वन पैदावार बिक्री विद्युतीय माध्यमबाट सुरु गर्दै बागमती सरकार
काठमाडौँ, १३ साउनः वाग्मती प्रदेश वन तथा वातावरण मन्त्रालयले वन पैदावार बिक्री प्रक्रियामा विद्युतीय प्रणालीको सुरुआत गरेको छ । वाग्मती प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव धीरेन्द्रकुमार प्रधानले काठ दाउरालगायत वन पैदावारको बिक्रीका लागि विद्युतीय माध्यमको प्रयोग सुरु गरिएको जानकारी दिनुभयो ।
विद्युतीय प्रणालीको प्रयोगले लिलाम प्रक्रिया पारदर्शी र विश्वासनीय हुने र राजस्व पनि वृद्धि हुने अपेक्षा गरिएको उहाँको भनाइ छ । “यस कार्यबाट प्रचलित वनसम्वन्धी कानूनमा संशोधनको प्रक्रिया अघि बढनेछ, हाल वन क्षेत्रबाट उत्पादन हुने काठ तथा दाउरालगायतका वन पैदावार सिलवन्दी बोलपत्रको माध्यमबाट लिलाम बढाबढ गरी बिक्री हुँदै आएको छ”, उहाँले भन्नुभयो ।
प्रधानका अनुसार वन क्षेत्रबाट उत्पादन भै व्यापारिक एवं व्यावसायिक प्रयोजनका लागि लिलाम गर्दा विद्युतीय प्रणालीको प्रयोगपछि लिलामी प्रक्रिया पूर्ण प्रतिस्पर्धी हुने तथा विचौलियाको संलग्नतामा कमी हुनेछ । यसका लागि चालु आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन भइसकेको मन्त्रालयले जनाएको छ ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६९ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४६ मा सार्वजनिक खरिदमा विद्युतीय सञ्चार माध्यमको प्रयोगबाट खरिद कारोबार हुनसक्ने कानुनी प्रावधान छ । वन नियमालली, २०७९ को नियम २५ को उपनियम (१) मा व्यापारिक एवं व्यावसायिक प्रयोजनका लागि काठ दाउरा लिलाम गर्दा पूर्ण प्रतिस्पर्धाको आधारमा गर्नुपर्ने र वन नियमालली, २०७९ को नियम २५को उपनियम (१ (क) लिलामको सूचना तत्काल सम्बन्धित कार्यालय, प्रदेश मन्त्रालय र निर्देशनालयको वेबसाइटमा राख्नुपर्ने व्यवस्था छ ।
