`

हेर्नुहोस् पुष २० गते शुक्रवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – दाम्पत्य सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । शारीरिक आलस्यताले सताउन सक्नेछ । नयाँ लगानिमा सजग रहनु होला । पारीवारिक झोर झमेलाले सताउनेछ । मनको चन्चलताले गर्दा कार्य क्षेत्रमा सामान्य ढिलाई हुन सक्नेछ ।

बृष राशि- मान्यजनको साथ सहयोगमा गरीएका कार्य भने सफल रहलान । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शारीरिक आलस्यले कार्य ढिलाई हुन सक्छ । अरुको बिश्वासमा गरीएका कार्यहरुमा सामान्य झझट पैदा हुन सक्ला । अनायासै यात्राको सम्भाबना रहन सक्नेछ ।

मीथुन राशि – पारीवारिक झोर झमेलाले सताउन सक्छ । अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । आम्दानि क्षेत्र भने मध्यम रहेको छ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । बौधिक ब्यक्तित्व सँगको भेटघाटले मन हर्सित तुल्याउला । नयाँ कार्यको थालनिले आम्दानि सबल तुल्याउनेछ ।

कर्कट राशि- परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । काम कार्यको क्षेत्रमा बिषेश ध्यान दिनु होला । पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन ।

सिंह राशि- मित्रजनको साथ सहयोग भरपुर रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला । ब्यापार ब्यवसायको क्षेत्र भने राम्रो रहेको छ । सामान्य यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मान्य जनको साथ सहयोग प्राप्त हुनाले सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ ।

कन्या राशि – बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । खानपानको गडबढीले स्वास्थमा सामान्य बाधा आउन सक्छ । बोलिको कारण आफन्तजनहरु रुष्ट रहन सक्छन सजग रहनु होला । दीर्घकालिन फाईदा मुलक काममा लगानि लगाउने राम्रो समय रहेको छ तर तत्कालिक आर्थिक अभाब झेल्नु पर्ला ।

तुला राशि – साधारण चोट पटक लाग्न सक्ने सम्भाबना रहेको छ । प्रेमी प्रेमीका बिच खट्पट रहन सक्छ । कार्य सम्पादनमा आटँको कमि रहला । ब्यापार ब्यवसायका माध्यम बाट आम्दानीका श्रोत सुदृण बन्नेछ । साजेदारी काममा हात नहाले कै बेस रहने छ ।सभा सम्मेलन जन्य कार्य सहभागीता मिल्नेछ ।

बृश्चिक राशि- मित्रजनहरुको लागी साधारण खर्चहुन सक्ने सम्भाबना रहेको छ । खराब संंगतको कारणले सामान्य झन्जट ब्यर्होनु पर्ला । ब्यापार ब्यवसायमा सामान्यतय हानि रहन सक्ने छ । कला कौशलको प्रयोगलमा समय ब्यतित रहने योग रहनेछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ ।

धनु राशि – हरकोहिको पुर्ण बिश्वास नर्गनु होला धोका हुन सक्छ । नयाँ कामको क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । मित्रजन को साथ सहयोय प्राप्त हुनेछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । यात्रामा साबधानि अपनाउनु होला ।

मकर राशि – मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । कष्टकर यात्रा रहन सक्छ । शारिरिक आलस्यता ले सताउने छ । सभा समेलनमा सरीक हुने योग रहेको छ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ ।

कुम्भ राशि – दाजु भाई तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । यात्राकारक दिन रहेकोछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । कुरा काट्ने ब्यक्तिको कमि नरहला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ ।

मिन राशि – शारीरिक अस्वस्थाका कारण कार्य सम्पादनमा समस्या आउन सक्छ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मान्य जनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । माल सामान को क्षति ब्यहोर्नू पर्ला सजग रहनु होला ।

चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुर्वे हात्तीले पुनः आतंक मच्चाउन थाल्यो

चितवन, २० पुस : चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुर्वे हात्तीले पुनः आतंक मच्चाउन थालेको छ । सो हात्तीले बिहीबार बस्तीमा पसेर चार घर भत्काइदिएको थियो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले ध्रुर्वे हात्तीले भरतपुर महानगरपालिका–२३ वयरघारी क्षेत्रमा चार घर भत्काएको जानकारी दिनुभयो ।

बुधबार साँझ माडी क्षेत्रमा देखिएको सो हात्ती बिहीबार बिहान वयरघारी क्षेत्रमा आइपुगेको हो । उहाँले भन्नुभयो, “अन्य हात्ती शान्त भए पनि यो हात्ती उग्र बन्न थालेको हो ।” हात्तीलाई ‘डाट’ गरेर ‘रेडियोकलर’ जडान गरिएको छ । रेडियोकलरबाट नियमन गरिएको भए पनि बस्तीमा पस्न भने नछाडेको उहाँले बताउनुभयो । हात्ती बस्ती पसेको जानकारी पाएसँगै निकुञ्जका कर्मचारी, नेपाली सेना, समुदायमा आधारित संस्थामार्फत जानकारी गराउने गरिएको उहाँले जानकारी दिनुभयो ।हात्तीलाई बस्ती पस्न नदिनका लागि स्रोत, साधनले सकेसम्म उच्चस्तरको प्रविधि प्रयोग गरिएको भए पनि रोक्न नसकिएको उहाँले बताउनुभयो । हात्ती बस्तीमा पस्न थालेपछि निकुञ्जले निकुञ्ज आसपास बसोबास गर्नेलाई सतर्कता अपनाउन निकुञ्जले अनुरोध गरेको छ ।

११ महिनामा ७७ लाखले गरे आन्तरिक हवाई यात्रा

काठमाडौँ । सन् २०२३ को ११ महिनामा आन्तरिक उडानतर्फ ७७ लाखभन्दा बढी यात्रुले हवाई यात्रा गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्ममा आन्तरिकतर्फ ७७ लाख ९४ हजार २१७ यात्रुले हवाई यात्रा गरेका हुन् । उक्त सङ्ख्या सन् २०२२ को तुलनामा ३७.४८ प्रतिशतले बढी हो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले उडान सुरक्षामा सुधार र हवाई पूर्वाधारमा भएको प्रगति, जहाज सङ्ख्यामा भएको बढोत्तरीसँगै गन्तव्य विस्तारले विगतका वर्षभन्दा यस वर्ष हवाई यात्रुको सङ्ख्या बढ्दै गएको बताए ।

“सन् २०२२ को ११ महिनामा आन्तरिकतर्फ ५६ लाख ६८ हजार ९४१ र अन्तर्राष्ट्रियतर्फ ७७ लाख ९४ हजार २१७ जनाले हवाई सेवा लिएका छन् । सन् २०२२ को तुलनामा सन् २०२३ को ११ महिनामा आन्तरिकतर्फ ३७ प्रतिशते हवाई यात्रु बढेका छन्,” उनले भने ।

सूचना अधिकारी भुलले सोही अवधिमा अन्तर्राष्ट्रियतर्फ ४१।०४ प्रतिशतले हवाई यात्रु बढेको जानकारी दिनुभयो । सन् २०१९ देखि सन् २०२२ को अवधिमा कोरोनाको असरले सबैभन्दा बढी नोक्सानी परे पनि उनले सन् २०२३ को मार्चदेखि (गृष्मकालीन उडान तालिका) हवाई क्षेत्र पुरानै लयमा फर्किएको जानकारी दिए ।

उनका अनुसार कोरोनापछि नेपालबाट वैदेशिक रोजगारी र उच्च शिक्षाका लागि बिदेसिनेको सङ्ख्या र चीनका पाँच वटा गन्तव्यमा उडान विस्तारसँगै पर्यटकको ओहोरदोहोरले पनि हवाई यात्रुको सङ्ख्यामा प्रगति हुँदै गएको छ । उनले यसअघि दैनिक एक सयको हाराहारीमा अन्तर्राष्ट्रिय उडान हुँदै आएकोमा हाल दैनिक ११० अन्तर्राष्ट्रिय उडान अवतरण भइरहेको जानकारी दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

साउदीमा संगठित ठगी गर्ने गिरोहको बिगबिगी, नेपाली नागरिकलाई सचेत रहन आग्रह

काठमाडौं । साउदी अरबमा पछिल्ला दिनमा नेपाली श्रमिकहरूसमेत ठगीमा परेको गुनासो बढ्न थालेको छ । आफूलाई साउदी अरबको आन्तरिक मन्त्रालयको कर्मचारीको हवाला दिँदै टेलिफोन गर्ने कार्यले नेपाली श्रमिकसमेत मारमा परेका छन् । यी कार्य दैनिकजसो बढ्दै गएपछि रियादस्थित नेपाली दूतावासले आफ्नो मुलुकका नागरिकलाई सचेत रहन आग्रह गरेको छ ।

आफूलाई साउदी अरबको आन्तरिक मन्त्रालयको कर्मचारीको हवाला दिँदै टेलिफोन गर्ने व्यक्तिले ‘तपाईंको बासस्थानमा जनगणनाको सिलसिलामा गएकोमा भेट हुन नसकेको कारणले बासस्थानको बाहिर अरेबिकमा सूचना राखिएको छ, तपाईंले त्यसको जवाफ नपठाएकाले साउदीको कानुनअनुसार फोनबाटै आफ्नो विवरण अनिवार्य अद्यावधिक गर्नुहोला’ भन्दै कुरा सुरु गर्ने गरेको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले एक सूचना जारी गर्दै त्यस्ता व्यक्तिले अकामा नम्बर माग्ने, एसएसएसबाट साउदीको आन्तरिक मन्त्रालयबाट आएजस्तो बनाई फोनमा ओटीपी पठाउने, सो ओटीपी माग्ने, सबै विवरण भर्नुपर्ने भनी आब्सर तथा बैंक खाता नम्बर वा बैंक कार्ड नम्बर पनि मागेर ठगी गर्ने गरेको भन्दै सचेत रहन त्यहाँ कार्यरत नेपालीलाई अनुरोध गरेको छ ।

त्यस्तै, ओटीपीसमेत मागी विवरण अद्यावधिक गर्ने नाममा बैंकमा भएको रकम लैजाने र आब्सर हात पारी अनेकखालका अवैध कारोबार गर्ने र सम्बन्धित व्यक्तिलाई फसाइदिने खालका संगठित अपराध र ठगीका घटना बढेको दूतावासले जनाएको छ ।

यस सम्बन्धमा साउदीको आन्तरिक मन्त्रालयले समेत कारबाही गरिरहेको जनाउँदै दूतावासले बेलाबेलामा एसएसएसमार्फत् सूचना जारी गरी सचेत गराइरहेको जनाएको छ । दूतावासले कुनै अनधिकृत व्यक्तिले फोनबाट वा अरू कुनै माध्यमबाट अकामा, आब्सर वा बैंक खाता–कार्ड नम्बर ओटीपी मागेमा कुनै पनि हालतमा नदिई ठगीबाट बच्न अनुरोध गरेको छ । यस्ता घटना भएमा साउदी प्रहरीकामा गएर उजुरी गर्न पनि दूतावासले अनुरोध गरेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

लाइसेन्स वितरणमा व्यापक अनियमितता, बाँडियो हजारौं अवैध लाइसेन्स

काठमाडौं । यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख, कर्मचारी, बिचौलिया र केही ड्राइभिङ सेन्टरको मिलिमतोमा केही महिनायता मात्रै हजारौं अवैध लाइसेन्स वितरण भएको पाइएको छ।विगत ६ महिना यता लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमाणमा लाइसेन्स वितरण भएको पाइएको हो। स्रोतका अनुसार कर्मचारी र बिचौलियाको सेटिङमा त्यस्तो कार्य भएको पाइएको छ।

स्रोतका अनुसार विगत ६ महिनामा मात्रै अवैध खालका २० हजार बढी लाइसेन्स वितरण भएको छ। स्रोतका अनुसार विभागमा अहिले पनि हजारौं संख्यामा अवैध लाइसेन्स तयार भएको र दुई तीन दिभित्रमा बाँडिसक्ने तयारी गरिएको छ।विशेष गरी विभागका आईटी शाखा प्रमुखसमेत रहेका निर्देशक मुकेश रेग्मी, विभागको डाटाबेसमा पहुँच प्राप्त गरेको एक कन्सल्टेन्सीका प्रतिनिधि सविन श्रेष्ठ तथा विभिन्न यातायात कार्यालयका प्रमुख एवं कर्मचारीको मिलेमतोमा ६ महिनाकै अवधिमा २० हजार बढी अवैध लाइसेन्स विभागको सिस्टममा प्रविष्ट भएको पाइएको स्रोतले जानकारी दियो।

विदेशमा रहेका व्यक्तिको फोटो स्क्यान गरेर अर्कै व्यक्तिको बायोमेट्रिक गरी ब्याक डेटमा लाइसेन्स जारी गरिएको छ। आईटी शाखामा अनुभवी कर्मचारीलाई हटाएर सिकारुलाई राखिएको छ।

राजधानी बाहिरका यातायात कार्यालयबाट १० देखि १२ वर्षअघिको मितिमा लाइसेन्स जारी गरेको विवरण अनलाइनमा प्रविष्ट गरी दुईपटकसम्म नवीकरण भएको देखाएर लाइसेन्स बाँड्ने काम भइरहेको छ। विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले पनि यो धन्दा रोक्न नसकेपछि उनमाथि समेत आशंका सिर्जना भएको छ।सवारी लाइसेन्सका लागि काम गर्ने बिचौलियाहरूले प्रतिव्यक्ति ५० हजारदेखि १ लाख २५ हजार रुपियाँसम्म असुलेर यस्तो काम गरेको र सो रकम माथिसम्ममा नै पुग्ने गरेको स्रोतको दाबी छ।

योमरी नामक कम्पनीले बनाएको पुरानो रेकर्ड सिस्टम (डीएल) विभाग तथा कार्यालयबाट हेर्न नसक्ने बनाएर पुरानो सिस्टमको रेकर्ड विभागकै कन्सल्टेन्सीका सविन श्रेष्ठमार्फत डाटाबेसमा पुरानो मिति राखेर लाइसेन्स जारी गर्ने गरिएको छ। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

रुस र युक्रेनको श्रम स्वीकृति स्थगन

काठमाडौँ, १९ पुस ः वैदेशिक रोजगार विभागले युद्धग्रस्त मुलुक रुस र युक्रेनमा नेपाली नागरिकलाई श्रम स्वीकृति नदिने भएको छ । दुवै देशमा संस्थागत वा व्यक्तिगत रुपमा नेपाली नागरिकहरुलाई श्रम स्वीकृति दिन रोक लगाइएको विभागका निर्देशक कविराज उप्रेतीले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “रुस र युक्रेनमा युद्ध भइरहेकाले नेपाली नागरिक त्यहाँ जाँदा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न र अर्को व्यवस्था नभएसम्मका लागि रुस र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरिएको छ ।”

भारतीय विदेशमन्त्रीले गरे कांग्रेस सभापति देउवासँग भेटवार्ता

काठमाडौँ, १९ पुस : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश मन्त्री डा एस जयशङ्करबीच भेटवार्ता भएको छ । आज यहाँ भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध सम्बन्धमा छलफल भएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।

भेटमा दुई देशबीच सदियौँदेखिको सम्बन्ध र घनिष्ठ सम्बन्धलाई थप प्रगाढ बनाउने र नेपालको विकास निर्माणमा सहयोग अभिवृद्धि गर्नेलगायत विषयमा छलफल भएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो । भारतीय विदेश मन्त्री डा जयशङ्कर नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आजै नेपाल आउनुभएको हो ।

उहाँले भ्रमणका क्रममा आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । उहाँ भ्रमण सम्पन्न गरी भोलि पुस २० गते स्वदेश फर्कनुहुनेछ ।

वित्तीय अनुशासन कायम गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

मोरङ, १९ पुस : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारको पहिलो प्राथमिकता सुशासन भएको बताउनुभएको छ । महालेखा परीक्षकको कार्यालय काठमाडौँद्वारा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित लेखा परीक्षण, बेरुजु फछ्र्यौट तथा सम्परीक्षणसम्बन्धी अन्तरक्रियामा उहाँले वित्तीय अनुशासन कायम गर्न तथा बेरुजु शून्यमा ल्याउन कुनै किसिमको सम्झौता नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले वित्तीय उत्तरदायित्व निर्वाह गर्ने गरी काम गर्न हरेक मन्त्रालयलाई निर्देशन दिएको जानकारी दिँदै यसमा कुनै किसिमको बहानाबाजी गर्ने छुट कसैलाई पनि नहुने बताउनुभयो । उहाँले प्रदेशमा देखिएको बेरूजु आवश्यक कागजपत्रको समयमा दाखिला नगरेर भएको स्पष्ट पार्दै नाता सम्बन्ध, राजनीतिक नेतृत्वको दबाबमा परेर कुनै किसिमको नियम, कानून विपरित गलत काम गर्ने छुट कसैलाई नभएको बताउनुभयो ।

कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले कानुनअनुसार काम गरेमा कुनै बेरुजु नआउने उल्लेख गर्नुभयो । महालेखा परीक्षक कार्यालयका उपमहालेखा परीक्षक विन्दु विष्ट र प्रदेश लेखा परीक्षक दामोदर खत्रीले बेरुजु फछ्र्यौटमा जिम्मेवार शाखाले आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव खगेन्द्र खड्काले गत आर्थिक वर्षमा प्रदेश सरकारले चालु र पूँजीगत तथा स्थानीय तहको अनुदान गरेर कुल बजेटको ८१ दशमलव ४५ प्रतिशत बजेट फछ्यौट गरिएको जानकारी दिनुभयो । कार्यक्रममा प्रदेशका विभिन्न मन्त्रालयका सचिव र लेखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

मुस्ताङका च्याङग्रापालक किसानलाई पचास लाख अनुदान

म्याग्दी, १९ पुस : मुस्ताङका किसानले च्याङ्ग्राको खोर सुधार र स्रोत केन्द्र स्थापना गर्न चालु आर्थिक वर्षमा रु पचास लाखभन्दा बढी अनुदान पाउने भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको च्याङ्ग्रा जोन कार्यक्रमले खोर सुधारका लागि सात र स्रोत केन्द्र स्थापना गर्न दुई समूह बुधबार छनोट गरेको हो । उनीहरुलाई यसवर्ष रु ५० लाख ४७ हजार अनुदान उपलब्ध गराइने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ म्याग्दी÷मुस्ताङका प्रमुख नेत्र भट्टले बताउनुभयो ।

“अनुदानका लागि मापदण्डअनुसार आवेदन सङ्कलन र स्थलगत मूल्याङकनपछि छनोट गरिएको हो”, उहाँले भन्नुभयो, “सात च्याङग्राका खोर सुधार गर्न रु तीन लाख २१ हजार र दुई स्रोत केन्द्र स्थापना गर्न रु १४ लाखका दरले अनुदान पाउनेछन् ।” किसानले प्रस्तावित परियोजनाको कूल लागतको ८५ प्रतिशत बराबर परियोजनाबाट अनुदान उपलब्ध गराउने कार्यविधि छ । 

परम्परागत रुपमा हुँदै आएको च्याङग्रापालनलाई व्यवस्थित र व्यावसायिक बनाई गुणस्तरीय मासु, ऊन तथा पश्मिना उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ तीन वर्षअघिदेखि लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा च्याङग्रा जोन कार्यक्रम लागू भएको छ । 

च्याङग्राका पाठापाठी उत्पादनका लागि यसवर्ष दुई ठाउँमा स्रोत केन्द्र स्थापना गर्न लागिएको च्याङ्ग्रा जोनका प्राविधिक गणेश खत्रीले बताउनुभयो । च्याङग्राका बोका खरिद गर्ने कार्यक्रम रहेको छ । च्याङग्रालाई वन्यजन्तुको आक्रमण र हिउँदयाममा चिसोबाट बचाउन खोर सुधार गर्न जोड दिइएको छ । जोनमा आबद्ध किसानले १५ हजारभन्दा बढी च्याङग्रा पालेका छन् । 

च्याङग्रा जोनका लागि चालु आवमा रु ८६ लाख ८९ हजार विनियोजन गरिएको छ । पूर्वाधार निर्माण र बोका खरिदका अलावा औषधि, आहारा, खोप, किसानलाई प्राविधिक तालिम लगायतका विषयमा बजेट परिचालन गरिने जोनले जनाएको छ । 

गतवर्ष ५८ किसान आबद्ध १० समूहलाई खोर सुधार गर्न रु तीन÷तीन लाखका दरले अनुदान दिइएको थियो । यसैगरी दुई स्रोत केन्द्र निर्माणमा रु २८ लाख अनुदान दिइएको थियो । आर्थिक वर्ष २०७८÷७९ मा सात फार्मले खोर सुधार गर्न रु २१ लाख, सङ्कलन केन्द्रमा रु १२ लाख र स्रोत केन्द्रमा रु १४ लाख खर्च भएको थियो । 

मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुुण्ड र लोमान्थाङ गाउँपालिकामा ४८ हजार च्याङ्ग्रा पालिएका छन् । त्यहाँ करिब ६५ ठूला च्याङग्रा फार्म छन् । लोमान्थाङ र लोघेकर दामोदरकुण्डका किसानले ३० देखि ५० वटासम्म घरघरमा च्याङग्रा पालेका छन् । 

प्रधानमन्त्री कप क्रिकेट  :  कैलालीसँग पराजित बझाङ बाहिरियो

बैतडी, १९ पुस  : प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत इलाइट च्याम्पियनसिपमा कैलालीले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा कैलालीले बझाङलाई एक सय छ रनले हरायो । जितका लागि पाएको दुई सय १२ रनको लक्ष्य पछ्याएको बझाङ २६ दशमलव पाँच ओभरमा एक सय छ रनमा समेटियो । 

 त्यसमा किरन कार्कीले सर्वाधिक ३९ रन बनाए पनि हार भने टार्न सकेनन् । कैलालीका प्रकाश सुनारले तीन, धर्म जोशी र डमेर सुनारले २÷२ विकेट हात पारे । यसअघि फाप्ला मैदानमा बिहान ९ बजेदेखि सुरू हुने भनिएको ५० ओभरको खेल बाक्लो हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरू हुँदा ३५ ओभरमा झारिएको थियो ।  टस जितेर पहिला ब्याटिङ गरेको कैलालीले ३५ ओभरमा छ विकेटको क्षतिमा दुई सय ११ रन बनायो । कैलालीका ओपनर टेक रावतले अर्धशतकीय पारी खेल्दै ९१ रन बनाए । बझाङका अशोक धामीले दुई विकेट लिए । कैलालीका टेक रावत म्यान अफ द म्याच चुनिएका स्कोरर नरेन्द्रराज भट्टले जानकारी दिनुभयो । योसँगै कैलालीले तीन खेलमध्ये दुईमा जित निकाल्दै चार अङ्क जोड्दै फाइनलको सम्भावना जीवितै राखेको छ । लगातार तेस्रो हार व्यहोरेको बझाङ भने प्रतियोगिताबाट बाहिरिएको छ । कैलालीले अब अन्तिम खेल आइतबार बैतडीसँग खेल्नेछ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा यही पुस १४ गतेदेखि  सुरू भएको प्रतियोगिता पुस २४ गते सम्पन्न हुनेछ । 

कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार

काठमाडौँ, १९ पुस : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुस २१ गते शनिबार केन्द्रीय कार्यालय सानेपामा हुने भएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको बताउनुभयो ।पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपस्थित हुन पार्टी पदाधिकारी एवं सदस्यलाई अनुरोध गरेको छ ।

एमाले सचिवालय बैठक भोलि

काठमाडौँ, १९ पुस : नेकपा (एमाले)ले सचिवालय बैठक भोलि शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुने भएको छ । राष्ट्रियसभा उम्मेदवारको चयन, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राससलाई बताउनुभयो ।

यसैबीच, पार्टीअध्यक्ष केपी शर्मा ओलीले आज अपराह्न प्रदेश कमिटीका पदाधिकारीसँग राष्ट्रियसभा उम्मेदवार चयनबारे छलफल गर्नुभएको उहाँले बताउनुभयो ।

अध्यक्ष ओली र भारतका विदेशमन्त्रीबीच भेट

काठमाडौँ, १९ पुस : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र भारतका विदेशमन्त्री एस जयशङ्रबीच शिष्टाचार भेट भएको छ । त्यस अवसरमा दुई देशबीच विद्यमान सम्बन्धबारे छलफल भएको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले राससलाई जानकारी दिनुभयो ।

अध्यक्ष ओलीले भारतसँग नेपालको नजिकको सम्बन्ध रहेको बताउँदै आर्थिक विकासको बाटोमा अग्रसर नेपाललाई भारतको सहयोग अपरिहार्य भएकाले त्यसमा सघाउन अनुरोध गर्नुभयो । “भारत नेपालको मित्र भएकाले कतिपय विषयका समस्या संवादको माध्यमबाट टुङ्ग्याउनुपर्छ,” अध्यक्ष ओलीलाई उद्धृत गर्दै विभाग प्रमुख भट्टराईले भन्नुभयो ।

स्थानीय तहलाई दिइएको भूमिका महत्त्वपूर्ण : मन्त्री देवी

 

गण्डकी, १९ पुस : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले संविधानले स्थानीय तहलाई दिएका जिम्मेवारी र भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम, कार्यक्रम समन्वय एकाइ बबरमहल काठमाडौँद्वारा आज पोखरामा आयोजित असल अभ्यास आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा उहाँले वर्तमान संविधानले स्थानीय तहलाई महत्त्वपूर्ण खम्बाका रुपमा लिएको बताउनुभयो । स्थानीय तहलाई संविधानले कतिपय एकल अधिकार दिएको उल्लेख गर्दै मन्त्री देवीले प्राप्त अधिकारको उपयोग गरी विकास, निर्माणका काममा प्रभावकारी रुपमा अघि बढ्दै समृद्धिको यात्रातर्फ लाग्नुपर्ने बताउनुभयो । स्थानीय तहले एकआपसमा गरेका असल अभ्यासबारे छलफल एवं अन्तरक्रिया गर्दै अघि बढ्न सकेमा जनताको अपेक्षा अनुसारका कामले निरन्तरता पाउने उहाँको भनाइ थियो । प्रमुख प्रशासकीय अधिकृत र स्थानीय तहबीच नङमासुको जस्तो सम्बन्ध हुनुपर्नेमा जोड दिँदै मन्त्री देवीले असल सम्बन्धबाट कामको प्रभावकारिता बढ्ने धारणा राख्नुुभयो ।  गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले एकले गरेका असल अभ्यास अर्काका लागि अनुकरणीय हुने बताउनुुभयो । काम गर्ने क्रममा विविध समस्या तथा कानुनी अप्ठ्यारा आउने भन्दै कानुनको आवश्यकता, महत्त्वलगायत विषयमा समीक्षा गर्दै अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा रहेको न्यायिक समितिका लागि कानुन अधिकृतको व्यवस्था गर्न सके त्यसले कामलाई सहज बनाउने बस्नेतको भनाइ थियो ।  पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रशासकीय अधिकृत पटकपटक फेरिने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । स्थानीय तहलाई दिइएका अधिकार कार्यान्वयनका सम्बन्धमा निरन्तर छलफलसँगै दबाब भए पनि त्यसको सुनुवाइ नभएको उहाँले बताउनुभयो ।जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल, डा नारायण रेग्मीलगायतले आ–आफ्नो धनाइ राख्नुुभएको थियो । भोलिसम्म हुने कार्यक्रममा गण्डकी प्रदेश भित्रका विभिन्न ४० पालिकाका प्रमुख एवं प्रमुख प्रशासकीय अधिकृत सहभागी हुनुहुन्छ ।  

बिपी प्रतिष्ठानको साख जोगाउन स्वास्थ्यमन्त्रीको अनुरोध

धरान, १९ पुस ः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको साख जोगाउन सबै लाग्नु आवश्यक भएको बताउनुभएको छ ।

नेपाली कांग्रेस धरानले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐनका केही कमीकमजोरीका कारण चिकित्सा शिक्षामा समस्या उत्पन्न भएको बताउनुभयो ।ऐनमा आवश्यक व्यवस्था नहुँदा चिकित्सा शास्त्र पढ्न विद्यार्थी बाहिरिनेक्रम बढेकाले सुधार गर्न आवश्यक भएको बताउनुभयो ।नेपाली कांग्रेसका नगर सभापति श्याम पोखरेल, सुनसरी क्षेत्र नं.१का सभापति सुजेन्द्र तामाङले बिपी प्रतिष्ठानको विद्यार्थी कोटा कतौती भएको भन्दै ध्यानाकर्षणपत्र प्रस्तुत गर्नुभएको थियो ।

 गोलबजार नगरपालिकाले किसानले सिँचाइका लागि प्रयोग गर्दा लागेको कृषि विद्युत् महसुल बुझायो

सिरहा, १९ पुस : गोलबजार नगरपालिकाले नगरभित्रका किसानले सिँचाइका लागि प्रयोग गर्दा लागेको कृषि विद्युत् महसुल बुझाएको छ । नगरपालिकाले कृषि विद्युत् महसुल अनुदान कार्यक्रमअन्तर्गत करिब रु आठ लाख महसुल विद्युत् प्राधिकरणलाई बुझाएको हो ।

आज एक समारोहकाबीच नगर प्रमुख श्यामकुमार श्रेष्ठले विद्युत् प्राधिकरण मिर्चैया वितरण केन्द्रका प्रमुख मनोजकुमार शर्मालाई रु सात लाख ९७ हजारको चेक हस्तान्तरण गर्नुभयो । भुक्तानी भएको रकम साउनदेखि अहिलेसम्मको भएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।वडा नं १ लहान वितरण केन्द्रले हेर्ने भएकाले त्यसका लागि रु ५० हजार निकासा भएको कृषि शाखाका वीरेन्द्र यादवले जानकारी दिनुभयो ।पालिकाले गत असारमा सम्पन्न नगरसभाबाट कार्यविधि पास गरी प्रमाणीकरण गरेको भए पनि लेखा तथा प्रशासकीय प्रमुख नियमित नहुँदा भुक्तानीमा ढिलाइ भएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । “नगरपालिकाले कार्यविधि पास गरिसकेको भए पनि लेखाका कर्मचारी नहुँदा धेरै काम नियमित रुपमा हुन सकिरहेको थिएन । कर्मचारीको अभावका कारण ढिलाइ भएको हो”, उहाँले भन्नुभयो ।मिर्चैया वितरण केन्द्रका प्रमुख शर्माले पालिकाको सानो प्रयासबाट किसानले प्रत्यक्ष लाभ पाएका बताउनुभयो । “यसवर्ष वर्षाको समयमा पनि खरेडी परेकाले किसानले भूमिगत सिँचाइको सहयोगमा खेतीपाती गरेका थिए । यस्तो बेलामा नगरले विद्युत् महसुल तिरेर किसानका लागि घाउमा मलहमपट्टी लगाएजस्तो भएको छ”, उहाँले भन्नुभयो ।प्रमुख शर्माका अनुसार नगरक्षेत्रमा तीन हजारको हाराहारीमा कृषि मिटर जडान गरिएका छन् । नगर प्रमुख श्रेष्ठले आगामी दिनमा बाँकी किसानलाई पनि यस योजनामा समेट्ने योजना रहेको जानकारी दिनुभयो ।

पाकिस्तानका पूर्व विदेशमन्त्रीको निधनप्रति चीनद्वारा शोक व्यक्त

पाकिस्तानका पूर्व विदेशमन्त्रीको निधनप्रति चीनले शोक व्यक्त गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बिहीबार पाकिस्तानका पूर्व विदेशमन्त्री सरताज अजिजको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै चीन-पाकिस्तान सम्बन्धमा उहाँको उल्लेखनीय योगदानको प्रशंसा गर्नुभएको छ।

पूर्व अर्थमन्त्री र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार समेत रहनु भएका अजिजको मङ्गलबार इस्लामाबादमा निधन भएको थियो।” अजिज एक जना अनुभवी राजनीतिज्ञ, रणनीतिकार र पाकिस्तानका आर्थिक विशेषज्ञ हुनुहुन्थ्यो, साथै चिनियाँ जनताको पुरानो र असल मित्र पनि हुनुहुन्थ्यो,” वाङले नियमित पत्रकार सम्मेलनमा भन्नुभएको छ ।

प्रवक्ता वाङले अजिजले पाकिस्तानको समृद्धिप्रति समर्पित रहेको, चीन-पाकिस्तान सम्बन्धलाई प्रवर्द्धन गर्न कडा मिहिनेत र जोशका साथ काम गरेको र चीनको लागि उत्कृष्ट योगदान दिएको बताउनुभएको छ।

पाकिस्तान मैत्री सहयोग, विशेष गरी चीन-पाकिस्तान आर्थिक करिडोरको शुरुवात र निर्माणका निम्ति पनि उहाँको उल्लेख्य योगदान रहेको छ । प्रवक्ताले भन्नुभयो- “हामी अजिजको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।”

हडतालका कारण स्पेनको इबेरियाद्वारा ४०० भन्दा बढी उडान रद्द

आफ्ना ग्राउन्ड सर्भिस कर्मचारीहरूको चार दिने हडतालका कारण स्पेनी एयरलाइन इबेरियाले चार सयभन्दा बढी उडान रद्द गरेको छ । मुलुकको प्रमुख बिदा एपिफेनीको पूर्वसन्ध्यामा एयरलाइन्सको उडान रद्द शुक्रबारदेखि सुरु हुनेछ ।

स्पेनको युजिटी तथा सिसिओओ युनियनहरूसँगको वार्ता बिना कुनै सम्झौता बुधबार राति समाप्त भएपछि इबेरियाले एक विज्ञप्तिमा भनेको छ, “उडानहरू रद्द हुँदा एयरलाइनको कम लागतको इबेरिया एक्सप्रेस र यसको क्षेत्रीय एयरलाइन एयर नोस्ट्रमलाई पनि प्रभावित बनाउने छ, यसबाट ४५ हजारभन्दा धेरै यात्री प्रभावित हुनेछन् ।”

इबेरियाका कर्पोरेट निर्देशक जुआन सिएर्कोले हडतालबाट यात्रीहरूलाई ‘धेरै महत्त्वपूर्ण’ अवरोध हुने उल्लेख गर्दै अन्तिम समयमा रद्द गरिएको भए पनि उडानहरूलाई पुनःतालिका बनाउन असम्भव हुने बताउनुभयो ।

स्पेनमा परम्परागतरूपमा क्रिसमस उपहार एपिफेनीको दिन अर्थात जनवरी ६ मा दिइन्छ । उक्त दिन इसाईहरू शिशु येशुसँग भेट गर्न तीन राजाले भ्रमण गरेको सम्झना गर्छन् । यसको एक रातअघि पूरै देशमा रङ्गीन परेड आयोजना गरिन्छ ।

धेरै स्पेनीहरू बिदाका लागि आफ्ना परिवारका साथ भ्रमण गर्दछन् । यसलाई थ्रि किङ्गस डेका रूपमा पनि जानिन्छ । ब्याग ह्यान्डल गर्ने पनि समावेश भएका इबेरियाका ग्राउन्ड सर्भिस कर्मचारीहरूले राज्य नियन्त्रित विमानस्थल सञ्चालक एनाले नयाँ प्रदायकहरूसँग हस्ताक्षर गरेको सम्झौताको विरोध गरिरहेका छन् । नयाँ प्रदायकहरूले इबेरियाका कर्मचारीहरूलाई कायमै राख्ने वाचा गरेका छन् तर उनीहरूको कामकाजी अवस्था बिग्रने डर युनियनहरूलाई छ ।

प्रधानसेनापति शर्मा र श्रीलङ्काका राजदूतबीच भेट

काठमाडौँ, १९ पुस : प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि श्रीलङ्काका राजदूत सुदर्शन पाथिरनाबीच आज जङ्गी अड्डामा शिष्टाचार भेट भएको छ ।

त्यस अवसरमा नेपाल–श्रीलङ्का सम्बन्धका विविध विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यस किसिमका भेटले दुई देशबीचको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको उक्त निर्देशनालयले जारी गरेको विज्ञप्तिका जनाइएको छ ।

जुडो प्रतियाेगिता पुस २१ मा हुने

काठमाडौँ, १९ पुस : महालक्ष्मी नगरपालिका–७ को आयोजनामा पालिकास्तरीय प्रथम वडाध्यक्ष कप उपत्यकाव्यापी जुनियर तथा क्याडेट जुडो प्रतियोगिता हुने भएको छ ।

यही पुस २१ गते हुने उक्त प्रतियोगितामा उपत्यकाका ९ पालिकाबाट एक सय ३० खेलाडीको सहभागिता रहने आयोजक वडा नम्बर ७ का अध्यक्ष बाबुराजा महर्जनले जानकारी दिनुभयो । प्रतियोगितामा ललितपुर र काठमाडौं महानगरपालिकाका साथै महालक्ष्मी, कीर्तिपुर, नागार्जुन, टोखा, कागेश्वरी मनोहरा, सूर्यविनायक र मध्यपुर थिमी नगरपालिको सहभागिता रहने छ ।

पुरुष/महिलामा समान ९–९ गरी जम्मा १८ स्पर्धामा प्रतिस्पर्धा हुनेछन् । एकदिने प्रतियोगिताका खेल वडा ७ स्थित हाम्रो पाठशालामा खेलाइने छ ।

नेपाल–भारत विद्युत् व्यापारमा फड्को : तीन प्रसारण लाइन एकैपटक सञ्चालन

काठमाडौँ, १९ पुस : नेपाल र भारतबीच बिजुली खरिदबिक्रीका लागि महत्वपूर्ण मानिएका तीन वटा प्रसारण लाइनको आज उद्घाटन भएको छ ।

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशङ्करले आज कुशाहा–कटैया, परवानीपुर–रक्सोल र मैनहिया– न्यू नौतनवा प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

त्यस अवसरमा उपस्थित ऊर्जा जलस्रोत तथा सिँचाइमनत्री शक्तिबहादुर बस्नेतले दुई देशबीचको विद्युत् व्यापारका लागि आजदेखि सञ्चालन भएका प्रसारण लाइन द्विपक्षीय ऊर्जा व्यापारका निम्ति उपलव्धिपूर्ण भएको बताउनुभयो । उहाँले दुई देशबीच बिजुली खरिदबिक्रीका लागि विद्यमान संरचनाको अधिकतम उपयोग गर्ने विषयमा महत्वपूर्ण काम भएको बताउनुभयो । ती प्रसारण लाइनमध्ये दुईवटा यसअघि नै सञ्चालनमा आइसकेको भए पनि दोस्रो सर्किट थप भएका हुन । परवानीपुर–रक्सौल, कुशाहा कटैया प्रसारण लाइनको एक÷एक वटा सर्किट सञ्चालनमा थिए । ती प्रसारण लाइनमा अर्को सर्किट थप गरेर डबल सर्किट गरिएको छ ।

आजदेखि सञ्चालन भएका प्रसारण लाइनको क्षमता एक सय ३२ किलोभोल्ट छ । ती प्रसारण लाइनबाट हाल ८० मेगावाट बराबरको बिजुली प्रवाह हुँदै आएको थियो । दोस्रो सर्किट सञ्चालनमा आएपछि थप ८० मेगावाट बिजुली प्रवाह गर्न सहज भएको छ । यसैगरी, न्यू नौतनवा मैनाहिया एक सय ३२ केभी प्रसारण लाइनको पनि आजै उद्घाटन भएको छ । डबल सर्किट क्षमताको सो प्रसारण लाइनबाट दुई सय मेगावाट बिजुली प्रवाह हुनेछ ।
मन्त्री बस्नेतले १० वर्षमा १० हजार मेगावाट बिजुली भारत निर्यात गर्ने सम्बन्धमा भएको सहमतिलाई ‘ब्रेकथ्रु’को संज्ञा दिनुभयो । नेपाली बिजुलीले भारतको विशाल बजारमा सहज प्रवेश पाएको र यसले लगानीको थप वातावरण बनेको राससलाई बताउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत जेठमा गर्नुभएको भारत भ्रमणमा क्रममा व्यक्त प्रतिबद्धता कार्यान्वयनको चरणमा प्रवेश गरेकामा प्रसन्नता व्यक्त गर्दै मन्त्री बस्नेतले थप विद्युत् भारत निर्यात गर्न योजनाबद्ध रुपमा अगाडि बढ्न्पर्नेमा जोड दिनुभयो । सम्झौता बमोजिम आपसी हित हुने गरी दुई देशबीच दीर्घकालीन विद्युत् व्यापारका लागि आवश्यक प्रक्रिया अगाडि बढाइनेछ । सरकारी र निजी दुवै क्षेत्रले सहज रुपमा अब विद्युत् व्यापार गर्न बाटो खुलेको छ । सम्झौताको अवधि २५ वर्षको रहेको छ । प्रत्येक १० वर्षमा स्वतः नवीकरण हुने व्यवस्था गरिएको छ ।

क्षेत्रीय व्यापारलाई अझै वृद्धि गर्दै, दुई मुलुकबीच विद्यमान, कार्यान्वयनमा रहेका र प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनलाई प्रयोग गरिने भएको छ । हाल ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइन सञ्चालनमा छ । सो प्रसारण लाइनबाट हाल आठ सय मेगावाट बिजुली आयातनिर्यात गर्न सकिनेछ । सो प्रसारण लाइनको क्षमता वृद्धि गरेर एक हजार मेगावाट बराबर बनाउने सम्बन्धमा सहमति भइसकेको छ । सन् २०२५ को मे सम्ममा न्यू–बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य छ । सो प्रसारण लाइन निर्माणलाई उच्च प्राथमिकतामा राखिएको छ । ऊर्जा मन्त्रालयले तयार पारेको प्रस्तावमा नानपारा–कोहलपुर एक सय ३२ केभी प्रसारण लाइनको विषय पनि समावेश छ ।

भारतीय कम्पनी सतलज विद्युत् निगमले निर्माण गरिरहेको नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइनको क्षमता उपयोगका बारेमा पनि सहमति भएको छ । नेपालले सो प्रसारण लाइनको उपभोग गरेर थप बिजुली भारत निर्यात गर्न सकिने बताउँदै आएको छ । अरुण तेस्रोको हाल भौतिक प्रगति ६५ प्रतिशतमाथि छ । यसअघि नै प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनको रुपमा रहेका चार सय केभी क्षमताको दोदोधारा– बरेली र इनरुवा– पूर्णीया प्रसारण लाइन निर्माण हुनेछ । सन् २०२८ सम्म ती प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

सरकारले सन् २०३५ सम्म कूल २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने रणनीतिक कार्ययोजना तयार पारिसकेको छ । सो कार्ययोजनामा १३ हजार मेगावाट आन्तरिक खपतका लागि र १५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य राखको छ । सोही लक्ष्यअनुसार सरकारले निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने लक्ष्य लिएको मन्त्री बस्नेतले बताउनुभयो ।

चालु आवको अन्त्यसम्म भारतबाट आयात गरिने बिजुली र नेपालबाट निर्यात हुने बिजुलीको मात्रामा गुणात्मक बदलाव आउने मन्त्री बस्नेतको भनाइ छ । “यसवर्षदेखि हामी आयातभन्दा बढी निर्यात गर्ने स्थानमा पुग्नेछौ ” उहाँले भन्नुभयो, “एकाध वर्षपछि हामी पूर्ण रुपमा बिजुली निर्यातक देशका रुपमा परिवर्तन हुनेछौँ ।”

नेपाल विद्युत् प्राधिकरणले पछिल्लो एक वर्षमा रु १५ अर्ब २७ करोड बराबरको बिजुली निर्यात गरेको छ । यो आफैँमा महत्वपूर्ण उपलब्धि भएको टिप्पणी गर्दै मन्त्री बस्नेतले भन्नुभयो, “हामीले निर्यातलाई मात्रै जोड दिएका छैनौँ । आन्तरिक खपतलाई पनि उत्तिकै प्राथमिकतामा राखेका छौँ ।”

प्रधानमन्त्रीले आगामी डेढ वर्षभित्र आधारभूत रुपमा सबै नेपालीको घरमा बिजुली पु¥याउने लक्ष्य सार्वजनिक गर्नुभएको छ । सोही आधारमा मन्त्रालयले योजना बनाएर कार्यान्वयन गरिरहेको मन्त्री बस्नेत बताउनुहुन्छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि भारतसँग आज भएको सम्झौता र प्रसारण लाइन सञ्चालनबाट द्विदेशीय बिजुलीको व्यापारका लागि ‘बजार’ सुनिश्चित भएको प्रतिक्रिया राससलाई दिनुभयो । उहाँले बजार सुनिश्चित भएकाले ऊर्जा उत्पादनमा लगानी विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल पर्यटन बोर्डको कार्यशैलीप्रति सांसदको चासो

काठमाडौँ, १९ पुस : सांसदहरुले नेपाल पर्यटन बोर्डको कार्यशैलीमाथि चासो जनाउँदै बोर्डले उद्देश्य विपरितका कार्यक्रममा महत्त्व दिएको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज सिंहदरबारमा बसेको बैठकमा उहाँहरुले बोर्डको काम कारबाहीबारे जानकारी लिँदै अन्तर्राष्ट्रिय बजारीकरणमा रणनीतिक कार्यक्रमका साथ जानुपर्नेमा ठीक विपरित दिशामा अघि बढेको उल्लेख गर्नुभयो ।

सार्वजनिक निजी साझेदारीको नमूनाका रुपमा रहेको बोर्डको संरचना र कार्यशैलीमाथि प्रश्न उठाउँदै सांसदहरुले गठन हुनुको उद्देश्य विपरितका कार्यक्रम गरिरहेको भन्दै बोर्डले मुख्य कामभन्दा अन्यत्र विषयलाई प्राथमिकता दिएको बताउनुभयो ।

बजेटको ६० प्रतिशत अन्तर्राष्ट्रिय बजारीकरणमा खर्च गर्नुपर्नेमा विगत ४० वर्षदेखि हँुदै आएको ‘वल्र्ड टुरिज्म मार्ट’ (डब्लुटिएम) मा सहभागी हुन नसक्नुका कारणबारे सांसदहरुले जावाफ माग गर्नुभयो ।

विश्वकै ठूलो टुरिज्म मार्टको रुपमा रहेको संयुक्त अधिराज्य बेलायतमा हुने ठूलो पर्यटन मेला डब्लुटिएमलगायत चालु आवमा कुनै पनि अन्तर्राष्ट्रिय मार्टमा बोर्डले सहभागिता नजनाउनुका कारणबारे सांसदहरुले जिज्ञासा राख्नुभएको थियो ।

नीतिगत रुपमा व्यवस्था नभए पनि बोर्डको जम्मा बजेटको ६० देखि ७० प्रतिशत अन्तर्राष्ट्रिय बजारीकरण गर्न खर्च गर्नुपर्ने प्रावधान रहेको बोर्डले उल्लेख गरेको छ । झण्डै रु दुई अर्ब बजेटमध्ये बोर्डले अन्तर्राष्ट्रिय प्रवर्द्धन, आन्तरिक गन्तव्य प्रवर्द्धन, पूर्वाधार विकास, धार्मिक पर्यटनलगायतमा खर्च गर्ने गरेको छ ।

पूर्वप्रधानमन्त्री एवं समितिका सदस्य माधवकुमार नेपालले पर्यटक आकर्षण गर्न अन्तर्राष्ट्रिय बजारीकरणलाई नीतिगत सुधार गरिनुपर्ने बताउनुभयो । उहाँले नारायण सङ्ग्रहालयलाई ‘ग्राण्ड म्युजियम’ बनाउनुुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सांसद वर्षामान पुनले बोर्ड उद्देश्य विपरित गएको सञ्चार माध्यममा आएको बताउनुभयो । उहाँले भूगोल सम्मेलनलगायत अन्य विषयमा खर्च गर्ने गरेको भन्दै बोर्डले आफ्नो मुख्य दायित्वतर्फ केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो ।

सांसद पुनले नेपाल अथाह पर्यटकीय सम्भावना रहेको मुलुक भएको उल्लेख गर्दै छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने कार्ययोजनासहित अघि बढ्न बोर्डलाई सुझाव दिनुभयो ।

सांसद भीमप्रसाद आचार्यले बोर्डलाई समयसापेक्ष नीतिगत सुधार गरी ‘डिजिटल मार्केटिङ’ मा केन्द्रित हुन आग्रह गर्नुभयो । उहाँले स्पष्ट पर्यटन रणनीति नभएको जनाउँदै मन्त्री र सचिव फेरिने वित्तिकै योजना तथा कार्यक्रम परिमार्जन हुने प्रबृत्तिले दिगो पर्यटन विकासमा ह्रास आएको उल्लेख गर्नुभयो ।

सांसद उदयशम्शेर जबराले बोर्डको उद्देश्य अनुरुप ६० प्रतिशत बजेट अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा खर्च गर्नुपर्ने भए पनि पर्यटन क्षेत्रभन्दा बाहिरका विभिन्न कार्यक्रममा किन करौडौँ रकम खर्च गरिरहेको भनी प्रश्न गर्नुभयो । उहाँले एक भूगोल सम्मेलनमा रु पाँच करोड खर्च भएको भनिएको विषयमा समितिलाई स्पष्ट जवाफ दिन माग गर्नुभयो । डब्लुटिएम जस्ता कार्यक्रममा सहभागिता नजनाउनु बोर्डको असक्षमता भएको उहाँको भनाइ थियो ।

सांसद एकनाथ ढकालले बोर्डको प्रवर्द्धन गर्दा प्रविधिमैत्री हुनुपर्ने धारणा राख्नुभयो । भूगोल सम्मेलनलगायत अनावश्यक विषयमा बोर्ड जिम्मेवारी बाहिरका गतिविधिमा संलग्न भएको भन्दै उहाँले गुणस्तरीय पर्यटक भित्र्याउन रणनीतिक कार्यक्रमका साथ अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।

सांसद प्रभु साहले बोर्डको बजारीकरण प्रभावकारी नभएको तथा संरचना र कार्यशैलीमाथि नै प्रश्न उठेको भन्दै बोर्डको कार्यशैली परिवर्तन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । सांसद सुनिता बरालले सङ्घीय संरचना अनुरुप बार्डले प्रविधिमैत्री प्रभावकारी बजारीकरण गर्न जरुरी रहेकामा जोड दिनुभयो ।

समितिका सभापति राजकिशोर यादवले बोर्डका बारेमा स्थलगत अवलोकन र छलफलपछि आवश्यक निर्णय लिइने जानकारी दिनुभयो । उहाँले मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण हिस्सा ओगटेकाले विद्यमान कार्यशैली र बजारीकरण प्रभावकारी बनाउन समितिले सक्रियतापूर्वक छलफल गरी निर्णय लिने बताउनुभयो ।

बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले बोर्डको गतिविधिबारे समितिमा प्रस्तुति गर्नुभएको थियो । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा दिपक काफ्ले, बोर्डका प्रमुखलगायत उपस्थित हुनुहुन्थ्यो ।

धार्मिक सद्भावको सन्देशका लागि महायज्ञको उद्घाटन

लुम्बिनी, १९ पुस : रुपन्देहीको तिलोत्तमामा धार्मिक सद्भावको सन्देश दिन भन्दै श्रीमद भागवत ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती कार्यक्रमको उद्घाटन गरिएको छ ।

बौद्ध दर्शनका गुरु एवं लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाबाट उद्घाटन गरिएको सो महायज्ञमा पण्डित दीनबन्धु पोखरेल प्रमुख कथावाचक रहनुभएको छ । कोटहीमाई मन्दिर प्राङगण तिलोत्तमा वडा नं १७ पकडीहवामा आयोजित महायज्ञको उद्घाटन गर्दै डा लामाले नेपाल धार्मिक सद्भाव र एकतामा लागि विश्वमै उदाहरणीय रहेको बताउनुभयो ।

उहाँले तीन करोड नेपाली जनता एकाापसमा मिलेर अगाडि बढेको जनाउँदै सबै धर्म र सम्प्रदायबीच बलियो एकता रहेको बताउनुभयो । उहाँले हिन्दू धर्माम्वलम्बी लुम्बिनी र स्वयम्भू सहज रुपमा जाने गरेको बताउनुभयो । उपाध्यक्ष डा लामाले नेपाल सबै धर्म, जातजाती र सम्प्रदाय मिलेर बसेको मुलुक भएकाले यस्तो खालको सद्भावलाई भत्कन दिन नहुने बताउनुभयो ।

कथावाचक दीनबन्धु पोखरेलले नेपाल सामाजिक रुपमा एकताबद्ध र धार्मिक रुपमा मिलेर बसेको समाज रहेको बताउनुभयो । यही पुस २४ गतेसम्म सञ्चालन हुने महायज्ञको प्रमुख कथावाचन पं पोखरेल र उपवाचकमा प्रेम सुजन शास्त्री रहनुभएको छ ।

रुकुम पश्चिममा यस वर्ष दुई करोड ५० लाखको मह उत्पादन

रुकुम पश्चिम, १९ पुस : रुकुम पश्चिममा यस वर्ष २१ मेट्रिकटन मह उत्पादन भएको छ । विगतका वर्षभन्दा यस वर्ष महको उत्पादन बढेको हो । किसानले मह बेचेर रु दुई करोड ५० लाख कमाइ गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख मीनबहादुर केसीले जानकारी दिनुभयो ।

जिल्लाको बाँफिकोट गाउँपालिका, आठविसकोट नगरपालिका, सानीभेरी गाउँपालिका, मुसीकोट नगरपालिका र त्रिवेणी गाउँपालिकामा मह उत्पादन हुँदै आएको छ । किसानले प्रतिकिलो रु एक हजार दुई सयमा मह बेचेका छन् ।

मौरीले मह लगाउने याममा वर्षा नभएका कारण मह उत्पादन बढेको प्रमुख केसीले बताउनुभयो । “मौरीले राम्रो चरन पाएका कारण यसवर्ष राम्रो मह उत्पादन भएको हो”, प्रमुख केसीले भन्नुभयो ।
जिल्लामा उत्पादन भएको मह काठमाडौँ, दाङ, नेपालगञ्जसम्म पनि निर्यात भएको छ । “चिउरीको फुलबाट मौरीले लगाएको मह निकै राम्रो र औषधियगुण भएका कारण पनि रुकुम पश्चिममा उत्पादन भएको महको माग निकै छ, जिल्ला बाहिरबाट महको माग निकै आउने गरेको छ, यस वर्ष जिल्लामा राम्रो मह उत्पादन भएका कारण पनि बाहिरी जिल्लामा किसानले धेरै मह पठाउनुभएको छ”, प्रमुख केसीले भन्नुभयो ।

जिल्लाको बाँफिकोट गाउँपालिका र सानीभेरी गाउँपालिकामा मौरी ब्लक विकास कार्यक्रम मार्फत जिल्ला कृषि विकास कार्यालयले किसानलाई सहयोग गरिरहेको छ । पालिकाहरुमा किसानको आवश्यकताअनुसार सहयोग भइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा दुई सय किसानले मह उत्पादन गर्ने गरेका छन् ।

जिल्लामा आधुनिक घार र मुढेघारमा मह उत्पादन हुँदै आएको छ । पछिल्लो वर्ष आधुनिक घारको प्रयोग बढ्दै गएको कृषि विकास कार्यालयले जनाएको छ । मह उत्पादनबाट राम्रो आम्दानी हुन थालेपछि किसान मौरीपालन व्यवसायमा आकर्षित हुँदै आएका छन् ।

चार सम्झौतामा हस्ताक्षर गर्दै नेपाल–भारत संयुक्त आयोगको बैठक सम्पन्न

काठमाडौँ, १९ पुस : नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक विभिन्न चारवटा सम्झौतामा हस्ताक्षर गर्दै सम्पन्न भएको छ । बैठकमा द्विपक्षीय सम्बन्धका समग्र विषयका साथै आपसी सहयोगका विभिन्न क्षेत्रको समीक्षा भएको थियो । दुवै देशबीच सम्पर्क सञ्जाल विस्तार, व्यापार, जलस्रोत, ऊर्जा व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतका विदेशमन्त्री एस जयशङ्करको उपस्थितिमा ती सम्झौतामा हस्ताक्षर भएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार सरकारी संस्था वा अन्य कुनै पनि संस्थामार्फत उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनका लागि भारतीय अनुदान सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
यसैगरी दुई देशबीच दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्न सकिनेछ । नेपाल विद्युत् प्राधिकरण र भारत सरकारको नेशनल थर्मल पावर कर्पाेरेशनबीच नवीकरणीय ऊर्जा विकासका लागि सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र भारतीय अन्तरिक्ष अनुसन्धान संस्था तथा अन्तरिक्ष विभागका तर्फबाट न्यू स्पेस इण्डिया (एनएसआईएल) बीच ध्रुवीय उपग्रह प्रक्षेपण वाहनमा मुनाल उपग्रह प्रक्षेपण सेवासम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको छ ।

आजै दुई देशबीच १३२ किलोभोल्ट क्षमताका रक्सौल परवानीपुर, कुशाहा कटैया र न्यू नौतनवा मैनाहिया अन्तरदेशीय प्रसारण लाइनको उद्घाटन गरिएको छ । भूकम्पपछिको पुनः निर्माणका लागि भारत सरकारले रु १० अर्ब अनुदान सहयोग गर्ने घोषण गरेको छ ।

विद्युत् निर्यातसम्बन्धी सम्झौता विद्युत् व्यापारमा कोशेढुङ्गा: प्रधानमन्त्री

काठमाडौँ, १९ पुस: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीच भएको बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सम्झौता विद्युत् व्यापारका दृष्टिले कोशेढुङ्गा भएको बताउनुभएको छ । रामेछापको सुनापति गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्रीले भारतीय विदेशमन्त्री एस जयशङ्करको नेपाल भ्रमणका क्रममा भएको सो सहमतिले नेपालको ऊर्जा व्यापारका क्षेत्रमा गुणात्मक फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।

आफ्नो भारत भ्रमणका क्रममा दश वर्षमा दश हजार मेगावाट विद्युत् भारतलाई बिक्री गर्ने सम्झौता भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आजको सहमतिसँगै विद्युत् निर्यात गर्ने बाटो खुलेको बताउनुभयो । “यो आफैँमा उपलब्धि हो, भारतमा मात्रै होइन, बङ्गलादेशमासमेत विद्युत् निर्यातको ढोका खुलेको छ”, उहाँले भन्नुभयो, “अब भारतको ग्रीड प्रयोग गरी बङ्गलादेशसँग विद्युत् व्यापार हुनेछ ।”फरक प्रसङ्गमा प्रधानमन्त्री दाहालले संसद्को प्रभावकारी सञ्चालन र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित काम टुङ्गोमा पु¥याउन सत्ता गठबन्धनले राष्ट्रिय सहमतिको आवश्यकता महसुस गरेको बताउनुभयो । “सानो दुःखले वर्तमान गठबन्धन बनाएको होइन, गठबन्धनलाई मजबुद बनाउन हामी दृढ छौँ”, उहाँले भन्नुभयो, “तर, कतिपय विषयमा राष्ट्रिय सहमति जरूरी हुन्छ, सदनको प्रभावकारी सञ्चालन र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति चाहेका छौँ ।”प्रधानमन्त्री दाहालले सुनापति गाउँपालिकाले भौतिक विकासमा राम्रो प्रगति गरेको उल्लेख गर्दै सेवा प्रवाह, शिक्षा, स्वास्थ्यको विकास, कृषि, पर्यटनको प्रवद्र्धन र रोजगारी सिर्जनामा केन्द्रित हुन जनप्रतिनिधिलाई अपिल गर्नुभयो ।‘शान्तिपूर्ण क्रान्ति जारी’नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालले आजै रामेछापको बेथान पानीघाटमा आयोजित कार्यक्रममा जनयुद्धको शान्तिपूर्ण रूपान्तरणसँगै क्रान्तिको स्वरूप फेरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी अहिले पनि क्रान्तिमै छौँ क्रान्ति सकिएको छैन, तर क्रान्तिको स्वरूप फेरिएको छ ।”अध्यक्ष दाहालले समाजवाद स्थापनाका लागि सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित वर्तमान सरकार अघि बढिरहेको बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री दाहालले बेथानका शहीद तीर्थ गौतम, फत्तबहादुर स्माली मगर र दिलमाया बम्जनका परिवारजनलाई सम्मान गर्नुभएको थियो । सो अवसरमा अध्यक्ष दाहालले शहीद स्मारकको उद्घाटन गर्नुभएको थियो ।

क्यानडा र हङकङ चेम्बरसँग लुम्बिनी चेम्बरको सहकार्य

लुम्बिनी, १९ पुस :लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सले विभिन्न अन्तर्राष्ट्रिय चेम्बर शाखासँग सहकार्य र साझेदारी गर्ने सहमति गरेको छ । हङकङस्थित नेपाल हङकङ चेम्बर अफ कमर्स, हिन्दू चेम्बर अफ कमर्स, क्यानडा तथा नेपाल–क्यानडा चेम्बर अफ कमर्सका बीच साझेदारी गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको चेम्बर लुम्बिनीका अध्यक्ष टङ्कप्रसाद पोेखरेलले जानकारी दिनुभयो । नेपाल भ्रमणका क्रममा बुधबार लुम्बिनी आइपुगेका हिन्दू चेम्बर अफ कमर्स क्यानडाका प्रतिनिधि तथा नेपाल–क्यानडा चेम्बर अफ कमर्सका प्रतिनिधि र लुम्बिनी चेम्बर अफ कमर्सका प्रतिनिधिबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

लुम्बिनी चेम्बरका तर्फबाट अध्यक्ष पोखरेल र नेपाल क्यानडा चेम्बरका अध्यक्ष विजय पौडेल तथा हिन्दू चेम्बर अफ कमर्स क्यानडाका तर्फबाट अध्यक्ष नरेश चावडाले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । यसअघि गत महिना नेपाल चेम्बर अफ कमर्स हङकङका प्रतिनिधिसँग लुम्बिनी चेम्बरका अध्यक्ष पोखरेलले समझदारी गर्नुभएको थियो । उक्त समझदारीपत्रमा हङकङ चेम्बरका तर्फबाट सभापति लालबहादुर गुरुङले हस्ताक्षर गर्नुभएको थियो ।तीनवटै चेम्बरसँग भएका समझदारीमा एकअर्काबीच सहकार्य गर्ने, अन्तर्राष्ट्रिय फोरममा लुम्बिनी चेम्बरलाई सहभागी गराउन पहल गर्ने, तालिम, छलफल, गोष्ठी र अन्तक्र्रियालाई नियमित बनाउने, अनुभवको आदानप्रदान गर्ने तथा व्यावसायिक भ्रमण गर्ने समझदारी छ । समझदारीमा लुम्बिनी प्रदेशमा रहेका व्यावसायिक सम्भावनाको प्रवद्र्धनका लागि सहयोग गर्ने सहमतिसमेत भएको छ ।समझदारीपछि अनुभव आदानप्रदान गर्दै लुम्बिनी चेम्बरका तर्फबाट अध्यक्ष पोखरेलले यहाँ पर्यटन, कृषिलगायतका क्षेत्रमा ठूलो सम्भावना रहेको जनाउँदै आफूहरु यहाँको पर्यटन प्रवद्र्धनका लागि सहकार्य गर्न इच्छुक रहेको धारणा राख्नुभयो । कार्यक्रममा उपस्थित लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्यारक्याल लामाले क्यानडाबाट लुम्बिनी भ्रमणमा आएका पाहुनालाई लुम्बिनीको महत्व र पर्यटकीय सम्भावनाका विषयमा जानकारी दिनुभएको थियो ।कार्यक्रममा उपस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका नायब महाप्रबन्धक छवि खनालले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रचारप्रसार गरेर क्यानेडियन पर्यटकलाई लुम्बिनी ल्याउने वातावरण बनाउन आह्वान गर्नुभयो । क्यानडाका तर्फबाट सहभागी प्रतिनिधिले पनि बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा प्रचुर पर्यटकीय सम्भावना रहेको विश्लेषण गर्दै यसको प्रवद्र्धनका लागि आफूहरु सहकार्य गर्न तयार रहेको प्रतिक्रिया दिए । नेपाल क्यानडा चेम्बरका अध्यक्ष विजय पौडेलले नेपालमा रहेको पर्यटकीय सम्भावनालाई सबै मिलेर प्रवद्र्धन गर्न र लाभ लिन सकिने बताउनुभयो ।हिन्दू चेम्बर अफ कमर्स क्यानडाका अध्यक्ष चावडाले लुम्बिनीमा पाएको स्वागत, सत्कार र आतिथ्यताले आफूलाई लोभ लागेको बताउनुभयो । चेम्बर लुम्बिनीसँगको समझदारीलाई नयाँ उचाइमा पु¥याउन आफू तत्पर रहने प्रतिक्रिया दिनुभयो । आगामी दिनमा लुम्बिनी क्षेत्रको विस्तृत भ्रमणको कार्यक्रम बनाउने आफूहरुको चाहना रहेको बताउँदै गौतमबुद्ध विमानस्थलमा नियमित उडान भए क्यानेडियन नागरिकलाई सिधै लुम्बिनी भ्रमणका लागि आह्वान गर्न सजिलो हुने धारणा राख्नुभयो ।

मुलुकको विकासका लागि लगानीमैत्री वातावरण चाहिन्छ – एमाले सांसद भण्डारी

काठमाडौँ, १९ पुस : नेकपा (एमाले) का युवा नेता एवं प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीले विकास र समृद्धिका लागि देशभित्र बलियो लगानीमैत्री वातावरण बनाउन जरुरी रहेको बताउनुभएको छ ।

‘सांसदसँग रासस संवाद’ का क्रममा राससले सोधेको एक प्रश्नको जवाफमा सांसद भण्डारीले नेपालको आर्थिक एवं औद्योगिकसमेतका क्षेत्रमा विकास नहुनुमा देशभित्र उपयुक्त लगानीमैत्री वातावरण बनाउन पर्याप्त काम हुन नसक्नु मुख्य कारण रहेको बताउनुभयो ।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत बन्नुभएका सांसद भण्डारीले भन्नुभयो, “देशभित्र लगानीमैत्री वातावरण निर्माण गर्नेतर्फ कानुनी र प्रक्रियागत झन्झटसमेतका अनेक बाधा व्यवधान रहेका छन् । त्यसमा आमूल सुधार नगरी स्वदेशी वा विदेशी जुनसुकै लगानी आकर्षित गर्न सकिँदैन । देशभित्र स्वच्छ र सहज औद्योगिक वातावरण नबन्दासम्म उद्योगधन्दा, कलकारखाना खोल्न सकिँदैन ।”उद्योगधन्दा फस्टाउन र लगानी आकर्षित गर्नका लागि नेपालका पुराना कानुनहरु मुख्यरुपमा बाधक रहेको उहाँको ठम्याइ छ । “एउटा उद्योग खोल्न लाग्यो भने फाइल वन मन्त्रालय, वनसँग सम्बन्धित विभाग र कार्यालयहरुमा अड्किन्छ, अख्तियारमा अड्किन्छ, अलिअलि सुरु ग¥यो फेरि सर्वोच्च अदालतले रोकेको हुन्छ”, उहाँले भन्नुभयो, “यसले गर्दा लगानीकर्तालाई सुरक्षित वातावरण हुन सकेको छैन । ढुक्क भएर लगानी गर्ने स्थिति छैन । नेपालमा जुडीबुटी, कृषिमा आधारित उद्योग सञ्चालन गर्ने प्रचुर सम्भावना छ, यसको ब्रान्डिङ गर्न सकिएको छैन, यसको प्रचार गर्न सकिएको छैन ।”यद्यपि तत्कालीन ओली सरकारको नेतृत्वमा उद्योग मन्त्रालय सम्हाल्ने जिम्मेवारी सांसद भण्डारीलाई दुई महिनामात्र प्राप्त भएको थियो । त्यसअघि उहाँ छ महिना अर्थराज्यमन्त्री भएर पनि काम गर्नुभयो । “नेपालले चीन र भारतसँग प्रतिस्पर्धा गरेर उद्योगधन्दा सञ्चालन गर्न सक्दैन । यही बुझेर सातै प्रदेशमा उद्योग सञ्चालन गर्ने ओली नेतृत्वको सरकारले नीति अगाडि सारेको थियो”, पूर्वमन्त्री भण्डारीले जोड्नुभयो, “एउटा प्रदेशमा कम्तीमा एउटा नयाँ उद्योग सञ्चालन गर्ने नीति थियो, तत्कालीन सरकारले अघि सारेको योजनालाई वर्तमान सरकारले अघि बढाएन, सम्भावना भएका उद्योग पनि सञ्चालनमा आउन सकेका छैनन् ।”वर्तमान सरकारले लगानी सम्मेलनको आयोजना गर्न लागेको बताएको छ । यो स्वागतयोग्य कदम हो, तर नेपालमा लगानी ल्याउने वातावरण बनाउन मौजुदा ३० वटा कानुन संशोधन गर्न जरुरी रहेको उहाँको भनाइ छ । सांसद भण्डारीले भन्नुभयो, “विडम्बना के छ भने अहिले संसद् र सांसद बेरोजगार भएर बसेका छन् । कानुन बनाउनुपर्ने ठाउँमा विधेयक छैन, सदनलाई बिजनेस छैन ।”उहाँले थप्नुभयो, “देशमा अहिले कैयौँ कानुनहरु या त नयाँ बनाउनुपर्ने वा संशोधन गर्नुपर्ने अवस्था छ । कानुन अभावले काम अगाडि बढाउन पाइएन भनेर जताततैबाट गुनासो आइरहेको सुनिन्छ । यो भनाइ प्रतिपक्षी सांसदको मात्र होइन, सत्तापक्षकै सांसदको गुनासो पनि यही छ ।” देश बनाउने जनशक्ति दिनहुँ विदेशतिर गइरहेको देख्दा सांसद भण्डारीलाई नराम्रो लाग्छ । “दैनिकजसो युवाशक्ति विदेश पलायन हुँदैछ । यो प्रवृत्तिले देशको विकास सम्भव हुँदैन”, उहाँले भन्नुभयो, “आम नागरिकमा निरासा बढ्दै गएको छ, यो विषयमा सरकारले गम्भीर भएर सोच्न जरुरी छ । अहिलेसम्म ठूलो सङ्घर्ष गरेर ल्याएको परिर्वतनको अनुभूति गराउन पनि सरकारले ध्यान दिन जरुरी छ ।”प्रतिनिधिसभामा विजयी भएर आएपछि सांसदको हैसियतमा कानुन बनाउने जिम्मेवारी मुख्य भए पनि एक वर्षमा एउटा मात्र कानुन बनायौँभन्दा अप्ठ्यारो लाग्छ सांसद भण्डारीलाई । “राष्ट्रिय मुद्दाहरुमा व्यवस्थापिकामा छलफल, बहस हुन्छ नै । तर सँगै संसद्को एउटा मुख्य जिम्मेवारी कानुन बनाउने पनि हो । तर यो अवसर सांसदले पाएनन् । एक वर्षमा एउटा मात्र कानुन पारित भयो भन्दा लज्जित हुनुपर्ने अवस्था हुँदो रहेछ”, उहाँले थप्नुभयो, “शिक्षा, सङ्घीय निजामती ऐनलगायतका कानुन बनाउनुपर्ने थियो, हिउँदे अधिवेशन सुरु हुनुपर्ने हो, सरकारले सदनलाई विजनेस दिन नसकेर त्यतिकै छ ।”सङ्घीयता कार्यान्वयनका सन्दर्भमा धेरै कानुन बनाउने बाँकी छ । मौलिक हक कार्यान्वयन गराउन तीन तहको संरचना छ तर कार्यान्वयन हुन सकेको छैन । “स्थानीय तहले प्रदेशको मुख ताक्ने, प्रदेशले सङ्घको मुख ताक्ने गरिएको छ जुन स्वाभाविक पनि छ”, नेता भण्डारीले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो, “सङ्घीयताको मर्मबमोजिम तीन तहका सरकारको अनुभूति हुन सकेको छैन । सङ्घले अहिले पनि हरेक कुराको जिम्मेवारी लिएको छ । आधारभूत तहको शिक्षा र स्वास्थ्य स्थानीय तहलाई दिनुपर्ने हो । सुशासन कायम हुन सकेको छैन, जनतालाई गणतन्त्र आएको अनुभूति हुन सकेको छैन ।”“कानुनको अभाव झेलिरहेका स्थानीय तह र प्रदेश सरकारले अहिले आफूखुसी काम गरिरहेका छन् । जनताले खानेपानी, बिजुली, भत्किएको विद्यालय मर्मत गर्नुपर्ने आशा जनप्रतिनिधिसँग गरेका हुन्छन्, त्यो सामान्य कुरा हो”, उहाँले थप्नुभयो, “सरकार जनताप्रति उत्तरदायी भयो भने काम गर्न सहज हुन्छ ।”सांसद भण्डारीलाई विकास बजेट सरकारले आवश्यकताको आधारमा वितरण हुनुपर्छ भन्ने लाग्छ । “बजेट विनियोजन गर्दा आवश्यकताको आधारमा गर्नुपर्ने हो तर अहिले त सत्तामा रहेका मन्त्रीहरुको जिल्लामा धेरै बजेट परेको छ, कतिपय जिल्लामा विकास बजेट नै छैन”, उहाँले भन्नुभयो, “पहुँच, बलियो र सत्ता भएको मन्त्री र सांसदको जिल्लामा मात्र विकास निर्माणका लागि बजेट विनियोजन हुन्छ, अरु सांसद र प्रतिपक्ष त्यतिकै हुन्छ, जुन प्राकृतिक न्यायको सिद्धान्तविपरीत छ ।”विकास निर्माणका कार्यमा सरकारले गरिरहेको काम सन्तोषजनक मान्ने अवस्था नभएको सांसद भण्डारीलाई लाग्छ । “बैतडीमा मेरा मतदाता विकासको पर्खाइमा छन्, कहिले विकासको लहर जिल्लामा आउला भन्ने प्रतिक्षा गरिरहेका छन्,” उहाँले मतदाताको दुःख सुनाउँदै भन्नुभयो, “बजेट विबनियोजन नहुँदा विद्युत् छैन, तर छिमेकी जिल्ला डडेल्धुरामा सधैँ धेरै बजेट जान्छ, गरिब जनताको अवस्था हेरेर बजेट दिने गरिएको छैन ।”निर्वाचन क्षेत्र पूर्वाधार कोष पहुँच नभएका सांसदका लागि उपयोगी भएको उहाँलाई लाग्छ । “सामान्य सांसदलाई जाने बजेट त्यही हो, अरु त पहुँचको भरमा जाने गरेको छ”, सांसद भण्डारीले थप्नुभयो, “कोषको पैसाले भए पनि आफ्नो निर्वाचन क्षेत्रमा विकास त गर्न सकिन्छ । बैतडी जिल्लामा हेर्ने हो भने विद्यालय, कलेज, बाटो, खानेपानी, बिजुली थुप्रै जनताका लागि आधारभूत आवश्यकता पूरा गर्न सकिएको छैन । जनताको त्यति ठूलो माग र चाहना पनि छैन, अतिआवश्यक कुरा मात्रै मागेका छन्, त्यो पनि पूरा हुन सकेको छैन ।”संविधानले मौलिक हकमा व्यवस्था गरेका कुराहरु पनि आमनागरिकले उपभोग गर्न नपाउँदा उहाँलाई निकै दुःख लाग्ने गरेको छ । राज्य सञ्चालन गर्ने व्यक्ति दूरदर्शी, निमुखा जनतालाई माया गर्ने खालको हुनुपर्ने उहाँको सोचाइ रहेको छ । विसं २०३० कात्तिक २० बैतडी जिल्ला पाटन नगरपालिका–६ मा जन्मनुभएका एमाले नेता भण्डारीले स्नातकसम्म अध्ययन गर्नुभएको छ । उहाँ बैतडीबाट २०७०, २०७४ र २०७९ मा लगातार तीन पटक प्रतिनिधिसभा सदस्यमा विजयी हुनु भएको छ । उहाँले नेकपा (एमाले) को तीन पटक नै बैतडी जल्ला प्रमुख भएर काम गर्नुभयो । विसं २०७८ देखि सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्ष भएर सक्रियरुपमा काम गर्नुभएको थियो ।

गाजरखेतीको ‘हब’ बन्दै पश्चिम चितवन

नारायणगढ (चितवन), १९ पुस : प्राङ्गारिक कृषि उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यका साथ भरतपुर महानगरपालिका–१५ श्रीपुरका चार बिघा चार कट्ठा जमिनमा गाजरखेती गरिएको छ । रासायनिक मल र विषादीको प्रयोगबिना प्राङ्गारिक प्रक्रियाद्वारा किसान चन्द्रप्रसाद अधिकारी, महेन्द्र पौडेल र मोहनसिंह गुरुङले संयुक्तरुपमा रु १४ लाख लगानी गरेर भाडाको जग्गामा गाजरखेती गर्नुभएको हो ।

विसं २०३२ देखि श्रीपुरमा गाजरलगायतका प्राङ्गारिक खेती गर्दै आउनुभएका कृषक अधिकारीले तत्कालिन समयमा ५० ग्राम बीउ रोपेर गाजरको खेती सुरु गरेका अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, “खास गरेर यहाँ २०३२ सालदेखि गाजर खेती गर्न सुरु गरेको हो । त्यसपछि क्रमिकरुपमा अरु साथीहरु पनि गाजर खेतीमा अग्रसर हुनुभयो यसले गर्दा श्रीपुरलगायत पश्चिम चितवन गाजरको हबजस्तै बनेको छ ।” उहाँको अनुभवमा यो क्षेत्रमा गाजरको लागि उपयुक्त माटो र हावापानी छ । उहाँका अनुसार यहाँका धेरै किसानको अहिले आम्दानीको स्रोतको रुपमा गाजर खेती पनि एक हो ।गाजर, मुला, चुकन्दर सलादका रुपमा प्रयोग गर्ने वस्तु भएको हुँदा स्वास्थ्यको हिसाबले पनि यसको उत्पादन प्राङ्गारिक प्रक्रियाले हुनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यो पूर्ण सलादको रुपमा खाने हुँदा यसमा रासायनिक मल, विषादी प्रयोग नगरिकन प्राङ्गारिक उत्पादन गरौँ भनेर हामीहरु निरन्तर लागिरहेका छौँ ।” उहाँले गाजर खेतीलाई अझ व्यवस्थित बनाउन नसकेको बताउनुभयो । विभिन्न सरोकारवाला निकायको साथ र सहयोग मिलेमा यस खेतीलाई अझ व्यवस्थितरुपमा गर्न सकिने उहाँको भनाइ छ ।प्राङ्गारिक सङ्घ र प्राङ्गारिक सहकारीमा समेत आबद्घ रहनुभएका किसान अधिकारीले अहिले जिल्ला प्राङ्गारिक सङ्घ, प्राङ्गारिक कृषि उत्पादक सहकारीको पूरै समूह प्राङ्गारिक गाजर खेती गर्ने क्रममा जुटिरहेको बताउनुभयो । उहाँका अनुसार यो सँगै जिल्ला प्राङ्गारिक सङ्घअन्तर्गत १६÷१७ बिघामा जमिनमा गाजर र चुकन्दर खेती गरिएको छ ।उहाँले यहाँ उत्पादन भएको एक सय टन गाजर र चुकन्दर अर्गानिक भ्यालीलाई दिने सहमति भएको र अन्य उत्पादन अर्गानिक बजारमा बिक्री गरिने बताउनुभयो । विगत देखिनै सहभागितामूलक गुणस्तर निर्धारण प्रणालीका अनुसार विभिन्न प्राङ्गारिक उत्पादन गरिँदै आएको र उत्पादन गरेर बजारीकरण गर्ने वस्तु अर्गानिक सर्टिफिकेसन नेपाल (ओसिएन) प्रमाणित हुने जनाइएको छ । हाल सेरेसजस्ता अन्तर्राष्ट्रिय कम्पनीले समेत बजारीकरणको लागि प्रमाणीकरणको काम गरिरहेको उहाँले बताउनुभयो । उहाँले यहाँ उत्पादन भएका गाजरलगायतका वस्तु अर्गानिक भ्यालीसँग सहकार्य गरेर उत्पादनलाई प्रशोधन गरी विदेशी बजारमा पठाउने सम्झौता भएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्राङ्गारिक बजार बढेको छ सँगै किसानको सक्रियता पनि बढ्दै गएको छ ।”प्राङ्गारिक प्रक्रियासँग गाजर खेती गर्दासँगै उम्रने झारको कारणले खर्च बढी आउने अर्का किसान गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “बिगौँ जमिनमा प्राङ्गारिक प्रक्रियाबाट गाजर लगाइएको छ खेतभरि गाजरको बिरुवालाई ढाँक्ने गरी झार आएको छ । प्राङ्गारिक पद्घतिमा बिषादी प्रयोग गर्ने कुरा भएन मानिसले गोड्दा खर्च बढ्ने भयो ।” गाजर गोडाइको खर्च कम गर्नका लागि विषादीलगायतका हर्बिसाइटको प्रयोग बढेको जनाउँदै सिधै सलादको रुपमा खाने वस्तुमा यसको विकल्प हुनपर्छ भन्ने मान्यता आफूहरुको रहेको उहाँको तर्क छ ।त्यसैगरी किसान पौडेलले गाजर खेतीमा रोग र किराको समस्या नभएको बताउनुभयो । उचित व्यवस्थापन भएको खण्डमा उत्पादनको हिसाबले १५ देखि २० क्विन्टल प्रतिकट्ठा गाजर उत्पादन गर्न सकिने उहाँको भनाइ छ । गाजर गोड्दा लाग्ने खर्चको बारेमा मानिसले भन्दा यसको विकल्प खोजीयन्त्र उपकरण प्रयोगमा ल्याउन सकेमा खर्च कम हुने र हर्बिसाइटबिना उत्पादन गरिएका गाजरले राम्रो बजार पाउने उहाँको भनाइ छ । मङ्सिर पहिलो सातामा रोपिएको गाजर फागुनको अन्तिम सातामा तयार हुने उहाँले बताउनुभयो ।

म्याग्दीका दुई पालिकामा आधारभूत अस्पताल भवन अलपत्र

बेनी, १९ पुस : म्याग्दीमा निर्माणाधीन दुई आधारभूत अस्पताल अलपत्र परेका छन् । ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’योजनाअन्तर्गत मङ्गला र धौलागिरि गाउँपालिकामा निर्माण सुरु भएका दुई अस्पताल भवनको काम निर्माण व्यवसायीले ढिलासुस्ती गरेपछि अलपत्र परेका हुन् ।

धौलागिरि –७ ताकममा पाँच र मङ्गला–५ हाँडेभिरमा १० श्यया क्षमताको आधारभूत अस्पताल २०७७ सालमा शिलान्यास गरिएको थियो । निर्माण व्यवसायीले भवन निर्माणको काम रोकेपछि यहाँका दुवै अस्पताल योजना अधुरो बनेको हो । ताकममा निर्माणाधीन अस्पतालको जिम्मा लिएको आइएस एसी जेभी बुर्तिबाङ बागलुङले भुईं ढलान गरेर पिल्लर मात्रै उठाएर कामलाई अधकल्चे बनाएको धौलागिरि –७ का वडाध्यक्ष अशोक खत्रीले बताउनुभयो । “स्थानीयस्तरमा कुनै विवाद र समस्या छैन, निर्माण व्यवसायीलाई काममा फर्कन पटकपटक आग्रह गरेका छौँ, केही दिनमै काममा फर्कने प्रतिबद्धता आएको छ”, उहाँले भन्नुभयो । ताकममा अस्पताल भवन बनाउन रु चार करोड ८८ लाख ७२ हजार एक सय ३२ मा ठेक्का सम्झौता भएको थियो । निर्धारित मिति २०७९ जेठ २५ भित्र भवन निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म अस्पताल भवनको २० प्रतिशत भौतिक प्रगति भएको छ ।भवन निर्माण गर्ने समय ब्यतित गरेको उक्त कम्पनीलाई १२ औँ संशोधन नियमावलीअनुसार एक वर्षका लागि म्याद थप भएको थियो । दुईतले अस्पताल भवनमा आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षलगायतका संरचना रहने प्रस्ताव गरिएको छ । निर्माण कम्पनीका प्रतिनिधि दीपक अढाईले बजेटको सुनिश्चितालगायतका विविध कारणले आफूले समयमै काम सम्पन्न गर्न नसकेको बताउँदै पालिकाको नेतृत्वमा सबै समस्या हल भएकाले अब छिट्टै कार्यक्षेत्रमा फर्कने बताउनुभयो । उहाँले निर्माण सामाग्री, मेसिन उपकरण तथा जनशक्ति व्यवस्थापनमा जुटेको जनाउँदै एक सातामै कार्यक्षेत्रमा काम सुरु हुने जानकारी दिनुभयो ।मङ्गला गाउँपालिकामा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवन अलपत्र परेपछि निर्माण व्यवसायीलाई ताकेता गरिएको छ । ठेकेदारको ढिलासुस्ती र लापर्वाहीका कारण यहाँको अस्पताल भवन विगत डेढ वर्षदेखि अलपत्र अवस्थामा छ । भवनको ¥याप फाउन्डेसन तयार पारी पिल्लर उठाएर छाडिएको यस योजनाको जम्मा १० प्रतिशत भौतिक प्रगति भएको छ । पिल्लरको संरचना ठडाएर छाडिएको छ भने रडमा खिया लागेको छ । अस्पताल भवन निर्माणका लागि पालिकाले ओमबुद्ध इन्टरनेसनल कन्स्ट्रक्सन काठमाडौंसँग दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी २०७८ असारमा रु नौ करोड ११ लाखमा ठेक्का सम्झौता भएको थियो ।मुख्य ठेकेदारले योजनाको काम गर्न अर्को पेटी ठेक्का लगाएको र उनीहरुबीचको आन्तरिक विवादले योजना नै अलपत्र परेको गाउँपालिकाका असिस्टेन्ट सब–इन्जिनियर नगेन्द्र सापकोटाले जानकारी दिनुभयो । पालिकाले पटकपटक पत्राचार गरेपछि मुख्य ठेकेदार दिपेश लामा सम्पर्कमा आएर भवन बनाउने प्रतिबद्धता व्यक्त गरेको उहाँले बताउनुभयो । यस भवनको आगामी असार मसान्तसम्म ठेक्का सम्झौताको म्याद थप भएको छ ।पालिकाको अस्पताल भवनलाई सम्पन्न गराउन निरन्तर ताकेता गरेको र मुख्य ठेकेदार नै पालिकामा आएर केही दिनमै काम अघि बढाउने प्रतिबद्धता जनाएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । मङ्गलामा आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्पप्रतिरोधी क्षमताको ३५ कोठा भएको अपाङ्गमैत्री अस्पताल भवन निर्माण हुनेछ ।जिल्लाको मालिका गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर आधारभूत अस्पतालको रुपमा सञ्चालनमा ल्याएको छ । दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा भौतिक पूर्वाधार, मेसिन उपकरण, जनशक्तिलगायतको बन्दोबस्त गरेर पाँच श्ययाको अस्पताल सञ्चालनमा ल्याइएको छ ।म्याग्दीमा अन्नपूर्ण गाउँपालिकाले वडा नम्बर १ दोबामा पाँच श्ययाको अस्पताल भवन निर्माण सम्पन्न गरेको छ भने रघुगङ्गा गाउँपालिकामा वडा नम्बर १ बेगमा निर्माण हुने भनिएको अस्पताल योजना विवाद र जग्गा व्यवस्थापनको समस्याले अझै शिलान्यास हुन सकेको छैन ।

१० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा आज हस्ताक्षर हुँदै

काठमाडौँ – नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर हुने भएको छ । आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिले साथर्कता पाउन लागेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले पुष्टि गरेको छ ।

बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पङ्कज अग्रवालले आज हस्ताक्षर गर्ने कार्यक्रम तय भएको ऊर्जा मन्त्रालयका प्रवक्ता एवं सहसचिव नवीनराज सिंहले जानकारी दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत जेठमा गर्नुभएको भारत भ्रमणका क्रममा सो सन्दर्भमा सहमति भएको थियो । प्रधानमन्त्री ‘प्रचण्ड’का भारतीय समकक्षी नरेन्द्र मोदीले सोही अवसरमा दीर्घकालीन रुपमा नेपालको बिजुली आयात गर्न लागिएको र दुई देशकाबीचमा सहमति भएको बताउनुभएको थियो ।

भारतको सङ्घीय मन्त्रिपरिषद्ले यसअघि नै विद्युत् आयातसम्बन्धी सम्झौतालाई अनुमोदन गरिसकेको छ । भारतीय विदेशमन्त्री एस जयशङ्करको बिहीबारदेखि हुन लागेको नेपाल भ्रमणका अवसरमा दुई देशका सचिवले सहमतिपत्रमा हस्ताक्षर गर्न लाग्नुभएको हो ।

सो सहमतिपछि भारतका सरकारी तथा निजी क्षेत्रका विभिन्न कम्पनीले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा विद्युत् खरिद बिक्री सम्झौता गरी बिजुली लिनेछन् । नेपाल र भारतका निजी क्षेत्रले पनि आवश्यक सहमति गरेर बिजुली आयात निर्यात गर्न सक्नेछन् ।

सरकारले आगामी १२ वर्षमा कूल २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहितको ऊर्जा विकास रणनीतिसमेत बनाइसकेको छ । त्यसमा १३ हजार मेगावाट आन्तरिक खपतका लागि र १५ हजार मेगावाट भारतलगायतका देशमा निर्यात गर्ने लक्ष्य राखिएको छ ।

तीन प्रसारण लाइनको उद्घाटन हुने – सम्बद्ध अधिकारीहरुका अनुसार भारतीय विदेशमन्त्रीको भ्रमणका क्रममा तीनवटा महत्वपूर्ण प्रसारण लाइनको उद्घाटन हुनेछ । ती प्रसारण लाइनमध्ये दुईवटा यसअघि नै सञ्चालनमा आइसकेको भए पनि दोस्रो सर्किट थप भएका हुन् । रक्सौल परवानीपुर, कुशाहा कटैया प्रसारण लाइनको एक/एक वटा सर्किट सञ्चालनमा थिए । ती प्रसारण लाइनमा अर्को सर्किट थप गरेर डबल सर्किट बनाइएको छ । ती प्रसारण लाइनको क्षमता एक सय ३२ केभी छ ।

ती प्रसारण लाइनबाट हाल ८० मेगावाट बराबरको बिजुली आदान प्रदान हुँदै आएका थिए । दोस्रो सर्किट सञ्चालनमा आएपछि थप ८० मेगावाट बिजुली आदान प्रदान गर्न सकिनेछ । यसैगरी, न्यू नौतनवा मैनाहिया एक सय ३२ केभी प्रसारण लाइनको पनि उद्घाटन हुनेछ । डबल सर्किट क्षमताको सो प्रसारण लाइनबाट दुई सय मेगावाट बराबरको बिजुली आदानप्रदान हुनेछ । सो प्रसारण लाइन हालैमात्र निर्माण सम्पन्न भएको हो । ऊर्जा मन्त्रालयले तयार पारेको प्रस्तावमा नानपारा–कोहलपुर एक सय ३२ केभी प्रसारण लाइनको विषय पनि समावेश छ ।

भारतीय कम्पनी सतलज विद्युत् निगमले निर्माण गरिरहेको नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइनको विषयमा आवश्यक सहमति खोजिने छ । सो प्रसारण लाइनको क्षमता दुई हजार मेगावाटभन्दा बढी भएकाले त्यसको क्षमता उपयोग गर्ने विषयमा सहमति जुटाउने नेपालको तयारी छ । नेपालले सो प्रसारण लाइनको उपभोग गरेर थप बिजुली भारत निर्यात गर्न सकिने बताउँदै आएको छ । अरुण तेस्रोको हाल भौतिक प्रगति ६५ प्रतिशतमाथि छ ।

सहसचिवस्तरीय बैठकले टुग्याए यस्ता विषय – यस्तै, भारतीय विदेशमन्त्रीको भ्रमणको अवसर पारेर बुधबार नेपाल र भारतका ऊर्जा मन्त्रालयका सहसचिवस्तरीय बैठक समेत सम्पन्न भएको छ । शुक्रबारदेखि चितवनमा हुने सचिवस्तरीय बैठकको एजेण्डासमेत बुधबारको बैठकले तय गरेको छ ।

बुधबारको बैठकले हाल सञ्चालनमा रहेको ढल्केबर– मुजफ्फरपुर चार सय केभी अन्तरदेशीय प्रसारण लाइनको क्षमता वृद्धि गर्ने विषयमा पनि दुई देशका उच्च अधिकारीबीच सहमति भएको छ । सो प्रसारण लाइन चार सय केभी क्षमताको हो । विसं २०७९ फागुनमा भएको नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले सो प्रसारण लाइनबाट आठ सय मेगावाट बिजुली आयात निर्यात गर्नसक्ने सहमति गरेका थिए ।

सो प्रसारण लाइनको क्षमता एक हजार मेगावाट बराबर बनाउने र पूर्णरुपमा उपयोग गर्ने विषयमा दुई देशका अधिकारीबीच सहमति भएको छ । त्यस्तै हाल सञ्चालनमा रहेको टनकपुर– महेन्द्रनगर प्रसारण लाइनको क्षमता उपयोगका विषयमा समेत दुई देशका अधिकारी सहमत भएका छन् । उक्त प्रसारण लाइनको क्षमता एक सय ३२ केभी रहेको छ । प्राधिकरणले त्यस प्रसारण लाइनबाट ८० मेगावाट बिजुली आयात गर्दै आएको छ । संयुक्त प्राविधिक टोलीले सो प्रसारण लाइनको उपयोग गरेर दुई सय मेगावाट बराबरको बिजुली आदानप्रदानका लागि सम्भाव्य विकल्प प्रस्तुत गरेका थिए ।

न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई गति दिने – दुई देशका उच्च अधिकारीबीच दोस्रो अन्तरदेशीय प्रसारण लाइनको रुपमा रहेको न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणको कामलाई गति दिने सहमति भएको छ । गत जेठमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा सो अन्तरदेशीय प्रसारण लाइनको शिलान्याश गरिएको थियो । सो प्रसारण लाइनको भारततर्फको एक सय २० किलोमिटर खण्डको काम सुरु भएको छ । आयोजनास्थलमा निर्माण व्यवसायी परिचालन भइसकेको बताइएको छ । सन् २०२५ को मे सम्म सो प्रसारण लाइन निर्माण सम्पन्न गर्ने गरी दुवै देशले तदारुकता दिने भएका छन् ।

थप दुई अन्तरदेशीय प्रसारण लाइन निर्माण गरिने – दुई देशका उच्च अधिकारीबीच थप दुई उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने विषयमा छलफल भएको छ । यसअघि नै प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनको रुपमा रहेका चार सय केभी क्षमताको दोदोधारा बरेली र इनरुवा पूर्णीया प्रसारण लाइन निर्माणका विषयमा पनि आवश्यक सहमति जुटाइने छ । नेपालको बिजुली भारतीय बजारमा निर्यातका लागि पनि ती प्रसारण लाइन अत्यावश्यक छ । सन् २०२८ सम्म ती प्रसारण लाइन निर्माण सम्पन्न गर्नुपर्ने आवश्यकता महसुस भएको ऊर्जा मन्त्रालयका अधिकारीको भनाइ छ ।

ठूला आयोजनालाई गति दिइने – बैठकले भारतीय कम्पनीले अगाडि बढाएका ठूला आयोजनालाई थप गति दिइने भएको छ । जलविद्युत् आयोजनातर्फ भारतीय कम्पनीले अगाडि बढाउने अरुण चौथो, तल्लो अरुण, पश्चिम सेती, सेती नदी–६ र फुकोट कर्णालीलाई थप गति दिइनेछ । तीमध्ये तल्लो अरुण र अरुण चौथो भारतीय कम्पनी सतलजले जिम्मा लिएको छ । पश्चिम सेती र सेती नदी–६ भारतीय कम्पनी एनएचपीसीले निर्माणको जिम्मा लिएको छ । फुकोट कर्णालीमा भने एनएचपीसीको ५१ प्रतिशत बराबरको हिस्सा रहनेछ ।

युक्रेन पाइलट तालिमका लागि नर्वेले डेनमार्कमा दुई एफ–१६ विमान पठाउने

युक्रेनका पाइलटहरूलाई विमान प्रयोगमा प्रशिक्षित गर्न सहयोग पुर्याउन डेनमार्कमा दुई एफ–१६ लडाकू जेट पठाउने नर्वे सरकारले बुधबार बताएको छ । गत वर्ष नर्वेले डेनमार्क र नेदरल्यान्ड्स जस्ता मुलुकसँग मिलेर युक्रेनलाई एफ–१६ लडाकू जेट दान दिएका थिए । अत्याधुनिक एफ–३५ ले प्रतिस्थापन गर्नका लागि ती मुलुकले एफ–१६ लाई अवकास दिएका थिए ।

यद्यपि ओस्लोले अहिलेसम्म दान दिइने एफ–१६ को सङ्ख्या र डेलिभरीको तालिका घोषणा गरेको छैन । युक्रेनलाई दिइने एफ–१६ विमान सीमित सङ्ख्यामा हुने अपेक्षा गरिएको छ । नर्वेका रक्षामन्त्री ब्योर्न एरिल्ड ग्रामले एक विज्ञप्तिमा भन्नुभयो, “युक्रेनका लागि दिगो र आधुनिक वायु सेना स्थापना गर्ने लक्ष्यका लागि सहयोगी साझेदार र राज्यहरूले दिनरात काम गर्नेछन् ।”

स्क्यान्डिनेभियाली मुलुक नर्वेले यसअघि नै करिब १० प्रशिक्षकका साथ प्रशिक्षण कर्मचारी आपूर्ति गरिरहेको छ । नर्वेली एफ–१६ लडाकू जेटलाई अझै अनिश्चित अवधिका लागि डेनिस स्क्रिडस्ट्रप्स विमानस्थलमा तैनाथ गरिनेछ । त्यहाँ युक्रेनी पाइलटहरूलाई बहुराष्ट्रिय अपरेसनको हिस्साका रूपमा प्रशिक्षित गरिनेछ ।

नयाँ वर्षको सम्बोधनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भन्नुभयो, “देशका पाइलटहरू पहिलादेखि नै एफ–१६ जेटमा निपुण छन् र हामी निश्चितरूपमा तिनीहरूलाई हाम्रो आकासमा देख्नेछौँ ।” उहाँले रुसी सेनाले सन् २०२४ मा युक्रेनको ‘क्रोध’ महसुस गर्ने वाचा गर्नुभयो ।

लोकतन्त्रका लागि लडेकी हसिनाले अहिले लोकतन्त्रलाई नै खतरामा पारिरहेको आलोचकहरूको भनाइ

सन् २००७ मा प्रधानमन्त्री शेख हसिना बङ्गलादेशको विपक्षी नेता हुँदा सयौँ सैनिकले घरमा छापा मारेर उहाँलाई राजधानी ढाकाको एक अदालतमा लगे । उहाँलाई जबरजस्ती असुली गरेको आरोपमा पक्राउ गरिएको थियो । सन् १९९६ देखि सन् २००१ सम्म प्रधानमन्त्री रहिसकेकी हसिनाले ती आरोपलाई आगामी निर्वाचनमा उम्मेदवार हुनबाट रोक्न षड्यन्त्र गरिएको बताउनुभयो । बङ्गलादेशमा सैन्य समर्थित अन्तरिम सरकारअन्तर्गत आपत्कालीन अवस्थामा फसेको त्यसबेला उहाँले आफ्ना जनताको अधिकारका लागि लडिरहेको बताउनुभएको थियो ।

नजिकका सहयोगीका अनुसार उहाँलाई देश छाड्न वा कारागारमा बस्न विकल्प दिइएको थियो । उहाँले बङ्गलादेशमा रहने विकल्प छान्नुभयो । एघार महिनापछि उहाँलाई रिहा गरियो र सन् २००८ मा उहाँ पुनः प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो ।

अहिले उहाँ भारत र म्यान्माबीचमा रणनीतिकरूपमा अवस्थित १६ करोडभन्दा धेरै जनसङ्ख्या भएको मुख्यरूपमा मुस्लिम राष्ट्र बङ्गलादेशको इतिहासमा सबैभन्दा लमो समयसम्म सेवा गर्ने नेता हुनुहुन्छ । साथै आइतबारको आम निर्वाचनमा सत्तामा आफ्नो पकड बलियो बनाउन उहाँ तयार हुनुहुन्छ ।

आलोचकहरूका अनुसार यो निर्वाचन हसिनाको १५ वर्षको शासनपछि आएको छ जसले उहाँलाई लोकतन्त्रका लागि लड्ने नेताबाट लोकतन्त्रकै लागि सबैभन्दा खतरामध्येको एक बनाइदिएको छ । हसिनाको मुख्य प्रतिद्वन्द्वी बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले जनवरी ७ मा हुन गइरहेको निर्वाचनलाई बहिष्कार गर्दैछ । बिएनपीले हसिनाको सरकारले निष्पक्ष निर्वाचन सुनिश्चित गर्न नसक्ने बताएको छ । निर्वाचनले ७६ वर्षीया हसिनाका लागि प्रधानमन्त्री कार्यालयमा लगातार चौथो र समग्रमा पाँचौँ कार्यकाल सुरक्षित गर्ने मञ्च तयार गरेको छ ।

उहाँका समर्थकहरूले हसिना र उहाँको अवामी लिगले उनीहरूलाई नयाँ बङ्गलादेश दिएको बताउँछन् । समर्थकहरूका अनुसार बारम्बार विद्युत् कटौती हुने गरेको बङ्गलादेशमा अहिले उद्योग छन्, धेरै छात्रा स्कुल गइरहेका छन्, विकास परियोजनाहरूले गति लिएका छन् र युवा राष्ट्रको अशान्त इतिहासलाई हल्लाएको सैन्य विद्रोहलाई उहाँले ल्याउनुभएको स्थिरताले रोकेको छ ।

बीचमा यथास्थिति परिवर्तन गर्ने सम्भावना कम देख्ने निराश मतदाता छन् ।

सबै कसरी सुरु भयो ?

हसिनाको राजनीतिक जीवनले सन् १९७५ अगस्ट १५ मा सैन्य विद्रोह र उहाँका पिता एवं स्वतन्त्र बङ्गलादेशका पहिलो नेता शेख मुजिब रहमानको हत्याबाट आकार लिएको थियो ।अठ्ठाइस वर्षीया हसिना आफ्नी सानी बहिनीसँग जर्मनीमा हुँदा उक्त भयानक रातमा सेनाका अधिकारीहरूको एउटा समूहले परिवारको ढाकास्थित घरमा आक्रमण गर्यो र उहाँका आमाबुबा, अन्य तीन भाइ–बहिनी तथा घरेलु कर्मचारी गरी कूल १८ जनाको हत्या गरेको थियो ।

कतिपयले क्रुर कार्यले उहाँलाई अभूतपूर्व शक्तिलाई सुदृढ गर्न उत्प्रेरित गरेको बताउँछन् । विश्लेषकहरूका अनुसार यसले उहाँको आफ्नो सम्पूर्ण राजनीतिक करियरमा उत्प्रेरित गरेको छ । लन्डनको एसओएस विश्वविद्यालयमा दक्षिण एसियाली रणनीतिक मामिलाका विशेषज्ञ एवं वरिष्ठ व्याख्याता अविनाश पालिवालले भन्नुभयो, “एक राजनीतिज्ञका रूपमा हसिनामा अत्यन्त शक्तिशाली गुण छ, त्यो भनेको आघातलाई हतियार बनाउने ।”

हसिनाका लागि बङ्गलादेशको सेनाले सन् १९७१ मा भारतको सहयोगमा पाकिस्तानलाई हराउँदा उहाँका पिता स्वतन्त्र बङ्गलादेशका संस्थापक हुनुहुन्थ्यो । हसिनासँग मिलेर काम गर्ने सहयोगीका अनुसार उहाँको महत्त्वाकांक्षाको केन्द्रविन्दु उहाँले कल्पना गरेको राष्ट्र निर्माण गर्नु रहेको थियो ।एपीसँग नाम उल्लेख नगर्ने सर्तमा ती सहयोगीले भने, “उहाँलाई आफ्ना पिताको काम अधूरो रहेको र त्यो काम उहाँले मात्र पूरा गर्न सक्नुहुनेछ भन्ने लागेको छ ।”

हत्यापछि हसिना वर्षौंसम्म भारतमा निर्वासनमा रहनुभयो । फेरि उहाँले बङ्गलादेश फर्केर अवामी लिगको नेतृत्व गर्नुभयो । यद्यपि सन् १९९६ मा आम निर्वाचनपछि पहिलो पटक प्रधानमन्त्री नभएसम्म सैन्य शासकहरूले उहाँलाई सन् १९८० को दशकसम्म घरभित्र र बाहिर नजरबन्दमा राखे ।

दुई महिला, दुई दल

त्यसपछि हसिना र बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का प्रमुख पूर्वप्रधानमन्त्री खालिदा जियाबीच दशकौँसम्म सत्ता सङ्घर्ष चल्यो । जिया अहिले बिरामी हुनुहुन्छ र घरमा नजरबन्द हुनुहुन्छ ।

बङ्गलादेशको राजनीतिलाई ध्रुवीकरण गर्ने कटु प्रतिस्पर्धामा दुवै महिलाले वर्षौंसम्म पालैपालो मुुलुक चलाउनुभयो । हसिनाले बारम्बार बिएनपीमाथि कट्टरपन्थीलाई बढावा दिएको आरोप लगाउनुभएको छ । आफूलाई उदारवादी तथा धर्मनिरपेक्ष भन्ने उहाँको पार्टीले कट्टरपन्थीलाई समाप्त पार्ने काम गरेको बताएको छ ।

जियाको बिएनपीले भने सत्तामा बसिरहनका लागि अवामी लिगले दमनकारी रणनीति प्रयोग गरिरहेको दाबी गरेको छ । यद्यपि विश्लेषकहरूका अनुसार फरक विचारधारा प्रस्ताव गरे पनि दुवै पार्टी चुनावी हिंसा र प्रतिशोधको राजनीतिको इतिहासले कलङ्कित छन् ।

हालै हसिनाको सरकारले डिसेम्बरमा एउटा यात्रुवाहक रेलमा आगो लाग्दा चार जनाको मृत्यु भएपछि बिएनपीमाथि आगजनी र तोडफोड गरेको आरोप लगाउँदै विपक्षी दलले निर्वाचनअघि अराजकता सिर्जना गर्ने कोसिस गरिरहेको बताएको थियो । बिएनपीले उक्त आरोपलाई अस्वीकार गरेको छ ।

उथलपुथलका वर्षहरू

हसिनाको पार्टीले सन् २००१ को आम निर्वाचनमा पराजय बेहोर्यो । त्यसपछि उहाँ पुनः विपक्षी नेता बन्नुभयो । सन् २००८ मा उहाँ पुनः निर्वाचित नभएसम्म राजनीतिक हिंसा, अशान्ति र सैन्य हस्तक्षेप भए ।यसपटक उहाँले आफ्नो ध्यान अर्थतन्त्रमा केन्द्रित गर्नुभएको छ र बङ्गलादेशमा पहिला नदेखिएको पूर्वाधार निर्माण गर्नुभएको छ । टाढाका गाउँसम्म पुग्ने सुदृढ विद्युत् ग्रिड, राजमार्ग, रेलमार्ग र बन्दरगाह जस्ता परियोजनामा उहाँले ध्यान दिनुभयो । उहाँको नेतृत्वमा मुलुकको कपडा उद्योग विश्वको सबैभन्दा प्रतिस्पर्धी उद्योगमध्येको एक बनेको छ ।

ढाकामा रिक्सा चालक अब्दुल हलिमका अनुसार उहाँ प्रधानमन्त्री हसिनाको समर्थक हुनुहुन्न । “तर हसिनाले हामीलाई बिजुली दिनुभयो”, उहाँले भन्नुभयो, “मेरो परिवारको घरमा कहिले पनि बिजुली हुँदैन भन्ने लाग्थ्यो, अहिले मेरो पूरै गाउँमा बिजुली छ ।”

विकासको लाभले अन्य प्रगति ल्यायो । छात्रालाई छात्रबराबर शिक्षित बनाइयो र महिलाहरू ठूलो सङ्ख्यामा कार्यबलमा सामेल भए । हसिनाका नजिकका मानिस हसिनालाई अत्यन्त मेहनती र महिला तथा गरिबहरूको उत्थानप्रति प्रतिबद्ध रहेको बताउँछन् । उहाँका समर्थकहरू उहाँलाई इस्लामी उग्रवादीको बढ्दो खतरालाई बेवास्ता गर्ने श्रेय दिन्छन् ।

ढाकामा अवामी लिगका विधायक मोहम्मद ए अराफातका अनुसार हसिनाले बङ्गलादेशलाई आर्थिक विकासका लागि जे गर्नुभएको छ, त्यो ‘अभूतपूर्व’ छ ।

आइतबारको भोट

निर्वाचनअघि हसिनाले ढाकाको मेट्रो वा सन् २०२१ मा उद्घाटन गरिएको मुलुकको सबैभन्दा लामो पुल जस्ता आफ्ना केही विशिष्ट उपलब्धिहरू देखाउनुभयो । सन् २०३१ सम्ममा उच्च मध्यम आय भएको मुलुक बन्ने इच्छा राख्ने बङ्गलादेशमा उहाँले स्वयंलाई गरिब मुलुकको नेताका रूपमा प्रस्तुत गर्नुभयो ।

सन् २०२३ मा उहाँले भन्नुभयो, “बङ्गलादेशले फेरि पछाडि फर्केर हेर्नेछैन, यो एउटा स्मार्ट, विकसित र समृद्ध मुलुक बन्ने दिशामा अगाडि बढिरहने छ ।”

यद्यपि हालैको वैश्विक आर्थिक मन्दीले बङ्गलादेशलाई पनि छाडेको छैन । यसबाट मुलुकको अर्थतन्त्रमा दरारहरू उजागर गरेको छ र यसबाट श्रमिक अशान्ति र सरकारप्रति असन्तोष सिर्जना गरेको छ ।

ढाकामा एक चालक मोहम्मद शोहिदले आवश्यक वस्तुहरूको मूल्यवृद्धिलाई रोक्न सरकार असफल रहेको बताउनुभयो । पछिल्लो दुई वर्षमा सिमी र गोलभेँडाको मूल्य करिब दुई गुणा भएको छ । “अब हामी उहाँलाई सहन सक्तैनौँ”, उहाँले भन्नुभयो ।

हसिनाका आलोचकहरूका अनुसार उहाँको सरकारले असहमतिलाई दबाउन, प्रेस स्वतन्त्रता सङ्कुचित गर्न र नागरिक समाजलाई सीमित गर्नका लागि कठोर उपकरण प्रयोग गरेको छ । अधिकार समूहले आलोचकहरूलाई जबरजस्ती बेपत्ता पारिएको बताएको छ । सरकारले ती आरोपलाई खारेज गरेको छ ।

सन् २०१८ को निर्वाचनको मतदानमा धाँधलीको व्यापक आरोपबीच अवामी लिग नेतृत्वको गठबन्धनले ९६ प्रतिशत निर्वाचन जितेको थियो र उक्त आरोपलाई अधिकारीहरूले अस्वीकार गरेका थिए । सन् २०१४ मा सबै प्रमुख विपक्षी दलहरूले निर्वाचन बहिष्कार गरेका थिए ।

बिएनपीका अनुसार हालैका महिनामा उसका करिब २० हजार सदस्यलाई आइतबारको निर्वाचनभन्दा अघि झुटो आरोपमा गिरफ्तार गरिएको छ र उसका हजारौँ समर्थकहरूले सडकहरूमा विरोध प्रदर्शन गरेका छन् । केही विरोध प्रदर्शन हिंसात्मक भएका छन् ।

जिया घरमा नजरबन्द हुनु र पार्टीका अन्य नेताहरू कारागारमा वा निर्वासनमा भएका कारण पर्यवेक्षकहरूले हसिनाको आगामी कार्यकाल व्यावहारिकरूमा तय भएको बताएका छन् । आलोचकहरूका अनुसार अवामी लिगका केही मानिस र केही साना दलका मानिस सहभागी भएको स्वतन्त्र उम्मेदवारहरूको शृङ्खला प्रतिस्पर्धालाई देखाउनका लागि गरिएको छ ।

अब के ?

हसिनाको सरकारले निर्वाचन समावेशी र निष्पक्ष भएकामा जोड दिएको छ र निर्वाचन प्रतिस्पर्धाबाट बाहिर भएकामा बिएनपीको आलोचना गरेको छ । यद्यपि केही विश्लेषकहरूका अनुसार निर्वाचनले बङ्गलादेशको लोकतन्त्रमा सङ्कटको व्यापक सङ्केतलाई प्रतिविम्बित गरेको छ ।

विश्वविद्यालयका व्याख्याता पालिवालले भन्नुभयो, “हसिनाको निर्णय लिने प्रक्रियामा निरङ्कुश गिरावटको इतिहास छ, विद्यमान निर्वाचन पूर्ण विकसित एकदलीय मुलुकमा अन्तिम छाप हुन सक्छ ।”

ढाका निवासी ४६ वर्षीय तमन्ना रहमानजस्ता मतदाताहरूका अनुसार प्रधानमन्त्रीसामु कुनै वास्तविक चुनौती छैन । “हामीसँग हसिनालाई पुनः निर्वाचित गर्नुको कुनै विकल्प छैन”, उहाँले भन्नुभयो ।

अन्तर्राष्ट्रिय मञ्चमा हसिनाले शक्तिशाली मुलुकहरूसँग सम्बन्ध बनाउनुभएको छ र प्रतिद्वन्द्वीहरूबीच पनि सफलतापूर्वक सन्तुलन कायम गर्नुभएको छ । भारत र चीनबीच विवादित सीमा क्षेत्रलाई लिएर आमनेसामने भए पनि उहाँ दृढतापूर्वक दुवै मुलुकलाई समर्थन गर्नुहुन्छ । बदलामा बेइजिङ र नयाँदिल्लीले बङ्गलादेशका धेरै पूर्वाधार परियोजनामा लगानी गरेका छन् ।

युक्रेनमाथि आक्रमणका कारण पश्चिमका अधिकांश मानिसले रुससँग दूरी कायम गरे पनि हसिनाले रुससँग बङ्गलादेशको ऐतिहासिक सम्बन्धलाई पनि बढावा दिनुभएको छ । यहाँसम्म कि उहाँले तीव्ररूपमा पश्चिमी नेताहरूसँग मेलमिलाप बढाइरहनुभएको छ ।

विल्सन सेन्टरका साउथ एसिया इन्स्टिच्युटका निर्देशक माइकल कुगेलमेनले भन्नुभयो, “तपाईं हसिनाका बारेमा जेसुकै भन्नुहोस् तर उहाँले महान शक्ति प्रतियोगितालाई अत्यन्त प्रभावकारीरूपमा व्यवस्थापन गर्नुभएको छ ।”

हसिनाले सन् २०१७ मा छिमेकी म्यान्मामा अभियोगबाट भागेका रोहिङ्ग्या मुसलमानहरूलाई शरण दिएर अन्तर्राष्ट्रियस्तरमा प्रशंसा हासिल गर्नुभएको छ । करिब ११ लाख रोहिङ्ग्या अहिले बङ्गलादेशमा भीडभाडपूर्ण शरणार्थी शिविरमा बस्छन् र तीमध्ये असङ्ख्य अन्यत्र राम्रो जीवनको सम्भावनाका लागि खतरनाक सामुद्रिक यात्रामा मर्ने गर्छन् ।

बङ्गलादेशको तयारी पोशाकको सबैभन्दा ठूलो निर्यात बजार अमेरिकाले मे महिनामा बङ्गलादेशमा निर्वाचन प्रक्रियालाई अवरोध गर्ने कुनै पनि व्यक्तिमाथि भिसा प्रतिबन्ध लगाउने घोषणा गर्यो । वासिङ्टनले बङ्गलादेशमा मानवअधिकारको उल्लङ्घन र प्रेस स्वतन्त्रतामाथि चिन्ता व्यक्त गरेपछि उक्त घोषणा आएको हो ।

विश्लेषकहरूले उक्त कदमलाई हसिनामाथि निष्पक्ष निर्वाचन गराउन दबाब दिने प्रयासका रूपमा हेरेका छन् । उहाँले अमेरिकामाथि आफूलाई सत्ताबाट हटाउने कोसिस गरेको आरोप लगाउँदै जवाफ दिनुभयो ।यद्यपि हालै एक पत्रकार सम्मेलनका क्रममा उहाँमाथि केही दबाब रहेको स्पष्ट भएको छ । “तपाईंले धेरै बोल्नुभयो भने म सबै भन्द गरिदिन्छु”, उहाँले भन्नुभयो ।

ढाकास्थित सेन्टर फर गभर्नेन्स स्टडिजका निर्देशक जिल्लुर रहमानका अनुसार १९ वटा हत्या प्रयासमा बाँच्नुभएकी र राजनीतिक शत्रुहरूको लामो सूची बनाउनुभएकी हसिनासँग ‘कुनै सुरक्षित निकास छैन ।’ “उहाँ सधैँ खतरामा हुनुहुन्छ र उहाँलाई सत्तामा रहनु छ”, उहाँले भन्नुभयो ।
 

वीरेन्द्रनगरमा १४ करोड लगानीमा जर्मन प्रविधिमा ग्यास प्लान्ट स्थापना गरी फोहरबाट ग्यास उत्पादन सुरु

भेरीगङ्गा (सुर्खेत), १९ पुस : सुर्खेतको वीरेन्द्रनगरमा फोहरबाट ग्यास र जैविक मल उत्पादन गर्न सुरुआत भएको छ । व्यक्तिगत लगानीमा कर्णालीमै पहिलो पटक वीरेन्द्रनगर–११ को सिमलकुनामा फोहरबाट ग्यास र जैविक उत्पादन गर्न थालिएको हो । वीरेन्द्रनगर–११ का युवा कृष्णप्रसाद ढकालले केपी दुई बिघा जग्गा २० वर्षको लागि भाडामा लिएर फोहरलाई मोहरका रुपमा रुपान्तरण गर्न सुरु गर्नुभएको हो । नगरपालिकाभित्रको सबै फोहरलाई सङ्कलन गरी ग्यास र जैविक मल उत्पादनको लागि प्रयोग गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।

रु १४ करोड लगानीमा जर्मन प्रविधिमा ग्यास प्लान्ट स्थापना गरी ग्यास र जैविक मल उत्पादन सुरु गरिएको ढकालको भनाइ छ । सो रकममध्ये पाँच करोड विश्व बैंकको सहयोग छ । अहिले तरकारी पसलबाट निस्कने फोहर सङ्कलन गर्ने गरिएको जनाउँदै ढकालले अब प्रत्येक घरघरबाट निस्कने फोहर सङ्कलन गरी प्रयोग गरिने योजना रहेको जानकारी दिनुभयो । “हामीले नगरपालिकासँग सहयोगको लागि आग्रह गर्यांै, तर सहयोग पाएनौँ, अनि आफ्नै ट्र्याक्टर किनेर फोहर सङ्कलन गरेर ल्याइरहेका छौँ”, उहाँले भन्नुभयो, “अब प्रत्येक घरबाट निस्कने फोहर सङ्कलन गरी ग्यास र जैविक मल उत्पादन बढाउँदैछौँ ।”ग्यास उद्योग प्लान्टबाट अहिले दैनिक सात सय २० क्विन्टल ग्यास र नौ टन जैविक मल उत्पादन भइरहेको छ । उत्पादित ग्यास खाना पकाउनेसहित सवारी साधन सञ्चालनको लागि पनि प्रयोग गर्न सकिने भएकाले पेट्रोलियम पदार्थको खपतसमेत घट्ने सञ्चालक ढकालको भनाइ छ । गत जेठबाट हामीले ग्यास र जैविक मल उत्पादन सुरु भएको जनाइएको छ । उहाँले भन्नुभयो, “यो ग्यास उत्पादनले सरकारलाई सहयोग पुग्ने छ । पहिलो कुरा रासायनिक मलको प्रयोगलाई घटाउने र त्यसमा दिने अनुदान हामीले उत्पादन गर्ने जैविक मलमा दिनुपर्छ, जसले गर्दा एकातिर अर्गानिक उत्पादन पनि बढ्छ भने अर्कोतर्फ हामीले फोहरबाट ग्यास पनि उत्पादन गरिरहेका छौँ, यो ग्यासले खाना पकाउने मात्रै नभई सवारी साधन चलाउन पनि हुने भएकाले राज्यको वार्षिक रु १८ करोड रकम जोगिन्छ ।”ग्यास प्लान्ट उद्योगले वातावरणलाई समेत सन्तुलन राख्ने उहाको भनाइ छ । ग्यास र जैविक मल उत्पादन गरिरहेको यो उद्योगमा अहिले १९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । उत्पादित ग्यास रु एक सय ४० किलो र मल रु २५ किलो बिक्री हुँदै आएको छ ।सरकारबाट सहयोग नपाएको गुनासोढकालले व्यक्तिगत लगानीमा सञ्चालन गरेको ग्यास र जैविक उत्पादन उद्योग सञ्चालनको लागि सरकारबाट सहयोग पाउन नसकेको गुनासो गर्नुभएको छ । उहाँले सरकारले गर्नुपर्ने लगानी व्यक्तिले गर्दा पनि सरकारले सहयोग नपाएको बताउनुभयो । “मैले यो उद्योग सञ्चालनको लागि वीरेन्द्रनगर नगरपालिकासहित प्रदेश सरकारको समेत सहयोगको अपेक्षा गरेको थिए । तर सहयोग पाउन सकिन, करोडौँ लगानी गरेर स्थापना गरियो, पहिले जग्गा नै पाउन सकिन । नगरपालिकासँग फोहर ल्याइदिने व्यवस्था मात्रै गरिदिनुहोस्भन्दा पनि सहयोग पाइन ।”उहाँले उत्पादनको लागि चाहिने मेसिन मर्मत गर्नुपरे पनि भारतमा लैजानुपर्ने बाध्यता आफूलाई रहेको जनाउँदै लगानी गरेर स्थापना गरेको उद्योग चलाउन सहज बनाइदिन सरकारसँग माग गर्नुभयो । उहाँले २० वर्षपछि सरकारकै स्वामित्वमा उद्योग दिइनेसमेत जानकारी गराउनुभयो ।कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री कृष्णकुमार विसीले ग्यास प्लान्ट उद्योगको निरीक्षण गर्नुभएको छ । सो अवसरमा उहाँले कर्णालीमै व्यक्तिगत रुपमा यति ठूलो लगानी गरी उद्योग स्थापना गर्न सफल भएको जनाउँदै सरकारले लिएको नीतिलाई समेत सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।“कर्णाली प्रदेश सरकारले सुरुदेखि नै अर्गानिक प्रदेश बनाउने योजना बनाएको छ, यो योजनालाई यस्ता उद्योगले सघाउ पुग्ने छ । अहिले टनका टन जैविक मल उत्पादन भइरहेको छ, अब रासायनिक होइन, जैविक मलमा अनुदान सरकारले दिनुपर्छ । मन्त्री विसीले भन्नुभयो”, त्यतिमात्रै अहिले विश्वव्यापी चुनौती बनेको जलवायु परिवर्तनको असर न्यूनीकरणमा समेत सघाउ जैविक उत्पादनले सघाउ पुगेको छ ।”–

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – बिहिबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका अधिकांश भू-भागमा हुस्सु/कुहिरो लागेको छ । आज कोशी, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

गुणस्तरीय विद्यार्थीको पर्खाइमा विश्वविद्यालय

काठमाडौं । जनसंख्या, केन्द्रीय विभाग कीर्तिपुरमा गत शैक्षिकसत्रमा स्नातकोत्तर तहमा आठजना विद्यार्थी भर्ना भए। तर, परीक्षामा सहभागी हुने समयसम्म पाँच मात्र छन्। जनसंख्या अध्ययन बहुआयामिक विषय भएकाले विगतमा विद्यार्थीको आकर्षण निकै थियो। सिट नपाएर भर्ना हुनै मुस्किल भएपछि विश्वविद्यालयले यो विषयको पठनपाठनका लागि मुलुकभर नौवटा कलेज थप गर्‍यो।

जनसंख्या अध्ययन गराउने कलेज थपेपछि विद्यार्थी संख्या भने घट्दै गयो। यही कारणले अब नयाँ शैक्षिक सत्रका लागि जनसंख्या अध्ययन केन्द्रीय विभाग कीर्तिपुरले आकर्षण योजना अघि सारेको छ।

विभागले मंगलबार पत्रकार सम्मेलन गरी विभाग प्रमुख योगेन्द्रबहादुर गुरुङले सन् २०२३र२४ देखि २०२४र२५ सत्रको नयाँ भर्नाका लागि मेरिट र कक्षा क्रियाशीलताका आधारमा पाँचजना विद्यार्थीलाई छात्रावृत्तिको व्यवस्थाका साथै अब आयोजना हुने अन्तर्राष्ट्रिय जनसंख्या सम्मेलन तथा राष्ट्रिय तथ्यांक कार्यालयसँग समझदारी भई जनगणनाका तथ्यांकहरुको आधारमा तयार हुँदै गरेका ‘थिम्याटिक रिपोर्ट’ मा इन्टर्नसिपको व्यवस्था गरिएको बताए।

यति मात्र होइन अब भर्ना हुने विद्यार्थीका लागि प्राध्यापकको पलहमा गरिने अध्ययन अनुसन्धानमा रिसर्च असिस्टेन्टको रुपमा कार्य गर्ने अवसर र जनसंख्या अध्ययन अनुसन्धान गर्न आवश्यक पर्ने कम्प्युटर सफ्टवेयर सिक्ने विशेष अवसर दिने व्यवस्था विभागले गरेको छ।

‘हामी विभागमा निरन्तर अध्ययन गर्ने गुणस्तीय विद्यार्थीको पर्खाइमा छौं,’ विभागीय प्रमुख गुरुङले भने, ‘गत वर्ष जनसख्या अधययनमा केन्द्रीय विभागसहित नौ कलेजमा कुल एक सय ५४ विद्यार्थी स्नातकोत्तर तहमा भर्ना भए तर परीक्षा दिने समयसम्म प्रत्येक कलेजमा पाँच वा आठभन्दा बढी छैनन्। हामीकहाँ विश्वविद्यँलय शिक्षा भनेकै अन्य काम खोज्ने समयसम्म समय बिताउने चौतारीको रुपमा विद्यार्थीले लिएको देखियो। अध्ययन गरेको विषयमा पढेर विज्ञ हुने विद्यार्थी नै आएनन्।

विश्वविद्यालयलाई केही समय अल्झिने ठाउँ पो बनाइयो।’ यस्तो प्रकृति उच्च शिक्षाका लागि भविष्यमा घातक सावित हुनेसमेत उनले बताए। ‘यति मात्र होइन हामीकहाँ स्नातक चार वर्षे भएपछि विद्यार्थीले स्नातक पूरा गर्दासम्म जीवनको २४ वर्ष समय खर्चिनुपर्ने हुन्छ,’ गुरुङले भने, ‘विश्वमा कक्षा १२ पास गरेपछि नै युवाहरु कमाउन थाल्छन् तर हामी कहाँ २४ वर्ष उमेरसम्म अध्ययन गर्दा पनि केही गर्न नसक्नु पनि उच्च शिक्षातर्फ विद्यार्थीको रुचि कम हुनु हो।’

उनले स्नातकोत्तर तहमा १० जना मात्र निरन्तर र गुणस्तीय विद्यार्थी भए पुग्ने पनि दाबी गरे। यसका लागि सरकारले सकरात्मक शैक्षिक वातावरण बनाउनुपर्ने उनको सुझाव छ।

एकातिर विश्वविद्यालयले विभिन्न विषयमा विद्यार्थी घट्दै गएको गुनासो गरिरहेका छन् भने अर्कातर्फ पछिलो समय मुलुकको विश्वविद्यालयमा विद्यार्थीको भर्ना हुने क्रम बढेको विश्वविद्यालय अनुदान आयोगको तथ्यांकले देखाएको छ। यो समाचार नागरिक दैनिकमा छ ।

पोखरा विश्वविद्यालय र गोरखपुर विश्वविद्यालयबीच सम्झौता

गण्डकी-पोखरा विश्वविद्यालय र दिनदयाल उपाध्याय गोरखपुर विश्वविद्यालयबीच एकापसमा शैक्षिक एवं अनुसन्धान सम्बन्ध स्थापित गर्ने मूल उद्देश्यका साथ एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय, ढुङ्गेपाटन, कास्कीमा आयोजित कार्यक्रममा पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा प्रेमनारायण अर्याल र दिनदयाल उपाध्याय गोरखपुर विश्वविद्यालय, गोरखपुर, उत्तरप्रदेश, भारतका उपकुलपति प्रा पुनम टण्डनले हस्ताक्षर गर्नुभयो ।समझदारीसँगै दुबै संस्थालाई शैक्षिक र अनुसन्धान सम्बन्ध स्थापित गर्नुका साथै संयुक्त अनुसन्धान तथा सम्मेलनलगायत अन्य शैक्षिक सहकार्यको दिशामा अगाडि बढ्न बाटो खुलेको छ । समझादारीपछि दुई विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीबीच शैक्षिक, व्यावसायिक र सांस्कृतिक गतिविधिलाई सहयोग गरी अन्तर्राष्ट्रिय सम्झौता, बौद्धिक सहयोग, सांस्कृतिक अन्तक्र्रिया र मित्रता प्रवद्र्धन गर्न सहयोग पुग्ने जनाइएको छ । साथै कुनै पनि कार्यक्रम दुवैतर्फ बाञ्छनीय र सम्भाव्य महसुस भएमा एकापसमा प्रस्ताव गरी दुवै पक्षले आयोजना गर्न सक्ने छन् ।कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्याल, दिनदयाल उपाध्याय गोरखपुर विश्वविद्यालयका उपकुलपति प्रा पुनम टण्डन र अन्तर्राष्ट्रिय सेलका निर्देशक डा रामवन्त गुप्ता एवं पोखरा विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक डा उमेशसिंह यादवले आ–आफ्नो संस्थाको परिचयसहित शैक्षिक एवं अनुसन्धान क्रियाकलापलाई कसरी प्रगाढ र सुदृढ गर्न सकिन्छ भन्ने विषयमा आ आफ्ना धारणा राख्नुभयो । समारोहमा पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा डा दीपकबहादुर भण्डारीलगायत सङ्कायका डीनहरू एवं विभिन्न निकायका प्रमुखको उपस्थिति थियो । 

शिशु मृत्युदर घटाउन ‘ह्युमन मिल्क बैंक’ प्रसूति गृहमै खुम्चियो

काठमाडौं । अस्पतालका नवजात संघन उपचार केन्द्र (एनआईसीयू) मा भर्ना हुने अवधि नपुगी जन्मिएका र कम तौल भएका नवजात शिशुहरूमध्ये करिब १० देखि १५ प्रतिशतको अवस्था स्तनपान गर्न नसक्ने किसिमका हुन्छन्।

त्यस्तै, कतिपय सुत्केरी आमा बिरामी परेको वा सुत्केरीको दूध नआएको अवस्थामा पनि नवजात शिशु आमाको दूध खानबाट वञ्चित हुन्छन्।

त्यस्ता शिशुको ज्यान बचाउन र उनीहरूको शारीरिक तथा मानसिक विकासमा टेवा पुर्‍याउन दाता आमाबाट संकलन गरिएको दूध वैज्ञानिक विधिबाट भण्डारण गरी आवश्यक परेको बेला उपलब्ध गराउन ‘ह्युमन मिल्क बैंक’ अर्थात् आमाको दूध संकलन केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ।

त्यति मात्रै होइन, दूध धेरै आएर दुहेर खेर फाल्नुपर्ने अवस्थाका सुत्केरी महिलाको दूध खेर नफाली आवश्यक पर्ने शिशुलाई उपलब्ध गराउन पनि यो दूध संकलन केन्द्र स्थापना आवश्यक छ।

अन्य देशहरूमा यस्तो ‘मिल्क बैंक’ धेरै अघि नै कार्यान्वयनमा रहेको भए तापनि नेपालमा भने युनिसेफको सहयोगमा वि।सं।२०७९ भाद्र ३ गते परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, थापाथलीमा स्थापना गरिएको हो।

अमृत कोष नाम दिइएको उक्त बैंकको स्थापनासँगै यस्तो बैंकको विस्तारको आवश्यक्ता महसुस गरी ७७ ओटै जिल्लामा स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाहरूलाई दूध संकलन कार्यबारे तालिम प्रदान गरिएको थियो। तर, आमाको दूध संकलन केन्द्रको सेवा प्रसूति गृहमै मात्र खुम्चिएको छ।

पुगेको अन्यत्र विस्तार भने भएको छैन। जसका कारण अहिले पनि धेरै नवजात शिशुहरूलाई आमाको दूधको साटो दूधदानीबाट दूध प्रतिस्थापन गर्ने शिशु आहार सेवन गराइएको छ। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

हेर्नुहोस् पुष १९ गते बिहिवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन । सहि निर्णय गर्न नसक्नाले सामान्य अप्जस सहनु पर्ला । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । कार्य क्षेत्रमा बिशेष सजग रहनु होला सामान्य अप्जस प्राप्त हुन सक्ने सम्भाबना रहेको छ ।

बृष राशि- सन्तान शुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गर्ने छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।

मीथुन राशि – प्रेम सम्बन्धमा सुधार आउनेछ । आम्दानि हुने योग रहेको छ । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ ।

कर्कट राशि- यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

सिंह राशि – बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । खानपानको कारण स्वास्थ सम्बन्धि सामान्य असर गर्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौधिक बिकासमा जुट्ने समय रहेको छ ।

कन्या राशि – पारीवरिक शुःख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । सामान्य यात्रा रहन सक्छ । भौतिक शुःख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्यि हुनसक्ला ।

तुला राशि – खर्च बढ्ने सम्भाबना रहेको छ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि – बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ सम्बन्धि समस्याले सताउनेछ ।

धनु राशि- कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

मकर राशि – मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहनेछ ।

कुम्भ राशि – स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला । बोलिको कारण साधारण समस्या आउन सक्नेछ । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

मिन राशि- मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।

राष्ट्रिय सभा निर्वाचनः कसको प्रतिस्पर्धा कोसँग ?

काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचन ११ माघमा हुँदै छ । प्रमुख दलहरू उम्मेदवार टुंगोसहित भागबन्डा र गठबन्धन गर्ने विषयमा एकअर्कासँग छलफलमा छन् । तर, सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीच गठबन्धन गरेर निर्वाचनमा सहभागी हुने भएपछि कसको कोसँग प्रतिस्पर्धा हुने भन्ने प्रश्न उठेको छ ।

निर्वाचन मिति नजिकिँदै जाँदा सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दलबीच गठबन्धन गरेर निर्वाचनमा सहभागी हुने विषयमा छलफल सुरु भएको छ । यद्यपि, कुन मोडेलमा सिटको बाँडफाट गर्ने विषयमा ठोस प्रस्ताव नआएको नेताहरू बताउँछन् ।

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनमा मिल्नुपर्ने प्रस्ताव गरेका छन् ।

बुधबार प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच यस’दयगतमा त्रिपक्षीय छलफल भएको छ । बुधबार बिहान ठूला तीन दलका तीन नेताबीच छलफल भएपछि बुधबार दिउँसो नै सत्तारूढ गठबन्धनको बैठकमा यस विषयमा छलफल भयो । तर, गठबन्धनमा कुनै ठोस सहमति नभएको बताइएको छ । बैठकमा सहभागी जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादवले सत्तारूढ गठबन्धनको बैठक निष्कर्षविहीन भएको बताउँदै बिहीबार बिहान पुनः छलफल हुने बताए ।

सत्तारूढ गठबन्धनको बैठक सकिएलगत्तै प्रचण्ड, देउवा र ओलीबीच पुनः दोस्रो चरणको छलफल भएको थियो । सोमबार र मंगलबार मा प्रचण्ड र ओलीबीच दुई पक्षीय छलफल भएको थियो । त्यसलगत्तै सो छलफलमा देउवा पनि सामेल भएका हुन् । ओलीले प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रिय सभामा आफूहरूलाई ‘जिरो’ नबनाउन आग्रह गरेका थिए । यो समाचार राजधानी दैनिकमा छ ।