`

वनमा लागेको आगोले जलेर ४१ वर्षीय चन्द्रादेवीको मृत्यु

डोटी, १६ चैत: वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जङ्गलमा लागेको आगोले घाइते हुनुभएकी शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

पातालीसैन सामुदायिक वनमा सिँचाइका निम्ति कुलो खन्न जानुभएकी भण्डारी वनमा लागेको आगोले जलेर घाइते हुनुभएको थियो । कुलो खन्न २५ जनाको समूह उक्त वनमा गएको थियो । उहाँलाई सुजङ्ग अस्पताल राजपुरमा सामान्य उपचारपछि धनगढी रिफर गरिएको थियो । उहाँको निसर्ग अस्पतालमा आज बिहान १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायणसिंह नेगीले बताउनुभयो ।

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा

खोटाङ, १६ चैत: मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने तीनवटा खोलामा निर्माणाधीन ‘मोटरेबल’ पक्की पुलको काम अन्तिम चरणमा पुगेको छ ।

सोल्मास्थित भालुखोला र नेर्पास्थित मेवाखोलामा निर्माणाधीन २० मिटर लामा पुलको भौतिक र आर्थिक प्रगति ८० प्रतिशत भएको मध्यपहाडी राजमार्ग योजना कार्यालयका सूचना अधिकारी हर्क प्रधानले बताउनुभयो । अब दुवै पुलको सडक संरचना (एप्रोच रोड)को काम मात्र बाँकी छ ।

निर्माणाधीन दुवै पुलको एप्रोच रोड र रङरोगन वैशाखसम्म सकेर हस्तान्तरण गरिने केएम इन्जिनियर्स विल्डर्सका प्रबन्ध निर्देशक मोहन कार्कीले बताउनुभएको छ । विसं २०८१ असार २२ गते दुई पुलको काम सक्ने गरी २०७९ असार २२ गते केएम इन्जिनियर्स विल्डर्सले सडक विभागसँग भ्याटबाहेक रु सात करोड ७४ लाख २५ हजारमा सम्झौता गरेको थियो ।

यसैगरी, सोही सडकखण्डको नेर्पा र सोल्माको सिमानामा पर्ने छेपेखोलामा २० मिटर लामो मोटरेबल पुल पनि निर्माण भएको छ । अहिले सञ्चालनमा रहेको छेपेखोलाको मोटरेबल पक्की पुल निर्माणको जिम्मा सगरमाथा सजिव जेभी खोटाङले लिएको हो । विसं २०८० कात्तिक ११ गते पुल बनाइसक्ने गरी २०७८ मङ्सिर १४ गते भ्याटबाहेक रु तीन करोड पाँच लाख ८० हजार १३७ मा ठेकेदार कम्पनीले सडक विभागसँग निर्माण सम्झौता गरेको थियो । यो पुलको पनि आर्थिक र भौतिक प्रगति मेवाखोला र भालुखोलाजस्तै ८० प्रतिशत पूरा भएको छ ।

भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भएको पुलमा रङरोगन गर्न र ३३० मिटर एप्रोच रोड कालोपत्र गर्न बाँकी रहेको ठेकेदार कम्पनीका प्रतिनिधि कृष्ण घिमिरेले बताउनुभयो । “छेपेखोलामा निर्माण गरिएको पुल गत असारमा नै पूरा गरेर सवारी साधन सञ्चालन गरेका छौँ । एप्रोच रोडको काम भने मेवाखोला र भालुखोलासँगै गर्ने गरी समन्वय भएको छ । “त्यसो गर्दा कच्चा पदार्थ जुटाउन र मेसिन चलाउन सहज हुन्छ”, उहाँले भन्नुभयो, “वैशाखभरिमा सडक संरचनाको काम सक्छौँ । त्यहीअनुसार आवश्यक निर्माण सामग्री सङ्कलन गरिरहेका छौँ ।”

निर्माणाधीन तीनवटै पुलको बाँकी काम यथाशीघ्र पूरा गर्न ठेकेदार कम्पनीलाई पटक–पटक निर्देशन दिइएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताउनुभयो । “निर्माणाधीन तीनवटै पुलको प्रगति हेर्दा तोकिएको मितिभन्दा अगाडि नै सम्पन्न हुने देखिन्छ । वर्षा सुरु हुनासाथ निर्माणको काम रोकिन्छ”, उहाँले भन्नुभयो, “ निर्धारित समयभन्दा अगाडि पुल काम पूरा गर्नेलाई पुरस्कृत गर्ने योजना छ ।”

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको बुवालुङस्थित बुवासुङ–लामीडाँडा जोड्ने पङ्खुखोलाको १५ मिटर मोटरेबल पुलको काम सिरुवा कन्ट्रक्सन काठमाडौँले नगरेपछि गत जेठ–१२ गते ठेक्का तोडिएको छ । ठेक्का सम्झौता तोडिएको पङ्खुखोला पुलको लागि अर्को ठेक्का लगाउन सम्बन्धित निकायले चासो नदिएकामा जिल्लावासी खिन्न छन् ।

पाँच खण्डमा विभाजन गरेर कालोपत्र गरिएको दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको निर्मलीडाँडाभन्दा यता (दिक्तेलतर्फ)का सडकखण्डमा पर्ने भुल्केखोला, लप्सेखोला, दाम्देखोला, साप्सुखोलालगायत विभिन्न पाँचवटा खोलामा भने यसअघि नै पक्की पुल तयार भई सञ्चालनमा आइसकेका छन् । तीनवटा निर्माणाधीन तथा एउटा ठेक्का सम्झौता तोडिएको ४८ किलोमिटर लामो दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने नौवटा खोलामा मोटरेबल पक्की पुल निर्माण हुनेछन् ।

बेलायतमा पाँचमध्ये एक शिक्षकले विद्यार्थीको दुर्ब्यवहार सामना गर्नुपर्छ : सर्वेक्षण

बेलायतका लगभग पाँच मध्ये एक शिक्षक आफु विद्यार्थीबाट दुर्ब्यवहारको सिकार भएको बताउँछन् । विद्यालयहरू महामारीपछि विद्यार्थीहरूको व्यवहारमा आएका परिवर्तनहरूसँग जुधिरहेको बिहीबार सार्वजनिक सर्वेक्षण रिपोर्टले खुलासा गरेको हो ।

शिक्षा प्रमूख अमाण्डा स्पिलम्यानले गत वर्ष कोभिड लकडाउनका कारण सामाजिकीकरणमा भएको समस्याको फलस्वरुप राष्ट्रव्यापीरूपमा कक्षा कोठामा अपमानजनक व्यवहारमा वृद्धि भएको रिपोर्टसँगै यो निष्कर्ष आएको हो ।

बेलायतका विद्यालय निरीक्षण एजेन्सीका निवर्तमान प्रमुख अफस्टेडले शिक्षक र अझ बढी प्रधानाध्यापकको अत्यधिक समय लिइरहेको यो समस्याको समाधान हुन वर्षौँ लाग्ने बताउनुभयो ।

‘टिचर ट्याप’ सर्वेक्षण उपकरणको प्रयोग गरी बीबीसीले फेब्रुअरी र मार्चमा गरेको करिब नौ हजार विद्यालय कर्मचारीहरूको सर्वेक्षणमा पनि तीस प्रतिशत शिक्षकहरूले अघिल्लो हप्ता विद्यार्थीहरू शिक्षकसँग झगडा गरिरहेको देखेको बताएका थिए ।

एघारदेखि अठार वर्षका विद्यार्थीहरूसँग काम गर्ने १५ प्रतिशत शिक्षकहरूले आफूले विद्यार्थीहरूबाट यौन उत्पीडन अनुभव गरेको बताएका थिए ।

शिक्षक सङ्घ ( एनएएसयुडब्लुटी) ले कर्मचारीहरूले अत्यधिक तनाव अनुभव गरिरहेको भन्दै हडताल गर्ने सोच बनाइरहेको छ । सङ्घले आफ्ना सदस्यसँग तलब, कामको बोझ र उनीहरूको कल्याणका विषय नवीकरण गर्ने औद्योगिक कारबाहीका लागि परामर्श गरिरहेको र आगामी दिनमा नतिजा घोषणा गर्ने बताएको छ ।

एनएएसयुडब्लुटीका महासचिव प्याट्रिक रोचले भन्नुभयो, “बेलायतका शिक्षकहरूले कामको अत्याधिक बोझ र तनाब अनुभव गरिरहेका छन् । उनीहरूको अधिकारमा सुधार नगरी उनीहरू अघि बढ्न सक्दैनन् ।”

सगरमाथा क्षेत्रमा चौँरी गाईमार्फत सामग्री ढुवानी गरिँदै (फोटोफिचर)

सगरमाथा क्षेत्रमा चौँरी गाईमार्फत विभिन्न सामग्री ढुवानी गरिँदै । उच्च हिमाली क्षेत्र भएकाले यस क्षेत्रमा एक ठाउँबाट अर्को ठाउँसम्म सामान ढुवानी गर्नुपरेमा चौंरीको प्रयोग गरिन्छ । यस क्षेत्रमा सडक सञ्जाल जोडिएको छैन । तस्बिरः सुवास दर्नाल

जबरर्जस्ती सामुदायिक वन क्षेत्रमा रुख कटान गर्न सुरु गरिए आन्दोलन गर्ने चेतावनी

काठमाडौँ – मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन) ले जबरर्जस्ती सामुदायिक वन क्षेत्रमा रुख कटान गर्न सुरु गरिएमा आन्दोलन गर्ने चेतावनी दिएको छ । विभिन्न विकासका आयोजना निर्माणको क्रममा सामुदायिक वन उपभोक्ता समूहको अनुमतिबिना रुख कटान गरिएको भन्दै फेकोफनले अनुमतिबिना रुख कटान भए आन्दोलन गर्ने चेतावनी दिएको हो ।

काँकडभिट्टा–लौकाही सडक (पश्चिम खण्ड) विस्तारका क्रममा उक्त कार्यसँग सम्बन्धित आयोजना कार्यालयले सडक सिमानासँग जोडिएका सामुदायिक वन क्षेत्रका रुख सम्बन्धित सामुदायिक वन उपभोक्ता समूहको सहमतिविना काटिएको भन्दै फेकोफनले आपत्ति जनाएको छ । “समूहलाई जानकारी नै नदिई आयोजनाका नाममा कटान गरी काठ दाउरा आयोजना र डिभिजन वन कार्यालयले नियन्त्रणमा लिने कार्य सुरु गरिएको देखिन आएकोले उक्त कार्यप्रति सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको गम्भीर रुपमा ध्यानाकर्षण भएको छ,” फेकोफनका अध्यक्ष ठाकुर भण्डारीले भन्नुभयो, “उक्त सडक आयोजनाले हाल रुख कटान गर्न सुरु गरिएका क्षेत्र सामुदायिक वन क्षेत्रको सिमानाभित्र पर्दछन् भन्ने कुरा सामुदायिक वनका स्वीकृत कार्ययोजना अनुसार स्पष्ट नै रहेको छ ।”

सामुदायिक वन उपभोक्ता समूहद्वारा वर्षांैदेखि संरक्षण र व्यवस्थापन गर्दै आएका सामुदायिक वन क्षेत्रका रुख सडक आयोजना कार्यालयले कटान गरी काठ दाउरा नियन्त्रण गर्ने कार्य नेपालको वनसम्बन्धी प्रचलित कानुन अनुसार पूर्णतः गैरकानूनी रहेको उहाँको भनाइ छ । “अनुमतिबिना रुख काट्नु अन्यायपूर्ण भएकोले तत्काल सामुदायिक वन क्षेत्रमा रुख कटान गर्ने कार्य रोकी सामुदायिक वन उपभोक्ता समूहको माग सम्बोधन भएपछि मात्र सामुदायिक वन क्षेत्रका रुख कटान गरिनुपर्छ,” भण्डरीले भन्नुभयो, “रुख कटानपछि प्राप्त भएका काठ दाउरा सम्बन्धित सामुदायिक वन उपभोक्ता समूहलाई हस्तान्तरण गर्न आयोजना कार्यालय र वन कार्यालय समक्ष हार्दिक आग्रह गर्दछौँं । ”

वन नियमावली २०७९ को नियम १०३ (३) बमोजिम सामुदायिक वन उपभोक्ता समूहले व्यवस्थापन गरेको वनको हकमा आयोजनाले वन पैदावार कटान, मुछान तथा सङ्कलन गर्दा सम्बन्धित उपभोक्ता समूहको कार्यसमितिका प्रतिनिधि समेतको रोहवरमा उक्त कार्य गरी सम्बन्धित उपभोक्ता समूहलाई वन पैदावार हस्तान्तरण गर्नुपर्ने व्यवस्था छ । सोही बमोजिम आयोजनाले कटान गरेका काठ दाउरा सम्बन्धित सामुदायिक वन उपभोक्ता समूहलाई हस्तान्तरण गर्न फेकोफनको आग्रह छ । वन ऐन २०७६ को दफा ४२(८) बमोजिम आयोजनाका कारण हुन गएको अन्य क्षतिवापत प्रभावित सामुदायिक वन उपभोक्ता समूहलाई क्षतिपूर्तिसमेत उपलब्ध गराउन र वातावरण संरक्षण ऐन २०७६ को दफा १०(५) बमोजिम आयोजनाले गर्ने वातावरणीय क्षतिवापत क्षति न्यूनीकरणका कार्य गर्दा प्राभावित सामुदायिक वन उपभोक्ता समूहमार्फत् सञ्चालन गर्न पनि आग्रह गरिएको छ ।

“काकडभिट्टा–लौकाही सडक आयोजना (पश्चिम खण्ड) का लागि नेपाल सरकारले विश्व बैंकबाट आर्थिक स्रोत प्राप्त गरेको र विश्व बैंकबाट लगानी गरिने कुनै पनि आयोजनामा विश्व बैंकको सामाजिक र वातावरणीय सुरक्षा मापदण्डको अक्षरश ः पालना हुनुपर्दछ,” अध्यक्ष भण्डारीले भन्नुभयो, “सोको पालना नभएमा यस विषयमा प्रभावित वन उपभोक्ता समूहको तर्फबाट विश्व बैंकको गुनासो सुनुवाइ र छानबिन संयन्त्रमा निवेदन गर्न बाध्य हुनेछौँ र यस्तो अवस्थामा आयोजनाको भविष्य नै जोखिममा पर्ने भएकोले यसतर्फ नेपाल सरकार, आयोजना कार्यालय र डिभिजन वन कार्यालयको गम्भीर रुपमा ध्यानाकर्षण हुनुपर्छ ।”

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटक मर्कामा

सल्लेरी, (सोलुखुम्बु)-प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित हुँदा सगरमाथा क्षेत्र भ्रमणमा निस्किएका पर्यटकहरु मर्कामा परेका छन् । पछिल्लो दुई दिनयता मौसममा आएको परिवर्तनले तेन्जिङ हिलारी विमानस्थल लुक्लामा उडान प्रभावित हुँदा पर्यटकहरु समस्यामा परेका हुन् ।

पर्यटकीय याम भएका खुम्बु भ्रमणमा आउने अधिकांश पर्यटक जहाजमार्फत लुक्ला हुँदै उकालो लाग्ने गर्छन् । तर मौसम प्रतिकूल हुँदा तालिका अनुसार जहाज उडान हुन नसक्दा रामेछापको मन्थलीमा नै पर्यटक रोकिएको पर्यटन व्यवसायी फूर्वा शेर्पाले बताउनुभयो ।

नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीका अनुसार  काठमाडौँ र मन्थलीबाट लुक्लामा ४० उडान तालिका भए पनि मौसमका कारण अधिकांश रद्द भएको छ । “मन्थलीबाट बिहान पर्यटक लिएर लुक्ला आएको चार वटा विमान मौसमका कारण लुक्लामा नै रोकिएको प्रमुख पन्थीको भनाइ छ । बिहान मौसम अलिक खुलेकाले विमान आयो तर फर्किन सकेन, भिजिभिलिटी नपुगेकाले जहाज यही रोकिएको छ ।”, उहाँले भन्नुभयो, “बुधबार पनि मौसमले साथ नदिँदा लुक्लाको अधिकांश उडान स्थगित गरिएको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ । सगरमाथा क्षेत्रबाट काठमाडौँ फर्किन चहाने १०० जना भन्दाबढी पर्यटकहरु अहिले लुक्लामा रोकिएको तारा एयरलाइन्स लुक्लाका प्रमुख अमृत मगरले बताउनुभयो ।

मौसम तत्काल खुल्ने सम्भावना नभएपछि कतिपय पर्यटक हिँडेर थामडाँडा पुगेरर त्यहाँबाट गाडीमार्फत सल्लेरी हुँदै काठमाडौँ फर्किएका छन् । रामेछापको मन्थलीमा दुईभन्दा धेरै पर्यटकहरु लुक्ला जानका लागि मौसम अनुकुलताको पर्खाइमा रहेको स्थानीयवासी जगत थापाले बताउनुभयो । उहाँका अनुसार काठमाडौँबाट सगरमाथा क्षेत्र भ्रमणमा निस्किएका स्वदेशी तथा विदेशी पर्यटक उडान प्रभावित हुँदा मन्थलीमै रोकिएका पुगेका हुन् । ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाल बताउनुभयो । उहाँका अनुसार एयर चाइनाको जहाज ‘डाइभर्ट’ भएको छ भने अन्य जहाज आकाशमा फन्को लगाउने (होल्ड) भएका छन् ।

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा, प्रतिकिलो पाँच सयमा बिक्री

देउखुरी (दाङ)- लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म भएका छन् । चरा र कीराले नखाओस् भनेर सेतो पातलो कपडाले छोपिएको छ । वाणगङ्गा नगरपालिका कपिलवस्तुमा पाँच वर्ष पहिलेदेखि फूलखेती गरिरहेका भास्कर पङ्गेनी र दशरथ साउदले दाङको घोराही उपमहानगरपालिका–१५ भरतपुरमा १७ कठ्ठा जमिन मासिक रु दुई हजार भाडा दिने शर्तमा विगत दुई वर्षदेखि सयपत्री खेती गर्नुभएको थियो ।

उहाँहरुले सोही स्थानमा अहिले स्ट्रबेरी खेती गर्नुभएको छ । दाङको हावापानी सुहाउँदो केही खेती गरौँ भन्ने साथीहरुसँग सल्लाह गरी स्ट्रबेरी खेती परीक्षणको लागि गरौँ कस्तो हुन्छ भनी खेती गरेको पङ्गेनीले बताउनुभयो । पहिलो प्रयास सफल भएकोमा उहाँ धेरै खुसी हुनुहुन्छ । ‘१०८ डिभाइन एग्रो’ नामको फमबाट तिहारको समयमा सयपत्री फूलखेती गरेका उहाँहरुले सयपत्रीको याम सकिएपछि स्ट्रबेरी खेती गरेको फम सञ्चालक दशरथ साउदले बताउनुभयो ।पहिलो वर्ष खेती गरेका छौँ, इजिप्टबाट बिरुवा ल्याएर रोपेकका हाँै राम्रो आम्दानी भयो । दुई वटा विदेशी जातका आठ हजार बिरुवा रहेको उहाँले बताउनुभयो । एउटा बिरुवाबाट एक किलोसम्म फल दिएको उहाँले बताउनुभयो । उत्पादन रु पाँच सयप्रति किलोका दरमा बिक्री भइरहेको छ । एक किलो किन्दा एक किलो निःशुल्क दिइरहेको उहाँले बताउनुभयो । यो योजना यो हप्ताका लागिमात्र भएको जनाइएको छ । स्थानीयवासीलाई फममा आएर स्ट्रबेरीमा फोटो भिडियो बनाउने सुबिधा पनि रहेको र दैनिक ५० देखि ६० जना स्ट्रबेरी हेर्न, खान र फोटो खिच्न आउने गरेको साउदले बताउनुभयो ।मङ्सिरमा बिरुवा रोपेको ४० दिनदेखि फल्न सुरु ग¥यो । अहिलेसम्म डेढ क्विन्टल बिक्री भएको साउदले जानकारी दिनुभयो । रु पाँच लाख आम्दानी भइसकेको छ । लमही, तुलसीपुरमा पाँच किलो दैनिक ग्रहाकले नियमित लैजाने गरेको उहाँले बताउनुभयो । घोराही, बुटवलमा माग अनुसार पठाउने गरेका छौँ । दैनिक ५० किलोसम्म बिक्री हुने गरेको छ । ग्राहक फममै आउने र आउन नसकेकाको लागि डेलिभरी गरिदिने गरेको उहाँले बताउनुभयो । मङ्सिरमा रोपेको बिरुवाले वैशाखसम्म फल दिने आसा गरेको उहाँले सुनाउनुभयो । दाङको हावा पानीमा राम्रो उत्पादन हुने रहेछ । अलिकति मेहनत गरेर पसिना बगाए स्वदेशमै केही गर्न सकिने उहाँको अनुभव छ । 

बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा बर्षाका सम्भावना, यस्तो छ मौसम पूर्वानुमान

काठमाडौं – शुक्रबार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक – दूई स्थानमा हल्का वर्षा भईरहेको छ । जल तथा मौसम विभागका अनुसार हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश, बागमती प्रदेश , गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक- दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ,१६ चैत: विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताअन्तर्गत बिहीबार राति भएको उद्घाटन खेलमा भुटानको आरटिएफसी टीम विजयी भएको छ ।आरटिएफसी भुटानले नेपाल पुलिस क्लबलाई ३–० ले पराजित गरेको हो । भुटानी टोलीले मध्यान्तर अगाडि दुई गोल गरेर आफूलाई अग्रता दिलाएको थियोभने त्यसपछि पनि अर्को गोल थपेर विभागीय टोलीलाई पाखा लगाएको थियो । खेल सुरु भएको ३६औँ मिनेटमा किन्ले ग्यालसेन, ४०औँ मिनेटमा सिद्धार्थ गुरुङ र ६३ औँ मिनेटमा किन्जाङ तेन्जिङले गोल गरेका थिए । खेलाडी तेन्जिङ ‘प्लेयर अफ द म्याच’ घोषित भएर नगद रु ११ हजार प्राप्त गरेका छन् ।

त्यसअघि कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले प्रतियोगिताको उद्घाटन गर्दै खेलका माध्यमबाट देशको गरिमा वृद्धि हुने भएकाले त्यसलाई आत्मसात् गर्दै खेलाडीहरु मैदानमा उत्रनुपर्नेमा जोड दिनुभयो ।विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले खेलका माध्यमबाट सामाजिक सद्भाव कायम गर्न सहज हुने बताउनुभयो ।

प्रतियोगितामा सहिद स्मारक ‘ए’ डिभिजन विजेता चर्च ब्वाईज, विभागीय टोलीहरू त्रिभुवन आर्मी क्लब , नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यूरोड कर्नर टिम (एनआरटी), मच्छिन्द्र फुटबल क्लब र साङ्ग्रिला मोरङ भिड्ने छन् । यस्तै भारतको कोलकाताबाट साउर्थन समिति फुटबल क्लब, सिक्किम ड्रागन फुटबल क्लब र भुटानको आरटिसी फुटबल क्लब उपाधिका निम्ति प्रतिस्पर्धा गर्न विराटनगर आएका छन् ।ल्डकप विजेता टोलीले ट्रफीसहित रु ११ लाख, उपविजेताले रु पाँच लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन् । आज त्रिभुवन आर्मी क्लब र (एनआरटी)बीच हुनेछ ।

हेर्नुहोस् चैत १६ गते शुक्रवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – प्रेमी प्रेमिकाको बिच सामान्य मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय को क्षेत्रमा मध्यम दिन रहेको छ । तपाईले कसैमाथी गरेको बिश्वासमा बिश्वसघात हुन सक्छ । सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्नेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ ।

बृष राशि – आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ । प्रिय ब्यक्ति को भेटले मन प्रशन्न रहला । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । प्रतिस्पर्दाजन्य कार्यमा सजग रहनु उत्तम रहनेछ । स्वास्थमा सामान्य तनाव उत्पन्नहुन सक्नेछ । तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्नेछ ।

मीथुन राशि – साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ । कार्य क्षेत्रको गडबढीले गर्दा मनमा सामान्य डरको बास रहनेछ । बौधिक ब्यत्तित्वहरुको साथ सहयोग प्राप्त रहनेछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ ।

कर्कट राशि- परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । सबारी साधनको प्रयोगमा ध्यान लिनु होला । तपाईको प्रगतिमा आरीस गर्ने हरुबाट बच्नु पर्ला । पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ ।सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ ।

सिंह राशि – भौतिक स्रोत साधनको प्रयोग मा समय ब्यतित रहन सक्छ । प्रिय खबर द्वारा मन प्रशन्न रहला । मित्रजनको साथ सहयोग भरपुर प्राप्त रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला । मित्र तथा दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

कन्या राशि – मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । बिश्वासिला ब्यत्तित्वहरुबाट धोकाहुनसक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बाणीका कारण आफन्त जनहरु सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ ।

तुला राशि – साधारण चोट पटक लाग्न सक्ने सम्भाबना रहेको छ । साजेदारी काममा हात नहालेकै बेस हुने छ । मनमा आट र शाहस को कमिले कार्य सम्पादनमा झन्झट ब्यहोर्नु पर्ला । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ ।

बृश्चिक राशि – मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । प्रतिश्पर्दा जन्यकार्यमा बिशेष सजग रहनु होला ।

धनु राशि – निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । तपाईको सानो कमजोरीको फाईदा अरुले लिन सक्ने छन । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन ।

मकर राशि- पारीवारिक सम्बन्धमा सुधार आउनेछ । आफ्नो कुसलताले गर्दा आम्दानिको क्षेत्र सबल रहने छ । आफन्त जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पुग्नेछ । स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।

कुम्भ राशि – अरुको बसमा गरीएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला । यात्रा सामान्य झन्झटमय रहन सक्नेछ । नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ ।

मिन राशि – मान्य जनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । शारीरिक आलस्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अपजस सहनु पर्ला । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ । बिश्वासिला ब्यतिहरुबाट सामान्य धोका हुन सक्नेछ ।

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान, १६ चैत :इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

इटहरी रङगशालामा बिहीबार राति भएको सेमिफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज उपाधिका निम्ति आर्मीसँग भिडने पक्का भएको हो । चर्च ब्वाइज झापा गोल्डकप विजेता टोली हो । यो टोली इटहरी गोल्डकपको अघिल्लो संस्करणको उपविजेता हो ।

चर्च ब्वाइजका लागि समीर तामाङले खेलको अन्तिम समयमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ८९ औँ मिनेटमा निर्णायक गोल गरेका थिए । उनी खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार हात पारेका छन् । उपाधिका निम्ति भोलि चर्च ब्वाइज र आर्मीबीच स्पर्धा हुनेछ ।

गत बुधबार राति त्रिभुवन आर्मी साबिक विजेता मोरङको सगरमाथा क्लबलाई पेनाल्टी सुट आउटमा २–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो । फाइनल खेल जित्नेलाई नगद रु १० लाख र उपविजेतालाई रु पाँच लाख प्रदान गरिनेछ ।

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले कारबाही सुरू गरेको र अस्पताल परिसरमा कारबाही सु गरेदेखि एक हप्ताको समयमा २०० भन्दा बढी लडाकूहरू मारिएको इजरायली रक्षा बल (आइडिएफ) ले बिहीबार जनाएको छ ।

इजरायली सैनिकहरूले हमास र प्यालेस्टिनी इस्लामी जिहादी लडाकू समूहविरुद्ध गाजाको सिफा र खान युनिस अस्पतालमा खोजतलास र कारबाही चलाइरहेकोे छ ।
कारबाहीका क्रममा ८०० संदिग्ध लडाकूहरूलाई हिरासतमा लिएको छ । यसमध्ये करिब ५०० जना हमास वा अतिवादी प्यालेस्टिनी इस्लामिक जिहादीसमूहका सदस्य भएको इजरायली सेनाले दाबी गरेको छ ।

अस्पतालमा कारबाही सुरू भएपछि शल्यक्रिया गर्नुपर्ने बिरामीहरूलाई उनीहरूको सुरक्षाका लागि सिफा परिसर क्षेत्रमा सारिएको तथा नागरिक र कर्मचारीहरूलाई कुनै हानी नभएको आईडीएफले बताएको छ ।

अस्पतालको एक भवनमा हमासले सरकारी मन्त्रालयहरू, शिक्षा, आन्तरिक, खजाना र प्रहरी मन्त्रालयहरूका प्रतिनिधिसहितको सानो सरकारी प्रशासन केन्द्र स्थापना गरेको विवरणहरू इजरायली सञ्चारमाध्यममा उल्लेख गरिएको छ ।
खान युनुसमा सैनिकहरूले अल अमल र अल करारा छिमेकमा लडाकू समूहले खडा गरेका पूर्वाधार कब्जामा लिई विस्फोटक पदार्थहरू जफत गरिएको छ ।

अक्टोबर सातमा गाजामा हमासको आक्रमणमा इजरायली समुदायका कम्तिमा एक हजार दुई सय मानिसको मृत्यु भएको थियो भने २४० इजरायली तथा विदेशीलाई बन्धक बनाइएको थियो । नियन्त्रणमा लिएकामध्ये करिब १२० जनालाई यस पहिले गरिएको युद्धविरामका क्रममा रिहा गरिएको थियो भने बन्धकमध्ये इजरायलले ३१ जनालाई मृत घोषणा गरेको छ ।

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी

काठमाडौँ, १५ चैत ः सरकारले करको दरमा एकरुपता कायम गर्नका लागि आवश्यक अध्ययन गर्ने भएको छ । प्रदेशहरुमा करको दरमा एकरुपता नभएको पाइएपछि त्यसलाई मिलाउनका लागि आवश्यक अध्ययन गर्न लागिएको हो ।

राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औँ बैठकपछि आज आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता यमलाल भुसालले सबै प्रदेशमा करको दरमा एकरुपता ल्याउन अध्ययन गरिने जानकारी दिनुभयो । विकास समस्या समाधान समितिको बैठकले सवारी करमा एकरूपता ल्याउनका लागि छलफल गरेर उपयुक्त समाधानका उपाय खोजिने निर्णय भएको उहाँको भनाइ छ ।“नेपालको संविधानले नै स्पष्ट कानुनी प्रबन्ध गरेको छ । प्रदेशले आवश्यक कानुन तर्जुमा गरी कार्यान्वयन गरिहेको छ । प्रदेशले कानुन बनाउँदा प्रदेश अनुसार फरक फरक सवारी कर कायम भएको छ । सो बारेमा छलफल भइरहेको र एकरुपता कायम गर्नुपर्ने आवश्यकता देखिएको छ” प्रवक्ता भुसालले भन्नुभयो ।यसैगरी बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि कर्जा सूचना व्यवस्थापन केन्द्रलाई प्रभावकारी बनाउनेबारे आजको बैठकमा छलफल भएको उहाँको भनाइ छ । ‘एक स्थानीय तहमा एक आधारभूत अस्पताल’ निर्माणको कामलाई थप गति दिने विषयमा समेत विकास समस्या समाधान समितिको बैठकमा आवश्यक छलफल भएको छ । त्यसमा देखिएको समस्या समाधान गरिनेछ ।विकास निर्माणका काममा भएका समस्या पहिचान गरी उपयुक्त समाधान गर्ने र तोकिएको समयमै सम्पन्न गर्न समेत स्पष्ट मार्गनिर्देशन प्राप्त भएको उहाँको कथन छ । प्रधानमन्त्रीको अध्यक्षमा बस्ने विकास समस्या समाधान समितिको बैठक वर्षमा दुई पटक बस्ने व्यवस्था छ । 

जनतासँगका प्रतिबद्धता पूरा गर्न एमाले प्रदेश कमिटीको माग

काठमाडौँ, १५ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को बागमती प्रदेश कमिटीले जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्न सरकारसँग माग गरेको छ ।सो कमिटीको दोस्रो पूर्ण बैठकबाट पारित १४ बुँदे समसामयिक प्रस्तावमा जनतामा छाएको निराशालाई चिर्दै भरोसा जगाउन वर्तमान गठबन्धन सरकारले लिएको सङ्कल्पलाई साकार पार्न जोड दिइएको हो । एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट बुधबार उद्घाटित सो बैठकले संस्थागत भ्रष्टाचार र बेथिति अन्त्य गरी सुशासन कायम गर्न पनि आग्रह गरेको सो कमिटीका प्रचार विभाग प्रमुख भक्तकुमारी लामाले जानकारी दिनुभयो ।

कमिटीका अध्यक्ष कैलाश ढुङ्गेलको अध्यक्षतामा भएको बैठकले रुस र युक्रेनबीचको युद्धले नेपाली युवाहरूको ज्यान समेत गइरहेकाले युद्धग्रस्त देशमा नेपाली युवालाई जानबाट रोक लगाउन, गइसकेका युवालाई अबिलम्ब फिर्ता गर्न, बेपत्ता युवाको खोजी गर्न र युद्धमा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति प्रदान गर्न आग्रह गरेको छ ।

बैठकले युवा पलायन रोक्न नेपाल सरकारले गुणस्तरीय, व्यावसायिक, प्राविधिक र उत्पादनमुखी शिक्षा प्रदान गर्न सरकारसँग माग गर्दै महँगी र कालाबजारी तत्काल नियन्त्रण गर्न, परम्परागत सीपलाई संरक्षण र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै उक्त उत्पादनको प्रयोगमा विशेष जोड दिन र गुणस्तरहीन वस्तुको आयातमा रोक लगाउन सरकारसँग माग गरेको छ ।
बैठकमा एमालेका महासचिव शङ्कर पोखरेलले प्रदेशमा अहिले पार्टी निर्माणको सन्दर्भमा गर्नुपर्ने कामका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
 

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनालसहितका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मोबाइल म्यानेजमेन्ट सिष्टमको परामर्श सेवा खरिदमा अनियमितता भएको पाइएपछि आयोगले मुद्दा दायर गरेको हो ।

आयोगले तत्कालीन अध्यक्ष झा र खनाल, वरिष्ठ निर्देशक आनन्दराज खनाल, उपनिर्देशक मीनप्रसाद अर्याल, सहायक निर्देशक विनोदचन्द्र श्रेष्ठ, निर्देशक दिपेश आचार्य, उपनिर्देशक सुरेन्द्रलाल हाडा, उपनिर्देशक सूर्यप्रसाद लामिछाने, उपनिर्देशक अच्युतानन्द मिश्र, सहायक निर्देशकहरु रेवतीराम पन्थ,सन्दिप अधिकारी, विजयकुमार राय यादव, प्रतिक्षा पौडेल, नीराजन कोइरालाविरुद्ध रु ९१ करोड ९८ लाख ३० हजार आठ सय ८२ बराबरको बिगो दाबी गरिएको छ । उनीहरुविरुद्ध अमेरिकी डलरको विनिमयदर बमोजिम थप रु २३ करोड २० लाख ५९ हजार तीन सय १४ बराबरको बिगो दाबी गर्दै असूल उपर गर्नसमेत आयोगले माग दाबी गरेको छ ।त्यस्तै न्युमेरा एम एडडीएन बीएचडी मलेसियाका कर्मचारीहरु, नमस्ते ग्लोबल कमन पीटीई सिङ्गापुरका निर्देशक कविन्द्रराज मल्ललगायतका व्यक्तिविरुद्ध पनि समान बिगो दाबी गरिएको छ । मोबाइल म्यानेजमेन्ट सिष्टम खरिदकार्य गर्दा पुष्ट्याइको आधारबिना बदनियत राखेको पाइएको छ । अस्वाभाविक ढङ्गले बढी काम लागत देखाई लागत अनुमान र बोलपत्र स्वीकृत नगराई काम गरेको पाइएको आयोगको दाबी छ । आरोपीविरुद्ध बिगो बमोजिमको कारबाहीको माग गर्दै आज मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । 

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री लामिछाने

काठमाडौँ, १५ चैत : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आज गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री लामिछानेले एकसय वर्षभन्दा बढीको घनिष्ठ सम्बन्धमा बेलायतले नेपालको पूर्वाधार विकास, सामाजिक उत्थान, सरकारी तथा गैर–सरकारी निकायको क्षमता अभिवृद्धि, विपद् व्यवस्थापन, गोर्खा सैनिक भर्नालगायत विषयमा गरेको सहयोग, सहकार्य र समन्वयका लागि आभार व्यक्त गर्नुभयो ।

उहाँले लोकतन्त्रको सुदृढीकरण, जलवायु परिवर्तन अनुकुलन, सामाजिक समावेशीकरण, सामाजिक विभेद र वञ्चितिकरण न्यूनीकरणमा समेत बेलायत सरकारसँग थप समन्वय र सहकार्यको अपेक्षा रहेको बताउनुभयो । गोर्खा सैनिकले गरेको योगदान स्मरण गर्दै उहाँले बेलायत सरकारले गोर्खा सैनिकको मुद्दा न्यायोचित रुपमा सम्बोधन गर्नेमा विश्वस्त रहेको भनाइ राख्नुभयो ।

सो क्रममा राजदूत फेनले जाजरकोट भूकम्पको पुनःनिर्माणमा बेलायत सरकारले अनुदान उपलब्ध गराउने र नेपालको विकास निर्माण साझेदारीका लागि नयाँ योजना ल्याउने क्रममा रहेको गृहमन्त्रीलाई जानकारी गराउनुभएको थियो । विकासमा साझेदारी अनन्तकालसम्म रहने राजदूत फेनको प्रतिबद्धता थियो । 

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन :अध्यक्ष ओली

झापा, १५ चैत : पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका लागि गरिएको गठबन्धन नभएको बताउनुभएको छ । उहाँले सरकारमा सामेल दलहरु मुलुकको समृद्धिप्रति प्रतिबद्ध भएको बताउनुभयो । नेकपा (एमाले) झापाको ११ आँैं जिल्ला अधिवेशनको आज विर्तामोडमा उद्घाटन गर्दै उहाँले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न वर्तमान सरकार क्रियाशील रहेको बताउनुभयो ।

समिकरणमा सामेल दलहरुले जारी गरेको साझा सङ्कल्पको सातौँ बुँदामा समृद्ध नेपाल र सुखी नेपालीको नारा साकार पार्ने सरकारको गन्तव्य प्रष्ट रुपमा उल्लेख रहेको उहाँले स्मरण गराउनुभयो । उहाँले यसअघि नेपाली कांग्रेसको नेतृत्वमा बनेको गठबन्धनको एमालेलाई जसरी पनि घेराबन्दी गर्ने लक्ष्य रहेको दाबी गर्नुभयो ।उहाँले एमाले र कांग्रेसबीच समीकरण बन्न नसक्ने स्पष्ट पार्दै उनीहरुबीच स्वस्थ राजनीतिक प्रतिस्पर्धा हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । “अमेरिकामा हेर्नुहोस्, त्यहाँ दुई पार्टी छन्,” उहाँले भन्नुभयो–“चार वर्षमा चुनावी प्रतिस्पर्धा गर्छन् । दुबै दल मिलेर सरकार चलाएको त्यहाँ कुनै उदाहरण छैन ।”उहाँले महाभारतयुद्धमा अर्जुनले चराको आँखालाई अर्जुनदृष्टि बनाए झैँ एमालेले अरु सबै कुरा छाडेर भए पनि ‘मिसन ८४’ लाई हेरिरहेको बताउनुभयो । विसं २०८४ को आम चुनावमा एमालेले कसैले ढाल्न नसक्ने गरी एकल बहुमतको सरकार बनाउन चाहेको स्पष्ट पार्नुभयो । कांग्रेसले विगतमा एमालेप्रति निषेधको राजनीति गरेको जनाउँदै उहाँले एमालेले कहिल्यै पनि निषेध, हिंसाको राजनीति नगर्ने धारणा व्यक्त गर्नुभयो ।पार्टीका पुराना नेता सम्मानितएमाले झापाले जिल्ला अधिवेशन उद्घाटनको अवसर पारेर पार्टीका पुराना नेता तथा झापाको समृद्धिमा योगदान पु¥याएकालाई सम्मान गरेको छ । पार्टीका अध्यक्ष ओली र उपाध्यक्ष रामबहादुर थापा बादलले सम्मानित व्यक्तिलाई खादा लगाएर कदरपत्र प्रदान गर्नुभएको थियो । सम्मानित हुनेमा पार्टीकी उपाध्यक्ष एवम् पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, पार्टीका स्थायी कमिटी सदस्य अमृतकुमार बोहोरा, झापा विद्रोहका अगुवा नेता नरेश खरेल, कालिदास श्रेष्ठ, शोभा कुँवर, पृथ्वी मैनाली, सुमित्रा प्रसाइँ, सावित्रा खड्का, अन्तलाल धिमाल, जानुका सिटौलालगायत हुनुहुन्छ ।यसैगरी, युवा वैज्ञानिक सबिन बाँस्कोटा, लाहा उद्योगी डम्बरकुमार विश्वकर्मा, झापा इनर्जीका सञ्चालक एलपी साँवा, तारा नमस्ते बालआश्रमका अध्यक्ष नारायणप्रसाद पोखरेल लगायतलाई सम्मानित गरिएको छ । नेकपा एमाले झापाको अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम छ । पार्टीका जिल्ला इञ्चार्ज विशाल भट्टराईले नयाँ नेतृत्व चयन गर्दा पदाधिकारी सहमतिमा चयन हुने बताउनुभएको छ ।

देशको समृद्धि र विकास प्रजातन्त्रमा मात्रै सम्भव हुनेछ – सभापति शर्मा

लेखनाथ (कास्की), १५ चैत : नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले देशको समृद्धि र विकास प्रजातन्त्रमा मात्रै सम्भव हुने बताउनुभएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घका गण्डकी प्रदेशका नवनिर्वाचित पदाधिकारी तथा सदस्यको सम्मानमा नेपाली कांग्रेस गण्डकी प्रदेश भातृ सङ्घ समन्वय विभागद्धारा आज पोखरामा आयोजित बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले यस्तो कुरा बताउनुभएको हो ।

समाजवादको मूल आधार प्रजातन्त्र भएको हँुदा त्यसलाई बलियो बनाउन कांग्रेसका हरेक कार्यकर्ता सक्रिय हुनुपर्नेमा उहाँको जोड थियो । गण्डकी प्रदेश जनजातिको बाहुल्यता भएको प्रदेश भएकाले उनीहरुमा सम्मृद्धि क्षमता विकासका कांग्रेसले आफ्ना नीति तथा कार्यक्रम अगाडि सार्नुपर्ने भनाइ उहाँको छ ।
प्रजातन्त्रका प्रत्येक आन्दोलनमा गण्डकी प्रदेशका आदिवासी जनजातिले खेल्दै आएको योगदानलाई भुल्न नसकिने बताँउदै उहाँले जनजातिले आफ्नो संस्कृति, वेषभूषा र रीतिरिवाजलाई विर्सन नहुनेमा जोड दिनुभयो ।

‘माओवादी द्वन्द्वमासमेत विचलित नभएका कांग्रेस कार्यकर्ताले प्रजातन्त्रको रक्षाका निम्ति पु¥याएको योगदान अतुलनीय छ, सभापति शर्माले भन्नुभयो,“कांग्रेस बलियो बनाउन सक्याँै भने हरेक व्यक्तिले स्वतन्त्रपूर्वक बाँच्न र आफ्ना गतिविधि निर्धक्कसाथ सञ्चालन गर्न सक्छ ।” ‘प्रजातन्त्रमा मात्र व्यक्ति स्वतन्त्रता, स्वतन्त्र प्रेस तथा स्वतन्त्र न्यायालयको सम्भव छ, नेता शर्माले भन्नुभयो–“बिपीको प्रजातान्त्रिक समाजवादको बाटोबाट कांग्रेस अगाडि बढ्न जरुरी छ ।” कांग्रेस जनतालाई नै मालिक मानेर अगाडि बढ्न पार्टी भएकाले सम्पूर्ण नेपालीको भविष्य कांग्रेसमा नै भएको भनाइ उहाँको छ ।

देशमा भएका भ्रष्टाचारलाई नियन्त्रण गरी आम जनतामा सुशासनको प्रत्याभूति दिलाउन कांग्रेसले आफ्नो अभियान देशव्यापी रुपमा सञ्चालन गर्दै नेपाली जनतालाई कांग्रेसप्रति आकर्षित गर्न जरुरी भएको उहाँको भनाइ छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारीले भूगोलको मात्र नेपाल नभएर यहाँका हरेक जातिको धर्म, संस्कृति, भाषा, रीतिरिवाज र वेशभूषा पनि नेपाल भएको बताउनुयो । यहाँका हरेक जाताजातिको महत्व त्यतिकै भएकाले पछाडि परेको जातजातिको सर्वाङ्गीण विकासका लागि कांग्रेसले आफ्नो ध्यान केन्द्रित गर्नुपर्नेमा उहाँको जोड थियो ।

कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले कांग्रेसका हरेक कार्यकर्ताले पार्टीको हितमा सक्रिय भएर काम गर्न सक्यौँ भने कांग्रेस बलियो हुने बताउनुभयाो । सो अवसरमा कांग्रेसका नेता माधव बास्तोला, कोपिला रानाभाट, सीता गुरुङ, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घका गण्डकी प्रदेशका नवनिर्वाचित अध्यक्ष जीतबहादुर गुरुङ लागायतले आफ्नो भनाइ राख्नु भएको थियो । उक्त बधाई तथा शुभकामना कार्यक्रममा कांग्रेस गण्डकी प्रदेश भातृ सङ्घ समन्वय विभागका प्रमुख अजित क्षेत्रीको अध्यक्षतामा भएको थियो ।

युक्रेनी विदेशमन्त्री भारत भ्रमणमा, शान्ति सूत्रमा विशेष ध्यान दिइने

भारत–युक्रेन दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन युक्रेनका विदेशमन्त्री बिहीबार भारत आइपुग्नुभएको छ । दुई दिने औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको वार्ताको वातावरण बढाउने उहाँले बताउनुभएको हो ।

“डा. एस जयशङ्करको निमन्त्रणामा म भारत भ्रमणमा आएको हो । युक्रेन–भारत सहकार्य महत्वपूर्ण छ र यसलाई हामी अझ सशक्तरुपमा अघि बढाउन चाहन्छौँ । प्रधानमन्त्री मोदी र राष्ट्रपति जेलेन्स्कीबीच मार्च २० मा भएको टेलिफोन सम्वादका आधारमा हामी शान्ति सूत्रमा विशेष ध्यान दिनेछौँ,” कुलेबाले भन्नुभयो । भ्रमणका क्रममा द्विपक्षीय सम्बन्धका साथै पारस्परिक हितका क्षेत्रीय तथा विश्वव्यापी मुद्दामा सहकार्यबारे छलफल गरिने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री मोदी र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच मार्च २० मा भएको टेलिफोन वार्ताको केही दिन पश्चात विदेशमन्त्री कुलेबा भारत भ्रमणमा आउनुभएको हो । उक्त वार्तामा उहाँहरूले विभिन्न क्षेत्रमा भारत–युक्रेन साझेदारीलाई अझ सुदृढ पार्ने योजनाबारे छलफल गर्नुभएको थियो ।

हाल चलिरहेको रुस–युक्रेन द्वन्द्वबारे छलफलमा प्रधानमन्त्री मोदीले भारतको जनकेन्द्रित दृष्टिकोणलाई दोहोर्याउँदै वार्ता र कूटनीतिलाई आगाडि बढाउन आह्वान गर्नुभएको थियो । उहाँले दुई देशबीचका सबै मुद्दाहरुको चाँडो र शान्तिपूर्ण समाधानका लागि गरिने सबै प्रयासलाई भारतले समर्थन र सहयोग गर्ने बताउनुभयो ।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनका जनताको लागि भारतको निरन्तर मानवीय सहयोगको प्रशंसा गर्दै रुस विरुद्धको युद्धका बीच किएभको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको लागि भारतको समर्थनप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो । उहाँले शान्ति सुरक्षा बैठकमा भारतको सहभागीता युक्रेनका लागि महत्वपूर्ण रहेको बताउनुभयो ।

“स्विट्जरल्याण्मा हुन लागेको शान्ति शिखर सम्मेलनमा भारतको सहभागीता हाम्रा लागि महत्त्वपूर्ण हुनेछ,” जेलेन्स्कीले भन्नुभयो ।

राष्ट्रपति जेलेन्स्कीले अन्तर्राष्ट्रिय शान्ति शिखर सम्मेलनको लागि आह्वान गर्नुभएको थियो र स्विट्जरल्याण्डले यस वर्षको सुरुमा बैठकको आयोजना गर्ने बताएको थियो ।

जेलेन्स्कीले गत वर्ष इन्डोनेसियाको बालीमा भएको जी–२० शिखर सम्मेलनमा विश्वका नेताहरुलाई युक्रेनको १० बुँदे शान्ति सुत्र प्रस्तुत गर्नुभएको थियो । सो सुत्रमा आणविक सुरक्षा र खाद्य सुरक्षाको मार्ग, कथित रुसी युद्ध अपराधका लागि विशेष न्यायाधिकरण र मस्कोसँग अन्तिम शान्ति सन्धीका विषय समावेश रहेका छन् ।

न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ, १५ फागुन ः प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा सधँै लाग्नुपर्ने बताउनुभएको छ ।नियमित निरीक्षणका क्रममा आज विशेष अदालतमा पुग्नुभएका प्रधानन्यायाधीश श्रेष्ठले श्रव्यदृश्य सुनुवाइको शुभारम्भ गर्दै छिटो र कम खर्चिलो न्यायका लागि सबैले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

“म पनि लागिरहेको छु, सिङ्गो न्यायापालिका लागिरहेको छ”–उहाँले भन्नुभयो, “श्रव्यदृश्य सुनुवाइको प्रयोगबाट देशभरीबाट सुनुवाइ गर्न सकिने हुँदा छिटोछरितो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्न सबै लाग्नुपर्छ, श्रव्यदृश्य सुनुवाइले पनि एउटा सहयोग गर्नेछ ।”

प्रधानन्यायाधीश श्रेष्ठले विशेष अदालत काठमाडौँमा मात्र भएको हुनाले श्रव्यदृश्य सुनुवाइको अझ धेरै महत्व भएको र देशभरबाट न्यायका उपभोक्तालाई सहज न्याय पु¥याउन सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले मुद्दा फछ्र्यौटमा राम्रो प्रगति गरेको र कामप्रति जागरुकता देखाएकोमा आफूलाई सन्तोष लागेको बताउनुभयो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरले विशेष अदालतमा आजदेखि श्रव्यदृश्य सुनुवाइ प्रारम्भ गरेको र सूचना प्रविधिको उच्चतम र सही प्रयोगमा गरी न्यायमा सहज पहुँच बनाउन प्रयत्न गरिरहेको बताउनुभयो ।

“न्यायिक सुधारमा प्रक्रियागत सुधारको थालनी भएको छ”, अध्यक्ष कुँवरले भन्नुभयो, “अनलाइन अदालतको विकासले विश्वस्तताका साथ न्याय प्रणालीलाई अहिलेको भन्दाबढी पहुँचयोग्य र थप प्रभावकारी, छिटो र किफायती बनाउने छौँ ।” सोही अवसरमा विशेष अदालत बार एशोसिशनका अध्यक्ष चुणामणि पौडेल र सचिव टीकाबहादुर कुँवरले बार र बेन्चबीच सहकार्य गरेर काम गरिहेको र अदालतमा आएको पछिल्लो टिमले मुद्दा फछर्यौटमा उल्लेख्य सुधार गरेको प्रधानन्यायाधीशलाई जानकारी गराउनुभएको थियो ।

प्रधानन्यायाधीश श्रेष्ठले बार र बेन्चबीच सहकार्य जरुरी हुने र तीव्र मुद्दाको सुनुवाइ र न्यायमा पहुँच अभिवृद्धि गर्न सम्भव हुने बताउनुभयो ।प्रधानन्यायाधीश श्रेष्ठले अदालतको समग्र निरीक्षण गर्दै मुद्दाको प्रगतिबारे जानकारी दिँदै कर्मचारीसँगसमेत कुराकानी गर्नुभएको थियो ।

सादा पोशाकमा घुमुवा प्रहरी परिचालनमा रोक

काठमाडौँ, १५ चैत : नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन दिएको छ । सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैर–व्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासोपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले आज सादा पोशाकका प्रहरीको जिम्मेवारी तत्काल परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिन निर्देशन गरेको हो ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मातहतका प्रहरी युनिटमा उक्त परिपत्र गरिसकिएको राससलाई जानकारी दिनुभयो ।“त्यस कार्यालय तथा मातहतबाट हाल परिचालन गरिएका सादा पोशाकका प्रहरी कर्मचारीलाई (अपराध अनुसन्धान शाखामा कार्यरतबाहेक) तत्काल जिम्मेवारी परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिई निजहरुको काम, कारबाहीको समेत कार्यालय प्रमुखबाटै नियमित निगरानी गर्ने व्यवस्था मिलाउनु हुन निर्देशानुसार अनुरोध छ”, परिपत्रमा भनिएको छ ।

प्रहरी प्रधान कार्यालयले जिम्मेवारी परिवर्तन गरिएका प्रहरी कर्मचारीको नामावली पठाउन पनि मातहतका निकायलाई निर्देशन दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सरकारले तोक्यो चैते धानको मूल्य

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को आजको बैठकले चालु आर्थिक वर्ष २०८०÷८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल रु दुई हजार सात सय सात २८ पैसा न्यूनतम समर्थन मूल्य तोकेको हो ।

साथै १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२०० ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम् समर्थन मूल्य कायम गर्ने निर्णय भएको छ ।

बैठकले आव २०८१÷८२ को लागि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको ढाँचा र हिस्सा बमोजिम अनुमानित राजस्व सात प्रदेशको लागि रु ७७ अर्ब ५० करोड र स्थानीय तहका लागि रु ७७ अर्ब ५० करोड स्वीकृत गर्ने निर्णय गरेको छ । यस्तै वित्तीय समानीकरण अनुदानको परिमाण सात प्रदेशको लागि रु ६० अर्ब र स्थानीय तहको लागि रु ८८ अर्ब स्वीकृत गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले आव २०७९÷८० को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ । नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त तीन सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गर्ने बैठकको निर्णय छ । यस्तै नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा डा हरिप्रसाद लम्साललाई बढुवा गर्ने निर्णय गरेको छ ।

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा

म्याग्दी, १५ चैत ः मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको मोटरेबल पुुल अलपत्र बनाउने निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको छ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरबेनी–जोमसोम–कोरला सडक योजनाको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले कैकुखोला र लार्जुङखोलाको पुल अलपत्र बनाउने निर्माण कम्पनीलाई कालोसूूचीमा राखेको हो ।

कार्यालयले बुधबार सार्वजनिक सूचना जारी गरेर दुई वटै पुल बनाउने ठेक्का लिएको गणपति निर्माण सेवालाई दुई वर्षका लागि कालोसूचीमा राखेको जनाएको छ । बीस÷बीस मिटरको दुरीका दुईवटै पुल निर्माणको लागि विसं २०७५ मा गणपति निर्माण कम्पनीले बेनी–जोमसोम–कोरला सडक आयोजनासँग ठेक्का सम्झौता गरेको थियो । आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंका अनुसार पटक–पटक ताकेता गर्दासमेत सन्तोषजनक काम गर्न नसकेर पुल अलपत्र बनाएपछि गत असोज अन्तिम हप्ता निर्माण कम्पनीसँगको ठेक्का तोडेर कालोसूचीमा राख्न सिफारिस गरिएको थियो ।

जमानत बसेको बैंकमार्फत धरौटी जफत गरिएको छ । सार्वजनिक खरिद ऐनको व्यवस्था अनुसार बाँकी निर्माण कार्यको लागत पनि सोही ठेकेदार कम्पनीमार्फत असुल उपर गरिने भएको छ । पुरानो ठेक्का तोडेर अलपत्र पुललाई पूर्णता दिन नयाँ ठेक्का प्रक्रिया अघि बढाउने आयोजनाको तयारी छ ।

कैकुखोलामा बीस मिटर लामो मोटरेबल पुल बनाउन रु तीन करोड २५ लाख र लार्जुङ खोलाको पुलको रु तीन करोड २९ लाखमा ठेक्का सम्झौता भएको थियो । पचास÷पचास प्रतिशत भौतिक प्रगति भएको दुईवटै पुलको पिल्लर ठड्याउने काम सकिएको छ ।

साँघुरो पुलबाट सवारीसाधन आवतजावत गर्ने लार्जुङ खोलामा तीन वर्षयता पुल निर्माणको कुनै पनि काम नभएको स्थानीयवासीले बताएका छन् । कैकु खोलामा बर्खामा बाढी आउँदा सवारीसाधन आवतजावत प्रभावित हुने गरेको छ । त्यहाँ अस्थायी पुलमा जोखिम मोलेर सवारी साधन वारपार गराइन्छ । गत असार महिनायता पुल निर्माणको काम नगरेका ठेकेदार कम्पनीका सञ्चालक सम्पर्कमा नआएपछि ठेक्का तोडिएको हो ।

पर्वतको मालढुुङ्गादेखि म्याग्दी हँुदै मुुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने २०२ किलोमिटर दुुरीको बेनी–जोमसोम–कोरला सडक योजनामार्फत १३ वटा पक्की पुल र तीन वटा बेलिब्रिज निर्माण सकिएका छन् ।

थप एक वटा मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । सात वटा मोटरेबल पुल निर्माणाधीन छन् । थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको छ । यो सडकलाई गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको छ । सडकले पूर्वाधार, आर्थिक, ब्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

छामघाट खोलामा नुहाउन गएका एक युवकको डुबेर मृत्यु

दैलेख, १५ चैत ः भैरबी गाउँपालिका –३ स्थित छामघाट खोलामा नुहाउन गएका एक युवकको डुबेर मृत्यु भएको छ । मृत्यहुनेमा भैरबी गाउँपालिका–३ सालपानीका १९ वर्षीय ज्ञानबहादुर विकको रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक मगराठीले जानकारी दिनुभयो ।

भैरबी –३ का वडा सदस्य कल्पना विकले भैरबी –३ स्थित छामघाट खोलाको हतर्के घाटमा नुहाउने क्रममा पानीमा डुबेर ज्ञानबहादुरको निधनको बताउनुभयो ।

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ, १५ चैत ः हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका २० कर्मचारीलाई स्पष्टीकरण सोधिएको छ ।

यही चैत १४ गते मन्त्रालयका विभिन्न महाशाखा तथा शाखामा गरिएको आन्तरिक छड्केमा ती कर्मचारी हाजिर गरी मन्त्रालयबाट बाहिरिएको पाइएको जनाइएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठको निर्देशनमा मन्त्रालयको प्रशासन शाखाबाट छड्के गरिएको थियो ।

कार्यकक्षमा नभेटिने तथा कार्यालय समयको पालना नगर्ने कर्मचारीलाई सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नआए कानुनबमोजिम कारबाही हुने मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । यस किसिमका अनुगमन तथा छड्के मन्त्रालयअन्तर्गतका विभाग तथा कार्यालयमा समेत निरन्तररूपमा हुने र कार्यालय समयमा बिनाजानकारी अनुपस्थित हुने तथा तोकिएको जिम्मेवारी पूरा नगर्ने कर्मचारी माथि कानुनबमोजिम कारबाही गरिने जनाइएको छ ।

दुई सहसचिवको सरुवा
यसैबीच मन्त्रालयले शिक्षा सेवाका दुई सहसचिवको सरुवा गरेको छ । मन्त्रालयमा कार्यरत सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटालाई शिक्षक सेवा आयोगको प्रशासकीय प्रमुखमा र आयोगमा उक्त भूमिकामा रहनुभएका डा कमल पोखरेललाई मन्त्रालयमा सरुवा गरिएको छ । यसैगरी मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सहसचिव केशवप्रसाद दाहाललाई तोकिएको छ ।

जिल्ला कारागारमा क्षमता चार गुणाबढी कैदीबन्दी

किमाथाङ्का,( सङ्खुवासभा), १५ चैत ः सङ्खवासभाको जिल्ला कारागार खाँदबारीमा क्षमताभन्दा चार गुणा कैदीबन्दी राख्दा समस्या भएको छ । जिल्ला कारागारमा पच्चीस कैदीको क्षमता भएको कारागारमा एक सय ३४ कैदीबन्दी राखिएको छ । कारागारमा एक सय २६ पुरुष र आठ महिला कैदीबन्दी छन् । तीमध्ये १० ज्येष्ठ नागरिक र एक जना आश्रित बालकराख्नुपरेको कारागारका जेलर राजेन्द्र घिमिरेले जानकारी दिनुभयो ।

कारागार करिव चार रोपनी क्षेत्रफल फैलिएको छ । बन्दीको व्यक्तित्व विकास, सीप विकास तथा कला विकासका लागि पर्याप्त ठाउँ नभएको जनाइएको छ । क्षमताभन्दा बढी सङ्ख्यामा कैदीबन्दी सङ्ख्या भएकाले दैनिक क्रियाकलाप गर्ने समेत समस्या हुने गरेको कैदीबन्दीको गुनासो छ । कारागारको सुधार तथा क्षमता वृद्धि गर्ने लागि माथिल्लो सरोकारवाला निकायलाई अनुरोध गरे पनि बेवास्ता गरिएको जेलर घिमिरेले बताउनुभयो ।

कारागारमा आपत्कालीन अवस्था आएमा तत्कालै उद्धार तथा सुरक्षा दिनसमेत कठिन छ । कारागारमाथिको साइडमा बजार भएकाले भवन निर्माण भएका छन् भने तलतिरको साइड भिरालो र व्यक्तिको जमिन भएकाले सडक पु¥याउन सकिएको छैन । कारागार जाने माथिको साइडमा सानो भिरालो सिँढी (भञ्याङ) ओर्लिए मात्र पुग्न सकिन्छ । आपद विपद पर्दा उद्धारमा एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका गाडी पुग्न सक्ने सडकसमेत छैन ।

जिल्ला कारागार खाँदबारीमा २०८० साउन २४ गते सुरक्षाकर्मी र कैदीबन्दीको कुटपिटबाट कैद भुक्तान गरिरहेका जिल्लाकै मादी नगरपालिका–५ का २१ वर्षीय प्रकाश तोलाङ्गी र नुवाकोट जिल्ला, ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको मृत्यु भएको थियो । कारागारका सुरक्षाकर्मी र कैदीबन्दीको कुटपिटबाट मारिएका पीडित परिवारले घटना भएको ६ महिना बितेपनि राज्यले दिने भनेको राहत वा क्षतिपूर्ति हालसम्म पाउन नसकेका बताइएको छ ।

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक शेयर (आइपिओ) बेच्नेको घुइँचो लाग्न थालेको छ ।

बाँकेको नेपालगञ्जस्थित इम्पेरियल सेक्युरिटिज प्रालि (ब्रोकर कार्यालय) मा दोस्रो बजारबाट शेयर खरिद गर्नेभन्दा सर्वोत्तम सिमेन्टलगायतका कम्पनीको शेयर बेच्नका लागि खाता खोल्न लगानीकर्ताको घुइँचो लाग्ने गरेको सेक्युरिटिज प्रालि, नेपालगञ्जका प्रमुख उदय अधिकारीले जानकारी दिनुभयो ।

“अपवादका रुपमा केही लगानीकर्ताले दोस्रो बजार (सेकेण्डरी मार्केट) बाट कारोबार गरेका छन् । तर ट्रेडरहरु कम छन्”, उहाँले भन्नुभयो । अस्थिर राजनीति र व्यवसायीप्रति सरकारले हेर्ने दृष्टिकोण स्पष्ट नभएकाले शेयर बजार उकालो लाग्न नसकेको उल्लेख गर्दै प्रमुख अधिकारीले ठूलाठूला लगानीकर्ता बजारमा प्रवेश गर्न नसकेको धारणा व्यक्त गर्नुभयो ।

ठूला घरानाका लगानीकर्ता शेयर बजारमा प्रवेश नगरेसम्म बजार उकालो लाग्न नसक्ने तर्क गर्दै उहाँले लगानीकर्ताको विश्वास बजारप्रति टुट्दै गएको बताउनुभयो । “बजार चलायमान नभएका कारण शेयर बजारमा उत्साह आउन सकेको छैन । अहिले त शेयर खरिद गर्नेभन्दा बेच्ने नै बढी छन्”, उहाँले भन्नुभयो ।

कतिपय लगानीकर्ताले घाटा खाएर पनि शेयर बेचेको जानकारी दिँदै त्यस्ता लगानीकर्ता करिब तीन सय भएको उल्लेख गर्नुभयो । नियमित ट्रेड गर्ने ९० प्रतिशत लगानीकर्ताले घाटा खाएर नै शेयर बेचेको भन्दै उहाँले अन्य क्षेत्र चलायमान छैन भन्ने कुरा शेयर बजारले देखाइरहेको जिकिर गर्नुभयो । उद्योगधन्दा, कलकारखानालगायत व्यवसाय राम्रोसँग सञ्चालन नहुँदा त्यसको असर यस क्षेत्रमा समेत परेको छ ।

ट्रेडरहरुले छोटो समयमा नै नाफा भए नभए पनि घाटा खाएर पनि बेचेका हुन्छन । उनीहरुले ‘स्टप लस’ गरेर नै शेयर बेचेका हुन्छन् । वित्तीय साक्षरताका विषयमा हुने विभिन्न कार्यक्रमले पनि शेयर बजार बढाउन सहयोग गर्न गरेको छ । असोज र कात्तिकमा कम्पनीका बोनसको लहर आएको थियो । तर ती सबै अधिकांश कम्पनीका बोनस सकिएका छन् । केही कम्पनीको बाँकी भएको बताइएको छ ।

सूचनाका हिसाबले अहिले शेयर बजारको अफ सिजन भएको बजारका जानकार बताउँछन् । अहिले ब्रोकर कार्यालयलाई पनि दैनिक कार्यालय सञ्चालन गर्न नै धौधौ हुने स्थिति आउन थालेको छ जुन चिन्ताको विषय भएको प्रमुख अधिकारीको भनाइ छ ।

नेपालगञ्जका लगानीकर्ता प्रशान्त लामिछानेले धेरै पटक घाटा खाएर शेयर बेच्न परेको उल्लेख गर्दै पुँजी बजारमा आर्थिकमन्दीको प्रभाव नहटेको बताउनुभयो । अर्थतन्त्रमा पुँजी बजारको योगदानका विषयमा नीतिगत समस्याको पहिचान नहँुदा त्यसले बजार घटाउन मद्दत गरेको तर्क गर्दै उहाँले नीतिगत सुधारपछि मात्रै शेयर बजार चलायमान हुने उल्लेख गर्नुभयो ।

अर्का लगानीकर्ता कुलप्रसाद शर्माले कम घाटा खाएर बजारको अवस्था हेरेर शेयर बेच्न बाध्य भएको जानकारी दिँदै बजारमा धैर्यता पनि आवश्यक भएको धारणा व्यक्त गर्नुभयो । लगानीकर्ता विकास भट्टराईले शेयर बजारमा अहिले पर्ख र हेरको अवस्थामा लगानीकर्ता रहेको उल्लेख गर्दै बैंकसँगको अधिक तरलता, घट्दो ब्याजदर रहेको हुँदा अहिलेको समय दीर्घकालीन लगानीकर्ताका लागि लगानी गर्ने सुनौलो अवसर भएको बताउनुभयो ।

इम्पेरियल सेक्युरिटिज प्रालिले नेपालगञ्जमा दैनिक रु एक करोडदेखि रु दुई करोडको हाराहारीमा शेयर कारोबार गर्दै आएको छ । यसबाहेक नेपालगञ्जमा कालिका सेक्युरिटीजले पनि शेयर कारोबार गर्दै आएको छ ।

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

जेनेभा, १५ चैत – विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्याङ्कनका लागि नयाँ सञ्जाल, कोभिनेट सुरु गरेको छ ।

विश्वव्यापी स्वास्थ्य संस्था डब्लुएचओले प्रयोगमा ल्याइरहेको कोभिड–१९ प्रयोगशालालाई सञ्जालमा जोडेको हो । सुरुवाती चरणमा, कोभिड–१९ महामारी फैल्याउन सहयोगी रहेको सार्स–कोभ–२ मा केन्द्रित यस नेटवर्कले अब मर्स–कोभ र अन्य सम्भाव्य नयाँ प्रजातिका कोरोनाभाइरस समेतका भाइरसहरुमा ध्यान केन्द्रित गर्नेछ ।

कोभिनेटले मानव, पशु र वातावरणीय कोरोनाभाइरस निगरानीमा विशेषज्ञता भएका विश्वव्यापी प्रयोगशालाहरूको सञ्जालका रुपमा कार्य गर्नेछ । हाल डब्लुएचओका सबै छ क्षेत्रहरू अन्तर्गतका २१ वटा देशका ३६ वटा प्रयोगशालाहरूलाई नेटवर्कमा समावेश गरिएको छ ।

कोरोनाभाइरससँग सम्बन्धित स्वास्थ्य चुनौतीहरूको प्रारम्भिक पहिचान, जोखिम मूल्याङ्कन र प्रतिक्रियामा डब्लुएचओका सदस्य राष्ट्रहरूको तयारी बढाउने उद्देश्यले २०२४–२०२५ का लागि कार्ययोजनालाई अन्तिम रूप दिन प्रयोगशालाहरूका प्रतिनिधिहरू मङ्गलबार र बुधबार जेनेभामा भेला भएका थिए ।

कोरोना भाइरसहरूको नयाँ विश्वव्यापी सञ्जालले जनस्वास्थ्यका लागि महत्वपूर्ण कोरोना भाइरसहरूको समयमै पहिचान, अनुगमन र मूल्याङ्कन सुनिश्चित गर्ने डब्लुएचओको महामारी पूर्वतयारी तथा रोकथाम विभागका कार्यवाहक निर्देशक मारिया भान केरखोभले बताउनुभएको छ ।

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

कडुना (नाइजेरिया), १५ चैत – दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा बढी नाइजेरियाली स्कुले बालबालिकाका अभिभावकहरूले बुधबार पुनर्मिलनको समयमा खुसीका आँशु रोक्न नसकेको बताएका छन् ।

बच्चाहरू मुक्त भएको तीन दिनपछि कडुना शहरमा सरकारले व्यवस्था गरेको कार्यक्रममा अभिभावकसँग पुनर्मिलन गराइएको थियो । उक्त स्थानमा बच्चाहरूलाई चिकित्सा सहायता सहित राखिएको थियो ।

गत मार्च ७ यता पहिलो पटक भेट हुँदा अभिभावकहरुले आफ्ना बच्चाहरुलाई अश्रुपुरित अङ्कमाल गरेका थिए । कडुनाको उत्तरपश्चिमी दुर्गम शहर कुरिगामाबाट मोटरसाइकलमा आएका बन्दुकधारीले ती बालबालिकालाई बन्दुकको नालको त्रासमा विद्यालयबाट अपहरण गरेका थिए ।

“म आज निकै हर्षित र खुसी भएकी छु,” अपहरणमा परेकी आफ्नी १४ वर्षीया छोरीलाई भेटेपछि शिटु अब्दुल्लाहीले निकै उत्साही हुँदै भन्नुभयो ।

दश देखि १५ वर्षसम्मका ती बालबालिकालाई कहिले घर जान अनुमति दिइने हो भन्ने अझै स्पष्ट भइसकेको छैन । अभिभावकहरूले भने सरकारले यो हप्ताभित्रै घर पठाउने आश्वासन दिएको बताएका छन् ।

अपहरणकारीले विद्यार्थीसँगै लगिएका एकजना कर्मचारीको बन्दी अवस्थामै मृत्यु भएको सैन्य अधिकारीहरूले बताएका छन् ।

एक अभिभावक इब्राहिम मिकालुले आफ्नी १३ वर्षीया छोरीलाई भेटेपछि आफू भावुक भएको र परिवारका बाँकी सदस्य उनलाई घरमै हेर्न उत्सुक रहेको बताउनु भयो ।

छिमेकी जाम्फरा राज्यको उत्तरमा करिब दुई सय किलोमिटर टाढाको जङ्गलबाट आइतबार नाइजेरियाली सेनाले ती स्कुले बालबालिकालाई मुक्त गरेको थियो । उनीहरुले अहिले सेना र सरकारले व्यवस्था गरेको औषधि उपचार प्राप्त गरिरहेका छन् ।

अधिकारीहरूले कुरिगाका बच्चाहरूको मुक्तिका लागि कुनै फिरौती नदिएको बताएका छन् ।

हालसम्म कुनै पनि समूहले उनीहरूको अपहरणको जिम्मेवारी लिएको छैन । स्थानीय अधिकारीहरूले द्वन्द्वग्रस्त उत्तरमा सामूहिक हत्या र फिरौतीका लागि डाकु समूहहरूले घटना घटाएको आङ्कलन गरेका छन् ।

सन् २०१४ मा नाइजेरियाको बोर्नो राज्यको चिबोक गाउँमा बोको हराम समूहका लडाकुले दुई सय ६७ जना स्कुले छात्रा अपहरण गरेयता नाइजेरियाका विद्यालयहरुबाट कम्तीमा १४ सय विद्यार्थी अपहरण भइसकेका छन् । पछिल्लो समयमा अपहरणका घटनाहरु द्वन्द्वग्रस्त उत्तर–पश्चिम र मध्य क्षेत्रहरूमा केन्द्रित छन्, जहाँ दर्जनौँ सशस्त्र समूहहरूले गाउँले र अन्य यात्रुहरूलाई फिरौतीका लागि अपहरण गर्ने गर्छन् ।

रूसविरुद्ध एफ–१६ लडाकू विमान प्रयोग भए त्यसलाई वैध निशाना बनाउने पुटिनको घोषणा

युक्रेनलाई दिइएको एफ–१६ लडाकू विमान तेस्रो पक्षबाट प्रयोग गरिएमा जुनसुकै ठाउँमा भए पनि रूसले तिनीहरूलाई निशाना बनाउने चेतावनी रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दिनुभएको छ ।

पुटिनले टेभर क्षेत्रका सैन्य चालकहरूसँगको कुराकानीका क्रममा भन्नुभयो, “यदि ती तेस्रो मुलुकका हवाई क्षेत्रहरूबाट प्रयोग गरिन्छ तिनीहरू जहाँ सुकै किन नहोस् तिनीहरू हाम्रो लागि वैध लक्ष्य बन्नेछन् ।

युक्रेनले लामो समयदेखि आफ्ना साझेदारलाई एफ–१६ लडाकू विमान आफूलाई हस्तान्तरण गर्न आग्रह गर्दै आएको छ । तथापि, पश्चिमले पाइलट र ग्राउन्ड सर्भिसका कर्मचारीहरूको उचित प्रारम्भिक प्रशिक्षण बिना किएभलाई यस्ता विमानहरू आपूर्ति गर्न असम्भवतामा जोड दिन्छ ।

डेनमार्क, नेदरल्याण्ड्स, संयुक्त राज्य अमेरिका र धेरै अन्य पश्चिमी देशहरू हाल युक्रेनी पाइलटहरूलाई प्रशिक्षण दिन सक्रिय रूपमा संलग्न छन् उनीहरूले एफ–१६ को महत्त्वलाई कम आँक्न नहुने बताएका छन् । उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) का महासचिव जेन्स स्टोलटेनबर्गले यी लडाकु विमानले युक्रेनी सेनाको क्षमतालाई आंशिक रूपमा बलियो बनाए पनि युद्धक्षेत्रको अवस्थालाई आधारभूत रूपमा परिवर्तन गर्न नसक्ने बताएका छन् ।

चमेनागृहमा मूल्यसूची राख्न अदालतको आदेश

जानकी (बाँके), १५ चैत : उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले विमानस्थलका चमेनागृहमा अनिवार्य रूपमा मूल्यसूची राख्न र सुर्तिजन्य पदार्थको बिक्री वितरण नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

नेपालगञ्ज उच्च अदालत बार एशोसिएनका पूर्वअध्यक्ष अधिवक्ता विकास आचार्य, एडभोकेसी फोरमका तर्फबाट लुम्बिनी प्रदेश संयोजक अधिवक्ता वसन्त गौतम, वरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठलगायतले संयुक्त रूपमा दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीशद्धय किरणकुमारी गुप्ता र वसन्तराज पौडेलको संयुक्त इजलासले विपक्षीका नाममा विमानस्थलको चमेनागृहमा बेचिने वस्तुको अनिवार्य रूपमा मूल्यसूची राख्न र विमानस्थल परिसरमा सुर्तिजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने आदेश दिएको हो ।

अन्तरिम आदेशको रूपमा तत्काल उल्लेखित विषयमा आदेश भएको मुद्दाको अन्तिम सुनुवाइपश्चात माग दाबी गरेका अन्य सवालमा समेत विपक्षीका नाममा आदेश हुनसक्ने अधिवक्ता वसन्त गौतमले बताउनुभयो ।

मुद्दामा नेपालगञ्ज विमानस्थल नागरिक उड्डयन कार्यालय, कार्यालयका प्रमुख, विमानस्थलभित्र सवारी पार्किङ गर्ने सार्थक टे«ड सेन्टर एण्ड सप्लायर्स तथा बुद्ध, यती, श्री, सीता, तारा, समिट, गुण एयरलाइन्स प्रालि र नेपाल वायुसेवा निगम शाखा कार्यालय नेपालगञ्ज एवं जिल्ला प्रशासन कार्यालय, बाँके समेतलाई विपक्षी बनाई रिट निवेदकले उत्प्रेषण र परमादेश समेतको रिट निवेदन दायर गरेको अधिवक्ता गौतमले बताउनुभयो ।

पार्किङ शुल्क, हवाई सेवाको गुणस्तर र विमानस्थलभित्र विभिन्न क्षेत्रका गरिनुपर्ने सुधारका विषयमा सार्वजनिक सरोकारको क्षेत्रमा कार्यरत कानुन व्यवसायी र अधिकारकर्मीले हवाई सुशासन र उपभोक्ता अधिकारको संरक्षण तथा गुणस्तरिय सेवाको माग राख्दै रिट दायर गरेको रिट निवेदकमध्येका अधिवक्ता विकास आचार्यले जानकारी दिनुभयो ।

रिट निवेदक अधिवक्ताहरूले विमानस्थलभित्रका चमेनागृहले लिने मनपरि शुल्क, खाद्यवस्तुको गुणस्तर, विमानस्थलमा सामान ओसार्ने ट्रलीको कमी, हवाई जहाजले यात्रुलाई दिने सेवा सुविधामा गरेको कटौतीलगायतका विषयको उठान गर्नुभएको छ ।

विमानस्थलभित्र लिइने पार्किङ शुल्क, त्यसको सम्झौतालगायतका बारेमा नेपालगञ्ज विमानस्थल नागरिक उड्डयन कार्यालयसँग सूचना माग गरेका कानुन व्यवसायीले विमानस्थलमा सुधार गरिनुपर्ने पक्ष, सेवाको गुणस्तर, विमान ढिला हुँदा यात्रुलाई समयमै दिइनुपर्ने सूचना, यात्रुलाई दिनुपर्ने सुविधा र सेवाको गुणस्तरका बारेमा उड्डयन कार्यालयका निर्देशक सुरेशप्रसाद खनालसहित एयरलाइन्सका प्रतिनिधिसँग छलफल गरेकामा ठोस सुधार नभएपछि मुद्दामा जानुपरेको रिट निवेदक कानुन व्यवसायीले जनाएका छन् ।

शिक्षाले मात्रै गाउँको परिवर्तन हुन्छ : मन्त्री राई

धनकुटा, १५ चैतः खानेपानीमन्त्री राजेन्द्रकुमार राईले शिक्षाको विकासले मात्रै गाउँको परिवर्तन हुने बताउनुभएको छ ।

सहिदभूमि गाउँपालिका–४ स्थित कन्यदेवी माध्यमिक विद्यालयको भवन उद्घाटन गर्दै उहाँले व्यावसायिक शिक्षाका लागि विद्यालयको पूर्वाधार निर्माण आवश्यक रहेको बताउनुभयो । उहाँले शिक्षालाई आर्थिक विकासको गतिविधिसँग जोड्न गुणस्तरीय र व्यावसायिक शिक्षा आवश्यक पर्ने भएकाले सरकारको प्राथमिकतामा रहको बताउनुभयो ।

कोशी प्रदेशसभा सदस्य इन्द्रमणि पराजुलीले शैक्षिक गुणस्तर सुधारका लागि भौतिक पूर्वाधार महत्त्वपुर्ण हुने बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रको विकास शैक्षिक सुधारबाट मात्र सम्भव रहेकामा जोड दिनुभयो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत रु ६७ लाखको लागतमा उक्त भवन निर्माण भएको गाउँपालिकाका अध्यक्ष मनोज राईले बताउनुभयो । यस विद्यालयमा दुई सय ६८ विद्यार्थी अध्ययनरत छन् ।

आठौँ संस्करणको रात्रिकालीन विराट गोल्डकप सुरु


सुन्दरहरैँचा (मोरङ), १५ चैत : मोरङको विराटनगरस्थित सहिद रङ्गशालामा आजदेखि आठौँ संस्करणको रात्रिकालीन विराट गोल्डकप सुरु भएको छ ।प्रतियोगिताको आवश्यक सबै तयारी पूरा भएको आयोजक विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिनुभयो । उहाँले उद्घाटन खेलमा आमन्त्रित टोली आरटीसी फुटबल क्लब थिम्पु भुटान तथा विभागीय टोली नेपाल पुलिसबीच भिड्ने तय भएको जानकारी दिनुभयो ।

प्रतियोगिताका लागि आयोजकका तर्फबाट साङ्ग्रिला मोरङ फुटबल एशोसिएसनसहित नेपाल, भारत र भुटानका १० टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा भारतका दुई आमन्त्रित क्लब साउथर्न समिति फुटबल सङ्घ कोलकाता र सिक्किम ड्रागन फुटबल क्लब खेल्दैछन् ।

पुलिससहित सशस्त्र प्रहरी र त्रिभुवन आर्मी पनि मैदानमा भेट हुनेछन् । त्यसबाहेक ‘ए’ डिभिजन क्लब मच्छिन्द्र फुटबल क्लब, एनआरटी क्लब र चर्च ब्वाइज फुटबल क्लबबीचको प्रतिस्पर्धाले दर्शकलाई पूर्ण रूपमा खेल मनोरञ्जन दिने अध्यक्ष शाहीले बताउनुभयो ।

प्रतियोगिताको विजेताले रु ११ लाख, उपविजेताले रु पाँच लाख ५० हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले रु २१ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।

विसं २०१८ देखि तत्कालीन राजा महेन्द्र शाहको नामबाट सुरु गरिएको गोल्डकपको २०६८ सालमा नाम परिवर्तन गरी ‘विराट गोल्डकप’ राखिएको हो । गत वर्षको उपाधि विराटनगर फुटबल क्लबले जितेको थियो । विराटनगरले भारत केरेलाको लुका सकर क्लबलाई फाइनल खेलमा पराजित गरेको थियो ।

प्रतियोगिताका लागि कोशी प्रदेश सरकारले रु २५ लाख दिने प्रतिबद्धता जनाएको बताइएको छ । त्यस्तै विराटनगर महानगरपालिकाबाट रु १२ लाख र राष्ट्रिय खेलकुद परिषद्बाट रु पाँच लाख प्राप्त हुने आयोजकले जनाएको छ ।प्रतियोगिता सम्पन्न गर्न रु एक करोड १८ लाख ४३ हजार दुई सय अनुमानित खर्च लाग्ने जनाइएको छ । टिकटबाट न्यूनतम रु ५० लाख उठ्ने ट्रष्टको दाबी छ । आजबाट सुरु हुने रात्रिकालीन विराट गोल्डकप यही चैत २४ गते समापन हुनेछ ।

चिसापानी घटना : पुलबाट हाम फाल्ने युवकको शव फेला प-यो

घोडाघोडी (कैलाली), १५ चैत : चार दिनअघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवकको शव फेला परेको छ ।

कैलालीको लम्की–चुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही गत सोमबार दिउँसो होली खेल्ने क्रममा कर्णाली पुलबाट हाम फालेका थिए । घटना लगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले बेपत्ता शाहीको खोजी थालेको थियो । उहाँको खोजीका लागि सशस्त्र प्रहरीको वैद्यनाथ बाहिनी अत्तरियाबाट सात जनाको गोताखोर टोली परिचालन गरिएको थियो ।

उहाँको शव आज करिब ४ बजे टिकापुर नगरपालिका–२ सनकट्टी घाटमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदीप चन्दले राससलाई जानकारी दिनुभयो । होली खेलिरहेका युवाहरु फोटो खिच्ने भन्दै कर्णाली पुलमा पुगेका र त्यहाँबाट अकस्मात हाम फालेका थिए । सो पुलबाट हामफालेका अरु युवाहरु भने पौडी खेलेर पार लागेका थिए ।

नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै

काठमाडौँ, १३ चैत : पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै गएको छ । कुनै देशको सरकारले आवासीय राजदूत नभएका मुलुकका प्रतिष्ठित व्यापारीलाई मनोनित गरेपछि सम्बन्धित देशको सरकारले स्वीकृत दिएपछि अवैतनिक वाणिज्यदूत नियुक्ति हुने प्रावधान छ ।

परराष्ट्र मन्त्रालयको तथ्याङ्कअनुसार हाल नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत रहेका छन् । त्यस्तै विभिन्न ३९ देशका ६० स्थानमा नेपालका अवैतनिक वाणिज्यदूत छन् । द्विपक्षीय सम्बन्ध मजदुत बनाउन मद्दत गर्ने व्यापार, वाणिज्य र लगानी भित्र्याउन योगदान गर्ने, पर्यटन प्रवर्द्धन र निर्यात प्रवर्द्धन गर्नेलगायत उद्देश्यले अवैतनिक वाणिज्यदूत नियुक्त गर्ने गरिएको छ ।

मन्त्रालयलका प्रवक्ता अमृतबहादुर राईका अनुसार अवैतनिक वाणिज्यदूत भन्नाले कुनै किसिमको पारिश्रमिक नपाउने गरी नियुक्ति हुने वाणिज्यदूत तथा महावाणिज्यदूत हो । अवैतनिक वाणिज्यदूत सम्बन्धी नियमावली, २०३९ अनुसार अवैतनिक वाणिज्यदूत नियुक्ति गर्ने गरिएको छ ।

नेपाल सरकारले नियमावली बमोजिम योग्यता पुगेको व्यक्तिलाई राजदूतको सिफारिसमा अवैतनिक वाणिज्यदूत नियुक्त गर्न सक्ने प्रावधान रहेको उहाँले बताउनुभयो । अवैतनिक वाणिज्यदूतमा नियुक्ति हुने व्यक्तिको योग्यता ३५ वर्ष उमेर पूरा भएको, कुनै व्यापार, व्यवसाय वा पेशामा संलग्न रही स्वीकार गर्ने राज्यमा ख्याति प्राप्त व्यक्तिको हैसियत भएको, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको हुनुपर्ने नियमावलीमा उल्लेख छ ।

त्यस्तै नेपालप्रति सद्भाव भएको, मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको, नेपालको विदेश नीति, राजनीतिक व्यवस्था, आर्थिक तथा सांस्कृतिक पक्षहरुबारे यथेष्ट जानकारी भएको योग्यता हुनुपर्ने प्रवक्ता राईले जानकारी दिनुभयो ।

अवैतनिक वाणिज्यदूत हुन तोकिएको कन्सुलर कार्य क्षेत्रमा वर्षमा कम्तीमा छ महिना बसोबास गर्न सक्ने, आफ्नै खर्चमा कार्यालय स्थापना र सञ्चालन गर्ने इच्छा र क्षमता भएको व्यक्ति हुनुपर्ने छ ।

अनररी कन्सुलर कर्पस नेपाल (एचसीसीएन) का सहायक डिन तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय अवैतनिक वाणिज्यदूत नियुक्ति लिने खोज्नेको सङ्ख्या बढेको बताउनुभयो । अवैतनिक वाणिज्यदूतको नियुक्तिले व्यावसायिक क्रियाकलाप बढाउन योगदान पुगेको र दूताबास नभएका मुलुकमा कूटनीतिक सम्बन्ध आदानप्रदान गर्न मद्दत पुगेको उहाँले उल्लेख गर्नुभयो । साथै जनस्तरको सम्बन्ध अभिवृद्धि, भिसाको सहजीकरण, कन्सुलर सेवामा समन्वयलगायत सहज भएको अध्यक्ष ढकालको भनाइ छ ।

नियमावली बमोजिम मित्रराष्ट्रहरुमा नेपालको लागि अवैतनिक वाणिज्यदूत नियुक्ति गर्नका लागि सिफारिस भएको व्यक्तिको सम्बन्धमा मन्त्रालयले नेपाल सरकारका सम्बन्धित निकायबाट सुरक्षा पास (सेक्युरिटी क्लियरेन्स) लिनुपर्छ । अवैतनिक वाणिज्यदूतको कार्य अवधि चार वर्षको हुनेछ । तर अवैतनिक वाणिज्यदूतले सन्तोषप्रद काम गरेको छैन भनी राजदूतको सिफारिस प्राप्त भएमा र त्यस्तो वाणिज्यदूतलाई चार वर्षको अवधि पूरा नहुँदै पनि जुनसुकै बखत नेपाल सरकारले हटाउन सक्ने प्रावधान छ ।

प्रहरीद्वारा एक वर्षमा २३ चर्चित घटनाको सफल अनुसन्धान

काठमाडौँ, १५ चैत : नेपाल प्रहरीले एक वर्षका अवधिमा २३ चर्चित घटनाको सफल अनुसन्धान गरेको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले गत वर्षको चैत १० गते महानिरीक्षकको कार्यभार सम्हालेपछि २३ चर्चित घटनाको सफल अनुसन्धान सम्पन्न भएको जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले एक वर्षमा ललिता निवास जग्गा प्रकरण, ६० किलोग्राम सुन, बालयौन शोषण गरेको कसुरमा रामबहादुर बमजम पक्राउलगायतका विभिन्न घटनाको सफल अनुसन्धान गरेको जानकारी दिनुभयो ।

उहाँले देउराली सहकारी, हुण्डी कारोबारी पक्राउ, शिवशिखर सहकारी ठगी प्रकरण, दुई किलोग्राम ६०० ग्राम कोकिन बरामद, नक्कली भूटानी शरणार्थी प्रकरण, गैरीगाउँ सामुहिक हत्या, पेट्रोल छर्कि आगो लगाई कर्तव्य ज्यानलगायतका घटनामा सफल अनुसन्धान गरिएको बताउनुभयो ।

प्रवक्ता ढकालले एक वर्षको अवधिमा प्रहरीमा देशभर विभिन्न कसुरमा ५९ हजार ६१ मुद्दा दर्ता भएको बताउनुभयो । दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी बंैकिङ कसुरमा १३ हजार दुई सय ७७, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा १० हजार आठ सय ६३ रहेका छन् । यस्तै, आत्महत्या सात हजार एक सय ९४, लागूऔषध चार हजार दुई सय ८४, चोरी तीन हजार सात सय २५ लगायत रहेका छन् । मुद्दा दर्ता भएकामध्ये सबैभन्दा धेरै काठमाडौँ उपत्यकामा १७ हजार तीन सय ९७ रहेको छ भने सबैभन्दा थोरै कर्णाली प्रदेशमा एक हजार नौ सय ६५ रहेको छ ।

प्रहरीले फैसला कार्यान्वयनतर्फ एक वर्षको अवधिमा १३ हजार एक सय २२ फरार अपराधिलाई नियन्त्रणमा लिँदा जरिवनावापत रु एक अर्ब ९७ करोड ९६ लाख १६ हजार पाँच सय ३८ राजस्व सङ्कलन गरेको छ । प्रहरीले सो अवधिमा विभिन्न मितिमा अपराध गरी विदेश गई लुकेका १३ फरार अपराधिलाई इन्टरपोलको सहायतामार्फत नेपाल ल्याएको छ ।

एक वर्षको अवधिमा विपद्का घटनामा प्रहरीले ४६ हजार दुई सय ५९ प्रहरी परिचालित गरेको छ भने बन्द, हड्ताल र विरोध नियन्त्रणका लागि एक लाख ४८ हजार प्रहरी परिचालन गरेको छ । सोही अवधिमा चार सय ४४ प्रहरी घाइते हुँदा एक सय ९० प्रदर्शनकारी घाइते र तीन प्रदर्शनकारीको मृत्यु भएको प्रवक्ता ढकालले बताउनुभयो ।

प्रहरीले एक वर्षमा अवैध सुनचाँदी, अदालती फैसला कार्यान्वयन, अवैध मुद्रा, हुण्डी कारोबारी, अवैध मालसामान, अवैध काठ, ट्राफिक कारबाहीलगायतका शीर्षकबाट रु छ अर्ब ६३ करोड ३९ लाख ३२ हजार एक सय ७८ राजस्व सङ्कलन गरेको छ । प्रहरीमा हाल ७९ हजार पाँच सय ४१ दरबन्दी रहेपनि तीन हजार दुई सय ८९ दरबन्दी खाली हुँदा काम कारबाहीमा समस्या परेको छ । नागरिकको इच्छा, आकांक्षालाई सम्बोधन गरी अपराध नियन्त्रण गर्न २५ हजार प्रहरी जनशक्तिको थप गर्नुपर्ने आवश्यकता रहेको प्रवक्ता ढकालले बताउनुभयो ।

गैँडाकोट नगरपालिकामा अनलाइनबाट नागरिकता सिफारिस

नवलपुर (नवलपरासी), १५ चैत ः नवलपरासी (बर्दघाट–सुस्तापूर्व) स्थित गैँडाकोट नगरपालिकाले अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस दिन सुरुआत गरेको छ । गत फागुन ३० गते गृह मन्त्रालयको निर्णय अनुसार नेपालमै पहिलोपटक सो पालिकाले आजदेखि केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीको शुभारम्भ गरेको हो ।

अनलाइन प्रणालीबाट नागरिकता सिफारिस गर्ने कार्यको शुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले गैँडाकोटबाट नवीन कार्यको शुभारम्भ हुनु गौरवको कुरा भएको बताउनुभयो । उहाँले अनलाइनबाट नागरिकता सिफारिस गर्ने प्रणाली लागू गर्ने क्रममा नगरपालिकामा रहेका १८ वटै वडाका वडा सचिवलाई तालिम प्रदान गरिएको जानकारी दिनुभयो । यस प्रणालीमा चैत १८ गतेबाट मध्यविन्दु नगरपालिका र त्यसपछि कावासोती र देवचुली नगरपालिकालाई समेत जोड्ने गरी तयारी भइरहेको उहाँले बताउनुभयो । “

अनलाइन प्रणालीबाट नागरिकता सिफारिस हुँदा किर्ते गर्ने र झुट्टा विवरण बनाएर नागरिकता बनाउने काममा नियन्त्रण आउँछ”, उहाँले भन्नुभयो, “अनलाइन प्रणालीबाट फारम भरेपछि सेवाग्राहीले बीचमा फाइलमा केरमेट र थपघट गर्न नपाउँदा दोहोरो नगारिकता बनाउन तथा झुक्याएर नागरिकता बनाउने कामको अन्त्य हुन्छ ।” राज्यले प्रदान गर्ने सेवालाई प्रविधिमा आधारित, व्यवस्थित र प्रभावकारी बनाउँदै लैजानका लागि वडा कार्यालयको भूमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो । “यो नयाँ प्रविधि हो, सुरुआतमा केही कठिनाइ भए पनि प्रविधिप्रति जानकार हुँदै जाँदापछि सेवा प्रवाहमा सहजता हुन्छ”, उहाँले भन्नुभयो, “यस प्रणालीबाट नयाँ नागरिकतामात्रै सिफारिस हुन्छ ।”

कार्यक्रममा गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारीले अनलाइनबाट नागरिकता सिफारिस गर्दा हुने केही अप्ठ्यारा पक्षलाई जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्दै लैजानुपर्ने बताउनुभयो । “मुलुकमै पहिलोपटक गैँडाकोट नगरपालिकाले यो सेवा प्रवाह गर्दैछ”, उहाँले भन्नुभयो, “सेवा प्रवाहका क्रममा आइपर्ने कठिनाइबारे कर्मचारीलाई सहजीकरण भयो भने काम गर्न सहज हुने थियो ।” अनलाइनमा नागरिकता सिफारिस गर्दा विवरण फरक भएर सच्याउनुपर्ने अवस्था आएमा पनि सहजरुपमा सच्याउने व्यवस्था मिलाउनुपर्नेमा नगरप्रमुख अधिकारीले जोड दिनुभयो ।

नगर उपप्रमुख शान्ति कोइरालाले अनलाइनबाट नागरिकता सिफारिस गर्ने प्रणालीको सुरुवात भएसँगै दोहोरो नागरिकताका कारण हुने समस्या अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । “पहुँच हुने र टाठाबाठाले दोहोरो नागरिकता लिएर बदमासी गरिरहेका हुन्थे”, उहाँले भन्नुभयो, “तर, निमुखाहरु वृद्धभत्ता खाने बेलासम्म पनि नागरिकता नबन्दा राज्यको सेवासुविधाबाट बञ्चित हुनुपरेको थियो । त्यो कार्यसमेत अन्त्य हुनेछ ।”

अनलाइन प्रणालीलाई प्रभावकारी रुपबाट अगाडि लैजानुपर्ने उहाँको भनाइ छ । अनलाइनबाट नागरिकता सिफारिस गर्दा अनलाइनबाट अनुसूचिअनुसार सम्पूर्ण विवरण भरेर सेवाग्राहीको जन्मदर्ता, बाबुआमाको नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र, बसाइँसराइ प्रमाणपत्र, पति÷पत्नीको नागरिकतालगायतका प्रमाणपत्रको प्रतिलिपि जिल्ला प्रशासन कार्यालयमा पठाइने नगरपालिकाका सूचना प्रविधि अधिकृत विनोद न्यौपानेले बताउनुभयो । यसरी अनलाइन इन्ट्री भएपछि एउटै व्यक्तिको विवरतण दुईपटक प्रविष्ट नहुने हुँदा दोहोरो नागरिकता अन्त्य हुने उहाँको भनाइ छ । केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीलाई राष्ट्रिय परिचयपत्र, राहदानीलगायतमा जोड्दै लैजाने सरकारको योजनाअनुसार कार्यक्रम ल्याइएको उहाँको भनाइ छ ।

पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन सुरु

काठमाडौं, १५ चैत : पाटन संयुक्त क्याम्पसको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन आजदेखि सुरु भएको छ । ‘फस्र्ट इन्टरनेसनल कन्फरेन्स अन इकोनोमिक्स, २०२४’ (एफआईसीई २०२४) शुक्रबारसम्म चल्नेछ ।

क्याम्पसको अर्थशास्त्र विभागको नेतृत्वमा आयोजित सम्मेलनमा नेपालसहित भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का, सिङ्गापुर र मलेसियाबाट प्राज्ञिक तथा बौद्धिक व्यक्तित्वको सहभागिता छ । अर्थशास्त्रको विकासक्रममा पछिल्लो समय जलवायु परिवर्तन तथा श्रम आप्रवासन जस्ता नयाँ विषय जोडिएको छ ।

विकासको सवालमा नवीन सोच र तयारी तथा नवीन ज्ञानाार्जन र शेयर गर्ने उद्देश्यले सम्मेलन गरिएको विभागका प्रमुख रघुवीर विष्टले बताउनुभएको छ । सम्मेलनको मुख्य विषय ‘न्यु इमर्जिङ डाइनामिक्स अन इकोनोमिक्स’ रहेको छ । जुन विषय वस्तुमा तयार कूल ३८ अनुसन्धान पत्रमा ११ प्राविधिक सत्र प्रस्तुत हुँदैछन् ।

पहिलो दिन आज छ सत्र सम्पन्न हुँदैछ । सम्मेलनमा दुई विज्ञ वक्ताबाट ‘किनोट लेक्चर’ र पाँच विज्ञ सम्मिलित एक प्यानल छलफल हुने आयोजक समितिले जनाएको छ । सम्मेलनमा कूल एक सय ५० जनाको सहभागिता रहेको छ । सम्मेलनले विकासका नयाँ मुद्दामाथि छलफलमार्फत् ज्ञानार्जनमा टेवा पुग्ने तथा नीतिनिर्माणमा स्पष्टता र दूरदर्शिता विकास गर्न सघाउ पुग्ने लक्ष्य लिएको विष्टले बताउनुभयो ।

“विकासको एजेण्डालाई नवसिर्जित मुद्दासँग अङ्गीकार गर्दै अर्थतन्त्र विस्तारमा गुणात्मकता र स्थायित्व कायम गर्ने नयाँ आयामको खोजी सम्मेलनले गर्नेछ,” विष्टले भन्नुभयो । अर्थविद् डा लक्ष्मणसिंह कुमारले विभिन्न विभागबाट प्राप्त सहयोगको कदर गर्दै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नेहरूप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ ।
आर्थिक मन्दी, जलवायु परिवर्तन, तरलता समस्या र घट्दो घरेलु उत्पादन जस्ता मुख्य चुनौती देखिएको उहाँको भनाइ छ । कार्यक्रममा वक्ताहरुले अर्थतन्त्रमा देखिएको चुनौती सामनाका लागि तथा बजारको माग पूरा गर्न र घट्दो उपभोगको असरलाई न्यूनीकरण गर्न स्वदेशी उत्पादन बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

उहाँहरुले अर्थतन्त्रमा उदियमान समस्यालाई सम्बोधन गर्न सामूहिक प्रयासको लागि आह्वान गर्नुभएको छ । रूस–युक्रेन द्वन्द्व र आर्थिक गतिशीलतामा यसको प्रभाव जस्ता विश्वव्यापी मुद्दा समाधान गर्न राष्ट्रहरुबीचको दिगो विकास र सहयोगमा ध्यान केन्द्रित गर्न समेत उपस्थित अर्थविद्को माग छ ।

सम्मेलनमा त्रिभुवन विश्वविद्यालयसँगै काठमाडौँ, पोखरा एवं सुदूरपश्चिम विश्वविद्यालय र उल्लेखित विश्वविद्यालयका विभिन्न आङ्गिक एवं सम्बन्धनप्राप्त क्याम्पस तथा विभागको प्रत्यक्ष संलग्नता रहेको छ ।

महोत्तरीमा सामुदायिक विद्यालयबाट एसइईमा सहभागी छात्रा अधिक

महोत्तरी, १५ चैत : माध्यमिक शिक्षा परीक्षा (एसइई)मा महोत्तरीका सामुदायिक विद्यालयबाट यस वर्ष छात्रको तुलनामा बढी छात्रा सहभागी भएका छन् । जिल्लाका एक सय दुई सामुदायिक विद्यालयबाट चार हजार एक सय ४९ छात्रा एसइईमा सहभागी भएका हुन् । सामुदायिक विद्यालयका कूल परीक्षार्थीमा छात्रको सङ्ख्या तीन हजार नौ सय आठ रहेको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयले जनाएको छ ।

संस्थागत र प्राविधिक समूहतर्फ भने छात्रको सङ्ख्या बढी छ । जिल्लाका ३० संस्थागत विद्यालयबाट एसइईमा चार सय ७७ छात्र सहभागी छन् । यिनमा छात्राको सङ्ख्या दुई सय ९७ मात्र छ । यसैगरी प्राविधिक समूहतर्फ पनि छात्र बढी छन् । प्राविधिक समूहतर्फ तीन सय २६ छात्र र छात्रा एक सय ५८ छन् ।

जिल्लाका एक सय दुई सामुदायिक तथा ३० संस्थागतसमेत एक सय ३२ माध्यमिक विद्यालयका जम्मा नौ हजार चार सय ३१ परीक्षार्थी एसइईमा सामेल भएका छन् । परीक्षार्थीमध्ये छात्र चार हजार सात सय ७० र छात्रा चार हजार छ सय ६१ रहेका शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय महोत्तरीका निमित्त प्रमुख प्रतिभा साहले जानकारी दिनुभयो ।

चिकित्सकको निगरानीमा एमाले नेता रायमाझीको उपचार हुँदै

काठमाडौँ, १५ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ । नेता रायमाझीको मुटुमा समस्या भएपछि बुधबार उहाँलाई उक्त सेन्टरमा भर्ना गरिएको थियो ।

नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै उहाँको उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ डा चन्द्रमणि पौडेलले उहाँलाई मुटुको चालको निगरानी गर्न सेन्टरमा राखिएको बताउनुभयो ।

“उहाँलाई रिँगटा लागेर मुटुको चाल कम भएपछि भर्ना गरिएको हो”, डा पौडेलले भन्नुभयो, “अहिले उहाँको मुटुको इसिजी गरेर चिकित्सकको निगरानीमा राखिएको छ ।” उहाँको स्वास्थ्यमा कुनै समस्या नभए पनि मुटुको चाल मात्र कम भएको बताउनुभयो ।