`

विश्वभरका अध्येताका लागि नेपाल योगको मूल गन्तव्य बन्नसक्छ – राष्ट्रपति

काठमाडौँ, ७ असारः राष्ट्रपति रामचन्द्र पौडेलले योग विज्ञानको अध्ययन गरिरहेका विश्वभर कै अध्येताका लागि नेपाल योगको मूल गन्तव्य बन्न सक्ने बताउनुभएको छ ।विश्व योग दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले विश्व योग दिवसले योग परम्परालाई सर्वत्र व्यापक बनाई सबैलाई शारीरिक र मानसिकरूपमा स्वस्थ एवं खुसी रहन प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले विश्व योग दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धिएवम् सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ का दिन पारित प्रस्तावअनुसार सन् २०१५ देखि हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउन सुरू गरिएको हो । यस वर्ष हामी ‘आफू र समाजका लागि योग’ भन्ने नाराका साथ विश्व योग दिवस मनाइरहेका छौँ ।

राष्ट्रपति पौडेलले योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवम् जीवनपद्धति समेत हो भन्दै योग, ध्यान र साधनाका कारण तनावबाट मुक्त भई सकारात्मक उर्जा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

“यससँग सँगै हाम्रो दैनिक कार्य क्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने, सकारात्मक सोचको विकास हुने, आन्तरिक उर्जा प्राप्त हुनेर आत्मप्रेरणा हासिल हुने लगायत सकारात्मक गुणको विकास हुन्छ ।योगले मन र शरीरलाई जोड्नुका साथै ज्ञान, कर्म, चेतना, सबलता एवम् स्थिरता तर्फ डोर्‍याउँछ । साथै, योगले स्वस्थ्यकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन सहयोग पुर्‍याउँछ”, शुभकामना सन्देशमा भनिएको छ ।

राष्ट्रपति पौडेलले हाम्रा योग गुरुहरू र अध्येताका साथै ऐतिहासिक तथा पुरातात्विक तथ्यहरूले नेपाल योग भूमिको देश भन्ने पुष्टि गर्दछ भन्नुभयो । भौतिक विकास गरी सुख प्राप्त गर्ने आकाङ्क्षामा रहेका संसारका मानिसहरू मानसिकरूपले तनावग्रस्त भई अनेक मानसिक एवम् मनोशारीरिक समस्याबाट पीडित बन्दै गइरहेको वर्तमान अवस्था छ ।

“नेपालको सांस्कृतिक इतिहासलाई खोतल्ने हो भने यहाँका प्राचीन भवन, शहर, ढुङ्गेधारा, कुवा, इनार र राजकुलोहरूको निर्माणमा पनि योग विज्ञान एवम् वास्तु शिल्पको प्रयोग गरिएको देखिन्छ । साथै, हाम्रा मठमन्दिर, मूर्तिकला र चित्रकलामा समेत योगको प्रभाव रहेको छ”, राष्ट्रपतिको सन्देशमा भनिएको छ ।

योगलाई आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गरौँः प्रधानमन्त्री

काठमाडौँ, ७ असार: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग र साधनालाई शिक्षा, जीवन र व्यवहारमा जोड्दै आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गर्न आवश्यक रहेको बताउनुभएको छ । दसौँ विश्व योग दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै योगाभ्यासलाई जीवनको अभिन्न क्रियाकलापका रूपमा अवलम्बन गरी स्वथ्य जीवनयापनको मार्गमा अघि बढ्न आह्वान गर्नुभयो ।

नागरिकलाई स्वस्थ, नैतिकवान् र जिम्मेवार बनाउन योगको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नियमित योगाभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै तनावमुक्त भई कार्य क्षमतामा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

“योगाभ्यासबाट रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने, व्यक्तिमा अनुशासन र आन्तरिक ऊर्जा प्राप्ति हुने, आत्म ज्ञान प्राप्ति र आत्मप्रेरणा हासिल भई काममा प्रभावकारिता आउनेलगायतका सकारात्मक गुणको विकास हुनेछ”, शुभकामना सन्देशमा प्रधानमन्त्रीले भन्नुभएको छ ।

प्रधानमन्त्रीले नेपाल शिव, जनक र बुद्ध सभ्यताको त्रिवेणीका रुपमा रहेको र यस हिमवत् क्षेत्रमा बस्ने प्राचीन योगी, ऋषि, महर्षिले दीर्घ तपः साधनाको माध्यमबाट योगअभ्यासको विकास र प्रवद्र्धन गरेका उल्लेख गर्नुभयो ।

“उहाँहरूले प्रदान गरेको योग अभ्यासको ज्ञान र परम्परा अहिले पनि उत्तिकै सान्दर्भिक र जीवनका लागि ऊर्जा प्रदायक छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “त्यसैले, वर्तमान परिवेशमा योगाभ्यास र शिक्षासम्बन्धी उचित नीतिको प्रबन्ध, प्रभावकारी संरचनात्मक व्यवस्था र नेपालको अभ्यासको विश्वव्यापीकरणमा ध्यान दिनुपर्दछ ।” यसबाट योग पर्यटन विस्तार गर्न सकिने उहाँको भनाइ थियो । ‘आफू र समाजका लागि योग’ भन्ने नाराका साथ यसवर्ष विश्व योग दिवस मनाइँदै छ ।

बुटवलको डेल्टा मार्टमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा

लुम्बिनी – बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा बिहिबार साँझदेखि लागेको आगो नियन्त्रणमा आएको छ । तीन तलाको मार्टको माथिल्लो तलाबाट सुरु भएको आगलागी झण्डै पाँच घण्टापछि नियन्त्रणमा आएको हो ।

आगलागी नियन्त्रणमा स्थानीय र प्रहरी जुटेका थिए । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । मार्टको वरपर घना बस्ती भएकाले बस्ती जोगाउन वारुणयन्त्र प्रयोग गरिएको थियो तर मार्टमा भने पूर्णरुपमा क्षति पुगेको छ ।

आगलागीबाट करोडौँ रकम बराबरको क्षति भएको अनुमान गरिएको तर यकिन विवरण नआइनसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितले बताउनुभयो । आगो निभाउनका लागि रुपन्देहीका तिलोत्तमा, सैनामैना, सिद्धार्थ, देवदह, सुनवल नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दमकल ल्याइएको थियो ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र, स्थानीयलगायतको प्रयासका कारण बस्तीमा आगा सल्कनबाट जोगिएको प्रहरीको भनाइ छ । बुटवल उपमहानगरपालिका-८ स्थित मिलनचोकमा रहेको उक्त मार्टमा शैक्षिक सामग्रीसहित जुत्ताचप्पल र नेपालमा उत्पादित कपडालगायतका पसल तथा केही कम्पनीका कार्यालय थिए ।

गण्डकी प्रदेशका केही स्थानमा मुसलधार वर्षाको चेतावनी

काठमाडौँ, ७ असारः हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा तथा लुम्बिनी प्रदेशका पूर्वी भागमा रहेको तथा बाँकी भेगमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

साथै विभागले आज राति गण्डकी प्रदेशका केही स्थानमा मुसलधार वर्षा हुनसक्ने जनाउँदै ती स्थानका सर्वसाधारणलाई सम्भावित बाढीपहिराको जोखिमबाट पनि सचेत रहन आग्रह गरेको छ ।

कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली बदलीदेखि मौसम मुख्य सफा रहेको छ । गण्डकी प्रदेशका केही तथा कोशी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही, मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थान तथा बाँकी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली, लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी इलाकामा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशका केही स्थान, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका केही भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र मधेस प्रदेशका केही स्थान तथा बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । साथै गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव तथा बाढीपहिरोको जोखिम रहेको विभागले बताएको छ ।

भारी वर्षाको सम्भावना रहेका ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि मनाइँदै

काठमाडौँ, ७ असारः आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । सरकारले दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ । समितिले भक्तपुरको एसओएस बालग्राममा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । कार्यक्रममा सरकारका विशिष्ट पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि र योगाभ्यासकर्ता सहभागी हुनेछन् ।

मूल कार्यक्रमअघि पेप्सीकोला, गठ्ठाघर, लोकन्थली र मध्यपुरथिमि चोकबाट बालग्रामसम्म प्रभातफेरी हुने उक्त मन्त्रालयका प्रवक्ता केशव दाहालले जानकारी दिनुभयो । मूल समारोह समितिको गत जेठ ३० गतेको बैठकले दिवसको आदर्श वाक्य ‘महिला सशक्तीकरणका लागि योग’ चयन गरेको थियो ।

सोही बैठकले प्रदेश र स्थानीय तहमा पनि योग दिवस मनाउन पत्राचारका साथै विद्यालयस्तरमा दिवस मनाउन सबै शिक्षा विकास तथा समन्वय एकाइमार्फत विद्यालयहरूलाई अनुरोध गर्ने निर्णय गरेको थियो । संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि यो दिवस मनाउन थालिएको हो । महासभामा उक्त प्रस्ताव भारत सरकारले प्रस्तुत गरेको थियो ।

पशुपतिनाथमा भेटी चोरीको अभियोगमा पक्राउ परेका पाँच जनालाई थुनामा पठाउने आदेश

काठमाडौँ, ६ असारः जिल्ला अदालत काठमाडौँले पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गरेको अभियोगमा पक्राउ परेका छ जनामध्ये पाँच जनालाई थुनामा पठाउने आदेश गरेको छ ।

न्यायाधीश कपिलमणि गौतमको इजलासले उक्त अभियोगमा पक्राउ परेकामध्ये एक जना सत्यनारायण जोशीलाई धरौटीमा रिहा गर्ने आदेश गरेको र अन्य पाँच जना प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पशुपतिनाथको भेटी चोरी प्रकरणमा सोधपुछका लागि प्रहरीले पक्राउ गरेका सत्यनारायण जोशीलाई मात्रै काठमाडौँ जिल्ला अदालतलले धरौटीमा रिहा गर्ने आदेश गरेको र अन्य सबै प्रतिवादीलाई थुनामा पठाउने आदेश दिएको छ ।”

गत जेठ ७ गते पशुपतिनाथमा भेटी गणनाका क्रममा चोरी गरेको सिसिटिभी फुटेजमा देखिएपछि विकास कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरे, सञ्जय कपाली, कुमार दमाईं र अनिल परियारलाई विकास कोषले प्रहरीलाई खबर गरी पक्राउ गरेको प्रवक्ता अधिकारीले बताउनुभयो ।

उक्त प्रकरणमा सत्यनारायण जोशीलाई भने सोधपुछका लागि भन्दै केही दिन ढिला प्रहरीले पक्राउ गरेको थियो । पशुपतिनाथ मन्दिरको भेटी चोरी गरेको खुलेसँगै प्रहरीवृत्त गौशालाले प्रतिवादीलाई हिरासतमा राखेर अनुसन्धान गरिसकेपछि मुद्दा अदालतमा पेस गरेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले पक्राउ परेका छ जनाविरुद्ध रु दुई करोड ३० लाख १० हजार बिगो माग दाबी गरेर मुद्दा दायर गरेको विकास कोषका प्रवक्ता अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “भेटी चोर्ने सबैलाई पाँच वर्षदेखि १० वर्षसम्म कैद र रु ५० हजारदेखि रु एक लाखसम्म जरिवानाको माग दाबी गरिएको छ ।”

‘सञ्चारमाध्यममार्फत विपद्सम्बन्धी पूर्वसूचना दिइने’

काठमाडौँ, ६ असार : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्राकृतिक विपद्बाट हुनसक्ने क्षतिको न्यूनीकरण गर्न रेडियो नेपालबाट सूचना र दूरसञ्चार सेवा प्रदायकमार्फत एसएमएसद्वारा पूर्वसूचना दिइने बताउनुभएको छ ।

निजी तथा सामुदायिक रेडियो, टेलिभिजन र इन्टरनेट सेवा प्रदायकलाई पनि यसप्रकारको पूर्वसूचना दिने व्यवस्था मिलाउन आग्रह गरिएको उहाँले बताउनुभयो । उहाँले प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षक माथिको छलफलअन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको छलफलमा सांसदहरुले राख्नुभएको जिज्ञासाको सम्बोधन गर्नुभएको थियो ।

गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनबाट तथ्यमा आधारित समाचार प्रकाशन प्रसारण एवं गुणस्तर अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो । पत्रकारको न्यूनतम पारिश्रमिकका सम्बन्धमा न्यूनतम पारिश्रमिक निर्धारण समिति, नेपाल पत्रकार महासङ्घ, सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिलले अनुगमन गरिरहेको जानकारी दिनुभयो ।

न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सूचना तथा प्रसारण विभागबाट उपलब्ध हुने सेवासुविधा प्राप्त गर्दा सम्बन्धित सञ्चार प्रतिष्ठानले पत्रकारलाई भुक्तानी गरेको पारिश्रमिकको पेरोलसमेत बुझाउनुपर्ने व्यवस्था रहेको उहाँको भनाइ छ ।

“सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न निर्देशिका जारी भएको छ । थप व्यवस्थित गर्न विधेयक तर्जुमा अन्तिम चरणमा छ । प्रचलित कानुन र सामाजिक सद्भाव प्रतिकूल नहुने गरी सञ्चालन हुने सामाजिक सञ्जालप्रति सरकारको आग्रह पूर्वाग्रह छैन”, उहाँले भन्नुभयो ।

मन्त्री शर्माले युट्युबको व्यवस्थित अभिलेख, सूचीकरण र नियमित अनुगमन गर्ने कार्य प्रेस काउन्सिलले गरिरहेको बताउनुभयो । मोबाइल र इन्टरनेट सेवा गुणस्तरीय र सुलभ बनाउने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । हाल दुई वटा मोबाइल सेवा प्रदायक र एक सय १५ वटा इन्टरनेट सेवा प्रदायकले अनुमति लिइ सेवा दिइरहेका छन् ।

मन्त्री शर्माले मध्यपहाडी लोकमार्ग र अन्य लोकमार्गमा अप्टिकल फाइबर बिछ्याइ इन्टरनेट सेवाको गुणस्तर वृद्धि गरिने बताउनुभयो । गण्डकी र लुम्बिनी प्रदेशमा ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तार सम्बन्धमा दूरसञ्चार सेवा प्रदायकद्वारा अदालतमा दायर मुद्दा खारेज भएकाले रोकिएका कार्य अगाडि बढाइने जानकारी दिनुभयो ।

उहाँले प्रत्येक प्रदेशका न्यूनतम दुई जिल्ला रहने गरी १९ जिल्लालाई नमुना जिल्ला घोषणा गरी गुणस्तरीय दूरसञ्चार सेवा विस्तार भइरहेको बताउनुभयो । “सूचना तथा सञ्चारको पहुँच वृद्धि गर्ने उद्देश्यले सुरू गरिएको ब्रोडव्याण्ड इन्टरनेट सेवा सबै वडामा पुगेको छ, त्यसैगरी चार हजार सात सय चार स्वास्थ्य केन्द्र र १० हजार सात सय ८४ सामुदायिक विद्यालयमासमेत ब्रोडव्याण्ड इन्टरनेट जडान भएको छ”, उहाँले भन्नुभयो ।

उहाँले मन्त्रालयको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट मूलतः आमसञ्चार, दूरसञ्चार, सूचना प्रविधि, हुलाक सेवा, चलचित्र र मुद्रण गरी छ वटा क्षेत्रमा आधारित रहेको स्पष्ट पार्नुभयो ।

राष्ट्रपतिको युरोप भ्रमणः जलवायु परिवर्तनमा नेपालको प्राथमिकता केन्द्रमा रहनुपर्ने मुद्दा स्थापित

काठमाडौँ, ६ असारः राष्ट्रपति रामचन्द्र पौडेलको स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणले जलवायु परिवर्तनको असर न्यूनीकरणको मुद्दा अन्तर्राष्ट्रिय जगतमा स्थापित भएको छ । नेपालजस्ता अति कम विकसित पर्वतीय मुलुकले लामो समयदेखि उठाउँदै आएको उक्त मुद्दाबारे भ्रमणका क्रममा छलफल भएको थियो ।

राष्ट्रपति पौडेलले सामाजिक न्यायका लागि विश्वव्यपायी गठबन्धनसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको उद्घाटन सत्रमा मुख्य वक्ताका रुपमा व्यक्त विचार, जर्मनीमा वैज्ञानिकसँग भएका छलफल र उक्त छलफलपछि जर्मन राष्ट्रपति डा फ्राङ्क वाल्टर स्टाइनमेयरले दुईपक्षीय वार्तामा जलवायु परिवर्तनको असर न्यूनीकरणका सम्बन्धमा उक्त विषयमा सकारात्मक प्रतिक्रिया दिनुभएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार जलवायुसम्बन्धी जर्मनीका विभिन्न अनुसन्धान केन्द्रहरूको अवलोकनका क्रममा त्यहाँका बैज्ञानिकसँगको छलफलमा राष्ट्रपति पौडेलले हालसम्मको अनुसन्धानको प्रशंसा गर्नुभएको थियो । साथै जलवायु परिवर्तनको असर न्यूनीकरणका उपायमा अनुसन्धान केन्द्रित गर्न पनि उहाँले सुझाव दिनुभएको थियो ।

राष्ट्रपति पौडेलले बढी कार्बन उत्सर्जन गर्ने देशहरूले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि के–के गर्नुपर्छ र मार परेका कम विकासित मुलुकहरूले के–के गर्नुपर्छ भन्ने सुझाव पनि विश्वजगतलाई दिन आग्रह गर्नुभएको थियो ।

“जलवायु परिवर्तनका सम्बन्धमा तपाईंहरूले हालसम्म गरेको अनुसन्धान प्रशंसनीय छ । तर अब अनुसन्धानलाई कसरी जलवायु परिवर्तनको असरबाट जोगाउने भन्नेमा केन्द्रित गराउनुपर्छ भन्ने मलाई लाग्छ”, राष्ट्रपति पौडेलको भनाई उदृत गर्दै सल्लाहकार पोखरेलले भन्नुभयो ।

त्यसपछि भएको दुईपक्षीय वार्तामा जर्मनीका राष्ट्रपति स्टाइनमेयरले बैज्ञानिकहरूसँग राष्ट्रपति पौडेलले व्यक्त गरेका विचार र सुझावको प्रशंसा गर्नुभएको थियो । साथै नेपालजस्ता पर्वतीय मुलुकले उठाएको मुद्दामा आफूहरूको सकारात्मक धारणा रहेको र आगामी दिनमा नेपाललाई हरतरहले सहयोगको प्रतिबद्धता जनाउनुभएको थियो । सो अवसरमा राष्ट्रपति पौडेलले कृषि क्रान्ति, जलस्रोत उपयोग र पर्यटनको विकासमा लगानीको अपेक्षासहितको अभिव्यक्त गर्नुभएको थियो ।

राष्ट्रपति पौडेलले युक्रेनको सैन्य हिरासतमा बन्दी हुन पुगेका छ जना नेपालीलाई रिहाइ तथा स्वदेश फिर्ताका लागि सहजीकरण गरिदिन जर्मनीसँग आग्रह गर्नुभएको थियो राष्ट्रपति पौडेलले स्वीटजरल्याण्डको जेनेभामा शुरु भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको गत उद्घाटन सत्रमा मूख्य वक्ताकारुपमा सम्बोधन गर्नु भएको थियो ।

सो क्रममा राष्ट्रपति पौडेलले भन्नुभएको थियो, “विश्व समुदाय खास गरेर विगतदेखिका र हालका ठूला उत्सर्जनकर्ताहरु यो जिम्मेवारीबाट विमुख हुनुहुँदैन, हामीले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन मिल्दैन । जलवायु परिवर्तनका नकारात्मक असरहरूको सन्दर्भमा जलवायु जोखिममा रहेका देशहरूलाई पर्याप्त कोष र आवश्यक प्रविधि उपलब्ध गराएर जलवायु न्याय तुरुन्तै सुनिश्चित गरिनुपर्छ ।”

कार्बन उत्सर्जनमा नगण्य योगदान दिए पनि नेपालले जलवायु परिवर्तनको सबैभन्दा खराब असरहरूको मार खेपिरहेको र यसमा नेपालको कुनै दोष नभएको उहाँले उल्लेख गर्नुभएको थियो । “पछिल्ला वर्षहरूमा संसारकै सर्वोच्च शिखर सगरमाथालगायतका हाम्रा हिमालयहरू आफ्ना हिउँ गुमाउँदै काला पहाडहरूमा परिणत हुन थालेका र हिमनदीहरू अभूतपूर्व परिमाण र गतिमा पग्लिरहेका छन्”, उहाँले भन्नुभएको थियो ।

राष्ट्रपतिले जलवायु परिवर्तनले स्वच्छ पानी, बाली, जैविक विविधता र स्वास्थ्यमा गम्भीर असर पुग्न गई लाखौँ मानिसहरूलाई चरम गरिबी र असमानतामा धकेलेको छ बताउनुभएको थियो । साथै, जलवायु परिवर्तनबाट सिर्जित विपद्का कारण परिवार, समुदायको विस्थापन र जीविकोपार्जनमा हुने क्षतिले समस्या थप जटिल बनाएको छ उहाँको भनाइ थियो । राष्ट्रपति पौडेलबाट व्यक्त विचारप्रति त्यहाँ आइएलओको कार्यक्रममा उपस्थित विश्व समुदायले गरेको स्वीकारोक्ति गौरवलाग्दो भएको पनि पोखरलेको भनाइ थियो ।

कोशी प्रदेशसभाः आर्थिक विधेयकमाथिको छलफल सकियो

विराटनगर, ६ असारः कोशी प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक वर्ष २०८१/८२ को आर्थिक विधेयकमाथिको छलफल सकिएको छ ।

कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम १२५(४) बमोजिम आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले सो विधेयक सदनमा पेश गर्नुभएको थियो । मन्त्री मगरले समयको अभावमा आर्थिक विधेयकमा बृहत छलफल गर्न नसकेपनि विधेयक निर्माण गर्दा विभित्र क्षेत्र, सांसद, राजनीतिक दलहरुसँग छलफल गरेर नै ल्याएको जानकारी दिनुभयो ।

छलफलमा उठेको प्रश्नहरुको जवाफ दिँदै मन्त्री मगरले वर्तमान आर्थिक विधेकयले ढुङ्गा सङ्कलन र बिक्री मूल्यलाई व्यवस्थित गरेको बताउँदै करका दायरा र क्षेत्रमा विशेष अध्ययन गरिने कुरामा जोड दिनुभयो ।

उहाँले प्रदेशमा भएका तारे होटेल र क्यासिनोबाट व्यवस्थित ढङ्गले राजस्व उठाउने विधि अपनाउने भन्दै पहाडी र हिमाली क्षेत्रमा पर्यटकको पहुँच पु¥याउन र जलयात्रालाई सरकारले उचित व्यवस्था गर्ने स्पष्ट पार्नुभयो ।

सरकारले कर सङ्कलन गर्ने संयन्त्र र स्थानीय तहबाट प्राप्त हुने राजस्वलाई अझ फराकिलो बनाउने उल्लेख गर्दै मन्त्री मगरले राजस्वको स्रोत नखोज्ने र बाँडफाँटमा मात्र केन्द्रित भइयो भने विकासका योजनाहरु आगाडि बढाउन नसकिने जिकिर गर्नुभयो ।

छलफलमा प्रदेशसभा सदस्यहरु खड्गबहादुर बस्नेत, रमेशकुमार बस्नेत, गोपाल तामाङ्गले आर्थिक विधेयकलाई अपनत्व ग्रहण गर्न बृहत छलफलको आवश्यकता औल्याउनुभएको थियो ।

बैठकको विशेष समयमा सदस्य तिलकुमार मेन्याङ्बो(लिम्बू)ले अबिरल बर्षाका कारण यसप्रदेशमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त्त गर्नुभयो । उहाँले अहिले पनि यस प्रदेशको पहाडी क्षेत्रमा बाढी र पहिरोको कारण कतिपय परिवारको घर जोखिममा रहेकाले सुरक्षित बासका लागि सरकारको ध्यानाकर्षण गराउँदै बाढीले खेतबारी बगाएको, विस्थापित भएका परिवार र चौपायाहरु मरेकाले पीडित परिवारलाई आवश्यकत क्षतिपूर्ति गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रदेशसभा सदस्य विद्या चाम्लिङ्ग राईले सरकारले ल्याएको आगामी आर्थिक वर्षका लागि बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै बजेटले नागरिकका समस्या समाधान नहुने तर्क गर्नुभयो ।

साथै बैठकका शून्य समयमा सदस्यहरु किशोरचन्द्र दुलाल, रोहित कार्की, खगेनसिं हाङ्गाम, प्रेमराज थाम्सुङ्हाङ्ग, भीम पराजुली र राधाकृष्ण खनालले पनि प्रदेशको समसामयिक विषयमा बोल्नु भएको थियो ।

रकम भुक्तानीको माग गर्दै दुग्ध किसानद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

झापा, ६ असारः दुग्ध किसानको बक्यौता रकम तत्काल भुक्तानी दिने व्यवस्था मिलाउन माग गर्दै नेपाल किसान महासङ्घ झापाले प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पठाएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलामार्फत महासङ्घका अध्यक्ष रतन थिङ्लावोको नेतृत्वमा गएको किसानको टोलीले ज्ञापनपत्र पठाएको हो । ज्ञापनपत्रमा नेपाली किसानले उत्पादन गरेको दूध खरिद गरी ‘मिल्क होलिडे’को अन्त्य गरिनुपर्ने, उत्पादनका आधारमा दिइँदै आएको अनुदान कार्यक्रम पुनःसञ्चालनमा ल्याइनुपर्ने, सहुलियत कृषि ऋण र पशु बीमा अनुदान कार्यक्रम परिणाममुखी बनाइनुपर्ने, कृषि बीमामा सरकारकोतर्फबाट दिइने अनुदान तत्काल उपलब्ध गराएर किसानलाई बीमाबापतको रकम पाउने अवस्था सिर्जना गर्न माग गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादन पु¥याउनुपर्ने, दुग्धजन्य पदार्थको आयात रोकेर आत्मनिर्भर बनाउन पहल गर्नुपर्ने, पाउडर दूध उत्पादन केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने, नेपालको आन्तरिक खपत आन्तरिक उत्पादनबाटै गर्ने अनिवार्य व्यवस्था गर्नुपर्ने, लम्पीस्किन रोगबाट पशुको क्षति व्यहोराका किसानलाई तत्काल अनुदान दिइनुपर्ने, बर्खे धानको उचित मूल्य तोकी सरकारले नै खरिद गर्ने व्यवस्था मिलाउन ज्ञापनपत्रमा माग गरिएको छ ।

सरकारले तत्काल सम्बोधन गर्नुपर्ने उक्त माग पूरा नभए सडक आन्दोलनमा निस्कन बाध्य हुने चेतावनी दिँदै ज्ञापनपत्रमा किसानको समुन्नतिले मात्रै समग्र राष्ट्रको समुन्नति हुनेतर्फ सरकारलाई सचेत गराइएको छ ।

नेपालमा कृषि पेसामा आबद्धमध्ये ८६ प्रतिशत पशुपालन क्षेत्रमा संलग्न रहेको, देशको अर्थतन्त्रमा लगभग छ प्रतिशत योगदान दुग्धजन्य उत्पादनको रहेको, ३० लाख घरपरिवार प्रत्यक्ष÷अप्रत्यक्षरुपमा दुग्धजन्य उत्पादनमा रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

दुग्ध उत्पादनतर्फ किसानको आकर्षण बढ्दै गएर स्वरोजगारी सिर्जना हुने अवस्थामा सरकारी बेवास्ताका कारण पेसा नै धरासायी हुनेतर्फ गम्भीर हुन सरकारको ध्यानाकर्षण गराइएको छ । सो ज्ञापनपत्र आजै प्रधानमन्त्री कार्यालयमा पठाइदिने प्रजिअ बास्तोलाले आवश्वासन दिनुभयो ।

किसान २ परियोजनाले कृषि विकास रणनीतिको पुनरावलोकन र प्राथमिकीकरणमा सहयोग पुर्‍यायो: मन्त्री साह

काठमाडौँ, ६ असारः कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले संयुक्तराज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग ‘युएसएआइडी’ द्वारा नेपालमा सञ्चालित किसान २ परियोजनाले कृषि विकास रणनीतिको पुनरावलोकन र प्राथमिकीकरणमा सहयोग पु¥याएको बताउनुभएको छ ।

युएसएआइडीले आज आफ्नो किसान २ परियोजना सम्पन्न भएको अवसरमा आयोजना गरेको आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले सो कुरा बताउनुभयो । उहाँले भन्नुभयो, “किसान २ परियोजनाले कृषि विकास रणनीतिको पुनरावलोकन र प्राथमिकीकरणमा सहयोग पु¥याउँदै संयुक्त क्षेत्र समीक्षामा पनि सयोग पु¥यायो । नेपाल सरकारले अहिले दीर्घकालीन प्रयोगका लागि यस समीक्षा संयन्त्रलाई संस्थागत गरिरहेको छ ।”

यसैगरी उहाँले उक्त परियोजनाले कृषकलाई उत्पादनदेखि बिक्रीवितरण एवं बजारीकरणका लागि पनि सहज भएको बताउनुभयो । कृषि उत्पादकत्व र कृषक तथा कृषि व्यवसायको आयवृद्धिको दिशामा परियोजनाले महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएको उहाँले बताउनुभयो ।

सोही कार्यक्रममा अमेरिकी दूतावासका उपप्रमुख जेसन मिक्सले नेपाली किसानलाई उनीहरुको आयवृद्धि गर्न, स्थानीय बजारमा स्वस्थकर खाद्यपदार्थमा उनीहरुको पहुँच विस्तार गर्न र मुलुकको समग्र खाद्यसुरक्षा तथा समृद्धिमा सुधार ल्याउन नेपाली कृषकको सम्भाव्यतालाई उपयोग गर्न मद्दत गर्न पाउँदा आफू गौरवान्वित भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्वस्थकर खाद्यपदार्थमा उनीहरुको पहुँच विस्तार गर्न र मुलुकको समग्र खाद्यसुरक्षा तथा समृद्धिमा सुधार ल्याउन नेपाली कृषकको सम्भाव्यतालाई उपयोग गर्न मद्दत गर्न पाएकामा हामी गौरवान्वित छौँ ।”

जुलाई २०१७ देखि जुलाई २०२४ सम्म सञ्चालित किसान २ परियोजनाले ७३ प्रतिशत महिला र ६३ प्रतिशत सिमान्तकृत समूहका गरी दुई लाख ७० हजार छ सयभन्दा बढी किसानलाई सहयोग गरेको आजको कार्यक्रममा जानकारी दिइएको थियो । युएसएआइडी, नेपाल सरकार र निजी क्षेत्रबीचको साझेदारीले नेपालका २५ जिल्लामा कृषि उत्पादकत्व र बिक्रीमा उल्लेखनीय वृद्धि गरिएको बताइएको छ ।

उक्त परियोजनाले एक सय ७७ फार्मसँग साझेदारी गरी लगभग छ सय कृषि सल्लाहकारलाई किसानलाई बजार र वित्तमा पहुँच पाउन र थप प्रतिस्पर्धी बन्न मद्दत पु¥याउनुका साथै तीन हजार पाँच सयभन्दा बढी कृषक परिवारलाई सिँचाइ प्रणाली उपलब्ध गराइएको र उक्त सहयोगले उत्पादन एक सय ३९ प्रतिशतले बढाउन र ४७ करोड ६० लाख अमेरिकी डलर बराबरको कृषिजन्य बिक्री गर्न मद्दत गरेको जानकारी दिइएको थियो ।

जलवायुका दृष्टिले उपयुक्त कृषि अभ्यास र नयाँ डिजिटल प्रविधिको प्रयोगलाई प्रवद्र्धन गर्दै युएसएआइडीले किसानलाई जलवायु परिवर्तनका प्रभावको राम्रोसँग सामना गर्न सक्नेगरी सशक्त बनाएको बताइएको छ ।

उक्त परियोजनाको आजको समापन समारोहमा नेपाल सरकारलाई सहयोग पु¥याउन ज्ञानसामग्री र प्रविधि हस्तान्तरण गरिएको थियो । यसैगरी सन् २०११ देखि अमेरिकी सरकारको ‘फिड द फ्युचर’ कार्यक्रमले आठ लाखभन्दा बढी नेपाली किसानलाई कृषि उत्पादकत्वमा सुधार र बिक्री वृद्धिमार्फत आय बढाउन मद्दत गर्न १८ करोड १० लाख अमेरिकी डलरभन्दा बढी सहयोग प्रदान गरिसकिएको आजको कार्यक्रममा जानकारी दिइएको थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा दीपक खरालले युएसएआइडीको किसान २ परियोजनाले किसानलाई कृषि उत्पादकत्वदेखि अन्य विभिन्न कृषि उत्पादन एवं व्यापारीकरणमा निकै सहज वातावरण सिर्जना गरी किसानको आयस्तरमा वृद्धि गराउन सफल भएको बताउनुभयो ।

सगरमाथा आरोहणलाई व्यवस्थित बनाउन माग

काठमाडौँ, ६ असार : सगरमाथा आरोही सङ्घले सगरमाथा आधार शिविरभन्दा माथि हुने हेलिकप्टर उडानको प्रभावकारी अनुगमन गर्न माग गरेको छ । सङ्घले आज एक विज्ञप्ति जारी गर्दै सगरमाथा क्षेत्रमा हेलिकप्टर कसरी र किन उडे भन्ने विषयमा नियामक नेपाल नागरिक उडड्यन प्राधिकरणले अनुगमन बढाउनुपर्ने खाँचो औँल्याएको हो ।

साथै सङ्घले सगरमाथालगायत हिमाली क्षेत्रलाई संरक्षण गर्न कडा कानुनी व्यवस्था गर्न पनि सरकार समक्ष माग गरेको छ । हिमाल आरोहणलाई व्यवस्थित गर्न तथा आगामी दिनमा आठ हजार मिटरको हिमाल आरोहण गरेकालाई मात्र सगरमाथा आरोहणको अनुमति दिन सङ्घले सुझाएको छ । सगरमाथा क्षेत्रबाट समाचार सम्प्रेषणमा एकद्वार प्रणाली कायम नहुँदा सगरमाथाबारे गलत प्रचार प्रसारको जोखिम बढिरहेकोमा पनि सञ्चारमाध्यमहरुलाई ध्यानाकर्षण गराएको छ ।

सगरमाथा आधार शिविरमा पर्यटन विभाग, खुम्बु पासाङल्हामु गाउँपालिका, सुरक्षाकर्मीसहितको कमाण्ड र सरोकारवाला सङ्घ–संस्था संलग्न अनुगमन टोली बनाएको खण्डमा सगरमाथा आधार शिविर र सो भन्दा माथिको कार्य प्रभावकारी हुने सङ्घले विज्ञप्तिमा जनाएको छ । सङ्घको एक प्रतिनिधिमण्डलले हालै गरेको अध्ययन अनुसन्धानबाट सगरमाथाको दोस्रो शिविरमा प्रति आरोही न्यूनतम आठ केजी र सो भन्दा माथि थप आठ केजी फोहर जम्मा हुने देखिएको थियो । ती फोहोर आरोहणमा संलग्न व्यक्तिहरुले आधार शिविरमा ल्याए नल्याएको अनुगमन गनुपर्नेमा सङ्घले जोड दिएको छ ।

झुटो उद्धारलाई निरुत्साहित गर्न उद्धारमा प्रयोग भएका हेलिकप्टरको आवश्यक बिल तथा भरपाइ नेपाल सरकार तथा सरोकार भएका निकायले निरीक्षण गर्ने व्यवस्था मिलाउन पनि माग गरिएको छ । यस वर्ष सङ्घका प्रथम उपाध्यक्ष दिवस घिमिरे र महासचिव शिवबहादुर सापकोटासहितको टोलीले सगरमाथा आधार शिविरमा आरोहणमा हुने विविध विषयबारे अध्ययन तथा अनुसन्धान गरेको थियो ।

शिक्षक सरुवा र काजका नाममा हुने बेथिति रोकिँदै

प्रकाश सिलवाल, काठमाडौं ।  ‘विद्यालयमा शिक्षकको दरबन्दी रिक्त नहुँदा पनि विभिन्न पक्षबाट ‘खाली छ?’भनेर सोध्ने गरिन्छ,’ भक्तपुरको सिरुटारस्थित सोमलिङ्गेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक मञ्जु बस्नेतको प्रश्न छ, ‘पद खाली भएको अवस्थामा कस्तो परिस्थितिको सामना गर्नुपर्ला यो पर्याप्त छैन र?’

शिक्षकले दलीय सदस्यता त्याग्न लगाउने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको कदम प्रधानाध्यापक बस्नेतलाई मन परेको छ । उनी आफूहरुको दल भनेको अध्ययन–अध्यापन मात्र हो भनेर लागेमा शिक्षा क्षेत्रमा धेरै सुधार हुने बताउछन्।

‘तर दलको झोला बोकेर र नेताको पछि लागेर शिक्षक सङ्गठनको काम भनेर राजनीतिक काममा हिँड्नेका कारण आफूहरुलाई पनि असर परेको छ । सङ्गठनमा लागेर शिक्षकका हक हितमा काम गरिदिए हुन्थ्यो’, प्रअ बस्नेतले भने, ‘नेताको पछि लागेर वा दलको सङ्गठनका नाममा अन्य शिक्षकलाई हप्कीदप्की गर्ने काम भएको छ। त्यसैले शिक्षामन्त्री श्रेष्ठको निर्देशन सही छ । बरु विगतमा सदस्य भएका शिक्षकलाई अहिले कारबाहीभन्दा अबका दिनमा बन्देजको नीतिमा जाँदा ठीक हुन्छ।’

शिक्षामन्त्री श्रेष्ठले ल्याएको ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका २०८१’ भने कार्यान्वयनमा ल्याउन गाह्रो हुने उनको बुझाइ छ। व्यावहारिकरुपमा प्रअले निष्पक्ष निर्णय गर्ने अवस्था नरहेको अवस्थामा निर्देशिकाका असल प्रावधानलाई पनि पालना गर्न कठिनाइ हुने उनले बताए।

सामुदायिक विद्यालयमा उचित शिक्षक व्यवस्थापन नहुँदा गुणस्तर खस्किएको भन्ने आम गुनासोबीच पछिल्ला समयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुगमन र कारबाहीमा प्राथमिकता दिन थालेपछि शिक्षा क्षेत्रमा एक प्रकारको बहस चलिरहेको छ । यो बहसले हरेक शिक्षक र विद्यालय कर्मचारीलाई पनि छोएको छ ।

शिक्षामन्त्री श्रेष्ठले जिम्मेवारी सम्हालेपछि कानुनविपरीत राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न दिइएको निर्देशन, गत जेठ १३ गते जारी भएको शिक्षक सरुवासम्बन्धी निर्देशिका र बेथितिपूर्ण काज फिर्ता गराउने पहल सकारात्मक मानिएको छ।

नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले भने सङ्घीयताको मर्मविपरीत हुने भन्दै शिक्षक सुरुआसम्बन्धी निर्देशिका कार्यान्वयन नगराउने चेतावनी दिए । नेपाल शिक्षक महासङ्घ, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपाललगायत संस्थाले पनि निर्देशिकामा असन्तुष्टि जनाए।

नेपाल शिक्षक महासङ्घ र आबद्ध घटकले सरकारले शिक्षकको आस्था र विचारमाथि प्रहार गर्न नहुने प्रतिक्रिया दिए पनि कानुनी प्रबन्धका कारण दलको सदस्यता कायम राखेर शिक्षकको जागिरलाई निरन्तरता दिन अब शिक्षकलाई पहिलाजस्तो सजिलो छैन।

नेपाल शिक्षक सङ्घका महासचिव ज्ञानेन्द्रबहादुर रावलले कानुनी व्यवस्थाको पालना गराउँदा आफूहरुको आपत्ति नहुने तर शिक्षकलाई त्रसित गराउने गरी ‘स्टन्ट’ गर्न नहुने तर्क गरे।

उनले शिक्षक र कर्मचारीका विषयमा कानुन वा नीति ल्याउँदा आफूहरुसँग परामर्श गरिनुपर्ने उल्लेख गरे । महमासचिव रावलले सङ्घका सदस्यहरु कुनै पनि दलको सदस्य नरहेको स्पष्ट गर्दै शिक्षकहरुको विचार र आस्था हुन सक्ने जनाए।

शिक्षक–कर्मचारीले राजनीतिक दलको सदस्यता लिई जिल्ला तहमा दलको कार्यकारिणी समितिका सदस्यसमेत भएको भन्ने गुनासोका शिक्षामन्त्री श्रेष्ठको गत वैशाख ४ गतकोे निर्णयबाट मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत दलीय राजनीतिक आबद्धता त्याग्न निर्देशन दिएको थियो ।

केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेको शिक्षक र कर्मचारीलाई कारबाही गर्न सबै जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको थियो।

शिक्षा ऐन २०२८ (नवौँ संशोधन), राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र शिक्षा नियमावली २०५९ ले शिक्षकलाई राजनीतिक दलमा आबद्धता हुन नपाइने व्यवस्था गरेको छ । सो सम्बन्धमा पाटन उच्च अदालतले २०७९ जेठ ४ मा उक्त कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न–गराउन सरकारका नाममा परमादेश जारी गरेको थियो।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ र दफा ५७, शिक्षा ऐन, २०२८ को दफा १६ (ङ) को उपदफा (५) को खण्ड (छ) मा रहेको कानुनी व्यवस्थाको स्पष्ट उल्लेखसहित जिल्ला तहमा पत्राचार भएपछि दलीय आबद्धतामा रहेका शिक्षकले राजीनामा दिन थालेका हुन्।

कालीगण्डकी करिडोरको लमाए खोलाको निर्माणाधीन पुल बाढीले बगायो

पर्वत, ६ असार : उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वतखण्डमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगाएको छ । पर्वतको फलेवास नगरपालिका–६ देविस्थान र फलेवास नगरपालिका–१० कुर्घा भएर बग्ने लमाए खोलामा निर्माणाधीन पुल गए रातिको बाढीले बगाएको हो ।

दुवैतर्फको संरचना निर्माण सकिएर स्ल्याब ढलानको तयारीमा रहेको पुलका सबै निर्माण सामग्री बगाएको पाल्पास्थित कालीगण्डकी करिडोर आयोजना कार्यालय जनाएको छ । उक्त पुलको स्ल्याब भोलि शुक्रबार ढलान गर्ने तयारी गरिएको थियो । बाढीले निर्माणस्थलमा रहेको सयौँ बोरा सिमेन्ट, बालुवा, रड, फर्मा, पाइप र अन्य टेवा सामग्री पूरै बगाएको निर्माण कम्पनी नयाँबाटो गौचन जेभीका प्रतिनिधि दिनेश थापा मगरले जानकारी दिनुभयो । बाढीबाट रु डेढ करोड बराबरको क्षति भएको छ ।

यो पुल दुई वर्षमा सम्पन्न हुने गरी २०७४ असार २८ गते सम्झौता भई २०७५ पुस १९ गतेदेखि निर्माण सुरु भएको थियो । अहिलेसम्म जम्मा ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ । विसं २०७६ असार मसान्तभित्र सम्पन्न हुनुपर्ने पुल गलत डिजाइन र निर्माण व्यवसायीको लापर्वाहीका कारण पूरा हुन नसकेको स्थानीयले बताउँदै आएका छन् । पाँच करोड ८९ लाख ८९ हजार दुई सय ७७ को लागतमा बन्ने पुल निर्माणको जिम्मा नयाँबाटो गौचन जेभी निर्माण कम्पनीले पाएको थियो । तर उक्त कम्पनीले सहायक ठेकेदार दीपज्योति निर्माण सेवालाई जिम्मा लगाएको थियो । पच्चीस मिटर लामो र ११ मिटर चौडाइको पुल निर्माण सम्पन्न नहँुदा कालीगण्डकी लोकमार्गमा सीधा यातायात सञ्चालन हुन सकेको छैन ।

यो पुल निर्माणका लागि चौथोपटक थप गरिएको म्याद आगामी असोज मसान्तसम्म रहेको छ । कालीगण्डकी लोकमार्ग आयोजना कार्यालयका इन्जिनियर सुरेन्द्र गौतमले आजभन्दा १५ दिनअगावै ढलान गर्नुपर्नेमा ढिलाइ गरेकाले निर्माण व्यवसायीले क्षति व्यहोर्नुपरेको बताउनुभयो । उहाँका अनुसार कार्यालयको टोलीले अनुगमन गरेपछि वास्तविक क्षतिबारे बताउन सकिने उहाँले बताउनुभयो ।

इन्जिनियर गौतमले ठेकेदारलाई एक÷दुई महिनाको जरिवाना गराएर भए पनि आगामी मङ्सिरभित्र पुल सम्पन्न गरिने बताउनुभयो । हालसम्म पुलको दुवैतर्फका पिल्लरको काम पूरा भएको छ । करिडोरअन्तर्गत स्याङ्जाको मिर्मिदेखि पर्वतको अर्मादीसम्म सडकको ट्रयाक खुलिसकेको छ भने पर्वतको सेतीवेणीदेखि लमाए खोलासम्मको सडक कालोपत्र भइसकेको छ । लमाए खोलामा पुल निर्माण सम्पन्न नहुँदा करिडोरमा सीधा यातायात सञ्चालन हुन नसकेको हो ।

कालीगण्डकी करिडोर आयोजनाका इन्जिनियरले सुरुमा डिजाइन गरेको पुल खोलाको दुवैतर्फको किनारमा ढुङ्गा माथिबाट बनाइने जानकारी दिइएको थियो । डिजाइनकै क्रममा स्थानीयले विरोध गरे पनि इन्जिनियरहरूले गलत डिजाइनलाई नै निरन्तरता दिँदै ठेक्का खुलाएका थिए । विसं ०७४ को अत्यतिर गरिएको प्रतिस्पर्धामा छानिएको नयाँ बाटो गौचन जेभीले दुई वर्षभित्रै पुल सम्पन्न गर्ने जानकारी दिएको थियो ।

विसं २०७५ पुसमा काम सुरु गरेका व्यवसायीले २०७६ जेठमा पुल निर्माण सकेर आयोजना हस्तान्तरण गर्ने तयारी थियो । दुवैतर्फका पिलर उठाएर स्ल्याब ढलान गर्ने समयमा पुनः आयोजना कार्यालयले पुलको निर्माण रोक्न भनेको थियो । त्यही बेलादेखि अलपत्र छाडिएको पुल गत मङ्सिरदेखि काम सुरु भएको थियो । यो पुलसँगै सुरु भएको मोदीखोलाको पुल दुई वर्षअघिनै सम्पन्न भएको थियो । पुल निर्माणमा ढिलाइ भएपछि यस क्षेत्रकमा सांसद, नगरप्रमुखलगायत स्थानीयवासीले दबाब दिँदै आएका थिए ।

‘लेसर ग्रे स्राइक’ जातको नयाँ पन्छी पहिलोपटक भक्तपुरमा देखियो

भक्तपुर, ६ असार : युरोप, दक्षिण तथा पश्चिम एसियाको रैथाने पन्छी ‘लेसर ग्रे स्राइक’ पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको छ ।

तापक्रम वृद्धिसँगै गर्मी भेगमा मात्रै हुने यो पन्छी असार लागेपछि भक्तपुरको मनोहरास्थित मिनि कोशी टप्पुमा भेटिएको चरा अन्वेषणकर्ता सञ्जय थाश्रेष्ठले राससलाई जानकारी दिनुभयो । उहाँले काठमाडौँ उपत्यकामा पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको बताउनुभयो ।

पन्छी पथ प्रदर्शक शङ्कर तिवारीले मनोहरामा ‘लेसर ग्रे स्राइक’ भेटेपछि तस्बिर कैद गर्दै काठमाडौँ उपत्यकासँगै नेपालको पहाडी भेगका लागि पहिलो अभिलेख गरिएको जानकारी दिनुभयो ।

नेपालमा पहिलोपटक गत वर्षको वैशाख अन्तिम साता राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक देवराज जोशीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी तटीय क्षेत्रमा यो चरा देख्नुभएको थियो । उक्त चरालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विज्ञहरूको टोलीले नेपालका लागि पहिलो भएको पुष्टि गरेको पन्छी अनुसन्धानकर्ता थाश्रेष्ठले जानकारी दिनुभयो ।

गौथलीझैँ देखिने, निधार र टाउकोमा कालो रङ तथा कालो पखेटाको मध्य भागमा सेतो रङ हुने र लामो दूरीसम्म उड्न सक्ने यो चरा भक्तपुरमा असार लागेपछि जोडीनै देखिएको उहाँले बताउनुभयो ।

युरोप र पश्चिम एसियाका पानी कम पर्ने स्थान मरुभूमि आसपासका भेग र भारतको राजस्थान, पाकिस्तान, अफगानिस्तानका सुक्खा भेगमा लेसर ग्रे पाइने उहाँले जानकारी दिनुभयो । यो सँगै मनोहरामा पन्छीका करिब तीन सय प्रजाति अभिलेख भएका छन् ।

एक महिनाअघि मनोहरामा ‘जल कुखुरा’ पनि देखिएको थियो । नेपालका अन्य भेगमा प्रायः नपाइने ‘ठूलो कस्दरी’ जलपन्छी २०७९ भदौमा, सोही वर्ष ७ भदौमा मनोहरामा सेतो पङ्खे फ्यालफ्याले र २०७८ असोज अन्तिम साता मनोहरा खोला किनारमा एक सय ९२ वर्षपछि पानी गौथली देखिएको अनुसन्धानकर्ता थाश्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

बागमती प्रदेशसभाः आजदेखि बजेटमा छलफल

बागमती, ६ असार : बागमती प्रदेशसभा बैठकमा आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदैछ ।

आज बिहान ११ बजे सुरु हुने बैठकमा आगामी आवको बजेट वक्तव्य तथा विभिन्न मन्त्रालयलाई विनियोजन भएको बजेटमा छलफल हुने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खडकाले बताउनुभयो । असार ८ गतेभित्र बजेट पारित गर्ने कार्यसूची छ ।

यही असार १ गते प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आवका लागि लागि रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो ।

बलान नदीमा अस्थायी तटबन्ध निर्माण गर्दै सुरक्षाकर्मी

गोलबजार, ६ असार : सिरहा र सप्तरी जिल्लाको सिमाना रहेको बलान नदीको पूर्वी किनाराको कटान रोक्न सुरक्षाकर्मीले अस्थायी तटबन्ध निर्माण थालेको छ ।

सप्तरी जिल्ला विपद् व्यवस्थान समितिको निर्णयअनुसार मनसुन प्रतिकार्य योजनाअन्तर्गत बलान विहुल गाउँपालिका– ४ बेल्हीस्थित निर्माणाधीन बाँधमा बाढीबाट कटान भएपछि सशस्त्र प्रहरी बल नेपाल ६ नम्बर गणबाट सशस्त्र प्रहरी निरीक्षक महेश कार्कीको नेतृत्वमा ३० जना सशस्त्र प्रहरी र नेपाली सेना बरख गण राजविराजबाट १५ जना नेपाली सेनाका जवान र नेपाल प्रहरी चौकी बेल्ही, सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बेल्हीका प्रहरीसहितको टोलीले तटबन्ध निर्माण थालेको हो ।

गत वर्ष जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले बलान नदी नियन्त्रण योजनाअन्तर्गत रु तीन करोड ९९ लाख १७ हजार आठ सय ८५ को लागतमा बाँध बनाएको थियो तर गत वर्षको अविरल वर्षाले बाँध भत्काएपछि जिल्ला विपद् व्यवस्थान समितिको अगुवाइमा तटबन्ध निर्माण थालिएको हो ।

सर्लाहीमा रोकेर राखेको लरीमा यात्रीबाहक बस ठोक्किँदा तीन जनाको मृत्यु

बरहथवा (सर्लाही) । बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिक–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रीबाहक बस ठोक्किँदा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै उद्धार गरी उनीहरुलाई हरिवनस्थित नमूना अस्पताल पुर्याएकामा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।

रुपन्देहीबाट जनकपुरतर्फ आइरहेको बस दुर्घटना भएको हो । बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

सहिद लालध्वज मोटरमार्गको स्तरोन्नति गरिँदै

दमौली (तनहुँ), ६ असार: शुक्लागण्डकी नगरपालिकादेखि व्यास नगरपालिकासम्म जोडिने शहीद लालध्वजमार्ग स्तरोन्नतिको काम सुरु भएको छ । शुक्लागण्डकी नगरपालिका–१ थप्रेकदेखि व्यास नगरपालिका–६ सिन्धुसम्म जोडिने उक्त मार्ग स्तरोन्नतिका लागि जिल्ला पूर्वाधार विकास कार्यालय बोलपत्र आह्वान गरेको छ । पूर्वाधार विकास कार्यालय रु १५ करोडको लागतमा उक्त मोटरमार्गको स्तरोन्नतिका लागि बुधबार सूचना प्रकाशित गरेको हो ।

चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट रु चार करोड बजेट विनियोजन गरी विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको हो । सडकका लागि प्रदेश भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र आर्थिक मामिला मन्त्रालयले रु १५ करोडको स्रोत सुनिश्चित गरेको छ । विसं २०५२ पुस २८ गते यो सडकको ‘ट्रयाक’ खुलेको थियो ।

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तरः सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहाल

काठमाडौँ, ६ असार : प्रतिनिधिसभाको आजको बैठकका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदका जिज्ञासाको जवाफ दिनुहुने भएको छ । प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ प्रधानमन्त्रीले दिनुहुने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ ।

आजको बैठकमा नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूचि छन् । विनियोजन विधेयकमा छलफलका क्रममा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले बुधबारदेखि दिन थाल्नुभएको हो ।

गण्डकी प्रदेशमा छ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण

गण्डकी, ६ असार : गण्डकी प्रदेश सरकारको लगानीमा बितेका छ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण भएका छन् भने दश वटा झोलुङ्गे पुल निर्माणाधीन छन् ।

प्रदेश पूर्वाधार निर्देशनालयका अनुसार चालु आर्थिक वर्षमा थप चार झोलुङ्गे पुलको बहुवर्षीय ठेक्काका लागि स्रोत सुनिश्चित गरिएको छ । प्रदेशका ११ वटै जिल्लामा गरी थप ५१ झोलुङ्गे पुल निर्माण सुरु हुने चरणमा छन् ।

प्रदेश सरकारको आगामी आव २०८१/०८२ को बजेटमा हिमाली र पहाडी क्षेत्रका पर्यटकीय पदमार्गबाट नजिक रहेका बस्तीसँग सहज पहुँच पु¥याउन नदी तथा खोलामा झोलुङ्गे पुल बनाउन विशेष जोड दिइने उल्लेख छ । निर्देशनालयका निमित्त निर्देशक महेन्द्र बानियाँले “स्थानीवासीको माग र आवश्यकता पहिचान गरेर झोलुङ्गे पुल निर्माण गर्ने गरिएको छ, झोलुङ्गे पुलले कृषिउपजलाई बजार ल्याउन पनि सहज भएको छ, गाउँका किसानको दैनिकी पनि फेरिएको छ”, भन्नुभयो ।

पोखरा महानगरपालिका–२५ हेम्जाका ६४ वर्षीय ऋषिराम पौडेलले आफूहरुका लागि याम्दी खोलामा हालै बनेको झोलुङ्गे पुल वरदान सावित भएको बताउनुभयो । याम्दीपारिको टिमिरेचौरमा बाँझो पल्टिएको सयौँ रोपनी जग्गामा झोलुङ्ले पुल बनेपछि किसानले खेतीबाली लगाउन सुरु गरेको उहाँले सुनाउनुभयो ।

“हाम्रा बाउबाजेको मुख्य कृषि उब्जनी गर्ने ठाउँ नै टिमिरेचौर थियो, त्यहीँ घरगोठ थिए, गाईबस्तुपालन हुन्थ्यो”, उहाँले भन्नुभयो, “पछि सबै हेम्जातिर सरेपछि त्यहाँको जग्गा बाँझै थियो, पुल बनेपछि अहिले फेरि हराभरा भएको छ ।” प्रदेश सरकारले यसै वर्ष त्यहाँ झोलुङ्गे पुल निर्माण गरेपछि विशेष गरी किसानलाई प्रत्यक्ष लाभ पुगेको छ । उहाँले पुल बनाउन जग्गादान गर्नुभएको थियो ।

खेतमा आवातजावतको समस्या, बढ्दो लागत, कृषि गर्ने जनशक्ति अभावजस्ता कारणले पछाडि परेको टिमिरेचौरमा अहिले चहलपहल देखिन्छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार निर्देशनालयमार्फत रु ९१ लाखको लगानीमा उक्त पुल बनेको हो । तल्लो टिमिरचौरमा पनि झोलुङ्गे पुल बनिसकेको छ । चिसाखोलामा प्रदेश सरकारका लगानीमा अर्को पुल निर्माणको तयारी थालिएको छ ।

चितवनको खैरहनीमा चैते धान उत्पादनमा वृद्धि

नारायणगढ (चितवन)- चितवनको खैरहनी नगरपालिका–११, सुन्डीका किसान राम बहादुर केसीले यस वर्ष आफ्नो खेतमा पूरै चैते धान लगाए । चैतै धानका लागि यस वर्ष मौसम उपयुक्त हुँदा धान उत्पादन वृद्घि भयो । केसी भन्छन्, ‘गत वर्ष २४ कट्ठामा लगाएको धान ४२ क्विन्टल भएको थियो, तर यसपालि बढेर ५० क्विन्टल हाराहारी पुग्यो ।’

धान उत्पादन बढेको देखेर उनी मख्ख छन् । धानको मूल्यमा एकरुपता नहुँदा भने उनलाई चिन्ता लागेको छ । उनले गतवर्ष धानको मूल्य क्विन्टलको रु एक हजार आठ सयबाट सुरु भएर तीन हजार पुगेकोमा यसवर्ष ३२ सयबाट सुरु भइ घट्दो क्रममा रहेको बताए ।

उनले भने, ‘चैते–५ जातको धान खानको लागि निकै मीठो हुन्छ । आफूलाई खाने राखेर सबै बेच्ने हो, एक वर्षपछि यसको भात मीठो हुन्छ ।’ उत्पादन भएका धान खरिदका लागि खेतमै व्यापारी आउने हुँदा बिक्रीमा समस्या नहुने उनको भनाइ छ ।

खैरहनी–१० का श्रीराम महतोले यस वर्ष झण्डै दुई बिघा खेतमा चैते–५ धान मेसिन प्रयोग गरेर लगाए । उनले भने, ‘मैले डेढ बिघा खेतमा मेसिन प्रयोग गरेर धान लगाएँ, बाँकी जग्गामा पुरानो तरिकाले लगाउँदा मेसिन प्रयोग गरेको स्थानमा बढी धान फलेको छ । रोग कीरा पनि लागेको छैन ।’उनले आफूले लगाएको दुई बिघा जमिनमा यसवर्ष प्रतिकट्ठामा दुई दशमलव पाँच क्विन्टलभन्दा बढीका दरले धान फलेकाले उत्पादनबाट सन्तुष्ट रहेको बताए ।

खैरहनी १२ का वडा सदस्यसमेत रहेका किसान श्याम रेग्मीले यस वर्ष उत्पादन भएको चैते धानले किसानलाई निकै उकासेको जानकारी दिए । उनले भने, ‘चैते धानको उत्पादनबाट हामी सन्तोषजनक छौँ ।’उनले चैतै धानको उत्पादनबाट यस वर्ष एक सय २२ बिघा खेत भएको वडा नम्बर १२ मा मात्रै रु १४ करोडको चैते धान बिक्री भएको जानकारी दिए । यस क्षेत्रमा प्रतिकट्ठा तीन क्विन्टलभन्दा बढी धान उत्पादन भएको उनको भनाइ छ ।

खैरहनी नगरपालिकाका कृषि विकास अधिकृत गौरव न्यौपानेले यस वर्ष समग्र पालिकाको चैतेधान उत्पादन वृद्धि भएको बताए । उनले यस पटक पालिकामा दुई हजार तीन सय ५१ हेक्टर क्षेत्रफलमा चैते धान लगाएको जानकारी दिए ।

यसवर्षको चैते धान ४० प्रतिशतले वृद्घि भएको कृषि शाखाले जनाएको छ । खैरहनी नगरपालिकाको खेतीयोग्य जमिन पाँच हजार आठ सय ८२ दशमलव चार हेक्टरमध्ये पाँच हजार आठ सय ९९ हेक्टरमा धान खेती गरिँदै आएको छ ।न्यौपानेका अनुसार तीन हजार पाँच सय ४८ हेक्टर क्षेत्रफलमा बर्खे धान लगाईन्छ । चैते धान काट्ने समयमा धानको दानामा लाग्ने डडुवा र ‘नेक ब्लाष्ट’ नामको रोग नदेखिएको कारण पनि यस वर्ष धान उत्पादन बढेको हो ।

यस वर्ष चैते धान १४ हजार दुई सय ७० दशमलव ५७ मेट्रिक टन उत्पादन हुने आँकलन गरिएको छ ।गत वर्ष यहाँ नौ हजार आठ सय ७६ मेट्रिक टन चैते धान उत्पादन भएको थियो ।
स वर्ष बढी मात्रामा चैते–५ जातको धान उत्पादन भएको छ । त्यसैगरी पिआर, बिजी–१४४२, हर्दिनाथजस्ता चैते धानहरु पनि लगाइएको अधिकृत न्यौपानेले जानकारी दिए

विश्वकपको सुपर आठमा दक्षिण अफ्रिकाद्वारा अमेरिका पराजित

काठमाडौँ, ६ असार : आइसिसी टी–ट्वान्टी विश्वकप २०२४ को पहिलो सुपर–आठमा दक्षिण अफ्रिकाले अमेरिकालाई पराजित गरेको छ । दक्षिण अफ्रिका अमेरिकालाई १८ रनले पराजित गर्दै विजयी भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार एक सय ९५ रनको लक्ष्य पछ्याएको अमेरिका निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ७६ रनमा समेटियो । अमेरिकाका एन्ड्रिस गौसले सर्वाधिक ८० रन बनाए । उनले ४७ बलमा ५ चौका र ५ छक्कासहित ८० रनका योगदान दिए ।

त्यस्तै हरमीत सिंहले २२ बलमा २ चौका र ३ छक्कासहित ३८ रन बनाए । स्टिभन टेलरले २४, नितेश कुमारले ८ तथा कोरी एन्डरसनले १२ रन जोडे । दक्षिण अफ्रिकाका कागिसो रबाडाले तीन विकेट लिए भने केशव महाराज, एनरिच नोर्किया र तबरेज शाम्सीले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ९४ रनको योगफल बनाएको थियो । क्विन्टन डि ककले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ४० बलमा ७ चौका र ५ छक्कासहित ७४ रन बनाएका हुन् ।

कप्तान एडेन माक्ररमले ३२ बलमा ४ चौका र १ छक्कासहित ४६ रन जोडेभने हेनरिक क्लासेन २२ बलमा ३ छक्कासहित ३६ रनमा बनाए । ट्रिस्टन स्टब्सले १६ बलमा २ चौकासहित २० रन बनाए । अमेरिकाका हरमीत सिंह र सौरभ नेत्रवालकरले समान दुई दुई विकेट लिए ।

ठूलो ढुङ्गासहितको पहिरो खसेपछि बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ, ६ असार : पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइका अनुसार खरखरेभिरमा सडक माथिबाट एउटा ठूलो ढुङ्गासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोही बाटोमा पर्ने अक्टोसप झरनामा पानी बढेपछि आवागमन रोकिएको छ ।

हरेक वर्ष वर्षायाममा यो सडक पहिरोले अवरुद्ध हुने गरेको छ । बाढी पहिरोको सबैभन्दा बढी जोखिम रहेको स्थान खरखरेभिर नै हो । यहाँ पहिरो नियन्त्रणका निम्ति सङ्घीय सरकारले रु १६ करोड ४८ लाखको लागतमा आयोजना सञ्चालन गरेको भए पनि त्यो पूरा नहुँदा समस्या भएको छ ।

युक्रेनले छिट्टै इयु सँग सुरक्षा सम्झौतामा हस्ताक्षर गर्ने

युक्रेनले चाँडै नै युरोपेली सङ्घ (इयु) सँग सुरक्षा सम्झौतामा हस्ताक्षर गर्ने बुधबार बताएको छ । सम्झौताहरूको शृङ्खलामा पछिल्लो सम्झौताले युक्रेनले आगामी वर्षमा रुससँगको लडाइँमा सैन्य सहयोग सुनिश्चित हुने आशा गरेको छ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले गत साता संयुक्त राज्य अमेरिकासँग आफ्नो युद्धग्रस्त मुलुकको नाटो सदस्यताका लागि ‘सेतु’ का रूपमा सहमति भएको ‘अभूतपूर्व’ १० वर्षको सुरक्षा सम्झौताको प्रशंसा गर्नुभयो ।

युक्रेनी सञ्चारमाध्यमका अनुसार किएभले इयुका सदस्य मुलुकसहित १७ मुलुकसँग सुरक्षा सम्झौतामा हस्ताक्षर गरेको छ र अन्य १० मुलुकसँग सम्झौतामा वार्ता गर्ने प्रक्रियामा छ ।
“युक्रेनी र इयुका वार्ता टोलीहरूले सुरक्षा सम्झौताको पाठलाई अन्तिम रूप दिएका छन् र निकट भविष्यमा यसमा हस्ताक्षर गर्ने सहमति व्यक्त गरेका छन्”, युक्रेनी राष्ट्रपतिले एक विज्ञप्तिमा भन्नुभयो । सुरक्षा सम्झौता युक्रेनका लागि खतरनाक समयमा भएको छ । युक्रेनी सेना रुसी आक्रमणविरुद्ध मुलुकको पूर्व र दक्षिणमा सीमामा पकड कायम गर्नका लागि सङ्घर्ष गरिरहेको छ र उसको हतियार कमजोर भएको छ ।

इङ्ग्ल्यान्डमा १० र ११ वर्षका बालबालिकामा मोटोपन ३० प्रतिशतले वृद्धि

सन् २००६ पछि इङ्ग्ल्यान्डमा १० र ११ वर्षका बालबालिकामा मोटोपन ३० प्रतिशतले बढेको छ । शताब्दीको सुरुआतपछि बालबालिकाको स्वास्थ्यमा यो दूरगामी गिरावटको भाग भएको बुधबार प्रकाशित एक प्रतिवेदनमा उल्लेख छ । परोपकारी संस्था फुड फाउन्डेसनले गरेको अध्ययनमा आफ्नो तौलसँग सङ्घर्ष गरिरहेका बालबालिकाको सङ्ख्यामा भएको वृद्धिलाई ‘गहिरो चिन्ताजनक’ भनेको छ ।

अन्य निष्कर्षमा सन् २०१३ पछि पाँच वर्षका बालबालिकाको उचाइमा लगातार गिरावट र २५ वर्षभन्दा कम उमेरका मानिसमा टाइप २ मधुमेहमा वृद्धि समावेश छ । पछिल्लो पाँच वर्षमा टाइप २ मधुमेह २२ प्रतिशतले वृद्धि भएको छ । प्रतिवेदनका लेखकहरूले सम्भावित कारणहरूमा ‘गरिबी र अभावको चकित पार्ने स्तर’ तथा ‘खाद्य उद्योगद्वारा सस्तो पत्रु खाना (जङ्क फुड) को आक्रामक प्रचार’ रहेको बताएका छन् ।

लेखकहरूले मुलुकको हालको जीवनयापन सङ्कट लागतले धेरै परिवारलाई स्वस्थ, पौष्टिक खाना उपलब्ध गराउने सङ्घर्षलाई ‘तीव्र’ बनाएको बताएका छन् ।
पूर्वसरकारी खाद्य सल्लाहकार हेनरी डिम्बलबीले प्रतिवेदनमा यो गिरावट ‘चकित पार्ने र अत्यन्त दुःखद’ भएको बताउनुभयो । उहाँले जुलाई ४ मा हुने बेलायतको आम निर्वाचनमा जित्ने जुनसुकै राजनीति दलले ‘स्वस्थ र दिगो खानालाई सस्तो बनाउने जङ्क फुडको वृद्धिलाई रोक्नका लागि निर्णायक कदम’ चाल्न आग्रह गर्नुभयो ।

अनुसन्धानअनुसार १०÷११ वर्षको उमेरमा प्राथमिक विद्यालय छाडेपछि पाँचमध्ये एक बालबालिकामा मोटोपन देखिएको थियो । यसबाट उनीहरूलाई टाइप २ मधुमेह विकसित हुने धेरै खतरा छ । सन् १९९२ र सन् २००० बीच मोटोपनसँग लड्नका लागि नौ सय ८९ नीतिसहित १४ सरकारी रणनीतिहरूको प्रकाशनका बावजुद कुनै प्रगति हुन सकेको छैन ।

‘एउटा उपेक्षित पुस्ता : इङ्ग्ल्यान्डमा बालबालिकाको स्वास्थ्यमा गिरावटलाई उल्टाउँदै’ नामक प्रतिवदेनले किशोरहरूमा टाइप २ मधुमेहको पहिलो मामिला सन् २००० मा निदान गरिएको बताएको छ । त्यसपछि सन् २०१२/१३ र सन् २०२०/२१ को बीचमा टाइप २ मधुमेहको मामिला तीन गुणाले बढेको छ ।

राजनीतिक नेताहरूले वर्तमान गतिलाई उल्ट्याउनुपर्ने प्रतिवेदनमा उल्लेख छ । “यस्तो गर्न असफल भएमा आहारसम्बन्धित बिमारी र त्यसले ल्याउने परिणामले आफ्नो जीवनको बोझको पुस्तालाई नेतृत्व गर्नेछ”, प्रतिवेदनले भनेको छ । 

–––

कुश्मिसेरा– जैदीछिस्ती ग्रामीण सडक ट्रयाक खुलेको १८ वर्षपछि कालोपत्र गरिँदै

ढोरपाटन (बागलुङ), ६ असार: बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा– जैदीछिस्ती ग्रामीण सडक कालोपत्र गर्न थालिएको छ । चालु आर्थिक वर्षमा सङ्घीय सरकार र जैमिनी नगरपालिकाले विनियोजन गरेको रु ५० लाख गरी रु एक करोडमा सडक कालोपत्र गर्न थालिएको हो । कुश्मिसेरा बजारदेखि सर्कुवा, ब्यार्थला, बिनामारी, जैदीछिस्ती पुग्ने सडकको कालोपत्रसँगै स्तरोन्नतिको कामसमेत भइरहेको छ ।

आर्थिक वर्ष २०६२÷०६३ सालमा ट्रयाक खुलेको सडक १८ वर्षपछि कालोपत्र हुन थालेपछि स्थानीय हर्षित भएका छन् । जैमनी नगरपालिका–५ का वीरबहादुर खत्रीले लामो समयसम्म सडक कालोपत्र नहुँदा यस क्षेत्रका हजारौँ नागरिकले सास्ती खेपेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “यो बाटो खुलेको धेरै वर्ष भयो, जहिले सडक खुल्यो त्यस बेलादेखि नै गाडी चल्न थालेका हुन्, बाटो साँघुरो र अप्ठ्यारो हुँदा यात्रा गर्न निकै समस्या थियो, ढिलै भए पनि सरकारले सडक पिच गर्न थालेकामा हामी खुशी छौँ ।”

यस वर्ष कुश्मिसेरादेखि चार सय ५० मिटरमाथि सम्म सडक फराकिलो बनाउने, नाली निर्माण गर्ने र कालोपत्र गरिनेछ । सडक कालोपत्रको जिम्मा पाएको कोन्डा कन्स्ट्रक्सनले हालसम्म करिब ९० प्रतिशत काम पूरा गरेको छ ।

भरतपुर भ्रमण बर्षः बसमा ४० प्रतिशत छुट दिने यातायात व्यवसायीको घोषणा

चितवन- भरतपुर भ्रमण वर्षलाई सहयोग गर्ने उद्देश्यले यहाँका तीन यातायात व्यवसायीले पूर्वी चितवनबाट भरतपुर आउनेलाई भाडामा छुट गरेका छन् । चितवन छाहारी यातायात सेवा प्रालि, त्रिनेत्र यातायात सेवा प्रालि र सार्वजनिक ओमशान्ति यातायात सेवा प्रालिले भरतपुर प्रवेश गरेसँगै रिङरोड क्षेत्रका लागि भाडामा छुट गरेका हुन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा चितवन छहारी यातायात सेवा प्रालिका अध्यक्ष बद्रीप्रसाद पौडेलले महानगरभित्र प्रवेशसँगै भाडामा छुट दिइने बताउनुभयो । गोन्द्रङदेखि छ लेन सडक हुँदै पुलचोक, आँपटारी, बाइपास सडक हुँदै केन्द्रीय बस ट्रमिनलसम्मलाई पहिलो चरणमा भाडा छुट गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकका लागि निःशुल्क सेवा र अन्यका लागि ४० प्रतिशत भाडा छुट दिइनेछ । यो सुविधा बिहीबारदेखि लागू हुनेछ ।”

ज्येष्ठ नागरिकका लागि नागरिकता वा सामाजिक सुरक्षाप्राप्त गरेको परिचयपत्र अनिवार्य हुनुपर्ने छ । सार्वजनिक सवारीसाधनमा भाडा छुट तथा समायोजनले गर्दा भ्रमण वर्षलाई सफल बनाउन पहिलो चरणमा पूर्वबाट आएका सवारीसाधनमा यो सेवा लागू गरिएको पौडेलले बताउनुभयो ।

तीन वटा समितिमार्फत अहिले पूर्वी क्षेत्रमा दुई सय वटा सार्वजनिक सवारीसाधन सञ्चालनमा रहेका छन् । ती सवारीसाधनलाई पूर्वबाट चारचार मिनेट र नारायणगढबाट पनि चारचार मिनेटको फरकमा छुटाउने व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्षलाई सफल बनाउनका लागि सबै सरोकार भएका निकायको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भरतपुर भ्रमण वर्षलाई सफल बनाउने जिम्मेवारी महानगरपालिकाको मात्रै होइन सबै सरोकारवाला निकायको उत्तिकै भूमिका रहन्छ ।” होटल व्यवसायी, सञ्चारकर्मी, यातायात व्यवसायीसहित अन्य स्थानीयको सहयोगले महत्व राख्ने उहाँको भनाइ थियो । महानगरको सानो प्रयासमा पहिलो चरणमा पूर्वबाट आउने सवारीसाधनमा छुट दिने व्यवस्था भएको भन्दै व्यवसायीलाई धन्यवाद दिनुभयो । उहाँले थप्नुभयो, “अब महानगरभित्रका हरेक पर्यटकीय गन्तव्यस्थलमा जाने, महानगरभित्र चल्ने सबै सवारीसाधनका समितिसँग यस विषयमा छलफल गरेर अघि बढ्छौँ ।”

महानगर उपप्रमुख चित्रसेन अधिकारीले पश्चिम क्षेत्रका यातायात व्यवसायीसँग छलफल गरेर यस्तै प्याकेज घोषणा गर्न आग्रह गरिने बताउनुभयो । पर्यटकीय गन्तव्य थपिएसँगै अन्य सेवासुविधाका विषयमा महानगरपालिकाले सोचिरहेको उहाँले बताउनुभयो ।

महानगरपालिकाका पर्यटन विज्ञ डा विश्व सुवेदीले महानगरपालिकाले भ्रमण वर्षको समयमा गर्ने भनिएका ५२ वटा कार्यक्रममध्ये ४८ वटा सम्पन्न भइसकेको बताउनुभयो । भ्रमण वर्षका समयमा महानगरमा राष्ट्रिय तथा अन्तर्राट्रियस्तरका कार्यक्रम भइरहेको बताउँदै उहाँले यहाँको पर्यटन प्रवद्र्धनका लागि यातायात व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

गृहसचिव अर्याल र सिचुवान प्रान्तका भ्वाइस गभर्नर हान्बिङबीच भेट

काठमाडौँ-गृहसचिव एकनारायण अर्याल र चीनको सिचुवान प्रान्तका भ्वाइस गभर्नर तथा सिचुवान प्रान्तको सार्वजनिक सुरक्षा विभागका कमिस्नर ये हान्बिङबीच भेटवार्ता भएको छ । गृहसचिव अर्यालको निमन्त्रणमा हान्बिङको नेतृत्वमा आएको पाँच सदस्यीय चिनियाँ टोलीले गृहसचिव अर्याल नेतृत्वको प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा द्विपक्षीय छलफलसमेत गरेको छ ।

गृह मन्त्रालयमा भएको भेटमा गृहसचिव अर्यालले नेपाल सरकार र सिचुवान प्रान्तीय सरकारबीच मैत्रीपूर्ण सम्बन्ध रहेको बताउँदै सीमासुरक्षालगायत दुवै देशको सामाजिक, आर्थिक एवं पारस्परिक हितका विषयमा जोड दिनुभयो ।

सीमासुरक्षामा समन्वय एवं सहकार्यमा जोड दिँदै गृहसचिव अर्यालले पूर्वाधार विकासमा चीनको सहयोगको उच्च प्रशंसा गर्नुभयो । सचिव अर्यालले चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण तथा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा नेपाल सरकार र चीनबीच भएको विपद् जोखिम न्यूनीकरण र आपत्कालीन प्रतिकार्यमा सहयोगसम्बन्धी समझदारीपत्र कार्यान्वयनमा ध्यानाकर्षण गराउँदै थप सहयोगको अपेक्षा रहेको बताउनुभयो । 

सिचुवान प्रान्तका भ्वाइस गभर्नर तथा सिचुवान प्रान्तको सार्वजनिक सुरक्षा विभागका कमिस्नर ये हान्बिङले सीमामा अवैध गतिविधि नियन्त्रण र व्यवस्थापन, सीमापार अपराध नियन्त्रण, नेपालमा चिनियाँ लगानीको संरक्षण र विशेषगरी सीमावर्ती क्षेत्रमा वन्यजन्तु अपराध नियन्त्रणमा कानुन कार्यान्वयनमा जोड दिनुभयो । 

चिनियाँ प्रतिनिधिमण्डलले गृहमन्त्री लामिछानेसँगसमेत भेट गरेको थियो । भेटमा सुरक्षा सम्बन्धलाई सुदृढ गर्ने र द्विपक्षीय सहयोग प्रवद्र्धन गर्ने विषयमा छलफल भएको थियो । विपद् व्यवस्थापन सम्झौता कार्यान्वयन, नेपाली सुरक्षा निकायलाई सहयोग र सीमा व्यवस्थापनलगायतका विषयमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ । 

मध्यपहाडी लोकमार्गः धारापानी–झिनडाडाखण्डमा स्तरोन्नति सुरु

म्याग्दी, ६ असार: धवलागिरी गाउँपालिका–७ धारापानी देखि धारापानी–ताकम–शिवाङ–झिनडाडासम्मको सडक स्तरोन्नति थालिएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी– दरवाङ– धारापानी– ताकम– मुना सडकअन्र्तगत धवलागिरी गाउँपालिकाको धारापानीदेखि झिनडाडा खण्डमा ढलान, कालोपत्र र ग्राभेलको काम सुरु भएको हो ।

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु. ५ करोड बिनियोजन गरेको यस सडकका लागि रु. २५ करोड बराबरको बहुबर्षीय ठेक्का लगाउन बजेटको स्रोत सुनिश्चिता गरेको थियो ।

प्रतिस्पर्धा मार्फत आयोजना निर्माणका लागि छनौट भएको निर्माण कम्पनी रामसागर – बिएस धौलागिरि जेभीले संयुक्त सर्वेक्षणको काम सकेर सडक फराकिलो बनाउन कार्यक्षेत्रमा परिचालन भएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख बिष्णु पौडेलले जानकारी दिनुभयो । चार किलोमिटर लामो यो सडक स्तरोन्नति गर्न उक्त कम्पनीले रु. १४ करोड ६१ लाख ६१ हजारमा गत जेठ २० गते सडक विभागसँग सम्झौता गरेको छ ।

म्याग्दीबाट ढोरपाटन हुदै पूर्वी रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा ७० किलोमिटर छोटो हुने भएकाले यसलाई प्राथमिकता दिइएको गण्डकी प्रदेशका पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले बताउनुभयो ।

यो सडक आयोजनाअन्तर्गत झिनडाडादेखि मुनातर्फ हालै ग्राभेल भएको छभने दरवाङ–धारापानी खण्डमा कालोपत्रसहित स्तरोन्नति गर्न प्रदेश र सङ्घीय सरकारको लागत साझेदारीमा रु. एक अर्ब बजेट विनियोजन भएको उहाँले जानकारी दिनुभयो । हाल मरेनीसम्म बनेको कच्ची सडकलाई विस्तार गरेर ढोरपाटन जोड्न सडक डिभिजन कार्यालयमार्फत कार्यान्वयन हुने गरि थप रु. ६ करोड ५० लाख विनियोजन भएको जुग्जालीले बताउनुभयो ।

वि.स. २०६६ मा धारापानीमा पुगेको सडक स्तरोन्नति गर्नका लागि स्थानीयले जग्गा उपलब्ध गराउने सहमति गरेका टोल सुधार समितिका संयोजक रिम बहादुर थापाले बताउनुभयो । धारापानीका अगुवा किरण थापाले ८ मिटर फराकिलो सडक बनाउन जग्गा दिन सबै जग्गाधनी सहमत भएका बताउनुभयो ।

विद्युत् भार कटौतीका कारण सुर्खेतका पानी उद्योग बन्द हुने अवस्थामा

भेरीगङ्गा (सुर्खेत)- विद्युत् भार कटौतीका कारण सुर्खेतमा सञ्चालित छ पानी उद्योग बन्द हुने अवस्थामा पुगेका बताएका छन् ।विगत दुई महिनादेखि ‘लो भोल्टेज’ को समस्या भोग्नुपरेको र समाधानको प्रयास नभए उद्योग बन्द हुने अवस्था आउने स्थानीय उद्योगीको गुनासो छ । दैनिक १२ हजार लिटर पानी उत्पादन गर्दै आएको बाङ्गेसिमलस्तित एक्वान्स पानी उद्योगले लो भोल्टेजकै कारण प्रशोधन बन्द गरेको छ ।

पानी उत्पादन बन्द हुँदा अहिले बाँकेको नेपालगञ्जबाट किनेर ग्राहकलाई वितरण गरिरहेको उद्योगकका व्यवस्थापक श्रीनारायण मेहेताले जानकारी दिनुभयो ।यसले दैनिक ५० हजारभन्दा धेरै घाटा भइरहेको भन्दै उहाँले समस्या समाधानका लागि आग्रह गर्नुभयो । “विद्युत््ले नधानेपनि अहिले पानी प्रशोधन हुनै छोड्यो । दैनिक ५० हजारभन्दा धेरै घाटा बेहोर्नु गरिरहेको छ”, उहाँले भन्नुभयो ।

तिला कर्णाली पानी प्रशोधन उद्योगका सञ्चालक जगत् शाहीले पनि विद्युत् भोल्टेजका दुई महिनादेखि सानो बोत्तलको पानी उत्पादन बन्द गरिएको बताउनुभयो । “दुई महिनादेखि हाम्रो पानी उद्योगबाट प्रशोधन हुने पानी बन्द गरिएको छ, नेपालमै केही गर्छु भनेर उद्योग सञ्चालन गरियो तर अहिले घाटा भइरहेको छ, राज्यले हामी उद्योगीको पीडा कहिले बुझ्ने ?”, उहाँको प्रश्न छ । उहाँको उद्योगबाट दैनिक १५ हजार लिटरभन्दा धेरै पानी उत्पादन हुँदै आएको थियो ।

यस्तै औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेको मध्यपश्चिम पानी प्रशोधन उद्योगले जेनेरेटरको सहायतामा पानी प्रशोधन गरेर बजारमा पठाइरहेको सञ्चालक कृष्ण आचार्यले बताउनुभयो । उद्योगलाई जोगाइराख्न घाटामा पानी प्रशोधन गरिरहेको बताउने आचार्यले भोल्टेजको समस्या समाधान नभए अब केही दिनमा उद्योग बन्द गर्न बाध्य हुने बताउनुभयो । “स्वदेशमै केही गर्छु भनेर उद्योगमा लगानी गरेको थिए । अहिले ४३ जनाले रोजगारी पाइरहेका छन् । विद्युत्का कारण उद्योग बन्द भए ती सबैको रोजिरोटी गुम्ने छ”, उहाँले दुःखेसो पोख्नुभयो ।

विद्युत् समस्याका कारण पानी उत्पादनमा समस्या भएपछि यहाँ पानीको मूल्यसमेत बढेको छ । यसअघि रु एक सय ४० पर्ने कार्टुनको अहिले रु एक सय ६० पर्न थालेपछि उपभोक्ता मारमा परेका छन् ।
नेपाल विद्युत् प्राधिकरण सुर्खेतले भने ३३ केभी विद्युत्ले सबै ठाउँमा धान्न नसकेको भन्दै अर्को विकल्प नहुञ्जेसम्म समस्या समाधान हुन नसक्ने जवाफ दिने गरेको छ । कार्यालय प्रमुख अशोक लोहनीले कोहलपुर-सुर्खेत एक सय ३२ केभी प्रसारण लाइन आएपछि मात्रै कर्णालीमा विद्युत्को समस्या समाधान हुने बताउनुभयो । “अहिले ३३ केभीबाट विद्युत् वितरणको काम भइरहेको छ, यसले कर्णालीका सबै जिल्लालाई धान्न सक्दैन”, प्रमुख लोहनीले भन्नुभयो”, “उद्योग सञ्चालनमा समस्या भइरहेका बारे गुनासा सुनेका छौँ तर सुर्खेत-कोहलपुर एक सय ३२ केभी प्रसारण लाइन नआएसम्म समस्या समाधान गर्न गाह्रो छ ।”

गणतन्त्र प्राप्ति पछि विकासले फड्को मारेको छः पूर्वमन्त्री कार्की

काठमाडौँ, ५ असार : पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले गणतन्त्र प्राप्ति पछि विकासले फड्को मारेको बताउनुभएको छ ।गणतन्त्र दिवस–२०८१ का अवसर पारेर राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनी अवलोकनपश्चात् उहाँले मुलुक विकास र आर्थिक समृद्धिको दिशामा अगाडि बढेको बताउनुभयो ।

“मुलुकको आर्थिक विकास कतातर्फ गइरहेको छ भनेर सूक्ष्म ढङ्गले प्रदर्शनीलाई हेरेर विश्लेषण गर्न सक्छौँ”, पूर्वमन्त्री कार्कीले भन्नुभयो, “तर, अहिले समाजमा जुन किसिमको नकारात्मक सोच र प्रचार गर्ने प्रवृत्ति बढेको छ, त्यसले हाम्रो विचमा दुबिधा सिर्जना गरेको छ । यसलाई राम्रोसँग प्रचार गर्न सक्नुपर्दछ ।”

उहाँले देश विकासको गतिमा फड्को मारिरहे पनि गतिलाई अझ प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो । उहाँले पछिल्लो दशकमा कूल गार्हस्थ उत्पादन (जिडिपी) र ‘परक्यापीटल इन्कम’ पनि वृद्धि भएको जानकारी दिनुभयो । “विकासको गति सुस्त होला तर, गति अवरुद्ध छैन”, उहाँले भन्नुभयो, “अहिले गाउँमा विकास भइरहेको छ, अर्बौँ रुपियाँ खर्च पनि भइरहेको छ ।”

नेता कार्कीले गाउँमा विकासका पूर्वाधार पर्याप्त भए पनि गाउँ खाली हुँदै गइरहेकोमा चिन्ता प्रकट गर्नुभयो । उहाँले मुलुकको सम्भावनालाई जनताले अनुभूत गर्ने किसिमले अगाडि बढाउनुपर्ने आवश्यकता रहेको धारणा राख्नुभयो ।
यही जेठ १० गतेदेखि सुरु भएको प्रदर्शनीमा सातवटै प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधारसम्बन्धी ९५ तस्बिर समेटिएका छन् ।

स्वस्थ जीवनका लागि योग गरौँ : मुख्यमन्त्री सिंह

जनकपुर, ५ असार : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले स्वस्थ जीवनका लागि दैनिकरूपमा योग प्राणायाम आवश्यक रहेको बताउनुभएको छ ।दशौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर वीरगञ्जस्थित भारतीय वाणिज्य दूतावासले आज तिरहुतियागाछीमा आयोजना गरेको योग शिविरमा उहाँले युवा वर्गलाई गलत मार्गबाट जोगाउन योग तथा ध्यानतर्फ आकर्षित गर्न जरुरी रहेको बताउनुभएको हो । उहाँले योगको अभ्यास नियमितरुपमा घर घरमा हुनुपर्ने धारणा राख्नुभयो । युवासहित सबै वर्गका व्यक्ति स्वस्थ भएमा मात्र राष्ट्र स्वस्थ भइ समृद्धिको मार्गमा जाने उहाँको भनाइ छ । मानव जीवन सफल बनाउन योग तथा प्राकृतिक चिकित्साको ठूलो महत्व भएको उहाँले बताउनुभयो ।

मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले हिमालय क्षेत्रमा वैदिककालदेखि ऋषिमुनिहरुले योग गरेको उल्लेख गर्नुहुँदै योग तथा प्राकृतिक चिकित्साको अध्ययन अध्यापन नेपाल संस्कृत विश्व विद्यालयको वाल्मीकि विद्यापीठमा हुने गरेको जानकारी दिनुभयो ।

उहाँले योगलाई आयुर्वेदसँग जोडेर विकास गर्न नरदेवी आयुर्वेद कलेजले पहिलेदेखि अध्ययन अध्यापन गर्दै आएको बताउनुभयो । नेपाल सरकारले पनि माघ १ गतेलाई राष्ट्रिय योग दिवसको रुपमा मनाउँदै आएको उहाँले जानकारी दिनुभयो ।

वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत वेवीसहाय मीनाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसङ्घको महासभामा २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाउन प्रस्ताव गरेको र नेपालसहित एक सय ७२ राष्ट्रले समर्थन गरेपछि प्रत्येक वर्ष विभिन्न कार्यक्रमसहित विश्वभरि योग दिवस मनाउन थालिएको बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले मानव जीवनलाई मानसिक तथा शारीरिकरुपमा स्वस्थ राख्न नियमितरुपमा योग गर्न आवश्यक भएको धारणा राख्नुभयो । नेपालसहित विश्वभरि तीन दिन विभिन्न कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको छ । जनकपुरधाममा योगको महत्व दर्शाउन तीन दिनको कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

अभिभावकविहीन बालबालिकालाई आठ लाख सहयोग

गलकोट (बागलुङ) ५ असार : क्यान्सर रोगका कारण आमा गुमाउँदा अभिभावकविहीन भएका दुई बालबालिकालाई रु आठ लाख सहयोग प्राप्त भएको छ ।

आमाको मृत्यु भएको र बाबा सम्पर्कविहीन बनेका बालबालिकालाई बागलुङ घर भई हाल अमेरिका बसोबास गर्दै आएका नेपालीको सक्रियतामा अमेरिकाबाट रु आठ लाख सहयोग प्राप्त भएको हो । बागलुङ नगरपालिका–४ पाखाथरकी मीना आचार्यको क्यान्सर रोगबाट ग्रसित भई उपचारका क्रममा मृत्यु भएको थियो ।

हाल अमेरिका रहेका राजेन्द्र केसी, विपिन श्रेष्ठ र प्रकाश उपाध्यायको सक्रियतामा सङ्कलन भएको रु आठ लाख ८७ हजार छ सय ४२ मीनाका छोरा मनोज आचार्य र छोरी ममता आचार्यलाई हस्तान्तरण गरिएको छ । मीनालाई चार वर्ष अगाडि पाठेघरको क्यान्सर देखिएको थियो । उनको जायजेथासमेत बिक्री गरी दिदी भिनाजु र आफन्तले उपचार गरेका थिए । उनको उपचारमा रु १६ लाखभन्दा बढी खर्च भएको थियो ।

उपचारकै क्रममा थप रकम आवश्यक देखिएपछि हाल अमेरिकामा रहेका मीनाका छिमेकी राजेन्द्र केसी, प्रकाश उपाध्याय, उपल्लाचौरका विपिन श्रेष्ठले साथीहरुको सहयोग लिएर आर्थिक सङ्कलन सुरु गरेका थिए । तर, मीनाको निधन भएपछि उनका छोराछोरीको नाममा उक्त रकम बचत गरिदिने उद्देश्यले हस्तान्तरण गरिएको हो ।

उपचार र काजकिरियामा लागेको खर्च कटाएर सात लाख मनोज र ममताको नाममा नेपाल बैंकमा संयुक्त खाता खोली बचत गरिने दाताहरुले जनाएका छन् । मृतक मीनाका श्रीमान् मनि आचार्य दुई वर्षदेखि बेपत्ता छन् । क्यान्सरको उपचार गराइरहेकी श्रीमतीलाई छोडेर आचार्य बेपत्ता भएपछि परिवारमा थप सङ्कट देखिएको थियो ।

सिधाकुरा अनलाइनको विवाद बृहत् पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौँ, ५ असार : सर्वोच्च अदालतले सिधाकुरा डटकममा प्रसारित समाचार र अडियोका विषयमा बृहत् पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।

न्यायाधीशहरू कुमार चुँडाल र विनोद शर्माको संयुक्त इजलासले आज न्यायिक ब्याख्याको आवश्यकता भएको उल्लेख गर्दै बृहत् पूर्ण इजलासमा सुनुवाइका लागि आदेश गरेको हो ।

आदेशमा भनिएको छ, “प्रस्तुत मुद्दामा पेस हुन आएको भिडियो क्लिप, मोबाइल फोनमा डाउनलोड गरिएको विवादित संवादका सम्बन्धमा वैज्ञानिक परीक्षण प्रतिवेदनबाट उक्त संवाद कपोकल्पित रूपमा सृजित भई सोही विवादस्पद संवादको आधारमा सर्वोच्च अदालतका न्यायाधीश, विद्वान् कानुन व्यवसायी, सञ्चार क्षेत्र एवं सम्मानित व्यक्तित्वउपर लाञ्छना लगाउने, मानमर्दन गर्ने कार्य भएको हो वा होइन ? तथ्यपरक एवं सत्य, साँचो विचार र अभिव्यक्ति स्वतन्त्रता एवं प्रकाशन स्वतन्त्रतासमेतका समूल पक्षको ठोस र उपयुक्त तवरबाट न्यायिक व्याख्या भई दीर्घकालीन पक्षसमेत निर्देश हुनुपर्ने आवश्यकता छ ।”

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले अदालतलाई बुझाएको प्रतिवेदनमा सिधाकुराले प्रसारण, प्रकाशन गरेको अडियो मिथ्या रहेको उल्लेख गरेको छ ।

सूचनाको हकका अभियानकर्मी बारे मानव अधिकार आयोगले अध्ययन गर्ने

काठमाडौँ, ५ असार : राष्ट्रिय मानव अधिकार आयोगका कार्यवाहक अध्यक्ष डा सूर्य ढुङ्गेलले सूचनाको हक प्रयोग गर्दा प्रहरी वृत्त बौद्धले पक्राउ गरेका चार जनाका विषयमा आयोगले अनुगमन र अध्ययन गर्ने बताउनुभएको छ ।

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आज बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्नुहुँदै उहाँले सूचनाको अधिकार पनि मानव अधिकारकै अङ्ग भएको र यो हक संविधानमा मौलिक हकका रुपमा सुरक्षित गरिएकाले नेपाली नागरिकले यसको प्रयोग गर्न सक्ने बताउनुभयो ।

अनियमितता र बेथिति भएको विषयमा सूचना मागेकै कारण स्थानीय सरकार र प्रहरी प्रशासनको मिलेमतोमा सूचनाको हकका अभियानकर्मीलाई पक्राउ गरी झुटा मुद्दा लगाएर फसाउन खोजेको भन्दै महासङ्घका अध्यक्ष उमीद बागचन्द नेतृत्वको समूहले आज आयोग पुगेर कार्यवाहक अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्र बुझाउन महासङ्घका सचिवद्वय प्रेमभक्त रेग्मी र पूर्णप्रसाद मिश्र एवं परियोजना अधिकृत सरस्वती पौडेललगायतको समूह आयोगको केन्द्रीय कार्यालय हरिहरभवन पुगेको थियो । प्रहरी वृत्त बौद्धले सोमबार महासङ्घ जिल्ला कार्य समिति काठमाडौँका सदस्य अश्मिता खत्री, महासङ्घ गोकर्णेश्वर नगर समिति संयोजक आदर्श क्षेत्री एवं सूचनाको हकका अभियानकर्मीद्वय राजु सुनार र प्रेमप्रसाद श्रेष्ठलाई सूचना माग गरेकै कारण पक्राउ गरेको थियो ।

देश विकासको बाटोमा अगाडि बढिरहेको छः मास्टर सेफ साह

काठमाडौँ, ५ असार : मास्टर सेफ सन्तोष साहले गणतन्त्रप्राप्तिपछि देश विकास र आर्थिक समृद्धिको बाटोमा अगाडि बढेको बताउनुभएको छ ।राससले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ तस्बिर प्रदर्शनीको आज अवलोकनपश्चात् उहाँले राससको तस्बिर प्रदर्शनीले गणतन्त्रपछि विकास भएको छ भन्ने सन्देश प्रवाह गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “गणतन्त्रपछि विकासै भएको छैन भन्ने भाष्यहरु बनिरहेका बेला राससले विकास पूर्वाधारका क्षेत्रमा प्राप्त उपलब्धि समेटेर गरेको प्रदर्शनीले देशविकास र परिवर्तनको सकारात्मक सन्देश दिएको छ । युवापुस्तामा ऊर्जा र उत्साह जगाएको छ ।”

सेफ साहले देशको भौतिक पूर्वाधार, आर्थिक समृद्धिका विविध आयामलाई समेटिएको प्रदर्शनीको प्रशंसा गर्नुभयो । “मलाई एकदमै खुसी लागेको छ, यो प्रदर्शनीका ज्ञानवद्र्धक कुराले । यदि म नआएको भए धेरैकुरा जान्ने अवसर गुम्ने रहेछ ”, उहाँले भन्नुभयो, “अरु नेपालीजस्तै म सोच्दथे देश विकास भएकै छैन तर राससको तस्बिर अवलोकन गरेपछि थाहा भयो कि देशमा धेरै कुरा भएका रहेछन् ।”

उहाँले आगामी दिनमा देशविकास र आर्थिक समृद्धिका अझ धेरै विषयवस्तु समेटेर राससले यस किसिमको प्रदर्शनीलाई निरन्तरता दिन जरुरी रहेको बताउनुभयो । “नेपालमा केही प्रगति भइरहेको छ भन्ने कुरा यी तस्बिरले बोलिरहेका छन् । सबै नेपाली सकारात्मक बनेर देश विकासमा लाग्न आवश्यक छ । सकारात्मक सोच र पहलकदमी भए लाग्छ तर पक्कै देश बन्ने छ”, उहाँको भनाइ थियो ।

सेफ साहलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले प्रदर्शनीमा राखिएका तस्बिरबारे जानकारी गराउनुभएको थियो ।

‘फुड टुरिज्म’ प्रवर्द्धन

सेफ साहले नेपालमा ‘फुड टुरिज्म’ को प्रवर्द्धनका लागि आफू लागिपरेको बताउनुभयो । फुड टूरका लागि आफू भर्खरै कर्णाली गएर फर्किएको र त्यहाँको विकास र प्रगति देख्दा निकै उत्साहित भएको पनि बताउनुभयो । उहाँले नेपालको फुड पर्यटनमा अत्यन्तै सम्भावना रहेको भन्दै सबै सरोकारवाला मिलेर यसको प्रवर्द्धनमा जुट्नुपर्ने खाँचो औँल्याउनुभयो ।

पाककलामा उत्कृष्ट प्रदर्शन गर्दै सेफ साह ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स युके’ को विजेता बन्नुभएको थियो । पाककलामा नेपालका रैथाने खानालाई विश्वमाँझ परिचित गराउने अभियानमा लाग्नुभएका उहाँले मधेसको रैथाने परिकार मिथिला थालीको स्वाद नेपालसहित अन्तर्राष्ट्रियस्तरमा पस्किरहनुभएको छ । मिथिला थालीलाई जनकपुर, काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा विस्तार गर्नुभएका साहले चाँडै भारत र कतारमा मिथिला थाली विस्तार गर्ने योजना बनाउनुभएको छ ।

भूकम्पले क्षति पुगेका सामुदायिक विद्यालयलाई डेस्क बेञ्च सहयोग

त्रिवेणी (रुकुम पश्चिम), ५ असार : रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका २१ वटा सामुदायिक विद्यालयलाई डेस्क र बेञ्च सहयोग गरिएको छ ।

भूकम्प प्रभावित क्षेत्रका बालबालिकालाई पठनपाठनमा सहज होस भन्ने उद्देश्यले नगरभित्र बढी प्रभावित भएका सामुदायिक विद्यालयलाई २० सेटका दरले डेस्क बेञ्च सहयोग गरिएको हो । बखुन्डोल ललितपुरमा रहेको जेइतुस सामाजिक संस्था र बाँकेमा रहेको जीवन ज्योति सामाजिक संस्थाले चार सय २० सेट डेस्क बेञ्च सहयोग गरेको आठबिसकोट नगरपालिकाका नगरप्रमुख रवि केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुविधायुक्त डेस्क बेञ्च खरिद गर्दा लाग्ने खर्च, ढुवानी खर्चका साथै विद्यालयसम्म पुगेर डेस्क बेञ्चको जडान गर्ने प्राविधिक खर्चसमेत संस्थामार्फत सहयोग भएको हो । डेस्क बेञ्च सहयोग लिएर जेइतुसका निर्देशक फादर रोय सेवस्टेन र जीवन ज्योतीका निर्देशक जोमन जेम्ससहितको समूह नगरपालिका पुगेका थिए । उनीहरु सम्बन्धित विद्यालयमा डेस्क बेञ्च जडान गरेर फर्किसकेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख इन्द्रबहादुर विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरभित्रका १८ वटा माध्यमिक र तीन वटा आधारभूत विद्यालय गरी २१ वटा विद्यालयमा सुविधायुक्त डेस्क बञ्च जडान गरिएको छ । डेस्क बेन्च जडान भएसँगै विद्यार्थीको सिकाइमा सहज हुनुका साथै विद्यार्थीको कापी, किताबलगायत शैक्षिक सामग्री सुरक्षित हुने गाउँपालिकाले जनाएको छ । एक सेट डेस्क बेञ्चमा तीन जना विद्यार्थी बस्न मिल्ने क्षमता रहेको छ ।

गत कात्तिक १७ गते राति गएको भूकम्पले विद्यालयमा क्षति पु¥याउँदा अधिकांश विद्यालयले अस्थायी सिकाइ केन्द्र र चर्किएको भवनबाट पठनपाठन सञ्चालन गरेका छन् । आठबिसकोट नगरपालिकामा ६४ सामुदायिक विद्यालय रहेकामा ५४ वटा विद्यालयका भवन भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको छ । बाँकी १० वटा सामुदायिक विद्यालयमा कम क्षति भएको थियो । हाल २२ वटा विद्यालयमा अस्थायी सिकाइ केन्द्र निर्माण गरेर पठनपाठन भइरहेको र १० वटा निर्माणको चरणमा रहको शाखा प्रमुख विष्टले जानकारी दिनुभयो ।

अन्य विद्यालयमा चर्किएका भवनबाट पठनपाठन भइरहेको नगरपालिकाले जनाएको छ । हालसम्म शिक्षण संस्था पुनःनिर्माण हुन नस्कदा विद्यार्थीलाई पठनपाठनमा समस्या भएको छ । अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन गराउँदा गर्मीमा विद्यार्थी बेहोस हुन थालेपछि नगरपालिकाले मङ्गलबारदेखि असार ९ गतेसम्मको लागि विद्यालय बन्द गरेको जनाएको छ ।

कानुन कार्यान्वयनका लागि स्थानीय तहसँग थप छलफल र सहकार्य आवश्यक – सभामुख पाठक

चितवन, ५ असार : बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले कानुन कार्यान्वयनका लागि स्थानीय तहसँग थप समन्वय र सहकार्य बढाउन जरुरी रहेको बताउनुभएको छ ।

बागमती प्रदेशसभा सचिवालयले आज यहाँ आयोजना गरेको ‘बागमती प्रदेशको कानुन कार्यान्वयनको अवस्था र चुनौती’ सम्बन्धमा स्थानीय तहसँग छलफल तथा अन्तक्र्रियामा उहाँले कानुन निर्माणपछि जनताका समस्या सामाधान गर्न सकियो कि सकिएन भन्ने बुझ्न स्थानीय तहसँग छलफल गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “ जनताका समस्या समाधानका लागि सबै तह एक भएर लाग्नुपर्ने आवश्यकता छ, त्यसका लागि प्रत्यक्षरूपमा जोडिएका स्थानीय तहसँग छलफल र बहस गरेर सेवा प्रवाहलाई थप चुस्त बनाउनुपर्छ । यसमा प्रदेशसभाले पनि योजना बनाइरहेको छ।”

ऐन, कानुन निर्माण गर्नुपूर्व गम्भीर बहस र बनिसकेपछि कार्यान्वयन र प्रभावकारिताका विषयमा समीक्षा हुनुपर्नेमा उहाँले जोड दिनुभयो । “सरोकारवाला, विज्ञहरुसँगको छलफलबाट मात्रै निचोडमा जान सकिन्छ । ऐनहरू बनिसकेपछि जानकारी छैन भन्न मिल्दैन । त्यसैले हरेक चरणमा छलफल र बहस हुन जरुरी छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा उपसभामुख अप्सरा चापागाईले तीनै तहले बनाएका कतिपय कानुनहरू एकापसमा बाँझिएकाले अधिकार पाउने प्रक्रियामा झन्झट उत्पन्न भइरहेको बताउनुभयो । उहाँले प्रदेशमा बनेका कानुनबारे छलफल आवश्यक रहेकामा जोड दिनुभयो।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य माया श्रेष्ठ, हरि सापकोटा, ठाकुर ढकाल, गिरबहादुर तामाङ, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायतले तीन तहका कानुनले पारेका समस्याबारे धारणा राख्नुभएको थियो । कानुन निर्माणका क्रममा छलफल र बहस हुन जरुरी रहेको उहाँहरुको भनाइ थियो ।

६० किलो सुन तस्करीमा संलग्न रहेको अभियोगमा थप दुई जना पक्राउ

काठमाडौँ, ५ असार : केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले ६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगमा थप दुई जनालाई पक्राउ गरेको छ ।

भक्तपुर जिल्ला घर भएका अन्दाजी ३२ वर्षीय मनोज श्रेष्ठ र रुपक भण्डारीलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगमा हाम्रो टोलीले नेपाल भारत सिमाक्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो, उक्त विषयमा थप अनुसन्धान भइरहेको छ ।”

उक्त सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानका क्रममा पक्राउ पर्नेको सङ्ख्या २० जना पुगेको प्रवक्ता बोगटीले बताउनुभयो ।