`

निगमले किन घटाएन डिजेलको मूल्य ?

इन्डियन आयल आयल कर्पोरेसन (आईओसी) बाट डिजेलको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य घटाएको छैन। डिजेलको मूल्य लिटरमा ७ रुपैयाँ र पेट्रोलमा ८० पैसा घटेर आए पनि ग्यासमा प्रति सिलिन्डर २ सय ८० रुपैयाँ घाटा भएको भन्दै निगमले मूल्य नघटाएको हो।

मूल्य घटेर आउँदा निगमलाई डिजेलमा ३४ करोड रुपैयाँ नाफा भए पनि ग्यासमा ३४ करोड नै घाटा रहेकाले मूल्य समायोजन नगरेको नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक बिरेन्द्र गोईतले बताए। डिजेलको मूल्य घटेर आएकाले घटाउनु पर्ने उपभोक्ताको माग रहेको छ। आईओसीबाट हरेक १५–१५ दिनमा नयाँ मूल्य आउँछ। त्यसका आधारमा मूल्य निर्धारण हुन्छ। निगमलाई आईओसीबाट प्राप्त मूल्यमा २३ करोड नाफा रहेको छ।

सरकारलाई ऋण तिर्न बाँकी रहेकाले घाटा पूर्ति गर्न मूल्य समायोजन नगरेको निगमका नायब कार्यकारी निर्देशक गोइतले बताए। निगमका अनुसार सरकारलाई ७० करोड रुपैयाँ ऋण तिर्न बाँकी रहेको छ। स्वचालित मूल्य प्रणाली अनुसार निगमले गत महिना ग्यासको मूल्य सिलिन्डरमै २ सय १५ रुपियाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपियाँ, पेट्रोलमा २ रुपैयाँ र हवाई इन्धनमा ८ रुपियाँ बढाएपछि चौतर्फी आलोचना भएसँगै मूल्य वृद्धि फिर्ता लिएको थियो।

सरकारले मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिए पछि स्वचालित मूल्य प्रणाली रोकिएको थियो। अहिले झापा चारआली, विराटनगर, जनकपुर, बारा अमलेखगन्ज, भैरहवा भलबारी, नेपालगन्ज, धनगढी, वीरगन्जमा पेट्रोल लिटरको १ सय ६९ रुपैयाँ ५० पैसा, डिजेल लिटरको १ सय ६५ रुपैयाँ ५० पैसा रहेको छ।

त्यसैगरी सुर्खेत र दाङमा पेट्रोल लिटरको १ सय ७१ रुपैयाँ, डिजेलको १ सय ६७ रुपैयाँ, काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल लिटरको १ सय ७२, डिजेलको १ सय ६८ रुपैयाँ रहेको छ। यो मूल्य यथावत् रहेको निगमले जनाएको छ।

आइओसीबाट मूल्य घटेर आएकाले निगमले मूल्य घटाउन सक्ने भन्दै पेट्रोल पम्प सञ्चाकलले कम तेल उठाएका छन्। यसले गर्दा बजारमा तेलको आंशिक अभाव देखिएको छ। यो समाचार नागरिक दैनिकमा छ ।

नबिकेपछि खेतमै कुहिन लाग्यो २५ क्विन्टल सयपत्री

झापा । व्यावसायिक सयपत्री फूलको खेतीमा लगानी गरेका किसान फूल नबिकेपछि समस्यामा परेका छन् । तिहार र छठपर्वमा पनि नबिकेका फूल अब खेतमै कुहिने अवस्था पुगेको छ ।

बिर्तामोड नगरपालिका वडा नं ९ का दलबहादुर अधिकारीले यस वर्ष एक बिघा पाँच कठ्ठा जग्गामा सयपत्री फूलको खेती लगाएका थिए । गत वर्ष १० कठ्ठामा मात्र फूलखेती गर्दा मनग्य आम्दानी भएपछि उत्साही बनेर यसपालि खेती विस्तार गर्दा लगानी नै बर्बाद भएको उनले गुनासो गरे ।

तिहारको मुखैमा भारतबाट आयातित फूलको माला र थुँगाले बजार जमाएपछि स्वदेशी सयपत्री फूलको उत्पादन बिक्री नभएको उनको भनाइ छ । “भारतबाट सयपत्री फूल र कागजको माला भित्र्याउन पाइँदैन भन्ने सुनिएको थियो”, उनले भने, “जब तिहारमा फूल बिक्री हुने दिन सुरु भयो, भारतबाट ल्याइएका सयपत्री फूलको मालामात्र होइन थुँगा नै बजारभरि देखियो । हामीले कत्रो मेहनत गरेर फुलाएका फूल बिक्दै बिकेनन् ।”

अहिले उनको फूलखेतीमा दुई हजार पाँच सय केजी (२५ क्विन्टल) सयपत्री ढकमक्क फुलेको छ । कोलकाताबाट झिकाइएको बाह्रमासे सयपत्रीले यसपालि राम्रो उत्पादन दिएको उनको भनाइ छ । हालको बजारभाउअनुसार तिहारमा कम्तीमा रु पाँच लाखको फूल बिक्री हुने आशा गरेका उनले रु ७० हजारको मात्र फूल बिकेको जानकारी दिए । उनले फूलखेतीमा रु एक लाखभन्दा बढी लगानी गरेको बताए ।

सुरुमा प्रतिकेजी रु दुई सय ५० मा फूल बोटबाटै बिक्री भएता पनि तिहारको मुख्य दिनमा रु ५० प्रतिकेजीका दरले बेच्न खोज्दासमेत ग्राहक नपाउँदा ज्यादै निराश बनेको उनको गुनासो छ । “ताजा फूललाई बोलेरो गाडीमा राखेर साउन्ड सिस्टमबाट प्रचार गर्दै गाउँसहर डुलाउँदासमेत बिकेन”, उनले बताए ।

जिल्लामा तिहारको बेला रु एक करोडको सयपत्री फूल र रु १० करोडको झिलीमिली बत्ती बिक्री हुने गरेको छ । खुला सीमा भएका कारण भारतबाट सस्तो मूल्यका सपयत्रीका माला चोरी निकासी भएर भित्रिने गरेका छन् ।

स्थानीय व्यापारीहरू भारतबाट आएको सयपत्री फूलको माला रु २५ प्रतिकेजीका दरले बिक्री भएको बताउँछन् । भन्सार अधिकारीहरूका अनुसार नेपालको फूल उत्पादक संस्थाले भारतबाट सयपत्री आयातमा प्रतिबन्ध लगाएको प्रचार गरेता पनि सरकारी निकायबाट कुनै प्रतिबन्ध घोषणा भएको थिएन ।

खेतमै खेर जाने अवस्थामा रहेका सयपत्री फूललाई आयुर्वेदिक औषधि उत्पादकहरूले खरिद गरेर लैजान्छन् भनेर सुनेता पनि त्यस्तो कुनै संस्था सम्पर्कमा नरहेको बिर्तामोडका किसान दलबहादुर अधिकारी बताए। चाडपर्व बितिसकेको हुँदा मालाका लागि फूल बिक्ने अब सम्भावना छैन ।

सयपत्री फूललाई सात डिग्री सेल्सियस तापक्रममा राख्दा केही अवधि ताजा राख्न सकिन्छ । तर बिर्तामोडका शीतभण्डारले अरु उत्पादन राखेका कारण सयपत्री फूलका लागि उचित तापक्रम मिलाउन गाह्रो पर्ने बताएको अधिकारीले बताए । “शीतभण्डारमा राख्न पाइएन र कसैले किनेर लगेनन् भने खेतमै सयपत्री कुहिएर गएको टुलुटुलु हेर्नुपर्ने अवस्था आउँछ”, उनले भने ।

भूकम्पले घरमा किताब जोगिएनन् विद्यालयमा साथी भेटिएनन्

दसैँ, तिहार र छठ पर्वको लामो बिदापछि विद्यालय खुलेका छन् । यसैक्रममा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१४ स्थित जनविकास माध्यमिक विद्यालय पनि सोमबारबाट खुल्यो । साथी भेट्ने, कक्षाकोठामा पढ्ने र विद्यालयको प्राङ्गणमा खेल्ने उत्साह बोकेर विद्यालय आएकी कक्षा ८ की १४ वर्षीय कृष्णा मल्ललाई आजको स्कुले दिन भारी लाग्यो । न उनी कसैसँग खुलेर बोल्न सकिन्, न त कक्षाकोठामा छिर्ने आँटै गरिन् ।

गत कात्तिक १७ गते रातिको भूकम्पमा परेर एउटै कक्षामा पढ्ने साथी विराज मल्ल र प्रेमा मल्ल मरेको खबरले कृष्णाको अनुहार उदास भइरह्यो । विद्यालय भवन भत्किएको देखेकी उनको मन पनि भत्कियो । भावविह्वल अवस्थाकी कृष्णाले भनिन्, “प्रेमा र म सधैँ एउटै बेन्चमा बस्थिम्, विराज मेरो कक्षामा सबैभन्दा मिल्ने साथी थियो, मरेको खबर सुन्दा सुरुमा पत्याउन सकिनँ ।”विद्यालयले प्रार्थना समयमा गरेको मौनधारण कार्यक्रममा उपस्थित शिक्षक, विद्यार्थीहरूका आँखा ओभानो रहन सकेनन् । भत्किएका भवन र तीन जना विद्यार्थी गुमाउँदाको पीडाले विद्यालयमा सन्नाटा छाएको छ । कृष्णालाई कक्षा ४ देखि नै सँगै पढ्दै आएका साथी गुमाउँदाको पीर जति लागेको छ, अरू साथीलाई पनि उस्तै वेदना छ ।सोही विद्यालयमा कक्षा ८ मा पढ्ने विनोद महताराले विद्यालय नै सुनसान भएको सुनाए । भूकम्पले आफ्नो घर भत्किएको सुनाउँदै विनोदले भने, “मेरा त किताब पनि पुरिएका छन्, साथी पनि गुमेका छन् ।” पुरानो कापी बोकेर आएका विनोदले स्कुलले फेरि पनि किताबको व्यवस्था गरिदिने अपेक्षा बोकेका छन् । कक्षा ८ का ३६ जना साथीमध्ये आज पाँच जना मात्र विद्यालयमा आएको र विद्यालयकै आँगनमा बसेको विनोदले जनाए । कक्षाकोठा चर्किएको देखेका उनीहरूको मन पनि चर्किएको छ ।विद्यालयका प्रधानाध्यापक दीपक सङ्गम थापाले भूकम्पले गर्दा आफ्नो विद्यालयको तीन विद्यार्थी गुमाउनुपरेको बताए । कक्षा ८ मा अध्ययनरत विनोद र प्रेमा र कक्षा ५ मा अध्ययनरत ११ वर्षीय चन्द्रकला मल्लको भूकम्पमा परेर ज्यान गएको छ । बिदापछि खुलेको विद्यालयमा आज विद्यार्थी पनि थोरै आए । प्रधानाध्यापक थापाले शिशु कक्षादेखि कक्षा १० सम्म ३१५ जना विद्यार्थी रहेकोमा आज करिब ७० जना मात्र विद्यार्थी आएको जानकारी दिए ।विद्यालयका दुई वटा भवन पूर्ण रूपमा क्षति भएका छन् भने बाँकी तीन वटा भवन चर्किएका छन् । सोसेक नेपालबाट आएका मनोविमर्शकर्ताहरूले मनोवैज्ञानिक असर कम गर्न विभिन्न माध्यमबाट विद्यार्थीलाई प्रेरित गरिरहेको थापाले बताए ।भूकम्पले आठबिसकोटमा मात्रै ११ जना विद्यार्थीको मृत्यु भएको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख इन्द्रबहादुर विष्टले ११ विद्यार्थी, एक जना कार्यालय सहयोगी गुमेको बताए । शाखा प्रमुख विष्टले कक्षा एकदेखि १० सम्मका एक हजार ४४१ किताबका सेट विभिन्न विद्यालयबाट माग भई आएको जनाए । रुकुमपश्चिममा भूकम्पमा परेर १८ जना विद्यार्थीको मृत्यु भएको छ । यो समाचार गोरखापत्र दैनिकामा छ ।

बैंकहरुमा व्याजदर घट्दै, पुसमा अझै व्याजदर घट्ने

काठमाडौं । बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएसँगै र उद्यमी व्यवसायीहरु व्यवसायमा ¥हास आएका कारण लगानी गर्न डराएका कारण बैंकहरुले क्रमिक रुपमा कर्जाको व्याजदर घटाउन थालेका छन् ।

बैंकहरुले ५९ खर्ब १९ अर्ब निक्षेप संकलन गर्दा कर्जामा लगानी भने ४९ खर्ब ८७ अर्ब मात्र पु¥याउन सकेका छन् । सीडी रेसियो ८१ प्रतिशतको आसपासमा रहे पछि बैंकहरु कर्जामा लगानी गर्न व्याजदर घटाउन लागि परेका हुन् ।बैंकहरुको व्याजदर महँगो भएका कारण उद्योग धन्दा फस्टाउन नसकेका कारण कर्जा व्याजदर एकल अंकमा झार्नुपर्ने दबाब उद्यमी व्यवसायीहरुको परेका कारणले पनि बैंकहरुले व्याजदर घटाउन थालेका हुन् ।गतवर्षसम्म बैंकहरुमा तरलताको अभाव भएपछि बैंकहरुले कर्जाको व्याजदर बढाएका थिए । तर गत साउनबाट निरन्तर रुपमा अधिक तरलता भएपछि बैंकहरुमा व्याजदर घटाउने दबाब पर्दै गएको थियो । नेपाल बैंकर्स संघको कार्टेलिङ्गजस्तै रहेको बैंक व्याजदर निर्धारण बैंकहरुले नै गर्न पाउने व्यवस्था भएपछि भदौ यता बैंकहरुको ब्याजदर क्रमिक रुपमा घटिरहेको छ ।गत भदौसम्म समग्र बैंकहरुले मुद्दतिमा दिने औसत व्याजदर १०।३२५ प्रतिशत रहेकोमा मंसिरका लागि निर्धारण गरिएको औसत व्याजदर ९।६६ प्रतिशतमा झरेको छ । बैंकहरुले सार्वजनिक गरेको विवरणअनुसार असोजमा वाणिज्य बैंकको औसत ब्याजदर १०।२६ प्रतिशत रहेको थियो । कात्तिकमा भने ९।९६ प्रतिशत थियो।क्रमिक रुपमा घटिरहेको व्याजदर पुसमा अझ लगानी योग्य रकम अधिक हुने हुँदा व्याजदर घट्ने प्रक्षेपण गरिएको छ ।अहिले सञ्चालनमा रहेका २० ओटा वाणिज्य बैंकहरुमध्ये मुद्दतिमा सवैभन्दा वढी व्याज नेपाल एसबिआइ बैंकले दिंदैछ भने सवैभन्दा कम व्याज एनआइसी एसियाले दिनेछ । यो समाचार राजधानी दैनिकमा छ ।

शताब्दीको अन्त्यमा पृथ्वीको तापक्रम २.९ डिग्री सेल्सियससम्म पुग्नसक्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी

पेरिस । विश्वका विभिन्न मुलुकले हरितगृह ग्यास कटौतीगर्ने प्रतिबद्धताका बाबजुद् पृथ्वीलाई मुख्य सीमाभन्दा धेरै तापक्रम वृद्धिको मार्गमा डोर्याएको संयुक्त राष्ट्रसङ्घले सोमबार जनाएको छ । प्रतिवद्धतालाई इमान्दारीताका साथ कार्यान्वयनमा नलगेमा यो शताब्दीमा विनाशकारी २.९ डिग्री सेल्सियससम्म पुग्ने राष्ट्रसङ्घले चेतावनी दिएको छ ।

दुबईमा महत्वपूर्ण कोप–२८ जलवायु वार्ताको ठीक अघि संयुक्त राष्ट्र पर्यावरण कार्यक्रमको वार्षिक उत्सर्जन रिक्तता रिपोर्ट जारी गरिएको छ र यसले अहिलेसम्म तापक्रम वृद्धि रोक्न गरिएका प्रयास असफलतातर्फ उन्मुख रहेको उल्लेख गरेको छ ।

यो वर्ष मानव इतिहासकै सबैभन्दा तातो वर्ष हुने अपेक्षा गरिएको सन्दर्भमा यूएनईपीले भनेको छ, “विश्वले बिग्रिएको जलवायु रेकर्डको सङ्ख्या, गति र परिमाणमा चिन्ताजनक गति देखिरहेको छ ।” कार्बन कटौती गर्ने देशहरूको योजनाबारे ध्यानाकर्षण गर्दै यूएनईपीले भनेकोे छ, “पृथ्वी सन् २१०० सम्ममा २.५ डिग्री सेल्सियस र २.९ डिग्री सेल्सियसको बीचमा विनाशकारी तापको मार्गमा छ । विद्यमान नीति र उत्सर्जन कटौती प्रयासहरूको बाबजुद् विश्वव्यापी तापक्रम वृद्धि तीन डिग्री सेल्सियसतर्फ धकेलिने सम्भावना बढेको छ ।”

सन् २०२१ देखि २०२२ सम्ममा १।२ प्रतिशतले उत्सर्जन वृद्धि भएको विश्वले वायुमण्डलमा हरितगृह ग्याँसको रेकर्ड स्तरलाई प्रोत्साहन गरिरहेको युएनईपीले जनाएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले आगामी नोभेम्बर ३० देखि शुरु हुने कोप–२८ वार्तामा ‘नाटकीय जलवायु काययोजर्ना’को खाका प्रस्तुत गर्न आह्वान गर्नुभएको छ ।

“विश्व नेताहरूले अब पनि जलवायु परिवर्तनको मुद्दामा आफ्ना प्रतिवद्धतालाई पछि धकेल्न वा वेवास्ता गर्न सक्दैनन्”, उनले ‘नेतृत्वको असफलता, कमजोर वर्गप्रतिको विश्वासघात र ठूलो अवसर गुमाएको’ उल्लेख गर्दै भने, “हामी जलवायु परिवर्तनको मुद्दामा सही दिशाभन्दा बाहिर गएका छौं ।”

कोप–२८ को बैठकमा विश्वले निर्णायक कदम चाल्ने तयारी गरिरहेको स्पष्ट सङ्केत गर्दै विश्वले जलवायु परिवर्तन नियन्त्रणको हालको पदचाप प्रभावकारी नभएको भन्दै यसलाई सच्याउनुपर्ने उनले बताए ।

जाजरकोट भूकम्प प्रभावितलाई भानु नगरपालिकाकाे एक लाख सहयोग

दमौली । जाजरकोट भूकम्प प्रभावितका लागि तनहुँको भानु नगरपालिकाले आर्थिक सहयोग गरेको छ । नगरपालिकाले जाजरकोट भूकम्प प्रभावितका लागि रु एक लाख पाँच हजार आर्थिक सहयोग गरेको हो ।

उक्त रकम भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जाजरकोट पुगेर प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका छन् । भूकम्पबाट पीडित बनेकाको राहत र उद्धारका लागि नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट थोरै भए पनि सहयोग गरिएको त्रिपाठीले बताए ।

भानु नगरपालिकाका प्रमुख त्रिपाठीको नेतृत्वमा वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायतको टोली जाजरकोट पुगेको थियो । त्यसक्रममा उनीहरुले भूकम्पमा परी मृत्यु भएका नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको परिवारप्रति समवेदना व्यक्त गरेका थिए ।

यसअघि जिल्लाकै देवघाट गाउँपालिका र व्यास नगरपालिकाले भूकम्प पीडितका लागि रु पाँच/पाँच लाख सहयोग गर्ने निर्णय गरेको थियो ।

कलुवापुर–बेलौरी सडक कालोपत्रे गर्ने कार्य चाँडै अगाडि बढ्छ : मन्त्री साउद

कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले कलुवापुर– बेलौरी सडकखण्डको कालोपत्रे गर्ने कार्यलाई चाँडै अगाडि बढाइने बताएका छन् । सोमबार शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरले आयोजना गरेको कार्यक्रममा मन्तव्य राख्दै उनले चुनावका बेला सडक कालोपत्रे गर्ने प्रतिबद्धता गरेको कुरालाई नबिर्सिएको बताए । “सडकको अवस्थाबारे मलाई राम्ररी थाहा छ”, उनले भने, “अबेर जरुर भएको छ, अन्धेर हुन दिदैनौँ ।”

सडकको क्षेत्राधिकार कायम गर्नेबारे नगरपालिकाले समन्वय गर्नुपर्ने उल्लेख गर्दै उनले कालोपत्रका लागि सुदूरपश्चिम प्रदेशका मुख्य सचिव, भौतिक पूर्वाधार मन्त्रालयका सचिव र निर्माण व्यवसायीलाई निर्देशन दिइसकेको बताए ।
सडककै लागि गुनासो सुन्नु नपरोस् ठेक्का सम्झौता बमोजिमको कार्य निर्धारित समयभित्रै पूरा गर्न गराउनका लागि निर्माण व्यवसायी र सम्बद्ध पक्षसँग कुरा गरेको उनले बताए ।

“सडक कालोपत्रे नहुँदा हिउँदमा धुलाम्मे र वर्षातका बेला हिलाम्मे हुने कुराबारे जानकार छु”, उनले भने, “चिन्ता र चासो लिएर यस कार्यलाई काठमाडौँ फर्केपछि तत्काल अगाडि बढाउन लगाउछु ।” नगरपालिकामा निर्माण हुँदै गरेको फोहरमैला व्यवस्थापन केन्द्रमा फोहर प्रशोधन गर्ने ठूला मेसिन राखेर व्यवस्थित गरिने उनले बताए ।

दुई/तीनवटा नगरपालिकाको फोहर व्यवस्थापन गर्ने साझा केन्द्रका रुपमा यसलाई विकास गरिनुपर्ने उनको भनाइ थियो । फोहरमैला व्यवस्थापन केन्द्रको प्रभावित क्षेत्रका बासिन्दाका हितलाई ध्यानमा राखेर कार्य अगाडि बढाइनुपर्नेमा उनको जोड थियो ।

बहुवर्षीय ठेक्का सम्झौता गरी झलारी बजार क्षेत्र भएर बग्ने सनवोरा नदीमा बलियो तटबन्ध निर्माणका लागि पहल गर्ने उनले व्यक्त गरे । विकास गर्ने कुरा जनप्रतिनिधको दायित्वभित्र पर्ने कुरा भएकाले यसबाट पछि हटन नमिल्ने उनको जिकिर थियो ।

शुक्लाफाँटा नगरपालिका–११ का वडाध्यक्ष शेरबहादुर साउदले मन्त्री साउदलाई २२ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका थिए । मन्त्री साउदलाई बुझाइएको ज्ञापनपत्रमा कलुवापुर–बेलौरी सडकखण्ड कालोपत्रे गर्ने, रामजानकी मन्दिरमा विवाह मण्डप निर्माणसम्मका योजना समेटिएका छन् ।

यसैगरी, कलुवापुर बजार क्षेत्रमा ढल निकास, वडा कार्यालय तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र वरिपरि पर्खाल निर्माण, प्रादेशिक आयुर्वेदिक अस्पतालको यथाशीघ्र निर्माण, सामुदायिक भूमि व्यवस्थापन स्रोत केन्द्रको कार्यालय भवन निर्माण, वडामा खेलमैदान तथा कभर्ड हल निर्माणको माग ज्ञापनत्रमा गरिएको छ ।

भानु सप्लार्यसले तिर्‍यो दुई लाख जरिवाना

तनहुँ । म्याद गुज्रिएको मदिरा एवं पेयपदार्थ बिक्री गरेको पाइएपछि कारबाहीमा परेको तनहुँका एक व्यवसायीले सोमबार रु दुई लाख जरिवाना बुझाएका छन् ।

व्यास नगरपालिका–३ फलफूल लाइनस्थित भानु सप्लार्यसका सञ्चालक श्रीराम खनालले जिल्ला प्रशासन कार्यालयमा सो रकम बुझाएका हुन् । जनगुनासा र उजुरी आएपछि सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेको नेतृत्वमा गएको टोलीले शनिबार उक्त पसलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा करिब छ महिना म्याद गुज्रिएका सात काटुन वियर एवं पेयपदार्थ फेला परेको सहायक प्रजिअ गैरेले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयले गरेको निर्णयमा चित्त नबुझे व्यवसायीले वाणिज्य विभाग काठमाडौँमा पुनरावेदन दिन सक्ने व्यवस्था रहे पनि तिर्नुपर्ने जरिवाना बुझाएर गएको गैरेले बताए । वाणिज्य विभागले बजार अनुगमन कार्यमा खटिने सहायक प्रमुख जिल्ला अधिकारीलाई ठाउँको ठाउँ कारबाही गर्न सक्नेसम्मको अधिकार प्रदान गरेको हुन्छ ।

कानुनी कारबाही नहुँदासम्म उक्त सप्लार्यसमा शिलबन्दी गर्न सहायक प्रजिअ गैरेले निर्देशन दिएकाले जरिवाना बुझाएपछि पुनः पसल खुलेको छ ।

हेर्नुहोस् मंसिर ५ गते मंगलवारको राशिफल

ज्यो.पं सरोज घिमि/मेष राशि – नयाँ कार्यको थालनि गर्न राम्रो समय रहेको छ । साजेदारी कार्यमा बिशेष सजग रहनु होला । आफुभन्दा सानाको सहयोगमा मनग्य लाभ प्राप्त हुनेछ । बोलिको प्रभाव बढ्नाले ईष्ट मित्रको साथ मिल्नेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । कलाकौशलका क्षेत्रमा समय ब्यतित रहने छ । आम्दानि उत्तम रहला ।

बृष राशि – सम्पादित कार्यहरुका क्षेत्रमा सामान्य झन्झट आई पर्नेछ । मान्यजन तथा पारिवारीक साथसहयोगमा केहि दुरताको सामना गर्नु पर्ला । भौतिक साधनको प्रयोगमा बिशेष ध्यान दिनु राम्रो रहनेछ । बिद्या तथा बौधिक क्षेत्रमा भने राम्रो समय रहेको छ । सबारी साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्नेछ ।

मीथुन राशि – कामकाजको क्षेत्रमा भने बिशेष सजग रहनु होला अपजसआईपर्ने योग रहेको छ । नसोचेका क्षेत्रमा सामान्य खर्च हुनाले मनमा खिन्नता पैदा हुनेछ । आटँ र शाहसमा बृद्धि भएता पनि साथिभाई हरु टाडिएको अनुभव हुन सक्ला । मान्यजनहरुको साथ सहयोगमा गरीएका कार्यहरु उत्तम रहनेछन । यात्रामा साबधानि अपनाउनु होला ।

कर्कट राशि – बोलिको गलत अर्थ लाग्न सक्ला तसर्थ वाणीमा ध्यान दिनुहोला । संचित रकम खर्च हुन सक्नेछ । खानपानमा बिशेष ध्यान दिनुहोला । सामान्य चोट पटक वा स्वास्थ सम्बन्धी समस्याको सामना गनुपर्नछ । नजिकका मित्रजनहरुको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ ।

सिंह राशि – ब्यापार ब्यवसायमा सामान्य समस्या देखा पर्न सक्नेछ । खुट्टा तान्ने ब्यक्ति हरुको बृद्धि हुनाले कार्यसम्पादनमा बिशेष होसियार हुनु पर्ने छ । निर्णय गर्ने क्षमतामा कमि आउने छ । अधुराकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ ।

कन्या राशि – सामान्य कार्यको निम्ति धेरै समय र परीश्रम खर्चनु पनेछ । मनमा सामान्य चिन्ताले बास गर्नेछ । परीवारका सदस्यहरु बाट टाढा भएको महसुस हुनेछ । तात्कालिन आर्थीक अभाबको सामना गर्नुपर्नेछ । नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ ।

तुला राशि – तपाईको कार्य कुशलताले अरु ब्यक्तिलाई मोहित बनाउन सक्छ । आम्दानिका स्रोतहरु फेला पर्नाले मनमा उत्साहा छाउनेछ । अरुको भर पर्नाले सामान्य झन्झट ब्यर्होनु पर्ला । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन । कला कौशलका क्षेत्रमा खर्चिएको समय उत्तम रहनेछ ।

बृश्चिक राशि – सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनु होला । सभासम्मेलनमा सहभागि हुन सक्ने योग रहेको छ । मानसम्मान प्राप्तिको सम्भाबना रहेको छ । ब्यापार ब्यवसायमा समय राम्रो रहेको छ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । मानसम्मान प्राप्तीको योग रहेकोछ । सवारि साधनको प्रयोमा ध्यान पूर्याउनु होला ।

धनु राशि – आटँ शाहसमा बृद्यि हुनाले तपाईका बिपक्क्षीहरु कमजोर रहनेछन । मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । श्रम र परीश्रमको राम्रो कदर हुने योग रहेको छ । मनोरञ्जन मुलक यात्राको सम्भाबना रहेकोछ । माल सामान हराउन सक्ने सम्भाबना रहेकोछ । अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ ।

मकर राशि – खानपानको क्षेत्रमा बिशेष ध्यान दिनु होला । आजको लगानि भोलिका निम्ति फाईदा जनक हुनेछ । स्वास्थ सम्बन्धी समास्याले सताउन सक्छ । अरुको भर पर्दा कार्यक्षेत्रमा सामान्य अप्जसआउनसक्छ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ ।

कुम्भ राशि – मानसिक चन्चलताले गर्दा कार्य दिगो नरहन सक्छ । पारीबारिक झोर झमेलाले सताउन सक्छ । तपाईको कार्यको फाईदा अरुले सहजै लिन सक्नेछन । तपाईको सरल मिजासले मित्रजनहरु आकर्शित हुने योग रहेको छ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ ।

मिन राशि – अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला । पारीबारिक झोर झमेलाले सताउन सक्छ । स्वास्थमा सामान्य समस्या आउन सक्छ । खानपानको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ । कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुनेछ ।

मंसिर ४ गतेदेखि ३० दिनसम्मका लागि माइतीघरबाट बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा

काठमाडौँ, ४ मङ्सिर : जिल्ला प्रशासन कार्यालय काठमाडौँले पद्य्मोदय मोडबाट सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलाबाट बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।

कार्यालयले आज प्रेस विज्ञप्ति जारी गर्दै ४ गतेदेखि ३० दिनसम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न प्रशासनले निषेधात्मक आदेश जारी गरेको छ ।

एक वा सोभन्दा बढी समूहद्धारा एकै मिति, समय र स्थानमा भेला भई अनसन, धर्ना, घेराउ र विरोध प्रदर्शन जस्ता कार्यक्रम आयोजना गर्दा विभिन्न समूहबीच आपसी विवाद, झैझगडा, मुठभेड एवम् भिडन्त भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने कारणले माइतीघर मण्डलाबाट बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताउनुभयो ।

आन्दोलन वा विरोधका कार्यक्रम गर्दा सो क्षेत्रमा रहेका सार्वजनिक सेवा प्रदायक निकायको कामकारवाही, सार्वजनिक सम्पत्ति संरक्षण एवम् सुरक्षामा प्रत्यक्ष नकारात्मक असर पर्न सक्ने र एम्वुलेन्स, दमकल तथा सार्वजनिक यातायात अवरुद्ध हुने अवस्था समेत भएकोले प्रशासनले निषेधित क्षेत्र तोकेको प्रजिअ बस्नेतले जानकारी दिनुभयो ।

रुपन्देहीमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु

लुम्बिनी, ४ मङ्सिर : सिद्धार्थ राजमार्गको बुटवल–भैरहवा खण्डअन्तर्गत रुपन्देहीको तिलोत्तमास्थित ड्राइभरटोलमा आज मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

मोटरसाइकलमा मणिग्रामतर्फ जाँदै गरेका रुपन्देहीका सहकारी अभियन्ता माधव देवकोटा सवार लु४९प २२३० नंको मोटरसाइकललाई तिलोत्तमा नगरपालिकाको ड्राइभरटोलमा ना६ख ८१६१ नं ट्रकले ठक्कर दिँदा देवकोटासँगै मोटरसाइकलमा सवार तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी यादा क्षेत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

तिलोत्तमा उद्योग वाणिज्य सङ्घका सल्लाहकारसमेत रहेका देवकोटा सङ्घले मणिग्राममा आयोजना गरेको व्यापार मेलातर्फ जाँदै गर्दा दुर्घटना भएको हो ।

फिल्ड अस्पतालका लागि बन्दोबस्तीको सामान सोमबार गाजा पुग्यो

इजरायल र गाजा क्षेत्रको शासक हमासबीच अक्टोबर ७ मा भएको युद्धपछि पहिलो पटक जोर्डनले पठाएको फिल्ड अस्पतालका लागि बन्दोबस्तीका सामान सोमबार गाजा पट्टीमा पुगेको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् ।

गाजा अस्पतालका महानिर्देशक मोहम्मद जकाउतले भन्नुभयो, “अक्टोबर ७ पछि प्रत्येक दिन सयौं घाइतेहरूको आगमन र हवार्ई आक्रामक जारी छ । घाइते र बिरामीहरूलाई लिनको लागि दक्षिणी अस्पतालहरूले सामना गरिरहेको विपत्तिपूर्ण परिस्थितिका कारण खान युनिसमा फिल्ड अस्पतालको स्थापना गर्न लागिएको हो ।

गाजामा करिब ३० हजार घाइते व्यक्तिहरूले उपचारको पर्खाइमा रहेको हमास शासित क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।गाजामा मृत्यु हुनेको सङ्ख्या १३ हजार नाघेको र तीमध्ये अधिकांश सर्वसाधारण रहेको मन्त्रालयले आइतबार जनाएको छ ।

इजरायली अधिकारीहरूका अनुसार हमासका लडाकूहरूले दक्षिणी इजरायलमा आक्रमण गर्दा करिब एक हजार २०० जनाको मृत्यु भएको थियो जसमा अधिकांश सर्वसाधारण पनि थिए भने करिब २४० जनालाई बन्धक बनाइएको थियो ।

हप्तौंदेखिको भीषण बमबारी र इन्धन तथा स्वास्थ्य सामग्रीको चरम अभावका कारण गाजाका अधिकांश अस्पतालले काम गर्न छाडेका छन् ।गाजास्थित ‘मेडिकल एड’का प्रमुख एड यागीले फिल्ड अस्पतालले विद्यमान स्वास्थ्य सेवाहरूको दबाब कम गर्न मद्दत गर्ने बताउनुभयो ।

याघीले एएफपीसँग भन्नुभयोे, “सीमित स्वास्थ्यकर्मीको सङ्ख्या र एम्बुलेन्स सेवाले तत्कालका लागि उपचार सेवा प्रबाह गर्नेछन् । जोर्डनको फिल्ड अस्पताल १७ जना सुरक्षाकर्मी र ४० ट्रक मेडिकल सहायतालिएर गाजा पुगेको थियो ।

इजिप्टसँगको राफा नाका हुँदै गाजा प्रवेश गर्ने सबै सामान र व्यक्तिहरू इजरायली स्वीकृतिमा मात्र प्यालेष्टिनी क्षेत्रमा प्रवेश गर्न पाउँछन् । गाजाको ‘क्रसिङ अथोरिटी’का प्रमुख हिशाम अद्वानले कुवेतबाट छ वटा एम्बुलेन्स पनि सोमबार गाजा प्रवेश गरेको जानकारी दिनुभयो ।

चीन-फ्रान्स सम्बन्ध नयाँ उचाइमा पुर्याउँन राष्ट्रपति सीको आग्रह

चिनियाँ राष्ट्रपति सी चिन फिङले सोमबार आफ्ना फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोनसँग चीन-फ्रान्स मित्रतालाई अगाडि बढाउन र सम्बन्धलाई नयाँ उचाइमा पुर्याँउन आह्वान गर्नुभएको छ। सन् २०२४ मा द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वार्षिकोत्सव मनाइँदै गर्दाको पूर्वसन्ध्यामा दुवै पक्षले इतिहासका विभिन्न कालखण्डका आवश्यकतालाई बुझेर मौलिक नियतमा अडिग रहनुपर्ने र परम्परागत मित्रतालाई अगाडि बढाउनुपर्ने राष्ट्रपति सीको धारणा छ ।

समकक्षी म्याक्रोनसँगको टेलिफोन वार्तामा राष्ट्रपति सीले चीन-फ्रान्स सम्बन्धलाई नयाँ उचाइमा पुर्याभउनुपर्ने धारणा व्यक्त गर्नु भएको हो । राष्ट्रपति सीले चिनियाँ बजारमा फ्रान्सेली उत्पादनको बढ्दो अवस्थामा रहेकोमा चीन खुसी रहेको भन्दै चीनमा फ्रान्सेली उद्यमहरूको थप लगानीलाई स्वागत गर्ने बताउनु भएको छ ।

टेलिफोन वार्तामा उहाँले फ्रान्समा चिनियाँ उद्यमहरूको लगानीका लागि फ्रान्सले निष्पक्ष र भेदभावरहित व्यापारिक वातावरण उपलब्ध गराउने आशा पनि चीनले लिएको उल्लेख गर्नु भएको छ ।

‘टिकटक चलेको भए खबर गरौँ’: नेपाल दूरसञ्चार प्राधिकरण

काठमाडौँ, ४ मङ्सिर : नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक प्रयोग/पहुँच भइरहेको पाइएमा सोको खबर गर्न आग्रह गरेको छ । नेपाल सरकारले सामाजिक सद्भावमा असर परेको भन्दै प्रतिबन्ध लगाएपछि दूरसञ्चारले उक्त निर्णय कार्यान्वयन गराएको हो ।

नेपालमा अझै पनि टिकटक प्रयोग भइरहेको हुनसक्ने भन्दै प्राधिकरणले त्यस्तो भेटिए खबर गर्न एक सार्वजनिक सूचना जारी गरेको हो । सरकारको निर्णय कार्यान्वयनका लागि सबै इन्टरनेट सेवा प्रदायक र मोवाइल सेवा प्रदायकलाई पत्र पठाएर टिकटक बन्द गर्न निर्देशन दिएको थियो ।टिकटकमा पहुँच पुगेको भए टिकटक चलिरहेको वा प्रयोग भइरहेको भए प्राधिकरणको इमेल ठेगाना [email protected] मा इमेल गरी त्यस्तो कम्पनीका बारेमा जानकारी गराउन हुन इन्टरनेट सेवाग्राहीहरुलाई उक्त सूचनामार्फत अनुरोध गरिएको छ ।

गृह प्रशासन सुधारको पहल, पूर्वमुख्यसचिवको नेतृत्वमा समिति गठन

काठमाडौँ, ४ मङ्सिर : सरकारले गृह प्रशासन सुधारको पहल थालेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह प्रशासन सुधारका लागि नीतिगत पहल थाल्नुभएको हो । गृहमन्त्री श्रेष्ठले गृह प्रशासनको नीतिगत सुधारको सुझाव पेस गर्नका लागि पूर्वमुख्यसचिव लीलामणि पौडेलको संयोजकत्वमा एक समिति र अन्य पाँच उपसमिति गठन गरेर आवश्यक कार्यादेश दिनुभएको छ ।

विगतमा नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको, मिटरब्याजीविरुद्ध कानुनी व्यवस्था गरी उक्त समस्या समाधान गर्नाका साथै ललिता निवास प्रकरणको फाइल पुनः खोल्न अग्रसरता लिनुभएका उपप्रधानमन्त्री श्रेष्ठले अब भने गृह प्रशासनको नीतिगत सुधारमा आफूलाई केन्द्रित गरेको जानकारी दिनुभयो ।

आज गृह मन्त्रालयमा प्रशासन तथा सुरक्षा क्षेत्रका विज्ञहरूसँग अन्तरक्रिया गर्नुभएका उहाँले त्यसलगत्तै पत्रकार भेटघाटको कार्यक्रम गरी सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन गृह मन्त्रालय र अन्तर्गतका निकायको प्रभावकारिताका लागि आवश्यक सुझाव दिने गरी पौडेलको नेतृत्वमा समिति बनाइएको बताउनुभयो ।

“गृह प्रशासनलाई सबल र सक्षम बनाउन, जनताको सुरक्षाको निश्चितता गर्न र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन गृह मन्त्रालय र अन्तर्गतका निकायहरूको कार्यसम्पादन चुस्त हुनु जरुरी छ”, गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “यस प्रक्रियामा देखिएका समस्या तथा कमी कमजोरी र चुनौती पहिचान गरी सुधारका क्षेत्र तथा उपायहरू र त्यसको कार्ययोजनासमेत तयार गर्नु जरुरी देखिएकाले यो समिति बनाइएको हो ।”

यसका लागि एक समिति र अन्तर्गत विषयगत उपसमितिहरू गठन गरिएको श्रेष्ठले जानकारी दिनुभयो । समितिमा रहेका व्यक्तिहरूबाट स्वयम्सेवाका रूपमा प्रतिवेदन प्राप्त गर्ने अपेक्षा गरेको श्रेष्ठको भनाइ छ ।

गृहमन्त्रीले शान्ति सुव्यवस्था कायम राख्न, सेवालाई पारदर्शी, परिणाममुखी तथा चुस्त बनाउन, सङ्गठन तथा कर्मचारीलाई उत्तरदायी, सक्षम एवम् जवाफदेही बनाउन, नीतिगत, कानुनी तथा कार्यगत सुधारका क्षेत्रहरू पहिचान र कार्ययोजनाहरू तर्जुमा गर्न अध्ययन समिति तथा विषयगत उपसमितिहरूले सुझवा पेस गर्ने जानकारी दिनुभयो ।

विषय क्षेत्रगत उपसमितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन प्रशासन, कारागार प्रशासन, जिल्ला प्रशासन तथा इलाका प्रशासन, सीमा प्रशासन, सेवा प्रवाह, खरिद व्यवस्थापन र राष्ट्रिय परिचयपत्र प्रणाली रहेको छ ।

पूर्वमुख्यसचिव तथा उक्त समिति संयोजक लीलामणि पौडेलले गृह प्रशासन सुधारले धेरै ठाउँमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो । गृहमात्र नभएर अन्य मन्त्रालयको पनि सुधार हुनुपर्ने उहाँको भनाइ छ । प्रतिवेदन बुझाउने र थन्क्याउने काममात्र नभएर त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनुहुँदै पौडेलले आफूहरूले स्वयम्सेवी रुपमा काम गर्ने जानकारी दिनुभयो ।

भूकम्पप्रभावित क्षेत्रका नागरिकको जीवनरक्षा गर्न एमालेको आग्रह

काठमाडौँ, ४ मङ्सिर : नेकपा (एमाले)को भूकम्पप्रभावित जिल्लाका नागरिकको जीवनरक्षाका लागि उचित प्रबन्ध गर्न सरकारसँग आग्रह गरेको छ । पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा भूकम्पप्रभावित जिल्लाका नागरिकले उपचार नपाएर मृत्यु भएको खबरले दुःखित तुल्याएको उल्लेख गर्दै उनीहरूको जीवन रक्षाका लागि उचित प्रवन्ध गर्न आग्रह गरिएको छ ।

सरकारले वृद्ध, दीर्घरोगी, बालक, महिला, सुत्केरीलाई समयमा आवास, उपचार उपलब्ध गराउन नसक्दा दुःखद घटना भएको एमालेले जनाएको छ ।यसैगरी एमालेले भूकम्पपीडितहरुको पुनःस्थापना र पुनःनिर्माणमा सहयोग गर्नका लागि भूकम्पप्रभावित क्षेत्रमा पार्टीका केन्द्रीय सदस्य किरण पौडेलको संयोजकत्वमा एक हजार एक सय जनाको स्वयम्सेवक टोली खटाएको छ ।  

युवा संघले मंसिर ७ गते युवा–विद्यार्थी विशेष कार्यक्रम गर्ने

काठमाडौँ – नेकपा एमालेको भ्रातृ संगठन युवा संघले मंसिर ७ गते नै युवा–विद्यार्थी विशेष कार्यक्रम काठमाडौंको तीनकुनेमा गर्ने जनाएको छ । सोमबार एक सूचना जारी गर्दै युवा संघले सो कुरा जानकारी गराएको हो ।

सरकारले माइतीघरदेखि नयाँ बानेश्वरसम्म ३० दिनका लागि निषेधित क्षेत्र घोषणा गरेको भए पनि युवा संघले तोकिएकै मिति र समयमा कार्यक्रम गर्ने बताएको हो । मंसिर ७ गते नै व्यवसायी दुर्गा प्रसाईको समूहले पनि काठमाडौँमा विरोध प्रदर्शनको कार्यक्रम गर्दैछ।

त्रिभुवन विमानस्थलबाट कोकिनसहित एक महिला पक्राउ

काठमाडौँ, ४ मङ्सिर : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले कोकिनसहित आज एकजना भारतीय महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३२ वर्षीया भारतीय नागरिक किम्रो साङ्गी रहेकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पक्राउ परेकी निज महिला इथियोपियाबाट गएराति कतारको दोहा हुँदै आज काठमाडौँ विमानस्थलमा ओर्लिएकी र काठमाडौँबाट भूटान जान लागेको अवस्थामा लागुऔषध नियन्त्रण ब्यूरोको टोलीलाई प्राप्त सूचनाअनुसार पक्राउ गरिएको हो ।”

पक्राउ परेकी निज महिलाका साथबाट लागु औषध नियन्त्रण ब्यूरोको टोलीले एक किलो नौ सय ७३ ग्राम कोकिन बरामद गरेको विमानस्थलका सुरक्षा प्रमुख तथा प्रहरी नायब महानिरीक्षक चन्दले बताउनुभयो ।

प्यालेस्टाइन-इजरायलको बिग्रदो अवस्था बारे चिनियाँ राष्ट्रपति सी र फ्रान्सेली राष्ट्रपति म्याक्रोन चिन्तित

चिनियाँ राष्ट्रपति सी चिनफिङ र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार प्यालेस्टाइन-इजरायल बीचको बिग्रदो अवस्था बारे चिन्ता व्यक्त गर्नु भएको छ ।

उहाँहरूले त्यहाँको अवस्था थप बिग्रनबाट जोगिनका लागि विशेष गरी थप गम्भीर मानवीय सङ्कट बढ्न नदिन सचेत हुन आग्रह गर्नु भएको छ । दुई राष्ट्र प्रमुखहरूले टेलिफोन कुराकानीमा प्यालेस्टाइन-इजरायली द्वन्द्व समाधान गर्न दुई-राज्य समाधान नै आधारभूत उपाय र उत्तम विकल्प रहेको औल्याउँनु भएको छ ।

आर्थिक सङ्कटमोचनको सूत्र खोज्दै सरकार

काठमाडौँ, ४ मङ्सिर : सुधारका अनेकौँ प्रयासका बाबजुद पनि मुलुकको अर्थतन्त्र लयमा फर्किन नसकेपछि सरकार अबको बाटो कसरी तय गर्ने भन्ने खोजीमा छ ।मुलुकको वर्तमान आर्थिक अवस्थाबारे जानकारी लिन आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न विषयगत मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायत निकायसँग छलफल गर्नुभएको छ । सत्तारूढ दल नेपाली कांग्रेसको आजै बसेको पदाधिकारी बैठकमा पनि मुलुकको अर्थतन्त्रको अवस्थाबारे छलफल भएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रको विद्यमान अवस्थाबारे कांग्रेस पदाधिकारी बैठकमा जानकारी गराउनुभएको थियो । उक्त बैठकमा मुख्यगरी अर्थतन्त्रलाई गति दिन सरकारले तत्काल कुनै कदम चाल्नुपर्ने, जाजरकोट भूकम्पपीडितलाई थप राहत उपलब्ध गराउने र पुनर्निर्माणको काम अघि बढाउनेबारे छलफल भएको जनाइएको छ ।

पछिल्लो समय अर्थतन्त्रका बाह्य सूचकमा सामान्य सुधार देखिए पनि आन्तरिक सूचक अरू अझै सङ्कटग्रस्त छन् । सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन प्रभावकारी हुन नसक्नु, न्यून पूँजीगत खर्च, कर्जा प्रवाहमा कमी तथा चर्को ब्याजदर, उपभोक्ता मागमा कमी, निजी क्षेत्रको घट्दो मनोबल, आन्तरिक उत्पादकत्व बढ्न नसक्नुलगायत समस्या अहिले देखिइरहेका छन् ।

अर्थतन्त्रका यी समस्या सुधारका प्रयास थाल्न निकै ढिलो भइसकेको भनेर निजी क्षेत्रबाट सरकारलाई निरन्तर दबाब आइरहेको छ । विद्यमान आर्थिक सङ्कटको समाधान खोज्ने भन्दै निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घले गत असोज २५ गते ‘राष्ट्रिय आर्थिक बहस’ आयोजना गरेको थियो । उक्त बहसका क्रममा निजी क्षेत्रको प्रस्तावपछि प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय संयन्त्र गठन गर्न सकिने बताउनुभएको थियो । त्यसलगत्तै, गत असोज २८ गते लन्डनबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग अर्थमन्त्री डा प्रकाशशरण महतले पनि अर्थतन्त्रलाई गति दिने विषयमा थप कुनै प्रयास थाल्नुपर्ने आवश्यकता महसुस भएमा सरकारले त्यस्तो निर्णय लिनसक्ने बताउनुभएको थियो ।

अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सबै पक्ष र क्षेत्र जिम्मेवारीका साथ सामूहिक प्रयासमार्फत अघि बढ्नुपर्नेमा सरकार र निजी क्षेत्र एकमत छन् । निजी क्षेत्रले तत्काल आर्थिक सुधार आयोग वा अन्य कुनै उच्चस्तरीय कानुनी हैसियत भएको संयन्त्र गठन गर्न जरुरी रहेको बताउँदै आएको छ । लामो समयसम्म आर्थिक गतिविधि सुस्त रहेर आर्थिक मन्दीको अवस्थामा पुगिसकेको बेला चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत सरकारले केही नीतिगत तथा प्रक्रियागत सुधारका प्रयास थालेको थियो । तर त्यसको कार्यान्वयनको अवस्था भने फितलो देखिएको छ । वार्षिक नीति तथा कार्यक्रम र बजेटमार्फत थालिएका सुधारका प्रयासको कार्यान्वयनको अवस्थाबारे प्रधानमन्त्रीको चासो छ ।

त्यस्तै, सरकार आगामी वैशाख पहिलो साता अन्तर्राष्ट्रिय लगानी सम्मेलनको तयारीमा छ । लगानी सम्मेलन आयोजना गर्ने प्रस्ताव मन्त्रिपरिषद् पुगिसकेको छ । अहिलेकै अवस्थामा लगानी सम्मेलन आयोजना गर्दा लगानीकर्ता विश्वस्त हुने आधार नदेखेपछि सरकार थप नीतिगत, प्रक्रियागत र व्यावहारिक सुधारका ठाउँ पहिल्याइरहेको बुझ्न सकिन्छ ।

कस्तो छ अर्थतन्त्रको अवस्था ?

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा सरकारले वार्षिक लक्ष्यको २० प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा सरकारको बजेट खर्च रु तीन खर्ब ५५ अर्ब ६३ करोड ४० लाख बराबर छ ।

सरकारले चालु आर्थिक वर्षका लागि रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको वार्षिक बजेट विनियोजन गरेको थियो । कात्तिक मसान्तसम्मको खर्चको अवस्था हेर्दा चालुतर्फ २३ दशमलव ७५, पूँजीगततर्फ नौ दशमलव ९३ र वित्तीय व्यवस्थातर्फ १७ दशमलव ७२ प्रतिशत छ ।

त्यस्तै, यही अवधिमा सरकारको राजस्व सङ्कलन पनि निराशाजनक अवस्थामा देखिएको छ । पहिलो चौमासिक अवधिमा सरकारको राजस्व सङ्कलन वार्षिक लक्ष्यको २० दशमलव ०८ प्रतिशत बराबर छ । चालु आर्थिक वर्षका लागि कूल १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख बराबर राजस्व उठाउने लक्ष्य राखिएकामा कात्तिक मसान्तसम्ममा रु दुई खर्ब ७६ अर्ब ६४ करोड बराबर मात्रै उठेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक अवधिमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विवरणअनुसार गत असोज मसान्तसम्ममा मुद्रास्फीतिले वाञ्छित सीमा नाघेको छ । यो अवधिमा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति सात दशमलव ५० प्रतिशत रहेको छ । जबकि बजेट वक्तव्यमार्फत सरकारले चालु आर्थिक वर्षका लागि मुद्रास्फीति साढे छ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको थियो । बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तार हुन सकेको छैन ।

अर्थतन्त्रको बाह्य क्षेत्रमा भने सकारात्मक सुधार हुँदै गएको देखिएको छ । गत कात्तिक मसान्तसम्ममा विप्रेषण आप्रवाह ३० प्रतिशतले वृद्धि भई रु तीन खर्ब ६५ अर्ब ३४ करोड पुगेको छ । त्यस्तै सरकारको चालु खाता रु ५९ अर्ब नौ करोडले बचतमा छ । शोधनान्तर स्थिति रु ९९ अर्ब सात करोडले बचतमा छभने कूल विदेशी विनिमय सञ्चिति रु १५ खर्ब ३९ अर्ब ३६ करोड पुगेको छ । हालको विनिमय सञ्चितिले १२ दशमलव चार महिनाको वस्तु आयात र १० दशमलव तीन महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । पहिलो त्रैमासिक अवधिमा आयात एक दशमलव सात प्रतिशतले बढेको छभने निर्यात दुई दशमलव तीन प्रतिशतले घटेको छ । कूल वस्तु व्यापार घाटा दुई दशमलव एक प्रतिशतले बढेको छ ।

नेपाल उद्योग परिसङ्घ (सिएनआई)ले गरेको एक अध्ययन (बजेट वाच) बाट मुलुकको अर्थतन्त्र र निजी क्षेत्रसँग जोडिएका बजेटका योजना तथा कार्यक्रमको वास्तविक प्रगति निकै न्यून रहेको देखिएको थियो । गत आर्थिक वर्ष २०७९/८० को बजेटमा निजी क्षेत्र र अर्थतन्त्रसँग जोडिएका ६२ वटा योजना तथा कार्यक्रमको विश्लेषण गर्दा ३५ प्रतिशत अर्थात् २२ वटा बुँदामा शून्य प्रगति देखिएको छ । त्यस्तै, २९ वटा बुँदा अर्थात् ४७ प्रतिशत आंशिक कार्यान्वयन र ११ बुँदा अर्थात् १८ प्रतिशत पूर्ण कार्यान्वयन भएको देखिएको छ ।

अस्पताल खाली गर्ने निर्देशनपछि गाजाबाट उद्धार गरिएका २९ शिशुलाई इजिप्ट ल्याइयो

इजरायल र प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक समूह (हमास) बीच युद्धको केन्द्रबिन्दु बनेको गाजाको सबैभन्दा ठूलो अस्पतालबाट उद्धार गरिएका महिना नपुग्दै जन्मिएका २९ शिशुलाई सोमबार इजिप्ट ल्याइपु¥याइएको इजिप्टका सञ्चारमाध्यमले जनाएका छन् ।

इजरायलले उक्त अस्पतालको मुनि सुरुङमा हमासको अखडा रहेको हुनसक्ने भन्दै अस्पताल खाली गर्न निर्देशन दिएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आइतबार ‘डेथ जोन’ को संज्ञा दिएको अल–शिफा अस्पतालबाट ती शिशुलाई उद्धार गरी इजिप्ट ल्याएको हो ।

इजिप्टको सरकारी सञ्चारमाध्यम अल–काहेरा न्यूजका अनुसार ती बच्चाहरू इजरायलको नियन्त्रणमा नरहेको प्यालेस्टाइनी क्षेत्रमा प्रवेश गर्ने र बाहिरिने एक मात्र नाका राफा क्रसिङ हुँदै इजिप्ट आइपुगेका हुन् ।

सुरुमा ३१ जना बच्चालाई अल–शिफाबाट गाजाको अर्को क्लिनिकमा लगिएको र २९ जना मात्र इजिप्ट किन आए भन्ने बारे तत्काल स्पष्ट हुन सकेको छैन ।अल काहेरा न्यूजका अनुसार सोमबार स्थानान्तरण गरिएका शिशुलाई ‘ब्याबी इन्क्युबेटर’मा राखिएको छ ।

यसैबचि गाजा पट्टीबाट ४५ किलोमिटर पश्चिममा रहेको एल अरिश अस्पतालमा पु¥्याइएका सबै शिशुको उपचार हुन नसक्ने एक चिकित्सकीय स्रोतले एएफपीलाई बताएको छ ।“एल अरिश अस्पतालमा पर्याप्त ‘इन्क्युबेटर’ छैनन् र केही बच्चालाई इस्माइलिया वा कायरोमा स्थानान्तरण गर्नुपर्ने देखिएको छ,” स्रोतले भनेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले संयुक्त राष्ट्रसङ्घ र प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीको संयुक्त पहलमा ३१ शिशुलाई सारिएको बताएका छन् ।रेड क्रिसेन्टले भनेको छ, “चिकित्सकीय सामग्रीको अभाव र अल–शिफा अस्पतालमा सङ्क्रमण नियन्त्रणका उपायहरू जारी राख्न असम्भव भएका कारण सबै बच्चाहरू गम्भीर सङ्क्रमणसँग लडिरहेका छन् ।

हमासको नियन्त्रणमा रहेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले कुनै पनि शिशु परिवारका सदस्यसँग नरहेको डब्लुएचओले प्रारम्भिक उद्धारका क्रममा जनाएको छ ।

असहाय, अनाथ र अशक्तलाई सम्बोधन गर्न कानुन तर्जुमा गरिन्छ : प्रधानमन्त्री

काठमाडौँ, ४ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेवारिसे, असहाय, अनाथ, अशक्त, जोखिममा परेका सहयोगापेक्षी सडक आश्रित मानवको समुचित व्यवस्थापन गर्न कानुन तर्जुमा गर्ने बताउनुभएको छ । उहाँले सङ्घीय संसद्को आगामी अधिवेशनमा सरकारले सो सम्बन्धी विधेयक तयार गरी पेस गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मानव सेवा आश्रमले आज यहाँ आयोजना गरेको ‘मेची महाकाली राष्ट्रिय उद्धार यात्रा २०८०’को समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अनाथ, अशक्त, जोखिममा परेका नागरिकको संरक्षणका लागि कानुन नै बनाएर कार्यान्वयन गरिने बताउनुभयो ।

यस्तै, सङ्घ, प्रदेश र स्थानीय सरकारले सहयोगापेक्षी सडक मानव व्यवस्थापन गर्न आ–आफ्नो तहबाट कार्यक्रम तथा बजेट विनियोजन गर्न आवश्यक पहल तथा समन्वय गर्ने प्रधानमन्त्री दाहालले विश्वास दिलाउनुभयो ।

मानव सेवा आश्रमलाई सरकारी तथा सार्वजनिक जग्गा, भवनको प्रयोग तथा संरचना निर्माण, उद्धार वाहनलगायत अत्यावश्यक सेवामा आवश्यक सहयोग गर्न नेपाल सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्न तथा सरकारले घोषणा गरेको नीतिको प्रभावकारी कार्यान्वयन गर्न एक महिनाभित्र नेपाल सरकारको मन्त्रिपरिषद्बाट निश्चित कार्ययोजना स्वीकृत गरी अघि बढ्ने गरी पहल लिने विश्वास दिलाउँछु ।”

मानव सेवाको भावनाद्वारा ओतप्रोत भई आश्रमले निर्वाह गरेको भूमिकाको उच्च सम्मान गर्दै प्रधानमन्त्री दाहालले यस महाअभियानको सफलताको कामना गर्नुभयो ।

सातवटै प्रदेशमा आफ्नो शाखा तथा सेवा केन्द्रहरु सञ्चालन गरी खुला आकाशमुनि रहेका सात हजारभन्दा बढी सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, उपचार, पालनपोषण तथा परिवार भेटिएका वा भेटिन सम्भव नभएकाको परिवारको खोजी गरी परिवारमा पुनर्मिलन गराएको प्रधानमन्त्रीको भनाइ छ ।

यस्तै, आश्रममा उद्धार, उपचार, गाँसबासको प्रबन्ध गर्दै देशलाई नै सडक मानवमुक्त नेपाल घोषणा गर्ने आश्रमको आकाङ्क्षा, सङ्कल्प र पहललाई प्रधानमन्त्रीले सम्मान व्यक्त गर्नुभयो । “मुठ्ठीदान, जन्मदिन, विवाह वर्षगाँठ, उत्सव, वार्षिकोत्सव, पदोन्नति, विभिन्न पर्व र मानव सेवाको भावनाद्वारा ओतप्रोत जनसमुदायको सहयोगबाट देशैभरि यति धेरै संरचना, सहयोगापेक्षी नागरिकको उद्धार, उपचार र जीविकोपार्जन र अभियन्ता परिचालन गर्नुभएको जानकारी पाउँदा म निकै हर्षित भएको छु,” प्रधानमन्त्रीले भन्नुभयो ।

राज्यले नै गर्नुपर्ने यस प्रकारको महत्त्वपूर्ण अभियान र जिम्मेवारी बहनका लागि यस अभियानमा संलग्नलाई आभार व्यक्त गर्दै प्रधानमन्त्रीले यो अभियानमा सरकार साथमा रहेको विश्वास दिलाउनुभयो ।

“यति कष्टसाध्य काम पनि खुला हृदयका साथ, निरन्तर र अविचलित रुपमा सञ्चालन गर्नुभएको कुरा हामी सबैका निम्ति थप प्रेरणादायी छ । यस सन्दर्भमा महाअभियानमा अविचलित रुपमा क्रियाशील हुनका लागिसमेत सबै अभियन्ताहरुमा विशेष अपिल गर्दछु,” प्रधानमन्त्रीले भन्नुभयो ।

कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल, गायिका आनी छोइङ डोल्मा, हास्यकलाकार मनोज गजुरेल लगायतको उपस्थिति थियो ।

गत असोज २६ गतेदेखि यही ३ गतेसम्म भएको मेची महाकाली राष्ट्रिय उद्धार यात्रा देशका प्रमुख सहरहरूमा सञ्चालन गरिएको कार्यक्रममा जानकारी दिइएको थियो । अभियानका क्रममा तीन सय सहयोगापेक्षी सडक आश्रित मानको उद्धार गरी उनीहरुको मानवोचित व्यवस्थापन गरिएको थियो ।

चितवनमा पाटेबाघ मृत फेला

भरतपुर, ४ मङ्सिर : चितवनमा पाटेबाघ मृत फेला परेको छ । भरतपुर महानगरपालिका–२७ स्थित चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत हरियाली सामुदायिक वनमा आज बिहान बाघ मृत फेला परेको हो ।

अन्दाजी छ/सात वर्षको पोथी बाघ मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । बाघ एक आपसमा जुँधेर मृत्यु भएको अनुमान गरिएको उहाँले बताउनुभयो । निकुञ्जको प्राविधिक टोलीले बाघ कसरा ल्याएर पोष्टमाटमको तयारी गरेको छ ।

सन् २०२२ मा भएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा बाघ रहेका छन् ।

चलचित्रमा ‘स्क्रिप्ट डाक्टर’को प्रयोग, के भन्छन् अभिनेता खगेन्द्र लामिछाने ?

काठमाडौँ – चलचित्र राम्रो बन्न कथासँगै पटकथा पनि सशक्त हुनुपर्छ । नेपाली चलचित्रमा उठान गरिएका विषयवस्तुले प्रशंसा पाए पनि पटकथामा भन समस्या देखिने गरेको धेरैको टिप्पणी सुनिन्छ । यही समस्या समाधानका लागि पछिल्लो समय चलचित्रमा ‘स्क्रिप्ट डाक्टर’ को प्रयोग बढेको पाइन्छ । पटकथामा देखिएका समस्या, त्यसको सम्भावित समाधान औँल्याउने काम स्क्रिप्ट डाक्टरले गर्छन् ।

‘टलकजङ्ग भर्सेस टुल्के’, ‘पशुपति प्रसाद’ जस्ता मौलिक कथा लेख्नुभएका लेखक तथा अभिनेता खगेन्द्र लामिछाने प्राय आफैँ लिखित चलचित्रमै अभिनय गर्नुहुन्थ्यो । तर पछिल्लो समय उहाँले अन्य लेखकद्वारा सिर्जित पात्रमा समेत काम गर्नुका साथै पटकथा लेखनमा सहयोग पनि लिन थाल्नुभएको छ । उहाँले लेख्नुभएको पछिल्लो चलचित्र ‘पशुपति प्रसाद २ ः भष्मे डन’ मा स्क्रिप्ट डाक्टरका रुपमा निर्देशक मनोज पण्डितलाई राख्नुभयो । लेखकका रुपमा यो निकै सहयोगी रहेको अनुभव गरेको उहाँले बताउनुभयो ।

“हामीले कथा लेखनका क्रम गरिरहेका गल्ती औँल्याउने भएकाले मलाई निकै उपयोगी रह्यो । म लेखक रुपमा स्थापित भए पनि उहाँको सहयोगले पटकथालाई राम्रो बनाउने मौका पाएँ”, अभिनेता लामिछानेले भन्नुभयो । नेपाली चलचित्र ‘लूट’ मार्फत प्रस्तुतीकरण, कथ्य शैली र पात्र आवरणमा भिन्नता ल्याउन सफल निर्देशक निश्चल बस्नेत लेखक पनि हुनुहुन्छ । उहाँले लेखनका क्रममा कमजोरी छुट्याउन सहज नहुने बताउनुभयो ।

“मैले लूट शृङ्खला आफैँले लेखे । पहिलो शृङ्खलामार्फत निर्देशनमा स्थापित भएँ । तर दोस्रोमा पटकथाभन्दा चरित्रलाई प्राथमिकतामा राखे । कही कतै चरित्रमा स्टारडम (लोकप्रियता) हाबी भयो”, निर्देशक बस्नेतले भन्नुभयो, “मैले नयाँ चलचित्र दिमाग खराबमा अरुकै लेखनमा काम गरेँ । निर्देशक भएकाले लेखनमा मेरो सहभागिता थियो । त्यसमा स्क्रिप्ट डाक्टर जोडिनुभएपछि समस्या र त्यसको समाधान पनि बुझ्न पायौँ ।”

उहाँले पटकथामा उचित सल्लाह दिएर समाधान निकाल्नसके चलचित्र पर्दामा आएर उब्जिने प्रश्नहरू लेखनकै क्रममा समाधान हुने बताउनुभयो । ‘जात्रा’ र ‘जात्रै जात्रा’ निर्देशन गरेर स्थापित हुनुभएका निर्देशक प्रदीप भट्टराईले लेखक र निर्देशक एउटै व्यक्ति हुँदा छायाङ्कनका क्रममा सहज हुने भए तापनि त्यस अगाडि लेखनकै क्रम रचनात्मक सुझाव उपयोगी हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “आफैँले लेखेको कथामा पात्रसँग बढी नजिकिनु स्वाभाविक हो । छायाङ्कनमा समस्या देखिए परिवर्तन गर्न सकिन्छ । यद्यपि लेखनका क्रममा हामी विषयभन्दा बाहिर गइरहेका हुन्छौँ । त्यही कारणले कथा राम्रो भए तापनि पटकथामा समस्या देखिने गर्छ ।” उहाँले पटकथा लेखनमा मेहनत आवश्यक रहेको बताउनुभयो ।

लेखनका क्रम सहयोगी हुने अनुभवकै कारण नेपाली चलचित्रमा ‘स्क्रिप्ट डाक्टर’ को प्रयोग बढ्न थालेको छ । केही निर्देशकले आफ्नो भरपर्दो निर्देशक वा लेखकलाई पटकथा दिएर सुझाव लिने गरेका छन् । तर, आफ्नो कार्यकौशलतामा प्रश्न उठ्ने डरले त्यो सार्वजनिक गरिँदैन ।

यद्यपि पछिल्लो समय ‘स्क्रिप्ट डाक्टर’को प्रयोग बढेसँगै रचनात्मक सुझावका लागि निर्देशक र लेखक खुलेर सल्लाह गर्न थालेका छन् ।

विस्तृत शान्ति सम्झौताको १७ वर्ष, ‘पीडित अझै न्यायको प्रतिक्षामा’

काठमाडौँ, ४ मङ्सिर : नेपालमा चलेको दशवर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता भएको आज १७ वर्ष पूरा भएको छ । तर द्वन्द्वमा प्रत्यक्ष प्रभावित भएका पीडितले अहिलेसम्म न्याय पाउन सकेका छैनन् ।

विसं २०५२ फागुन १ देखि चलेको १० वर्षे सशस्त्र द्वन्द्वलाई शान्ति यात्रामा ल्याउन २०६३ साल मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच १२ बुँदे विस्तृत शान्ति सम्झौता भएको थियो ।

शान्ति सम्झौतापछि देशमा राजनीतिक परिवर्तन भयो । हतियार व्यवस्थापन तथा तत्कालीन माओवादीका लडाकु व्यवस्थापनजस्ता महत्वपूर्ण काम पूरा भयो तर यतिका वर्षसम्म पनि द्वन्द्वपीडितले न्याय र पीडकले सजाय पाएका छैनन् ।

न्यायको माग गर्दागर्दै यतिका वर्ष बितिसकेको छ । द्वन्द्वपीडितको त्यति ठूलो माग पनि छैन । बेपत्ता व्यक्तिको सत्य तथ्य सार्वजनिक गरियोस् । घाइतेलाई उपचारको व्यवस्था होस् । त्यसपछि जीविकाका लागि रोजगार र पढ्नेका लागि शिक्षा भए पुग्छ ।

द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीलाई छिटो न्याय पीडितको अधिकार भएको र त्यो पूरा गर्नका लागि राजनीतिक दलका नेताहरु इमान्दार हुनुपर्छ भन्ने लागेको छ । अधिकारी आफैँ पनि द्वन्द्वपीडित हुनुहुन्छ । सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोहीका तर्फबाट करिब १७ हजारको ज्यान गएको थियो । “कानूनी राज्य हो भने पीडितले न्याय पाउनुपर्छ, राज्यले न्याय दिनुपर्छ, न्याय पाउनु पीडितको अधिकार हो”, द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष अधिकारीले भन्नुुभयो,“दलका नेताहरु इमान्दार भएर पीडितलाई न्याय दिन लाग्नुपर्छ ।”

विस्तृत शान्ति सम्झौतामा के थियो ?

नेपालमा भएको १० वर्षे सशस्त्र द्वन्द्वपछि भएको विस्तृत शान्ति सम्झौताको बुँदा नम्बर ५, २ र ३ मा दुवै पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिको तथा युद्धका समयमा मारिएकाको वास्तविक नाम, थर र घरको ठेगाना सम्झौता भएको मितिले ६० दिनभित्र सूचना सार्वजनिक गरी परिवारजनलाई बुझाउने उल्लेख छ ।

विस्तृत शान्ति सम्झौतामा आफ्ना कब्जामा रहेका मानिसका बारेमा जानकारी सार्वजनिक गरी १५ दिनभित्र सबैलाई मुक्त गर्न दुवै पक्ष मञ्जुर गर्दछन् भनिएको छ । शान्ति सम्झौताअनुरुप नै दुवै पक्ष सशस्त्र द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा शान्ति कायम गर्नका लागि मानवताविरुद्धको अपराधमा संलग्नको सत्य अन्वेषण गरी दोषीलाई कारबाही गर्ने उद्देश्यले सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको २०७१ माघ २७ गते गठन ग¥यो । सरकार र द्वन्द्वरत पक्षबीच सम्झौता भएको साढे आठ वर्षपछि यी दुई आयोग बनेका थिए ।

नेपालको संविधानअनुसार दुई वर्षभित्र सम्पूर्ण काम सक्ने भनेर गठन गरिएका यी दुई आयोगमा पहिलो पदाधिकारीले चार वर्षसम्म पनि काम पूरा गर्न नसकेपछि ती पदाधिकारीलाई बिदाइ गरेर नयाँ पदाधिकारी ल्याएको पनि करिब दुई वर्ष काम गरेर बिदा भए । अझै काम पूरा हुन सकेको छैन ।

पदाधिकारीविहीन दुवै आयोग

नेपालको संविधानअनुसार दुई वर्षभित्र पूरा गर्ने भनिएको सङ्क्रमणकालीन न्याय यतिका वर्षको बितिसक्दा पनि पूरा हुन सकेको छैन । विसं २०७९ साउन १ गतेदेखि दुवै आयोग पदाधिकारीबिहीन छन् । आयोगमा कर्मचारी छन् तर पदाधिकारी छैनन् । राज्यको ठूलो लगानी भएको छ तर पीडितले न्याय पाएको अनुभूति गर्न पाएका छैनन् ।

सत्यनिरुपण तथा मेलमिलाप आयोगमा हालसम्म ६३ हजार ७१८ उजुरी दर्ता भएको छ । तीमध्ये तीन हजारलाई आयोगले तामेलीमा राख्ने निर्णय गरेको थियो । आयोगले द्वन्द्वपीडित परिचयपत्र उपलब्ध गराउने र पीडितलाई परिपूरणको फाराम भराउने र परिपूरणको सिफारिस गर्ने काम प्रारम्भ गरे पनि पदाधिकारी नहुँदा काम अघि बढ्न सकेको छैन ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा तीन हजार २४३ उजुरीमध्ये २३७ उजुरी सत्यनिरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित भएकाले त्यहाँ पठाएको छ । त्यसमध्ये १३१ उजुरी दोहोरो परेको देखिएकाले लगतकट्टा गरिएको छ । साथै, २८९ उजुरीमा सशस्त्र द्वन्द्वका क्रममा व्यक्ति बेपत्ता पारेका भन्नेु नै आधार प्रमाण नदेखिएकाले तामेलीमा राखेको छ । आयोगले दुई हजार ४९६ उजुरीमा विस्तृत छानबिन गरिरहेको छ । उजुरीका आधारमा दुई हजार ५१३ व्यक्ति बेपत्ता पारिएको भनी आयोगको तथ्याङ्कमा उल्लेख छ । तर उजुरीहरु लथालिङ्ग अवस्थामा रहेका छन् ।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका भ्रमणका क्रममा नेपालको सङ्क्रमणकालीन न्याय पूरा गर्न सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो । सङ्घीय संसद्को दुवै सदनलाई गत कात्तिक १९ गते सम्बोधन गर्ने क्रममा उहाँले भन्नुभयो, “नेपालको शान्ति प्रक्रियामा सघाउन पाउँदा राष्ट्र सङ्घ गौरव गर्दछ, यस क्षणमा म नेपालका शान्ति प्रक्रियामा संलग्न नेताहरूप्रति राष्ट्र सङ्घका तर्फबाट सम्मान व्यक्त गर्दछु र राष्ट्र सङ्घ सहयोग गर्न तयार छ ।”

नेपालले शान्ति प्रक्रियाअन्तर्गत सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्षमा पु¥याउन लागेकामा शुभेच्छा व्यक्त गर्नुहुँदै उहाँले पीडित पक्षको अधिकारको रक्षा गर्दै उक्त प्रक्रियालाई टुङ्गोमा पु¥याउन उपयुक्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले थप्नुभयो, “अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्ने, तपाईंको सर्वोच अदालतका निर्णय र पीडितहरूका आवश्यकता पूरा गर्ने प्रक्रियाको विकास गर्न र यसलाई व्यवहारमा ल्याउन संयुक्त राष्ट्र सङ्घ तपाईंहरूलाई सहयोग गर्न तयार छ ।”

महासचिव गुटेरेसको नेपाल भ्रमणका क्रममा नेपालको शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सहयोग पछि पीडितहरुमा न्याय पाउने आशा पलाएको थियो । संयुक्त राष्ट्र सङ्घ सङ्क्रमणकालीन न्यायको विषयलाई निकै चासोका साथ हेरेको विषयलाई सरकार र राजनीतिक दलका नेताहरुले पनि निस्कर्षमा पु¥याउनुपर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । अब सबै राजनीतिक दलले एकमतले शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नु लाग्नुपर्ने पीडितको माग छ ।

सङ्क्रमणकालीन न्यायको पर्खाइमा रहेका पीडितहरुले संयुक्त राष्ट्र सङ्घ महासचिव गुटेरसलाई पत्र समेत लेखेका थिए । लेखिएको पत्रमा भनिएको छ, “नेपालको शान्ति प्रक्रियाका बाँकी कामहरु सङ्क्रमणकालीन न्यायमार्फत पीडितहरुको आवश्यकता सम्बोधन गर्न, सत्य उजागर, आत्मसम्मान, परिपूरण, स्मृति र फेरि नदोहोरिने सुनिश्चितताका लागि संयुक्त राष्ट्र सङ्घका महासचिवको ध्यानाकर्षण गर्न चाहन्छौँ ।”

नेपालको शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन सर्वोच्च अदालतको फैसला, पीडितको राय र अन्तराष्ट्रिय मूल्यरमान्यताअनुसार ऐन संशोधन गरी आयोगमा पदाधिकारी नियुक्त गरेर तत्काल प्रक्रिया अघि बढाउन जरुरी छ । जुन विषयमा संयुक्त राष्ट्र सङ्घका महासचिवको सुझाव र सहयोग गर्ने प्रतिबद्धताअनुसार नेपालका राजनीतिक दलका नेताहरुले प्राथकिताका साथ उक्त कामलाई एकतावद्ध भएर अघि बढाउनु पर्ने आवश्यक छ ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन समितिमा

सङ्क्रमणकालीन न्यायका लागि बनेका दुबै आयोगको ऐन संशोधनका क्रममा प्रतिनिधिसभाको कानुन तथा मानव अधिकार समितिमा रहेको छ । उक्त समितिमा पनि एउटा उपसमिति गठन गरेर छलफल गरी समितिलाई प्रतिवेदन बुझाइसकेको छ । समितिमा थप छलफल गरेर समितिले पारित गरेपछि उक्त विधेयक संसदमा पेश हुन्छ ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन समितिमा एउटा उपसमिति बनाएर विस्तृतरुपमा छलफल गरेर प्रतिवेदन समितिलाई बुझाएको छ । समितिका सदस्य सोविता गौतमका अनुसार द्वन्द्वकालीन विषय कानुनी मात्र नभएर राजनीतिक विषय पनि भएको र दलहरुबीच सहमति हुन जरुरी छ । “सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन राजनीतिक विषयवस्तु हो, त्यसका लागि सबै दल एक हुन जरुरी छ”, उहाँले भन्नुभयो । उक्त ऐन समितिमा गहन छलफल गरेपछि पारित भएर सदनमा पेश हुनेछ । विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष पूरा हुँदा पनि पीडितले अनुभूति हुने गरी न्याय पाउन सकेका छैनन् । राजनीतिक दल र सरकारले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याउनका लागि ठोस कदम चाल्न जरुरी देखिन्छ ।

कोरिया सरकारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौँ, ४ मङ्सिर : गणतन्त्र कोरिया सरकारले नेपालको स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धिका लागि पूर्ण स्वचालित बायोकेमिस्ट्री स्वास्थ्य जाँच सामग्री उपलव्ध गराएको छ । स्वास्थ्य क्षेत्रमा बहुउपयोगी सावित हुने अनुदानमार्फत हस्तान्तरण भएको स्वास्थ्य सामग्रीले नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने बताइएको छ ।

ती बहुउपयोगी सामग्रीहरु आज नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलमार्फत नेपाल सरकारलाई हस्तान्तरण गर्नुभयो । स्वास्थ्य सामग्रीको मूल्य रु पाँच करोड ३५ लाख ३२ हजार ५०० बराबरको रहेको छ ।

विशेष गरी नेपालभरका प्रदेश तथा जिल्ला तहमा उन्नत चिकित्सा उपकरणहरूको आवश्यकतालाई उक्त बहुउपयोगी स्वास्थ्य सामाग्रीले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको दूतावासले जनाएको छ । दूतावासद्वारा आज जारी विज्ञप्तिमा पूर्ण स्वचालित बायोकेमिस्ट्री स्वास्य जाँच उपकरणले प्राथमिक स्वास्थ्य परीक्षणस् कलेजो, मृगौला, र प्यान्क्रियाजसहित महत्वपूर्ण अङ्गहरूको स्वास्थ्य अवस्था परीक्षणमा उपयोगी हुने विश्वास रहेको छ । यस डायग्नोस्टिक उपकरणले सिरम, प्लाज्मा र पिसाबजस्ता बायोकेमिस्ट्री नमूनाहरूको सही विश्लेषण गर्ने छ र रोगको निदानका लागि उपचारमा महत्वपूर्ण भूमिका कोरिया सरकारको यस सहयोगले स्थानीय स्तरमा रहेका अस्पतालहरूलाई प्राथमिक चरणमा नै रोगको सही पहिचान र उपचारका लागि सहज बनाउने छ ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै सचिव पोखरेलले यस किसिमको सहयोगले नेपालको स्वास्थ्य क्षेत्रको आधारभूत रोग परीक्षण तथा स्वास्थ्य अधिकारीहरूलाई सुदृढ बनाउन सकारात्मक प्रभाव पार्ने कुरामा जोड दिँदै नेपालको स्वास्थ्य क्षेत्रको क्षमता विस्तारमा टेवा पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । राजदूत पार्कले कोरियाली सरकारको यस्ता किसिमका सहयोगले नेपाललाई एक स्थिर विकासका लागि सधैँ समर्थन रहने बताउनुभयो ।

कोरिया सरकारले नेपाललाई १५ वर्षदेखि लगातार विकास साझेदारी प्राथमिक राष्ट्रको सूचीमा समावेश गरेर विभिन्न विकास साझेदारी कार्यक्रमलाई निरन्तरता दिंदै आएको छ । विकास साझेदारीका प्रमुख क्षेत्रहरुमा स्वास्थ्य, सरसफाइ, कृषि, खानेपानी, शिक्षा, ग्रामीण विकास तथा उर्जा क्षेत्र रहेका छन् ।

कोरिया सरकारले कोइकामार्फत सन् १९९१ देखि नेपाललाई १८८.६ मिलियन अमेरिकी डलर बराबरको सहयोग उपलव्ध गराइसकेको छ । हालसम्म मुगु, नुवाकोट र टीकापुर अस्पतालको स्थापना भएर सञ्चालनमा रहेको छ । त्यसैगरी कोरिया सरकारको सहयोगमा निर्माण सम्पन्न भएर सञ्चालनमा रहेको कोरिया नेपाल मैत्री अस्पतालको क्षमता वृद्धिका लागि दोश्रो चरणको कार्यक्रम अन्तरगत १५० थप शय्याको अस्पताल निर्माण चरणमा रहेको छ ।

साथै, सन् २०१५ मा नेपालमा गएको महाभूकम्प र कोभिड–१९ को महामारी लगायतका कठीन घडीमा पनि कोरिया सरकारले नेपाललाई सहयोग गरेको थियो । कोरियाली सरकारले हालै कर्णालीमा गएको भूकम्पबाट प्रभावित नेपाली जनतालाई तीन लाख अमेरिकी डलर बराबरको मानवीय सहायता पनि उपलब्ध गराउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

आगामी वर्ष सन् २०२४ मा कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका अवसरमा कोरिया सरकारले नेपालमा विभिन्न विकास साझेदारी कार्यक्रम मार्फत दुई देशबीचको सम्वन्धलाई झनै बजबुत गर्ने जनाएको छ । दुई राष्ट्र बीच विभिन्न क्षेत्रहरूमा द्विपक्षीय सहयोगका ढोकाहरु खुल्दै जानेछन र सकारात्मक सम्बन्धले उचाई चुम्ने छ भन्ने विश्वास गरिएको छ ।

रुकुमपश्चिममा सावारी दुर्घटनामा परी तीन जनाको मृत्यु

त्रिवेणी (रुकुमपश्चिम), ४ मङ्सिर : रुकुमपश्चिममा आज छुट्टाछुट्टै सावारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सपना बुढाको १७ महिनाको छोरा प्रतीक बुढाको जिप दुर्घटनामा परी मृत्यु भएको हो भने सानीभेरी गाउँपालिका–९ हासिवाङकी ६५ वर्षीया कमला खड्का मगरको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो ।

खड्का मगरलाई सानीभेरी गाउँपालिका–९ खारखोलास्थित मध्यपहाडी राजमार्गमा आइतबार साँझ अल्फाबेट नखुलेको ४२८८ नंको मोटरसाइकले ठक्कर दिँदा घाइते हुनुभएको थियो । उहाँलाई चौरजहारी अस्पतालले थप उपचारका लागि आइतबार नै प्रादेशिक अस्पताल सुर्खेत पठाएको र आज उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । सोही ठाउँकै मोटरसाइकल चालक यमराज विष्टलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

आज जिप दुर्घटनामा गम्भीर घाइते हुनभएका ओलीको उपचारका क्रममा चौरजहारी अस्पताल र सपना बुढाको १७ महिलाको छोरा प्रतीक बुढाको एम्बुलेन्समार्फत थप उपचारका लागि सुर्खेत लैजाँदै गर्दा सल्यानको नेटा भन्ने ठाउँमा मृत्यु भएको थियो । घाइते भएका ६ जनाको मेडिकल कलेज कोहलपुर, चार जनाको प्रादेशिक अस्पताल सुर्खेत र सामान्य घाइते भएका नौजनाको चौरजहारी अस्पताल रुकुमपश्चिममा उपचार भइरहेको सूचना अधिकारी प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

बिहान चौरजहारी नगरपालिकाबाट जिल्ला सदरमुकाम खलङ्गा आउने क्रममा चौरजहारी–८ गइरिजिउलामा लु१ज २२९७ नंको जिप दुर्घटनामा परेको थियो । जिपमा सवार चालकसहित २२ जना घाइते भएका थिए । जिप मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने गइरिजिउला सडक खडण्डबाट भेरी नदीमा खसेको थियो । दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो ।

भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि एक अर्ब ४१ करोड निकासा

काठमाडौँ, ४ मङ्सिर : सरकारले भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापतको रु एक अर्ब ४१ करोड निकासा गरेको छ ।गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सरकारी निर्णयका आधारमा जाजरकोट, रुकुमपश्चिम, बझाङ बाजुरा र सल्ल्यान जिल्लाका लागि उक्त रकम निकासा गरिएको हो ।

त्यसमध्ये सबैभन्दा बढी जाजरकोट र रुकुमपश्चिमका लागि रु ५०÷५० करोड निकासा भएको प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार बझाङका लागि रु २५ करोड, बाजुराका लागि रु १४ करोड र सल्यानका लागि रु दुई करोड रकम निकासा भएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको गत कात्तिक २६ को निर्णयबाट भूकम्पप्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण कार्यविधि २०८० स्वीकृत भएको थियो ।

उक्त कार्यविधिले निर्दिष्ट गरेको भूकम्पप्रभावित लाभग्राहीको अस्थायी आवास निर्माणको पहिलो किस्ता दिने प्रयोजनका लागि उक्त रकम निकासा गरिएको खड्काले बताउनुभयो ।

उक्त रकम स्थानीय तहमार्फत लाभग्राही पहिचान गरी सम्बन्धित पालिकामार्फत जानेछ । प्राधिकरणले उल्लिखित कार्यविधि तथा प्रचलित कानुनले तोकेअनुसार लेखा राख्ने, लेखा परीक्षण गर्ने र गराउने व्यवस्था गर्न आदेशानुसार अनुरोध पनि गरेको छ ।

सबै धर्मावलम्बीले मिलेर मनाए छठ

भक्तपुर, ४ मङ्सिर : सोमबारको झिसमिसे बिहानी भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कमलपोखरी बत्तीले झकिझकाउ थियो । ठूलो पोखरीको वरिपरि बत्तीले झिलिमिली र छेउमा पाल टाँगिएको स्थानमा बर्तालुको भीड थामिनसक्नुको थियो । बाँकी तीन छेउ वरपर पालाअर्थात् दियो बालिएका थिए । कोही बलेका बत्तीसँग रमाउँदै फोटो खिच्न व्यस्त त कोही निभेका बत्ती बाल्दै थिए ।

तराईको झल्को दिने गरी दुलहीझँै सिँगारिएर झकिझकाउ बनाइएको कमलपोखरीमा छठ मनाउन तराईवासीसँगै भक्तपुरका स्थानीय पनि सहभागी थिए । मुख्यतया तराई क्षेत्रमा मनाइने छठ पर्व उपत्यकाको सहर भक्तपुरमा पनि हर्षोल्लासका साथ मनाइएको छ । भक्तपुरमा तराई मधेसका समुदायकासँगै मिलेर भक्तपुरवासीले पनि संस्कृति र परम्पराअनुसार पूजा आराधनासहित छठ मनाएका छन् । आज बिहानै छठ मनाउन रातभर जाग्राम बसेका बर्तालुले उदाउँदो सूर्यलाई अघ्र्य दिएर पूजा सम्पन्न गरी छठ सम्पन्न गरिएको हो ।

भक्तपुरमा बस्दै आएका तराईवासीले कमलपोखरीमा छठ पर्व मनाएको यो पहिलो वर्ष भने होइन । सर्लाहीबाट भक्तपुरको कमलविनायकमा व्यवसाय गरेर बस्दै आउनुभएका छठ पर्व आयोजक समितिका संयोजक लक्ष्मण रौनियारले विगत नौ वर्षदेखि यहाँ छठ मनाउनका लागि व्यवस्थापन गर्दै आउनुभएको छ । पर्वका लागि आइतबार पोखरीलाई सजाएर झकिझकाउ बनाइएको थियो भने साँझ बर्तालुले अस्ताउँदो सूर्यको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर छैठी देवीको पूजा गरेर छठ पर्व मनाएका छन् । कमलविनायकमा चटपटे व्यवसाय गर्दै आउनुभएकी सुभद्रा साहले विगत तीन वर्षदेखि कमलपोखरीमा छठ पर्व मनाएदै आएको उल्लेख गर्दै छठमा घर जान नपाउनेका लागि यहाँको व्यवस्थापनले सजिला ेबनाएको बताउनुभयो ।

मध्यपुरथिमि नगरपालिका–५ राधेराधे बस्दै आउनुभएका शरण झाले पनि यस वर्ष यही पोखरीमै छठ मनाउन आएको बताउनुभयो । यहाँका बासिन्दाले छठका लागि गरेको सहयोगले धार्मिक सहिष्णुता बढाएको उल्लेख गर्दै यहाँ तराई मधेसका बासिन्दाले मात्रै्र नभई यहाँका पहाडियाले पनि सँगै छठ मनाएको बताउनुभयो । विशेष गरेर तराईवासीले हर्षाेल्लासका साथ मनाइने छठ पर्व आज भक्तपुरमा सबै धर्मावलम्बीले सामूहिक रुपमा मिलेर मनाएको देख्दा खुसी लागेको उहाँले बताउनुभयो । समितिका संयोजक रौनियारले मुसलमानदेखि विभिन्न धर्म, जातका व्यक्ति सहभागी भएको बताउनुभयो । विगतका वर्षमा एक सय परिवार पनि नहुनेमा यस वर्ष एक सय ५० भन्दा बढी परिवारले यहाँ छठ मनाएको उहाँले बताउनुभयो ।

सूर्यको उपासनासँग सम्बन्धित छठ पर्व यस वर्ष शुक्रबारदेखि सुरु भएको थियो । चार दिनसम्म मनाइने पर्वको मुख्य दिन आज हो । प्रत्येक वर्ष कात्तिक शुक्ल चतुदर्शीका दिनदेखि सुरु हुने छठ पर्व अत्यन्तै श्रद्धा र निष्ठाका साथ मनाइन्छ । तराइमा सीमित यो चाँंड पछिल्लो वर्ष तराईका साथ काठमाडौँ उपत्यकामा पनि उत्तिकै भव्यरुपमा मनाउन थालिएको छ ।
पर्वका मुख्य विशेषता अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अघ्र्य दिएर मात्र पूजा सम्पन्न गर्नु हो छठ मनाउन पोखरी पुग्नुभएकी शान्ता महतोले पुत्र, पति र परिवारको कल्याणको कामना गर्दै यो पर्व परिवारका सबै सदस्य तथा समूहमा मनाएको बताउनुभयो ।

अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर अघ्र्य दिएर पूजासहित रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गरी आज सोमबार कात्तिक सप्तमीका दिन उदाउँदो सूर्यलाई जलाशयमा उभिएर अघ्र्य दिएपछि चार दिनको व्रत पूरा भएको उहाँले बताउनुभयो । पर्वको क्रममा पहिलो दिन कात्तिक शुक्ल चतुदर्शीका दिन नहाय खाय (नुहाएर चोखो भई शुद्ध शाकाहारी भोजन खाने), दोस्रो कात्तिक पञ्चमीका दिन खरना पूजा गर्ने र यस दिन बर्तालु स्नान गरेर दिनभरि उपवास बसी आत्मशुद्धि गर्ने, पञ्चमीका दिन व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई खुवाउने गर्छन् ।

गैँडा मारिएको घटना : छानबिन टोली चितवनमा

चितवन, ४ मङ्सिर : वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुई गैँडा मारेको घटना छानबिन गर्न बनाएको समितिले स्थलगत रुपमा काम थालेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा गठित पाँच सदस्यसम्मिलित टोलीले चितवन आएर स्थलगत रुपमा काम थालेको हो ।

उपमहानिर्देशक ढकालका अनुसार शनिबार घटनास्थलमा पुगेर सूष्मरुपमा अध्ययन गरिएको छ । आज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिलगायत सरोकारवालासँग छलफल गरिँदै छ । मध्यवर्तीको नियमित बैठक भएकाले बैठकमै पुगेर छलफल गरिने उहाँले जानकारी दिनुभयो । यसका अतिरिक्त अन्य सरोकारवाला निकायसँग छलफल अगाडि बढाइने उहाँको भनाइ छ । ढकालले भन्नुभयो, “हामी सूष्मरुपमा अध्ययन र छलफल गरेर प्रतिवेदन तयार गर्छाैं ।”

चितवन राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृतसमेत रहनुभएका ढकाललाई यहाँको वस्तुस्थितिबारे धेरै ज्ञान छ । मन्त्रालयले सचिवस्तरीय निर्णय गरी १० दिनभित्र प्रतिवेदन बुझाउने गरी गएको शुक्रबार समिति बनाएको थियो । समितिमा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका प्रमुख सेनानी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक, राष्ट्रिय निकुञ्ज विभागका कानुन अधिकृत र अनुसन्धान अधिकृत रहनुभएको छ ।

आवश्यक प्रमाण सङ्कलन गरी भएका कमीकमजोरी र सुधार गर्नुपर्ने विषयसमेत समावेश गरी प्रतिवेदन तयार गरिने उपमहानिर्देशक ढकालले बताउनुभयो । राष्ट्रिय निकुञ्जमा दुई दुर्लभ एक सिङ्गे गैँडा तस्करले धरापमा पारेर मारेपछि छानबिन गर्न समिति बनाइएको हो । बिहीबार गैँडा मृतावस्थामा भेटिएका थिए । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली क्षेत्रको बडेला खोला नजिकै ६ र १८ वर्षका पोथी गैँडा मरेको अन्दाजी तीन र दश दिनमा फेला परेका थिए ।

इजरायल र हमासबीच भएको बन्धक सम्झौताका लागि ‘सामान्य’ कठिनाइ मात्र बाँकी

प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक लडाकू समूह (हमास)ले गत अक्टोबर ७ मा इजरायलमाथि गरेको आक्रमणमा कब्जामा लिएका बन्धकहरूलाई मुक्त गर्ने सम्झौता अब ‘सामान्य’ र व्यावहारिक कठिनाइका कारण रोकिएकोे कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीले आइतबार बताउनुभएको छ ।

यूरोपेली सङ्घ (ईयू)का विदेश नीति प्रमुख जोसेप बोरेलसँगको संयुक्त पत्रकार सम्मेलनमा कतारी प्रधानमन्त्री अल थानीले भन्नुभयो, “वार्तामा बाँकी रहेका चुनौतीहरू ठूला नभई साना छन्, ती अधिक तार्किक छन्, ती अधिक व्यावहारिक छन् ।”

कतारले अस्थायी युद्धविरामको बदलामा २४० बन्धकमध्ये केहीलाई मुक्त गर्ने उद्देश्यले मध्यस्थता वार्तामा सहयोग गरेको छ । “केही हप्तादेखि चलिरहेको यो सम्झौता समय–समयमा उतारचढावबाट गुज्रिरहेको छ,” उहाँले बताउनुभयो ।

उहाँले सम्झौताको प्रसङ्गलाई जोड्दै भन्नुभयो, “हामी एक सम्झौतामा पुग्नको लागि पर्याप्त नजिक पुगेका छौं भन्नेमा म अझ बढी विश्वस्त बनेको छु । सम्झौताले बन्धकहरूलाई सुरक्षित रूपमा उनीहरूको घर फिर्ता ल्याउन सक्छ ।” अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा करिब एक हजार ४०० जनाको मृत्यु भएको इजरायली अधिकारीले बताएका छन् । मृतकमध्ये अधिकांश इजरायली नागरिकहरू थिए भने केही विदेशी पर्यटक, विद्यार्थी र कामदारसमेत थिए ।

उक्त दिन हमास समूहले २४० जनालाई बन्धक बनाई लगेको थियो । सन् २००७ देखि गाजामा शासन गर्दै आएको हमास सरकारका अनुसार सेनाको निरन्तर हवाई र स्थल कारबाहीमा हालसम्म १२ हजार ३०० व्यक्तिको मृत्यु भइसकेको छ, जसमध्ये पाँच हजार भन्दा बढी बालबालिका रहेका छन् ।

जोर्डन जानुअघि कतारका अमिरलाई भेट्ने कार्यक्रम तय भएका बोरेलले इजरायलमाथि हमासले गरेको आक्रमणको निन्दा गर्दै सबै बन्धकलाई ‘बिनाशर्त रिहा’ गर्न आग्रह गर्नुभयो । “भयावहताबीच कुनै पदानुक्रम छैन, एउटा आतङ्कले अर्को आतङ्कलाई उचित ठह¥याउँदैन, बढ्दो हिंसा अन्त्य गर्न र यस क्षेत्रमा ‘दिगो शान्ति’ सिर्जना गर्न आग्रह गर्दै ईयूका विदेश नीति प्रमुखले भन्नुभयो ।

वासिङ्टन पोस्टले गाजामा बन्धक बनाइएका महिला र बालबालिकालाई रिहा गर्ने अस्थायी सहमति भएको समाचार प्रकाशित गरेपछि संयुक्त राज्य अमेरिकाले इजरायल र हमासबीच सम्झौताका लागि अझै वार्ता भइरहेको बताएको छ । नाम नखुलाइएका स्रोतलाई उद्धृत गर्दै पत्रिकाले सबै पक्षले कम्तीमा पाँच दिनका लागि युद्ध बन्द गर्ने र केही बन्धकहरूलाई समूहमा रिहा गरिने जनाएको छ ।

ह्वाइट हाउसले शनिबार साँझ एक्स (ट्वीटर)मार्फत् सन्देश जारी गर्दै वार्ताबाट कुनै पनि ठूलो सफलता मिलेको भन्ने कुरामा कुनै विश्वशनीय आधार नरहेको बताएको थियो । थानीले आइतबार भन्नुभयो, “सम्झौतामा हस्ताक्षर गर्नुअघि सञ्चारमाध्यममा वार्ताको बारेमा सूचना आउनु प्रत्युत्पादक छ ।

बिहीवार अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्धक बनाइएकाहरूलाई मुक्त गर्ने सम्झौतामा पुग्नेमा आफू ‘हल्का आशावादी’ रहेको बताउनुभएको थियो । सबै बन्दीहरूलाई रिहा गर्नुअघि युद्धविरामको आह्वानलाई इजरायलले अहिलेसम्म अस्वीकार गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

काठमाडौँ, ४ मङ्सिर : आज ३४औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको दिनलाई स्मरण गरी पक्षधर राष्ट्रले आजका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको रुपमा मनाउँदै आएका छन् ।

बालबालिकाको बचावट, संरक्षण, विकास, सहभागितालगायत विषय कार्यान्वयन गरी बाल अधिकार सुनिश्चिताका लागि अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विश्वभर मनाइँदै आएको हो । नेपालमा संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धि, १९८९ का ४२ धारा सबै कार्यान्वयनमा छन् । यसमा बालबालिकाको सर्वोत्तम हित, अधिकार कार्यान्वयन, जीवन, बचाउ र विकास, पहिचानको संरक्षण, बालबालिकाको विचार तथा भावनको कदर, अभिभावकको दायित्व, सामाजिक सुरक्षा, बालश्रम, बेचबिखन, ओसारपसार र अपहरण, बालमैत्री न्यायलगायतका व्यवस्था छन् ।

नेपालले संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धि, १९८९ अनुमोदन गरेको ३३ वर्ष पूरा भएको छ । नेपालले २०४७ भदौ २९ गते उक्त महासन्धिलाई बिनाशर्त अनुमोदन गरी यसको सिद्धान्तअनुसार प्रतिबद्धता जनाएको थियो । महासन्धिका प्रावधानको कार्यान्वयनका लागि नेपालले संवैधानिक, कानुनी, नीतिगत, संरचनागत र कार्यक्रमगत व्यवस्था गरेको छ । सबै अवस्थाका बालबालिकाको आधारभूत आवश्यकता तथा अधिकार परिपूर्तिका लागि संवैधानिक, कानुनी र नीतिगत व्यवस्था रहेका छन् । नेपालको संविधानको धारा ५१ मा राज्यको नीतिअन्तर्गत बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकताको रुपमा लिइएको छ । धारा ३९ मा बालबालिकाको हकसम्बन्धी व्यवस्था गरिएको छ । बालबालिकाको लागि विशिष्टीकृत ऐनको रुपमा बालबालिकासम्बन्धी ऐन, २०७५ कार्यान्वयनमा छ ।

नेपालले उक्त महासन्धि कार्यान्वयन स्थितिको प्रतिवेदन संयुक्त राष्ट्रसङ्घमा पेश गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घको बाल अधिकार समितिले नेपालको विगतका प्रतिवेदनमा दिएका समापन टिप्पणी तथा सुझावलाई नेपालले कार्यान्वयन समेत गर्दै आएको छ । बालबालिकाको अधिकार तथा हक, हितको संरक्षण र सम्बद्र्धनका लागि विशिष्टिकृत निकायको रुपमा राष्ट्रिय बाल अधिकार परिषद् क्रियाशील रहेको छ । परिषद्ले आफूलाई प्राप्त कार्यदेशबमोजिम बालबालिकासम्बन्धी कानुन, नीति र योजना निर्माणमा सहयोग तथा सहजीकरण एवं बाल अधिकार संरक्षण र प्रवद्र्धनको सिलसिलामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहमा बाल अधिकार संरक्षण र प्रवद्र्धनका विषय सम्बोधनका लागि संस्थागत संयन्त्रको व्यवस्था छन् । यस क्रममा सरकारले अन्तर्राष्ट्रिय र राष्ट्रिय विकास साझेदार, नागरिक समाज, निजी क्षेत्रलगायतसँग समन्वय र सहकार्य गर्दै आएको छ । नेपाल पक्षधर भएका संयुक्त राष्ट्रसङ्घको मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणा, १९४८, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध, १९६६, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि, १९७५, बालश्रमसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठका महासन्धिलगायतका घोषणा बालबालिकासँग सम्बन्धित छन् । तथापि, संयुक्त राष्ट्रसङ्घको बाल अधिकारसम्बन्धी महासन्धि, १९८९ नै बालबालिकासम्बन्धी मूल दस्ताबेजको रुपमा रहेको छ ।

संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धिलाई अनुमोदन गरेपछि नेपालले बालबालिकाको हक, हित र अधिकारको विषयलाई संविधान, कानुन, नीति, आवधिक योजना, संस्थागत संरचना, वार्षिक नीति तथा कार्यक्रममा क्रमशः सुधार गर्दैआएको छ । नेपालले उक्त महासन्धिलाई सन् १९९० को सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउन घोषणा गरेको थियो । सोहीअनुरुप नेपालले राष्ट्रिय बाल दिवस भने भदौ २९ गते मुलुकभर मनाउँदै आइरहेको छ । यस वर्ष ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइएको थियो भने ‘प्रत्येक बालबालिकाको लागि प्रत्येक अधिकार’ नारासहित अन्तर्राष्ट्रिय बाल अधिकार दिवस आज मनाइँदै छ ।

काठमाडौँको तापक्रम १७ डिग्री सेन्डीग्रेड

काठमाडौँ, ४ मङ्सिरः हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो । उहाँका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

अहिले काठमाडौँको वायुको तापक्रम १७ डिग्री सेन्डीग्रेड रहेको तथा पारदर्शिता छ किलोमिटर भन्दा धेरै रहेको मौसमपूूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौँमा आंशिक बदली भइ अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेन्डीग्रेडको बिचमा रहने मौसमविद् पुडासैनीले बताउनुभयो ।

यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं। सोमबार केही विदेशी मुद्राको विनिमय दर घटबढ भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

यस्तै आज अमेरिकी डलरको १ को खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा रहेको छ। यस्तै युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ ०२ पैसा र बिक्री दर १४५ रुपैयाँ ६८ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ६८ पैसा र बिक्री दर १६६ रुपैयाँ ४३ पैसा, क्यानेडियन डलर ९६ रूपैयाँ ९० पैसा तथा बिक्री दर ९७ रूपैयाँ ३३ पैसा रहेको छ।

यस्तै आज जापानी येन १० को खरिददर ८ रूपैयाँ ८८ पैसा तथा बिक्री दर ८ रूपैयाँ ९२ पैसा, साउदी रियाल १ को खरिद दर ३५ रूपैयाँ ४५ पैसा तथा बिक्रि दर ३५ रूपैयाँ ६१ पैसा, युएइ दिराम १ को खरिददर ३६ रूपैयाँ १९ पैसा तथा बिक्री दर ३६ रूपैयाँ ३६ पैसा कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको छ।

जाजरकोट भूकम्प : अस्थायी संरचना निर्माण गरी पठनपाठन थाल्ने तयारी

जाजरकोट (नलगाड), ४ मङ्सिर : गत कात्तिक १७ गते गएको भूकम्पबाट भत्किएका विद्यालयमा अस्थायी संरचना निर्माण गरेर विद्यालय खोल्ने तयारीमा स्थानीय रहेका छन् । भूकम्पले क्षति बनाएको विद्यालयमा चाडपर्व सकिएसँगै सामुदायिक र निजी विद्यालयमा पठनपाठन सुरु हुन लागेको हो ।

रुकुम (पश्चिम) र जाजरकोटको पठनपाठनमा भने भूकम्पले असर पु¥याए पनि अस्थायी संरचना निर्माण कार्य जारी रहेकाले पढाइ सुरु गर्न लागिएको छ । ती जिल्लाका केही स्थानीय तहका विद्यालयमा मङ्गलबारदेखि नै पठनपाठन सुरु हुने भएको छ भने केही स्थानीय तहका विद्यालयमा टहरा बनाएर पठनपाठन थाल्ने तयारी भइरहेको छ ।

कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार जाजरकोटको नलगाड नगरपालिकामा पनि मङ्गलबारदेखि नै पठनपाठन सुरु हुने भएको छ । जाजरकोटको उक्त नगरपालिका भूकम्पबाट अधिक प्रभावित क्षेत्र हो । नलगाड नगरपालिका शिक्षा शाखाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलवीर विकका अनुसार भूकम्पबाट ५४ विद्यालयमा क्षति पुगेको छ । जसमा १२८ कक्षाकोठा पूर्णरूपमा क्षति पुगेको छ । नलगाड नगरपालिका शिक्षा शाखाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विकले आंशिकरूपमा क्षति भएका विद्यालयमा भोलिदेखि नै पठनपाठन थालिने जानकारी दिनुभयो । विद्यालयका प्रधानाध्यापकले समेत विद्यालय सञ्चालन हुने भएकाले सबै शिक्षक विद्यालयमा आउन आग्रह गर्दै सूचनासमेत प्रकाशित गरेका छन् । अस्थायी टेन्ट निर्माण भइसकेकाले निरन्तर पढाइ हुने भन्दै पञ्च भयार माविका प्रधानाध्यापक नरेन्द्र केसीले विद्यालयमा आउन आग्रह गनुभयो ।

“क्षति नभएका विद्यालयमा भोलिदेखि नै पठनपाठन हुन्छ, पूर्णरूपमा क्षति भएको विद्यालयमा पनि अस्थायी सिकाइ केन्द्र निर्माण गर्ने तयारी भइरहेको छ, केही दिन चाहिँ समय लाग्ला । बनिसकेपछि पढाइ हुन्छ”, उहाँले भन्नुभयो । सामाजिक विकास कार्यालय जाजरकोटका प्रमुख यज्ञबहादुर खत्रीले भूकम्पबाट प्रभावित सबै विद्यालयमा पठनपाठन थाल्न पहल गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “क्षति नभएका विद्यालयमा भोलिदेखि नै पढाइ हुन्छ, क्षति भएकोमा पनि अस्थायी टहरा बनाएर भए पनि पढाइ थाल्न भनेका छौँ ।” प्रदेश सरकारबाट सबै मिल्ने पहल र सहयोग हुने उहाँको भनाइ छ । अहिले जाजरकोटको छेडागाड, कुशेमा पाँचतारा युवा संरक्षण मञ्चले विद्यालयमा अस्थायी संरचना निर्माण गर्ने जिम्मेवारी लिएको छ भने नलगाड, भेरी र बारेकोटमा युनिसेफले अस्थायी संरचना निर्माणको जिम्मेवारी लिएको छ । जिम्मेवारी पाएसँगै निर्माणका कामसमेत सुरु गरिएको छ ।

रुकुम (पश्चिम)को आठविसकोट नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत इन्द्रबहादुर विष्टले नगरपालिकाभित्रको भूकम्प प्रभावित विद्यालयमा भोलिदेखि नै पठनपाठन थाल्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जहाँ आंशिक क्षति पुगेको छ, त्यहाँको सबै अवस्था बुझी पठनपाठन मङ्गलबारदेखि नै हुन्छ, पूर्णरूपमा क्षति पुगेको ठाउँमा भने हामीले अस्थायी सिकाइ केन्द्र बनाएर तयारी अवस्थामा राखेका छौँ । त्यसैले पठनपाठन रोकिँदैन ।” उहाँका अनुसार भूकम्पबाट नगरपालिकाभित्रका ६४ विद्यालयमा क्षति पु¥याएको थियो । जसमा ५२ विद्यालयमा पूर्णरुपमा क्षति पुगेको छ । पठनपाठन थाल्न एक सय ३९ अस्थायी सिकाइ केन्द्र निर्माण गरिएको छ ।

“अझै पनि प्रदेश सरकार, विभिन्न सङ्घसंस्थाले सहयोग गर्दै आएका छन्, अझै थप अस्थायी सिकाइ केन्द्र बनाएर सहजरूपमै पठनपाठन थाल्नेछौँ, किताबको व्यवस्था पनि गर्दै छौँ”, उहाँले भन्नुभयो ।

त्रासमा विद्यार्थी

विद्यालय खोल्नका लागि पहल सुरु गरिए पनि विद्यार्थी भने त्रासमा रहेका छन् । भूकम्पबाट मनोबल कमजोर भएका विद्यार्थी घरदेखि विद्यालयसम्म भत्किएकाले विद्यालयमा गएर पढ्न मानसिकरुपमा तयार भएको पाइँदैन । भूकम्पको त्रासले गर्दा बालबालिका राति सुतेको समयमा कराउने, भूकम्प आयो भन्नेसम्मका गतिविधि देखाउन थालेको नलगाड नगरपालिका–१ कल्पतकी भावना विकले बताउनुभयो । त्रिपालको बसाईका कारण बालबालिका बिरामी भइरहेको उहाँको भनाइ छ । केही विद्यार्थीको किताबसमेत घरभित्र पुरिएको अवस्थामा रहेको छ ।

“किताबविहीन अवस्था कसरी विद्यालय जानु ?” जुनी कम्युन माध्यमिक विद्यालय नलगाड–५ का भावना सिंहले भन्नुभयो । सबै विद्यार्थी त्रिपालमा बसेर पढ्नका लागि चुनौती हुने देखिएको छ । भूकम्प प्रभावित विद्यालयमा मनोपरामर्श सेवा सञ्चालन गर्नुपर्ने देखिएको छ । भूकम्पको परकम्पन आउन नछाडेकाले पनि अर्को समस्या भएको हो । भूकम्प प्रभावित क्षेत्रमा अत्यधिक चिसो हुने भएकाले पनि सक्रिया शैक्षिक क्रियाकलाप सञ्चालन गर्न गाह्रो हुने देखिएको छ । कात्तिकदेखि चैतसम्म भारी मात्रामा हावाहुरी चल्ने मौसम भएकाले निर्माण गरिएका त्रिपाल कसरी सुरक्षित गर्ने भन्ने चुनौतीसमेत छ ।

सांसदको जिम्मेवारी एक र भूमिका अनेक -एमाले नेता रायमाझी

काठमाडौँ, ४ मङ्सिर : नेकपा (एमाले) का नेता अम्बरबहादुर रायमाझी गत एक वर्षमा सुखी नेपाली जनता र समृद्ध नेपाल निर्माण निम्ति कानुन निर्माणमा संसद् र सांसदको उत्साह नदेखिएकामा सन्तुष्ट हुनुहुन्न । उहाँ कानुन निर्माणमा मात्र नभई सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट नै पनि त्यति सहज ढङ्गबाट कार्यान्वयन हुन नसकेकामा स्पष्ट हुनुहुन्छ ।

‘सांसदसँग रासस संवाद’ मा नेता रायमाझीले बजेट ल्याइएपछि हालसम्मको कार्यान्वयनको अवस्थाले आफूहरूको काम गर्ने ढाँचा र गति किटान गरेको उदाहरण प्रस्तुत गर्नुभयो । उहाँले कानुन निर्माणका लागि सरकारले सदनमा ठीक समयमा विधेयक नल्याएका कारण यस्तो अवस्था आएको आरोप पनि लगाउनुभयो ।

सांसद रायमाझीले भन्नुभयो, “विधायकको मूल जिम्मेवारी कानुन बनाउने हो । सदन र समितिमा त्यसकै लागि प्रभावकारी भूमिका खेल्नुपथ्र्याे । विजनेस दिने काम त सरकारको हो नि, त्यो हुँदै भएन । अनि सांसदले पनि उत्साहजनक भूमिका खेल्न पाएनन् ।”

पछिल्लो प्रतिनिधिसभाको निर्वाचन भएको आज ठीक एक वर्ष पुगेको छ । यस अवधिमा सदनका दुई अधिवेशन चले । यसबीचमै सदनले सरकार गठन ग¥यो । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र विषयगत समितिका सभापतिको चयन भयो । सरकारको वार्षिक बजेट र नीति तथा कार्यक्रम प्रस्तुत भई छलफल हुनाका साथै आर्थिकलगायत कतिपय विधेयक पारित भए भने केही सदन र विषयगत समितिमा छलफलका चरणमा छन् ।

विसं २०४३ देखि महेन्द्र बहुमुखी क्याम्पस राजविराजमा विद्यार्थी राजनीतिमा प्रवेश गर्नुभएका रायमाझीसँग २०५४ सालमा रौता गाविस–५ का निर्वाचित सदस्य तथा पार्टी गाउँ कमिटी र इलाका सचिव भई काम गरेको अनुभव छ । उहाँले उदयपुर–काठमाडाँै सम्पर्क मञ्च र सगरमाथा अञ्चल सम्पर्क कमिटी अध्यक्ष, प्रदेश नम्बर १ सम्पर्क कमिटी सचिवालय सदस्य र महाधिवेशन प्रतिनिधिको जिम्मेवारीसमेत सम्हाल्नुभयो ।

विधायक रायमाझीले सांसदको महत्त्वपूर्ण भूमिका कानुन बनाउनु नै भए पनि नेपाली समाज र भूगोललगायत कारणले तिनले विकासनिर्माणमा नेतृत्व तथा अन्य सामाजिक दायित्वको भूमिका निर्वाह गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “कानुन निर्माणमा भूमिका खेल्दाखेल्दै पनि निर्वाचन क्षेत्रलाई समृद्ध तुल्याउन, चुनावी घोषणापत्र कार्यान्वयन गर्न र ठीक ढङ्गले विकासलाई अघि बढाउन सांसदले अरू जिम्मेवारी पनि लिनुपर्ने अवस्था छ ।”

स्थानीय तह तथा प्रदेश र सङ्घीय सरकारले गर्ने काम फरक फरक रहँदा रहँदै पनि मतदातामा सांसदले सबै खाले भूमिका खेलिदिओस् र सहभागी होइदिओस् भन्ने चाहना रहेको उल्लेख गर्दै उहाँले जनताका अपेक्षा र निर्वाचनका वाचा पूरा गर्नु आफ्नो बाध्यता रहेको स्पष्ट पार्नुभयो ।

उदयपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित रायमाझीका अनुसार मदन भण्डारी राजमार्ग, मिर्चैया–कटारी–घुर्मी–हलेसी जोड्ने सडक, सुनकोशी कोरिडोरलगायत सडक र पहुँच मार्ग जिल्लाका प्राथमिकतामा परेका आयोजना हुन् । कमला र त्रियुगालगायत नदी तटबन्ध र एकीकृत आयोजना, बजार बस्ती विकास, नापी र जग्गाधनी प्रमाणपुर्जा वितरण, लिफ्टिङ खानेपानी, उज्यालो २ नम्बर विद्युतीकरण, राष्ट्रिय राजमार्गमा ट्रमा अस्पताल, ५० शय्याको व्यवस्थित जिल्ला अस्पताल र विद्यालय सुधारका कार्यक्रम पनि जिल्लाका उल्लेखनीय कार्यक्रम हुन् ।

संसदीय नियमावलीको पालना गर्दै मर्यादापूर्वक आफ्ना अभिव्यक्ति राख्नेतर्फ जनप्रतिनिधि सधैँ सजग हुनुपर्ने सुझाव दिँदै प्रतिनिधिसभा सदस्य रायमाझीले सांसद देश र जनहितमा दूरगामी असर पु¥याउने कानुन निर्माण र ऐनमा देखिएका अड्चन सुधार गर्नसक्ने हुनुपर्नेमा जोड दिनुभयो । एक जिज्ञासामा एमाले नेता रायमाझीले भन्नुभयो, “भ्रष्टाचार सबैको शत्रु हो, देश र जनतालाई सुशासन र समृद्धि दिने हो भने कुशासन नियन्त्रण र कारबाहीलाई प्रभावकारी बनाइनुपर्छ ।”

आर्थिक सङ्कट तथा बेरोजगारी र भ्रष्टाचारका कारण राज्यप्रति जनताको आशा र भरोसा कमजोर देखिएको बताउँदै उहाँले नागरिकलाई सेवा प्रवाह दिने विषयमा पनि राज्यले अभिभावकको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । सांसद रायमाझीले भन्नुभयो, “जनताले विश्वास गर्ने गरी सुधारका कार्यक्रम प्राथमिकताका साथ अघि बढाउनुपर्छ । रोजगारी दिलाउन सक्ने आधार पहिल्याउनुपर्छ, सरकार र राजनीतिक दलले समाजमा सद्भाव एवं विश्वासको वातावरण बनाउनुपर्छ ।”

एमाले नेता रायमाझीले देश विकास र समृद्धिका लागि आफ्नो दलले अघि बढाएको ‘समृद्ध नेपाल ः सुखी नेपाली’ को नारा कार्यान्वयन गर्न अघि बढेमा राष्ट्रियता, जनजीविका, सामाजिक सद्भाव, वैदेशिक सम्बन्ध वृद्धि गर्न तथा आर्थिक सङ्कट अन्त्य गर्न सहयोग पुग्ने जिकिर पनि गर्नुभयो ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – सोमवार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।जल तथा मौसम विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

आज दिउँसो गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

जाजरकोट भूकम्पमा ज्यान जोगाएका ११ जनाको चिसोले लियो ज्यान

जाजरकोट । जाजरकोट भूकम्पमा ज्यान जोगाएका ११ जनाले चिसोलाई भने परास्त गर्न सकेनन्। कात्तिक १७ गते राति आएको भूकम्पबाट त जसोतसो जोगिए, तर यसपालिको हिउँद उनीहरूका लागि ‘काल’ बनेर आयो। बितेको १० दिनमा जाजरकोटमै ११ दीर्घरोगी र वृद्धवृद्धाको ज्यान गयो। कारण हो, चिसोको बास। भूकम्पका कारण घरमा क्षति पुगेपछि हजारौं जाजरकोटवासी त्रिपालमा बस्दै आएका छन्।

ज्यान गुमाउनेमा बारेकोट गाउँपालिका–१, रामीडाँडाका ७० वर्षीय डुमे पुन, भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की, बारेकोट गाउँपालिका–४, जिरीका ७९ वर्षीय नरेन्द्रबहादुर सिंह नलगाड नगरपालिका–४ का ७७ वर्षीय गोपालबहादुर रावल र ४८ वर्षीया पम्फा रावलले ज्यान गुमाएका छन्। चार जना दम रोगी हुन्। भने ४८ वर्षीया फोक्सोको दीर्घरोगी हुन्।यस्तै बारेकोट गाउँपालिका–१, बयालाका ६० कर्णवीर विक, बारेकोट–६, ताँसीका ५५ वर्षीय वीरबहादुर विक र जुनीचाँदे गाउँपालिका–४, लुहादहकी ८९ वर्षीया सुगिली नेपालीको पनि निधन भएको छ। सुगली दमरोगी हुन् भने ६० वर्षीय र ५५ वर्षीय विकको ज्यान पखाला लागेर गएको हो।चिसोका कारण छेडागाड नगरपालिका–१३, थानवाडाकी ५६ वर्षीया मनसरी कामी, भेरी–४ का ५२ वर्षीय केशव भडेल र नलगाड–८, टापुकी ७० वर्षीया विष्णुकुमारी खत्रीको पनि ज्यान गएको छ।दमरोगी कामी र कलेजोको सिरोसिस बिरामी भडेल चिसोले मृत्यु भएको बताइएको छ। भूकम्पबाट घाइते खत्रीको आइतबार निधन भएको हो। उनको स्थानीय मेडिकलमा औषधि गराइएको थियो। खत्रीलाई आइतबार उपचारमा लिने तयारी गर्दैगर्दा मृत्यु भएको वडाध्यक्ष तेजबहादुर सिंहले जानकारी दिए।गत कात्तिक २४ देखि हालसम्म उनीहरूको मृत्यु भएको सम्बन्धित स्थानीय तहले जानकारी दिएका छन्। भूकम्पपछि त्रिपालमुनिको बसाइँले गर्दा दीर्घरोगी र वृद्धवृद्धाको निधन भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व सम्पन्न

जलेश्वर, ४ मङ्सिर : महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोर, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिको जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पन गर्दै धुमधामका साथ छठ पर्व सम्पन्न भएको छ ।

छठ पर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबासलगायत अन्य सहरी एवं ग्रामीण क्षेत्रमा रहेको विभिन्न पोखरी, तलाउ तथा जिल्लाको प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जंगहा, अंकुसी नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक मनाइएको छ ।सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।चार दिनसम्म मनाइने यस पर्वको पहिलोदिन शुक्रबार व्रतीले नहा खा अर्थात् नुहाएर खाने अर्थात् जीउ चोख्याउने काम गरेका थिए । त्यस्तै पर्वको दोस्रो दिन शनिबार खर्ना मनाएका थिए । खर्नाका दिन व्रतीहरुले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुलदेवताको पूजा गरेका थिए र राति अरवा अरबाइन ( बिना नुन हालेको) खानेकुरा खाएका थिए ।त्यस्तै षष्ठीका दिन अर्थात् आइतबार साँझ गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पिठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुगेका थिए ।षष्ठीका दिन हिजो आइतबार साँझ व्रतीले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षेता फूल हालेर अन्य अघ्र्य सामग्री पालोपालो गरी अस्ताचलगामी अघ्र्य अर्पण गरेका थिए ।त्यस्तै छठ पर्वको चौथो दिन अर्थात् आज एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहो¥याई प्रातःकालीन उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व सम्पन्न गरेका छन् । महाभारतका अनुसार द्रोपदीसहित पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तावास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डव मिथिलाको किराँत राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।सूर्य पुराणअनुसार सर्वप्रथम पत्नी अनुसुइयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ । धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावको रुपमा समेत विकसित छठ पर्व हिन्दूको सँगसँगै मुस्लिमले पनि मनाउने गर्छन् । यस पर्वमा चढाइने पदार्थको सङ्ख्या ७० पु¥याउनुपर्छ । तर चढाउने सामथ्र्य नभएका गम्हरी धानको चामल मात्र चढाए पनि देउता प्रसन्न हुने जनविश्वास रहेको छ ।

मधुमेह लागेसँगै आँखाको दृष्टि गुम्नेको संख्या बढ्दै

काठमाडौँ । पछिल्ला वर्षमा मधुमेह लागेसँगै आँखाको दृष्टि गुम्नेको संख्या पनि बढ्दै गएको छ । मधुमेहका बिरामीको आँखाको पर्ने असरबारे सन् २०२० मा गरिएको अध्ययन प्रतिवेदन अनुसार १९.४ प्रतिशत मधुमेहका बिरामीको आँखामा पनि असर परेको पाइएको हो ।

तीमध्ये ५० प्रतिशतमा गम्भीर असर परेको पाइएको छ। मुलुकका मुख्य आँखा अस्पताल पुगेका बिरामीमा गरिएको अध्ययनबाट यस्तो तथ्यांक आएको हो । नेपाल अन्धोपना सर्वेक्षण १९८५ अनुसार मुलुकमा विभिन्न कारणले आँखाको दृष्टि गुम्नेको संख्या तीन प्रतिशत थियो भने सन् २०११ मा यो संख्या बढेर नौ प्रतिशत पुगेको छ ।

नेपालमा अन्धोपनाको संख्या बढ्नुका पछाडि मधुमेह मुख्य कारण भएको तिलगंगा आँखा अस्पतालकी आँखाको पर्दा विशेषज्ञ डा. एली प्रधान बताउँछिन् । ‘उपचारको सहजता र चेतनाका कारण रोगीको संख्या घटनुपर्नेमा उल्टै बढ्नका पछाडि मधुमेह नै मुख्य कारण हो,’ उनले भनिन् । आजको नागरिक दैनिकमा समाचार छ ।