`

मुलुक परिवर्तन गर्न कांग्रेस परिवर्तन हुन जरुरी छ – शेखर कोइराला

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुक परिवर्तनका लागि कांग्रेस परिवर्तन हुन जरुरी रहेको बताउनुभएको छ ।बीपी स्टडी युथ सर्कलले शुक्रबार रीता शाहीद्वारा लिखित गजल सङ्ग्रह ‘चिनारी’ को विमोचन गर्दै उहाँले मुलुक परिवर्तन गर्नका लागि कांग्रेसलाई परिवर्तन गरेर अगाडि बढ्न जरुरी रहेको बताउनुभएको हो ।

नेता डा कोइरालाले कम्युनिष्ट पार्टीसँग कांग्रेसले गठबन्धन गर्दै जाने हो भने कांग्रेसको अस्तित्व समाप्त हुने बताउनुभयो । “कांग्रेसले कम्युनिष्ट पार्टीसँग गठबन्धन गर्नु हुँदैन, लोकतान्त्रिक पार्टीसँगै गठबन्धन गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

गठबन्धन निर्वाचनअघि गर्ने कि निर्वाचनपछि भन्नेबारे पार्टीले सोच्न जरुरी रहेको उहाँको भनाइ थियो । उहाँले गजलमार्फत देशको समस्या उजागर गर्न खोजेकाले उक्त गजल सङ्ग्रह पठनीय भएको बताउनुभयो । उहाँले पछिल्लो समय देशमा युवा निराश हुँदै गएको भन्दै युवाको निराशालाई आशामा बदल्नका लागि राजनीतिक दल लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

भूकम्पपीडितलाई देवघाटबाट सात लाख ४६ हजार सहयोग

दमौली – जाजरकोट भूकम्पपीडितलाई तनहुँको देवघाट गाउँपालिकाबाट रु सात लाख ४६ हजार सहयोग भएको छ । उक्त रकम शुक्रबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।

भूकम्पपीडितलाई देवघाट गाउँपालिकाको तर्फबाट रु पाँच लाख, गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको तर्फबाट रु एक लाख ३७ हजार एक सय एक र देवघाट क्षेत्रका स्थानीय बासिन्दा र विभिन्न सङ्घ संस्थाबाट सङ्कलन गरिएको रु एक लाख नौ हजार सात सय ८० गरी कूल रु सात लाख ४६ हजार आठ सय ८१ कोषमा जम्मा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले जानकारी दिनुभयो ।

देवघाट गाउँपालिकाको विपद् व्यवस्थापन समितिले गत कात्तिक २० गते भूकम्पपीडितको सहयोगका लागि रु पाँच लाख सहयोग गर्ने र थप आर्थिक सहयोग सङ्कलनका लागि वडा नं २ का अध्यक्ष मीनबहादुर रानाको अध्यक्षतामा राहत सङ्कलन समिति गठन गर्ने निर्णय गरेको थियो ।

कोशी प्रदेशमा पहिलोपटक एआई तालिम


मोरङ, २३ मङ्सिर : कोशी प्रदेशमा पहिलोपटक सूचना प्रविधिमा आधारित एआई, रोवटिक्स र कोडिङलगायत १२ विधामा विद्यार्थीलाई शुक्रबारदेखि अध्यापन प्रारम्भ गरिएको छ ।मोरङको बूढीगङ्गामा–२ टङ्कीसिनवारीमा रहेको जेभियर्स इङसिल विद्यालयले दूरशिक्षा काठमाडौँका प्रशिक्षिकद्वारा शुक्रबरदेखि तालिम सुरु गरेको हो । अहिलेको विश्वका परिवेशमा सूचना प्रविधिलगायतका विषयमा स्वदेश र विदेशमा अत्यधिक मागलाई ध्यानमा राखी मुलुकमा दक्ष जनशक्ति उत्पादन गर्न एआईसम्बन्धी अध्यापन सुरु गरिएको विद्यालयका उपप्राचार्य जनक ढकालले राससलाई जानकारी दिनुभयो ।

विद्यालयमा अध्ययनरत कक्षा ३ देखि १० सम्मका पाँच सय विद्यार्थीलाई एआईसम्बन्धी अध्यापन गरिने छ । पूर्वाञ्चाल विश्वविद्यालयका सहायक डिन मनोज साह, दूरशिक्षाका प्रतिनिधि कृष्ण भण्डारी र विद्यालयका प्राचार्य परेश पोखरेलले संयुक्तरुपमा शुभारम्भ गर्दै मुलुकलाई आवश्यक पर्ने सूचना प्रविधिका दक्ष जनशक्ति उत्पादनमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

विद्यालयले दूर शिक्षालाई रु १० लाख भुक्तानी गरेको छ भने विद्यार्थीलाई निःशुल्क तालिम दिने व्यवस्था मिलाएको विद्यालयले जनाएको छ । आगामी एक वर्षसम्म दूर शिक्षाले सूचना प्रविधिका ४८ वटा विधामा तालिम सञ्चालन गर्नेछ ।

अब सच्चिएर जानुको विकल्प छैनः सांसद पाण्डे

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले सबै राजनीतिक दलले आफ्ना सांसदलाई प्रशिक्षण दिएर संसदमा पठाउनुपर्ने बताएका छन् ।

जिम्मेवारी र दायित्वका हिसाबले विधायिकी भूमिकामा बढी केन्द्रित हुनुपर्ने सांसद सत्ताको राजनीतिमा लिप्त हुँदा सदनको मुख्य काम नै ओझेलमा परेकाले प्रशिक्षण आवश्यक भएको उनको भनाइ छ ।

विसं २०४८, २०५१, २०५६ मा प्रतिनिधिसभा सदस्य रहेका पाण्डे २०७० मा संविधानसभा सदस्य रहेका थिए । २०७४ मा प्रदेशसभा सदस्य रहेका उनी २०७९ को निर्वाचनमा धादिङ–१ बाट प्रतिनिधिसभा सदस्यमा चुनिए । २०४८ सालमा आफू पहिलोपटक संसद् छिर्दा संसदीय अभ्यास, अनुशासन, मर्यादा, भूमिका, जिम्मेवारीलगायत विषयमा पर्याप्त प्रशिक्षण हुने गरेको उनी स्मरण गर्छन् ।

“हामी संसद्मा आउने बित्तिकै सांसदलाई प्रशिक्षण दिइन्थ्यो र संसद्मा कसरी प्रस्तुत हुने तरिका सिकाइन्थ्यो । अर्थतन्त्रका विषयमा अर्थशास्त्रीसँग, ज्ञान–विज्ञानका क्षेत्रमा त्यस क्षेत्रका विज्ञ र जानकारसँग छलफल गथ्र्यौ । आजकाल त्यो भएको देखिँदैन”, संवादका क्रममा उनले भने, “कुनै पनि दलले त्यसरी प्रशिक्षण दिएर आफ्ना सांसदलाई संसदीय अभ्यासमा अभ्यस्त बनाउन सकेका छैनन् । सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फका दलले आफ्ना सांसदलाई प्रशिक्षण दिएर संसद्मा उतार्नुपर्छ ।”

पछिल्लो समय संसद् प्रभावकारी हुन नसकेको भन्दै जनस्तरबाटै आलोचना भइरहेका बेला पाण्डे पनि संसद् र सांसदले आफ्नो विधायिकी भूमिका निर्वाह गर्न नसकेको स्वीकारर्छन् । “हामीले कानुन बनाउनका लागि जति धेरै समय दिनुपथ्र्यो, त्यो दिन सकेका छैनौँ । कहिले सुन प्रकरण, कहिले भुटानी शरणार्थी प्रकरणका नाममा पटक–पटक संसद् अवरोध भएका छन् । संसद्मा बढीभन्दा बढी अभ्यास गर्ने र जनजीविकाका कुरा राख्ने सवालमा हामी निकै कमजोर देखियौँ”, उनी भन्छन् ।

सबै राजनीतिक दलले जनजीविकासँग जोडिएका महत्वपूर्ण विषयलाई संसद्मा ल्याएर गहन छलफलमार्फत निकास दिनुपर्ने उनको बुझाइ छ । त्यस्ता विषयमा सत्तापक्षका सांसदले सरकारबाट चाँडो निर्णय गराउने र प्रतिपक्षले संसद्बाट खबरदारी गर्नुपर्ने पाण्डे बताउछन् ।

संसद् भनेको सरकार निर्माणका लागि मात्रै हो भन्ने बुझाई सांसदमै हावी हुँदै गएको उनी बताउछन्। “अधिकांश सांसदको दिमागमा संसद्मा आउनु भनेको मन्त्री बन्नु हो भन्ने परेको छ । मन्त्री हुन पाइएन भने सांसद भएको अर्थ नै भएन भन्ने बुझाइसमेत राख्ने गरेका छन् । मन्त्री बन्नका लागि हुने दौडधुप त्यस्तै मनोवृत्तिको परिणाम हो ।” उनले भने ।

संसदीय अभ्याससँग जोडिएका कतिपय शैली, प्रक्रिया आजकाल प्रयोगमा आउन नसकेको उनको बुझाइ छ । “संसद्मा सबै सांसदले आफ्ना कुरा राख्नका लागि पर्याप्त समय नै हुँदैन । तर संसद्भित्र हामीले अभ्यास गर्नसक्ने र नगरेका धेरैवटा विषय छन्”, उनी भन्छन्, “हामीले ध्यानाकर्षण प्रस्ताव, जरुरी सार्वजनिक महत्वको प्रस्ताव, सङ्कल्प प्रस्ताव राख्न पाउँछौँ । मन्त्रीहरुलाई प्रश्न गर्न पाउँछौँ । लिखित वा मौखिक प्रश्न पाउँछौँ । तर ती अभ्यासलाई हामीले धेरै महत्व दिइरहेका छैनौँ ।”

सत्तापक्षले आफ्नो दलको सरकारको विरोध गर्न नसक्ने र प्रतिपक्षले विरोधकै लागि विरोध गर्ने शैली मौलाउँदै गएकोप्रति पनि सांसद पाण्डे चिन्ता व्यक्त गर्छन्। सत्तापक्ष र प्रतिपक्ष दुवै तर्फका सांसदहरुले जनताको हितमा बोल्ने हो भन्ने बिर्सेर दलीय राजनीति तथा सत्ता खिचातानीको खेल संसद्मा खेल्ने गरेको उनको आरोप छ ।

“संसद्भित्र कानुन निर्माण गर्ने भन्दा पनि सत्ता राजनीति हावी भयो । जहिले पनि विरोध गर्ने प्रवृत्तिको विकास भयो”, उनी भन्छन्, “सत्तापक्ष–प्रतिपक्ष जहाँ बसे पनि आखिर हामी जनताका प्रतिनिधि हौँ । जनताकै हितका लागि बोल्नुपर्छ । जनतासँग कबुल गरेर आएका कुरालाई पूरा गर्नेतर्फ सोच्नुपर्छ ।” यस्तो प्रवृत्तिलाई सच्च्याएर नागरिकका आकांक्षा पूरा गर्नेतर्फ संसद् केन्द्रित हुनुपर्ने सुझाव पाण्डे दिनुहुन्छ । समितिको सभापति बनाउन पनि छ महिना लगाउने, स–साना कुरामा पनि सहमति नजुट्ने, प्रतिपक्षले रचनात्मक दबाब दिनेभन्दा पनि अनावश्यक विरोध मात्रै गर्ने प्रवृत्ति मौलाएको उनको बुझाइ छ ।

सदनलाई प्रभावकारी बनाउनु प्रतिपक्षसँगै सरकारको पनि जिम्मेवारी हो । सत्तापक्षले जति मात्रामा विधेयक संसद्लाई दिन सक्नुपथ्र्यो, त्यो हुन सकेको छैन । सङ्घीयतासँग जोडिएका करिब तीन दर्जन सङ्घीय कानुन बन्न बाँकी छन् । विधेयक सरकारले संसद्मा ल्याउन सकेको छैन र संसद् पनि प्रभावकारी हुनसकेको छैन । त्यसो हुनु सरकारको कमजोरी भएको उनी बताउँछन्।

“सरकारले कानुन मन्त्रालय र विषयगत मन्त्रालयलाई सक्रिय गराएर संसद्मा जति विधेयक दर्ता गर्नुपथ्र्यो त्यो हुन सकेन । अघिल्ला दुईवटा अधिवेशनबाट हामीले निकै कम विधेयक पास गरेका छौँ । यो सरकारको कार्य क्षमतासँग पनि जोडिएको विषय हो”, सांसद पाण्डे भने । त्यस्तै प्रत्येक मन्त्रीले आफ्नो मन्त्रालयअन्तर्गतका निकायबाट भए–गरेका कामबारे हरेक साता संसद्लाई जानकारी गराउर्नेमा त्यसो हुन सकेको छैन । नागरिक र जनजीविकासँग जोडिएका विषय संसद्मा उठे पनि त्यसको कार्यान्वयन निकायले के काम गर्यो भन्ने जानकारी सरकारले गराउन नसकेको उनी बताउछन्।

जिम्मेवारी बहनमा मात्र नभई संसदीय मर्यादा, अनुशासन पालनामा पनि सांसद चुक्ने गरेका छन् । संसद्मा विवादास्पद अभिव्यक्ति दिने, एकअर्कालाई अनावश्यक आक्षेप र लाञ्छना लगाउने, तथ्यभन्दा बाहिर रहेर भ्रम सिर्जना गर्ने अभिव्यक्ति दिनेजस्ता काम सांसदबाटै हुने गरेका छन् । यसबारे पनि सांसद जिम्मेवार हुन नसकेको उनको भनाइ छ ।

“जतिसुकै चित्त नबुझे पनि संसदीय मर्यादाभन्दा बाहिर रहेर अभिव्यक्ति दिनुहुँदैन । पुराना मात्र नभई नयाँ दलका अभिव्यक्ति पनि संसदीय मर्यादाभन्दा बाहिर गएर आउने गरेका छन्”, उनी भन्छन्, “प्रतिपक्ष भएपछि विरोध मात्रै गर्नुपर्छ र विरोध गर्दा जनतामा आफ्नो भूमिका निर्वाह ग¥यो भन्ने छाप पर्छ भन्ने बुझाइ प्रतिपक्षमा छ ।अर्कोतर्फ सरकारले गरिरहेको कतिपय कुरा सत्तापक्षकै सांसदलाई पनि चित्त बुझिरहेको हुँदैन । तर सरकारको विरोधमा बोलिहाल्न गाह्रो हुन्छ । यस्ता कठिनाइ पनि छन् ।” प्रतिपक्षले संसद्मा लैजाने विषय खोज्ने र ती विषयमा प्रतिप्रश्न गर्ने शैलीले काम गर्नेभन्दा विरोधका लागि मात्रै विरोध गरेको सांसद पाण्डेको बुझाइ छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको एक वर्ष बितिसकेको छ । निर्वाचनताका जनतासँग गरेका प्रतिबद्धता र अहिलेसम्म हासिल भएका उपलब्धिबारे प्रश्न गर्दा सांसद पाण्डेले आफू सन्तुष्ट नरहेको जवाफ दिनुभयो । सांसदका रुपमा आफ्नो पछिल्लो कार्यकाललाई कसरी लिनुहुन्छ ? भन्ने प्रश्नमा उनले सन्तोषजनक काम गर्न नसकेकै कारण व्यवस्थामाथि चुनौती देखिएको स्वीकारे।

“निर्वाचन पछिको एक वर्ष त्यति राम्रो र सकारात्मक छ भन्नसक्ने अवस्था छैन । हाम्रो कार्यशैलीमा कमजोरी भएकै कारणले एकथरि मान्छेहरु अहिले व्यवस्था माथि नै प्रश्न गर्न थालेका छन्”, उनी भन्छन्, “राजनीतिक अभ्यास, संसदीय अभ्यास नबुझेका मानिसहरुले सडकमा बसेर हामी व्यवस्था बदल्छौँ भनिरहेका छन् । सरकार ढाल्छौँ, संविधान फेर्छौं, राजा ल्याउँछौँ भनिरहेका छन् । हुन त कसैले भनेकै भरमा सजिलै राजा ल्याउन सकिन्छ भन्ने मलाई लाग्दैन । तर यो सबै भइरहेको पनि हाम्रै कमजोरीका कारण भइरहेको हो भन्ने लाग्छ ।”

अब सच्चिएर र सच्च्याएर जानुको विकल्प नरहेको पनि उनले स्पष्ट पारे । सरकारले राम्रो काम गर्दा सत्तापक्ष–प्रतिपक्ष दुवैले त्यसलाई जनतासम्म पुर्याउनका लागि भूमिका निर्वाह गर्नुपर्ने र मुख्यगरी प्रतिपक्षले सरकारले गरेका कमिकमजोरीलाई जनतासम्म पुर्याउन रचनात्मक ढङ्गले अघि बढ्नुपर्ने उनको बुझाइ छ । तर यी मामिलामा सत्तापक्ष र प्रतिपक्ष दुवै चुकेकाले अबको दिनमा सच्याएर जानुपर्ने पाण्डे बताउछन् ।

त्यस्तै, पछिल्लो समय सङ्घीयताको प्रभावकारिता माथि पनि प्रश्न उठिरहेका छन् । योभन्दा अधिल्लो कार्यकाल प्रदेशसभामा रहनुभएका पाण्डे केन्द्र सरकारले सङ्घीय कानुन निर्माण नगरिदिएका कारण प्रदेश कमजोर भएको बताउछन् ।

“प्रदेशलाई अधिकार नदिने तर काम गरेन भनेर गाली मात्रै गरेर हुँदैन । संविधानमा प्रदेश प्रहरी हुने भनेर व्यवस्था छ । तर प्रहरी समायोजन भएको छैन । सङ्घीय निजामती सेवा ऐन अझै बनिसकेको छैन । शिक्षा ऐनलगायत कानुन आउन सकेको छैनन्”, उनी भन्छन्, “सङ्घीयतालाई बल दिने खालका ३०÷३२ वटा कानुन अझै बन्न सकेका छैनन् । प्रदेशलाई अधिकारसम्पन्न बनाएर जानपर्छ । हामीले चाहेको प्रतिस्पर्धात्मक सङ्घीयता होइन, सहकार्य र समन्वयात्मक भूमिकासहितको सङ्घीयता हो । सङ्घ, प्रदेश र स्थानीय सरकार मिलेरै चलाउने हो । केन्द्रले स्थानीय तहलाई, प्रदेशले पनि स्थानीय तहलाई पैसा मात्र दिएर भएन, अधिकार पनि दिनुपर्छ ।”

समृद्धिको सपना साकार पार्न एमालेको सङ्कल्प यात्रा – ओली

गोरखा – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणको सपना साकार पार्न आफ्नो पार्टीले सङ्कल्प यात्रा थालेको बताउनुभएको छ ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राअन्र्तगत गोरखाको पालुङटारमा शुक्रबार आयोजित कोणसभामा उहाँले देशमा रहेका सबै खालका समस्या समाधान गर्न आफ्नो पार्टी लागिपरेको बताउनुभयो । उहाँले समृद्धिको सपना पूरा गर्न एमालेको नेतृत्वको एकल सरकार आवश्यकपर्ने समेत दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले आफ्नो पार्टीले देशलाई समृद्धि बनाउन चाहेको बताउँदै समृृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्न राष्ट्रिय शक्ति निर्माणको आवश्यता रहेको औँल्याउनुभयो । अभियानअन्तर्गत शनिबार बिहान अध्यक्ष ओलीले गोरखा जिल्लाका विभिन्न सवालबारे स्थानीय सरोकारवालासँग छलफल गर्ने कार्यक्रम रहेको एमाले गोरखाका सचिव काजीराम रोकाले जानकारी दिनुभयो ।

सुरक्षाकर्मीको टोलीद्धारा १५ बिघा क्षेत्रफलमा लगाएको गाँजा नष्ट

मलङ्गवा, २३ मङ्सिर : सर्लाही प्रहरीले लालबन्दी नगरपालिका –१४, नारायण खोलास्थित १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला नेतृत्वको सुरक्षाकर्मीको टोलीले गाँजा खेती नष्ट गरेको हो । नारायण खोला र आसपासका क्षेत्रको विशाल भूभागमा गाँजाखेती गरिएको सूचनाका आधारमा परिचालन भएको सुरक्षाकर्मीको टोलीले १५ बिघा क्षेत्रफलमा लगाएको गाँजा नष्ट गरेको सर्लाहीका प्रहरी प्रमुख प्रवीण धितालले राससालाई जानकारी दिनुभयो ।

गाँजा नष्ट गर्न जिल्ला प्रहरी कार्यालय मलङ्गवा, नेपाल प्रहरी विशेष सुरक्षा गण ढल्केवर, सशस्त्र प्रहरी सुरक्षा बल लालबन्दी र इलाका प्रहरी कार्यालय लालबन्दीबाट एक सय ५० जनाभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए ।

प्रहरीले प्रत्येक वर्ष सर्लाहीको चुरे क्षेत्रमा गाँजा फडानी गर्दै आएको छ तर स्थानीयले गाँजाखेती गर्न छाडेका छैनन् । सडक नपुगेको र खोलाको बगर भएर जानुपर्ने जिल्लाकै सबैभन्दा दुर्गम भेगमा पर्ने चुरेक्षेत्रस्थित नारायण खोलाका स्थानीयले केही वर्षदेखि अन्य बाली लगाउन छाडेर गाँजाखेती गर्दै आएका छन् । सर्लाहीको बागमती, हरिवन, लालबन्दी र ईश्वरपुर नगरपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रको डाँडाकाँडामा गाँजाखेती रोकिएको छैन ।

जुम्लाको न्यूनतम तापक्रम माइनसमा, जाडोले जनजीवन प्रभावित

जुम्ला, २३ मङ्सिर : जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेसँगै जाडोले यहाँको जनजीवन प्रभावित भएको छ । हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार जिल्लाको न्यूनतम तापक्रम–२ दशमलव ६ डिग्री र अधिकमत तापक्रम १५ दशमलव ६ डिग्री सेल्सियस रहेको कार्यालय प्रमुख महेश शर्माले राससलाई जानकारी दिनुभयो । तापक्रम माइनसमा झरेसँगै बिहान–बेलुका घरबाट बाहिर निस्कन कठिन भएको चन्दननाथ नगरपालिका–४ निवासी सरिता न्यौपानेले बताउनुभयो । एक सातादेखि बढेको चिसोले जिल्लाको जनजीवन प्रभावित भएको छ ।

चिसो बढेपछि अस्पतालमा बिरामीको सङ्ख्या पनि बढेको छ । चिसो बढेसँगै रुघाखोकीका बिरामीको चाप बढेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक पुजन रोकायले बताउनुभयो । चिसोकै कारण यहाँका स्वास्थ्य केन्द्रलगायत प्रतिष्ठानमा ज्वरो, रुघाखोकी, दम, ‘कोल्ड डायरिया’का बिरामीको सङ्ख्या बढेका छन् । अहिले दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि प्रतिष्ठानमा आउने गरेका छन् ।

लगातार बढ्दै गएको जाडोबाट बालबालिका, वृद्ध र सुत्केरी महिला बढी प्रभावित भएका छन् । बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलामा रुघाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिएको तिला गाउँपालिको रारालिही स्वास्थ्यचौकीमा प्रमुख कमल रावतले बताउनुभयो ।

त्रिपालमै बसेका ३२ भूकम्पपीडितको मृत्यु

काठमाडौँ । सरकारले समयमै अस्थायी टहरा निर्माण गर्ने रकम नदिँदा कात्तिक १८ यता त्रिपालमै बसेका ३२ भूकम्पपीडितको मृत्यु भएको छ । प्रहरीको तथ्यांक अनुसार बिहीबारसम्म जाजरकोटमा २७ र रुकुम पश्चिममा पाँचजनाले ज्यान गुमाएका छन् । चिसो बढ्दै गएकाले यो सङ्ख्या बढ्न सक्ने सम्भावना छ ।

कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५४ जनाको ज्यान गएको थियो । यसरी ज्यान गुमाउनेमा जाजरकोटका १०१ र रुकुम पश्चिमका ५३ जना छन् । भूकम्पले घर भत्काएपछि पीडित बारीमा त्रिपाल टाँगेर बसिरहेका छन् । सरकारले समयमै अस्थायी टहरा बनाउने रकम निकासा नदिँदा र अस्थायी टहराको डिजाइन नपठाउँदा उनीहरूको त्रिपालमुनिको बास लम्बिने भएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार त्रिपालमुनि बसेका जाजरकोटको कुशे गाउँपालिकामा आठ, छेडागाड नगरपालिकामा ६, नलगाड नगरपालिकामा चार, जुनिचाँदे गाउँपालिकामा चार, भेरी नगरपालिकामा दुई र बारेकोट गाउँपालिकामा तीन जनाको ज्यान गएको छ । यस्तै रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा तीन जना, बाफिकोट गाउँपालिका र सानीभेरी नगरपालिकामा एक- एक जनाको चिसोले मृत्यु भएको हो । आजको नागरिक दैनिकमा समाचार छ ।

एमसीसी सम्झौता अन्तर्गत खरिद प्रक्रिया अघि बढ्यो

काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी) सम्झौता अन्तर्गत विद्युत् प्रसारण लाइनसम्बन्धी खरिद प्रक्रिया अघि बढेको छ । नेपाल कम्प्याक्टको व्यवस्थापकीय निकाय एमसिए नेपालका अनुसार त्यसका लागि नेपाल सरकारको अर्थ मन्त्रालय, एसमसिसी र एमसिएले आपसी समन्वयमा खरिद प्रक्रिया अघि बढाएको हो ।

खरिद प्रक्रियाको पहिलो चरणको बोलपत्र आह्वान अन्तर्गत गत भदौ महिनामा परेका प्रस्तावमा अनुमानित बजेटभन्दा धेरै बढी भएपछि सबै बोलपत्रको प्रस्ताव अस्वीकृत गरिएको थियो । सम्झौता अनुसार स्रोतसाधनले देशलाई अधिकतम लाभ पुग्ने गरी परिचालन गर्नका लागि अर्को बोलपत्र आह्वानको तयारी गरिएको एमसिए नेपालले जनाएको छ ।

विद्युत् प्रसारण आयोजनाको कार्यान्वयन छिटो गर्नुपर्ने भएकाले त्यसका लागि आन्तरिक पहल जारी रहेको जनाइएको छ । फेरि बोलपत्र आह्वान गरेर पनि तोकिएको पाँच वर्षको अवधिमै काम सक्याउने गरी तयारी भएको एमसिए नेपालले शुक्रबार वक्तव्यमार्फत प्रस्ट पारेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

ऋणको सदुपयोग गरेकालाई सहजीकरण गरिने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले ऋण लिएपछि तिर्नुपर्ने भन्दै राष्ट्र बैङ्कले ऋणको सदुपयोग गरेकालाई सहजीकरण गर्ने बताए । राष्ट्र बैङ्कले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको समीक्षापछि आयोजित पत्रकार सम्मेलनमा उनले नीतिगत रूपमा व्यवस्था गरेको र ब्याज कोरिडोर मेन्टेन गर्नका लागि राष्ट्र बैङ्क सजग रहेको बताएका हुन् ।

बैङ्क तथा वित्तीय क्षेत्रमा नियतवश कर्जा भुक्तान नगर्ने ऋणीहरूउपरको कारबाहीलाई थप प्रभावकारी बनाउँदै परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीलाई कर्जा पुनर्संरचना र पुनर्तालिकीकरणलगायतका माध्यमबाट सहजीकरण गरिने उनको भनाइ छ ।

यसका लागि बैङ्क तथा वित्तीय संस्थाले समस्यामा परेका ऋणीबाट प्राप्त निवेदनको विश्लेषणका आधारमा बक्यौता ब्याजको दस प्रतिशत रकम असुल गरी कर्जा पुनर्संरचना गर्न सक्ने अवधि २०८० चैत मसान्तसम्म कायम गरी पुनर्संरचना गर्न सक्ने क्षेत्रको विस्तार गरिने उनले बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव आयोजना

लुम्बिनी (मर्चवार), २३ मङ्सिर : नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव आयोजना गरेको छ । शुक्रबार सम्पन्न महोत्सवमा बौद्ध धर्मलाई केन्द्रमा राखी भारत र नेपालको समृद्ध सांस्कृतिक सम्पदा तथा परम्परा प्रस्तुत गरिएको थियो ।

महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराती, र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी नेपालका लागि भारतका लागि राजदूत नवीन श्रीवास्तवले संयुक्तरूपमा उद्घाटन गर्नुभयो ।

त्यस अवसरमा मन्त्री किरातीले महोत्सवका माध्यमबाट दुई देशबीचको बलियो सांस्कृतिक एवं ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउन सकिने बताउनुभयो । शताब्दीऔँ पुरानो नेपाल र भारतबीचको जनस्तरको सम्बन्धलाई यस्ता महोत्सवले अझ सुमधुर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

राजदूत श्रीवास्तवले हरेक वर्ष लुम्बिनीमा यस्ता महोत्सव आयोजना गरिने बताउँदै त्यसबाट दुवै देशका साझा सम्पदा, परम्परा र संस्कृतिबारे नेपाली र भारतीयलाई जानकारी हुने र त्यसले एकअर्कालाई नजिक ल्याउन सहयोग गर्ने विचार व्यक्त गर्नुभयो ।

हेर्नुहोस् मंसिर २३ गते शनिवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – नयाँ कार्य थालनिको सम्भाबना रहेकोछ । सभासम्मेलन जन्य कार्यमा सामान्य मान सम्मान प्राप्तीको सम्भाबना रहेकोछ । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ ।

बृष राशि – प्रतिश्पर्दा जन्यकार्यमा बिशेष सजग रहनु होला । सामान्य आर्थीक अभावको सम्भाबना रहेकोछ । परिवारका सदस्यहरु बाट टाढा भएको महसुस हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निरासा पुर्ण ब्यतित रहनेछ ।

मीथुन राशि – रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन ।स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँकार्य थालनिको अवसर समेत प्राप्त हुनेछ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ ।

कर्कट राशि – स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनह?को साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन । आम्दानि मध्यम रहने समय रहेकोछ । कार्यक्षेत्रमा शारिरीक आलस्यताले सताउन सक्नेछ ।

सिंह राशि – बल तथा प्रराक्रमका बृद्धिहुने योग रहेकोछ । नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । गरीरहेको कार्यमा ब्यवधान उत्पन्न गराउनेहरुको बृद्धिहुनेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यतिह?ले प्राप्त गर्नेछन । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

कन्या राशि – स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ । बिश्वासिला ब्यतिहरुबाट सामान्य धोका हुन सक्नेछ । बाणीमा मधुरता छाउनाले प्रतिश्पर्दि शुभचिन्तक बन्नेछन । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।

तुला राशि – गरीरहेको कार्यमा सामान्य ढिलाई रहेता पनि कार्य सम्पादित भने रहनेछ । पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ ।

बृश्चिक राशि – स्वास्थमा सामान्य तनाव उत्पन्नहुन सक्नेछ । तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्नेछ । सामान्य यात्राको सम्भाबना रहेकोछ । मित्रजनहरुको साथसहयोग प्राप्त रहनेछ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन ।

धनु राशि – बौधिक ब्यत्तित्वहरुको साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तमरहेकोछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ । आम्दानिका बिभीन्न श्रोतहरु फेला पर्नेछन । खानपानमा साबधानि उत्तम रहनेछ । मित्रजनह?को साथसहयोग प्राप्त रहनेछ । सन्तान शुःख प्राप्त हुनेछ ।

मकर राशि – सामाजिक कार्यमा जुट्नेसमय रहेकोछ । सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ । मान्यजनह?को स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रायोगमा साबधानि अपनाउनु होला । खानपानको क्षेत्रमा सजग रहनु होला ।

कुम्भ राशि – मित्र तथा दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुद्वारा गरीएको कार्य त्रुटिका कारण तपाईलाई सामान्य तनाव आईपर्न सक्नेछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

मिन राशि – खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बाणीका कारण आफन्त जनहरु सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ ।

सरकारले जनचाहनाअनुसार काम गरिरहेको छ : प्रधानमन्त्री

सुदूरपश्चिम, २२ मङ्सिर : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको चाहनाअनुसार सरकारले काम गरिरहेको बताउनुभएको छ ।धनगढी उपमहानगरपालिका–१६ को घसिटा गाउँमा आज आयोजित पार्टीको विशेष रुपान्तरण अभियान कार्यक्रममा प्रधानमन्त्री दाहालले पूर्वाधार विकास, आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय सरकारको प्राथमिकतामा रहेको स्पष्ट पार्नुभयो ।

नेपालको प्रतिष्ठा बढाउन र अन्तर्राष्ट्रिय सहयोग जुटाउनका लागि आफूले छिमेकी राष्ट्र भारत र चीन र मित्रराष्ट्र अमेरिकाको भ्रमण गरेको बताउँदै प्रधानमन्त्रीले पार्टीको अभियान सकाएर विधान सम्मेलन गर्ने र त्यसपछि अधिवेशन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

पार्टी अध्यक्षले सात प्रदेशका सात वडामा पुग्नुपर्ने पार्टीको निर्णय बमोजिम आफू आज यहाँ आएको बताउँदै प्रधानमन्त्रीले जनताको आसा अपेक्षाअनुसार पार्टीले काम नगरेको जनगुनासो आएपछि यो अभियान चलाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो अभियानले एकपटक फेरी पार्टीसँग जनतालाई जोड्न, जनतामा नयाँ, आशा जगाउन र जनयुद्धका घाइते, सहिद परिवार, बेपत्ताका परिवारसँग माओवादीलाई जोड्न सफल भएको छ ।” वडाको विकासका लागि आफू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

समझदारी, विश्वास र एकता प्रवर्द्धनमा प्रधानमन्त्रीको जोड

कठमाडौँ, २२ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को बडापत्रमा प्रतिष्ठापित समझदारी, विश्वास, एकता र सहयोगका मूल्य–मान्यता प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । उनाञ्चालीसौँ सार्क स्थापना दिवसका अवसरमा आज दिनुभएको सन्देशमा प्रधानमन्त्रीले हाम्रा मैत्रीपूर्ण कार्य र साझा प्रयासबाट क्षेत्रीय एकता एवं विश्वास प्रवर्द्धन हुने बताउनुभएको हो ।

सार्क प्रक्रियालाई ऊर्जा प्रदान गर्न, सङ्गठनलाई अझ सबल, प्रभावकारी एवं परिणाममुखी तुल्याउन सार्कको संस्थापक मुलुकका नाताले नेपाल प्रतिबद्ध रहेको प्रधानमन्त्रीले बताउनुभएको छ । दक्षिण एशियाको साझा समृद्धि तथा क्षेत्रीय एकताका निम्ति ३९ वर्षअघि स्थापना भएको सार्कमा त्यसबेलाका गरिबी, कुपोषणजस्ता चुनौतीका साथै जलवायु परिवर्तन र त्यसका प्रतिकूल प्रभावले निम्त्याएका विपत्ति एवं साइबर सुरक्षा नयाँ समस्या थपिएका प्रधानमन्त्रीले सन्देशमा उल्लेख गर्नुभएको छ ।

बडापत्र दिवस पनि भनिने सार्क स्थापना दिवसका अवसरमा अफगानिस्तानबाहेक अन्य सदस्य राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुख, परराष्ट्रमन्त्री र सार्कका महासचिवले बेग्लबेग्लै सन्देश जारी गरी सदस्य देशका जनताको समृद्धिको कामना गर्नुभएको छ ।

एनसेल प्रकरणमा आर्थिक लेनदेन भएको आरोप

काठमाडौँ, २२ मङ्सिर : नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले एनसेल खरिद–बिक्री प्रकरणमा राज्यलाई प्रत्यक्ष हानी पुग्नेगरी आर्थिक लेनदेन भएको हुनसक्ने बताउनुभएको छ ।

पार्टी सम्बद्ध औद्योगिक मजदुर शाखाले आज आयोजना गरेको प्रशिक्षणमा पूर्वमन्त्री पुनले एनसेल प्रकरणमा ठूलो आर्थिक चलखेल भएको आरोप लगाउनुभयो ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तदारुकताका साथ एनसेल प्रकरण छानबिन अघि बढाउनुभएको उल्लेख गर्दै नेता पुनले तथ्य र प्रमाणका आधारमा राज्य ठगी गर्ने काममा संलग्न जोकसैलाई पनि कारबाही हुने बताउनुभयो ।

“सञ्चार माध्यममार्फत एनसेल प्रकरण सार्वजनिक हुँदा प्रधानमन्त्री कोप–२८ को सिलसिलामा देशबाहिर हुनुहुन्थ्यो । उहाँ आउने वित्तिकै सत्तारुढ गठबन्धनको शीर्ष नेताको बैठक बोलाएर छानबिन गर्नका लागि सहमत गराउनुभयो”, उहाँले थप्नुभयो, “भोलिपल्टै मन्त्रिपरिषद्ले उच्चस्तरीय समिति बनाएर छानबिन अघि बढाएको छ, राज्यविरुद्धको अपराध र ठगीमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन ।”

सिङ्गो पार्टी र जनता माफियाकरण विरुद्धको अभियानमा साथमा रहेको बताउँदै उपमहासचिव पुनले बालुवाटार जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरण र मिटरब्याजीविरुद्धको अभियानमा जनताले सरकारलाई साथ दिएको बताउनुभयो ।

नेता पुनले सरकार केही ठूला भ्रष्टाचार प्रकरणका फाइल खोल्ने तयारीमा रहेको जानकारी दिँदै सुशासनसँगै अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी विकास निर्माणका कामलाई तीव्र गतिमा बढाउने विषयलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।

परम्परागत घारमा मौरी पालेर जीविकोपार्जन गर्दै दिनेश

खोटाङ, २२ मङ्सिर : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित लालीखर्कका युवा दिनेश तामाङले घरको पर्खालमा खोपा घार र काठको परम्परागत घार (डुँड) बनाएर मौरीपालन गर्नुभएको छ ।

विसं २०६९ देखि परम्परागत घार (खोपा र डुँड) बनाएर एपिसेरेना जातको मौरीपालन सुरु गर्नुभएका ३२ वर्षीय दिनेशले एक याममा कम्तीमा एक सय ५० बोतल मह बिक्री गर्नुहुन्छ । पाँच सय मिलिलिटरको बोतलमा भरिएको मह प्रतिबोतल रु एक हजार पाँच सयमा बिक्री गर्ने गरिएको दिनेश बताउनुहुन्छ ।

हाल दिनेशको घरमा ३० वटा खोपा घार र १७ वटा काठको डुँड छन् । त्यसमध्ये अहिले ४० घारमा मौरी छन् । दिनेशले वर्षको दुई पटक जेठ र मङ्सिरमा मौरीको मह निकाल्ने गर्नुभएको छ ।

गत कात्तिकदेखि हालसम्म एक सय ३५ बोत्तल मह बिक्री भइसकेको दिनेशले जानकारी दिनुभयो । “फोनबाट सम्पर्क गर्दै ग्राहक घरैमा आइपुग्छन् । कहिलेकाहीँ मह खोज्दै आउनेको भीड नै लाग्छ । महबाट आउने आम्दानीले नै छ जनाको परिवार चलिरहेको छ”, दिनेशले भन्नुभयो, “आगामी दिनमा थप घार विस्तार गर्ने योजना छ । काठका लागि स्थानीय सामुदायिक वनसँग कुरा गरिसकेको छु ।” मह काढ्ने समय भएपछि दिनेश तस्वीर र भिडियोसहित आफ्नो सम्पर्क नम्बर फेसबुकमा राख्नुहुन्छ । ग्राहक त्यही सम्पर्क नम्बरमार्फत मह किन्न पुग्छन् ।

मध्यपहाडी राजमार्गको मुढेबाट करिब पाँच मिनेटमाथि रहेको दिनेशको घर पुग्ने कच्ची सडक बनिसकेको छ । व्यावसायिक मौरी पालनका लागि दिनेशले पुरानो घरको पर्खालमा दश खोपा घार र नयाँ घरमा २० वटा खोपा घार बनाउनुभएको छ । “घर बनाउने क्रममै काठको खोपा बनाएर पर्खालमा लहरै मिलाएर राख्नुपर्ने हुन्छ । डुँड घारलाई भने पानीले नभेट्नेगरी घरको छानामुनि राख्नुपर्छ”, उहाँले भन्नुभयो, “कतिपय डुँडलाई बाहिर बारीको कुनामा छाना हालेर राखिएको छ । शौचालयको पर्खाललाई समेत खोपा घारको रुपमा उपयोग गरेको छु । लेकाली भेगमा हुने मौरीले आधुनिक घारभन्दा यसैलाई रुचाउँछ ।”

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नूनथलास्थित गैरीगाउँ पुगेका बेला घरको भित्ता र काठको डुँडमा मौरीपालन गरेको देखेपछि आफूले पनि सुरु गरेको दिनेशले बताउनुभयो । नूनथलामा देखेपछि आफ्नो घर बनाउने क्रममा आफूले पनि सोहीअनुसार घरको भित्तामा खोपा घार र काठको डुँड बनाएर मौरीपालन सुरु गरेको उहाँले बताउनुभएको छ । व्यावसायिक मौरीपालनका लागि सीप सिक्न गोदावरीसम्म पुगेको दिनेशले जानकारी दिनुभएको छ ।

“मावली घरमा देखेर त्यस्तै खालको घार बनाएँ । नभन्दै मौरी आफै घार खोज्दै आएर बस्यो । मौरी बढ्दै गयो । अरु काम गर्न उत्साह जगायो”, उहाँले भन्नुभयो, “धोद्रो भएको रुख काटेर घार थप गर्दै गएँ । अहिले यसैबाट गुजारा चलिरहेको छ । दातृ निकायको सहयोग पाए थप विस्तार गर्ने योजनामा छु ।”

लालीखर्कस्थित दिनेशको घरभन्दा केहीमाथि घना जङ्गल छ । जङ्गलमा चुत्रो, चिराइतो, पात्ले, मान्द्रे, ठेकीफललगायत मौसमी फूल फुल्छन् । त्यही कारण पनि दिनेशलाई मौरी पालनका लागि सहज भएको छ । पछिल्लो समय मौरी पालनका लागि जताततै आधुनिक घार प्रयोगमा आइसकेको छ तर, दिनेशले हालसम्म आधुनिक घार प्रयोग गर्नुभएको छैन । लेकमा आधुनिक घार चिसो हुने र मह कम निकाल्ने भएकाले आधुनिक घार प्रयोग नगरेको दिनेशले बताउनुभयो ।

अहिले सरकारी अनुदान लिनेको कमी छैन । दिनेशले भने हालसम्म कहीँकतैबाट अनुदान लिनुभएको छैन । आफ्नै बलबुतामा मौरीसँग रमिरहनुभएको छ । “नक्कली किसानले अनुदान पाउँछ, अनुदानका लागि एक पटक घरेलु पुगेको थिएँ । समूह बनाएर आउनु भनियो, त्यसपछि गइनँ”, दिनेशले भन्नुभयो, “अनुदानको सही सदुपयोग भइरहेको छैन । मौरी पालनलाई थप विस्तार गर्ने योजना छ । तीस वटा खोपा घार हुने गुवाली बनाउने योजना बनाएको छु ।”

चार वर्षअघि मुढेमा हिमपात हुँदा दिनेशको ३६ घार मौरी सखाप भएको थियो । मौरी नै नरहेपछि कतिपय घार चिरेर दाउरा पोल्नुभएका दिनेशले घार सफा गरेपछि पुनः आफै मौरी आएको बताउनुभयो । बुबा भारतीय सेनाबाट अवकाश भए पनि दिनेशले उहाँको पदचापलाई पछ्याउनु भएन, कृषि पेसातिर लम्किरहनुभयो । दिनेशका बुबा मानबहादुर तामाङको गत वर्ष नै मृत्यु भइसकेको जनाइएको छ ।

जलवायु परिवर्तनको असर न्यूनीकरणमा अर्थमन्त्रीको जोड

गण्डकी, २२ मङसिर : अर्थमन्त्री डा प्रकाशरण महतले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न लाग्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल पर्वतारोहण सङ्घद्वारा अन्तर्राष्ट्रिय सङ्ग्रहालय पोखरामा आठौँ पर्वतीय महोत्सवको आज उद्घाटन गर्दै उहाँले जलवायु परिवर्तनका कारण नेपाल जस्ता हिमाल र हिमाली संस्कृतिमा आधारित राष्ट्रहरु सङ्कटमा परिरहेको बताउँदै यसले पार्ने दीर्घकालीन असरप्रति वेलैमा सचेत हुनुपर्ने बताउनुभयो ।

नेपालको हिमाल र हिमाली संस्कृति आपैmमा महत्वपूर्ण भएको बताउँदै अर्थमन्त्री महतले यसलाई पर्यटन प्रवद्र्धनका माध्यमबाट आर्थिक समृद्धिसँग जोड्न सकिने बताउनुभयो । विश्वव्यापी तापमान वृद्धिमा नेपाल जस्ता देशको भूमिका नरहेको उल्लेख गर्दै उहाँले विकसित एवम् औद्योगिक राष्ट्रहरुका कारण बढेको तापक्रमले जलवायुमा परिवर्तन आएको बताउनुभयो ।

नेपालमा कार्बन उत्सर्जन नगन्य मात्रै भएकाले सन् २०४५ सम्म शुन्यमा झार्ने लक्ष्य लिएपनि अन्य मुलुकका कारण नेपालका हिमाल, पहाडसँगै जनजीवनमा प्रभाव पार्ने अर्थमन्त्री महतको भनाइ थियो ।

जलवायु परिवर्तनकै कारण नेपालले बारम्वार बेमौसमी बाढी पहिरोको सामना गर्नुपरेको उल्लेख गर्दै उहाँले यसका कारण विकास निर्माणमा बढाएको लागतको क्षतिपूर्ति अन्तर्राष्ट्रिय समुदायले तिर्नुपर्ने बताउनुभयो । पर्वतीय सङ्ग्रहालयले नेपालको पर्वतीय संस्कृतिको प्रतिनिधित्व गर्दै पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै उहाँले सङ्ग्रहालय नपुगेसम्म पर्यटकको भ्रमण अधुरो हुने गरी विकास गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सरकारले पर्यटन, जलविद्युत्, कृषि र आईटीलाई प्रमुख प्राथमिकतामा राखेर अघि बढेको बताउँदै उहाँले ठूला कङ्क्रिट भवन देखाएर होईन हाम्रो मौतिकता प्रस्तुत गरेर पर्यटन प्रवद्र्धन गर्नेतर्पm लाग्नु पर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्रबहादुर थापाले पोखरालाई पर्यटकीय राजधानी बनाउन पहल गर्न समिति गठन गरिएको जानकारी दिनुभयो ।

विदेशबाट काठ आउने र स्वदेशको काठ जङ्गलमा कुहीने अवस्थाको अन्त्य गर्न प्रदेश सरकार कटिवद्ध भएर लागेको बताउँदै उहाँले गाँजा र घरेलु मदिरालाई कानूनी मान्यता दिने प्रकृया अघि बढेको जानकारी दिनुभयो ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमा नुरु शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष एवम् सङ्ग्रहालय संयोजक ठाकुरराज पाण्डे , सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपनो लगायतले सङ्ग्रहालयको महत्व र पर्यटन प्रवद्र्धनमा पु¥याउँदै आएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा विगत लामो समयदेखि अहिंसा आन्दोलनलाई निरन्तरता दिएको गोरखाको चुननुम्री गाउँपालिकाका अध्यक्ष निमा लामा र पासाङ लामु गाउँपालिकालाई सम्मानपत्रले सम्मान गरिएको थियो ।

पोखराको रातोपैरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा सुरु महोत्सव ५ दिनसम्म चल्नेछ । महोत्सवमा पर्वतीय जनजीवन र आरोहीका डकुमेन्ट्रीदेखि जलवायु परिवर्तनको असरबारे बहस हुने कार्यक्रम रहेको छ । सो अवसरमा ‘साइलेन्ट बर्डस्’ नामक नाटक देखाइयो । नेपाल पंक्षी संरक्षण सङ्घसँगको सहकार्यमा देखाइएको ‘साइलेन्ट बर्डस्’ ले गिद्धको महत्व र उपयोगिताबारे सन्देश दिएको थियो ।

किम्फसँगको सहकार्यमा पर्वतारोहण र पर्वतीय जीवनबारे छ वटा वृत्तचित्र प्रदर्शन हुनेछ । पासाङ, माउन्टेन म्यान, सोफी लाभाड, द सेकेन्ड समिट, अई–डेला हट्स भ्यालिस र एभरेस्ट म्यान वृतचित्र मञ्चन हुने कार्यक्रम रहेको छ । महोत्सवकै अवसरमा फरक भूगोलमा एकै प्रकारको हिमाली जनजीवन झल्काउने अस्ट्रियन आमाछोरी डा. इरिका हुबाचेक र उनकी छोरी इर्मट्रड हुबाचेकले खिचेका तस्वीर पनि प्रर्दशनमा राखिएको छ । यस्तै, झोलुङ्गे पुल र पर्वतारोहणसम्बन्धी विभिन्न विधामा कीर्तिमान बनाएका पर्वतारोहीका तस्वीर समेत प्रदर्शन गरिएको छ ।

महोत्सवमा जलवायु परिवर्तनले हिमालसँगै हिमाली जनजीवनमा पारेको प्रभाव र कालापत्थरमा परिणत हुँदै गएका हिमालबारे बहस हुने जनाइएको छ । सोमबार ‘हिमाल किन कालो हुँदैछ ? के यो परिवर्तन हाम्रो जीवनसँग सम्बन्ध छ ?’ शीर्षकमा डब्लुडब्लु एफका डा. घनश्याम गुरुङ, इसिमोडकी डा. अमिना महर्जन र पत्रकार कुन्द दीक्षितले वार्तालाप गर्नुहुने सङ्ग्रहालयका संयोजक ठाकुरराज पाण्डेले जानकारी दिनुभयो । छेलो प्रतियोगिता, जिपलाइन, आर्चरी, राष्ट्रिय कलाकारबाट दोहोरी गीतको रौनक महोत्सवमा छ । २८ स्टल रहेको महोत्सवमा स्थानीय हस्तकलाका सामाग्रीसँगै कृषि, हिमाल आरोहणमा आवश्यक सामाग्री, दैनिक उपभोग्य बस्तु र सेवा समावेश गरिएको छ ।

म प्रधानमन्त्रीको जिम्मेवारीमा रहेसम्म राष्ट्र र जनहित विपरीत कुनै काम हुन दिन्नः प्रधानमन्त्री

सुदूरपश्चिम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  देशको अर्थतन्त्रको उन्नयनका निम्ति आफू गम्भीर रहेको बताएका छन् । कैलाली उद्योग वाणिज्य सङ्घद्वारा धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्रीले आगामी केही महिनाभित्रमा देशको अर्थतन्त्रलाई लयमा फर्काउन सकेमा त्यो आफ्ना लागि गौरवको  विषय हुने बताए ।

प्रधानमन्त्रीको जिम्मेवारी बहन गरेको सुरुको अवस्थामा निराशाजनक रहेको अर्थतन्त्रमा अहिले केही सुधारका सङ्केत देखिन थालेको प्रधानमन्त्रीले बताए ।

उनले भने, “अर्थतन्त्र अझै दबाबमा रहे पनि अहिले रेमिट्न्स बढेको, धेरै पर्यटक नेपाल भित्रिएको, गत महिनादेखि राजस्व बढेको र विदेशी मुद्राको सञ्चिति १७ महिनालाई पुग्ने गरी बढेको छ ।” सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा अभियान सुरु गर्न जमर्को गरिएको उनले उल्लेख गरे ।

“एकथरि मान्छेले निराशा बाँडेर प्रचार गरेका छन्, ७० वर्ष लडेर प्राप्त परिवर्तनलाई उल्ट्याउने प्रयास गरेका छन्”, उनले भने, “आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेसम्म राष्ट्र र जनहित विपरीत कुनै काम हुन दिइने छैन ।”

प्रधानमन्त्री दाहालले एनसेलको खरिदबिक्रीका सन्दर्भमा सरकारले छानबिन समिति गठन गरेको बताए । राजनीति पनि मोटामोटी लयमा आएको उल्लेख गर्दै प्रधानमन्त्रीले संविधान र व्यवस्थाविरुद्ध गतिविधि गर्ने अराजकतावादीका विरुद्ध दल एकठाउँमा उभिएको बताए ।

सुदूरपश्चिमको समग्र विकासका लागि आफू दत्तचित्त रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले उद्योग शिक्षा स्वास्थ्यको विकासको सवालमा आफूले प्राथमिकता दिएको बताए । गेटामेडिकल कलेजलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वाविद्यालय बनाउने विधेयक छलफलमा रहेकाले यो विधेयक चाँडै पारित हुने बताउँदै उनले यो विषयमा कुनै अन्योल नराख्न आग्रह गरे ।

धनगढीको फाप्ला क्रिकेट मैदानलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले उरैभञ्ज्या नाका, दोधारा चाँदनी सुक्खा बन्दरागाह, पञ्चेश्वर जलविद्युत् परियोजनाको कामअघि बढिरहेको बताए ।

उनले खप्तड क्षेत्रको विकास, परशुराम धाम, महाकाली नदीमाथि मोटरेबल पुल निर्माण जस्ता कामअघि बढाउन लागिएको बताउनुभयो । प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सरकारका साथै उद्योगी व्यवसायीले राखेका समस्या समाधानमा सङ्घीय सरकारले चासो देखाउन ध्यानाकर्षण गराए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सरकारले काम गर्ने वातावरण बनाइ दिनुपर्नेमा जोड दिँदै राष्ट्र बैंकले आजै  ल्याएको मौद्रिक नीतिले केही हदसम्म समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

उनले प्रदेश सरकारले गर्न लागेको लगानी सम्मेलनसँगै आफ्नो पहलमा  पाँच अर्ब लागानीको केवलकार योजना कैलालीको चिसापानीमा कार्यान्वयन गर्न लागिएको जानकारी दिए ।

सन् २०२४ मा राष्ट्रपति पदमा पुनः लड्ने पुटिनको भनाइ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा पुनः लड्ने शुक्रबार घोषणा गर्नुभएको छ । यसबाट उहाँलाई सत्तामा उहाँको दशकौँ पुरानो पकडलाई सन् २०३० को दशकसम्म बढाउने अनुमति प्राप्त हुनेछ ।

एकहत्तर वर्षीय पुटिनले यो शताब्दीको सुरुदेखि नै रुसको नेतृत्व गर्नुभएको छ । उहाँले चारवटा राष्ट्रपतीय निर्वाचन जित्नुभएको छ र करिब प्रतिपक्षी नै अस्तित्वहीन भएको प्रणालीमा केही समयका लागि प्रधानमन्त्रीका रूपमा सेवा गर्नुभएको छ ।

पुटिनले उक्त घोषणा सैनिकहरूका लागि आयोजित क्रेमलिनको कार्यक्रममा गर्नुभएको हो । कार्यक्रममा युक्रेनमा आक्रामक हमलामा लड्ने केही मानिस सहभागी थिए । गत वर्ष पुटिनले युक्रेनमा हमला गर्न आदेश दिनुभएको थियो ।

“म यसलाई लुकाउँदिन, विभिन्न समयमा मेरो मनमा फरक फरक विचार थिए तर यो निर्णय लिनुपर्ने समय हो”, कार्यक्रममा उहाँले भन्नुभयो, “म रुसी सङ्घको राष्ट्रपति पदका लागि निर्वाचन लड्नेछु ।”

उहाँले एक रुसी सैन्य अधिकारी लेफ्टिनेन्ट कर्णेल अर्टोम जोगासँग कुराकानी गरिरहनुभएको थियो । जोगाले उहाँलाई निर्वाचनमा लड्न आग्रह गर्नुभएको थियो । “तपाईंको काम र निर्णयका कारण हामीलाई स्वतन्त्रता प्राप्त भएको छ”, जोगाले भन्नुभयो, “हामीलाई तपाईंको आवश्यकता छ, रुसलाई तपाईंको आवश्यकता छ ।”

विश्लेषकहरूका अनुसार पुटिनले पाँचौँ कार्यकालका लागि कुनै ठूलो चुनौतीको सामना गर्नुपर्ने छैन र उहाँले युक्रेन द्वन्द्वमा घरेलु असहमति लुकाउनका लागि सम्भव भएसम्म ठूलो जनादेश खोज्नुहुनेछ ।

सन् २०२० मा एक विवादास्पद संवैधानिक सुधारपछि उहाँ कम्तीमा पनि सन् २०३६ सम्म सत्तामा रहन सक्नुहुनेछ । अधिकार समूहहरूले अघिल्ला निर्वाचनहरूमा अनियमितता भएको भन्दै आगामी निर्वाचनमा स्वतन्त्र पर्यवेक्षकहरूलाई मतदानको अनुगमन गर्न रोकिने बताएका छन् ।

राष्ट्रपति पुटिनले नोभेम्बरमा सन् २०२४ को निर्वाचन कभर गर्नका लागि मिडिया नियमहरूलाई कडा बनाउनुभएको छ र केही स्वतन्त्र मिडिया आउटलेटलाई मतदान केन्द्रसम्मको पहुँचमा प्रतिबन्ध लगाउनुभएको छ । निर्वाचन आगामी मार्च १५ देखि १७ सम्म हुनेछ । क्रेमलिनका आलोचकहरूले पुटिनको उक्त कदमले पारदर्शिताको ग्यारेन्टीलाई अझ धेरै कठिन बनाउने बताएका छन् ।

क्रेमलिन र युक्रेनमा आक्रामक समर्थन गर्ने सबै पाँच प्रमुख दललाई हस्ताक्षर सङ्कलनबिना सन् २०२४ को निर्वाचनका लागि उम्मेदवार प्रस्तुत गर्न अनुमति दिइएको छ ।

पुटिनका सबैभन्दा उच्च प्रोफाइल प्रतिद्वन्द्वी एलेक्सी नभाल्नीले हाल १९ वर्षको कारागार सजाय काटिरहनुभएको छ । नभाल्नीका समर्थकहरूले उहाँलाई लगाइएको आरोप झुटो भएको बताएका छन् । बिहीबार आफ्नो टोलीमार्फत जारी गरिएको विज्ञप्तिमा उहाँले रुसी जनतालाई पुटिनबाहेक ‘कुनै पनि अन्य उम्मेदवार’ लाई मत दिन प्रोत्साहित गर्नुभयो र निर्वाचनलाई निर्वाचन प्रक्रियाको ‘प्यारोडी’ भन्नुभयो ।

गत फेब्रुअरीमा युक्रेनमा आक्रमण सुरु गरेदेखि क्रेमलिनले असहमति प्रकट गर्नेमाथि व्यापक कारवाही गरेको छ । यसलाई अधिकार समूहरूले सोभियत युगको दमनसँग तुलना गरेका छन् । विरोध प्रदर्शनमा भाग लिने हजारौँलाई हिरासतमा लिइएको छ र कारागारमा राखिएको छ । साथै हजारौँ मानिस युद्धमा बोलाइने डरले देश छाडेर भागेका छन् ।

युक्रेनमाथिको हमलाका कारण क्रेमलिन प्रमुख पुटिनलाई पश्चिमी नेताहरूबीच अछूत बनाएको छ र उहाँको मुलुकले युद्धमा वित्तीय व्यवस्था रोक्नका लागि लगाइएको अभूतपूर्व प्रतिबन्धहरूको सामना गर्नुपरेको छ । यद्यपि प्रतिबन्धले सुरुमा पश्चिमी कम्पनीहरूको पलायन र उद्योगमा अशान्ति उत्पन्न गरे पनि अर्थतन्त्र लचिलो साबित भयो र पुटिनको घरेलु अनुमोदन रेटिङ उच्च भयो ।

मस्कोले पुनः उसको अधिकांश ऊर्जा निर्यात चीनसहित एसियाली ग्राहकहरूतर्फ उन्मुख गर्यो । यसबाट उसको २२औँ महिनामा आक्रामकरूपमा पैसा प्राप्त हुन अनुमति दियो । विश्लेषकहरूका अनुसार युक्रेनका लागि पश्चिमी समर्थन कमजोर हुँदा र किएभको जवाफी हमलाले रुसी रेखाहरूलाई भारी मात्रामा छेड्न नसक्दा पुटिनलाई भाग्यको पुनरुत्थान महसुस भएको छ ।

सन् २०१८ को पछिल्लो राष्ट्रपति निर्वाचनमा मतदानलाई बढावा दिन अधिकारीहरूले पश्चिमी मूल्यमान्यताविरुद्धको निर्णायक लडाइँका रूपमा मतदान गरे । उक्त निर्वाचनमा पुटिनले हरेक क्षेत्रमा भारी मतले विजय हासिल गर्नुभयो ।

क्रेमलिनले यस पटक पनि त्यस्तै रणनीति अपनाइरहेको देखिन्छ । नोभेम्बरको अदालती फैसलामा ‘अन्तर्राष्ट्रिय एलजिबिटी आन्दोलन’ लाई पश्चिमसँगको फराकिलो सांस्कृतिक युद्धको हिस्साका रूपमा चरमपन्थीको लेबल लगाइएको छ ।

नेपाली सेना र भारतीय सेनाका फौज सहभागी भएका सूर्य किरण संयुक्त अभ्यास सम्पन्न

काठमाडौँ, २२ मङ्सिर : नेपाली सेना र भारतीय सेनाका फौज सहभागी भएका सूर्य किरण संयुक्त अभ्यास सम्पन्न भएको छ । गत मङ्सिर ८ गतेदेखि भारतको पिथौरागढमा सञ्चालित संयुक्त तालिम अभ्यास बिहीबार समापन भएको हो ।

नेपाली सेनाबाट प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा ३३४ जनाको सहभागिता रहेको सो सूर्यकिरण संयुक्त अभ्यास प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद, जोखिम व्यवस्थापमा आधारित थियो ।

नेपाल र भारतमा आलोपालो सञ्चालन हुने यस अभ्यासको १७ औँ संस्करण भारतमा सञ्चालन भएको हो । अभ्यासको निरीक्षणको लागि नेपाली सेनाको तर्फबाट सहायक रथी सानुकाजी थापा खटिनु भएको थियो । अभ्यास समापन पश्चात् आज नेपाली सेनाको टोली स्वदेश फिर्ता भएको नेपाली सेना जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

रोजगारीका लागि माल्टा पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

काठमाडौँ, २२ मङ्सिर : वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु भन्दै रु सात लाख पाँच हजार ठगी गरेको अभियोगमा जुम्ला हिमा गाउँपालिका–५ घर भई काठमाडौँ महानगरपालिका–डल्लु बस्ने ३३ वर्षीय धर्मेन्द्र शाहीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

शाहीले दुई जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक रु एक लाख १० हजार तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर जावलाखेलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तीनै तहमा महिला जनप्रतिनिधिको सङ्ख्या बढाउन आग्रह

काठमाडौँ, २२ मङ्सिर : निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले संविधान र कानुनमा उल्लेखित व्यवस्थानुसार राज्यका तीन वटै तहमा महिला सहभागिता वृद्धिका लागि राजनीतिक दलहरु नै बढी सजग हुनुपर्ने बताउनुभएको छ ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत अन्तरपार्टी महिला सञ्जालले निर्वाचनसम्बन्धी एकीकृत कानुनको प्रस्तावित विधेयकमाथि आज आयोजित छलफलमा प्रमुख आयुक्त थपलियाले संविधानमा राज्यका सबै तहमा ३३ प्रतिशत महिलाको सहभागिता अनिवार्य भनेको र स्थानीय तहका प्रमुख र उपप्रमुखमा एक महिला अनिवार्य हुने मर्म बोके पनि राजनीतिक दलले गठबन्धन गरेर निर्वाचन लडेकाले दुवै पदमा पुरुष जितेका धेरै उदाहारण रहेको जनाउनुभयो ।

प्रमुख आयुक्तले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एकमा फरक लिङ्ग र समुदाय हुनुपर्ने कानुनी व्यवस्थालाई आयोगले व्याख्या गर्दा त्यसरी व्याख्या नगरिदिन कतिपय महिला नेत्री र अधिकारकर्मीले नै आग्रह गरेको स्मरण गर्दै अधिकारको वकालत भाषणमा मात्र नभइ व्यवहारमा पनि गर्न आग्रह गर्नुभयो ।

निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले दिगो विकासको लक्ष्य प्राप्तिका लागि स्थानीय तहमा ४२, प्रदेश तहमा ३६ र सङ्घीय संसद्मा ३३ प्रतिशत महिला अनिवार्य प्रतिनिधित्व हुनुपर्ने भएकाले संविधान र कानुनी व्यवस्थालाई कार्यान्वयन र संशोधनबाट लक्ष्य हासिल गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालको संविधानको विभिन्न धारा र राज्यका निर्देशक सिद्धान्तका व्यवस्थाको मर्मलाई आत्मसाथ गरेको निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयकको मस्यौदा तयार गरिएको जनाउनुभयो ।

कार्यक्रममा महिला नेत्री र अधिकारकर्मीले स्थानीय तहका वडाका ५० प्रतिशत महिला निर्वाचित गराउन, अध्यक्ष र उपाध्यक्षमा अनिवार्य महिला विजयी गराउन, निर्वाचनमा महिलाको समग्र सहभागिता बढाउन माग गर्नुभएको थियो । सञ्जालका अध्यक्ष कल्याणी रिजालले वडाध्यक्षमा पनि ३३ प्रतिशत महिला सुनिश्चित हुनुपर्ने विधेयकको प्रस्तावना सकारात्मक रहेको बताउनुभयो ।

कार्यक्रममा नेत्रीहरु कमला पन्त, शशी श्रेष्ठ, ममता गिरीलगायतको सहभागिता थियो । आयोगले निर्वाचन व्यवस्थापनलाई अझ बढी स्वच्छ, निष्पक्ष, सहज र प्रभावकारी बनाउन संविधान, सर्वोच्च अदालतबाट भएका निर्देशनात्मक आदेश तथा अन्तर्राष्ट्रिय अभ्यास र विगतका अनुभव तथा पृष्ठ पोषण समेतका आधारमा साविकको निर्वाचनसम्बन्धी कानुनमा परिमार्जन गरी ‘निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ नेपाल सरकार गृह मन्त्रालयमा पठाइसकेको छ । सो विधेयकमाथि नेपाल सरकार मन्त्रिपरिषद्बाट २०७८ पुस १४ गते सैद्धान्तिक सहमति प्राप्त भएको थियो ।

विधेयकमा प्रतिनिधिसभा वा प्रदेशसभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारी दिँदा कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार दिनुपर्ने उल्लेख छ । यस्तै स्थानीय तहको अध्यक्ष वा उपाध्यक्ष, प्रमुख वा उपप्रमुखमध्ये कम्तीमा एक जना महिला उम्मेदवार हुनुपर्ने, एउटा पदमा मात्र उम्मेदवारी दिँदा महिला उम्मेदवार दिनुपर्ने एवम् वडाध्यक्षको पदमा उम्मेदवारी दिँदा सम्बन्धित स्थानीय तहका सम्पूर्ण वडाध्यक्षमध्ये कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार दिनुपर्ने उल्लेख छ ।

सुशासन प्रवर्द्धन गर्न टिआई नेपालको ध्यानाकर्षण

काठमाडौँ, २२ मङ्सिर : मुलुकमा सुशासन प्रवर्द्धनका लागि आवश्यक काम गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल (टिआई नेपाल) ले ध्यानाकर्षण गराएको छ ।भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा टिआई नेपालले आज जारी गरेको वक्तव्यमा अवैध सम्पत्तिको चलखेल, दण्डहीनता र कुशासनले देशलाई जर्जर बनाउँदै लगी असफल राष्ट्र बनाउन सक्नेतर्फ स्पष्ट शब्दमा संसद, सरकार र मुलुकका सबै राजनीतिक दलको बारम्बार ध्यानाकर्षण गराउँदै आएको उल्लेख छ । मुलुकको जिम्मेवारी लिएर बसेका कुनै पनि पक्षले यिनका विरुद्ध प्रभावकारी एवं परिणाममुखी कार्य गर्न तत्परता नदेखाएकोमा विषयको गम्भीरता आत्मसात् गर्न नसकेको वा नचाहेको महसूस हुन थालेको टिआई नेपालका अध्यक्ष पद्मिनी प्रधानाङ्गले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

“देशलाई खोक्रो बनाउँदै लगेका विकृति निर्मूल गर्न निर्णायक कदम नचालिएसम्म जतिसुकै चर्का नारा, ठूला भाषण र छिनमै सेलाउने मौसमी तत्परताको कुनै अर्थ नरहने सर्वविदितै छ । दण्डित हुनुपर्ने र दण्ड दिने जिम्मेवारी वहन गर्नेबीचको सीमारेखा धमिलिँदै गएर अनुहार नछुट्टिने हुन पुग्नु असफल राष्ट्रको टड्कारो पूर्वसङ्केत हो भन्ने तथ्यलाई समेत उपेक्षा गर्न सकिँदैन ।”–उहाँले भन्नुभयो ।

अवैध तरीकाले आर्जित धनलाई स्वतः वैध तुल्याउने बाटो खोल्ने, व्यक्ति र समूहविशेषको निहित स्वार्थ–पोषणप्रति अभिलक्षित निर्णयलाई नीतिगत निर्णयको नाम दिएर छानबिनको दायराभन्दा बाहिर राख्ने, ठूला भ्रष्टाचारका मुद्दामा कारवाही नै नचल्ने र चले पनि तिनमा संलग्न उच्चपदस्थले उन्मुक्ति पाउने, राष्ट्रिय ढुकुटीको रकम अनुत्पादक कार्यमा खर्च गर्ने असङ्ख्य गल्छेडा खोल्दै जाने, पर्याप्त आम्दानीको कुनै दृश्य स्रोत नभएका सार्वजनिक व्यक्तिको विलासितापूर्ण जीवन र अकूत सम्पत्तिको कहिल्यै छानबिन नहुने, अदालतले जघन्य फौजदारी अपराधमा दोषी ठह¥याएका व्यक्तिको सजाय मिनाहा गर्ने जस्ता मुलुकको कानून, न्याय प्रणाली र लोकलाज समेतलाई उपेक्षा गर्ने कृत्यको अन्तहीन श्रृङ्खला तत्काल बन्द गर्न टिआई नेपालले संसद्, सरकार र सबै राजनीतिक दलको पुनः गम्भीर ध्यानाकर्षण गराएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
निरन्तर खस्कँदो अर्थतन्त्रलाई गति दिन समेत भ्रष्टाचार र कुशासनको अन्त्य गरी मुलुकलाई सदाचार एवं सुशासनको बाटोमा अघि बढाउनु जरूरी रहेको प्रधानाङ्गले बताउनुभयो ।

पोर्चुगलका लागि प्रस्तावित राजदूतमा नेपालको नाम सर्वसम्मत

काठमाडौँ, २२ मङ्सिर : सङ्घीय संसद् संसदीय सुनुवाई समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूत शनिल नेपाललाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।राजदूतका लागि सरकारले प्रस्ताव गरेको नेपालको नाम समितिको आजको बैठकबाट सर्वसम्मतिले अनुमोदन भएको ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले जानकारी दिनुभयो ।

प्रस्तावित राजदूत नेपालले समितिमा आफ्नो सोच, अनुभव, अवधारणासहितको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । समिति बैठकमा सदस्यहरुले राखेको जिज्ञासामा उहाँले आफ्नो ज्ञान, क्षमता र विवेकले भ्याएसम्म कार्यसम्पादन र जिम्मेवारी गौरव गर्न लायक हुनेगरी पूरा गर्ने बताउनुभयो ।

पोर्चुगलबाट हरेक वर्ष नेपालमा १० हजारको सङ्ख्यामा पर्यटक भित्र्याउने गरी काम गर्ने पनि उहाँको भनाइ छ । युवाको प्रतिनिधित्वलाई अब्बल सावित गर्न कामको प्राथमिकीकरणसहित नतिजा देखिने गरी आफूले कार्य सम्पादन गर्ने पनि नेपालले विश्वास दिलाउनुभयो ।

गत कात्तिक २ गतेको मन्त्रिपरिषद् बैठकले पोर्चुगलमा नेपाली दूतावास खोल्ने र राजदूतमा नेपाललाई नियुक्त गर्ने निर्णय गरेको थियो । पछिल्लो समय पोर्चुगलमा जाने नेपाली नागरिकको सङ्ख्या बढिरहेको छ । मुख्यगरी कृषि क्षेत्रमा कामदार र अध्ययनका लागि नेपाली पोर्चुगल जाने गरेका छन् ।

प्रम प्रचण्डलाई १० किलाको माला !

धनगढीमा शुक्रबार आयोजित सुदूरपश्चिम महोत्सवमा आयोजक कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुवँरले सङ्घका १० बुँदे माग सम्बोधनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १० किलोको माला पहिर्‍याउनुहुँदै । तस्बिरः सिद्धराज भट्ट

राष्ट्रसङ्घीय जलवायु प्रमुखद्वारा द्रुत सम्झौताका लागि जोड

संयुक्त राष्ट्रसङ्घका जलवायु वार्ताका प्रमुखले शुक्रबार मुलुकहरूलाई विश्वव्यापी तापक्रमसँग जुध्न ‘अभूतपूर्व’ सम्झौता गर्नका लागि द्रुत गतिमा अगाडि बढ्न दबाब दिनुभएको छ । वार्ताकारहरूले जीवाश्म इन्धनलाई चरणबद्ध तरिकाले अन्त्य गर्ने विषयमा मतभेदहरू मेटाउन प्रयास गरिरहेका बेला उहाँले त्यस्तो दबाब दिनुभएको हो ।

राष्ट्रसङ्घीय जलवायु वार्ता समयमा विरलै समाप्त हुन्छ तर कोप२८ का अध्यक्ष सुल्तान अल जाबेरले दुबई शिखर सम्मेलनलाई मङ्गलबार बिहान ११ (०७ः०० जिएमटी) बजेको निर्धारित समयमा समाप्त गर्ने महत्त्वाकांक्षी लक्ष्य निर्धारण गर्नुभएको छ । दुबईमा रहेका मन्त्रीहरूसँग उहाँले वार्ताकारहरूले शुक्रबार एउटा नयाँ मस्यौदा सम्झौता तयार गरुन् भन्ने आफूले चाहेको बताउनुभयो ।

जीवाश्म इन्धनको भविष्यमा असहमति भए पनि जाबेरले तेल समृद्ध मुलुक संयुक्त अरब इमिरेट्स (युएई) द्वारा आयोजित वार्ता ऐतिहासिक सम्झौताका साथ समाप्त हुने आशा व्यक्त गर्नुभयो । “हामीसँग एउटा आदर्श परिवर्तन गर्ने क्षमता छ”, करिब दुई सय मुलुकका प्रतिनिधिमण्डलहरूले अघिल्लो दिन राहत महसुस गरेको एक दिनपछि उहाँले भन्नुभयो, “कृपया हामीलाई यो काम गर्न दिनुहोस्, मेरा लागि तपाईं अगाडि बढ्न आवश्यक छ र तपाईं ‘कम्फर्ट जोन’ बाट बाहिर आउन आवश्यक छ ।”

जलवायु अभियानकर्ताहरूले युएईको राष्ट्रिय तेल कम्पनी एडिएनओसीका प्रमुख जाबेरलाई गहिरो शङ्काका साथ हेरेका छन् । यद्यपि उहाँले जीवाश्म इन्धनको चरणबद्ध कमी ‘अपरिहार्य’ छ भन्दै आशङ्का गर्नेहरूलाई आश्वस्त पार्ने प्रयास गर्नुभएको छ ।

जलवायु परिवर्तनबाट विनाश भएका मुलुकहरूका लागि हानि र क्षति कोषको ऐतिहासिक सुरुआतका साथ कोप२८ गत साता सुरु भएको थियो । “हामीले आशङ्का गर्नेहरूलाई आश्चर्यचकित बनायौँ र आशावादीहरूलाई प्रेरित गर्यौँ”, पछि पत्रकारहरूसँग जाबेरले आफू सकारात्मक र आशावादी रहेको उल्लेख गर्दै भन्नुभयो, “कोप२८ मा केही अभूतपूर्व घटना हुनसक्छ भन्ने मलाई महसुस भएको छ ।”

तेल समृद्ध मुलुक साउदी अरब र कच्चा तेलको प्रमुख उपभोक्ता चीनलगायत केही मुठ्ठीभरका मुलुकले मस्यौदा सम्झौताको अन्तिम पाठमा जीवाश्म इन्धनलाई चरणबद्ध तरिकाले अन्त्य गर्ने भाषालाई समावेश गरिएकामा विरोध गरेका छन् ।

मङ्गलबार एउटा मस्यौदा सम्झौता जारी गरिएको थियो तर वार्ताकारहरू ब्रेकमा जानुअघि बुधबार अर्को मस्यौदा बनाउन असफल रहे । मङ्गलबारको मस्यौदामा जीवाश्म इन्धनका विषयमा तीनवटा विकल्प रहेका छन् । पहिलो विकल्पले हाइड्रोकार्बनबाट ‘व्यवस्थित र न्यायसङ्गत’ निकासको आह्वान गर्दछ ।

दोस्रो विकल्पमा मुलुकहरूले उत्सर्जनमाथि नियन्त्रण गर्न नसकिने अक्षुण्ण जीवाश्म इन्धनलाई चरणबद्ध तरिकाले समाप्त गर्ने प्रयासमा तीव्रता ल्याउनुपर्छ भनिएको छ । साथै सन् २०५० सम्ममा ऊर्जा प्रणालीहरूमा शुद्ध–शुन्य कार्बनडाइअक्साइड प्राप्त गर्नका लागि जीवाश्म इन्धनको प्रयोगलाई ‘द्रुत गतिमा’ कम गर्नुपर्ने समेत दोस्रो विकल्पमा उल्लेख छ ।

अमेरिकी जलवायु दूत जोन केरीले बुधबार कार्बन क्याप्चर प्रविधि जीवाश्म इन्धनलाई चरणबद्ध तरिकाले समाप्त गर्ने प्रयासका लागि महत्त्वपूर्ण रहेको भनाइलाई दोहोर्याउनुभयो । उहाँको भनाइले वासिङ्टन दोस्रो विकल्पतर्फ जान सक्ने सङ्केत गरेको छ ।

तेस्रो र सबैभन्दा विवादास्पद विकल्पले प्रभावकारीरूपमा जीवाश्म इन्धनको विषयलाई सम्बोधन नगर्ने प्रस्ताव गरेको छ । वैज्ञानिकहरूले विश्वव्यापी तापक्रमलाई एक दशमलव पाँच डिग्री सेल्सियससम्म सीमित गर्ने लक्ष्यमा पुग्नका लागि हरितगृह उत्सर्जन सन् २०३० सम्ममा ४३ प्रतिशतसम्मले घट्नुपर्ने चेतावनी दिएका छन् । जीवाश्म इन्धनको अधिकांश प्रयोगले हरितगृह ग्यास उत्सर्जन हुन्छ ।

जीवाश्म इन्धनमाथिको बहसका बावजुद केही सरकारले कोप२८ ले एउटा महत्त्वाकांक्षी सम्झौता प्रदान गर्नसक्ने आशा व्यक्त गरेका छन् । वार्ताको नेतृत्व गर्ने जलवायु मन्त्रीहरूमध्येका डेनमार्कका डान जोर्गेनसेनले भन्नुभयो, “पक्षहरूसँगको घन्टौँको छलफलपछि हामी यो गर्न सक्छौँ र यो सम्भव छ भन्ने मलाई विश्वास छ ।”

जीवाश्म इन्धनलाई चरणबद्ध तरिकाले समाप्त गर्ने वा चरणबद्ध तरिकाले कम गर्ने विकल्पविरुद्ध साउदी अरब सबैभन्दा वजनदार आवाज भएको मुलुक भएको छ । बर्घिङ्घम विश्वविद्यालयमा साउदी राजनीतिका विशेषज्ञ उमर करिमले एएफपीलाई भन्नुभयो, “हाइड्रोकार्बनको सबैभन्दा ठूलो उत्पादकमध्येको एक साउदी अरबले दुईमध्ये कुनै पनि विकल्पमा समाधान निकाल्न अस्वीकार गर्दछ ।”

राइस विश्वविद्यालयमा मध्यपूर्वका फेलो क्रिस्टियन उलरिचसेनका अनुसार साउदी अरबले चीन र रुससहित जीवाश्म इन्धनका विषयमा समान विचारधारा भएका मुलुकहरूको गठबन्धन खोज्नेछ । यद्यपि अन्य पर्यवेक्षकहरूले चीनले वार्तामा रचनात्मक भूमिका निर्वाह गरिरहेको बताएका छन् । चीन विश्वमा हरितगृह ग्यासको सबैभन्दा ठूलो उत्सर्जक हुनुका साथै नवीकरणीय ऊर्जाको शीर्ष उत्पादक पनि हो ।

कार्यकर्ताहरूले जीवाश्म इन्धनलाई समाप्त गर्नुपर्ने मागलाई लिएर शुक्रबार कोप२८ को विशाल स्थलमा एउटा अर्को विरोध प्रदर्शन गर्दै ‘कोइला होइन, तेल होइन, कार्बनलाई माटोमा राख’ भन्ने नारा लगाएका छन् ।

जर्मनी सरकारबाट पाँच अर्ब अनुदान प्राप्त हुँदै

काठमाडौँ, २२ मङ्सिर : जर्मनी सरकारले करिब रु पाँच अर्ब नौ करोड अनुदान सहायता प्रदान गर्ने भएको छ । उक्त सहायता सम्झौतामा हस्ताक्षर गर्न सरकारले अर्थ मन्त्रालयलाई अख्तियारी दिएको छ ।

मन्त्रिपरिषद्को बिहीबारको निर्णयबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त जानकारी दिनुभएको हो ।

बैठकले विश्व बैंकबाट प्राप्त हुने करिब रु १३ अर्ब ऋणसम्बन्धी सम्झौताको दस्तावेजलाई अन्मितरुप दिन र बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्तासमेत रहनुभएकी मन्त्री शर्माले पोलिटेक्निक इन्स्टिच्युट स्थापना र रासायनिक मल खरिदका लागि साउदी अरबबाट प्राप्त हुने २० लाख अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

भारत सरकारको अनुदान सहायतामा सञ्चालन हुने ‘हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रजेक्ट’ कार्यान्वयनका लागि अनुदान सहायता स्वीकार गर्ने र कैलालीको त्रिनगर र कपिलवस्तुको सुठौली नाकामा विरुवा वा विरुवाजन्य उपज निकासी वा पैठारी गर्दा जाँच वा उपचार गर्न क्वारेन्टिन ‘चेकपोष्ट’ स्थापना गर्ने निर्णय सरकारले गरेको छ ।

यसैगरी बैठकले खानेपानी तथा सरसफाइ महसुल निर्धारण आयोगको अध्यक्षमा रुद्रप्रसाद गौतम तथा सदस्यमा यशोदा कार्की र कुलभूषण शेखर शर्मालाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्ले आर्थिक तथा पूर्वाधार समितिबाट पेस भएको एकीकृत राष्ट्रिय सामाजिक सुरक्षा संरचना, २०८० स्वीकृत गर्नाका साथै राष्ट्रिय बीमा नीति, २०८० स्वीकृत गरेको छ ।

विदेशमै उत्पादित आलु, प्याज र स्याउमा भ्याट नलाग्ने

काठमाडौँ, २२ मङ्सिर : आन्तरिक राजस्व विभागले नेपालमै उत्पादन भएका आलु, प्याज, स्याउलगायत उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ । विगतमा भ्याट छुट दिइँदै आएका केही वस्तुमा चालु आर्थिक वर्षको बजेटमार्फत् सरकारले उक्त छुट सुविधा कटौती गरेको थियो ।

सरकारले आयातित आलु, प्याजमा मात्रै भ्याट छुट खारेज गरेको बताए पनि आन्तरिक उत्पादनमासमेत भ्याट लाग्न थालेको भन्दै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका व्यापारी विरोधमा छन् । विरोधस्वरुप कालीमाटीका होलसेल व्यापारीले आलु, प्याजको आयात तथा बिक्री रोकेपछि बजारमा अभाव र चर्को मूल्यवृद्धि देखिएको छ । तर आन्तरिक राजस्व विभागले भने आज एक सूचना जारी गर्दै आन्तरिक उत्पादनमा भ्याट नलाग्ने स्पष्ट पारेको छ ।

“आलु प्याजलगायत नेपालमा उत्पादन हुने कृषिजन्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लागेकाले बजारमा सहज आपूर्ति हुन नसकेको भन्ने विभिन्न सञ्चार माध्यममा आएका समाचारप्रति यस विभागको ध्यानाकर्षण भएको छ”, विभागको सूचनामा भनिएको छ, “आन्तरिक कृषिजन्य उत्पादनलाई प्रवर्द्धन तथा संरक्षण गर्ने नेपालको नीतिअनुरुप नेपालमा उत्पादन भएका आलु, प्याज, तथा स्याउमा मूल्य अभिवृद्धि कर नलगाइएको तथा नलाग्ने व्यहोरा सरोकारवाला सबैमा यस सूचनाद्वारा जानकारी गराइन्छ ।”

आइटिएफ टेनिस : नेपाली मूलका आरबको समूह च्याम्पियन

कास्की, २२ मङ्सिर : पोखरामा जारी अन्तर्राष्ट्रिय टेनिस महासङ्घ (आइटिएफ) को जे–३० प्रतियोगितामा पुरुष डबल्सतर्फ नेपाली मूलका अमेरिकी खेलाडी आरब सम्राट हाडा र जापानका रिकु हिगासीको जोडी च्याम्पियन बनेको छ ।महिलातर्फ भने जापानका उता आसाकुरा र भारतका इशी महेश्वरीको जोडी प्रथम हुन सफल भयो । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज सम्पन्न डबल्सतर्फको फाइनल खेलमा भारतका ओजास मेलावाट र अधिराज ठाकुरको जोडीलाई ६–२, ६–३ मा पराजित गरी आरभ र रिकुको जोडी प्रथम हुन सफल भयो ।

महिलातर्फ भारतका भेनेला रेडी गारुगुपाटी र सायवी गौरव दलालको जोडीमाथि आसाकुरा र महेश्वरीको जोडीले ६–३, ६–३ मा जीत हासिल गरेको हो ।यसैगरी प्रतियोगिताको पुरुषतर्पm उपाधिका लागि आरब सम्राट हाडा र एलेक्से सिवोइले प्रतिस्पर्धा गर्नेछन् ।

पुरुष एकलतर्फको आज सम्पन्न सेमिफाइनलको खेलमा आरबले जापानका रिकु हिगासीलाई ६–३, ६–३ ले तथा एलेक्सेले भारतका जेसन डेभिडलाई वाकओभरमा जीत हासिल गर्दै फाइनलमा स्थान बनाउनुभयो । महिलातर्फ जापानका उता आसाकुरा र भारतका अर्जान खोराकीवाला फाइनल पुग्नुभएको छ । आसाकुराले भारतका अन्भि पुनागाण्टीलाई ६–१, ६–१ ले तथा खोराकीवालाले भारतकै भामिका शर्मालाई ६–१, ६–० मा पराजित गर्दै फाइनलमा स्थान बनाउनुभयो ।

दुई सातादेखि सञ्चालन भइरहेको प्रतियोगिताको समापन शनिबार हुने आयोजक कास्की जिल्ला टेनिस सङ्घका अध्यक्ष एवं प्रतियोगिता संयोजक लोक गुरुङले जानकारी दिनुभयो । प्रतियोगिताको डबल्सतर्फको विजयी खेलाडीलाई गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री राजीव गुरुङ, प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ, प्रतियोगिता निर्देशक अजय विष्ट लगायतले पदक तथा प्रमाणपत्र र पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा पुरुषतर्फ ‘क्वालिफाइङ’ र ‘मेन ड्र’ गरी विभिन्न देशका ६४ खेलाडीको सहभागिता रहेको थियो । महिलातर्फ ४७ खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा खेलाडीहरुले अङ्कका लागि प्रतिस्पर्धा गरेका छन् । खेलाडीले प्राप्त गरेको अङ्कले उनीहरुको वरियता निर्धारण गर्नेछ ।

विजेता खेलाडीले ३० अङ्क, उपविजेताले १८, ‘सेमिफाइनलिष्ट’ले नौ, ‘क्वाटरफाइनलिष्ट’ले पाँच र अन्तिम १६ मा पुग्ने खेलाडीले आइटिएफकोे दुई अङ्क पाउने प्रतियोगिता निर्देशक विष्टले बताउनुभयो ।

भिरमा लटरम्म सुन्तला फलाउँदै देवघाटका किसान

भरतपुर, २२ मङ्सिर ः कृषिमा प्रशस्त सम्भावना रहेको देवघाट गाउँपालिकाका बासिन्दा अहिले फलफूल र पशुपालनतर्फ आकर्षित भएका छन् । देवघाटमा अधिकांश पहाडी भू–भाग छ ।

बाँदर खेल्ने पहाडका भीरपाखामा यहाँका किसानले भिरालो जमिनलाई पनि उपयोगमा ल्याएर कृषि व्यावसाय गरिरहेका छन् । उनीहरुले भिर पाखामा लटरम्म सुन्तला फलाउन थालेपछि यो क्षेत्र सुन्तला खेतीको प्रवल सम्भावना देखिएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा बताउनुभयो ।

उहाँका अनुसार यहाँका हरेक क्षेत्रमा लटरम्मै सुन्तला फलेका छन् । देवघाटमा सुन्तला उत्पादन हुने ठाउँमध्ये वडा नम्बर ३ को छापस्वारा एक हो। यहाँका किसानले व्यावसायिक रुपमा सुन्तला लगाएर आयआर्जन गरेका छन् । “गाउँपालिकामा वडा नं १, २, ३ र ४ मा सुन्तला धेरै उत्पादन हुने ठाउँ हो, अध्यक्ष थापाले भन्नुभयो, ३ नं वडामा अझ बढी सुन्तला उत्पादन हुन्छ ।”

उहाँका अनुसार अरु वडामा पनि स्थानीयवासीलाई सुन्तला लगाउन आग्रह गरिएको छ । जग्गा खाली राख्ने किसानलाई पालिकाबाट प्राप्त हुने सेवासुविधाबाट वञ्चित गर्ने चेतावनी पनि दिइएको छ । अध्यक्ष थापाले भन्नुभयो, “जग्गा खाली नराख्नुहोस् । हामी तपाइँहरुलाई अनुदान दिन्छौँ । अरु सेवा सुविधा थप गर्दै जानेछौँ ।”

“स्थानीयवासी सुन्तला खेतीबाट किसान पूर्णरुपमा लाभान्वित हुन नसकेकाले गाउँपालिकाले कृषि प्रवद्र्धन कार्यक्रमका लागि रु ३० लाख बजेट छुट्याएर निःशुल्क सुन्तलाको बिरुवा वितरण गर्ने योजना बनाएको छ”, उहाँले भन्नुभयो, “यहाँका सडक यातायातको अभाबमा समस्यामा भएकाले तत्कालै ठूला बाटो खोल्न सक्ने सम्भावना नभए पनि खुलेका बाटोलाई पूर्णरुपमा स्तरोन्नति गर्नेछौँ ।”

सबै ठाउँका हावापानीलाई मिल्ने गरी वडा नं ४ को काफलडाँडामा नर्सरी स्थापना गरी त्यहाँबाट बीउ उत्पादन गरेर अर्को वर्षदेखि किसानलाई बीउ वितरण गर्ने योजना रहेकोे अध्यक्ष थापाले जानकारी दिनुभयो ।

यहाँको हावापानी फलफूल तथा पशुपालनका लागि उपयुक्त भएकै कारण आज यहाँका अधिकांश बासिन्दाले बाँदर खेल्ने र पाती फुल्ने ठाउँमा पनि लटरम्मै सुन्तला फलाएका छापस्वाँराका दिलकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “केही हुँदैन भनेर नगरी बस्दा कृषिमा केही नहुँदोरहेछ । अहिले गर्दै जाँदा हामीले भिरमा पनि सुन्तला फलाएका छौँ । यस क्षेत्रमा पहिलेदेखि नै सुन्तला खेती सुरु गरिएको भए पनि धेरै सुन्तलाका बिरुवा मर्ने गर्थे तर अहिले व्यवस्थितरुपमा सुन्तला खेती गर्न सुरु गरेपछि सात÷आठ वर्ष भयो हामीले सुन्तलाबाट राम्रो आम्दानी लिएका छौँ ।”

यस वर्ष आफूले गरेको सुन्तला खेतीबाट रु दुई लाख ५० हजार कमाइ गरिसकेको कृषक श्रेष्ठले बताउनुभयो । गत वर्ष सुन्तला खासै राम्रो नफले पनि रु पाँच लाख आम्दानी गरेको र यस वर्ष सुन्तला धेरै राम्रो फलेकाले आफूले झण्डै रु आठ लाखसम्म आम्दानी हुनाका साथै मेहनतको फल पाउँदा आफू निकै खुसी भएको उहाँको भनाइ थियो ।

श्रेष्ठका अनुसार छापस्वराँका सात घरपरिवारले सुन्तला खेतीलाई आम्दानीको स्रोत बनाएका छन् । उहाँको भने मुख्य आम्दानीको स्रोत सुन्तला खेतीसँगै बाख्रापालन पनि हो । श्रेष्ठले भन्नुभयो, “तीन वर्षको सहर बसाइपछि गाउँ फर्केर बारीमा सुन्तला लगाएँ । पछि सुन्तलाका बिरुवाले मल माग्न थाल्यो अनि मैले बाख्रापालन पनि सुरु गरे । सुरुमा १०÷१५ वटाबाट सुरु गरेको बाख्रापालनलाई बढाएर मैले ५०÷६० वटासम्म पु¥याएको छु । जसबाट गतवर्ष वार्षिक रु चार लाख आम्दानी गर्न सफल भएको थिए ।”

अन्य गाउँबासीले सुन्तला, बाख्रापालनलगायत अन्य कृषि पेसाबाट राम्रो आम्दानी लिन सक्ने भए पनि बाटोको अभाबले राम्रोसँग काम गर्न पाएका छैनन । बाटो नभएकै कारण एक युवकले बिरामी भएरज्यान गुमाएपछि आफूहरुले पैसा उठाएर नदीमा अस्थायी पुल बनाएको कृषक श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ उत्पादित वस्तु बिचौलियाको माध्यमबाट दमौली, मुग्लिन, नारायणगढ र काठमाडौँसम्म पुग्ने भए पनि घुमाउनेमा पुल नबन्दा र बाटो नहुँदा यहाँका बासिन्दाले आफूले गरेको मेहनतको उचित फल पाउन सकेका छैनन् ।”

छापस्वाँराका विष्णुकुमार श्रेष्ठले पनि २१ वर्षपछि गाउँ फर्केर सुन्तला खेती गर्दै आउनुभएको छ । एक्काइस वर्षपछि गाउँ फर्किंदा गाउँमा सुन्तला खेती गरेको देखेपछि आफूले पनि सुन्तला खेती गरेको गरेको र अहिले करिब दुई सय बोटबाट धान्नै नसक्ने गरी सुन्तला फलेको उहाँले बताउनुभयो ।

सोह्र वर्ष मलेसियामा रगत पसिना बगाउनुभएका श्रेष्ठले भन्नुभयो, “सुन्तला फलेको देख्दा गाउँ छोड्न मन लाग्दैन तर बाटो राम्रो नभएर उत्पादित वस्तुले उचित मूल्य पाउन नसक्दा भने निकै दुःख लाग्छ । हामीले बाटो नभएकै कारण यहाँ उत्पादित वस्तु विचौलियाको माध्यमबाट सुन्तला पठाउँदा ठूलो सुन्तलाको प्रतिकेजी रु ७०पर्छ तर सानो सुन्तलाको मूल्य नै आउँदैन ।”

“गाउँमा केरा उत्पादन पनि राम्रो भएको भएको छ । हामीले गाउँमा उत्पादित सय कोसा केरालाई रु एक सयमा बेच्छौँ भने त्यही केरा दमौलीमा किन्दा रु एक सय २० दर्जन पर्न जान्छ । हामीले रु एकमा एककोसा केरा बेच्नभन्दा भैँसीलाई खुवाउँछौँ ।” उहाँले भन्नुभयो गाउँमा दूध, घ्यू, फलफूल, तरकारी तथा पशुपालन राम्रो भए पनि बाटोको समस्या हुँदा स्थानीयवासी लाभान्वित हुन सकेका छैनन् ।हाम्रा लागि त्रिशूली नदी माथि घुमाउनेको पुल निकै आवश्यक छ ।”

परराष्ट्रमन्त्री साउदलाई रास्वपाको ध्यानाकर्षणपत्र

काठमाडौँ, २२ मङ्सिर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुसी सेनामा स्वस्फुर्त भर्ना भएका नेपालीको यकिन विवरण पत्ता लगाई नेपाल फर्काउन र बन्धक बनाइएकाको सकुशल रिहाइ गर्न सरकारको ध्यानार्कषण गराएको छ ।

रास्वपाका सांसदले आज परराष्ट्रमन्त्री एनपी साउदलाई ध्यानाकर्षण पत्र बुझाउँदै प्यालेस्टाइनी समूह (हमास)को नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको तत्काल रिहाइका लागि कूटनीतिक पहल गर्नसमेत माग गरेको हो ।

“युद्धरत पक्षको नियन्त्रणमा रहेका नेपालीको यथाशीघ्र रिहाइ र उद्धार सम्बन्धमा परराष्ट्रमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हौँ”, सचेतक निशा डाँगीले भन्नुभयो । रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख एवं सांसद शिशिर खनाल, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी र सांसद अशोककुमार चौधरीले ध्यानाकर्षण पत्र बुझाउनुभएको हो ।

“स्वस्फुर्त रुसी सेनामा भर्ना भएर हाल कार्यरत नेपालीको यथार्थ विवरण पत्ता लगाई उनीहरुलाई नेपाल फर्काउन, घाइतेको समुचित उपचारको प्रबन्ध मिलाउन र बन्धक बनाइएकाको सकुशल रिहाइका लागि यथाशीघ्र कूटनीतिक पहलमा जोड दिन आग्रह गर्दछौँ”, ध्यानाकर्षणपत्रमा उल्लेख छ, “हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको अवस्था अझै अज्ञात छ । हमासले ५८ जना विदेशीलाई मुक्त गरिसकेको सन्दर्भमा, विपिन अझैसम्म बन्धक नै रहनुमा सरकारले रिहाइका लागि गरेको पहल पर्याप्त भएन कि भन्ने रास्वपाको बुझाइ छ ।”

चोरीका हतियारसहित तीन जना पक्राउ

काठमाडौँ, २२ मङ्सिर : चोरीका दुई नाल हतियारसहित तीन जनालाई पक्राउ गरिएको छ । प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट घरेलु हतियारसहित चोरीमा संलग्न सुनसरी बराह नगरपालिका–३ निवासी ३६ वर्षका दिलीप माझी, कामपा–१३ निवासी २१ वर्षीय कुशल मल्लिक र काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–३ का २७ वर्षीया काजलकुमारी भुजेललाई बिहीबार पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट दुई नाले बन्दुक एक थान, २२ बोरको राइफल एक थान, खुँडा दुई थान, खुकुरी छ थान, हँसिया एक थान, फलामको चुप्पी एक थान, बञ्चरो एक थान र मोटरसाइकलको सक दुई थान बरामद गरेको छ ।

प्रहरीले पक्राउ परेको व्यक्तिलाई डाँका चोरी तथा हातहतियार खरखजनासम्बन्धी कसुर मुद्दामा काठमाडाँै जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी प्रहरी वृत्त कालिमाटीबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले राससलाई जानकारी दिनुभयो ।

यही मङ्सिर १६ गते कामपा–१३ ताहचल बस्ने ७४ वर्षीय पुष्प जोशीको घरबाट इजाजत पत्रसहितको दुई नाले ४१० बोरको टोटावाल बन्दुक एक थान र २२ बोरको राइफल अज्ञात समूहले चोरी गरी लगेको थियो ।

पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्याय टुङ्गाउने प्रतिबद्धता

काठमाडौँ, २२ मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पीडितलाई केन्द्रमा राखेर मात्रै सङ्क्रमणकालीन न्याय टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता शर्माले भन्नुभयो, “हामी सधैैँभरी पीडितलाई केन्द्रमा राखेर हाम्रो सङ्क्रमणकालीन न्याय टुङ्ग्याउनुपर्छ भन्ने पक्षमा छौँ ।” उहाँले जहिले पनि द्वन्द्व र सङ्क्रमणकालीन न्यायको विषयमा पीडितलाई केन्द्रमै राखेर जाने भन्ने अभ्यास गरिरहेको बताउँदै यस विषयमा सरकार सकारात्मक रहेको धारणा व्यक्त गर्नुभयो ।

सांस्कृतिक पूर्वाधारको संरक्षण गर्र्दै विकासका कामलाई अगाडि बढाउने सरकारको नीति रहेको प्रष्ट पार्दै मन्त्री शर्माले भन्नुभयो, “नीतिगत रूपमा हामीलाई विकास पनि चाहिन्छ, तर सांस्कृतिक पूर्वाधारको संरक्षण पनि गर्नुपर्छ, यो कुरा हाम्रो नीतिगत कुरा नै हो ।”

सरकारले एनसेलको सेयर खरिद बिक्रीको निर्णयको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न समिति पनि गठन गरेको छ । सेयर खरिदबिक्रीको निर्णयको सम्बन्धमा प्रचलित कानुनको परिचालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्न सक्ने असरलगायत विषयमा अध्ययन तथा छानबिन गरी ३० दिन भित्रमा प्रतिवेदन पेश गर्नेगरी समिति गठन गरिएको छ ।

महिलाविरुद्धका हिंसा रोक्न सचेतना कार्यक्रम व्यापक बनाउनुपर्ने

काठमाडौँ, २२ मङ्सिर : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिलाविरुद्धका हिंसा उन्मूलन गर्न देशभर सचेतना कार्यक्रम व्यापक बनाउनुपर्ने बताउनुभएको छ । लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियानको अवसरमा सञ्चारिक समूह र कोसिस नेपालको संयुक्त आयोजनामा ‘मानसिक स्वास्थ्य र महिला हिंसा’सम्बन्धी छलफलमा मन्त्री आचार्यले सबै क्षेत्रका महिलालाई आफ्ना हक, अधिकारबारे अवगत गराई महिलाविरुद्धका हिंसा उन्मुलन गर्ने जागृतिका कार्यक्रम व्यापक बनाउनुपर्नेमा जोड दिनुभएको हो ।

“नेपालको संविधानले परिकल्पना गरेको समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने व्यवस्था भए पनि सोहीअनुरुप कार्यान्वयन हुन सकेको छैन । अहिले पनि लैङ्गिक हिंसा रोकिएको छैन” उहाँले भन्नुभयो, “जतिसुकै कानुनी व्यवस्था भए तापनि सचेतनाका कार्यक्रम बृहत् नगरेसम्म अवस्था यस्तै रहन्छ । सबै क्षेत्रका महिलालाई आफ्ना हक, अधिकारबारे अवगत गराई महिलाविरुद्धका हिंसा उन्मूलन गर्न सबैको सहकार्यमा जनचेतनाका कार्यक्रम व्यापक बनाउनुपर्छ”, उहाँले भन्नुभयो ।

मन्त्री आर्चायले संविधानले परिकल्पना गरेको समतामूलक समाज निर्माण गर्न समाजका हुने महिला हिंसाविरुद्धका विकृति विसङ्गतिलाई नहटाउनुपर्नेमा उहाँले बताउनुभयो । “संविधान, कानुनमा भएका व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा समाजमा दाइजो प्रथा, यौन दुव्र्यवहार, अमानवीय व्यवहारलगायत महिलामाथि हुने हिंसा अझै व्याप्त छन् । समाजमा हुने महिला हिंसाविरुद्धका विकृति विसङ्गतिलाई नहटाएसम्म संविधानले परिकल्पना गरेको समतामूलक समाज निर्माण गर्न सम्भव छैन”, उहाँले बताउनुभयो ।

महिला हिंसाविरुद्धको गतिविधि उन्मुलन गर्न लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियानमा पुरुषको सहभागिता सुनिश्चित गर्नुपर्ने र महिलालाई आर्थिक रुपान्तरणमा सबल बनाउन महिला सशक्तीकरण गर्न जरुरी भएको उहाँले बताउनुभयो ।

सञ्चारिक समूहकी अध्यक्ष विमला तुम्खेवाले पत्रकारिता क्षेत्रका निर्णायक तहमा महिला सहभागिताको आवश्यकता रहेको बताउनुभयो । कोसिस नेपालका कार्यकारी निर्देशक मातृका देवकोटाले महिलाविरुद्धका हिंसाबाट पीडित तथा प्रभावित व्यक्तिमा जटिल प्रकारका मनोसामाजिक समस्याको विकसित हुन नदिन संस्थाले महत्वपुर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

इलामको सन्दकपुर क्षेत्रमा हिमपात

मङ्गलबारे (इलाम), २२ मङ्सिर : इलामको माथिल्लो क्षेत्र सन्दकपुर आसपासमा हिमपात भएको छ । वर्षापछि सो क्षेत्रमा हिउँ पर्न थालेको हो । भारतसंग सीमा जोडिएको सन्दकपुर गाउँपालिकाको जौबारी, कालपोखरीलगायतका क्षेत्रमा हिमपात भएको स्थानीय लाक्पा शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार हिउँ परेर चिसो बढेसँगै सो क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

बिहीबार दिउँसोदेखि हिउँ पर्न सुरु गरेको र आज पनि बिहानैबाट हिउँ झरेको जनाइएको छ । सन्दकपुर जिल्लाकै अग्लो स्थान हो । यसको उचाइ तीन हजार छ सय ३६ मिटर रहेको छ । हिउँ परेर चिसो बढेसँगै सो क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

बूढापाका तथा बालबालिकालाई समस्या भए पनि युवाहरू हिउँमा नै रमाउने गरेका छन् । दीर्घरोगी गोठमा नै बस्नेलाई समेत समस्या पर्ने गरेको छ । हिउँ परेपछि जिल्लाका अन्य क्षेत्रबाट हिउँ खेल्न पर्यटकसमेत जान थालेको बताइएको छ ।

घर बाहिरको काम गर्न समस्या भएको छ । वस्तुलाई घाँस काट्न समस्या भए पनि किसानलाई भने हिउँले राहत मिल्ने बताइएको छ । सुक्खा रहेको जमिन हिउँले लामो समयसम्म चिस्यान गराउने किसानको भनाइ छ ।

हिउँदका दिनमा पनि आक्कलझुक्कल हिउँ पर्ने भएपछि हिउँसँग रमाउनेसमेत उत्तिकै भेट्टिन्छन् । स्थानीय लाक्पा शेर्पाले हिउँ परेपछि पर्यटक बढ्ने बताउनुभयो । उहाँले गएको वर्ष बाक्लो हिउँ नपरेको तर यस वर्ष सुरुदेखि नै हिउँ पर्न थालेको जानकारी दिनुभयो । हिउँ खेल्नका लागि जाने पर्यटककै कारण सो क्षेत्रका होटलसमेत भरिभराउ हुने गरेका छन् ।

मर्यादित महिनावारी दिवसः साथी–तपाईँ उठाइदिनुस् न मेरो समस्या !

जनकपुरधाम, २२ मङ्सिर स् हुन त मधेस प्रदेशसभा सदस्य रानी शर्मा तिवारीलाई महिनावारी भएकै कारण पारिवारिक तनाव कहिल्यै भएन । हुनसक्छ परिवार शिक्षित भएकाले पनि होला उहाँले मैले कहिल्यै छाउ बार्नुपरेन । यस्तो सहजता भने बुवाले अझ बढी सहयोग गरेकाले पनि सहज भएको उहाँको बुझाइ छ ।

“पितृसत्ता र गलत सोचको विकास घरको परिवेशले पनि निर्माण गर्ने हो । समाजले हुर्काउँछ । तर मेरो घरको परिवेशले मलाईचाहिँ सजिलो भयो । त्यसैले सोचमै समस्या हुँदा महिनावारीमा महिलाले विभेद भोग्नुपरिरहेको छ”, उहाँले भन्नुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० मधेस प्रदेशसभा संसदीय दलकी प्रमुख सचेतकसमेत रहनुभएकी तिवारीले आफू १३–१४ वर्षको उमेरमा पहिलोपटक महिनावारी हुँदा विभेद भोगेको भए आफ्नो सोच पनि नबदलिने सुनाउनुभयो ।

“धेरैले भन्छन् सबैभन्दा ठूलो विभेद भगवान् रिसाउने नाममा चाडपर्व र पूजाकोठामा जान नपाएर हुन्छ । तर म पहिलोपटक लक्ष्मीपूजाकै समयमा महिनावारी हुँदा बुवाले पूजा गर्न रोक्नुभएन”, लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानक सन्दर्भमा हालै आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “ममात्रै होइन, तराई मधेसका महिलाले सबैभन्दा ठूलो मानिएको छठ र जितिया पर्वमा महिनावारी भएकै अवस्थामा पूजा गर्न पाइन्छ । त्यसैले यो सोचमा भरपर्ने रहेछ ।”

तर महोत्तरीको लालबन्दीकी अस्मिता यादवको परिवेश भने फरक छ । महिनावारीको बेला उहाँलाई अरु सबै ठाउँमा जान दिइए पनि पूजाकोठामा जान भने अझै प्रतिबन्ध छ । अहिलेसम्म पनि पूजाकोठामा निषेध रहेको बताउने उहाँले भन्नुभयो, “मलाई महिनावारी प्राकृतिक हो भनेर सिकाइए पनि अरु ठाउँमा अवरोध कायमै छ । विद्यालय, घर, सार्वजनिकस्थलमा कुनै न कुनै नाममा विभेद हुन्छ । पर्याप्त र सहजरूपमा प्याडमा पहुँच नहुँदा आफैँलाई पनि महिनावारीको बेला असहज हुन्छ ।”

विगत लामो समयदेखि मर्यादित महिनावारीको क्षेत्रमा कार्यरत अभियन्ता डा राधा पौडेल महिनावारी विभेदले शक्ति र पितृसत्ताको निर्माण र सवलीकरण गर्ने जनाउनुहुँदै त्यसैकारण धेरै प्रयास हुँदा पनि समस्या कायम रहेको बताउनुहुन्छ । उहाँले महिनावारीका बेला भान्छामा गएर आफैँ खान नपाउनुले संविधानले दिएका १२ वटा मौलिक हक हनन हुने भन्दै सर्वोच्च अदालतले पनि छाउपडी अर्थात् महिनावारीलाई सन् २००५ मा नै मानवअधिकार हनन भनेर परिभाषित गरिसकेको स्मरण गराउनुभयो ।

उहाँ भन्नुहुन्छ, “महिनावारी नभएमा सृष्टि रोकिन्छ । तर यही नाममा धेरै विभेद भइरहेका छन् । बालविवाह, घर, विद्यालय, सार्वजनिकस्थलमा हुने अवरोधले महिलाको वृत्तिविकासमै असर गरिरहेको छ । त्यसकारण यसविरुद्ध सबै मिलेर प्रतिवाद गर्न जरुरी छ ।”

सन् २०२३ फेब्रुअरी १४ मा केन्याको सांसदमा त्यहाँका सांसदले ग्लोरिया ओओशेवाले महिनावारीको बेला रगत लागेको कपडा देखाउँदै गरेको विद्रोह र त्यसअघि सन् २०१८ जुन १८ मा स्कटल्याण्डको संसद् बैठकमा ढिलो भएकाबारे सोधिएको प्रश्नमा त्यहाँका माननीय ड्यानियल रुओलीले ‘महिनावारी भएकाले’ भन्ने जवाफ दिएर विश्वको ध्यानाकर्षण गराएजस्तै नेपालमा पनि नेतृत्व तहमा रहेकाहरूले समेत प्रतिकार, दबाब र सचेतनाका लागि सशक्त आवाज उठाउनुपर्ने डा पौडेलको धारणा छ ।

नेतृ रानी शर्मा तिवारीले पनि महिनावारीमा विभेद गर्दाको असर बालबालिका र सिङ्गो परिवारले भोग्नुपर्ने भन्दै त्यसविरुद्ध सचेतना अभिवृद्धि गर्न आग्रह गर्नुभयो । प्रदेशसभा सचिवालयका शौचालयमा स्यानिटरी प्याड राख्न डेलिगेसन गएको स्मरण गर्नुहुँदै उहाँले भन्नुभयो, “महिलाले आफ्नो समस्याबारे खुलेर कुरा राख्नुपर्छ । आमा र केटी साथीलाई पनि भन्नुपर्छ । मैले त घरमा मात्रै होइन, संसद्मा रहेका पुरुष साथीलाई पनि ‘तपाईँहरू पनि उठाइदिनुस् न मेरो समस्या’ भन्ने गरेको छु ।”

प्रदेशसभा सदस्य माला कर्ण पनि महिनावारीले मानसिकरूपमै दबाब सिर्जना गर्ने भन्दै त्यस्तो अवस्था आउनुमा सबैको भूमिका रहेको बताउनुहुन्छ । “महिनावारी नभएमा सृष्टि नै चल्दैन भन्ने थाहा छ । तर त्यही नाममा हुने विभेदले महिलालाई मानसिक, शारीरिकलगायत अन्य जोखिम बढाइरहेको छ । त्यसकारण यसविरुद्ध घरघरमा जनचेतना बढाउन आवश्यक छ”, उहाँ भन्नुहुन्छ ।

मधेस प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेसका सचेतक कुमरकान्त झाले महिनावारीबारे पहिलो शिक्षक आमा र पहिलो विद्यालय परिवारबाटै सही अभ्यास सिकाउन जरुरी रहेको बताउनुभयो । उहाँले मधेस प्रदेशसभा रहेको बालिका संरक्षणसम्बन्धी विधेयकमा महिनावारी शिक्षा अभियानमै अगाडि बढाउने विषय समावेश गर्नसके धेरै समस्या समाधान हुने बताउनुभयो ।

त्यसैगरी जनमत पार्टीका नेता एवं प्रदेशसभा सदस्य सञ्जयकुमार यादवले मर्यादित महिनावारीका लागि पाठ्यक्रममै राखेर सुरुदेखि नै असल सन्देश दिनुपर्ने र त्यसका लागि आफूले पनि प्रदेशसभामा कुरा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अहिले विश्वभरि लिङ्गका आधारमा मान्छेमाथि हुने सबैखाले हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेको छ । हरेक वर्ष अङ्ग्रेजी महिनाको नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने यो दिवसकै एक अभिन्न दिनका रूपमा आज डिसेम्बर ८ का दिन ‘मर्यादित महिनावारी दिवस’ मनाइँदैछ ।

नेपालले विसं २०५४ देखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउँदै आएको छ भने सन् २०१९ अर्थात् २०७६ देखि मर्यादित महिनावारी दिवस मनाउन थालिएको छ । नेपालमा राधा पौडेल फाउण्डेशनलगायत सामाजिक संस्थाले मर्यादित महिनावारीबारे बहस चलाइरहेका छन् ।

बराहक्षेत्रको कात्तिके मेलामा झण्डै चार लाख तीर्थालु

बराहक्षेत्र (सुनसरी), २२ मङ्सिर : पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ । हिउँद लागेसँगै बराहक्षेत्र धाममा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या दैनिक वृद्धि हुँदै गएको बराहक्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हिउँद लागेसँगै विशेषगरी कात्तिकेमेला र माघीमेलामा बढी तीर्थालु भक्तजन बराहक्षेत्र मन्दिर आउने गरेका छन् ।”

बराहक्षेत्र मन्दिरमा पूजाआजा एवं कोकाकौशिका नदी र सप्तकोशीको जलले स्नान गर्न धार्मिक पर्यटक यहाँ आउने गर्दछन् । उहाँले भन्नुभयो, “यसपटकको कात्तिकेमेलामा झण्डै चार लाख पर्यटक बराहक्षेत्र आएका छन् । ”

बराहक्षेत्र मन्दिरमा प्रत्येक वर्ष हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म कात्तिकेमेला लाग्ने गर्दछ । मेलामा नेपाल विभिन्न जिल्ला सहित भारतको बिहारबाट तीर्थालु भित्रिने गरेको बराहक्षेत्र नगरपालिका वडा नं १ का वडाध्यक्ष किसन थापाले बताउनुभयो ।

चार क्षेत्रमध्येको एक क्षेत्र मानिएको बराहक्षेत्रमा हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल रहेको बराहक्षेत्र मन्दिरका प्रधान पुजारी किरण भण्डारी बताउनुभयो । उहाँले भन्नुभयो, “किंवदन्तीअनुसार पृथ्वी आकाशगङ्गामा हराएको बखत सम्पूर्ण प्राणीजगत्को उद्धार गरेर यस ठाउँमा बराह भगवान्को अवतार भएको मानिन्छ । यही विश्वासले महिमागान गर्दै बराहक्षेत्रको दर्शन गर्न तीर्थालु आउने गर्दछन् ।”

बराहक्षेत्रको दर्शन गर्नाले सुख, शान्ति प्राप्ति हुने विश्वास छ । साथै बराहक्षेत्र मन्दिरमा भाकल गर्ने, पूजा गर्ने, कोकाकौशिका नदीमा स्नान गर्नाले पाप नष्ट भइ आनन्द प्राप्त हुने जनविश्वास छ ।

जनताका समस्या र चाहनाको सूची तयार गरौँ – एमाले नेत्री गुरुङ

गण्डकी, २२ मङ्सिर : नेकपा (एमाले)की नेत्री दीपा गुरुङ राष्ट्रियसभा सदस्यको जिम्मेवारीमा रहँदा मुुुलुकको राजनीतिक तथा अन्य अवस्थालाई नजिकबाट अवलोकन र मूल्याङ्कन गर्न पाइएको अनुभव सुनाउनुहुन्छ । उहाँले राजनीतिक र अन्य क्षेत्रमा संलग्न प्रबुद्ध व्यक्तिको समेत चेतनाको विकास गराउने महत्त्वपूर्ण ठाउँका रूपमा राष्ट्रियसभालाई लिन सकिने प्रतिक्रिया दिनुभयो ।

‘सांसदसँग रासस संवाद’मा नेत्री गुरुङले भन्नुभयो, “माथिल्लो सदनको सदस्यको जिम्मेवारी मेरा लागि अत्यन्त महत्त्वपूर्ण अवसर थियो, जीवनमा यसले निकै खुसी ल्यायो र अवसर दिलायो ।”

विद्यार्थीकालदेखि नै कम्युनिष्ट विचारलाई आत्मसात् गर्नुुभएकी गुरुङ सामाजिक जीवनका साथै राजनीतिक जीवनका विभिन्न भोगाइ र अनुभव सँगाल्दै अघि बढिरहनुभएको छ । लमजुुङ मध्यनेपाल नगरपालिका वडा नं ८ स्थायी बसोबास भएकी गुरुङ १३–१४ वर्षको उमेरदेखि नै राजनीतिमा लाग्नुुभएकी उहाँसँग अखिल नेपाल महिला सङ्घको इलाका र जिल्ला अध्यक्ष, अञ्चल कमिटी सदस्य र केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्नुभएको अनुभव छ ।

सामाजिक क्षेत्रमा काम गर्ने सिलसिलामा उहाँ आफ्नै क्षेत्रको जनकल्याण प्राथमिक विद्यालयमा विसं २०७३ देखि २०७५ सम्म विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुनुभयो । विसं २०३९ देखि २०४६ सम्म भूमिगत राजनीति गर्नुभएकी गुरुङले एमाले गण्डकी प्रदेश कमिटीको सदस्य एवं सचिवालय सदस्यको जिम्मेवारी बहन गरिसक्नुभएको छ ।

जनप्रतिनिधिका हिसाबले जनताले साना–साना समस्या पनि सांसदले हल गरिदिओस् भन्ने चाहना राख्ने गरेको उल्लेख गर्दै उहाँले स्वयं हामी पनि त्यो ठाउँमा उभिँदा स्वभाविकरूपमा त्यही किसिमका चाहना र अपेक्षा हुने धारणा राख्नुुभयो ।

देशको सीमित स्रोत साधन र जनताका असीमित चाहनाबीच तालमेल गर्न निकै चुनौती रहेको बताउँदै उहाँले भन्नुभयो, “ जनताका सबै समस्या र चाहना एकैपटक राष्ट्रले पूरा सक्ने अवस्था छैन । उनीहरूका अपेक्षालाई मूल्याङ्कन गर्दै प्राथमिकीकरण गरी बुझाउनुपर्छ ।”

पछिल्लो समयमा पार्टीगत एवं राष्ट्रियरूपमा पनि भइरहेको फेरबदलले जनतामा निराशा छाएको सांसद गुरुङको ठम्याइ छ । राजनीतिक अस्थिरताका कारण जनतामा निराशा छाएको बताउँदै उहाँले धेरै पार्टीहरू च्याउजस्तो उम्रिएर पनि समस्या बढेको बताउनुुभयो ।

केही नेताको कमी–कमजोरी, पार्टीभित्रका गुटउपगुट आदिका कारण पनि निराशा बढ्दै गएको बताउँदै इल्डर्स हाउस सदस्य गुरुङले त्यस गुटउपगुटप्रति आफ्नो विमति प्रकट गर्नुभयो । हरेक व्यक्तिमा राजनीतिक जीवन भए पनि गुटउपगुट हुनहुन्न भन्ने आफ्नो स्पष्ट धारणा रहेको बताउँदै उहाँले भन्नुभयो, “म त कहिल्यै पनि गुट र उपगुुटमा सामेल भइनँ । यसकोे असर कार्यकर्ता, जनता हुँदै समाज एवं राष्ट्रमा पर्दछ । त्यो हुन दिनहुन्न ।”

उहाँका अनुसार राष्ट्रियसभामा जनताका हरेक र कयौँ ज्वलन्त समस्या उठाइने गरेको भए पनि केही मात्र सरकारले सम्बोधन गर्ने गरेको छ । कतिपय विधेयक पास भएर पनि कार्यान्वयन हुनसकेको अवस्था छैन ।

छवर्षे कार्यकालमा जति पनि विधेयक पास भए त्यसमा माथिल्लो सदनको पनि उत्तिकै ठूलो योगदान रहेको बताउँदै नेत्री गुरुङले यसबीचमा दुवै सदनमा उत्पति भएका निकै विधेयक पारित भएको बताउनुभयो ।

सांसद गुरुङका अनुसार विधेयक भनेको कानुन निर्माणको प्रारम्भिक मस्यौदा हो । त्यो मस्यौदालाई दुवै सदनमा गहन छलफल गरी परिस्कृत र समृद्ध तुल्याउनुपर्छ । बनेका कानुुन सही ढङ्गले कार्यान्वयन गर्न सकियो भने भ्रष्टाचार न्यूनीकरण एवं सुशासन प्रवर्द्धन र जनताका धेरै समस्या सम्बोधन गर्न सहज हुन्छ ।

उहाँले भन्नुुभयो, “कानुन नै गतिलो बन्न सकेन भने समृद्धि प्राप्तिको उद्देश्य पूरा हुन गाह्रो छ, गुणस्तरीय कानुन निर्माण गर्न विधेयकमाथि विषयगत समिति र दुवै सदनमा गम्भीर र विभिन्न कोणबाट बहस हुनुपर्छ ।”

सङ्घीय संसद्का दुवै सदन एउटै समयमा लगातार बस्दा सञ्चारमाध्यममा माथिल्लो सभा ओझेलमा पर्ने गरेको उहाँको बुझाइ छ । प्रतिनिधिसभाका बैठक र गतिविधि निरन्तर सञ्चारगृहले प्राथमिकतामा राख्ने गरेता पनि राष्ट्रियसभाले त्यो अवसर र स्थान पाउन नसेको सदस्य गुरुङको अनुभूति र गुनासो छ । उहाँले दुवै सदनलाई समान प्राथमिकतामा राख्न सञ्चारमाध्यमलाई आग्रहसमेत गर्नुुभयो ।

सदनमा धेरै जल्दाबल्दा विषय उठाइएता पनि गोरखाको बारपाकका भूकम्पपीडितका विषयमा तत्कालीन समयमा उठाएको विषयमा भने आफूलाई ठूलै आत्मसन्तुष्टि मिलेको अनुभव उहाँको छ ।

“मैले सदनमा बोलेमध्येमा बारपाकका भूकम्पपीडितका विषयमा उठाएको कुरामा ठूलै आत्मसन्तुष्टि मिलेको अनुभूति गरेको छु”, उहाँले भन्नुुभयो, “त्यसबारे अरुले पनि महत्वका साथ उठाउनुभयो ।” आफूले उठाएको विषयमा महत्त्वपूर्ण सफलता हासिल भयो भन्ने लागेको जनाउँदै सदस्य गुरुङले जनताले यथाशीघ्र राहत पाउन् भनेर त्यहाँको दुःखका कथा जोडिएका घटना हामीले सदनमा उठाएकामा त्यस विषयमा सन्तुष्टि प्राप्त भएको प्रतिक्रिया सुनाउनुभयो ।

मध्यपहाडी लोकमार्गको विषय सदनमा बारम्बार उठाए पनि सरकारको काम कारबाहीबाट त्यसमा भने सन्तुष्टि पाउन नसकेको उहाँको गुनासो छ ।

सीमामा तनाव बढ्दै गएपछि अमेरिकाले गुयानामा सैन्य अभ्यास गर्ने

अमेरिकाले संयुक्त अभियानमा गुयानामा सैन्य उडानहरू गर्ने बिहीबार बताएको छ । दक्षिण अमेरिकी मुलुक गुयानाले विवादित तेल–समृद्ध क्षेत्रलाई लिएर छिमेकी मुलुक भेनेजुएलासँग बढ्दो तनावको सामना गरिरहेका बेला अमेरिकाको उक्त भनाइ आएको हो ।

“गुयाना डिफेन्स फोर्ससँगको सहकार्यमा अमेरिकी दक्षिणी कमान्डले डिसेम्बर ७ मा गुयानाभित्र सैन्य उडान सञ्चालन गर्नेछ”, गुयानामा अमेरिकी दूतावासले एक विज्ञप्तिमा भनेको छ, “उडानहरू दुवै मुलुकबीचको सुरक्षा साझेदारीलाई बढाउनका लागि ‘नियमित संलग्नता’ को एउटा भाग हा ।”

हालै तेल–समृद्ध एस्सेक्विबो क्षेत्रमा सीमा विवाद बढेको छ । उक्त क्षेत्रमाथि एक शताब्दीभन्दा बढी समयदेखि गुयानाको नियन्त्रणमा छ तर भेनेजुएलाले पनि उक्त क्षेत्रमाथि दावी गर्दै सो क्षेत्र कब्जा गर्ने मनसाय व्यक्त गरेको छ । गुयानाको करिब दुई तिहाइ हिस्सा समेटिएको एस्सेक्विबोमा लामो समयदेखि चलिरहेको विवाद एक्सनमोबिलले त्यहाँ तेल पत्ता लगाएपछि चर्किएको छ ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले एस्सेक्विबोको भाग्यमाथि आइतबार भएको जनमत सङ्ग्रहमा व्यापक समर्थन पाएपछि हालका दिनमा दबाब बढाउनुभएको छ । एस्सेक्विबोमा गुयानाका ८० हजार नागरिकसहित एक लाख २५ हजार जनसङ्ख्या रहेको छ ।

यस क्षेत्रको सिमाना कहाँ हुनुपर्छ भन्ने विषयमा हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आइसिजे) मा मुद्दा चलिरहेको छ ।

इयुले आज विश्वको पहिलो एआई कानूनमा पुनः छलफल गर्ने

करिब २४ घन्टाको छलफलपछि बिहीबार युरोपेली युनियन (इयु) कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी व्यापक कानूनमा सम्झौता गर्न असफल भएको छ । यद्यपि शुक्रबार पनि छलफल जारी राख्ने वाचा गरिएको छ ।

गत वर्ष च्याटजिपिटी बटले एआईको तीव्र प्रगति गर्दै विश्वलाई नै चकित बनाएदेखि यो मुद्दाले थप आवश्यकता लिएपछि ब्रसेल्स सन् २०२३ को अन्त्यभन्दा अघि नै विश्वको पहिलो व्यापक एआई कानूनलाई अनुमोदन गर्न चाहन्छ । च्याटजिपिटीले सरल प्रयोगकर्ता सङ्केतहरूबाट केही सेकेन्डभित्रै भावपूर्ण निबन्ध र कविताहरू तयार गर्ने क्षमताबाट धेरैलाई आश्चर्यचकित बनाएको छ ।

श्रम र स्वास्थ्य सेवालाई रूपान्तरण गर्न यो प्रविधिको क्षमता भए पनि आलोचकहरूले डिपफेक तस्बिरसहित एआईबाट गलत सूचना र दुरुपयोगको बढ्दो जोखिमलाई औँल्याएका छन् । बिहीबार बिहानै एउटा सम्झौतालाई अन्तिम रूप दिने महत्त्वाकांक्षी अपेक्षाका साथ युरोपेली संसद् र इयुका सदस्य मुलुकका वार्ताकारहरूले बुधबार दिउँसो छलफल सुरु गरेका हुन् ।

“एआई ऐनमा पछिल्लो २२ घन्टामा धेरै प्रगति भएको छ, भोलि बिहान नौ बजे (०८ः०० जिएमटी) इयु संसद् र काउन्सिलसँग पुनः छलफल सुरु हुँदैछ”, इयुयका आन्तरिक बजार आयुक्त थिएरी ब्रेटनले सामाजिक सञ्जालमा भन्नुभएको छ ।

कुनै वास्तविक सीमा नभए पनि इयुका वरिष्ठ अधिकारीहरूले बिहीबार बिहानसम्म कानूनी पाठलाई अन्तिम रूप दिन धेरै राजनीतिक पूँजी लगाएका छन् । शुक्रबार कुनै सम्झौतालाई अन्तिम रूप दिए पनि कानून चाँडोमा सन् २०२६ सम्म लागू हुनेछैन ।

सदस्य राष्ट्र र संसद्बीच विभाजनका दुई क्षेत्र छन् । पहिलो महत्त्वपूर्ण मुद्दा भनेको विभिन्न कार्य गर्नका लागि डिजाइन गरिएको कथित फाउन्डेसन मोडेललाई कसरी नियमन गर्ने भन्ने हो । फ्रान्स, जर्मनी र इटालीले यी प्रणालीहरूलाई कानूनको कठिन हिस्साबाट बाहिर निकाल्न आह्वान गरेका छन् ।

केही सदस्य मुलुक नियमनले एआईको दुरुपयोगबाट हुनसक्ने क्षतिलाई सीमित गर्नुपर्छ भन्नेमा सहमत छन् तर पनि उनीहरू नवप्रवर्तनलाई प्रोत्साहन गर्न चाहन्छन् । विशेषगरी अमेरिका–आधारित च्याटजिपिटीको निर्माता ओपनएआईजस्तै उनीहरू आफ्नै युरोपेली च्याम्पियन चाहन्छन् ।

अर्को महत्त्वपूर्ण विन्दु भनेको रिमोट बायोमेट्रिक निगरानी हो । यो भनेको मूलतः सार्वजनिक स्थानमा क्यामेरा डाटामार्फत अनुहार पहिचान हो । इयुको संसद्ले ‘वास्तविक समय’ रिमोट बायोमेट्रिक पहिचान प्रणालीहरूमा पूर्ण प्रतिबन्ध चाहन्छ तर केही सदस्य मुलुकले कानूनको कार्यान्वयनका लागि प्रविधिको प्रयोग गर्न अनुमति दिन अपवाद चाहन्छन् ।

इयुको कार्यकारी शाखा युरोपेली आयोगले पहिलो पटक सन् २०२१ मा एउटा एआई कानूनको प्रस्ताव राखेको थियो । उक्त कानूनले एआईले निम्त्याउने जोखिमहरूको स्तरका आधारमा प्रणालीहरूलाई नियमन गर्दछ । उदाहरणका लागि नागरिकको अधिकार र स्वास्थ्यमा जति ठूलो जोखिम हुन्छ प्रणालीको दायित्व पनि उति नै ठूलो हुन्छ ।

गुगल र मेटासहितका प्रविधि कम्पनीहरूले पनि एआई जोखिमका भाग खोजिरहेका छन् । एआईको प्रभावमाथि चिन्ता व्यक्त गर्ने इयु एक्लो होइन । अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रविधिको जोखिमलाई कम गर्दै एआईलाई नियमन गर्न अक्टोबरमा एउटा कार्यकारी आदेश जारी गर्नुभएको थियो । चीनले यसै वर्ष अगस्टमा कृत्रिम बौद्धिकताबाट उत्पन्न सामग्रीमाथि नियम लागु गरेको छ ।