`

पूर्वाधारमा चिनियाँ लगानीका लागि उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

छेन्दु (चीन), १८ चैत -उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा जलविद्युत्, कृषि तथा पूर्वाधार क्षेत्रमा उच्च सम्भावना रहेको जनाउँदै ती क्षेत्रमा लगानीका लागि चिनियाँ पक्षसँग आग्रह गर्नुभएको छ ।

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठले आज सिचुवान प्रान्तीय जनसरकारका गभर्नर हुवाङ क्वाङसँगको भेटमा सिचुवानका लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रोत्साहित गर्न आग्रह गर्नुभयो । नेपालमा विदेशी लगानीलाई प्रोत्साहित गर्न कानुनी, संरचनात्मक तथा प्रक्रियागत उल्झन हटाइएको जानकारी दिँदै उहाँले विदेशी लगानीलाई खुला हृदयले स्वागत गरिने बताउनुभयो ।

नेपालको विकास प्रक्रियालाई तीव्र गतिमा अघि बढाउन के गर्न सकिन्छ भनेर आफू चीन भ्रमण आएको उल्लेख गर्दै उहाँले विकासलाई तीव्रता दिन छिमेकीको सहयोग महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । चीनसँगको व्यापार घाटा न्यूनीकरणका लागि सहयोग गर्न चिनियाँ पक्षसँग आग्रह गर्नुभयो । नेपालले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा ठूलो मात्रामा सहभागिता जनाउन आग्रह गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सरकार र निजी क्षेत्रका तर्फबाट सहभागिताका लागि अनुरोध गर्नुभयो । उहाँले नेपाल र चीनबाट भएका उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाएको बताउनुभयो । नेपालले चीनसँगको सम्बन्धलाई अत्यन्त महत्व दिएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र चीनबीच समस्यारहित सम्बन्ध रहेको बताउनुभयो ।

चीनले नेपालको विकास प्रक्रियामा सदियौँदेखि सहयोग गर्दै आइरहेको स्मरण गर्दै उहाँले चीनलाई नेपालले सङ्कटको साथीका रूपमा लिँदै आएको बताउनुभयो । परराष्ट्रमन्त्री श्रेष्ठले चीनलाई अत्यन्त असल छिमेकीका रूपमा लिइएको र नेपाल एक चीन सिद्धान्तप्रति प्रतिबद्ध रहेको दोहो¥याउनुभयो । राजनीतिक परिवर्तपछि आर्थिक विकासलाई मुख्य कार्यभार बनाएर अघि बढिरहेको तथा सरकार आर्थिक विकासमा केन्द्रित भएको उल्लेख गर्दै उहाँले समृद्धिको यात्रामा छिमेकी राष्ट्र चीनको विशेष सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

उपप्रधानमन्त्री दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा पारस्परिक लाभ हासिल हुने गरी सहयोगात्मक सम्बन्धलाई अभिवृद्धि आफूले चीन भ्रमण गरेको उल्लेख गर्नुभयो । उहाँले दुई देशबीचको सम्बन्धलाई उच्चस्तरीय भ्रमणले थप प्रगाढ बनाएको बताउनुभयो । उहाँले आफ्नो चीन भ्रमणले नेपाल र सिचुवान सरकारको सहयोगात्मक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

सिचुवान प्रान्त सरकारका गभर्नर हुवाङले द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन उच्चस्तरीय भ्रमण र भेटवार्ताले महत्वपूर्ण सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालको विकासमा सिचुवान साझेदारी गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो । प्रतिनिधिमण्डलस्तरमा भएको सो भेटमा नेपालका तर्फबाट चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयमा सहसचिव कृष्णप्रसाद ढकाल, छेन्दुस्थित नेपाली महावाणिज्यदूत सुरेश राउतलगायत सहभागी हुनुहुन्थ्यो । भेटमा चीनका तर्फबाट सिचुवान प्रान्तीय जनसरकारका उपगभर्नर पुबु दुनझाउ, महासचिव चेन क्विङ्गलगायत सिचुवान प्रान्तीय जनसरकारका अधिकारीहरू सहभागी हुनुहुन्थ्यो । 

कर्मचारीलाई राजनीतिक दलको सदस्यता नलिन शिक्षामन्त्री श्रेष्ठको आह्वान

काठमाडौँ, १८ चैत : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षण सिकाइ क्रियाकलापमा संलग्न शिक्षक, प्राध्यापक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता नलिन आग्रह गर्नुभएको छ । उहाँले राजनीतिक दलको सदस्य हुन नहुने व्यवस्था प्रचलित कानुनमा रहेको स्मरण गराउँदै कार्यरत शिक्षक, प्राध्यापक र कर्मचारीलाई शिक्षा क्षेत्र दलीय राजनीतिबाट मुक्त हुनुपर्ने बताउनुभएको हो ।

मन्त्री श्रेष्ठले आफ्नो सामाजिक सञ्जालमा आज जारी गर्नुभएको सन्देशमा शिक्षा क्षेत्रको सुधार र गुणस्तर वृद्धिका लागि राजनीतिक सदस्यता लिएका बहालवाला शिक्षक एवं प्राध्यापक र कर्मचारीलाई कारबाही गर्न समेत सम्बन्धित निकायलाई आह्वान गर्नुभएको छ । शिक्षा ऐन २०२८ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा भएको कानुनी प्रावधान उल्लेख गर्दै कार्यान्वयनमा मन्त्रालयको प्रतिबद्धतासमेत सन्देशमा उहाँले व्यक्त गर्नुभयो । उहाँले भन्नुभएको छ, “म आह्वान गर्न चाहन्छु सबै जनालाई कानुनमा स्पष्ट भनिएको छ प्राध्यापक, शिक्षकहरुले राजनीतिक सदस्यता लिएमा पदबाट हटाइने व्यवस्था रहेछ । अब यो कार्यान्वयनको पाटोमा जानुपर्छ ।” उहाँले शिक्षकले राजनीतिक क्षेत्रमा आबद्ध हुँदा विद्यार्थीको भविष्यसँग खेलबाड भइरहेको बताउनुभयो ।

“त्यसकारण कसैले पनि राजनीतिक दलको सदस्यता शिक्षक, प्राध्यापक बहालवाला शिक्षक एवं प्राध्यापकहरुले राजनीतिक सदस्यता नलिनूहोला र राजनीतिक दलको कुनै पनि समितिमा नबसिदिनूहुन म सचेत गराउछु,” मन्त्री श्रेष्ठले भन्नुभयो, “अब शिक्षा क्षेत्र दलीय राजनीतिकबाट मुक्त हुनैपर्छ ।” उहाँले सरकारी तथा सामुदायिक संस्थामा कार्यरत शिक्षक, प्राध्यापक र कर्मचारीले राजनीतिक दलको सदस्यता लिएको प्रमाणसहित सम्बन्धित निकायमा उजुरी दिनका लागि सरोकारवाला सबैलाई आग्रह गर्नुभएको छ । यस्ता उजुरी र गुनासोउपर काम एवं कारबाही प्रक्रिया अघि बढाउनका लागि सम्बन्धित निकायलाई मन्त्री श्रेष्ठले सन्देशमा आह्वान गर्नुभएको छ ।

कमला पुलको पुनःनिर्माण समयमै सम्मन्न गर्न उपप्रधानमन्त्री महासेठको निर्देशन

सिरहा, १८ चैत : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले हुलाकी सडकखण्डअन्तर्गत सिरहा र धनुषा जोड्ने भासिएको कमला पुलको पुनःनिर्माण समयमै सम्पन्न गर्न पुनः निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन दिनुभएको छ । पुल पुनः निर्माणको स्थलगत निरीक्षण गर्दै उहाँले भन्नुभयो, “समयमै पुल नबन्दा यहाँका जनताले धेरै सास्ती खेप्नुपरेको छ । सरकारले आवश्यक स्रोत र साधनको सबै व्यवस्था गरेकै छ । राष्ट्रिय महत्वको यो पुल अब पनि समयमै बनेन भने निर्माण कम्पनी कारबाहीको भागिदार हुन्छ ।”

सम्झौता भएको १२ वर्षपछि सञ्चालन नहुँदै दुई वर्षअघि सो पुल भासिएको थियो । गत वर्ष वैशाख २४ गते हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुर र पुल निर्माण कम्पनी बीच २०८१ असार मसान्तसम्म भासिएको पुलको पुनःनिर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो ।निर्माण कम्पनीका ‘साइट इन्चार्र्र्ज’ सुदीप थापाका अनुसार हालसम्म बाँकी रहेका १८ पाएर उठाउने काम मात्र सम्पन्न भएको छभने आगामी वर्ष अगाडि पुलको फाउन्डेसनको काम मात्र सम्पन्न हुनेछ । पुनःनिर्माण सम्झौताको समयअनुसार काम सम्पन्न गर्न प्राविधिक कारणले सम्भव नरहेको उहाँको कथन छ ।“नदीमा आउने बाढीका कारण वर्षको छ महिना त काम गर्न नै नसकिने रहेछ । यहाँका बालुवा र माटोको बनोटको हिसाबले काम गर्न अन्यन्त जटिल छ । अझ पुलको पश्चिम खण्डमा भासिएको पाएर पुनःनिर्माणको डिजाइन पास पनि भएको छैन,” इन्चार्ज थापाले भन्नुभयो । आफूहरुले बीमा कम्पनीबाट पाउनुपर्ने रु पाँच करोड रकम नपाएको र हाल यस विषयको विवाद काठमाडाँै जिल्ला अदालतमा विचाराधीन भएकाले आर्थिक रुपमा सङ्कटमा परेको उहाँले जानकारी दिनुभयो ।पुल निर्माण सुरु भएयता १३ वर्षबीचमा उच्चस्तरको सरकारी अनुगमन तथा निरीक्षण पटकपटक भएको छ । यहाँका स्थानीय जनता भने समयमै पुलको काम सकिन्छ भन्नेमा विश्वस्त छैनन् । गत वर्ष फागुन १५ गते तत्कालीन उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पनि यस भासियको कमला पुलको विषयमा चासो राखी स्थलगत अनुगमन गर्नुभएको थियो ।त्यसैगरी, यही निर्माणाधीन पक्की पुल नजिकै दक्षिणतर्फ कमला नदीमा नेपालकै सबैभन्दा लामो ‘कठाल मल्हनिया मल्टिस्पान’ झोलुङ्गे पुल गत फागुन १२ गते उद्घाटन गर्न आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोही अवसरमा यस भासिएको कमला पुलको हेलिकप्टरबाट निरीक्षण गर्नुभएको थियो ।सो अवसरमा प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षमा पर्याप्त बजेटको व्यवस्था गरी जीर्ण कमला पुलको पुनःनिर्माण समयमै सम्पन्न गर्नमा सरकारले विशेष ध्यान जानकारी दिनुभएको थियो ।विसं २०६८ मा तीन वर्षभित्र पुल निर्माण सम्पन्न हुने निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो । विभिन्न पटक म्याद थप गरेर करिब १० वर्षपछि ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भएपछि पुलको उद्घाटनको तयारी गरिरहेकै बेला २०७८ साल असार र कात्तिकमा आएको बाढीले पुल भासियो । यसपछि पुल निर्माणको काम नै अन्योलमा परेको थियो ।पुल निर्माणमा निर्माण कम्पनीको लापरबाही देखिएपछि सो निर्माण कम्पनी हटाएर नयाँ कम्पनीलाई काम सम्पन्न गर्ने जिम्मेवारी दिइएको थियो । मधेस प्रदेशको राजधानी जनकपुरधामसँग जोड्ने छोटो दूरीको राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत कमला पुल समयमा निर्माण नहुँदा वर्षाैंदेखि स्थानीयले सास्ती खेप्दै आएको छन् ।

उपनिर्वाचन : माओवादी केन्द्रद्वारा बझाङमा जनक बुढालाई उम्मेदवार बनाउन सिफारिस

सुदूरपश्चिम, १८ चैत : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आगामी वर्ष वैशाखमा हुने उपनिर्वाचनमा सुदूरपश्चिम प्रदेशसभाका लागि बझाङ ‘क’ मा जनक बुढालाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश समितिले बुढालाई उम्मेदवार बनाउन सिफारिस गरेको हो ।

बझाङ ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा निधन भएपछि उक्त पद रिक्त थियो । माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटी सचिवालयको आज कैलालीको धनगढीमा बसेको बैठकले प्रदेश समितिका सचिव रहेका बुढालाई प्रदेशसभा सदस्यको प्रत्याशी बनाउन सिफारिस गर्ने निर्णय गरेको माओवादी केन्द्रका उपमहासचिव एवं प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो ।

बैठकपछि धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उपमहासचिव पोखरेलले चुनावमा नयाँ समीकरणमा सहभागी दलबीच सहमति बन्न नसकेमा मैत्रीपूर्ण प्रतिस्पर्धा गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एमालेले उम्मेदवार घोषाणा गरिसकेको पृष्ठभूमिमा एमाले—माओवादी र समाजवादीबीच सहमति गर्ने, सहमति हुन नसके मैत्रीपूर्ण प्रतिस्पर्धा गरिनेछ ।”

उपनिर्वाचनका लागि सो क्षेत्रमा एमाले र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले उम्मेदवार घोषणा गरिसकेका छन् । कांग्रेसलगायत अन्य दलले भने उम्मेदवारको नाम घोषणा गरेका छैनन् । नयाँ समीकरण अनुसारको प्रदेश तहमा पनि सरकार गठनका लागि आफ्नो तर्फबाट पहल गर्ने निर्णय पार्टीको प्रदेशसभा, संसदीय दलले आजै गरेको जानकारी उपमहासचिव पोखरेलले बताउनुभयो ।

“प्रदेशसभा संसदीय दलले संसद्भित्रको बनावटका आधारमा सरकार दिन पहल गर्नेछ,” उहाँले भन्नुभयो । शनिबार बसेको सो पार्टीको प्रदेश समिति सचिवालयको बैठकले दुईमहिने सङ्गठन सुदृढीकरण तथा जनसम्बन्ध विस्तार गर्नेलगायत कार्यक्रम पनि सञ्चालन गर्ने निर्णय गरेको छ । पत्रकार सम्मेलनमा पार्टीका सुदूरपश्चिम सह–इन्चार्ज बिना मगर, प्रदेश कमिटी अध्यक्ष हरिराम चौधरीलगायतको उपस्थिति रहेको थियो ।

‘केजरीवाल लामो समय जेलमा बस्नुपर्दैन’

दिल्लीको मदिरा नीति प्रकरणमा आफ्ना पतिलाई पक्राउ गरिएको विषयमा भइरहेको विरोध प्रदर्शन र राजनीतिक खिचातानीका बीच दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालकी पत्नी सुनिता केजरीवालले विरोध सभालाई आइतबार सम्बोधन गर्दै केजरीवाल लामो समयसम्म जेलमा बस्नु नपर्ने बताउनुभएको छ ।

मुख्यमन्त्री केजरीवालको पक्षमा समर्थन जुटाउन आम आदमी पार्टी (आप), विपक्षी दलहरूको गठबन्धन (इन्डिया) र उसका साझेदारहरूको शक्ति प्रदर्शनमा पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गद सुनिताले भन्नुभयो, “केजरीवाल देशभरका करोडौं जनताको हृदयमा बसिसकेकोले संघीय सरकारले उहाँलाई लामो समयसम्म हिरासतमा राख्न सक्दैन ।”

दिल्लीका मुख्यमन्त्री हाल मदिरा नीतिसम्बन्धी मुद्दामा प्रवर्तन निर्देशालय (इडी) को हिरासतमा हुनुहुन्छ । उक्त मुद्दा अनुसन्धानका लागि उहाँलाई १ अप्रिल (सोमबार) सम्म हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिइएको छ ।

उहाँले भन्नुभयो, “केजरीवालले जुन दृढ सङ्कल्प र साहसका साथ लड्नुभएको छ यसले भारतीय स्वतन्त्रताका लागि सङ्घर्षका क्रममा अन्तिम बलिदान दिएका स्वतन्त्रता सेनानीहरूको सम्झना गराउँछ ।”

सभालाई सम्बोधन गर्दै उहाँले आगामी लोकसभा चुनावमा सत्तामा आएमा विपक्षी गठबन्धनले पूरा गर्ने बताएका छ वटा वाचा पढेर सुनाउनुभएको थियो ।

विपक्षी गठबन्धनले देशभर २४ सै घण्टा बिजुली आपूर्ति, गरिबका लागि निःशुल्क विद्युत सेवा, प्रत्येक इलाका÷गाउँमा राम्रो सरकारी विद्यालय, स्वामीनाथन आयोगको प्रतिवेदन अनुसार किसानहरूको सहयोगका लागि लागि न्यूनतम समर्थन मूल्य र दिल्लीलाई पूर्ण राज्यको दर्जा प्रदान गर्नु समावेश छ । केजरीवाललाई ईडीले २१ मार्चमा मदिराको अन्तः शुल्क नीतिसम्बन्धि मुद्दामा घण्टौँ लामो सोधपुछपछि गिरफ्तार गरेको थियो ।

आइतबार सबै प्रमुख विपक्षी नेताहरू रामलीला मैदानमा मञ्चमा भेला भएर केजरीवालको गिरफ्तारीको विरोध गरेका थिए ।

महा¥यालीलाई सम्बोधन गर्दै आम आदमी पार्टीका वरिष्ठ नेता तथा दिल्लीका मन्त्री गोपाल रायले वर्तमान् मुख्यमन्त्री केजरीवाललाई मदिरा नीति प्रकरणमा पक्राउ गर्नुपर्ने कारणबारे प्रश्न उठाउनुभएको थियो ।

नेपालको संविधान विश्वकै संविधानमध्येको उत्कृष्ट छ – सभापति देउवा

काठमाडौँ, १८ चैत : नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलालाई थप सशक्तीकरण गर्न जरुरी रहेको बताउनुभएको छ ।मङ्गलादेवी सिंह फाउन्डेसनले काठमाडौँ महानगरपालिकाको सहकार्यमा आज यहाँ आयोजना गरेको ‘नेपाली महिला आन्दोलनमा महिला सशक्तीकरण, राजनैतिक चेतना एवम् सामाजिक जागरण ल्याउने कार्यमा योगदान पु¥याउने महिलाको सम्मान कार्यक्रम’मा उहाँले महिला सशक्तीकरण भएमा मात्र समानतामूलक समाज निर्माण हुन्छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “कांग्रेसलाई आगामी निर्वाचनमा बहुमत ल्याउनसक्ने पार्टीका रुपमा स्थापित गराउनका लागि पार्टीमा आबद्ध महिलालाई अझ बढी सशक्तीकरण गर्दै अगाडि बढ्नुपर्छ, महिलालाई सशक्त बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास मैले लिएको छु । ” सभापति देउवाले नेपाली महिलाको हक, अधिकार संविधानमा नै स्थापित गराउने काममा स्व. मङ्गलादेवी सिंहले खेल्नुभएको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्नुभयो ।

पूर्वप्रधानमन्त्री देउवाले समावेशी, समानुपातिक र महिला, हक अधिकारको दृष्टिले नेपालको संविधान विश्वकै संविधानमध्येको उत्कृष्ट दस्तावेजका रुपमा रहेको छ भन्नुभयो । सभापति देउवाले कांग्रेसले संविधानअनुसार महिलालगायत सबै समुदायको प्रतिनिधित्वलाई सुनिश्चित गराउने काम गरेको उल्लेख गर्नुभयो ।

कांग्रेसका नेता प्रकाशमान सिंहले महिलाको हकअधिकार, सम्मान र प्रजातन्त्र स्थापनाका लागि मङ्गलादेवी सिंहले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँलेभ भन्नुभयो ,“महिलालाई आर्थिक सबलीकरण बनाउनका लागि स्व सिंहको योगदान महत्वपूर्ण छ । बोलेको कुरा पूरा गर्ने व्यक्ति मङ्गलादेवी सिंह हुनुहुन्थ्यो । ”

कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्यायले महिलाको हकअधिकारको स्थापनाका लागि स्व सिंहले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । कांग्रेस काठमाडौँका सभापति सबुज कृष्ण बानियाँले महिला स्वतन्त्रताका लागि अडिग भएर लड्ने व्यक्ति मङ्गलादेवी सिंह भएको बताउनुभयो । नेपाल महिला सङ्घकी अध्यक्ष उषा राउत मिश्राले मङ्गलादेवी सिंहले महिला अधिकारका सवालमा देख्नुभएको सपना पूरा गर्न महिला सङ्घ लागिरहेको बताउनुभयो ।

कार्यक्रममा लीला कोइराला (धनुषा), लक्ष्मी राई (भोजपुर), अञ्जु बस्न्यात (दोलखा), कृष्ण अमात्य (काठमाडौँ), चिरीहिरा शाक्य रञ्जित (काठमाडौँ), सीता दाहाल (सङ्खुवासभा), हनि श्रेष्ठ (सर्लाही), शारदा वैद्य (कास्की), शान्ता शर्मा (कञ्चनपुर), सोना भण्डारी (काठमाडौँ) र शशी रिमाल (काठमाडौँ)लाई रु १५ हजार नगदसहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।

शिक्षामन्त्री श्रेष्ठ र विद्यार्थी सङ्गठनहरूबीच छलफल, विद्यार्थीले भोगिरहेका समस्या र समाधानका उपायबारे सुझाव माग

काठमाडौँ, १८ चैत : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आज विद्यार्थी सङ्गठनहरुसँग छलफल गर्नुभएको छ । विभिन्न सरोकारवालासँग छलफल गर्ने क्रममा आज विद्यार्थीसँग छलफल गरिएको हो ।

छलफलमा विद्यार्थी सङ्गठनका प्रतिनिधिहरूबाट विद्यार्थीले भोगिरहेका समस्या र समाधानका उपायबारे शिक्षामन्त्रीले सुझाव माग्नुभएको थियो । समग्र शिक्षा प्रणालीको रूपान्तरण र विश्वविद्यालयमा विद्यार्थीको शैक्षिक जीवन सुधार गर्नका लागि मन्त्रालयको भूमिकाबारे छलफल भएको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववीयुका अध्यक्ष समिक बडाल, अखिल क्रान्तिकारीका नेता इन्द्र भुसाल र पवन कार्की, अनेरास्ववियुका नरेश न्यौपाने, समाजवादी विद्यार्थी युनियनका रमेश यादव, वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठनका हिमांशु, लोकतान्त्रिक विद्यार्थी सङ्गठनका समर साह, राप्रविसंका मदन शाहीलगायत सहभागी थिए ।

छलफलमा विद्यार्थी सङ्गठनहरूले शिक्षामन्त्रीलाई विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति रहने व्यवस्था परिमार्जन गर्न, राजनीतिक भागबन्डा बन्द गर्न, विश्वविद्यालयहरूमा शैक्षिक क्यालेन्डर लागू गर्न, निःशुल्क विद्यालय शिक्षा कार्यान्वयन गर्न, निजी विद्यालयहरूमा छात्रवृत्ति र शुल्क अनुगमन गरी समान शिक्षा लागू गर्न सुझाव दिएका थिए ।

चितवन राष्ट्रिय निकुञ्ज : सातवटा गैँडालाई आन्तरिक स्थानान्तरण गरियो

चितवन, १८ चैत : चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट चर भाले र तीन पोथी गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको छ । सात गैँडालाई स्थानान्तरण गरेसँगै आन्तरिक स्थानान्तरणको काम सकिएको निकुञ्ज कार्यालयले जनाएको छ ।

आठ वर्षदेखि ३० वर्षसम्मका गैँडालाई पश्चिम क्षेत्रबाट पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिनुभयो । पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि पूर्व क्षेत्रमा स्थानान्तरण गरिएको उहाँले बताउनुभयो ।

सूचना अधिकारी तिवारीका अनुसार यही चैत २ गतेदेखि गैँडा स्थानान्तरको काम सुरु गरिएको थियो । नवलपरासी बर्दघाट–सुस्ता पूर्व कावासोतीबाट ३० वर्षको भाले गैँडालाई कसरा क्षेत्रबाट पूर्वको तमोरताल क्षेत्रमा ल्याएर छोडिएको उहाँले जानकारी दिनुभयो ।

दिव्यपुरी पोष्ट क्षेत्रबाट १७ र आठ वर्षका भाले गैँडालाई खगेन्द्रमल्ली रेञ्जर पोष्ट दक्षिण क्षेत्रमा ल्याएर छोडिएको छ । निकुञ्जको सुकीभार क्षेत्रबाट १४, १६ र १३ वर्षका पोथी गैँडालाई खगेन्द्र मल्ली रेञ्जर पोष्टको क्षेत्रमा र सौराहाको राष्ट्रिय प्रकृति संरक्षण कोष क्षेत्रमा रहेको १० वर्षको भाले गैँडालाई कोसिटपु वन्यजन्तु आरक्ष सप्तरीमा स्थानान्तरण गरिएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो ।

निकुञ्जका हात्ती, हात्ती सारे, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएका नेपाली सेना र अन्य कर्मचारी गरी ६० जना जनशक्ति गैँडा स्थानान्तरणमा परिचालन भएका निकुञ्ज कार्यालयले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको अध्ययन टोलीको प्रतिवेदन अनुसार गैँडा स्थानान्तरण गरिएको हो ।

पछिल्लो गणना अनुसार नेपालमा सात सय ५२ वटा गैँडा रहेका छन् । जसमध्ये बर्दियामा ३८ र शुक्लाफाँटामा १७ छन् । चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ र पर्सा राष्ट्रिय निकुञ्जमा तीन वटा गैँडा छन् ।

पोखरा–मुग्लिन सडक निर्माण सुस्त गतिमा, सास्ती भोग्न बाध्य सर्वसाधारण

गण्डकी, १८ चैत : पर्यटकीय राजधानी पोखरा प्रवेश गर्ने पोखरा–मुग्लिन सडक विस्तार र स्तरोन्नतिको काममा ढिलाइ हुँदा पर्यटक र सर्वसाधारण दुई वर्षदेखि सास्ती भोग्न बाध्य छन् । घाम लाग्दा धुलो र पानी पर्दा हिलोको समस्याबाट यात्रु हैरान भएका छन् ।

विसं २०७८ वैशाखदेखि सुरु भएको सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो समय थोरै गति लिन थालेको छ । स्थानीयले निर्माण सुस्त भएकाले अझै गति बढाउनुपर्ने बताउँदै आएका छन् ।

आयोजनाको पूर्वी सडकखण्ड (मुग्लिन–जामुने)मा हालसम्म भौतिक प्रगति ५१ र पश्चिम खण्ड (जामुने–पोखरा) मा १७ प्रतिशत पुगेको छ । पूर्वी खण्डका इञ्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेका अनुसार १४ किमी दूरीमा दुईतर्फी (चार लेन) र १२ किमिमा एकतर्फी (दुई लेन) सडक कालोपत्र भइसकेको छ । उक्त खण्डमा पर्ने १७ साना–ठूला पक्की पुलमध्ये १४ वटा बनिसकेको र तीन वटा निर्माणाधीन अवस्थामा छन् । मादीमा बन्ने ‘सिग्नेचर’ पुल छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको इन्जिनियर पाण्डेले बताउनुभयो ।

“कोभिड महामारीलगायतका कारण सुरुको चरणमा काम गर्न ढिलाइ भएको हो । अहिले कामले गति लिएको छ, निर्माण कम्पनीले उपकरण र मजदुर थपेर काम गरिरहेका छन्”, उहाँले भन्नुभयो, “कालोपत्रका लागि बेस हाल्नेदेखि, कल्भर्ट, नाली, पर्खाललगायत पूर्वाधार तयारीका काम धमाधम भइरहेका छन् ।” पूर्वी खण्डको ४१ दशमलव ४५ किमिको काम विसं २०७८ वैशाखदेखि चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले सुरु गरेको थियो ।

उक्त खण्डको ठेक्काको म्याद आगामी वैशाखसम्म छ । “छ महिना म्याद थपका लागि प्रक्रिया अगाडि बढेको छ, सोही अवधिभित्र कामसक्ने लक्ष्य आयोजनाको छ”, इञ्जिनियर पाण्डेले भन्नुभयो । पूर्वी खण्डमा पर्ने तनहुँको दमौली र डुम्रे बजारमा छ लेन र बाँकी खण्डमा चार लेनको सडक बन्ने उहाँको भनाइ छ । निर्माण कम्पनीले रु छ अर्ब २१ करोड ३१ लाखमा उक्त खण्डको ठेक्का लिएको थियो ।

आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने)का प्रमुख राजेशप्रसाद पौडेलले काम सकिन अझै दुई वर्ष लाग्ने बताउनुभयो । “हालसम्म पश्चिम खण्डको भौतिक प्रगति १७ प्रतिशत छ, कुनै अवरोध आएन भने दुई वर्षभित्र काम सकिन्छ”, उहाँले भन्नुभयो, “सडक निर्माणलाई तीव्रता दिन पश्चिम खण्डमा अहिले इञ्जिनियर र पाँच सय बढी मजदुर खटिएका छन् ।”

सडक विस्तारसँगै पुल, कल्भर्ट, नालीलगायत पूर्वाधार निर्माणको काम तीव्र गतिमा भइरहेको उहाँले जानकारी दिनुभयो । “कतिपय ठाउँमा सडक दायाँबायाँका भौतिक संरचना, विद्युत् खम्बा, खानेपानी र सिँचाइका पूर्वाधार व्यवस्थापनको काम बाँकी छ”, प्रमुख पौडेलले भन्नुभयो, “आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा वितरणको प्रक्रिया सँगै अगाडि बढाएका छौँ ।”

पश्चिम खण्डमा हालसम्म पाँच किमी सडक कालोपत्र भइसकेको छ । तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्रको तयारी गरिएकामा वर्षाले अवरोध पु¥याएको आयोजना प्रमुख पौडेलले बताउनुभयो । १९ प्रतिशत भौतिक प्रगति हुनुपर्नेमा वर्षाकै कारण १७ प्रतिशतमात्र पुगेको उहाँको भनाइ छ ।

प्रमुख पौडेलले आगामी असारभित्र ३० प्रतिशत भौतिक प्रगति हासिल गर्ने लक्ष्यसहित आयोजनाको कामलाई गति दिइएको बताउनुभयो । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्म ३८ दशमलव ८८ किमी दूरी रहेको पश्चिम खण्डको आधा सडक छ लेन र आधा चार लेनको बन्ने पौडेलले जानकारी दिनुभयो । आयोजनासँग हाल २० किमी कालोपत्र गर्न आवश्यक सामग्री तयारी अवस्था छ ।

निर्माण सामग्रीको अभाव हुन नदिन आयोजनाले कास्की र तनहुँका स्थानीय तहसँग समन्वय गरिरहेको छ । आयोजनाको पश्चिम खण्ड निर्माण पूर्वी खण्डको भन्दा छ महिना पछि सुरु भएको थियो । सडकको अधिकार क्षेत्रभित्रका संरचना, विद्युत् खम्बा, खानेपानीका पूर्वाधार आदि हटाउन समय लागेकाले आयोजना निर्माणमा ढिलाइ भएको प्रमुख पौडेलले बताउनुभयो ।

पश्चिम खण्डमा विसं २०७८ भदौदेखि काम सुरु गरेकोमा ठेक्काको म्याद आगामी भदौसम्म रहेको आयोजना कार्यालयले जनाएको छ । सो अवधिमा निर्माण सम्पन्न नहुने भएपछि म्याद थपको प्रक्रिया अगाडि बढाइएको आयोजना प्रमुख पौडेलले जानकारी दिनुभयो ।

पश्चिम खण्डअन्तर्गत दुलेगौँडा र मुख्य बजार क्षेत्रको सडकको चौडाइ ४६ मिटर हुनेछ । जामुनेदेखि कुम्लेखोलासम्म १८ मिटर र बाँकी खण्डमा २३ मिटर सडक कालोपत्र हुने जनाइएको छ । पश्चिम खण्डमा १२ वटा पक्की पुल र एक सयको हाराहारीमा कल्भर्ट बनिरहेको आयोजना कार्यालयले जनाएको छ । पोखराको सेती नदीमा ‘सिग्नेचर’ पुल निर्माणाधीन अवस्थामा छ । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ । भ्याटबाहेक रु ९४ करोडमा ठेक्का लागेको पुल आकर्षक हुने आयोजनाले जनाएको छ ।

चिनियाँ निर्माण कम्पनी ‘यनहुई काइयुयान हाइवे’ एण्ड ब्रिज कन्सट्रक्सनलले रु सात अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्डको निर्माण ठेक्का लिएको हो । कूल ८१ किमी दूरीको सो सडक एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको छ । सडक विस्तार भइरहेकाले प्रदेश राजधानी पोखरा प्रवेश गर्ने मुख्य सडकको यात्रामा सर्वसाधारणले सास्ती खेप्न बाध्य छन् । घाम लाग्दा सडक धुलाम्मे र वर्षात्मा हिलाम्ये हुँदा यातायात सञ्चालनमा कठिनाइ भएको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पहिलेको तुलनामा पछिल्लो समय सडक निर्माणले गति लिएकामा सन्तोष व्यक्त गर्नुभयो ।

“सडक निर्माण सुस्त भएपछि हामीले दबाबमूलक कार्यक्रम गर्नुुपरेको थियो, अहिले सडकको प्रगति हेर्दा सन्तोषजनक देखिन्छ”, उहाँले भन्नुभयो, “पर्यटकीय राजधानी जोड्ने मुख्य सडकमार्ग भएकाले चाँडो निर्माण सम्पन्न गर्न सम्बन्धित पक्षको ध्यान जानु जरुरी छ । यो सडक पोखराको पर्यटनका लागि कोसेढुङ्गा हो ।”

पोखरा–मुग्लिन सडकस्तरीय नहुँदा पोखरा र आसपासको पर्यटन क्षेत्र मारमा परेको छ । पर्यटकीय राजधानी प्रवेश गर्न घण्टौँको सास्तीपूर्ण यात्रा गर्नुपर्ने अवस्था अन्त्य हुनेमा विश्वस्त रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

नेपालगञ्ज भन्सारमा राजस्व सङ्कलन वृद्धि

जानकी (बाँके), १८ चैतः नेपालगञ्ज भन्सार नाकामा चालु आर्थिक वर्षको फागुनसम्म राजस्व सङ्कलन वृद्धि भएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा सोही अवधिमा राजस्व सङ्कलन एक दशमलव ३५ प्रतिशतले वृद्धि भएको हो ।

गत आवको फागुनसम्ममा रु ११ अर्ब ४३ करोड ६२ लाख २९ हजार राजस्व सङ्कलन भएकोमा चालु आवको सोही अवधिमा रु ११ अर्ब ५९ करोड नौ लाख ४३ हजार राजस्व सङ्कलन भएको भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिनुभयो । चालु आवको आठ महिनामा रु सात करोड ८९ लाख ९५ हजार बराबरको सामान बरामद भएको छ । गत वर्षको सोही अवधिमा रु दुई करोड १५ लाख ६३ हजार बराबरको सामान बरामद भएको थियो ।

फागुनसम्मको लक्ष्य रु १८ अर्ब ७७ करोड ४८ लाख २९ हजार रहेकामा ११ अर्ब ५९ करोड नौ लाख ४३ हजार राजस्व सङ्कलन भएको अधिकृत विश्वकर्माले बताउनुभयो । विश्वकर्माका अनुसार लक्ष्यको ६१ दशमलव ७४ प्रतिशत राजस्व सङ्कलन भएको छ ।

उहाँका अनुसार चालु आवको फागुनसम्ममा रु ४६ अर्ब १७ करोड बराबरको सामान आयात आएको छ । गत वर्ष सोही अवधिमा रु ४३ अर्ब ३० करोड बराबरको सामान आयात भएको थियो । त्यसैगरी समीक्षा अवधिमा रु एक अर्ब ५६ करोड बराबरको सामान निर्यात भएको छ भने गत वर्ष सोही अवधिमा रु एक अर्ब ५७ करोड बराबरको सामान निर्यात भएको थियो ।

यो वर्ष भारतबाट मात्रै ९२ दशमलव ८७ प्रतिशतले सामान आयात भएको छ । बाँकी चीन, इन्डोनेसिया, मलेसियालगायत अन्य देशबाट आयात भएको भन्सार कार्यालयले जनाएको छ । यसै वर्ष भारतमा ९९ दशमलव ०७ प्रतिशत सामान निर्यात भएको छ । प्रमुख भन्सार अधिकृत विश्वकर्माका अनुसार यात्रु शाखाबाट दैनिक दुई लाख राजस्व सङ्कलन हुने गरेको छ ।

सबैभन्दा धेरै आयल निगमबाट राजस्व सङ्कलन हुने गरेको प्रमुख भन्सार अधिकृत विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार ५१ प्रतिशत राजस्व सङ्कलन आयल निगमबाट हुने गरेको छ ।चालु आवको चैत महिनाको राजस्वको लक्ष्य रु दुई अर्ब ४५ करोड तीन लाख ७४ हजार रहेकोमा चैत १७ गतेसम्म रु ८० करोड १० लाख ३३ हजार राजस्व सङ्कलन भइसकेको छ । यो लक्ष्यको ३२ दशमलव ६९ प्रतिशत हो ।

प्रमुख भन्सार अधिकृत विश्वकर्माका अनुसार पेट्रोलियम पदार्थ, शुद्ध फलाम, चामल, आलु, टायल, स्टील वायर, सुपारी, भटमासको पिना, एमएस बिलेट, अलकत्रा, फलामे पत्रु र तयारी कपडालगायतका सामग्री राजस्व आउने प्रमुख मालवस्तु हुन् । नेपालबाट जडीबुटीलगायतका वस्तु भारततर्फ निर्यात हुने गरेको छ ।

पौडेलद्वयलाई २१ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ, १८ चैतः विशेष अदालतले गैरकानुनी सम्पत्तिआर्जनको आरोपमा पक्राउ परेका दुई व्यक्तिलाई थप अनुसन्धानका लागि २१ दिन थुनामा राख्न अनुमति दिएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले आज नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई थप २१ दिन थुनामा राख्न अनुमति दिएको अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघ १० गते नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकललाई गत पक्राउ गरेको थियो ।

तीन सातामा एउटै फार्मका दुई सय ८० बाख्रा मरेपछि…

कास्की, १८ चैतः मादी गाउँपालिका–१२ स्थित एक बाख्रा फार्ममा रोगका कारण दुई सय ८० बाख्रा मरेका छन् । लिपेयानीस्थित नारायणप्रसाद बरालले सञ्चालन गर्नुभएको स्पाइम स्मृति मल्टिप्रपोज एग्रो फार्मका बोयर जातका बाख्रा तीन सातामा निमोनियाका कारण मरेका हुन् ।

बरालले पछिल्ला २० दिनमा अधिकांश बाख्रा मरेर खोर रित्तै भएको र अहिले तीन वटामात्र बाँकी रहेको जानकारी दिनुभयो । बाख्रामा सुरुआतमा घाँस, दाना, पानी नखाने, सिगान बगाउने लगायतका लक्षण देखा परेको बताइन्छ ।

सुरुआतमा गत पुसमा केही बाख्रा बिरामी भएपछि औषधि गरेर निको भए पनि अहिले पछिल्लो दुईदेखि तीन सातामा सबै बाख्रा मरेको बरालले बताउनुभयो । “सुरुमा पुस अन्तिमतिर केही बाख्राले नाकबाट सिगान बगाउने, घाँसपानी नखाने, झोक्रयाउने भएपछि गाउँपालिकाका पशु प्राविधिकलाई बोलाएर उपचार गरेपछि ठीक भएका थिए”, बरालले भन्नुभयो, “तर अहिले पुनः पहिलाकै समस्या देखियो र बीस दिनमा सबै बाख्रा मरे ।”

बरालले बाख्रा मर्न थालेपछि प्राविधिकलाई बोलाएर उपचार गर्दासमेत कम नभएको बताउनुभयो । पशु प्राविधिकले रोग पत्ता लगाउनका लागि ल्यावमा परीक्षण गर्दा क्रोनिक निमोनिया पुष्टि भएको थियो । थप क्षति हुन नदिनका लागि इन्जेक्सन लगाएको भए पनि काम नगरेको बरालले बताउनुभयो । बरालले रोगका कारण ठूलो सङ्ख्यामा बाख्रा मरेपछि अनुमानित रु डेढ करोड क्षति पुगेको उल्लेख गर्नुभयो ।

बरालले केही बाख्रोको बीमा गरेपनि तीन महिनाभन्दा साना पाठापाठीको नभएको जानकारी दिनुभयो । पेसाले शिक्षक बरालले विसं २०७४ देखि व्यावसायिक रुपमा बाख्रापालन व्यवसाय गर्दै आउनुभएको थियो । बाख्रासँगै उहाँले कुखुरापालन गर्नुभएको छ । बरालले गत वर्ष बाख्रापालनबाट रु ३८ लाखको आम्दानी गर्नुभएकामा यसवर्ष रु ५० लाखको बिक्री गर्ने योजना बनाउनुभएको थियो ।

“सानो उमेरदेखिनै कृषि गर्ने चाहनाले बाख्रा र कुखुरा पाल्न सुरु गरेँ । अहिले एकाएक सबै सकियो, ठूलो क्षति हुँदा धेरै पीडा भएको छ”, बरालले भन्नुभयो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले मरेका पशुको प्रयोगशालामा ल्याएर थप परीक्षण भइरहेको जानकारी दिनुभयो ।

हालसम्म निमोनियाका कारणले क्षति पुगेको भए पनि अन्य कारणसमेत खोजी भइरहेको पाण्डेले बताउनुभयो । “विज्ञ केन्द्रमा समेत ढिला गरी जानकारी आएको थियो । त्यसपछि हामीले रोग नियन्त्रणका लागि केन्द्रबाट र प्रयोगशालाबाट समेत पशु चिकित्सकलाई पठाएर परीक्षण गरेका हौँ । धेरै ढिला भएकाले उपलब्धि भएन”, उहाँले भन्नुभयो ।

सो वडाका अध्यक्ष कृष्णराज दाहालले बरालद्वारा सञ्चालित बाख्रा फार्म पालिकाकै नमुना भएको भन्दै उक्त क्षतिले आफूहरुलाई समेत दुखित बनाएको बताउनुभयो । पीडित किसानलाई राहतका लागि पालिका, प्रदेश सरकार लगायतसँग पहल गरिने दाहालले बताउनुभयो ।

नक्कली बिल र स्टिकरको अनुगमन गरी आवश्यक कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, १८ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज आयोजित राजस्व वृद्वि तथा चुहावट नियन्त्रणसम्बन्धी बैठकमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीलाई प्रधानमन्त्री दाहालले उक्त निर्देशन दिनुभएको हो । बैठकमा प्रधानमन्त्री दाहालले भन्नुभयो, “राजस्व चुहावट र अवैध व्यापारिक कारोवारमा हुने ‘सेटिङ’ भत्काउने कार्यलाई प्राथमिकता दिनूहोस्, झुटा तथा नक्कली बिल बीजक र स्टिकरको प्रयोग भइरहेको सूचना आएको छ । त्यसको अनुगमन गर्नूस् र एक्सन लिनूस् ।”

प्रधानमन्त्री दाहालले नयाँ गतिका साथ काम गर्ने अठोट लिएर सरकार पुनर्गठन गरिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सोही अनुरूप क्रियाशील हुन निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘‘सरकारले नयाँ गतिका साथ काम गर्ने अठोट लिएको छ । मुलुकको समृद्धिको बाधकका रूपमा रहेका भ्रष्टाचार, तस्करी र राजस्व छलीलाई निर्ममतापूर्वक हटाउनैपर्छ । जनतामा पैदा गरिएको निरासालाई हटाउनुपर्छ । यसका लागि विगतका परम्परागत प्रशासनिक कार्यशैली, व्यवहार र चिन्तनबाट सम्भव छैन । नयाँ सोचसहित अगाडि बढौँ ।”

आन्तरिक बजारलाई व्यवस्थित तुल्याउँदै बिल लिने–दिने प्रणाली प्रभावकारी बनाउनसमेत प्रधानमन्त्री दाहालले निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “आन्तरिक बजारमा बिल लिने–दिने प्रणाली प्रभावकारी भएको छैन । कारोवारलाई आवश्यकताअनुसार प्रविधिमा रूपान्तरण गर्न सकिएको छैन । यस सम्बन्धमा सम्बन्धित राजस्व कार्यालयले नियमित बजार अनुगमन गर्ने र सो को रिपोर्टिङ गर्ने व्यवस्था मिलाउनूहोस् । कर प्रशासनका सबै कार्यलाई पूर्ण प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिनूहोस् ।”

बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, मुख्यसचिव डा बैकुण्ठ अर्याल, अर्थसचिव डा कृष्णहरि पुस्कर, राजस्व सचिव डा रामप्रसाद घिमिरे, गृहसचिव एकनारायण अर्याल, प्रधानमन्त्री कार्यालयका सचिवहरू, प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल तथा अर्थ मन्त्रालय मातहतका महानिर्देशकहरूको उपस्थिति रहेको थियो ।

कास्की जीप दुर्घटना अपडेट : दुई जनाको मृत्यु

कास्की, १८ चैत : कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा आज दिउँसो भएको जीप दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका पोखरा महानगरपालिका–२३ का ५५ वर्षीय लक्ष्मण सुनार र सोही स्थानका ५२ वर्षीय जयराम सुनारको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते पाँचजनाको मणिपालमा र पाँचजनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

पोखराबाट अन्नपूर्णको भदौरेतर्फ जाँदै गरेको ग१ज ५५४७ नंको यात्रुवाहक जीप दिउँसो सल्लाघारी भन्ने ठाउँमा घुम्तीबाट दुई सय मिटर तल खसेर दुर्घटना भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा घटनास्थलबाट घाइतेको उद्धार गरिएको थियो । घटनास्थल पोखराबाट २९ किमी टाढा पर्दछ ।

बेलायती बालबालिकाको अभिभावकसँग प्रश्नः मैले कहिले स्मार्टफोन पाउँछु ?

लन्डन, १८ चैत – पछिल्ला वर्षहरुमा बेलायतका धेरै बालबालिकाले “मैले कहिलेदेखि स्मार्टफोन चलाउन पाउँछु ?” भन्ने प्रश्नले आम अभिभावकलाई सताउने गरेको छ । यो प्रश्न अब नौलो होइन, आम बालबालिकाले आफ्ना अभिभावकलाई सोधेर हैरान पारिरहेका हुन्छन् । बालबालिकाको दिमागमा स्मार्टफोनले पार्ने असरबाट चिन्तित बनेका बेलायतका केही अभिभावक यसलाई रोक्न निकै सङ्घर्षरत देखिएका छन् ।

तीन बच्चाकी आमा डेजी ग्रीनवेलले आफ्ना बालबच्चालाई विद्यालयको ढोकामा पु¬याउँदा यही स्थिति अरु अभिभावकले पनि सामना गर्नु परेको छ । ग्रीनवेलकी साथीका ११ वर्षीय छोराले पनि यस्तै स्मार्टफोन मागेको थाहा पाइन् । ती बच्चाको कक्षाका अरु तीन बालबालिकाले स्मार्टफोन प्रयोग गरेको पाइएको थियो ।

इन्स्टाग्राममा उनले लेखेकी छिन, “अरु अभिभावकसँगको कुराकानीले मलाई आतङ्कति तुल्याएको छ । म मेरो बच्चालाई त्यस्तो सामान दिन चाहन्न जसले उनको मानसिक स्वास्थ्य बिगार्नुका साथै उनलाई कुलतमा फसाउँछ ।”

“तर मलाई के पनि थाहा छ भने यस्तो दबाब व्यापक हुने गरेको छ,” पूर्वी इङ्ल्यान्डको उडब्रिजका एक पत्रकारले टिप्पणी लेखेका छन् ।

उडब्रिजको टिप्पणी लगत्तै धेरै अभिभावकले स्मार्टफोनको प्रयोगबाट हुनसक्ने असरका बारेमा एकपछि अर्को धारणा सार्वजनिक गरेका छन् । खासगरी बालबच्चाहरुले स्वतन्त्र रुपमा यस्ता डिभाइस चलाउन पाए उनीहरु अनलाइन बुलिङ, सामाजिक तनाब र हानिकारक सामग्रीबाट प्रताडित हुनेछन् ।

बढ्दो साइबर अपराध वृद्घिले बालबालिकामा मानसिक तनाव उत्पन्न हुने देखेर ग्रीनवेल र उनका साथी क्लेयर रेनोल्ड्सले “स्मार्टफोन फ्री चाइल्डहुड” नामको सचेतना अभियान सञ्चालन गरिन् ।

अभिभावकको अनुभव समेतलाई आधार मानेर गरिएको प्राज्ञिक अनुसन्धानले बालबच्चाले स्मार्टफोन माग्दा अभिभावकहरुले चिन्तित हुने गरेको देखाएको छ । कतिपय अभिभावकले भने आफूहरु बालबच्चाका अघिल्तिर निरीह हुने गरेको गुनासो गरेका थिए । फोन दिँदा पनि सुरक्षामा ध्यान दिनुपर्ने उनीहरुको तर्क छ ।

बेलायतका विद्यालय शिक्षामन्त्री डेमियन हिन्ड्सले संसदीय समितिमा बोल्दै ११ वा १२ वर्ष उमेरका सबैजसो बालबालिकाले मोबाइल फोन राख्ने गरेको बताउनुभएको छ ।

वास्तवमै स्मार्टफोनले बालबालिकाको मनमा ठूलो असर गर्ने अमेरिकी सामाजिक मनोवैज्ञानिक जोनाथन हेड्टद्वारा भर्खरै प्रकाशित पुस्तक ‘द एन्क्सियस जेनेरेसन’मा उल्लेख छ । उहाँले फोनमा आधारित बाल्यकालको भविष्य युवामा मानसिक रोगको समस्या बढ्ने र यसलाई कम गर्नका लागि बालबालिकालाई स्मार्टफोनबाट टाढा राख्नुपर्ने बताउनुहुन्छ । उहाँले स्मार्टफोनको पूर्ण रूपान्तरण सन् २०१० र सन् २०१५ को बीचमा भएको थियोे र जसले गर्दा बालबालिकाको मनमा ठूलो परिवर्तन आएको पुस्तकमा उल्लेख गर्नुभएको छ ।

स्नातक अध्ययनरत विद्यार्थी डिप्रेसनमा जानु मुख्य कारण स्मार्टफोन नै हो, अमेरिकी कलेज हेल्थ एशोसिएसनले जानकारी गराएको छ । चौध वर्षभन्दा अगाडि स्मार्टफोन र १६ वर्षभन्दा अगाडि सामाजिक सञ्जालबाट बालबालिकालाई टाढा राख्नुपर्ने जोनाथन हेड्टले भन्नुभयो । यसका लागि हामी अभिभावकले मिलेर काम गर्नुपर्ने उहाँको धारणा रहेको थियो ।

पाकिस्तानमा वर्षाका कारण १० जनाको मृत्यु, १२ घाइते

पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा विगत दुई दिनको अवधिमा वर्षासँग सम्बन्धित घटनामा परी कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका छन् ।

खैबर पख्तुनख्वाको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए) का अनुसार मृत्यु हुनेमा आठ बालबालिका र दुई महिला रहेका छन् ।
घाइतेमध्ये नौ बालबालिका, दुई महिला र एक पुरुषलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

शुक्रबारदेखि सुरु भएको मुसलधारे वर्षाका कारण प्रान्तभरि कम्तीमा २७ घरमा क्षति पुगेको पीडीएमएले जनाएको छ ।

उद्धार टोलीलाई प्रभावित क्षेत्रमा पठाइएको र मृतक र घाइतेलाई अस्पताल लगिएको छ भने घर भत्किएका व्यक्तिहरूलाई आश्रय र आवश्यक सहायता प्रदान गरिएको प्रान्तीय प्रशासनले जनाएको छ ।

क्यानडा पठाइदिने भन्दै ४० लाख ठगी गर्ने पक्राउ

काठमाडौँ, १८ चैत : वैदेशिक रोजगारका लागि क्यानाडा पठाई दिने भन्दै रु ४० लाख ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ गोकर्णेश्वर नगरपालिका–७ बँेसीगाउँ बस्ने ४१ वर्षीय सुदेश सुनुवार मुखिया रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बेरोजगार युवायुवतिलाई बैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा पारी पीडितबाट रु ४० लाख रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएकामा पीडितमध्येका एकजना लेखनाथ भुर्तेलले जाहेरी दिई अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निज सुदेश सुनुवार मुखियालाई काठमाडौँ बौद्धबाट पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।”

मुखियालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको सूचना अधिकारी पोखरेलले बताउनुभयो ।यसैगरी, उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विभिन्न कम्पनीका मोबाइलहरु राजस्व÷भन्सार छली चोरी–पैठारी गरी ल्याई बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा राजस्व छलीका मोबाइलसहित एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका–२ घरभई हाल ललितपुर महानगरपालिका–८ बालकुमारी बस्ने २२ वर्षीय सरोज योञ्जन रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार ललितपुरको बालकुमारी एरियामा विभिन्न कम्पनीका मोबाइल राजस्व÷भन्सार छली चोरी–पैठारी गरी ल्याई बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लको टोलीले निज योञ्जनले सञ्चालन गरेको ट्रेन्डिङ मोबाइल हबबाट राजस्व छलीका रु १५ लाख मूल्यका ३५ थान मोबाइलसहित निजलाई पक्राउ गरेको हो ।

उक्त कार्यमा संलग्न रहेका योञ्जनलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन, ललितपुरमा पठाइएको सूचना अधिकारी पोखरेलले बताउनुभयो ।

वर्षमा दुईपटक भर्नाको नीति ल्याउने शिक्षा मन्त्रालयको तयारी

काठमाडौँ, १८ चैत ः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले माध्यमिक शिक्षा परीक्षा (एसइई) र विश्वविद्यालयको शिक्षामा वर्षमा दुईपटक भर्ना गराउने गरी नीतिगत प्रबन्ध गरिने बताउनुभएको छ ।

अनुगमन शैक्षिक फाउन्डेसनले आज आयोजना गरेको ‘नेपाल शिक्षा सम्मेलन २०२४’ को उद्घाटन सत्रमा उहाँले वार्षिक परीक्षामा अनुत्तीर्ण हुने विद्यार्थीको समय क्षति भई पढाइ छाड्ने वा उनीहरु अवसरको खोजीमा विदेश जाने प्रवृत्ति देखिएकाले त्यस्तो नीतिका लागि बहस भइरहेको छ भन्नुभयो ।

कक्षा ९ देखि १२ मा ४३ प्रतिशत विद्यार्थी विद्यालयबाहिर हुन पुगेको, उच्चशिक्षामा १५ देखि २० प्रतिशत मात्रै विद्यार्थी भर्ना भएको र सवा लाख विद्यार्थी वार्षिक विदेश जाने स्थितिप्रति आफूहरु चिन्तित भएकाले नीतिगत पुनरावलोकन र संस्थागत सुधार आवश्यक भएको उहाँको भनाइ थियो ।

“राम्रो पठनपाठन हुने उच्च शिक्षाका कलेजहरु पनि नेपालमा नभएका होइनन् तर नेपालबाट बाहिर जाने विद्यार्थी पढ्नकै लागिभन्दा आफ्नो भविष्य र स्मार्ट जबका लागि विदेश गएका छन्,” सचिव अधिकारीले भन्नुभयो, “यस सवाललाई हाम्रो नीतिले सम्बोधन गर्नुपर्छ । विश्वविद्यालयहरु पढ्ने, पढाउने संस्था मात्र नभई अनुसन्धान र उत्पादन गर्ने संस्थाका रुपमा विकसित हुनुपर्छ । विश्वविद्यालयलाई सरकारले सधैँ पैसा दिँदैन । उनीहरु आत्मनिर्भर हुनुपर्छ ।”

नेपाल खुल्ला विश्वविद्यालयका पूर्वउपकुलपति प्रा लेखनाथ शर्माले पुस्तान्तरणबीचको खाडललाई मेट्न सक्ने गरी सूचना र प्रविधिसापेक्ष शिक्षा नीति र प्रयोगितक अभ्यासमा ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा दिगो विकासका लक्ष्य र शिक्षा नीति, प्राविधि शिक्षा, कृषि, शिक्षा स्वास्थ्य र वातावरण शिक्षा, वित्तीय क्षेत्र र शिक्षा आदि विषयमा सम्बन्धित विज्ञ र सरोकार भएका व्यक्तिबीच समूह छलफल भएको थियो ।

लुटपाटमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ, १८ चैत: जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले लुटपाटमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका-६ बस्ने २७ वर्षीय प्रशान्तजङ कार्की र बूढानीलकण्ठ नगरपालिका-२ बस्ने राजु गुरुङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेकाहरुले चैत १३ गते राति ९ बजेदेखि १० बजेको समयमा बूढानीलकण्ठ नगरपालका-१२ कपन दुर्गामन्दिर नजिकबाट बा २ ज ३५९८ नम्बरको ट्याक्सी चालकलाई कुटपिट गरी वान प्लस ७ टी मोबाइल, ब्लुबुक, एचपी १५ ल्यापटप एक, रातो कलरको वालेट एक तथा नगद रु १८ हजार लुटपाट गरेको आरोपमा पक्राउ गरिएको हो ।

निजहरुलाई बसुन्धारा चोकबाट पक्राउ गरेको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

वित्तीय समानीकरण, समपूरक र विशेष अनुदानको रकम सीमा तय

काठमाडौँ, १८ चैत ः सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि वित्तीय समानीकरण, समपूरक र विशेष अनुदानका रुपमा प्रदेश तथा स्थानीय तहलाई हस्तान्तरण गर्ने रकमको सीमा तय गरेको छ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा अर्थसचिव कृष्णहरि पुष्करले सङ्घ, प्रदेश र स्थानीय तहबीच वित्तीय हस्तान्तरण तथा राजस्व र प्राकृतिक स्रोत उपयोग एवं बाँडफाँटको अवस्थाबारे समितिलाई जानकारी गराउनुभएको हो ।

उहाँका अनुसार वित्तीय समानीकरण अनुदानको कूल रु एक खर्ब ४८ अर्बमध्ये प्रदेशको लागि रु ६० अर्ब र स्थानीय तहको लागि रु ८८ अर्ब बाँडफाँट गर्ने निर्णय मन्त्रिपरिषद्ले गत बिहीबार गरिसकेको छ ।

त्यस्तै, प्रदेश र स्थानीय तहको लागि विशेष अनुदानतर्फ रु १२ अर्ब ९० करोड र समपुरक अनुदानको लागि रु १३ अर्ब २० करोड गरी कूल रु २६ अर्ब १० करोड छुट्टाइने भएको छ । प्रदेशका लागि विशेष अनुदानतर्फ रु चार अर्ब ४० करोड र समपूरक अनुदानतर्फ रु छ अर्ब २० करोड रहने अर्थ मन्त्रालयले जनाएको छ । त्यस्तै स्थानीय तहका लागि विशेष अनुदानतर्फ रु आठ अर्ब ५० करोड र समपूरक अनुदानतर्फ रु सात अर्ब विनियोजन गरिने भएको छ ।

समपूरक र विशेष अनुदानअन्तर्गत सञ्चालन हुने आयोजना छनौटको लागि प्रस्ताव आह्वान भई राष्ट्रिय योजना आयोगबाट छनौटको प्रक्रिया अघि बढिरहेको अर्थसचिव पुष्करले समितिमा बताउनुभयो । सशर्त अनुदान भने सङ्घीय बजेट पेश भएपछि यकिन हुने जनाइएको छ ।

चालु आवको फागुन मसान्तसम्म प्रदेशतर्फ विनियोजन भएको सबै अनुदानको कूल रकम रु एक खर्ब अर्बमध्ये रकम रू ५४ अर्ब २० करोड अर्थात् ५१ दशमलव ५८ प्रतिशत हस्तान्तरण भइसकेको छ । त्यसैगरी, स्थानीय तहमा बिनियोजन भएको कुल अनुदान रकम रु दुई खर्ब ९५ अर्बमध्ये एक खर्ब ७७ अर्ब ३५ करोड अर्थात् ६० दशमलव ११ प्रतिशत हस्तान्तरण भइसकेको छ । चालु आवको फागुन मसान्तसम्म प्रदेशमा रु ३८ अर्ब र स्थानीय तहमा रु ३८ अर्ब गरी कूल रु ७६ अर्ब राजश्व बाँडफाँट भएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्राकृतिक स्रोतबाट प्राप्त रकमको बाँडफाँटका लागि मन्त्रिपरिषद्ले गत फागुन ६ गते निर्णय गरिसकेको छ । जसअनुसार सङ्घीय सरकारले कूल रु तीन अर्ब १७ करोड ४२ लाख ३७ हजार रोयल्टी पाउनेछ । त्यस्तै, रोयल्टी बाँडफाँटबाट प्रदेश र स्थानीय तहलाई समान रु एक अर्ब ४५ करोड ३२ लाख ९७ हजार प्राप्त हुने जनाइएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसको आधारमा अर्थ मन्त्रालयले आगामी आवको लागि निर्धारण गरेको कुल राजस्व रकम रु एक खर्व ५५ अर्ब मध्ये प्रदेश र स्थानीय तहका लागि समान रु ७७ अर्ब ५० करोड र स्थानीय तहको लागि रु ७७ अर्ब ५० करोड रहेको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट प्राप्त सुझाव सरकारले कार्यान्वयन गरेको अर्थसचिव पुष्करले बताउनुभयो । रेडियो फ्रिक्वेन्सीबाट प्राप्त रकम वित्त आयोगबाट निर्णय भइ आइसकेको भए पनि त्यसको बाँडफाँट भने नभएको उहाँको भनाइ छ ।

“वित्तीय समनीकरण अनुदानको हिस्सा क्रमशः बढाउने तथा सशर्त अनुदानको हिस्सा घटाउदै लगिने र स्वीकृत वित्तीय समानीकरण अनुदानको हिस्सा विशेष परिस्थितिमा बाहेक नघटाउने नीति लिइएको छ”, अर्थसचिव पुष्करले भन्नुभयो, “वित्तीय सङ्घीयताको अनुभवको आधारमा पाँच वर्षे रणनीति बनाउने, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ को परिमार्जन गर्ने र तीन तहका सरकारका बीच सार्वजनिक वित्त व्यवस्थापनमा तादाम्यता कायम गर्नेगरी मन्त्रालयले काम गरिरहेको छ ।”

कास्कीमा जीप दुर्घटना : १२ जना घाइते

कास्की, १८ चैत : कास्कीको अन्नपूर्ण गाउँपालिका–४ स्थित भदौरेमा आज दिउँसो भएको जीप दुर्घटनामा १२ जना घाइते भएका छन् । पोखराबाट अन्नपूर्णको भदौरेतर्फ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको यात्रुबाहक जीप सल्लाघारी भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार घटनास्थलबाट घाइतेको उद्धार गरी उपचारका लागि पोखरा ल्याइँदै रहेकाले घाइतेको अवस्था एकिन हुन सकेको छैन । घटनास्थल पोखराबाट २९ किमी टाढा पर्दछ ।

घटनास्थलमा पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले स्थानीयको सहयोगमा घाइतेको उद्धार गरेको थियो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

मुख्यमन्त्री जमकट्टेलको विपक्षमा मतदान गर्न कांग्रेसको निर्देशन

मनहरि (मकवानपुर), १८ चैत : नेपाली कांग्रेस बागमती प्रदेशले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलका विपक्षमा मतदान गर्न निर्देशन दिएको छ ।

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा आज बसेको कार्यसम्पादन समितिको बैठकले आफ्नो पार्टीका सम्पूर्ण प्रदेशसभा सदस्यलाई तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो । बैठकले मुख्यमन्त्री जम्कट्टेललाई २०७९ माघ ३ गते विश्वासको मत दिएकामा २०८० फागुन २३ मा बागमती प्रदेश सरकारबाट कांग्रेस बाहिरिएपछि प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएकाले विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामालाई निर्देशन दिएको हो ।

बागमती प्रदेशसभामा मुख्यमन्त्री जम्कट्टेलले सोमबार विश्वासको मत लिँदै हुनुहुन्छ । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । बागमतीको एक सय १० सदस्यीय प्रदेशसभामा बहुमत कायम रहन मुख्यमन्त्री जम्कट्टेलले ५६ मत प्राप्त गर्नुपर्ने हुन्छ । प्रदेशसभामा कांग्रेसका ३७, नेकपा (एमाले) का २७, नेकपा (माओवादी केन्द्र) का २१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १३, नेकपा (एकीकृत समाजवादी) का सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई सदस्य छन् ।

जनप्रतिनिधि र उद्यमी प्रधानमन्त्री प्रचण्डसँगको भेटघाट उत्साहित

महोत्तरी, १८ चैतः महोत्तरीका जनप्रतिनिधि र उद्यमी प्रधानमन्त्रीसँगको भेटपछि उत्साहित भएका छन् । जिल्ला सदरमुकाम जलेश्वरको भारतीय सीमावर्तीनाका भिठ्ठामोरमा सुक्खा बन्दरगाह निर्माणको माग लिएर शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका जिल्लाका जनप्रतिनिधि र विभिन्न नगरका उद्योग वाणिज्य सङ्घका प्रतिनिधि उत्साहित भएका हुन् ।

“हामीले भिठ्ठामोर भन्सारको सुक्खा बन्दरगाह सम्भाव्यता र आवश्यकताबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गरायौँ”, मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल भन्नुहुन्छ, “उहाँबाट यसको विज्ञटोलीबाट सम्भाव्यताबारे अध्ययन गरेर काम अघि बढ्ने विश्वास पाएका छौँ ।” जिल्लाका विभिन्न नगरका जनप्रतिनिधि तथा जलेश्वर, मटिहानी, गौशाला र बर्दिबासका उद्योग वाणिज्य सङ्घका प्रतिनिधिले प्रधानमन्त्रीलाई काठमाडौँमै भेटेर भिट्ठामोरमा सुक्खा बन्दरगाह निर्माणको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

विसं २०२६ मा भिठ्ठामोरमा स्थापित भन्सार कार्यालयको स्तरोन्नति गर्दै तेस्रो मुलुकसँगको आयात–निर्यात सुव्यवस्थित र वृद्धि गर्न सुक्खा बन्दरगाह सहयोगी हुने जनप्रतिनिधि र उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको माग छ । प्रधानमन्त्रीले भिठ्ठामोर नाकाको आवागमन, सुक्खा बन्दरगाह निर्माणका लागि हालसम्म भएका प्रयत्नको अध्ययन र विज्ञहरूबीचको छलफलबाट काम अघि बढाउने बताउनुभएपछि आशा जागेको जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार बताउनुहुन्छ ।

प्रधानमन्त्रीसँगको भेटमा महोत्तरी–१ र ४ का प्रतिनिधिसभा सदस्यहरू लक्ष्मी महतो कोइरी र महेन्द्रकुमार राय एवं जलेश्वर, मटिहानी, गौशाला र लोहारपट्टी नगरपालिकाका प्रमुख क्रमशः सुरेश साह सोनार, हरिप्रसाद मण्डल, डा दीपेन्द्र महतो र शैलेन्द्र यादवसहित राजनीतिक दलका प्रतिनिधि सम्मिलित हुनुहुन्थ्यो । यसैगरी बर्दिबास गौशाला, जलेश्वर र मटिहानी उद्योग वाणिज्य सङ्घका अध्यक्ष भेटमा सहभागीभएको नगरप्रमुख सोनारले बताउनुभयो ।

भिठ्ठामोर मधेसका नाकामध्ये वीरगञ्जपछि सबैभन्दा बढी चल्तीको सीमावर्ती नाका हो । तेस्रो मुलुकबाट सामान आयात निर्यात गर्न कोलकाता बन्दरगाहबाट वीरगञ्जभन्दा दूरी कम हुने, मुलुककै झण्डै मध्यभागमा पर्ने हुँदा कम खर्चमा ढुवानी हुने र सबै भेगको पायक पर्ने महोत्तरीका जनप्रतिनिधि र उद्यमीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । यसबाहेक भिठ्ठामोर (जलेश्वर) भन्सार कार्यालयको पूर्वाधार र जनशक्ति वीरगञ्जपछि सबैभन्दा राम्रो रहेको अवस्था प्रधानमन्त्रीलाई अवगत गराइएको बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्काले जानकारी दिनुभयो ।

भारतको कोलकाताबाट जयनगरसम्म सञ्चालनमा रहेको रेलमार्गसँगै जोडिएर नेपालतर्फ जयनगर–बर्दिबास रेल सेवा विस्तारको काम भइरहेको र बर्दिबासमा रेल्वेले अधिग्रहण गरेको ५२ बिघा क्षेत्रफलको जग्गामा कार्गो व्यवस्थापन सहज सञ्चालन हुने र भिठ्ठामोरमा सुक्खा बन्दरगाह निर्माणले यस भेगको उद्योग व्यापार फस्टाउने प्रतिनिधिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्रीसँगको भेटमा आपूmहरूले पछिल्ला केही वर्षयता कोरोना महामारी र त्यसको असरले बढेको आर्थिक मन्दीबाट राहत दिन बैंकहरूबाट अवधि लम्ब्याउन र थप ऋण प्रवाहका लागि ध्यानाकर्षण गराइएको जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष लवराजा सिंहले बताउनुभयो ।

विद्यालयलाई ‘थ्री स्टार’ घोषणा गर्ने जनप्रतिनिधिको प्रतिबद्धता

काभ्रेपलाञ्चोक, १८ चैतः काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकाका जनप्रतिनिधिले विद्यालयमा सरकारले तोकेका खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी कार्यविधिका १० मापदण्ड पूरा गराई सबै सामुदायिक विद्यालयलाई ‘थ्री स्टार’ (तीन तारा) घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् ।

बागमती प्रदेशमा पहिलोपटक उक्त गाउँपालिकामा मापदण्ड पूरा गरेका पाँचवटा सामुदायिक विद्यालयलाई गत फागुन अन्तिम साता तीन तारा घोषणा गरिएको थियो । ‘भविष्यका लागि आधार परियोजना’ सञ्चालनपछि सरसफाइ तथा स्वच्छता मापदण्ड कार्यान्वयन भएका विद्यालयलाई तीन तारा घोषणा गर्न थालिएको हो ।

परियोजनाको समीक्षा कार्यक्रममा गाउँपालिका अध्यक्ष रेणुका चौलगाईँले गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा तीन तारा घोषणा गर्नेगरी कार्यक्रम केन्द्रित गरी आगामी आर्थिक वर्षको बजेटमा रकम विनियोजन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेशमै पहिलोपटक यस गाउँपालिकाका पाँच विद्यालयलाई तीन तारा घोषणापछि गाउँभर सकारात्मक सन्देश प्रवाह भएको छ, आउँदो वर्षदेखि गाउँपालिकाका बाँकी सबै विद्यालयमा तीन तारा घोषणा गर्नेगरी कार्यक्रमलाई अघि बढाइने छ ।”

परियोजना कार्यान्वयन गर्न सिविक फोरम नामक संस्थाले समन्वय गरिरहेको छ । उक्त कार्यक्रममा गाउँपालिका–३ का वडाध्यक्ष चित्रप्रसाद चौलागाईँ, ५ का वडाध्यक्ष कृष्णप्रसाद गौतम, ८ का वडाध्यक्ष धनबहादुर तामाङ र ९ का वडाध्यक्ष रामबहादुर लामाले बाँकी विद्यालयमा तीन तारा घोषणाका लागि केही मापदण्ड पूरा गर्न बाँकी रहेकाले तीव्ररुपमा खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी कार्य भइरहेको र पूरा भएपछि तीन तारा घोषणा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गाउँपालिकामा हाल ३३ विद्यालयमा सञ्चालमा छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले बालबालिकाका लागि खानेपानी तथा स्वच्छता कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । गाउँपालिकाका शिक्षा शाखा प्रमुख कालिप्रसाद शर्माले कार्यक्रम निरन्तरताका लागि विद्यालयमा आवश्यक पूर्वाधारका विषयमा अनुगमन निरीक्षण एवं प्रतिवेदन सङ्कलन भइरहेको बताउनुभयो ।

फोरमका प्रमुख कार्यकारी अधिकृत वसन्त कुँवरले वाटर एडको आर्थिक तथा प्राविधिक सहयोगमा २०२२ देखि सहजीकरण गरिरहेको उक्त कार्यक्रम गाउँपालिकामा रहेका सबै विद्यालयमा पूरा गराउनेगरी कार्य भइरहेकोे बताउनुभयो । उहाँका अनुसार यसअघि पाँचै विद्यालयले खानेपानी, सरसफाइ तथा स्वच्छताका १० मापदण्डअन्तर्गत स्वच्छ खानेपानी, व्यवस्थित शौचालय, स्वच्छ वातावरण, छात्रा–महिनावारी स्वच्छता व्यवस्थापन सुविधा, संस्थागत व्यवस्था र दिगोपना, विपद् जोखिम व्यवस्थापन र अनुगमन तथा जवाफदेहिता पूरा गरेका हुन् । यी १० सूचक पूरा गरेपछि तीन तारा घोषणा गरिएको हो ।

गाउँपालिकाको वडा नं ६ स्थित प्रभा माध्यमिक विद्यालय, वडा नं ७ को सिर्जनशील जनता मावि, वडा नं ५ स्थित अरनिको मावि र जागृति मावि तथा वडा नं ३ को बुद्ध हिमालय माविले सरकारले तोकेका १० मापदण्ड पूरा गरेका थिए । यी विद्यालयलाई थ्री स्टार बनाउन वाटर एडको सहयोग र सिविक फोरमको साझेदारी थियो ।

नेपालको संविधानको धारा ३५ को उपधारा ४ ले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक सुनिश्चित गरेको छ भने राष्ट्रसङ्घीय दिगो विकास लक्ष्य (एसडिजी)को ४ र ६ नं अन्तर्गत सबै विद्यालयमा सुरक्षित खानेपानी र सरसफाइमा विशेष जोड दिइएको छ ।

छोरीलाई स्वावलम्बी बनाउन बागलुङ ‘नगरकी छोरी’ कार्यक्रम

बलेवा (बागलुङ), १८ चैत : छोरीहरूको संरक्षण, छोरीलाई गरिने विभेदको अन्त्य, बालविवाहको उन्मूलनसहित छोरीलाई शिक्षित र स्वावलम्बी बनाउने ंउद्देश्यले बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयन गरेको छ ।

नगरमा जन्मेका छोरीहरूको सम्मान र आर्थिक भविष्यका लागि चालु आर्थिक वर्षमा विशेष योजनाका रूपमा घोषणा भएको कार्यक्रम कार्यान्वयनमा आएको हो । बागलुङ नगरपालिका–२ की अद्विका क्षेत्रीको नाममा बैंक खाता खोलेर नगरले कार्यक्रम शुभारम्भ गरेको हो ।

प्रभु बैंकसँग सम्झौता गरी २०८० असारपछि जन्मिएका छोरीको नाममा खोलिएको खातामा नगरपालिकाको तर्फबाट रु पाँच हजार २० वर्षसम्म मुद्दती खातामा जम्मा गरिने नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो ।

नगरप्रमुख श्रेष्ठले छोरीको जन्मपश्चात् उनको नाममा नगरपालिकाले पाँच हजार मुद्दती खाता खोलेर जम्मा गरिदिने र उक्त खातामा अभिभावकले पनि रकम थप गर्न पाउनेगरी नगरकी छोरी कार्यक्रम अगाडि बढाएको बताउनुभयो । नगरपालिकाले बैंकसँग सम्झौता गरी उक्त खातामा चक्रीय रूपमा उच्चतम ब्याज प्राप्त हुने र उक्त खाताको रकम कम्तीमा २० वर्षसम्म झिक्न नमिल्ने कार्यविधि निर्माण गरेको छ । नगरका छोरी २० वर्ष पुग्दा ब्याजले नै राम्रो रकम जम्मा हुने र छोरीको नाममा खाता खोलेपछि बचत गर्न अभिभावक प्रेरित हुने उहाँले बताउनुभयो ।

घरभन्दा सुन्दर शौचालय बनेपछि दङ्ग छ लहानको दलित समुदाय

लहान (सिरहा), १८ चैतः सिरहाको लहान नगरपालिका–५ स्थित बालुवाटोलका दलित समुदायका शौचालय घरभन्दा सुन्दर बनेपछि सो समुदायका सदस्य दङ्ग छन् । गैरसरकारी संस्था वाटर एड नेपालको प्राविधिक सहयोग र लहान नगरपालिका, दलित जनकल्याण युवा क्लब लहान, नेपाल खानेपानी संस्थान लहान शाखाको संयुक्त साझेदारीमा सञ्चालित ‘विकन परियोजना’अन्तर्गत टोलमा चारवटा सामुदायिक शौचालय निर्माण भएका छन् । घर नजिकै शौचालय बनेपछि टोलका करिब डेढ सयभन्दा बढी दलित घरपरिवारका सदस्य दङ्ग छन् ।

खुट्टीखोलाको वारि र पारि दुवै किनारमा मुसहर समुदायको बसोवास छ । त्यहाँ सुविधासम्पन्न अपाङ्गतामैत्री शौचालय बनेको छ । दलितबस्तीका सदस्य विजय सदाय “घरभन्दा राम्रो शौचालय बन्छ भनेर हामीले कल्पाना पनि गरेका थिएनौँ । चर्पी बनेसँगै खुट्टीखोलाको वरिपरि जताततै दिसा–पिसाब गर्ने कार्य रोकिएको छ । यसले वरिपरिको वातावरणमा समेत सुधार आउँदा हामी टोलवासी निकै खुसी छौँ”, भन्नुहुन्छ ।शौचालय र खोपानीको अभाव देखेपछि आफ्नो क्लबले विकन परियोजनाअन्तर्गत लहानका विभिन्न वडामा रहेका दलित समुदाय र विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छता अभियान सञ्चालन गरी समतामूलक समाज निर्माण गर्ने उद्देश्यले गतिविधि सञ्चालन गरिएको दलित जनकल्याण युवा क्लब लहानका अध्यक्ष उमेश विसुङ्केले जानकारी दिनुभयो । उहाँका अनुसार हाल क्लबले २७ वटा विद्यालय र पाँचवटा दलित समुदायमा वडाको समन्वयमा शौचालय मर्मत तथा निर्माण गरिएको छ ।शौचालय निर्माणपछि सरसफाइ र स्वच्छतासम्बन्धी समुदाय तथा बालबालिकामा परिवर्तन देखापरेको परियोजनाका निर्देशक महेश ढुङ्गानाले बताउनुभयो । स्वच्छ खानेपानी र उचित सरसफाइ व्यक्ति वा वर्गविशेषका लागि मात्र नभई सबैलाई नभई अपरिहार्य भएको भन्दै निर्देशक ढुङ्गानाले लहान नगरपालिकाको २७ वटा सामुदायिक विद्यालयमा चार वर्षमा नौ हजार आठ सय ९९ विद्यार्थी र दुई सय आठ जना शिक्षक शिक्षिका यस परियोजनाबाट लाभान्वित भएका जानकारी दिनुभयो ।नगरपालिकासँग समन्वय गरी विभिन्न वडाका दलित बस्ती तथा विद्यालयमा खानेपानी र शौचालय निर्माण गरेर विकन परियोजनाले प्रशंसनीय काम गरेको लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो । उहाँले नगरपालिकाका तर्फबाट उक्त आयोजनाको व्यवस्थापनमा ध्यान दिई दिगोपनाका लागि जोड दिने प्रतिबद्धत व्यक्त गर्नुभयो । 

बीस वटा घडियाल राप्तीमा छाडियो

नवलपुर (नवलपरासी), १८ चैतः चितवन राष्ट्रिय निकुञ्जको प्रजनन केन्द्रमा हुर्किएका २० वटा घडियाल गोहीलाई प्राकृतिक बासस्थानमा छाडिएको छ । निकुञ्जको मुख्यालय कसरास्थित घडियाल गोही प्रजनन केन्द्रमा हुर्किएका २० वटा गोहीलाई राप्ती नदीमा छाडिएको हो ।

प्रजनन केन्द्रमा सात वर्ष पूरा भएका घडियाल गोहीलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसहित विदेशी पर्यटकको उपस्थितिमा निकुञ्जको मुख्यालय नजिकै रहेको राप्ती नदीमा छाडिएको हो ।

त्यस अवसरमा भरतपुर महानगरपालिका प्रमुख दाहालले बर्सेनि बाढीको समय घडियाल गोही बगेर भारत जाने समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनुभयो ।

घडियाल गोही भरतपुर तथा चितवन र नवलपुरको पर्यटनको अर्को पहिचान भएकाले यसको संरक्षण गरी पर्यापर्यटनसँग जोड्नुपर्ने उहाँको धारणा थियो । महानगर प्रमुख दाहालले प्रजनन केन्द्रमा अहिले पनि अध्ययन अनुसन्धानका लागि धेरै विदेशी पर्यटक आउने गरेकाले अनुसन्धानको थलो बनेको बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल पुर्जा पुनले घडियाल गोही विश्वका केही देशमा पाइने भएकाले यसको संरक्षण गर्न नदीलाई प्रदूषणमुक्त बनाउनुपर्नेमा जोड दिनुभयो । घडियाल गोही नेपाल, भारत, पाकिस्तान, भुटान, बङ्गलादेशमा र म्यानमारमा करिब १० हजारको सङ्ख्यामा प्राकृतिक अवस्था विचरण गर्ने गरेको र यो सङ्ख्या सङ्कटग्रस्त भएकाले यसको संरक्षणमा सबै पक्ष लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

गोही संरक्षणका लागि २०३० सालमा स्थापना भएको प्रजनन केन्द्रले अण्डा सङ्कलन गरी वार्षिक दुई सय बच्चा उत्पादन गर्ने गरेको उहाँले जानकारी दिनुभयो । निकुञ्जका अनुसार प्रजनन केन्द्रमा हुर्किएका एक हजार नौ सय १७ वटा गोही नदीमा छाडिएका छन् ।

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ, १८ चैतः पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ र मनाङलाई जोड्ने एकमात्र यस सडकखण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिका वडा नं ४ श्रीचौरमा वर्षासँगै पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईँले पहिरोका कारण सवारीसाधन सञ्चालन हुन नसक्दा यात्रुलाई समस्या भएको बतानुभयो । पहिरोबारे डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयलाई खबर गरिएको तथा अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।

कालीगण्डकी करिडोरः तिप्ल्याङ–पोखरेबगर खण्डमा कालोपत्र

म्याग्दी, १८ चैतः राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तिप्ल्याङ–पोखरेबगर खण्डमा कालोपत्र गरिएको छ ।

तिप्ल्याङ–महभिर–भिरकाटे–बैसरी–रातोपानी–पोखरेबगर– भुरुङ तातोपानी खण्डमा थप छ किलोमिटर सडक कालोपत्र गरिएको हो । विसं २०७४ मा शर्मा युनाइटेड जेभीले म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटबाट अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको नागढुङ्गासम्मको १९ किलोमिटर सडकखण्ड कालोपत्र गर्न बेनी–जोमसोम–कोरला सडक आयोजनासँग रु ६६ करोडमा ठेक्का सम्झौता गरेको थियो ।

ठेकेदार कम्पनी शर्मा–युनाइटेडका ‘साइट इञ्चार्ज’ रमेश सुवेदीले बेगखोला, महभिर, बैसरी, रातोपानी, पोखरेबगर र तातोपानी बजार क्षेत्रमा दोस्रो चरणको कालोपत्रको काम सकिएको बताउनुभयो । “तिप्ल्याङ–बेगखोला खण्डमा थप दुई किलोमिटर सडक पनि यही चैतभित्रमा कालोपत्र गर्न तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “बेगखोलाबाट तलको खण्डमा पहिरो खसेका बाहेकका ठाउँमा चालु आर्थिक वर्षभित्रै कालोपत्र गरिसक्ने लक्ष्य छ ।”

पहिलो चरणको चिप्स र बिटुमिन बिछ्याइएको तिप्ल्याङबाट कालीओडारसम्म दोस्रो चरणमा बिछ्याउने र कालीओडार–बेगखोलातर्फ पहिलो चरणमा बिटुमीन बिछ्याउने तयारी गरिएको साइट इञ्चार्ज सुवेदीले बताउनुभयो । बेगखोलाबाट राहुघाट गलेश्वरतर्फको खण्डको आठ किलोमिटरमध्ये कुनौटो–बैसरी खण्डमा दुई वर्षअघि तीन किलोमिटर कालोपत्र भएको थियो ।

सडकलाई ११ मिटर फराकिलो बनाएर पानीको निकासका निम्ति नाली, पर्खाललगायत संरचना तयार भएपछि कालोपत्र गरिएको हो । बेनी–जोमसोम–कोरला सडक योजनाका इन्जिनियर अच्युतविलास पन्तका अनुसार राहुघाट–तातोपानी खण्डमा ९३ प्रतिशत भौतिक प्रगति भएको छ ।

मुख्य ठेकेदारले काम नगरेर सहायकलाई ठेक्का दिएको, प्रतिकूल भूगोल, विपद् र कोरोना महामारीका कारण यो खण्डमा सडक निर्माणले २०७७ हिउँददेखि गति लिएको थिएन । धरौटी जफत, ठेक्का तोड्ने र कालोसूचीमा राखेर कारबाही गर्ने प्रक्रिया अघि बढाएपछि ठेकेदार काममा फर्किएर कालोपत्र गर्ने कामलाई गति दिएको बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख ध्रुवकुमार झाले बताउनुभयो ।

यो खण्डमा विभिन्न स्थानमा करिब चार किलोमिटर पहिरोस्थल भएकाले ग्राभेल गर्ने, महभिरमा कडा पहाड भएकाले सुरुङ निर्माण गर्ने योजना बनाएको र तातोपानी कुण्डको केही भागमा वैकल्पिक सडक निर्माण गर्नुपर्ने भएकाले ठेक्काबाट हटाइको छ । कालोपत्र भइसकेको बैसरी र सिरुवारी क्षेत्रमा ठूलो पहिरो खसेकाले जोखिम बढाएको छ ।

भारत र चीनलाई जोड्ने चार सय ३५ किलोमिटर दूरीको कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको लाइफ लाइन (भाग्यरेखा) मानिएको छ । पर्वतको मालढुङ्गाबाट म्याग्दी हँुदै मुुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको सडक दुुई लेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३÷७४ देखि सुुरु भएको योजनाको हालसम्म ७८ प्रतिशत भौतिक प्रगति भएको छ ।

छवटा खण्डमा ८५ किलोमिटर ग्राभेल र ४८ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ । यस सडकमा १३ वटा पक्की पुल र तीनवटा बेलीब्रिज निर्माण भएका छन्भने छ स्थानमा मोटर सञ्चालन गर्न मिल्ने पुल निर्माणाधीन छन् ।

भारतमा अप्रिलदेखि गहुँको भण्डारको स्थिति अनिवार्य घोषणा गर्न सरकारद्वारा निर्देशन

भारत सरकारले अप्रिलदेखि गहुँको भण्डारण स्थिति अनिवार्य घोषणा गर्न आदेश दिएको अधिकारीहरूले शनिबार बताएका छन् । अधिकारीहरूका अनुसार गहुँको भण्डारण स्थिति साप्ताहिक आधारमा घोषणा गर्नु पर्नेछ ।

सरकारले यस मुलुकका थोक बिक्रेता, खुद्रा बिक्रेता तथा ठूला सञ्जालका बिक्रेताहरू र व्यावसायीलाई अप्रिल १ देखि प्रत्येक शुक्रबार गहुँको भण्डारण स्थिति घोषणा गर्न आग्रह गरेको हो । घोषणा गर्नुको मुख्य उद्देश्य समग्र खाद्य सुरक्षा व्यवस्थापन गरी भण्डारण अनैतिकता रोक्ने रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । भारत सरकारले चामलका लागि पहिले नै यस्तो आदेश जारी गरिसकेको छ ।

घोषणाअनुसार दर्ता नभएका संस्थाले अनिवार्यरूपमा दर्ता भई हरेक शुक्रबार गहुँ र चामलको भण्डारण खुलासा गर्न सुरु गर्नु पर्नेछ । आगामी दिनमा सबै कानूनीरूपमा दर्ता भएका संस्थाहरूले गहुँ र चामलको भण्डारण नियमितरूपमा घोषणा गर्नुपर्ने मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै निर्देशन दिएको छ ।

सरकारको खाद्य तथा सार्वजनिक वितरण विभागले गहुँ र चामलको मूल्य नियन्त्रण गरी देशमा सहज उपलब्धता सुनिश्चित गर्न गहुँ र चामलको भण्डारण स्थितिमा निगरानी गरेको जनाएको छ ।

पर्यटकीय गन्तव्य ठमेल बजार २४सै घण्टा खुला गर्ने निर्णयमा स्थानीयवासीको विरोध

काठमाडौँ – काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल बजार २४सै घण्टा खुला गर्ने निर्णयमा स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले ठमेल र दरबारमार्गलाई २४सै घण्टा खुला गर्ने तयारी गरेपछि ठमेल क्षेत्रका घरधनीले उक्त निर्णयको विरोध गरेका हुन् । ठमेलका घरधनीको शनिवार बसेको बैठकले ठमेललाई २४सै घण्टा खुलाउने निर्णयको विरोधमा जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो ।

काठमाडौँ महानगरपालिका–२६ का पूर्ववडाध्यक्ष विशम्भरलाल प्रधानले ठमेललाई २४ सै घण्टा खुला गर्ने निर्णय गर्नुपूर्व यस क्षेत्रका समस्याबारेमा अध्ययन गर्नुपर्ने बताउनुभयो । उहाँले कति क्षेत्रलाई ठमेल मान्ने भन्नेबारे पहिले यकिन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

ठमेलका स्थानीय सोजेशमान मालाकारले जिल्ला प्रशासन कार्यालयले ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुला गर्ने निर्णय गरी आचारसंहिता बनाउँदा यस क्षेत्रका घरवेटीलाई नसमेटेको भन्दै दुःख व्यक्त गर्नुभयो । उक्त निर्णयले रातको समयमा यहाँका बासिन्दालाई सुत्न समस्या हुने उहाँले बताउनुभयो ।

काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले स्थानीयवासीलाई समस्या हुने गरी २४सै घण्टा ठमेललाई खुला गर्न समस्या हुने बताउनुभयो । उहाँले २४सै घण्टा बजार खुलाउन आवश्यक मापदण्ड के हुन् भन्नेबारे पहिले यकिन हुनुपर्ने उल्लेख गर्नुभयो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि व्यवसायी, उपभोक्ता र श्रमिकले पालना गर्नुपर्ने आचारसंहिता तयार गरेको छ । यस्तै, रात्रिकालीन समयमा मनोरञ्जनात्मक व्यवसाय गर्ने व्यवसायीले पालना गर्नुपर्ने आचारसंहिता तयार गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले रात्रिकालीन समयमा सञ्चालित बजार क्षेत्रको आन्तरिक तथा बाह्य सुरक्षा व्यवस्थाबारेमा मापदण्डमा समेटेको छ । मापदण्ड बमोजिम कार्य भए/नभएको विषयमा अनुगमन, समन्वय तथा सहजीकरण नियमन गर्नका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा टोली बनाउने उल्लेख गरेको छ ।

बजार क्षेत्र व्यवस्थापन समिति, व्यवसायस्थलको सरसफाइ, यातायातको व्यवस्था, गुनासो प्राप्ति र सम्बोधन, श्रमिकको उजुरी एवं कारबाहीलाई आचारसंहिता तथा मापदण्डमा राखिएको छ ।

नेपाललाई संसार चिनाउन कर्णालीको महत्त्वपूर्ण भूमिका छ : प्रदेश प्रमुख परियार

कर्णाली – कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले नेपाललाई संसारमा चिनाउन कर्णाली महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । रेड चिल्ली प्रालिद्वारा शनिवार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०८०’को उद्घाटनमा प्रदेश प्रमुख परियारले कर्णाली प्राकृतिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कर्णाली सम्भावनाको खानी हो । यसको भरपूर उपयोग गर्न सक्नुपर्दछ ।” यहाँको संस्कृति, भाषा, साहित्य, कलाको विकासले नेपालको स्वर्ग कर्णाली प्रदेश बन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले कर्मचारी, योजना साहित्य र चलचित्र क्षेत्रमा कर्णालीले ठूलो प्रभाव पारेको बताउनुभयो । उहाँले भन्नुभयो, “एघारौँ र बाह्रौँ शताब्दीमा सुर्खेत काक्रेबिहार, दुल्लु, सिञ्जाहुँदै कैलाश जाने महत्त्वपूर्ण व्यापारिक मार्ग थियो । अहिले पुनःउदय हुन थालेको छ ।”

नेपाली भाषा, सभ्यता, साहित्य, कला र संस्कृतिको जननी मानिएको कर्णालीले धेरै लेखक, साहित्यकार एवं कवि बनाउने बताउनुभयो । उहाँले कथाका माध्यमबाट यहाँको सांस्कृतिक, सामाजिक पहिचानलाई माथि उठाउन सके कर्णाली नेपालको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य सोविता गौतमले कर्णाली जत्तिको सुन्दर नेपालमा अरु कुनै पनि ठाउँ नभएको जिकिर गर्नुभयो । कर्णालीको भूगोल अवलोकन गर्ने उद्देश्यले गत वर्ष स्थलगत यात्रा गरेको बताउँदै उहाँले कर्णाली भेरी करिडोरमा ट्रेकिङ ट्रेलको सम्भवना भएकाले यहाँको सुन्दरतालाई विश्वसामु चिनाउन सकिए सिङ्गो नेपालकै आर्थिक समृद्धि हुने जनाउनुभयो । कर्णालीका चुनौती र अप्ठ्यारालाई अवसरका रूपमा लिई विकासमा जोड दिनुपर्ने सांसद गौतमको भनाइ थियो ।

चलचित्र निर्देशक आकाश अधिकारी कर्णाली प्रदेश कला, संस्कृति सभ्यता, वेशभूषा जननी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँको लवज र बोलिने शब्द कर्णप्रिय छ । यसलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन चलचित्र क्षेत्रले मात्र सक्छ ।”

‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ नारासहित सुरु महोत्सवमा कर्णालीका मौलिक कथा, परिवेश र चलचित्र, कर्णालीमा चलचित्रको विकास र राज्यको भूमिकाका विषयमा अन्तक्र्रिया भएको थियो । कार्यक्रमका सहभागीले विकास गर्नेका लागि कर्णाली उपयुक्त थलो भएको सुझाउँदै यहाँको संस्कृति र सभ्यता संरक्षण तथा प्राकृतिक सम्पदाको विकास नेपाल सरकारले प्राथमिकतामा राखेर अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।

पार्टीभित्र गुट र अनुशासनहीनताले पार्टी नेतृत्वले गरेको असल कामको प्रचार गलत रुपमा भइरहेको छ – नेता डा महत

त्रिशूली (नुवाकोट) – नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले कार्यकर्तालाई सङ्गठन बिस्तारमा जुट्न आग्रह गर्नुभएको । शनिवार नुवाकोटको विदुरमा नेपाली कांग्रेस नुवाकोटको सङ्गठन विभागले प्रकाशन गरेको ‘मार्गनिर्देश’ पुस्तक विमोचन गर्दै प्रवक्ता महतले पार्टीका गतिविधि वडाहुँदै गाँउटोलसम्म पु¥याउन निर्देशन दिनुभयो ।

“पार्टी सदस्य लिएकालाई सक्रिय बनाउन र नयाँलाई सदस्यता दिन वडादेखि जिल्ला तहसम्मका नेतातथा कार्यकर्ता गाँउगाँउमा पुग्नुपर्छ”, उहाँले भन्नुभयो, “सदस्यता लिएकालाई पार्टीमा टिकाउन, उनीहरुको गुनासो सुन्न र समस्या समाधान गर्न पार्टी सदस्यलाई उनीहरुकै घरमा भेट्न जानसक्नुपर्छ ।”

पछिल्लो समय पार्टीभित्र गुट र अनुशासनहीनताले पार्टी नेतृत्वले गरेको असल कामको प्रचार गलत रुपमा भइरहेको भन्दै पार्टी प्रतिनिधिले गरेका राम्रा कामको प्रचारमा लाग्न र गलत हुन खोजेमा खबरदारी गर्न प्रवक्ता महतले कार्यकर्तालाई निर्देशन दिनुभयो ।

देशको शासन व्यावस्थाको सुधार, संविधान रक्षा र जनताका पक्षमा गर्नुपर्ने काममा कांग्रेसको योगदान विगतदेखि हालसम्म महत्वपूर्ण रहेको उहाँको भनाइ छ । “पार्टी सरकारमा हुँदा होस वा नहुँदा, जनताको हितमा हुने राम्रो काममा कांग्रेस सधैँ सकारात्मक छ । हिजोका दिनमा जस्तै भोलिका दिनमा पनि जनपक्षीय काममा पार्टी लागि रहन्छ लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले यसअघि आफू अर्थमन्त्री हुँदा बजेट विनियोजन गर्ने अभ्यासलाई लयमा ल्याउन र कमजोर अवस्थामा पुगेको अर्थतन्त्र सुधार गर्न सक्षम भएको बताउनुभयो । “जनताबाट प्राप्त कर जनताको हितमा खर्चिनुपर्छ भनेर बजेट विनियोजन प्रणालीमा सुधार गरिएको छ”, उहाँले भन्नुभयो, “राजस्व र वैदेशिक लगानी वृद्धि, बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाइ शेयर बजारलाई सुधार गर्न सक्षम भएका छौँ ।”

अहिलेको सुधारको सङ्केतलाई नियमित बनाउने हो भने देशको अर्थतन्त्र आगामी दिनमा थप बलियो बन्दै मुलुक आर्थिक समृद्धितर्फ लम्कने उहाँको विश्वास छ ।

यस वर्ष अफगानिस्तानका ३० लाख बालिबालिका कुपोषणको सिकार हुने डब्ल्युएफपीको चेतावनी

विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) ले यस वर्ष अफगानिस्तानमा ३० लाख बालबालिका कुपोषणको सिकार हुनसक्ने चेतावनी दिएको खामा प्रेस समाचार एजेन्सीले जनाएको छ । गत वर्ष वैदेशिक सहायता घटेकाले कुपोषित बालबालिकाको उपचार गराउने क्रम बढेको उक्त एजेन्सीले बताएको छ ।

अफगानिस्तानमा डब्ल्युएफपीका पोषण प्रमुख मोना शेखलाई उद्धृत गर्दै खामा प्रेसले भनेको छ, “हामी करिब १६ लाख कुपोषित बालबालिकालाई सहयोग गर्न सक्षम हुनेछौँ ।” संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले यसअघि सन् २०२३ मा उसले अफगानिस्तानमा सात लाख १५ हजार कुपोषित बालबालिकालाई सहयोग गरेको घोषणा गरेको थियो ।

अन्तर्राष्ट्रिय सङ्गठनहरूका अनुसार तालिबान नियन्त्रित अफगानिस्तानमा धेरै परिवार आफ्ना बालबालिकालाई खाना उपलब्ध गराउन असमर्थ छन् । यसका अतिरिक्त तालिबानले सत्ता सम्हालेयता अफगानिस्तानले विकराल मानवीय सङ्कटको सामना गरिरहेको रिपोर्टहरूले सङ्केत गरेका छन् । यसले पहिले नै अनिश्चित रहेको अवस्थालाई थप खराब बनाएको छ ।

स्थिरता तथा आधारभूत आवश्यकतामा पहुँचको अभावले विशेषगरी महिला तथा बालबालिकाजस्ता कमजोर समूहमा व्यापक पीडा निम्त्याएको छ । यसका अतिरिक्त अन्तर्राष्ट्रिय सङ्गठनहरूबाट कोषको कमीले अफगानिस्तानमा राहत प्रयासहरूमा धेरै अवरोध उत्पन्न हुँदा लाखौँ मानिसलाई भोकमरीको जोखिममा पारेको छ र उनीहरू आवश्यक मानवीय सहायताबाट बन्चित छन् । यसले मुलुकमा मानवीय स्थिति अझ खराब भएको छ ।

टोलो न्युजका अनुसार चार सय ५० भन्दा धेरै दिन बितिसक्ता पनि अफगानिस्तानमा छात्राहरूका लागि विश्वविद्यालय बन्द छ र पुनः खुल्ने कुनै सङ्केत देखिएको छैन । निराशा व्यक्त गर्दै छात्राहरूले उनीहरूको शैक्षिक प्रगतिमा महत्त्वपूर्ण ढिलाइ भएको बताएका छन् । उनीहरूले तालिबानको कार्यबाहक सरकारसँग यस वर्ष विश्वविद्यालयलाई पुनः खोल्न प्राथमिकता दिन आग्रह गरेका छन् ।

सुक्खा बन्दरगाह र तेस्रो मुलुकबाट आयात निर्यातको माग

जलेश्वर (महोत्तरी) – यहाँका उद्योगी, व्यवसायी र जनप्रतिनिधिहरुले जलेश्वर भन्सार कार्यालयमार्फत सुक्खा बन्दरगाह र तेस्रो मुलुकबाट आयात निर्यात सुविधाको माग गर्दै शनिवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापन–पत्र बुझाएका छन् ।

विसं २०२६ मा जलेश्वर नगरपालिका–३ मा निर्माण गरिएको उक्त भन्सार कार्यालय भौतिक पूर्वाधार, क्षेत्रफल र जनशक्तिको दृष्टिकोणले मधेस प्रदेशको वीरगञ्जपछिको दोस्रो ठूलो भन्सार कार्यालय रहेको भन्दै यस भन्सार कार्यालयलाई स्तरोन्नति गरी यहाँ सुक्खा बन्दरगाह र तेस्रो मुलुकबाट आयात निर्यातको सुविधा सञ्चालन गराउनुपर्ने उनीहरुको माग छ ।

यस भन्सार कार्यालयमार्फत सुुक्खा बन्दरगाह र तेस्रो मुलुकसँग आयात निर्यातको सुविधा प्रदान गरिएमा मधेस प्रदेशका महोत्तरी, धनुषा, सिरहा, सर्लाही, सप्तरीसहित पहाडी जिल्ला सिन्धुली, रामेछाप, उदयपुरलगायत जिल्लाका उद्योगी, व्यापारीलाई भारतबाट सामान आयात निर्यात गर्न सहज हुने र कम खर्चिलो हुने र विभिन्न दृष्टिकोणले व्यापारिक विकासमा योगदान पुग्ने ज्ञापनपत्रमा उल्लेख छ ।

भन्सारमा सुक्खा बन्दरगाह सञ्चालनका लागि ६५ बिघा जग्गा अधिग्रहण गरिसकिएको, चार दशमलव पाँच बिघा क्षेत्रफलमा यार्डहरु निर्माण भइ सकेको, खाद्य परीक्षण प्रयोगशाला सञ्चालनमा रहेको र आवश्यक जनशक्ति पनि कार्यरत रहेको अवस्थामा सजिलै सुक्खा बन्दरगाह र तेस्रो मुलुकबाट आयात निर्यातको सुविधा प्रदान गर्न सकिने अवस्था रहेको जनाइएको छ ।

आर्थिक वर्ष २०७९÷८० मा नेपाल सरकारको नीति तथा कार्यक्रममा जलेश्वर भन्सार कार्यालयमा बन्दरगाह सञ्चालनको विषय उल्लेख भएको, गत भदौमा इन्टरमोडल यातायात विकास समितिले स्थलगत सर्वेक्षण गरी नेपाल सरकारलाई प्रतिवेदन बुझाइसकेको र सो प्रतिवेदन अध्ययन गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भन्सार विभागसँग राय मागी प्रक्रियाअघि बढिरहेकाले सजिलै यहाँ सुक्खा बन्दरगाह सञ्चालन र तेस्रो मुलुकबाट आयात निर्यात सुविधा सञ्चालनमा ल्याउन सकिने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री दाहाललाई उद्योग वाणिज्य सङ्घ महोत्तरीका अध्यक्ष जितेन्द्र चौधरी, जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष लवराजा सिंह, गौशाला उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामराजाप्रसाद साह, बर्दिवास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णुबहादुर खड्का, जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार, मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलसहित जिल्लाका विभिन्न राजनीतिक दलका नेतालगायतले प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगी ज्ञापनपत्र बुझाउनुभएको हो ।

यसपटकको निर्वाचनमा कसैले पनि बुथ कब्जा गर्न नसक्ने अध्यक्ष ओलीको दाबी

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी उपनिर्वाचनमा उम्मेदवारलाई अनावश्यक खर्च नगर्न आग्रह गर्नुभएको छ । काठमाडौँ–बझाङ मञ्चले शनिवार यहाँ आयोजना गरेको बझाङ जिल्ला प्रदेशसभा (१) को उपनिर्वाचनको विशेष भेलालाई सम्बोधन गर्दै उहाँले निर्वाचनलाई खर्चिलो नबनाउन आग्रह गर्नुभयो । पार्टीको चुनाव भएकाले पार्टीका साथीहरू खट्नुपर्ने भन्दै उहाँले चुनावमा हरेकलाई आफ्नो तर्फबाट योगदान गर्न निर्देशन दिनुभयो ।

“मेरो निर्वाचनमा म बिहान खाना खाएर हिँड्छु र साथीहरूलाई पनि खाना आएर आउनभन्छुु”, उहाँले भन्नुभयो, “चुनावमा खुवाउन पियाउन हुँदैन । चुनाव मेरोमात्र हो र ?”

उहाँले यसपटकको निर्वाचनमा कसैले पनि बुथ कब्जा गर्न नसक्ने दाबी गर्नुभयो । अध्यक्ष ओलीले प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं २ र प्रदेशसभा सदस्यका लागि बझाङ प्रदेशसभा (१) मा हुने उपनिर्वाचनमा एमालेले जित्ने दाबी गर्नुुभयो ।

उहाँले चुनावको बेलमा कुनै पनि नेता र उम्मेदवारको आलोचना वा टिप्पणी नगर्न आग्रह गर्नुभयो । केही असन्तुष्टि छन् भने चुनावपछि छलफल गरिने उल्लेख गर्दै पार्टीभित्र एकता र विरोधीसँग प्रतिस्पर्धा गर्न उहाँले निर्देशन दिनुभयो ।

“पार्टीभित्र असन्तुष्टि छ भने चुनावपछि छलफल गरौँला । चुनावसम्म एकअर्कामा आलोचना, टिप्पणी, उम्मेदवारको सम्बन्धमा कुनै प्रकारको टिप्पणी हुनुहुँदैन”, उहाँले भन्नुुभयो ।

उहाँले आन्तरिक एकता गर्दै विपक्षीसँग प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो । उहाँले निर्वाचनको समयमा नेता तथा कार्यकर्तालाई आचारसंहिता पालना गर्नसमेत निर्देशन दिनुभयो । बझाङको प्रदेशसभा (१) का उम्मेदवार दमनबहादुर भण्डारीले एमालेका विरुद्ध यसपटक गठबन्धन नभएकाले जित्ने बताउनुभयो ।

एकल चलचित्र भवनलाई राहत हुने घोषणा गर्दैछौँः अध्यक्ष केसी

काठमाडौँ – चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले हल सञ्चालकलाई समयमै कर तिरेर सरकारलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । शनिवार यहाँ आयोजित चलचित्र भवन सञ्चालक, प्रदर्शक तथा वितरकको संस्था नेपाल चलचित्र सङ्घको ४९औँ साधारणसभामा अध्यक्ष केसीले केही प्रदर्शकले कर नतिरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले एकल चलचित्र भवनलाई सहयोग गर्ने हाम्रो तयारी छ । आगामी आर्थिक वर्षमा हामीले उहाँहरूलाई महसुस हुने गरी सहयोग गर्नेछौँ ।”

उहाँले आफू चलचित्रकर्मबाटै बोर्डको नेतृत्वमा पुगेकाले चलचित्रकर्मीको समस्यालाई समाधान गरेर मात्र बिदा हुने बताउनुभयो । उक्त अवसरमा विभिन्न ११ विधामा क्रियाशील चलचित्रकर्मीलाई सम्मान पनि गरिएको थियो ।

भूपेन्द्र विष्णु श्रेष्ठ प्रकाश थापा स्मृति निर्देशक सम्मानबाट निर्देशक ज्ञानेन्द्र देउजा, द्वारिकाप्रसाद उदय शिवशङ्कर मानन्धर स्मृति अभिनेता सम्मानबाट अभिनेता शिव श्रेष्ठ, गुण समूह शान्ति मास्के स्मृति अभिनेत्री सम्मानबाट अभिनेत्री गौरी मल्ल, भुवनेश्वर अमात्य नारायण गोपाल स्मृति सङ्गीत सम्मानबाट गायिका देविका बन्दनालाई सम्मान गरियो ।

साथै शेरबहादुर पोखरेल श्री विक्रम राणा स्मृति पत्रकार सम्मानबाट पत्रकार विदुर गिरी, हरिबहादुर हिरादेवी श्रेष्ठ डायमण्ड शमशेर राणा स्मृति लेखन सम्मानबाट लेखक मौनता श्रेष्ठ, हरिप्रसाद द्वा भगवान् दास स्मृति निर्माता सम्मानबाट निर्माता छविराज ओझा, क्वेष्ट इन्टरटेनमेन्ट मधुकर बस्नेत स्मृति प्राविधिक सम्मानबाट सम्पादक नरेन्द्र खड्का पनि सम्मानित हुनुभयो । त्यसैगरी मैयादेवी प्रधान गोपाल भुटानी स्मृति द्वन्द्व कलाकार सम्मानबाट द्वन्द्व निर्देशक योगेन्द्र श्रेष्ठ, नन्दबहादुर महर्जन वीरेन्द्र पाण्डे स्मृति प्रदर्शक सम्मानबाट प्रदर्शक तीर्थ थापा, राजविर कायस्थ बैकुण्ठ मास्के स्मृति छायाँकार सम्मानबाट छायाँकार मञ्जुकुमार श्रेष्ठ सम्मानित हुनुभयो । उहाँहरूलाई सम्मान पत्रसहित जनही नगद राशि १५ हजार पाँच सय ५५ प्रदान गरियो ।

चलचित्र सङ्घका अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठले सरकारले करलगायतका विषयमा सहुलियत प्रदान गरेर प्रोत्साहन गर्न जरुरी रहेको धारणा राख्नुभयो । “कोरोना सङ्क्रमण र त्यसपछिको अवस्थामा हामीलाई पनि सहजता छैन । प्रदर्शकको हौसला बढाउन हामीलाई उपयुक्त नीति चाहिएको छ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

चिया निर्यातसम्बन्धी स्पष्ट नीति नहुँदा भारतीय बजारसँग प्रतिस्पर्धा गर्न नसकिएको गुनासो

भद्रपुर (झापा) – चिया निर्यातसम्बन्धी स्पष्ट नीति नहुँदा भारतीय बजारसँग प्रतिस्पर्धा गर्न नसकिएको सरोकारवालाले गुनासो गरेका छन् । समयअनुसार ऐन परिमार्जन नहुँदा चिया किसान, श्रमिक, उद्योगी–उत्पादक, व्यवसायी सबै मारमा परेको उनीहरूको गुनासोे छ ।

शनिवार झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा कोशी प्रदेश सरकार उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले चिया क्षेत्रमा वर्तमान नीतिका कारण अपेक्षित फाइदा लिन नसकिएको स्वीकार गर्नुहुँदै यथाशीघ्र सङ्घीय सरकारसँग समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अध्यक्ष डा दीपक खनालले चिया व्यवसाय प्रवर्द्धन नहुनुमा नीतिगत प्रष्टता, बजेट अभाव र संस्थागत रूपमा प्रवर्द्धन हुन नसक्नु रहेको बताउनुभयो ।

कार्यक्रममा सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिकमा पनि चिया बगानमा काम गर्ने श्रमिकलाई विभेद गरेको चिया क्षेत्रमा काम गर्ने मजदुरले गुनासो गरेका छन् । नेपाल सरकारले गत साउन १ गतेदेखि लागू हुनेगरी चिया बगानका श्रमिकको दैनिक रु पाँच सय ज्याला निर्धारण गर्दा अन्य क्षेत्रका श्रमिकको दैनिक रु छ सय ६८ तोकेको छ ।

कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री उद्धव थापाले कोशी प्रदेशले चियाबाट अर्बौँको राजस्व सङ्कलन गर्नसक्ने भएकाले सरकारले यस क्षेत्रमा लगानी गर्दै सुरक्षाको निश्चितता गर्नुपर्ने बताउनुभायो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका कोशी प्रदेशका संसदीय दलका नेता भक्ति सिटौलाले प्रदेश सरकारले अपनत्व लिन नसक्दा चिया क्षेत्रमा नीतिगत अस्पष्टता देखिएको आरोप लगाउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले कृषि प्रधान देश नेपालमा कृषिजन्य वस्तु नै आयात गर्नु दुखद् भएको बताउँदै चिया क्षेत्रको विकासका लागि निर्यात प्रवर्द्धनमा स्पष्ट नीतिको आवश्यकता रहेको बताउनुभयो ।

इलाम र झापाका हजारौँ मानिसको रोजगारीका रूपमा रहेका चिया क्षेत्र धरासायी बन्दै गएको भन्दै सरकारले समयानुसार यससम्बन्धी नीति परिमार्जन गरी लागू गर्न सके चिया क्षेत्रले अर्बौँको राजस्व सङ्कलनका साथै उद्योग, व्यवसाय र मजदुरलाई फाइदा पुग्ने सरोकारवालाको कथन थियो ।

मेचीनगरमै तीन सय ३७ प्रजातिका चरा, ‘बर्ड सेञ्चुरी’ घोषणा गर्न माग

झापा – चरा तथा वन्यजन्तु संरक्षण अभियन्ता देवेन्द्र खरेलले मेचीनगरलाई चरा संरक्षण क्षेत्र (बर्ड सेञ्चुरी) घोषणा गर्नुपर्ने माग गर्नुभएको छ । नगरभित्र तीन सय ३७ प्रजातिका चरा पाइने र दुर्लभ मानिएका चरासमेत ठूलो सङ्ख्यामा यही क्षेत्रमा भएकाले ‘बर्ड सेञ्चुरी’ घोषणा गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

रिडर्स झापाले पर्यटन कार्यालय काँकरभिट्टाको सभाहलमा शनिवार आयोजना गरेको ‘चरी चर्चा’ कार्यक्रममा बोल्दै उहाँले स्थानीय सामुदायिक वनद्वारा संरक्षित बाँसबारी र कालिका सिमसार क्षेत्रलाई एकीकृत गरी ‘बर्ड सेञ्चुरी’ निर्माण गर्न सकिने र त्यसबाट पर्यटक आकर्षण बढ्ने बताउनुभयो ।

नेपालबाट लोप भइसकेको घोषणा गरिएको हङरायो (हर्नबिल) चरा इलाममा खोजेर विश्वभर चर्चा पाउनुभएको मेचीनगर–७ निवासी खरेलले मेचीनगर वडा नं १५ मा दुर्लभ हरित परेवा रहेको पत्ता लगाउनुभएको थियो । ढुकुर प्रजातिको यो चरा मेचीनगरबाहेक नेपालमा अन्यत्र पाइएको छैन ।

उहाँका अनुसार नेपालमा पाइएका सातै प्रकारका चिबे र पाँचै प्रकारका रुप्पी मेचीनगरमा पाइएको छ भने नेपालमा पाइएका चार प्रजातिका धनेश चरामध्ये हङरायोबाहेक तीनवटा प्रकार यहीँ भेटिएको छ । अतिसङ¬्कटापन्न अर्थात् दुर्लभ चरामध्ये ठूलो बगर बट्टाई, हरित परेवा, पेटकैले कोइली, बगाले बगेडी, कालोटाउके बगेडी, कालो टाउके बिरहीचरी, ठूलो माकुरी चरी, प्याजीकाने बुङ¬्गेचरा र कानकैले बगेडी मेचीनगरमा पाइएका छन् ।

नेपाल र भारतकै सबैभन्दा सानो मानिएको आठ सेमी छोटो रातोठुँडे पुष्पकोकिल र एक सय २० सेमी लामो भुँडीफोर गरुड चरा मेचीनगरमै रहेको उहाँले सप्रमाण पुष्टि गर्नुभएको छ ।

मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्षसमेत रहनुभएका उहाँले चराको खोजीमा लाग्दाको अनुभव, चराको परिचय र महत्वबारे चर्चा गर्नुभएको थियो । उहाँले ‘मेचीनगरलाई के कुराले चिनाउँछ’ भनेर छोरीले सोधेको साधारणजस्तो लाग्ने प्रश्नबाट प्रभावित भएर चराबाटै नगरको पहिचान दिलाउने अभियानमा होमिएको बताउनुभयो ।

यस क्षेत्रमा लाग्न सरकारी र संस्थागत रूपमा उल्लेख्य आर्थिक प्रोत्साहन नभए पनि व्यक्तिगत रूपमा ठूलो लगानी गरेर टाढैबाट सटिक तस्वीर खिच्न सक्ने शक्तिशाली लेन्सयुक्त क्यामरा किन्ने गरेको र मिडिया जगत्ले धेरै माया गरेर संसारभर चिनाएको उहाँले बताउनुभयो ।

परिवारबाट राम्रो सहयोग पाएको जनाउँदै उहाँले चरालाई नमार्न आग्रह गर्नुभयो । कार्यक्रमको सुरुआतमा रिडर्स झापाकी सदस्य सञ्जु साम्पाङले विषय प्रवेश गराउँदै चरा संरक्षण अभियानबाटै खरेलले नेपालको नाम उँचो पार्नुभएको बताउनुभएको थियो ।

कार्यक्रम हात्ती संरक्षण अभियन्ता शङ्कर लुइँटेलले हात्ती र चराबीच गहिरो सम्बन्ध रहेको बताउनुभयो । हात्ती हिँड्ने मार्गलाई चराचुरुङ्गीले पछ्याउने गरेको र गाईवस्तुको वरिपरि दिनभर चर्ने बकुल्ला, रुप्पीलगायतका चराबारेमा उहाँले चर्चा गर्नुभएको थियो ।

नेपालमा आठ सय ८६ प्रजातिका चरा रहेकामा आफूले नै हरित परेवा नामक नयाँ चराको खोजी गरेर मुलुकमा पाइने चराको सङ्ख्या आठ सय ८७ पुर्याएको उहाँले जानकारी दिनुभयो ।

इलाम-२ उपनिर्वाचनमा एमाले उम्मेदवार नै निर्वाचित हुने उपमहासचिव ज्ञवालीको दाबी

इलाम – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले इलाम क्षेत्र नं २ उपनिर्वाचनमा एमाले उम्मेदवार नै निर्वाचित हुने दाबी गर्नुभएको छ । “निर्वाचन जित्न एमालेलाई धेरै कुराले सहज छ”, उहाँले भन्नुभयो, “राष्ट्रिय राजनीतिमा एमालेको भूमिका, जनाधार र उम्मेदवारकै कारण हामी यसपटक पनि इलाम-२ मा चुनाव जित्छौँ ।”

इलाम सदरमुकाममा पार्टी नेता–कार्यकर्तासँगको भेटमा ज्ञवालीले सत्ता गठबन्धन दलको साझा उम्मेदवार बनाउनेबारे छलफल भइरहेको पनि बताउनुभयो । लोकतन्त्रप्रतिको निष्ठा र स्वाधीनताको लडाइँमा एमाले नेतृत्वको सरकारको भूमिका पनि उपनिर्वाचन विजयीका लागि बलियो आधार भएको बताउनुभयो ।

“अहिले पार्टीको आन्तरिक एकता बलियो छ, एमालेमाथिको चौतर्फी घेराबन्दीसमेत तोडेर हामी नागरिकको सेवामा खटिएका छौँ”, उहाँले भन्नुभयो, “इलाम २ मा नेता सुवासचन्द्र नेम्बाङले देख्नुभएको सपना पूरा गर्ने जिम्मा पनि हाम्रै भएकाले यसपटक एमालेलाई मतदाताले जिताउनुहुनेछ ।”

ज्ञवालीले एमाले कुनै पनि स्वार्थबिना सरकारमा सहभागी भएको बताउनुभयो । “यसमा हाम्रो पार्टीको कुनै स्वार्थ छैन, देशमा फैलिन लागेको निराशा अन्त्य गर्नु, आर्थिक सूचक आशलाग्दो बनाउनु र परराष्ट्र सम्बन्ध सुधार्न एमाले सरकारमा सहभागी भएको छ ।”

एमाले नेता सुवासचन्द्र नेम्बाङको गत भदौ १६ मा निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । एमालेले नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ ।