`

प्रहरी निरीक्षक श्रेष्ठले बोकेको ‘सर्भिस रिभल्वर’बाट गोली चल्दा दुईजना घाइते

काठमाडौँ, ६ फागुन : काठमाडौँको चन्द्रागिरिस्थित प्रहरी प्रभाग बलम्बुमा प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बोकेको ‘सर्भिस रिभल्वर’बाट आज गोली चल्दा दुईजना घाइते भएका छन् ।डिउटी सकेर हतियार बुझाउने क्रममा पेस्तोलबाट एक राउन्ड गोली चलेपछि गोली लागेर प्रहरी निरीक्षक श्रेष्ठका अङ्गरक्षक घाइते भएका काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

अङ्गरक्षकको खुट्टामा गोली लागेको छ । उक्त घटनामा एक सर्वसाधारण पनि घाइते भएका छन् । दुवैजनाको अवस्था खतरामुक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक थापाले बताउनुभयो । नियतवस घटना भएको नभई केही लापरबाही देखिएको उल्लेख गर्दै एआइजी थापाले घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँलाई निर्देशन दिइसकेको बताउनुभयो ।

कांग्रेसको भोट घटेको छ, महासमितिमा गम्भीर छलफल हुनुपर्छ : शेखर कोइराला

काठमाडौँ, ६ फागुन: नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले निर्वाचनमा पार्टीको भोट घटेकोबारेमा महासमिति बैठकमा गम्भीर छलफल हुनुपर्ने बताउनुभएको छ ।

बिपी अध्ययन प्रतिष्ठानले महासमिति बैठकको पूर्वसन्ध्यामा आज यहाँ आयोजित ‘चियापान कार्यक्रम’मा उहाँले गठबन्धनका कारण निर्वाचनमा पार्टीको मत घटेको भन्दै महासमिति बैठकमा गम्भीर समीक्षा हुनुपर्ने बताउनुभयो ।

“कांग्रेसको भोट प्रतिशत घट्दै गइरहेकाले पनि कम्युनिष्टहरुको पछि लागेर हिँड्ने अवस्थाको अन्त्य हुनेगरी महासमिति बैठकमा गम्भीर रुपमा छलफल हुनुपर्छ,”– उहाँले भन्नुभयो । पार्टीको जनमत घटिरहेका बेला हामी सरकारमा बसेका छौँ भनेर खुशी हुने अवस्था नरहेको उहाँको कथन थियो । उहाँले निर्वाचन प्रणालीको सुधारका लागि पनि महासमिति बैठकमा छलफल हुनुपर्ने बताउनुभयो ।

कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले युवाहरुलाई कांग्रेसभित्र आकर्षण गर्ने सङ्कल्प महासमिति बैठकले लिनुपर्ने बताउनुभयो । उहाँले महासमिति बैठकलाई पार्टी रुपान्तरणका निम्ति अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।अर्का नेता भुपेन्द्रजङ्ग शाहीले अबको निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्नुपर्छ भन्नुभयो ।

आगामी वर्षको बजेट सीमा १८ खर्ब, तीन वर्षमा साढे २४ खर्ब पु-याउने लक्ष्य

काठमाडौँ, ६ फागुन : आगामी आर्थिक वर्षका लागि रु १८ खर्बको बजेट सीमा तोकिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वको राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आवका लागि रु १८ खर्बको बजेट ‘सिलिङ’ तोकेको हो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको दफा ७ ले स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गर्नुपर्ने व्यवस्था गरेको छ । योजना आयोगले अर्थ मन्त्रालयसँगको समन्वयमा मध्यकालीन खर्च संरचना तथा आगामी आर्थिक वर्षको बजेट र कार्यक्रम तर्जुमा गर्ने प्रयोजनका लागि आगामी तीन वर्षमा उपलब्ध हुने स्रोत तथा गर्न सकिने खर्चको पूर्वानुमान चालू आवको माघ मसान्तभित्रमा गरिसक्नुपर्ने व्यवस्था ऐनमा छ । मध्यकालीन खर्च संरचनाको अनुमान गर्दा आव २०८२÷८३ का लागि रु २१ खर्ब र आव २०८३÷८४ का लागि रु २४ खर्ब ५५ अर्ब बराबर खर्चको सीमा निर्धारण गरिएको आयोगका प्रवक्ता यमलाल भुसालले राससलाई जानकारी दिनुभयो ।

आगामी तीन आर्थिक वर्षको राष्ट्रिय स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण भएसँगै आयोगले सबै संवैधानिक निकाय, विषयगत मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह तथा सङ्घीय सञ्चित कोषबाट व्ययभार हुने निकायका लागि आगामी तीन आर्थिक वर्षको खर्चको सीमा तथा स्रोतसँगै मध्यमकालीन खर्च संरचनाको खाका तथा बजेट तर्जुमासम्बन्धी मार्गदर्शन पठाइसकेको छ ।

आगामी आवको वार्षिक कार्यक्रम तथा बजेट र त्रिवर्षीय मध्यकालीन खर्च संरचना तर्जुमाको लागि समष्टिगत तथा विषय क्षेत्रगत खर्चको सीमा निर्धारण तथा स्रोत अनुमान तयार गर्दा विभिन्न विषयवस्तुलाई प्रमुख आधारको रूपमा लिएको छ ।

नेपालको संविधानमा उल्लेखित मौलिक हक तथा राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरू, आगामी सोह्रौँ योजनाका सोच, उद्देश्य, समष्टीगत तथा रूपान्तरणकारी रणनीति र प्रमुख हस्तक्षेपकारी कार्यक्रमहरू, नेपाल सरकार कार्यविभाजन नियमावली, २०७४ तथा चालू वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रमका निरन्तरता दिनुपर्ने र राष्ट्रिय प्राथमिकताका कार्यक्रमहरू रहेका छन ।

राष्ट्रिय स्रोतको अनुमान तथा खर्च सीमा निर्धारण गर्दा समितिले आगामी तीन आर्थिक वर्षको आर्थिक वृद्धिदरको पनि अनुमान गरेको छ । आगामी आवमा छ प्रतिशत, आर्थिक वर्ष २०८२÷८३ मा साढे छ प्रतिशत र आर्थिक वर्ष २०८३÷८४ मा सात प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य निर्धारण गरिएको हो ।

बालकुमारी घटना: मन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाउन पार्टीमा छलफल

काठमाडौँ, ६ फागुन: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदनको अध्ययनपछि भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउने विषयमा निर्णय लिने भएको छ । गत पुस १३ गते बालकुमारी घटनामा आयोगले मन्त्री ज्वालालाई दोषी ठहर गरेपछि पार्टीले आन्तरिक छलफल गरेको हो ।

पार्टीको आजको बैठकमा मन्त्री ज्वालाका विषयमा छलफल भए पनि आयोगको रिपोर्ट हेरेर निर्णय गरिने पार्टी उपाध्यक्ष प्रमेश हमालले राससलाई जानकारी दिनुभयो । जाँचबुझ आयोगले मन्त्री ज्वालासहित तीन जनालाई दोषी ठहर गरेपछि उहाँलाई राजीनामा गराउन पार्टीमा केही नेताहरूले सुझाव दिनु भएको आशय उहाँले व्यक्त गर्नुभयो ।

पर्यटन याम सुरु भएसँगै चलायमान हुन थाले बागलुङका घरबास

ढोरपाटन (बागलुङ), ६ फागुन : पर्यटन याम सुरु भएसँगै बागलुङका घरबास (होम–स्टे) मा पर्यटक बढ्न थालेका छन् । दसैँ तिहारको समयमा भरिभराउ भएका घरबास जाडोयाम सुरु भएपछि पाहुना कम भएका थिए । माघ दोस्रो सातादेखि पुनः घरबासमा पर्यटक आउन थालेका हुन् । बागलुङमा आधिकारिक रुपमा दर्ता भएका २८ सामुदायिक तथा व्यक्तिगत घरबास छन् भने केही दर्ता विनानै सञ्चालनमा छन् ।

जिल्लाको बागलुङ नगरपालिका–१० भुकण्डेमा सबैभन्दा बढी घरबास भएको पाइन्छ । कुण्डेमा १५ वटा सामुदायिक घरबास रहेका छन् । काठेखोल, बरेङ, ढोरपाटन, लगायतका ठाउँमा पनि घरबास सञ्चालनमा छन् । पछिल्लो समय सबैभन्दा बढी चल्ने मध्येमा भकुण्डेस्थित अतिथि सत्कार सामुदायिक घरबास र काठेखोला गाउँपालिका–३ बेलढुङ्गामा रहेको बेलढुङ्गा सामुदायिक घरबास पर्छन् । भकुण्डेबाट पूर्वदेखि पश्चिमसम्म अनगिन्ती हिमशृृङ्खलाको अवलोकनसँगै उच्च पहाडी क्षेत्रको दृश्यावलोकन गर्न सकिने र बेलढुङ्गाबाट हिमालीसँगै पहाडी जिल्लाका धेरै ठाउँ देख्न सकिने हुँदा पर्यटक घुम्न आउने गर्छन् ।

पर्यटकीय क्षेत्र भएकै ठाउँमा घरबास सञ्चालनमा रहेको हुँदा पर्यटकलाई खान, बस्नको लागि सहज भएको छ भने स्थानीयवासीलाई आयआर्जनको माध्यम बनेको छ । बागलुङ नगरपालिका–१० भकुण्डेका घरबास सञ्चालक याम थापाले आन्तरिकसँगै बाह्य पर्यटक आउन थालेको बताउनुभयो । आन्तरिक पर्यटक एक दिन आउने र बास बसेर जाने गरेको भन्दै विदेशी पाहुना केही दिन बस्ने उहाँको भनाइ छ ।

भकुण्डेमा रहेको बराह ताल र भ्युटावरमा चढेर रमाउनका लागि प्रत्येक साता दुई दिन पर्यटकको बढी चहलपहल हुने थापाले बताउनुभयो । पर्यटक आउन थालेपछि घरबास संचालकहरुको आय आर्जनसमेत राम्रो बन्दै गएको उहाँ सुनाउनुहुन्छ । थापाका अनुसार महिनामा करिब पाँच सय पर्यटक घरबासमा बास बस्ने गरी आउने गरेका छन् । उहाँले भन्नुभयो– “अहिले पर्यटक आउन थालेका छन्, बर्खामा सुनसान जस्तै भएको थियो, दसैँ तिहारका बेला धेरै आए, जाडो भएर होला बीचमा निकै कम भएको थियो, विदेशी पर्यटक पनि आइरहेका छन्, अमेरिकन र कोरियन पर्यटक बढी आउँछन््, घरबासलाई व्यवस्थित बनाउँदै गएका छौँ, त्यसले गर्दा पनि मान्छेहरु एक रात भए पनि बस्नका लागि यहाँ आउनुहुन्छ, उहाँहरुलाई जति सक्दो सन्तुष्ट बनाएर पठाउने कोशिस गरिरहेका छौँ ।” बेलढुङ्गा सामुदायिक घरबासका अध्यक्ष गोपाल श्रीसले घुम्न आउने पर्यटकको सङ्ख्या बढेपछि बास बस्न आउने पाहुना पनि विस्तारै बढ्न थालेको बताउनुभयो ।

बाह्रैमहिना नियमित पर्यटक नआउँदा घरबास सञ्चालनमा समस्या भएको सुनाउँदै पर्यटकीय याम सुरु भएपछि घरबासमा सबै पाहुना आउने उहाँको भनाइ छ । घरबासलाई पाहुनाको चाहना र माग अनुसार व्यवस्थित बनाएको सुनाउँदै धेरै जस्तो पर्यटकले बजारको जस्तो सुविधा खोज्ने गरेको श्रीस बताउनुहुन्छ । बेलढुङ्गामा महिनामा झण्डै एक हजार पाँच सय पर्यटक आउने भए पनि कम मात्रै घरबासमा आउने उहाँको भनाइ छ ।

“घरबास सञ्चालनमा नआउँदा धेरै पर्यटकलाई समस्या थियो, घुम्दाघुम्दै रात प¥यो भने बजार फर्किन समस्या हुन्थ्यो, गाउँका गोठमा बास बस्नुपर्ने स्थिति थियो, तर अहिले पर्यटकको त्यो समस्यालाई हामीहरुले समाधान गरेका छौँ” अध्यक्ष श्रीसले भन्नुभयो– “बेला–बेला बाहिरबाट पनि पर्यटकहरु आउँछन्, अपेक्षा अनुसार पाहुना आउन सकेका छैनन् तर समग्रमा अहिले आइराखेको सङ्ख्या राम्रो हो, पर्यटकीय क्षेत्रलाई व्यवस्थित गर्न पनि लागिपरेका छौँ, पछिपछि धेरै आउने अपेक्षा राखेका छौँ ।” अतिथि सत्कार घरबास भकुण्डेकी उपाध्यक्ष इन्द्रा थापा हरेक हप्ता शुक्रबार र शनिबार पाहुनाले घरबास भरिभराउ हुने बताउनुभयो । अन्य समयमा पनि निरन्तर पर्यटक आइराखेको भन्दै यहाँका घरबास सञ्चालकले लगानीसमेत गरिरहेको उहाँको भनाइ छ ।

खासगरी बागलुङ बजारबाट धेरै पाहुना आउने हुँदा घरबास सञ्चालनमा समस्या नभएको थापा बताउनुहुन्छ । माघदेखि हालसम्म हजारौँ पाहुनालाई सेवा दिएको उहाँले बताउनुभयो । उपाध्यक्ष थापाले भन्नुभयो– “पाहुना आउन थालेपछि लगानी गरिरहेका छौँ, छुट्टै घर बनायौँ, अन्य व्यवस्थापन पनि गरिरहेका छौँ, धेरैले बजारको जस्तो सुविधा खोज्छन्, गाउँमा ठिकै खालको सुविधा छ, धेरैले नेट खोज्ने हुँदा नेटको पनि व्यवस्था मिलाएका छौँ, हामीहरुले स्थानीय उत्पादन कोदोको सेलरोटी, ढिँडो, सिन्कीको अचार, लोकल कुखुरा, कालो सुङ्गुरको मासु पाहुनालाई उपलब्ध गराउने गरेका छौँ, यहाँ ठूलो टिम आयो भने १५ वटा घरबास छन्, सबैलाई मिलाएर राख्छौँ, यहाँ आउने कोही पनि पाहुनाले बास नपाएर समस्यामा पर्ने अवस्था छैन ।”

गाजामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २९ हजार नजिक

गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीहरूको सङ्ख्या २८ हजार ९८५ पुगेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार जनाए अनुसार गत अक्टोबर ७ मा शुरु भएको इजरायल-हमास द्वन्द्वपछि तटीय क्षेत्रमा ६८ हजार ८८३ प्यालेस्टाइनीहरू घाइते भएका छन् ।

इजरायली सेनाको आक्रमणबाट पछिल्लो २४ घण्टामा १२७ प्यालेस्टाइनीको मृत्यु भएको छ भने २०५ जना घाइते भएका छन् । प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले दक्षिणी गाजा पट्टीको खान युनिस शहरको अल-अमल अस्पतालले इजरायली ट्याङ्कहरूबाट थुप्रै प्रत्यक्ष आक्रमणहरू भएको बताएको छ।

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा भट्ट नियुक्त

काठमाडौँ, ६ फागुन :नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्टलाई नियुक्त गरिएको छ । मन्त्रिपरिषद्को आजको बैठकले भट्टलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

सरकारका प्रवक्ता शर्माले भन्नुभयो,“ सरकारले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरुको विद्युत् महसुलसम्बन्धी विवाद निरुपण गर्न गठित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय भएको छ ।”

 त्यसैगरी सरकारले सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि, २०७४ को अध्ययन गरी दुई महिनाभित्र परिमार्जित मस्यौदा पेस गर्न गृह मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्ले राष्ट्रिय प्रसारण (बाह्रौं संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने, प्रोवेशन तथा प्यारोलसम्बन्धी नीति, २०८० स्वीकृत गर्ने, नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त गर्ने र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जोशीलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री शर्माले बताउनुभयो । एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय भएको छ ।

लोकतान्त्रिक शासन प्रणालीको छहारीमा नेपाली समाज

काठमाडौँ, ६ फागुन : लोकतन्त्रको न्यानो छहारी सबैका लागि प्यारो हुन्छ । यो आदर्श ‘शब्द’ मात्र होइन, स्वतन्त्रता र खुलापन चाहने जोकोही जनताको आकाङ्क्षाको उच्चतम रुप पनि हो । हामी एकछिन लोकतन्त्रबिनाको समाज र राष्ट्रको परिकल्पना गरौं । लोकतन्त्र नहुँदाको अवस्थालाई हामी सबैले भन्न थाल्नेछौँ, देश अधिनायकवादतर्फ उन्मूख भयो । बोल्न, लेख्न, सङ्गठित हुन पाइन्न । पाइलैपिच्छे व्यक्तिको गोपनीयता हनन् हुन थाल्छ । लोकतन्त्रका आधारस्तम्भ निकम्मा हुन थाल्छन् र त्यसप्रति आमजनताको भरोशा रहन्न । अन्तर्राष्ट्रिय जगतले पनि यस्तो शासनप्रति बक्र दृष्टि लगाउन थाल्छ । देशको शासन प्रणालीमाथिको अविश्वासले केही सीमित व्यक्तिलाई हित गर्दो हो, तर धेरै जनता यसबाट प्रत्यक्ष र परोक्ष रुपमा प्रताडित हुन्छन् ।

एक पटक लोकतन्त्रको भोग गरेको समाज पछि फर्कन सक्दैन । अर्थात् यस्तो समाज अधिनायकवाद तर्फउन्मुख हुनै सक्दैन । लोकतन्त्रको विकल्प हामीले सोच्न पनि सक्दैनौं । नेपाली समाज कहिल्यै लोकतन्त्रका विरुद्धमा थिएन, छैन र रहने पनि छैन । २००७ सालदेखिको इतिहास केलाउने हो भने नेपाली जनताको पहिलो र एकमात्र आकाङ्क्षा सुदृढ लोकतन्त्रकै छ । लोकतान्त्रिक चरित्र र गुणविनाका कुनै पनि शासन प्रणालीलाई नेपाली जनताले अस्वीकार गरेका छन् ।

आज लोकतन्त्रको हुर्मत लिने गरी केही व्यक्ति र समूहले छिटपुट प्रयास गरिरहेको देखिन्छ । लोकतान्त्रिक शासन व्यवस्थाले प्रदान गरेको अवसरलाई दुरुपयोग गरी उनीहरु यही प्रणालीमाथि धावा बोल्न थालेको आभास हुन लागेको छ । लोकतान्त्रिक शासन प्रणाली र संविधानले प्रदान गरेको स्वतन्त्रताको उपयोग गरेर उनीहरु यही व्यवस्था र प्रणालीका विरुद्ध उभिएको मात्र होइन, आर्थिक अराजकता निम्त्याउन र देशको औद्योगिक वातावरण धमिल्याउन उद्यत रहेको पनि देख्न सकिन्छ । विगतमा भएका क्रान्तिले कैयौं व्यक्तिले सहादत प्राप्त गरेको र मुलुकको समृद्धिमा ठेस लागेको हामीले देखेभोगकै हो । अझै पनि मुलुकभित्र अस्थिरता र अराजकता फैलिनु भनेको मुलुकले थप क्षति व्यहोर्नु नै हो । विश्वका गरिब र पछौटेपनबाट ग्रस्त कैयौं देशले विकास र समृद्धिको फड्को मारिसकेका छन्, हामीभन्दा उनीहरु अघि बढिसकेका छन् । हामी अहिले विश्वले नै सही ठहर्याएको लोकतान्त्रिक शासन प्रणालीको छहारीमा छौं । यसलाई नै थप सुदृढ, बलियो र भरोसायोग्य बनाउनुको विकल्प छैन ।

मुलुक सङ्घीयता सहितको गणतान्त्रिक शासन व्यवस्थामा प्रवेश गरिसकेको छ । धर्मनिरपेक्ष राज्यको मूल धर्म भइसकेको छ । देशको मूल कानुनका रुपमा रहेको संविधानको प्रस्तावनामै “जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने” उल्लेख छ । लोकतन्त्रको अर्को सुन्दर पक्ष स्वतन्त्रता पनि हो । संविधानले प्रत्येक नेपाली नागरिकलाई “विचार र अभिव्यक्तिको स्वतन्त्रता, विना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता, राजनीतिक दल खोल्ने स्वतन्त्रता, सङ्घ र संस्था खोल्ने स्वतन्त्रता, नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने स्वतन्त्रता तथा कुनै पनि भागमा पेशा, रोजगार गर्ने र उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रता” प्रदान गरेको छ । वैयक्तिक स्वतन्त्रताबाट बन्चित नगरिने तथा मृत्युदण्ड नदिने जस्ता अकाट्य स्वतन्त्रता नेपाली जनतालाई उपलब्ध छन् । यी स्वतन्त्रताहरुको हनन् भएको अवस्थामा कानुनी उपचार खोज्न पाउने हक पनि संविधानले हरेक नागरिकलाई उपलब्ध गराएको छ । संविधानले प्रदान गरेका समानता र स्वतन्त्रताको हक सहित जनअभिमतका लागि खडा गरिएका राजनीतिक तथा प्रशासनिक संरचनाले अविच्छिन्न काम गरिरहेका छन् । सबैलाई थाहै छ, लोकतन्त्र भनेको जनता आफैँले आफैँमाथि गर्ने शासन प्रणाली हो जो स्वतन्त्र निर्वाचनबाट चुनिएको हुन्छ । यही मान्यता र यसकै जगमा मुलुकमा तीनै तहको स्वतन्त्र ढङ्गबाट आवधिक चुनाव हुन थालिसकेका छन् । सङ्घ, प्रदेश र स्थानीय सरकारहरुले आफ्ना काम गरिरहेका छन् ।

हो, लोकतन्त्रका आधारभूत यी मूल्य मान्यतालाई तिरस्कृत गरेर शासन व्यवस्था चलिरहेको भए त्यसमा खबरदारी गर्न सकिन्छ । चुनाव प्रणालीमा सुधारका लागि दबाब दिन सकिएला । भ्रष्टाचार बढेको र सुशासनमा कमीकमजोरी भए सच्याउन तथा आवधिक चुनाव मार्फत् आफ्नो उपस्थिति बलियो बनाएर परम्परागत शक्तिमाथि दबाब सिर्जना पनि गर्न सकिन्छ । त्यो अवसर हरेक नेपालीलाई उपलब्ध छ । तथापि, नागरिकका जायज गुनासा, सुझाव र विचारलाई गम्भीरतापूर्वक सुनिनु जरुरी छ ।

देशका विभिन्न भागको भ्रमण गर्दा देख्न सकिन्छ, सडकहरु बन्दै छन्, विद्युत् र टेलिफोनको पहुँच बढेको, कृषि, उद्योग र जलविद्युत् निर्माणमा तिब्रता आएको छ । केन्द्रले प्रदान गर्ने कैयौं सेवा अहिले प्रदेश र स्थानीय तहले प्रवाह गर्न थालिसकेका छन् । तथापि पर्याप्त उद्योग स्थापना र रोजगारी सिर्जनामा कमजोरी भएको अनुभव अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थानकक्षमा लागेको युवाको भिडले देखाउँदैछ, र यस किसिमको विदेश पलायन सबैका लागि चिन्ताको विषय बनेको छ । बेरोजगारीको समस्या हल गर्ने उपाय खोज्ने पनि यही लोकतान्त्रिक प्रणालीबाटै हो । सङ्घीयता कार्यान्वयनमा देखिएका केही जटिलता र अनावश्यक एवं फजूल खर्च कटौती गर्ने गरी दबाब सिर्जना गर्न यही व्यवस्थाभित्र रहेर आवाज उठाउन सकिन्छ । त्यो अवसर पनि लोकतान्त्रिक शासन व्यवस्थाले नै उपलब्ध गराइरहेको छ ।

सङ्घीय राजधानीको माइतीघरमा अनेक किसिमबाट पीडित भएका मानिसहरुले दिनहुँजसो शान्तिपूर्ण धर्ना दिएर राज्यको ध्यानाकर्षण गराइरहेका छन् । गतवर्ष पनि मिटरब्याज पीडितहरुले यस्तै शान्तिपूर्ण आन्दोलन गरेका थिए । सरकारले राष्ट्रिय सहमति जुटाएर मिटरब्याजसम्बन्धी कानुन नै बनाएर पीडितलाई न्याय दिने र बदमासी गर्नेलाई दण्डित गर्ने प्रयास गरेको थियो । साथै, वर्षौंदेखि नागरिकता प्राप्तिको आशामा रहेका नागरिक र विदेशमा रहेका गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्नेगरी ऐन शंसोधन भएको छ (लेखक सोमनाथ लामिछाने राससका समाचार महाशाखा प्रमुख हुनुहुन्छ)

अफगानिस्तानमा सबै किसिमका आतङ्कवादी समूह प्रतिबन्धित

अफगानिस्तानको सरकारले देशमा कुनै पनि आतङ्कवादी समूहलाई गतिविधि गर्न अनुमति नदिने प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले उल्लेख गर्नु भएको छ ।

“म स्पष्ट रूपमा घोषणा गर्दछु – अफगानिस्तान सुरक्षित छ । यहाँ जिम्मेवार सरकार छ । सरकार अफगानिस्तानमा यस किसमका कुनै पनि बाहिरी समूहलाई गतिविधि सञ्चालन गर्न वा अफगानिस्तानमा उपस्थित हुन अनुमति दिंदैन,” स्थानीय टेलिभिजन च्यानल टोलो न्युजले मुजाहिदलाई उद्धृत गर्दै आइतबार यसबारे बताएको छ ।

युद्धग्रस्त अफगानिस्तानमा अल-कायदा नेटवर्क र इस्लामिक स्टेट सङ्गठन सहित २० वटाभन्दा बढी आतङ्कवादी समूहको उपस्थितिको रहेको बताइएका बेला उहाँको सो धारणा सार्वजनिक भएको हो ।

नाफामा कालापत्थरबाट खसिरहेका छन् हिउँका थोपा

नारायण ढुङ्गाना / काठमाडौँ, ६ फागुन: नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) परिसरको एक कुनामा परैबाट त्रिकोणात्मक आकृतिमा सेता डल्ला टलक्क टल्किएका देखिन्छन् । ती सिर्जनाहरु चुचुरोबाट विस्तारै पहाडमा हिउँका थोपाहरु तपतप झरिरहे झैँ लाग्छन् ।

“जलवायु परिवर्तनका कारण विश्व समस्यामा छ । वतावरण विनाशमा सबै नागरिक कुनै न कुनै रुपमा सहभागी छौँ, यसबाट कोही पनि अछुतो छैन । त्यसकारण यो कृति पूर्ण हुन पनि हामी सबै सहभागी हुनुपर्छ भनेर देखाएको हुँ”, प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले आफ्नो सिर्जनाबारे खुलाउँदै राससँग भन्नुभयो ।

उपकुलपति लामाले प्रतिस्थापन कलामार्फत जलवायु परिवर्तनका कारण हिमालबाट पग्लिरहेको र त्यसरी हिउँ खस्नुमा हामी सबैको भूमिका छ भनेर देखाउनुभएको छ ।

विश्वव्यापी तापमान वृद्धि र जलवायु परिवर्तनमा हरेक मानिस सहभागी छ, त्यो हामीले बेलैमा रोक्न सकेनौँ भने हिमालहरु सकिने छन् । यसतर्फ ध्यान जानु पर्यो भनेर उहाँले कलामार्फत विश्व समुदायकै ध्यानाकर्षण गराउनुभएको छ ।

चुहिँदै गरेको हिउँको थोपालाई विम्ब बनाएर उहाँले प्राकृतिक सम्पदा विनाशोन्मुख भइरहेको देखाउन एक महिना यस्ता सिर्जनामा समय दिनुभएको थियो । प्रकृति प्रदत्त वस्तुको विनाशमा हामी सबै सहभागी छौँ भन्ने देखाउन उहाँले हिउँका थोपारुपी माटोका डल्लामा रङ दलेर तयार पारिएका सामग्री एकएक आगन्तुकलाई राख्न लगाएर कृतिलाई पूर्णता दिइरहनुभएको छ । उहाँले फलामको त्रिकोणात्मक आकृतिलाई जोडेर पहाडको प्रतीक निर्माण गर्नुभएको छ । उहाँले माटोमा रङ लगाएर हिउँका थोपा बनाउनुभएको छ । फलामको त्रिकोणलाई हिमालको प्रतीक मानेर त्यसमा मसिनो डोरी लगाएर हिमालबाट हिउँका थोपा चुहिरहेको देखाउनुभएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मक कला ९बहुआयामिक कला० विभागको आयोजना र ग्यालरी एमक्युबको सहकार्यमा एक महिने ‘प्र–कृति ः प्रतिस्थापन कला प्रदर्शनी २०८०’ हेर्न आएका कला पारखीलाई उपकुलपति लामा एक एक थोपा जोड्न लगाएर कलालाई पूर्णता दिइरहनुभएको छ ।

अर्का कलाकार सुष्मा सिंहले ढुङ्गामा फूल फूलाउन खोज्नुभएको छ, जुन फूल सदावहार रहिरहन्छ । जनजीवनमा जति पनि बाधा आउँछन् त्यसलाई सहज रुपमा लिनुपर्छ भन्ने देखाउन उहाँले ढुङ्गालाई प्रयोग गर्नुभएको छ ।

सेरामिक्सका दर्जनौँ ढुङ्गा बनाएर उहाँले त्यही ढुङ्गामा फूल फुलाउनुभएको छ । फलामका तारहरुको फुल बनाएर जोड्नुभएको छ । “आशा बाँचिरहोस् भनेर मैले ढुङ्गामा कहिल्यै पनि नओइलिने फूल फुलाउन खोजेकी छु । आशाहरु सकारात्मक हुनुपर्छ भनेर देखाउन खोजेकी हुँ ।”

प्रकृति र मान्छेबीच द्वन्द्व चलिरहेको छ । मानिसले प्रकृतिको विनाश गरिरहेको र त्यसै गरी प्रकृतिले पनि विभिन्न विपत्तिहरूका माध्यमबाट मानिसलाई सजाय दिइरहेको छ । यो प्रदर्शनीले त्यसको जीवन्त चित्र प्रस्तुत गरेको छ । अर्का कलाकार सागर मानन्धरले सङ्घर्षपूर्ण जीवनलाई देखाउनुभएको छ । तेल उत्पादन गर्ने प्रक्रियासँग जोडेर उहाँले कला सिर्जना गर्नुभएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मक कला ९बहुआयामिक कला० विभागककी प्रमुख, प्रतिष्ठानकै प्राज्ञपरिषद् सदस्य सौरगङ्गा दर्शनधारीले प्रकृतिसँग जीवनको सङ्गम कस्तो छ भनेर प्रष्ट्याउनुभएको छ । मानिसको जन्म र मृत्यु प्राकृतिक नियम हो । प्रकृति अर्थात् रुख, पत, पतिङ्गर, मुढाहरुले पनि आफ्नो अस्तित्व बोकिरहेको छ । ती प्रकृतिहरु कदमकदम मानवसँग आबद्ध भएर नै बसिरहेको हुन्छ ।

आफूले बनाएको प्रतिस्थापन कलाको विम्ब काठको मुढालाई देखाएर उहाँले भन्नुभयो, “मुढाहरुले मानिस जन्मिँदा तापको रुपमा ऊर्जा दिएको हुन्छ भने मृत्यु हुँदा पनि यसैको तापसँग विलीन भइन्छ । रुखको सम्बन्ध मानिस जन्मेदेखि मुत्युसम्म हुन्छ भनेर मैले देखाउन खोजेकी हुँ, मेरो जीवनसंगी भनेको यही रुख र प्रकृति हो ।”
मनिषलाल श्रेष्ठले थरिथरिका कपडामा सफेद रङ भरेर नौलो सन्देश छर्नुभएको छ । मानिसको दोस्रो छाला ‘लुगा’ एक वैचारिक कला रुपात्मक मानव खोलको रुपमा अभिव्यक्त छ ।

मान्छेलाई शुरुमा चिन्ने भनेको लुगाबाट हो । व्यक्तिको लवाइबाट समाजले त्यही किसिमले सोचाइ बनाउँछ । अनि उसभित्र के छ भनेर बाहिरको प्रस्तुतले दर्शाउँछ । त्यसैलाई उहाँले कलामार्फत देखाउन खोज्नुभएको छ । जहाँ लामबद्ध रुपमा कपडाहरु राखिएको छ । उहाँले मानव सुमदायलाई अनुशासनको पाठसमेत सिकाउनुभएको छ ।

मानिसमा अन्तरआत्मा र बाहिरी कुरा हुन्छ । त्यो दुईबीच हरेक मान्छेमा द्वन्द्व हुन्छ । लहरै रङ पोतेर झुण्ड्याइएका लुगा देखाउँदै उहाँ भन्नुहुन्छ, “यो लुगा भनेको मान्छेको बाहिरी आवारण हो । यसलाई बढी मान्छेले माया गर्ने रहेछ, भित्रको आफ्नो अस्तित्वभन्दा । त्यो भित्र र बाहिरको विरोधाभाषलाई दर्शाउन खोजेको हुँ।”

नजिकै विनय रिमालले चराको गुणलाई विम्ब बनाएर प्रकृति विनाश भइरहेको देखाउनुभएको छ । वातावरणीय प्रभावले चराहरुलाई असर गरिरहेको छ भनेर देखाउनुभएको छ । चराका फुलहरु भुँइभरी छन्। रुखभरी गुँडहरु देखाइएको छ ।

प्रतिस्थापन कलामा सुशान्तसिंह राजभण्डारीले मन्दिरमार्फत शान्तिको सन्देश छर्नुभएको छ । अर्का कलाकार मिना कायस्थले पनि प्रतिस्थापन कलामार्फत समाजसँगको मानवसम्बन्धका बारेमा सन्देश दिनुभएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली प्रतिस्थापन कला भनेकै बहुमाध्यमको प्रयोगबाट विभिन्न भावहरूलाई प्रस्तुत गर्ने कला हो भन्नुहुन्छ । उहाँले प्रतिस्थापन कलामा प्राकृतिक वस्तुहरूको प्रयोगबाट प्रकृतिसँगको सम्बन्धलाई अत्यन्त सुन्दर ढङ्गले कलाकारहरूले प्रस्तुत गर्नुभएको स्मरण गर्नुभयो ।

“कुनै पनि वस्तु स्वयमले बोकेको भावलाई कलाकारले फरक बनाउन सक्ने र फरक–फरक वस्तुलाई फरकफरक भावमा प्रस्तुत गर्न सक्ने खुबी कलाकारमा हुन्छ, सामाजिक उत्पीडनलाई कलामार्फत समसामयिक विषयवस्तुमा उठान गर्न जरुरी छ, प्रतिष्ठानले अहिले त्यही कार्य अघि बढाएको छ, यो त्यसैको सङ्केत हो”, उहाँले भन्नुभयो । उहाँले जलवायु परिवर्तनले पारेको असरबारे हिमालको रहस्य कला सिर्जना र प्रदर्शनीमार्फत पनि हामीले त्यो सन्देश दिन खोजिरहेका बताउनुभयो ।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ प्रतिस्थापन कलाको महत्व प्रत्यक्ष रुपमा अनुभूत गर्न सकिने बताउनुहुन्छ । यहाँ प्रदर्शन गरिएको प्रतिष्ठापन कलाले समाजमा देखे भोगेका घटनाहहरुलाई सुन्दर ढङ्गले प्रस्तुत गरेको उहाँले स्मरण गर्नुभयो ।

प्रकृतिलाई विशेष प्राथमिकतामा राखी प्रकृतिकै काखमा रमाएर दुई साता अघिदेखि सिर्जना गरिएको कलाहरु यहाँ प्रस्तुत गएिको छ । प्रतिष्ठाको कार्यालय नक्सालमा जारी प्रदर्शनी चैत ३ गतेसम्म रहने छ । यहाँ मुख्यतः प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ ।

विवाहका निम्ति वडाको सिफारिस अनिवार्य

मान्म (कालीकोट), ६ फागुन : कालीकोट जिल्लाको रास्कोट नगरपालिका वडा नम्बर–४ ले विवाह गर्न वडाका सबैले अनिवार्यरूपमा सिफारिस लिनुपर्ने नियम बनाएको छ । बालविवाह रोक्ने उद्देश्यले वडा कार्यालयले वडाको सिफारिस अनिवार्य गरेको हो ।

विवाहका लागि वडाबाट सिफारिस लिँदा उनीहरुको वास्तविक जन्ममिति थाहा हुने र बालविवाह घटाउन सहयोग पुग्ने वडाध्यक्ष दिनेश सन्ज्यालले बताउनुभयो । “उमेर पुगेका युवायुवतीले वडा कार्यालयबाट अनिवार्य सिफारिस लिनुपर्ने नियम लागु गरेका छौँ ।” उहाँले भन्नुभयो,“जन्मदर्ता र नागरिकता साथमा ल्याई विवाहका लागि सिफारिस लिन सकिनेछ ।” वडाको नियम उल्लङ्घन गरेमा कानुन बमोजिम कारबाही गरिने प्रतिबद्धता वडाध्यक्ष सन्ज्यालले व्यक्त गर्नुभयो । “कानूनमा ‘बिहेवारी बीसवर्ष पारी’ भन्ने गरिए पनि व्यवहारमा भने यो पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन ।”

उहाँले भन्नुभयो,“त्यसको व्यवहारिक कार्यन्वयनका लागि सिफारिसलाई अनिवार्य बनाएका हौँ,।” बालविवाह हुननदिन लागि विद्यालयमा चेतनामूलक कार्यक्रम सञ्चालन गरेको र उमेर नपुग्दै विवाह हुने क्रमलाई रोक्न ज्योतिष र पण्डितलाई पनि बालबालिकासँगै सहभागी बनाएर चेतनामूलक कार्यक्रम आयोजना गर्ने गरेको वडाध्यक्षले राससलाई बताउनुभयो ।

लुम्बिनी प्रदेशः निजामती सेवा नियमावली पारित

देउखुरी (दाङ) ६ फागुन: लुम्बिनी प्रदेश सरकारले ‘राज्य निजामती सेवा नियमावली २०८०’ पारित गरेको छ । मन्त्रिपरिषद् आजको बैठकले उक्त नियमावली पारित गरेको हो । राज्य निजामती सेवा ऐन, २०८० स्वीकृत भई कार्यान्वयनको चरणमा छ भने नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ ।

मुख्यमन्त्री दिल्लीबहादुर चौधरीले कर्मचारी व्यवस्थापन र बढुवाका लागि सरकारले नयाँ नियमावली ल्याएको बताउनुभयो । उहाँले राज्यका निजामती कर्मचारीका लागि लागु हुने कानुन र नियम बनेकाले अब सरकारले नयाँ स्थानीय तहको कर्मचारी सेवा सुरु गर्ने तयारी गरिरहेको बताउनुभयो । यसैबीच, ‘राज्यको योजनाका लागि बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड २०८०’ स्वीकृत गर्ने निर्णय भएको छ ।

नेपाल ‘ए’ टोली क्यानडा–११ सँग पराजित

काठमाडौँ, ६ फागुन : एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ टोली क्यानडा–११ सँग चार विकेटले पराजित भएको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ‘ए’ले प्रस्तुत गरेको दुई सय १७ रनको लक्ष्य क्यानडाले ४९ दशमलव तीन ओभरमा ६ विकेट गुमाउँदै पूरा ग¥यो । क्यानडाका लागि नवनीत धलिवालले सर्वाधिक ८० रनको योगदान दिए । उनले ७६ बल खेल्दै १० चौका र दुई छक्का प्रहार गरे ।

यसैगरी निखिल दत्तले ११५ बलमा पाँच चौका र एक छक्काको मद्दतमा अविजित ६७ रन बनाए । कप्तान साद बिन जफरले २३, श्रेयस मोम्भाले अविजित २२ तथा दिलप्रित बाज्वाले १० रन बनाए । बलिङतर्फ नेपाल ‘ए’ का लागि साहब आलमले दुई तथा रासिद खान, बसिर अहमद, प्रतिश जिसी र सागर ढकालले एक एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ले निर्धारित ५० ओभरको खेलमा आठ विकेट आठ गुमाउँदै दुई सय १६ रन बनायो ।

नेपाल ‘ए’ का लागि बसिर अहमदले ५५ बलमा तीन चौका र एक छक्काको मद्दतमा अविजित ५० रनको योगदान दिए । यसैगरी रासिद खानले ४०, मयन यादवले ३५, किरण ठगुन्नाले २५, विवेक यादवले २१ र सन्दीप जोराले १४ रन बनाए । बलिङतर्फ क्या

पर्यटन गतिविधि बढाउँन पानी जहाज थप्दै श्रीलङ्का

पर्यटन गतिविधि बढाउँन श्रीलङ्काले पानी जहाज थप्ने तयारी गरेको छ । श्रीलङ्काको बन्दरगाहमा फेब्रुअरीदेखि अप्रिलसम्म पचासवटा क्रुज जहाजहरू बोलाइने तयारी रहेको सरकारी सञ्चारमाध्यमले आइतबार बीएचआरलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

श्रीलङ्का पर्यटन विकास प्राधिकरणका महानिर्देशक सारिफो दीनले दिनु भएको जानकारी अनुसार अधिकांश क्रुज जहाजहरू कोलम्बो बन्दरगाहमा र केही हम्बनटोटा र त्रिन्कोमाली बन्दरगाहमा रहने छन् ।

सामान्यतया प्रत्येक क्रुज जहाजमा करिब १,००० यात्रु बोक्ने क्षमताका हुनेछन् र ती जहाजहरू श्रीलङ्काको बन्दरगाहमा करिब दुई दिनसम्म लङ्गर हुने अपेक्षा गरिएको बताउँदै यी पानीजहाज सञ्चालनले यस वर्ष पर्यटक आगमनको सङ्ख्या बढाउने उहाँको भनाइ छ ।सार्वजनिक तथ्याङ्क अनुसार सन् २०२३ मा १४ लाख ८० हजारभन्दा बढी पर्यटकले श्रीलङ्का भ्रमण गरेका थिए । उक्य सङ्ख्या अघिल्लो वर्षको तुलनामा दुई गुणाले वृद्धि भएको देखिन्छ ।

जैविक मार्गको अवरोधले मानव–जीवजन्तुबीचको द्वन्द्व बढ्दै

कञ्चनपुर, ६ फागुन : लालझाडी–मोहना संरक्षित वन क्षेत्र हात्ती लगायतका वन्यजन्तुको पुरानो जैविक मार्ग (करिडोर) का रुपमा रहेको छ । संरक्षित वन क्षेत्र हात्ती, बाघ, चितुवा, चित्तललगायतका वन्यजन्तुको ओहरदोहर गर्ने मार्गका रुपमा परिचित रहेको छ । भारतीय दूधुवा नेशनल पार्क हुँदै वन्यजन्तु संरक्षित वन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पुग्ने गर्दछन

। निकुञ्ज, संरक्षित वन क्षेत्र र दूधुवा नेशनल पार्क जोड्ने पुरानो जैविक मार्ग मासिँदा जङ्गली जनावरले प्रतिवर्ष मानवीय र भौतिक क्षति पु¥याउँदै आएका छन् । जैविक मार्गको कनेक्टभिटी टुटेपछि जङ्गली जनावर बस्ती छिर्ने गरेका हुन् । पुनर्वास नगरपालिकाको डोकेबजार, नौरङ्गा, दोदा नदीको आसपासको क्षेत्रमा जङ्गली जनावरले ओहरदोहर गर्दै आएका छन् ।

जैविक मार्गको अवरोध हटाउनका लागि पटक–पटक बहस र छलफल हुने गरेपनि सार्थकतामा परिणत नहँुदा मानव वन्यजन्तु द्वन्द्व बढ्दै जान थालेको डिभीजन वन कार्यालय कञ्चनपुरका डिभिजनल वन अधिकृत भीमप्रसाद कँडेलले राससलाई जानकारी दिनुभयो । “हात्ती हिँडडुल गर्ने वन क्षेत्र कम हुन थालेपछि मानव बस्तीमा पसेको छ, बालीनाली खान थालेको छ” उहाँले भन्नुभयो, “अहिले मानवबस्ती बसेको ठाउँ हात्तीको पुरानो जैविक मार्ग हो, त्यो टुक्रिएको छ ।” उहाँका अनुसार दूधुवा हुँदै हात्तीको बथानले संरक्षित वन क्षेत्र, निकुञ्ज हुँदै चुरे क्षेत्र पुग्ने गर्दछन् ।

“यो हात्तीको पूर्खौंदेखिको हिँड्ने मार्ग भएकाले पछिल्लो पुस्ताले पनि अर्को बाटो हिँड्दैन” अधिकृत कँडेलले भन्नुभयो, “पूर्खाले हिँड्ने बाटोनै अतिक्रमण गरी हाल मानवीय संरचना निर्माण भएपछि हात्तीले विध्वंश निम्त्याउने गर्दछ ।” हात्ती मात्रै नभएर हाल भारत नेपालका वनमा बाघ, चितुवा, चित्तल लगायतका जनावरले पनि ओहरदोहर गर्दै आएका छन । दिउँसै चितुवा लगायतका जनावर देखिने गरेको उहाँले सुनाउनुभयो । नेपाल–भारत सीमा क्षेत्रसँग जोडिएको क्षेत्र भएकाले अन्तर्राष्ट्रिय महत्वको जैविक मार्गका रुपमा रहेको उहाँले बताउनुभयो । “अन्तर्राष्ट्रिय महत्वको क्षेत्र भएकाले संरक्षणको क्षेत्रमा विदेशी दातृ संस्थाको चासो पछिल्लो समय बढ्दै गएको छ” उहाँले भन्नुभयो, “यसको महत्वबारे स्थानीय बासिन्दालाई बताएर जागरुक गराउन जरुरी छ, त्यसलाई आत्मसात गरी अगाडि बढाउँदैछौँ ।”

वन क्षेत्रमा अतिक्रमणको समस्या पुरानै रहेको चर्चा गर्नुहुँदै उहाँले नयाँ अतिक्रमण हुन नदिइने र कानुन अनुसार अतिक्रमण हटाउने कार्य हुँदै आएको बताउनुभयो । “जैविक मार्ग भएर ओहरदोहर गर्ने जीवजन्तु संरक्षणका लागि जनचेतनाका माध्यमबाट स्थानीय बासिन्दामा जागरण पैदा गर्नुपर्ने अवस्था आएको छ” उहाँले भन्नुभयो, “जीवजन्तुले बालीनालीमा क्षति पु¥याए वा मानवीय क्षति पु¥याए क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ ।

पछिल्लो समय जीवजन्तुले क्षति पु¥याएमा राहत निर्देशिका बमोजिम क्षतिपूर्ति दिने गरिएको उहाँले जानकारी दिनुभयो । जनचेतनाको पाटोलाई बलियो बनाउन धेरै काम गर्न बाँकी छ । सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष महेशदत्त जोशी वन अतिक्रमण हँुदै जानु, खुला चरिचरन र वन क्षेत्र वरपरका बासिन्दाको आयआर्जनका अवसरमा कमी हुँदा वन संरक्षणको क्षेत्रमा चुनौती थपिँदै गएको बताउनुभयो । बर्सेनि हुने भू–क्षय, आगलागीका घटनाले वनको जैविक विविधतामा खलल पर्न थालेको उहाँको भनाइ छ ।

“लालझाडी मोहना संरक्षित वन क्षेत्र वन्यजन्तुको बासस्थानका रुपमा विकसित मात्रै नभएर यस क्षेत्रले जैविक विविधता सांस्कृतिक विशेषता पनि बोकेको छ” उहाँले भन्नुभयो, “वन क्षेत्र नजिक बसोवास गर्ने बासिन्दाको हित पनि सोचिनु जरुरी छ ।” वन क्षेत्र संरक्षण भएर नै वन्यजन्तुको ओहोरदोहोर केही वर्षयता निकै बढेको उहाँले बताउनुभयो । जलाधार क्षेत्रका रुपमा रहेका तालतलैया, सीमसार क्षेत्रको संरक्षणमा सामुदायिक वन, दातृ निकाय र अन्य सरोकारवाला पक्षको चासो बढ्दै गएपछि जीवजन्तु संरक्षणमा टेवा पुगेको उहाँको भनाइ छ । उहाँका अनुसार संरक्षित वन क्षेत्रको ८७ प्रतिशत भू भाग तराई र भावरमा पर्दछ भने १३ प्रतिशत भू भाग चुरे क्षेत्रमा पर्दछ ।

जैविक विविधताले भरिपूर्ण यो क्षेत्र जीवजन्तुको जैविक मार्गसँगै प्राकृतिक ताल तलैयाले भरिपूर्ण रहेको छ । आवादीसहित यसको क्षेत्रफल ३७ हजार २९ दशमलव ५४ हेक्टर रहेको छ । वन क्षेत्र मात्रै २९ हजार छ सय ४१ दशमवल ७५ हेक्टर रहेको छ । “संरक्षण क्षेत्रभित्रका तालतलैया उचित व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको छ” संरक्षणकर्मी पुनाराम चौधरीले भन्नुभयो, “सीमसार क्षेत्रको व्यवस्थापनमा पनि ध्यान जानु पर्दछ ।”

वन अतिक्रमणका कारण जैविक मार्गमा जोखिम बढेकाले अतिक्रमण हटाउन पहल गरिनु आवश्यक रहेको उहाँको सुझाव छ । वन क्षेत्र नजिक बस्ने बासिन्दाको वन माथिको निर्भरता कम गरी नवीकरणीय ऊर्जातर्फ डो¥याउनुपर्ने जय लक्ष्मी सामुदायिक वनका अध्यक्ष बसन्ती रानाले बताउनुभयो ।

म्याग्दीको बाबियाचौर–काफलचौर–सल्यान ‘ट्रयाक’ खुलेको १३ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी, ६ फागुन : म्याग्दीको मङ्गला गाउँपालिकाको बाबियाचौर–काफलचौर–सल्यान–भर्जुुला सडकमार्ग खुलेको १३ वर्षपछि स्तरोन्नति गर्न थालिएको छ । यो सडक मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरसँग वडा नं १ र २ का बस्ती जोडिन्छ । विसं २०६७ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर मार्ग खुलेको सडक १३ वर्षपछि स्तरोन्नति हुन थालेको सल्यानका बासिन्दा राजकुमार अधिकारीले बताउनुभयो ।

“चन्दा र तत्कालीन गाविस–जिविसको बजेट परिचालन गरेर मार्गमात्र खोलिएको सडक साँघुरो, ग्रेड र घुम्ती नमिलेका कारण दुर्घटनाको जोखिम थियो”, उहाँले भन्नुभयो, “सडक स्तरोन्नति भएपछि यात्रा अवधि छोटिने, सुरक्षित र सहजरूपमा आवतजावत गर्न सकिनुका साथै गाडी र ढुवानी भाडा घट्ने अपेक्षा गरेका छौँ ।” सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्ष २०८०÷०८१ मा गण्डकी प्रदेश सरकारले रु ६० लाख र मङ्गला गाउँपालिकाले रु ४० लाख विनियोजन गरेका छन् । गत पुस ५ गते रु ७१ लाख ४० हजार पाँच सय ७६ मा ठेक्का सम्झौता गरेको जयदुप्चे निर्माण सेवाले सडक निर्माणलाई तीव्रता दिएको मङ्गला गाउँपालिकाका सबइन्जिनियर तथा पूर्वाधार शाखा प्रमुख रुपेन्द्र अधिकारीले बताउनुभयो ।

“काफलचौर–सल्यान खण्डको अप्ठ्यारो सडक विस्तार, ग्रेड र घुम्ती सुधार गरी नाली, पर्खाल निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ”, उहाँले भन्नुुभयो, “छ मिटर चौडाइका दरले दुई सय ५० मिटर लम्बाइमा सडक ढलान गर्ने तयारी भएको छ ।” ढलानका लागि शुक्रबारदेखि सो सडकमा सवारीसाधन आवतजावत बन्द गरिएको छ । आगामी असार १० गतेसम्मको ठेक्का अवधि भए पनि लक्ष्यभन्दा तीन महिना अगाडि नै फागुन महिनाभित्र सम्पन्न गर्ने तयारीसहित उपकरण, मजदुर परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेको दुप्चेश्वर निर्माण सेवाका सुपरभाइजर श्यामहरि पण्डितले बताउनुभयो ।

यस सडक काफलचौर, सल्यान, भरजुला, थाइवाङ, भाइवाङ र हिदीका करिब एक हजार घरधुरीले प्रयोग गर्छन् । सडकको प्रवेशविन्दुमा पर्ने काफलचौर क्षेत्रमा गत वर्ष रु ५० लाख बजेटमा उपभोक्ता समितिमार्फत एक सय ७८ मिटर ढलान भएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खाती क्षेत्रीले बताउनुभयो । सडकको भरजुला–थाइवाङ खण्डमा गण्डकी प्रदेश सरकारअन्तर्गतको पूूर्वाधार विकास कार्यालयमार्फत रु ३० लाख बजेटबाट ढलानसहितको स्तरोन्नतिको लागि ठेक्का प्रक्रिया अघि बढेको छ ।

गाउँपालिकाले ठेक्का लगाउँदा बचेको रु नौ लाख बजेट काफलचौर–सल्यान खण्डको स्तरोन्नतिका लागि विनियोजन गरेको छ । यो मङ्गला गाउँपालिकाको केन्द्रबाट बस्ती जोड्ने प्राथमिकताप्राप्त आयोजना भएको वडाध्यक्ष खाती क्षेत्रीले बताउनुभयो ।

नेतृत्वमा भ्रष्टाचारविरोधी इच्छाशक्ति हुनु जरुरी छ

काठमाडौँ । सङ्घीय संसद्को चालु अधिवेशनमा कानुन निर्माण प्रक्रियालाई चुस्त र नतिजामुखी तुल्याउन सरकार, सिङ्गो संसद्, राजनीतिक दल र संसद्कै कार्यव्यवस्था परामर्श समितिले क्यालेन्डर बनाएर काम गरिरहेको छ । सोहीअनुरुप अहिले संसदीय समितिहरूले आफ्नो जिम्मेवारीमा आएका विधेयकलाई तदारुकताका साथ संशोधन र दफाबार छलफलका माध्यमबाट समृद्ध तुल्याउने काम भइरहेको छ ।

भर्खरै म संलग्न कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट स्वच्छ र गुणस्तरीय खाद्यान्नसम्बन्धी विधेयक पारित भई सदनमा पठाइएको छ । यो विधेयक खाद्यान्नमा जनताको नैसर्गिक अधिकार र पहुँचसँग सम्बन्धित छ । सांसद, सरकार र सरोकारवालासँगको घनिभूत छलफल र पर्याप्त गृहकार्यपछि विधेयकलाई अघि बढाइएको हो । संसद्को पहिलो एक वर्ष सरकार गठन र संसदीय प्रणालीलाई व्यवस्थित तुल्याउने कार्यमै व्यतित भयो । ऐन निर्माण प्रभावित भयो ।

कानुन निर्माण र सरकारको निगरानी गर्नु संसद्को जिम्मेवारी हो । संविधानले तय गरेका जनताका अधिकारलाई कानुनीरूपमा सुनिश्चित गर्नु पनि संसद्को अर्को महत्त्वपूर्ण कार्य हो । सम्पूर्ण हिसाबले संसद्को हिउँदे अधिवेशन कानुन निर्माणमै केन्द्रित हुनेछ । राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट निकै चासोका साथ हेरिएकोे सत्यनिरुपण, मेलमिलाप तथा बेपत्ता व्यक्तिको छानबिन र शान्ति प्रक्रियासँग सम्बन्धित विधेयकहरू पनि यसै अधिवेशनबाट निष्कर्षमा पुर्याउने कोसिस भइरहेको छ । विगतको द्वन्द्वको घाउ र पीडालाई राज्यले क्षतिपूर्ति, परिपूरणका माध्यमबाट सम्बोधन गर्नुपर्ने भएकाले यो तत्कालै राफसाफ हुने विषय थिएन ।

लोकतान्त्रिक प्रणाली तथा शान्ति सम्झौताको मर्म र भावनाअनुरुप विधेयक टुङ्ग्याउनुपर्ने भएकाले आमसहमति आवश्यक छ । यस्तो विधेयक व्यक्ति र दल विशेषले चाहँदैमा टुङ्गिने विषय होइन । सङ्घीय निजामती, प्रदेश प्रहरी समायोजनजस्ता विधेयक पनि यसै अधिवेशनबाट पास हुनुपर्छ भन्ने हाम्रो जोडबल छ ।

सङ्घीयताको मर्म र भावनाविपरीत सिंहदरबारमा मात्रै संविधान लागू हुनुभएन । संविधानले दिएको अधिकार गाउँगाउँसम्म पुर्याउनुपर्छ । सङ्घीयताको लाभ जनताले पाउनुपर्यो । अधिकार प्राप्तिका लागि कानुन निर्माणका हिसाबले हामी ठिक बाटोबाट हिँडिरहेका छौँ भन्ने अनुभूति जनतालाई दिलाउन सक्नुपर्छ । त्यही मनसायबाट अहिले सदन र संसदीय समितिमा काम भइरहेको छ ।

लोकतान्त्रिक प्रक्रिया र विभिन्न प्रतिस्पर्धाका कारण यसबीचमा चुनावमा एउटा, सरकार गठनको पहिलो चरणमा अर्को, त्यसपछि फेरि बेग्लै राजनीतिक गठबन्धन हुन पुग्यो । विगतको आन्दोलनका उपलब्धिका रूपमा संविधान जारी गर्ने शक्तिबीच विश्वास कायम गरी संसद्लाई बिजनेस दिने कार्यमा कमजोरी भयो ।

सांसदले पूर्वाधार विकास होइन, कानुन निर्माण गर्छ । सांसदले आफू कानुन बनाउन आएको हुँ भन्ने बुझ्न तथा राजनीतिक दलले पनि जनतालाई त्यसरी नै बुझाउन जरुरी छ । पूर्वाधार विकास आवश्यकता, प्राथमिकता र जिम्मेवारीबारे जनतालाई बुझाउन सकिएको छैन । विकास निर्माणमा सांसद संलग्न हुनु भनेको उल्टो बाटो हिँड्ने प्रयत्न हो । हामी सदन र संसदीय समितिप्रति उत्तरदायी रहनुपर्छ । हामीले गठन गरेको सरकारले विकास निर्माण गर्छ ।

दन र समितिका बैठकमा सांसदहरूको न्यूनतम उपस्थित सङ्ख्या नपुगेर बैठक स्थगित हुनु दुखद् पक्ष हो । यस्ता घटनालाई ध्यान दिँदै नेपाली कांग्रेस संसदीय दलले सदन सुरु हुनुअघि नै यसपटक संसद् र संसदीय समितिमा अनिवार्य उपस्थित हुन र अन्तिमसम्म बस्न आफ्ना सांसदलाई ह्वीप लगाएको छ । निवेदन र सूचना नदिई कहीँकतै जान नपाइने भनिएको छ । सदन र समिति बैठकमा अनुपस्थित रहने सांसदलाई अर्को निर्वाचनको उम्मेदवारीमा पुनर्विचार गर्नेसम्मको चेतावनी दिइएको छ ।

भ्रष्टाचारको पाटोमा दृष्टिकोण
भ्रष्टाचारका विषयमा उठेका प्रश्न वास्तविक र अतिरञ्जित दुवै छन् । वास्तविकता यो हो कि सरकार सञ्चालन गर्दै गर्दा त्यहाँ जाने व्यक्ति र नेतृत्व जिम्मेवार हुन जरुरी छ । राष्ट्र र जनताप्रति जिम्मेवारीबोध हुनुपर्छ । केहीमा कर्तव्य बिर्सने र अस्थिर राजनीतिको फाइदा उठाउने सोच र मनोविज्ञान देखिन्छ । सबैभन्दा ठूलो विषय भनेको सरकार सञ्चालकको इच्छाशक्तिमा भरपर्ने कुरा हो । सुशासन मुखले भनेर मात्र हुन्न ।

क्रियाकलाप, काम र गतिविधिमा देखिने कुरा हो । यी गतिविधिभित्र अगुवा नै स्वच्छ भएर जान सकियो भने मातहतबाट त्यति ठूलो हिम्मत र चुनौती आउन्न । अगुवा नै अल्मलिन र दुविधायुक्त हुन थाल्यो भनेपछि भ्रष्टाचार न्यून गर्न चुनौती हुन्छ । सरकारका क्रियाकलाप र निर्णय पारदर्शी भएन भने जनतामा अविश्वास बढ्न जान्छ । निर्णय ठिक र पारदर्शी नभए जनता, कर्मचारीतन्त्र र दलको विश्वास हराएर जान्छ । त्यसका लागि नेतृत्वमा भ्रष्टाचारविरोधी इच्छाशक्ति हुनु जरुरी छ ।

मुलुकमा केही भएकै छैन भन्ने भाष्य पनि गलत छ । काठमाडौँकै मात्र पनि कुरा गर्ने हो भने पञ्चायतको समयको राजधानी र अहिलेमा आकाश–जमिनको फरक छ । पूर्वाधार, स्वास्थ्य, यातायात, शिक्षा र सूचना प्रविधिका क्षेत्रमा निकै ठूला उपलब्धि हासिल भएका छन् । सुविधा उपभोग गर्ने अनि केही भएकै छैन भन्ने कुरा युक्तिसङ्गत छैन । देश छाड्ने र नागरिकता त्याग्नसमेत पछि नपर्ने राष्ट्रियताप्रति सम्मान र समर्पण भाव नभएका पक्षबाट नै यस्ता विषय उठ्नु सुहाउँदो विषय होइन ।

मुलुकमा अवैध धन्दा गर्ने, मानव तस्करी गर्ने, विभिन्न सपना देखाउने र प्रलोभनमा पार्नेको सङ्ख्या कम छैन । समाजमा विभिन्न कुरीति र अन्धविश्वास कायमै छ । यसले हरेक तह र तप्कालाई छोएकै छ । तथापि नेपालीको साहस, अनुशासन र विश्वासनीयता विश्वले नै मान्दै आएको छ ।

अहिले बेरोजगारीलगायतका कारण युवा र विद्यार्थीमात्रै होइन, अर्थतन्त्रलगायत धेरै कुरा पलायन भएर गएको छ । केही वर्षपछि यहाँका कलेजमा विद्यार्थी नै पाउन मुस्किल हुने हो कि भन्ने चिन्ता बढाएको छ । यी कुरा सुशासन र विश्वसनीयतासँग जोडिएका विषय हुन् । विश्वसनीयता कायम राख्न सकिएन भने मुलुक बनाउन कठिन हुन्छ । विगतमा राष्ट्रको ढुकुटी हुने, नहुने ठाउँमा यत्रतत्र सर्वत्र छरियो । राज्यले त्यसको फाइदा लिन सकेन । व्यक्तिले मात्र लाभ लिने गरी अपचलन भयो ।

यस्ता सोचबारे सबै तह र तप्कामा गहन बहस हुन आवश्यक छ । युवा, विद्यार्थीको विदेश पलायन र समाजमा विश्वास जागृत गराउने राज्यका अगाडि खडा भएको चुनौतीलाई पार लगाउन शिक्षाको गुणस्तर कायम गर्दै अध्ययनसँगै रोजगारी सुनिश्चित हुनुपर्छ । राज्य सञ्चालकलाई नै देशप्रतिको माया र भरोसा छैन भने अरु कसले विश्वास गर्छ रु राज्य सञ्चालक जिम्मेवारीबाट पन्छन र थाहा थिएन भन्न पाइन्नँ ।

ओहदामा बस्नेको सोहीबमोजिमको जिम्मेवारी र कर्तव्य हुन्छ । युवालाई रोक्न, अड्याउन र विश्वास के कुराले दिन सकिन्छ त्यो तय गर्न जरुरी छ । राष्ट्रका लागि केही संयम र धैर्यधारण गर्नुपर्छ । ढिलो भए पनि राजनीतिबाटै निकास निस्कन्छ । आधुनिक मुलुक निर्माणका लागि आधुनिक चरित्र, क्रियाकलाप, विश्व मापदण्डअन्तर्गतको सोच रहन अवश्यक छ । धेरै निराश हुनुहुन्न । केही नवीनता आउँछ । हामी नयाँ सोचकासाथ अघि बढ्छौँ ।

सांसद बलायरको परिचय
नेपाल विद्यार्थी सङ्घबाट विसं २०३४ मा राजनीतिमा प्रवेश गरेका नेता वीरबहादुर बलायरले बौद्धिक र प्रखर व्यक्तित्वको छवि बनाएका छन् । सुदूरपश्चिम प्रदेश डोटी जिल्लाको शिखर–७ का स्थायी बासिन्दा सांसद बलायर २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नं ४ बाट विजयी भएका हुन्। यसअघि उनीसँग पार्टीका विभिन्न तहका जिम्मेवारीका साथै भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीको समेत जिम्मेवारी सम्हालेको अनुभव छ ।

रासससँगको कुराकानीमा अधारित

खोले साग बिक्रीबाट तीनमहिनामा तीन लाख आम्दानी

मध्यविन्दु (नवलपरासी), ६ फागुन ः नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ का लक्ष्मी महतोको दम्पतीले पालुङ्गे (खोले) सागखेती गरेर मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । विगत दुई वर्षदेखि व्यावसायिकरूपमा पालुङ्गे सागखेती गर्दै आउनुभएको महतो दम्पतीले वार्षिक रु तीन लाख भन्दा बढी आम्दानी गर्नुभएको छ ।

सात कट्ठा क्षेत्रफलमा लगाइएको पालुङ्गे सागले मङ्सिरदेखि चैतसम्म राम्रो आम्दानी दिने किसान लक्ष्मीले बताउनुभयो । केही वर्षअघिसम्म चैतेधान लगाउने गरेकामा विगत दुई वर्षदेखि पालुङ्गे साग लगाउन थालेको उहाँले बताउनुभयो । “चैतेधानभन्दा यो साग लगाएपछि फाइदा भयो, यसमा सामान्य जैविक मल प्रयोग गर्छौँ अरू केही गर्नु पर्दैन”, उहाँले भन्नुभयो, “ चैतेधानभन्दा यो सागखेतीले जीविकोपार्जनमा राहत पुर्याएको छ ।”

महतो दम्पतीले साग बिक्री गरेर यामअनुसार तीन महिनामा नै रु तीन लाखसम्म आम्दानी गर्न सफल हुनुभएको छ । माघमा मात्र पहिलो लट काटिएको सागबाट रु ८० हजारभन्दा धेरै आम्दानी गरिसकेको लक्ष्मीले बताउनुभयो । मङ्सिरमा लगाएको पालुङ्गे साग चैतसम्म उत्पादन हुने गर्दछ । खोलामा खेर गइरहेको पालुङ्गे सागलाई पहिलोपटक दुई वर्षअघि बिक्रीका लागि बजार लैजाँदा ग्राहकाले मन पराएपछि यसैलाई व्यावसायिक खेती गरेको उहाँले जानकारी दिनुभयो ।

“यो सागलाई उपभोक्ताले अत्यधिकरूपमा मन पराएर दैनिकरूपमा माग बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “पालुङ्गे सागको माग फागुन–चैतमा अझै धेरे हुने गर्दछ ।” गर्मी मौसममा अन्य साग उत्पादन कमै हुने भएकाले पनि पालुङ्गे सागको माग अझ बढ्ने गरेको छ । एकपटक काटिसकेपछि पनि निरन्तर उम्रिने भएकाले लगानी र मेहनत कम पर्ने भएकाले किसानले यसबाट राम्रो फाइदा लिन थालेका हुन् । पूर्णरूपमा अग्र्यानिक हुने र जुनसुकै प्रकारका बिरामीले पनि खान मिल्ने भएकाले बजारमा यसको माग बढ्दो रहेको किसान लीला थारूले बताउनुभयो ।

“यसमा कुनै रासायनिक मल प्रयोग हुँदैन । मल विषादि प्रयोग नगरिने हुँदा यो पूर्णरूपमा अग्र्यानिक हुन्छ । यो साग सङ्लो पानी बग्ने स्थानमा हुन्छ”, उहाँले भन्नुभयो । खेत, खोला र सिमसार क्षेत्रमा पाइने पालुङ्गे साग अहिले ग्राहकले पनि अत्यधिक रुचाउन थालेका छन् । छिपछिपे पानी बग्ने खोलामा यो साग मौलाउने भएकाले यसलार्ई खोलेसाग पनि भन्ने गरिएको किसान थारूले बताउनुभयो । “कतिपय ठाउँमा यसलाई सिमसाग पनि भन्ने गर्दछन्, यही साग बिक्री वितरणले हामीजस्तै धेरैको रोजीरोटी चलाएको छ”, उहाँले भन्नुभयो ।

पछिल्लो समय जिल्लाको सदरमुकाम कावासोती बजारलगायतका स्थानमा पालुङ्गे सागको राम्रो कारोबार हुने गरेको छ । यस वर्ष स्थानीय किसानले जिल्लाबाहिर बुटवल, नारायणगढलगायतका बजारमा समेत यो सागको राम्रो निर्यात गरेको बताएका छन् ।

शुक्लाफाँटा–कञ्चनपुर टी–२० क्रिकेट प्रतियोगिताको उपाधि शुक्लाफाँटालाई

महेन्द्रनगर (कञ्चनपुर), ६ फागुन ः कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न तेस्रो शुक्लाफाँटा–कञ्चनपुर टी–२० क्रिकेट प्रतियोगिताको उपाधि शुक्लाफाँटा नगरपालिकाले जितेको छ । शनिबार फाइनल खेलमा दोधारा चाँदनी नगरपालिकाको टिमलाई सुपरओभरमा पराजित गर्दै शुक्लाफाँटा नगरपालिकाले उपाधि जितेको हो ।

उपाधि विजेता टिमलाई समापन समारोहमा शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महराले नगद रु एक लाख एक हजार, ट्रफी र प्रमाणपत्रसहित पुरस्कृत गर्नुभयो । त्यसैगरी उपविजेता दोधारा चादँनीको टिम रु ५१ हजार, ट्रफी र प्रमाणपत्रसहित पुरस्कत भएको आयोजक कञ्चनपुर जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

प्रतियोगिताको फाइनल खेलमा १९ दशमलव पाँच ओभरको समाप्तिमा शुक्लाफाँटाले सबै विकेट गुमाउँदै एक सय २४ रनको लक्ष्य दोधारा चाँदनीसामु प्रस्तुत गरेको थियो । शुक्लाफाँटाका लागि विशाल ऐरले २४ बलमा २९ रन र कैलाश ऐरले २८ बलमा २८ रन बनाएका थिए भने टिमका लागि प्रकाश थापाले तीन विकट लिएका थिए । एक सय २४ रनको विजयी लक्ष्य पछ्याएको दोधारा चाँदनीले १९ दशमलव चार ओभरमा एक सय २४ रन बनाएपछि खेल ड्र भएको थियो । त्यसपछिको सुपरओभरमा शुक्लाफाँटाले जित निकालेको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीमा भीमदत्त नगरपालिकाका मिलन बोहरा घोषित भएका छन् । नौ पालिकामध्ये लालझाँडी र बेलौरी नगरपालिका भने प्रतियोगितामा सहभागी थिएनन् । प्रतियोगिताको समापन समारोहमा क्रिकेटका योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको छ ।

समापन समाराहेमा शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महरा, सुदूरपश्चिम क्रिकेट सङ्घका निर्वमान अध्यक्ष हरि रेग्मी, कैलाली खेलकुद विकास समितिका अध्यक्ष ललित खत्री, कञ्चनपुर खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टलगायतको सहभागिता थियो ।

जनकपुरधाम–नेपालगञ्ज हवाईसम्बन्ध विस्तारका लागि चार्टर्ड उडान

जनकपुरधाम-मधेस प्रदेशको जनकपुरधाम र लुम्बिनी प्रदेशको नेपालगञ्ज सहरबीच हवाईसम्बन्ध विस्तार तथा पर्यटन प्रवर्द्धनका लागि सनिबारचार्टर्ड उडान गरिएको छ ।धनुषाको जनकपुरधाम उपमहानगरपालिका र जनकपुरधाम उद्योग वाणिज्य सङ्घ तथा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका र उद्योग वाणिज्य सङ्घ नेपालगञ्जको सहकार्यमा चार्टर्ड उडान सम्पन्न भएको हो ।

चार्टर्ड उडानमा लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसी, लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्ले, नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट, नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देललगायत ७२ जनाको सहभागिता थियो ।

उहाँहरूलाई जनकपुरधाम विमानस्थलमा मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपाने, जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साह, जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्रकुमार महासेठलगायतले भव्य स्वागत गर्नुभयो । त्यसैगरी आगन्तुक टोलीलाई जानकी मन्दिरलगायत क्षेत्र भ्रमण गराइएको थियो । भ्रमण टोली आजै फिर्ता भएको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्रकुमार महासेठले जानकारी दिनुभयो ।

त्यस अवसरमा लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री केसीले जनकपुर–नेपालगञ्ज र अयोध्याबीच धार्मिक पर्यटकीय सम्बन्ध विस्तार तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पहिलोपटक हवाई परीक्षण उडान भरिएको बताउनुभयो । “जनकपुरको जानकी मन्दिर दर्शनका लागि हजारौँ भक्तजन आउने गर्दछन् । नेपालगञ्जको बागेश्वरी मन्दिरमा पनि त्यस्तै आस्था छ । त्यसैले यो आस्थालाई पर्यटन प्रवर्द्धनसँग जोडी पर्यटकको सहजताका लागि हवाई उडान आवश्यक छ । त्यसैको सम्भाव्यता अध्ययनका लागि समेत आज परीक्षण उडान गरिएको हो । अब यसलाई दिगोरूप दिन प्रदेश सरकारले पनि सहयोग गर्नेछ”, मन्त्री केसीले भन्नुभयो ।

त्यसैगरी नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले जनकपुरधाम र नेपालगञ्जमा पर्यटकीय गतिविधि वृद्धिका लागि सहकार्य गर्न आफूहरूले पहिलो चरणमा चार्टर्ड उडान भरेको र यसलाई स्थायीरूप दिन आवश्यक छलफलसमेत भइरहेको जानकारी दिनुभयो ।

सिग्देललले भन्नुभयो, “नेपालगञ्ज र जनकपुरबीच धार्मिक सम्पर्क बढाउन हवाई उडान अपरिहार्य छ । यसले हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र अयोध्यालाई जोड्न पनि सहज हुने हाम्रो विश्वास छ । त्यसैले मधेसबाट नेपालगञ्ज र नेपालगञ्जबाट मधेसमा पर्यटकीय गतिविधि बढाउन हातेमालो हुने विश्वास छ ।”

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष महासेठले चार्टर्ड उडानबाट आफूहरू उत्साहित भएको बताउनुभयो । उहाँले हाल मधेसबाट आठदेखि १० वटा बस नेपालगञ्ज गइरहेको अवस्थामा हवाई उडानले थप सहजता प्रदान गर्नुका साथै पर्यटकीय विकासमा महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गर्नुभयो । यस कार्यमा जनकपुरधामबाट पनि आफूहरूको सहयोग रहने उहाँले बताउनुभयो ।

डाँगीहाट प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि सिंहदेवी सिदुवालाई

पथरी (मोरङ) -दोस्रो आर्जु राइस मिल डाँगीहाट प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि सिंहदेवी सिदुवा फुटबल क्लब धनकुटाले चुमेको छ ।

सनिबार भएको फाइनलमा धरान एफ सी सुनसरीलाई ट्राइबेकरमा हराउँदै सिंहदेवी सिदुवाले उपाधि चुमेको हो । खेलमा सिंहदेवी सिदुवा पाँचौँ मिनेटमा अग्रता लिए पनि उपाधिका लागि ट्राइबेकरसम्म कुर्नुपरेको थियो । खेलको पाँचौँ मिनेटमा सिदुवाका लागि विनोद राईको पासमा वीरेन्द्र लिम्बूले गोलको खाता खोलेका थिए । खेलको १३औँ मिनेटमा धरानका मिलन राईले गोल गर्दै खेल बराबरीमा पु¥याए ।दोस्रो हाफमा दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । ट्राइबेकरमा सिदुवाले ३–१ गेल अन्तर धरानलाई पराजित गरेको छ । ट्राइबेकरमा सिदुवाका लागि अभिशेक लिम्बू, अशिम राई र विशाल भण्डारीले गोल गरे भने धरानका लागि मिलन राईले मात्र गोल गरे । धरानका बिकु राई, रोमन लिम्बूको प्रहार सिदुवाका गोल रक्षक सुजित चौधरीले बचाएका थिए । सचिन श्रेष्ठको बल भने पोलमा लागि बाहिरिएको थियो ।उपाधिसँगै सिदुवाले नगद रु एक लाख ५० हजार साथ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता धरान एफ सीले रु ७५ हजार पाँच सयमा चित्त बुझायो ।खेलको प्लेयर अफ दि म्याच सिदुवाका गोल रक्षक सुजित चौधरी, उत्कृृष्ट मिडफिल्डर अशिम राई, उत्कृृष्ट डिफेन्स विशाल भण्डारी, उत्कृृष्ट कोच विश्वास श्रेष्ठ घोषित हुँदा धरानका मिलन राई उत्कृृष्ट फरवार्ड र हाईस्कोरर, सचिन श्रेष्ठ उत्कृृष्टकिपर घोषित भए । प्रतियोगितामा उदयमान खेलाडी अजित चौधरी घोषित हँुदै जनही रु पाँच हजार नगद पुरस्कार प्राप्त गरे ।विजेता टोलीलाई प्रदेश संसद् ज्ञानेन्द्र सुवेदी, गिता तिम्सीना, बेलबारी नगर उपप्रमुख नितु थापा कोइरालाले पुरस्कृत गर्नुभयो ।बेलबारी ९ स्थीत डाँगिहाट जागृति युवा क्लबको आयोजनामा सञ्चालित प्रतियोगिता डाँगिहाटस्थित कालि माविको खेलमैदानमा सम्पन्न भएको हो । माघ २६ देखि फागुन ५ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा पूर्वका चर्चित ८ क्लबको सहभागिता थियो ।

दिनभर भेडाबाख्रासँग जङ्गलमा रात त्रिपाल मुनि बिताउदै हिमबहादुर

बेनी (म्याग्दी), ६ फागुन : दिनभर भेडाबाख्रालाई जङ्गलका चरन क्षेत्रमा लैजाने हिमबहादुर छन्त्यालको रात त्रिपाल मुनि बित्ने गरेको छ । धवलागिरि गाउँपालिका–५ मल्कबाङका उहाँले यसरी जङ्गलमा भेडीगोठमा बस्न थालेको आठ वर्ष पुगेको छ । करिब दुई दशक लामो वैदेशिक रोजगारीबाट आफ्नो घरपरिवारलाई पोखरामा बसोबासको प्रबन्ध मिलाएर उहाँ भने आफ्नो पुख्र्यौली थातथलोमा पुर्खाकै पेसालाई पछ्याउँदै भेडीगोठ पस्नुभएको थियो ।

सहरको सुविधासम्पन्न जीवनशैली छाडेर परम्परागत घुम्ती गोठ राखेर भेडापालन गर्ने पेसा अँगाल्नुभएका उहाँ अधिकांश समय पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रका वन, जङ्गल, बुकी र खर्कमा भेटिनुहुन्छ । उहाँले करिब पाँच सय ५० बढी भेडाबाख्रा रहेको ‘मल्कबाङ भेडाबाख्रा’ फार्म सञ्चालन गर्दै आउनुभएको छ । हिउँदमा बेँसीका फाँटसम्म झारिने भेडीगोठ बर्खा लागेपछि हिमालका बुकीहरूमा पुर्याउने गरिन्छ ।

करिब तीन महिनासम्म मुस्ताङका हिमाली जङ्गलमा हुर्काएका भेडाहरूलाई यतिबेला छ महिनापछि आफ्नै गाउँ मल्कबाङको फाँटमा ल्याएको उहाँले बताउनुभयो । मल्कबाङ गाउँको फेदी हुँदै बग्ने खालीखोलाको किनारमा रहेका बारीको फाँटमा उहाँको भेडीगोठ राखिएको छ । घुम्ती गोठका भेडाबाख्रालाई एकै ठाउँमा राखेर पाल्न नमिल्ने भएकाले बेँसीका खेतबारीलाई मल पनि हुने र घाँस पनि व्यवस्थापन हुने भएकाले बारीको पाटा–पाटामा गोठ सार्ने गरिन्छ ।

मुस्ताङबाट गोठ हिँडाएको एक महिनामा गाउँमा आउन सफल भएको किसान छन्त्यालको भनाइ छ । मुस्ताङको कोबाङ मुलीबुकीबाट लेते हुँदै म्याग्दीको दाना ल्याएर त्यहाँबाट भुरुङ, दोबा, बेग, चिमखोला, कुइनेमङ्गलेको लेकाली क्षेत्र र वनजङ्गल हुँदै भेडीगोठलाई मल्कबाङ ल्याइपुर्याएको उहाँले बताउनुभयो । “वैशाख–जेठसम्म्म अब बेँसी र पहाडका फाँट र जङ्गलमै भेडीगोठ राख्छौँ, जेठको अन्तिमतिरमात्रै हिमाली बुकीहरूमा पुग्छन् गोठ, धवलागिरि हिमालको आधार शिविरसम्म नै गोठलाई लैजाने गर्छौँ”, उहाँले भन्नुभयो ।

घुम्ती गोठ राखेर गरिने परम्परागत पशुपालन हराएर जाने अवस्थामा आएपछि आफूले पुख्र्यौली पेसाको निरन्तरता र स्थानीयस्तरमै आत्मनिर्भर बन्ने उद्देश्यले भेडापालन गरेको उहाँले बताउनुभयो । “पहिले गाउँका सबैको गोठ थिए, भेडाबाख्रा र गाईभैँसीलाई घुम्ती गोठ राखेर पालन गरिन्थ्यो, आज त्यो परम्परागत पेसा हराएर जान थालेको छ, हाम्रो बाबुबाजे सबैले यहीँका भिर–पाखामा पसिना बगाउनुभएको छ, हाम्रो जिजुहरूले पनि भेडापालन नै गर्नुभएको थियो, पुर्खाको पेसालाई पछ्याउँदै म पनि भेडीगोठ पसेको हुँ”, उहाँले भन्नुभयो ।

सहरको सुविधालाई छाडेर गाउँ पसेकामा आफूलाई पछुतो नभएको र गौरवको अनुभूति हुने गरेको उहाँ बताउनुहुन्छ । “मेरो सीपले सहरमै पनि सुविधायुक्त जीवनयापन गर्न सक्ने थिएँ, तर पुख्र्यौली ठाउँले मलाई तान्यो, म आफ्ना पुर्खाको पसिनाले सिञ्चित भएको वनजङ्गलमै रमाउन आएको हुँ, यहाँका हरेक खर्कमा मलाई मेरा पुर्खाहरूको आशीर्वाद मिलेजस्तो सन्तुष्टि मिलेको छ”, उहाँ भन्नुहुन्छ ।

सत्चालीस वर्षका छन्त्यालले भेडापालनबाट वार्षिक रु २० देखि २५ लाखसम्मको भेडाबाख्रा बिक्री हुने गरेको बताउनुहुन्छ । “भेडाबाख्राको बजारीकरणमा समस्या छैन, भेडा साढँ र खसीबोको खोज्दै ग्राहक गोठमै आइपुग्छन्, हिउँदयाममा चरन क्षेत्रको अभावले धेरै पाल्न सकिँदैन”, उहाँले भन्नुभयो । बर्खायाममा बुकीमा चरन क्षेत्रको अभाव नहुने भए पनि हिउँदयाममा बेँसीमा चरन क्षेत्र र घाँसको अभाव हुने भेडापालक किसान बताउँछन् ।

दसैँ र तिहारको समयमा सर्वसाधारणदेखि व्यापारीसमेत गोठमा पुगेर भेडा, खसी खरिद गर्ने गर्छन् भने स्थानीयस्तरमा हुने मण्डली, भुमे, सिद्ध, देउराली, मालिकालगायतका देवीदेवताको थानमा पूजा गर्न र भाकल पूरा गर्नसमेत साँढ र बोका धेरै खपत हुने गरेको छ । हिमाली बुकीमा समेत पालिने भएकाले भेडीगोठका भेडाको माग अत्यधिक हुने गर्छ । भेडापालन पेसा अधिकांश समय वनजङ्गलमै बस्नुपर्ने भएकाले गोठाला पाउन मुस्किल पर्छ ।

जङ्गलमा भेडीगोठमा बाघ, भालुको आकर्षणदेखि चट्याङ, वर्षा, हिमपातलगायतका प्राकृतिक विपत्तिको समेत सामना गर्नुपर्छ । आफूले निरन्तररूपमा अस्थायी टहराका लागि माग गरे पनि सम्बोधन नभएको छन्त्यालले बताउनुभयो । उहाँले हिमपात र भारी वर्षा हुँदा भेडाका पाठापाठी बचाउन मुस्किल पर्ने भएकाले आफूले चरन क्षेत्रमा सामूहिकरूपमा भेडाबाख्रा राख्न मिल्ने अस्थायी टहरा बनाउन माग गरेको बताउनुभयो । छन्त्यालको भेडीगोठमा अहिले तीनजना हेरालु छन् भने वन्यजन्तुको आक्रमणबाट बचाउन पाँचवटा भोटे प्रजातिका कुकुरसमेत रहेका छन् ।

पछिल्लो समय भेडापालन गर्ने किसान घट्दो छन् । युवापुस्ता रोजगारका लागि विदेश पलायन हुने र गोठ बस्न कठिन हुने भएकाले घुम्ती गोठको भेडापालन हराएर जाने अवस्थामा पुग्न थालेको छ । हराउँदो घुम्ती गोठमा पशुपालन गर्ने परम्परात पेसालाई अंगालेर स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश हिमबहादुरको हिम्मतले देखाएको धवलागिरि गाउँपालिका–५ कल्कबाङका वडाध्यक्ष अमर छन्त्यालले बताउनुभयो ।

“दुई दशक लामो समय विदेश बसेर पुनः आफ्नै गाउँठाउँमा फर्किएर भेडापालन गर्नुभएका हिमबहादुरको हिम्मत सबैका लागि प्रेरणादायी छ, अहिले युवाहरू गोठ बस्न रुचाउने कुरा भएन, गोठलाई व्यवस्थित बनाउन र अनुदानमा सरकारी तवरबाट खासै प्रोत्साहन हुनसकेको छैन, तर हामीले उहाँलाई आवश्यक सहयोग गर्न सहजीकरण गर्ने पहल थालेका छौँ”, उहाँले भन्नुभयो ।

पञ्चकोटमा आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञको तयारी अन्तिम चरणमा

ढोरपाटन (बागलुङ), ६ फागुन : सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । यही फागुन ९ देखि २२ गतेसम्म सञ्चालन हुन लागेको महायज्ञका लागि पञ्चकोटलाई सिङ्गार्नुका साथै मालढुङ्गाबाट पञ्चकोटसम्म स्वागत ढोका निर्माण साथै अन्य व्यवस्थापनलाई तीव्रता दिइएको छ । पञ्चकोटधाम स्थापनाको १०औँ वार्षिकोत्सवका अवसरमा आयोजना गर्न लागिएको महायज्ञ नेपालमै पहिलोपटक गर्न थालिएको हो । जल, जङ्गल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवर्द्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरी धार्मिक पर्यटन विकास गर्न ब्राह्माण्डीय महायज्ञ गर्न लागिएको हो । पञ्चकोटमा विश्वशान्ति कलश निर्माणसँगै धार्मिक संरचना पूरा गर्न महायज्ञ आयोजनाबाट गरिएको हो ।

अहिले थुप्रै योजना पूरा हुन नसक्दा अलपत्र अवस्थामा रहेका र तिनको पूर्णताका लागि लाखौँ भक्तजनलाई महायज्ञमा आमन्त्रण गरी आवश्यक सहयोगका लागि आह्वान गरिएको छ । महायज्ञमा हजारौँ भक्तजन उपस्थित हुने हुँदा उहाँहरूका लागि आवास, भोजनालय, लिङ्गा गाड्ने, आन्तरिक व्यवस्थापन तयारी पूरा भएको सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का अध्यक्ष दामोदर शास्त्री दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार महायज्ञको पहिलो दिन मुक्तिनाथबाट त्रिवेणी धामसम्मका एक सय आठजना नौ वर्षका कन्याले उद्घाटन गर्नेछन् । कालीगण्डकीको तिरबाट शिरसम्मका कन्याको व्यवस्थापनसमेत गरिसकेको उहाँको भनाइ छ । महायज्ञमा नौ कन्याको उचाइ बराबरको नौवटा मौलो राखिने अध्यक्ष दाहालले बताउनुभयो ।नौवटा मौलो धान, चामल, गहुँ, मकै, चना, तिल, जौँ, सर्सिउँ र मासको रहने उहाँ बताउनुहुन्छ । जसका लागि सबैथरि अन्न व्यवस्थापनसमेत गरिसकेको दाहालको भनाइ छ । महायज्ञमा १० गते राष्ट्रपति रामचन्द्र पौडेल, ११ गते शिक्षामन्त्री अशोककुमार राई तथा संस्कृतिविद्हरू, १२ गते गण्डकी प्रदेशका सबै पालिकाका जनप्रतिनिधि, १३ गते पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देवाउसहित सातवटै प्रदेशका मुख्यमन्त्री, १४ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र रक्षामन्त्री पूर्णबहादुर खड्का, १५ गते कृषिमन्त्री डा बेदुराम भुसाललगायतका अतिथि आउने हुँदा सोहीअनुसारको व्यवस्थापनलाई तीव्र पारिएको अध्यक्ष दाहाल बताउनुहुन्छ ।महायज्ञको ३१ फिट अग्लो मौलोलाई देशव्यापी घुमाएर पञ्चकोटमा भित्र्याइसकेको भन्दै अध्यक्ष दाहालले त्यसलाई सबै धानले पुर्ने बताउनुभयो । त्यसका लागि २१ हजार क्विन्टल धानसमेत पञ्चकोटमा ल्याइसकेको उहाँले जानकारी दिनुभयो । महायज्ञमा सवा लाखा नरिवल हवन हुनेछ । यज्ञमा हरेक सहभागीले आफैँले सुक्खा नरिवल लिएर जानेछन् र सो नरिवलमा काजु, किसमिस, केशर, बदामसहितका सर्वौषधि र पञ्चगव्य गरी ५४ प्रकारका हवनीय द्रव्य राखिदिने व्यवस्था मिलाइएको छ । नरिवललाई कालीगण्डकीको जलले धोएर यी द्रव्य भर्ने व्यवस्था महायज्ञ आयोजक समितिले मिलाएको उहाँको भनाइ छ ।अध्यक्ष दाहालले भन्नुभयो, “हामीहरू ब्रह्माण्डीय महायज्ञको तयारीको अन्तिम चरणमा छौँ, आन्तरिक तथा बाह्य व्यवस्थापन पूरा भइसकेको छ, अब केही ठाउँमा स्वागत गेट, पञ्चकोट धाममा ध्वजापतकालगायतका काम बाँकी छ, मौलोका लागि धान र नरिवलको व्यवस्थापन भएको छ, एक सय आठ कन्या पनि सम्पर्कमा लिएका छौँ, यहायज्ञमा टाढा–टाढाबाट पाहुना आउने हुँदा आवास तथा भोजनालयदेखि अन्य व्यवस्थापन भने गरिसकेका छौँ ।”सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का निवर्तमान अध्यक्ष स्वामी ऋषि प्रपन्नचार्यले महायज्ञले धार्मिक चेतना फैलाउनुका साथै पञ्चकोटको विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । करिब नौ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको पञ्चकोटलाई विश्वको धार्मिक गन्तव्यका रुपमा विकास गर्नका लागि लामो समयदेखि यहाँ काम गर्दै आएको उहाँको भनाइ छ । विभिन्न समयमा महायज्ञ सञ्चालन गरेर र विभिन्न सरोकारवाला निकायको सहयोगमा हालसम्म पञ्चकोटमा रु ५० करोड लगानी भइसकेको भन्दै अझै करोडौँको संरचना बनाउन थालिएको ऋषि प्रपन्नचार्य बताउनुहुन्छ ।पन्ध्र दिनसम्म सञ्चालन हुने महायज्ञमा हजारौँ धार्मिक पर्यटक भित्र्याउन लक्ष्य राखिएको छ । यस अवधिमा हरेक दिन फरक–फरक विधाका व्यक्ति उपस्थित भई विभिन्न शीर्षकमा गण्डकी क्षेत्रस्तरीय र राष्ट्रिय बहस पनि गरिने छ । त्यसका लागि विषयविज्ञको सहभागिता हुने भएको हो । मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा हुन लागेको महायज्ञलाई व्यवस्थित बनाउन स्थानीयसमेत परिचालित भएका छन् । यस महायज्ञका परिकल्पनाकार एवं पञ्चकोटधामका संस्थापक स्वामी कमलनयनाचार्यले यो महायज्ञ निकै महत्त्वपूर्ण भएको हुँदा सबैको सहयोगको आवश्यक पर्ने बताउनुभयो ।“यो महायज्ञ एउटा धर्मको मात्रा नभएर प्रकृति, पर्यावरण, जल सम्पदा, शिक्षा प्रणालीका सम्बन्धमा गरिन लागेको हो, यसले सबै नेपालीलाई जोड्ने छ, गण्डकी प्रदेशका सबै पालिकालाई पञ्चकोट आफ्नो भएको अपन्नत्व गराउने छ, हामीहरूले सबै दलका, सबै क्षेत्रका व्यक्तिलाई यो महायज्ञमा सहभागी गराउने छौँ”, स्वामी कमलनयनाचार्यले भन्नुभयो, “महायज्ञका लागि गण्डकी प्रदेशका सबै धार्मिकस्थललाई सहआयोजकका रूपमा राखेका छौँ, सरकारले जुन लक्ष्य राखेको छ, पर्यटनमार्फत समृद्धि गर्ने, त्यसलाई पूर्णता दिन पनि महायज्ञले टेवा पुग्छ भन्ने लागेको छ ।”

छिन छिनमा भन्दै आए सुनिल ,बिना र अलिशा शर्मा

काठमाडौँ । नेपाली साङ्गीतिक बजारमा एकपछी अर्को गीत आउने क्रम जारी छ माया र प्रेमले सजिएको छिन छिन मा बोलको गीत गायक कमल खत्रीको आवाजमा रहेको म्युजिक भिडियो सार्बजनिक गरिएको छ

। दरबार मार्गको राइजिङ्ग मलमा बिमोचन गरिएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ रचनाकार रमेश अधिकारिले सबै टिमलाई शुभकामना दिएर सुरु गरिएको उक्त कार्यक्रममा अन्य अतिथिहरु रबिन थापा,भिडियो निर्देशक कोरियोग्राफर राजिब समर , बिभोर पोख्ररेल , गायक सबु थापा आशिस भण्डारीको उपस्थित रहेको थियो ।

गितको रचना तथा संगीत कमल खत्रीको रहेको गितको भिडियोमा सुनिल न्यौपाने ,बिना राउत,अलिशा शर्मा ,करिश्मा शाही ठकुरीको दमदार अभिनय देख्न सकिन्छ । सुनिल न्यौपाने एक मेडीकल ब्यबसायि पनि हुन उनले यो भन्दा अगाडी सुनकोशी ,टुङ्गनाको धुन जस्तो सफल गीतमा अभिनय गरिसकेका छ्न ्कला क्षेत्रमा बच्चैदेखी आफ्नो चाहाना भएकोले आफुले देखेको सपना पुरा हुदै गरेको बताउछ्न ।

रोशन बिशकर्माको निर्देशन रहेको भिडियोमा छायांकन देपेन बस्नेत ड्रेस डिजाइन सोनी सिन्जाली मगर ,पुजा गुरुङ्ग , भिडियो सम्पादन तथा कलर दिलसन शाहको अनि टार्जन लिम्बुको प्रोड्क्सन डिजाइनर जट्टा शन्खरको आर्ट रहेको छ । निर्माता मिना बर्तौलाको लगानी रहेको भिडियोलाई समिप इन्टरटेन्मेन्टको युटुब च्यानलमा गएर हेर्न सकिन्छ ।

बर्दिबासमा तीनदिने सडक खाना महोत्सव–सुरु

महोत्तरी, ६ फागुन : आफ्नो ठाउँको परिचय विस्तार र स्थानीय परिकारबारे चासो बढाउन महोत्तरीका होटल तथा पर्यटन व्यवसायीले सडक खाना महोत्सव–२०८० आयोजना गरेका छन् । होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीको आयोजनामा तीनदिने सडक खाना महोत्सव–सुरु भएको हो । बर्दिबास नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले महोत्सवको उद्घाटन गर्नुभएको हो ।

पूर्वपश्चिम राजमार्ग र बिपी राजमार्गको सङ्गमदेखि बिपी राजमार्गतिर पाँच सय मिटर सडक दूरीमा महोत्सव आयोजना गरिएको छ । विभिन्न थरिका परिकारको स्वाद एकै ठाउँमा दिन महोत्सव आयोजना गरिएको होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्ग र अत्यन्त चल्तीको बिपी राजमार्ग (बर्दिबास–सिन्धुली–बनेपामार्ग)को सङ्गममै सुरु गरिएको महोत्सवले बर्दिबासको परिचय विस्तार, यहाँको पर्यटन पूर्वाधारबारे चासो र स्थानीय रैथाने परिकारबारे अभिरुचि बढाउन सहयोग पुग्ने आयोजक संस्थाको अपेक्षा छ ।

“मुख्य कुरा हाम्रा स्थानीय सम्भावनाबारे आम चासो बढाउने हो, चुरेकाछ अवस्थित बर्दिबास नगर क्षेत्रभित्रका पर्यटकीय सम्भावनाका क्षेत्रबारे खोजबिन गर्न महोत्सवले सघाउ पुर्याउने हाम्रो विश्वास छ”,सङ्घका अध्यक्ष गुञ्जबहादुर कार्की भन्नुहुन्छ, “महोत्सवमा हामीले पस्कने परिकार, तिनको मौलिक स्वाद र हाम्रो सेवाले खानपिन र बसोबासका लागि बर्दिबास उपयुक्त ठाउँ हो भन्ने सन्देश दिनसके हाम्रो अभिष्ट पूरा हुन्छ ।”

महोत्सवमा सिद्रा, घोङी, माछाको सुकुटी, सिस्नु, टिम्बुर, गुन्द्रुक, तामा, गेडागुडीलगायतका स्थानीय परिकार, छेनाको जिलेवी, विभिन्न मिष्टान्न परिकार, नेवारी खाजा सेट र अन्य मुलुकका लोकप्रिय परिकारका स्टल राखिएका छन् । सोमबारसम्म चल्ने महोत्सवमा व्यवसायीमात्र नभएर निर्मल लामा बहुप्राविधिक शिक्षालय बर्दिबास–११ खयरमाराका होटल म्यानेजमेन्ट तथा फुड एण्ड डेरी विषयका विद्यार्थी, नाथम बर्दिबास (नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान, बर्दिबास) र माध्यमिक विद्यालय बर्दिबास–८ हाथीलेटका होटल व्यवस्थापन विषयका छात्रछात्राले छुट्टाछुट्टै कक्ष सञ्चालन गर्दै महोत्सव अवलोकनकर्तालाई नयाँ स्वाद चखाइरहेका छन् । महोत्सवमा ५० कक्ष छन् । प्रत्येक कक्षले भिन्नभिन्न परिकार तयार गर्ने हुँदा कक्षपिच्छे अवलोकनकर्ताले भिन्न परिकार हेर्ने र चाख्ने अवसर पाएका छन् । महोत्सवमा आन्तरिक र बाह्य पर्यटकले मधेसको पहिचान, स्वाद र न्यानो स्वागतको अनुभूति लिनुभएको सङ्घका महासचिव नारायण घिमिरे बताउनुहुन्छ ।

केही दिन पहिलेदेखि नै बर्दिबास उद्योग वाणिज्य सङ्घ, होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरी र बर्दिबास नगर पत्रकार सञ्जाल महोत्तरीले बर्दिबासका पर्यटन गन्तव्य पहिल्याउन जनाउँदै पदयात्रा सुरु गरेका छन् । यो महोत्सवले पनि पदयात्राको उद्देश्यमा सघाउ पुर्याउने अपेक्षा गरिएको छ । यस महोत्सवमा पाहुनाले २० देखि ४० प्रतिशत छुटमा परिकारको स्वाद लिनसँगै विशिष्ट सांस्कृतिक कार्यक्रमको पनि मज्जा लिँदैछन् । महोत्सवको आयोजनामा बर्दिबास नगर कार्यपालिकाको कार्यालयको साथ सहयोग प्राप्त भएको आयोजकले जनाएका छन् । करिब रु १५ लाखको लागतमा सुरु गरिएको महोत्सव ५० हजार मानिसले अवलोकन गर्ने आयोजक संस्थाको लक्ष्य छ । सङ्घले तीन दिन बर्दिबासमै बसेर महोत्सवको आनन्द लिन सबैमा सार्वजनिक अपिल नै गरेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा ल्याउनुपर्नेमा जोड

गण्डकी – पूर्वअर्थमन्त्रीद्वय वर्षमान पुन र सुरेन्द्र पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालनमा ल्याउनुपर्ने बताउनुभएको छ । आन्तरिक उडान मात्र भइरहेको उक्त विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि सरकारले विदेशी मुलुकसँग कूटनीतिक पहल गर्नुपर्नेमा उहाँहरुको जोड छ ।

पोखरामा जारी नेपाल साहित्यको महोत्सवको ‘अर्थमन्त्री हुनुको अर्थ’ सत्रमा पत्रकार किरण नेपालसँगको संवादमा पूर्वअर्थमन्त्री पुनले सम्भावना पहिचान गरेरै सरकारले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाएको बताउनुभयो । “पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक छ, चलाउन सकिन्छ, बरु सरकारले छिटो हवाइमार्ग खुला गरेर अन्तर्राष्ट्रिय उडान सुरु गर्न सार्थक पहल थाल्नुपर्छ”, उहाँले भन्नुभयो ।

विशाल जनसङ्ख्या भएका छिमेकी देश चीन र भारतबाट वर्षेनी करोडौँ मानिस विदेश घुम्न निस्कने गरेको सुनाउँदै पर्यटकीय दृष्टिले पनि पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको पूर्वअर्थमन्त्री पुनले बताउनुभयो । पूर्वअर्थमन्त्री पाण्डेले पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान नहुनुमा भूराजनीतिक जटिलता पनि एउटा कारक रहेको धारणा राख्नुभयो ।

“भूराजनीतिक विषय कहिलेकाही हाम्रो वशभन्दा बाहिर हुन्छ, विकास निर्माणका आयोजना सञ्चालन गर्दा भूराजनीतिक असर र प्रभावलाई पनि राम्रोसँग विचार गर्नुपर्छ”, उहाँले भन्नुभयो, “ठूलो ऋण लगानीमा बनेको विमानस्थल पूर्णरुपमा सञ्चालनमा नआउँदा मुलुकलाई घाटा भइरहेको छ, जनस्तरबाट आलोचना भइरहेको छ ।” हवाइमार्ग खुला गर्नेदेखि आवश्यक पूर्वाधार तयार गरेर विमानस्थललाई चाँडो पूर्ण रुपमा सञ्चालन गर्नुपर्ने पूर्वअर्थमन्त्री पाण्डेले बताउनुभयो ।

नेपाल फर्केर के गर्ने ?

गण्डकी – नेपाल साहित्य महोत्सवको ‘ब्रेन गेन : फर्केर के गर्ने ?’ सत्रमा वक्ता स्वर्णिम वाग्ले र शृङ्खला खतिवडा आफ्नो विद्वतासहित प्रस्तुत हुनुभयो । उहाँहरु दुवै विदेशमा ज्ञान, सीप र अनुभव आर्जेर स्वदेश फर्कनेमध्येमा पर्नुहुन्छ ।

पोखराको फेवाताल किनारस्थित बाराहीघाटमा जारी महोत्सवमा वाग्ले र खतिवडालाई सुन्न दर्शकको उल्लेख्य उपस्थिति रह्यो । पत्रकार सोनिया अवालेले युवाहरुको पलायनलाई कसरी रोक्ने ? भविष्यको खोजीमा देश छाडिरहेका युवाहरू नेपाल फर्केर के गर्ने ? जस्ता सवालमा वाग्ले र खतिवडाबीच बहस गराउनुभयो ।

प्रतिनिधिसभा सदस्य समेत रहनुभएका अर्थशास्त्री वाग्ले र अमेरिकाको विश्वविद्यालयमा सहरी विकाससम्बन्धी विषय अध्ययन गरी वदेश फर्कनुभएकी पूर्वनेपाल सुन्दरी खतिवडाले नेपाली युवाको विदेश पलायनको बाध्यता र उनीहरूलाई स्वदेश फर्काउने उपायबारे मन्थन गर्नुभयो ।

वाग्लेले नेपाली आप्रवासी तीन किसिमका रहेको भन्दै उनीहरूलाई स्वदेशसँग जोड्न छुट्टाछुट्टै रणनीति तय गर्नुपर्ने धारणा राख्नुभयो । स्थायीरूपमै विदेश बसोबास थालेका र नेपाली नागरिकता त्यागेकालाई सांस्कृतिक सामित्यताका माध्यमबाट नेपालसँग जोड्न सकिने उहाँको भनाइ थियो । “दूतावासहरूमार्फत उनीहरूलाई बेलाबेला नेपाल ल्याउने, नेपाली भाषा सिकाउने, पर्यटकीयस्थल घुमाउन पनि सकिन्छ”, उहाँले भन्नुभयो, “यसले नेपालसँगको सांस्कृतिक र भावनात्मक सामिप्यता बढाउन सघाउ पुर्याउँछ ।”

विदेशमा र नेपालमा पनि केही गर्न चाहनेका लागि आर्थिक, राजनीतिक अधिकारसहित काम गर्ने उचित वातावरण सिर्जना गरिनुपर्नेमा वाग्लेको जोड थियो । “ग्लोबल सिटिजनको अवधारणा अहिले विकास भइरहेको छ, त्यसका माध्यमबाट पनि विदेशमा रहेका नेपालीहरूले कृषि, पर्यटन, सूचना प्रविधिलगायत क्षेत्रमा काम गर्न सक्छन्”, उहाँले भन्नुभयो, “विश्वबजारका लागि केही गर्छु भन्ने नेपालीका लागि उदार नीति ल्याउनुपर्छ, जसले वैदेशिक लगानीलाई पनि प्रवर्द्धन गर्छ, वैध तरिकाले जुनसुकै देशमा व्यापार–व्यवसाय गर्ने र आम्दानी गर्ने बाटो खुल्छ ।”

विदेशमा अस्थायीरूपमा रोजगारी गरी स्वदेश फर्कनेलाई उनीहरूले ल्याउने सीप र पुँजीको सदुपयोग हुने वातावरण राज्यले सिर्जना गरिदिनुपर्ने वाग्लेको भनाइ छ । “नेपाल फर्केर केही गर्न चाहनेलाई आर्थिक अवसरको खाँचो छ, राज्यले सोहीअनुसारको नीति ल्यानुपर्छ”, उहाँले भन्नुभयो, “विदेशबाट फर्केर उद्यम गर्न चाहनेलाई बीउ पुँजी दिने भनिए पनि कार्यान्वयनमा आउन सकेको छैन ।”

आजको भूमण्डलीकृत विश्वमा मानिसलाई यत्तिकै एक देशबाट अर्को देशमा जानबाट रोक्न नसकिने वाग्लेले बताउनुभयो । “युवा पलायनलाई रोक्न आर्थिक र सामाजिक उत्प्रेरणा दिनुपर्छ, आर्थिक अवसर र सुरक्षाको सुनिश्चिता भए सजिलै कसैले देश छोड्दैन”, उहाँले भन्नुभयो ।

खतिवडाले नेपालमा कुनै भविष्य छैन भनेर नकारात्मक भाष्य सिर्जना गर्न खोजिएको धारणा राख्नुभयो । अमेरिकामा पढाइ सिध्याएर एकदिन पनि बढी नबसी आफू नेपाल फर्किएको उहाँको भनाइ छ । “आर्थिकरूपमा सुरक्षित भएकाले पनि मलाई नेपाल फर्कन सहज भयो, सबैको उही अवस्था पक्कै छैन, अहिले नै युवाहरूलाई स्वदेश फर्कनुस् भन्न सकिने स्थिति छैन”, खतिवडाले भन्नुभयो, “युवाहरू स्वदेश फर्कन त चाहन्छन्, उनीहरूले आर्थिक सुरक्षा खोजिरहेका छन्, जुन नेपालमा छैन ।”

खतिवडाले आफू पनि विदेशमै बसेको भए युवाहरूमा थप निराशा बढ्न सक्ने बताउनुभयो । “नेपालमा मैले जुन सामाजिक पुँजी आर्जन गरेकी छु, जुन प्रतिष्ठा छ, त्यसका लागि पनि मेरो भविष्य नेपालमै छ भनेर म फर्केँ”, उहाँले भन्नुभयो, “नवीन सोच, योजना र मेहनत भएमा नेपालमा पनि मैले अवसरै अवसर देखेको छु ।”

सरकारले रोजगारी दिएन भनेर बढी गुनासो उठ्ने गरेको भन्दै उहाँले रोजगारी सिर्जनाका लागि राज्यले निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने धारणा राख्नुभयो । “सरकारले रोजगारी दिने होइन, निजी क्षेत्रलाई सहयोग गर्ने हो, रोजगारी निजी क्षेत्रले सिर्जना गर्छ”, उहाँले भन्नुभयो ।

रोजगारीको खोजीमा विदेशिनु नेपालीका लागि संस्कृति र प्रवृत्ति नै बनेको खतिवडाले सुनाउनुभयो । उहाँले आधुनिक विश्वमा त्यसको स्वरुप बदलिएको धारणा राख्नुभयो । “बाध्यता र आवश्यकताले धेरै नेपाली युवा विदेश पलायन भइरहेका छन्, अहिलेकै सङ्ख्यामा अझ केही वर्ष युवा विदेश जाने हो भने देश अप्ठेरोमा पर्न सक्छ”, खतिवडाले भन्नुभयो, “कतिपयमा यो देशमा केही हुँदैन, विदेश नै जानुपर्छ भन्ने जबर्जस्त धारणा विकास भएको छ, एकपटक पनि प्रयास नगरी काम पाइएन भन्नेहरू पनि छन् ।”

सम्पन्न मुलुकले श्रम नीतिमा खुकुलोपना ल्याएका कारण पछिल्लो समय नेपाललगायत अल्पविकसित मुलुकबाट रोजगारीका लागि अर्को देश जाने प्रवृत्ति ह्वात्तै बढेको उहाँले बताउनुभयो । युरोपमा पनि कम विकसित देशबाट युरोपकै सम्पन्नशाली मुलुकमा पलायनको दर बढिरहेको उहाँको भनाइ छ ।

पार्टीको अबको मुद्दा राजनीतिक स्थायित्व – वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ – नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको अबको मुद्दा राजनीतिक स्थायित्व रहेको बताउनुभएको छ । ललितपुर च्यासलस्थित नेकपा (एमाले) पार्टी कार्यालयमा शनिवार एमाले पेशागत विशेष जिल्ला कमटीको नवौँ अधिवेशनको उद्घाटनमा उहाँले मुलुकमा राजनीतिक परिवर्तन भए पनि राजनीतिक स्थायित्व हुन नसकेको भन्दै पार्टीको अबको एजेण्डा राजनीतिक स्थायित्वका साथै आर्थिक विकास र समृद्धि हुने बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिका लागि एमालेले एकल बहुमत प्राप्त गरी सरकार गठन गर्नुपर्ने र त्यसकै लागि पार्टीले मिसन–२०८४ अघि सारेको बताउनुभयो । उहाँले एमालेले प्राप्त गरेको उचाइ गौरव गर्न सकिने रहेको र त्यस उचाइसँगै चुनौती पनि थपिएको उल्लेख गर्नुभयो । उहाँले ती चुनौतीको सामना गरेर अगाडि बढ्ने सामथ्र्य एमालेमा रहेको बताउनुभयो । उहाँले पार्टी राष्ट्रिय शक्तिलाई गोलबन्द गरेर राष्ट्रिय शक्तिको केन्द्र बन्ने बताउनुभयो ।

जनतालाई सेवा प्रवाह, रोजगारी, स्वरोजगारी र सीप सिकाउने कुरा एमालेका मुद्दा भएको भन्दै उहाँले सेवा प्रवाह गर्ने कुरामा पेसागत क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने हुँदा एमाले सम्बद्ध सबैले प्रभावकारी सेवा प्रवाहमा ध्यान दिनुपर्नेामा उहाँको जोड थियो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रभावकारी सेवा प्रवाहबाट मात्र जनतामा सिर्जना भइरहेको निराशा रोकेर आशामा बदल्न सकिने बताउनुभयो । पार्टी र जनताबीचको सम्बन्ध सुदृढ बनाउन मध्यपहाडी लोकमार्गमा ‘सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय’ नाराका साथ समृद्धि यात्रा सम्पन्न गरिएको स्पष्ट गर्दै पार्टी सङ्गठन, कमिटीका जनसम्बन्ध विस्तारका योजना हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले विशेष जिल्ला कमिटीको भूमिका भूगोलका कमिटीको जस्तो नभई विशेष नै रहेको बताउँदै भौगोलिक क्षेत्रको राजनीतिक प्रतिस्पर्धामा विजय प्राप्त गर्न भूगोलका कमिटीको पूरकका रूपमा भूमिका निर्वाह गर्नुपर्छ भन्नुभयो ।

पार्टी कमिटीलाई चुस्तदुरुस्त बनाउनु आवश्यक रहेको र नेता, कार्यकर्ताको आचरण र व्यवहारमा प्रश्न उठ्ने अवस्था सिर्जना हुन नहुने बताउँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेलाई बलियो शक्ति बनाउन शुद्धीकरण तथा सुदृढीकरण अभियान चलाउनेसमेत बताउनुभयो । सो क्रममा जिल्ला कमिटीद्वारा प्रकाशित मुखपत्र हाम्रो बाटो लोकार्पण गर्नुभएको थियो ।

एमालेका पोलिटब्यूरो सदस्य तथा उपत्यका विशेष प्रदेश इन्चार्ज सुजिता शाक्यले पेसा व्यवसायमा रहेको जनशक्ति राष्ट्र निर्माणका लागि ऊर्जा भर्ने शक्ति भएको बताएको बताउनुभयो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

समाजवादको लक्ष्य पूरा गर्ने दायित्व युवाको काँधमा छ – अध्यक्ष यादव

गोदार (धनुषा) – जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले समाजवादले लिएको लक्ष्य पूरा गर्ने जिम्मा युवाको काँधमा आएको बताउनुभएको छ ।

समाजवादी युवा सङ्घ केन्द्रीय समितिद्वारा आयोजित प्रशिक्षणमा उहाँले अहिलेका युवामा विचार र सिद्धान्तको कमी भएको समेत उल्लेख गर्नुभयो । पार्टी निर्माणमा युवाको भूमिका महत्वपूर्ण हुने भन्दै अध्यक्ष यादवले राजनीतिक परिवर्तनसँगै आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण जरुरी रहेको बताउनुभयो ।

प्रशिक्षणमा मधेस प्रेसका पूर्वआन्तरिक, सञ्चार तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले वौद्धिक प्रशिक्षणले मात्रै सङ्घीय गणतान्त्रिक लोकतन्त्रलाई संस्थागत गर्न सक्ने औँल्याउनुभयो । उहाँले पछिल्लो समय सङ्घीय लोकतान्त्रिक गणतन्त्र विरोधीहरु बढको भन्दै युवालाई त्यसतर्फ सचेत रहन सुझाव दिनुभयो । “सङ्घीयतालाई समाप्त गर्न केही अनावश्यक तत्व सक्रिय भएका छन् । त्यसलाई वौद्धिक तवरबाट प्रशिक्षित भएर मात्रै चिर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

मधेस प्रदेश सरकारका उर्जा, सिँचाई तथा खानेपानी मन्त्री सिहांसन साह कलवारले युवाहरुमा अध्ययनमा रुचि घट्दै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले शिक्षित युवा राजनीतिकर्मी भए मात्रै देश र समाजले उच्च स्तरको बौद्धिकता पाउन सक्ने धारणा राख्नुभयो ।

जसपा मधेस प्रदेशका नवनियुक्त अध्यक्ष बालकिशोर यादवले युवाको व्यक्तिगत, राजनीतिक र संगठनिक जीवनमा निखारता ल्याउन जरुरी रहेको बताउनुभयो । पार्टीको विचार, नीति र सिद्धान्तबारे जानकारी पाएपछि समुदायमा अघि लिएर जान सहज हुने उहाँको भनाइ थियो । उहाँले युवाहरु अनुशासित हुनु जरुरी रहेको बताउँदै पार्टीले लिएको लक्ष्य पूरा गर्ने गरी काम गर्ने निर्देशन समेत दिनुभयो । मधेस प्रदेशका पूर्वप्रदेशसभा सदस्य बिक्की यादवले प्रशिक्षणबाट युवाले नयाँ जानकारी हासिल गर्ने बताउनुभयो ।

‘क्वार्ज क्रिष्टल’ गोरखा दरबारमै राखिने

गोरखा – गत असारमा गोरखा नगरपालिका–७ सतिपिपलस्थित एक घरबाट बरामद गरिएको टल्कने ढुङ्गा अर्थात ‘क्वार्ज क्रिष्टल’ गोरखा दरबार परिसरमै राख्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजनामा शनिवारको सर्वपक्षीय बैठकमा जिल्ला प्रहरी कार्यालय गोरखामा राखिएको ‘क्वार्ज क्रिष्टल’ ऐतिहासिक गोरखा दरबार परिसरमा राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो ।

पुरातात्विक, ऐतिहासिक महत्व रहेको भनिएको बहुमूल्य ‘क्वार्ज क्रिष्टल’ बिक्री गर्न लागेको आशङ्कामा गोरखा प्रहरीले नियन्त्रणमा लिएको थियो । लामो समयदेखि प्रहरी कार्यालयमा रहेको उक्त ‘क्वार्ज क्रिष्टल’ जिल्लाभित्रै व्यवस्थापन गर्नुपर्ने जिल्लावासीले पनि माग गर्दै आएका थिए ।

“मन्त्रालयले पत्राचार गरी जिल्लामै व्यवस्थापन गर्नु भनेका कारण सर्वपक्षीय बैठकले निर्णय गरेर दरबारमा राख्ने निर्णय गरिएको हो”, उहाँले भन्नुभयो, “यो सम्पत्ति गोर्खालीको भएकाले सर्वसम्मतरूपमा गोरखा दरबारमा राख्ने सहमति भएको छ ।”

प्रमुख जिल्ला अधिकारी दाहालले दरबारमा राखिने ‘क्वार्ज क्रिष्टल’ को सुरक्षाको जिम्मेवारी भने जिल्ला सुरक्षा समितिले निर्धारण बताउनुभयो । ‘क्वार्ज क्रिष्टल’को राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चा चलेकाले सुरक्षामा विशेष ध्यान दिइने उहाँको भनाइ छ ।

‘‘यसको सुरक्षाको विषयमा हामी गम्भीर छौँ, सुरक्षाका सबै विधि अपनाएर भए पनि अब तत्काल दरबार परिसरमा राख्छौँ”, उहाँले भन्नुभयोे “यसले गोरखाको धार्मिक पर्यटनमा समेत यसले टेवा पुग्ने अपेक्षा गरिएको छ ।”

गोरखा दरबार र गोरखाकाली मन्दिर बीचको खाली भागमा सबैले हेर्न मिल्ने गरी उक्त क्वार्ज क्रिष्टल राखिने छ । दरबारमा क्वार्ज क्रिष्टल व्यवस्थापनका लागि लाग्ने सम्पूर्ण खर्चको व्यवस्थापन भने गोरखा नगरपालिकाले गर्नेछ ।

बैठकमा गोरखा नगरपालिका नगरप्रमुख कृष्णबहादुर रानामगरले धार्मिक पर्यटनका हिसाबले समेत क्वार्ज क्रिष्टललाई गोरखा दरबार परिसरमा नै राख्नु उपयुक्त हुने भएकाले सर्वसम्मतरूपमा दरबारमा राख्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

भूगर्भविद्को टोलीले गोरखामै आएर दुई दिन लगाएर गरेको परीक्षणबाट उक्त ढुङ्गा महत्त्वपूर्ण र बहुमूल्य रत्नपत्थर (क्वार्ज क्रिष्टल) भएको पत्ता लागेको थियो । संसारभरका धातुलाई कडापनका आधारमा १० भागमा वर्गीकरण गर्ने गरिएकामा बरामद गरिएको ढुङ्गा सातौँ नम्बरमा पर्ने भूगर्भविद्ले जानकारी गराएका थिए । उक्त ढुङ्गाको तौल ५२ किलो तीन सय ३० ग्राम छ । गत असार १४ गते प्रहरीले उक्त टल्कने ढुङ्गा सतिपिपलस्थित स्थानीयवासी राममाया शाहीको घरबाट बरामद गरेको थियो ।

समाजवादी मोर्चाको बैठक आज, भावी कार्ययोजनाबारे छलफल गरिने

काठमाडौँ – समाजवादी मोर्चाको बैठक आज बस्ने भएको छ । मोर्चाले अहिलेसम्म देशभर गरेका सङ्गठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे छलफल गर्न आज बिहान ९ बजे नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा बैठक बोलाइएको हो ।

बैठकले सरकारको कार्यको समीक्षाका साथै मुलुकको समसामयिक राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय राजनीतिक प्रभावबारे छलफल गर्ने नेकपा (एकीकृत समाजवादी)को कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहभागी छन् । मोर्चाको नेतृत्व एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्नुभएको छ ।

हेर्नुहोस् फागुन ६ गते आइतवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि- नजिकका आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । संचित रकम खर्चगर्नुपर्ने सम्भाबना रहेकोछ । वाणीका कारण सामान्य बादविवादको झमेलामा फस्ने सम्भाबना रहेकोछ । भोजभतेर जन्य कार्यमा सहभागीताको योग रहेकोछ । सभासम्मेलनमा सहभागीताको समय रहेकोछ ।

बृष राशि – नयाँ योजनाका साथमा नयाँ कार्यको थालनि गर्ने उत्तम समय रहेकोछ । पारीवारिक साथसहयोगमा ब्यापार ब्यवसायबाट मनग्यलाभ प्राप्त गर्न सकिनेछ । प्रेम सम्बँन्धमा मधुरता छाउनेछ । अध्यन अध्यापनमा लगाईएको समय महत्वपूर्ण रहनेछ । शिप तथा क्षमताका आधारमा कार्यहरु सम्पादित रहनेछन ।

मिथुन राशि – परीवारका सदस्यहरुबाट टाढा भएको महसुस रहनेछ । यात्रामा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । गरीरहेको कार्य क्षेत्रमा उत्पन्न तनाबका कारण सामान्य बादबिवादको झमेलामा फसिएला । मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोले बिशेष सजग रहनुहोला । आर्थीक झमेलाले सताउनेछ ।

कर्कट राशि – अध्यन अध्यापनमा समय उत्तम रहनेछ । रचनात्मक कला तथा कौशलका क्षेत्रमा समय ब्यतित रहनेछ । आय आर्जनका क्षेत्रमा मित्रजनहरुको साथसहयोग मनग्य प्राप्त रहनेछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहेनछ । बौधिक ब्यत्तित्वहरुको अनुशरण दिर्घकालिन फाईदाका श्रोत बन्नेछन ।

सिंह राशि – भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । सभासम्मेलनमा सरिकहुने अवसर प्राप्त रहनेछ । सामान्यकार्यका निम्ती अधिक श्रम खर्चनु परेतापनि कार्य सम्पादनको उत्तम श्रेय प्राप्त रहनाले मन प्रशन्न रहनेछ ।

कन्या राशि – मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । मान्यजनहरुको मार्गदर्शन निकै फाईदाजनक हुनेछ । गैर ब्यतिहरु द्वारा सम्पादित कार्यको श्रेय तपाईले सहजता पूर्वक प्राप्त गर्नाले मन प्रशन्न रहेछ ।

तुला राशि – शारिरीक आलस्यताले कार्य सम्पादनमा तनाव उत्पन्न गराउन सक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या देखापर्नेछ । नजिकका मित्रजनहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्नेछ । नयाँ लगानिका क्षेत्रमा बिशेष सजगरहनु पर्ने समय रहेकोछ । यात्रामा सजग रहनुहोला ।

बृश्चिक राशि – पारिवारीक सम्बन्धमा सामान्य झमेला उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । साजेदारीमा नयाँ कार्यको थालनि हुन सक्नेसम्भाबना रहेकोछ । आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मनोबिलासिताका साधनको प्रयोगमा अधिक समय ब्यतित रहनेछ ।

धनु राशि – प्रतिश्पदा जन्यकार्यमा अब्बल स्थान प्राप्त रहनेछ । शुभचिन्तकहरुको साथसहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । नयाँ कार्यका निम्ती नयाँ अवसरहरु प्राप्त रहनेछन । मित्रजनरुको प्रशन्नताका निम्ती समय ब्यतित गर्नु पर्नेछ । खानपानका कारण स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ ।

मकर राशि – तपाईको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेकोछ । अध्यन अध्यापनका माध्यमबाटँ आम्दानिका निम्ती दिर्घकालिन श्रोतहरु फेला पर्नेछन । बौधिक तथा बिशिष्ट ब्यत्तीहरुको रायसल्लाहाले नयाँकार्यको प्रारम्भहुन सक्ने योग रहेकोछ । पूराना मित्रजनरु सगँको भेटघाटले मन प्रशन्न रहला ।

कुम्भ राशि – सामाजिक कार्यमा जुट्ने उत्तम समय रहेता पनि आफन्तजनहरुको साथसहयोगमा भने कमि महसुस रहनेछ । भुमि तथा वाहान शुख प्राप्त रहनेछ । भौतिक साधनको प्रयोगमा बिशेष सावधानि अपनाउनु उत्तम रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

मीन राशि – तपाइ सगँ रुष्ट आफन्तजनहरु सहजै नजिक हुन खोज्नेछन । मित्रहरुको साथ सहयोग बाँट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । धार्मिक यात्राको सम्भाबना रहनेछ । प्रतिश्पर्दीहरु कमजोर रहनाले तपाइलाइ कार्य क्षेत्र सहज बन्नेछ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेकोछ ।

समाजवादी मोर्चाको बैठक भोलि बस्ने

काठमाडौँ, ५ फागुन : समाजवादी मोर्चाको बैठक भोलि बस्ने भएको छ । मोर्चाले अहिलेसम्म देशभर गरेका सङ्गठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे छलफल गर्न भोलि बिहान ९ बजे नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा बैठक बोलाइएको हो ।

बैठकले सरकारको कार्यको समीक्षाका साथै मुलुकको समसामयिक राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय राजनीतिक प्रभावबारे छलफल गर्ने नेकपा (एकीकृत समाजवादी)को कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहभागी छन् । मोर्चाको नेतृत्व एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्नुभएको छ ।

रेडक्रसमा राजनीतिक हस्तक्षेप हुनु हुँदैन : अध्यक्ष तिमिल्सिना

लेखनाथ (कास्की), ५ फागुन : राष्ट्रियसमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिाले मानवतावादी रेडक्रस जस्तो संस्थामा राजनीति प्रवेश गर्दा सेवाग्राहीले सुशासन प्राप्त गर्न नसक्ने बताउनुभएको छ ।

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको ४०औँ साधारणसभालाई आज पोखरामा सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्ता संस्थामा राजनीतिक हस्तक्षेप हुनु राम्रो नभएको बताउनुभयो ।

“देशका अधिकांश संस्थामा राजनीतिकरण हुँदा आम जनताको राजनीतिक दलप्रति वितृष्णा पैदा भएको छ”, अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “अब नेपाल रेडक्रस सोसाइटीमा आबद्ध देशभरका कमिटी सदस्यले भ्रष्टाचारविरुद्धको अभियानलाई तीव्र पार्नहोस् ।”

अन्तर्राष्ट्रियरूपमा ख्यातिप्राप्त नेपाल रेडक्रस सोसाइटीलाई राजनीतिबाट टाढै राख्नुपर्ने सुझाव दिँदै अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलहरूले पनि यस्ता संस्थालाई स्वतन्त्ररूपमा मानवीय सेवामा लाग्न प्रेरित गर्नुपर्ने सुझाव दिनुभयो ।

रेडक्रस सोसाइटीमा लाग्ने हरेक सदस्यले पवित्र मनले मानवीय सेवा गर्दै विपद् र दुःखमा परेका व्यक्तिको घाउमा मल्हम लगाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सो अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपाल रेडक्रस सोसाइटी कास्की प्रादेशिक रक्तसञ्चार सेवाको नवनिर्मित भवनको उद्घाटनसमेत गर्नुभएको थियो ।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले विपद्मा परेका र रगत अभावमा छटपटाइरहेका परिवारलाई सेवा पुर्याउँदै आएको रेडक्रसको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । रगतको अभाव र प्राकृतिक विपद्मा परेका परिवारलाई सहज र सरलरूपमा सेवा पुर्याउन उक्त संस्थाले आफ्नो सेवालाई अझ प्रभावकारी बनाउनुपर्नेमा उहाँको जोड छ ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सुदर्शनप्रसाद नेपालले रेडक्रसकर्मीले असल र पवित्र भावनालाई उजागर गर्दै दुःखमा परेको परिवारलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । विश्वमा एक सय ९१ मुलुकमा सेवा गर्दै आएको यस संस्थाका हरेक सदस्यले आफ्नो जिम्मेवारीलाई पूरा गर्दै अगाडि बढ्न सुझाव दिनुभयो । नेपाल रेडक्रस सोसाइटीमा राजनीतिक गन्ध आउन नहुने भनाइ उहाँको छ ।

नेपाल रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष दण्डराज शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य बन्दुकुमार थापालगायतले रेडक्रसको भूमिकाको चर्चा गर्नुभएको थियो

इरानमा गोली चल्दा १२ जनाको मृत्यु

दक्षिणपूर्वी इरानी प्रान्त केरमानमा शनिबार बिहान एक जना व्यक्तिले आफ्नै परिवारका १२ जना सदस्यको गोली हानी हत्या गरेका छन् । साथै अन्य तीन जनालाई घाइते बनाएको इरानको अर्ध-सरकारी समाचार एजेन्सी तस्निमले जनाएको छ। घटना स्थानीय समय अनुसार बिहान ४ः३० बजे फर्याब काउन्टीमा भएको हो ।

२५ वर्षीय हतियारधारी व्यक्तिले दुई वटा घरमा रहेका आफ्ना दुई सौतेनी दाजुभाइ र उनीहरूका परिवारका सदस्यहरूमाथि गोली चलाएको जनाकारीमा आएको छ ।

तस्निमले केरमानका प्रहरी कमाण्डर नासेर फरशीदलाई उद्धृत गर्दै सो जनाकारी दिएका हुन् । केरमानको न्याय विभागका प्रमुख इब्राहिम हमीदीले उक्त व्यक्तिले आफ्नो बुबा लगायतका परिवारका सदस्यहरूलाई मार्न कलश्निकोभ राइफल प्रयोग गरेको बताएको सरकारी समाचार एजेन्सी इरनाले बताएको छ।

३७ औं अफ्रिकी संघ शिखर सम्मेलनमा राष्ट्रपति सीको बधाइ सन्देश

चिनियाँ राष्ट्रपति सी चिन फिङले शनिबार ३७ औँ अफ्रिकी संघ (एयु) शिखर सम्मेलनको उद्घाटन सत्रमा बधाइ सन्देश पठाउनुभएको छ।सन्देशमा राष्ट्रपति सीले गत वर्ष चीन-अफ्रिका नेताहरूबीचको वार्ता सफलतापूर्वक सम्पन्न भएको स्मरण गर्दै दुवै पक्षले आ-आफ्नो आधुनिकीकरणको मार्गमा एकअर्कालाई सहयोग गर्ने निर्णय गरेको उल्लेख गर्नु भएको छ ।

उहाँले चीन-अफ्रिका सम्बन्ध अझै गहिरो गरी विकास हुँदै गएको कुरा औंल्याउनुभएको छ। विकासको परिकल्पनालाई साकार पार्नका लागि दुवै पक्षले संयुक्त रूपमा उचित वातावरण सृजना गर्नुपर्ने धारणा राख्नु भएको छ ।

उहाँले यस वर्ष चीन-अफ्रिका सहयोगको नयाँ खाका बनाउन अफ्रिकी नेताहरूसँग मिलेर काम गर्न र साझा भविष्यका साथ उच्चस्तरीय चीन-अफ्रिका समुदायलाई संयुक्त रूपमा प्रवर्द्धन गर्ने इच्छा व्यक्त गर्नुभएको छ ।

राहदानी बनाउन नपाउँदा पोर्चुगलका नेपाली समस्यामा

लिस्बन, ५ फागुन : वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका नेपालीले राहदानी नवीकरण तथा नयाँ राहदानी बनाउन नपाउँदा समस्यामा परेका छन् ।

विभिन्न मुलुक हुँदै पोर्चुगल आएका नेपालीले नयाँ राहदानी बनाउन र नवीकरण गर्न बनाउन नपाउँदा समस्यामा परेका हुन् । राहदानीको समस्याले गर्दा विशेषतः पोर्चुगल बसाइको वैधानिकताका लागि यहाँको अध्यागमन निकाय एकीकरण, आप्रवासन र शरणमा बायोमेट्रिकको तयारीमा रहेका नेपालीहरू बढी मारमा परेका छन् ।

पोर्चुगलमा नेपाली दूतावास स्थापनाका लागि राजदूत नियुक्त भइसकेको भए पनि दूतावास कहिलेसम्म आउने भन्ने तिथिमिति तय भइसकेको छैन । राहदानीलगायतका कागजातसम्बन्धी समस्यामा परेका नेपालीहरूले दूतावास आउन ढिलाइ भए पनि तत्काल राहतका लागि घुम्ती टोलीसम्म पनि नआएको भन्दै गुनासो गरेका छन् ।

राहदानीको म्याद सकिनै लागे पनि नयाँ राहदानी बनाउन नपाउँदा आफू समस्यामा परेको फ्रान्स हुँदै २० महिनाअघि पोर्चुगल आउनुभएका पोखराका रवि थापाले बताउनुभयो । “मेरो राहदानीको म्याद सकिन अब डेढ महिनामात्रै बाँकी छ, मेरा धेरै साथीहरूको पनि राहदानीको म्याद सकिन लागेको छ । हामी यहाँको वैधानिक बसाइका लागि बायोमेट्रिकको पर्खाइमा छौँ । तर राहदानी बनाउन नसक्दा समस्यामा परेका छौँ”, थापाले रासससँग भन्नुभयो । राहदानी बनाउनका लागि जोखिम मोलेरै भए पनि स्पेनको मेड्रिडस्थित रहेको नेपाली दूतावास जाने तयारी गरेको उहाँले बताउनुभयो ।

स्याङ्जाका युवराज रोकाको समस्या पनि उस्तै छ । क्रोसिया हुँदै डेढ वर्षअघि पोर्चुगल आउनुभएका रोकाको राहदानीको म्याद सकिन दुई महिनामात्रै बाँकी छ । हाल मदेइरामा कार्यरत रहेका उहाँ राहदानीको म्याद सकिन थालेपछि चिन्तित हुनुहुन्छ । राहदानी बनाउन ढिलाइ भए यहाँको कागजी प्रक्रियामा समस्या हुने रोकाले बताउनुभयो । “सरकारले छिट्टै टोली पठाइदिए त हामीजस्ता समस्यामा परेकालाई ठूलै राहत हुने थियो”, रोकाले भन्नुभयो ।

थापा र रोकाको जस्तै समस्या दाङका जनप्रसाद पुनको पनि छ । पुन पनि राहदानीको म्याद सकिन लागेपछि तनावमा पर्नुभएको छ । “धेरै अघिदेखि टोली आउने भन्ने सुनेको हो, मजस्ता धेरै साथी राहदानी बनाउनका लागि टोलीको पर्खाइमा छौँ”, पुनले भन्नुभयो । “टोली नआउने हो भने त हामी समस्यामा पर्छौ, टोली नआउने नै भए त स्पेन, फ्रान्ससम्म धाएर भए पनि राहदानी त बनाउनैपर्छ, तर ती मुलुकसम्म धाउन पनि वैधानिक कागजात नहुँदा जोखिम मोल्नुपर्ने बाध्यता छ”, पुनले अगाडि थप्नुभयो ।

विगत लामो समयदेखि परिवारसहित पोर्चुगल बस्दै आउनुभएका गोरखाका दिनेश श्रेष्ठले पनि राहदानीको म्याद गुज्रेका कारण धेरै सास्ती खेप्नुपरेको सुनाउनुभयो । दुई छोराछोरी र आफ्नो गरी तीन जनाकै राहदानी बनाउनुपर्ने भए पनि नेपाली दूतावास रहेको छिमेकी मुलुक धाउनैपर्ने बाध्यता भएको उहाँले बताउनुभयो । छोराको रेसिडेन्सी कार्डको म्याद सकिएर तीन पटकसम्म समय लिएर नवीकरण गर्न आप्रवासी मामिला हेर्ने सरकारी कार्यालय धाए पनि राहदानीको म्याद नै नभएको भन्दै कार्डसमेत नवीकरण गर्न नसकेको पीडा श्रेष्ठले सुनाउनुभयो ।

“टोलीको आशमा बस्दा बाबुको कार्डसमेत नवीकरण गर्न सकिनँ, त्यसैले नयाँ राहदानी बनाउनका लागि अहिले स्पेन आएको छु । यहाँ आएर राहदानीसम्बन्धी सबै काम सकाएँ, दुःख पाए पनि अब राहदानी बन्ने ढुक्क भयो”, श्रेष्ठले भन्नुभयो ।

लिस्बनमा रहेको अवैतनिक नेपाली महावाणिज्य दूतावासको कार्यालयले दिएको तथ्याङ्कानुसार राहदानी नवीकरण तथा नयाँ राहदानी बनाउने नेपालीको स¬ङ्ख्या दुई हजार छ सयभन्दा बढी छ । जसअनुसार दुई हजार ९७ जनाको नवीकरण, चार सय ५० जनाको हराएको र ६५ जना बालबालिकाको नयाँ राहदानी बनाउनुपर्ने आवेदन छ । विशेषगरी पोर्चुगल बसाइको वैधानिकताका लागि यहाँको अध्यागमन कार्यालय एकीकरण, आप्रवासन र शरणमा बायोमेट्रिकको तयारीमा रहेका नेपालीले राहदानी बनाउन नपाउँदा बढी समस्यामा परेको पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूूत मकरबहादुर हमालले रासससँग भन्नुभयो ।

“हामीले तत्कालको समस्या समाधानका लागि फ्रान्सस्थित दूतावासबाट घुम्ती टोली ल्याउन पहल गरिरहेका छौँ, टोली आउने÷नआउनेबारे अहिलेसम्म आधिकारिक जानकारी आइसकेको छैन । तर तत्काल टोली नआउने हो भने त यहाँको वैधानिक बसाइका लागि बायोमेट्रिकको तयारीमा रहेका धेरै नेपालीलाई सस्या हुने अवस्था छ”, महावाणिज्यदूत हमालले भन्नुभयो ।”

राहदानी नवीकरण तथा नयाँ राहदानी बनाउन भन्दै धैरै नेपाली दैनिकजसो महावाणिज्य दूतावासको कार्यालय धाउने गरेको र कार्यालय परिसरमा भीडभाड नै लाग्ने गरेको उहाँले सुनाउनुभयो ।

गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष उमेश खड्काले राहदानीसम्बन्धी समस्या समाधानका लागि घुम्ती टोली ल्याउन पहल भइरहेको बताउनुभयो । “घुम्ती टोलीका लागि फ्रान्सस्थित नेपाली दूतावास र मन्त्रालयमा पटक–पटक अनुरोध गरेका छौँ, तत्कालको राहतका लागि दुई साताका लागि भए पनि टोली ल्याउने हाम्रो पहल जारी छ”, खड्काले भन्नुभयो ।

विभिन्न मुलुक हुँदै पोर्चुगल आउने नेपालीको सङ्ख्या बढेसँगै राहदानीलगायतका कागजातसम्बन्धी समस्या पनि बढ्दै गएको छ । पोर्चुगलमा नेपाली दूतावास खुलिनसकेका कारण राहदानी बनाउन छिमेकी मुलुक स्पेन, फ्रान्स, बेल्जियम र डेनमार्कस्थित रहेको नेपाली दूतावाससम्म पुगेर राहदानी बनाउन सकिने व्यवस्था छ । तर राहदानीविहीन नेपालीहरू राहदानी बनाउन स्पेन, फ्रान्स, बेल्जियम र डेनमार्कमा रहेका नेपाली दूतावाससम्म धाउनका लागि वैधानिक कागजात छैन ।

पोर्चुगलमा रहेका नेपालीको समस्याका विषयमा आफू जानकार रहेको र राहदानी बनाउने सन्दर्भमा जतिसक्दो छिटो टोली आउने तयारीमा रहेको फ्रान्सको पेरिसस्थित नेपाली दूतावासका नियोग उपप्रमुख सीता बस्नेतले राससलाई बताउनुभयो । “दूतावासबाट पोर्चुगल जाने यसअघि नै हाम्रो कार्यतालिकामा थियो, तर कर्मचारी अभावका कारण त्यो सम्भव भएन”, बस्नेतले भन्नुभयो ।

राहदानीसम्बन्धी देखापरेको समस्याका सन्दर्भमा परराष्ट्र मन्त्रालय र राहदानी विभागलाई यसअघि नै पत्राचार गरी जानकारी गराइसकेको उहाँले बताउनुभयो । “हामीले पोर्चुगललाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेका छौँ, आवश्यक प्रक्रियाका लागि मन्त्रालयको निर्देशनको पर्खाइमा छौँ”, बस्नेतले भन्नुभयो । विभागबाट निर्देशन आएलगत्तै टोलीे लिस्बन आउने उहाँको भनाइ छ ।

पछिल्लो समय रोजगारीका सिलसिलामा पोर्चुगल आउने नेपालीको सङ्ख्या बढ्दै गएको छ । पोर्चुगलमा नेपालीको यकिन तथ्याङ्क नभए पनि अनुमानित ५० देखि ६० हजार हाराहारीमा रहेको अनुमान छ । यसअघि गत वर्ष पनि फ्रान्सस्थित नेपाली दूतावास र राहदानी विभाग काठमाडौँको टोली आएर राजधानी लिस्बनमा करिब एक महिनासम्म राहदानीसम्बन्धी सेवा प्रदान गरेको थियो । उक्त घुम्ती सेवाबाट दुई हजार तीन सय आठ नेपालीको प्रत्यक्ष दर्ता प्रणालीमार्फत विद्युतीय राहदानीका लागि आवेदन सङ्कलन गरिएको थियो ।

‘विकास र वातावरणबीच सन्तुलन कायम राख्दै दिगो विकास लक्ष्य हासिल गर्नुपर्ने छ’- प्रधानन्यायाधीश श्रेष्ठ

पाटन (ललितपुर), ५ फागुन : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विकास र वातावरणबीच सन्तुलन कायम राखी दिगो विकास लक्ष्य हासिल गर्नुपर्ने बताउनुभएको छ ।

वन तथा वातावरण मन्त्रालय, न्यायाधीश समाज नेपाल र राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा आज ललितपुरमा आयोजित ‘वन्यजन्तु संरक्षण र वातावरणीय न्याय’ विषयक एकदिवसीय सम्मेलनमा उहाँले विकास निर्माणसँगै वातावरणीय सन्तुलन कायम राख्दै प्राकृतिक धरोहरलाई जोगाउन अपरिहार्य भएको उल्लेख गर्नुभयो ।

“कार्बन उत्सर्जन न्यूनीकरणका लागि विकास र वातावरणबीच सन्तुलन कायम राखी दिगो विकास लक्ष्य हासिल गर्नुपर्ने आजको आवश्यकता छ । वन, वन्यजन्तु तथा वातावरण संरक्षणका लागि धेरै कानुन छन, तिनीहरूको कार्यान्वयनका लागि सम्बन्धित पक्षको ध्यान जानुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो ।

वन्यजन्तु संरक्षण र वातावरणीय न्यायका सन्दर्भमा अदालतबाट भएका कतिपय फैसला अझै पनि कार्यान्वयन हुननसकेको उहाँले बताउनुभयो । यसका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण हुनु आवश्यक रहेको उहाँको भनाइ थियो ।
नेपाली समाजमा प्रकृति पुजन संस्कृति रहेको बताउनुहुँदै उहाँले नेपालको भूबनोट र भौगोलिक धरातलीय दृष्टिकोणबाट वातावरण संरक्षण र त्यसप्रतिको चिन्ता अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

त्यस अवसरमा वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले वन्यजन्तु र मानवबीचको द्वन्द्व अहिलेको समस्या भएको बताउनुहुँदै वन्यजन्तु संरक्षणमा वातावरण परिवर्तन मुख्य चुनौती रहेको बताउनुभयो । उहाँले मानवीय क्रियाकलाप बढ्दा वन्यजन्तुको बासस्थान र आहारविहार गर्ने क्षेत्रको विनाश भइरहेको भन्दै यसलाई साझा मुद्दाका रूपमा लिइनुपर्नेमा जोड दिनुभयो ।

महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले वातावरणीय न्यायलाई विभिन्न आधारमा बुझ्न सकिने बताउनुहुँदै मानवीय आवश्यकतालाई केन्द्रमा राखेर जानुपर्ने बताउनुभयो । न्यायाधीश समाजका महासचिव एवं विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवरले वन्यजन्तुको चोरीपैठारी र सिकारले प्रकृति ध्वस्त हुने भएकाले आजको समयमा व्यापक छलफल गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा कृष्णप्रसाद ओलीले वन्यजन्तुको संरक्षणका लागि बासस्थानको संरक्षण नै महत्त्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रमको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको थियो ।

सगरमाथा क्षेत्र भ्रमणमा आएका बेलायती नागरिकको मृत्यु

सल्लेरी (सोलुखुम्बु), ५ फागुन : सगरमाथा क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलायतका ४२ वर्षीया एलिजाबेथ डायरो रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अनिलकुमार मिश्रका अनुसार जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्क्षेपस्थित एक होटलमा बास बसेका उनको सोही स्थानमा मृत्यु भएको हो ।गत माघ २४ गते नमस्ते ट्रेकिङ कम्पनीमार्फत सगरमाथा क्षेत्र भ्रमणमा आएका एलिजाबेथको लुक्लाबाट सगरमाथा आधार शिविर जाने क्रममा गोरक्क्षेपस्थित हिमालयन लजमा बास बसेका थिए । सोही दिन साँझ ५ बजेतिर होटलमै बेहोस भई ढलेका एलिजाबेथको केही समयपछि सोही स्थानमा ज्यान गएको प्रहरी निरीक्षक मिश्रले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “माघ २४ गते विदेशी नागरिक लुक्लामा जहाजमार्फत ओर्लिएर त्यहाँबाट एभरेष्ट बेसक्याम्प जाने क्रममा गोरक्क्षेपको होटलमा बास बसेका रहेछन्, त्यही बेहोस भएर ढलेका उनको केही समयपछि नै मृत्यु भयो ।”शव अल्टिच्युड हेलिकप्टरमार्फत लुक्ला ल्याई कानुनी प्रक्रिया पूरा गरी काठमाडौँको शिक्षण अस्पताल पठाइएको प्र्रहरीले जनाएको छ ।

वर्तमान सरकार जनतामा आशा जगाउन सफल : उपमहासचिव पुन

कास्की, ५ फागुन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले जनतामा आशा जगाउने काम गरेको बताउनुभएको छ ।पोखरामा आज प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले सरकार गठनपछि सुशासनको प्रयत्न भएको र राज्यका सबै अङ्ग सुशासन स्थापनामा केन्द्रित भएकाले यसबाट जनतामा आशा र उत्साह बढाएको उल्लेख गर्नुभयो ।

“नेतृत्वले पहल गर्दा जनतामा आशा जगाउन सकिन्छ, जनतालाई प्रोत्साहित गर्न सकिन्छ भन्ने सन्देश पैदा भएको छ”, नेता पुनले भन्नुभयो । सरकारले हुण्डी, क्रिप्टोकरेन्सीलगायतको कारोबारमा कडाइ गरेपछि औपचारिक च्यानलबाट विदेशबाट पैसा आउँदा विदेशी मुद्रा सञ्चिति बढेको उहाँले उल्लेख गर्नुभयो ।पूर्वअर्थमन्त्रीसमेत रहनुभएका नेता पुनले भन्नुभयो, “अहिले देशमा एक वर्षलाई धान्ने विदेशी मुद्रा सञ्चित भएको छ । विगतमा विदेशी मुद्रा छैन भनेर हाहाकार मच्चाइयो । ठूला पुँजी र आयोजनामा आयातका लागि जम्मा भएको पैसा लगानी गर्नुपर्दछ । अर्थतन्त्र चलायमान गराउनुपर्छ ।”नेता पुनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणअघि लागि समाजका सबै तह र तप्कामा व्यापक छलफल गरी प्राथमिकता निर्धारण गरिने बताउनुभयो । “यसपटक खुला छलफल गरी बजेटको प्राथमिकता निर्धारण गर्ने काम भइरहेको छ । जनताको सहभागिता र सरोकारमा बजेट बनाइने छ”, नेता पुनले भन्नुभयो ।नेता पुनले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताउनुभयो । निर्वाचन प्रणालीले गठबन्धन अनिर्वाय गरेकाले राजनीतिक स्थायित्वका लागि गठबन्धन कायमै रहने उहाँले उल्लेख गर्नुभयो । “देश, स्थिरता र समृद्धिका लागि गठबन्धन गर्न सकिन्छ । निश्चित ‘म्यान्डेट’सहित अहिले काम गरेकाले अहिले गठबन्धन तलमाथि हुँदैन”, उहाँले भन्नुभयो ।पार्टीको हालै सम्पन्न विधान अधिवेशनले वडा तहसम्म छलफल गरेर सुझावसहित विधानमा परिमार्जन गरिएको बताउनुभयो । अब विधानअनुसार पार्टी सञ्चालनको वातावरण बनाएको नेता पुनले बताउनुभयो ।