`

प्राकृतिक सम्पदामार्फत आत्मनिर्भरतातर्फ उन्मुख म्याग्दी, वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घट्दो

गलेश्वर । यहाँका प्राकृतिक स्रोतको प्रयोग र व्यवस्थापनमा रुचि बढ्दै जान थालेपछि म्याग्दीको आर्थिक तथा सामाजिक क्षेत्रमा सकारात्मक परिवर्तन देखिन थालेको छ ।जिल्लामा रहेका नदी, खोला, वन, पाखोजग्गा, हिमाल, बुकी, खर्क, भीर र खेतीयोग्य जमिनको प्रयोग गरी यहाँका स्थानीयले आयआर्जन गर्न थालेका छन् । कृषि, पर्यटन, जल, जैविक र सांस्कृतिक सम्पदाको प्रयोग गर्न थालेपछि जिल्लाका नागरिक आत्मनिर्भरतातर्फ अग्रसर हुन थालेका हुन् ।‘लाहुरेको जिल्ला’ भनेर परिचय बनाएको म्याग्दीका बासिन्दा विगत एक दशकयता जल, जमीन, जङ्गललगायत प्राकृतिक सम्पदाको पहिचान र सदुपयोगबाट प्रशस्त आयआर्जन गर्न थालेका स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

एक दशकअघि यो जिल्ला विप्रेषण र व्यापारबाट मात्र धानिएको थियो । अहिले पर्यटन, साना तथा घरेलु उद्योग, विद्युत्, कृषि तथा वनसम्पदा, जैविक विविधताले समृद्ध बन्दै गएको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । गाउँगाउँमा विस्तार भएको व्यावसायिक तरकारी तथा फलफूल खेती, पशुपालन, जडीबुटी, सहकारी संस्था र लघु तथा घरेलु उद्योगले स्थानीयको आयआर्जन र जीवनशैलीमा परिवर्तन आएको उहाँको भनाइ छ ।छ स्थानीय तहका ४५ वडा रहेको म्याग्दीका सबैजसो वडामा व्यावसायिक रूपमा आयआर्जनमूलक व्यवसाय सञ्चालन भएका छन् । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार पालिकामा व्यावसायिक तरकारी, फलफूल खेती र पशुपालन गर्ने कृषकको सङ्ख्या विगत पाँच वर्षयता २५ प्रतिशत वृद्धि भएको छ । तीमध्ये अधिकांश युवा छन् ।

सङ्घका अध्यक्ष श्रेष्ठका अनुसार ‘हाइड्रो हब’ को नाम पाएको हिमाली जिल्ला म्याग्दीका विभिन्न नदी तथा खोलामा १९ वटा जलविद्युत् आयोजना निर्माणाधीन छन् । प्रमुख नदी कालीगण्डकी, रघुगङ्गा, म्याग्दी र अन्य खोलाबाट १९ जलविद्युत् आयोजना निर्माणाधीन रहेका नेपाल विद्युत प्राधिकरणले जनाएको छ । निर्माणाधीन आयोजनाबाट छ सय ७० मेगावाट विद्युत् उत्पादनको लक्ष्य प्राधिकरणले राखेको छ ।

जिल्ल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाका अनुसार कालीगण्डकी, म्याग्दी र रघुगङ्गाका साथै सहायक नदीबाट विद्युत् उत्पादनमा १५ वटा जलविद्युत् आयोजनाले काम गरिरहेका छन् ।जिल्लाका कृषकले तरकारी र फलफूल खेतीबाट मात्रै वार्षिक रु ७० करोडभन्दा बढी आम्दानी गर्दै आएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । कृषकले सुन्तला बिक्रीबाट मात्रै वार्षिक रु २१ करोडभन्दा बढी आम्दानी गर्दै आएका छन् ।

पशुपालन यहाँका कृषकको आम्दानीको अर्को माध्यम बनेको भेटेरीनरी अस्पताल तथा पशु विकास केन्द्रका प्रमुुख डा भरत रेग्मीले बताउनुभयो । उहाँका अनुसार जिल्लामा पशुजन्य उत्पादनमा लागेका एक सयभन्दा बढी कृषकको वार्षिक आय प्रतिव्यक्ति रु २० लाखभन्दा बढी छ ।
जिल्लामा गाई, भैँसी, बाख्रा, भेडा, कुखुरा, बङ्गुर, खरायो र चौँरीपालन व्यावसायिक बन्दै गएको छ । दुई सयभन्दा बढी किसानले व्यावसायिक दूध उत्पादन गर्दै आएका केन्द्रका प्रमुुख डा रेग्मीले जानकारी दिनुभयो ।
वार्षिक रु ५० करोडभन्दा बढीको दूध तथा दुग्धजन्य पदार्थको बिक्री हुने गरेको भेटेरीनरी अस्पताल तथा पशु विकास केन्द्रले जनाएको छ । मासुका लागि व्यावसायिक रूपमा कुखुरा, बाख्रा, बङ्गुर पाल्ने कृषकले वार्षिक रूपमा रु पाँच लाख देखि २० लाखसम्म आम्दानी गर्ने गरेका केन्द्रका प्रमुुख रेग्मीले जानकारी दिनुभयो ।
जडीबुटी र पर्यटन पनि म्याग्देली जनताका लागि आयआर्जनको बलियो माध्यम बनेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्रेष्ठको भनाइ छ । उहाँका अनुसार सङ्घको पहलमा जिल्लामा विस्तार गरिएको टिमुर खेती, मौरीपालन र खरायोपालन पनि कृषकको आम्दानी स्रोत माध्यम बनेको छ ।
खेर गएको जमिन सदुपयोग गरी विस्तार गरिएको टिमुर खेतीबाट तीन वटा पालिकाका दुई सयभन्दा बढी व्यक्तिले आम्दानी गरिरहेका छन् । गत वर्ष टिमुर बेचेर जिल्लामा रु २० लाखभन्दा बढी भित्रिएको थियो ।
जिल्लाका उच्च पहाडी र हिमाली क्षेत्रमा यार्सागुम्बा, पाँचऔँले, सतुवा, जटामसी जस्ता जडीबुटी, भीरमह, शिलाजितलगायत प्रकृतिमा आश्रित स्रोतबाट स्थानीयले मनग्ये आम्दानी गरिरहेका जिल्लास्थित डिभिजन वन कार्यालयका सहायक वन अधिकृत तथा वन तथा वातावरणका जानकार चन्द्रमणि सापकोटाले बताउनुभयो ।
पर्यटन र जलविद्युत्तर्फ पछिल्लो समय यहाँका नागरिक आकर्षित भएका छन् । राउण्ड अन्नपूर्ण र राउण्ड धवलागिरि क्षेत्रमा समेटिएको म्याग्दीमा घोडेपानी, पुनहिल, अन्धगल्छी, रुप्से झरना, तातोपानीका कुण्ड, धवलागिरि, निलगिरि, गुर्जालगायत हिमश्रृङ्खला, १९ प्रजातिका लालीगुराँस फुल्ने जङ्गल, कालीगण्डकी, म्याग्दी र रघुगङ्गाजस्ता जलाधार क्षेत्र, धार्मिक र ऐतिहासिकस्थल प्रशस्त छन् ।यी क्षेत्रको भ्रमणका लागि वार्षिक ३० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका जिल्ला प्रहरी कार्यालय म्याग्दीको तथ्याङ्क छ । पदमार्ग, मोटरबाटो, ग्रामीण क्षेत्र र शहरका होटल, जल, पसल, यातायातलगायत क्षेत्रमा आवद्ध करीब १० हजारभन्दा बढी म्याग्देलीले पर्यटक र पर्यटन व्यवसायबाट लाभ लिएका छन् ।

जिल्लामा उपचार पर्यटन फस्टाउँदो क्रममा छ । यहाँका तातोपानी कुण्डहरूमा नुहाउने र छाला, बाथसम्बन्धी रोग निको पार्ने अभ्यास धेरै पहिलेदेखि हुँदै आएको छ । सिङ्गा तातोपानीमा बर्सेनि दशौँ हजार मानिस नुहाउन आउँछन् ।

उत्तरी म्याग्दीको भुरुङतातोपानीमा मुख्यतः अन्नपूर्ण राउण्ड पदयात्रामा आउने पर्यटकले आनन्द लिने गरेका छन् । यी दुवै तातोपानी कुण्डले जिल्लाको पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याएका छन् । जिल्लाको खोप्रालेकमा हरेक वर्ष साउन र वैशाखमा चौँरीको रगत पिउने मेला लाग्दछ । मेलामा दुई हजारदेखि पाँच हजारसम्म मानिस पुग्ने गरेका छन् ।

जिल्लामा सांस्कृतिक महत्वका केही बस्तीहरू ग्रामीण पर्यटकका लागि आकर्षक भएका छन् । यहाँका विभिन्न स्थानमा तामाखानी, शिशाखानी, स्लेट ढुङ्गा र खरी ढुङ्गा खानी छन् । तामा, शिशा, स्लेटजलगायत खनिजको उत्पादन गरी निकासी गर्न सके प्रशस्त आयआर्जन गर्न सकिन्छ । यहाँ सञ्चालनमा रहेका खानीसमेत सरकारले बन्द गरेका कारण नयाँ खानीको उत्खनन हुन नसकेको स्थानीय बताउँछन् ।
यहाँको हिमाली भेगका गुर्जा, मुदी, कुइनेमङ्गले, चिमखोला, नारच्याङलगायत ठाउँमा यार्सागुम्बाको सङ्कलन हुने गर्छ । पछिल्ला वर्षहरूमा यहाँबाट करोडौँ मूल्यको यार्सागुम्बा निर्यात हुने गरे
को छ । यार्सागुम्बाबाहेक सतुवा, पाँचऔँले, नीरमसी, कटुकी, सिलटिमुर, टिम्मुर, बोझो, हर्रो–बर्रो–अमलालगायत जडीबुटी, लोक्ता, अल्लोपुवा, लालीगुराँसको जुस, चिमखोले डोकोलगायत वनपैदावार जिल्लामा उत्पादन तथा सङ्कलन भई निकासी हुने गरेका छन् ।

जिल्लाका करिब २० हजार महिला/पुरुष र वैदेशिक रोजगारीबाट फर्केकाहरू व्यावसायिक आयआर्जनमा लागेका तथा व्यापार व्यवसायतर्फ करिब आठ हजार संलग्न रहेका छन् । विसं २०७८ को जनगणना अनुसार जिल्लाको कूल जनसङ्ख्याको सात प्रतिशत म्याग्देली बसाइँसराइ गरी बाहिर जाने गरेका छन् ।

सहकारीले उद्योगका लागि कच्चा पदार्थ उत्पादन गर्नुपर्छः मुख्यमन्त्री कार्की

काठमाडौं, १९ जेठ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहकारीले उद्योगहरूलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्नुपर्ने बताएका छन् ।राष्ट्रसेवक बचत तथा ऋण सहकारी लिमिटेड संस्थाद्वारा आयोजित सहकारी संस्थाहरूको सुसञ्चालनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा उनले मझौला तथा उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादनमा जोड दिनुपर्ने आवश्यकता औँल्याएका हुन् । उनले यसबाट कच्चा पदार्थमार्फत बाहिरिने विदेशी मुद्रा सञ्चिति पनि बचत हुने बताए ।

‘गरिबी उत्थान र कृषि उत्पादनमा सरकारीको मुख्य जोड हुनुपर्छ,’– मुख्यमन्त्री कार्कीले भने ।प्रदेशमा सञ्चालित सहकारी संस्थाले जनताको आर्थिक समृद्धि कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिँदै उनले सरकारी संस्थामा कुनै समस्या आउन नदिनका लागि आवश्यक अनुगमनमा विशेष ध्यान दिनुपर्ने बताए ।

उनले सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा सहकारीलाई प्राथमिकतामा राख्ने जानकारी दिए । अन्तरक्रियामा सहकारी अभियन्ता तथा स्थानीय तहका सहकारी शाखा हेर्ने कर्मचारीहरूको सहभागिता रहेको थियो ।

बेलायतसँग हुने सातौँ चरणको वार्ता परिणाममुखी बनाउन संयुक्त सङ्घर्ष समितिको माग

काठमाडौँ । ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिले नेपाल सरकारसँग भूपू गोर्खा सैनिकको समान पेन्सनलगायतका विषयमा हुने सातौँ चरणको वार्तालाई परिणाममुखी तुल्याउन माग गरेको छ ।

शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सत्याग्रह संयुक्त सङ्घर्ष समिति नेपालका संयोजक भीमबहादुर तावा लिम्बूले आगामी वार्तामा माग सम्बोधन नभएमा सडक आन्दोलन र न्यायालयको ढोका ढकढक्याउन बाध्य हुने चेतावनी दिए ।

समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले विगतका छवटा वार्तामा कुनमा के भयो र अब कसरी सकारात्मक नतिजा हासिल गर्न सकिन्छ भन्नेमा सरकारबाट आवश्यक वातावरण र पर्याप्त पूर्वतयारीको खाँचो औँल्याए ।

ब्रिटिश भूपू गोर्खा सैनिकका मागलाई सम्बोधन गर्न बेलायत सरकारसँग आवश्यक परामर्श गर्न प्रतिनिधिसभा मातहतको संसदीय समितिले सरकारलाई यसअघि दुईपटक निर्देश गरिसकेको छ । राईले बेलायतको उपनिवेशिक मानसिकता र नेपाल सरकारको आवश्यक पहलको अभावमा आफूहरूका माग सम्बोधन गर्न ढिलाइ भएको बताए ।

समितिले समानताका लागि बेलायती सेनासरह नै समान पेन्सन र जुनसुकै उमेर समूहका भए पनि भूपू सैनिकका छोराछोरी बिनासर्त बेलायत जान पाउनुपर्ने माग गर्दै आएको छ । बेलायत नेपालको पुरानो घनिष्ट सम्बन्ध रहेको मुलुक हो । नेपालको विकासमा ठूलो सहयोग प्रदान गर्ने राष्ट्रको सूचीमा बेलायती अगाडि छ ।

नेपाल र बेलायतबीच ब्रिटिश गोर्खा भूपू सैनिकका विषयमा आगामी जुन ११ मा सातौँ चरणको वार्ता हुने जानकारी दिइएको छ । समिति सचिव ओम किराँत सुनुवारले भूपू ब्रिटिश गोर्खा सैनिकसम्बन्धी सवाल नेपालको राष्ट्रिय मुद्दा भएकाले उपयुक्त वातावरण बनाएर वार्तालाई सफल तुल्याउन आग्रह गरे ।

भूपू ब्रिटिश गोर्खाका कानुनी सल्लाहकार अधिवक्ता भोजमान लामघारेले ब्रिटिश गोर्खालाई बेलायतले पेन्सनमा गरेको विभेद समानता र अन्तर्राष्ट्रिय सन्धि–सम्झौताविपरीत रहेको बताए । उनले सातौँ चरणको वार्ताले परिणाम नदिएमा समिति सडक सङ्घर्ष र कानुनी उपचारका लागि न्यायालय जान बाध्य हुने बताए ।

बेलायती सेनामा करिब चार हजार नेपाली युवा कार्यरत रहेका र अवकाश प्राप्त गोर्खाको सङ्ख्या करिब १८ हजार रहेको समितिले जनाएको छ ।

तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छः उपसभापति वाग्ले

दमौली, जेठ १९-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं तनहुँ–१ का सांसद डा स्वर्णिम वाग्लेले तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । तनहुँ जिल्ला भलिबल सङ्घले आयोजना गरेको अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता समापन कार्यक्रममा आज उहाँले नेपालकै मध्यभागमा अवस्थित तनहुँमा खेलकुदको पर्याप्त सम्भावना रहेकाले त्यसलाई सम्बोधन योजनाबद्ध ढङ्गले लाग्नुपर्ने बताउनुभयो ।

डा वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा खेलकुदतर्फ केही बजेट वृद्धि भएको बताउनुभयो । उहाँले भन्नुभयो, “खेलकुदमा नेपालले धेरै प्रगति गरेको छ । अहिलेको बजेटमा पनि खेलकुदतर्फको रकम केही वृद्धि भएको छ”, उहाँले भन्नुभयो, “खेलकुदको विकासका लागि सरकारका तर्फबाट पहल हुनुपर्छ । यहाँ खेलकुद विकासका लागि के गर्न सकिन्छ त्यसबारेमा सम्बन्धित पक्षसँग पहल गर्नेछौँ ।ँ” नेपालमा खेलकुद कूटनीतिलाई अगाडि बढाउनुपर्ने अवस्थासमेत औँल्याउनुभयो । नेपालमा केही भएन भन्ने युवामाझ नैराश्यमात्रै रहेकाले त्यस्तो भाष्यलाई चिर्न अब कुराभन्दा काममा जोड दिनुपर्ने उहाँको भनाइ थियो ।

आज घिरिङ गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाबीच भएको फाइनल खेल हुरी र पानीले स्थगित भएको छ । दुवै टिमले एक–एक सेट जितेपछि तेस्रो सेट खेल्दै गर्दा खेल स्थगित भएको हो ।

भिमाद नगरपालिकालाई हराउँदै शुक्लागण्डकी नगरपालिका फाइनलमा पुगेको थियो । शुक्लागण्डकीले भिमादलाई सोझो सेटमा पराजित गरेको थियो । त्यस्तै ऋषिङ गाउँपालिकालाई हराउँदै घिरिङले फाइनलयात्रा तय गरेको थियो । घिरिङले पनि ऋषिङलाई सोझो सेटमा हराएको हो । तेस्रो स्थानका लागि भिमाद र ऋषिङबीच खेल भएकामा भिमाद तेस्रो भएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद रु एक लाख एक हजार एक सय ११, द्वितीयलाई रु ५१ हजार एक सय र तेस्रो हुनेलाई रु २५ हजार एक सय ११ नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने सङ्घका महाससचिव अशोक गिरीले जानकारी दिनुभयो ।

प्रतियोगितामा जिल्लाका आँबुखैरेनी गाउँपालिकाबाहेक नौवटा पालिकाको सहभागिता रहेको थियो । प्रतियोगितामा व्यास, भानु, शुक्लागण्डकी र भिमाद नगरपालिका तथा ऋषिङ, घिरिङ, म्याग्दे, बन्दीपुर र देवघाट गाउँपालिकाको सहभागिता जनाएका छन् ।

बजेट इमानदारीपूर्वक कार्यान्वयन गर्ने मन्त्री भण्डारीको प्रतिबद्धता

काभ्रेपलाञ्चोक । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट इमानदारीपूर्वक कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घको आज बनेपामा आयोजित ४२औँ साधारण सभामा उहाँले आगामी आवका निम्ति निर्धारित नीति, कार्यक्रम तथा बजेटको प्रभावकारी कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्दै आर्थिक गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिँदै मन्त्री भण्डारीले आफ्नै गाउँठाउँमा साना तथा मझौला उद्योग स्थापनाका सम्भावना खोज्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो वरपरका विकासका ‘सम्भावनाका ढोका’ खोल्न सरकार प्रतिबद्ध छ, नीति, कार्यक्रम तथा बजेटमार्फत व्यवसायीका अधिकांश माग सम्बोधन भएका छन् ।” विगतका नीति तथा कार्यक्रमबीच तालमेल नमिल्दा धेरै योजना ओझेलमा परेको उहाँले बताउनुभयो ।

आन्तरिक, बाह्य तथा राजनीतिक कारणले देशको आर्थिक अवस्था केही सङ्कुचित भएको तर्क गर्दै मन्त्री भण्डारीले रोजगारी सृजनालाई नै केन्द्रमा राखेर काम गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो ।

त्यस अवसरमा वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले व्यवसायलाई गतिशील बनाउन सरकार र उद्यमी–व्यवसायीबीच सहकार्य हुनुपर्छ भन्नुभयो ।वाग्मती प्रदेशसभा सदस्य कञ्चनचन्द्र वादे, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य द्वय सुरकृष्ण वैद्य र हेमराज ढकाल, सङ्घको वाग्मती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठलगायत व्यावसायिक प्रतिष्ठानका प्रतिनिधिले अधिवेशन सफलताको कामना गर्नुभएको थियो ।

चीनमा खाद्य सुरक्षा कानुन लागु

बेइजिङ (चीन) । अन्न उत्पादन र आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले चीनको खाद्य सुरक्षा कानुन आजदेखि लागु हुने भएको छ ।डिसेम्बर २०२३ मा शीर्ष व्यवस्थापिकाले पारित गरेको कानुनमा उत्पादन र भण्डारदेखि परिसंचरण–प्रशोधनलगायत आपूर्तिको सम्पूर्ण प्रक्रियालाई समेट्ने प्रावधानका ११ अध्याय समावेश छन् ।

अन्न प्रशोधनको सन्दर्भमा, कानुनले उद्योग विकासलाई प्रोत्साहन र मार्गदर्शन गरी अन्न प्रशोधन उत्पादनको आपूर्ति र सुरक्षा सुनिश्चित गर्ने प्रयास प्रस्ताव गरेको छ । जसमा अन्न प्रशोधन अपरेटरले सान्दर्भिक औद्योगिक मापदण्ड पालना गर्न पर्ने व्यवस्था छ । उनीहरूको उत्पादनको गुणस्तर र सुरक्षाको लागि जबाफदेही हुनुपर्ने कानुनले निर्दिष्ट गर्दछ ।

चीनले खाद्य सुरक्षालाई महत्त्व दिई १.४ अरब मानिसलाई विश्वको खेतीयोग्य भूमिको नौ प्रतिशत प्रदान गरेको छ । नव निर्मित कानुनमा कृषियोग्य भूमिको संरक्षणका प्रावधानसमेत समावेश छन् ।

बजेटमा व्यापक छलफल गर्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटमा केही कमीकमजोरी भए पनि त्यसमा व्यापक छलफल गरेर पारित गर्नुपर्ने बताउनुभएको छ ।नयाँ बानेश्वरस्थित संसद् भवनमा आज भएको नेकपा (एमाले)संसदीय दलको बैठकमा उहाँले बजेटमा सघन छलफल गरेर त्यसलाई पारित गर्नुपर्छ भन्नुभयो । “बजेटलाई हामी पूर्णरूपेण समर्थन गर्दै त्यसलाई पारित गर्नेछौँ । यसको अर्थ बजेटका कमीकमजोरी नऔँल्याउने भन्ने होइन,” उहाँको भनाइ उद्धृत गर्दै दलका एक जना सदस्यले भन्नुभयो ।

अध्यक्ष ओलीले आफ्नो क्षेत्रका आयोजनाका निम्ति विनियोजित रकम तथा प्रस्तावित आयोजना बजेटमा समावेश भएन भएको निर्क्योल गर्न आफ्नो दलका सांसदहरूलाई सुझाव दिनुभयो । उहाँले सरकारमा सहभागी दलसँग परामर्श गरेर सदनमा बजेट पेस भएको बताउनुभयो ।बैठकमा पार्टी उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटका सबल र दुर्बल पक्षको समीक्षा गर्नुभएको थियो ।

रक्षामन्त्री उप्रेतीद्वारा काजी कालु पाँडेको शालिकमा पुष्पहार अर्पण

काठमाडौँ, जेठ १९ गते । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाल एकीकरणका काजी कालु पाँडेको समाधिस्थलमा पुष्पहार अर्पण गर्नुभएको छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा कीर्तिपुरको पहिलो लडाइँमा वि.सं.१८१४ जेठ १९ गते पाण्डेले वीरगति प्राप्त गर्नुभएको थियो । उहाँको समाधि स्थल चन्द्रागिरि नगरपालिका-१ दहचोकमा रक्षामन्त्रीको प्रमुख आतिथ्यमा आज स्मृति दिवस मनाइएको हो ।

सो अवसरमा प्रतिनिधिसभा सदस्य कृष्ण गोपाल श्रेष्ठ, नेपाली सेनाका बहालवाला तथा अवकास प्राप्त रथीबृन्द, स्थानीय जनप्रतिनिधिलगायत काजी कालु पाँडे काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानका पदाधिकारी तथा स्थानीय सहभागीता रहेको थियो । सरकारले काजी पाँडेको समाधीस्थल दहचोकमा वि.सं.२०७५ मा पूर्ण कदको सालिक निर्माण गरेको थियो । अघिल्लो वर्ष पाँडे स्मृति दिवसका अवसरमा सेनाले सोही स्थानमा निर्माण गरेको काजी वंशराज पाँडे सत्तलको प्रधान सेनापति प्रभुराम शर्माले समुद्घाटन गर्नुभएको थियो ।

भारतमा गर्मीका कारण ३१ को मृत्यु

नयाँदिल्ली। भारतमा अध्यधिक गर्मीले ३१ जनाको मृत्यु भएको छ ।पूर्वी राज्य उडिसामा संदिग्ध गर्मीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको अल इन्डिया रेडियो (एआइआर) ले शुक्रबार जनाएको छ ।

चिकित्सकहरूले बिहीबार रेकर्ड गरिएका मृत्युहरू चलिरहेको गर्मीको लहरसँग सम्बन्धित हुन सक्ने बताएका छन् ।राउरकेला सरकारी अस्पताल (आरजिएच) मा १० र सुन्दरगढ जिल्ला मुख्यालय अस्पतालमा चार जनाको मृत्यु भएको थियो ।“आरजिएच पुग्दासम्म आठ जनाको मृत्यु भइसकेको थियो, बाँकीको त्यहाँ उपचारका क्रममा मृत्यु भयो । आरजिएचका अधिकारीहरूले शव परीक्षणपछि मृत्युको वास्तविक कारण आज पत्ता लगाउने छन्,” एआइआरले भनेको छ ।

उडिसाले तीव्र गर्मीको लहर अनुभव गरिरहेको छ । राज्यका प्रमुख भागहरूमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।झारसुगुडा राज्यको सबैभन्दा तातो ठाउँ थियो । बिहीबार त्यहाँ अधिकतम तापक्रम ४७ डिग्री सेल्सियस रहेको प्रतिवेदनले देखाएको छ ।धिकारीहरूले सर्वसाधारणलाई गर्मीसम्बन्धी रोगहरूको उपचारका लागि अस्पतालहरूमा भर्ना गरिएको बताएका छन् ।

भारतको मौसम विभागले सर्वसाधारणलाई गर्मीको जोखिमबाट बच्न, चिसो ठाउँमा बस्न र पर्याप्त पानी पिएर हाइड्रेटेड रहन सुझाव दिएको सिन्ह्वाले जनाएको छ ।
त्यसैगरी बिहारको औरङ्गाबाद जिल्लाको एक अस्पतालमा गर्मीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

यसअघि १२ जना पुगेको बिहारको औरङ्गाबादमा तातो लहरका कारण मृत्यु हुनेको सङ्ख्या शुक्रबारसम्म १७ जना पुगेको छ ।“अस्पतालमा भर्ना भएका पाँच जनाको मृत्यु भएको छ, शव परीक्षणको रिपोर्ट आएपछि यकिन थाहा हुनेछ”, औरङ्गाबादका जिल्ला मजिस्ट्रेट श्रीकान्त शास्त्रीले गर्मीका कारण ज्यान गुमाउनेको घटनाबारे जानकारी दिँदै भन्नुभयो, “हामीले तातो स्ट्रोकका बिरामीको व्यवस्था गरेका छौँ । बिरामीलाई राम्रो व्यवस्था मिलाउन अस्पताल व्यवस्थापन लागिरहेको छ । हामी निःशुल्क ओआरएस (जीवनजल) वितरण गर्दैछौँ ।”

राज्यका अन्य जिल्लाजस्तै औरङ्गाबाद सहर पनि रेकर्ड तोड तापक्रमका साथ अभूतपूर्व गर्मीको लहरसँग लडिरहेको छ ।उत्तरपश्चिम र मध्य भारतका केही भागमा चरम तापक्रम जारी रहँदा गर्मीको लहरले मानिसहरूको दैनिक जीवनमा बाधा पु¥याइरहेको छ ।

बिहारमा २४ जनाले ज्यान गुमाएका छन् । राज्यले तीव्र गर्मीको लहरको अवस्था अनुभव गरेको छ । त्यहाँ तापक्रम ४४ डिग्री सेल्सियसभन्दा बढी छ ।बिहीबार पनि कैमुर जिल्लामा चुनावी काममा खटिएका एक कर्मचारीसहित चार जनाको मृत्यु भएको बताइएको छ । बिहारको भोजपुर जिल्लाको आराहमा पनि अत्यधिक गर्मीका कारण तीन जनाको मृत्यु भएको एएनआईले उल्लेख गरेको छ ।

राज्य सरकारले सबै निजी र सरकारी विद्यालय, कोचिङ संस्थान र आँगनवाडी केन्द्रहरूलाई जुन ८ सम्म बन्द गर्न आदेश दिएको छ । गर्मीका कारण दर्जनौँ विद्यार्थी बेहोस भएपछि यस्तो निर्णय गरिएको हो ।
बिहारमा लोकसभा चुनावका सबै सात चरणमा मतदान भइरहेको छ । अन्तिम चरण शनिबार जुन १ मा तय गरिएको छ ।

गलकोटमा रोपाइँको चटारो

गलकोट– देशका विभिन्न भागका किसान खडेरीबाट किसान चिन्तित भए पनि यहाँका किसानलाई रोपाइँको चटारो छ । सिँचाइ सुविधाका कारण मध्यजेठमा यहाँका खेलमा रोपाइँ भइरहेको छ ।
जिल्लामा अधिक धान उब्जाउने स्थानमध्येको गलकोटका चमुवा फाँटसहित दुदिलाभाटी, आँगाखेत, नरेठाँटी र हरिचौरमा रोपाइँको चटारो छ ।

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार गलकोटपछि कुश्मीसेरा, बडिगाड, निसीखोला, बुर्तिबाङलगायत क्षेत्रमा जेठ अन्तिमदेखि रोपाइँ हुने गरेको छ । मकै लगाएका किसानले असार अन्तिम सातादेखि र साउनभरि रोपाइँ गर्छन् ।

जिल्लाको दक्षिण अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेगलगायत स्थानमा पनि सोहीसमयसम्म रोपाइँ हुने गरेको छ । बागलुङको छ हजार हेक्टर भूमिमा धानखेती हुँदै आएको छभने १० हेक्टरमा मात्र चैते धान हुने गरेको उक्त केन्द्रले जनाएको छ ।

जस्ताले लागेर एक सय सात वर्षीय वृद्धको मृत्यु

वीरगञ्ज (पर्सा), जेठ १८ गते । हुरीबताससहितको बिहीबारको वर्षाले एक सय सात वर्षीय वृद्धको ज्यान गएको छ । विन्ध्वासिनी गाउँपालिका–२ का गुबेरी साहको हुरीले ल्याएको छिमेकीको घरको जस्ताले लागेको ज्यान गएको हो । घरमा बसिरहनुभएका उहाँ धारिलो जस्ताले लाग्दा गम्भीर घाइते हुनुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक केशर न्यौपानले उपचारका लागि बाराको नौतनस्थित एलएस न्युरो अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको बताउनुभयो ।

हुरीका कारणले पर्साको बहुदरमाई गाउँपालिका–७ बहुवनमा रहेको एनसेलको टावर ढलेर एकजना घाइते भएका छन् । घाइते हुनेमा ६० वर्षीय जोगेन्द्र महतो छन् । उनको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भएर अहिले डिस्चार्ज भइसकेका छन् । सोही गाउँपालिकामा हुरीबतासका कारण चारवटा बाख्रा पनि मरेका छन् । हुरीबतासले पर्साको प्रहरी बिटका छानोसमेत उडाएको छ । जिल्लामा हुरीका कारणले भएको क्षतिको विवरण सङ्कलन जारी रहेको प्रहरीले जनाएको छ ।

हुरीले विद्युत् पोल ढाल्दा तनहुँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध

तनहुँ । हुरीले विद्युत् पोल ढाल्दा तनहुँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध भएको छ । बिहीबार साँझको हुरीबतासले विद्युत् पोल ढलेका हुन् ।हुरीले भएको क्षतिका बारेमा विवरण प्राप्त भइनसकेको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ । पोल ढलेर विद्युत् सेवा अवरुद्ध हुँदा कैयौँ स्थानका बासिन्दा प्रभावित भएका केन्द्र प्रमुख विजयराज रेग्मीले जानकारी दिए ।

व्यास नगरपालिका–१०, बैरेनी, व्यास–७, कलेस्ती, व्यास–१२, छिर्कन र व्यास–१३, पोखरीभञ्ज्याङलगायत स्थानमा विद्युत् सेवा अवरुद्ध भएको उनले बताए ।यसैगरी, व्यास–११, बेल्टारीमा चार विद्युत् पोल र रुख ढालेपछि विद्युत् सेवाका साथै सडक पनि अवरूद्ध भएको छ । “हुरीबतासले ठूला रुख समेत ढालेका कारण सडक अवरुद्ध भएको छ । राति १० बजेसम्म आठ–दशजनाको टोली खटिएर काम गरे पनि अवरोध हटाउन सकिएन,” उनले भने ।

तनहुँको खुदीखोलामा पक्की पुल बन्दै

दमौली (तनहुँ) । बन्दीपुर गाउँपालिका–२ भएर बग्ने खुदीखोलामा पक्की पुल निर्माण सुरु भएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको लगानीमा पुल निर्माण सुरु भएको हो ।विसं २०८२ भदौ ११ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी काम थालिएको २५ मिटर लामो पुल रु सात करोड ४६ लाख १० हजार पाँच सय २० को लागतमा बन्ने पूर्वाधार विकास कार्यालयका प्रमुख कृष्ण आचार्यले राससलाई जानकारी दिनुभयो ।

पुलको बिहीबार शिलान्यास गर्दै गण्डकी प्रदेशका पूर्वमन्त्री हरिबहादुर चुमानले निर्धारित समयभित्रै काम सम्पन्न गर्न आग्रह गर्नुभयो । गण्डकी प्रदेश सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताउँदै उहाँले निर्माणको निरन्तर अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो ।

बन्दीपुर गाउँपालिकाका वडाध्यक्ष तिलकबहादुर कुँवरले लामो समयदेखिको वडाबासीको पुल निर्माणको माग पूरा हुन लागेको बताउनुभयो ।

दाङमा अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु

दाङ, जेठ १८-दाङमा अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार मोटरसाइकल चालक बबई गाउँपालिका–४ निवासी ३० वर्षीय राजेश भण्डारी र मोटरसाइलकमा सवार सोही ठाउँका ३१ वर्षीय साकार केसीको मृत्यु भएको हो । उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो ।

दाङ तुलसीपुर–२ कुमलगडीस्थित कुमलगडीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा१ह ४०९६ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको रा७प २५० नम्बर मोटरसाइकल एकापसमा ठोक्किएका हुन् । उक्त दुर्घटनामा परी अटोचालक दाङ शान्तिनगर–७ खैरेनीका ४३ वर्षीय रुद्रबहादुर थापा गम्भीर घाइते भएका छन् । उनको नेपालगञ्जमा उपचार भइरहेको छ ।

काठमाडौँमा अपराह्न हल्का वर्षा हुने पूर्वानुमान

काठमाडौँ । हाल मुलुकमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार कोशी, मधेस र वाग्मती प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । कोशी प्रदेश एक–दुईस्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने विभागको पूर्वानुमान छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

यसैगरी, आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही देशका बाँकी भागमा मौसम सफा रहने छ । कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले आज बिहान ६ः०० बजे जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।

आगामी २४ घण्टामा कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्ज र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले ती भेगका सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । काठमाडौँ उपत्यकामा आज अपराह्न मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने विभागले बताएको छ । यहाँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने छ ।

गण्डकी योजना आयोग उपाध्यक्षमा देवकोटा दोस्रो पटक नियुक्त

गण्डकी, जेठ १८-गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा कृष्णचन्द्र देवकोटा नियुक्त हुनुभएको छ ।गोरखाको पालुङटार नगरपालिका–३ निवासी देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार उक्त पदमा नियुक्त गर्नुभएको हो । यसअघि पनि उहाँ आयोगको उपाध्यक्ष नियुक्त हुनुभएको थियो ।

दक्षिण कोरियाको क्योङपुक नेसनल युनिभर्सिटीबाट भूगर्भशास्त्रमा विद्यावारिधि गर्नुभएका देवकोटा हाल ‘ग्लोबल इन्स्टिच्युट फर इन्टर डिसिप्लिनरी स्डडिज’ (जिआइइएस)मा आवद्ध हुनुहुन्छ । उहाँलाई बिहीबार नै मुख्यमन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

बेलबारीमा बाल कला महोत्सव

बेलबारी– विद्यालयस्तरका बालबालिकाको प्रतिभा प्रस्फुट गर्ने उद्देश्यले बेलबारी प्रज्ञा प्रतिष्ठानको आयोजनमा बिहीबारदेखि बाल कला साहित्य महोत्सव जारी छ । दुईदिने महोत्सवमा कथा, कविता, गायन, वक्तृत्वकला, चित्रकला, नृत्यकलाका कार्यशाला हुनेछन् ।

बेलबारी बहुमुखी क्याम्पस परिसरमा जारी महोत्सवका निम्ति बेलबारी नगरपालिकाले चार लाख ८० हजार अनुदान दिएको हो ।

महोत्सवको उद्घाटन गर्दै बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले नगरको प्राज्ञिक उन्नयनका लागि क्रियाशील बेलबारी प्रज्ञा प्रतिष्ठानले बालबालिकाको सृजनशीलता विकासमा जोड दिँदै नगरपालिकासँग सहकार्य गरेकामा त्यसको सराहना गरे ।प्राध्यापक टंकप्रसाद न्यौपानेले प्रदेशस्तरीय प्रज्ञा प्रतिष्ठान नभए पनि केही पालिकामा प्रज्ञा प्रतिष्ठान स्थापना हुनु सुखद भएको बताउँदै भाषा, साहित्य कलाको संरक्षण एवं विकासका निम्ति काम गर्न सबै पालिकालाई सुझाव दिए ।

भारतमा बढ्दो तापक्रमले स्वास्थ्य सङ्कट निम्त्याउन सक्ने विज्ञहरूको चेतावनी

नयाँदिल्ली। भारतमा बढ्दो तापक्रमले देशका भीडभाडयुक्त सहरहरूमा स्थितिमा प्रतिकूल प्रभाव पारिरहेको छ । साथै चरम गर्मी द्रुतरूपमा सार्वजनिक स्वास्थ्य सङ्कटको विषय बनिरहेको विज्ञहरूले बिहीबार बताएका छन् ।भारतका धेरै सहरले ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रमका साथ अत्यधिक गर्मीको लहर झेलिरहेका छन् । तीन करोडभन्दा बढी जनसङ्ख्या भएको राजधानी नयाँदिल्लीमा बुधबार उच्च तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो । भारतीय सञ्चार माध्यमका अनुसार बिहीबार सहरका एक मजदुरको गर्मीका कारण मृत्यु भएको छ ।

“सहरीकरण र जलवायु परिवर्तनको प्रभावबाट सहरहरू बढी जोखिममा छन,”, अनुसन्धान संस्थान क्लाइमेट ट्रेन्ड्सकी निर्देशक आरती खोसलाले भन्नुभयो, “बढ्दो जनसङ्ख्याका कारण मौसमको ढाँचा परिवर्तन हुँदै जाँदा अत्यधिक गर्मी, खडेरी र कम वर्षाका दिनहरूको सामना गर्नुपरेको छ ।”

खोसलाले बढ्दो तापक्रम आजका दिनमा भारतको कल्याणका लागि सबैभन्दा ठूलो खतरा रहेको साथै दिल्ली र अन्य क्षेत्रको हालैको तापक्रम मानव अस्तित्वका लागि खतराको प्रमाण भएको बताउनुभयो ।

भारत गर्मीसँग अपरिचित छैन तर जलवायु परिवर्तनका कारण तापक्रम अत्यधिक, बारम्बार र अधिक तीव्र गतिले फेरबदल भइरहेको वर्षौंको वैज्ञानिक अनुसन्धानले देखाएको छ ।

नयाँदिल्लीको सेन्टर फर साइन्स एन्ड इन्भाइरोमेन्ट (सिएसई) ले यस महिना प्रकाशित गरेको एक अध्ययनअनुसार भारतीय सहरहरू २००१–२०१० को दशकमा जति चिसो थिए त्यति हाल रातमा पनि चिसो नभएको बताएको छ । “तातो रातहरू दिउँसोको चरम तापक्रम जत्तिकै खतरनाक हुन्छन् । यदि रातभरि तापक्रम उच्च रह्यो भने मानिसहरूले दिनको गर्मीबाट निको हुने सम्भावना थोरै हुन्छ र यसले शरीरमा लामो समयसम्म तनाव दिन्छ”, अध्ययनले बताएको छ ।

सन् २०१६ मा राजस्थानको थार मरुभूमिको किनारमा रहेको फलोदीमा तापक्रम ५१ डिग्री सेल्सियस पुगेको थियो । यो भारतमा अहिलेसम्मको सबैभन्दा उच्च पुष्टि गरिएको तापक्रम हो ।

अनुसन्धानकर्ताका अनुसार मानव–प्रेरित जलवायु परिवर्तनले भारतमा विनाशकारी गर्मीको प्रभाव निम्त्याइरहेको छ र यसलाई चेतावनीको रूपमा लिनुपर्छ ।

“कोइला, तेल र ग्यास जलाएर र वन विनाशले निम्त्याएको जलवायु परिवर्तनका कारण भारतले यस हप्ता कठिन मौसमी परिस्थितिको सामना गरिरहेको छ”, इम्पेरियल कलेज लन्डनका जलवायुविद् र वर्ल्ड वेदर एट्रिब्युसनका निर्देशक फ्रेडेरिक ओटोले भन्नुभयो ।

विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको भारत हरितगृह ग्यासहरूको तेस्रो ठूलो उत्सर्जक हो तर २०७० सम्ममा शून्य उत्सर्जन अर्थव्यवस्था हासिल गर्न प्रतिबद्ध रहेको छ । हाल यो विद्युत् उत्पादनका लागि कोइलामा अत्यधिक निर्भर छ ।

प्यालेस्टिनी राज्यलाई मान्यता दिने पक्षमा स्लोभेनियाको संसद्ले मतदान गर्ने

लुब्जाना। अन्य तीन युरोपेली मुलुकले प्यालेस्टिनी राज्यलाई मान्यता दिएको केही दिनपछि स्लोभेनियाका सांसदहरूले मङ्गलबार प्यालेस्टिनी राज्यलाई मान्यता दिने वा नदिने भन्ने विषयमा मतदान गर्ने सभामुखले बताउनुभएको छ ।सभामुख उर्स्का क्लाकोकर जुपान्सिकले लुब्जानामा एक पत्रकार सम्मेलनमा भन्नुभयो, “संसद् बैठक मङ्गलबार साँझ ४ बजेका लागि तय गरिएको छ ।”

सत्तारूढ गठबन्धनमा तीनवटा केन्द्र वामपन्थी दलहरूले गाजामा युद्धलाई चाँडोभन्दा चाँडो समाप्त गर्ने प्रयासअन्तर्गत प्यालेस्टिनी राज्यको मान्यतालाई समर्थन गर्छन् । ती दलहरूसँग संसद्को कूल ९० सिटमा ५१ सिट छ ।
स्पेन, आयरल्यान्ड र नर्वेले यसै साता प्यालेस्टिनी राज्यलाई मान्यता दिएका छन् । यसबाट राष्ट्रसङ्घका एक सय ९३ सदस्य मुलुकमध्ये प्यालेस्टिनी राज्यलाई मान्यता दिने मुलुकको सङ्ख्या एक सय ४५ पुगेको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् ।

यसअघि बिहीबार स्लोभेनियाको केन्द्र–वामपन्थी सरकारले प्यालेस्टिनी राज्यलाई मान्यता दिने आदेश संसदीय अनुमोदनका लागि पठाएको थियो । यसबाट जुनको मध्यसम्ममा समाप्त हुने प्रक्रियामा तीव्रता आएको छ ।

प्रधानमन्त्री रोबर्ट गोलोबले पत्रकारहरूसँग भन्नुभयो, “यो शान्तिको सन्देश हो, हामी विश्वास गर्छौं कि अहिले सम्पूर्ण विश्वले मध्यपूर्वमा शान्ति ल्याउने समाधानतर्फको प्रयासमा सहभागी हुने समय आएको छ, त्यो दुई–राज्यको समाधान हो ।”

उहाँको पत्रकार सम्मेलनमा राजधानीमा प्रधानमन्त्री कार्यालयअगाडि स्लोभेनियाली र युरोपेली सङ्घ (इयु) का झन्डाका साथ प्यालेस्टिनी झन्डा पनि फहराइएको थियो ।

आदेशका साथ स्लोभेनियाले सन् १९६७ को राष्ट्रसङ्घीय प्रस्ताव वा दुवै पक्षले गरेको भविष्यको शान्ति सम्झौताअनुसार निर्धारित क्षेत्रभित्र प्यालेस्टिनी राज्यलाई मान्यता दिनेछ ।

अप्रिलमा डेनभनिक दैनिकद्वारा प्रकाशित छ सय मानिसको सर्भेक्षणअनुसार करिब ६० प्रतिशत स्लोभेनियालीले प्यालेस्टिनी राज्यको मान्यतालाई समर्थन गर्दछन् भने २० प्रतिशतले यसको विरोध गर्दछन् ।

कन्जरभेटिभ विपक्षी स्लोभेनियाई डेमोक्रेटिक पार्टी (एसडिएस) ले मान्यताको विरोध गर्दै स्लोभेनियाले इयुका बहुमत मुलुकसँग रहनुपर्ने बताएको छ । उसले जसले अहिले निर्णय गरेको छ त्यो सही समय नभएको बताएको छ ।

एसडिएसका सांसद मिलन ज्वेरले बिहीबार डेलो अखबारलाई भन्नुभयो, “हामीलाई थाहा छ कि प्यालेस्टिनको नेतृत्व कसले गरिरहेको छ र यो स्पष्ट छ कि यो मान्यताका साथ रोबर्ट गोलोबको सरकारले इतिहासको गलत पक्षमा कदम चालेको छ ।”

म्याग्दी युवा कपको उपाधि बौदीकाली र धादिङ स्पोर्टस् क्लबलाई

म्याग्दी– बेनीमा बिहीबार सम्पन्न २ लाख पुरस्कार राशीको ‘प्रथम म्याग्दी युवा कप’ पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि नवलपुरको वौदीकाली गाउँपालिकाले जितेको छ । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगिताअन्तर्गत महिला भलिबलको उपाधि धादिङ स्पोर्टस् क्लबले जितेको छ । तेह्र समूह सहभागी पालिकास्तरीय पुरुष भलिबल प्रतियोगितामा बौदीकालीले बागलुङको गलकोट नगरपालिकालाई दुईका विरुद्ध तीनको सोझो सेटमा पराजित गरेको हो ।

पुरुषतर्फ बेनी नगरपालिका तेस्रो र रघुगङ्गा गाउँपालिकाले सान्त्वना पुरस्कार प्राप्त गरेको छभने महिलातर्फको फाइनलमा धादिङले म्याग्दीको मंगला गाउँपालिका–२ सहश्रधाराको मालिका स्पोर्टस् क्लबलाई सोझो तीन सेटमा पराजित गरेको थियो । बागलुङ नगरपालिका तेस्रो र म्याग्दी भलिबल सङ्घ सान्त्वना पुरस्कार पाएको छ । पुरुषतर्फ प्रथम, दृतीय, तृतीय हुने समूहले पदक र प्रमाणपत्रसहित क्रमशः नगद दुई लाख, एक लाख २० हजार र ५० हजार प्राप्त गरेका छन् ।

यसैगरी, छ समूह सहभागी महिलातर्फको खेलका विजेता, उपविजेता, तेस्रो हुने समूहले क्रमशः नगद ८० हजार, ६० हजार र २० हजार प्राप्त गरेका छन् । राष्ट्रिय युवा सङ्घका केन्द्रीय उपाध्यक्ष महाराज गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, जिल्ला अध्यक्ष बालकृष्ण सुवेदीले पुरस्कार प्रदान गरेका हुन् ।
चार दिनसम्म सञ्चालन भएको प्रतियोगिताको समापन कार्यक्रममा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले खेलकुद क्षेत्रको विकासका लागि प्रशिक्षण र पूर्वाधार निर्माणमा जोड दिएका थिए ।

बजेट पारदर्शितामा नेपाल ५८औँ स्थानमा

काठमाडौँ- बजेट पारदर्शिताको मापन गर्ने सर्वव्यापी खुला बजेट सर्वेक्षणको प्रतिवेदन-२०२३ मा नेपालको बजेट पारदर्शिताको अङ्क ५० रहेको छ । सर्वेक्षण गरिएका एक सय २५ देशमध्ये नेपाल ५८औँ स्थानमा छ ।

अन्तर्राष्ट्रिय बजेट साझेदारी (आइबिपी) ले हिजो जारी गरेको प्रतिवेदनमा एक सय एक सय २५ देशको सन् २०२२ को राष्ट्रिय बजेटका आधारमा गरिएको सर्वव्यापी सर्वेक्षणका नतिजाहरू प्रकाशन भएका छन् । नेपालले खुला बजेट सर्वेक्षणका मुख्य तीन विषयमध्ये बजेट पारदर्शिताको अवस्थामा सयमा ५० अङ्क पाए पनि बजेटको निगरानीमा ४६ अङ्क र बजेट प्रक्रियामा जनसहभागिताको अवस्थामा ३१ अङ्क मात्रै प्राप्त गरेको फ्रिडम फोरमले विज्ञप्‍तिमार्फत आज जनाएको छ ।

खुला बजेट सर्वेक्षणमा ६१ अङ्क वा सोभन्दा बढी प्राप्त भएमा मात्र सोसम्बन्धी देशको बजेटको सन्दर्भमा सुसूचीत सार्वजनिक बहसका लागि पर्याप्त सामग्री प्रकाशन गरिएको मानिन्छ । यस सर्वेक्षणमा बजेटअन्तर्गत आठ बजेट दस्तावेजको अनलाइन माध्यममा उपलब्धता, सूचनाको गुणस्तरीयता र समयबद्धतासँग सम्बन्धित एक सय नौ सूचकमा लेखाजोखा गरिन्छ ।

हरेक दुई वर्षमा सार्वजनिक हुने यो सर्वेक्षण प्रतिवेदन नवौँ संस्करण हो । यस अगाडि २०२१ मा जारी भएको प्रतिवेदनमा नेपाल ७७औँ स्थानमा थियो । सर्वेक्षणको सातौँ संस्करणमा भने नेपाल ६५औँ स्थानमा थियो । ‘नेपालको बजेट पारदर्शिताको अवस्थामा थोरै सुधार भए पनि सर्वव्यापी रूपमा औसत ६१ अङ्क ल्याउनु चुनौतीभन्दा धेरै पछाडि देखिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

मधेस प्रदेश सरकारको बेरुजु एक अर्ब ५९ करोड

जनकपुर। मधेस प्रदेश महालेखा परीक्षक कार्यालयको छैटौँ वार्षिक प्रतिवेदनमा मधेस प्रदेश सरकारको बेरुजु एक अर्ब ५९ करोड रहेको उल्लेख गरिएको छ ।मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमा सबैभन्दा बढी बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयका सहसचिव एवं मधेस प्रदेश प्रमुख श्यामप्रसाद भण्डारीले बुधबार प्रदेश प्रमुख सुमीत्रा सुवेदी भण्डारीलाई बुझाउनुभएको छैटौँ वार्षिक प्रतिवेदनमा प्रदेशभित्रका तहगत एक सय ३५ सरकारी कार्यालयको लेखा परीक्षणमा रु एक अर्ब ५९ करोड १६ लाख १७ हजार बेरुजु देखिएको हो ।

महालेखाको प्रतिवेदनअनुसार भौतिक पूर्वाधार मन्त्रालयमा रु १४ अर्ब ३६ करोड ७४ लाख १७ हजार बेरुजु देखिएको छ । असुल गर्नुपर्ने चार करोड ५२ लाख ९९ हजार, नियमित गर्नुपर्ने ३८ करोड ९७ लाख ६० हजार र पेश्की बाँकी रु ३९ करोड तीन लाख ८६ हजार देखिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा २४ दशमलव ०६ प्रतिशत बेरुजु छ । रु ७६ करोड ३० लाख १४ हजारको लेखापरीक्षणमा रु सात लाख ९८ हजार असुल उपर गर्नुपर्ने, रु ४४ करोड ५२ लाख ९७ हजार नियमित गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । सामाजिक विकास मन्त्रालयको सात अर्ब ५९ करोड २३ लाख १५ हजारको लेखापरीक्षणमा ६ दशमलव ४९ प्रतिशत बेरुजु अर्थात् रु ९८ लाख ५९ हजार असुल उपर, सात करोड ९२ लाख ९० हजार रुपैयाँ नियमित गर्नुपर्ने उल्लेख गरिएको छ ।

ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको तीन दशमलव ९३ प्रतिशत बेरुजु छ । मन्त्रालयको दुई अर्ब ९४ करोड ७३ लाख ८९ को लेखापरीक्षणमा रु १४ लाख आठ हजार असुल उपर, रु छ करोड ७८ लाख ३४ हजार नियमित गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । अन्य मन्त्रालय तथा निकायको रु २० अर्ब ९२ करोड ३६ लाख ६९ हजारको लेखापरीक्षणमा एक दशमलव ६३ प्रतिशत बेरुजु देखिएको छ । रु एक करोड १९ लाख ५४ हजार असुल उपर, रु ३२ करोड २० लाख ९३ हजार नियमित गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । प्रदेशसभा सचिवालयमा भने बेरुजु देखिएको छैन । प्रदेश सरकारमा तहगत रहेको कार्यालयमध्ये १७ वटा कार्यालयमा बेरुजु नदेखिएको प्रतिवेदनमा जनाइएको छ ।

एमालेको राष्ट्रिय महिला भेलामा दुई सय २९ जनाको पाठेघरको क्यान्सर ‘स्क्रिनिङ’

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) राष्ट्रिय महिला भेलाका क्रममा दुई सय २९ जनाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घको आयोजनामा भेलामा सहभागी ती महिलाहरुको ‘पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ’ गरिएको हो ।

महासङ्घका उपाध्यक्ष शारदा खनालले दुई सय २९ जनाको ‘एचपिभि डिएन प्रविधि’बाट पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको राससलाई जानकारी दिनुभयो । उहाँले स्क्रिनिङको नतिजा एक महिनापछि मात्र प्राप्त हुने जानकारी दिनुभयो ।

“हाम्रा धेरै दिदीबहिनी पाठेघरको मुखको क्यान्सरबाट पीडित भएका पाइएको छ, ” उहाँले अन्य मुलुकमा स्तनक्यान्सरका बिरामी अधिक भेटिएका जानकारी दिँदै उहाँले भन्नुभयो । समय–समयमा पाठेघर र स्तन परीक्षण गराउन उपाध्यक्ष शर्माले सुझाव दिनुभएको छ ।

केराको रेसाबाट सेनेटरी प्याड र कपडा बनाउन सिक्दै महिला

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटका महिलाहरु केराको थामबाट सेनेटरी प्याड र कपडा बनाउन अग्रसर भएका छन् । बेनी नगरपालिकाको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रमअन्तर्गत ५२ जना महिलाले केराको थामबाट रेसा निकालेर सेनेटरी प्याड र कपडा बनाउने तालिम लिइरहेका छन् ।

ज्यामरुककोटका १४ वटा आमासमूहका महिलाहरु सहभागी उक्त तालिम सात दिनसम्म सञ्चालन हुने जनाइएको छ । तालिमपश्चात् सहभागीले सेनेटरी प्याडलाई आर्थिकोपार्जनको माध्यम बनाउने र व्यावसायिकरुपमा उद्योग सञ्चालन गर्ने जनाएका छन् ।

बेनी नगरपालिका–२ खबरा र बगरफाँट गाउँ केराको पकेट क्षेत्र मानिन्छ । फल दिने समय सकिएपछि किसानलाई केराको थाम व्यवस्थापनमा झन्झट हुँदै आएको थियो । खेर गएको केराको थामबाट सेनेटरी प्याड बन्ने भएपछि किसानलाई पनि सहज हुने भएको छ ।

तालिमका प्रशिक्षक सन्दिप सापकोटाका अनुसार सेनेटरी प्याड बनाउन पहिलो चरणमा केराको थामलाई लामोरुपमा टुक्रा निकालेर सुकाइन्छ । दोस्रो चरणमा सुकेको टुक्रालाई मेसिनमा पेलेर फाइबर बनाइन्छ र फाइबरलाई ‘प्यूरीफाइ’ गरी सेनेटरी प्याड बनाइन्छ ।

केराको थामबाट फाइबर निकाल्ने चरणसम्म आउन चारदेखि पाँच दिन लाग्ने उनको भनाइ छ । केराको फाइबरबाहेक आवश्यकपर्ने अन्य कपडा बजारबाट खरिद गरेर ल्याइन्छ । फाइबर निकाल्ने मेसिन धेरै महँगो नहुने भएकाले महिलाले समूह बनाएर व्यवसाय सुरु गर्नसक्ने उनले बताए ।

तालिम लिएर समूह बनाई उद्योग सञ्चालन गर्ने तालिमका सहभागी उषा घिमिरेले बताए । “गाउँघरमा खेर गएको केराको थामबाट सेनेटरी प्याड बनाउन सकिने रहेछ । अब समूह बनाएर आवश्यकपर्ने मेसिन उपलब्ध गराउन नगरपालिकासँग अनुरोध गर्छौं”, उनले भने ।

उद्योग सञ्चालनका लागि धेरै महँगो पनि नपर्ने प्रशिक्षक सापकोटाको भनाइ छ । “रु चारदेखि पाँच लाखसम्ममा मेसिन पाइन्छ । त्यसबाहेक कपडा सिउने मेसिन आवश्यक पर्छ । त्यो पनि धेरै महँगो नहुने भएकाले यो पेसा थोरै लगानीमा सुरु गर्न सकिन्छ”, उनले भने।

जिल्लाभित्रका स्थानीय तहहरुले वार्षिक रु १५ लाखदेखि २० लाखसम्म सेनेटरी प्याडमा खर्च गर्दै आएका छन् । पालिकाले विद्यालयमा सेनेटरी प्याड निःशुल्क उपलब्ध गराउँदै आएको छ । तालिम लिएका महिलाले सामूहिकरुपमा उद्यम सञ्चालन गर्न खोजे पालिकाले मेसिन र आवश्यक सामग्री खरिदको व्यवस्था गरिदिने बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछानेले बताए ।

“यो कार्यक्रम सञ्चालन गर्न चालु आर्थिक वर्षमा रु २० लाख विनियोजन भएको छ । कार्यक्रम वडा नं २ र १० मा लागू भएको छ”, उपप्रमुख लामिछानेले भने, “आमासमूहलाई परिचालन गरेर महिलालाई आर्थिकरूपमा आत्मनिर्भर बनाउनु कार्यक्रमको लक्ष्य छ ।”

सदनमा विचाराधीन विधेयकहरू अघि बढ्छन्: सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले बजेट अधिवेशनमा पनि सदनमा विचाराधीन विधेयक अघि बढाउने बताउनुभएको छ ।गणतन्त्र दिवस–२०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धि: समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्वीर प्रदर्शनीको अवलोकनपछि सभामुख घिमिरेले बजेट अधिवेशनमा बजेट पारित गर्ने मात्र नभएर विचाराधीन विधेयकलाई समेत अघि बढाउने बताउनुभएको हो ।

“बजेट अधिवेशन सञ्चालन भइरहेको छ, यो अधिवेशनमा विचाराधीन विधेयक पनि अघि बढाउनुपर्नेछ, बिस्तारै सांसदहरूलाई दायित्वबोध भएको मैले महसुस गरेको छु”, उहाँले भन्नुभयो, “विधेयक ल्याउने र अघि बढाउने विषयमा सरकार पनि तुलनात्मकरुपमा सक्रिय छ, समितिमा रहेका विधेयकमा फटाफट काम भइरहेका छन्, आजै पनि संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक पारित भएको छ, त्यसलाई संसद्मा बजेटकै बीचमा पनि प्रवेश गराएर अघि बढाउँछौँ ।”

गीतसङ्गीत क्षेत्रका विकृति रोक्नका लागि सहयोग गर्न मन्त्रालय तयार छ : उपप्रधानमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लोक तथा दोहोरी गीतका क्षेत्रमा बढेको विकृति रोक्न समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

गृह मन्त्रालयमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आज ज्ञापनपत्र बुझ्दै उहाँले जे गरे पनि हुन्छ भन्ने मनोवृत्तिको मारमा गीतसङ्गीत क्षेत्र पनि परेको भन्दै मौलिक पक्षको जगेर्नाका लागि सरकारसहित सरोकारवाला सबैबीच सहकार्य आवश्यक रहेको औँल्याउनुभयो ।

गृहमन्त्री लामिछानेले भन्नुभयो, “ग्ल्यामर र भल्गरबीच फरक छुट्याउन आवश्यक छ । स्वतन्त्रतामा पनि अनुशासन आवश्यक हुन्छ भन्ने कुरा समाजले भुल्दै जाँदा विकृति बढेका छन् । कलालाई सर्जकले आफू अनुकूल व्याख्या गर्ने र अरूले आफ्नोभन्दा फरक व्याख्या गर्दा कला नै नबुझेको अर्थ लगाउने प्रवृत्तिले पनि समस्या निम्त्याएको छ । समस्या समाधानका लागि कलाको पनि मानक र मापदण्ड बनाउन आवश्यक छ ।”

उहाँले मापदण्डमा जाँदा अभिव्यक्ति स्वतन्त्रतामै अङ्कुश लगाउन खोजेको चर्चा हुनेतर्फ पनि ध्यान दिनुपर्ने भन्दै उहाँले नियन्त्रण र नियमनबीचको अन्तर पनि बुझ्नुपर्नेमा जोड दिनुभयो । लोक तथा दोहोरी गीत क्षेत्रका विकृति नियन्त्रणमा आफूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग पनि छलफल गर्ने उहाँले बताउनुभयो ।

ज्ञापनपत्र बुझाउन पुगेका कलाकारले लोक तथा दोहोरी गीत पछिल्लो समय अत्यन्तै अभद्र, असभ्य एवं सामाजिक सहिष्णुतालाई खलल पुर्याउने खालको हुँदै गएको तथा दोहोरी, र्‍याप, ब्याटलका नाममा मौलिकता नष्ट गर्न थालिएको, दोहोरी साँझमा नेपाली मौलिक गीतलाई प्राथमिकता दिन छाडिएको, मेला महोत्सवमा उच्छृङ्खल र अमर्यादित गीतसङ्गीतको दबदबा बढ्न थालेको भन्दै नियन्त्रणमा सहयोग गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

पूर्वाञ्चल विश्वविद्यालय र विभिन्न १३ कम्पनीबीच सम्झौता

काठमाडौं – विश्वविद्यालयबाट उत्पादित मानव स्रोत व्यवस्थापन र अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले पूर्वाञ्चल विश्वविद्यालयले विभिन्न १३ कम्पनीसँग समझदारी गरेको छ ।

विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्कायका विभिन्न विषयमा अध्ययन गर्ने विद्यार्थीका लागि रोजगारी, इन्टर्नसिप, अनुसन्धान, तालिम, अन्तक्र्रिया, सङ्कायगत आदानप्रदानलगायतका क्षेत्रमा काम गर्नेगरी विश्वविद्यालय र ती कम्पनीका प्रतिनिधिबीच हस्ताक्षर भएको हो ।

विश्वविद्यालयले लिपफ्रग टेक्नोलोजी, इन्फो डेभलपर प्रालि, ओम फर्मास्युटिकल्स एण्ड ल्याब्रोटोरिज, द फ्युज मेसिन नेपाल प्रालि, एफवान सफ्ट, द सेन्टर फर मलेक्युलर डाइनामिक्स, काठमाडौँ सेन्टर फर जियोनोमिक्स, एनएमबी बंैक, नेपाल एग्रो बायोटेक एण्ड रिसर्च सेन्टर, एफवान सफ्ट, नर्भिक हस्पिटल प्रालि, नेपाल एग्रो सेन्टर प्रालि र नेपाल एग्रो इक्वइप्मेन्ट प्रालि, मिडिया एण्ड इन्टरटेन्मेन्ट स्किल काउन्सिल र ए प्लस एशोसियट मुम्बईलगायतका संस्थासँग समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।

एनएमबी बैंकसँगको समझदारीअनुसार बैंकले पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीलाई रु पाँच लाखसम्म आधारदरमा दुई प्रतिशत नबढ्ने गरी अध्ययन कर्जा उपलब्ध गराउने भएको विश्वविद्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

यसैगरी अन्य कम्पनीसँगको सम्झौताअनुसार विश्वविद्यालयका विद्यार्थीलाई अनुसन्धान तथा प्राज्ञिक अभ्यास र तालिम आदिमा सहयोग प्राप्त हुनेछ । सो सम्झौतापत्रमा विश्वविद्यालयकातर्फबाट विज्ञान तथा प्रविधि सङ्कायका डिन प्रा डा पवनकुमार झा र सहायक डिन मनोजकुमार हलवाइले हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौतापछि पूर्वाञ्चल विश्वविद्यालयका उपकुलति प्रा डा विजुकुमार थपलियाले सम्झौताले विश्वविद्यालय तथा सम्बद्ध कम्पनी दुवै पक्षको हित हुने विश्वास व्यक्त गरे । यस सम्झौताबाट विश्वविद्यालयको प्राज्ञिक एवं अनुसन्धानका क्षेत्रमा सहायता पुग्ने भन्दै यसबाट आफूलाई खुसी लागेको उनले बताए ।

त्यस अवसरमा विभिन्न कम्पनीका प्रतिनिधिले पनि उक्त सम्झौताले दुवै पक्षको हितमा काम गर्ने विश्वासका साथ विश्वविद्यालयसँग सहकार्य गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका थिए ।

मधेस प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ हुँदै

धनुषा – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनकपुरमा यही जेठ १९ र २० गते ‘श्रमाधान रोजगार मेला’ को आयोजना गर्ने भएको छ ।नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मेलाको आयोजकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय मधेस प्रदेश, जनकपुरधाम उपमहानगरपालिका छन् भने सहआयोजकमा नेपाल उद्योग परिसङ्घ छ ।


पत्रकार सम्मेलनमा श्रम मन्त्रालयका उपसचिव एवं मेलाका मधेस प्रदेश संयोजक दीपेन्द्र पौडेलले मेलाले श्रमिक र रोजगारदातालाई जोड्नेमा विश्वास व्यक्त गरे ।

‘मेलाले नेपालको रोजगारी परिदृश्यमा सकारात्मक परिवर्तन ल्याउनेछ । यसले राष्ट्रलाई थप समृद्धि र सफलतार्फ लैजानसक्ने लचिलो र समावेशी जनशक्ति निर्माण गर्न सहज गर्छ’, उनले भने, ‘मधेस प्रदेशमा हुने मेलामा बेरोजगार युवाको ज्ञान, सीप, क्षमताका आधारमा माग सङ्कलन गरिनेछ ।’

श्रम तथा यातायात कार्यालय जनकपुरधामका प्रमुख धर्मराज रोकायाले मधेस प्रदेशमा हुन गइरहेको श्रमाधान रोजगार मेलाले रोजगारदाता र श्रमिकमा उत्साह थपिएको बताए ।यो मेलामा सहभागिताका लागि ३५ वटा प्रदर्शनी कक्षमध्ये ३० वटा बुकिङ भइसकेको उनले जानकारी दिए ।

काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागद्वारा दुई वटा फार्मेसीमा तालाबन्दी

काठमाडौँ । काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) महाराजगञ्जको कम्पाउण्डभित्रै सञ्चालनमा रहेका दुई वटा निजी फार्मेसीमा ताला लगाएको छ ।

अस्पतालको कम्पाउण्डभित्र मापदण्डविपरीत फार्मेसी सञ्चालन गरिएको भेटिएपछि पानोरमा र पञ्चकन्या फार्मेसीमा ताला लगाइएको महानगरपालिकाका निमित्त स्वास्थ्य विभाग प्रमुख सजिना महर्जनले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामी अर्कै फार्मेसीविरुद्धको परेको उजुरी उपर अनुगमनका लागि त्यहाँ गएका थियौँ, टिचिङ हस्पिटलको कम्पाउण्डभित्रै निजी फार्मेसी सञ्चालन भएको र त्यसैमाथि मापदण्डविपरीत भेटिएपछि ताला लगाएका छौँ ।”

भ्याक्सिनलाई उचित तापक्रममा नराखेको, अनुमतिबिनै नार्कोटिक्स ड्रग्सजन्य औषधि बेचिएको, औषधि स्टोरेज पनि मापदण्डअनुसार नभएको पाइएको विभागले जनाएको छ ।

ताला लगाइएका फार्मेसीलाई के कारबाही हुने भन्ने विषयमा अहिले अध्ययन भइरहेको निमित्त स्वास्थ्य विभाग प्रमुख महर्जनले बताउनुभयो ।

गाजा युद्ध थप सात महिना जारी रहने इजरायलको चेतावनी

तेल अभीभ, इजरायल, १७ जेठ । रफाहमा हमासविरुद्धको सैन्य कारबाही अन्त्य हुने आशामा शङ्का व्यक्त गर्दै एक इजरायली अधिकारीले बुधबार यस वर्षको अन्त्यसम्म गाजामा युद्ध जारी रहनसक्ने बताएका छन् ।

इजरायलका राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीले सन् २०२४ लाई इजरायलको युद्ध मन्त्रीमण्डलले ‘लडाइँको वर्ष’ घोषणा गरेको सङ्केत गरेका छन् ।“हामी अहिले सन् २०२४ को पाँचौँ महिनामा छौं । हमास र इस्लामिक जिहादको सैन्य र सरकारी क्षमताहरू नष्ट गर्ने हाम्रो लक्ष्य हासिल गर्न हामी थप सात महिनाको लडाइँको अपेक्षा गर्दछौँ,” हानेग्बीले बताए ।

हमासविरूद्धको कारबाही सुरु भएपछिको पहिलो पटक मध्य रफाहमा देखिएका इजरायली ट्याङ्कहरू बुधबार दक्षिणी गाजा सहरतर्फ अगाडि बढेपछि यी टिप्पणीहरू आएका हुन् ।आक्रमण रोक्न विश्वव्यापी दबाब बढ्दै जाँदा पनि इजरायलले आफ्नो सैन्य आक्रमण जारी राखेको सिएनएनले जनाएको छ ।

इजरायली सरकारले हमास विरुद्धको युद्धको अन्तिम चरण रफाहमा प्रवेश हुने बताएको थियो । हमाससँग बन्धकहरूका फिर्तीबारे सम्झौतामा विचार भएपनि इजरायली युद्ध मन्त्रीमण्डलको अधिक कट्टर समूहले गाजामा रहेको बन्धकहरूको फिर्ती पश्चात लडाकू समूहको विनाशलाई प्राथमिकता दिँदै रफाह आक्रमण बढाउनपर्नेमा जोड दिएको छ ।

नेपालका बालबालिकालाई तीन वर्षभित्र कुपोषणमुक्त गर्ने अभियान सुरु

काठमाडौँ । तीन वर्षभित्र नेपालभरका बालबालिकालाई कुपोषणमुक्त गर्ने अभियान सुरु भएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घ र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्यमा आजदेखि यो अभियान सुरु गरिएको हो ।

कुपोषणका कारण २५ प्रतिशत बालबालिकामा पुड्कोपन, आठ प्रतिशत बालबालिकामा ख्याउटेपन, १९ प्रतिशत बालबालिका कम तौलका छन् । कुपोषणका कारण बाल विकास नभएका बालबालिकाको सङ्ख्या मधेस प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बढी छन् । सन् २००१ मा भएको अध्ययनअनुसार एक हजार बालबालिकामा ९१ जना कुपोषण प्रभावित हुने गरेको पाइएको थियो ।

कार्यक्रमको शुभारम्भ गर्नुहुँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले गर्भ अवस्थादेखि नै पोषणयुक्त बनाउन तीन वटै तहका सरकारले समन्वयात्मक रुपमा काम गर्नुपर्नेमा जोड दिनुभयो । दिगो विकास लक्ष्यको बुँदा नं १ र २ लाई पूरा गर्न पनि सन् २०३० सम्म नेपालबाट कुपोषण अन्त्य गर्ने गरी सरकारले नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेको उहाँले सुनाउनुभयो । सङ्घीय सरकारले दिवा खाजाका लागि दिएको रु १५ मा प्रदेश र स्थानीय सरकारले पनि बजेट थप गरिदिएर सहयोग गर्नुपर्ने मन्त्री चौधरीको भनाइ थियो ।

सरकार मातहत रहेका बालसुधारगृहको कार्यक्षेत्र गृह मन्त्रालय अन्तर्गत पर्ने भए पनि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई भन्ने गरिएको उल्लेख गर्नुहुँदै उहाँले यस सम्बन्धमा प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समिति र महिला तथा सामाजिक मामिला समितिले अध्ययन गरेको बताउनुभयो । दुवै समितिले प्रकाशन गरेको प्रतिवेदनसमेत मन्त्रालयमा आएको उहाँले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अमरबहादुर थापाले बालबालिका स्वस्थ भए देश स्वस्थ हुने उल्लेख गर्नुहुँदै पोषणका लागि जनचेतना अभिवृद्धि गरिनुपर्नेमा जोड दिनुभयो । प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले कुपोषणले शारीरिक मानसिक विकासलाई रोक्ने बताउनुहुँदै खाना र पोषण आधारभूत मानव अधिकार भएकाले त्यसै अनुरुप व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो ।

संसदीय समिति अनुगमनका क्रममा विद्यालयमा जाँदा दिवा खाजाको बजेट दुरुपयोग भएको तथ्य फेला परेको उल्लेख गर्नुहुँदै यसले बालबालिकाको पोषणमा प्रभाव परेको बताउनुभयो । कतिपय विद्यालयले गुणस्तरहीन दिवा खाजा प्लाष्टिकमा दिँदा पनि बालबालिकाको स्वास्थ्यमा गम्भीर असर गर्ने गरेको सभापति साहले सुनाउनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य प्रा डा शिवराज अधिकारीले सरकारको नीति तथा कार्यक्रम, बजेट र योजनामा पनि कुपोषण घटाउने कार्यक्रम समावेश भएपनि कार्यान्वयनमा चुनौती रहेको स्वीकार गर्नुभयो । कार्यक्रम कार्यान्वयनका लागि सरोकार भएका सबै निकायले समन्वयात्मक रुपमा काम गर्नुपर्नेमा उहाँको जोड थियो ।

राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी खरेलले गरिबीबाट मुक्ति र पौष्टिक आहार पाउनु बालबालिकाको अधिकार भएको बताउनुभयो । जुम्लाका एक बालकको भोकमरीबाट मृत्यु भएको उजुरी आयोगमा परेको सुनाउनुहुँदै उहाँले आयोगले यससम्बन्धी अनुसन्धान गरी सरकारलाई आवश्यक कारबाहीका लागि सिफारिस गरेको जानकारी दिनुभयो । आयोगले केही समयअघि बाल मन्दिर नक्सालको अनुगमन गर्दा खानाको गुणस्तरलगायत वातावरण राम्रो नपाउँदा पनि सरकारलाई सिफारिस गरेको पनि सचिव खरेलले सुनाउनुभयो ।

गैर सरकारी संस्था महासङ्घ नेपालका अध्यक्ष रामप्रसाद सुवेदीले युनिसेफको प्रतिवेदनमा कुपोषित बालबालिका विश्वविद्यालय पुग्न सक्दैनन् उनीहरूसँग सिक्न सक्ने क्षमता हुँदैन भन्ने उल्लेख गरिएको जानकारी गराउनुभयो । बालबालिकालाई पत्रु खानाबाट बचाई अर्ग्यानिक खाना खुवाउन सके कुपोषणमुक्त बनाउन सकिने उहाँको भनाइ थियो ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक रोजलिन एच. ग्याब्रिएलले विश्वव्यापी र क्षेत्रीय रुपमा पनि यो अभियान सुरु गरिएको उल्लेख गर्नुहुँदै हरेक बालबालिकालाई खाना र पोषण पुगोस् भनेर अकोरावसँगको सहकार्यमा इनफ नामक अभियान सुरु गरिएको बताउनुभयो । बालबालिका स्तनपान गराउने क्रम घट्दै गएकाले पनि पोषणमा गम्भीर प्रभाव परेको उहाँको भनाइ थियो ।

वर्ल्ड भिजनका वरिष्ठ निर्देशक दीपेश पउल ठाकुरले नेपालका बालबालिकाले भोकमरीबाट दुःख नपाउन् भनी यो अभियान सुरु गरिएको जानकारी दिनुभयो । वर्ल्ड भिजन नेपालका निर्देशक उमा मगरले नेपाललाई शून्य भोकमरीमा स्थापित गराउन तीनै वटै तहका सरकारले समन्वयात्मक रुपमा काम गर्नुपर्नेमा जोड दिनुहुँदै समुदायका विपन्न वर्गमा यो कार्यक्रम पुग्ने विश्वास व्यक्त गर्नुभयो । अकोरावका अध्यक्ष अर्जुन गिरीले नेपाललाई भोकमरी बनाउने अभियानमा सामुदायिक रेडियोहरूले पनि सहकार्य गरेको बताउनुभयो ।

उखुको जुस बेचेर मनग्य आम्दानी, खर्च कटाएर ३५ हजार फाइदा

कैलाली, जेठ १७-धनगढी उपमहानगरपालिका– ३ की पुजा शर्माले धनगढीको सहिद गेट नजिकै उखु जुसको व्यवसाय गर्दै आउनुभएको छ । उहाँले जुस बिक्री गरेर जीविकोपार्जन गरिरहनुभएको छ ।शर्माले थोरै लगानीमा भए पनि स्वरोजगार बन्नुपर्छ भन्ने मनसायबाट प्रेरित भई उखु जुसको व्यवसाय सुरु गरेको बताउनुभयो । “पहिले अर्काको पसलमा काम गर्थे । अर्काको काम गर्दा जानीनजानी कहिलेकाहीँ गल्ती भयो भने अनावश्यक कुरा सुन्नु पर्दथ्यो । आजभोलि आफैँले व्यवसाय सञ्चालन गरेपछि कमाएको जति खर्च गरेर बचत पनि हुन्छ”, उहाँले भन्नुभयो ।

धनगढीस्थित स्थानीय बजारबाट रु ६० हजारमा उखु पेल्ने मेसिन खरिद गरी व्यवसाय सुरु गरेकी भन्दै शर्माले मासिक रु ७० हजार बराबरको उखु जुसको कारोबार हुने गरेको बताउनुभयो । उहाँका अनुसार बालबच्चाको लालनपालन, शिक्षा र घरपविारको सम्पूर्ण खर्च कटाएर रु ३५ हजार जति बचत हुने गरेको छ । उखु जुस प्रतिगिलास रु ३० मा बिक्री गर्दै आएको उहाँले बताउँनुभयो ।

धनगढीको जुगेडाबाट प्रतिक्विन्टल रु एक हजार पाँच सयमा उखु खरिद गरेर शर्माले जुस व्यवसाय गर्दै आउनुभएको हो । केही दिनदेखि अत्यधिक गर्मी बढेसँगै जुसको व्यवसाय पनि राम्रो हुँदै आएको उहाँको भनाइ छ ।

लामो समयदेखि उखु जुस व्यवसाय सञ्चालन गरी जीवन निर्वाह गर्दै आउनुभएका छोटु गुप्ताले पनि यही व्यवसायबाट जीविकोपार्जन भइरहेको बताउनुभयो । कैलाली र कञ्चनपुरको सीमास्थित डोके बजार नजिकै व्यवसाय सञ्चालन गर्दै आउनुभएका उहाँले मासिक रु एक लाख बराबरको कोरोबार हुने गरेको जानकारी दिनुभयो ।

करोबारको पचास प्रतिशत जति फाइदा हुने गरेको गुप्ताको भनाइ छ । उहाँले धनगढीका तीन स्थानमा उखु जुस पेल्ने मेसिन राखेर व्यवसाय गर्दै आउनु भएको छ ।

उखु जुसको व्यवसायले जीविकोपार्जनका साथै आम्दानीको स्रोत बन्दै गएको अर्का व्यवसायी अमरबहादुर चौधरीले बताउनुभयो । उहाँले जाडो याममा ज्याला मजदुरी गर्ने र गर्मीमा प्रत्येक वर्ष जुसको व्यवसाय गर्दै आएको बताउनुभयो । मासिक रुपमा रु ९० हजार जति कारोबार हुने गरेको भन्दै सबै खर्च कटाएर रु ३५ हजार फाइदा हुने उहाँको भनाइ छ ।

थोरै लगानीमा राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय यो व्यवसायप्रति धेरैको आकर्षण बढ्दै गएको छ । धनगढीमा हिजोआज अत्यधिक गर्मी बढ्ेसँगै चिसो पेय पदार्थको व्यापार बढेको स्थानीय व्यापारीको भनाइ छ । धनगढी बजारलगायत आसपासका क्षेत्रमा झण्डै एक सय उखुको जुस बिक्री गर्ने व्यवसायी छन् ।

अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोमा किसानलाई पाठशाला

चितवन, जेठ १७ गते । यहाँ आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोमा किसानलाई पाठशाला सञ्चालन गरिने भएको छ । यही जेठ १८ देखि २० गतेसम्म सञ्चालन हुने एक्स्पोमा कुखुरापालक किसानलाई ज्ञान, सीप, प्रविधिबारेमा शिक्षा दिन लागिएको हो ।

आयोजक नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले विदेशमा गएर प्रविधि, सीप र ज्ञान आर्जन गर्न नसक्ने किसानलाई एकै ठाउँमा सबै कुरा उपलब्ध गराउने गरी पाठशाला सञ्चालन गरिने बताउनुभयो । उहाँले एक्स्पोमा कुखुराजन्य उद्योगका लागि आवश्यकपर्ने औषधि, दाना, चल्ला, खोर, फर्मलगायत सम्पूर्ण विषयबारे प्रविधिसहित किसानलाई शिक्षा दिने बताउनुभयो ।

उहाँले कम लागतमा धेरै अण्डा र मासु उत्पादन गर्न, नयाँ प्रविधि भित्र्याउन र पोल्ट्री उद्योगलाई थप चलायमान बनाउन एक्स्पो आयोजना गरिएको बताउनुभयो । कृषि तथा वन विज्ञान विश्वविद्यालयका सहप्राध्यापक डा.सुरवीर सिंहले एक्स्पोमा तिन दिन नै पाठशाला सञ्चालन हुने बताउनुभयो । उहाँका अनुसार भारत, क्यानडा, नेपाललगायतका विज्ञहरूले नेपाली र हिन्दीमा शिक्षा दिनुहुनेछ । सो अवसरमा छ वटा कार्यपत्र प्रस्तुत हुने जानकारी दिँदै सिंहले सो अवसरमा किसानसँग पनि छलफल गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञसँग कुखुरापालक किसानले प्रत्यक्ष सवलजवाफ गर्न पाउनुहुनेछ ।” जहाँ डिजिटल पोल्ट्रीफार्मदेखि सामान्यसम्मका विषयमा जानकारी दिइनेछ । भारतीय पोल्ट्री इक्युप्मेन्ट उत्पादक सङ्घका अध्यक्ष उदय सिंहले हरेक किसान विदेश गएर ज्ञान, सीप र प्रविधिबारे जानकारी लिन नसक्ने भएकाले नेपालमा आएर विश्वस्तरको कार्यक्रम गर्न लागिएको बताउनुभयो । नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीका पोखरेलले कोभिडपछि सुस्ताएको पोल्ट्री व्यवसाय बिस्तारै माथि उठ्न थालेको भन्दै थप चलायमान बनाउन एक्स्पो फलदायी हुने बताउनुभयो ।

नेपाली पोल्ट्री क्षेत्रको समग्र विकास र नवीनतम प्रविधिको प्रयोग गरी व्यावसायिक विकास गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको उहाँको भनाइ छ । नेपाल पोल्ट्री महासङ्घ र इन्डियन पोल्ट्री इक्युप्मेन्ट उत्पादक सङ्घको संयुक्त आयोजनामा हुने एक्स्पो भरतपुरको चितवन एक्स्पो केन्द्रमा हुनेछ । एक्स्पोमा आधुनिक यन्त्र, प्रविधि, गुणस्तरीय औषधि, फिड सप्लिमेन्टस्, डेरी उद्योग, पोल्ट्री उद्योग, दाना उद्योग, ह्याचरी उद्योग, मासुजन्य उद्योग, पशुपन्छीपालन, प्रशोधन र बजारीकरणसम्बन्धी प्रदर्शनी हुनेछ ।

एक्स्पोमा एक सय ५० प्रदर्शनी कक्ष रहनेछन् । प्रदर्शनीमा नेपाल, भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसिया, सिङ्गापुर, ताइवान, इटली, इजरायल, बङ्गलादेशलगायत देशका कम्पनीहरूको सहभागिता हुने जनाइएको छ । एक्स्पोले यहाँको पोल्ट्रीसँग अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । एक्स्पोको पूर्वसन्ध्यामा प्रदर्शक र आगन्तुकले भरतपुरका होटल भरिभराउ भएका छन् ।

सुर्खेत जिप दुर्घटना अपडेट: चार जनाको मृत्यु, मृतक सबैकाे सनाखत

सुर्खेत । सुर्खेतबाट कालिकोट जाँदै गरेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका-१३ को रातानाङ्ला नजिकै टाकुरीमोडमा भएको दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पूर्ण केसीले बताउनुभयो ।

आज बिहान भएको दुर्घटनाबारे प्रहरीले प्रारम्भिक जानकारी दिँदा दुईजनाको मात्र मृत्यु भएको जनाएको थियो । पछि चारजनाको मृत्यु भएको पुष्टि भएपनि मृतकको सनाखत हुन सकेको थिएन । हाल मृतकको सनाखत भएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक केसीका अनुसार भे १ च २५६० नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी कालिकोट गाउँपालिकाका ४० वर्षीय तन्त विक, १७ वर्षीय वीरेन्द्र विक, २७ वर्षीय नवराज विक र दैलेख भैरबी गाउँपालिका(४ का ३८ वर्षीय महेन्द्र शाहीको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका चालक कालिकोट खाँडाचक्र–९ का २५ वर्षीय नरेन्द्र विष्ट र शुभकालिका–३ भर्ताका ३८ वर्षीय नरी कामीको सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ । छ जना सवार जिप सडकबाट अन्दाजी दुई सय मिटर तल खसेको थियो ।

एसिड पीडित सांसद विन्दवासिनीले चाँडो न्याय पाउनुपर्छ’ : मन्त्री गिरी

काठमाडौँ, १७ जेठ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले एसिड पीडित सांसद विन्दवासिनी कंसाकारले अदालतको फैसला बमोबिजम पाउनुपर्ने रकमको प्रक्रिया फाइल आगाडि बढेको बताएका छन् ।

सङ्घीय संसद् प्रतिनिधिसभा महिला तथा सामाजिक मामिला समितिमा आज बसेको छलफल कार्यक्रममा मन्त्री गिरीले एसिड पीडित सांसद कंसाकारले चाँडो न्याय पाउनुपर्ने बताए । नेपालमा एसिड आक्रमणबाट पीडितको क्षतिपूर्ति सम्बन्धमा गरिएको छलफल कार्यक्रममा उनले राज्यले यस्तो संवेदनशील विषयमा तुरुन्तै पीडितलाई क्षतिपूर्ति दिनुपर्नेमा जोड दिए ।

उनले भने, “म यस विषयमा गम्भीर छु, जति सक्दो छिटो न्याय दिलाउन कोसिस गर्नेछु ।”सांसद् विन्दवासिनीले पीडित भएको ११ वर्षसम्म पनि अदालतले फैसला गरेअनुसारको क्षतिपूर्ति पाउन नसकेको गुनासो गरे । उपचारका क्रममा परिवारले घरबारै बेचेको र आफ्नो परिवारको बिचल्ली भएको उल्लेख गरे । छलफलका क्रममा बैठकमा उपस्थित सांसदहरुले पीडितलाई क्षतिपूर्ति दिन ढिलासुस्ती गर्न नहुने बताए ।

सांसद शान्ति विकले कानुन बनाउने थलोमै भएर पनि पीडित सांसदले समयमै न्याय पाउन नसकेको गुनासो गरे ।सांसद रोशन कार्कीले राज्यले पीडित सांसद विन्दवासिनीलाई क्षतिपूर्ति तुरुन्तै दिनुपर्ने बताए ।

अधिवक्ता यज्ञमणी न्यौपानेले एसिड घटनाका कानुनी पक्षबारे जानकारी गराएका थिए । फैसला कार्यान्व्यन निर्देशनालय एवं पीडित राहत कोषका सदस्य सचिव सूर्यवंश शर्मा कँडेलले चालू आर्थिक वर्षमा कोषबाट ६९ पीडितले रु ९८ लाख २५ हजार क्षतिपूर्ति प्राप्त गरेको जानकारी दिए । कोषमा रकम अभाव भएको उनले बताए ।महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले एसिड पीडित सांसदले चाँडो न्याय पाउनुपर्ने बताए ।

उत्तर कोरियाद्वारा जापानी समुद्र क्षेत्रमा क्षेप्यास्त्र प्रहार

सियोल, १७ जेठ । उत्तर कोरियाले बिहीबार जापानको समुद्रतर्फ छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले जानकारी गराएको छ ।प्योङयाङले दक्षिण कोरियामा सयौं ठुला फोहोर र मलले भरिएका बेलुनहरू पठाएको एक दिनपछि जापानी क्षेत्रमा यो प्रहार गरेको हो । केही दिनअघि प्योङयाङले गरेको सैन्य जासुसी उपग्रहको रकेट प्रक्षेपण असफल भएको थियो ।

दक्षिण कोरियाली सेनाले बिहीबार उत्तर कोरियाले लगातार दुई दिन ‘जिपिएस सिग्नल’ जाम गर्ने प्रयास गरेको दावी गरेको छ ।यसैबीच, संयुक्त राज्य अमेरिकाले उत्तर कोरियालाई जापानको समुद्रमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेपछि ‘थप गैरकानुनी र अस्थिरकारी कार्यहरू’ रोक्न आह्वान गरेको छ ।

दक्षिण कोरियाली सेनाका उच्च पदस्थ अधिकारीका अनुसार प्योङयाङको सुनान क्षेत्रबाट बिहान करिब ६ बजे १४ मिनेटमा करिब दशवटा प्रक्षेपण गरिएको थियो र समुद्रमा खस्नुभन्दा पहिले करिब तीन सय पचास किलोमिटर उडेको अनुमान गरिएको थियो ।दक्षिण कोरियाली सेनाले थप प्रक्षेपणविरुद्ध निगरानी र सतर्कता अपनाएको र अमेरिका र जापानी अधिकारीहरूलाई जानकारी दिएको थियो ।

हिन्द प्रशान्त महासागरस्थित अमेरिकी नेतृत्वले दक्षिण कोरिया, जापान र अन्य क्षेत्रीय सहयोगी र साझेदारहरूसँग नजिकबाट परामर्श गरिरहेको बताएको छ । “हामी उत्तर कोरियाको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणबारे सचेत छौं । संयुक्त राज्य अमेरिकाले यी कार्यहरूको निन्दा गर्दछ र स्थितिप्रतिको निगरानी जारी राख्नेछ ।” हिन्द प्रशान्त महासागरस्थित अमेरिकी नेतृत्वले भनेको छ ।जापानका प्रधानमन्त्री फुमियो किशिदाले टोकियोमा पत्रकारहरूसँग उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको र उक्त क्षेत्र जापानको विशेष आर्थिक क्षेत्र बाहिर रहेको बताएका छन् ।

पपुवा न्यू गिनीमा पहिरोपछि रोगको जोखिम बढेको राष्ट्रसङ्घको चेतावनी

पोर्ट मोरेस्बी (पपुवान्यूगिनी)- पपुवा न्यू गिनीमा घातक पहिरोबाट बचेका व्यक्तिले रोगको प्रकोपको जोखिमको सामना गरिरहेको उल्लेख गर्दै पर्याप्त खाना र सफा खानेपानीको आपूर्ति नपाएको राष्ट्रसङ्घीय निकायले बिहीबार जनाएको छ ।

माटो, ठूला चट्टान र भग्नावशेषको थुप्रोमा पहाडी समुदाय गाडिएको छ दिनपछि राष्ट्रसङ्घको आप्रवासन निकायले पानीको स्रोतहरू दूषित भएको र रोगको जोखिम बढेको बताएको छ ।

यस क्षेत्रको धेरैजसो पानी पहिरोको स्थलबाट बग्छ । अहिले भग्नावशेषबाट बग्ने खाडलहरू दूषित भएकाले रोगको प्रकोपको जोखिम खडा गरेको संयुक्त राष्ट्रसङ्घको आप्रवासन निकायले मूल्याङ्न प्रतिवेदनमा साझेदारहरूलाई बताएको छ । पानीलाई पिउनका लागि सुरक्षित बनाउन प्रशोधन गर्ने कुनै विधिहरू प्रयोग नगरिएकाले मलेरियालगायतका रोगको चेतावनी दिँदै राष्ट्रसङ्घले उस्तो भनेको होे ।

गत हप्ताको धेरैजसो समयदेखि यम्बेली र लपाक वार्डका बासिन्दाहरूले पहिरोमा प्रिएका आफन्तहरूको खोजीमा अनगिन्ती टन माटो उत्खनन गर्दै आएका छन् । प्रत्यक्षदर्शीहरूले मृत शरीरको दुर्गन्ध अत्यधिक भएको बताएका छन् भने स्थानीय अधिकारीहरूले ६ देखि ११ जनाको शव फेला परेको बताएका छन् ।

साइटमा पानी शुद्धिकरण ट्याब्लेटहरू र जीवन बचाउने खाद्य आपूर्ति गर्न संयुक्त राष्ट्रको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनले शीर्ष प्राथमिकताहरूका रूपमा सूचीबद्ध गरेको थियो । पहिरोले समुदायमा आउने र जाने मुख्य सडक पनि काटिएकोमा अझै सहज हुन सकेको छैन ।

भारी मेसिनरी आइपुगेपछि ९० हजार वर्ग मिटर नाप्ने विपद् क्षेत्र भए पनि काम गरेपछि मृतकको सङ्ख्या उल्लेखनीय रूपमा बढ्ने अनुमान गरिएको छ ।

एङ्गा प्रान्तीय प्रशासक स्यान्डिस साकाले “अस्थिर भूमि आवागमनको जोखिमका कारण त्यस्ता मेसिनरी, इन्जिनियर वा प्राविधिक प्रस्तावहरू प्राप्त गर्न सम्भव नभएको बताए ।

सहायता एजेन्सी तथा विदेशी दाताहरूले मृतक, घाइते र विस्थापितको सङ्ख्याको बारेमा अविश्वसनीय अनुमानहरूले अन्तर्राष्ट्रिय प्रतिक्रियालाई जटिल बनाएकोमा चिन्तित छन् । प्रभावित क्षेत्र र जनसङ्ख्याको बारेमा सही र समयमै जानकारीको अभावले प्रभावकारी योजना र मानवीय सहायताको वितरणमा बाधा पुर्याउने आइओएमले चेतावनी दियो ।

पपुवा न्यू गिनीका प्रधानमन्त्री जेम्स मारापेले मृतकको सङ्ख्या दुई हजार पुगेको अनुमान गरेका छन् । जसले यसलाई हालैको स्मृतिमा सबैभन्दा घातक पहिरोहरु मध्ये एक बनाउने उनको भनाई छ । तर स्याटेलाइट विशेषज्ञ, विपद् राहत व्यवसायी, स्थानीय अधिकारी र कूटनीतिज्ञले यो सङ्ख्या बढेको बताएका छन् ।

पहिरोको लागि, यो सबैले सहरमा देख्ने जीवनको क्षति भएको विशेषज्ञ र हल विश्वविद्यालयका उपकुलपति डेभिड पेटलीले बताए । पूर्व–असफलताहरूले त्यहाँ मानिसहरूको एकाग्रता थियो भन्ने विचारलाई समर्थन नगर्ने उनले बताए । एङ्गा प्रान्तीय प्रशासक साकाले बिहीबार मृतकको सङ्ख्या सयौँ मा रहेको बताए ।

उनले आघातबाट बचेका व्यक्तिहरूले अझै बेपत्ता भएका प्रियजनहरूको बारेमा भरपर्दो जानकारी प्रदान गर्न असमर्थ भएको बताए । प्रतिक्रिया टोलीहरूले जानकारी सङ्लन गर्न थालेका छन् । जो त्यहाँ थिए र प्रभावित व्यक्तिहरूको सङ्ख्य प्रारम्भिक तथ्याङ्कहरू शुक्रबार ढिलो पुष्टि हुने अनुमान गरेको साकाले बताए ।केही प्रमुख टोलीहरू अझै पनि विपद् क्षेत्रमा पुग्न सङ्घर्ष गरिरहेको समयमा उनले पपुवा न्यू गिनीका प्रतिक्रिया कार्यकर्ताहरूले यस्तो बताएका हुन ।

राष्ट्रसङघका विज्ञद्वारा इजरायलविरुद्ध प्रतिबन्धित हतियारमा प्रतिबन्ध लगाउन आह्वान

तेल अभीभ, इजरायल, १७ जेठ । इजरायलले रफाहमा गरेको आक्रमणमा ४५ जनाको मृत्यु भएपछि राष्ट्रसङ्घका विज्ञहरूले निर्णायक अन्तर्राष्ट्रिय कारबाहीका लागि आह्वान गरेका छन् । उनीहरूले इजरायलविरुद्ध तत्काल प्रतिबन्धित हतियार प्रयोगमा प्रतिबन्ध लगाउनसमेत आह्वान गरेका छन् ।

इजरायली आक्रमणले विस्थापितको शिविरमा लक्षित प्रहार गरेपछि कम्तिमा ४५ जनाको मृत्यु हुनुका साथै २०० जना घाइते भएको गाजाको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गरी अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ ।

आक्रमणको केही समयपछि इजरायली रक्षा बलले हमासको कार्यालय परिसरलाई निशाना बनाएको र कारबाहीमा हमासका दुई वरिष्ठ अधिकारी मारिएको घोषणा गरेको थियो । इजरायली शहर तेल अभीभमा हमासले गरेको पहिलो रकेट आक्रमणपछि इजरायली आक्रमण भएको हो ।

विशेषज्ञको समूहले रफाहमा भएको आक्रमणको स्वतन्त्र अनुसन्धानका लागि आह्वान पनि गरेको छ । मानव अधिकारका लागि संयुक्त राष्ट्रसङघीय उच्चायुक्तको कार्यालयले विज्ञप्ति जारी गर्दै बर्बर आक्रमण अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लङ्घन भएको उल्लेख गरेको छ ।

महिलालाई हरेक क्षेत्रमा सहभागिताको अवसर दिनुपर्छः मन्त्री चौधरी

काठमाडौँ, १७ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिलालाई हरेक क्षेत्रमा सहभागिताको अवसर दिनुपर्ने बताएकी छिन् ।छैटौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले महिलालाई हरेक क्षेत्रमा सहभागी गराउन जरुरी रहेको बताइन् ।

मन्त्री चौधरीले भनिन्, “महिलालाई निर्णायक ठाउँमा पु¥याउनका लागि सबै वर्ग, क्षेत्र र तहले अवसर दिनु आवश्यक छ । सम्पत्तिको अधिकार भन्ने कुरा धेरैलाई थाहा छैन । सम्पत्तिमा आफ्नो अधिकार हुन्छ भन्ने विषयमा अधिकांश महिला जानकार छैनन् । विभिन्न सङ्घसंस्था, स्थानीय तह, जनप्रतिनिधि तथा सरोकार भएका सबैले यसबारे सुसूचित गर्नुपर्छ ।”

उनले हिंसा पीडित महिलाहरूको पुनःस्थापना गर्न सातै प्रदेशमा ‘सेफ हाउस’ निर्माणका लागि बजेट माग गरिए पनि बजेट विनियोजन नभएको बताए । उनले भनिन्, “बजेटमा पनि महिला मन्त्रालयलाई प्राथमिकतामा पारिएको छैन । सेफहाउस निर्माणका लागि बजेट माग गरिएको थियो, तर बजेट सीमित भएकाले विनियोजन भएन ।”

निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले महिलाको जनसङ्ख्या धेरै हुने तर मतदाता नामावली भने किन कम भन्नेमा प्रश्न गरिन्। उनले भनिन्, “कानुनमा सुधार गर्नुपर्छ । महिलालाई प्रत्यक्षबाट निर्वाचनमा उठाउनै पर्छ । कतिपय स्थानीय तहमा पुरुषको मात्र वर्चश्व देखिन्छ, यसलाई सुधार गर्नु आवश्यक छ ।”

सांसद रोशन कार्कीले राष्ट्रिय आयमा महिलाहरूको श्रमको पनि गणना हुनुपर्नेमा जोड दिइन् । उनले भनिन्, “महिलाहरू रातदिन काम गर्छन् । उनीहरूको श्रमको पनि मूल्याङ्कन हुनुपर्छ ।”

पूर्वसचिव यामकुमारी खतिवडाले लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि गरिएका प्रयास र उपलब्धिहरूका बारेमा प्रस्तुतीकरण दिँदै विभिन्न क्षेत्रमा महिला र पुरुषको सहभागितामा अन्तर रहेको बताइन् । उनले भनिन्, “निजामती क्षेत्रमा केही सुधार हुँदैछ । राजनीतिक, प्रशासनिक सबै क्षेत्रमा महिला सहभागिता कम छ । सरोकार भएकाले यस विषयलाई ध्यान दिन जरुरी छ ।”

बर्दिबासबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस सिन्धुलीमा दुर्घटना

काठमाडौँ- बर्दिबासबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस सिन्धुलीको गोलन्जोर वडा नं ७ मा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बस आज साँझ ५ः३० बजे आसपासमा दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार बस सडकबाट १० मिटर तल खसेको थियो । बसमा २८ जना सवार थिए । प्रहरीका अनुसार घाइतेहरूको उद्धार गरी स्थानीय खुर्कोटको सुनकोशी सामुदायिक अस्पताल र नवजीवन अस्पतालमा उपचार भइरहेको छ । हाल प्रहरी घटनास्थलमा खटिइसकेको र उद्धार जारी रहेको प्रहरीको भनाइ छ ।