`

कारागारभित्र एक कैदीबन्दी राईको मृत्यु

इनरुवा (सुनसरी) – सुनसरीको झुम्का कारागारभित्र शनिवार ४२ वर्षीय न्यायधीश राईको मृत्यु भएको छ ।पत्नी ह-त्याको आरोपमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका खोटाङका साकला गाउँपालिका घर भई हाल इटहरी उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएका राईको करागारभित्रै मृत्यु भएको हो ।

कारागारभित्रै कुटेर ह-त्या गरेको राईका आफन्तले आरोप लगाएका छन् । कारागारमा भाईको ह-त्या भएको दाबी गर्नुहुँदै घटनाको छानबिन गर्नुपर्ने मृत्तक न्यायधीशका दाई सुभाष राईले माग गर्नुभयो । न्यायधीशको शरीरभरि निल डा म रहेको, कान सुनिएको र चोट देखिएकाले कारागारभित्रै कुटेर ह-त्या गरेको मृतकका भाउजु उर्मिला राईले दाबी गर्नुभयो ।

कैदीबन्दी राईको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको झुम्का कारागारका प्रमुख धुव्रराज कोइरालाले बताउनुभयो । स्वास्थ्यमा समस्या रहेकाले उपचारका लागि जिल्ला अस्पताल सुनसरीमा भर्ना गरेको र उपचारका क्रममा उनको मृत्यु भएको उहाँको भनाइ छ ।

जिल्ला अस्पताल सुनसरीका प्रमुख श्रेया पङ्गेनीले राईको अस्पताल आउनुअघि नै मृत्यु भइसकेको बताउनुभयो । पीडित पक्षले न्याय र क्षतिपूर्ति नदिएसम्म शव परीक्षण गर्न नदिने र शव नबुझ्ने अडान लिएको छ ।

हेमजामा चैत २५ देखि आलु महोत्सव सञ्चालन हुने

अन्नपूर्ण (कास्की) – कास्कीको हेमजामा ‘सुन्दर ठाउँ हेम्जा जाऊ आलुका स्वादिष्ट परिकार खाऊ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ आलु महोत्सव गर्न लागिएको छ ।

पोखरा महानगरपालिका–२५ स्थित हेमजाको विष्णु पादुका क्लबको आयोजनामा यही चैत २५ देखि आगामी वैशाख ५ गतेसम्म ‘१२औँ राष्ट्रिय हेमजा आलु महोत्सव –२०८०’ सञ्चालन हुने भएको हो । महोत्सवलाई कृषि, पर्यटन तथा व्यापार मेलाका रूपमा विकास गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले बताउनुभयो ।

महोत्सवमा आलुबाट बनेका विभिन्न परिकार कबाब, रोस्ट, रोटी, साँधेको आलु, आलुको पकौडा, सेकेको आलु, आलुको बर्गर, अचारलगायतका परिकार बनाएको हेर्न र खान पाइने महासचिव श्रेष्ठले बताउनुभयो । “आलुबाट धेरै परिकार बन्छ । कतिलाई त्यो पनि थाहा नहुन सक्छ”, महासचिव श्रेष्ठले भन्नुभयो, “महोत्वस अवलोकन गर्न आउनुहरूले आलुबाट बन्ने परिकार हेर्न र स्वाद पनि लिन पाउनुहुनेछ ।”

महोत्सवको आकर्षणका रूपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदानको उपाय पनि दिइने उहाँले जानकारी दिनुभयो ।
महोत्सवमा कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषिविज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बीउबिजन तथा अन्य कृषियन्त्रको प्रदर्शनी रहेको महोत्सव संयोजक सुबिन श्रेष्ठले जानकारी दिनुभयो । साथै कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हाँस्यव्यङ्ग्य एवं लाइभ पप कन्सर्टलगायत रहने संयोजक श्रेष्ठले बताउनुभयो ।

हेमजामा हुने आलु महोत्सव २०६६ सालदेखि आयोजना गर्न सुरु गरिएको महोत्वस संयोजक श्रेष्ठले बताउनुभयो । समुद्री सतहबाट एक हजार ८८ मिटरको उचाइमा रहेको हेमजाको कुल क्षेत्रफल १२ हजार पाँच सय हेक्टरमध्ये करिब पाँच सय ५० हेक्टरमा आलुखेती हुँदै आएको छ । हेमजाका एक हजार २२ घरपरिवार कृषिमा आधारित छन् । जसमध्ये पाँच सय ४० किसानले व्यावसायिक आलुखेती गर्ने उहाँले जानकारी दिनुभयो ।

चर्च ब्वाइजले चुम्यो इटहरी गोल्डकपको उपाधि

धरान (सुनसरी) १८ चैत: अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधि काठमाडौँको चर्च ब्वाइज युनाइटेडले हात पारेको छ ।

शनिवार राति इटहरी रङ्गशालामा सम्पन्न खेलमा अघिल्लो संस्करणको उपविजेता चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि चुमेको हो । चर्च ब्वाइजले उपाधिसँगै नगद रु १० लाख प्राप्त गरेको छ । उपविजेतामा सीमित भएको आर्मी क्लबले रु पाँच हात पारेको छ ।

चर्च ब्वाइजलाई च्याम्पियन बनाउन राजेश परियारले निर्णायक गोल गरेका थिए । उनले खेल प्रारम्भ भएको चौथो मिनेटमा गोल गरेका हुन् । खेलको प्रारम्भमा नै गोल गरेर अग्रता लिएको चर्च ब्वाइजले अधिकांश समय रक्षात्मक खेलेर विभागीय टोलीलाई अल्मल्याएको थियो । आर्मीका खेलाडीले पाएका गोलका धेरै अवसरलाई सदुपयोग गर्न नसक्दा चर्च ब्वाइज चम्कन सफल भयो । प्रतियोगिताका नायक राजेश नै म्यान अफ दि म्याच घोषित भएर नगद १० हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजक राष्ट्रिय जागृति क्लबका प्रवेश दनुवार घोषित भएर नगद रु एक लाख पाएभने उत्कृष्ट डिफेण्डर आर्मीका जितेन्द्र कार्की, उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका दीप कार्की, उत्कृष्ट फरवार्ड आर्मीका नवयुग श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर चर्च ब्वाइजका सुरजज्यु ठकुरी, उत्कृष्ट प्रशिक्षक सोही क्लबका दर्शन भत्तराज घोषित भएका थिए । उनीहरूले पुरस्कारस्वरुप जनही रु २० हजार प्राप्त गरेका छन् । प्रतियोगितामा सर्वाधिक गोल गरेका डिफेन्डिङ च्याम्पियन सगरमाथा युथ क्लब मोरङका विमल घर्ती मगर बने ।

आयोजक राष्ट्रिय जागृति क्लबका सुमित चौधरी उदयीमान खेलाडी घोषित भएर फुटबल बुट र मेडल प्राप्त गरे । लामो समयसम्म खेल क्षेत्रमा योगदान पु¥याएका इटहरीका उमेश कार्कीलाई नगद ११ हजारसहित पुरस्कृत गरियो । विजेता तथा उपविजेता टिमलाई प्रमुख अतिथि कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्की, इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल, कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेलगायत खेल पदाधिकारीले पुरस्कार प्रदान गर्नुभएको थियो ।

यही चैत १० गतेदेखि सुरु भएको प्रतियोगितामा एक भारतीयसहित स्वदेशी आठ समूहले भाग लिएका थिए ।

पाथिभारा माताले सबैको रक्षा गरुन् ! हेर्नुहोस् चैत १८ गते आइतवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि -बाणीका कारण आफन्ंतंजंनंंंहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ । गैर ब्यक्तिको बिस्वासमा गरीएका कार्यमा सजग रहनुहोला सामान्य अपजस को सम्भाबना रहेकोछ । खानपानमा बिषेश साबधानि अपनाउनु होला । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भाबना रहेको छ ।

बृष राशि -जीबन साथिको सहयोगमा गरीएका कार्य बाट मनग्य लाभ प्राप्त हुने समय रहेको छ । ब्यापार ब्यवसाय मा भने सामान्य ढिलाईको सम्भाबना रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । नयाँकाम प्रारम्भ गर्नका लागी समयले साथ दिएको छ ।

मीथुन राशि- प्रतिस्पर्दिहरुको बृद्धि हुनाले कार्य सम्पादनमा बिषेश ध्यान पूर्याउनु पर्ने समय रहेको छ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । शारीरिक अस्वस्थाको सम्भाबना रहेको छ । आकस्मीक खर्चको सामना गर्नु पर्नेछ । आय आर्जनका लागी भने समय उत्तम रहेको छ ।

कर्कट राशि- अरुको कार्य लापरबाहि को प्रतिफल तपाईलाई आईपर्न सक्नेछ । साजेदारी ब्यवसायमा मनग्य लाभ मिल्नेछ । गैर ब्यक्तिको पुर्ण बिस्वास नर्गनु राम्रो हुनेछ । कुराकाट्ने ब्यतिहरुबाट बच्नु पर्ने छ । आय आर्जनका लागी भने समय उत्तम रहेको छ । अध्यन अध्यापनमा खर्चिएको समय उत्तम रहनेछ ।

सिंह राशि -पारीवारिक साथ सहयोमा गरीएका कार्यहरु दीर्घकालिन फाईदाका श्रोत साबित हुनेछन । पति पत्नि बिचको सम्बन्धमा सामान्य खटपट रहने सम्भाबना रहेको छ । कार्यक्षेत्रको लगन सिलतामा बृद्धि हुनाले मान सम्मानको योग रहेको छ । भौतिक श्रोतसाधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु होला ।

कन्या राशि-मित्रजन तथा दाजुभाई बिचको सम्बन्धमा सुधार आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भाबना रहेको छ । मित्र सहयोग प्राप्त हुनेछ । यात्राका क्रममा बिभिन्न झमेलाहरुको सामना गर्नु पर्न सक्नेछ ।

तुला राशि -कुलकुटुम्ब हरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । बौधिक ब्यत्तित्व सगँको भेटघाटमा समय ब्यतित रहने छ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । मित्र जनको साथ सहयोगमा कमि रहला । अध्यन अध्यापनका क्षेत्रमा त्यति मन जानेछैन ।

बृश्चिक राशि-पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । ब्यापार ब्यवसायको साजेदारीमा भने सामान्य असमन्जसता उत्पन हुन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ । खानपानमा सजग रहनु होला । नयाँ कार्यको थालनि गर्न समय उत्तम रहेकोछ ।

धनु राशि- मानसिक चन्चलताका कारण मित्रजन सगँको सम्बन्धमा फाटो आईपर्नेछ । जिबन साथीको सहयोमा गरीएका ब्यापार ब्यवसायमा लाभ प्राप्त हुनेछ । नयाँ लगानि तथा साजेदारीकार्यका क्षेत्रमा भने उत्तम समय रहनेछ । प्रतिपक्षीहरु शुभ चिन्तकका रुपमा परीणत हुनेछन ।

मकर राशि- अध्यन अध्यापनका सन्दर्भमा खर्चिएको समय उत्तम रहनेछ । प्रतिपक्क्षी तथा प्रतीस्पर्दीहरुको बृद्धि हुन सक्नेछ । नयाँकाम प्रारम्भ गर्नका लागी समयले साथ दिएको छ तथापि साजेदारी काममा भने सजग रहनु राम्रो रहनेछ । मान्यजनको सहयोग द्वारा भाग्योदयको योग रहनेछ ।

कुम्भ राशि- मानसिक चन्चलताका कारण कार्य क्षेत्रमा तनाबको सामना गर्नु पर्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्रको सम्भाबना रहेको छ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । सन्तान सम्बन्धी समस्याले सताउन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ ।

मिन राशि- सामान्य यात्रा पस्चात मान सम्मानको प्राप्ती हुन सक्नेछ । मान्यजनको सहयोग द्वारा भाग्योदयको योग रहनेछ । मित्रजनको अति सामीप्यतामा अहित हुन सक्नेछ । पारीवारिक सम्बन्धमा भने सामान्य समस्या उत्पन हुनेछ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ ।

पाँच जनाको मृत्युसँग सम्बन्धित स्वास्थ्य पूरक बनाउने कारखानामा जापानी प्रहरीको छापा

जापान सरकारका स्वास्थ्य अधिकारीहरूले शनिबार स्वास्थ्य पूरक बनाउने एक कारखानामा छापा मारेको बताएका छन् । उनीहरूका अनुसार उक्त कारखानाबाट उत्पादिन स्वास्थ्य पूरकको सेवनले कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने एक सयभन्दा धेरै अस्पताल भर्ना भएका छन् ।

सार्वजनिक प्रसारक एनएचकेसहित जापानी टिभी समाचारहरूमा व्यापकरूपमा देखाइएको छापामा गाढा रङको सुट लगाएका करिब एक दर्जन व्यक्तिहरू कोबायाशी फर्मास्युटिकल कम्पनीको ओसाका संयन्त्रमा पसेका थिए ।

कम्पनीले मिर्गौला फेल हुने बिमारीको सही कारणबारे अत्यन्त कम जानकारी भएको बताएको छ । सरकारी स्वास्थ्य अधिकारीहरूको सहकार्यमा उत्पादनहरूको अनुसन्धान भइरहेको छ ।

सबै पूरकहरूले ‘बेनिकोजी’ को प्रयोग गर्थे । कोबायाशी फर्मास्युटिकल्सको बेनिकोजी कोलेस्टे हेल्प नामक गुलाबी चक्कीहरूलाई कोलेस्ट्रलको स्तरलाई कम गर्न सहयोग गर्ने बताइएको थियो ।

पश्चिमी जापानी सहर ओसाकास्थित कोबायाशी फर्मास्युटिकल्सले पछिल्लो तीन आर्थिक वर्षमा करिब १० लाख प्याकेज बेजिकोजी बिक्री गरेको बताएको छ । कम्पनीले बेनिकोजीलाई अन्य निर्माताहरूलाई पनि बिक्री गरेको छ र केही उत्पादनको निर्यात पनि गरेको छ । पूरकलाई चिकित्सकको प्रेस्क्रिप्सनबिना औषधि पसलमा खरिद गर्न सकिन्छ ।

बेनिकोजीको प्रयोग वर्षौंदेखि विभिन्न उत्पादनमा भइरहेको भए पनि सन् २०२३ मा स्वास्थ्य समस्याहरूको रिपोर्ट आएको थियो ।

कम्पनीका अध्यक्ष अकिहिरो कोबायाशीले तत्काल कारवाही नगरेकामा माफी माग्नुभएको छ । कम्पनीको समस्याका बारेमा आधिकारिक मेडिकल रिपोर्ट प्राप्त भएको दुई महिनापछि मार्च २२ मा यी औषधि फिर्ता गरिएको छ ।

उक्त उत्पादन प्रयोग गरेपछि पाँच जनाको मृत्यु भएको र अन्य एक सय १४ जनाको अस्पतालमा उपचार भइरहेको कम्पनीले शुक्रबार बताएको छ । जापानको स्वास्थ्य मन्त्रालयले मृत्यु र बिरामीका लागि पूरक जिम्मेबार रहेको बताउँदै प्रभावित मानिसहरूको सङ्ख्या बढ्नसक्ने चेतावनी दिएको छ ।

केही विश्लेषकहरूले हालैको कमजोर अनुगमन पहललाई दोष दिएका छन् । उनीहरूका अनुसार कमजोर अनुगमनले आर्थिक विकासलाई गति दिनका लागि स्वास्थ्य उत्पादनहरूको अनुमोदनलाई सरल र गति दिएको छ ।

यद्यपि उपभोक्ता उत्पादनहरूमा सरकारी जाँच तुलनात्मकरूपमा अपेक्षाकृत कडा भएकाले जापानमा ठूलो मात्रामा उत्पादित वस्तुहरूबाट मृत्यु विरलै हुन्छ ।

सरकारले पूरकसम्बन्धी रोगहरूको प्रतिक्रियामा अनुमोदन प्रणालीको समीक्षा गर्न आदेश दिएको छ । यसको प्रतिवेदन मेमा आउन बाँकी छ ।

अधिकार, प्रतिनिधित्व र सम्मानका लागि सङ्गठित हुनु जरुरीः उपप्रधानमन्त्री यादव

महेन्द्रनगर (धनुषा), १७ चैतः उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले शोषित, पीडित वर्गको अधिकार, प्रतिनिधित्व र सम्मानका लागि सङ्गठित हुनुको विकल्प नरहेको बताउनुभएको छ ।आज जनकपुरधाममा पिछडा वर्ग महासङ्घ नेपालद्वारा आयोजित दुई दिवसीय प्रशिक्षणको समापन समारोहमा उहाँले पिछडा वर्ग बहुसङ्ख्यक भए पनि सङ्गठित हुन नसक्दा उचित अधिकार, प्रतिनिधित्व र सम्मान पाउन नसकेको बताउनुभयो ।

वर्तमान युगमा सङ्गठन नै शक्ति रहेको उल्लेख गर्नुहुँदै उपप्रधानमन्त्री यादवले पिछडा वर्गहरूलाई सङ्गठित भएर अघि बढ्न आग्रह पनि गर्नुभएको छ । पिछडा वर्गमा शिक्षाको आभाव देखिएको बताउनुहुँदै जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष समेत रहनुभएका अध्यक्ष यादवले आफ्ना सन्तानको शिक्षामा जोड दिन अपिल गर्नुभएको छ ।पिछडा वर्ग महासङ्घका अध्यक्ष भरत महतोको अध्यक्षतामा दुई दिनसम्म चलेको प्रशिक्षणमा मुलुकका विभिन्न क्षेत्रबाट आउनुभएका एक सय जनाभन्दा बढीको प्रशिक्षार्थी सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा प्रमुख प्रशिक्षक अध्यक्ष यादवका साथै सिपी सिंह, मनाइ महतो, दीपेन्द्र कापरलगायत हुनुहुन्थ्यो ।

रुखले च्यापिएर डोटीमा एक बालकको मृत्यु

डोटी, १७ चैतः डोटीमा दाउरा काट्ने क्रममा रुखले च्यापिएर एक बालकको मृत्यु भएको छ । सायलगाउँपालिका-२ खरगडाका मदनबोहराका १४ वर्षीय छोरा तिलक बोहराको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायणसिं नेगीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सायल गाउँपालिका-५ पटकानीस्थित मामाघर बस्दै आएका बोहरा रानीवन जङ्गलमा दाउराका लागि बाँझको रुख काट्ने क्रममा दिउँसो १२ बजे सोही रुखले च्यापिएर गम्भीर घाइते भएका थिए ।

घाइते बोहरालाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याइएकामा दिउँसो ३ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीको भनाइ छ । घटनाको अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय आदर्शबाट प्रहरी निरीक्षक जनकबहादुर बोहराको कमाण्ड र प्रहरी चौकी डौडबाट प्रहरी सहायक निरीक्षक चक्रबहादुर मल्लको कमान्डमा प्रहरी घटनास्थलमा गएको प्रहरी नायब निरीक्षक नेगीले जानकारी दिनुभयो ।

सिँचाइसम्बन्धी समस्या समाधान हुन्छ: मन्त्री बस्नेत

हेटौँडा, १७ चैतः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले सरकारले सिँचाइसम्बन्धी सबै समाधान गर्ने गरी काम गरिरहेको बताउनुभएको छ । मकवानपुरमा जारी माझी राष्ट्रिय मुक्ति मोर्चाको दोस्रो राष्ट्रिय सम्मेलनमा आज उहाँले कृषिमा आत्मनिर्भर बनाउनका हरेक किसानको खेतमा सिँचाइको व्यवस्था गर्न सरकार लागिपरेको बताउनुभयो ।

उहाँले जनताको आर्थिक र सामाजिक जीवनमा परिवर्तन ल्याउन वर्तमान सरकारको नेतृत्व गरिरहेको दलले नै व्यवस्था बदलेका कारण पनि जनताको अवस्था बदल्ने वातावरण सिर्जना गर्दै लैजान जनमुखी बजेट ल्याउनेसमेत बताउनुभयो । उहाँले देशमा आर्थिक समृद्धि र सशासन कायम गर्न वर्तमान सरकार लागिरहेको बताउनुभयो ।मन्त्री बस्नेतले उत्पीडित र विषेश जातिहरूको संरक्षण राज्यले नै गर्ने बताउँदै राज्यको व्यवस्था परिवर्तनसँगै संविधानले गाँस, बास र कपासको सुनिश्चितता गर्नुपर्ने बताउनुभयो । त्यस अवसरमा पूर्वसभामुख ओनसरी घर्तीमगरले जातीय उत्पीडनका निम्ति नै सङ्गठन बनेका कारण एकढिक्का बन्न आग्रह गर्दै माझीका अधिकारलाई स्थापित गर्न लागिपर्ने बताउनुभयो ।पूर्वमन्त्री सुदन किरातीले माझी समुदायले आफ्नो संस्कृतिको जगेर्ना गर्दै अधिकार स्थापित गर्न र पहिचान जोगाउन लागिपर्नुपर्ने बताउनुभयो । माझी राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष तुलाबहादुर माझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तान, सङ्घीय सांसद उर्मिला माझी, बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मकवानपुरका इन्चार्ज विजय गौतम, जिल्ला संयोजक सर्केश घलानलगायतको उपस्थिति थियो ।

समयमै कर तिरी कर्तव्य पूरा गर्नुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर, १७ चैतः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले जनताले सरकारलाई तिर्नुपर्ने कर समयमै तिरी आफ्नो कर्तव्य पूरा गर्नुपर्ने धारणा राख्नुभएको छ । नेपाल नगरपालिका कर्मचारी एशोसिएसन भक्तपुर नगरपालिका समितिको आयोजनामा आज भएको सम्मान कार्यक्रममा उहाँले जनताले राज्यलाई कर छल्ने वा कर ढिलो तिर्ने र नतिर्नेजस्ता कार्य गर्न नहुने बताउनुभएको हो ।

उहाँले राज्य वा आफू कार्यरत संस्थालाई नोक्सान हुने काम गर्नेलाई दण्ड जरिवानाको व्यवस्था गर्नुपर्ने बताउँदै देशकै सानो जिल्ला भक्तपुरलाई ‘टेष्टट्युव’का रूपमा विकास गर्न सकिने बताउनुभयो । कार्यक्रममा भक्तपुर नगरपालिकामा ३० वर्ष सेवा पूरा गरेका १५ र सेवानिवृत्त आठ गरी २३ जना कर्मचारीलाई सम्मान गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कर्मचारी राम्रा भए जनताले सहज सेवा पाउने बताउँदै संस्थालाई गलत दिशामा लानबाट रोक्न कर्मचारीको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, नेपाल नगरपालिका कर्मचारी एशोसिएसन भक्तपुर नगरपालिका समितिका अध्यक्ष गौतमप्रसाद लासिवा, भक्तपुर नपाका प्रशासकीय अधिकृत दामोदर सुवाललगायतले राजनीतिक रूपले सचेत कर्मचारीले मात्रै देश र जनताको हितमा काम गर्नसक्ने बताउनुभयो ।

‘मुलुकको विकासका लागि सडक निर्माण महत्वपूर्ण’ – मन्त्री महासेठ

नारायणगढ (चितवन), १७ चैतः उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मुलुकको विकास गर्नका लागि सडक र पुल पुल निर्माण महत्वपूर्ण भएको बताउनुभएको छ ।

तनहुँ र चितवन जोड्ने नवनिर्मित त्रिशूली नदीमा रहेको पुलको आज भएको उद्घाटन समारोहमा उहाँले हाल देशका सडक सञ्जालको विकाससँगै रेलको विकास पनि गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आज पूर्व–पश्चिम रेलदेखि लिएर बर्दिबास–निजगढ–जयनगर, विजयपुर–बर्दिबासका केही भागमा रेल पनि सञ्चालन भइसकेको छ । विराटनगरको कार्गो रेलको पनि सुरुआत हुने परिस्थितिमा पुगेको छ । काठमाडौँ–पोखरा रेलमार्गको डिपिआर पनि भइरहेको छ ।”

सरकारको नीति पहिले सडक र पुल निर्माण गर्ने रहेको उहाँको भनाइ थियो । निर्माण व्यवसायीहरूले काम गरेबापतको भुक्तानी नपाएको गुनासो आएको भन्दै उहाँले थप्नुभयो, “दोस्रोपटक म यो मन्त्रालयमा आउँदा मैले व्यवसायीहरूले भुक्तानी नपाएको भन्ने महसुस गरेँ । अब यो सरकार आएपछि भुक्तानी सुरु भइसकेको छ ।” उहाँले बाँकी भएकाहरूले अविलम्ब भुक्तानीको व्यवस्था हुने आश्वासन दिनुभयो ।

असार मसान्तभित्र सम्पन्न हुने पुललगायतका निर्माण योजनाका लागि आवश्यक बजेट सरकारले तुरुन्तै उपलब्ध गराउने उहाँले बताउनुभयो । निर्माण सम्पन्न हुने अवस्थाका सडकका लागि सरकारले बजेट अभाव हुन नदिने सरकारको आन्तरिक निर्णय भएको बताउँदै उहाँले काम गर्नेले समयमै भुक्तानी पाउने बताउनुभयो ।

विसं २०८१ सम्ममा सडक सञ्जालबाट सबै जिल्लाका सदरमुकाम जोड्ने योजना सरकारको रहेको उहाँले बताउनुभयो । उहाँले नारायणी नदीमा नेपालको सबैभन्दा आधुनिक र ठूलो सिग्नेचर पुल आउँदो आर्थिक मसान्तको अन्तसम्ममा शिलान्यास गरिने पनि बताउनुभयो ।

सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले विसं २०७१ कात्तिक २० गते निर्माण सुरु भएको ठिमुरा पुलको निर्माण ३६ महिनामा सम्पन्न हुने लक्ष्य लिए पनि विभिन्न चुनौतीका बाबजुद आज करिब रु २२ करोड लागतमा सम्पन्न गरेर उद्घाटन गर्न सफल भएको बताउनुभयो ।

गण्डकी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले जिल्ला र प्रदेशसमेत जोड्ने यस पुलले यहाँको पर्यटनसँगै स्थानीयहरूको जनजीवन कायापलट हुने विश्वास व्यक्त गर्नुभयो । प्रदेशको तर्फबाट विकास निर्माणका कुरामा सधैँ साथ र सहयोग रहने उहाँको भनाइ थियो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पुल निर्माणले देवघाट र भरतपुरको सम्बन्धमा थप सुमधुरता ल्याउने बताउनुभयो । उहाँले तीर्थालु भक्तजन र धार्मिक पर्यटकका लागि निकै महत्त्वपूर्ण रहेकाले यहाँको जनताका लागि प्रत्यक्षरूपमा जीवनस्तर उकास्नमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस क्षेत्रको समग्र विकासका लागि महानगरले सक्दो सहयोग गर्दै आएको र गरिरहने बताउनुभयो ।

पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टङ्कनाथ पौडेलले विसं २०६७ देखि पुलको आवश्यकता ठानेर अहोरात्र खटिने सबैमा आभार व्यक्त गर्नुभयो । उहाँले नेपालको मध्यभागमा पर्ने देवघाटको यस पुल धार्मिक पर्यटकका लागि निकै महत्त्वपूर्ण रहने बताउनुभयो । तनहुँ र चितवन जोड्ने नवनिर्मित त्रिशूली नदी पुलको आजै राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको हो ।

बागमती प्रदेश मन्त्रिपरिषद् विस्तार

मकवानपुर, १७ चैतः बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मन्त्री थपलियालाई प्रदेशप्रमुख शर्माले आज साँझ पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । थपलिया दोस्रोपटक प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बन्नुभएको हो । उहाँले यसअघि २०७९ पुस २६ गते सो मन्त्रालय सम्हालनुभएको थियो

कांग्रेसले आगामी निर्वाचनमा गठबन्धन गर्दैनः डा कोइराला

काठमाडौँ, १७ चैतः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीले आगामी निर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने बताउनुभएको छ । बिपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १६औँ वार्षिक साधारणसभामा उहाँले आगामी निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन नगर्ने स्पष्ट पार्नुभएको हो ।

नेता डा कोइरालाले राष्ट्रियसभामा समावेशी र समानुपातिक निर्वाचन प्रणाली र प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणाली लागू गरे मात्रै कनै एक दलले बहुमत ल्याउने र मुलुकमा स्थायित्व, विकास निर्माण अघि बढ्न सक्ने धारणा राख्नुभयो ।नेता डा कोइरालाले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता व्यक्तिहरुको छानबिन आयोगसम्बन्धी विधेयक, मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मूल्य, मान्यता, सर्वोच्च अदालतको निर्देशन र पीडितमैत्री बनाउनुपर्ने धारणा राख्नुभयो ।

कांग्रेस नेता अर्जुननरसिंह केसीले पछिल्लो समय देश चुनौतीको घडीमा अगाडि बढिरहेको बताउनुभयो । उहाँले सहकारी र लघुवित्त रकम ठगी गर्नेलाई कारबाहीको माग गर्नुभयो । नेता केसीले नागरिकमा रहेको निराशालाई चिर्नका लागि वर्तमान सरकार र राजनीतिक दल लाग्नुपर्नेमा जोड दिनुभयो ।

मनकामना जाँदै गरेको स्कारपियो दुर्घटना हुँदा एकको मृत्यु

गोरखा, १७ चैतः सहिद लखन गाउँपालिका-३ घोर्लेस्वाँरामा आज दिउँसो स्कारपियो कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नवलपरासीपूर्वबाट मझुवादेउराली हुँदै मनकामनातर्फ जाँदै गरेको ग१च ७६१९ नम्बरको स्कारपियो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

दुर्घटनामा परी स्कारपियोमा सवार नवलपरासीपूर्व विनय त्रिवेणी गाउँपालिका-४ का ४५ वर्षीय शोभाखर गैरेको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते हुनुभएका गैरेको तनहुँको आँवुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उकालो बाटोमा गाडी चढ्न नसकेपछि अनियन्त्रित भई जिप सडकको नालीमा पल्टिएर दुर्घटनामा परेको थियो ।स्कारपियो चालक नवलपरासीपूर्व विनयत्रिवेणी गाउँपालिका–४ घर भएका ४७ वर्षीय बेगबहादुर क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

इलाम–२ उपनिर्वाचन : रास्वपाबाट मिलन लिम्बू उम्मेदवार

रास्वपाले इलाम–२ मा हुने लागेको प्रतिनिधिसभाको उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार घोषणा गरेको छ । पार्टी सभापति लामिछानेले घण्टी बजाए उम्मेदवार घोषणा गर्नुभयो । उम्मेदवार घोषणापछि लामिछानेले उम्मेदवार लिम्बूलाई घण्टी हस्तान्तरण गरी शुभकामना दिनुभएको थियो ।

पत्रकारिता छाडेर स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएका लिम्बूलाई रास्वपाले पार्टीमा भित्र्याएर उम्मेदवार बनाएको हो । इलाम-२ मा वैशाख १५ गते प्रतिनिधिसभाको उपनिर्वाचन हुँदैछ ।

काम गर्न नसकेको दिन सरकारबाट बाहिरिन्छौँ: गृहमन्त्री लामिछाने

फिक्कल (इलाम), १७ चैतः उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरु काम गर्नका लागि सरकारमा सहभागी भएको भन्दै काम गर्न नसकेका दिन सरकारबाट आफै बाहिरिने बताउनुभएको छ ।

आज इलाम चोकबजारमा इलाम–२ उपनिर्वाचनका लागि पार्टीका उम्मेदवार घोषणासभालाई उहाँले भन्नुभयो, “रास्वपा सरकारमा नगएको भए हुन्थ्यो भन्ने कुरा पनि आम नागरिकमा छ, तर हामी काम गरेर देखाउनका लागि सरकारमा सहभागी भएका हौँ, केही सङ्केत देखाइसकेका छौँ ।”

उहाँले रास्वपा सरकारमा सहभागी भइसेकपछि सुशासन र सेवा प्रवाहमा जनताले अपेक्षा गरेअनुरुप सुधार सुरु भइसकेको दाबी गर्नुभयो । उहाँले विभिन्न समयमा भएका सबै भ्रष्टाचारका फाइलहरु क्रमशः खोलिँदै लैजाने बताउँदै भ्रष्टाचारीहरू कसैलाई पनि उम्कन नदिने बताउनुभयो ।

“हामी सरकारमा आएको धेरै भएको छैन, तर हाम्रो सुरुआती कामबाटै केही न केही सङ्केत त पाइसक्नुभएको छ”, लामिछानेले भन्नुभयो, “अब क्रमशः सबै भ्रष्टाचारका फाइल खोल्छौँ, त्यसपछि हाम्रो काम देख्नुहुन्छ, तर अलिकति समय पर्खनुहोस् ।”

उहाँले आफ्नो पार्टीले सरकारमा रहँदा र प्रतिपक्षमा रहँदा समेत संसद्बाट जनताकै पक्षमा निरन्तर काम गरिरहेको उल्लेख गर्दै इलामबाट एक जना सांसद थपेर पठाइदिन जिल्लावासीलाई आग्रह गर्नुभयो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, सो पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्यद्वय डा स्वर्णिम वाग्ले, डा तोसिमा कार्की, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, रमेश प्रसाईँले सम्बोधन गर्नुभएको थियो ।

उत्तर कोरियालाई लक्षित गरी ल्याइएको प्रस्तावमाथि रूसद्वारा भिटो प्रयोग

उत्तर कोरियाले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद् (यूएनएससी) प्रतिबन्ध उल्लङ्घनको अनुसन्धान जिम्मेवारी प्राप्त विशेषज्ञको स्वतन्त्र समिति नवीकरण गर्ने उद्देश्यले गरिएको प्रस्तावलाई अवरुद्ध गर्दै रूसले बिहीबार संयुक्त राष्ट्र सङ्घमा आफ्नो भिटो शक्तिको प्रयोग गरेको छ ।

युक्रेनमा भएको द्वन्द्व र यूएनएससी प्रतिबन्ध उल्लङ्गनको अनुसन्धान विशेषज्ञ समिति निर्माणको प्रस्तावले मस्को र पश्चिमी देशबीच थप तनाव बढेको हो । पछिल्लो समय उत्तर कोरियाले यूएनएससी प्रतिबन्ध उल्लङ्गन गर्दै रूसको मुख्य युद्ध हतियार आपूर्तिकर्ताको रूपमा देखा परेको यूरोपेली मुलुकहरूको बुझाई छ ।

प्योङयाङको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमको बिस्तार गर्दै उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी भूमिमा पुग्न सक्ने लामो दूरीको अन्तरमहाद्वीपीय क्षेप्यास्त्रसहित थुप्रै हतियार परीक्षण गर्न आफ्नो सेनालाई प्रोत्साहित गर्नुभएको छ । रूसले उत्तर कोरियाको अवैध हतियार कार्यक्रममा अन्तर्राष्ट्रिय प्रतिबन्ध र संयुक्त राष्ट्रको अनुसन्धानलाई समर्थन गरेको सिएनएनले जनाएको छ ।

यद्यपि, युक्रेनमा हावी गम्भीर सङ्कटको बीचमा गतिशीलता परिवर्तन हँुदा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले हतियारका लागि उत्तर कोरियामा निर्भरता बढाएको देखिन्छ ।

संयुक्त राष्ट्रसङ्घका लागि रूसी राजदूत भासिली नेबेन्जियाले उत्तर कोरियामाथि संयुक्त राष्ट्रसङ्घले लगाएको प्रतिबन्धले प्रासङ्गिकता गुमाई वास्तविकताबाट अलगिएकाले भिटो प्रयोग गरेको बताउनुभएको छ । उहाँले सन् २००६ देखि नै प्रतिबन्धको प्रभावकारिताको आलोचना गर्दै लक्ष्य विमुख भएको कोरियाली प्रायद्वीपमा सकारात्मक परिवर्तनमा योगदान नगरेको तर्क गर्नुभएको छ । नेबेन्जियाले रूसको राष्ट्रिय सुरक्षा चासोलाई प्रत्यक्ष असर पार्ने गरी अमेरिकी नेतृत्वमा रहेका देशहरूको गठबन्धनले प्योङयाङका गतिविधिलाई अवरोध पु¥याएको सम्बनधमा रूसी चिन्तासमेत उल्लेख गर्नुृभयो ।

संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धअन्तर्गत उत्तर कोरियालगायतका देशहरूमा हतियार हस्तान्तरणमा प्रतिबन्ध लगाउँदा पनि उत्तर कोरियाली नेता उन युक्रेनविरुद्धको रूसी कारबाहीलाई सहयोग गर्न हतियारको निरन्तर आपूर्तिकर्ताका रूपमा सक्रिय देखिनुहुन्छ ।

दक्षिण कोरियाका रक्षामन्त्रीले उत्तर कोरियाका हतियार कारखानाले रूसलाई लाखौं तोपखानासहित हतियार आपूर्ति गर्न पूर्ण क्षमतामा काम गरिरहेको उल्लेख गर्नुभएको छ । यसैबीच युक्रेनले आफ्नो लक्ष्यमा आक्रमण गर्दा उत्तर कोरियाले बनाएको ब्यालेस्टिक मिसाइलका भग्नावशेष फेला पारेको रिपोर्ट सिएनएनले गरेको छ ।

पन्त्र्र सदस्यीय सुरक्षा परिषद्का सदस्यको उपस्थितिमा१३ सदस्यहरूले विशेषज्ञको समितिको काम नवीकरण गर्ने पक्षमा थिए । छलफलमा रूसले विरोध जनाएको र चीन अनुपस्थित रहेको थियो । बहुमत सदस्यहरू पक्षमा रहँदा रहँदै पनि रूसको भिटो शक्तिले प्रस्तावलाई अन्ततः असफल तुल्यायो ।

संयुक्त राष्ट्रसङ्घका लागि बेलायती राजदूत बार्बरा वुडवार्डले उत्तर कोरियाली जनतामाथि पर्ने यसको हानिकारक प्रभाव र प्रतिबन्धको प्रभावकारितालाई जोड दिँदै रूसी भिटोप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले अन्तर्राष्ट्रिय मान्यतासहितको शासनको अखण्डता र परिषद्को विश्वसनीयतालाई कमजोर पार्दै हतियार खरिद्का लागि प्रतिबन्धबाट बच्ने स्वतन्त्रता खोजिरहेको आरोप लगाउनु भएको छ ।

संयुक्त राष्ट्र सङ्घका लागि अमेरिकी उप राजदूत रोबर्ट वुडले सभ्य राष्ट्रले अनुमोदनलाई कसरी रोक्न सक्छ भनेर प्रश्न गर्दै रूसको ‘गैरजिम्मेवारपूर्ण कार्य’को निन्दा गर्नुभएको छ । विशेषज्ञहरूको प्यानललाई अस्थायी रूपमा अवरोध गरेको भएता पनि दिगो र अब्बल व्यवस्थाका लागि वकालत जारी रहने कुरामा उहाँले जोड दिनुभयो । दक्षिण कोरियाको विदेश मन्त्रालयले पनि रूसको निर्णयलाई गैरजिम्मेवारपूर्ण भन्दै आलोचना गरेको भने मस्कोको कदम विरुद्ध अन्तर्राष्ट्रिय प्रतिक्रियालाई समेत उजागर गरेको छ ।

पेरूका राष्ट्रपति बोलुआर्टेको घरमा छापा मारियो

भ्रष्टाचारको अनुसन्धानका क्रममा पेरूका राष्ट्रपति डिना बोलुआर्टेको घरमा शनिबार अधिकारीहरूले छापा मारेका छन् ।

एएफपीले प्राप्त गरेको प्रहरी दस्तावेजअनुसार बोलुआर्टेले घोषणा नगरेका रोलेक्स घडीको खोजी गरिरहेको उक्त छापामा करिब ४० जना अधिकारी परिचालित गरिएको छ ।

प्रहरीले घडी ‘खोजी र जफत गर्ने उद्देश्यले’ छापा मारेको पुष्टि गरेको छ ।

बोलुआर्टेले विदेशी उत्पादनको विलासी घडी लगाएको बारेमा रिपोर्ट प्रकाशित गरेपछि अधिकारीहरूले यस महिनाको सुरूमा अनुसन्धान सुरु गरेका थिए तर यसलाई सार्वजनिक रूपमा घोषणा गरिएको थिएन ।

प्रहरी र अभियोजकको कार्यालयबीचको संयुक्त अभियान शनिबारको छापा स्थानीय टेलिभिजन च्यानल ल्याटिनामा प्रसारण गरिएको थियो ।

डिसेम्बर २०२२ मा पूर्व राष्ट्रपति पेड्रो क्यास्टिलोले कङ्ग्रेसलाई भङ्ग गर्न र आदेशको भरमा शासन गर्ने प्रयास गरेपछि बोलुआर्टेले राष्ट्रपतिको जिम्मेवारी पाउनुभएको थियो ।

पाँच हजार बालबालिका बेल्गोरोडबाट अन्यत्र स्थानान्तरण

युक्रेनसँग सीमा जोडिएको रूसको बेल्गोरोड क्षेत्रमा किएभले हप्तौंदेखि गरेको घातक बमबारीपछि पाँच हजार बालबालिकालाई सुरक्षित स्थानमा सारिएको त्यहाँका गभर्नरले शनिबार बताउनुभएको छ ।

गत हप्ता क्षेत्रीय अधिकारीहरूले सीमापार गोलाबारी र ड्रोन आक्रमणमा एक दर्जनभन्दा बढी सर्वसाधारणको मृत्यु भएपछि नौ हजार नाबालकलाई अन्य क्षेत्रमा स्थानान्तरण गरिने बताएका थिए ।

“हाम्रा पाँच हजार बालबालिका यस क्षेत्रभन्दा बाहिर छन् । हिजो सेन्ट पिटर्सबर्ग, ब्रायन्स्क र मखाचकलामा एक हजार ३०० बालबालिका आइपुगेका छन्,” गभर्नर व्याचेस्लाभ ग्ल्याडकोभले भन्नुभयो ।

बेल्गोरोडलगायत सीमा नजिकका नगरपालिकाहरूमा बसोबास गर्ने बालबालिकाहरूले अर्को महिनादेखि दूर शिक्षा कक्षा लिने उहाँले बताउनुभयो ।

आक्रमणका कारण बन्द भएका व्यवसायलाई ‘कर्मचारीलाई प्राथमिक उपचारको तालिम’ र झ्यालहरूमा सुरक्षाका लागि टेप नलगाएसम्म पुनः खोल्न अनुमति नदिइने उहाँले बताउनुभयो ।

दुई वर्षअघि द्वन्द्व सुरु भएदेखि नै बेल्गोरोडलाई बारम्बार अन्धाधुन्ध युक्रेनी आक्रमण हुँदै आएको रूसी अधिकारीहरूले बताएका छन् ।

बेल्गोरोड शहरमा रहेको एक अपार्टमेन्टमा शुक्रबार युक्रेनको एउटा ड्रोन दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु हुनुका साथै एक महिलासहित अन्य दुई जना घाइते भएका थिए ।

अफगानी विश्वविद्यालयमा डेढ बर्षदेखि किशोरीको प्रवेशमा रोक

अफगानी ससकारको गैर जिम्मेवारपूर्ण प्रवृतिको परिणामस्वरुप निरन्तर करिब डेढ बर्ष (४५० दिन) भन्दा बढी समय अफगानिस्तानका विश्वविद्यालयहरू बालिकाहरूका लागि बन्द छन् । यसको चौतर्फी आलोचना भइरहेको छ । लामो समयदेखि गैर–मानवीय निर्णय बमोजिम बन्द भएका अफगानी विद्यालय तथा विश्वविद्यालयहरू अझै खोल्ने कुनै सङ्केत नदेखिएको टोलो न्यूजले जनाएको छ ।

शिक्षाबाट वञ्चित हुनु परेका निराशा बालिकाहरूले आफ्नो शैक्षिक गतिविधिमा भएकोे उल्लेखनीय ढिलाइलाई उजागर गर्दै यस वर्ष विश्वविद्यालयहरू पुनः खोल्ने विषयलाई प्राथमिकता दिन तालिबानी कामचलाउ सरकारलाई आग्रह गरेका छन् ।

पिडित अफगानी बालिकाको तर्फबाट बोल्दै खदिजाले किशोरीहरूकोे शिक्षाले सम्पूर्ण परिवारको साक्षरता र विकासलाई प्रतिबिम्बित गर्ने बताउनुभएको छ । खादिजाजस्तै धेरै अफगानी महिलाले सुरक्षाका कारण आफ्नो पूरा नाम उल्लेख गर्न चाहन्नन् । खदिजाले भन्नुभयो, “संवेदनशिल विषयलाई बेवास्ता गर्नाले समग्रमा देशको हरेक प्रगतिलाई खतरामा पार्ने सम्भावना बढेको छ ।

पिडितको भावनालाई प्रतिनिधित्व गर्दै नारो थर भएकी एक अर्की महिलाले बालिकाहरूका लागि विद्यालय र विश्वविद्यालयहरूको ढोका खोल्न आग्रह गर्नुभएको छ । गुणस्तरीय शिक्षाको निरन्तर प्राप्तिले मात्र उनीहरूको शिक्षा बलियो र प्रगतिशील समाज निर्माणका लागि महत्वपूर्ण भुमिका खेल्न सक्ने उनीहरूको भनाइ छ ।

यस सन्दर्भमा विश्वविद्यालयका प्राध्यापकहरूले समेत चिन्ता व्यक्त गर्दै किशोरीहरूका लागि विश्वविद्यालयहरू निरन्तर बन्द हुँदा देशको प्रगतिमा बाधा पुग्ने डर पलाएको उल्लेख गर्नुभएको छ ।

शिक्षाविद् जकिउल्लाह मोहम्मदीले शिक्षामा समान पहुँच सुनिश्चित गर्नु प्रभावकारी शासन र सामाजिक प्रगतिको आधार भएको बताउनुभएको छ । पूर्व राष्ट्रपति हमिद करजाईले नर्वेका उपराजदूतसँगको छलफलका क्रममा बालिकाका लागि शैक्षिक संस्थाहरू पुनः खोल्ने आवश्यकतालाई जोड दिनुभएको छ ।

पुनः खोल्ने सम्बन्धमा तालिबानबाट नयाँ घोषणाहरू नभए पनि उनीहरूको शिक्षाको अधिकारका सम्बन्धमा कामचलाउ सरकारले दिएको अघिल्लो आश्वासनलाई स्मरण गरिएको छ ।

सन २०२१ मा तालिबान सत्तामा फर्किएपछि सरकारको निर्देशन अनुसार विद्यालयहरूले छ कक्षा पढिसकेका बालिकाहरूलाई विद्यालय तथा विश्वविद्यालय स्तरको कक्षा प्रवेशमा रोक लगाएका टोलो न्यूजले जनाएको छ ।

नेदरल्यान्ड्समा तीन बन्धक रिहा


केन्द्रीय सहर एडेको एक रात्रिकालीन क्लबमा घन्टौँसम्म बन्धक बनाइएका तीन व्यक्तिलाई रिहा गरिएको प्रहरीले बताएको छ । यद्यपि प्रहरीले ‘स्थिति अझै पनि समाप्त नभएको’ बताएको छ ।

गेल्डरल्यान्ड प्रहरीले सामाजिक सञ्जाल एक्समा बन्धकहरूको रिहाईको घोषणा गर्यो । क्लबमा थप बन्धक छन वा छैनन् भन्नेबारेमा प्रहरीले केही बताएको छैन । हतियारले सुसज्जित प्रहरी र विशेष गिरफ्तारी दल, केही मास्क लगाएका क्लबको बाहिर जम्मा भएका थिए ।

घटनास्थलको भिडियोमा तीन व्यक्तिलाई उनीहरूको रिहाईपछि हावामा हात उठाउँदै बाहिर निस्किएको देखाइएको छ । प्रहरीले एक्समा भनेको छ, “अहिलेसम्म आतङ्कवादी मनसायको कुनै सङ्केत प्राप्त भएको छैन ।”

यसअघि शनिबार अधिकारीहरूले मध्य एडेमा एक चोकलाई घेराबन्दी गरेका थिए र एक भवनमा धेरै मानिसलाई बन्धक बनाएर राखिएको भन्दै वरपरको करिब एक सय ५० घरलाई खाली गरेका थिए ।

प्रहरी प्रवक्ता सिमेन क्लोकले मनिसहरूलाई बन्धक बनाइएको बताउनुभयो तर उहाँले घटनाबारे थप विवरण दिन वा कति मानिस संलग्न थिए भन्नेबारेमा जानकारी दिन अस्वीकार गर्नुभयो । घटनास्थलमा रहेका एपीका फोटोग्राफरका अनुसार बन्धकहरूलाई एडेको लोकप्रिय बार तथा रात्रिकालीन क्लब पेट्टीकोटमा राखिएको थियो ।

आम्स्टर्डमबाट ८५ किलोमिटर दक्षिणपूर्वमा रहेको ग्रामीण बजार सहर एडेका घटनास्थलका तस्बिरहरूमा प्रहरी र अग्निनियन्त्रकहरूलाई एउटा घेराबन्दी गरिएको क्षेत्रमा सडकमा देखाइएको छ । यो अवस्था कायम रहेसम्म केन्द्रमा सबै पसलहरू बन्द रहने नगरपालिकाले जनाएको छ । सरहको स्टेसनबाट आवागमन हुने ट्रेनहरूलाई पनि रोकिएको छ ।

कृत्रिम बौद्धिकता अवसरसँगै चुनौती पनि होः उपाध्यक्ष पाण्डे

काठमाडौँ, १७ चैत: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स)को प्रयोग विश्वमा नयाँ युगको आरम्भ गर्नाका साथै चुनौती पनि थपेको बताउनुभएको छ ।

सो पार्टीको विज्ञान तथा प्रविधि विभागले आज आयोजना गरेको कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) तथा नवीन प्रविधिका विषयक राष्ट्रिय सम्मेलनमा महासचिव पोखरेलले आधुनिक समयमा सूचना, विज्ञान र प्रविधिलाई आत्मसात् गर्नुको विकल्प नभएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सो पार्टीका महासचिव शङ्कर पोखरेलले प्रविधिको विकासलाई आत्मसात् गरेर मात्र समृद्धि प्राप्त गर्न सकिने बताउँदै आफ्नो पार्टीले यस क्षेत्रलाई सधैँ महत्व दिँदै आएको जनाउनुभयो । विभागका प्रमुख टङ्क कार्कीले आर्टिफिसियल इन्टेलिजेन्सको विकास, यसको प्रभाव र नीतिगत व्यवस्थाका विषयमा बहस गर्नुपर्नेमा जोड दिनुभयो ।

सो विभागका सचिव सञ्जीव रोकाहाका अनुसार कार्यक्रममा सूर्यबहादुर बस्नेत, रमेश पौडेल, डा झनक पराजुली, विवेक रानाले आर्टिफिसियल इन्टेलिजेन्सका विविध पक्षबारे प्रस्तुतिकरण गर्नुभएको थियो ।

अरुण नदीमा फेरी बन्द भएपछि यातायात अवरुद्ध

किमाथाङ्का, (सङ्खुवासभा) १७ चैत : सङ्खुवासभा र भोजपुरलाई जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीमा फेरी बन्द भएपछि यातायात सेवा अवरुद्ध भएको छ । शुक्रबार दिउँसो गाडी तार्ने क्रममा फेरीको लठ्ठा (तार)मा समस्या देखिपछि यातायात सेवा अवरुद्ध भएको हो । फेरी बन्द भएपछि भोजपुर जिल्लामा दैनिक उपभोग्य सामग्री आयात तथा आवतजावतमा समस्या उत्पन्न भएको छ ।

चार वर्षअघि निर्माण गरिएको फेरीमा समस्या आएपछि शुक्रबार दिउँसोदेखि सङ्खुवासभा र भोजपुर यावतजावत ठप्प भएको षडानन्द नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईँले जानकारी दिनुभयो । उहाँ अनुसार अवरुद्ध फेरी सञ्चालनमा ल्याउन अझै दुई साता लाग्ने र यसका लागि पहल भइरहेको छ ।

फेरी बन्द भएपछि भोजपुरको षडानन्द नगरपालिका र साल्पा सिलिच्छो गाउँपालिका जाने दर्जनौँ गाडी अरुण नदीमा अलपत्र परेका छन् । अरुण नदीमा पक्की पुल नहुँदा फेरी भोजपुरका लागि सवारीसाधन, दैनिक उपभोग्य वस्तु तथा यात्रु तार्ने एकमात्र माध्यम हो । सो नदीमा निर्माणाधीन अवस्थामा रहेको दुईवटा पक्की पुल पनि अझै निर्माण सम्पन्न हुनसकेको छैन ।

अरुण नदीको सतिघाट अरुण नदीमा फेरी निर्माण भएपछि षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका र छिमेकी जिल्ला खोटाङका ७० हजारभन्दा बढी स्थानीय प्रभावित भएका छन् । फेरीले एकै पटकमा चार वटासम्म सवारीसाधन तार्ने गरेको थियो ।

सङ्घीय सांसद क्षेत्र विकास कोषबाट रु ७५ लाख, प्रदेश सांसद क्षेत्र विकास कोषबाट रु ७५ लाख र षडानन्द नगरपालिकाको रु ५५ लाख लागतमा फेरी निर्माण गरिएको हो । फेरीबाट दैनिक एक सय वटाजति साना–ठूला सवारीसाधन आवतजावत गर्दै आएका थिए ।

शान्ति प्रक्रिया टुङ्ग्याउन राष्ट्रिय सहमति जुटाउँछौँः प्रधानमन्त्री दाहाल

काठमाडौँ, १७ चैतः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन र विकास तथा समृद्धिका लागि राष्ट्रिय सहमति जुटाउन आफू प्रयासरत रहेको बताउनुभएको छ ।

रिपोटर्स क्लबको २६औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले शान्ति प्रक्रिया र संवैधानिक परिषद्का विषयमा आज नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्न लागेको समेत बताउनुभयो ।

“शान्ति प्रक्रिया र संवैधानिक परिषद्सँग सम्बन्धित विषयमा आज गम्भीर छलफल गर्दैछौँ । सकेसम्म मेरो कोसिस सबै राजनीतिक दललाई सहमतिमा ल्याएर राष्ट्रिय सहमति र समझदारीको वातावरण बनाउनु नै हो”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “कहिले नेपाली कांग्रेससँग नजिक हुँदा एमालेका र एमालेसँग नजिक हुँदा कांग्रेसका साथीहरूले मन दुखाउनुभएको छ । हामीलाई चाहिएको सुशासन र समृद्धि हो । त्यसका लागि राष्ट्रिय सहमतिको वातावरण बनाउन सकेनौँ भने निकै अप्ठ्यारो स्थितिको सामना हामीले गर्नुपर्नेछ ।”

सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा केही मानकहरू स्थापित गर्ने तथा अन्तर्राष्ट्रिय जगत्मा नेपालको आवश्यकता के हो भन्ने कुरालाई मुखारित गर्न वर्तमान सरकार प्रयासरत रहेको दाहालको भनाइ छ ।

“नयाँ संविधान निर्माणपछि देश अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको अभ्यासमा छ । सङ्घीय प्रणालीअनुसार आवश्यक ऐन, कानुनको तर्जुमा गर्दै लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउनु आजको राष्ट्रिय कार्यभार बन्न पुगेको छ । वैदेशिक सम्बन्धलाई सन्तुलनमा राख्दै आफ्नो आर्थिक समृद्धिको दिशामा अग्रसर हुनुपर्ने चुनौती हाम्रासामु छन्”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

तीन तहको सरकारका बीचमा आयोजना छनोटमा देखिएको अराजकता हटाउने र उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धि गर्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याइने पनि उहाँले बताउनुभयो । सरकार पूर्ण स्वतन्त्रताको पक्षमा रहेको तथा सञ्चारमाध्यम र सञ्चारकर्मीको हितका निम्ति प्रतिबद्ध रहेको बताउनुहुँदै प्रधानमन्त्री दाहालले आमसञ्चार माध्यममा सबै जाति, वर्ग, भाषा र समुदायको पहुँच बढ्नेगरी सञ्चार नीतिमा पुनरावलोकन गर्न लागिएको उल्लेख गर्नुभयो ।

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पनि आज तीन शीर्ष दलका नेतृत्वबीच छलफल हुन लागेको बताउनुभयो । पूर्वप्रधानमन्त्री ओलीले पत्रकारिता क्षेत्रमा लागेका व्यक्तिहरूले आफ्नो व्यावसायिक सिद्धान्त र धर्म निभाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । पत्रकारिता क्षेत्रमा र मुलुकका विभिन्न राजनीतिक घटनाक्रमका बेला रिपोटर्स क्लबले महत्त्वपूर्ण भूमिका खेलेको ओलीको भनाइ छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा प्रकाशचन्द्र लोहनीले मुलुकमा राजनीतिक स्थिरताबिना आर्थिक विकास सम्भव नरहेको बताउनुभयो । नयाँ संविधान जारी हुँदै गर्दा सबै राजनीतिक दलले सेवा प्रवाह सहज बनाउने, आर्थिक सुशासन कायम गर्ने, विकास तथा समृद्धि कायम गर्ने भनेकामा त्यसो हुन नसकेको उहाँको भनाइ छ ।

उहाँले कृषि र औद्योगिक क्षेत्र विकास घट्दै गएको भन्दै पुँजीगत खर्च गर्ने क्षमता कम भएको तथा सार्वजनिक संस्थानहरू धरासायी बन्दै गएको बताउनुभयो ।

आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले पछिल्लो समय राजनीतिक नेतृत्वप्रति विश्वास गुम्दै गएको बताउनुभयो । राजनीतिक नेतृत्व कुशासन र भ्रष्टाचारमा लिप्त भएका कारण नागरिकमा नेतृत्वप्रति वितृष्णा बढ्दै गएको आरोप उहाँले लगाउनुभयो ।

नेपालबाट ठूलो परिणाममा पुँजी पलायन भइरहेको उहाँको भनाइ थियो । श्रम स्वीकृति लिएर विदेश गएका नेपालीको सङ्ख्याको तुलनामा निकै कममात्र रेमिट्यान्स नेपाल भित्रिएको साहको दाबी छ । हुण्डी कारोबार मौलाएका कारण न्यून रेमिट्यान्स आइरहेको उहाँको भनाइ छ ।

जनमत पार्टीका नेता एवं पूर्वमन्त्री अब्दुल खाँले सांसदहरूले आफ्नो दलभन्दा माथि उठेर जनताको कामलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । मुस्लिम धर्मालम्बीको पर्व इदको समयमा संसद् नचलाउन पनि उहाँले आग्रह गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले अर्थतन्त्र सङ्कुचित रहेको अवस्थाबाट बाहिर ल्याउनका लागि निजी क्षेत्रले सरकारसँग समन्वय गरिरहेको बताउनुभयो । उहाँले पर्यटन आगमन र विप्रेषण आप्रवाह बढेको, विदेशी मुद्रा सञ्चिति बढेको, बैंक वित्तीय संस्थामा तरलता पर्याप्त रहेको बताउनुभयो । यद्यपि आम मानिसमा अझै मनोबल बढ्न नसकेको उहाँको भनाइ छ ।

“हाम्रा कतिपय विकास आयोजनाको कम खर्चका कारण तथा खर्चको भुक्तानी नभएका कारण र नीतिगत समस्याका कारणले व्यावसायिक गतिविधि चलायमान हुनसकेको छैनन् । बाह्य क्षेत्र सन्तुलित र सकारात्मक हुँदा नियामकीय व्यवस्थालाई केही सहज बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “हामी नकारात्मक कुरामात्रै गर्दा आम मानिसको मनोबल घट्छ, त्यसकारण सकारात्मक भाष्य प्रयोग गरौँ ।”

नीतिगत परिवर्तन गर्दा सरकारले निजी क्षेत्रको पनि सुझाव लिइनुपर्ने ढकालले बताउनुभयो । आगामी वैशाखमा आयोजना हुनलागेको लगानी सम्मेलनमा निजी क्षेत्रको तर्फबाट विभिन्न कानुनी सुधारका लागि सुझाव दिएको र ती कानुन द्रुतगतिमा संशोधन गरिनुपर्ने उहाँको भनाइ छ ।

राष्ट्रपति पौडेलद्धारा १५ करोड लगानीमा निर्माण हुन लागेको १८ कोठे भवनको शिलान्यास

दमौली (तनहुँ), १७ चैतः राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणमा सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । तनहुँको देवघाट गाउँपालिका–५ मा निर्माण हुने ज्येष्ठ नागरिक भवनको आज शिलान्यास गर्नुहुँदै राष्ट्रपति पौडेलले विकास निर्माणमा एकजुट हुन आफूले राजनीतिक दलका नेताहरुलाई भन्ने गरेको स्मरण गर्नुभयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको रु १५ करोड लगानीमा निर्माण हुन लागेको १८ कोठे भवनको राष्ट्रपति पौडेलले शिलान्यास गर्नुभएको हो ।

तनहुँको गाइघाट क्षेत्रको विगतको अवस्थाबारे चित्रण गर्दै उहाँले पञ्चायतका कठिन दिनहरुमा आफूहरु त्यहाँ सङ्गठन निर्माण गर्न जाँदा गरिबी र अभावले खानसमेत नपाइने अवस्था रहेको स्मरण गर्दै लोकतन्त्रपछि त्यस क्षेत्रले काँचुली फेरेको बताउनुभयो । गाइघाटमाथिको एउटा वडामा मात्रै पनि करोडौको सुन्तला फल्ने गरेको र त्यसलाई बजारसम्म पु¥याउन त्यहाँ पुलको आवश्यकता रहेको उहाँको भनाइ छ ।

राष्ट्रपति पौडेलले पवित्र तपोभूमि कालीगण्डकी र त्रिशूलीको सङ्गम देवघाटमा ज्येष्ठ नागरिक भवन बनेपछि त्यो भवन पूर्वीय दर्शन र वेदान्त चिन्तनको छलफल गर्ने स्थल बन्ने धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले प्रतिगामीहरुको स्वर्ग अतितमा हुने र लोकतन्त्रवादी तथा समाजवादीहरूको स्वर्ग भविष्यतिर हुने समेत उल्लेख गर्नुभयो । “अहिले निराशा छ भनेर प्रतिगामीले हल्ला फैलाएका हुन्, प्रतिगामीहरुको स्वर्ग अतितमा हुन्छ, तर हामी लोकतन्त्रवादी र समाजवादीहरुको स्वर्ग भविष्यमा छ, हामी भविष्यलाई स्वर्ग बनाउँछौ”, उहाँले भन्नुभयो । उहाँले विदेश पलायन भएर यहाँ केही नभएको भनेर कुरा काट्नु पनि अनुचित भएको बताउँदै भन्नुभयो, “हाम्रो देश पृथ्वीमै स्वर्ग जस्तै छ, यसैलाई यही बसेर देश बनाउनुपर्छ, अब विदेश पलायन रोकिनुपर्छ ।”

एमाले नेता रायमाझी ‘डिस्चार्ज’

काठमाडौँ, १७ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीको स्वास्थ्यमा सुधार आएपछि उहाँलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले नेता रायमाझीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको सेन्टरका वरिष्ठ मुटु रोग विशेषज्ञ डा चन्द्रमणि पौडेलले जानकारी दिनुभयो । “उहाँको स्वास्थ्यस्थितिको ४८ घण्टा अब्जर्भ गर्दा सामान्य देखियो”, उहाँले भन्नुभयो, “मुटुको चाल पनि विस्तारै सामान्य भयो, त्यसैले हिजो राति डिस्चार्ज गरिएको हो ।” मुटुको चाल कम भएपछि नेता रायमाझीलाई गत बुधबार अस्पताल भर्ना गरिएको थियो ।

उन्नत जातको मकैमा दाना नलागेपछि किसान चिन्तित, भन्छन् – ‘पसिना खेर गयो’

बरहथवा (सर्लाही), १७ चैत : उन्नत जातको मकैमा दाना नलागेपछि सर्लाहीका किसान चिन्तित भएका छन् । जिल्लाको बागमती, बरहथवालगायत स्थानमा सयौँ किसानले लगाएको उन्नत जातको मकैमा दाना नलागेपछि किसानलाई चिन्ताले सताएको हो ।

मकैमा आकर्षक घोगा लागे पनि दाना भने नलागेको स्थानीय किसान चन्द्रबहादुर जिम्बाले गुनासो गर्नुभयो । प्रति किलो रु ६५० किलोमा किनेर सात कट्ठामा लगाएको मकैमा दाना नलागेपछि लगानी डुबेको बागमती नगरपालिका–४, का किसान राम विश्वास महतोले बताउनुभयो । “धेरै फल्ने आशमा महँगो मूल्यमा बीउ किनेर रोपियो”, उहाँले भन्नुभयो, “अहिले सबै लगानी डुब्यो ।” बागमती र बरहथवाका किसानले लगाएको बिघौँबिघा क्षेत्रफलको हाइब्रिड मकैमा दाना नलागेको किसानको दाबी छ ।

यस क्षेत्रमा उत्पादन राम्रो हुने भएपछि किसानले वर्षको दुई यामसम्म उन्नत जातको मकै रोप्ने गरेका छन् । प्रशस्त फल्ने विश्वासमा ऋण गरेर रोपेको मकैमा दाना नलागेपछि आफू बर्बाद भएको अर्का किसान रञ्जित महतोले गुनासो गर्नुभयो । उहाँले गत मङ्सिरमा तीन बिघा क्षेत्रफलमा उन्नत जातको मकै लगाएको बताउनुभयो । उहाँका अनुसार घोगा ठूलो लागे पनि दाना लागेको छैन ।

महँगो बीउसँगै विशेष किसिमले मलखाद हालेर लगानी गरेको मकै नफलेपछि किसान छागाँबाट खसेजस्तै भएका छन् । र किसानलाई गुणस्तरहीन मकैको बीउ बिक्री गरेर ठगी गरेको बरहथवा–५ कि ललिता साहको आरोप छ । मकैमा दाना नलागे पछि आफूहरु सङ्कटमा परेको उहाँले गुनासो गर्नुभयो ।

उन्नत जातको मकै खेतीका लागि प्रतिकट्ठा रु तीन हजारदेखि तीन हजार पाँच सयसम्म खनजोत, मलखाद र कामदार खर्च लागेको किसानहरूले बताएका छन् । जग्गा भाडामा लिएका किसानको लगानी अझ बढी छ ।

उत्पादन बिग्रिएका अधिकांश किसानले भारतीय बीउ उत्पादन कम्पनी नुजिभिडु सिड्सले उत्पादन गरेको ‘विनर’ नामको मकै लगाएको बताएका छन् । मङ्सिरका पहिलो साताअघि लगाइएको अन्य कम्पनीका हाइब्रिड जातको मकैमा समस्या देखिएको बागमती नगरपालिकाका कृषि प्राविधिक हिमाल साहीले जानकारी दिनुभयो ।

बीउ उत्पादक कम्पनीले भने मौसम अनुकूल नभएका कारण मकैमा दाना नलागेको जनाएको छ । नुजिभिडु सिड्सका नेपाल प्रतिनिधि श्रीप्रसाद पालिखेलले किसानले समयअगावै मकै रोपेका कारण समस्या भएको दाबी गर्नुभयो । मकैको परागसेचनको समयमा धेरै चिसो भएको उहाँले दाबी छ । “किसानले मकै रोप्न हतार गर्नुभयो”, उहाँले भन्नुभयो, “कम्पनीले मकै रोप्ने समय जानकारी गराउँदा अटेर गर्नुभएको देखियो ।” मङ्सिर पहिलो सातादेखि रोप्नुपर्ने मकै कात्तिकतिरै रोपिएको उहाँको दाबी छ । दाना नलागेका किसानको विवरण सङ्कलन गरेर भारतस्थित कम्पनीमा जानकारी गराइएको उहाँले बताउनुभयो । किसानलाई कसरी राहत पु¥याउन सकिन्छ भनेर आफूहरुले अनुगमन गरिरहेको उहाँले बताउनुभयो । नगरपालिकास्थित कृषि शाखाले क्षतिको विवरण सङ्कलन गरिरेहेको छ ।

किसानलाई अनुदानमा वितरण गरेको मकै उत्पादन नभएको गुनासोपछि आफूहरुले विवरण सङ्कलन सुरु गरेको र एक दुई दिनभित्रमा पूर्ण विवरण सार्वजनिक गरिने नगर कृषि शाखा अधिकृत अवधेशकुमार झाले जानकारी दिनुभयो । अत्यधिक मकै उत्पादन हुने यस क्षेत्रमा नगरपालिकाले ‘मकै क्षेत्र’ विकासका लागि छ सय किलो विनर मकैको बीउ अनुदानमा वितरण गरेको थियो ।

जिल्लाको कर्मैया, ढुङ्ग्रेखोला, शङ्करपुर, राजघाट, हजरिया, मुर्तियालगायत स्थानमा हाइब्रिड मकै उत्पादन हुने गरेको छ । जिल्लामा बर्सेनि १२ हजार हेक्टर क्षेत्रफलमा मकै लगाउने गरिको छभने यहाँ ५ दशमलव ३ लाख मेट्रिक टन मकै उत्पादन हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत देवानन्द यादवले बताउनुभयो ।

बागमती प्रदेशसभा बैठक चैत १९ मा

मनहरी (मकवानपुर) – बागमती प्रदेशसभाको बैठक यही चैत १९ गते दिउँसो १ बजे बस्ने भएको छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठक चैत १९ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी दिनुभयो ।

बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने सभामुख पाठकले बताउनुभयो । प्रदेशसभाको बैठक बस्नुपूर्व सभामुख पाठकले कार्य व्यवस्था परामर्श समितिको बैठकसमेत आह्वान गर्नुभएको छ । कार्य व्यवस्था परामर्श समितिको बैठक चैत १८ गते आइतबार दिउँसो ३ बजे बस्ने तय गरिएको छ ।

एक सय १० सदस्य रहेको बागमती प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का २१, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २७ (उपसभामुखसहित), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सात र हाम्रो नेपाली पार्टीका दुई सदस्य रहेका छन् । यसैगरी प्रदेशसभामा नेपाली कांग्रेसका ३७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १३ (सभामुखसहित) र नेमकिपाको तीन सदस्य रहेका छन् ।

युक्रेनको क्षेत्रीय स्थितिबारे बुझ्न भारत इच्छुक

भारतका विदेशमन्त्री एस जयशङ्करले उहाँका युक्रेनी समकक्षी दिमित्रो कुलेबाबीच दुई मुलुकबीचको आर्थिक, कुटनीतिक तथा राजनीतिक बिषयमा छलफल भएको छ । विदेशमन्त्री जयशङ्करले हालका महिनाहरूमा दुई देशबीचको द्विपक्षीय सम्बन्धले निश्चित गति लिएको र भारत युक्रेनको क्षेत्रीय स्थितिबारे युक्रेनीहरूको धारणा बुझ्न जिज्ञासु रहेको बताउनुभयो ।

बैठकको उद्घाटन गर्दै जयशङ्करले भन्नुभयो, “हामी यस भ्रमणको प्रतिक्षामा थियौँ । हालका महिनाहरूमा हामीले विभिन्न तहमा अन्तरक्रिया गरेका छौं, हाम्रा केही द्विपक्षीय संयन्त्रहरू नवीकरण गरिएको वा स्थापना गरिएको छ ।”

उहाँले थप्नुभयो, “हाम्रो द्विपक्षीय सम्बन्धले निश्चित गति लिएको छ, आजको यो छलफलपछि हामी अन्तरसरकारी आयोगको बैठकको पनि प्रतिक्षामा छौँ ।” जयशङ्करले दुई नेताहरूले हाल चलिरहेको द्वन्द्व र यसको व्यापक असरहरूमा केन्द्रित रहेर व्यापकरूपमा खुला दिलले वार्तालाप गरेको सामाजिक सञ्जालमार्फत एक्समा उल्लेख गर्नुभयो ।

कुलेबा बिहीबार जयशङ्करको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणका लागि भारत आइपुग्नुभएको थियो । भारत आइपुगेपछि मन्त्री कुलेबाले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको वार्तालाई अगाडि बढाउने प्रयास गर्ने बताउनुभएको थियो ।

काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको ट्याक्सी त्रिशूलीमा खस्दा पाँच जनाको मृत्यु

चितवन, १७ चैत : काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई पुरुष, दुई महिला र एक बालिकाको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार ज्यान गुमाएकाहरूको परिचय खुलेको छैन । आज बिहान ७ः१५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिकबा२ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो । ट्याक्सीमा कति यात्री सवार थिए भन्ने पनि यकिन नभएको प्रहरीले जनाएको छ । दुर्घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

पर्यटक आगमन सुरु भएसँगै कञ्चनजङ्घा जाने पदमार्गमा खुल्न थाले होटल

फुङ्लिङ (ताप्लेजुङ), १७ चैत: पर्यटक आगमनको याम प्रारम्भ भएसँगै विश्वको तेस्रो अग्लो शिखर कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आउन थालेका छन् । कञ्चनजङ्घा हिमाल क्षेत्रमा वर्षमा दुई याममा पर्यटक आउने गरेका छन् । पहिलो याम सकिएर दोस्रो ‘सिजन’ सुरु भएको छ । चैतदेखि जेठ तेस्रो सातासम्म कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको छन् । गत बुधबार ६० जना विदेशी पर्यटक कञ्चनजङ्घा क्षेत्रको घुन्सा बस्तीमा आइपुगेका कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ ।

पर्यटक आगमन सुरु भएसँगै कञ्चनजङ्घा जाने पदमार्गमा रहेको होटल खुलिसकेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पर्यटन सहायक टासी तेन्जिङले बताउनुभयो । पहिलो सिजनमा कञ्चनजङ्घा क्षेत्रमा छ सय ५० जान बाह्य पर्यटक आएका उहाँले बताउनुभयो । आन्तरिक पर्यटक आगमनको अभिलेख भने नगरिएको उहाँले जानकारी दिनुभयो । गत वर्ष चार सय ३९ जना बाह्य पर्यटकले मात्र कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका थिए ।

कञ्चनजङ्घा क्षेत्रमा आउने पर्यटकलाई लक्ष्य गरेर यो क्षेत्रमा सानाठूला ५२ वटा होटल सञ्चालनमा छन् । फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा रु सात करोड लगानीमा सिङ्गी नामजोग होटल पनि सञ्चलनमा आएको छ ।

संविधानको सही कार्यान्वयन गरेर देशको भविष्य निर्माणमा लाग्न नेतालाई प्रथम राष्ट्रपति यादवको सुझाव

त्रिशूली (नुवाकोट)-: सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले संविधानको सही कार्यान्वयन गरेर देशको उज्ज्वल भविष्य निर्माणमा लाग्न राजनीतिक दलका नेतालाई सुझाव दिनुभएको छ ।नुवाकोटको लिखु गाँउपालिका–४ मा रहेको क्षेत्रपाल माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई शुक्रबार सम्बोधन गर्दै उहाँले अहिलेको संविधान उत्कृष्ट विशेषताले भरिपूर्ण भएको संबिधान भएकाले यसको सही कार्यान्वयन भए मुलुक समृद्धितर्फ लम्कने विश्वास व्यक्त गर्नुभयो ।

“विभिन्न राजनीतिक कालखण्डपछि अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी र समानुपातिक सिद्धान्तका विषयलाई संविधानमा नै प्रष्टसँग उल्लेख गरिएको छ ।” उहाँले भन्नुभयो, “जनताको आशीर्वाद लिएर दलका प्रतिनिधिले समय अनुकूल सही व्यवस्थापन गर्दै मुलुकलाई समृद्ध बनाउनुपर्ने जिम्मेवारी आएको छ ।

”उहाँले मुलुकको विकासको लागि शिक्षा र कृषिमा सुधारको परिवर्तन आवश्यक रहेको आँैल्याउनुभयो । नुवाकोटको भूमि तराईको फाँट सरह रहेको भन्दै यहाँको भूमिमा कृषि खेती गरेर यहीँ रमाउने लक्ष्य लिन विद्यार्थी र युवा वर्गलाई पूर्वराष्ट्रपति यादवले अनुरोध गर्नुभयो ।“म किसान परिवारमा हुर्किएर देशको राष्ट्रप्रमुख भए पनि हरियाली फाँट देख्दा आनन्दित भएको छु । अहिलेका विद्यार्थीलाई भविष्यमा यहीँको भूमिमा कृषि कर्ममा देख्न पाएमा अझै आनन्दित हुनेछु ।” उहाँले भन्नुभयो ।

पूर्वी नाका काँकरभिट्टाबाट पेट्रोलियम पदार्थको आयात घट्यो

झापा, १७ चैत: पूर्वी नाका काँकरभिट्टाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ । आर्थिक वर्ष २०८०÷०८१ को आठ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा रु एक अर्ब २८ करोड ८४ लाख १० हजारको पेट्रोलियम पदार्थको आयात कम भएको मेची भन्सार कार्यालयले जनाएको छ ।

काँकरभिट्टाबाट आयात हुने पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा स्थानीय पेट्रोल पम्पमार्फत बिक्री वितरण हुँदै आएको छ ।मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा रु १३ अर्ब ३३ करोड १६ लाख ३३ हजारको पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास आयात भएको छ । अघिल्लो आवको सोही अवधिमा रु १४ अर्ब ६२ करोड ४३ हजार मूल्य बराबरको पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास भारतबाट आयात भएको थियो ।पूर्वी नाका हुँदै आयात हुने पेट्रोलियम पदार्थमध्ये डिजेलको आयातमा भारी गिरावट आएको छ । प्रमुख भन्सार अधिकृत रेग्मीका अनुसार आव २०८०÷०८१ को आठ महिनामा रु चार अर्ब ८७ करोड ६९ लाख ९६ हजारको ४५ हजार १४० किलोलिटर डिजेल आयात भएको छ । आव २०७९÷०८० को सोही अवधिमा रु पाँच अर्ब ७३ करोड १८ लाख १७ हजारको डिजेल आयात भएको थियो । गत आवको फागुन मसान्तसम्मको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु ८५ करोड ४८ लाख २१ हजार मूल्य बराबरको डिजेलको आयात घटेको छ ।पेट्रोल, हवाई इन्धन, मट्टितेल र एलपी ग्यासको आयातमा पनि गिरावट आएको छ ।

इजरायली प्रधानमन्त्री नेतन्याहू गाजामा नयाँ युद्धविराम वार्ता गर्न सहमत

गाजामा युद्धविरामको लागि नयाँ वार्ता गर्न इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शुक्रबार सहमति जनाउनुभएको छ । हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आइसिजे) ले इजरायललाई प्यालेस्टिनी क्षेत्रमा मानिसहरूलाई तत्काल मानवीय सहायता सुनिश्चित गर्न आदेश दिएको एक दिन पछि उहाँले वार्ताका लागि सहमति जनाउनुभएको हो ।

वार्तामा अगाडि बढ्नका लागि दिशानिर्देशहरूको साथ इजरायलले वार्ता अन्त्य गरेको घोषणाको केही दिन पछि नेतन्याहूको कार्यालयले गाजा युद्धविराम र बन्धक रिहाइका लागि आगामी दिनमा दोहा र कायरोमा नयाँ वार्ता हुने जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले यसै साता ‘तत्काल युद्धविराम’ को माग गर्दै बाध्यकारी प्रस्ताव गरे पनि शुक्रबार पनि गाजास्थित अस्पताललगायत क्षेत्रमा लडाइँ जारी रहेको थियो ।

इजरायलले लेबनानमा हिजबुल्लाहका रकेट कमाण्डर मारिएको र सिरियामा हिजबुल्लाहका कैयौँ लडाकु मारिएको बताएको थियो ।

हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आईसीजे) ले आफ्नो आदेशमा भनेको छ, “गाजामा प्यालेस्टाइनीहरूले अब अनिकालको मात्र सामना गर्नु परेको नभई भोकमरी सुरू भइसकेको छ ।”

प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीका प्रमुख फिलिप लाजारिनीले एक्समा लेख्नुभएको छ, “यो फैसलाले गाजा पट्टीमा विनाशकारी मानवीय स्थिति मानव निर्मित र बिग्रँदो छ भन्ने कुराको स्मरण गराएको छ ।”अदालतले गत जनवरीमा इजरायलले गाजामा तत्काल आवश्यक मानवीय सहायता उपलब्ध गराउनुपर्ने र नरसंहार रोक्नुपर्ने फैसला सुनाएको थियो तर इजरायलले दक्षिण अफ्रिकाले ल्याएको मुद्दा अस्वीकार गरेको थियो ।

आइसिजेको पछिल्लो बाध्यकारी आदेश जारी हुँदा इजरायली सेनाले शुक्रबार अल–शिफा अस्पतालमा १२ औं दिन पनि कारबाही जारी राखेको बताएको छ ।

हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले तटीय क्षेत्रमा रातभर दर्जनौँ व्यक्तिको मृत्यु भएको जनाएको छ ।

दक्षिणी शहर राफाको एक घरमा १२ जनाको मृत्यु भएको छ । एएफपी टिभीका तस्बिरहरूले देखाएअनुसार हवाई आक्रमणपछि भग्नावशेषमा फसेका मानिसहरूलाई मुक्त गर्न पुरुषहरूले मोबाइल फोनको उज्यालोमा काम गरिरहेका देखिन्छ ।आईसीजेले इजरायललाई ‘तत्काल आवश्यक आधारभूत सेवाहरू र मानवीय सहायताको आपूर्ति सुनिश्चित गर्नका लागि सबै आवश्यक र प्रभावकारी उपायहरू’ अपनाउन आदेश दिएको छ ।

– ‘तत्काल युद्धविराम’ –

अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा इजरायलमा करिब एक हजार १६० जनाको मृत्यु भएको एएफपीलाई उपलब्ध गराइएको इजरायली आधिकारिक तथ्याङ्कमा उल्लेख छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले हमासको विनाशका लागि इजरायलले चलाएको प्रतिशोधात्मक कारबाहीमा कम्तीमा ३२ हजार ६२३ जनाको मृत्यु भएको जनाएको छ ।यस क्षेत्रको ठूलो भाग भग्नावशेषमा परिणत भएको छ र गाजाको अधिकांश जनसङ्ख्याले अहिले राफामा आश्रय लिइरहेको छ ।सोमबार संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले गाजामा ‘तत्काल युद्धविराम’, लडाकूले बन्धक बनाएकाहरूलाई रिहा गर्न र ‘मानवीय पहुँच सुनिश्चित गर्न’ माग गरेको थियो ।
सदस्य राष्ट्रहरू यस्ता प्रस्तावहरूको पालना गर्न बाध्य छन्, तर ‘डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ)’ ले जमीनमा केही पनि परिवर्तन नभएको बताएको छ ।

इजरायलले गाजालाई पूर्ण रूपमा घेराबन्दीमा पारेपछि गत अक्टोबरदेखि आवश्यक सामग्रीको केही अंश मात्र भित्राउने अनुमति दिइएको सहायता समूहहरूले बताएका छन् ।इजरायलले प्यालेस्टिनी पक्षलाई सहायता वितरण गर्ने क्षमताको कमीलाई दोष दिएको छ, मानवतावादीहरूले राहत सहयोग आपूर्ति गर्न पर्याप्त ट्रकहरूलाई अनुमति नभएको बताएका छन् ।जमिनको सीमित पहुँचका कारण धेरै देशहरूले हवाई अवतरण गरेका छन् र साइप्रसको समुद्री करिडोरले गाजामा आवश्यक न्यूनतम खाद्य सहायता प्रदान गरेको छ ।

इन्धनको मूल्य बढेसँगै अमेरिकी मुद्रास्फीति उच्च

इन्धनको मूल्यवृद्धिका कारण गत महिना मुद्रास्फीतिको मापन उच्च भएको अमेरिकी केन्द्रीय बैङ्कले शुक्रबार प्रकाशित तथ्याङ्कले देखाएको छ ।तथ्याङ्कले मुद्रास्फीति अझै पनि फेडरल रिजर्भको दुई प्रतिशतको दीर्घकालीन लक्ष्यतर्फ अन्यौलपूर्ण अवस्थामा रहेको देखाएको छ ।उच्च स्तरको मुद्रास्फीतिको अङ्कले अमेरिकी राष्ट्रपति जो बाइडनको पुनः निर्वाचन अभियान टोलीमा चिन्ता सिर्जना गरेको छ । अमेरिकी सत्ताधारी दल डेमोक्र्याटिक पार्टीले अझै पनि अर्थतन्त्रप्रति शङ्का राख्ने उपभोक्ताहरूलाई विश्वस्त पार्ने प्रयास गर्दै अर्थव्यवस्था नोभेम्बरको मतदान अघि सही दिशामा जाँदैछ भन्ने देखाउने प्रयास गरिरहेको छ ।

व्यक्तिगत उपभोग खर्च (पीसीई) मूल्य सूचकाङ्क फेब्रुअरीमा वार्षिक २.५ प्रतिशतको दरले बढेको छ, जुन एक महिना अघिको तुलनामा ०.१ प्रतिशत बिन्दुले वृद्धि भएको वाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘डाउ जोन्स न्युजवायर्स’ र ‘द वाल स्ट्रिट जर्नल’ ले अर्थशास्त्रीहरूको सर्वेक्षणमा गरेको औसत पूर्वानुमानसँग यो आँकडा मिल्दोजुल्दो देखिएको छ ।गत महिना वस्तुको मूल्य ०.५ प्रतिशतले बढेको छ भने सेवाको लागत ०.३ प्रतिशतले बढेको छ ।प्राकृतिक इन्धन (पेट्रोलियम पदार्थ) को कारोबार गर्ने देशहरूको साझा संस्था ओपेक प्लस गठबन्धनले जूनको अन्त्यसम्म दैनिक आपूर्ति कटौती विस्तार गर्ने हालैको निर्णयसहित धेरै कारकहरूको पछाडि सामानको लागतमा फेब्रुअरीको अधिकांश वृद्धि ऊर्जा मूल्यहरूबाट आएको हो ।

मासिक आधारमा हेर्दा व्यक्तिगत उपभोग खर्चमा भएको मूल्य वृद्धि जनवरीको तुलनामा फेब्रुअरीमा केही कम अर्थात् ०.३ प्रतिशतले वृद्धि देखिएको छ । अक्सफोर्ड इकोनोमिक्सका माइकल पियर्सले ग्राहकहरूलाई लेखेको सूचनामा भनिएको छ, “श्रम बजारको अवस्था शिथिल हुनु, स्थिर मुद्रास्फीतिको अपेक्षा र भाडामा हुने सम्भावित अवमूल्यनले यस वर्षभरिमा मुद्रास्फीति अझै पनि केही कम हुने कुराले हामीलाई विश्वस्त बनाएको छ ।

उहाँले भन्नुभयो, “यो फेडलाई यस वर्षको अन्त्यमा केही नीतिगत कडाइ हटाउन सुरु गर्न विश्वास दिलाउन पर्याप्त हुनुपर्दछ, यद्यपि वास्तविक अर्थव्यवस्थाको लचिलोपनको कारण अर्थ नीति निर्माताहरू कुनै हतारमा छैनन् ।”हालैको तथ्याङ्कले फेडका केही अधिकारीहरूलाई नीति निर्माताहरूले यस वर्ष तीन वटा ब्याज दर कटौती हुनसक्ने हालैको भविष्यवाणीमा प्रश्न उठाएका छन् । अमेरिकी केन्द्रीय बैंकले मौद्रिक नीतिलाई कडाइ गर्नबाट रोक्छ ।

फेडरल रिजर्वका गभर्नर क्रिस्टोफर वालरले बुधबार न्युयोर्कमा आयोजित एक सम्मेलनमा भन्नुभयो, “मेरो विचारमा, हालको तथ्याङ्कको प्रतिक्रियामा दर कटौतीको समग्र सङ्ख्या घटाउनु वा भविष्यमा थप धकेल्नु उपयुक्त छ ।”प्रमुख अर्थशास्त्री क्याथी बोस्टजान्सिकले लेख्नुभएको छ, “फेब्रुअरी र जनवरीमा मुख्य वस्तु तथा सेवाको मुद्रास्फीतिको अवस्थामा देखिएको स्थिरताले पछिल्लो समय कम खराब मनोदशालाई फेड अधिकारीहरूले सही ठहराएको देखिन्छ ।”

एक करोड ८० लाख लागतमा बन्ने भयो वीरगञ्ज–रक्सौल जोड्ने तीन सय मिटर सडक

वीरगञ्ज (पर्सा)-भारतसँग सीमा जोड्ने वीरगन्ज–रक्सौल सडक खण्डअन्तर्गत रजत जयन्ती चोकमा पर्ने जीर्ण सडक निर्माण हुने भएको छ । विगत एक दशकदेखि कालोपत्रे भत्किएर खाल्डाखुल्डी र असरल्ल हुँदा सवारीसाधन आवतजावतमा निकै सास्ती हुँदै आइरहेको थियो ।

मुलुककै मुख्य व्यापारिक नाका जोड्ने सडक पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने कारणले दुवै मुलुकका सर्वसाधारण र सवारीचालकले हैरानी खेप्दै आइरहेका छन् । व्यापारिक मार्ग विस्तार योजना वीरगञ्ज–पथलैया सडकका योजना प्रमुख राजेशकुमार यादवले वीरगञ्ज–रक्सौल सडकखण्डअन्र्तगत रजत जयन्ती चोकको भत्किएर असरल्ल भएको सडकलाई नयाँ ठेक्का व्यवस्थापन गरेर निर्माण अघि बढाइएको बताउनुभयो ।‘‘विगत एक दशकदेखि अलपत्र हुँदै आएको रजत जयन्ती चोकको सडक निर्माण गर्नका लागि नयाँ ठेक्का सम्झौता गरेर काम अघि बढिसकेको छ’’, उहाँले भन्नुभयो, ‘‘यो खण्डको सडक छ महिनाभित्रै निर्माण सक्ने गरी ठेक्का सम्झौता भइसकेको छ । अहिले निर्माण कम्पनी पनि साइटमा खटिसकेका छन् । अब यो ‘क्यान्सर’ जस्तै बनेको खण्डको दीर्घकालीन समाधान हुने आशा गरेका छौँ ।’’योजना कार्यालय र निर्माण कम्पनी सुवास÷विकास÷राजा जेभीबीच २०८० पुस २१ गते ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताअनुसार निर्माण कम्पनीले विसं २०८१ को असार २१ गतेभित्रै सडक निर्माण सम्पन्न गर्नुपर्नेछ । यो सडक खण्डको लागत भने रु एक करोड ८० लाख रहेको छ ।योजना प्रमुख यादवले निर्माण कम्पनीले तोकिएको समय सीमाभन्दा अगावै निर्माण सम्पन्न गर्ने सम्भावना पनि उच्च भएको दाबी गर्नुभयो । वीरगञ्जको घण्टाघरदेखि रक्सौल रुटमा इलोक्ट्रोनिक अटोरिक्सा चलाउँदै आइरहेका सन्तोषकुमार साहले रजतजयन्ती चोकमा भत्किएको सडकले निकै सास्ती दिँदै आइरहेको बताउनुहुन्छ । ‘‘रजत जयन्ती चोकमा भत्किएर खाल्डाखुल्डी भएको सडकले निकै दुःख दिँदै आइरहेको छ’,’ उहाँले भन्नुभयो, ‘‘सरकारले नियमित मर्मत सम्भार नगर्दा यही खण्डमा दैनिक एक दर्जनभन्दा धेरै अटोरिक्सा दुर्घटनामा पर्दै आएका छन् । अर्काेतर्फ घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने समस्याबाट पनि आजित भइसकेका छौँ ।’’व्यापारिक मार्ग विस्तार योजना वीरगञ्ज–पथलैया सडकका इञ्जिनीयर अनुपम कुमारले निर्माण कम्पनी उपकरणसहित साइटमा खटिसकेको बताउनुभयो । ‘‘निर्माण कम्पनीले निर्माण उपकरणसहित साइटमा खटिसकेको छ’’, उहाँले भन्नुभयो, ‘‘सडकको दुवैतर्फ डाइभर्सन गरेर सडकको मध्ये भागमा काम भइरहेको छ ।’’ इञ्जिनीयर कुमारले यो खण्डको सडकमा मुआब्जा र क्षतिपूर्ति सम्बन्धित कुनै पनि विवाद नरहेको जानकारी दिनुभयो । यो खण्डको चौडाइ १४ मिटर अर्थात् चार लेनको सडक कालोपत्रे गरिने जनाइएको छ ।

आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

ल्हासा (चीन-उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुक तीव्र आर्थिक समृद्धिको यात्रामा रहेकाले आर्थिक कूटनीतिमा ध्यान दिन ल्हासास्थित नेपाली महावाणिज्य दूतावासलाई निर्देशन दिनुभएको छ ।

जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठले चीनका सिजाङ्ग (ल्हासा)मा रहेको नेपाली माहावाणिज्य दूतावासमा आयोजित कार्यक्रममा मुलुकको समृद्धिमा आर्थिक कूटनीति महत्त्वपूर्ण रहेको बताउनुभयो । मुलुक आर्थिक विकास र समृद्धिलाई केन्द्रीय कार्यभार बनाएर अगाडि बढिरहेकाले यसलाई ठोस नतिजामा पुर्याउन र यसलाई मूर्तरुप दिन ठोस योजनाबद्ध भएर काम गर्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “ठोस नतिजा देखिने र द्रूत प्रगति हुने काममा योजनाबद्ध भई काम गर्न दूतावासले आर्थिक कूटनीतिलाई अधिकतम प्रयोग गर्नुपर्छ ।”

दूतावासले चीन र नेपालबीच रहिआएका परम्परागत असल सम्बन्धलाई अझ सुदृढ बनाउँदै मुलुकको आर्थिक विकास र परस्पर लाभको पक्ष प्रभावकारी बनाउन योगदान पुर्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो भ्रमणका क्रममा भएका उच्चस्तरका भेटमा आर्थिक सहयोग अभिवृद्धिलाई मुख्य केन्द्रमा राखिएको बताउनुभयो ।

नेपालको प्रत्यक्षरूपमा तिब्बतसँग जोडिएका नाका र यसका अतिरिक्त छोङछिङ, सिचुवान र तिब्बतलाई नेपालको विकाससँग सम्बन्धित नेपाल चीन आर्थिक करिडोरका रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, “मुलुकमा लगानी तथा व्यापार विस्तार, पर्यटन प्रवर्द्धन तथा आर्थिक सहयोगमा दूतावासले महत्त्वपूर्ण योगदान गर्नुपर्ने आवश्यकता छ ।”

स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने तथा कूटनीतिलाई सन्तुलत बनाउने काममा वर्तमान सरकार तुलनात्मक रूपले सफल भएको जनाउँदै उपप्रधानमन्त्री श्रेष्ठले सरकार आर्थिक विकासको प्रक्रियालाई तीव्र र मूर्त बनाउने लक्ष्यका साथ अगाडि बढिरहेको बताउनुभयो । उहाँले स्वतन्त्र परराष्ट्र नीतिको अवलम्बन गर्दै कूटनीतिक श्रेष्ठता हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा महावणिज्यदूत नवराज ढकालले नेपाल र चीनको व्यापार मुलतः तिब्बतमा अवस्थित स्थलमार्गबाट हुने गरेको जानकारी दिँदै व्यापार सहजीकरणमा दूतावासले भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभयो । नेपालका तर्फबाट विभिन्न समयमा भइरहेका उच्चस्तरका भ्रमणले दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उच्चस्तरीय भ्रमणबाट व्यापार तथा वाणिज्य र लगानी प्रवर्द्धन गर्न सघाउ पुगेको बताउनुभयो ।

नेपाली व्यापारीहरूको स्थायी प्रकृतिको बसोबास मुख्यतः ल्हासामा नै रहेको जानकारी दिँदै महावाणिज्यदूत ढकालले नेपाल र चीनबीचका जनताबीच हुने सांस्कृतिक, सामाजिक तथा धार्मिक सम्बन्ध तिब्बत र नेपालको उत्तरी भू–भागकाबीच रहेको बताउनुभयो । चीन सरकारले नेपाल सरकारलाई दिने अधिकांश अनुदान सहयोग कार्यान्वयनको जिम्मा तिब्बत स्वायत्त सरकारलाई नै दिने गरेको उहाँको भनाइ छ ।

कार्यक्रममा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुरेन्द्र यादव, परराष्ट्र मन्त्रालयका नायब शिष्टाचार महापाल उत्तमकुमार शाही, उपप्रधानमन्त्रीका स्वीकय सचिव सुरेशकाजी श्रेष्ठ, परराष्ट्र मन्त्रालयका उपसचिव अरुणा घिसिङलगायत भ्रमणदलका सदस्य सहभागी हुनुहुन्थ्यो । उपप्रधानमन्त्री श्रेष्ठ चीनको छोङछिङबाट तिब्बतको ल्हासा आइपुग्नुभएको हो । शनिबार नेपाली प्रतिनिधिमण्डलले कैलाश मानसरोबर क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ ।

बेमौसमी बाढीले बेनी–जोमसोम सडकमा यातायात प्रभावित

म्याग्दी- मुस्ताङको घरपझोङ गाउँपालिका–३ मा रहेको मार्फाखोलामा बेमौसमी बाढी आउन थालेपछि बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित हुन थालेको छ । पछिल्लो एक हप्तायता साँझपख खोलामा पानी र बाढीको सतह बढेर आउन थालेको छ । मोटरेबल पुल निर्माणमा ढिलासुस्ती भएको र बाढी आउन थालेपछि जोखिम बढेको हो ।

गण्डकी प्रदेशसभा सदस्य बिकल शेरचनले मार्फाखोलाको बाढीले बेनी–जोमसोम सडकमा यात्रा गर्ने स्थानीयवासी, पर्यटक र तीर्थयात्रीलाई सास्ती भएको बताउनुभयो । खोलामा बाढी आउँदा सवारीसाधन वारपार गर्न नसक्ने, खोला तार्ने क्रममा फसिने, इञ्जिन बिग्रने, बाढीले मोटरसाइकल, स्कुटरलाई बगाएर दुर्घटना हुने जोखिम बढेको उहाँले बताउनुभयो ।

मुस्ताङ घुम्न गएका पोखराका केशव अधिकारीले मार्फा खोलामा बाढीले करिब दुई घण्टासम्म रोकिनुपरेको बताउनुभयो । धवलागिरि दोस्रो र टुक्चेचुली हिमालको बीचमा पर्ने धम्पुसचुली हिमाल फेदमा पर्ने काशीघन क्षेत्रमा रहेको हिउँ दिउँसोको चर्को घामले पग्लँदा ठाडो खहरे खोलामा बाढी आएको हो ।

ठाडो खहरे खोलामा कालो लेदो माटोसहितको बाढी आएपछि सवारीसाधन वारपार गर्न सक्दैनन् । छायाँवृष्टि हुने सुक्खा बलौटे भूगोल भएको मुस्ताङमा पछिल्ला वर्ष बाढीपहिरोले दुःख दिन थालेको छ ।

बेनी–जोमसोम–कोरला सडक योजनाका सूचना अधिकारी विष्णु चापागाईँले बाढी आउँदा सवारी वारपार गर्नका लागि अस्थायी पुल बनाउने तयारी गरेको बताउनुभयो । आयोजनामार्फत मार्फाखोलामा एक सय २० मिटर लामो पुल बनाउन पाँच वर्षअघि हिमदुङ एण्ड थोकर इमोटल कन्ट्रक्सनले रु २१ करोड ६० लामा ठेक्का सम्झौता गरेको थियो ।

पुलका तीनमध्ये दुईवटा स्पाम ढलान भएको छ । बीचको स्पाम ढलान गर्न र पहुँचमार्ग बनाउने काम बाँकी छ । निर्माण व्यवसायीलाई पुल निर्माणलाई गति दिन ताकेता गरिएको इन्जिनियर चापागाईँले बताउनुभयो ।

कांग्रेस बलियो भयो भने लोकतन्त्र बलियो हुन्छ : उपसभापति गुरुङ

इनरुवा (सुनसरी)- नेपाली कांग्रेसका उपसभापति धनराज गुरु¬ङले कांग्रेस बलियो भयो भने मात्र लोकतन्त्र बलियो हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन सुनसरी शाखाद्वारा शुक्रबार आयोजित ‘लोकतन्त्रमा सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहँुदै उहाँले लोकतन्त्रलाई बलियो बनाउनका लागि सबैले एक ढिक्का भएर लाग्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो। “कांग्रेसको टिकटबाट निर्वाचित जनप्रतिनिधिले कुनै पनि प्रश्न नउठ्ने गरी काम गर्नुपर्छ । ”

कांग्रेसका नेता तथा कार्यकर्ताले कतिबेला प्राविधिक कुरा गर्ने र कतिबेला नीतिगत कुरा गर्ने विषयमा अल्झिने गरेका कारणले पटक–पटक समस्या उत्पन्न हुने गरेको उहाँको भनाइ थियो । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले वर्तमान सरकारले नै निरन्तरता पाउने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “केन्द्रीय सत्ता समीकरण फेरबदल हुँदैमा कोशी प्रदेश सरकारलाई केही असर गर्दैन । प्रदेश सरकारले अहिले मध्याधि निर्वाचन गर्दैन । विश्वासको मतसमेत दुई वर्षसम्म लिँदैन। ”

कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालाले पछिल्लो समय देशमा नकारात्मक शक्तिको सञ्चार भइरहेका बेलामा सञ्चारमाध्यमले यसलाई चिर्नका लागि कलम चलाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा बौद्धिक अराजकताविरुद्ध सञ्चारकर्मीले लोकतन्त्रको रक्षा गर्दै कलम चलाउनुपर्छ भन्नुभयो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष तारानाथ दाहाल, प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साललगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा सुनसरीका अग्रज पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य इकवाल अहमद, प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य हेमराज दाहाल, दिवस पोखरेललगायतलाई सम्मान गरिएको थियो । प्रेस युनियन सुनसरीका अध्यक्ष ध्रुव ढकालको अध्यक्षतामा सम्पन्न भएको युनियन सुनसरीका सदस्य नसिम अन्सारीले जानकारी दिनुभयो ।

कांग्रेस नेता खुमबहादुरको योगदान अतुलनीय छ : सभापति देउवा

देउखुरी (दाङ), १६ चैत : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर खड्काको प्रशंसा र योगदान अतुलनीय रहेको बताउनुभएकोे छ । दाङको लमही नगरपालिका–९ अमिलिया चोकमा आज दिवङ्गत नेता खड्काको पूर्णकदको शालिक अनावरण गर्दै सभापति देउवाले खड्कालाई भ्रष्टाचारको झुठ्ठो मुद्दामा फसाइएको दाबी गर्नुभयो । शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्ने कांग्रेस नेताहरुले पार्टी र जनतालाई जोड्न पूर्वमहामन्त्रीसमेत रहनुभएका खड्काको योगदान अतुलनीय रहेको, अहिले उहाँको अभाव पार्टीले भोग्नुपरेको टिप्पणी गर्नुभयो ।

कांग्रेसका पूर्वमन्त्री स्व खड्काको शालिक अनावरण कार्यक्रममा केन्द्रीय सदस्य दीपक गिरी, सहमहामन्त्रीद्वय किशोरसिंह राठोर, महालक्ष्मी उपाध्याय, प्रदेश सभापति अमरसिंह पुन, उपसभापति राजु खनाल, पूर्वजिल्ला सभापतिहरु वीरकेशरी गौतम, कीर्तिबहादुर खड्का, मोहनलाल वली, क्षेत्र नम्बर ३ का सभापति जगतबहादुर खड्का, क्षेत्र नम्बर २ का सभापति भीमप्रकाश खड्का, क्षेत्र नम्बर १ का सभापति तथा खुमबहादुर खड्का शालिक निर्माण समिति संयोजक भेषराज पाण्डेलगायतले बोल्नुभएको थियो ।

विसं २०७६ चैत १६ मा कामको थालनी भएको शालिक निर्माणको काममा ७१ जनाबाट सहयोग भएको शालिक निर्माण समिति संयोजक पाण्डेले बताउनुभयो । शालिक बनाउन रु २४ लाख सहयोग उठेकोमा रु २० लाख ४८ हजार खर्च भएको र बाँकी रकमबाट अधुरा काम हुने उहाँले जानकारी दिनुभयो ।

पटकपटक मन्त्री हुँदा पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा खड्का जेल पर्नुभएको थियो । विसं २०५८ मा विशेष अदालतमा मुद्दा परेको थियो । अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले सफाइ दिए पनि सर्वोच्चबाट खड्का दोषी ठहर हुनुभएको थियो ।

रु दुई करोड ३६ लाख सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियारले सर्वोच्चमा २०६३ चैतमा पुनरावेदन गरेको थियो । सर्वोच्चले खड्कालाई डेढ वर्ष कैद र रु ९४ लाख ७४ हजार एक सय बिगो र त्यति नै जरिवानाको फैसला सुनाएको थियोे । विसं २०७४ चैत १६ गते ६७ वर्षको उमेरमा खड्काको निधन भएको थियो ।

दाङ जिल्ला उपसभापति गिरीराज सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको शालिक अनावरण कार्यक्रमको सहजीकरण सचिव अर्जुनकुमार योगीले गर्नुभएको थियो ।

सुरक्षा विकास र सुशासनको पूर्वशर्त हो : रक्षामन्त्री उप्रेती

काठमाडौँ – रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सुरक्षा मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डतासँग अन्योन्याश्रित मात्र नभई सुशासन र विकासको पूर्वशर्त भएको बताउनुभएको छ । उहाँले भरपर्दाे सुरक्षा प्रबन्ध नभई मुलुकको अस्मिता र अस्थित्वको रक्षा तथा नागरिकलाई भयरहित वातावरण सुनिश्चित गर्न नसकिने धारणा राख्नुभयो । रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा सञ्चालित १६ दिने उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम समापन समारोहमा रक्षामन्त्री उप्रेतीले भन्नुभयो, “राष्ट्रिय सुरक्षा र राष्ट्रियहितको संरक्षण र संवर्द्धन गर्नु प्रत्येक नेपालीको प्रमुख दायित्व हो ।”

सुरक्षा बहुआयामिक, अन्तरसम्बन्धित र बहुनिकायसँग सम्बन्धित सरोकार राख्ने विषय उल्लेख गर्दै उहाँले सुदृढ राष्ट्रिय सुरक्षाका लागि राज्यका निकायहरूबीच साझा धारणा बनाउन निरन्तर संवाद, समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

सबैको सक्रियता, तत्परता र प्रयासबाट राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन भई मुलुकको आन्तरिक र बाह्य सुरक्षा सुदृढ हुने विश्वास व्यक्त गर्दै मन्त्री उप्रेतीले एसियाका ठूला शक्तिको बीचमा रहेको नेपालको भू–राजनीतिका हिसाबले राष्ट्रिय सुरक्षाको आफ्नै खाले चुनौती र महत्व रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रिय अस्मिताको रक्षा र राष्ट्रिय हितको संरक्षणका लागि राष्ट्रका सबै शक्ति एक ढिक्का भएर उभिन आवश्यक छ । त्यो भावनाको विकास प्रत्येक जनजनमा हुन आवश्यक छ ।”

राष्ट्रिय सुरक्षाको आयाम विगतभन्दा जटिल हुँदै गएको बताउँदै रक्षामन्त्री उप्रेतीले राष्ट्रिय सुरक्षा भन्नाले भूगोलको मात्र रक्षा नभई राजनीतिक, आर्थिक, सामाजिक, वातावरण तथा मूल्य, मान्यताको संरक्षणसमेत भएको विचार प्रकट गर्नुभयो ।

उहाँले राष्ट्रिय सुरक्षाको लागि राष्ट्रिय शक्तिको मुख्य तत्व अर्थतन्त्र, कूटनीति, सूचना र सञ्चार तथा सैन्य शक्तिलाई उचित नीति एवं साधन स्रोतले सम्पन्न गराउँदै समुचितरूपमा राष्ट्रिय हितमा प्रयोग गरी विद्यमान राष्ट्रिय सुरक्षा चुनौतीको डटेर सामना गर्नुपर्ने बताउनुभयो ।

प्रधानसेनापति प्रभुराम शर्माले विभिन्न अनिश्चिता र अस्थिरताका कारण जटिल अवस्थामा सुरक्षित तथा सम्मुनत नेपाल निर्माण गर्न राज्यका अन्तरनिकायबीच समन्वय, सहकार्य र एकीकृत धारणा आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “भूमण्डलीकरण, सूचना प्रविधिको विकाससँगै आएको परिवर्तनले राष्ट्रिय सुरक्षाको दायरा थप फराकिलो बन्दै गएको छ । आर्टिफिसिएल इन्टेलिजेन्सले सिर्जना गरेको राम्रा र नराम्रा सुरक्षा चुनौती बारे थप अध्ययन र विश्लेषण हुनुपर्ने देखिएको छ ।”

सेनापति शर्माले परम्परागत सुरक्षा खतराको साथै जलवायु परिवर्तन, महामारी, साइवर असुरक्षा, आतङ्कवादका परिष्कृत प्रवृत्तिजस्ता नयाँ प्रकृतिका अपरम्परागत चुनौतीसमेत क्रमिकरूपमा थपिँदै गएको बताउनुभयो ।

उहाँले सबै क्षेत्रका रणनीतिक तहमा रहेका नेतृत्व वर्गमा सामरिक सोचलाई थप परिष्कृत गर्दै राष्ट्रिय हितको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने कार्यलाई थप प्रभावकारी बनाउन सकिने बताउनुभयो ।

कलेजका शिक्षाध्यक्ष उपरथी बाबुराम श्रेष्ठले राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने सरकारी तथा गैरसरकारी निकाय, सञ्चार जगत्बीच राष्ट्रिय सुरक्षाका बहुआयामिक विषयमा साझा सोच र पहिचान गर्ने उद्देश्यले तालिम सञ्चालन भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रिय सुरक्षाका विषयमा नीति निर्माण र कार्यान्वयनमा सुरक्षा क्षेत्रलाई यथेष्ट योगदान दिने सकियोस् भन्ने तालिमको हेतु रहेको छ । तालिममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चासोका बारेमा गहन र रचनात्मकरूपमा छलफल र विश्लेषण गरियो ।”

मुख्य शिक्षक महासेनानी उत्तम सापकोटाले तालिमको उद्देश्य सहभागीलाई राष्ट्रिय सुरक्षासँग सम्बन्धित विविध विषयमा ज्ञान आदान प्रदान तथा सम्भावित सुरक्षा चुनौतीको सुक्ष्म अध्ययन र छलफल गरी चुनौतीको समाधाने उपायको पहिचान रहेकोे बताउनुभयो ।

तालिमका अवसरमा राष्ट्रिय शक्तिका मुख्य स्रोत कूटनीतिक, सूचना, अर्थतन्त्र, सैैनिक, राष्ट्रिय सुरक्षानीति, भू–राजनीतिक तथा विदेश नीति, रणनीति निर्माण र योजना, जलवायु परिर्वन र यसको सुरक्षा चुनौती, मानवीय सहयोग तथा विपद् व्यवस्थापन एवं नागरिक–सैनिक विषयमा गहन छलफल भयो ।

नवौँ संस्करणको तालिममा विभिन्न मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग, राष्ट्रिय महिला आयोग, त्रिभुवन विश्वविद्यालय, नेपाल रेडक्रस सोसाइटी र विभिन्न सञ्चारमाध्यमका समेत २९ जना प्रशिक्षार्थीको सहभागिता थियो ।

विस २०७२ बाट सुरु भएको उक्त तालिमबाट विभिन्न मन्त्रालय, संवैधानिक निकाय, विश्वविद्यालय, सरकारी तथा गैरसरकारी संस्था, सञ्चारजगत्, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागबाट हालसम्म दुई सय २२ जना प्रशिक्षित भइसकेका छन् ।