`

अमेरिकाद्वारा हरित जलवायु कोषका लागि तीन अर्ब अमेरिकी डलर सहयोग

उपराष्ट्रपति कमला ह्यारिसले संयुक्त राष्ट्रसङ्घको कोप–२८ सम्मेलनमा संयुक्त राज्य अमेरिकाले विश्वव्यापी हरित जलवायु कोषका लागि तीन अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

ह्यारिसले दुबईमा आयोजित जलवायु शिखर सम्मेलनमा भन्नुभयो, “आज, हामी काममार्फत विश्वले यस सङ्कटको सामना कसरी गर्न सक्छ र गर्नुपर्छ भनेर प्रदर्शन गरिरहेका छौं ।”

अमेरिकी कङ्ग्रेसले अनुमोदन गर्नुपर्ने नयाँ रकम सन् २०१० मा स्थापना भएको हरित जलवायु कोष (जीसीएफ) मा जानेछ ।

सन् २०१४ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाको कार्यकालमा विकासशील मुलुकका लागि उक्त कोषमा अमेरिकाले अन्तिम पटक तीन अर्ब अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।

विश्वको सबैभन्दा ठूलो जलवायु कोषले पाकिस्तानमा सौर्य प्यानल वा हाइटीमा बाढी व्यवस्थापन गरेजस्तै विकासोन्मुख देशहरूमा अनुकूलन र न्यूनीकरण परियोजनाहरूको लागि अनुदान र ऋण प्रदान गर्दछ ।

अमेरिकाले सहयोग घोषणा गर्नुअघि जीसीएफमा १३ अर्ब ५० करोड अमेरिकी डलर दिने प्रतिबद्धता जनाइएको थियो ।

धनी राष्ट्रहरूले जलवायु परिवर्तनको सामना गर्न विकासशील राष्ट्रहरूलाई सहयोग गर्ने वित्तीय प्रतिबद्धताहरू पूरा गर्न असफल हुनुले जलवायु परिवर्तनसम्बन्धी वार्तामा तनाव र अविश्वासलाई बढाएको छ ।

जलवायु परिवर्तनका लागि कम जिम्मेवार विकासशील देशहरूले चरम मौसमको बढ्दो क्रूर र महँगो परिणामहरूको अनुकूलन गर्न र स्वच्छ ऊर्जा स्रोतहरूमा उनीहरूको सङ्क्रमणको लागि धनी प्रदूषक राष्ट्रहरूबाट समर्थन खोजिरहेका छन् ।

धनी देशहरूले गरिब राष्ट्रहरूलाई वार्षिक रूपमा १०० अर्ब अमेरिकी डलरको जलवायु वित्तपोषण आपूर्ति गर्ने छुट्टै प्रतिज्ञामा जीसीएफले भूमिका खेल्छ । तर त्यो प्रतिज्ञा सम्भवतः दुई वर्ष ढिला गरी सन् २०२२ मा मात्र पूरा भएको थियो ।

मुलुकमा आर्थिक सङ्कट न्यूनीकरण हुँदैछ – मन्त्री ज्वाला

काठमाडौँ, १६ मङ्सिर : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुलुकमा आर्थिक सङ्कट न्यूनीकरण हुँदै गएको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घको १४औँ वार्षिक साधारणसभामा उहाँले जनताको आर्थिक अवस्था सुधार गर्न उत्पादन तथा उद्यमशीलताको विकास गर्नुपर्ने बताउनुभयो ।

मन्त्री ज्वालाले मुलुकमा आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरी जनतालाई आर्थिक–सामाजिक अधिकार प्रदान गर्न सकिने भन्दै जनताको आर्थिक तथा सामाजिक रुपान्तरण गर्न वैज्ञानिक समाजवाद कार्यान्वयनमा जोड दिनुभयो । सामाजिक न्याय, समानता तथा समृद्धि कायम गर्न विश्व परिवेशमा प्रयोग भएको समाजवादी व्यवस्थाले आर्थिक, वर्गीय, लैङ्गिक शोषण अन्त गर्न सक्ने उहाँको भनाइ थियो ।

मन्त्री ज्वालाले समाजवादमा शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षालगायत विषयलाई सर्वसाधारण नागरिकको पहुँचमा पु¥याउने विशेषता हुने भएकाले पत्रकारले पनि समाजवादी तथा ग्रामीण विकासका क्षेत्रलाई महत्त्व दिएर समाचार लेख्नुपर्ने सुझाव दिनुभयो । स्थानीय तथा पूर्वाधार विकास र क्षमता अभिवृद्धिमा सरकारले लगानी वृद्धि गरेकाले पूँजीगत खर्च बढेको उहाँले बताउनुभयो । यसले अर्थतन्त्रलाई गतिशील बनाउन सहयोग पुग्ने उहाँको विश्वास थियो ।

मन्त्री ज्वालाले देशमा विप्रेषण सङ्कलन बढेको, ब्याजदर घट्दै गएकाले आर्थिक सङ्कट न्यूनीकरण भई अर्थतन्त्र सामान्य लयमा फर्कन लागेको जानकारी दिनुभयो । उहाँले मुलुकमा वैदेशिक लगानी आकर्षित गर्न लगानी सम्मेलनको गृहकार्य तथा तयारी सुरु भएको जानकारी दिनुभयो ।सो अवसरमा आर्थिक क्षेत्रमा उत्कृष्ट समाचार लेखेका पत्रकारलाई पुरस्कृतसमेत गरिएको थियो ।

कामपाको स्वर्णिम योजना कार्यान्वयनको चरणमा

काठमाडौँ, १६ मङ्सिर : काठमाडौँ महानगरपालिकाले स्वर्णिम योजनाअन्तर्गतको परम्परागत वाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले बाँसुरी वादन प्रतियोगिता आयोजन गर्ने भएको छ । कामपाले आफ्नो २९औँ वार्षिकोत्सवका अवसरमा महानगरस्तरीय बाँसुरी वादन प्रतियोगिता आयोजन गर्न लागेको हो ।

यही मङ्सिर २७ गते राष्ट्रिय सभागृहमा आयोजना हुने प्रतियोगिताबाट प्रथम स्थान हासिल गर्नेलाई रु एक लाख ५० हजारका साथै शिल्डमा चाँदीको ठूलो बाँसुरी प्रदान गरिने कामपाको स्वर्णिम योजनाका सम्पर्क व्यक्ति धर्म मुनिकारले जानकारी दिनुभयो । दोस्रो हुनेलाई रु एक लाख नगद र शिल्डमा चाँदीको मझौला बाँसुरी तथा तेस्रोलाई रु ५० हजार नगदसहित शिल्डमा चाँदीको सानो बाँसुरी प्रदान गरिने उहाँले बताउनुभयो ।

प्रतियोगितामा सहभागी हुन कामपाको सम्पदा तथा पर्यटन विभागले दर्ता फाराम उपलब्ध गराएको छ । “इच्छुक समूहले फारामा नाम, ठेगानासहित प्रतियोगितामा कुन बाँसुरी बजाउने ठूलो (घोर), मध्यम (माझवाल), सानो बाँसुरी (तिप), स्केलसहितको विवरण भर्नुपर्नेछ”, मुनिकारले भन्नुभयो, “दर्ता फाराममा टोल, गुथी वा सङ्घसंस्थाका गुरुः कजीः, नायः बाट सिफारिस गराउनुपर्छ । यसपछि वडाबाट सिफारिस गराएर मङ्सिर २० गतेभित्र विभागमा पठाउनुपर्ने छ ।”
मुनिकारका अनुसार एउटा समूहमा १२ जनाले सहभागिता जनाउन सक्नेछन् । यसमा आठजनाले बाँसुरीमात्र वादन गर्नुपर्नेछ । सकेसम्म तीनवटै बाँसुरी समावेश गर्नुपर्ने उहाँले बताउनुभयो । यो सम्भव नभए कम्तीमा ठूलो र मध्यम वा मध्यम र सानो अनिवार्य बजाउनुपर्ने उहाँले जानकारी दिनुभयो ।

यस्तै, दुईजनाले नेवार समुदायमा बजाइने धातुबाट बनेका बाजा सहायक बाजाका रुपमा बजाउन पाउने मुनिकारले बताउनुभयो । “प्रतियोगीले पाँचवटा धुन छानेर पठाउनु पर्नेछ । जसमध्ये दुईवटा धुन प्रतियोगितामा बजाउनुपर्छ । पहिलो आफैँले छानेको बजाउन पाइन्छ भने दोस्रोमा गोलाबाट छान्दा जुन आउँछ, त्यही बजाउनुपर्छ”, उहाँले भन्नुभयो ।

एउटा धुन पाँच मिनेटभित्र सक्नु पर्ने भन्दै मुनिकारले चार मिनेटमा सङ्केत बज्ने जानकारी दिनुभयो । यदि छोटा धुन भए दुईवटासम्म मिलाएर बजाउन पाइन्छ । जसका लागि गीत नेपाल भाषाकै हुनुपर्छ ।

कार्यक्रममा सहभागी सबैलाई प्रोत्साहनस्वरुप रु १० हजार नगद र प्रमाण दिने कामपाको तयारी छ । कामपाले यस वर्ष स्वर्णिम योजनाअन्तर्गत २५ विषयगत क्षेत्रका योजना छनोट गरेको छ । जसका लागि रु दुई अर्ब रकम विनियोजन गरिएको छ ।

भूमिहीन किसानलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता

नारायणगढ (चितवन) : १६ मङ्सिर ः उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यादेश जारी गरेर भए पनि राष्ट्रिय भूमि आयोगको काम सफल बनाउने प्रतिबद्घता व्यक्त गर्नुभएको छ ।

चितवनको नारायणगढमा भएको राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको छैटौँ राष्ट्रिय सम्मेलनलाई शनिबार सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय भूमि आयोगको कामलाई हरहालतमा सफल पारेर भूमिहीन किसानलाई जग्गा प्रदान गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “भूमिहीन किसानलाई जग्गा प्रदान गर्ने जुन उद्देश्य राखेका छौँ हरहालतमा त्यो पूरा गरी छाड्ने सङ्कल्प गरेकाछौँ ।”

उपप्रधानमन्त्रीले सङ्कल्प र प्रतिबद्घता गरेर मात्रै नभई यसमा देखिएका समस्याको समाधानका लागि कानुन संशोधन गरेर भए पनि भूमिहीन किसानको समस्या समाधान गरिछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रिय भूमि अधिकार मञ्च नेपालका कार्यवाहक अध्यक्ष मेघबहादुर बिसीको अध्यक्षतामा भएको सम्मेलनको उद्घाटनसत्रमा विभिन्न राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाले बोल्नुभएको थियो । भोलि मञ्चको नयाँ नेतृत्व चयन गरी सम्मेलन सम्पन्न हुनेछ ।

पुनःनिर्माणलाई जनताको सेवा गर्ने अवसरका रूपमा लिन मन्त्री शर्माको आग्रह

सल्ल्यान, १६ मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्पबाट क्षतिग्रस्त रुकुमपश्चिम र जाजरकोट जिल्लाका संरचनाको पुनःनिर्माणलाई जनताको सेवा ठानेर इमानदारीका साथ काम गर्न वयंसेवकहरूलाई आग्रह गर्नुभएको छ ।

सल्ल्यान दार्मा गाउँपालिकाको आयोजनामा वडा नम्बर ५ स्थित ढाकाडामकोटमा भूकम्पप्रभावित परिवारका निम्ति अस्थायी आवास तथा शौचालय निर्माणका लागि परिचालन भएका स्वयंसेवकहरूलाई सम्बोधन गर्दै मन्त्री शर्माले सरकार, राजनीतिक पार्टी र जनता सबैले पुनःनिर्माणलाई सेवाभावका साथ आ–आफ्नो क्षेत्रबाट काम गर्नुपर्ने बताउनुभयो ।भूकम्पीडितलाई त्रिपालबाट अस्थायी आवासमा यथासक्य चाँडो सार्न तथा उनीहरूको पुनःस्थापनाको कामलाई युद्धस्तरमा अघि बढाउनुपर्ने बताउँदै मन्त्री शर्माले पुनःनिर्माणको काम एक वर्षभित्र सम्पन्न गर्ने सरकारको निर्णय साकार पार्न सम्बद्ध सबैको सहयोग अपरिहार्य भएको स्मरण गराउनुभयो ।मन्त्री शर्मासँगै कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्मा, माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसी, केन्द्रीय सदस्य नरेश भण्डारी, दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीलगायत श्रमदानमा पनि संलग्न हुनुभयो ।भूकम्पबाट सल्ल्यान दार्मा गाउँपालिकामा ठूलो भौतिक क्षति भएको छ । एक हजार एक सय ७९ वटा घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन्भने एक हजार ८१ घरमा आंशिक क्षति भएको छ । पालिकाभित्रका २१ सामुदायिक विद्यालय, पाँच वटा स्वास्थ्य संस्था र तीन वटा वडा कार्यालयमा क्षति भएको छ । एक हजार एक सय ७९ घरका छ हजार तीन सय १८ जना विस्थापित भएका गाउँपालिका अध्यक्ष केसीले राससलाई जानकारी दिनुभएको छ ।

कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ

काठमाडौँ, १६ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवम् हानिकारक असर भोगिरहेको बताउनुभएको छ ।

संयुक्त अरब इमिरेट्स (युएई)मा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८)को कन्फ्रेन्स अफ पार्टिजलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हामीमाथि भएको डरलाग्दो अन्यायका कारण हाम्रा नागरिक बाढी पहिरो, डढेलो, हिमनदी विस्फोट, खडेरीजस्ता जलवायुजन्य सङ्कटबाट नराम्ररी प्रभावित भएका छन् ।”आफू तीन करोड नेपालीको सन्देश लिएर यस सम्मेलनमा सहभागी भएको उल्लेख गर्दै उहाँले विश्वव्यापी रुपमा बढ्दो तापक्रमले हाम्रा हिमाललाई यातना दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “तिनीहरुलाई पहिले बचाउनुहोस् ।”जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संयन्त्र (आइपिसिसी)ले दिएको प्रतिवेदनबाट आफूलाई सबैभन्दा बढी चिन्तित तुल्याएको उल्लेख गर्दै उहाँले जलवायु प्रेरित प्रकोपले हिमाली क्षेत्रमा कीर्तिमान तोडिरहेको बताउनुभयो ।प्रधानमन्त्रीले हाम्रा हिमनदीका एक तिहाइ हिस्सा गुमाइसकेको र वैज्ञानिकहरुले यस शताब्दीको अन्त्यसम्म थप एक तिहाइ हिस्सा गुमाउने अवस्था बताएको यथार्थता पेस गर्नुभयो । उहाँले यो हामी सबैका लागि जागरणको घण्टीसमेत भएको बताउनुभयो ।हिमालय मानव सभ्यता, पारिस्थितिक प्रणाली र जैविक विविधताको जग भएकाले त्यसलाई जोगाउनैपर्ने प्रधानमन्त्रीको भनाइ छ । त्यसले विश्व समुदायको सेवा गरेको र तल्लो तटीय क्षेत्रका मानिसका लागि जीविकाको प्रमुख स्रोतका रुपमा रहेको उहाँले स्पष्ट पार्नुभयो ।प्रधानमन्त्रीले नेपालमाथि भएको अन्याय अब रोकिनुपर्ने स्पष्ट धारणा राख्नुभयो । संयुक्त राष्ट्र सङ्घका महासचिवले हालै गर्नुभएको नेपाल भ्रमणका क्रममा समेत ‘प्रकृति विरुद्धको युद्ध बन्द गर्’ भनी आफ्ना धारणा सार्वजनिक गर्नुभएको विषय उल्लेख गर्नुभयो ।उहाँले ‘जलवायु परिवर्तन प्रकृति र मानवता विरुद्धको युद्ध’ भएको र आफ्नो स्वार्थ पूरा गर्नका लागि हामी आफैँ र भावी पुस्तासँग समेत लडिरहेको बताउनुभयो । “म यहाँ मेरो निर्दोष मानिसका लागि जलवायु न्यायका लागि उभिएको छु जो यस प्रकोपबाट पूर्ण पीडित छन्,” उहाँले भन्नुभयो ।नेपाल–पेरिस सम्झौताप्रति पूर्ण प्रतिबद्ध रहेको सन् २०४५ सम्ममा नेट शून्य हरितगृह ग्यास उत्सर्जनको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले जुन विश्वव्यापी लक्ष्यभन्दा पाँच वर्ष अगाडि रहेको बताउनुभयो ।प्रधानमन्त्रीले नेपालले स्वच्छ ऊर्जाका लागि जलविद्युत्को अधिकतम उपयोग गरेको तथा ४५ प्रतिशत भूक्षेत्रमा वनजङ्गल कायम गरेको यथार्थ विवरणसमेत पेस गर्नुभयो । जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरण योजना कार्यान्वयन गर्ने हाम्रा प्रयासले गम्भीर वित्तीय र प्राविधिक जटिलता सामना गरिरहेको उल्लेख गर्नुभयो । विकसित देशले यसअघि जनाएको आफ्नो प्रतिबद्धता तत्काल पूरा गर्नुपर्ने र थप प्रतिज्ञा गर्नुपर्ने स्पष्ट पार्नुभयो ।प्रधानमन्त्री प्रचण्डले सन् २०२५ सम्म जलवायु वित्तमार्फत एक सय बिलियन डलरबराबरको सहयोग उपलब्ध गराउनुपर्ने र त्यसका सर्तहरु सरल हुनुपर्नेमा जोड दिनुभयो ।प्रधानमन्त्री प्रचण्डले यस सङ्कटलाई सम्बोधन गर्न र न्यायका खातिर अनुदानको माग गर्नुभयो । उहाँले हानि तथा नोक्सानी कोष अल्पविकसित र हिमाली देशका लागि अनुमानित, सरलीकृत र पर्याप्त हुनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री प्रचण्डले जिएसटी रिपोर्टले सबैलाई स्पष्ट मार्गचित्र दिनैपर्ने तत्कालै एकताबद्ध भएर काम गर्नुपर्ने धारणा राख्नुभयो । हिमाल र जलवायु परिवर्तनका विषयमा सघन छलफल गरी एउटा निष्कर्षमा पुग्नैपर्नेमा जोड दिनुभयो  

कहिले आउला काठमाडौँमा मेलम्चीको पानी ?

काठमाडौँ, १६ मङ्सिर : खानेपानीमन्त्री महिन्द्रराय यादव खानेपानी आयोजना निरीक्षणका लागि मेलम्ची पुग्नुभएको छ । बाढीका कारण क्षति पुगेको मेलम्ची आयोजनाको मुहानलगायत क्षेत्रमा अनुगमनका लागि उहाँ त्यहाँ पुग्नुभएको हो ।

खोला तर्दै गर्दा मन्त्री यादव भने काठमाडौँवासीलाई चाँडो पानी पुर्‍याउनुपर्छ है भन्दै निर्देशनसमेत दिन थाल्नुभएको थियो । मन्त्री यादवले काठमाडौँवासीलाई चाँडो पानी पुर्‍याउन आयोजनाका कर्मचारीलाई निर्देशन दिनुभए पनि बाढीले मुहानलगायत क्षेत्रमा निकै ठूलो क्षति गरेकाले कहिले काठमाडौँमा पानी आउँछ भन्ने यकीन समय भन्न नसकिने अवस्थामा रहेको छ ।

मन्त्री यादव पानी काठमाडौँ चाडो पठाउने विषयमा छलफल गर्न भन्दै आज पनि त्यतै बस्नुभएको छ । जस्तोसुकै परिस्थितिको सामना गरेर भए पनि पानी काठमाडौँ झानुपर्ने भन्दै मन्त्री यादव विभिन्न निकायका व्यक्ति तथा निर्माण व्यावसायीसँग छलफलमा जुट्नुभएको उहाँको सचिवालयका टङ्क धमलाले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मेलम्चीको पानी काठमाडौँ पुर्‍याउने विषयमा मन्त्री लागि पर्नुभएको छ, सबैसँग छलफल भइरहेको छ, बाढीका कारण क्षति पुगेका संरचना निर्माण गरेर चाँडै पानी काठमाडौँ पुग्छ ।”

निर्माण व्यावसायीको ढिलाई र बाढीले आयोजना संरचनामा क्षति पुर्‍याएकाले पानी काठमाडौँ पठाउनका लागि केहि ढिलाई भएको मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “ठेकेदारले काम नगरेमा उपभोक्ता समितिबाट भए पनि काम गरी चाँडोभन्दा चाडो पानी काठमाडौँ पठाउन हामी लागिपरेका छौँ, एक महिना भित्रमा पानी काठमाडौँ पुर्‍याउने हाम्रो लक्ष्य हो ।”

मेलम्ची खानेपानीको मुहान स्थल हेलम्बु अम्बाथान लगायतको क्षेत्रको स्थलगत अनुगमन पछि मन्त्री यादवले बाढीका कारण मुहानलगायत क्षेत्रमा समस्या भए पनि काठमाडौँ पानी पठाउनका लागि तीव्रगतिमा काम सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मुहानमा बाढीलगायत विभिन्न समस्याका बाबजुद पनि अहिले काम सन्तोष जनक हिसाबले भइरहेको छ ।” शुक्रबारको अनुगमनका क्रममा पानी चाँडै काठमाडौँ पुर्‍याउनेमा मन्त्री यादव निकै आतुर रहेका देखिनुहुन्थ्यो ।

बाढीका कारण मेलम्चीका ७ नम्बर गेट, ९ नम्बर गेड, १९ नम्बर गेट र २१ नम्बर गेटमा क्षती पुर्‍याएको मेलम्ची खानेपानी आयोजनाको कार्यालयले जनाएको छ । क्षति पुर्‍याएका संरचना निर्माणदेखि मर्मत गरेर पानी काठमाडौँमा पठाउनुपर्ने अवस्था रहेको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुवँरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यति दिनमा पानी काठमाडौँ पुग्छ भन्न सक्ने अवस्था छैन, काम तीब्र गतिमा सुरु भएको छ, पानी काठमाडौँमा महिना दिनमा पुर्‍याउने आशा गरेका छौँ ।” प्राविधिक र अन्य समस्या भएकाले यतिदिन भित्र पानी पुग्छ भन्न सकिने अवस्था नभएको र अन्य समस्या र अवरोध नआए एक महिनामा पानी काठमाडौँ पुग्ने उहाँको भनाइ छ ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले काठमाडौँमा पानी पठाउनका लागि स्थानीय सरकारकातर्फबाट पूर्णरुपमा सहयोग भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मेलम्चीको पानी काठमाडौँ पठाउनका लागि स्थानीय सरकार र जनता पूर्णरुपमा सहयोग गरिरहेका छन्, हाम्रा पनि केही माग भएकाले पटकपटक प्रधानमन्त्री तथा अन्य मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छौँ, ती मागहरुको सम्बोधन हुनुपर्छ ।’–––

भरतपुर अस्पतालमा थपियो आइसियुको श्यया

चितवन, १६ मङ्सिर : भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा श्यया थप गरिएको छ । भेन्टिलेटरसहितको अत्याधुनिक चार श्यया थप गरेर कूल सङ्ख्या ३८ पुर्‍याइएको हो ।

अस्पतालका प्रवक्ता डा गोविन्द कँडेलले बिरामीको चापअनुसार श्यया अभाव भएपछि थप गरिएको बताउनुभयो । उहाँका अनुसार अस्पतालको सघन उपचार कक्षमा झण्डै शतप्रतिशत बिरामीको भर्नादर (अकुपेन्सी) हुने गरेको छ । एउटा श्यया सर्पदंशका बिरामीका लागि छुट्याइएको छ ।

उहाँका अनुसार निजी अस्पतालको सघन उपचार कक्षमा एक दिनमा रु १५ हजार हाराहारी खर्च हुने गर्दछ भने सरकारी अस्पतालमा एक दिनको श्यया शुल्क रु दुई हजार मात्र पर्दछ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार यसका अतिरिक्त २० श्ययाको बाल सघन उपचार कक्ष र छ श्ययाको पिआइसियु सञ्चालनमा छन् । अस्पतालमा छ सय श्यया छन् । चितवनसहित छिमेकी जिल्लाबाट यहाँ बिरामी उपचारका लागि आउने गरेका छन् । यो सङ्घीय अस्पताल हो । यहाँ दैनिक तीन हजारसम्म बहिरङ्ग सेवामा बिरामी उपचारका लागि आउने गरेको तिवारीले जानकारी दिनुभयो ।

सङ्घीय अस्पताल भएर पनि न्यून दरबन्दीमात्र स्वीकृत रहेकाले विकास समितिका चिकित्सक, कर्मचारीको भरमा अस्पताल सञ्चालन हुँदै आएको छ ।

केन्द्रीकृत मानसिकता सङ्घीय सरकार र नेतामा हावी भयो : सांसद देवकोटा

काठमाडौँ, १६ मङ्सिर : राष्ट्रियसभाका सांसद डा खिमलाल देवकोटाले व्यवस्थापिकामाथि कार्यपालिका हावी हुँदा सङ्घीय संसद््ले अपेक्षित नतिजा दिन नसकेको धारणा राख्नुभएको छ । राज्यका अङ्गबीचको नियन्त्रण र सन्तुलन गुम्दा सरकार संसद््प्रति जिम्मेवार तथा जवाफदेही हुन नसकेको उहाँको विश्लेषण छ ।

“सरकार नै संसद्माथि हावी छ । सरकार हावी भएका कारण संसद् बलियो हुन नसकेको हो । यसलाई कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको शक्ति सन्तुलन हुन नसकेको भनेर बुझ्न सकिन्छ”, सांसदसँग रासस संवादका क्रममा उहाँले भन्नुभयो, “संसद्ले सरकारलाई जिम्मेवार र जवाफदेही बनाउन सकिएको छैन । सरकारका गतिविधिको अनुगमन गर्ने अधिकार संसद्लाई छ । तर कुनै मन्त्रीलाई संसद्मा उभ्याएर जवाफ दिन लगाउन सकेको देखिँदैन । प्रश्न गरेको देखिँदैन ।”

सङ्घीय कानुन निर्माणको गति सुस्त हुँदा पछिल्लो समय संसद्को विधायिकी भूमिकामाथि प्रश्न उठ्न थालेको छ । एकातिर नागरिकका अपेक्षा र जनजीविकासँग जोडिएका विषयको उठान तथा सम्बोधन संसद्मा नहुने र अर्कोतर्फ कानुन निर्माणमा पनि गति नदेखिने भएपछि नागरिक तहबाटै व्यवस्थाप्रति वितृष्णा बढ्दो रहेको उहाँको बुझाइ छ ।

जाजरकोट भूकम्प : अस्थायी आवासका लागि चौबिस करोड पठाइयो

काठमाडौँ – जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापतको रकम शुक्रबार एकै दिन झण्डै चौबिस करोड निकासा गरिएको छ ।

बिहीबारसम्म रु २२ करोड नौ लाख रकम निकासा गरिएकोमा शुक्रबार थप २३ करोड ७३ लाख रकम निकासा गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिनुभयो ।

आजसम्म लाभग्राही प्रमाणित भएका २८ हजार पाँच सय २७ मध्ये १८ हजार तीन सय २८ लाभग्राहीका लागि पहिलो किस्ताबापत ४५ करोड ८२ लाख रकम निकासा भएको खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार निकासा गरिएको रकम जाजरकोट जिल्लाका प्रभावितका लागि समेत छ ।

उहाँका अनुसार जाजरकोटका नौ हजार एक सय १६ मध्ये तीन हजार तीन सय नौ जना लाभग्राहीलाई रु आठ करोड २७ लाख २५ हजार पहिलो किस्ताबापतको रकम पठाइएको छ ।

यस्तै बाजुराका एक हजार तीन सय ९६ मध्ये दुई सय १४ परिवारलाई रु ५४ लाख ५० हजार, रुकुम पश्चिमका १४ हजार दुई सय २४ लाभग्राहीका लागि रु ३५ करोड ५६ लाख, बझाङका दुई हजार ३६ लाभग्राहीमध्ये पाँच सय ७७ परिवारका लागि रु एक करोड ४४ लाख २५ हजार रकम निकासा भएको छ ।

अझै सल्यानका एक हजार चार सय ८५ लाभग्राहीका लागि रकम निकासा गर्न बाँकी रहेको र छिट्टै निकासा हुने प्राधिकरणले जनाएको छ ।

पेट्रोलियम पदार्थको आयात नौ प्रतिशतले घट्यो

काठमाडौँ । चालु आर्थिक वर्षको चार महिनामा पेट्रोलियम पदार्थको आयात नौ प्रतिशतले घटेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि कात्तिकसम्म ८८ अर्ब ९८ करोड ४४ लाख २२ हजार रुपियाँको आठ लाख किलोलिटर पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मटितेल, ग्यास र हवाई इन्धन) आयात भएको हो ।

गत वर्ष सो अवधिमा ९८ अर्ब २७ करोड ९९ लाख ६६ हजार रुपियाँको इन्धन आयात भएको थियो। गत वर्षको तुलनामा चालु आवको चार महिनामा १० अर्ब रुपियाँको इन्धन कमी आएको छ। बजारमा इन्धनको खपत कम हुँदा आयातमा कमी आएको तथ्याङ्कले देखाएको छ ।

औद्योगिक प्रयोजनमा २५ देखि ३० डिजेल खपत हुने गरेको निगमको भनाइ छ। पछिल्लो समय आर्थिक सङ्कटका कारण उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । व्यवसायीका अनुसार आर्थिक मन्दीका कारण ३० देखि ४० प्रतिशत उद्योग मात्र पूर्ण क्षमतामा सञ्चालन भएका छन् । खाना पकाउने एलपी ग्यासको समेत खपत घटेको छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

दुबईमा महासचिव गुटेरेसले सम्झे नेपाल

दुबई । दुबईमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप- २८) को उच्चस्तरीय राजनीतिक भेलामा राष्ट्रसंघका महासचिव एन्टेनिओ गुटेरेसले नेपालको नाम उल्लेख गरेपछि सहभागी प्रधानमन्त्री पुष्पकमल दाहालले खुसी व्यक्त गरेका छन् ।

सम्मेलनअन्तर्गत शुक्रबार सुरु भएको दुईदिने वर्ल्ड क्लाइमेट एक्सन समिटको उद्घाटन सत्रमा महासचिव गुटेरेसले भने, ‘केही दिनअघि मात्र म अन्टार्टिकाको पग्लिरहेको हिउँमाथि थिएँ । धेरै अघि होइन, मैले नेपालका पग्लिरहेका हिमनदीलाई पनि साक्षात्कार गरेको थिएँ । यी दुई स्थान भूगोलका हिसाबले टाढा छन् तर समान संकटमा छन् ।’

उद्घाटन सत्रमा महासचिव गुटेरेसले बोलिरहँदा सभास्थलमा अगाडि रहेका प्रधानमन्त्री दाहालले त्यसलगत्तै नेपाल पेभिलियनमा आफ्नो संक्षिप्त प्रतिक्रिया राख्ने क्रममा महासचिवको अभिव्यक्तिप्रति खुसी व्यक्त गरेका हुन् । ‘उद्घाटन मन्तव्यमा महासचिव गुटेरेसले नेपाल र अन्टार्कटिकाको चर्चा गरेका छन्, यो खुसीको कुरा हो,’ प्रधानमन्त्री दाहालले भने । आजको नागरिक दैनिकमा समाचार छ ।

दुई महिनाअघि खोलिएको कम्पनीले किन्यो एनसेल

काठमाडौँ । दुई महिनाअघि बेलायतमा स्थापना गरिएको एक कम्पनीले दूरसञ्चार सेवा प्रदायक एनसेलको ८० प्रतिशत स्वामित्व खरिद गरेको छ । नेपाली मूलका सिङ्गापुरका नागरिक सतीशलाल आचार्य निर्देशक रहेको स्पेक्ट्रलाइट युके लिमिटेडले यसअघि कम्पनीमा रहेको आजियटाको उक्त स्वामित्व खरिद गरेको हो ।

बेलायतको लन्डनस्थित वन फ्लिट प्लेसमा दर्ता ठेगाना रहेको उक्त कम्पनीको एनसेलमा प्रवेशसँगै स्वामित्व खरिदबिक्रीको नयाँ चरण सुरु भएको छ । गत असोज ९ गते सो कम्पनी दर्ता भएको देखिन्छ । एनसेलमा रहेको आफ्नो ८० प्रतिशत स्वामित्व स्पेक्ट्रलाइटलाई बिक्री गरेको आजियटाले पनि पुष्टि गरेको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै आजियटाले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री सम्बन्धी सम्झौता पूरा भएको र एनसेलबाट पूर्ण रूपमा अलग भएको उल्लेख गरेको छ । नेपालको विद्यमान व्यावसायिक वातावरण र कर प्रणालीलाई कारण देखाउँदै आजियटाले बाहिरिएको उल्लेख गरेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

‘राजनीतिक क्षेत्र अस्थिर हुँदा देश विकास हुन्न’- मन्त्री लिम्बू

काठमाडौँ – युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले राजनीतिक क्षेत्र अस्थिर हुँदा देश विकास हुन नसक्ने बताउनुभएको छ ।

राष्ट्रिय युवा नीति बहससम्बन्धी शुक्रबार यहाँ आयोजित ‘राष्ट्रिय कार्यशाला’ मा मन्त्री लिम्बूले राजनीतिक क्षेत्र अस्थिर हुँदा देश विकास हुन नसक्ने बताउनुभयो । नेपालको राजनीतिमा विदेशी चलखेल बढिरहेको भन्दै यसप्रति सजग बन्नुपर्ने उहाँको भनाइ थियो ।

मन्त्री लिम्बूले राजनीतिक किन गर्ने ? के पाइन्छ ? भन्ने खालका प्रश्न युवाले गर्ने गरेको भन्दै अब राम्रोका लागि दबाब सिर्जना गर्ने र राम्रोका लागि सुझाव दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले अबको नीति अग्रज, युवा र भावि पुस्तालाई जोड्ने गरी निर्माण हुनुपर्ने उल्लेख गर्नुभयो ।

मन्त्री लिम्बूले आगामी दिन उज्यालो बनाउन कसरी सकिन्छ भन्ने विश्वास दिलाउनुपर्नेमा जोड दिँदै नैराश्यता त्यागेर अघि बढ्न आग्रह समेत गर्नुभयो । उहाँले राजनीतिक क्षेत्रलाई सधैँ नकारात्मक दृष्टिकोणबाट नहेरी सुझाव र सुधार गर्दै अघि बढ्न आवश्यक रहेको औँल्याउनुभयो ।–

प्रदेश सरकार गठन भएको छ वर्ष : प्रदेश सरकारको मातहतमा प्रहरी नआउँदा समस्या

धनुषा – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा शान्ति सुरक्षा कायम गर्न प्रदेश सरकार हरेक प्रकारको सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामको प्रशासनिक कार्यालय भवनको शुक्रबार शिलान्यास कार्यक्रममा मुख्यमन्त्री यादवले प्रदेश सरकार गठन भएको छ वर्ष बित्दा पनि प्रहरी प्रदेश सरकारको मातहतमा आउन नसकेकोप्रति दुःख व्यक्त गर्नुभयो ।

नेपाल प्रहरीलाई प्रदेश सरकार मातहतमा ल्याउन सङ्घर्ष जारी रहेको उहाँले बताउनुभयो । उहाँले कसैको सिफारिस विना पीडितले न्याय पाओस् भन्ने किसिमले प्रदेशमा काम गर्नका लागि प्रहरी अधिकारीलाई आग्रह गर्नुभयो । प्रदेशको आठ वटै जिल्लाको सदरमुकाममा शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सिसिटिभी जडान गरिने उहाँको भनाइ छ ।

उहाँले अहिले पनि प्रदेश सरकारले आफ्नो क्षमताअनुसार मधेस प्रदेश प्रहरीलाई सहयोग गरिरहेको भन्दै प्रहरी प्रदेश सरकारको मातहतमा आएपछि मधेस सरकारको प्रहरी सबैभन्दा सबल हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमले मधेस प्रदेश प्रहरीको समस्या प्रदेश सरकारको समस्या भएको भन्दै शान्ति सुरक्षा सुदृढ पार्न विगत झै आगामी दिनमा पनि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा (एमाले) संसदीय दलका उपनेता एवं प्रदेशसभा सदस्य दीपेन्द्र ठाकुरले प्रदेश सरकारको धेरैजसो बजेट त्यतिकै फ्रिज हुने गरेको भन्दै त्यस्ता बजेटलाई प्रशासनिक पूर्वाधार निर्माणमा खर्चिन सल्लाह दिनुभयो । मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले भाडाको घरमा अहिले कार्यालय सञ्चालन भइरहेको भन्दै निर्माण हुने उक्त प्रशासनिक कार्यालय भवनले कामकाज गर्नमा सहजता हुने धारणा राख्नुभयो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रमणि पाण्डे, सशस्त्र प्रहरी बल नेपाल २ नं. छिन्नमस्ता बाहिनी बर्दिवासका सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र साह, वरिष्ठ प्रहरी उपरीक्षक प्रवीण पोखरेलसहित उच्च सुरक्षा अधिकारीको सहभागिता रहेको थियो ।

रु २३ करोड १० लाख ४३ हजारको लागतमा निर्माण हुन लागेको उक्त प्रशासनिक कार्यालय भवनको निर्माण शिवालय सुवेदी जेभी काभ्रेले १८ महिनाभित्रमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको छ ।

हेर्नुहोस् मंसिर १६ गते शनिवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – पारीवरिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । कार्य प्रतिको लगनसिलताको कदर हुने समय रहेकोछ । भौतिक श्रोत साधनको प्रयोगमा अधिक समय बित्नेछ । ब्यपार ब्यवसायमा समय उत्तम रहनेछ । प्रेम सम्बन्धमा प्रगाढता छाउनेछ । मानसम्मान प्राप्तीको समेत योग रहेकोछ ।

बृष राशि – मित्रजनहरुको अधिक सामिप्यता कष्टकर साबित रहनेछ । सामान्य पारीवारिक झोरझमेलाको सामना गर्नुपर्नेछ । यात्रामा पनि साबधानि पूर्वक अधिबढ्नुहोला । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । ब्यापार ब्यवसायमा साजेदारी नगर्नुनै उत्तम रहनेछ । अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउनेछ ।

मीथुन राशि – वाणी मधुरता छाउनेछ । कलाकौशलको क्षेत्रमा समय ब्यतित रहला । स्वास्थका क्षेत्रमा पनि सामान्य सुधारको योग बन्नेछ । पारीवारिक साथसहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । अध्यन अध्यापनमा भने समय त्यति उत्तम रहेकोछैन । नयाँ लगानिमा भने सजग रहनु होला ।

कर्कट राशि – आय आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मानसीक तनाबका कारणले गर्दा कार्य क्षेत्रमा झन्झट आई पर्न सक्नेछ । पारीवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला । शारीरिक आलस्यताका कारण गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्नेछ ।

सिंह राशि – अधुरो यात्रा रहने योग रहेकोछ । अरुको छिटो बिश्वास गर्नाले सामान्य धोकामा परिएला । फजुल खर्चको योग रहेको छ । मानसिक चिन्ताले सताउनेछ । आँट शाहसमा कमि आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ ।तपाईको द्वारा सम्पादित कार्यमा त्रुटि देखाउनेहरुको बृद्यिहुनेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

कन्या राशि – दिदी बहिनीहरुको साथ सहयोगले दीगो फाईदा हुने कार्यको थालनि होला । आक्स्मिक धनलाभको सम्भाबना रहेको छ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । सन्तान सम्बन्धि समस्याले सताउला । रचनात्मक तथा कला क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ । स्वास्थका निम्ती सामान्य खर्चको सम्भाबना समेत रहेकोछ ।

तुला राशि – बिद्यार्थी बर्गको बौधिक बिकाशका निम्ति समय राम्रो रहेको छ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । श्रम र मेहेनतको राम्रो कदर हुनेछ भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहने योग रहेकोछ । गरीरहेको कार्यका श्रेत्रमा सामान्य ढिलाईको सम्भावना रहेकोछ ।

बृश्चिक राशि – ईष्ट मित्रजनको सहयोग प्राप्तहुनाले कार्य सहज रहला । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ । आय आर्जनका निम्ती अधिक श्रम गर्नु पर्ने समय रहेकोछ । मान प्रतिष्ठामा सामान्य आचँ आउन सक्ने सम्भाबना रहेकोछ ।

धनु राशि – मानसीक चन्चलताले कार्य क्षेत्रमाझन्झट आई पर्नेछ । सामान्य बादबिवादको सामना गर्नु पर्ला । मनमा उत्पन्न बिभिन्न कुबिचारले समस्या निम्त्याउन सक्ला सजग रहनु पर्नेछ । भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहनाले मन प्रशन्न रहनेछ ।

मकर राशि – साजेदारी कार्यमा हात नहालेकै बेश रहनेछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ । बिश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्ला । तपाईको कार्य बाट फाईदा लिनेहरुको सङख्यामा बृद्यि हुनेछ । मनोबिलासिताका साधनको प्रयोगले समय ब्यतित रहनेछ । ब्यपार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ ।

कुम्भ राशि – अरुको संगतगर्ने बानिले सामान्य समस्या आइपर्ला । कार्य सम्पादन प्रति अरुको दबावको महसुस हुनाले दिन तनाब पूर्ण ब्यतित रहला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ । परीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नु होला ।

मिन राशि – बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । पठनपाठनको निम्ति समय राम्रो रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ । आय आर्जनका बिभिन्न श्रोत साधनहरु फेला परेतापनि मानसिक चन्चलताले कार्य श्रेत्रमा ब्यवधान आई पर्नेछ ।

८४ को लागि लिएको मिसन पूरा गर्न कांग्रेसले गुटगत राजनीति त्याग्नुपर्छः कोइराला

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १५ मङ्सिर : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपालमा देखिएको भ्रष्टाचारलाई हटाउनुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति नवलपरासीले आयोजना गरेको जिल्ला सम्मेलन कार्यक्रमलाई आज सम्बोधन गर्नुहुँदै नेता कोइरालाले नेपाली नागरिकमा देखिएको निराशापनले देशको आर्थिक, समाजिक पक्षलाई सुधार गर्न सङ्केत गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “देशलाई भ्रष्टाचारमुक्त बनाउन पाए मात्र देश विकासको गतिमा जान्छ । कृषि प्रधान देश भन्छाँै तर किसानकै लागि ठूलाठूला समस्या छन् । देशमा देखिएको भ्रष्टाचारले आमनगरिकको अनुहारमा खुसी छैन ।” देशमा भ्रष्टाचार छ भन्छौँ तर कहाँ छ ? भन्ने कुरामा पुग्न नसकेकोे नेता डा कोइरालाको भनाइ छ । नेता कोइरालाले भन्नुभयो– “स्थानीय तह आएपछि वडा र पालिकाबाट मात्रै भ्रष्टाचार भएकोे भनेका छौँ । सङ्घीयता हटाउनका लागि तलबाट भ्रष्टाचार भएको धेरैले भनेका छन् । तर भ्रष्टाचार त केन्द्रदेखि नै रहेको छ ।”

सङ्घीयता विरोधीले मात्र स्थानीय तहमा भ्रष्टाचार भयो भनेर हल्ला फिँजाएको उहाँले बताउनुभयो । ठूलो–ठूलो भ्रष्टाचार केन्द्रबाटै रहेको उहाँको भनाइ छ । सङ्घीयता आयो तर अधिकार विहीन सङ्घीयताले देशमा परिवर्तन हुन नसकेको कोइरालाको भनाई छ । सबै अधिकार केन्द्रमै सीमित गरेर कसरी सङ्घीयताको अनुभुति हुन्छ ? भनी प्रश्न गर्नुहुँदै नेता कोइरालाले अधिकारसहितको सङ्घीयता लागू गर्न आवश्यक रहेको बताउनुभयो ।

नेता कोइरालाले गुटगत राजनीति गरेर कांग्रेस सफल नहुने बताउनुभयो । विसं २०८४ को लागि लिएको मिसन (लक्ष्य) लाई पूरा गर्न गुटगत राजनीति पार्टीबाट फाल्नुपर्नेमा उहाँले जोड दिनुभयो । विसं २०८४ को निर्वाचना कांग्रेस एक्लै चुनाव लड्नुपर्ने आवश्यकता रहेको नेता कोइरालाले बताउनुभयो । पार्टीमा देखिएको विभिन्न आन्तरिक समस्यालाई समाधान गर्नका लागि पार्टीले एकपटक बसेर छलफल गरी योजना बनाएर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कांग्रेसका जिल्ला सभापति अर्जुन पोखरेलको अध्यक्ष्तामा भएको कार्यक्रममा केन्द्रीय सदस्य दीपक गिरी, दिनेश कोइराला, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, महामन्त्री विक्रम खनाल, भीमबहादुर थापालगायतले कार्यक्रममा सम्बोधन गर्दै पार्टी एक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।

चीनले १० करोड टनको तेल भण्डार पत्ता लगायो

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम चीनको गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ।

हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको (प्रमाणित) तेल भण्डार र ५६.२ मिलियन टनको (अनुमानित) तेल भण्डार फेला पारेको चाङ्छिङ आयलफिल्ड कम्पनीका उपमहाप्रबन्धक निउ सियाओबिङले बताएका छन्।

“हाल, नयाँ तेल क्षेत्रको दैनिक कच्चा तेल उत्पादन ५०४ टन पुगेको छ र पत्ता लगाइएको तेल भण्डारहरूले प्रति वर्ष ५००,००० टनको कच्चा तेल उत्पादन क्षमता बनाएको निउले उल्लेख गरेका छन् ।
यसअघि, चाङ्छिङ आयलफिल्डले विश्व-स्तरीय अल्ट्रा-ठूलो तेल निर्माण गरेको थियो ।

महिला र बालिकालाई भारतमा बिक्री गरेको आरोपमा पक्राउ

काठमाडौँ, १५ मङ्सिर : पश्चिम नेपालका सुर्खेत, दैलेखलगायतका पहाडी जिल्लाबाट महिला तथा बालिकालाई भारत लगी बिक्री गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

आकर्षक रोजगारीको प्रलोभन देखाई नयाँ दिल्लीस्थित यौन गतिविधि हुने केन्द्रमा लगी बेचविखन गरेको भन्ने जाहेरी दरखास्तका आधारमा प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोको टोलीले बाँकेको बैजनाथ गाउँपालिका–८ घर भएकी ३९ वर्षीया मुना ठकुरी भन्ने मुनाकुमारी मल्ललाई पक्राउ गरेको हो ।

उनलाई काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले म्याद थप गरी अनुसन्धान थालिएको ब्यूरोले आज सार्वजनिक गरेको छ । अनुसन्धानका क्रममा उनले भारतमा घरको सरसफाइमा राम्रो कमाइ हुने प्रलोभन देखाई महिलालाई नेपालबाट लैजाने गरेको र यसरी लैजाँदा ग्रामीण इलाकाका आर्थिक अवस्था कमजोर भएका, कम पढेलेखेका, एकल महिलालाई लक्षित गर्ने गरेको पाइएको ब्यूरोका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले राससलाई बताउनुभयो ।

उहाँले ती महिलाले भारतको नयाँ दिल्लीमा सञ्चालित यौन गतिविधि हुने केन्द्रमा एक नाबालिकासहित दुई युवतीलाई बेचविखन गरेको खुल्न आएको बताउनुभयो । उनीहरुलाई भने यसअघि नै प्रहरीले उद्धार गरेर नेपाल ल्याइसकेको छ । मल्लकै संलग्नतामा पीडितलाई भारतको दिल्लीबाट अन्यत्र स्थानमा यौन गतिविधिका लागि पठाउने गरेको पाइएको पनि प्रहरीले जनाएको छ ।

पीडित भागेर हिँड्दासमेत पुनःपिछा गरी समातेर सोही गतिविधिमा लगाउने गरेको पनि अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

सङ्क्रमणकालीन न्याय सरकारको पहिलो प्राथमिकतामा : मन्त्री शर्मा

देउखुरी (दाङ), १५, मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसद्को आगामी अधिवेशनबाट सङ्क्रमणकालीन न्यायको विषय टुङ्गो लाग्ने बताउनुभएको छ । एम्नेस्टी इन्टरनेसनल नेपालको ३२औँ साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री शर्माले द्वन्द्वकालीन घटनाका पीडितलाई न्याय दिलाउने गरी सरकार अघि बढेको जानकारी दिनुभयो ।

बेपत्ता परिएका व्यक्तिको छानविन आयोगको काम लामो समयसम्म टुङ्गोमा नपुग्दा पीडितले न्याय नपाएको उल्लेख गर्दै मन्त्री शर्माले आउने संसद् अधिवशेनबाट सहमतिका माध्यमबाट टुङ्गोमा पु¥याउने बताउनुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माले सङ्क्रमणकालीन न्यायको विषयमा सरकारको पहिलो प्राथमिकतामा रहेको स्पष्ट पार्दै आगामी अधिवेशनबाट सहमतिमा टुङ्गो लाग्न नसके विधिका आधारबाट भए पनि टुङ्ग्याउने दाबी गर्नुभयो ।

आफू पनि द्वन्द्वकाका क्रममा तत्कालीन राज्यपक्षबाट पीडित भएकाले यो विषयलाई गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै मन्त्री शर्माले कानुनी प्रक्रियाको अभावका कारण पनि ढिलाइ भएको स्पष्ट पार्नुभयो । हतियार र सेना समायोजन टुङ्गो लागे पनि पीडितको समस्या समाधान नभएको उहाँले बताउनुभयो ।

नेपाली कांग्रेस राष्ट्रि«यसभा संसदीय दलका मुख्य सचेतक अनिता देवकोटाले सङ्क्रमणकालीन न्यायलाई छिटोभन्दा छिटो निष्कर्षमा पु¥याउँदै पीडितलाई न्याय दिनुपर्ने बताउनुभयो । सशस्त्र द्वन्द्वका पीडितलाई न्याय दिन ढिलाइ गर्दा न्याय मर्ने र पीडितले न्यायको अनुभूति गर्न नपाउने भएकाले सत्यतथ्य छानबिन गरेर न्याय दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा एम्नेस्टी इन्टरनेशनल नेपालका पूर्व अध्यक्ष चरण प्रसाइँले सरकारलाई सङ्क्रमणकालीन न्याय टुङ्ग्याउनका लागि गम्भीर बन्न आग्रह गर्नुभयो । पूर्व अध्यक्ष राजनप्रसाद कुइँकेलले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याउने विषयलाई राज्यले मुख्य प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

एम्नेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष विपीन बुढाथोकीको अध्यक्षतमा भएको कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य लोका विश्वकर्मा, घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरी, द्वन्द्वपीडितको साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारी, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष उदय जिएम, नेपाल राष्ट्रिय जेसिजका पूर्व अध्यक्ष लालमणि भण्डारीलगायतले साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

एम्नेस्टी इन्टरनेशनल नेपालको ३२औँ साधारणसभा शनिबारसम्म चल्नेछ । साधारणसभाले संस्थाको वार्षिक प्रतिवेदन, कार्ययोजना, बजेट र केही संस्थागत नीति तय गर्नेछ ।

भूकम्पको भय, अझै सहज हुन सकेन पठनपाठन

त्रिवेणी (रुकुम पश्चिम) १५ मङ्सिर : रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१४ जामिरकोट टाकुराकी कक्षा ८ मा अध्यनरत सिन्दु मल्ल सधैँ झैँ विद्यालय आउनुहुन्छ । उहाँले अध्ययन गर्ने विद्यालयको नाम हो, जनविकास माध्यामिक विद्यालय ।

विद्यालय नजिकै भएकाले सिन्दुलाई अध्ययनको लागि विद्यालय आउन समस्या छैन, यही मङ्सिर ४ गते विद्यालय सञ्चालन भएदेखि नै उहाँ नियमित विद्यालय आएको बताउनुहुन्छ । तर उहाँलाई न घर न विद्यालय जहाँ भए पनि भूकम्पको त्रास भने अझै हटिसकेको छैन ।

गत कात्तिक १७ गते राति गएको भूकम्पको झलझली याद आउने गरेको सिन्दु सुनाउनुहुन्छ । पढ्न लेख्न मन नलाग्ने र भूकम्पकै डरत्रास हुने गरेको विद्यार्थीले बताउँदै आएका छन् । कक्षा ५ मा अध्यनरत विपीन मल्लको पनि समस्या सिन्दुको भन्दा फरक छैन । विद्यालय नियमित आउने गरे पनि पढ्नलेख्न मन नलाग्ने, विद्यालयमै अध्यनरत साथी गुमाउनुको पीडा बेलाबेला सम्झिँदा झन् चिन्ता लाग्ने गरेको विपीन बताउनुहुन्छ ।

अस्थायी सिकाइ केन्द्रमार्फत पठनपाठन सुरु भए पनि जाडोको समस्या हुने गरेको कक्षा ८ मा अध्यनरत पुस्तक चन्दको गुनासो छ । सिकाइ केन्द्रमा बसाइँ व्यवस्थापन तथा अध्यन गर्न पनि असज हुने गरेको विद्यार्थी बताउँछन् । जनविकास माध्यमिक विद्यायमामा हाल सात वटा अस्थायी सिकाइ केन्द्र स्थापना गरेर पठनपाठन सुरु गरिएको छ ।

अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन सुरु भए पनि विद्यार्थीको व्यवस्थापन तथा सिकाइमा समस्या हुने गरेको प्राधानाध्यपक दीपकसङ्गम थापाले बताउनुभयो । उहाँका अनुसार गत कात्तिक १७ गते राति गएको भूकम्पले दुई वटा विद्यालयका आठ वटा कोठा पूर्ण रुपमा ध्वस्त बनाएको छ । बाँकी तीन वटा विद्यालयका भवन पनि बस्न नमिल्ने गरेर चिराचिरा परेका छन् ।

हाल विद्यालयमा बालशिक्षादेखि कक्षा १० सम्म पठनपाठन भइरहेको छ । भूकम्पका कारण सोही विद्यालयमा अध्यनरत तीन जनाले ज्यान गुमाउनु पर्‍यो । विद्यालयले मानवीय क्षतिसँगै भौतिक संरचनाको पनि क्षति बेहोर्नुपरेको प्रधानाध्यापक थापा बताउनुहुन्छ । प्रअ थापाका अनुसार कक्षा ८ मा अध्यरत १४ वर्षीया प्रेमा मल्ल, सोही कक्षामा अध्यनरत १४ वर्षकै विराज मल्ला र कक्षा ५ मा अध्यनरत ११ वर्षीया चन्द्रकला खड्काको मृत्यु भयो ।

साथीको मृत्यु, भूकम्पको डर त्रासले विद्यार्थीे झन् एकहोरो हुने, पढ्न मन नगर्ने, विद्यालमा उपस्थित भएको केही समयमै घर जान खोज्ने, टोलाउनेजस्ता समस्या विद्यार्थीमा हुने गरेको प्रअ थापाको भनाइ छ । विद्यालयमा लामो समयसम्म बस्न मन नगरेपछि केही समय मनोसामाजिक परामर्श दिएर घर पठाउने गरिएको छ । विद्यार्थी पुरानैलयमा फर्किन करिब अझै एक पहिना लाग्ने उहाँको भनाइ छ ।

पाठ्यक्रमको विषयवस्तुभन्दा पनि विद्यार्थीको मनोवल बढाउन अन्य बाह्य कुरा सिकाउने गरिएको छ । सामान्य खालको मनोसामाजिक परामर्शले विद्यार्थीलाई नपुग्ने भएका विषेशज्ञबाट मनोसामाजिक परापर्श आवश्यक रहेका प्रअ थापाले बताउनुभयो । विद्यायलमा भूकम्पकै कारण खानेपानीको पनि समस्या रहेको छ । विद्यालयलाई केही सङ्घ संस्थाले सहयोग गरे पनि विद्यार्थीका शैक्षिक साम्रग्री, चिसोको लागि न्यानो कपडा आवश्यक रहेको शिक्षक सुुनिल मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालमा तीन सय १५ विद्यार्थी सङ्ख्या रहेकामा कमै विद्यार्थी विद्यालय आउने गरेका छन् । भूकम्पको त्रासका कारण विद्यार्थीको सङ्ख्या न्यून देखिएको उहाँको भनाइ छ । भूकम्पले विद्यालय भवनमा क्षति पुर्‍याएपछि आठबीसकोट नगरपालिकामा एक सय ३९ अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन भइरेको छ । भूकम्पपछि विद्यालमा पनि अस्तव्यस्त भएकाले विद्यार्थीलाई पुरानैलयमा ल्याउको लागि अस्थायी सिकाइ केन्द्र तथा खुल्ला चउरमा राखेर सामान्य खालको पठनपाठनसँगै मनोसामाजिक परामर्श दिने गरिएको आठबीसकोट नगर प्रमुख रवि केसीले जानकारी दिनुभयो ।

भूकम्पले विद्यालयमा क्षति पुर्‍याएपछि तत्कालको लागि छुट्टाछुट्टै कक्षा सञ्चालन गर्न नसकिएको र बहुकक्षामार्फत विद्यार्थीलाई सिकाइ सहज बनाएको उहाँको भनाइ छ । विद्यार्थीलाई पूर्णरुपमा पुरानैलयमा फर्काउन अझै एक महिना मनोपरामर्श सेवा आवश्यक पर्ने उहाँले बताउनुभयो । “यही मङ्सिर ४ गतेदेखि विद्यालय सञ्चालनमा आए पनि पठनपाठन प्रभावकारी हुनसकेको छैन, प्रभावकारी बनाउनेतर्फ लागि परेका छौँ, पुरानैलयमा विद्यार्थी फर्किसकेका छैनन् । अझै केही समय लाग्छ । विद्यार्थी पुरानैलयमा फर्किएपछि पठनपाठन प्रभावकारी हुन्छ । जाडो तथा अन्य मेलापर्वमा हुने बिदा कटाएर विद्यार्थीको कोर्ष पूरा गर्ने योजना बनाएका छौँ”, नगर प्रमुख केसीले भन्नुभयो ।

हाल जिल्लाभर दुई सय १३ अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन सञ्चालन भइरहेको शिक्षा विकास समन्वय इकाइ प्रमुख ताराप्रकाश पुनले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाभर एक सय आठ विद्यालयका पाँच सय ४४ कक्षा कोठामा क्षति पुगेको छ । त्यस्तै ३८ वटा शौचालमा पनि क्षति पुगेको प्रमुख पुनले जानकारी दिनुभयो । सामाजिक विकास कार्यालका अनुसार जिल्लामा भूकम्पका कारण १८ जना विद्यार्थी र एक जना विद्यालय कर्मचारीको मृत्यु भएको छ भने एक जना विद्यार्थी र एक जना शिक्षक घाइते हुनुभएको छ ।

भूकम्पका कारण एघार हजार नौ सय ५२ विद्यार्र्थी प्रभावित भएका छन् । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्र विन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण विद्यालय भवन क्षति पुर्‍याएपछि रुकुम पश्चिम र जाजरकोटमा हजारौँ विद्यार्थी अस्थायी सिकाइ केन्द्र तथा खुल्ला चउरमा बसेरै पठनपाठन गर्न बाध्य छन् ।

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय

काठमाडौँ, १५ मङ्सिर : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले भूमिस्थ प्रबन्ध सेवा (ग्राउण्ड ह्याण्डलिङ) प्रतिस्पर्धाका माध्यमबाट छनोट गर्ने भएको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार अन्य एयरलाइन्सले पनि ग्राउण्ड ह्याण्डलिङ सेवाको लागि प्रतिस्पर्धा गर्न सक्ने गरी निर्णय भएको छ । भोलिदेखि नै उक्त प्रक्रिया सुरु हुनेछ ।

प्राधिकरणको यो निर्णयसँगै हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सेवा खोसिन सक्ने अनुमान गरिएको छ ।

प्राधिकरणले सेवा शुल्क नियमावली २०७८ को नियम ५ (२) बमोजिम भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्धाका माध्यमबाट छनोट भएको संस्थामार्फत गराउने निर्णय गरेको हो । निगमको मुख्य आम्दानीको स्रोत रहेको ग्राउण्ड ह्याण्डलिङ सेवा बन्द भएमा निगम थप आर्थिक रुपमा कमजोर हुने जनाइएको छ ।

“मापदण्ड पुगेका एयरलाइन्सले पनि ग्राउण्ड ह्याण्डलिङ सेवाको प्रतिस्पर्धामा भाग लिन पाउनेगरी निर्णय भएको छ, यसले नयाँ एयरलाइन्सले पनि अवसर पाउछन्”, प्रवक्ता निरौलाले भन्नुभयो । 

लालुपाते सहकारी बचत घोटाला प्रकरण : ३५ जना प्रतिवादीविरुद्धको बयान सुरु

खोटाङ, १५ मङ्सिर : दिक्तेलस्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको बचत ठगीसम्बन्धी कसूरमा ३५ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालय खोटाङले जिल्ला अदालत खोटाङमा अभियोगपत्र दायर गरेको छ । बचतकर्ताको लगानी अपचलन आरोपमा सहकारीका वर्तमान तथा निवर्तमान सञ्चालक समिति, सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशी (मृतक) तथा जोशीका परिवार, सहकारीका प्रबन्धक, लेखापाल र ऋणीविरुद्ध अभियोगपत्र दायर गरेको हो ।

मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ को दफा ३२ बमोजिम प्रतिवादीविरुद्ध सरकारी वकिलले तयार गरेको अभियोगपत्र दायर भएको अदालतका श्रेस्तेदार सीताराम खड्काले जानकारी दिनुभएको छ । सहकारीका दुई सय ६५ बचतकर्ताले ३५ प्रतिवादीबाट रु चार करोड ४० लाख ६१ हजार १८ बिगो माग दाबी गरेका छन् ।

अभियोगपत्र पेस भएसँगै प्रतिवादीमध्ये हिरासतमा रहेका नौ जनाको बिहीबारदेखि बयान सुरु गरिएको श्रेस्तेदार खड्काले जानकारी दिनुभयो । “बयान सकिएपछि सरकारी वकिल र प्रतिवादीका तर्फबाट मुद्दा लड्ने वकिलबीच बहस हुन्छ । बहस सकिएपछि उनीहरुलाई थुनामा राख्ने, तारिखमा छाड्ने वा धरौटीमा छोड्ने निर्णय हुन्छ”, उहाँले भन्नुभयो, “प्रतिवादीमध्ये २६ जना “फरार सूचीमा रहेका छन् । उनीहरु आफँै पनि अदालतमा हाजिर हुनसक्छन् । यदि हाजिर नभएको खण्डमा पक्राउ गरेर ल्याइन्छ ।”आफूहरुले जम्मा गरेको बचत डुबाइदिएको भन्दै बचतकर्ताले विसं २०७९ फागुन–२ गते पहिलो पटक सहकारीका अध्यक्ष जोशीको परिवारका पाँच सदस्यसहित आठ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दिएका थिए ।

केही समयअघि सञ्चालक र केही ऋणीविरुद्ध पनि बचतर्कर्ताले जाहेरी दिएका हुन् । बचतकर्ताको लगानी डुबाएको भन्दै जाहेरी परेपछि सहकारी सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईँ, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखासमिति संयोजक प्रितम श्रेष्ठ र लेखापाल सुमना राईलाई प्रहरीले कात्तिक–१२ गते पक्राउ गरेको थियो । यस्तै, सहकारीका तत्कालीन अध्यक्ष जोशीका भाइ सौर्य एयरलायन्सका क्याप्टेन सुनिल जोशी र सुनिलकी श्रीमती रविना जोशी (श्रेष्ठ) गत असोज–१३ गते तथा तत्कालीन प्रबन्धक रुकु जोशी असोज–१७ गते काठमाडौँबाट पक्राउ परेका हुन् ।

तत्कालीन अध्यक्ष जोशीसँगको मिलेमतोमा सहकारीबाट लाखौँ ऋण लगेको तर, फिर्ता नगरेको भन्दै परेको किटानी जाहेरीका आधारमा पोखराकी जसुदा पौडेललाई गत कात्तिक– १५ गते चितवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । अन्य २६ प्रतिवादी भने फरार सूचीमा रहेका छन् । प्रहरीले पक्राउ परेका नौ जनालाई सङ्गठित अपराधमा मुद्दा चलाउने भन्दै ६० दिनसम्म हिरासतमा राखेर सरकारी वकिलको कार्यालयमा राय प्रतिवेदन बुझाएको थियो ।

प्रहरीले सङ्गठित अपराध अन्तरगतको राय प्रतिवेदन बुझाए पनि सरकारी वकिलले ठगी मुद्दाको अभियोगपत्र तयार गरेर अदालतमा बुझाएको हो । बचतकर्ताले रु आठ सयदेखि रु ५५ लाखसम्म आफ्नो बचत रकम फिर्ता गरिदिन माग गर्दै निवेदन दिएको प्रहरीले जनाएको छ । विसं २०७२ मङ्सिर–१० गतेदेखि दिक्तेलबजारमा कारोबार सुरु गरेको सहकारीको बचत अपचलन भएको विषय भने तत्कालीन अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको हो ।

तत्कालीन अध्यक्ष जोशीको कोभिड–१९ को सङ्क्रमणका कारण २०७८ वैशाख–१५ गते पोखरामा निधन भएको थियो । जोशीको निधनपछि निक्षेपकर्ता निक्षेप रकम फिर्ता माग्न आउँदा सञ्चालक समितिका पदाधिकारी तथा सरोकारवालाले सहकारीको कारोबार तथा हिसाब हेर्ने क्रममा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि खोजी गर्नेक्रममा बचत अपचलन भएको विषय बाहिरिएको हो ।
तत्कालीन अध्यक्ष जोशीको निधनपछि विसं २०७८ वैशाख–१६ गतेदेखि सहकारीको कारोबार ठप्प छ । प्रहरीका अनुसार सहकारीबाट ५९ वटा खातामा रु चार करोड ४७ लाख ६ हजार नौ सय ६७ ऋण प्रवाह भएको पाइएको छ । सहकारीबाट ऋणीलाई रु २५ हजारदेखि रु ९९ लाखसम्म ऋण दिइएको देखिएको छ । त्यसमध्ये २४ जनालाई सहकारीको नियम मिचेर ऋण प्रवाह गरेको पाइएको प्रहरीले जनाएको छ ।

चार जनालाई तमसुकबिनै ऋण दिएको पाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभएको छ । “सहकारीको नियम मिचेर मनोमानी गरेकै कारण सहकारी सङ्कटमा फसेको देखिएको छ । सहकारीको निक्षेप रु चार करोड ४७ लाख ५७ हजार दुई सय २१, शेयर पुँजी रु ५१ लाख १४ हजार सात सय ८१, जगेडा कोषमा रु १९ लाख ५८ हजार चार सय ९२ र संस्थागत कोषमा रु २४ लाख ८६ हजार पाँच सय ६४ देखिन्छ”, उहाँले भन्नुभयो, “रु चार करोड ९० लाख ९७ हजार तीन सय ९३ तिर्नुपर्ने देखिएको छ । वित्तीय अवस्था हेर्दा सहकारी ‘डुबेको’ छैन ।”

सहकारीको नाममा हलेसीमा ४८ लाखमा खरिद गरिएको ६ रोपनी तीन आना एक पैसा १ दाम (दुई कित्ता) जग्गा अध्यक्ष जोशीको भाइको नाममा पास गरेको पाइएको छ । सहकारीको नाममा जग्गा किन्ने निर्णय गरेर तत्कालीन अध्यक्ष जोशीको मिलेमतोमा व्यक्तिको नाममा पास गरेको पाइएको प्रहरीले जनाएको छ ।

तत्कालीन व्यवस्थापक जोशीको नाममा राखिएको बाम्राङको १६ रोपनी (तीन कित्ता) जग्गा सहकारीको नाममा ल्याइसकिएको पाइएको छ । बचत अपचलनका कारण लगानी डुबेको भन्दै बचतकर्ता चरणवद्ध आन्दोलनमा छन् । डुबेको सावा र ब्याज फिर्ता लिनका लागि बचतकर्ताले पदमकुमारी सैंजूको संयोजकत्वमा सङ्घर्ष समिति बनाएर चरणबद्ध आन्दोलन गर्दै आएका छन् । बचतकर्ताले घेर्न थालेपछि अप्ठ्यारोमा परेको सञ्चालक समितिले ऋण असुल गर्दै बचत फिर्ता गर्ने असफल प्रयास गरेको थियो ।

लालुपाते सहकारी सङ्कटमा फसेको विषयमा अनुसन्धान अघि बढाएको प्रहरीले ऋण तिर्नका लागि सूचना जारी गर्दा तोकिएको समयभित्र पाँच जनाले ऋण फिर्ता गरेका छन् । कमल गिरीले रु दश लाख, निकिता राईले रु दुई लाख, नवराज थापाले रु एक लाख ५० हजार, राजन सैंजूले रु एक लाख ३५ हजार र इन्द्र श्रेष्ठले रु ३१ हजार ऋण फिर्ता गरेको प्रहरीले जनाएको छ ।

राष्ट्रपति पौडेलद्वारा चुरे संरक्षणका लागि स्थायी समाधान खोज्न निर्देशन

काठमाडौँ, १५ मङ्सिर : राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका लागि स्थायी समाधान खोज्न र त्यसका लागि आवश्यक काम गर्न राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिलाई निर्देशन दिनुभएको छ ।

राष्ट्रपतिले राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका पदाधिकारीसँग आज राष्ट्रपति भवन शीतल निवासमा चुरे संरक्षणका सम्बन्धमा भएको छलफलमा त्यस्तो बताउनुभयो । उहाँले चुरे विनासले निम्त्याउने सङ्कटप्रति चिन्ता व्यक्त गर्दै अहिलेको काम गराइले मात्र दीर्घकालीन समाधान नहुने धारणा राख्दै राज्यको तदारुकतामा स्थायी समाधान खोज्नुपर्ने बताउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

राष्ट्रपति पौडेलले पहिरो रोक्नुपर्ने, खोला नदीले बगाएर ल्याउने ढुङ्गा, गिटी, गेग्रयान हटाएर खोला बग्ने निश्चित धार बनाउने, हटाएको ढुङ्गा, गिटी, बालुवा राष्ट्रिय आवश्यकताका लागि प्रयोग गर्ने, हरियाली निर्माण गर्ने, वस्ती सुधार गर्नेजस्ता विभिन्न कामका लागि राज्यले नै बृहत योजना बनाएर तदारुकताका साथ काम गर्नुपर्नेमा जोड दिनुभएको थियो । छलफलमा विकास समितिका पदाधिकारीले समितिले हाल गरिरहेको कामबारे जानकारी गराएका थिए ।

कोप–२८ लाई अवसरमा बदल्ने गरी अघि बढ्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, १५ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) लाई अवसरमा बदल्ने गरी अघि बढ्नुपर्ने बताउनुभएको छ । कोप–२८ परिसरमा नेपालको पेभिलियनमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालले जलवायु परिवर्तन असरका सम्बन्धमा आफ्नो अधिकार स्थापित गरेर अघि बढ्ने गरी तयारी गरेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घको महासभामा पनि यस अघि मैले नेपालमा जलवायुको असर भयानक छ भन्ने कुरा प्रस्तुत गरेको थिएँ । युवा पुस्ताको भविष्य सुनिश्चित गर्ने दीर्घकालिन सोचका साथ मैले त्यो विषय बोलेको हुँ ।” सो अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँगको अन्तरक्रिया गर्दा पनि आफूले उक्त विषय उठाएको उहाँले जानकारी दिनुभयो ।

त्यसपछि आफ्नो निमन्त्रणामा महासचिव गुटेरेस नेपाल भ्रमणमा आउनुभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले महासचिवले नेपाल भ्रमणका क्रममा हिमालमा जलवायु परिवर्तनको असर प्रत्यक्ष देखेर उक्त विषयलाई विश्वव्यापी बनाउन सहयोग गर्नुभएको बताउनुभयो ।

नेपालमा जलवायुको असरको विषय विश्वव्यापी रुपमा चर्चा भएको बताउँदै प्रधानमन्त्री दाहालले नेपाललाई अधिकार दिनुपर्छ भन्ने माहोल बन्दै गएको उल्लेख गर्नुभयो । उहाँले कोप–२८ उद्घाटनका अवसरमा महासचिव गुटेरेसले आज शुक्रबार आफने मन्तव्यमा नेपालको नाम लिनु नेपालका लागि खुसीको कुरा हो भन्नुभयो ।

युवा पुस्ताका विचार र भावनालाई सम्मान गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यो विषय दायित्व सबैको भएको बताउनुभयो । उहाँले कोप–२८ मा नेपालका तर्फबाट प्रभावकारी रुपमा प्रस्तुत हुन नेपालका प्रतिनिधिमण्डल सबैलाई निर्देशन दिनुभयो । सम्मेलनमा सरकारले सशक्त रुपमा तयारी गरेको उहाँको भनाइ थियो ।

पर्वतमा दुई सहकारीका आठ जना सञ्चालक पक्राउ

पर्वत, १५ मङ्सिर : सहकारी संस्थामार्फत ठगी गरेको आरोपमा पर्वतमा दुईवटा सहकारी संस्थाका आठ जना सञ्चालक पक्राउ परेका छन् । सदरमुकम कुश्मा बजारमै सञ्चालित तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका तीन जना र ग्रामीण विकास कृषि सहकारी संस्थाका पाँच जना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालका अनुसार तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष कृष्णप्रसाद उपाध्याय, सचिव विकास विश्वकर्मा र सहसचिव ओमकार कर्माचार्य तथा ग्रामीण विकास कृषि सहकारी संस्थाका अध्यक्ष लेखनाथ शर्मा, उपाध्यक्ष विष्णु तिवारी पूर्व अध्यक्ष राजु शर्मा र सल्लाहाकार शालिग्राम शर्मा तथा ऋण समिति संयोजक धनपति आचार्य पक्राउ परेका हुन् । दुवै सहकारीका अन्य सञ्चालकको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई सहकारी ऐन २०७४ अन्तर्गत सहकारी ठगी गरेको कसूरमा पक्राउ गरिएको हो । अहिले जिल्ला अदालतवाट पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी प्रमुख भुसालले जानकारी दिनुभयो । सहकारी रजिष्ट्रारको कार्यालय पोखरावाट विज्ञ बोलाएर पनि अनुसन्धान भइरहेको छ ।

यसअघि दुवै सहकारीका बचतकर्ताले जम्मा गरेको रकम भुक्तानी नपाएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले केही दिन पहिले सूचना जारी गर्दै दुवै सहकारीका बचतकर्तालाई सहकारीमा रकम जम्मा गरेको आधार देखिने पासबुक, भौचर, स्टेटमेन्ट मुद्दति प्रमाणपत्र लगायतका सक्कल कागजातसहित प्रहरी कार्यालयमा आउन समेत सुचित गरेको थियो ।

यूएईका लगानीकर्तालाई लगानी गर्न प्रधानमन्त्री प्रचण्डको आग्रह

काठमाडौँ, १५ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपालमा लगानी बढाउन संयुक्त अरब इमिरेट्स (युएई)का लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ र दुुबई चेम्बरद्वारा संयुक्त रुपमा बिहीबार दुबईमा आयोजना गरिएको नेपाल युएई बिजनेस फोरमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपाललाई लगानी गन्तव्य बनाउन आग्रह गर्नुभएको हो ।

सम्मेलन यूएईस्थित नेपाली राजदूतावासको सहयोगमा आयोजना गरिएको थियो । सो अवसरमा युएईका अर्थ राज्यमन्त्री अब्दुल्लाह अहमद एल सलेहले नेपालको ऊर्जा तथा पर्यटन क्षेत्रमा लगानी बढाउन सकिने बताउनुभयो । उहाँले नेपाल र युएईबीच सुमधुर सम्बन्ध रहेकाले व्यावसायिक सम्बन्ध पनि बलियो बनाउँदै लैजान तयार रहेको विश्वास दिलाउनुभयो ।

सोही फोरममा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि यूएईका लगानीकर्तालाई नेपालमा लगानी बढाउन तथा नयाँ लगानीका अवसर छोप्न आग्रह गर्नुभयो । उहाँले नेपालको अर्थतन्त्रमा देखिएको सुधारले लगानीकर्तालाई नयाँ अवसर सिर्जना भएको बताउनुभयो । नेपालको ऊर्जा, पर्यटन, कृषि प्रशोधन र सूचना प्रविधिलगायत क्षेत्रमा लगानीको आकर्षण रहेको जानकारी लगानीकर्तालाई गराइएको थियो ।

आफ्नै आन्तरिक बजार तथा भारत र बङ्गलादेशका क्षेत्रीय बजारमा ऊर्जाको माग बढिरहेकाले नेपालको जलविद्युत्मा गरिने लगानीले उच्च प्रतिफल दिने जानकारी गराइएको थियो । त्यस्तै, नेपालमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल, होटल तथा रिसोर्टलगायत पर्यटनसँगसम्बन्धी पूर्वाधारमा पनि लगानीको सम्भावना रहेको विषय फोरमलमा बताइएको थियो ।

युएईका लगानीकर्तालाई होटल, केबलकार, थिम पार्क र हिल स्टेसनलगायत पर्यटन पूर्वाधारमा लगानी साझेदारीका लागि समेत आग्रह गरिएको छ ।

‘रङ्गशाला निर्माणमा सबैको अपनत्व आवश्यक’ – रेनु दाहाल

चितवन, १५ मङ्सिरः आजदेखि बागमती प्रदेश महिला (प्रधानमन्त्री कप) क्रिकेट छनोट प्रतियोगिता एवं प्रदेश स्तरीय महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता यहाँस्थित अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशालामा सुरु भएको हो ।

पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गर्नुभयो । त्यस अवसरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सबैले अपनत्व लिनुपर्नेमामा प्रमुख दाहालले जोड दिनुभयो । विवाद निकालेर रङ्गशाला निर्माणमा अबरोध गर्ने क्रम जारी रहेको भन्दै यसलाई अन्त्य गरी सबै मिलेर अघि बढ्न आवश्यक रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “कहिले बन्दैन कि भन्ने कहिले जग्गाको विवाद निकाल्ने जस्ता कामले निर्माणमा समस्या हुन्छ, सबै मिलेर निर्माणमा जुट्नुपर्छ ।”

रङ्गशाला राष्ट्रको गौरव भएको भन्दै बताउँदै सरकारले रङ्गशाला निर्माणका लागि बजेट समेत बिनियोजन गरेको जानकारी दिनुभयो ।

सो प्रतियोगितामा काठमाडौं, भक्तपुर, ललितपुर र चितवन गरी चार वटा टोली सहभागि भएको प्रतियोगिताका संयोजक अनिल अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताबाट छनोट भएका खेलाडीहरु सहभागी गराई प्रदेश स्तरीय टोली बनाइनेछ । छनोट हुने खेलाडीले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् ।

अर्थतन्त्र सुधारका लागि सरकार र निजी क्षेत्र एक मत

काठमाडौँ, १५ मङ्सिर : मुलुकको अर्थतन्त्र सुधारका लागि सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ । सरकार र निजी क्षेत्रबीच सहकार्य हुँदा मात्र देशको अर्थतन्त्र सुधार्न सकिने विश्वास लिइएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अर्थतन्त्र सुधारका लागि सबै निकायबीच समन्वय र सहकार्यको आवश्यकता औँल्याइएको हो ।

कार्यक्रममा कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्रका समस्या देखाएर केही स्वार्थ समूहले अवाञ्छित फाइदा उठाउन खोजिरहेको बताउनुभयो । अहिलेको व्यवस्थाप्रति स्वार्थ समूहले अविश्वास जगाउने प्रयास गरिरहेको भए पनि त्यसविरुद्ध सरकार जिम्मेवारीसाथ प्रस्तुत हुने उहाँको भनाइ छ ।

अर्थतन्त्र सुधारमा स्वयं प्रधानमन्त्रीले गम्भीर पहल लिएको भन्दै उहाँले चाँडै अर्थतन्त्र लयमा फर्किने दाबीसमेत गर्नुभयो । सरकारले चालेका कदमका कारण ब्याजदर घट्दै गएको, पुँजीबजारले गति लिएको र घरजग्गा व्यवसाय लयमा फर्किएको उहाँको भनाइ छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका समस्याको कारण अर्को निकायलाई देखाएर कसैले पनि आफू पन्छिन नहुने बताउनुभयो । मौद्रिक नीतिमार्फत मात्रै अर्थतन्त्र सुधार गर्न नसकिने पनि गभर्नर अधिकारीको भनाइ छ ।

“बैंक वित्तीय संस्थाको खराब कर्जा केही बढेको छ । अन्यथा उनीहरुको नियमन र अनुगमनमा राष्ट्र बैंक जिम्मेवारीका साथ लागेको छ”, गभर्नर अधिकारीले भन्नुभयो, “अहिले जसले काम नगरे पनि मौद्रिक नीतिले गर्न दिएन भनेर आरोप लगाइने गरेको छ । काम कोही पनि नगर्ने तर दोष मौद्रिक नीतिलाई दिएर मात्र उम्कने प्रवृत्ति छ ।”

कुनै बैंक तथा वित्तीय संस्थाले ऋणीसँग बढी ब्याज लिएको भए राष्ट्र बैंकलाई जानकारी गराउन पनि गभर्नर अधिकारीले अनुरोध गर्नुभयो । बैंकले बढी ब्याज लिएको पाए राष्ट्र बैंकले फिर्ता गराउने प्रतिबद्धतासमेत उहाँले जनाउनुभयो ।

गभर्नर अधिकारीले गत आर्थिक वर्षमा बैंक वित्तीय संस्थाले बढी लिएको रू चार अर्ब ७६ करोड बराबर ब्याज फिर्ता गराएकोसमेत स्मरण गराउनुभयो । बजेटमा भएका कुरालाई राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सहयोग गर्ने पनि गभर्नर अधिकारीले स्पष्ट पार्नुभयो ।

बैकर्स सङ्घका अध्यक्ष सुनिल केसीले अहिले कर्जाको ब्याजदर एक प्रतिशतले घटेको बताउनुभयो । त्यस्तै, बैंकको आधारदर (बेसरेट) एकल अङ्कमा रहेको जानकारी गराउनुहुँदै उहाँले ब्याजदर अझै घट्दै जाने समेत बताउनुभयो ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवालले सरकार र राष्ट्र बैंकले अर्थतन्त्र समस्यामा छ भनेर स्वीकार गर्नुपर्ने बताउनुभयो । अर्थतन्त्र समस्यामा छ भनेर स्वीकार्न सके मात्र समाधानका उपाय खोज्न सकिने उहाँको भनाइ छ ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नेपालमा झन्झटिलोको प्रक्रियाका कारण लगानी भित्रन नसकेको उल्लेख गर्नुहुँदै साना र मझौला उद्योग प्रवद्र्धनमा जोड दिइनुपर्ने बताउनुभयो ।–

राष्ट्रियसभा निर्वाचन कार्यतालिका स्वीकृत

काठमाडौँ, १५ मङ्सिर : निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी माघ ११ गते हुने निर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ ।

आयोगको बिहीबारको बैठकले स्वीकृत गरेको कार्यतालिका अनुसार यही मङ्सिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन गर्ने र मङ्सिर २४ देखि २९ गतेसम्म राजनीतिक दल दर्ता गर्ने कार्यक्रम छ ।

दल दर्तापश्चात आगामी पुस १ गते राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरी पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाइने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । आगामी माघ ११ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ ।

स्वीकृत कार्यतालिका अनुसार २०८० पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।

पुस २० देखि २८ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ । सरकारले यही मङ्सिर १३ गते निर्वाचनको मिति घोषणा गरेको थियो ।

बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

जानकी (बाँके), १५ मङ्सिरः बाँकेको पूर्वपश्चिम राजमार्गमा गएराति बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ गइरहेको बसले ठक्कर दिँदा राप्तिसोनारी गाउँपालिका–८ ओभरीका ४० वर्षीय केशव कुँवरको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

बस चालक धर्मराज तिमिल्सिनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।यसैबीच, कैलालीको लम्कीमा बसको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको बसले मोहोन्याल गाउँपालिका–७ का ३७ वर्षीय डम्बरबहादुर विष्टलाई ठक्कर दिँदा निजको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ ।

सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको असली अभ्यास र प्रतिनिधित्व राष्ट्रियसभाले गरिरहेको छ – महरा

सुदूरपश्चिम, १५ मङ्सिर : राष्ट्रियसभा सदस्य महेशकुमार महरा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको असली अभ्यास र प्रतिनिधित्व राष्ट्रियसभाले गरिरहेको ठान्नुहुन्छ । अपाङ्गता भएका व्यक्तिको कोटाबाट माथिल्लो सदनमा छ वर्षअघि निर्वाचित उहाँले प्रतिनिधिसभाको छायाका रुपमा नभई अभिभावकको भूमिकामा राष्ट्रियसभा रहेको अनुभव सुनाउनुभयो ।

‘सांसदसँग रासस संवाद’मा नेकपा (माओवादी केन्द्र)का नेता महराले भन्नुभयो, “सङ्घीयता र समावेशिताको प्रतिनिधित्व, अभ्यास र अनुभव राष्ट्रियसभाले गरिरहेको छ ।” प्रतिनिधिसभाबाट आएका विधेयकमा चित्त नबुझेमा फिर्ता पठाइदिने अधिकार राष्ट्रियसभासँग भएको बताउँदै उहाँले सञ्चारमाध्यमले प्रबुद्ध समूहका कामकारबाहीलाई महत्व नदिँदा सभाका गतिविधि छायामा परेको प्रतिक्रिया दिनुभयो ।

सांसद महराले विकृति र विसङ्गतिको अन्त्य गरी सुशासन कायम गर्न राजनीतिक दलका शीर्ष नेतृत्वका साथै कर्मचारीतन्त्र इमान्दार हुनुपर्नेमा जोड दिनुभयो । डडेलधुराको आलितालमा स्थायी बसोबास रहेका महरा विद्यालय शिक्षा पूरा गरी विसं २०५४ मा काठमाडौँको रत्नराज्य कलेजमा उच्च शिक्षाका लागि भर्ना भएलगत्तै नेकपा (माओवादी)को भ्रातृ सङ्गठन अनेरास्ववियू क्रान्तिकारीको सदस्यता लिएर राजनीतिमा प्रवेश गर्नुभएको हो ।

अखिल क्रान्तिकारी डडेलधुरा जिल्ला सचिव, माओवादी जिल्ला कमिटी सचिवालय सदस्य उहाँ द्वन्द्वकालमा धरमपानीमा घाइते हुनुभएको थियो । माओवादी केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य भई काम गरेको उहाँ राजदरबार हत्याकाण्डपछि भूमिगत हुनुभएको थियो ।

द्वन्द्वकालमा डडेलधुराको नेतृत्व गर्दै गण्डकी क्षेत्रमा खटिनुभएका महरा २०६२ सालको शान्तिप्रक्रिया प्रारम्भ हुनुअघि धरमपानीमा भएको भिडन्तमा घाइते हुनुभएको हो । उहाँले भन्नुभयो, “आफ्नो टाउकोमा अहिले पनि ‘एट्टी वान’बन्दुकको गोलीको छर्रा छ, प्यारालाइसिस भएर बायाँ हात र बायाँ खुट्टाले अहिले पनि राम्रोसँग काम गर्न सक्दैन ।”

राजनीतिक परिवर्तनका लागि भएको युद्धका क्रममा नेता महराले केही वर्ष भूमिगत जीवन बिताउनुभयो भने तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटी सदस्यको जिम्मेवारी समेत सम्हाल्नुभयो । हाल नेकपा (माओवादी केन्द्र) प्रदेश कमिटी सचिवालय सदस्यको जिम्मेवारीमा रहनु भएका उहाँलाई राष्ट्रिय सभासदस्यमा निर्वाचित भएर जनप्रतिनिधिका रुपमा जनताका पक्षमा काम गर्न सकिनेमा गर्व लागे पनि आफ्नो कार्यकाल सकिनै लाग्दा सोचेअनुसारको काम हुन नसकेको उहाँ बताउनुहुन्छ ।

“यो अवधिमा कार्यपालिकाबाट जनअपेक्षा अनुसारको काम नहुँदा दुःखी छौँ,” नेता महरा भन्नुभयो । देशमा पछिल्लो समयमा विकृति र अराजकता देखिनुमा संसदीय व्यवस्था जनताप्रति उत्तरदायी हुननसक्नु प्रमुख कारण उहाँ मान्नुहुन्छ । समाजमा थिचिएका र हेपिएकाहरुको पक्षमा आवाज उठाउन पाउनु लोकतान्त्रिक व्यवस्थाको सुन्दर पक्ष मानिएपनि बोल्न पाउने अधिकार छ भन्दैमा अराजकता हुन नहुने उहाँको भनाइ छ । उहाँलाई लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको प्रतिफल दिएर परिवर्तनको अनुभूति दिनका लागि संविधान संशोधन गरी साशकीय स्वरुपमा परिवर्तन, निर्वाचन प्रणालीको परिवर्तन गरी पूर्ण समानुपातिक बनाउन जरुरी रहेको लागेको छ ।

प्रत्यक्ष चुनाव जितेर सांसद बन्ने कुनै पनि नेताले बढीमा तीन कार्यकाल, समानुपातिक प्रणालीबाट निर्वाचित हुनेले दुई कार्यकाल र प्रधानमन्त्री र मन्त्रीको कार्यकाल पनि दुईपटकका लागिमात्र हुने व्यवस्था भएमा सुधार हुन सक्ने उहाँको बुझाइ छ ।
सत्तापक्षले जतिसुकै राम्रो काम गरे पनि प्रतिपक्षमा बस्नेले विरोध गर्नैपर्छ भन्ने मान्यता नहटेको धारणा व्यक्त गर्दै सांसद महराले उहाँले भन्नुभयो, “यस्तो परम्परावादी सोच त्याग्न जरुरी छ ।” राज्यका प्रमुख तीन अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकापछि चौथो महत्वपूर्ण अङ्ग आमसञ्चार क्षेत्रले आफ्नो भूमिका इमान्दारिपूर्वक निर्वाह गर्न नसकेको उहाँले बताउनुभयो ।

आफनो छवर्षे कार्यकालमा राष्ट्रियसभाका सदस्यबाट सरकारलाई पूरा सहयोग मिलेको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “गठबन्धनकै सरकार भएर हुनसक्छ, पर्याप्त बिजनेस दिन सकेन ।” नेता महरालाई सरकारबाट संविधानको प्रस्तावना विपरीत बजेट ल्याउने काम हुने गरेको लागेको छ ।

राष्ट्रियसभामा विभिन्न विधेयक छलफलका क्रममा उत्पन्न मतभेदलाई सबै दलका नेता,प्रमुख सचेतक, सचेतकले आपसमा छलफल गरेर समाधान खोजिएको तथा यस्ता विषयमा अध्यक्षले पनि समन्वयकारी भूमिका निर्वाह गर्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।

आगामी दिनमा सबैले केही गरौँ भन्ने उद्देश्यका साथ सकारात्मक सोच राखेर गतल प्रवृत्तिका विरुद्ध लडाइँ गर्दै अगाडि बढ्न सक्नुपर्ने खाँचो उहाँ औँल्याउनुहुन्छ । नेपालको संविधानले प्रदेशहरुको न्यायोचित प्रतिनिधित्व, व्यवस्थापकीय शक्ति सन्तुलन, कार्यकौशलता र प्रभावकारितालाई सम्बोधन गर्न सङ्घीय संसद्मा स्थायी प्रकृतिको व्यवस्थापकीय अङ्गका रुपमा राष्ट्रियसभाको व्यवस्था गरेको छ ।

मलेसियामा धूमपान विरोधी विधेयक पारित

मलेसिया – मलेसियाको संसद्ले धूमपान विरोधी विधेयक पारित गरेको छ। संसद्को तल्लो सदनले बिहीबार नाबालिगहरूलाई भ्यापिङ यन्त्रलगायत निकोटिन युक्त उत्पादनहरूबाट बचाउने उद्देश्यले धूमपान विरोधी विधेयक पारित गरेको हो।
स्वास्थ्यमन्त्री जालिहा मुस्तफाले पेस गरेको विधेयकमा सुर्तीजन्य पदार्थ, धूमपान वा सुर्तीजन्य पदार्थको बिक्री वितरण र नाबालकलाई धूमपान सम्बन्धी कुनै पनि सेवा उपलब्ध गराउन निषेध गर्ने व्यवस्था गरिएको छ ।

मन्त्री जालिहाद्वारा प्रस्तावित ऐनले सुर्तीजन्य उत्पादनका तीन वर्गलाई नियमन गर्नेछ । पहिलो वर्गमा प्रशोधन गरिएको सुर्ती वा मानव उपभोगको लागि निर्माण गरिएको कुनै सुर्तीजन्य पदार्थ, दोस्रोमा निकोटिन, प्रोपाइलिन ग्लाइकोल, ग्लिसरोल र ट्राइथाइलिन ग्लाइकोललगायत धूमपानका लागि प्रयोग हुने कुनै पनि पदार्थको संयोजन गरी बनाइएको विद्युतीय (ई-चुरोट) र तेस्रोमा धूमपानका लागि तयार सुर्तीजन्य उत्पादनहरू प्रतिस्थापन गर्ने लगायतका छन् ।

चुरोट तमाखु उत्पादनका विज्ञापन, प्रवद्र्धन र प्रायोजनमा प्रतिबन्ध लगाउने प्रावधानहरू जुन पहिले नै विद्यमान कानूनहरू अन्तर्गत लागू हुने र अब ई-चुरोट, सुर्तीजन्य उत्पादनहरू, धूमपान पदार्थहरू र प्रतिस्थापन सुर्तीजन्य उत्पादनहरू लगायत सबै उत्पादनहरूमा विस्तार गरिएको मन्त्रीले जानकारी दिनु भएको छ ।

साथै विधेयकमा सबै आयातकर्ता र सूर्तिजन्य उत्पादनका उत्पादकहरूले मलेसियाली बजारका लागि उत्पादित प्रत्येक उत्पादन दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ। विधेयकमा भनिएको छ- प्रत्येक उत्पादनको विशिष्टता र सामग्रीको रेकर्डिङको लागि अनुमति दिइने र दर्ता नगरिएका उत्पादनहरू लाई कारबाही गरिने छ।

नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आह्वान

काठमाडौँ, १५ मङ्सिर : संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्ताहरुलाई नेपालमा लगानीका अवसरहरुबाट लाभ लिएर लगानी बढाउन नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आग्रह गर्नुभएको छ ।

युएईको दुबइमा सुरु भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनका अवसरमा आयोजित ‘नेपाल युएई बिजनेस फोरम’ लाई बिहीबार साँझ सम्बोधन गर्दै उहाँले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको र लगानीको वातावरण पनि बनेकाले नेपालमा लगानी गर्न युएईका लगानीकर्ताहरुलाई आह्वान गर्नुभएको हो ।

अध्यक्ष ढकालले नेपालको अर्थतन्त्रमा देखिएको सुधारले लगानीकर्ताहरूलाई नयाँ अवसरहरू सिर्जना पनि भएको र नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीहरुले राम्रो मुनाफा आर्जन गरिरहेकाले नेपालमा लगानी गरेर लाभ लिन उनीहरुलाई आग्रह गर्नुभएको महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अध्यक्ष ढकालले ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आइसिटी गरी चार क्षेत्रहरूमा लगानीको आकर्षण रहेको बताउनुभयो । आफ्नै आन्तरिक बजार तथा भारत र बङ्गलादेशका क्षेत्रीय बजारहरूमा ऊर्जाको माग बढिरहेकाले नेपालको जलविद्युत्मा गरिने लगानीले उच्च प्रतिफल दिने अध्यक्ष ढकालले उल्लेख गर्नुभयो ।

उहाँले थप पर्यटकलाई स्वागत गर्न नेपालमा नयाँ अन्तरराष्ट्रिय विमानस्थलहरू सञ्चालनमा आएको र निजी क्षेत्रले ‘लक्जरी’ होटेल तथा रिसोर्टहरूमा लगानी बढाएको पनि उल्लेख गर्नुभयो ।

अध्यक्ष ढकालले युएईका लगानीकर्ताहरूलाई होटल, केबुलकार, थिम पार्क र हिल स्टेसन लगायतका पर्यटन पूर्वाधारमा लगानी साझेदारीका लागिसमेत आग्रह गर्नुभयो ।

अध्यक्ष ढकालले नेपालको उच्च हिमाली क्षेत्रका कृषि उत्पादन तथा जडीबुटीको विश्व बजारमा माग रहेको र कृषि प्रशोधनमा समेत लगानीका थप अवसरहरू रहेकोतर्फ पनि युएईका लगानीकर्ताहरूको ध्यानाकर्षण गराउनुभयो ।

डिजिटल अर्थतन्त्रको विकासले आइसिटी क्षेत्रमा युवाहरूको आकर्षण बढेकाले यस क्षेत्रमा समेत लगानी साझेदारीका सम्भावनाहरू प्रशस्त रहेको पनि अध्यक्ष ढकालले उल्लेख गर्नुभयो ।

व्यापार र लगानीमा बैंकिङ तथा वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले नेपालको बैंकिङ क्षेत्रमा युएईको लगानी प्रवद्र्धन गर्न पनि अध्यक्ष ढकालले आग्रह गर्नुभयो ।

कडा परिश्रम र इमानदारिताका लागि नेपाली श्रम शक्ति परिचित रहेकोतर्फ ध्यानाकर्षण गराउँदै अध्यक्ष ढकालले श्रमिकहरूलाई थप दक्ष बनाउन प्राविधिक तथा व्यावसायिक जनशक्ति विकासमा समेत नेपलमा लगानी गर्न सकिने जानकारी दिनुभयो ।

दुई देशबीचको आर्थिक सम्बन्धलाई मजबुत बनाउन सबै तहमा सहकार्य गर्न नेपाल उद्योग वाणिज्य महासङ्घ तत्पर रहेको पनि अध्यक्ष ढकालले जानकारी गराउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नुभएको नेपाल युएई बिजनेस फोरममा नेपाल र युएईका लगानीकर्ताहरूको उपस्थिति रहेको थियो । त्यस अवसरमा नेपाल र युएईमा लगानीका सम्भावना र अवसरहरुका बारेमा दुई देशका लगानीकर्ताहरुले छलफल पनि गरेका थिए ।

बहु-ध्रुवीकरणमा इयु स्वतन्त्र शक्तिः चीन

चीनले युरोपेली सङ्घ (इयु) लाई बहुध्रुवीकरणमा स्वतन्त्र शक्तिको रूपमा लिएको छ । युरोपको विकास र वृद्धि सहित युरोपेली सङ्घको रणनीतिक स्वतन्त्रतालाई समर्थन गरेको चिनियाँ विदेशमन्त्री वाङ यीले बुधबार बताउँनु भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक ब्युरोका सदस्य समेत रहनु भएका वाङले चीन र युरोपेली सङ्घ एक अर्काका प्रतिद्वन्द्वी नभई साझेदार रहेको र मानव सभ्यताको प्रगतिलाई संयुक्त रूपमा अगाडि बढाउन एकअर्कालाई सम्मान र प्रशंसा गर्नुपर्छ भन्ने चीनले सधैं विश्वास रहेको उल्लेख गर्नु भएको छ । उहाँले स्लोभेनियाका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री तान्जा फाजोनसँगको भेटघाटका अवसरमा सो धारणा राख्नु भएको हो ।

स्लोभेनियाले युरोपेली सङ्घ भित्र रचनात्मक भूमिका खेल्ने, इयुलाई चीनप्रति थप स्वतन्त्र, वस्तुनिष्ठ र मैत्रीपूर्ण विचार बनाउन मद्दत गर्ने र चीन र युरोपेली संघबीचको खुला सहयोगमा सक्रिय समर्थन र सहभागी हुने चीनले आशा गरेको पनि वाङले बताउनु भएको छ ।

खेल सङ्घ वर्गीकरण गर्ने तयारीमा राखेप

काठमाडौँ – खेल क्षेत्रमा लामो समय क्रियाशील खेल विज्ञलाई समेट्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय खेल सङ्घलाई वर्गीकरण गर्ने तयारी सुरु गरेको छ ।राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ परिच्छेद २ को नियम ३ बमोजिम समिति र राखेपका सदस्य–सचिवबाट खेलको वर्गीकरण र प्राथमिकता निर्धारण गरी परिषद्मा पेस गर्ने व्यवस्था भएअनुरुप राखेपका पूर्वसदस्य–सचिव युवराज लामाको संयोजकत्वमा सात सदस्यीय खेलको वर्गीकरण र प्राथमिकता निर्धारण कार्यदल गठन गरिएको हो ।

सदस्यमा राखेपका पूर्वउपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका सहमहासचिव पीताम्बर तिम्सिना, नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठ, अखिल नेपाल फुटबल सङ्घका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा, माउन्टेन स्पोर्टस् फेडरेसन, नेपालका अध्यक्ष गोविन्दप्रसाद भट्टराई हुनुहुन्छ । त्यस्तै प्राविधिक प्रतिनिधिमा रञ्जन थापा तथा सचिवमा सङ्घसंस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राई हुनुहुन्छ ।

खेल सङ्घलाई क्रियाशील बनाई खेलकुद गतिविधिको कार्यान्वयनमा प्रभावकारिता ल्याउन सदस्य–सचिव टङ्कलाल घिसिङबाट कार्यदल गठन गर्ने निर्णय गरिएको हो । कार्यदलले विस्तृत अध्ययन गरी २१ दिनभित्र राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङसमक्ष प्रतिवेदन पेस गर्नुपर्नेछ ।

सदस्य–सचिव घिसिङ राखेपको नेतृत्वमा आएपछि राष्ट्रिय खेल सङ्घलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन क्रियाशील हुनुहुन्छ । उहाँको कार्यकालमा २४ सङ्घले निर्वाचन सम्पन्न गरिसकेका छन् भने कराँते, शारीरिक सुगठन, मुवाँथाइ र पेन्टाथलन सङ्घको एकीकरणसमेत भइसकेको छ । खेल सङ्घको सङ्ख्यालाई दुई अङ्कमा झार्ने अभियानमा सदस्य सचिव घिसिङ गम्भीर भएर कार्यान्वयनको प्रक्रियामा लागि पर्नुभएको छ ।

 

कोप–२८ : जलवायु सङ्कट रोक्न हरितगृह ग्यास उत्सर्जन घटाउन अपरिहार्य

काठमाडौँ, १५ मङ्सिर : जलवायु परिवर्तनसम्बन्धी वार्षिक राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) बिहीबारदेखि युएईको दुबइ सहरमा प्रारम्भ भएको छ । जलवायु परिवर्तनले सिर्जित विषम परिस्थिति र गहिरिँदो सङ्कटको चेतावनीका पृष्ठभूमिमा भइरहेको सम्मेलनमा अघिल्ला वर्षमा पनि चर्चामा रहेका जलवायु परिवर्तनको प्रभाव र न्यूनीकरणका प्रयाससम्बन्धी धेरै विषयमा बृहत् छलफल हँुदैछ ।

सयौँ नीतिनिर्माताको यो विश्वव्यापी भेलामा जलवायु परिवर्तनको प्रभाव कम गर्न राष्ट्रसङ्घका सदस्यले जारी राखेका प्रयास, बितेको एक वर्षमा आयोजित कार्यक्रम तथा लक्ष्यको सघन समीक्षा, धनी राष्ट्रले गरिबलाई सहयोग गर्ने प्रतिबद्धतामाथिको जवाफदेहिता र पेरिस सम्झौतालगायत विगतका सम्झौता कार्यान्वयनको स्थिति, साथै हरितगृह ग्यास उत्सर्जन कम गर्ने र विश्ववापी तापक्रम वृद्धिलाई लक्ष्यअनुरुप नै कायम राख्न गरिनुपर्ने प्रतिबद्धतामा गम्भीर संवाद र वार्ता हुने कार्यसूची छ ।

दुई सातासम्म जारी रहने यस सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्र तथा सरकारका प्रमुख, जनप्रतिनिधि, नीति निर्माता, कर्पोरेट संस्थाका मालिक, उद्योग–व्यवसायी, अन्तर्राष्ट्रिय जलवायु वैज्ञानिक, अनुसन्धाता गरी ७० हजारभन्दा बढी मानिस सहभागी हुने अनुमान गरिएको छ ।

जलवायु परिवर्तन विश्वव्यापी साझा समस्या भए पनि स्रोतसाधन, प्रविधि, वित्त, भूगोलका कारण असमान हिसाबले समस्या भोगिरहेका राष्ट्रले फरकफरक विषयलाई महत्व दिएका छन् ।

असमानुपातिक हिसाबले जलवायु परिवर्तनको कहरमा परेका विशेषगरी अतिकम विकसित राष्ट्र (एलडिसी) को चासो जलवायु वित्तमा छभने विकसित राष्ट्रले विकासशील तथा उदाउँदा अर्थतन्त्र पनि थप जिम्मेवार हुनुपर्नेमा जिकिर गर्दै आएका छन् ।

त्यसैगरी विकासशील तथा एलडिसीको साझा तर्क विकसित तथा धनी राष्ट्र हरितगृह ग्यास उत्सर्जन गर्नमा ऐतिहासिकरुपमा बढी जिम्मेवार रहेकाले उनीहरु नै थप जिम्मेवार र संवेदनशील हुनुपर्छ भन्ने छ ।

जलवायु वित्तको सन्दर्भमा कोप–२७ मा गरिएको सहमतिअनुरुप स्थापना भएको हानि तथा नोक्सानी कोषमा विभिन्न राष्ट्रको बजेट योगदान तथा कोषको प्रभावकारी सञ्चालनसहित बढी क्षति बेहोर्ने नेपालजस्ता राष्ट्रका लागि आर्थिक सहायता परिचालनको विषयले यसपटक विशेष महत्व राख्छ । यो विषयमा हुने छलफल र वार्तालाई विश्वभर विशेष चासोका साथ हेरिएको छ ।

जलवायु परिवर्तनमा मुख्य जिम्मेवार विकसित र धनी देशले विकासशील तथा गरिब देशको जलवायु परितर्वन प्रभाव न्यूनीकरण तथा अनुकूलन प्रयासका लागि आर्थिक सहायता प्रदान गर्ने सामूहिक प्रतिबद्धता पूरा नगरेको विषय हरेक वर्ष पेचिलो गरी उठ्ने गरेको छ । स्मरणीय यो छ कि, सन् २००९ मा भएको कोप–१५ मा विकसित राष्ट्रले विकासशील राष्ट्रका लागि सन् २०२० सम्ममा हरेक वर्ष एक सय बिलियन अमेरिकी डलर परिचालन गर्ने घोषणा गरेका थिए ।

द्रुत गतिमा भइरहेको तापक्रम वृद्धि नियन्त्रण गर्न भएको पेरिस सम्झौता पनि सम्मेलनका निम्ति त्यत्तिकै महत्वपूर्ण मुद्दा हो । सन् २०१५ मा भएको पेरिस सम्झौताअनुरुप पूर्वऔद्यौगिक समयको दाँजोमा तापक्रम १.५ डिग्री सेन्टिग्रेडको वृद्धि मात्रै कायम गर्ने अर्थात् विश्वको सरदर तापक्रम वृद्धि दुई डिग्री सेन्टिग्रेडभन्दा तल राखिरहने वैश्विक प्रयासलाई निरन्तरता दिने तर यसका लागि जीवास्म इन्धनको प्रयोगमा कटौती गर्नुपर्ने वैज्ञानिकको सल्लाहविपरीत कार्य भइरहनु गम्भीर चिन्ताको विषय हो ।

नेपालजस्ता अतिकम विकसित राष्ट्र जलवायु परिवर्तनको गहिरिँदो सङ्कटमा पर्ने विश्वव्यापी चिन्ता प्रकट भइरहेको छ । राष्ट्रसङ्घीय निकायका प्रतिवेदनले पनि विश्वाव्यापी तापक्रम वृद्धि कम गर्न विशेषगरी धनी राष्ट्रका प्रयास अपुग भएको बारम्बार औँल्याएका छन् ।

यसैबीच, सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट्स (युएई) पुग्नुभएको छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री दाहाल आज र भोलि ‘विश्व जलवायु शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा सहभागी हुनुहुनेछभने उहाँले भोलि उक्त सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीले भोलि जलवायु परिवर्तनका प्रभावबारे नेपालको आवाज उठाउनाका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय मुलुकका पेचिला विषयलाई प्रवद्र्धन गर्न ‘पर्वतको आह्वानः जलवायु सङ्कटबाट हामीलाई कसले जोगाउँछ ?’ शीर्षकमा उच्चस्तरीय छलफल आयोजना गर्दै हुनुहुन्छ ।

कोप–२८ धनी तथा विकसित मुलुकले नेपालजस्ता अतिकम विकसित राष्ट्रको विश्वास आर्जन गर्न कस्ता वाचा गर्नेछन् र त्यसका लागि कति प्रभावकारी जलवायु कूटनीति प्रदर्शन हुने हो त्यो अबका केही दिनमा देखिनेछ ।

माथिल्लो अरुण बनाउन दुई अर्ब २३ करोड मुआब्जा

किमाथाङ्का (सङ्खुवासभा) – सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण आयोजना प्रभावित क्षेत्रमा रु दुई अर्बभन्दा बढी मुआब्जा रकम वितरण गरिएको छ ।

आयोजनाका लागि भोटखोलामा दुई हजार पाँच सय रोपनी जग्गा अधिग्रहण गरिएको छ । आयोजनाका प्रभावित क्षेत्रका लागि दुई अर्ब २३ करोड १९ लाख मुआब्जा रकम वितरण भइसकेको आयोजनाका वरिष्ठ सहायक ग्रीष्म भण्डारीले बताउनुभयो ।

आयोजना प्रभावित क्षेत्रका तीन सय १९ घरमध्ये दुई सय ९८ घरधनीलाई मुआब्जा वितरण गरिसकेको आयोजनाका वरिष्ठ सहायक भण्डारीले बताउनुभयो । आयोजनाबाट सात सय ८८ का तीन सय १९ घर प्रभावित छन् । आयोजनाले भोटखोला गाउँपालिका–२, ४ र ५ साविक चेपुवा, हटिया र पावाखोलाका आयोजना प्रभावित स्थानीयवासीले मुआब्जा पाउने छन् ।

उत्तर–दक्षिण कोशी राजमार्गले छोएको तथा बस्ती रहेको हटिया–६ को जमिन प्रतिरोपनी रु १५ लाख मुआब्जा निर्धारण गरिएको छ भने राजमार्गले छोएको तर बस्ती नभएका हटिया–६ को जग्गा प्रतिरोपनी रु १० लाख निर्धारण गरिएको छ । जलविद्युत् आयोजनाको अनुमानित लागत रु दुई खर्ब २६ करोड छ । सन् २०२४ को मध्यदेखि आयोजनाको निर्माण सुरु हुनेछ । काम सुरु भएको छ वर्षभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्य छ ।

पहुँचमार्ग निर्माण सुरु
आयोजनाको पहुँचमार्ग निर्माण थालिएको छ । नेपाल विद्युत् प्राधिकरणले २.०३ किलोमिटर सुरुङ मार्गसहित करिब २२ किलोमिटर पहुँच सडक निर्माण भारतीयको गायत्री जेभी र झापाको कन्काइ सुरुङ्गा जेभी कम्पनीसँग ठेक्का सम्झौता गरेर काम अघि बढाएको छ ।

पहुँचमार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुलसमेत निर्माण गरिने छ । पहुँचमार्ग भोटखोला गाउँपालिका–४ छोराङदेखि भोटखोला–२ रुकुमाफेदीसम्मको पहुँचमार्ग निर्माण गर्नेछ ।

चितवनमा ११ महिनामा ७८ जनामा एचआइभी सङ्क्रमण

चितवन – सन् २०२३ को ११ महिनामा जिल्लामा ७८ जना एचआइभीबाट सङ्क्रमित भएका पुष्टि भएको छ ।

छत्तिसौँ विश्व एड्स दिवसका अवसरमा एड्स हेल्थ फाउण्डेसन नेपाल भरतपुर अस्पतालले बिहिबार यहाँ पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार चार सय २५ जनाको परीक्षण गर्दा ७८ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको हो । परीक्षण गरिएकामध्ये ४० जना पुरुष, ३३ जना महिला, तीन जना तेस्रो लिङ्गी र दुई जना बालबालिका छन् । सङ्क्रमण पुष्टि भएकामा चितवनका ३६ जना र बाहिरी जिल्लाका ४२ जना छन् ।

जिल्लामा अहिलेसम्म दुई हजार तीन सय १९ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको छ । पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार एक हजार दुई सय १० जना पुरुष, नौ सय २३ जना महिला, २४ जना तेस्रो लिङेगी र एक सय ६२ जना बालबालिका छन् ।

कर्णालीका प्रहरीले ड्युटीमा मोबाइल प्रयोग गर्न नपाउने

कर्णाली – कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले कर्णालीमा कार्यरत प्रहरीले कर्तव्य पालनाको सिलसिलामा मोबाईले प्रयोग गर्न नपाउने बताउनुभएको छ ।

सुरक्षाजस्तो संवेदनशील कार्यमा खटिएका प्रहरी कर्मचारीले एकमनका साथ आफ्नो जिम्मेवारीमा ध्यान केन्द्रित गराई नागरिकको सुरक्षा होस् भन्ने हेतुले मोबाइल प्रयोग गर्न नपाउने व्यवस्था मिलाइएको उहाँले जानकारी गराउनुभयो ।

प्रहरी नायब महानिरीक्षक ढकालले भन्नुभयो, “कर्तव्य पालनाको समयमा आम नागरिकलाई प्रभावकारी सुरक्षाको अनुभूति दिलाउन र जिम्मेवारी क्षेत्रभित्र प्रभावकारी काम होस् भन्ने उद्देश्यले यो नियम ल्याइएको हो ।”

उहाँका अनुसार टोली कमाण्डरको हकमा यो नियम लागू हुने छैन । जिम्मेवारी क्षेत्रमा खटिएका कर्मचारीलाई कुनै समस्या वा काम भएमा कमाण्डरको फोनमार्फत सहजीकरण गर्न यो व्यवस्था गरिएको प्रहरी नायब महानिरीक्षक ढकालले बताउनुभयो ।

कर्तव्यपालनाको सिलसिलामा मोबाइल नचालाउँदा आपराधिक गतिविधिको उच्च निगरानी गर्न सकिने, अपराध भएमा तत्काल अनुसन्धान हुने तथा सामाजिक सञ्जालको दुरुपयोग गर्नबाट प्रहरी कर्मचारीलाई बचाउन सकिने जनाइएको छ ।

प्रहरी कर्मचारी स्वयंको पनि मोबाइल खर्च वचत हुनुका साथै यसले नागरिकमा प्रहरीप्रतिको विश्वास बढ्ने आशा गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले जिम्मेवारी पूरा गर्ने समयमा मोबाइल नचलाउन÷नबोक्नका लागि सबै जिल्ला, गण, तालिम केन्द्र, इलाका, चौकीसम्म परिपत्र गरिएको प्रहरी नायब महानिरीक्षक ढकालले बताउनुभयो । उहाँका अनुसार यसका लागि प्रभावकारी ब्रिफिङ र अनुगमन गर्ने व्यवस्था पनि मिलाइएको छ ।