मुख्यमन्त्री सिंह शिक्षा नीति निर्माण गर्ने तयारीमा


जनकपुर, १८ भदौ : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रोजगारमूलक गुणस्तरीय शिक्षा नीति निर्माण गरेर प्रदेशमा योग्य एवं सक्षम नागरिक उत्पादन गर्नेगरी सरकार अगाडि बढ्ने बताउनुभएको छ ।
मधेसप्रदेशको धेरै पुराना याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयको प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण भएको ‘याज्ञवल्क्य सदन’ छात्रावासको जनकपुरधाममा आज उद्घाटन गर्दै मुख्यमन्त्रीले सिंहले शैक्षिकस्तर माथि नउठेसम्म विकासले गति नलिने भएकाले शैक्षिक विकासमा सरकारले विशेष ध्यान दिने बताउनुभयो ।
माध्यमिक शिक्षा प्रदेश सरकारमा नभए पनि माध्यमिक तहको शिक्षामा सुधारका लागि सरकारले सबै प्रकारको सहयोग एवं लगानी गरेको र गरिरहने बताउँदै मुख्यमन्त्री सिंहले शिक्षामा भएको विकृति तथा विसङ्गतिको अन्त्य गर्नका लागि सरकारले शिक्षा नीति बनाउन लागेको जानकारी दिनुभयो ।
मधेस प्रदेशको केही जिल्लाहरूमा नमुना शैक्षिक पार्कको निर्माण गर्नका प्रदेश सरकारको चालु आर्थिक वर्षमा कार्यक्रम नै ल्याएको समेत उहाँले जानकारी दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक सञ्जयकुमार झाले विसं १८८५ मा ज्ञानकुप संस्कृत माध्यमिक विद्यालय आवासीय विद्यालयका रूपमा परिणत भएको बताउँदै अहिले विद्यालयमा दुई हजार पाँच सयभन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारको सहयोगमा विद्यालय परिसरमा निर्माण भएको खेलकुद मैदानको पूर्णता दिनका लागि आग्रह गर्दै अहिलेको सम्पूर्ण छात्रावासलाई विस्थापित गरेर नयाँ छात्राबासको निर्माण आवश्यक रहेको जानकारी गराउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं जनकपुरधाम उपमहानगरपालिका वडा नंं ८ का वडाध्यक्ष दिनेशकुमार सिंहले नमुना विद्यालयको रूपमा रहेको ऐतिहासिक विद्यालयको विकासमा थप लगानी गर्नका लागि प्रदेश सरकारसँग माग गर्नुभएको छ ।