हुम्लामा तीन वर्षमा ३४ दुर्घटना, सात जनाको मृत्यु

समाचार

सिमकोट (हुम्ला), १८ भदौः गुणस्तरीय सडक निर्माण नभएको हिमाली दुर्गम जिल्ला हुम्लामा तीन वर्षमा यहाँका विभिन्न क्षेत्रमा ३३ वटा दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७८÷७९ मा जिप, ट्र्याक्टर, डोजर (स्काभेटर) गरी छ वटा दुर्घटनामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । उक्त वर्षमा एकजना बालकको जिप दुर्घटनामा परी मृत्यु भएको थियो । दुर्घटनामा परी छजना घाइते भएका थिए ।
आव २०७९÷८० मा विभिन्न स्थानमा १० वटा दुर्घटना भएको थियो । सोही समयमा दुर्घटनामा परी दुई जनाको ज्यान भएको प्रहरी निरीक्षक चन्दले जानकारी दिनुभयो । उक्त वर्ष महिला र पुरुषगरी २४ जना घाइते भएका थिए । घाइते सबै विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा उपचारपछि घर फिर्ता भएका उहाँले बताउनुभयो ।
यस्तै गतमा जिल्लाका विभिन्न स्थानमा १८ वटा दुर्घटना भएका छन् । दुर्घटनामा परी महिला र बालक एक/एक र पुरुष दुई जनाले ज्यान गुमाएका प्रहरी निरीक्षक चन्दले जानकारी दिनुभयो । यो तीन वर्षमा गत आवमा बढी दुर्घटना हुनुका साथै दुर्घटनामा परी मृत्यु हुनेको सङ्ऋया पनि बढी रहेको उहाँले बताउनुभयो । यो आर्थिक वर्षमा ३५ जना घाइते भएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट