`

घर गोठ जलेर बिचल्लीमा परेका बागलुङ अमलाचौरका अग्नीपीडितलाई राहत

Nepal One HD २१ वैशाख २०८१ १८:३२
समाचार

गलकोट (बागलुङ) २१ वैशाखः घर गोठ जलेर बिचल्लीमा परेका यहाँका दुई परिवारलाई राहत उपलब्ध गराइएको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरका अग्नीपीडित परिवारलाई बागलुङ नगरपालिका, कालिका भगवती गुठी व्यवस्थापन समिति, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायतले नगद तथा खाद्यन्न सहयोग गरेका हुन् ।बुधबार दिउँसोबाट बस्ती नजिकैको जङ्गलमा लागेको आगो एक्कासी बस्तीमा छिरेपछि स्थानीय यदुनाथ पाध्या र ददिराम पाध्याको घर गोठ जलेको थियो । जंगलमा लागेको आगो बस्तीमा छिरेपछि चार घरगोठ जलेर नष्ट भएका छन् । बागलुङ नगरपालिका, १२ बलेवा अमलाचौरको डाँडाखेतमा आगलागी हुँदा दुई घर र दुई गोठ पूर्ण रुपमा जलेका हुन् ।

जैमिनी नगरपालिका, १ कुश्मीशेराको टुनिवोट जंगलबाट सुरु भएको आगो डाँडाखेत बस्तीमा पसेपछि बस्तीको छेउमा भएका घरगोठमा आगोलागी भएको थियो । आगलागीपछि बिचल्लीमा परेको दुई परिवारलाई नगद, खाद्यान्न, लत्ताकपडा गरी करिब रु दुई लाख बराबरको राहत प्रदान गरिएको छ ।

यदुनाथको घर पूर्णरुपमा जलेर नष्ट भएको र घरमा कुनै पनि वस्तु नभएका कारण प्रारम्भिक चरणमा बागलुङ नगरपालिकाले लत्ता कपडा, र खाद्य सामग्री सहयोग गरेको नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताउनुभयो । नगरप्रमुख श्रेष्ठ, उपप्रमुख राजु खड्का सहितको टोलीले घटनास्थलमा पुगेर परिवारलाई राहत प्रदान गरेको हो ।

नगरपालिकाले चामल, दाल, लत्ताकपडा, ग्यास चुलो र दैनिक उपभोग हुन अन्य सामग्री प्रदान गरेको हो । नगरप्रमुख श्रेष्ठले पीडित परिवारलाई नगद राहत नगरस्तरीय विपत व्यवस्थापन समितिबाट छिट्टै प्रदान गर्ने बताउनुभयो ।

आगलागीबाट घाइते भएका गाई भैसी र बाख्राको पनि नगरपालिकाको पशु प्राविधिकको टोली पुगेर उपचार गरेको छ भने मरेका गाईभैसी बाख्राको व्यवस्थापनका गरिएको छ ।

आगलागीबाट पीडित यदुनाथ र ददिरामले व्यावसायीक रुपमा नै गाई तथा भैसीपालन गरेका थिए । उनीहरुले दुध बेचेरै आम्दानी गरेको पैसाले घरपरिवार धान्दै आएका थिए । आगलागीपीडित परिवारलाई नेकपा (एमाले) बागलुङ अमलाचौरको तर्फबाट नगद रु ७५ हजारसहित २० हजारको खाद्यान्न सहयोग गरिएको सो पार्टीका अमलाचौरका अध्यक्ष ज्ञानेन्द्र ढकालले जानकारी दिनुभयो ।

यस्तै यदुनाथको परिवारलाई अमलाचौरबासीले रु २० हजार चार सय, नेकपा (माओवादी केन्द्र) अमलाचौरले रु २४ हजार दुई सय र अमलाचौर भजन समुहले नगद रु पाँच हजार सहयोग गरेको छ ।

यस्तै कालिका भगवती गुठी व्यवस्थापन समितिले खाद्यन्न र लत्ता कपडा सहयोग गरेको कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

आगलागीबाट यदुनाथको गोठमा रहेका दुई वटा भैसी, तीन गाई र पाँच वटा बाख्रा जलेर मरेका थिए । यस्तै ददिरामको दुई गोठ जलेका छन् भने गोठमा रहेका एउटा गाई र एउटा बाख्रा जलेर मरेका छन् । साथै दुई गाई र दुई भैसी घाइते भएका छन् । दिउँसो लागेको आगो बुधबार राति ११ बजे स्थानीय नेपाल प्रहरी, नेपाली सेनाको टोलीले नियन्त्रणमा ल्याएको थियो ।


प्रतिक्रिया