`

यसरी मनाइयो १७औँ राष्ट्रिय पुस्तकालय दिवस

Nepal One HD १५ भदौ २०८१ २०:५५
शिक्षा

गण्डकी, १५ भदौः ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यसहित आज १७औँ राष्ट्रिय पुस्तकालय दिवस मनाइएको छ । गण्डकी प्रदेशमा रहेका सामुदायिक तथा सार्वजनिक पुस्तकालयले पनि रचनात्मक र सन्देशमूलक कार्यक्रमसहित उक्त दिवस मनाएका हुन् ।

पर्वतको फलेवासमा रहेको मोती सामुदायिक पुस्तकालयले तीज गीत प्रतियोगिता, सरसफाइ सचेतना, ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, सम्मान, चित्रकला प्रतियोगितालगायत कार्यक्रम गरी दिवस मनाएको उक्त पुस्तकालयका पुस्तकाध्यक्ष इन्द्र सापकोटाले जानकारी दिनुभयो । 

पोखरा सार्वजनिक पुस्तकालय र नेपाल पुस्तकालय सङ्घ गण्डकी प्रदेश समितिको संयुक्त आयोजनामा कास्की जिल्लास्तरीय चित्रकला प्रतियोगिता आयोजना गरी दिवस मनाएको छ । म्याग्दी सामुदायिक पुस्तकालयले विद्यालयस्तरीय कविता प्रतियोगिता आयोजना गरी दिवस मनाएको छ । कास्कीको दीपशिखा सामुदायिक पुस्तकालयले ‘पठन संस्कृतिमा पुस्तकालयले भूमिका’ विषयक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितालगायत कार्यक्रम गरी दिवस मनाएको छ । 

विसं २००३ मा स्थापना भएको देशकै अग्रणीमध्येको विद्यामन्दिर पुस्तकालय, बागलुङले पाँच दिवसीय कार्यक्रमसहित पुस्तकालय दिवस मनाएको उक्त पुस्तकालयका सचिव राजनप्रसाद शर्माले जानकारी दिनुभयो । दिवसका अवसरमा भदौ ११ गते पुस्तकालय परिसर सरसफाइसहित दिवसको प्रचारात्मक कार्यक्रम, १२ र १३ गते गते विद्यालय उमेरका बालबालिकालाई लक्षित गरी ‘सिर्जनात्मक लेखन कार्यशाला’ आयोजना गरिएको उहाँको भनाइ छ ।  

शुक्रबार ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ शीर्षकमा बागलुङ नगरपालिकास्थित माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको थियो । दिवसका सन्दर्भमा जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा पुस्तक उपहार, बालविकास केन्द्रका बालबालिका र तिनका अभिभावकको निःशुल्क आँखा जाँच, शैक्षिक सामग्री वितरणलगायत कार्यक्रम गरिएको सचिव शर्माले बताउनुभयो । 

दिवसको मूल समारोह पारेर आज उक्त पुस्तकालयका पूर्वअध्यक्ष एवं पूर्वपुस्तकाध्यक्ष हरिहर श्रेष्ठलाई ‘दीर्घसेवा सम्मान’ प्रदान गरिएको थियो ।  राणाकालको प्रतिकूल समयमा पुस्तकालय खुलेका कारण पनि विद्यामन्दिर पुस्तकालयको अलग्गै पहिचान र गरिमा छ । धवलागिरि क्षेत्रको शैक्षिक, सामाजिक र राजनीतिक जागरणको केन्द्रका रुपमा समेत यस पुस्तकालयलाई लिने गरिन्छ । 

स्थापनाकालमा काठमाडौँ उपत्यका हुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक सङ्ग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले विभिन्न विधाका गरी करिब १७ हजार पुस्तक छन् । पुस्तकालयमा विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी) पनि सञ्चालित छ । प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक पौवामा चलेको पुस्ताकालयले अहिले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा दिँदै आएको छ । यस पुस्तकालयका संस्थापक दिवङ्गत ओमप्रसाद गौचन र मेघकुमार वैद्य हुनुहुन्छ । पुस्तकालयमा छुट्टै बाल पुस्तकालय स्थापनाको तयारी अगाडि बढेको जनाइएको छ । 

प्रतिक्रिया