`

ओली र पोखरेल मेरा लागि बराबरी हुन् : गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आफू पर नभएको स्पष्ट पार्दै एमाले थप बलियो बनेर अघि बढ्नुपर्ने बताएका छन् ।आइतबार भृकुटीमण्डपमा जारी एमालेको महाधिवेशनको बन्दसत्र स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अध्यक्ष ओलीसँग आफ्नो राजनीतिक यात्रा एउटै रहेको बताएका हुन् ।

उनले भने, ‘केपी शर्मा ओलीबाट पर भएको भए म यहाँ किन हुन्थे र ? म यही महाधिवेशनमा छु, उहाँको र मेरो डुङगा एउटै छ । उहाँ डुब्दा म पनि डुब्छु र म डुब्दा उहाँलाई पनि असर पुग्छ ।’चिनजानको प्रसङ्ग उठाउँदै उनले ०४३ सालमै ईश्वर पोख्रेलसँग भेट भएको स्मरण गरे । आफू भूमिगत अवस्थाकै कार्यकर्ता भएको उल्लेख गर्दै उनले एमालेका सबै नेता आफ्ना लागि बराबर रहेको बताए ।

‘चिनजानकै कुरा गर्नुहुन्छ भने ०४३ सालमा ईश्वर पोख्रेल भेटेको मान्छे हो नि म,’ उनले थप भने, ‘एमालेका नेता मेरा लागि सबै उस्तै हुन्, बराबर हुन् । म भूमिगत बेलाकै कार्यकर्ता पनि हुँ । त्यसैले मैले कोही नेतालाई सिरानी हालेर अनुचित लाभ उठाएर हिड्नुपर्ने छैन् ।

उनका अनुसार एमाले पार्टी विधि र प्रक्रियामै अघि बढ्ने परम्परा रहेको छ । ‘महाधिवेशन न पहिलो हो न अन्तिम,’ उनले भने, ‘विधि र प्रक्रिया सधैं रहने विषय हुन् ।’उनले महाधिवेशनबाट एमाले अझ सशक्त र एकताबद्ध भएर बाहिरिनुपर्नेमा जोड दिए ।

एमाले ११ औँ महाधिवेशन : यस्तो चयन हुनेछ केन्द्रीय कमिटीको संरचना

काठमाडौँ, २८ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट निर्वाचित हरेक भूगोल र क्षेत्रमा ४० वर्ष मुनिका युवालाई अनिवार्य हुने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरिएको छ । आज सुरु भएको बन्दसत्रमा पारित प्रस्तावअनुसार केन्द्रीय कमिटीमा महिला, युवा, आदिवासी–जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, श्रमिक, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएको क्षेत्रबाट समावेशी प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।

नयाँ संरचनाअनुसार केन्द्रीय कमिटीमा १९ पदाधिकारी रहनेछन्, यसमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना रहने व्यवस्था गरिएको छ। वरिष्ठ उपाध्यक्षको व्यवस्था अब रहने छैन् । प्रदेशगत प्रतिनिधित्वअन्तर्गत उपत्यकासहित सबै आठ प्रदेशबाट ७२ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । प्रत्येक प्रदेशबाट नौ जनाको प्रतिनिधित्व रहनेछ, जसमा पाँच जना खुला, तीन जना महिला र एक जना युवा रहने एमालेको महाधिवेशन प्रचार कमिटीका संयोजक पदमा अर्यालले जानकारी दिनुभयो ।

खुला कोटाबाट १२५ जना केन्द्रीय सदस्य चयन हुनेछन् । उक्त कोटामा ७१ जना खुला, ५२ जना महिला र दुई जना युवा समावेश गरिएका छन् । समावेशी संरचनाअन्तर्गत आदिवासी–जनजातिबाट २५ जना (खुला १५, महिला आठ, युवा २), मधेसीबाट १९ जना (खुला ११, महिला छ, युवा दुई), दलितबाट १२ जना (खुल्ला सात, महिला चार, युवा एक), थारु समुदायबाट आठ जना (खुला पाँच, महिला तीन), मुस्लिम समुदायबाट पाँच जना (खुला चार, महिला एक) प्रवासतर्फ भारतबाट एक र अन्य देशबाट एक गरी दुई जना, श्रमिकबाट तीन जना (खुला दुई, महिला एक), अपाङ्गता भएका व्यक्तिबाट एक जना, पिछडिएको क्षेत्रबाट दुई जना (खुला एक, महिला एक) सम्पर्क समन्वय कमिटीबाट दुई जना (खुला एक, महिला एक) रहने छ ।

चिसो अत्यधिक बढेसँगै विद्युत् उत्पादनमा भारी कटौती

रसुवा, २८ मङ्सिरः हिमाली जिल्ला रसुवामा चिसो बढेसँगै नदी तथा खोलामा पानीको सतह घट्दा विद्युत् उत्पादन प्रभावित भएको छ । सम्बद्ध व्यावसायीहरूका अनुसार जिल्लाको माथिल्लो भेगमा चिसो बढेसँगै हिउँ पग्लने दर कम भएको र पानी जम्न थालेकाले नदी तथा खोलामा पानीको सतह घट्न गई विद्युत् उत्पादन प्रभावित भएको हो ।

पछिल्ला दिनमा २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाबाट १६ मेगावाट, १४ दशमलव आठ मेगावाट क्षमताको ‘अप्पर साङ्जेन’बाट छ मेगावाट, ४२ दशमलव पाँच मेगावाटको ‘लोवर स्याङ्जेन’बाट ३० मेगावाट र ७८ मेगावाट क्षमताको सालासुङ्गीबाट पाँच मेगावाट क्षमता मात्र विद्युत् उत्पादन हुने गरेको सम्बन्धित आयोजनाबाट जानकारी प्राप्त भएको छ ।

चिसोका कारण विद्युत् उत्पादनमा भारी कटौती हुने गरेको जानकारी दिँदै सालासुङ्गी हाइड्रो पावरमा कार्यरत इञ्जिनियर राजु श्रेष्ठले भन्नुभयो, “अत्यधिक चिसोका कारण अहिले खोलामा पानीको सतह घटेको छ । पानीको बहाव घटेसँगै क्षमताभन्दा न्यून विद्युत् उत्पादन गर्न बाध्य छौँ । चैतपछि हिउँ पग्लिने दर वृद्धि भई खोलामा पानीको बहाव बढ्न थाल्छ । त्यसपछि आयोजनाको क्षमताअनुसार विद्युत् उत्पादन हुन थाल्छ ।”

यसैबीच, गत असारमा आएको बाढीका कारण क्षति पुगेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्रको संरचना पुनःनिर्माणपछि हाल ३७ मेगावाट विद्युत् उत्पादन भइरहेको रसुवागढी जलविद्युत् कम्पनीका कार्यकारी अधिकृत सत्यराम ज्याख्वाले जानकारी दिनुभयो ।

स्थानीय खोलामा आएको बाढीबाट प्रभावित सो आयोजना पुनःनिर्माणको काम पूरा भए हिउँदमा करिब ६५ देखि ७० मेगावाटसम्म विद्युत् उत्पादन हुने बताइएको छ ।

संसद् राजनीतिको केन्द्र भएकाले विचारको टकराव हुन्छः सभामुख घिमिरे

काठमाडौँ, २८ मङ्सिरः सभामुख देवराज घिमिरेले संसद् कार्यपालिका मातहतको कुनै सामान्य सरकारी अड्डा नभइ राज्यको सर्वाेच्च निकायको रूपमा रहेको विधायिकी संस्था भएको बताउनुभएको छ ।

उन्नाइसौँ संसद् सेवा दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सभामुख घिमिरेले संसद् जनताको सार्वभौमसत्ताको मन्दिर र राष्ट्रको भविष्य लेख्ने निकाय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “संसद् सेवालाई बन्द सेवाका रूपमा राखिनुको आफ्नै तर्क र आवश्यकता छ । यसको फाइदा र बेफाइदा दुवैलाई वस्तुनिष्ठ रूपमा हेरिनुपर्छ । संसद् सेवालाई केवल बन्द मात्र राख्ने होइन, यसलाई जीवन्त र गतिशील बनाउनुपर्ने आवश्यकता छ ।”

संसदीय अभ्यासलाई विशिष्टीकृत मर्यादित र व्यावसायिक बनाउन विगत १९ वर्षअघि आजकै दिन छुट्टै ऐनमार्फत ‘स्वायत संसद्’ सेवाको गठन गरिएको थियो । संसद्ले बनाएका कानुन कार्यान्वनमा सरकारको कामको नियमन गरी प्रभावकारी भूमिका खेल्ने उल्लेख गर्दै सभामुख घिमिरेले यस सेवाका विशिष्टीकृत क्षमता राख्ने कर्मचारीले राजनीतिक उतारचढावका बीच आफ्नो व्यावसायिक धर्म र कर्तव्य पूरा गर्न सक्ने मान्यता राखिने धारणा व्यक्त गर्नुभयो ।

“संसद् राजनीतिको केन्द्र हो । यहाँ विचारको टकराव हुन्छ, दलगत स्वार्थका बहस हुन्छन् । यस्तो उच्च राजनीतिक तापक्रम भएको ठाउँमा कर्मचारीले बरफ जस्तै शीतल र स्थिर रहनुपर्छ”, सभामुख घिमिरेले भन्नुभयो, “सरकारले संसद् र यसको सचिवालयमाथि आर्थिक र प्रशासनिक रूपमा अदृश्य बन्देज लगाउने प्रयास गरिरहेको छ । म सभामुखको हैसियतले स्पष्ट शब्दमा भन्न चाहन्छु, संसद् सरकारको अधीनमा रहने कुनै एउटा शाखा होइन ।”

सरकारलाई संसद्को स्वायत्ततामा आँच आउने कुनै पनि गतिविधि नगर्न आग्रह गर्दै सभामुख घिमिरेले संसद् कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो र लोकतन्त्र कमजोर हुँदा अन्ततः राज्य नै असफल भन्ने पाटोलाई बुझ्न जरुरी रहेको धारणा राख्नुभयो । नयाँ पुस्ता (जेनजी)ले उठाएका मुद्दालाई सम्बोधन गर्ने थलो संसद् नै भएकाले त्यसको विघटनको आवश्यकता नरहेको तर्क गर्दै उहाँले संसद् भनेको उच्च सम्मान प्राप्त जनताबाट निर्वाचित देशकै सर्वोच्च र विश्वासनीय संस्था हो भन्ने विषयलाई आत्मसात गर्न आग्रह गर्नुभयो ।

लोकतन्त्रको सुन्दर र मुख्य पक्ष निर्वाचन होः अध्यक्ष दाहाल

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी बनाउन निरन्तर रचनात्मक सुझावसहित खबरदारी गर्नु रहेको बताउनुभयो । उहाँले गत भदौ २४ गते जेनजी आन्दोलनकमा क्रममा भएका घटनाले राष्ट्रिय सम्पदा र देशलाई ठूलो नोक्सानी मात्र नभइ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा क्षतिबाट आहात भएको बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “पुरानो संसद् भवन जलेको र नयाँ भवन बन्न अझै केही समय कुर्नुपर्ने अवस्था छ । यस विषम परिस्थितिमा राष्ट्रियसभाको अबको सभा चलाउन कठिन भएको छ । त्यो अवस्था आउन हामी कति जिम्मेवार भयौँ ? हाम्रो भूमिका कस्तो रह्यो ? यी प्रश्नको जवाफ हाम्रा काम र व्यवहारबाट कसरी दिन्छौँ ? इतिहासले मूल्याङ्कन गर्नेछ ।”

हाम्रो पक्षधरता संसद् सेवालाई सङ्घीय संसद्, लोकतन्त्र र जनताप्रति हो भन्दा भन्दै व्यवहार कस्ता भइरहेका छन् भनी प्रश्न गर्दै उहाँले भन्नुभयो, “कतै हाम्रा पक्षधरताहरू कुनै नेता, उच्च कर्मचारी र समूह वा स्वार्थबाट निर्देशित त छैनन ? यी र यस्तै सवालबारे गहन छलफल र समीक्षा गरी अगाडि बढ्नुपर्छ ।”

लोकतन्त्रको सुन्दर र मुख्य पक्ष निर्वाचन भएकाले त्यसमा जनचासो, जनविश्वास र भरोसा अडिएको उल्लेख गर्दै अध्यक्ष दाहालले आगामी फागुन २१ गते प्रतिनिधिसभाको चुनाव समयमै भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित गराउन सरकारलाई सहयोग गर्न आह्वान गर्नुभयो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हले जनप्रतिनिधिमूलक सर्वोच्च संस्थाको रूपमा रही कानुन निर्माण गर्ने जिम्मेवारी बोकेको संसद् सेवा एक विशिष्टिकृत सेवा भएकाले व्यावसायिक, निष्पक्ष र मर्यादित रूपमा अघि बढाउन आवश्यक रहेको बताउनुभयो । कानुनलाई थप स्पष्ट, सरल, बोधगम्य र पठनयोग्य हुने गरी निर्माण गर्नु आजको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले संसद्को भूमिकालाई प्रभावकारी बनाउन सरकार संसद् सेवाको सदृढीकरणका लागि आवश्यक नीतिगत तथा संस्थागत सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

मन्त्री सिन्हाले संसद् सेवाले संविधान बमोजिम संसद् र जनताको सेवामा उच्च व्यावसायिकता र उत्तरदायित्वका साथ निरन्तर आफ्नो कार्य जिम्मेवारीमार्फत योगदान पु¥याउन सफल होस् भनी शुभकामना व्यक्त गर्नुभयो ।

उपसभामुख इन्दिरा रानाले सङ्घीय संसद् सचिवालय कानुन निर्माण र संसदीय प्रक्रियाबारे अध्ययन गर्न चाहनेका लागि विश्वविद्यालय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कानुन तर्जुमा देशमा विधिको शासन स्थापित गर्ने सवालमा संसद्ले मुटुको कार्य गरेको छ । लोकतान्त्रिक प्रक्रियामा निर्वाचन आवश्यकता हुन्छ । आगामी निर्वाचनलाई सफल तुल्याउने अभिभारा हामी सबैको हो ।”

राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेलले मुलुक अप्ठेरो परिस्थितिमा रहेका बेला प्रतिनिधिसभा नभएका कारण जनताका आवाज अबरुद्ध हुन पुगेको धारणा राख्नुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव राजकुमार श्रेष्ठले राष्टसेवक कर्मचारीले सेवाप्रतिको लगनशीलता र कर्तव्यनिष्ठाकासाथ काम गर्ने बानीको विकास गरेमा अप्ठयारो पर्दा समेत सहज निकास दिन तथा नतिजा प्राप्त गर्न सकिने पक्षलाई हेक्का राख्न सुझाव दिनुभयो ।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र सचिव डा रोजनाथ पाण्डेले देश निर्माणको अभियानमा लागेका राजनीतिक दलका नेतालाई राष्ट्र सेवक कर्मचारीले सहयोग गर्नुपर्ने दायित्व अनुरुप संसद् सेवाका कर्मचारीले त्यस पक्षलाई मनन गर्न सुझाव दिनुभयो । उहाँहरुले संसद् सेवामा रहेका कर्मचारीलाई आफ्नो कार्य जिम्मेवारी पूरा गर्ने सिलसिलामा राजनीतिक दृष्टिकोणबाट प्रभावित नभइ, कसैप्रति झुकाव नराखी कार्य सम्पादन गर्न निर्देशन दिनुभयो ।

संसद् सचिवालय कर्मचारी युनियनका अध्यक्ष रेणुका सुवेदीले कानुन निर्माण जस्तो महत्वपूर्ण र संवेदनशील स्थानमा रही अहोरात्र खटिने संसद् सेवाका कर्मचारीको उत्प्रेरणा र मनोबल बढाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

लोकदोहोरी गायिका रीता थापामगर कांग्रेस धादिङ–२ बाट उम्मेदवार सिफारिस

काठमाडौं । लोकदोहोरी प्रतिष्ठान नेपालकी अध्यक्ष तथा चर्चित लोकदोहोरी गायिका रीता थापामगरलाई नेपाली कांग्रेसले धादिङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवार सिफारिस गरेको छ ।

कांग्रेस धादिङ २ ले थापामगरसहित ८ जनाको नाम समानुपातिकतर्फ सिफारिस गरेको हो भने प्रत्यक्षतर्फ ११ जनाको नाम पठाएको छ ।लोकदोहोरी प्रतिष्ठान नेपालकी अध्यक्ष समेत रहेकी थापा लामो समय देखि कलाकारितामै व्यस्त छिन् ।

उनी राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी वर्तमान केन्द्रीय अध्यक्ष पनि हुन् । माघ ११ मा राष्ट्रिय सभा र फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।

एनपीएलका इमर्जिङ प्लेयर तिलकलाई प्रेसिडेन्सियल कलेजद्वारा १५ लाख रुपैयाँको स्कलरसिप

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा ’प्रेसिडेन्सियल ग्रयाजुएट स्कुल इमर्जिङ प्लेरअर अफ दि टुर्नामेन्ट’ घोषित भएका तिलक राज भण्डारीलाई एनपीएल २०८२ को एजुकेशन पार्टनर प्रेसिडेन्सियल ग्राजुएट स्कुलले १५ लाख रुपैयाँ बराबरको स्कलरशिप प्रदान गरेको छ ।

अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयसँग सम्बन्धन प्राप्त थापागाउँ, बानेश्वरस्थित प्रेसिडेन्सियल ग्राजुएट स्कुलमा स्नातक तथा स्नातकोत्तर तहमा व्यवस्थापन वा आईटी संकायका कुनै पनि कोर्स अध्ययन गर्दा उक्त स्कलरसिप प्रयोग गर्न सकिने कलेजका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए ।

बुटवलका २१ वर्षीय स्पीनर तिलक राज भण्डारीले यस वर्ष लुम्बिनी लायन्सबाट खेल्दै एनपीएलको उपाधि जितेका हुन् । उनले लुम्बिनीलाई पहिलो पटक एनपीएलको च्याम्पियन बनाउने क्रममा बलिङबाट महत्वपूर्ण योगदान दिएका थिए । तिलकले प्रतियोगिताभर ८ खेल खेल्ने क्रममा ८ विकेट नै लिए ।

शनिबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिमलाई ६ रनले पराजित गर्दै लुम्बिनी लायन्सले उपाधि जितेको हो । फाइनलमा तिलकले सुदूरपश्चिम विरुद्ध ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिएका थिए । उनले क्वालिफायर टु मा विराटनगर किंग्स विरुद्ध सानदार बलिङ रच्दै ३ विकेट लिएका थिए र प्लेअर अफ दि म्याच समेत घोषित भएका थिए ।

तिलकले यसअघि नेपालको यू–१९ राष्ट्रिय टिमबाट खेलिसकेका छन् । उनले आईसीसी यू–१९ पुरुष विश्वकप समेत खेलेका छन् । यस्तै लुम्बिनी प्रदेशबाट डोमेस्टिक क्रिकेट पनि खेल्दै आएका छन् ।

युवा लेग स्पीनर तिलकलाई भविष्यमा नेपालको सम्भावना भएको स्पीनरको रुपमा हेरिएको छ । उनले एनपीएलको पहिलो संस्करण पनि लुम्बिनी लायन्सबाट खेलेका थिए र उनलाई दोस्रो संस्करणमा रिटेन गरिएको थियो । प्रेसिडेन्सियल ग्राजुएट स्कुलले विगत १५ वर्षदेखि व्यवस्थापन र पाँच वर्षदेखि आईटी संकायमा स्नातक तथा स्नातकोत्तर तहको शिक्षा प्रदान गर्दै आएको छ ।

एमालेले केन्द्रीय कमिटी बैठक बस्दै, विधान संशोधनबारे छलफल हुने

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको बन्द सत्र सुरू हुनुअघि केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ। बिहानै देखि बन्द सत्र सुरु गर्ने भनिए पनि अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाए पछि बन्द सत्र पछि सरेको छ ।

हिजो भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ । महाधिवेशनमा वर्तमान अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् ।

ओली पक्षमा पदाधिकारीका आकांक्षी धेरै भएपछि विधान संशोधनका लागि अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका हुन् ।

एमालेले गत भदौमा ललितपुरको गोदावरीमा विधान अधिवेशन गरी पदाधिकारी र केन्द्रीय समिति सदस्यको संख्या घटाएको थियो । यसअघि १९ पदाधिकारी र ३०१ जना केन्द्रीय कमिटी रहेकोमा विधान अधिवेशनमार्फत १५ पदाधिकारी र २५१ जनाको केन्द्रीय कमिटी हुने निर्णय भएको थियो । पदाधिकारीका आकांक्षी धेरै भएपछि ओली पुरानै प्रावधानमा फर्किने प्रयासमा लागेका हुन् । तर, ईश्वर पोखरेल समूहले यसको विरोध गर्दै आएको छ ।

शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवलाय बैठकमा विधान संशोधनको प्रस्ताव अस्वीकृत भएको थियो ।

एनआरएनए अध्यक्ष श्रेष्ठद्वारा अफ्रिकाका अभियन्ताहरूसँग अन्तरक्रिया: ‘एकतापछि संघलाई पुरानै लयमा फर्काउन आग्रह’

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेशकुमार श्रेष्ठले अफ्रिका महादेशका एनआरएन अभियन्ताहरूसँग भर्चुअल माध्यमबाट विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् । संघभित्र हालै कायम भएको एकताको खुसी र सन्देश प्रवाह गर्ने उद्देश्यले जुममार्फत कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले विगत केही वर्षदेखि संघमा देखिएको विवाद र विभाजनका कारण अभियान अप्ठ्यारोमा परेको स्मरण गरे । तर, अब संस्थागत एकता भइसकेको अवस्थामा संघ पहिलेकै स्वरूप र सक्रियतामा फर्कने विश्वास उनले व्यक्त गरे ।

अध्यक्ष श्रेष्ठले अफ्रिका क्षेत्रका एनआरएन अभियन्ताहरूलाई विगतका तीतामीठा कुराहरू बिर्सेर फेरि एकजुट भई क्रियाशील हुन आग्रह गरे । उनले भने, “एकतापछि अब हामी बलियो भएका छौं, अफ्रिका क्षेत्रमा पनि संघलाई पहिलेकै अवस्था र उचाइमा पुर्‍याउन म यहाँहरू सम्पूर्णमा विशेष अनुरोध गर्दछु ।”

कार्यक्रममा अफ्रिकाका विभिन्न मुलुकमा रहेका एनआरएन प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन, एनआरएनए प्रवक्ता गंगाधर गौतम र सल्लाहकार हिक्मत थापाले आ-आफ्नो धारणा राखेका थिए ।

त्यसैगरी, अफ्रिका क्षेत्रीय संयोजक कृष्णदत्त भट्ट (केन्या), महिला क्षेत्रीय संयोजक डा. सरिता पाण्डे भट्टराई (दक्षिण अफ्रिका), क्षेत्रीय सहसंयोजकद्वय छवि श्रेष्ठ (सेसेल्स) र विकास सुवेदी (घाना) को पनि सहभागिता थियो ।

कार्यक्रममा क्षेत्रीय महिला सहसंयोजक शान्ति सुवेदी (बोत्स्वाना), क्षेत्रीय युवा संयोजक भरत रिजाल (नाइजेरिया), उपसंयोजक सन्तोष उदास (तान्जानिया), एनसिसी दक्षिण अफ्रिकाका अध्यक्ष डा. पुष्प भट्टराई, एनसिसी केन्याका उपाध्यक्ष भरत रेग्मी, तथा अन्तर्राष्ट्रिय समितिका मानार्थ परिषद सदस्यहरू मन थापा (नाइजेरिया) र रमेश शर्मा (रवान्डा) लगायतको उपस्थिति रहेको थियो ।

सहभागीहरूले अध्यक्ष श्रेष्ठको एकताको सन्देशलाई स्वागत गर्दै अफ्रिका क्षेत्रमा एनआरएनएको अभियानलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

धावक सनमाया र रनमाया थाइल्याण्डमा सम्मानित

काठमाडौँ – थाइल्याण्डको प्रसिद्ध पर्यटकीय तथा साहसिक खेलकुद गन्तव्य च्याङ्गमाईमा गत साता आयोजित विश्वप्रसिद्ध अन्तरराष्ट्रिय ट्रेल रन प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेका नेपाली धावकद्वय सनमाया बुढा र रनमाया बुढालाई नेपाली राजदूतावास बैङ्ककले सम्मान गरेको छ ।

उक्त अन्तरराष्ट्रिय ट्रेल रन प्रतियोगिता विश्वकै सबैभन्दा प्रतिष्ठित र चुनौतीपूर्ण अल्ट्रा ट्रेल रन प्रतियोगितामध्ये एक मानिन्छ । थाइल्याण्डको उत्तरी पहाडी भूभाग, जङ्गल उकालो–ओरालो तथा कठिन भौगोलिक संरचनालाई समेटेर आयोजना गरिएको उक्त प्रतियोगितामा विश्वका विभिन्न देशका व्यावसायिक तथा अनुभवी धावकको सहभागिता थियो ।

सो कठिन र प्रतिष्ठित एक सय किलोमिटर लामो ट्रेल रनमा जुम्लाकी धावक सनमाया बुढाले चौथो स्थान हासिल गर्न सफल भएकी थिइन् । त्यस्तै, ५० किलोमिटर लामो ट्रेल रनमा सहभागी धावक सनमायाकी बहिनी रनमाया बुढाले सातौँ स्थान हासिल गर्दै नेपाली धावकको क्षमताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेकी थिइन् ।

उक्त सफलताको कदर गर्दै शनिबार नेपाली राजदूतावास, बैङ्ककमा आयोजित सम्मान कार्यक्रममा धावक सनमायाले जुम्लाको दुर्गम भूगोल, अभावपूर्ण जीवन अवस्था, निरन्तर सङ्घर्ष, कठोर अभ्यास र आत्मविश्वासको यात्राबारे आफ्नो प्रेरणादायी अनुभव सुनाइन् । उनको सङ्घर्षशील यात्राले कार्यक्रममा उपस्थित सबैलाई भावुक र प्रेरित बनाएको थियो ।

कार्यक्रममा नेपाली राजदूतावासका उपनियोग प्रमुख मोतीबहादुर श्रीसले धावकद्वयलाई बधाई दिँदै खादा लगाई मायाको चिनो प्रदान गरी सम्मान गर्नुभयो । उहाँले नेपाली खेलाडीको अन्तरराष्ट्रिय सफलताले नेपाललाई विश्वमा चिनाउन महत्त्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै भविष्यमा पनि यस्ता प्रतिभालाई प्रोत्साहन गर्न राजदूतावास सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले दूतावासले आयोजना गर्न लागेको लुम्बिनी नेपाल मिनी म्याराथुनका बारेमा समेत प्रकाश पार्नुभएको नेपाली दूतावास बैङ्ककले जनाएको छ ।

कार्यक्रममा नेपाली राजदूतावासका कर्मचारी, गैरआवासीय नेपाली सङ्घ, थाइ–नेपाली सङ्घ, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा शिक्षा, पेसा, व्यवसायमा संलग्न लब्धप्रतिष्ठितको उपस्थिति थियो । कार्यक्रममा सहभागी संस्थाका अध्यक्ष कुमार कार्कीले धावकद्वयलाई प्रोत्साहनस्वरुप रु एक लाख सहयोग प्रदान गर्नुभयो । साथै, कार्यक्रममा उपस्थित अन्य नेपाली तथा गैरआवासीय नेपाली सङ्घका पदाधिकारीले पनि आ–आफ्नो तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माण गर्न सघाउ पुर्याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौँ – राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न धेरै सघाउ पुर्याएको बताउनुभएको छ । संसद् सेवा दिवस– २०८२ का अवसरमा आज सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँले सो कुरा बताउनुभएको छ ।

लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि भएका सबैखाले सङ्घर्षहरूमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले भन्नुभएको छ, “मौलिक ढङ्गले संसदीय परिपाटीको सञ्चालन गर्दै संसद्लाई जीवन्त र जनमुखी बनाई लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण गर्दै लोकतन्त्रको लाभलाई जनस्तरसम्म पुर्याउनु आजको आवश्यकता हो ।” संसद्को जनउत्तरदायी, पारदर्शी र प्रभावकारिताबारे समीक्षा गर्नुपर्ने उहाँको भनाइ छ ।

उपाध्यक्ष घिमिरेले संसद्लाई अझै जनउत्तरदायी, पारदर्शी र प्रभावकारी बनाउन सांसद, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम र जनताले साझा प्रयास गर्नुपर्ने उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “संसद् बलियो हुँदामात्र संविधान कार्यान्वयन हुन्छ, शासन उत्तरदायी बन्छ र जनताले सुशासन अनुभव गर्न पाउँछन्, सबै पक्षको साझा प्रतिबद्धता र समन्वयात्मक प्रयासबाट मात्र संसद्को गरिमा पुनःस्थापना गर्न सकिन्छ, जसले लोकतन्त्रलाई बलियो बनाउँछ र जनतामा विश्वास जागृत गराउँछ । जनताका मुद्दालाई सशक्त रूपमा उठाउन सक्ने क्षमताको विकास गर्नु जरुरी छ ।”

“संसद् नागरिकको आवाज, आकाङ्क्षा, विचार र आवश्यकता बोकेको संस्था हो, नेपालले लामो सङ्घर्षपछि लोकतन्त्र र सङ्घीय प्रणाली अवलम्बन गर्दै संसद्लाई जनताको सर्वोच्च प्रतिनिधि निकायका रूपमा स्थापित गरेको छ”, उपाध्यक्ष घिमिरे भन्नुभएको छ ।

‘जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न प्रतिबद्ध बनौँ’ – उपसभामुख राना

काठमाडौँ – उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत नै शासन सञ्चालन हुने अवस्था स्थापित गर्न साझा प्रतिबद्धताको आवश्यकता औँल्याउनुभएको छ ।

सङ्घीय संसद् सेवा दिवस २०८२ का अवसरमा आज सबैमा शुभकामना व्यक्त गर्दै उहाँले बदलिँदो युगमा संसद् सेवाको प्रभावकारिता अझ सबल, छरितो र परिणाममुखी बन्न अपरिहार्य रहेको बताउनुभयो ।
उपसभामुख रानाले भन्नुभएको छ, “सांसदहरूले आफ्नो संवैधानिक दायित्व कुशलतापूर्वक निर्वाह गर्न सकून् भन्ने उद्देश्यले संसद् सेवाले कार्यसूची निर्माणदेखि कानुन निर्माण प्रक्रियासम्म, बहस तथा निर्णयहरूको दर्ता–अभिलेख व्यवस्थापन, तथ्याङ्क उपलब्धता र सूचना प्रवाहसम्मका सबै काम गर्दै आएको छ, आजको सन्दर्भमा यसको थप प्रभावकारिताको आवश्यकता छ ।”

उहाँले सूचना प्रविधीमैत्री प्रणाली विस्तार, डिजिटल अभिलेख व्यवस्थापन, इ–पार्लियामेन्ट प्रणाली तथा छरितो सूचना प्रवाह, नीतिगत निर्णयका लागि आवश्यक विश्लेषण र अनुसन्धानलाई प्रभावकारी बनाउने, कर्मचारीको क्षमता अभिवृद्धि, दक्ष जनशक्तिलाई आकर्षित गर्दै अन्तरराष्ट्रियस्तरको सिकाइ आदानप्रदानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

सङ्घीय संसद् सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाको मेरुदण्ड र सरकारका कामकारबाहीमा निगरानी गर्ने जनप्रतिनिधिको सर्वोच्च संस्था भएको उल्लेख गर्दै उपसभामुख रानाले सङ्घीय संसद्को भूमिकालाई अझ प्रभावकारी र परिणाममुखी बनाउनुपर्छ भन्ने आवश्यकता झन् स्पष्ट रूपमा देखिएको बताउनुभयो ।

शुभकामना सन्देशमा भनिएको छ, “संसद्को प्रभावकारी सञ्चालनका लागि आवश्यक प्रशासनिक, प्राविधिक र व्यवस्थापकीय सहयोग प्रदान गर्नु संसद् सेवाको महत्त्वपूर्ण जिम्मेवारी हो । संसद्का पदाधिकारी, सदस्य तथा कर्मचारी सबैले संसद् सेवाको गरिमा, मूल्य–मान्यता र कर्तव्यबोधलाई निरन्तर उच्च राख्दै कार्यसम्पादन गर्नुपर्छ ।”

दिवसले सबैलाई संसद् सेवाको गौरवमय भूमिकाप्रति पुनः प्रतिबद्ध गराउनुका साथै निकट भविष्यमा संसद्को सर्वोच्चता प्रत्याभूत हुने, जनप्रतिनिधिमार्फत नै शासन सञ्चालन हुने, पारदर्शी र जनअपेक्षाअनुरूपको संसद् सेवा निर्माण गर्ने उहाँको विश्वास छ ।

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ८८, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ८८, आलु रातो प्रतिकिलो रु ५०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, आलु सेतो प्रतिकिलो रु ३० र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४५ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो रु १००, गाजर (तराई) प्रतिकिलो रु ८०, बन्दा (लोकल) प्रतिकिलो रु ६०, बन्दा (तराई) प्रतिकिलो रु ५०, बन्दा (नरिवल) प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ७०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ९०, काउली तराई प्रतिकिलो रु ६०, रातो मूला प्रतिकिलो रु ५०, सेतो मूला (लोकल) प्रतिकिलो रु २५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ४०, भन्टा लाम्चो प्रतिकिलो रु ८०, भन्टा डल्लो प्रतिकिलो रु ९०, बोडी तने प्रतिकिलो रु १८०, मकै बोडी प्रतिकिलो रु ८० कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु १४०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ११०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु १३०, तिते करेला प्रतिकिलो रु १२०, लौका प्रतिकिलो रु ८०, परबर (लोकल) प्रतिकिलो रु १००, परबर (तराई) प्रतिकिलो रु १००, घिरौँला प्रतिकिलो रु १२०, फर्सी पाकेको प्रतिकिलो रु ४०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ६०, सलगम प्रतिकिलो १००, भिन्डी प्रतिकिलो १७०, सखरखण्ड प्रतिकिलो ७५, पिँडालु प्रतिकिलो रु ९० र स्कुस प्रतिकिलो रु ३० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकेजी रु १००, चमसुर प्रतिकिलो रु १००, तोरीको साग प्रतिकिलो रु ५०, मेथीको साग प्रतिकिलो रु १५०, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु १५०, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १५०, च्याउ (डल्ले) प्रतिकिलो रु ३०० र कुरिलो प्रतिकिलो रु १२०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु १२०, चुकुन्दर प्रतिकिलो रु ९०, रातो बन्दा प्रतिकिलो रु १८०, जिरीको साग प्रतिकिलो रु २००, सेलरी प्रतिकिलो रु ३००, पार्सले प्रतिकिलो रु ६००, सौफको साग प्रतिकिलो रु १५०, पुदिना प्रतिकिलो रु ४००, गान्टेमुला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १४०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ४०० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु २००, कागती प्रतिकिलो रु ११०, अनार प्रतिकिलो रु ४००, सुन्तला (नेपाली) प्रतिकिलो रु १२०, तरबुजा हरियो प्रतिकिलो रु १००, मौसम प्रतिकिलो रु १००, जुनार प्रतिकिलो रु १४०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, निबुवा प्रतिकिलो रु ७०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २३०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ७५, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु ३००, सरिफा प्रतिकिलो रु २२० र आभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु ८०, अदुवा प्रतिकिलो रु ९०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १००, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु २३०, भेडे खुर्सानी प्रतिकिलो रु १२०, हरियो लसुन प्रतिकिलो रु १००, हरियो धनियाँ प्रतिकिलो रु ७०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २३०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु १४०, राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु १००० र काँक्रो (लोकल क्रस) प्रतिकिलो रु ५५ निर्धारण गरिएको छ ।

एमाले महाधिवेशनः आज भृकुटीमण्डपमा बन्दसत्र सुरु

काठमाडौँ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । नयाँ नेतृत्व चयनका लागि आज (आइतबार )बिहान साढे ७ बजेदेखि बन्दसत्र सञ्चालन हुने छ ।

बन्दसत्रमार्फत आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गरिनेछ । देशभरका करिब साढे ६ लाख पार्टी सदस्यहरूमध्येबाट छनोट भएका २ हजार २ सय ६२ जना प्रतिनिधिले एक अध्यक्ष , महासचिव एक, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछन् ।

महाधिवेशन प्रस्ताव लेखन तथा माइन्युट लेखन समितिको जिम्मेवारी उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई दिइएको छ ।

गुटेर्रेसद्वारा इराकमा संयुक्त राष्ट्रसङ्घको मिसन समापनको घोषणा

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इराकमा संयुक्त राष्ट्रसङ्घको राजनीतिक मिसन अन्त्य भएको घोषणा गर्नुभएको छ। बग्दादको अनुरोधमा इराकका लागि संयुक्त राष्ट्रसङ्घ सहायता मिशन (युएनएएमआई) ले सन् २००३ को आक्रमण र कब्जापछि देशको सङ्क्रमणकालमा सहयोग गरेको २२ वर्षपछि आफ्नो अभियान बन्द गर्नेछ ।

मिसनको समापन समारोहमा गुटेर्रेसले भन्नुभयो, “इराकी जनतासँग काँधमा काँध मिलाएर हिँड्न पाएकोमा युएनएएमआई आभार व्यक्त गर्दछ ।”उहाँले भन्नुभयो, “मिसन टुङ्गिए पनि संयुक्त राष्ट्रसङ्घ इराकका जनतासँगै शान्ति, दिगो विकास र मानव अधिकारको मार्गमा अघि बढ्नेछ ।”

इराकमा संयुक्त राष्ट्रसङ्घका सङ्घसंस्था र कार्यक्रमहरू जारी रहनेछन् ।यसअघि इराकका प्रधानमन्त्री मोहम्मद सिया अल–सुडानीसँगको पत्रकार सम्मेलनमा महासचिव गुटेर्रेसले भन्नुभयो, “विश्वले बुझ्नै पर्ने एउटा कुरा छ, इराक अब सामान्य देश बनेको छ ।”

उहाँले भन्नुभयो, “युएनएएमआईको अन्त्यसँगै संयुक्त राष्ट्रसङ्घ र इराकबीचको सम्बन्ध सामान्य बन्नेछ ।”यसैबीच, सुडानीले भन्नुभयो, “युएनएएमआई सहयोगकोे अन्त्य ‘सहयोगको नयाँ अध्याय’को सुरुवात हो ।”

उहाँले भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घसँगको हाम्रो सम्बन्ध इराकको आवश्यकता पूरा गर्न र पूर्ण आत्मनिर्भरताको चरणमा नपुगुञ्जेल सहयोग गर्न निर्णायक र प्रभावकारी थियो।चार वर्षपछि विस्तार हुनुअघि इराकी सरकारको अनुरोधमा संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रस्तावद्वारा युएनएएमआईको स्थापना गरिएको थियो।

सन् २००३ को अगस्ट १९ मा संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा ट्रक बम विस्फोट हुँदा इराकका लागि संयुक्त राष्ट्रसङ्घका पहिलो विशेष प्रतिनिधि सर्जियो भिएरा डे मेलोसहित २१ जनाको मृत्यु भएको थियो । युएनएएमआईको कार्यहरूमा सरकारलाई राजनीतिक संवाद र मेलमिलापमा सल्लाह दिनु, साथै चुनाव र सुरक्षा क्षेत्र सुधारमा सहयोग गर्नु रहेको थियो।

मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड

भारतको तीन दिने भ्रमणमा रहेका विश्व प्रसिद्ध अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेस्सीले एक्कासि रङ्गशाला छाडेपछि आक्रोशित दर्शकले ‘ब्यारिकेड’ तोडेर मैदानमा आक्रमण गरेका छन्। अर्जेन्टिना र इन्टर मियामीका सुपरस्टार ३८ वर्षीय मेस्सी शनिबार बिहान पूर्वी राज्य पश्चिम बङ्गालमा पुग्नुभएको थियो ।

मेस्सीको जर्सी लगाएका र अर्जेन्टिनी झण्डा फहराउँदै राज्यको राजधानी कोलकातास्थित साल्टलेक रङ्गशालामा खचाखच भरिएका हजारौं समर्थकले मेस्सीलाई प्रत्यक्ष धितमर्ने गरी हेर्न नपाएकोमा गुनासोसमेत गरेका थिए ।

मेस्सीले समर्थकको आतिथ्यताका लागि हात हल्लाउँदै मैदानको वरिपरि घुमेर अपेक्षा गरिएको समयभन्दा पहिले नै स्टेडियमबाट बाहिरिएको रङ्गशालामा पुगेका दर्शकहरूले बताए ।

टिकटको लागि १०० अमेरिकी डलरभन्दा बढी तिरेका निराश प्रशंसकहरूले आवेगमा रङ्गशालाका सीटहरू च्यातेका थिए र पानीका बोतलहरू ट्र्याकमा फ्याँकेका थिए भने केहीले मैदानमा प्रवेश गरी ब्यानर र पालहरू तोडफोड गरेका थिए ।

“मेस्सीलाई प्रत्यक्ष हेर्नु मेरा लागि खुसीको कुरा हो, सपना हो । तर, रङ्गशालाको अव्यवस्थाका कारण एक झलक हेर्ने मौका गुमाएको छु,” ३७ वर्षीय व्यवसायी नवीन चटर्जीले भन्नुभयो । तोडफोड सुरु हुनुअघि मेस्सीले २१ मिटर (७० फिट) को विश्वकपमा अग्लो देखाइएको आफ्नै सालिक अनावरण गर्नुभएको थियो ।

उहाँले स्टेडियममा छोटो प्रदर्शनी खेल पनि खेल्ने अपेक्षा प्रसंशकहरूले गरेका थिए । अर्का एक प्रशंसकले प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) सँग मानिसहरूले मेस्सीलाई हेर्नको लागि ‘एक महिनाको तलब’ खर्च गरेका बताए ।

“मैले टिकटका लागि ५५ हजार रुपैयाँ तिरेको थिएँ र मेरो छोरासँग मेस्सी हेर्न आएको थिएँ, राजनीतिज्ञ होइन । प्रहरी र सेनाका जवानले उहाँसँग सेल्फी खिचिरहेका थिए र यसको दोष व्यवस्थापनको हो,” पिटिआईले दर्शकमध्येका एक अजय शाहलाई उद्धृत गरी लेखेको छ।

राज्यकी मुख्यमन्त्री ममता बनर्जीले आफू अव्यवस्थाबाट ‘विचलित’ र ‘दुःखी’ भएको बताउनुभएको छ। उहाँले भन्नुभयो, “म यस घटनाका लागि मेस्सी, सबै खेलप्रेमी र उहाँका प्रशंसकहरूसँग माफी माग्छु।”

मेस्सी कोलकातापछि हैदरावाद, मुम्बई र नयाँ दिल्ली जाने कार्यक्रम रहेको थियो । भारतमा उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने सम्भावना रहेको बताइएको छ ।

इन्टर मियामीलाई एमएलएसको उपाधि जिताउँदै मेस्सीले लगातार दोस्रो पटक यसै हप्ता ‘मेजर लिग सकर मोस्ट भ्यालुएबल प्लेयर अवार्ड’ जित्नुभएको छ। बार्सिलोना र पेरिस सेन्ट जर्मेन (पिएसजी) का पूर्व स्ट्राइकर मेस्सीले आगामी जुन–जुलाईमा उत्तर अमेरिकामा हुने विश्वकपमा अर्जेन्टिनाको रक्षापंक्तिको नेतृत्व गर्नुहुनेछ।

बढ्दो उमेरले अनुभवी बनाएको छ – अभिनेत्री भुसाल

काठमाडौँ – अभिनेत्री बसुन्धरा भुसालले बढ्दो उमेरलाई आयु घटिरहेको नभई अनुभवी बनिरहेको भनेर बुझ्न आग्रह गर्नुभएको छ । न्युरोडमा रहेको रञ्जना सिनेप्लेक्स नामक चलचित्र भवनमा धार्मिक र सामाजिक दायित्वको भावनालाई आत्मसात् गर्दै बढ्दो उमेर, स्वास्थ्य र विदेशिएका सन्ततिप्रतिको चिन्तालाई विषयवस्तु बनाएर तयार पारिएको गीत ‘गयो गयो उमेर, बाँचौँ रमेर’को श्रव्यदृश्य सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा अभिनेत्री भुसालले कलाकारिता र उमेरका चुनौतीका विषयमा चर्चा गर्नुभयो ।

उहाँले भन्नुभयो, “बढ्दो उमेरले हामीलाई अनुभवी बनाएको छ । आफ्नो स्वास्थ्यको ख्याल राख्न सके बढ्दो उमेरको सुन्दरतातर्फ हाम्रो ध्यान जान्छ । हामीले सकरात्मक पक्षलाई बढाउनु जरुरी छ । म आफैँ अहिले ७५ वर्षको भएँ, तर आफ्नो कामले मलाई अनुभवी बनाएको छ, बूढो होइन । यस्ता विषयलाई गीतले राम्रोसँग प्रस्ट्याएको छ, त्यसैले गीत सुन्दर बनेको छ ।”

अभिनेत्री भुसालले ढिलै भए पनि आफ्नो इच्छालाई पूर्णता दिएको भन्दै गायिका लक्ष्मी भुजेल महर्जनलाई गायन क्षेत्रमा निरन्तरता दिन आग्रह गर्नुभयो । “मैले अभिनयको सुरुआत गर्दा परिवार र समाज दुवैबाट साथ पाउन मुस्किल थियो । समाजले मेरो अगाडि प्रसंशा गरे पनि कुरा काटेको पनि सुनेकी छु । अहिले गायिका महर्जनलाई झन्डै ५० वर्षको उमेरमा परिवारले नै साथ दिएर गायिका बनाएको सुन्दा खुसी लाग्छ । हाम्रो समाजले कलालाई झन् धेरै सम्मान गर्न लागेको अनुभूति हुन्छ”, उहाँले भन्नुभयो ।

अभिनेत्री मिथिला शर्माले गायिका महर्जनको आँटलाई देखेर आफू प्रभावित भएको बताउनुभयो । उहाँले गायिका महर्जनको सपनाको एउटा हिस्सा बन्न पाउँदा खुसी व्यक्त गर्नुभयो । “उमेरले हामीलाई केहीमा रोक्न सक्दैन भन्ने एउटा उदाहरण नै गायिका महर्जन हुनुहुन्छ । हामी अहिले पनि आफ्नो काम गरिरहेका छौँ, त्यसैले बढ्दो उमेरसँग डराउने नभई रमाउने हो । आफ्नो कर्ममा इमान्दारिताका साथ लाग्नुपर्छ, यो सन्देश गीतले दिएको छ”, उहाँले भन्नुभयो ।

गायिका महर्जनले बाल्यकालदेखि नै गायनमा रूचि भए पनि पारिवारिक दायित्वका कारण निरन्तरता दिन नसकेको बताउनुभयो । पछिल्लो समय दिदी सुशीला भुजेलले रचना गर्नुभएको शब्दमा स्वर भर्ने गायिका खोज्दै गर्दा सङ्गीतकार शिव शाहीले गीत गाउन प्रेरणा दिनुभएको गायिका महर्जनले स्मरण गर्नुभयो ।

“मैले परिवारलाई समय दिएँ, किनकि त्यो समयमा मेरो त्यही दायित्व थियो । अहिले परिवारको साथले मैले आफ्नो सपना पूरा गरेकी छु । मैले यत्तिकै ‘डमी’ गाएकी थिएँ, हामी अर्कै स्वर खोजिरहेका थियौँ । सङ्गीतकार शाहीले मेरो स्वरमै सुहाउँछ भनेपछि मैले गएकी हुँ । यो सुरुआत हो, मैले पहिलो पाइला टेकेकी छु”, गायिका महर्जनले भन्नुभयो ।

सार्वजनिक गीतको श्रव्यदृश्यमा अभिनेत्री शर्मासँगै कृष्णभक्त महर्जन, अर्जुन रञ्जित, जिनेन्द्रमान जोशी, न्युछे महर्जन, सुशीला भुजेल, लक्ष्मी भुजेल महर्जन, सविना महर्जन, उर्मिला जोशी, सृजना मानन्धर, लीला कट्टेल, जिभिसनमान जोशी, बीना जोशी, नीरज अंशु प्रधान, चन्द्रमान श्रेष्ठ, रमेश श्रेष्ठ, राहुल थापालगायतले अभिनय गर्नुभएको छ ।

सङ्गीतकार शिव शाहीको कर्णप्रिय सङ्गीतमा तयार भएको उक्त गीतको श्रव्यदृश्यमा भवानी शिलाकारले छायाङ्कन, प्रिया कार्कीले शृङ्गार र रवि सायमीले सम्पादन तथा निर्देशन गर्नुभएको छ ।

धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

बेलबारी (मोरङ) – जिल्लामा बेमौसमी वर्षाका कारण यस वर्ष धान उत्पादन घटेको छ । धान उत्पादनको हिसाबले देशमै राम्रो मानिने मोरङमा गत वर्षभन्दा यस वर्ष दुई हजार ८४ मेट्रिक टन धान उत्पादन घटेको हो ।

मोरङस्थित कृषि ज्ञान केन्द्रकी प्रमुख दीपा देवका अनुसार कात्तिक दोस्रो साताको बेमौसमी वर्षाले धानखेतीमा क्षति पुग्दा उत्पादन घटेको आकलन रहेको बताउनुभयो । गत वर्ष जिल्लामा तीन लाख ३९ हजार तीन दशमलव ४५ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष तीन लाख ३६ हजार ९१९ दशमलव ४१ मेट्रिक टन उत्पादन भएको उहाँले जानकारी दिनुभयो । गत वर्ष प्रतिहेक्टर चार दशमलव ८८ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष प्रतिहेक्टर चार दशमलव ८५ मेट्रिक टनमात्र उत्पादन भएको हो । यस वर्ष जिल्लामा ६९ हजार ४६७ दशमलव ९२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको तथ्याङ्क छ ।

“खेतीयोग्य जमिन आसपासका खोलानाला मास्ने क्रम बढ्दो भएकाले पानीको निकास हुन सकेन र पाकेको धानमा बढी क्षति पुगेर उत्पादन घटेको हुनसक्ने हाम्रो अनुमान छ”, कृषिविज्ञ राजेन्द्र उप्रेतीले भन्नुभयो । उहाँले यस वर्ष धान राम्रो उत्पादन भए पनि थन्क्याउने समयमा बेमौसमी वर्षाले असर पुगेको बताउनुभयो । बेलबारी–११ भाङबारीका वीरेन्द्र खत्रीले करिब छ बिघा जमिनमा लगाएको धानखेतीमा करिब ९० मन धानमा बेमौसमी वर्षाले क्षति पुगेको बताउनुभयो । धानमा क्षतिसँगै मूल्यमा पनि गिरावट आएकाले किसान चिन्तित हुनुपरेको खत्री बताउनुहुन्छ ।

यस वर्ष धानको बजार मूल्य प्रतिमन रु एक हजार २०० देखि रु एक हजार ३०० सम्म रहेको उहाँले सुनाउनुभयो । गत वर्ष मङ्सिरमा धानको बजार मूल्य प्रतिमन रु एक हजार ७०० देखि रु एक हजार ८०० सम्ममा कारोबार भएको खत्रीले जानकारी दिनुभयो ।

जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छः सभामुख घिमिरे

काठमाडौँ, २८ मङ्सिरः सभामुख देवराज घिमिरेले कार्यक्षमता र व्यावसायिक निष्ठालाई थप उच्च बनाउँदै जनउत्तरदायी संसदीय अभ्यासमा जुट्न आह्वान गर्नुभएको छ ।

संसद् सेवा दिवस–२०८२ का अवसरमा आज सङ्घीय संसद् सचिवालयमा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीमा सुख, शान्ति र प्रगतिको शुभकामना व्यक्त गर्दै उहाँले सम्पूर्ण कर्मचारी साथीहरूलाई आफ्नो कार्यक्षमता र व्यावसायिक निष्ठालाई थप उच्च बनाउँदै जनउत्तरदायी संसदीय अभ्यासमा जुट्न आह्वान गर्नुभएको हो । आजभन्दा १९ वर्षअघि संसदीय अभ्यासलाई थप प्रभावकारी, मर्यादित र व्यावसायिक बनाउन छुट्टै ऐनद्वारा संसद् सेवाको गठन गरिएको स्मरणमा हरेक वर्ष मङ्सिर २८ गते संसद् सेवा दिवस मनाउने गरिएको छ ।

राज्यको सर्वोच्च जनप्रतिनिधिमूलक संस्थाका रूपमा रहेको सङ्घीय संसद्लाई प्रशासनिक र प्राविधिक सहयोग पुर्याउँदै आएको संसदीय सेवाको भूमिका संविधानको सफल कार्यान्वयन र कानुन निर्माण प्रक्रियामा अत्यन्त महत्त्वपूर्ण रहेको सभामुख घिमिरेको भनाइ छ ।

उहाँले भन्नुभएको छ, “संसद् सेवा लोकतन्त्रको मन्दिरको लिइने संसद्लाई सुचारु राख्ने एक पवित्र जिम्मेवारी पनि हो, राजनीतिक रूपमा निष्पक्ष, व्यावसायिक रूपमा दक्ष र प्रक्रियागत रूपमा पारदर्शी कर्मचारी संयन्त्र नै जीवन्त संसद्को आधार हो, संसद्को स्वायत्तता कायम राख्दै यस सेवालाई समयसापेक्ष, प्रविधिमैत्री र विशिष्टीकृत बनाउन हामी सबैको सामूहिक प्रयास रहनेछ भन्ने विश्वासका साथ पुनः सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

मुआब्जा नपाएपछि माथिल्लो रावाखोला आयोजना बन्द

खोटाङ, २८ मङ्सिरः प्रवर्द्धक कम्पनीले मुआब्जा नदिएपछि केपिलासगढी गाउँपालिकाका जग्गाधनीले माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना पुनः बन्द गराएका छन् । विद्युत् आयोजनाले ओगटेको निजी जग्गाको उचित मुआब्जा तथा क्षतिपूर्ति नपाएको भन्दै जग्गाधनीले तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत् आयोजनाको उत्पादन बन्द गराएका हुन् ।

यही मङ्सिर ६ गते प्रवर्द्धक कम्पनीका प्रतिनिधि र जग्गाधनीबीच मङ्सिर २५ गतेभित्र क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको थियो । दुई पक्षबीच गरिएको लिखित सहमति प्रवर्द्धक कम्पनीले कार्यान्वयन नगरेपछि जग्गाधनीले सोही दिनदेखि पानी टरबाइनबाट हटाएर खोलातिर फर्काइदिएका थिए । लामो समयदेखि मुआब्जा नपाएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका स्थानीयवासीले गत चैतमा पनि उक्त जलविद्युत् आयोजना बन्द गराएका थिए । जग्गाधनीले मुआब्जा नदिएसम्म जलविद्युत् आयोजनाको उत्पादन बन्द गर्ने चेतावनी दिएका छन् ।

सुङ्देल र केपिलासगढी गाउँपालिका–६, दिप्सुङको सिमानामा रहेको रावाखोलाबाट उत्पादन गरिएको तीन मेगावाट क्षमताको आयोजना २०७७ भदौ १६ गते नेसनल ग्रिडमा जोडिएको थियो । कम्पनीले पोल गाडिएका जग्गाको क्षतिपूर्ति दिए पनि तार र पाइपलाइनले ओगटेको जग्गाको क्षतिपूर्ति नदिएको स्थानीयले बताएका छन् । जलविद्युत् आयोजना सञ्चालन भएको वर्षौँ वित्दा पनि रावा इनर्जी डेभलपमेन्ट प्रालिले उपयोग गरेको जग्गाको मुआब्जा तथा क्षतिपूर्ति नदिएका कारण आयोजना बन्द गरेको स्थानीय माइतीराज राईले जानकारी दिनुभयो ।

“गत चैतमा पनि स्थानीयले उक्त जलविद्युत् आयोजना बन्द गराएका थिए । मुआब्जा तथा क्षतिपूर्ति उपलब्ध गराउने सहमतिपश्चात सञ्चालनमा आएको थियो”, उहाँले भन्नुभयो, “सहमति कार्यान्वयनमा नआएपछि उपभोक्ताले पुनः आयोजना बन्द गराएका हुन् । यस विषयमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।”

स्थानीय जग्गाधनीले आयोजना सञ्चालन गर्न ओगटिएको सम्पूर्ण जग्गाको निष्पक्ष मूल्याङ्कनसहित तुरुन्त क्षतिपूर्तिदिनुपर्ने, जालपादेखि विद्युत् गृहसम्मको सडक मर्मत, सोलिङ तथा ढल व्यवस्थापन गर्नुपर्ने, हिउँदमा खोलामा १०–१५ प्रतिशत पानी अनिवार्य छाड्नुपर्ने, सरकारी जग्गा प्रयोग गर्दा कानुनी अनुमति लिनुपर्ने, प्रभावित स्थानीयलाई प्राथमिकतामा राखेर समस्या समाधान गर्नुपर्नेलगायत माग राखेका छन् ।

आयोजनाका सञ्चालक समितिका सदस्य राजन दाहालले अहिले उठाइएका कतिपय माग सम्बोधन गर्न नसकिने बताउनुभयो । केपिलासगढी गाउँपालिकाको समन्वयमा रावा इनर्जी डेभलपमेन्ट कम्पनी र निजी तथा सार्वजनिक सम्पत्ति संरक्षण सङ्घर्ष समितिबीच २०८१ चैत ५ गते बसेको बैठकमा मुआब्जा समन्वय समिति गठन गरिएको थियो । स्थानीय पटनबहादुर राईको संयोजकत्वमा गठित समितिले रावा इनर्जी डेभलपमेन्ट कम्पनीसँग समन्वय गरेर ३५ दिनभित्र जग्गादातालाई मुआब्जा उपलब्ध गराउने सहमति गरेको थियो ।

गाउँपालिकाको कार्यालयमा बसेर गरिएको सहमति कार्यान्वयन नभएपछि जिल्ला प्रशासन कार्यालयलाई समेत ज्ञापनपत्र बुझाएका थिए । गत वैशाख ३० गते ज्ञापनपत्र बुझ्नुहुँदै तत्कालीन निमित्त प्रमुख जिल्ला अधिकारी सागर साहले समस्या समाधान गर्न पहल गर्ने बताउनुभएको थियो । तर हालसम्म प्रशासनले कुनै पहल नगरेको स्थानीयवासीको आरोप छ ।

एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग

भक्तपुर, २८ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा भएको छ । देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवं शुभेच्छुकको उल्लेखनीय सहभागिता रहेको तीनदिने महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभयो । महाधिवेशनको उद्घाटन सत्रपछिका बाँकी कार्यक्रम काठमाडौँको भृकुटीमण्डपमा हुनेछन् ।

ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेको काठमाडौँ उपत्यकाको सबैभन्दा पुरानो मन्दिर एवं विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरको काख सल्लाघारीमा कलात्मक ढङ्गबाट बनाइएको मञ्च आकर्षणको केन्द्र बन्यो । नेपाल ट्रष्टको स्वामित्वमा रहेको एक सय आठ रोपनी चौरमा उपस्थित अधिकांश सहभागीले उक्त ऐतिहासिक मन्दिरका बारेमा चासो राख्दै घुमफिर तथा दर्शन गर्ने सन्दर्भमा एकापसमा कुराकानी गरिरहेको सुनिन्थ्यो । ओखलढुङ्गाबाट महाधिवेशनस्थलमा आउनुभएका सन्तोष खड्काले चाँगुनारायण मन्दिरलाई स्टेजमा देखेर मन्दिर पुग्न मन आतुर भएको बताउनुभयो । साथीहरूसहितको टोलीले मन्दिर अवलोकन गर्ने जानकारी दिनुभयो ।

खड्काले भन्नुभयो, “चाँगुनारायण मन्दिर अहिलेसम्म पुगेका छैनाँै, महाधिवेशनको उद्घाटन सत्रअन्तर्गत मञ्च व्यवस्थापनका क्रममा निर्माण गरिएको मन्दिरको संरचना देख्दा त्यहाँ पुग्न मन लाग्यो, नजिकै रहेछ, अब चाँगुनारायण मन्दिर जाने भयौँ ।”

त्यसैगरी, खोटाङबाट आउनुभएका रवीन्द्र श्रेष्ठ महाधिवेशनमा बनाइएको ‘स्टेज’ले इतिहास र धार्मिक महत्वको मात्र प्रचार गरेन, मन्दिरको महत्वसँगै आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने बताउनुहुन्छ । स्टेजमा देखिएको मन्दिरको आँगनमा प्रत्यक्ष पुग्न अधिकांश सहभागी लालायित भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “महाधिवेशनका क्रममा काठमाडौँ आएका बेला अब एकपटक मन्दिर पुगिन्छ, साथीभाइसँगै घुमफिर गरी मन्दिरको दर्शन पनि गरिन्छ ।”

सांस्कृतिक झाँकी, न्याउली बाजादेखि जङ्कुसम्मले थप्यो रौनक

एमालेको महाधिवेशनमा समावेश गरिएका विभिन्न जातजाति, वेशभूषा एवं कला र संस्कृति झल्कने बाजागाजा, झाँकी एवं नृत्यदेखि नेवार समुदायमा ज्येष्ठ नागरिकले मनाउने जङ्कुसमेतको प्रदर्शनले महाधिवेशनको उद्घाटनसत्रलाई रौनकता थपेको देखिन्थ्यो । भक्तपुरका चारवटै पालिकाबाट आएका बाजागाजासहितको र्यालीमा धिमेबाजा, बैण्डबाजा, बाँसुरी बाजा, न्याउली बाजासहित नेवार सुमदायका महिलाले लगाउने पहिरन हाकुपटासीमा नृत्य, मगर, लामालगायत विभिन्न जातजातिको सांस्कृतिक झल्कोसहितको नृत्य, झाँक्री नृत्यलगायतको प्रदर्शनले उद्घाटनस्थललाई रोमञ्चित बनाएको थियो ।

त्यसैगरी, विभिन्न जिल्लाबाट आएका सहभागी सम्मिलित स्थानीय बाजा तथा सांस्कृतिक नाचसहितको र्याली हेर्नलायक देखिन्थ्यो । सहभागीहरू स्वःस्फूर्त रूपमा नाचगान गर्दै रमाइरहेका देखिन्थे । सल्लाघारीस्थित चौरमा कोही भाषण सुन्नमै मस्त थिए भने केही चौरमा विभिन्न जातजातिको पहिचान बोकेको नृत्यमाण्डलीसँगै मिसिएर नाचगान गर्न तल्लिन देखिन्थे ।

कार्यक्रमस्थलमा भक्तपुरको नेवार समुदायले ९९ वर्षीया हजुरआमालाई जङ्कुको भेषमा सिङ्गारिएको रथमा राखी ६ छोरानातिले बोकेर कार्यक्रमस्थलको अग्रभागमा प्रवेश गर्दा निकै रौनकता थपेको थियो । यस किसिमको जीवन्त संस्कृति र पहिचानलाई ७७ जिल्लाकै सहभागीले देख्ने, जान्ने मौका पाए । कार्यक्रम सम्पन्न हुने बेलासम्म पनि विभिन्न झाँकी एवं नाच प्रदर्शन भइरहेका थिए भने उद्घाटनसत्रको स्टेजमा समेत कार्यक्रमका बीचबीचमा विभिन्न गीत, नृत्य एवं सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

एमालेको १०औँ महाधिवेशनका क्रममा चितवनमा सडक अवरुद्ध भई जनजीवन अस्तव्यस्त भएको पाठबाट सिकी यसपटक एमाले भक्तपुर जिल्ला कमिटीले सम्बद्ध सुरक्षा निकायका पदाधिकारीसँग समन्वय गरी तयार गरेको रुटमा र्याली निकाल्दा कुनै पनि सडकमा कुनै पनि बाधाव्यवधान हुन पाएन । उल्लेखनीय जनसहभागिता रहे पनि काठमाडौँबाट भक्तपुर हुँदै काभ्रे जाने मुख्य सडक अरनिको राजमार्ग दिनभर सञ्चालनमा रह्यो ।

धरैले र्याली अव्यवस्थित भई सडक अवरुद्ध हुने आकलन गरिरहेको अवस्थामा गठ्ठाघर र जगातिबाट आएको र्याली ६ लेन सडकको ‘सर्भिस ट्रयाक’मात्र प्रयोग गरेको देखिन्थ्यो । दिनभर नै सवारीसाधन कुदिरहेका देखिन्थे । एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले पार्टीले र्याली आउने रुट निर्धारण गर्दै सर्भिस ट्रयाकमात्र प्रयोग गर्न ठाउँठाउँमा स्वयंसेवक र जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मी परिचालन गरेकाले सडक अवरुद्ध नभएको बताउनुभयो ।

जुजुधौ बिक्रेतादेखि साना व्यापारी खुसी

एमालेको उद्घाटनस्थलमा भक्तपुरको पहिचान बोकेको जुजुधौदेखि नवारी खाजासम्मका परिकारले सहभागीलाई सहज मात्र बनाएन विशेषगरी साना व्यापारी लाभान्वित भए । चौरको पश्चिम कुनामा राखिएको खाजाका केही कक्षमध्ये ‘जय शम्भो जुजुधौ सेन्टर’ले विभिन्न जिल्लाबाट आएका सहभागीलाई देशभर प्रख्यात भक्तपुरको उत्कृष्ट जुजुधौ खुवाउन पाएकामा खुसी व्यक्त गरेको छ । व्यवसायी कान्छाराम सैँजुले व्यापार राम्रो भएर खुसी भएको बताउँदै विभिन्न जिल्लाबाट आएका नेपाली दाजुभाइ, दिदीबहिनीलाई जुजुधौ खुवाउन पाउँदा थप खुसी लागेको बताउनुभयो ।

नजिकै मःमः व्यापारीले पनि राम्रो व्यापार गरेको बताउँदै पश्चिमतर्फको नेवारी खाजाघरमा समेत दिनभरका भीडले निकै राम्रो व्यापार भएको रामप्रसाद श्रेष्ठले बताउनुभयो । बदाम, सुन्तलादेखि विभिन्न परिकार बिक्री राम्रो भएको भन्दै बदाम व्यापारी अनिल भजुले आज एकैदिन एक सातामा बिक्री हुने बदाम बिक्री गरेको बताउनुभयो ।

महाधिवेशन उद्घाटनस्थलको सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयले तीन तहको सुरक्षा तैनाथ गरेको जानकारी दिँदै सुरक्षा व्यवस्थालाई साँझसम्म नै मजबुत बनाइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । उहाँले बिहान ‘बम डिटेक्टर’ उपकरण प्रयोग गरी मञ्च, सभास्थल र वरपरका क्षेत्रमा सुक्ष्म जाँच गरेको, सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सादा पोसाकका प्रहरी गरी दुई हजार ५०० सुरक्षाकर्मी परिचालन गरेको, सभास्थलमा राखिएका सिसी क्यामेराबाटसमेत निगरानी गरेको बताउनुभयो ।

सहभागीको उल्लेख्य उपस्थिति

दुई हजार २६२ प्रतिनिधिको सहभागिता रहेको महाधिवेशनको उद्घाटन कार्यक्रममा ७७ वटै जिल्लाका सहभागीले एक सय आठ रोपनी क्षेत्रफल भरिएको थियो । महाधिवेशन उद्घाटनका अवसरमा भरिएको चौरमा कतिपय आउने र फर्कनेक्रम जारी रहेकाले सहभागी सङ्ख्या एकिन गर्न कठिन भएको थियो ।

अपेक्षा गरिएभन्दा बढी व्यक्तिको उपस्थिति रहेको एमाले भक्तपुर जिल्ला उपाध्यक्ष किरण थापामगरले जानकारी दिनुभयो । उहाँले टाढासम्म रहेका सहभागीले वक्तालाई देख्ने र बोलेको सुनिनेगरी मञ्चको दायाँबायाँ ३० फिट अग्ला दुईवटा ‘एलइडी स्क्रिन’ राखेको र मञ्चबाट तीन किलोमिटर परसम्म सुन्न सकिने एक सय १५ उच्च गुणस्तरका ‘साउन्ड सिस्टम’ जडान गरेकाले सल्लाघारी चौरभन्दा बाहिर रहेका हजारौँले नेताको सम्बोधन सहजै सुन्न सक्नेगरी व्यवस्था मिलाइएको बताउनुभयो ।

पार्किङमा भएन समस्या

महाधिवेशन उद्घाटनसत्रमा सहभागी विभिन्न जिल्लाबाट आउने सवारीसाधन तोकिएको क्षेत्रमा पार्किङ गरिएकाले कुनै समस्या झेल्नु नपरेको उपाध्यक्ष थापामगरले जानकारी दिनुभयो । थानकोट हुँदै विभिन्न जिल्लाबाट आएका सवारीसाधनलाई नागरिक उड्डयन प्राधिकरण गठ्ठाघरको खाली चौरमा तथा काभ्रे हुँदै आउने सवारीका लागि जगातिस्थित भाइरल प्लानिङमा पार्किङको व्यवस्था गरिएकाले सवारी व्यवस्थापनमा सहज भएको एमाले जिल्ला अध्यक्ष देउजाले स्पष्ट पार्नुभयो ।

आन्तरिक पर्यटन प्रवर्द्धनका टेवा

महाधिवेशनमा विभिन्न जिल्लाबाट सहभागी हुन आएका प्रतिनिधि एवं कार्यकर्ता कार्यक्रमस्थलबाट भक्तपुर नगरपालिकाभित्रका सम्पदाको अवलोकन गर्न पुगेका देखिन्थ्यो । कतिपय कार्यक्रम सकिनु अगाडि नै र कतिपय कार्यक्रम सकिएपछि भक्तपुर दरबार स्क्वायरमा रहेको ५५ झ्याले दरबार, पाँचतले मन्दिरलगायतका सम्पदा अवलोकनका लागि त्यसतर्फ लामबद्ध देखिन्थ्यो ।

महाधिवेशनमा आएर शनिबार नफर्किएकाहरु आज भक्तपुरका सम्पदा, मध्यपुरथिमिका सम्पदा र चाँगुनारायणको सम्पदा अवलोकनका लागि जाने भएकाले यहाँको आन्तरिक पर्यटनमा केही हदसम्म सहयोग पुग्ने देखिन्छ । भक्तपुर नगरपालिकाका रामचन्द्र प्रजापति भक्तपुरको सम्पदा अवलोकनका लागि महाधिवेशनमा आएकाले भक्तपुरको प्रमुख बजार तथा सम्पदा क्षेत्रमा दिनभर भीडभाड लागेको, विशेषगरी होटल तथा रेष्टुराँले मनग्य आम्दानी गरेको, जुजुधौ अत्यधिक बिक्री भएको, पेय पदार्थसहित बदाम र सुन्तलाको व्यापार अत्यधिक भएको बताउनुहुन्छ ।

उद्घाटनस्थलको सरसफाइ

महाधिवेशन उद्घाटनस्थलको सरसफाइ र व्यवस्थापन शनिबार साँझदेखि सुरु भएको छ । चौरमा फालिएको फोहर सबै सफा गरिने पार्टी उपाध्यक्ष किरण थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कार्यक्रमस्थलको सबै सरसफाइ शनिबार रातिसम्म सक्छाँै, अस्थायी शौचालयको व्यवस्थापन गर्छौँ, मञ्चलाई आज नै भत्काएर आज भृकुटीमण्डपमा राख्नेगरी आवश्यक तयारी गरेका छौँ ।”

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २८ मङ्सिरः नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९३ रुपैयाँ ८२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८२ रुपैयाँ २४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ १९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११२ रुपैयाँ २१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ४६ पैसा र बिक्रीदर २० रुपैयाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७८ पैसा र बिक्रीदर नौ रुपैयाँ ८२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५३ पैसा र बिक्रीदर १५ रुपैयाँ ५९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६६ पैसा र बिक्रीदर २२ रुपैयाँ ७५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५४ पैसा र बिक्रीदर १८ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४७० रुपैयाँ ५८ पैसा र बिक्रीदर ४७२ रुपैयाँ ५४ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ५६ पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ५४ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै

काठमाडौँ, २८ मङ्सिरः निजामती सेवाबाट अलग भई स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा हरेक वर्षको मङ्सिर २८ गते अर्थात् आज विभिन्न कार्यक्रमका साथ सङ्घीय संसद् सेवा दिवस मनाइँदैछ ।

विसं २०५८ मा निजामती सेवाबाट संसद् सेवा गठन भएको थियो । सङ्घीय संसद् सचिवालयले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । नेपालको संविधानको धारा २०७ मा सङ्घीय संसद्को कामकारबाही सञ्चालन तथा व्यवस्थापन गर्न एक सचिवालय रहने र त्यस्तो सचिवालयको स्थापना तथा तत्सम्बन्धी अन्य व्यवस्था सङ्घीय कानुनबमोजिम हुने व्यवस्था छ ।

निजामती सेवा ऐनबाट निकालेर छुट्टै ऐनद्वारा सञ्चालित संसद् सेवा विशिष्ट, स्वायत्त र व्यावसायिक सेवा हो । संसदीय अभ्यासलाई थप प्रभावकारी, मर्यादित र व्यावसायिक बनाउन छुट्टै ऐनद्वारा संसद् सेवाको गठन गरिएको स्मरणमा हरेक वर्ष मङ्सिर २८ गते संसद् सेवा दिवस मनाउने गरिएको छ । राज्यको सर्वोच्च जनप्रतिनिधिमूलक संस्थाका रूपमा रहेको सङ्घीय संसद्लाई प्रशासनिक र प्राविधिक सहयोग पुर्याउँदै आएको संसदीय सेवाको भूमिका संविधानको सफल कार्यान्वयन र कानुन निर्माण प्रक्रियामा अत्यन्तै महत्त्वपूर्ण रहेको छ ।

संसद्लाई आवश्यक पर्ने जनशक्ति, सूचना, प्रविधि, भौतिक सामग्रीलगायत उपलब्ध गराउनु सङ्घीय संसद् सचिवालयको कार्य रहँदै आएको छ । संसद् सेवाको विशिष्ट कार्य प्रणालीले विधायिकी कार्य र संसदीय कामकारबाहीमा अविच्छिन्न सहयोग पुगेको छ ।

उपाधि जित्न विश्वास हुनपर्ने रहेछः कप्तान पौडेल

काठमाडौँ, २८ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले हात पारेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै च्याम्पियन बन्यो ।

उपाधि जितेपछि लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टोलीको उच्च मनोबलका कारण च्याम्पियन बनेको बताए । उनले भने, “उपाधि जित्छौँ भन्ने सुरुदेखि विश्वास थियो । सबै टिम एकजुट भएर लाग्यौँ र च्याम्पियन बन्यौँ ।”

टोलीलाई च्याम्पियन बनाएका रोहितले प्लेअर अफ दी टुर्नामेन्ट हुँदै कार पाएका छन् । लुम्बिनीको सफलता रोहितको प्रदर्शन अलराउन्ड रह्यो । उनी सिजनमा सर्वाधिक दुई सय ७६ रनकर्ताको सूचीमा दोस्रो स्थानमा रहे । रोहितले बलिङतर्फ पनि १० विकेट लिए । रोहित उत्कृष्ट ब्याटर पनि भए । प्रतियोगिताको इमर्जिङ प्लेअर अफ दी टुर्नामेन्ट हुँदै पल्सर बाइक पाए ।

लगातार दोस्रोपटक उपविजेतामै सीमित भएपछि सुदूरपश्चिमका प्रशिक्षक जगत टमटाले फाइनल आफ्नो पक्षमा नपर्दा प्रतियोगिताभर गरेको मेहेनत खेर गएको बताए । उनले भने, “एक महिनादेखि उपाधि जित्ने लक्ष्यका साथ मेहेनत गरेका थियौँ, फाइनलमा चुक्दा सबै मेहेनत खेर गयो ।”ब्याटिङ नचल्नु नै हारको कारण बनेको प्रशिक्षक टमटाले बताए । उनले भने, “टस जितेर ब्याटिङ रोजेपछि स्कोर नै कम बन्यो जसले गर्दा विपक्षी टोलीले सहजै जित निकाल्यो । आज हाम्रो खराब दिन थियो ।”

निर्वाचन ८१ दिन बाँकीः निर्वाचनको देशव्यापी माहोल बन्दै, राजनीतिक गतिविधि बढ्यो

काठमाडौँ, २८ मङ्सिरः प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी छ । निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको छ । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको दल दर्ताको प्रक्रिया सकाइसकेको छ ।

सरकारले पनि निर्वाचनका लागि आवश्यक तयारी तथा सहजीकरण गरिसकेको छ । राजनीतिक दलहरूले पनि निर्वाचनका गतिविधि अगाडि बढाएका छन् । मुलुक क्रमशः निर्वाचनको माहोलमा अगाडि बढिरहेको आभास भएको छ । देशव्यापी रूपमा राजनीतिक गतिविधि बढ्न थालेको छ । प्रमुख राजनीतिक दलदेखि नयाँ राजनीतिक दलले पनि देशव्यापी रूपमा निर्वाचन केन्द्रित अभियान सुरु गरिसकेका छन् ।

नेपाली कांग्रेसले देशव्यापी रूपमा उम्मेदवार छनोट गरी केन्द्रमा पठाउन थालिसकेको छ । सो दलले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको उम्मेदवार छनोट गरिरहेको छ । प्रतिनिधिसभा सदस्यको उम्मेदवारसँगै राष्ट्रियसभाको उम्मेदवारसमेत कांग्रेसले छनोट गरिरहेको छ । उम्मेदवार छनोटमा अन्य राजनीतिक दलभन्दा कांग्रेस अगाडि देखिएको छ ।

नेकपा (एमाले)को शनिबारदेखि ११औँ महाधिवेशन सुरु भएको छ । महाधिवेशनको उद्घाटनसत्रमा सो दलका अध्यक्ष केपी शर्मा ओलीले दबाब र प्रतिशोधको छायाँबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट भाग्छ ? भन्ने प्रश्न गर्नुभएको छ । उहाँले सरकारले निष्पक्ष र स्वतन्त्र चुनाव हुने वातावरण बनाउनुपर्ने धारणा राख्नुभएको थियो । अध्यक्ष ओलीले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन र राजनीतिक दलका गतिविधिलाई प्रोत्साहित गर्न आग्रह गर्नुभएको थियो । एमालेले निर्वाचनका लागि आयोगले तय गरेको समयसीमाभित्रै दल दर्तालगायतका गतिविधि सम्पन्न गरिसकेको छ ।

यस्तै, विभिन्न कम्युनिस्ट पार्टी एकीकृत भएर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सन्देशसभाका नाममा देशव्यापी रूपमा निर्वाचन केन्द्रित गतिविधिलाई तीव्र पारेको छ । सो दलले शनिबार सुर्खेतको वीरेन्द्रनगरमा जनसभाको आयोजना गरेको थियो । धनगढी, दाङ, पोखरा, विराटनगर र जनकपुरमा सन्देशसभा गरिसकेको नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते काठमाडौँमा सन्देशसभा आयोजना गर्दैछ । देशभर नै सन्देशसभा आयोजना गरेर निर्वाचनको पक्षमा उभ्याएको सो दलले तोकिएको मितिमा नै निर्वाचन हुनुपर्ने प्रष्ट मत जाहेर गरेको छ । सो दलका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार सुर्खेतमा आयोजित सभामा निर्वाचन तोकिएको मितिमा नै सम्पन्न हुनुपर्ने र त्यसका लागि आफ्नो पार्टी क्रियाशील भइसकेको बताउनुभएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनका लागि वाचापत्र तयार पार्नेदेखि उम्मेदवार छनोटको प्रक्रिया अगाडि बढाइसकेको छ । समानुपातिकतर्फको उम्मेदवारको आवेदन गरेको सो पार्टीले पनि भेला सभामार्फत निर्वाचन केन्द्रित गतिविधि गरिरहेको छ ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाइसकेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रको व्यवस्थाबमोजिम दलित, आदिवासी, जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम समूहका लागि प्रतिशत निर्धारण गर्न लागिएको हो ।

यस्तै, समानुपातिक प्रणालीतर्फ कुल एक सय राजनीतिक दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले शुक्रबार ती राजनीतिक दल दर्ता भएको र निर्वाचन चिह्नसमेत उपलब्ध गराइसकेको छ । यही मङ्सिर २१, २२ र २३ गते तीन दिनको समयभित्र समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि आवेदन दिएका राजनीतिक दलमध्ये अन्तिम रूपमा एक सय दल कायम भएका छन् ।

सो निर्वाचन प्रणालीतर्फ एक सय दलले आवेदन दिएको भए पनि दुई वा दुईभन्दा बढी दलले एकल निर्वाचन चिह्नमा भाग लिनेगरी आवेदन दिएकाले कुल ९३ वटा निर्वाचन चिह्न कायम गरिएको छ । यस्तै, प्रत्यक्षतर्फ एक सय १४ राजनीतिक दल सहभागी हुँदैछन् । आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारेर आवश्यक सुझाव सङ्कलन गरिरहेको छ । निर्वाचनका लागि नै सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनको स्वीकृति दिइसक्नुभएको छ । शान्ति सुरक्षा कायम गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन गृह मन्त्रालयले आवश्यक तयारी गरिसकेको गृहमन्त्री ओमप्रकाश अर्यालले स्पष्ट पारिसक्नुभएको छ ।

कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला

काठमाडौँ –  नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो रहेको बताउनुभएको छ ।

प्रजातन्त्र सेनानी सङ्घका पदाधिकारी एवम् सदस्यसँग आज काठमाडौँमा भएको छलफलमा उहाँले पार्टी पुनःनिर्माणका लागि अझै पनि प्रजातन्त्र सेनानीका अनुभव र सहयोगको खाँचो रहेको बताउनुभएको हो ।

नेता डा कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रजातन्त्र सेनानीहरूले पु¥याउनुभएको योगदानको उच्च रहेको र त्यसको सधैँ कदर हुने उल्लेख गर्नुभयो । उहाँले पार्टीभित्र वरिष्ठ नेता र युवा पुस्ताको मिलनविन्दु आफू भएकोसमेत बताउनुभयो ।

नेता डा कोइरालाले लामो समयदेखि पार्टीभित्र र बाहिरका कार्यक्रममा युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्छ भन्ने कुरा गर्दै आए पनि त्यसको सुनुवाइ नहुँदा देशमा पछिल्लो परिस्थिति निर्माण भएको जिकिर गर्नुभयो ।

“मैले कोरोना महामारीको समयदेखि नै युवाका लागि केन्द्रमा २०, प्रदेशमा ३० र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्वको माग गरेको थिए, त्यसको सुनुवाइ भएन”,उहाँले भन्नुभयो,“सयौँ योद्धा र युवाको रगत पसिनाले निर्माण भएको पार्टीमा सैद्धान्तिक विचलन आएको छ । अब त्यसको समीक्षा गर्दै पार्टीभित्र मूल्य, मान्यता र निष्ठाको पनि पुनःनिर्माण जरुरी छ ।”

गाउँबस्तीको विकासमा प्रदेश सरकार सक्रिय छः मुख्यमन्त्री बानियाँ

त्रिशूली (नुवाकोट) – बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले देश निर्माणको अभियानअन्तर्गत गाउँबस्तीको विकास निर्माणमा सरकार सक्रिय रहेको बताउनुभएको छ ।

नुवाकोटको बेलकोटगढी–१३ स्थित ढाडेफेदीमा आज पक्की पुलको शिलान्यासपछि आयोजित कार्यक्रममा उहाँले ठूला योजना कार्यान्वयनसहित जनचाहनाअनुसार प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको हो ।

मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले स्थानीय सरकारसँग सहकार्य गर्दै जनताको चाहनाअनुरुप पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा र रोजगार सिर्जनाका काममा केन्द्रीत रहेको बताउनुभयो । उहाँले भन्नभयो,“केन्द्र सरकारले नीति निर्माणका काम गर्नुपर्छ । प्रदेश तथा स्थानीय सरकारले जनताको नजिक रहेर जनचाहनाअनरुप विकासमा केन्द्रीत हुनुपर्ने आवश्यकता छ । मेरो नेतृत्वको सरकारले गाउँमुखी, न्याय, आय र विकासमुखी काम गर्ने दृढ सङ्कल्प लिएको छ । गरिबका सन्तानलाई निःशुल्क अध्ययनको प्रबन्ध मिलाउने, पछि परेका समुदायलाई प्राविधिक निःशुल्क शिक्षा दिएर स्वदेशमा नै रोजगार दिने लक्ष्य पूरा गर्न प्रतिबद्ध छौँ ।”

मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको बदलिँदो राजनीतिक परिवेशपश्चात् गाउँको विकास र चेतनास्तर वृद्धि भए पनि रोजगारीका पर्याप्त अवसर सिर्जना गर्न नसकेको भन्दै अब त्यसमा ध्यान केन्द्रीत गर्नुपर्ने मुख्यमन्त्री बानियाँको जोड थियो ।

यहाँको बेलकोटगढी नगरपालिका–१३ र ककनी गाउँपालिका–७ जोड्न ढाडेखोलामा पक्की पुल निर्माण सुरु गरिएको हो । प्रदेश सरकारको रु चार करोड ९४ लाख बजेटमा निर्माण हुने पुलको समयावधि अठार महिना तोकिएको छ ।

मुख्यमन्त्री बानियाँले आजै बेलकोटगढी–१३ र लिखु–३ जोड्न सुपारीखोलामा निर्माण भएको पक्की पुलको उद्घाटन गर्नुभयो । प्रदेश सरकारमार्फत रु आठ करोड ७८ लाखमा निर्माण गरिएको हो । त्यस अवसमार तोकिएको अवधिभन्दा अगावै पुल सम्पन्न गरेको भन्दै निर्माण व्यवसायी जयविष्णु निर्माण सेवा प्रालीलाई कदरपत्रसहित सम्मान गरिएको छ ।

काठमाडौँ–६ बाट सभापति बानियाँसहित २१ जनाको नाम सिफारिस

काठमाडौँ – नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टी काठमाडौँका सभापति कृष्ण बानियाँसहित प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभा गरी २१ जनाको नाम सिफारिस गरेको छ ।

पार्टीको विधानअनुसार काठमाडौँ क्षेत्र नं ६ बाट सिफारिसका लागि आएका नामलाई आज जिल्ला समितिमा सिफारिस गरिएको काठमाडौँ क्षेत्र नं ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खड्गीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारले आगामी फागुन २१ गतेलाई प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकिसकेकाले सोहीअनुसार कांग्रेसले क्षेत्र, जिल्ला र प्रदेशसँग आकाङ्क्षीको नाम माग गरेको हो ।

बागलुङबाट कांग्रेसले गर्‍यो ३६ जनाको नाम सिफारिस

ढोरपाटन (बागलुङ) – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले बागलुङबाट ३६ जनाको नाम सिफारिस गरेको छ ।

प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रियसभाका लागि बागलुङ क्षेत्र नं १ बाट १९ र क्षेत्र नं २ बाट १७ जनाको नाम सिफारिस भएको हो । दुई वटा निर्वाचन क्षेत्र रहेको बागलुङमा प्रत्यक्षतर्फ २० जनाको नाम सिफारिस भएको पार्टीका क्षेत्रीय सभापति जोकलाल बुढामगरले जानकारी दिनुभयो ।

नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६औँ वर्ष पुग्दा कम्युनिष्ट आन्दोलनको प्रमुख पार्टीका रूपमा रहेको नेकपा (एमाले) विभिन्न आरोह अवरोहबीच ११औँ राष्ट्रिय महाधिवेशनसम्म आइपुगेको छ ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना पुष्पलाल श्रेष्ठको नेतृत्वमा विसं २००६ वैशाख १० गते भएको थियो । श्रेष्ठको नेतृत्वमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक रहेर भारतको कोलकाताको श्यामबजार इलाका २८, नवीन सरकार लेनस्थित एक घरबाट आरम्भ भएको नेकपा अहिले विभिन्न धार र पार्टीमा क्रियाशील छ ।

विश्व कम्युनिष्ट घोषणापत्र जारी भएको १०२ वर्षपछि र सोभियत सङ्घमा अक्टोबर क्रान्ति सम्पन्न भएको ३२ वर्षपछि नेपाली कम्युनिस्ट आन्दोलनको स्थापना भएको थियो । त्यसबेला चीनमा माओत्सेतुङको नेतृत्वमा जनवादी क्रान्ति सफल हुनुभन्दा चार महिनाअघिको यस समयमै अङ्ग्रेज उपनिवेशबाट छिमेकी भारत मुक्त बनिसकेको थियो भने नेपालीहरू १०४ वर्ष लामो जहानियाँ राणा शासनको निरङ्कुशताबाट मुक्त हुन खोजिरहेको बेला थियो ।

त्यहीबीचमा स्थापना भएको नेकपाको पहिलो महाधिवेशन २०१० साल माघ १० देखि २० गतेसम्म ललिपुरको पाटनमा सम्पन्न भएको थियो । उक्त महाधिवेशनले महामन्त्रीमा मनमोहन अधिकारीलाई चयन गरेको थियो । दोस्रो महाधिवेशन २०१४ साल जेठ १५ देखि २५ गतेसम्म काठमाडौँको दरबारमार्गमा भई महासचिवमा डा केशरजङ्ग रायमाझीलाई जिम्मेवारी दिएको थियो । यो महाधिवेशनपछि पार्टीभित्र प्रजातन्त्र कि राजतन्त्र भन्ने विवाद उत्पन्न भएको थियो ।

नेकपाको तेस्रो महाधिवेशन पञ्चायतकालकै बीचमा २०१९ साल वैशाख ४ देखि १५ गतेसम्म भई महासचिवमा तुल्सीलाल अमात्य चुनिनुभएको थियो । नेकपाको चौथो महाधिवेशन भने २०४६ भदौ ९ देखि १४ गतेसम्म सिरहाको विष्णुपुरकट्टी, सर्रे अम्बासमा भई महासचिवमा मदनकुमार भण्डारी निर्वाचित हुनुभएको थियो । यो महाधिधवेशनपछि नेकपाका विभिन्न समूह र उपसमूह देखा पर्न थाले भने एमालेले ‘जडसूत्रवाद र विसर्जनवादको विरोध गरौँ, माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकास गरौँ’ भन्ने नाराका साथ आफूलाई अलग धारका रूपमा अगाडि बढाएको देखिन्छ । यसैगरी एमालेको पाँचौँ महाधिवेशन २०४९ माघ १४ देखि २० गतेसम्म काठमाडौँको दशरथ रङ्गशालामा भएको थियो । यस महाधिवेशनबाट पार्टीको अध्यक्षमा मनमोहन अधिकारी र महासचिवमा मदनकुमार भण्डारी नेतृत्वमा आउनुभएको थियो । एमालेको हालसम्मको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको जनताको बहुदलीय जनवाद ९जबज०लाई महासचिव भण्डारीले प्रस्तुत गरी पारित भएकाले यो महाधिवेशन एमालेको वैचारिक इतिहासमा महत्त्वपूर्ण मानिएको छ ।

यस्तै, एमालेको छैठौँ महाधिवेशन विसं २०५४ माघ १२ देखि १८ गतेसम्म नेपालगन्ज, बाँकेमा भई अध्यक्षमा मनमोहन अधिकारी र महासचिवमा माधवकुमार नेपाल चयन हुनुभयो । यो महाधिवेशनको मूलनारा ‘विकृति र विसङ्गतिका विरुद्ध सङ्घर्ष गरौँ, विचारधारात्मक रूपमा पार्टीलाई एकताबद्ध पारौँ’ रहेको थियो । एमालेको सातौँ महाधिवेशन विसं २०५९ माघ १८ देखि २२ गतेसम्म, जनकपुर, धनुषामा भएको थियो । ‘प्रजातन्त्र, शान्ति र समग्र विकास, प्रतिगमनविरुद्ध अग्रगामी निकास १’ को मूल नारा रहेको उक्त महाधिवेशनले महासचिवमा माधवकुमार नेपाललाई चयन गरेको थियो ।

त्यसपछि विसं २०६५ फागुृन ५ देखि १४ गतेसम्म, बुटवलको रुपन्देहीमा भएको आठौँ महाधिवेशनले अध्यक्षमा झलनाथ खनाल र महासचिवमा ईश्वर पोखरेल निर्वाचित हुनुभयो । उक्त महाधिवेशनको मूल नारा ‘यथास्थिति, अराजकता र विखण्डनका विरुद्ध आठौँ महाधिवेशन, राष्ट्रिय एकता, सामाजिक रूपान्तरण र लोकतान्त्रिक गणतन्त्रका लागि नयाँ संविधान १’ रहेको थियो । एमालेको नवौँ महाधिवेशन भने विसं २०७१ असार १९ देखि साउन १ गतेसम्म भृकुटीमण्डप, काठमाडौँमा भई अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा ईश्वर पोखरेललाई निर्वाचित ग¥यो । महाधिवेशनको नारा ‘शान्तिपूर्ण जनक्रान्तिका उपलब्धिलाई संस्थागत गरौँ, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गरौँ १’ रहेको थियो ।

पछिल्लो पाँच वर्षयता एमालेले नीति र विधान तथा नेतृत्व चयनका लागि छुट्टाछुट्टै महाधिवेशनको परिपाटी थालनी गरेको छ । एमालेको प्रथम विधान महाधिवेशन विसं २०७८ असोज १५ देखि १७ गतेसम्म, गोदावरी, ललितपुरमा भएको थियो । उक्त महाधिवेशनको नारा ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ १’ रहेको थियो ।

एमालेको दसौँ राष्ट्रिय महाधिवेशन २०७८ मङसिर १० देखि १२ गतेसम्म, सौराहा, चितवनमा भएको थियो । सो महाधिवेशनको नारा ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ १’ भन्ने रहेको थियो । उक्त महाधिवेशनले अध्यक्षमा केपी शर्मा ओली र महाचिवमा शङ्कर पोखरेललाई निर्वाचित गरेको थियो ।

एमालेको दोस्रो विधान महाधिवेशन २०८२ भदौ २० देखि २२ गतेसम्म, गोदावरी, ललितपुरमा भई नेतृत्वमा दुई कार्यकालभन्दा बढी रहन र ७० वर्षे उमेर हद हटाउने व्यवस्था गरिएको छ । आजदेखि पार्टीको ११औँ महाधिवेशन सुरुभएको छ । भक्तपुरको सल्लाघारीमा महाधिवेशनको उद्घाटन भएको छ भने बन्दसत्र आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा हुनेछ । यस महाधिवेशनको मूल नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ रहेको छ ।

राष्ट्रपति पौडेलद्वारा एनपिएल विजेतालाई बधाई

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपिएल) को विजेता टोली लुम्बिनी लायन्सलाई बधाई दिनुभएको छ । उहाँले आज सामाजिक सञ्जाल (फेसबुक)मार्फत विजेतालगायत सबैलाई बधाई दिनुभएको हो ।

राष्ट्रपति पौडेलले भन्नुभएको छ,“खेलप्रतिको लगाव, उत्साह र समर्पणका लागि विजेता, उपविजेतालगायत सम्पूर्ण टोलीलाई बधाई छ । साथै खेलाडी, प्रशिक्षक, आयोजक र खेलप्रेमी सबैलाई विशेष धन्यवाद छ ।”

निर्वाचनपछि नेपालमा किसान, गोठला र खेतालाको सरकार बन्नेछ – अध्यक्ष साम्पाङ

खोटाङ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले अबको निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्ने दाबी गर्नुभएको छ ।

गृह जिल्ला खोटाङको दिक्तेल बजारमा आज आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै उहाँले श्रम संस्कृति पार्टीप्रति जनताको पूर्ण समर्थन रहेकाले त्यो सरकारको नेतृत्व आफूले गर्ने जिकिर गर्नुभयो ।

धरान उपमहानगरपालिकाका नगर प्रमुखसमेत रहनुभएका अध्यक्ष साम्पाङले स्पष्ट दृष्टिकोण भएका नेताहरूबाट मात्र देश विकास हुने भन्दै आफूहरू देश विकासका खाकासहित अगाडि बढेको बताउनुभयो । “नेताहरुले पटक–पटक एउटै समस्याको समाधान गर्छु भनेर भोट मागेको देखिन्छ, तर समस्या समाधान हुँदैन । एउटै योजनामा पटकपटक बजेट हालेर पनि योजना बन्दैन । आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सक्षम नेतालाई भोट गर्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

पार्टी अध्यक्ष साम्पाङले अब कुरा भन्दा श्रम गर्नेलाई अवसर दिनुपर्ने र त्यसका लागि एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा तत्कालीन जिल्ला विकास समिति खोटाङका पूर्वउपसभापति सीताराम राई, पहिचानवादी नेता मोहन गुरुङलगायत विभिन्न पार्टी परित्याग श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए ।

कार्यक्रममा पार्टीको खोटाङमा प्रताप राईको अध्यक्षतामा ५३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको जनाकारी दिइएको थियो । समितिको उपाध्यक्षमा उमा चाम्लिङ, सङ्गीता किराती र राजेन्द्र राई, सचिवमा धनीराम नछुङ, सहसचिवमा भविराज राई र मिलन खड्का, कोषाध्यक्षमा कौशिला राई, सहकोषाध्यक्षमा सुवास राई र प्रवक्तामा राजन राई रहनुभएको छ ।

‘एमालेले मुलुकलाई केन्द्रमा राखेर काम गर्नुपर्छ’ – राजेन्द्र लिङ्देन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले एमालेको महाधिवेशनले देशलाई केन्द्रमा राखेर सबैले जित्ने दिशामा मुलुुकलाई लैजानुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटनसभामा उहाँले मुलुक विषम परिस्थितिबाट गुज्रिरहेकाले देशले जित्ने खालको निर्णय गर्न र मुलुकको उपलब्धिलाई संरक्षण गर्दै जनताको हितलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिुनभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रक चन्द विप्लवले देशको स्वाधिनता र प्राप्त उपलब्धिको रक्षा गर्न सम्पूर्ण कम्युनिष्ट विचारधारका पार्टी एकताबद्ध हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँले विगतमा ठूलो सङ्घर्ष गरेर मुलुकलाई यहाँसम्म दलले ल्याएका स्मरण गर्दै वर्तमान परिस्थितिमा जनताले एमालेलाई नजिकबाट हेरिरहेका बताउनुभयो ।

महासचिव चन्दले देशको स्वाधिनताका लागि एमालेसँग सहकार्य गरेर जाने बताउँदै कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरेर नयाँ युगलाई सम्बोधन गर्न सक्ने गरी एउटै रातो झण्डामुनि सबै कम्युनिष्ट हुने विश्वास व्यक्त गर्नुभयो । जनता समाजवादी पार्टी (जसपा)का उपमहासचिव प्रकाश अधिकारीले एमालेको नयाँ नेतृत्वले नेपालको रक्षा गर्ने किसिमको निर्णय गर्ने बताउँदै एमालेको समृद्ध नेपालः सुखी नेपालीको नारा सफल होस् भन्ने कामना गर्नुभयो ।

उहाँले गत भदौ २३ र २४ गते सिंहदरबार, सर्वोच्च अदालत, देशभरका सार्वजनिक कार्यालय, व्यक्तिका घर जलाइनु दुखःद् भएको बताउनुभयो । जेनजी आन्दोलनमा महत्वपूर्ण दस्ताबेज जलाइएको अवस्थामा देशलाई सही मार्गमा एमालेले लैजानुपर्नेमा जोड दिनुभयो ।

जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष बसन्त कुशवाहाले एमालले जनमत पार्टीप्रति सकारात्मक सद्भाव देखाएको उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले एमालेले अहिलेको विषम परिस्थितिलाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टीका महसचिव डा सुरेन्द्र झाले एमालेको महासहाधिवेशनले सम्पूर्ण नेपाली जनतामा ऊर्जा प्रदान गर्ने काम गरेको बताउनुभयो । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले देशलाई समृद्ध बनाउन राजनीतिक शक्तिबीच उन्नत र मजबुद खालको सहकार्य जरुरी रहेको बताउँदै सम्पूर्ण राजनीतिक दल एकताबद्ध वर्तमान परिस्थितिबाट माथि उठ्नुपर्नेमा जोड दिनुभयो ।

उद्घाटन समारोहमा स्वागत गर्दै एमालेका महासचिव शङ्कर पोखरेलले पार्टी नेपाली जनताको मनमा बसेकाले मुलुकको विकास गर्ने बताउनुभयो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । एमाले महाधिवेशन सफलतालका लागि देशविदेशबाट शुभकामनासमेत प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा एमाले भक्तपुर कमिटीले नेपालको चुच्चे नक्सासहितको फ्रेम र भक्तपुरको भाँदगाउँले टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्मान गरेको थियो । कार्यक्रम विभिन्न जातजाति, भाषाभाषीले सांस्कृतिक कार्यक्रम र झाँकी प्रस्तुत गरेका थिए भने विभिन्न गीतसङ्गीत र नृत्यसमेत प्रस्तुत गरिएको थियो । यो महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।

एन जेड शालु र मुकेश गुरुङको अभिनयमा नयाँ नेपाली गीत ‘परान’ सार्वजनिक

काठमाडौँ — रे अफ मुनको प्रस्तुतिको नयाँ नेपाली गीत ‘परान’ सार्वजनिक गरिएको छ । गीतमा गायक रञ्जन राई र रोजिना बस्नेतको स्वर रहेको छ । गीतका शब्द अविनाश थापाले लेखेका हुन् भने संगीत सौगात जंग थापाले संयोजन गरेका छन्। गीतको मिक्सिङ–मास्टरिङ स्वयं गायक रञ्जन राईले गरेका छन् ।

गीतको एरेन्ज विशाल निरौलाको गरेका हुन । रोमान्टिक भाव र आधुनिक प्रस्तुति समेटिएको ‘परान’ गीतले नेपाली संगीतप्रेमी दर्शक–स्रोताको ध्यान तान्ने अपेक्षा गरिएको छ । ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन , राकेश दाहालको सम्पादन जस बहादुर याक्खा (जसु)को निर्देशन तथा सन्तोष राजबाहकको कोरियोग्राफी रहेको छ। एन जे शालु र मुकेश गुरुङको अभिनय देख्न सकिन्छ । ‘परान’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

पल शाह र कोमल नेपालीको जोडी बिशाल सोनीको ‘स्याउलि बजारमा’

काठमाडौँ । पछिल्लो समय चर्चामा रहेका गायक बिशाल सोनी र शान्तारानी परियारको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । बिशाल र शान्तारानी दुबैजना चर्चामा आएको धेरैसमय भएको छैन । यद्यपी उनीहरुको सांगितीक क्षेत्रको संघर्ष दशक बढी छ । बिशालको नेपाली सांगितीक क्षेत्रमा दशक माथीको अनुभव छ । उनलाई ७ महिना अघिको ‘मकै बारी दर्याम दर्याम’ गीतले चर्चामा ल्याइदियो । यस्तै गायिका शान्तारानी परियारलाई १ बर्ष अघिको ‘मत ढले ढले’ गीतले चर्चामा ल्याइदियो । यि दुबै गायक र गायिकालाई दर्शकले पछिल्लो समय निकै रुचाइरहेका छन् ।

अहिले भर्खर ‘तानातान हानाहान स्याउलि बजारमा’ बोलको गीत सार्वजनिक गरिएको छ । बिशाल र शान्तारानीको स्वर रहेको यो गीतको हुकलाइन पनि बिशालकै छ । शब्द भने अर्का लोकप्रिय गीतकार नेत्र अर्यालको छ । गीतमा नन्दु परियारले संगीत दिएका छन् । एरेन्ज एचबिएन किस्मतको छ ।

गीतको भिडियोको कुरा गर्दा रमाइलो बनाइएको छ । साथै नेपाली चलचित्र क्षेत्रका लोकप्रिय नायक तथा म्युजिक भिडियोका डिमाण्डेड पल शाहले नाचेका छन् । उनलाई मोडल कोमल नेपालीले साथ दिएकी छिन् । मोडल कोमलले यसअघि केहि म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । यसअघिको अनुभवले पनि अहिलेको गीतमा निकै मिहिनतका साथ काम गरेको कोमलले बताएकी छिन् । साथै उनले पल शाहसँग काम गर्न पाउँदा खुसी ब्यक्ति गरेकी छिन् । भिडियोमा गायक बिशालले पनि मोडलिङ गरेका छन् । नवराज उप्रेतीले खिचेको भिडियो मिलन बिश्वकर्माले सम्पादन गरेका हुन् । भिडियो मौसम हिमालीले निर्देशन गरेका हुन् ।

युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राजदूतबीच यसै साता बर्लिनमा भेटवार्ता हुँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकोफले भोलोदिमिर जेलेन्स्की र अन्य युरोपेली नेताहरूसँग युक्रेनमा युद्धविराम गर्ने सम्बन्धमा यस सप्ताहन्तमा बर्लिनमा भेटवार्ता गर्नुहुने भएको छ।

युरोपेली नेताहरूसँग बर्लिनमा बैठक हुनुअघि राष्ट्रपति जेलेन्स्कीले शनिबार रूसले ‘अझै पनि युक्रेनलाई नष्ट गर्ने लक्ष्य राखेको’ बताउनुभएको थियो । किएभका अनुसार शुक्रबार रातभर ऊर्जा सुविधाहरूमा ‘व्यापक’ रूसी आक्रमण भएको र यसका कारण देशभरि हजारौँ व्यक्तिलाई बिद्युतबाट वञ्चित गरेको छ।

रूसले युक्रेनी आक्रमणको बदला लिन ‘हाइपरसोनिक ब्यालिस्टिक मिसाइल’ले युक्रेनी उर्जा केन्द्रहरूमा आक्रमण गरेको थियो । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “सबैले अब रूसले के गरिरहेको छ भनेर देख्न सक्नेछन् । हाम्रा नागरिकविरुद्धको आतङ्कमा उनीहरूले चाल्ने हरेक कदम युद्ध समाप्त गर्ने बारेमा नभई यसलाई भड्काउनेतर्फ उद्दत देखिन्छ।”

“उनीहरूले अझै पनि हाम्रो राज्यलाई नष्ट गर्ने र हाम्रा जनतालाई अधिकतम पीडा दिने लक्ष्य राखेका छन्,” युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भन्नुभएको छ। शनिबार युक्रेनको उत्तरपूर्वी सुमी क्षेत्रमा रहेको एक आवासीय भवनमा रुसी गोलाबारी हुँदा एक ८० वर्षीया महिलाको मृत्यु भएको छ ।

ट्रम्पले गत महिना युद्ध अन्त्य गर्ने योजना सार्वजनिक गरेदेखि नै किएभलाई सहमतिमा पुग्न दबाब दिइरहनुभएको छ तर युक्रेनले महत्त्वपूर्ण क्षेत्र छोड्नेसहित मस्कोको मागलाई प्रतिध्वनित गरेको रूपमा आलोचना गरिएको छ ।

अमेरिकाको २८ बुँदे प्रस्तावले संयुक्त राज्य अमेरिका र युक्रेनका युरोपेली सहयोगीहरूबीच कूटनीतिक वार्ताको लहर सुरु गरेको छ । किएभका अधिकारीहरूले वाशिंगटनलाई संशोधित संस्करण पठाएका छन्।अद्यावधिक योजनाको पूर्ण विवरण जारी गरिएको छैन।

ह्वाइट हाउसका एक अधिकारीले शुक्रबार एएफपीसँग भन्नुभयो, “ट्रम्पका दूत स्टिभ विटकोफले जेलेन्स्की र युरोपेली नेताहरूसँग शनिबार भेटघाट गर्नेछन् र शान्ति वार्ताको स्थितिबारे छलफल गर्नेछन् ।

जर्मन चान्सलर फ्रेडरिक मर्जसँग जर्मन–युक्रेनी व्यापार फोरममा जेलेन्स्कीले भाग लिएको केही घण्टापछि जर्मन सरकारले आगामी सोमबार बर्लिनले युरोपेली सङ्घ र नेटोका प्रमुखहरूसहितका नेताहरूलाई आतिथ्य प्रदान गर्ने बताएको छ।

युक्रेनलाई युरोपेली सङ्घमा शीघ्र प्रवेश गराउने धारणा मस्कोले विरोध गरेको कदम हो र यो अमेरिकी नेतृत्वको योजनाको पछिल्लो संस्करणमा समावेश गरिएको छ।

युरोपेली र युक्रेनीहरूले पनि युक्रेनले कुनै पनि क्षेत्रीय सहुलियतमा वार्ता गर्नु अघि अमेरिकालाई ‘सुरक्षा सुनिश्चितता’ प्रदान गर्न आग्रह गरिरहेका फ्रान्सले शुक्रबार जानकारी गराएको छ।

“अमेरिकी पछिल्लो योजना अन्तर्गत युक्रेन सन् २०२७ को जनवरीको सुरूमा इयूमा सामेल हुनेछ,” यस मामिलासँग परिचित एक वरिष्ठ अधिकारीले नाम नबताउने शर्तमा शुक्रबार एएफपीलाई बताउनुभयो ।

इयू प्रवेश प्रक्रियामा सामान्यतया वर्षौं लाग्छ र इयूका सबै २७ सदस्यहरूको सर्वसम्मत मत आवश्यक पर्दछ।विशेषगरी हङ्गेरीसहितका केही इयू राष्ट्रले युक्रेनको इयूमा समावेश हुने कदमको विरोधमा लगातार आवाज उठाउँदै आएका छन् ।

जेलेन्स्कीले बिहीबार पत्रकारहरूसँग भन्नुभयो, “ट्रम्पले युक्रेनको सदस्यताको विरोध गर्ने नेताहरूलाई उनीहरूको अडान परिवर्तन गर्न मनाउन ‘प्रभावका विभिन्न उत्तोलक (आधारहरू)’ प्रयोग गर्न सक्नुहुन्छ ।

किएभले लामो समयदेखि इयू सदस्यताका लागि प्रयास गरिरहेको छ । भ्रष्टाचार उन्मूलनलगायतका बिषयमा सुधारका लागि संघर्ष गरिरहेको युक्रेनका लागि यो इयूमा सामेल हुनको लागि एक मुख्य शर्त हो ।

मस्कोले शुक्रबार अमेरिकी योजनालाई संशोधन गर्ने प्रयासमाथि शङ्का गरेको छ तर रूसी संलग्नतामा हुने सामान्य संशोधनसहित योजनालाई समर्थन गर्ने सङ्केत गरेको छ।

“हाम्रो विचारमा यो संस्करण गलत हुनेछ,” क्रेमलिनका विदेश नीति सहयोगी युरी उशाकोभले कोमर्सेन्ट आर्थिक दैनिकसँग भन्नुभयो ।

“यो एक लामो प्रक्रिया हुनेछ”, उहाँले थप्नुभयो,“रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राजदूत विटकोफ र जारेड कुश्नरबीच गत हप्ता मस्कोमा भएको छलफलपछि मस्कोले अद्यावधिक संस्करण देखेको छैन।”

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले तुर्कमेनिस्तानमा भएको शिखर सम्मेलनको अवसरमा रूसी नेता पुटिनसँगको भेटको केही घण्टापछि बन्दरगाह र ऊर्जा सुविधाहरूमा आक्रमणको बिषयसमेतलाई समेटेर ‘सीमित युद्धविराम’ गर्न आह्वान गर्नुभएको थियो ।

सञ्चारमन्त्री खरेलद्वारा दिवङ्गत पत्रकार रजकको परिवारसँग छलफल

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारद्वारा हालै सहिद घोषणा गरिएका दिवङ्गत पत्रकार सुरेश रजकको परिवारसँग छलफल गर्नुभएको छ ।

उहाँले आज तहाचलस्थित पत्रकार रजकको घरमा पुगेर परिवारसँग भेटघाट र छलफल गर्नुभएको हो । त्यस अवसरमा उहाँले रजकको शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै दिवङ्गत पत्रकार रजक सबै नेपालीबीच अमर रहने बताउनुभयो ।

पत्रकार रजकले सञ्चार क्षेत्रमार्फत समाजको उत्थान र नागरिकलाई सुसूचित गर्दागर्दै ज्यानै बलिदान दिएकाले उच्च सम्मान गर्दै सहिद घोषणा गरिएको र उहाँको योगदान जनताले कहिल्यै बिर्सन नसक्ने मन्त्री खरेलको भनाइ थियो । उहाँले सरकार सधँै पत्रकार रजकका परिवारको सहयोगका लागि तयार रहने बताउनुभयो ।

“पत्रकार रजकले सञ्चार क्षेत्रमार्फत समाजको उत्थान र नागरिकलाई सुसूचित गर्न खेलेको भूमिकाको प्रशंसनीय छ । निष्ठावान् पत्रकारको निधनले सञ्चार जगतमा ठूलो क्षति पुगेको छ । रजकले देखाएको व्यावसायिक भूमिका सधैँ स्मरणीय रहने छ”, मन्त्री खरेलले भन्नुभयो ।

सुरेशका दाइ रमेश रजकले सरकारले भाइलाई सहिद घोषाणा गरेर सरकारले न्याय दिएको बताउनुभयो । उहाँले करिब सात महिनासम्म ताकेता गर्दापनि विगतको सरकारले कुनै सुनुवाइ नगरेको भन्दै वर्तमान सरकारले सहिद घोषणा गरेर परिवारलाई सान्त्वना मिलेको भन्दै आभार व्यक्त गर्नुभयो ।

रजकका आफन्त पुरुषोत्तम मगियाले पनि भन्नुभयो, “सरकारको निर्णय स्वागतयोग्य छ, सञ्चारमन्त्री स्वयम्ले पेसागत जिम्मेवारी निर्वाहका क्रममा मृत्यु भएका पत्रकार सुरेशलाई सहिद घोषणा गर्ने कार्यलाई चासो लिएर पहलकदमी गरिदिनुभयो । उहाँको यस कार्यप्रति रजकको परिवार र हामी सबै आभारी छौँ ।”

गत चैत १५ गते काठमाडौँको तीनकुनेमा आयोजित राजतन्त्र पक्षरको प्रदर्शनको क्रममा एभिन्यूज टेलिभिजनमा कार्यरत भिडियो पत्रकार रजकको मृत्यु भएको थियो । प्रदर्शनकारीले आगजनी गरेको घरमा दृश्य कैद गर्ने क्रममा उहाँको जलेर मृत्युभएको थियो ।

मृत्यु रजकलाई सहिद घोषणा गर्न परिवारले माग गर्दै आएको थियो । मन्त्री खरेलको पहलमा दिवङ्गत पत्रकार रजकलाई यही मङ्सिर २२ गते बसेको मन्त्रिपरिषद् बैठकले सहिद घोषणा गरेको थियो । यसका साथै उहाँकी श्रीमतीलाई रोजगारीको व्यवस्थासमेत गरिएको छ ।

एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’

काठमाडौँ – कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा यही मङ्सिर १ गतेदेखि सुरु भएको दोस्रो संस्करणको खेल आज लुम्बिनी लायन्सले उपाधि जितेसँगै सम्पन्न भएको छ । यसैबीच खेलाडीलाई प्रोत्साहनका लागि ‘एनपिएल नाइट’ आयोजना हुने भएको छ ।

ठमेलस्थित एलओडी क्लबमा आज राति ९ः०० बजेदेखि एनपिएलका विजेता टोलीका खेलाडीसहित अन्य आठ वटै टोलीका खेलाडीको सहभागितामा ‘एनपिएल नाइट’ हुन लागेको हो ।

कार्यक्रममा एनपिएल दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स, उपविजेता सुदूरपश्चिम रोयल्ससहित विराटनगर किंग्स, काठमाडौँ गोर्खाज, पोखरा एभेञ्जर्स, कर्णाली याक्स, चितवन राइनोज र जनकपुर बोल्टुस्का खेलाडीको सहभागिता रहने क्लबका प्रमुख रविन श्रेष्ठले जानकारी दिनुभयो ।

“नेपालमा क्रिकेटको राम्रो इतिहास रचिँदैछ । एनपिएल खेल्न विभिन्न मुलुकका खेलाडी यहाँ आएका छन् । यसले नेपालको पहिचान थप बढाउनुका साथै एनपिएलका माध्यमबाट प्रचारप्रसार हुँदा पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने छ”, उहाँले भन्नुभयो ।

एनपिएलको दोस्रो सिजनमा एलओडी क्लब मनोरञ्जनात्मक साझेदार बनेको थियो । यसअघि क्लबका प्रमुख श्रेष्ठ र नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले एनपिएल दोस्रो सिजनका लागि एलओडी मनोरञ्जनात्मक साझेदार बन्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । आगामी वर्षमा पनि क्लब मनोरञ्जनात्मक साझेदार बन्ने क्यानले जनाएको छ ।

जिप दुर्घटना अपडेटः मृतकको सङ्ख्या चार पुग्यो

तानसेन (पाल्पा) – शुक्रबार बिहान पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीबासमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा आज थप एक जनाको मृत्यु भएको हो ।

निस्दीको मित्यालीस्थित अरुणखोलाबाट रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप शुक्रबार बिहान चिउरीबासस्थित उकालोमा यात्रु ओराल्ने क्रममा आफैँ व्याक भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले बताउनुभयो ।

उहाँका अनुसार दुर्घटनामा नवलपुर मध्यविन्दु नगरपालिका–१३ की ३१ वर्षीया बुद्धिमाया विक, निस्दी–४ हुवासकी ३६ वर्षीया हेमकुमारी सारु र निस्दी–४ ठोक्सिङबासकी ४५ वर्षीया ओमकुमारी खाम्चाको घटनास्थलमै मृत्यु भएको थियो । उपचारका क्रममा आज बुद्धिमायाका श्रीमान् ३४ वर्षीय सुन्दर विकको मृत्यु भएपछि मृतकको सङ्ख्या चार पुगेको उहाँले जानकारी दिनुभयो ।

दुर्घटनामा आठ जना घाइते भएका थिए । घाइतेमध्ये चार जनाको मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । दुई जनालाई उपचारपछि घर फर्काइएको जनाउँदै प्रहरी उपरीक्षक चौधरीले एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको बताउनुभयो । उहाँका अनुसार सुन्दरको आज मृत्यु भएको छ ।

‘दलहरू संविधान जोगाउनेतर्फ केन्द्रित हुनुपर्छ’ – देवप्रसाद गुरुङ

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवप्रसाद गुरुङले लामो सङ्घषर््बाट प्राप्त संविधान जोगाउन सबै दल केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र राष्ट्रिय स्वाधीनता जोगाउनका निम्ति संविधानलाई सही मार्गमा अगाडि बढाउनुपर्ने हालको मुख्य आवश्यकता भएको बताउनुभयो ।

नेता गुरुङले पटक–पटक भएका जनआन्दोलन, जनताको त्याग र बलिदानको परिणामस्वरुप गणतन्त्र प्राप्त भए पनि सहज रूपमा अगाडि बढाउने सन्दर्भमा चुनौती खडा भएको भन्दै सबै परिवर्तनका पक्षधर एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान मुलुकको लोकतन्त्र, गणतन्त्रसँग जोडिएको मुलुकको स्वाधीनतासँग जोडिएको छ । त्यसैले यतिबेलाको मुख्य कार्यभार संविधानलाई ट्र्याकमा ल्याउनु हो ।”

उहाँले ११औँ महाधिवेशनबाट एमालेले सक्षम नेतृत्व चयन गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मुलुकको वर्तमान सङ्कट सम्बोधनका लागि सबै राष्ट्रवादी, गणतन्त्रवादी शक्तिबीचमा सहकार्यको साथसाथै अगुवाको भूमिका निर्वाह गर्नुपर्ने छ । एमालेले त्यो बाटोमा अगाडि बढ्ने गरी नेतृत्व चयन गर्नेछ ।”

नेता गुरुङले मुलुकको वर्तमान समस्या समाधान गर्न कम्युनिष्ट शक्तिबीच एकता हुनुपर्ने बताउँदै विघठित कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध नगरी प्राप्त उपलब्धि जोगाउन कठिन हुने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीद्वारा एनपिएल विजेतालाई बधाई

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग(एनपिएल) को विजेता लुम्बिनी लायन्सलाई बधाई दिनुभएको छ । सामाजिक सञ्जाल (फेसबुक)आर्फत आज उहाँले विजेता टोलीलाई बधाई दिनुभएको हो ।

बधाई सन्देशमा प्रधानमन्त्री कार्कीले भन्नुभएको छ,“राष्ट्रिय आत्मविश्वासमा ऊर्जा थप्न सफल यस उत्सवमा सहभागी सबै टिम, आयोजक र समर्थकलाई धन्यवाद ।”

लुम्बिनी लायन्सले आज भएको फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेको हो । सुदूरपश्चिम भने दोस्रोपटक पनि उपविजेतामै समेटिएको छ ।