`

बराहक्षेत्रको कात्तिके मेलामा झण्डै चार लाख तीर्थालु

बराहक्षेत्र (सुनसरी), २२ मङ्सिर : पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ । हिउँद लागेसँगै बराहक्षेत्र धाममा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या दैनिक वृद्धि हुँदै गएको बराहक्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हिउँद लागेसँगै विशेषगरी कात्तिकेमेला र माघीमेलामा बढी तीर्थालु भक्तजन बराहक्षेत्र मन्दिर आउने गरेका छन् ।”

बराहक्षेत्र मन्दिरमा पूजाआजा एवं कोकाकौशिका नदी र सप्तकोशीको जलले स्नान गर्न धार्मिक पर्यटक यहाँ आउने गर्दछन् । उहाँले भन्नुभयो, “यसपटकको कात्तिकेमेलामा झण्डै चार लाख पर्यटक बराहक्षेत्र आएका छन् । ”

बराहक्षेत्र मन्दिरमा प्रत्येक वर्ष हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म कात्तिकेमेला लाग्ने गर्दछ । मेलामा नेपाल विभिन्न जिल्ला सहित भारतको बिहारबाट तीर्थालु भित्रिने गरेको बराहक्षेत्र नगरपालिका वडा नं १ का वडाध्यक्ष किसन थापाले बताउनुभयो ।

चार क्षेत्रमध्येको एक क्षेत्र मानिएको बराहक्षेत्रमा हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल रहेको बराहक्षेत्र मन्दिरका प्रधान पुजारी किरण भण्डारी बताउनुभयो । उहाँले भन्नुभयो, “किंवदन्तीअनुसार पृथ्वी आकाशगङ्गामा हराएको बखत सम्पूर्ण प्राणीजगत्को उद्धार गरेर यस ठाउँमा बराह भगवान्को अवतार भएको मानिन्छ । यही विश्वासले महिमागान गर्दै बराहक्षेत्रको दर्शन गर्न तीर्थालु आउने गर्दछन् ।”

बराहक्षेत्रको दर्शन गर्नाले सुख, शान्ति प्राप्ति हुने विश्वास छ । साथै बराहक्षेत्र मन्दिरमा भाकल गर्ने, पूजा गर्ने, कोकाकौशिका नदीमा स्नान गर्नाले पाप नष्ट भइ आनन्द प्राप्त हुने जनविश्वास छ ।

जनताका समस्या र चाहनाको सूची तयार गरौँ – एमाले नेत्री गुरुङ

गण्डकी, २२ मङ्सिर : नेकपा (एमाले)की नेत्री दीपा गुरुङ राष्ट्रियसभा सदस्यको जिम्मेवारीमा रहँदा मुुुलुकको राजनीतिक तथा अन्य अवस्थालाई नजिकबाट अवलोकन र मूल्याङ्कन गर्न पाइएको अनुभव सुनाउनुहुन्छ । उहाँले राजनीतिक र अन्य क्षेत्रमा संलग्न प्रबुद्ध व्यक्तिको समेत चेतनाको विकास गराउने महत्त्वपूर्ण ठाउँका रूपमा राष्ट्रियसभालाई लिन सकिने प्रतिक्रिया दिनुभयो ।

‘सांसदसँग रासस संवाद’मा नेत्री गुरुङले भन्नुभयो, “माथिल्लो सदनको सदस्यको जिम्मेवारी मेरा लागि अत्यन्त महत्त्वपूर्ण अवसर थियो, जीवनमा यसले निकै खुसी ल्यायो र अवसर दिलायो ।”

विद्यार्थीकालदेखि नै कम्युनिष्ट विचारलाई आत्मसात् गर्नुुभएकी गुरुङ सामाजिक जीवनका साथै राजनीतिक जीवनका विभिन्न भोगाइ र अनुभव सँगाल्दै अघि बढिरहनुभएको छ । लमजुुङ मध्यनेपाल नगरपालिका वडा नं ८ स्थायी बसोबास भएकी गुरुङ १३–१४ वर्षको उमेरदेखि नै राजनीतिमा लाग्नुुभएकी उहाँसँग अखिल नेपाल महिला सङ्घको इलाका र जिल्ला अध्यक्ष, अञ्चल कमिटी सदस्य र केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्नुभएको अनुभव छ ।

सामाजिक क्षेत्रमा काम गर्ने सिलसिलामा उहाँ आफ्नै क्षेत्रको जनकल्याण प्राथमिक विद्यालयमा विसं २०७३ देखि २०७५ सम्म विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुनुभयो । विसं २०३९ देखि २०४६ सम्म भूमिगत राजनीति गर्नुभएकी गुरुङले एमाले गण्डकी प्रदेश कमिटीको सदस्य एवं सचिवालय सदस्यको जिम्मेवारी बहन गरिसक्नुभएको छ ।

जनप्रतिनिधिका हिसाबले जनताले साना–साना समस्या पनि सांसदले हल गरिदिओस् भन्ने चाहना राख्ने गरेको उल्लेख गर्दै उहाँले स्वयं हामी पनि त्यो ठाउँमा उभिँदा स्वभाविकरूपमा त्यही किसिमका चाहना र अपेक्षा हुने धारणा राख्नुुभयो ।

देशको सीमित स्रोत साधन र जनताका असीमित चाहनाबीच तालमेल गर्न निकै चुनौती रहेको बताउँदै उहाँले भन्नुभयो, “ जनताका सबै समस्या र चाहना एकैपटक राष्ट्रले पूरा सक्ने अवस्था छैन । उनीहरूका अपेक्षालाई मूल्याङ्कन गर्दै प्राथमिकीकरण गरी बुझाउनुपर्छ ।”

पछिल्लो समयमा पार्टीगत एवं राष्ट्रियरूपमा पनि भइरहेको फेरबदलले जनतामा निराशा छाएको सांसद गुरुङको ठम्याइ छ । राजनीतिक अस्थिरताका कारण जनतामा निराशा छाएको बताउँदै उहाँले धेरै पार्टीहरू च्याउजस्तो उम्रिएर पनि समस्या बढेको बताउनुुभयो ।

केही नेताको कमी–कमजोरी, पार्टीभित्रका गुटउपगुट आदिका कारण पनि निराशा बढ्दै गएको बताउँदै इल्डर्स हाउस सदस्य गुरुङले त्यस गुटउपगुटप्रति आफ्नो विमति प्रकट गर्नुभयो । हरेक व्यक्तिमा राजनीतिक जीवन भए पनि गुटउपगुट हुनहुन्न भन्ने आफ्नो स्पष्ट धारणा रहेको बताउँदै उहाँले भन्नुभयो, “म त कहिल्यै पनि गुट र उपगुुटमा सामेल भइनँ । यसकोे असर कार्यकर्ता, जनता हुँदै समाज एवं राष्ट्रमा पर्दछ । त्यो हुन दिनहुन्न ।”

उहाँका अनुसार राष्ट्रियसभामा जनताका हरेक र कयौँ ज्वलन्त समस्या उठाइने गरेको भए पनि केही मात्र सरकारले सम्बोधन गर्ने गरेको छ । कतिपय विधेयक पास भएर पनि कार्यान्वयन हुनसकेको अवस्था छैन ।

छवर्षे कार्यकालमा जति पनि विधेयक पास भए त्यसमा माथिल्लो सदनको पनि उत्तिकै ठूलो योगदान रहेको बताउँदै नेत्री गुरुङले यसबीचमा दुवै सदनमा उत्पति भएका निकै विधेयक पारित भएको बताउनुभयो ।

सांसद गुरुङका अनुसार विधेयक भनेको कानुन निर्माणको प्रारम्भिक मस्यौदा हो । त्यो मस्यौदालाई दुवै सदनमा गहन छलफल गरी परिस्कृत र समृद्ध तुल्याउनुपर्छ । बनेका कानुुन सही ढङ्गले कार्यान्वयन गर्न सकियो भने भ्रष्टाचार न्यूनीकरण एवं सुशासन प्रवर्द्धन र जनताका धेरै समस्या सम्बोधन गर्न सहज हुन्छ ।

उहाँले भन्नुुभयो, “कानुन नै गतिलो बन्न सकेन भने समृद्धि प्राप्तिको उद्देश्य पूरा हुन गाह्रो छ, गुणस्तरीय कानुन निर्माण गर्न विधेयकमाथि विषयगत समिति र दुवै सदनमा गम्भीर र विभिन्न कोणबाट बहस हुनुपर्छ ।”

सङ्घीय संसद्का दुवै सदन एउटै समयमा लगातार बस्दा सञ्चारमाध्यममा माथिल्लो सभा ओझेलमा पर्ने गरेको उहाँको बुझाइ छ । प्रतिनिधिसभाका बैठक र गतिविधि निरन्तर सञ्चारगृहले प्राथमिकतामा राख्ने गरेता पनि राष्ट्रियसभाले त्यो अवसर र स्थान पाउन नसेको सदस्य गुरुङको अनुभूति र गुनासो छ । उहाँले दुवै सदनलाई समान प्राथमिकतामा राख्न सञ्चारमाध्यमलाई आग्रहसमेत गर्नुुभयो ।

सदनमा धेरै जल्दाबल्दा विषय उठाइएता पनि गोरखाको बारपाकका भूकम्पपीडितका विषयमा तत्कालीन समयमा उठाएको विषयमा भने आफूलाई ठूलै आत्मसन्तुष्टि मिलेको अनुभव उहाँको छ ।

“मैले सदनमा बोलेमध्येमा बारपाकका भूकम्पपीडितका विषयमा उठाएको कुरामा ठूलै आत्मसन्तुष्टि मिलेको अनुभूति गरेको छु”, उहाँले भन्नुुभयो, “त्यसबारे अरुले पनि महत्वका साथ उठाउनुभयो ।” आफूले उठाएको विषयमा महत्त्वपूर्ण सफलता हासिल भयो भन्ने लागेको जनाउँदै सदस्य गुरुङले जनताले यथाशीघ्र राहत पाउन् भनेर त्यहाँको दुःखका कथा जोडिएका घटना हामीले सदनमा उठाएकामा त्यस विषयमा सन्तुष्टि प्राप्त भएको प्रतिक्रिया सुनाउनुभयो ।

मध्यपहाडी लोकमार्गको विषय सदनमा बारम्बार उठाए पनि सरकारको काम कारबाहीबाट त्यसमा भने सन्तुष्टि पाउन नसकेको उहाँको गुनासो छ ।

सीमामा तनाव बढ्दै गएपछि अमेरिकाले गुयानामा सैन्य अभ्यास गर्ने

अमेरिकाले संयुक्त अभियानमा गुयानामा सैन्य उडानहरू गर्ने बिहीबार बताएको छ । दक्षिण अमेरिकी मुलुक गुयानाले विवादित तेल–समृद्ध क्षेत्रलाई लिएर छिमेकी मुलुक भेनेजुएलासँग बढ्दो तनावको सामना गरिरहेका बेला अमेरिकाको उक्त भनाइ आएको हो ।

“गुयाना डिफेन्स फोर्ससँगको सहकार्यमा अमेरिकी दक्षिणी कमान्डले डिसेम्बर ७ मा गुयानाभित्र सैन्य उडान सञ्चालन गर्नेछ”, गुयानामा अमेरिकी दूतावासले एक विज्ञप्तिमा भनेको छ, “उडानहरू दुवै मुलुकबीचको सुरक्षा साझेदारीलाई बढाउनका लागि ‘नियमित संलग्नता’ को एउटा भाग हा ।”

हालै तेल–समृद्ध एस्सेक्विबो क्षेत्रमा सीमा विवाद बढेको छ । उक्त क्षेत्रमाथि एक शताब्दीभन्दा बढी समयदेखि गुयानाको नियन्त्रणमा छ तर भेनेजुएलाले पनि उक्त क्षेत्रमाथि दावी गर्दै सो क्षेत्र कब्जा गर्ने मनसाय व्यक्त गरेको छ । गुयानाको करिब दुई तिहाइ हिस्सा समेटिएको एस्सेक्विबोमा लामो समयदेखि चलिरहेको विवाद एक्सनमोबिलले त्यहाँ तेल पत्ता लगाएपछि चर्किएको छ ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले एस्सेक्विबोको भाग्यमाथि आइतबार भएको जनमत सङ्ग्रहमा व्यापक समर्थन पाएपछि हालका दिनमा दबाब बढाउनुभएको छ । एस्सेक्विबोमा गुयानाका ८० हजार नागरिकसहित एक लाख २५ हजार जनसङ्ख्या रहेको छ ।

यस क्षेत्रको सिमाना कहाँ हुनुपर्छ भन्ने विषयमा हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आइसिजे) मा मुद्दा चलिरहेको छ ।

इयुले आज विश्वको पहिलो एआई कानूनमा पुनः छलफल गर्ने

करिब २४ घन्टाको छलफलपछि बिहीबार युरोपेली युनियन (इयु) कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी व्यापक कानूनमा सम्झौता गर्न असफल भएको छ । यद्यपि शुक्रबार पनि छलफल जारी राख्ने वाचा गरिएको छ ।

गत वर्ष च्याटजिपिटी बटले एआईको तीव्र प्रगति गर्दै विश्वलाई नै चकित बनाएदेखि यो मुद्दाले थप आवश्यकता लिएपछि ब्रसेल्स सन् २०२३ को अन्त्यभन्दा अघि नै विश्वको पहिलो व्यापक एआई कानूनलाई अनुमोदन गर्न चाहन्छ । च्याटजिपिटीले सरल प्रयोगकर्ता सङ्केतहरूबाट केही सेकेन्डभित्रै भावपूर्ण निबन्ध र कविताहरू तयार गर्ने क्षमताबाट धेरैलाई आश्चर्यचकित बनाएको छ ।

श्रम र स्वास्थ्य सेवालाई रूपान्तरण गर्न यो प्रविधिको क्षमता भए पनि आलोचकहरूले डिपफेक तस्बिरसहित एआईबाट गलत सूचना र दुरुपयोगको बढ्दो जोखिमलाई औँल्याएका छन् । बिहीबार बिहानै एउटा सम्झौतालाई अन्तिम रूप दिने महत्त्वाकांक्षी अपेक्षाका साथ युरोपेली संसद् र इयुका सदस्य मुलुकका वार्ताकारहरूले बुधबार दिउँसो छलफल सुरु गरेका हुन् ।

“एआई ऐनमा पछिल्लो २२ घन्टामा धेरै प्रगति भएको छ, भोलि बिहान नौ बजे (०८ः०० जिएमटी) इयु संसद् र काउन्सिलसँग पुनः छलफल सुरु हुँदैछ”, इयुयका आन्तरिक बजार आयुक्त थिएरी ब्रेटनले सामाजिक सञ्जालमा भन्नुभएको छ ।

कुनै वास्तविक सीमा नभए पनि इयुका वरिष्ठ अधिकारीहरूले बिहीबार बिहानसम्म कानूनी पाठलाई अन्तिम रूप दिन धेरै राजनीतिक पूँजी लगाएका छन् । शुक्रबार कुनै सम्झौतालाई अन्तिम रूप दिए पनि कानून चाँडोमा सन् २०२६ सम्म लागू हुनेछैन ।

सदस्य राष्ट्र र संसद्बीच विभाजनका दुई क्षेत्र छन् । पहिलो महत्त्वपूर्ण मुद्दा भनेको विभिन्न कार्य गर्नका लागि डिजाइन गरिएको कथित फाउन्डेसन मोडेललाई कसरी नियमन गर्ने भन्ने हो । फ्रान्स, जर्मनी र इटालीले यी प्रणालीहरूलाई कानूनको कठिन हिस्साबाट बाहिर निकाल्न आह्वान गरेका छन् ।

केही सदस्य मुलुक नियमनले एआईको दुरुपयोगबाट हुनसक्ने क्षतिलाई सीमित गर्नुपर्छ भन्नेमा सहमत छन् तर पनि उनीहरू नवप्रवर्तनलाई प्रोत्साहन गर्न चाहन्छन् । विशेषगरी अमेरिका–आधारित च्याटजिपिटीको निर्माता ओपनएआईजस्तै उनीहरू आफ्नै युरोपेली च्याम्पियन चाहन्छन् ।

अर्को महत्त्वपूर्ण विन्दु भनेको रिमोट बायोमेट्रिक निगरानी हो । यो भनेको मूलतः सार्वजनिक स्थानमा क्यामेरा डाटामार्फत अनुहार पहिचान हो । इयुको संसद्ले ‘वास्तविक समय’ रिमोट बायोमेट्रिक पहिचान प्रणालीहरूमा पूर्ण प्रतिबन्ध चाहन्छ तर केही सदस्य मुलुकले कानूनको कार्यान्वयनका लागि प्रविधिको प्रयोग गर्न अनुमति दिन अपवाद चाहन्छन् ।

इयुको कार्यकारी शाखा युरोपेली आयोगले पहिलो पटक सन् २०२१ मा एउटा एआई कानूनको प्रस्ताव राखेको थियो । उक्त कानूनले एआईले निम्त्याउने जोखिमहरूको स्तरका आधारमा प्रणालीहरूलाई नियमन गर्दछ । उदाहरणका लागि नागरिकको अधिकार र स्वास्थ्यमा जति ठूलो जोखिम हुन्छ प्रणालीको दायित्व पनि उति नै ठूलो हुन्छ ।

गुगल र मेटासहितका प्रविधि कम्पनीहरूले पनि एआई जोखिमका भाग खोजिरहेका छन् । एआईको प्रभावमाथि चिन्ता व्यक्त गर्ने इयु एक्लो होइन । अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रविधिको जोखिमलाई कम गर्दै एआईलाई नियमन गर्न अक्टोबरमा एउटा कार्यकारी आदेश जारी गर्नुभएको थियो । चीनले यसै वर्ष अगस्टमा कृत्रिम बौद्धिकताबाट उत्पन्न सामग्रीमाथि नियम लागु गरेको छ ।

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

बेनी, २२ मङ्सिर : केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने म्याग्दीको प्रमुख पर्यटकीयस्थल पुनहिल क्षेत्रमा पछिल्ला वर्षमा आन्तरिक पर्यटकको आगमन बढ्दो छ । पर्यटक याममा दैनिक तीन सय ५० जनाको हाराहारीमा विदेशी पर्यटक आउने अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिल, घोडेपानी क्षेत्रमा यो वर्षको पर्यटकयाममा एक सय ५० जनाको हाराहारीमा मात्रै विदेशी पर्यटक भित्रिए ।

पछिल्ला वर्षमा घोडेपानीका होटल व्यवसायीले पर्यटकलाई लक्षित गरेर सुविधासम्पन्न होटल खोल्ने लहर नै चलेको छ । पुराना होटल व्यवसायीले होटलको क्षमता र सुविधा बढाएका छन् । पहिले छाप्रोबाट होटल सुरु गरेका व्यवसायीले अहिले घोडेपानीमा पक्की घर नै बनाएर सुविधायुक्त होटल सञ्चालन गरिरहेका छन् ।

होटलको क्षमता र सुविधा विस्तारले पर्यटकलाई सुविधा पुगे पनि पुनहिल क्षेत्रको भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या घट्दै गएको घोडेपानीका होटल व्यवसायी क्याप्टेन डमबहादुर गर्वुजा पुनले बताउनुभयो । “घोडेपानीमा एक दिनमा एक हजार दुई सय जनालाई सहजैरूपमा खाना र बसोबासको प्रबन्ध मिलाउन सक्ने क्षमता छ, व्यवसायीले पनि होटल क्षेत्रमै सुविधा बढाउन र स्तरीय बनाउन लगानी गरिरहेका छन्, तर विदेशी पर्यटक आउने सङ्ख्या हरेक वर्ष घट्दै गएको छ”, उहाँले भन्नुभयो ।

गत साउनदेखि मङ्सिर दोस्रो सातासम्म पुनहिल क्षेत्रमा १२ हजार तीन सय ६१ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् । विगतका वर्षको तुलनामा यस वर्षको विदेशी पर्यटकको सङ्ख्या कम रहेको होटल व्यवसायी बताउँछन् । घोडेपानी पुनहिल क्षेत्रमा विदेशी पर्यटकको सङ्ख्या घट्नुको प्रमुख कारण कच्ची सडकले पदमार्गलाई विस्थापित गर्नुलाई मानिएको छ । जर्मनका १२ पर्यटकलाई पुनहिल क्षेत्रको भ्रमणमा ल्याउनुभएका मल्टि एडभेन्चर कम्पनीका डाइला शेर्पाले अन्नपूर्ण पदमार्ग क्षेत्रमा बढ्दो कच्ची सडक र धुलोको कारण विदेशी पर्यटकको आकर्षण घट्दै गएको बताउनुभयो ।

विगत २० वर्षदेखि अन्नपूर्णलगायतका मुलुकका विभिन्न क्षेत्रमा पर्यटक घुमाउने काममा सक्रिय शेर्पाले पदमार्गलाई मास्ने र विस्थापित गर्नेगरी खनिएका सडकका कारण पुराना स्थापित पर्यटकीय गन्तव्यमा विदेशी पर्यटकको रोजाइ घट्दो रहेको बताउनुभयो । “विदेशी नेपालको रमणीय डाँडाकाँडा र पहाडमा पदयात्रा गर्न आउने हुन्, अब सडकले सबै पदमार्गलाई विस्थापित गर्दै खनिएका छन्, कच्ची सडकमै पर्यटकलाई धुलो धुँवा खुवाएर हिँडाउनुपर्छ, यो उनीहरूलाई मन पर्ने कुरा भएन, त्यसैले सडकले विस्थापित भएका ट्रेकिङ ट्रेललाई सडकले नछुने गरी पुनःनिर्माण गर्न जरुरी छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार चक्रीय अन्नपूर्ण पदमार्ग क्षेत्रमा सडक विस्तारले पदमार्ग विस्थापित भएका छन् भने पर्यटकको यात्रा अवधिसमेत छोटिएको छ ।

पुनहिलबाट सूर्योदय र हिमशृङ्खलाको अवलोकन गरी फर्कँदै गर्नुभएकी अमेरिकी पर्यटक ग्योरीले प्राकृतिक सुन्दरताले भरिएको यो क्षेत्रलाई पदमार्ग मासेर खसेका सडकको धुँवा र धुलो समस्याका रूपमा देखिएको अनुभूति सुनाउनुभयो । “हामी पहिलोपटक यहाँ आएका हौँ, पुनहिल साँच्चिकैको रमणीय रहेछ, यहाँबाट देखिने हिमशृङ्खला र सूर्योदयले मनै लोभ्याएको छ, तर यहाँ आइपुग्दा पदयात्रामा सडकको धुलो र धुँवाले हामीलाई नमज्जा लाग्यो”, उहाँले भन्नुभयो ।

सडकको पहुँचले आन्तरिक पर्यटकको आगमन भने बढ्दो छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घार–शिख–चित्रे हुँदै घोडेपानीसम्म सडक पुगे पनि देशका विभिन्न स्थानका विद्यालय, कार्यालय, सङ्घसंस्था, समूहबाट पुनहिल क्षेत्रको भ्रमणमा पुग्ने बढेका छन् । आन्तरिक पर्यटक बढे पनि समग्रमा पर्यटन क्षेत्रको प्रभाव विदेशी पर्यटकमै निर्भर हुने भएकाले विदशी पर्यटकको आगमन घट्दै जाँदा पर्यटन व्यवसायी चिन्तित छन् । पुनहिल घोडेपानी पुग्ने पुरानो पदमार्गमध्येमा पर्ने पोखरेबगर–घार–शिख–चित्रे–घोडेपानी पदमार्ग पूर्णरूपमा सडकले विस्थापित गरेको छ ।

यो पदमार्गमा आउने पर्यटकलाई लक्षित गरी दूरविनडाँडा, घार, शिखलगायतका क्षेत्रमा खोलिएका होटल पूर्णरूपमा बन्द भइसकेका छन् । घोडेपानी पुनहिल पुग्ने मुख्य पदमार्गमध्ये कास्कीबाट उल्लेरी हुँदै आउने पदमार्गसमेत अधिकांश सडकले मासिएको भन्दै पथप्रदर्शक चिन्तित छन् । सडक विस्तार गर्दा पदमार्गलाई जोगाउने गरी सडकको नक्सा¬ङ्कन र विस्तार गर्न उनीहरूले माग गरेका छन् । घोडेपानीमा कास्कीको घान्द्रुक भएर आउने पदमार्गका साथै अन्नपूर्ण धवलागिरि सामुदायिक पदमार्ग हुँदै मोहरेडाँडा र फूलबारी हुँदैसमेत पर्यटक पुग्ने गर्छन् ।

राष्ट्रियसभाको निर्वाचनमा राप्रपा सहभागी हुने

काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको  बैठकले पार्टीको नियमावली–२०८० लाई विधान मस्यौदा समितिमा पठाइ रायसहित केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले आगामी पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई केन्द्रीय तह सहित पार्टीको सबै तहमा उत्सवका रुपमा मनाउने निर्णय गरेको छ । बैठकले आसन्न राष्ट्रियसभाको निर्वाचनमा राप्रपा सहभागी हुने र यसका लागि अन्य दलसँग आवश्यक सहयोग जुटाउन संवाद गर्न पार्टीको राजनीतिक विभाग प्रमुख वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिने निर्णय गरेको पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा पार्टीको तर्फबाट आवश्यक तयारी, समन्वय र सहजीकरण गर्न पार्टीका उपाध्यक्ष हेमजङ गुरुङलाई जिम्मेवारी दिने निर्णय गरेको छ । राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आगामी पुस १, २ र ३ गते काठमाडौँमा बस्ने छ ।

त्रिभुवन विमानस्थलबाट १४ किलोग्राम सुनसहित दुईजना पक्राउ

काठमाडौँ, २२ मङ्सिर : त्रिभुवन विमानस्थल, भन्सार कार्यालयले विमानस्थलबाट १४ किलोग्राम सुनसहित दुईजनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले गए राति फ्लाइ दुबईको उडान नं एफजेड–५७३ बाट आएका गोरखाका मीनबहादुर घले र अर्का एक जनालाई पक्राउ गरेको हो ।

कार्यालयका भन्सार अधिकृत रमेश कुँवरले घलेले छातीको दायाँबायाँ कपडामा बेरेर लुकाइछिपाई ल्याएको सात थान बिस्कुट आकारको १४ किलोग्राम सुनसहित (सुनजस्तो देखिने पहेलो धातु) पक्राउ गरिएको राससलाई जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले घलेका सूचनाका आधारमा थप एक जनालाई पक्राउ गरिएको बताउनुभयो । पक्राउ परेका घलेलाई निकासी पैठारी नियन्त्रण ऐन, २०१३ र भन्सार ऐन, २०६४ अन्तर्गत भन्सार महसुल छली तथा चोरी पैठारी कसुर गरेकाले थप अनुसन्धानका लागि कार्यालय खुलेसँगै त्रिभुवन विमानस्थल कार्यालय गौचरनमा बुझाउने गरी प्रहरी प्रभाग कोटेश्वरको जिम्मा लगाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताउनुभयो ।

खुम्चिँदै निर्जीवन बिमा कम्पनीको व्यवसाय

काठमाडौँ । मुलुकमा सञ्चालित निर्जीवन बिमा कम्पनीहरूको व्यवसायमा सङ्कुचन आइरहेको छ । निर्जीवन बिमा कम्पनीहरूले कात्तिकमा दुई अर्ब २८ करोड रुपियाँको हाराहारीमा कुल बिमा शुल्क आर्जन गरेका छन् ।

नियामक निकाय नेपाल बिमा प्राधिकरणले प्रकाशित गरेको निर्जीवन बिमा कम्पनीहरूको कात्तिकको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा सङ्कलित बिमा शुल्कभन्दा २३ करोड १२ लाख ६८ हजार रुपियाँ कम अर्थात् ९.१९ प्रतिशत कम बिमा शुल्क उठेको हो ।

यो बिमा शुल्क सङ्कलन चालु आवकै असोजको तुलनामा पनि एक अर्ब सात करोड रुपियाँ अर्थात् ३२।०१ प्रतिशतले कमी हो । असोज महिनामा निर्जीवन बिमा कम्पनीहरूले तीन अर्ब ३६ करोड छ लाख रुपियाँ बिमा शुल्क सङ्कलन गरेका थिए ।

कम्पनीहरूको बिमाङ्क रकममा पनि उच्च गिरावट आएको छ । कात्तिकमा कम्पनीहरूको बिमाङ्क रकम पाँच खर्ब ४८ अर्ब ८९ करोड ६० लाख रुपियाँ रहेको छ ।जुन अघिल्लो महिनाकै तुलना गरेर हेर्दा झन्डै चार खर्बले कमी हो । अघिल्लो महिना नौ खर्ब २९ अर्ब ६९ करोड सात लाख रुपियाँ रहेको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

मुग्लिन–पोखरा सडक विस्तार : पूर्वी खण्डमा नौ किमी कालोपत्र

दमौली, २२ मङ्सिर : पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा ४२ प्रतिशत प्रगति भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा सो प्रगति हासिल भएको हो ।

सडक फराकिलो बनाइएका ठाउँमा कालोपत्र गर्ने काम अगाडि बढेको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । ४१ दशमलव पाँच किलोमिटर खण्डमध्ये हालसम्म नौ किलोमिटर खण्ड एकतर्फी कालोपत्र सकिएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै थप पाँच किलोमिटर कालोपत्र गर्ने काम बुधबारदेखि सुरु भएको छ । आँबुखैरेनी गाउँपालिका–३ गाउँपालिका चोकबाट मार्कीचोकसम्म जोड्ने गरी अल्स्फाट प्रविधिको कालोपत्र सुरु गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिका चोकबाट सुरु गरेर गत असार महिनामा कालोपत्र गरिएको स्थान मार्कीचोकसम्म जोड्ने गरी बुधबारदेखि कालोपत्रको काम अगाडि बढेको छ ।”

यसअघि आँबुखैरेनी –१ सत्रसयबाट सुरु गरेर मार्किचोकसम्म गरी तीन दशमलव पाँच किलोमिटर दूरीमा कालोपत्र सम्पन्न भइसकेको छ । अहिले १५ दिनभित्र सम्पन्न गर्ने लक्ष्यका साथ कालोपत्रको काम काम अघि बढेको आयोजनाले जनाएको छ ।

उहाँका अनुसार बन्दीपुर गाउँपालिका–१ नाहालाबाट छिर्कनेसम्म पाँच दशमलव पाँच किलोमिटर र आँबुखैरेनी –१ बरादीमा तीन दशमलव पाँच किलोमिटर खण्ड कालोपत्र सकिएको छ । उहाँले भन्नुभयो, “दुई ठाउँमा एकतर्फीरूपमा नौ किलोमिटर खण्ड कालोपत्र सकिएको छ । केही समयपश्चात् अर्कोतर्फ पनि कालोपत्रको काम हुनेछ ।”

पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा धमाधम काम भइरहेको छ । आँबुखैरेनीबाट जामुनेसम्मको खण्डमा काम तीव्रगतिमा अगाडि बढेको उहाँको भनाइ छ । पूर्वी खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणले पनि गति लिएको छ ।

राजमार्ग विस्तारका लागि पूर्वी खण्डमा घरटहरा हटाउने काम चलिरहेको छ । यो खण्डमा छ सय ३१ घरटहरा भत्काइने छ । त्यसका लागि रु २२ करोड ४५ लाख मुआब्जा वितरण गरिनेछ । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । एकचालीस दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।

पश्चिम खण्डअन्तर्गत जामुनबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । पश्चिम खण्डको काम भने १२ प्रतिशतमात्रै सकिएको बताइएको छ ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

चार लेनको बन्दा सडकसीमा दुईतर्फी २५–२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने जनाइएको छ ।

बागलुङको बाङ्गेचौर आधारभूत रङ्गशाला : बजेट बिनियोजन भयो, कार्यान्वयन भएन

गलकोट (बागलुङ), २२ मङ्सिर : बागलुङको बाङ्गेचौर खेलमैदानलाई रङ्गशाला बनाउने योजना बनेको धेरै वर्ष बित्यो । रङ्गशाला निर्माणका लागि बजेट विनियोजन समेत भएर कार्यान्वयनमा आउन सकेको छैन ।

बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएर खेलाडीलाई सास्ती भएको बाङ्गेचौर खेलमैदानलाई रङ्गाशाला बनाउनका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बन्यो, बजेट आयो तर कार्यान्वयन भने भएन ।

बागलुङ नगरपालिकाले बाङ्गेचौर खेलमैदानलाई आधारभूत रङ्गशाला बनाउने गरी समपूरक योजनामा समावेश गरेकै चार वर्ष पुगेको बताइएको छ । यसका लागि आवश्यक रु आठ करोड २२ लाख बजेटसमेत विनियोजन भयो तर रङ्गशाला विस्तारमा वन बाधक बनेपछि कार्यान्वयनमा आउन नसकेको हो ।

बागलुङ नगरपालिकाको रु चार करोड ११ लाख र राष्ट्रिय योजना आयोगको सिफारिसमा विनियोजन भएको रु चार करोड ११ लाख बजेट तीन वर्ष लगातार आए पनि कार्यान्वयन गर्न नसकिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

डिपिआरमा उल्लेख भएअनुसार रङ्गाशाला निर्माणका लागि रामरेखा सामुदायिक वनभित्रको झण्डै एक सय ५० रुख फडानी गर्न आवश्यक रहे पनि वनले समन्वय गर्न नसक्दा करोडौँको बजेट कार्यान्वयनमा नआएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताउनुभयो ।

“अघिल्ला जनप्रतिनिधिले साझेदारीमा योजना पार्नुभएको थियो, वार्षिकरूपमा ५०–५० प्रतिशतले नगरपालिका र सङघीय सरकारले बजेट हाल्दा तीन वर्षमा तीन हजार दर्शक अटाउने प्यारापिट बन्ने थियो”, उहाँले भन्नुभयो, “तर बजेट लगातार तीन वर्षसम्म आइरह्यो, हामीले अन्तिम वर्ष भए पनि कार्यान्वयनमा लैजाने भनेर लागिपर्यौँ, वनकै समस्याका कारण सकिएन ।”

उपप्रमुख खड्काले बजेट आउञ्जेल वनले रुख कटान गर्न नदिएको जनाउँदै यस वर्षबाट बजेट कटौती गरेपछि वनले बल्ल सकरात्मक कुरा गरेको जानकारी दिनुभयो । बहुवर्षीय योजनाका रूपमा बजेट विनियोजन भए पनि संक्षिप्त वातावरणीय मूल्याङ्कनले रुख कटान गर्न नदिने जनाउँदै वातावरणीय प्रभाव मूल्याङ्कन गर्न एक वर्ष लाग्ने भएपछि बजेट कार्यान्वयनमा नआएको हो ।

तत्कालीन खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियारको नेतृत्वमा पाँच वर्षअघि रङ्गशालाको विस्तृत प्ररियोजना प्रतिवेदन (डिपिआर) रु ३० लाख खर्चेर तयार गरिएको थियो । डिपिआरमा रङ्गाशाला बनाउन रु ३० करोडभन्दा बढी खर्च लाग्ने उल्लेख गरिएको थियो ।

डिपिआरअनुसार उपल्लो भागमा मध्यपहाडी लोकमार्गले छोएकाले तल्लो भागमा बढाउनुपर्ने र तल्लो भागमा एक सय ५० भन्दा बढी रुख कटान गर्न आवश्यक देखिएको थियो । रुख कटानपूर्व वातावरणीय प्रभाव मूल्याङ्कन गर्न आवश्यक रहे पनि उक्त काम गर्न एक वर्ष लाग्ने र सो समयमा बजेट ‘फ्रिज’ भइसकेको बागलुङ नगरपालिकाका इन्जिनियर सोविन घर्तीले जानकारी दिनुभयो ।

खेलमैदानको पूर्वतर्फ प्यारापिटलगायतको संरचना निर्माण भइसक्ने बेलामा बजेट कार्यान्वयनमा आउन नसक्नु दुःखद् रहेको जनाउँदै उहाँले वन मान्त्रालयमा फाइल डुल्दाडुल्दै बजेट फर्केको बताउनुभयो ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गसँगै जोडिएको खेलमैदान सडकको मापदण्ड छाडेर बनाउँदा पूर्वपट्टिका रुख फडानी गर्नका लागि रामरेखा सामुदायिक वनसहित वन मन्त्रालयले चासो नदिएपछि बजेट कार्यान्वयनमा नआएको हो ।

रङ्गशाला ३५ रोपनी जग्गामा निर्माण गर्न थालिएको छ । स्थानीय पालिका र वनबीचको समझदारी समयमै नबन्दा विनियोजन भएको बजेट कार्यान्वयनमा नआउनु दुःखद् रहेको जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो ।

रङ्गाशाला निर्माणका लागि आएको बजेट कार्यान्वयन नहुँदा खेल क्षेत्रका लागि दुर्भाग्य रहेको उहाँको भनाइ थियोे । “खेल क्षेत्रका लागि अत्यन्तै दुःखद् हो यो, यत्रो रङ्गशाला बन्दा सबैलाई फाइदै हुन्थ्यो, तर समयमै वन र नगरपालिकाबीच समझदारी बनेन्”, उहाँले भन्नुभयो, “गण्डकी प्रदेशको पोखरापछिको ठूलो रङ्गशाला निर्माण हुने बागलुङमा बजेटसमेत कार्यान्वयनमा नआउँदा खेलाडीमा निराशा छाएको छ ।”

काठमाडौंमा आलु र प्याजको बिक्री ठप्प, कृत्रिम मूल्यवृद्धि

काठमाडौं । सरकारले आयातीतसँगै स्वदेशी आलु प्याजमा पनि भ्याट लगाएपछि व्यापारीले काठमाडौंमा आलु र प्याजको बिक्री ठप्प पारेका छन् । आलु प्याज व्यापारीले भ्याटको विरोध गर्दै आयात रोकेपछि बजारमा आलु र प्याजको अभाव भएको छ भने यसको फाइदा लिँदै कृत्रिम मूल्यवृद्धि गरिएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दैनिक मूल्यसूचीमा आलु र प्याजको मूल्य नतोकेपछि मनोमानी रूपमा कृत्रिम मूल्यवृद्धि गरिएको हो । आलु र प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सरकारको निर्णयविरुद्ध व्यापारीले बिक्री बन्द गरेपछि कालिमाटीले मूल्य नतोकेको जनाएको छ ।

आयातीत मात्र नभई स्वदेशी आलु र प्याजमा पनि भ्याट तिर्नुपर्ने अव्यावहारिक निर्णयका कारण व्यापारीले विरोध गरेका हुन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र आन्तरिक राजस्व कार्यालयले गरेको अनुगमनमा आलु–प्याज बिक्री गर्दा भ्याट बिल जारी गर्न कडाइ गरेपछि व्यापारी विरोधमा उत्रेका हुन् ।

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत आयातीत आलु प्याजमा भ्याट लगाउने प्रावधान बनाएको थियो । काठमाडौं उपत्यकामा मात्रै दैनिक ७० हजार किलो आलु र ३० हजार किलो प्याज खपत हुने गरेको छ ।

बजेट सार्वजनिक हुनासाथ व्यवसायीले यस्तो व्यवस्थाको विरोध गरेका थिए । त्यसपछि अर्थमन्त्री डा। प्रकाशशरण महतले संसद्मा सम्बोधन गर्दै आयातीत आलु र प्याजमा मात्रै भ्याट लगाउनेगरी कार्यविधि बनाउने आश्वासन दिएका थिए ।

भारतबाट आयात गरेको आलु–प्याजमा भ्याट बिल पाइने तर नेपाली किसानबाट खरिद गरेको आलु–प्याजमा भ्याट बिल नपाइने भएकाले समस्या भएको जिकिर व्यवसायीको छ ।

भारतीय कृषिउपजलाई निरुत्साहित गर्न आलु र प्याजमा भ्याट लगाइएको थियो । तर, नेपाली उत्पादनलाई भ्याट नलाग्ने गरी नीति नै ल्याउने भनिएको थियो तर सो कुरा कार्यान्वयनमा नआएपछि व्यवसायी आलु प्याज बिक्री बन्द गरेर विरोधमा उत्रेका हुन् ।सरकारले आन्तरिक कृषिउपजमा लगाएको भ्याट फिर्ता नगर्दासम्म बजारमा आलु र प्याज आपूर्ति र कारोबार नगर्ने व्यवसायीले भनाइ रहेको छ ।सरकारले आर्थिक विधेयक २०८० मार्फत भारतीय उत्पादनलाई निरुत्साहित गर्न आलु र प्याजमा १३ प्रतिशत भ्याट लगाएको थियो । यो समाचार राजधानी दैनिकमा छ।

लोकतान्त्रिक आचरण र प्रणाली बलियो बनाउन सङ्कल्प यात्रा : अध्यक्ष ओली

कास्की- नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ लोकतान्त्रिक आचरण र प्रणालीलाई बलियो बनाउनका लागि भएको बताउनुभएको छ ।

अभियानका क्रममा बिहीबार साँझ मध्यपहाडी राजमार्गको पोखरा महानगरपालिका–२५ हेम्जामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राष्ट्रियता, सुशासन र समृद्धिका लागि अभियान प्रभावकारी भएको उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले देशमा राजतन्त्र पुनःस्थापनाको कुनै सम्भावना नभएको बताउँदै भन्नुभयो, “मरेर गएको राजतन्त्र फर्किँदैन र फर्किन पनि दिइने छैन भन्ने सन्देश दिन हाम्रो सङ्कल्प यात्रा हो । यो अभियान अहिलेको लोकतन्त्रलाई बलियो बनाउन हो, यही सन्देश दिन चाहेका छौँ ।”

अध्यक्ष ओलीले अभियानका क्रममा देशका विभिन्न क्षेत्रका जनतासँग प्रत्यक्ष संवाद गरेर जनताका समस्या र विकास निर्माणका आवश्यकताका बारेमा जानकारी लिने काम गरिरहेको बताउनुभयो ।

“देशभरिका जनतासँग प्रत्यक्ष भेटेर अब विकास कसरी गर्ने, कहाँको समस्या के छ ? भनेर तीन हप्ताको लगातारको यात्रा प्रारम्भ गरेका छौँ । एमालेप्रति जनताको आशा, विश्वास र भरोसा छ । त्यो भरोसा हामी टुट्न दिने छैनौँ, कायम राख्ने छौँ”, अध्यक्ष ओलीले भन्नुभयो । उहाँले एमाले सरकारमा पुगेर जनतालाई सुखी र खुसी बनाउन सम्भव छ भनेर प्रमाणित गरेको समेत बताउनुभयो । अध्यक्ष ओलीले आगामी दिनमा पार्टीले समाज परिर्वतनको नेतृत्व गर्ने उल्लेख गर्नुभयो ।

अभियानका क्रममा हालसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका जनताका समस्या लिइएको बताउँदै काठमाडौँमा पुगेर गम्भीर छलफल गरी कसरी अघि बढ्ने भनेर नयाँ नीति तय गरिने अध्यक्ष ओलीको भनाइ थियो । एमाले अध्यक्ष ओलीसहितको सङ्कल्प यात्राको टोलीलाई आज साँझ कास्की र पर्वतको सीमास्थल नयाँपुलमा बाजागाजासहित भव्य स्वागत गरिएको थियो ।

कास्की प्रवेश गरेको सो टोलीलाई मध्यपहाडी राजमार्गअन्तर्गत अन्नपूर्ण गाउँपालिकाको नागडाँडामा स्वागत गरियो भने हेम्जामा स्वागतसहित सम्बोधनको कार्यक्रम राखिएको हो ।

यात्रामा रहेको टोली शुक्रबार बिहान पोखराको अमरसिंहचोक, तालचोक र रुपा गाउँपालिकाको तालबेँसीमा स्वागत कार्यक्रममा सहभागी हुनेछ । सो टोली दिउँसो रुपा गाउँपालिकाको पिपलेबजार हुँदै लमजुङ प्रस्थान गर्ने एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिनुभयो ।

वाइडबडी खरिद प्रकरणमा अख्तियारले बोलायो ३ विदेशी कम्पनी

काठमाडौं । वाइडबडी विमान खरिद प्रक्रियामा जोडिएका तीन विदेशी कम्पनीका सञ्चालकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको छ । नेपाल वायुसेवा निगमले वाइडबडी विमान खरिद गर्दा भएको भनिएको भ्रष्टाचार प्रकरणको अनुसन्धानका लागि अख्तियारले नेपाली मूलका बेलायती नागरिक दीपक शर्मा, जर्मन नागरिक क्रिश्चियन न्ह्युलेन र रोमानियाका नागरिक ओलेग कालिस्त्रुलाई १५ दिनभित्र उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको हो ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ४३ अनुसार नेपाल वायु सेवा निगमको ए–३३०–२०० विमान खरिदमा भएको भ्रष्टाचारको अनुसन्धानका लागि उनीहरूलाई सूचना प्रकाशित भएको १५ दिनभित्र राहदानीसहित हाजिर हुन निर्देशन गरिएको छ । ‘हालैको तस्बिरसहित कोठा नं. १०८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगाल कार्यालयमा व्यक्तिगत रूपमा हाजिर हुनुपर्ने जानकारी गराइन्छ, सूचनामा भनिएको छ, ‘यस सूचनाको अवहेलना गरेमा नेपालको प्रचलित कानुनबमोजिम थप कानुनी कारबाही हुनेछ ।’

अख्तियारले वाइडबडी जहाज खरिदको विषयमा २०७५ असोजबाट अनुसन्धान थालेको हो तर, अहिलेसम्म निश्कर्षमा भने पु-याएको छैन । निगमले दुइटा वाइडबडी विमान उत्पादक कम्पनीसँग नकिनी बिचौलियासँग करिब २४ अर्ब रुपैयाँमा किनेको थियो । त्यसमा बिचौलियाका नाटकीय कम्पनी खोलिएका थिए । त्यसको म्याक्सिमम टेक–अफ वेट (एमटीओडब्लू) समेत सम्झौताभन्दा कम ल्याएको थियो । वाइडबडी विमान खरिदमा संसद्को सार्वजनिक लेखा समिति र महालेखा परीक्षकको कार्यालयले भ्रष्टाचार ठहर गरेको थियो ।

सार्वजनिक लेखा समितिले निगमले एयरबसको दुइटा वाइडबडी जहाज किन्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो । अनियमिततामा तत्कालीन बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारी तथा दुई पूर्वपर्यटनमन्त्री जितेन्द्रनारायण देव र जीवनबहादुर शाहीलाई पनि दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

मिटरब्याजीले लिएको सात कठ्ठा बढी जग्गा फिर्ता

चितवन, २२ मङ्सिर : मिटरब्याजीले लिएको सात कठ्ठा १३ दशमलव पाँच धुर जग्गा छलफलबाट पीडितलाई फिर्ता गरिएको छ । भरतपुर महानगरपालिका–४ निवासी पीडितको जग्गा भरतपुर –२ निवासी पीडकले फिर्ता गर्ने सहमति गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयमा अनुचित लेदनेद (मिटरब्याजी) विरुद्ध परेका उजुरीमध्ये उनीहरूले जग्गा फिर्ता गर्ने र कानुनबमोजिम ब्याजसहित रकम फिर्ता गर्ने सहमति भएको हो । कार्यालयका नायबसुब्बा विश्वास श्रेष्ठका अनुसार निवेदकले २०७२ सालमा रु एक करोड ५० लाख र चार स्थानका पाँचवटा कित्ताको जग्गा लेनदेन गरेका थिए । उहाँका अनुसार पहिलो तीन महिनामा पीडितले रु एक करोड २० लाख रकम फिर्ता गर्ने र पीडकले छ कठ्ठा १३ दशमलव पाँच धुर जग्गा फिर्ता गर्ने सहमति भएको छ । दोस्रो चरणमा पीडकले सहमति भएको छ महिनाभित्र बाँकी रहेको रु ३० लाख र कानुनअनुसारको ब्याज रकम भुक्तानी गरेमा बाँकी एक कठ्ठा जग्गा फिर्ता गर्ने सहमति भएको छ ।

दुवै पक्षले सहमति कार्यान्वयनमा आएको जानकारी स्थानीय प्रशासनलाई दिनुपर्ने छ । यसअघि कार्यालयले पूर्वी चितवनका एकजना पीडितको दुई कठ्ठा जग्गा छलफलमार्फत फिर्ता गराइएको थियो । कार्यालयमा विसं २०८० वैशाख १९ देखि जेठ १४ गतेसम्म ६० वटा र जेठ १७ देखि भदौ ३१ गतेसम्म २७ वटा अनुचित लेनदेनका उजुरी परेका थिए । जसमध्ये २१ वटा उजुरीको छलफलमार्फत सहमतिमा टुङ्गो लगाइएको उहाँले जानकारी दिनुभयो । अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगले निवेदन आह्वान गरेपछि ८७ वटा उजुरी परेका छन् ।

परेका उजुरीमध्ये अधिकांश जग्गाको कारोबारका रहेका छन् । पीडितले दृष्टिबन्धक भनेर दिएको जग्गा पीडकले नामसारी गरेर लिएको भन्दै उजुरी परेको उहाँले बताउनुभयो । अधिकांशले जग्गा फिर्ता गरिदिन निवेदन दिएका छन् ।

एमालेको सङ्कल्प यात्रा पर्वतमा

पर्वत, २१ मङ्सिर : नेकपा (एमाले)ले सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ आज पर्वत आइपुग्ने भएको छ । बिहान बागलुङको गलकोटबाट सुरु भएको यात्रा बागलुङ सदरमुकाम हुँदै पर्वत आउन लागेको हो । सङ्कल्प यात्रालाई लक्षित गरेर नेकपा एमाले पर्वतले कुश्माबजारमा जनसभाको तयारी गरेको छ ।

उक्त जनसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत केन्द्रीय नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष राजु पौडेलले राससलाई जानकारी दिनुभयो । अध्यक्ष पौडेलका अनुसार दिउँसो १ बजे ओली पर्वत र बागलुङको सिमाना मालढुङ्गामा आइपुग्ने र पर्वतमा स्वागत गर्ने कार्यक्रम रहेको छ । त्यसलगत्तै सदरमुकाम कुश्माबजारमा आयोजना गरिएको आमसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको पौडेलले बताउनुभयो । आमसभा सकिएपछि पर्वत र कास्कीको सिमाना नयाँपुलमा पुगेर बिदाइ गरिने भएको छ । सङ्कल्प यात्रामा निस्किएको एमालेको टोली आज पोखरामा बस्ने भएको छ ।

पर्वतमा आयोजित आमसभाको सबैजसो तयारी पूरा भएको छ । आमसभा अघि कुश्माबजारका चार वटा स्थानबाट जुलुस प्रदर्शन गरिने भएको छ । फलेवास, विहादी, पैंयु र महाशिलाको बडागाउँचौरदेखि, मोदीको खरेहादेखि, जलजलाको पुरानोबजार र कुश्मा नगरपालिकाको मैत्रीचोकदेखि जुलुस निस्किने र लोकतन्त्र चोकमा पुगेर एकत्रित हुँदै बान्द्रेविडिमा आयोजित सभामा परिणत हुने भएको छ । जिल्लाका सातवटै गाउँपालिका र एमालेका भ्रातृ सङ्गठनका छुट्टाछुट्टै ¥याली, झाँकी, भजन तथा पञ्चेबाजासहितको जुलुस निकालिने र उत्कृष्ट जुलुस प्रदर्शन गर्ने समूहलाई पुरस्कारको समेत व्यवस्था गरिएको जिल्ला सचिव गोविन्द पहाडीले जानकारी दिनुभयो । सङ्कल्प यात्रालाई लक्षित गरी पर्वत र बागलुङको सिमाना मालढुङ्गादेखि कास्की र पर्वतको सिमाना नयाँपुलसम्म झकिझकाउ पारिएको छ ।

इन्टरपोलको महासभामा सहभागी भई प्रहरी महानिरीक्षक स्वदेश फिर्ता

काठमाडौँ, २१ मङ्सिर : प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर अष्ट्रियाको भियनामा सम्पन्न अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को ९१औँ महासभामा सहभागी भई स्वदेश फर्किनुभएको छ ।

इन्टरपोल सचिवालयको आयोजनामा यही मङ्सिर १२ देखि १५ गतेसम्म सञ्चालित उक्त महासभामा प्रहरी महानिरीक्षक कुँवरसँगै सहभागी भई इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपमशमशेर जबरा सहितको टोली पनि स्वदेश फिर्ता भएको छ ।

टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हार्दिक स्वागत गर्नुभयो ।

महासभामा सहभागी हुने क्रममा नेश्नल सेन्ट्रल ब्युरो नेपालका प्रमुखसमेत रहनुभएका प्रहरी महानिरीक्षक कुँवर नेतृत्वको प्रतिनिधिमण्डल तथा इन्टरपोलका अध्यक्षबीच शिष्टाचार भेट पनि भएको थियो ।

महासभामा सहभागी एक सय ९५ इन्टरपोल सदस्य राष्ट्रका नेश्नल सेन्ट्रल ब्युरोका प्रमुखबीच विश्वलाई सुरक्षित बनाउन सहकार्य गर्नेबारेमा छलफल भएको प्रहरी महानिरीक्षक कुँवरको सचिवालयले जनाएको छ ।

महासभाले इन्टरपोलको ९२औँ महासभा सन् २०२४ मा संयुक्त राज्य बेलायतको ग्लास्गोमा र ९३औँ महासभा सन् २०२५ मा मोरक्कोको माराकेमा आयोजना गर्ने निर्णय गरेको छ ।

इन्टरपोल स्थापनाको १०० वर्षको अवसरमा नेपालको तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीलाई महासभामा सम्मान गरिएको थियो ।

एक करोड केजी चिया गोदाममा थन्कियो

झापा, २१ मङ्सिर : कोशी प्रदेशका चिया किसानले उत्पादन गरेको तयारी चिया बिक्री नहुँदा समस्या भएको छ । छ महिनादेखि उद्योगमा तयारी अवस्थामा रहेको करिब एक करोड केजी चिया गोदाममै थन्किएको चिया व्यवसायीले बताएका छन् ।

इलाम र झापाका व्यवसायीका अनुसार करिब ५१ लाख केजी अर्थोडक्स चिया र ५० लाख केजीभन्दा बढी सिटिसी चिया उद्योगका गोदाममा थन्किएको छ । भारतले समयमै चियाको मूल्य निर्धारण नगरिदिँदा र अन्तर्राष्ट्रिय बजारसम्म पहुँच नहुँदा यति ठूलो मात्रामा चिया गोदामै थन्किएको उनीहरुको गुनासो छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बुधबार विर्तामोडमा आयोजना गरेको स्थानीय, प्रदेश सरकार एवं सरोकारवाला संलग्न चियासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा चिया व्यवसायीले सरकारले चिया उद्यमीका समस्यामा उचित ध्यान नदिँदा समस्या आएको गुनासो गरेका हुन् ।

झापाका चिया उद्योगी जेपी शर्माले १३ वटा उद्योगले उत्पादन गरेको करिब ५० देखि ६० लाख केजी सीटिसी चिया असोजदेखि गोदामै थन्किएको बताउनुभयो । उहाँले चिया बिक्री नहुँदा मजदूरलाई समयमै पारिश्रमिक दिन नसकेको बताउनुभयो । उहाँले चिया उद्योगी व्यवसायीको संरक्षणमा सरकार उदासिन देखिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “सरकारले अक्सन सेन्टर मात्र स्थापना गरिदिए पनि हाम्रो चिया ब्रोकरमार्फत विश्व बजारसम्म पुग्थ्यो । यस्तो समस्या हुने थिएन ।”

यसैगरी, ग्रीनहिल टि–इण्डस्ट्रिज इलामका प्रबन्धक गोपाल दाहालले कोशीका एक सय ७० वटा साना ठूला उद्योगले उत्पादन गरेको अर्थोडक्स चिया बिक्री नभएको बताउनुभयो । उहाँका अनुसार हाल प्रत्येक उद्योगका गोदाममा ३० हजार केजीका दरले तयारी चिया थन्किएको छ ।

चिया तथा कफी विकास बोर्डका प्रवक्ता दीपक खनालले नेपालमा सिटिसी चियाको ५० प्रतिशत खपत हुने र बाँकी भारत निर्यात हुने गरेको बताउनुभयो । उहाँले सिटिसी चिया आधा खपत हुने मुलुकमा अर्थोडक्स चिया भने १० प्रतिशत मात्र खपत हुने र ९० प्रतिशत भारतलगायत तेस्रो देश निर्यात हुने गरेको जानकारी दिनुभयो । सिटिसी चियाको तुलनामा अर्थोडक्स चिया महँगो हुने हुँदा मुलुकमा कम खपत हुने गरेको उहाँको भनाइ छ ।

चिया व्यवसायी रामचन्द्र उप्रेतीले चियाको गुणस्तर मापन गर्न सरकारले क्वाटिली टि टेस्टर स्थापना गर्ने, नेपालमा उत्पादित चियाको गुणस्तरबारे जानकारी गराउन सूचना केन्द्र स्थापना गर्नसके तेस्रो मुलुक चिया निर्यातमा सहज हुने बताउनुभयो ।

बाँकेको दशगजाका ७१ सीमास्तम्भको मर्मत सुरु

जानकी (बाँके), २१ मङ्सिर : मन्त्रिपरिषद्को निर्यणअनुसार बाँकेको जमुनाहस्थित नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भको मर्मतसम्भार र पुनःस्थापना थालिएको छ । बुधबार नेपालगञ्ज उपमहानगरपालिका–१६ जमुनाहस्थित नेपाल– भारत सीमा क्षेत्रका ६५१, ११ (३१) नम्बरको सीमास्तम्भमा रङरोगन गरिएको छ ।

नापी विभागका अधिकृत पवनकुमार खत्रीले सीमास्तम्भमा गरिने रङरोगनका बारेमा प्राविधिक सहयोगसम्बन्धी जानकारी बाँकेका सशस्त्र प्रहरीलाई गराइएको बताउनुभयो । विभागबाट प्रतिनिधिका रुपमा आउनुुभएका अधिकृत खत्रीले सीमा क्षेत्रमा ढलेका र हराएका स्तम्भको काम हाल नहुने बताउँदै उक्त कार्य गर्नका लागि दुुवै देशका संयुक्त सीमा प्राविधिक टोलीद्वारा सीमास्तम्भको स्थितिको पहिचान गरिसकेपछि मात्र गरिने जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले राज्यले सुम्पिएको सीमा मर्मत र पुनःस्थापनामा सशस्त्र प्रहरीबल सीमा नं. ३० गणका सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारीलाई पूरा गर्नेमा विश्वस्त रहेको बताउनुभयो । सीमास्तम्भको रङरोगन स्तम्भमा रङ लगाएर नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, सशस्त्र प्रहरीबल नं ३० गणका सशस्त्र प्रहरी उपरीक्षक रमेश विक्रम शाही, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुुख एवं प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोरा, भारतीय सशस्त्र सीमा बल नं. ४२ बटालियनका डेपुटी कमाण्डेन्ट अनिल यादव, असिस्टेन्ट कमाण्डेन्ट वासुकी पाण्डेले गर्नुभएको थियो ।

सशस्त्र प्रहरी बल नं ३० गणका सशस्त्र प्रहरी उपरीक्षक रमेश विक्रम शाहीका अनुसार बाँकेमा मुख्य सीमास्तम्भ ३२ छन् भने सहायक सीमास्तम्भ दुई सय ७९ गरी जम्मा सीमास्तम्भ तीन सय ११ छन् । उहाँले मर्मतसम्भार तथा रङरोगन गर्नुपर्ने सीमास्तम्भअन्तर्गत ३१ वटा सीमास्तम्भ रङरोगन गर्न बाँकी रहेका र ४० वटा सीमास्तम्भ सामान्य मर्मत गर्न बाँकी रहेका बताउनुभयो । बाँकेमा चार वटा मुख्य र ६७ वटा सहायक गरी जम्मा ७१ वटा सीमास्तम्भको रङरोगन तथा मर्मत भइहेको छ ।

लुम्बिनी प्रदेशअन्तर्गत रुपदेही, कपीलवस्तु, दाङ, बाँके र बर्दिया गरी छ जिल्लामा सीमास्तम्भको मर्मत मर्मत भइहेको छ ।

एनसेलद्वारा कानुन र अर्थ व्यवस्थाको धज्जी

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको ८० प्रतिशत सेयर कारोबारका भएको घोटालाप्रति संसदीय समितिहरू तातिएका छन् । बुधबार प्रतिनिधि सभाका सार्वजनिक लेखा समिति र अर्थ समितिको बैठकमा एनसेलको सेयर कारोबारबारे चासो राख्दै तातिएका हुन् ।

सार्वजनिक सञ्चार माध्यममा एनसेलको सेयर कारोबारमा ठूलो चलखेल भएको र राज्यलाई अर्बौं रुपियाँ नोक्सानी भएका समाचार सार्वजनिक भएपछि संसदीय समितिहरूले चासो राख्दै बुधबार दुई समितिको छुट्टाछुट्टै बैठक आह्वान गरिएको थियो । बैठकमा एनसेलको सेयर कारोबारमा देशको प्रचलित नियम कानुनको धज्जी उडाउनुका साथै ठूलो परिमाणमा राजस्व छली र नेपालमा लगानीको वातावरण नभएको जस्ता गम्भीर आरोप लगाइएको भन्दै सांसदहरूले आपत्ति जनाएका थिए ।

त्यस्तै, एनसेलको सेयर कारोबार प्रक्रियालाई यथास्थितिमा राख्न निर्देशन दिँदै यसबारेमा सरकारको थप धारणा बुझ्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले प्रधानमन्त्रीलाई बोलाउने निर्णयसमेत गरेको छ । समितिले यस प्रकरणको विस्तृत अनुसन्धान नहुँदासम्म सेयर खरिद बिक्रीसम्बन्धी कारोबारलाई यथास्थितिमा राख्न निर्देशन दिएको हो ।

लेखा समितिले एनसेलको खरिद बिक्रीबारे ३० दिनभित्र छानबिन पूरा गर्ने गरी तत्काल छानबिन शुरू गर्न सरकारलाई निर्देशनसमेत दिएको छ । एनसेलको कारोबारमा भ्रष्टाचार र अनियमिताको भएको विषय उठेकाले प्रधानमन्त्रीलाई बोलाएर छलफल गर्ने तथा एनसेल खरिद–बिक्रीका प्रक्रियालाई तत्काल रोक्न सरकारलाई निर्देशन दिने निर्णय भएको लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सञ्चारकर्मीसँग कुरा गर्दै जानकारी दिए ।

एनसेलको लगानीकर्ता आजियाटाले नेपालमा लगानीको वातावरण नभएको आरोपमाथि पनि सरकारले आधिकारिक धारणा सार्वजनिक गर्न पनि लेखा समितिले सरकारलाई निर्देशन दिएको छ ।

उता, संसद्को अर्थ समितिले यस प्रकरणबारे बुझ्न एनसेलका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० लाई छलफलका लागि बोलाउने निर्णय गरेको छ । संसद्हरूले आजियाटाकै सीईओलाई बोलाउनुपर्ने राय दिए पनि कानुनी अड्चनका कारण अहिलेलाई एनसेलका सीईओलाई बोलाउने निर्णय गरिएको हो ।

यसअघि संसदीय समितिलाई नियमक निकाय नेपाल दूरसञ्चार प्राधिकरण, आन्तरिक राजस्व विभाग, कम्पनी रजिस्टर्ड कार्यालयले एनसेलको सेयर कारोबारबारे आफूहरूलाई जानकारी नभएको बताएका थिए ।

उता, नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई सेयर कारोबार सोधेको प्रश्नमा एनसेलको सेयरधनी रेनोल्ड होल्डिङ लिमिटेडको शतप्रतिशत सेयर खरिद–बिक्री गर्ने सम्बन्धमा आजियाटा यूके र स्पेक्ट्रलाइट यूकेबीचको सेयर खरिदबिक्री सम्झौताका कागजात संकलनका क्रममा रहेको र कागजात संकलनपछि प्राधिकरणसमक्ष सेयर खरिद बिक्री स्वीकृतिका लागि निवेदन पेस गरिने जवाफ पठाएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

एउटै गाउँबाट साढे दुई करोडको बीउ आलु बिक्री

गल्याङ, २१ मङ्सिर : स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाँस्थित जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडबाट यो वर्ष रु दुई करोड ६० लाखको बीउ आलु निर्यात भएको छ ।

जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडका अध्यक्ष रुमलाल कँडेलले दुइ सय ८४ जना कृषकले भण्डारण गरेको चार सय टन आलुको बीउ निर्यात गरेको राससलाई जानकारी दिनुभयो । जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडमा दुई सय ८४ जना सक्रिय कृषकसहित पाँच सय चार जना अन्य सेयर सदस्य आबद्ध छन् ।

गत वर्ष खानेसहित बीउ आलु सात सय टन निर्यात भएको बताउनुभयो । “यहाँ उत्पादित आलुको बीउ स्याङ्जासहित, पाल्पा, पर्वत, गुल्मी, बागलुङ, म्याग्दी, कास्की, लमजुङ, खोरखा, रुपन्देही, अर्घाखाँची, तनहुँलगायत जिल्लाका कृषि ज्ञान केन्द्रले खरिद गरेका छन्”, अध्यक्ष कँडेलले भन्नुभयो, “यी बाहेक अन्य जिल्लाका करिब ३० पालिकामा बीउ आलु निर्यात गरेका छौँ, आलुको गुणस्तर राम्रो भएकाले जातअनुसार ६५ देखि ७० टन सम्म सजिलै बिक्री भएको छ ।”

यहाँ डेढ सय हेक्टर क्षेत्रफलमा खुमल रातो, मुखल उज्ज्वल, जनकदेव, एनएस दशमलव तीन, कार्डिललगायत राष्ट्रिय आलुबाली अनुसन्धान केन्द्रले अनुमोदन गरेका आलु उत्पादिन गरिन्छ । उहाँले आलु उत्पादक किसान भेला भएर बर्सेनि खाने र बीउ आलुको मूल्य निर्धारण भएपछि बजारमा पठाउने बताउनुभयो । “सहकारीले बजारीकरणमा सहयोग गर्ने भएपछि यहाँका किसान आलु उत्पादनमा हौसिएका छन्”, कँडेलले भन्नुभयो, “आलुको गुणस्तर राम्रो भएकाले आलु खोसाखोस हुन्छ, माग धान्नै सकिँदैन ।”

“जिमुहाँको मुख्य पेसा आलु उत्पादन हो, आलु उत्पादन गरेका यहाँका प्रत्येक परिवार आत्मनिर्भर छन्”, उहाँले भन्नुभयो, “आलु र सागसब्जी फलाएर एकल महिलाले पनि वार्षिक रु पाँच लाखसम्म कमाउने गरेका छन् । अध्यक्ष कँडेलका अनुसार यहाँ तीन सय किलोदेखि ४० टनसम्म आलु उत्पादन गर्ने कषक छन् ।

स्थानीय ७१ वर्षीय कृषक ज्योतिलाल ढकालले जिमुहाँमा सिँचाइ सुविधा आएदेखि बसाइँसराइ रोकिएको बताउनुभयो । उहाँले यहाँका सामान्य परिवारले पनि आलु र अन्य सागसब्जी उत्पादन गरेर सजिलोसँग जीवनयापन गरिरहेको दाबी गर्नभयो । “यहाँ पानीको सुविस्ता भएदेखि मैले पनि तरकारी उत्पादन गरेर घर चलाएको छु, छोराछोरी काठमाडौँ पोखरा बसेर पढेका छन्”, उहाँले भन्नुभयो, “दूध बेचेर मासिक रु २५ देखि ३० हजार कमाइ हुन्छ, सागसब्जी बेचेर पनि राम्रो कमाइ गरेका छौँ ।”

शीतभण्डारमा प्राविधिकको काम गर्दै आउनुभएका नारायण अधिकारीले शीतभण्डार सञ्चालनपछि धेरैको जीवन फेरिएको बताउनुभयो । “शीतभण्डार नहुँदा पोखरा, बुटवललगायतको शीतभण्डारमा महँगो मूल्यमा आलु भण्डारण गर्न लैजानुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “अहिले यहाँको शीतभण्डारमा कृषिउपज भण्डार गरेर उपयुक्त मूल्य पाउने समयमा बिक्री गर्दा धेरैलाई फाइदा भएको छ ।” अधिकारीले शीतभण्डारमा सामान्य समस्या आए पनि ‘स्टक एसी’ भएकाले कृषि उपज नबिग्रने बताउनुभयो ।

अध्यक्ष कंडेलका अनुसार यो वष सहकारीले रु १२ लाख ८३ हजार आम्दानी गरेको छ । “कार्यालय सञ्चालन, कर्मचारी, विद्युत्, ढुवानीलगायतमा वार्षिक रु सात लाख खर्च हुन्छ”, उहाँले भन्नुभयो, “शेयर धनीलाई पहिलोपटक रु आठ लाख र दोस्रो पटक रु चार लाख मुनाफा वितरण ग¥यौँ ।” कँडेलले यसअघिको स्थानीय सरकारले रु १० लाखको जेनेरेटर, रु १० लामा कार्यालय भवन निर्माण गरिदिएको बताउनुभयो । तर अहिलेको सरकारले कुनै पनि सहयोग नगरेको उहाँको गुनासो छ ।

नगरपालिकासँग विद्युत् महसुलमा छुट गरिदिन र नयाँ शीतभण्डारका लागि टाँड निर्माण गरिदिन कँडेलको आग्रह छ । जिमुहाँ शीतभण्डार सहकारीका रु एक करोड १८ लाख र एक करोड ५२ लाखका एकसय ५० टन क्षमताका दुई छुट्टाछुट्टै शीतभण्डार छन् । यहाँ आलु भण्डारका लागि छिमेकी जिल्ला पाल्पाका कृषक पनि आउने गरेका छन् । यहाँ कृषिउपज भण्डारण गर्दा सहकारीले प्रति किलोको रु सात लिने गरेको छ । जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेड २०७५ सालमा स्थापना भएको हो ।

सभामुख घिमिरेद्वारा चिकित्सक, कृषक र गृहिणी पुरस्कृत

झापा – सभामुख देवराज घिमिरेले लाल भागीरथा बानियाँ प्रतिष्ठानद्वारा बुधबार आयोजित एक कार्यक्रममा उत्कृष्ट चिकित्सक, कृषक र गृहिणीलाई पुरस्कृत गर्नुभएको छ । सामाजिक क्षेत्रमा अग्रणी रहेका प्रतिभालाई प्रतिष्ठानले बर्सेनि पुरस्कृत गर्दै आएको हो ।

पुरस्कृत हुनेमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षाध्यक्ष प्रा डा सञ्जीव शर्मा, व्यावसायिक रुपमा जैविक खेती गर्दै आउनुभएका मेचीनगरका कृषक बद्री राउत र उदाहरणीय महिला हिमा लुइँटेल पाठक हुनुहुन्छ ।

सभामुख घिमिरेले उहाँहरु तीनै जना प्रतिभालाई मेचीनगर–११ बानियाँ गाउँमा आयोजित समारोहमा जनही रु ३१ हजार नगद, दोसल्ला र प्रमाणपत्रसहित पुरस्कृत गर्नुभयो । सभामुख घिमिरेले स्वास्थ्य सेवालाई विपन्न समुदायको पहुँचमा पु¥याउने चिकित्सक, आरोग्यताका लागि अपरिहार्य जैविक कृषि बाली उत्पादन गर्ने कृषक र ज्येष्ठ नागरिकको हेरचाहमा प्रशंसनीय कार्य गर्ने गृहिणीलाई एकैथलोमा पुरस्कृत गर्ने परम्पराको थालनी गरेकोमा आयोजकप्रति आभार व्यक्त गर्नुभयो ।

झापामा जन्मेर देश विदेशमा ख्याति आर्जन गर्नुभएका प्रतिभालाई प्रतिष्ठानले हरेक वर्ष सम्मान गर्दछ । पुरस्कार प्रदान गर्नका लागि प्रतिष्ठानले रु १० लाखको अक्षयकोष स्थापना गरेको छ । यस वर्ष प्रा डा सञ्जीव शर्मालाई लाल भागीरथा उत्कृष्ट प्रतिभा पुरस्कार प्रदान गरिएको हो । प्रा डा शर्मा विगत २६ वर्षदेखि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटु, मिर्गाैला, मधुमेह र सर्पदंश उपचारका लागि विशेषज्ञको रुपमा सेवारत हुनुहुन्छ ।

प्रतिष्ठानका शिक्षाध्यक्षसमेत रहनुभएका उहाँको चिकित्सा क्षेत्रमा १५ वटा विधाका एक सय ६७ वटा अनुसन्धान र सात वटा पुस्तक प्रकाशित भइसकेका छन् । कोशी प्रदेशको दूरदराजमा उहाँको नेतृत्वमा हाल विपन्नका लागि स्वास्थ्य शिविर र टेलिमेडिसन सेवा सञ्चालन भइरहेको छ ।

झापाको मेचीनगर–१४ दुहागढीमा विसं २०२५ चैत १८ गते जन्मनुभएका उहाँ भुँइमान्छेको पहुँचमा स्वास्थ्य सेवा पु¥याउन समर्पित चिकित्सकको रुपमा परिचित हुनुहुन्छ ।

यसैगरी, लाल भागीरथा उत्कृष्ट कृषि पुरस्कारबाट पुरस्कृत मेचीनगर–५ निवासी बद्रीकुमार राउतले वैदेशिक रोजगारीबाट घर फर्केर १० कट्ठा जग्गामा व्यावसायिक रुपमा जैविक खेती गरिरहनुभएको छ । उहाँले तरकारी र दुग्धजन्य उत्पादन बजारमा लगेर वार्षिक रु १५ लाखको आम्दानी गर्दै आउनुभएको छ ।

लाल भागीरथा उत्कृष्ट गृहिणी पुरस्कारबाट सम्मानित बिर्तामोड–४ की हिमा लुइँटेल वृद्धावस्था र रोगले थलिनुभएका सासूससुराको स्याहार र सामाजिक क्षेत्रमा असल महिलाको रुपमा परिचित हुनुहुन्छ ।

रोजगारीका लागि युरोप जाने बढे

काठमाडौँ । मध्यपूर्वका देश र मलेसियामा सीमित नेपाली युवाको वैदेशिक रोजगारी युरोपतिर मोडिएको छ । गएको एक वर्षदेखि नेपाली युुवाको रोजगारी युरोपतिर मोडिएको हो । चालुु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा युरोपका क्रोएसिया, माल्टा, रोमानिया र पोल्यान्डमा जाने युुवाको सङ्ख्या १० हजार ६७८ रहेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालुु आवको पहिलो चार महिनामा दुुई लाख छ हजार ३१६ जनाले श्रम स्वीकृति लिएर रोजगारीका लागि बिदेसिएकामा त्यत्तिकै सङ्ख्यामा युरोप गएका छन् ।जब कि गत आव २०७९÷८० मा सो अवधिमा व्रmोएसिया, माल्टा र पोल्यान्डमा साढे सात हजार रोजगारीका लागि गएका थिए ।

चालुु आव र गत आवको चार महिना अवधिमा वैदेशिक रोजगारीमा जानेको तथ्याङ्क विश्लेषण गरेर हेर्दा विदेश जाने गत वर्ष धेरै भए पनि युरोप जानेको सङ्ख्या यो वर्ष धेरै देखिएको छ । व्यक्तिगत रूपमा जाने धेरैयुरोप रोजगारीमा जाने अधिकांश व्यक्तिगत रूपमा जाने गरेका छन् । युरोपका चार देशमा गएका श्रमिकको सङ्ख्या हेर्दा संस्थागतभन्दा व्यक्तिगत रूपमा जानेको सङ्ख्या उच्च रहेको छ ।

विभागका अनुसार पछिल्लो चार महिनाको अवधिमा युरोपका चार देशमा १० हजार ६७८ जना गएकामा व्यक्तिगत रूपमा जानेको सङ्ख्या नौ हजार ४८ रहेको छ भने संस्थागत रूपमा जानेको सङ्ख्या एक हजार ६७० मात्रै रहेको छ । नेपाल सरकारले युरोपमा रोजगारीका लागि सहजीकरण नगर्दा व्यक्ति तथा कन्सल्टेन्सीबाट जानेको सङ्ख्या बढ्दै गएको पाइएको छ ।

त्यसो त कतिपय वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले वैदेशिक रोजगार नीतिविपरीत व्यक्तिगत श्रम स्वीकृतिमा समेत वैदेशिक रोजगारधन्दा चलाउँदै आएको पाइएको छ । यो आव सुरु भएयता व्रmोएसिया जानका लागि चार हजार आठ जनाले व्यक्तिगत श्रम स्वीकृति लिँदा ५३७ जना मात्र संस्थागत रूपमा रोजगारीमा गएको पाइएको छ ।

त्यस्तै माल्टा रोजगारीका लागि तीन हजार ४१ जनाले व्यक्तिगत श्रम स्वीकृति लिँदा १०२ जनाले मात्र संस्थागत रूपमा श्रम स्वीकृति लिएको पाइएको छ । यता ९०३ जनाले पोल्यान्ड जान व्यक्तिगत श्रम स्वीकृति लिँदा संस्थागत रूपमा रोजगारीमा जानेको सङ्ख्या शून्य रहेको पाइएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

लक्षित वर्गमा पुगेन लघुवित्तको ऋण

मुलुकमा लघुवित्तको उच्च विस्तार, निश्चित क्षेत्रमा संस्थाहरूको चरम केन्द्रीकरण भएको देखिएको छ । लघुवित्तमा बहुबैङ्किङ तथा अत्यधिक ऋणको अवस्थासमेत रहेको देखिएको एक अध्ययनले देखाएको छ ।

नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त गरी विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलालाई सदस्य बनाई तिनीहरूबाट नियमित बचत सङ्कलन गरी सामूहिक जमानीमा कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालन गर्न बिनाधितो लघु कर्जा प्रवाह गर्ने तथा आफ्ना सदस्य वा अन्य व्यक्तिलाई स्वीकारयोग्य धितो लिई लघु उद्यम तथा लघु व्यवसाय सञ्चालन गर्न धितो कर्जा प्रवाह गर्ने र सीमित मात्रामा सदस्यहरूको बचत सङ्कलन गर्ने संस्थालाई लघुवित्त वित्तीय संस्था भनिन्छ तर नेपाल राष्ट्र बैङ्कले तयार गरेको लघुवित्त अध्ययन प्रतिवेदनका अनुसार लघुवित्त वित्तीय संस्थाको उच्च विस्तार, निश्चित क्षेत्रमा संस्थाहरूको केन्द्रीकरण भएको देखाएको छ ।

त्यसै गरी लघुवित्तमा बहुबैङ्किङ तथा अत्यधिक ऋणको अवस्थासमेत रहेको अध्ययनले देखाएको छ । लघुवित्तमा देखिएको समस्याको पहिचान र समाधानका लागि राष्ट्र बैङ्कले गरेको अध्ययनले लघुवित्त मोडल नै पुनर्विचार गर्नुपर्ने सुझाव दिएको छ । लघुवित्तको सिद्धान्त अनुसार लक्षित वर्गमा केन्द्रित हुन नसकेको अध्ययन प्रतिवेदनको निष्कर्ष रहेको छ ।

लघुवित्त संस्थाहरूको कमजोर आन्तरिक नियन्त्रण प्रणालीका कारण पनि पछिल्लो समयमा समस्या देखिएको अध्ययनमा उल्लेख छ । क्षमताभन्दा अत्यधिक विस्तारित प्रणाली तथा कमजोर संस्थागत सुशासन र बिग्रँदो कर्जा अनुशासनका कारणले पनि लघुवित्तको समस्या जटिलतातर्फ उन्मुख भएको अध्ययनले औँल्याएको छ । अर्थतन्त्रमा शिथिलता, संस्थाहरूको लक्ष्य विचलन जस्ता समस्या रहेको अध्ययनले देखाएको छ ।

अध्ययन प्रतिवेदन अनुसार लघुवित्तहरूमा कर्जासम्बन्धी व्यवस्था, ब्याजदर, लघुकर्जा तथा लक्षित वर्ग, पुँजीकोष, कर्जा नोक्सानी, ग्राहक संरक्षण, आन्तरिक नियन्त्रण, सुशासन, कर्मचारीसम्बन्धी व्यवस्थामा सुधार, कर्जा सूचना, ऋण ग्रस्तता, वित्तीय स्रोत, पूर्वाधारमा सुधार आवश्यक छ ।

लघुवित्त वित्तीय संस्थाहरूको सङ्ख्या र भौगोलिक उपस्थिति, लघुवित्त नीतिरऐन, सुपरिवेक्षकीय क्षमतामा सुधार गर्नुपर्नेसमेत अध्ययनले औँल्याएको छ । अध्ययन समितिले लघुवित्तका समस्या समाधानका लागि सुझावसहित सम्बन्धित निकायलाई समयसीमासमेत तोकेको छ ।

समाजको स्वरूप एवं वित्तीय प्रणालीको विकाससँगै लघुवित्तको मोडलका बारेमा निरन्तर अध्ययन, परीक्षण र परिमार्जन गर्न सुझाएको छ । साथै यस प्रकारको मोडलमा परिमार्जन गर्दा दीर्घकालीन असर पर्ने भएकाले चरणबद्ध रूपमा यस्ता नवप्रवर्तनको परिपक्वतापछि मात्र लागु गर्नसमेत अध्ययनले सुझाएको छ ।

सामूहिक जमानीमा आधारित ग्रामीण मोडललाई समायनुकूल परिमार्जन गरी ५० हजार रुपियाँसम्मको कर्जालाई सामूहिक जमानी आवश्यक नपर्ने व्यवस्था गर्न सुझाएको छ । त्यसै गरी ५० हजारदेखि अधिकतम पाँच लाखसम्म सामूहिक वा पारिवारिक जमानी आवश्यक पर्ने र पाँच लाखभन्दा माथि भने धितो लिएर मात्र कर्जा प्रवाह गर्ने व्यवस्था गर्नुपर्ने अध्ययनले सुझाएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

अनुकूलन योजना कार्यान्वयनमा जुटेन सहमति

जलवायु संकटसँग अनुकूलन हुने योजना कार्यान्वयन सम्बन्धमा भएको वार्तामा सहमति हुन नसक्दा यो विषयलाई अर्को वर्षसम्मका लागि सारिएको छ। दुबईमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२८) मा जलवायु अनुकूलनका लागि विश्वव्यापी लक्ष्य (ग्लोबल गोल अन एड्याप्टेसन) को लक्ष्य कार्यान्वयन गर्ने दिशामा गहन छलफल भई निर्णयमा पुग्ने अपेक्षा थियो।

विशेषगरी अल्पविकसित, विकासोन्मुख, तटीय तथा साना राष्ट्रका अनुकूलन योजनालाई कसरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न कस्तो खाका तयार गर्न सकिन्छ, यो प्रयोजनका लागि कति जलवायु वित्त चाहिन्छ र यी योजना कार्यान्वयन गर्न कस्तो खाले क्षमता अभिवृद्धि चाहिन्छ भन्ने विषयमा निर्णय हुने अपेक्षा थियो।

यसैगरी जलवायुजन्य जोखिम रहेका राष्ट्रको उत्थानशीलता विकास गर्न र प्रविधि हस्तान्तरणलगायत विषयमा अन्य कस्ताखाले सहयोग चाहिन्छ भन्ने विषयमा पनि यस पटकको बैठकले निर्णय लिने अपेक्षा थियो। तर यो विषयमा सहमति हुन नसकेको र यसलाई अर्को वर्षको जुनमा जर्मनीको बोनमा हुने बैठकमा थप छलफल गर्ने निर्णय भएको वार्तामा सहभागी नेपाली अधिकारीले बताएका छन्।

यसअघि सन् २०२१ देखि २०२५ सम्म अन्तर्राष्ट्रिय अनुकूलन कोषलाई दिइने सहयोगलाई दुगुना पार्ने प्रतिबद्धता गरिए पनि यो कार्यान्वयन हुन सकेको छैन। नेपालले हालै राष्ट्रिय अनुकूलन योजना सार्वजनिक–२०२१ बनाएको थियो र यी प्रस्तावित योजना कार्यान्वयन गर्न सन् २०५० सम्मका लागि नेपालालाई ४७ अर्ब अमेरिकी डलर चाहिने प्रक्षेपण गरेको थियो।

‘अनुकूलन योजनाको कार्यान्वयनको विषयमा विकसित राष्ट्र र विकासोन्मुख राष्ट्रबीच सहमति नहुँदा अर्को वर्ष जुनमा जर्मनीको बोनमा आयोजना हुने अनुकूलन समिति सहायक निकाय (सबसिडरी बडी) को बैठकमा छलफल गर्ने निर्णय भएको छ,’ वार्तामा नेपालको तर्फबाट सहभागी प्राक्टिकल एक्सनका जलवायु परिवर्तनविज्ञ डा. धर्मराज उप्रेतीले भने। विशेषगरी अमेरिका, युरोपियन युनियन, अस्ट्रेलिया र जापानले यो विषयलाई तत्काल अगाडि बढ्न नदिने लविङ गरेका थिए।

‘यो विषयमा चाहिने स्रोतसाधनको पर्याप्तता नभएको र पार्टीहरूबाट अत्यधिक माग भएकाले यस विषयमा अहिले नै सहमति जुट्न सकेन,’ डा। उप्रेतीले थपे। अनुकूलनका विश्वव्यापी लक्ष्य हासिल गर्न हालसम्म ३१ राष्ट्रले आफ्नो अनुकूलन योजना तर्जुमा गरिसकेका छन् र चरणबद्ध रूपमा यो कार्यका लागि चाहिने वित्तीय आवश्यकता तथा क्षमता अभिवृद्धिका लागि चाहिने सहयोगको मार्गचित्र युएनएफसिसीसमक्ष प्रस्तुत गरिसकेका छन्। यो समाचार नागरिक दैनिकमा छ ।

विश्वशान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाह गर्ने नेपालको प्रतिबद्धता

काठमाडौँ, २० मङ्सिर : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संयुक्त राष्ट्रसङ्घसँगको सहकार्यमा विश्वशान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाहका लागि नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको आयोजनामा घानाको आक्रामा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलनका क्रममा उपप्रधानमन्त्री खड्काले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

त्यस अवसरमा मङ्गलबार संयुक्त राष्ट्रसङ्घ कार्यसञ्चालन समन्वय विभागका उपमहासचिव अतुल खरेले उपप्रधामन्त्री खड्कासँग शिष्टाचार भेट गर्नुभयो । भेटका बेला उपमहासचिव खरेले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपालले निर्वाह गरेको महत्त्वपूर्ण योगदानको सराहना गर्नुभएको मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ ।

उपप्रधानमन्त्री खड्काले नेपाल संयुक्त राष्ट्रसङ्घको वातावरण नीतिप्रति प्रतिबद्ध रहेको र वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई पहिलो कार्बन तटस्थ प्रशिक्षण केन्द्र बनाउन काम अघि बढाइएको जानकारी दिनुुभयो । त्यसका लागि संयुक्त राष्ट्रसङ्घबाट प्राप्त सहयोगप्रति उहाँले आभार व्यक्त गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घ, शान्ति कार्य विभागका उपमहासचिव जिन पियरर ल्याक्क्रोइक्सले पनि उपप्रधानमन्त्री खड्कासँग भेट गर्नुभयो । त्यस अवसरमा ल्याक्क्रोइक्सले नेपालको योगदानको कदरस्वरुप संयुक्त राष्ट्रसङ्घको मुख्यालय तथा शान्ति मिशनहरूमा नेपाललाई उच्च तहमा थप अवसर प्राप्त हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्रसङ्घका महासचिवको हालै सम्पन्न नेपाल भ्रमणको स्मरण गर्दै महासचिवले निरन्तरको तापक्रम वृद्धिका कारण हिमालमा हिउँ पग्लिँदै गएकाले आगामी दिनमा थपिन सक्ने चुनौती तथा असरबारेमा नेपाल चिन्तित रहेको र दुबईमा जारी कोप–२८ मा त्यससम्बन्धमा जोडदार रूपमा नेपालले आवाज उठाएको बताउनुभयो ।

सम्मेलनका अवसरमा उपप्रधानमन्त्री खड्कासँग घानाका रक्षामन्त्री मोमिनिक नितिउअलले शिष्टाचार भेट गर्नुभयो । रक्षामन्त्री नितिउअलले नेपालबाट सम्मेलनमा भएको उच्च सहभागिताको प्रशंसा गर्दै नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा निर्वाह गरेको भूमिकाको सराहना गर्नुभयो । उहाँले कतिपय शान्ति ‘मिशन’मा घाना र नेपाली शान्ति सैनिकले मिलेर काम गरेको उल्लेख गर्दै घाना नेपालसँग द्विपक्षीय सम्बन्ध विस्तार गर्न र बहुपक्षीय मञ्चहरूमा सहकार्य गर्न सधै तत्पर रहेको बताउनुभयो ।

त्यस अवसरमा उपप्रधानमन्त्री खड्काले घाना सरकारलाई शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलन आयोजना गरेकामा धन्यवाद दिँदै नेपाली प्रतिनिधिमण्डललाई उपलब्ध गराइएको आतिथ्यताका लागि कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले घाना र नेपालबीच द्विपक्षीय सम्बन्ध विस्तार गर्न पर्यटन, कृषिलगायत क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावना रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री खड्कासँग भारतका रक्षा राज्यमन्त्री अजय भट्टले पनि शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा नेपाल र भारतबीचको बहुआयामिक सम्बन्ध, नेपाली सेना र भारतीय सेनाबीचको सहयोग र सहकार्यका बारेमा छलफल भएको थियो ।

त्यसअघि सोमबार साँझ उपप्रधानमन्त्री खड्काको स्वागतमा घानास्थित गैरआवासीय नेपाली सङ्घले एक कार्यक्रम आयोजना गरेको थियो । गैरआवासीय नेपाली सङ्घ घानाका अध्यक्ष विकास सुवेदीले घानामा करिब एक सय ५० जना नेपाली विभिन्न पेसा–व्यवसायमा आबद्ध रहेका जानकारी दिनुभयो । उहाँले घानासँग नेपालको श्रम सम्झौता नभएका कारण रोजगारीका लागि घाना आउन कठिनाइ भइरहेको र घानामा आर्जन गरेको रकम नेपाल पठाउन समस्या भएको बताउनुभएको थियो ।

उपप्रधानमन्त्री खड्काले नेपालीहरूलाई घानामा रहँदा एकताबद्ध भई आपसी सहयोग आदान–प्रदान गर्न र नेपालको कला, संस्कृति प्रवर्द्धन गरी घानाका नागरिकलाई नेपाल भ्रमण गर्नमा प्रेरित गर्न आग्रह गर्नुभयो ।

नवलपरासीमा धान उत्पादन बढ्यो, बारामा चार अर्ब ९६ करोडको अगहनी धान उत्पादन

मध्यविन्दु (नवलपरासी), २० मङ्सिर : नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । जिल्लामा धानखेती हुने क्षेत्रफल घटे पनि उत्पादनमा भने वृद्धि भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले राससलाई बताउनुभयो ।

“गत वर्षभन्दा यस वर्ष धानखेती भएको कुल क्षेत्रफल एक सय ८८ हेक्टरले घटेको भए पनि उत्पादन भने नौ सय नौ मेट्रिक टनले वृद्धि भएको छ”, सूचना अधिकारी काफ्लेले भन्नुभयो ।

सूचना अधिकारी काफ्लेका अनुसार यस वर्ष नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा १८ हजार छ सय २८ हेक्टर क्षेत्रफलमा लगाइएको बर्खे धानबाट ७७ हजार आठ सय ६५ मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष जिल्लामा १८ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा लगाइएको बर्खे धान ७६ हजार नौ सय ५६ मेट्रिक टन उत्पादन भएको थियो । उत्पादकत्वका हिसाबले यो वर्ष जिल्लामा प्रतिहेक्टर चार दशमलव १८ मेट्रिक टन धान उत्पादन भएको सूचना अधिकारी काफ्लेले बताउनुभयो ।

“जिल्लामा यस वर्ष खडेरीका कारण क्षेत्रफल घटेको भए पनि बर्खे धान उत्पादनमा सामान्य वृद्धि भएको हो”, सूचना अधिकारी काफ्लेले भन्नुभयो, “किसानले विषेश गरेर साँवा मन्सुली, सावित्री, रामधान, युस–३१२, अनदीलगायत जातका धान रोपेका थिए ।” जिल्लामा यस वर्ष चैते धानको उत्पादन र लगाइने क्षेत्रफल भने गत वर्षको भन्दा बढ्ने प्रक्षेपण गरिएको छ ।

“आव २०७९÷८० मा जिल्लामा एक हजार दुई सय २२ हेक्टर क्षेत्रफलमा छ हजार एक सय ७१ मेट्रिक टन चैते धान उत्पादन भएकामा यस वर्ष एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा सात हजार छ सय पाँच मेट्रिक टन उत्पादन हुने प्रक्षेपण गरिएको छ”, सूचना अधिकारी काफ्लेले भन्नुभयो, “यस वर्ष अघिल्लो वर्षभन्दा थप चार सय ५० हेक्टर क्षेत्रफलमा चैते धानखेती प्रवर्द्धनका लागि बजेट व्यवस्थापन भएकाले चैते धानप्रति किसानको आकर्षण बढेको छ ।”

बारामा रु चार अर्ब ९६ करोड बराबरको अगहनी धान उत्पादन

यसैबीच कलैयाबाट प्राप्त समाचारअनुसार खडेरीका कारण यस वर्ष अगहनी धानको उत्पादकत्वमा कमी आउने कृषि ज्ञान केन्द्र बाराले जनाएको छ । जिल्लामा किसानले कुल एक लाख ३९ हजार आठ सय ९२ मेट्रिक टन अगहनी धान उत्पादन गरेको कृषि ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०८०÷८१ मा बाराका किसानले विभिन्न जातका अगहनी धान ३४ हजार एक सय १० हेक्टर क्षेत्रफलमा खेती गरी प्रतिहेक्टर चार दशमलव एक मेट्रिक टनले कुल एक लाख ३९ हजार आठ सय ९२ मेट्रिक टन धान उत्पादन भएको केन्द्रका बाली संरक्षण अधिकृत राजनारायणप्रसाद साहले राससलाई बताउनुभयो ।

खडेरीले गत वर्षको तुलनामा यस वर्ष तीन हजार तीन सय ९१ मेट्रिक टन कमी भएको केन्द्रका कृषि प्रचार अधिकृत रामजीवन ठाकुरले भन्नुभयो । उत्पादित धान कलैया बजारमा प्रतिक्विन्टल तीन हजार चार सयमा बिक्री भइरहेको उपभोक्ताले जनाएका छन् । जिल्लामा करिब रु चार अर्ब ९६ करोड मूल्यबराबरको एक लाख ३९ हजार आठ सय ९२ मेट्रिक टन धान उत्पादन भएको उहाँले जानकारी दिनुभयो ।

गत वर्ष अगहनी धान ३४ हजार एक सय १५ हेक्टर क्षेत्रफलमा गरिएकामा त्यसबाट प्रतिहेक्टर चार दशमलव दुई मेट्रिक टनले एक लाख ४३ हजार दुई सय ८३ मेट्रिक टन उत्पादन भएको थियो ।

देशको शिथिल अर्थतन्त्र चलायमान बनाउन व्यापार मेला हुँदै


कास्की, २० मङ्सिर : देशको शिथिल अर्थतन्त्र चलायमान बनाउँदै व्यवसाय विस्तार र नयाँ सम्भावनाको खोजी गर्ने उद्देश्यले गण्डकी प्रदेशको राजधानी पोखरामा भोलिदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला हुँदैछ ।

स्थानीय उत्पादनको प्रवर्द्धनका साथै उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउने लक्ष्यका साथ पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने मेलाको सबै तयारी पूरा भएको छ । मेला आगामी पुस १ गतेसम्म सञ्चालन हुनेछ ।

मेलाबाट पोखरालगायत देशक औद्योगिक एवं हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनलाई प्रवर्द्धन तथा बजारीकरणमा सघाउ पुग्ने सङ्घका अध्यक्ष पवनकुमार प्रजापतिले राससलाई बताउनुभयो ।

‘लगानीको संवर्द्धनः उद्योग व्यवसायको प्रवर्द्धन’ भन्ने नारासहित आयोजना हुने मेलाले गण्डकी प्रदेशको व्यवसाय विस्तारमा सम्भावनाको खोजीे तथा प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने अपेक्षा गरिएको छ । मेलामा दुई सय ५० प्रदर्शनीकक्ष रहने छन् ।

गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय तथा उद्योग पर्यटन एवं वन तथा वातावरण मन्त्रालयसँगको सहकार्यमा मेलामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा रहेका महिला उद्यमीको उत्पादनको प्रदर्शन, प्रवर्द्धनका लागि विशेष कक्षको व्यवस्था गरिएको सङ्घका महासचिव बलराम आचार्यले बताउनुभयो ।

महिला उद्यमशीलता विकासका लागि मेलास्थलमा हस्तकलाका सामग्री बनाउने तालिमका साथै आफै रोजगारीका अवसर सृजना गर्न चाहने महिलाका लागि आवश्यक ‘मेसिनरी’प्रदर्शनीको पनि व्यवस्था मिलाइएको छ । पोखरा उद्योग वाणिज्य सङ्घले पहिलोपटक २०४२ सालमा औद्योगिक व्यापार मेलाको आयोजना गरेको थियो ।

भिटामिन ‘डी’ को कमी भएमा के गर्ने ? यस्ता छन् लक्षण

काठमाडौँ – सहरी जीवनशैली र घरभित्रै बसेर काम गर्ने रहनसहनका कारण धेरै मानिसहरूमा भिटामिन डीको कमी देखिन गर्दछ ।

पर्याप्त मात्रामा घाम नपाउने, मोटोपन, अस्वस्थ खानाजस्ता कारणले मानिसहरूमा भिटामिन डीको कमी देखिनु मुख्य कारण भएको विज्ञहरू बताउँछन्।

लक्षणहरु के के हुन् त ??

भिटामिन डीको कमी भए थकान महसुस हुने
बिस्तारै हड्डी कमजोर हुदै जाने
मांसपेशी दुख्ने बाउडिने
डिप्रेशन
मधुमेह
उच्च रक्तचाप र मुटुसम्बन्धी अन्य रोग हुन सक्ने विज्ञहरू बताउँछन्।
कसरि जोगिने :

बिहान ८ बजे देखि १ बजे सम्मको घाममा बस्ने
भिटमिन डी युक्त खाना जस्तै माछा, रातो मासु, अण्डाको पहेँलो भाग र दुग्धजन्य पदार्थहरु सेवन गर्ने
दूध, भटमास, ओट, बदाम, फलफूलको जूस, दही, मार्जरीन, गहुँको पिठो, खाने तेल, सीरीअल जस्ता खानेकुराहरु सेवन गर्ने ।

बाँझो जमिनमा घाँसखेती गर्नेलाई अनुदान, १८ लाख बजेट विनियोजन

गोरखा, २० मङ्सिर : बाँझो जमिनमा घाँसखेती गर्न चाहने किसान वा कृषि समूहलाई प्रोत्साहनस्वरुप अनुदान उपलब्ध गराइने भएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले चालु आर्थिक वर्षमा जिल्लाभित्र तीन वर्षदेखि बाँझो रहेको जमिनमा भुइँ घाँस तथा डाले घाँसखेती गर्ने किसानलाई अनुदान उपलब्ध गराउन लागिएको केन्द्रका निमित्त प्रमुख डा शर्मिला कुमालले राससलाई जानकारी दिनुभयो ।

कार्यालयले प्रतिरोपनी रु तीन हजारका दरले किसानलाई अनुदान उपलब्ध गराउने छ । “बाँझो जग्गामा घाँसखेती प्रवरद्धन कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा रु १८ लाख बजेट विनियोजन गरिएको छ, कार्यक्रममार्फत अनुदान लिन चाहनेका लागि आवेदन आह्वान गरिसकिएको छ”, निमित्त प्रमुख कुमालले भन्नुभयो ।

किसानले घाँसखेती गरेसँगै त्यसको उपयोगिताका बारेमा अध्ययन गरेर अनुदान उपलब्ध गराइने छ । बाँझो जग्गा भाडामा लिएर घाँसखेती गर्न चाहनेले भने भुइँ घाँसका लागि कम्तीमा पाँच वर्ष र डाले घाँसका लागि कम्तीमा १० वर्ष करार सम्झौता गरेको हुनुपर्ने उहाँले बताउनुभयो ।

अनुदानका लागि स्थानीय वडा कार्यालयबाट तीन वर्षदेखि खेतीयोग्य जमिन बाँझो रहेको तथा बाँझो भूमिमा खेती गर्न ‘प्रोत्साहन अनुदानका लागि योग्य’ रहेको सिफारिस निवेदकले आवेदनका साथ पेस गर्नुपर्नेछ । गोराखा जिल्लामा करिब छ हजार रोपनी बाँझो जमिनमा घाँसखेती गर्ने किसानलाई अनुदान दिने योजना रहेको निमित्त प्रमुख कुमालल बताउनुभयो । बाँझो जग्गामा घाँसखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन मापदण्ड, २०८० बमोजिम अनुदान कार्यक्रम सञ्चालन गरिनेछ ।

ठूलो परिमाणमा स्रोत नखुलेको रकमसहित पक्राउ

धुलिखेल (काभ्रेपलाञ्चोक), २० मङ्सिर : काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट खरिदको स्रोत नखुलेका गरगहना र रकमसहित एक जनालाई पक्राउ गरिएको छ । ठूलो परिमाणमा सुन तथा चाँदी गाली बिक्री गरेको भन्ने सूचनाका आधारमा प्रहरीले बनेपा नगरपालिका–७ वकुटोलस्थित एक घरमा डेरा गरी बस्ने भारतको महाराष्ट्र प्रदेश साङ्ली जिल्लाका ३९ वर्षीय सचिन विभुतेलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार बिल नभएको सुन दुई सय ३५ दशमलव नौ ग्राम, एक हजार नौ सय एक दशमलव २६ ग्राम चाँदी, नेरु पाँच लाख ७६ हजार र भारु २२ हजार बरामद गरिएको हो । निजबाट सुन जोख्ने तराजु, एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकको चेकबुक, दुई थान मोबाइल फोन सेट पनि बरामद भएको छ ।

अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

काठमाडौँ, २० मङ्सिर : औषधि व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधि बिक्री गर्ने एक फार्मेसीलाई शिलबन्दी गरेको छ ।

विभागको टोलीले कपन क्षेत्रका औषधि पसलबाट लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा मङ्गलबार नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसँगको सहकार्यमा गरेको बजार अनुगमनका क्रममा अवैधरूपमा औषधि बिक्री वितरण गर्ने बूढानीलकण्ठ नगरपालिका–१० आदर्शनगर चोकस्थित लाइफ केयर फर्मालाई शिलबन्दी गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले बूढानीलकण्ठ क्षेत्रका चारवटा औषधि पसल अनुगमन गर्दा अवैधरूपमा औषधि बिक्री गर्ने लाइफ केयरमा शिलबन्दी गरिएको जानकारी दिनुभयो ।

विभागको टोलीले उक्त पसलबाट विभिन्न ३६ प्रकारका औषधिसमेत बरामद गरेको छ । टोलीले ओखलढुङ्गा फर्मा, जेन्स हेल्थ केयर सेन्टर र सुर्याम्स फार्मेसीलाई सचेत गराएको प्रवक्ता ढुङ्गेलले बताउनुभयो ।

बागलुङमा समृद्धिका लागि सङ्कल्पयात्रा दुई दिन, ओली आज बागलुङ जाने

गलकोट (बागलुङ), २० मङ्सिर : नेकपा (एमाले) ले थालेको बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मकोे ‘समृद्धिका लागि सङ्कल्पयात्रा’ बागलुङमा दुई दिनसम्म सञ्चालन हुने भएको छ ।

नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज बागलुङ आउने र भोलिसम्म विभिन्न पालिकामा जनसभा र भेटघाटका कार्यक्रम गरिने एमाले बागलुङ जिल्ला कमिटीले जनाएको छ ।

अध्यक्ष ओली नेतृत्वकोे केन्द्रीय टोलीलाई स्वागत गर्न गण्डकी र लुम्बिनी प्रदेशको सीमाक्षेत्र बागलुङको पातिहाल्नेमा गण्डकी प्रदेशका एमालेका नेता पुगेका छन् । अध्यक्ष ओलीसहित एक सय ५० नेताको समूहलाई आज पातीहाल्नेमा पार्टी जिल्ला कमिटी र प्रदेश कमिटीले स्वागत गर्ने कार्यक्रम छ । बुधबार गलकोटसम्म हुने सङ्कल्पयात्रा बिहीबार दिउँसो बागलुङ जिल्ला सदरमुकाममा संवाद कार्यक्रम रुपान्तरण हुने एमाले बागलुङका अध्यक्ष हीराबहादुर केसीले राससलाई बताउनुभयो ।

सङ्कल्प यात्रालाई लक्ष्यित गरी पार्टीले १० स्थानीय तहका गाउँ तथा नगर र वडास्तरसम्म भेला आयोजना गरीसकेको छ । यहाँका कार्यक्रम सफल बनाउन पार्टीका सबै जनसङ्गठन परिचालन भएका छन् ।

परराष्ट्र सचिवको अवकाश, निमित्तमा लम्साल

काठमाडौँ, २० मङ्सिर : परराष्ट्र सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिनुभएको छ । “करिब ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट आजदेखि अवकाश लिएको छु”, सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ । सरकारले श्री पौड्याललाई क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ ।

संसदीय सुनुवाइ समितिले सरकारको उक्त सिफारिसलाई अनुमोदन गरिसकेको छ । सचिव पौड्यालले अनिवार्य अवकाश लिएसँगै परराष्ट्र मन्त्रालयकी वरिष्ठ सहसचिव सेवा लम्सालले निमित्त परराष्ट्र सचिवको जिम्मेवारी पाउनुभएको छ । सरकारले उहाँलाई सचिव नियुक्त गर्ने सम्भावना छ ।

गाजा ‘मानवताको सबैभन्दा अन्धकार समय’ मा पुगेको छ – डब्लुएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गाजापट्टीमा स्थिति लगातार बिग्रिँदै गएको र मानवताको ‘सबैभन्दा अन्धकार समय’ नजिक पुगेको मङ्गलबार बताएको छ ।

हमासको लडाकू समूहले अक्टोबर ७ मा गरेको हमलापछि इजराइलले हमासविरुद्ध युद्धको घोषणा गरेको छ । हमासको हमलामा इजराइलमा अधिकांश सर्वसाधारणसहित एक हजार दुई सयको मृत्यु भएको थियो भने हमासले करिब दुई सय ४० बन्धकलाई गाजामा ल्याएको थियो ।

इजराइलले हमासलाई समाप्त पार्ने र सबै बन्धकको मुक्ति सुनिश्चित गर्ने वाचा गरेको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले युद्धमा गाजामा करिब १५ हजार नौ सय मानिस मारिएको बताएको छ ।

कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा डब्लुएचओका प्रतिनिधि रिचर्ड पिपरकोर्नले मङ्गलबार दक्षिणी गाजापट्टीको राफाबाट भिडियो लिङ्कको माध्यमबाट जेनेभामा पत्रकारहरूसँग मध्य र दक्षिणी गाजाबाट आउने मानिसको सङ्ख्या अत्यधिक बढेको बताउनुभयो ।

इजराइली सेनाले मङ्गलबार दक्षिणी गाजामा हमास लडाकूसँग युद्ध सुरु गरेको छ । युद्धले सर्वसाधारण घेरामा परेको प्यालेस्टिनी क्षेत्रलाई निरन्तर खुम्च्याएको छ । प्रारम्भमा उत्तरी गाजामा ध्यान केन्द्रित गरेपछि इजराइली सेनाले अहिले दक्षिणमा स्थल सेनालाई पठाएको छ र सर्वसाधारणलाई त्यहाँबाट हट्न आग्रह गरेको छ ।

“स्थिति प्रत्येक घन्टा बिग्रिँदै गइरहेको छ, यहाँ दक्षिणी इलाकासहित चारैतिर तीव्र बमबारी भइरहेको छ, धेरै मानिस हतास छन् र करिब सबै मानिस आघातको अवस्थामा छन्”, पिपरकोर्नले भन्नुभयो, “हामी मानवताको सबैभन्दा अन्धकार घडीको नजिक छौँ, यो बमबारी र जीवनको मूर्खतापूर्ण क्षति रोकिनु पर्छ र हामीलाई दिगो युद्धविरामको आवश्यकता छ ।”

जलवायु वार्ता कठिन हुँदै गर्दा जीवाश्म इन्धनको पैरवी गर्नेको सङ्ख्या बढ्दै

दुबईमा जीवाश्म इन्धनको पैरवी गर्नेहरूको कीर्तिमानी सङ्ख्या प्रत्येक प्रतिनिधिमण्डलभन्दा धेरै हुँदा मङ्गलबार संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्तामा कोइला, तेल र ग्यासका लागि बोल्ने स्वरहरू कडा भएको कार्यकर्ताहरूले बताएका छन् ।

विभाजन यति गहिरो छ कि नयाँ मस्यौदा सम्झौतामा जीवाश्म इन्धनलाई चरणबद्ध तरिकाले समाप्त गर्ने वा यो मुद्दालाई सम्बोधन नै नगर्ने विकल्पहरू समावेश गरिएको छ । यसबाट आगामी साताको अन्त्यमा हुने कठिन छलफलका लागि मञ्च तयार भएको छ ।

विश्वको सबैभन्दा ठूलो तेल निर्यातक मुलुक साउदी अरबले कडा धारणा राख्दै जीवाश्म इन्धनलाई चरणबद्ध तरिकाले बन्द गर्न त के चरणबद्ध तरिकाले घटाउनसमेत आफू बिल्कुलै सहमत नभएको बताएको छ । सात वर्षभित्र विश्वव्यापी तापक्रमले एक दशमलव पाँच डिग्री सेल्सियसको सीमालाई पार गर्न सक्छ भनी वैज्ञानिकहरूले दिएको चेतावनीका बावजुद यस्तो धारणा आएको हो ।

विश्वव्यापी तापक्रममा सबैभन्दा ठूलो योगदान गर्ने जीवाश्म इन्धनको भविष्यमाथिको पेचिलो बहसका लागि तेल समृद्ध मुलुक संयुक्त अरब इमिरेट्स (युएई) ले आयोजना गरेको राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप२८) को बैठक मुख्य रणभूमि हो ।

दुबईमा सम्भावित सम्झौताको पछिल्लो संस्करणमा तीन विकल्प थिए– जीवाश्म इन्धनको ‘व्यवस्थित तथा न्यायसङ्गत’ चरणबद्ध अन्त्य, जीवाश्म इन्धन परियोजनाहरूलाई चरणबद्ध कम गर्नका लागि तीव्र प्रयास वा कुनै पनि विषय समावेश नगर्ने ।

अघिल्लो कोप वार्ताहरूमा अवरोध सिर्जना गरेका राष्ट्रहरूले ती परम्परागत स्थितिमा आफूलाई उभ्याउँदै छन् । साउदी अरबका ऊर्जामन्त्रीले कोप२८ सम्झौतामा जीवाश्म इन्धनलाई चरणबद्ध तरिकाले कम गर्नका लागि आफू ‘बिल्कुल सहमत’ नभएको बताएका छन् । उनले यस्तो परिवर्तनको सम्भावनाबारे समेत प्रश्न गरेका छन् ।

यद्यपि जर्मनीका जलवायु दूत जेनिफर मोर्गनले विश्वव्यापी ऊर्जा प्रणालीलाई रूपान्तरण गर्नु ‘एकमात्र विकल्प’ भएको बताउनुभयो । “नवीकरणीय ऊर्जाहरू भविष्य हुन्, जीवाश्म युगको अन्त्य यहाँ कोप२८ मा मूर्त हुनुपर्छ ।”

धनी अर्थतन्त्रहरूले आफ्नै हाइड्रोकार्बन परियोजनाहरूको विस्तार गर्दा जीवाश्म इन्धनबाट बाहिर निस्कन माग गरेकामा उनीहरूलाई पाखण्डको आरोप लगाइएको छ ।

क्युबाका कूटनीतिज्ञ पेड्रो लुइस पेड्रोसोले विकासोन्मुख मुलुकहरूलाई पर्याप्त सहयोग उपलब्ध नगराई कठोर आर्थिक परिवर्तन गर्न गइरहेको बताउनुभयो । “यदि एउटा अत्यन्त निर्धन मुलुकले तेल पत्ता लगाउँछ र उसलाई कसैले सहयोग गर्दिन भन्यो भने हामीले कसरी उसलाई जीवाश्म इन्धन छुन सक्दैनौ भन्न सक्छौँ ?”, कथित ग्लोबल साउथ राष्ट्रहरूको समूहको नेतृत्व गर्ने पेड्रोसोले भन्नुभयो ।

जर्मन जलवायु दूत मोर्गनले प्रगति भइरहेको बताउनुभयो । उहाँले कहिलेकाहीँ यो सुस्त हुने तर यस्तो स्तरमा यो सामान्य भएको स्वीकार गर्नुभयो । सन् २०१५ मा ऐतिहासिक पेरिस जलवायु सम्झौताका वास्तुकार लरेन्स टुबियानाले वार्ताहरू कठिन छन् भन्नुभयो । उहाँका अनुसार ‘हामी यस्तो चरणमा छौँ जहाँ सबै विकल्प टेबलमा छन् तर हामीले कुनै सन्तुलन विन्दु देखिरहेका छैनौँ ।’

“यस्तो स्तरमा यो सामान्य हो तर यो विशेषरूपमा कठिन देखिन्छ किनकी हामी कोठामा हात्तीको बारेमा छलफल गरिरहेका छौँ जुन जीवाश्म इन्धन हो ।”यद्यपि अमेरिकी जलवायु दूत जोन केरीले वार्ताकारहरूले अगाडिको मार्ग पत्ता लगाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले सिङ्गापुरको प्रसारक सिएनएलाई भन्नुभयो, “तपाइँसामु एक सय ९५ देश वार्तामा आउँदा कठिन हुन्छ ।”

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि बुधबार संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमण गर्दै हुनुहुन्छ तर विश्वको सबैभन्दा ठूलो जीवाश्म इन्धन उत्पादकमध्येको एक रुसका नेताले कोप२८ को भ्रमण गर्नुहुन्छ वा हुन्न भन्नेबारेमा कुनै जानकारी प्राप्त भएको छैन ।

करिब दुई हजार पाँच सय जीवाश्म इन्धन पैरवीकर्ताहरूलाई दुबईमा कोप२८ वार्ताका लागि मान्यता दिइएको अभियान समूहहरूले बताएका छन् । एनजीओ अम्ब्रेला ग्रुप किक बिग पोल्युटर्स आउटका अनुसार जीवाश्म इन्धनको रुचिमा जोडिएका दुई हजार चार सय ५६ मानिसको पहिचान भएको छ । यो गत वर्षको कोप२७ को सङ्ख्याको करिब चार गुणा हो ।

यदि यिनीहरूलाई एउटा समूहमा लिने हो भने उनीहरूको सङ्ख्या ब्राजिल र युएई बाहेक ‘प्रत्येक मुलुकका प्रतिनिधिमण्डल’ भन्दा बढी हुनेछ । युएईको राष्ट्रिय तेल कम्पनी एडिएनओसीका प्रमुख सुल्तान अल जाबेर कोप२८ को अध्यक्षमा नियुक्त भएदेखि अभियानकर्ताहरू जीवाश्म इन्धन पैरवीकर्ताहरूको प्रभावलाई लिएर चिन्तित छन् ।

केन्द्रीय कारागार सुन्धारामा २ दुई सय ६१ विदेशी कैदीबन्दी

काठमाडौँ- मुलुकको सबैभन्दा ठूलो र पुरानो केन्द्रीय कारागार सुन्धारामा २६१ विदेशी कैदीबन्दी रहेका छन् । विभिन्न मुलुकबाट नेपाल आएर विभिन्न आपराधिक क्रियाकलापमा संलग्न २६१ कैदीबन्दीलाई केन्द्रीय कारागारमा राखिएको हो ।

विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलमा हाल तीन हजार चार सय ६९ कैदीबन्दी रहेकामध्ये दुई सय ६१ विदेशी कैदीबन्दी रहेको कारागार प्रशासक ललितकुमार बस्नेतले राससलाई जानकारी दिनुभयो । केन्द्रीय कारागारमा हाल ३१ देशका कैदीबन्दी रहेका छन् । उहाँका अनुसार भारतीय एक सय ३५, चिनियाँ २९, पाकिस्तानका १७, दक्षिण अफ्रिकाका १४, बगङ्लादेश नौ, थाइल्याण्ड आठ, बोलिभिया पाँच, मलेसिया चार, फिलिपिन्स तीन, अमेरिका तीन, जर्मनी तीन, सुडान तीन रहेका छन् ।

साउदी अरब, सुडान, हङकङ, बेलारुस, नर्वेलगायतका देशका एक÷एक जना कैदीबन्दी रहेको कारागार प्रशासक बस्नेत बताउनुहुन्छ ।

विदेशी कैदीबन्दीमध्ये लागुऔषधका धेरै

कारागार प्रशासक बस्नेतका अनुसार केन्द्रीय कारागारमा रहेका विदेशी कैदीबन्दीमध्ये लागुऔषध मुद्दाका बढी कैदीबन्दी रहेका छन् । उहाँका अनुसार एक सय १३ विदेशी नागरिक अवैध लागुऔषध ओसारपसारमा संलग्न रहेकाले कारागार बसेका छन् । त्यसैगरी जबरजस्ती करणीमा ३३ विदेशी नागरिक जेल परेको देखिन्छ । त्यसबाहेक अवैध रुपमा सुन ओसारपसारमा २५, ठगी मुद्दामा १६, कर्तव्य ज्यानमा १०, अपहरणमा आठ, जीउ बेच्ने मास्नेमा सात र विविध मुद्दामा २५ विदेशी नागरिक जेल परेका छन् ।

नेपालकै सबैभन्दा पुरानो र ठूलो कारागार सुन्धारामा स्थान अभावका कारण ५६ कैदीबन्दीलाई भर्खरै नख्खु कारागार स्थानान्तरण गरिएको कारागार प्रशासक बस्नेत बताउनुहुन्छ । नख्खु स्थानान्तरण गरिएका कैदीबन्दीमध्ये ५४ नेपाली र दुई विदेशी रहेका छन् । केन्द्रीय कारागारको क्षमता एक हजार सात सय रहेपनि हाल तीन हजार चार सयभन्दा बढी कैदीबन्दी हुँदा साँघुरो भएको छ ।

तीन वटा कारागार भवन रहेको केन्द्रीय कारागारमा केन्द्र जेलमा एक हजार आठ सय ६६, भद्र जेलमा एक हजार एक सय ३९ र महिला जेलमा चार सय ६४ कैदीबन्दी रहेका छन् । महिला जेलमा ११ नाबालक कैदीबन्दीसँगै रहेको केन्द्रीय कारागार व्यवस्थापनले जनाएको छ ।

कारागार प्रशासक बस्नेत काठमाडौँमा उपचारका लागि विभिन्न जिल्लाबाट कैदीबन्दी स्थानान्तरण हुँदा केन्द्रीय कारागारमा कैदीबन्दीको सङ्ख्या बढ्न गएको बताउनुहुन्छ । “अड्डा अदालतदेखि उपचारका लागि विभिन्न अस्पताल काठमाडौँमा हुँदा विभिन्न जिल्लाबाट केन्द्रीय कारागार आउने कैदीबन्दी बढेका छन्”, उहाँ भन्नुहुन्छ ।

केन्द्रीय कारागारमा दुई सय ६१ विदेशी कैदीबन्दी

काठमाडौँ – मुलुकको सबैभन्दा ठूलो र पुरानो केन्द्रीय कारागार सुन्धारामा २६१ विदेशी कैदीबन्दी रहेका छन् । विभिन्न मुलुकबाट नेपाल आएर विभिन्न आपराधिक क्रियाकलापमा संलग्न २६१ कैदीबन्दीलाई केन्द्रीय कारागारमा राखिएको हो ।

विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलमा हाल तीन हजार चार सय ६९ कैदीबन्दी रहेकामध्ये दुई सय ६१ विदेशी कैदीबन्दी रहेको कारागार प्रशासक ललितकुमार बस्नेतले राससलाई जानकारी दिनुभयो । केन्द्रीय कारागारमा हाल ३१ देशका कैदीबन्दी रहेका छन् । उहाँका अनुसार भारतीय एक सय ३५, चिनियाँ २९, पाकिस्तानका १७, दक्षिण अफ्रिकाका १४, बगङ्लादेश नौ, थाइल्याण्ड आठ, बोलिभिया पाँच, मलेसिया चार, फिलिपिन्स तीन, अमेरिका तीन, जर्मनी तीन, सुडान तीन रहेका छन् ।

साउदी अरब, सुडान, हङकङ, बेलारुस, नर्वेलगायतका देशका एक÷एक जना कैदीबन्दी रहेको कारागार प्रशासक बस्नेत बताउनुहुन्छ ।

विदेशी कैदीबन्दीमध्ये लागुऔषधका धेरै

कारागार प्रशासक बस्नेतका अनुसार केन्द्रीय कारागारमा रहेका विदेशी कैदीबन्दीमध्ये लागुऔषध मुद्दाका बढी कैदीबन्दी रहेका छन् । उहाँका अनुसार एक सय १३ विदेशी नागरिक अवैध लागुऔषध ओसारपसारमा संलग्न रहेकाले कारागार बसेका छन् । त्यसैगरी जबरजस्ती करणीमा ३३ विदेशी नागरिक जेल परेको देखिन्छ । त्यसबाहेक अवैध रुपमा सुन ओसारपसारमा २५, ठगी मुद्दामा १६, कर्तव्य ज्यानमा १०, अपहरणमा आठ, जीउ बेच्ने मास्नेमा सात र विविध मुद्दामा २५ विदेशी नागरिक जेल परेका छन् ।

नेपालकै सबैभन्दा पुरानो र ठूलो कारागार सुन्धारामा स्थान अभावका कारण ५६ कैदीबन्दीलाई भर्खरै नख्खु कारागार स्थानान्तरण गरिएको कारागार प्रशासक बस्नेत बताउनुहुन्छ । नख्खु स्थानान्तरण गरिएका कैदीबन्दीमध्ये ५४ नेपाली र दुई विदेशी रहेका छन् । केन्द्रीय कारागारको क्षमता एक हजार सात सय रहेपनि हाल तीन हजार चार सयभन्दा बढी कैदीबन्दी हुँदा साँघुरो भएको छ ।

तीन वटा कारागार भवन रहेको केन्द्रीय कारागारमा केन्द्र जेलमा एक हजार आठ सय ६६, भद्र जेलमा एक हजार एक सय ३९ र महिला जेलमा चार सय ६४ कैदीबन्दी रहेका छन् । महिला जेलमा ११ नाबालक कैदीबन्दीसँगै रहेको केन्द्रीय कारागार व्यवस्थापनले जनाएको छ ।

कारागार प्रशासक बस्नेत काठमाडौँमा उपचारका लागि विभिन्न जिल्लाबाट कैदीबन्दी स्थानान्तरण हुँदा केन्द्रीय कारागारमा कैदीबन्दीको सङ्ख्या बढ्न गएको बताउनुहुन्छ । “अड्डा अदालतदेखि उपचारका लागि विभिन्न अस्पताल काठमाडौँमा हुँदा विभिन्न जिल्लाबाट केन्द्रीय कारागार आउने कैदीबन्दी बढेका छन्”, उहाँ भन्नुहुन्छ ।

त्रिवि कर्मचारी संघको तीनदिने अल्टिमेटम :माग पूरा नभए दीक्षान्त समारोह हुन नदिने चेतावनी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले त्रिविले संघसँग गत चैतमा गरेको सम्झौता र गत वर्षको पुसमा बुझाएको ४५ बुँदे माग आज बुधबारसम्म पूरा नगरे दीक्षान्त समारोह हुन नदिने चेतावनी दिएको छ ।

संघले गत सोमबार उपकुलपति प्राडा शिवलाल भुषालसमक्ष ३ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउँदै यस्तो चेतावनी दिएको थियो । त्रिविले पुस २ गते दीक्षान्त समारोहको आयोजना गर्दैछ ।

संघका अध्यक्ष छत्रबहादुर कार्कीसहितको पदाधिकारीले सोमबार साँझ उपकुलपति प्राडा शिवलाल भुषालसमक्ष ज्ञापनपत्र बुझाएका थिए । संघका वरिष्ठ उपाध्यक्ष भुपेन्द्र लामाका अनुसार ज्ञापनपत्रमा त्रिवि सुधारदेखि कर्मचारी पदपूर्ति, सेवा सुविधालगायतका विषय उठान गरिएको छ ।

त्रिविका करिब ७ हजार कर्मचारीको छाता संगठन संघमाथि माग पूरा गर्न नसकेको आरोप लाग्न थालेपछि ज्ञापनपत्र बुझाएको जिकिर गर्दै उनले भने– ‘माग पूरा गर्न गत चैतमा सम्झौता भएको थियो तर कार्यन्वयन भएन, त्यसको कार्यान्वयन गर्न दबाब दिँदै ज्ञापनपत्र बुझाएका हौं ।

त्रिविले ४५ बुँदे मागमध्ये करिब १० वटा सम्बोधन गरेको थियो । माग सम्बोधन गरेकोमा त्रिवि पदाधिकारीलाई धन्यवाद दिएका थियौं, त्यसपछि कुनै प्रक्रिया अघि बढाएको छैन ।’ ज्ञापनपत्रमा माग पूरा नभए त्रिविको सबै निकायको प्रशासनिक र शैक्षिक कार्यक्रम ठप्प पार्ने चेतावनी पनि दिइएको छ । ज्ञापनपत्र बुझाएको विषयमा उपकुलपति प्राडा भुषालसँग जानकारी लिन खोज्दा उनको मोबाइल उठेन ।

ज्ञापनपत्रमा लामो समयदेखि ज्यालादारी र करार सेवामा कार्यरत कर्मचारीको स्थायित्वको प्रक्रिया अघि नबढेको, पदोन्नतिको अवसर अवरुद्ध भएको, नियमित विज्ञापन नहुँदा जनशक्तिको अभावमा दैनिक प्रशासन सञ्चालनमा अवरोध सिर्जना भएको, पछिल्लो समय कर्मचारीले खाइपाइ आएको प्रोत्साहन पारिश्रमिक पूर्ण रूपमा कटौती भएकोलगायतका विषय उल्लेख छन् ।

सम्झौता कार्यान्वयन गर्न आलटाल गर्ने पदाधिकारी कुर्सीमा बसिरहनुको अर्थ नभएको टिप्पणी गर्दै संघका अध्यक्ष कार्कीले भने– ‘एक वर्ष कु¥यौं, माग पूरा गर्न चासो देखाइएन । अति भएपछि दीक्षान्त समारोह नै स्थगित गर्ने योजनासहित ज्ञापनपत्र बुझाएका हौं ।’

संघले विगतमा भएको सम्झौता पूर्ण कार्यान्वयन र गुमेको सुविधाहरू यथावत गर्न माग गरेको छ । त्रिविले साउनदेखि कर्मचारीको भत्ता कटौती गरेको थियो भने करिब एक महिनाअघि परीक्षाको हकमा मात्र भत्ता दिन सकिनेगरी कार्यविधि तयार गरेको थियो ।उक्त कार्यविधि हालसम्म लागू हुन नसकेको र कतिपय क्याम्पसलगायतका निकायले अस्वीकार गरेको संघका वरिष्ठ उपाध्यक्ष लामाले जानकारी दिए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर

काठमाडौँ, २० मङ्सिर : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको उहाँको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । मङ्गलबार अपराह्न नियमित स्वास्थ्य परीक्षणका निम्ति सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुग्नुभएका उहाँलाई डा अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार थालेको गृह मन्त्रालयले जनाएको छ ।

यसअघि गत असोज ३० देखि कात्तिक १ गतेसम्म चीनको भ्रमणमा रहेका बेला मन्त्री श्रेष्ठ अचानक मुटुको समस्याबाट पीडित भएपछि त्यहाँ उहाँको उपचार गएिको थियो ।

एनसेल प्रकरणमा अर्थ समितिले डाक्यो गभर्नर

निजी टेलिकम कम्पनी एनसेलको मुख्य लगानीकर्ता आजियाटाले आफ्नो ८० प्रतिशत सेयर बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेलाई बेचेपछि यसमा आर्थिक अनियमितता भएको आशंकामा संसद्का दुई समितिले अध्ययन थालेका छन्। प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति र अर्थ समितिले बुधबार यसबारे छलफल गर्न बैठक डाकेका छन्। दुवै समितिले आर्थिक अनियमितताबारे अध्ययन गर्ने हैसियत राख्छन्।

यस विषयभा सार्वजनिक लेखा समितिले आइतबार सम्बन्धित निकायलाई कागजात उपलब्ध गराउन पत्र पठाएको थियो। मागअनुसार कागजात आए तिनैमा आधारित भएर छलफल गर्ने र नआए समितिका सदस्यबीच छलफल गरी कसरी अघि बढ्ने भन्ने निक्र्योल गर्ने जानकारी सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले दिए।

त्यस्तै अर्थ समितिले नेपाल दूरसञ्चार प्राधिकरणका पदाधिकारी र राष्ट्र बैंकका गभर्नरसँग छलफल गर्न उनीहरूलाई डाकेको छ। अर्थ समितिले पहिलो बैठकमा प्राधिकरणका कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनालसहितलाई र दोस्रो बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बोलाएको छ। प्राधिकरणका पदाधिकारीसँग दूरसञ्चार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूबाट प्राप्त हुने रोयल्टी, राजस्वको तथ्यांक र स्थिति सम्बन्धमा छलफल गरिने अर्थ समितिका सभापति सन्तोष चालिसेले जानकारी दिए।

यस विषयमा सार्वजनिक लेखा समितिले आइतबार प्राधिकरण, राजस्व विभाग, कम्पनी रजिस्ट्रारको कार्यालयलाई नौवटा प्रश्न राखेर आवश्यक कागजात उपलब्ध गराउन पत्र पठाएको थियो। पत्रमा मलेसियन टेलिकम कम्पनी आजियाटा ग्रुपले एनसेलमा रहेको आफ्नो शेयर बिक्री गरेको विषयमा आधिकारिक जानकारी, सेयर खरिद–बिक्री वा हक हस्तान्तरण गर्दा कम्पनीले सेवा प्रवाह गरिरहेको मुलुकको कानुनी व्यवस्था परिपालना गर्नुपर्ने हो कि होइन, दूरसञ्चार प्राधिकरणको अनुमति वा स्वीकृति प्राप्त गर्नुपर्ने कानुनी प्रावधान यस सन्दर्भमा पूरा भएको छ वा छैन, यसअघि भएको कारोबारभन्दा निकै कम मूल्यमा होल्डिङ कम्पनीबीच सेयर कारोबार वा स्वामित्व हस्तान्तरण सम्झौता हुनुको कारणलाई नियमनकारी निकायले कुन रूपमा लिएको भन्ने प्रश्न सोधिएको छ। यो समाचार नागरिक दैनिकमा छ ।