`

मातृभाषाको संरक्षण र विकासमा सरकारले ध्यान दिनुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

भक्तपुर । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मातृभाषाको संरक्षण र विकासमा सरकारले ध्यान दिने बताउनुभएको छ ।आज भक्तपुरमा सम्पन्न प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा उहाँले सरकारी निकायले पनि मातृभाषाको संरक्षण र विकासमा ध्यान दिनुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “मातृभाषामा पत्रकारितालाई सरकारले प्रोत्साहित गर्नु आवश्यक छ, सरकारी निकायले पनि यसमा ध्यान दिनु जरुरी छ, मातृभाषामा प्रकाशन वा प्रसारण भएका सञ्चारमाध्यमप्रति सम्मान व्यक्त गर्न चाहन्छु, किनकि यसले मौलिक कला, संस्कृति र इतिहासलाई जोगाउन योगदान पुर्याएको छ ।”

मातृभाषाको संरक्षण र विकासमा काम गर्नुपर्ने औँल्याउँदै उपप्रधानमन्त्री श्रेष्ठले मातृभाषामा गरिने पत्रकारिताले आदिवासी जनजातिका हराउँदै गएका मौलिकता र कला संस्कृतिको जगेर्ना हुनेमा आफूले विश्वास लिएको बताउनुभयो ।

नेवा पत्रकार राष्ट्रिय दबूले सार्क पत्रकार मञ्च र नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ९फोनिज०को सहकार्यमा शनिबार ललितपुरमा उद्घाटन गरी आज भक्तपुरमा समापन गरेको सम्मेलनमा सार्क राष्ट्रलगायत विभिन्न देशबाट सहभागी पत्रकारबीच विभिन्न विषयमा छलफल भएको थियो ।

कार्यक्रमका सभापति नेवा: पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, दबूका उपाध्यक्ष एवम् सम्मेलनका संयोजक सुरेन्द्रभक्त श्रेष्ठ, सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामालगायतले अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिताको महत्वमाथि चर्चा गर्नुभएको थियो ।

मिथ्या र भ्रामक सामग्रीलाई समाचारका रूपमा पस्कनु हुँदैन : अध्यक्ष बस्नेत

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मिथ्या र भ्रामक सामग्रीलाई सञ्चारमाध्यमले समाचारका रूपमा पस्कन नहुने बताउनुभएको छ ।मिथ्या सामग्रीलाई गोलमटोल रुपमा पस्किँदा आम जनमानसलाई भ्रम परेको र त्यसले सञ्चार माध्यमको विश्वसनीयतामा धक्का लागेका तर्फ सबै सचेत हुनुपर्ने उहाँको धारणा थियो ।

युट्युब व्यवस्थापनका सन्दर्भमा काउन्सिलले आज यहाँ आयोजना गरेको आचारसंहिता अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले मिथ्या सामग्री पस्केर पत्रकारितालाई नधमिल्याउन आग्रह गर्नुभयो । “माध्यम जुनसुकै होस् तर अहिलेको खाँचो भनेको परिपक्व पत्रकारिताको हो । अरूलाई प्रश्न मात्र उठाउने काम त सबैले गर्न सक्छन्, हामीले विवादरहित, जबाफदेही र जिम्मेवार भएर काम गर्नुपर्छ”, अध्यक्ष बस्नेतले भन्नुभयो । उहाँले स्वस्थ, मर्यादित र जबाफदेही पत्रकारिताले मात्रै समाजको हित गर्ने बताउनुभयो ।

अध्यक्ष बस्नेतले युट्युबमार्फत भइरहेको पत्रकारिता राम्रो भएमा युट्युबकै गरिमा बढ्ने हुँदा पत्रकार आचारसंहिता र मर्यादाको ख्याल गर्न युट्युबहरूलाई आग्रह गर्नुभयो । “हाम्रो पेसालाई राम्रो बनाउने दायित्व हाम्रो नै हो, त्यसैले युट्युबमार्फत पत्रकारिता गर्ने हो भने यसको मर्यादामा रहनै पर्छ । मर्यादाभन्दा बाहिर गएपछि त्यो पत्रकारिता हुँदैन”, उहाँले भन्नुभयो ।

प्रेस काउन्सिल नेपालले युट्युबमार्फत सञ्चार कर्म गरिरहेका तर पत्रकार आचारसंहिताको पालनामा कमजोर देखिएका युट्युब सञ्चालकका लागि अभिमुखीकरण कार्यक्रम गर्दै आएको छ ।

आज भएको चौथो शृङ्खलामा अध्यक्ष बस्नेत, सञ्चार विज्ञ डा.भानुभक्त आचार्य र प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

त्यसअवसरमा सञ्चार विज्ञ डा.आचार्यले पत्रकारिता क्षेत्र विश्वसनीय र परिणाममुखी बनाउन पत्रकारले सत्यतथ्य सामग्री छनोट गरेर समाचार दिनुपर्ने र त्यसमा प्रेस काउन्सिलको सशक्त उपस्थिति रहनुपर्ने बताउनुभयो ।

युट्युबका माध्यमबाट हुने गरेको पत्रकारिताले सामाजिक उत्तरदायित्व बहन नगरेको भन्दै उहाँले समाचार दिने बेलामा नै पाठकलाई भ्रम छर्ने, गलत दिशानिर्देश गर्ने र समाजमा अपाच्य हुने विषयलाई काँटछाँट गरेर दिन सक्नुपर्नेमा जोड दिनुभयो । एक सय ३० वर्ष पुरानो छापा माध्यमबाट सुरु भएको पीत पत्रकारिताको अभ्यास अहिले डिजिटल माध्यमबाट भइरहेको भन्दै उहाँले यस्तो पत्रकारिता विश्वका कुनै पनि मुलुकका लागि उपयुक्त नहुने बताउनुभयो ।

कार्यक्रममा काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत खनालले युट्युब व्यवस्थापनका लागि काउन्सिलले गरेका पहल र त्यसको प्रगतिबारे जानकारी दिनुभएको थियो ।
कार्यक्रममा ३० जना युट्युब सञ्चालक सम्पादकको सहभागिता रहेको थियो ।

सडकमा स्वयंसेवक खटाउने निर्देशन कार्यान्वयन नगर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई ट्राफिक स्वयंसेवकका रूपमा सडकमा खटाउने निर्देशन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले आज उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको उक्त निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो ।

सडकमा ट्राफिक स्वयम्सेवक खटाउने गृहमन्त्रीको निर्देशनविरुद्ध कृष्ण विक, आकाश भट्टलगायत सात जनाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।यही जेठ १५ गते गृहमन्त्री लामिछानेले सडकमा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वयंसेवकका रूपमा खटाउन मातहतका निकायलाई निर्देशन दिनुभएको थियो ।

अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्नु सबैको दायित्व : मन्त्री तामाङ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभएको छ ।मन्त्रालयले संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को सहकार्यमा आजदेखि ललितपुरमा सुरु गरेको तीन दिने अभौतिक सांस्कृतिक सम्पदा संरक्षणको आवधिक प्रतिवेदन तयारीसम्बन्धी राष्ट्रिय परामर्श गोष्ठीमा उहाँले भौगोलिक, जातीय, भाषिक एवं सांस्कृतिक विविधताभित्र धेरै सांस्कृतिक सम्पदा रहेको बताउनुभयो । मन्त्री तामाङले नेपाल भौगोलिक र जनसाङ्ख्यिकरुपले सानो मुलुक भए पनि अभौतिक सांस्कृतिक सम्पदाको दृष्टिले धनी मुलुक भएकाले यसका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

अभौतिक सांस्कृतिक सम्पदाको संरक्षणमा सक्रिय एवं प्रतिवेदन तयारीमा सहभागी सबै पक्षलाई उहाँले नेपालको सांस्कृतिक विविधता झल्कने गरी प्रतिवेदन तयारी गर्न आग्रह गर्नुभयो ।

मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेले संस्कार, संस्कृति एवं जीवनपद्धति संरक्षण गर्नु चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो । खाद्य संस्कार, धार्मिक, आध्यात्मिक कर्म हस्तान्तरण गर्न अहिले मानिसका हात हातमा हुने मोबाइल र प्रविधि बाधक बनेको देखिन थालेको उल्लेख गर्नुहुँदै उहाँले संस्कृति नभुल्न जागरण फैल्याउनुपर्नेमा जोड दिनुभयो । अभौतिक सांस्कृतिक सम्पदाको सूचीकरण र अभिलेखीकरण गरी पुस्तान्तरण एवं हस्तान्तरण पनि गर्दै जानुपर्ने सचिव पाण्डेको भनाइ थियो ।

मन्त्रालयको संस्कृति महाशाखा प्रमुख सहसचिव डा सुरेशसुरस श्रेष्ठले नेपालले सन् २०१० मै अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि अनुमोदन गरेको जानकारी दिनुहुँदै छ वर्षपछि सन् २०१६ मा आवधिक प्रतिवेदन पेश गर्नुपर्ने भए पनि संयुक्त राष्ट्रसङ्घले निर्देशिका परिवर्तन गरेका कारण त्यसको छ वर्षपछि अहिले प्रतिवेदनको तयारी भएको बताउनुभयो ।

नेपालका लागि युनेस्कोका प्रतिनिधि माइकल क्राफ्टले अमूर्त सांस्कृतिक सम्पदा संरक्षणका लागि सरोकार भएका सबै निकायसँग सहकार्य र समन्वय गरेर काम गरिने प्रतिबद्धता जनाउनुभयो ।

जर्मनीमा विनाशकारी बाढी : ६०० जना भन्दा बढी निकालियो

काठमाडौँ । भारी वर्षाले दक्षिणी जर्मनीमा विनाशकारी बाढी निम्त्याएको छ । बाढीका कारण छ सयभन्दा बढी मानिसलाई उनीहरूको घरबाट अन्यत्र सारिएको छ ।

धेरै दिनदेखि लगातार परेको वर्षाले जर्मनीका डोनाउ, नेकर र गुएन्जलगायतका धेरै नदीमा पानीको स्तर बढेको छ । यसले तटीय सहरहरू व्यापक बाढी आएको छ र र धेरै क्षेत्रमा पानीको स्तर एक शताब्दीको उच्चस्तरमा पुगेको छ ।

जर्मनीका दुई दक्षिणी राज्य बाभेरिया र बाडेन–वुर्टेम्बर्ग सबैभन्दा बढी प्रभावित छन् । स्थानीय समयअनुसार आइतबार दिउँसो २ बजे बाभेरियाका १० जिल्लामा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ । न्युबर्ग–श्रोबेनहौसेन जिल्लाका छ सय ७० भन्दा बढी बासिन्दालाई निकालिएको स्थानीय अधिकारीले बताउनुभयो ।

जर्मन मौसम सेवाले दक्षिणी जर्मनीका धेरै जिल्लामा उच्चस्तरको गम्भीर मौसम चेतावनी जारी गरेको छ । बाडेन–वुर्टेम्बर्गको मेकेनब्युरेन सहरमा पनि बाढीको जोखिमका कारण करिब एक हजार तीन सय मानिसलाई आफ्नो घर छोड्न भनिएको थियो ।

हुरीका कारण चितवनमा १२ करोडको केराखेतीमा क्षति

चितवन – हुरीका कारण यहाँको केराखेतीमा ठूलो क्षति पुगेको छ । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेले केही दिनअघिको हुरीका कारण दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति पुगेको हो ।

उनले भने, “पूर्वी चितवनको रत्ननगर, कालिका र खैरहनी नगरपालिकालगायतका लगाइएको ४० लाख ८७ हजार पाँच सय केराका बोटमा क्षति पुगेको छ ।”
उनका अनुसार पसाएर फल लाग्ने समयका केरामा क्षति पुगेको हो ।सङ्घका महासचिव जनक पन्तका अनुसार हुरीका कारण रु १२ करोड बराबरको केरा नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ ।

सत्तरी जना व्यावसायिक किसानले लगाएको केरामा पूर्णरुपमा क्षति भएको छ भने अन्यको आंशिक क्षति भएको उनले बताए । नब्बे प्रतिशत किसानले केराको बीमा गरेको र १० प्रतिशत किसानले बीमा नगरेको उनले जानकारी दिए।जिल्लामा हाल तीन हजार पाँच सय बिघा क्षेत्रफलमा केरा खेती गरिँदै आइएको छ । उनका अनुसार यहाँ सात सय किसानले केराखेती गरेका छन् ।

नेपालमा ब्रिटिस लगानी बढाउनका लागि सहजीकरण गरिदिन अध्यक्ष ढकालको अनुरोध

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा ब्रिटिस लगानी बढाउनका लागि सहजीकरण गरिदिन अनुरोध गरेका छन् ।नेपालका लागि बेलायती राजदूत रोब फेनसँगको भेटका अवसरमा उनले सो आग्रह गरेको महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

भेटका अवसरमा अध्यक्ष ढकालले वैदेशिक नेपालमा लगानीका सम्भावनाबारे जानकारी गराउँदै नेपाल सरकारले नेपालमा वैदेशिक लगानी आकर्षित गर्न आयोजना गरेको नेपाल लगानी सम्मेलनको पनि चर्चा गरेका थिए ।

नेपाल र बेलायतबीच लामो समयदेखि द्विपक्षीय सम्बन्ध रहेको उल्लेख गर्दै ढकालले बेलायती राजदूतलाई दुई देशबीचको व्यापार र लगानीलाई थप प्रवद्धन गर्न आग्रह गरे । निजी क्षेत्रले कुल ग्राहस्थ्य उत्पादनमा ८१ प्रतिशत र रोजगारीमा ८७ प्रतिशत योगदान पु¥याइरहेको अवस्थाबारे पनि उहाँले राजदूतलाई जानकारी गराएका थिए ।

ढकालले मुलुकमा व्यवसाय गर्न सहज वातावरण भएको पनि उल्लेख गरेको जनाइएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको सल्लाहमा सरकारले लगानी प्रक्रियालाई सहज बनाउन केही समयअघि मात्र लगानी ऐन परिमार्जन गरेको उनको भनाइ थियो ।

ढकालले राजदूत फेनलाई नेपालमा जलविद्युत्, सूचना प्रविधि, पूर्वाधार र पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको जानकारी पनि राजदूतलाई गराएका थिए ।

भेटवार्ताका क्रममा महासङ्घ उपाध्यक्ष हेमराज ढकाल, सङ्घका लगानी फोरमका सभापति मनोज पौडेल र महासङ्घका महानिर्देशक गोकर्णराज अवस्थीले नेपालमा लगानीका नयाँ सम्भावनाबारे जानकारी गराएका थिए ।

भेटका अवसरमा राजदूत फेनले द्विपक्षीय लगानी सम्झौताको खाका तयार पार्न पहल गरेकोमा नेपाल उद्योग वाणिज्य महासङ्घलाई धन्यवाद ज्ञापन गरे । उनले दोहोरो करमुक्ति सम्झौताबारे पनि चासो राखेका थिए ।

अन्नपूर्ण आरोहण दिवस : मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम

म्याग्दी, २० जेठ । फ्रान्सका मौरिस हर्जोगले ७४ वर्षअघि अन्नपूर्ण हिमालको आरोहण गरेर कीर्तिमानसँगै नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वमाझ चिनाए । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने पदमार्ग र आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको भूगोलमा पर्छ । आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ ।

सन् १९५० जुन ३ मा हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि सगरमाथाको सफल आरोहण भएको थियो । हर्जोग र लचेनलले आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलोपटक सफल आरोहण गरेर कीर्तिमान बनाएपछि फ्रान्सले तीन दिन राष्ट्रिय उत्सव मनाएको थियो । अन्नपूर्णको सफल आरोहण भएकै दिनलाई अन्नपूर्ण आरोहण दिवसको रुपमा मनाउने गरिन्छ ।

हर्जोकको अन्नपूर्ण आरोहणले नेपालको पर्वतारोहणको सम्भावना अन्तर्राष्ट्रियकरण भएको ट्रेकिङ एजेन्सिज एसोसिएसन (टान) गण्डकीका उपाध्यक्ष कृष्ण आचार्यले बताए । “मौरिसले अन्नपूर्ण आरोहणको अनुभव समेटेर लेखेको पुस्तकले नेपालको पर्वतारोहण पर्यटनलाई विश्व बजारमा उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ,” उनले भने, “अन्नपूर्ण रेञ्जका हिमाल हेर्न र चक्रीय अन्नपूर्ण पदमार्ग भ्रमणका लागि आउने पर्यटकका कारण पोखरा र गण्डकी प्रदेशलाई मात्र नभई देशलाई नै फाइदा पुगेको छ ।”

मौरिस हर्जोग, अन्नपूर्ण रेञ्जका हिमाल, पोखरा, गण्डकी प्रदेश र नेपालको पर्यटन क्षेत्रको अन्तरसम्बन्ध रहेको उपाध्यक्ष आचार्यले बताए । मौरिसले लेखेको ‘अन्नपूर्णमा पहिलो पाइला’ नामको पुस्तक २० करोड प्रति बिक्री भएको पर्यटन व्यवसायीहरुको भनाइ छ । जुन पुस्तक विश्वमा धेरै प्रति बिक्री हुने मध्येमा पर्दछ ।

“हामीले अन्नपूर्ण हिमाल आरोहण गरेपछि फ्रान्सेलीहरू आठ हजार मिटरभन्दा अग्लो हिमालमा गए,” हर्जोगले आफ्नो पुस्तकमै लेखेका छन्, “हिमालमा फ्रान्सेली झन्डा फहराएपछि ती त्यत्रा हिमाल कसरी चढे, उनीहरू को हुन ? भनेर हल्लीखल्ली मच्चियो । संसारभरिका मानिसको आँखा खुल्यो ।”

हातखुट्टा गुमाए, विश्वको सम्मान पाए

अन्नपूर्णको सफल आरोहण गरेपछि हर्जोगले बाँकी जीवन भने थप पीडामा बिताए । आरोहणको क्रममा उनको दुवै हात र दुवै खुट्टा हिउँले खाइदिएपछि शेर्पाहरूले हिमालबाटै बोकेर आधार शिविर झारेका थिए । उनले ३१ वर्षको उमेरमा अन्नपूर्ण आरोहण गरेका थिए।

फ्रान्सको लियोन सहरमा १५ जनवरी १९१९ मा जन्मिएका हर्जोगको १३ डिसेम्बर २०१२ मा ९३ वर्षको उमेरमा निधन भएको थियो । नेपालबाट फर्कंदा भारतको नयाँदिल्लीमा सामान्य उपचार गरेर उनी आफ्नै जन्मथलो फर्किएको थियो । फ्रान्समा पनि राम्रो उपचार नभएपछि उनले अमेरिका पुगेर कृत्रिम हातखुट्टा राखेका थिए ।

नेपालका तत्कालीन राणा प्रधानमन्त्री मोहन शमशेरले हर्जोगलाई पत्र पठाएर निमन्त्रणा गरेका थिए । हर्जोगसँगै आरोहण यात्रामा रहेका लुइस र चिकित्सक मार्सेलोसहितको टोलीले मोहन शमशेरलाई भेट गरेको थियो । तत्कालीन सरकारले काठमाडौँमा समारोह आयोजना गरेर हर्गोजलाई गोरखा क्रस पदक प्रदान गरी सम्मान गरेको थियो । हर्जोगले प्राप्त गरेको पदक नेपाल सरकारबाट विदेशी नागरिकले प्राप्त गरेको उच्च तहको सम्मान हो ।

हिमाल चढेर विश्व इतिहास बनाएकै कारण फ्रान्स सरकारले उनलाई झन्डै एक दशकसम्म खेलकुदमन्त्री, सांसद र समोनी सहरको मेयर चुनेको थियो । हर्जोगले आफ्नो पुस्तकमा ‘हिमाल चढ्दा के हुन्छ, हुँदैन’ भनी अविवाहित बसेको र अन्नपूर्ण चढेपछि बिहे गरेको उल्लेख गरेका छन् ।

हर्जोगको टोली अन्नपूर्ण चढ्न दुई सय ५० जना भरिया लिएर अन्नपूर्ण आधार शिविर पुगेको थियो । नारच्याङका तेज गुरुङको अगुवाइमा विसं २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले ‘मौरिस हर्जोग’ नामाकरण गरेको छ ।

पदमार्गको प्रचारप्रसार गर्न प्रवेशविन्दुमा पर्ने नारच्याङमा विसं २०७७ मा गाउँपालिकाले अन्नपूर्ण पर्यटन महोत्वस आयोजना गरेको थियो । कास्की र म्याग्दीका दुईवटा स्थानीय तहको नामाकरण अन्नपूर्ण हिमालबाट गरिएको छ । अन्नपूर्ण हिमाललाई फन्को लगाउने अन्नपूर्ण चक्रीय पदमार्ग विश्वको प्रसिद्ध पदमार्ग मानिन्छ ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले अन्नपूर्ण आरोहण भएको ७४ वर्ष पुगेको अवसरमा प्रथम पर्वतारोही हर्जोगको सालिक बनाएर आधार शिविरमा राख्न लागिएको बताए । “हर्गोजले इतिहास रचेको अन्नपूर्ण आधार शिविर र उनले प्रयोग गरेको पदमार्गको अहिले पहिचान भएको छ,” अध्यक्ष पुनले भने, “प्रकृतिको वरदान मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरलाई व्यवस्थित गरेर पर्यटक भित्र्याउन पहल थालेका छौँ ।”

नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूत स्तरको २२ किलोमिटर पदमार्ग तयार भएको छ । दुई दिनको पैदलयात्रामा पुगिने अन्नपूूर्ण आधार शिविर पर्यटकका लागि ‘भर्जिन’ गन्तव्य भएको मौरिस हर्गोज पदमार्गका अभियन्ता तेज गुरुङले बताए ।

“हर्गोजले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै पदमार्ग तयार गरेका छौँ,” उनले भने, “अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ ।”

पदमार्गको स्तरोन्नति, खोलामा झोलुङ्गे पुल निर्माण, आश्रयस्थलको क्षमता विस्तार, खानेपानी, शौचालय, सञ्चार, विद्युत् सुविधा र सुरक्षाको व्यवस्थापनका लागि एकीकृत गुरुयोजना तयार पार्न अध्ययनको काम अन्तिम चरणमा पुगेको छ ।

अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले यस वर्ष विनियोजन भएको ५० लाख बजेटबाट आश्रयस्थलको क्षमता विस्तार थालिएको र गुरुयोजनाअनुसार सङ्घीय, प्रदेश सरकारबाट स्रोत जुटाएर पूर्वाधार विस्तार गरिने बताए ।

अन्नपूर्ण दिवसमा राजदूतहरुको पदयात्रा

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजनामा नेपालमा रहेका नौ देशका राजदूतहरुलाई पदयात्रा गराइ सोमबार पोखरामा ७४औँ अन्नपूर्ण आरोहण दिवस मनाउने कार्यक्रम तय भएको छ । पदयात्रामा अमेरिका, बेलायत, भारत, चीन, इजरायल, श्रीलङ्का, पाकिस्तान, थाइल्यान्ड, मलेसियाका राजदूत, दूतावासका उच्च अधिकारी, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सहितका कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि पदयात्रामा सहभागी हुने पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयले जनाएको छ ।

कार्यालयका निमित्त प्रमुख नवीन पोखरेलले परराष्ट्र मन्त्रालयसँगको सहकार्य, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकासँगको समन्वयमा आयोजना गरिएको कास्कीको माछापुच्छ«े गाउँपालिकाको धम्पुसदेखि धिताल हुँदै अस्तामसम्म हुने पदयात्रामा सहभागी हुन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायत अतिथिहरु आइतबार नै पोखरा आउने कार्यक्रम रहेको बताए ।

दिवसका अवसरमा अन्नपूर्ण हिमाल आरोहण गरेका पर्वतारोही पूर्णिमा श्रेष्ठ, दावा याङजोम शेर्पा र लाक्पाडेन्डी शेर्पालगायतलाई सम्मान गर्ने कार्यक्रम तय भएको छ । नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्म भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाका रुपमा पनि दिवस मनाउन लागिएको पोखरेलले बताए ।

अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आधार शिविरदेखि कास्कीको घान्द्रुकसम्म म्याराथन प्रतियोगिताको आयोजना गरेको छ । टान गण्डकीले सोमबार पोखराको ‘भ्यू फेवा राउन्ड फेवा’ पदमार्गमा पदयात्राको आयोजना गरेको अध्यक्ष धर्म पन्थीले बताए ।

संरक्षणको पर्खाइमा नेपालको छुक्छुके रेल

धनुषा, जेठ २०-जनकपुरधाममा नौ दशक अघि नै रेल सेवा सञ्चालन भइसकेको थियो । तत्कालिन समयमा भारतमा सखुवाको काठलगायत सामाग्री ढुवानी गर्न सञ्चालन गरिएको रेल पछि यात्रु ओसार्न प्रयोग गरियो । कोइलाबाट चल्ने रेललाई समयानुकूल डिजेल इन्जिनमा रूपान्तरण गरियो तर न्यारोगेजमै । सो सेवा पनि करिब १० वर्षअघि बन्द भयो । विगत दुई वर्षयता भने जनकपुरमा ब्रोडगेजमा रेल सेवा सञ्चालन भइरहेको छ ।

नेपालमा छुक्छुके रेल इतिहासमा सीमित हुँदा भारतको दार्जिलिङ्गमा भने अहिले पनि सो रेल चलिरहेकै छ । त्यहाँ यात्रु ओसार्न वा मालवाहकका रूपमा प्रयोग नभए पनि पर्यटकलाई लोभ्याउने उद्देश्यले रेल सञ्चालनमा रहेको भन्ने गरिएको छ । यता धनुषाको खजुरीमा थन्क्याइएर राखिएको ९० वर्ष पुरानो रेललाई भने किन नचलाइएको होला भनि धेरैले प्रश्न गर्ने गर्छन् । कोइलाबाट सञ्चालन हुने त्यसबेलाको रेलका इन्जिन र बोगी थन्क्याएर खिया लागेको देख्दा त धेरैको मन खिन्न हुन्छ ।

अत्याधुनिक सुविधासहितको नेपाल रेल्वे सेवा यतिबेला भङ्गहा–जनकपुरधाम–जयनगरसम्म सञ्चालमा छ । नेपालको एकमात्र रेल सेवा दोस्रो चरणमा न्यारोगेजबाट ब्रोडगेजमा परिणत भई सुचारु भइरहेको छ तर तत्कालिन समयमा जयनगर–जनकपुरधाम–बिजलपुरासम्म कोइलाबाट चल्ने निकै दुर्लभ मानिएको बहुमूल्य स्टिम इन्जिनहरु भने अलपत्र छन् । “विश्वका अन्य देशमा पनि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न यस्ता ऐतिहासिक वस्तुलाई जोगाउन सरकार अग्रसर भइरहेका हुन्छन् । दार्जिलिङ्गको त्यो कोइला रेल पनि यसकै उदाहरण हो । त्यहाँ अहिले पनि कोइलाबाट चल्ने ‘इन्जिन टोइटे«न’ नामक रेलसेवा सञ्चालन गरेर आन्तरिक तथा बाह्य पर्यटकबाट राम्रै आम्दानी गरिरहेको बुझ्न सकिन्छ”, स्थानीय विनोद मण्डलले भन्नुभयो,“नेपालमा भने लामो इतिहास बोकेका कोइलाबाट चल्ने इन्जिन संरक्षणको अभावमा माटोमा बिलिन हुँदै गएको छ । इन्जिन खुल्ला आकाशमुनि माटोले खाएर बिग्रिने मात्रै होइन । दिनदिनै बहुमूल्य पार्टपूर्जाहरु चोरी पनि भइरहेको छ । यसको संरक्षण र सम्बद्र्धन गर्न न स्थानीय तह न त प्रदेश र सङ्घीय सरकारको चासो देखिन्छ । यो दुःखद हो ।”

जनकनन्दनी गाउँपालिका–४ स्थित खजुरीमा अलपत्र अवस्थामा रहेको ती इन्जिनसँगै कारखाना पनि खण्डहरमा परिणत हुँदै गएको छ । यहाँ रेलको कारखाना क्षेत्रभरीलाई घेराबेरा गर्न केही निर्माणकार्यको थालनी गरिएको देखिन्छ । त्यो पनि अधुरै छ । आन्तरिक पर्यटकको आकर्षणका रुपमा रहेको ऐतिहासिक रेलका ईन्जिन र बोगीमा सीता–राम, गोरखनाथ, पशुपति, महावीर, चन्द्र, गुहेश्वरी नामकरण गरिएका छन् तर तिनैमा खिया लागेर माटोमा बिलिन हुँदै गएका छन् । विसं १९९४ सालमा तत्कालीन बेलायती शासकले महोत्तरी जङ्गलबाट सालको गोलिया काठ ओसार्न रेल सञ्चालन गरेको भन्ने गरिएको रेल महोत्तरीको बिजुलपुराबाट भारतको जयनगर ५२ किलोमिटर सञ्चालनमा रहेको थियो । केही वर्षपछि जनकपुर जयनगर मात्रै चल्न थालेको थियो ।

सरोकार भएकाहरूको बेवास्ताका कारण खजुरीमा रहेको रेलको मुख्य कारखाना खण्डहरमा र इन्जिन खिया लागेर माटोमा बिलिन भइरहेको जनकनन्दनी गाउँपालिका–३ उदहाका मण्डल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“रेलका पुराना इन्जिनलाई सङ्ग्रहालय बनाएर राखियो भने यो ठाउँ पर्यटकका लागि आकर्षणको केन्द्र बन्नसक्छ । साथै यी बहुमूल्य वस्तुको संरक्षण पनि हुने थियो ।” चार सिलिन्डरको कोइलाबाट चल्ने रेलका इन्जिन नेपालमा मात्र उपलब्ध रहेकोले पनि यी दुलर्भ चिजलाई संरक्षण गर्नुपर्ने मण्डलको भनाइ छ ।

जनकनन्दनी गाउँपालिका–४ खजुरीका ललित कामत ऐतिहासिक सम्पदाको संरक्षण गर्न प्रदेश तथा स्थानीय सरकारले चासो राख्नुपर्ने बताउनुहुन्छ । “नेपालको छुक्छुके रेलका यी इन्जिन नेपालका इतिहास पनि हुन्, जुन अहिले कवाडिको हिसाबमा राखिएको छ”, उहाँले भन्नुभयो,“यसलाई सङ्ग्रहालय बनाएर राख्न र संरक्षण गर्न अब स्थानीय, प्रदेश र सङ्घ सरकार गम्भीर बन्नुपर्छ ।”

तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले खजुरीमा रहेको सो कारखानाको निरिक्षण गरी चालु आर्थिक वर्षमै सङ्ग्रहालय बनाउन पहल गर्ने बताउनुभएको थियो तर हालसम्म त्यससम्बन्धी कुनै काम अगाडि बढ्न सकेको छैन ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झा बजेटको अभावका कारण खजुरीस्थित रेल कारखानालाई सङ्ग्राहलय बनाउन ढिलाइ भएको बताउनुभयो । उहाँले ऐतिहासिक रेलका इन्जिनको संरक्षण गर्न आफूले पनि प्रयास गरिरहेको बताउनुभयो । “हामीले रेल सञ्चालनको काम मात्रै गर्छौँ, निर्माणकार्य रेल विभागले हेर्ने हो । यद्यपि हामीले खजुरीमा रेल सङ्ग्राहालय बनाउन प्रत्येक आर्थिक वर्षमा लिखितरूपमै आग्रह गरिरहेका छौँ तर अर्थ मन्त्रालयबाट बजेट प्राप्त नभएपछि पुराना रेलका इन्जिनमा खिया लाग्दैछ”, उहाँले भन्नुभयो ।

जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादवले ऐतिहासिक रेलको कारखानालाई सङ्ग्रहालय बनाएर पुराना स्टिम इन्जिनलाई संरक्षण गर्न गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गरेर रेल्वेलाई दिएपनि हालसम्म निर्माणकार्य सुरु नभएको बताउनुभयो । उहाँले भन्नुभयो,“सीमित स्रोतसाधन भएको हाम्रो पालिकाले सङ्ग्रहालय बनाउनको निम्ति डिपिआर बनाएर दिएको छ तर निर्माणकार्य सुरु भएको छैन । रेल्वे सेवा सङ्घ सरकारको मातहतमा रहेकोले यसमा उहाँहरू गम्भीर हुनुपर्छ ।” यहाँ रहेको रेल्वेको १० विघाभन्दा बढी जग्गा सदुपयोग र रेल्वेको संरक्षण गरी पर्यटन प्रवर्द्धन पनि गर्न सकिने उहाँको भनाइ छ ।

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ

काठमाडौँ, जेठ २० गते। सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध पेश भएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आज उक्त विवादमा सुनुवाइपछि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। अदालतले अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा यही जेठ २८ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। लामिछानेमाथि विभिन्न जिल्लामा रहेको अभियोग पत्र र जाहेरीसहित इजलासमा पेश गर्न समेत भनिएको छ।

“प्रस्तुत विषय चाँडो टुङ्गो लाग्नुपर्ने प्रकृतिको देखिँदा सुनुवाइलाई अग्राधिकार दिई मिति २०८१ जेठ २८ गतेका लागि छलफल हुनेछ” आदेशमा भनिएको छ, “मिति तोकी उक्त मितिमा महान्यायाधिवक्ताको कार्यालयबाट लेखिएको चनं ३२७५ मिति २०८१।१।२४ को पत्र र जिल्ला प्रहरी कार्यालय कास्कीमा पेश गरिएको भनिएको ठगीसम्बन्धी कसुरको मिति २०८०।१०।२२ मा दर्ता भएको जाहेरी दरखास्तको प्रमाणित प्रतिलिपिसहित उपस्थित हुन सो बेहोराको सूचना विपक्षीलाई दिई नियमानुसार पेश गर्नु।”

आदेशमा मागबमोजिमको आदेश जारी गर्नुपर्ने मनासिब आधार र कारण भए सबुद प्रमाणसहित म्याद सूचना पाएका मितिले बाटोको म्याद बाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयको हकमा आफैँ तथा अन्य विपक्षीको हकमा महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न पनि आदेश गरिएको छ।

सहकारीको रकम अपचलनमा सङ्लग्न रहेको देखिएको उल्लेख गर्दै अधिवक्ता अनुपम भट्टराइले उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश गनुभएको थियो।न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले यही जेठ ९ गते गृहमन्त्रीविरुद्ध पेश भएको रिट निवेदन दर्ता गर्न आदेश गरेको थियो।

जेठ अन्तिमदेखि मनसुन भित्रिदै, यसबर्ष सरदरभन्दा बढी वर्षा हुने

काठमाडौँ, जेठ २०-यस वर्षको मनसुन यही जुन १३ अर्थात जेठ ३१ गतेदेखि नेपाल प्रवेश गर्ने आँकलन गरिएको छ । यद्यपी मनसुन भित्रिने सरदर मितिभन्दा केही दिन तलमाथि पर्ने जल तथा मौमस विज्ञान विभागले जनाएको छ ।

मनसुन हाल भारतको उत्तर पूर्वी भू–भाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको पूर्वी भू–भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ आँकलन गरिएको भए पनि त्यसअघि नै भित्रिने देखिन्छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले नेपालमा मनसुन जुन १३ आसपास भित्रिने बताउनुभयो । हाल मुलुकका विभिन्न भू–भागमा भईरहेको वर्षा मनसुनी वायुको प्रभाव नभई स्थानीय प्रणाली, पश्चिमी वायु र उत्तर प्रदेश तथा बिहार आसपासको न्यून चापीय प्रणालीको प्रभाव भएको उहाँले जानकारी दिनुभयो । नेपालमा सामान्यतया मनसुन सरदर अवधि जेठ १९ देखि असोज १४ गतेसम्म मानिन्छ । तर मनसुन भित्रिने र बाहिरिने अवधि केही दिन तलमाथि हुने गरेको छ । यस्तै आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ । सुदूरपश्चिम प्रदेशको उत्तर–पश्चिमी भू–भाग, बागमती प्रदेशको दक्षिण–पूर्वी भू–भाग, मधेस प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्य–पश्चिमी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । अधिकतम तापक्रम देशका अधिकांश स्थानहरूमा सरदरभन्दा बढी देखिएको छ ।

ऋतुगत जलवायु विभिन्न सामुन्द्रिक, वायुमण्डलीय, भूमण्डलीय, हिममण्डलीय र जैविकीय प्रणालीमा निर्भर रहन्छ । मनसुनको आँकलन विश्व मौसम सङ्गठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानी प्रारुपहरूको आँकलन र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आँकलनको आधारमा तयार गरिएको विभागका प्रवक्ता सुनिल पोखरेलले जानकारी दिनुभयो । साथै यो आँकलन तयार गर्दा नेपालको मनसुन सिजनको जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एन्सो’ ९एल निनो एण्ड साउदर्न ओस्सिालोसन० तथा हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीको हालको अवस्थालाई विश्लेषणका आधारमा गरिएको हो ।

यसबाहेक जलवायु प्रारुपको मनसुन सिजनको आँकलन, युरोप तथा एसियामा गत हिउँद तथा प्रि–मनसुनको सिजनमा परेको हिउँ, अन्तर ऋतु परिवर्तनशिलताका कारकलाई मध्यनजर गरिएको छ । प्रवक्ता पोखरेलले भन्नुभयो, “हाल ‘एन्सो’ तटस्थ अवस्थामा रहेको छ र आगामी मनसुन सिजनमा ‘ला निना’ को अवस्था विकसित हुने अन्तर्राष्ट्रिय प्रारुपहरुको आँकलन रहेको छ । त्यसैगरी हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय सामुन्द्रिक तापक्रम सूचक हाल तटस्थ रहेको र आगामी मनसुन सिजनमा धनात्मक हुने आँकलन गरिएको छ ।”

जलवायु विज्ञ डा धर्मराज उप्रेतीले यो वर्षको मनसुन शनिबारसम्म भारतको आसाम, सिक्किम र सो वरिपरिका भागमा पुगिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “भारतको केरलामा निर्धारित मितिभन्दा दुई दिनअघि र आसाम तथा मेघालयमा छ दिनअघि नै मनसुन पुगेको देखिन्छ । यही विषयलाई आँकलन गर्दा भारतका भू–भागसँग सिमाना जोडिएको कोशी प्रदेशमा मनसुन निर्धारित मिति भन्दा एक साताअघि नै प्रवेश गर्ने आकलन गर्न सकिन्छ ।”

गत वर्ष आसाम र सिक्किममा मनसुन पुगेको तीन दिनमा कोशी, मधेस र गण्डकी प्रदेशमा पुगेको थियो । गतवर्ष आसाममा जुन १२ मा पुगेको मनसुन यो वर्ष मे ३१ मै पुगेको छ । त्यो गत वर्षभन्दा १२ दिन अगाडि हो । मनसुनी वायु थप सक्रिय हुने वातावरण बनेको हुनाले कोशी प्रदेशमा आगामी तीनदेखि पाँच दिनमै मनसुन सक्रिय हुने अनुमान गर्न सकिन्छ ।

कोशी प्रदेशको नीति तथा कार्यक्रम सोमबार

विराटनगर, २० जेठ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गर्ने भएको छ ।

कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सोमबार अपराह्न ४ बजे कोशी प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालले जानकारी दिए । प्रदेश प्रमुख खापुङले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम बैठकलाई सम्बोधन गर्नेछन् ।

सफारी दुर्घटनामा छ जना पर्यटक घाइते

चितवन, जेठ २० गते । पर्यटक बोकेको जिप दुर्घटना हुँदा छ जना पर्यटक घाइते भएका छन् । खैरहनी नगरपालिका-१२ दराई ताल नजिक कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्ज जाने क्रममा जिप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ४ च ८८५५ नम्बरको सफारी जिप अनियन्त्रित भई दुर्घटना भएको छ । दुर्घटनामा घाइते सबै भारत मुम्बई बेण्डाली थानाका हुन् ।

घाइते हुनेमा ५२ वर्षे सुस्मिता सुदेश खाडिया, ७४ वर्षे रेखारामचन्द्र जादव, ६० वर्षे सुदेशशङ्कर खाडिया, ६४ वर्षे विजय मोरे, ५८ वर्षे वैशाली गुप्तेश्वर र ६२ वर्षे पङ्कज गुप्तेश्वर छन् । घाइतेहरूको रत्ननगर र भरतपुरका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चालक चितवन रत्ननगर नगरपालिका-४ का ४५ वर्षे सन्तकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

श्रीलङ्कामा वर्षा जारी, बाढी र डुबानको जोखिम उच्च

कोलम्बो– श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले राजधानी कोलम्बोको बाहिरी क्षेत्र र टापुका अन्य केही क्षेत्रमा आइतबार भारी वर्षाका कारण ठूलो बाढीको चेतावनी जारी गरेको छ ।

सिंचाइ विभागका अनुसार आइतबार बिहानैदेखि परेको भारी वर्षाका कारण कोलम्बोको बाहिरी इलाकामा रहेको प्रमुख केलानी नदी र श्रीलङ्काको दक्षिणमा रहेको जिन नदीमा पानीको सतह उच्च तहसम्म पुगेको छ । डीएमसीले तल्लो क्षेत्रमा बसोबास गर्ने परिवारलाई उच्च स्थानमा जान सल्लाह दिएको जनाएको छ ।

मौसम विज्ञान विभागले आइतबार जारी गरेको पछिल्लो मौसम चेतावनीमा पश्चिमी र दक्षिणी प्रान्तमा १५० मिलिमिटरभन्दा बढी वर्षाको सम्भावना रहेको र सर्वसाधारणलाई घरभित्रै बस्न चेतावनी दिइएको छ ।डीएमसीका अनुसार बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य आवश्यक परेमा सतर्क रहन पनि सुरक्षाकर्मीलाई अनुरोध गरिएको छ ।
थप वर्षाको सम्भावना रहेको भन्दै शिक्षा मन्त्रालयले सोमबार देशभरका सबै सरकारी विद्यालय बन्द हुने जनाएको छ ।

प्रसूति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्य मन्त्री यादवको निर्देशन

काठमाडौँ, जेठ २० गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले प्रसूति तथा स्त्री रोग अस्पतालको कुपण्डोलस्थित नयाँ भवन यथाशीघ्र सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।
मन्त्री यादवले आज स्वास्थ्य मन्त्रालयका पदाधिकारीको टोलीसहित प्रसूति गृहको अनुगमन गर्दै नयाँ भवन पूर्णरुपमा सञ्चालन गर्न, शौचालयको राम्रो व्यवस्थापन गर्न, आउटरिच क्लिनिकको सेवा बढाउने लगायत निर्देशन दिँदै मन्त्रालयको तर्फबाट सहयोगको प्रतिबद्धता गर्नुभयो । उहाँले बच्चाहरूको शल्यक्रियाका लागि कान्ति बाल अस्पतालसँग शय्याका लागि समन्वय गर्न पहल गर्नेसमेत उल्लेख गर्नुभयो ।

प्रसूति गृहको सो भवन गत फागुन २ गते उद्घाटन भइसकेको छ । पाँच तल्ले भवनमा ओपिडी सेवा, सुरक्षित गर्भपतन सेवा पाठेघरको क्यान्सरको जाँच, पिसाब चुहिने समस्या, टेष्टट्युव बेबीलगायतका सेवा प्रवाह हुनेछ । सो अवसरमा मन्त्री यादवले पोस्ट न्याटल वार्ड, स्पेसल बेबी केयर युनिट, नवजात शिशु कक्ष, एनआइसियु, ह्युमन मिल्क बैङ्क कक्षहरू अनुगमन गर्नुभएको थियो । भवन निर्माणको रुपियाँ भुक्तानी नहुँदा सञ्चालनमा आउन नसकेको अस्पतालका निर्देशक डा.श्रीप्रसाद अधिकारीले जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, “नयाँ भवन छिट्टै सञ्चालनमा आउनेछ । अस्पतालमा पार्किङ र जनशक्तिको अभाव छ । एनआइसियुको बेडको स्तरोन्नति गराउनुपर्ने छ ।” मन्त्रीसमक्ष नर्स इन्दिरा ढुङ्गेलले नर्सिङ जनशक्तिको अभाव भएका कारण दुई जना नर्सले ५२ जना आमाको हेरचाह गर्नुपरेको बताउँदै दरबन्दी बढाउन माग गर्नुभयो । सो अस्पतालको ओपिडीमा दैनिक आठ सयदेखि एक हजारसम्मले सेवा लिने गरेका छन् ।

‘उद्देश्य र योजना राम्रो भए पनि कार्यान्वयन नहुँदा जटिलता आउने गरेको छ’

काठमाडौँ, २० जेठ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सरकारको आगामी आर्थिक वर्षको बजेटको पक्ष र विपक्षमा आफ्नो धारणा राखेका छन् ।अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको ‘आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्तावमाथि छलफलमा भाग लिँदै उनीहरुले विशेष गरी कार्यान्वयनको पाटोलाई विशेष ध्यान दिन आग्रह गरे ।

सांसद झक्कुप्रसाद सुवेदीले कृषि क्षेत्र, भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको तथ्य पेस गर्दै बजेटले राष्ट्रिय आवश्यकतालाई ख्याल गरेको बताए । रोजगारीलाई विशेष प्राथमिकतामा राखिएको तथा आर्थिक सुधारलाई विशेष ध्यान दिएकाले बजेट वस्तुनिष्ठ रहेको उनको भनाइ छ ।

सांसद भुवनबहादुर सुनारले विगतमा बन्द भएका उद्योग प्रतिष्ठान पुनःसञ्चालन गर्ने, आयात निरुत्साहना गर्ने लक्ष्यका साथ बजेटले विशेष प्राथमिकतामा राखेको, ग्रामीण विकास कार्यक्रमलाई महत्व दिएको बताए ।

सांसद सुरेश आलेमगरले नेपाललाई सूचना प्रविधिको केन्द्र बनाउने उद्देश्यका साथ सरकारले आगामी आवको बजेट प्रस्तुत गरेको, वैदेशिक रोजगारीबाट फर्केकालाई उद्यमी बनाउने योजना अगाडि सारेकामा प्रसन्नता व्यक्त गरे । देशभर निर्माण गरिएका विमानस्थल सञ्चालनको मोडालिटी के ? भन्ने प्रश्न गर्दै त्यसमा ध्यान दिन उनले आग्रह गरे ।

छलफलमा भाग लिँदै सांसद उर्मिला अर्यालले सामाजिक न्यायको अभिवृद्धि, गरिबी न्यूनीकरण, स्रोत व्यवस्थापन, आर्थिक वृद्धिको लक्ष्यलाई ख्याल गर्नुपर्ने बताए । आर्थिक वृद्धिदरको लक्ष्यलाई बजेटले कसरी सम्बोधन गर्ला भन्ने जिज्ञासा राख्दै उनले रोजगारी र गरिबी न्यूनीकरणका लागि के कसरी काम गर्ला भन्नेमा सरकारले प्रष्ट जवाफ दिनुपर्ने उल्लेख गरे ।

सांसद दुर्गा गुरुङले सुन्दा बजेट राम्रो भए पनि कार्यान्वयनमा आशङ्का रहेको बताए । उनले पुँजीगत खर्च हुन नसकेको, राजस्व वृद्धि हुन नसकेको अवस्थामा ठूलो आकारको बजेटले उत्साह नभई निराशा मात्रै बढाउने आरोप लगाए ।

सांसद नारायणदत्त मिश्रले अर्थमन्त्रालयमा राखिएको अबण्डा बजेट कहाँ खर्च गरिन्छ भन्ने प्रश्न गर्दै निजी क्षेत्रलाई आश्वस्त बनाएर अगाडि बढ्नुपर्ने, कृषि र स्वास्थ्य क्षेत्रमा चालु आवको तुलनामा बजेट घटाइएका गुनासो गरे । उनले हरेक वर्षको बजेटमा रुग्ण उद्योग सञ्चालन गर्ने उल्लेख गरिए पनि कार्यान्वयन नभएको गुनासो गरे ।

सांसद विष्णुकुमारी सापकोटाले विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्नेगरी बजेटले विशेष ध्यान दिनुपर्ने, खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताइन् । सांसद तुलसाकुमारी दाहालले अर्थतन्त्रमा देखिएको शिथिलतालाई सम्बोधन गर्ने गरी बजेटमा विशेष प्रबन्ध गरिएको र विगतका सकारात्मक कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताइन् । उनले उद्देश्य र योजना राम्रो भए पनि कार्यान्वयन नहुँदा जटिलता आउने गरेको तथ्य स्मरण गराइन्।

सांसद राजेन्द्रलक्ष्मी गैरेले महिलालाई आत्मनिर्भर बनाउने कार्यक्रम बजेटमा छ कि छैन भन्ने प्रश्न गर्दै लैङ्गिक उत्तरदायी बजेट जरुरी रहेको बताइन् । ‘आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्तावमाथि छलफल आगामी बैठकमा समेत जारी रहनेछ ।

शुक्लाफाँटाका महिलालाई आत्मनिर्भर बनाउन १५ दिने होजियारी तालिम

कञ्चनपुर, जेठ २० गते । महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आजदेखि १५ दिने हाते होजियारी तालिम सञ्चालन गरिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा महिला तथा बालबालिका संरक्षण सञ्जालले सञ्चालन गरेको तालिममा उनको धागोबाट स्वेटर, गलबन्दी, टोपी, मोजा, पञ्जालगायत सामग्री बुन्न सिकाइने सञ्जालका अध्यक्ष मधु बोहराले जानकारी दिनुभयो ।

तालिमको शुभारम्भ गर्दै नगरप्रमुख रणबहादुर महराले महिलालाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएकाले त्यसबाट बढिभन्दा बढी लाभ लिन सहभागीलाई आग्रह गर्नुभयो । उहाँले नगर क्षेत्रका महिलालाई सक्षम र स्वरोजगार बनाउने नीतिअनुसार पालिकाले तालिमको आयोजना र आवश्यक सहयोग गर्दै आएको बताउनुभयो । कार्यक्रममा नगर उपप्रमुख कल्पना पन्तले गृहिणीहरुले अब चुलोचौको र मेलापातमा अल्झिन नहुने बताउनुभयो ।

उहाँले फुर्सदको समयलाई सदुपयोग गर्दै आयआर्जनमा लाग्न आग्रह गर्नुभयो । “अहिले पनि सामान्य आवश्यकता पूर्तिका लागि पुरुष वा श्रीमानकै भर पर्नु राम्रो होइन । घरमै बसेर पनि केही गर्न सकिन्छ । त्यसैले तपाईहरुलाई केही सहयोग पुगोस् भनेर तालिम आयोजना गरिएका हो, यसबाट दत्तचित्त भएर सीप सिक्नुहोला । व्यवसाय सुरु गर्न पनि हामीले सहयोग गर्नेछौँ”, उपप्रमुख पन्तले भन्नुभयो । तालिममा नगरपालिकाका १२ वडाको प्रतिनिधित्व हुनेगरी १२ जना महिलाको सहभागिता रहेको छ ।

राष्ट्रियस्तरको कांग्रेसको प्रशिक्षण सकियो

चितवन। नेपाली कांग्रेस चितवनले तीनदिने राष्ट्रियस्तरको आवासीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रीय नेताहरूले तालिम दिएका हुन्।नेपाली कांग्रेसका केन्द्रीय प्रशिक्षक प्रशिक्षण विभागका पूर्वसंयोजक विमलेन्द्र निधिले समावेशिता र समाजवादका बारेमा प्रशिक्षण दिएका थिए ।

पार्टी नेता गोविन्दराज पोख्रेलले नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवाद, गत निर्वाचनको घोषणापत्र र आगामी दिनको अर्थनीतिका बारेमा प्रशिक्षण दिएका थिए। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नयनसिंह महरले प्रतिपक्षको आरोपको प्रतिवाद र प्रकाश रसाइलीले दलित मुद्दाहरूका बारेमा प्रशिक्षण दिएका थिए।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, कांग्रेसको केन्द्रीय प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेश आचार्य, पार्टीको वाग्मती प्रदेशका प्रशिक्षण शाखाका निर्देशक राजु नेपाल, डा सञ्जय चौधरी, एकनारायण पौडेल, प्रकाश अधिकारी, केशव चालिसेले समसामयिक राजनीति र प्रविधिका बारेमा प्रशिक्षण दिएका थिए।

जिल्लाका ५३ जना अगुवा कार्यकर्ता तालिममा सहभागी भएका थिए । शनिबार अबेर तालिमको समापन गरिएको हो । तालिममा सहभागीहरूले पार्टीको नीति र अभियानलाई गाउँगाउँमा पुर्याउने तालिमका संयोजक नेपाली कांग्रेस चितवनका प्रशिक्षण शाखाका संयोजक शालिकराम पौडेलले जानकारी दिए।

आइसिसी टी–२० विश्वकप: अमेरिका–क्यानडा मैदानमा, नेपाली टोलीको स्वागत

अमेरिका । आइसिसी टी–२० विश्वकपमा सहभागी हुने सिलसिलामा यहाँ आएको नेपाली टोलीलाई गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्ले स्वागत गरेको छ । त्यस अवसरमा गैरआवासीय नेपाली सङ्घका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, उपाध्यक्ष भानु खरेल, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द, नेपाली क्रिकेट टोलीका नेता रोहित पौडेलले सङ्क्षिप्त मन्तव्य व्यक्त गर्नुभएको थियो ।

टेक्सासको डलासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा आजदेखि सुरु भएको उक्त प्रतियोगिता एक महिनासम्म चल्नेछ । अमेरिकाले पहिलोपटक आइसिसी प्रतियोगिता आयोजना गरेको हो । आजको पहिलो खेलमा क्यानडाले अमेरिकालाई एक सय ९५ रनको लक्ष्य दिएको छ । टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९४ रन बनाएको हो । अमेरिका र क्यानडाबीचको खेल जारी छ ।

अभिनेता नीर शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान

काठमाडौँ, जेठ २० गते । गोपीकृष्ण कामख्या मिडिया कम्पनीले अभिनेता नीर शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान गरेको छ । शनिबार यहाँ आयोजित एक कार्यक्रममा उहाँलाई नगद रु ५१ हजारसहित उक्त सम्मान प्रदान गरिएको हो । यसैगरी रु २१ हजार राशिको ‘पुष्कर सर्वोत्कृष्ट पत्रकारिता’ पुरस्कार पत्रकार श्याम स्मृतले पाउनुभएको छ ।

अभिनेता शाहले सम्मानित भएपछि भन्नुभयो, “नेपाली चलचित्रका प्रारम्भिक दिनमा ‘प्रिन्ट’ बोकेर चलचित्र भवनमा पुर्याएर उद्धव पौडेलले गर्नुभएको योगदानसँग म परिचित छु । मलाई अझै काम गर्ने प्रेरणा मिलेको छ ।”

यसैगरी ‘नारायण’ सर्वोत्कृष्ट निर्माण नियन्त्रक पुरस्कार अरुण रेग्मी (महानगर), ‘शुभ’ सर्वोत्कृष्ट पाश्र्वसङ्गीत पुरस्कार किरण तुलाधर (बुलाकी), ‘प्रदीप’ सर्वोत्कृष्ट पुनः ध्वनि मुद्रण (मिक्सिङ) पुरस्कार मुकेश शाह (नाङ्गो गाउँ), ‘भुटानी’ सर्वोत्कृष्ट द्वन्द्व निर्देशक पुरस्कार हिमाल केसी (एक भगवत एक गीता), ‘वसन्त’ सर्वोत्कृष्ट नृत्य निर्देशक पुरस्कार कविराज गहतराज (एक भगवत एक गीता)ले प्राप्त गर्यो ।

त्यसैगरी ‘किरण’ सर्वोत्कृष्ट गीतकार पुरस्कार सुष्मा सिग्देल (नाङ्गो गाउँ), ‘उदित’ सर्वोत्कृष्ट पाश्र्व गायन पुरस्कार एसडी योगी र अञ्जु पन्त (नाङ्गो गाउँ), ‘शम्भुजीत’ सर्वोत्कृष्ट सङ्गीतकार पुरस्कार आशिष अविरल (एचो पैचो), ‘तुलसी’ सर्वोत्कृष्ट सम्पादक पुरस्कार वनिश शाह (पशुपति प्रसाद २ः भष्मे डन), ‘मञ्जु’ सर्वोत्कृष्ट छायाकार पुरस्कार शिव ढकाल (बुलाकी), ‘लक्ष्मीनाथ’ सर्वोत्कृष्ट कथा र संवाद पुरस्कार उपेन्द्र सुब्बा (जारी), ‘चेतन’ सर्वोत्कृष्ट पटकथा लेखन पुरस्कार प्रदीप भट्टराई ९महाजात्रा०, ‘कुसुमे रुमाल’ सर्वोत्कृष्ट व्यावसायिक चलचित्र पुरस्कार जारी, ‘मह’ जुरी गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार द रेड सुट्सेकलाई प्रदान गरियो ।

कार्यक्रममा ‘गोपालराज’ सर्वोत्कृष्ट हास्य कलाकार पुरस्कार रवीन्द्र झा (महाजात्रा), ‘चैत्य’ सर्वोत्कृष्ट नवअभिनेत्री पुरस्कार परीक्षा लिम्बू (जारी), ‘विश्व’ सर्वोत्कृष्ट नवअभिनेता पुरस्कार प्रकाश सपूत (परदेशी २), ‘वसुन्धरा’ सर्वोत्कृष्ट सहअभिनेत्री पुरस्कार वर्षा शिवाकोटी (पशुपति प्रसाद २ः भष्मे डन), ‘नीर’ सर्वोत्कृष्ट सहअभिनेता पुरस्कार अर्पण थापा (दिमाग खराब), ‘भुवन’ सर्वोत्कृष्ट अभिनेत्री पुरस्कार स्वस्तिमा खड्का (दिमाग खराब) र मिरुना मगर (जारी), ‘शिव’ सर्वोत्कृष्ट अभिनेता पुरस्कार विपिन कार्की (महाजात्रा), ‘हिरा’ सर्वोत्कृष्ट चलचित्र पुरस्कार महाजात्रा र ‘प्रकाश’ सर्वोत्कृष्ट निर्देशक पुरस्कार प्रदीप भट्टराई (महाजात्रा)लाई प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रथम अभिनेत्री भुवन चन्द, चैत्य देवी, वसुन्धरा भुसाल, अभिनेता रमेश उप्रेती, निर्देशक ज्ञानेन्द्र देउजा, दीपेन्द्र लामा, सङ्गीतकार शम्भुजित बाँस्कोटा, अभिनेता रमेश उप्रेतीलगायत कलाकार उपस्थित हुनुहुन्थ्यो ।

सेती लोकमार्ग :पहिलो चरणमा कैलालीको दुर्गौलीदेखि प्रतापपुरसम्म दश किलोमिटर कालोपत्रे हुँदै

कैलाली । सेती लोकमार्गअन्तर्गत पहिलो चरणमा कैलालीको दुर्गौलीदेखि प्रतापपुरसम्मको १० किलोमिटर खण्ड कालोपत्रे गरिने भएको छ । त्यसका लागि ठेक्का सम्झौताको काम अन्तिम चरणमा पुगेको छ ।

सेती राजमार्ग योजना कार्यालय अछामका सूचना अधिकारी केशवदत्त मिश्रका अनुसार कालोपत्रे गर्न निर्माण कम्पनीसँग एकदुई दिनभित्रै सम्झौता हुँदैछ ।सडक कालोपत्रका लागि रु ३१ करोड प्राप्त भएको छ ।

कैलालीको टीकापुरबाट बझाङको उत्तरी सीमा क्षेत्रको उरै भञ्ज्याङ जोड्ने सेती लोकमार्गको ठुलीगाडदेखि सेती र बुढीगङ्गा दोभानसम्मको ४० किलोमिटर क्षेत्रमा रुख काट्न सरकारले अनुमति दिएको छ ।

दुई सय चार किलोमिटर लामो उक्त सडकमा पर्याप्त बजेट विनियोजन नहुँदा निर्माण सुरु भएको १५ वर्षमा एक सय २६ किलोमिटर मात्र ट्रयाक खुलेको छ । यो लोकमार्गको कैलाली खण्डमा ७२ किलोमिटरमध्ये तीन किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको आयोजना कार्यालय अछामले जनाएको छ ।

कैलालीको टीकापुरबाट चैनपुरसम्मको सडकखण्डमध्ये डोटी, बझाङ र अछाममा रेखाङ्कन गरिएको कतिपय ठाउँमा ट्रयाक बाँकी छ । अछाममा ८० किलोमिटरमध्ये २३ किलोमिटर ट्रयाक खोल्ने काम बाँकी रहेको सूचना अधिकारी मिश्रले दिनुभयो । बाजुराको मेडासैनबाट राना गाउँसम्मको १२ किलोमिटर ट्रयाक खोल्न बाँकी छ ।चालु आर्थिक वर्षमा सो सडकका लागि रु १४ करोड बजेट विनियोजन भएकोे छ । सो सडकमा पर्ने पुल निर्माणका लागि चालु आवमा रु तीन करोड छुट्याइएको छ ।

हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने इजरायली प्रधानमन्त्रीको दाबी

जेरुसेलम (इजरायल), जेठ २० गते । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिबार गाजा युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रस्तुतीपछि द्वन्द्वको एक हिस्साको रूपमा हमासको बिनास नभएसम्म युद्धको अन्त्ये नहुने दाबी गर्नुभएको छ ।

युद्धको अन्त्यका लागि इजरायलको अवस्था परिवर्तन नभएको जनाउँदै इजरायली नेताले हमासको बिनासले सबै बन्धकलाई मुक्त गर्ने र इजरायललाई खतरा नभएको सुनिश्चित गर्ने विज्ञप्तिमार्फत जनाएका छन् ।

प्रस्ताव अन्तर्गत, इजरायलले स्थायी युद्धबिराम लागू गर्नु अघि यी सर्तहरू पूरा गर्नुपर्नेमा जोड दिएको छ । यी सर्त पूरा हुनुअघि इजरायल स्थायी युद्धबिराममा सहमत नहुने धारणा नेतान्याहुले उल्लेख गर्नुभयो ।शनिबार, बाइडेनले इजरायललाई गाजामा पूर्ण युद्धबिरामका लागि नयाँ रोडम्याप प्रस्ताव गरिरहेको बताउनुभयो । उहाँले युद्धबिराम तीन चरणको प्रस्तावमा छ हप्तादेखि गाजाको सबै क्षेत्रबाट इजरायली सेना फिर्ता हुने बताउनुभयो ।

युद्धको अन्त्यसँगै सयौँ प्यालेस्टिनी कैदीको रिहाइको बदलामा महिला, वृद्ध–वृद्धा घाइतेलगायत धेरै बन्धकको रिहाइ हुने बाइडेनले उल्लेख गर्नुभएको छ । इजरायल र प्यालेस्टिनीले स्थायी युद्धबिरामका लागि छ हप्तामा वार्ता गर्ने र वार्ताको क्रममा युद्धबिराम जारी रहने बाइडेनले जनाउनुभयो ।हमासले बाइडेनले बनाएको योजनालाई सकारात्मकरूपमा लिएको जनाइएको छ ।

इजिप्ट, इजरायल र अमेरिकाबिच रफाह नाका खोल्ने विषयमा छलफल हुने

कायरो, जेठ २० गते । गाजाको रफाह सीमा क्षेत्रमा आवागमन खोल्ने विषयमा छलफल गर्न आइतबार कायरोमा बैठक गर्ने इजिप्ट, इजरायल र संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले जनाएका छन् ।

इजिप्टको अल–काहेरा टिभीले तीनै देशका अधिकारीहरूलाई उद्धृत गरी गाजाको रफाह सीमा क्षेत्रमा आवागमन खोल्ने विषयमा छलफल हुने जनाएको हो ।इजिप्टले प्यालेस्टिनी पक्ष इजरायलको नियन्त्रणमा रहेसम्म राफा नाका नखोल्ने आफ्नो अडानमा रहेको बताएको उच्च सुरक्षा स्रोतलाई उद्धृत गर्दै समाचारमा उल्लेख छ ।

स्रोतका अनुसार इजिप्टले सीमामा आवतजावत बन्द गर्न र गाजा पट्टीमा बिग्रँदो मानवीय स्थितिका लागि इजरायली पक्षलाई जिम्मेवार ठहर्‍याउँछ ।इजरायली सेनाले मे ७ मा प्यालेस्टाइनी पक्षमाथि आफ्नो नियन्त्रण लागू गरेको घोषणा गरेदेखि यो नाका बन्द गरिएको हो ।

गाजा र इजिप्टको बिचमा अवस्थित रफाह पार गरी घाइते र बिरामीलाई उपचारका लागि विदेश लैजान र गाजा क्षेत्रमा मानवीय र राहत सहायता प्रदान गर्न मुख्य प्रवेशद्वार हो ।
सन् २०२३ अक्टोबर ७ देखि इजरायलले गाजा पट्टीमा हमास आन्दोलन (हमास समूह) विरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेको छ । आक्रमणका कारण ३६ हजारभन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

मुगुमा यार्सागुम्बा सङ्कलन गर्न गएका चारजनाको मृत्यु, एक सिकिस्त

मुगु । बितेका दुई दिनमा यार्सागुम्बा सङ्कलन गर्न गएका जिल्लाका चारजनाको मृत्यु भएको छ । लेक लागेर उनीहरूको मृत्यु भएको हो ।लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा शनिबार मृत्यु भएको र अन्य एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार शनिबार मुगु स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि जिल्ला सदरमुकाम गमगढीतर्फ ल्याउँदा छायानाथ रारा नगरपालिका–१० तल्लेख गाउँका दुईजना सिकिस्त बिरामी जीवन बुढा र देवराज बुढामध्ये २० वर्षीय देवराज बुढाको बाटोमा मृत्यु भएको हो ।

शनिबार पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढा र राजबहादुर सावतको मृत्यु भएको थियो । देवराज बुढाको मृत्युसँगै मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

गत वर्ष यार्सा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर मृत्यु भएको थियो । मुगुका २४ भन्दाबढी क्षेत्रमा यार्सा सङ्कलन गर्न मुगुमकार्मारोङ्ग गाउँपालिकाले गत वैशाख २५ गते प्रवेश खुला गरेको हो ।

बैतडीमा शैक्षिक सम्मेलन सम्पन्न, ४३ बुँदे घोषणापत्र जारी

बैतडी । शैक्षिक गुणस्तर सुधारका लागि बैतडीको डिलाशैनी गाउँपालिकाले आयोजना गरेको पालिकास्तरीय शैक्षिक सम्मेलन ४३ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । तीन दिनसम्म सञ्चालन भएको सम्मेलनमा शिक्षा क्षेत्र सुधारका विभिन्न विषयमा छलफल भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख महादेव भट्टले जानकारी दिए ।

शैक्षिक सम्मेलनले पारित गरेको घोषणापत्रमा प्रत्येक विद्यालयमा छात्रवृत्ति कोष स्थापना गर्ने, फोहरमैला व्यवस्थापन, नैतिक शिक्षा दिने, विद्यालय सुधार योजनाअनुसार अघि बढ्ने, हरित विद्यालयको अवधारणा, विद्यालयको दिवाखाजा कार्यक्रमका लागि विद्यालयमै उत्पादन, उत्कृष्ट खेलाडी उत्पादन गर्नेलगायतका कुरा उल्लेख छन् ।

सम्मेलनको पहिलो दिन विद्यालयहरूले विद्यालय सुधार योजना प्रस्तुत गरेका थिए भने दोस्रो दिन विज्ञान तथा कला प्रदर्शनी र कार्यक्रमको अन्तिम दिन नृत्य प्रतियोगितासहित सम्मेलन सम्पन्न हो । सम्मेलनले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि सामूहिकरूपमा पहल गर्ने निष्कर्ष निकालेको डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टको विश्वास छ ।

गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले सम्मेलनले सामुदायिक विद्यालयलाई आफ्नो कार्ययोजनाअनुसार शैक्षिक कार्यक्रम अघि बढाउन सहयोग मिल्ने विश्वास व्यक्त गरे । उनले भने, “सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि सम्मेलनको आयोजना गरिएको हो । यसले भोलिका दिनमा सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार ल्याउने अपेक्षा छ ।”

गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा आयोजना गरिएको सम्मेलनमा पालिकाभरिका ५६ सामुदायिक विद्यालयको सहभागिता थियो ।

जनताले सङ्घीयताको महसुस गर्नेगरी काम गर्नुपर्छ : प्रदेश प्रमुख खापुङ

खोटाङ । कोशी प्रदेशका प्रमुख परशुराम खापुङले जनताले सङ्घीयताको महसुस गर्नेगरी जनप्रतिनिधिले काम गर्नुपर्ने बताएका छन् । जिल्ला समन्वय समिति महासङ्घ कोशी प्रदेश समितिले सनिबार दिक्तेलमा आयोजना गरेको ‘सङ्घीयता सुदृढीकरण तथा संविधान कार्यान्वयन’ विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्नुहुँदै उनले प्राप्त अधिकारहरू कार्यान्वयन गर्दै जनताले प्रत्यक्ष रूपमा सङ्घीयताको महसुस गर्नेगरी जनप्रतिधिले काम गर्नुपर्ने बताएका हुन् ।

प्रदेश प्रमुख खापुङले जनताको अपेक्षा पूरा गर्न तीनै तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक रहेको बताए । “मुलुकको विकासका लागि स्थानीय स्रोत तथा साधनलाई भरपुर सदुपयोग गनुपर्छ । स्थानीय स्रोत तथा साधनको सदुपयोग नभएसम्म विकास सम्भव छैन”, उनले भने, “स्थानीय स्रोत तथा साधन सदुपयोग गर्न सङ्घीयता सुदृढ ढङ्गले कार्यान्वयन गर्नुपर्छ । सङ्घीयता कार्यान्वयन भएपछि मात्र जनताले खान, बस्न र रोजगारीलगायतका आधारभूत सेवासुविधा प्राप्त गर्न सक्छन् ।”

प्रदेश प्रमुख खापुङले जिल्ला समन्वय समितिको उद्देश्य, लक्ष्य र जिम्मेवारी पूरा गर्नका निमित्त आवश्यक कानुन निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने बताए । “जनप्र
यसका लागि तीनै तहका सरकारबीच सहकार्य र समन्वय हुनुपर्छ”, उनले भने, “जनताको अधिकार सुनिश्चितता नभएसम्म राष्ट्रिय एकतासमेत बलियो हुँदैन । देशलाई एकताबद्ध बनाएर मुलुकको पहिचान बचाउन जनप्रतिनिधिहरूबीच सहकार्य आवश्यक छ ।”

जनताको अवस्थामा परिवर्तन नआएसम्म देशमा सङ्घीयता कार्यान्वयन भएको नमानिने उनले बताएका हुन् । “भौतिक पूर्वाधार विकास भए पनि जनताको बाँच्न पाउने अधिकार सुनिश्चित भएको छैन भने त्यो विकास भएको मानिँदैन । जनप्रतिनिधिहरूले भौतिक पूर्वाधारहरूसँगै जनताको गाँस, बास र कपास सुनिश्चिततामा ध्यान दिन जरुरी छ”, उनले भने ।

जिल्ला समन्वय समिति महासङ्घ नेपाल र प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजिएसपी) को संयुक्त आयोजनामा भएको कार्यक्रममा संविधानसभा सदस्य एवं कानुनविद् हरि रोकाले ‘नेपाली विशेषताको सङ्घीयता’ शीर्षकको कार्यपत्र पेश गरेका थिए ।

प्रदेश प्रमुख खापुङलाई जिल्ला समन्वय समिति महासङ्घ नेपालले सम्मानसमेत गरेको थियो । दिक्तेलस्थित सोल्मामा आयोजित साकेला उँभौली कार्यक्रममा समेत सहभागी हुन दिक्तेल आएका प्रदेश प्रमुख खापुङलाई जिल्ला समन्वय समिति खोटाङले मायाको चिनोस्वरुप वाबु ‘चिण्डो’ उपहार दिएको छ ।

जिल्ला समन्वय समिति महासङ्घ कोशी प्रदेशका अध्यक्ष कमल थुलुङको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष राजन मेहता तथा पदाधिकारी, कोशी प्रदेशका १४ वटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख तथा समन्वय अधिकारीलगायतको उपस्थिति थियो ।

जिल्ला समन्वय समिति महासङ्घ नेपालले ‘सङ्घीयता सुदृढीकरण तथा संविधान कार्यान्वयन’ विषयक कार्यशाला गोष्ठी सातवटै प्रदेशमा आयोजना गरेको महासङ्घका केन्द्रीय कोषाध्यक्ष एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जानकारी दिए ।

एमाले राष्ट्रिय शक्ति बन्यो भने मात्र देशमा आमूल परिवर्तन गर्न सकिने : वरिष्ठ उपाध्यक्ष पोखरेल

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मिसन–८४ अन्तर्गत बहुमत ल्याउने गरी एकताबद्ध भएर लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । हानगर कमिटीको दोस्रो अधिवेशनको सनिबार पोखरामा उद्घाटन गर्दै उनले एमाले राष्ट्रिय शक्ति बन्यो भने मात्र देशमा आमूल परिवर्तन गर्न सकिने भन्दै सोही उद्देश्यका साथ अघि बढ्न निर्देशन दिए । उनले भने, “राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका लागि सबै राजनैतिक पार्टी एक ठाउँमा उभिनुको विकल्प छैन ।”

देशलाई सही दिशामा अगाडि बढाउने अभियान साकार पार्न पार्टी कमिटीलाई तल्लो तहदेखि नै सुदृढ बनाउनुपर्नेमा जोड दिँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले समाजवादी मोर्चा, वामपन्थी एकताका भन्दा पनि कामपन्थी एकताको खाँचो औंल्याए ।

पार्टी स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले आगामी निर्वाचनमा तीनवटै तहमा एमालेले बहुमत ल्याउनुपर्ने आवश्यकता औँल्याए । आगामी निर्वाचनमा पोखरा महानगरपालिकाका ३३ वटै वडामा जित सुनिश्चित हुने गरी अघि बढ्न कार्यकर्तालाई आग्रह गर्दै उनले विगतलाई बिर्सेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

एमाले पोखरा महानगरपालिका कमिटीका अध्यक्ष दिलीप न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्थायी कमिटी सदस्य एवं कास्की जिल्ला इन्चार्ज थममाया थापा, केन्द्रीय सदस्य एवं महानगर इन्चार्ज कृष्ण थापा, केन्द्रीय सदस्य तथा पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङ, गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, कास्की जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, महानगर उपाध्यक्ष मोहन गुरुङ र सचिव जीवन आचार्यले धारणा राखेका थिए ।

प्राविधिक जनशक्ति उत्पादन गर्न पालिकाको छात्रवृत्ति

फुङ्लिङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको छ । दक्ष प्राविधिक जनशक्ति उत्पादनमा सघाउने उद्देश्यले गाउँपालिकाले छात्रावृत्तिको व्यवस्था गरेको हो ।


गाउँपालिकाले विगत तीन वर्ष देखि विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको पाथीभरा याङवरक गाउँपालिकाका शिक्षा शाखाप्रमुख लाप्साङ तामाङले बताए । गाउँपालिकाले चालु आर्थिक वर्षमा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । गाउँपालिका भित्र विज्ञान विषय पठनपाठन हुदैन ।

विज्ञान विषय पढ्न गाउँपालिका बाहिर जानुपर्ने अवस्था छ । विद्यार्थीले प्राप्त गरेको अङ्कको आधारमा एक शैक्षिक सत्रमा रु २० हजारदेखि रु ६० हजारसम्म छात्रवृत्ति प्रदान गरिने शिक्षा शाखाले जनाएको छ । चालु आर्थिक वर्षका लागि गाउँपालिकाले रु पाँच लाख विनियोजन गरेको शाखाप्रमुख तामाङले बताए।

चालीस लाख खर्चेर म्याग्दीको दग्नाममा खेलमैदान निर्माण

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा खेलमैदान निर्माण भएको छ । दग्नामको एकता युवा क्लबले गाउँपालिका, प्रदेश सरकार, जलविद्युत् आयोजना र स्थानीयवासीको सहयोग जुटाएर प्यारापिटसहितको खेलमैदान निर्माण गरेको हो ।

चालीस लाखको लागतमा एक सय मिटर लम्बाइ र ५० मिटर चौडाइ भएको खेलमैदान निर्माण भएको क्लबका अध्यक्ष मनोज तिलिजाले बताउनुभयो । “व्यवस्थित खेलमैदान बनेपछि विद्यालय परिसर र खेतबारीमा खेलअभ्यास तथा प्रतियोगिता सञ्चालन गर्नुपर्ने समस्या हटेको छ”, उहाँले भन्नुभयो । खेलाडीलाई फुर्सदको समयमा व्यायाम, खेलअभ्यास र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ । गण्डकी प्रदेश सरकारको रु १५ लाख सहयोगमा ढलान गरिएको खेलमैदानमा अपर र मङ्गले राहुघाट जलविद्युत् आयोजनाको प्रवर्द्धक तुण्डी हाइड्रोपावरको रु १४ लाख बजेटमा स्टेज निर्माण भएको अध्यक्ष तिलिजाले बताउनुभयो ।

गाउँपालिकाबाट विनियोजित रु ११ लाख बजेटबाट प्यारापिट निर्माण र तारजालीले खेलमैदानको डिलतर्फ घेराबार गरिएको वडाध्यक्ष पविन गर्बुजाले बताउनुभयो । बाहालवाला र सेवानिवृत्त भारतीय गोर्खा सैनिकहरूको रु पाँच लाख बढी सहयोगमा बास्केटबलको फाइबर बोर्ड जडान भएको छ ।

क्लबका पूर्वअध्यक्ष गुन पुनले खेलमैदान निर्माणका लागि स्थानीय यौमन गर्बुजाले पाँच रोपनी, भक्त र रुकबहादुर गर्बुजका दाजुभाइ, नन्दबहादुर र कुलप्रसाद गर्बुजाका दाजुभाइ एवं विशाल र श्रीलाल गर्बुजाका दाजुभाइका परिवारले गरी पाँच रोपनी बढी जग्गा दान गरेका जानकारी दिनुभयो ।

खेलमैदानको भूमे पूजाका अवसरमा एकता युवा क्लबले आयोजना गरेको खेलकुद तथा सांस्कृतिक कार्यक्रमको अवसरमा शनिबार प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा क्लबले जग्गादाता र चन्दादातालाई सम्मान गरिएको थियो ।

आजको मौसमः दिउँसो देशभर आंशिक बदली हुने

काठमाडौं । नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तरप्रदेश देखि पश्चिम बांग्लादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्या्ङ्ग सहित हल्का वर्षा भैरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी तथा लुम्बिनी प्रदेशका एक-दुइ स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको छ | देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती कोशी, मधेश र बाग्मती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेश र बागमती प्रदेशको थोरै स्थानहरुमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सोमवार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको एक-दुइ स्थानमा हावाहुरीको सम्भावना रहेको छ | देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मंगलवार कोशी, बाग्मती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी तथा लुम्बिनी प्रदेशका एक-दुइ स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको छ | देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

चीनद्वारा बालबालिकाका लागि २१ औषधि बजारमा पठाउन अनुमति

बेइजिङ- चीनले बालबालिकाका लागि २१ वटा औषधि बजारमा पठाउन अनुमति दिएको छ ।चीनको नेसनल मेडिकल प्रोडक्ट्स एडमिनिस्ट्रेसनले यस वर्ष बालबालिकाका लागि २१ वटा औषधिको बजार प्रवेशलाई स्वीकृति दिएको घोषणा गरेको हो ।

हालैका वर्षहरूमा प्रशासनले अनुसन्धान र विकास, अनुमोदन र बच्चाहरूको लागि औषधिहरूको उत्पादनको लागि आफ्नो नीतिगत समर्थनलाई बढावा दिएको छ । तथ्याङ्कअनुसार सन् २०१९ देखि प्रशासनले बालबालिकाका लागि २७१ वटा औषधि स्वीकृत गरेको छ । यसले बालबालिकाका लागि औषधिको पुनरावलोकन र अनुमोदनलाई सहजीकरण गर्न र सम्बन्धित बौद्धिक सम्पत्ति अधिकारको संरक्षणलाई तीव्रता दिन अझ बढी प्राथमिकतामूलक नीतिहरू लागू गर्ने प्रतिबद्धता जनाएको छ ।

बुटवल पावर कम्पनीको दोस्रो तलामा एकजना मृतावस्थामा फेला

काठमाडौँ- काठमाडौँ महानगरपालिका-१० बुद्धनगरस्थित बुटवल पावर कम्पनीको दोस्रो तलामा एक जना मृत अवस्थामा फेला परेका छन् ।

मृत फेला परेका व्यक्ति बाजुरा बडिमालिका नगरपालिका घर भई काठमाडौँ कलङ्की बस्ने ५० वर्षीय यमनबहादुर रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार विक आज मृत फेला परेका हुन् ।उक्त घटनाका विषयमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

कोलोम्बो प्लान परामर्श समितिको ४८औँ बैठक सम्पन्न

काठमाडौँ । कोलोम्बो प्लान परामर्श समितिको ४८औँ बैठक मङ्गोलियाको उलानबोटरमा आज सम्पन्न भएको छ ।बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्वकर्ता राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले हाल नेपालले एकजना विदेशी विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।

उहाँले आगामी दिनमा नेपाली भाषा, संस्कृति, बौद्ध दर्शनजस्ता विषय अध्ययनका लागि नेपाल सरकारका तर्फबाट छात्रवृत्ति उपलब्ध गराउनेलगायत आठ प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बैठकमा उपाध्यक्ष डा.श्रेष्ठले दक्षिण एसिया तथा दक्षिण पश्चिम एसिया उपक्षेत्रको समूह बैठकको अध्यक्षता गर्नुभयो ।

बैठकले कोलम्बो प्लानको वार्षिक प्रतिवेदन स्वीकृत गर्नुका साथै कोलम्बो प्लानअन्तर्गत सञ्चालित कार्यक्रमको समीक्षा गर्दै आगामी दिनमा सञ्चालन गरिने कार्यक्रमबारेमा छलफल गरेको उहाँको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

पछिल्लो समय क्षमता अभिवृद्धि तथा प्राविधिक सहयोगमा केन्द्रित रहेको प्लानले लागूपदार्थविरुद्धको अभियान तथा महिला सशक्तीकरणको क्षेत्रमा समेत विशेष कार्यक्रम सञ्चालन गरिआएको छ ।सन् १९५१ मा स्थापना भएको कोलम्बो प्लानमा नेपाललगायत २८ राष्ट्र सदस्य छन् भने सो संस्थाको सचिवालय श्रीलङ्काको कोलम्बोमा छ ।

नासाद्वारा सबैभन्दा टाढाको आकाशगंगा फेला परेको दाबी

लस एन्जलस- नासाको जेम्स वेब स्पेस टेलिस्कोपको डाटा प्रयोग गरेर खगोलविद्हरूले सबैभन्दा टाढाको ज्ञात आकाशगंगा (ग्यालेक्सी) पत्ता लगाएको नासाले जनाएको छ ।
यो ग्यालेक्सी ब्रह्माण्ड उत्पत्तिको सुरुवाती विस्फोट, बिग ब्याङ्ग, को ३० करोड वर्षको समयभन्दा कम समयमा बनेको थियो ।

खगोलशास्त्रीहरूले ब्रह्माण्डको सुरुवात कसरी भयो भनेर व्याख्या गर्ने बिग ब्याङ्ग हो । यो ब्रह्माण्ड केवल एक बिन्दुको रूपमा सुरु भयो । त्यसपछि विस्तारित र अहिलेको रूपमा ठूलो रूपमा फैलिएको विचार हो र यो अझै पनि फैलिरहेको छ ।पछिल्ला दुई वर्षमा, वैज्ञानिकहरूले वेबको प्रयोग गरी ‘कस्मिक डन’ को पत्ता लगाउने प्रयास गरिरहेका छन् ।

यी आकाशगंगाहरूले ब्रह्माण्ड धेरै सानो हुँदा ग्यास, तारा र ब्ल्याक होलहरू परिवर्तन भएका तरिकाहरूमा महत्त्वपूर्ण अन्तरदृष्टि प्रदान गर्ने नासाले जनाएको छ ।

अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप तीन दिन बन्द

बर्दिया । बर्दियामा अत्यधिक गर्मीका कारण मधुवन नगरपालिकाका सबै विद्यालय थप तीन दिनका लागि बन्द गर्ने निर्णय भएको छ । यसअघि जेठ १६ देखि १८ गतेसम्म विद्यालय बन्द गरिएको थियो ।

नगर शिक्षा समितिको आजको बैठकले जेठ २२ गतेबाट सञ्चालनमा आउने गरी थप तीन दिन विद्यालय बन्द गर्ने निर्णय गएको सो शाखाका प्रमुख नारायण खनालले बताए ।

बर्खे बिदाबाट कट्टा हुनेगरी सबै विद्यालयको प्रशासनिक कार्य गर्न÷गराउन बाधा नपर्ने गरी पठनपाठन कार्यमात्र बन्द गरिएको मधुवन नगरपालिकाका शिक्षा सुपरीवेक्षक खगेन्द्रप्रसाद खनालले बताए । बिदा घोषणा गरे पनि मौसम सुधार भएको खण्डमा भने पठनपाठन गर्न सकिने शिक्षा शाखा सुपरीवेक्षक खनालले जानकारी दिए ।

अत्यधिक गर्मी बढेका कारण जिल्ला अस्पताल तथा विभिन्न मेडिकलमा बिरामीको सङ्ख्या बढेका छन् । बिरामीको चापले अस्पतालमा शय्याको अभाव हुन थालेको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुवास पाण्डेले बताए । उनका अनुसार गर्मी र तातो हावाका कारण बिरामी हुनेको सङ्ख्या दिनप्रतिदिन बढिरहेका छन् ।

गर्मीका कारण ‘लू’ लागेका, झाडापखाला र विभिन्न प्रकारका छालाजन्य रोगका बिरामी अस्पतालमा बढी आउने गरेको डा पाण्डेले बताए । बालबालिकामा शरीरभर रातो बिबिरा आउने, बिबिरा पाकेर घाउ बन्ने र सङ्क्रमण हुने भएकाले सावधानी अपनाउनुपर्ने उनले बताए ।

विधिको शासन सञ्‍चालनका लागि तीन अङ्गबीच समन्वय जरुरी : सभामुख घिमिरे

मोरङ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । उच्च अदालत विराटनगर बार एसोसिएसनले आज साँझ यहाँ आयोजना गरेको प्रचलित कानुनी व्यवस्थाहरूको प्रयोगमा देखिएको समस्या तथा समाधानको सम्बन्धमा अन्तरक्रियामा उनले मुलुकको विधिको शासनलाई प्रभावकारी रूपमा तीन अङ्गबीच समन्वय हुनु आवश्यक भएको धारणा राखे ।

सभामुख घिमिरेले संसद्को मुख्य कार्य कानुन बनाउने भएको तर विगत १६ महिनामा कानुन बनाउनेभन्दा अन्य कार्य भइरहेको बताए । उनले सरकारका काम कारबाहीको अनुगमन, नियन्त्रण र निर्देशन गर्ने जनप्रतिनिधिहरूको महत्वपूर्ण भूमिका भए पनि गर्न ठोस रूपमा हुन नसकेको विचार राखे । उनले नेपालको संविधान २०७२ कार्यान्वयनका लागि विभिन्न कानुन निर्माण हुन आवश्यक रहेको रहेको आवश्यकता औँल्याए ।

सभामुख घिमिरेले प्राथमिकताका साथ गर्नुपर्ने काममा संसद अगाडि बढेको जानकारी दिँदै निजामती सेवा विधेयकलाई संसदीय समितिमा छलफलमा पठाइएको बताए । उनले कानुन कार्यान्वयनमा देखिएका अप्ठ्याहरूको सम्बन्धमा तयार गरिएको प्रतिवेदन कानुनमन्त्रीमार्फत सम्बोधन गर्ने विश्वास दिलाए ।

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारीले समाजलाई रूपान्तरणको दिशातर्फ लैजाने गरी काम गर्न नव कानुन व्यवसायीहरूलाई सुझाव दिए ।

उच्च बारका अध्यक्ष विश्वराज भट्टराई, वरिष्ठ अधिवक्ताहरू सुरेन्द्रराज श्रेष्ठ, भरतबहादुर थापा, चूडामणि आचार्य, नेपाल वारका केन्द्रीय सदस्य सीता पौडेल, उच्च बारकी सहसचिव रुक्मीणा दाहाल, नेपाल बारका पूर्वउपाध्यक्ष सीताराम राई देवीप्रसाद घिमिरे, मोरङ बारका पूर्वअध्यक्ष डिल्ली कार्कीले सङ्घले प्रदेश सरकारलाई बलियो बनाउन शान्तिसुरक्षा, विद्युत् वितरणलगायत कानुन निर्माण अधिकार दिनुपर्ने सुझाव दिए ।

सोही अवसरमा सभामुख घिमिरेलाई नागरिकलाई देवानी, फौजदारी, अपराधसंहितालगायत कानुन कार्यान्वयनमा परिरहेको समस्या समाधानका लागि कानुन संशोधन विषयमा तयार पारिएको प्रतिवेदन वरिष्ठ अधिवक्ता रमेश कोइरालाले हस्तान्तरण गरे । सभामुख घिमिरेले अधिवक्ताको ३१औँ परीक्षामा उत्तीर्ण कानुन व्यवसायीहरूलाई प्रमाणपत्र वितरण गरे ।

पत्रकार महासंघको निर्वाचन तोकिएकै समयमा गर्न ६ संगठनको माग

काठमाडौं‌ । नेपाल पत्रकार महासंघको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्न विभिन्न छ संघठनले माग गरेका छन् ।महासंघको जेठ २६ गते तोकिएको निर्वाचनको मिति नजिकिँदै जाँदा सदस्यता र नामावली टुङ्गो लगाएर सावर्जनिक गर्न ढिलाइ गरिएको भन्दै प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठन नेपाल, प्रगतिशील पत्रकार सङ्घ नेपाल, जनपत्रकार सङ्गठन नेपाल र क्रान्तिकारी प्रेस सङ्गठनले शनिबार संयुक्त विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन् ।

ति सङ्गठनले महासंघ नेतृत्वलाई छिटो सदस्यता टुङ्गो लगाई तोकिएको समयमा निर्वाचनको सुनिश्चितता गर्न आग्रह गरेका छन् । “निर्वाचन प्रयोजनका लागि वैशाख मसान्तभित्र निर्वाचन समितिलाई मतदाता नामावली उपलब्ध गराउन महाधिवेशनले निर्देश गरेकामा हालसम्म पनि निर्वाचन समितिलाई आधिकारिक सूची उपलब्ध नगराइएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ ।

महासंघका अद्यावधिक सदस्यहरूको नामावली तत्काल निर्वाचन समितिलाई बुझाई सार्वजनिक गर्न र नामावलीमा छुट भएका क्रियाशील पत्रकारहरूको नामावली समावेश गरी निर्वाचन समितिबाट प्रक्रियाबमोजिम अन्तिम नामावली प्रकाशन गर्ने वातावरण बनाउन पनि विज्ञप्तिमार्फत माग गरिएको छ ।

“नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको तीनवर्षे कार्यकाल २०८० चैतमा सकिइसके पनि नयाँ नेतृत्व चयन गरी पदभार हस्तान्तरणको प्रक्रियामा अलमल देखिएको छ । यसलाई कुनै पनि बहानामा अवरूद्ध गर्ने कार्य नगर्न केन्द्रीय नेतृत्वलाई गम्भीर ध्यानाकर्षण गराउँदछौँ”, विज्ञप्तिमा उल्लेख छ ।

साथै महासंघको गौरवपूर्ण इतिहास, साझा चरित्र र गौरवलाई रक्षा गर्दै पूर्ण प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित र पत्रकारिताका मुद्दाहरूलाई सम्बोधन गर्न सहकार्य गर्दै अघि बढ्ने पनि ती संघठनले जनाएका छन् ।

विज्ञप्तिमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’, समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी, प्रगतिशील पत्रकार सङ्घ नेपालका अध्यक्ष श्यामलाल पोखरेल, जनपत्रकार सङ्गठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्मा र क्रान्तिकारी प्रेस सङ्गठनका संयोजक कमल बुढाले हस्ताक्षर गरेका छन् ।

भारतमा लोकसभा निर्वाचनः ५८.३४ प्रतिशत मतदान

भारत : लोकसभा चुनावको सातौँ र अन्तिम चरणको मतदान जुन १ मा सात राज्य र केन्द्र शासित प्रदेश चण्डीगढमा बेलुका छ बजेसम्म ५८.३४ प्रतिशत मतदान भएको निर्वाचन आयोगले शनिवार जनाएको छ।
पश्चिम बङ्गालमा सबैभन्दा बढी ६९.८९ प्रतिशत, बिहारमा ४८.८६ प्रतिशत, चण्डीगढमा ६२.८० प्रतिशत, उडिशामा ६२.४६ प्रतिशत, पञ्जाबमा ५५.२० प्रतिशत , उत्तर प्रदेशमा ५४ प्रतिशत र हिमाचल प्रदेशमा ६६.५६ प्रतिशत मतदाताले मतदान गरेको आयोगले जनाएको छ।सात राज्य र केन्द्र शासित प्रदेश चण्डीगढका ५७ संसदीय निर्वाचन क्षेत्रका लागि शनिवार बिहान ७ बजे अन्तिम चरणको मतदान सुरु भएको थियो।

आयोगका अनुसार करिब पाँच करोड २४ लाख पुरुष, चार करोड ८२ करोड महिला र तीन हजार ५७४ जना तेस्रो लिङ्गी मतदातासहित १० करोड छ लाखभन्दा बढी मतदाताहरू लोकसभा चुनावको सातौँ चरणमा आफ्नो मताधिकार प्रयोग गर्न योग्य रहेका थिए। पञ्जाबका १३ तथा हिमाचल प्रदेशका छ वटा सीटमा सबै संसदीय क्षेत्रहरूमा शनिबार अन्तिम चरणमा मतदान भएको छ, साथै, ओडिशा राज्य विधानसभाको बाँकी ४२ विधानसभा निर्वाचन क्षेत्रहरूको लागि पनि मतदान भएको छ।

सात चरणको लोकसभा चुनावको लामो प्रचारको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले ७५ दिनमा २०० भन्दा बढी प्रचार कार्यक्रमहरूमा सहभागिता जनाएका थिए। यसमा प्रदर्शन र चुनावी सभाहरू पनि समावेश गरिएको छ।
त्यसैगरी, कांग्रेस नेता राहुल गान्धीले लोकसभा चुनावमा न्याय सम्मेलन र न्याय मञ्चजस्ता १०० भन्दा बढी चुनावी सभा र सार्वजनिक अन्तरक्रियामा सहभागिता जनाए।

लोकसभा चुनावको अघिल्लो छ चरणहरूको लागि मतदान अप्रिल १९, अप्रिल २६, मे ७, मे १३, मे २० र मे २५ मा भएको थियो। आन्ध्र प्रदेश, सिक्किम र अरुणाचल प्रदेशमा पनि विधानसभा चुनावहरू भएका छन्।​ उडिशामा पनि पछिल्लो चार चरणमा लोकसभा र विधानसभाको चुनाव एकैसाथ भएको छ।

साउदर्न एयरलाइन्सले थाल्यो ग्वान्जाओ–काठमाडौँ दैनिक दुई उडान

काठमाडौँ । चीनको चाइना साउदर्न एयरलाइन्सले नेपालमा उडान सङ्ख्या थपेको छ । हाल चीनको ग्वान्जाओ–काठमाडौँ रुटमा हरेक दिन एउटा उडान गरिरहेको एयरलाइन्सले शनिबिारदेखि दैनिक दुई उडान सुरु गरेको हो ।

शनिबार आयोजित कार्यक्रममा  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । मन्त्री तामाङ र चाइना साउदर्न एयरलाइन्सको नेपालस्थित प्रतिनिधिले चीनको ग्वान्जाओबाट काठमाडौँ उडानको आधिकारिक थप उडानको  क्याबिन क्रूहरूलाई विमानस्थलमा स्वागत गरेका थिए ।

मन्त्री तामाङले  आगामी दिनमा चाइना साउदर्न एयरलाइन्सको व्यावसायिक उडान थप विश्वासिलो, सुरक्षित बनाउन अझै प्रभावकारिता अभिवृद्धि गर्दै पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार चाइना साउदर्न एयरलाइन्सको जहाज दिउँसो काठमाडौँ विमानस्थलमा अवतरण भई यहाँबाट यात्रु लिएर ग्वान्जाओका लागि उडान भरेको थियो ।

उक्त एयरलाइन्सले कोभिड–१९ महामारीपूर्व नेपालमा दैनिक दुई उडान गर्दै आएकामा त्यसयता एउटा उडान कटौती गरेको थियो । कटौती भएको उडान आजदेखि पुनः सञ्चालन गरेको हो ।

ग्वान्जाओबाट काठमाडौँ दिउँसो २ बजे अवतरण हुने जहाज काठमाडौँबाट ३ बजे ग्वान्जाओका लागि उडान भर्ने तालिका छ । त्यस्तै हरेक राति ११ बजे काठमाडौँ अवतरण हुने र राति १२ बजे ग्वाञ्जाओका लागि उडान गर्ने तालिका रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

योसहित चीनका चार एयरलाइन्सले काठमाडौँ गन्तव्यमा उडान गर्दै आएका छन् । एयर चाइना, चाइना साउदर्न एयरलाइन्स, चाइना इन्टर्न एयरलाइन्स र सिचुवान एयरलाइन्सले नेपालमा उडान गर्छन् । चीनबाट उडान बढेसँगै चिनियाँ पर्यटक आगमन बढ्ने विश्वास लिइएको छ ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले पनि कोभिड–१९ अघि चीनको ग्वान्जाओमा उडानको तयारी गरे पनि महामारीका कारण रोकिएको थियो ।

नेपालको पर्यटन बजारका लागि चीन भारतपछिको दोस्रो ठूलो गन्तव्य हो । साथै चीन विश्वको आउटवाउण्ड टुरिजममा शीर्षस्थानमा रहँदै आएको छ । चीनको कूल आउटबाउण्ड पर्यटकमध्ये एक प्रतिशत मात्रै पनि नेपाल ल्याउन सकियो भने पर्याप्त हुने जानकारहरु बताउँछन् ।

चीनबाट धेरैभन्दा धेरै चिनियाँ पर्यटक नेपालमा आकर्षित गर्न विभिन्न पर्यटन व्यापार मेला आयोजना हुँदै आएका छन् । दुई मुलुकबीच विभिन्न समयमा हुने कूटनीतिक भ्रमण र सांस्कृतिक भ्रमणले पर्यटन, संस्कृतिको माध्यमबाट सम्बन्धलाई थप प्रगाढ बनाइरहेको छ ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । जसमा चिनियाँ पर्यटकको सङ्ख्या ६० हजार आठ सय ७८ थियो ।

पछिल्लो समय नेपालले चिनियाँ पर्यटकलाई भिसा शुल्क नलिने घोषणा गरिसकेको छ । गत वैशाख १९ गतेदेखि नेपालीलाई साधारणतर्फ भिसा शुल्क नलाग्ने चिनियाँ राजदूतावासले जनाएको थियो । नेपालले सन् २०१६ देखि नै चिनियाँ नागकिरलाई निःशुल्क भिसा उपलब्ध गराउँदै आएको छ ।

सन् २०२४ मा चिनियाँ पर्यटक आगमन बढिरहेको छ । बोर्डका अनुसार गत अप्रिलमा एक लाख ११ तीन सय ७६ विदेशी पर्यटकले नेपाल भ्रमण गरेकामा चीनबाट मात्रै नौ हजार सात सय ५० पर्यटक नेपाल आएका छन् ।

मार्चमा १२ हजार ९३, फेब्रुअरीमा नौ हजार एक सय ८० र जनवरीमा एक हजार चार सय ३६ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए । कोरोना महामारीपूर्व सन् २०१९ मा एक लाख ६९ हजार पाँच सय ४३ चिनियाँ पर्यटक नेपाल आएका थिए ।

एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किम सम्म आइपुगेको जनाएको छ ।

विभागले आज मध्याह्न ‘मनसुन आगमन अनुगमन बुलेटिन’ प्रकाशन गर्दै “नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने देखिएको छ । नेपालको पूर्वी भू-भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ रहेको छ”, भनेको छ ।

यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको तथा सोहीअनुसार नियमित रूपमा अद्यावधिक गरिने विभागको उक्त सूचनामा जनाइएको छ ।