`

युवापुस्तालाई उद्यमशीलतामा आकर्षण गर्न बैंकले सरल नीति ल्याउनुपर्छः मुख्यमन्त्री कँडेल

कर्णाली, १२ भदौः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नयाँ पुस्तालाई उद्यम व्यवसायमा आकर्षण गर्न बैंक तथा वित्तीय संस्थाले आफना नीतिमा सरलीकृत गर्नुपर्ने बताउनुभएको छ ।

कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेशस्तरीय बैंक तथा वित्तीय संस्थाहरुसँको छलफल कार्यक्रममा उहाँले युवालक्षित आकर्षणका कार्यक्रमले रोजगारी सिर्जना हुने बताउनुभयो ।

कर्णालीबाट रोजगारीका लागि विदेशिने जनशक्तिलाई प्रदेशमै उद्यम व्यवसाय सञ्चालन गर्न सकिन्छ भन्ने सोचको विकास गराउनेतर्फ बैंकहरुले वित्तीय साक्षरता कार्यक्रम चलाउन पर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सेवाग्राही बैंक खोज्दै होइन तपाईंहरु सेवाग्राही खोज्दै जानुस् । उद्यम व्यवसायमा जति लगानी बढायो त्यति नै आर्थिक क्षेत्र चलायमान हुन्छ, बैंकहरुले सेवाग्राहीको पहुँचलाई सरलीकृत बनाउँदै लैजानु पर्दछ ।

मुख्यमन्त्री कँडेलले चालु आर्थिक वर्षदेखि ब्याज अनुदानको कार्यक्रमका क्षेत्रलाई विस्तार गरिएको उल्लेख गर्नुभयो । अन्तरक्रियामा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव यज्ञ पुरीले प्रदेश सरकारबाट बैंकहरुमार्फत कार्यान्वयन हुने ब्याज अनुदान तथा कार्यक्रमहरुबारे जानकारी गर्नुभएको थियो ।

युरोपेली ‘स्न्यापब्याक’ प्रतिबन्धको खतरा बीच इरानी रियाल रेकर्ड न्यूनमा

युरोपेली राष्ट्रहरूले इरानमाथि संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धहरू पुनः लागू गर्ने प्रक्रिया सुरु गर्ने आशङ्काबीच बिहीबार तेहरानमा रियाल मुद्रा रेकर्ड न्यून स्तरमा झरेको छ । यसले पहिल्यै कमजोर अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको छ ।

सन् २०१५ को इरान र विश्व शक्तिहरू बीचको आणविक सम्झौतामा समावेश ‘स्न्यापब्याक’ संयन्त्र संयुक्त राष्ट्रसङ्घमा भिटो–प्रुफ हुने गरी बनाइएको थियो । यसले ३० दिनको समयावधिपछि लागू हुने सम्भावना छ ।

यदि कार्यान्वयन गरियो भने, इरानी सम्पत्ति विदेशमा फ्रिज हुनेछ, हतियार सम्झौतामा रोक लाग्नेछ र ब्यालिस्टिक मिसाइल कार्यक्रमसमेत दण्डित हुनेछ ।

तेहरानमा बिहीबार एक डलर बराबर १० लाख रियालमा कारोबार भयो । सन् २०१५ को सम्झौताको समयमा यो दर ३२ हजार रियाल बराबर एक डलर थियो । अप्रिलमा रियाल आफ्नो सबैभन्दा कम विन्दु एक डलर बराबर १० लाख ४३ हजारमा पुगेको थियो ।

फ्रान्स, जर्मनी र बेलायतले अगस्ट ८ मा इजरायलसँगको १२ दिने युद्धको सुरुमा इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को निरीक्षण रोकेपछि स्न्यापब्याक ट्रिगर हुनसक्ने चेतावनी दिएका थिए । त्यसयता इजरायली आक्रमणमा तेहरानका शीर्ष सैन्य नेताहरू मारिए र सर्वोच्च नेता आयातुल्ला अली खामेनी लुकेर बस्न बाध्य हुनुभयो ।

– इरानको प्रतिक्रिया –

सुरुआतमा इरानले नयाँ प्रतिबन्धको खतरालाई कम आँकेको थियो । युरोपेली चेतावनीपछि पनि केही समय थोरै मात्र कूटनीतिमा संलग्न भयो ।

तर पछिल्ला दिनहरूमा छिटफुट कूटनीतिक गतिविधिले यसको शासनभित्रको अराजकतालाई उजागर गरिरहेको देखिन्छ ।

विदेशमन्त्री अब्बास अराघचीले गत हप्ता भन्नुभएको थियो, “युद्ध हुँदा हामी वार्तामा थियौँ । त्यसैले, वार्ताले मात्रै युद्ध रोक्दैन । कहिलेकाहीँ युद्ध अपरिहार्य हुन्छ र कूटनीतिले मात्र त्यसलाई रोक्न सक्दैन ।”

– आणविक संवर्धनबारे चिन्ता –

जुनमा युद्ध सुरु हुनुअघि इरानले ६० प्रतिशत शुद्धतासम्म युरेनियम संवर्धन गरिरहेको थियो । यो हतियार–ग्रेड ९० प्रतिशत स्तरको नजिक छ । यससँग धेरै परमाणु बम बनाउन पर्याप्त अत्यधिक समृद्ध युरेनियम भण्डार रहेको बताइन्छ ।

इरानले आफ्नो कार्यक्रम शान्तिपूर्ण भएको दाबी गर्दै आएको छ । तर पश्चिमी राष्ट्रहरू र आइएइएले सन् २००३ सम्म इरानसँग सक्रिय आणविक हतियार कार्यक्रम रहेको अनुमान गरेका छन् ।

हाल इजरायल र अमेरिकाले युद्धका क्रममा आणविक साइटहरूमा आक्रमण गर्दा इरानको कार्यक्रममा कस्तो असर परेको हो भन्ने स्पष्ट छैन ।

सन् २०१५ को सम्झौतामा इरानले आइएइएलाई आफ्ना साइटहरूमा अन्य मुलुकभन्दा बढी पहुँच दिने सहमति जनाएको थियो । यसअन्तर्गत स्थायी क्यामेरा, सेन्सर र अनलाइन मोनिटरहरू जडान गरिएको थियो, जसले नातान्ज आणविक केन्द्रमा युरेनियम संवर्धन स्तर मापन गथ्र्यो ।
आइएइए निरीक्षकहरूले नियमित रूपमा इरानी साइटहरूमा पुगेर नमूना सङ्कलन गर्ने गरेका थिए, जुन अस्ट्रियास्थित प्रयोगशालामा परीक्षण गरिन्थ्यो ।

उपग्रह तस्वीरमार्फत पनि निगरानी भइरहेको थियो । तर सन् २०१८ मा अमेरिका सम्झौताबाट बाहिरिएपछि आइएइएका निरीक्षकहरूलाई पहुँच दिनमा इरानले लगातार प्रतिबन्ध लगाउँदै आएको छ । इरानले भने आक्रमणअघि युरेनियम र अन्य सामग्री नयाँ अघोषित साइटहरूमा सारिएको दाबी गरेको छ ।

यसैबीच, बुधबार रुसी सहयोगमा सञ्चालित बुसेहर आणविक रिएक्टरमा इन्धन प्रतिस्थापन हेर्न आइएइए निरीक्षकहरू उपस्थित थिए ।

निजामती र शिक्षा विधेयक पारित गर्ने मिति तय

काठमाडौँ, १२ भदौः प्रतिनिधिसभाले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० यही भदौ १९ पारित गर्ने कार्यतालिका तय गरेको छ ।

सभामुख देवराज घिमिरेले विभिन्न राजनीतिक दलका प्रमुख सचेतकसँग आज सिंहदरबारमा गर्नुभएको छलफलपछि निजामती विधेयक राष्ट्रियसभाबाट आएका खण्डमा यही भदौ १९ गते प्रतिनिधिसभाबाट पारित गर्ने सम्भावित कार्यसूची तय गरिएको हो । प्रशासनिक सङ्घीयता कार्यान्वयनका सम्बन्धमा महत्वपूर्ण मानिएको निजामति विधेयकलाई पारित गर्ने कार्य यस अधिवेशनको महत्वपूर्ण कार्य हो ।

संसद्को आगामी १५ दिनको क्यालेन्डर तय गरिएको सभामुख घिमिरेका सञ्चार विज्ञ शेखर अधिकारीले जानकारी दिनुभयो । भदौको दोस्रो पाक्षिक कार्यतालिका अनुसार भदौ १८, १९, २५, २६ र २७ गते प्रतिनिधिसभाको बैठक बस्नेछ ।

त्यसैगरी, भदौ २६ गते विद्यालय शिक्षा विधेयकलाई पारित गर्ने सम्भावित क्यालेन्डर पनि तय भएको छ । शुक्रबार बस्ने संसद् बैठकले भूमिसम्बन्धी विधेयक पारित गरेर राष्ट्रियसभामा पठाउनेछ भने भदौ १८ गते बस्ने बैठकले नागरिकतासम्बन्धी विधेयक पारित गर्ने कार्यतालिका छ । राष्ट्रपति कार्यालयबाट फिर्ता भएको संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि छलफल गरी पारित गर्ने सम्भावित कार्यसूची पनि तय भएको उहाँले बताउनुभयो ।

विकासका मुद्दामा सहमति खोज्न मन्त्री खड्काको आग्रह

खाँदबारी (सङ्खुवासभा), १२ भदौः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दलीय स्वार्थभन्दा माथि उठेर विकासका मुद्दामा सहमति खोज्न सबैलाई आग्रह गर्नुभएको छ ।

मादी माध्यमिक विद्यालयको हिरक महोत्सवलाई सम्बोधन गर्दै मन्त्री खड्काले शिक्षा र ऊर्जा दुवै क्षेत्रमा सङ्खुवासभाले पु¥याएको योगदान ऐतिहासिक रहेको उल्लेख गर्दै जिल्लाको स्रोतसाधन र सम्भावनालाई राष्ट्रिय गौरवमा रूपान्तरण गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।

“सङ्खुवासभामा जलविद्युत्सँगै पर्यटन, योगमाया आयुर्वेद विश्वविद्यालय, सीमा नाका र पूर्वाधार विकासको अत्यधिक सम्भावना छ । यस्तो क्षमतामय जिल्लाको विकासलाई दलगत राजनीतिभन्दा माथि राख्नुपर्छ”, उहाँले भन्नुभयो । चीन र भारतलाई जोड्ने किमाथाङ्का नाकालाई सरकारले प्राथमिकतामा राखेको उहाँको भनाइ थियो ।

सो अवसरमा विद्यालय स्थापना र विकासमा योगदान पु¥याएका विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

मन्त्री दाहालद्वारा एसियाली राजमार्गको अनुगमन

झापा, १२ भदौः भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज काँकडभिट्टा–लौकही सडक योजनाको (पूर्वी खण्ड) मा भइरहेको पूर्वपश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नतिको अनुगमन गर्नुभएको छ ।

मन्त्री दाहालले मेचीनगर नगरपालिका कार्यालयमा आयोजित सरोकारवालाहरुसँगको छलफल कार्यक्रममा राजमार्गको स्तरोन्नतिका क्रममा देखापरेका समस्या र जनताका मागलाई व्यावहारिक रुपमा समाधान गरिने बताउनुभयो । सो अवसरमा मन्त्री दाहाललाई मेचीनगरका नगरप्रमुख गोपाल बूढाथोकीले पूर्वीनाका काँकडभिट्टादेखि प्यारीभिट्टा बसपार्कसम्म ६ लेन सडक विस्तार गरिनुपर्नेलगायत सातबुँदे मागपत्र बुझाउनुभएको थियो ।

नगरप्रमुख बूढाथोकीले पूर्वीद्वार काँकडभिट्टामा प्रसिद्ध साहित्यकार गोपाल योञ्जनको सालिक राख्न र घण्टाघर बनाउन राजमार्ग छेउमै स्थान उपलब्ध गराइदिन माग गर्नुभएको छ । यसैगरी, विर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्र महतराले विर्तामोडको मुक्ति चोकमा रहेको ऐतिहासिक जनान्दोलन स्तम्भलाई राजमार्ग विस्तारका क्रममा हटाउँदा राजमार्गकै कुनै छेउमा सो स्तम्भलाई राख्ने स्थान उपलब्ध गराइदिन माग गर्नुभयो ।

दमक, मेचीनगर, कनकाई र पथरी क्षेत्रबाट राजमार्ग विस्तारका लागि बनाइएको डिजाइनमा थोरै फेरबदल गरेर व्यावहारिक बनाउन मन्त्री दाहालसमक्ष माग गरिएको थियो । मन्त्री दाहालले आजै दमकस्थित नवनिर्मित काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड) कार्यालयको उद्घाटन गर्नुभयो । सो अवसरमा मन्त्री दाहालले सडक विस्तारको काम निर्धारित समयमै सम्पन्न गरिसक्न निर्देशन दिनुभयो ।

आयोजनाका प्रमुख सुनिलबाबु पन्तका अनुसार उक्त कार्यालय भवन रु आठ करोड सात लाखको लागतमा निर्माण भएको हो । आयोजनाको काम सम्पन्न भएपछि उक्त भवन सडक विभागलाई हस्तान्तरण गरिने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा सडक विभागका महानिर्देशक डा विजय जैसी, एसियाली विकास बैंक (एडिबी) परियोजना प्रमुख चूँडाराज ढकाल, आयोजना प्रमुख सुनीलबाबु पन्तलगायतको उपस्थिति रहेको थियो ।

पूर्वपश्चिम राजमार्गको काँकडभिट्टादेखि केर्खासम्मको ४५ किलोमिटरलाई पूर्वीखण्ड मानेर सडकलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने काम धमाधम भइरहेको छ । निर्माणको ठेक्का एब्रास्कन कालिका जेभीले लिएको छ ।

नयाँ बजेट योजनाले कोरियाको अर्थतन्त्रमा सकारात्मक प्रभाव

दक्षिण कोरियाको केन्द्रीय बैंकले नयाँ सरकारद्वारा ल्याइएको अतिरिक्त बजेट योजनापछि आगामी वर्षको आर्थिक वृद्धिको अनुमान ०.१ प्रतिशतले बढाएको छ ।

बैंकको अनुसार, मूल्यवृद्धि समायोजन गरिएको वास्तविक कुल गार्हस्थ उत्पादन (जीडीपी) सन् २०२५ मा ०.९ प्रतिशतले वृद्धि हुने छ, जुन तीन महिना अगाडि गरिएको ०.८ प्रतिशतको अनुमानभन्दा बढी हो ।

यो वृद्धिमा राष्ट्रपति ली जे–म्युंग नेतृत्वको सरकारले जनतालाई नगद सहायता प्रदान गरेर उपभोग बढाउने उद्देश्यले ल्याएको बजेट योजना मुख्य कारण रहेको जनाइएको छ ।

बैंकको यो अनुमान अन्तर्राष्ट्रिय मुद्रा कोषको ०.८ प्रतिशतको अनुमानभन्दा माथि भए पनि आर्थिक सहयोग तथा विकास संगठनले गरेको १.० प्रतिशतको अनुमानभन्दा तल छ ।

केन्द्रीय बैंकले सन् २०२६ मा आर्थिक वृद्धि दर १.६ प्रतिशत हुने अघिल्लो अनुमानलाई यथावत् राखेको छ ।

उपभोग्य वस्तुहरूको मूल्यवृद्धि दर भने यस वर्ष २.० प्रतिशत र आगामी वर्ष १.९ प्रतिशत रहने अनुमान गरिएको छ ।

सुडानको एल फासरमा मानवीय सङ्कट, संयुक्त राष्ट्रको चिन्ता

संयुक्त राष्ट्रसङ्घका मानवीय सहायतासम्बन्धी निकायहरूले जानकारी गराए अनुसार, सुडानको उत्तर दारफुर राज्यस्थित एल फासर सहरमा बालबालिका अत्यन्त कठिन र पीडादायक अवस्थाबाट गुज्रिरहेका छन् ।

उक्त सहर ५०० दिनभन्दा बढी समयदेखि घेराबन्दीमा परिरहेको छ, जसका कारण त्यहाँको अवस्था दिन प्रतिदिन चिन्ताजनक रूपमा बिग्रँदै गएको छ ।

संयुक्त राष्ट्रसंघ बालबालिका कोष (युनिसेफ) ले जनाएको अनुसार, एल फासरमा कुपोषण, रोग र हिंसाका कारण दैनिक रूपमा बालबालिकाले ज्यान गुमाइरहेका छन् । अनुमानित दुई लाख ६० हजार मानिस सहरभित्र अलपत्र छन्, जसमा करिब आधा बालबालिका छन् । ती सबै १६ महिनाभन्दा लामो समयदेखि मानवीय सहायताबाट बञ्चित छन् ।

सन् २०२५ को सुरुदेखि हालसम्म मात्रै १० हजारभन्दा बढी बालबालिकाको गम्भीर कुपोषणको उपचार गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा लगभग दोब्बर हो । दुःखद रूपमा, एक साताको अवधिमा कम्तीमा ६३ जनाको मृत्यु भएको छ, जसमा धेरैजसो महिला र बालबालिका रहेका छन् ।

घेराबन्दीका कारण खाद्यसामग्री र स्वास्थ्य सामग्री पुर्‍याउने बाटो पूर्ण रूपमा बन्द भएको युनिसेफले जनाएको छ । औषधिको अभावका कारण अस्पताल तथा घुम्ती पोषण सेवा बन्द गर्नुपरेको छ, जसले गर्दा करिब ६ हजार गम्भीर कुपोषित बालबालिकाले आवश्यक उपचार पाउन सकेका छैनन् ।

त्यसका साथै, हैजाको सङ्क्रमण पनि तीव्र रूपमा फैलिरहेको छ । यसलाई रोकथाम गर्नका लागि खानेपानी, सरसफाइ, औषधि लगायतका सहायता सामग्रीहरू प्रदान गरिएको भए पनि केही दुर्गम क्षेत्रमा अझै नयाँ सङ्क्रमण देखापरिरहेको मानवीय मामिला समन्वय कार्यालयले जनाएको छ ।

एल फासरमा गएको चैतदेखि जारी द्वन्द्वका क्रममा एक हजार एक सयभन्दा बढी गम्भीर घटना पुष्टि भइसकेका छन्, जसमा एक हजारभन्दा बढी बालबालिका मारिएका वा घाइते भएको युनिसेफले जनाएको छ ।

पुष्टि गर्न कठिन भएकाले वास्तविक सङ्ख्या अझै धेरै हुन सक्ने अनुमान गरिएको छ ।

प्रेस चौतारीको सुझाव: महाधिवेशनको विधान संशोधन प्रतिवदेनमा समेट्नुपर्ने

काठमाडौँ, १२ भदौः नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवशेनका लागि प्रेस चौतारी नेपालले सुझाव पत्र बुझाएको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टी महासचिव शङ्कर पोखरेलसमक्ष प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डे नेतृत्वको टोलीले महाधिवेशनको विधान संशोधन प्रतिवदेनमा समेट्नुपर्ने सुझावसहितको पत्र बुझाएको हो ।

चौतारीले दिएको सुझावपत्रमा पार्टी विधान संशोधन र राजनीतिक प्रतिवेदनमा समावेश गर्न माग गरिएको छ । मुख्यतः प्रेस स्वतन्त्रता, पार्टी नेतृत्वको कार्यकाल र उमेर सीमा, केन्द्रीय कमिटीको संरचना, सदस्यता व्यवस्था, सम्पर्क समन्वय कमिटी, संवैधानिक पदाधिकारीको राजनीतिक संलग्नता, युवा तथा महिलाको प्रतिनिधित्व, विभागीय मनोनयन, मिडिया कानुनलगायतका विषयलाई सुझाव पत्रमा समेटिएको प्रेस चौतारीका अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

प्रेस चौतारीले पार्टी विधानको प्रस्तावनामा नै ‘पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ’ भन्ने वाक्यांश राख्नुपर्ने माग गरेको छ । त्यस्तै, पार्टी सदस्यता संरचनामा ‘साधारण सदस्य’ वा ‘प्रारम्भिक सदस्य’को व्यवस्था गर्नुपर्ने, जनसङ्गठनमा सङ्गठित भएको एक वर्षभित्र पार्टी सदस्यता अनिवार्य गर्नुपर्ने, सम्पर्क समन्वय कमिटी जनसङ्गठनले पनि गठन गर्न सक्नेलगायत प्रावधान थप्नुपर्ने सुझाव दिइएको छ ।

प्रेस चौतारीले केन्द्रीय कमिटीमा कम्तीमा २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, महिलासहित सात जना महाधिवेशन प्रतिनिधि उपलब्ध गराउनुपर्ने र राजनीतिक नियुक्तिमा सरोकारवाला सङ्गठनको सिफारिसलाई कार्यान्वयन गर्नुपर्ने सुझाव दिइएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

सुझाव पत्र हस्तान्तरण कार्यक्रममा एमाले जनसङ्गठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल, प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतमलगायतको उपस्थिति थियो । एमालेले मातहतका कमिटीलाई महाधिवेशनमा समेटिने विधान संशोधन प्रस्तावमा सुझाव दिन आग्रह गरेको थियो । एमाले विधान महाधिवेशन यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा आयोजना गरिएको छ ।

हाइड्रोजन प्लान्ट र इन्धन सेल प्लान्ट स्थापना गर्न समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ, १२ भदौः नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट र इन्धन सेल प्लान्ट स्थापना गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । लगानी बोर्ड नेपाल र दक्षिण कोरियाली कम्पनी जि–फिलोस कम्पनी लिमिटेडबीच हरित हाइड्रोजन प्लान्ट र इन्धन सेल प्लान्ट स्थापना गर्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न आधिकारिक रूपमा समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा लगानी बोर्डकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवाली तथा प्रस्तावक कम्पनी जि–फिलोस कम्पनी लिमिटेडकातर्फबाट प्रमुख कार्यकारी अधिकृत गा वू पार्कले आज हस्ताक्षर गर्नुभएको हो । उक्त समझदारीअनुसार प्रस्तावक कम्पनी जि–फिलोस कम्पनी लिमिटेडले लगानी बोर्डबाट सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेपश्चात् विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरी करिब १० महिनाभित्रमा लगानी बोर्डको कार्यालयमा पेस गर्नेछ । लगानी बोर्डकाअनुसार अध्ययन प्लान्ट स्थापनाका लागि रु सात अर्ब लगानी हुनेछ । कम्पनीले प्रारम्भिक चरणमा २० मेगावाट क्षमताको ग्रीन हाइड्रोजन उत्पादन गर्ने प्रस्ताव गरिएको छ ।

उक्त हस्ताक्षर कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले यसप्रकारको परियोजनामा प्राज्ञिक क्षेत्रकोसमेत महत्वपूर्ण भूमिका रहने तथा यस्ता परियोजनाले नेपालजस्तो राष्ट्रमा पुँजी तथा प्रविधिको विनिमयमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । प्रस्तावक कम्पनीले निर्दिष्ट समयमै गुणस्तरीय प्रतिवेदन पेस गर्ने विश्वास व्यक्त गर्दै उहाँले अध्ययनपश्चात् यथाशक्य छिटो नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट स्थापना हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताए योङले नेपालमा यसप्रकारका नवीकरणीय स्वच्छ ऊर्जाको प्रचुर सम्भावना रहेको औँल्याउँदै यस्ता परियोजनाले नेपालले परिलक्षित गरेका दिगो विकास लक्ष्यको प्राप्तिमा कोशेढुङ्गा सावित हुने बताउनुभयो । उहाँले नेपाल र दक्षिण कोरियाबीचको द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धितालले ग्रीन हाइड्रोजन लगानीयोग्य परियोजना भएकाले नेपालका लागि उपयोगी हुने उल्लेख गर्नुभयो । विद्युत् विकास विभागका महानिर्देशक जिवछ मण्डलले नेपालले यस किसिमका परियोजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले नेपालका लागि उपयोगी परियोजना भएको भन्दै यसको कार्यान्वयन गरिनुपर्ने धारणा राख्नुभयो ।

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले नयाँ प्रविधिमा हस्ताक्षर भएकामा खुसी व्यक्त गर्दै विस्तृत अध्ययन सकेर ग्रीन हाइड्रोजन प्लान्ट स्थापनामा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालका लागि नौलो प्रविधि भएकाले यसको लागत र उपयोगिताका आधारमा यसको विकास गरिने उल्लेख गर्नुभयो ।

ग्रीन हाइड्रोजनको अध्ययन तथा अनुसन्धानमा क्रियाशील काठमाडौँ विश्वविद्यालयका अनुसन्धानकर्ता डा विराजसिंह थापाले नेपालमा ग्रीन हाइड्रोजनका सम्बन्धमा मौजुदा नीतिगत तथा कानुनी व्यवस्था, यसका बहुआयामिक लाभका विषय तथा आगामी दिनमा यसप्रकारका ऊर्जाको उपयोगका सम्बन्धमा आफ्नो प्रस्तुति दिनुभयो ।

लगानी बोर्डको कार्यालयका सहसचिव बाबुराज अधिकारीका अनुसार प्रस्तावक कम्पनी जि–फिलोस कम्पनी लिमिटेडले नेपालमा सार्वजनिक–निजी साझेदारी ढाँचामा ग्रीन हाइड्रोजन तथा फ्युल सेल प्लान्ट स्थापना, विकास तथा सञ्चालनका लागि गत वैशाख १५ गते लगानी बोर्डको कार्यालयमा प्रस्ताव पेस गरेकामा लगानी बोर्डको ६३औँ बोर्ड बैठकले उल्लेखित प्रस्तावक कम्पनीसँग समझदारी गरी सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो ।

चितवनमा गैँडाको आक्रमणबाट वृद्धको मृत्यु

नवलपुर (नवलपरासी), १२ भदौः गैँडाको आक्रमणबाट चितवनमा एक वृद्धको मृत्यु भएको छ । राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएका वृद्धको आज गैँडाको आक्रमणबाट मृत्यु भएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार भरतपुर महानगरपालिका–२८ अन्द्रौलीस्थित राप्ति नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय ६३ वर्षीय खेमबहादुर सुनारको गैँडाको आक्रमणबाट मृत्यु भएको हो ।

मुख्यमन्त्री कार्की र जापानी राजदूतबीच भेटघाट, यी बिषयमा छलफल

विराटनगर, १२ भदौः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र जापानका राजदूत माएदा तोरुबीच आज भेटघाट भएको छ ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भएको उक्त भेटघाटमा उहाँहरुबीच आपसीहितका विषयमा कुराकानी भएको मुख्यमन्त्री कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनालले जानकारी दिनुभयो ।

सो अवसरमा मुख्यमन्त्री कार्कीले जापान र नेपालको सम्बन्ध ऐतिहासिक तथा मित्रतापूर्ण रहेको चर्चा गर्नुभयो । उहाँले नेपालको विकासमा जापानले खेलेको भूमिका प्रशंसनीय रहेको प्रसङ्ग उल्लेख गर्दै नेपालको पूर्वाधार क्षेत्रको विकासमा जापानले सहयोग गर्दैआएको स्मरण गर्नुभयो । मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा कृषि, सूचना प्रविधि र पर्यटनमा सहयोग गर्न सो अवसरमा जापानी राजदूत तोरुसँग आग्रह गर्नुभयो ।

जापानी राजदूत तोरुले जापान र नेपालको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै औद्योगिक विकास र कृषि क्षेत्रमा सहयोग गर्न जापान तयार रहेको बताउनुभयो ।

वडा कार्यालयको भवन निर्माणका क्रममा आर्थिक अनियमितता गरेको अभियोगमा मुद्दा दायर

काठमाडौँ, १२ भदौः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा कार्यालयको भवन निर्माणका क्रममा आर्थिक अनियमितता गरेको अभियोगमा जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलगायत आठ जना र निर्माण कम्पनीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सो नगरपालिकले आर्थिक वर्ष २०८०÷८१ मा वडा नं ६, ९ र १० को वडा कार्यालय भवन निर्माण ठेक्का प्रक्रियामा सार्वजनिक खरिद कानुनविपरीत अनियमितता गरेको अभियोगमा निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, इञ्जिनियर मोहन मल्ल, कानुन अधिकृत प्रकाशकुमार शाही, सामाजिक विकास अधिकृत अनिस साह, लेखापाल राजेन्द्रबहादुर कठायत र जिन्सी शाखा प्रमुख कृतिबहादुर थापाविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरु विरुद्ध आयोगले रु ३६ लाख २० हजार पाँच सय ७८ बराबरको बिगो माग दाबी गरेको छ ।

आयोगले सार्वजनिक खरिद कानुनविपरीतको गतिविधि गरेको अभियोगमा न्यू विके÷नहकुली जेभी तथा उक्त कम्पनीका सञ्चालक गङ्गाकुमारी खड्का र चित्रबहादुर बोहोरासँग समान बिगो माग गरेको छ ।

‘स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएर काम गरिरहेको छ ’ – मुख्यमन्त्री बानियाँ

बागमती, १२ भदौः बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएर काम गरिरहेको बताउनुभएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौँडा अस्पतालको अवलोकन तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुँदै मुख्यमन्त्री बानियाँले राजनीतिक विचारभन्दा माथि उठेर काम गरिरहेको बताउनुभयो । स्वास्थ्य जस्तो सम्वेदनशील क्षेत्रमा राजनीतिक विचारभन्दा माथि उठेर सरकार र प्रतिपक्ष एकमत भएर अघि बढ्नुपर्ने बताउनुभयो । प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको प्रतिष्ठानलाई बजेट र जनशक्ति अभाव हुन नदिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

प्रतिष्ठानको विकासमा कुनै राजनीतिक बाधा अवरोध आउन नदिने उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले प्रदेश सरकारको स्वास्थ्यसम्बन्धी गौरवको आयोजना भएकाले यसलाई द्रूत गतिमा अघि बढाइने बताउनुभयो । प्रतिष्ठानका छरिएर रहेका शैक्षिक कार्यक्रमलाई एकै ठाउँमा सञ्चालन गर्न आगामी १० महिनाभित्र एकीकृत पूर्वाधार निर्माण गरिने र निर्माणाधिन हेटौँडा अस्पताल भवन निर्माण तत्काल अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशकै गौरवका आयोजनाको रुपमा रहेको प्रतिष्ठानलाई सबैले राजनीतिक विचार र आस्थाभन्दा माथि उठेर सहयोग गर्नुपर्ने बताउनुभयो ।

साङ्घाइ सहयोग सङ्गठनको शिखर सम्मेलनमा नेपाली सहभागिताको तयारी पूरा

काठमाडौँ । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल साङ्घाइ सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिने भ्रमणको तयारी पूरा भएको छ ।

विश्वकै ठूलो क्षेत्रीय सुरक्षा–आर्थिक सङ्गठनमध्ये एक मानिने यो सङ्गठनको शिखर सम्मेलन नेपालको उच्चस्तरीय उपस्थितिले नेपाल–चीन सम्बन्ध अझ मजबुत बनाउन तथा बहुपक्षीय सहकार्यमा नेपालको सक्रियता देखाउने महत्वपूर्ण अवसर हुने ठानिएको छ । भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङ तथा रुसका राष्ट्रपति भ्लादिमिर पुुटिन र सहभागी अन्य मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुुखबीच प्रधानमन्त्री ओलीको दुई पक्षीय भेटवार्ता तय हुने क्रम जारी रहेको छ ।

भ्रमणको कार्यक्रमबारे परराष्ट्र मन्त्रालयले बुुधबार प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिसकेको छ भने भ्रमण दलमा रहेका सदस्यबीच प्रधानमन्त्री ओलीको उपस्थितिमा मन्त्रालयले आज प्रधानमन्त्री निवास, बालुुवाटारमा ब्रिफिङ गरिसकेको छ । प्रधानमन्त्री ओलीसहित २३ सदस्यीय टोलीलाई मन्त्रालयका सचिव अमृतबहादुर राई, शिष्टाचार महापाल कुमारराज खरेलले विस्तृत कार्यक्रम र व्यवस्थापकीय पक्षबारे जानकारी गराउनुुभएको हो । भ्रमणका सम्बन्धमा प्रधानमन्त्री ओलीले शुक्रबार प्रतिनिधिसभामा जानकारी गरााउनु हुने उहाँको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली यही भदौ १४ देखि १८ गते (अगष्ट ३० देखि सेप्टेम्बर ३०) सम्म चीनको तियानमिन सहरमा हुने एससिओको शिखर सम्मेलनमा सहभागी हुन शनिबार बिहान तियानमिन प्रस्थान गर्नुहुनेछ । उहाँले सोही दिन साँझ चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने तय भएको मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले उक्त शिखर सम्मेलन तथा चीनको जनयुद्धमार्फत जापानी आक्रमण विरुद्धको प्रतिरोध र विश्व फासिवादविरोधी युद्धमा विजयको ८०औँ वार्षिकोत्सवमा सहभागिता जनाउनुुहुने छ । उहाँले भदौ १६ गते तियानमिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ । सो अवसरमा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी विश्वका केही नेताहरूसँग भेटवार्ता गर्नुहुनेछ । हालसम्म चीन र रुसका साथै भियतनाम, माल्दिभ्स, लाओपिपुल्स, क्याम्बोडिया राष्ट्र÷सरकार प्रमुुखसँग भेटवार्ता गर्ने तय भएको छ ।

त्यसैगरी, प्रधानमन्त्री ओली भदौ १७ गते तियानमिनबाट बेइजिङ जानु हुनेछ र चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नुहुनेछ । उहाँले भदौ १८ मा बेइजिङमा आयोजना हुने जापानी आक्रमण विरुद्धको प्रतिरोध युद्ध र विश्व फासिवाद विरोधी युद्धमा विजयको ८०औँ वार्षिकोत्सवका स्मृति कार्यक्रमको परेडमासमेत सहभागिता जनाउनुहुनेछ । भ्रमण दल सोही दिन राति स्वदेश फर्कनेछ ।

भ्रमण दलमा प्रधानमन्त्री ओलीका साथ प्रथम महिला राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारीहरू रहनुुहुनेछ ।

प्रधानमन्त्री ओलीले चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा गत मङ्सिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्नुभएको थियो । उक्त भ्रमणका अवसरमा नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो । बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआइ) को कार्यढाँचामा दुई मुलुकले हस्ताक्षर गरी प्राथमिकता प्राप्त आयोजनाको सूचीकरण र सहकार्यको प्रक्रिया सुरु भएको छ ।

एससिओको स्थापनादेखि हालसम्म

सन् १९९६ मा चीन, रुस, काजकिस्तान, कीर्गिस्तान र ताजिकिस्तानबीच ‘साङ्घाइ फाइभ’ नामक क्षेत्रीय समूह बनेको थियो । सन् २००१ मा उज्वेकिस्तानसमेत सामेल भएपछि यसलाई औपचारिक रूपमा साङ्घाइ सहयोग सङ्गठन नाम दिइएको थियो ।

स्थापनाकालमा यसले सीमा क्षेत्रीय सुरक्षा, आतङ्कवाद विरोधी संयन्त्र र सैन्य विश्वास निर्माणका उद्देश्य बोकेको थियो । पछिल्ला दुई दशकमा यसको कार्यक्षेत्र विस्तार भई आर्थिक सहकार्य, ऊर्जा साझेदारी, पारवहन सञ्जाल, वातावरणीय स्थायित्व र सांस्कृतिक सम्पर्कसम्म भएको छ । यसका पूर्ण सदस्य, पर्यवेक्षक सदस्य र संवाद साझेदार सदस्य रहेका छन् ।

हाल चीन, रुस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस गरी १० पूर्ण सदस्य छन् । यसको दुई पर्यवेक्षक राष्ट्रमा अफगानिस्तान र मङ्गोलिया छन् भने संवाद साझेदार सदस्यमा नेपाल, अजरवैजान, अर्मेनिया, क्याम्बोडिया, टुर्किये, श्रीलङ्का, साउदी अरबिया, इजिप्ट, कतार, बहराइन, माल्दिभ्स, म्यानमार, संयुक्त अरब इमिरेट्स र कुबेतसहित १४ मुलुक छन् । नेपालले पर्यवेक्षक हुँदै पूर्ण सदस्य मुलुकमा स्तरोन्नतिका लागि आफ्नो प्रस्ताव अघि सार्दै आएको छ । हालको संरचनाले नेपाललाई मतदान अधिकार नदिए पनि उच्चस्तरीय बैठक, छलफल, परियोजना र नीति–निर्माण प्रक्रियामा सहभागिता जनाउँदै आएको छ ।

गत वर्ष काजकिस्तानको अस्ताना सहरमा सम्पन्न शिखर सम्मेलनले ऊर्जा सुरक्षा, पारवहन मार्ग विस्तार, हरित विकास, डिजिटल सहकार्यलाई प्राथमिकता दिएको थियो । नेपालले त्यतिबेला भूपरिवेष्ठित मुलुकका चुनौती, जलवायु परिवर्तनको प्रभाव, पर्वतीय क्षेत्रको दिगोपन, र ऊर्जा पहुँचमा सहकार्यको आवश्यकतामा जोड दिएको थियो ।

उखु किसानका माग चाँडै सम्बोधन गरिनेछ – महामन्त्री थापा

महोत्तरी, १२ भदौः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आन्दोलनरत उखु किसानका माग चाँडै सम्बोधन गरिने बताउनुभएको छ ।

बर्दिवासमा सञ्चारकर्मीहरुको जिज्ञासामा महामन्त्री थापाले सरकार उखु किसानका माग सम्बोधन गर्न अग्रसर भएको बताउनुभयो । “सरकारले चालु आर्थिक वर्ष २०८२÷८३ मा किसानलाई दिइने अनुदानको रकम बजेटमा व्यवस्था गरीसकेको छ, यसअनुरुप कृषि मन्त्रालयले अनुदान दिने प्रक्रिया थालेको छ”, उहाँले भन्नुभयो, “अब किसानले अनुदानको रकम चाँडै पाउनेछन् ।”

सरकारले उखु किसानलाई अनुदान उपलब्ध गराउने कार्यविधि २०७५ अनुरुप रु दुई अर्ब छुट्याइसकेको र अब रु २५ करोडजति थप्दा भुक्तानीमा समस्या नहुने उहाँको भनाइ थियो । यस विषयमा आपूmले कृषि मन्त्रीसँग छलफल गरेको महामन्त्री थापाले बताउनुभयो ।

किसानले पाउँदै आएको अनुदान लिन आन्दोलनमा उत्रनुपर्ने अवस्था आउनु दुःखद् भएको उल्लेख गर्दै उहाँले सरकारले उखुको मूल्य निर्धारणदेखि भुक्तानीसम्मका विषयमा किसानसँग छलफल गर्नपर्ने बताउनुभयो । उत्पादन गर्ने किसानको प्रतिनिधित्व नै नगराइ मूल्य लादिनु ठीक नहुने उहाँले स्पष्ट पार्नुभयो ।

महामन्त्री थापा सर्लाहीको लालबन्दी–१ जुुटपानीमा नेपाली कांग्रेसका नेता वासुशरण कोइरालाप्रति श्रद्धाञ्जली दिन तथा परिवारजनप्रति सद्भाव र समवेदना व्यक्त गर्न आउनुभएको नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवले जानकारी दिनुभयो ।

धादिङको थाक्रेमा पहिरो : पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

काठमाडौँ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर–७ स्थित सातकिल्लामो पहिरो गएको छ ।बुधवार राति लेदोसहितको पहिरो खसेको पहिरोको अहिले कारण अहिले पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ ।

काठमाडौँबाट मुग्लिन तर्फ जाँदै गरेका सवारी साधनहरु अस्तव्यस्त भएका छन् । जेसीबीको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको छ ।

कैलालीमा भारी वर्षा मापन,सर्तकता अपनाउन आग्रह

काठमाडौँ । पछिल्लो ३ घण्टामा कैलालीको कर्णाली चिसापानी वर्षामापन केन्द्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार सो क्षेत्रमा बग्ने साना खोलाहरूको जलस्तर बढ्न सक्ने सम्भावना छ।

तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्क रहन विभागले आग्रह गरेको छ। खोला किनारमा नजिक नजान र सुरक्षित स्थानमा रहन पनि विभागले सुझाव दिएको छ।

आज ऋषि पञ्चमीःसप्तऋषिको पूजाआराधना गरी मनाइँदै

काठमाडौं । आज ऋषि पञ्चमी । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्तऋषिको पूजाआराधना गरी मनाउँदैछन् ।कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।रजस्वला भएका महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै समस्या हुने भएकाले आजको दिनमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यस्तो समस्याबाट मुक्त भइने जनविश्वास छ ।

आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । आज काठमाडौंको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लाग्ने गर्दछ
आजको दिन महिलाहरू बिहान स्नान र दैनिक क्रियाकलापपछि उपमार्ग (ग्उबmबचनब) भन्ने विशेष जडीबुटी प्रयोग गरी दाँत माझ्ने र चपाउने गर्छन्।

उपमार्ग नेपाली भूमिमा सजिलै पाइने वनस्पति हो, जसलाई संस्कृतमा रोगनाशक तत्व भनिन्छ। महिलाहरू १०८ वटा उपमार्गका टुक्राहरू प्रयोग गर्छन्। त्यसपछि माटोले शरीर दल्ने चलन छ। त्यसपछि नदी वा पोखरीमा स्नान गर्छन्। स्नानपछि, पञ्चभाग्य (दूध, दही, घ्यू, दुबो, कुश र गोरुको गोबर) लाई तामाको भाँडोमा राखेर एक–दुई थोपा सेवन गरिन्छ। यो पर्व महिलाको स्वास्थ्य, आत्मशुद्धि र शक्तिको सम्मान गर्ने पर्व हो।

दुई टी–२० अभ्यास खेलःआज साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले टी–२० अभ्यास खेलमा अहिले साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ।टी–२० अभ्यास खेलका दुई खेल आजै हुँदैछन्। पहिलो खेल बिहान ५ ः १५ बजे सुरु भएको छ। पहिलो खेलमा टस जितेर साउथ अफ्रिकाले फिल्ड रोजेपछि नेपाल ब्याटिङ गर्दैछ । पहिलो खेल सकिए लगत्तै नेपालले सोही टिमसँग ९ ः १५ बजेपछि दोस्रो प्रतिस्पर्धा गर्नेछ।

यसअघि मंगलबार भएका दुई खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरोटरी (एसिटी)सँग प्रतिस्पर्धा गरिसकेको छ

पहिलो खेलमा नेपाललाई जित दिलाउन ह्याट्रिकसहित सन्दीप लामिछानेले पाँच विकेट हात पारेका थिए भने दोस्रो खेलमा दीपेन्द्रसिंह ऐरी र साहब आलमले समान चारचार विकेट लिएका थिए।आज दुई वटा टी–२० सिरिज खेलेपछि नेपालले अस्ट्रेलियामा एउटा ओडिआई प्रतिस्पर्धा गर्नेछ।

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज (बिहीबार) बस्दैछ ।
बिहान साढे ३ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौँ, १२ भदौः मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादी सुर्खेत भेरीगङ्गा नगरपालिका–२ सप्तरी समाझिङ्घाका कृष्ण सुनारलाई कुवेतमा पक्राउ गरेर स्वदेश ल्याइएको छ ।

कुवेतको राष्ट्रिय अपराध अनुसन्धान विभागसँगको समन्वयमा निजलाई पक्राउ गरेर बुधबार स्वदेश ल्याइएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । निजलाई कसुरबमोजिम कानूनी कारवाहीको लागि सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालयमा बुझाइने छ ।

सुदूरपश्चिममा गौरा पर्व सुरु, आज घरघरमा बिरुडा भिजाइँदै

अमरगढी (डडेल्धुरा), १२ भदौः सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा प्रारम्भ भएको छ । पर्वको पहिलो दिन आज व्रतालु महिलाले बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ । त्यसैले आजको दिनलाई बिरुडा पञ्चमी पनि भनिन्छ ।

तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिँगारी त्यसभित्र बिरुडा राखिन्छ । बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ । गौरादेवीको पूजामा बिरुडा प्रयोग गरिन्छ ।

पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रुपमा सुरु हुने यसका जानकार खगेश्वरी साउदले बताउनुभयो । “एक महिनाअघि देखि नै शुद्ध शाकाहार र बह्मचार्यको पालना गर्नुपर्छ,” उहाँले भन्नुभयो, “बिरुडा भिजाइँदा माङ्गलिक सगुन फाँग गाउँछाँै ।” यो पर्वमा पुरुषको व्रतबन्ध गरेजस्तै महिलाले दुवधागो लगाउँछन् ।

“गौरा हाम्रो ठूलो पर्व हो पुरुषजस्तै नारीले पनि यज्ञोपवितका रुपमा दुवधागो लगाउने गछौँ,” उहाँले भन्नुभयो, “गौरामा व्रत बसी पूजाअर्चना गर्दा श्रीमान् तथा घरपरिवारका सदस्यहरु निरोगी, दीर्घायु, परिवारमा सुख समृद्धि हुने विश्वास छ ।”

आजैदेखि ठाउँठाउँमा देउडा समेत खेलिने प्रचलन छ । प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान् शिवकी अर्धाङ्गिनी पार्वतीलाई गौरा देवीका रुपमा पूजाअर्चना गर्ने चलन छ ।

बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढ्यो, अधिकांश स्थानमा वर्षा

काठमाडौँ, १२ भदौः हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढेको बताएको छ ।

आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशको तराई र सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति देशभर साधारणतया बदली हुनेछ । देशका पहाडी भागका धेरै स्थानमा मध्यम वर्षा हुनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका साथै लुम्बिनी र कोशी प्रदेशका तराई भगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

सिचुवान एयरलाइन्सले पोखराबाट अष्ट्रलिया उडान गर्ने

काठमाडौँ, १२ भदौः पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अष्ट्रेलिया उडान हुने भएको छ । चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रलिया उडान गर्ने तयारी गरेको हो । उक्त प्रयोजनका निम्ति सिचुवान एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया उडानको अनुमति मागेको हो । उडान अनुमतिका लागि अनौपचारिक छलफल भएको र आवश्यक प्रक्रिया पूरा गरेर अनुमति दिने तयारी गरिएको उहाँले बताउनुभयो ।

आगामी सेप्टेम्बर महिनाबाट उडान गर्ने कम्पनीको योजना रहेको छ । “सिचुवान एयरलाइन्सले पोखराबाट अष्ट्रलिया उडान गर्ने योजना बनाएको छ । पोखराबाट छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्नेबारे अनौपचारिक कुराकानी भएको छ । औपचारिक रूपमा प्रक्रिया टुङ्ग्याउने विषयमा द्विपक्षीय छलफलमा भइरहेको छ । छिट्टै उडानको तालिका सम्बन्धित वायुसेवाबाट पेस होला”, सूचना अधिकारी भूलले भन्नुभयो ।

यो उडान भएमा अष्ट्रेलिया आवत–जावत गर्ने नेपालीलाई सहज हुने विश्वास लिइएको छ ।

यसअघि सिचुवान एयरलाइन्सले पोखरा विमानस्थलमा केही समय चार्टर उडान गरेको थियो । कम्पनीले नयाँ गन्तव्यका रूपमा अष्ट्रेलियामा नियमित उडान गर्न चाहेको हो । विसं २०८० असार ६ गते उक्त एयरलाइन्सको एयरवस ‘ए’ ३१९ पहिलोपटक पोखरा विमानस्थलमा उडान सुरु गरेको थियो । असारको ८ र ९ गते फेवातालमा भएको ‘नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३’ सहभागी चिनियाँ प्रतिनिधि, खेलाडी, दर्शकसहितका पर्यटकलाई ल्याउने र लैजाने प्रयोजनार्थ चार्टर्ड उडान गरिएको थियो ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार पोखरामा हिमालय एयरलाइन्सले मात्रै नियमित उडान गरिरहेको छ । कम्पनीले आगामी सेप्टेम्बर महिनादेखि अष्ट्रेलिया उडान गर्ने योजना बनाएको छ ।

यसैबीच भुटानको निजी वायुसेवा कम्पनी भूटान एयरलाइन्स (टासी) ले पनि पोखरा विमानस्थलमा चार्टर्ड उडान गर्ने तयारी गरेको छ । एयरलाइन्सले पोखराबाट पारो इन्टरनेसनल एयरपोर्टका लागि दुई÷तीनवटा चार्टर्ड उडानको अनुमति मागेको प्राधिकरणका सूचना अधिकारी भूलले बताउनुभयो । उहाँका अनुसार भूटान एयरलाइन्सले आगामी सेप्टेम्बर २८ र अक्टोबरमा चार दिन यात्रु चार्टर्ड उडानका लागि अनुमति मागेको छ ।

भूटान एयरलाइन्सले पहिलेदेखि नै उडान गर्ने भनेको थियो । “चार्टर्ड उडान दिगो भएमा काठमाडौँजस्तै पोखरा र भैरहवाबाट एउटा देशको एयरलाइन्सलाई पोखरा हुँदै अर्को देश जान पाउने उडान ‘फिफ्थ फ्रिडम फ्लाइट’ दिने भनेर पहिले नै निर्णय गरिएको छ । सुरुमा भूटान एयरलाइन्सले काठमाडौँ–पारो–काठमाडौँ उडान गर्नेछ । उडान नियमित भएको खण्डमा पारो–पोखरा–दिल्ली र दिल्ली–पोखरा–पारो उडान गर्ने एयरलाइन्सको योजना छ”, सूचना अधिकारी भूलले भन्नुभयो । भूटान एयरलाइन्सलाई केही दिनभित्रै उडान अनुमति दिइने प्राधिकरणले जनाएको छ ।

हाल हिमालय एयरलाइन्सले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा हप्तामा एक दिन नियमित उडान गरिरहेको छ । काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ जोड्नेगरी हिमालयले उडान सञ्चालन गरिरहेको हो । पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि हिमालयले पहिलो व्यावसायिक उडान सुरु गरेको थियो । विमानस्थलमा हिमालयका साथै सिचुवान र भूटान एयरलाइन्सको उडान भएमा विमानस्थल चलायमान बन्ने र गन्तव्य जाने यात्रुका लागि पनि सहज हुने प्राधिकरणको विश्वास छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल विसं २०७९ पुस १७ गते उद्घाटन भएको थियो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि मुलुकभित्र दोस्रो अन्तरराष्ट्रिय विमानस्थलका रूपमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । त्यसको छ महिनापछि पोखरा अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन भयो । यो विमानस्थलमा अन्तरराष्ट्रिय उडान विस्तार हुने क्रम जारी छ ।

तीन हजार ९०० रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झन्डै २२ अर्ब लागतमा निर्माण भएको हो । वार्षिक आठ लाख यात्रुलाई सेवा दिनसक्ने क्षमताको यस विमानस्थलमा दुई हजार ५०० मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग रहेको छ ।

हाल भूटानको सरकारी वायुसेवा कम्पनी ड्रुक एयर र भूटान एयरलाइन्सले काठमाडौँमा नियमित उडान गरिरहेका छन् । भूटान एयरलाइन्सले ‘फिफ्थ फ्रिडम फ्लाइट’ प्रयोग गरेर पारो–काठमाडौँ–दिल्ली र दिल्ली–काठमाडौँ–पारो भएर हप्ताको चार दिन उडान गरिरहेको छ । ड्रुक एयरले पारो–काठमाडौँ–पारो–दिल्ली–काठमाडौँ ‘ओभर फ्लाइट’ गरिरहेको छ । आगामी सेप्टेम्बर २८ र अक्टोबरमा चार दिन यात्रु चार्टर्ड उडान अनुमति पाएर सेवा सञ्चालन भएमा त्यसले पनि यसको प्रचारमा टेवा पुग्ने विश्वास गरिएको छ ।

प्राधिकरणका अनुसार चार्टर्ड उडान अनुमति दिन केही समस्या नभए पनि नियमित उडानका लागि भने अब पोखरा र भैरहवा वेस भएर उडान गर्नेगरी अनुमति दिइनेछ । नेपालले हाल ४२ मुलुकसँग हवाई सेवा सम्झौता गरेको छ । हवाई सम्झौता पुनरावलोक गर्दा भैरहवा र पोखरा उडान थपिनेछ । कुनै पनि वायुसेवा कम्पनीलाई पोखरा र भैरहवाबाट चार्टर्ड उडान गर्न दिन कुनै समस्या नभएको सूचना अधिकारी भूलले बताउनुभयो । प्राधिकरणको विवरणमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर नेपालका तीन हवाई सेवा प्रदायक कम्पनीसहित ३० एयरलाइन्सले अन्तरराष्ट्रिय उडान गर्दै आएका छन् ।

भैरहवामा जजिरा र थाई एयर एसियाले उडान गर्दै

भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा जजिरा एयरवेज र थाई एयर एसियाले पुनः उडान सञ्चालन गर्ने भएका छन् । यी दुवै एयरलाइन्सले विगतमा पनि भैरहवा उडान गरेर स्थगित भएको थियो । थाई एयर एसियाले अक्टोबाटर २६ देखि सुरु हुने ‘विन्टर सेडुअल’ मा उडान गर्नेगरी तयारी गरेको छ । हप्तामा दुई उडान गर्ने एयरलाइन्सको योजना छ । यस्तै, जजिरा एयरले पनि विन्टर ‘सिजन’मा उडान गर्ने योजना बनाएको छ । हाल भैरहवाबाट नियमित उडान गरिरहेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को उडान लामो समयदेखि हुन सकेको छैन ।

काठमाडौँ मलेसिया र मलेसियाबाट भैरहवा उडान गरिरहेको एयरलाइन्सले विमानको अभावमा उडान स्थगित गरेको जनाइएको छ । गौतमबुद्ध विमानस्थलमा विभिन्न चार्टर्ड उडान सञ्चालन भइरहेका छन् । प्राधिकरणका सूचना अधिकारी भूलले विन्टर सिजनबाट थाई एयर एसिया र जजिरा एयरलाइन्सले नियमित उडान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

जजिराले हाल कुवेतबाट काठमाडौँ उडान गर्दै आएको छ । भैहरवाबाट जजिरा र पोखराबाट सिचुवान एयरलाइन्सले उडान सुरु गरेपछि दुवै विमानस्थलमा अरू विदेशी वायुसेवा पनि आकर्षित हुने प्राधिकरणको विश्वास छ ।

जजिराले यसअघि दुईपटक भैरहवाबाट उडान गरिसकेको छ । विसं २०७९ फागुनमा दोस्रोपटक उडान सुरु गरेको यस वायुसेवाले त्यसअघि साढे दुई महिना उडान गरेर प्राविधिक कारण देखाउँदै उडान स्थगित गरेको थियो । एयरलाइन्सले पुनः नियमित उडान सुरु गर्न लागेको हो ।

पोखरा र भैरहवामा उडान गर्ने विदेशी वायुसेवालाई सरकारले आकर्षक छुट सुविधासमेत दिएको छ । हाल यहाँबाट हुने अन्तरराष्ट्रिय उडानबाट पाउने सम्पूर्ण शुल्क छुट दिइएको छ । नेपाल वायुसेवा निगमले दिने ‘ग्राउन्ड ह्यान्डलिङ’ सेवामा जम्मा २५ प्रतिशतबाहेक अतिरिक्त कुनै पनि शुल्क तिर्नु पर्दैन । यी दुई विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानको छुट तथा सहुलियत सरकारले २०८१ साउन २८ देखि दिएको हो । सरकारले ‘नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना’ अनुसार छुट दिएको हो । यी दुई विमानस्थलको अन्तरराष्ट्रिय उडानका लागि हवाई टिकटमा लाग्ने प्रतियात्रु तीन हजार रुपैयाँको यात्रु सेवा शुल्कमा छुट छ ।

यी दुवै विमानस्थलको अन्तरराष्ट्रिय उडानमा पार्किङ, ल्यान्डिङ र न्याभिगेसन शुल्कमा पूर्ण तथा नेपाल एयरलाइन्सले दिने ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुट दिइएको छ ।

सुदूरपश्चिममा चार दिनसम्म सञ्चालन हुने गौरा पर्व आजदेखि सुरु हुँदै

बैतडी,-सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा आजदेखि सुरु हुँदैछ । यो पर्व चार दिनसम्म सञ्चालन हुने गरेको छ । विशेष गरेर सुदूरका पहाडी समुदायमा मनाइने गौरालाई दसैँभन्दा पनि बढी महत्व दिने गरिएको छ । भाद्र कृष्ण वा शुक्ल पक्षमा मनाइने गौरा पर्व यो वर्ष भाद्र शुक्ल पक्षमा परेको पण्डित जयानन्द भट्टले बताउनुभयो ।

पौराणिककालमा भगवान् शिव महेश्वरको प्राप्तिका लागि गौरीदेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिवको प्राप्ति भएको विश्वास गरिन्छ । यही बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनामा यो पर्व मनाउने परम्परा चल्दै आएको संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताउनुभयो ।

यो पर्वमा खास गरेर विवाहित महिलाले व्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् । सुदूरपश्चिममा मात्रै नभएर छिमेकी देश भारतको उत्तराखण्डको कुमाउँमा पनि यो पर्व धुमधामका साथ मनाउने गरिन्छ ।

यस पर्वको पहिलो दिन घर–घरमा तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरिन्छ । गौरा पर्व भाद्र शुक्ल वा कृष्ण पञ्चमीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रम आयोजना गरेर मनाइन्छ । पहिलो दिन महिलाहरूले निराहार रही आआफ्नो घरमा तामा वा पित्तलको भाँडोमा पाँचथरीका गेडागुडी भिजाउने गर्छन् । गहँु, केराउ, गहत, मास र गुरुस मिसाएर तामाका भाडामा भिजाउँछन् । यी पाँच अन्नलाई ‘बिरुडा’ भनिन्छ ।

दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभमुहूर्तमा सामूहिक रूपमा बिरुडा धोइन्छ । सप्तमीका दिन गौरा देवीलाई नजिकको मठमन्दिरमा डालोमा स्थापना गर्ने चलन छ । गौरा भित्र्याएर पूजाअर्चना गरी महिलाहरूले दुबधागो चढाउने प्रचलन छ । चौथो दिन गौराष्टमीका दिन व्रत बसेर महिलाले बिहानैदेखि गौराखलो (गौरा मनाउने स्थल) मा फाग गाएर पूजाआजा गर्छन् । साँझपख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको पुरोहितहरूले बताउने गरेका छन् । सोही दिन महिलाले प्रसादका रूपमा बिरुडा ग्रहण गरी आफ्ना घरपरिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडा थापिदिने गर्छन् ।

महिलाहरूले आफ्नो अटल सौभाग्य, समृद्धि, सन्तान र परिवारमा सुख–शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने मान्यता रहेको छ । गौरा पर्वमा व्रतालु तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ ।

गौराको मुख्य दिन अठ्यावालीपछि ठाउँ परिवेशअनुसार देवीदेवताका गाथामा आधारित ठाडो खेल, ढुस्को, धमारी र देउडा खेल्ने चलन रही आएको छ । यसैबीच, गौरा पर्व गाउँघरमा चहलपहल पनि बढेको छ । पर्व मनाउन रोजगारीका लागि देशबाहिर रहेकाहरू घर फर्किने थालेका छन् ।

अब ठूलो पर्दामा ‘हरिबहादुर’

काठमाडौँ, १२ भदौः नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ । उहाँले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गर्नुभएको उक्त पात्रले समाजका विकृति र विसङ्गतिमाथि व्यङ्ग्य प्रहार गर्दै दर्शकको मन जितेको थियो । यो पात्र धेरैका लागि बाल्यकालको अभिन्न हिस्सा बनेको छ । लामो समयदेखि सानो पर्दा र रङ्गमञ्चमा हराइरहेका ‘हरिबहादुर’ नामक पात्रलाई अब दर्शकले ठूलो पर्दा अर्थात् चलचित्रमा देख्न पाउनेछन् ।

गएको वैशाखमा प्रदर्शन भएको चलचित्र ‘भूठान’ मा गम्भीर पात्रमा देखिनुभएका अभिनेता आचार्यले आगामी चलचित्र ‘हरिबहादुरको जुत्ता’ मार्फत दर्शकलाई हँसाउन र मनोरञ्जन प्रदान गर्न ‘हरिबहादुर’ बनेर प्रस्तुत हुनुभएको छ । बुधबार चलचित्रको श्रव्यदृश्य (टिजर) सार्वजनिक गर्नुहुँदै उहाँले समसामयिक विषयमा रमाइलो चलचित्र तयार भएको बताउनुभयो । आचार्यले भन्नुभयो, “भूठान चलचित्रमा काम गरेपछि त्यस्तै किसिमको भूमिका मात्र गर्छ कि भन्ने पनि रहेछ, तर म सबै किसिमको पात्रमा काम गर्न चाहन्छु । ‘हरिबहादुरको जुत्ता’ मा मलाई रमाइलो पात्र निर्वाह गर्दै गरेको देख्न सक्नुहुनेछ ।”

अभिनेता आचार्यले नै पटकथा तथा संवाद लेख्नुभएको चलचित्रको ‘कन्सेप्ट’ का विषयमा चर्चा भएपछि चलचित्रको स्वरूप लिएको रहेछ । “मैले सरोज भाइ (गायक सरोज ओली) लाई चलचित्रको विषय सुनाएको थिएँ, उहाँ नै निर्माणमा अग्रसर भएपछि चलचित्र तयार भएको छ । यसले पर्दामा देखिने पात्रसँग दर्शकलाई जोड्छ भन्नेमा विश्वत छु”, उहाँले भन्नुभयो ।

अभिनेता आचार्यले उक्त चलचित्र आउँदो दसैँलाई लक्षित गर्दै असोज १३ गते प्रदर्शन हुने जानकारी दिनुभयो ।

निर्देशक दीपेन्द्रकुमार खनालको निर्देशनमा तयार भएको यस चलचित्रमा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, सीता न्यौपाने, कमलमणि नेपाललगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

गायकद्वय सरोज ओली र मोहितवंश आचार्यले निर्माण गर्नुभएको चलचित्रमा कृष्णबहादुर थापाले छायाङ्कन, नकुल खड्काले सम्पादन, वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतले सङगीत सिर्जना गर्नुभएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ र बिक्रीदर १४० रुपैयाँ ६० पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ १७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७४ रुपैयाँ २१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५१ पैसा र बिक्रीदर ९० रुपैयाँ ९० पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०५ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९ रुपैयाँ ६३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ४० पैसा र बिक्रीदर ३८ रुपैयाँ ५७ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३१ पैसा र बिक्रीदर चार रुपैयाँ ३३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ १२ पैसा र बिक्रीदर ३८ रुपैयाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३३ रुपैयाँ २० पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०१ पैसा र बिक्रीदर १० रुपैयाँ ०६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४ रुपैयाँ ६५ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ७२ पैसा र बिक्रीदर २१ रुपैयाँ ८२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९९ पैसा र बिक्रीदर १८ रुपैयाँ ०६ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४५९ रुपैयाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ९० पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपैैयाँ ६६ पैसा र बिक्रीदर ३६५ रुपैयाँ २२ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्क उपलब्ध हुने जनाइएको छ ।

सिन्दुर खेलेर हर्षोल्लासका साथ सम्पन्न गरियो गणेश जात्रा

भक्तपुर, ११ भदौ : उपत्यकाका चार विनायक गणेशमध्येको सूर्यविनायक गणेश मन्दिरको मुख्यद्वारको प्राङ्गणमा सिँगारिएर राखिएको चाँदीको गणेशको मूर्ति, त्यस मूर्तिको अगाडि विभिन्न चौरासी व्यञ्जनका परिकारसहित बोको र राँगोको बलि चढाइएको छ ।

मूल पूजा र स्थानीयको पूजा सम्पन्न गरेसँग मूर्तिको खटमा राखेर पूजा गरेसँगै खटको बाँसमा एकातिर बागमती प्रदेशका स्वास्थ्यमन्त्री एवं स्थानीयवासी किरण थापा, अर्को प्रतिनिधिसभा सांसद एवं कांग्रेस जिल्ला सभापति दुलर्भ थापा, अर्कोतर्फ सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, वडा नं ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, वडा नं ७ का वडाध्यक्ष रविन्द्र सापकोटालगायतले गणेश विराजमान खट काँधमा राखेर टोल परिक्रमा गराएर सुरु भएको सूर्यविनायक गणेश खट जात्रा साँझ गणेश मन्दिरमा आरती गरेसँगै सम्पन्न भएको छ ।

भाद्र शुक्ल चतुर्थी (गणेश चतुर्थी) अर्थात् भगवान् गणेशको जन्मोत्सवका अवसरमा आज सूर्यविनायक नगरपालिका वडा नं ६ र ८ का बासिन्दाले बिहान सूर्यविनायक गणेश मन्दिरमा भव्य पूजा गरी मूल गणेशको मूर्तिलाई खटमा विराजमान गराई सुरु भएको रथ जात्रा दिनभर विभिन्न टोलको परिक्रमा गरी साँझ पुनःमन्दिरमा ल्याएर पूजा एवं आरती गरी विसर्जन गरिने सूर्यविनायका नगरपालिका–८ का वडाध्यक्ष तथा सूर्यविनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पुर्खाले मनाउँदै आएको गणेश रथजात्रा आर्थिक स्रोत नहुँदा वर्षौंदेखि रोकिएको थियो, विगत तीन वर्षदेखि सुरु भएको यो जात्रा यसवर्ष हजारौँ स्थानीयको सहभागितामा सिन्दुर खेल्दै रथ टोलटोल पुर्‍याएर हर्षोल्लासका साथ मनाउने गरिन्छ ।” वडा नं ६ र ८ कार्यालयको आर्थिक सहयोगमा जात्रा सञ्चालन गर्दै आएको छ ।

गणेशको चाँदीको मूर्तिलाई खटमा राखेर रथारोहण गरी सिन्दुर जात्रा गर्दै मन्दिरको पश्चिमतर्फ राजथला टोलसम्म, पूर्वतर्फ चालिसे गाउँ गहनादेवी मन्दिरसम्म, उत्तरतर्फ सूर्यविनायक चोक अरनिको राजमार्गसम्मको टोलटोलमा घुमाएर पुनःमन्दिरमा ल्याएर जात्रा सम्पन्न गरिएको हो ।

जात्रामा एमाले जिल्ला अध्यक्ष वचन देउजा, नगरपालिकाका उपप्रमुख सरिता भट्टराई तिमिल्सिना, वडा नं ६ का वडाध्यक्ष ईश्वर खड्का, विभिन्न दलका नेताहरु, पूर्वमन्त्री एवं नगरपालिकाका जनप्रतिनिधि र ठूलो सङ्ख्यामा स्थानीवासीको सहभागिता थियो ।

नेपाल–चीन सम्बन्ध मित्रता र आपसी विश्वासमा आधारित छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ, ११ भदौ : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री खनालले नेपाल–चीन सम्बन्ध ऐतिहासिक मित्रता र आपसी विश्वासमा आधारित रहेको बताउनुभएको छ ।

नेपालस्थित चीन संस्कृति केन्द्र र आन्हुई प्रान्तीय संस्कृति तथा पर्यटन विभागद्वारा आज आयोजित ‘विश्वसँगको संवादमा सुन्दर आन्हुई’ प्रवर्द्धन सम्मेलनको शुभारम्भ गर्दै उहाँले दुई देशबीच पर्यटन, संस्कृति, भाषा, साहित्यलाई आदानप्रदान गरी सम्बन्धलाई थप विस्तार गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री खनालले नेपालमा पनि चीन, आन्हुईजस्ता प्रान्तीय–स्तरका सहकार्य कार्यक्रमले द्विपक्षीय सम्बन्धलाई नयाँ आयाम दिने बताउँदै यसले जनस्तरमा पनि सम्बन्ध बलियो बनाउने उल्लेख गर्नुभयो ।

कार्यक्रममा आन्हुई प्रान्तीय जन सरकारका भाइस गभर्नर सन योङले आन्हुई प्रान्तीय भाइस गभर्नर सन योङले संस्कृति र पर्यटनको अनुपम नमुनाका रूपमा आन्हुईलाई विकास गरिएको बताउँदै काठमाडौँ र आन्हुईबीच प्रत्यक्ष सहकार्य विस्तारमा जोड दिनुभयो ।

नेपालस्थित चिनियाँ राजदूत चेन सङले नेपाल–चीनको सम्बन्धलाई अझ सबल बनाउन आन्हुई प्रवर्द्धन सम्मेलनले योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । आन्हुई प्रान्तको सांस्कृतिक सम्पदा, पर्यटन गन्तव्य, लगानी अवसर र ‘ग्रान्ड ह्वाङ्सान’ ब्रान्ड विश्वसामु प्रस्तुत गरिएको थियो ।

विशेषगरी ह्वाङ्सान पर्वत, सिडी–होंगछुन गाउँ जस्ता युनेस्को विश्वसम्पदा क्षेत्र, चिया संस्कृति, ग्रामीण पर्यटन र आधुनिक लगानी वातावरणबारे प्राविधिक प्रस्तुति गरिएको थियो । सम्मेलनमा नेपाली सरकारी निकायका प्रतिनिधि, पर्यटन व्यवसायी, उद्योगी–व्यापारी, शैक्षिक क्षेत्रका व्यक्तित्व तथा सञ्चारकर्मीहरूको सहभागिता थियो ।यसअघि जापान, दक्षिण कोरिया, बेलायत र संयुक्त राष्ट्रसङ्घमासमेत यस किसिमको प्रवर्द्धन सम्मेलन भइसकेको जनाइएको छ ।

अमेरिकी दूतावासद्वारा विधिविज्ञान प्रयोगशालालाई आधुनिक उपकरण र सफ्टवेयर हस्तान्तरण

काठमाडौँ, ११ भदौँ : नेपालस्थित अमेरिकी दूतावासले नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशाला सामाखुशीलाई ‘डिएनए’ बाट गरिने परीक्षण र ड्रक परीक्षणका लागि प्रयोग हुने आधुनिक उपकरण र ‘डिएनए’ परीक्षणमा प्रयोग हुने सफ्टवेयर सहयोग गरेको छ ।

प्रयोगशालामा हुने परीक्षणलाई वैज्ञानिक र वस्तुनिष्ठ बनाउन अमेरिकी दूतावासबाट प्राप्त कम्बाइन्ड डिएनए इन्डेक्स सिष्टम (डिएनए सफ्टवेयर) र ड्रग डिटेक्सन इन्स्ट्रुमेन्ट प्राप्त भएको हो ।

नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला सामाखुशीमा आज एक समारोहबीच अमेरिकी दूतावासले उक्त प्रविधि हस्तान्तरण गरेको हो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापाले आज हस्तान्तरण भएका आधुनिक उपकरणहरू र प्रविधिहरूले केन्द्रीय विधिविज्ञान प्रयोगशालाको क्षमता अभिवृद्धि हुने उल्लेख गर्दै प्रयोगशालाबाट प्रवाह हुने सेवालाई अझ छिटो्छरितो बनाउनुका साथै वैज्ञानिक रूपमा मान्य र भरपर्दो प्रमाणसमेत प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

उक्त प्रणालीको सुविधाले फोरेन्सिक डिएनए विश्लेषण क्षमतालाई अन्तरराष्ट्रिय मापदण्डमा लैजाने तथा नेपालको समग्र फौजदारी न्याय प्रणाली सुदृढ बनाउने उल्लेख गर्दै यस उपकरणले लागुऔषधको स्क्रिनिङमा क्षमता अभिवृद्धि हुने उहाँले बताउनुभयो ।

प्रहरी महानिरीक्षक थापाले अमेरिकी दूतावासले केन्द्रीय विधिविज्ञान प्रयोगशालाको क्षमता अभिवृद्धि एवं विकासका लागि विगतका वर्षमा विभिन्न परामर्श, तालिम र उपकरणसमेत प्रदान गर्दै आइरहेको र यसले गर्दा अन्तरराष्ट्रिय मापदण्डअनुरूप क्षमतावान् एवं दक्ष फोरेन्सिक विज्ञहरू उत्पादन गर्न मद्दत पुगेको बताउनुभयो ।

आधुनिक प्रविधिको एकीकरणले नेपाल प्रहरीको संस्थागत क्षमतालाई सुदृढ बनाउनुका साथै कानुन कार्यान्वयन तथा शान्ति सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत डिनआर थमसनले आज हस्तान्तरण गरिएको आधुनिक प्रविधिले नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालाको क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै अपराधको अनुसन्धान एवं हराएका व्यक्तिको पहिचानमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो ।

काठमाडौँको गौरीघाटमा जलसतहले सतर्कता तह नाघ्यो, ठाउँठाउँमा वर्षा

काठमाडौँ, ११ भदौँ : काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा अहिले जलसतहले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बागमती नदी बढ्दो क्रममा रहेकाले, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउने सार्वजनिक सूचनामार्फत अनुरोध गरेको छ ।

पछिल्लो तीन घण्टामा झापा जिल्लास्थित शनिश्चरे वर्षा मापन केन्द्र र आसपासका क्षेत्रमा भारी वर्षा मापन भएको पनि महाशाखाले जानकारी दिएको छ । सो क्षेत्र भई बहने ससाना नदीहरूमा आकस्मिक बहाव बढ्नसक्ने चेतावनी समेत दिइएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अपराह्नदेखि नै काठमाडौँ उपत्यकालगायत केही जिल्लामा भारी वर्षा भएको छ र उपत्यकामा अहिले राति ८ः०० बज्दा पनि वर्षा जारी छ ।

पछिल्लो तीन घण्टामा काठमाडौँमा ३४ मिलिमिटर र छ घण्टामा ६१ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी झापामा तीन घण्टामै ५४ मिलिमिटर वर्षा भएको छ । झापामा पछिल्लो छ घण्टामा १०३ मिलिमिटर वर्षा भएको छ ।

नुवाकोटमा पछिल्लो तीन घण्टामा ४० दशमलव ८ मिलिमिटर वर्षा भएको छ । सिन्धुपाल्चोक, सिन्धुली, गुल्मी, लमजुङ, धादिङ, बारालगायत जिल्लामा पनि मध्याम वर्षा भएको विभागले जनाएको छ ।

महाशाखाले हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाएको छ । कोशी प्रदेश, मधेस प्रदेश र वाग्मती प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ ।

बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशको एक÷दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले मौसम देशभर नै बदली रहेको बताउनुभयो ।

एमाले महाधिवेशन तयारी तीव्र पार्न महासचिवको पोखरेलको निर्देशन

काठमाडौँ, ११ भदौ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले दोस्रो विधान महाधिवेशनलाई भव्यतापूर्वक सम्पन्न गर्नका सबै उपसमितिलाई सक्रियतापूर्वक तयारी गर्न निर्देशन दिनुभएको छ ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज महाधिवेशन व्यवस्थापन समितिको आजको बैठकलाई सम्बोधन गर्दै सबै उपसमितिलाई तयारीलाई तीव्र पार्न निर्देशन दिनुभएको छ ।

महासचिव पोखरेलले विधान महाधिवेशनको मूल नारा तय भइसकेकाले अब त्यसकै आधारमा प्रचारप्रसारको कामलाई व्यापक बनाउन पनि निर्देशन दिनुभएको छ । उहाँले पूर्वनिर्धारित योजनाअनुरूप नै व्यवस्थापनको काम अघि बढेको पाइएको बताउनुभयो ।

पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले भदौ १५ गतेदेखि तयारीको कामलाई थप तीव्रता दिने निर्णय भएको जानकारी दिनुभयो । उहाँकाअनुसार बैठकमा आठवटै उपसमितिका प्रमुखहरुले आफ्नो आफ्नो तयारीका बारेमा रिपोर्टिङ गरेका थिए ।

प्रतिनिधि व्यवस्थापन, मञ्च तथा हल व्यवस्थापन, स्वयंसेवक व्यवस्थापन आवास व्यवस्थापन, खाद्य व्यवस्थापन, प्रचार व्यवस्थापन, यातायात व्यवस्थापन, स्वास्थ व्यवस्थापन, सांस्कृतिक व्यवस्थापन, स्वागत गेट तथा साजसज्जा र दस्तावेज प्रकाशन व्यवस्थापन टिमले आफ्ना तयारीका बारेमा रिपोर्टिङ गरेका छन् । बैठकमा उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल पनि सहभागी हुनुहुन्थ्यो ।

पार्टीको विधान महाधिवेशन यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना गरिएको छ । पार्टीले हिजोमात्र महाधिवेशनको मूल नारा तय गरेको छ ।

“निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य’ लाई पार्टीले मूल नारा बनाएको छ । महाधिवेशनमा प्रतिनिधि र आयोजक गरी कूल दुई हजार ३७८ रहेका छन् ।

नेपालको लिपुलेकका विषयमा चीन–भारतबीच भएको सहमतिबारे कुरा उठाइने

काठमाडौँ, ११ भदौ-प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीसँग हुने भेटवार्तामा नेपालको लिपुलेकका विषयमा चीन–भारतबीच भएको सहमतिबारे कुरा उठाइने जनाइएको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले साङ्घाई सहयोग सङ्गठन (एसइओ) शिखर सम्मेलनमा भाग लिन चीन जाने सिलसिलामा सो विषयमा प्रधानमन्त्रीले छिमेकी मुलुकबीच भएको सहमतिबारे कुरा उठाइने जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले यही भदौ १४ देखि १८ गतेसम्म चीनको भ्रमण गर्नुहुने तय भएको छ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री गुरुङले भन्नुभयो, “भारत र चीनका विदेशमन्त्रीबीच लिपुलेकका विषयमा भएको सहमति नेपालको सार्वभौमिकताका विरुद्धमा छ । साङ्घाई फोरमका सिलसिलामा छिमेकी शीर्ष नेतृत्वबीच हुने उच्चस्तरीय भेटघाटमा यो विषयमा कुराकानी हुन्छ ।” भ्रमणका क्रममा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच ‘साइडलाइन’ भेटवार्ताका लागि दुवै देशका तर्फबाट तयारी भइरहेको उहाँको भनाइ थियो ।

मन्त्री गुरुङले भारत र चीनका विदेशमन्त्रीबीच नेपालको लिपुलेक भएर व्यापारिक मार्ग प्रयोग गर्ने सन्दर्भमा भएको सहमतिबारेमा नेपाल सरकारका तर्फबाट यसअघि नै परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक नोट जारी गरिसकेको बताउनुभयो ।

यसैबीच, उहाँले सरकारले नयाँ र ठूला योजना नथप्ने र गर्नसक्ने योजनामात्रै नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने नीतिलाई कडाइका साथ अवलम्बन गरिने उल्लेख गर्नुभयो । खस्किँदो अर्थतन्त्र वर्तमान सरकारका नीति र क्रियाकलापले लयमा फर्किएको बताउँदै उहाँले अन्तरमन्त्रालय समन्वयका कारण तीव्रगतिमा हुन नसकेका विकास पूर्वाधारलाई समन्वय गरी अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्रालयका कामलाई चुस्तदुरुस्त बनाउन तथा प्रभावित हुन नदिन मन्त्रीको विदेश भ्रमणमा कडाइ गरिएको तथा मन्त्री र सचिव एकैसाथ भ्रमणमा जान नदिने व्यवस्था गरिएको उहाँको भनाइ थियो ।

अण्डा उत्पादन घट्यो, मूल्य बढ्यो

चितवन, १० भदौः चाडपर्व सुरु भएसँगै अण्डा खपत बढेको छ । उत्पादन घटेको र माग बढेपछि अण्डाको मूल्यसमेत बढेको छ ।नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्य बढेको जनाएको छ । विभिन्न फार्महरूको दररेटका आधारमा समर्थन मूल्य तय गरिएको हो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार आगामी बिहीबारदेखि लागू हुने गरी ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) रु ५४५ र मझौला अण्डाको रु ५३० कायम गरिएको छ । यससँगै खुद्रा बजार मूल्य प्रतिगोटा रु २३ कायम गरिएको छ ।

नेपालमा हाल अण्डाको औसत लागत मूल्य प्रतिगोटा १६.५६ रुपैयाँ रहेको छभने नयाँ मूल्यअनुसार किसानले ठूलो अण्डाको प्रतिगोटा १८.१६ रुपैयाँमा पाउने भएका छन् । लामो समयदेखि लागत मूल्यसमेत नपाएका किसानले राहत महसुस गरेका छन् ।

यसवर्ष साउन महिनामासमेत माग नघटेको र क्रमशः अण्डाको मूल्य बढ्दै जाने अध्यक्ष पोखरेलले बताउनुभयो । अहिले लागत मूल्य पाए पनि धेरै किसान विस्थापित भइसकेका छन् । उहाँले हाल कुखुरा पालिरहेका किसानसमेत विगतको नोक्सानका कारण सङ्कटमा रहेको बताउनुभयो ।

नेपाल अण्डा उत्पादक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले दैनिक ४० लाखभन्दा बढी अण्डा उत्पादन हुने गरेकामा हाल २२ लाखको हाराहारीमा झरेको जानकारी दिनुभयो ।

भारतीय पर्यटकले पाँच हजार डलर बराबरको भारतीय रूपैयाँ ल्याउन पाउने

वीरगञ्ज (पर्सा), ११ भदौ : नेपाल राष्ट्र बैंकले भारतीय नागरिकले नेपाल भ्रमणका क्रममा पाँच हजार डलर बराबरको भारतीय रूपैयाँ लिएर आउन पाउने व्यवस्था गरेसँगै सीमावर्ती क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

यसअघि २५ हजार भारतीय रूपैयाँ मात्रै ल्याउन पाउने प्रावधानप्रति व्यवसायीको गुनासो थियो । सङ्घीय सरकारले गत जेठ १५ मा ल्याएको चालु आर्थिक वर्षको बजेटमार्फत हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले नेपालमा विनिमय हुने पाँच हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा वा ट्राभलर्स चेक ल्याउन पाउने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले यही भदौ १० गते सार्वजनिक सूचना जारी गरी नेपाली वा विदेशी नागरिकले नगद विदेशी मुद्रा अमेरिकी पाँच हजार डलरसम्म ल्याउने प्रावधान रहेको जनाएको छ ।

होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगञ्जका अध्यक्ष हरि पन्तले राष्ट्र बैंकले भारतीय पर्यटकलाई भन्सार घोषणा नगरीकनै पाँच हजार डलर बराबरको भारतीय रूपैयाँ ल्याउन पाउने प्रावधानले यहाँको पर्यटन व्यवसायीलाई राहत मिल्ने बताउनुभयो ।

वीरगञ्जमा चारवटा तारे होटेलसहित ८५ भन्दा धेरै होटल छन् । तर, अपेक्षाकृत रुपमा पर्यटकको बसाइँ लम्ब्याउन सकिएको थिएन । यहाँको पर्यटन क्षेत्र आन्तरिक र सीमा क्षेत्रका भारतीय पर्यटककै कारणले धानिरहको व्यवसायी बताउँछन् ।

मूलधारका दलहरू एकअर्कालाई देखाएर पन्छिन मिल्दैन : मुख्यमन्त्री कँडेल

काँक्रेविहार (सुर्खेत), ११ भदौ : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मूलधार ठूला तीन दलले एकअर्कालाई दोष देखाएर पन्छिन नमिल्ने बताउनुभएको छ । सुर्खेतको रामघाटमा आज आयोजित कार्यक्रममा उहाँले निराशा बाँडेर जनताबाट विश्वास जित्ने नसकिने बताउनुभयो । दलीय मतभिन्नतालाई थाती राखेर जनतामाझ आशा र विश्वास दिलाउनसके राजनीति र विकासले सही मार्ग पहिल्याउने उहाँको भनाइ छ ।

“एकअर्कालाई कमजोर देखाउन केही भएको छैन भनेर निराशा बाँड्न हुँदैन, ठूला तीन दल पालैपालो शासन सत्तामा छौँ”, उहाँले भन्नुभयो, “हामीले भएका राम्रा सकारात्मक कामहरू सत्तापक्ष प्रतिपक्षमा विभाजित नभई प्रष्ट भन्न सक्नुपर्छ, जसले जनतालाई व्यवस्थाप्रति भरोसा जगाउन मद्दत पुग्दछ ।”

कर्णाली प्रदेशसभा सदस्य एवं पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले प्रदेश सरकारले प्रहरीलाई सबल, सक्षम र सुविधासम्पन्न बनाउने ध्येयका साथ विभिन्न स्थानमा भवन निर्माणको योजना सञ्चालन गरिएको बताउनुभयो । प्रदेश सरकारका पूर्वमन्त्री खड्कबहादुर खत्रीले तमाम चुनौतीका बाबजुद भवन निर्माण कार्य पूरा भएको बताउनुभयो ।

भेरीगङ्गा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले सुविधासम्पन्न भवनबाट शान्तिसुरक्षा र अपराध नियन्त्रणजस्ता कार्यमा प्रहरी सफल हुनुपर्ने विचार व्यक्त गर्नुभयो । एक करोड ५७ लाख ५८ हजार ३८० रुपैयाँ लागतमा सम्झौता भए पनि भवन भने एक करोड ३२ लाख सात हजार ७२ रुपैयाँमा सम्पन्न भएको हो ।

प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका सार्वजनिक

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन ९एसइओ० शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जाने कार्यतालिका सार्वजनिक भएको छ ।

प्रधानमन्त्री ओली उक्त शिखर सम्मेलन तथा चीनको जनयुद्धमार्फत जापानी आक्रमणविरुद्धको प्रतिरोध र विश्व फासीवाद विरोधी युद्धमा विजयको ८० औँ वार्षिकोत्सवमा सहभागिता जनाउन यही भदौ १४ गते चीनतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रधानमन्त्री ओलले चीनका राष्ट्रपति सी चिनफिङसँग तिआन्जिनमा भेटवार्ता गर्ने छन् । उनले सेप्टेम्बर १ मा तिआन्जिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्ने छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी केही विश्व नेताहरूसँगसमेत भेटवार्ता गर्ने छन् । त्यसैगरी, प्रधानमन्त्री ओलीले सेप्टेम्बर २ मा बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्ने छन् ।

प्रधानमन्त्री ओलीले सेप्टेम्बर ३ मा बेइजिङमा आयोजना हुने जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व फासिवादविरोधी युद्धमा विजयको ८०औँ वार्षिकोत्सवका स्मृति कार्यक्रममा सहभागिता जनाउनेछन् ।

प्रधानमन्त्री ओलीसँग उनकी धर्मपत्नी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारीहरू रहने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्किने तालिका रहेको छ ।

ऊर्जा क्षेत्रलाई रोजगारी र लगानीको मुख्य आधार बनाउनुपर्छ : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा क्षेत्रलाई रोजगारी सिर्जना र लगानीको मुख्य आधारका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

आज ‘पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान’को आयोजनामा भएको पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा संवाद कार्यक्रममा दाहालले ऊर्जा क्षेत्रमा रहेको दीर्घकालीन सम्भावनाको पूर्ण उपयोग नगर्दा राष्ट्रले अपेक्षित लाभ लिन नसकेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहालले अब यस क्षेत्रलाई समृद्धिको मुख्य आधार बनाउन आवश्यक रहेकामा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामीले सुरु गरेको नीतिगत निरन्तरताले आज नेपाल विद्युत् निर्यात गर्न सक्षम भएको छ ।”

नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले ऊर्जा क्षेत्रमा नियामक, सञ्चालक र विकासकर्ता एउटै संस्थामा सीमित रहनु समस्या भएको बताउनुभयो । यसैगरी, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रलाई राष्ट्र विकासको प्रमुख आधार मान्दै सरकारले यसलाई गम्भीरतापूर्वक लिएर नीतिगत रूपमा अघि बढाउनुपर्ने बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले अन्तर मन्त्रालय समन्वयको अभाव औँल्याउनुभयो । नेपाल उद्योग व्यापार महासङ्घका अध्यक्ष खिमलाल भण्डारीले ऊर्जा क्षेत्रमा जनसहभागिता अपरिहार्य रहेको धारणा राख्नुभयो ।प्रतिष्ठानका अध्यक्ष वर्षमान पुनले नदी प्रवाहमा आधारित आयोजनाले मात्र भविष्यमा माग धान्न नसक्ने भएकाले जलाशययुक्त आयोजनामा जोड दिन आवश्यक रहेको बताउनुभयो ।

कोशी प्रदेशले संविधान दिवस भव्य रुपमा मनाउने

विराटनगर । कोशी प्रदेश सरकारले संविधान दिवसलाई भव्य रुपमा मनाउने तयारी गरेको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले तयारी भव्य रुपमा गर्ने निर्णय गरेको हो ।

सरकारका सबै मन्त्रीहरु, सचिवहरू, सामाजिक क्षेत्रका संघसंस्थाहरूको उपस्थितिमा भएको बैठकले ५ सय एक सदस्य मूल समारोह समिति गठन गरेको छ । त्यस्तै बैठकले आगामी असोज ३ गतेको संविधान दिवसलाई भव्य रुपमा मनाउने र तीन दिनसम्म विविध कार्यक्रमहरू गर्ने निर्णय गरेको छ । वक्तित्वकला प्रतियोगिता, स्वास्थ्य शिविर, प्रभात फेरि, झाँकी प्रदर्शनी, जिल्ला जिल्लामा ,प्रदेश सरकारका सेवाहरू देखिनेगरी कार्यक्रमहरू गर्ने निर्णय गरिएको छ ।

बैठकमा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेशभित्रका सबै संघसंस्था लाई संविधान दिवस भव्य रुपमा मनाउन आग्रह गरे। उनले प्रदेशका मौलिकताहरू झल्किने झाँकी र जातजातिका विशेषता झल्किने प्रदर्शनीहरू गर्न पनि निर्देशन दिएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा कोशी प्रदेशमा संविधान दिवस मनाउने तयारी गरिएको हो ।

सामाजिक सञ्जालहरूलाई ७ दिनभित्र सूचीकरण हुन सरकारको आह्वान

काठमाडौँ । सरकारले विभिन्न २० वटा औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह तथा पेट्रोलियम पाइपलाइन र निजी क्षेत्रबाट सञ्चालन हुने केबुलकार आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को यही भदौ ९ गतेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल सरकारबाट घोषणा भएका ती आयोजनासम्बन्धी निर्णयको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्ले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० तथा सर्वोच्च अदालतको आदेशबमोजिम सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार तथा जवाफदेही बनाउन सात दिनको म्याद दिइ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणका लागि सार्वजनिक रूपमा आह्वान गर्ने निर्णय गरेको छ ।

बैठकले तोकिएको अवधिमा सूचीकरण हुन नआउने वा सूचीकरणका लागि सम्पर्कमा नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपालभित्र निष्क्रय गराउन र सूचीकरण गरेमा सोही क्षणबाट ती सामाजिक सञ्जाललाई पुनःसक्रिय गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत नेपाल दुरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको छ ।

सरकारले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गरेको छ ।

सरकारले नेपाली सेनाका चार जना उपरथीको सरुवा गर्ने तथा एक जनालाई उपरथीमा, एक जनालाई सहायक रथीमा र एक जनालाई महासेनीमा बढुवा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले भदौ १६ गतेदेखि १८ गतेसम्म कोरियाको सिओलमा हुने ग्लोवल ग्रीन ग्रोथ इन्स्टिच्युटसँगको सम्झौता हस्ताक्षर कार्यक्रममा सहभागी हुन वन तथा वातावरण मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रलाई स्वीकृति दिएको छ ।

बैठकले यही भदौ १० देखि १३ गतेसम्म फिजीको नाडीमा आयोजना हुने छैठौँ फोरम अफ मिनिस्टर एन्ड इन्भायरोमेन्ट अथोरिटी अफ एसिया प्यासिफिकमा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्री रूपा बिकलाई स्वीकृति प्रदान गरेको छ ।

मन्त्रिपरिषद्ले अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सीको भदौ ३० देखि असोज ३ गतेसम्म भियाना इन्टरनेशनल सेन्टरमा आयोजना हुने ६९औँ आइएइए जनरल कन्फ्रेन्समा सहभागी हुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव विश्वबावु पुडासैनीलाई सहभागी हुन स्वीकृति दिएको छ ।

सरकारले नेपाल लेखापरीक्षण सेवाको समूहिकीकरणतर्फ राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक रिक्त पदमा इन्द्रप्रसाद आचार्यलाई बढुवा गर्ने निर्णय गरेको छ ।बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव भरतमणि सुवेदीले पेस गर्नुभएको शैक्षिक अवकाश स्वीकृत गरेको छ ।