`

अत्यधिक गर्मीका कारण बाँकेमा पोलियो रोगविरुद्धको आइपिभी खोप अभियान प्रभावित

नेपालगञ्ज, जेठ १७-अत्यधिक गर्मीका कारण बाँकेमा पोलियो रोगविरुद्धको आइपिभी खोप अभियान प्रभावित भएको छ । गर्मी र तातो हावा ‘लु’ का कारण नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका विद्यालय पाँच दिन बन्द भएकाले सो अभियान प्रभावित भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बाँकेका खोप स्रोत व्यक्ति नरेश श्रेष्ठले गर्मीका कारण अधिकांश स्थानीय तहले विद्यालय बन्द गरेकाले पोलियो रोगविरुद्धको आइपिभी खोप अभियान प्रभावित भएको जानकारी दिनुभयो । उहाँले यही जेठ १३ गतेबाट जिल्लाका ३५ हजार सात सय पाँच बालबालिकालाई आइपिभी खोप दिने लक्ष्यका साथ सुरु गरिएको अभियानअन्तर्गत जेठ १५ गते बेलुकासम्म १७ हजार तीन सय ३५ बालबालिकालाई खोप दिइसकिएको बताउनुभयो ।

विद्यालय बन्द भएपछि विद्यालयमा स्थापना गरिएका खोप केन्द्रलाई समुदायमा स्थानान्तरण गरेर समुदायमा खोप दिन सुरु गरिएको थियो । खोप अभियान सुरु भएको तीन दिनमा आठ हजार तीन सय ७७ बालिका र आठ हजार नौ ५८ बालक गरेर १७ हजार तीन सय ३५ लाई खोप दिइएको स्वास्थ्य कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार हालसम्म लक्ष्यको करिब ४९ प्रतिशत बालबालिकालाई खोप दिइएको छ ।

त्यसमध्ये सबैभन्दा बढी बैजनाथ गाउँपालिकामा ६९ प्रतिशत र सबैभन्दा कम नेपालगञ्ज उपमहानगरपालिकामा करिब ३८ प्रतिशतलाई खोप दिइएको श्रेष्ठको भनाइ छ । बालबालिकालाई पोलियो रोगविरुद्धको आइपिभी खोप दिने अभियान जिल्लाका आठ स्थानीय तहमा आइतबारबाट सुरु गरिएको थियो । खोप दिनका लागि जिल्ला भरि दुई सय ४३ खोप केन्द्र कायम गरिएको थियो ।

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जेठ १३ बाट जेठ २६ गतेसम्म सो अभियान सञ्चालन गरिने जनाइए पनि लक्षित सबै बालबालिकालाई खोप नदिएसम्म अभियान जारी रहने स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले बताउनुभयो ।

पशुपति क्षेत्रको गुरु योजना आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुने

काठमाडौँ, जेठ १७ गते । पशुपति क्षेत्रको गुरु योजना आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुने भएको छ । सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा पशुपति क्षेत्रको गुरु योजना पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदबाट पारित भएको थियो ।

कोष सञ्चालक परिषदको हालै सम्पन्न बैठकमा मन्त्री हितबहादुर तामाङले दक्षिण एसिया र विश्वका विभिन्न देशबाट आउने हिन्दू धर्मावलम्बीलाई पशुपतिनाथ मन्दिरमा पूजाआराधना गर्न सहजता प्रदान गर्ने योजनाका साथ व्यवस्थापकीय पक्षमा नवीनतम कार्यक्रम ल्याइने विषय हालको गुरु योजनामा समावेश भएको बताउनुभयो ।

“धार्मिक पर्यटकलाई आकर्षित गर्न पशुपति क्षेत्रलाई व्यवस्थित गरिन्छ । अहिले दर्शन गर्ने वातावरण सहज बनाउनुपर्ने देखियो । त्यसैले मन्दिरमा आउने हरेक भक्तजनले सहजै दर्शन गर्न पाउने व्यवस्था मिलाउँदै छौँ”, उहाँले भन्नुभयो । मन्त्री तामाङले धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पशुपति क्षेत्रको गुरु योजना तयार गरिएको बताउनुभयो । गुरु योजना अध्ययन गर्दै क्रमशः कार्यान्वयन गर्दै लैजाने उहाँले उल्लेख गर्नुभयो ।

“कतिपय काम विगतको निर्णयका आधारमा क्रमिक रुपमा अघि बढाउनुपर्ने हुन्छ । कतिपय नीतिगत पक्षमा सुधारमार्फत् अघि बढाउनुपर्ने छ”, उहाँले भन्नुभयो । कोषका सदस्य सचिव डा.मिलनकुमार थापाले प्रत्येक दर्शनार्थीलाई व्यवस्थित रुपबाट पशुपतिनाथको दर्शन गराउन सक्ने गरी व्यवस्था मिलाउने मन्दिर तथा पूजा व्यवस्था नियमावली अनुसार निर्णय गरिएको बताउनुभयो । पशुपतिका प्रत्येक दर्शनार्थीलाई मन्दिरमा अभिषेक गरिएको जल निःशुल्क दिने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

कृषि तथा पशुपंक्षी बीमा निरन्तर रहने : कृषि मन्त्रालय

काठमाडौँ, जेठ १७ गते । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले कृषि तथा पशुपंक्षी बीमा निरन्तर रहने जनाएको छ । कृषिमन्त्री ज्वालाकुमारी साहको अध्यक्षतामा आज मन्त्रालयमा सरोकार भएका निकायसहित बसेको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता शवनम शिवाकोटीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा मन्त्रालयका सचिवद्वय डा.दिपककुमार खराल र डा.राजेन्द्रप्रसाद मिश्र, नेपाल बीमा प्राधिकरण, नेपाल बीमक सङ्घसहितको बैठकले पशुपंक्षी तथा जडिबुटी बीमाको अनुदान बक्यौता रकम भुक्तानी तथा वि.सं.२०८० चैत १ गतेदेखि स्थगन भएको बीमासम्बन्धी छलफल भएको थियो ।

छलफलमा बीमा कम्पनीले जारी गरेको कृषि तथा पशुपंक्षी बीमा अन्तर्गतको बीमालेखवापत प्राप्त गर्नुपर्ने बाली तथा पशुधन बीमा प्रिमियम रकममध्ये हाललाई करिब ९७ करोड यथाशीघ्र भुक्तानी गर्ने सहमति भएको प्रवक्ता शिवाकोटीले जानकारी दिनुभयो । बाँकी रकम भुक्तानीका लागि चालु आर्थिक वर्षभित्रै गर्ने गरी मन्त्रालयले पहल गर्ने भएको छ । बीमकले कृषि तथा पशुपंक्षी बीमा निरन्तर गर्ने गरी आजको सरोकार भएका निकायको बैठकले निर्णय गरेको छ ।

कसैको मुख हेरेर करका दर हेरफेर गरिएको छैनः अर्थमन्त्री

काठमाडौँ, जेठ १७-अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई दबाबमा राखेर मुलुकको आर्थिक विकास हुँदैन भन्नेमा सरकार स्पष्ट गरेको बताउनुभएको छ । करका दर हेरफेर भएको विषयमा ध्यानाकर्षण गराउन गएको फलामे छड उत्पादक सङ्घका पदाधिकारीसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री पुनले सरकारले बजेटमार्फत निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति लिएको बताउनुभएको हो । सङ्घका अध्यक्ष साहिल अग्रवाल नेतृत्वको टोलीले आगामी आवको बजेटमा फलामे डण्डी निर्माणमा प्रयोग हुने स्पन्ज आइरनमा करका दर हेरफेर गर्दा आफूहरु मर्कामा परेको गुनासो गर्नुभएको थियो ।

जवाफमा मन्त्री पुनले कसैको मुख हेरेर नभई संसदीय समिति, आन्तरिक राजस्व विभागले गरेको अध्ययनको प्रतिवेदन, विगतदेखि नै व्यवसायीले राख्दै आएका माग तथा राजनीतिक तहको सुझावसमेतलाई मध्यनजर गरी तथ्यका आधारमा करका दरमा परिवर्तन गरिएको स्पष्ट पार्नुभयो ।

“मन्त्री र सचिवको स्वविवेकले वा कसैको मुख हरेर यो निर्णय भएको होइन”, मन्त्री पुनले भन्नुभयो, “धेरै छलफल गरेर मात्र निष्कर्षमा पुगिएको हो । हामी आफ्नो निर्णय सही र यथार्थपरक छ भन्नेमा छौँ ।” उहाँले सरकार निजी क्षेत्रलाई दबाउनुपर्छ, उद्योग बन्द गर्नुपर्छ भन्ने पक्षमा नभएको समेत उल्लेख गर्नुभयो । करको दर हेरफेरको निर्णयले उद्योगहरुलाई प्रतिस्पर्धी बनाउन मद्दत पुग्ने मन्त्री पुनको विश्वास थियो ।

मन्त्री पुनले व्यवसायीका जायज माग र गुनासा सुन्न आफू तयार रहेको बताउनुभएको थियो । उहाँले करका दर हेरफेरको विषयलाई लिएर धेरै विवादको विषय बनाउन जरुरी नरहेको समेत उल्लेख गर्नुभयो । मन्त्री पुनले निजी क्षेत्रका छाता सङ्गठनहरु नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्शले बजेटपूर्वका छलफलका क्रममा दिएका अधिकांश सुझाव बजेटमा समेटिएको उल्लेख गर्नुभयो । निजी क्षेत्रका तीनवटै छाता सङ्गठनका तर्फबाट बजेट यथार्थपरक ढङ्गले आएको र आफूहरुका आवाज सम्बोधन भएको प्रतिक्रिया आएको भन्दै उहाँले त्यसका लागि धन्यवाद दिनुभयो ।

निजी क्षेत्रकै मागअनुसार बजेटमा आफूले अर्थतन्त्र शिथिलतामा रहेका कारण करका दर धेरै नचलाएको र नीतिगत निरन्तरताको पक्षमा रहेको सन्देश प्रवाह गरेको मन्त्री पुनले उल्लेख गर्नुभयो । “अर्थतन्त्र शिथिलतामा रहेका बेला करका दरमा कम हेरफेर गर्नुपर्छ भन्ने लागेर धेरै चलाइएको छैन । वितरणमुखी बजेट आउँछ भन्ने हल्लाहरु चलाइएका थिए । कतै पनि वितरणको शीर्षकमा बजेट राखिएको छैन । सामाजिक सुरक्षामा नबढाउनुका साथै नयाँ ‘विण्डो’ खोलेनौं”, मन्त्री पुनले भन्नुभयो, “गत वर्ष राजस्व सङ्कलनको लक्ष्य ४१ प्रतिशत राखिएकामा यस वर्ष निकै कम लक्ष्य राखेका छौँ । निजी क्षेत्रलाई कम दबाबमा राखेर ‘स्पेस’ दिनुपर्छ भन्ने आधारमा नीति तय गरेका छौँ । निजी क्षेत्रले दबाबमा बसेर काम गर्नुपर्दैन ।”

राष्ट्रपतिसमक्ष विभिन्न चार देशका गैरआवासीय राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौँ, जेठ १७ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न चार मुलुकका नवनियुक्त गैरआवासीय राजदूतले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नेपालका लागि गणतन्त्र घानाका गैरआवासीय राजदूत डा.विनफ्रेड नी ओकाइ हामोण्ड, गणतन्त्र बुल्गेरियाका गैरआवासीय राजदूत निकोलेइ यानकोभ, इरिट्रियाका गैरआवासीय राजदूत अलेम वल्डेमारियम र गणतन्त्र फिलिपिन्सका गैरआवासीय राजदूत जोसेल फ्रान्सिसीले ओहोदाको प्रमाणपत्र पेस गर्नुभयो ।

समारोहमा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीसमेतको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीले जानकारी दिनुभयो । नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटस्थित दूषित पिन्सेस होटलदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो ।

हमासले बन्दी बनाएका विपिन जोशीसहित एक सय २५ जनाको रिहाइको माग

काठमाडौँ, जेठ १७ गते । नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले अतिवादी समूह हमासले बन्दी बनाएका विपिन जोशीसहित एक सय २५ जनाको निःशर्त रिहाइको माग गर्नुभएको छ । इजरायलको ७६औँ स्वतन्त्रता दिवसका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा आज अपराह्न आयोजित समारोहमा राजदूत गोडेरले उनीहरुको मुक्ति नै इजरायलको प्रमुख लक्ष्य भएको बताउनुभयो ।

साथै उहाँले पश्चिम एसियामा शान्ति र सहिष्णुता कायम गर्न इजरायल निरन्तर लागि रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । सन् १९६० मा इजरायल-नेपाल सम्बन्ध कूटनीतिक सम्बन्ध स्थापना हुनु तत्कालीन नेपाल सरकारको साहसिक कदमको सराहना गर्दै राजदूत गोडेरले भौगोलिकरुपमा इजरायल र नेपाल टाढा भए पनि सरकार एवम् जनस्तरको सम्बन्ध प्रगाढ रहेको बताउनुभयो । समारोहमा उपसभामुख, सांसद, विभिन्न राजनीतिक दलका नेता, पूर्वपरराष्ट्रमन्त्री, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, उद्योगपति, व्यापारी, वरिष्ठ सञ्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो ।

स्वतन्त्रता दिवसका उपलक्ष्यमा आठ महिनाअघि अतिवादी समूह हमासले गरेको आक्रमणबाट इजरायलमा भएको क्षतिका तस्बिर प्रदर्शन गरिएका थिए । जिभ कोरेनले खिच्नुभएका ती तस्बिर सो समूहका अमानवीय गतिविधिका प्रमाण हुन् । गत असोज २० गते हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थीसहित एक हजार एक सय ३९ जना मारिएका थिए । आक्रमणका क्रममा सो समूहले इजरायली तथा विदेशी गरी दुई सय ५२ जनालाई बन्दी बनाएको थियो । अस्थायी युद्धविरामका क्रममा हमासले २२ जना विदेशीसहित एक सय पाँच जनालाई रिहा गरेको थियो ।

एमाले महिला भेला: आज १२ समूहमा छलफल हुँदै

काठमाडौँ, जेठ १७-नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आयोजना गरेको ‘राष्ट्रिय महिला भेला’ आज पनि जारी छ । आज १२ वटा समूहले सात वटा विषयमा सामूहिक छलफल गर्नेछन् ।

एमाले केन्द्रीय सदस्य रचना खड्काका अनुसार संविधानले गरेको महिला हकको व्यवस्था तथा कार्यन्वयनको अवस्था, पार्टी, संसद्, सरकार र कर्मचारीतन्त्रमा महिलाको सहभागितालगायत विषयमा सामूहिक छलफल हुनेछ ।भेलामा पार्टीका केन्द्रीय सदस्य, पार्टीका २३ वटै सङ्गठनका नेत्री, सङ्घ, प्रदेश, स्थानीयमा निर्वाचित महिला, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनबाट निर्वाचित पदाधिकारीसहित पाँच हजार जना सहभागी छन् ।

एमालेले २०६३ साल जेठ १६ गते आमाको नामबाट नागरिकता, राज्यका सबै तहमा एक तिहाइ महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसद्को सङ्कल्प प्रस्तावको रूपमा पास गरेको स्मरणमा भेलाको आयोजना गरेको हो । महिलाका नेतृत्व विकासलगायत समसामयिक प्रस्ताव समेटिएको घोषणापत्र जारी गरी आजै समापन हुनेछ ।

कांग्रेसको जनसम्पर्क समिति समन्वय विभाग प्रमुखमा पौडेल मनोनीत

काठमाडौँ,जेठ १७-नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरणराज शर्मापौडेल पार्टीको नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुखमा मनोनीत हुनुभएको छ ।पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा २५ (९) र धारा ३७ (१) ९ग० बमोजिम पौडेललाई सो विभागको प्रमुखमा बुधबार मनोनयन गर्नुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

बागलुङ नगरपालिकाको पैयुँपाटामा २०२३ सालमा जन्मनुभएका पौडेलले २०३६ सालदेखि नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गर्नुभएको हो । उहाँ २०४६ सालमा त्रिचन्द्र क्याम्पसको अध्यक्ष हुँदै सङ्घको केन्द्रीय सदस्य र महामन्त्री हुनुभएको थियो । त्यसपछि महासमिति सदस्य हुँदै पार्टीका विभिन्न तहमा रहेर उहाँले काम गर्नुभएको थियो ।

बाह्रबिसे-तातोपानी सडक स्तरोन्नतिका लागि चीन तयार छ : राजदूत छन

सिन्धुपाल्चोक- नेपालका लागि चिनियाँ राजदूत छन साेङले बाह्रबिसे–तातोपानी सडकखण्डको स्तरोन्नतिका लागि चीन तयार रहेको बताएका छन् ।मितेरी पुलसम्म पुग्ने सडक र नाका व्यवस्थापनबारे चिनियाँ राजदूतका पदाधिकारीसहित तातोपानी भन्सार कार्यालयमा बुधबार बेलुका भएको सर्वपक्षीय छलफलमा राजदूत छनले उक्त सडक स्तरोन्नति गर्न चीन तयार रहेको बताएका हुन् ।

नेपालले पनि सडक सुधारका लागि बजेट विनियोजन गरेको सन्दर्भमा दुवै देशले मिलेर बाटो बनाउन सकिने उनले बताए । पहिरो खसेको स्थान तथा सडकका अन्य भागको अध्ययनका लागि चिनियाँ प्राविधिक आउने जानकारी राजदूत छनले दिए । चीनबाट अत्याधुनिक उपकरण ल्याएर निर्माणमा सघाउने उनले बताए ।

सिन्धुपाल्चोकको क्षेत्र नं १ बाट निर्वाचित सांसद माधव सापकोटा सुबोधले उक्त सडक स्तरोन्नतिका लागि रु एक अर्ब २० करोड विनियोजन गरेको जानकारी दिँदै दुवै देशले मिलेर काम गर्न प्रस्ताव गर्नुभएको थियो ।

छलफलमा सडक डिभिजन कार्यालय दोलखाका प्रमुख अर्जुन श्रेष्ठले नेपालले तयार गरेको सडक स्तरोन्नतिको विस्तृत परियोजना प्रतिवेदन प्रस्तुत गरेका थिए ।

छलफलमा प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार डा. रुपक सापकोटा, भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङनोर्बु शेर्पा, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, भन्सार कार्यालयका प्रमुख, डिभिजन सडक कार्यालयका कर्मचारीको उपस्थिति थियो ।

विसं २०७२ को भूकम्पपछि बन्द भएको तातोपानी नाका २०८० भदौ १५ गतेदेखि खुलेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गत असोजमा भएको चीन भ्रमणका क्रममा उक्त नाका पुग्ने सडकको स्तरोन्नति चीनले गरिदिने विषयमा भएको सहमतिका सन्दर्भमा चिनियाँ पक्षसँग पटकपटक छलफल भए पनि कार्यान्वयन हुन सकेको छैन । यद्यपि बुधबारको छलफलमा चिनियाँ पक्षबाट सकारात्मक जवाफ आएको थियो ।

जनकनन्दिनी बन्यो पूर्णखोप पालिका

जनकपुरधाम । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकालाई पूर्णखोप गाउँपालिका घोषणा गरिएको छ । छवटा वडाको सो गाउँपालिकालाई बुधबार पूर्णखोप पालिका घोषणा गरिएको हो ।

जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामनन्दन मण्डलले उक्त घोषणा गर्दै जिल्ला खोप समन्वय समिति धनुषाको सहयोगमा पालिका पूर्णखोप पालिका बनेको बताए । सोह्र महिनाका बालबालिकादेखि ५९ वर्षसम्मका व्यक्तिलाई सो खोप लगाएर पूर्ण खोप घोषणा भएको हो । लामो समयदेखि यो कार्यतयारी भइरहको थियो ।

गाउँपालिकाको खजुरी स्वास्थ्य शाखाद्वारा आयोजित समारोह गाउँपालिकाका अध्यक्ष दिपेनदेव यादवको अध्यक्षतामा भएको थियो । समारोहमा जिल्ला समन्वय समितिका उपप्रमुख सङ्गीता ठाकुर, गाउँपालिका उपाध्यक्ष कमला सहगल, प्रशासकीय अधिकृत सैलेष यादव, खजुरी स्वास्थ्यचौकी प्रमुख अयोधी दास, वडा नं – ४ का वडाध्यक्ष दिलीप यादव तथा धनुषा जनस्वास्थ्य कार्यालयका प्रमुख उमेश यादवले खोपको महत्व बारेमा जानकारी दिए ।

‘जलवायु परिवर्तनका प्रभाव घटाउन सहकार्य गरौँ’

काठमाडौँ, जेठ १७ गते । नेपालले जलवायु परिवर्तनका प्रभाव घटाउनेलगायत विश्वसमुदायले भोग्नुपरेका साझा समस्या समाधानका निम्ति विशेष परिस्थितिमा रहेका मुलुकहरूबीच सहकार्य हुनुपर्नेमा जोड दिएको छ ।
संयुक्त राष्ट्रसङ्घको आयोजनामा एन्टिगुवा र बरबुडाको राजधानी सेन्ट जोन्समा जारी विकासशील साना टापु राष्ट्र (सिड्स) को चौथो सम्मेलनमा सम्मेलनका भागलिने सिलसिलामा सेन्ट जोन्समा रहनुभएकी परराष्ट्र सचिव सेवा लम्सालले त्यहाँका परराष्ट्र, कृषि तथा व्यापारमन्त्री एभर्ली पल चेट ग्रीनीसँग बुधबार भएको शिष्टाचार भेटमा उक्त कुरामा जोड दिनुभएको हो ।

त्यस अवसरमा उहाँहरूबीच नेपाल– एन्टिगुवा र बरबुडा सम्बन्धका साथै अन्तरराष्ट्रिय रूपमा अनुमोदन गरिएका विकासका लक्ष्य, दोहा कार्ययोजना तथा विकासशील साना टापु राष्ट्रका निम्ति तयार गरिएको बरबुडा कार्ययोजनाको प्रभावकारी कार्यान्वयबारे छलफल भएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

सम्मेलनका क्रममा अल्पविकसित देशहरूको समूहका लागि वैश्विक समन्वय ब्युरोको अध्यक्षका हैसियतमा उहाँले साना तथा टापु राज्य एवं अल्पविकसित देशहरूको विकासका लागि अन्तरराष्ट्रिय समुदायको सघन सहयोगमा जोड दिनुभएको थियो ।

संयुक्त राष्ट्रसङ्घले ‘उत्थानशील समृद्धितर्फको मार्गचित्र’ शीर्षकमा आयोजना गरेको सम्मेलनमा दिगो विकासका लक्ष्य प्राप्तिमा विकासशील साना टापु राष्ट्रको प्रगति समीक्षा भएको थियोभने बरबुडा कार्ययोजना अनुमोदन भएको थियो । सम्मेलन आज समापन हुँदैछ । राष्ट्रसङ्घले प्रत्येक दश वर्षमा सिड्स सम्मेलन आयोजना गर्दै आएको छ ।

सुर्खेतमा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

कर्णाली । सुर्खेतको वीरेन्द्रनगरमा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुेको छ । सुर्खेतबाट कालिकोट गइरहेको भे १ च २५६० नम्बरको जिप सुर्खेत–दैलेख सडकखण्डमा सडकबाट ३ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक पूर्ण केसीका अनुसार बिहीबार बिहान २ बजेतिर जिप दुर्घटनामा परेको हो । मृतकमध्ये तीन जनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु हुनेहरूमा कालीकोटको शुभकालिका गाउँपालिका–३ का नमराज विक, तन्त विक र उनका छोरा वीरेन्द्र विक छन् ।

दुर्घटनामा घाइते भएका चालक कालीकोट खाँडाचक्र–९ का २५ वर्षीय नरेन्द्र विष्ट र शुभकालिका–३ भर्ताका ३८ वर्षीय नरी कामीको सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ६ जना सवार जिप सडकबाट अन्दाजी दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

उमेर पुगेर विवाह गर्ने ३ जोडी र १० जना ‘असल’ बुहारीलाई सम्मान

गुल्मी। गुल्मीको मदाने गाउँपालिका-१ स्थित अग्लुङ गाउँमा उमेर पुगेर विवाह गर्ने जोडीलाई बुधबार वडा कार्यालयले सम्मान गरेको छ।शैक्षिक उत्प्रेरणा कार्यक्रमअन्तर्गत सामाजिक सचेतनाका लागि २० वर्ष उमेर पूरा गरी विवाह गरेका तीन जोडी नवविवाहित दम्पतीलाई वडा कार्यालयले सम्मान गरेको वडाध्यक्ष सुशील चन्दले जानकारी दिए।

‘विवाहबारी २० वर्ष पारी’ भन्ने मूल उद्देश्यका साथ बालविवाह न्यूनीकरण गर्न वडा कार्यालयले उक्त कार्यक्रम गरेको उनले बताए। वडाले असल बुहारी तथा छोरीलाई पनि सम्मान गरेको छ। वैदेशिक रोजगारीमा छोराहरू जाने तथा बुहारीहरू छोराछोरी पढाउन सहर पस्ने चलन बढेको छ।

बुहारीहरू सहर पसेपछि गाउँमा वृद्धवृद्धाहरु मात्रै हुन थालेकाले वृद्ध बुबाआमाले दुःख पाएको अवस्थामा सासूससुरा तथा बुबाआमासँगै रहेर पालन पोषण गरेका बुहारी तथा छोरीहरूलाई वडाले सम्मान गरेको हो।

शैक्षिक उत्प्रेरणा कार्यक्रममार्फत १० जना असल बुहारीलाई सम्मान गरिएको वडा कार्यालयले जनाएको छ। वडाले उत्कृष्ट शिक्षक, उत्कृष्ट किसान, उत्कृष्ट विद्यार्थी, उत्कृष्ट कर्मचारी र उत्कृष्ट सामाजिक सङ्घसंस्थालाई समेत सम्मान गरेको छ । विभिन्न विधामा रहेर वडाका लागि योगदान गरेकाहरूलाई दोसल्ला सम्मान पत्रसहित सम्मान गरिएको वडाध्यक्ष चन्दले जानकारी बताए।

कार्यक्रममा एसइईमा उत्कृष्ट हुने विद्यार्थीलाई १० हजार, कक्षा ८ मा उत्कृष्ट हुनेलाई पाँच हजार तथा कक्षा ५ मा उत्कृष्ट हुने विद्यार्थीलाई तीन हजार नगदसहित सम्मान गरिएको छ।शैक्षिक तथा सामाजिक सचेतनाका लागि वडाबाट गरिएका यस्ता कार्यक्रमबाट समाजका आम नागरिकहरूमा थप उत्प्रेरणा जाग्ने बताइएको छ।

काठमाडौँ उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान

काठमाडौँ। हाल मुलुकमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको विहार आसपासको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।कोशी र सुदुरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भागमा मुख्यतया मौसम सफा रहेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसमसफा रहने छ । कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यसैगरी, आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै विभागले कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

काठमाडौँ उपत्यकाको तापक्रम बुधबारदेखि पुनः बढेको छ । गत मङ्गलबार २८ दशमलव पाँच डिग्री सेल्सियस तापक्रम मापन भएकामा बुधबार त्यो बढेर ३३ दशमलव तीन डिग्री सेल्सियस पुगेको थियो । आज यहाँको तापक्रम ३१देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ ।

जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण

उद्यमी एवं पञ्चकन्या समूहका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको नाममा स्थापित अक्षयकोषले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।तिलोत्तमा नगरपालिका–१५ मा रहेको पञ्चकन्या समूहले सोही वडाको पशुपति माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो । विसं २०७० मा स्थापित अक्षयकोषबाट बुधबार छात्रवृत्ति वितरण गरेको पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

अक्षयकोषबाट उक्त विद्यालयमा अध्यययनरत कक्षा ११ का सुरक्षा गोदारलाई रु १० हजार नगदसहित शैक्षिक सामग्री, सन्दीप यादव, रमेश भुसाल, सविना गाहा र बादल परियारलाई जनही रु पाँच हजार र शैक्षिक सामग्री प्रदान गरिएको हो

चीनद्वारा सन् २०२४–२५ को ऊर्जा संरक्षण, कार्बन न्यूनीकरण कार्य योजना जारी

बेइजिङ। चीनको राज्य परिषद्ले ऊर्जा संरक्षण र कार्बनडाइअक्साइड उत्सर्जनलाई कूल गार्हस्थ्य उत्पादनको प्रतियुनिट क्रमशः दुई दशमलव पाँच प्रतिशत र तीन दशमलव नौ प्रतिशतले घटाउने लक्ष्य राख्दै सन् २०२४–२५ का लागि ऊर्जा संरक्षण र कार्बन घटाउने कार्य योजना सार्वजनिक गरेको छ ।

योजनाअनुसार निर्धारित आकारभन्दा माथिका औद्योगिक प्रतिष्ठानहरूलाई थप मूल्यको प्रतियुनिट ऊर्जा खपत यस वर्ष करिब तीन दशमलव पाँच प्रतिशतले घटाइने छ । गैर–जीवाश्म ऊर्जा खपतको अनुपात सन् २०२४ मा १८ दशमलव नौ प्रतिशत र सन् २०२५ मा २० प्रतिशत पुग्ने उल्लेख छ ।

सन् २०२४ र सन् २०२५ मा प्रमुख क्षेत्र र उद्योगहरूमा ऊर्जा संरक्षण तथा कार्बन कटौतीको परिवर्तनले करिब पाँच करोड टन मानक कोइलाको कमी र कार्बन डाइअक्साइड उत्सर्जनमा लगभग १३ करोड टनले कमी ल्याउने अपेक्षा गरिएको छ ।

चीन सन् २०३० सम्ममा कार्बन उत्सर्जनको चरम सीमामा पुग्न र सन् २०६० सम्ममा कार्बन तटस्थता हासिल गर्ने ‘दोहोरो कार्बन’ लक्ष्य पूरा गर्न प्रतिबद्ध छ ।

सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको जीप दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते

काँक्रेविहार (सुर्खेत)। सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार जनाको शव रुखमा अड्किएको अवस्थामा भेटिएको छभने दुईजना घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल पु¥याइएको छ ।

दुर्घटनाको विस्तृत विवरण प्राप्त भइनसकेको उक्त कार्यालयले जनाएको छ । दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मीको एउटा टोली उद्धारका लागि परिचालन भएको थियो ।

घोडाघोडीमा भेटियो नयाँ प्रजातिको चरा

घोडाघोडी (कैलाली)।विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडीमा नयाँ प्रजातिको चरा भेटिएको छ । घोडाघोडी चरा अभय आरक्ष क्षेत्रमा यही जेठ ७ देखि १३ गतेसम्म चरा गणना तथा अनुुसन्धान गरिएको थियो । सोही क्रममा पहिलोपटक लालचुच्चे ठेउवा भेटिएको छ ।

घोडाघोडीको बेतहनी क्षेत्रमा एक जोडी लालचुच्चे ठेउवा भेटिएको पन्छी संरक्षण सङ्घका सहजकर्ता हिरुलाल डगौराले जानकारी दिनुभयो । उहाँका अनुसार यो प्रजातिको चरा भारत र बङ्गलादेशबाट गर्मी याममा नेपाल आउने गर्छन् । यो नयाँ प्रजाति थपिएसँगै घोडाघोडी आरक्षमा चराको सङ्ख्या तीन सय ८१ पुगेको छ ।

गर्मी याममा बसाइँ सर्ने चराको प्रजाति, सङ्ख्या र अवस्था पत्ता लगाउने उद्देश्यका साथ डिभिजन वन कार्यालयको आयोजना र नेपाल पन्छी संरक्षण सङ्घको समन्वयमा चरा गणना गरिएको हो ।

रिडिङ सेन्सरको ‘त्रुटि’ ले रेकर्ड तापक्रम देखिएको हुनसक्छ– भारत मौसम ब्युरो

नयाँदिल्ली । भारत सरकारको मौसम ब्यूरोले मापन गर्ने उपकरणमा त्रुटिका कारण एक स्टेसनको मापनमा राजधानीमा सम्भावित कीर्तिमानी तापक्रम देखिएको हुनसक्ने बुधबार बताएको छ ।“अन्य स्टेसनको तुलनामा मुङ्गेशपुरमा ५२ दशमलव नौ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ”, भारत मौसम विज्ञान विभाग (आइएमडी) ले दिल्ली उपनगरको एक स्टेसनबारे उल्लेख गर्दै विज्ञप्तिमा भनेको छ, “यो सेन्सरमा त्रुटि वा स्थानीय कारकका कारण हुनसक्छ, आइएमडीले डाटा र सेन्सरको जाँच गरिरहेको छ ।”

विभागले राजधानीभर तापक्रम र वर्षा अवलोकन गर्ने मुङ्गेशपुरसहित पाँच प्रमुख मौसम अनुगमन स्थल र १५ स्वचालित मौसम स्टेसन सञ्चालन गर्दै आएको बताएको छ । मुङ्गेशपुरबाहेक ती स्थानमा बुधबार दिल्लीमा अधिकतम तापक्रम ४५ दशमलव दुईदेखि ४९ दशमलव एक डिग्री सेल्सियस रेकर्ड गरिएको विज्ञप्तिमा उल्लेख छ ।

मङ्गलबार दिल्लीका दुई स्टेसन मुङ्गेशपुर र नरेलामा ४९ दशमलव नौ डिग्री तापक्रम रेकर्ड गरिएको थियो । ती रिडिङ पनि सन्देहको घेरामा थिए कि भन्नेबारेमा स्पष्ट थिएन ।

सन् २०२२ मा दिल्लीको तापक्रम ४९ दशमलव दुई डिग्री सेल्सियससम्म पुगेको थियो । सन् २०१६ मा राजस्थानको थार मरुभूमिको किनार फलोदीमा रेकर्ड गरिएको ५१ डिग्री सेल्सियस तापक्रम नै भारतमा सबैभन्दा उच्च भएको पुष्टि गरिएको थियो ।

‘जल निकायको निकटता, बाँझो भूमि’ पार्क वा बाक्लो आवासजस्ता कारणले सहरी क्षेत्रहरूमा तापक्रम स्थानअनुसार फरक हुने ब्युरोले बताएको छ ।

तीन करोडभन्दा धेरै जनसङ्ख्या भएको दिल्ली भीषण गर्मीको चपेटामा छ । आइएमडीले यस साता राजधानीका लागि रेड अलर्ट स्वास्थ्य सूचना जारी गरेको छ । सूचनामा चेतावनी दिँदै भनिएको छ, “सबै मानिसमा गर्मीको रोग र हिट स्ट्रोक हुने उच्च सम्भावना छ, कमजोर व्यक्तिहरूलाई अत्यधिक हेरचाहको आवश्यकता छ ।”

सन् २०२४ मा विश्व बेरोजगारी थोरै कम हुने

जेनेभा । यस वर्ष विश्वव्यापी बेरोजगारी थोरै घट्ने राष्ट्रसङ्घीय एजेन्सीले बुधबार जनाएको छ । यद्यपि एजेन्सीले असमानतालाई सम्बोधन गर्न ‘ढिलो प्रगति’ को चेतावनी दिँदै वृद्धिको अघिल्लो भविष्यवाणीलाई उल्ट्याएको छ ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले सन् २०२४ मा विश्वव्यापी बेरोजगारी दर चार दशमलव नौ प्रतिशत हुने अनुमान गरेको छ । यो सन् २०२३ मा पाँच प्रतिशतबाट बढेर यस वर्ष पाँच दशमलव दुई प्रतिशत हुने पूर्वानुमानपछि आएको हो ।

जेनेभास्थित आधारित राष्ट्रसङ्घीय एजेन्सीले एक प्रतिवेदनमा सन् २०२५ मा यो दर दर चार दशमलव नौ प्रतिशतमा रहने प्रक्षेपण गरेको छ । यद्यपि आइएलओले चेतावनी दिँदै भनेको छ, “श्रम बजारमा असमानता कायम छ, कम आय भएका देशहरूमा महिलाहरू विशेषरूपमा प्रभावित छन् ।”

प्रतिवेदनअनुसार १८ करोड ३० लाख मानिसले बेरोजगारीको परिभाषा पूरा गर्छन् । अर्थात उनीहरू सक्रियरूपमा कामको खोजीमा छन् र तुरुन्त उपलब्ध छन् । तर काम गर्न चाहने कामबिनाको व्यक्तिको सङ्ख्या ४० करोड २० लाख पुगेको छ ।

महिलाहरू अनिच्छापूर्वक कामबाट बाहिर हुने र अवसरहरूको अभावबाट असमानरूपमा प्रभावित हुने सम्भावना रहेको एजेन्सीले जनाएको छ । कम आय भएका देशहरूमा महिलाहरू विशेषगरी पीडित रहेका थिए । पुरुषहरूको १५ दशमलव तीन प्रतिशतको तुलनामा २२ दशमलव आठ प्रतिशत महिलाले काममा नभएको काम चाहन्थै । उच्च आय भएका देशहरूको लागि महिलाहरूको यो दर नौ दशमलव सात र पुरुषहरूका लागि सात दशमलव तीन प्रतिशत थियो ।

महिलाहरूले पुरुषको तुलनामा श्रमशक्ति पूर्णरूपमा छाड्ने सम्भावना धेरै रहेको प्रतिवेदनले चेतावनी दिएको छ । प्रतिवेदनमा सन् २०२४ मा काम गर्ने उमेरका ४५ दशमलव छ प्रतिशत महिलाहरू र ६९ दशमलव दुई प्रतिशत पुरुषहरू कार्यरत रहेको उल्लेख छ ।

“विश्वव्यापी असमानता कम गर्ने हाम्रो प्रयासको बावजुद श्रम बजार एक असमान खेल मैदान बनेको छ”, आइएलओका महानिर्देशक गिल्बर्ट होङबोले प्रेस विज्ञप्तिमा भन्नुभयो, “हामीले समावेशीकरण र सामाजिक न्यायलाई हाम्रा नीति र संस्थाहरूको केन्द्रविन्दुमा राख्नुपर्छ ।”

नेपालगञ्जमा यस वर्षकै बढी गर्मी

नेपालगञ्ज – नेपालगञ्जमा आज यसवर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ ।जल तथा मौसम विज्ञान फिल्ड कार्यालय, नेपालगञ्जकी इञ्जार्च मीना शिवाकोटीले नेपालगञ्जको अधिकतम तापक्रम ४२ दशमलव आठ रेकर्ड भएको जानकारी दिए । उक्त तापक्रम यो वर्ष गर्मी सुरु भएयताकै सबैभन्दा बढी भएको उनले बताए ।

“केही दिन अझै तापक्रम बढ्नसक्छ तर कति बढ्छ भन्न सकिदैन”, उनले भने । जल तथा मौसम विभागले जेठ १८ गतेसम्म गर्मी बढ्ने अनुमान गरेकाले बिहीबार र शुक्रबार तापक्रम झनै वृद्धि हुने पूर्वामानुमान छ ।

गर्मी बढ्न सक्ने भएकाले सचेत रहन सर्वसाधारणलाई विभागले आग्रह गरेको छ । गर्मीका कारण जनजीवन कष्टकर भएको स्थानीयले बताएका छन् ।

वीरगञ्जबाट कामको सिलसिलामा नेपालगञ्ज आएको सरोज पटेलले वीरगञ्जभन्दा नेपालगञ्जमा धेरै गर्मी महसुस गरेको बताए । “ठोस पदार्थ खान मन लाग्दैन, मुख पनि सुक्खा हुन्छ पानी खाँदै हिँडिरहेको छु”, उनले भने ।

अत्यधिक गर्मीका कारण सबैभन्दा बढी खुला ठाउँमा काम गर्ने मजदुर र रिक्साचालक प्रभावित भएका छन् । चिकित्सकले गर्मीबाट जोगिन बढी पानी पिउन र अति आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन् ।

भेरी अस्पताल नेपालगञ्जका चिकित्सक डा सङ्केत रिसालले केही दिनयता अस्पतालमा बिरामीको चाप ह्वात्तै बढेको जानकारी दिए । उनले सबैभन्दा बढी छालाका बिरामी आउने गरेको बताउनुभयो । त्यसबाहेक झाडापखाला, ज्वरो र ‘लु’ का कारण आँखामा सङ्क्रमण भएका बिरामी पनि अस्पतालमा भर्ना भएको उनले बताए । “ज्वरोका बिरामीको रिपोर्ट सामान्य नै छ तर अस्पताल भरिभराउ छ”, उनले भने ।

गर्मीमा विद्युत् नियमित नहुँदा नागरिकले ठूलो सास्ती खेप्न बाध्य भएका छन् । “विद्युत् सहज नहुँदा झन अप्ठ्यारो भएको छ”, स्थानीय आरती गौतमले भने ।

नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले गत साता आएको हुरीले दुई सय बढी खम्बा ढलेपछि समस्या भएको बताए । हावाहुरीले ठूलो क्षति पुगेपछि विद्युत् वितरणमा समस्या भएको र केही दिनमा समस्या समाधान हुने लामिछानेको भनाइ छ ।

नेपालकी चेली स्नेहालता केसी अष्ट्रेलियामा प्रदेश सभा पदको चुनाव लड्दै

काठमाडौँ । अष्ट्रेलियाको क्यापितल ट्रेरिटोरी प्रान्तमा हुन गइरहेको प्रान्तिय चुनावमा नेपालकी चेली स्नेहालता केसीले उम्मेदवार बन्ने भएकी छन् । उनी त्यहाँ हुने निर्वाचनमा प्रदेशसभा पदका लागि उम्मेदवार बन्न लागेकी हुन् । सानैदेखि वृद्धबृद्धाहरु र मानाब सेवामा रुचि राख्ने उनलाई एक सभामा अरु प्रतिसपर्धी बीच ७ मिनेट भाषण बोलन दिइएको थियो । त्यहाँ उनले आफ्नो बोली मार्फत प्रतिस्पर्धिलाई पनि चकित बनाएकी छन् । उनले समसामयिक बिषय दिएको अभिब्यक्तिले सबैको मन जितेको थियो । त्यहाँ भोटिङ चेक र प्रश्नउत्तोर पनि भएको थियो । जसबाट चुनाबमा उम्मेदवार बन्न उनी च्निएकी हुन् ।

अष्ट्रेलिया क्यापिटल ट्रेटोरीमा विगत २८ वर्षदेखि लेबर नामक पार्टी सरकारमा छ । निरन्तर २८ वर्षसम्म एउटै पार्टीको सरकार भएपनि जनताका आवस्यकता अनुसारको काम नहुँदा जनताहरुमा बितृष्णा छाउदै गएपछि त्यहाँ अहिले नयाँ राजनीति दल स्थापन हुने क्रम जारी छ । क्याम्बेरिया प्रान्तका जनता पनि पुराना राजनीति दलको विकल्पको रुपमा पुराना राजनीति दलप्रति छाउदै गएको बितृष्णा र निराशाले नयाँ दल प्रती चासो दिन थालेका छन् । त्यहाँ विकल्पको रुपमा क्यापिटल ट्रेरोटोरीमा इन्डिपेन्डेन्स फोर क्यान्बेरा नाम गरेको नयाँ राजनीति दल खोलिएको छ । सोही पार्टीबाट स्नेहा चुनाब लड्ने भएकी हुन् । उनी त्यहाँस्थित निर्वाचन क्षेत्रका मतदाताकै राय सल्लाहना चुनाबमा होमिएकी हुन् ।

त्यहाँका मतदाताले नै उनको सात मिनेटको रोचक र समसामयिक अभिव्यक्ति सुनेर चुनाबमा अघि सारेका हुन् । नेपालको नेपालगञ्जमा जन्मिएकी स्नेहा पहिलादेखि नै अष्ट्रेलिया बस्दै आएकी थिइन् । उनी त्यहाँको वासिन्दा भैसककी छन् । उनी २०११ मा अस्ट्रेलिया गएकी थिइन् । उनी नेपालमा हुँदा रजिस्ट्रार्ड नर्स थिइन् । यतिमात्र होईन उनी अभिनेत्री समेत हुन् । उनले नाम चलेका विज्ञापन र म्युजिक भिडियोमा नेपाल हुँदा अभिनय समेत गरेक थिइन् ।
पुर्व सञ्चारकर्मी समेत रहेकी उनले हिमालय टेलिभिजनमा समेत आबद्ध भैई काम गरिसकेकी छन् । उनले बिदेशमा हुँदा विभिन्न सं संगठनमा आबद्ध रही नेतृत्वदायी भुमिका निर्वाह गरीसकेकी छन् । सामाज सेवा भनेपछि भुतुक्कै उनी राजनीतिका मध्यमबाट समाजसेवा गर्नुपर्छ र राजनीतिलाई सेवाका रुपमा लिनुपर्छ भन्ने धारणा राीख्छन् ।

राजनीति निस्वार्थ भावनाले जनताको सेवाका लागी गर्नुपर्छ, राजनीति कुनै पेशा होईन सेवा हो, राजनीति कुनै आयआर्जन र आम्दानीको श्रोत होईन, जीवन भर जनताको सेवक हुन्छु भन्नेले मात्रै राजनीतिमा लाग्नुपर्छ भन्ने उनको मान्यता हो ।त्यहाँको स्वास्थ्य अवस्था सुधारका लागि आफु निर्वाचनमा होमिएको बताइन् । उनी भन्छिन्, ‘मलाई पहिला यहाँ आउँदा यो समाज व्यवस्थित लाग्थ्यो, तर काम गर्दै जाँदा यहाँ हरेक कुरामा अनियमितता हुने गरेको मैले देखे । म यहीँ ठाउँको बासिन्दा भैसकेपछि यो क्षेत्र सुधार गर्नु मेरो पनि दायित्व हो ।’

स्वास्थ्य संस्थामा हुने अनेमियताको सुधार आफ्नो पहिलो प्रथामिकता बताउने उनी स्वास्थ्य क्षेत्र सुधार गर्ने उदेश्य सहित निर्वाचनमा होमिएकी स्नेहाले थप्दै भनिन् ‘म बिरामी भएर इमर्जेन्सीमा जाँदा रातभरी कुरेकी छु, यहाँ चिकित्सकको अभावका कारण बिरामीहरुले सास्ती खेप्दै आएका छन् । उपचारका लागि टाढा जानुपर्ने बाध्यता छ यो जटिल समस्या हटाउनुपर्छ भन्ने मेरो योजना हो ।’ आफु बस्ने ठाँउको अवस्था परिवर्तन गर्नु सवै नागरिकको कर्तव्य भएकाले आफु चुनाब लड्न लागेको बताउने उनी यसमा कुनै भूगोल र नागरिकताले रोक्न नहुने धारणा राख्छिन् । अष्ट्रेलियामा ८ वटा प्रान्तहरु छन् । अष्ट्रेलियान क्यपिटल ट्रेटोरीम २५ जनाले सरकार बनाउने गरेका छन् । चुनावी प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवार बाहेक इन्डिपेन्डेन्स फोर क्याम्बेरिय, लेबर, लिबरल, ग्रीन्स जस्ता अन्य पार्टीहरु छन् । स्नेहालता अष्ट्रेलिया अस्ट्रेलियान प्रान्तमा चुनाब लड्ने पहिलो महिला पनि हु ।

विकल पौडेललाई थुनामा पठाउने आदेश

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई थुनामा पठाउने आदेश गरेको छ ।विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको आजको इजलासले पौडेल थुनामा पठाउने आदेश गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकललाई गत जेठ ९ गते पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

दाङमा सबैभन्दा बढी विप्रेषण भित्रिनेमा तुलसीपुर

दाङबाट वैदेशिक रोजगारमा गएकामध्ये विप्रेषण भित्रिनेमा तुलसीपुर सबैभन्दा अगाडि छ । दाङका चारवटा पालिकामध्ये तुलसीपुर उपमहानगरपालिकामा अहिलेसम्म रु दुई अर्ब ८४ करोड २० लाख ७१ हजार विप्रेषण भित्रिएको छ । यस्तै घोराहीमा रु एक अर्ब ६८ करोड २४ लाख ५७ हजार, लमही नगरपालिकामा रु ५१ करोड ७२ लाख ५३ हजार र बबई गाउँपालिकामा रु ३४ करोड ६१ लाख ५७ हजार विप्रेषण भित्रिएको छ ।

आप्रवासी स्रोत केन्द्रको सामी परियोजनाले तुलसीपुर, घोराही, लमही र बबईमा विसं २०७६ पुसदेखि २०८०/०८१ को हालसम्म गरेको अध्ययनअनुसार सबैभन्दा बढी तुलसीपुरमा विप्रेषण भित्रिएको परियोजनाका कार्यक्रम संयोजक वसन्ता पुन मगरले बताइन् । दाङका १० वटा पालिकामध्ये सामीले चारवटा पालिकामा अध्ययन गरेको हो । उनका अनुसार अध्ययनमा जानेबाट भने रकम बाहिरिरहेको छ । तुलसीपुरबाटै अध्ययन गर्न जानेबाट रु दुई अर्ब ७१ करोड बाहिरएको छ भने लमही नगरपालिकाबाट रु १३ करोड २ लाख बाहिरिएको छ ।

हालसम्म तुलसीपुरबाट आठ हजार आठ सय ५० जना वैदेशिक रोजगारमा गएका छन् भने तीन हजार पाँच सय ५९ जना फर्किएका छन् । विदेश गएकामा एक हजार तीन सय ९० जना विद्यार्थी छन् । अहिलेसम्म तुलसीपुरका ३० जनाको विदेशमा मृत्यु भएको छ । त्यस्तै घोराहीमा पाँच हजार सात सय २८ जना विदेश गएकोमध्ये दुई हजार दुई सय ८५ जना फर्किएका छन् ।

लमहीमा एक हजार सात सय ८६ जना विदेश गएकोमा सात सय नौ जना फर्किएका छन् भने एकसय १० जना अध्ययनका लागि विदेश गएका छन् । विदेशमा लमहीका छ जनाको मृत्यु भएको छ । त्यस्तै बबई गाउँपालिकामा एक हजार पाँच सय ९६ जना विदेश गएकोमा नौ सय ४१ जना फर्किएका छन् ।

परियोजनाले विसं २०७६ पुसदेखि २०८०\०८१ को हालसम्म ६० हजार २८ जनालाई परामर्श दिएको जनाएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा नौ सय ५१ महिला र एक हजार नौ सय ६० पुरुष गरी दुई हजार नौ सय ११ जनाले सेवा लिएका थिए । परामर्श लिएकामध्येबाट ११ प्रतिशतलाई फोन सम्पर्क गर्दा नौ प्रतिशत वैदेशिक रोजगारीमा गएका, तिमध्ये ५० प्रतिशत सीप तालिम लिएर, ९४ प्रतिशत कागजपत्र घरमै छाडेर गएका देखिएको संयोजक मगरले बताउनुभयो । साथै पैसा तिरेको भर्पाइ माग्ने ८९ प्रतिशत, वैदेशिक रोजगारीमा नजाने निर्णय गरेका ४६ प्रतिशत र नेपालमै काम सुरु गरेका २४ प्रतिशत रहेका छन् ।

सहायता कक्षमा वैदेशिक रोजगारीसम्बन्धी आएका उजुरीमा आधाभन्दा धेरैको समाधान भएको जनाएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र शोषणमुक्त बनाउने, वैदेशिक रोजगार बोर्ड, बिमा कम्पनीबाट पाउने आर्थिक सहायताको बारेमा जनमानसमा जनचेतना फैलाउने कार्यमा ध्यान दिनुपर्ने घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बताए । रासस

युवापुस्ताको प्रेममा ‘लन्डन टु पेरिस’

काठमाडौं – युवापुस्ताको प्रवासी जीवन र प्रेममा आउने उतारचढावमा आधारित रहेर चलचित्र ‘लन्डन टु पेरिस’ निर्माण गरिएको निर्देशक घनश्याम लामिछानेले बताएका छन् ।यही जेठ २५ गतेदेखि प्रदर्शनमा आउने चलचित्र विषयमा जानकारी दिन यहाँ आयोजित पत्रकार सम्मेलनमा निर्देशक लामिछानेले दर्शकको नजरबाट चलचित्र तयार गरिएको बताए । “यो भ्रमणका क्रममा भेटिने जोडीको प्रेम कथा हो ।

सोहीअनुसार चलचित्र निर्माण गरेका छौँ । यहाँ हुने घटनाक्रम वास्तविकझैँ छन् । यो कथा नै लन्डनदेखि पेरिससम्मको भएकोले त्यस पृष्ठभूमिमा तयार गरेका छौँ”, निर्देशक लामिछानेले भने, “हामीले विदेशी दृश्यलाई छायाङ्कन गर्दा इजाजत लिएर गर्ने गरेका छौँ । यसपटक पहिलेभन्दा अझ धेरै मिहेनत गरेर सबै पक्षलाई समेट्ने प्रयास गरेका छौँ ।”

बेलायतमा छायाङ्कन गरिएको यो चलचित्रमा पनि कुनै सम्झौता नगरेको उनको भनाइ छ । युवा पुस्तालाई प्रेम र यसको महत्व दर्शाउन चलचित्र सफल हुने लेखक प्रदीप भारद्वाजले बताए। उनले भने, “हामीले यसमा अपत्यारिलो लाग्ने दृश्यलाई जानेर नै हटाएका छौँ । चलचित्र कल्पनासँगै वास्तविकतासँग पनि नजिक हुनुपर्छ भन्ने सिद्धान्तमा रहेर यसको पटकथा तयार गरेको हुँ । यसमा अहिले युवापुस्तामा देखिने प्रेम र त्यसको समस्या छ ।”

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले कथावस्तुकै कारण आफूले चलचित्रमा काम गरेको बताए । “यो हाम्रो पुस्ताको प्रेम कथा हो । मलाई प्रस्ताव आएपछि कथा पढ्दा कथा देखेको र पात्रसँग जोडिएको महसुस गरे । पात्र प्रवासी नेपाली भएकाले पहिरन र लवजमा धेरै मेहनत गर्न परेन । यसको केही दृश्य वा थोरै कथा मेरो जीवनसँग पनि मेल खान्छ”, अभिनेत्री शाहले भनिन् ।

चलचित्रमा अभिनेत्री शाहसँगै कविर खड्का, रुष्मा थापा, मनिष श्रेष्ठ, मनिष गान्धीलगायत कलाकारले अभिनय गरेका छन्। यसै चलचित्रमार्फत निश्चल खड्का र गरिमा शर्माले अभिनयको सुरुआत गर्दै छन् ।। “मलाई सानैदेखि ठूलो पर्दामा देखिने रहर थियो । यहाँ नयाँलाई मौका पाउन सहज छैन तर यो समूहसँग काम गर्न पाउँदा निकै सहजताका साथ सपना पूरा गरे । अब यहाँ टिकिरहन सक्दो मेहनत गर्ने छु”, नवअभिनेता खड्काले भनिन् ।

चलचित्रमा अभेद परवले छायाङ्कन, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरले सङ्गीत सिर्जना, सजु चन्दनले सम्पादन, सुजिल कर्माचार्यले पाश्र्व सङ्गीत सिर्जना गरेका छन् ।

मधेस प्रदेश प्रमुखसमक्ष महालेखापरीक्षकको छैटौँ वार्षिक प्रतिवेदन पेस

धनुषा – महालेखापरीक्षकको छैटौँ वार्षिक प्रतिवेदन मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष पेस गरिएको छ । प्रदेश प्रमुखको निजी सचिवालय जनकपुरधाममा आज महालेखापरीक्षक मधेश प्रदेश कार्यालय प्रमुख श्यामप्रसाद भण्डारीले प्रदेश प्रमुखसमक्ष प्रतिवेदन पेस गरेका थिए । महालेखापरीक्षकको कार्यालयबाट तयार गरिएको नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख भण्डारीसमक्ष पेस गर्नुपर्ने प्रावधान छ ।

प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख भण्डारीले प्रतिवेदनको अध्ययन गरी प्रदेशमा आर्थिक सुशासन कायम गर्नका लागि प्रदेश सरकारलाई सुझाव दिने बताइन् । प्रदेश प्रमुख भण्डारीले मधेस प्रदेशमा अन्य प्रदेशका तुलनामा बेरुजु बढी हुनु चिन्ताको विषय भएको बताउँदै यस विषयमा प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउने प्रतिवद्धता व्यक्त गरिन् ।

“महालेखापरीक्षकको वार्षिक प्रतिवेदनले औँल्याएका विषयको कार्यान्वयनले प्रदेशमा आर्थिक अनुशासन कायम गर्नमा ठूलो मद्दत पुग्ने विश्वास लिएको छु । यस विषयमा प्रदेश सरकारलाई आवश्यक सुझाव र ध्यानाकर्षण गर्नेछु”, उनले भनिन् । ​

महालेखापरीक्षक कार्यालय मधेश प्रदेश कार्यालय प्रमुख सहसचिव भण्डारीले गत वर्षभन्दा मधेश प्रदेशमा बेरुजु बढेको बताउँदै बेरुजु बढ्नुमा म्याद नाघेको पेश्की प्रमुख कारण रहेको बताएका छन् ।
कार्यक्रममा मधेस प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव लुम्बनाथ पोखरेल र महालेखापरीक्षकको कार्यालयका उपसचिव ताराप्रसाद सुवेदीलगायतको सहभागी थियो ।

चीनको विशाल खाद्य कम्पनीका पूर्वउपव्यवस्थापक भ्रष्टाचार आरोपमा पक्राउ

बेइजिङ । चीनको प्रमुख खाद्य व्यापारी कोफको कर्पोरेसनका पूर्व उपमहाप्रबन्धक झोउ झेङलाई घूस लिएको, अनियमितता गरेको र शक्तिको दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको सर्वोच्च पिपुल्स प्रोक्युरेटरेट (एसपीपी) ले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एसपीपीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेशनल कमिसन अफ सुपरभिजन इन्भेस्टिगेसनको निष्कर्षपछि झोउको मुद्दा प्रोक्युरेटरियल अथोरिटीलाई सुम्पिएको थियो ।

झोउले यसअघि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को कम्पनी सदस्य समूहको सदस्यको रूपमा पनि काम गरेका थिए । चीनको भ्रष्टाचार नियन्त्रण गर्ने सर्वोच्च निकायले सन् २०२३ को नोभेम्बरमा झोउलाई अनुशासन र कानुनको गम्भीर उल्लङ्घन गरेको आरोपमा अनुसन्धानको दायरामा राखिएको घोषणा गरेको थियो । यसै महिनाको सुरुमा उक्त निकायले झोउलाई सीपीसीबाट निष्कासित गरिएको घोषणा गरेको थियो ।

भारतभरिमै सबैभन्दा बढी गर्मी दिल्लीमा, तापक्रम ५२ डिग्री सेल्सियस नाघ्यो

नयाँदिल्ली । प्रचण्ड गर्मीको चपेटामा परेको दिल्लीको मुङ्गेशपुरको अधिकतम तापक्रम ५२ डिग्री सेल्सियसभन्दा धेरै रेकर्ड गरिएको छ । यो राष्ट्रिय राजधानीमा सबैभन्दा उच्च तापक्रम हो ।क्षेत्रीय मौसम पूर्वानुमान केन्द्रका प्रमुख कुलदीप श्रीवास्तवका अनुसार स्वचालित मौसम केन्द्रमा बुधबार यस मौसमको उच्चतम तापक्रम उत्तर पश्चिमी दिल्लीको मुङ्गेशपुर क्षेत्रमा ५२ दशमलव तीन डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । यसअघि मे २६ अर्थात् आइतबार मुङ्गेशपुरको तापक्रम ४८ दशमलव तीन डिग्री सेल्सियस थियो ।

भारत मौसम विज्ञान विभाग (आइएमडी) ले बुधवार र बिहीबार दिल्लीलगायत देशको उत्तरी भागका धेरै राज्यमा गर्मीको लहर (लू) को चेतावनी जारी गरेको छ ।

आइएमडीका अनुसार पञ्जाब, हरियाणा, चण्डीगढ, दिल्ली, राजस्थानका धेरै भाग, उत्तर प्रदेश, पूर्वी मध्य प्रदेश, पश्चिम मध्य प्रदेशका केही भाग, बिहार, झारखण्ड, उडिसा र जम्मु डिभिजनका फरक फरक भागमा गर्मीको लहरदेखि गम्भीर गर्मीको लहर अवस्थाको सम्भावना छ । आज र भोलि हिमाचल प्रदेश, विदर्भ र छत्तीसगढका विभिन्न भागमा लू चल्ने सम्भावना छ ।

दिल्लीको इन्टरभेन्शनल कार्डियोलोजी फोर्टिस एस्कर्ट्स हार्ट इन्स्टिच्युटका कार्यकारी निर्देशक डा.अतुल माथुरले हृदय प्रणालीको समस्याबारे चेतावनी दिँदै नयाँदिल्लीमा आइएमडीको लूको चेतावनीबीच शरीरलाई ‘हाइड्रेटेड’ राख्न सुझाव दिनुभयो ।

“हाम्रो देशले आक्रामक तापक्रमको सामना गरिरहेको छ । यसका कारण सामान्य व्यक्तिलाई पनि हृदयाघातको समस्या हुनसक्छ । यदि तपाईँले पानी पिउनुभएको छैन भने तपाईँ निर्जलित हुनुहुनेछ । पहिलेदेखि नै मुटुको समस्या भएकाहरूको रक्तचाप बढ्छ । मुख्य चिन्ता निर्जलीकरण हो । चर्को गर्मीमा ज्येष्ठ नागरिकहरूले बाहिर निस्कनु हुँदैन । आफूलाई हाइड्रेटेड राख्नका लागि नियमितरूपमा पानी पिउनुपर्छ”, उहाँले भन्नुभयो ।

साथै आइएमडीले दिल्ली र एनसीआर, खर्खोडा, झज्जर, सोहाना, पलवल, नुह, औरङ्गाबाद, होडलका पृथक् ठाउँमा र छेउछाउका क्षेत्रहरूमा २० देखि ३० किलोमिटर प्रतिघण्टाको गतिमा हल्का तीव्रताको वर्षा र हावा चल्ने अनुमान गरेको छ ।यसअघि मङ्गलबार राजस्थानको चुरु राज्यमा ५० दशमलव पाँच डिग्री सेल्सियसको रेकर्ड–उच्च तापक्रम रेकर्ड गरिएको थियो । यो सामान्यभन्दा सात दशमलव पाँच डिग्री सेल्सियसभन्दा बढी हो ।

आरोही भनेपछि आफ्नै परिवारको सदस्यजस्तो लाग्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ, १६ जेठ : आरोही, पर्यटन व्यवसायीलगायतका प्रतिनिधिले खचाखच नेपाल प्रज्ञा-प्रतिष्ठानको सभाहलमा आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको औपचारिक समारोह सञ्चालन भइरहेको थियो । आरोही कल्याणकारी कोष बनाउने घोषणा गरेर औपचारिक मन्तव्य समापन गर्नुअघि प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहालले विगत स्मरण गर्नुभयो । उहाँ एक्कासी भक्कानिनुभयो । उहाँको गला अवरुद्ध भयो । आँखा रसाए । केहीछिनमा उहाँ सम्हालिनुभयो अनि भन्नुभयो, “सगरमाथा आरोहीलाई आज सम्मान गर्ने अवसर प्राप्त भयो । मेरो आफ्नै परिवारका दुई सदस्य छोरा र बुहारीले सगरमाथा आरोहण गरेको हुनाले मलाई आरोही भनेपछि आफ्नै परिवारको सदस्य जस्तै महशुस हुन्छ ।” उहाँको भावुकताले केहीबेर सभाहलका सहभागी सबै भावविहल बने ।

उहाँले आरोहीको कल्याणकारी कोष बनाउने कार्यमा सरकारले पहलकदमी लिने प्रतिबद्धता गर्नुभयो । उहाँले भन्नुभयो, “आरोहीको हकहित र उनीहरुको सुरक्षाका लागि आरोही कल्याणकारी कोष बनाइयोस् भनिएको छ । हामी (सरकार) अर्थमन्त्रालयसँग समन्वय गरेर कोष बनाउनेतिर पहल गर्ने विश्वास दिलाउन चाहन्छु, त्यसका साथै पर्वतीय पर्यटन क्षेत्रलाई व्यावसायिकता वृद्धि तथा व्यवसायलाई सहज बनाउन कर छुटको व्यवस्थाका लागि पहल गर्ने विश्वास दिलाउँछु ।”

प्रधानमन्त्री दाहालले सगरमाथा दिवसले नेपालको पर्यटकीय आगमन वृद्धि गर्न, हिमालको संरक्षण गर्न, हिमाली क्षेत्रमा भइरहेको फोहर न्यूनीकरण गर्न एवं जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभाव न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सगरमाथाबाट आरम्भ भएको हिमाल आरोहणको यात्रा नेपाललगायत विश्वका विभिन्न हिमशिखरहरुको आरोहण हुँदै विश्वव्यापी फैलिएको उल्लेख गर्दै सरकारले हिमाल आरोहणलाई सुरक्षित र आरोहीहरुको आत्मसम्मानलाई उच्च प्राथमिकता राखेर नीति तथा कार्यक्रम तर्जुमा गर्ने जानकारी दिनुभयो ।

संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री हितबहादुर तामाङले प्रधानमन्त्रीले सरकार प्रमुखको हैसियतले घोषणा गर्नुभएको आरोहीको कल्याण कोष गठन गर्ने विषयलाई पर्यटन मन्त्रालयकोतर्फबाट औपचारिक प्रस्ताव अगाडि बढाइने उल्लेख गर्नुभयो ।

सरकारले आगामी वर्ष १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको र यसलाई सफल बनाउन पर्यटन क्षेत्रका सरोकारवालासँग सहकार्य र समन्वयकासाथ लक्ष्य पुरा गर्न पहल गर्ने पर्यटनमन्त्रीको भनाइ थियो । पर्यटनमन्त्री तामाङले नेपालको समग्र पर्यटन र विशेषतः पर्वतीय पर्यटनमा देखापरेको समस्या समाधानका लागि सरकार तत्पर रहेको बताउनुभयो ।

उहाँले बढ्दो तापमान र हिमाली क्षेत्रमा बढ्दो मानवीय गतिविधिका कारण वातावरणमा परेको नकारात्मक प्रभावलाई सन्तुलन कायम गर्न सगरमाथाको आधार शिविरको समग्र अध्ययनका लागि कार्यदल बनाईसकिएको र त्यसले चाँडै प्रतिवेदन सरकारलाई बुझाउने जानकारी दिनुभयो । उहाँले प्रतिवेदनका आधारमा अघि बढ्ने बताउनुभयो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सगरमाथाको संरक्षण र प्रवद्र्धनमा प्रदेश सरकारले सङ्घीय सरकारसँगको समन्वय र सहकार्य प्रभावकारी रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले जलवायु परिवर्तनको जोखिमबाट हिमाल संरक्षणका लागि पहल गरिनुपर्नेमा जोड दिनुभयो ।

सगरमाथा दिवस निरन्तर मनाइने

सरकारले अन्तर्राष्ट्रिय सगरमाथा दिवसलाई विशेष दिवसका रुपमा मनाउने भएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलो मानव पाइला टेकेको दिनलाई अथात् प्रत्येक वर्ष मे २९ तारिखलाई सगरमाथा दिवसका रुपमा मनाइने भएको हो । सन् १९५३ मा नेपाली तेन्जिङ नोर्गे शेपा र सर एडमण्ड हिलारीले सगरमाथाको चुचुरोमा पहिलो पाइला टेकेको ७१ वर्ष पुगेको छ । सोही आरोहण स्मरण गर्दै सगरमाथा दिवस मनाउने निर्णय गरिएको हो ।

सन् २००८ देखि नेपालमा सगरमाथा दिवस मनाउन थालिएको थियो । अघिल्लो वर्ष १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसकारुपमा मनाइएको थियो । सरकारले यो वर्षदेखि सगरमाथा आरोहण सुरु भएको वर्षदेखिकै अवधिलाई जोडेर ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाएको हो । अन्तर्राष्ट्रिय जगतमा सगरमाथा आरोहण सुरु भएको दिनलाई नै सगरमाथा दिवसका रुपमा मनाउने गरिएको छ । सगरमाथाको गौरव, पहिचानलाई विश्वभर फैलाउन आरोहण सुरु भएको दिनलाई मान्यता दिई नेपालमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन सुरु गरिएको हो ।

सरकारद्वारा सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा मङ्गलबार प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को बजेटमा प्रत्येक वर्ष मे २९ लाई सगरमाथा अन्तर्राष्ट्रिय विशेष दिवसका रुपमा मनाउने घोषणा गरिएको छ । दिवसका अवसरमा हिमाली पर्यटन प्रवद्र्धनमा विशिष्ट योगदान पु¥याउने स्वदेशी तथा विदेशी व्यक्ति, सङ्घसंस्थालाई सम्मान गरिने जनाइएको छ । सगरमाथा आरोही सङ्घका महासचिव शिवबहादुर सापकोटाले सरकारले आरोही कल्याण कोष घोषणा गरेको विषयले आरोहीको मनोबल उकासेको र साहसिक पर्यटनका निम्ति महत्वपूर्ण फड्को भएको उल्लेख गर्नुभयो ।

उहाँले सङ्घको लामो पहलपछि आरोहीलाई परिचयपत्र दिन सुरु गरिएको भन्दै सरकारको निर्णयबाट पर्वतारोही र पर्वतारोहण क्षेत्र हर्षित भएको प्रतिक्रिया दिनुभयो । कार्यक्रममा सगरमाथा आरोहणमा कीर्तिमान कायम गर्ने आरोही एवं सरोकारवालालाई सम्मान गरिएको थियो । हालसम्म आठ हजारभन्दा बढीले ससगरमाथा आरोहण गरिसकेका छन् । विभिन्न कीर्तिमान कायम भएका छन् ।

अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार लाक्पा सोनाम शेर्पालाई

नगद रु एक लाख राखिको अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार वरिष्ठ पर्यटन व्यवसायी एवं आरोही लाक्पा सोनाम शेर्पालाई प्रदान गरिएको छ । शेर्पा पाँच दशकदेखि पर्यटन तथा पर्वतारोहण क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँले विगत २५ वर्षदेखि एयरलाइन्स व्यवसायमार्फत पर्यटन प्रवर्द्धनमा टेवा पु-याउनुभएको छ । यस्तै नगद रु ५० हजार राशिको तेञ्जिङ हिलारी पुरस्कार आरोहीहरु पेमा छिरिङ शेर्पा, नरेन्द्र साही, ग्याल्जे शेर्पा, ल्हाक्पा डेण्डी शेर्पा र आङ्ग सार्की शेपालाई प्रदान गरिएको छ ।

आरोहीलाई ब्याच तथा परिचयपत्र

त्यसैगरी सगरमाथा आरोहीलाई ब्याच तथा परिचयपत्र प्रदान गरिएको छ । सगरमाथा आरोही सङ्घका महासचिव माया शेर्पा, महासचिव शिवबहादुर सापकोटा तथा आरोही दावा स्टेफन शेर्पा, मिङ्मा ग्याबु शेर्पा, फुञ्जो झामु शेर्पा, बिना मगरलाई साङ्केतिकरुपमा परिचयपत्र दिइएको हो । यो वर्ष करिब पाँच सयलाई परिचयपत्र दिइने जनाइएको छ ।

त्यस्तै ब्याच तथा परिचयपत्र नेपालीतर्फ मिङ्मा शेर्पा, सरल सहयात्री पौडेल, कर्मा तेञ्जिङ, लाक्पा शेर्पा, सोना शेर्पा, दावा याङ्जु शेर्पा, नाडसाल छयोटोन लामा तथा विदेशीमा भारत, अष्ट्रेलियन आरोही अलि पेप्परसहित भारत, बुल्गेरिया, विभिन्न सात आरोहीलाई ब्याच र परिचयपत्र प्रदान गरिएको छ ।

सगरमाथा नामाकरण गर्ने इतिहासविद् बाबुराम आचार्यलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको छ । ब्याच तथा परिचयपत्र र विभिन्न अवार्ड प्रधानमन्त्री दाहालले प्रदान गर्नुभएको थियो । यसै वर्षदेखि सुरु भएको रु ७५ राशिको इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार नापी विभागका नापी अधिकृत एवं आरोही खिमलाल गौतमलाई प्रदान गरिएको थियो ।

कोशी प्रदेश सरकारकातर्फबाट विभिन्न पाँच आरोहीलाई पुरस्कृत गरिएको थियो । पर्यटन विभागका अनुसार यसवर्षको याममा सगरमाथा आरोहणका लागि चार सय २४ ले अनुमति लिएकामा आरोही र शेर्पा सहयोगी गरी छ सयभन्दा बढीले सगरमाथा आरोहण गरेका छन् ।

राष्ट्रिय राजमार्गलाई वर्षाअगावै मर्मतसम्भार गर्न आग्रह

काठमाडौँ, १६ जेठ : देशभरका सार्वजनिक यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले राष्ट्रिय राजमार्ग र सहायक राजमार्गलाई तत्काल मर्मतसम्भार गर्न सरकारलाई आग्रह गरेको छ ।
महासङ्घका महासचिव डेकनाथ गौतमले आज विज्ञप्ति जारी गरी निर्माण ढिलासुस्तीका कारण राजमार्गमा घन्टौँ सवारी जाम हुन थालेकाले तत्काल मर्मतसम्भार गर्न सरकारलाई आग्रह गर्नुभएको हो ।

“बर्सातको समय आउँदै गरेकाले विगतदेखि पुननिर्माणमा रहेका बुटवल-नारायणघाट सडकखण्ड, काठमाडौँ–पोखरा सडकखण्ड, पथलैया-ढल्केवर सडकखण्ड मर्मतलाई तीव्ररुपमा अगाडि बढाउन माग गर्दछौँ”, महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

महासङ्घले राष्ट्रिय राजमार्ग र सहायक राजमार्ग बिग्रिँदा मालवाहक र यात्रुवाहक सवारी साधनलाई प्रत्यक्ष असर पुग्नुका साथै आम यात्रुलाई गन्तव्यस्थलसम्म पु-याउन समस्या परेको जनाएको छ । बाटो राम्रो नहुँदा मोटर पार्टस, लुब्रिकेन्टस, टायर, मजदुर ज्याला, मर्मतसम्भार खर्च अत्यधिक भएकाले भाडा समायोजन गर्नसमेत महासङ्घले सरकारलाई आग्रह गरेको छ । तत्काल भाडा समायोजन र पुनःनिर्माणलाई तीव्र रुपमा अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

इमेलबाट पठाइएका निवेदनको दर्ता नं दिन सूचना आयोगको निर्देशन

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सरकारका निकायमा इमेलमा आउने निवेदन दर्ता गरी दर्ता नं सम्बन्धित निवेदकलाई उपलब्ध गराउन आदेश दिएको छ ।

आयोगको बैठकले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा १९ को खण्ड (ङ) बमोजिम इमेलबाट आउने आवेदन दर्ता गरी दर्ता नं इमेलबाट नै उपलब्ध गराउन सङ्घीय सार्वजनिक निकायका हकमा नेपाल सरकारका मुख्यसचिवमार्फत, प्रदेशका सार्वजनिक निकायका हकमा प्रदेश सरकारका प्रमुख सचिवमार्फत र स्थानीय तहका सार्वजनिक निकायका हकमा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतमार्फत आदेश गर्ने आयोगको बैठकले निर्णय गरेको आयुक्त एवं प्रवक्ता कमला ओली थापाले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

नागरिकप्रति जिम्मेवार हुनुपर्ने सार्वजनिक निकायले आफ्नो प्रणाली स्थापना गर्दा वा बनाउँदा सर्वसाधारणलाई सूचित, सरल र सहज बनाउन प्रयास गर्नुपर्नेमा आयोगले जोड दिएको छ । यो विषय सार्वजनिक निकायको दायित्वभित्र नै पर्ने विज्ञप्तिमा उल्लेख छ । “आवेदन चाहे इमेलबाट प्राप्त होस् वा हुलाकबाट वा अन्य कुनै माध्यमबाट प्राप्त होस् त्यसको अभिलेख राखी दर्ता नम्बर उपलब्ध गराउनुपर्ने दायित्व स्वाभाविक रूपमा सार्वजनिक निकायले पूरा गर्न आवश्यक र जरुरी रहेको छ”, विज्ञप्तिमा भनिएको छ ।

नागरिकले सूचना मागसम्बन्धी निवेदन आफैँ, वारिसमार्फत, हुलाकमार्फत, इमेलमार्फत वा अन्य उपलब्ध जुनसुकै माध्यमबाट पेस गरे पनि त्यस्तो निवेदन दर्ता गरी दर्ता नम्बर आवेदकलाई उपलब्ध गराउने अनिवार्य व्यवस्था गर्नुपर्ने आयोगको आदेश छ । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा अन्य सार्वजनिक निकायले पनि कार्य सञ्चालनसम्बन्धी कार्यविधि, नियम, निर्देशिका र कानुन निर्माण गर्दा प्रविधिका कारण विकसित भएका माध्यम वा प्रणालीलाई पनि समावेश गरी सूचना मागसम्बन्धी निवेदन दर्ता गर्ने गराउने व्यवस्था गर्नु, गराउनु भनी आयोगले निर्देश गरेको छ ।

“सार्वजनिक निकाय बिस्तारै सूचना प्रविधिको माध्यमबाट स्वचालित प्रणालीमा गइरहेको अवस्थामा सूचना मागसम्बन्धी निवेदन जुनसुकै माध्यमबाट प्राप्त भए तापनि त्यस्तो स्वचालित प्रणालीमा दर्ता हुने र स्वतः दर्ता नम्बर सिर्जना र निवेदकलाई उपलब्ध गराउने प्रणाली राख्ने व्यवस्था गर्नु, गराउनु । सूचना प्रविधिको बढ्दो प्रयोगसँगै सार्वजनिक निकायमा इमेलको प्रयोग अनिवार्य भएको र सुशासनका हिसाबबाट पनि इमेलका माध्यमबाट निवेदन लिने व्यवस्था गर्नु वाञ्छनीय ठहर्छ । यसका लागि प्रत्येक सार्वजनिक निकायले सर्वसाधारण नागरिकले सूचना माग गर्दा प्रयोग गर्ने इमेल अनिवार्यरुपमा आफ्नो वेबसाइटमा राख्न लगाउनु, यस आयोगको कार्यविधि तथा पूर्व आदेशमा उल्लेख भएबमोजिम suchanaadhikari@….gov.np प्रयोग गर्न प्रोत्साहन गर्नु, गराउनु”, आयोगको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सूचना माग गर्ने नागरिकलाई सूचना उपलब्ध गराउँदा सम्भव भएसम्म इमेल, हुलाक वा अन्य सहज माध्यमको प्रयोग गरी सूचना उपलब्ध गर्न गराउन लगाउनु भनी आयोगले सार्वजनिक निकायलाई निर्देश गरेको छ । सूचनाको हकका अभियानकर्मी रुक्शना कपालीले सो सम्बन्धि आदेशका लागि आयोगमा निवेदन दिनुभएअनुसार आयोगले यस्तो निर्णय गरी आदेश जारी गरेको हो ।

काठमाडौँसँग ललितपुर पराजित

काठमाडौँ, जेठ १६ गते । एनसिसी एस महिला तथा पुरुष ट्वान्टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत महिलातर्फको खेलमा काठमाडौँ ललितपुरलाई पराजित गर्दै विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँ ललितपुरलाई ३१ रनले पराजित गर्दै विजयी भएको हो ।

काठमाडौँले प्रस्तुत गरेको एक सय ३१ रनको लक्ष्य ललितपुरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ९९ रनमा समेटियो । ललितपुरका लागि याशु पाण्डेले सर्वाधिक ३५ रनको योगदान दिइन भने रेखा तामाङले अविजित १६ रन बनाइन् । त्यस्तै साविका यादवले १६ रन बनाइन् । काठमाडौँका लागि संस्कृति फुयाँल, विपिशा शाही र एली यादवले समान एक-एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको काठमाडौँले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ३० रनको योगफल बनाएको थियो । काठमाडौँका लागि अस्मिता खरेलले सर्वाधिक ३७ रनको योगदान दिइन् । यसै गरी कञ्चन श्रेष्ठले ३६ तथा एली यादवले अविजित १८ रन बनाइन् । ललितपुरका लागि मनीषा उपाध्याय र सम्भाव्यता ढकालले समान एक-एक विकेट लिए । मूलपानी क्रिकेट मैदानमा हुने उक्त प्रतियोगिताअन्तर्गत महिलातर्फको खेलमा भोलि भक्तपुर र ललितपुरबिच प्रतिस्पर्धा हुनेछ । रासस

आगामी आवको बजेट : सुधारोन्मुख अर्थतन्त्रलाई गति दिने लक्ष्य

काठमाडौँ, जेठ १६ गते । सुधारोन्मुख अर्थतन्त्रलाई गति दिने र नागरिकमा नयाँ उत्साह पैदा गर्ने लक्ष्यका साथ सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । बजेटले निर्माणाधीन ठूला आयोजनालाई पूरा गर्ने उद्देश्य राखेकाले नयाँ आयोजना यस पटक समावेश गरेको छैन ।

नयाँ आयोजना थप्ने तर निर्माणमा रहेका आयोजना पूरा नहुने अवस्थाको अन्त्यका लागि यस खालको प्रबन्ध गरिएको अर्थमन्त्री वर्षमान पुनको भनाइ छ । अर्थमन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “बजेटमा हामीले के कोसिस गरेका छौँ भने नयाँ योजना ल्याउने पुराना छोडिदिने, अर्काे (सरकार)ले स्वामित्व नलिने देखिएको थियो । त्यसको अन्त्य गर्न हामीले जो छिटो पूरा हुनेखालका छन्, ती आयोजनालाई पर्याप्त बजेट राखेका छौँ ।” यसबाट पनि बजेटले लिएको दिशा प्रष्ट हुन जान्छ ।

आव २०८१/८२ का लागि सरकारले १८ खर्ब ६२ अर्ब ३० करोड बराबरको बजेट सार्वजनिक गरेको छ । चालु आवमा १७ खर्ब ५१ अर्ब बराबरको बजेट आएको थियो । त्यसमध्ये हालसम्ममा ११ खर्ब १५ अर्ब बराबरको खर्च भएको छ । पछिल्ला १० वर्षको बजेटलाई हेर्ने हो भने बजेटको आकारमा उल्लेख्य वृद्धि भएको छ । आव २०७२/७३ मा आठ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ८४ हजार बराबरको बजेट विनियोजन गरिएको थियो । आव २०८१/८२ मा आइपुग्दा आकार १० खर्बले बढेको छ । आव २०७३/७४ मा १० खर्ब ४८ अर्ब बराबरको बजेट प्रस्तुत भएको थियो ।

आव २०७४/७५ मा १२ खर्ब ७८ अर्ब, आव २०७५/७६ मा १३ खर्ब १५ अर्ब, आव २०७६/७७ मा १५ खर्ब ३२ अर्ब, आव २०७७/७८ मा १४ खर्ब ७४ अर्ब, आव २०७८/७९ मा १६ खर्ब, आव २०७९/८० मा १७ खर्ब ९३ अर्ब बराबरको बजेट प्रस्तुत गरिएको थियो । सरकारको नियमित काम कारबाहीका रुपमा हरेक जेठ १५ गते बजेट सार्वजनिक गर्ने गरी संवैधानिक प्रावधान राखिएको छ । यो नेपालको हकमा मौलिक परम्परा पनि हो । बजेटले स्पष्ट शब्दमा आर्थिक सुधार आयोग गठन गर्ने विषय समावेश गरेको छ । यसले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि ‘प्रेस्किप्सन’ दिने छ ।

निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने अर्थमन्त्री पुनको भनाइ छ । निजी क्षेत्रले लामो समयदेखि माग गर्दै आएको नीतिगत विषयलाई स्पष्टरुपमा सम्बोधन गरिएको छ । सडक, पूर्वाधार, पुललगायतका पूर्वाधार विकासमा राज्य एक्लैले खर्च गर्न सक्ने अवस्था छैन । अर्थतन्त्रमा निजी क्षेत्रको हिस्सा झण्डै ७५ प्रतिशत छ । ठूलो हिस्सा भएको क्षेत्रसँग मिलेर काम गर्ने मन्त्री पुनको सन्देशले पक्कै लगानीकर्ता र उद्योगीमा नयाँ विश्वासको आधार तयार हुनेछ । मङ्गलबार बजेट सार्वजनिक भएलगत्तै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीमैत्री बजेट आएको प्रतिक्रिया दिनुभएको थियो ।

उहाँले विद्यमान आर्थिक समस्या समाधान र नयाँ चरणको सुधारका लागि उच्चस्तरीय आयोगको माग गरेको र सोही अनुसारको आयोग बन्ने र बजेटले सुधार वर्ष घोषणा गरेकाले बजेट स्वागतयोग्य रहेको बताउनुभएको थियो । यसबाट निजी क्षेत्रले बजेटलाई पूर्णरुपमा स्वागत गरेको अर्थमा लिन सकिन्छ । गतवर्ष सुरु गरिएका आर्थिक सुधारका उपलब्धिलाई संस्थागत गर्दै बदलिँदो विश्व अर्थव्यवस्था र नेपालको वस्तुगत आवश्यकतालाई दृष्टिगत गरेर अर्थतन्त्रलाई सबल र उत्थानशील बनाउन आवश्यक ठानेको उहाँले जानकारी दिनुभयो । संविधानको परिकल्पनाअनुसार राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणका लागि नयाँ चरणको आर्थिक सुधार आवश्यक देखिएको विषयलाई बजेटले प्राथमिकतामा राखेर नयाँ सन्देश दिन खोजेको छ ।

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न र आर्थिक सुधारका कार्यक्रम अगाडि बढाउन आगामी आवलाई आर्थिक सुधारको वर्षको रुपमा बजेटले सम्बोधन गरेको छ । बजेटले सुशासन, सामाजिक न्याय र समृद्धिको सोचसहितको १६ औँ योजनाले तय गरेको लक्ष्य हाँसिल गर्न विशेष व्यवस्था गरेको छ । आवको बजेटले उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्नु, निजी क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि गर्नु र आर्थिक क्रियाकलापलाई तीव्रता दिने लक्ष्य र प्राथमिकता निर्धारण गरेको छ । मानव संसाधन विकास गर्नु, स्रोत र साधनलाई सन्तुलित र समन्यायिक ढङ्गले परिचालन गरी आर्थिक असमानता र गरिबी न्यूनीकरण गर्नु र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनु बजेटको उद्देश्य छ ।

बजेटले विशेष गरी पाँचवटा प्राथमिकता निर्धारण गरेको छ । त्यसमा आर्थिक सुधार र निजी क्षेत्रको प्रवद्र्धन, कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन, औद्योगिक विकास तथा पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्रको विकास, समावेशीता र सामाजिक सुरक्षा, र सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार समेटिएका छन् । बजेटले पाँच रुपान्तरणकारी क्षेत्र निर्धारण गरेको छ । त्यसमा कृषि क्षेत्र रुपान्तरण, ऊर्जा क्षेत्र विकास, सूचना प्रविधि विकास, पर्यटन प्रवद्र्धन र उद्यमशीलता र औद्योगिक विकास समावेश छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा वित्तीय समानीकरण अनुदान प्रदेशको लागि छ अर्ब र स्थानीय तहको लागि ८८ अर्ब हस्तान्तरण गरिनेछ । त्यसले प्रदेश र स्थानीय तह थप सबल हुनेछ ।

यस्तै, प्रदेशका लागि सशर्त अनुदानतर्फ २५ अर्ब ८४ करोड र स्थानीय तहको लागि दुई खर्ब आठ अर्ब ८८ करोड गरी जम्मा दुई खर्ब ३४ अर्ब ७३ करोड हस्तान्तरणको लागि विनियोजन गरिएको छ । त्यसले विकास निर्माणको क्षेत्रमा थप महत्वपूर्ण काम गर्नेछ । प्रदेश र स्थानीय तहलाई पूर्वाधारका आयोजना कार्यान्वयन गर्न समपूरक अनुदान क्रमशः छ अर्ब र सात अर्ब विनियोजन गरिएको छ । विशेष अनुदान प्रदेशको लागि चार अर्ब र स्थानीय तहको लागि आठ अर्ब विनियोजन गरिएको छ ।सशर्त, समपूरक र विशेष अनुदान कार्यसम्पादनका आधारमा हस्तान्तरण गरिने भएको छ ।

त्यस्तै, प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँटबाट एक खर्ब ५९ अर्ब हस्तान्तरण हुनेछ । राजस्व बाँडफाँट र अनुदान गरी प्रदेश र स्थानीय तहमा आगामी आव पाँच खर्ब ६७ अर्ब बराबरको बजेट पुग्नेछ । अर्थमन्त्री पुनले प्रस्तुत गर्नुभएको बजेटमा शिक्षा क्षेत्रले विशेष प्राथमिकता पाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई दुई खर्ब तीन अर्ब ६६ करोड बराबर बजेट पाएको छ । शान्ति सुरक्षालगायतको काम गर्ने गृह मन्त्रालयले एक खर्ब ९९ अर्ब २४ करोड बराबरको बजेट पाएको छ ।

यसै गरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक खर्ब ५० अर्ब ५३ करोड बराबरको बजेट प्राप्त गरेको छ । सहरी विकास मन्त्रालयले ९२ अर्ब ६३ करोड बराबरको बजेट पाउँदा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ५७ अर्ब २९ करोड बराबरको बजेट प्राप्त गरेको छ । ऊर्जा क्षेत्र विकासका लागि ५० अर्ब ७४ करोड बजेट प्राप्त गर्दा जलस्रोत तथा सिँचाइतर्फ ३६ अर्ब ८१ करोड विनियोजन भएको छ । सरकारले बूढीगण्डकी, नलगाड, दूधकोशी जस्ता ठूला आयोजनाको निर्माण सुरु गर्ने स्पष्ट शब्दमा घोषणा गरेको छ । लामो समयदेखि चर्चामा रहेका यी आयोजनाको निर्माणपछि मुलुकको भौतिक विकासको क्षेत्रले नयाँ फड्को मार्नेछ ।

मुलुकको वास्तविक अवस्था विश्लेषण गरेर सुधारको बाटो समात्ने गरी बजेट ल्याएको अर्थमन्त्रीको भनाइले पनि वास्तविकतालाई थप आत्मसात् गरिएको प्रष्ट हुन जान्छ । उहाँले आज आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “आगामी आवको बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास गरेको छ । हाम्रो भौगोलिक अवस्थिति सुहाउँदो अर्थतन्त्र निर्माणका लागि कोसिस गर्नेछ ।” आगामी आवको बजेटले आर्थिक सुधार सुझाव कार्यदल गठन गर्ने उल्लेख गरेको छ । नागरिकलाई केन्द्रमा राखेर बजेट ल्याएको उल्लेख गर्दै मन्त्री पुनले निजी क्षेत्र, प्रमुख प्रतिपक्षले समेत आशा जगाउने बजेट आएको भनेर प्रतिक्रिया दिएको बताउनुभयो । बजेटमा करका दर परिवर्तनका गर्दा पनि आवश्यकता र औचित्यका आधारमा गरिएको छ । कुनै पनि व्यक्तिगत आग्रह, पूर्वाग्रह, भावनामा बगेर काम गर्दैनौँ भन्ने प्रतिबद्धताका साथ करका दरमा हेरफेर भएको मन्त्री पुनको भनाइ छ ।

बजेटका प्राथमिकता र उद्देश्य धेरैतर्फ छर्नेभन्दा पनि कृषि, ऊर्जा, सूचना प्रविधिलगायत क्षेत्रलाई प्राथमिकतामा राखेर आन्तरिक उत्पादन बढाउने नीति बजेटले अवलम्बन गरेको छ । सरकारले आगामी आवको बजेटमार्फत आगामी १० वर्षमा ३० खर्बको निर्यात लक्ष्य हासिल गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ । यस्तै, स्वदेशी उद्योग तथा उत्पादनलाई संरक्षण गर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकता दिने स्पष्ट उद्देश्य राखिएको छ । तयारी र कच्चा पदार्थमा दुई तहको भन्सार लगाउने एवम् हरित करको नितान्त नयाँ विषय पनि समावेश गरिएको छ । यसले बजेट थप वैज्ञानिक र वस्तुनिष्ठ रहेको पुष्टि हुन्छ ।

मङ्गलादेवी सिंह फाउन्डेसनद्वारा पद्मकन्या क्याम्पसमा अक्षयकोष स्थापना

काठमाडौँ, १६ जेठ । मङ्गलादेवी सिंह फाउन्डेसनद्वारा पद्मकन्या बहुमुखी क्याम्पस बागबजारमा पाँच लाखको अक्षयकोष स्थापना गरिएको छ ।फाउन्डेसनले आज पद्मकन्या बहुमुखी क्याम्पसमा स्नातक र स्नातकोत्तर तहमा राजनीतिक शास्त्र सङ्कायमा अध्ययन गरेर उत्कृष्ट हुने दुई छात्रालाई पुरस्कार प्रदान गर्नका लागि उक्त अक्षयकोष स्थापना गरेको हो । अक्षयकोष स्थापना गर्नेसम्बन्धी सम्झौतापत्रमा आज पद्मकन्या बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दयालक्ष्मी प्रधानको उपस्थितिमा फाउन्डेसनका अध्यक्ष सिर्जना सिंह र क्याम्पसकी राजनीतिकशास्त्र विभाग प्रमुख सविता मल्लिकले हस्ताक्षर गरे ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रतिमा गौतमले पछिल्लो समय राजनीतिकशास्त्रमा अध्ययन गर्ने विद्यार्थी कमी हुँदै गएको बताए । “राजनीतिकशास्त्र राजनीति गर्नेका लागि मात्र होइन सबैले पढ्नुपर्छ,” उनले भने ।

ब्याजबाट प्रत्येक वर्ष दुई छात्रालाई जनही १० हजार नगद, सम्मान र प्रमाणपत्र प्रदान गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको जानकारी दिए । सोही क्याम्पसकी विद्यार्थी एवम् नेपाली कांग्रेस महासमिति सदस्य सिर्जना मल्लले उक्त अक्षयकोषले विद्यार्थीलाई पढाइप्रति हौसला प्रदान गर्ने बताए । राजनीतिकशास्त्र अध्ययन गर्ने विद्यार्थी घट्दै गएको अवस्थामा यस्ता कार्यले विद्यार्थीलाई आकर्षित गर्ने उनको भनाइ छ ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनी, नेपाल महिला सङ्घका अध्यक्ष उषा राउत मिश्र, पद्मकन्या बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति विनिता अधिकारीलगायतको सहभागिता रहेको थियो । रासस

बङ्गलादेशमा रोहिङ्ग्या शरणार्थीका लागि ७० करोड अमेरिकी डलर सहयोग स्वीकृत

ढाका, १६ जेठ । बङ्गलादेशमा रहेका सहयोगी समुदाय र विस्थापित रोहिङ्ग्या जनसङ्ख्या दुवैका लागि आधारभूत सेवा प्रदान गर्न तथा विपद् तथा सामाजिक उत्थानशीलता निर्माण गर्न कुल ७० करोड अमेरिकी डलरको दुई परियोजना स्वीकृत गरिएको विश्व बैङ्कको कार्यकारी निर्देशकको समितिले जनाएको छ ।

सहयोगी समुदाय र विस्थापित रोहिङ्ग्या जनसङ्ख्याको सहयोगका लागि कूल ३५ करोड डलर र ३५ करोड डलर बराबरको अर्को परियोजना मङ्गलबार स्वीकृत भएको विश्व वैङ्कले मङ्गलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

म्यान्माबाट विस्थापित करिब १० लाख रोहिङ्ग्या अहिले बङ्गलादेशमा बसोबास गरिरहेको विज्ञप्तिमा उल्लेख छ । बङ्गलादेश र भुटानका लागि विश्व बैङ्कका निर्देशक अब्दुलाय सेकले भने, “करिब १० लाख रोहिंग्या समुदायलाई सहयोग गर्न बङ्गलादेश सरकारले देखाएको उदारताको हामी सराहना गर्दछौं । हामी सहयोगी समुदायमाथि परेको ठूलो दबाबलाई पनि स्वीकार गर्दछौं ।”

बङ्गलादेश र भुटानका लागि विश्व बैङ्कका निर्देशक सेकले भने, “रोहिङ्ग्या शरणार्थी सङ्कट सातौं वर्षमा प्रवेश गरेसँगै, दीर्घकालीन योजना र दिगो समाधानहरू महत्वपूर्ण भएका छन् र अल्पकालीन, अत्यावश्यक आवश्यकताहरूलाई पनि सम्बोधन आवश्यक छ । हामी यस जटिल सङ्कटलाई सम्बोधन गर्न र रोहिङ्ग्या र होस्ट समुदाय दुवैको कल्याणलाई समर्थन गर्न बङ्गलादेश सरकारलाई सहयोग गर्न पूर्ण रूपमा प्रतिबद्ध छौ ।”

सहयोगी समुदाय र विस्थापित रोहिङ्ग्या जनसङ्ख्याका लागि समावेशी सेवा र अवसर परियोजनाले रोहिङ्ग्या र होस्ट समुदायका कम्तिमा नौ लाख ८० हजार मानिसहरूका लागि जीविकोपार्जन र आवश्यक स्वास्थ्य, पोषण, परिवार नियोजन, लैङ्गिक हिंसा प्रतिक्रिया र रोकथाम सेवाहरूमा सक्रिय लगानीमा निर्माण गर्नेछ ।परियोजनाले १२ वर्षभन्दा कम उमेरका तीन लाख रोहिङ्ग्या बालबालिकाको शिक्षामा सहयोग पु¥याउने लक्ष्यका साथ मानव पूँजी विकासमा लगानीलाई प्राथमिकता दिनेछ ।

गणतन्त्रपछिका उपलब्धिबारे जनतालाई बुझाऔँ : अध्यक्ष दाहाल

काठमाडौँ, जेठ १६ गते । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्र स्थापनापछि भौतिक पूर्वाधार, सञ्चार तथा ‘डिजिटलाइजेसन’को क्षेत्रमा भएका विकास तथा मानव सूचकाङ्कमा आएका सुधारलाई उपलब्धिकारुपमा जनताका बिचमा लैजानुपर्ने बताउनुभएको छ ।

गणतन्त्र दिवस-२०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज अवलोकनपछि उहाँले गणतन्त्रपछिका उपलब्धिबारे ठीक ढङ्गले सूचना प्रवाह गरी जनतामा आशा पैदा गर्न सकिने बताउनुभयो । ठूलो बलिदानी र सङ्घर्षबाट प्राप्त गणतन्त्रको रक्षा र संरक्षण गर्नु सबैको दायित्व भएको भन्दै अध्यक्ष दाहालले गणतन्त्रपछि समग्र क्षेत्रमा देखिएका प्रारम्भिक उपलब्धिले सम्भावनाका प्रशस्तै ढोका खोल्ने विश्वास व्यक्त गर्नुभयो ।

राससको तस्बिर प्रदर्शनीको अवलोकनबाट जनतामा आशा जगाउने प्रशस्त आधार रहेको उहाँको भनाइ थियो । पूर्वाधारका कतिपय आयोजनाबारे आफू पनि अनभिज्ञ रहेको र प्रदर्शनी अवलोकनबाट आफूले देशमा भइरहेका धेरै विकास योजना सम्बन्धमा जानकारी प्राप्त गरेको बताउनुभयो । गणतन्त्र प्राप्तिका लागि भएका आन्दोलनका क्रममा मुलुकमा तीव्र आर्थिक तथा सामाजिक परिवर्तन गर्ने जनचाहना र भावनाअनुसार अहिल परिवर्तनको अनुभूति नपाएको स्वीकार्दै अध्यक्ष दाहालले गणतन्त्र आइसकेपछि समृद्धिका लागि कोरिएको बाटालाई गन्तव्यमा पुर्याइनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले भइरहेका विकासका गतिविधिबारे जनतालाई बुझाउन सक्नुपर्ने र यसको प्रतिफल छिट्टै प्राप्त हुनेमा विश्वस्त बनाउन सक्नुपर्छ”, अध्यक्ष दाहालले भन्नुभयो, “राज्यसत्ता सञ्चालनमा जुन वर्ग र समुदाय पुगेको छ, मधेसी तथा महिला राष्ट्रपति बन्नुभएको छ, प्रदेश र स्थानीयमा महिलाको प्रतिनिधित्व बढ्दै गइरहेको छ । अब यसलाई सही ढङ्गले जनताबिच लिएर जानुपर्छ ।” सत्तामा को पुग्यो र अग्ला भवन कति बने भन्ने आधारमा नभई जनताको जीवनमा परिवर्तन आयो कि आएन भन्ने कुरा महत्वपूर्ण पक्ष भएको भन्दै उहाँले समग्र मानवीय र सन्तुलित विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

“भौतिक पूर्वाधारको दृष्टिकोणबाट हेर्दा त्यो सही हुन सक्ला तर जनताको आयस्तर र जीवनस्तरमा परिवर्तन आउने मुख्य विषय हो । अहिले प्रतिव्यक्ति आय, मानवविकास सूचकाङ्कमा सुधार हुँदैछ । यसलाई थप परिस्कृत र सुदृढ बनाउँदै लैजानुपर्छ”, अध्यक्ष दाहालले भन्नुभयो । राष्ट्रियसभा अविछिन्न, समन्वयकारी र अभिभावकीय भूमिकामा रहेकाकाले राष्ट्रियसभालाई राज्यका तल्ला निकायसँग जोड्नका लागि ‘प्रदेश सरोकार’ कार्यक्रम अघि बढाइएको उहाँले जानकारी दिनुभयो । “राष्ट्रियसभा कहिल्यै अन्त्य हुँदैन, जसले सधैँ जनताका समस्या र राज्यलाई अप्ठ्यारो परेका बेला समस्या हल गर्ने क्षमता राख्छ, यसबारे जनताले थाहा नपाएकाले भूमिकाका सम्बन्धमा टीकाटिप्पणी हुन सक्छ”, उहाँले भन्नुभयो,“तुलनात्मकरुपमा राष्ट्रियसभामा जिम्मेवारपूर्ण ढङ्गबाट विषयवस्तु उठ्ने गरेका छन् । थप भूमिका बढाउने र सकारात्मक सन्देश प्रवाह गर्नेतर्फ सभा प्रयत्नरत रहेको छ ।”

अध्यक्ष दाहालले रासस सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्ने संस्थाका रुपमा रहेको र यसका समाचार पढ्दा, सुन्दा र ग्रहण गर्दा खास द्विविधा नहुने धारणा राख्नुभयो । “सही, सत्यतथ्य सूचनाका लागि रासस भरपर्दो माध्यमका रुपमा रहेको छ, त्यसैले राससका समाचार पढेपछि आस्वस्त भइन्छ । भविश्यमा पनि सबै खालका विषयवस्तुलाई राससले समेट्छ भन्नेमा म विश्वस्त छु । राष्ट्रियसभाका गतिविधि र सम्पादन भएका महत्वपूर्ण कामलाई पनि प्राथमिकताका साथ सम्प्रेषण गर्नुहुने छ भन्ने अपेक्षा छ”, अध्यक्ष दाहालले भन्नुभयो ।

एमालेलाई राष्ट्रिय शक्ति बनाउन महिलाहरु अग्रमोर्चामा छन्ः अध्यक्ष ओली

काठमाडौँ, जेठ १६-नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देवासुर सङ्ग्राममा देवीहरु मैदानमा उत्रिएजस्तै पार्टी बचाउन महिलाहरु अग्रमोर्चामा खटिने गरेको बताउनुभएको छ ।आजदेखि यहाँ सुरु भएको एमालेको दुई दिने राष्ट्रिय महिला भेलाको उद्घाटनसत्रमा पूर्वप्रधानमन्त्री ओलीले एमालेलाई ध्वस्त बनाउन खोजिएका बेलामा समेत महिला र युवाले पार्टीको झण्डा बोकेर अग्रमोर्चामा उत्रने गरेको बताउनुभएको हो ।

“तपाईंहरुको सक्रियता, वैचारिक स्पष्टता र दृढ अडानलाई म सलाम भन्न चाहान्छु । तपाईंहरुको यो यात्रा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति नबन्दासम्म निरन्तरता दिनुहोला । त्यसपछि एमालेलाई कसैले हल्लाउन सक्दैन र हामी नेपालको राष्ट्रिय स्वाभिमानको झण्डालाई माथि उठाएर समाजमा सुशासन दिँदै विकासलाई गति दिन सक्षम हुनेछौँ ”, उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले सानासाना सहकारीको प्रवद्र्धन र उद्यमशीलताको विकास गर्दै समृद्धिमा अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले हरेक महिलाले केही न केही नयाँ उत्पादन गरेमा नेपालीहरु स्वावलम्बी बन्न सक्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “लगानी धेरै नगरी पनि उद्यमशीलता बढाउन सकिन्छ । महिला आन्दोलनको एउटा अभिष्ट यो पनि हो । हामी समृद्ध नेपाल, सुखी नेपालको गन्तव्यमा जानुछ, त्यसका लागि तपाईंहरुले आफ्नो ठाउँबाट योगदान दिन सक्नुपर्छ ।” उहाँले राज्यका निकायमा ३३ प्रतिशत महिला सहभागिता भएकै कारण खुसी मान्न नसकिने बताउँदै सामाजिक न्याय र समानताका लागि थप उपलब्धि हासिल गर्न एमाले स्पष्टरुपमा अगाडि बढ्ने उद्घोष गर्नुभयो ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन गरिएको भेलामा पार्टीका २३ वटै जनसङ्गठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधि गरी करिब पाँच हजार सहभागी छन् ।

गर्मीले कक्षामा बस्नै गाह्रो,विद्यार्थी नियमित विद्यालय आउन छाडे

कैलाली । कैलालीमा अत्यधिक गर्मी बढेपछि पठनपाठन प्रभावित भएको छ । दिउँसो विद्यालयमा पढाइ गर्न विद्यार्थीलाई कठिनाइ भएको छ । कैलालीको तापक्रम ४० डिग्री सेल्यिसयभन्दा माथि पुगेपछि पठनपाठन प्रभावित बनेको हो ।

वीरेन्द्र विद्या मन्दिरमा कक्षा ९ मा अध्ययनरत जगत तिरुवा मध्याह्नतिर गर्मीका कारण गाह्रो हुने गरेको बताउनुहुन्छ । “गर्मीले पढ्नै सकिँदैन”, उहाँले भन्नुभयो– “दिउँसो १२ बजेपछि कक्षाकोठामा तातो बाफ निस्कन्छ । बेञ्चमा बस्नै गाह्रो हुन्छ । डेक्स र बेञ्च पनि तातेका हुन्छन् ।”

दिउँसोको समयमा पटकपटक विजुली जाँदा विद्यार्थीलाई अझ बढी समस्या हुने गरेको छ । टीकापुरकै अर्को विद्यालयमा कक्षा ३ मा अध्ययनरत रिजिना विक दिउँसोको समयमा एकदमै गाह्रो हुने, छटपटी हुने र निद्रा लाग्ने गरेको बताउनुहुन्छ । “गर्मी बढेका बेला छटपटी हुन्छ, पानी पनि तातो हुन्छ”, उहाँले भन्नुभयो–“पढ्न मन लाग्दैन, कमजोर महसुस हुन्छ ।”

यस्तै कक्षा ५ मा अध्यननरत रजनी सुनारले विद्यालयमा सबै कक्षाकोठा टिनले छाएकाले पढ्न गाह्रो हुने गरेको बताउनुभयो । “टिनले छाएका कोठामा पढ्न दिउँसो गाह्रो हुन्छ”, उहाँले भन्नुभयो– “अधिकांश साथीहरु बीचमै पढाइ छाडेर घर हिँड्छन्, केही साथीहरु गर्मीमा विद्यालय नियमित आउँदैनन् ।”

विक्रम थारू खडक स्मृति माविमा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँको कक्षामा ९० विद्यार्थी अध्ययनरत छन् । “एउटै कक्षामा यतिधेरै विद्यार्थी बस्छौँ, भीडभाड हुँदा त्यसै गर्मी हुन्छ”, उहाँले भन्नुभयो । शिक्षकलाई पनि पढाउन गाह्रो हुने गरेको थारु बताउनुहुन्छ । कक्षा ८ का विद्यार्थी अशुं चौधरीको कक्षामा एक सय १३ विद्यार्थी छन् । एउटै बेञ्चमा सात सात जनासम्म कोच्चिएर बस्नुपर्छ । उहाँ भन्नुहुन्छ, “गर्मी सहन नसकेर केही साथीहरु नियमित विद्यालय आउँदैनन् ।”

कैलालीको टीकापुर नगरपालिकाभित्रका सबै विद्यालय दिउँसो सञ्चालनमा छन् । जेठको अत्यधिक गर्मीका बेला पनि यहाँ बिहानी कक्षा सञ्चालन गरिएको छैन । दिउँसो बालबालिकालाई गर्मीले सताउँछ । केही विद्यालयमा टिनका छाना छन् । अझ बिजुली गएका बेला बस्नै कठिन छ । प्रधानाध्यापकहरूको बैठकले सबै विद्यालय अनिवार्य दिउँसो चलाउने निर्णय गरेकाले यस वर्ष सबै विद्यालय दिउँसो सञ्चालन गरिएका हुन् ।

“यस्तो बेलामा बिहानी कक्षा सञ्चालन गर्नुपर्ने हुन्छ’, अभिभावक रमेश चौधरीले भन्नुभयो । अभिभावकले अत्यधिक गर्मी बढेकाले केही दिन विद्यालय बिदा दिनुपर्ने मागसमेत गरेका छन् । टिकापुर बाहेकका पालिकामा विद्यालयको अवस्थाअनुसार बिहान र दिउँसो पढाइ सञ्चालनमा छ ।

टीकापुरमा पनि विद्यालयले चाहेअनुसार पठनपाठन गर्न सक्ने टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थी बताउनुहुन्छ । “विद्यालयको अवस्थाअनुसार सञ्चालन गर्न सकिन्छ”,उहाँले भन्नुभयो ।

सगरमाथा दिवसमा प्रभातफेरी आयोजना

काठमाडौँ । आज ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । यस अवसरमा काठमाडौँमा प्रभातफेरी गरिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको ७१ वर्ष पुगेको अवसरमा उक्त दिवस मनाउने गरिएको छ । यस वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको नारा ‘विश्वको सर्वोच्च शिखर सगरमाथा, नेपालको पहिचान र गौरव’ रहेको छ ।

नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिख अर्थात् आजकै दिन पहिलोपटक सगरमाथामा पाइला राखेका थिए । शेर्पा र हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेको स्मरण गर्दै सगरमाथा आरोहणको ७१औँ वर्ष पुगेको अवसरमा नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को मुख्य आयोजनामा प्रभातफेरी गरिएको हो ।

प्रभातफेरीमा ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएसन टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), ठमेल पर्यटन विकास परिषद्लगायतका विभिन्न पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाका अध्यक्ष एवं सदस्यहरुको सहभागिता रहेको थियो । सगरमाथामा मानव पाइला पुगेसँगै नेपालमा पर्वतीय पर्यटनको सुखद् सुरुवात भएको थियो ।

अर्थमन्त्री वर्षमान पुनद्वारा मङ्गलबार सङ्घीय संसद्का दुवै सदनको बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा प्रत्येक वर्ष मे २९ लाई सगरमाथा अन्तर्राष्ट्रिय विशेष दिवसका रुपमा मनाइने र हिमाली पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने स्वदेशी तथा विदेशी व्यक्ति, सङ्घसंस्थालाई सम्मान गरिने उल्लेख छ ।

बेनीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा चार सय ५७ बिरामीको उपचार

बेनी । म्याग्दीको बेनी नगरपालिका-४ सिङ्गामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा चार सय ५७ बिरामीको उपचार गरिएको छ । दर्शन फाउण्डेसन र नेपाल रेडक्रस सोसाइटी सिङ्गा उपशाखाको आयोजना तथा बेनी अस्पताल र युनाइटेड रेफरेन्स ल्याबोरेटरी पोखराको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

शिविरमा दुई सयभन्दा बढी व्यक्तिको रगत एवं पिसाब परीक्षण गरिएको नेपाल रेडक्रस सोसाइटी सिङ्गा उपशाखाका सभापति सुमन बानियाँले जानकारी दिए । शिविरमा वडा नं ४ सिङ्गाका सबै गाउँबस्तीसँगै छिमेकी वडाका बिरामीको पनि उपचार गरिएको थियो । शिविरबाट नशा र हाडजोर्नीको समस्या भएका बिरामीले बढीजसो सेवा लिएका छन् ।

शिविरमा पेट, छाती, मुटु, मधुमेह तथा थाइराइड, स्त्री तथा प्रसूतिरोग, हाडजोर्नी, नशा तथा बाथ रोगसम्बन्धी विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिएको थियो । त्यसैगरी शिविरमा जनरल तथा ल्याप्रोस्कोपीक सेवा, बाथरोगलगायतको निःशुल्क औषधि वितरण गरिएको सभापति बानियाँले बताए ।

शिविरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.कृष्णराज अधिकारी, डा सरोजचन्द्र दाहाल, डा विराट शर्मा, डा राज गुरुङ, बेनी अस्पतालका डा अन्जु थापा, डा.रामु सापकोटासहित ३५ स्वास्थ्यकर्मीको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेको थियो ।

घरदैलोमा स्वास्थ्य शिविर आयोजना गरिएपछि आर्थिक अवस्था कमजोर भएका बिरामी बढिजसो लाभान्वित भएका बेनी नगरपालिकाका–४ का वडाध्यक्ष अणबहादुर खड्काले बताए ।