`

गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको आधारपत्र सार्वजनिक

गण्डकी, १९ चैत : गण्डकी प्रदेश नीति तथा योजना आयोगले प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको आधारपत्र सार्वजनिक गरेको छ । एक कार्यक्रमबीच आज पोखरामा आयोजित कार्यक्रममा आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले आधारपत्र सार्वजनिक गर्नुभएको हो ।

दोस्रो पञ्चवर्षीय योजनाका लागि उत्पादकत्व, सामाजिक न्याय र समुन्नति हासिल गर्ने प्रादेशिक लक्ष्य निर्धारण गरिएको उहाँले जानकारी दिनुुभयो । लक्ष्य प्राप्तिका लागि तीनवटा प्रादेशिक उद्देश्य, आठवटा समष्टिगत रणनीति र १४ वटा प्राथमिक क्षेत्र पहिचान गरिएको छ । लक्ष्य प्राप्तिका उद्देश्यमा गुणस्तरीय पूर्वाधार र उत्पादन, रोजगारी तथा आय वृद्धि गर्नु, मानव पूँजी निर्माण गर्नु रहेका छन् । त्यसैगरी विकासका लाभको समन्यायिक वितरण, सामाजिक न्याय स्थापित गर्नुु, गुुणस्तरीय सार्वजनिक सेवा प्रवाह र सुुशासन अभिवृद्धि गर्नुु पनि लक्ष्य प्राप्तिका उद्देश्य रहेको उहाँले बताउनुुभयो ।

योजनाले प्रदेश सरकारको लगानीमा सञ्चालन हुने प्रदेश समुन्नतिका रुपान्तरणकारी कार्यक्रम तथा आयोजना पहिचान गरेको छ । त्यस्तै, प्रदेश तथा स्थानीय तह साझेदारी कार्यक्रम, प्रदेश–सङ्घ साझेदारी कार्यक्रम, वैदेशिक सहयोगमा सञ्चालन हुुने कार्यक्रम, सार्वजनिक–निजी साझेदारी कार्यक्रम, निजी क्षेत्रको लगानीमा सञ्चालन हुने कार्यक्रम तथा आयोजना पहिचान गरेको उपाध्यक्ष देवकोटाले जानकारी दिनुुभयो ।

जनतालाई उत्साहित बनाउनुपर्छ : मुख्यमन्त्री जम्कट्टेल

मकवानपुर, १९ चैतः बागमती प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशको समानुपातिक पूर्वाधार विकासमा सबै नागरिकलाई समान अवसरका साथ सहभागी गराउँदै आर्थिक समृद्धितर्फ डो¥याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्यहरुको प्रश्नको जवाफ दिनुहुँदै उहाँले सरकारले प्रदेशहरुका सबै जिल्लामा राष्ट्रिय गौरवको आयोजना, शिक्षा, स्वास्थ्य कृषिको उत्पादनलाई निष्पक्ष र पारदर्शी ढङ्गबाट बजेट र योजना कार्यान्वयन गर्ने जानकारी दिनुभयोे । उहाँले मुलुकमा बढ्दै गएको राजनीतिक अस्थिरताले राष्ट्रियतामाथि खतरा उत्पन्न हुने चिन्ता व्यक्त गर्नुहुँदै संसद्मा रहनुभएका सबै दलले राष्ट्रको स्वाभिमानप्रति इमान्दारीका साथ लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले अहिले जनतालाई निराश होइन, विश्वास दिलाएर विकासको पूर्वाधारले उत्साहित बनाउनुपर्नेमा जोड दिनुभयो ।

संसद्मा रहनुभएका दलहरुले जनताप्रति जिम्मेवार जवाफदेही बन्नुपर्ने उल्लेख गर्नुहुँदै उहाँले प्रदेश सरकारको आफ्नो सीमित स्रोत र साधनबाट विपन्न नागरिकको जीवनस्तरका आर्थिक सुधार ल्याई स्वास्थ्य उपचार सेवालाई सहजीकरण गर्नेतर्फ सरकार त्यसतर्फ केन्द्रित हुने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री जम्कट्टेलले प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलहरुसँग आफूले सम्मानजनक ढङ्गबाट व्यवहार गर्ने र उहाँहरुको सुझाव र सल्लाहलाई आत्मसात् गर्दै प्रदेशलाई सुशासन, भ्रष्टाचारमुक्त र जनतालाई शान्तिसुरक्षा प्रदान गर्न सरकारले निर्णय लिने बताउनुभयो ।

उक्त बैठकमा सभामुख भुवनकुमार पाठकले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् विस्तार र पुनर्गठन एवम् कार्यविभाजनसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो ।यसैगरी, उहाँले संसद्को कार्यव्यवस्था परामर्श समितिको सदस्यमा रहनुभएका कुन्दनराज काफ्लेको सट्टा गोविन्दप्रसाद लम्साललाई नाम सिफारिस गर्नुभएअनुसार आजै बसेको प्रदेशसभाको बैठकले अनुमोदन गरेको छ ।प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको अर्को बैठक अनिश्चितकालका लागि स्थगित गर्नुभयो ।

पाँच वर्ष भन्दा पुराना मुद्दालाई अभियान चलाएर छिटो फर्छ्यौट गर्न सर्वोच्च अदालत प्रतिबद्ध

चितवन, १९ चैत : प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पाँच वर्ष भन्दा पुराना मुद्दालाई अभियान चलाएर छिटो फर्छ्यौट गर्न सर्वोच्च अदालत प्रतिबद्ध रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले सर्वाेच्चमा १० वर्षभन्दा अघिका ४० वटा मात्र मुद्दा फर्छ्यौट हुन बाँकी रहेको जानकारी दिनुभयो । उहाँले पाँच वर्ष माथिका मुद्दाहरु छिटो फछ्र्यौट गर्ने प्रक्रियामा रहेको बताउनुभयो ।

“पाँच वर्ष नाघेका मुद्दालाई विशेष अभियान चलाएर निश्चित रुपमा कानुनी बाटो अपनाइ छिटो फर्छ्यौट गर्न प्रतिबद्ध छौँ,” प्रधान न्यायाधीश श्रेष्ठले भन्नुभयो, “सबैभन्दा पुरानो भनेको २०६७ सालका मुद्दाहरु छन्, ती मुद्दाहरुलाई मुद्दा व्यवस्थापन पद्धतिबाट न्यूनिकरण गर्न थालिएको छ ।” ती मुद्दाहरुको व्यवस्थापन नगरेको भए ठूलो सङ्ख्यामा मुद्दा बाँकी रहने उहाँको भनाइ थियो ।

उहाँ सर्वोच्चमा आउनुअघिका मुद्दाहरु विभिन्न कारणले फर्छ्यौट हुन बाँकी रहेको उहाँले बताउनुभयो । मुद्दा फैसला आजको भोलि भनेजस्तो नहुने भएकोले फैसलाको प्रक्रिया र कानुनी कुरामा भर पर्ने उहाँको भनाइ छ । सर्वाेच्च अदालतको सुधारको प्रक्रियामा लागेको उहाँले जिकिर गर्नुभयो । पछिल्लो समयमा बनेका कतिपय कानुनका कारण देशभरका अदालतमा मुद्दाको सङ्ख्या बढेको उहाँले स्पष्ट पार्नुभयो ।

अदालतले गरेको काम कारबाही तुलनात्मक रुपमा अहिले व्यवस्थित विधिबाट छिटो गर्नुपर्छ भनेर जिल्ला अदालत, उच्च अदालतमा मुद्दा फैसला भइरहेको उहाँले जानकारी दिनुभयो । अदालतहरुमा कर्मचारी र न्यायाधीशहरुको व्यवस्थापन मुद्दाको चापअनुसार भइरहेको उहाँको भनाइ थियो ।जीर्ण भएका अदालतहरुलाई नयाँ बनाउनका लागि सरकारसँग पहल भइरहेकाले सबैको सहयोग र समन्वयबाट यी काम पूरा हुने प्रधान न्यायाधीश श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो ।

तनहुँमा आठ फिट लामो अजिङ्गरको उद्धार

दमौली (तनहुँ), १९ चैत : तनहुँको व्यास नगरपालिका–१३ बेलबासमा आठ फिट लामो अजिङ्गरको आज उद्धार गरिएको छ । डिभिजन वन कार्यालय तनहुँका कर्मचारीको सहयोगमा अजिङ्गरको उद्धार गरिएको हो ।

उक्त ठाउँमा केही समय पहिलादेखि अजिङ्गर देखिन थालेको स्थानीयबासी मेघनाथ आचार्यले जानकारी दिनुभयो । अजिङ्गर घाइते अवस्थामा रहेकोले उद्धार पश्चात डिभिजन वन कार्यालयमा सुरक्षित राखिएको डिभिजन वन कार्यालयका कर्मचारी अर्जुनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उद्धार गरिएको अजिङ्गरलाई सुरक्षित रुपमा सामुदायिक वनमा छाडिने बताइएको छ । “स्थानीयबासीले केही समय पहिलादेखि उक्त अजिङ्गर यस क्षेत्रमा देखिएको जानकारी दिनुभएको थियो”, वन कार्यालयका कर्मचारी श्रेष्ठले भन्नुभयो, “आज पनि देखिनेबित्तिकै खबर गरेपछि हामीले उद्धार गरेर ल्याएका छौँ ।”

आठ रात नौ दिन मनाइने भक्तपुरको प्रसिद्ध बिस्का जात्राको तयारी

भक्तपुर, १९ चैत : यही चैत २७ गतेदेखि सुरु भई वैशाख ५ गते सम्पन्न हुने भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सभ्य र भव्य रुपमा सम्पन्न गर्न आयोजक र सरोकारवालाबिच छलफल भएको छ ।

भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले आज यहाँ आयोजित छलफलमा बिस्केट जात्रा भक्तपुरको मात्र नभई सिङ्गो देशको कला, संस्कृति र ऐतिहासिकताको पहिचान भएको बताउनुभयो । उहाँले जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न/गराउन आह्वान गर्नुभयो ।नगरप्रमुख प्रजापतिले भन्नुभयो, “२०८० चैत २७ देखि २०८१ वैशाख ५ गतेसम्म सञ्चालन हुने आठ रात नौ दिनको बिस्का जात्रा सांस्कृतिक नगरको गौरव गर्न लायक जात्रा भएकाले निर्धारित समयमै सुरु गरी समयमै सम्पन्न गर्नुपर्छ ।”

छलफलमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेको बिस्का जात्रा इन्जिनियरिङको हिसाबले पनि महत्वपूर्ण जात्राका रुपमा रहेको व्याख्या गर्नुभयो ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बिस्का जात्रा अवसर र चुनौती मिश्रित भएकाले शान्तिपूर्ण रुपमा सम्पन्न गर्न/गराउने सबैको दायित्व भएको बताउनुभयो । उहाँले गुठी संस्थानको तालिकाअनुसार समयमै जात्रा सुरु गरी समयमै सम्पन्न गर्न आग्रह गर्नुभयो ।

प्रजिअ श्रेष्ठले बिस्का जात्राको समयमा जात्रा सञ्चालन हुने स्थानमा मदिराजन्य पदार्थको बेचबिखनमा रोक लगाउने र जात्रा अवधिभर शान्तिसुरक्षा कायम गर्न जिल्ला प्रशासन कार्यालयले संवेदनशील भएर काम गर्ने बताउनुभयो ।

छलफलमा गुठी संस्थान भक्तपुरका प्रमुख खिमा ओलीले गुठी संस्थान कार्यालयले सार्वजनिक गरेको तालिकाअनुसार जात्रा सञ्चालन भएमा मर्यादित तथा शान्तिपूर्ण ढङ्गले जात्रा सम्पन्न गर्न सकिने बताउनुभयो ।

बैठकमा भक्तपुर नपाका जनप्रतिनिधि, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी बल, नेपाल टेलिकम, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाल विद्युत् प्राधिकरण, नेपाल रेडक्रस सोसाइटी, भैरवनाथ जात्रा सहयोग समिति, अस्पतालका प्रतिनिधि रसरोकारवालाको उपस्थिति थियो । बिस्का जात्रा व्यवस्थापनबारे सबै निकायले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । नगरपालिकाले जात्रा सञ्चालन हुने सम्पूर्ण क्षेत्रको सरसफाइ र व्यवस्थापन गर्ने भएको छ ।

जात्रा अवधिमा नगर क्षेत्रको शान्तिसुरक्षा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरले गर्ने, बिस्का जात्रासम्बन्धी सम्पूर्ण पूजाआजा र जात्रा समयमै सुरु र सम्पन्न गुठी संस्थान शाखा कार्यालयले गर्ने, जात्रासँग सम्बन्धित पूजाआजा र आवश्यक तयारी भैल नायोहरु, जात्रा व्यवस्थापन समिति र सम्बन्धित वडा कार्यालयले गर्ने निर्णय गरेको छ ।

त्यस्तै बिस्का जात्रा सञ्चालन हुने नगरका सम्पूर्ण क्षेत्रमा रहेको तार, केबुल र फाइबर नेटका केबुल सम्बन्धित सेवाप्रदायकले व्यवस्थापन गर्ने निर्णय भएको छ । जात्रा अवधिमा नगरका सम्पूर्ण अस्पतालका एम्बुलेन्स, दमकल तथा विपद् पूर्वतयारीका सामान तयारी अवस्थामा राख्न नेपाल रेडक्रस सोसाइटी, भक्तपुरले आवश्यक व्यवस्थापन गर्ने र अस्पतालको आकस्मिक कक्षमा स्वास्थ्यकर्मी सतर्क अवस्थामा राख्ने निर्णय गरिएको छ ।

जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न नगरबासी र सङ्घसंस्थाको सहभागितामा यही चैत २७ गते बिहान सद्भाव ¥याली गर्ने निर्णय भएको छ । जात्रामा खानेपानी व्यवस्थापन काठमाडौँ खानेपानी उपत्यका लिमिटेड (केयुकेएल)लाई र विद्युत् प्रसारणमा कुनै किसिमको समस्या आउन नदिन नेपाल विद्युत् प्राधिकरण, भक्तपुर शाखालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

तेह्र वर्षीय बालिकालाई वेश्यावृत्तिमा लगाउने मगर पक्राउ

काठमाडौँ, १९ चैत : नेपाल प्रहरीले नाबालिकालाई वेश्यावृत्तिमा लगाउने खाजाघर सञ्चालकलाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित ‘लाफा’ नामक खाजा घरमा १३ वर्षीय बालिकालाई वेश्यावृत्तिमा लगाउने उदयपुरका २३ वर्षीय नवीनकुमार मगरलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रहरी उपरीक्षक ज्ञानेन्द्र्रप्रसाद फुयालले बालिकालाई वेश्यावृत्तिमा लगाउने प्रयोजनका लागि फागुनदेखि डर र प्रलोभनमा पारेर वेश्यावृत्तिमा लगाउने गरेको खुलेको जानकारी दिनुभयो । “खाजा घरमा डरमा पारी राखेको अवस्थामा बालिकालाई उद्धार गरेर मगरलाई पक्राउ गरेका हौँ,” उहाँले भन्नुभयो ।

प्रहरीले पक्राउ मगरलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडाँै जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक फुयालले बताउनुभयो ।

कागजमा लैङ्गिक समानता, व्यवहारमा असमानता

अमृता अनमोल/काठमाडौँ – नेपालको संविधानले महिला, पुरुष वा अन्य लिङ्गी भएकै कारण फरक व्यवहार हुन नहुने वा असमान व्यवहार गर्न नहुने प्रष्ट पारेको छ । पुरुष वा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकप्रतिको समान अवसर, व्यवहार र अधिकारको उपभोग हो लैङ्गिक समानता । समाजका हरेक व्यक्तिलाई सम्मानित र सुरक्षित बनाउन लैङ्गिक समानता आवश्यक छ । व्यक्तिले आत्मसम्मान महसुस गर्न शरीर, सम्पत्ति र शक्तिमा आफ्नो नियन्त्रण हुनुपर्छ । तर, महिलाका यी तीनै चिज बाँधिएका छन् । उनीहरुप्रति व्यक्ति, समाज र राष्ट्रले गर्ने पूर्वाग्रही सोचमा परिवर्तन नल्याउँदासम्म लैङ्गिक समानता संविधान र ऐन कानुनमा मात्रै हँुदोरहेछ । जुन नेपाली समाजमा देखिएको छ ।

राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्क हेर्ने हो भने महिलाको जनसंख्या पुरुषको भन्दा छ लाख ५७ हजार छ सय ७६ बढी छ । कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ हुँदा महिला ५१.०४ प्रतिशत छन् भने पुरुष ४८.९६ प्रतिशत । महिलाको जनसंख्या बढ्दै मात्र छैन पति, बाबु, ससुरा, दाइभाइ विदेश पठाएर घर सम्हाल्ने पनि धेरै महिला बनेका छन् । यो राम्रो कुरा हो । तर, जनगणनाकै तथ्याङ्कले विदेश बस्ने जनसंख्या २१ लाख ९० हजार पाँच सय ९२ देखाएको छ । यसमा पुरुषको हिस्सा ८१.२८ प्रतिशत छ भने महिला जम्मा १८.७२ प्रतिशत छन् । पुरुषलाई वैदेशिक रोजगारीमा पठाएर घर सम्हाल्ने हुने वा आफैँ कमाउने महिला बढ्दै गए पनि घरमूली बन्ने र सम्पत्तिको मालिक बन्ने महिला भने बढेका छैनन् । असमान शक्ति सन्तुलनले संरक्षणको भूमिका निभाए पनि महिलालाई मालिक बनाएको छैन । मालिक नबन्दा आफूअनुकुल सम्पत्ति उपभोग गर्न र अधिकार प्रयोग गर्न पाएका छैनन् । यसले महिलामाथिको असमान व्यवहार र थिचोमिचो हटेको छैन ।

जनगणनाकै अर्को तथ्याङ्कले सम्पतिमा महिला कसरी बञ्चित छन् प्रष्ट पार्छ । तथ्याङ्कअनुसार नेपालमा २.३ प्रतिशत महिलाको मात्रै घरमा स्वामित्व छ । सम्पत्तिमा स्वामित्व हुने महिला जम्मा ९.७ प्रतिशत छन् । घरजग्गामध्ये केहीमा अर्थात सम्पत्तिमा स्वामित्व हुने महिला १.८ प्रतिशत छन्, ७४.६ प्रतिशत महिलाको घरजग्गा केहीमा पनि स्वामित्व छैन । महिलाकै जिम्मामा घरपरिवार चले पनि महिला घरमूली बन्न अझै सकेका छैन् । नेपालका ३१.५ प्रतिशत महिला मात्रै घरमूली बन्न सकेका छन् । अर्थात घरघरमा अझै पनि पितृसत्ता छ । घरपरिवार सम्हाल्ने महिला तर घरमूली बन्ने चाहीँ पुरुष । यसले महिलामाथि आफ्नै परिवारले भर नगरेको र लैंगिक असमानता एवं विभेदलाई उदाङ्गो बनाएको छ ।

नेपालको संविधानले महिलालाई आफ्नो शरीर आफ्नो अधिकारको सुनिश्चित गरेको छ । अर्थात् पहिलोपटक महिलालाई सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी हक दिएको छ । यसले महिला गर्भवती हुने वा नहुने रोज्न पाउनेदेखि राज्यबाट सुरक्षित मातृत्व सेवा पाउनु पर्ने अधिकारलाई समेट्छ । विवाह गर्ने वा नगर्ने, कहिले गर्ने, को सँग गर्ने, सन्तान जन्माउने वा नजन्माउने कति जन्माउने र कहिले जन्माउने भन्ने अधिकार महिलाले निर्णय गर्न पाउँछिन् । सेवालाई सुरक्षित, गुणस्तरीय, सर्वसुलभ तथा पहँुचयोग्य बनाउन सुरक्षित मातृत्व तथा प्रजनन अधिकार ऐन २०७५ लागू गरिएको छ । तर, अहिले पनि बाबुआमाले रोजेको केटासँग विवाह नगर्दा परिवार त्याग्नुपरेका र सन्तान नजन्माउँदा पतिले छोड्ने गरेका थुप्रै घटना छन् । विवाहदेखि सन्तान जन्माउने बेलासम्म आइपुग्दा महिलामाथि थुप्रै विभेद् र हिंसा भएका छन् ।

अझै पनि धेरै महिला कम उमेरमा विवाह गर्न बाध्य छन् । जनगणनाको तथ्याङ्कमा विहेवारी २० पारी भनेपनि पहिलो विवाह गर्दाको औसत उमेर महिलाको १८ छ भने पुरुषको २१ छ । विहे भएकामध्ये ४५ हजार ७७३ अर्थात् ०.५ प्रतिशत महिलाले १० वर्ष पनि नपुग्दै विहे गरेका छन् । नेपाली समाज अझै पनि छोरा जन्माउन लालायित छ । यसले छोरा र छोरीबीच गर्भदेखि नै विभेद् छ । छोरी भए जन्म नै नदिए परिपाटी बढेको छ । प्रजनन् योग्य महिलाले जन्माएका एक करोड २७ लाख नौ हजार ९६९ सन्तानमा छोरीको संख्या जम्मा ४७.३ प्रतिशत छ । जबकि छोरा ५२.७ प्रतिशत छन् । भरखर जन्मिएका सन्तानमा छोरीको संख्या करिब पाँच प्रतिशतले कमी छ । यसले भविष्यमा ठूलो लैंगिक असमानता मात्रै होइन, सङ्कट निम्ताउनेवाला छ ।

लैङ्गिक समानताको अर्को सूचक हो शक्तिमा पहुँच र नियन्त्रण । यसमा पनि महिला कमजोर छन् । महिलाहरु दैनिक १८ घण्टासम्म काम गर्छन् । घरपरिवार हेर्ने र भान्सा सम्हाल्ने काम महिलामाथि छ । तर, यसलाई काम मानिन्न । पारिश्रमिक पनि दिइदैन । महिलाहरु आर्थिक उपार्जनका काममा कम सहभागी छन् । तथ्यांकअनुसार देशका ४२.९ प्रतिशत महिलाले आर्थिक उपार्जनको काम गर्दैनन् । यस्तो संख्या पुरुषको ३१.६ प्रतिशत छ । आर्थिक उपार्जनका काम गरी हाले पनि धेरै महिलाले परम्परागत काम गरेका पाइन्छन् । जस्तो कि आर्थिक काममा संलग्न महिलामध्ये ५६.९ प्रतिशत महिला कृषि मजदूरीको काम गर्छन् । २६.९ प्रतिशत अन्य पारिश्रमिकका काम गर्छन् । प्राविधिक तह, डाक्टर इन्जीनियरजस्ता विशेषज्ञता भएका काममा महिला संलग्नता असाध्यै कम छ । सेवामूलक र कम आर्थिक उपार्जनका काम गर्दा महिलाको आर्थिक पहुँच कमजोर छ । राजनीतिमा निर्णायक तहमा नहुँदा शक्ति र नियन्त्रण पनि पुरुषको हातमा छ ।

लैङ्गिक असमानता हुनु भनेको महिला, पुरुष र अन्य लिंङ्गी भएकै कारण असमान र भेद्भावपूर्ण व्यवहार हुनु हो । व्यक्तिलाई आफ्नो कस्तो व्यवहारले लैङ्गिक असमानता र हिंसा भएको छ भन्ने ज्ञान नहुनु पनि हो । ज्ञान भएकाले पनि व्यवहारमा ढाल्न प्रतिवद्ध नपारिनु हो । लैङ्गिक असमानताले पुरुषलाई आर्थिक काम गर्नैपर्ने बोझ थपेको छ । महिलामाथि शरिरदेखि स्वतन्त्र बाँच्न पाउने अधिकार खोसेको छ । लैङ्गिक हिंसा थोपरेको छ । कुनै व्यक्ति महिला, पुरुष वा अन्य यौनिक पहिचान भएकै कारण गरिने हिंसा लैङ्गिक हिंसा हो । असमान शक्ति सन्तुलनका कारण लैङ्गिक हिंसा महिलामाथि धेरै छ । समाजमा महिला, पुरुष र अन्य यौनिक पहिचान भएकै नाताले उनीहरुले सम्पादन गर्नुपर्ने भूमिका, जिम्मेवारी, काम, कर्तव्य निर्धारण हुन्छ । यही कारण लैङ्गिक असमानता र हिंसा भइरहेको हो । नेपाल प्रहरीको तथ्याङ्कअनुसार हरेक चार महिलामध्ये एक जनाले कुनै न कुनै लैंगिक हिंसा भोगेका छन् । बालविवाह, बहुविवाह, दाइजो, छाउपडीजस्ता हानीकारक प्रथा र जबर्जस्ती करणी, बेचबिखन, गर्भपतन जस्ता महिलालाई वस्तुका रुपमा प्रयोग गर्न खोज्ने मानसिकता लैङ्गिक हिंसाका कारक तत्व हुन् । गर्भमा छोरी भएको थाहा पाउँदा भ्रुण हत्या गर्ने प्रचलन अझै छ । धर्मका आडमा महिलामाथि गरिने विभेद् उस्तै छ । पितृसत्ताका कारण राजनीति, रोजगार, ज्याला, प्रजनन्, कार्यस्थलमा दिने जिम्मेवारी, बजेट तथा कार्यक्रममा लैङ्गिक विभेद् छ । तिनै विभेद्ले पनि हिंसा जन्मिएको छ । धेरैले रुढीवादी संस्कार मान्दा तर लैङ्गिक संवेदनशीलता नबुझ्दा हिंसा गरेको देखिन्छ ।

स्वस्थ र समतामूलक समाज निर्माण गर्न लैङ्गिक समानता आवश्यक छ । त्यसका लागि लैङ्गिक संवेदनशीलता बुझ्नैपर्ने हुन्छ । समान भन्दैमा सबैलाई उस्तै अवसर र उपयोगिता नहुन सक्छ । त्यसका लागि समतामूलक व्यवहार चाहिन्छ । पुरुष, महिला र यौनिक तथा लैंगिक अल्पसङ्ख्यकका लागि गर्नुपर्ने थुप्रै फरकखाले विषय हुन्छन् । त्यस्ता विषयमा राज्यले संवोधन गरिदिनुपर्छ । फरक लिङ्गीका फरक आवश्यकता बुझ्न र अहिलेसम्मको धारणा फेर्न बोलीदेखि व्यवहार, नीतिदेखि कार्यक्रमसम्म लैङ्गिक संवेदनशीलता चाहिन्छ । लैङ्गिक संवेदनशीलताले मात्रै लैङ्गिकताका आधारमा हुने सबै प्रकारका हिंसा विभेद् कुरीति अन्धविश्वास अपराध बहीष्करण र बन्चितीकरणलाई अन्त्य गर्दै महिला र पुरुषबीच हुने गरेका सबै किसिमका विभेद् र असमानता हटाउन सकिन्छ । बालबालिका, किशोर, वयस्क, वृद्धा महिला र सबै लिङ्गका व्यक्तिलाई बिना भेदभाव सम्मानीत जीवनयापन गर्न सक्षम तुल्याउन सकिन्छ ।

सङ्घीयता कार्यान्वयनसँगै देशमा सात प्रदेश सरकार छन् । तिनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित कम्तीमा सातदेखि १५ मन्त्रालय छन् । त्यस मातहतका महाशाखा र एक दर्जन बढी निर्देशनालय छन् । जिल्ला तहमा विषयगत डिभिजन कार्यालय खोलिएका छन् । तर, जनसंख्यामा करिब ५१ प्रतिशत महिलालाई सम्बोधन गर्न कुनै संरचना छैन । मन्त्रालय, महाशाखा, निर्देशनालय, डिभिजन कार्यालय कतै पनि महिलाको छुट्टै संरचना छैन । प्रदेश संरचना बनाउँदा महिलाको आवश्यकता, मूल्याङ्कन र भूमिका बिर्सिइएको छ । सङ्घीयतामा महिला खोलो तर्यो लौरो बिस्र्यो भनेजस्तै भएको छ । लैङ्गिक समानता, महिला सशक्तीकरण बढाउन लैङ्गिकताका आधारमा हुने हिंसा घटाउन र तिनमा पैरवी गर्न छुट्टै संरचना बन्नुपर्छ । बल्ल लैङ्गिक समानता कायम राख्न र महिला अधिकारको उपलब्धि संस्थागत गर्न सहज हुनेछ ।

राजनीतिक नेतृत्व तहमा लैङ्गिक वा महिला संरचना महिलाका लागि मात्रै हो भन्ने गलत बुझाइ छ । महिला वा अन्य लिङ्गीको अधिकार खोज्नु पुरुषको अधिकार घटाउने हो भन्ने गलत धारणा छ । लैङ्गिक समानता खोज्नु पुरुषलाई असमान व्यवहार गर्नु होइन । पुरुषको अधिकार खोस्नु पनि होइन । बरु पुरुषको स्थानमा महिला र अन्य लिङ्गीलाई पनि पु¥याउनु हो । फरक लिङ्गीका फरक पहिचान, आवश्यकता र समस्या हुन्छन् त्यसलाई बुझ्नु हो । लैङ्गिक संवेदनशीलता सबैले बुझ्न जरुरी छ । लैङ्गिक समानताका लागि महिला मात्रै होइन पुरुष पनि बोल्न र जुट्न आवश्यक छ ।

अमेरिकी चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डल लगानी सम्मेलनमा सहभागी हुने

काठमाडौँ, १९ चैत : अमेरिकी चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डल आगामी वैशाखमा हुने लगानी सम्मेलनमा सहभागी हुने भएको छ । आज अर्थमन्त्री वर्षमान पुनसँग अर्थमन्त्रालयमा भएको भेटघाटका क्रममा नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले सो जानकारी दिनुभएको हो । लगानी सम्मेलन सफल पार्न आफूहरुका तर्फबाट सहयोग हुने उहाँको भनाइ थियो ।भेटमा द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।

अमेरिकी सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकास परियोजना पूर्वनिर्धारित समयमै सम्पन्न गर्नेबारे छलफल भएको छ ।अर्थमन्त्री पुनले लगानी सम्मेलनका लागि राम्रो तयारी भइरहेको जनाउँनुहुँदै लगानीमैत्री वातावरण निर्माणका लागि गरिनुपर्ने कानुनी र प्रक्रियागत सुधारको तयारी भइरहेको जानकारी दिनुभयो । “नेपालमा लगानीको राम्रो वातावरण बनिरहेकाले बढीभन्दा बढी अमेरिकी लगानीकर्ताको सहभागिताका लागि यहाँ र दूतावासबाट सहयोगको अपेक्षा गरेका छौँ,” राजदूत थम्प्सनसँग अर्थमन्त्री पुनले भन्नुभयो ।

नेपालमा लगानी वातावरण सुधारका लागि मुलुकको सार्वभौम साख मूल्याङकन (सोभरेन कन्ट्री रेटिङ) को काम अघि बढेको जानकारी पनि मन्त्री पुनले राजदूत थम्प्सनलाई दिनुभयो । सरकारले अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ गर्ने संस्था फिचमार्फत नेपालको क्रेडिट मूल्याङ्कन लागि प्रक्रिया अघि बढाएको छ । बेलायती सहयोग नियोगअन्तर्गतको ‘फरेन कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिस (एफसिडिओ) ले नेपालको आग्रहमा कन्ट्री रेटिङ गर्दा लाग्ने सेवा शुल्क फिचलाई भुक्तानी गर्ने प्रतिबद्धता जनाएको छ । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले कन्ट्री रेटिङ गर्ने घोषणा गरेको थियो ।

यस्तै, मन्त्री पुनले संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाले सम्पत्ति शुद्धीकरण (मनी लान्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्धनसम्बन्धी विधेयक पारित गरिसकेकाले सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय छाता सङ्गठन ‘फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ) को सम्भावित कालोसूचीमा पर्ने सम्भावना टरेको जानकारी पनि राजदूत थम्प्सनलाई दिनुभयो । सम्पत्ति शुद्धीकरणसम्बन्धी विभिन्न १९ वटा कानुनका व्यवस्था संशोधन गरिएको उक्त विधेयक हाल राष्ट्रपतिमार्फत प्रमाणीकरणको प्रक्रियामा छ ।

उपप्रधानमन्त्री लामिछाने र विश्व बैङ्कका देशीय निर्देशक बीच शिष्टाचार भेट

काठमाडौं, १९ चैत : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र विश्व बैङ्कका देशीय निर्देशक फारिस हदाद जेर्भोसबीच शिष्टाचार भेटघाट भएको छ । आज गृह मन्त्रालयमा भएको भेटमा जेर्भोसले नेपालमा सञ्चालनमा रहेका, निर्माणाधीन अवस्थामा रहेका र परियोजना सम्भाव्यता अध्ययन भइरहेका ठूला जलविद्युत् परियोजनाबाट हुन सक्ने विपद् जोखिमलाई दृष्टिगत गर्दै विस्तृत विपद् जोखिम न्यूनीकरण परियोजना र तिनै तहका सरकारका संस्थागत क्षमता विकासमा सहयोग गर्न इच्छुक रहेको बताउनुभयो ।

उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उहाँले विश्व बैङ्कले सामाजिक संरक्षण, ‘डिजिटलाइजेसन’ तथा विपद् व्यवस्थापन समेतका क्षेत्रमा सहयोग गर्न पाएकाप्रति खुसी अभिव्यक्त गर्नुभयो ।उपप्रधान तथा गृहमन्त्री लामिछानेले विश्व बैङ्कले नेपाललाई भूकम्पपश्चात् पुनःनिर्माण, सामाजिक संरक्षण, विपद् व्यवस्थापनलगायत विभिन्न क्षेत्रमा गर्दै आएको सहयोगका लागि आभार प्रकट गर्नुभयो । उहाँले नेपाल र विश्व बैङ्कबीच हुने सहकार्यलाई सहज एवं प्रभावकारी बनाउन विगतमा भए÷गरेका समझदारीपत्र, सम्झौता, प्रतिबद्धता तथा संवादको पुनरावलोकन गर्दै आगामी दिनमा सबल र प्रभावकारी सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री लामिछानेसँग आजै संयुक्त राष्ट्र सङ्घीय शरणार्थीसम्बन्धी उच्च आयोग (युएनएचसिआर) का देशीय प्रतिनिधि क्यारोलिन स्पान्नथबर्माले पनि शिष्टाचार भेटवार्ता गर्नुभयो ।

उपप्रधानतथा गृहमन्त्री लामिछानेले नेपालको शरणार्थी मामिलालाई व्यवस्थित गर्न युएनएचसिआरले विभिन्न समयमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले शरणार्थी मामिलाका सन्दर्भमा आइपर्ने विभिन्न विषयमा परस्पर समन्वय र सहकार्य गर्न मन्त्रालय सधैँ तयार हुने प्रतिबद्धता गर्नुभयो ।

बर्माले मन्त्री लामिछानेलाई बधाई तथा नयाँ कार्यकालको शुभकामना दिँदै लामो समयदेखि युएनएचसिआर र गृह मन्त्रालयबीच शरणार्थी मामिलाका सम्बन्धमा सौहाद्र्रपूर्ण समन्वय र सहकार्य हुँदै आएकामा खुसी पनि व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा अझ सबल र प्रभावकारी सहकार्य हुने विश्वास प्रकट गर्नुभयो ।

देश र जनताको हितमा काम गर्न मन्त्री बस्नेतको आग्रह

काठमाडौँ, १९ चैत : ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले देश र जनताको हितलाई केन्द्रमा राखेर कर्मचारी प्रशासनले काम गर्नुपर्ने बताउनुभएको छ ।

मन्त्रालयमा आज आयोजित ऊर्जा सचिव गोपालप्रसाद सिग्देलको बिदाइ समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले कर्मचारी स्थायी सरकार भएकाले कर्तव्य, जिम्मेवारी निर्वाह गर्दा देश र जनताको हितलाई केन्द्रमा राख्नुपर्ने बताउनुभयो ।

विषयवस्तुमाथिको ज्ञान, क्रियाशीलता तथा तत्परताले जटिल कामलाई सम्पन्न गर्न सकिने भएकाले त्यसमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । विषयविज्ञताको हिसाबले केही अब्बल सचिवमध्ये सचिव सिग्देलको भूमिका मन्त्रालयमा महत्वपूर्ण रहेको मन्त्री बस्नेतले स्मरण गर्नुभयो ।

विसं २०७९ फागुनमा जलस्रोत तथा सिँचाइ सचिवका रुपमा कार्यभार सम्हाल्नुभएका सिग्देल पछिल्लो तीन महिनादेखि ऊर्जा सचिवको भूमिकामा रहनुभएको थियो । सरकारको पछिल्लो निर्णयअनुसार, उहाँलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवमा सरुवा गरिएको छ ।

सो कार्यक्रममा जलस्रोत तथा सिँचाइ सचिव सुशीलचन्द्र तिवारी र जल तथा ऊर्जा आयोगका सचिव सरिता दुवाडीले नयाँ जिम्मेवारी सफलतापूर्वक कार्यान्वयन गर्न सचिव सिग्देल सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

म्यानमार–चीन सीमाबाट आठ सय बढी ठगीकर्ता पक्राऊ

याङ्गोन, १८ चैत – म्यान्मारस्थित चीनको राजदूतावासले म्यान्मार र चीनको संयुक्त प्रहरी अपरेसनमा इन्टरनेटमा आधारित सीमापार संगठित अपराध (स्क्यामिङ) मा संलग्न आठ सय भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको जानकारी गराएको छ ।

चीन र अन्य देशका नागरिकलाई प्रलोभनमा पारी सीमाक्षेत्रमा बन्धक बनाएर ठगीका काम गर्न बाध्य पारिएको भेटिएको छ । इन्टरनेटमा आधारित यस धन्धाको व्यवसाय अर्बौं डलरको रहेको अनुमान गरिएको छ ।
त्यस्ता प्रकारको अपरेसनहरू गर्न बेइजिङले म्यान्मारको सैनिक सरकारलाई निरन्तर आग्रह गरिरहेको थियो ।

चीन सरकारले आफ्ना म्यानमार समकक्षीलाई म्यान्मारको शान राज्यमा भइरहेका संगठित अपराध र ठगीका बारेमा जानकारी गराएको थियो ।

म्यान्मार प्रहरीले विज्ञप्ति मार्फत सीमापार अपराधमा संलग्न भएको आरोपमा आठ सय जनालाई पक्राउ गरेको र उनीहरुबाट कम्प्युटर, मोबाइल फोन बरामद गरेको उल्लेख गरेको छ । पक्राउ परेकामध्ये तीन सय ५२ जना चिनियाँ नागरिकलाई आइतबार नै चीन पठाइएको छ । पक्राउ परेका अन्य व्यक्तिहरु सबै म्यान्मारका नागरिक हुन् ।

म्यान्मारको सीमाक्षेत्रमा कम्तिमा एक लाख २० हजार मानिसलाई बन्धक बनाएर विभिन्न गैरकानुनी धन्धामा संलग्न गराएको भन्दै गत वर्ष संयुक्त राष्ट्र मानव अधिकार कार्यालयले जानकारी दिएको थियो ।

विद्रोहीहरुको कब्जामा रहेको शान राज्यको लउकाई शहरमा ती मानिसलाई बन्धक बनाएको पाइएको छ । जातीय अल्पसंख्यक सशस्त्र समूहहरूले संगठित अपराध गर्ने ठाउँहरुलाई ध्वस्त बनाउने जानकारी गराएका छन् ।

गत वर्ष मात्र म्यान्मारमा साइबर अपराधमा भाग लिएका शंकास्पद ४० हजार भन्दा बढी व्यक्तिलाई चीन पठाइएको चिनियाँ सरकारी सञ्चार माध्यमहरुले जनाएका छन् ।

पाकिस्तानी पूर्व प्रधानमन्त्री खानको भ्रष्टाचारविरूद्धको आरोप रोक्का

पाकिस्तानको उच्च अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानविरूद्ध भ्रष्टाचारको आरोपमा भएको जेल सजायलाई सोमबार रोकिदिएको छ ।

पूर्व क्रिकेटर ७१ वर्षीय खानले यो बाहेक राजद्रोह र अवैध विवाहसम्बन्धी अन्य दुई मुद्दामा सुनाइएको एक दशक लामो जेल सजाय कायम रहेकोले उहाँ जेलमुक्त भने हुनुहुने छैन ।

खानको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रवक्ता अहमद जान्जुआले इस्लामाबाद उच्च अदालतले पूर्व क्रिकेट स्टारलाई राज्यको उपहार बेचेको आरोपमा सुनाइएको भ्रष्टाचारको आरोपलाई रोकिदिएको पुष्टि गर्नुभयो ।

उहाँका अनुसार जिल्ला अदालतले ‘सीमित वकिलको पहुँच दिएको छ तर प्रतिरक्षा पक्षलाई बहस टुङ्ग्याउन नदिई हतारमा निर्णय लिएको छ ।

पाकिस्तानमा फेब्रुअरीमा भएको आम निर्वाचनको केही दिनअघि खानलाई तीन वटा सजाय सुनाइएको थियो । विश्लेषकहरूले पूर्वप्रधानमन्त्री र उहाँको पार्टी पिटिआईलाई राजनीतिक प्रतिशोधका कारण चुनावमा सहभागी हुनबाट रोक्ने उद्देश्यले मुद्दा परेको बताएका छन् ।

वैदेशिक रोजगार विभागका लेखापाल निरौला विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ, १९ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँमा कार्यरत लेखापाल प्रमोद निरौला विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

लेखापाल निरौलाले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिइ गएको टोलीले निज लेखापाल निरौलालाई सेवाग्राहीबाट रु १५ हजार घुस÷रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त घुस रकमको अनुसन्धानको सिलसिलामा निजले सेवा ग्राहीसँग घुस÷रिसवत माग गरी लिएको पुष्टि भएको हुँदा निज प्रमोद निरौलाको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर भएकाले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु १५ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना हुन माग दाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको हो ।

‘उद्देश्य एउटा काम अर्काे हुँदा सहकारीमा समस्या आयो’ – मन्त्री अधिकारी

पाटन (ललितपुर), १९ चैत ः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले उद्देश्य एउटा काम गर्ने अर्काे हुँदा सहकारीको समस्या आएको बताउनुभएको छ ।राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालद्वारा आयोजित ६७औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सहकारीप्रति वितृष्णा जगाउन हुँदैन भन्नुभयो । “सहकारी अभियानमा जोडिएका लाखाँै शेयर सदस्यलाई निराशा हुन दिदैनौँ । अहिलेको सरकारले न्यूनतम साझा कार्यक्रममा सहकारीको समस्या समाधान गर्ने कुरा ल्याएको छ । हाम्रो विकासको संरचनालाई आधार मान्दा यसैबाट जानुपर्ने देखिन्छ,” मन्त्री अधिकारीले भन्नुभयो ।

कागजी काम धेरै गर्ने तर व्यवहारमा उतार्ने काम नहुँदा सहकारीमा समस्या देखिएका छन् भन्नुहुँदै उहाँले अहिले देखिएका समस्या समाधानका लागि आन्दोलनकारीसंग वार्ता पनि गरिएको बताउनुभयो । “सहकारीभित्र देखिएका समस्या समाधान गर्न टोली बनाएर जानुपर्छ, नयाँ कानुन ल्याउनुपर्छ भन्ने पनि हाम्रो सोच छ । सरकार, सहकारी र समुदाय मिलेर समस्या समाधानमा लाग्नुपर्छ । केके आधार तय गर्नुपर्छ हामी गर्न तयार छौँ । कमजोरी सहकारीका शेयर सदस्यहरुको पनि छ,” उहाँले भन्नुभयो ।

राष्ट्रिय सहकारी महासङ्घका पूर्वअध्यक्ष तथा पूर्वमन्त्री केशवप्रसाद बडालले सहकारीमा अहिले देखिएको समस्याले सहकारी क्षेत्रलाई शुद्धिकरण गर्ने समय भएको जनाउ दिएको बताउनुभयो । “दर्ता गर्दैखेरि लुट्ने ध्येय राखेर दर्ता भएका सहकारी संस्था र सहकारी र कम्पनीको फरक छुट्याउन नसक्ने नेताका कारण समस्या भएको हो । एउटै मान्छेले धेरै ठाउँमा संस्था खोलेको छ, यसमा दोषी सरकार हो । सहकारी सङ्घ, महासङ्घ हैन । सबै संस्था खराब हैनन्,” उहाँले भन्नुभयो ।

महासङ्घका पूर्वअध्यक्ष तथा पूर्वगृहराज्यमन्त्री दीपकप्रकाश बास्कोटाले सहकारीको समस्याको पहिचान गर्दै त्यसलाई समाधान गर्ने बाटो खोज्नुपर्ने र सरकारले त्यसलाई सहजीकरण गरिदिनुपर्छ भन्नेमा जोड दिनुभयो । “सहकारीलाई छुट्टै नियमन गर्नुपर्छ । तालिम केन्द्र कलेजहरुको स्थापनाका साथै विश्वविद्यालयको स्थापना गरिनुपर्छ । सहकारीको विशिष्ट कार्यक्षेत्र सरकारद्वारा निर्धारण गरिनुपर्छ । सहकारीको ब्यानरमा ठगी गर्ने पद्धतिलाई रोक्ने व्यवस्था छैन । ४७ वटा ऐन संशोधन गर्नुपर्छ भनेर महासङ्घले पाँच÷सात वर्ष भइसकेको छ,” उहाँले भन्नुभयो ।

पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय सहकारी महासङ्घका सल्लाहकार खगराज अधिकारीले सहकारी अभियन्ताहरु नै विवादमा पर्दा सहकारीमा समस्या आएको र सहकारी अभियानमा प्रश्न उठेको बताउनुभयो ।

“सहकारीमा आबद्ध भएर शक्ति र सरकारको दुरुपयोग गर्न खोज्नेहरु अभियन्ता हुन सक्दैन । यस्ताहरुसँग सरकारले सम्झौता गर्नु हुँदैन । कानुनको दायरामा रहेर आफ्नो काम गर्नुपर्छ । सहकारीलाई ढुकुटीजस्तो बनाएर पहुँच हुनेले जे गरे पनि हुन्छ भन्ने अवस्था सृजना गर्नु हुँदैन,” उहाँले भन्नुभयो ।

महासङ्घका सल्लाहकार तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले स्थायित्व र सुशासन कायम नभएसम्म जनताले राहत महसुस गर्न नसक्ने जनाउनुहुँदै अहिले ठूलो जिम्मेवारी प्रमुख दलहरुमा रहेको बताउनुभयो । “सहकारीले कहिलेकाहीँ गलत ठाउँमा लगानी गर्दा र समयमा बचत फिर्ता गर्न नसक्दा बचतकर्तामा निराशा छाउन सक्छ । सहकारीलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर सोच्नुपर्छ,” उहाँले भन्नुभयो ।

महासङ्घका सल्लाहकार तथा पूर्वमन्त्री लीलामणि पोखरेलले आर्थिक, सामाजिक क्षेत्रमा योगदान दिँदै मुलुकलाई समृद्धितिर लैजाने माध्यम सहकारी भएको बताउनुभयो । “सामूहिक उन्नयन सहकारीको उद्देश्य हो, अहिले सहकारी अभियन्ताहरु यो उद्देश्यबाट विचलित भएको कारण जनतामा सहकारीप्रति नकारात्मक भाष्य सृजना भएको छ । हामीले स्वअनुसाशनको कुरा गर्दा जनताको सम्पत्तिको सुरक्षा गर्ने दायित्व राज्यको हो भन्ने कुरा बुझेनौँ,” उहाँले भन्नुभयो ।

राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडीले संविधानमा उल्लेख भएका कुरालाई कसैले पनि विभेद गर्न नपाइने बताउनुहुँदै १६औँ आवधिक योजनाभित्र सहकारीको भूमिकालाई कमजोर बनाइनु नहुने धारणा राख्नुभयो । उहाँले सहकारीस्तरबाट सहकारी कर्जा असुली न्यायाधीकरण गठन गरी कर्जा सूचना केन्द्र र कालोसूचीको व्यवस्था गर्नु जरुरी रहेको बताउनुभयो ।

सगरमाथा आरोहणका लागि हालसम्म ६३ आरोहीले लिए अनुमति

काठमाडौँ, १९ चैत : वसन्त ऋतुको याममा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न ६३ आरोहीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आजसम्म पाँच समूहका १३ महिला र ५० पुरुष गरी ६३ आरोहीले अनुमति लिएका हुन् ।

विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत चुनबहादुर तामाङले सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि १७ आरोही समूहका ४२ महिला र एक सय ६ पुरुष गरी कूल एक सय ४८ ले आरोहण अनुमति लिएको जानकारी दिनुभयो । हिमाल आरोहणको अनुमति बापत् हालसम्म रु १० करोड ५५ लाख ९१ हजार राजस्व सङ्कलन भएको छ । सगरमाथापछि सबैभन्दा बढी आमादब्लम र अन्नपूर्ण हिमालमा समान तीन आरोही समूहले अनुमति लिएको विभागले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो याममा सगरमाथासहितका हिमाल आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरिएको विभागले जनाएको छ । वसन्त ऋतुमा सबैभन्दा बढी आरोही सगरमाथा आरोहणका लागि आउने गर्छन् । विभागका अनुसार अघिल्लो वर्षको वसन्त ऋतुमा चार सय ७८ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए । यो वर्ष सोही संख्याको हाराहारीमा आरोही आउने विभागको अनुमान छ ।

वैद्यनाथ खोलाको पुल उद्घाटन गर्दै मुख्यमन्त्रीले भने – यो आँगनको सरकार हो

कटारी (उदयपुर), १९ चैत : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज उदयपुरको कटारी नगरपालिका–६ र ७ जोड्ने वैद्यनाथ खोलामा निर्माण भएको पक्की पुल उद्घाटन गर्नुभएको छ । पुलको उद्घाटन गर्दै उहाँले प्रदेश सरकारले पूर्वाधार विकास तथा निर्माणका क्षेत्रमा काम गरिरहेको भन्दै यो आँगनको सरकार रहेको बताउनुभयो ।

यस पुलले धेरैलाई प्रदेशको राजधानी विराटनगर र काठमाडौँसँग जोडेको जनाउँदै मुख्यमन्त्री कार्कीले प्रदेशले भौतिकसँगै मानवीय विकासमा जोड दिएको बताउनुभयो । “सडक स्तरोन्नतिसँगै नागरिकको भविष्य उज्वल बनाउने मानवीय विकासतर्फ सरकार लागेको छ”, उहाँले भन्नुभयो, “बालबालिकाको पढाइ, स्वास्थ्य तथा सीप विकासको जिम्मा प्रदेश सरकारले लिन्छ ।”

पूर्वाधार विकास कार्यालय उदयपुरको आयोजनामा आज भएको उद्घाटन कार्यक्रममा प्रदेशका भौतिक विकासमन्त्री कमलप्रसाद जवेगुले सहर केन्द्रित विकासभन्दा पहाड केन्द्रित विकासमा प्रदेश सरकार लागेको बताउनुभयो । उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले पुल निर्माण सम्पन्न भएसँगै स्थानीयलाई आवागमनमा सहज हुने बताउनुभयो ।

प्रदेश सरकारको पहलमा कटारी अस्पताललाई ५० शय्याको अस्पतालको रुपमा विकास गरिने मन्त्री खत्रीले बताउनुभयो । केही समयअघि अस्पताललाई ५० शय्यामा विस्तार गर्नका लागि अर्थमन्त्रालयमा सिफारिस गरिएको उहाँले जानकारी दिनुभयो । मन्त्रालयले पनि स्वीकृति प्रदान गरिसकेको उहाँको भनाइ छ ।

कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले यस पुलले कटारी–६ र ७ सँगै पहाडी ताप्ली, उदयपुरगढी, लिम्चुङवुङ गाउँपालिकाका स्थानीयलाई सहज भएको बताउनुभयो । कटारी–७ का वडाध्यक्ष सुविन ढुङ्गानाले पुल निर्माण भएपछि यहाँका किसानले उत्पादन गरेका कृषि सामग्री बजार पु¥याउन सहज हुने बताउनुभयो ।

प्रदेश सरकारअन्तर्गत सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमार्पmत रु १४ करोड ९४ लाख ७३ हजार एक सयको लागतमा पुल निर्माण भएको हो । दुई वर्षभित्रमा निर्माण सक्नेगरी पुलको केएम इञ्जीनीयर्स विल्डर्स प्राली काठमाडौँले ठेक्का पाएको थियो । दुई वर्षमा निर्माण गरिसक्ने सम्झौता गरिएको पुल १५ महिनामै सम्पन्न भएको हो । ८४ दशमलव ४० मिटरको पुल दुई स्पामको बनेको छ ।

किन बढ्दैछ निःसन्तानको समस्या ?

दमक (झापा), १९ चैत : बाँझोपना अर्थात् निःसन्तानको समस्या पछिल्लो समय बढिरहेको यसका विज्ञ चिकित्सक तथा जानकारहरुले औँल्याएका छन् । जीवनशैलीमा आएको परिवर्तन, विवाह ढिलो गर्नु, वैदेशिक रोजगारका कारण दम्पतीबीच पर्याप्त सम्भोगको अभाव र कतिपय दम्पत्तीको स्वास्थ्यका कारण निःसन्तानको समस्या देखिएको चिकित्सकहरुको भनाइ छ ।

दमकमा विगत १६ वर्षदेखि महिलाको प्रसूति सेवा दिँदै आएको ॐ मेची अस्पतालका स्त्रीरोग विशेषज्ञ डा शङ्करप्रसाद हुजदार निःसन्तान हुने समस्या बढेको बताउनुहुन्छ । उहाँका अनुसार सरदर १० देखि १४ प्रतिशत जोडीमा निःसन्तानको समस्या देखिने गरेको छ । तीमध्ये करिब सात प्रतिशतमा भने निःसन्तानको समस्या अर्थात् बाँझोपनाका कारण नै पत्ता लाग्न नसकिरहेको पनि हुजदारले सुनाउनुभयो ।

उहाँले स्वास्थ्यका दृष्टिकोणबाट सबै ठिकठाक हुँदाहुँदै पनि सन्तान नहुने समस्या देखिएको र त्यसका कारण यही नै हो भन्ने यकीन अझै नहुन नसकेको बताउनुहुन्छ । यो अलि अप्ठ्यारो विषय पनि भएको बताउँदै उहाँले भन्नुभयो, “दम्पतीमा निःसन्तान हुने समस्या नेपाली समाजमा बढेको छ, यसमा हाम्रो ध्यान पुग्न सकेको छैन ।” ॐ मेची अस्पताल प्रसूति सेवामात्र उपलब्ध गराउँदै आएको जिल्लाकै एक पुरानो स्वास्थ्य संस्था हो । सो अस्पतालमा डा हुजदारसहित अर्का स्त्रीरोग विशेषज्ञ डा निरञ्जनसिंह बोगटीसहितका आधा दर्जन चिकित्सकको टोली संलग्न छ । सो अस्पतालले मासिक पाँच सय सङ्ख्यामा प्रसूति सेवा दिँदै आएको अस्पतालका अध्यक्षसमेत रहनुभएका डा बोगटी बताउनुहुन्छ । उहाँका अनुसार परीक्षणमा आएका करिब १५ प्रतिशत जतिमा दम्पतीमा बाँझोपनाको समस्या देखिएको छ ।

जीवनशैलीमा आएको परिवर्तन, पत्रुखानाको सेवन, मदिरापान, सुर्तिजन्य पदार्थको सेवन र असुुरक्षित यौनसम्पर्कका कारण पनि महिला तथा पुरुषमा बाँझोपनाको समस्या देखिएको बताउनुभयो । किशोर अवस्थामै प्रेमीप्रेमिकाबीच असुरक्षित यौनसम्पर्कका कारण पटकपटक गर्भ तुहाउने, यौन रोगलगायतका स्वास्थ्य समस्याले पनि बाँझोपना देखिएको उहाँको भनाइ छ । उहाँले सन्तान जन्माउने उमेरमा बिहे नगर्ने चलन बढ्दै जानु र उमेर ढल्किँदा बिहे गर्ने कारणले पनि दम्पतीबीच बाँझोपनाले निःसन्तानको समस्या आएको हुनसक्ने बताउनुभयो ।

निःसन्तानको समस्या न्यूनीकरण गर्न बाँझोपनाको समस्या झेल्दै आएका अभिभावकले स्वास्थ्य उपचारमा जोड दिनुपर्ने उहाँ बताउनुहुन्छ । निःसन्तान हुन कसैको दोष नभएर आफ्नै समस्याका कारण यस्तो समस्या हँुदै आएको भए पनि अब भने निःसन्तान हुनु नपर्ने तथा स्वास्थ्य उपचारका वैकल्पिक उपाय अवलम्बन गर्न सकिने उहाँको भनाइ छ ।

नागरिकमा आशा जगाउने सरकारको उद्देश्य हो : मन्त्री भण्डारी

काठमाडौँ, १९ चैतः उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निराशालाई चिर्दै नागरिकमा आशा जगाउने सरकारको उद्देश्य भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री भण्डारीले भन्नुभयो, “यो कानुन आजको आवश्यकता हो । समय सान्दर्भिक पनि छ । उद्यमशितालाई प्राथमिकता दिँदै कारोबारलाई विश्वसनीय बनाउन, व्यवसायको वर्गीकरण गर्ने विषयमा सांसदहरुले दिनुभएको साझा मतलाई आत्मसाथ गरिनेछ ।”

युवालाई नयाँ व्यवसायमा प्रोत्साहित गर्ने मत सकारात्मक भएको उल्लेख गर्दै मन्त्री भण्डारीले नवप्रवर्तनसम्बन्धी नीति सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । नियमन गर्ने सन्दर्भमा नियन्त्रण हुन्छ कि भन्ने सुझावप्रति पनि ध्यानकर्षण भएको उहाँको भनाइ थियो ।

मन्त्री भण्डारीले सदनमा उठेका सुझावप्रति धन्यवाद दिदै उहाँले अब संसदीय समितिमा दफावार छलफल गरी विधेयकलाई समृद्ध बनाइने बताउनुभयो । राष्ट्रिय सभामा उत्पत्ति भएको उक्त उक्त प्रस्ताव प्रतिनिधि सभाको बैठकले बहुमतले स्वीकृत गरेको छ ।

प्रस्तावमाथिको छलफलमा सांसदहरु प्रदीप पौडेल, रघुजी पन्त, शिशिर खनाल, महेन्द्रबहादुर शाही, सोविता गौतम, रञ्जुकमारी झा, डा स्वर्णीम वाग्ले, चन्दा कार्की, राजेन्द्रकुमार केसी, विद्या भट्टराई, गणेश पराजुली, मेटमणि चौधरी, ज्ञानु बस्नेत सुवेदी, निशा डाँगी, शेरबहादुर कुँवर, अशोककुमार चौधरी, नारायणी शर्माले आफ्नो धारणा राख्नुभयो ।

साथै सांसदहरु असिम शाह, दिलेन्द्रप्रसाद बडु, मनिष झा, सरिता भुसाल, माधव सापकोटा, किरणकुमार साह, रमा कोइराला, प्रेम सुवाल, दुर्गा राई, लालप्रसाद सावा लिम्बु, नागिना यादव, बासुदेव घिमिरे, दामोदर पौडेल वैरागी, रामप्रकाश चौधरी, प्रतिमा गौतम, विमला सुवेदी, नारायणप्रसाद आचार्य, अमृतलाल राजवंशी, हितराज पाण्डेले पनि भनाइ व्यक्त गर्नुभएको थियो ।

बैठकमा आजै सभामुख देवराज घिमिरेले संसदको संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाई समितिमा पदम गिरीको स्थानमा सुनिता बरालको नाम हेरफेर गर्न सभाको सहमतिका लागि प्रस्ताव गर्नुभएको थियो । उक्त प्रस्तावमा बैठकले सहमति जनाएको थियो । बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु भएको थियोे । प्रतिनिधिसभाको अर्काे बैठक भोलि चैत २० गते विहान ११ बजे बस्नेछ ।

मधेस प्रदेश सरकारले सञ्चारमैत्री कार्ययोजना बनाउँदै

जनकपुरधाम, १९ चैतः मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले आमसञ्चार माध्यमको विकासका लागि कार्यायोजनाका साथ काम गर्ने बताउनुभएको छ । जनकपुरधाममा आज सञ्चारकर्मीसँग छलफल गर्दै मन्त्री लेखीले प्रदेश सरकार सञ्चारमाध्यम तथा सञ्चारकर्मीमैत्री नभएको गुनासो अन्त्य गर्न तत्काल कार्ययोजना बनाइ काम गर्ने बताउनुभयो ।

“हिजोका दिनमा के भयो र कसले के गरे, के गरेनन् भन्नेतर्फ म जान चाहन्न तर म नेतृत्वमा आएपछि सञ्चारकर्मी र सञ्चारसम्बद्ध संस्थाबारे गम्भीर छु । विभिन्न तहमा छलफल सुरु गरेको छु”, मन्त्री लेखीले भन्नुभयो, “सञ्चारजगत्लाई मर्यादित र सम्मानित बनाउन आजैका मितिदेखि काम गर्छु । मन्त्रालयका अधिकारीसँग बसेर कार्ययोजना बनाउने मेरो योजना छ । त्यसमा तपाईंहरूबाट पनि सल्लाह, सुझाव लिनेछु ।”

मन्त्री लेखीले लोककल्याणकारी विज्ञापन, सञ्चारकर्मीको पेसागत तथा भौतिक सुरक्षाका लागि समन्वय, सूचनामा सहज पहुँचका लागि ‘सूचना डेस्क’, र मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने परिपाटी बसाउन पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा सञ्चारकर्मीले सङ्घीयता ल्याउन भएका आन्दोलन र परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका स्थानीय सञ्चारमाध्यमलाई प्रदेश सरकारले उपेक्षा गरेको गुनासो गरेका थिए । प्रदेश सरकारका निकायले सूचना लुकाउने, मन्त्रिपरिषद्कै निर्णय सार्वजनिक नगर्ने, मिडियालाई कमजोर बनाउने, स्थानीय मिडियालाई प्रवद्र्धन गर्ने ठोस् योजना नल्याउने र लोककल्याणकारी समानुपातिक विज्ञापनलाई व्यवस्थित बनाउनमा ध्यान नदिनेजस्ता कारणले समस्या भएको सञ्चारकर्मीको गुनासो थियो ।

त्यस क्रममा नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष राजेश कर्णले प्रदेश सरकार सञ्चारमाध्यम र सञ्चारकर्मीमैत्री नभएको बताउनुभयो । “गएको एक वर्षमा मात्रै १३ जना पत्रकारमाथि आक्रमण, धम्की र कुटपिट भएका छन् । विज्ञापन र अन्य स्रोतको अभावमा मिडिया हाउस बन्द हुने र पत्रकारहरू बेरोजगार बन्ने अवस्था आइसकेको छ ।”, अध्यक्ष कर्णले भन्नुभयो, “धेरै साथी समस्यामा छन् । केही गम्भीर रोगसँग लड्दैछन् । केहीले उपचार अभावमा ज्यान गुमाइसके तर सरकारले समस्या समाधानको ठोस नीति लागू गरेको छैन । विगतमा स्वास्थ्य बीमा, पत्रकारको उपचारका लागि रु ५० हजार दिने घोषणा कार्यान्वयन भएन ।”

पत्रकार महासङ्घ धनुषाका अध्यक्ष मनिका झा, पत्रकारहरू श्यामसुन्दर शशी, शैलेन्द्र महतो क्रान्ति, टीकाराम सुनार, धर्वेन्द्र झा, श्रीनारायण साहलगायतले प्रदेश सरकारलाई मिडियामैत्री बनाउन नयाँ भूमिकामा आएका मन्त्री लेखीले समन्वयकारी भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई छिट्टै निष्कर्षमा पुर्याइने छ : मन्त्री गिरी

काठमाडौँ, १९ चैत : कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई छिट्टै निष्कर्षमा पु¥याउनका लागि अध्ययन गरिराखेको बताउनुभएको छ ।जवाफदेहिता निगरानी समितिका संयोजक राजुप्रसाद चापागाईंसहित विभिन्न सङ्घसंस्थाका तर्फबाट बुझाएको मागपत्र ग्रहण गर्दै उहाँले सर्वोच्च अदालतको फैसला, पीडितको भावना, अन्तर्राष्ट्रिय सन्धि सम्झौता सबैलाई मान्य हुने गरी सङ्क्रमणकालीन ऐन संशोधन गर्ने र यसका लागि सबैसँग छलफल र सम्वादबाट नै निष्कर्ष निकालिने जानकारी दिनुभयो ।

मागपत्रमा सिफारिस समितिको गठन तथा पदाधिकारी छनौट प्रक्रियाको सवालमा संशोधनको प्रस्ताव समेटिएको विधेयक अहिले प्रतिनिधिसभामा विचाराधीन रहेको भन्नेलगायत विधेयकको विद्यमान हैसियतका बारेमा जानकारी गराउने रहेको छ ।

सर्वोच्च अदालतकै पूर्ण इजलासले सुमन अधिकारीको मुद्दामा गरेको आदेशले निर्दिष्ट गरे अनुरुप कानुन संशोधनको उद्देश्यले सरकारले संसद्मा दर्ता गराएको विचाराधीन संशोधन विधेयक संसद्बाट टुङ्गो लागे पश्चात् अविलम्ब आयोगका पदाधिकारी छनौटको प्रक्रिया प्रारम्भ गर्न सरकार तयार रहेको जानकारी गराउने भन्ने रहेको छ ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन पश्चात मात्रै आयुक्त नियुक्ति प्रक्रिया थाल्न तथा द्वन्द्वकालीन उल्लङ्घनको छानबिन आयुक्तको मातहतमा मात्रै हुने गरी प्रबन्ध गर्न मागपत्रमा आग्रह गरिएको छ ।

मागपत्रमा संशोधनका विषयमा संसद्भित्र र बाहिरका सबै सरोकारवालाको चिन्ता र सरोकारलाई यथासक्य सम्बोधन गरी संसद्बाट विधेयक पारित गरी सङ्क्रमणकालीन न्याय प्रक्रियालाई गति दिनका लागि सहजीकरण गर्ने कुरालाई सरकारले उच्च प्राथमिकतामा राखेको बारेमा जानकारी गराउने उल्लेख गरिएको छ ।
कर्मचारीको तहबाट प्रारम्भिक छानबिन गर्न पाउने गरी ‘आवश्यक र उपयुक्त प्रबन्ध’ सुनिश्चित गर्नका लागि ऐन संशोधन लगायतका विकल्पका बारेमा सरकारले सरोकारवालाहरूसँग परामर्श थाली सकेको र परामर्शको निचोडको आधारमा ठोस धारणा बनाएर अगाडि बढ्ने कुरालाई प्राथमिकतामा राखेको बारेमा जानकारी माग पत्रका उल्लेख छ ।

“विगतमा जे कारणले सङ्क्रमणकालीन न्याय प्रक्रिया ‘डिरेल’ भएको थियो त्यही अवस्था फेरी दोहो¥याउनु बिडम्वनापूर्ण हुन जान्छ”, निगरानी समितिका संयोजक चापागाईंले भन्नुभयो, “क्रमशः वैधता आर्जन गर्दै गएको संसद्मा विचाराधीन संशोधन विधेयकलाई परिमार्जन गरी टुङ्गोमा पु¥याउने कुराले मात्रै समुच्च न्यायिक नजिर तथा सिद्धान्तहरूको पालनालाई मार्ग प्रशस्त गर्दछ, यस कुरालाई हेक्का राख्न जरुरी छ ।” आज महान्यायाधिवक्ता डा दिनमणि पोखरेल र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणिन्द्र गौतमलाई भेटेर उक्त टोलीले माग पत्र बुझाएको छ ।

पर्सामा सवारी साधनको जरिवानाबाट डेढ करोड राजस्व उठ्यो

वीरगञ्ज (पर्सा), १९ चैत : जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा सवारी साधनको जरिवाना वापत रु डेढ करोडभन्दा धेरै राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले साउनदेखि फागुन मसान्तसम्मको अवधिमा ट्राफिक नियम उल्लङ्घन गरेका १५ हजार पाँच सय ९१ सवारीसाधनबाट सो राजस्व सङ्कलन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भाष्कर खतिवडाले आठ महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनबाट एक करोड ५७ लाख ६९ हजार छ सय छ रकम राजस्व सङ्कलन गरेको बताउनुभयो ।

‘‘गत आवको तुलनामा चालु आवको आठ महिनामा जरिवानावापतको राजस्वको रकम केही घटेको छ’’, उहाँले भन्नुभयो, ‘‘अहिले नयाँ टिभिआरएस सिस्टम लागू गरेका छौँ । विगतमा अधिकतम जरिवानाबाट सुरुवात गर्ने गरिन्थ्यो । तर,अहिले न्यूनतमबाट जरिवाना गर्दा केही राजस्व घटेको हो ।’’ ट्राफिक प्रहरीले जनचेतनाको कार्यक्रमलाई तीव्रता दिँदा पनि ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकको सङ्ख्यामा केही कमी आएको उहाँको भनाइ छ ।

कार्यालयका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने ट्रकको सङ्ख्या छ हजार चार सय २५ रहेको छ । ट्रकबाट रु ८८ लाख १९ हजार दुई राजस्व सङ्कलन भएको छ । कार्यालयले ट्राफिक नियम उल्लङ्घन गर्ने एक सय ३२ बस कारबाहीमा परेका छन् । कारबाहीमा पर्ने बसबाट रु एक लाख ३० हजार पाँच सय राजस्व सङ्कलन भएको छ । त्यस्तै गरी ट्राफिक नियम उल्लङ्घन गर्ने कार÷जीप÷भ्यानको संख्या एक हजार तीन सय २४ जना रहेको छ ।

ती सवारीसाधनबाट रु १२ लाख दुई हजार पाँच सय पाँच रकम राजस्व सङ्कलन भएको छ । त्यस्तै गरी ट्राफिक नियम उल्लङ्घन गर्ने दुई पाङग्रे सवारीसाधनको सङ्ख्या सात हजार १२ रहेको छ । ती सवारीसाधनबाट ४९ लाख ८० हजार ५९ रकम राजस्व सङ्कलन भएको छ । कार्यालयले गत आव भरिमा भने ट्राफिक नियम उल्लङ्घन गर्ने ३५ हजार पाँच सय ३४ सवारीसाधनलाई कारबाही गरेर रु तीन करोड ४२ लाख ६५ हजार रकम राजस्व सङ्कलन गरेको थियो ।

शिक्षा, स्वास्थ्य र रोजगार जनताका अधिकार : अध्यक्ष लिङ्देन

विराटनगर, १९ चैत स् राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्दनेले शिक्षा, स्वास्थ्य र रोजगार जनताका अधिकार बन्नुपर्ने बताउनुभएको छ । राप्रपा मोरङद्वारा आज विराटनगरको महेन्द्र चोकमा आयोजित ‘जनजागरण सभा’ लाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष लिङ्देनले अवस्था बदल्न, व्यवस्था बदल्नका लागि सरकारलाई ४० बुँदे मागपत्र बुझाएको स्मरण गराउँदै देशमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बन्नुपर्ने धारणा राख्नुभयो । उहाँले मुलुकको अर्थव्यवस्थालाई बलियो बनाउन सङ्घीयता खारेज गरी केन्द्रीय र स्थानीय तहको राज्य संरचना हुनुपर्ने भन्दै राष्ट्रिय एकतालाई बलियो बनाउन नेपालमा हिन्दू राष्ट्र कायम हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले राष्ट्रको अभिभावकको रुपमा राजालाई स्थापित गर्न र व्यवस्था बदल्न राप्रपासँग नयाँ सम्झौता गर्नुपर्ने भन्दै अटेर गर्ने र देश र जनतालाई बन्धक बनाउने कार्य राप्रपाका लागि सह्य नहुने विचार राख्नुभयो ।

उहाँले अन्य दलले निर्वाचनको सन्दर्भमा मिसन ८४ भनिरहेको अवस्थामा राप्रपा मिसन ८१ मै राज्य शक्तिलाई घुँडा टेकाउन आगामी चैत २७ गते काठमाडौँमा विशाल सभा गर्न लागेको जानकारी गराउँदै अहिले सत्ता साझेदारी र सत्ता स्वार्थका निम्ति देश बन्धक बनेको छ भन्नुुभयो ।
राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले देश बनाउन राजा र राजनीतिक दल मिल्नुपर्ने बिपी विचारमा सबै राजनीतिक दल हिँड्नुपर्ने सुझाव दिँदै राजनीतिक दलका राष्ट्रिय हितका नीतिगत एजेण्डा लागू गराउन इमान्दार बन्नुपर्ने कुरामा जोड दिनुभयो ।

राप्रपाका महामन्त्री प्रल्हादप्रसाद साहले सरकारका गलत नीतिले मुलुकको उद्योगधन्दा धराशायी भएको चर्चा गर्दै युवालाई स्वदेशमै रोजगार दिन र अर्थतन्त्रलाई सबल बनाउन उद्योग स्थापना हुनुपर्ने धारणा राख्नुभयो । राप्रपाका प्रवक्ता भक्तिप्रसाद सिटौलाले नेपालमा बहु दल आएको ३५ वर्ष नाघिसक्दा पनि नेताहरुमा बहुदलीय चरित्र र अभ्यास नदेखिएकाले नेपाली जनता समस्यामा पर्दै गएको बताउनुभयो ।

राप्रपा मोरङका अध्यक्ष गोपाल कटुवालको अध्यक्षतामा भएको सो कार्यक्रममा दीपा पोखरेलले पनि बोल्नुभएको थियो । यसअघि आजै अध्यक्ष लिङ्देनले पार्टी सत्ताकेन्द्रित गतिविधिमा नलाग्ने बताउनुभएको थियो ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले पार्टीले प्रदेश या संघीयको सरकार निर्माण गर्ने या भत्काउने कुनै पनि खालको चलखेलमा पार्टी सामेल नहुने नीति रहको स्पष्ट पार्नुभयो ।

कथाकार विमल र रङ्गकर्मी शर्मालाई पुरस्कृत गरिने

काठमाडौँ, १९ चैत : रामगीता वाङ्मय मन्दिर नेपाल–अमेरिकाले दुई स्रष्टालाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

वाङ्मय मन्दिर स्थापनाको पहिलो वर्षको अवसरमा २०८० सालको ‘प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कार’ कथाकार राजेन्द्र विमल र ‘अशेष मल्ल–सावित्री रङ्गकर्म पुरस्कार’ वरिष्ठ रङ्गकर्मी हरिहर शर्मालाई प्रदान गर्ने निर्णय गरिएको हो । ‘प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कार’ कथाकार विमलको कथासङ्ग्रह ‘सरबरिया टोल’लाई प्रदान गर्ने निर्णय भएको रामगीता वाङ्मय मन्दिरकी अध्यक्ष गीता खत्रीले जानकारी दिनुभयो । विभिन्न स्रष्टाका नौ कृतिमध्ये उत्कृष्ट उक्त कथासङ्ग्रहमा कथाकार विमलले अनेकन द्वन्द्वले विखण्डित तुल्याउँदै लगेको नेपाली समाजलाई जोड्ने र अन्यायमा पारिएका नागरिकसम्म न्यायको उज्यालो पु¥याउन खोज्नुभएको छ ।

उक्त पुरस्कारका लागि विक्रमभक्त जोशीको ‘चोभार ब्लुज’, चन्द्र गुरुङको ‘जब एउटा मान्छे हराउँछ’, मनोज थारुको ‘टुवरा’, इल्या भट्टराईको ‘मिसर’, हरिबोल काफ्लेको ‘यशोधरा’, युवराज नयाँघरेको ‘याकजी’, राजेन्द्र तारकिणीको ‘बिगनरामको मादल’ र अशोक थापाको ‘सन्तापको धून’ मनोनयनमा परेका थिए ।

यसैगरी, २०८० सालको ‘अशेष मल्ल–सावित्री रङ्गकर्म पुरस्कार’ नेपाली रङ्गमञ्च र समग्र नाट्य क्षेत्रको विकासमा अग्रणी भूमिका खेल्नुहुने वरिष्ठ रङ्गकर्मी तथा कलाकार शर्मालाई प्रदान गर्ने निर्णय गरिएको छ । दुवै स्रष्टालाई प्रदान गरिने पुरस्कारको राशि रु ५० हजार रहेको छ ।

हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल

पर्वत, १९ चैत : पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाउनुभएको छ । दक्षिणी पर्वतको बिहादी गाउँपालिका–४ वहाकीकी ५० वर्षीया खगिसरा भुसालले एसइई परीक्षामा सहभागी भएर उक्त उदाहरण प्रमाणित गरेर देखाउनुभएको हो । उहाँले दुई छोरा र एक छोरी जन्माएर, हुर्काएर विवाहसमेत  गराइसक्नुभएको छ । बूढेसकालमा सुख सयलका साथ जीवन बिताउने बेला भए पनि सानो उमेरमा पढाइ पूरा गर्न नपाएको धोको भुसालले हजुरआमा बनेपछि पूरा गर्नतर्फ लाग्नुभएको छ । 

भुसाल स्थानीय वहाकी उच्च मावि परीक्षा केन्द्रबाट एसइई परीक्षामा सहभागी हुनुभएको छ । विसं २०४६ मा उहाँको विवाह भयो । कक्षा ९ को वार्षिक परीक्षा दिने बेला हुँदै थियो । त्यही बेला उहाँ सुन्त्केरी भएर छोरा जन्माउनुभयो । सुत्केरी भएपछि परीक्षा दिन त पाउनुभएन नै भुसालको त्यसपछिको पढाइसमेत रोकियो । पढाइ छाडेको ३२ वर्षपछि अघिल्लो वर्ष उहाँ गाउँकै लक्ष्मीभवन माविमा कक्षा ९ मा भर्ना हुनुभयो । कक्षा ९ उत्तीर्ण गरेर नियमित कक्षा १० अध्ययन पूरा गरेपछि अहिले भुसाल एसइईमा सहभागी हुनुभएको हो । 

पढ्नै पर्छ भन्ने कुनै बाध्यता नभए पनि आफूले थप शिक्षित बन्नका लागि ३२ वर्षपछि पुनः विद्यालय पढ्न थालेको परीक्षार्थी भुसालले बताउनुभयो । उहाँले कक्षा ८ सम्म बिहादी गाउँपालिका–५ उरामको चन्द्र माविमा अध्ययन गर्नुभएको थियो । पाको उमेरमा भर्खरका केटाकेटीसँग बसेर अध्ययन गर्दा पनि आफूलाई असहज महसुस नभएको उहाँको भनाइ छ ।  

भुसालका छोरा र छोरीबाट तीन नातीनातीनासमेत छन् ।  “छोराबुहारीको कमाइबाट सुखसयलमा बसेको भए पनि हुन्थ्यो, तर सानैमा धेरै पढ्न नपाएकोमा पछुतो लागिरहेकाले पुनः पढ्न थालेकी छु”, उहाँले भन्नुभयो, “एसइईपछि पनि कक्षा ११ र १२ अध्ययन गर्ने योजना छ ।” 

भुसाल बिहादी गाउँपालिकाकी पूर्वजनप्रतिनिधि हुनुहुन्छ । उहाँ पहिलो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर गाउँ कार्यपालिका सदस्य बन्नुभएको थियो । भुसालले अहिले सक्रिय राजनीति गर्दै आउनुभएको छ । उहाँ नेपाली कांग्रेस बिहादी गाउँ कार्यसमितिको सदस्य तथा नेपाल महिला सङ्घ बिहादीको कोषाध्यक्षसमेत रहनुभएको छ । 

भुसालले १७ वर्ष महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा पनि काम गरिसक्नुभएको छ । कार्यपालिका सदस्यमा विजयी भएपछि उहाँले स्वयंसेविका छाड्नुभएको हो । उहाँले २०४८ सालबाटै नेपाल विद्यार्थी सङ्घको जिल्ला सदस्य भएर राजनीति गर्दै आउनुभएको हो ।  

“राजनीति होस् वा अन्य क्षेत्रमा पढाइको ज्ञानसँगै प्रमाणपत्रसमेत आवश्यक पर्ने भएकाले पनि मलाई विद्यालय जान रहर जागेको हो”, उहाँले भन्नुभयो । घरमा छोराछोरीको जिम्मेवारी पूरा गरेपछि पढ्न सहज भएको उहाँले बताउनुभयो । भुसालका श्रीमान् तिलक भुसाल नेपाली कांग्रेका नेता हुनुहुन्छ । उहाँ नेपाली कांग्रेस पर्वतको सहसचिव तथा सङ्गठन विभाग प्रमुख रहनुभएको छ । 

“सानै उमेरमा विवाह भएपछि पढाइ रोकिएको थियो, अहिले पुनः विद्यालय गएर पढ्न थालेकी छिन”, श्रीमान् तिलकले भन्नुभयो, “उनको इच्छाअनुसार जहिलेसम्म पढ्छिन, त्यति बेलासम्म पढ्ने वातावरण मिलाउँछु ।” श्रीमतीको पठनपाठन प्रभावित नहोस् भनेर आफूले घरायसी काममा सहजीकरण गरिदिने गरेको तिलकले बताउनुभयो । 

शिक्षा विकास तथा समन्वय एकाइ पर्वतले पर्वतमा एसइई दिने दुई हजार २८ विद्यार्थीमध्ये खगिसरा भुसाल सबैभन्दा पाको उमेरको विद्यार्थी रहेको जनाएको छ । कार्यालय प्रमुख उद्धिमराज पौडेलले भुसाल ५० वर्ष नाघेको विद्यार्थी रहेको भन्दै उहाँ जिल्लामै सबैभन्दा बढी उमेरको विद्यार्थी भएको बताउनुभयो । पर्वतकै पैंयु गाउँपालिकास्थित जनसेवा संस्कृत माविबाट १२ वर्षका शक्ति अधिकारीले पनि एसइई परीक्षा दिनुभएको छ । अधिकारी जिल्लाकै सबैभन्दा कान्छो उमेरका विद्यार्थी हुनुहुन्छ । 

दुर्घटनाका घाइते भन्छन्, मोटरसाइकल जोगाउन खोज्दा जीप भिरमा खस्यो

कास्की, १९ चैत : कास्कीको अन्नपूर्ण गाउँपालिका–५ सल्यान घर भई पोखरामा अध्ययन गर्दैआउनुभएकी १५ वर्षीया सोनिसा सुनारको कक्षा ९ को वार्षिक परीक्षा सकिएको थियो । उहाँ सिमपानीस्थित स्पाइरल ग्यालेक्सीमा अध्ययन गर्नुहुन्छ । परीक्षा सकिएकाले आमा सुशीला, बुबा प्रकाश र २२ महिनाको भाइ सुप्रिमसँगै उहाँ घर सल्यान जाँदै हुनुहुन्थ्यो । वैदेशिक रोजगारीमा रहेका बाबु प्रकाश केही दिनअघि मात्र आउनुभएकाले परिवारमा छुट्टै रमाइलो थियो । बिदाको समय घर र मामाघरमा बसेर बिताउने तथा रमाइलो गर्ने योजना थियो । तर सोनियाको त्यो चाहना पूरा हुन सकेन ।

घर जानका लागि चारैजना चढेको ग१ज ५५४७ नम्बरको जीप आइतबार दिउँसो अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा सडकबाट दुई सय ५० मिटर तल खसेर दुर्घटना भयो । दुर्घटनापछि घाइते चारै जनाको अहिले मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

पोखराको हरिचोक सल्यान रुटमा चल्ने जीप दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन् । घटनामा १० जना घाइते भएका छन् । दुर्घटनामा घाइते सोनिसाको हात र खुट्टामा चोट छ भने परिवारका अन्य सदस्यको अवस्था मध्यम छ । सोनिसा जीपको अघिल्लो सिटमा हुनुुहुन्थ्यो । ग्रामीण सडक भए पनि जीपको गति तीव्र थियो । “सल्लाघारीको डाँडाको ओरालो घुम्तीमा पुगेपछि विपरीत दिशाबाट एउटा मोटरसाइकल आयो । मोटरसाइकल तीव्र गतिमा थियो । घुम्तीमा मोटरसाइकलाई जोगाउन खोज्दा जीप भिरमा खस्यो”, सोनिसाले दुर्घटनाबारे बताउनुभयो ।

घुम्तीमा दायाँ मोडिनुपर्ने जीप बायाँ मोडिएर भिरबाट तल खसेको थियो । दुर्घटनापछि स्थानीयले उद्धार गरी अस्पताल ल्याएको सोनिसाको भनाइ छ । “दुर्घटनापछि पनि म पूरै होसमा थिएँ । हामीलाई गाउँकै अन्यले उद्धार गरी अस्पतालमा ल्याउनुभएको हो”, उहाँले भन्नुभयो । सो जीप दुर्घटनामा पोखरा–२३ कार्कीतगराका ५५ वर्षीय लक्ष्मण सुनार र ५२ वर्षीय जयराम सुनारको मृत्यु भएको छ ।

घटनामा पोखरा–२३ का ६० वर्षीय रामप्रसाद सुनार, अन्नपूर्ण गाउँपालिका–४ की ५० वर्षीया देउमाया केसी, सोही ठाउँका २२ वर्षीय धनराज सुनार, पोखरा–२३ का ५८ वर्षीय लक्ष्मण कामी, सल्यानका सात वर्षीय आरुष विक र ४१ वर्षीय राजकुमार विक घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइतेमध्ये ६ जनाको मणिपाल र अन्यको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानद्वारा स्रष्टा सम्मानित

चितवन, १९ चैत : चितवनको भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले विभिन्न स्रष्टालाई सम्मान गरेको छ । प्रतिष्ठानकी कुलपति एवं भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आइतबार एक कार्यक्रमबीच उहाँहरुलाई सम्मान गर्नुभएको हो । ‘भरतपुर प्रज्ञा सम्मान’ भरतपुर–४ का प्रकाश थापालाई प्रदान गरिएको छ । यसैगरी ‘कृष्णबम मल्ल प्रज्ञा सम्मान’ भरतपुर–१२ का प्रा डा कर्णबहादुर बानियाँलाई प्रदान गरिएको छ । ‘चित्रवन प्रज्ञा पुरस्कार’ भरतपुर–१० का डि आर पोखरेललाई प्रदान गरिएको छ । उहाँलाई ‘संस्कृतिको सोपानमा चितवन’ कृतिका लागि सो पुरस्कार प्रदान गरिएको हो । उहाँहरुलाई जनही रु ५० हजारसहित सम्मान गरिएको हो ।

यसैगरी ‘वागिश्वरी प्रज्ञा पुरस्कार’ भरतपुर–१ की सिम्रन क्षेत्रीलाई उहाँको ‘झुमर’ उपन्यासका लागि प्रदान गरिएको छ । ‘भरतपुर प्रज्ञा पुरस्कार’ (काव्यतर्फ) भरतपुर–१ कै जगन्नाथ पण्डित (घरबारीमा तोरी फुल्यो कविता संग्रह) लाई प्रदान गरिएको छ । ‘भरतपुर प्रज्ञा पुरस्कार’ (आख्यानतर्फ) अष्टदेव खनाललाई प्रदान गरिएको छ । उहाँहरुलाई जनही रु २५ हजार ७८ सहित सम्मान गरिएको हो ।यस्तै राष्ट्रिय खुला कथा प्रतियोगिता, २०८० मा नुवाकोटका अनन्त लम्सालको ‘अन्तिम पथ’ शीर्षकको कथा सर्वोकृष्ट भएको छ । उहाँलाई रु ४० हजार ७८ सहित सम्मान गरियो । सो विधामा लमजुङकी अनिता पन्थीको ‘मृत्युको अपिल’ शीर्षकको कथाले उत्कृष्ट स्थान हासिल ग¥यो । उहाँलाई रु ३० हजार ७८ सहित सम्मान गरिएको छ । काभ्रेपलाञ्चोकका समीप खड्काको ‘भाग्यको कुरो’ शीर्षकको कथाले उत्तम स्थान प्राप्त ग¥यो । उहाँलाई रु २० हजार ७८ बाट पुरस्कृत गरिएको छ । मोरङकी मन्दिरा मधुश्री (मन्दिरा कोइराला) लाई ‘पहिचान’ र राधिका कल्पित (राधिका गौतम पौडेल)लाई ‘अब लजाउँदैन लज्जावती’ शीर्षकको कथाका लागि जनही रु १० हजार ७८ बाट पुरस्कृत गरिएको छ ।प्रतिष्ठानद्वारा आयोजित ‘मेरो सपनाको भरतपुर’ शीर्षकमा चितवन जिल्ला स्तरीय निबन्ध प्रतियोगिताका उत्कृष्टलाई समेत सम्मान गरिएको छ । उक्त प्रतियोगितामा हरिप्रसाद तिवारीको निबन्ध सर्वोकृष्ट घोषित भयो । उहाँलाई रु १० हजार ७८ सहित पुरस्कृत गरिएको छ । यस्तै अनुस्का न्यौपानेलाई रु आठ हजार ७८, चिरञ्जीवी दाहाललाई रु ६ हजार ७८ तथा सन्तोष सुवेदी र स्वस्तिक शर्मालाई जनही रु चार हजार ७८ तथा प्रमाणपत्रसहित सम्मान गरिएको प्रज्ञापरिषद्का उपकुलपति इन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन मन्त्री मनाङेको निर्देशन

गण्डकी- गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री राजीव गुरुङले मातहतका कार्यालयलाई भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन निर्देशन दिनुभएको छ । मन्त्रालयअन्तर्गतका सचिव, विभागीय प्रमुखलगायत कार्यालय प्रमुखलाई निर्देशन दिँदै उहाँले आफूले बेथिति र ढिलासुस्तीको अन्त्य गर्न प्रयत्न गर्ने बताउनुभयो । प्रदेशभित्रका सडक, पुल, आवास, भवन, सहरी विकासजस्ता पूर्वाधार आयोजनाको तर्जुमा, कार्यान्वयन, अध्ययन, अनुसन्धान, अनुगमन तथा यातायातसम्बन्धी व्यवस्थापकीय कार्य गर्ने उद्देश्यले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको स्थापना भएको उल्लेख गर्दै उहाँले आफ्नो कार्यकालमा जनगुनासोलाई सकेसम्म सम्बोधन गर्नका लागि सुधारका योजना अघि सारेको बताउनुुभयो ।

भौतिक पूर्वाधारका क्षेत्रमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सर्वेक्षणका क्रममा सम्बन्धित कार्यालय, स्थानीय जनप्रतिनिधि, उपभोक्ता र प्राविधिकको उपस्थितिमा अनिवार्य निर्णय गराएर मात्रै काम अघि बढाउन उहाँले निर्देशन दिनुुभयो । डिपिआर र फिल्डको वास्तविक अवस्थामा धेरै परिवर्तन आएमा परामर्शदातालाई नै जिम्मेवार तुल्याउने नीति अवलम्बन गर्न उहाँले आग्रह गर्नुुभयो ।ठेक्काका लागि सूूचना प्रकाशन पूर्व निर्माणमा ढिला सुस्ती रोक्न योजनासँग सम्बन्धित सर्वपक्षीय सहमति गरी साइट क्लियर भएपश्चात् सूचना प्रकाशन गर्नुपर्ने उहाँले बताउनुुभयो । बिजुली, खानेपानी, ढल, सिँचाइ, कुलोलगायत समस्या यथाशीघ्र समाधान गरेर योजना कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुुभयो । सार्वजनिक खरिद ऐन तथा नियमावलीमा व्यवस्था भएबमोजिम सम्पूर्ण अधिकार सम्बन्धित कार्यालय प्रमुखलाई दिने ब्यवस्था मिलाउन उहाँले निर्देशन दिनुुभयो ।ठेक्का दिनका लागि विदेशीभन्दा स्वदेशी कम्पनीलाई प्राथमिकता दिने र निर्माणमा प्रयोग हुने निर्माण सामग्री पनि सकेसम्म स्वदेशकै प्रयोग गर्ने व्यवस्था मिलाउनुपर्ने उहाँको निर्देशन छ । असारे विकासलाई अन्त्य गर्न कात्तिक मसान्तभित्र बहुवर्षीय योजना स्वीकृत गरी सूचना प्रकाशन गर्नुपर्ने मन्त्री गुरुङको भनाइ छ । प्रमुख सडकमा निर्माण कार्य सञ्चालन गर्दा सवारी आवागमनलाई प्रभाव नपर्ने गरी निर्माण गर्ने व्यवस्था मिलाउन उहाँले निर्देशन दिनुुभयो ।बहुवर्षीय स्वीकृत भएका आयोजनाको सहमति प्राप्त भएको एक हप्ताभित्र ठेक्का प्रक्रियामा जानुपर्ने, साना तथा टुक्रे योजना वैशाख मसान्तसम्ममा सम्पन्न गर्नुपर्नेलगायत उहाँले निर्देशन दिनुुभयो । गण्डकी प्रदेश सरकारबाट स्वीकृत भएको गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली २०८० लाई सङ्घीय ऐन तथा नियमावलीसँग नबाझिने गरी संशोधन गर्ने बताउँदै मन्त्री गुरुङले सो सम्बन्धमा सुझाव पेस गर्न मन्त्रालयका प्रशासन तथा यातायात व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल निर्माण गर्ने बताउनुुभयो । गण्डकी प्रदेशभरका ट्याक्सी अनिवार्य रुपमा मिटर सिस्टममा चलाउने गरी प्रबन्ध मिलाउन उहाँले निर्देशन दिनुुभयो ।सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको उत्तरपुस्तिका डिजिटल प्रविधिबाट जाँच गर्ने प्रक्रिया अगाडि बढाउन उहाँले निर्देशन दिनुुभयो । आफ्नो कार्यकालमा विकास निर्माणका काममा ढिलासुस्ती नहोस् र जनतालाई सरकारको अनुभूति होस् भन्ने चाहना रहेको उहाँको भनाइ छ ।

नेपाल ‘ए’ले आज आयरल्यान्ड ‘ए’सँग तेस्रो टी–२० खेल्दै

काठमाडौँ, १९ चैत : नेपाल ‘ए’ले अभ्यास खेलमा आयरल्यान्ड ‘ए’सँग तेस्रो टी–२० क्रिकेट खेल्दैछ । उक्त खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । नेपाल ‘ए’ले यसअघि खेलेका दुवै खेलमा पराजित हुँदै शृङ्खलाको उपाधि गुमाइसकको छ । आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ पहिलो खेलमा २१ रनले तथा दोस्रो खेलमा ४० रनले पराजित भएको थियो । शुक्रबार पहिलो खेलमा नेपाल ‘ए’ले लोकेश बमले शतकीय पारी खेले पनि नेपाली टोली विजयी हुन भने सकेन् । आयरल्याण्डले दुई सय २३ रनको चुनौती दिए पनि नेपालको पारी १९ दशमलव तीन ओभरमा दुई सय एक रनमा समेटियो । नेपालका लागि बमले ५६ बल खेल्दै नौ चौका र आठ छक्काको मद्दतमा एक सय ६ रन बनाएका थिए । यस्तै आशिफ शेखले ४९ रन बनाए ।

आयरल्यान्ड ‘ए’सँगको पहिलो खेलमा बलिङतर्फ भने नेपाल ‘ए’ का कमलसिंह ऐरीले तीन तथा सागर ढकाल र आरिफ शेखले एक एक विकेट लिएका थिए ।  यस्तै शनिबार भएको दोस्रो अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ले नेपाल ‘ए’सामु जितका लागि दुई सय २५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपाल ‘ए’ले १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय ८४ रन मात्र बनाउन सक्यो । उक्त खेलमा ब्याटिङतर्फ देव खनालले ४७, बसिर अहमदले २७, बिनोद भण्डारीले २६ र  लोकेश बमले २५ रन बनाए । 

बलिङतर्फ भने सो खेलमा नेपाल ‘ए’का सागर ढकालले तीन तथा कमलसिंह ऐरी र पवन सर्राफले एक एक विकेट लिए । दुवै खेलमा नेपाल ‘ए’ले सुरुआती ब्याटिङ उत्कृष्ट गरेपनि मध्यक्रम र तल्लोक्रम चल्न नसक्दा हार बेहोर्नु परेको हो । मध्यक्रम र तल्लोक्रमका ब्याटरले सम्हालिएर खेल्न नसक्दा आयरल्यान्ड ‘ए’सँगको शृङ्खला नेपाल‘ए’ले गुमाउन पुगेको हो । नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’सँग बुधबारदेखि तीन एकदिवसीय सिरिज खेल्नेछ । 

३० लाखमा म्याग्दीको बिममा पक्की पदमार्ग निर्माण

म्याग्दी, १९ चैत : म्याग्दीको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाँडागाउँमा पक्की पदमार्ग निर्माण गरिएको छ । गाउँको सौन्दर्यकरणका लागि बस्तीभित्रको कच्ची पैदलमार्गलाई ढलान गरेर पक्की बनाइएको हो ।पक्की पदमार्ग निर्माण भएपछि हिलो र धुलोको समस्या हट्नुका साथै गाउँ सफा सुग्घर देखिएको डाडागाउँका टुकमान जुग्जालीले बताउनुभयो । “उकालो, ओरालोमा हिँडडुल गर्दा चिप्लिएर लड्ने, भारी बोकेर हिँड्न गाहे भएको थियो”, उहाँले भन्नुभयो, “पक्की पदमार्गले गाउँलाई सफा र स्थानीयवासीलाई सहज भएको छ ।”

पदमार्ग बनेपछि बिम र डाँडागाउँमा तीन सय परिवार लाभान्वित भएका छन् । बालबालिका र ज्येष्ठ नागरिकलाई हिँडडुल गर्न सहज भएको छ । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्ष २०८०८१ मा बिनियोजन गरेको रु ३० लाखमा पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष शरणकुमार जुग्जालीले बताउनुभयो ।“बिम तल्लो गाउँमा ४२५ मिटर र डाँडागाउँमा २५० मिटर पदमार्ग बनाएका छौँ”, उहाँले भन्नुभयो, “तेर्सोमाढुङ्गा बिछ्याएर र उकालोमा सिँढी चिनेर ढलान गरिएको छ ।”, पदमार्गमा मोटरसाइकल र साइकल पनि गुडाउन सकिन्छ ।माटे पदमार्गमा बर्सात हुँदा हिलो र सुक्खामा धुलोको समस्या थियो । ढलान गरेको पदमार्ग सरसफाइ गर्न सहज भएको छ । बिम र डाँडागाउँ धार्मिक पर्यटकी स्थल मालिका र प्रभु चेला धुरीको फेदीका बस्ती हुन् । मालिका र प्रभुचेला जाने पर्यटक तथा भक्तजन बसोबास गर्ने बिम र डाँडगाउँको पृष्ठभूमिमा गुर्जा हिमालको मनमोहक दृष्यावलोकन गर्न सकिन्छ ।

फोहरमैला सङ्कटसँग जुध्न विश्वव्यापी कदम चाल्न राष्ट्रसङ्घका महासचिव गुटेर्रेसको आह्वान

फोहरमैलाको समस्या समाधानका लागि विश्वव्यापी प्रयास गर्न संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले आह्वान गर्नुभएको छ । हरेक वर्ष मार्च ३० मा मनाइने अन्तर्राष्ट्रिय ‘शून्य फोहोर दिवस’का लागि एक भिडियो सन्देश जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रमुखले पृथ्वीको खतरनाक अवस्थाबारे आफ्नो राय व्यक्त गर्नुभएको हो । “मानव जातिको अत्यधिक उपभोग र फोहोर उत्पादनका कारण वातावरणीय क्षयको डरलाग्दो चित्र कोर्दै पृथ्वी फोहोरको बाढीमा डुबेको छ,” गुटेर्रेसले भन्नुभयो ।

हरेक वर्ष ‘दुई अर्ब टनभन्दा बढी ठोस फोहोर’ नगरीय क्षेत्रबाट उत्पादन हुँदा यसको परिणाम पृथ्वीको जलवायु, पारिस्थितिक प्रणाली र मानव स्वास्थ्यको लागि विनाशकारी छ ।उहाँले अति उपभोगलाई सम्बोधन गर्ने तात्कालिकतामा जोड दिँदै भन्नुभयो, “अत्यधिक उपभोगले हामीलाई विनाशतर्फ लगिरहेको छ । मानव गतिविधिमा हस्तक्षेपको खाँचो छ ।”

महासचिव गुटेर्रेसले शून्य फोहोरसम्बन्धी सल्लाहकार समितिको प्रयासको प्रशंसा गर्दै शून्य फोहोर प्राप्त गर्ने मिसनमा विभिन्न सरोकारवालाहरूलाई एकताबद्ध गर्न भूमिका खेलेकोमा समितिको प्रशंसा गर्नुभयो ।

यस सङ्कटसँग जुध्न संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीले बहुआयामिक दृष्टिकोणको खाका प्रस्तुत गरेका छन् । “व्यवसायहरूले फजुल प्याकेजिङ कम गर्न र दीर्घायु र जीवनचक्रलाई अधिकतम गर्न आफ्ना उत्पादनहरूमा पुनर्विचार गर्नुपर्दछ,” दिगो उत्पादन अभ्यासहरूतर्फ परिवर्तन गर्न आग्रह गदै उहाँले भन्नुभयो । उपभोक्ताहरूलाई ‘आफूले किनेका सामान र उत्पादनहरूको बारेमा दुई पटक सोच्न र सम्भव भएसम्म रिसाइकल वा पुनः प्रयोग गर्न’ पनि आग्रह गरिएको छ ।

गुटेर्रेसले चक्रीय अर्थव्यवस्थालाई बढावा दिन सरकारी कार्यको महत्वमा जोड दिनुभयो चक्रीय अर्थव्यवस्थाले ‘पुनः प्रयोग, पुनः निर्माण, पुनरुत्थान र अपशिष्ट रोकथाम’ लाई प्राथमिकता दिन्छ ।उहाँले स्रोतको ह्रासको प्रभावलाई उल्लेखनीय रूपमा कम गर्न सकिने आधुनिक फोहरमैला व्यवस्थापन कार्यक्रमको खाँचो औँल्याउनुभयो ।

“यो शून्य फोहोर दिवसमा, फोहोरको विनाशकारी चक्रलाई सदाका लागि अन्त्य गर्ने प्रतिज्ञा गरौं”, उहाँले भन्नुभयो, “हामी विश्वभरका नागरिकहरूलाई भावी पुस्ताका लागि पृथ्वीको रक्षा गर्ने दिगो अभ्यासहरूमा प्रतिबद्ध हुन आग्रह गर्दछौं ।सन् २०२२ डिसेम्बर १४ मा संयुक्त राष्ट्र सङ्घको महासभाले आफ्नो ७७ औं अधिवेशनमा मार्च ३० लाई अन्तर्राष्ट्रिय शून्य फोहोर दिवसको रूपमा घोषणा गर्ने प्रस्ताव पारित गरेको थियो ।

ग्रीसले लोकप्रिय ‘गोल्डेन भिसा’को मूल्य बढायो

ग्रीसले आवास सङ्कट कम गर्न आवश्यक आफ्नो गोल्डेन भिसा नियममा कडाइ गर्दै लगानी आठ लाख युरो पुर्याएको छ ।सन् २०१४ मा सुरु भएको यो सफल कार्यक्रमले विदेशीहरूलाई दुई लाख ५० हजार युरोको सम्पत्ति लगानीको बदलामा पाँच वर्षको नवीकरणीय आवासीय अनुमति प्रदान गरेको थियो ।

अर्थ मन्त्रालयले आइतबार घोषणा गरेको नियमसँगै अनुसार एटिकाजस्तै एथेन्स, थेसालोनिकी, माइकोनोस, सान्टोरिनी र तीन हजार १०० भन्दा बढी जनसङ्ख्या भएका टापुहरू वरपरका आकर्षक क्षेत्रहरूमा गोल्डेन भिसाको उच्चतम सीमा आठ लाख युरो पुग्नेछ ।

अन्य क्षेत्रहरूमा यसको उच्चतम सीमा चार लाख यूरोभन्दा माथि हुनेछ ।“यी उपायहरू सरकारको समग्र आवास नीतिको एक भाग हो, जसको उद्देश्य निजी क्षेत्रसँगको सहकार्यमा, सबै नागरिकहरूको लागि किफायती र गुणस्तरीय आवास सुनिश्चित गर्नु हो,” अर्थमन्त्री कोस्टिस हाटजीडाकिसले भन्नुभयो ।

बैंक अफ ग्रीसको तथ्याङ्कअनुसार सन् २०१८ मा करिब एक दशक लामो सङ्कटबाट औपचारिक रुपमा बाहिर निस्केपछि घरभाडामा २० प्रतिशतले वृद्धि भएको छ ।लगानीकर्ताहरूले ऐतिहासिक घरजग्गा र औद्योगिक भवनहरूलाई आवासमा रूपान्तरण यसपहिले २ लाख ५० हजार युरोमा कम्तिमा १२० वर्ग मिटरको जमिन खरीद गर्नुपर्थ्यो ।

आप्रवासन मन्त्रालयको गत वर्षको तथ्याङ्कअनुसार प्रारम्भिक भिसासम्बन्धी अधिग्रहण वा नवीकरणका लागि १० हजार २१४ आवेदन परेका छन् ।सन् २०२३ मा पाँच हजार ७०१ गोल्डेन भिसा अनुमति दिइएको थियो भने आठ हजार ८०० आवेदन बाँकी छन् ।यो वर्ष कम्तीमा एक अर्ब युरो लगानी भएको छ ।

यद्यपि, सार्वजनिक कम्पनी तथा उद्यमशिलता सङ्गठनले सरकारले घरको मूल्य घटाउने र दीर्घकालीन भाडाका लागि घरको उपलब्धता बढाउने आफ्नो लक्ष्य हासिल गर्नेमा ‘अत्यधिक शङ्का’ रहेको जनाएकोे छ ।ग्रीसमा सन् २००८ मा सुरु भएको आर्थिक सङ्कटको समयमा सम्पत्ति बजार र निर्माण उद्योगले गम्भीर मन्दीको सामना गर्नुपरेको थियो । सङ्गठनका अनुसार अहिलेसम्म करिब २० हजार स्थायी आवासीय अनुमति पत्र रियल इस्टेट लगानीकर्तालाई दिइएको छ ।

इजरायलद्वारा चौथो पटक इन्धनको मूल्य वृद्धि

इजरायलले इन्धनको मूल्य ७.५१ शेकेलको तुलनामा ७.७२ शेकेल (करिब २.०९ अमेरिकी डलर) वृद्धि भएको घोषणा गरेको छ ।इजरायली ऊर्जा मन्त्रालयले आइतबार एक वक्तव्य जारी गर्दै सोमबारदेखि लागू गरेको मूल्य वृद्धि एक महिनामा चौथो पटकको वृद्धि हो ।

सोमबारदेखि लागु हुने मूल्य वृद्धि गत वर्षको डिसेम्बरको भन्दा ११.२ प्रतिशतले वृद्धि भएको छ र सन् २०२२ जुलाई पछिको उच्चतम स्तरमा पुगेको छ । मन्त्रालयका अनुसार हालको वृद्धि भूमध्यसागरीय देशहरूमा औसत ईन्धनको मूल्यलाई आधार बनाएर निर्धारित गरिएको हो ।

सन् २०२४ को बजेटमा उल्लेखित इन्धनको मूल्य निर्धारणको महत्वपूर्ण तत्व अन्तःशुल्क करका लागि अनुदान बन्द गर्ने सरकारको निर्णयबाट निरन्तर मूल्य वृद्धिको एउटा प्रमुख कारण हो । यसले जारी द्वन्द्वको बीचमा अन्य खर्चहरू घटाउँदै रक्षा खर्चलाई प्राथमिकता दिन्छ ।

‘येदिओथ अहरोनोथ’ दैनिक पत्रिकाका वरिष्ठ विश्लेषक गड लिओरले सिन्ह्वालाई बताएअनुसार इन्धनको मूल्य वृद्धिले गर्दा इजरायलमा विद्युत् र पानीको मूल्यमा पनि छिट्टै वृद्धि हुन सक्छ र मुद्रास्फीति दरमा देखिएको घट्दो प्रवृत्तिलाई उल्टाउन सक्छ ।

उपप्रधानमन्त्री श्रेष्ठ आज स्वदेश फर्कदै

छेन्दु (चीन), १९ चैत : जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कदै हुनुहुन्छ । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) का अध्यक्ष वाङ हुनिन, चिनियाँ समकक्षी वाङ यीलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्नुभएको थियो । भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको थियो । सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल तीव्र आर्थिक विकासको यात्रामा अघि बढिरहेको जानकारी दिँदै त्यसका लागि छिमेकी मुलुक चीनको सहयोग महत्वपूर्ण हुने बताउनुभएको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री सुन हाइयानसँग पनि भेट गर्नुभएको थियो । सो भेटवार्तामा उहाँहरुबीच नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई प्रगाढ बनाउनेबारेमा छलफल भएको थियो । उपप्रधानमन्त्री श्रेष्ठ माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्ष एवं विदेश विभाग प्रमुखसमेत हुनुहुन्छ ।बेइजिङमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले नेपाली दूतावासमा आयोजित पूर्वलगानी सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो । सो क्रममा उहाँले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान गर्नुभएको थियो । सोही दौरान उहाँले चीनकै दक्षिण पश्चिमी सहर छोनछिन नगरपालिकाको अवलोकन भ्रमण गर्नुभएको थियो । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ कम्युनिष्ट पार्टी छोनछिन कमिटीका सचिव युयान जाइजुनबीच प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता भएको थियो । उक्त भेटमा उपप्रधामन्त्री श्रेष्ठले नेपाल र चीन आर्थिक समृद्धिको यात्रामा सँगसँगै अघि बढ्नुपर्ने बताउनुभएको थियो ।यसैगरी उपप्रधानमन्त्री श्रेष्ठले चीनको सिजाङ्ग स्वायत्त क्षेत्रका पार्टी सचिव वाङ झुङहेङसँग भेट गरी नेपाल–चीन सीमा क्षेत्रका नागरिकले व्यहोर्नुपरेको समस्या समाधान गर्न आग्रह गर्नुभएको थियो । उहाँले ल्हासास्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन गरी आर्थिक कूटनीतिमा ध्यान दिन निर्देशन दिनुभएको थियो ।उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले तिब्बतमा रहेको कैलाश मानसरोवर क्षेत्रको अवलोकनसमेत गरेको थियो । भ्रमणका क्रममा सिचुवान प्रान्तको छेन्दु आइपुग्नुभएका उहाँले सिचुवान जनसरकारका गभर्नर हुवाङ सियाङसँग पनि भेट गरी नेपालमा चिनियाँ लगानीका लागि आग्रह गर्नुभएको थियो ।नेपाली प्रतिनिधिमण्डलमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयको उत्तर पूर्व एसिया महाशाखाका प्रमुख एवं सहसचिव कृष्ण ढकाल, बेइजिङस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन सुरेन्द्र यादव, उपप्रधानमन्त्रीका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, नायब शिष्टाचार महापाल उत्तमकुमार शाही, परराष्ट्र मन्त्रालयका उपसचिव अरुणा घिसिङलगायत सहभागी हुनुहुन्थ्यो । उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा यही चैत १२ गते चीनको भ्रमणमा आउनुभएको होे ।

मुलुकलाई समृद्ध बनाउन पर्यटन क्षेत्रको विकास अपरिहार्यः उपप्रधानमन्त्री महासेठ


जनकपुरधाम – उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मुलुकलाई समृद्ध बनाउन पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको बताउनुभएको छ । नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ, मधेस प्रदेशका दोस्रो अधिवेशनको आइतबार जनकपुरधाममा उद्घाटन गर्दै उहाँले सम्भावना बोकेको पर्यटन क्षेत्रको विकास र व्यवस्थापनले मात्रै आर्थिक विकास सम्भव हुन्छ भन्नुभयो । “नेपाल प्राकृतिक र भौगोलिक रूपमा सुन्दर छ । धार्मिक तथा सांस्कृतिक विविधताका दृष्टिकोणले समृद्ध छ । त्यही हेर्न पर्यटकहरू लाखौँ खर्चेर नेपाल आउने अवस्था छ । यसलाई व्यवस्थित बनाउँदै लगेमा देश विकासमा टेवा पुग्नसक्छ”, उपप्रधानमन्त्री महासेठले भन्नुभयो, “त्यसैले तीनै तहका सरकार मिलेर आफ्नो क्षेत्रलाई आफैँ बनाउने नीतिका साथ अगाडि बढ्नुपर्छ । केन्द्र सरकार त्यसका लागि सहजीकरण गर्न प्रतिबद्ध छ ।”

उहाँले मधेस प्रदेशको विकासका लागि आफू यसअघि जिम्मेवारीमा रहेका बेला थुप्रै योजना अगाडि सारेको र अहिलेको कार्यकालमा ती योजनालाई पूर्णता दिने गरी पहलकदमी लिने बताउनुभयो । माता सीताको जन्म, ऋषिमुनिहरूको शास्त्रार्थ गर्ने थलो, ५२ कुट्टी, ७२ कुण्डको सहर जनकपुरको विकास ,उपमहानगरमा बाह्य चक्रपथ निर्माणलगायत काम अगाडि बढाउने जनाउँदै उपप्रधानमन्त्री महासेठले देश र समग्र मधेसको विकास तथा प्रतिष्ठासँग जोडिएको जनकपुरधाम–अयोध्या र अयोध्या–जनकपुरधाम रेल सञ्चालनका लागि मन्त्रालयले प्रक्रिया अगाडि बढाएकाले चाँडै रेल सञ्चालन हुने जानकारी दिनुभयो ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घका प्रदेश अध्यक्ष हिरालाल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्यहरु दीपेन्द्रकुमार ठाकुर, रामअशिष यादव, शारदा थापा, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, जनकपुधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्रकुमार महासेठलगायतले मधेस प्रदेशबाट दुई दुईजना उपप्रधानमन्त्री महत्वपूर्ण जिम्मेवारीमा रहेका बेला मधेसमा होटल पर्यटन, व्यापार–व्यवसाय, भौतिक पूर्वाधारको विकासका लागि महत्वपूर्ण काम हुने अपेक्षा व्यक्त गर्नुभयो ।

यसअघि हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीमाथिको पुलको स्थलगत निरीक्षण गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका महासेठले वर्षायाम अगावै पुलका बाँकी काम सम्पन्न गर्न निर्देशन दिनुभएको थियो । उहाँले पहिलो चरणमा निर्माणाधीन योजना सम्पन्न गर्ने सरकारको नीतिअनुसार आगामी असार मसान्तभित्र कमला नदीमाथिको पुल सम्पन्न नभएमा सरकार निर्ममरूपमा प्रस्तुत हुनेबारे सम्बद्ध पक्षलाई जानकारी गराइसकिएको बताउनुभयो ।

मन्त्री अधिकारीले गरे गभर्नर अधिकारीसँग सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न छलफल


काठमाडौँ – भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसँग सहकारीका समस्या समाधानका विषयमा आइतबार छलफल गर्नुभएको छ । मन्त्री अधिकारीले मन्त्रालयले कर्जा असुली न्यायाधीकरण गठन गर्न प्रक्रिया अघि बढाएकाले यसलाई कार्यान्वयनमा सहयोग पु¥याउन गर्भनर अधिकारसँग आग्रह गर्नुभएको थियो ।

उक्त छलफलमा मन्त्री अधिकारीले मन्त्रालयले कर्जा सूचना केन्द्र स्थापना र बचत संरक्षण कोष स्थापना गर्ने प्रक्रिया अघि बढाएको जनाउँदै मन्त्रालयले केन्द्रमार्फत आर्थिक कारोबार गर्ने सहकारीको नियमन गर्न चाहेकाले राष्ट्र बैङ्कले यसको नेतृत्व लिन आग्रह गर्नुभयो ।

सो अवसरमा गभर्नर अधिकारीले कर्जा असुली न्यायाधीकरण र कर्जा सूचना केन्द्र आवश्यक रहेको निष्कर्ष सरकारले निकालेपछि राष्ट्र बैङ्कले त्यसको ढाँचामा आफ्नो तर्फबाट सुझाव दिँदै कार्यान्वयनमा सक्दो भूमिका निर्वाह गर्न प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कर्जा सूचना केन्द्रको स्पष्ट संरचनाका विषयमा सरकार र राष्ट्र बैङ्कबीच छलफल भएर उचित निष्कर्षमा पुग्नुपर्दछ भन्नुभयो ।

छलफलमा मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारी क्षेत्रको समस्या समाधान गर्न मन्त्रालय र राष्ट्र बैङ्कबीच भएको यस प्रकारको छलफलले छिट्टै सहकारी क्षेत्र ब्यवस्थित पार्न मार्ग प्रसस्त गर्ने विश्वास ब्यक्त गर्नुभयो । सो अवसरमा सहकारी विभागमा महानिर्देशक पिताम्वर घिमिरे सहभागी हुनुहुन्थ्यो ।

इनरुवामा विद्युत् सर्ट भई आगलागी, ५० लाखको क्षति


इनरुवा (सुनसरी) – सुनसरीको कोशी गाउँपालिका–३ मा आइतबार भएको आगलागीबाट रु ५० लाखभन्दा बढीको क्षति भएको छ ।

स्थानीय कादिर मियाँको घरबाट विद्युत् सर्ट भई आगलागी हुँदा मियाँका साथै उहाँका बुबा महम्मद अन्सारी र दाई अबुल कलाम, छिमेकी रसिद अन्सारी, इरफान अन्सारी, समला बानो अन्सारी, आरिफ अन्सारी, इस्माइल अन्सारी, समिउल्लाह अन्सारी र जैनुदिन अन्सारीको घर जलेर नष्ट भएको कोशी–३ का वडाध्यक्ष सुलेमान मञ्सुरीले जानकारी दिनुभयो । आगलागीबाट नगदसहित, धान, गहुँ, चामल, गरगहना, लत्ताकपडा, चौपायालगायतको क्षति भएको उहाँले बताउनुभयो ।

कोशी गाउँपालिका, इनरुवा, रामधुनी र इटहरीको बारुणयन्त्र, स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहितको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

विराट गोल्डकप फुटबल : सिक्किम सेमिफाइनलमा

मोरङ – भारत सिक्किमको डे«गन फुटबल क्लब ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । विराट गोल्ड कप ट्रष्टले विराटनगरको सहिद रङ्शालामा आयोजना गरेको रात्रिकालीन प्रतियोगिताअन्तर्गत आइतबार राति भएको खेलमा डे«गन फुटबल क्लबले काठमाडौँको न्यूरोड टिम (एनआरटी)लाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

सिक्किमका लागि ह्यारिसन र आदर्श तामाङले एक एक गोल गरेका थिए । यस्तै एनआरटीका लागि शिशिर लेखीले एक गोल गरेका थिए । मध्यान्तर आगाडि खेलको ४०औँ मिनेटमा शिशिरले गोल गरी एनआरटीलाई अग्रता दिलाएका थिए । यस्तै खेलको ५९औँ मिनेटमा सिक्किमका ह्यारिसनले गोल गरी खेल बराबरीमा पु¥याएका थिए ।

निर्धारित ९० मिनेटको खेल एक–एक गोलको बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समयको अन्त्यतिर एक सय १९औँ मिनेटमा सिक्किमका आदर्श तामाङले विजयी गोल गरी आफ्नो टोलीलाई सेमिफाइनमा पु¥याएका थिए । उनी आजको खेलको ‘प्लेयर अफ दी म्याच’ घोषित भए । तामाङले रु ११ हजार पुरस्कार प्राप्त गरे ।

सोमबार चर्च ब्वाइज युनाइटेड र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबीच खेल हुनेछ । प्रतियोगिताको विजेता टोलीले रु ११ लाख तथा उपविजेताले रु पाँच लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछ ।

जीतपुर सिमरा गोल्डकप चैत २४ गतेदेखि

बारा – जगदम्बा स्टिल जीतपुर सिमरा गोल्डकपको १४औँ संस्करण यही चैत २४ गतेदेखि सुरु हुने भएको छ । बाराको सिमरामा आइतबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजक नवजनजागृति युवा क्लबले प्रतियोगिताबारे जानकारी गराएको हो ।

सिमरा रङ्गशालामा सो प्रतियोगिता आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, फ्रेन्ड्स क्लब, मच्छिन्द्र क्लब, एपिएफ क्लब, मकवानपुर–११ हेटौँडा, वीरगञ्ज युनाइटेड क्लब वीरगञ्ज, सिराहाको सहलेश युवा क्लब र आयोजक नवजनजागृति युवा क्लब सहभागी हुने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले रु १० लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही रु २५ हजार तथा उदीयमान खेलाडीले रु १५ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ हुनेले रु १० हजार पुरस्कार प्राप्त गर्ने आयोजक संस्थाले जनाएको छ ।

हेर्नुहोस् चैत १९ गते सोमवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – नयाँ मित्रहरु सगँ को भेट घाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भाबना रहेको छ । अचल सम्पतीमा ह्रास आउनाले कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्ला । परिवारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ ।

बृष राशि – आम्दानि मध्यम रहेता पनि बोलिको कारण साधारण दुर्घटनाको सम्भाबना रहेको छ । नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ । कुनै पनि निर्णय हतासमा नगरैकै बेश हुनेछ । दाजुभाई बिच मनमुटाब रहन सक्ला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । मालसामान हराउन सक्ला ।

मिथुन राशि – जिबन साथीको सहयोगले गरिएको ब्यापार ब्यवसायमा मनग्य लाभ मिल्नेछ । बोलिको प्रभुत्वले मानसम्मानको प्राप्ति हुनेछ । मान्यजनको साथ सहयोग द्वारा गरीएका कार्यहरु सजिलै पुर्ण हुनेछन । बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । कार्य सम्पादनका क्षेत्रमा सावधानि साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ ।

कर्कट राशि – शुभ चिन्तकको बृद्यि हुनाले मनमा उत्साह बढ्नेछ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । अरुको पुर्ण बिश्वासले तपाईलाई आघात दिलाउला । सन्चित रकम खर्चको योग रहेको छ । नयाँ कामको थालनि नगरेकै बेश होला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला ।

सिंह राशि – आफु भन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहनेछन । बौधिक ब्यक्तित्व सगँको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्नेछ । मातृ पक्षको स्वास्थमा देखापरेको असरले सामान्य समस्या पैदा गर्न सक्नेछ । गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ ।

कन्या राशि- सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहनेछ । पारीवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निरासा पुर्ण रहला । कार्य क्षेत्रमा लगाईको श्रमको उचित मुल्यांकन हुनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । गरीरहेका कार्य सम्पादनमा निकै संघर्ष गर्नु पर्नेछ ।

तुला राशि – आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ । मनोरञ्जन पुर्ण यात्राको योग रहेको छ । हतासमा गरीएको कार्यले झन्झट दिलाउला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । सामान्य यात्रा हुन सक्छ । भोगबिलासमा समय ब्यतित हुनेछ ।

बृश्चिक राशि – स्वास्थमा आएको खराबिले कार्यमा ढिलाई उत्पन्न गराउनेछ ।सन्तान सम्बन्धी समस्याले सताउला । अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दम्पति बिच सामान्य मनमुटाब रहला । बाणी तथा स्वास्थ क्षेत्रमा ध्यान दिएको बेश हूनेछ ।

धनु राशि – जिबन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । जिद्यी स्वभाब तथा अरुले देखाएको बाटो अनुशरण नगर्नाले सामान्य दुर्घटना निम्त्याउला । सबारी साधनको प्रयोगमा ध्यान दिनु होला । सहि निर्णय हुन नसक्दा परिबारीक कलहको सामाना गनुपर्नेछ । यापार ब्यवसायमा समय खर्चिदा उत्तम रहनेछ ।

मकर राशि- आफ्नु प्रिय ब्यक्ति सगँको बियोगले मन निरुत्साहित रहला । अन्य ब्यक्तिको बिश्वास गर्ने बानिमा सुधार ल्याउनु पर्नेछ । लापरबाहले धनमालमा सामान्य क्षति हुने सम्भाबना रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ ।

कुम्भ राशि – आम्दानी बृद्यिका लागी बीद्योत ब्यक्तित्वहरुको मार्गदर्शन अबलंबन गर्नु लाभदाइक रहला । मित्र जनकोृ सहयोग बाट मन प्रशन्न रहला । बोलिको कारण साथि भाई टाढिन सक्छन । आय आम्दानिका क्षेत्रमा जुट्ने समय रहेकोछ । मानसिक तनावका कारण कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ ।

मिन राशि- स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला । परीस्थीति सगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । परिवारको सहयोगले बौधिक तथा आर्थीक बिकासको बाटो फेला पर्ने छ । मेहेनत को रामा्रे फल प्राप्त हु्नेछ । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ ।

जिम्मा लिएको काममा लापरबाही गर्नु हुँदैन : महानिरीक्षक अर्याल

धरान (सुनसरी), १८ चैत : सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल खटेका स्थानमा कुनै किसिमका गैरकानुनी क्रियाकलाप हुन नदिन र आफू पनि कुनै व्यक्तिगत लेनदेनमा सहभागी नहुन निर्देशन दिनुभएको छ ।

सुनसरीको पकलीस्थित सशस्त्र प्रहरी बल, नेपाल नं १ बराहवाहिनी मुख्यालयको २३औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले सशस्त्र प्रहरीले सीमा क्षेत्रको सुरक्षा र राजस्व छली नियन्त्रणको काम गर्दै आएको बताउनुभयो । उहाँले सीमा क्षेत्रमा भएका सम्पूर्ण नराम्रो कामको जिम्मा त्यहाँ खट्नेहरुले लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सीमा क्षेत्रमा खट्नेहरुका लागि समस्या पनि धेरै छन् तर जिम्मा लिएको काममा कसैले लापरबाही गर्नु हुँदैन । जानीजानी गरेका गल्ती अपराध सरह हुन्छन् । कर्तव्य पालनाका सिलसिलामा भएका गल्ती भने सुधार्न सकिन्छ ।”कार्यक्रममा सशस्त्र प्रहरी बल बराहवाहिनी मुख्यालयका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेलले सशस्त्र प्रहरीलाई चुस्त, दुरुस्त र अनुशासित बनाउन शून्य सहनशीलता अपनाइएको बताउनुभयो । कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरीलाई पुरस्कार प्रदान गरिएको थियो ।