काठमाडौँ, ९ असारः खानेपानी मन्त्री राजेन्द्रकुमार राईले खानेपानीको समस्या समाधानका लागि आगामी आर्थिक वर्षको बजेट महत्वपूर्ण कोशेढुङ्गा साबित हुने बताउनुभएको छ ।विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकमाथि भएको छलफलका क्रममा खानेपानी मन्त्रालयका शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको आज प्रतिनिधिसभाका जवाफ दिनुहुँदै खानेपानीमन्त्री राईले उक्त दाबी गर्नुभएको छ ।
“खानेपानीको लाइनमा बस्न नपर्ने अवस्थाको सिर्जना गर्न गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । खानेपानीका लागि कम्मरमा गाग्री र पिठ्युँमा डोको बोक्नुपर्ने समस्याको अन्त्य गर्ने र तपाईंहरुले अर्कोचोटी प्रश्न नउठाउने गरी काम गर्ने प्रवद्धता व्यक्त गर्दछु”, खानेपानी मन्त्री राईले भन्नुभयो ।
मेलम्ची खानेपानी आयोजनामा बाढीले पु¥याएको क्षति पछि आयोजनालाई कसरी अगाडि बढाउने भनेर अध्ययन भएको र बाढीका कारण पुरिएको आयोजनाको ट्याङ्की सुरक्षित स्थानमा लैजानका लागि मन्त्रिपरिषद्मा स्वीकृती पाएको र त्यसका लागि एसियाली विकास बैंकले करिब रु दुई अर्ब अनुदान सहयोग गर्ने पनि उहाँले बताउनुभयो । आयोजनाको दोस्रो चरणअन्तर्गतको कामका लागि लार्के र याङ्ग्री खोलाबाट समान दैनिक १७ करोड लिटर पानी काठमाडौँ पु¥याउनेगरी योजना निर्माण भइरहेको बताउनुभयो । याङ्ग्री र लार्के खोलामा बन्ने हेडवक्र्ससम्म पहुँचमार्ग निर्माण भइरहेको उहाँको भनाइ छ ।
खानेपानी र सरसफाई तीनवटै तहको साझा अधिकार क्षेत्रभित्र पर्ने भएकाले प्रदेश र स्थानीय तहले पनि पर्याप्त बजेट विनियोजन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
आगामी आर्थिक वर्षका लागि तय भएको खानेपानी मन्त्रालयको बजेट र वार्षिक विकास कार्यक्रमले सबै जिल्ला र निर्वाचन क्षेत्रका मागलाई सम्बोधन गरेको खानेपानीमन्त्री राईले दावी गर्नुभयो । वार्षिक विकास कार्यक्रममा नपरेका धेरैवटा योजना कार्यान्वयनमा लैजाने तयारी मन्त्रालयले गरिरहेको पनि उहाँको भनाइ छ ।
एसियाली विकास बैंकको सहयोगमा विभिन्न स्थानीय तहमा खानेपानी आयोजनाको प्रक्रियाअघि बढेको र खानेपानी संस्थानले अघि बढाउने आयोजना पनि रातो किताबमा नपरेको उहाँको भनाइ छ । मधेस प्रदेशको खानेपानी समस्या समाधानका लागि अल्पकालिन, मध्यमकालिन र दीर्घकालिन योजना मन्त्रालयले बताइरहेको खानेपानी राईले उल्लेख गर्नुभयो । प्रतिनिधिसभाको अर्को बैठक भोलि असार १० गते सोमबार बिहान ११ बजे बस्नेछ ।
काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष विमला सुवेदीले पञ्चशीलको सिद्धान्तमा आधारित विदेश नीति सञ्चालन गर्दै आएका नेपाल र चीनबीचको सम्बन्ध जनस्तरमा नयाँ उचाइमा पुगेको बताएकी छन् ।
सिछुवान–नेपाल प्राविधिक सहकार्य प्रवर्द्धन सम्मेलनलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै उनले द्विपक्षीय सम्बन्ध पारस्पारिक सहयोगमा आधारित सम्बन्धलाई व्यापार, लगानी, ज्ञान र सीप आदानप्रदान माध्यमबाट महत्वपूर्ण आयाम प्रदान गरेको बताइन् ।
उपाध्यक्ष सुवेदीले भनिन्, “चीनले नेपालका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहयोग पुर्याउँदै आएको छ । चीनको आर्थिक–सामाजिक विकास निकै लोभलाग्दो र अनुकरणीय छ ।” सूचना र प्रविधिको चमात्कारिक विकासका दृष्टिले विश्व एक गाउँमा रुपान्तरण हुँदै गएको प्रसङ्ग उल्लेख गर्दै उनले चीनसँग नेपालको दिगो र सन्तुलित विकासका लागि स्रोत व्यवस्थापनसहित उल्लेख्य भूमिका अपेक्षा गरिएको बताइन् ।
नेपाल पनि छिट्टै अति–कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा उक्लिने चरणमा रहेको अवस्थामा यस यात्रालाई सार्थक बनाउन चिनियाँ सहयोग महत्वपूर्ण र आवश्यक रहेको बताउँदै उनले चिनियाँ सहयोगको दायरा अझै फराकिलो हुँदै जानेमा विश्वास व्यक्त गरिन् ।
चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन, सिचुआन प्रान्तीय समितिका उपाध्यक्ष से साङह्वाले चीन र नेपाल एकअर्कालाई सम्मान र विश्वास गर्ने असल मित्र, असल साझेदार र असल छिमेकी भएको बताइन् । उनले भनिन्, “दुई राष्ट्र प्रमुखको रणनीतिक निर्देशनमा सिचुआन–नेपालको सम्बन्ध निरन्तर उकालो लागेको छ, आर्थिक र व्यापारिक सहयोग झन् घनिष्ट भएको छ, सांस्कृतिक आदान–प्रदान र सहयोगले सकारात्मक नतिजा हासिल गरेको छ ।”
सिचुआन र नेपाल हिमाल र नदीहरूले जोडिएकोे ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै उपाध्यक्ष साङह्वाले हामी नेपालसँग विज्ञान तथा प्रविधि, ऊर्जा र अन्य क्षेत्रमा सहयोग सुदृढ गर्न प्रतिबद्ध रहेको बताइन् ।
सिचुआन र नेपालबीचको वैज्ञानिक र प्राविधिक ऊर्जा सहयोगलाई प्रवर्द्धन गर्ने कार्यक्रममार्फत नेपालको बजार माग र लगानीको वातावरण बुझ्न सक्षम हुने उनले विश्वास व्यक्त गरिन् ।
उपाध्यक्ष साङह्वालले भनिन्, “विज्ञान, प्रविधिको क्षेत्रमा सिचुआन–नेपाल सहयोग प्रवर्द्धन गर्न दोस्रो ‘बेल्ट एण्ड रोड’ विज्ञान तथा प्रविधि आदानप्रदान तथा सहयोग सम्मेलनले दुवै मुलुकबीच विज्ञान, प्रविधि, अर्थतन्त्र, व्यापार र मानविकीका क्षेत्रमा सहयोग प्रवर्द्धन गर्न भूमिका खेल्नेछ ।”
नेपालका लागि चीनका राजदूत छेन सोङले चीन र नेपाल रणनीतिक साझेदार र मित्रवत् छिमेकी भएकाले चीनले नेपालसँगको आफ्नो सम्बन्धलाई ठूलो महत्व दिएको बताए ।
उनले हालैका वर्षहरूमा सिचुआन प्रान्त र नेपालबीचको वैज्ञानिक र प्राविधिक आदानप्रदान र सहयोग झनै नजिक भएकाले दुवै पक्षलाई पारस्परिक लाभकारी सहयोगलाई अझ गहिरो बनाउन राम्रो आधारशिला खडा गरेको बताए ।
विज्ञान र प्रविधि चीन निर्माणको जग र राष्ट्रिय समृद्धिको आधार भएको बताउँदै राजदूत सोङले हालैका वर्षमा चीनले विज्ञान र प्रविधिमा आत्मनिर्भर र परिष्करणको प्रयासलाई तीव्रता दिएको बताए ।
चीनले अनुसन्धान तथा विकासमा गर्ने लगानी विश्वमा दोस्रो स्थानमा रहेको र अनुसन्धान र विकासमा संलग्न जनसङ्ख्याको हिसाबमा विश्वमा पहिलो स्थानमा रहेको सो अवसरमा जानकारी दिइयो ।
नवप्रवर्तन–सञ्चालित विकास रणनीतिमा निरन्तर गतिशील हुँदै जाँदा चीन नवप्रवर्तनशील देशहरूको सूचीमा प्रवेश गरेको उल्लेख गरियो । चीनको वैज्ञानिक र प्राविधिक शक्तिको सुधारले चिनियाँ जनतालाई मात्र होइन, अन्तर्राष्ट्रिय समुदायलाई पनि फाइदा पुर्याइरहेको प्रसङग उल्लेख गर्दै राजदुत छेन सोङले हाल चीनले एक सय ६० भन्दा बढी देश र क्षेत्रहरुसँग वैज्ञानिक र प्राविधिक सहयोग सम्बन्ध स्थापित गरेको जानकारी दिए ।
राजदूत सोङले चीनले अन्य देशहरूसँग अझ खुला रूपमा वैज्ञानिक र प्राविधिक र नवप्रवर्तन सहयोगलाई सुदृढ गर्दै नेपाललगायतका विकासशील मुलुकसँग वैज्ञानिक र प्राविधिक विकासको लाभांश बाँड्ने काम जारी राख्ने बताए ।
चीन–नेपाल वैज्ञानिक र प्राविधिक सहयोगले लोकप्रिय रहेको जनाउँदै उनले विश्वव्यापी विकास पहलहरू कार्यान्वयन गर्न र मानव जातिको साझा भविष्यको साथ साझा समुदाय निर्माण गर्न दुवै पक्षको संयुक्त प्रयासको ज्वलन्त प्रतीक स्पष्ट गरे ।
राजदूत सोङले दुई देशका नेताबीच भएको महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न, ‘बेल्ट एण्ड रोड’को उच्च गुणस्तरको संयुक्त निर्माणलाई अवसरका रूपमा लिन, सहयोगका बिन्दुहरू विस्तार गर्न र सहयोगका लागि नयाँ गतिको विकास गर्न नेपाली जनताको हितमा चीन नेपालसँग काम गर्न इच्छुक रहेको स्पष्ट पारे ।
चीनका लागि नेपालका पूर्वराजदूत लिलामणि पौडेलले विज्ञान र प्रविधिले कुनै पनि समाज र कुनै पनि देशको समृद्धि र विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने हुँदा नेपाल पनि त्यसबाट अपवाद हुन नसक्ने बताए ।
उनले भने, “कृषि, सौर्य ऊर्जा, अटोमोबाइल, डाटा विज्ञान, उत्पादन मेसिन र उपकरणलगायत नयाँ ऊर्जा चीनले कुशल प्रविधिको विकासमा चमत्कार गरेको छ भने यता नेपाल नवीकरणीय ऊर्जा, उच्च मूल्यका कृषि बाली, औषधीय जडीबुटी, तथ्याङ्क विज्ञान लगायतका कृतिम विकास गर्ने अपार सम्भावना छ ।”
त्यसअवसरमा चिनियाँ प्रतिनिधिमण्डलमा सहभागी विज्ञान तथा प्रविधि, प्रविधि अनुसन्धान, कृषि सूचना तथा ग्रामिण अर्थतन्त्र, अन्तर्राष्ट्रिय सहयोग आदान प्रदानका क्षेत्रमा कार्यरत विषय विज्ञले आआफ्ना क्षेत्रबाट नेपालमा हुन सक्ने सहयोग र लगानीको सम्भावनाबारे चर्चा गरेका थिए ।
रुसले कब्जा गरेको क्रिमिया प्रायद्वीपको सेवस्तोपोलमा आइतबार युक्रेनी मिसाइल आक्रमणमा दुई वर्षीय शिशुसहित दुई जनाको मृत्यु भएको र २२ जना घाइते भएको मस्कोद्वारा नियुक्त सहरका गभर्नरले बताउनुभएको छ ।
कृष्ण सागरको बन्दरगाह सहर तथा सन् २०१४ मा रुसद्वारा कब्जा गरिएको क्रिमिया प्रायद्वीपको नौसैनिक अड्डा सेवस्तोपोल नियमितरूपमा युक्रेनी आक्रमणको चपेटामा परेको छ तर आइतबारको आक्रमणमा मृत्यु हुनेको सङख्या असामान्यरूपमा धेरै थियो ।
“अपुष्ट जानकारीअनुसार सेवस्तोपोलमा युक्रेनको सशस्त्र बलको आजको आक्रमणमा दुई शान्तिपूर्ण बासिन्दाको मृत्यु भयो, मृत्यु हुनेमा एक दुई वर्षका शिशु थिए”, सेवस्तोपोलका गभर्नर मिखाइल रजभोझायेभले टेलिग्राममा लेख्नुभयो ।
उहाँका अनुसार युक्रेनले प्रहार गरेको पाँच वटा मिसाइललाई रुसी हवाई रक्षा बलले समुद्रमाथि रोकेको थियो तर टुक्राहरू तटवर्ती क्षेत्रमा खस्यो र छर्राका टुक्राले मानिसहरू घाइते भए ।
रजभोझायेभले मिसाइलका टुक्रा सहरको उत्तरमा तटीय क्षेत्रमा खस्ता एउटा घर र जङ्गलमा आगो लागेको थियो । उहाँले यसअघि आइतबार रुसको दक्षिणी बेलगोरोड क्षेत्रमा युक्रेनले प्रक्षेपण गरेको एउटा ड्रोनले एक व्यक्तिको मृत्यु भएको थियो ।
बेलगोरोडका गभर्नर व्याचेस्लाभ ग्ल्याडकोभका अनुसार तीन युक्रेनी आक्रमणकारी ड्रोनले युक्रेनको सीमाबाट केही किलोमिटर टाढा ग्रेभोरोन सहरमा आक्रमण गरेका थिए । आक्रमणमा एउटा ड्रोनले फ्ल्याटहरूको बहुतले ब्लक नजिकै कार पार्कलाई निशाना बनाएको थियो ।
ग्ल्याडकोभले टेलिग्राममा लेख्नुभएको छ, “हमलामा एक जना शान्तिपूर्ण नागरिकको मृत्यु भएको छ, चोटका कारण उनको घटनास्थलमा मृत्यु भएको हो, आक्रमणमा तीन जना घाइते भएका छन् ।”
काठमाडौँ, ९ असारः राष्ट्रिय योजना आयोगले नागढुङ्गा सुरुङमार्गको अनुगमन गरेको छ । आज आयोगका सदस्य डा रामकुमार फुयालको नेतृत्वमा अनुगमन टोलीले आयोजनाको प्रगति, समस्यालगायतका विषयमा जानकारी लिएको हो ।
सुरुङमार्ग आयोजनाका निर्देशक रमेश कोइरालाले हालसम्म ७६ प्रतिशतभन्दा बढी भौतिक प्रगति र ७० प्रतिशतभन्दा बढी वित्तीय प्रगति रहेको बताउनुभयो । आयोजनाका लागि पछिल्लो समय १८ महिना समय थप गरिएकोमा थप गरिएको १४ महिना अझै बाँकी रहेको छ । उक्त अवधिमा आयोजना सम्पन्न हुने विश्वास कोइरालाले व्यक्त गर्नुभयो ।
आयोगका सदस्य डा फुयालका अनुसार आयोजनामा पर्ने जग्गाको केही कित्ताको मुआब्जा विवाद, घर चर्किएको समस्या, रोड सर्भिस सेन्टर (आरएसएस) निर्माणलगायत केही चुनौती बाँकी रहेको बताउनुभयो ।
“एउटै जग्गा सडक विभागको र स्थानीयको नाममा देखिएकाले आरएसएस निर्माणमा समस्या देखिएको छ”, फुयालले भन्नुभयो “अनुगमनका क्रममा केही मुआब्जाको समस्या, घर चर्किएको र निर्माण व्यवसायीको कर छुटको समस्या पनि देखियो ।”
यी समस्या कसरी समाधान गर्ने भन्ने बारे आयोजनाले समयमै सोच्नुपर्ने उहाँको भनाइ छ । साथै यी समस्या समाधान गर्न सने सुरुङमार्ग निर्धारित समयभित्रै सम्पन्न हुने देखिएको डा फुयालले बताउनुभयो ।अनुगमन टोलीमा आयोगका महाशाखा प्रमुख हेमराज सुवेदीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागका अधिकारीसमेत सहभागी हुनुहुन्थ्यो ।
काठमाडौँ, ९ असारः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले विदेशबाट फर्किएकालाई नेपालभित्रै रोजगारीको अवसर सिर्जना गर्न ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ कार्यान्वयनको तयारी भइरहेको बताउनुभएको छ ।विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकमाथि भएको छलफलका क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतका शीर्षकमाथि उठेका प्रश्नको आज प्रतिनिधिसभा बैठकमा जवाफ दिनुहुँदै श्रममन्त्री अर्यालले स्वदेशभित्रै रोजगारी सिर्जना गर्नेसँगै विदेशबाट फर्किएकालाई यही काम गर्ने वातावरण बनाउने गरी सरकारले काम गरिरहेको दावी गर्नुभयो ।
“स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना, रोजगार प्रवद्र्धन कार्यक्रमजस्ता विविध कार्यक्रम सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यमा सञ्चालनमा आएका छन्”, श्रममन्त्री अर्यालले भन्नुभयो, “वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको ज्ञान, सीप र पुँजीलाई स्वदेशमै उपयोग गर्ने गरी रिटर्नी उद्यमशीलता कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ ।”
नेपाली नागरिकले वैदेशिक रोजगारीको क्रममा आर्जन गरेको सीप, पुँजी, प्रविधि र ज्ञानको उपयोग गर्दै उद्यमशीलता प्रवद्र्धनमार्फत उत्पादनशील रोजगारी र स्वरोजगार सिर्जना गर्नको लागि वैदेशिक रोजगारीवाट फर्किएका श्रमिकको पुनःएकीकरण परियोजना कोशी प्रदेश र मधेश प्रदेशका २० वटा स्थानीय तहमा कार्यान्वयन भइरहेको उहाँले श्रममन्त्री अर्यालको भनाइ छ ।
श्रम स्वीकृतिको लागि निर्णयको तह घटाई दुई सिफ्टमा कार्यालय सञ्चालन गरी एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरिएको उहाँले संसद्मा जानकारी गराउनुभयो । आन्तरिक तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकको गुनासो, उजुरी तथा सुझावलाई सम्बोधन गर्न सूचना प्रविधिमा आधारित एकद्वार प्रणाली श्रमाधानको स्थापना र सञ्चालन गरिएको उहाँको भनाइ छ ।
नेपाली युवा रोजगारीका लागि बाध्यात्मकरुपले विदेशिनुपर्ने अवस्थालाई अन्त्य गर्न देशभित्रै मर्यादित काम तथा उत्पादनशील रोजगारी पाउने वातावरण सुनिश्चित गर्ने उद्देश्यका साथ तीन वटै तहका सरकार एवम् निजी क्षेत्र र सरोकारवालाको सहभागितामा श्रमाधान रोजगार मेलाको पहिलो चरण सातै वटा प्रदेशमा सम्पन्न भएको श्रममन्त्री अर्यालले जानकारी दिनुभयो । श्रमिकलाई थप आर्थिक भार तथा बोझ दिने गरी विगतमा भएका निर्णय तथा जारी भएका कार्यविधिको असर तथा प्रभाव अध्ययन गरी विभिन्न कार्यविधि तथा निर्णयको खारेजी, स्थगन र परिमार्जन गरिएको उहाँको भनाइ छ ।
सीप विकास, उद्यमशीलता, आप्रवासन सेवा, रोजगार सेवालगायत सबै प्रकारका श्रम तथा रोजगार सेवा स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रबाट एकद्वार र एकीकृतरुपमा प्रदान गर्नेगरी कानुन निर्माण भएको अर्यालले बताउनुभयो । एकीकृत श्रम तथा रोजगार सेवा (सञ्चालन र व्यवस्थापन) कार्यविधि, २०८० स्वीकृत गरी स्थानीय तहबाट नै श्रम र रोजगारसम्बन्धी सेवा एकीकृतरुपमा प्रवाह भइरहेको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट चालू आर्थिक वर्षको जेठ मसान्तसम्म ४५ हजार पाँच सय ६३ जनाले औसत ७७ दिनको रोजगारी प्राप्त गरेको उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पुनर्संरचना गरी सीप विकास र उद्यमशीलतासँग आवद्ध गर्ने गरी प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो ।
श्रम बजारमा उपलब्ध रोजगारीका अवसर र रोजगारी खोजिरहेका श्रमिकबीच तादाम्यता कायम गर्न रोजगार बैङ्कका रुपमा काम गर्न राष्ट्रिय रोजगार व्यवस्थापन सूचना प्रणाली निर्माण गर्ने प्रक्रिया अगाडि बढाइएको पनि श्रममन्त्री अर्यालले जानकारी दिनुभयो ।
वैदेशिक रोजगारीसम्बन्धी सूचना तथा परामर्श प्रदान गर्ने कार्यलाई आगामी आर्थिक वर्षदेखि सबै जिल्ला र स्थानिय तहमा विस्तार गर्ने योजना सरकारको छ । साथै, वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, पहुँचयोग्य बनाउने उद्देश्यले व्यक्तिगत र पुनःश्रम स्वीकृतिसम्बन्धी सहजीकरण सेवा सबै स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रमार्फत् हुने व्यवस्था गरिएको श्रममन्त्री अर्यालले बताउनुभयो ।
वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु हुने मृतकका परिवारलाई दिइने क्षतिपूर्तिबापतको रकम सात लाखबाट बढाई दश लाख हुने गरी प्रस्ताव गरिएको छ । अङ्गभङ्ग वा मृत्य्ु भएका कामदार र निजका परिवारलाई उपलब्ध गराउने आर्थिक सहायता तथा छात्रवृत्तिसम्बन्धी सेवालाई समेत अनलाईनमार्फत् प्रदान गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
वैदेशिक रोजगारीको सन्दर्भमा हुने ठगीलगायतका गुनासा र श्रमाधान कल सेन्टरमा प्राप्त भएका सबै प्रकारका गुनासा समयमै सम्बोधन गर्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
विदेशमा अलपत्र परेका नेपाली कामदारलाई उद्धार गरी तत्काल आश्रय प्रदान गर्न चार वटा देश ओमान, कुवेत, साउदी अरब र इजरायलमा वैदेशिक रोजगार बोर्डबाट रु १५ लाखका दरले कुल रु ६० लाख उपलब्ध गराइएको श्रममन्त्री अर्यालको भनाइ छ ।
कतार, मलेसिया, युएई, साउदी अरब, दक्षिण कोरिया, बहराइन, कुवेत, ओमनमा श्रम काउन्सेलर र श्रम सहचारी परिचालन गरिएको तथा सबै कुटनीतिक नियोगसँग प्रभावकारी समन्वय गरिएको उहाँले दावी गर्नुभयो ।
नयाँ श्रम गन्तव्य मुलुकको खोजी र श्रम सम्झौताको नवीकरण गर्ने कार्यलाई अगाडि बढाइएको श्रममन्त्री अर्यालले बताउनुभयो । जर्मनी र रोमानियासँग नयाँ श्रम सम्झौता भइसकेको र आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा थप तीन देशसँग द्विपक्षीय सम्झौता गरिने उल्लेख भएकोमा सोको गृहकार्य सुरु भइसकेको उहाँले बताउनुभयो ।
आन्तरिक सीपमूलक तालिमतर्फ सबै प्रतिष्ठानबाट हालसम्म करिब दुई हजार पाँच सय जनालाई सीप विकाससम्बन्धी विभिन्न तालिम प्रदान गरिएको जनाइएको छ । वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्ति, स्वदेशमै स्वरोजगारमा रहेका व्यक्ति, औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिक गरी हालसम्म १३ लाख ४८ हजार पाँच सय ४२ व्यक्ति योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको श्रममन्त्री अर्यालले जानकारी दिनुभयो ।
पछिल्लो तीन वर्षमा वैदेशिक रोजगारीमा गएका चार हजार श्रमिकको मृत्यु भएको र सो अवधिमा आठ सय ७० जना अङ्गभङ्ग भएको तथा कुल मृगौलाका बिरामीमध्ये ३० प्रतिशत खाडि मुलुकमा काम गर्ने नेपाली रहेको विषय संसद्मा उठेको थियो ।
बेल्जियम– युरोपेली सङ्घ (ईयू) र चीनका व्यापार प्रमुखबीच चिनियाँ विद्युतीय कारमा कर वृद्धि गर्ने ब्रसेल्सको योजनाबारे शनिबार ‘स्पष्ट र रचनात्मक’ वार्ता भएको र दुवै पक्षले थप छलफल गर्ने ईयूले आइतबार जानकारी गराएको छ । ईयूले जुलाईदेखि चिनियाँ विद्युतीय कार आयातमा ३८ प्रतिशतसम्म अतिरिक्त कर लगाउने घोषणा यसै महिना गरेको थियो ।
ईयूका प्रवक्ताले युरोपेली व्यापार आयुक्त भाल्डिस डोम्ब्रोवस्कीस र चीनका वाणिज्यमन्त्री वाङ वेन्ताओबीच शनिबार ‘चीनमा उत्पादित ब्याट्री विद्युतीय सवारी साधनमा इयूको अनुदान विरोधी अनुसन्धानबारे स्पष्ट र रचनात्मक कुराकानी भएको’ बताउनुभएको छ । प्रवक्ता ओलोफ गिलले भन्नुभयो, “ईयू पक्षले आफ्नो अनुसन्धानको लागि वार्ताको कुनै पनि परिणाम हानिकारक अनुदानलाई सम्बोधन गर्न प्रभावकारी हुनुपर्छ भन्ने कुरामा जोड दिएको छ ।”
उहाँले भन्नुभयो,“दुवै पक्षले आगामी हप्तामा सबै तहमा सहकार्य जारी राख्नेछन् ।’चिनियाँ वाणिज्य मन्त्रालयले एक्समा जनाएअनुसार दुवै पक्ष वार्ताको क्रममा ‘परामर्श सुरु गर्न सहमत भएका छन्।”ईयूले चिनियाँ आयातको वृद्धिको सामना गरिरहेका समय युरोपेली उत्पादकहरूको रक्षा गर्न अनुसन्धान सुरु गरेर बेइजिङलाई चिढ्याएको थियो ।
यूरोपेली आयोगले अहिले चिनियाँ कार उत्पादकहरूमाथि अस्थायी रूपमा कर वृद्धिको प्रस्ताव गरेको छ । आयोगले बीवाईडीको लागि १७.४ प्रतिशत, जिलीको लागि २० प्रतिशत र एसएआईसीको लागि ३८.१ प्रतिशत कर वृद्धिको प्रस्ताव गरेको छ ।
ईयूले यो रकम फर्महरूले प्राप्त गर्ने राज्य अनुदानको स्तरमा निर्भर रहेको बताएको छ ।चीनमा ईयूसँग सहकार्य गर्ने विद्युतीय कार उत्पादकहरूले २१ प्रतिशतको अतिरिक्त करको सामना गर्नु पर्नेछ भने सहकार्य नगर्नेहरूले ३८.१ प्रतिशत शुल्कको अधीनमा हुनेछन् । यो हालको १० प्रतिशतको आयात शुल्कको उच्चतम विन्दु हुनेछ ।ल्क जुलाई ४ देखि अस्थायी रूपमा लागू हुनेछ र त्यसपछि नोभेम्बरदेखि लागू हुनेछ ।
ईयूले चीनसँग छलफल गर्ने आफ्नो योजना सार्वजनिक गर्दै अनुदानसम्बन्धी समस्या समाधानका लागि सम्भावित उपायको खोजी गर्ने प्रतिबद्धता जनाएको छ ।इयूको कर उच्च भए पनि संयुक्त राज्य अमेरिकाले गत महिनादेखि चिनियाँ विद्युतीय कारहरूमा लगाएको १०० प्रतिशत अतिरिक्त कर दरभन्दा कम हो ।
युरोपको अटोमोटिभ क्षेत्र यसको औद्योगिके गहना हो । बिद्युतीय कार उत्पादनमा चीनको हेड–स्टार्ट सहित खतराहरूको सामना गर्नुपर्दा मर्सिडीज र फेरारीजस्ता प्रतिष्ठित ब्रान्डहरूको घमण्ड तोडिएको छ । ब्रसेल्सले युरोपका सवारी साधन (कार) हरूलाई कमजोर पार्ने अनुचित अभ्यासहरू भएको दाबी गरेको छ । यसले दहन इन्जिन कारहरूको नयाँ बिक्री चरणबद्ध गर्न सन् २०३५ को समयसीमाको सामना गर्नुपर्नेछ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा युद्धका कारण अमेरिकासँग भएको हतियारसम्बन्धी विवाद छिट्टै सुल्झाइने बताउनुभएको छ ।
“अमेरिकाबाट इजरायलमा आउने हतियारको आपूर्तिमा करिब चार महिना अघिदेखि नाटकीय गिरावट आएको थियो । हामीले सबै प्रकारका स्पष्टीकरणहरू पायौं, तर आधारभूत अवस्था परिवर्तन भएन ।” नेता नेतन्याहूले मन्त्रिपरिषद् बैठकमा भन्नुभयो । हाँले भन्नुभयो, “मैले अन्तिम दिनमा जे सुनेको छु, त्यसको आलोकमा म आशा र विश्वास गर्दछु । निकट भविष्यमा यो मुद्दा समाधान हुनेछ ।”
उहाँले भन्नुभयो, “महिनौंसम्म यो परिस्थितिमा कुनै परिवर्तन नआएपछि मैले यसलाई सार्वजनिक अभिव्यक्ति दिने निर्णय गरेको थिएँं ।”नेतन्याहूले यसै साताको सुरुमा एक भिडियो वक्तव्य जारी गर्दै ‘इजरायललाई हातहतियार र गोलाबारुद रोकेको’ आरोप अमेरिकामाथि लगाउनुभएको थियो ।
अमेरिकी अधिकारीले नेतन्याहूको भनाइबारे आफूहरूलाई जानकारी नभएको बताएका छन् ।इजरायली रक्षामन्त्री योआभ ग्यालेन्ट गाजा युद्धबारे वार्ताका लागि वासिङ्टन उडेका बेला नेतन्याहूको पछिल्लो टिप्पणी आएको हो ।गाजामा हमासका लडाकुसँग लडिरहेको र लेबनानको उत्तरी सीमामा लेबनानी हिजबुल्लाहसँग सशस्त्र लडाईँ जारी रहेको समयमा आफ्नो अस्तित्वका लागि युद्ध लड्न अमेरिकी गोलाबारुदको आवश्यकता रहेको बिहीबार इजरायली प्रधानमन्त्रीले बताउनुभएको थियो ।
वासिङ्टन इजरायलको मुख्य सैन्य समर्थक हो तर ह्वाइट हाउसले इजरायलले आठ महिनाभन्दा बढी समयदेखि हमास लडाकूहरूसँग लडिरहेको गाजामा नागरिकको बढ्दो मृत्युप्रति निराशा व्यक्त गरेको छ ।
काठमाडौँ, ९ असार- नेपाली कांगे्रसका नेता एवं पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री डा मीनेन्द्र रिजालले विकासको बहस काम गरेर मात्रै पूरा हुने बताउनुभएको छ ।
राष्ट्रिय समाचार समिति (रासस) द्वारा गणतन्त्र दिवसका अवसरमा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ तस्बिर प्रदर्शनीको आज अवलोकन गर्नुहुँदै उहाँले ठूला ठूला विकास साना कामबाट हुने भएकाले त्यो देखाउन प्रदर्शनी सफल रहेको बताउनुभयो । गणतन्त्र नेपालको स्तम्भबाट प्रदर्शनी सुरु भएको उल्लेख गर्नुहुँदै नेता रिजालले पूर्वाधारमा महिलाको सहभागितालाई पनि प्रदर्शनीले समेटेर राम्रो सन्देश दिन खोजेको उहाँले बताउनुभयो ।
पूर्वमन्त्री रिजालले यी तस्बिरलाई श्रव्यदृश्यकै माध्यमबाट देखाउनसके अझ प्रभावकारी भई गणतन्त्रका उपलब्धि जीवन्तरुपमा जनसमक्ष आउने विचार व्यक्त गर्नुभयो । “गणतन्त्र स्थापनापछि भौतिक विकासले निकै फड्को मारेको छ । सुरुङ, सडकबाटो, सिँचाइ, जलविद्युत्, सूचना तथा सञ्चार, स्वास्थ्य, शिक्षालगायत हरेक क्षेत्रमा काम भएका छन् । विकासको बहस काम गरेर पूरा हुन्छ बहस गरेर होइन भन्ने प्रष्ट पार्न पनि प्रदर्शनी सफल भएको छ । यसलाई श्रव्यदृश्यमार्फत जनसमक्ष देखाउन सके अझै राम्रो सन्देश जान्थ्यो”, उहाँले भन्नुभयो ।
तस्बिर प्रदर्शनीको आजै सूचना तथा प्रसारण विभागका महानिर्देशक बलराम रिज्याललगायतको टोलीले पनि अवलोकन गरेको छ । गत जेठ १० गतेदेखि सुरु भएको प्रदर्शनी सोमबारसम्म चल्ने छ ।
मनाङ, ९ असारः हिमाली जिल्ला मनाङमा विपद प्रतिकार्यका लागि सहायता कक्ष स्थापना गरिएको छ । जोखिमयुक्त जिल्ला समेत मानिने मनाङको विपद प्रतिकार्य गर्न पाँच वटा सहायता कक्ष स्थापना गरिएको हो । मनसुनजन्य विपदको समयमा उद्धार र राहतकालाई प्रभावकारी बनाउन सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालको संयोजकत्वमा जिल्ला विपद सहायता कक्ष स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा पाँच वटा विपद सहायता कक्ष स्थापना गरिएको छ ।
उहाँले भन्नुभयो, “मनाङ बाढीपहिराको जोखिमयुक्त क्षेत्र हो । यहाँ कुनै विपद आउनासाथ उद्धार र राहतका कार्यलाई प्रभावकारी तथा व्यवस्थित गर्ने भूमिका खेल्नेछ ।” जिल्ला विपद सहायता कक्ष एक, चार वटा पालिकामा एक÷एक गरी पाँच वटा विपद सहायता कक्ष स्थापना गरिएको छ ।
प्रजिअ लामिछानेले जिल्लाका सम्पूर्ण कार्यालयलाई जनशक्ति, उपलब्ध स्रोतसाधन तथा सवारीसाधन विपदको समयमा परिचालन गर्ने गरी पूर्व तयारी अवस्थामा राख्न निर्देश गरिएको बताउनुभयो ।
विसं २०७८ असार १ मा आएको बाढीपहिराका कारण निजी आवास पूर्णरुपमा क्षति लाभग्राहीलाई राहत उपलब्ध गराउने निर्णय समेत भएको छ । मनसुनजन्य विपदमा परी निजी आवास पूर्णरुपमा क्षति भएका नासों गाउँपालिका–३ निवासी डिमान सिंह गुरुङलाई निजी आवास पुनःनिर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि २०७७ बमोजिम अन्तिम किस्ता वापतको रकम रु एक लाख ७५ हजार व्यक्तिगत खातामा उपलब्ध गराउने निर्णय गरी कार्यान्वयनको तयारीमा रहेको छ ।
नासोँ गाउँपालिकाका सम्पूर्ण वडा, चामेका ३, ४, ५ वडा, मनाङ ङिस्याङका १, ४, ५ नम्बर वडामा विसं २०७८ जेठ १४ र असार १ मा भएको वर्षापछि आएको बाढी पहिराले क्षति पुर्याएको थियो ।
काठमाडौँ, ९ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलमार्फत अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल गर्दै आएको बताउनुभएको छ ।‘साहना प्रधान प्रतिष्ठान’द्वारा आयोजित अन्डर–१९ भलिबल प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले समग्र खेल क्षेत्रको विकास र खेलाडीमा उत्साह तथा प्रोत्साहनलाई आफूले विशेष ध्यान दिँदै आएको बताउनुभयो । “युवा तथा खेलकुदको क्षेत्रलाई उच्च प्राथमिकता दिँदै आएको छु”, उहाँले भन्नुभयो, “खेलाडीको वृत्तिविकास, उनीहरूलाई प्रोत्साहन र खेलमार्फत अर्थतन्त्र तथा कूटनीतिमा हस्तक्षेपका निम्ति मैले विशेष पहल लिँदै आएको छु ।”
नेपालको भू–वनोट र संस्कृतिका दृष्टिले पनि भलिबल अत्यन्तै सम्भावनायुक्त खेल विधा भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा विशेष प्रस्ताव राखेर भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको स्मरण गर्नुभयो । उहाँले उक्त ऐतिहासिक घोषणाले नेपालका भलिबल खेलाडीलाई उत्प्रेरणा मिलेको विश्वास व्यक्त गर्नुभयो ।
आगामी आर्थिक वर्ष राष्ट्रियस्तरका ८० खेलकुद प्रतियोगिता आयोजना गर्ने, काठमाडौँको मूलपानी क्रिकेट रङ्गशाला र विराटनगरको गिरिजाप्रसाद कोइराला रङ्गशालालाई राष्ट्रिय गौरवका आयोजनाका रूपमा निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भरतपुरमा निर्माणाधीन गौतम बुद्ध रङ्गशाला सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा निर्माण अगाडि बढाउने, कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति र फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई तीव्रता दिइने बताउनुभयो ।
साहना प्रधान नेपाली वामपन्थी आन्दोलनको एक शिखर व्यक्तित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पञ्चायती व्यवस्थाविरूद्ध कठोर सङ्घर्ष गर्दै २०४६ सालको जनआन्दोलनसम्म आउँदा उहाँले संयुक्त वाममोर्चाको नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “वैचारिक र साङ्गठनिक भूमिकाको इतिहासमा प्रधान सधँै प्रेरणादायी हुनुहुन्छ, रहनुहुन्छ ।”
राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आफूले हेर्ने गरेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले महत्वपूर्ण प्रतियोगिताअघि प्रतिस्पर्धी खेलाडीलाई भेटेर हौसला प्रदान गर्ने र विजयी खेलाडीलाई पुरस्कृत गर्दै आएको बताउनुभयो ।
विराटनगर, ८ असारः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिमा आपराधीकरण बढ्दै धारणा व्यक्त गर्नुभएको छ । नेपाल मुस्लिम सङ्घ मोरङको तेस्रो जिल्ला अधिवेशनको उद्घाटनका क्रममा उहाँले राजनीतिमा आपराधीकरणले जरो गाड्न थालेकाले त्यसलाई रोक्न दलहरूले सोच्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।
उहाँले भत्रुभयो, “राजनीति पैसा कमाउनका लागि मात्रै गर्ने हो भन्ने कतिपयको सोचले विकृति बढेको छ, यसलाई निर्मुल पार्नुपर्छ ।” आफ्नो पार्टीका नेता तथा कार्यकर्ताले जस्तोसुकै अपराध गरे पनि त्यसलाई जोगाउनेतर्फ दलहरू लाग्ने गरेको उहाँको भनाइ थियो ।
भ्रष्टाचारले मुलुकलाई नराम्ररी गाँजेको जिकिर गर्दै उहाँले राजनीतिकले नै भ्रष्टाचारलाई प्रसय दिएको बताउनुभयो । उहाँले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम नगरेसम्म मुलुकको आर्थिक विकास हुन नसक्ने बताउनुभयो । उहाँले सरकार गिराउने र बिगार्ने खेलमा कांग्रेस नलाग्ने पनि स्पष्ट पार्नुभयो ।
नेता कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्ने बताउनुभयो । उहाँले मुस्लिम समुदाय लोकतन्त्रप्रति प्रतिबद्ध रहेकाले उनीहरूको शिक्षा र आर्थिक विकासका लागि राज्य गम्भीर हुनु आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य डा डीला सङ्ग्रौला, मुस्लिम सङ्घका संस्थापक अध्यक्ष तथा नेका केन्द्रीय सदस्य अब्दुल सतारले राजनीतिक प्रतिनिधित्वमा मुस्लिम समुदायको अवस्था कमजोर भएकाले त्यसतर्फ कांग्रेसले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
विराटनगर महानगरपालिका प्रमुख तथा नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालाले नेपाली कांग्रेसको इतिहासमा महत्वपूर्ण योगदान दिने मुस्लिम समुदायको समस्या समाधान गर्न ध्यान दिनु जरुरी रहेको विचार राख्नुभयो ।
काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ शनिबार इरानतर्फ प्रस्थान गरेका छन् । एसिया को–अपरेसन डायलग (एसीडी)का सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको १९औं बैठकमा भाग लिन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।
तेहरानमा सोमबार आयोजना हुने बैठकमा श्रेष्ठले सदस्य राष्ट्रका विदेशमन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रीस्तरीय बैठकअघि मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका सहसचिव ज्ञानबहादुर मगरले असार ९ गते हुने एसीडीका वरिष्ठ अधिकारीहरूको बैठकमा भाग लिनेछन् ।
एसीडी सदस्य राष्ट्रमा नेपालसँगै अफगानिस्तान, कुवेत, दक्षिण कोरिया, बहराइन, रुस, बंगलादेश, भारत, चीन, थाइल्यान्ड, इन्डोनेसिया, जापान, कतारलगायत ३५ देशहरू रहेका छन् ।
मन्त्री श्रेष्ठ असार १२ गते स्वदेश फर्किने तालिका रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
विराटनगर, ८ असार : विराटनगर महानगरपालिकाले मनसुनजन्य विपद्बाट हुने जोखिम न्यूनीकरण, रोकथाम, उद्धार तथा राहतसहितका तयारी गर्न द्रुत प्रतिकार्य टोली गठन गरेको छ ।
सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाको संयोजकत्वमा गठित टोलीको सहसंयोजकमा सरसफाई शाखा प्रमुख पुनमकुमार दाहाल तथा आर्थिक, आवास, पशुपक्षी, स्वास्थ्य र पूर्वाधार व्यवस्थापनमा क्रमशः संजीवकुमार भट्टराई, कृष्ण भट्टराई, शुभनारायण यादव, डा दिलीपकुमार यादव, इन्जिनियर अर्जुन थापा रहनुभएको छ ।
त्यस्तै खाद्य व्यवस्थापनमा रामहरि कोइराला, उद्धार तथा सुरक्षा व्यवस्थापनमा राजन पौडेल, प्रशासन तथा सचिवालय व्यवस्थापनमा अनिता न्यौपाने, सरसफाई व्यवस्थापनमा किरण न्यौपाने र सञ्चारमा मीनकुमार नवोदित रहनुभएको विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले जानकारी दिनुभयो ।
बाढी र डुबानबाट प्रभावितको उद्धार, बासस्थान तथा आश्रयस्थान व्यवस्थापन, खाद्य, औषधि उपचार, राहत वितरणलगायत व्यवस्थापनका लागि समितिले सम्पूर्ण तयारी गर्नेछ । “प्रतिकार्य टोलीलाई प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसँग समन्वय गरी विपद्का लागि आवश्ययक सामग्री खरिद वा भाडामा लिन सक्ने, कर्मचारी परिचालन, स्रोत परिचालन, विषयगत कार्यालय, संस्था समन्वय र बैठक, विद्यालय व्यवस्थापन, अस्थायी शौचालय, बालबालिका खेल सामग्री, शिविर सञ्चालनलगायतका अन्य विपद् व्यवस्थापन कार्य गर्नेगरी जिम्मेवारी दिइएको छ”, निर्णयमा उल्लेख छ ।
विराटनगरका वडा नं ९ र १० बाहेकका अधिकांश वडा बाढी र डुबानबाट प्रभावित हुँदै आएका छन् । प्रमुख कोइरालाले खोला छेउछाउ बसोबास गर्ने महानगरवासीलाई सतर्कता अपनाउन आग्रहसमेत गर्नुभएको छ ।
तेह्रथुम ८, असार : कोशी प्रदेश पुरुष फुटबल प्रतियोगिताको उपाधि मोरङले जितेको छ । तेह्रथुमको म्याङलुङमा आज सम्पन्न प्रतियोगिताको फाइनलमा ओखलढुङ्गालाई शून्यविरुद्ध २ गोल गर्दै मोरङ विजेता बनेको हो । मोरङले नगद रु तीन लाख ३३ हजार ट्रफी, मेडल र प्रमाणपत्रसहित प्रथम पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बनेको ओखलढुङ्गाले रु दुई लाख २२ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
म्याङलुङ खेलमैदानमा असार ३ गतेदेखि सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका अन्य १२ जिल्लाको सहभागिता रहेको थियो । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेश विराटनगरको आयोजना, जिल्ला खेलकुद विकास समिति तेह्रथुमको संयोजन र कोशी प्रदेश फुटबल सङ्घको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भएको हो ।
बोर्डले रु २० लाख र खेलाडीका लागि आवास, खाजाका लागि म्याङलुङ नगरपालिकाले रु १० लाख प्रदान गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र बरालले बताउनुभयो ।
काँक्रेविहार (सुर्खेत), ८ – डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाको फोक्सुण्डो खोलामा डुबेर आज दिउँसो दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा काइके गाउँपालिका–५ का १२ वर्षीया रुबिना बिष्ट र १० वर्षीया सुबिना बुढा रहेका जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार दुवैजना आज बिहान खाना खाएर फोक्सुण्डो खोला सरसफाइ गर्न भनेर गएका थिए । मृतक बिष्ट कक्षा ५ र बुढा कक्षा २ मा अध्ययनरत थिए ।
बैतडी, ८ असारः महाकाली नदीमा डुबेर बैतडीका एक बालिकाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएकी छन् । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ स्वालाकी १५ वर्षीया रजनी चाँड रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिनुभयो ।
शिवनाथ गाउँपालिका–१ कुस्मतघाटस्थित महाकाली नदीमा आज विहान १० बजेतिर नुहाउने क्रममा रजनी बेपत्ता भएकी र केही समयपछि नेपाल प्रहरी र स्थानीयले मृतावस्थामा फेला पारेको प्रहरीको भनाइ छ ।
रजनीसँगै महाकालीमा नुहाउन गएकी सोही ठाउँकी १२ वर्षीया अस्मिता चाँड भने बेपत्ता छिन् । उनको खोजी जारी छ । अस्मिताको खोजीका लागि स्थानीयसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन भएको प्रवक्ता पाण्डेले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
भक्तपुर । ‘सम्माननीय सभामुखज्यू, संसद्मा माइक तोडफोडलगायत असंसदीय गतिविधि गर्ने, संसद् बैठकमा पूरा समय नबस्ने सांसदलाई कारबाही हुदैन, शिक्षा विधेयक संसद्बाट कहिले पारित हुन्छ ?’, आज यस्तै प्रश्नबाट घेरिए सभामुख देवराज घिमिरे ।
भक्तपुरको दुवाकोटस्थित गोल्डेन सुनगाभा इङ्लिस बोर्डिङ स्कुलले आयोजना गरेको ‘गोल्डेन सुनगाभा संसद् अधिवेशन’मा सहभागी यहाँका विद्यार्थीहरूले एकै स्वरमा उनलाई प्रश्न गरे, ‘कानुन बनाउने थलोमा अमर्यादित क्रियाकलाप किन हुन्छन्, अत्यावश्यक कानुन पनि समयमै किन बन्दैनन् ?’
जवाफमा सभामुख घिमिरेले भने, ‘संसद्मा अमर्यादित गतिविधि र तोडफोड नगन्य रूपमा मात्रै हुन्छन् ।’ यति जवाफले विद्यार्थीको चित्त नबुझेको भेउ पाएपछि थप प्रष्ट पार्दै उनले प्रतिनिधिसभा नियमावलीले संसदीय मर्यादा कायम गराउन आवश्यक प्रबन्ध गरेकाले त्यसमा सांसदहरु प्रतिबद्ध हुनुपर्ने बताए ।
‘संसद् भवनभित्र सांसदबाट यस्ता गतिविधि भएमा सचेत गराउने, रेकर्डबाट हटाउने, माफी मगाउने, चेतावनी दिने, अटेर गरेर पटकपटक अमर्यादित गतिविधि भए तीन दिनदेखि तीन महिनासम्म सभाबाट निष्काशन गर्ने र जे पनि गर्न खोजे फौजदारी मुद्दा लगाउन सक्ने व्यवस्था नियमावलीमा छ । यसको पालना गर्न आवश्यक छ’, सभामुख घिमिरेले भने ।
यसैगरी शिक्षा विधेयकबारे विद्यार्थीले सोधको जिज्ञासामा उनले विधेयक चाँडै पारित गराउन आफूले समन्वय गरिरहेको बताए । ‘शिक्षा विधेयक संसद्मा टेबुल भएर त्यसमाथि छलफल पनि भएको छ, यसलाई थप छलफलका लागि संसद्को शिक्षा समितिमा समेत पठाइएको छ । विधेयक पारित गराउन मैले समन्वय त गरिरहेको छु तर यो बर्खे अधिवेशनमा पास हुने सम्भावना छैन, हिउँदे अधिवेशनमा पक्कै पारित हुने अपेक्षा गरेका छौँ’, उनले भने ।
यो प्रसङ्गलगत्तै फेरि विद्यार्थीले सोधे, ‘कक्षा १२ को अध्ययन सकिनेबित्तिकै विदेशिने क्रम रोक्न के व्यवस्था गर्न सकिन्छ होला ?’ जवाफमा सभामुख घिमिरेले देशमा बढ्दो बेरोजगार समस्या चुनौतीका रूपमा रहे पनि राज्यले यही केही गर्न सक्ने वातावरण सृजना र सर्बसुलभ तथा गुणस्तरीय शिक्षाका लागि काम गर्नुपर्नेमा जोड दिए ।
‘राज्यले यही देशमा केही गर्ने व्यवस्था गर्नुपर्छ र विद्यार्थीले पनि देशको अर्थतन्त्र बलियो बनाउन आफ्नै देशमा केही गर्छु भन्ने भावनाको विकास गर्न आवश्यक छ । मेरो देश मेरो जिम्मेवारी हो भन्ने ठानेर यही काम गर्ने र विदेशिएकाले पनि उताबाट पढाइ सकेर आफ्नै देशमा केही गर्छु भनेर फर्कनुपर्छ’, उनले भने ।
सभामुख घिमिरेले विसं २०७५ सालमा बालअधिकारसम्बन्धी कानुन पास भएको चर्चा गर्दै बाल अधिकारलाई तीन तहकै सरकारले कार्यान्वयनमा ल्याइसकेको पनि जानकारी गराए ।
विद्यार्थीले सामाजिक शिक्षाअन्तर्गत शनिबार संसद्को अभ्यास गरेका थिए । सत्ता पक्ष र प्रतिपक्षको भूमिकामा रहेका विद्यार्थीले सभामुख घिमिरेलाई विभिन्न प्रश्न गरेका थिए । सभामा कक्षा १० की छात्रा सुस्मिता शाहीले सभामुख, कक्षा ६ की संस्कृति थापाले प्रधानमन्त्री र कक्षा ७ का रिषवचन्द्र गौतमले शिक्षामन्त्रीको भूमिका निर्वाह गरेका थिए ।
उनीहरुले सत्तापक्ष र प्रतिपक्षको रोहमा रहेका ३० जना सांसदले गरेका प्रश्नको जवाफ दिएका थिए । संसद्मा मर्यादापालकको रुपमा तालिमप्राप्त नेपाल स्काउटका विद्यार्थीले भूमिका निर्वाह गरेका विद्यालयका प्रधानाध्यापक महेशचन्द्र गौतमले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीलानाथ निरौलाले विद्यार्थीले सामाजिक शिक्षा विषयको पाठ्यक्रममा आधारित रहेर संसद्को अभ्यास गरेको बताए । यसबाट विद्यार्थीको नेतृत्व विकासमा योगदान पुग्नुका साथै जिज्ञासा मेटाउन सहयोग पुगेको उनले बताए ।
काठमाडौँ, ८ असारः वाग्मती नदीको शङ्खमूल क्षेत्रमा सफाइ गरी साढे दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको पाँच सय ८०औँ हप्तामा शङ्खमूल क्षेत्रमा गरिएको सफाइमा युवा एवं विद्यार्थीको उल्लेख्य सहभागिता रहेको अभियानकर्मी डा लक्ष्मी पौडेलले जानकारी दिनुभयो ।
महाअभियानबाट आज उठाइएको फोहर काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकुले व्यवस्थापन गरेको थियो । सफाइमा महिलाको सहभागिता पनि उल्लेख्य थियो । त्यस अवसरमा ललितपुर महानगरपालिका–१० का अध्यक्ष रविन व्यञ्जनकारलगायत जनप्रतिनिधिको पनि सक्रियता थियो ।
आगामी शनिबार पाँच सय ८१औँ हप्ताको वाग्मती सफाइ तीनकुने सुविधानगरस्थित वाग्मती किनारमा गरिने तय भएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिनुभयो ।
माथिल्लो वाग्मती सफाइको पाँच सय ४०औँ हप्तामा गुह्येश्वरीभन्दा माथिको क्षेत्रमा सफाइ गरिएको छ । सीमित अभियानकर्मीले सफाइ गरे पनि धेरैले नदीमा फोहर फाल्ने क्रम नरोकिएकाले सफा गर्न नसकिएको अभियानकर्मी ईश्वर पुडासैनीले बताउनुभयो ।
विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो । सफाइ महाअभियान १२ वर्ष प्रवेश गरे पनि नदी सफा हुन नसकेको भनी आलोचना हुने गरेको छ । महाअभियानबाट प्रभावित भएर वाग्मतीका सहायक नदीका साथै देशभर एक सयभन्दा बढी स्थानमा सफाइ अभियान सुरु भएको छ ।
गण्डकी, ८ असार : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न गण्डकी प्रदेश सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको बताउनुभएको छ । गण्डकी प्रदेश सरकारको सहकार्यमा संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशद्वारा आज यहाँ आयोजित संसदीय पत्रकार अभिमुखीकरण एवं अन्तक्र्रिया कार्यक्रममा उहाँले सञ्चार क्षेत्र सम्बद्ध सबैसँग पटकपटक छलफल गरी विधेयकलाई निष्कर्षमा पु¥याइएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“समाजलाई सकारात्मक सोचमा अघि बढाउन पनि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ । मैले संसदीय गतिविधिलाई प्रभावकारी बनाउनका लागि पनि सञ्चार क्षेत्रबाट धेरै अपेक्षा गरेको छु । ”
पछिल्लो समयमा सामाजिक सञ्जालले समग्र सञ्चार क्षेत्रको भूमिकालाई प्रभाव पारिरहेको जनाउँदै मुख्यमन्त्री पाण्डेले यसका लागि सिङ्गो सञ्चार क्षेत्र जिम्मेवार बन्नुपर्छ भन्नुभयो । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता खगराज अधिकारीले सञ्चार क्षेत्रलाई व्यवस्थित एवं प्रभावकारी बनाउन आवश्यक छ भन्नुभयो ।
राजनीतिक दल र सञ्चार क्षेत्रबीच राम्रो सहकार्य हुनसकेमा त्यसले समग्ररुपमा दल र व्यवस्थालाई बलियो र जिम्मेवार बनाउन भूमिका खेल्ने उहाँको विश्वास थियो । नेकपा (माओवादी केन्द्र) संसदीय दलका उपनेता तथा पूर्वमन्त्री सुशीला सिंखडाले सत्यतथ्य समाचार सम्प्रेषणका माध्यमबाट पत्रकारिता क्षेत्रले समाजलाई सुसूचित गराउनुपर्ने आवश्यकता आँैल्याउनुभयो ।
संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्ष भरत कोइरालाले संसदीय पत्रकारितालाई प्रभावकारी बनाउनका लागि मञ्चले यस किसिमका तालिम आयोजना गर्दै आएको जानकारी दिनुभयो ।
पत्रकार रामजी दाहाल, पूर्वप्रदेशसभा सदस्यद्वय विष्णुप्रसाद लामिछाने र धनञ्जय दवाडी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव प्रविण ढकाल, प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीलगायतले प्रशिक्षण प्रदान गर्नुहुने जनाइएको छ । तालिममा पोखरामा संसदीय समाचार सङ्कलन गर्दै आएका करिव ५० जना पत्रकारको सहभागिता छ ।
भक्तपुर, ८ असार – भक्तपुर नगरपालिका–१ घलातेमा आज सल्लाघारीबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा१३च २२६५ नंको सुमोले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते बाग्लुङ गलकोट नगरपालिका–१० का ३५ वर्षीय मनबहादुर घर्तीको भक्तपुर अस्पतालमा उपचारका लागि लैजाँदा मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो ।
प्रहरीले दुर्घटना गराउने सवारी साधन र चालक काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ बस्ने ५४ वर्षीय मधुकर केसीलाई पक्राउ गरी प्रहरी वृत्त जगातीको नियन्त्रणमा राखेर थप अनुसन्धान सुरु गरेको उहाँले जानकारी दिनुभयो ।
काठमाडौँ, ८ असार : सशस्त्र प्रहरी परिवार महिला सङ्घको २३औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजना गरिएको ‘दोस्रो महिला हाफ म्याराथन प्रतियोगिता २०८१’ को उपाधि नेपाल पुलिस क्लबकी राजपुरा पछाईले हात पार्नुभएको छ ।
उहाँले निर्धारित २१ दशमलव शून्य ९८ किमीको दुरी एक घण्टा १९ मिनेटमा पूरा गरी प्रथम हुनुभएको हो । प्रतियोगितामा प्रथम हुने नेपाल पुलिस क्लबकी राजपुरा पछाईले रु एक लाख प्राप्त गर्नुभयो ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकबाट सुरु भई बालाजु चोक–नयाँ बसपार्क–वसुन्धारा–महाराजगञ्ज चोकलाई दायाँ पार्दै त्रिवि शिक्षण अस्पताल–लैनचौर–जमल–घण्टाघर–सहिदगेट–त्रिपुरेश्वर–टेकु–कालीमाटी–रविभवन–कलङ्की हुँदै एपिएफ रङ्गशाला हलचोकमा पुगेर दौड समापन भएको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उद्घाटन गर्नुभएको प्रतियोगितामा सशस्त्र प्रहरी परिवार महिला सङ्घका केन्द्रीय अध्यक्ष अनीता लामिछाने अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, महिला सङ्घका पदाधिकारीलगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा विल्लादार जवानहरुको समेत उपस्थितिमा कार्यक्रम भएको हो ।
उक्त प्रतियोगितामा दोस्रो हुने नेपाल पुलिस क्लबकी राममाया बुढाले एक घण्टा २३ मिनेट १० सेकेन्डमा निर्धारित दूरी पार गरी रु ७५ हजार तथा तेस्रो हुने नेपाल एपिएफ क्लबकी पुष्पा भण्डारीले एक घण्टा २५ मिनेट ४५ सेकेन्डमा पार गरी रु ५० हजार जित्नुभएको छ ।
उपाधि हासिल गर्ने धावकलाई यही असार १७ गते वार्षिकोत्सवमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने कार्यक्रम रहेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार चौथोदेखि दसौँ स्थान हासिल गरेका धावकलाई आजै पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगितमा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लबलगायत सशस्त्र प्रहरी बल नेपालका वाहिनी मुख्यालय तथा देशैभरका महिला धावकको सहभागिता रहेको थियो ।
आजै सम्पन्न ‘प्रथम महिला हाफ म्याराथन प्रतियोगिता २०८१’ मा दीपा परियार प्रथम, लीला राई दोस्रो र रीना माझी तेस्रो हुनुभएको छ । उहाँहरुलाई सशस्त्र प्रहरी परिवार महिला सङ्घका अध्यक्ष अर्यालले पुरस्कार, मेडल र प्रमाणत्र प्रदान गर्नुभएको थियो ।
गर्मीको समयमा सहर लगातार तातो हुँदै जाँदा शनिबार राजधानी दिल्लीका केही भागमा ट्याङ्करबाट पानी ल्याउन मानिसहरूको लामो लाइन देखिएको थियो । गर्मीमा राजधानी दिल्लीमा पानीको अभावका कारण मयूर विहार क्षेत्रका गाउँ, सञ्जय कलोनी, ओखला क्षेत्र र गीता कलोनीका मानिसहरू लाइनमा उभिएर क्यान र बाल्टी समातेर पानीको ट्याङ्कर वरिपरि घुमिरहेको बिहानको दृश्यले देखाएको छ ।
बढ्दो तापक्रमको बीचमा, यी दृश्यहरू यो वर्षको गर्मी मौसम सुरु भएदेखि नै राजधानी क्षेत्रमा दैनिक घटना बनेका छन् ।
यसैबीच, पानी सङ्कटमा राजनीतिक खिचातानीे बीचमा, दिल्लीकी जलमन्त्री आतिशी शुक्रबार हरियाणा सरकारले दिल्लीको पानी नछोडेको आरोप लगाउँदै अनिश्चितकालीन भोक हडतालमा बस्नु भएको छ ।
यसैबिच, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालकी पत्नी सुनीता केजरीवालले न्यायिक हिरासतमा रहेका मुख्यमन्त्रीको सन्देश पढ्दै दिल्लीका जनता पानीको अभावबाट पीडित भएको देखेर अरविन्द केजरीवाल दुःखी भएको बताउनु भयो । उहाँले “केजरीवाल टिभीमा दिल्लीका मानिसहरू पानीको अभावका कारण पीडाको सामना गर्न बाध्य भएको देखेर आफुलाई दुःख लागेको भवना सम्प्रेषण गरिदिनु भयो । केजरीवालले आतिशीको ’तपस्या’ सफल हुने र दिल्लीवासीले पानीको समस्याबाट राहत पाउने आशा सहित अतिशीलाई शुभकामना दिनु भयो ।
यद्देपी भारतीय जनता पार्टीले भने पानी सङ्टलाई लिएर दिल्ली सरकारलाई आक्रमण जारी राखेको छ । भाजपाका सांसद बांसुरी स्वराजले आप सरकारले “भ्रष्टाचारलाई प्रोत्साहित गर्न“ संकटलाई “योजनाबद्ध“ गरेको आरोप लगाउनु भयो । पानीको सङट, प्राकृतिक सङ्कट नभई, केजरीवाल सरकारले आफ्नै भ्रष्टाचारलाई प्रोत्साहित गर्दै अवैध ट्याङ्कर माफियालाई प्रोत्साहित गर्ने योजना बनाएको बांसुरी स्वराजले उल्लेख गर्नु भयो ।
उहाँले सहर सुख्खा भइ दिल्ली असहज अवस्थामा हुदाँ केजरीवाल सरकार केवल नाटकमा लिप्त रहेको उल्लेख गर्दै मन्त्री आतिशीले पर्याप्त कदम चाल्नुको सट्टामा केवल नाटकमा व्यस्त भई दिल्लीवासीलाई अन्सनको धम्की दिइरहेको बताउनु भयो ।
चीनले फ्रान्ससँगको सहकार्यमा शनिबार नयाँ खगोलीय उपग्रह प्रक्षेपण गरेको छ । उपग्रह चिनियाँ र फ्रान्सेली वैज्ञानिकहरुले लगभग २० बर्षको कडा परिश्रमको परिणाम हो, जसले गामा–रेहरू क्याप्चर गर्न ब्रह्माण्डको सबैभन्दा टाढाको भागमा आतिशबाजी जस्तै चम्कन्छ ।
चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनका अनुसार दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको जिचाङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट लङ मार्च–द्दसी रकेटबाट अन्तरिक्षमा आधारित मल्टि–ब्यान्ड भेरिएबल ओब्जेक्ट मोनिटर (एसभिओएम) नामक उपग्रह प्रक्षेपण गरिएको थियो । “ब्रह्माण्ड भएका प्रारम्भिक गामा–रे विस्फोटहरू जस्ता खोजहरूको लागि तयार पारिएको यस उपग्रहले ब्रह्माण्डको विकासको अध्ययन गर्न मद्दत गर्नेछ ।
एसभिओएमका चिनियाँ प्रमुख अन्वेषक र चिनियाँ एकेडेमी अफ साइन्सेजको नेसनल एस्ट्रोनोमिकल अब्जर्वेटरीमा काम गर्ने वेई जियान्यानले बताउनु भयो । गामा–रे फटहरू, सामान्यतया अवधिमा धेरै छोटो, बिग ब्यांग पछि ब्रह्माण्डमा सबैभन्दा हिंस्रक विस्फोटक घटना हो, भने तिनीहरू विशाल ताराहरूको पतन तथा बाइनरी कम्प्याक्ट ताराको विलयको समयमा हुन्छन् । गामा–रे फटहरूमा गहिरो अवलोकन र अनुसन्धानले विज्ञानका केही आधारभूत प्रश्नहरू बुझ्न मद्दत गर्ने उहाँले बताउनु भयो ।
एसभिओएमको मुख्य वैज्ञानिक उद्देश्यहरूमा विभिन्न गामा–रे फटहरूको खोजी गरी पत्ता लगाउनु, फटको विद्युत चुम्बकीय विकिरण मापन तथा अध्ययन गर्नु, अन्धकार ऊर्जा र फटहरू मार्फत ब्रह्माण्डको विकासको अध्ययन गर्नु, र गुरुत्वाकर्षण तरंगहरूसँग सम्बन्धित विद्युत चुम्बकीय सङ्केत अवलोकन गर्नु आदी रहेका छन् ।
फ्रान्सेली वैकल्पिक ऊर्जा र आणविक ऊर्जा कमिसनमा काम गर्ने एसभिओएमका फ्रान्सेली प्रमुख अन्वेषक बर्ट्रान्ड कोर्डियरले प्रारम्भिक ब्रह्माण्ड अवलोकन गर्न उपकरणको रूपमा गामा–रे फट प्रयोग गरेर, पहिलो ताराहरू अवलोकन गर्न सक्ने बताउनु भयो । यो धेरै रोचक भएको बताउदै उहाँले वर्तमान युगमा ब्रह्माण्डको बारेमा जानकारी प्राप्त गर्ने यो एक मात्र तरिका भएको उल्लेख गर्नुभयो । उपग्रहमा चारवटा वैज्ञानिक उपकरणहरू स्थापित छन्, जसमध्ये दुईवटा चीनले र दुईवटा फ्रान्सले विकास गरेको हो । चारवटा उपकरणहरूले दृश्यको ठुलो क्षेत्र र उच्च–परिशुद्धता अवलोकन गर्न सक्छन् ।
गाजा स्वास्थ्य मन्त्रालयले रफाह नजिकै अल–मवासीमा रहेको विस्थापित प्यालेस्टिनी शिविरमा इजरायलले गरेको आक्रमणमा कम्तिमा २५ जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएको जनाएको छ।
यसबाहेक राफाहको उत्तरपश्चिममा रहेको अल–शकौस क्षेत्रमा इजरायली गोलाबारीमा धेरै मानिस मारिएको र घाइते भएको प्यालेस्टिनी नागरिक सुरक्षा एजेन्सीले बताएको छ। इजरायली सेनाले गाजा सहर नगरपालिकाको ग्यारेज र सहरको पाँच तले भवनमा बम प्रहार गरेको अल जजिराले जनाएको छ।
यसअघि गाजाको स्वास्थ्य मन्त्रालयले गत २४ घण्टामा इजरायली सेनाले कम्तीमा ३५ प्यालेस्टिनीको हत्या गरेको र इजरायल र हमासबीच जारी युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३७ हजार ४३१ पुगेको जनाएको थियो।
यसैबीच, यस क्षेत्रमा इजरायली नाकाबंदी जारी रहँदा मानवीय अवस्था बिग्रँदै गइरहेको छ । फ्रान्सेली मेडिकल राहत समूह (एमएसएफ)ले शुक्रबार स्वास्थ्य सेवा सामग्री आपूर्ति अभावका कारण गाजामा स्वास्थ्य सेवा सञ्चालन स्थगित गर्नुपर्ने हुनसक्ने बताएको छ।
“एमएसएफले अप्रिलको अन्त्यदेखि गाजामा कुनै पनि चिकित्सा आपूर्ति ल्याउन सम्भव नभएकाले भ आवश्यक औषधि र उपकरणको गम्भीर अभावको सामना गरिरहेको छ“, राहत समूहले एक विज्ञप्तिमा भन्यो।
अन्तर्राष्ट्रिय चेतावनीका बावजुद इजरायलले मे महिनामा रफाहमा हमासविरुद्ध प्रतिआक्रमण सुरु गरेको थियो।
अफगानिस्तानको जेलमा कूल ६० विदेशी नागरिकलाई थुनिएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् । देशभरका जेलमा जेलमा हाल एक हजार ५०० महिलासहित २० हजार बन्दी रहेका छन् ।
अफगानिस्तानी जेलमा १० महिलासहित ६० विदेशीलाई थुनामा राखिएको जेल प्रशासन कार्यालयका उपप्रमुख अब्दुल्लाह हमदर्दलाई उदृत गरी टोलो न्यूजले जनाएको छ। विभिन्न अपराधमा विदेशी कैँदी जीवन बिताइरहेको र कारागारमा कुनै यातना नभएको बरु कैदीलाई सिक्ने र तालिम दिने अवसर रहेको उहाँले बताउनुभयो ।
जेल प्रशासनले कैँदीहरूको राष्ट्रियता भने सार्वजनिक गरेको छैन । प्रशासनले अप्रिलमा ४० जना विदेशी थुनामा रहेको रिपोर्ट गरेको थियो ।
कतारले आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी संस्था परियोजनालाई सहयोग गर्न रासायनिक हतियार निषेध सङ्गठनमा स्वैच्छिक योगदान गरेको छ । यो योगदान सङ्गठनका गतिविधिलाई सहयोग गर्न कतारको निरन्तर प्रतिबद्धताको ढाँचाभित्र आउँछ ।
नेदरल्याण्डका लागि कतारका राजदूत तथा मुतलाक बिन माजिद अल कहतानीले कृत्रिम बुद्धिमत्ता र सङ्गठनको महान लक्ष्य हासिल गर्न मद्दत गर्नसक्ने नवीन प्रविधिको विकासमा कतारको प्रतिवद्धता रहेको र लक्ष्य हासिलका लागि कतारले निरन्तर आर्थिक योगदान गरिरहेको बताउनुभयो । कहतानी रासायनिक हतियार निषेध सङ्गठनका लागि कतारका स्थायी प्रतिनिधि हुनुहुन्छ ।
पेरिसको एक होटलमा नगदले भरिएको सेफ चोर्ने प्रयासमा रातको पहरेदार गरिरहेका एक सुरक्षागार्डको हत्या गरिएको प्रहरी स्रोतले शनिबार जनाएको छ ।
स्थानीय समयअनुसार शुक्रबार राति ११ः३० बजे सेफ बेवारिसे अवस्थामा फेला परेपछि शहरको एक चोकबाट प्रहरीलाई जानकारी आएको र प्रहरीले घटनास्थल वरपर तलासी गर्दा होटेलमा उक व्यक्तिको शब वेबारिसे अवास्थामा भेटिएको प्रहरी स्रोतले जनाएको छ ।
स्रोतका अनुसार सडकको नजिकैको एक होटलभित्र रात्रिकालिन सुरक्षाका लागि खटिएका एक गार्डको हत्या गरेको भेटिएको थियो । गार्डको शव ‘ओछ्यानमा सुतेको, बाँधिएको र धेरै चोटपटक लागेको’ अवस्थामा फेला पारिएको थियो ।
एक प्रत्यक्षदर्शीका अनुसार बालाक्लाभा लगाएका चार जना व्यक्तिले राति ९ः३० बजे तिर भ्यानमा सेफ लोड गर्न खोजेका सिसिटिभी क्यामरामा खिचिएको भिडियोमा देख्न सकिन्छ ।
प्रहरी स्रोतका अनुसार उक्त सेफमा होटलको महिनाभरको आम्दानी थियो ।प्रहरी स्रोतका अनुसार करिब १० दिनअघि ‘डेलिभरी म्यान’ भएको दाबी गर्ने केही व्यक्तिले सेफ चोर्न खोजेका थिए ।
दक्षिणपूर्वी पेरिसको व्यस्त ‘प्लेस डे ला नेशन राउन्डअबाउट’मा ती व्यक्तिले प्रयोग गरेको भ्यानको मोटर गुडिरहेको अवस्थामा फेला परेको छ ।अर्का एक प्रत्यक्षदर्शीले चार जना मानिस भ्यानबाट हामफालेर मेट्रोमा चढेको देखेको बताएका छन् ।ती व्यक्ति’को मृत्युको अवस्था र घटनाक्रमबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गोदार (धनुषा), ८ असारः मधेस प्रदेशसभाबाट बालिका संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ पारित भएको छ । सभाको आजको बैठकमा खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोदकुमार जयसवालले महिला बालबालिका तथा सामाजिक न्याय समितिको प्रतिवेदनसहितको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो ।
मन्त्री जयसवालले बालिका संरक्षणसम्बन्धी कानुन ल्याउने पहिलो प्रदेशका रूपमा मधेस प्रदेशको नाम आएको उल्लेख गर्नुभयो । उहाँले माता जानकीको भूमिबाट पहिलो बालिका संरक्षणसम्बन्धी कानुन पारित भएको बताउनुभयो ।
उहाँले प्रदेशमा छोरी बीमा कार्यक्रम फेरि सुरु गर्न रु १२ करोड थप बजेट व्यवस्था गरेको जानकारी दिनुभयो । बालिका संरक्षणमा काम गर्दा बालकलाई अन्याय हुन नदिन सरकार सचेत हुनुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नभुयो, “सकारात्मक विभेदमार्फत छोरीहरुलाई सशक्त बनाउन आवश्यक छ ।”
विधेयकमा १७ जना प्रदेशसभा सदस्यले धारणा राख्नुभएको थियो । उहाँहरुले उठाउनुभएको विषयलाई सम्बोधन गर्दै मन्त्री जयसवालले बालिका संरक्षण ऐनलाई प्रभावकारीरुपमा कार्यान्वयन गराउन प्रहरी समायोजनको आवश्यकता औँल्याउनुभयो ।
काठमाडौँ, ८ असारः अर्थमन्त्री वर्षमान पुनले श्रमप्रतिको सम्मान, उत्पादनमा आत्मनिर्भरता र स्वभिमानी नेता तथा कार्यकर्ताले मात्रै देशलाई अघि बढाउन सक्ने बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अछाम–काठमाडौँ सम्पर्क समन्वय समितिले आज यहाँ आयोजना गरेको दोस्रो भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेटमा उत्पादन र रोजगारीसँग जोड्ने खालका कार्यक्रम समावेश गरिएको पनि जानकारी दिनुभयो । उहाँले त्यसका लागि केही बजेट विनियोजन भएको बताउनुभयो ।
उहाँले उत्पादन वृद्धि केही मान्छे धनी बन्नका लागि नभई समानता र सामाजिक न्यायका आधारमा विकास गर्नका लागि भएको पनि बताउनुभयो । उहाँले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गरेमात्रै समानता र सामाजिक न्याय प्राप्त गर्न सकिने बताउनुभयो ।
मन्त्री पुनले कृषि, पर्यटन जलविद्युत, सूचना प्रविधि र उत्पादन यी पाँच क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको जानकारी दिँदै सातै प्रदेशलाई विशेष प्राथमिकता दिइएको उल्लेख गर्नुभयो । एक प्रदेशमा एउटा विशेषतालाई प्राथमिकता दिएर कार्यक्रम अघि सारिएको पनि उहाँले बताउनुभयो ।
काठमाडौँ, ८ असारः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जान नहुने धारणा व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (१)ले आज यहाँ आयोजना गरेको ‘दोस्रो प्रदेशसभा क्षेत्रीय सम्मेलन, २०८१’को उद्घाटन गर्दै उहाँले कांग्रेस प्रतिपक्षमै बसेर सरकार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
“पार्टीभित्र प्रेमपूर्ण सम्बन्ध, प्रष्टता र प्रतिबद्धताको आवश्यकता छ, यसलाई पूर्णरुपमा कार्यान्वयन गरेर आगामी निर्वाचनमा कांग्रेसलाई ४० प्रतिशत मतसहित एकल बहुमतको सरकार बनाउने अवस्थामा पुर्याउन सकिन्छ”, उहाँले भन्नुभयो ।
महामन्त्री थापाले यही असारभित्र महासमिति बैठक बसेर पार्टीलाई अगाडि बढाउनेबारे बृहत छलफल गरिने बताउनुभयो । उहाँले निर्वाचनमा पार्टीको उम्मेदवार चयन गर्ने प्रक्रिया परिवर्तन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । “निर्वाचनका लागि उम्मेदवार छान्न पार्टीभित्रका क्रियाशिल सदस्यले भोट गर्ने व्यवस्था बनाउनुपर्छ”, उहाँले भन्नुभयो ।
उहाँले पार्टीभित्र प्रेमपूर्ण सम्बन्ध भएका कारण विस २०४८ सालमा कांग्रेस एक्लैले बहुमत प्राप्त गरेको स्मरण गर्नुभयो । पार्टीभित्र गुट, उपगुटको अन्त्य गर्न जरुरी रहेको उहाँको भनाइ थियो ।
महामन्त्री थापाले केन्द्रमा कांग्रेसको सरकार नभएपनि तीन सय ३२ स्थानीय तहमा कांग्रेसको सरकार भएकाले जनताका लागि काम गर्न आग्रह गर्नुभयो । “कांग्रेस केन्द्रमा प्रतिपक्षमा छ, हामी प्रतिपक्षमै बस्नुपर्छ, सरकारलाई ठीक ठाउँमा उभ्याउने काम कांग्रेसको हो”, उहाँले भन्नुभयो ।
उहाँले आगामी निर्वाचनअघि संविधानमा भएका केही कुराहरु संशोधन गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । “प्रदेशहरु अदालतबाट चल्दै आएको अवस्था छ, प्रदेश र केन्द्रका मन्त्रीहरु घटाउनुपर्छ, संविधानमा संशोधन गरेर अगाडि बढ्नुपर्छ”, महामन्त्री थापाले बताउनुभयो । उहाँले नेता तथा कार्यकर्तालाई नागरिकसँग जोड्ने कार्यक्रम ल्याउनुपर्ने उल्लेख गर्नुभयो ।
पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले काठमाडौँको सङ्गठन बलियो हुँदा देशभरको पार्टी सङ्गठन बलियो हुने बताउनुभयो । “काठमाडौँको सङ्गठनले देशभरलाई दिशानिर्देश गर्न सके पार्टी मजबुद बन्छ”, उहाँले भन्नुभयो । भ्रष्टाचारविरुद्ध कांग्रेस शशक्त भएर उभिनुपर्ने उहाँको भनाइ छ ।
नेता पौडेलले जनताका विषयलाई एजेण्डा बनाएर कांग्रेस अगाडि बढ्नुपर्ने बताउनुभयो । “एजेण्डामा धनी पार्टी नै लोकप्रिय हुन्छ, हामीले कांग्रेसलाई लोकप्रिय पार्टी बनाउनुपर्छ”, नेता पौडेलले भन्नुभयो । क्रियाशील सदस्य वितरण शैलीमा कांग्रेसले परिवर्तन गर्न जरुरी रहेको उहाँको भनाइ थियो । नेता पौडेलले कलङ्की-चावहिल चक्रपथ क्षेत्रलाई चाँडो निर्माण गर्न उहाँले सरकारको ध्यानाकर्षण समेत गराउनुभयो ।
कांग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य प्रतिमा गौतमले कांग्रेसलाई राम्रो, गतिशील र नेतृत्व प्रदान गर्ने शक्तिका रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । “लोकतन्त्रलाई ल्याउनका लागि महत्वपूर्ण भूमिका खेलेको कांग्रेसलाई काठमाडौँबासीले बलियो भएको हेर्न चाहन्छ, यसलाई तपाईँ हामी मिलेर पूरा गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले नेताले आफ्नो क्षेत्र सुरक्षित गर्न काठमाडौँलाई प्रयोगशाला बनाएको बताउनुभयो । “नेताले आफूले चुनाव जित्नका लागि राम्रो सङ्गठन भएको काठमाडौँमा गठबन्धन गर्दा यहाँको सङ्गठन कमजोर भयो”, उहाँले भन्नुभयो ।
कांग्रेस काठमाडौँका पूर्वसभापति भीमसेनदास प्रधानले पार्टीको विधानलाई समयसापेक्ष संशोधन गर्दै लैजानुपर्ने बताउनुभयो । उहाँले पार्टीभित्र एउटै व्यक्तिले पटक-पटक अवसर पाउने प्रवृत्तिको अन्त्य गरिनुपर्नेमा जोड दिनुभयो । “सहकारी अनियमितताको विषयलाई ओझेलमा पार्ने छानबिन समिति चयन गरिएको छ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा वाग्मती प्रदेशका सहमहामन्त्री जीवन डङ्गोल, बागमती प्रदेशसभा सदस्य हरिप्रभा खड्गी श्रेष्ठ, कांग्रेस काठमाडौँ महानगरपालिकाका सभापति नीलकाजी शाक्य, कांग्रेस काठमाडौँ क्षेत्र नं ६ का पूर्वसभापति न्हुच्छेनारायण मानन्धर, कांग्रेस काठमाडौँ महानगरपालिका-२८ का सभापति दीपङ्गप्रसाद प्रधानाङ्गलगायतले देश र जनताले कांग्रेसको एजेण्डा खोजेको बताउनुभयो ।
कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (१) का सभापति ख्यामराज तिवारीले सुशासनलाई कांग्रेसले प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा काठमाडौँ क्षेत्र नं ६ का पूर्वक्षेत्रीय सभापति न्हुच्छेनारायण मानन्धर, काठमाडौँ महानगरपालिका-२६ का पूर्वअध्यक्ष विश्वम्भरलाल प्रधानलगायत पार्टीमा विशिष्ट योगदान दिने डेढ दर्जन व्यक्तिलाई सम्मान गरिएको थियो ।
काठमाडौँ, ८ असार : काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित आकाशेपुल नजिक सडकमा टिपर र स्कुटर ठोकिएर घाइते भएकी महिलाको मृत्यु भएको छ ।
बा३क ३०५३ नंको टिपर र बा प्र ०२–०३९ प ९९५२ नंको स्कुटर शुक्रबार एकापसमा ठोक्किँदा स्कुटरमा सवार ललितपुर सानागाउँ बस्ने ४३ वर्षीया लक्ष्मीदेवी श्रेष्ठ घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “दुर्घटनामा गम्भीर घाइते भएकी निज श्रेष्ठको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको छ, दुर्घटनामा घाइते भएका स्कुटर चालकको अहिले पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।” टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही भइरहेको प्रवक्ता कार्कीले बताउनुभयो ।
लुम्बिनी, ८ असारः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा प्रतिपक्षको भूमिका थप प्रभावकारी बनाउने बताउनुभएको छ । उहाँले संसद्मा नेपाली कांग्रेसको भूमिका प्रभावकारी हुन नसकेको सन्देश गएकाले अब थप प्रभावकारी ढङ्गले प्रस्तुत हुने बताउनुभयो ।
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाको महेशपुरमा स्वर्गीय पृथ्वीराज कँडेलको अर्धकदको सालिक अनावरण र बसपार्क उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले जनजीविकाका सवालमा प्रतिपक्षले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले नवलपरासीमा महेशपुर मूलभन्सार भएर पनि पूर्ण रूपमा सञ्चालनमा आउन नसकेकाले यसको भौतिक एवं प्रशासनिक सुधारका लागि पहल गर्ने आश्वासन पनि दिनुभयो ।
पूर्वगृहराज्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्दराज कँडेलका पिता पृथ्वीराज कँडेलको स्मृतिमा बसपार्कको नामकरण गरिएको र अर्धकदको सालिक निर्माण गरिएको हो । स्व कँडेल २०१५ सालमा पाल्हिमाझ खण्ड पूर्वीनिर्वाचन क्षेत्र नं ५७ बाट निर्वाचित सांसद हुनुहुन्थ्यो ।
कार्यक्रममा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदेयश त्रिपाठीले निजामती कर्मचारी सेवा ऐन तत्काल पारित गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाल–भारत सीमा क्षेत्रमा हुने कुनै पनि क्रियाकलाप मधेसको सहमतिमा हुनुपर्नेसमेत बताउनुभयो ।
नवलपरासी क्षेत्र नं १ का सांसद विनोद चौधरीले राजनीतिक दल फरक–फरक भए पनि जिल्लाको विकासमा सबै दल एकजुट हुनुपर्ने बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य देवकरण कलवार सन्तुले उखु र केरा खेतीको पकेट क्षेत्र भए पनि यहाँका उत्पादनले बजार पाउन नसकेको बताउनुभयो । प्रदेशसभा सदस्य वैजनाथ कलवारले यस क्षेत्रको विकासका लागि महेसपुर—सुनवल हँुदै महलपोखरीबाट पाल्पासम्म जोड्ने फराकिलो सडक निर्माणका लागि पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाको ध्यानार्कषण गराउनुभयो ।
सङ्घीय सरकारको रु एक करोड, पाल्हीनन्दन गाउँपालिकाको रु १३ लाख गरी कुल रु एक करोड १३ लाख लागतमा बसपार्क निर्माण भएको बसपार्कका संरक्षक देवेन्द्रराज कँडेलले जानकारी दिनुभयो ।
यस्तै पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवाले आजै नवलपरासीको परासीमा पार्टीका नेता तथा कार्यकर्तासँग अन्तक्र्रिया गर्नुभएको छ ।
कार्यक्रममा सभापति देउवाले नेपाली कांग्रेसलाई कसैले पनि हराउन नसक्ने गरी जनस्तरमा काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले पार्टीमा दण्ड र पुरस्कारको नीति कडाइका साथ लागू गर्ने भएकाले नेता, कार्यकर्तालाई ढुक्क भएर काम आग्रह गर्नुभयो । “कांग्रेसको विचार, यसले राष्ट्रिय राजनीतिमा खेल्ने भूमिका, देश र जनताका पक्षमा हाम्रो पार्टीले गरेका कामका बारेमा आम जनतामाझ पुर्याउने गरी प्रचार गर्नुपर्ने आवश्यकता छ । एकढिक्का भएर जनस्तरमा खटेमा पार्टीलाई कसैले हराउन सक्दैन”, सभापति देउवाले भन्नुभयो । उहाँले चुनावमा हुने अन्तर्घात हटाउन अहिलेदेखि नै योग्यता र क्षमताका आधारमा पदीय जिम्मेवारीको बाँडफाँट गरेर जनतामाझ पुग्नसमेत सुझाव दिनुभयो ।
काठमाडौँ, ८ असार : जनकपुरमा दुईदिने ‘मैथिली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुने भएको छ । लोक सञ्चारको आयोजनामा हुने यो पहिलो संस्करणमा महोत्सवमा स्वदेशी र विदेशीसहित मैथिली भाषामा निर्माण गरिएका सात चलचित्र, लघुचलचित्र र वृत्तचित्र प्रदर्शन गरिने महोत्सवका निर्देशक रमेश रञ्जनले जानकारी दिनुभयो ।
“हामीले चलचित्र प्रदर्शनीसँगै अन्तरक्रियात्मक कार्यक्रम गर्दैछौँ, यस महोत्सवको उद्देश्य मूलतः मैथिली भाषामा बनिरहेका चलचित्रलाई हेर्नु र स्थानीयले त्यसलाई कसरी लिइरहेका छन् भन्ने विषयमा बुझ्नु हो”, निर्देशक रञ्जनले भन्नुभयो । उहाँले मैथिली भाषीको सङ्ख्या ठूलो रहे तापनि यसले चलचित्रको विकास नहुनुका कारण पत्ता लगाउन यस्ता महोत्सव आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी कहाँ भएका प्राविधिकले नेपाली चलचित्रसँगै भारतीय चलचित्रमा समेत काम गरेका छन्, उनीहरूले मैथिली भाषामा काम गर्ने वातावरण किन बनेन भन्ने एउटा जिज्ञासालाई यसले मेट्छ भन्ने विश्वास छ, किनकि मैथिली भाषाको चलचित्र विभिन्न प्रसिद्ध महोत्सवमा समेत पुगिसकेको छ तर हाम्रो बजारमा हिन्दी र भोजपुरी भाषाका चलचित्रको मात्र बाहुल्यता छ ।”
उहाँले सन् १९५० को दशकदेखि नै मैथिली भाषाको चलचित्र बनिरहे तापनि पछिल्लो समय सङ्ख्यात्मक र गुणात्मकरुपमा कमी आएकाले यस्ता महोत्सव आवश्यक रहेकामा जोड दिनुभयो । यही असार ११ र १२ गते जनकपुरमा हुने महोत्सवमा नेपालबाट वृत्तचित्रतर्फ ‘गुमकी’ र ‘विदापत’ तथा लघुचलचित्रतर्फ ‘अफवाह’ प्रदर्शन गरिनेछ । यस्तै विदेशीतर्फ भारतमा निर्मित चलचित्रतर्फ ‘ललका पाग’, ‘लोटस ब्लूम्स’, ‘समानान्तर’ र लघुचलचित्र ‘रक्त तिलक’ प्रदर्शन गरिनेछ ।
साथै महोत्सवमा ‘मैथिली सिनेमाक निर्माण आ व्यवसाय’, ‘निर्देशक सँ विमर्श’, ‘समकालीन परिदृश्य मे मैथिली सिनेमा’, ‘मैथिली सिनेमाक विविध स्वरूप आ सम्भावना’ शीर्षकमा अन्तरक्रिया गरिने निर्देशक रञ्जनले जानकारी दिनुभयो ।
वीरगञ्ज, ८ असार : वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा ‘वैभव वीरगञ्ज’को परिकल्पनालाई साकार पार्ने योजना अघि सारेको छ ।महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले १५औँ नगरसभाको अधिवेशनमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘वैभव वीरगञ्ज’ को परिकल्पनालाई साकार पार्न वीरगञ्जलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकसित गर्दै यहाँको ऐतिहासक तथा मौलिकतालाई ध्यानमा राखी नगरवासीको उत्कट चाहनाबमोजिम वीरगञ्जलाई सुन्दर, समुन्नत र समृद्ध बनाइने घोषणा गर्नुभएको छ ।
“वैभव वीरगञ्ज बनाउने अभियानबमोजिम यहाँ रहेका धार्मिक तथा पर्यटकीयस्थलहरु विन्दवासिनीमाई मन्दिर, पिपराको नर्सिङ मन्दिर र भुटनदेवी मन्दिर निर्माणको कार्य आगामी आवदेखि अगाडि बढाइनेछ”, नगरप्रमुख सिंहले भन्नुभयो, “महानगरका अन्य मठमन्दिरको आवश्यकताअनुसार पुनःनिर्माण र सौन्दर्यीकरण गर्ने कार्यलाई निरन्तरता दिइने छ ।”
महानगरको नीति तथा कार्यक्रममा पर्यटन प्रवद्र्धन र आन्तरिक आय वृद्धिका लागि वीरगञ्ज–१७ र १९ मा पर्ने कोनियामा रहेको सार्वजनिक जग्गामा आधुनिक हरित पार्कसहितको ताल निर्माण कार्य अघि बढाइने उल्लेख गरिएको छ । नगरप्रमुख सिंहले वीरगञ्ज घण्टाघर नजिकको खाली जग्गामा सार्वजनिक निजी साझेदारी र दातृ निकायसँगको समन्वयमा आधुनिक हरित पार्क निर्माणको कार्यलाई अगाडि बढाइने बताउनुभयो ।
महानगरले आगामी आवमा सिर्सिया नदीको दायाँबायाँ नक्साबमोजिम खोला क्षेत्र छुट्याई दुवैतर्फ सडक निर्माण, वृक्षारोपणद्वारा हरियाली प्रवद्र्धन गरी सिर्सिया हरित करिडोर विकास कार्य अघि बढाउन सबै तहका सरकारसँग सहकार्य गर्ने नीति लिने भएको छ ।
आगामी आवको नीति तथा कार्यक्रममा स्वच्छ, सफा, हराभरा र सुन्दर वीरगञ्ज बनाउन महानगरले सुरु गरेको सरसफाइ अभियानलाई अझै कडाइका साथ लागू गरी जथाभावी फोहोर फाल्ने र फोहोर गर्ने व्यक्तिलाई जरिवाना तथा अन्य दण्ड सजाय गर्ने कार्यलाई निरन्तरता दिएको छ ।
“मुख्य सडकमा मात्रै नभई टोल–टोल र गल्ली–गल्ली सफाइ हुने गरी जनशक्ति परिचालन गर्नाका साथै सचेत बनाउने कार्यक्रम सञ्चालन गरिनेछ”, नगरप्रमुख सिंहले भन्नुभयो, “वीरगञ्जलाई थप स्वच्छ र सफा बनाउन ‘फोहोर गर्नेले नै सफा गर्दा लाग्ने खर्च’ दिनुपर्ने व्यवस्था लागू गरी फोहोर व्यवस्थापनलाई अझै बढी चुस्त बनाइने छ ।”
सार्वजनिक स्थानमा ‘वाटर एटिएम’
महानगरले आगामी आवको नीति तथा कार्यक्रममा खानेपानी समस्या समाधान गर्न सार्वजनिक स्थानमा डिप बोरिङ गर्ने कार्यलाई निरन्तरता दिँदै नेपाल खानेपानी संस्थानसँगको सहकार्यमा पाइपलाइन विस्तार गर्ने कार्यलाई तीव्रता दिने बताइएको छ ।
महानगरको मुख्य स्थान सामुदायिक विद्यालय, नारायणी अस्पताललगायत ठाउँमा ‘वाटर एटिएम’ प्रणाली स्थापना गरिने भएको छ । महानगरले नेपाल खानेपानी संस्थानसँगको सहकार्यमा आर्थिक विपन्न परिवारको पहिचान गरी चार हजार घरधुरीमा धारा जडान गरिने गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
महानगरको अधीनमा ल्याइएको अतिक्रमित सार्वजनिक जग्गाको संरक्षणका लागि घेराबार तथा वृक्षारोपण गर्ने कार्यलाई अघि बढाइने कार्यक्रम पनि समावेश गरेको छ । महानगरले आगामी आवमा वीरगञ्ज महानगरपालिका र विभिन्न निकायको समन्वयमा महानगरभित्रको खानेपानी, ढल तथा दिसाजन्य लेदो व्यवस्थापन गर्ने नीति अघि सारेको छ । वीरगञ्ज–जितपुर–सिमरा करिडोरको व्यवस्थित निर्माणका लागि सरोकारवाला निकायसँग समन्वय गरी विस्तृत परियोजना निर्माणको कामलाई अघि बढाइने बताइएको छ ।
नगरप्रमुख सिंहले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय स्रोत साधन, कच्चापदार्थ, प्रविधि र सीपको परिचालन गरी लघु, घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गर्दै रोजगारीको सृजना गर्न सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा वडा नं ३१ मा औद्योगिक ग्राम स्थापना गर्ने कार्य अगाडि बढाइने बताउनुभयो । महानगरले आगामी आवमा स्थानीय शिक्षा पाठ्यक्रम तर्जुमा गरी लाग गर्ने भएको छ ।
“प्राथमिक तहमा मातृभाषामा नै पठनपाठनको व्यवस्था मिलाइनेछ, भोजपुरी प्रतिष्ठानलाई पुनः सक्रिय बनाई भोजपुरी भाषा र साहित्यको संवद्र्धन गरिनेछ”, नगरप्रमुख सिंहले भन्नुभयो, “सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट सुरु गरिएको शिक्षण कार्यलाई विस्तार गरिनेछ ।”
महानगरले आगामी आवको नीति तथा कार्यक्रमा वीरगञ्ज महानगर क्षेत्रभित्र रहेका सम्पूर्ण उद्योगधन्दा, कलकारखाना तथा अन्य व्यावसायिक प्रयोजनका लागि स्थापना गरिएका भवनहरुको अनिवार्य रुपमा नक्सापास गर्ने कार्यलाई कडाइका साथ लागू गर्ने भएको छ । “नक्सा पास नगरी निर्माण भएका संरचनालाई स्थानीय सरकार सञ्चालन ऐनबमोजिम नियमनको दायरामा ल्याइनेछ”, नगरप्रमुख सिंहले भन्नुभयो ।
काठमाडौँ, ८ असारः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार संसद्को पूरा अवधिसम्म टिक्ने भएकाले कुनै दुविधा नराख्न आग्रह गर्नुभएको छ । उहाँले पार्टीको इतिहास, आन्दोलनको योगदान, आवश्यकता र संसद्को अङ्कगणितका आधारमा समेत यही सरकारले पूर्ण कार्यकाल काम गर्ने बताउनुभयो ।
तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको सातौँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले संसद्मा माओवादी केन्द्रको थोरै सङ्ख्या छ भनेर चिन्ता नगर्न र दुविधा नलिन अनुरोध गर्नुभयो । “सरकार कति दिनको होला, चल्छ कि चल्दैन, केही दिनपछि सरकार जाँदैछ रे भनेर दुविधा उत्पन्न गराउने कोसिस भएको देख्छु तर हामीलाई हटाउन सजिलो छैन, संसद्मा हाम्रो जादुवाला नम्बर छ, त्यो जादुले अनेक गरेर मिलाइहाल्छ”, उहाँले भन्नुभयो ।
राजनीतिक दलहरूसँग भएका समझदारीको पूर्ण पालनाप्रति आफूहरू जहिल्यै पनि इमान्दार रहेको जनाउँदै उहाँले भ्रष्टाचारविरुद्ध, सामाजिक न्याय र समृद्धिका लागि काम गर्न आफू दत्तचित्त रहेको बताउनुभयो । माओवादी केन्द्रले नयाँ विचारका लागि महाधिवेशनतर्फ जाने तयारी गरिरहेको जानकारी दिँदै अध्यक्ष दाहालले केन्द्रीय समितिको आगामी बैठकबाट महाधिवेशनको मिति तोकिने बताउनुभयो । “महाधिवेशनमा नयाँ विचार संश्लेषण गर्छौँ, नयाँ अभियान र विचारसहित पार्टीलाई अघि बढाउँछौँ । गणतन्त्रलाई सुदृढ गरी मुलुकलाई सुशासन र समृद्धिको नयाँ युगतिर लैजान महाधिवेशनले थप दिशानिर्देश गर्नेछ”, उहाँले भन्नुभयो ।
देशमा रहेको विविधताका आधारमा नयाँ राष्ट्रिय एकताका लागि आत्मनिर्णयको अधिकारसहितको विशेष व्यवस्था गर्न विगतमा पार्टीले भूमिका बारे उल्लेख गर्दै अध्यक्ष दाहालले सरकार, संसद् र सडकको मोर्चाबाट पनि फेरि एकपटक पार्टीलाई नयाँ उचाइमा लैजाने बताउनुभयो । त्यसका लागि पार्टीका मोर्चालाई बलियो बनाउने र अभियानको रूपमा जनतासँग जोड्न सकरात्मक, रचनात्मक र ऐतिहासिक सङ्कल्प सुरु गरिसकेको छु उहाँले भन्नुभयो ।
अध्यक्ष दाहालले काठमाडौँ उपत्यकाका नेवार समुदाय र आसपासका तामाङ समुदायबाट भएको त्याग, तपस्या र बलिदानले मुलुकमा गणतन्त्र सम्भव भएको स्पष्ट पार्दै संविधान जारी भएपछि निष्क्रिय रहेका पार्टीका जातीय मुक्ति मोर्चा पुनः सक्रिय हुन थालेका बताउनुभयो । उत्पीडित जाति तथा क्षेत्रलाई आन्दोनलमा केन्द्रित गरी युद्धलाई अघि बढाइएको स्मरण गर्दै उहाँले उनीहरुको माग र मुद्दालाई जनयुद्धको अभिन्न अङ्ग बनाएर गोलबन्द गरेको उल्लेख गर्नुभयो ।
उपाध्यक्ष अग्निप्रसाद सापकोटाले राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याइरहेका तामाङ समुदायले जनयुद्धमा बलिदानीपूर्ण योगदान गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “माओवादी चिल हो, कुुखुराजस्तो आँगनबाट उडेर दलानमा मात्र पुग्ने होइन, समयको माग र आवश्यकतानुसार चिलले जस्तै बेगमा जान सक्छ ।”
बृहत् वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनःगठनका लागि विचारको खोजी र मन्थन गरिरहेको जनाउँदै उपाध्यक्ष सापकोटाले जस्तो राजनीति त्यस्तै कार्यदिशा हुने भएकाले पार्टीले स्वतन्त्रता, न्याय र समृद्धिको आधारका रूपमा समाजवादको मार्गलाई अङ्गीकार गरी अगाडि बढिरहेको बताउनुभयो ।
उपमहासचिव तथा अर्थमन्त्री वर्षमान पुनले नेपाल विविधतायुक्त देश भएकाले राजनीतिलगायत राज्यका सबै संरचनामा जातीय, भाषिक र सांस्कृतिक विविधता देखिनुपर्ने आवश्यकता औँल्याउनुभयो । “कुनै पनि राजनीतिक दलले देशको इतिहास र गौरवलाई सम्मान गर्नुपर्छ । पार्टीको विगतको युद्धले उत्पीडित जातजातिलाई जागरुक र गोलबन्द बनाएको छ । जनवादी क्रान्तिले उठाएका मुद्दालाई आत्मसात् गर्दै थप उपलब्धिका लागि सङ्घर्ष गर्नुपर्छ”, उहाँले भन्नुभयो । प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्ने पक्षलाई नजरअन्दाज गर्दै आलोचना र गुनासो मात्र गर्न हुँदैन भन्दै पुनले पार्टीले उठाएका बाँकी मुद्दालाई वैज्ञानिक र वस्तुगत ढङ्गले पूरा गर्नेतर्फ सबैको जोडबल आवश्यक रहेको बताउनुभयो ।
प्रदेश र स्थानीय तहमा निर्वाचित पदाधिकारीले पार्टीको उद्देश्य र जिम्मेवारीलाई पूरा गर्ने सन्दर्भमा पछि परेको वर्ग समुदाय र उत्पीडितको पक्षमा कानुन निर्माणलाई तीव्रता दिनुपर्ने आवश्यकता औँल्याउँदै उपमहासचिव पुनले धनी र गरिबबीचको खाडल घटाउने, पुराना ज्ञान र सीपलाई वैज्ञानिक र आधुनिकतासँग जोडेर लैजान सक्नु नै समाजवाद भएको स्पष्ट पार्नुभयो ।
सांसद मीना तामाङले जनयुद्धका समयमा पार्टीले उठाएका मुद्दा र गरेको दिशानिर्देशलाई कार्यान्वयन गर्न सकिए वर्गीय र जातीय मुक्ति सम्भव रहेको बताउनुभयो ।
माओवादी केन्द्रको भातृ सङ्गठन तामाङ मुक्ति मोर्चा नेपालले ‘पूर्ण ताम्सालिङ प्रदेश स्थापना गराँै, समाजवादी क्रान्तिको बाटोमा अघि बढाँै’ भन्ने मूल नाराका साथ दुई दिवसीय सातौँ राष्ट्रिय महाधिवेशन गरिरहेको छ । महाधिवेशन आयोजक समितिका अध्यक्ष एवं सांसद सूर्यमान दोङले मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका आन्दोनलमा तामाङ जातिले गरेको योगदानको राज्यले सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसअवसरमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री दाहाल, उपाध्यक्ष सापकोटा, उपमहासचिव एवं अर्थमन्त्री वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्तीलगायतलाई सम्मान गरिएको थियो । नेपालको कुल जनसङ्ख्याको छ प्रतिशत रहेका तामाङ समुदायको काठमाडाँै उपत्यका आसपास र बागमती प्रदेशमा सघन बसोबास रहेको छ ।
दमौली (तनहुँ), ८ असार : उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाको आज अनुगमन गर्नुभएको छ । महासेठले मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) अन्तर्गत तनहुँको आँबुखैरेनीदेखि बन्दीपुर गाउँपालिका–१ डुम्रेसम्म अनुगमन गर्नुभएको हो ।
त्यस क्रममा महासेठले आयोजनाको प्रगतिबारे चासो राख्दै बाँकी कामलाई तीव्रता दिन निर्देशन दिनुभएको छ । उहाँले पूर्वी खण्डको म्याद सकिएर पुनः थप भएकाले थपिएको म्यादभित्रै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई सुझाव दिनुभयो ।
मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पौडेलले आँबुखैरेनीदेखि जामुनेसम्म ६२ प्रतिशत प्रगति भएको जानकारी दिनुभयो । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । आँबुखैरेनीदेखि जामुनेसम्म २२ दशमलव पाँच किलोमिटर चार लेन र सात दशमलव पाँच किलोमिटर दुई लेनमा कालोपत्र सकिएको छ ।
विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।
चितवन । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा विजयी भएपछि भरतपुर महानगरको परिषद्को पहिलो बैठकमा भरतपुर विमानस्थल विस्तार तथा स्तरोन्नतिको पहल गर्ने निर्णय गरिएको थियो । यो काम गर्न त्यति सहज थिएन । विमानस्थल विस्तार गर्न नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरण गर्नुपर्ने थियो । सहजै काम हुन्छ भन्नेमा विश्वास थिएन । तर निरन्तर प्रयास गरिरहे सम्भव हुन्छ भन्ने उदाहरणको रुपमा भरतपुर विमानस्थल विस्तार रहेको छ ।
महानगरपालिकाका धेरै बैठक विमानस्थल विस्तार र स्तरोन्नतिका लागि गरिएका छन् । विमानस्थलको विस्तारका लागि महानगरपालिकाको कार्यपालिकाको निर्णय र अनुरोध पछि पहिलो २०७५ माघ २० गते पहिलो बैठक भरतपुर विमानस्थलमा बस्यो ।
तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित महानगर प्रमुख रेनु दाहाललगायतको उपस्थितिमा विमानस्थलको कार्यालयमा बसेको उक्त बैठकले विमानस्थल विस्तार गर्न प्रयास गर्ने निर्णय गरेको थियो ।
प्रमुख दाहालको भनाइमा त्यसपछिका सबै पर्यटन मन्त्रीहरुसँग पटकपटक विमानस्थल विस्तारका लागि छलफल गरिँदै आएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका पालामा उनकै कार्यकक्षमा पर्यटनमन्त्री, रक्षामन्त्रीसहितको उपस्थितिमा बैठक बसेको थियो । यसका अतिरिक्त प्रधानमन्त्री, पर्यटनमन्त्री, रक्षामन्त्रीलगायतका उपस्थितिमा पटकपटक बैठक बसेका थिए ।
विसं २०७६ भदौ २८ गते प्रमुख दाहालको अध्यक्षतामा भरतपुर महानगरपालिकाको कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (त्यतिखेर पूर्वप्रधानमन्त्री), तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराई, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायतको उपस्थिति थियो ।
उक्त बैठकले विमानस्थलको स्तरोन्नतिका लागि नजिकै रहेको नेपाली सेनाको गणलाई स्थानान्तरण गर्न वैकल्पिक स्थानको खोजी गर्ने निर्णय गरेको थियो । जग्गा उपलब्ध गराउने जिम्मेवारी महानगरपालिकालाई दिएको थियो ।
यस विषयमा प्रतिवेदन तयार गर्न पर्यटन मन्त्रालयले सह–सचिव वुद्धिसागर लामिछानेको संयोजकत्वमा समिति बनाएको थियो । लामो प्रयासपछि २०८० माघ १८ गतेको मन्त्रिपरिषद्को वैठकले विमानस्थल विस्तार गर्ने निर्णय गरेको हो ।
नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा पनि समावेश गरेपछि अब भरतपुर विमानस्थल विस्तार हुने निश्चित भएको छ । सात वर्षपछिको निरन्तर प्रयासले विमानस्थल स्तरोन्नति र विस्तार हुने निश्चित बनेको प्रमुख दाहाल बताउँछिन् ।
भरतपुर विमानस्थल विस्तार र स्तरोन्नतिका लागि चार अर्ब ५० करोडभन्दा बढी लगानी हुँदैछ । बन्दै गरेको टर्मिनल भवन सम्पन्न गर्न दुई अर्बभन्दा बढी खर्च हुँदैछ । नेपाली सेनाको घोडा प्रजनन केन्द्र स्थानान्तरण, धावन मार्ग विस्तार लगायतमा अरु रु दुई अर्ब ५० करोडभन्दा बढी खर्च गरेर सुविधासम्पन्न विमानस्थल बनाइँदै छ । प्रमुख दाहालले भनिन्, “अहिले विमानस्थल विस्तार अति आवश्यक छ, धावन मार्ग छोटो हुँदा निकै जहाज उडान गर्न जोखिमपूर्ण छ ।”
चितवन र छिमेकी जिल्लाका लागि यो सधैँका लागि महत्वपूर्ण आयोजना भएको उनी बताउँछिन् । बिहीबार श्री एयरले परीक्षण उडान गर्दै गर्दा यहाँ उपस्थित उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सार्वजनिक रुपमा नै प्रमुख दाहालको निरन्तर प्रयासको प्रशंसा गरे ।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आगामी साउनमा विमानस्थल विस्तारका लागि बोलपत्र आह्वान हुने जानकारी दिए । ढिलोमा सन् २०२५ जनवरीसम्ममा विस्तारको काम थालिसक्ने उनी बताउँछन् । विस्तारपछि भरतपुरमा रात्रिकालीन उडान सुरु हुने उल्लेख गर्दै चौबिसैँ घण्टा जहाज अवतरण गर्न सकिने बताए ।
उनले विमानस्थलको स्तरोन्नतिपछि बुद्ध, यती लगायतका एयरलाइन्सका एटिआर–७२ जहाजहरु पनि सहजै अवतरण गर्न सकिने बताए । हाल एक हजार दुई सय मिटर लामो धावनमार्ग रहेको भरतपुर विमानस्थललाई नेपाली सेनाको घोडा प्रजनन केन्द्रसम्म विस्तार गरेर एक हजार आठ सय मिटर लामो बनाउने लक्ष्य छ ।
बनियानी (झापा), ८ असार : झापाको मेचीनगर नगरपालिका–१५ मा आज बिहान मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा एक युवकको मृत्यु भएको छ । अन्य दुईजना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा मेचीनगर–१० का २२ वर्षीय राजीव दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । मेचीनगर–१५ लालझोडास्थित भित्री सडक खण्डमा भद्रपुरबाट धुलाबारीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प ४१८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा उक्त दुर्घटना भएको हो ।
मोटरसाइलकमा तीन जना सवार थिए । दुर्घटनामा घाइते मेचीनगर–१० का २१ वर्षीय अभिषेक राई र सोही स्थानका २१ वर्षीय विवेक दनुवार घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । –
काठमाडौँ, ८ असार : आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले जडीबुटीलाई औषधिजन्य पदार्थको प्रयोग गर्न अभिप्रेरित गर्ने उद्देश्यले आज ‘औषधिजन्य जडीबुटी मेला’ आयोजना गरेको छ ।
चिकित्सालयका प्रमुख डा पुनम नेपालले औषधिजन्य जडीबुटीको ज्ञानलाई जानकारी दिने उद्देश्यले नेपाल प्रज्ञा–प्रतिष्ठानमा मेलाको आयोजना गरिएको बताउनुभयो । मेलामा नेपालको हिमाल, पहाड र तराईमा उब्जेका बहुमूल्य जडीबुटी प्रदर्शनी, आयुर्वेद तथा हाम्रा परम्परामा रहेका विभिन्न जडीबुटीबाट मिश्रित पथ्य आहार एवं खानपानको जानकारी गराइने छ ।
चिकित्सालयका प्रमुख डा नेपालले मेलामा जडीबुटीको पहिचान र उपयोगसम्बन्धी जानकारी, रैथाने एवम् लोपोन्मुख बहुमूल्य जडीबुटीको जानकारी, स्वास्थ्य प्रवद्र्धन तथा उपचारका लागि स्थानीय जडीबुटी पहिचान, उपयोग र उत्पादनको जानकारी दिइने बताउनुभयो । यसैगरी, प्राविधिक सत्रमा सम्बन्धित विषयविज्ञहरुद्वारा औषधिजन्य जडीबुटी र पोषण, जलवायु परिवर्तन, पर्यावरणीय स्वास्थ्य, जडीबुटीहरुको दिगो संरक्षणसम्बन्धी वैज्ञानिक सत्रहरु पनि राखिएको छ ।
मेलामा औषधिजन्य जडीबुटीको व्यावसायिकखेती, वैज्ञानिक पद्धतिबाट सङ्कलन, दिगो संरक्षणमा प्रयास एवम् किसानबाट उत्पादनकर्तासम्म स्थिति, सम्भाव्यता र चुनौतीका बारेमा पनि छलफल हुनेछ । मेलाबाट औषधिको प्रयोग भए पनि लोपोन्मुख रहेका जडीबुटीको संरक्षण गर्न सहयोग मिल्नेछ । चिकित्सालयका प्रमुख डा नेपालले नेपालमा करिब पाँच हजार छसय जडीबुटीबाट औषधि उत्पादन हुने गरेका अध्ययनले देखाएको बताउनुभयो ।
पाकिस्तानको योजना, विकास र विशेष पहल मन्त्रालयले अर्थतन्त्र, उत्पादकत्व र नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने सरकारको प्रयासको हिस्साका रूपमा राष्ट्रिय आर्थिक रूपान्तरण एकाइ (नेटु) स्थापना गरेको शुक्रबार घोषणा गरेको छ ।
नयाँ पहलले पाकिस्तानमा व्यापक आर्थिक सुधार र दिगो विकासलाई अगाडि बढाउने लक्ष्य राखेको छ । यसले आर्थिक वृद्धिलाई सहजीकरण गर्ने, उत्पादकत्व बढाउने र नवप्रवर्तनलाई बढावा दिने रणनीतिक निकायका रूपमा सेवा गरिरहेको मन्त्रालयले एक विज्ञप्तिमा बताएको छ ।
नेटुले सन् २०३५ सम्ममा पाकिस्तानको १० खर्ब डलरको अर्थतन्त्र बन्ने दीर्घकालीन आर्थिक लक्ष्यअनुरूप प्रमाणमा आधारित नीति र पहलहरू कार्यान्वयन गर्न सरकारी निकायहरू, निजी क्षेत्रका संस्थाहरू, शिक्षाविद्हरू र अन्तर्राष्ट्रिय साझेदारहरू लगायत विभिन्न सरोकारवालाहरूसँग नजिकको सहकार्यमा काम गर्नेछ ।
नयाँ पहलअन्तर्गत आर्थिक विविधीकरण, नवप्रवर्तन र प्रविधि, मानव पूँजी विकास, दिगो विकास, सार्वजनिक–निजी साझेदारी र आधुनिक पूर्वाधारलगायतका प्रमुख क्षेत्रलाई प्राथमिकतामा राखिने मन्त्रालयले जनाएको छ ।
“आर्थिक चुनौतीहरू सम्बोधन गर्न, समावेशी वृद्धिलाई पुनरुत्थान र प्रवर्द्धन गर्न र हाम्रो विकास रणनीतिहरू दिगो र अग्रगामी सोचाइ सुनिश्चित गर्न नेटुले महत्त्वपूर्ण भूमिका खेल्नेछ । नेटुले उत्कृष्ट पाकिस्तानी प्रतिभाहरूलाई आकर्षित गर्नेछ र राष्ट्र निर्माणमा आफ्नो भूमिका खेल्न सक्षम बनाउने छ” मन्त्री आसान इकबालले भन्नुभयो ।