`

चिसापानीमा नेपाली सेनाको स्वास्थ्य शिविर, पाँच सय १२ जना लाभान्वित

धनुषा – धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ चिसापानीमा नेपाली सेनाको श्री नं. १ राजदल गणद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट पाँच सय १२ जना लाभान्वित भएका छन् ।

उक्त स्वास्थ्य शिविरमा नेपाली सेनाका चिकित्सकसहितको टोलीले रक्तचाप, मधुमेह, आँखा, नाक, कान, घाँटी, दाँतलगायत रोग सम्बन्धि सेवा प्रदान गरिएको थियो । सो स्वास्थ्य शिविरमा चिसापानी तथा त्यस आसपासका गाँउबाट आएका नागरिक लाभान्वित भएको महासेनानी प्रतिक कार्कीले जानकारी दिनुभयो ।

नेपाली सेनाको श्री नं. १ राजदल गणले गणेशमान चारनाथ नगरपालिका, धनुषा र मधेश प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जनकपुरको औषधि तथा स्वास्थ्य सामग्री सहयोगमा संचालित उक्त स्वास्थ्य शिविरमा प्राविधिक जनशक्ति नेपाली सेनाको फिल्ड अस्पताल बर्दिबाससहित ४० जनाको टोली खटिएको थियो ।

स्वास्थ्य शिविर सञ्चालन भएको गाउँ धनुषाको विकट क्षेत्र मानिन्छ । स्वास्थ्य सेवाको पहुँचबाट टाढा भएकाले सेनाले पहिलो पटक स्वास्थ्य शिविर सञ्चालन गरेको महासेनानी कार्कीले बताउनुभयो ।

डेढ किलो चरेससहित दुई जना पक्राउ

महेन्द्रनगर (कञ्चनपुर) – कञ्चनपुर प्रहरी टोलीले सदरमुकाम महेन्द्रनगर बजारबाट डेढ किलोग्राम लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले भीमदत्त नगरपालिकाको बजार क्षेत्रबाट चरेससहित बझाङको केदारस्युँ गाउँपालिका–६ का गोविन्दबहादुर धामी र रुकमको सानोभेरी गाउँपालिका–३ का गोपाल पुनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पुष्करराज पन्तले पक्राउ परेका धामी र पुनलाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो–“यस विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।”त्यसैगरी प्रहरीले सोमबार पनि तीन ग्राम ५९ मिलिग्राम लागूपदार्थ खैरोहिरोइनसहित दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का गौरवजिक्रम थापा र बेदकोट नगरपालिका– ७ का लोकेन्द्र भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कानुन व्यवसायीलाई प्रविधिको प्रयोग गर्न प्रधानन्यायाधीशको आग्रह

चितवन- सर्वोच्च अदालतका प्रधानन्यायाधिश विश्वम्भरप्रसाद श्रेष्ठले कानुन व्यवसायीलाई प्रविधिको प्रयोग गरेर समय र पैसाको बचत गर्न आग्रह गर्नुभएको छ । चितवन जिल्ला अदालत बार एसोसिएसनको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले कानुन व्यवसायीले प्रविधिको प्रयोग गरेर मुद्दा दर्ता र बहस गर्नसक्ने बताउनुभयो ।

प्रधानन्यायाधिश श्रेष्ठले भन्नुभयो, “हामीले सर्वोच्च अदालतसँगै उच्च अदालतसमेत अनलाइनबाट बहस गर्नसक्ने बनाएका छौँ । यसको प्रयोग गर्नुस् । समय र आर्थिक बचत गर्न सहज हुनेछ ।” केही समयमा नै अनलाइनबाट मुद्दा दर्ता गर्न सकिने गरी काम गर्न लागेको उहाँले जानकारी दिनुभयो ।“मुद्दा दर्ता गर्न हेटौँडा र काठमाडौँ धाउनुपर्ने बाध्यता हटाउन लागेका छौँ । तपाईहरुले आफ्नै फार्मबाट काम गर्न सक्नुहुनेछ”, प्रधानन्यायाधिश श्रेष्ठले भन्नुभयो । मुद्दाका पेसी तोक्ने कार्यलाई समेत स्वचालित प्रणालीमा अघि बढाइएको उहाँले बताउनुभयो । यसबाट न्यायमा सहज पहुँच पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।न्यायमा सहज पहुँचका लागि न्यायिक समिति, कानुन व्यवसायीको भूमिका महत्वपूर्ण रहेको प्रधानन्यायाधिश श्रेष्ठको भनाइ थियो । नेपालको संविधानले परिकल्पना गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मान्यतालाई अक्षुण राख्दै संविधानले न्यायपालिकालाई सुम्पेको भूमिका र जिम्मेवारी प्रभावकारी रुपमा सम्पादन गर्न बार एसोसिएसनको भूमिका महत्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो ।स्वतन्त्र र स्वायत्त न्यायपालिका तथा विधिको शासनको प्रवद्र्धन एवं न्यायिक सुधारका लागि नेपाल बार एसोसिएसनले खेलको भूमिका सराहनीय रहेको उहाँले बताउनुभयो । प्रधानन्यायाधिश श्रेष्ठले भन्नुभयो, “न्यायपालिका तथा समग्र न्याय प्रणालीप्रतिको आस्था र विश्वास अभिवृद्धि गर्दै न्यायपालिकालाई नागरिकको भरोसाको केन्द्रको रुपमा स्थापित गर्न बार एसोसिएसन तथा कानुन व्यवसायीको भूमिका सर्वपरिय महत्व हुन्छ ।”कार्यक्रममा नेबाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले देशमा निरङ्कुशता हुँदा जनताको संरक्षण गर्ने काम न्यायपालिकाले गर्ने गरेको बताउनुभयो । न्यायपालिकालाई बलियो बनाउन पुनःसंरचनामा लाग्नु आवश्यक रहेको उहाँको भनाइ थियो । पछिल्लो समय सामाजिक सञ्जालमा आएका कुराको आधारमा न्यायप्रणाली जान खोजेको आभास भएको अध्यक्ष घिमिरेले बताउनुभयो । कानुन व्यवसायी सबै मिलेर न्यायिक नेतृत्वलाई बलियो बनाउन आवश्यक रहेको भन्दै घिमिरेले संसद्बाट कानुन पर्याप्तरुपमा पारित हुन नसक्दा काममा केही असहजता आएको बताउनुभयो ।बारका जिल्ला अध्यक्ष खगराज कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य कृष्णभक्त पोख्रेल, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, सर्वोच्च अदालतका नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी, सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेल, नेपाल बार एसोसिएसनका महासचिव अञ्जीता खनाल, वरिष्ठ अधिवक्ता जगन्नाथ पौडेल, भूपेन्द्रजङ्ग पौडेल, धर्मराज आचार्य, अधिवक्ता राजकुमार श्रेष्ठलगायतले बार र बेञ्चबीचको सम्बन्धलाई सुमधुर बनाई राख्नुपर्ने बताउनुभयो । सो अवसरमा जिल्लाका अग्रज कानुन व्यवसायीलाई सम्मान गरिएको थियो । 

वैदेशिक रोजगारमा पठाउने भन्दै छ करोड १९ लाख ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौँ- वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै रु छ करोड १९ लाख ३२ हजार ठगी गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा झापा कमल गाउँपालिका–७ घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने ३७ वर्षीय केदार चौधरी, बाँके कोहलपुर नगरपालिका–१० घर भई हाल काठमाडौँ टोखा बस्ने ३२ वर्षीय जीवराज केसी र म्याग्दी गाउँपालिका–१ घर भई हाल कास्की पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने ३८ वर्षीय नन्ददेवी पुन रहेका छन् ।

केदार चौधरीले युके पठाइदिने भन्दै ३०/३५ जना व्यक्तिबाट रु नौ लाखदेखि २० लाखसम्म उठाई भारतका विभिन्न स्थानमा आइआरआइएस एक्सप्रेस कन्सल्टेन्सीमार्फत काम गर्ने भनी अजरबैजानसम्म पु-याई पीडितबाट करिब रु छ करोड लिई फरार भएका थिए । त्यसैगरी जीवराज केसीले फ्रान्स पठाइदिने भन्दै रु ११ लाख ६५ हजार ठगी गरेको र नन्ददेवी पुनले युके पठाइदिने भन्दै रु सात लाख ६७ हजार ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलले बताउनुभयो ।

उनीहरुलाइ सोमबार पक्राउ गरी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज सार्वजनिक गरेको हो । पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रहरी उपरिक्षक पोखरेलले बताउनुभयो ।

हेर्नुहोस् चैत २१ गते बुधवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – नयाँ कार्य थालनिको योग रहेकोछ । भुमि तथा वाहन सम्बन्धी समस्याले सताउनेछ । सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्नेछ साथै सामान्य अपजस खेप्नु पर्ला । पारीवारिक स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ ।

बृष राशि – माल सामान हराउन सक्ने सम्भाबना रहेकोछ । अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ । मित्रजनहरुको सहयोगमा अधुरा कार्य सम्पादन हुनेछन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

मिथुन राशि – खानपानका क्षेत्रमा बिशेष सजग रहनु उत्तम रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसाय मध्यम रहला । साजेदारी काममा लगानी नगरैकै बेश हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला ।

कर्कट राशि- दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ । मानसिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ । आर्थीक क्षेत्र मध्यम रहनेछ । दाजु भाई तथा मित्र जनहरु सँगको सम्बन्ध टाढिन सक्छ । परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ ।

सिंह राशि – स्वास्थको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ । कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुनेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । मित्रजनहरु सगँको भेटघाट पश्चात सामान्य यात्राको योग रहनेछ । शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला ।

कन्या राशि – अध्यन अध्यापनका निम्ती अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ । नयाँ लगानिमा उत्तम समय रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ ।

तुला राशि- भौतिक श्रोतसाधनका प्रयोगमा समय ब्यतित रहला । कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसायमा समय मध्यम रहनेछ । मान प्रतिष्ठा प्राप्तिको योग रहेको छ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला । स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला ।

बृश्चिक राशि- अधिक आत्मबिश्वास तथा घमडका कारण मित्रतथा दाजुभाई सगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । अरुको कार्यक्षेत्रमा भएको त्रुटिको अपजस तपाईले खेप्नु पर्नेछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ । पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ ।

धनु राशि – अनावश्यक खर्चको सम्भाबना रहेकोछ । खानपानको गडबढिका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ ।

मकर राशि – अधुराकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ । पारीवारका सदस्यहरु मध्ये कसैको स्वास्थमा समस्या उत्पन्न हुन सक्नेछ । जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला ।

कुम्भ राशि – नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । झुटा आरोपको सम्भाबना रहेकोछ । स्वास्थ क्षेत्रको समस्या जटिल बन्ने योग रहेकोछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । अरुको कुरामा बिशेष ध्यान नदिनु होला ।

मिन राशि – शुभचिन्तकहरुको साथ सहयोगमा आर्थीक क्षेत्र सबल बन्नेछ । पुराना मित्रजन सगँको भेटघाटले मन हर्षित रहला । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ ।

राष्ट्रिय खो खो प्रतियोगिता यसै सातादेखि

काठमाडौँ- नेपाल खोखो सङ्घको आयोजना तथा सुदुरपश्चिम प्रदेश खोखो सङ्घको सहआयोजनामा प्रथम यु–२१ राष्ट्रिय पुरुष तथा महिला खो खो प्रतियोगिता यसै सातादेखि हुने भएको छ ।यही चैत २४ देखि २७ गतेसम्म उक्त प्रतियोगिता कैलालीको धनगढी उपमहानगरपालिका–३ बोराडाँडीस्थित त्रिभुवन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने   यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाल खोखो सङ्घका अध्यक्ष प्रदिप महर्जनले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका महिला तथा पुरुष टोलीका एक सय ४४ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

लिग कम नकआउटका आधारमा खेलाइने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा महिला तथा पुरुषतर्फ प्रथम, दोस्रो र तेस्रो हुने टोलीले क्रमशः रु ५० हजार, रु ३० हजार र रु २० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

पेट्रोलियम पदार्थ अन्वेषणका लागि ‘ड्रिलिङ सर्भे’ सुरु

भेरिगङ्गा (सुर्खेत), २० चैत : दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि ‘ड्रिलिङ सर्भे’को काम सुरु भएको छ । ड्रिलिङ सर्भेका लागि आवश्यक उपकरण चीनबाट अन्वेषण स्थलसम्म ल्याइसकिएको छ ।

विसं २०७६ असोजदेखि पेट्रोलियम पदार्थ अन्वेषणको काम सुरु गरिएको थियो । अब अन्तिम ड्रिलिङ सर्भेको काम सुरु भएको हो । त्यसका लागि नेपालगञ्ज नाका रुपैडियामा रोकिएका ठूला उपकरण ल्याउन थालिएको छ । ती उपकरण राख्ने फाउण्डेशन तयारी भइसकेको छ । मेशिन चीनबाट कलकत्ता हुँदै अन्वेषण स्थलमा ल्याइएको हो । शनिबार साँझ उपकरण बोकेको तीन वटा ट्रक दैलेख आएसँगै दैनिक तीन चरण समय मिलाएर काम सुरु भएको छ ।

अन्वेषण परियोजनाले २४सै घण्टा तीन चरणमा समय विभाजन गरी काम गर्ने जनाएको छ । काम सुरु भएपछि सशस्त्र प्रहरी बलले सुरक्षा दिने व्यवस्था मिलाएको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनुभयो ।

“चीनबाट सामान आउन थालिसकेका छन्”, प्रजिअ भुसालले भन्नुभयो, “काम दिनरात गर्ने कार्य योजनाअनुसार सशस्त्र प्रहरीलाई सुरक्षा जिम्मेवारी दिएका छौँ ।” तत्कालका लागि चिनियाँ टोलीसँगै स्थानीय १२ जनालाई अन्वेषण परियोजनाले रोजगारी दिएको छ । काम अघि बढेपछि थप स्थानीयले रोजगारी पाउने परियोजनाले जनाएको छ ।

अब अन्तिम परिणाम सहितको अन्वेषण भएकाले दैलेखमा कति क्षमता (भण्डारण) को पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लाग्ने र गहिराइ पनि मापन हुने भूगर्भ विभागका पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेश नापितले बताउनुभयो ।

“ड्रिलिङ हुने स्थानमा फाउण्डेशनलगायत सबै तयारी पूरा भएको छ”, परियोजना प्रमुख दिनेश नापितले भन्नुभयो, “मेशिन आइपुगेपछि ड्रिलिङ गर्ने काम सुरु हुन्छ ।” उहाँका अनुसार ड्रिलिङ भएको चारदेखि पाँच महिनाभित्र अन्वेषणको काम सकिनेछ ।

उपकरण ल्याउनकै लागि सडक डिभिजन सुर्खेतले सडकको मोड फराकिलो पार्न रु चार करोड ३६ लाखमा ठेक्का सम्झौता गरी सडकका मोड चौडा बनाएको छ । १५ मिटर लम्बाइ र ४० देखि ४५ टनको ठूलो ड्रिलिङ मेसिन ल्याउन सडक साघुँरो हुँदा फराकिलो बनाउनु परेको हो । नेपाल र चीनको प्राविधिक टोलीले पहिलो चरणअन्तर्गत ‘सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे’ गरी चार वटा सर्भे गरिसकेका छन् ।

दैलेखको पेट्रोलियम पदार्थको अन्वेषणका लागि खानी तथा भूगर्भ विभाग र चिनियाँ जिओलोजिकल सर्भे कम्पनीसँग रु दुई अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सहयोगमा खानी अन्वेषण र उत्खननको काम सम्पन्न गर्ने सम्झौता भएको थियो ।

भैरवी गाउँपालिका–१ जलजलेका २७ घरपरिवारको ४५ रोपनी जग्गाको मुआब्जा विवाद समाधान गरी सरकारले प्रतिरोपनी रु एक लाख ७५ हजारका दरले मुआब्जा दिइ अधिग्रहण गरिसकेको छ ।

पाकिस्तानमा विद्यार्थीलाई शैक्षिक सामाग्रीको अभाव

पाकिस्तानको बलुचिस्तानका विद्यालयहरूमा पाठ्यपुस्तक लगायत स्टेशनरी शैक्षिक वर्ष सुरु भएको एक महिना बितिसक्दा पनि नपुगेपछि विद्यार्थी तथा उनीहरूका अविभावक आक्रोशित बनेका छन् ।

‘द बलुचिस्तान पोस्ट’ले बलुच विद्यार्थी सङ्गठनका केन्द्रीय प्रवक्तालाई उद्धृत गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विद्यालयहरूमा आवाश्यक सामाग्री सहित शैक्षिक गतिविधिहरू नपुगेकोले नियमित कक्षा सञ्चालनमा कठिनाई भएको र यसका कारण हजारौँ विद्यार्थीहरू निराश बन्नुपरेको छ ।”‘द बलुचिस्तान पोस्ट’ले चगाई जिल्लाको बालानोस क्षेत्रका लगभग सबै बालबालिकाहरू विद्यालय पहँुच भन्दा बाहिर रहेको रिपोर्ट गरेको छ ।

एक्काइसौंैं शताब्दीमा विश्वले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरिसकेको अबस्थामा दुर्भाग्यवस बलुचिस्तानका बालबालिकाहरू शिक्षाबाट वञ्चित रहन बाध्य छन् । यो प्रयास शिक्षाको अभावमा बलुच जनतालाई सीमान्तकृत राख्न राज्य गैर जिम्मेवार बनेको प्रमाण भएको बीएसओको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पाठ्यसामग्रीको अभाव भएपछि झाल मगसीका करिब तीन दर्जन विद्यालयहरू बन्द भएका र यसका कारण यस क्षेत्रका बालबालिकाहरू विद्यालय शिक्षाबाट वञ्चित हुनुपरेको छ ।

यसैबीच शिक्षक र अन्य कर्मचारीहरूले भने घरमै बसेर तलब पाइरहेका छन् । झाल मगसीलाई बलुचिस्तानको सबैभन्दा उपेक्षित जिल्लाहरू मध्ये गणना गरिन्छ । जहाँ असहाय जनता लामो समयदेखि राज्यको छायामा परि गैर-जिम्मेवारीको सिकार बनिरहेको प्रवक्ताले जनाउनुभयो ।

पर्यटकीय राजधानी पोखरा भित्रने विदेशी पर्यटकको सङ्ख्या यकिन हुन सकेन

गण्डकी, २० चैत : पर्यटकीय राजधानी पोखरा भित्रने विदेशी पर्यटकको सङ्ख्या यकिन हुन सकेको छैन । नेपाल घुम्न आउने पर्यटकमध्ये आधा पर्यटक पोखरा भित्रने आङ्कलन गरिए पनि वास्तविक तथ्याङ्क कुनै निकायसँग पनि छैन । पर्यटकको विवरण राख्ने संरचना र प्रणाली नहुँदा पोखरा आउने पर्यटकको सङ्ख्या यकिन हुन नसकेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो ।

“बर्सेनि पर्यटकको आवागमन वृद्धि हुँदै आएको छ तर हामी पहिलेकै अनुमानका भरमा छौँ”, उहाँले भन्नुभयो, “दैनिक, मासिक या वर्षमा कति विदेशी पर्यटक पोखरा प्रवेश गरे भन्ने आधिकारिक तथ्याङ्क अहिलेसम्म कसैले राख्न सकेको छैन ।” पर्यटकको स्पष्ट तथ्याङ्क राख्न सकिएमा पर्यटनसम्बन्धी योजना तथा कार्यक्रम निर्माणमा सहजता हुने उहाँको भनाइ छ ।
यस सम्बन्धमा नेपाल पर्यटन बोर्डलगायत राज्यका निकायसँग पटकपटक माग गर्दा पनि सुनुवाइ नभएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । “पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको अवस्थामा अब पर्यटकको तथ्याङ्क सङ्कलनका लागि तुरुन्त आवश्यक व्यवस्था गर्नुपर्छ”, उहाँले भन्नुभयो, “विमानस्थल र सडक नाकामा सूचना केन्द्रसहितका पर्यटक डेस्क राख्नुपर्छ ।”

अध्यक्ष श्रेष्ठले गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पोखरा भित्रने नाकामा पर्यटक डेस्क स्थापनाका लागि चासो लिए पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो । हवाई यात्राबाट आउने पर्यटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भएर पोखरा भित्रन्छन् । स्थलमार्गबाट भित्रने पर्यटक पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग र मध्यपहाडी लोकमार्ग हुँदै पोखरा आइपुग्छन् । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख नवीन पोखरेलले पर्यटकीय राजधानी आउने पर्यटकको यथार्थ विवरण राख्न नसक्नु कमजोरी रहेको बताउनुभयो ।

बोर्डको पहलमा विमानस्थल र पर्यटक बसपार्कमा पर्यटकको तथ्याङ्क लिन आवश्यक तयारी गरिएको उहाँको भनाइ छ । “माइक्रोलगायत अन्य निजी सवारीसाधनबाट पर्यटक आइरहेका हुन्छन्, पोखरा जोडिने सडक नाका पनि धेरै छन्”, प्रमुख पोखरेलले भन्नुभयो, “पोखरामा रहेका पर्यटकस्तरीय होटलले सफ्टवेयर प्रणालीमार्फत पर्यटकको विवरण राख्न सकेमा मोटामोटी तथ्याङ्क आउँछ ।”

होटल व्यवसायीलाई दैनिक बास बसेका पर्यटकको विवरण दिन आग्रह गरिए पनि व्यवसायीले उपलब्ध नगराएको उहाँको भनाइ छ । तथ्याङ्क अन्दाज गर्ने विषय नभएको भन्दै उहाँले सम्बद्ध सबै पक्ष यसमा जिम्मेवार र जवाफदेही हुनुपर्ने बताउनुभयो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा रबिन कडरियाले ‘एक्याप’ प्रवेश गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरिएको बताउनुभयो ।

उहाँका अनुसार पोखरा आएकामध्ये झन्डै आधा पर्यटक मात्र ‘एक्याप’ को भ्रमण गर्छन् । “यस क्षेत्रमा सबैभन्दा बढी भारतीय पर्यटकीय आउँछन्, अन्नपूर्ण क्षेत्र पदयात्राका लागि विश्वमै आकर्षक गन्तव्य मानिन्छ”, उहाँले भन्नुभयो, “एक्यापले ठाउँठाउँमा चेकपोष्ट र पर्यटक सूचना केन्द्रमार्फत विदेशी पर्यटकको विवरण सङ्कलन गर्छ ।”

पर्यटकीय राजधानी पोखरा भित्रने पर्यटकको सङ्ख्यालाई तथ्याङ्क प्रणालीमा राख्न अब ढिलाइ गर्न नहुने डा कडरियाले बताउनुभयो । पछिल्लो समय पोखरा आसपासका गन्तव्यमा भारतीय पर्यटकको सङ्ख्या उल्लेख्य वृद्धि भएको उहाँको भनाइ छ । प्राकृतिक सुन्दरता, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदिले यस क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको डा कडरियाले बताउनुभयो ।

प्राचीन संस्कृति, कला र सभ्यताका दृष्टिले पनि पोखरा र सिङ्गो गण्डकी प्रदेश अगाडि छ । यहाँका जातीय पर्व, परम्परा र रीतिरिवाजले पनि पर्यटकलाई लोभ्याउने गर्छ । परम्परा झल्काउने गीत, नाच र झाँकी पोखराका सांस्कृतिक धरोहर हुन् । आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, स्तरीय आतिथ्यता र सेवासुविधालाई आधार मानेर पोखरालाई हालै पर्यटकीय राजधानी घोषणा गरिएको थियो । फ्रान्सेली नागरिक मौरिस हर्जगले सन् १९५० मा पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण गरेसँगै पर्यटनमा बामे सरेको पोखरा अहिले विश्व पर्यटन बजारको ‘ब्रान्ड’ बनेको छ ।

बाढीको जोखिमको भविष्यवाणी गर्न अष्ट्रेलियामा एआईको प्रयोग

अष्ट्रेलियाको दक्षिणपूर्वी राज्य ‘न्यू साउथ वेल्सले’ मंगलबार बाढीको सम्भावित प्रभावहरूको भविष्यवाणी गर्न कृत्रिम बौधिकत्ता ( एआई ) र मोबाइल फोन नेटवर्कको प्रयोग गर्ने प्रविधिको परीक्षण गरिरहेको जनाएको छ ।

सरकारले एक मिडिया विज्ञप्ति मार्फत, यसले गर्दा गम्भीर मौसमी घटनाहरूमा समुदायहरूलाई जोगाउन मद्दत गर्न सक्ने उल्लेख गरेको छ । उक्त विज्ञप्तिमा वास्तविक–समय मौसम जानकारी दिन ‘ब्यूरो अफ मेटियोरोलोजी डेटा’ र बाढी जानकारीसँग जोडिएको उल्लेख गरिएको छ । र परिदृश्य (भिजुअलाइजेशन ) र स्पेसियल डिजिटल ट्विन ( प्रयोगकर्ताहरूलाई मोडेलहरूको रूपमा डेटाको विश्लेषण गर्न एकै ठाउँमा ठूलो मात्रामा डेटा व्यवस्थित गर्न सक्षम बनाउने ) मार्फत परिदृश्य र निर्मित वातावरणमा परिवर्तनहरू प्रदर्शन गर्न सम्भव भएको भनिएको छ ।

पूर्वाधार र समुदायहरूमा जोखिमहरू भविष्यवाणीमा प्रयोग गर्न सकिने र राज्यको आपतकालीन सेवालाई लक्षित अलर्टहरू मार्फत प्रभावित समुदायहरूमा जानकारीको द्रुत प्रसारको लागि डेटाको सम्भावित रूपमा प्रयोग गर्न यसले मार्ग प्रशस्त गर्दछ ।
यो मोडेलहरूमा ठूलो मात्रामा डेटा सवदृष्य गर्न र विस्तृत विश्लेषणहरू मार्फत डेटा बुझ्न र विश्लेषण गर्न अनुमति दिन्छ ।

राज्यका ग्राहक सेवा र डिजिटल सरकारका मन्त्री जिहाद दिबले “जलवायु परिवर्तनबाट प्रभावित बढ्दो गम्भीर मौसमको सामना गर्ने क्रममा राज्य आपतकालीन सेवालाई प्रविधिको साथ जानकारी छिटो पहुँच गर्न मद्दत गर्ने भन्नुभयो ।”

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले चैत २२ गते विश्वासको मत लिँदै

तुलसीपुर, २० चैतः लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले यही चैत २२ गते विश्वासको मत लिनुहुने भएको छ । प्रदेश सरकारका प्रवक्ता तथा गृहन्मन्त्री सन्तोषकुमार पाण्डेयका अनुसार बिहीबार अपराह्न ४ बजे विश्वासको मत लिने तयारी छ । त्यसका लागि प्रदेशसभा बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस पठाएको उहाँले जानकारी दिनुभयो । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै गत फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

लुम्बिनी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २९, नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका १० (सभामुख बाहेक), राप्रपा र नागरिक उन्मुक्तिका चार÷चारजना सदस्य हुनुहुन्छ ।

राप्रपाका जानकीलाल यादव भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित हुनुहुन्छ । जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका तीन÷तीनजना प्रदेशसभा सदस्य हुनुहुन्छ भने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका एक÷एकजना प्रदेशसभा सदस्य हुनुहुन्छ । साथै एक जना स्वतन्त्र प्रदेशसभा सदस्य हुनुहुन्छ ।

महिला उद्यमशिलतालाई सशक्त बनाउनुपर्नेमा मन्त्री भण्डारीको जोड

काठमाडौँ, २० चैत : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले महिला उद्यमशिलतालाई सशक्त बनाउनुपर्ने जोड दिनुभएको छ । ‘स्वदेशी खाऔँ, स्वदेशी लगाऔँ, स्वदेशी उत्पादनलाई प्रोत्साहन गरौँ’ भन्ने नाराका साथ महिला उद्यमी महासङ्घले आज ललितपुरमा आयोजना गरेको सातौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले महिलाको मात्र स्वामित्व रहने गरी कुनै औद्योगिक ग्राम तथा क्षेत्रमा उद्योग स्थापना गर्न चाहेमा सरकारले स्थान उपलब्ध गराउने बताउनुभयो । सरकारले चाँडै महिला उद्यमशिलताको प्रवद्र्धन तथा सहजिकरण गर्ने कानुन ल्याउन लागेको उहाँको भनाइ थियो ।

आर्थिक क्रियाकलाप तथा बाहिरी गतिविधिमा महिलाको संलग्नता नरहेको उल्लेख गर्दै मन्त्री भण्डारीले आर्थिक गतिविधिमा महिलाको संलग्नताबिना देशमा विकासको सम्भावना नरहेको बताउनुभयो । उहाँले व्यापार र लगानीका गतिविधिमा महिलालाई अगाडि बढाउन सरकारले दृढ संकल्पका साथ लघु, घरेलु तथा साना उद्योग सञ्चालनमा प्राथमिकता दिएको बताउनुभयो ।मन्त्री भण्डारीले ‘मेड इन नेपाल’ कार्यक्रममा महिला उद्यमीलाई सहभागी गराएर महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवाको अन्तर्राष्ट्रियकरण गराउन सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गर्नुभयो । उद्यमशिलतामा महिला सहभागितालाई बढावा दिन मन्त्रालयका तर्फबाट सक्दो सहयोग रहने उहाँले उल्लेख गर्नुभयो । मन्त्रालय महिला उद्यमीसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले नेपाली महिलाले सञ्चालन गर्ने उद्योगलाई मन्त्रालयले विशेष प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो ।यही चैत १६ गतेदेखि सुरु भएको उक्त मेलामा देशका विभिन्न ठाउँका महिला उद्यमीले उत्पादन गरेका विभिन्न वस्तु प्रदर्शनीमा राखिएको महासङ्घका अध्यक्ष शोभा ज्ञवालीले जानकारी दिनुभयो ।

हुण्डी कारोबारमा संलग्न आरोपमा दुई जना पक्राउ

बारा, २० चैत : हुण्डी कारोबारमा संलग्न भएको आरोपमा बारा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा जिल्ला पर्सा पोखरिया नगरपालिका–१ बनकटवा बस्ने वर्ष ३४ का हरिकिशोर पटेल र बारा जिल्ला महागढीमाई नगरपालिका–१ बस्ने ४२ वर्षका रमेशप्रसाद कुसवाहा छन् ।

विशेष सूचनाका आधारमा भारतबाट स्रोत नखुलेको रु १३ लाख ५० हजार नेपाली लिएर आइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले विश्रामपुर गाउँपालिका–४ मुसहर्वास्थित सडकबाट नगद सहित पटेललाई पक्राउ गरेको जिल्ला प्रहरीका प्रवक्ता दधीराम न्यौपानेले बताउनुभयो ।

पटेल सवार २–०३–०१६ प २३३७ नम्बरको मोटरसाइकल बरामद गरिएको छ । पटेलको बयानका आधारमा आरके मनी चेन्जर बरियारपुरका सञ्चालक रमेश कुसवाहा पक्राउ परेका हुन् ।

बरामद भएको पैसा कुसवाहाको रहेको बताइएको छ । पक्राउ परेका व्यक्तिले पछिल्लो दुई दिनमा करिब आठ करोड रकम हुण्डी कारोबारमार्फत नेपाल भित्र्याएको अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो । हुण्डी कारोबारमा संलग्न अरुको पनि खोजतलास भइरहेको उहाँले बताउनुभयो । पक्राउ परेका दुई जनालाई जिल्ला अदालत बाराबाट म्याद थप गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

युक्रेनी विस्फोटक पदार्थ जफत गरेको रूसको दावी

रूसको सङ्घीय सुरक्षा बल (एफएसबी) ले मङ्गलबार युक्रेनबाट पठाइएको र युरोपेली सङ्घ (इयु) हुँदै मूर्तिहरूमा लुकाएर ल्याइएको भारी मात्राको विस्फोटक पदार्थ जफत गरेको बताएको छ ।

लाटभियन सीमा नजिकैको उत्तरपश्चिमी पेस्कोभ क्षेत्रमा सामानको जाँचपछि उक्त विस्पोटक पदार्थ जफत गरिएको एफएसबीले एक विज्ञप्तिमा उल्लेख गरेको छ । एफएसबीका अनुसार ‘युरोपेली सङ्घ हुँदै युक्रेनबाट विस्फोटक पदार्थको सीमापार यातायात मार्ग भएको भन्दै कार्गो रोमानिया, हङ्गेरी, स्लोभाकिया, पोल्याण्ड, लिथुआनिया र लाटविया हुँदै गएको’ थियो ।”

जफत गरिएको विस्पोटक पदार्थमध्ये कार्गोमा ७० किलो घरेलु विस्फोटक र विस्फोटक उपकरणहरू ‘मूर्ति’मा लुकेको र प्रयोगका लागि तयारी अवस्थामा थिए ।यस कार्यमा संलग्न एक व्यक्तिलाई पक्राउ गरिएको जनाउँदै विदेशीहरू सहित सबै संलग्नहरूलाई पत्ता लगाई रूसमा कानुनी कार्यवाही गरिने स्रोतले जनाएको छ ।

गर्मीको कारण फिलिपिन्सका दर्जनौं विद्यालय बन्द

फिलिपिन्सको राजधानी मनिलाका दर्जनौं विद्यालयहरूमा मङ्गलबार अत्यधिक गर्मीका कारण पठनपाठन बन्द गरिएको त्यहाँका शिक्षा अधिकारीले जानकारी दिएका छन् ।

महानगरमा मङ्गलबार ४२ डिग्री सेल्सियस र बुधबार ४३ डिग्री सेल्सियसको स्तर पुग्ने अपेक्षा गरिएको राज्यको मौसम पूर्वानुमान कार्यालयले जनाएको छ ।मङ्गलबार मनिलाको उच्चतम तापमान ३४ डिग्री सेल्सियस रहने अनुमान गरिएको थियो ।

स्थानीय अधिकारीहरूले सहरको सबैभन्दा बढी जनसङ्ख्या भएको क्विजोनका प्राथमिक र माध्यमिक विद्यालयहरूलाई बन्द गर्न आदेश दिएको र अन्य क्षेत्रका विद्यालयहरूलाई दूर शिक्षामा सार्ने विकल्प दिएको बताएका छन् ।

केही विद्यालयहरूले दिनको सबैभन्दा तातोबाट बच्न कक्षाको समय छोटो पारेका थिए ।

मौसम पूर्वानुमान विभागले ४२–५१ डिग्री सेल्सियस तापक्रमले फिलिपिनीहरूमा शरीरमा मान्सपेशीहरु दुख्ने समस्या हुने र यो समस्या ४२–५१ डिग्री सेल्सियसको तापक्रमबाट सुरू हुने जानकारी दिनुभयो ।

उत्तर कोरियाद्वारा मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले मङ्गलबार मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले केही घन्टा पछि आणविक क्षमताको बी–५२ एच बमवर्षकहरू समावेश गरेको संयुक्त हवाई अभ्यास गरेको छ ।प्योङयाङको पछिल्लो प्रक्षेपण उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ मध्य दूरीको हाइपरसोनिक मिसाइल (आईआरबीएम) को लागि ठोस–ईन्धन इन्जिन परीक्षणको निरीक्षण गरेको दुई हप्ता भित्रै भएकोे छ दक्षिण कोरियाली सेनाका अनुसार मङ्गलबार बिहान प्रक्षेपण गरिएको मिसाइल दक्षिण कोरिया र जापानको बीचको पानीमा खस्नु अघि लगभग छ सय किलोमिटर उडेको जनाएको छ ।

संयुक्त सेना प्रमुखहरूले सेनाले प्रक्षेपणको विश्लेषण गरिरहेको बताएका छन् । गत महिना इन्जिन परीक्षेणमा प्रयोग गरिएकोे ‘हाइपरसोनिक वारहेड’ समावेश गरेको हुनसक्ने एक रक्षा अधिकारीलाई उद्धृत गर्दै योन्हाप समाचार एजेन्सीले जनाएको छ ।
उत्तर कोरियाले लामो समयदेखि उन्नत हाइपरसोनिक र ठोस ईन्धन प्रविधिमा सफलता हासिल गर्न खोजिरहेको छ । यी मिसाइलहरूलाई दक्षिण कोरियाली–अमेरिकी मिसाइल रक्षा प्रणालीलाई टक्कर दिई अमेरिकाको क्षेत्रीय सैन्य आधारलाई धम्की दिन सक्षम बनाउने प्रयास गरिएको छ ।

जनवरीमा, प्योङयाङले हाइपरसोनिक वारहेडको साथ ठोस–ईन्धन ‘आईआरबीएम’ प्रक्षेपण गरेको बताएको थियो । त्यसपछि गत महिना ‘नयाँ प्रकारको मध्यवर्ती दूरीको हाइपरसोनिक मिसाइल’ को सफल इन्जिन परीक्षण गरेको थियो ।
हाइपरसोनिक मिसाइलहरू छिटो र मध्य उडानमा सञ्चालन गर्न सकिन्छ । तिनीहरूलाई नियन्त्रण गर्न र रोक्न गाह्रो हुने भएकाले ठोस–ईन्धन मिसाइलहरू प्रक्षेपण गर्नु अघि ईन्धन आवश्यक पर्दैन । प्रयोग गर्न छरितो रहेका मानिने ती मिसाइलहरूलाई फेला पार्न र नष्ट गर्न गाह्रो हुन्छ ।

सियोलको रक्षा मन्त्रालयले मङ्गलबार वासिङ्टन र टोकियोसँग संयुक्त हवाई अभ्यास गरेको छ । जसमा कोरियाली प्रायद्वीप नजिकै आणविक क्षमता बी–५२ एच बमवर्षक र एफ– १५ के लडाकू जेटहरू सामेल छन् ।यो अभ्यासको उद्देश्य ‘उत्तरको आणविक र क्षेप्यास्त्र खतराहरू विरुद्ध संयुक्त तयारी सुधार गर्नु रहेको’ स्रोतले जनाएको छ ।

कोरिया एसोसिएसन अफ डिफेन्स इन्डस्ट्री स्टडीजका हान क्वोन–हीले भन्नुभयो, “मङ्गलबारको प्रक्षेपण ‘प्योङयाङको मिसाइल विकासको नवीन हिस्सा र यसमा हाइपरसोनिक हतियारहरू समावेश भएको जस्तो देखिन्छ ।हतियारको संवेदनशील प्रकृतिलाई ध्यानमा राख्दै किमले रूसी सहयोगमा नभई घरेलु रूपमा यस्तो प्रविधि विकास गरिरहेको उहाँले बताउनुभयो ।

मस्को र प्योङयाङबिचको कथित हतियार हस्तान्तरणको अनुसन्धानको बिचमा संयुक्त राष्ट्रसङ्घमा रूसी भिटोले उत्तर कोरियाली प्रतिबन्ध उङ्घलनको संयुक्त राष्ट्रसङ्घीय विशेषज्ञको अनुगमन समाप्त गरेको केही दिनपछि यो प्रक्षेपण भएको हो । उत्तर कोरियाले यस घटनाक्रमबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

दक्षिण कोरियाको आम चुनावमा मतदान गर्नुभन्दा एक हप्ता अघि प्रक्षेपण भएको छ । जसमा प्योङयाङसँग कडा लाइन लिएका राष्ट्रपति युन सुक योलको पार्टीले संसद्मा आफ्नो पकडलाई पुनः बलियो बनाउन खोजिरहेको छ । “किम शासनले सैन्य क्षमतालाई अगाडि बढाउने र दक्षिण कोरियाली विधायिकी निर्वाचन अभियानको समयमा आफ्नो क्षमता देखाउने कुरालाई प्राथमिकता दिन्छ,” सियोलको इवा विश्वविद्यालयका प्राध्यापक लेइफ–एरिक इस्लीले बताउनुभयो ।

कजाकस्तानमा बाढीबाट प्रभावित १६ हजारको उद्धार

तीन दशकयता आएको सबैभन्दा भीषण बाढीपछि १६ हजार व्यक्तिको उद्धार गरिएको कजाकस्तानले मङ्गलबार बताएको छ ।

मुलुकको मौसम विज्ञान एजेन्सीले विशाल कजाख मैदानमा हिउँ पग्लिएकाले पानी अझै बढ्ने चेतावनी दिएको छ । कजाकस्तानको आपत्कालीन स्थिति मन्त्रालयले टेलिग्राममा एक पोस्टमा भनेको छ, “उद्धार कार्य जारी छ । छ हजार बालबालिकासहित करिब १६ हजार मानिसलाई पहिला नै निकालिएको छ ।”

मन्त्रालयले रुसको सीमामा रहेको उत्तर र पूर्वका पाँच क्षेत्रमा स्थिति ‘जटिल’ रहेको भन्दै ५० बस्तीसँग सडक सम्पर्क विच्छेद भएको बताएको छ ।

कजाख राष्ट्रपति कासिम–जोमार्ट टोकायेभले बाढीका लागि तयार नभएकामा सोमबार सार्वजनिकरूपमा सरकारी अधिकारीहरूलाई गाली गर्नुभयो । “विज्ञहरूको कमीका कारण पूर्वानुमानको काम पूर्णतः अनुपस्थित थियो”, उहाँले भन्नुभयो, “स्थानीय नेताहरूले योजनाबद्ध तरिकाले बाढी नियन्त्रणको उपाय गरेका भए मौसमको अवस्थालाई ध्यानमा राख्दा पनि विपद्को नतिजा र मापन कम हुनसक्थ्यो ।”

प्रधानमन्त्री ओल्जास बेक्टेनोभले मङ्गलबार बाढीबाट प्रभावितहरू पहिला कहिले पनि प्रभावित नभएको बताउनुभयो । उहाँले प्रभावित क्षेत्र खाली गर्ने आह्वानको विरोध नगर्न नागरिकहरूसँग आग्रह गर्नुभयो ।

आपत्कालीन मन्त्रालयले जारी गरेको भिडियो फुटेजमा मानिसहरूको उद्धार गरिनुका साथै बढ्दो पानीमा फसेका ऊँटहरूलाई रबरको डुङ्गामा लैजाँदै गरेको देखाइएको छ ।

‘अनजान’ मा इजराइली आक्रमणमा गाजाका सहायताकर्मी मारिएको नेतान्याहुद्वारा स्वीकार

इजराइलका प्रधानमन्त्री नेतान्याहुले मङ्गलबार आफ्ना सशस्त्र बलबाट गाजामा भएको हवाई हमलामा ‘अनजान’ मा सात सहायताकर्मी मारिएको स्वीकार गर्नुभएको छ ।

“दुर्भाग्यवश अन्तिम दिन गाजा क्षेत्रमा हाम्रा सेनाबाट अनजानमा निर्दोष मानिस मारिएको एउटा दुःखद घटना भएको छ”, हर्नियाको शल्यक्रियापछि जेरुसेलममा अस्पतालबाट बाहिर निस्कँदै गर्दा उहाँले भन्नुभयो, “यस्तो युद्धमा हुन्छ, हामी यसको अनुसन्धान अन्तिमसम्म गर्नेछौँ, हामी सरकारहरूसँग सम्पर्कमा छौँ र यस्तो नदोहोरियोस् भनेर हामी सबै गर्नेछौँ ।”

मारिने सबै सात जना अमेरिकास्थित वर्ल्ड सेन्ट्रल किचन (डब्ल्युसिके) का लागि काम गर्दथे । डब्ल्युसिकेले साइप्रसबाट सामुद्रिक मार्ग हुँदै युद्धग्रस्त गाजामा खाद्य सहायता पुर्याइरहेको छ । सोमबारको ‘लक्षित इजराइली आक्रमण’ पछि उसले आफ्नो गाजा अभियान रोकेको छ । डब्ल्युसिकेका अनुसार मारिएका सात जना अस्टे«लिया, पोल्यान्ड, संयुक्त अधिराज्य, अमेरिका र क्यानाडाका दोहोरो नागरिक तथा प्यालेस्टिनी थिए ।

इजराइली सैन्य प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले आफ्नो ‘गहिरो समवेदना’ प्रकट गर्न डब्ल्युसिकेका संस्थापक सेलिब्रिटी शेपा जोस एन्ड्रेससँग कुराकानी गरेको बताउनुभएको थियो । इजराइली सेनाको तथ्य पत्ता लगाउने र मूल्याङ्कन संयन्त्रले अनुसन्धान गर्ने जानकारी दिँदै उहाँले भन्नुभयो, “हामी आफ्नो निष्कर्ष पारदर्शीरूपमा साझा गर्नेछौँ ।”

प्रवक्ता हगारीले इजराइलका चिफ अफ जनरल स्टाफ हर्जी हलेवीले ‘आज राति प्रारम्भिक अनुसन्धानको निष्कर्षको व्यक्तिगतरूपमा समीक्षा गर्नुहुने’ बताउनुभयो । संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूले स्थितिलाई मानव निर्मित सङ्कट भन्दै उत्तरी गाजा भोकमरीको सङ्घारमा रहेको बारम्बार चेतावनी दिएका छन् ।

एक जना प्राविधिकको भरमा ६० वटा योजना

म्याग्दी, २० चैत : खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले चालु आर्थिक वर्षमा ६० वटा सिँचाइका योजना सञ्चालन गरेको छ । ती सबै योजनाको प्राविधिक जिम्मेवारी एकजना सब इन्जिनियरलाइ तोकिएको छ । सर्वेक्षण, लागत अनुमान तयार, नापजाँच, अनुगमन र मूल्याङ्कन गर्ने जिम्मेवारी सब इन्जिनियर अञ्जन खत्रीलाइ तोकिएको हो ।

म्याग्दी भौगोलिक रुपमा विकट र दुर्गम हिमाली जिल्ला हो । “नमिलेको भूगोल र अधिकांश कच्ची सडक भएको म्याग्दीका सबै सिँचाइ योजनाको जिम्मेवारी मेरै काँधमा छ,” इन्जिनियर खत्रीले भन्नुभयो “सबै काम एक्लै गर्नुपर्दा योजना कार्यान्वयनमा समस्या छ ।”

सो कार्यालयको सिँचाइ तर्फ एकजना इन्जिनियर, एकजना छैटौँ तहका र एकजना पाचौँ तहका सब इन्जिनियरको दरबन्दी भएकोमा अधिकृत छैटौँ तहका खत्री बाहेक दुई वटा दरबन्दी रिक्त छ ।

प्राविधिक जनशक्तिको कमी र योजनाको सङ्ख्या धेरै हुँदा कार्यान्वयन र अनुगमनमा समस्या भएको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय प्रमुख झलकमोहन ओझाले बताउनुभयो ।

एकजना प्राविधिकको भरमा ६० वटा सिँचाइका योजना कार्यान्वयन गर्नुपर्दा समस्या भएको प्रमूख ओझाको भनाइ छ । उहाँका अनुसार एक्लै प्राविधिक भए पनि राति, साँझ, बिहानको समयमा काम गरेर सिँचाइका ६० मध्ये ५० वटा योजनाको सम्झौता भइ कार्यान्वयनको चरणमा छन् ।

चालु आर्थिक वर्षमा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी एक सय २० वटा योजनाका लागि पुँजीगत तर्फ रु १६ करोड ६८ लाख १० हजार बजेट विनियोजन भएको थियो । चैत दोस्रो सातासम्म १४ प्रतिशत अर्थात रु दुई करोड ३० लाख खर्च भएको लेखा शाखाका प्रमुख नारायण सुवेदीले जानकारी दिनुभयो ।

९० वटा योजना सम्झौता भएकोमा १५ वटा योजना निर्माण सम्पन्न भएका छन् । विकास योजनालाई गुणस्तरीय र प्रभावकारी रुपमा कार्यान्वयन गर्न टुक्रे योजना कटौती गरेर ठूला आयोजनामा बजेट केन्द्रित गर्न नीतिगत सुधार गर्नुपर्ने गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताउनुभयो ।

‘आर्थिकस्तर सुधारमा सहकारीको भूमिका महत्वपूर्ण छ ’ – मुख्यमन्त्री कार्की

मोरङ, २० चैत : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सार्वसाधारणको आर्थिक अवस्था सुधारमा सहकारीको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।जिल्ला सहकारी सङ्घ मोरङद्वारा आज यहाँ आयोजित ६७ औँ राष्ट्रिय सहकारी दिवस–२०८० को उद्घाटनमा उहाँले महिलालाई स्वरोजगार, व्यवसायी र वित्तीय साक्षर बनाउने काममा सहकारीको भूमिका उल्लेखनीय भएको विचार व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले महिलाको सशक्तिकरणमा सहकारीको योगदानको चर्चा गर्दै ग्रामीण तथा दुर्गम क्षेत्रमा आर्थिक चलायमानमा सहयोग पुगेको धारणा राख्नुभयो । उहाँले जनताले बचत गरेको सहकारीमा अनियमिता गर्ने कार्य निरुत्साहित गर्न कानुन संशोधन गरी आवश्यक नियमन गर्नुपर्ने बताउनुभयो ।

सहकारीले प्रदेशको कृषि पशुपालन एवं साना तथा घरेलु उद्योग क्षेत्र आत्मनिर्भर बनाउन आवश्यक लगानी गरी मुलुकको समृद्धि र जनताको जीवनस्तर उठाउने काम गर्नुपर्ने बताउनुभयो । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले सहकारी सञ्चालकले कारोबार पारदर्शी ढङ्गले गर्नुपर्ने बताउनुहुँदै जनताको आर्थिक समृद्धि कायम गर्ने क्षेत्रमा लगानी गर्न सुझाव दिनुभयो ।

मन्त्री खत्रीले प्रदेशमा सहकारीमैत्री वातावरण निर्माण गर्न सरकारको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेकपा एमाले कोशी प्रदेशका प्रमुख घनश्याम खतिवडाले लोकतन्त्रमा सहकारी फस्टाउने र ग्रामीण क्षेत्रमा अर्थतन्त्र चलायमान गराउन सहकारीको भूमिका महत्वपूर्ण रहेको विचार राख्नुभयो ।

आयोजक समितिका अध्यक्ष डा डिल्ली पोखरेल, राष्ट्रिय सहकारी महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेल लगायतले मुलुकमा एक सय वटा सहकारीमा देखिएको समस्याका कारण यो क्षेत्र बदनाम भएकाले यसको समाधान गर्न राष्ट्रिय सहकारी ऐन कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका थिए ।

मोरङ जिल्लाभित्र एक हजार ४० सहकारी छन् । ती सहकारीमा चार लाख ४३ हजार सदस्य रहनुका साथै रु २९ अर्ब कारोबार हुने गरेको तथ्याङ्क छ ।

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २० चैत : मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । मौसम परिवर्तनसँगै व्यक्तिमा रुघाखोकी, ज्वरो, फ्लु देखिन थालेको चिकित्सकले बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार विगत एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । ती सङ्क्रमितमा सुदूरपश्चिम प्रदेशमा भारतबाट आएका रहेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा युवानिधि बसौला कोरोना सङ्क्रमित फाट्टफुट्ट उपचारका लागि अस्पतालमा आउने गरेको बताउनुहुन्छ ।

“मौसममा आएको परिवर्तनसँगै रुघाखोकी र ज्वरोका बिरामी आउने गरेका छन्”, उहाँले भन्नुभयो, “तर बाहिर हल्ला गरेजस्तो कोरोना सङ्क्रमित अस्पतालमा छैनन् ।”निर्देशक डा बसौलाका अनुसार अहिले तीन सङ्क्रमितले सघन उपचार कक्ष (आइसियु) र दुई जनाले श्ययामा उपचार गराइरहेका छन् । अन्य अस्पतालमा आइसोलेसन नभएर टेकु अस्पतालमा बिरामी आउने गरेको उहाँले बताउनुभयो ।मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले भारतमा पुस महिनामा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन–१ देखिएसँगै नेपालमा पनि कोरोनाका बिरामी देखिएको बताउनुभयो ।“भारतमा देखिएपछि नेपालमा पनि फाट्टफुट्ट बिरामी देखिएका हुन”, उहाँले भन्नुभयो, “तर अहिले भने बाहिर हल्ला गरेजस्तो कोरोना सङ्क्रमित छैनन् । अहिले मौसम परिवर्तनसँगै फ्लुका बिरामी देखिएका हुन् ।” नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन–१ पुष्टि भएको छ ।मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले कोरोना भाइरसविरुद्धको खोप नलगाएका व्यक्ति, दीर्घरोगी र ज्येष्ठ नागरिक अझै पनि जोखिममा रहेको बताउनुभयो । कोरोनाबाट बच्नका लागि स्वास्थ्य सतर्कता अपनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

गृहमन्त्री लामिछाने र जर्मन राजदूत प्रिन्जबीच भेटवार्ता

काठमाडौँ, २० चैत : उपप्रधान एवंं गृहमन्त्री रवि लामिछाने र नेपालका लागि जर्मन राजदूत थोमस प्रिन्जबीच आज शिष्टाचार भेट भएको छ ।

उहाँहरुबीच भेटवार्ता भएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ । गृहमन्त्री लामिछानेले अध्यागमनलाई अत्याधुनिक बनाई नेपाल भित्रने पर्यटकको आकर्षण र सीमा अपराध न्यूनीकरण गर्न इ–गेट (सफ्टवयर र हार्डवयर) तर्फ सुधार आवश्यक भएकाले सो सम्बन्धमा राजदुत प्रिन्जसँग छलफल गर्नुभएको छ ।

उहाँले भोकेसनल ट्रेनिङ्मा जान इच्छुक विद्यार्थीका लागि आवश्यक समन्वय गरी सहजीकरण गरिने बताउनुभयो ।

राजदूत प्रिन्जले घनिष्ठ सम्बन्ध रहेको देशको नाताले अनन्तकालसम्म साझेदारी, समन्वय र सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । राजदूत प्रिन्जले मन्त्री लामिछानेलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिनुहुँदै नेपालको अध्यागमन प्रशासन सुधार गर्न अत्यावश्यक देखिएको इ–गेट निर्माणमा सहकार्य गर्न तत्परता देखाउनुभएको छ ।

गृहमन्त्री लामिछानेले जर्मनी जान इच्छुक नेपाली विद्यार्थीका लागि अध्ययन र काम गर्न मिल्ने गरी भोकेसनल तालिममा पठाउने विषयमा श्रम, शिक्षा र गृहमन्त्रालयबीच समन्वय हुन नसक्दा अध्यागमनबाट फर्कन परेको गुनासो राख्नुभयो ।

सरकारी ऋणको साँवा–ब्याज तिर्न साढे पाँच खर्ब चाहिने, बजेटमा स्रोतको सकस

काठमाडौँ, २० चैत : आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले भुक्तानी गर्नुपर्ने सार्वजनिक ऋणको साँवा–ब्याजको दायित्व करिब रु पाँच खर्ब ५० अर्ब हाराहारी पुगेपछि सरकारलाई बजेटको स्रोत जुटाउन सकस परेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा रहने राष्ट्रिय स्रोत अनुमान समितिले सरकारलाई आगामी आवको बजेटको सीमा (सिलिङ) पठाइसकेको छ । आगामी आवका लागि रु १८ खर्बको सीमाभित्र बजेट ल्याउन सिफारिस समितिले गरेको छ । निर्धारित सिलिङअनुसार आगामी आवका लागि चालुतर्फ रु ११ खर्ब ३९ अर्ब ७७ करोड, पुँजीगततर्फ रु तीन खर्ब पाँच अर्ब र वित्तीय व्यवस्थातर्फ रु पाँच खर्ब ३७ अर्ब २३ करोडको सीमाभित्र बजेट ल्याउनुपर्नेछ । वित्तीय व्यवस्था शीर्षकमा जाने बजेट मुख्यगरी सार्वजनिक ऋणको दायित्व भुक्तानीमा खर्च हुने गरेको छ ।

राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले न्यून राजस्व सङ्कलनका कारण स्रोत सुनिश्चितता पर्याप्त नहुनु र सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानी दायित्व बढेका कारण समस्या रहेको बताउनुभयो ।

“केही मन्त्रालयले चालु आवका लागि पाएको बजेटभन्दा कम बजेट सिलिङ पाएका छन् । बजेटको आकार समग्रमा बढी देखिए पनि आगामी वर्ष ऋणको दायित्व धेरै छ । यसमा मात्रै चालु आवको भन्दा करिब रु एक खर्ब ६ अर्ब दायित्व थपिएको छ”, उपाध्यक्ष श्रेष्ठले भन्नुभयो । चालु आवका लागि सरकारले कूल रु १७ खर्ब ५१ अर्ब ३१ करोड बराबरको बजेट ल्याएको थियो । यसमा चालुतर्फ रु ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ रु तीन खर्ब दुई अर्ब ४५ करोड र वित्तीय व्यवस्थातर्फ रु तीन खर्ब सात अर्ब ४५ करोड विनियोजन गरेको थियो ।

चालु आवको वास्तविक विनियोजनको तुलनामा आगामी आवका लागि निर्धारण गरिएको बजेट सिलिङ हेर्दा चालुतर्फ केही घटेको छ भने पुँजीगततर्फ सामान्य बढेको छ । वित्तीय व्यवस्थातर्फ तोकिएको सिलिङ भने चालु आवको विनियोजनभन्दा निकै बढी छ । चालु आवको वास्तविक विनियोजनको तुलनामा आगामी आवको बजेट सिलिङ चालुतर्फ करिब रु चार अर्ब घटेको छ भने पुँजीगततर्फ करिब रु तीन अर्बले बढेको छ ।

वित्तीय व्यवस्था शीर्षकमा भने चालु आवको विनियोजनभन्दा करिब रु दुई खर्ब ३० अर्ब बढी विनियोजन प्रस्ताव गरिएको छ । आगामी आवका लागि कूल रु १८ खर्बको बजेट आउने अनुमान गर्दा वित्तीय व्यवस्था शीर्षकमा मात्रै कूल विनियोजनको करिब ३० प्रतिशत विनियोजन हुनेछ । जुन हालसम्मकै बढी हो ।

सार्वजनिक ऋणको साँवा–ब्याजको भुक्तानीलगायत अनिवार्य दायित्व थपिँदै जाने तर स्रोत सुनिश्चितताका लागि आन्तरिक राजस्व भने अवस्था अहिलेको सबैभन्दा ठूलो समस्या रहेको उपाध्यक्ष श्रेष्ठको भनाइ छ । पुँजीगत शीर्षकमा विनियोजनको तुलनामा निकै कम खर्च हुने प्रवृत्तिलाई नसुधार्ने हो भने थप समस्या सिर्जना हुने उहाँले बताउनुभयो । यसको सुधारका लागि केही नीतिगत हस्तक्षेपको आवश्यकता उपाध्यक्ष श्रेष्ठले औँल्याउनुभयो ।

“हामी पहिला जे काम गरिरहेका थियौँ, अब पनि त्यही काम गरेर हुँदैन । सरकारले केही नीतिगत हस्तक्षेप गर्छ । तर त्यसका लागि स्रोतले सहयोग गर्ने अवस्थामा हामी छैनौँ”, उपाध्यक्ष श्रेष्ठले भन्नुभयो । आगामी आवको बजेट मुख्य गरी उत्पादन वृद्धि तथा रोजगारी सिर्जनामा केन्द्रित हुने र ६० भन्दा बढी नीतिगत हस्तक्षेपका कार्यक्रम ल्याउने तयारी भइरहेको उहाँको भनाइ छ ।

बजेट स्रोत जुटाउन सकस परेपछि विकास आयोजनाको प्राथमिकीकरण गर्ने र हालसम्म काम सुरु नभएका तर बजेटमा परेका आयोजनालाई खारेज गर्ने तयारी सरकारको छ । निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेका र सम्पन्न हुने बित्तिकै नतिजा दिने आयोजनालाई आगामी आवको बजेटमा पहिलो प्राथमिकताका साथ रकम विनियोजन हुनेछ ।

त्यसैगरी, आर्थिक तथा प्राविधिकरुपमा सम्भाव्य तर सम्पन्न गर्न थप केही समय लाग्ने आयोजनालाई न्यूनतम रकम विनियोजन गरी निरन्तरता दिइनेछ । आर्थिक तथा प्राविधिक रुपमा सम्भाव्य नरहेका, प्रतिफल नदिने एवं लामो समयदेखि अलपत्र परेका सबै आयोजनालाई खारेज गर्ने नीति लिन लागिएको योजना आयोगले जनाएको छ ।

समितिको आजको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले मध्यमकालीन खर्च संरचनाभित्र रहेर अनुशासित बजेट ल्याइनुपर्ने बताउनुभयो । प्रदेश र स्थानीय तहका सरकारको खर्च गर्नसक्ने क्षमता बढाउने, अन्तरसरकारी वित्त व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्ने तथा सार्वजनिक ऋणको सही उपयोग हुनुपर्ने उहाँको भनाइ छ ।

“हाम्रो विकास आवश्यकता पूर्ति गर्नका लागि ऋण लिनुपर्ने बाध्यता छ । तर हामीले ऋण के–कस्ता आयोजनामा लिने र कहाँ खर्च गर्ने भनेर बजेटमै लेखिनुपर्छ”, उहाँले भन्नुभयो । कुन आयोजना अघि बढाउने भनेर प्राथमिकीकरण गरिनुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो । त्यस्तै, सरकारले सःशर्त अनुदानलाई घटाउँदै लगेर वित्तीय समानीकरण अनुदानको हिस्सा बढाउँदै लग्नुपर्ने अध्यक्ष पौडेलको भनाइ छ ।

अर्थसचिव डा कृष्णहरि पुष्करले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन भएर बजेट तालिका संशोधन भएको र अहिले आगामी आवको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसद्मा छलफलका क्रममा रहेको बताउनुभयो । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि संसद् र संसदीय समितिबाट आएका सुझावलाई सम्बोधन हुने गरी आगामी आवको बजेट ल्याइने उहाँको भनाइ छ । अर्थतन्त्रमा अहिले देखिएको शिथिलता चिर्ने गरी आगामी आवको बजेट आउने दाबी सचिव पुष्करको छ ।

“अहिलेको चुनौती भनेको निरासा चिर्दै र भरोसा जगाउँदै जानुपर्ने अवस्था छ । अर्थतन्त्र पूर्णरुपमा तङ्ग्रिएको छैन । तनाव अझै बाँकी छन्”, उहाँले भन्नुभयो, “विगतको जस्तो कनिका छर्नेजस्तो शैलीको बजेट आउँदैन । आर्थिक शिथिलता अन्त्य गर्ने, नागरिकलाई सेवा प्रवाहमा सहजता ल्याउने, सुशासन अभिवृद्धि गर्ने तथा उत्पादन, उत्पादकत्व र रोजगारी बढाउने गरी आगामी आवको बजेट आउँछ ।”
 

भारतमा नेपाली राष्ट्रिय क्रिकेट टिमको लगातार दोस्रो जित

काठमाडौँ, २० चैत : भारतको गुजरातमा जारी मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ । नेपालले आज भएको खेलमा भारतको बरोडालाई २७ रनले पराजित गरेको हो

गुजरातको वापीस्थित साई मेघपन स्पोर्टस् लाइफ मैदानमा बरोडाले टस जितेर पहिला फिल्डिङ राज्यो । नेपालले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै एक सय ५६ रन बनायो । एक सय ५७ रनको विजयी लक्ष्य पछयाउने क्रममा भारतको बरोडाले सवै विकेट गुमाएर एक सय २९ रन मात्र बनाउन सक्यो । यसअघि पहिलो खेलमा नेपालले भारतको गुजरातलाई आठ विकेटले हराएको थियो ।

बरोडासँगको खेलमा ब्याटिङ गर्ने क्रममा नेपालका लागि कुशल मल्लले अविजित ४० रन बनाए । उनले २५ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । त्यस्तै सन्दीप जोराले २९, कप्तान रोहितकुमार पौडेलले १८ र गुल्सनकुमार झाले १३ रन बनाए ।

बलिङतर्फ बरोडाका बाबा खानले दुई तथा पारीक्षित पाटीदार र मोहित मोङ्गीयाले एक एक विकेट लिए । यसैगरी बरोडाका लागि एक सय २९ रन बनाउने क्रममा भानु पानियाले ३६, बाबा खानले २७ तथा कप्तान विष्णु सोलङ्कीले २५ रन बनाए । बलिङतर्फ नेपालका करन केसीले तीन, सोमपाल कामी र अभिनाश बोहराले दुई दुई तथा गुल्सनकुमार झा र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए । नेपालले बुधबार दिउँसो २ः४५ बजे भारतको गुजरातसँग आफ्नो तेस्रो खेल खेल्नेछ ।

फुकोट कर्णाली जलविद्युत् आयोजनाको मुआब्जा वितरण अन्तिम चरणमा

मान्म (कालिकोट), २० चैत : कालिकोटमा निर्माण हुन लागेको चार सय ८० मेगावाटको फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीयले पाउने मुआब्जा रकम वितरण अन्तिम चरणमा पुगेको छ । खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र पचाल झरना गाउँपालिकाका स्थानीयको घर, जग्गा र टहराको मुआब्जा वितरण अन्तिम चरणमा पुगेको हो ।जलविद्युत् आयोजना निर्माण हुने सान्नी त्रिवेणी गाउँपालिकाको सिस्नेगडा ड्यामसाइडदेखि डुबान क्षेत्र पचाल झरना गाउँपालिकाको भुराबगरसम्मको एक हजार २० रोपनी जग्गाको मुआब्जा रकम वितरण गरिएको हो ।

जिल्ला प्रशासनले सूचना प्रकाशन गरी अधिग्रहण गरेको जग्गाको मुआब्जा वितरण अन्तिम चरणमा पुगेको फुकोट कर्णाली अर्धजलाशय जलविद्युत् आयोजनाका प्रमुख डम्बर उप्रेतीले बताउनुभयो । “जिल्ला प्रशासन कार्यालयले विभिन्न चरणमा बि.स.२०७६ सालदेखि जग्गाको लगतकट्टा गरेका जग्गाधनीलाई मुआब्जा वितरण गर्दै आएको छ ।” उहाँले भन्नुभयो, “अब जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको छ ।”

फुकोट कर्णाली जलविद्युत् आयोजनाकोे मुआब्जा रकम निर्धारण भएको रु ५५ करोडमध्ये हालसम्म रु ५० करोड रकम वितरण भइसकेको प्रमुख उप्रेतीले बताउनुभयो । “केही घरटहराको मुआब्जा दिन बाँकी छ, धेरैजसो वितरण भइसकेको छ, यो वर्ष विनियोजित रु १३ करोडमध्ये रु तीन करोड वितरण गरिसकेका छौँ ।”, प्रमुख उप्रेतीले भन्नुभयो, “अन्य ठाउँका लागि निवेदन सङ्कलन भइरहेको छ ।”

मुआब्जा वितरणको काम जिल्ला प्रशासनले तीन वर्षदेखि निरन्तर गरिरहेको सहायक प्रमुख जिल्ला सरोज अधिकारीले बताउनुभयो । आयोजनाले सानी त्रिवेणी गाउँपालिका–३ सिस्नेगाडामा पाँच सय २० मिटरको परीक्षण सुरुङ खनेर एक सय ६० मिटर अग्लो बाँध निर्माण गरी १३ दशमलव ५ किलोमिटर लामो सुरुङ निर्माण गर्नेछ ।

प्राधिकरणलाई वायुसेवा निगमको स्पष्टीकरण

काठमाडौँ, २० चैत -नेपाल वायुसेवा निगमले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० लाई स्पष्टीकरण बुझाएको छ । नेपालको हवाई उड्डयनसम्बन्धी नियामक निकाय प्राधिकरणले नेपाल वायुसेवा निगमलाई हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै लिखित स्पष्टीकरण सोधेर त्यसको जवाफ मागेको थियो । जवाफमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले स्पष्टीकरणसहितको पत्र बुझाउनुभएको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का प्रवक्ता एवं उपमहानिर्देक जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “प्राधिकरणले हवाई सुरक्षाका विषयमा प्रश्न उठाई सात दिनभित्र बुझाउने गरी स्पष्टीकरण सोधेको थियो, वायुसेवा निगमले त्यस विषयलाई स्पष्ट गरेर स्पष्टीकरणसहितको पत्र बुझाएको छ ।”

प्रवक्ता निरौलाले उक्त स्पष्टीकरण अध्ययनकै क्रममा रहेको पनि जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वायु सेवा निगमका तर्फबाट स्पष्टीकरण आएको छ र अब त्यसलाई प्राधिकरणले अध्ययन गर्नेछ ।” प्राधिकरणले नेपाल वायुसेवा निगमलाई हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै यही चैत १३ गते स्पष्टीकरण सोधेको थियो ।

नेपाली विशेषतामा आधारित रहेर समाजवादको निर्माण गर्नुपर्छः उपप्रधानमन्त्री यादव

काठमाडौँ, २० चैतः उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले नेपाली विशेषतामा आधारित रहेर समाजवादको निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
समाजवादी मोर्चाले आज यहाँ आयोजना गरेको ‘नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया’मा उहाँले असमानता, विभेद्लाई अन्त्य गर्दै आर्थिक विकास र समृद्धिलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउनैपर्ने बताउनुभयो ।उहाँले वर्तमान सरकारले सुशासनलाई प्रमुख प्राथमिकतामा राखेको बताउनुभयो । वर्तमान शासनप्रणाली र निर्वाचन प्रणालीको परिवर्तन नगरी समाजवाद स्थापना हुन नसक्ने उल्लेख गर्दै उपप्रधानमन्त्री यादवले त्यसका लागि सबै तयार हुनुपर्नेमा जोड दिनुभयो ।

सङ्घीयतालाई सबल बनाउन पनि सुधार जरुरी रहेको उहाँको कथन छ । जातीय, धार्मिक, समाजिक विभेद्लाई अन्त्य नगरिकन सामाजिक न्यायसमेत प्राप्त नहुने र समाजवाद समेत प्राप्त नहुने उहाँले स्पष्ट पार्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता राजन भट्टराईले समाजवाद कार्यान्वयन गर्नका लागि आर्थिक, सामाजिक विषयलाई ध्यान दिँदै विश्वका सफल उदाहरणको पनि अध्ययन जरुरी रहेको बताउनुभयो ।

समाजवादीका बीचमा एकता नहुँदा लामो सङ्घर्षपछि प्राप्त व्यवस्था र संविधानलाई कार्यान्वयन गर्न गत्यावरोध उत्पन्न भएको उहाँको भनाइ थियो । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाली जनतालाई स्वास्थ्य शिक्षा, रोजगारीको सहज रुपमा प्रबन्ध गर्नका लागि नेपाली मौलिकताको समाजवाद स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यथास्थितिमा क्रमभङ्ग गरेर अगाडि जानुपर्नेमा आवश्यकता औँल्याउँदै नतातर्फ फर्कने र अधिकार सम्पन्न बनाउने कार्यक्रम जरुरी रहेको भनाइ राख्नुभयो ।

अधिवक्ता एकराज भण्डारीले नेपालको संविधानमा समाजवाद उन्मुख विशेषता उल्लेख गरिएको भए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, पूर्वराजदूत महेशमान मास्के, वरिष्ठ अधिवक्ता सुरेन्द्र महत्तो, प्राध्यापक डा खगेन्द्र प्रसाइँ, डा दिनेशराज भुजु, अधिवक्ता दीपेन्द्र झालगायतले नेपालको विशेषतासहितको समाजवादबारे आफ्नो धारणा राख्नुभएको थियो ।

जनतालाई विश्वासमा लिएर अगाडि बढ्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ, २० चैत – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम र योजना तय गर्नुपर्ने बताउनुभएको छ । समाजवादी मोर्चाले आज यहाँ आयोजना गरेको ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उहाँले जनतालाई विश्वासमा नलिई समाजवादी र वामपन्थी शक्ति अगाडि बढ्न नसक्ने बताउनुभयो ।

कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताभित्र देखापरेको भ्रष्टीकरण, चरम व्यक्तिवादी अवसरवादको रोग देखिएको उल्लेख गर्दै समाज बदल्ने अगुवा भनिएकाहरू नै भ्रष्ट भएकामा पूर्वप्रधानमन्त्री नेपालले चिन्ता व्यक्त गर्नुभयो ।विकास र समृद्धिका लागि कुनै विषयले बाधा पु¥याएको खण्डमा त्यसलाई सुधार गरेर जानुपर्नेमा जोड दिँदै उहाँले आवश्यक परेको खण्डमा संविधान पनि संशोधन गर्नुपर्ने बताउनुभयो । समय र समाजको गतिशीलतालाई बुझेर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै पूर्वप्रधानमन्त्री नेपालले विकास, समृद्धिको यात्रालाई अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।निर्वाचन प्रणालीमा देखिएको विकृतिको अन्त्य गर्नु जरुरी रहेकामा जोड दिँदै उहाँले आमरूपमा उठेको विषयलाई संवाद र छलफलका माध्यमबाट निष्कर्ष निकाल्नुपर्ने बताउनुभयो । उहाँले देश र जनतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम अगाडि बढाउनैपर्ने उल्लेख गर्नुभयो ।

मस्यौदा संविधानको मूल गति र भावना अनुरुप नै छ : अर्थमन्त्री पुन

काठमाडौँ, २० चैत : अर्थमन्त्री वर्षमान पुनले विश्व व्यापीकरण, आर्थिक उदारीकरण र सूचना प्रविधिमा आएको परिवर्तनले आर्थिक क्रियाकलापको प्रकृति, प्रवृत्ति र पद्धतिमा समेत परिवर्तन आइरहेको बताउनुभएको छ ।

राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले कुनै निकायबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गर्ने कारोबारलाई सुरक्षित र व्यवस्थित ऐन संशोधन गर्न लागिएको जानकारी दिनुभयो ।

अर्थमन्त्री पुनले भन्नुभयो, “प्रस्तावित विधेयक संविधानसँग बाझिएको छैन, संविधानको मूल गति र भावनाअनुरुप नै छ । ऐनमा प्रयोग गरिने शब्द सकेसम्म नेपाली मौलिक भाषासँग तालमेल मिलाइने छ ।”

समितिका सभापति जयन्ती राईले अर्थतन्त्रका क्षेत्रमा आएका नवीनतम प्रविधिको प्रयोगलाई वैधानिकता प्रदान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारोबारलाई सुरक्षित र व्यवस्थित तुल्याउन ल्याइएको ऐनलाई गुणस्तरीय तुल्याउन सबैको सहयोगको अपेक्षा गर्नुभयो ।

सुरक्षित कारोबार ऐन, २०६३ पहिलादेखि नै कार्यान्वयनमा रहेकाले संशोधनकारुपमा आएको विधेयकमाथि सांसदको आठ समूहले २८ विषयमा संशोधन हाल्नुभएको छ । उक्त संशोधनमाथि सशोधनकर्तासगँ आजै समितिले राय, सुझाव र परामर्श लिएको थियो ।

एकीकृत समाजवादी : चैत मसान्तभित्र सदस्यता नवीकरण गर्नुपर्ने

काठमाडौँ, २० चैतः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने सबैलाई यही चैत मसान्तसम्म सदस्यता नवीकरण गर्न आह्वान गरेको छ ।

आगामी जेठमा हुने महाधिवेशनमा प्रतिनिधि चयन गर्न पार्टी मातहतका केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीमा रहेका नेताले समयमै आफ्नो सदस्यता नवीकरण गर्न पार्टीले आह्वान गरेको हो ।

पार्टीले वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि छनोटको कार्यतालिका निकालेको छ । पार्टीले तल्लो कमिटीका सुझाव समावेश गरी विधान संशोधन पनि गरिसकेको छ ।

केन्द्रीय अध्यक्षदेखि केन्द्रीय निकायका सदस्य पनि चुनिएर आउनुपर्ने व्यवस्था भएकाले सम्बन्धित कमिटीले कार्यक्षेत्रका सदस्यलाई निर्धारित समयमै सदस्यता नवीकरण गरी त्यसको अभिलेख राख्न पार्टीले निर्देशन गरेको पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिनुभयो ।

महाधिवेशन प्रतिनिधि बन्न पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्म नेताहरू चुनिएर आउनुपर्ने व्यवस्था विधानले गरेको छ । सङ¬्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गर्दै समाजवादको दिशामा अगाडि बढाउने लक्ष्य लिएको पार्टीले प्रदेशस्तरीय, विभागीय, आयोगस्तरीय समूह निर्माण गरी विभिन्न कमिटीबाट पार्टीको आदर्श, वैचारिक दृष्टिकोण, कार्यदिशा, कार्ययोजना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषणसहित महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरेका छन् ।

बोडेका सुजनले दोस्रो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै

भक्तपुर, २० चैतः मध्यपुरथिमि नगरपालिकाको बोडेमा हरेक वर्ष वैशाख २ गते आयोजना हुने ‘जिब्रो छेड्ने जात्रा’ मा बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले दोस्रोपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै हुनुहुन्छ ।नवौँपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आउनुभएका बोडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठले आफ्ना कान्छा छोरा सुजनलाई गत वर्ष जिब्रो छेडाएर पुस्तान्तरण गर्नुभएको थियो । कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उहाँका भाइ बुद्धकृष्ण बाग श्रेष्ठ नौपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएकामा यस वर्ष बुद्धकृष्णका कान्छा छोराले दोस्रोपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिन लाग्नुभएका स्थानीय दिलकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।

चारदाम चढाएपछि जिब्रो छेड्ने व्यक्तिले अशुद्ध व्यक्तिलाई छुन नहुने, महिलालाई छुन नहुने, जुठो, सुत्केरो परेकालाई छुन नहुने, नुन खान नहुने, बोडे देश छाडेर बाहिर जान नहुने सुजनका बुबा बुद्धकृष्णले बताउनुभयो । यसअघि नौपटक जिब्रो छेडाएर जात्रा चलाउनुभएका उहाँले जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघिदेखि व्रत बस्नुपर्ने बताउनुभो । जिब्रो छेड्न तयार भएका युवक सुजनले आफू सानैदेखि बुबाले जिब्रो छेडेर जात्रा चलाएको हेर्दै आएको बताउँदै जात्रा जोगाउन आफू यस वर्ष पनि जिब्रो छेड्न तयार भएको प्रतिक्रिया दिनुभयो ।सुजनले भन्नुभयो, “बुबाले जिब्रो छेडाउँदा म उहाँसँगै हुन्थे, उहाँले जात्रा, कला, संस्कृतिलाई जोगाएको देखेर मलाई पनि मनमा इच्छा जाग्थ्यो र आँट आयो, त्यो मौका गत वर्ष जुर्यो, यस वर्ष पनि जात्रालाई निरन्तरता दिन जिब्रो छेडाएर महाद्वीप बोकेर बोडे देश घुम्नेछु ।”बुद्धकृष्णले भन्नुभयो, “मैले जिब्रो छेडाउँदा सानैदेखि छोरासंँगै हुन्थ्यो, यो जात्रा जोगाउनुपर्छ, यो जात्रा नभए बोडेको पहिचान मेटिन्छ भन्ने मलाई मात्र होइन मेरो छोरालाई पनि लाग्थ्यो, त्यसैले यस वर्ष उसले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै छ, बोडेको संस्कृति जोगाउन अब हरेक वर्ष बोडेका युवा तयार हुनुपर्छ ।”जात्राअघि चैत २७ गते जिब्रो छेड्ने व्यक्तिले नाय पमाःको घरमा पुगेर नाय पमाः, कर्मी नायलगायतलाई चार दाम चढाएर सगुन दिएर जिब्रो छेड्ने पक्का गर्नुका साथै सोही दिन जात्राको व्रत प्रारम्भ गर्ने परम्परा छ ।जात्राका दिन व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवी–देवताको पूजाआजा गर्ने र प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने चलन छ । जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महाद्वीप बोकेर बोडे सहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउमा महालक्ष्मी मन्दिरको माटो लगाइन्छ ।विसं १९६९ देखि १९९० सम्म हर्कनरसिंह बासँ श्रेष्ठले २२ पटक, विसं १९९१ देखि २०२२ सम्म बेखानारायण हायश्रेष्ठ ३२ पटक, २०२३ मा हरिदेव किलाश्रेष्ठले एक, २०२४ देखि २०२६ सम्म हरि भासिंक श्रेष्ठले तीन, २०२७ र २०२८ मा इन्द्र बाटा श्रेष्ठले दुई, २०२९ देखि २०३१ सम्म हर्केश्वर ब्याँ श्रेष्ठले तीन, २०३२ देखि २०३८ सम्म चन्द्रसेन द्यों श्रेष्ठले सात, २०३९ देखि २०४६ सम्म दिलकुमार खपे श्रेष्ठले सात, २०४७ मा मुनि घों श्रेष्ठले एक, २०४८ मा धर्मराज बलाय श्रेष्ठले एक, २०४९ देखि २०६० सम्म कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक, बुद्धकृष्ण बाग श्रेष्ठले २०६१ देखि २०६४ सम्म तथा २०७३, २०७५, २०७६, २०७८ गरी नौपटक, जुजुभाइ बासँ श्रेष्ठले २०६५ देखि २०७२ सम्म आठपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आउनुभएको । 

गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनामा औद्योगिक क्षेत्र स्थापनामा जोड

गण्डकी, २० चैतः गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनामा औद्योगिक क्षेत्र स्थापनामा जोड दिएको छ । प्रदेश नीति तथा योजना आयोगले दोस्रो पञ्चवर्षीय योजनाको आधारपत्र सार्वजनिक गर्दै उद्योग विकासका निम्ति औद्यागिक क्षेत्र स्थापनामा जोड दिएको हो ।

प्रदेशमा प्राकृतिक तथा सांस्कृतिक सम्पदा, विशिष्ट पारिस्थितिकीय प्रणाली, सबल सामुदायिक संरचना तथा सम्बन्ध, उद्योगी र व्यवसायीका नवप्रवर्तनका माध्यमबाट प्रदेशलाई समुन्नत बनाउन सहयोग पुग्ने गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले बताउनुुभयो ।स्थानीय तहमा औद्योगिकग्राम स्थापना गर्ने र पुँडीटार र लोकाहाखोलामा प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापना गर्ने काम अगाडि बढे पनि अरु आयोजनाले गति लिन नसकेको आयोगले जनाएको छ ।सोमबार सार्वजनिक गरिएको आधारपत्रमा समयमा किसानले मल नपाउँदा अन्न उत्पादन अपेक्षाअनुरुप नभएको तथा सिँचाइ सेवा विस्तार नहुँदा निर्धारित लक्ष्य हासिल नहुने जनाइएको छ । आधारपत्रमा कृषि क्षेत्रमा वार्षिक औसत पाँच दशमलव पाँच प्रतिशतको वृद्धि हासिल गर्ने लक्ष्य निर्धारण गरिएको थियो । पशुपक्षी तथा मत्स्यजन्य उत्पादनमा आत्मनिर्भर हुने लक्ष्यविपरीत दूध र मासुको उत्पादन पनि घट्दो क्रममा रहेको आधारपत्रमा उल्लेख छ ।

उम्मेदवार टुङ्गो लगाउन कांग्रेस संसदीय बोर्ड बैठक बस्दै

काठमाडौँ, २० चैतः आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा (१) मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार टुङ्गो लगाउन नेपाली कांग्रेस संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुँदैछ ।

निर्वाचनमा पार्टीका तर्फबाट उठाइने उम्मेदवार निर्धारण गर्न बैठक आह्वान गरिएको पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले राससलाई जानकारी दिनुभयो ।पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा दिउँसो २ बजे बैठक हुनेछ । प्रारम्भमा संसदीय बोर्डको बैठक हुने तथा त्यसले उम्मेदवारको टुङ्गो लगाएपछि त्यसलाई अनुमोदन गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक हुने प्रवक्ता विश्वकर्माले बताउनुभयो ।उपनिर्वाचनमा उठाइने उम्मेदवारका बारेमा सोमबार साँझ कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी एवं शीर्षनेताहरूबीच छलफल भएको थियो । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ता गरिसक्नुपर्ने निर्वाचन तालिका सार्वजनिक गरेको छ ।

डढेलो नियन्त्रण नगर्ने सामुदायिक वनको सुविधा रोकियो

कञ्चनपुर, २० चैतः शुक्लाफाँटा नगरपालिकामा वन डढेलो नियन्त्रणसम्बन्धी योजना बनाई कार्यान्वयनमा नल्याउने सामुदायिक वनहरूको सेवा सुविधामा रोक लगाइएको छ ।नगरपालिकाको वडा नं ८ कार्यालयले डढेलो नियन्त्रणको योजना बनाई कार्यान्वयनमा नल्याउने सामुदायिक वनको सेवा सुविधामा रोक लगाउने निर्णय गरेको हो । डढेलो लागेर हुने क्षति घटाउन सामुदायिक वनलाई जिम्मेवार बनाउन वडा कार्यालयले यस्तो निर्णय गरेको जनाएको छ ।

“सुक्खायामका बेला हुरी चल्ने क्रमसँगै वन क्षेत्रमा लाग्ने डढेलोका कारण सामुदायिक वनका पदाधिकारीको हेलचक्रयाइँले ठूलो नोक्सानी व्यहोर्नुपर्ने हुन्छ”, वडाध्यक्ष बहादुरसिंह महराले भन्नुभयो, “डढेलोका कारण लाखौँको काठ खरानी हुन्छ, जीवजन्तुको बासस्थान मासिन्छ ।” उहाँका अनुसार डढेलोले चुरे र यससँगै जोडिएको राष्ट्रिय वन क्षेत्रमा जैविक विविधता र वन पैदावारमा पनि क्षति हुँदै आएको छ ।

वडाअन्तर्गत पर्ने सुनदेवी महिला सामुदायिक वन, भगवती सामुदायिक वन, वैजनाथ सामुदायिक वन, कालिका सामुदायिक वन, प्रगति सामुदायिक वन र बैजनाथ धार्मिक वन उपभोक्ता समितिलाई पत्राचार गरी डढेलो रोकथामका लागि योजना बनाई पदाधिकारीसहित उपभोक्त टोलीलाई सतर्क रहन आग्रह गरिएको वडाध्यक्ष महराले बताउनुभयो ।

“डढेलोका कारण सामुदायिक वनमा क्षति हुन नदिन आवश्यक जनशक्ति, यन्त्र, उपकरण, उपलव्ध स्रोतसाधन परिचालन गर्न भनेका छौँ”, दुई दिनभित्र वडा कार्यालयमा योजना पेस गर्न निर्देशन दिइएको जानकारी दिँदै उहाँले भन्नुभयो ।

पालिकाको पत्रको अवज्ञा गरी डढेलो नियन्त्रणको व्यवस्था नमिलाएको पाइएमा सामुदायिक वनको कार्ययोजना, विधान नवीकरण सिफारिसमा रोक लगाउनेसँगै काठ बिक्रीमा रोहबर नहुने र वडाबाट उपलव्ध हुने वातावरणसम्बन्धी सेवा उपलव्ध नगराइने वडाध्यक्ष महराले बताउनुभयो ।

नेपालगञ्जमा नगरवासीलाई तातो हावा लु’बाट जोगाउन ‘कुलिङ सेन्टर’

नेपालगञ्ज (बाँके), २० चैतः अत्यधिक गर्मी हुने सहरको पहिचान बनाएको नेपालगञ्जमा अहिले ‘कुलिङ सेन्टर’ निर्माण प्रारम्भ भएको छ ।वागीश्वरी मन्दिरको पूर्वपट्टि ‘चिल्ड्रेन पार्क’मा कुुलिङ सेन्टर निर्माण थालिएको हो । तातो हावा ‘लु’ प्रतिकार्य योजना कार्यान्वयनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा रु २० लाख विनियोजन गरेको छ । नेपालगञ्जको बसपार्क, धम्बोझी र रामलीला मैदान क्षेत्रमा पनि कुलिङ सेन्टर बनाउने योजना छ ।

अमेरिकी रेडक्रसको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको सहकार्यमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित तातो हावाको लहर ‘लु’ जोखिम न्यूनीकरण कार्यक्रमअन्तर्गत उक्त कार्यक्रम अघि सारिएको हो । अत्यधिक गर्मी हुने तराईका अन्य सहरमध्ये धनगढीमा पनि यो कार्यक्रम सुरु भएको छ ।नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले ‘लु’लाई प्रकोपका रूपमा लिई त्यसविरुद्ध जुध्न ‘लु’ प्रतिकार्य योजना कार्यान्वयनमा ल्याइएको बताउनुभयो ।रेडक्रस क्लाइमेट सेन्टरका सहरीक्षेत्रविज्ञ रमिज खान, अमेरिकन रेडक्रसकी कार्यक्रम संयोजक उपमा ओझाले नेपालगञ्जले तातो हावाको लहर जोखिम न्यूनीकरणका लागि नेपालमै पहिलोपटक उल्लेखनीय र उदाहरणीय काम गरिरहेको भन्दै तराईका अन्य तीन सहरमा पनि उक्त कार्यक्रम लागू हुने प्रक्रियामा रहेको बताउनुभयो ।नेपालगञ्ज उपमहानगरपालिकाले ‘लु’ प्रतिकार्य योजना कार्यान्वयनका लागि कार्यविधि बनाउँदैछ । नेपालगञ्ज उपमहानगरपालिका ‘लु’ प्रतिकार्य योजना लागू गर्ने देशको एकमात्र स्थानीय सरकार हो

व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्दै चौधरी,लगानीभन्दा आम्दानी तेब्बर

भजनी (कैलाली), २० चैत : पैसा कमाउन जागिर गर्नैपर्छ वा विदेश जानुपर्छ भन्ने मान्यतालाई कैलालीको जानकी गाउँपालिका वडा नं ५ का उद्यमी एन्जिल चौधरीले गलत साबित गर्नुभएको छ । व्यावसायिक च्याउखेतीमा लाग्नुभएका चौधरीले गाउँमा नमुना किसानको परिचय बनाउनुभएको छ ।विसं २०७६ मा सुरु गरेको च्याउखेतीले उहाँलाई सफल किसान बनाएको छ । उहाँले व्यवसायलाई बढाउँदै लैजानुभएको छ । “मैले सिजनअनुसार छ किसिमका च्याउको खेती गर्दै आएको छु, बेमौसममा उत्पादन भएको च्याउले बजारको मागलाई पूरा गर्न सकिएको छैन । उत्पादन भएको च्याउ बिक्रीका लागि बजार पुग्नै पर्दैन । घरबाटै सबै बिक्री हुन्छ”, उहाँ भन्नुहुन्छ ।

चौधरीले हिउँदमा कन्यालगायत प्रजातिको च्याउ उत्पादन गर्दै आउनुभएको छ । गर्मीमा ब्लुक्याप, पिङ्की च्याउ उत्पादन गर्दै आएका उहाँले बर्खामा दुधेच्याउ लगाउँदै आउनुभएको छ । लगानीका हिसाबले तेब्बरभन्दा बढी आम्दानी लिन सकिने व्यवसायबाट वार्षिक रु सात लाखसम्म आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । “लगानीको तुलनामा आम्दानी अधिक छ । त्यसैले व्यवसाय विस्तार गरेको छु”, उहाँ भन्नुहुन्छ, “परिवारका अन्य सदस्यलाई पनि व्यवसायमा जोडेर काम गरिरहेको छु ।”

उहाँले च्याउखेतीमात्रै नभई बेमौसमी तरकारीखेती र तरकारीको बेर्ना पनि उत्पादन गर्दै आउनुभएको छ । अहिले उहाँको तरकारी बारीमा बेमौसमी तरकारी उत्पादन भइरहेको छ । “च्याउखेतीबाट बचेको समय बेमौसमी तरकारीमा लगाउने गरेको छु । तरकारीका बेर्नाबाट पनि प्रशस्त आम्दानी हुन्छ, तरकारी र तरकारीको बेर्नाबाट वार्षिक रु चारदेखि पाँच लाख आम्दानी हुन्छ”, उहाँले भन्नुभयो । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइबाट बीउमा अनुदान पाउनुभएका उहाँलाई गाउँपालिकाले प्राविधिक सहयोग गर्दै आएको छ ।

जानकी गाउँपालिका–४ कञ्चनपुरका श्रीराम कठरिया २०७२ सालदेखि च्याउखेतीमा हुनुहुन्छ । उहाँले च्याउखेतीमा करिब रु ५० लाख लगानी गरिसक्नुभएको छ । व्यवसायबाट अहिलेसम्म भएको आम्दानी उहाँले व्यवसाय वृद्धिमा नै लगाउनुभएको छ । “मैले नौ वर्ष गरेको आम्दानी यही व्यवसायमा भएको लगानी हो । करिब रु ५० लाख लगानी भइसकेको छ, आजसम्म भएको आम्दानी लगानीमा सकियो । अबको आम्दानी बचतमा जान्छ”, उहाँ भन्नुहुन्छ । च्याउखेतीका लागि उहाँले एसी प्लान्ट जोड्नुभएको छ । जहाँ एकैपटक एक हजारभन्दा बढी च्याउ राख्न मिल्छ । च्याउखेतीसँगै केरा, तरकारी र मकैखेती गर्दै आउनुभएका कठरिया अहिले सबै छाडेर च्याउ उत्पादनमा व्यस्त हुनुभएको छ । उहाँले गाउँका अन्य युवालाई पनि व्यावसायिक खेतीका निम्ति प्रेरित गर्दै आउनुभएको छ ।

जानकी गाउँपालिकाकै ममता चौधरीले स्नातक तहको अध्ययनसँगै च्याउखेती सुरु गर्नुभयो । पढ्दै खेतीमा लाग्नुुभएकी उहाँलाई एन्जिल चौधरीले सिकाउनुभएको थियो । साथीहरूबाट सिकेको ज्ञानसँगसँगै स्नातक तहको अध्ययन सक्नुभयो भने व्यवसायलाई विस्तार गर्दै त्यसको निरन्तरतामा लाग्नुभयो । परिवारको दबाबले एक वर्ष कानुन पढ्न धनगढीमा बिताउनुभएकी ममतालाई व्यवसायबाट हुने गरेको मनग्य आम्दानीले धनगढीबाट घर फिर्ता गर्यो । उहाँ भन्नुहुन्छ, “अब स्नातकोत्तर गर्छु । व्यवसायलाई पनि निरन्तरता दिनेछु ।”

बाह्र महिना च्याउ उत्पादनमा लाग्नुभएकी उहाँले ठूलो धनराशि लगानी गर्नुभएको छैन । यो वर्ष रु एक लाख लगानी गरेको उहाँको च्याउ खेतीबाट रु छ लाख आम्दानी भएको छ । “च्याउखेतीमा खासै लगानी छैन । त्यही प्लास्टिक र पराल हो चाहिने, पराल आफैँसँग हुन्छ प्लास्टिक किन्नुपर्छ । लगानीभन्दा आम्दानी तेब्बर छ”, उहाँ भन्नुहुन्छ । उहाँको पाँचजना परिवारका पाँच जना च्याउखेतीमा नै व्यस्त छन् ।

कर्णाली : विश्वासको मत लिने तयारी गर्दैगर्दा विपरीत निर्णय आएपछि ..

कर्णाली – सत्ता गठबन्धन दलबीच भएको केन्द्रीय सहमति अनुसारमा कर्णालीमा नेकपा (एमाल)ले मुख्यमन्त्रीको पद पाउने भएको छ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका ईञ्चार्ज कालीबहादुर मल्लका अनुसार कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेलाई दिने सहमति भएको हो ।

सत्ता गठबन्धनको केन्द्रीय सहमतिअनुसार पहिलो चरणमा एमाले दिने निर्णय बमोजिम परिपत्रसमेत आएको इञ्चार्ज मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “केन्द्रले गरेको सहमतिलाई प्रदेशले मान्नैपर्ने हुन्छ । शीर्ष नेतृत्व बसेर गरेको निर्णय अनुसार गठबन्धन दलकै प्रदेशमा सरकार निर्माण हुन्छ ।”

मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने गरी प्रदेशसभा सचिवालयमा सोमबार पत्र दर्ता गराइसक्नुभएको थियो । मुख्यमन्त्री शर्माले विश्वासको मत लिने तयारी गरिरहेका बेला विपरीत निर्णय आएपछि अब कर्णालीमा के हुने भन्नेमा अन्योलता सृजना भएको छ ।

केजरीवालको अन्तःशुल्क सम्बन्धी मुद्दामा अप्रिल १५ सम्म म्याद थप

राउज एभेन्यु अदालतले अन्तःशुल्क निति अन्तर्गत सम्पति शुद्धिकरणसम्बन्धी मुद्दामा सोमबार म्याद थप गर्दै दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई अप्रिल १५ सम्मका लागि न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ ।

गिरफ्तार व्यक्तिले आम आद्मी पार्टी (आप)का अन्य सदस्यहरूविरुद्ध झुटा प्रमाण दिएको भन्दै प्रवर्तन निदेशालयले केजरीवाललाई न्यायिक हिरासतमा पठाउन माग गरेको हो ।

केजरीवालले राजनीतिकममिला समितिका समेत सदस्य रहेका एन.डी गुप्ता पार्टीका आन्तरिक मामिलाबारे जानकार रहेको बताउनुभएको थियो तर एनडी गुप्ताले बयानका क्रममा पार्टीभित्रका सबै निर्णय संयोजकले गर्ने बताएपछि केजरीवालले पार्टीका कोषाध्यक्ष अन्योलमा परेको बताउनुभयोे ।

इडीले पक्राउ पर्नु भएका केजरीवाललाई विजय नायरसँगको अन्तरक्रिया र रिपोर्टिङका बारेमा प्रश्न गर्दा नायरले आफुसँग नभई आतिशी मार्लेना र सौरभ भारद्वाजलाई रिपोर्ट गर्ने र आफुसँगको अन्तरक्रिया सिमित रहेको बताउनुभएको थियो । केजरीवालको बयानका आधारमा दिल्ली अदालतका विशेष न्यायाधीश कावेरी बावेजाले म्याद थपको निर्णय सुनाउनुभएको हो ।

केजरीवाललाई अन्तःशुल्क नीति मुद्दामा प्रवर्तन निर्देशनालयले मार्च २१ मा गिरफ्तार गरेको हो । अदालतको निर्देशनपश्चात उहाँलाई १० दिन इडी हिरासतमा राखिएको थियो । इडीले अन्तःशुल्क नीति निर्माणमा केजरीवालको प्रत्यक्ष संलग्नता रहेको दाबी गरेको थियो ।

“अरविन्द केजरीवालको दिल्ली मदिरा प्रकरणमा पनि आन्तरिक संलग्नता रहेको छ, जसमा केही निजी व्यक्तिहरूलाई लाभ हुने गरी नीति निर्माण गरी लागू गरिएको थियो,” हिरासतको म्याद थपको माग गर्दै निर्देशनालयले भनेको छ ।

केजरीवाललाई इडीले भ्रष्टाचारको आरोपमा पक्राउ गरेको हो । स्वतन्त्र भारतमा वहालवाला मुख्यमन्त्री पक्राउ परेको यो पहिलो पटक हो । निर्देशनालयले जारी गरेको नौवटा समाह्वानलाई गैरकानुनी भनी बेवास्ता गरेपछि केजरीवाललाई गिरफ्तार गरिएको थियो । यो मुद्दा खारेज भइसकेको अन्तःशुल्क नीति २०२२ को तर्जुमा र कार्यान्वयनको अनियमितता र सम्पति शुद्धिकरणको आरोपसँग सम्बन्धित छ ।

अमेरिकी–रूसी पत्रकार कुर्माशेभाको हिरासत म्याद थप

रूसी अदालतले ‘झूटो जानकारी’ फैलाएको आरोपमा पक्राउ परेका अमेरिकी–रूसी पत्रकार अल्सु कुर्मशेभाको परीक्षणपूर्वको हिरासतमा जुन ५ सम्मको लागि म्याद थप गरेको छ । आरोप प्रमाणित भएमा कुर्मशेभाले कम्तीमा १५ वर्षको जेल सजाय हुनसक्छ ।

संयुक्त राज्य अमेरिकाद्वारा अनुदान प्राप्त रेडियो फ्री यूरोप/रेडियो लिबर्टी (आरएफई/आरएल) का पत्रकार कुर्मशेभालाई गत वर्ष ‘विदेशी एजेन्ट’ को रूपमा आफुलाई दर्ता नगरेको भन्दै पक्राउ गरिएको थियो । आरएफई÷आरएलका अनुसार उहाँलाई नयाँ सेन्सरसिप कानून अन्तर्गत युक्रेनमा रूसको सैन्य आक्रमणसम्बन्धी झूटा जानकारी फैलाएको आरोपमा पक्राउ गरिएको हो ।

सन् २०२२ मा कुर्मशेभाले युक्रेनविरुद्ध मस्कोको अभियानको विरोध गर्ने रूसीहरूको अन्तर्वार्ता र कथा सङ्ग्रह ‘सेयिङ्ग नो टु वार’ शीर्षकको पुस्तक सम्पादन गर्नुभएको थियो । “अमेरिकी राहदानी भएको कारणले मात्र हिरासतमा राखिएको भन्दै आरएफई÷आरएलले सोमबार उहाँको कैदलाई ‘अपमानजनक’ बताएको हो ।

“कुर्मशेभाविरुद्ध लगाइएको आरोप निराधार छन् । यो कानुनी प्रक्रिया होइन, यो एक राजनीतिक षड्यन्त्र हो, कुर्मशेभा र उहाँको परिवारले यसको अनुचित मूल्य तिरिरहेका छन्, रूसले यो षड्यन्त्रको अन्त्य गर्नुपर्छ र तुरुन्तै उहाँलाई बिना शर्त रिहा गर्नुपर्छ“, आरएफई÷आरएलका प्रमुख स्टीफन क्यापसले भन्नुभयो ।

श्रीमान् र दुई छोराछोरीसँग प्रागमा बस्दै आउनुभएकी कुर्माशेभा गत जुनमा रूस आएपछि उहाँको अमेरिकी र रूसी राहदानी जफत गरिएको थियो । राहदानी फिर्ताको पर्खाइमा रहनुभएको कुर्माशेभालाई अक्टोबरमा ‘विदेशी एजेन्ट’ को रूपमा आफुलाई दर्ता गर्न असफल भएको भन्दै पक्राउ गरिएको हो ।

उक्त आरोपमा पाँच वर्षसम्म जेल सजाय हुने र ‘झूटा सूचना’ फैलाउने सम्बन्धमा अधिकतम पन्ध्र वर्षको सजाय हुने प्रावधान रहेको छ ।युक्रेनमा मस्कोको सैन्य आक्रमण सुरु भएयता रूसमा गिरफ्तार हुने कुर्माशेभा दोस्रो अमेरिकी पत्रकार हुनुहुन्छ ।

वाल स्ट्रिट जर्नलका रिपोर्टर इभान गेर्शकोविचले जासुसीको आरोपमा मस्कोमा एक वर्षभन्दा बढी जेलमा बिताउनुभएको छ । उक्त मुद्दामा अधिकतम बीस वर्षको जेल सजाय हुने प्रावधान रहेको छ ।कुर्माशेभाका वकिलहरूले उहाँलाई जेलबाट रिहा गर्न र मुद्दाको सुनुवाइ नहुँदासम्म घरमै नजरबन्दमा राख्न आह्वान गरेका थिए तर उक्त आह्वान सदर गरिएन । अमेरिकी विदेश मन्त्रालयले भनेको छ, “कुर्माशेभाको गिरफ्तारी रूसी सरकारले अमेरिकी नागरिकहरूलाई उत्पीडन गरेको अर्को घटना जस्तो देखिन्छ ।”

सन् २०२३ मा फिलिपिन्सको निर्यात एक खर्ब अमेरिकी डलरभन्दा बढी

फिलिपिन्सको व्यापार तथा उद्योग विभाग (डीटीआई) का अनुसार सन् २०२३ मा पहिलो पटक फिलिपिन्सको निर्यात एक खर्ब तीन अर्ब अमेरिकी डलर पुगेकोे छ । यो सन् २०२२ को तुलनामा ४.८ प्रतिशत बढी हो ।

देशको केन्द्रीय बैङ्क बाङ्को सेन्ट्रल एनजी पिलिपिनास (बीएसपी) को तथ्याङ्क उद्धृत गर्दै डीटीआई सचिव अल्फ्रेडो पास्कुएलले सूचना प्रविधि र व्यापार प्रक्रिया व्यवस्थापन क्षेत्रको बलियो प्रदर्शन र पर्यटन राजस्वमा आएको सुधारले वृद्धिलाई बढावा दिएको बताउनुभयो ।

बढ्दो पर्यटन सञ्जाल र प्रबद्र्धनात्मक प्रयासका कारण फिलिपिन्सले १५ वर्षमा पहिलो पटक पर्यटन राजस्वमा अधिशेष रेकर्ड गरेको छ । सन् २०२३ मा फिलिपिन्सको पर्यटन राजस्व सन् २०२२ को स्तरभन्दा दोब्बर भन्दा बढी अर्थात् ९.१ अर्ब डलर पुगेको छ ।

डीटीआईका अनुसार, निर्यात वृद्धिको अधिकांश भाग देशको सेवा निर्यातमा १७.४ प्रतिशतको उल्लेखनीय विस्तारबाट प्रेरित थियो भने पर्यटन सेवाहरूले २०२३ मा वृद्धिभउका सेवाहरू निर्यात प्राप्तिको लगभग ७० प्रतिशत योगदान पु¥याएको थियो । तथापि, वस्तु क्षेत्रको कमजोर बाह्य मागले आर्थिक वृद्धिमा निर्यातको समग्र योगदानलाई कमजोर बनायो ।

सन् २०२३ मा कुल निर्यातले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को २७ प्रतिशत हिस्सा ओगटेको थियो । सन् २०२२ को तुलनामा इलेक्ट्रोनिक्समा ३.४ प्रतिशत अर्थात् ९५ करोड ५० लाख डलरको गिरावट आएको छ । “यो गिरावटले निर्यात राजस्व सङ्कलनको विविधीकरण र प्रमुख क्षेत्रहरूमा प्रतिस्पर्धात्मकता बढाउने महत्वलाई उजागर गर्दछ,” पास्कुएलले भन्नुभयो ।