`

गैँडाकोट नगरपालिकामा अनलाइनबाट नागरिकता सिफारिस

नवलपुर (नवलपरासी), १५ चैत ः नवलपरासी (बर्दघाट–सुस्तापूर्व) स्थित गैँडाकोट नगरपालिकाले अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस दिन सुरुआत गरेको छ । गत फागुन ३० गते गृह मन्त्रालयको निर्णय अनुसार नेपालमै पहिलोपटक सो पालिकाले आजदेखि केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीको शुभारम्भ गरेको हो ।

अनलाइन प्रणालीबाट नागरिकता सिफारिस गर्ने कार्यको शुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले गैँडाकोटबाट नवीन कार्यको शुभारम्भ हुनु गौरवको कुरा भएको बताउनुभयो । उहाँले अनलाइनबाट नागरिकता सिफारिस गर्ने प्रणाली लागू गर्ने क्रममा नगरपालिकामा रहेका १८ वटै वडाका वडा सचिवलाई तालिम प्रदान गरिएको जानकारी दिनुभयो । यस प्रणालीमा चैत १८ गतेबाट मध्यविन्दु नगरपालिका र त्यसपछि कावासोती र देवचुली नगरपालिकालाई समेत जोड्ने गरी तयारी भइरहेको उहाँले बताउनुभयो । “

अनलाइन प्रणालीबाट नागरिकता सिफारिस हुँदा किर्ते गर्ने र झुट्टा विवरण बनाएर नागरिकता बनाउने काममा नियन्त्रण आउँछ”, उहाँले भन्नुभयो, “अनलाइन प्रणालीबाट फारम भरेपछि सेवाग्राहीले बीचमा फाइलमा केरमेट र थपघट गर्न नपाउँदा दोहोरो नगारिकता बनाउन तथा झुक्याएर नागरिकता बनाउने कामको अन्त्य हुन्छ ।” राज्यले प्रदान गर्ने सेवालाई प्रविधिमा आधारित, व्यवस्थित र प्रभावकारी बनाउँदै लैजानका लागि वडा कार्यालयको भूमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो । “यो नयाँ प्रविधि हो, सुरुआतमा केही कठिनाइ भए पनि प्रविधिप्रति जानकार हुँदै जाँदापछि सेवा प्रवाहमा सहजता हुन्छ”, उहाँले भन्नुभयो, “यस प्रणालीबाट नयाँ नागरिकतामात्रै सिफारिस हुन्छ ।”

कार्यक्रममा गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारीले अनलाइनबाट नागरिकता सिफारिस गर्दा हुने केही अप्ठ्यारा पक्षलाई जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्दै लैजानुपर्ने बताउनुभयो । “मुलुकमै पहिलोपटक गैँडाकोट नगरपालिकाले यो सेवा प्रवाह गर्दैछ”, उहाँले भन्नुभयो, “सेवा प्रवाहका क्रममा आइपर्ने कठिनाइबारे कर्मचारीलाई सहजीकरण भयो भने काम गर्न सहज हुने थियो ।” अनलाइनमा नागरिकता सिफारिस गर्दा विवरण फरक भएर सच्याउनुपर्ने अवस्था आएमा पनि सहजरुपमा सच्याउने व्यवस्था मिलाउनुपर्नेमा नगरप्रमुख अधिकारीले जोड दिनुभयो ।

नगर उपप्रमुख शान्ति कोइरालाले अनलाइनबाट नागरिकता सिफारिस गर्ने प्रणालीको सुरुवात भएसँगै दोहोरो नागरिकताका कारण हुने समस्या अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । “पहुँच हुने र टाठाबाठाले दोहोरो नागरिकता लिएर बदमासी गरिरहेका हुन्थे”, उहाँले भन्नुभयो, “तर, निमुखाहरु वृद्धभत्ता खाने बेलासम्म पनि नागरिकता नबन्दा राज्यको सेवासुविधाबाट बञ्चित हुनुपरेको थियो । त्यो कार्यसमेत अन्त्य हुनेछ ।”

अनलाइन प्रणालीलाई प्रभावकारी रुपबाट अगाडि लैजानुपर्ने उहाँको भनाइ छ । अनलाइनबाट नागरिकता सिफारिस गर्दा अनलाइनबाट अनुसूचिअनुसार सम्पूर्ण विवरण भरेर सेवाग्राहीको जन्मदर्ता, बाबुआमाको नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र, बसाइँसराइ प्रमाणपत्र, पति÷पत्नीको नागरिकतालगायतका प्रमाणपत्रको प्रतिलिपि जिल्ला प्रशासन कार्यालयमा पठाइने नगरपालिकाका सूचना प्रविधि अधिकृत विनोद न्यौपानेले बताउनुभयो । यसरी अनलाइन इन्ट्री भएपछि एउटै व्यक्तिको विवरतण दुईपटक प्रविष्ट नहुने हुँदा दोहोरो नागरिकता अन्त्य हुने उहाँको भनाइ छ । केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीलाई राष्ट्रिय परिचयपत्र, राहदानीलगायतमा जोड्दै लैजाने सरकारको योजनाअनुसार कार्यक्रम ल्याइएको उहाँको भनाइ छ ।

पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन सुरु

काठमाडौं, १५ चैत : पाटन संयुक्त क्याम्पसको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन आजदेखि सुरु भएको छ । ‘फस्र्ट इन्टरनेसनल कन्फरेन्स अन इकोनोमिक्स, २०२४’ (एफआईसीई २०२४) शुक्रबारसम्म चल्नेछ ।

क्याम्पसको अर्थशास्त्र विभागको नेतृत्वमा आयोजित सम्मेलनमा नेपालसहित भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का, सिङ्गापुर र मलेसियाबाट प्राज्ञिक तथा बौद्धिक व्यक्तित्वको सहभागिता छ । अर्थशास्त्रको विकासक्रममा पछिल्लो समय जलवायु परिवर्तन तथा श्रम आप्रवासन जस्ता नयाँ विषय जोडिएको छ ।

विकासको सवालमा नवीन सोच र तयारी तथा नवीन ज्ञानाार्जन र शेयर गर्ने उद्देश्यले सम्मेलन गरिएको विभागका प्रमुख रघुवीर विष्टले बताउनुभएको छ । सम्मेलनको मुख्य विषय ‘न्यु इमर्जिङ डाइनामिक्स अन इकोनोमिक्स’ रहेको छ । जुन विषय वस्तुमा तयार कूल ३८ अनुसन्धान पत्रमा ११ प्राविधिक सत्र प्रस्तुत हुँदैछन् ।

पहिलो दिन आज छ सत्र सम्पन्न हुँदैछ । सम्मेलनमा दुई विज्ञ वक्ताबाट ‘किनोट लेक्चर’ र पाँच विज्ञ सम्मिलित एक प्यानल छलफल हुने आयोजक समितिले जनाएको छ । सम्मेलनमा कूल एक सय ५० जनाको सहभागिता रहेको छ । सम्मेलनले विकासका नयाँ मुद्दामाथि छलफलमार्फत् ज्ञानार्जनमा टेवा पुग्ने तथा नीतिनिर्माणमा स्पष्टता र दूरदर्शिता विकास गर्न सघाउ पुग्ने लक्ष्य लिएको विष्टले बताउनुभयो ।

“विकासको एजेण्डालाई नवसिर्जित मुद्दासँग अङ्गीकार गर्दै अर्थतन्त्र विस्तारमा गुणात्मकता र स्थायित्व कायम गर्ने नयाँ आयामको खोजी सम्मेलनले गर्नेछ,” विष्टले भन्नुभयो । अर्थविद् डा लक्ष्मणसिंह कुमारले विभिन्न विभागबाट प्राप्त सहयोगको कदर गर्दै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नेहरूप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ ।
आर्थिक मन्दी, जलवायु परिवर्तन, तरलता समस्या र घट्दो घरेलु उत्पादन जस्ता मुख्य चुनौती देखिएको उहाँको भनाइ छ । कार्यक्रममा वक्ताहरुले अर्थतन्त्रमा देखिएको चुनौती सामनाका लागि तथा बजारको माग पूरा गर्न र घट्दो उपभोगको असरलाई न्यूनीकरण गर्न स्वदेशी उत्पादन बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

उहाँहरुले अर्थतन्त्रमा उदियमान समस्यालाई सम्बोधन गर्न सामूहिक प्रयासको लागि आह्वान गर्नुभएको छ । रूस–युक्रेन द्वन्द्व र आर्थिक गतिशीलतामा यसको प्रभाव जस्ता विश्वव्यापी मुद्दा समाधान गर्न राष्ट्रहरुबीचको दिगो विकास र सहयोगमा ध्यान केन्द्रित गर्न समेत उपस्थित अर्थविद्को माग छ ।

सम्मेलनमा त्रिभुवन विश्वविद्यालयसँगै काठमाडौँ, पोखरा एवं सुदूरपश्चिम विश्वविद्यालय र उल्लेखित विश्वविद्यालयका विभिन्न आङ्गिक एवं सम्बन्धनप्राप्त क्याम्पस तथा विभागको प्रत्यक्ष संलग्नता रहेको छ ।

महोत्तरीमा सामुदायिक विद्यालयबाट एसइईमा सहभागी छात्रा अधिक

महोत्तरी, १५ चैत : माध्यमिक शिक्षा परीक्षा (एसइई)मा महोत्तरीका सामुदायिक विद्यालयबाट यस वर्ष छात्रको तुलनामा बढी छात्रा सहभागी भएका छन् । जिल्लाका एक सय दुई सामुदायिक विद्यालयबाट चार हजार एक सय ४९ छात्रा एसइईमा सहभागी भएका हुन् । सामुदायिक विद्यालयका कूल परीक्षार्थीमा छात्रको सङ्ख्या तीन हजार नौ सय आठ रहेको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयले जनाएको छ ।

संस्थागत र प्राविधिक समूहतर्फ भने छात्रको सङ्ख्या बढी छ । जिल्लाका ३० संस्थागत विद्यालयबाट एसइईमा चार सय ७७ छात्र सहभागी छन् । यिनमा छात्राको सङ्ख्या दुई सय ९७ मात्र छ । यसैगरी प्राविधिक समूहतर्फ पनि छात्र बढी छन् । प्राविधिक समूहतर्फ तीन सय २६ छात्र र छात्रा एक सय ५८ छन् ।

जिल्लाका एक सय दुई सामुदायिक तथा ३० संस्थागतसमेत एक सय ३२ माध्यमिक विद्यालयका जम्मा नौ हजार चार सय ३१ परीक्षार्थी एसइईमा सामेल भएका छन् । परीक्षार्थीमध्ये छात्र चार हजार सात सय ७० र छात्रा चार हजार छ सय ६१ रहेका शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय महोत्तरीका निमित्त प्रमुख प्रतिभा साहले जानकारी दिनुभयो ।

चिकित्सकको निगरानीमा एमाले नेता रायमाझीको उपचार हुँदै

काठमाडौँ, १५ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ । नेता रायमाझीको मुटुमा समस्या भएपछि बुधबार उहाँलाई उक्त सेन्टरमा भर्ना गरिएको थियो ।

नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै उहाँको उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ डा चन्द्रमणि पौडेलले उहाँलाई मुटुको चालको निगरानी गर्न सेन्टरमा राखिएको बताउनुभयो ।

“उहाँलाई रिँगटा लागेर मुटुको चाल कम भएपछि भर्ना गरिएको हो”, डा पौडेलले भन्नुभयो, “अहिले उहाँको मुटुको इसिजी गरेर चिकित्सकको निगरानीमा राखिएको छ ।” उहाँको स्वास्थ्यमा कुनै समस्या नभए पनि मुटुको चाल मात्र कम भएको बताउनुभयो ।

चैते दसैँमा राष्ट्रियस्तरको कालिका कप भलिबल प्रतियोगिता हुने

गलकोट (बागलुङ), १५ चैत स् कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा रु तीन लाख राशिको कालिका कप भलिबल प्रतियोगिता यही चैत ३० गतेदेखि हुने भएको छ ।‘गन्तव्य बागलुङ कालिकाः कला र संस्कृतिको प्रवद्र्धन–स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवद्र्धन’ नाराका साथ आयोजना हुने चैते दसँै मेलाका सन्दर्भमा भलिबल प्रतियोगिता हुन लागेको हो ।

समितिका अनुसार राष्ट्रिय खेलाडी सहभागी हुने प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहलाई रु तीन लाख नगद पुरस्कार प्रदान गरिनेछ । खेलमा द्वितीय हुने समूहलाई रु एक लाख ५० हजार र तृतीय टोलीलाई रु एक लाख प्रदान गरिनेछ । सर्वोत्कृष्ट र अनुशासित खेलाडीलाई रु पाँच हजार पुरस्कृत गरिने छ ।

आगामी वैशाख ६ गतेसम्म सञ्चालन हुने मेलामा पाँच लाख धार्मिक पर्यटक भित्रिने र एक करोडभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । मेलामा लोकदोहोरी प्रतियोगिता, माध्यमिक विद्यालयस्तरीय सामूहिक नृत्य प्रतियोगिताको आयोजना गरिने जनाइएको छ ।

राष्ट्रिय लोकदोहोरी प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद रु दुई लाख पुरस्कार र द्वितीय हुनेलाई रु एक लाख र तृतीय हुनेलाई रु ५० हजार र उत्कृष्ट स्वरका महिला–पुरूष तथा उत्कृष्ट वेषभूषा महिला–पुरूषलाई रु पाँच हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

किसानलाई प्रतिस्पर्धी बनाउन ‘गुरु किसान’ छनोट गर्दै इलामको रोङ गाउँपालिका

इलाम, १५ चैत : जिल्लाको रोङ गाउँपालिका–१ बडारे टोलका किसान मनबहादुर राईले यस वर्ष १२ रोपनी क्षेत्रफलमा १५ मन अलैँची उत्पादन गर्नुभयो । “मल, जल र सिँचाइ समयमा पुग्यो भने कम क्षेत्रफलमा पनि धेरै उत्पादन लिन सकिँदो रहेछ”, किसान राईले भन्नुभयो, “आउँदो वर्ष यही खेतीमा अझ मेहनत गरेर उत्पादन वृद्धि गर्ने लक्ष्य छ ।”

यहाँकै कतिपय किसानले ३० रोपनी क्षेत्रफलमा खेती गर्दा १० मन अलैँची उत्पादन गर्न सकेका छैनन् । कम क्षेत्रफलमा बढी उत्पादन गर्ने किसानलाई ‘गुरु किसान’ का रुपमा छनोट गरी उत्पादकत्वमा प्रतिस्पर्धा गराउन गाउँपालिकाले नयाँ अवधारणा अघि सारेको छ ।“यो पालिकामा चार हजार पाँच सय किसान हुनुहुन्छ, सुरुमा करिब तीन सय जना ‘गुरु किसान’ पहिचान गर्ने तयारी छ”, गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले भन्नुभयो, “किसानको उत्पादन, परिमाण, गुणस्तर र निरन्तर उत्पादनजस्ता कुरामा एकरुपता ल्याउन गुरु किसान कार्यविधिलाई कार्यपालिकाले स्वीकृत गरेको हो ।”

थोरै जमिन र कम लागतमा धेरै उत्पादन गर्ने मेहनती र अगुवा किसानलाई ‘गुरु किसान’ का रुपमा सूचीकृत गरेर सबैलाई व्यावसायिक बनाउन यो अवधारणा अघि सारिएको अध्यक्ष स्याङ्बोले बताउनुभयो । उनीहरुलाई ‘लोगो’ र परिचयपत्र वितरण गरिने गाउँपालिकाले जनाएको छ । “गुरु किसान भनेका अगुवा, मेहनती किसान हुन् । उहाँहरूबाट अरुले सिक्ने हो, त्यसैले उहाँहरुलाई गुरु किसान भनिएको हो”, उहाँले स्पष्ट गर्नुभयो ।


गाउँपालिकाले गुरु किसानमार्फत उत्पादकत्वमा प्रतिस्पर्धा गराउन खोजेको छ । “सबैभन्दा कम क्षेत्रफलमा सबैभन्दा धेरै फलाउनेलाई प्रोत्साहन गर्ने भनेर कार्यविधिमा उल्लेख गरेका छौँ । उत्पादकत्वमा वृद्धि, उत्पादित कृषि वस्तुको परिमाण, गुणस्तर र निरन्तरता बजारीकरणका लागि प्रमुख कुरा हुन् । यी कुरामा किसानबाट नै सुधार ल्याउन सकिन्छ”, अध्यक्ष स्याङ्बोले भन्नुभयो ।

बजेट अभावमा निर्माणधीन भिमाद अस्पतालको भवन निर्माणको काम रोकियो

दमौली (तनहुँ), १५ चैत-बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालका रुपमा स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउने भवन निर्माण सुरु भए पनि पर्याप्त बजेट नहुँदा काम रोकिएको नगरप्रमुख दधिराज सुवेदीले राससलाई बताउनुभयो । एघार करोड ५२ लाख नौ हजार नौ सय ६३ रुपैयाँको लागतमा भवन निर्माणको थालिएको थियो ।

अस्पताल भवन निर्माणको हालसम्म भौतिक र वित्तीय प्रगति २५.६ प्रतिशत रहेको छ । नगरपालिकाका लेखा अधिकृत अर्जुन पौडेलका अनुसार निर्माण कम्पनीलाई रु दुई करोड ९४ लाख ९३ हजार एक सय ५९ भुक्तानी गरिएको छ ।भवन निर्माणका लागि नेपाल सरकार र राजेन्द्र दिवस ज्येवाडण्डा जेभी कन्ट्रक्सनबीच २०७८ असार २५ गते ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०७९ माघभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि सो अवधिमा भौतिक प्रगति नभएकाले पुनः २०८१ असोज २४ गतेसम्मका लागि म्याद थप गरिएको निर्माण कम्पनीका सञ्चालक किरण लामाले बताउनुभयो । बजेट समयमै निकासा नहुँदा काम गर्न समस्या हुने गरेकाले यसतर्फ सम्बन्धित पक्षले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

बराहक्षेत्रमा कुम्भमेलाः तीस लाख पर्यटक भित्र्याउने लक्ष्य

धरान, १५ चैत : सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतराधाममा यही चैत्र २७ गतेदेखि वैशाख २८ गतेसम्म महाकुम्भ मेला आयोजना हुने भएको छ ।पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गरेर यसपटकको मेलामा ३० लाख पर्यटक आउने आकलन गरेर सोहीअनुरुप व्यवस्थापन थालिएको जनाएको छ । आयोजक समितिका सहअध्यक्ष तथा बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले आन्तरिक तथा बाह्य पर्यटक गरी ३० लाख आउने अपेक्षा गरेर व्यवस्थापनका लागि विभिन्न २६ वटा उपसमिति गठन गरिएको बताउनुभयो ।

कुम्भमेला प्रारम्भ हुनुपाँचदिन अघिदेखि मेला सम्पन्न भएको पाँचदिन पछिसम्म चतरा बजार क्षेत्रमा मदिरा र माछामासु बिक्रीमा प्रतिबन्ध लगाइने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “१२ वर्षमा लाग्ने पूर्णमहाकुम्भ मेलालाई सफल बनाउन कुम्भ क्षेत्रमा मदिरा र माछामासु नबेच्न अनुरोध गरेका छौँ ।” उहाँले मेला अवधिभर घरआँगन सफा राख्न पुष्पयुक्त गमलाले पाहुनाको स्वागत गर्न प्रत्येक घरमुलीलाई अनुरोध गरेको तथा सम्भव भएसम्म ‘होमस्टे’का रूपमा आफ्ना निवासलाई तयार गर्न आग्रह गरिएको बताउनुभयो ।मेला मूल आयोजक समितिका उपाध्यक्ष बराहक्षेत्र– २ का वडाध्यक्ष होमप्रसाद गौतमले मेला तयारीसम्बन्धी ८० प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले कुम्भमेलाले बराहक्षेत्र र धरान तथा आसपासका क्षेत्रको धार्मिक पर्यटन विकासमा सहयोग पुग्ने बताउनुभयो ।हरेक १२ वर्षमा लाग्ने पूर्णमहाकुम्भ मेलाका बेला धरानको विजयपुरमा अवस्थित पिण्डेश्वर महादेवको दर्शन गर्न समितिले आग्रह गरेको छ ।भारतका चार स्थान इलाहावाद (उत्तर प्रदेश), उज्जैन (मध्य प्रदेश), नासीक (महाराष्ट्र) र हरिद्वार (उत्तराखण्ड)मा लामो समयदेखि कुम्भमेला आयोजना हुँदै आएको छ । बराहक्षेत्रमा भने २०५९ सालदेखि कुम्भमेला आयोजना हुन थालेको हो । यहाँ प्रत्येक ६ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्णमहाकुम्भ मेला लाग्ने गरेको छ । सप्तकोशी नदी किनारमा अवस्थित बराहक्षेत्र र धरानको पिण्डेश्वर धाम कुम्भमेलासँग जोडिएकाले यो क्षेत्रमा कुम्भमेला आयोजना हुँदै आएको बताइएको छ ।

पहाडी भू-भागमा वर्षाको सम्भावना, यस्तो छ मौसम पूर्वानुमान

काठमाडौं – बिहीबार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

हाल कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भैरहेको छ । जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखी मध्यम वर्षा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखी मध्यम वर्षा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

जलवायु सङ्कटमा विश्वव्यापी प्रतिक्रियाको आवश्यकतामा बोआओ फोरमको जोड

सन् १९९० को दशकको सुरुमा जलवायु परिवर्तनको मुद्दालाई मानव समाजले मान्यता दिएपछि र सन् १९९४ मा जलवायु परिवर्तनमा संयुक्त राष्ट्रसङ्घ फ्रेमवर्क कन्भेन्सन (युएनएफसिसिसी) लागु भएपछि धेरै ढिलो हुनुअघि विश्वभरका मुलुकहरू अब जलवायुमा ठोस कार्यको माग गर्ने महत्त्वपूर्ण क्षणमा आइपुगेका छन् ।

दक्षिणी चीनको हाइनान प्रान्तको बोआओमा जारी बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलन २०२४ मा अन्तर्राष्ट्रिय जलवायु परिवर्तन वार्ताकार, उद्यम, बैंकर र वैज्ञानिकहरूले यो तात्कालीक भावनामा जोड दिएका छन् ।

बुधबार बोआओ कन्फरेन्स सेन्टरमा प्रतिनिधि र पत्रकारहरूसहितको प्यानल छलफलमा जलवायु परिवर्तनका लागि चीनका विशेष दूत लिउ जेनमिनले विश्वभरका प्रत्येक मुलुक र हरेक व्यक्तिले कार्बन तटस्थता र ऊर्जा सङ्क्रमण लक्ष्यहरू प्राप्त गर्न कदम चाल्ने समय भएको बताउनुभयो ।

‘एक्सिलरेटिङ क्लाइमेन्ट एक्सन’ शीर्षकको प्यानल छलफलमा सहभागीहरूले विश्वव्यापी तापक्रम वृद्धिको प्रतिक्रियामा वित्तपोषण मुख्य चुनौतीमध्ये एक भएको बताए । विकासोन्मुख मुलुकहरूमाथि जलवायु परिवर्तनसँग लड्न आवश्यक धन प्राप्त गर्न ठूलो दबाबमा रहेको लिउले बताउनुभयो । उहाँले जलवायु परिवर्तन प्रतिक्रियाको अभ्यास केही मुलुकले मात्र गर्न नसक्ने भई सबै मुलुकले गर्ने भएकाले विकासोन्मुख राष्ट्रहरूको आर्थिक आवश्यकता पूरा गर्न विकसित मुलुकहरूसँग थप कदम चाल्न आग्रह गर्नुभयो ।

“वित्तपोषणका अतिरिक्त नयाँ खोजमार्फत राम्रो प्रविधि कसरी आविष्कार गर्न सकिन्छ भन्ने ठूलो चुनौती छ, जलवायु परिवर्तनप्रति मानवताको प्रतिक्रिया प्राविधिक विकासमा निर्भर हुन्छ”, लिउले भन्नुभयो । यस शताब्दीको मध्यसम्ममा विश्वले कार्बन तटस्थता हासिल सुनिश्चित गर्न विद्यमान प्रविधि पर्याप्त नभएको उहाँको भनाइ थियो ।

“सम्भवतः नयाँ प्रविधिहरू विकसित गर्नुपर्ने आवश्यकता छ, त्यसैले हामी विश्वभरका सरकार, उद्यमी र वैज्ञानिकहरूलाई नयाँ ऊर्जा प्रविधिको विकास र सुधार बढाउन प्रोत्साहित गर्दछौँ”, उहाँले भन्नुभयो, “प्राविधिक र वित्तीय दुवैको समाधान भएपछि मात्र मानिसहरूका लागि जलवायु परिवर्तनसँग लड्न सहज हुनेछ ।”

बुधबारको जलवायु–केन्द्रीत छलफलमा औषधि उद्योगलगायत विभिन्न क्षेत्रका उद्यमहरूले भाग लिए । छलफलमा जलवायु परिवर्तनमा सबै पक्षको बढ्दो साझा चिन्तामाथि प्रकाश पारियो । औषधि कम्पनी एस्ट्राजेनेकाका प्रमुख कार्यकारी अधिकारी पास्कल सोरियटले जलवायु परिवर्तनले ३० देखि ४० वर्षको समयमा मानिसहरूको जीवनमा प्रभाव पार्नेछ भन्ने धारणा गलत भएको बताउनुभयो ।

उहाँले पर्यावरणसम्बद्ध जोखिमका कारण हरेक वर्ष करिब एक करोड २० लाख मानिस मर्ने गरेको जलवायु परिवर्तनको प्रभावभन्दा पहिला नै स्पष्ट भएको बताउनुभयो ।

अत्यधिक क्षमताको समस्यालाई सम्बोधन गर्न येलेनले चीनसँग आग्रह गर्ने

अमेरिकी वित्तमन्त्री जेनेट येलेनले बुधबार विद्युतीय सवारी जस्ता उद्योगमा चीनबाट सस्तो निर्यातमा भएको वृद्धिले ‘विश्वव्यापी प्रभाव’ ल्याउनसक्ने चेतावनी दिन लाग्नुभएको छ ।

उहाँले आफ्नो अर्को चीन भ्रमणका क्रममा हुने छलफलमा अतिरिक्त क्षमताको जोखिमलाई मुख्य मुद्दाका रूपमा उठाउने र बेइजिङमाथि ‘उक्त मुद्दाको समाधान गर्न आवश्यक कदम चाल्न’ का लागि दबाब दिने योजना बनाइरहनुभएको छ ।

यस वर्ष वित्तमन्त्रीका रूपमा आफ्नो दोस्रो चीन भ्रमणको योजना बनाइरहनुभएकी येलेनले यी टिप्पणी जर्जियामा दिने अपेक्षा गरिएको छ । उहाँले अमेरिकी राष्ट्रपति जो बाइडेनको ऐतिहासिक मुद्रास्फीति न्यूनीकरण ऐनका फाइदाहरूबारे पनि बताउनुहुनेछ र प्रतिक्रियामा घोषणा गरिएको प्रमुख व्यावसायिक लगानीमाथि प्रकाश पार्नुहुनेछ ।

यद्यपि उहाँको भाषणको केही अंशमा चीनका साथै औद्योगिक क्षमताका अन्य मुलुकहरूमाथि पर्ने प्रभावका बारेमा पनि चिन्ता व्यक्त गरिएको छ । येलेनको टिप्पणीअनुसार विगतमा स्टिल र आलुमिनियमजस्ता क्षेत्रमा चिनियाँ सरकारको समर्थनका कारण ‘पर्याप्त अधिक लगानी र अतिरिक्त क्षमता सिर्जना भयो, जसलाई चिनियाँ कम्पनीहरूले कम मूल्यमा विदेशमा निर्यात गर्न चाहन्थे ।’

“यसबाट चीनमा उत्पादन र रोजगारमा सहयोग पुर्याए पनि बाँकी संसारका उद्योगहरूलाई सङ्कुचित गर्न बाध्य बनायो”, उहाँले भन्नुभयो, “अब हामी सौर्य, विद्युतीय सवारी र लिथियम–आयत बेट्रीजस्ता ‘नयाँ’ उद्योगमा अतिरिक्त क्षमता निर्माण देख्छौँ ।”

आजदेखि एसइई परीक्षा : बागलुङका चार हजार चार सय विद्यार्थी सहभागी

गलकोट (बागलुङ) – बागलुङमा माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै गएको पाइएको छ । यद्यपि यो वर्ष चार हजार तीन सय ९९ जना विद्यार्थी सहभागी हुँदैछन् ।

आजदेखि हुने एसइई परीक्षामा बागलुङबाट चार हजार तीन सय ९९ विद्यार्थी सहभागी हुँदैछन् । गत वर्षको तुलनामा यस वर्ष एसइईमा सहभागी हुने विद्यार्थीको सङ्ख्या चार सय ३७ ले घटेको छ ।

तीन वर्षयताको तथ्याङ्कलाई हेर्ने हो भने विद्यार्थीको सङ्ख्या बर्सेनि घटेको पाइएको छ । शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका अनुसार २०७८ सालमा चार हजार आठ सय ९३ जना एसइई परीक्षामा सहभागी भएका थिए । विसं २०७९ मा चार हजार आठ सय ३६ विद्यार्थी सहभागी भएका थिए । बर्सेनि परीक्षार्थीको सङ्ख्या घट्दै गएको र आगामी वर्ष चार हजारबाट अझै ओरालो लाग्ने अवस्था देखिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख युक्तप्रसाद सुवेदीलेले बताउनुभयो ।

घट्दो जनसङ्ख्या, वैदेशिक रोजगारी र परिवार नै विदेश बस्नाले बर्सेनि विद्यार्थीको सङ्ख्या घट्दै गएको बताउनुभयो । “विद्यार्थीको सङ्ख्या घट्दो पाएका छौँ, आगमी वर्षको दर्ता फाराम विश्लेषण गर्दा विद्यार्थी घट्ने स्पष्ट भएको छ,”, उहाँले भन्नुभयो ।

बागलुङमा यस वर्ष एसइई परीक्षामा चार हजार तीन सय ९९ विद्यार्थी सहभागी हुँदैछन् भने सोमध्ये तीन जना दृष्टिविहीन, १० जना संस्कृत विद्यालयका र दुई सय २९ प्राविधिक विषय, ३४ खुलातर्फका विद्यार्थी रहेका शिक्षा विकास तथा समन्वय एकाइ बागलुङले जनाएको छ ।

जिल्लामा ३१ वटा परीक्षा केन्द्र कायम गरिएका छन् । परीक्षा सम्पन्न गर्न ३१ जना केन्द्राध्यक्ष चार सय ८९ सहायक केन्द्राध्यक्ष, निरीक्षक एक हजार नौ सय २८, परीक्षा सहायक पाँच सय २३, कार्यालय सहायक आठ सय ६७ जना र चार सय ६५ जना सुरक्षाकर्मी परिचालन हुने छन् ।

गोरखा नगरपालिकाका जनप्रतिनिधिद्वारा प्रधानमन्त्रीसँग तीन अर्बभन्दा बढीको बजेट माग

गोरखा – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गोरखा नगरपालिकाका जनप्रतिनिधिसहितको टोलीले सिंहदरबारमा बुधबार भेटघाट गरी नगर क्षेत्रको विकासका लागि विभिन्न योजना कार्यान्वयनमा सहयोग पुु¥याउन आग्रह गरेको छ ।

गोरखा क्षेत्र नम्बर २ का सांसदसमेत रहनुभएका प्रधानमन्त्रीलाई भेटेर नेपालको इतिहास झल्कने गरी गोरखामा ऐतिहासिक सङ्ग्रहालय उद्यान निर्माणसहित अन्य दीर्धकालीन योजनाको प्रस्ताव गर्दै बजेट माग गरिएको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो ।

“पृथ्वीनारायण शाहको इतिहासदेखि गणतन्त्र नेपालसम्मको इतिहासलाई एकै ठाउँमा देख्न र अध्ययन गर्न पाइने गरी ऐतिहासिक सङ्ग्रहालय उद्यान निर्माणको प्रस्ताव प्रधानमन्त्रीसमक्ष गरेका छाँै, उहाँले भन्नुभयो, त्यसबाहेक नगरपालिकाभित्र सडक स्तरोन्नति, छेवेटार बहुउद्देश्यीय ताल निर्माण लगायतका योजना पनि माग गरिएका योजनामा परेका छन् ।”

त्यस्तै ऐतिहासिक ठूलोआँगन क्षेत्रमा सम्पदा बस्ती निर्माणका लागि रु ५० करोड, बेनीखोला मत्स्य पर्यटन केन्द्र निर्माणका लागि रु १० करोड, गोरखा सदरमुकामको बसपार्कदेखि खोलखोलेसम्म आधुनिकस्तरको फुटपाथसहितको सडक निर्माणका लागि रु २० करोड, शिखरबेँसी ताल निर्माणका लागि रु ५० करोड बराबरको योजना पेस गरी बजेट माग गरिएको उहाँँले बताउनुभयो ।

त्यस्तै जनप्रतिनिधिको टोलीलेसङ्घीय सरकारले गर्नुपर्ने नगरपालिकाभित्रका विभिन्न सडक स्तरोन्नतिका लागिसमेत योजना प्रस्ताव गरी बजेट विनियोजनको माग गरेको छ । स्रोत सुनिश्चित नहुँदा रोकिएको रु ९० करोडको गोरखा सदरमुकामको ढल व्यवस्थापनको योजना, रु १७ करोड दरौँदी लिफ्टिङ योजनाका लागि स्रोत सुनिश्चित गरिदिन पनि नगरकार्यपालिकाले टोलीले प्रधानमन्त्रीसँग माग गरेको छ । नगरपालिकाले राखेको मागप्रति प्रधानमन्त्री दाहाल सकारात्मक हुनुभएको नगरप्रमुख रानामगरको भनाइ छ । प्रधानमन्त्री दाहाललाई भेट्न नगरप्रमुख रानामगरसहित, उपप्रमुख मसलीमाया थोकर प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी, संविधानसभाका सदस्य अमर तमु, नगर कार्यपालिका सदस्यलगायत सिंहदरबार पुगेका थिए ।

‘भूमिसम्बन्धी समस्या समाधान हुन्छ’ – मन्त्री अधिकारी

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) – भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समस्या दुई वर्षभित्र समाधान हुने बताउनुभएको छ । उहाँले भन्नुभयो “लामो समयदेखि अल्झिएको भूमिहीन सुकुम्बासी समस्यालाई संयुक्त सरकारले दुई वर्षभित्र समाधान गर्ने छ ।”

बुधबार पश्चिम नवलपरासीमा डुबान तथा सीमा क्षेत्रको अवलोकनमा आउनुभएका भूमि व्यवस्था मन्त्री अधिकारीले चैत महिनाभित्र आयोग बनाएर वैशाखभित्र कामको थालनी गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “सुकुम्बासीको नाममा जग्गा प्राप्ति गर्ने, जग्गा प्राप्त गरेपछि बिक्री गर्ने विकृतिलाई अन्त्य गर्नु जरुरी छ ।” जग्गा प्राप्तिपछि लामो समयसम्म बेच्न नपाइने सरकारले नीति, नियम ल्याउन लागेको उहाँले जानकारी दिनुभयो ।

घरपरिवारले एक दिनमा एक अर्ब डलरको खाना खेर फाल्छन्

विश्वभरका परिवारले सन् २०२२ मा प्रत्येक दिन एक अर्ब डलरको खाना खेर फालेका छन् । यसलाई संयुक्त राष्ट्रसङ्घले बुधबार खानाको नोक्सानीलाई ‘विश्वव्यापी त्रासदी’ भनेको छ ।

करिब ८० करोड मानिस भोकै बसेको यस्तो समयमा घर र व्यवसायहरूले १० खर्ब डलरभन्दा धेरै मूल्यको खाना थन्क्याएर राखेको राष्ट्रसङ्घको पछिल्लो फुड वेस्ट इन्डेक्स रिपोर्टमा उल्लेख छ । रिपोर्टअनुसार सन् २०२२ मा बजारमा उपलब्ध सबै उत्पादनहरूको करिब २० प्रतिशत अर्थात एक अर्ब टनभन्दा बढी खाना खेर गएको थियो । यसमा अधिकांश घरहरूबाट खेर गएका हुन् ।

राष्ट्रसङ्घीय पर्यावरण कार्यक्रम (युएनइपी) का कार्यकारी निर्देशक इन्गर एन्डरसनले विज्ञप्तिमा भन्नुभयो, “खानाको नोक्सानी विश्वव्यापी त्रासदी हो, विश्वभरमा खानाको नोक्सानीका कारण आज मानिसहरू भोकै बस्नेछन् ।” रिपोर्टमा यस्तो प्रकारको नोक्सानी नैतिकमात्र नभएर ‘पर्यावरणीय असफलता’ भएको उल्लेख छ ।

खानाको नोक्सानीले उड्डयन क्षेत्रको पृथ्वीको तापक्रम बढाउने उत्सर्जनको पाँच गुणा उत्पन्न गर्दछ र यस्ता कहिल्यै नखाइने बालीहरू उब्जाउनका लागि भूमिको विशाल भागलाई परिवर्तन गर्न आवश्यक छ । गैरनाफामूलक सङ्गठन डब्ल्युआरएपीसँग सहलेखन गरिएको उक्त रिपोर्ट राष्ट्रसङ्घले सङ्कलन गरेको विश्वव्यापी खाद्य नोक्सानीमाथि दोस्रो हो र यसले अहिलेसम्मको सबैभन्दा पूर्ण तस्बिर प्रदान गर्दछ ।

“डाटा सङ्कलनमा सुधार हुँदै गर्दा समस्याको यथार्थ स्तर अत्यन्त स्पष्ट भएको छ”, युएनइपीका क्लेमेन्टाइन ओ’कनरले भन्नुभयो, “तपाईंले जति धेरै खानाको नोक्सानी खोज्नुहुन्छ, त्यति नै धेरै प्राप्त हुनेछ ।”

इटहरी गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा

धरान, १५ चैत : इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ ।

राष्ट्रिय जागृति क्लबद्वारा आयोजित उक्त प्रतियोगिताअन्तर्गत बुधबार राति भएको खेलमा निर्धारित समयमा दुवै समूहले गोल गर्न नसकेपछि पेनाल्टि सु्टआउटका आधारमा नेपाल आर्मीको त्रिभुवन आर्मी २–१ गोल अन्तरले विजयी भएको हो । पेनाल्टि सुटमा आर्मीका लागि फत्तेमान घले र रिपु भुलानले गोल गरे भने सगरमाथाका लागि दिवाकर चौधरी मात्र गोल गर्न सफल भए ।

बुधबारको खेलमा म्यान अफ द म्याचको उपाधि आर्मीका गोलरक्षक विकेस कुथुले हात पारे । उनलाई नगद १० हजार प्रदान गरिएको थियो । आज गत वर्षको उपविजेता चर्च ब्वाइज युनाइटेड र आयोजक राष्ट्रिय जागृति क्लब भिड्ने छन् । प्रतियोगिताको फाइनल खेल आगामी शनिबार हुनेछ ।

हेर्नुहोस् चैत १५ गते बिहिवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – दाम्पत्य सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । शारीरिक आलस्यताले सताउन सक्नेछ । नयाँ लगानिमा सजग रहनु होला । पारीवारिक झोर झमेलाले सताउनेछ । मनको चन्चलताले गर्दा कार्य क्षेत्रमा सामान्य ढिलाई हुन सक्नेछ ।

बृष राशि- मान्यजनको साथ सहयोगमा गरीएका कार्य भने सफल रहलान । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शारीरिक आलस्यले कार्य ढिलाई हुन सक्छ । अरुको बिश्वासमा गरीएका कार्यहरुमा सामान्य झझट पैदा हुन सक्ला । अनायासै यात्राको सम्भाबना रहन सक्नेछ ।

मीथुन राशि – पारीवारिक झोर झमेलाले सताउन सक्छ । अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । आम्दानि क्षेत्र भने मध्यम रहेको छ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । बौधिक ब्यक्तित्व सँगको भेटघाटले मन हर्सित तुल्याउला । नयाँ कार्यको थालनिले आम्दानि सबल तुल्याउनेछ ।

कर्कट राशि- परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । काम कार्यको क्षेत्रमा बिषेश ध्यान दिनु होला । पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन ।

सिंह राशि – मित्रजनको साथ सहयोग भरपुर रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला । ब्यापार ब्यवसायको क्षेत्र भने राम्रो रहेको छ । सामान्य यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मान्य जनको साथ सहयोग प्राप्त हुनाले सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ ।

कन्या राशि- बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । खानपानको गडबढीले स्वास्थमा सामान्य बाधा आउन सक्छ । बोलिको कारण आफन्तजनहरु रुष्ट रहन सक्छन सजग रहनु होला । दीर्घकालिन फाईदा मुलक काममा लगानि लगाउने राम्रो समय रहेको छ तर तत्कालिक आर्थिक अभाब झेल्नु पर्ला ।

तुला राशि – साधारण चोट पटक लाग्न सक्ने सम्भाबना रहेको छ । प्रेमी प्रेमीका बिच खट्पट रहन सक्छ । कार्य सम्पादनमा आटँको कमि रहला । ब्यापार ब्यवसायका माध्यम बाट आम्दानीका श्रोत सुदृण बन्नेछ । साजेदारी काममा हात नहाले कै बेस रहने छ ।सभा सम्मेलन जन्य कार्य सहभागीता मिल्नेछ ।

बृश्चिक राशि – मित्रजनहरुको लागी साधारण खर्चहुन सक्ने सम्भाबना रहेको छ । खराब संंगतको कारणले सामान्य झन्जट ब्यर्होनु पर्ला । ब्यापार ब्यवसायमा सामान्यतय हानि रहन सक्ने छ । कला कौशलको प्रयोगलमा समय ब्यतित रहने योग रहनेछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ ।

धनु राशि – हरकोहिको पुर्ण बिश्वास नर्गनु होला धोका हुन सक्छ । नयाँ कामको क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । मित्रजन को साथ सहयोय प्राप्त हुनेछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । यात्रामा साबधानि अपनाउनु होला ।

मकर राशि- मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । कष्टकर यात्रा रहन सक्छ । शारिरिक आलस्यता ले सताउने छ । सभा समेलनमा सरीक हुने योग रहेको छ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ ।

कुम्भ राशि – दाजु भाई तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । यात्राकारक दिन रहेकोछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । कुरा काट्ने ब्यक्तिको कमि नरहला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ ।

मिन राशि – शारीरिक अस्वस्थाका कारण कार्य सम्पादनमा समस्या आउन सक्छ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मान्य जनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । माल सामान को क्षति ब्यहोर्नू पर्ला सजग रहनु होला ।

फोहरको वर्गीकरण गरी बन्चरेडाँडामा कम बिसर्जन गरिने

काठमाडौँ – सहरी विकासमन्त्री धनबहादुर बुढाले काठमाडौँ उपत्यकाको फोहरमैलाको वर्गीकरण गरी बन्चरेडाँडास्थित ल्याण्डफिल साइटमा जाने फोहरको परिमाणलाई कम गर्ने गरी स्थानिय तहसँग समन्वय गर्ने बताउनुभएको छ ।

मन्त्रालयमा भएको बैठकमा मन्त्री बुढाले बन्चरेडाँडामा फोहर बिर्सजन गरिरहेका सबै स्थानीय तहलाई यथाशीघ्र फोहरमैला वर्र्गीकरण गरी ल्याण्डफिल साइटमा जाने फोहरको परिमाण कम गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत परिपत्र गर्ने व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो ।

काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन कार्ययोजनासमेत कार्यान्वयन गर्न पनि मन्त्री बुढाले निर्देशन दिनुभएको छ । दीर्घकालीन कार्ययोजनाअन्र्तगत ल्याण्डफिल साइट प्रभावित क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षमा आवश्यक बजेट तथा कार्यक्रम विनियोजनमा प्राथमिकता दिन सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरिने मन्त्री बुढाले बताउनुभयो । बैठकले बन्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले घोषणा गरेको आन्दोलनका कार्यक्रम तत्काल फिर्ता लिन र वार्ताबाट समाधान खोज्न समेत आग्रह गरेको छ । बैठकले फोहरमैला व्यवस्थापनका सन्दर्भमा नेप वेष्टको प्रस्तावमाथि कानुनबमोजिम शीघ्र निर्णय गरी टुङ्ग्याउन लगानी बोर्डलाई अनुरोध गर्ने निर्णय गरेको मन्त्रालयका सचिव मणिराम गेलालले जानकारी दिनुभयो ।

नयाँ शैक्षिकसत्रको भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन मन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ विद्यालयका प्राचार्यलाई नयाँ शैक्षिकसत्रको भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन आग्रह गर्नुभएको छ । उहाँले भनसुन र पहुँचका आधारमा नभई विद्यालयले निर्धारण गरेको विधि र प्रक्रियालाई थप विश्वासिलो बनाएर योग्यताका आधारमा विद्यार्थी लिन आग्रह गर्नुभएको हो । ती विद्यालयका प्राचार्यहरुसंग बुधबार मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले भन्नुभयो “ती विद्यालयले भर्नाका लागि आवेदन आह्वान गरेपछि धेरैले तपाईंहरुको त कोटा हुन्छ, भनिदिनु प¥यो भनेर दबाब दिइरहनुभएको छ । उहाँहरुको भनाइअनुसार मन्त्री, सचिव, महानिर्देशक, जिल्लाका प्रशासन र प्रहरी प्रमुखलगायतको कोटाका आधारमा भर्ना हुन्छ रे , विगतमा त्यस्तो विकृति थियो भने पनि अब अन्त्य गर्नुपर्छ ।”

छलफलमा तीनवटै विद्यालयका प्राचार्यले भर्ना छनोट प्रक्रियाबारे जानकारी गराउँदै विगतमा प्रधानमन्त्रीसम्मको तहबाट दबाब आएको गुनासो गरेका थिए । मन्त्री श्रेष्ठले विगतमा जे भए पनि अबदेखि पहुँचका आधारमा भर्ना नलिन र स्थानीय सरकारसँग पनि पर्याप्त समन्वय गर्न आग्रह गर्नुभयो । “पहुँचको आधारमा दबाब र प्रभावमा परेर होइन बरु गरिब र निम्नस्तरका विद्यार्थीलाई प्राथमिकता दिनुस्, मन्त्री श्रेष्ठले भन्नुभयो, ‘पहुँचका आधारमा भर्ना हुन्छ भन्ने भाष्यलाई चिर्नैपर्छ ।” मन्त्री श्रेष्ठले आफ्नो वा मन्त्रालयको नाम दुरुपयोग गरेर कसैले भर्नाका लागि दबाब दिए जानकारी गराउनसमेत तीनवटै विद्यालयका प्राचार्यलाई अनुरोध गर्नुभएको थियो ।

छलफलमा सेन्ट जेभियर्सले चार वर्षअघिदेखि नै गोलाप्रथाबाट भर्ना लिने गरेको, सेन्ट मेरिजले अघिल्लो वर्ष अभिभावकसँगको अन्तक्र्रियाका आधारमा भर्ना लिइएको र बूढानीलकण्ठले परीक्षाले निर्धारण गरेको योग्यतामा आधारमा भर्ना लिने गरेको जानकारी दिएका थिए । मन्त्री श्रेष्ठले गोलाप्रथाबाट भर्ना लिने प्रक्रियालाई निरन्तरता दिएर थप विश्वसनीय बनाउन आग्रह गर्नुभएको थियो ।

संसदीय टोलीद्वारा जिल्ला कारागार बाँकेको स्थलगत अनुगमन

नेपालगञ्ज, १४ चैत ःसंसदीय टोलीले जिल्ला कारागार बाँके र जयन्दु बाल सुधारगृहको आज स्थलगत अनुगमन गरेको छ । प्रतिनिधिसभा, कानुन न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीको नेतृत्वमा आएको छ सदस्यीय संसदीय टोलीले कारागार र बाल सुधारगृहको अनुगमन गरेको हो ।

समितिका सदस्य पूर्णबहादुर घर्तीले कारागार र बाल सुधारगृहको नीतिगत तथा भौतिक संरचनाको सुधारलगायतका विषयमा जानकारी लिएको बताउनुभयो । “जे जस्ता समस्या देखिएका छन्, त्यसलाई कसरी समाधान गर्ने भन्ने विषयमा सरकारको ध्यानाकर्षण गराइनेछ”, उहाँले भन्नुभयो ।

कारागार कार्यालयका प्रमुख अर्जुनजङ्ग शाहले संसदीय टोलीलाई कारागारको अवस्थाका बारेमा विस्तृत जानकारी गराउनुभएको थियो । संसदीय टोलीमा समितिका सदस्य ध्रुव बहादुर प्रधान, शेरबहादुर कँुवर, चन्द्रबहादुर विक, रेखा चौधरीलगायत हुनुहुन्थ्यो । उक्त टोलीले बिहीबार बर्दियास्थित जिल्ला कारागार र शुक्रबार सुर्खेतमा रहेको कारागारको पनि स्थलगत अनुगमन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

पार्टीको भूमिका हाल यथावत राख्ने नागरिक उन्मुक्ति पार्टीको निर्णय

सुदूरपश्चिम, १४ चैत : नागरिक उन्मुक्ति पार्टीका संस्थापक सदस्यको बैठकले सङ्घीय सरकार र प्रदेश सरकारका सवालमा पार्टीले निर्वाह गरिरहेको भूमिकालाई अहिले यथावत राख्ने निर्णय गरेको छ । कैलालीको टीकापुरमा आज बसेको पार्टीका संस्थापकको बैठकले अहिले सङ्घ र प्रदेशमा जे जस्तो छ, त्यही अवस्थामा रहने निर्णय गरिएको बैठकपछि पार्टीका प्रवक्ता दामोदर पण्डितले जानकारी दिनुभयो । पण्डितले भन्नुभयो, “अहिलेलाई जहाँजस्तो छ, त्यही अवस्थामा रहने निर्णय गरिएको छ, सत्ता सहकार्यका सवालमा पार्टीको ‘पोजिशन’ स्पष्ट भएमा पछि सङ्घ र प्रदेशमा एकै धारणा बनाएर जान्छौँ ।”

नागरिक उन्मुक्ति पार्टीले केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको थियो । सुदूरपश्चिम प्रदेशमा भने नेपाली कांग्रेस नेतृत्वको हालको सरकारलाई समर्थन गर्ने निर्णय सो पार्टीको संसदीय दलको बैठकले हालै गरेको थियो ।

पार्टीका अध्यक्ष एवं सांसद रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा पार्टीका संस्थापक सदस्यको आज टीकापुरमा बैठक बसेको प्रवक्ता पण्डितले बताउनुभयो । प्रदेशका भूमि व्यवस्था तथा सहकारीमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका नेता रामेश्वर चौधरीले पार्टीको टीकापुरमा बैठक बसेर गरेको भनिएको निर्णय झुठो रहेको बताउनुभयो ।

पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले आजको बैठकका लागि सबैलाई पत्राचार गरेको भए पनि कोही बैठकमा नगएको जानकारी दिनुहुँदै उहाँले भन्नुभयो, “टीकापुरमा आज केही भएको छैन, पार्टीबाट मन्त्री भएका धनगढीमै हुनुहुन्छ ।” पार्टीका संस्थापक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिताबीच सरकारलाई समर्थन गर्ने÷नगर्ने विषयमा देखिएको मतभेदले पार्टीमा समस्या उत्पन्न भएको सो पार्टीका कार्यकर्ताको भनाइ छ ।

सुदूरपश्चिम प्रदेश सरकार गठनमा निर्णायक शक्ति देखिएको नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभामा सात सदस्य छन् । सातमध्ये पाँच मन्त्री छन् । ठूलो दल नेपाली कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र)का सभामुखसहित ११, नेकपा (एमाले) का १०, नेकपा (एकीकृत समाजवादी) का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् । एक पद रिक्त छ । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै मुख्यमन्त्री शाहले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बाट सरकारमा रहेका मन्त्रीलाई पदमुक्त गर्नुभएको थियो । लगत्तै मुख्यमन्त्रीले नागरिक उन्मुक्तिका थप चार जनालाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको थियो ।

प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको छानामा ताम्रपत्र

राँझा (बाँके), १४ चैत : नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको छानामा ताम्रपत्र लगाइएको छ । छानामा धेरै पहिले राखिएको टायल जीर्ण भई खस्न थालेपछि ताम्रपत्रले छाउने काम भएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जानकारी दिनुभयो ।

“बागेश्वरी मन्दिरको छानामा वास्तुशास्त्र मिल्ने र टिकाउ पनि हुने भएकाले छानामा ताम्रपत्र लगाएका छाँै”, नगरप्रमुख बिष्टले भन्नुभयो, “ताम्रपत्रको छानो लगाउँदा लागत सोचेभन्दा धेरै भएपनि सौन्दर्य र टिकाउ हुनेछ ।”

करिब रु ७५ लाख लागतमा बागेश्वरी मन्दिरको छानामा ताम्रपत्र लगाउने काम भएको बागेश्वरी मन्दिर व्यवस्थापन समितिका सदस्य एवम् मन्दिर सौन्दर्यीकरण उपभोक्ता समितिका सचिव नारद पुरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्दिरको छानो ताम्रपत्रले छाउने काम अन्तिम चरणमा पुगेको छ । नेपालगञ्ज–२ मा अवस्थित बागेश्वरी मन्दिर हिन्दू धर्मावलम्बीको पवित्र तथा महत्वपूर्ण धार्मिकस्थलका रुपमा छ । नेपाल र भारतका विभिन्न स्थानबाट यहाँ भक्तजन दैनिक आउने गर्छन् । बागेश्वरीको दर्शनबाट प्रमुख शक्तिपीठका रुपमा रहेको बागेश्वरीमा विजयादशमीको समयमा दर्शनार्थीको भीड हुने गरेको मन्दिरका मूल महन्त चन्द्रनाथ योगीको भनाइ छ । उहाँका अनुसार यहाँ सतीदेवीको जिब्रो पतन भएकाले साक्षात देवीको बास रहेको छ । जनश्रुतिअनुसार बागेश्वरीमा सतीदेवीको जिब्रो पतन भएकाले सुरुमा बाक्येश्वरी, त्यसपछि बाग्येश्वरी हुँदै बागेश्वरी भएको विश्वास गरिन्छ ।

पछिल्लो पटक बागेश्वरी मन्दिरमा प्रत्येक सोमबार गरिने महाआरतीमा नेपालगञ्जबासीलगायत टाढाटाढाबाट श्रद्धालु भक्तजन सहभागि हुने गरेका छन् ।

नेकपा (एमाले) कास्कीमा क्षेत्री विजयी

गण्डकी, १४ चैत : नेकपा (एमाले) जिल्ला कमिटी कास्कीको ११औँ अधिवेशनबाट अध्यक्ष पदमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित हुनुभएको छ । अध्यक्ष पदका अर्का उम्मेदवार माधव बास्तोलालाई दुई सय चार मतले पराजित गर्दै क्षेत्री अध्यक्षमा निर्वाचित हुनुभएको हो । बुधबार भएको मतगणनामा क्षेत्रीले पाँच सय ५१ र बास्तोलाले तीन सय ४७ मत प्राप्त गर्नुभएको हो ।

अध्यक्षका अर्का प्रत्यासी विवेक त्रिपाठीले जम्मा १७ मत ल्याएको निर्वाचन कमिटीले जनाएको छ । यस्तै उपाध्यक्षमा भेषराज बराल,सचिवमा लेखबहादुर तामाङ (दर्शन लामा), उपसचिवमा लालबहादुर परियार र उपसचिव महिलातर्फ सन्तुदेवी सुवेदी विजयी हुनुभएको जनाइएको छ ।

अधिवेशनबाट पदाधिकारीसहित एक सय २० जनाको कमिटी चयन भएको हो । दश प्रतिशत मनोनीत र १० प्रतिशत अन्य पार्टीबाट आएकालाई समेटेर एक सय ४१ सदस्यीय जिल्ला कमिटी बन्ने एमालेले जनाएको छ । अधिवेशनमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गराइएको थियो । आगामी दुई वर्षका लागि जिल्ला कमिटीको नेतृत्व लिन एमालेका नेता÷कार्यकर्ता प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रेका थिए ।

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी अस्पताल भर्ना भएका छन् ।

जापानी औषधि निर्माता कम्पनी कोबायाशी फर्मास्युटिकल्सले ग्राहकको मृगौलासम्बन्धी गुनासोपछि बजारबाट उक्त औषधि फिर्ता मागेको थियो भने अधिकारीहरूले गुनासोलाई सम्बोधन गर्न अनुसन्धान सुरू गरिसकेका छन् ।

कम्पनीले औषधिका तीन वटा ब्रान्ड ‘बेनी, कोजी, कोलेस्टे हेल्प’ र कोलेस्टेरोल कम गर्ने विश्वास गरिने रातो चामलबाट बनेको ‘बेनी र कोजी’ नामक दुई अन्य उत्पादनलाई फिर्ता बोलाएको छ ।

चिकित्सा अध्ययनहरूले उच्च कोलेस्टेरोल कम गर्नका लागि प्रयोग गरिने ‘स्ट्याटिन’को विकल्पको रूपमा रातो चामलबाट बनेको उक्त आहार दिइने बताएका छन् तर यस उत्पादनमा प्रयोग गरिएको रासायनले अङ्गमा क्षतिको जोखिम ल्याउने उनीहरूले चेतावनी दिएका छन् ।

सरकारका प्रवक्ता योशिमासा हयाशीले पत्रकारहरूसँग भन्नुभयो, “शंकास्पद मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ भने उक्त आहार सेवन गरेका विरामी परेको भनी अस्पताल भर्ना भएका १०६ जनाको उपचार भइरहेको जानकारी प्राप्त भएको छ ।”

कोबायाशी फार्मास्युटिकल्सले जापानमा टेलिभिजन विज्ञापनहरू मार्फत प्रवद्र्धन गरिएका स्वास्थ्यसम्बन्धी धेरै उत्पादनहरूलाई बजारमा प्रवद्र्धन गर्दछ । कम्पनीले सञ्चारमाध्यममार्फत सार्वजनिक भएका स्वास्थ्य समस्याहरू र उत्पादनहरूबारे अध्ययन गरिरहेको तर निष्कर्षमा नपुगिएको बताएको छ ।

ओसाकास्थित उक्त कम्पनीले जापानका करिब ५० र ताइवानका दुई कम्पनीलाई पनि रातो चामलबाट तयार पारिएको औषधीय आहार उपलब्ध गराएको जनाएको छ ।

कोबायाशीका अधिकारीले एएफपीसँग कुरा गर्दै आफूहरूले स्वेच्छिक रूपमा उत्पादनलाई शुक्रबार फिर्ता बोलाएको र आहारका कारण दुई जनाको मृत्यु भएकोबारे तत्काल थप टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

कोबायाशी फर्मास्युटिकल्सले उपलब्ध गराएको बेनी कोजी प्रयोग गर्ने दर्जनौं जापानी कम्पनीले पनि यसलाई बजारबाट फिर्ता ल्याउने घोषणा गरेका छन् ।

प्रभावित उत्पादनहरूमा विभिन्न स्वास्थ्य ट्याब्लेटहरू, साथै गुलाब–रंगको पेय पदार्थ, सलादको लागि तयार पारिने अचार, पाउरोटी र ‘मिसो पेस्ट’ धेरै परम्परागत व्यञ्जनहरूमा प्रयोग गरिन्छ ।

सरकारले कोबायाशी फार्मास्युटिकल्सलाई स्थितिको बारेमा ‘तत्काल जानकारी उपलब्ध गराउन’ भनेको स्वास्थ्य मन्त्री केइजो ताकेमीले बताउनुभएको छ । उहाँले भन्नुभयो, “स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षतिको बारेमा जानकारी सङ्कलन गर्न राष्ट्रव्यापी रूपमा स्थानीय अधिकारीहरूलाई निर्देशन दिएको छ ।”

बुधबार कोबायाशी फर्मास्युटिकल्सको शेयर मूल्य चार प्रतिशतले घटेको छ ।

यसअघि, उत्पादक कम्पनीले मृत रिपोर्ट गरिएको पहिलो व्यक्तिले फिर्ता बोलाइएका उत्पादनहरू मध्ये एक आहारलाई लगभग तीन वर्ष नियमित रूपमा खरीद गरेको पुष्टि गरेको थियो । कम्पनीले आहार र ती व्यक्तिको स्वास्थ्य रिपोर्टहरूको अनुसन्धान भइरहेको बताएको छ ।

कम्पनीले यसै हप्ता सार्वजनिक गरेको रिपोर्टमा भनेको छ, “उत्पादनहरूमा ‘हामीले समावेश गर्न नचाहेका सामग्रीहरू’ भएको सम्भावना फेला पारेको छ । तर यसको अध्ययनले रातो चामलबाट उत्पादित विषाक्त र मृगौलालाई क्षति पु¥याउने कुनै पनि ‘सिट्रिनिन’ देखाएन ।”

ब्रिटिस मेडिकल जर्नलमा सन् २०१९ मा प्रकाशित एक शोधपत्रअनुसार कोलेस्टेरोलको मात्रा घटाउन प्रयोग हुने रातो चामलमा ‘मोनाकोलिन के’ को मात्रा पाइन्छ र यसलाई कोलेस्टेरोल बढी भएका बिरामीको उपचारका लागि प्रयोग गर्न जापानमा अनुमति दिइएको छ ।

कान्ति बाल अस्पताल गएका बिरामी उपचारबाट वञ्चित हुन नपरोस् : स्वास्थ्यमन्त्री

काठमाडौँ, १४ चैत : उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आज कान्ति बाल अस्पतालको आकस्मिक अनुगमन गर्नुभएको छ । उहाँले अनुगमनका क्रममा उपचारका लागि कान्ति बाल अस्पताल आएका कोही पनि बिरामी शैय्या नपाएर उपचारविना नै घर फर्कनुपर्ने अवस्थामा अन्त्य गर्न निर्देशन दिनुभयो ।

“अस्पतालमा आएका बिरामी शैय्या नपाएर अन्त्यै निजी अस्पतालमा उपचारमा जाने गरेको गुनासो सुन्नमा आएको छ”, मन्त्री यादवले भन्नुभयो, “अस्पतालले शैय्या थपेर हुन्छ के के गरेर हुन्छ अस्पताल आएका बिरामी उपचारबाट वञ्चित हुन परेको खबर सुन्न नपरोस् । उपचार गर्न आएका सबैको उपचारको व्यवस्था मिलाउनुहोस् ।”

उहाँले अस्पतालको शैय्या, सघन उपचार कक्ष (आइसियु) थपेर उपचार गर्न आएका बिरामीको उपचार गर्नुपर्ने भन्दै मन्त्रालयले अस्पताललाई के सहयोग गर्नुपर्दछ त्यो तयार रहेको बताउनुभयो ।

यस्तै मन्त्री यादवले अस्पतालको सेवालाई डिजटाइजेशन गर्न निर्देशन दिनुभयो । “कुनै बिरामी टिकट काट्न र चिकित्सकलाई रिपोर्ट देखाउन घण्टौँ लाइन बस्नुनपर्ने अवस्थाको अन्त्य गर्नुपर्दछ”, उहाँले भन्नुभयो, “अब टिकट मात्र होइन परीक्षणको रिपोर्ट पनि अनलाइनबाट चिकित्सकले हेर्नुपर्ने व्यवस्था गर्नुपर्दछ ।”

अनुगमनका क्रममा मन्त्री यादवले अस्पतालले सञ्चालन गरेको औषधि पसलमा पर्याप्त मात्रामा औषधि नभएको पाइएको भन्दै आवश्यक मात्रामा औषधि राख्न निर्देशन दिनुभयो । “चिकित्सकले प्रिस्क्रिप्सनमा लेखेको औषधि अस्पतालले सञ्चालन गरेको औषधि पसलमा पर्याप्त मात्रामा छैनन् । उहाँले भन्नुभयो, जसले गर्दा बिरामी निजी औषधि पसलमा जाने गर्दछन् र बिरामी ठगिने गर्दछन् ।” उहाँले भन्नुभयो ।

यसैगरी अस्पतालमा रहेका स्वास्थ्य सामग्री उपकरणलाई मर्मत गरी सञ्चालन गर्न पनि मन्त्री यादवले निर्देशन दिनुभयो । अनुगमनका क्रममा मन्त्री यादवसँगै स्वास्थ्य सचिव डा रोशन पोखरेलसहित मन्त्रालयका उच्च अधिकारीको सहभागिता रहेको थियो । सो अवसरमा कान्ति बाल अस्पतालका निर्देशक डा पंकज रायले अस्पतालको बारेमा जानकारी गराउनुभएको थियो ।

बाढी पहिरो प्रभावित आयोजनालाई आवश्यक राहत उपलब्ध गराउँछौँ : मन्त्री बस्नेत

काठमाडौँ, १४ चैत : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बाढीपहिरो प्रभावित आयोजनालाई सरकारका तर्फबाट आवश्यक राहत उपलब्ध गराउन अधिकतम प्रयास भइरहेको बताउनुभएको छ ।

उहाँले मन्त्रालयका तर्फबाट आवश्यक सहजीकरण गरिएको उल्लेख गर्नुभयो । उहाँले बाढी प्रभावित आयोजनालाई राहत दिनकै लागि निरन्तर प्रयास गरिरहेको र यसलाई कुन बाटोबाट गएर गर्न सकिन्छ भन्ने विषयमा सबै विकल्पमा छलफल गर्ने आश्वासन दिनुभयो ।

अर्थ समितिको आजको बैठकमा मन्त्री बस्नेतले सहज रुपमा बिजुली आपूर्तिका लागि पहल भइरहेको जानकारी दिनुभयो । लोडसेडिङ हुन लाग्यो भनेर गरिएको हल्लाको कुनै अर्थ नभएको उहाँको कथन छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बाढी प्रभावित आयोजनाले मागेको रु ५० करोड पुनर्कर्जा १० वर्ष अवधिको लागि दिने कार्यविधि नै नभएकाले यसलाई समष्टिगत रुपमा निर्णय गर्नुपर्ने बताउनुभयो । उहाँले त्यसो गर्ने हो भने पुनर्कर्जासम्बन्धी कार्यविधि संशोेधन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

सङ्घीय संसद्को अर्थसमितिमा बाढी प्रभावित आयोजनाका प्रतिनिधि, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान), ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, राष्ट्र बैंकका गभर्नर, ऊर्जा सचिव र राजस्व सचिवसहित छलफल भएको हो ।समितिको बैठकमा बोल्दै इप्पानका अध्यक्ष गणेश कार्कीले बाढी गएको १० महिनासम्म पनि आयोजनाले राहत तथा क्षतिपूर्ति पाउन नसक्नु दुखद् भएको बताउनुभयो । ऊर्जा मन्त्रालयले अर्थलाई देखाउने र अर्थ मन्त्रालयले ऊर्जालाइ देखाउँदै यतिका समय बितेको उहाँको भनाइ छ ।

बाढी प्रभावित आयोजनाका तर्फबाट बोल्दै पाँचथर पावर कम्पनीका अध्यक्ष राजेश श्रेष्ठले भन्सार विन्दुमा आइपुगेका सामानलाई भन्सार छुट दिने निर्णय नगरी दिँदा तीन महिनादेखि सामान रोकिएको र ६० दिन कटेपछि सामान नछुटाए भन्सारले लिलाम गर्न सक्ने प्रावधान रहेको भन्दै छिटो निर्णय गरिदिन आग्रह गर्नुभयो ।

मेन्छियाम हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत सेवक पोखरेलले बाढीले क्षतिपुगेका आयोजनाको बारेमा सरकारले निर्णय गर्न ढिलाइ गर्दा आयोजनाका प्रवर्द्धकहरु सडकमा आउने अवस्था आइसकेको बताउनुभयो । १८ जना कामदारलाई बाढीले बगाएको अपर हेवा खोला जलविद्युत् आयोजनाका निमा लामाले यति ठूलो क्षति भएको विषयमा कोही पनि गम्भीर नभएको बताउनुभयो ।

ऊर्जा सचिव गोपालप्रसाद सिग्देलले बाढी प्रभावित आयोजनाले राहतस्वरुप पुनःनिर्माणमा प्रयोग हुने मेसिनरी उपकरणमा कर छुट मागेको र उक्त कर छुटको विषय आर्थिक ऐनसँग सम्बन्धित भएकाले अर्थ मन्त्रालयले नै मन्त्रिपरिषद्मा लैजानुपर्ने बताउनुभयो ।

राजस्व सचिव रामप्रसाद घिमिरेले भने आर्थिक ऐनमा कर छुट दिने विषय हटाइ सकेकोले अर्थले उक्त विषयमा मन्त्रिपरिषद्मा प्रस्ताव लैजान नमिल्ने जिकिर गर्नुभयो । बरु दैविक प्रकोपअन्तर्गत राहत माग गरेर ऊर्जा मन्त्रालयबाटै मन्त्रिपरिषद्मा प्रस्ताव लैजान उपयुक्त हुने उहाँले दोहो¥याउनुभयो ।

सांसद सूर्य थापाले समाधान नभएको कुनै पनि समस्या नहुने भन्दै पीडामा परेका जलविद्युत्लाई राहत दिने विषयमा केही न केही समाधान किन छैन भन्दै राजस्व सचिवलाई प्रश्न गर्नुभयो । यदि यहाँबाट पनि समाधान निस्किदैन भने प्रधानमन्त्रीको रोहबरमा सबै पक्ष बसेर फेरि छलफल गर्नुपर्ने उहाँको भनाइ छ ।

सांसद मेटमणि चौधरीले सरकारले क्याल्कुलेटर लिएर नाफाको हिसाब मात्रै गर्न नहुने भन्दै अफ्ठ्यारोमा परेका व्यवसायीलाई कुनै पनि हिसाबले राहत दिनुपर्ने बताउनुभयो । सरकारले नाफा मात्रै हेर्ने हो भने त आफैँले व्यापार गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।

सांसद दीपक खड्काले बाढी गएको १० महिनासम्म बाढी प्रभावित आयोजनालाई झुलाएर राखेको भन्दै राहत दिन सकिन्छ भने सरकारले तुरुन्दै दिनुपर्ने र सकिन्न भने पनि राहत दिन मिल्दैन भनेर निर्णय गरिदिनुपर्ने बताउनुभयो । सरकारले राहत दिन्न भन्यो भने सक्नेले आयोजना पुनर्निर्माण गर्ने र नसक्नेले सरकालाई चावी बुझाएर आफ्नो बाटो लाग्ने पनि उहाँले बताउनुभयो ।

समृद्धिको यात्रामा चिनियाँ सहयोग महत्वपूर्ण छ : उपप्रधानमन्त्री श्रेष्ठ

छोनछिन (चीन), १४ चैत : उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल राजनीतिक परिवर्तन पछाडि आर्थिक समृद्धिको यात्रामा क्रियाशील रहेको जनाउँदै समृद्धिको यात्रामा चिनियाँ सहयोग महत्वपूर्ण हुने बताउनुभएको छ ।

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँले चिनियाँ कम्युनिस्ट पार्टी छोनछिन पार्टी सचिव युयान जाइजुनसँग आज भएको भेटवार्तामा नेपाल र चीन समृद्धिको यात्रामा सँगसँगै अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “चीन नेपालमा वैदेशिक लगानी गर्ने पहिलो र वैदेशिक व्यापारमा दोश्रो ठुलो मुलुक हो, आर्थिक सहयोग, लगानी अभिवृद्धि, पर्यटन प्रवद्र्धन तथा व्यापारलाई साथसाथै अघि बढाउनुपर्छ ।” आगामी महिना नेपालमा लगानी सम्मेलन आयोजना गरिएको जानकारी दिँदै उहाँले चिनियाँ लगानीकर्तालाई लगानीका लागि प्रोत्साहित गर्न आग्रह गर्नुभयो । उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र चीन लामो समयदेखि असल सम्बन्ध भएका मुलुक भएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध पञ्चशिलको सिद्धान्तमा आधारित रहेको बताउनुभयो ।

उहाँले दुई देशबीचको सम्बन्ध समस्यारहित रहेको समेत उल्लेख गर्नुभयो । द्विपक्षीय सम्बन्धलाई उचाइमा लैजान तथा सहयोगात्मक सम्बन्धलाई अघि बढाउन उच्चस्तरको भ्रमणले इटा थपेको उल्लेख गर्नुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले बेल्ट एण्ड रोड इनिसाइटिभ (बिआरआइ) कार्यान्वयन कार्ययोजनामा हस्ताक्षर गर्ने अन्तिम चरणमा रहेको उल्लेख गर्दै मानवता, भ्रातृत्व र विकास साझेदारीको पहलकदमीका रूपमा बिआरआइलाई लिएको बताउनुभयो ।

एक चीन सिद्धान्तप्रति नेपालको अटल प्रतिबद्धता रहेको उल्लेख गर्दै उहाँले तिब्बत र ताइवान चीनको अभिन्न अङ्ग भएको बताउनुभयो । नेपाल र नेपाली भूमि भएर चीन विरोधी गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै नेपालले जहिले पनि चीनसँगको मैत्रीपूर्ण सम्बन्धलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।

भेटवार्तामा छोनछिन पार्टी सचिव युयानले छोनछिन–काठमाडौँ सातामा दुई हवाई उडान हुने गरेको उल्लेख गर्दै छोनछिन र नेपालबीच सम्पर्क सञ्जाल अभिवृद्धि गर्न तयार रहेको बताउनुभयो । उहाँले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रोत्साहित गर्ने विश्वास दिलाउनुभयो ।

गुणस्तरीय आर्थिक विकासमार्फत सामाजिक विकासका समस्या समाधान गर्न सकिने उल्लेख गर्दै विकासका लागि साझेदार गर्न छोनछिन इच्छुक रहेको बताउनुभयो । पार्टी सचिव युयानले कृषि, शिक्षा, प्रविधि, पूर्वाधारलगायत क्षेत्रमा सहकार्य गर्न सकिने बताउनुभयो । छोनछिनमा १७ नेपाली विद्यार्थी अध्यान गरिरहेको जानकारी दिँदै उहाँले आगामी दिनमा थप छात्रवृत्ति उपलब्ध गराइने उल्लेख गर्नुभयो ।

नेपालमा चिनियाँ नागरिकलाई भ्रमण गर्न प्रोत्साहित गर्ने उल्लेख गर्दै उहाँले छोनछिन सहर र नेपालको भरतपुर महानगरसँग भगिनी सम्बन्ध राख्न चाहेको बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समय अगाडि छोनछिन सहरको भ्रमण गर्नुभएको स्मरण गर्दै उहाँले उच्चस्तरमा हुने भ्रमणले दुई मुलुकबीचको सम्बन्ध प्रगाढ हुने बताउनुभयो ।

छोनछिन स्टेट गेस्ट हाउसमा भएको उक्त भेटमा द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको थियो । सो क्रममा उहाँहरूबीच चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बीचको सम्बन्धलाई प्रगाढ बनाउने बारेमा छलफल भएको थियो । छोनछिन चीनको पश्चिम भागमा पर्छ । छोनछिन चीनकै धेरै जनसङ्ख्या भएको ठूलो सहर हो । यहाँको जनसङ्ख्या तीन करोडभन्दा बढी छ ।

मनसुनभन्दा अघि नै भूकम्प पीडितलाई राहत वितरण गरिने

काठमाडौँ, १४ चैत : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मनसुन सुरु हुनु अगावै भूकम्प पीडितलाई राहत वितरण गरिने जानकारी दिनुभएको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आज भएको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले मनसुन सुरु हुनु अगावै राहत वितरण गरिने बताउनुभएको हो । उक्त समितिको बैठकमा उपस्थित प्रतिनिधिसभा सदस्यहरुले भूकम्प पीडितले राहत पाउन नसकेको भन्दै राहत उपलब्ध गराउन गृहमन्त्री समक्ष अनुरोध गर्नुभएको थियो । उहाँहरुको अनुरोधलाई स्वीकार गर्दै मन्त्री लामिछानेले मनसुन सुरु हुन अगावै राहत वितरणको कार्य अगाडि बढाइसक्ने प्रतिबद्धता जनाउनुभएको हो ।

“पश्चिम नेपालका भूकम्प पीडितलाई राहत चाहियो भनेर माग आइरहेको छ, यसकारण हामीले मनसुन अगावै राहत उपलब्ध गराउने गरी गृहकार्य थालिसकेका छौँ”, उहाँले भन्नुभयो, “यस विषयमा दातृ निकायले पनि चासो दिनुभएको छ, उहाँहरुसँग पनि हामीले छलफल गरिरहेका छौँ, स्थानीय तह तथा अन्य सरोकारवाला निकायसँग सहकार्य गरेर अगाडि बढ्ने छाँै ।”

जाजरकोटको बारेकोट गाउँपालिका–१ लामीडाँडा केन्द्रविन्दु भएर गत १७ कात्तिकको राति ६.४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिम जिल्लाका बासिन्दा प्रभावित बनेका थिए ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले विपद् व्यवस्थापनसम्बन्धी स्थानीय नीति, कानुन, मापदण्ड, योजनाको कार्यान्वयन, अनुगमन र नियमन गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । “स्थानीयस्तरमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, पूर्वसूचना प्रणाली, खोज तथा उद्धार, राहत सामग्रीको पूर्वभण्डारण, वितरण र समन्वय, स्थानीय तटबन्ध, नदी र पहिराको नियन्त्रण तथा नदीको व्यवस्थापन र नियमन, विपद् जोखिम क्षेत्रको नक्साङ्कन तथा बस्तीको पहिचान र स्थानान्तरण, विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय समुदाय, सङ्घ संस्था तथा निजी क्षेत्रसँग सहयोग समन्वय र सहकार्य अधिकार स्थानीय तहलाई हुने छ”, ऐनमा उल्लेख छ, “विपद् व्यवस्थापन कोषको स्थापना तथा सञ्चालन र स्रोतसाधनको परिचालन, विपद् जोखिम न्यूनीकरणसम्बन्धी स्थानीयस्तरका आयोजनाको तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन, विपद् पश्चात् स्थानीयस्तरको पुनःस्थापना र पुनःनिर्माण, स्थानीयस्तरको विपद् सम्बन्धित व्यवस्थापन र अध्ययन अनुसन्धान, स्थानीय आपत्कालीन कार्य सञ्चालन प्रणाली लागू गर्ने कर्तव्य स्थानीयको हुनेछ ।”

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थानीय तहको सक्रियतामा राहत वितरण अगाडि बढाउने जनाइएको छ ।

पूर्वाधार निर्माणको काम चित्त नबुझे ‘एक्सन’ मा जाने छौँ – रक्षामन्त्री उप्रेती

काठमाडौँ, १४ चैत : रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सेनाले जिम्मा लिएको सडक, दु्रतमार्गलगायतका पूर्वाधार विकाससम्बन्धी कामका विषयमा अनुगमन भइरहेकाले चित्त नबुझे ‘एक्सन’ लिने बताउनुभएको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आज भएको बैठकमा बोल्दै गृहमन्त्री उप्रेतीले सेनाले जिम्मा लिएका पूर्वाधारसम्बन्धी कामको प्रगति विवरण लिने र चित्त नबुझे कारबाही गरिने बताउनुभएको हो । सेनाले जिम्मा लिएका पूर्वाधार विकासको काम सुस्त गतिमा अगाडि बढिरहेको भन्दै समिति सदस्यले राखेको जिज्ञासाको उत्तर दिँदै मन्त्री उप्रेतीले अनुगमन भइरहेको र चित्त नबुझेमा कारबाही गरिने प्रतिबद्धता जनाउनुभएको हो । सेनाले जिम्मा लिएका पूर्वाधार विकाससम्बन्धी कार्यक्रमको प्रभावकारिताका विषयमा प्रश्न उठ्न थालेपछि अनुगमन भइरहेको उहाँले बताउनुभयो ।

“सेनाले सडक, पुललगायतका पूर्वाधार निर्माणको कामको जिम्मा लिएको छ, यसको अनुगमन भइरहेको छ, काम चित्त बुझेन भने कारबाहीको प्रक्रिया अगाडि बढाउने छु”, उहाँले भन्नुभयो, “कच्चा पदार्थको अभाव, झन्झटिलो प्रक्रियालगायतका कारण निर्माणाधीन पूर्वाधार विकासको काम अगाडि बढाउन समस्या भएको छ ।”

काम गर्दै जाँदा लागत बढ्ने अर्को मुख्य समस्या रहेको उहाँको भनाइ छ । “कतिपय स्थानमा पहरा खोपेर विकास निर्माण अगाडि बढाउनुपरेको छ”, उहाँले भन्नुभयो, “कतिपय मनसुनजन्य विपत्ति एवं पहिरोले क्षति गर्छ, पहिरोका कारण पूर्वाधार विकासको गतिविधि दु्रतगतिमा अगाडि बढ्न सकिरहेको हुँदैन ।”

गिट्टी, बालुवा, ढुङ्गाजस्ता कच्चा पदार्थ अभावका कारण पनि पूर्वाधार विकासको गतिविधि अगाडि बढाउन समस्या भएको उहाँको भनाइ छ । “कतिपय बेलामा ढुङ्गा गिट्टी बालुवाजस्ता कच्चा पदार्थको टेण्डरको क्रममा विवाद आउँछ, स्थानीय स्रोत साधन प्रयोग सम्बन्धमा स्थानीय सरकारको अधिकार क्षेत्रमा पर्दछ”, उहाँले भन्नुभयो, “कहिलेकाहीँ कच्चा पदार्थको अभाव हुन्छ । दु्रतगतिको आयोजना निर्माणका लागि दु्रत नियम बनाएर अगाडि बढ्नुपर्छ ।”

मन्त्री उप्रेतीले सेनाले गरेको काममा चित्त नबुझेमा प्रमाणसहित अझै कारबाही प्रक्रिया अगाडि बढाउन सहज हुने बताउनुभएको छ । प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले सेनाले जिम्मा लिएको पूर्वाधारसम्बन्धी काम निकै सुस्त गतिमा अगाडि बढेको भन्दै गुनासो गर्नुभएको थियो । “सेनाले जिम्मा लिएका कुनै पनि पूर्वाधार विकासको काम समयमा नै सकिएको छैन, किन सकिँदैन ? अनुगमन हुन जरुरी छ”, उहाँले भन्नुभयो ।

मुगुमा जीप दुर्घटना दुईको मृत्यु, चार जना घाइते

मुगु, १४ चैत ः गमगढीदेखि सोरु गाउँपालिकाको सोरुकोटतर्फ जाँदै गरेको बोलेरो जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ भने चार जना घाइते भएका छन् । कर्णाली प्रादेश ०२–००१ ज ००५९ नम्बरको सो जीप सोरु–६ कक्छेगाउँ नजिक रहेको चार मोड भन्ने ठाउँको सडकबाट अन्दाजी एक सय मिटर बढी तल खसेको जनाइएको छ । दुर्घटनामा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

अनुसार मृत्यु हुनेमा जीप चालक कविराज नेपाली र पहिचान नखुलेका एक जना महिला रहेकी छिन् । घाइते हुनेमा मन्जने नेपाली, सर्जन नेपाली , हीरादिङ नेपाली र प्रेम नेपाली रहेका उहाँले बताउनुभयो । घाइते मन्जनेको अवस्था चिन्ताजनक अवस्थामा रहेको बताइएको छ । प्रनाउ थापाले घाइतेलाई उद्धार गरी उपचारार्थ मुगु जिल्ला अस्पतालतर्फ ल्याइँदै गरेकोे जानकारी दिनुभयो ।

बीस लाखभन्दा बढी पाकिस्तानीको तथ्याङ्क चुहावट

पाकिस्तानमा २० लाखभन्दा बढी नागरिकको तथ्याङ्क चोरी (चुहावट) भएको नेसनल डाटाबेस एन्ड रजिष्ट्रेसन प्राधिकरण (नाड्रा) ले जनाएको छ ।नाड्राले तथ्याङ्क चोरी भएको सम्बन्धमा संयुक्त अनुसन्धान समूह (जेआइटी) ले मङ्गलबार गृह मन्त्रालयलाई प्रतिवेदन बुझाउँदै यसको अनुसन्धान गर्न सार्वजनिक लेखा समिति (पीएसी), पाकिस्तान दूरसञ्चार प्राधिकरण (पीटीए), सङ्घीय अनुसन्धान एजेन्सी (एफआईए), सैन्य गुप्तचर सेवासँग सहकार्य गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

व्यक्तिगत तथ्याङ्क चोरी चुहावट अनुसन्धान गर्नको लागि साइबर क्राइम निर्देशकको नेतृत्वमा गृहमन्त्रालयले संयुक्त अनुसन्धान टोली (जेआटी) गठन गरेको थियो ।

सन् २०१९ देखि २०२३ सम्म मुल्तान, पेशावर र कराँचीमा नाड्रा कार्यालयको सहयोगमा २७ लाख पाकिस्तानीहरूको तथ्याङ्क चोरी भएको प्रतिवेदनमा देखिन्छ । उक्त प्रतिवेदन अर्जेन्टिना र रोमानियामा पनि बिक्री गरिएको थियो । जेआइटीको चुहावटसम्बन्धी प्रतिवेदनपछि नाड्राका धेरै वरिष्ठ अधिकारीहरूलाई कारबाहीको लागि सिफारिस गरिएको छ ।

जेआईटीले छानबिन पूरा भएपछि आफ्नो प्रतिवेदन तत्कालीन कार्यवाहक प्रधानमन्त्री अनवारुल हक कक्कडलाई बुझाएको थियो । उक्त प्रतिवेदनमा नागरिकको तथ्याङ्क सुरक्षाका लागि प्रस्तावित उपाय र प्रविधि अपग्रेडसँगै अन्य कार्यहरू अपनाउन सुझाब पेश गरिएको छ ।

जर्मनीमा बाल गरिबीको दर उच्च

जर्मनीमा बाल गरिबीको दर उच्च देखिएको छ । सन् २०२२ मा पाँचमध्ये एक बालबालिका गरिबीबाट प्रभावित भएको जर्मनीको कल्याणकारी सङ्घले उल्लेख गरेको छ ।

जर्मनीका छ वटा केन्द्रीय स्वैच्छिक कल्याणकारी सङ्घहरूमध्ये एक ‘परितातिशे जेसमट्वरब्यान्ड’ को प्रतिवेदनका अनुसार युरोपमा करिब एक करोड ४२ लाख मानिस गरिबीमा बाँचिरहेका छन् । यसको प्रत्यक्ष असर एकल अभिभावक, ठूलो परिवार र थोरै शैक्षिक योग्यता भएका वा जर्मन नागरिकता नभएका मानिसहरूमा परिरहेको छ । सन् २०२२ मा जर्मनीमा गरिबी धेरै उच्च स्तरमा रहेकोे र अघिल्लो वर्षको तुलनामा यो सङ्ख्या केही कम भए पनि २०१९ को कोभिड–१९ महामारी र ऊर्जा सङ्कट अघिको तुलनामा अझै १० लाख बढी रहेको संस्थाको प्रबन्ध निर्देशक उलरिच स्नाइडरले बताउनुभयो ।

सरकारले विगत दुई वर्षमा कर कटौती र ऊर्जा मूल्य राहत उपायहरूका तीव्र रूपमा बढ्दो मूल्यहरूको प्रतिरोध गरेको छ । न्यूनतम पारिश्रमिक पनि दुई चरणमा गरी १०.४५ युरो बढाइएको थियो । यद्यपि जेसमट्वर ब्यान्डले यस पारिश्रमिक मूल्यलाई अपर्याप्त मानेको छ र न्यूनतम पारिश्रमिकलाई युरोमा बढाउन आह्वान गरिरहेको छ । संस्थाले बालबालिकालाई गरिबीबाट जोगाउन बाल बीमाको व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

सन् २०२५ सम्ममा बाल संरक्षण लागू गर्न जर्मन सरकार प्रतिवद्ध छ । जलवायु संरक्षणका लागि कोभिड–१९ राहत कोष असफल भएपछि र बजेटको अवरोधका कारण यस विषयमा वार्ता हालसम्म रोकिएको छ ।

हालका योजनाले बाल बीमा योजनाभन्दा प्रशासनिक सुधारका लागि बढी जोड दिइरहेको आर्थिक तथा सामाजिक अनुसन्धान संस्थानका वैज्ञानिक निर्देशक बेटिना कोहलरौसले बताउनुभयो ।

चीनको औद्योगिक मुनाफामा १०.२ प्रतिशत बृद्धि

चीनको प्रमुख औद्योगिक कम्पनीहरूको नाफा यस वर्षको पहिलो दुई महिनामा अघिल्लो बर्षको सोही अवधिको तुलनामा १०.२ प्रतिशतले बढेको बुधवार सार्वजनिक ‘नेसनल ब्युरो अफ स्ट्याटिस्टिक्स (एनबीएस)’ को तथ्याङ्कले देखाएको छ । तथ्याङ्कले सन् २०२३ मा दर्ता भएको २.३ प्रतिशतको गिरावटलाई उल्टाएको एनबीएसले जनाएको छ ।

करिब दुई करोड युआन २० लाख ८२ हजार (अमेरिकी डलर) को मुख्य वार्षिक व्यापार राजस्व भएका औद्योगिक कम्पनीको यस अवधिमा संयुक्त नाफा नौ खर्ब १४ अर्ब ६० लाख युआन पुगेको जनाइएको छ ।

एनबीएसद्वारा अनुगमन गरिएका ४१ वटा औद्योगिक वर्गीकरणमध्ये २९ वटाको नाफामा वृद्धि भएको छ ।उपकरण निर्माण क्षेत्रको नाफा जनवरीदेखि फेबु्रअरीको अवधिमा तीव्र गतिमा बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।

यस क्षेत्रको संयुक्त मुनाफा वर्षमा २८.९ प्रतिशतले बढेको छ । जुन अघिल्लो वर्षको वृद्धि दरको तुलनामा २४.८ प्रतिशत बढी हो । यस वृद्धिले देशको औद्योगिक नाफामा ६.७ प्रतिशत योगदान गरेको छ । जसले उपकरण निर्माण क्षेत्रलाई सबैभन्दा ठूलो योगदानकर्ता बनाएको एनबीएसले जनाएको छ ।

देश र विदेश दुबै क्षेत्रबाट मागमा वृद्धि भएको उपभोग्य वस्तु निर्माण उद्योगका लागि नाफाले वर्षको पहिलो दुई महिनामा द्रूत तथा अपेक्षाकृत वृद्धि रेकर्ड गरेको छ । गत वर्ष दर्ता गरिएको १.१ प्रतिशतको गिरावटलाई उल्ट्याउँदै यस अवधिमा उद्योगको नाफा १२.९ प्रतिशतले बढेको हो ।

प्रमुख औद्योगिक उद्यमहरूको संयुक्त परिचालन राजस्व वर्षमा ४.५ प्रतिशतले वृद्धि भएको छ । जुन अघिल्लो वर्षको वार्षिक राजस्व वृद्धिको तुलनामा ३.४ प्रतिशतले बढी हो ।

उपप्रधानमन्त्री श्रेष्ठ छोनछिनमा

छोनछिन (चीन), १४ चैत : जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको राजधानी बेइजिङबाट आज अपराह्न पश्चिमी सहर छोनछिन आइपुग्नुभएको छ ।

छोनछिनस्थित ज्याङ पे अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई छोनछिन नगरपालिकाका उपप्रमुख झाङ गुइजाई, छोनछिन नगरपालिकाको परराष्ट्र मामिलासम्बन्धी कार्यालयका उपमहानिर्देशक झाऊ यी, छेन्दुस्तिथ महावाणिज्यदूत सुरेश राउतलगायतले स्वागत गर्नुभयो ।

आजै उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिस्ट पार्टी छोनछिन पार्टी सचिव युयान जाइजुनसँग भेट गर्ने कार्यक्रम छ । छोनछिनमा रहँदा उहाँले विभिन्न एतिहासिक क्षेत्रको भ्रमण गर्नुहुनेछ ।

धुलिखेल–खावा सडक : समयावधि पाँच दिन, काम २० प्रतिशत मात्र

काभ्रेपलाञ्चोक, १४ चैत : अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा सडकखण्ड विस्तारको कामको समयसीमा पाँच दिन बाँकी रहेको छ । उक्त सडक स्तरोन्नतिसहित विस्तारका लागि सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनीबीच २२ महिना अर्थात् यही चैत १९ गते सम्पन्न गर्ने गरी २०७९ जेठ २० गते निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो ।

आयोजनाको समय सीमा पाँच दिन बाँकी रहँदा एक तिहाइ काम पनि नभएको कार्यालयले जनाएको छ । करिब २२ महिनाको अवधिमा जम्मा सडक फराकिलो बनाउने मात्रै काम अर्थात् आयोजनाको २० प्रतिशत मात्रै काम भएको जनाउँदै कार्यालयले समय थपेर सम्पन्न गराउने योजना बनाएको छ । उक्त चार किलोमिटर सडक स्तरोन्नतिका लागि रु २० करोड १९ लाख ४६ हजार पाँच सय एकमा निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवा प्रालिसँग सम्झौता भएको थियो ।

कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर मेघराज मरासिनीले आयोजना अलपत्र राख्न नहुने भएकाले समय थपेर सम्पन्न गराउने योजना बनाएको बताउनुभयो । उहाँका अनुसार समय सीमाको दुई महिनाअघि ठेक्का तोड्ने प्रक्रियामा समेत जान लागिएकामा विभिन्न चरणका छलफलपछि आयोजना सम्पन्न गर्नेतर्फ लाग्ने निष्कर्ष निकालिएको हो । सडक विस्तारको काममा ढिलाइ भएपछि जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतम गत फागुन ११ गते सडकमै आमरण अनशन बस्नुभएको थियो । गौतमले आमरण अनशन सुरु गरेको करिब २९ घण्टापछि रोकिएको चार किलोमिटर सो सडकखण्ड विस्तार कार्य थाल्ने पाँचबुँदे लिखित प्रतिबद्धता गरिएको थियो । त्यसयता सो प्रतिबद्धता कार्यान्वयन भएको देखिएको छैन ।

पाँच बुँदामा भएको सहमतिमा गत फागुन १५ गतेभित्र करिब एक सय जनशक्ति फिल्डमा खटाउने, चार एक्साभेटर, सात टिपरलगायत निर्माण सामग्री परिचालन गरी निर्माण कार्यलाई द्रुत गतिमा अघि बढाउने, उक्त कार्य अघि नबढे सडक डिभिजन कार्यालयले ठेक्का तोड्ने प्रक्रियामा अघि बढ्ने, ठेक्का तोड्न निर्माण व्यवसायीको सहमति रहने र निर्माण व्यवसायी कुनै उजुरबाजुरमा नजाने उल्लेख गरिएको छ ।

यस्तै चैत १९ गतेसम्ममा दुई किमी सडक कालोपत्र गरी बाँकी खण्डको काम पनि तत्काल सुरु गर्ने, कामलाई निरन्तरता दिएपछि कामको गति र प्रगति सन्तोषजनक नभए ठेक्का तोड्न सडक डिभिजन कार्यालयले प्रक्रिया अघि बढाउने सहमति भएको थियो । सडक निर्माणको कामले गति नदिँदा भत्किएको सडकमा दुर्घटना हुँदा सयौँ यात्री घाइते भइसकेका छन् । केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्न लागिएको थियो ।

सडकमा गुड्ने मालवाहक सवारी साधनको भारवहन क्षमतालाई दृष्टिगत गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र अस्फाल कालोपत्र गर्ने योजना थियो । जिल्लाको पूर्वी–उत्तरी क्षेत्र अर्थात् उत्तरी नाका तातोपानी पुग्न अरनिको राजमार्ग हुँदै जाने गरिन्छ । यस्तै सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायतका विभिन्न ठाउँबाट आवतजावतका लागि यही सडक प्रयोग हुन्छ ।

सीमान्तकृत समुदायका तीन सय ७६ विद्यार्थी एसइईमा सहभागी हुँदै

चितवन, १४ चैत : बिहिबारबाट सुरु हुन लागेको एसइई परीक्षामा जिल्लाका तीन सय ७६ सीमान्तकृत समुदायका विद्यार्थी सहभागी हुँदैछन् । यही चैत २७ गतेसम्म सञ्चालन हुन लागेको यस वर्षको एसइई परीक्षामा चेपाङ् समुदायका तीन सय ५१, बोटे समुदायका १३ र माझी समुदायका १२ विद्यार्थी सहभागी हुन लागेका हुन् ।

जिल्लाबाट १० हजार नौ सय २३ विद्यार्थी सहभागी हुने परीक्षामा उनीहरुले सहभागिता जनाउन लागेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख भूमिलाल सुवेदीले जानकारी दिनुभयो । जिल्लाका ४२ केन्द्रबाट ती विद्यार्थी परीक्षामा सहभागी हुन लागेका हुन् । जम्मा ६४ विद्यालयमा अध्ययन गरेका चेपाङ समुदायका विद्यार्थीसँगै ११ विद्यालयमा अध्ययन गरेका माझी र १२ विद्यालयमा अध्ययन गरेका बोटे समुदायका विद्यार्थी परीक्षामा सहभागी हुन लागेका उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस वर्ष जिल्लाबाट सात विद्यालयमा अध्ययन गरेका संस्कृत अध्ययन गर्ने ४७ विद्यार्थी पनि परीक्षामा सहभागी हुँदैछन् । परीक्षामा सहभागी विद्यार्थीमध्ये नियमितितर्फ १० हजार पाँच सय ७१, प्राविधिकतर्फ दुई सय ७१, ग्रेड वृद्धितर्फ एक सय ३५ विद्यार्थी परीक्षामा सहभागी हुन लागेका छन् । यस वर्षको परीक्षामा चार दृष्टिविहीन विद्यार्थीले समेत सहभागिता जनाउन लागेको उहाँले जानकारी दिनुभयो ।

परीक्षा सम्पन्न गर्नका लागि भरतपुर महानगरपालिकाकमा २२, रत्ननगर नगरपालिकामा सात र खैरहनी नगरपालिकाका चार केन्द्र तय गरिएको छ । यस्तै राप्ती नगरपालिकामा तीन, माडी नगरपालिका र कालिका नगरपालिकामा दुई÷दुई केन्द्र तोकिएको छ ।

यस्तै इच्छाकामना गाउँपालिकामा दुई केन्द्र तोकिएको उहाँले बताउनुभयो । ती केन्द्रमा ४२ केन्द्राध्यक्ष र पाँच सय ४५ निरीक्षक परिचालन गर्ने तयारीमा एकाइ रहेको छ । परीक्षालाई मर्यादित बनाउनका लागि आवश्यक तयारी गरिएको उहाँले बताउनुभयो ।

कोशी प्रदेश : मन्त्रालयद्वारा ‘कृषि मूल्य सूचना प्रणाली’ तयार

विराटनगर, १४ चैत ः कोशी प्रदेश, उद्योग, कृषि तथा सहकारी मन्त्रालयले ‘कृषि मूल्य सूचना प्रणाली’ तयार गरेको छ । उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा सूचना प्रणालीको सार्वजनिकीकरण गर्दै बहुसङ्ख्यक जनता कृषिमा आधारित रहेकाले कृषिलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कृषिमा उन्नति गरेर नै अर्थतन्त्रलाई बलियो तथा समृद्ध बनाउन सकिन्छ । कृषिमा मेहनत गर्ने किसान तथा कृषकलाई पहिचान गरेर सरकारले आवश्यक सहुलियत दिने योजना रहेको छ । कृषि उत्पादनको उचित मूल्यको पारदर्शिताले सुशासनमा सुधार आउँदछ । ”

उहाँले कृषि संवाद कार्यक्रम सञ्चालन गरेर कृषकसँग भएका ज्ञान, सीप र क्षमतालाई विस्तार गर्न निर्देशन दिनुभयो । सो कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले कृषि मूल्य सूचना किसानसम्म सही तरिकाले पु¥याउनु पर्नेमा जोड दिनुभयो ।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले आयातित कृषि उत्पादनले यहाँका कषक निकै मर्कामा परेकाले यसतर्फ सरकारको ध्यान जानुपर्छ भन्नुभयो । उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा लेखराज दाहालले कृषि मूल्य सूचना प्रणालीले वस्तु उत्पादन गर्ने कृषक, व्यापारी र उपभोक्तालाई सहज हुने धारणा राख्नुभयो ।

कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, सूयविनायक नगरपालिका इलामका प्रमुख रणबहादुर राई, मन्त्रालयका प्रशासन तथा योजना प्रमुख पशुपति पोखरेल, धरान कृषि थोक बजारका व्यवस्थापक लक्ष्मण भट्टराई, उदयपुरका ईश्वर रानामगर, विर्तामोड झापाका राजेन्द्र कडरिया र खगेन्द्र महतो र प्राविधिक रेशिका कोइरालाले पनि बोल्नुभएको थियो ।

‘रुस जान व्यक्तिगत श्रम स्वीकृत खुला गरिएको छैन’ – मन्त्री अर्याल

काठमाडौँ, १४ चैत ः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले हाल कुनै पनि व्यक्ति रुस जान श्रम स्वीकृतिको व्यवस्था नरहेको स्पष्ट पार्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज यहाँ आयोजना गरेको काठमाडौँको आँखामा कर्णाली विषय कार्यक्रम उहाँले हाल रुस जान व्यक्तिगत श्रम स्वीकृतको व्यवस्था बन्द नै रहेको र खुला नगरिएको स्पष्ट पार्नुभएको हो ।

मन्त्री अर्यालले वैदेशिक रोजगार व्यवसायीले रुसमा युद्धग्रस्त क्षेत्र होइन भन्ने स्पष्ट पारेको र जोखिम छैन भन्ने मागलाई स्वीकृत दिने अघिल्लो मन्त्रीको पालामा भएको निर्णयका सन्दर्भमा आफूहरु पुनःमूल्याङ्कनका लागि अध्ययनका क्रममा रहेको जानकारी गराउनुभयो । सरकार अविछिन्न उत्तराधिकारी हुने र निरन्तर चलिरहने विषयका सन्दर्भमा भने आफू सजग रहेको उहाँको भनाइ थियो ।

मन्त्री अर्यालले श्रम स्वीकृति लिएर गएका नेपाली नागरिकको उद्धारका हकमा आफ्नो मन्त्रालयले जिम्मेवार हुने र श्रम स्वीकृति नलिई गएका नागरिकको हकमा परराष्ट्र मन्त्रालयले समन्वय गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा रास्वपाका उपसभापति एवं सांसद डा स्वर्णिम वाग्लेले राजनीतिक सङ्गठन निर्माणसँगै मुलुकको समृद्धिका लागिसमेत पार्टीले ध्यान दिने बताउनुभयो । उहाँले २०८४ सालमा पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा रास्वापा निर्वाचनमा होमिनेमा स्पष्ट रहेको उल्लेख गर्नुभयो ।

उपसभापति डा वाग्लेले कर्णालीमा अपार सम्भावना हुँदाहुँदा पनि विकास निर्माणमा पछाडि परेको बताउँदै सङ्गठन निर्माणसँगै समृद्धिका लागि नीतिमा पनि योगदान गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको उद्घाटनपछि सत्रहरुमा विभिन्न विषयका विज्ञहरुले पार्टी सुदृढीकरण र कर्णाली विषयमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने सहमति

काठमाडौँ, १४ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्सिच्युटबीच बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने सहमति भएको छ ।

आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेल र डब्लुएचओ नेपालका प्रमुख डा राजेश संभाजीराव पाण्डवबीच सोसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । स्वास्थ्य सचिव डा पोखरेलले समझदारीले नेपालमा क्यान्सरबाट पीडित बालबालिकाको उपचारमा सुधार ल्याउन ठूलो योगदान पु¥याउने बताउनुभयो । उहाँले सुरुमा सो निःशुल्क औषधि विभिन्न चारवटा सरकारी अस्पतालमा उपलब्ध गराइने भए पनि पछि आवश्यकताका आधारमा अन्य अस्पतालमा पनि विस्तार गरिने जानकारी दिनुभयो ।

डब्लुएचओका नेपाल प्रमुख डा पाण्डवले क्यान्सर भएका बालबालिकाको अत्यावश्यक औषधिमा पहुँच सुनिश्चित गर्नुका साथै क्यान्सर पीडित बालबालिकाको परिवारमा पर्ने आर्थिक भार कम गर्न यो कार्यक्रमले मद्दत गर्ने बताउनुभयो ।

“नेपालमा हरेक वर्ष करिब नौ सय बालबालिकामा क्यान्सर पहिचान हुने गरेको छ । यद्यपि, उपचार तथा सेवामा सीमित पहुँच र स्रोतको अभावले गर्दा, क्यान्सर भएका बालबालिकामध्ये एक तिहाइले मात्र उपचार पाउने गरेका छन् । यसबाट हुने मृत्यु पनि बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “समझदारीले औषधि उपलब्धतासँगै क्यान्सरको उपचारमा पहुँच बढाउन मद्दत गर्नेछ ।”

मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्णप्रसाद पौडेललले समझदारीमा अनुसार नेपालले बालबालिकामा हुने क्यान्सरका ३५ प्रकारका औषधि निःशुल्क प्राप्त गर्नेछ । समझदारीअनुसार नेपालले आगामी चार वर्षसम्म क्यान्सरको निःशुल्क औषधि पाउने छ । उहाँका अनुसार आगामी सेप्टेम्बरदेखि उक्त औषधि नेपाल आउने क्रम सुरु हुनेछ ।

समझदारीअनुसार सरकारी अस्पताल भक्तपुर क्यान्सर अस्पताल, विपी कोइराला क्यान्सर अस्पताल भरतपुर, कान्ति बाल अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्ने बालबालिकाले निःशुल्क क्यान्सरको औषधि प्राप्त गर्नेछन् । नेपाल ग्लोबल इनिसिएटिभ फर चाइल्डहुड क्यान्सरका लागि विशेष राष्ट्रको रुपमा सन् २०२० मा छनोट भएको थियो ।

हाल क्यान्सर भएका बालबालिकामा निको भई बाँच्नेदर न्यून र मध्यम आय भएका देशमा मात्र २० देखि ३० प्रतिशत रहेको छ भने उच्च आय भएका देशहरूमा ८० प्रतिशतभन्दा बढी रहेको छ । बालबालिकामा देखिने क्यान्सर नेपालजस्तो अल्पविकसित देशमा निको हुने दर कम रहेको छ । करिब २० देखि ३० प्रतिशत मात्र बालबालिका निको भई बाँच्ने दर रहेको छ । विकसित देशमा भने ८० देखि ९० प्रतिशत बाल क्यान्सर रोग निको पार्न सकिन्छ ।

नेपालले सन् २०३० सम्ममा क्यान्सर भएका बालबालिकाको बाँच्ने दर कम्तीमा ६० प्रतिशत पु¥याउने लक्ष्य राखेको छ । कान्ति बाल अस्पतालका वरिष्ठ बाल क्यान्सर रोग विशेषज्ञ डा सनि सिपाइले नेपालमा आर्थिक अभावका कारणले अझै पनि बालबालिका उपचारमा नआएको बताउनुभयो ।

उहाँले बालबालिकालाई समयमा नै क्यान्सर रोगको उपचार गरे निको हुने सम्भावना बढी हुने बताउनुभयो । उहाँले नेपालमा नै बालबालिकामा हुने रक्त क्यान्सर ९० प्रतिशत निको पारिरहेको बताउनुभयो । उहाँका अनुसार नेपालमा बालबालिकालाई रगत, आँखा, कलेजो, हड्डी र मांसपेशीको क्यान्सर हुने गर्दछ ।

बालबालिकामा १० प्रतिशत वंशाणुगत गुण र ९० प्रतिशत जिनको खराबीले गर्दा क्यान्सर हुने गर्दछ । जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई बढी मात्रामा क्यान्सर हुने गरेको छ ।

बनेपाको खानेपानी समस्या समाधान गर्न प्रतिबद्ध छुः मन्त्री राई

धुलिखेल (काभ्रेपलाञ्चोक), १४ चैत : खानेपानी मन्त्री राजेन्द्रकुमार राईले बनेपा नगरभित्र रहेको खानेपानी समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । बनेपा नगरपालिकाले आज यहाँ आयोजना गरेको ‘४३औँ स्थापना दिवस समारोह’मा उहाँले लामो समयदेखि मुलुकमा खानेपानीको समस्या रहेकाले समस्या समाधान गर्न प्राथमिकताका साथ योजना बनाइरहेको बताउनुभयो ।

बजेट बन्ने क्रममा रहेकाले नगरपालिकाले बनाएको योजनामा सङ्घीय खानेपानी मन्त्रालयबाट सहयोग गर्न तत्पर रहेको मन्त्री राईले बताउनुभयो । उहाँले जनप्रतिनिधि शासक नभई सेवक भएर जनताका पक्षमा काम गर्नुपर्ने बताउनुभयो ।

“यहाँको गरिबी घटाउने, नागरिकको आर्थिक अवस्थामा सुधार ल्याउने र युवामा रोजगारको वृद्धि कसरी गर्ने भनेर योजना बनाउन आवश्यक छ”, मन्त्री राईले भन्नुभयो, ‘नगरपालिकामा जनसङ्ख्याका साथै उद्योगधन्दा कलकारखाना बढ्दै गएकाले थप रोजगारीका अवसर सिर्जना हुँदै जानेछन् ।” नागरिकलाई स्वच्छ पिउन पानीको व्यवस्था गर्न सङ्घीय सरकारले योजना बनाइरहेको उहाँको भनाइ छ ।

प्रतिनिधिसभाका सांसद गोकुल बास्कोटाले नगर स्थापनाको दिन खुसीको क्षण भएकाले कला, संस्कृति, प्रकृति, खानी, पानी, बसोबास, सरसफाइ सबै क्षेत्रमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । अहिले बढ्दो बस्ती विकासले सहरी फोहर पनि बढ्दै गएको भन्दै व्यवस्थित फोहर विसर्जन तथा स्वच्छ खानेपानीको तत्काल व्यवस्था हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सांसद बास्कोटाले अहिलेको चुनौती जलवायु परिवर्तन भएको बताउँदै त्यसलाई मानव विकास, सभ्यताका सूचाङ्कलाई नागरिक र जनप्रनितिधिको सहकार्यबाट समाधान गर्नुपर्ने बताउनुभयो । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले बनेपा नगरपालिकाले लिने नीति, काम र अभियानले समग्र जिल्लालाई सकारात्मक प्रभाव पार्न सक्नुपर्नेमा जोड दिनुभयो । फोहर, खानेपानी र विकास निर्माणलगायत कार्यमा प्रदेश र सङ्घीय सरकारको सहकार्य आवश्यक रहेको भन्दै सोहीअनुसार नागरिकको हितलाई केन्द्रमा राखेर योजना बनाइरहेको जानकारी दिनुभयो ।

बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले बन्दै गरेको सूर्यविनायक–धुलिखेल सडकखण्डको विस्तारका क्रममा भएको अव्यवस्थित कामका कारण नगरबासीले समस्या व्यहोर्नु परेको भन्दै त्यसलाई माथिल्लो तहबाट नै व्यवस्थित गर्न आग्रह गर्नुभयो ।

नगरपालिका–६, ७, ८, १० ११ र १३ अरनिको राजमार्गअन्तर्गत पर्ने भन्दै उक्त सडकमुनि ढल र खानेपानीको पाईप रहेकामा अहिले विस्तार गरिएको आयोजनाले थप समस्या निम्त्याएको उहाँको भनाइ छ । उहाँले निर्माणाधीन सडक व्यवस्थित बनाउनुपर्ने भन्दै यसमा सङ्घीय सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा बनेपा नगरपालिकामा कार्यरत रही सेवा प्रदान गरेका कर्मचारीलाई विभिन्न पदकका साथ सम्मान गरिएको छ । सो क्रममा बनेपा विशिष्ट सेवा पदक, बनेपा दीर्घ सेवा पदक, बनेपा सेवा पदक, बनेपा तारा, सेवानिबृत्त हुनुभएका शिक्षक, उत्कृष्ट करदातालगायतलाई सम्मान गरिएको छ । सो क्रममा नगरपालिकाको विभिन्न गतिविधि समेटेर तयार पारिएको ‘बनेपा बुलेटिन’ मन्त्रीलगायत अतिथिले सामूहिक रुपमा विमोचन गर्नुभएको थियो ।