`

पहिलो संस्करणको एनपीएलको उपाधि जनकपुर बोल्ट्सलाई

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि चुमेको हो ।

जितका लागि सुदूरपश्चिम रोयल्सले दिएको एक सय ८५ रनको लक्ष्य जनकपुर बोल्ट्सले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा ग¥यो ।

जनकपुरलाई उपाधि दिलाउने क्रममा ओपनरद्वय लाहिरु मिलान्था र आशिफ शेखले पहिलो विकेटका लागि महत्वपूर्ण ७३ रनको साझेदारी गरे । जनकपुरको जितमा मिलान्थाले आक्रामक अर्धशतकीय पारी खेले । उनले ४९ बल खेल्ने क्रममा चार छक्का र नौ चौकाको सहयोगमा ८७ रन बनाए ।

आशिफ शेखले  १९ बल खेल्ने क्रममा चार चौका र दुई छक्कासहित ३३ रनको योगदान दिए । हर्ष थाकरले २४ बल खेल्दै दुई छक्काको साहरामा ३० रन बनाए । साथै मोहम्मद मोहसिनले नौ र जिमी निशमले चार, आकाश त्रिपाठीले दुई र मयन यादवले दुई रन बनाए ।

सुदूरपश्चिमका लागि सैफ अलि जेब, इशान पाण्डे, दीपेन्द्र सिंह ऐरी र स्कट कुग्गेलेइनले समान एक÷एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १८४ रन बनाएको थियो । उसका लागि ओपनरद्वय सैफ अलि जेब र बिनोद भण्डारीले शानदार सुरुआत दिलाए ।

उनीहरुले पहिलो विकेटका लागि एक सय १७ रनको साझेदारी गरे । सैफ अलि जेब अर्धशतकीय पारी खेले । उनले ४३ बल खेल्ने क्रममा आठ चौका र दुई छक्काको साहरामा ६९ रन बनाए । साथै बिनोद भण्डारीले ३१ बल सामना गर्दै एक चौका र तीन छक्कासहित ४१ रन बटुले ।

साथै ब्राण्डन म्याक मुलेन र हर्मित सिंहले समान १४ रन बनाए भने  स्कट कुग्गेलेइनले १३ रन बटुले । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । 

जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले तीन÷तीन विकेट लिए भने जिमी निशम र ललित राजवंशीले एक÷एक विकेट लिए ।

प्रतियोगिताको उपाधि विजेताले ट्रफीसहित रु एक करोड १० लाख र उपविजेताले रु ५१ लाख, तेस्रोले रु २५ लाख र चौथो हुनेले रु १५ लाख प्राप्त गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा पाँच महिनामा १२ गैँडा मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षको पाँच महिनामा बाह्रवटा गैँडा मृतावस्थामा भेटिएका छन् ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार मृतावस्थामा भेटिएकामध्ये चार भाले र पाँच वटा पोथी रहेका छन् । तीमध्ये एउटालाई विद्युतीय करेन्ट लगाएर मारिएको अवस्थामा भेटिएको हो । मृत भेटिएका गैँडामध्ये तीन वटाको लिङ्ग पहिचान हुन नसकेको उनले बताए ।

यस्तै सोही अवधिमा एक वटा बाघ मृतावस्थामा भेटिएको छ । गत मङ्सिर १६ गते अमलटारी सेक्टरअन्तर्गत नन्दपुर घाटमा बाघसँग जुधेर अन्दाजी छ वर्षको बाघ मरेको उनले जानकारी दिए। यसैगरी पाँच महिनाको अवधिमा गैँडाको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु भएका दुवै जना नवलपुर बर्दघाट सुस्तापूर्वका रहेको उनले बताए ।


निकुञ्जभित्रको अवैध गतिविधि नियन्त्रण गर्ने क्रममा एक सय ५० जनालाई नियन्त्रणमा लिइ आवश्यक कारबाही गरेको जनाएको छ । गैँडा मारेर खाग तस्करी गरेको आरोप, बाघसम्बन्धी कसुर, अनुमतिबिना बँदेल पाल्ने, बिनाअनुमति निकुञ्जमा घाँस दाउरा काट्ने, माछा मार्ने, निउरो टिप्नेलगायत काममा सहभागी भएका उनीहरुलाई पक्राउ गरी कारबाही गरिएको सूचना अधिकारी थापामगरले जानकारी दिए ।

एनपिएलः टस जितेर पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को आज हुन लागेको फाइनलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले जनकपुरलाई पहिले बलिङको निम्तो दिए । स्थानीय समयअनुसार खेल दिउँसो १२ः३० बजेदेखि सुरु हुनेछ ।

“पिच राम्रो छ, फाइनलमा शतप्रतिशत क्षमता प्रदर्शन गर्नेछौँ”, टस जितेपछि कप्तान ऐरीले भने, “हाम्रो लक्ष्य एक सय ६० रनभन्दा बढीको लक्ष्य प्रस्तुत गर्नुहुनेछ ।”

सुदूरपश्चिम रोयल्सले क्वालिफायरमा जनकपुर बोल्ट्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

उपाधि विजेताले ट्रफीसहित रु एक करोड १० लाख र उपविजेताले रु ५१ लाख प्राप्त गर्नेछन् । साथै तेस्रो भएको कर्णाली याक्सले रु २५ लाख र चौथो भएको चितवन राइनोजले रु १५ लाख प्राप्त गर्नेछन् ।

जारी प्रतियोगितामा दुवै टोली दुई पटक एकापसमा भिडिसकेका छन् । जसमा दुवै पटक जनकपुर बोल्ट्समाथि सुदूरपश्चिम रोयल्स हावी भएको थियो । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो भने पहिलो क्वालिफायरमा जनकपुर आठ विकेटले पराजित भएको थियो ।

जनतामा बढेको निराशा चिर्नका लागि अहिलेको गठबन्धनः उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेको अवस्थामा सुधार ल्याउन सरकारले प्रयास गरिरहेको बताएका छन् ।

नेपाली कांग्रेस थाहा नगर कार्यसमितिले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थीरताको जगमा विकास निर्माण र आर्थिक समृद्धिमार्फत जनताको अवस्था सुधार्न सरकारले काम गरिरहेको बताए ।

पछिल्लो निर्वाचनपछि बनेका सत्ता गठबन्धन लामो समय नटिक्दा जनतामा बढेको निराशा चिर्नका लागि अहिलेको सत्तागठबन्धन बनेको पनि उनले प्रष्ट पारे । राजनीतिक स्थीरता र स्थायीत्वका लागि अहिलेको सरकार बनेको र सरकारले नागरिकलाई केन्द्रमा राखेर काम गरिरहेको उनले बताए ।

श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

कोलम्बो । श्रीलङ्काको अर्थतन्त्र सन् २०२४ को तेस्रो त्रैमासिकमा ५ दशमलव ५ प्रतिशतले वृद्धि हुने केन्द्रीय बैङ्कले प्रक्षेपण गरेको छ ।

राष्ट्र बैङ्कका अनुसार कृषि गतिविधि ३ प्रतिशत, उद्योग १० दशमलव ८ प्रतिशत र सेवा गतिविधि २ दशमलव ६ प्रतिशतले बढेको छ ।

अक्टोबर सन् २०२४ मा चिया उत्पादनमा गिरावट भए तापनि कुल उत्पादन जनवरी र अक्टोबर बीचमा थोरै वृद्धि भएको छ ।
रबर उत्पादनले अक्टोबरमा उल्लेखनीय वार्षिक वृद्धि हासिल गर्दै स्थिर सुधार देखाएको केन्द्रीय बैङ्कले जनाएको छ ।

सन् २०२४ को पहिलो दश महिनामा नरिवलको उत्पादन वर्षैपिच्छे घटेको केन्द्रीय बैङ्कले जनाएको छ । गत वर्ष डिसेम्बर २० सम्ममा अमेरिकी डलरको तुलनामा श्रीलङ्काली रुपैयाँ १० दशमलव ७ प्रतिशतले बढेको केन्द्रीय बैङ्कले जनाएको छ ।

पोखरिया अस्पताललाई ५० शय्याको प्रादेशिकमा स्तरोन्नति गरिँदै

वीरगञ्ज । सरकारले पर्साको पोखरिया अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरेर प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ । शुक्रबार बसेको सङ्घीय मन्त्रिपरिषद्को बैठकले १५ शय्याको सो अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शुक्रबारको मन्त्रिपरिषद्को बैठकले १५ शय्याको पोखरिया जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्दै प्रादेशिक अस्पताल घोषणा गर्ने निर्णय गरेको सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिए ।

‘पर्साको पोखरीयावासी नागरिकको चाहना सम्बोधन गर्दै पोखरिया अस्पताललाई ५० शय्यामा प्रदेश अस्पतालको रूपमा सञ्चालन गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ’, मन्त्री पौडेलले भने ।

उनले पर्सावासीको निरन्तर चासो र मागको रूपमा रहेको यस अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्न सबैबाट सहयोग मिल्ने आशा व्यक्त गर्दै यसमा सघाउने सबैप्रति आभार प्रकट गरेका छन् ।

जर्मनीमा क्रिसमस मेलाको भीडमा कार जोतिँदा कम्तीमा दुईजनाको मृत्यु, ६८ घाइते

बीबीसी । जर्मनीको पूर्वी भागमा अवस्थित माग्डबर्ग सहरको एक क्रिसमस बजारमा तीव्र गतिमा रहेको एउटा कार मानिसहरूको भीडमा जोतिँदा एक शिशुसहित कम्तीमा दुईजनाको मृत्यु भएको छ ।

अधिकारीहरूका अनुसार ६८ जना मानिसहरू घाइते छन् जसमध्ये कम्तीमा १५ जना गम्भीर अवस्थामा छन् । सन्दिग्ध हमलाकारी एक ५० वर्षीय साउदी चिकित्सक रहेको साक्सनी क्षेत्रका प्रमुख राइनर हाजलफले जनाएका छन् । ती व्यक्ति पक्राउ हुँदाको क्षण भिडियो फुटेजमा देखिन्छ ।

एकजना प्रत्यक्षदर्शीले उक्त हमला भएपछिको अवस्थालाई ‘भद्रगोलपूर्ण’ बताएका छन् । सन् २००६ यता जर्मनीमा बसिरहेका ती सन्दिग्ध व्यक्तिसँग त्यहाँको स्थायी आवास अनुमति रहेको प्रहरीले जनाएको छ । स्थानीय अधिकारीहरूले त्यो नियतवश गराइएको हमला हुनसक्ने आशङ्का गरेका छन्।

‘जनयुद्ध’ रहने कि नरहने भन्ने निर्क्योल न्यायालयले गर्ने होइन, दलहरूले गर्ने हो

नारायण गाउँले ।
‘जनयुद्ध’ शब्द प्रयोग नगर्न सर्वोच्चले दिएको आदेश स्वाभाविक छ । यो फैसलालाई लिएर न्यायालय र न्यायाधीशमाथि व्यक्तिगत आक्रमण र गालीगलौजमा उत्रिनु जरूरी छैन । माओवादी सशस्त्र विद्रोह राजनैतिक विषय हो । कुनै कानुन, नियम र विनियम टेकेर भएको आन्दोलन होइन । तत्कालीन कानुन र संविधानलाई नै च्यालेन्ज गर्दै भएको विद्रोह हो । राजनैतिक विद्रोह भएकाले नै १७ हजार भन्दाबढीको ज्यान र हजारौँ नागरिक बेपत्ता हुँदा पनि विद्रोही या सरकारी पक्षलाई ज्यान मुद्दा नलागेको हो । वैयक्तिक सम्पत्ति, जग्गा, टेलिफोन टावर,ब्याङ्कदेखि सरकारी संरचनामाथि भएको आक्रमण र लूटपाट त्यही विद्रोहको अंशका रूपमा क्षम्य भएको हो । ‘सङ्क्रमणकालीन न्याय’ भनेर त्यति बेलाका लागि मात्रै भनेर कानुन नै अलग बनाउनुपर्ने र छुट दिन पर्ने अवस्था छ ।

आज तपाईं या मैले कसैको जग्गामा झण्डा गाड्ने हो भने कारवाही हुन्छ । टेलिफोन टावरमा बम हान्ने हो भने जेल जान पर्छ । प्रचण्ड नै प्रधानमन्त्री भए पनि सुराकी भनेर कासैको अपहरण या हत्या गरियो भने कानुन लाग्छ । कुनै मृत्युको जिम्मा लिइयो भने जेल जान पर्छ । किनकि हाम्रो कर्म राजनैतिक विद्रोह नभएर अपराधमात्रै हुन्छ ।

युद्धभित्र अनेक अपराध र विकृति हुन्छन् । माओवादी युद्धभित्र पनि थियो । तर त्यो राजनैतिक उद्देश्य प्राप्तिका लागि शुरू गरिएको विद्रोह थियो, राजनैतिक युद्ध थियो । राणा शासनविरुद्ध कांग्रेसले गरेको सशस्त्र युद्ध पनि राजनैतिक विद्रोह थियो । माओवादी युद्धले समाजिक, सांस्कृतिक र राजनैतिक परिवर्तनहरू ल्याएको पनि सत्य हो । साधनका रूपमा त्यति धेरै हिंसा जरूरी थियो कि थिएन भनेर बहस हुन सक्छ, केहीलाई शासन व्यवस्था नै मन नपर्न पनि सक्छ । तर खासगरी दलित, अल्पसङ्ख्यक र पिछडि़एको वर्गलाई उत्थान गर्न र राजनैतिक मूलधारमा ल्याउन त्यो विद्रोहले खेलेको भूमिकालाई अवमूल्यन गर्न मिल्दैन । विगत बीस वर्षयता माओवादीकै एजेन्डा र बहुमत नेतृत्वमा मुलुक हिँडेको सत्य हो । कहाँ पुगियो त भन्ने बहस अर्को हो । तर आजको व्यवस्थामा उसको स्वामित्व अरूको भन्दा बढ़ी भएको सत्य हो ।

राजनैतिक विषयको निरूपण राजनैतिक तहबाटै हुने हो । त्यो विद्रोहको शीर्षक ‘जनयुद्ध’ रहने कि नरहने भन्ने निर्क्योल न्यायालयले गर्ने होइन, दलहरूले गर्ने हो । दलहरूले सात–आठ वर्ष लगाएर संविधान निर्माण गर्दै त्यो शब्दलाई अस्वीकृत गरेको सत्य हो । त्यो युद्धकै परिणामस्वरूप जन्मिएको संविधानसभा र त्यसले लेखेको संविधानमा जनयुद्ध छैन । माओवादीले नै बनाएको संविधानमा त्यो शब्द छैन । गाली गर्ने त्यो संविधान लेख्नेहरूलाई हो ।

राजनैतिक रूपमा निरूपण र संविधानमैँ स्पष्ट उल्लेख भएको विषयमा अदालतले आफूखुशी निर्णय सुनाउन सक्दैन । उसले टेक्ने त संविधान नै हो । यो बदनियतले आएको फैसला होइन । प्रचण्ड, बाबुराम र बादलले लेख्न नसकेको शब्द अदालतले लेख्ने कुरो हुँदैन ।

आज एमाले र केपी ओली भनेर माओवादीले प्रचार गरेकी न्यायाधीश सपना मल्ल उनै हुन् जसले ओलीको संसद विघटनविरुद्ध प्रचण्डलाई जिताइदिएकी थिइन् । त्यतिबेला न्याय भएको माओवादी र कांग्रेसलाई लागेको थियो ।अवस्था बदलियो, तर त्यो फैसलाले केपी ओलीको राजनैतिक जीवन सकिने आँकलन थियो । राष्ट्रपति र प्रधानमन्त्री एक भएको त्यस्तो समयमा एमालेकै कोटाबाट न्यायाधीश बनेकाहरूले समेत संवैधानिक व्यवस्थाअनुसार नै फैसला गरेका थिए । यो फैसला पनि संविधानको शब्द टेकेर भएको छ । यो व्यवस्था नै दलीय हो । विद्यार्थीदेखि दल छन् । माओवादीको पनि छ । न्यायाधीश उसका पनि छन् । तर के तिनले माओवादी मात्रै हेर्छन् ?

त्यो विद्रोहका सन्दर्भमा औपचारिक रूपमा जनयुद्ध शब्द सरकारी तवरमा प्रयोग गर्न रोक लागेको हो । एकरूपताका लागि । पार्टी र जनताले प्रयोग गर्न सक्छन् । भोलि दुई तिहाई बहुमत आयो र संविधान संशोधन भयो भने त्यहाँ पनि प्रयोग हुन सक्छ ।
आफ्नो पक्षमा फैसला आएमात्रै न्यायालय राम्रो र नआए बिकाऊ भनेर सस्तो भाषण गर्ने तुच्छ बानी छोड्न जरूरी छ !

महोत्तरीको मनरासिश्वामा लुटेरा समूहद्वारा घरधनीको हत्या, लाखौं लुटपाट

जलेश्वर । महोत्तरी जिल्लाको मनरासिश्वा नगरपालिका–४ साढा गाउँमा शनिबार बिहान लुटेराहरूको एक समूहले घरधनीको हत्या गरी लाखौँको लुटपाट गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार स्थानीय ७० वर्षीय सुशील झाको घरमा शनिबार बिहान ४ बजे लुटेराको समूह पसेर घरधनी झालाई कुटपिट गरेर हत्या गरी लाखौँको लुटपाट गरेका छन् ।

घरमा पत्नीसँग मात्रै बस्दै आएका घरधनी सुशीललाई सात/आठ जनाको समूहमा हातहतियारसहित आएका नकाबधारी लुटेराको समूहले आक्रमण गरी हत्या गरेको र घरबाट सुनको मङ्गलसुत्र एक थान, सुनको औँठी एक थान र ८० हजार नगद लुटेर लगेको प्रहरी नायब उपरीक्षक जैसवारले बताए।

झाकी पत्नी सामान्य घाइते भएको जनाइएको छ । अन्य के कति सरसामान लुटपाट गरेको बारेमा प्रहरी टोली घटनास्थलमा पुगेर खोजबिन गर्दैछ भने घरधनी सुशीलको शव पनि अहिले घटनास्थलमै रहेको जनाइएको छ ।

सर्वोच्चको आदेशपछि दुर्गा प्रसाईं रिहा

काठमाडौं । थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं सर्वोच्च अदालतको आदेशमा शुक्रबार साँझ थुनामुक्त भएका छन् । सर्वोच्चको आदेशपछि सीआईबीको हिरासतमा रहेका प्रसाईं  थुनामुक्त भएका हुन् ।

थुनामुक्त भएपछि उनले मुलुकमा न्याय नमरेको बताए । उनले राज्यमा बेथितिको भण्डाफोर गर्दा आफूलाई शासकको ठाडो आदेशमा थुनेको बताए ।

उनले भने, ‘शासक हो न्याय मरेको छैन । राज्यका कुनै निकायप्रति विश्वास उडेको होला, तर न्यायालय आज पनि पवित्र छ । राज्यका अनेकन बेथितिको भण्डाफोर गर्दा निरंकुश शासकको ठाडो आदेशमा प्रशासनको चिसो खोर सहनु पर्यो । नागरिकको पक्षमा बोल्दा झुटा मुद्दा खेप्नु पर्यो । अन्तत्वगत्वा सत्यको जित भएको छ । सर्वोच्च अदालतको आदेशले आज रिहा भएको छु । यो बीचमा सहयोग सद्भाव व्यक्त गर्नेहरुप्रति मृदयदेखि धन्यवाद !’

उनले फेरि आफू मैदानमा खडा हुने बताएका छन् । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र सारंगा सुवेदीको इजलासले प्रसाईंलाई रिहा गर्न आदेश दिएको थियो ।

प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनका छोरा निराजन प्रसाईंले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दिएका थिए । साइबर अपराधको मुद्दामा अदालतले उनलाई ४० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । तर धरौटी बुझाएपनि उनलाई प्रहरीले अदालत परिसरबाटै पक्राउ गरेको थियो ।

प्रसाईंले आफू साइबर अपराधमा धरौटीमा रिहा भए पनि प्रहरीले दुःख दिने मनसाय राखेर पुनः पक्राउ गरेकाले साधारण तारेखमा रिहा गर्न माग गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा करोडौं लगानी गरेको भन्दै अपवाह फैलाएपछि प्रसाई पक्राउ परेका थिए । तर अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपनि व्यापारीलाई धम्क्याएको आरोपमा अदालतबाट जारी भएको अर्को पक्राउ पुर्जीको आधारमा प्रसाईं फेरि पक्राउ परेका थिए ।

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र सारंगा सुवेदीको इजलासले प्रसाईंलाई रिहा गर्न आदेश दिएको हो ।

प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनका छोरा निराजन प्रसाईंले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दिएका थिए । साइबर अपराधको मुद्दामा अदालतले उनलाई ४० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

तर धरौटी बुझाएपनि उनलाई प्रहरीले अदालत परिसरबाटै पक्राउ गरेको थियो । प्रसाईंले आफू साइबर अपराधमा धरौटीमा रिहा भए पनि प्रहरीले दुःख दिने मनसाय राखेर पुनः पक्राउ गरेकाले साधारण तारेखमा रिहा गर्न माग गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा करोडौं लगानी गरेको भन्दै अपवाह फैलाएपछि प्रसाई पक्राउ परेका थिए । तर अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपनि व्यापारीलाई धम्क्याएको आरोपमा अदालतबाट जारी भएको अर्को पक्राउ पुर्जीको आधारमा प्रसाईं फेरि पक्राउ परेका थिए ।

डीआईजीद्वय दुर्गा सिंह र भरतबहादुर बोहरा एआईजीमा बढुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका दुईजना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले डीआईजीद्वय दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

उनीहरुालई गत शुक्रबार बढुवा सिफारिस समितिले बढुवाका लागि सिफारिस गरेको थियो । एआईजी भीमप्रसाद ढकाल र केदार ढकालको अवकासपछि रिक्त पदमा उनीहरूलाई बढुवा गरिएको हो ।

सूर्यदर्शन सहकारी ठगीमा जीबी राईसहित १९ जनाविरुद्ध पूरक अभियोग दर्ता, रविविरुद्ध आइतबार मुद्दा दर्ता हुने

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीबी राईसहित १९ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ ।

शुक्रबार  जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले थप अभियोग र बिगो दाबी गर्दै पूरक अभियोग पेस गरेको हो ।

यसअघि १९ जनाविरुद्ध २०८० असोजमा सहकारी ठगीसम्बन्धी कसुरमा मुद्दा चलाइएकोमा यसपटक भने संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत मुद्दा चलाइएको छ ।

१९ जनामध्ये ६ जना पुर्पक्षका लागि थुनामा छन् भने अन्य फरार छन् । रास्वपा सभापति रवि लामिछानेसहित कास्की प्रहरीको हिरासतमा रहेका ५ जनाविरुद्ध भने आइतबार मात्र अभियोपत्र अदालतमा बुझाइने जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन् ।

लामिछानेसहित पाँचै जनालाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अभियोगपत्र दायर गरिने सरकारी वकिलको कार्यालयले जनाएको छ ।

१९ जनाको अभियोगपत्रमा १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ बिगो कायम गरिएको छ । यसअघिको अभियोगमा १ अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ मागदाबी थियो भने सहकारी ठगीको मात्रै मुद्दा दर्ता गरिएको थियो । मुद्दा दर्ता भएपछि जिल्ला अदालतले लामिछानेसहित पाँचै जनाको बयान लिने छ र बयानपछि थुनछेकको बहस हुनेछ ।

घर जग्गा कारोबारलाई थप व्यवस्थित बनाउँछौंः उपप्रधानमन्त्री सिंह

काठमाडौं ।  उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले घर जग्गा कारोबारमा देखिएको शिथिलतालाई हटाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

शुक्रबार जग्गा आवास विकासमा देखिएका समस्या समाधानका लागि सुझाव दिन गठन गरिएको कार्यदलको प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री सिंहले घर जग्गा कारोबारलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता जनाए ।

उनले प्रतिवेदनमा उठेका उपिवषयलाई क्रमिक रूपमा कार्यान्वयन गर्दै लैजाने पनि बताए । ‘जग्गा तथा आवास विकाससँग सम्बन्धित ऐतिहासिक दस्तावेजका रूपमा यो प्रतिवेदन पछिसम्म रहनेछ । जग्गा तथा आवाससम्बन्धी अनुसनधान गर्नेहरूले पनि यो प्रतिवेदनलाई आधार बनाउनेछन् भन्ने विश्वास छ,’ उनले भने, ‘तपाईंहरूले दिनुभएको प्रतिवेदनलाई केलाएर मन्त्रालयले ऐननियम बनाउने क्रममा पनि यसले आधार दिनेछ । प्रतिवेदनमा भएका सुझाव कार्यान्वयनका लागि मन्त्रालयले काम गर्नेछ । यसलाई राम्रो बनाउन अझ सरोकारवालासँग पनि छलफल गर्नेछौँ ।’

उनले घर जग्गा तथा आवास क्षेत्रले नेपालको अर्थतन्त्रमा योगदान पुर्‍याएको भन्दै मन्त्रालयको तर्फबाट यसमा नीतिहरू बनाउँदा थप ध्यान दिने बताए ।

सरकार, निजीक्षेत्रको अन्तर्क्रिया तथा व्यक्तिगत रूपमा कार्यदलले बुझाएको प्रतिवेदनले नेपालको घर जग्गा तथा आवासको कारोबारलाई उकास्न मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे ।

सरकार, निजीक्षेत्रको अन्तर्क्रिया तथा व्यक्तिगत रूपमा कार्यदलले बुझाएको प्रतिवेदनले नेपालको घर जग्गा तथा आवासको कारोबारलाई उकास्न मद्धत पुग्ने भन्दै उनले मध्यम र निम्न वर्गका परिवारलाई पनि ‘हाउजिङ’ आवासमा समेट्न मन्त्रालयले आवश्यक पहल गर्ने बताए ।

शहरी विकास मन्त्रालयका भवन, आवास तथा योजना महाशाखाका प्रमुख दिलीप भण्डारीको संयोजकत्वमा गठन भएको कार्यदलले जग्गा,आवास विकाससँग सम्बन्धित व्यवस्था अध्ययन गरी पुनरावलोकन गर्नुपर्ने विषय पहिल्याई शुक्रबार सुधारसहितको प्रतिवेदन उपप्रधानमन्त्री सिंहलाई बुझाएको हो ।

‘जनयुद्ध’ शब्द प्रयोग नगर्न दिएको सर्वोच्चको आदेशप्रति गुरुङको आपत्ति

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी दस्तावेजमा ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न भनी दिएको आदेशप्रति नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले सर्वोच्चको आदेशप्रति आपत्ति जनाएका हुन् ।

उनले भने, ‘नेपाल सरकार र मधेस प्रदेस सरकारको आर्थिक वर्ष २०८१/८२ को वजेट बक्तव्यमा प्रयुक्त ‘जनयुद्व’ शब्द सम्बन्धमा संविधानमा प्रयुक्त ‘सशस्त्र संघर्ष’ सँग बाझिएको भनि परेको रिट निवेदन सम्बन्धमा हालै सर्वोच्च अदालतको संवैधानिक इजलासबाट ‘जनयुद्व’ शब्द अन्तिम फैसला नहुँदासम्म राज्यका अंगहरुले प्रयोग नगर्नु भनि अन्तरिम आदेश जारी भएको विषयमा ध्यानाकर्षण भएको छ ।’

उनले न्यायालयले त्रुटीपूर्ण व्याख्यालाई सच्याउन आग्रहसमेत गरेका छन् । उनले भनेका छन्, ‘यसरी विश्वव्यापी सर्वमान्य परिभाषा विपरित जनयुद्वलाई शसस्त्र संघर्षसँग बाझिने वा विपरित भनि व्याख्या गर्नु नेपालको संविधानको भावना विपरित मात्र होइन, विश्वव्यापी सर्वमान्य परिभाषाकै अपव्याख्या हुन जान्छ । अतः न्यायालयबाट भएका यसप्रकारका कतिपय त्रुटीपूर्ण व्याख्याहरु न्यायालयकै अन्तिम फैसलाको क्रममा अवश्य सुधार हुनेछ ।’

यस्तो महासचिव देव गुरुङको भनाई 

नेपाल सरकार र मधेस प्रदेस सरकारको आर्थिक वर्ष २०८१/८२ को वजेट बक्तव्यमा प्रयुक्त ‘जनयुद्व’ शब्द सम्बन्धमा संविधानमा प्रयुक्त ‘सशस्त्र संघर्ष’ सँग बाझिएको भनि परेको रिट निवेदन सम्बन्धमा हालै सर्वोच्च अदालतको संवैधानिक इजलासबाट ‘जनयुद्व’ शब्द अन्तिम फैसला नहुँदासम्म राज्यका अंगहरुले प्रयोग नगर्नु भनि अन्तरिम आदेश जारी भएको विषयमा ध्यानाकर्षण भएको छ । नेपालको संविधानले न्यायालयले गरेको व्याख्यालाई अन्तिम मान्ने विधि स्थापित गरेकोले अन्यथा नहुँदासम्म विधिमा त्यसलाई पालना गर्नुको विकल्प नरहला ।

तर आदेशको अन्तर विषयवस्तु ठिक बेठिकबारे विचारको स्वतन्त्रता भने लोकतान्त्रिक संविधानले प्रत्याभुत गरेको छ। अतः निर्णयको अन्तर विषयस्तु हेर्दा उक्त अन्तरिम आदेशमा गम्भीर त्रुटी भएको देखिन्छ। किनभने संविधानको कुनै पनि शब्दबारेको व्याख्यामा विवाद परेमा संविधान निर्माणको बेला गरिएको व्याख्यात्मक टिप्पणी हेर्ने हो । व्याख्यात्मक टिप्पणीमा सशस्त्र संघर्ष भित्र जनयुद्व पनि पर्ने व्याख्या स्पष्टसँग गरिएको छ । संविधानको कुनै पनि विषयको व्याख्यामा विवाद भएमा व्याख्यात्मक टिप्पणी आकर्षित हुने व्यवस्था Common law  भएका मुलुकहरु सबैले गरिरहेको सर्वमान्य अभ्यास हो । यसको अवलम्वन संवैधानिक इजलासमा किन हुन सकेन ?

अर्को कुरा व्याख्यात्मक टिप्पणीमा उल्लेख नभएको विषय रहेछ भने पनि संविधानले मूल सिद्वान्त(theory)र भाव(spirite)बोल्ने हो । राज्यका अंगहरुले संविधानको सिद्वान्त र भाव पक्रने हो र त्यसै अनुरुपका भाषा शब्दावलीहरु प्रयोग गर्ने हो । राज्यका अंगहरुले प्रयोग गर्ने सबै भाषा र शब्दावली संविधानमा उल्लेख गरेर साध्य चल्ने विषय पनि परेन । यस स्थितिमा पनि विवाद पैदा भएमा विश्वव्यापी अभ्यास हेर्ने हो । जनयुद्व, सशस्त्र संघर्ष अन्तरगतकै एउटा स्वरुप रहेको व्याख्यामा विश्वव्यापी सर्वमान्य रहेको छ।

यसरी विश्वव्यापी सर्वमान्य परिभाषा विपरित जनयुद्वलाई शसस्त्र संघर्षसँग बाझिने वा विपरित भनि व्याख्या गर्नु नेपालको संविधानको भावना विपरित मात्र होइन, विश्वव्यापी सर्वमान्य परिभाषाकै अपव्याख्या हुन जान्छ । अतः न्यायालयबाट भएका यसप्रकारका कतिपय त्रुटीपूर्ण व्याख्याहरु न्यायालयकै अन्तिम फैसलाको क्रममा अवश्य सुधार हुनेछ ।

नेपाललाई पराजित गर्दै बंगलादेश यु-१९ एशिया कप क्रिकेटको फाइनलमा

काठमाडौं । नेपाललाई हराउँदै बङ्गलादेश यु- १९ एशिया कप क्रिकेटको फाइनलमा पुगेको छ । शुक्रबार भएको ‘सुपर–फोर’ को खेलमा बङ्गलादेशले नेपाललाई ९ विकेटले हराएको हो ।

नेपालले दिएको ५५ रनको मध्यम लक्ष्य बङ्गलादेशले ९ ओभर ५ बलमा १ विकेट गुमाएर भेटायो । बङ्गलादेशकी फहोमिदा चोयाले नटआउट २६ रन बनाइन् । नेपालकी कुसुम गोदारले १ विकेट लिइन् ।

यसअघि मलेसियाको क्वालालम्पुरमा रहेको बायोमास ओभलमा टस हारेर ब्याटिङ गरेको नेपालले ११ ओभरमा ८ विकेट गुमाएर ५४ रन बनायो । वर्षाले खेल प्रभावित भएपछि खेल ११ ओभरमा झारिएको थियो । बङ्गलादेश ‘सुपर–फोर’ मा दोस्रो स्थानमा रहेर फाइलनमा पुगेको हो । अब बङ्गलादेशले उपाधिका लागि फाइनलमा भारतसँग खेल्नेछ । फाइनल खेल आइतबार हुनेछ ।

बागलुङ कालिका मन्दिरमा एक महिनामा २९ लाख भेटी संकलन

बलेवा । बागलुङ कालिका भगवती मन्दिरमा मङ्सिरमा २९ लाख रुपैयाँ बढी आम्दानी भएको छ । कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अनुसार मङ्सिरमा मन्दिरमा २९ लाख १२ हजार छ सय ९० रुपैयाँ आम्दानी भएकामा १४ लाख ३७ हजार ३९ रुपैयाँ खर्च भएको छ । मङ्सिरमा १४ लाख ७४ हजार छ सय ५१ रुपैयाँ बचत भएको छ ।

गुठीका अध्यक्ष कुमार खड्काका अनुसार मन्दिरमा भक्तजनले समर्पण गरेको भेटीबाट १७ लाख आठ हजार छ सय ४० रुपैयाँ, चामल बिक्रीबाट ३५ हजार एक सय, बोकाबाट एक लाख दुई सय ५० रुपैयाँ, कुखुराबाट सात हजार छ सय, राँगोबाट दुई हजार रुपैयाँ , सटर भाडा तीन लाख नौ हजार पाँच सय ४० रुपैयाँ , विवाहबाट रुपैयाँ, १० हजार पाँच सय रुपैयाँ , वनभोजस्थलबाट एक हजार रुपैयाँ १८ हजार चार सय रुपैयाँ आम्दानी भएको छ ।

कर्मचारीहरूको तलबमा चार लाख पाँच सय रुपैयाँ, बिजुलीमा ३५ हजार नौ सय ३० रुपैयाँ , पूर्वाधार विकासमा पाँच लाख २८ हजार छ सय ९८ रुपैयाँ, पूजा खर्च ५५ हजार, पोशाकमा ५३ हजार रुपैयाँ, विज्ञापन खर्च छ हजार रुपैयाँ, मेसिन तथा उपकरण २८ हजार रुपैयाँ, खाद्यान्न र आवासमा ७८ हजार रुपैयाँ, मर्मतसम्भारमा १७ हजार रुपैयाँ, यातायात तथा भ्रमणमा एक लाख तीन हजार आठ सय रुपैयाँ खर्च भएको गुठीका कोषाध्यक्ष रमेश खड्काले जानकारी दिए ।

देउवासँगको सल्लाहमा सुदूरपश्चिम आएको हुँः शेखर कोइराला

सुदूरपश्चिम । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र आफूबीच कुनै तिक्तता नरहेको बताएका छन् ।

सुदूरपश्चिमका जिल्लाको भ्रमणका लागि शुक्रबार धनगढी पुगेका कोइरालाले पत्रकारहरुसँग कुरा गर्दै पार्टी सभापतिसँग आफ्नो कुनै तिक्तता नरहेको बताएका हुन् ।

कोइरालाले आफू सभापति देउवासँगको सल्लाहमा सुदूरपश्चिमका नेता–कार्यकर्ता भेट्न आएको बताए । उनले भने, ‘म पार्टी सभापतिकै सल्लाहमा सुदूरपश्चिमको भ्रमणमा आएको हुँ । मेरो र उहाँबीचमा केही त्यस्तो छैन ।’

उनले १५ औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहेको बताए ।

कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गुनासो सुनुवाइ एकाइ ‘हेल्लो स्वास्थ्य १११५’ मा कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको र अटेर गरेको पाइए कारबाही गर्न मातहतका अधिकारीलाई निर्देशन दिएका छन् । उनले विद्युतीय हाजिरी अनिवार्य गर्ने व्यवस्था मिलाउनका लागि समेत निर्देश गरेका छन् ।

मन्त्री पौडेलले नियमित रुपमा हेल्लो स्वास्थ्यमा आएका गुनासा सुन्दै सुधारका लागि अधिकारीको ध्यानाकर्षण गराउँदै आएका छन् ।

मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियन्त्रण महाशाखाले मातहतका सबै कार्यालयमा पठाएको पत्रमा चिकित्सक एवं स्वास्थ्यकर्मी कार्यालय समयमा कार्यकक्षमा रही सेवा प्रवाहको व्यवस्था मिलाउन भनिएको छ ।

मन्त्रालयले मातहतका सबै अस्पतालमा पत्राचार गर्दै कार्यालय समयमा सेवा प्रवाह गरेको सुनिश्चितता गर्न भनेको हो । कार्यालय समयमा बाहिर जानु परे लगबुक राखेर मात्र जाने व्यवस्था मिलाउन पत्रमा भनिएको छ । मन्त्रालयले कार्यालयमा आउँदा र जाँदा अनिवार्य रुपमा विद्युतीय हाजिरी गर्ने व्यवस्था मिलाउनसमेत पत्रमा उल्लेख छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले कार्यालय समयमा चिकित्सक तथा स्वास्थ्यकर्मी नभएको बारम्बारको गुनासोपछि पत्राचार गरिएको भन्दै अनुगमन पनि गर्ने बताए ।

‘कार्यालय समयमा सेवामा उपस्थित हुनुपर्ने सबैको कर्तव्य हो’, उनले भने, ‘यसलाई कडाइका साथ लागू गर्न स्मरण गराएका छौँ । अनुगमनमा कोही दोषी भेटिए कारबाही हुनेछ ।’

प्रवक्ता बुढाथोकीले मन्त्रालयले व्यवस्था गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो स्वास्थ्यमा सेवासम्बन्धमा गुनासा भए टिपाउन आग्रह गर्दै त्यसको सुनुवाइ भइरहेको दाबी गरे ।

सिरियाली नयाँ नेतृत्वलाई भेट्न अमेरिकी कूटनीतिज्ञ दमास्कसमा

दमास्कस । सिरियाका नयाँ इस्लामवादी नेतृत्वको शासकलाई भेट्न अमेरिकी कूटनीतिज्ञहरू सिरियामा पुगेको अमेरिकी विदेश मन्त्रालयले शुक्रबार जनाएको छ ।

पूर्व शासक बशर अल असदलाई सत्ताच्यूत गरेपछि दशकौँदेखिको दुव्र्यवहार र वर्षौंदेखिको सिरियाली गृहयुद्ध अन्त्य भएको छ तर यसले अल्पसङ्ख्यकका साथै महिलाको अधिकार र अर्धस्वायत्त कुर्द क्षेत्रको भविष्यबारे चिन्ता बढाएको छ ।

बिहीबार दमास्कसमा सयौँले लोकतन्त्र र महिला अधिकारको माग गर्दै प्रदर्शन गरेका थिए ।

उत्तरपूर्वी सिरियाको कामिश्लीमा टर्की र उसका सहयोगी विद्रोही लडाकुको दबाबमा रहेको अमेरिकी समर्थित कुर्द नेतृत्वको सेनाको समर्थनमा हजारौंले प्रदर्शन गरेका छन् ।

अलकायदाको सिरिया शाखामा जरा गाडेको हयात तहरीर अल–शाम (एचटीएस) ले असदलाई देश छोड्न बाध्य पार्ने आक्रामक आक्रमणको नेतृत्व गरेको थियो।

एचटीएसको राजधानीमा अचानक आगमनले विदेशी सरकारहरू सिरियासँगको नयाँ नीतिबारे अलमलमा परेका छन् । केही देशहरूमा एचटीएसलाई आतङ्कवादी समूह घोषित गरिएको छ ।

सन् २०११ मा असदले सरकार विरोधी प्रदर्शनमा कडाइ गरेपछि सुरु भएको गृहयुद्धको सुरुवाती दिनदेखि नै अमेरिकी कूटनीतिज्ञहरू औपचारिक अभियानसहित दमास्कस गएका छैनन् ।

उनीहरूले वासिङ्टनले आतङ्कवादी समूह घोषणा गरेको एचटीएसका प्रतिनिधिका साथै अधिकारकर्मी, अल्पसङ्ख्यक समूह र नागरिक समाजका प्रतिनिधिसँग भेटवार्ता गर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले सिरियाली नागरिकसँग आफ्नो देशको भविष्यका लागि उनीहरूको दृष्टिकोण र अमेरिकाले उनीहरूलाई कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा कुराकानी गर्ने बताएका छन् ।

उक्त प्रतिनिधिमण्डलमा सन् २०१२ को अगष्टमा सिरियामा अपहरणमा परेका पत्रकार अस्टिन टाइसलगायत हराएका अमेरिकी नागरिकबारे सुराकी खोजिरहेका अमेरिकी नागरिक पनि रहेका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सिरियाका छिमेकीको भ्रमणका क्रममा अमेरिका एचटीएससँग प्रत्यक्ष सम्पर्कमा रहेको बताएको एक सातापछि यो भ्रमण हुन लागेको हो ।

हेटौँडा सिमेन्ट उद्योगले आगाामी सातादेखि उत्पादन थाल्ने

काठमाडौँ । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले यही पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योगको उपकरण मर्मतको काम सकिन लागेकाले पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गरिने तयारी भएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिए ।

उपकरणको कार्य पुसको १० गतेसम्ममा सकिने र त्यस लगत्तैबाट उत्पादन गर्ने तयारीमा रहेको उनले बताए । ‘उद्योगको क्लिनिकलर मेसिन लगायतका उपकरणको मर्मतकार्य अझै भइरहेकै छ’, अध्यक्ष भण्डारीले भने, ‘हामीले तिहारसम्ममा मर्मत सकिन्छ र त्यस लगत्तै पुनः सिमेन्ट उत्पादको कार्य सुरु गर्ने अनुमान गरेका थियौँ, तर उपकरण मर्मतको काम नसकिएकाले उद्योग सञ्चालन गर्न समय लागेको हो ।’

उपकरणको मर्मत गर्नुपर्ने भन्दै उद्योग व्यवस्थापनले गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मत सम्भारमा समय लागेको उनले बताए ।

‘हामीसँग कच्चापदार्थको कुनै अभाव छैन्’, अध्यक्ष भण्डारीले भने, ‘उद्योगलाई चाहिने करिब ४०० मेट्रिक टन कोइला मौज्दात छ ।’

थप कोइला खरिदको प्रक्रिया अघि बढिसकेकाले कोइलाको समस्या नहुने उनको भनाइ छ । आर्थिक अभावका कारण यसअघि दुई महिना सो उद्योग बन्द भएको थियो ।

यही भदौ महिनाको तेस्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरेको सो उद्योगले यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको अध्यक्ष भण्डारीले बताए । विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ देखि सिमेन्ट उत्पादन सुरु गरेको थियो ।

प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले शुक्रबार बिदाइ भेट गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र बङ्गलादेशको आपसी सम्बन्धमा योगदान दिएकामा राजदूत चौधरीलाई धन्यवाद दिए ।

प्रधानमन्त्री ओलीले बङ्गलादेश अन्तरिम राजनीतिक अवस्थाबाट छिटो स्थायित्वमा जाने विश्वास गरे । त्यसक्रममा राजदूत चौधरीले नेपालको शान्ति प्रक्रिया र राजनीतिक परिवर्तनबाट बङ्गलादेशले शिक्षा लिँदै आएको अवगत गराए ।

भेटमा दुुईपक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो ।
राजदूत चौधरी नेपालको कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारीमा छन् ।

बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु

नेपालगञ्ज। बाँके राष्ट्रिय निकुञ्जमा बाघ र बाघको आहारा प्रजातिको सर्वेक्षण सुरु भएको छ । करिब दुई महिनासम्म हुने सर्वेक्षणबाट बाघको सङ्ख्या, बसोबास क्षेत्र र आहारा प्रजातिको अवस्थाको विस्तृत जानकारी प्राप्त हुने बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए ।

‘सर्वेक्षण भनेपछि गणनाको कुरा पनि आउँछ, वास्तविक रुपमा बाघ कति छन् र त्यसको आहारा प्रजातिको अवस्था कस्तो छ भनेर स्पष्ट हुन खोजिएको हो,’ उनले भने ।

प्रमुख संरक्षण अधिकृत कँडेलले बाँकेमा सर्वेक्षण काम सकिएपछि बर्दियामा बाघ र बाघको आहारा प्रजातीको सर्वेक्षण सुरु गरिने बताए ।

सूचना अधिकारी मन्दीप पङ्गेनीले बाँके राष्ट्रिय निकुञ्जमा क्यामेरा ट्र्यापिङ, चिन्ह पहिचान र डिएनए परीक्षण प्रविधिको प्रयोगमार्फत सर्वेक्षण सुरु गरिएको उल्लेख गरे । उनले सर्वेक्षणबाट निकुञ्जमा रहेका बाघको सङ्ख्या, बसोबास क्षेत्र र आहारा प्रजातिको अवस्थाको जानकारी हुने भएकाले त्यसबाट आगामी कार्ययोजना बनाउन सहज हुने बताए ।

प्रविधिको प्रयोगले बाघ र बाघको आहारा प्रजातिको संरक्षण तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको जानकारी दिँदै सूचना अधिकारी पङ्गेनीले बाँकेपछि बर्दियामा सुरु हुने सर्वेक्षणले बाघ संरक्षणमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

उहाँले बाँके राष्ट्रिय निकुञ्जलाई चार ब्लकमा विभाजन गरी दुई किलोमिटर क्षेत्रफलको एउटा ग्रिड बनाएर स्वचालित क्यामेरा जडान गरेर काम गरिएको बताए । क्यामेराको सहयोगले बाघ र आहारा प्रजातिको गतिविधि र दिशासम्बन्धी तथ्याङ्कसमेत सङ्कलन हुने छ । बाघको आहारा प्रजातीमा बाँके राष्ट्रिय निकुञ्जमा चित्तल, बँदेल, चौका, निलगाई, जरायोलगायत पर्छन ।

सर्वेक्षणका लागि निकुञ्जका प्राविधिक कर्मचारी र नेपाली सेनालाई आवश्यक तालिम प्रदान गरिएको निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार यसलाई अझ प्रभावकारी बनाउन बाँके निकुञ्जमा १०९ स्थानमा स्वचालित क्यामेरा जडान गरिएको छ । निकुञ्जको पश्चिम क्षेत्र कोहलपुर, खडकबार, बुचापुरबाट सर्वेक्षण सुरु गरिएको छ । त्यसका लागि १६ देखि २० जना प्राविधिक कर्मचारीले ८० दिनसम्म जङ्गलमै बसेर काम गर्ने बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ ।

पछिल्लो समयमा आएर दुवै निकुञ्जको नजिक रहेका बस्तीमा छिरेर बाघले सर्वसाधारणलाई आक्रमण गर्ने र वन्यजन्तुले घर भत्काउने तथा खाद्यान्न नष्ट गर्ने गरेको स्थानीयले गुनासो गरेका छन् ।

भारतीय उद्यमीलाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्रीकाे आह्वान

नयाँ दिल्ली । परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले भारतका उद्यमी समक्ष नेपालमा ऊर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानीका लागि आह्वान गरेकी छन् ।

काठमाडौँ विश्वविद्यालय र भारतको ‘फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेल्फर’ (ईग्रो फाउन्डेसन)ले आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि सुरु ‘भारत–नेपाल आर्थिक सम्मेलन’ (इन्डो–नेपाल इकोनोमिक कन्फ्रेन्स)मा उनले नेपालले विदेशी लगानी र निजी क्षेत्र प्रवर्द्धनसम्बन्धी नीति नीति उदार बनाएको उल्लेख गर्दै भारतीय उद्यमीलाई लगानीका लागि आह्वान गरेकी हुन् ।


मन्त्री राणाले नेपालमा लगानीको वातावरण बनेको र उच्च प्रतिफलको अवस्था पनि बनेको उल्लेख गरिन् । उनले नेपालले विदेशी लगानी आकर्षणका लागि ‘डबल बी माइनस (बीबी माइनस) रेटिङ प्राप्त गरेको र लगानीका लागि प्रोत्साहनमुखी नीतिहरू लागू गरेको जानकारी गराइन् ।

मन्त्री राणाले नेपाल–भारत सम्बन्धलाई केवल आर्थिक रुपमा मात्र नभई सामाजिक र सांस्कृतिक रूपमा पनि थप मजबुत बनाउनुपर्नेमा जोड दइन् । दक्षिण एशियाको क्षेत्रीय सहकार्यका लागि नेपाल–भारत सम्बन्धलाई एक उदाहरणीय ढाँचाका रूपमा विकास गर्नुपर्ने उनको धारणा थियो ।


उनले नेपाल र भारतबीच कागजी सम्झौताभन्दा बढी हृदयले जोडिएको सम्बन्ध भएको बताउँदै दुई देशबीचको सांस्कृतिक, धार्मिक र ऐतिहासिक सम्बन्धलाई प्राथमिकताका साथ थप मजबुत बनाउँदै लगिनुपर्ने बताइन् ।

त्यस अवसरमा उनले अन्तर्देशीय (क्रस–बोर्डर) पूर्वाधार विकासमा जोड दिइन् । ‘एकीकृत जाँच पास केन्द्र (इन्टिग्रेटेड चेक पोस्ट–आईसीपी), रेलमार्ग, पेट्रोलियम पाइपलाइन, र विद्युत् प्रशारणलाइन जस्ता परियोजना नेपाल–भारत आर्थिक सहकार्यका महत्त्वपूर्ण आधार स्तम्भ हुन्’, उनले भनिन् ।

सम्मेलनमा परराष्ट्रमन्त्री राणाले दुई देशबीच भएको सम्झौता विद्युत् व्यापार सम्झौताले आगामी १० वर्षभित्र १० हजार मेगावाट विद्युत् भारतलाई निर्यात गर्ने योजना अघि सारेको र नेपालले हालै भारतको प्रशारणलाइनमार्फत् बङ्गलादेशलाई ४० मेगावाट विद्युत् बिक्री गर्न सक्षम भएको बताइन् ।

भारत नेपालका लागि सबैभन्दा ठूलो व्यापारिक साझेदार, प्रत्यक्ष वैदेशिक लगानीमा ठूलो योगदानकर्ता र अन्तर्राष्ट्रिय व्यापार र कनेक्टिभिटीका लागि पारगमन देश भएको उनको भनाइ थियो ।

उनले भनिन्, ‘शिक्षादेखि स्वास्थ्य, पूर्वाधार विकास, संस्थागत निर्माण र नेपालको औद्योगीकरणमा भारतको सहयोगले यो सम्बन्ध अझ बलियो बनाएको छ । धार्मिक यात्राहरू, सांस्कृतिक पर्वहरूले हाम्रो सम्बन्धलाई पुस्तौँदेखि नजिक बनाउँदै आएका छन् । पछिल्ला वर्षमा द्विपक्षीय आर्थिक सहकार्यको दायरा बढेका छन् र यस क्षेत्रमा महत्त्वपूर्ण प्रगति भएको छ ।’

मन्त्री डा राणाले दुई देशबीचको व्यापार असमान रहेकोप्रति चिन्ता व्यक्त गरिन् । नेपालको भारतसँगको व्यापार घाटा कुल ग्राहस्थ्य उत्पादनको अनुपातमा निकै बढेको उल्लेख गर्दै यस्तो असमानता कम गर्न व्यापारको विविधिकरण र विस्तारका उपाय खोज्न सम्मेलनमार्फत् आह्वान गरिन्।

नेपाल–भारत व्यापारमा रहेका अवरोध हटाउन अति आवश्यक रहेको पनि उनको भनाइ थियो । गैर–भन्सार अवरोध, सीमा व्यापारका संरचनागत समस्याहरूले दुवै देशको आर्थिक सम्बन्धलाई अवरोध पुर्‍याएको तथ्य उनले राखिन् ।

ईग्रोका प्रमुख कार्यकारी डा चरन सिंहले यस प्रकारको सम्मेलन पहिलोपटक आयोजना गरिएको उल्लेख गर्दै छिमेकी मुलुकहरूसँग सहकार्य, सिक्ने र सिकाउने अभ्यासलाई प्राथमिकता दिनुपर्ने बताए । शैक्षिक अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने महत्त्वपूर्ण भूमिका यो सम्मेलनले खेल्न सक्ने उनले जानकारी दिए ।

काठमाडौँ विश्वविद्यालयका रजिस्टार डा अच्युत वाग्लेले नेपाल र भारतबीचको द्विपक्षीय तथा क्षेत्रीय सहकार्यका सम्भावनाहरू पहिचान गर्न यस सम्मेलन आयोजना गरिएको बताए । उनले यो सम्मेलनलाई ‘ट्रयाक टु डिप्लोमेसी’को उदाहरणका रूपमा उल्लेख गर्दै शैक्षिक क्षेत्रबाट अध्ययन र तथ्याङ्कको प्रयोग गरी नीतिगत सहकार्यमा योगदान पुर्‍याउन सकिने धारणा व्यक्त गरे ।

नेपाल र भारतबीच वैदेशिक व्यापारको असन्तुलनलाई औँल्याउँदै उनले नेपालले भारतबाट आयात गर्ने विप्रेषणभन्दा भारतले नेपालबाट आयात गर्ने विप्रेषण ४० प्रतिशतले बढी रहेको तथ्य प्रस्तुत गरे । रजिष्टार वाग्लेले जलवायु परिवर्तनका साझा समस्याहरूको समाधानमा दुई देशबीच सहकार्यको आवश्यकता औंल्याए ।

जलवायु परिवर्तनका असरले हिमाल पग्लिनु नेपालको मात्र नभई भारत र समग्र विश्वकै समस्या रहेको बताउँदै उनले हरित र दिगो विकासका अवधारणाको लागि सहकार्य अपरिहार्य भएको उल्लेख गरे । त्यसैगरी, युवा पलायनको समस्यालाई गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ छ । साथै, नेपाल र भारतबीच पेमेन्ट गेटवे सञ्चालन गर्ने योजनालाई प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ ।

सम्मेलनमा ईग्रोका निर्देशक डा अशोक विसनदासले यो सम्मेलन शैक्षिक उपलब्धिमा मात्र सीमित नरही क्षेत्रीय एकता र सहकार्य प्रवर्द्धन गर्न महत्त्वपूर्ण रहेको बताए । उनका अनुसार दिगो र समावेशी विकासका लागि नीतिगत तहमा सहकार्य गर्ने विषयमा सुझाव प्रदान गर्ने यो सम्मेलनको महत्त्वपूर्ण भूमिका रहनेछ ।

उनले द्विपक्षीय लगानी, पूर्वाधार निर्माण, व्यापार, पर्यटन लगायतका क्षेत्रमा सहकार्यका सम्भावनाबारे महत्त्वपूर्ण निष्कर्ष निकाल्ने अपेक्षा व्यक्त गरे । साथै, भारतको आर्थिक उदारीकरणबाट नेपालले सिक्न सक्ने सकारात्मक पक्षबारे पनि उनले प्रकाश पारे ।

सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ

वासिङ्गटन । हाल सिरियामा लगभग दुई हजार अमेरिकी सेना तैनाथ रहेका रक्षा विभाग (डीओडी) ले जनाएको छ ।

पेन्टागनका प्रवक्ता प्याट राइडरले नियमित पत्रकार सम्मेलनमा भने, ‘हामीले सिरियामा करिब ९०० अमेरिकी सेना तैनाथ गरिरहेकोमा थप एक हजार १०० सेना त्यहाँ पठाउने सुनिश्चित गरेका छौं । आईएसआईएस मिसनलाई पराजित गर्न मद्दत गर्ने यी सेनाहरू असद शासनको पतन हुनु अघि नै त्यहाँ थिए ।’

नोभेम्बर २७ मा हयात तहरीर अल–शाम (एचटीएस) को नेतृत्वमा सिरियाली सशस्त्र विपक्षीहरूले एलेप्पो र इडलिब प्रान्तहरूमा सरकारी सेनाहरू विरुद्ध ठूलो मात्रामा आक्रमण सुरु गरे ।

आक्रमण लगत्तै डिसेम्बर ७ सम्म राष्ट्रपति बसर असदका विपक्षीहरूले अलेप्पो, हामा, दारा र होम्सलगायत धेरै प्रमुख शहरहरू कब्जा गरेका थिए ।

डिसेम्बर ८ मा तिनीहरू दमस्कस प्रवेश गरे लगत्तै असदले राजीनामा दिए र देश छोडे । यसले सिरियामा अल–असद परिवारको ५० वर्षभन्दा बढी समयको कठोर शासनको अन्त्य भयो ।

डिसेम्बर १० मा मोहम्मद अल–बशीरले सन् २०२५ मार्च १ सम्म सिरियाको अन्तरिम सरकारको प्रमुखको रूपमा आफ्नो नियुक्ति घोषणा गरेका छन् ।

युक्रेन सम्झौताका लागि ट्रम्पलाई भेट्न पुटिन तयार

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुनै पनि बेला वार्ताका लागि आफू तयार रहेको बचाएका छन् ।

जनवरीमा अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न दोस्रो पटक ह्वाइट हाउस फर्कन लागेका ट्रम्पले वार्ता सुरु गर्न आह्वान गरेपछि पुटिनको यो भनाइ आएको हो ।

ट्रम्पको आह्वानले किएभमा उनले युक्रेनलाई मस्कोको अनुकूल शर्तमा शान्ति स्वीकार गर्न बाध्य पार्न सक्ने आशङ्का बढेको छ ।

वर्षको अन्त्यमा आयोजित वार्षिक पत्रकार सम्मेलनमा उनले युद्धभूमिमा आफ्नो सेनाले माथिल्लो भागमा पकड बलियो बनाएको बताएका थिए ।

उत्तरपूर्वी युक्रेनमा रूसी आक्रमणमा तीन जनाको मृत्यु भएको र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ब्रसेल्समा इयूका नेताहरूसँग वार्ता गरिरहँदा उक्त कुरा बताएका हुन् ।

पुटिनले आत्मविश्वसका साथ भने, ‘अगस्टदेखि किएभको कब्जामा रहेको रूसको कुस्र्क क्षेत्रको केही भाग रूसले कहिले फिर्ता लिन्छ भन्ने आफूलाई थाहा नभएको बताउनुभएको छ ।’

सम्भावित शान्ति सम्झौताका बारेमा ट्रम्पको प्रस्तावबारे सोधिएको प्रश्नमा पुटिनले अमेरिकी सत्ता सम्हाल्न लागेको रिपब्लिकन पार्टी र यसका नेतासँग भेटवार्ताको वातावरण बनेमा यसका लागि आफू तयार रहेको बताए ।

पुटिनले भने, ‘निस्सन्देहः कुनै पनि समय म वार्ताको लागि तयार छु तर मलाई थाहा छैन उहाँसँग भेट्ने वातावरण कहिले बन्छ । उहाँले यस विषयमा केही पनि भन्नुभएको छैन । चार वर्षभन्दा बढी समयदेखि मैले उहाँसँग कुरा गरेको पनि छैन ।’

उनले भने, ‘मलाई विश्वास छ, यदि हामीले नवनिर्वाचित राष्ट्रपति ट्रम्पसँग भेट गर्यौं भने हामीले धेरै कुरा गर्नेछौं।’

पूर्वी युक्रेनमा रुसी सेना महिनौंदेखि अघि बढिरहेको छ र पुटिनले युद्धभूमिमा बारम्बार आफ्नो शक्ति प्रदर्शन गरिरहेका छन् ।

तर, युक्रेनी आक्रमणका क्रममा फ्रन्टलाइन एरियाबाट हजारौँलाई बाहिर निकालिएपछि कुस्र्क क्षेत्रका एक महिलाले त्यहाँका बासिन्दालाई आफ्नो घर फर्कन कहिले सकिन्छ भनेर सोधेको प्रश्नमा पुटिनले मिति तोक्न नसकिने बताए ।

उनले भने, ‘बिल्कुल, हामी उनीहरूलाई पूर्ण रूपमा बाहिर निकाल्नेछौँ । यो अरू कुनै तरिका हुन सक्दैन। तर निश्चित मितिबारे मलाई माफ गर्नुहोस्, म अहिले नै भन्न सक्दिनँ।’

पुटिनलाई सैन्य खर्चमा ठूलो वृद्धि र द्वन्द्वका कारण भएको श्रमको गहिरो अभावका कारण रूसले सामना गर्नुपरेको आर्थिक सङ्कटबारे पनि सोधिएको थियो ।

उनले कम बेरोजगारी र औद्योगिक वृद्धिको हवाला दिँदै बाह्य खतराका बावजुद अर्थतन्त्र स्थिर रहेको बताए ।

बढ्दो मुद्रास्फितिबारे सोधिएको प्रश्नमा पुटिनले भने, ‘मुद्रास्फीति चिन्ताजनक संकेत हो ।’ मख्खन र मासुजस्ता खाद्यपदार्थको मूल्य वृद्धि ‘अप्रिय’ भएको उनले स्वीकार गरे ।

भारतमा ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु,३५ घाइते

नयाँदिल्ली ।  भारतको पश्चिमी राज्य राजस्थानमा शुक्रबार बिहानै रसायन बोकेको ट्रक अन्य सवारीसाधनसँग ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै ३५ भन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको छ।

जयपुर–अजमेर राजमार्गको भांक्रोटा क्षेत्रमा दुर्घटना भएको हो। दुर्घटनास्थल वरपर केही पेट्रोल पम्पहरू थिए। घाइतेहरू मध्ये धेरैको अवस्था गम्भीर रहेको छ।

एसएमएस मेडिकल कलेजका प्रिन्सिपल दीपक महेश्वरीले भने, “लगभग २४–२५ जनालाई आईसीयूमा भर्ना गरिएको छ। घटनामा धेरै घाइते भएका छन्। यो एक गम्भीर दुर्घटना हो।”

आगलागीबाट ट्रक र निजी कारसहित करिब ४० सवारीसाधन जलेर नष्ट भएका छन्। दमकललाई आगो निभाउन निकै कठिनाइ भएको थियो। राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले उद्धार र राहतका लागि सक्दो प्रयास भइरहेको बताएका छन्।

मन्त्रालयका तीनवटै स्तम्भलाई नीतिगत रुपान्तरणमा लागेका छौँः पर्यटनमन्त्री पाण्डे

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनसम्बन्धी नयाँ नीति अन्तिम चरणमा पुगेको बताएका छन् ।

शुक्रबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने,’मुलुक सङ्घीय संरचनामा गइसकेपछि पर्यटनसम्बन्धी नयाँ नीति नै बनेको थिएन । नयाँ नीतिको मस्यौदा अन्तिम चरणमा पुगेको छ । यस विषयमा सरोकारवालासँग छलफल भइरहेको छ ।’ पर्यटन नीतिसँगै ऐन पनि बनाउने तयारी भइरहेको उनको भनाइ छ ।

सरकारले भ्रमण दशक भनेर सन् २०२२ मा घोषणा गरिएको भए पनि त्यसको कार्यायोजना बनाएर सन् २०२५ देखि २०३५ सम्मलाई भ्रमण दशक मनाउने तयारी मन्त्रालयले गरेको उनले बताए ।

उनले भने,’यस विषयमा मन्त्रालयमा विषयगत समितिको देस्रो बैठक बसिसकेको छ । उक्त समितिले पर्यटन क्षेलाई कसरी रुपान्तरणमा लिएर जाने, पर्यटकीय क्षेत्रको सम्भावना कसरी बढाउने, यसका माध्यमबाट रोजगारी कसरी सृजना गर्ने, देशको अर्थतन्त्रमा कसरी योगदान बढाउने भन्ने विषयमा छलफल भएको छ ।’

मन्त्रालय नीतिगत सुधारको बाटोमा अघि बढेको उल्लेख गर्दै मन्त्री पाण्डेले त्यसको परिणाम आउन केही समय लाग्ने बताए ।

नागरिक उड्ययन क्षेत्रमा पनि सेवाप्रदायक निकाय र नियमनकारी निकाय अलग-अलग रहने गरी नेपाल उड्डयन प्राधिकरणका दुईवटा विधेयक मन्त्रिपरिषद्मा पुगेको उनले उल्लेख गरे ।

उनले नेपाल एयरलाइन्समा देखिएको समस्या समाधानमा पनि काम भइरहेको जानकारी दिए । नेपाल एयरलाइन्सको एउटा मात्रै ट्वीनअटर उडिरहेको अवस्थामा सात प्रदेशमा सात वटा ट्वीनअटर सञ्चालन गर्नेगरी काम भइरहेको उनको भनाइ थियो ।

तीन वर्षअघि प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल बनाउने निर्णय भएकोमा जम्मा ९ वटा मात्र निर्माण

काठमाडौं ।  सरकारले तीन वर्षअघि मुलुकका प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल बनाउने योजना अघि बढाएको थियो। हालसम्म नौ स्थानीय तहमा मात्र आधारभूत अस्पताल निर्माण गरिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तथ्याङ्क अधिकृत सूर्यबहादुर खड्काका अनुसार हाल चार सय २५ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको काम भइरहेको छ।

मन्त्रालयले अस्पताल नभएका ६ सय ५७ स्थानीय तहमा आधारभूत अस्पताल बनाउने निर्णय गरेको थियो। ‘सतचालिस स्थानीय तहमा सम्झौताअनुसार अस्पताल निर्माण गर्न रकम विनियोजन गरिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा ८४ स्थानीय तहमा रु चार अर्ब ४३ करोड पठाइसकेका छौँ’, अधिकृत खड्काले भने।

सरकारले पहिलो चरणमा तीन सय ९६ र दोस्रो चरणमा दुई सय ६१ स्थानीय तहमा अस्पताल बनाउने निर्णय गरेको थियो। केही पालिकामा जग्गा विवाद र राजनीतिक कारण निर्माण कार्य अघि बढ्न सकेको छैन।

सरकारले तीन सय ९६स्थानीय तहमा निर्माणको स्रोत सुनिश्चित गरिसकेको छ। दुई सय ६१ पालिकामा अस्पताल निर्माण गर्न स्रोत सुनिश्चत भएको छैन।

‘स्रोत सुनिश्चित नभएका स्थानीय तह आफैले अस्पताल बनाइरहेका छन्। सिन्धुपाञ्चोकको सुनकोसी गाउँपालिका आफैले अस्पताल भवन बनाएको छ’, अधिकृत खड्काले भने।

उनका अनुसार अहिलेसम्म तीन सय ९६ पालिकामा अस्पताल बनाउन रु ५१ अर्ब ८४ करोड ५५ लाख र दुई सय ६१ पलिकाका लागि रु तीन अर्ब २० करोड विनियोजन गरिएको छ । विसं २०७७ मा प्रधानमन्त्री केपी शर्मा ओलीले पालिका तहमा पाँच, १० र १५ श्ययाको अस्पताल निर्माण गर्ने निर्णय गरेका थिए।

त्यही अनुसार ८० पालिकामा पाँच श्ययाको, एक सय ५४ पालिकामा १० श्यया तथा चार सय २३ पालिकामा १५ श्ययाका अस्पताल निर्माण गर्न थालिएको हो।

सरकारले पाँच श्ययाका लागि रु सात करोड ११ लाख ९८ हजार, १० श्ययाका लागि रु १० करोड ८३ लाख ३६ हजार र १५ श्ययाका लागि रु १८ करोड ६ लाख ४२ हजार विनियोजन गरेको छ।

लोडसेडिङ गर्‍यो भनेर हल्ला चलाइएको भन्दै कुलमानको आपत्ति

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ हुँदा रमाउने जमात बढेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल पूर्वाधार पत्रकार समाजको साधरणसभामा घिसिङले लोडसेडिङ हुँदा खुसी हुनेहरूले नै लोडसेडिङको हल्ला फैलाएको बताए ।

उनले प्राविधिक समस्याका कारणले उद्योगहरूमा विद्युत कटौती गरेको बताए । डेडिकेटेड र ट्रंक लाइनको पैसा नतिर्नेहरुले लोडसेडिङको हल्ला गरेको उनले बताए ।

उनले भने, ‘तामाकोसीमा पहिरो आयो, कालिगण्डकीको एउटा युनिट बन्द छ । त्यो बनाउनुछ । अहिले बिहान बेलुका केही दिन कम चलाउनु भन्नासाथ सामानहरुको मूल्य बढाउन हुँदैन ।’

उनले केही प्रसारण लाइनहरू मर्मत गर्नुपर्ने भएका कारण उद्योगहरूमा विद्युत आपूर्ति बन्द गर्नुपरेको बताए । उत्पादनभन्दा माग बढी भएका कारण उद्योगहरूमा विद्युत कटौती गर्नुपर्ने बाध्य भएको उनको भनाइ छ ।

उनले माथिल्लो तामाकोशी र कालीगण्डकीबाट पूर्ण क्षमतामा विद्युत प्रवाह भएपछि लोडसेडिङको समस्या समाधान हुने बताए।