`

कांग्रेस बलियो भयो भने लोकतन्त्र बलियो हुन्छ : उपसभापति गुरुङ

इनरुवा (सुनसरी)- नेपाली कांग्रेसका उपसभापति धनराज गुरु¬ङले कांग्रेस बलियो भयो भने मात्र लोकतन्त्र बलियो हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन सुनसरी शाखाद्वारा शुक्रबार आयोजित ‘लोकतन्त्रमा सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहँुदै उहाँले लोकतन्त्रलाई बलियो बनाउनका लागि सबैले एक ढिक्का भएर लाग्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो। “कांग्रेसको टिकटबाट निर्वाचित जनप्रतिनिधिले कुनै पनि प्रश्न नउठ्ने गरी काम गर्नुपर्छ । ”

कांग्रेसका नेता तथा कार्यकर्ताले कतिबेला प्राविधिक कुरा गर्ने र कतिबेला नीतिगत कुरा गर्ने विषयमा अल्झिने गरेका कारणले पटक–पटक समस्या उत्पन्न हुने गरेको उहाँको भनाइ थियो । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले वर्तमान सरकारले नै निरन्तरता पाउने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “केन्द्रीय सत्ता समीकरण फेरबदल हुँदैमा कोशी प्रदेश सरकारलाई केही असर गर्दैन । प्रदेश सरकारले अहिले मध्याधि निर्वाचन गर्दैन । विश्वासको मतसमेत दुई वर्षसम्म लिँदैन। ”

कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालाले पछिल्लो समय देशमा नकारात्मक शक्तिको सञ्चार भइरहेका बेलामा सञ्चारमाध्यमले यसलाई चिर्नका लागि कलम चलाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा बौद्धिक अराजकताविरुद्ध सञ्चारकर्मीले लोकतन्त्रको रक्षा गर्दै कलम चलाउनुपर्छ भन्नुभयो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष तारानाथ दाहाल, प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साललगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा सुनसरीका अग्रज पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य इकवाल अहमद, प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य हेमराज दाहाल, दिवस पोखरेललगायतलाई सम्मान गरिएको थियो । प्रेस युनियन सुनसरीका अध्यक्ष ध्रुव ढकालको अध्यक्षतामा सम्पन्न भएको युनियन सुनसरीका सदस्य नसिम अन्सारीले जानकारी दिनुभयो ।

कांग्रेस नेता खुमबहादुरको योगदान अतुलनीय छ : सभापति देउवा

देउखुरी (दाङ), १६ चैत : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर खड्काको प्रशंसा र योगदान अतुलनीय रहेको बताउनुभएकोे छ । दाङको लमही नगरपालिका–९ अमिलिया चोकमा आज दिवङ्गत नेता खड्काको पूर्णकदको शालिक अनावरण गर्दै सभापति देउवाले खड्कालाई भ्रष्टाचारको झुठ्ठो मुद्दामा फसाइएको दाबी गर्नुभयो । शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्ने कांग्रेस नेताहरुले पार्टी र जनतालाई जोड्न पूर्वमहामन्त्रीसमेत रहनुभएका खड्काको योगदान अतुलनीय रहेको, अहिले उहाँको अभाव पार्टीले भोग्नुपरेको टिप्पणी गर्नुभयो ।

कांग्रेसका पूर्वमन्त्री स्व खड्काको शालिक अनावरण कार्यक्रममा केन्द्रीय सदस्य दीपक गिरी, सहमहामन्त्रीद्वय किशोरसिंह राठोर, महालक्ष्मी उपाध्याय, प्रदेश सभापति अमरसिंह पुन, उपसभापति राजु खनाल, पूर्वजिल्ला सभापतिहरु वीरकेशरी गौतम, कीर्तिबहादुर खड्का, मोहनलाल वली, क्षेत्र नम्बर ३ का सभापति जगतबहादुर खड्का, क्षेत्र नम्बर २ का सभापति भीमप्रकाश खड्का, क्षेत्र नम्बर १ का सभापति तथा खुमबहादुर खड्का शालिक निर्माण समिति संयोजक भेषराज पाण्डेलगायतले बोल्नुभएको थियो ।

विसं २०७६ चैत १६ मा कामको थालनी भएको शालिक निर्माणको काममा ७१ जनाबाट सहयोग भएको शालिक निर्माण समिति संयोजक पाण्डेले बताउनुभयो । शालिक बनाउन रु २४ लाख सहयोग उठेकोमा रु २० लाख ४८ हजार खर्च भएको र बाँकी रकमबाट अधुरा काम हुने उहाँले जानकारी दिनुभयो ।

पटकपटक मन्त्री हुँदा पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा खड्का जेल पर्नुभएको थियो । विसं २०५८ मा विशेष अदालतमा मुद्दा परेको थियो । अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले सफाइ दिए पनि सर्वोच्चबाट खड्का दोषी ठहर हुनुभएको थियो ।

रु दुई करोड ३६ लाख सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियारले सर्वोच्चमा २०६३ चैतमा पुनरावेदन गरेको थियो । सर्वोच्चले खड्कालाई डेढ वर्ष कैद र रु ९४ लाख ७४ हजार एक सय बिगो र त्यति नै जरिवानाको फैसला सुनाएको थियोे । विसं २०७४ चैत १६ गते ६७ वर्षको उमेरमा खड्काको निधन भएको थियो ।

दाङ जिल्ला उपसभापति गिरीराज सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको शालिक अनावरण कार्यक्रमको सहजीकरण सचिव अर्जुनकुमार योगीले गर्नुभएको थियो ।

सुरक्षा विकास र सुशासनको पूर्वशर्त हो : रक्षामन्त्री उप्रेती

काठमाडौँ – रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सुरक्षा मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डतासँग अन्योन्याश्रित मात्र नभई सुशासन र विकासको पूर्वशर्त भएको बताउनुभएको छ । उहाँले भरपर्दाे सुरक्षा प्रबन्ध नभई मुलुकको अस्मिता र अस्थित्वको रक्षा तथा नागरिकलाई भयरहित वातावरण सुनिश्चित गर्न नसकिने धारणा राख्नुभयो । रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा सञ्चालित १६ दिने उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम समापन समारोहमा रक्षामन्त्री उप्रेतीले भन्नुभयो, “राष्ट्रिय सुरक्षा र राष्ट्रियहितको संरक्षण र संवर्द्धन गर्नु प्रत्येक नेपालीको प्रमुख दायित्व हो ।”

सुरक्षा बहुआयामिक, अन्तरसम्बन्धित र बहुनिकायसँग सम्बन्धित सरोकार राख्ने विषय उल्लेख गर्दै उहाँले सुदृढ राष्ट्रिय सुरक्षाका लागि राज्यका निकायहरूबीच साझा धारणा बनाउन निरन्तर संवाद, समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

सबैको सक्रियता, तत्परता र प्रयासबाट राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन भई मुलुकको आन्तरिक र बाह्य सुरक्षा सुदृढ हुने विश्वास व्यक्त गर्दै मन्त्री उप्रेतीले एसियाका ठूला शक्तिको बीचमा रहेको नेपालको भू–राजनीतिका हिसाबले राष्ट्रिय सुरक्षाको आफ्नै खाले चुनौती र महत्व रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रिय अस्मिताको रक्षा र राष्ट्रिय हितको संरक्षणका लागि राष्ट्रका सबै शक्ति एक ढिक्का भएर उभिन आवश्यक छ । त्यो भावनाको विकास प्रत्येक जनजनमा हुन आवश्यक छ ।”

राष्ट्रिय सुरक्षाको आयाम विगतभन्दा जटिल हुँदै गएको बताउँदै रक्षामन्त्री उप्रेतीले राष्ट्रिय सुरक्षा भन्नाले भूगोलको मात्र रक्षा नभई राजनीतिक, आर्थिक, सामाजिक, वातावरण तथा मूल्य, मान्यताको संरक्षणसमेत भएको विचार प्रकट गर्नुभयो ।

उहाँले राष्ट्रिय सुरक्षाको लागि राष्ट्रिय शक्तिको मुख्य तत्व अर्थतन्त्र, कूटनीति, सूचना र सञ्चार तथा सैन्य शक्तिलाई उचित नीति एवं साधन स्रोतले सम्पन्न गराउँदै समुचितरूपमा राष्ट्रिय हितमा प्रयोग गरी विद्यमान राष्ट्रिय सुरक्षा चुनौतीको डटेर सामना गर्नुपर्ने बताउनुभयो ।

प्रधानसेनापति प्रभुराम शर्माले विभिन्न अनिश्चिता र अस्थिरताका कारण जटिल अवस्थामा सुरक्षित तथा सम्मुनत नेपाल निर्माण गर्न राज्यका अन्तरनिकायबीच समन्वय, सहकार्य र एकीकृत धारणा आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “भूमण्डलीकरण, सूचना प्रविधिको विकाससँगै आएको परिवर्तनले राष्ट्रिय सुरक्षाको दायरा थप फराकिलो बन्दै गएको छ । आर्टिफिसिएल इन्टेलिजेन्सले सिर्जना गरेको राम्रा र नराम्रा सुरक्षा चुनौती बारे थप अध्ययन र विश्लेषण हुनुपर्ने देखिएको छ ।”

सेनापति शर्माले परम्परागत सुरक्षा खतराको साथै जलवायु परिवर्तन, महामारी, साइवर असुरक्षा, आतङ्कवादका परिष्कृत प्रवृत्तिजस्ता नयाँ प्रकृतिका अपरम्परागत चुनौतीसमेत क्रमिकरूपमा थपिँदै गएको बताउनुभयो ।

उहाँले सबै क्षेत्रका रणनीतिक तहमा रहेका नेतृत्व वर्गमा सामरिक सोचलाई थप परिष्कृत गर्दै राष्ट्रिय हितको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने कार्यलाई थप प्रभावकारी बनाउन सकिने बताउनुभयो ।

कलेजका शिक्षाध्यक्ष उपरथी बाबुराम श्रेष्ठले राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने सरकारी तथा गैरसरकारी निकाय, सञ्चार जगत्बीच राष्ट्रिय सुरक्षाका बहुआयामिक विषयमा साझा सोच र पहिचान गर्ने उद्देश्यले तालिम सञ्चालन भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रिय सुरक्षाका विषयमा नीति निर्माण र कार्यान्वयनमा सुरक्षा क्षेत्रलाई यथेष्ट योगदान दिने सकियोस् भन्ने तालिमको हेतु रहेको छ । तालिममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चासोका बारेमा गहन र रचनात्मकरूपमा छलफल र विश्लेषण गरियो ।”

मुख्य शिक्षक महासेनानी उत्तम सापकोटाले तालिमको उद्देश्य सहभागीलाई राष्ट्रिय सुरक्षासँग सम्बन्धित विविध विषयमा ज्ञान आदान प्रदान तथा सम्भावित सुरक्षा चुनौतीको सुक्ष्म अध्ययन र छलफल गरी चुनौतीको समाधाने उपायको पहिचान रहेकोे बताउनुभयो ।

तालिमका अवसरमा राष्ट्रिय शक्तिका मुख्य स्रोत कूटनीतिक, सूचना, अर्थतन्त्र, सैैनिक, राष्ट्रिय सुरक्षानीति, भू–राजनीतिक तथा विदेश नीति, रणनीति निर्माण र योजना, जलवायु परिर्वन र यसको सुरक्षा चुनौती, मानवीय सहयोग तथा विपद् व्यवस्थापन एवं नागरिक–सैनिक विषयमा गहन छलफल भयो ।

नवौँ संस्करणको तालिममा विभिन्न मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग, राष्ट्रिय महिला आयोग, त्रिभुवन विश्वविद्यालय, नेपाल रेडक्रस सोसाइटी र विभिन्न सञ्चारमाध्यमका समेत २९ जना प्रशिक्षार्थीको सहभागिता थियो ।

विस २०७२ बाट सुरु भएको उक्त तालिमबाट विभिन्न मन्त्रालय, संवैधानिक निकाय, विश्वविद्यालय, सरकारी तथा गैरसरकारी संस्था, सञ्चारजगत्, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागबाट हालसम्म दुई सय २२ जना प्रशिक्षित भइसकेका छन् ।

विराट गोल्डकप : आजको खेल त्रिभुवन आर्मी फुटबल क्लब र न्यूरोड टिम एनआरटी काठमाडौँबीच हुने

सुन्दरहरैँचा (मोरङ) १६ चैत : मोरङको विराटनगरमा जारी आठौँ संस्करणको रात्रिकालीन विराट गोल्डकप प्रतियोगितामा आजको खेल त्रिभुवन आर्मी फुटबल क्लब र न्यूरोड टिम एनआरटी काठमाडौँबीच हुने भएको छ ।

बिहीबारको उद्घाटन खेलमा पाहुना टोली भुटानको रोयल थिम्पू फुटबल क्लब (आरटिएफसी) ले विभागीय टिम नेपाल पुलिस क्बललाई हराउँदै विजयी सुरूवात गरेको थियो । विराटनगरको सहिद रङ्गशालामा फ्लडलाइटको माध्यमबाट सुरू भएको रात्रिकालीन गोल्डकपको उद्घाटन खेलमा नेपाल पुलिसलाई ३–० गोलले हराउँदै आरटिएफसी क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

जितको लागि आरटिएफसीका किन्ले ग्यालसेन, किन्जाङ तेन्जिङ र सिद्धार्थ गुरूङले समान १–१ गोल गरे । पहिलो हाफको ३६ आँै मिनेटमा केल्जाङ जिग्मेंले गरेको कर्नर प्रहार किन्ले टच गर्दा गोलमा परिणत भयो ।

आरटिएफसीले अग्रता लिएको चार मिनेट बित्न नपाउँदै पुलिसको कमजोर डिफेन्सको फाइदा उठाउँदै किन्लेले ४० औं मिनेटमा मध्यभागबाट निकालिदिएको पास किन्जाङले आकर्षक गोल गरी अग्रता दोब्बर बनाए । ६३ औँ मिनेटमा सिद्धार्थ गुरूङले मैदानको मध्य भागबाट पुलिसका खेलाडीलाई छक्याउँदै डिबक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत गर्दै टिमको जित सुनिश्चित गरे ।

पहिलो हाफमा दुई गोल खाएपछि दबाबमा परेको पुलिसले दोस्रो हाफदेखि आक्रमक खेल पस्कियो । पुलिसका खेलाडीले थुप्रै गोल गर्ने सुन्दर अवसर चुकाउँदा तीन पटकको विराट गोल्डकपको च्याम्पियन टिम पहिलो खेलबाट बाहिरिन बाध्य भयो ।

खेलको प्लेयर अफ द म्याच भुटानका किन्जाङ तेन्जिङ घोषित भए । उनले नगद रु ११ हजार पाए । चैत २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागिता रहेको आयोजक विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिनुभयो ।

गोल्डकपको विजेताले रु ११ लाख र उपविजेताले रु पाँच लाख ५० हजार पाउनेछन् । उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही रु २१ हजार पुरस्कार प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल उपहार दिने गोल्डकपका अध्यक्ष शाहीले बताउनुभयो ।

विसं २०१८ देखि तत्कालीन राजा महेन्द्र शाहको नामबाट सुरू गरिएको गोल्डकपको विसं २०६८ मा नाम परिवर्तन गरी ‘विराट गोल्डकप’ राखिएको हो । गत वर्षको उपाधि विराटनगर फुटबल क्लबले जितेको थियो । विराटनगरले भारत केरेलाको लुका सकर क्लबलाई फाइनल खेलमा पराजित गरेको थियो । यो वर्ष विराट गोल्डकपको नतिजा कसको हातमा पर्ने हो । यो प्रतिक्षाको विषय बनेको छ ।

चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा

दमौली (तनहुँ), १६ चैत : तनहुँको भिमाद घर भई दमौली बस्दै आउनुभएका राजेन्द्र अर्याललाई खैरेनीटारदेखि दमौली आइपुग्न तीन घण्टा लाग्यो । दुई दिनदेखि परेको झरीका कारण राजमार्ग हिलाम्य भएपछि २२ किलोमिटर दूरी छिचोल्न उहाँलाई तीन घण्टा लागेको हो ।

अर्यालले भन्नुभयो, “झरीले राजमार्ग हिलाम्य छ । हिलाम्य राजमार्गमा सवारीसाधन फसेर निकै बेर जाममा बस्नुपर्यो ।” खैरेनीटारदेखि थर्पुसम्मको खण्डमा बढी समस्या रहेको उहाँको भनाइ छ । मुग्लिन पोखरा सडक विस्तारका क्रममा ठाउँठाउँमा एकतर्फी कालोपत्रको काम अगाडि बढे पनि कालोपत्र नभएका ठाउँमा हिलो माटोले सवारीसाधन फस्दा यात्रु कष्टकर यात्रा गर्न बाध्य छन् ।

खैरेनीटारमा व्यवसाय गर्दै आउनुभएका ज्ञानेन्द्र काफ्लेलाई दमौली आइपुग्न दुई घण्टाभन्दा बढी लाग्यो । हिलोका कारण गाडी फसेपछि बसबाट झर्न पनि मिलेन । दुई दिनदेखि परेको वर्षाका कारण मुग्लिन पोखरा सडकअन्तर्गत तनहुँको कोत्रेदेखि आँबुखैरेनीसम्मको यात्रामा यात्रुले सास्ती भोग्नु परेको छ । विशेषगरी जामुनेदेखि कोत्रेसम्मको यात्रामा बढी समस्या छ ।

मुग्लिन पोखरा सडक आयोजना पश्चिम खण्डका इञ्जिनियर नारायण पौडेलले वर्षायामअघि सडकको नाली बनाउने योजना भए पनि नाली तयार नभइसकेकाले यो समस्या आएको बताउनुभयो । पूर्वी खण्डमा ५० र पश्चिम खण्डमा १७ प्रतिशत प्रगति भएको छ । मुग्लिन पोखरा सडक योजना पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार २० किमी खण्ड कालोपत्र भइसकेको छ । आँबुखैरेनी, बन्दीपुर र व्यास नगरपालिकाका विभिन्न भागमा गरी १२ किमी दुईतर्फी र आठ किमी एकतर्फी खण्ड कालोपत्र सकिएको छ ।

पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलव ४५ किमी दूरीको यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।

पश्चिम खण्डअन्तर्गत जामुनेदेखि पोखरासम्म कालोपत्रको काम अगाडि बढेको छ । तनहुँको म्याग्दे गाउँपालिकास्थित जामुने, शुक्लागण्डकी नगरपालिकास्थित हलेदली र कोत्रेमा कालोपत्रको काम भइरहेको छ । पोखरा खण्डमा कालोपत्र हुँदैछ । पश्चिम खण्डमा हालसम्म छ किमी एकतर्फी सडक कालोपत्र भइसकेको छ । पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको काम सम्पन्न गर्ने मिति विसं २०८१ भदौसम्म छ । यो खण्ड रु सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का लागेको थियो ।

राष्ट्रियसभा बैठक : सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित कानुन छिटो बनाउन निर्देशन

काठमाडौँ, १६ चैत : राष्ट्रियसभाकोे आजको बैठकले स्थानीय र प्रदेश सरकारले संवैधानिक अधिकार प्रयोग गर्न पाउनेगरी आवश्यक कानुन बनाउन सरकारलाई निर्देशन दिएको छ ।

बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित अध्ययन प्रतिवेदनमाथिको छलफल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जवाफपछि अध्यक्ष नारायणप्रसाद दाहालले सो निर्देशन दिनुभएको हो । बैठकमा प्रधानमन्त्री दाहालले ती कानुन ल्याउन सरकार सजग रहेको र विभिन्न २१ कानुन संसद्मा पेस हुने तयारीमा रहेको जानकारी दिनुभएको थियो ।

सो प्रतिवेदनमा तीन तहको अधिकार क्षेत्रसँग सम्बन्धित आवश्यक कानुनहरू प्रहरी समायोजन, सङ्घीय निजामती सेवासम्बन्धी कानुन, प्राकृतिक स्रोत साधनको उपयोग र प्रयोगमा तीन तहको अधिकार क्षेत्र स्पष्ट हुनुपर्नेलगायतका विषयमा सुझाव दिइएको छ ।

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौँ, १६ चैत : सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको निलम्बन बदर गर्ने आदेश गरेको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले आज मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङको निलम्बन बदर गर्ने आदेश गरेको हो ।

आदेशमा भनिएको छ, “निवेदकलाई मिति २०७९÷९÷०८ देखि स्वतः निलम्बन रहेको भनी सङ्घीय संसद् सचिवालयबाट मिति २०७९÷९÷१२ मा प्रकाशित सूचना र सोसँग सम्बन्धित अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मिति २०७९÷९÷८ मा भएको निर्णय तथा सोको आधारमा गरिएको पत्राचार नेपालको संविधानको धारा २० (५), ८७, २४६ (३), सङ्घीय संसद् सचिवालयसम्बन्धी ऐन, २०६४ को दफा ९, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ (३), (४) को प्रयोग र व्याख्याको दृष्टिले त्रुटिपूर्ण रहेको देखियो ।”

अदाललते २०७९ पुस ८ देखि स्वतः निलम्बन रहेको भनी सङ्घीय संसद् सचिवालयबाट मिति २०७९ पुस १२ मा जारी भएको सूचना र सोसँग सम्बन्धित अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मिति २०७९ पुस ८ मा भएको निर्णय तथा सोको आधारमा गरिएको पत्राचार उत्प्रेषणको आदेशले बदर गरेको छ ।

प्रतिनिधिसभा सदस्य गुरुङलाई तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा सरकारमा श्रम तथा रोजगार राज्यमन्त्री हुँदा काठमाडौँ भृकुटीमण्डपमा रहेको फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोग लागेको थियो ।

गृहद्वारा हतियारको इजाजतसम्बन्धी छानबिन गर्न समिति गठन

काठमाडौँ, १६ चैत ः गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत जारी भएको हतियारका विषममो एक छानबिन समिति गठन गरेको छ । बिहीबारको गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा आज मन्त्रालयले छानबिन समिति गठन गरेको गृहका सूचना अधिकारी एकदेव अधिकारीले राससलाई जानकारी दिनुभयो ।

यही चैत ५ गते सर्वोच्च अदालत परिसरमा जिल्ला प्रशासन कार्यालय झापाबाट २०७५ असार २१ मा प्रसार्इँको नाममा जारी भएको इजाजतपत्र २२ बोर ए ३५४७५२ नम्बरको हतियारसहित उनका दुईजना अङ्गरक्षक पक्राउ परेका थिए । पक्राउ पर्नेमा दीपक खड्का र राजकुमार धिमाल रहेका थिए ।

उक्त घटनामा परेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतबाट हतियार कानुनविपरीत इजाजतपत्र जारी भएको देखिन आएकाले सो इजाजतपत्र के–कसरी नवीकरण भएको हो भन्ने सम्बन्धमा आवश्यक छानबिन गर्न गृहलाई आदेश दिँदै उनीहरूलाई रिहा गर्न आदेश भएको थियो ।

सर्वाेच्चले अदालत, न्यायिक निकाय वा अन्य संवेदनशील क्षेत्रमा कुनै पनि हतियार लिई प्रवेश गर्न नपाउने सम्बन्धमा आवश्यक कानुनी व्यवस्था गर्न पनि आदेश भएकाले सोही आदेश कार्यान्वयनका लागि गृहले छानबिन समिति गठन गरेको हो ।

व्यक्तिसँग रहेका हातहतियारको दुरुपयोग हुन नदिन र सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि गर्नुपर्ने कामका विषयमा गृह मन्त्रालयले उक्त समिति गठन गरेको र कार्यप्रारम्भ गरेको मितिले १५ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।

मन्त्रालयका सहसचिव पाण्डेको संयोजकत्वमा बनेको छानबिन समितिका सदस्यहरूमा उपसचिव ऋषि पौडेल, प्रहरी उपरीक्षक सन्तोष भट्टराई तथा सदस्यसचिवमा गृहका उपसचिव अधिकारी रहनुभएको छ ।

समितिलाई जिल्ला प्रशासन कार्यालय झापाबाट मिति २०७५ असार २१ मा दुर्गाप्रसाद प्रसाईँको नाममा जारी भएको हतियारको इजाजतपत्र तथा सोको नवीकरण सम्बन्धमा छानबिन गरी दोषीउपर कारबाहीको सिफारिस गर्ने कार्यादेश दिइएको छ ।

यस्तै व्यक्तिगत रूपमा इजाजतपत्र प्राप्त गरेका हातहतियारको प्रयोग सम्बन्धमा मापदण्ड निर्धारण गर्ने, हातहतियार नवीकरण सम्बन्धमा भएको कानुनी व्यवस्था र अभ्यासको विश्लेषण गरी हातहतियार खरखजानासम्बन्धी ऐन र सोसँग सम्बन्धित प्रचलित कानुनमा गर्नुपर्ने सुधारका विषयहरू पहिचान गर्ने तथा इजाजतप्राप्त हातहतियार खरखजानाको दुरुपयोग रोक्न सोको अनुगमन, नियमन र नियन्त्रणका सम्बन्धमा गरिएको अभ्यासको समीक्षा गर्नेलगायतका कार्यादेश रहेको गृह मन्त्रालयले जनाएको छ । यस्तै समितिलाई हतियारको अभिलेख व्यवस्थापन र नियमन सम्बन्धमा उपयुक्त ढाँचा पहिचान गर्ने तथा माथिका विषय समेटेर राय–सुझावसहितको प्रतिवेदन बुझाउन भनिएको छ ।

मङ्गोलियामा नौ प्रतिशतभन्दा बढी चौपायाको चिसोबाट मृत्यु

उलान बटोर – मङ्गोलियाका करिब ९.२ प्रतिशत चौपाया यस वर्षको चिसो मौसममा अत्यधिक जाडोका कारण मरेको देशको राज्य आपतकालीन आयोगले शुक्रबार जनाएको छ ।

मङ्गोलियाका २१ प्रान्तमध्ये पूर्वी सुखबतार प्रान्त चिसोले सबैभन्दा बढी प्रभावित भएको छ । जहाँ करिब १४ लाख अर्थात् कुल पशु संख्याको ३८.६ प्रतिशतको मृत्यु भएको छ । मङ्गोलियाको मौसम अनुगमन एजेन्सीका अनुसार मङ्गोलियमा यस वर्षको जाडोमा सामान्य भन्दा धेरै हिउँ खेप्नु परेकाले देशको ८० प्रतिशत भन्दा बढी क्षेत्र सय सेन्टिमिटर बाक्लो हिउँले ढाकिएको छ ।

मङ्गोलियाले कठोर जाडोसँगै पशुधनको ठूलो क्षति भएपछि प्रकोप तयारी र उच्च सतर्कता बढाएको छ । भूपरिवेष्ठित राष्ट्र मङ्गोलियामा खानीपछि पशुपालनलाई दोस्रो ठूलो आर्थिक स्रोतका रुपमा लिइन्छ ।

सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु

महेन्द्रनगर (कञ्चनपुर) १६ चैत : सुदूरपश्चिम प्रदेशमा विगत साढे तीन वर्षको अवधिमा सवारी दुर्घटनामा परी छ सय ७४ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७७÷७८ देखि गत फागुन मसान्तसम्म सुदूरपश्चिमका नौवटा जिल्लामा सवारी दुर्घटनाबाट छ सय ७४ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।

ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार चालु आवको फागुनसम्म सुदूरपश्चिममा एक सय १४ जनाको मृत्यु भएको छ । आव २०७७÷७८ मा एक सय ८७, आव २०७८÷७९ मा एक सय ९६, आव २०७९÷८० मा एक सय ७७ जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक अनिल उप्रेतीले जानकारी दिनुभयो । अनियन्त्रित गति र सडकका कारण बढीजसो दुर्घटना हुने गरेको उहाँको भनाइ छ ।

“दुर्घटनाको कारण अनियिन्त्रित भएर सवारी हाँक्नु प्रमुख रहेको छ । कतिपय अवस्थामा सडक पनि दुर्घटनाको कारण बनेका छन्”, प्रनाउ उप्रेतीले भन्नुभयो, “प्रदेशका विभिन्न स्थानमा ट्राफिक सचेतनाका कार्यक्रमहरु सञ्चालित छन् ।”

जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक नरेश विकले तीव्र गति र लागुऔषध सेवन गरेर सवारी चलाउँदा दुर्घटना हुने गरेको बताउनुभयो । “जिल्लामा गत वर्षको तुलनामा चालु आवमा सवारी दुर्घटनाको सङ्ख्यामा कमी आएको छ”, उहाँले भन्नुभयो, “चालु आवको हालसम्म यहाँ २२ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।”

प्रनि विकले पछिल्लो समय राजमार्गमा भन्दा भित्री सडकहरुमा दुर्घटना बढी हुने गरेको बताउनुभयो । “कञ्चनपुरमा प्रहरीका दश युनिट खटिएका छन्”, उहाँले भन्नुभयो, “भित्री सडकहरुमा बढी दुर्घटना हसने गरेको पाएका छौँ । ग्रामीण सडकमा अझै ट्राफिक व्यवस्थापन प्रभावकारी हुन सकेको छैन ।”

‘सेमीकन्डक्टर उत्पादनमा भारतलाई शीर्ष स्थानमा पु-याइने’

विद्युतीय सर्किटमा प्रयोग हुने सामग्री सेमिकन्डकटर निर्माण मा भारत पाँच वर्षमा शीर्ष स्थानमा पुग्ने भारतीय केन्द्रीय मन्त्री अश्विनी वैष्णवले बताउनुभएको छ ।

‘टाइम्स नाउँ समिट–२०२४’ मा मन्तव्य राख्दै आफूले व्यक्तिगत रूपमा लगभग ४५ कम्पनीहरूका प्रमुखलाई भेटेको र नयाँ उद्योग स्थापना गर्न आवश्यक सबै विवरणबारे छलफल भएको बताउनुभयो ।”

अभियानअन्तर्गत करिब १.२५ लाख करोड भारतीय रूपैयाँमा निर्माण गरिएको ‘चिप प्लान्ट’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च १३ मा शिलान्यास गर्नुभएको थियोे । उक्त प्लान्टमा टाटा समूहले करिब १.२५ लाख करोड रुपैयाँ लगानी गर्ने बताएको छ ।

टाटा समूहले गुजरात र असमका दुई प्लान्टहरूमा सेमिकन्डक्टर चिप्सको व्यावसायिक उत्पादन २०२६ मा सुरु हुने आशा राखेको छ । कोभिडको समयमा चिपको अभावले राष्ट्रिय सुरक्षाको कमीलाई पूर्ति गर्न र स्वदेशी आविष्कारलाई प्राथमिकता दिन भारतले प्रयासलाई व्यापक बनाएको छ ।

फोन, मेडिकल उपकरण, कार र विद्युतीय उपकरणहरूको लागि सेमीकन्डक्टर अत्ति महत्त्वपूर्ण रहेको र यसको निर्माण आवश्यक रहेको मन्त्री वैष्णवले बताउनुभयो । यो वर्षको अन्त्यसम्ममा भारतले पहिलो स्वदेशी चिपको उत्पादन सञ्चालन गर्ने उहाँको भनाइ थियो ।

कुल उत्पादन क्षमताको करिब ७० प्रतिशत सेमीकन्डक्टर उत्पादक दक्षिण कोरिया, ताइवान, चीन, अमेरिका र जापानमा रहेका छन् ।

करिब १० वर्ष पहिले कठिन रहेको आइफोन उत्पादनलाई अहिले भारतमा सामान्य भइसकेको र यसको बजार करिब ११० अर्ब अमेरिकी डलर बराबर रहेको मन्त्री वैष्णवले जानकारी दिनुभयो ।

एप्पलले आफ्नो नयाँ आईफोन उत्पादनको सुरुवात भारतमा गरिरहेको र यसको लागि एप्पलले काम गर्न करिब एक लाखभन्दा बढी व्यक्तिहरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारीमा राखेको उहाँले बताउनुभयो ।

चैत २३ र २४ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति मेला

काठमाडौँ, १६ चैत : विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय शान्ति मेला ‘लुम्बिनी इन्टरनेशनल पिस फेस्टिबल’ आयोजना हुने भएको छ । लुम्बिनीको संस्कृतिक र ऐतिहासिक पक्षलाई अन्तर्राष्ट्रियरूपमा प्रचार–प्रसार गर्ने उद्देश्यले यही चैत २३ र २४ गते गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा मेला आयोजना हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड, नेपाल ओलम्पिक कमिटी र लुम्बिनी विकास कोषले संयुक्तरूपमा मेलाको आयोजना गर्न लागिएको हो । मेलामा म्याराथन दौड, ध्यान र सांस्कृतिक कार्यक्रमसहित प्रथम लुम्बिनी अन्तर्राष्ट्रिय मेला आयोजना गर्न लागिको आयोजकले जनाएको छ ।

लुम्बिनीको महत्वबारे विश्वभर थप प्रचार–प्रसार गरी बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्ने उद्देश्यले मेला आयोजना गरिएको पूर्वपर्यटनमन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बताउनुभयो । सम्मेलनले लुम्बिनीलाई विश्वको पर्यटन गन्तव्यको रूपमा विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पर्यटन प्रवर्द्धनसँगै बुद्धको महत्वलाई संसारभर फैलाएर बढी सङ्ख्यामा पर्यटक आकर्षण गर्न मद्दत पुग्ने विश्वास लिएका छौँ ।”

लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले लुम्बिनीको प्रवर्द्धन गरी विभिन्न मुलुबाट पर्यटक आकर्षण गर्न मेला फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

बोर्डका निमित्त कार्यकारी प्रमुख नन्दिनी लाहे थापाले मुलुकको पर्यटन पुरानै लयमा फर्किएको सन्दर्भमा लुम्बिनीमा आयोजना गरिने मेलाले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो ।

पत्रकार सम्मेलनमा चिनियाँ राजदूतावासको काउन्सिलर वांग सिनले लुम्बिनीको थप ब्राण्डिङ, नेपालको पर्यटन प्रवर्द्धन र चीनलगायत विश्वका विभिन्न मुलुकसँग नेपालको मैत्रीपूर्ण आदानप्रदान बढाउन लुम्बिनीमा सांस्कृतिक र खेलकुदसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभयो । सम्मेलनको माध्यमबाट दुई देशबीचको सांस्कृतिक र कूटनीतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउने उहाँको विश्वास छ । काउन्सिलर सिनले चीन नेपालको विकास, पर्यटन प्रवर्द्धनका साथै नेपाली जनताको खुसीका लागि सधैँ साथमा रहेको विचार व्यक्त गर्नुभयो ।

मेलाको पहिलो दिन बिहान शाक्यमुनि बुद्धको जन्मस्थल मायादेवी मन्दिर परिसरमा लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान शिविर सञ्चालन हुनेछ । ध्यानका लागि करिब सय जना भिक्षु–भिक्षुणी र चार सय जना सर्वसाधारण गरी झण्डै पाँच सय जनाको सहभागिता रहने आयोजकको अपेक्षा छ ।

दोस्रो दिन बिहान लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको हुनेछ । प्रतियोगिताअन्तर्गत पुरुषतर्फ अन्तर्राष्ट्रिय मापदण्डअनुसारको ४२ किलोमिटर बढीको म्याराथन दौड हुनेछ भने महिलातर्फ २१ किलोमिटर दूरीको हाफ म्याराथन दौड गरिने छ । पाँच किलोमिटरको रोड रेस र तीन किलोमिटरको बाकाथन पनि प्रतियोगितामा समावेश गरिएको छ । कार्यक्रममा नेपाली र चिनियाँ कलाकारले विभिन्न सांस्कृतिक प्रस्तुति गर्नेछन् ।

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौँ, १६ चैत : अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको कार्यकालमा तय भएका सकारात्मक कार्यक्रममा कुनै परिवर्तन नहुने जानकारी दिनुभएको छ । विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्का देशीय निर्देशक फारिस हदाद जर्भोससँग आज मन्त्रालयमा भएको भेटमा उहाँले मन्त्री फेरिँदैमा सरकारको नीतिमा तात्विक परिवर्तन नहुने बताउनुभयो ।

निवर्तमान अर्थमन्त्री डा महतले संसद्मा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताको स्वामित्व लिएर आफूले त्यो सन्देश दिइसकेको उहाँको भनाइ थियो । “मन्त्री फेरिँदैमा नीतिमा धेरै परिवर्तन गर्नु हुँदैन । राज्यको नीतिमा स्थायित्व चाहिन्छ”, पुनले भन्नुभयो, “कतिपय कोणबाट मलाई सिद्धान्त र प्राथमिकतामा हेरफेर गर्न सुझाव पनि आएको हो । तर मैले त्यसो गर्नु उपयुक्त ठानिन ।” सिद्धान्त र प्राथमिकताबारे सङ्घीय संसद्का दुवै सदनमा सांसदले हरेक प्रश्नको जवाफ दिएको र जस्ताको तस्तै पारित भएको मन्त्री पुनले बताउनुभयो ।

आगामी १६ र १७ वैशाखमा निर्धारण गरिएको तेस्रो लगानी सम्मेलन र असारमा काठमाडौँमा हुने विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडिए) बैठक तोकिएकै समयमा हुने जानकारी पनि उहाँले दिनुभयो । मन्त्री पुनले पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै ती कार्यक्रम हुने सन्देश विश्व बैंक मुख्यालयसम्म पुर्याइदिन आग्रह गर्नुभएको उहाँले सचिवालयले जनाएको छ ।

फरक प्रसङ्गमा मन्त्री पुनले मिलेनियमन च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल)मार्फत हाल सञ्चालित आयोजना पाँच वर्षभित्रै सक्ने प्रतिबद्धता जनाउनुभयो । त्यस क्रममा मन्त्री पुनले नेपाल पुँजीगत खर्च बढाउन प्रयासरत रहेको बताउनुभयो । बिहीबारसम्म चालु आर्थिक वर्षका लागि विनियोजित पुँजीगत बजेटको ३० प्रतिशत खर्च भएको उल्लेख गर्नुहुँदै अर्थमन्त्री पुनले राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुुँजीगत खर्च बढाउन मन्त्रीहरू र प्रशासनिक नेतृत्वलाई निर्देशन दिएको जानकारी दिनुभयो ।

“प्रधानमन्त्रीले स्पष्ट रूपमा हामी सबै मन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ”, मन्त्री पुनले भन्नुभयो, “मैले पनि सबै मन्त्रालय र निकायलाई पुँजीगत खर्च बढाउनुस् भनेको छु । स्रोत नपुगेको भए अर्थ मन्त्रालयलाई भन्नुस् ।”

आगामी सन् २०२६ भित्र नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति भइसक्ने विश्वास अर्थमन्त्री पुनले व्यक्त गर्नुभयो । त्यसका लागि आवश्यक योजना, नीति तथा कार्यक्रम तय गर्नुका साथै कानुनी सुधार र लगानीका नयाँ ढोका खोल्न क्रियाशील रहेको उहाँको भनाइ थियो । नेपालको आन्तरिक स्रोतले मात्र विकासमा फड्को मार्न नसकिने भएकाले सहुलियतपूर्ण कर्जामा जोड दिएको स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री पुनले गेमचेन्जर आयोजनाका रूपमा रहेको एक हजार दुई सय मेगावाटको बुढीगण्डकी जलासययुक्त जलविद्युत् आयोजना आन्तरिक स्रोतबाटै निर्माण गर्ने तयारी अघि बढेको बताउनुभयो ।

जवाफमा विश्व बैंकका देशीय निर्देशक जर्भोसले नेपालको विकास प्रयासमा विश्व बैंकले विगतदेखि नै सहायता गर्दै आएको उल्लेख गर्नुहुँदै सहयोगले निरन्तरता पाउने प्रतिबद्धता जनाउनुभयो । माथिल्लो अरुण अर्धजलासययुक्त जलविद्युत् आयोजना र दूधकोशी जलासययुक्त आयोजनामा विश्व बैंक र एसियाली विकास बैंकले लगानीको प्रतिबद्धता जनाएको भन्दै उहाँले छिट्टै वित्तीय व्यवस्थापन टुङ्ग्याउनेगरी काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर, १६ चैत : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको गणना तथा अनुगमन सुरु गरिएको छ । निकुञ्जले कर्मचारी परिचालन गरेर बाह्रसिङ्गाको अनुगमन तथा गणना कार्य अगाडि बढाएको हो ।

‘हेड काउन्ट’ र ‘ट्रान्जिट लाइन’ गरी दुई विधिबाट अनुगमन तथा गणना भइरहेको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार निकुञ्जमा एक दशक अघिदेखि वन्यजन्तु सप्ताहको अवसर पारेर बाह्रसिङ्गाको गणना हुँदै आएको छ ।

“पैदल हिँडेर र गाडी चढेर अनुगमनको कार्य हुन्छ”, ऐरले भन्नुभयो, “पहिलोपटक ड्रोन उडाएर बाह्रसिङ्गा अनुगमन गरिरहेका छौँ ।” हेडकाउन्टका लागि प्रत्यक्ष रुपमा अवलोकन तथा वाइनाकुलर र टेलिस्कोपको प्रयोग गरी अनुगमन भइरहेको उहाँको भनाइ छ । “एक÷दुई दिनको फरकमा पाँचदेखि सातपटक अनुगमन गर्छौं”, उहाँले भन्नुभयो, “हेड काउन्टको काम पनि त्यति नै पटक हुन्छ ।”

बाह्रसिङ्गाको अनुगमनका लागि शुक्लाफाँट, करैया, लालपानी, भतपुरी फाँटा छनौट गरिएको छ । योसँगै घाँसेमैदान रहेको फायरलाइनहरुमा पनि अनुगमन हुने निकुञ्जका सूचना अधिकारी ऐरले बताउनुभयो । बाह्रसिङ्गाको सबैभन्दा ठूलो झुण्डको बासस्थान निकुञ्जको शुक्लाफाँट घाँसेमैदानमा रहेको भन्दै उक्त मैदान ५४ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको उहाँले जानकारी दिनुभयो ।

सो मैदानमा एक हजार पाँच सय बढी बाह्रसिङ्गाको झुण्ड एकै ठाउँमा रहेको ऐरले बताउनुभयो । उहाँका अनुसार ट्रान्जिट लाइन विधिबाट अनुगमनका लागि जेडएसएल नामक संस्थाले सहयोग गरिरहेको छ ।

“ड्रोन उडाएर अनुगमन गर्दा सबैभन्दा पहिला बाह्रसिङगाको तस्बिर लिने काम हुन्छ । कम्प्युटरको माध्यमबाट तस्बिरमा भएको सङ्ख्या यकिन गरिन्छ”, सूचना अधिकारी ऐरले भन्नुभयो, “त्यसपछि पोथी, भाले, वयस्क, बच्चा कति छन् भनेर विवरण तयार गर्छौं ।” बासस्थान सुधारका लागि प्रत्येक वर्ष घाँसेमैदान व्यवस्थापनको कार्य हुँदै आएकाले बाह्रसिङ्गाको अवस्था सन्तोषजक रहेको उहाँको भनाइ छ ।

ऐरका अनुसार सन् २०२२ मा गरिएको अनुगमनमा निकुञ्जमा दुई हजार तीन सय १३ बाह्रसिङ्गा थिए । “भालेको तुलनामा पोथिको सङ्ख्या बढी, बुढोभन्दा वयस्क र बच्चाको सङ्ख्या अधिक भए राम्रो मानिन्छ”, उहाँले भन्नुभयो, “यस वर्षको अनुगमनमा त्यसबारे पनि अध्ययन र अनुसन्धानमा जोड दिएका छौँ ।”

घाँसेमैदानमा झुण्डमा रहने बाह्रसिङ्गा पर्यटकको मुख्य रोजाइमा पर्ने गरेका छन् । मौसमअनुसार बाह्रसिङ्गाले रङ्ग र सिङ फेर्ने गर्दछ । निकुञ्जको तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रभित्रका घाँसेमैदान बाह्रसिङ्गाको बासस्थानका रुपमा रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।

अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकता : डा सापकोटा

काठमाडौँ, १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का परराष्ट्र मामिला सल्लाहकार डा रुपक सापकोटाले अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकता भएको बताउनुभएको छ ।

‘एसिया र विश्व ः समान चुनौती, साझा दायित्व’ नारामा चीनको हाइनान प्रान्तमा आयोजित बोआओ फोरममा नेपालका तर्फबाट आज सम्बोधन गर्दै उहाँले आर्थिक कूटनीतिका विविध प्राथमिकताबारे नेपालको धारणा राख्नुभएको हो ।

सो सम्बोधनमा उहाँले भन्नुभयो, “भूराजनीतिक द्वन्द्व, विश्व राजनीतिमा बढ्दो राजनीतिक ध्रुवीकरण र कमजोर सहकार्यलगायतले गर्दा नेपालको बहुपक्षीय एवं आर्थिक विषयमा अन्तर्राष्ट्रिय सहकार्य सोचेअनुसार अगाडि बढाउन कठिन भइरहेको छ ।”

सल्लाहकार डा सापकोटाले अतिकम विकसितबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुने नेपालको लक्ष्य, जलवायु परिवर्तनको प्रकोपलाई समयसापेक्ष सम्बोधन र नेपालको समग्र आर्थिक विकास एवं समृद्धि हासिल गर्न राखिएका लक्ष्यमा सघाउन अनुरोध गर्नुभयो ।

“विश्वले अहिले सामना गरिरहेको आर्थिक सङ्कट, ऊर्जा एवं खाद्य सङ्कट, जलवायु परिवर्तनको प्रभावजस्ता विश्वव्यापी मुद्दाहरूलाई सम्बोधन गर्न बोआओ फोरमजस्ता मञ्चहरू केन्द्रित हुनुपर्छ”, उहाँले भन्नुभयो, “पछिल्ला विश्वयापी सङ्कटका कारण नेपालजस्ता दक्षिण गोलाद्र्धका विकासोन्मुख मुलुकहरू अझ बढी मारमा परेका छन् ।”

विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा अध्यापन गराउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

मोरङ, १६ चैत : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विद्यार्थीलाई विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा अध्यापन गराउनुपर्ने बताउनुभएको छ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको स्वतन्त्र विद्यार्थी युनियनद्वारा क्याम्पसमा आज आयोजित पुरस्कार वितरण, सम्मान तथा स्वास्थ्य शिविरको उद्घाटन गर्नुहुँदै उहाँले वर्तमान अवस्थामा स्वदेश तथा विदेशलाई आवश्यक पर्ने प्रतिस्पर्धी दक्ष जनशक्ति उत्पादनमा ध्यान पुर्‍याउन सुझाव दिनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले अध्ययन र अनुसन्धानमार्फत लोक कल्याणको क्षेत्रमा नयाँ सिर्जना एवं आविष्कार गरी विश्वमा मुलुकको नाम राख्न विद्यार्थीलाई अनुरोध गर्नुभयो । उहाँले खाद्य सुरक्षा, जलवायु परिवर्तनको अनुकूलता र मुलुकको अर्थतन्त्र सबल बनाउने विषयमा विद्यार्थीले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “चिकित्सक, अर्थशास्त्री, उद्यमी, इन्जिनियरलगायत उत्पादन गर्ने भएकाले शिक्षालयको विकासका लागि सहमतिका आधारमा सङ्घीय सरकारले आवश्यक बजेट विनियोजन गर्नुपर्छ ।”

क्याम्पसका प्राचार्य रामावतार शरण, युनियनका सभापति जसवन्त पौडेललगायतले मुलुकलाई आवश्यक पर्ने जनशक्ति उत्पादनमा क्याम्पसले विशेष ध्यान दिएको उल्लेख गर्दै यसको समग्र विकासका लागि आवश्यक सहयोगको आग्रह गर्नुभयो ।

सो अवसरमा पूर्वराष्ट्रपति भण्डारीले विभिन्न खेलकुद प्रतियोगिताका विजयी खेलाडीलाई पुरस्कार वितरण गर्नुका साथै क्याम्पसमा स्वास्थ्य शिविर सञ्चालन गर्न सहयोग गर्ने विभिन्न अस्पताललाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

महोत्तरी कारागारको अवस्था अत्यन्त दयनीय, भवन जीर्ण

महोत्तरी, १६ चैत : महोत्तरी कारागारको अवस्था अत्यन्त दयनीय रहेको पाइएको छ । सङ्घीय संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिको कारागार अनुगमन उपसमितिका सदस्यले कारागार प्रशासनसहितको सहभागिता भएको अनुगमनमा महोत्तरी कारागारको अवस्था अत्यन्त दयनीय पाइएको बताएका छन् ।

समितिका सदस्यद्वय प्रतिनिधिसभा सदस्य नगिना यादव र गोमा लाभ सापकोटा, समितिको सचिवालयका अधिकृत प्रवीण राईसहितको टोलीले बिहीबार कारागारको अनुगमन गरेको थियो । प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख र कारागार प्रशासनको सहभागितामा अनुगमन गरिएको सांसद यादवले बताउनुभयो ।

“कारागारमा क्षमताभन्दा चौब्बर बढी कैदी÷थुनुवा राखिएका रहेछन्, सुत्न, बस्न निकै सकस रहेछ”, सांसद यादवले भन्नुभयो, “कोल्टे फेर्न पनि नपाइने गरी कैदी÷थुनुवा बसेका रहेछन्, कारागारको अवस्था अत्यन्त दयनीय देखियो ।” एक सय ३५ कैदी÷थुनुवा राख्ने क्षमताको कारागारमा अहिले पाँच सय ८४ जना रहेका कारागार प्रशासनले जनाएको छ । केही साता पहिले कैदीथुनुवाको सङ्ख्या ६ सय माथि रहेको अभिलेखले देखाएको उहाँले बताउनुभयो । कारागारमा पठनपाठन, खेलकुद र मनोरञ्जनको कुनै सुविधा छैन । औषधोपचार पनि चाहिएका बेला पाउन नसकिएको कैदी÷थुनुवाले बताएका सांसद यादवको भनाइ छ ।

पुरानो भवनका इँटा झर्ने, छत उप्केर टुक्रा झरिरहने क्रमले बसाइ जोखिमपूर्ण देखिएको अर्का सदस्य सापकोटाले बताउनुभयो । विसं १९१३ मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा निर्माण गरिएको भवनमा कारागार सञ्चालन छ ।

“जीर्ण भवन कतिबेर ढल्छ भन्ने त्रास जतिखेर पनि रहेछ, कतै पर्खालका इँटा झर्छन्, कतै छतको प्लास्टर उप्किएर झर्दो रहेछ छ”, सांसद सापकोटा भन्नुहुन्छ, “जतिखेर पनि कैदी÷थुनुवा त्रासमा रहने गरेका पाइयो ।” सरकारले सबैभन्दा पहिले सुरक्षित कारागार भवनको व्यवस्था गर्नुपर्ने सांसद सापकोटा बताउनुहुन्छ ।

कारागारमा दिसापिसाब र नुवाइधुवाइका लागि पालो पर्खनु पर्छ । सरसफाइको कमीले अधिकांश कैदी÷थुनुवामा चर्मरोगको समस्या छ । धनुषा जिल्लामा कारागार नहुँदा त्यहाँको चापले यहाँ कैदी÷थुनुवा बढेका कारागार प्रशासनले जनाएको छ । कूल कैदी÷थुनुवामध्ये ६० प्रतिशतभन्दा बढी धनुषाकै रहेका कारागार कार्यालयका सूचना अधिकारी रविनचन्द्र ठाकुर बताउनुहुन्छ । कारागारको जलेश्वरमा ६ बिघा ११ कट्ठा जग्गा भए पनि सो ठाउँमा नयाँ कारागार भवन निर्माण हुन सकेको छैन ।

एकीकृत समाजवादीः बागमती प्रदेशका पाँच जिल्ला अधिवेशन सम्पन्न

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले बागमती प्रदेशको सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, दोलखा र भक्तपुरको जिल्ला अधिवेशन सम्पन्न गरेको छ । प्रदेशका १३ जिल्लामध्ये बाँकी जिल्लामा आगामी वैशाख तेस्रो सातासम्म अधिवेशन सम्पन्न भइसक्ने जनाइएको छ ।

गत जेठ ६ गते सिन्धुली, जेठ २७ गते भक्तपुर, मङ्सिर ३० र ३१ गते दोलखा र यही चैत ३ र ४ गते काभ्रेको जिल्ला सम्मेलन सम्पन्न गरिएको हो । सिन्धुपाल्चोकमा पनि अधिवेशन सम्पन्न भइसकेको छ ।

सिन्धुपाल्चोकमा विनोद खनाल, भक्तपुरमा श्याम बस्नेत, सिन्धुली सूर्य पाख्रिन, दोलखामा भीम दाहाल, काभ्रेमा वसुन्धरा हुमागाईँको नेतृत्वमा गठित जिल्ला कमिटीले साङ्गठनिक विस्तार गर्दै आइरहेका छन् । काभ्रेमा अध्यक्ष र सचिव बाहेकका पदहरूमा प्रत्यक्ष विर्चान भएको थियो । त्यस्तै आगामी वैशाख १५ र १६ गते मकवानपुर जिल्ला सम्मेलनको मिति तोकिएको छ ।

यसैबीच पार्टीको १०औँ राष्ट्रिय महाधिवेशन केन्द्रित बैठकले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल सम्पन्न गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय ओलोकनगरमा जारी

बैठकमा सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा प्रस्तुत ‘समाजवादी कार्यक्रम’को प्रतिवेदनमा छलफल चलिरहेको छ । वैज्ञानिक समाजवादी व्यवस्थाको अवधारणा, त्यसको स्वरुप तथा संरचना, सामाजिक प्रभाव, आर्थिक रुपान्तरणका पक्ष, अन्तर्राष्ट्रिय अभ्यासलगायत विषयमा छलफल गरिएको छ । बैठकमा सो प्रस्तावमाथि छलफल सकिएपछि पार्टी उपाध्यक्ष डा बेदुराम भुसालले पार्टी विधान र महासचिव घनश्याम भुसालले साङ्गठनिक दस्तावेज प्रस्तुत गर्नुहुने पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिनुभयो ।

महाधिवेशनमा अध्यक्ष नेपालले राजनीतिक दस्तावेज, सम्मानित नेता खनालले समाजवादी कार्यक्रम, उपाध्यक्ष भुसालले पार्टी विधान र महासचिव भुसाललाई सङ्गठनात्मक प्रस्तावको मस्यौदा तयार गर्नेगरी जिम्मेवारी बाँडफाँट गरिएको थियो । पार्टीले आगामी जेठ ३ देखि ७ गतेसम्म राष्ट्रिय महाधिवेशन काठमाडौँमा गर्न तयारी तीव्ररूपमा थालेको छ ।

सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई मन्त्री शर्माको आग्रह

काठमाडौँ, १६ चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई आग्रह गर्नुभएको छ । नेपाल–इटाली चेम्बर अफ कमर्सको दशौँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले नेपालमा सूचना प्रविधि उद्योगमा लगानी गर्न अनुकूल वातावरण बनेको पनि स्पष्ट गर्नुभयो ।

“हामीले सूचना प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकताको रूपमा स्वीकार गर्दै यसमा लगानी खुला गरेका छौँ”, उहाँले भन्नुभयो, “नागरिक र राज्यका तथ्याङ्क सुरक्षालगायत राष्ट्रिय सार्वभौमिकतासँग जोडिएका क्षेत्रमा बाहेक सूचना प्रविधिका अन्य क्षेत्रमा वैदेशिक लगानीको वातावरण सिर्जना गर्न हामीले लगानीमैत्री नीति अघि बढाएका छौँ ।”

लगानीको वातावरण बनाउन सरकारले सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीको सीमा हटाएको, दर्ता, नवीकरणजस्ता आवश्यक प्रक्रिया अनलाइनबाटै गर्ने व्यवस्था गरिएको जानकारी दिँदै उहाँले अन्य देशको तुलनामा नेपालमा न्यून लागतमा आइटी कम्पनीहरू सञ्चालन गर्न सकिने र दक्ष जनशक्तिको उपलब्धता पनि पर्याप्त रहेको बताउनुभयो । “सरकारी तवरबाट सङ्ख्या ष्किन गर्न बाँकी नै रहेको भए पनि अहिले झण्डै एक लाख जति आइटी जनशक्तिले देशभित्रै बसेर सीप र सेवा विभिन्न मुलुकमा निर्यात गरिरहेको अवस्था छ”, उहाँले भन्नुभयो, “लगानीमैत्री नीति र कानुन तथा दक्ष जनशक्ति उपलब्धता आदिले आइटी उद्योगका लागि अनुकूल वातावरण भएकाले पनि म सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न विशेष आग्रह गर्न चाहन्छु ।”

मन्त्री शर्माले सरकार आगामी महिना हुने चौथो लगानी सम्मेलनको तयारीमा जुटेको जानकारी गराउँदै इटालीका लगानीकर्ताहरूलाई आकर्षित गर्ने कार्यक्रम बनाउन नेपाल–इटाली चेम्बर अफ कमर्सलाई आग्रह गर्नुभयो । “यहाँहरू जानकार नै हुनुहुन्छ, सरकार लगानी सम्मेलनको तयारीमा छ । अबको एक महिनापछि नेपालमा चौथो लगानी सम्मेलन हुँदैछ”, उहाँले भन्नुभयो, “यसमा धेरैभन्दा धेरै इटालीका लगानीकर्ताहरुलाई आकर्षित गरेर लगानी वृद्धिको वातावरण सिर्जना गर्न यो संस्थाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने सरकारको विश्वास रहेको छ ।” लगानी सम्मेलनलाई मध्यनजर गरी दर्जन बढी कानुनहरू तत्काल संशोधन गर्ने तयारी रहेको पनि मन्त्री शर्माले जानकारी दिनुभयो ।

सन् १९५९ अगस्ट ३१ मा नेपाल र इटालीबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि दुई मुलुकबीचको सम्बन्ध निरन्तर सुमधुर रहँदै आएको स्मरण गराउँदै उहाँले भूकम्पपछि इटालीले प्रदान गरेको सहायता र विशेषगरी सांस्कृतिक, वास्तु सम्पदा र ऐतिहासिक सम्पदाको पुनःनिर्माणको क्षेत्रमा पुर्याएको योगदानप्रति नेपाल सधैँ आभारी रहने तथा यो सहयोग दुई देशबीचको मित्रताको चिरस्थायी प्रतीकका रूपमा रहने विश्वास पनि व्यक्त गर्नुभयो ।

पछिल्लो समय नेपाल र इटलीबीच द्विपक्षीय व्यापारको राम्रो सम्भावना बढ्दै गएको उल्लेख गर्दै उहाँले निर्यात बढाउँदै व्यापार सन्तुलन कायम गर्नुपर्ने बताउनुभयो । नेपालमा अन्तर्राष्ट्रिय पर्यटक पठाउने देशमा पनि इटालियन अगाडि रहेको उल्लेख गर्दै मन्त्री शर्माले प्राकृतिक, सांस्कृतिक र साहसिक सबैखाले पर्यटनमा विश्वको आकर्षक गन्तव्यस्थल रहेको रूपमा रहेको नेपालमा पर्यटकको सङ्ख्या गुणात्मकरूपमा बढाउन आवश्यक रहेको बताउनुभयो ।

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिनेसम्बन्धी शर्त परिमार्जन गर्न स्वीकृति दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विकास आयोजनाका लागि प्रयोग हुने राष्ट्रिय वनको क्षेत्रफल र कटान हुने रुख सङ्ख्यामा फरक नपर्ने गरी राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिनेसम्बन्धी शर्त परिमार्जन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णयबारे आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिनुभएको हो । बैठकले चैते धानको न्यूनतम समर्थन मूल्यसमेत तोकेको उहाँले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा २०८०÷८१ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल रु दुई हजार सात सय सात २८ पैसा न्यूनतम समर्थन मूल्य तोकेको हो । साथै १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल एक हजार दुई सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गरेको हो ।

आव २०८१÷८२ को लागि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको ढाँचा र हिस्साबमोजिम अनुमानित राजस्व सात प्रदेशका लागि रु ७७ अर्ब ५० करोड, स्थानीय तहका लागि रु ७७ अर्ब ५० करोड र वित्तीय समानीकरण अनुदानको परिमाण सात प्रदेशको लागि रु ६० अर्ब स्वीकृत गर्ने र स्थानीय तहहरूका लागि रु ८८ अर्ब स्वीकृत गर्ने निर्णय बैठकले मन्त्री शर्माले जानकारी दिनुभयो ।

बैठकले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त तीन सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गर्ने र स्वास्थ्य तथा जनसङ्ख्या नेपाल स्वास्थ्य सेवाअन्तर्गत विभिन्न समूह–उपसमूहका ११ जना अधिकृतलाई सम्बन्धित समूह–उपसमूहको एघारौँ तहमा बढुवा गर्ने निर्णय गरेको थियो ।

बैठकले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा हरिप्रसाद लम्साललाई बढुवा गर्ने ,तथ्याङ्क नियमावली, २०८० स्वीकृत गर्ने र सरकारको आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णयसमेत गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

ल्हासा (चीन), १६ चैतः उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल– चीन सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न चिनियाँ पक्षसँग आग्रह गर्नुभएको छ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिष्ट पार्टी सिजाङ्ग स्वायत्त क्षेत्रका सचिव वाङ झुङहेङसँगको भेटमा उहाँले सीमा क्षेत्रका किसानलाई तिब्बतमा चरनको व्यवस्था मिलाउन, नेपाली ट्रक कन्टेनर चालकलाई तिब्बत प्रवेश पास उपलब्ध गराउन तथा नेपालको उच्च हिमाली क्षेत्रमा विद्युतीकरणका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।

बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यिसँगको भेटमा नेपाल–चीन परम्परागत १४ वटा नाका खुलाउने सहमति भएको उल्लेख गर्दै उहाँले त्यसका लागि सिजाङ्ग सरकारले सहजीकरण गर्ने विश्वास गर्नुभयो । “नेपाल–चीन सीमा क्षेत्र १४ वटा परमपरागत नाका सञ्चालन हुँदै आएको थियो । कोरोना महामारीपछि बन्द भयो । विदेशमन्त्रीसँगको भेटमा उक्त नाका खोल्ने समझदारी बनेको छ, अब सिजाङ्ग क्षेत्रले सहयोग गर्ने विश्वास व्यक्त गर्दछु”, उहाँले भन्नुभयो ।

नेपाल र चीनबीच सन् १०१२ मा भएको चरनसम्बन्धी सम्झौताअनुसार पुनः चरन सुविधा उपलब्ध गराउन आग्रह गर्नुभयो । नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई प्राथमिकता साथ अघि बढाउन आग्रह गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सीमावर्ती क्षेत्रमा विद्युतीकरणका लागि सहयोग गर्न अनुरोध गर्नुभयो । आगामी महिना नेपालमा आयोजना हुने लगानी सम्मलेनमा सिजाङ्ग सरकार, यहाँका लगानीकर्ता तथा व्यवसायीलाई आमन्त्रण गर्नुभयो । उहाँले काठमाडौँ–ल्हासा बस सेवा पुनः सञ्चालनको व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।

राजनीतिक परिवर्तन पछाडि नेपाल तीव्र आर्थिक विकासको यात्रामा रहेको जानकारी दिँदै उहाँले वर्तमान सरकार आर्थिक विकासलाई तीव्र बनाएर जनतालाई सुख दिन क्रियाशील रहेको बताउनुभयो । राजनीतिक परिवर्तन, व्यवस्था र सरकारको स्थायित्वका लागि जनताको विश्वास जित्न आवश्यक रहेको जनाउँदै उहाँले त्यसका लागि विकास जरुरी रहेको उल्लेख गर्नुभयो ।

चीनले नेपालको आर्थिक विकासमा गरेको सहयोगका लागि आभार प्रकट गर्दै उहाँले हरेक सङ्कटका बेला चीनले गरेको सहयोग बिर्सन नसकिने बताउनुभयो । बेइजिङमा चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी)का अध्यक्ष वाङ हुनिन तथा विदेशमन्त्री यीसँग द्विपक्षीय भेटवार्ता भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले उक्त भेटमा दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउनेबारेमा छलफल भएको जानकारी दिनुभयो ।

नेपाल एक चीन सिद्धान्तप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले नेपालमा चीनविरुद्ध कुनै गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । “यो प्रतिबद्धताप्रति नेपाल दृढ छ, यो अटुट छ, नेपालले चीनसँगको सम्बन्धलाई जहिले पनि प्राथमिकता दिएको छ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो । नेपाल र तिब्बतबीच लामो सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले नेपाल र चीन संस्कृतिक तथा व्यापारिक, भावनात्मक रहेको बताउनुभयो । दुई देशबीचको सम्बन्ध पञ्चशीलको सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै दुई देशबीच समस्यारहित सम्बन्ध हुनु खुसीको विषय भएको बताउनुभयो ।

भेटमा सचिव वाङले नेपाललाई आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपालमा पूर्वाधार विकास तथा ल्हासा–काठमाडौँ बस सेवा पुनःसञ्चालन गर्न सकारात्मक रहेको बताउनुभयो । चौधवटा परम्परागत नाका क्रमशः खुल्दै जानेमा विश्वस्त हुन आग्रह गर्दै उहाँले मौसमी अवस्थालाई हेरेर उचित निर्णय लिइने विश्वास दिलाउनुभयो । “अब १४ वटा नाका खुल्छन्, नेपाली ट्रक कन्टेनर चालकलाई पास उपलब्ध गराउन अध्ययन गर्ने, सडक सुरक्षाको प्रत्याभूति भएसँगै उक्त प्रक्रिया अघि बढ्छ”, उहाँले भन्नुभयो ।

सीमा क्षेत्रका बासिन्दालाई निर्वाध आवातजावतको व्यवस्थाका लागि आफूहरू सकारात्मक रहेको उहाँको भनाइ थियो । प्रतिनिधिमण्डलस्तरमा भएको सो वार्तामा नेपालका तर्फबाट चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, लाह्सास्थित नेपाली महावाणिज्यदूत नवराज ढकाल, बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुरेन्द्रकुमार यादव, उपप्रधानमन्त्रीका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठलगायत हुनुहुन्थ्यो ।

वार्तामा चीनका तर्फबाट चिनियाँ कम्युनिष्ट पार्टी सिजाङ्ग क्षेत्रका उपसचिव यान जिन्हाई, अर्का उपसचिव चेन योङक्वी, सिझाङ कमिटीका स्थायी समिति सदस्य दावा सीरेनलगायत उच्चपदस्थ अधिकारी सहभागी हुनुहुन्थ्यो ।

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

पर्वत, १६ चैत : सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको हुने गरेको पाइन्छ । पर्वतमा भने १२ वर्षीय एक छात्र बिहीबारदेखि सञ्चालित एसइई परीक्षामा सहभागी भएका छन् ।

दक्षिण पर्वतको पैंयुँ गाउँपालिका–४ मा रहेको जनसेवा संस्कृत माध्यमिक विद्यालय केन्द्रबाट १२ वर्षीय शक्ति अधिकारीले एसइई दिनुभएको हो । उहाँ सोही गाउँपालिका–६ सरौखोलास्थित विनु माविमा अध्ययनरत विद्यार्थी हुनुहुन्छ ।

अधिकारी पर्वतबाट एसइई दिने विद्यार्थीमध्ये सबैभन्दा कम उमेरको रहेका जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख उद्धिमराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार २०७८ सालभन्दा अघि एसइई दिने पाउने उमेरको हद १५ वर्ष थियो । विसं २०७८ मा शिक्षा नियमावलीअनुसार एसइई दिने परीक्षार्थीको उमेर हदबन्दीमा उक्त व्यवस्था परिवर्तन गरिएपछि कम उमेरका विद्यार्थीले पनि दिन पाउने भएको पौडेलले बताउनुभयो ।

विनु मावि सरौखोलाका प्रधानाध्यापक खगेन्द्र तिवारीले एसइईको फारम भर्दा पनि सोही जन्ममिति रहेकाले विद्यार्थीले सानै उमेरदेखि पढेका बताउनुभयो । कम उमेरदेखि नै विद्यालय गएकाले अधिकारीले १२ वर्षमै एसइई दिन सफल भएका उहाँको भनाइ छ ।

तिवारीका अनुसार अधिकारीले पहिला निजी विद्यालयमा पढ्नुभएको थियो । यहाँ पढ्न आउँदा उहाँ कक्षा कक्षा ८ मा भर्ना हुनुभएको उहाँले बताउनुभयो । निजी विद्यालयबाट सामुदाकि विद्यालयमा आउँदा कक्षा परिवर्तन गरेकाले पनि चाँडो एसइई दिएको हुनसक्ने तिवारीको भनाइ छ ।

यसैगरी, सोही विद्यालयबाट जिल्लामै सबैभन्दा बढी उमेरका अर्का परीक्षार्थीले पनि एसइई परीक्षामा सहभागी हुनुभएको छ । विद्यालयका नियमित छात्र ४० वर्षीय दुर्गाप्रसाद भुर्तेलले जनसेवा संस्कृति मावि केन्द्रबाट परीक्षा दिनुभएको हो ।

कक्षा सातसम्म पैंयुँ–५ क्यामुनेभन्ज्याङ माविमा अध्ययन गर्नुभएका भुर्तेल कक्षा ८ मा विनु माविमा भर्ना हुनको थियो । उहाँ नियमित विद्यालयमा हाजिर भएरै कक्षा लिइरहने विद्यार्थी रहेको विद्यालयका प्रअ तिवारीले बताउनुभयो । कक्षा ७ सम्म अध्ययन गरेपछि बीचमा छुटेर पुनः विद्यालय भर्ना भएकाले जिल्लामै सबैभन्दा बढी उमेरको विद्यार्थीमा भुर्तेल देखिनुभएको तिवारीले बताउनुभयो ।

पर्वतका १७ परीक्षा तोकिएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । जिल्लाभर शान्तपूर्वक परीक्षा भइरहेको भन्दै विगतका वर्षभन्दा यस वर्ष थप मर्यादित रहेको पाइएको कार्यालय प्रमुख उद्धिमराज पौडेलले बताउनुभयो ।

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ को आठ महिना अवधिमा जथाभावी फोहोर फाल्नेबाट रु ११ लाख ६५ हजार नौ सय जरिवानाबापत राजस्व सङ्कलन गरेको छ । जथाभावी फोहर फाल्ने व्यक्ति तथा संस्था गरी तीन सय ८० जनामाथि महानगरले कारबाही गरेको हो ।

महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सरफुद्दिन मियाँका अनुसार गत २०७९ पुस १७ गतेदेखि जरिवानाको नियम लागु भएकोमा हालसम्म नौ सय जना कारबाहीमा परिसकेका छन् । महानगरले रु २७ लाख दुई हजार छ सय पाँच जरिवानाबापत राजस्व सङ्कलन गरिसकेको छ ।

“घर, पसल र कार्यालयबाट निस्किने फोहर जथाभावी फाल्ने प्रवृत्ति छ”, सरसफाइ शाखा प्रमुख मियाँले भन्नुभयो, “त्यो प्रवृत्ति निरुत्साहित गर्न हामीले जरिवाना गर्न थालेका हौँ ।” अभियानलाई प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने महानगरको योजना छ ।

सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरको ३२ वटै वडामा तीन चरणमा नियमित सफाइ हुँदै आएको छ । वर्षायाम सुरु हुनुअघि महानगरपालिकाभित्रका सबै साना ठूला नाला सफा गरिसक्ने प्रमूख मियाँले बताउनुभयो ।

“मेयर साबको मुख्य चाहना सफा, सुन्दर र वैभव वीरगञ्ज बनाउने हो”, प्रमुख मियाँले भन्नुभयो, “त्यही योजनाअनुसार बिहान, दिउँसो र राति गरी तीन चरणमा नाला र सडक सफाइ गरिरहेका छौँ, तर सरसफाइ कर्मचारी हटाइएकाले समस्या भएको छ ।”

केही वर्षअघिसम्म वीरगञ्ज महानगर दुर्गन्धित नगरका रुपमा चिनिन्थ्यो । वीरगञ्जलाइ सफा महानगर बनाउने लक्ष्यका साथ योजना अघि बढाइएपछि अहिले सफा र सुन्दर देखिन थालेको छ । तर बजेट अभावको कारण सरसफाइ गर्ने कर्मचारी हटाएपछि चुनौती थपिएको प्रमुख मियाँको भनाइ छ ।

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशमा उत्पादित पोसाक लगाउने व्यवस्था गर्न सरकारले सोच बनाएको बताउनुभएको छ ।

नेपाल उद्योग तथा व्यवसायी महासङ्घद्वारा ललितपुरको महालक्ष्मी नगरपालिकामा आयोजित ‘विद्यमान व्यावसायिक समस्या तथा समाधान विषयक’ अन्तरक्रियामा उहाँले नेपाली पोसाकको प्रयोग पहिलो चरणमा सबै मन्त्रीहरुले गर्ने बताउनुभयो ।

वर्तमान सरकार स्वदेशी उत्पादन बढाउने ध्येयका साथ लागेको उल्लेख गर्दै मन्त्री भण्डारीले भन्नुभयो, “हप्तामा दुई दिन नेपाली कोट, पाइन्ट, जुत्ता, टोपी शिरदेखि पाउसम्म राज्यका सबै निकायमा उपभोग गर्ने नीति हामी ल्याउँदैछौँ, पहिला सबै मन्त्री त्यसपछि सांसद र स्थानीय तहका जनप्रतिनिधिले लगाउने छन् ।”

उहाँले नेपाली बजारमा स्वदेशी उत्पादनको क्षमता अध्ययन गरी सोहीअनुसार बजार वृद्धि गरेर राज्यका हरेक निकायमा सो पोसाक लगाउन अनिवार्य गरिने बताउनुभयो । “नेपाली उद्योगले दिन सक्छन् कि सक्दैनन् पहिला विस्तृत रुपमा उत्पादनको अवस्था अध्ययन गरेर त्यसपछि उत्पादनमा प्रोत्साहन गरिने छ”, उहाँले भन्नुभयो ।

नेपाली बजारमा निर्यातभन्दा आयात उच्च रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले सरकार निर्यात प्रवद्र्धनमा केन्द्रित हुने बताउनुभयो । सरकारको मुख्य अहिलेको धेय जनतामा उत्पन्न भएको निरासालाई आशामा बदल्ने रहेको उहाँको भनाइ थियो । सरकारले अघि सारेको उत्पादन वृद्धिका लागि ‘स्टार्ट अप’ नीति कार्यक्रमलाई केही दिनभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको उहाँले जानकारी गराउनुभयो ।

‘प्रधानमन्त्री स्वदेशी उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’ आगामी आर्थिक वर्षबाट प्रभावकारी बनाउने गरी अर्को मन्त्रिपरिषद् बैठकबाट कार्यविधि पारित गरेर नेपालका स्वदेशी वस्तु उत्पादनमा अभिपे्ररित गर्न अगाडि बढाइने उहाँले जानकारी गराउनुभयो । नेपाली वस्तुले बजार नपाएको सन्दर्भ उल्लेख गर्दै उहाँले उद्योग मन्त्रालयबाट निर्यातमुखी व्यवसाय सञ्चालनका लागि आवश्यक तालिम तथा सीपको व्यवस्था गरिने बताउनुभयो ।

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका–७ रामकोट घर भई काठमाडौँ कीर्तिपुर नगरपालिका–२ बस्ने २७ वर्षीय किशोर गिरी, धादिङ धुनिबँेसी नगरपालिका–७ घर भई भक्तपुर सल्लाघारी बस्ने २७ वर्षीय प्रवीन गिरी र काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–२ घर भई भक्तपुरको भक्तपुर नगरपालिका–६ बस्ने ३० वर्षीय रमेश गिरी रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाडी र मोटरसाइकल भन्सार छली तथा चोरीपैठारी गरी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यसैगरी, भक्तपुरका विभिन्न स्थानमा गाडी र मोटरसाइकल भन्सार छली चोरीपैठारी गरी भारतबाट नेपाल ल्याई ड्राइभिङ सेन्टरमा प्रयोग गरेको पाइएकाले एक थान गाडी र दुई थान मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको सूचना अधिकारी पोखरेलले जानकारी दिनुभयो ।

दक्ष जनशक्तिले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव : मन्त्री यादव

महेन्द्रनगर (धनुषा), १६ चैत : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले दक्ष जनशक्तिले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव भएको बताउनुभएको छ । उहाँले गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रतिबद्ध हुन आग्रह गर्नुभयो ।

जनकपुरधाममा आज मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको प्रादेशिक अस्पतालमा नवनिर्मित बर्थिङ सेन्टरको उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री यादवले गुणस्तरीय स्वास्थ्य सेवाका लागि भौतिक संरचनाको निर्माण र प्राविधिक व्यवस्थापन समेत आवश्यक भएको बताउनुभयो । उहाँले चिकित्सकलाई प्रतिबद्धताका साथ सेवामा जुट्न निर्देशन दिनुभयो ।

उपप्रधानमन्त्री यादवले भन्नुभयो, “सरकारले भौतिक पूर्वाधार र दक्ष जनशक्ति व्यवस्थापन गर्छ, गुणस्तरीय सेवाका लागि प्रतिबद्धता देखाउने जिम्मेवारी मिथिलावासीको हो । मिथिलावासीले प्रमाणित गरेर देखाउनुपर्दछ ।” मधेस प्रदेश छिट्टै स्वास्थ्यको क्षेत्रमा फड्को मार्ने विश्वास व्यक्त गर्दै उहाँले जनकपुरधाम, राजविराज र वीरगञ्जमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम भइरहेकोे बताउनुभयो । करिब रु १४ करोडको लागतमा निर्मित ७५ शय्याको बर्थिङ सेन्टरको शिलान्याससमेत उपप्रधानमन्त्री यादवले नै गर्नुभएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा अङ्कुर साहको अध्यक्षतामा भएको उक्त समारोहमा मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह, ऊर्जा, खानेपानी तथा सिँचाइमन्त्री सिंग्घासन सा कलवार, राज्यमन्त्री केशव राय चौधरी, सङ्घीय स्वास्थ्य सचिव डा रोशन पोखरेल, अमेरिकी राजदूत डिनआर थमसन, प्रदेशका स्वास्थ्य सचिव डा प्रमोद यादव, प्रादेशिक अस्पतालका निर्देशक रामनरेश पण्डितलगायतको उपस्थिति रहेको थियो ।

प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्ने प्रधानमन्त्री प्रचण्डको विश्वास

काठमाडौँ, १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हुने समस्यालाई समाधान गरिने बताउनुभएको छ ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदनमाथि राष्ट्रियसभाका सदस्यले उठाउनुभएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री दाहालले प्रदेश तथा स्थानीय तहलाई आवश्यकपर्ने कर्मचारी सधैँ अभाव हुने, कर्मचारीको सरुवा प्रणाली व्यवस्थित नहुँदा काम कारबाहीमा बाधा परिरहेकोलगायत विषय समाधान गरिने बताउनुभयो ।

“कार्यविस्तृतीकरणको प्रतिवेदन तयार भएपछि तहगत अन्तरसम्बन्ध, अधिकार क्षेत्रको बाँडफाँट तथा अन्तर तह समन्वयका बारेमा यहाँ छलफलमा उठेका विषय, कार्यसम्पादनमा देखिएका समस्या तथा अस्पष्टता अन्त्य हुने र यो सङ्घीय प्रणाली कार्यान्वयनको कोशेढुङ्गा सावित हुनेछ”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

प्रदेश र स्थानीय तहबीच वा प्रदेशभित्रका एकभन्दा बढी जिल्लाभित्रका स्थानीय तहबीचको समन्वय तथा अन्तरसम्बन्धलाई व्यवस्थित गर्न मुख्यमन्त्रीको संयोजकत्वमा रहेको प्रदेश समन्वय परिषद् एवं विषयगत समितिका बैठकलगायतका अभ्यास भएको प्रधानमन्त्री दाहालले जानकारी दिनुभयो । उहाँले संविधानअनुरुप सङ्घीयता कार्यान्वयन गर्न आवश्यक कानुनी, नीतिगत तथा संरचनागत विषय पहिचान भएको बताउनुभयो ।

राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्मन्न हुन्छन् : प्रधानमन्त्री

काठमाडौँ, १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी आयोजना र पहिलो प्राथमिकता प्राप्त ठूला आयोजना समयमै सम्पन्न हुने अवस्था सिर्जना गरिने बताउनुएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदनमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री दाहालले ठूला आयोजनामा भएका कामकारबाहीको नियमित अनुगमन गरेर निर्धारित लागत र समयसीमा भित्रै आयोजना सम्पन्न हुने सुनिश्चित गरिने बताउनुभयो । ठूला आयोजना कार्यान्वयनको अनुगमनका लागि छुट्टै निर्देशिका जारी गर्ने तयारी भएको जानकारी दिँदै उहाँले अनुगमन गरी प्राप्त पृष्ठपोषणलाई तत्काल कार्यान्वयन गर्ने व्यवस्था मिलाइएको स्पष्ट पार्नुभयो ।

सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ मा संशोधन गरेर नीति कार्यक्रम र बजेट प्रस्तुत गर्ने समयावधि परिवर्तन गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रममा पर्याप्त छलफल गर्ने समय हुने र सोही आधारमा बजेट प्रस्ताव गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । विकास आयोजना निर्माण, बजेट विनियोजन तथा कार्यान्वयनका क्रममा तीन तहबीच उचित समन्वय हुन नसक्दासमेत कतिपय समस्याहरु सिर्जना भएको जिकिर गर्दै उहाँले सङ्घ, प्रदेश तथा स्थानीय तहमा सञ्चालन हुने आयोजनाको वर्गीकरणको आधार तथा मापदण्ड निर्धारण गर्ने उद्देश्यले आयोजना वर्गीकरणको आधार तथा मापदण्ड निर्देशिका, २०८० जारी गरिएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षमा तीन तहबीच राजस्व बाँडफाँटका सूचक पुनरावलोकन गर्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्य प्रारम्भ गरेको जानकारी दिनुभयो । “वित्त आयोगले सरकारलाई पाँच वर्षका लागि राजस्व बाँडफाँटसम्बन्धी सिफारिस गरेबमोजिम काम भइरहेको छ”, उहाँले भन्नुभयो, “यसबीचमा तीन तहबीच राजस्व बाँडफाँटका सम्बन्धमा उठेका विभिन्न सवाल र अनुभवसमेत समेटेर विद्यमान मापदण्डलाई थप वस्तुनिष्ठ, व्यावहारिक एवं वैज्ञानिक बनाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा १५ बमोजिम आगामी आर्थिक वर्षमा बाँडफाँटका सूचक पुनरावलोकन गर्न आयोगले कार्य प्रारम्भ गरिसकेको छ ।”

स्रोतको न्यायोचित वितरण सुनिश्चित गरिने

प्रधानमन्त्री दाहालले आगामी दिनमा तीन तहबीच स्रोतको न्यायोचित वितरण सुनिश्चित हुने उल्लेख गर्दै तहगत सरकारबीच प्राकृतिक स्रोतको बाँडफाँट तथा उपयोगका सन्दर्भमा देखिएका विवाद समाधान गर्न प्राकृतिक स्रोत परिचालनसम्बन्धी एकीकृत कानुनको मस्यौदा कार्य अगाडि बढाइएको बताउनुभयो ।

वित्तीय सङ्घीयतालाई थप सुदृढ गर्न सरकारले गम्भीरतापूर्वक कार्य अघि बढाएको बताउँदै प्रधानमन्त्री दाहालले यसै साता वित्तीय सङ्घीयताका क्षेत्रमा अवलम्बन गरिएका अभ्यासलाई संविधानको मर्मअनुरूप सुदृढ गर्न राष्ट्रिय समन्वय समिति एवं राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा छलफल गरिएको जानकारी गराउनुभयो ।

“प्रदेश र स्थानीय तहमा गरिने वित्तीय हस्तान्तरणसम्बन्धी कार्य थप प्रभावकारी समन्यायिक र सन्तुलित बनाउँदै लगिनेछ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “हाल प्रदान गरिँदै आएका चार प्रकारका अनुदानमध्ये समानीकरण अनुदानलाई क्रमशः वृद्धि गर्ने, सःशर्त अनुदानलाई घटाउँदै जाने नीति सरकारले लिनेछ । समपूरक र विशेष अनुदानलाई समेत थप प्रभावकारी बनाउँदै लगिनेछ ।”

तीन तहबीच राजस्वको अधिकारका सम्बन्धमा सङ्घीयता कार्यान्वयनका लागि गठन भएका विभिन्न उच्चस्तरीय संरचनाको नियमित बैठकमा आएका सुझावसमेत ध्यानमा राखेर वित्तीय सङ्घीयतालाई प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पहल भइरहेको प्रधानमन्त्री दाहालको भनाइ थियो । उहाँले भन्नुभयो, “हाल प्रचलित अन्तरसरकारी वित्त व्यवस्थापन ऐनलाई समसामयिक बनाउन संशोधनको प्रक्रियासमेत अघि बढेको छ । यसले तीन तहबीच राजस्व बाँडफाँटमा देखिएका विद्यमान समस्या समाधान गर्नेछ ।”

प्रधानमन्त्री दाहालले सङ्घीयताको मूल मर्म तीनवटै तहबीच अधिकार र स्रोतको समन्यायिक अभ्यास र वितरण भएको उल्लेख गर्दै तहगत अन्तरसम्बन्ध र समन्वयसँग जोडिएका समस्या सम्बोधन नगरी सङ्घीयताको सही अभ्यास गर्न नसकिने बताउनुभयो । सङ्घीयता कार्यान्वयनलाई सरकारले गम्भीरतापूर्वक लिँदै अन्तरप्रदेश समन्वय तथा कार्यविस्तृतीकरणका विषय टुङ्ग्याउने र राष्ट्रियसभाको सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका निर्देशन कार्यान्वयनमा रहेको प्रधानमन्त्री दाहालले जानकारी गराउनुभयो ।

सङ्घीय प्रणालीलाई व्यवस्थित तथा सुदृढ गर्न आवश्यक ऐन तर्जुमा गर्ने विषयमा सरकार गम्भीर रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले संविधान जारी भएपछि सङ्घीयता र मौलिक हकलाई कार्यान्वयन गर्न १९२ नयाँ ऐन जारी भई सोअन्तर्गत नियमावलीसमेत तयार भई कार्यान्वयनमा रहेको जानकारी दिनुभयो ।

एक्काइस विधेयक पेस गर्ने तयारी

प्रधानमन्त्री दाहालले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सहमति दिएका तर सङ्घीय संसद्मा पेस हुन बाँकी विधेयकको सङ्ख्या २१ रहेका जानकारी दिनुहुँदै सात विधेयक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा तर्जुमा सहमतिका क्रममा रहेका स्पष्ट गर्नुभयो ।

प्रहरी समायोजन ऐनको कार्यान्वयनका लागि आवश्यक रहेको सङ्घीय प्रहरीसम्बन्धी विधेयक, सार्वजनिक खरिद ऐन, जग्गा प्राप्तिसम्बन्धी ऐन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तुसम्बन्धी ऐन, भूमिसँग सम्बन्धित ऐनमा संशोधनसम्बन्धी विधेयक तर्जुमाको अन्तिम चरणमा रहेको प्रधानमन्त्री दाहालले बताउनुभयो ।

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

भद्रपुर (झापा), १६ चैतः उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति हुनेगरी काम गर्न मातहतका सबै निकायलाई निर्देशन दिनुभएको छ । जिल्ला प्रशासन कार्यालय झापामा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूसँग जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिँदै कागजमा भन्दा पनि परिणाम देखिने गरी काम गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको हो ।

उपप्रधानमन्त्री लामिछानेले लागुऔषध दुव्र्यसनलगायतका समाजमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा प्रभाव पार्नेजस्ता विषयमा सुरक्षा निकाय निर्मम भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले जिल्लाका सुरक्षा निकायलाई भन्नुभयो, “गैरकानुनी प्रकृतिका कुनै पनि आदेशहरू अस्वीकार गर्नु तथा गल्ती गर्ने जुनसुकै दलको भए पनि नछोड्नु ।”

गृहमन्त्री लामिछानेले आफू हिजोका दिनमा जवाफ माग्ने ठाउँमा रहेको तर आज जवाफ दिने ठाउँमा आइपुगेकाले देशमा जवाफदेहिताको प्रवर्द्धनमा सदैव ध्यान दिने पनि बताउनुभयो ।

झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जिल्लाको सुरक्षा स्थिति र चुनौती एवं गरिएका प्रयासलगायतका विषमा गृहमन्त्री लामिछानेलाई जानकारी गराउनुभएको थियो ।

बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौँ, १६ चैत : बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक बनाइराख्ने काममा संलग्न थप एकजना बङ्गलादेशी नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा यासिर अहमद भनिने एमडी यासिर बङ्गला रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार निजलाई काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलबाट हिजो बिहीबार पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।

पक्राउ परेका निज बङ्गलाले बङ्गलादेशी नागरिकहरूलाई युरोपका विभिन्न देशमा वैदेशिक रोजगारीमा पठाउने विश्वास दिलाई बङ्गलादेशबाट नेपाल ल्याई काठमाडौँ महानगरपालिका–१६ पकनाजोलस्थित निभाना ग्रिन पिस होम नामक होटलको कोठामा राखी पीडितहरूको पासपोर्ट नियन्त्रणमा लिएर बन्धक बनाइराखेको पोखरेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पक्राउ परेका बङ्गलालाई अपहरण तथा शरीर बन्धक कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।”

राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण

काठमाडौँ, १६ चैत ः राष्ट्रपति रामचन्द्र पौडेलले आज अनुगमन तथा मूल्याङ्कन व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ । सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएको उक्त विधेयक राष्ट्रपतिले आज प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ

“सङ्घीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणको लागि पेस हुन आएको नेपालको संविधानको धारा १२३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गर्नुभएको छ”, राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

छोरी–बुहारीलाई निःशुल्क स्नातक पढाएर रोजगारी दिँदै सूर्योदय नगरपालिका

इलाम, १६ चैत: सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक पढाएको नगरपालिकाले रोजगारी पनि दिन्छ भन्ने लागेको थिएन । “कक्षा १२ पास भएपछि कसरी ब्याचलर पढ्ने भन्ने चिन्ता थियोे । नगरपालिकाले पढायो”, शाहले भन्नुभयो, “जागिरको खोजीमा थिएँ, पालिकाले नै शिक्षकको जागिर दिएको छ । आजदेखि पढाउन थालेँ ।” बिहीबारदेखि महेन्द्रोदय विद्यालयमा अध्यापन सुरु गरेको उहाँले सुनाउनुभयो ।

शाह मात्र होइन नगरपालिकाको शतप्रतिशत छात्रवृत्तिमा स्नातक उत्तीर्ण गरेकाले बिहीबारदेखि रोजगारी पाएका छन् । ‘नगरको इच्छा,छोरीबुहारीलाई शिक्षा’ नाराका साथ कर्फोक क्याम्पसमा निःशुल्क स्नातक पढाइ सुरु भएको पाँच वर्ष भयो । “हालसम्म एक सय ५३ छोरीबुहारीले स्नातक तहको अध्ययन गरिसकेका छन् भने तीमध्ये २३ जनाले उत्तीर्ण गरेका छन्”, नगरप्रमुख रणबहादुर राईले भन्नुभयो, “उत्तीर्ण भएकालाई नगरपालिकामा रोजगारी दिन निवेदन माग गरेकोमध्ये १५ जनाको आवेदन प्राप्त भयो । उहाँहरुलाई बिहीबारदेखि एक सय दिनको रोजगारीका लागि यहाँका विभिन्न विद्यालय र अन्य कार्यालयमा खटाइएको छ ।”विद्यार्थीले पढेको विषय र उनीहरूको योग्यताअनुसार नगरपालिकाले रोजगारी दिएको हो । दुई जनालाई वडा कार्यालय, एक जनालाई नगरको शिक्षा, युवा तथा खेलकुद शाखा, एक जनालाई प्रसूति तथा बाल क्लिनिक र बाँकी सबैलाई विभिन्न विद्यालयमा खटाइएको छ । उनीहरूले खटाइएका ठाउँमा सय दिन काम गर्नेछन् । नगरप्रमुख राईले छात्रवृत्तिमा स्नातक उत्तीर्ण महिलालाई प्रोत्साहन गर्न छोटो समयका लागि भए पनि रोजगारी दिइएको बताउनुभयो । “बुहारीलाई पनि पढाउनुपर्छ भन्ने सोच विकास गर्न नगरपालिकाले यो कार्यक्रम ल्याएको हो”, प्रमुख राईले भन्नुभयो, “छात्रवृत्तिमा अध्ययन गरेका छोरीबुहारीलाई थप प्रोत्साहन गर्न र उनीहरूका माध्यमबाट अरू छोरीबुहारीलाई पनि पढाइमा हौसला थप्न रोजगारीको कार्यक्रम ल्याइएको छ ।” राईले रोजगारीको अवसर छोटो समयका लागि भए पनि उनीहरूलाई थप सिकाइ र क्षमता प्रस्फुटनमा सहयोग गर्न सहयोगी बन्ने बताउनुभयो । “स्नातक गरेका छोरीबुहारीलाई रोजगारीका कार्यक्रमले थप मद्दत पुग्नेछ”, उहाँले भन्नुभयो, “उनीहरूको दक्षता र क्षमताबाट नगरपालिकाले पनि सहयोग पाउने छ ।”नगरपालिकामा बसोवास गर्ने परिवारका छोरी र यहाँ विवाह भएर आएका बुहारीलाई नगरपालिकाले छात्रवृत्तिमा स्नातक अध्ययन गराइरहेको नगरप्रमुख राईले बताउनुभयो । “कानुनीरुपमा उमेर पुगे पनि २०–२२ वर्षका छोरीहरु विवाह होइन पढाइप्रति नै ध्यान दिनुपर्छ । उनीहरुलाई पढाइप्रति नै आकर्षित गर्नुपर्छ भनेर यो कार्यक्रम कार्यक्रम कार्यान्वयन गरिएको हो ।”नगरका शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले शिक्षा, मानविकी, व्यवस्थापन, कम्प्युटरलगायत विद्यार्थीको जुन विधामा योग्यता छ, त्यसैमा रोजगारी दिइएको बताउनुभयो । “कलेजमा पढेको विषयसँग सम्बन्धित मात्र होइन, जोसँग जे क्षमता छ, त्यसैअनुसार काम विभाजन गरेका छौँ ।” उहाँले भन्नुभयो । यस वर्ष यहाँ छात्रवृत्तिमा अध्ययन गर्ने छोरीबुहारीको सङ्ख्या दुई सय पुगेको करफोक क्याम्पस प्रमुख गोपाल कट्टेलले बताउनुभयो । नगरपालिकाबाट छात्रवृत्ति पाएका छोरीबुहरी करफोक क्याम्पसमा विविध विषयमा अध्ययन गरिरहेका छन् ।क्याम्पस प्रमुख कट्टेलले नगरपालिकाको छात्रवृत्ति कार्यक्रमका माध्यमबाट ग्रामीण भेगका छोरीबुहारीले क्याम्पस पढ्न पाएका बताउनुभयो । “आर्थिक अवस्था सबल नभएका गाउँका छोरीबुहारीलाई छात्रवृत्ति कार्यक्रमले क्याम्पससम्म ल्याएको छ”, उहाँले भन्नुभयो, “छात्रवृत्तिमा अध्ययन गर्न पाउने र थप सय दिनको रोजगारी पनि हुने भएपछि छात्राहरूलाई प्रोत्साहन मिलेको छ ।” करफोक क्याम्पसमा छात्रवृत्ति पाएका विद्यार्थीले बिबिए, बिबिएच र बिएड अध्ययन गरिरहेका छन् । स्नातक तह उत्तीर्ण गरेकामध्ये धेरैजसो स्नात्तकोत्तर अध्ययन गर्न जिल्ला बाहिर रहेकाले १५ जनाले मात्र सय दिनको रोजगारी लिएका नगरपालिकाको शिक्षा शाखा प्रमुख भट्टराईले बताउनुभएको छ ।शिक्षा क्षेत्रमा नगरपालिकाले गरेको लगानी परिणाममुखी भएको विद्यार्थीले बताएका छन् । गोर्खेकी सुजता बजगाईंलाई २०७४ सालमा कक्षा १२ उत्तीर्ण गरेपछि कसरी स्नातक गर्ने भन्ने चिन्ता थियो तर उहाँलाई नगरपालिकाले पढायो । गाउँकै हिमालय माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गर्नुभएकी सुजता ‘नगरको इच्छा छोरीबुहारीलाई शिक्षा’ कार्यक्रमअन्तर्गत पालिकाको शतप्रतिशत छात्रवृत्तिमा नै स्नातक उत्तीर्ण हुनुभयो । हाल उहाँ स्नात्तकोत्तर अध्ययन गरिरहनुभएको छ । “परिवारको सामान्य आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययनमा धेरैलाई समस्या छ”, सुजताका बुबा प्रेमले भन्नुभयो, “हाम्रो नगरपालिकाले छोरीबुहारीलाई स्नातक तहमा पढाइरहेको छ, पैसाको अभावमा पढाइ छोड्नुपर्ने, पढाइ छोडेकै कारण कम उमेरमा विवाह गर्नुपर्नेलगायत समस्याबाट मुक्त हुन पालिकाको यो काम उदाहरणीय मात्र होइन प्रशंसनीय छ ।”

छ करोडको लागतमा म्याग्दे गाउँपालिकाको प्रशासकीय भवन निर्माण

दमौली (तनहुँ), १६ चैत: तनहुँको म्याग्दे गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ । म्याग्दे गाउँपालिका–४ नारिङ्गेमा रु छ करोडको लागतमा भवन निर्माण भएको हो ।

गाउँपालिकाले बिहीबारदेखि नयाँ भवनबाट सेवा प्रवाह गरेको छ । आगामी वैशाख ३ गतेपछि मात्र गाउँपालिकाको सम्पूर्ण सेवा नयाँ भवनबाट प्रवाह गरिने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले राससलाई जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति तनहुँको कोषमार्फत प्राप्त भएको रकम र आन्तरिक स्रोतबाट भवन निर्माण गरिएको हो । सात वडा रहेको गाउँपालिकाका सबै वडा कार्यालयका आफ्नै भवन छन् । जिल्लाका व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिकाका पनि आफ्नै भवन छन् ।

पत्रकार महासङ्घको ६९ औँ स्थापना दिवसको सभामुखद्धारा शुभकामना

काठमाडौँ, १६ चैत: प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासङ्घको ६९ औँ स्थापना दिवसको अवसरमा सम्पूर्ण सञ्चारकर्मीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

“देशैभर र विश्वका विभिन्न स्थानमा छरिएर रहेका महासङ्घका सदस्यसहित आमनेपाली सञ्चारकर्मी र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु,”सभामुख घिमिरेले आज शुभकामना सन्देश जारी गरेर भन्नुभएको छ ।महासङ्घको स्थापनाकालदेखि आजसम्म आइपुग्दा विभिन्न कालखण्डमा नेतृत्व प्रदान गर्ने अग्रजहरूप्रति सम्मान प्रकट गर्दै सन्देशमा उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लडाइँका तथा कर्तव्य निर्वाहका क्रममा जीवन गुमाउनुभएका पत्रकारप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने सेती लोकमार्ग द्रुत गतिमा निर्माण हुनुपर्ने माग

बाजुरा, १६ चैत: बाजुरा जिल्ला सभाले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने सेती लोकमार्ग दु्रत गतिमा निर्माण निर्माण गर्न माग गरेको छ । सभाले प्रदेश र सङ्घ सरकारसँग ढिलासुस्ती रोकेर निर्माणका काम शीघ्रताका साथ गर्न माग गरेको हो ।

धनगढीको टीकापुर बर्दगोरियाबाट डडेल्धुरा, डोटी, अछाम, बझाङ हुँदै बाजुरा जोड्ने लोकमार्ग निर्माणले गति नलिएपछि तीन जिल्लाको समन्वयमा सरकारसँग लोकमार्ग निर्माणलाई ध्यान दिन दबाब दिने जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले बताउनुभयो ।

बिहीबार जिल्ला समन्वय समिति बाजुराले आयोजना गरेको पत्रकार सम्मेलनमा छैटौँ जिल्ला सभाबाट लोकमार्ग निर्माणमा ढिलासुस्ती भइरहेकाले त्यसलाई अविलम्ब रोकेर निर्माणलाई तीव्रता दिन प्रदेश र सङ्घ सरकारसँग माग गर्ने निर्णय भएको उहााले बताउनुभयो । उहाँले सुस्त गतिमा निर्माण भइरहेको सेती लोकमार्गको कामलाई गतिदिन सम्बन्धित निकायसँग समन्वय गरिने बताउनुभयो ।

जिल्ला सभाले स्थानीय तहहरुको समन्वय र सहयोगमा अधुरा आयोजनाको विवरण सङ्कलन गरी तिनलाई पूरा गर्ने निर्णय गरेको जानकारी पनि उहाँले दिनुभयो ।

जिल्ला सभाले सुदूरपश्चिम प्रदेशको गौरवको सडकका रुपमा रहेको मार्तडी–कोल्टी सडकखण्डको स्तरोन्नति गरी नियमित बस सेवा सञ्चालनका लागि पहल गर्ने, प्रदेश निर्वाचन क्षेत्र (क) कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि पहल गर्ने, जिल्लामा उत्पादन रैथाने बालीको प्रवद्र्धनका गरी बजारसम्म पु¥याउन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलगायत निकायसँग समन्वय गर्ने निर्णय गरेको छ । साथै जिल्लाका नौ वटै पालिकामा राष्ट्रिय प्रसारण लाइन विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणलाई अनुरोध गर्ने निर्णय भएको छ ।

वनमा लागेको आगोले जलेर ४१ वर्षीय चन्द्रादेवीको मृत्यु

डोटी, १६ चैत: वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जङ्गलमा लागेको आगोले घाइते हुनुभएकी शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

पातालीसैन सामुदायिक वनमा सिँचाइका निम्ति कुलो खन्न जानुभएकी भण्डारी वनमा लागेको आगोले जलेर घाइते हुनुभएको थियो । कुलो खन्न २५ जनाको समूह उक्त वनमा गएको थियो । उहाँलाई सुजङ्ग अस्पताल राजपुरमा सामान्य उपचारपछि धनगढी रिफर गरिएको थियो । उहाँको निसर्ग अस्पतालमा आज बिहान १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायणसिंह नेगीले बताउनुभयो ।

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा

खोटाङ, १६ चैत: मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने तीनवटा खोलामा निर्माणाधीन ‘मोटरेबल’ पक्की पुलको काम अन्तिम चरणमा पुगेको छ ।

सोल्मास्थित भालुखोला र नेर्पास्थित मेवाखोलामा निर्माणाधीन २० मिटर लामा पुलको भौतिक र आर्थिक प्रगति ८० प्रतिशत भएको मध्यपहाडी राजमार्ग योजना कार्यालयका सूचना अधिकारी हर्क प्रधानले बताउनुभयो । अब दुवै पुलको सडक संरचना (एप्रोच रोड)को काम मात्र बाँकी छ ।

निर्माणाधीन दुवै पुलको एप्रोच रोड र रङरोगन वैशाखसम्म सकेर हस्तान्तरण गरिने केएम इन्जिनियर्स विल्डर्सका प्रबन्ध निर्देशक मोहन कार्कीले बताउनुभएको छ । विसं २०८१ असार २२ गते दुई पुलको काम सक्ने गरी २०७९ असार २२ गते केएम इन्जिनियर्स विल्डर्सले सडक विभागसँग भ्याटबाहेक रु सात करोड ७४ लाख २५ हजारमा सम्झौता गरेको थियो ।

यसैगरी, सोही सडकखण्डको नेर्पा र सोल्माको सिमानामा पर्ने छेपेखोलामा २० मिटर लामो मोटरेबल पुल पनि निर्माण भएको छ । अहिले सञ्चालनमा रहेको छेपेखोलाको मोटरेबल पक्की पुल निर्माणको जिम्मा सगरमाथा सजिव जेभी खोटाङले लिएको हो । विसं २०८० कात्तिक ११ गते पुल बनाइसक्ने गरी २०७८ मङ्सिर १४ गते भ्याटबाहेक रु तीन करोड पाँच लाख ८० हजार १३७ मा ठेकेदार कम्पनीले सडक विभागसँग निर्माण सम्झौता गरेको थियो । यो पुलको पनि आर्थिक र भौतिक प्रगति मेवाखोला र भालुखोलाजस्तै ८० प्रतिशत पूरा भएको छ ।

भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भएको पुलमा रङरोगन गर्न र ३३० मिटर एप्रोच रोड कालोपत्र गर्न बाँकी रहेको ठेकेदार कम्पनीका प्रतिनिधि कृष्ण घिमिरेले बताउनुभयो । “छेपेखोलामा निर्माण गरिएको पुल गत असारमा नै पूरा गरेर सवारी साधन सञ्चालन गरेका छौँ । एप्रोच रोडको काम भने मेवाखोला र भालुखोलासँगै गर्ने गरी समन्वय भएको छ । “त्यसो गर्दा कच्चा पदार्थ जुटाउन र मेसिन चलाउन सहज हुन्छ”, उहाँले भन्नुभयो, “वैशाखभरिमा सडक संरचनाको काम सक्छौँ । त्यहीअनुसार आवश्यक निर्माण सामग्री सङ्कलन गरिरहेका छौँ ।”

निर्माणाधीन तीनवटै पुलको बाँकी काम यथाशीघ्र पूरा गर्न ठेकेदार कम्पनीलाई पटक–पटक निर्देशन दिइएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताउनुभयो । “निर्माणाधीन तीनवटै पुलको प्रगति हेर्दा तोकिएको मितिभन्दा अगाडि नै सम्पन्न हुने देखिन्छ । वर्षा सुरु हुनासाथ निर्माणको काम रोकिन्छ”, उहाँले भन्नुभयो, “ निर्धारित समयभन्दा अगाडि पुल काम पूरा गर्नेलाई पुरस्कृत गर्ने योजना छ ।”

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको बुवालुङस्थित बुवासुङ–लामीडाँडा जोड्ने पङ्खुखोलाको १५ मिटर मोटरेबल पुलको काम सिरुवा कन्ट्रक्सन काठमाडौँले नगरेपछि गत जेठ–१२ गते ठेक्का तोडिएको छ । ठेक्का सम्झौता तोडिएको पङ्खुखोला पुलको लागि अर्को ठेक्का लगाउन सम्बन्धित निकायले चासो नदिएकामा जिल्लावासी खिन्न छन् ।

पाँच खण्डमा विभाजन गरेर कालोपत्र गरिएको दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको निर्मलीडाँडाभन्दा यता (दिक्तेलतर्फ)का सडकखण्डमा पर्ने भुल्केखोला, लप्सेखोला, दाम्देखोला, साप्सुखोलालगायत विभिन्न पाँचवटा खोलामा भने यसअघि नै पक्की पुल तयार भई सञ्चालनमा आइसकेका छन् । तीनवटा निर्माणाधीन तथा एउटा ठेक्का सम्झौता तोडिएको ४८ किलोमिटर लामो दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने नौवटा खोलामा मोटरेबल पक्की पुल निर्माण हुनेछन् ।

बेलायतमा पाँचमध्ये एक शिक्षकले विद्यार्थीको दुर्ब्यवहार सामना गर्नुपर्छ : सर्वेक्षण

बेलायतका लगभग पाँच मध्ये एक शिक्षक आफु विद्यार्थीबाट दुर्ब्यवहारको सिकार भएको बताउँछन् । विद्यालयहरू महामारीपछि विद्यार्थीहरूको व्यवहारमा आएका परिवर्तनहरूसँग जुधिरहेको बिहीबार सार्वजनिक सर्वेक्षण रिपोर्टले खुलासा गरेको हो ।

शिक्षा प्रमूख अमाण्डा स्पिलम्यानले गत वर्ष कोभिड लकडाउनका कारण सामाजिकीकरणमा भएको समस्याको फलस्वरुप राष्ट्रव्यापीरूपमा कक्षा कोठामा अपमानजनक व्यवहारमा वृद्धि भएको रिपोर्टसँगै यो निष्कर्ष आएको हो ।

बेलायतका विद्यालय निरीक्षण एजेन्सीका निवर्तमान प्रमुख अफस्टेडले शिक्षक र अझ बढी प्रधानाध्यापकको अत्यधिक समय लिइरहेको यो समस्याको समाधान हुन वर्षौँ लाग्ने बताउनुभयो ।

‘टिचर ट्याप’ सर्वेक्षण उपकरणको प्रयोग गरी बीबीसीले फेब्रुअरी र मार्चमा गरेको करिब नौ हजार विद्यालय कर्मचारीहरूको सर्वेक्षणमा पनि तीस प्रतिशत शिक्षकहरूले अघिल्लो हप्ता विद्यार्थीहरू शिक्षकसँग झगडा गरिरहेको देखेको बताएका थिए ।

एघारदेखि अठार वर्षका विद्यार्थीहरूसँग काम गर्ने १५ प्रतिशत शिक्षकहरूले आफूले विद्यार्थीहरूबाट यौन उत्पीडन अनुभव गरेको बताएका थिए ।

शिक्षक सङ्घ ( एनएएसयुडब्लुटी) ले कर्मचारीहरूले अत्यधिक तनाव अनुभव गरिरहेको भन्दै हडताल गर्ने सोच बनाइरहेको छ । सङ्घले आफ्ना सदस्यसँग तलब, कामको बोझ र उनीहरूको कल्याणका विषय नवीकरण गर्ने औद्योगिक कारबाहीका लागि परामर्श गरिरहेको र आगामी दिनमा नतिजा घोषणा गर्ने बताएको छ ।

एनएएसयुडब्लुटीका महासचिव प्याट्रिक रोचले भन्नुभयो, “बेलायतका शिक्षकहरूले कामको अत्याधिक बोझ र तनाब अनुभव गरिरहेका छन् । उनीहरूको अधिकारमा सुधार नगरी उनीहरू अघि बढ्न सक्दैनन् ।”

सगरमाथा क्षेत्रमा चौँरी गाईमार्फत सामग्री ढुवानी गरिँदै (फोटोफिचर)

सगरमाथा क्षेत्रमा चौँरी गाईमार्फत विभिन्न सामग्री ढुवानी गरिँदै । उच्च हिमाली क्षेत्र भएकाले यस क्षेत्रमा एक ठाउँबाट अर्को ठाउँसम्म सामान ढुवानी गर्नुपरेमा चौंरीको प्रयोग गरिन्छ । यस क्षेत्रमा सडक सञ्जाल जोडिएको छैन । तस्बिरः सुवास दर्नाल

जबरर्जस्ती सामुदायिक वन क्षेत्रमा रुख कटान गर्न सुरु गरिए आन्दोलन गर्ने चेतावनी

काठमाडौँ – मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन) ले जबरर्जस्ती सामुदायिक वन क्षेत्रमा रुख कटान गर्न सुरु गरिएमा आन्दोलन गर्ने चेतावनी दिएको छ । विभिन्न विकासका आयोजना निर्माणको क्रममा सामुदायिक वन उपभोक्ता समूहको अनुमतिबिना रुख कटान गरिएको भन्दै फेकोफनले अनुमतिबिना रुख कटान भए आन्दोलन गर्ने चेतावनी दिएको हो ।

काँकडभिट्टा–लौकाही सडक (पश्चिम खण्ड) विस्तारका क्रममा उक्त कार्यसँग सम्बन्धित आयोजना कार्यालयले सडक सिमानासँग जोडिएका सामुदायिक वन क्षेत्रका रुख सम्बन्धित सामुदायिक वन उपभोक्ता समूहको सहमतिविना काटिएको भन्दै फेकोफनले आपत्ति जनाएको छ । “समूहलाई जानकारी नै नदिई आयोजनाका नाममा कटान गरी काठ दाउरा आयोजना र डिभिजन वन कार्यालयले नियन्त्रणमा लिने कार्य सुरु गरिएको देखिन आएकोले उक्त कार्यप्रति सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको गम्भीर रुपमा ध्यानाकर्षण भएको छ,” फेकोफनका अध्यक्ष ठाकुर भण्डारीले भन्नुभयो, “उक्त सडक आयोजनाले हाल रुख कटान गर्न सुरु गरिएका क्षेत्र सामुदायिक वन क्षेत्रको सिमानाभित्र पर्दछन् भन्ने कुरा सामुदायिक वनका स्वीकृत कार्ययोजना अनुसार स्पष्ट नै रहेको छ ।”

सामुदायिक वन उपभोक्ता समूहद्वारा वर्षांैदेखि संरक्षण र व्यवस्थापन गर्दै आएका सामुदायिक वन क्षेत्रका रुख सडक आयोजना कार्यालयले कटान गरी काठ दाउरा नियन्त्रण गर्ने कार्य नेपालको वनसम्बन्धी प्रचलित कानुन अनुसार पूर्णतः गैरकानूनी रहेको उहाँको भनाइ छ । “अनुमतिबिना रुख काट्नु अन्यायपूर्ण भएकोले तत्काल सामुदायिक वन क्षेत्रमा रुख कटान गर्ने कार्य रोकी सामुदायिक वन उपभोक्ता समूहको माग सम्बोधन भएपछि मात्र सामुदायिक वन क्षेत्रका रुख कटान गरिनुपर्छ,” भण्डरीले भन्नुभयो, “रुख कटानपछि प्राप्त भएका काठ दाउरा सम्बन्धित सामुदायिक वन उपभोक्ता समूहलाई हस्तान्तरण गर्न आयोजना कार्यालय र वन कार्यालय समक्ष हार्दिक आग्रह गर्दछौँं । ”

वन नियमावली २०७९ को नियम १०३ (३) बमोजिम सामुदायिक वन उपभोक्ता समूहले व्यवस्थापन गरेको वनको हकमा आयोजनाले वन पैदावार कटान, मुछान तथा सङ्कलन गर्दा सम्बन्धित उपभोक्ता समूहको कार्यसमितिका प्रतिनिधि समेतको रोहवरमा उक्त कार्य गरी सम्बन्धित उपभोक्ता समूहलाई वन पैदावार हस्तान्तरण गर्नुपर्ने व्यवस्था छ । सोही बमोजिम आयोजनाले कटान गरेका काठ दाउरा सम्बन्धित सामुदायिक वन उपभोक्ता समूहलाई हस्तान्तरण गर्न फेकोफनको आग्रह छ । वन ऐन २०७६ को दफा ४२(८) बमोजिम आयोजनाका कारण हुन गएको अन्य क्षतिवापत प्रभावित सामुदायिक वन उपभोक्ता समूहलाई क्षतिपूर्तिसमेत उपलब्ध गराउन र वातावरण संरक्षण ऐन २०७६ को दफा १०(५) बमोजिम आयोजनाले गर्ने वातावरणीय क्षतिवापत क्षति न्यूनीकरणका कार्य गर्दा प्राभावित सामुदायिक वन उपभोक्ता समूहमार्फत् सञ्चालन गर्न पनि आग्रह गरिएको छ ।

“काकडभिट्टा–लौकाही सडक आयोजना (पश्चिम खण्ड) का लागि नेपाल सरकारले विश्व बैंकबाट आर्थिक स्रोत प्राप्त गरेको र विश्व बैंकबाट लगानी गरिने कुनै पनि आयोजनामा विश्व बैंकको सामाजिक र वातावरणीय सुरक्षा मापदण्डको अक्षरश ः पालना हुनुपर्दछ,” अध्यक्ष भण्डारीले भन्नुभयो, “सोको पालना नभएमा यस विषयमा प्रभावित वन उपभोक्ता समूहको तर्फबाट विश्व बैंकको गुनासो सुनुवाइ र छानबिन संयन्त्रमा निवेदन गर्न बाध्य हुनेछौँ र यस्तो अवस्थामा आयोजनाको भविष्य नै जोखिममा पर्ने भएकोले यसतर्फ नेपाल सरकार, आयोजना कार्यालय र डिभिजन वन कार्यालयको गम्भीर रुपमा ध्यानाकर्षण हुनुपर्छ ।”