`

श्रम अदालतको मुकाम काठमाडाैँ उपत्यकामा रहने

काठमाडौँ, २२ चैत : सरकारले श्रम अदालतको मुकाम काठमाडौँ उपत्यकामा रहनेगरी तोकेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले सोसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

यसअघि श्रम अदालतको मुकाम काठमाडौँ जिल्लामा रहने गरी तोकिएको थियो । बैठकले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा सप्तरी निवासी प्रा डा पशुपति चौधरी र सदस्यमा सिरहा निवासी डा वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गरेको छ ।

बैठकले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सदस्य पदमा झापा निवासी डा ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

शिक्षक राजनीतिमा लाग्दा गुणस्तरीयतामा बाधा : सभापति थापा

काठमाडौँ, २२ चैत : प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले शिक्षकलाई सक्रिय राजनीतिमा लगाउँदा गुणस्तरीय शिक्षामा बाधा हुने बताउनुभएको छ ।

समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० का सन्दर्भमा शिक्षा पत्रकार समाज र शिक्षा विकास तथा नीति अभ्यास केन्द्र (सिइपिपी) का तर्फबाट सुझाव प्रतिवेदन ग्रहण गर्दै सभापति थापाले कुनै काम नपाउँदा शिक्षक हुने र शिक्षक भएपछि राजनीतिमा लाग्ने प्रवृत्ति गलत भएको बताउनुभयो । उहाँले उक्त विधेयकममा प्राप्त सबै पक्षका राम्रा सुझावलाई अध्ययन गरी संशोधनका क्रममा विचार गरिने विश्वास दिलाउनुभयो ।

शिक्षा विश्लेषक टीका भट्टराईले संविधानको मर्म, भावना र मौलिक हकको प्रभावकारी कार्यान्वयन भई गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने गरी विधेयक आउनुपर्नेमा जोड दिनुभयो । समितिका सदस्य एवं पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेल, समितिका सदस्य दीपा शर्मा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सुरेश अधिकारीसमेत सहभागी सो अवसरमा समाजका अध्यक्ष प्रकाश सिलवालले विधेयकलाई संविधानको प्रस्तवनामा उल्लेखिल समाजवादोन्मुख व्यवस्थाअनुरुप विधेयक ल्याइनुपर्ने सुझावसहितको प्रतिवेदन सभापति थापालाई हस्तान्तरण गर्नुभएको थियो ।

यसैबीच, समितिमा उक्त विधेयकमाथि संशोधनकर्ता सदस्यसँगको आजको छलफल शिक्षामन्त्री सुमना श्रेष्ठको कार्यव्यवस्तताका कारण स्थगन भएको छ । समितिको बैठकको समयमा मन्त्रिपरिषद्को बैठक परेकाले मन्त्री श्रेष्ठ अनुपस्थित हुनुभएको जनाइएको छ । बैठक प्रारम्भ भई दुई सांसदले आफ्नो संशोधनको औचित्य प्रस्तुत गरे पनि समितिमा कुनै पनि विधेयकमाथि छलफल हुँदा विभागीय मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने प्रश्न उठेपछि सभापति थापाले बैठक स्थगन गर्नुभएको थियो ।

अब घरबाटै कन्सुलर सेवा सुरु हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, २२ चैत : उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले जनतालाई घरबाटै सार्वजनिक सेवा सहज रूपमा उपलब्ध गराउने गरी काम गरिरहेको बताउनुभएको छ ।

विदेशमा बसेका नेपालीले आफ्ना गुनासो तथा समस्यालाई सम्बन्धित दूतावासमार्फत सहजै दर्ता गराउन सक्ने गरी कन्सुलर सेवा विभागले आजदेखि सुरु गरेको नयाँ ‘मोडयुल’को शुभारम्भ गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान सरकारले प्रारम्भदेखि नै जनतालाई सार्वजनिक सेवा सहज र सरल रूपमा प्रदान गर्ने प्रतिबद्धताअनुसार काम गर्दै आएको उल्लेख गर्नुभयो । “सूचना प्रविधिको प्रयोग गरेर घरमै सरकारका सेवा छिटो, छरितो त्रुटिरहित रूपमा प्रदान गर्न हामीले यो सेवा प्रारम्भ गरेका हौँ”, उहाँले भन्नुभयो ।

यो सेवा प्रारम्भपछि विदेश बस्ने नेपाली नागरिकले घरमै बसेर आफ्नो समस्या र गुनासो व्यक्त गर्न पाउने र समाधानका सम्बन्धमा भएको सम्बोधनसमेत अनलाइनबाटै जानकारी लिन सक्ने उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार विभागले यसअघि सरकारको प्रतिबद्धताअनुसार अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र लिन सकिने व्यवस्था गरिसकेको छ ।

कार्यक्रममा विभागका महानिर्देशक प्रकाशमणि पौडेलले नयाँ ‘मोडयुल’को सेवाका बारेमा जानकारी गराउनुभएको थियो । “उक्त मोडयुलमा कुनै पनि सेवाग्राहीले राहदानी नं र जन्ममिति प्रविष्ट गरेपछि नयाँ ‘फोल्डर’ निर्माण हुन्छ । फोल्डरमा आफ्ना समस्या र गुनासा लेख्न मिल्ने तथा सम्बोधनका बारेमा समेत जानकारी पाइने व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो ।

महानिर्देशक पौडेलले विदेशमा रहेका दूतावासमा सीमित कर्मचारीबाट धेरै सेवाग्राहीका काम गर्न यो प्रविधिको सुरुआत गरिएको जानकारी दिनुभयो ।

स्वचालित प्रणालीमा बढुवा हुने गरी कानुनी व्यवस्थाको प्रस्ताव ल्याउनुस् : गृहमन्त्री

काठमाडौँ, २२ चैत : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीको बढुवा योग्यतामा आधारित स्वचालित प्रणालीमा हुने गरी कानुनी व्यवस्थाको प्रस्ताव ल्याउन निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा आज सशस्त्र प्रहरी (चौथो संशोधन) नियमावली–२०८० तथा प्रहरी कर्मचारीको समायोजन प्रक्रिया र वर्तमान अवस्थाबारे भएको छलफलमा उहाँले सो निर्देशन दिनुभएको हो ।

दुवै प्रहरी सङ्गठनको नियमावलीमै बढुवाका लागि योग्यतामा आधारित स्वचालित प्रणालीको स्पष्ट व्यवस्था हुनुपर्ने गृहमन्त्री लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी कसैलाई अन्याय गर्न हस्ताक्षर कसरी गर्दा रहेछौँ भन्ने बढुवैपिच्छेका प्रतिक्रियाले प्रष्ट भएको छ । जतिसक्दो छिटो अटोमेसनमा जान सक्छौँ, त्यति छिटो आफूलाई अन्याय भयो भन्ने सङ्गठनका सदस्यको गुनासो अन्त्य हुन्छ र प्रहरीप्रतिको विश्वसनीयता पनि बढ्छ ।”

गृहमन्त्री लामिछानेले अरुले बहालमा रहँदा के गर्नुभयो त्यता नफर्किन आग्रह गर्नुभयो । उहाँले आफू कार्यरत रहँदा विधि र प्रणालीमा जोड दिने भएकाले अनुहार हेरेर बढुवा गर्ने विद्यमान अभ्यासको अन्त्य अनिवार्य भएको उल्लेख गर्नुभयो । केही समय अघि प्रहरी उपरीक्षक र बुधबार भएको प्रहरी नायब उपरीक्षकको बढुवा सिफारिसका क्रममा प्राप्त प्रतिक्रियाका आधारमा उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

दुवै सङ्गठनको संयुक्त संयन्त्र बनाएर विस्तृत अध्ययन गरी प्रस्ताव ल्याउन गृहमन्त्री लामिछानेले निर्देशन दिनुभयो । छलफलमा सचिवसहित गृह मन्त्रालयका उच्च अधिकारी तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकसहित उच्च अधिकृत सहभागी हुनुहुन्थ्यो ।

नेपालको वायुको गुणस्तरमा सुधार हुँदै

काठमाडौँ, २२ चैत: विगतका वर्षमा हिउँदे याममा काठमाडौँलगायत मुलुकका प्रमुख सहरमा वायु प्रदूषण बढेको देखिन्थ्यो । विसं २०७७ पुस २० गते काठमाडौँलगायत सहरको वायु प्रदूषणको स्तर अत्यधिक बढेपछि वातावरण विभागले घर बाहिर निस्कँदा नागरिकलाई सजगता अपनाउन प्रेस विज्ञप्ति जारी गर्दै अपिल नै गर्नुपरेको थियो ।

तर पछिल्लो केही वर्षयता भने वायुको गुणस्तरमा तुलनात्मक सुधार देखिन थालेको छ । वायुमा मानव स्वास्थ्य र वातावरणलाई नकारात्मक असर पुर्याउने वस्तुहरू तोकिएको सीमाभन्दा बढी मात्रामा मिसिनु नै वायु प्रदूषण हो । वायु प्रदूषण मानवीय र प्राकृतिक दुवै कारणले हुन सक्दछ ।

विभागका अनुसार सन् २०२१ पछि नेपालमा वायुको गुणस्तरमा सुधार देखिएको छ । वायु प्रदूषणका प्रमुख कारक कम हुँदै गएपछि वायुको गुणस्तरमा सुधार देखिएको विभागका सूचना अधिकारी दीपक ज्ञवालीको भनाइ छ । “सन् २०२१ मा वायु प्रदूषण ह्वात्तै बढेको थियो । त्यसपछि वायु प्रदूषण कम हुँदै गएको तथ्याङ्क छ”, उहाँले भन्नुभयो ।

वायु प्रदूषणका प्रमुख कारणमा सवारीसाधनबाट हुने उत्सर्जन, बाटो र निर्माण गतिविधिबाट निस्कने धुलोका कण, उद्योग तथा इँटाभट्टाबाट हुने उत्सर्जन, जथाभावी फोहर व्यवस्थापन र वन डढेलोलगायत हुन् । ग्रामीण क्षेत्रमा खाना पकाउन बालिने दाउराका कारण घरभित्र वायु प्रदूषण एक समस्याका रूपमा देखापरेको छ । कतिपय अवस्थामा भारतमा बढ्दो विकास निर्माणका गतिविधि र कृषिजन्य सामग्री जलाउँदा उत्सर्जन हुने वायु प्रदूषण नेपालका सिमानामा रहेका सहरसम्म पुग्ने गरेको छ ।

“वायु प्रदूषण उच्च हुने समयमा वर्षा हुँदा, हावा चल्दा, डढेलो लाग्ने बेला वर्षा हुँदा यसले वायु प्रदूषण रोक्न ठूलो योगदान पुग्ने गरेको छ”, सूचना अधिकारी ज्ञवलीले भन्नुभयो, “मुलुकको आर्थिक मन्दीका कारण पूर्वाधार विकासका गतिविधिमा आएको कमीले पनि वायुको गुणस्तरमा योगदान पुगेको आकलन गर्न सकिन्छ ।” तर यसबारेमा यकिन गर्न आवश्यक अध्ययन जरुरी रहेको उहाँको भनाइ छ ।

त्यस्तै विद्युतीय सवारीसाधन र विद्युतीय चुलोको प्रयोग पनि बढेको छ । वायु प्रदूषणका स्रोतमध्येको एक इँटाभट्टा उद्योगहरूले पनि हाल नयाँ प्रविधि जडान गरेका छन् । अर्कातिर आर्थिक मन्दीका कारण हाल ५० प्रतिशतको हाराहारीमा मात्र यस्ता इँटा उद्योग सञ्चालनमा छन् ।

नेपाल इँटा उद्योग महासङ्घका अध्यक्ष शङ्करबहादुर चन्दका अनुसार हाल इँटाको बजार ८० प्रतिशतले घटेको छ । “हाल ४० देखि ५० प्रतिशत इँटा उद्योगमात्र सञ्चालनमा छन्, त्यो पनि पूर्ण क्षमतामा चलेका छैनन्”, अध्यक्ष चन्दले भन्नुभयो, “देशभरिमा एक हजार एक सय जति इँटा उद्योग रहेकामा हाल करिब पाँच सय उद्योगमात्र सञ्चालनमा छन् ।” एकपटक बन्द भएपछि इँटा उद्योग पुनः सञ्चालन गर्न गाह्रो रहेको उहाँको भनाइ छ ।

काठमाडौँको वायुको गुणस्तर मापदण्डभन्दा न्यून

यद्यपि अझै पनि काठमाडौँलगायत केही ठूला सहरको वायु गुणस्तर विश्व स्वास्थ्य सङ्गठनको मापदण्डभन्दा न्यून नै छ । वायु प्रदूषणको मापन ‘एअर क्वालिटी इन्डेक्स’ (एक्युआई) शून्यदेखि ५० सम्मलाई स्वास्थ्यका लागि राम्रो मानिन्छ । एक्युआई ५० देखि एक सयसम्मलाई औसत र त्यसभन्दा माथिको स्तरले अस्वस्थकर वातावरणलाई जनाउँछ । आज बिहीबारको दिन काठमाडौँको एक्युआई औसतमा एक सय ६० रहेको छ ।

तसर्थ वायुको गुणस्तर सुधारमा गर्नुपर्ने काम अझै धेरै बाँकी रहेको यस क्षेत्रका जानकारको भनाइ छ । साथै नेपालमा वन डढेलोबाट हुने वायु प्रदूषणको सम्भावना पनि सधैँ कायम रहिरहेको हुन्छ ।

प्रदूषण बढ्नाले वायुमा माटोका कण, उद्योग तथा आगोजन्य गतिविधिबाट निस्कने धुवाँ, कार्बन, रसायन, विभिन्न ग्याँस मिसिन्छन् । साथै जीवाष्म इन्धनको प्रयोगले निस्कने सल्फरडाइअक्साइड, नाइट्रोजनअक्साइड, कार्बनमानोअक्साइडजस्ता ग्यासले मानव स्वास्थ्यमा असर गर्नुका साथै तापमानमा समेत वृद्धि हुने गरेको छ ।

नेपाल सरकारले वायुको गुणस्तर मापनका लागि देशभर २७ स्थानमा वायु गुणस्तर मापन केन्द्र स्थापना गरेको छ । साथै चालु आर्थिक वर्षसम्म थप तीन स्थानमा मापन केन्द्र जडान गर्ने तयारी भइरहेको छ । वायु प्रदूषण सबैभन्दा बढी विहान सात–आठ बजेको समयमा हुने गरेको छ । वायुमा रहेका धुलोका कण दिउँसो घामले तातेर हलुका भएपछि आकाशमा उड्ने र राति चिसो बढेसँगै पुनः जमिनमा झर्ने गर्दछन् ।

वातावरण तथा सार्वजनिक स्वास्थ्य सङ्गठन (इन्फो) नेपालका कार्यक्रम निर्देशक राजेन्द्र श्रेष्ठले वायुको गुणस्तर सुधार भएको बारेमा आएका तर्कको तथ्याङ्क यकिन गरेर हेर्नुपर्ने बताउनुभयो । वायु प्रदूषणका स्रोतमा कमी आएको र जनता जागरुक भएको स्वीकार गर्दै उहाँले भन्नुभयो, “कलकारखाना वृद्धिमा कमी, विद्युतीय गाडी र चुलोको प्रयोगमा वृद्धि, विकास निर्माण र इँटाभट्टा सञ्चालनमा कमी, सडकको स्तोन्नतिलगायतका कारणले वायु प्रदूषणमा कमी देखिएको हुनसक्छ ।”

पछिल्लो समय वायु प्रदूषणबारे जनचेतना बढेको, दाउरा र फोहर बाल्नेको सङ्ख्यामा कमी आएको तथा प्रविधिको प्रयोग बढ्दा प्रदूषणका स्रोतमा कमी आएको उहाँको भनाइ छ । नेपालमा मानिसको मृत्यु हुने प्रमुख तीन कारणमध्ये मुटु र फोक्सोसम्बन्धी रोग र मष्तिस्कघात हुन् । यी तीनै रोगको सम्बन्ध वायु प्रदूषणसँग पनि छ ।

वायु प्रदूषणका कारण विशेषत श्वासप्रश्वाससम्बन्धी रोगहरूमा बढोत्तरी भएको पाइन्छ । विश्व स्वासथ्य सङ्गठनका अनुसार प्रत्येक वर्ष विश्वव्यापीरूपमा करिब ७० लाख मानिसको वायु प्रदूषणका कारण अकालमा ज्यान जाने गरेको छ । नेपालमा वायु प्रदूषणका कारण बर्सेनि करिब ४० हजार मानिसले ज्यान गुमाउने गरेको बताइन्छ ।

वायु प्रदूषणका कारण कृषि उत्पादनमा ह्रास आउने, पर्यटन क्षेत्रमा ह्रास आउनेजस्ता कारण अर्थतन्त्रमा समेत असर पुर्याइरहेको हुन्छ । वायु प्रदूषणले मानिसलाई मात्र नभई जङ्गली जनावर, बोटबिरूवालगायत समग्र पर्यावरणमा नै नकारात्मक असर पुर्याइरहेको हुन्छ । तसर्थ वायु प्रदूषण नियन्त्रण गर्न सबै सरोकारवालाबीच साझेदारी आवश्यक छ ।

मेलम्चीको पानी बाह्रै महिना काठमाडौँ ल्याउन चार अर्बभन्दा बढी खर्च लाग्ने

काठमाडौँ, २२ चैतः मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमत अन्सारीले बाह्रै महिना मेलम्ची खानेपानी आयोजना सञ्चालनमा ल्याउन रु चार अर्ब ५० करोड खर्च लाग्ने बताउनुभएको छ ।

आज सिंहदरबारमा आयाजित मेलम्ची खानेपानी आयोजनाको दिगो व्यवस्थापनसम्बन्धी अन्तक्र्रियामा कार्यकारी निर्देशक अन्सारीले उक्त आयोजना सुधार गर्न रु चार अर्ब ५० करोड लागत लाग्ने बताउनुभयो । उहाँले मेलम्ची खानेपानी आयोजनालाई सुधार गरेर बाह्रै महिना उपत्यकाका धारामा पानी ल्याउने गरी तयारी भइरहेको जानकारी दिनुभयो । आयोजनाको दिगो व्यवस्थापन तथा सुधार गरेर पानी वितरण गर्नेगरी तयारी भइरहेको उहाँको भनाइ छ ।

“मेलम्ची खानेपानी आयोजनालाई दीर्घकालीनरुपमा समाधान गर्नका लागि स्थायी संरचना बनाउन रु चार अर्ब ५० करोड लाग्नेछ, विस्तृत डिजाइन तयार हुँदासम्म लागत घढबढ हुन सक्छ”, कार्यकारी निर्देशक अन्सारीले भन्नुभयो, “अहिले आयोजनामा थुप्रिएको गेग्रान ७० प्रतिशत हटाउनुपर्ने अवस्था छ । आयोजनास्थल नजिक अझै पनि ठूलो बाढीपहिरोको जोखिम रहेकाले कुनबेला आयोजनालाई क्षति पुग्ने हो भन्ने आशङ्का छ ।” आयोजनालाई दीर्घकालीन सुधार गर्नका लागि एक किलोमिटरमाथि आयोजनाको हेडबर्क्स सार्नु उपयुक्त देखिएको उहाँको भनाइ छ ।

गत साउन २८ र २९ गते आएको बाढीले पहिलाको अस्थायी संरचनामा क्षति पु¥याउँदा मेलम्ची आयोजनाको पानी बन्द गगरिएको थियो । वर्षायामको सुरुआतसँगै बाढीबाट आयोजनाको ‘हेडबर्क्स’ जोगाउन मुस्किल भएपछि आयोजना नै बन्द गर्नुपरेको अन्सरीले बताउनुभयो । आयोजना नियमित सञ्चालनका लागि हेडबर्क्स नै अन्यत्र सार्ने तयारी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

‘आयोजना लागतको पूर्वअध्ययन र स्रोतको व्यवस्थापन गरौँ’

सार्वजनिक लेखासमिति सभापति ऋषि पोखरेलले मेलम्ची खानेपानी आयोजनाको गतिविधिलाई प्रभावकारी बनाउन लागतको पूर्वअध्ययन र स्रोतको व्यवस्थापन गरेर मात्रै सुधारका योजना अगाडि बढाउन सुझाव दिनुभएको छ । उहाँले आयोजनाको लागतको विषयमा राम्रोसँग पूर्वअध्ययन गरी स्रोत व्यवस्थापनका विषयमा विचार पु¥याउन आवश्यक रहेको बताउनुभयो ।

मेलम्ची खानेपानी आयोजना बाह्रै महिना सञ्चालन गरेर उपभोक्ताको धाराधारामा पानी ल्याउने गरी खानेपानी तथा सरसफाइ मन्त्रालयले आयोजना सुधारको कार्य अगाडि बढाउन अन्तक्र्रिया कार्यक्रम सुरु गरेको छ । आयोजना नै अन्यत्र सार्नुपर्ने अध्ययन प्रतिवेदन देखाएको छ । मेलम्ची खानेपानी आयोजना सञ्चालनमा ल्याउनका लागि रु चार अर्ब ५० करोड लागत लाग्ने समितिले जनाएको छ ।

आयोजना सुधारका लागि लाग्ने लागतसम्बन्धी गम्भीर अध्ययन गरी खर्च व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा विचार गर्नुपर्नेमा पोखरेलले जोड दिनुभयो । “लामो अध्ययन र ठूलो लागतमा भएको डिजाइनबाट मेलम्ची खानेपानी आयोजना सुरु भएको थियो । वातावरण, भौगर्भिक, व्यावहारिक अध्ययन गरेका थियौँ तर किन समस्या आयो ?”, उहाँले भन्नुभयो, “यसको पनि अध्ययन गरी दीर्घकालीन समाधान खोज्नेतर्फ लाग्नु पर्दछ । विज्ञहरुले अध्ययनको जवाफदेयीता लिनु पर्दछ ।”

तोकिएको लागतमा र समयमा आयोजना सम्पन्न नुहने समस्या निराकरणमा लाग्नुपर्नेमा लेखासमिति सभापति पोखरेलले जोड दिनुभयो । “पाँच वर्षमा आयोजना सम्पन्न गर्ने भनिए पनि सम्पन्न नहुनुका कारण र लागत बढ्दै जानुका कारण पनि खोज्नु पर्ने अवस्था आएको छ”, उहाँले भन्नुभयो ।

‘जनताको माग सम्बोधन नभए मेलम्ची आउँदैन’
सिन्धुपाल्चोकस्थित हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोले हेलम्बुवासीको माग सम्बोधन नभए अर्को वर्षदेखि उपत्यकाले मेलम्चीको पानी नपाउने बताउनुभएको छ ।

आज सिंहदरबारमा आयोजित मेलम्ची खानेपानी आयोजनामा दिगो व्यवस्थापनसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उहाँले माग सम्बोधन नभएमा मेलम्चीको पानी ल्याउँन नदिने बताउनुभयो ।

मेलम्ची आयोजना प्रभावित तथा बाढीपीडितले नदी नियन्त्रणका लागि तटबन्ध निर्माण, जोखिममा रहेका बस्तीको संरक्षण गर्नुपर्ने, मेलम्ची बाढीअघि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिइ मेलम्ची करिडोरमा बनाइएका घर, व्यवसायको ऋण मिनाहा गर्नुपर्ने, बाढीबाट मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति रु १० लाख क्षतिपूर्ति दिनुपर्ने, स्थानीय सरकारमार्फत खानेपानीको लेवी उपलब्ध गराइनुपर्ने, नयाँ घर निर्माणका लागि रु २० लाख अनुदान दिनुपर्नेलगायत विभिन्न १७ बुँदे माग राख्दँै आइरहेका छन् । ती माग पूरा गर्न सङ्घीय सरकारले चासो नदेखाएको भन्दै माग पूरा नभए अर्को वर्ष मेलम्ची बन्द हुने अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोको भनाइ छ ।

“हामीले पटकपटक आग्रह गर्दा पनि स्थानीयको माग नै पूरा हुन सकेन”, उहाँले भन्नुभयो, “अब पनि माग पूरा नहुने हो भने ढुक्क हुनुस् अर्को वर्ष मेलम्चीको पानी आउँदैन, पानी पिउन मन लागे गाग्री लिएर आउनुस् ।”खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची खानेपानी आयोजनालाई दिगो व्यवस्थापन गर्दै बाह्रै महिना पानी ल्याउनका लागि आयोजनाको हेडबर्क्स सार्ने तयारी गरिरहे पनि उक्त स्थान पनि असुरक्षित रहेको उहाँको भनाइ छ ।

संसद्सामू गरिएका प्रतिबद्धतालाई सङ्कल्पका रूपमा लिएर कार्यान्वयन गरिरहेका छौँ : प्रधानमन्त्री

काठमाडौँ, २२ चैतः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ससद्सामू गरिएका प्रतिबद्धता योजनाबद्ध रूपमा कार्यान्वयन भइरहेको बताउनुभएको छ ।राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले संसद्मा सरकारले लिएको मार्गचित्रअनुरूप सुशासन, सामाजिक न्याय र समृद्धिका क्षेत्रमा प्राथमिकताका साथ काम भइरहेको बताउनुभएको हो ।

“सार्वजनिक सेवा प्रवाहमा सुधारका सम्बन्धमा लाइनमुक्त देश बनाउने सङ्कल्पअनुरूप विभिन्न सेवाप्रवाहका प्रणालीबीच अन्तरआबद्धता, जनशक्ति व्यवस्थापन, सेवा बिस्तारका क्षेत्रमा गरिएका सुधारले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, नो अब्जेक्सन सर्टिफिकेटलगायतका सेवा लिन सहज भएको छ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “संसद्मा व्यक्त प्रतिबद्धता अनुरूप रसायनिक मलको आपूर्ति सुनिश्चित गरी वितरण प्रणालीमा सुधार गरिएको छ ।”

गत शैक्षिक वर्षदेखि इतिहासमै पहिलोपटक विद्यार्थीले भर्नासँगै पाठ्यपुस्तक पाएका र यस वर्ष पनि समयमै सबै जिल्लामा पाठ्यपुस्तक पु¥याउने काम प्रारम्भ भइसकेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले उखु किसानको बक्यौता रकम भुक्तानी गरिएको र दुग्ध किसानको बाँकी रकम भुक्तानी दिन सुरु भइसकेको बताउनुभयो ।

सेवा प्रवाहमा नागरिकको गुनासालाई प्रभावकारीरूपमा सम्बोधन गर्न हेलो सरकारलाई २४सै घण्टा सञ्चालनमा ल्याइएको बताउँदै प्रधानमन्त्री प्रचण्डले सरल र सहज सार्वजनिक सेवाको प्रत्याभूतिका लागि सरकारी सेवामा ‘टाइम कार्ड’ अभ्यासमा ल्याइएको र यसलाई सबै जिल्लामा क्रमशः विस्तार गरिँदै लगिएको बताउनुभयो ।

विकास आयोजनाहरूलाई समयमा नै सम्पन्न गर्न आवश्यक सहजीकरण गर्दै स्थलगत र ‘भर्चुअल’ अनुगमन संयन्त्रको विकास र अभ्यास भइरहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले कार्यसम्पन्न भइसकेका निर्माण कार्यहरूको भुक्तानी दिने काम भइरहेको बताउनुभयो ।

“नागरिकलाई छ महिनाभित्रै नागरिकताको सुनिश्चितता गर्ने प्रतिबद्धता कार्यान्वयन भएको छ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “विदेशमा रहेका नेपालीलाई समेत मतदानको अधिकार सुनिश्चित गर्न कानुनी व्यवस्थाका लागि मस्यौदा तर्जुमा भएको छ ।”

सुधार आफैँबाट सुरु गर्नुपर्दछ भन्ने मान्यताका साथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई उत्कृष्ट निकायकारूपमा विकास गर्ने प्रतिबद्धता कार्यान्वयनमा आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तदनुरूप सङ्गठन पुनःसंरचना गरी दरबन्दी कटौती गरिएको बताउनुभयो ।

सुशासन सरकारको पहिलो प्राथमिकतामा रहेको कुरा आफूले सम्मानित सदनमा व्यक्त गर्दै आएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरूद्ध शून्य सहनशीलताको नीति सरकारले लिएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “यो अवधिमा नक्कली भुटानी शरणार्थी, सुन तस्करी, ललिता निवास, बाँसबारी जग्गालगायतका प्रकरणमा सरकारले गम्भीर अनुसन्धान अगाडि बढाएको र नतिजा समेत देखिने क्रममा छ ।”

भूमिहीन, सुकुम्बासीलगायतका समस्या समाधानका लागि निवेदन सङ्कलन र तथ्याङ्क प्रविष्टिलगायत क्षेत्रगत तयारी करिब सम्पन्न भएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले जग्गाधनी प्रमाणपत्र वितरणका लागि भूमिसम्बन्धी तथा वनसम्बन्धी ऐनमा केही संशोधन आवश्यक देखिएकाले यी कानुनमा सुधारका लागि संशोधन भइ संसदमा पेश गर्ने कार्य अन्तिम चरणमा रहेको बताउनुभयो ।

“सामाजिक न्यायका क्षेत्रमा सांसदहरूले सङ्घीय संसद्मा उठाउनुभएका कतिपय विषयको निरुपण गरिएको छ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “मिटरब्याजपीडित जनताले न्याय पाएका छन् ।”

शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउने विषयमा सङ्क्रमणकालिन न्यायसम्बन्धी विधेयक सम्मानित संसदमा दर्ता भएको अवगत गराउँदै प्रधानमन्त्री प्रचण्डले विपद् व्यवस्थापनसँग सम्बन्धित सरकारले गरेका प्रतिबद्धताहरू पूरा हुने क्रममा रहेको उल्लेख गर्नुभयो ।

“खासगरी डेङ्गी, लम्फीस्किन, बर्डफ्लूलगायतका महामारीजन्य प्रकोपको कुशलतापूर्वक व्यवस्थापन गरिएको छ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “बझाङ र जाजरकोटको भूकम्पमा सरकारले उद्धार, राहत र पुनःस्थापनाको कार्यमा उदाहरणीय पहल गरेको विदितै छ । पुनःनिर्माणका बाँकी कामहरू समयमा नै सम्पन्न गर्ने सुनिश्चित गरिएको छ ।”

कार्यान्वयनयोग्य र उत्पादन केन्द्रित बजेट

त्यस अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट जनताका अपेक्षाअनुरुप वस्तुपरक, कार्यान्वयनयोग्य र उत्पादनमा केन्द्रित हुने बताउनुभयो । उहाँले आगामी आवको बजेट जनताका समस्या समाधान गर्ने गरी विनियोजन हुने उल्लेख गर्नुभयो ।

उहाँले आफू नेतृत्वको सरकारले सुरुदेखि नै लघुवित्त तथा सहकारीपीडितका समस्या समाधान तथा जनजीवनका सवाल सम्बोधनका लागि पहलकदमी लिएको बताउनुभयो । उहाँले पछिल्लो समयमा अर्थतन्त्र सुधारमा संकेतहरु देखिएको समेत उल्लेख गर्नुभयो । उहाँले सार्वजनिक वित्तमा सुधार, राजस्व तथा पुँजीगत खर्चमा सुधार भएको भन्दै अर्थतन्त्रका समष्टिगत परिसूचकमा सुधार ल्याउन सरकारले कार्यायोजना बनाएर काम गरिरहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालले वर्तमान सरकारले सुशासन प्रवद्र्धन गर्दै भ्रष्टाचार नियन्त्रणको अभियान सुरु गरेको बताउनुभयो । अर्थतन्त्रलाई चालयमान बनाउन, शिक्षा र स्वास्थ्यका क्षेत्रमा सुधार गर्नेलगायतका सङ्कल्पका साथ सरकारले काम गरिरहेको उल्लेख गर्दै उहाँले सङ्घीयता कार्यान्वयन गर्न आवश्यक कानुनहरु तर्जुमाको क्रममा रहेको बताउनुभयो ।

त्यसअवसरमा प्रधानमन्त्री दाहालले सङ्घीय प्रहरी विधेयक संसद्मा पेश गर्ने अन्तिम तयारी भएको जानकारी गराउनुभयो । उहाँले आफू नेतृत्वको सरकार गठनपछि दुई पटक अन्तरप्रदेश परिषद्को बैठक बसी सङ्घीयता कार्यान्वयनमा देखिएका समस्या समाधान गरेको समेत उल्लेख गर्नुभयो ।

नेकपा (एस)को ४१ सदस्यीय प्रदेश कमिटी गठन

काठमाडौँ, २२ चैत : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला सङ्घ (समाजवादी) ले आसन्न १० औँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा कमिटी निर्माणका साथसाथै सदस्यता विस्तार अभियानलाई देशभर सञ्चालन गरेको छ ।

पार्टी मातहतका सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट अनुमोदित गराएर नेतृत्वलाई थप जिम्मेवार बनाउन सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मको कमिटी निर्माणलाई तीव्रता दिइएको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरेको पार्टीले सदस्यता विस्तार, सङ्गठन निर्माण, भेला प्रशिक्षणलगायत गतिविधि सञ्चालन गर्दै आएको छ । पार्टीको विधानअनुसार तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित भएर आउनुपर्ने व्यवस्था भएकाले साङ्गठनिक गतिविधि बढेको उहाँले बताउनुभयो ।

पार्टी मातहतका कमिटीका अधिवेशन भइरहेका छन् । बागमती प्रदेशका पाँच जिल्लामा अधिवेशन सम्पन्न भएका छन् । पार्टीको महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा हुँदैछ ।

यसैबीच, लुम्बिनी प्रदेश कमिटीले लक्ष्मी भुसालको नेतृत्वमा ४१ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ । सङ्गठनको उपाध्यक्षमा मञ्जु कोइराला र समती चौधरी, सचिवमा विष्णुमाया थापा मगर, उपसचिवमा सरस्वती पोखरेल र कोषाध्यक्षमा पुष्पा भाटलाई चयन गरेको पार्टी सचिवालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय अवार्डको मनोनयनमा गीतकार अधिकारी

काठमाडौँ, २२ चैतः संयुक्त राज्य अमेरिकाको एटलान्टामा हुने आइएसएसए अन्तर्राष्ट्रिय अवार्डको छैटौँ संस्करणमा नेपालबाट गीतकार लोकराज अधिकारी मनोनयनमा पर्नुभएको छ । ‘इन्टरनेशनल सिङ्गर सङ राइटर्स एसोसिएसन’ले आयोजना यो कार्यक्रम विसं २०८१ भदौ ८ गते हुनेछ ।

प्रतिष्पर्धामा रहेको विभिन्न ४६ विधाअन्तर्गत गीतकार अधिकारी ‘यस्तो भाछ मलाई त..’ बोलको गीतबाट अन्तर्राष्ट्रिय पुरुष गीतकार विधामा मनोनयनमा पर्नुभएको हो ।

“अन्तर्राष्ट्रिय मञ्चमा सिङ्गो नेपाल र नेपालीभाषी गीतकारको प्रतिनिधित्वका रूपमा मैले यो मनोनयनलाई लिएको छु । मलाई स्वदेशबाट मत प्राप्त हुनेमा विश्वस्त छु”, गीतकार अधिकारीले भन्नुभयो, “एउटा मोबाइल डिभाइसबाट प्रतिदिन एउटा मात्रै मत दिन पाइने भएकाले सबैलाई मतदानका लागि आग्रह गर्दछु ।”

गीतकार अधिकारीसँगै उक्त विधामा विभिन्न देशका ६८ जना सर्जक मनोनयनमा हुनुहुन्छ । विसं २०८१ वैशाख १८ सम्म विद्युतीय माध्यमबाट मत दिन सकिने जनाइएको छ उक्त मतका आधारमा वैशाख २० गते उत्कृष्ट २० घोषणा गरिने छ ।

अख्तियारद्वारा पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध मुद्धा दायर

काठमाडौँ, २२ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित ३२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नेपाल वायु सेवा निगमले खरिद गरेको वाइडबडी जहाजमा भ्रष्टाचार गरेको अभियोगमा आयोगले रु एक अर्ब ४७ करोड १० लाख ८५ हजार चार सय ८२ बराबरको बिगो माग दाबीसमेत गरेको छ ।

आयोगले तत्कालीन सचिव एवं निगम सञ्चालक समितिका अध्यक्ष शङ्करप्रसाद अधिकारी, भन्सार विभागका तत्कालीन महानिदैशक एवं निगम तत्कालीन सञ्चालक समिति सदस्य शिशिरकुमार ढुङ्गाना, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, सञ्चालक समिति सदस्य टेकनाथ आचार्य, निमा नुरु शेर्पा र मुक्तिराम पाण्डेविरुद्ध पनि समान बिगो दाबी गरेको छ ।

निगमका तत्कालीन सञ्चालक समिति सदस्य जीवनप्रकाश सिटौला र सञ्चालक समिति सदस्य अच्युतराज पहाडीविरुद्ध पनि समान बिगो दाबी गरिएको छ । निगमका कामु निर्देशक रामहरि शर्मा सेढाईं, कामु निर्देशक एवं हाल नायक महाप्रबन्धक जनकराज कालाखेती, तत्कालीन उपनिर्देशक प्रभासकुमार कर्माचार्यविरुद्ध रु एक अर्ब ४७ करोड १० लाख ८५ हजार चार सय ८२ बराबरको बिगो दाबी गरिएको छ । निगमका तत्कालीन निर्देशक गणेशबहादुर चन्द, कामु निर्देशक कर्णबहादुर थापाविरुद्ध पनि समान बिगो दाबी गरिएको छ ।

यसैगरी निगमका तत्कालीन नायब महाप्रबन्धक रमेशबहमदुर शाह, वरिष्ठ क्याप्टेन रविन्द्रकुमार शेरचन, काम निर्देशक रविन्द्र श्रेष्ठ, तत्कालीन कामु निर्देशक उपेन्द्र पौडेल, तत्कालीन कामु उपनिर्देशक श्रवण रिजा, तत्कालीन निमित्त निर्देशक पारस पौडेल, तत्कालीन निमित्त उपनिर्देशक उमेश पौडेल र तत्कालीन निमित्त उपनिर्देशक बृहतमान तुलाधरविरुद्ध पनि समान बिगो दाबी गरिएको आयोगले जनाएको छ ।

विमान आपूर्तिकर्ता प्रस्तावदाता कम्पनीका प्रतिनिधि जर्मन नागरिक, रोमानिया र माल्दोभाका नागरिकविरुद्ध पनि समान बिगो माग दाबी गरिएको छ । एएआर इन्टरनेशन आइएनसीका प्रमुखलगायत पाँच जनाविरुद्ध रु एक अर्ब ४७ करोड १० लाख ८५ हजार चार सय ८२ बराबरको बिगो माग दाबी गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

ठमेलमा अब गति सीमित, ‘नो हर्न’

काठमाडौँ, २२ चैत : सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा तीव्र गतिमा सवारीसाधन हाँक्न नपाइने भएको छ ।ठमेल पर्यटन विकास परिषद् र महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलले काठमाडौँको प्रमुख पर्यटकीयस्थल ठमेलभित्र तीव्र गतिमा सवारीसाधन हाँक्न र हर्न बजाउन नपाइने निर्णय गरेको हो ।

ठमेलभित्रका चोकचोकमा सीमित गतिका बोर्ड राख्ने र सिसी क्यामराद्वारा यसलाई निगरानी गर्ने निर्णय गरिएको ट्राफिक प्रहरी प्रभाग ठमेलका प्रमुख कमल गुरुङले जानकारी दिनुभयो । “ठमेलका गल्लीभित्र प्रतिघण्टा २० किलोमिटरको गतिमा मात्र सवारीसाधन गुडाउन पाइनेछ”, उहाँले भन्नुभयो ।

ठमेल क्षेत्रभित्र जथाभावी हर्न बनाउने सवारीसाधनलाई पनि कारबाही गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसअघि नै काठमाडौँ उपत्यकामा हर्न निषेध गरिसकेको छ ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि ट्राफिक व्यवस्थापनलाई कडाइ गर्न लागिएको बताउनुभयो । “ठमेल भित्रिने र बाहिरिने नौवटै नाकामा सवारीको चाप हेरेर व्यवस्थापन गर्न लागेका छौँ”, उहाँले भन्नुभयो । अध्यक्ष शर्माले ठमेलभित्र सञ्चालनमा रहेका रिक्सालाई समेत बाटोअनुसार एकतर्फी गर्दै लैजान लागिएको बताउनुभयो ।

ठमेलभित्र पानीका ट्याङ्करहरु बिहान ४ देखि ६ बजेसम्म सञ्चालन गरिदिन सम्पूर्ण व्यवसायी र घरधनीलाई अनुरोध गर्ने निर्णय गरेको ठमेल पर्यटन विकास परिषद् र महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलको आज बिहानको बैठकले गरेको गरेको छ ।

ठमेल क्षेत्रको सुरक्षाका लागि काठमाडौँ महानगरपालिकाको सहयोगमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयले ठमेलभित्रका गल्लीमा एक सय २० थान सिसी क्यामरा जडान गरेको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा सञ्चालन गर्ने निर्णयसमेत हालै गरेको थियो ।

दश महिनामा ५३ वन्यजन्तु मरे

नवलपुर (नवलपरासी), २२ चैत : चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो १० महिनामा एकसिङ्गे गैँडासहित ५३ वन्यजन्तु मरेका छन् ।

निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले चालु आर्थिक वर्षको हालसम्म गैँडा, बाघ, हात्तीलगायतका दुर्लभसहित ५३ वन्यजन्तु मरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार यस अवधिमा सबैभन्दा बढी २० चित्तल मरेका छन् । त्यसैगरी पछिल्लो १० महिनाको अवधिमा १९ एकसिङ्गे गैँडा मरेका जनाउँदै तिवारीले प्राकृतिक कारणले १५, चोरीसिकारीबाट दुई, सम्भावित चोरीसिकारीबाट एक तथा अन्य कारणले एउटा गैँडाको मरेको जानकारी दिनुभयो ।

त्यस्तै यस अवधिमा पाँच हात्ती, तीन पाटेबाघ, तीन जरायो, तीन रतुवा, दुई गोही, एउटा बँदेल र एउटा अन्य वन्यजन्तु मरेको तिवारीको भनाइ छ । निकुञ्जले यस वर्ष विभिन्न स्थानबाट एक सय ६३ वन्यजन्तुको उद्धार गरेको सूचना अधिकारी तिवारीले बताउनुभयो । निकुञ्जले उद्धार गरेका वन्यजन्तुमध्ये सबैभन्दा बढी ६४ अजिङ्गर, ५१ सर्प, छ पाटेबाघ, तीन एकसिङ्गे गैँडासहितका जनावर रहेको तिवारीले जानकारी दिनुभयो ।

आठ महिनामा भित्रियो रु नौ खर्ब ६१ अर्ब विप्रेषण

काठमाडौँ, २२ चैतः चालु आर्थिक वर्षको आठ महिनामा रु नौ खर्ब ६१ अर्ब २२ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विप्रेषण आप्रवाह २१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८ दशमलव आठ प्रतिशतले वृद्धि भई सात अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४ दशमलव आठ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ८६ हजार नौ सय ३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ८४ हजार दुई सय ७८ रहेको छ ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १८ दशमलव नौ प्रतिशतले वृद्धि भई रु १० खर्ब ४१ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २३ दशमलव नौ प्रतिशतले बढेको थियो ।

दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गराइन्छ : प्रधानमन्त्री

काठमाडौँ, २२ चैतः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट छिट्टै नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल भइरहेको बताउनुभएको छ ।

राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि भारत सरकारसँग हवाईमार्ग लागि कुरा भइरहेको तथा चीन र श्रीलङ्कासँग सिधा उडानका लागि संवाद भइरहेको स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्री दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि चीन सरकारबाट प्राप्त ऋणलाई अनुदानमा परिणत गर्न पनि पनि आफूले कोसिस गरिरहेको जानकारी गराउनुभयो । उहाँले हेटौँडा, बुटवल, जनकपुर, विराटनगरका रुग्ण उद्योगहरु पुनः सञ्चालनमा ल्याइ कपडा, चिनी, धागो, जुटआदि उत्पादन गराउन छलफल भइरहेको जानकारी गराउँदै कोशी नदीमा तटबन्ध बनाउन र कोशी टप्पुको जग्गा संरक्षणका लागि काम भइरहेको स्पष्ट गर्नुभयो ।

उहाँले नदी र नदी जोड्ने खालका परियोजना अघि बढाइ सिँचाइ सुविधामार्फत उत्पादन बढाउने र भूमि सुधारलाई लालपूर्जा वितरणको कामका रुपमा नलिइ जमिनको चक्लाबन्दी र उत्पादनमा जोड दिइ समाजवादको आधार निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले सशस्त्र जनयुद्धका सहिद, घाइते र बेपत्ता परिवारका लागि न्याय तथा राहत दिन सरकार गम्भीर रहेको बताउँदै सत्य तथा मेलमिलाप आयोग विधेयक चाँडै संसदीय समितिबाट पारित हुने विश्वास व्यक्त गर्नुभयो ।

समितिका सभापति मायाप्रसाद शर्माले संसदमा उठेका प्रश्नको ंसम्बोधन र आफ्ना प्रतिबद्धतालाई कार्यान्वयनमा संकल्प लिनुभएकामा प्रधानमन्त्री दाहाललाई धन्यवाद दिनुभयो ।

हुम्लामा हिउँमा फसेका तीन कर्मचारीको उद्धार

काठमाडौँ, २२ चैत : कर्णालीको हुम्ला जिल्लास्थित नाम्खा गाउँपालिका–५ नारा लेकको हिउँमा फसेका तीन कर्मचारीको उद्धार गरिएको छ ।

हिउँमा फसेका नाम्खा गाउँपालिकाका ओभरसियर छेपाक लामासहित तीन जनालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हिल्साको टोलीले उद्धार गरेको हो । तीनैजना मित्रराष्ट्र चीनबाट प्राप्त अनुदानका सामग्री बुझी फर्कने क्रममा हिउँमा फसेका थिए ।

सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार तीनैजना आज बिहान हिउँमा फसेको खबर प्राप्त भएपछि उद्धार गर्न टोली त्यसतर्फ गएको थियो । सो टोलीले आज दिउँसो उनीहरुको सकुशल उद्धार गरेको हो ।

लुम्बिनीमा महरालाई मुख्यमन्त्री बनाउने सहमति

तुलसीपुर, २२ चैत : लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन सत्तापक्षका दलहरु सहमत भएका छन् । एमाले, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र सांसद खड्कबहादुर बस्नेतले पाँच बुँदे सहमति गर्दै महरालाई मुख्यमन्त्री बनाउन सहमत भएका हुन् ।

लुम्बिनीमा माओवादी केन्द्रलाई मुख्यमन्त्री दिने केन्द्रको सहमतिअनुसार प्रदेश सरकार निर्माणका लागि कसरत भइरहेको छ । ८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ सांसद चाहिन्छ । लुम्बिनीमा एमालेका २९, माओवादी केन्द्रका १० (सभामुख बाहेक), जनता समाजवादी पार्टीका तीन, एकीकृत समाजवादीका एक र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन् ।

माओवादी केन्द्रका संसदीय दलका नेता महरा, एमाले संसदीय दलका नेता लीला गिरी, जसपा संसदीय दलका दलनेता भण्डारीलाल अहिर, एकीकृत समाजवादीका भगवती अधिकारी र स्वतन्त्र सांसद बस्नेतले हस्ताक्षर गरी पाँच बुँदे समझदारी बनेको हो । सहमतिअनुसार राजनीतिक नियुक्तिहरु सरकारमा सहभागी सबै दलहरुको अपनत्व हुने गरी गर्नुपर्ने, प्रदेशका गौरवका योजना, प्रदेश राजधानीको निर्माण, लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश प्राविधिक विश्वविद्यालय, प्रदेश प्रहरी समायोजन र स्थानीय सेवा ऐन निर्माण गर्दा साझा प्राथमिकताका रुपमा कार्यान्वयन गर्ने, प्रदेश सरकारको नीति तथा कार्यक्रम, बजेटको प्राथमिकता र उद्देश्य निर्धारण, बजेट निर्माणलगायतमा सबै दलको अपनत्व हुने गरी गर्ने सहमति भएको हो ।

पहाडी क्षेत्रमा मूल्यवृद्धि बढी, उपभोक्ता मुद्रास्फीति पाँच दशमलव ५९ प्रतिशत

काठमाडौँ, २२ चैत : पहाडी क्षेत्रमा मूल्यवृद्धि बढी रहेको पाइएको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आवको आठ महिनाको विवरणअनुसार पहाडी क्षेत्रमा वार्षिक उपभोक्ता मुद्रास्फीति पाँच दशमलव ५९ प्रतिशत रहेको छ ।

काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ८८ प्रतिशत, तराईको चार दशमलव ४२ प्रतिशत, पहाडको पाँच दशमलव ४९ प्रतिशत र हिमालको चार दशमलव ४२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः सात सात दशमलव ९५ प्रतिशत, सात दशमलव ५० प्रतिशत, छ दशमलव ६७ प्रतिशत र आठ दशमलव शून्य सात प्रतिशत रहेको थियो ।

गत फागुन महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति तीन दशमलव ६९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव १० प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः सात दशमलव ४४ प्रतिशत, एक दशमलव ९७ प्रतिशत र एक दशमलव ६३ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति पाँच दशमलव ६९ प्रतिशतले घटेको छ ।

गत फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ८२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव ४४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव ९४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ९५ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २८ दशमलव १७ प्रतिशत, तरकारीको १४ दशमलव शून्य सात प्रतिशत, दाल तथा गेडागुडीको ११ दशमलव २२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको सात दशमलव ३५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको सात दशमलव ११ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ११ दशमलव ७९ प्रतिशतले घटेको छ ।

समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२ दशमलव ६१ प्रतिशत, विविध वस्तु तथा सेवाको १० दशमलव ६७ प्रतिशत र शिक्षाको सात दशमलव ३१ प्रतिशतले बढेको छ भने यातायात उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क एक दशमलव १५ प्रतिशतले घटेको छ ।

नेपालको आर्थिक विकासलाई गुणात्मक फड्कोमा पु-याउन आवश्यक : परराष्ट्रमन्त्री श्रेष्ठ

पाटन (ललितपुर), २२ चैत : उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक विकासलाई गुणात्मक फड्कोमा पु¥याउन आवश्यक रहेको बताउनुभएको छ ।

ललितपुर चेम्बर अफ कमर्शको आयोजनामा जावलाखेलमा आजदेखि सुरु भएको पाँच दिने ‘ललितपुर इन्टरनेशनल ट्रेड एक्पो’को उद्घाटन समारोहमा परराष्ट्रमन्त्री श्रेष्ठले संविधानसभाबाट जारी संविधान संस्थागत भएको उल्लेख गर्दै अहिले कार्यान्वयनको चरणमा रहेको र अबको मुख्य काम देशको आर्थिक सामाजिक विकासलाई फड्को मारेर लक्ष्यमा पु¥याउनु नै रहेको बताउनुभयो ।

“सरकार र निजी क्षेत्र मिलेर तीव्र विकास गरेर आर्थिक समृद्धि हासिल गर्नु छ । हामीले हाम्रो सम्भावनालाई राम्रोसँग प्रयोग र सदुपयोग गरेर राजनीतिक लक्ष्य हासिल गर्नुछ । अहिले परराष्ट्र सम्बन्धमा आर्थिक कूटनीतिलाई महत्वपूर्ण बनाएर आगाडि बढिरहेका छौँ,” परराष्ट्रमन्त्री श्रेष्ठले भन्नुभयो । आर्थिक सहयोगात्मक सम्बन्धलाई कसरी विस्तारित गर्ने र सम्भावनालाई पहिचान गर्दै नेपालको आर्थिक विकासलाई केन्द्रमा राखेर काम गरिरहेको उहाँको भनाइ थियो ।

परराष्ट्रमन्त्री श्रेष्ठले एक्सपोले ऐतिहासिक महत्व राख्ने उल्लेख गर्दै सिङ्गो राष्ट्रको उद्योग व्यवसायको विकास र विस्तारमा उल्लेखनीय सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । अहिले देशको राष्ट्रिय कार्यभार आर्थिक समृद्धिको कार्यभार भएको भन्दै उहाँले स्वाधीन, स्वतन्त्र र सुन्दर नेपाललाई अब समृद्ध बनाउने कुरामा केन्द्रित रहनुपर्नेमा जोड दिनुभयो ।

नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दीन नोमन चौधरीले एक्सपोले नेपाल र ललितपुरलाई मात्रै नभएर सहभागी राष्ट्रहरुलाई पनि सहयोग पु¥याएको बताउनुभयो । उहाँले यो एक्सपोले सहभागी देशका साना तथा मझौला उद्योगलाई प्रोत्साहित गर्दै औद्योगिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

बागमती प्रदेशका प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले आर्थिक मन्दीको अवस्थालाई चिर्दै व्यावसायिक, औद्योगिक क्षेत्र चलायमान हुँदै गएको अवस्थामा आर्थिक क्षेत्रमा एक्सपोले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । बागमती प्रदेशले हस्तकलासम्बन्धी विधेयकका लागि अन्तिम तयारी गरीरहेको उल्लेख गर्दै उहाँले ललितपुरलाई हस्तकलाको राजधानी बनाउनेमा आफ्नो प्रयास रहेको बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्शका कार्यवाहक अध्यक्ष कमलेश अग्रवालले मुलुकभित्रको आर्थिक क्रियाकलापले अन्तर्राष्ट्रिय व्यापारिक समुदायसँग सहकार्य भइ उद्यमी व्यवसायीको क्षमता विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार मेलाबाट नविनतम् प्रविधि र व्यापारलाई प्रोत्साहन गर्न सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । निजी क्षेत्रको सिथिलतालाई ध्यानमा राखेर आगामी बजेट ल्याउन कार्यवाहक अध्यक्ष अग्रवालले आग्रह गर्नुभयो ।

ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले ललितपुरमा उत्पादित काठबाट बनाइएका कलाकृति, मूर्ति, कार्पेट, कपडा र परालबाट बनेका सामानको जीवन्त प्रदर्शनी मेलाको मुख्य आकर्षण भएको बताउनुभयो । ऐतिहासिक धरोहर अमूर्त सम्पदा र कलाकृतिको प्रदर्शनीका साथै मित्र राष्ट्रहरु भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, टर्की, मलेसियालगायतमा निकासीयोग्य सामान एंव दैनिक उपभोग्य सामान र खानाको कक्ष रहेका उहाँले जानकारी दिनुभयो ।

कांग्रेसबाट इलाममा खड्का र बझाङको प्रदेश ‘क’ मा सिंह उम्मेदवार

काठमाडौँ, २२ चैत : सङ्घीय संसद्को सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कांग्रेसले उपनिर्वाचनको लागि पार्टीको उम्मेदवार टुङ्गो लगाएको छ ।

पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बसेको पार्टी संसदीय बोर्ड र कार्यसम्पादन समितिको बैठकले ईलाम–२ र बझाङ क्षेत्र नं १ प्रदेश ‘क’ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेदवारको टुङ्गो लगाएको हो ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले ईलाम क्षेत्र नं २ मा डम्बरबहादुर खड्का र बझाङ क्षेत्र नं १ प्रदेश ‘क’ मा अभिषेकबहादुर सिंहको नाम टुङ्गो लगाएको जानकारी दिनुभयो । कांग्रेसले आगामी वैशाख १५ गते सम्पन्न हुने उपनिर्वाचनमा इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को लागि नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३२(८) बमोजिम खड्का र बझाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं १ को लागि विधानको धारा ३२ (७) बमोजिम सिंहलाई उम्मेदवार बनाएको हो ।

कांग्रेसले उपनिर्वाचनमा पार्टीको उम्मेद्वारद्वय खड्का र सिंहलाई ‘रूख’ चिह्नमा अत्यधिक मत दिएर विजयी गराउन मतदातालाई आह्वान गरेको छ । बैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ताको समय तोकेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका पार्टीले आफ्नो उम्मेदवार यसअघि नै तोकिसकेका छन् ।

मुलुकको व्यापार घाटा नौ खर्ब २९ अर्ब

काठमाडौँ, २२ चैत : चालु आर्थिक वर्ष २०८०÷८१ को आठ महिनाको अवधिमा रु १० खर्ब ३० अर्ब २२ करोड बराबरको वस्तु आयात भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरण अनुसार कूल आयातमा दुई दशमलव सात प्रतिशतले कमी आएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १९ दशमलव १ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः दुई दशमलव आठ प्रतिशत र २२ दशमलव नौ प्रतिशतले घटेको छ । यस्तै चीनबाट भएको आयात ३३ दशमलव सात प्रतिशतले बढेको छ ।

सो अवधिमा स्पेयर पार्टपुर्जा, हवाइजहाजको स्पेयर पार्टपुर्जा, विद्युत्तीय उपकरण, लत्ताकपडा लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, धान, चामल लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्पm भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, रसुवा तथा तातोपानी बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ ।

आयाततर्पm भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । चालु आवको आठ महिनामा कुल वस्तु व्यापार घाटा दुई दशमलव पाँच प्रतिशतले कमी आइ रु नौ खर्ब २९ अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १७ दशमलव नौ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु ९८ अर्ब २९ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु ८५ अर्ब १२ करोड बराबरको भएको थियो ।

राष्ट्रसेवक कर्मचारीलाई प्रोत्साहन जरुरी छ : अध्यक्ष नेपाल

काठमाडाँै, २२ चैत : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रसेवक कर्मचारीलाई सेवा प्रवाहमा उत्साहित गर्न पुरस्कृत र दण्ड दुवै खाले नीति अवलम्बन गर्नुपर्ने बताउनुभएको छ ।

काठमाडौँमा आज आयोजित ‘रौतहट टाइम्स साप्ताहिक’को २६औँ वार्षिकोत्सवमा सहभागी अध्यक्ष नेपालले कुशल कर्मचारी निर्माणमा राज्यको दायित्व प्रमुख हुने बताउनुभयो । गलत गर्ने कर्मचारीलाई सजाय र इमानदार कर्मचारीलाई प्रोत्साहन दिनु आवश्यक रहेको उहाँको भनाइ थियो ।

“देश भ्रष्टाचारले ग्रस्त बन्दैछ”, अध्यक्ष नेपालले भन्नुभयो, “यसमा राज्य प्रशासनकै कमजोरी छ ।” प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष अर्थतन्त्र उकास्ने खालका नीति ल्याउन पटक–पटक छलफल गर्दैआएको उहाँले जिकिर गर्नुभयो ।

कार्यक्रममा पूर्वमन्त्री वंशीधर मिश्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरे, नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, रौतहट गौर नगरपालिकाका अध्यक्ष शम्भु साह, रौतहट टाइम्स साप्ताहिकका सम्पादक गोविन्दप्रसाद चौलागार्इँलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

मर्स्याङ्दी जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन घटेर ३० मेगावाटमा झर्यो

तनहुँ, २१ चैत : जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादन घटेर ३० मेगावाटमा झरेको छ । यसवर्ष लामो समयसम्म पानी नपरेकाले ठूलो परिमाणमा विद्युत् उत्पादन घटेको हो ।

सुख्खा यामसँगै नदीमा पानीको बहाव कम भएकाले ५० प्रतिशतभन्दा बढी मेगावाट विद्युत् उत्पादन घटेको केन्द्रले जनाएको छ । ६९ मेगावाट क्षमताको केन्द्रमा हाल ३९ मेगावाट विद्युत् उत्पादन घटेर ३० मेगावाट मात्र भइरहेको केन्द्रका प्रमुख इञ्जिनीयर पशुपति गौतमले जानकारी दिनुभयो ।

लामो समयसम्म पानी नपर्दा, लामो समयसम्म सुख्खा रहँदा नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घट्नुका साथै कतिपय खोला सुकेकाले उत्पादन घटेको उहाँले बताउनुभयो । हाल सुख्खा मौसम भएकाले यस नदीमा मिसिने स्रोतमा पानीको बहाव कम भएपछि उत्पादन घटेको गौतमको भनाइ छ ।

वैशाख लागेपछि घाम पनि चर्को हुँदै जाने भएकाले हिउँ धेरै पग्लने र वर्षा बढी हुने सम्भावन बढ्ने भन्दै उत्पादन पनि बढ्दै जाने इञ्जीनीयर गौतमले बताउनुभयो । सुख्खा मौसममा विद्युत् उत्पादन कम भएपछि प्राधिकरणले भारतबाट विद्युत् आयात गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी हो । चिसो मौसममा तापक्रम घट्दै जाँदा हिउँ कम पग्लिने र वर्षा नहुँदा यसका सहायक नदी, खोला, खोल्सी, झरनामा पानीको बहाव घटेर विद्युत् उत्पादन पनि घट्ने गरेको गौतमले बताउनुभयो ।यस केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौँको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

अर्घाखाँचीको शीतगङ्गामा जीप र मोटरसाइकल एकापसमा ठोक्किँदा २८ वर्षीय नियाजको मृत्यु

अर्घाखाँची, २१ चैत : अर्घाखाँचीको शीतगङ्गामा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । शीतगङ्गा नगरपालिका–१४ जलुकेपानीमा लु२च ७९३२ नम्बरको जीप र लु६प ७९३१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका २८ वर्षीय नियाज मुसलमानको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी नायब निरीक्षक शालिकराम खनालले जानकारी दिनुभयो ।

दुर्घटनामा जीप चालक रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका २६ वर्षीय सनिउल्लाह थकिर घाइते भएका छन् । जीपको ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

स्वास्थ्य सुधारका लागि मन्त्री यादवलाई १५ बुँदे ध्यानाकर्षणपत्र

काठमाडौँ, २१ चैत ः उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवलाई नेकपा (एमाले)को स्वास्थ्य तथा जनसङ्ख्या विभागले ध्यानाकर्षणपत्र बुझाएको छ । मन्त्री यादवलाई विभागका प्रमुख कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा गएको टोलीले १५ बुँदे ध्यानाकर्षणपत्र बुझाएका हो ।

पत्रमा स्वास्थ्य सेवामा बाझिएका कानुनको तत्काल संशोधन गर्नुपर्ने, सामाजिक स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी बनाउनका लागि तत्काल कानुन सम्मत स्वास्थ्य बीमा बोर्डका पदाधिकारीको पदपूर्ति गर्दै सङ्गठन व्यवस्थापन गर्नुपर्ने, आधारभूत अस्पताल चाँडै सम्पन्न गर्नुपर्ने माग रहेका छन् ।

झाडापाखला, डेङ्गी, दादुरा, कोरोना भाइरसलगायत महामारीजन्य रोगको रोकथाम तथा नियन्त्रण, बाढीपहिरो तथा जलबाट उत्पन्न विपत्तिको व्यवस्थापनको पूर्व तयारी गर्नुपर्ने, वीर अस्पताललगायत केन्द्रीय अस्पतालमा जनशक्ति थपेर पूर्ण रुपमा सञ्चालन गर्नुपर्ने, सबै अस्पतालको सेवालाई एकीकृत जानकारी गराउने प्रविधिमा जोड्नुपर्ने, युवा जनशक्तिलाई विदेश पलायन रोक्न विशेष कार्यक्रम ल्याउनुपर्ने लगायतका माग राखिएका छन् । ज्ञापनपत्र बुझ्दै मन्त्री यादवले सरकार गुणस्तरीय स्वास्थ्य सेवा दिन प्रतिबद्ध रहेको भन्दै मागलाई सम्बोधन गर्ने बताउनुभएको थियो ।

आयरल्याण्ड ‘ए’विरुद्ध टस हारेर बलिङ गर्दै नेपाल ‘ए’

काठमाडौँ, २१ चैतः आयरल्याण्ड ‘ए’ विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ टिम टस हारेर बलिङमा उत्रिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु खेलमा आयरल्याण्ड ‘ए’का कप्तान निल रकले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका थिए ।

आज नेपाल ‘ए’को प्लेइङ एघारमा कप्तान विनोद भण्डारीसहित अर्जुन कुमाल, देव खनाल, मौसम ढकाल, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमल ऐरी, सहाब आलम र रिजन ढकाल छन् ।यसअघि भएको टी–२० शृङ्खलामा आयरल्याण्ड ‘ए’ले नेपाल ‘ए’ माथि २–१ को जितले प्रतियोगितामा कब्जा जमाएको थियो ।

उपनिर्वाचन: इलाम- २ मा मुख्य निर्वाचन अधिकृत तोकियो

इलाम,२१चैत: प्रतिनिधिसभा सदस्य चयन गर्न आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र–२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मङ्गलबार मुख्य निर्वाचन अधिकृत तोकेको हो ।

यही चैत २२ मा इलाम सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । उपनिर्वाचन कार्यतालिकाअनुसार चैत २४ मा उम्मेदवारी मनोनयन हुनेछ । उपनिर्वाचन भाग लिन आयोगमा २० दल दर्ता भएका छन् । निर्वाचनका लागि केन्द्रबाट आवश्यक सामग्री चैत २३ सम्ममा आइपुग्ने उक्त कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयले निर्वाचनमा खटिने कर्मचारीको नामावली सङ्कलन गरिसकेको छ । इलाम २ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहनेछन् । यी केन्द्रमा आठ सय ९४ जना कर्मचारी परिचालन हुनेछन् । निर्वाचन आयोगकाअनुसार चैत २७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ ।

अमेरिकामा मान्छेमा देखियो बर्ड फ्लू, नेपालमा पनि सजग हुन जरुरी

अमेरिकाको टेक्ससमा एक व्यक्तिमा बर्ड फ्लूको सङ्क्रमण पुष्टि भएपछि ठूलो स्तरमा कुखुरापालन हुने नेपालमा पनि सो रोगलाई लिएर सजगता अपनाउनुपर्ने विज्ञहरूले औँल्याएका छन्।

मूलतः पशुपक्षीमा हुने बर्ड फ्लू मानवमा सर्ने जोखिम न्यून हुने गरे पनि सङ्क्रमणको सम्भावनालाई नकार्न नसकिने भन्ने कुरा पुष्टि भइसकेको उनीहरूको तर्क छ।सरकारी तथ्याङ्कअनुसार पाँच वर्षअघि नेपालमा बर्ड फ्लूबाट एकजना पुरुषको ज्यान नै गएको इतिहास छ।

सन् २०१९ को मे महिनामा काभ्रेका २१ वर्षीय पुरुषको बर्ड फ्लूको सङ्क्रमणबाट मृत्यु भएको थियो।नेपालमा गत साउनयता बर्ड फ्लू चाहिँ नदेखिएको पशु सेवा विभागका प्रमुखले बताएका छन्।

नेपालमा पहिलो पटक सन् २००९ मा पुष्टि भएको बर्ड फ्लू त्यसयता बर्सेनि अथवा एकाध वर्षको अन्तरालमा ब्युँतिरहेको पाइन्छ।पशु सेवा विभागका महानिर्देशक उमेश दाहालका अनुसार सन् २०१३ मा बर्ड फ्लूले काठमाण्डू, धादिङ र चितवनसहितका जिल्लामा व्यापक क्षति निम्त्याएको थियो।

विज्ञहरूका अनुसार एभिअन फ्लू पक्षीमा घातक भए पनि गाईबस्तुमा कम घातक हुने गरेको छ।पक्षीसँग प्रत्यक्ष सम्पर्कमा हुने मानिसहरू बढी जोखिममा हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुस्थित सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्।“त्यसमा पहिलो नम्बरमा कृषक पर्छन् भने दोस्रोमा त्यसको ओसारपसार गर्ने मानिस पर्छन्,” जोखिममा हुने व्यक्तिबारे उनले बीबीसीसँग भने।

“तेस्रोमा वधशालामा काम गर्नेहरू पर्छन् र चौथो नम्बरमा मासुलगायत पक्षीजन्य उत्पादन बिक्री गर्नेहरू पर्छन्।”यद्यपि बर्ड फ्लूबाट हुने सङ्क्रमणलाई लिएर नेपालमा पर्याप्त गम्भीरता नदेखिएको डा. पुन औँल्याउँछन्।“यति संवेदनशील विषय भए पनि हामीले खासै ध्यान नदिएको हो कि जस्तो मलाई लाग्छ।”

चालु आर्थिक वर्षमा अहिलेसम्म बर्ड फ्लू नदेखिएको पशु सेवा विभागका निर्देशक डा. दाहाल बताउँछन्।“हामीले गर्दै आएका सर्भेलिएन्सका क्रममा हालसालै कतै पनि बर्ड फ्लू गराउने भाइरस देखिएको छैन,” उनी भन्छन्।“यद्यपि देखिसकेपछि यो सङ्क्रामक भएकोले मानवीय क्षति पनि हुने हामी सचेत रहन जरुरी छ।”समाचार बीबीसीबाट साभार गरिएको हो ।

बढ्दो युवा पलायनलाई रोक्न बाँझो जमिनमा खेती गराउँदै कुश्मा नगरपालिका

पर्वत, २१ चैतः बढ्दो युवा पलायन, जनशक्तिको अभाव, बाँदर आतङ्कलगायत कारणले जमिन बाँझो रहने क्रम बढेपछि त्यसलाई रोक्न कुश्मा नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई त्यसतर्फ केन्द्रित गरेको छ ।

नगरपालिकाले बढी बाँझो जमिन रहेका वडाहरूमा प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएका युवायुवतीलाई अन्नबाली लगाउन सघाएको छ । वडा नं १४ आर्थर डाँडाखर्कमा रहेको दुई सय रोपनी बाँझो जग्गामा न्यूनतम रोजगारीमा संलग्न हुन चाहेका वडाका १५ जना सूचीकृत बेरोजगारलाई कोदो र मकैखेतीका माध्यमबाट रोजगारी प्रदान गरेको हो ।

नगरपालिकाका रोजगार संयोजक अमृत सुवेदीका अनुसार राज्यले प्रदान गरेको सशर्त अनुदानलाई स्थानीय तहले कार्यक्रमको उद्देश्यअनुरुप बेरोजगारलाई रोजगार प्रदान गर्दै बाँझो जग्गाको सदुपयोग थालेको छभने उत्पादित कृषि उपजको बिक्री गरेर पालिकाको आयमा टेवा पुगेको छ । पालिकाका अन्य वडामा पनि प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सुचीकृत भएका बेरोजगारलाई बाँझो जमिन सदुपयोगमा लगाइने नगरपालिकाले जनाएको छ ।

कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले पालिकाकको नीति तथा कार्यक्रमअनुसार यो कार्यको थालनी भएको बताउनुभयो । उहाँले गाउँमा खेतीपाती गर्ने जनशक्तिको अभाव रहेको अवस्थामा यो कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम र युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनाले सात सय ५३ वटै पालिकामा रोजगार सिर्जना शीर्षकमा प्रत्येक आर्थिक वर्षमा सशर्त अनुदान प्रदान गर्दै आएको छ ।

आगामी नीति तथा कार्यक्रममा हरवाचरवाका सवाल सम्बोधन गर्न ‘बजेट पैरवी अभियान’ सञ्चालन गरिने

जनकपुरधाम, २१ चैतः आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा मुक्त हरवाचरवाका सवाल सम्बोधन गर्न बजेट पैरवी अभियान सञ्चालन गरिने भएको छ ।

राष्ट्रिय मुक्त हरवाचरवा अधिकार मञ्चको अगुवाइमा स्थानीय, प्रदेश र सङ्घीय सरकारका नीति तथा कार्यक्रममा हालसम्म उठाउँदै आएका सवाल सम्बोधन गर्न पैरवी कार्यक्रम सञ्चालन गर्न लागिएको राष्ट्रिय मुक्त हरवाचरवा अधिकार मञ्चले जनाएको छ ।

त्यसका लागि आजदेखि चैत २४ गतेसम्म मधेस प्रदेशका आठवटै जिल्लामा क्रियाशील जिल्लास्थित मुक्त हरवाचरवा अधिकार मञ्चले बैठक गरेर आवश्यकता पहिचान गरिने र सोही आधारमा सबै तहका सरकारको ध्यानाकर्षणका लागि कार्यक्रम सञ्चालन गरिने मञ्चका महासचिव लागिन्द्र सदाले जानकारी दिनुभयो । उहाँका अनुसार ती बैठकबाट पहिचान भएका सवाललाई एकीकृत गरी ‘जनवकालत कार्ययोजना’ बनाएर यहीँ चैत २८ गतेभित्रै स्थानीय हरवाचरवा अधिकार मञ्चको नेतृत्वमा मधेस प्रदेशका आठवटै जिल्लाका ३२ वटा स्थानीय सरकारलाई ध्यानाकर्षणपत्र बुझाइने छ ।

त्यसैगरी मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रममा सवाल सम्बोधन गर्न चैत २९ गते जनकपुरमा मधेस प्रदेशका मुख्यमन्त्री, प्रदेश सचिव, प्रदेश नीति तथा योजना आयोग र भूमि व्यवस्था, कृषि र सहकारी मन्त्रालयलाई ज्ञापनपत्र पेस गरिने मञ्चका महासचिव सदाले बताउनुभयो । यहीँबीचमा चैत २५ गते सङ्घीय सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणलगायत सरोकारवाला मन्त्रालय, निकाय र सङ्घसंस्थाको सहभागितामा जनवकालत कार्यशाला गोष्ठी आयोजना गरिने राष्ट्रिय दलित नेटवर्क, नेपालका कार्यकारी निर्देशक हुकुम सार्कीले बताउनुभयो ।

बैठकपछि सङ्घीय सरकारको आगामी नीति तथा कार्यक्रममा मुक्त हरवाचरवाको सवाल सम्बोधन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय, राष्ट्रिय योजना आयोग र राष्ट्रिय मानवअधिकार आयोगमा ज्ञापनपत्र बुझाइने सार्कीले बताउनुभयो ।

यसअघि सरकारद्वारा गठित मुक्तकमैया, हलिया, कमलरी र हरवाचरवाको वस्तुस्थिति अध्ययन समितिका सदस्य एवं अधिकारकर्मी गणेश विश्वकर्माले सरकारले २०७९ साउन २ गते बधुवाश्रमका रूपमा रहेका हरवाचरवा प्रथा मुक्तिको घोषणा गरे पनि पुनःस्थापनाका कार्यक्रम अगाडि नबढाउँदा समस्या भइरहेको बताउनुभयो । त्यसका लागि दबाब दिन बजेट पैरवी अभियान गरिने उहाँले बताउनुभयो ।

“ मधेसको यो ठूलो समस्याबारे सरोकारवालाको ध्यानाकर्षण गराउन पटकपटक दबाबमूलक कार्यक्रम भएका छन् । त्यसैको प्रतिफलस्वरुप मुक्तिको घोषणसमेत गरिएको छ तर पुनःस्थापनाका लागि ठोस कार्यक्रम तथा बजेटको व्यवस्था नहुँदा मुक्तहरवाचरवा फेरि समस्यामा पर्न थालेका छन् । त्यस विषयमा दबाब सिर्जना र सरकारको ध्यानाकर्षण गर्न यो अभियान सञ्चालन गरिने छ”, उच्चस्तरीय भूमि आयोगका पूर्वसदस्य विश्वकर्माले भन्नुभयो ।
–––

हस्तकला उद्योगमा पोखरा र ललितपुर उद्योग वाणिज्य सङ्घबीच सहकार्य

गण्डकी, २१ चैतः पोखरा र ललितपुर उद्योग वाणिज्य सङ्घबीच पर्यटन तथा हस्तकला उद्योगमा सहकार्यको सहमति भएको छ ।

अध्ययन भ्रमणका क्रममा मङ्गलबार पोखरा आएको ललितपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँगको छलफलमा पर्यटन तथा हस्तकला उद्यममा सहकार्य गर्दै व्यावसायिक साझेदारी बढाउने सहमति भएको हो ।

हालै पर्यटनको राजधानी घोषणा भएको पोखरा देशको प्रमुख पर्यटकीय गन्तव्य हो भने नेपालबाट निर्यात हुने ८० प्रतिशत हस्तकलामका सामग्री उत्पादन हुने ललितपुलाई विश्व हस्तकला सङ्घले हस्तकलाको राजधानी घोषणा गरेको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष गोकर्ण कार्कीले पोखरा उद्योग वाणिज्य सङ्घले यहाँको शिक्षा, स्वास्थ्य र पर्यटन विकासका क्षेत्रमा विशिष्ट योगदान गरेको बताउनुुभयो ।

पोखरा उद्योग वाणिज्य सङ्घ व्यापारीको संस्थामात्र नभएर सामाजिक जागरण र विकासको अभियन्ता भएको बताउँदै सङ्घले उहाँले हस्तकलासहितका मौलिक नेपाली उत्पादनको बिक्री र प्रदर्शनी गर्न कोसेलीघर निर्माणको अभियान थालेको उल्लेख गर्नुुभयो । यस अभियानमा ललितपुरसँग सहकार्य गरिने उहाँले बताउनुुभयो ।

ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वलाल बज्राचार्यले हस्तकलाका लागि ललितपुर प्रख्यात रहे पनि पुरानो पुस्ताको सीप नयाँ पुस्तामा हस्तान्तरण नहुँदा समस्या भएको बताउनुभयो । सङ्घले सीप हस्तान्तरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले बताउनुुभयो ।

पोखरा उद्योग वाणिज्य सङ्घका वाणिज्यतर्फका उपाध्यक्ष उत्तमान बुद्धाचार्य, महासचिव बलराम आचार्य, ललितपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष मनोजबहादुर न्याचुन, सर्जना श्रेष्ठ, सुजन बज्राचार्यलगायत सहभागीले व्यावसायिक साझेदारीले व्यवसाय वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

जलविद्युत् आयोजनाको लगानीमा खिवाङगाउँ सडक सञ्जालमा जोडियो

म्याग्दी, २१ चैतः म्याग्दीको विकट क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिका–४ को खिवाङगाउँ सडक सञ्जालमा जोडिएको छ । धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाको लगानीमा खिवाङगाउँ सडक सञ्जालमा जोडिएको हो ।

धवलागिरि गाउँपालिका–४ का वडाध्यक्ष याम घर्तीमगरले लामो छहरा केङ्कीबाट खिवाङ जोड्ने करिब तीन किलोमिटर सडक निर्माण भएको बताउनुभयो । “खाम्ला–केङ्की–नाउरा हँुदै बगर जोड्ने मूल सडक निर्माण भइरहेको छ”, उहाँले भन्नुभयो, “केङ्कीबाट खिवाङ जोड्ने शाखा सडक निर्माण हालै पूरा भएको हो ।” सडक निर्माण भएपछि खिवाङका एक सय ८० घरपरिवार लाभान्वित भएका उहाँले बताउनुभयो । सो सडकमा मोटरसाइकल, जिप र ट्रयाक्टर चल्न थालेका छन् ।पैसठ्ठी मेगावाट क्षमताको म्याग्दीखोला, ५३ मेगावाटको अपर म्याग्दी (१) र ३७ मेगावाटको अपर म्याग्दीखोला जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनीको संयुक्त लगानीमा खिवाङलाई सडक सञ्जालले जोडिएको गाउँपालिकाले जनाएको छ ।धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले हालसम्म सडक नपुगेको खिवाङ गाउँलाई यातायात सञ्जालमा जोड्न निर्माणाधीन जलविद्युत् आयोजनासँग समन्वय गरिएको बताउनुभयो । अपर म्याग्दी जलविद्युत् आयोजनाका संयोजक सुरेश घलेले सामाजिक सहयोग कार्यक्रमअन्तर्गत विकट गाउँ खिवाङ जोड्ने सडक निर्माण गरेको बताउनुभयो । गाउँपालिकाको सक्रियतामा खाम्ला हुँदै खिवाङ जोड्ने सडक पनि निर्माणाधीन छ । जलविद्युत् आयोजनाले नाउरा हुँदै बगरगाउँ जोड्ने सडकको ट्र्याक खोल्ने कामलाई पनि अन्तिम चरणमा पुर्याएका गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो ।

भृकुटीमण्डप खुला बजारमा पातलिए ग्राहक, घाँटी सुक्ने गरी कराउँदा पनि व्यापार नभएको गुनासो

काठमाडौँ – “गर्मी चढ्यो, शीतल लुगा यता पाइन्छ”, भृकुटीमण्डपका व्यापारी मानदेव मगरले यसै गरी ग्राहक बोलाउँछन् । तर, उहाँको आवाज सुनेर पसलसम्म सामान किन्न आउने ग्राहक खासै छैनन् । घाँटी सुक्ने गरी कराउँदासमेत व्यापार नहुँदा उहाँ खिन्न हुनुहुन्छ । “चिच्याएर मात्रै के गर्नु मान्छे आउँदैनन्”, उहाँ भन्नुहुन्छ, “गर्मी सुरु भइसक्यो ग्राहक छैनन् ।”

स्टल नं. १२१ का व्यापारी मगरले कोभिड महामारीको चर्को मार त खेप्नुभएकै थियो, आर्थिक मन्दीको तितो अनुभव अहिले भोगिरहेको बताउनुहुन्छ । उहाँले २५ वर्षदेखि भृकुटीमण्डपको खुला बजारमा व्यापार गर्दै आउनुभएको हो । कुनै बेला ग्राहकको भीडले खाजा खाने फुर्सद नपाउने उहाँ अहिले मोबाइल हेरेर दिन बिताउनुहुन्छ । “मान्छे नआएपछि भिडियो हेर्दै समय कटाउँछु”, उहाँ भन्नुहुन्छ, “व्यापार सोचे जस्तो भएन, भाडै तिर्न नसकिने अवस्था छ ।”

चैत र वैशाख महिना भृकुटीमण्डपमा सबैभन्दा राम्रो व्यापार हुने मौसम हो । यो समयमा जाडोको लुगा थन्काएर गर्मीका लुगा किन्न आउने मान्छेको घुइँचो हुने गर्थ्यो । तर अहिले त्यस्तो अवस्था नरहेको मगर सुनाउनुहुन्छ । “भाडा महँगीयो व्यापार छैन”, उहाँ थप्नुहुन्छ, “कमाउने त कुरै छैन ।”

निम्न वर्गीय समुदायले किनमेल गर्ने बजारका रुपमा परिचित काठमाडौँ उपत्यकाको भुकृटीमण्डप खुला बजारमा आर्थिक मन्दीको प्रभाव परेको छ । सात सयभन्दा बढी पसल रहेको बजारमा जु्त्ता, चप्पल, लत्ताकपडा, भाडा, इलेक्ट्रोनिक, कस्मेटिकलगायत सामग्रीको व्यापार हुन्छ । लकडाउन अघि दैनिक रु २० देखि २५ हजारको व्यापार हुने गर्थ्यो । अहिले त्यो बेलाको तुलनामा ५० प्रतिशत व्यापार घटेको व्यापारी बताउँछन् ।

प्रति स्क्वायरफुट महिनाको रु ६८ ले भाडा तिर्नुपर्छ । व्यापार नभएकै कारण एक हजार चार सय स्टल व्यापारी घटेर सात सयको हाराहारीमा पुगेको काठमाडौँ निम्न व्यापारी सङ्घका सचिव ध्रुव ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक मन्दीको प्रभाव भृकुटीमण्डप खुला बजारमा देखिएको छ ।

सचिव ढकालले व्यापार घटनुमा विदेशिने युवाको सङ्ख्यामा वृद्धि हुनु, आर्थिक क्षेत्र चलायमान नहुनु र सहकारी जस्ता वित्तिय संस्थामा अस्थिरता आउनुलगायत कारण रहेको जिकिर गर्नुभयो । “चैत, वैशाख महिनामा अरु बेला दसैँ–तिहार जत्तिकै भीड हुन्थ्यो”, उहाँ भन्नुहुन्छ, “अहिले अचम्मै भयो, चैत, वैशाखमा व्यापारमा खडेरी देखियो ।”

भृकुटीमण्डप खुला बजारको आफ्नै इतिहास छ । विसं २०४२-०४३ देखि खुला बजारको परिकल्पना सुरु भएको हो । उच्च शिक्षाको लागि काठमाडौँ बाहिरबाट पढ्न आउने विद्यार्थीले जीविकोपार्जन गर्न फुटपाथ (सडक) मा बसेर व्यापार गर्न थाले । सुरुमा सुन्धारा आसपासमा व्यापार गर्ने व्यापारीलाई सरकारले व्यवस्थित फुटपाथ बजार बनाउने हेतुले खुल्ला मञ्च (टुँडिखेल) सारेको थियो । त्यसपछि विसं २०४८ मा तत्कालीन काठमाडौँ नगरपालिकाले खुला मञ्च सफा बनाउने अभियान थाल्यो ।

फलस्वरुप: त्यहाँ व्यापार गर्दै आएका व्यापारीलाइ सारेर भृकुटीमण्डपमा राखिएको सङ्घका सचिव ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार त्यतिबेला अर्को व्यवस्था नहुँदा सम्म अस्थायी रुपमा व्यापार गर्न भनि सारिएको थियो । समाजकल्याण परिषद्, काठमाडौँ नगरपालिका र व्यापारीबीच त्रिपक्षीय सहमति भई व्यापार थालिएको हो । अहिलेसम्म पनि अस्थायी रुपमा बसेको भृकुटीमण्डप बजारले स्थायी रुप पाउन सकेको छैन ।

“हामीले फोहोर सफा गरेर व्यापार सुरु गरेका थियौँ”, उहाँले विगत स्मरण गर्दै भन्नुभयो, “निम्न समुदायको व्यापार केन्द्र व्यवस्थित बनाउन सरकार अझै बेखबर छ ।” व्यापारले आर्थिक मन्दी खेप्नु मुख्य चुनौती छ नै । अर्को मुख्य चुनौती अस्थायी भौतिक संरचना हुनु हो । बाँसका भाटा र त्रिपालको भरमा अडिएको खुला बजारका व्यापारी पानी पर्दा छानो चुहिइएर सास्ती खेप्नुपर्छ । हुरिबतास आउँदा त्रिपाल उड्ने त्रास झेल्नुपर्छ । स्टल नं. ६५ का व्यापारी कृष्णकुमार कार्कीले चैत, वैशाख महिनामा हुरिवतासले छाना उडाउने चिन्ताले सताउने गरेको बताउनुभयो । “टिनको मात्रै छाना भए, दुखै थिएन”, उहाँ भन्नुहुन्छ, “भाडा तिरेर पनि सुविधाले व्यापार गर्न पाइएको छैन ।”

सङ्घले लामो समयदेखि समाज कल्याण परिषद् समक्ष भृकुटीमण्डप खुला बजारलाई अर्ध अस्थायी स्टल निर्माण गरेर व्यवस्थित बनाउन माग राख्दै आएको छ । सचिव ढकालले प्रक्रिया कहाँ पुग्यो अहिलेसम्म परिषद्बाट जानकारी नपाएको बताउनुभयो । उहाँका अनुसार निम्न अर्ध अस्थायी स्टल बनाउन सके हावाहुरी र पानीको चिन्ता हट्थ्यो ।

समाज कल्याण परिषद्का सूचना अधिकारी सञ्जयकुमार मल्लिकले अर्ध अस्थायी स्टल बनाउने प्रस्ताव अघि बढेको जानकारी दिनुभयो । “प्राविधिक प्रक्रिया सुरु हुँदैछ”, उहाँले भन्नुभयो, “जतिसक्दो छिटो सम्पन्न गर्ने तयारीमा छौँ ।”

एक महिनामा ३० हजार विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे

गण्डकी, २१ चैत एक महिनामा ३० हजार एक सय ९९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार दक्षिण एसियाली मुलुकका १४ हजार छ सय ६८ र अन्य देशका १५ हजार पाँच सय ३१ जना पर्यटकले गत मार्चमा सो क्षेत्रको भ्रमण गरेका हुन् ।

अन्नपूर्ण चक्रीय पदमार्ग विश्वभरका पदयात्री पर्यटकको रोजाइमा रहेकाले चिसो याम समाप्त भएसँगै पर्यटक आगमन बाक्लिएको एक्यापका प्रमुख डा रविन कडरियाले बताउनुभयो । “वैशाखको अन्त्यसम्ममा यस क्षेत्रमा भित्रने पर्यटकको सङ्ख्या अझ बढ्छ”, उहाँले भन्नुभयो, “असोज–कात्तिक र चैत–वैशाख पदयात्रा पर्यटनका लागि उत्तम मानिन्छ ।” यी दुवै याममा अन्नपूर्ण क्षेत्रको पदयात्राका लागि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको उहाँले बताउनुभयो ।

अघिल्लो वर्ष एक सय ७३ देशका एक लाख ९१ हजार पाँच सय ५८ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए ।यो सङ्ख्या हालसम्मकै बढी भएको आयोनजा उहाँले जानकारी दिनुभयो । त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । सन् २०२१ मा १६ हजार एक सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । सन् २०२२ मा एक लाख २९ हजार सात सय ३३ पर्यटक आएका थिए ।
पछिल्लो समय यो क्षेत्रको भ्रमणमा आउने भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि भए पनि तेस्रो मुलुकका पर्यटकको आगमन भने घट्दै गएको आयोजना प्रमुख कडरियाले बताउनुभयो । “पुराना पदमार्ग विस्थापित हुँदै जाँदा पदयात्राका लागि आउने युरोप–अमेरिकाका पर्यटकको संख्यामा केही कमी आएको देखिन्छ”, उहाँले भन्नुभयो ।

अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायत गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिका कारण पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
–––
गण्डकी, २१ चैत एक महिनामा ३० हजार एक सय ९९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार दक्षिण एसियाली मुलुकका १४ हजार छ सय ६८ र अन्य देशका १५ हजार पाँच सय ३१ जना पर्यटकले गत मार्चमा सो क्षेत्रको भ्रमण गरेका हुन् ।

अन्नपूर्ण चक्रीय पदमार्ग विश्वभरका पदयात्री पर्यटकको रोजाइमा रहेकाले चिसो याम समाप्त भएसँगै पर्यटक आगमन बाक्लिएको एक्यापका प्रमुख डा रविन कडरियाले बताउनुभयो । “वैशाखको अन्त्यसम्ममा यस क्षेत्रमा भित्रने पर्यटकको सङ्ख्या अझ बढ्छ”, उहाँले भन्नुभयो, “असोज–कात्तिक र चैत–वैशाख पदयात्रा पर्यटनका लागि उत्तम मानिन्छ ।” यी दुवै याममा अन्नपूर्ण क्षेत्रको पदयात्राका लागि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको उहाँले बताउनुभयो ।

अघिल्लो वर्ष एक सय ७३ देशका एक लाख ९१ हजार पाँच सय ५८ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए ।यो सङ्ख्या हालसम्मकै बढी भएको आयोनजा उहाँले जानकारी दिनुभयो । त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । सन् २०२१ मा १६ हजार एक सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । सन् २०२२ मा एक लाख २९ हजार सात सय ३३ पर्यटक आएका थिए ।
पछिल्लो समय यो क्षेत्रको भ्रमणमा आउने भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि भए पनि तेस्रो मुलुकका पर्यटकको आगमन भने घट्दै गएको आयोजना प्रमुख कडरियाले बताउनुभयो । “पुराना पदमार्ग विस्थापित हुँदै जाँदा पदयात्राका लागि आउने युरोप–अमेरिकाका पर्यटकको संख्यामा केही कमी आएको देखिन्छ”, उहाँले भन्नुभयो ।

अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायत गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिका कारण पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

राष्ट्रिय सुरक्षाका लागि खतरा रहेको भन्दै इजराइली प्रधानमन्त्रीद्वारा अल जजिरा बन्द गर्न आह्वान

इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबार एक विस्तृत कानून पारित गरेपछि अल जजिरा न्यूज नेटवर्क बन्द गर्न आह्वान गर्नुभएको छ । नयाँ कानूनले राष्ट्रिय सुरक्षाको लागि खतरा हुनसक्ने विदेशी नेटवर्कहरूमा प्रतिबन्ध लगाउन सरकारी निकायहरूलाई अधिकार प्रदान गरेको सिएनएन बताएको छ ।

“तत्काल नयाँ कानूनअनुसारको कार्य गर्न कतार आधारित समाचार आउटलेटको गतिविधिलाई देशमा रोक्ने निर्णय गरिएको हो”, नेतान्याहुले भन्नुभयो ।सिएनएनका अनुसार गाजामा हमासविरुद्ध इजराइल युद्धको क्षेत्रगत रिपोर्टिङ गर्न प्रतिबद्ध अल जजिरा मिडिया नेटवर्कले एक विज्ञप्तिमार्फत उक्त निर्णयको निन्दा गर्दै आफू आफ्नो ‘साहसी र व्यावसायिक कभरेज’ जारी राख्न यस्ता निर्णयले नरोकिने वाचा गरेको छ ।

नयाँ कानूनले प्रधानमन्त्री र सञ्चारमन्त्रीलाई इजराइलमा सञ्चालित विदेशी नेटवर्कहरू अस्थायीरूपमा बन्द गर्न आदेश दिनसक्ने अधिकार प्रदान गर्दछ ।

सिएनएनका अनुसार इजराइलको हमासविरुद्ध चलिरहेको युद्ध तथा नेतान्याहुविरुद्धको बढ्दो सार्वजनिक असन्तुष्टि र विरोधका बीच सोमबार संसद्ले सो कानून अनुमोदन गरेको हो । नेतान्याहु सरकारले इजराइली विरोधी सूचना फैलाएको आरोप लगाउँदै अल जजिराको सञ्चालनमा लगातार गुनासो गर्दै आएको छ ।

प्रधानमन्त्री नेतान्याहुले सोमबार अल जजिरालाई हमासको पक्षमा रहेको आरोप लगाउनुभयो । साथै अक्टोबर ७ मा भएको आक्रमणमा सक्रिय सहभागी रहेको र आइडीएफ (इजरायली सुरक्षा बल) सैनिकहरू विरुद्ध उक्साएको आरोप लगाउनुभयो ।

कतारी सरकारले आंशिक लगानी गरेको अल जजिराले यी सबै ‘निन्दनीय आरोपहरू’ हुन् भन्दै यसले अल जजिराको प्रतिष्ठा मात्र नभई विश्वव्यापीरूपमा यसका कर्मचारीहरूको सुरक्षा र अधिकारलाई पनि खतरामा पार्ने बताएको छ ।

“अल जजिराको अवरोधले डरलाग्दो र चिन्ताजनक स्थितिको आङ्कलन गर्छ । यसले प्रेस स्वतन्त्रतालाई प्रतिबन्धित गर्दछ तथा इजराइल र प्यालेस्टिनका घटनाहरूको वास्तविकतामा विश्वका नागरिकहरूको पहुँचलाई थप सीमित गर्दछ”, इजरायल मानव अधिकार वाच र प्यालेस्टाइन निर्देशक ओमार शाकिरले सिएनएनलाई भन्नुभयो ।

अक्टोबर ७ मा हमासले इजराइलमा गरेको घातक हमलाले इजराइल र हमास बीचको युद्ध सुरु भएको हो । इजराइली रिपोर्टअनुसार युद्धमा एक हजार दुई सयभन्दा बढी मानिस मारिएका छन् भने लगभग दुई सय ५० जनालाई बन्धक बनाइएको छ । जवाफमा इजराइली सेनाले हमास नियन्त्रित गाजामा व्यापक गोलाबारी र भूमिगत कारबाही गरेको हो । गाजामा जारी हिंसाका बीच त्यहाँ मृत्यु हुनेको सङ्ख्या ३२ हजार नाघेको हमास सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

स्वीटजरल्याण्डका उद्यमी–व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौँ, २१ चैत : सरकारले स्वीटजरल्याण्डका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीका निम्ति प्रोत्साहित गर्न स्वीस सरकारसँग अनुरोध गरेको छ । आगामी महिना यहाँ आयोजना हुने लगानी सम्मेलनमा उनीहरूको सक्रिय सहभागिताका निम्ति प्रोत्साहन गर्न स्वीस सरकारलाई सरकारले अनुरोध गरेको हो ।

नेपाल–स्वीटजरल्याण्ड परामर्श संयन्त्रको मङ्गलबार बेर्नमा सम्पन्न बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकालले उक्त आह्वान गर्नुभएको जेनेभास्थित नेपालको राजदूतावासले जनाएको छ । बैठकमा नेपाल–स्वीटजरल्याण्ड सम्बन्धका समग्र पक्षका साथै आर्थिक, विकास साझेदारी, बहुपक्षीय मञ्चमा सहयोग आदानप्रदान, मानवअधिकार तथा जलवायु परिवर्तनलगायत विश्वले सामना गर्नुपरेका सामयिक विषयमा पनि विचारविमर्श भएको थियो ।दुवै देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदान, अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नतिका निम्ति नेपालले गरेका प्रयास, दिगो विकास लक्ष्य हासिलमा भएका प्रगति, नेपाल–स्वीटजरल्याण्ड व्यापार, लगानी, पर्यटन, विज्ञान तथा प्रविधि र व्यावसायिक तालिमबारे बैठकमा छलफल भएको उक्त दूतावासले जनाएको छ ।नेपाली प्रतिनिधिमण्डलका प्रमुख सहसचिव ढकालले स्वीस सरकारको प्राथमिकतामा नेपाललाई राखिएकामा आभार व्यक्त गर्नुभयो भने स्वीस सरकारका प्रतिनिधि हेनरिच सेलेनवर्गले नेपालको विकास प्रयासमा स्वीस सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।पारस्परिक सहायताका सम्बन्धमा छलफल गर्न सन् २०१५ मा उक्त संयन्त्र स्थापना भएको हो । संयन्त्रको अर्को बैठक दुवै पक्षलाई अनुकूल हुने समयमा काठमाडौँमा हुने छ ।

कांग्रेसलाई उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाउन कठिन, आज फेरि बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेसले उपनिर्वाचनको लागि पार्टीको उम्मेदवार टुङ्गो लगाउन सकेको छैन ।आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ क्षेत्र नं १ प्रदेश ‘क’ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेदवारका बारेमा छलफल गर्न मंगलबार बैठक बसेपनि उम्मेदवार चयन गर्न नसकेको हो ।

पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले उपनिर्वाचनका लागि पार्टीको संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसे पनि उम्मेदवार टुङ्गो लगाउन नसकिएको जानकारी दिनुभयो ।

“मंगलबार उम्मेदवारको विषयमा गहन छलफल भयो, उपनिर्वाचनका लागि पार्टीबाट सिफारिस भएर केन्द्रमा आएका आकांक्षीबीच छलफल गरेर उम्मेदवार टुङ्गो लगाउने कुरा भएको छ”, विश्वकर्माले भन्नुभयो ।

उम्मेदवार टुङ्गो लगाउन आज दिउँसो २ बजे पुनः केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने निर्णय भएको विश्वकर्माले जानकारी दिनुभयो । उपनिर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेद्वारका बारेमा छलफल गर्न सोमबार साँझ पनि कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी एवं शीर्ष नेताहरुको छलफल भएको थियो ।

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ गते उम्मेद्वार मनोनयनपत्र दर्ताको समय तोकेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले पार्टीको उम्मेदवार तय गरिसकेका छन् ।

भारतबाट अवैधरुपमा ल्याइएको सात लाखको सामान बाराको गोलागञ्जबाट बरामद

वीरगञ्ज (पर्सा- बाराको गोलागञ्जबाट सशस्त्र प्रहरी बलले रु सात लाख २५ हजारको सामान बरामद गरेको छ । भारतबाट अवैधरुपमा ल्याइएको सो सामान बरामद गरिएको हो ।

सशस्त्र प्रहरी बल विओपी गोलाञ्जबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक माधवप्रसाद ढुङ्गेलको नेतृत्वको टोलीले भारतको घोडासाहानबाट अवैधरुपमा राजस्व छली गरेर नेपाल भित्र्याइरहेको अवस्थामा तीन क्विन्टल फूल, एक सय क्विन्टल प्याज र चार थान मोटरसाइकल बरामद गरेको हो । प्रहरी निरीक्षक ढुङ्गेलले बरामद गरेको सामग्री आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयलाई बुझाइएको जानकारी दिनुभयो ।प्रहरी निरीक्षक ढुङ्गेलका अनुसार तस्करले सशस्त्र प्रहरीलाई देखेपछि तस्करीको सामान छाडेर भागेका थिए । यसअघि पनि कार्यालय चैत १६ गते पनि अवैधरुपमा ल्याएको कपडा मोटरसाइकलसहित बरामद गरेको थियो ।

मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिदै

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिनुहुने भएको छ । नेकपा (माओवादी केन्द्र) को कर्णाली प्रदेश संसदीय दलको बैठकले प्रदेशसभा दलको बैठकले मुख्यमन्त्री शर्माले विश्वासको मत लिने निर्णय गरेको हो । मंगलबार बसेको दलको बैठकले सो निर्णय गरेको हो ।

सत्ता गठबन्धन दलको केन्द्रीय सहमतिअनुसार कर्णालीमा सरकारको नेतृत्व नेकपा (एमाले) लाई दिने निर्णय भए पनि कर्णालीमा सरकार गठनमा जटिलता सिर्जना भएको छ । वर्तमान प्रदेश सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले केन्द्रीय सहमतिले मानमर्दन गरेको भन्दै केन्द्रले गरेको निर्णयप्रति आपत्ति जनाएको छ ।

माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक रनसिंह परियारले भन्नुयभयो “विश्वासको मत लिने प्रक्रिया अगाडि बढिसकेको छ । सत्ता साझेदार दलहरुको तर्फबाट विश्वासको मत लिन्छौँ”, उहाँले भन्नुयभयो, “त्यसपछि मात्र केन्द्रको सहमतिको मर्म र निर्णयबमोजिम सत्ताको नेतृत्व जसले पाउने भनेको छ, उसलाई दिने निर्णय भएको छ ।”

प्रमुख सचेतक परियारले केन्द्रको सहमतिविपरीत काम नहुने तर विश्वासको मत लिएर मात्र सत्ता हस्तान्तरण गर्ने बताउनुभयो ।

सहरी विकासमन्त्री बुढा र काठमाडौँ महानगर प्रमुख शाहबीच फोहर व्यवस्थापनबारे छलफल

काठमाडौँ – सहरी विकासमन्त्री धनबहादुर बुढा र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच नुवाकोटको बञ्चरेडाँडामा फोहर व्यवस्थापनका लागि सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको छ ।

मन्त्री बुढा र प्रमुख शाहबीच मंगलबार मन्त्रालयमा भएको भेटवार्तामा उपत्यकाको फोहर व्यवस्थापनका लागि दीर्घकालीन योजना बनाएर काम गर्ने र आपसी सहकार्यबाट अघि बढ्ने विषयमा छलफल भएको हो । तत्कालका लागि स्थानीयको सरोकारलाई सम्बोधन हुने गरी बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्ने र माग सम्बोधन गर्ने विषयमा प्रमुख शाहसँग मन्त्री बुढाले मिलेर अघि बढ्न प्रस्ताव गर्नुभयो ।

मन्त्री बुढाले बञ्चरेडाँडामा जाने फोहरको परिमाणलाई कम गर्न मातहतका निकायलाई निर्देशन दिइसकेको जानकारी दिँदै फोहर व्यवस्थापनको दीर्घकालीन समाधानमा काठमाडाँै र ललितपुर महानगरपालिकासँग मन्त्रालयले समन्वय तथा सहकार्य गर्न चाहेको उल्लेख गर्नुभयो ।

“काठमाडौँको विकासका लागि महानगरपालिकाले गर्न चाहेका विकास निर्माणका काममा हामी हातेमालो गरेर अघि बढ्न तयार छाँै”, उहाँले भन्नुभयो, “सुन्दर, सफा र व्यवस्थित राजधानी बनाउने अभियानमा मन्त्रालयले सक्दो सहयोग गर्छ ।”

प्रमुख शाहले फोहर व्यवस्थापनमा आफू सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहाँले महानगरले केही वडावाट शून्य फोहर कार्यक्रम सुरु गर्न लागेको उहाँले जानकारी दिनुभयो । उहाँले बञ्चरेडाँडास्थित ल्याण्डफिलसाइटमा फोहर व्यवस्थापनका लागि बनाएको संरचनामा थप सुधार गरी फोहरको व्यवस्थापन गर्न महानगरकाले आवश्यक सहकार्य र सहजीकरण गर्ने बताउनुभयो ।

प्रमुख शाहले काठमाडौँ उपत्यकामा ट्राफिक जामको व्यवस्थापन र उपत्यकाका खोला किनारमा रहेका अव्यवस्थित बस्तीलाई हटाउनका लागि आवश्यक समन्वय गरेर अघि बढ्न मन्त्री बुढासँग आग्रह गर्नुभयो ।

छलफलमा सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल, भवन विभागका महानिर्देशक कुमार घिमिरे, स्थानीय पूर्वाधार विभागका महानिर्देशक भरत अर्याललगायत सहभागी हुनुहुन्थ्यो ।

चिसापानीमा नेपाली सेनाको स्वास्थ्य शिविर, पाँच सय १२ जना लाभान्वित

धनुषा – धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ चिसापानीमा नेपाली सेनाको श्री नं. १ राजदल गणद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट पाँच सय १२ जना लाभान्वित भएका छन् ।

उक्त स्वास्थ्य शिविरमा नेपाली सेनाका चिकित्सकसहितको टोलीले रक्तचाप, मधुमेह, आँखा, नाक, कान, घाँटी, दाँतलगायत रोग सम्बन्धि सेवा प्रदान गरिएको थियो । सो स्वास्थ्य शिविरमा चिसापानी तथा त्यस आसपासका गाँउबाट आएका नागरिक लाभान्वित भएको महासेनानी प्रतिक कार्कीले जानकारी दिनुभयो ।

नेपाली सेनाको श्री नं. १ राजदल गणले गणेशमान चारनाथ नगरपालिका, धनुषा र मधेश प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जनकपुरको औषधि तथा स्वास्थ्य सामग्री सहयोगमा संचालित उक्त स्वास्थ्य शिविरमा प्राविधिक जनशक्ति नेपाली सेनाको फिल्ड अस्पताल बर्दिबाससहित ४० जनाको टोली खटिएको थियो ।

स्वास्थ्य शिविर सञ्चालन भएको गाउँ धनुषाको विकट क्षेत्र मानिन्छ । स्वास्थ्य सेवाको पहुँचबाट टाढा भएकाले सेनाले पहिलो पटक स्वास्थ्य शिविर सञ्चालन गरेको महासेनानी कार्कीले बताउनुभयो ।