौनकविक्रम कँडेल सदस्य रहनुभएको निर्णायक समिति बनाइएको छ ।

यस्तै, नेपाली चलचित्र र वृत्तचित्रतर्फ नाट्यकर्मी वीरेन्द्र हमालको संयोजकत्वमा भेषराज कार्की, कृष्ण रसाल तथा ओम सुनार सदस्य रहनुभएको निर्णायक समिति बनाइएको छ । यस्तै, नेपाली लघु चलचित्र र साङ्गीतिक चलचित्रतर्फ हिमाल श्रेष्ठ, प्रतीक्षा काफ्ले र सजिना लामिछाने सदस्य रहनुभएको निर्णायक समिति रहेको छ ।

महोत्सवमा विदेशी चलचित्रतर्फ ‘फुल्स’, ‘द चेस्लर’, वृत्तचित्रतर्फ ‘वी ह्याभ नेभर विन किड्स’, ‘ह्वाइट पोसन’ तथा लघु चलचित्रतर्फ ‘डाइनिज’, ‘अफस्प्रिङ’, ‘सर्भाइभर’ र ‘इग्नोरेन्स इज अ लाइफस्टाइल’ सहभागी छन् । यस्तै, महोत्सवमा नेपालबाट चलचित्र र आदिवासी चलचित्रतर्फ ‘सरी मम’, ‘काँडेतार’, ‘गोर्खा वारियर’, ‘सनाखत’, ‘आफ्नै कर्म’, ‘लोजिमा’ र ‘रित’, वृत्तचित्रतर्फ ‘जर्नी टू गोक्यो’, ‘काँचो बायु’ र ‘चेसिङ द ड्रिम’ तथा लघु चलचित्रतर्फ ‘सिगरेट’, ‘आमा’, ‘ऐना’, ‘ढुकढुकी’, ‘घटेरो’, ‘हे दैव’, ‘जुत्ता’, ‘म्यारिज डे’, ‘मातृत्व’ र ‘रोटेन ब्लड’ सहभागी छन् । महोत्सव अवधिभर चलचित्र प्रदर्शनका साथै चलचित्र कार्यशाला, नेपाली चलचित्रको विषयमा अन्तक्रियालगायत विभिन्न कार्यक्रम हुने बताइएको छ ।

बाढीपहिरोले कोशी राजमार्गमा पुल बगाउँदा सात करोडको क्षति

खाँदबारी (सङ्खुवासभा) – कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडक खण्डमा बाढीपहिरोले पक्की पुल बगाउँदा रु सात करोड बराबरको क्षति भएको छ । खाँदबारी– थामसेर्कुअन्तर्गत ठूलोढुङ्गा– अरुणथान खण्डमा सडकको ‘सब–बेस’ बगाउँदा रु एक करोड बराबरको क्षति भएको छ ।

थामसेर्कु –कप्ताने सडक र कप्ताने– नुम सडक खण्डमा नाली, ग्याबिन पर्खाललगायतका संरचना बगाउँदा दुई करोडभन्दा बढीको क्षति भएको उत्तर दक्षिण कोशी सडक आयोजना कार्यालय सङ्खुवासभाका प्रमुख सबिन कोइरालाले जानकारी दिनुभयो । एकुवा खोलामा डेढ वर्षअघि निर्माण सम्पन्न भएको पुल पहिराले बगाउँदा चार करोड बराबरको क्षति भएको आयोजनाले जनाएको छ ।

मकालु गाउँपालिकाको फ्याक्सिन्दा दोभानमा रहेको अरुण नदीमाथिको पक्की पुल उच्च जोखिममा परेको छ । यो सडकखण्ड किमाथाङ्का हुँदै चीनसँग जोडिन्छ ।

बागलुङ-कुश्मिसेरा सडकखण्ड एक साता बन्द

गलकोट (बागलुङ) – बागलुङबजारसँग दक्षिणी भेग जोड्ने बागलुङ–कुश्मिसेरा सडक खण्ड एक साताका लागि बन्द गरिएको छ । बागलुङ नगरपालिका–१० गलुवाको पहिरो नियन्त्रणका लागि एक साताका लागि बन्द गरिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

पहिरो नियन्त्रणका लागि उक्त सडक असार ४ देखि १० गतेसम्मका लागि बन्द गरिएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सरकारको रु ५० लाखमा बागलुङ नगरपालिकाले पहिरो रोकथाम गरिरहेको छ । सडक बन्द भएको समयमा कालीगण्डकी करिडोरको सडकलाई वैकल्पिक सडकका रुपमा प्रयोग गर्न भनिएको छ ।

चलचित्र सूचना र सञ्चारका लागि प्रभावकारी माध्यम हो : सञ्चारमन्त्री शर्मा

सुदूरपश्चिम, ७ असार : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्र सूचना र सञ्चारका लागि अत्यन्त प्रभावकारी र महत्वपूर्ण माध्यम भएको बताउनुभएको छ ।

कैलालीको धनगढीमा आजदेखि सुरु भएको राष्ट्रिय बाल चलचित्र महोत्सव–२०८१ को शुभारम्भ गर्दै मन्त्री शर्माले चलचित्र मनोरञ्जनको साधन भएकाले समाजमा सकारात्मक परिवर्तन गर्न सन्देश दिने माध्यम पनि भएको बताउनुभयो । विगतमा राजनीतिक परिवर्तनको आन्दोलनका क्रममा राजनीतिकर्मीबाट कला संस्कृतिलाई संरक्षण गरिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “एउटा व्यक्ति मञ्चमा उभिएर बोलिरहनुभन्दा उसको कला र संस्कृतिबाट प्रस्तुत गरिएको सन्देश बलियो हुन्छ ।”

राजनीतिक परिवर्तन गरेर प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा सबै भाषाभाषी, क्षेत्र, लिङ्ग र समुदाय मूल प्रवाहका रुपमा देश अगाडि बढिरहेको उल्लेख गर्दै मन्त्री शर्माले भन्नुभयो, “राजनीतिक परिवर्तन गरेर प्राप्त भएको व्यवस्थापछि हाम्रो अवस्था कसरी परिवर्तन गर्नुपर्छ भन्ने ठाउँमा उभिएका छौँ ।”

मन्त्री शर्माले कला र संस्कृतिमा सुदूरपश्चिम सम्भावना बोकेको क्षेत्र हुँदाहुँदै पनि समाजमा व्याप्त कुपोषण, छाउपडी, आङ खस्नेजस्ता समस्याको समाधान गरी रुपान्तरण गर्न र संविधान तथा कानुनमा भएका व्यवस्थालाई कार्यान्वयन गर्न चलचित्र प्रभावकारी माध्यम भएको बताउनुभयो । उहाँले जातीय छुवाछूत र छाउपडी मुक्त समाज घोषणा गरिए पनि व्यवहारमा लागू हुन नसकिरहेकाले यस्ता कुरीतिको समाधान कसरी गर्न सकिन्छ भन्नेमा सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

नेपाली समाजलाई लैङ्गिक विभेद र जातीय विभेद मुक्त बनाउने तथा सम्पूर्ण समुदायलाई राज्यको मूल प्रवाहीकरणमा लैजान सरकारको अभियान रहेको मन्त्री शर्माले बताउनुभयो ।

कार्यक्रममा सांसद रुपा सोसी चौधरीले समाजलाई समयानुकूल विकासमा पु¥याउन चलचित्र महत्वपूर्ण माध्यम भएको बताउनुभयो ।

चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता भुवन केसीले बालचलचित्रले बालबालिकाको मनोविज्ञानमा सकारात्मक सन्देश दिने गरेकाले चलचित्रलाई विद्यालय तहबाट नै पठानपाठनको व्यवस्था मिलाउन पाठ्यक्रममा समावेश गराउने प्रयास भइरहेको बताउनुभयो ।

सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा टिएन जोशीले समाज विकासका लागि मुख्य मेरुदण्ड नै चलचित्र, भाषा, कला र संस्कृति रहेको उल्लेख गर्नुभयो ।

सो अवसरमा मन्त्री शर्माले सुदूरपश्चिम प्रदेशका चलचित्रकर्मी उदयसिंह बोहरा, अम्बिकाप्रसाद आचार्य, सङ्ग चौधरी, जानकी चौधरी, नाथुराम महतो र दलबहादुर बोगटीलाई प्रशंसापत्रसहित सम्मानित गर्नुभयो । समारोहमा विभिन्न विद्यालयका बालबालिकाले नृत्य प्रस्तुत गर्नुभएको थियो । बालबालिकासँग भएको क्षमताको विकास गरी उनीहरुको प्रतिभा उजार गर्दै समाजमा सकारात्मक सन्देश दिने उद्देश्यले चलचित्र विकास बोर्डले गत वर्षदेखि देशका विभिन्न क्षेत्रमा बालचलचित्र महोत्सव गर्दै आएको छ । यही असार ९ गतेसम्म जारी रहने धनगढीको बालचलचित्र महोत्सवका क्रममा बालचलचित्र प्रस्तुति तथा बालबालिकासम्बन्धी विभिन्न संवाद कार्यक्रम हुने बताइएको छ ।

संसदमा कांग्रेसले प्रभावकारी भूमिका निर्वाह गर्ने

काठमाडौँ, ७ असार : नेपाली कांग्रेस संसदीय दलले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । बानेश्वरस्थित संसद्भवनमा आज बसेको दलको बैठकमा बजेट पारित नहुन्जेल सबै सांसद अनिवार्य उपस्थित भई सुरुदेखि अन्तिमसम्म बसेर छलफलमा भाग लिने निर्णय गरेको हो ।

संसद्को दुवै सदनमा हाल आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल चलिरहेको छ । आगामी आर्थिक वर्षका लागि विभिन्न जिल्लामा छुट्याइएको बजेटका विषयमा पनि सांसदहरुले धारणा राख्नुभएको पार्टीका सहमहामन्त्री बद्री पाण्डेले राससलाई जानकारी दिनुभयो । सांसदहरुले बजेट निर्माण पद्धति ठीक भयो, भएन भनी समीक्षा गर्नुपर्ने भनी नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

बजेटका विषयमा हुने छलफलमा सक्रिय सहभागिता जनाई पारित हुने दिन प्रमुख प्रतिपक्षी दल कांग्रेसले विपक्षमा मतदान गर्ने जनाइएको छ ।

बाढीपहिरोले मकालुमा २४ घर विस्थापित

खाँदबारी (सङ्खुवासभा) ७ असार : सङ्खुवासभाको मकालु गाउँपालिका–६ सागसेवामा आएको बाढीपहिरोले २४ घर परिवार विस्थापित भएका छन् । एक सातासम्म लगातार परेको वर्षापछि गुहे खोल्सामा आएको बाढीपहिरोले २४ घर उच्च जोखिममा परेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताउनुभयो । उच्च जोखिममा परेका ती परिवारहरुलाई आफन्तको घरमा सुरक्षित स्थानान्तरण गरिएको उहाँले बताउनुभयो । बाढीपहिरोले मानवीय क्षति भने भएको छैन ।

क्षतिको विवरण सङ्कलनको काम भइरहेको प्रजिअ खड्काले जानकारी दिनुभयो । उँहाका अनुसार खोल्साको बाढीले सडकसमेत बगाएको छ । भोटखोला गाउँपालिका–४ मा पर्ने लामाबगर माथिबाट आएको पहिरोले करिब ३० मिटर सडक बगेको छ । सोही स्थानमा रहेको खाल्डे खोला माथिबाट आएको पहिराले ३५ मिटर सडक पुरेको प्रजिअ खड्काले बताउनुभयो ।

दिल्ली उच्च अदालतद्वारा अरविन्द केजरीवालको जमानतमा रोक

दिल्ली उच्च अदालतले कथित अन्तःशुल्क नीति ‘घोटाला’ सम्बन्धी मनी लन्ड्रिङ मुद्दामा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानत दिने तल्लो अदालतको आदेशमाथि रोक लगाएको छ ।

उच्च आदलतले प्रवर्तन निर्देशनालय (इडी) को याचिकामा दुईदेखि तीन दिनमा आदेश सुनाउने बताएको छ । इडीले दिल्ली अन्तःशुल्क नीतिसम्बन्धी मनी लन्ड्रिङ मुद्दामा मुख्यमन्त्री केजरीवाललाई जमानत दिने राउज एभेन्यु अदालतको आदेशलाई चुनौती दिएको छ ।

केजरीवाललाई जमानत दिने राउज एभेन्यु जिल्ला अदालतका विशेष न्यायाधीश (अवकास न्यायाधीश) ले पारित गर्नुभएको बिहीबारको आदेशलाई इडीले चुनौती दिएको हो । अपराधको आयको सम्बन्धमा आवेदक (केजरीवाल) विरुद्ध कुनै प्रत्यक्ष प्रमाण दिन इडी असफल रहेको ट्रायल कोर्टले आदेशमा भनेको छ ।

इडीले आफ्नो याचिकामा केजरीवाललाई नियमित जमानत दिने बिहीबारको आदेश आफूलाई सुनुवाइको पर्याप्त अवसर नदिई र हालको मुद्दाको तथ्यलाई ध्यान नदिई आदेश दिएको बताएको छ । अहिले रद्द भइसकेको दिल्ली अन्तःशुल्क नीति २०२१–२२ मा कथित अनियमिततासम्बन्धी मनी लन्ड्रिङ मामिलामा इडीले केजरीवाललाई मार्च २१ मा पक्राउ गरेको थियो ।

उहाँलाई लोकसभा निर्वाचनलाई ध्यानमा राख्दै मे १० मा सर्वोच्च अदालतले अन्तरिम जमानत दिँदै जुन २ मा आत्मसमर्पण गर्न भनेको थियो । साथै उहाँलाई मुख्यमन्त्री कार्यालय र दिल्ली सचिवालयको भ्रमण नगर्न भनिएको थियो ।

दिल्ली उच्च अदालतले यसअघि कारागारबाट रिहाइका लागि केजरीवालले दिनुभएको निवेदन खारेज गरेको थियो र लोकसभा निर्वाचनका बीच राजनीतिक प्रतिशोधको उहाँको तर्कलाई अस्वीकार गरेको थियो ।

‘ज्येष्ठ नागरिकको ज्ञान र सीपको उपयोग गर्नुपर्छ’ – सभामुख धिताल

गण्डकी, ७ असार : गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले ज्येष्ठ नागरिको ज्ञान, सीप र अनुभवको उपयोग गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ केन्द्रीय समितिको आयोजना एवम् महिला तथा बालबालिका मन्त्रालयको सहयोगमा पोखरामा आज आयोजित ज्येष्ठ नागरिक संस्थाहरुको अनुगमनमा सरोकारवालासँग भएको अन्तरक्रिया कार्यक्रममा सभामुख धितालले ज्येष्ठ नागरिक समाजका जिउँदा इतिहास भएको उल्लेख गर्नुभयो । उहाँले ज्येष्ठ नागरिकको योगदानको कदर गर्दै उनीहरुबाट सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रको ज्ञान नयाँ पुस्ताले लिनुपर्ने आवश्यकता औँल्याउनुभयो । ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाउनु आवश्यक भएको सभामुख धितालको भनाइ थियो ।

कार्यक्रममा विभिन्न ज्येष्ठ नागरिकलाई सम्मानित गरिएको थियो । सो अवसरमा ‘हेप्पी हेल्प’का संस्थापक डा यज्ञमान शाक्य, राधाकृष्ण वृद्धाश्रमका प्रेम लिगल, दलित महासङ्घका केन्द्रीय अध्यक्ष खरिलाल विश्वकर्मा, ज्येष्ठ नागरिक समिति पोखरा–१७ अध्यक्ष टोपराज ढुङगाना, उपाध्यक्ष विष्णुमाया बास्तोला र समाजसेवी गिरा पन्त कोइरालालाई पनि सम्मान गरिएको थियो । सो अवसरमा महासङ्घका महासचिव कुशुमकेशव पराजुली र आयुर्वेद चिकित्सक बिपी रेग्मीले ज्येष्ठ नागरिकका हकअधिकारका विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

बेलायतको सबैभन्दा धनी परिवारको तस्करी मुद्दामा स्विस फैसला आउँदै

जेनेभामा आफ्नो बङ्गलामा मानव तस्करी र कर्मचारीहरूको शोषण गरेको आरोपमा बेलायतका सबैभन्दा धनी परिवारका चार सदस्यको भाग्यको फैसला शुक्रबार स्विस अदालतमा हुने भएको छ । अभियोजकहरूका अनुसार हिन्दुजाहरूले आफ्ना सेवकहरूको तुलनामा आफ्ना कुकरमाथि धेरै पैसा खर्च गरेका छन् । हिन्दुजाहरूको सम्पत्ति सन्डे टाइम्सले ३७ अर्ब पाउन्ड (४७ अर्ब डलर) रहेको अनुमान गरेको छ ।

यो आरोप आफ्नो जन्मभूमि भारतबाट सेवकहरू आयात गर्ने परिवारको अभ्यासबाट आएको हो । फैसला स्थानीय समयानुसार दिउँसो ४ बजे आउने अपेक्षा गरिएको छ । प्रकाश र कमल हिन्दुजा, उहाँहरूका छोरा अजय र उहाँकी श्रीमती नम्रतामाथि स्विट्जरल्यान्ड गएपछि आफ्ना सेवकहरूको राहदानी जफत गरेको आरोप लगाइएको छ ।

हिन्दुजाहरूले आफ्ना कर्मचारीहरूलाई सामान्य तलब दिएको र सेवकहरूलाई घर छाड्न अत्यन्त कम स्वतन्त्रता दिएको अभियोजकहरूको आरोप छ । परिवारले आरोपलाई अस्वीकार गर्दै अभियोजकहरूले ‘हिन्दुजाहरूमा केही गर्न’ चाहेको दाबी गरेको छ । हिन्दुजा परिवारले आफूहरूमाथि आरोप लगाउने तीन कर्मचारीसँग अदालतबाहिर गोप्य सम्झौता गरेको छ ।

यसका बाबजुद अभियोजन पक्षले आरोपहरूको गम्भीरताका कारण मुद्दालाई अगाडि बढाउने फैसला गरेको छ । जेनेभाका पहिलो अभियोजक इवेस बर्टोसाले प्रकाश र कमल हिन्दुजालाई साढे पाँच वर्षको हिरासतमा राख्न अनुरोध गर्नुभएको छ । अठहत्तर वर्षीय प्रकाश र ७५ वर्षीया कमल दुवै स्वास्थ्य अवस्थाका कारणले ट्रायल सुरु भएदेखि अनुपस्थित हुनुहुन्थ्यो ।

आफ्नो समापन सम्बोधनमा अभियोजकले परिवारमाथि पैसा बचाउनका लागि शक्तिशाली रोजगारदाता र कमजोर कर्मचारीबीच ‘विषम अवस्था’ को दुरुपयोग गरेको आरोप लगाउनुभयो । घरेलु कर्मचारीहरूलाई प्रतिमहिना दुई सय २० देखि चार सय फ्रेङक (दुई सय ५० देखि चार सय ५० डलर) को बीचमा तलब दिइन्थ्यो । यो स्विट्जरल्यान्डमा उनीहरूको कमाउनसक्ने अपेक्षाभन्दा धेरै कम थियो ।

उनीहरूले संसारको दुःखबाट फाइदा उठाइरहेका छन्”, बर्टोसाले अदालतमा भन्नुभयो । तर हिन्दुजा परिवारको बचाउ पक्षका वकिलहरूले तीनै जना वादीहरूले पर्याप्त फाइदा पाइरहेको, अलग्गै नराखिएको र भिल्ला छाड्नका लागि स्वतन्त्र थिए भनी तर्क दिएका छन् ।

“हामी दुर्व्यवहार गरिएका दासहरूसँग व्यवहार गरिरहेका छैनौँ”, वकिल निकोलस जिनडिनले अदालतलाई भन्नुभयो ।“वास्तवमा कर्मचारीहरू आफूलाई राम्रो जीवन दिएकामा हिन्दुजा परिवारप्रति आभारी थिए”, अर्का वकिल रोबर्ट असेलले तर्क दिनुभयो ।

अजय हिन्दुजाको प्रतिनिधित्व गर्दै वकिल येन हयातले ‘अत्यधिक’ अभियोगको आलोचना गर्दै मुद्दा ‘सामाजिक न्यायको नभई न्यायको सवाल हुनुपर्ने’ बताउनुभयो । उहाँकी श्रीमती नम्रताका वकिल रोमेन जोर्डनले पनि उहाँलाई सफाइ दिन आग्रह गर्दै अभियोजकहरूले परिवारलाई उदाहरण दिन खोजेको दाबी गर्नुभयो ।

अभियोजन पक्षले कर्मचारीहरूलाई नगद तलबबाहेक गरिएका अन्य भुक्तानी उल्लेख गर्न असफल भएको उहाँले बताउनुभयो । “कुनै पनि कर्मचारीलाई तलबबाट धोका दिइएको छैन”, असेलले भन्नुभयो । केही कर्मचारीले तलब वृद्धिको माग गर्दा पूरा भएको छ । तेल र ग्यास, बैंकिङ र स्वास्थ्य सेवामा रुचि राख्ने हिन्दुजा समूह ३८ मुलुकमा अवस्थित छ र करिब दुई लाखलाई रोजगारी दिएको छ ।

सिंहदरबारभित्र बन्दै गरेको सङ्घीय संसद्को नयाँ भवन समयमा निर्माण सम्पन्न गर्न सुझाव

काठमाडौँ, ९ असार : राष्ट्रियसभा सदस्यहरुले सिंहदरबारभित्र बन्दै गरेको सङ्घीय संसद्को नयाँ भवन समयमा निर्माण सम्पन्न गर्न सुझाव दिनुभएको छ । राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज बसेको बैठकमा उहाँहरुले नयाँ संसद् भवन समयमा सम्पन्न गर्न सहरी विकास मन्त्रालयलाई आग्रह गर्नुभएको हो । भवन निर्माणको गति सुस्त भएको टिप्पणी गर्दै उहाँहरुले द्रूत गतिमा निर्माण गर्न निर्देशन दिनुभएको छ । समितिका सदस्य समित्रा बिसीले झन्झटिलो निर्माण प्रक्रियाका कारण संसद्को नयाँ भवन निर्माण प्रक्रियाले गति लिन नसकेको बताउनुभयो ।

अर्की सदस्य गोमादेवी तिमल्सेनाले समयमा नयाँ भवन निर्माण हुन नसक्दा भाडाको घरमा संसद चलाउनु परेको बताउनुभयो । उहाँले बढी श्रमिक प्रयोग गरेर भए पनि समयमा काम सक्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिनुभयो । समितिकी सदस्य रुक्मिणी कोईरालाले पनि विगतमा भएका गल्ती कमजोरीलाई सच्चाएर अब जतिसक्दो छिटो नयाँ भवनको काम सक्न आग्रह गर्नुभएको छ । समितिका सदस्य गोपाल भट्टराईले नयाँ भवन निर्माणको प्रगति नभएकाले समयमा निर्माण सम्पन्न गर्ने विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)का संसदीय समितिहरु, संसदीय दलका कार्यालय रहने गरी भवन निर्माण भइरहेको छ । समितिले दिएको सुझावमा सहरी विकास मन्त्रालयले जतिसक्दो छिटो निर्माण सम्पन्न गर्ने जवाफ दिएको छ । सिंहदरबारको उत्तरपूर्वी भेगमा करिब एक सय ५१ रोपनी क्षेत्रफलमा नयाँ संसद् भवन निर्माण भइरहेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार यहाँ सङ्घीय संसद् भवन, राष्ट्रियसभा भवन, भीभीआईपी भवन र सेन्टर लभीलगायत १२ वटा भवन हुनेछन् । बफरजोन, उत्तरतिर फराकिलो सडकसहित दायाँबायाँ रुखहरु रोपिने र भवन परिसर प्रवेश गर्न चार वटा प्रवेशद्वार हुने बताइएको छ ।

निरोगी समाज निर्माण गर्न योग अपरिहार्य छ : अध्यक्ष ओली

काठमाडौँ, ७ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निरोगी समाज निर्माण गर्न योग अपरिहार्य भएको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज एमालेद्वारा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो परिवार, छिमेकी र सिङ्गो मानव समुदायका लागि मस्तिष्कको सदुपयोग हुनु प्रमुख कुरा भएको बताउनुभयो । योगले शारीरिक, मानसिक स्वच्छताका साथै आचरण, व्यवहार र क्रिया–कर्मको समेत स्वच्छता र पवित्रताको मार्गदर्शन गर्ने उहाँको धारणा छ ।

“योग कसैलाई चाहिने, कसैलाई नचाहिने होइन, यो सबै मानव जातिको साझा सम्पत्ति हो”, अध्यक्ष ओलीले भन्नुभयो । योगको सार अहिंसा, सत्य धारण र शरीरको नियन्त्रण भएको उहाँले बताउनुभयो । मानिसलाई स्वस्थ जीवन जिउन र असल कर्म गर्न सिकाउने कुरा योग हो भन्ने कुरा बुझ्नुपर्नेमा उहाँले जोड दिनुभयो । योगमा गलत कुरा र स्वार्थ मिसिन नहुने अध्यक्ष ओलीको भनाइ थियो । सङ्कीर्ण र समूहगत स्वार्थ योगमा मिसिनु नहुने उहाँले बताउनुभयो ।

योगले मानिसलाई गलत बाटोबाट सही मार्गमा तथा गलत विचारबाट सही विचारतर्फ डो¥याउन मद्दत पुग्ने अध्यक्ष ओलीको धारणा थियो । योग सद्विचार र सत्कर्मको संयोग भएको उहाँले बताउनुभयो । ध्यान शिवको पालादेखि नै भए पनि बुद्धको पालामा आएर यसले विशेष महत्व पाएको उहाँको भनाइ थियो ।

कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जना पक्राउ

काठमाडौँ, ७ असार : कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । उनीहरुलाई काठमाडौँको सिनामङ्गलबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ । प्रहरीले पक्राउ गरेकामा बाँकेको खजुरा गाउँपालिका–८ का २४ वर्षीय मोहमद दिलसाद खाँ, नवलपरासीको पूर्व गैडाकोट नगरपालिका–१३ का २६ वर्षीय सन्तोष परियार र तनहुँको भानु नगरपालिका–१३ का २५ वर्षीय अञ्जिल गुरुङ रहेका छन् ।

हिमालय एयरको उडानमार्फत कतारबाट नेपाल आउने क्रममा खाँले कम्मरमा लुकाएर सुन ल्याएको भेटिएपछि उनलाई सिनामङ्गलबाट पक्राउ गरिएको कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिनुभयो ।

सुरक्षा जाँचका क्रममा खाँको साथबाट निलो रङ्गको जिन्स पाइन्टको कम्मरको भागमा सेतो टिस्यु पेपरले फोल्ड गरी लुकाइछिपाइ राखेको अवस्थामा झण्डै १० लाख पर्ने ६९ दशलमव आठ सय ९० ग्राम तौलको ब्रासलेट र ११ दशमलव छ सय ५० ग्राम तौलको बेरुवा औँठी फेला पारिएको जिसीले बताउनुभयो ।

खाँले सुन ओसारपसार कार्यमा सन्तोष परियार र अञ्जिल गुरुङको पनि संलग्नता रहेको बताएपछि प्रहरीले तीनै जनालाई पक्राउ गरेको हो । बिहीबार पक्राउ परेका उनीहरुलाई भन्सार ऐनअनुसार आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आजै विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

बिचौलियाले गर्दा वास्तविक दुग्ध किसान भुक्तानीको समस्यामा

काठमाडौँ, ७ असार : कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले बिचौलियाले गर्दा वास्तविक दुग्ध किसान भुक्तानीको समस्यामा परेको बताउनुभएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयमा भएको कृषि समितिको बैठकमा आज उहाँले दुग्ध विकास संस्थानका केही कर्मचारीको दादागिरीका कारण समस्या समाधान गर्न जटिल भएकोसमेत सुनाउनुभयो ।

उहाँका अनुसार संस्थानमा नौ सय कर्मचारी छन् जसमा छ सय स्थायी र तीन सय करारका छन् । करारका कर्मचारीले राम्रोसँग काम गरिररहेको भए पनि स्थायी कर्मचारीमा दादागिरी प्रवृत्ति देखिएको उहाँको भनाइ छ । 


“कहीँ नभएको जात्रा दुग्ध विकास संस्थानमा देखिएको छ”, उहाँले भन्नुभयो, “अब एक–दुई महिनाभित्र म सुधार गर्छु । यसका लागि ठूलै मूल्य चुकाउन परे पनि चुकाउँछु ।” बैठकमा उहाँले किसानलाई न्याय दिन संस्थानका कर्मचारी सुधार्न जरुरी रहेको बताउनुभयो । उहाँले मल वितरण प्रक्रियामा केही समस्या भए पनि यो पटक रोपाइँ गर्न मल अभाव नहुने जानकारी दिनुभयो । 

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को उपभोक्ता हित संरक्षण तथा सुशासन केन्द्रीय विभागद्वारा कृषिमन्त्रीसमक्ष ‘ध्यानाकर्षण पत्र’ बुझाइएको थियो । विभागका प्रमुख एवं पुर्व राज्यमन्त्री जितु गौतमले ध्यानाकर्षण पत्र बुझाउँदै किसानको हितमा उल्लेख गरिएका बुँदा छिट्टै कार्यान्वयन गर्नुपर्ने बताउनुभएको थियो । 

ध्यानाकर्षण पत्रमा मन्त्रीलाई सुझावसहित १५ बँुदे सुझाव पेस गरिएको छ । बैठकमा उपस्थित सांसदहरुले किसानको राहत र कृषि सुविधाका बारेमा विभिन्न जिज्ञासा र प्रश्न राखेका थिए । कृषि मन्त्रालयका सचिव दीपककुमार खरालले किसानलाई मलको अभाव नभएको तर स्थानीय तहमा वितरणको प्रक्रिया अलि जटिल भएकाले समस्या आएको बताउनुभयो । 

पर्सा राष्ट्रिय निकुञ्जमा एक चोरी शिकारीको निधन

काठमाडौँ, ७ असार : बारास्थित पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा चोरी शिकारीमा संलग्न एक व्यक्तिको निधन भएको छ ।

त्यहाँ सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्ज प्रशासनका कर्मचारीसहित नियमित गस्तीमा रहेको टोलीमाथि पकडीवास ठूलोथलीमा सिकारीको समूहले फायर खोल्दा सेनाले जवाफी फायरिङ गरेको थियो । हतियारसहित निकुञ्ज इलाकामा प्रवेश गरेका सिकारीलाई नभाग्न चेतावनी दिएकामा उल्टै सेनाको टोलीमाथि शिकारी समूहले फायरिङ गरेपछि सेनाको गस्तीले जवाफी फायरिङ गर्नुपरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाको जवाफी फायरिङपछि भागेका शिकारीको टोलीलाई घटनास्थल वरपर खोज्दै जाँदा एक जना मृत अवस्थामा फेला परेको सेनाले पुष्टि गरेको छ । घटनास्थलबाट सेनाले दुई नाल भरुवा बन्दुक र शिकारीले प्रयोग गरेका बन्दोबस्तीका सामग्री फेला परेको जानकारी दिएको छ । अम्लेश्वर मध्यवर्ती सामुदायिक वन समितिका प्रतिनिधि, स्थानीय निकायका प्रतिनिधि, निकुञ्ज प्रशासन तथा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीद्वारा घटनासम्बन्धी अनुसन्धान तथा मृतकको मुचुल्का उठाइ शवको पोस्टमार्टमका लागि सम्बन्धित स्वास्थ्य संस्थामा पठाउन लागिएको पनि सेनाले जानकारी दिएको छ ।

अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयन योजना बनाउन सुरु

काठमाडौँ, ७ असार : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनको योजना बनाउने काम थालेको छ । अर्थमन्त्री वर्षमान पुनले आज मन्त्रालयका दुवै सचिव, महाशाखा प्रमुखहरु, भन्सार विभाग, आन्तरिक राजस्व विभागलगायतका उच्च अधिकारी बोलाएर कार्ययोजनाबारे प्रारम्भिक छलफल गरेको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।

त्यस क्रममा अर्थमन्त्री पुनले कार्यान्वयन हुन सक्नेगरी वस्तुवादी योजना तयार पार्न निर्देशन दिनुभयो । “खर्च बढाउने गरी र कार्यान्वयन हुन सक्ने गरी वस्तुगत कार्ययोजना बनाऔँ । तोकिएको समयमा लक्ष्यअनुसार खर्च गर्ने र खर्च बढाउन सकियो भने त्यति नै बजार चलायमान हुने हो”, अर्थमन्त्री पुनले भन्नुभयो, “हामीले अहिले असारमा गरिरहेको खर्च छ महिनाअघि गर्न पाएको भए दुई/तीनपटक बजारमा ‘सर्कुलेट’ हुन्थ्यो । त्यसबाट राजस्व सङ्कलन र रोजगारी सृजना हुन्थ्यो । हामी परम्परागत नहोऔँ, समयमै काम गर्ने गरी योजना बनाऔँ ।” बजेट कार्यान्वयनका लागि त्रैमासिक योजना बनाएर काम गर्न र दसैँ–तिहारजस्ता ठूला पर्वको बिदा ख्याल गरेर मात्र कार्ययोजना बनाउन अर्थमन्त्री पुनले निर्देशन दिनुभयो ।

उहाँले स्थानीय तहमा जाने समानीकरण अनुदानको रकम तत्काल निकासा गर्न निर्देशन दिनुभएको छ । “स्थानीय तह बजेट ल्याउने अन्तिम तयारीमा छन् । समानीकरणको बजेट भरसक शत्प्रतिशत पठाऔँ । नभए पनि अघिल्लो वर्षको भन्दा बढी जाने व्यवस्था मिलाऔँ”, उहाँले कर्मचारीलाई निर्देशन दिँदै भन्नुभयो । कर्मचारीलाई उच्च मनोबल र आँटका साथ काम गर्न निर्देशन दिनुहुँदै कानुनसम्मत काम गर्दा नडराउन भन्नुभयो । मन्त्री वा मन्त्रीभन्दा माथिल्लो ओहोदाका कसैले कानुनबाहिर गएर काम गर्न निर्देशन दिए त्यसको अवज्ञा गर्न उहाँको सुझाव थियो ।

आगामी आर्थिको वर्षको वित्त नीतिसँग तालमेल हुने गरी नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीति ल्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो । “मानिसहरुले मौद्रिक नीतिले सार्वजनिक वित्त नीतिलाई सपोर्ट गर्छ कि गर्दैन भनेर अनावश्यक टिप्पणी गरिरहेको सुनिन्छ । विगतमा पनि त्यस्तो टिप्पणी हुने गरेका थिए”, मन्त्री पुनले भन्नुभयो, “राष्ट्र बैङ्क राज्यकै निकाय भएकाले वित्त नीतिभन्दा फरक हुँदैन भन्ने विश्वास छ । नीतिगत एकरुपता भएपछि अनावश्यक टिप्पणी र आशङ्का गर्ने ठाउँ हुँदैन । नतिजा राम्रै आउँछ ।” छलफलमा गभर्नर महाप्रसाद अधिकारी पनि सहभागी हुनुहुन्थ्यो ।

वातावरण व्यवस्थापनमा तीन प्रतिशत बजेट विनियोजन गर्दै चन्द्रागिरि नगरपालिका

काठमाडौँ, ७ असार : चन्द्रागिरि नगरपालिकाले वातावरण व्यवस्थापनका लागि आफ्नो कूल बजेटको तीन प्रतिशत विनियोजन गर्ने भएको छ । सो क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गर्ने चन्द्रागिरि सम्भवतः पहिलो नगरपालिका भएको बताइएको छ ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)को आर्थिक एवं प्राविधिक सहयोगमा फेम्ली हेल्थ इन्टरनेशनल ३६० (एफएचआइ) का साझेदारीमा चन्द्रागिरि नगरपालिकाले स्वच्छ हावा परियोजना कार्यान्वन गरिराखेको छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नेपाल भ्रमणमा रहनुभएका ‘एफएचआइ ३६०’ का प्रमुख वित्त अधिकृत रसिका पद्मापेरुमासँग आज नगरपालिकामा भएको द्विपक्षी भेटवार्तामा नगरपालिकाले वातावरण व्यवस्थापनका लागि आफ्नो कूल बजेटको तीन प्रतिशत विनियोजन गर्ने नीति लिएको जानकारी दिनुभयो ।

उहाँले स्वच्छ हावा प्रवर्द्धन, वातावरण व्यवस्थापन तथा वायु प्रदूषण न्यूनीकरण नगरपालिकाले लिएको नीति तथा कार्यक्रम एवं गतिविधिका बारेमा जानकारी दिनुहुँदै जलवायु अनुकूलन नीतिलाई प्राथमिकता दिएको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले स्वच्छ हावामार्फत नगरवासीको जीवन सुधारका लागि शिक्षा, स्वास्थ्य तथा वातावरण व्यवस्थापन नगरपालिकाबाट भइराखेका प्रयासका बारेमा जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वायू प्रदूषण रोकथाम र न्यूनीकरण लागि प्रमाणका आधारित नीति तथा कार्यक्रम तर्जुमा र कार्यान्वयन भइरहेको छ । वायु प्रदूषणको समस्या समाधान तथा स्वच्छ हावा प्रवद्र्धनमा नगरवासी चेतना विस्तारै वृद्धि हुँदै गएको छ । जलवायु परिवर्तनका असरबाट आर्थिक एवं सामाजिक जीवनमा पार्ने असर कम गर्न हाम्रा नीति तथा कार्यक्रम केन्द्रित छन् ।”

सो अवसरमा ‘एफएचआई ३६०’ प्रमुख वित्त अधिकृत पद्मापेरुमाले चन्द्रागिरि नगरपालिकाले वातावरण व्यवस्थापनका लागि आफ्नो कूल बजेटको तीन प्रतिशत विनियोजन गर्ने नीति लिएकामा बधाई दिनुहुँदै यसले जलवायु परिवर्तनले आर्थिक एवं सामाजिक क्षेत्रमा पार्ने असरलाई घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न स्वच्छ हावा परियोजनाले सहयोग पुगेको मैले विश्वास लिएको छु । जलवायु परिवर्तनले विशेष गरी आर्थिक एवं सामाजिक जीवनमा पर्ने असर र क्षतिलाई घटाउँदै जानुपर्छ ।” वित्त अधिकृत पद्मापेरुमाले वायू प्रदूषण घटाइ स्वच्छ हावा प्रवर्द्धन गर्न चन्द्रागिरि पालिकाले गरेका काम अन्य देशका लागि सिकाइ हुनसक्छ भन्नुभयो ।

सो अवसरमा उहाँले चन्द्रागिरि नगरपालिकाद्वारा थानकोटमा सञ्चालित निःशुल्क सवारी प्रदूषण जाँचको अवलोकनसमेत गर्नुभएको थियो । युएसआइडीका स्वच्छ हावा परियोजनाका प्रमुख भूषण तुलाधरले काठमाडाँै उपत्यकाको वायुको गुणस्तर सुधारका लागि चन्द्रागिरि नगरपालिकाले निर्वाह गर्दै आएको विभिन्न कामको उच्च प्रशंसा गर्नुभयो । बैठकमा नगरप्रवक्ता एवं चन्द्रागिरि–४ का वडाध्यक्ष कृष्ण्प्रसाद खड्गी, चन्द्रागिरि–६ का वडाध्यक्ष एवं वातावरण तथा विपद् समितिका संयोजक सञ्जय सिग्देल, ‘एफएचआई ३६०’ नेपाल प्रमुख भगवान् श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो ।

सवारी प्रदूषण नियन्त्रण गर्न कडाइ : सवारी प्रदूषण जाँच तीव्र

चन्द्रागिरि नगरपालिकाले सवारी प्रदूषण नियन्त्रण गर्न कडाइ गर्ने नीति लिएको छ । यसका लागि नगरपालिकाले यातायात व्यवस्था विभाग, सवारी परीक्षण कार्यालय टेकुसँग सहकार्य गरी घुम्ती सवारी प्रदूषण परीक्षणलाई उच्च प्राथमिता दिँदै आएको छ । वायु प्रदूषणको प्रमुख कारक तत्वमा सवारीसाधनबाट निस्कने धुवाँलाई लिइन्छ ।

यस्ता परीक्षणमा ‘फेल’ भएका सवारीसाधनलाई नगरक्षेत्रमा प्रयोग गर्न नदिनेसम्मको सोच नगरपालिकाले बनाएको छ । युएसआइडीका स्वच्छ हावा परियोजनाका प्रमुख भूषण तुलाधरले भन्नुभयो,“नगरपालिकाको यस्तो नीतिले काठमाडौ उपत्यकाको वायुको गुणस्तर व्यवस्थापनमा कोशेढुङ्गाको काम गर्छ । ”

साथै सवारी परीक्षण कार्यालय, ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा नगरपालिकाले पेट्रोल, ग्यास र डिजेलबाट चल्ने सवारीसाधनमा ‘हरियो स्टिकर’ अनुगमनलाई तीव्रता नीति समेत लिएकोे छ । विश्वस्वास्थ्य सङ्गठनले वायु प्रदूषणलाई विश्वकै प्रमुख वातावरणीय जोखिमका रूपमा लिएको छ । स्टेट अफ ग्लोबल एयर २०२० ले सन् २०१९ मा नेपालमा वायू प्रदूषणका कारण ४२ हजार एक सय जनाको अकालमा मृत्यु भएको जनाएको थियो । तीमध्ये काठमाडौँमा मात्र पाँच हजार ८० जना रहेका थिए । कचौरा आकारको काठमाडाँै उपत्यकाको द्रुत सहरीकरणले गर्दा वायु प्रदूषणको उच्च जोखिममा रहेको जनाइएको छ ।

गाजामा इजरायलको यसद्धविरामले सहायता आपूर्तिमा कुनै असर नपारेको विश्व स्वास्थ्य सङ्गठनको भनाइ

इजरायली सेनाले गाजामा सहायता प्रवाहलाई सहज बनाउन घोषणा गरेको इजरायली ‘युद्धविराम’ ले सहायताको वितरणमा कुनै असर नपारेको संयुक्त राष्ट्रको स्वास्थ्य एजेन्सी विश्व स्वास्थ्य सङ्गठनले शुक्रबार जनाएको छ ।

‘प्राविधिक विरामको एकपक्षीय घोषणा’ ले मानवीय सहयोगको आपूर्तिमा कुनै असर नदेखेको प्यालेस्टिनी क्षेत्रहरूमा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि रिचर्ड पिपरकर्नले बताउनुभयो ।

इजरायली सेनाले सप्ताहन्तमा पूर्वी रफाहको मुख्य सडकमा लडाइँमा दैनिक मानवीय ‘विराम’ घोषणा गरेको थियो । तर संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले केही दिनपछि यो अझै खाँचोमा परेका मानिसहरूमा पुग्ने थप सहायतामा परिणत हुन नसकेको बताउनुभएको छ ।

हमासले गत अक्टोबर ७ मा इजरायलमा गरेको अकल्पनीय आक्रमणबाट सुरु भएको आठ महिनाभन्दा बढीको युद्धले प्यालेस्टिनी क्षेत्रमा गम्भीर मानवीय अवस्था निम्त्याएको उल्लेख गर्दै संयुक्त राष्ट्र सङ्घले बारम्बार अनिकालको चेतावनी दिएको छ ।

इजरायली तथ्याङ्कको आधारमा इजरायलमा अक्टोबरमा भएको हमासको सुरुवाती आक्रमणमा एक हजार १९४ जनाको मृत्यु भएको थियो, जसमा अधिकांश नागरिक थिए ।

आतङ्वादीले ११६ जनालाई कब्जा गरी बन्धक बनाएका थिए । यसमध्ये सेनाले ४१ जनाको मृत्यु भएको बताएको छ ।

हमासको स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायलको जवाफी आक्रमणमा कम्तिमा ३७ हजार ४३१ जनाको मृत्यु भएको थियो यसमा अधिकांश सर्वसाधारण रहेका छन् ।

चीनमा बाढीबाट मर्नेको सङ्ख्या ३८ पुग्यो

यो साता दक्षिणी चीनको गुआङडोङ प्रान्तमा मुसलधारे वर्षा र बाढीबाट मर्नेको सङ्ख्या बढेर शुक्रबार ३८ पुगेको सरकारी सञ्चारमाध्यमले बताएको छ ।

सरकारी प्रसारक सिसिटिभीले पूरा साता मुसलधारे वर्षाका कारण आएको पहिरो र बाढीबाट हजारौँ घर र सडक क्षतिग्रस्त भएको तथा अर्बौं युआनको नोक्सान भएको छ ।

केही क्षेत्रमा यो साता शताब्दीकै सबैभन्दा ठूलो बाढीमध्येको एक आएको सिसिटिभीले बताएको छ । अधिकारीहरूले बिहीबार नौ जनाको मृत्यु भएको बताए पनि शुक्रबार दिउँसोसम्म मर्नेको सङ्ख्या बढेर ३८ पुगेको छ ।

“प्रकोपको गम्भीरताका कारण फसेका मानिसको खोजी र उद्धार कार्य कठिन भएको छ र समय लाग्नेछ”, सिसिटिभीले भनेको छ । मुसलधारे वर्षाबाट ५५ हजारभन्दा धेरै मानिस प्रभावित भएका छन् ।

चीनको अधिकांश भागमा यो साता ३५ डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेपछि दक्षिणी क्षेत्रमा मुसलधारे वर्षा भएको छ ।

वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनले ठूलो वर्षा र लु जस्ता चरम मौसमलाई थप बारम्बार र तीव्र बनाउँछ । हरित गृह ग्यास जलवायु परिवर्तनको प्रमुख कारण हो र चीन विश्वको सबैभन्दा ठूलो हरित गृह ग्यास उत्सर्जक हो ।

रास्वपाको स्थापना दिवसमा प्रधानमन्त्रीलगायत शीर्ष नेता सहभागी

काठमाडौँ, ७ असार : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोस्रो वार्षिकोत्सवका अवसरमा आज चियापान समारोहमा सहभागी हुनुभएको छ ।
रास्वपाको केन्द्रीय कार्यालय वनस्थली, चमतिमा आयोजित चियापान समारोहमा सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र उपसभामुख इन्दिरा राना उपस्थित हुनुहुन्थ्यो ।

चियापान समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई पनि सहभागी हुनुहुन्थ्यो । यस्तै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष डा सीके राउतलगायत विभिन्न दलका नेता तथा मन्त्री पनि समारोहमा सहभागी हुनुहुन्थ्यो ।

सो अवसरमा रास्वपा सभापति तथा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पाहुना तथा आगन्तुकलाई स्वागत गर्नुभएको थियो । उहाँले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै जनअपेक्षाअनुसार काम गर्न रास्वपा प्रयासरत रहेको बताउनुभयो ।

“सरकार चलाउने आधारहरु अहिले बनेका छन् । आमनागरिकको अपेक्षा ठूलो छ । ती अपेक्षा परिपूर्ति गर्न हामीलाई ठूलो चुनौती छ । हामी प्रयासरत छौँ”, सभापति लामिछानेले भन्नुभयो ।

रास्वपा प्रतिनिधिसभामा २१ सांसदसहित सङ्घीय संसद्को चौथो ठूलो पार्टी हो । रास्वपाको स्थापना २०७९ असार ७ गते भएको हो ।

आगामी संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले आगामी संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ ।

शुक्रबार बसेको संसदीय दलको बैठकले आइतबार बस्ने संसद बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई निर्देशन दिएको हो । संसदको आगामी बैठकमा विनियोज विधेयक पारित गर्ने कार्यसूची रहेको छ।

त्यसैले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित भएर देश र जनताको पक्षमा आवाज उठाउन निर्देशन दिइएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

उनले बजेटका विषयमा त्यहीबेला निर्णय गर्ने बताए। उनले मन्त्रालयगत बजेटमा मन्त्रीहरूले मनपरी बजेट विनियोजन गरेको बताए । कांग्रेसले खर्च कटौतीको प्रस्ताव राखेको र त्यसकै पक्षमा उभिने उनको भनाइ छ।

बजेटको आकार बढाउँदै काठमाडौँ महानगरपालिका

काठमाडौँ, ७ असार : काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि गत वर्षको तुलनामा बजेटको आकार बढाउने तयारी गरेको छ ।

कामपाले आव २०८०/८१ मा रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजार को बजेट ल्याएको थियो । आगामी आव २०८१/८२ का लागि बजेट बढाएर ल्याउने तयारी गरेको कामपा राजस्व विभागले जनाएको छ ।

विभागका प्रमुख धुव्र काफ्लेका अनुसार विगत वर्षमा जस्तै आमामी आवमा पनि शिक्षा, स्वास्थ्य, सरसफाइ र सेवा प्रवाहको क्षेत्रमा बजेटले प्राथमिकता पाउनेछ । कामपाले आगामी आवका लागि गत जेठ ३२ गते नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको छ । कामपाले चालु आवको ११ महिनामा रु आठ अर्ब ५५ करोड पाँच लाख ३२ हजार सात सय राजस्व सङ्कलन गरेको छ ।

अघिल्लो आवको सोही अवधिमा कामपाले रु आठ अर्ब नौ करोड ३७ लाख ७२ हजार राजस्व सङ्कलन गरेको थियो । कामपाले चालु आवमा गत वर्षभन्दा रु ४५ करोड ६७ लाख ७० हजार बढी राजस्व सङ्कलन गरेको काफ्लेले जानकारी दिनुभयो । प्रमुख काफ्लेका अनुसार पछिल्लो समय करदाताको सङ्ख्या बढेकाले गत वर्षको तुलनामा राजस्व बढेको हो । कामपाले चालु आवका लागि करिब रु १० अर्ब ८० करोड ७८ लाख २० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ ।

चालु आवको साउनदेखि वैशाखसम्ममा ३३ हजार एक सय ५६ नयाँ करदाता बढेको प्रमुख काफ्लेले जानकारी दिनुभयो । चालु आवदेखि कामपाले ३२ वटै वडाको प्रतिनिधिसहित स्थलगत अनुगमन गरिरहेकाले राजस्व सङ्कलनमा सहज भएको बताइएको छ ।

कामपाले चालु आवको पुस मसान्तसम्म करदातालाई बक्यौतामा लाग्ने करमा र महिलाका नाममा दर्ता भएका उद्योगहरुलाई २५ देखि ४० प्रतिशतसम्म छुट दिएकाले करदाता बढेको जनाएको छ । सम्पत्ति, घरबहाल, व्यवसाय, विज्ञापन, मनोरञ्जन, भूमि, मूल्य अभिवृद्धि र सवारीसाधन करसहित ३६ शीर्षकमा कामपाले राजस्व सङ्कलन गर्दै आएको छ ।

प्रतिपक्षी दलको विरोधपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगन

लुम्बिनी, ७ असार : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण लुम्बिनी प्रदेशसभाको आजको बैठक स्थगन भएको छ । प्रदेशसभाको आज अपराह्न १ बजे बसेको बैठकमा नेपाली कांग्रेसका सांसदहरूले विरोध जनाएपछि बैठक केही समयका लागि स्थगन गरिएको थियो ।

त्यसलगत्तै सभामुख तुलाराम घर्तीले प्रतिपक्षी दलसँग छलफल गर्दा सहमति जुट्न नसकेपछि प्रदेशसभा सचिवालयले आजको अर्को बैठक बस्न नसक्ने सूचना जारी गरी आइतबार बिहान ८ बजे बस्ने जानकारी दिएको छ ।  

प्रदेशसभामा सरकारका तर्फबाट असार १ गते ल्याइएको आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि बिहीबारदेखि छलफल सुरु भएको थियो । बजेटमाथिको छलफलका क्रममा आजको बैठक सुरु हुने बित्तिकै नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सरकारले जनतामैत्री र सङ्घीयता विरोधी बजेट ल्याएको धारणा राख्नुभएको थियो ।

नेता चौधरीले धारणा राखिसकेपछि कांग्रेसले सदन अवरुद्ध गरेको हो । दलका नेता बोलिसकेपछि कांग्रेसका सदस्यहरुले उठेर विरोध जनाएका थिए । नेता चौधरीले सरकारले कृषिमा कर लगाएको, चालु आर्थिक वर्षभन्दा रु ५७ करोड बजेट घटाएको, किसानमैत्री बजेट नल्याएको आरोप लगाउनुभयो । उहाँले आमजनतालाई मलबीउ पु¥याउन नसक्ने तर औचित्यहीन क्षेत्रमा रकम खर्चने बजेट मान्य नहुने बताउनुभयो ।

उहाँले प्रस्तुत बजेटले पर्यटन क्षेत्रलाईसमेत धरापमा पारेको बताउँदै विगतको सरकारले स्थानीय जनजातिहरूको आयआर्जनका लागि लिएको मदिराको नीति अहिले काटिएकामा विरोध जनाउनुभयो । 

‘निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी’

काठमाडौँ, ७ असार : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक संसद्को चालु अधिवेशनबाट पारित गर्ने तयारी भइरहेको बताउनुभएको छ । मन्त्रालयको नेतृत्व लिएपछि भए÷गरेका मुख्य उपलब्धिबारे आज जानकारी दिँदै मन्त्री जोशीले तीन तहकै कर्मचारी व्यवस्थापनमा छाता ऐनका रुपमा रहने प्रस्तुत विधेयक यसै अधिवेशनबाट स्वीकृत गर्न समिति र राजनीतिक दलसँगको संवादलाई घनिभूत तुल्याइएको बताउनुभयो । उहाँले निजामती विधेयक सबैको चासो र चिन्ताको विषय भएकाले राजनीतिक दलबीच गहन छलफल गरी चालु अधिवेशनबाट पारित गर्न मन्त्रालय प्रतिबद्ध छ भन्नुभयो ।

सङ्घीय मामिलामा गर्नुपर्ने कार्य जिम्मेवारीमा आशातीत उपलब्धि हासिल गर्न नसकेको स्वीकार्दै मन्त्री जोशीले भन्नुभयो, “तीन तहका सरकारबीच आवश्यक समन्वय छैन, एक–अर्काप्रति असन्तुष्टि मात्र देखिन्छ ।” उहाँले विकासको मेरुदण्डका रुपमा रहेका स्थानीय तहलाई बलियो तुल्याउन शासकीय क्षमता पूर्वाधार निर्माण र  संस्थागत क्षमता विकास कार्यक्रम सञ्चालन दस्तावेज तयार भएको पनि जानकारी दिनुभयो ।

अस्थिर राजनीतिका कारण आउने दबाबले कर्मचारी व्यवस्थापनमा चुनौती सामना गर्नु परिरहेको उल्लेख गर्दै मन्त्री जोशीले सरकार परिवर्तनसँगै कर्मचारीको पनि फेरबदल भइरहेको स्वीकार्नुभयो । उहाँले भन्नुभयो, “राजनीतिक आग्रह र पूर्वाग्रहका कारण कतिपय स्थानीय तहमा पठाइएका कर्मचारी दलबलसहित मात्र हाजिर गर्न जानु परेका घटना छन् ।”

जनप्रतिनिधि र कर्मचारीबीच बुझाइ समानता तथा कार्यगत एकता नहुँदा कतिपय स्थानीय तहमा कार्यकारी खटाउन नसकिएको जिकिर गर्दै मन्त्री जोशीले अझै पनि दुई सय ३० भन्दा बढी स्थानीय तहमा निमित्त खटाउनु परेको जानकारी दिनुभयो । मीनभवनस्थित निजामती अस्पतालमा विभिन्न रोगको परीक्षण र निदानसम्बन्धी स्वास्थ्य उपकरणको प्रबन्ध मिलाउने कार्य भइरहेको उल्लेख गर्दै उहाँले छिमेकी मुलुकबाट पूर्वाधार निर्माण र वस्तुगत सहायतामार्फत प्राप्त हुने सहयोग कार्यक्रम अघि  बढाइएको जानकारी दिनुभयो । 

मन्त्री जोशीले राजनीतिक अस्थिरताका कारण कानुन र आर्थिक अनुशासन विपरीतका घटना बढेकाले विधि प्रक्रिया र ऐनको पालना गरी कार्यजिम्मेवारी सम्हाल्न सम्पूर्ण कर्मचारीलाई निर्देशन दिनुभयो । 

खनिजजन्य पदार्थ उत्खननबारे स्पष्ट कानुनी व्यवस्था गर्न निर्देशन

काठमाडौँ, ७ असार : प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले खानी तथा खनिज पदार्थको उत्खननका सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

खानी तथा खनिज पदार्थ नियमावली, २०५६ को व्यवस्थामा परिमार्जन तथा संशोधन गरी समयानुकूल बनाउन समितिले निर्देशन दिएको हो । आजको बैठकमा नेपाल सिमेन्ट उत्पादक सङ्घबाट प्राप्त निवेदनका सन्दर्भमा छलफल गरी उक्त निर्णय गरेको समितिका सभापति अब्दुल खानले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “उक्त व्यवस्थाबाट स्वदेशी सिमेन्ट उद्योगहरूलाई नियमित एवं सुचारू रूपले सञ्चालन गर्न नसकिने गरी जारी भएको सूचनाबाट उद्योग बन्द हुने अवस्थामा रहेकोतर्फ समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।”  

खानी तथा खनिज पदार्थ नियमावली, २०५६ को नियम १९ को (ङ) मा खनिज पदार्थ भण्डारण गर्ने र जम्मा गर्ने स्थलमा खनिज कार्यको परिमाणको नाप गर्ने यथोचित यन्त्रहरू राख्नुपर्ने व्यवस्था छ । तर खानीस्थलबाट उत्खनन भएको खनिज पदार्थ यकिन गर्न तौलपुल मात्र प्रयोग गर्नुपर्ने व्याख्या भएको सिमेन्ट उत्पादक व्यवसायीहरुको भनाइ थियो ।

हाललाई उद्योग स्थलमै रहेको तौलपुल प्रयोग गरी उत्खनित खनिजको परिमाण मापन गर्ने गरी ६ महिनाको अवधि थप गर्न र खानी तथा खनिज पदार्थ नियमावली, २०५६ यथाशिघ्र संशोधन गरी खानी तथा खनिज पदार्थको उत्खननका सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था गर्न खानी तथा खनिज पदार्थ नियमावली, २०५६ मन्त्रालयलाई निर्देशन दिएको समितिका सभापति खानले जानकारी दिनुभयो ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निर्यात गर्नेमा सिमेन्ट उद्योग नै अगाडि रहेको उल्लेख गर्दै ऐनलाई चाँडो संशोधन गर्न काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “समय सापेक्ष नीतिगत सुधार गर्न आवश्यक छ । नियमावली संशोधन गर्ने र ऐनको मस्यौदा तयारको काम भइरहेको छ । उहाँहरुले उठाएका माग सम्बोधन हुनेछन् ।”

नेपाल सिमेन्ट उत्पादक सङ्घका उपाध्यक्ष डा ई ताराप्रसाद पोखरलेले खानी क्षेत्रमा विद्युत्को उचित प्रबन्ध नहुने, खनिजपदार्थ उत्खनन गर्ने स्थान दुर्गम र पहाडमा हुनाले पूर्वाधार निर्माणमा कठिनाइ भएकाले उद्योगस्थलमा रहेको तौलपुल नै प्रयोग गरी उत्खनित खनिजको परिमाण मापन गर्न पाउने व्यवस्था गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “यस सम्बन्धी स्पष्ट निर्णय नहुँदा खनिज पदार्थ उत्खनन कार्य रोकिएकाले उद्योग नै बन्द गर्नुपरेको छ । त्यसमाथि माग र आपूर्तिबीच अन्तर हुँदा ऋण तिर्न सकेका छैनाँै । लागत मूल्यभन्दा पनि कममा बेच्नुपरेको छ ।”

नेकपा एस महाधिवेशनः विशिष्ट नेताको सुरक्षा जिम्मेवारी राजनीतिक कमिटीलाई

काठमाडौँ, ७ असारः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न राष्ट्रिय महाधिवेशनस्थल तथा विशिष्ट व्यक्तिको सुरक्षा जिम्मेवारी राजनीतिक तथा सुरक्षा समन्वय कमिटीलाई दिएको छ ।

सो कमिटीलाई महाधिवेशनस्थलमा आउने सबै प्रतिनिधि, शुभकामना दिन आउने विभिन्न पार्टीका नेता, पर्यवेक्षकलगायत विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनको जिम्मेवारी तोकिएको पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिनुभयो ।

पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डेको नेतृत्वमा गठित १६ सदस्यीय कमिटीलाई पूर्णता दिइएको छ । कमिटीको सहसंयोजकमा जयन्ती राई, सचिवमा कृष्णराज पन्त हुनुहुन्छ ।

कमिटीको सदस्यमा जगनाथ खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, विरोध खतिवडा, भानुभक्त जोशी, अमरबहादुर थापा, उदयबहादुर बोहोरा, राजेन्द्रलक्ष्मी गैरे, शर्मिला पौडेल, विनोद मैनाली, वसन्त बस्नेत, हरिप्रसाद शर्मा र सविता अर्याल हुनुहुन्छ ।

यही असार १६ देखि २० गतेसम्म नेपाल प्रज्ञाप्रतिष्ठानमा हुने महाधिवेशनले पार्टीको भावी नीति तथा कार्यक्रम घोषणाका साथै नयाँ नेतृत्व चयन गर्नेछ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट छुट्टिएको पार्टीले आसन्न महाधिवेशनलाई १०औँ राष्ट्रिय महाधिवेशन भनेको छ । आफूलाई २००६ सालमा कोलकातामा स्थापना भएको कम्युनिष्ट पार्टीको उत्तराधिकारी मानेको एकीकृत समाजवादीले हालसम्म सम्पन्न भएका नौवटा महाधिवेशनको स्वामित्व लिँदै आगामी महाधिवेशनलाई १०औँ मानेको तर्क गरेको छ ।

वर्षायाम प्रारम्भ भएसँगै गौरीगञ्जवासीमा बाढीको त्रास

झापा, ७ असारः आकाशमा कालो बादल मडारिनेबित्तिकै गौरीगञ्ज गाउँपालिका–१ होक्लाबारीकी ओस्नी राजवंशीको मन अधीर हुन्छ । वर्षासँगै घर नजिकको नदीमा आउने बाढीबाट आफ्नो र परिवारका सदस्यको ज्यान जोगाउने चिन्ताले उहाँलाई सताइरहन्छ ।

गाउँ नजिकबाट बगेको कनकाईमा बाढी आउँदा वर्षौँदेखि गाउँ डुबानमा पर्दै आएको उहाँले सुनाउनुभयो । होक्लाबारीका अधिकांश बासिन्दा विपन्न छन् । वर्षा सुरु भएसँगै त्रसित उनीहरू कनकाईमा पानीको सतह बढेको नियालिरहन्छन् । राति निद्रामा रहेका बेला बस्तीमा बाढी पस्ने पीरले उनीहरू निश्चिन्त निदाउन सक्दैनन् । प्रत्येक वर्षको वर्षायाम यसरी नै बित्ने गरेको छ ।

बस्तीमा बाढी पस्न नदिन भरपर्दो बाँधको व्यवस्था नहँुदा बर्सेनि सास्ती झेल्नु परेको वडा नं १ का सदस्य राजभक्त सुनुवारले बताउनुभयो । विसं २०७४ देखि नै जनप्रतिनिधि बन्नुभएका उहाँले नदीकटान र बाढी नियन्त्रण रोक्न प्रदेश र सङ्घीय सरकारको सहयोग नहुँदा समस्या भएको बताउनुभयो । उहाँले जनताको तटबन्धन कार्यक्रममार्फत बाँध बाँध्न पटकपटक माग गर्दा सुनुवाइ नभएको गुनासो गर्नुभयो । “हाम्रो पीडा कसले बुझ्ने ?, पालिकाको थोरै बजेटले बाँध बनाउन पुग्दैन”, उहाँले भन्नुभयो, “कुन बेला खोलामा बगेर मरिएला भन्ने त्रासमै बित्ने गरेको छ बर्खा ।”

होक्लाबारी बाढीजन्य विपद्को उच्च जोखिम भएको बस्ती हो । सो क्षेत्रका एक सय तीन परिवारलाई पूर्वमा कनकाई र पश्चिममा कमल बनियानी खोलाले घेरेको छ । यी दुईले एक सय ५० भन्दा बढी परिवार बसोबास गर्दै आएको गौरीगञ्जकै सिमलडाँगी, टप्पुबस्ती र कुञ्जीबारीमा हरेक वर्षायाममा आतङ्क सृजना गर्दै आएका छन् ।

बस्तीमा बाढी पस्नेबित्तिकै होक्लाबारीका बासिन्दालाई सुरक्षित स्थानमा सार्न इन्द्रेणी आधारभूत विद्यालयलाई आश्रयस्थल तोकिएको वडा सदस्य सुनुवारले बताउनुभयो । उक्त विद्यालय नै कनकाई र कमल बनियानीको बाढीको चपेटामा पर्नसक्ने उहाँले बताउनुभयो ।

बर्खाका बेला होक्लाबारी क्षेत्रमा आवागमनका लागि डुङ्गा नै चलाउनुपर्ने बाध्यता छ । पालिकाले सो क्षेत्रका बासिन्दाको सुविधाका लागि डुङ्गाको व्यवस्था गरिदिएको छ । गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष फूलमति राजवंशीले गौरीगञ्जको वडा नं १ र २ अन्य वडाको तुलनामा बढी विपद्को जोखिममा रहेको बताउनुभयो । उहाँले वर्षाका कारण हुने विपद्को पूर्वतयारी पूरा गरिसकेको जानकारी दिनुभयो । “आपत्कालीन अवस्थामा अपनाउनुपर्ने सबै सावधानीको तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “राहत कोष र आवश्यक विपद् सामग्रीको तयारीसँगै प्रभावित क्षेत्रको अवलोकनसहित तथ्याङ्क सङ्कलन गरिसकेका छौँ ।”

अध्यक्ष राजवंशीले स्थानीय सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँग विपद् व्यवस्थापन संयन्त्र तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । वडा नं १ कै कुञ्जिबारी, टाप्पुबस्ती, बिर्खेबस्ती, माझीगाउँ पनि बाढीको उस्तै त्रासमा रहेको छ । जिल्लाका झापा, कचनकवल गाउँपालिका र शिवसताक्षी नगरपालिकामा कनकाई नदीमा आएको बाढी गाउँमा पस्दा स्थानीयवासी विस्थापित हुन थालेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापाका १५ स्थानीय तहका नौ हजार नौ सय १९ परिवार बाढीको उच्च जोखिममा रहेका जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

विश्वभर हरेक पाँचमध्ये चार व्यक्तिले जलवायु परिवर्तनजन्य सङ्कट व्यवस्थापनमा सरकारको प्रतिबद्धता चाहन्छन् : संयुक्त राष्ट्रसङ्घीय सर्वेक्षण

विश्वका प्रत्येक पाँचमध्ये चार व्यक्तिले आफ्नो देशले जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धतालाई बलियो बनाउनुपर्छ भन्ने धारणा राखेका संयुक्त राष्ट्रसङ्घीय एक सर्वेक्षण देखाएको छ बिहीबार प्रकाशित सर्वेक्षण रिपोर्टमा विश्वभरका ७५ हजार सहभागीले भाग लिएका थिए ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडिपि), अक्सफोर्ड विश्वविद्यालय र जियोपोलले गरेको सर्वेक्षणमा विश्वको ८७ प्रतिशत जनसङ्ख्याको प्रतिनिधित्व गर्ने ७७ देशका मानिसहरूलाई टेलिफोन सम्पर्कद्वारा १५ वटा प्रश्नहरू सोधिएको थियो । उनीहरूमध्ये ८० प्रतिशत उत्तरदातामा आफ्नो सरकारले विश्वव्यापी तापमानबिरूद्ध लड्ने प्रयासहरू बढाउनुपर्ने चाहना रहेको सर्वेक्षणको निष्कर्ष रहेको छ ।

विश्वको सबैभन्दा बढी हरितगृह ग्याँस उत्सर्जक चीन र संयुक्त राज्य अमेरिकाका उत्तरदाता पनि जलवायु परिवर्तन व्यवस्थापन कार्यको पक्षमा रहेको सर्वेक्षणले देखाएको छ ।

“विश्व समुदायको नेतृत्वले सन् २०२५ सम्ममा पेरिस सम्झौताअन्तर्गत अर्को चरणको प्रतिज्ञा गर्ने निर्णय गरिरहँदा विश्वको जनसङ्ख्याले जलवायु व्यवस्थापन कार्यलाई समर्थन गरको यो सर्वेक्षण निर्विवाद प्रमाण हुन सक्छ,” युएनडिपीका अन्तराष्ट्रिय जलवायु निर्देशक क्यासी फ्लिनले भन्नुभयो ।

सर्वेक्षण गरिएको ७७ देशमध्ये ६२ देशका अधिकांश उत्तरदाताले जीवाश्म ईन्धनबाट स्वच्छ ऊर्जाको प्रयोगतर्फ परिणत हुनुपर्ने बताएका थिए । विश्व्यापी तापमान पनि हाल चिन्ताको विषय बनेको सर्वेक्षणले देखाएको छ ।

उत्तरदातामध्ये ५६ प्रतिशतले हप्तामा कम्तिमा एक पटक जलवायु परिवर्तनको बारेमा सोच्ने बताएका छन् । साथै आधाभन्दा बढी ५३ प्रतिशत जनसङ्ख्याले गत वर्षको तुलनामा जलवायु परिवर्तन थप चिन्ताको विषय बनेको बताएका छन् । सर्वेक्षणमा दुई तिहाइभन्दा बढी ६९ प्रतिशत उत्तरदाताले बढ्दो विश्वव्यापी तापमानले जीवनयापनमा असर पारेको बताएका छन् ।

युएनडिपीका प्रमुख अचिम स्टेनरले यी विषय चुनावी र उपभोक्ता निर्णयहरूमा अनुवाद नहुने बताउनुभयो । “म त गर्छु तर अरुले गर्दैनन् । मैले मात्र गरेर केही हुँदैन,” स्टेनरले जलवायु व्यवस्थापन कार्यमा मानिसहरूको धारणा उद्धत गर्दै भन्नुभयो ।

विश्वभर हरेक पाँचमध्ये चार व्यक्तिले जलवायु परिवर्तनजन्य सङ्कट व्यवस्थापनमा सरकारको प्रतिबद्धता चाहन्छन् : संयुक्त राष्ट्रसङ्घीय सर्वेक्षण

विश्वका प्रत्येक पाँचमध्ये चार व्यक्तिले आफ्नो देशले जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धतालाई बलियो बनाउनुपर्छ भन्ने धारणा राखेका संयुक्त राष्ट्रसङ्घीय एक सर्वेक्षण देखाएको छ बिहीबार प्रकाशित सर्वेक्षण रिपोर्टमा विश्वभरका ७५ हजार सहभागीले भाग लिएका थिए ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडिपि), अक्सफोर्ड विश्वविद्यालय र जियोपोलले गरेको सर्वेक्षणमा विश्वको ८७ प्रतिशत जनसङ्ख्याको प्रतिनिधित्व गर्ने ७७ देशका मानिसहरूलाई टेलिफोन सम्पर्कद्वारा १५ वटा प्रश्नहरू सोधिएको थियो । उनीहरूमध्ये ८० प्रतिशत उत्तरदातामा आफ्नो सरकारले विश्वव्यापी तापमानबिरूद्ध लड्ने प्रयासहरू बढाउनुपर्ने चाहना रहेको सर्वेक्षणको निष्कर्ष रहेको छ ।

विश्वको सबैभन्दा बढी हरितगृह ग्याँस उत्सर्जक चीन र संयुक्त राज्य अमेरिकाका उत्तरदाता पनि जलवायु परिवर्तन व्यवस्थापन कार्यको पक्षमा रहेको सर्वेक्षणले देखाएको छ ।

“विश्व समुदायको नेतृत्वले सन् २०२५ सम्ममा पेरिस सम्झौताअन्तर्गत अर्को चरणको प्रतिज्ञा गर्ने निर्णय गरिरहँदा विश्वको जनसङ्ख्याले जलवायु व्यवस्थापन कार्यलाई समर्थन गरको यो सर्वेक्षण निर्विवाद प्रमाण हुन सक्छ,” युएनडिपीका अन्तराष्ट्रिय जलवायु निर्देशक क्यासी फ्लिनले भन्नुभयो ।

सर्वेक्षण गरिएको ७७ देशमध्ये ६२ देशका अधिकांश उत्तरदाताले जीवाश्म ईन्धनबाट स्वच्छ ऊर्जाको प्रयोगतर्फ परिणत हुनुपर्ने बताएका थिए । विश्व्यापी तापमान पनि हाल चिन्ताको विषय बनेको सर्वेक्षणले देखाएको छ ।

उत्तरदातामध्ये ५६ प्रतिशतले हप्तामा कम्तिमा एक पटक जलवायु परिवर्तनको बारेमा सोच्ने बताएका छन् । साथै आधाभन्दा बढी ५३ प्रतिशत जनसङ्ख्याले गत वर्षको तुलनामा जलवायु परिवर्तन थप चिन्ताको विषय बनेको बताएका छन् । सर्वेक्षणमा दुई तिहाइभन्दा बढी ६९ प्रतिशत उत्तरदाताले बढ्दो विश्वव्यापी तापमानले जीवनयापनमा असर पारेको बताएका छन् ।

युएनडिपीका प्रमुख अचिम स्टेनरले यी विषय चुनावी र उपभोक्ता निर्णयहरूमा अनुवाद नहुने बताउनुभयो । “म त गर्छु तर अरुले गर्दैनन् । मैले मात्र गरेर केही हुँदैन,” स्टेनरले जलवायु व्यवस्थापन कार्यमा मानिसहरूको धारणा उद्धत गर्दै भन्नुभयो ।

योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताएका छन् ।

विश्व योग दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले योगसम्बन्धी ज्ञानविज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरे ।

योग शारीरिक अभ्यासमात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन योगले सहयोग पुर्याउने बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

“शरीरलाई स्वस्थ र फूर्तिलो बनाउने तथा मनलाई स्वच्छ र शान्त बनाउने सर्वोत्तम उपाय योग हो”, प्रधानमन्त्रीले भने, “नियमित योगाभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनावमुक्त भई कार्यक्षमताका साथै रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि, व्यक्तिमा सकारात्मक सोचको विकास, व्यक्तिमा अनुशासन र आन्तरिक ऊर्जा प्राप्त हुनेजस्ता गुणको विकास हुन्छ ।”

तनावमुक्त शान्त मन र रोगमुक्त स्वस्थ शरीर विकासमा योगको महत्त्वपूर्ण भूमिका रहने बताउँदै प्रधानमन्त्रीले योग र ध्यानका अभ्यासहरूबाट नसर्ने रोगहरूको रोकथाम, उपचार र पुनःस्थापनाका लागि महत्त्वपूर्ण योगदान पुग्ने विचार व्यक्त गरे ।

“नेपाल योग पर्यटनका निम्ति अत्यन्त सम्भावनायुक्त देश हो”, प्रधानमन्त्री दाहालले भने, “तसर्थ, हामीले योगको विश्वव्यापीकरणमा जोड दिनुपर्दछ । यस दिशामा योजनाबद्ध पहल लिन योगका अभियन्ताहरू र योग गुरूहरूमा म हार्दिक अपील गर्दछु ।”

योग नेपालको आम जीवनपद्धति एवं अमूल्य निधि भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले प्रस्तावित योगमाया आयुर्वेद विश्वविद्यालय भविष्यमा विश्वस्तरीय विश्वविद्यालयका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे ।