`

हेर्नुहोस् पुष २१ गते शनिवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – नयाँ कार्य थालनिको सम्भाबना रहेकोछ । सभासम्मेलन जन्य कार्यमा सामान्य मान सम्मान प्राप्तीको सम्भाबना रहेकोछ । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ ।

बृष राशि – प्रतिश्पर्दा जन्यकार्यमा बिशेष सजग रहनु होला । सामान्य आर्थीक अभावको सम्भाबना रहेकोछ । परिवारका सदस्यहरु बाट टाढा भएको महसुस हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निरासा पुर्ण ब्यतित रहनेछ ।

मीथुन राशि – रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन ।स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँकार्य थालनिको अवसर समेत प्राप्त हुनेछ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ ।

कर्कट राशि – स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनह?को साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन । आम्दानि मध्यम रहने समय रहेकोछ । कार्यक्षेत्रमा शारिरीक आलस्यताले सताउन सक्नेछ ।

सिंह राशि – बल तथा प्रराक्रमका बृद्धिहुने योग रहेकोछ । नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । गरीरहेको कार्यमा ब्यवधान उत्पन्न गराउनेहरुको बृद्धिहुनेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यतिह?ले प्राप्त गर्नेछन । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

कन्या राशि – स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ । बिश्वासिला ब्यतिहरुबाट सामान्य धोका हुन सक्नेछ । बाणीमा मधुरता छाउनाले प्रतिश्पर्दि शुभचिन्तक बन्नेछन । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।

तुला राशि – गरीरहेको कार्यमा सामान्य ढिलाई रहेता पनि कार्य सम्पादित भने रहनेछ । पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ ।

बृश्चिक राशि – स्वास्थमा सामान्य तनाव उत्पन्नहुन सक्नेछ । तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्नेछ । सामान्य यात्राको सम्भाबना रहेकोछ । मित्रजनहरुको साथसहयोग प्राप्त रहनेछ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन ।

धनु राशि – बौधिक ब्यत्तित्वहरुको साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तमरहेकोछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ । आम्दानिका बिभीन्न श्रोतहरु फेला पर्नेछन । खानपानमा साबधानि उत्तम रहनेछ । मित्रजनह?को साथसहयोग प्राप्त रहनेछ । सन्तान शुःख प्राप्त हुनेछ ।

मकर राशि – सामाजिक कार्यमा जुट्नेसमय रहेकोछ । सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ । मान्यजनह?को स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रायोगमा साबधानि अपनाउनु होला । खानपानको क्षेत्रमा सजग रहनु होला ।

कुम्भ राशि – मित्र तथा दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुद्वारा गरीएको कार्य त्रुटिका कारण तपाईलाई सामान्य तनाव आईपर्न सक्नेछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

मिन राशि – खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बाणीका कारण आफन्त जनहरु सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ ।

मुलुकको अर्थतन्त्रमा देखिएका समस्या क्रमशः सुधारोन्मुख छ – अर्थमन्त्री

रामपुर (पाल्पा), २० पुस : अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या क्रमशः सुधारोन्मुख हुँदै गएका बताउनुभएको छ । पाल्पाको रामपुर नगरपालिकामा रहेको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाको २५औँ साधारण तथा रजत जयन्ती समारोह उद्घाटन गर्नुहँुदै अर्थमन्त्रीले विगतको तुलनामा मुलुकको अर्थतन्त्र विस्तारै आफ्नै लयमा फर्किएको बताउनुभयो ।

अर्थतन्त्रलाई अझै चलायमान र सुदृढ बनाउन सकारात्मक सोच र प्रचारप्रसारको आवश्यकता रहेको बताउनुहुँदै उहाँले बचतकर्ताको रकम हिनामिना गर्नेलाई कानुनको ल्याइने बताउनुभयो । देशभरका सहकारीको नियमनका लागि सरकारले छुट्टै नियामक निकाय गठन गर्ने प्रक्रियाअघि बढाएको उहाँले बताउनुभयो । नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको पर्यटन क्षेत्रको प्रवद्र्धन तथा कृषिको आधुनिकीकरणबाटै आर्थिक समृद्धि हासिल हुने उहाँले बताउनुभयो ।

लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै पूर्वी पाल्पाको विकासमा सहकारीले महत्वपूर्ण योगदान गरेको बताउनुभयो । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले पछिल्लो समय सहर बजारका सहकारीमा अनियमितता भएका विवरण बाहिर आए पनि गाउँका सहकारीले नागरिकको जीवनस्तर माथि उकास्न ठूलो टेवा पु¥याएको बताउनुभयो ।

लघुवित्त कार्यक्रममार्फत शेयर सदस्यलाई आयआर्जनमुलक क्षेत्रमा लगानी गरेर कृषि, पशुपक्षीपालन, व्यापार व्यवसायबाट आत्मनिर्भर बनाउन सहकारीले जोड दिएको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटाले बताउनुभयो ।

विसं २०५५ मा खेतको आलीमा गठन भएर मासिक ५० पैसाबाट बचत गर्न थालेको यो सहकारी अहिले पाल्पाकै नमूना सहकारीको रुपमा पहिचान बनाउन सफल भएको छ ।

इन्डोनेसियामा रेल ठोक्किँदा ४ जनाको मृत्यु, ३७ घाइते

इन्डोनेसियाको पश्चिम जाभा प्रान्तमा शुक्रबार बिहान दुईवटा रेल एकापसमा ठोक्किँदा चार जनाको मृत्यु हुनाका साथै अन्य ३७ जना घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यम अन्टाराका अनुसार मारिनेहरूमा रेल चालक दलका चार जना सदस्य, एक जना चालक, एक जना सहायक चालक, एक जना भण्डारी र एक जना सुरक्षा अधिकारी रहेका छन्।

दुईवटा रेलका कुल ४७८ यात्रु दुर्घटनाबाट जोगिएका छन् । घाइतेहरूलाई तुरुन्तै अस्पताल लगिएको सिकालेङ्का जनरल अस्पतालका निर्देशक अक्माद हानापीले पत्रकारहरूलाई जनाकारी दिनु भएको छ ।

घाइते मध्ये २१ जनालाई सामान्य चोटपटक लागेको छ । इन्डोनेसियाको यातायात सुरक्षा समितिले घटनाको अनुसन्धान गर्नेछ ।

म्याग्दीका आयोजनामा भएको ढिलाइप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण

म्याग्दी, २० पुस : म्याग्दीका जनप्रतिनिधिको टोलीले सङ्घीय सरकारमार्फत जिल्लामा सञ्चालित आयोजना निर्माणमा भएको ढिलासुस्तीका विषयमा आज प्रधानमन्त्री र विभागीय मन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई भेटेर म्याग्दीका विकास निर्माण र विविध विषयमा ध्यानाकर्षण गराएको भेटघाटमा सहभागी गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारीले जानकारी दिनुभयो ।

टोलीमा म्याग्दी प्रदेशसभा (२)बाट निर्वाचित गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली, संविधानसभा सदस्य गोविन्द पौडेल, प्रदेश सांसद भण्डारी, बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछाने सहभागी हुनुभएको थियो ।

“सिंहदरबारमा प्रधानमन्त्रीसँग भएको भेटघाटमा म्याग्दीका विकास आयोजना कार्यान्वयनको अवस्था र थप आयोजना, नीति निर्माण र राजनीतिक विषयमा छलफल भयो”, सांसद भण्डारीले भन्नुभयो, “बेनी अस्पतालको भवन, मालढुङ्गा–बेनी, बेनी–जोमसोम सडक, बृहत् पिप्ले–भगवती, घोप्टेखोला खानेपानीलगायत सङ्घीय सरकारमार्फत सञ्चालित योजनामा भएको ढिलाइका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छौँ ।”

प्रधानमन्त्रीले विभागीय मन्त्री र सचिवसँग छलफल गरेर गुनासोको सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । ऊर्जामन्त्री बस्नेतलाई बेनीबजार संरक्षण आयोजनामा थप बजेटको व्यवस्था गर्न, तातोपानी, बगरफाँट, बाबियाचौर, दरवाङलगायत तटीय बस्तीमा नदी नियन्त्रण र सिँचाइ आयोजनाका विषयमा ध्यानाकर्षण गराइएको सांसद भण्डारीले बताउनुभयो ।

टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठलगायत विभिन्न विभागीय मन्त्री र अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाएको छ ।

जलवायु परिवर्तनका असर घटाउन एकीकृत प्रयासमा जोड :मन्त्री गुरुङ

काठमाडौँ, २० पुस : सहरी विकासमन्त्री सीता गुरुङले जलवायु परिवर्तनको असर प्रत्येक व्यक्तिको घरआँगनमै पुगिसकेकाले यसमा सबै गम्भीर हुनुपर्ने बताउनुभएको छ ।वन तथा वातावरण मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले जलवायु परिवर्तनले सबै क्षेत्रमा असर पुर्याएको उल्लेख गर्दै भन्नुभयो, “सबै क्षेत्रले एकीकृत र समन्वयात्मक रूपमा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि आवश्यक कदम चाल्नुपर्छ ।”

मन्त्री गुरुङले कार्बन उत्सर्जनमा नेपालको योगदान नगन्य भए पनि जलवायुका ठूला असरको सामना गरिरहनुपरेको उल्लेख गर्दै जलवायुजन्य हानिनोक्सानी कोषबाट लाभ लिनका आवश्यक तथ्याङ्क र अध्ययन–अनुसन्धानमा जोड दिनुभयो ।

वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले कोप–२८ मा नेपालले उठाएका मुद्दाले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन सफल भएको बताउनुभयो । “आगामी कोप सम्मेलनका लागि पनि समयमै तयारीका साथ प्रस्तुत हुन्छौँ”, उहाँले जलवायु वित्तबाट प्राप्त अनुदान विभिन्न कानुनी प्रक्रियाका कारण सम्बन्धित शीर्षकमा खर्च हुन नसकेकोे चिन्ता व्यक्त गर्दै खर्च गर्न सक्ने कानुन र संयन्त्रको आवश्यकतामा जोड दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जलवायुविज्ञ पपुलर जेन्टलले जलवायु वित्तमा पहुँचका लागि आवाज उठाउनुपर्ने सुझाव दिनुभयो । उहाँले सम्मेलनका लागि अन्तिम समयमा मात्र नभई वर्षभरि नै तयारीमा लागिरहनुपर्ने बताउनुभयो । राष्ट्रसङ्घीय विकास कार्यक्रमका आवासीय प्रतिनिधि आइसानी मेडागानगोडा लावेले हालै दुबइमा सम्पन्न कोप सम्मेलनमा नेपालले आफ्ना मुद्दा सशक्त रूपमा उठाएको बताउनुभयो ।

कोप–२८ सम्मेलनले जीवाष्म इन्धनको युगको अन्त्य, जलवायुजन्य हानिनोक्सानी कोष स्थापना, जलवायु वित्तमा सहयोगलगायत निर्णय गर्नाका साथै पहिलोपटक हिमालमा जलवायु परिवर्तनले असर गरेको विषयलाई विभिन्न दस्तावेजमा स्वीकार गरेको छ ।

भारतीय नौसेनाको युद्धपोत अपहृत जहाजनजिक पुगेर सामुद्रिक लुटेराहरूलाई चेतावनी जारी

भारतीय नौसेनाको युद्धपोत आइएनएस चेन्नाईले शुक्रबार सोमालिया तट नजिक अपहृत एमभी लीला नोरफोकसम्म पुगेर जहाजमा सवार सामुद्रिक लुटेराहरूलाई जहाज छाड्न चेतावनी जारी गरेको छ ।

भारतीय युद्धपोतले आफ्नो हेलिकप्टर पनि उतारेको छ र मरिन कमान्डो अपरेसनका लागि तयार छ । अधिकारीहरूका अनुसार जहाजमा सवार सबै भारतीय चालक दल सुरक्षित छन् । 

यसअघि ब्राजिलको पोर्ट डु एकोबाट प्रस्थान गरेर बहराइनमा खलिफा बिन सलमानका लागि जाँदै गर्दा व्यापारिक जहाज एमभी लीला नोरफोकलाई सोमालियाबाट तीन सय माइल पूर्वमा सामुद्रिक लुटेराहरूले अपहरण गरेको अधिकारीहरूले बताएका थिए । 

युकेएमटिओ पोर्टलमा बिहीबार साँझ करिब पाँचदेखि छ जना अज्ञात सशस्त्र कर्मचारीहरू सवार भएको सन्देश प्राप्त गरेपछि भारतीय नौसेनाको मिसन डिप्लोइड प्लेटफर्मले लाइबेरियाको झन्डा भएको थोक वाहकमा अपहरणको प्रयासलाई तुरुन्तै प्रतिक्रिया दिएको भारतीय नौसेनाले एक विज्ञप्तिमा बताएको छ ।

स्थितिको जवाफमा भारतीय नौसेनाले सामुद्रिक गस्ती विमान (एमपिए) लन्च गर्यो र जहाजको सहयोग गर्न सामुद्रिक सुरक्षा अपरेसनका लागि तैनाथ आइएनएस चेन्नाईलाई डाइभर्ट गर्यो । विमानले शुक्रबार बिहान जहाजमाथिबाट उडान भरेर र चालक दलको सुरक्षा सुनिश्चित गर्दै जहाजसँग सम्पर्क स्थापित गरेको छ । 

विपन्न वर्ग रकमको अभावमा स्वास्थ्योपचारबाट वञ्चित हुनुपर्दैन : मन्त्री बस्नेत

मोरङ, २० पुस : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न वर्ग रकमको अभावमा स्वास्थ्योपचारबाट वञ्चित हुनु नपर्ने बताउनुभएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नेपाल जनसाङ्ख्यिक सर्वेक्षण प्रादेशिक सार्वजनिकीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले विपन्न जनताको उपचारको जिम्मेवारी राज्यको हो भन्नुभयो र उहाँले सामुदायिक वा निजी अस्पताल दर्ता गर्ने समयमा १० प्रतिशत गरिब जनतालाई निःशुल्क शय्यासहितको उपचार उपलब्ध गराउने प्रावधान कडाइका साथ लागू गरिएको बताउनुभयो ।

मन्त्री बस्नेतले चिकित्सा शिक्षा अध्ययनका लागि विदेश जानेले खर्बौ रुपैयाँ लैजाने गरेका बताउँदै स्वदेशमै स्तरीय चिकित्सा शिक्षा अध्यापन गराउने व्यवस्थाका निम्ति चिकित्सा शिक्षा ऐन संशोधन विधेयक संसद्मा पेस भइसकेको बताउनुभयो ।

मन्त्री बस्नेतले प्रस्तावित ऐनमा एक सयदेखि तीन सय शय्याको अस्पतालमा ‘पारा मेडिकल’ र तीन सयदेखि माथिकामा एमबिबीएसको अध्यापनको अनुमति दिने व्यवस्था गरिएको बताउनुभयो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दक्ष चिकित्सकको अभाव हुन नदिन चिकित्सा शिक्षा ऐन संशोधन अपरिहार्य भएको बताउनुभयो । उहाँले कृषि, पशु एवं चिकित्सा शास्त्र अध्ययनका लागि सरकारले बजेटको व्यवस्था गरेको बताउनुभयो ।

भूकम्प प्रभावित क्षेत्र रुकुमपश्चिमा टाइफाइडविरुद्ध एक लाखले पाए खोप

त्रिवेणी (रुकुमपश्चिम), २० पुस : भूकम्प प्रभावित क्षेत्र रुकुमपश्चिमका एक लाख बढी व्यक्तिले दादुरा–रुवेला र टाइफाइडविरुद्धको ‘टिसिभी’ खोप लगाएका छन् ।

जिल्लामा विशेष अभियान चलाएर खोप सञ्चालन गरिएकामा एक लाख चार हजार छ सय सात जनाले खोप लगाएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । खोपको लक्ष्य भने जिल्लामा एक लाख २४ हजार लिइए पनि पूरा भएन ।

यही पुस ५ गतेदेखि सञ्चालन भएको दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान पुस १५ गतेसम्म सञ्चालन भएको थियो । भूकम्प प्रभावित क्षेत्रलाई लक्षित गरेर सञ्चालन गरिएको खोप अभियान जिल्लाका छवटै स्थानीय तहका वडाका विभिन्न ठाउँमा रहेका स्वास्थ्य चौकी तथा सामुदायिक विद्यालयमा सञ्चालन गरिएको स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर कृषा खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाभर छ महिनादेखि १५ वर्षमुनिका ५० हजार तीन सय ७८ बालबालिकाले दादुरा रुवेलाको खोप लगाएका छन् भने १६ देखि ४५ वर्षसम्मका ५४ हजार दुई सय २९ जनाले टाइफाइडविरुद्धको टिसिभी खोप पाएका छन् ।

जिल्लामा दादुरा–रुवेला खोप ४७ हजारको लक्ष्य लिइएकामा लक्ष्यभन्दा बढी अर्थात् एक सय सात प्रतिशत बालबाललिकाले खोप लगाएका हुन् । त्यस्तै टाइफाइडविरुद्धको खोप भने ७६ हजार लक्ष्य रहेकामा लक्ष्यभन्दा कम ७१ प्रतिशत व्यक्तिले खोप लगाएको खोप सुपरभाइजर खड्काले जानकारी दिनुभयो ।

दादुरा–रुबेला र टाइफाइडविरुद्धको खोप अभियान जिल्लाका छवटै पालिकामा स्वास्थ्य शाखाको समन्वयमा खोप अभियान सञ्चालन गरिएको थियो । सोह्रदेखि ४५ वर्ष उमेर समूहका व्यक्ति अध्ययन तथा रोजगारीका लागि जिल्ला बाहिर रेहेकाले पनि टाइफाइडविरुद्धको खोपको लक्ष्य पूरा हुन नसकेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गरेर सरकारले जाजरकोट, रुकुमपश्चिमसहित कर्णालीका सात जिल्लामा खोप अभियान चलाएको थियो ।

एमालेले राष्ट्रियसभा निर्वाचनमा १९ सिटमा उम्मेदवार दिने, छ जनालाई केन्द्रीय सदस्यमा मनोनित

काठमाडौँ – नेकपा (एमाले) ले राष्ट्रियसभामा रिक्त रहेका सबै सिटमा उम्मेदवार दिने भएको छ । लतिलपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले यही पुस २३ गते हुने राष्ट्रियसभाको निर्वाचनमा १९ वटै सिटमा मनोनयन दर्ता गर्ने निर्णय गरेको पार्टी महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो ।

बैठकपछि आज आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले बैठकमा सातवटै प्रदेश कमिटीबाट आएका सिफारिसलाई ‘कलस्टर’ अनुसार प्रारम्भिक छलफल गरिएको बताउनुभयो । एमालेले एक महिलासहित प्रत्येक प्रदेशबाट तीन जनाको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको थियो ।

“सिफारिस भई आएका उम्मेदवारका नाम कलस्टर अन्तर्गत पर्ने/नपर्ने र प्रमाणित हुने/नहुने भन्ने विषय स्पष्ट भएर यही पुस २३ गते हामीले १९ वटै सिटका लागि उम्मेदवारी दर्ताको तयारी गरेका छौँ”, महासचिव पोखरेलले भन्नुभयो ।

छ जनालाई केन्द्रीय सदस्यमा मनोनित

यसैगरी बैठकले छ जनालाई पार्टी केन्द्रीय सदस्यमा मनोनित गरेको छ । प्रदेश अधिवेशनपछि निवर्तमान प्रदेश अध्यक्षलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको महासचिव पोखरेलले जानकारी दिनुभयो ।

महासचिवका अनुसार कोशी प्रदेशका तुलसीप्रसाद न्यौपाने, मधेस प्रदेशको रामअवतार यादव, बागमती प्रदेशबाट केशवराज पाण्डे, कर्णाली प्रदेशको विनोद शाह र सुदूरपश्चि प्रदेशको दामोदर भण्डारीलाई केन्द्रीय कमिटीमा मनोनित गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले लामो समयदेखि पार्टी काममा रहेका झापा जिल्लाका अध्यक्ष दीपक कार्कीलाई पनि केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ । महासचिव पोखरेलले नेपाल–भारत संयुक्त आयोगको बैठकमा भएका सम्झौता विषयमा सरकारले प्रतिपक्षसँग कुनै पनि परामर्श नगरेका चिन्ता व्यक्त गरेको छ ।“भारतसँग के के सम्झौत भए । सत्तापक्षले त्यसको प्रतिपक्षलाई स्पष्ट पारेको छैन”, महासचिवले भन्नुभयो, “भारतसँग के–के विषयमा सम्झौता भएका छन् । ति विषयलाई स्पष्ट पार्न माग गरेका छौँ ।”

इजराइल सीमा हिंसाले लेबनानमा ७६ हजार मानिस विस्थापित– आइओएम

इजराइलसँगको सीममा भएको करिब तीन महिनाको लडाइँमा लेबनानमा ७६ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घीय आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) ले जनाएको छ । अक्टोबरको प्रारम्भमा इजराइल–हमास युद्ध सुरु भएपछि सीमा क्षेत्रमा हिंसा बढेको छ । शुक्रबार इजराइली सेना र प्यालेस्टिनी लडाकू समूहको लेबनानी सहयोगी एवं इरान समर्थित हिजबुल्लाहबीच शुक्रबार पनि गोलाबारी जारी छ ।

बिहीबार प्रकाशित प्रतिवेदनमा आइओएमले हिंसा वृद्धिले मुख्यरूपमा इजराइलको सीमामा रहेको दक्षिणी लेबनानका क्षेत्रबाट ७६ हजार १८ मानिस विस्थापित भएको उल्लेख छ । प्रतिवेदनअनुसार ८० प्रतिशतभन्दा धेरै विस्थापित लेबनानी आफन्तहरूसँग बसिरहेका छन् भने दुई प्रतिशतलाई मुलुकको दक्षिणी भागमा फैलिएको मुख्यरूपमा तटीय सहर टायर र हसबायाका सामूहिक आश्रयस्थलमा राखिएको छ ।

राष्ट्रसङ्घीय एजेन्सीका अनुसार बाँकी विस्थापितले अपार्टमेन्टमा भाडामा लिएका छन् वा सीमाभन्दा टाढाका क्षेत्रमा घरमा सरेका छन् । सीमापार हिंसामा लेबनानमा एक सय ७५ जना मारिएका छन् । मारिनेमा एक सय २९ हिजबुल्लाहका लडाकू र तीन पत्रकारसहित २० भन्दा धेरै सर्वसाधारण रहेका छन् ।

इजराइली अधिकारीहरूका अनुसार उत्तरी इजराइलमा नौ सैनिक र पाँच नागरिक मारिएका छन् । सीमामा इजराइली सेनाविरुद्ध दैनिक कारबाही सञ्चालन गर्ने हिजबुल्लाहले गाजामा उसले हमासको समर्थनमा हस्तक्षेप गरिरहेको बताएको छ ।

हिजबुल्लाहको गढमा मङ्गलबार भएको हमलामा हमासका दुई नम्बरका नेता सालेह अल–अरुरी मारिएपछि तनाव अझ बढेको छ । हिजबुल्लाह नेता हसन नसरल्लाहले इजराइललाई व्यापकरूपमा जिम्मेबार ठहर गरिएको उक्त हत्याका लागि ‘दण्ड नदिने’ चेतावनी दिनुभयो ।

आधिकारिक आँकडाअनुसार अक्टोबर ७ मा इजराइलमाथि हमासको अभूतपूर्व आक्रमणपछि इजराइलले हमासलाई नष्ट गर्ने वाचा गरेको छ । हमासको उक्त आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार एक सय ४० को मृत्यु भएको छ । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजराइलको जवाफी हमलामा अधिकांश महिला तथा बालबालिकासहित २२ हजार चार सय ३८ को मृत्यु भएको छ ।

सन् २०२४ को विश्व आर्थिक वृद्धि सुस्त रहने : संयुक्त राष्ट्रसङ्घीय प्रतिवेदन

सन् २०२४ मा आर्थिक बृद्धि घटेर २.४ प्रतिशत कायम रहने संयुक्त राष्ट्रसङ्घको अवस्था र सम्भावना २०२४ नामक प्रतिवेदनले बिहीबार सार्वजनिक गरेको छ । सन् २०२३ मा विश्व आर्थिक बृद्धि २.७ प्रतिशत रहेका थियो ।

विश्वव्यापी कमजोर व्यापारीक क्रियाकलाप, उच्च सार्वजनिक ऋण, लगातार घट्दो लगानी दर तथा बढ्दो भूराजनीतिक तनावले विश्वव्यापी वृद्धिलाई जोखिममा पारेको प्रतिवेदनले जनाएको छ ।

संयुक्त राज्य अमेरिकामा उच्च ब्याज दर न्युन उपभोक्ता खर्च तथा कमजोर श्रम बजारहरूका कारण सन् २०२४ मा आर्थिक वृद्धि सुस्त हुने अनुमान गरिएको छ ।

विकासोन्मुख देशहरू पूर्वी एसिया, पश्चिमी एसिया, ल्याटिन अमेरिका तथा क्यारेबियाली मुलुकका अल्पकालीन वृद्धि सम्भावनाहरू सङ्कुचित र चुनौतीपूर्ण वित्तीय अवस्था र सुस्त बाह्य मागका कारण कमजोर हुँदै गएका छन् ।

न्यून आय तथा कमजोर अर्थतन्त्रहरूले भुक्तानी सन्तुलनको दबाब र ऋणले जोखिमको सामना गरिरहेका छन् । साना, टापु तथा विकासशील राज्यहरूको आर्थिक सम्भावनामा ऋणको बोझ, उच्च ब्याजदर तथा बढ्दो जलवायु जोखिमले बाधा पर्ने रिपोर्टले जनाएको छ ।

एसियाको सबैभन्दा धनी व्यक्तिमा पुनः भारतका अडानी

बजारमा चलखेल गरेको आरोपमा आफ्नो समूहको सेयर मूल्यमा गिरावट आएको एक वर्षपछि विश्वका अर्बपतिहरूको ब्लुमबर्गको सूचकाङ्कअनुसार भारतका गौतम अडानी शुक्रबार एकपटक पुनः एसियाको सबैभन्दा धनी व्यक्ति बन्नुभएको छ ।

अमेरिकी लगानी अनुसन्धान फर्म हिन्डनबर्ग रिसर्चको प्रतिवेदनपछि अडानी समूहलाई आफ्ना बजार मूल्यभन्दा एक सय ५० अर्ब डलरभन्दा बढी नोक्सान भएको थियो । प्रतिवेदनमा समूहमाथि ‘निर्लज्ज’ कर्पोरेट ठगीको आरोप लगाइएको थियो ।

टेस्लाका संस्थापक एलन मस्कलाई पछि पार्दै विश्वको सबैभन्दा दोस्रो धनी व्यक्ति बन्नुभएका परिवारद्वारा सञ्चालित समूहका संस्थापक गौतम अडानीको व्यक्तिगत सम्पत्ति करिब ८० अर्ब डलरले घटेको थियो । यद्यपि सार्वजनिक छानबिनमा कमी आएपछि अडानी र उहाँको व्यवसाय दुवैले ती घाटामध्ये अधिकांशलाई कम गरेका छन् ।

ब्लुमबर्ग बिलियनर्स इन्डेक्सका अनुसार यस साता अडानीको कूल सम्पत्ति करिब सात अर्ब ७० करोड डलरले बढेर ९७ अर्ब ६० करोड डलरसम्म पुगेको छ । उहाँको सम्पत्ति भारतीय टाइकुन मुकेश अम्बानीभन्दा थोरैले बढी छ । मापनअनुसार यी दुवैजना अहिले विश्वको १२औँ र १३औँ सबैभन्दा धनी व्यक्ति हुनुहुन्छ ।

भारतको सर्वोच्च अदालतले हिन्डनबर्ग आरोपहरूको अनुसन्धानको दायरालाई बढाउन माग गर्ने निवेदनलाई खारेज गरेपछि यस साता सूचीबद्ध अडानी समूहका कम्पनीहरूको सेयर उकालो लागेको छ । अदालतले बजार नियामकहरूले गरेको विद्यमान अनुसन्धान पर्याप्त भएको बताएको छ ।

“सम्माननीय सर्वोच्च अदालतको फैसलाले सत्यको जीत भएको देखाएको छ”, फैसलापछि अडानीले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “म हाम्रो साथमा उभिनेहरूप्रति आभारी छु, भारतको विकास गाथामा हाम्रो विनम्र योगदान जारी रहने छ ।”

अल्पकालीन बिक्रेता घर हिन्डनबर्गले कर्पोरेट गलत कामहरूलाई मात्र नहेरी घट्दो सेयरमा बाजी लगाएर पैसा पनि कमाउँछ । अडानीले गत वर्ष आफ्नो प्रतिवेदनमा ठगीका आरोपहरूलाई अस्वीकार गर्नुभएको थियो । उहाँले अल्पकालीन बिक्रेताहरूको फाइदाका लागि आफ्नो समूहको छविलाई बिगार्ने ‘जानीजानी गरिएको प्रयास’ भन्नुभएको थियो ।

प्रतिवेदनअघि अडानी समूहको सयेर मूल्य तीव्ररूपमा बढेको थियो र समूहको मुख्य सूचीबद्ध एकाइले सन् २०२३ जनवरीसम्म पाँच वर्षमा एक हजार प्रतिशतभन्दा बढी वृद्धि हासिल गरेको थियो । यसबाट समूहको खतरनाक विस्तारलाई आर्थिक सहयोग गरेको थियो ।

समूहको पहुँच अहिले कोइला खानी, नवीकरणीय ऊर्जा, बन्दरगाह, विमानस्थलसहित धेरै प्रमुख क्षेत्रमा विस्तार भएको छ । अडानीलाई गुजरात राज्यका स्थानीयवासी एवं हिन्दू राष्ट्रवादी प्रधानमन्त्री नरेन्द्र मोदीको निकट सहयोगी मानिन्छ । विपक्षी दल तथा अन्य आलोचकहरूले उहाँहरूबीचको सम्बन्धले अडानीलाई अनुचितरूपमा व्यापार जित्ने र उचित निरीक्षणबाट बच्न सहयोग पुगेको बताएका छन् ।

गण्डकी प्रदेशस्तरीय पुरुष भलिबलको उपाधि गलकोटलाई

ढोरपाटन (बागलुङ), २० पुस : सातौँ बागलुङ महोत्सवमा आयोजित गण्डकी प्रदेशभित्रका पालिकास्तरीय खुला भलिबल प्रतियोगिताको उपाधि गलकोट नगरपालिकाले जितेको छ । आज भएको फाइनल खेलमा ताराखोलालाई सोझो सेटमा हराउँदै गलकोटले उपाधि जितेको हो । बिहीबारको सेमिफाइनलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनल प्रवेश गरेको ताराखोला अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा ३–० सेटले गलकोटलाई उपाधि बुझाउन पुग्यो । फाइनल खेलमा गलकोट नगरपालिकाले तीन सेट नै २५–२०, २५–२२ र २५–२२ अन्तरले आफ्नो पोल्टामा पार्यो ।

गलकोट नगरपालिकाले फाइनल प्रवेशका लागि बिहीबार ढोरपाटन नगरपालिकालाई पराजित गरेको थियो । उपाधि विजेता गलकोट नगरपालिकाले रु एक लाख ५१ हजार एक सय ११ पुरस्कार जितेको छ । गलकोटलाई उपाधि बुझाएर दोस्रो स्थानमा चित्त बुझाएको ताराखोला गाउँपालिकाले रु एक लाख एक हजार एक सय ११ पाएको छ ।

आज नै तृतीय स्थानका लागि भएको प्रतिस्पर्धामा ढोरपाटन नगरपालिकाले होटल माउन्टेन भ्यू काठेखोलालाई पराजित गरेको छ । आफूलाई उपाधि दाबेदारका रूपमा प्रस्तुत गर्दै प्रतियोगितामा अगाडि बढेको ढोरपाटन नगरपालिका बिहीबार गलकोट नगरपालिकासँग पराजित हुँदै बाहिरिएको थियो ।

तेस्रो स्थानका लागि भएको खेलमा ढोरपाटनले माउन्टेन भ्यूलाई ३–१ सेटमा पराजित गरेको हो । पहिलो र दोस्रो सेट लगातार जितेको ढोरपाटनले तेस्रो सेट गुमाउँदा चौथो सेट जित्दै तेस्रो स्थान सुरक्षित गरेको हो ।प्रतियोगितामा तृतीय स्थान जोगाएको ढोरपाटनले रु ५१ हजार एक सय ११ र सान्त्वना पुरुस्कार माउन्टेन भ्यूले रु २५ हजार एक सय ११ प्राप्त गरेको भलिबल संयोजक सञ्जय श्रेष्ठले जानकारी दिनुभयो ।

सातौँ बागलुङ महोत्सवकै अवसरमा आयोजना गरिएको खुला महिला भलिबलको उपाधि भने नवमालिकाले जितेको छ । निर्माण व्यवसायी सङ्घ बागलुङ दोस्रो भएको छ । यही पुस ११ गतेदेखि सुरु भएको सातौँ बागलुङ महोत्सवको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको थियो । महोत्सवको शनिबार समापन गरिँदै छ ।

प्रधानमन्त्री कप क्रिकेट : अछामको सान्त्वना जित

बैतडी, २० पुस : प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत इलाइट च्याम्पियनसिपमा अछामले सान्त्वना जित निकालेको छ । सान्त्वना जित निकाल्ने क्रममा अछामले आज खेलेको अन्तिम खेलमा बझाङलाई ५१ रनले हरायो ।

जितका लागि पाएको एक सय ४० रनको लक्ष्य पछ्याएको बझाङ २५ दशमलव दुई ओभरमा ८८ रनमा समेटियो । बझाङका सनम बुढाथोकीले २१, सुशील रावल र अशोक धामीले समान १५–१५ रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । अछामका रोहित खड्काले चार र युवराज खत्रीले तीन विकेट लिए ।

यसअघि फाप्ला मैदानमा आज बिहान ९ बजेदेखि सुरू हुने भनिएको ५० ओभरको खेल बाक्लो हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरु हुँदा ३५ ओभरमा झारिएको थियो । टस जितेर पहिला ब्याटिङ गरेको अछाम २८ दशमलव चार ओभरमा एक सय ३९ रनमा अलआउट भयो । कप्तान राजु रिजालले सर्वाधिक ४९ रनको योगदान गरे । बझाङका भरत चन्द, सुशील रावल र प्रकाश रोकायाले दुई–दुई विकेट लिए ।

अछामका रोहित खड्का म्यान अफ द म्याच चुनिएका स्कोरर नरेन्द्रराज भट्टले जानकारी दिनुभयो । यो जितसँगै अछाम एलाइट च्याम्पियनसिपमै सुरक्षित रहेको छ । प्रतियोगिताका सबै खेल हारेको बझाङले भने पुनः प्लेट च्याम्पियनसिप तथा क्वालिफायर खेल्नु पर्नेछ ।

प्रतियोगिताअन्तर्गत शनिवार बैतडी र कञ्चनपुरले प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा यही पुस १४ गतेदेखि सुरू भएको प्रतियोगिता पुस २४ गते सम्पन्न हुनेछ ।

‘मुलुकको सङ्कट समाधान गर्न सैद्धान्तिक कार्यदिशा प्रष्ट हुनुपर्छ’- माधव नेपाल

काठमाडौँ, २० पुस : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको सङ्कट समाधान गर्न राष्ट्रिय पार्टीको सैद्धान्तिक कार्यदिशा प्रष्ट हुनुपर्ने बताउनुभएको छ ।

नेकपा(एस)को काठमाडौँ महानगर कमिटीद्वारा केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले वैचारिक तथा सैद्धान्तिक कार्यदिशाका हिसाबले देशको वर्तमान सङ्कट समाधानको स्पष्ट बाटो लिएको राजनीतिक शक्ति आफू नेतृत्वको पार्टी भएको दाबी गर्नुभयो ।

सो अवसरमा अध्यक्ष नेपालले बझाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भानुभक्त जोशीलाई त्यहाँका जनताका लागि सङ्कलन गरिएको राहत सामग्री हस्तान्तरण गर्नुभयो । बझाङको पाथिभरा गाउँपालिका–१ को मटेला बगडेगाउँका दलित, महिला, एकल महिला र ओझा समुदायका लागि राहत सामग्री उपलब्ध गराइएको हो ।

राष्ट्रिय एकता दिवस विविध कार्यक्रमका साथ मनाइँदै

काठमाडौँ, २० पुस: नेपाली सेनाको अगुवाइमा यो वर्ष ३०२ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ ।

नेपाली सेनाले भोलि शनिबार गोरखा दरबारबाट श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको फौजले नेपाल एकीकरणको दौरान प्रयोग गरेको मार्ग हुँदै पदयात्रा गर्दैछ । पदयात्रा धादिङ तथा नुवाकोट हुँदै काठमाडौँ आइ नगर परिक्रमापछि पुस २७ गते जङ्गी अड्डामा आयोजना गरिने विशेष कार्यक्रमका बिच श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण तथा सलामी अर्पणपछि समापन हुने सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

पदयात्रामा सहभागी फौजले नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनाका आरम्भकालीन पाँच कम्पनी श्रीनाथ, पुरानो गोरख, कालीबक्स, बर्दवाणी र सबुजको झण्डा तथा दिपज्योतिसहित ऐतिहासिक सैनिक पोशाक लगाएर र परम्परागत बाजा बजाउने छ ।

राष्ट्रिय एकता दिवसका अवसरमा पुस २७ गते जङ्गी अड्डास्थित सभामण्डपमा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको दिव्योपदेशसम्बन्धी प्रवचन, लघु नाटक प्रदर्शन, कविता प्रतियोगिता आयोजना गरिने छ । यसैगरी देशभर र विदेशमा तैनाथ नेपाली सेनाका विभिन्न एकाइमा पनि विविध कार्यक्रम आयोजना गरिने उक्त निर्देशनालयले आज एक विज्ञप्ति निकालेर बताएको छ ।

विद्यालय शिक्षासम्बन्धी विधेयकमा विभिन्न सङ्गठनको सुझाव

काठमाडौँ, २० पुस : प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पेन्सनपीडित शिक्षक सङ्गठन र नेपाल राहत शिक्षक सङ्गठनलगायतसँग विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल गरी सुझाव लिएको छ ।

समितिको आजको बैठकमा नेपाल राहत शिक्षक सङ्गठन केन्द्रीय समितिका पदाधिकारीले गत असोजमा सरकारसँग भएको सम्झौता कार्यान्वयन तथा आफूहरूको मागको मर्म र भावनाविपरीत विधेयकमाथि व्यापक संशोधन तथा सुधारको खाँचो आँैल्याउनुभयो ।

विसं २०४७ देखि २०७२ सम्म शिक्षक नियुक्ति र छनोटसम्बन्धी भएका अभ्यासविपरीत रहेकाले धेरै कुरा संशोधन तथा परिमार्जन आवश्यक रहेको उहाँहरुले बताउनुभयो । सङ्गठनका अध्यक्ष खेमराज अधिकारीले भन्नुभयो, “हामी पढाउँछौँ, राजनीतिक गर्दैनौँ भन्दा पनि किन विभेद गर्न खोजिएको हो ।” महासचिव कुमार बजगाईँ र उपमहासचिव डम्बर राईले विगतमा एक वर्ष योगदान गरेकालाई पनि स्वतः स्थायी गरेको उदाहरण रहेको तथा अब राज्यले अस्थायी शिक्षक राख्ने प्रवृत्ति अन्त्य गर्न सुझाव दिनुभयो ।

पेन्सनपीडित शिक्षक सङ्गठनका अध्यक्ष अमृत कार्कीले आफ्नो भविष्य सुरक्षित नदेख्ने शिक्षकले कसरी विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ला भनी प्रश्न गर्नुभयो । राज्यबाट प्राप्त गर्ने सेवा सुविधाबारे कर्मचारीतन्त्र र शिक्षकबीच द्वन्द्वको अवस्था अन्त्य गर्न आवश्यक रहेको जनाउँदै उहाँले पेन्सनसम्बन्धी नयाँ अवधारणा आउनुअघि नियुक्ति भएका सबैलाई पेन्सन सुविधा दिइनुपर्ने बताउनुभयो ।

सोही सङ्गठनका सुदीप जोशीले राज्यले समयमै परीक्षा नलिएका कारण लामो समयसम्म अस्थायी बस्नुपरेको घटना सुनाउँदै पुरानै शिक्षा ऐनअनुसारको सेवा सुविधा प्राप्त गर्ने व्यवस्थाका लागि समितिको निर्णायक पहल आवश्यक रहेको धारणा राख्नुभयो ।

बनेपास्थित हिमालय माविका प्रधानाध्यापक ध्रुव भट्टराईले भन्नुभयो, “शिक्षकको इज्जत र मर्यादा नभएसम्म मुलुक बन्नै सक्दैन, हामीले पढाएका व्यक्ति सांसद र मन्त्री हुनुहुन्छ, हामीमा के कमी देखियो र सेवा सुविधा नदिइने भनिएको हो ।”

‘शिक्षाको गुणस्तर सुधार्न सरकार प्रतिबद्ध छ’- मुख्यमन्त्री पाण्डे

दमौली, २० पुस : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिक्षाको गुणस्तर सुधार गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित पुर्कोट माध्यमिक विद्यालयको आज आयोजित शतवार्षिकोत्सव कार्यक्रममा उहाँले व्यावसायिक शिक्षा प्रदान गर्ने सवालमा सरकार दृढ रहेको बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “शिक्षा क्षेत्रको गुणस्तर कसरी सुधार्न सकिन्छ भन्ने सवालमा प्रदेश सरकार कार्ययोजनासहित अगाडि बढेको छ । नीति तथा कार्यक्रममा पनि बिग स्कुल, लिड स्कुल र रेसिडेन्टल स्कुलको अवधारणा ल्याएको छ ।” उहाँले गण्डकी प्रदेशमा सिफारिस भई आएका शिक्षकलाई सेवाकालीन तालिम सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री पाण्डेले शिक्षाको अधिकार कुन तहको सरकारको हो भन्ने प्रष्ट नहुँदा समस्या भइरहेको उल्लेख सङ्घीय सरकारले शिक्षा ऐन नबनाउँदा शिक्षा क्षेत्रमा धेरै काम गर्न नसकिएको जिकिर गर्नुभयो । उहाँले एक सय वर्ष अगाडि यस क्षेत्रमा विद्यालय स्थापना गरेर नागरिकलाई शिक्षा प्रदान गर्ने सवालमा अग्रजहरूले खेलेको भूमिकाप्रति सराहना गर्नुभयो । गाउँमा विद्यार्थी सङ्ख्या घट्दै जाने कारणले समस्या भएको बताउँदै उहाँले गाउँमै रोजगारी र आम्दानी वृद्धि गर्न सकिए नागरिक गाउँमै बस्ने अवस्था आउने उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “गाउँका विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दो छ । गाउँबाट सहर पस्ने क्रम बढेकाले गाउँमै टिकाइराख्न चुनौती छ । गाउँमा नै मानिसलाई टिकाउने गरी रोजगारीको सिर्जना गर्ने खालका कार्यक्रम सञ्चालन गर्नुपर्नेछ ।”

भारतीय विदेशमन्त्री जयशङ्करको नेपाल भ्रमण : द्विपक्षीय हितमा केन्द्रित

काठमाडौँ, २० पुस : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा दुईदिने नेपालको औपचारिक भ्रमणमा आउनुभएका भारतीय विदेशमन्त्री डा एस जयशङ्कर भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । भ्रमणका क्रममा महत्वपूर्ण विभिन्न द्विपक्षीय सहमतिपत्र/समझदारीपत्रको आदानप्रदान भएको छ ।

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन उहाँ बिहीबार नेपाल आउनुभएको हो । बैठकमा विकास साझेदारीसहित द्विपक्षीय सहकार्यका सबै पक्षमाथि समीक्षा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । संयुक्त आयोगको बैठकपश्चात् भारतीय विदेशमन्त्री र नेपालका परराष्ट्रमन्त्रीको उपस्थितिमा दुई पक्षबीच विभिन्न सहमतिपत्र÷समझदारीपत्रको आदानप्रदान भएको थियो ।

बैठकमा सन् २०२१ को जनवरीमा सम्पन्न भारत-नेपाल संयुक्त आयोगका छैटाँै बैठकपछि द्विपक्षीय सहकार्यका सबै क्षेत्रमा हासिल उपलब्धिहरुको प्रशंसा गरिएको थियो । बैठकमा नेपालमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनका लागि भारत र नेपालबीच नयाँ सहमति कायम भएको छ । नयाँ सम्झौतामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनका लागि बजेटको सीमा रु पाँच करोडबाट बढाएर रु २० करोड पु¥याइएको छ ।

त्यस्तै दीर्घकालीन ऊर्जा व्यापारका लागि भारत सरकार र नेपाल सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताअन्तर्गत आगामी दश वर्षमा नेपालबाट भारततर्फ हुने विद्युत् निर्यातको परिमाण १० हजार मेगावाटसम्म पु¥याइने छ । यसका लागि नेपालको जलविद्युत् उत्पादन क्षेत्र र प्रसारण पूर्वाधारमा पारस्परिक लाभदायी लगानीलाई प्रोत्साहन गर्न सबै उपायहरु अपनाउनेमा दुवै पक्ष सहमत भएका छन् ।

यसैगरी, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा निर्मित मुनाल स्याटेलाइटका लागि न्यूस्पेस इन्डिया लिमिटेड र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानबीच प्रक्षेपण सेवा सम्झौता भएको छ । नेपाली विद्यार्थीले बनाएको यो स्याटेलाइट बिना शुल्क भारतीय प्रक्षेपण रकेटबाट प्रक्षेपण गरिने छ ।

भारतको एनटिपिसी लिमिटेड र नेपाल विद्युत् प्राधिकरणबीच नवीकरणीय ऊर्जा विकासमा सहकार्यका लागि एक समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ । यस समझदारीपत्रले एनटिपिसी लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच नवीकरणीय ऊर्जामा सहकार्यका लागि खाका तयार पार्नेछ ।

सोही अवसरमा दुवै विदेशमन्त्रीले रक्सौल–परवानीपुर प्रसारण लाइनको दोस्रो सर्किट, कटैया–कुशाहा लाइनको दोस्रो सर्किट र नयाँ नौतनवा–मैनहिया लाइन गरी भारत र नेपालबीच रहेको तीनवटा एक सय ३२ केभी अन्तरदेशीय प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

त्यस्तै, दुवै मन्त्रीको उपस्थितिमा जाजरकोटका भूकम्पपीडितका लागि भारत सरकारले उपलब्ध गराएको पाँचौँ चरणको राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । उक्त राहत सामग्रीमा भूकम्पबाट प्रभावित मानिसका लागि दुई सय प्रिफ्याब घरहरु, एक हजार दुई सय ब्ल्याङ्केट, एक सय ५० वटा त्रिपाल र दुई हजार स्लिपिङ ब्याग छन् । दुई सयवटा प्रिफ्याब घरमध्ये २० वटा घर कार्यक्रममा हस्तान्तरण गरिएको थियो भने बाँकी घर आउँदो केही साताभित्र विभिन्न चरणमा हस्तान्तरण गरिने छन् ।

साथै, जाजरकोटमा हालै गएको भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्न भारत सरकारले करिब रु १० अर्ब आर्थिक सहयोग उपलब्ध गराउने भारतीय विदेशमन्त्रीले घोषणा गर्नुभएको थियो । त्यसमध्ये ठूलो हिस्सा अनुदान सहायताअन्तर्गत रहनेछ ।

भ्रमणका क्रममा भारतीय विदेशमन्त्री डा जयशङ्करले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । साथै उहाँले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग पनि छुट्टाछट्टै भेटवार्ता गर्नुभएको थियो । विदेशमन्त्री डा जयशङ्कर र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतबीच पनि भेटवार्ता भएको थियो ।

सबै भेटघाटमा पारस्परिक हितका द्विपक्षीय विषयमा कुराकानी भएको नेपालस्थित भारतीय दूतवासले जनाएको छ । परराष्ट्रमन्त्री साउदले विदेशमन्त्री डा जयशङ्करको सम्मानमा हिजो रात्रिभोजको पनि आयोजना गर्नुभएको थियो ।

भ्रमणको दोस्रो दिन दुवै विदेशमन्त्रीले भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको नयाँ भवनसहित शिक्षा, स्वास्थ्य र सांस्कृतिक क्षेत्रमा भूकम्पपछिका ५९ वटा पुनःनिर्माण परियोजनाको संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

भ्रमणका क्रममा विदेशमन्त्री डा एस जयशङ्करले पशुपतिनाथ मन्दिरमा पूजा गर्नुका साथै पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरुवा रोप्नुभएको थियो । ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार हो । दुई घनिष्ठ र मित्रवत् छिमेकीबीच उच्चस्तरीय आदानप्रदानको परम्परालाई ध्यानमा राख्दै यो भ्रमण भएको भारतीय पक्षले जनाएको छ ।

३० कर्मचारी हुनुपर्ने अदालतमा २० कर्मचारी हुँदा सेवा प्रवाहमा समस्या

लमजुङ, २० पुस : बेँसीसहर नगरपालिका–८ स्थित जिल्ला अदालतमा दरबन्दीअनुसार कर्मचारी अभावमा दैनिक सेवा प्रवाहमा समस्या हुँदै आएको छ । दरबन्दीअनुसार ३० कर्मचारी हुनुपर्ने सो अदालतमा २० कर्मचारी हुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको हो ।

जिल्ला अदालतका श्रेस्तेदार भेषराज पौडेलका अनुसार विभिन्न पदका १० कर्मचारी एक वर्षदेखि छैनन् । डिठ्ठा र तामेलदार पदमा छ–छ जनाको दरबन्दी भए पनि हाल तीन–तीन जनामात्र छन् । पाँच जनाको दरबन्दी रहेको नायबसुब्बामा हाल तीनमात्र छन् भने अन्य एक कर्मचारी छैनन् ।

केही महिनाअघिसम्म पाँच नायबसुब्बा रहेपनि दुई जनालाई र अर्का एक कम्प्युटर अपरेटरलाई पनि सर्वोच्च अदालतमा तानेपछि ती पद रिक्त रहेका छन् । अर्का एक लेखापाल पोखरा सरुवा भएकाले सो पद पनि खाली छ ।

दरबन्दीअनुसार कर्मचारी नहुँदा ४ बजे कार्यालय बन्द हुने भए पनि बेलुका ६ बजेसम्म पनि बसेर काम गर्नुपर्ने, ठगी मुद्दा धेरै भएकाले हेर्न समस्या भएको, तत्काल सक्नुपर्ने काममा ढिलाइ भएको र मुद्दा फैसलामा पनि ढिलाइ भएको उहाँको भनाइ थियो ।

कामको भार बढेकाले आजको काम भोलि र भोलिको काम पर्सि गर्नुपर्दा सेवा प्रवाहमा समस्या भएकाले सर्वोच्च अदालत र लोकसेवा आयोगको कार्यालयमा अवश्यक कर्मचारी उपलब्ध गराउन पत्र पठाए पनि कुनै सम्बोधन नभएको श्रेस्तेदार पौडेलले बताउनुभयो ।

सर्लाहीको बरहथवामा युवकको मृत्यु भएपछि भोलि बिहानसम्म निषेधाज्ञा

मलङ्गवा, २० पुस : बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई लिएर राजनीतिक दलबीच भएको विवाद विरोधप्रदर्शनमा परिणत हुँदा बरहथवा–६ का ३० वर्षीय जयशङ्कर साहको मृत्यु भएको छ । प्रदर्शनकारीले बरहथवा नगरपालिका प्रमुख कल्पना कटुवालको निवास तथा नगरपालिकामा ढुङ्गामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो ।

जिल्लामा शान्तिसुव्यवस्थाको स्थिति बिग्रदै गएपछि स्थानीय प्रशासनले बरहथवामा निषेधाज्ञा जारी गरेको छ । आज अपराह्न ५ः३० बजेदेखि लागु गरिएको निषेधाज्ञा भोली बिहान ८ः०० बजेसम्म जारी हुने जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरेर जनाएको छ ।

बरहथवा नगरपालिका–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, बहुजन र जनमत पार्टीले प्रदर्शन गर्दा स्थिति तनावपूर्ण बनेको हो ।

बरहथवा नगरपालिकाको नगर कार्यपालिकाको बैठकले केही समयअघि प्राथमिक स्वास्थ्य केन्द्र बरहथवालाई स्तरोन्नति गरी ५० बेडको अस्पतालमा रूपान्तरण गर्न प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । अहिले सोही निर्णयबाट नगरप्रमुख कटुवालसहित बहुमत सदस्य पछि हटेका कारण नेपाली कांग्रेसलगायत दलका जनप्रतिनिधि निर्णय कार्यान्वयन हुनुपर्ने अडान नछाडेपछि आन्दोलन चर्किएको हो ।

जितगढीलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न राष्ट्रपतिको सुझाव

लुम्बिनी, २० पुस : राष्ट्रपति रामचन्द्र पौडेलले जितगढीलाई बृहत् बुटवलको पर्यटकीय केन्द्रका रूपमा विकास गनुपर्नेमा जोड दिनुभएको छ । उहाँले जितगढी एउटा महत्त्वपूर्ण नेपाली वीरताको ऐतिहासिक केन्द्रका रूपमा रहेकाले यस वरपरका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वका क्षेत्रलाई एउटै सर्किटमा जोड्न जरुरी रहेको बताउनुभएको छ ।

बुटवल उपमहानगरपालिका–१ स्थित ऐतिहासिक जितगढी किल्ला नेपाली सेनाले आज बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्न आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले जितगढीलाई मणिमुकुन्दसेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोड्न सके यसले देशको पर्यटन विकासमा योगदान पुग्ने बताउनुभयो ।

राष्ट्रपति पौडेलले जितगढी राष्ट्रिय स्वाभिमान र पहिचानको महत्त्वपूर्णस्थल भएको र किल्लाको समयानुकूल प्रचारप्रसार र प्रवर्द्धन गर्दै पर्यटकीयस्थल बनाउन बुटवल उपमहानगरपालिकाले योजना अगाडि बढाएकामा खुसी व्यक्त गर्नुभयो । “यसका लागि अब बुटवल उपमहानगरपालिकाले विशेष भूमिका निर्वाह गर्ने मैले विश्वास लिएको छु”, उहाँले भन्नुभयो, नेपाली सेनाले तीनवटै तहका सरकारसँग मिलेर जितगढी पु्नःनिर्माणसम्बन्धी गुरुयोजनाअनुसार काम गरिरहेकोमा खुसी व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले आगामी दिनमा यो किल्लालाई नेपाल–अङ्ग्रेज युद्धको अध्ययन–अनुसन्धान गर्ने र पर्यटकीयस्थलका रूपमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “बुटवल उपमहानगरपालिका, प्रदेश तथा सङ्घीय सरकारलाई यस्ता ऐतिहासिक र सामरिक महत्वका स्थलको संरक्षण र प्रवर्दनमा ध्यान दिन आग्रह गर्दछु ।”

नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको रक्षा गर्दै आएको राष्ट्रपति पौडेलले बताउनुभयो । “नेपाल र नेपालीको सुरक्षा, प्रकृति संरक्षण, राष्ट्रनिर्माण, विपद् व्यवस्थापन तथा नागरिकको सहयोगलगायत कार्य नेपाली सेनाले गर्दै आएको छ”, उहाँले भन्नुभयो ।

राष्ट्रपति पौडेलले बुटवललाई आर्थिक केन्द्रका रूपमा विकास गर्ने र बुटवलसहितका नगरलाई जोडेर बृहत् सहर बनाउने जनप्रतिनिधिको चाहना पूरा होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । किल्लाको पुनःनिर्माणपश्चात् नेपाली सेनाले हस्तान्तरण गरिसकेपछि अब यो किल्लाको संरक्षण र प्रवर्द्धनमा बुटवल उपमहानगरपालिकाले संरक्षण गन अपेक्षा गरेको राष्ट्रपति पौडेल बताउनुभयो ।

प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई जितगढी किल्लाको साँचो हस्तान्तरण गर्नुभएको थियो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जितगढी किल्ला र आसपासका क्षेत्र समेटेर पर्यटीकयस्थलको प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो । उहाँले सङ्घले आवश्यक कानुन र अधिकार प्रदेशलाई नदिँदा समस्या भइरहेको बताउनुभयो । मुख्यमन्त्री चौधरीले सङ्घीयताको रक्षा र प्राप्त उपलब्धिको रक्षाका लागि संविधान कार्यान्वयनका लागि केन्द्रीय सरकारको ध्यानाकर्षण गराउन राष्ट्रपतिलाई अनुरोध गर्नुभयो ।

नगरप्रमुख खेलराज पाण्डेयले उजिरसिंह थापाको योगदानको कदर गर्दै राष्ट्रिय विभूति घोषणा गर्न र पूणर्कदको फोटोसहित ऐतिहासिक जितगढीको फोटो अ¬ङ्कित हुलाक टिकट जारी गर्न केन्द्र सरकारसँग माग गर्नुभयो ।

उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई आर्थिक केन्द्रका साथै पर्यटकीय विश्रामस्थल बनाउने योजना रहेको बताउनुभयो । जितगढीको ऐतिहासिक महत्वबारेमा इतिहासविद् निर्मल श्रेष्ठले बुटवलको जितगढी किल्ला र पाल्पाको भगवती जात्रालाई जोडेर पर्यटकीयस्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
–––

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार क्षेत्र विस्तार

काठमाडौँ, २० पुस : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार जाँच क्षेत्र विस्तार गरिएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार विगतमा साँघुरो भई भीडभाड हुने उक्त क्षेत्र विस्तारसँगै यात्रुलाई सहज हुने भएको छ । “अन्तर्राष्ट्रिय टर्मिनलको आगमन भन्सार क्षेत्र साँघुरो भई यात्रुलाई असहज भइरहेकामा सो क्षेत्रको विस्तार भएको छ, प्रस्थानको ‘चेक इन’ क्षेत्रसमेत विस्तार गर्न लागिएको छ”, महाप्रबन्धक तिवारीले भन्नुभयो ।

आन्तरिक आगमनतर्फ एक मात्र ‘ब्यागेज बेल्ट’ रहेकामा छुट्टै दुई बेल्टसहित फराकिलो आगमन टर्मिनल निर्माण सम्पन्नको अन्तिम चरणमा रहेको विमानस्थल कार्यालयले जनाएको छ । योसँगै अन्तर्राष्ट्रिय टर्मिनल भवनको चेक इन क्षेत्र विस्तारको कार्य अघि बढाइने महाप्रबन्धक तिवारीले जानकारी दिनुभयो ।

विमानस्थलको धावनमार्गबाट जहाज बाहिर गई जहाजको ल्याण्डिङ गियर÷चक्का धसिएर वा क्षति भई जहाज चल्न नसक्ने ‘डिसेबल’ भएको अवस्थामा जहाजलाई यथासक्य छिटो कम क्षति हुने गरी तानेर धावमार्गको अवरोध हटाई अपरेसन सञ्चालन गर्न आवश्यक कम्तीमा पनि न्यूनतम उपकरणको व्यवस्था गर्न लागिएको छ ।

कार्यालयसँग हुनुपर्ने आवश्यकता विगतको घटना (टर्किसलगायत आन्तरिक जहाजको घटना) ले दिलाएकाले अन्तर्राष्ट्रिय विमानस्थलमा ‘डिसेबल एयरक्रफ्त रिकोभरी किट्स’ को व्यवस्था गरिएको विमानस्थलले जनाएको छ ।

त्यस्तै आन्तरिक सवारी पाकिङ क्षेत्र र एक्सेस रोडको विस्तार सम्पन्न भएको छ । यसले पार्किङ क्षमता बढ्ने र यात्रु छाड्नमात्र आउनेका लागि पार्किङमा जान नपर्ने गरी निःशुल्क ‘ड्रप्प’ मात्रको पनि सुविधा प्राप्त हुनेछ ।

भरतपुर विद्युत् वितरण केन्द्र आँपटारी ‘सवस्टेसन’मार्फत तनहुँको पाँच गाउँमा विद्युत् सेवा विस्तार

दमौली (तनहुँ), २० पुस : तनहुँको देवघाट गाउँपालिका–४ को पाँच गाउँमा विद्युत् विस्तार भएको छ । हालसम्म विद्युत् पहुँच नपुगेको उक्त वडाको ढुङ्गाघारी, बसेनी, काफलस्वाँरा, बापस र डुडेबासपानीमा विद्युत् विस्तार भएको हो ।

भरतपुर विद्युत् वितरण केन्द्र आँपटारी ‘सवस्टेसन’मार्फत ती गाउँका एक सय ३० घरमा बिजुली बलेको देवघाट–४ वडाध्यक्ष मित्रलाल गुरुङले जानकारी दिनुभयो । बिजुलीका लागि मिटरबक्स र प्राविधिक भने तनहुँको आँबुखैरेनी सवस्टेसनले उपलब्ध गराएका थियो । नेपाल विद्युत् प्राधिकरण आँबु उपवितरण केन्द्रका प्रमुख राजवीर यादवको उपस्थितिमा ती घरधुरीमा विद्युत् आपूर्ति सुचारु भएको छ ।

वडाध्यक्ष गुरुङका अनुसार केही दिनभित्रै सोही वडाको चारघरेमा एक सय केभीएको ट्रान्सफर्मर जडान गरिनेछ । यसबाट पारलाझ्ग, चारघरे, साराङघाट, भुवनबस्ती र अग्रीडाँडामा विद्युत् विस्तारका लागि सहयोग हुनेछ । हालसम्म टुकी र सोलारको भरमा उज्ज्यालोको सहारा लिँदै आएका स्थानीयवासी विद्युत् पुगेपछि खुसी भएका छन् । गत वर्षको स्थानीय तह निर्वाचन अगाडि आमडाँडा, गाईघाट, आइलिम, सिन्चाङ, खोडेमोहोरिया र दुईघरेमा मात्रै विद्युत् पुगेको थियो ।

करिब चार÷पाँच वर्षअघि नै उक्त गाउँमा बिजुली जडानका लागि ठेक्का सम्झौता
भए पनि ठेकेदारको लापर्वाहीको कारण बीचमा काम रोखिएको थियो । उहाँले भन्नुभयो, “म वडामा निर्वाचित भएर आएपछि रोकिएको विद्युतीकरणको कामलाई अगाडि बढाउन पहल गरेको हुँ । त्यसैको प्रतिफलस्वरुप गाउँमा पहिलोपटक बिजुली बत्ती बलेको छ ।”

उहाँका अनुसार यहाँ धेरै वर्ष पहिला बत्ती बल्नुपर्ने हो तर स्थानीय सरकारको उदासिनता र ठेकेदारको ढिलासुस्तीले कामले गति लिन सकेको थिएन । बिजुलीको अभावमा अहिलेसम्म वडा कार्यालय सिन्चाङमा स्वास्थ्यचौकीको भवनबाट सञ्चालन हुँदै आएकामा अब चाँडै काफलडाँडामा निर्मित आफ्नै भवनबाट सेवा प्रवाह गरिने उहाँले बताउनुभयो । वडा कार्यालयको भवन निर्माण भइसकेको र त्यसमा बिजुली बत्ती पनि जडान भइसकेकाले अब चाँडै इन्टरनेटसमेत जडान गरेर उक्तभवनबाट सेवा सुरु गर्ने तयारी गरिएको छ ।

त्रिवि केन्द्रीय पुस्तकालयको नयाँ भवन उद्घाटन आज, भारतीय विदेशमन्त्रीले शुभारम्भ गर्ने

कीर्तिपुर, २० पुस स् त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालयको नयाँ भवन आज उद्घाटन हुँदैछ । नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशमन्त्री एस जयशङ्करले त्रिवि परिसरमा हुने कार्यक्रमका नयाँ भवनको शुभारम्भ गर्नुहुने जनाइएको छ । 

 भारतीय सहयोगमा निर्मित तीन तले पुस्तकालय भवनमा दुई हजार विद्यार्थीले अध्ययन गर्न सक्ने छन् ।   त्रिवि केन्द्रीय पुस्तकालयका कार्यकारी निर्देशक  सागरराज सुवेदीका  अनुसार तीन तल्ला नयाँ भवन अपाङ्गमैत्री तथा लिफ्टलगायतका सुविधासमेत छन् ।  नयाँ भवन पाएसँगै पुस्तकालयमा किताब जारी गर्न र फिर्ता भएको पुस्तकको अभिलेख राख्ने विशेष प्रणाली आरएफ आइडी ९रेडियो फ्रिक्वेन्सी आइडेन्टीफिकेसन सिस्टम०समेत जडान हुनेछ । पुस्तकालय कूल सात हजार आठ सय वर्गफिट फराकिलो रहेको जानकारी पनि उहाँले दिनुभयो ।  विसं२०७७ मा पुस्तकालय भवन निर्माण सुरुआत भएको थियो  । पुस्तकालयमा भारतीय पुस्तकको छुट्टै कोठासमेत रहने छ । यसबाहेक पुस्तकालयमा ५० वटाभन्दा बढी सङ्ख्यामा कम्प्युटरसमेत अध्ययनकर्तालाई उपयोग गर्न दिइने जनाइएको छ । 

म्याग्दीका किसान परम्परागत बाली छोडेर आलु खेतीतर्फ आकर्षित भए

गलेश्वर (म्याग्दी), २० पुस : म्याग्दीका किसान पछिल्लो समय परम्परागत बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका छन् । गहुँ, जौ, उवा, फापर खेती गर्ने किसान पछिल्लो समय ती बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका हुन् ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट, २ रुम, ६ दरवाङ,७ विम, मङ्गला गाउँपालिकाको रणबाङ, अर्मन, नेटालगायत धौलागिरि गाउँपालिकाको अधिकांश वडाका कृषक परम्परागत अन्नबाली छोडेर आलुखेतीतिर लागेका स्थानीय गाउँपालिकाका कृषि प्राविधिकको भनाइरहेको छ । मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले किसानले उत्पादन गरेको आलु बजारमा सहजरुपमा बिक्री हुन थालेपछि नगदेबालीको रुपमा आलुलगायत तरकारी खेतीतर्फ किसानको आकर्षण बढेको बताउनुभयो ।

उच्च वातावरणमा उब्जेको जैविक आलु स्वादिलो र छिटो पाक्ने भएकाले यसको माग बढ्दै गएपछि यहाँका किसान आलुखेतीतर्फ आकिर्षत भएका मालिका –६ का वडाध्यक्ष पथबहादुर रोकाले बताउनुभयो । आलु जति फलाए पनि बिक्रीका लागि चिन्ता नभएको उहाँले बताउनुभयो । आलु फलाएपछि मौसमीभन्दा बेमौसमीमा यसको भाउ धेरै पाइने मालिका–२ रुमका किसान टेकबहादुर विकले बताउनुभयो ।

म्याग्दीमा आलु मौसमको प्रतिकिलो रु ६० देखि ९० सम्ममा बिक्री हुन्छ भने बेमौसममा रु एक सयदेखि एक सय ४० सम्ममा बिक्री गर्न सकिने किसान बताउँछन् । यस्तै आलु उत्पादक किसानका लागि भण्डारण, बजारीकरण र नयाँ प्रविधि विस्तारमा स्थानीय पालिका र कृषि ज्ञान केन्द्रले सहयोग गर्न आवश्यक रहेको यहाँका किसानको भनाइ रहेको छ ।

आलुमा देखियो डडुवा रोग

म्याग्दीमा आलु खेतीमा डडुवाको रोगको समस्या फैलिएको छ । यहाँका अधिकांश क्षेत्रमा लगाइएको आलुमा डडुवाको समस्या देखिएको हो । डडुवाले किसानको आलु सखाप भएपछि अहिले किसान चिन्तित छन् । कात्तिक महिनामा लगाइएको आलुमा पुस महिनामै डडुवा लागेर सखाप भएपछि आलु उत्पादन घट्ने भएको छ ।

व्यावसायिक रुपमा आलु खेती गर्दै आएका बेनी नगरपालिका, मालिका र रघुगङ्गा र मङ्गला गाउँपालिकाका किसानको आलु डडुवाले सखाप पारेको कृषि प्राविधिकले बताएका छन् । अधिंकाश किसानले लगाएको आलुमा मौसम परिवर्तन भएसँगै डडुवाको समस्या फैलिएको हो । चिसो मौसम सुरुआत भएपछि किसानले आलु खेतीमा ध्यान नदिँदा कतिपय लगाएको आलु खेती नष्ट भएको मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो । रघुगङ्गा –६ पाखापानी र ठाडाखानीका किसानले लगाएको आलुमा पनि डडुवाको सङ्क्रमण फैलिएको ठाडाखानीका किसान दलबहादुर छन्त्यालले बताउनुभयो ।

खेती गर्दा ध्यान दिने र प्राविधिकको सल्लाहअनुसार समयमै खेतीपातीको रेखदेख गर्ने गरेमा आलुलाई रोक किरा लाग्नबाट बचाउन सकिने कृषि प्राविधिकको भनाइ रहेको छ । म्याग्दीमा व्यावसायिक रुपमा एक सय हेक्टर बढी क्षेत्रफलमा आलु खेती गरिएको छ । आलु सुपरजोन, स्थानीय पालिका र किसानको साझेदारी बिउँमा अनुदान पाई किसानले करिव एक हजार कुन्टल आलुको बीउ लगाएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

पछौटे डडुवा आलुबालिमा लाग्ने रोगमध्ये प्रमुख रोग भएको कृषि प्राविधक बानियाँले बताउनुभयो । उहाँका अनुसार यस रोगबाट हुने क्षतिको क्रम हरेक वर्ष विकराल रूपमा बढी रहेको छ । पहाडी जिल्लामा पनि बर्सेनि यो रोगको प्रकोप बढिरहेको छ भने तराईका जिल्लामा महामारीको रुपमा फैली सकेको छ ।

यसको लक्षण सङ्क्रमण सुरुको अवस्थामा पातमा हल्का हरियो रङका विभिन्न आकारका थोप्ला देखिने कृषि प्राविधिक बानियाँले बताउनुभयो । अनुकूलन वातावरण पाइरहेमा थोप्लाको भित्री भागमा खैरो एवं सुकेको देखिन्छ । ओसिलो वातावरणमा ढुसीको अत्यधिक विकास भई पातको तल्लो सतहमा थोप्ला वरिपरि कपासको घेराजस्तो देखिन्छ । रोग बढी हुँदै गयो भने पूरै पात सुकेर डढेजस्तो हुन्छ भने अनुकूल वातावरण भई रह्यो भने पात, काण्ड, डाँठ र दानामा समेत सङ्क्रमण हुने उहाँले बताउनुभयो ।

फाइटफथोरा इन्फेस्टेन्स नामक ढुसी नै यो रोगको प्रमुख कारकतत्व भएको विशेषज्ञले बताएका छन् । यस प्रजातिका ढुसीमध्ये मेटिङ टाइप पी १ र मेटिङ टाइप पी २ नामक उपप्रजाति नेपालमा पाइएका छन् । यस रोगको अनुकूल विकासको लागि वायुमण्डलको सापेक्षिक आद्रता ८० दशमलव ९५५ र रातिको तापक्रम १० दशमलव १२ डिग्रसेल्सिय लामो समयसम्म सिमसिमे पानी, दिनमा घाम नलागेर बादल लागेमा र हावा, पानी, बीउ र माटोको माध्यमबाट यो रोग देखा पर्ने विशेषज्ञको भनाइ छ ।

यो रोगको व्यवस्थापन गर्नका लागि म्यान्कोजेब वा बेभिस्टिन २ ग्राम १ लिटर पानीमा हालेर आधा घन्टासम्म बीउलाई भिजाएर छायाँमा सुकाएर रोप्ने र ट्राइकोड्रामा आधा र ५० किलो कम्पोस्टमा मिसाएर दुई–तीन रोपनीमा मिलाएर खेत जोतेर मौसम प्रतिकूल हुने सङ्केत देखिने बित्तिकै कपरअक्सिक्लोराइड दुई ग्राम एक लिटर पानीमा हालेर छर्ने तथा रोग लागेका बोट तुरुन्तै हटाइदिने सुझाव कृषि विशेषज्ञको रहेको छ ।

आज जितगढी किल्ला बुटवल उपमहानगरलाई हस्तान्तरण गर्ने,राष्ट्रपति पौडेल बुटवल जाँदै

लुम्बिनी, २० पुस : राष्ट्रपति रामचन्द्र पौडेल ऐतिहासिक जितगढी किल्ला हस्तान्तरण कार्यक्रम र मुक्तिनाथधामको भवन उद्घाटनका लागि आज बुटवल आउँदै हुनुहुन्छ ।राष्ट्रपतिको प्रमुख आतिथ्यतामा आयोजना हुने कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई जितगढी किल्ला हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । बुटवल उपमहानगरपालिका–१ मा स्थित जितगढी किल्लाको पुनःनिर्माण तथा संरक्षणपश्चात् नेपाली सेना, गरुड दल गणले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेपछि किल्ला बुटवल उपमहानगरपालिकाको मातहतमा आउने जनाइएको छ ।

सो कार्यक्रमको सबै तयारी पूरा भएको बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेयले जानकारी दिनुभयो । किल्लाको संरक्षण र पुनःनिर्माणपश्चात् सेनाले हस्तान्तरण गरेपछि बुटवल उपमहानगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि योजनाबद्ध तरिकाले काम अगाडि बढाउने प्रमुख पाण्डेयले बताउनुभयो ।

“जितगढी किल्ला उपमहानगरपालिका मातहतमा आएपछि हामीले किल्लाको संरक्षणका साथसाथै यसलाई पर्यटकीय गन्तव्य र नेपाल अङ्ग्रेज युद्धको अध्ययन गर्ने थलोका रुपमा विकास गर्नेछौँ”, उहाँले भन्नुभयो, “यहीँ नजिकै युद्ध सङ्ग्रहालय निर्माण सम्पन्न भएको छ र त्यसको सञ्चालन गर्ने र पुरानो बुटवललाई पुनः चलायमान बनाउने योजना छ ।”

किल्ला क्षेत्रमा सेनाले युद्धकला झल्किने केही संरचना थप गरेको र युद्धचित्रका साथसाथै पर्यटकीय थलोका रुपमा विकास गर्नका लागि आवश्यक काम पूरा गरेको गरुड दलका गणपति प्रमुख सेनानी दीपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

जितगढी किल्लाको ऐतिहासिकता

छरिएर रहेका सांस्कृतिक, ऐतिहासिक महत्वका सम्पदामध्ये जीतगढी पनि एक हो । बुटवल – १ स्थित गढी तिनाउ खोलाको बायाँ किनारमा अवस्थित छ । समुद्र सतहभन्दा करिब एक सय ४८ मिटरको उचाइमा अवस्थित यो गढी पूर्वदेखि पश्चिमतिर फैलिएको छ । गढीको दक्षिण र पूर्वतिरको भाग मात्र बाँकी रहेको छ । चारैतिरबाट हाल गढी घेरिएको अवस्थामा रहेको छ । जितगढी किल्लाको उत्खनन प्रारम्भ आव ०५५÷५६ ९पुरातत्व विभाग० । विसं २०७० माघ ८ गतेदेखि पुनः उत्खनन भए पनि अहिले रोकिएको छ ।

जितगढीमा तत्कालीन अङ्ग्रेज–नेपाल युद्धका समयमा नेपाली सेनाले विजय प्राप्त गरेको दिन विसं १८७१ बैशाख ७ गतेको दिन रहेको आधिकारिक मितिलाई नै बुटवल उपमहानगरपालिकाको ०७४ चैत २६ गते बसेको नगर कार्यपालिका बैठकले विजय उत्सव दिवसका रुपमा मनाउँदै आएको छ । जितगढीमा विसं १८७२ वैशाख ७ गते भएको लडाइँमा नेपालसँग हारेपछि अङ्ग्रेज सेना नेपालबाटै फर्किएको इतिहास छ । सोही दिन ९वैशाख ७ गते० लाई विजय उत्सव दिवसका रुपमा बुटवल उपमहानगरपालिकाले मनाउन कामको थालनी भएको हो ।

जितगढीमा अङ्ग्रेजलाई हराउने कर्णेल उजिरसिंहको पूर्ण कदको शालिक दक्षिणतिर फर्किएर शानका साथ उभिएको छ । नेपाल अङ्ग्रेज युद्धमा बहादुरीका साथ लडेर आफ्नो ज्यान आहुति दिएका १३ वीर योद्धा कर्णेल थापासहित काजी वीरभञ्जन पाँडे ९गुरुबक्स कम्पनी०, कुम्भेदान कृपासुर थापा, दलखम्ब थापा, समशेर राना मगर, सरदार सुर्जे थापा, लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्भेदान वृषसुर थापा, जमदार भीमसेन देउजा, जमदार शुरवीर बोहरा, हवल्दार रणशुर बानियाँ, सिपाही हंशवीर अधिकारी, थरघर नकुल बानियाँ जुठे बस्नेतका सालिक राखिएका छन् । नेपालकै ठूलो राष्ट्रिय झण्डा फह¥राइरहेको साथै हरियाली बगैँचा तयार भएको र राष्ट्रधुनसहितको जलफोहोरा तयार भएका छन् ।

जितगढी सम्पदाको गुरुयोजना बनाएर काम हुँदा यहाँको स्वरुपनै निक्कै आकर्षक बनेको जितगढीको संरक्षण र प्रचारप्रसारमा क्रियाशील रवीन्द्रगोपाल लाकौल बताउनुभयो । “जितगढी सम्पदाको कायापलट भएको छ”, उहाँले भन्नुभयो, “इच्छाशक्ति र दृढता भयो भने काम सफल हुनेरहेछ भन्ने उदाहरण जितगढी बनेको छ ।”

प्रदेश संरचनालाई बलियो बनाउनुपर्नेमा मुख्यमन्त्री शाहको जोड

बैतडी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश संरचनालाई बलियो बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल प्रेस युनियनले गोठलापानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले तीनै तहका सरकारको अधिकार बाडफाँड भए पनि कार्यान्वयन फितलो भएको बताउनुभयो ।

मुख्यमन्त्री शाहले सङ्घ सरकार, प्रदेश सरकार र स्थानीय तहका आ–आफ्नै अधिकार भए पनि पूर्णरुपमा कार्यान्वयन नभएकाले अब त्यो पूर्णरुपमा कार्यान्वयन गर्न लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “तीनै तहका सरकारका एकल र साझा अधिकार छन्, तिनीहरुको पूर्ण रुपमा कार्यान्व्यन हुनु आवश्यक छ ।”

मुख्यमन्त्री शाहले प्रदेश गौरवका योजनामा बजेटको अभाव नहुने बताउनुभयो । प्रदेशले प्राथमिकतामा राखेर निर्माण गरिरहेका योजनामा बजेटको अभाव नहुने उहाँले दाबी गर्नुभयो ।

मुख्यमन्त्री शाहले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना र पश्चिम सेती जलविद्युत् परियोजनाको निर्माण प्रक्रिया अघि बढिसकेकाले यसमा शङ्का नरहेको जिकिर गर्नुभयो । उहाँले नेपाल–भारत सीमानाका झुलाघाटलगायत दार्चुला र डडेल्धुरामा महाकाली नदीमाथि पुल निर्माण प्रक्रिया पनि अगाडि बढेको जानकारी दिनुभयो ।

एमाले सचिवालय बैठक आज

काठमाडौँ – नेकपा (एमाले)ले सचिवालय बैठक आज च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुने भएको छ ।

राष्ट्रियसभा उम्मेदवारको चयन, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो ।

यसैबीच, पार्टीअध्यक्ष केपी शर्मा ओलीले बिहिबार अपराह्न प्रदेश कमिटीका पदाधिकारीसँग राष्ट्रियसभा उम्मेदवार चयनबारे छलफल गरेका थिए

बेलायतमा निर्वाचन सन् २०२४ को मध्यपछि मात्र चुनाव हुने सम्भावना

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले यस वर्षको मध्यपछि मात्र चुनाव हुने सम्भावना रहेको बताउनु भएको छ । पछिल्लो समय बेलायतमा मतदानको मितिको बारेमा अड्कलबाजी बढ्दै गएको छ।

प्रधानमन्त्री सुनकको कन्जरभेटिभ पार्टी सन् २०१० देखि सत्तामा छ । सो पार्टी जनवरी २०२५ को अन्त्यसम्म बहुप्रतीक्षित आम चुनावको परीक्षणको पर्खाइमा पनि छ ।सन् २०२२ अक्टोबरमा पार्टीको आन्तरिक भोटमा टोरी नेता बनेका सुनकले अन्तिम समयसम्म जनादेश सुरक्षित गर्ने प्रयास गर्ने अन्तिम मिनेटसम्म नछोड्ने सङ्केत गर्नु भएको छ ।


मध्य इङ्गल्याण्डको म्यानफिल्डको भ्रमणका क्रममा उहाँले यस वर्षको पछिल्लो ६ महिनाभित्र चुनाब गराउँने आफ्नो प्रतिबद्धता रहेको बताउनु भएको छ । विगत १४ वर्षमा पाँच नेता र प्रधानमन्त्री भएका टोरीजले केयर स्टाररको मुख्य विपक्षी लेबर पार्टीलाई सत्ता हस्तान्तरण गर्दै चुनावमा हार्ने अनुमान गरिएको छ।

सत्तारुण कन्जरभेटिभहरूलाई सन् २००८ को विश्वव्यापी वित्तीय समस्या, त्यसपछि उच्च मुद्रास्फीति र ऊर्जा मूल्यको अस्थिरता आदि कारणले गम्भीर धक्का दिएको छ ।
सम्भावित चुनावको मिति मे २ वा मार्च ६ हुन सक्ने र ती मिति स्थाय चुनाव र बजेटको मिति आसपास हुने हुनाले सत्तारूण दललाई मतादातालाई आकर्षित गर्न लोकप्रिय कार्यक्रम ल्याउन अनकूल हुन सक्ने सुझाव पनि दिइएको छ ।पूर्व अर्थमन्त्री समेत रहेका सुनकले अर्थतन्त्रलाई राम्रोसँग व्यवस्थापन गर्न र जनताको कर कटौती गर्न आवश्यक कदम चाल्ने उल्लेख गर्नु भएको छ ।

सशस्त्र प्रहरीमा जागिर खाने सूवर्ण अवसर

काठमाडौं – सशस्त्र प्रहरीमा जागिर खुलेको छ । शुक्रबार सूचना प्रकाशन गर्दै सशस्त्र प्रहरी बलले ९९ प्रहरी निरीक्षक र ९८ सहायक निरीक्षकका लागि जागिर खुलाएको हो ।

सूचनामा ९९ जना इन्स्पेक्टर, ९८ जना असई, ६५ जना भान्से, १० जना कूचीकार, ४ जना सूचिकार, ४ जना केशकर्तक, ५ जना चर्मकर्मी र तीन जना मालीका लागि जागिर खुलेको हो ।इच्छुक र योग्यता पुगेका व्यक्तिहरुले माघ १० गतेसम्म दरखास्त फाराम भर्न सक्नेछन् ।

गाजाबाट ५१ जना प्यालेस्टिनी महिला इजरायली सेनाद्वारा गिरफ्तार

इजरायली सेनाले हमाससँग चलिरहेको युद्धका बीच गाजा पट्टीबाट कम्तीमा ५१ जना प्यालेस्टाइनी महिलालाई पक्राउ गरेको प्यालेस्टाइनी समूहले बिहीबार बताएको छ ।’प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन डिटेनीज एण्ड एक्स-प्रिजनर्स अफेयर्स अथोरिटी र ‘प्यालेस्टाइन प्रिजनर्स क्लबले’ संयुक्त विज्ञप्ति जारी गर्दै ती महिलाहरूलाई इजरायलको डेमोन जेलमा राखिएको बताएको छ। पक्राउ पर्नेमा ८२ वर्षीया महिला र उनका थुप्रै आफन्त पनि रहेको उनीहरूले बताएका छन् ।

समूहहरूले गाजाबाट महिला बन्दीहरूको वास्तविक सङ्ख्या बढी रहेको जानकारी आएको तर तिनीहरूसँग डेमोन जेलमा रहेकाहरूको बारेमा मात्र स्पष्ट तथ्याङ्क रहेको बताएका छन् ।विज्ञप्तिमा भनिएको – गिरफ्तार महिलाहरूले “यातना र अपमान” को सामना गर्नुपरेको छ र गाजाका अन्य बन्दीहरू जस्तै “पीडादायी परिस्थिति” मा हिरासतमा राखिएका छन् ।

इजरायलले मानवअधिकार सङ्गठनका वकिलहरूलाई बन्दीहरूलाई भेट्न र तिनीहरूको अवस्थाबारे बुझ्न रोकेको र साथै रेडक्रसको अन्तरराष्ट्रिय समितिलाई त्यहाँ पहुँच दिन पनि अस्वीकार गरेको बताएको छ।यता इजरायली जेल प्रशासनले भने, त्यहाँ केवल ६६१ जना गाजा बन्दीहरू रहेको खुलासा गरेको छ र तिनीहरूलाई “गैरकानूनी लडाकु” भनेर दर्जा दिइएको छ।

सन् २०२३ मा इजरायल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि


इजरायल-हमास द्वन्द्वका कारण अक्टोबर यता तीव्र गिरावट आएता पनि समग्रमा सन् २०२३ मा इजरायल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्यामा १२.५२ प्रतिशतले वृद्धि भएको छ । देशको केन्द्रीय ब्युरोले जारी गरेको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा सो प्रतिशतले वृद्धि भएको हो ।

गत वर्ष लगभग ३ पर्यटकहरूले इजरायल भ्रमण गरेका थिए । विगतका केही वर्षहरूमा कोरोनाभाइरस सङ्कटले कम देखिएको पर्यटको आगमन विस्तारै तीव्र बन्दै गएको छ ।
द्वन्द्वपछि अधिकांश विदेशी एयरलाइन्सले इजरायलको बेन गुरियन अन्तरराष्ट्रिय विमानस्थलको तेल अवीव बाहिरको उडान स्थगित गरेका छन् । हालका अधिकांश उडानहरू इजरायलको फ्ल्यागशिप एयरलाइन, एल अल द्वारा सञ्चालित छन्।

‘किसानको उत्पादनले बजार नपाए सरकार आफै खरिद गर्न तयार छ’

गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले किसानले उत्पादन गरेका उत्पादित कृषिजन्य वस्तुले बजार नपाए प्रदेश सरकार आफै खरिद गर्न तयार रहेको बताउनुभएको छ । गोरखा चेम्बर अफकर्मसको आयोजनामा सदरमुकाममा सुरु भएको ‘कृषि, पर्यटन तथा व्यापार प्रवद्र्वन मेला–२०८०’ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले किसानले उत्पादन गरेको कृषिजन्य उत्पादनले बजार नपाए अब प्रदेश सरकारले किनिदिने बताउनुभएको हो ।

“तपाईँहरु के उत्पादन गर्नुहुन्छ गर्नुस्, बजार पाउनु भएन भने प्रदेश सरकार किसानले गरेका उत्पादन लिन तयार छ”, उहाँले भन्नुभयो, “किसानले गरेको उत्पादनलाई बजारको व्यवस्था गर्न पनि हामी तयार छौँ, बजार र किसानबीच समन्वय गरेर भएन भने प्रदेश सरकार आफैले किसानको उत्पादन किनिदिन्छ ।”

उहाँले उत्पादनका आधारमा अनुदान उपलब्ध गराउन र बजारीकरणका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि रु ५० करोडभन्दा बढी रकमको व्यवस्था गरेको समेत बताउनुभयो । कृषिमा अनुदान सुरुमा लिने र त्यसको दुुरुपयोग हुने गरेको भन्दै अहिले प्रदेश सरकारले उत्पादनका आधारमा अनुदान दिने नीति लिएको मुख्यमन्त्री पाण्डे बताउनुभयो ।

उहाँले प्रदेश सरकारले बनाएको कानुनका कारणले उद्योग, कृषि व्यवसायलगायतमा अफठ्यारो परेको भए सरकार त्यसलाई परिमार्जन गरेर अघि बढ्न तयार रहेको समेत बताउनुभयो । मुख्यमन्त्री पाण्डेले गाउँमै जनतालाई बस्ने वातावरणको सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले प्रदेश सरकारले गाउँमा बाटो, बिजुली र स्वास्थ्यचौकी पुगेपछि गाउँ छाडेर हिँड्ने क्रम बढेको भन्दै गाउँमै आत्मानिर्भर हुने गरी कार्यक्रम ल्याउन प्रदेश सरकार लागिपरेको बताउनुभयो ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – शुक्रबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ। आज कोशी,बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती कोशी र मधेश प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

हेर्नुहोस् पुष २० गते शुक्रवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – दाम्पत्य सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । शारीरिक आलस्यताले सताउन सक्नेछ । नयाँ लगानिमा सजग रहनु होला । पारीवारिक झोर झमेलाले सताउनेछ । मनको चन्चलताले गर्दा कार्य क्षेत्रमा सामान्य ढिलाई हुन सक्नेछ ।

बृष राशि- मान्यजनको साथ सहयोगमा गरीएका कार्य भने सफल रहलान । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शारीरिक आलस्यले कार्य ढिलाई हुन सक्छ । अरुको बिश्वासमा गरीएका कार्यहरुमा सामान्य झझट पैदा हुन सक्ला । अनायासै यात्राको सम्भाबना रहन सक्नेछ ।

मीथुन राशि – पारीवारिक झोर झमेलाले सताउन सक्छ । अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । आम्दानि क्षेत्र भने मध्यम रहेको छ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । बौधिक ब्यक्तित्व सँगको भेटघाटले मन हर्सित तुल्याउला । नयाँ कार्यको थालनिले आम्दानि सबल तुल्याउनेछ ।

कर्कट राशि- परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । काम कार्यको क्षेत्रमा बिषेश ध्यान दिनु होला । पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन ।

सिंह राशि- मित्रजनको साथ सहयोग भरपुर रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला । ब्यापार ब्यवसायको क्षेत्र भने राम्रो रहेको छ । सामान्य यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मान्य जनको साथ सहयोग प्राप्त हुनाले सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ ।

कन्या राशि – बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । खानपानको गडबढीले स्वास्थमा सामान्य बाधा आउन सक्छ । बोलिको कारण आफन्तजनहरु रुष्ट रहन सक्छन सजग रहनु होला । दीर्घकालिन फाईदा मुलक काममा लगानि लगाउने राम्रो समय रहेको छ तर तत्कालिक आर्थिक अभाब झेल्नु पर्ला ।

तुला राशि – साधारण चोट पटक लाग्न सक्ने सम्भाबना रहेको छ । प्रेमी प्रेमीका बिच खट्पट रहन सक्छ । कार्य सम्पादनमा आटँको कमि रहला । ब्यापार ब्यवसायका माध्यम बाट आम्दानीका श्रोत सुदृण बन्नेछ । साजेदारी काममा हात नहाले कै बेस रहने छ ।सभा सम्मेलन जन्य कार्य सहभागीता मिल्नेछ ।

बृश्चिक राशि- मित्रजनहरुको लागी साधारण खर्चहुन सक्ने सम्भाबना रहेको छ । खराब संंगतको कारणले सामान्य झन्जट ब्यर्होनु पर्ला । ब्यापार ब्यवसायमा सामान्यतय हानि रहन सक्ने छ । कला कौशलको प्रयोगलमा समय ब्यतित रहने योग रहनेछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ ।

धनु राशि – हरकोहिको पुर्ण बिश्वास नर्गनु होला धोका हुन सक्छ । नयाँ कामको क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । मित्रजन को साथ सहयोय प्राप्त हुनेछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । यात्रामा साबधानि अपनाउनु होला ।

मकर राशि – मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । कष्टकर यात्रा रहन सक्छ । शारिरिक आलस्यता ले सताउने छ । सभा समेलनमा सरीक हुने योग रहेको छ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ ।

कुम्भ राशि – दाजु भाई तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । यात्राकारक दिन रहेकोछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । कुरा काट्ने ब्यक्तिको कमि नरहला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ ।

मिन राशि – शारीरिक अस्वस्थाका कारण कार्य सम्पादनमा समस्या आउन सक्छ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मान्य जनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । माल सामान को क्षति ब्यहोर्नू पर्ला सजग रहनु होला ।

चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुर्वे हात्तीले पुनः आतंक मच्चाउन थाल्यो

चितवन, २० पुस : चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुर्वे हात्तीले पुनः आतंक मच्चाउन थालेको छ । सो हात्तीले बिहीबार बस्तीमा पसेर चार घर भत्काइदिएको थियो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले ध्रुर्वे हात्तीले भरतपुर महानगरपालिका–२३ वयरघारी क्षेत्रमा चार घर भत्काएको जानकारी दिनुभयो ।

बुधबार साँझ माडी क्षेत्रमा देखिएको सो हात्ती बिहीबार बिहान वयरघारी क्षेत्रमा आइपुगेको हो । उहाँले भन्नुभयो, “अन्य हात्ती शान्त भए पनि यो हात्ती उग्र बन्न थालेको हो ।” हात्तीलाई ‘डाट’ गरेर ‘रेडियोकलर’ जडान गरिएको छ । रेडियोकलरबाट नियमन गरिएको भए पनि बस्तीमा पस्न भने नछाडेको उहाँले बताउनुभयो । हात्ती बस्ती पसेको जानकारी पाएसँगै निकुञ्जका कर्मचारी, नेपाली सेना, समुदायमा आधारित संस्थामार्फत जानकारी गराउने गरिएको उहाँले जानकारी दिनुभयो ।हात्तीलाई बस्ती पस्न नदिनका लागि स्रोत, साधनले सकेसम्म उच्चस्तरको प्रविधि प्रयोग गरिएको भए पनि रोक्न नसकिएको उहाँले बताउनुभयो । हात्ती बस्तीमा पस्न थालेपछि निकुञ्जले निकुञ्ज आसपास बसोबास गर्नेलाई सतर्कता अपनाउन निकुञ्जले अनुरोध गरेको छ ।

११ महिनामा ७७ लाखले गरे आन्तरिक हवाई यात्रा

काठमाडौँ । सन् २०२३ को ११ महिनामा आन्तरिक उडानतर्फ ७७ लाखभन्दा बढी यात्रुले हवाई यात्रा गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्ममा आन्तरिकतर्फ ७७ लाख ९४ हजार २१७ यात्रुले हवाई यात्रा गरेका हुन् । उक्त सङ्ख्या सन् २०२२ को तुलनामा ३७.४८ प्रतिशतले बढी हो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले उडान सुरक्षामा सुधार र हवाई पूर्वाधारमा भएको प्रगति, जहाज सङ्ख्यामा भएको बढोत्तरीसँगै गन्तव्य विस्तारले विगतका वर्षभन्दा यस वर्ष हवाई यात्रुको सङ्ख्या बढ्दै गएको बताए ।

“सन् २०२२ को ११ महिनामा आन्तरिकतर्फ ५६ लाख ६८ हजार ९४१ र अन्तर्राष्ट्रियतर्फ ७७ लाख ९४ हजार २१७ जनाले हवाई सेवा लिएका छन् । सन् २०२२ को तुलनामा सन् २०२३ को ११ महिनामा आन्तरिकतर्फ ३७ प्रतिशते हवाई यात्रु बढेका छन्,” उनले भने ।

सूचना अधिकारी भुलले सोही अवधिमा अन्तर्राष्ट्रियतर्फ ४१।०४ प्रतिशतले हवाई यात्रु बढेको जानकारी दिनुभयो । सन् २०१९ देखि सन् २०२२ को अवधिमा कोरोनाको असरले सबैभन्दा बढी नोक्सानी परे पनि उनले सन् २०२३ को मार्चदेखि (गृष्मकालीन उडान तालिका) हवाई क्षेत्र पुरानै लयमा फर्किएको जानकारी दिए ।

उनका अनुसार कोरोनापछि नेपालबाट वैदेशिक रोजगारी र उच्च शिक्षाका लागि बिदेसिनेको सङ्ख्या र चीनका पाँच वटा गन्तव्यमा उडान विस्तारसँगै पर्यटकको ओहोरदोहोरले पनि हवाई यात्रुको सङ्ख्यामा प्रगति हुँदै गएको छ । उनले यसअघि दैनिक एक सयको हाराहारीमा अन्तर्राष्ट्रिय उडान हुँदै आएकोमा हाल दैनिक ११० अन्तर्राष्ट्रिय उडान अवतरण भइरहेको जानकारी दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

साउदीमा संगठित ठगी गर्ने गिरोहको बिगबिगी, नेपाली नागरिकलाई सचेत रहन आग्रह

काठमाडौं । साउदी अरबमा पछिल्ला दिनमा नेपाली श्रमिकहरूसमेत ठगीमा परेको गुनासो बढ्न थालेको छ । आफूलाई साउदी अरबको आन्तरिक मन्त्रालयको कर्मचारीको हवाला दिँदै टेलिफोन गर्ने कार्यले नेपाली श्रमिकसमेत मारमा परेका छन् । यी कार्य दैनिकजसो बढ्दै गएपछि रियादस्थित नेपाली दूतावासले आफ्नो मुलुकका नागरिकलाई सचेत रहन आग्रह गरेको छ ।

आफूलाई साउदी अरबको आन्तरिक मन्त्रालयको कर्मचारीको हवाला दिँदै टेलिफोन गर्ने व्यक्तिले ‘तपाईंको बासस्थानमा जनगणनाको सिलसिलामा गएकोमा भेट हुन नसकेको कारणले बासस्थानको बाहिर अरेबिकमा सूचना राखिएको छ, तपाईंले त्यसको जवाफ नपठाएकाले साउदीको कानुनअनुसार फोनबाटै आफ्नो विवरण अनिवार्य अद्यावधिक गर्नुहोला’ भन्दै कुरा सुरु गर्ने गरेको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले एक सूचना जारी गर्दै त्यस्ता व्यक्तिले अकामा नम्बर माग्ने, एसएसएसबाट साउदीको आन्तरिक मन्त्रालयबाट आएजस्तो बनाई फोनमा ओटीपी पठाउने, सो ओटीपी माग्ने, सबै विवरण भर्नुपर्ने भनी आब्सर तथा बैंक खाता नम्बर वा बैंक कार्ड नम्बर पनि मागेर ठगी गर्ने गरेको भन्दै सचेत रहन त्यहाँ कार्यरत नेपालीलाई अनुरोध गरेको छ ।

त्यस्तै, ओटीपीसमेत मागी विवरण अद्यावधिक गर्ने नाममा बैंकमा भएको रकम लैजाने र आब्सर हात पारी अनेकखालका अवैध कारोबार गर्ने र सम्बन्धित व्यक्तिलाई फसाइदिने खालका संगठित अपराध र ठगीका घटना बढेको दूतावासले जनाएको छ ।

यस सम्बन्धमा साउदीको आन्तरिक मन्त्रालयले समेत कारबाही गरिरहेको जनाउँदै दूतावासले बेलाबेलामा एसएसएसमार्फत् सूचना जारी गरी सचेत गराइरहेको जनाएको छ । दूतावासले कुनै अनधिकृत व्यक्तिले फोनबाट वा अरू कुनै माध्यमबाट अकामा, आब्सर वा बैंक खाता–कार्ड नम्बर ओटीपी मागेमा कुनै पनि हालतमा नदिई ठगीबाट बच्न अनुरोध गरेको छ । यस्ता घटना भएमा साउदी प्रहरीकामा गएर उजुरी गर्न पनि दूतावासले अनुरोध गरेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

लाइसेन्स वितरणमा व्यापक अनियमितता, बाँडियो हजारौं अवैध लाइसेन्स

काठमाडौं । यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख, कर्मचारी, बिचौलिया र केही ड्राइभिङ सेन्टरको मिलिमतोमा केही महिनायता मात्रै हजारौं अवैध लाइसेन्स वितरण भएको पाइएको छ।विगत ६ महिना यता लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमाणमा लाइसेन्स वितरण भएको पाइएको हो। स्रोतका अनुसार कर्मचारी र बिचौलियाको सेटिङमा त्यस्तो कार्य भएको पाइएको छ।

स्रोतका अनुसार विगत ६ महिनामा मात्रै अवैध खालका २० हजार बढी लाइसेन्स वितरण भएको छ। स्रोतका अनुसार विभागमा अहिले पनि हजारौं संख्यामा अवैध लाइसेन्स तयार भएको र दुई तीन दिभित्रमा बाँडिसक्ने तयारी गरिएको छ।विशेष गरी विभागका आईटी शाखा प्रमुखसमेत रहेका निर्देशक मुकेश रेग्मी, विभागको डाटाबेसमा पहुँच प्राप्त गरेको एक कन्सल्टेन्सीका प्रतिनिधि सविन श्रेष्ठ तथा विभिन्न यातायात कार्यालयका प्रमुख एवं कर्मचारीको मिलेमतोमा ६ महिनाकै अवधिमा २० हजार बढी अवैध लाइसेन्स विभागको सिस्टममा प्रविष्ट भएको पाइएको स्रोतले जानकारी दियो।

विदेशमा रहेका व्यक्तिको फोटो स्क्यान गरेर अर्कै व्यक्तिको बायोमेट्रिक गरी ब्याक डेटमा लाइसेन्स जारी गरिएको छ। आईटी शाखामा अनुभवी कर्मचारीलाई हटाएर सिकारुलाई राखिएको छ।

राजधानी बाहिरका यातायात कार्यालयबाट १० देखि १२ वर्षअघिको मितिमा लाइसेन्स जारी गरेको विवरण अनलाइनमा प्रविष्ट गरी दुईपटकसम्म नवीकरण भएको देखाएर लाइसेन्स बाँड्ने काम भइरहेको छ। विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले पनि यो धन्दा रोक्न नसकेपछि उनमाथि समेत आशंका सिर्जना भएको छ।सवारी लाइसेन्सका लागि काम गर्ने बिचौलियाहरूले प्रतिव्यक्ति ५० हजारदेखि १ लाख २५ हजार रुपियाँसम्म असुलेर यस्तो काम गरेको र सो रकम माथिसम्ममा नै पुग्ने गरेको स्रोतको दाबी छ।

योमरी नामक कम्पनीले बनाएको पुरानो रेकर्ड सिस्टम (डीएल) विभाग तथा कार्यालयबाट हेर्न नसक्ने बनाएर पुरानो सिस्टमको रेकर्ड विभागकै कन्सल्टेन्सीका सविन श्रेष्ठमार्फत डाटाबेसमा पुरानो मिति राखेर लाइसेन्स जारी गर्ने गरिएको छ। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।