`

निकिता पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलको सम्पत्ति जफत गर्न माग गर्दै मुद्दा दायर भएको छ ।

आइतबार सरकारी वकिलको कार्यालय कास्कीले दायर गरेको मुद्दामा सम्पत्ति जफत प्रयोजनका लागि निकिता पौडेललाई प्रतिवादी बनाएको हो ।

जिल्ला सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्माका अनुसार पौडेललाई पनि सम्पत्ति जफतका लागि मुद्दा दायर भएको हो ।

त्यस्तै, लिला पछाई, उनकी आमा राधा पछाई, दिदी गीता पछाई, पूर्वडिआइजी छविलाल जोशी, उनकी श्रीमती पद्मा जोशी बन्जाडे र छोरा रोचक जोशीको पनि सम्पत्ति जफत गर्न माग भएको हो । रविको मात्रै २७ करोड भन्दा बढीको बिगो मागदाबी गरिएको छ ।

‘अचम्मै पो भो ! हिउँ नै परेन’

मनाङ । हिउँदयाम लागेसँगै देशभर क्रमशः चिसो बढ्दै छ । हिमाली जिल्ला मनाङलगायत क्षेत्रमा त अत्यधिक चिसो बढिसकेको छ । यहाँका नदी, खोला, धाराका पानी जम्न थालेका छन् तर यसपटक हिउँ भने परेको छैन । मुख्य समयमै हिउँ नपरेपछि स्थानीय चकित छन् ।

स्थानीय हिमपात हुनुपर्ने समयमा हिउँ नै नपर्दा नियमित चक्र बिथोलिने र कृषि उत्पादन घट्ने चिन्तामा छन् । मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका याङदुङ गुरुङ भन्छन्, “हामी खेती किसानी र पशुपालन गरेर जीविकोपार्जन गर्ने मान्छेलाई समस्या भएको छ । हिउँ नपरेपछि पानी हुँदैन, पानी नभए खेती । खै, के भएर होला आजकल समयमा हिउँ पर्न छोड्यो ।”

समयमा हिउँ नपर्दा सिँचाइको अभावमा मुख्यगरी किसानलाई समस्या भएको गुरुङको भनाइ छ । “हिउँ परेको भए खेती पनि सप्रिन्थ्यो, त पानी नै पुग्दैन । किसानलाई त प्रकृतिले पनि ठग्न थाल्यो”, उनले सुस्केरा हाल्दै भने।

केही वर्ष पहिलेसम्म हिउँ परेर यहाँका हिमाल सेताम्मे हुन्थे । पर्याप्त पानी हुँदा किसान ‘मानो रोपी मुरी उब्जाउने’ काममा व्यस्त हुन्थे । अचेल भने न हिमाल सेता छन् न त किसानले सजह रूपमा कृषिकर्म गर्न पाएका छन् ।

प्रमुख जिल्ला अधिकारी मातृका आचार्य पनि पुस लागिसक्दासमेत हिउँ नपरेपछि चकित छन्। हिउँ नपरी चिसो अत्यधिक बढेकाले उनलाई प्राकृतिक नियम नै फेरिएजस्तो महसुस भइरहेको छ । “जिल्लाका अधिकांश ठाउँमा चिसोका कारण पिउने पानीसमेत जमेका छन् तर हिउँ भने परेको छैन । जसले प्रकृतिको भरमा खेती गर्नुपर्ने किसान निराश छन् । अरु मानिस नियमित प्राकृतिक चक्र नै बिथोलिन थालेकामा चिन्तित छौँ”, आचार्यले भने।

पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङ विगत केही वर्षदेखि हिउँ पर्ने समय बदलिँदै गएको बताउँछन् । यसले उत्पादन घट्दै गएको र खेतीबाली नै परिवर्तन गर्नुपर्ने अवस्था आउन थालेको उनको अनुभव छ । “हिउँकै पानीले सिँचाइ हुने यहाँ हिउँ नै नपरेपछि पानीको अभाव देखिने नै भयो । प्राकृतिक स्वभाव फेरियो, अब हामीले पो कसरी फेरिने होला ? यस्तो अवस्थासँग कसरी अनुकूलित हुने होला १”, उनले गुरुङले जिज्ञासा राखे ।

स्थानीय फुर्वा छिरिङ लामाले पनि यहाँको हावापानीमा परिवर्तन भएको अनुभव गरेका छन् । उनी भन्छन्, “यतिबेला हिउँले सेताम्मे भएर घर बाहिर निस्कन वा कामकाज गर्नै सकस हुन्थ्यो । खै ! अचेल त हिउँ नै नपरी चिसो मात्रै बढ्छ । यो त अचम्मै भयो ।”

हङकङबाट काठमाडौं आउँदा जहाजभित्रै अचेत भएका यात्रुको मृत्यु

काठमाडौं । हङकङबाट नेपाल वायुसेवा निगमको जहाजमा आएका एक यात्रुको मृत्यु भएको छ । आइतबार हङकङबाट निगमको जहाजमा काठमाडौं आउने क्रममा जहाजभित्रै अचेत भएका ताप्लेजुङका ५३ वर्षीय देउमान लिम्बुको निधन भएको हो ।

जहाजभित्रै अचेत भएका लिम्बुलाई केएमसी अस्पताल सिनामंगल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

एयरलाइन्सका कर्मचारीले उनको शव आफन्तको जिम्मा लगाएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिएका छन् । जहाजमा उनी अचेत हुनुको कारण भने खुलेको छैन ।

नेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल

काठमाडौं ।  नेपाली पार्कर खेलाडी दिनेश सुनार २०औँ पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन्। यसपटक सुनारले पार्कर र जिम्नास्टिक खेलअन्तर्गत पर्ने ‘द मस्ट ब्लाइन्ड फोल्डेड ब्याकवार्ड समरसल्ट इन ३० सेकेन्ड’ विधामा १४ पटकसम्म आँखामा पट्टी बाँधेर हात नटेकिकन पछाडि उल्टी हानेर नयाँ रेकर्ड थप गरेका हुन्। यस विधामा कम्तीमा १० पटकसम्मको मापदण्ड रहेको थियो।

‘सिटी अफ एक्रोनवार्ड टु गभरमेन्ट’को आयोजनामा अमेरिकाको ओहायो राज्यको एक्रोन सहरमा भएको एक्रोन इन्टरनेशनल डान्स फेस्टिबल कार्यक्रमका अवसरमा विभिन्न फरक देशका तीन सयभन्दा बढी दर्शकको अगाडि खेल प्रस्तुत गरी उक्त रेकर्ड राखेका हुन्। यससँगै दिनेश २०औँ पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका छन्।

यस रेकर्डका लागि प्लाटियम प्रायोजकको रुपमा टप सप काठमाडौँ र शतिसाल आइआइसीका सञ्चालक न्यूयोर्कका सामाजिक अभियन्ता लकेश श्रेष्ठ थियो। उक्त फेस्टिबलमा मेक्सिको, जर्मनी, भारत, दक्षिण अफ्रिका, पोल्यान्ड, आइरल्यान्ड, भुटान, कोङ्गो, इटाली, नेपाल, बर्मा, थाइल्यान्ड र अमेरिकाका सांस्कृतिक पहिचान झल्काउने नृत्य प्रदर्शन गरिएको थियो।

आफ्नो यो सफलता १२ वर्षदेखिको मेहनत र धैर्यताको प्रतिफल रहेको उनी बताउँछन्। उनले भने, ‘यो रेकर्ड प्रयास गर्न सुरुआत गरेको १२ भयो, निरन्तर लागिरहे र आज सफल भएँ।’

नयाँ पुस्ताहरुलाई पार्कर खेलमा अभिप्रेरित गरी खेलमार्फत देशको नाम विश्वसामु उँचो पार्न सकेकामा गौरवको महशुस गरेको उनी बताउँछन्। अमेरिकामा राखेको रेकर्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध थप मजबुत बनाउन सहयोग पुग्नै बताउँदै उनले नेपाल र अमेरिकामा पार्कर प्रशिक्षण कार्यक्रम सञ्चालन गरी विश्वस्तरीय खेलाडी र प्रशिक्षक उत्पादन गर्नु आफ्नो लक्ष्य रहेको जानकारी दिए।

यो सरकारले पनि काम गर्न नसके देशमा अराजकता निम्तिन्छः कोइराला

कैलाली । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार राजनीतिक स्थायित्वका लागि बनेको बताएका छन् ।

नेपाल प्रेस युनियन कैलालीले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले संविधान संशोधन, स्थायित्व, आर्थिक अवस्था सुधार, विकास र सुशासनका लक्ष्यसहित सरकार बनेको बताए ।

कोइरालाले सोही लक्ष्यअनुसार सरकारले जुनसुकै अवस्थामा पनि काम गर्नुपर्ने बताए । ‘यो अन्तिम विकल्पको सरकार हो । संसदका दुई ठूला दल मिलेर बनेको सरकारले पनि काम गर्न नसके देशमा अराजकता निम्तिन्छ भनेर धेरै विद्वानहरूले सचेत गराइराखेका छन् । हामीले पनि आफ्नो तर्फबाट यही कुरा भनिराखेका छौँ । अहिलेको सरकारलाई असफल हुने छुट छैन’,उनले भने,’कुनै पनि हालतमा अहिलेको सरकार अगाडि जानुपर्छ । आफ्नो म्यान्डेट पूरा गर्नुपर्छ ।’

कोइरालाले कांग्रेस र एमाले मिलेर मात्र संविधान संशोधन नहुने भएकाले अन्य सबै राजनीतिक दलबीच बृहत् समझदारी गरेर निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए ।

कोइरालाले गेटा मेडिकल कलेजका भौतिक संरचनालाई सदुपयोग गर्दै स्थापनाको लक्ष्यअनुसार तत्काल काम अगाडि बढाउनुपर्ने र त्यसमा आफूहरूले कोसिस गरिरहेको बताए ।

यसैगरी उनले एक वर्षभित्र पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने दायित्व रहेकाले सोअनुसार आफ्नो जिम्मेवारीमा जुट्न सबैलाई आह्वान गरे ।

रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ता

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ । आइतबार सरकारी वकिलको कार्यालयले लामिछानेसहित ३१ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो ।

लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङविरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको हो ।

उनीहरूविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो दाबी गरिएको छ। त्यस्तै ५ जनाको सम्पत्ति जफत गर्नुपर्ने सरकारी वकिलको राय छ । जिल्ला सरकारी वकिल कार्यालय प्रमुख कमला काफ्लेका अनुसार लीला पछाई र विश्वविक्रम राईलाई भने क्रिप्टोको कारोबारको आरोपमा पनि मुद्दा चलाइएको छ ।

लामिछानेका हकमा सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद, संगठित अपराधमा थप ५० प्रतिशत सजाय र सम्पत्ति शुद्धीकरणमा २ देखि १५ वर्ष कैद र बिगोको दोब्बर जरिवाना लगाउनुपर्ने राय प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीमा गत वर्ष मुद्दा दायर भएका १९ जनाविरूद्ध कसूर र बिगो थप गर्दै पूरक अभियोगपत्र शुक्रबार नै अदालतमा दर्ता गरिसकेको छ ।

रवि लामिछानेविरुद्ध अदालतमा अभियोगपत्र पेस

गण्डकी । सहकारीको बचत रकम अपचलनको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा आइतबार अभियोगपत्र पेस भएको छ । 

जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले सभापति लामिछानेसहित सहकारी ठगीका आरोपित अन्य व्यक्तिविरुद्ध पनि अभियोगपत्र पेस भएको जानकारी दिए ।

‘अहिले अभियोगपत्र रुजुको काम भइरहेको छ, लामिछानेलगायतविरुद्ध आजै मुद्दा दर्ता हुन्छ, अदालतले आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ’, उनले भने । 

पोखराको सूयदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए । उनीमाथि कास्कीसहित अन्य जिल्लासमेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ ।

‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार, एक जना सामान्य घाइते

वासिङटन । ‘भूलवश एफ/ए–१८’ लडाकु विमानमा प्रहार हुँदा अमेरिकी नौसेनाका दुई पाइलटलाई ‘रेड सी’ क्षेत्रमा उडीरहेका समय गोली लागेको अमेरिकी सेनाले जनाएको छ ।

दुवै पाइलटलाई जीवितै उद्धार गरिएको छ तर ‘प्रारम्भिक अनुसन्धानले चालक दलका एक सदस्यलाई सामान्य चोट लागेको सङ्केत गरेको छ,” अमेरिकाको सेन्ट्रल कमान्डले भनेको छ ।

अमेरिकी सेन्ट्रल कमान्डले भनेको छ, “यो घटना शत्रुतापूर्ण आक्रमण थिएन तर यसको पूर्ण अनुसन्धान भइरहेको छ।”

सेन्टकमका अनुसार निर्देशित क्षेप्यास्त्र क्रुजर युएसएस गेटिसबर्गले ‘भूलवश एफ÷ए–१८’ लडाकु विमानमा प्रहार गरेको थियो।

यमनका हुथी विद्रोहीहरूले रेड सी र एडेनको खाडीमा इजरायली संलग्नता भएका व्यापारिक जहाजहरूलाई बारम्बार निशाना बनाउने गरेकाले सम्भावित विनाशकारी गल्तीले संयुक्त राज्य अमेरिका एक वर्षभन्दा बढी समयदेखि संलग्न मिसनको खतरालाई औंल्याउँछ ।

इजरायलको व्यापारिक केन्द्र तेल अभिवमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहारबाट मानिस घाइते भएको केही घण्टापछि संयुक्त राज्य अमेरिकाले शनिबार यमनको विद्रोहीको नियन्त्रणमा रहेको राजधानी यमनको लक्ष्यमा आक्रमण गरेको बताएको थियो ।

अमेरिकी सेनाले रेड सीमा हुथी ड्रोन र जहाजभेदी क्रुज क्षेप्यास्त्र पनि खसालेको छ ।

सन् २०२३ को अक्टोबर ७ देखि इजरायल र हमासबीच युद्ध जारी रहेको गाजामा हुथी विद्रोहीले प्यालेस्टिनीप्रति ऐक्यबद्धता जनाएका छन् ।

फ्रान्सका दुई तिहाइ जनता नयाँ प्रधानमन्त्रीप्रति असन्तुष्ट

पेरिस । फ्रान्सका दुई तिहाई जनता फ्रान्कोइस बायरोउलाई प्रधानमन्त्री बनाइएकोप्रति असन्तुष्ट देखिएका छन् ।
फ्रान्सेली साप्ताहिक पत्रिका डु डिमान्चेका लागि आइफपले गरेको एक नयाँ सर्वेक्षणमा ६६ प्रतिशत उत्तरदाताले उनको कार्यसम्पादनबाट चित्त नबुझेको बताएका छन् ।

आफ्नो नयाँ सरकार प्रमुखप्रति ३४ प्रतिशतले मात्र समर्थन जनाएका वा सन्तुष्ट रहेको बताएका छन् । इफपका अनुसार सन् १९५९ को दशकपछि प्रधानमन्त्रीका लागि यति कम अनुमोदन दर (समर्थन) देखिएको छैन ।

इफपका सर्वेक्षकहरूले डिसेम्बर ११ देखि १८ को बीचमा फ्रान्सेली दुई हजार चार जनप्रतिनिधिसँग सर्वेक्षणका लागि सोधपुछ गरेका थिए ।

राष्ट्रपति इम्यानुयल म्याक्रोँको कार्यकालको छैठौँ र सन् २०२४ को चौथो प्रधानमन्त्री बेयरोउ छन् । प्रत्येकले अघिल्लो भन्दा छोटो अवधिको लागि सेवा गरेका छन् ।

बेयरूका पूर्ववर्ती मिचेल बार्नियर फ्रान्सका सबैभन्दा पछिल्लो प्रधानमन्त्री थिए । गत डिसेम्बर १३ मा नियुक्त भएका बायरोउले अहिलेसम्म म्याक्रोँलाई आफ्नो मन्त्रिमण्डलको निर्णय बुझाएका छैनन् ।

उनले फ्रान्स २ टेलिभिजनसँग कुरा गर्दै आफ्नो नयाँ टिम सप्ताहन्तमा वा ‘क्रिसमसअघि’ कुनै पनि हालतमा तय हुने बताएका छन् ।

भूकम्पबाट बाजुराको गोत्रीमा १२३ परिवार जोखिममा

बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका गोत्री केन्द्रबिन्दु बनाएर शनिबार बिहान गएको पाँच दशमलव दुई रेक्टर भूकम्पबाट भएको प्रारम्भिक क्षतिको विवरण सार्वजनिक गरिएको छ । 

नौवटै स्थानीय तहमा खटिएर सुरक्षाकर्मीले सङ्कलन गरेको तथ्याङ्कअनुसार आठ घर पूर्ण रूपमा र केहीमा आंशिक क्षति भएको विवरण सार्वजनिक गरिएको हो ।  

जिल्ला प्रहरी कार्यालय बाजुराले दिएको जानकारीअनुसार बूढीनन्दा नगरपालिका–२ मा स्थानीय कल्पना बुढाको दुई तले घर, वडा नम्बर ४ मा स्थानीय जनक बोहरा, वडा नं ९ पाण्डुसैनमा पदम सार्कीको घरमा पूर्ण क्षति भएको छ । 

यस्तै सोही नागरपालिका–३ मा स्थानीय धनी बोहरा, साइमल रोकाया, घनश्याम बुढा, तिने चदारा, मानसिंह थापा भोटेको घरमा आंशिक क्षति भएको छ । सोही ठाउँको कैलाश अतिथि गृहको भवनमा पनि क्षति भएको छ । 

जिल्ला प्रहरी कार्यालयाका सूचना अधिकारी जनकबहादुर बोहराले भूकम्पले स्वामीकार्तिक खापर गाउँपालिका–१ का स्थानीय दशरथ विक, आनन्द विक, चम्फे विक र मन विकको घरमा पनि क्षति भएको जानकारी दिए ।

भूकम्पको केन्द्रबिन्दु रहेको गोत्रीमा एक सय २३ परिवार जोखिममा रहेको वडा कार्यालयले जनाएको छ । सोही विवरणबारे वडा नं ५ कार्यालयबाट जिल्ला विपद् व्यवस्थापन समितिमा सिफारिस प्राप्त भएको निमित्त प्रमुख जिल्ला अधिकारी रुपक मण्डलले जानकारी दिए । 

वडा कार्यालयबाट आएको विवरण अन्य स्रोतबाट पनि यकीन गर्ने काम भइरहको उनले बताए । यहाँका अन्य पालिकामा भएको क्षतिको विवरण स्थानीय प्रहरी चौकीमार्फत सङ्कलन भइरहेको जनाइएको छ । 

प्रभावितहरूलाई चिसोबाट जोगाउन तत्काल राहत र उद्धारका कार्यमा स्थानीय सरकारले ध्यान दिनुपर्ने स्थानीयको माग छ । नागरिक समाजका अगुवा दीर्घराज पाध्यायले समस्यामा परेकाहरूलाई तत्काल अत्यावश्यक सहयोग सामग्री उपलब्ध गराउन आग्रह गरे । 

जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आइतबार भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह गर्ने उक्त टीमका क्याप्टेन र खेलाडीका साथै नेपाल क्रिकेट सङ्घ र खेलका व्यवस्थापकलाई बधाइ दिए ।

शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि जितेको थियो । प्रधानमन्त्री ओलीले आगामी दिनमा अझ ठूला सफलता हासिल गर्न शुभकामना दिँदै विश्वमा ख्यातिप्राप्त ब्याट्सम्यान पनि नेपाली हुन सक्छन् भन्ने देखाउने गरी आत्मबल, सीप र उत्साह कायम गर्न आग्रह गरे ।

आफूले प्रधानमन्त्री बहालीपछि हुँदा कीर्तिपुर क्रिकेट मैदानको स्तरतोन्नतिको पहिलो निर्णय गरेको र निर्माणका लागि बोलपत्र आव्हान गरिएको सुनाउँदै नेपालमा सरकार र आफ्नोतर्फबाट खेल क्षेत्रको विकासका लागि गर्नुपर्ने प्रयास निरन्तर हुने अवगत गराए ।

सुनको मूल्य प्रतितोला एक हजार एक सय बढ्यो

काठमाडौँ । आइतबार सुन र चाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला एक हजार एक सय र चाँदी प्रतितोला तीस रुपैयाँले बढेको छ ।

गत शुक्रबार प्रतितोला एक लाख ४८ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आजका लागि एक लाख ४९ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, निर्धारित मूल्यअनुसार आज चाँदी प्रतितोला एक हजार सात सय ९० रुपैयाँमा कारोबार हुनेछ ।

काठमाडौं महानगरमा ४ महिनामा सहकारीका एक हजार ५९३ वटा उजुरी, २५ वटा गुनासो फस्र्योट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागले चालु आर्थिक वर्षको पहिलो चौमासिक (साउन, भदौ, असोज र कार्तिक) अवधिमा १ हजार ५९३ वटा उजुरी फस्र्योट गरेको छ । विभिन्न निकायबाट माग भएका ६३ वटा विवरण पठाएको छ । ४ सय वटा सहकारी संस्थाको फाइल अद्यावधिक गरेर पञ्जिका बनाइएको छ । गुनासो पोर्टलमा आएका सहकारी विभागसँग सम्बन्धित ३१ वटा गुनासोमध्ये २५ वटा गुनासो सम्बोधन भइसकेका छन् ।

विभागका प्रमुख नमराज ढकाल सम्पादित कामका बारेमा जानकारी दिँदै आगामी योजनाका बारेमा भन्छन्, ‘संकटग्रस्त सहकारीको व्यवस्थापन’, ‘कारबाही र अनुसन्धानका लागि पठाइएका सहकारीका बारेमा अद्यावधिक जानकारी लिने’, ‘निष्क्रिय सहकारीको व्यवस्थापन गर्ने’, ‘लक्ष्य, कार्यक्षेत्रजस्ता आधारभूत अवस्था मिल्ने सहकारीलाई मर्ज गर्ने’ र ‘राम्रा काम गर्ने सहकारीको सफल अभ्यास प्रवर्धन गर्ने’ कामलाई विभागले प्राथमिकताका साथ सञ्चालन गर्नेछ ।’

सहकारी नियमन महाशाखा प्रमुख एवं अनुगमन समितिका सदस्य सचिव सुशील सुवेदीका अनुसार गएको आर्थिक वर्ष अनुगमन गरिएका ४० वटामध्ये ३९ वटालाई सफाइ पेश गर्न १५ दिनको समय दिइएको थियो । समय दिइएका सबैले सफाइ पेश गरेका छन् । सफाइ दिनेमध्ये ९ वटाको सफाइ चित्त बुझ्दो नदेखिएपछि कारवाही र थप अनुसन्धानका लागि प्रहरीमा लेखेर पठाइएको छ । ३ वटा सहकारीलाइ निर्देशन दिइएको अन्यलाई निर्देशन गर्नेगरी तयारी भइरहेको छ ।

ढकालका अनुसार विभागमा आउने धेरै उजुरीहरु सञ्चालक समितिका सदस्य, बचतकर्ता, ऋणी, घरधनी र कर्मचारीसँग सम्बन्धित छन् । हस्तान्तरण नभएको, नगरेको, गर्न नचाहेको, ऋण नतिरेको, सबै सञ्चालक सक्रिय नभएको, वचतकर्ताले तनाव दिएको, आफू सञ्चालक भएको आफैँलाई जानकारी नभएको, हुलाकबाट राजीनामा दिएर कार्यालयको दायित्व नलिएको जस्ता समस्या सञ्चालकका समस्या हुन् ।

बचत रकम, शेयर रकम फिर्ता नदिएको, बचत रकममा धेरै करकट्टी गरेको, विभागले पठाएको पत्रलाई प्रहरीले चासो नदिएको, सञ्चालकहरु भाग्न लागेकोले आफ्नो बचत जोखिममा परेको, समयमा साधारणसभा गरेर आफ्नो रकम सुरक्षाका विषयमा जानकारी नदिएको, कार्यालय बन्द हुने गरेको जस्ता समस्या बचतकर्ताहरुबाट आउने गरेका छन् । सहकारीले मिटरब्याज लिएको, थाहै नदिई घरजग्गा लिलाम प्रक्रिया अगाडि बढाएको, घरजग्गा रोक्का गरिदिएको भन्ने गुनासो र रोक्का भएको घरजग्गा फुकुवा गरिदिन, ऋण मिनाहा गरिदिन ऋणीहरुबाट माग आउने गरेको छ ।

सहकारीहरुसँग घरधनीहरुको समस्या पनि जटिल छ । सहकारीले घरभाडा नतिरेको, कार्यालय धेरै समयदेखि राखेको, कार्यालय सञ्चालन भए नभएको जानकारी नदिएको, बचतकर्ता आएर कार्यालय तोडफोड गर्दा आफ्नो घरको संरचना नष्ट भएको विग्रिएको उनीहरुका मुख्य गुनासा हुन् । यस्तै कोठा खाली गरि दिनुपर्यो, भाडा रकम पनि त्यही सहकारीमा बचत गरेको थिएँ डुब्ने भयो उठाउने उपाय के हुन सक्छ, घरधनी समस्या लिएर आउने गरेका छन् ।

‘स्वनियमको पालना नहुनु’, ‘लोकतान्त्रिक नियन्त्रण प्रणाली नहुनु’ ‘एकाधिकार हुनु’, ‘लगानीका क्षेत्रमा मापदण्ड नमान्नु’, ‘सिद्धान्तको अनुसरण नगर्नु’ जस्ता पक्ष सहकारीका मुख्य कमजोरी देखिएका छन् । उद्देश्य विपरीत लगानी, क्षेत्राधिकार वाहिरको बचत स्वीकार तथा लगानी, सदस्यभन्दा बाहिरको लगानी, एकाघर व्यक्ति वा एक व्यक्ति नियम विपरीत सञ्चालक भएको, लगानी लिएको र दिएको विषय साझा अवस्था हुन् ।

९४ अर्ब १५ करोड रुपैयाँ शेयर पुँजीसहित देशभरि ३१ हजार ३७३ सहकारी संस्था छन् । यसमा संघीय सहकारीको संख्या १२५, वागमती प्रदेशमा ३ हजार २७२ (उपत्यकाभित्र २ हजार ३९२) र काठमाडौँ महानगरपालिकाभित्र १ हजार ९३५ वटा सहकारी संस्था छन् । यीमध्ये १ हजार ७४४ वटा सहकारी कोपोमिस (सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली) मा आवद्ध भएका छन् । १ हजार ६२४ वटा बचत तथा ऋण सहकारी संस्था छन् ।

२६४ वटा बहुउद्देश्यीय, ३ वटा श्रमिक, १५ वटा कृषि, १३ वटा उपभोक्ता, सिपमूलक ३ वटा, शिक्षाका २ वटा, साझा, सञ्चार, चिया र पर्यटनका एक/एक वटा र अन्य ५ वटा छन् । २ वटा खारेज भएका छन् । यीमध्ये पनि ७५२ वटाले वार्षिक रिपोर्टिङ गर्ने गरेका छन् ।

देशभरिका सहकारीहरुमा सदस्यहरुको संख्या ७३ लाख ८१ हजार २१८ जना रहेको छ । ४ खर्ब ७८ अर्ब ३ करोड रुपैयाँ बचत पुँजी छ । ४ खर्व २६ अर्व ३५ करोड रुपैयाँ लगानी छ । यस क्षेत्रबाट ९३ हजार ७७१ जनाले रोजगारी पाएका छन् ।

राज्यले आफूहरुको दुःख नबुझेको दाङका महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो

दाङ । दाङको घोराही उपमहानगरपालिका–६ निवासी माया चौधरी २०४६ सालदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गरिरहेकी छन् । लामो समयदेखि स्वयंसेविकाको काम गरे पनि राज्यले दुःख बुझ्न नसकेको उनको गुनासो छ । “स्वयंसेविकाका रूपमा काम गर्दा राज्यले हाम्रो मूल्याङ्कन गर्न सकेन”, उनले भनिन् । आफ्नै खर्चमा गाउँ–गाउँ पुग्ने गरेको उनी बताउँछिन् ।

घोराही–१२ निवासी इमाकुमारी शर्माले पनि महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा काम गर्दा खाजा खर्चसमेत नपाएको गुनासो गरिन् । “हामीले दुःखमात्र गरेका छौं, श्रमको उचित मूल्य पाउन सकेका छैनौँ”, उनले भनिन् । सुविधाका नाममा बैठक भत्ता चार सय ५०, वार्षिक पोशाक भत्ता १० हजार, खोप लगाउँदा तथा औषधि खुवाउँदा दैनिक चार सय र त्यसभन्दा अरू प्राप्त गर्न नसकेको उनले बताइन् ।

घोराही–१९ निवासी निर्मला पुनले भौगोलिक रूपमा विकट सैघामा काम गर्दा धेरै समस्या भोग्नुपरेको बताइन् । “घण्टौँ हिँडेर घरघरमा पुग्नुपर्छ तर राज्यको तर्फबाट कुनै सहयोग पाउन सकेका छैनौं”, उनले भनिन्, “वर्षौँदेखि गरेको कामका आधारमा सरकारले सेवा सुविधा दिन आवश्यक छ ।”

घोराही–३ निवासी जुनकुमारी रोकामगरले सञ्चारको सहज पहुँच नहुँदा काम गर्न समस्या भएको बताइन् । घोराही उपमहानगरपालिका–९ निवासी शान्ता केसी २०४५ सालदेखि महिला स्वास्थ्य स्वयंसेविका रूपमा काम गर्दै आएकी छन् ।

उनले ३६ वर्षदेखि निःशुल्क काम गर्दै आएको बताइन् । यत्तिका वर्षसम्म काम गर्दा पनि राज्यले सहयोग नगरेको उनले गुनासो गरिन् । गाउँगाउँमा स्वास्थ्यका सूचक सङ्कलन तथा स्वास्थ्य सचेतनाको काममा सरकारले खटाउने गरे पनि सेवा सुविधा दिन कन्जुस्याइँ गरेको उनको गुनासो छ । उनी भन्छिन्, “हाम्रो श्रमको मूल्याङ्कन राज्यले गरेन ।”

केही दिन अघि यहाँ महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि आयोजित एक अभिमूखीकरण कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन् ।

पाटेबाघ मार्ने उद्योगमा चितवनमा एक जना पक्राउ

चितवन । पाटेबाघ मार्ने उद्योगमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नवलपरासी वर्दघाट सुस्तापूर्व विनय त्रिवेणी गाउँपालिका–१ का २० वर्षीय अमृत न्यौपाने रहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जले न्यौपानेलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तका अनुसार सोही गाउँपालिका–१ मा पर्ने तीनचुली सामुदायिक वनको लक्ष्मीडाँडामा वन्यजन्तुको सिकार गर्न प्रयोग भएको सवारीसाधनको ब्रेकको तार एक थान, केवल लाइनमा प्रयोग हुने तार एक थान र रौँ अल्झेको जस्तो देखिने तार एक थान फेला परेसँगै अनुसन्धानका क्रममा पाटेबाघको रौँ भएको पाइएपछि न्यौपानेलाई पक्राउ गरिएको हो ।

न्यौपानेको मोबाइलबाट कल डिटेल निकाल्ने क्रममा पासोमा परेको बाघको तस्बिरसमेत प्राप्त भएको पन्तले जानकारी दिए । पक्राउ परेका न्यौपानेलाई बाघ मार्ने उद्योगमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को पाँचौँ संशोधनको दफा २६ उपदफा (५घ) बमोजिम कसुर गरेकाले सोही ऐनको दफा २६ को उपदफा १ बमोजिम सजाय माग दाबीसहित मुद्दा दर्ता गरिएको उनले बताए ।

बाघलाई पासो थाप्न जाने क्रममा गत कात्तिक २ मा स्थानीय ६२ वर्षीय जीतबहादुर थिङलाई बाघले आक्रमण गरी मारेको थियो । थिङको मृत्यु पश्चात पासोका लागि प्रयोग भएका सामान सोही दिन बरामद गरिएको थियो । सोही प्रकरणमा न्यौपानेलाई गत कात्तिक २९ गते नै पक्राउ गरी अनुसन्धान थालिएको थियो ।

राष्ट्रिय युवा कविता उत्सवमा संयोग बस्यालको ‘सावधान’ प्रथम

हेटौंडा । बागमती प्रदेश सरकार मातहतको प्रदेश युवा परिषद् र साहित्य संगम मकवानपुरको सहकार्यमा आयोजित राष्ट्रिय युवा कविता उत्सव–२०८१ हेटौंडामा भव्य रूपमा सम्पन्न भएको छ ।

प्रतियोगितामा कास्कीका संयोग बस्याल प्रथम हुँदै नगद ४० हजार हात पार्न सफल भएका छन्। उनले ‘सावधान’ शीर्षकको कविता वाचन गरेर निर्णायकहरूको मन जितेका थिए ।

प्रतियोगितामा कास्कीका सुदर्शन पौडेलले ‘घर नफर्किएको छोराको सम्झनामा’ शीर्षकको कवितामा द्वितीय स्थान हासिल गर्दै नगद ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

त्यसैगरी, उदयपुरकी सुमी पोखरेलले ‘समय दर्शक यन्त्रको पर्दा नियाल्दा’ शीर्षकको कवितामा तृतीय स्थान हासिल गर्दै २० हजार रुपैयाँ प्राप्त गरिन् । बझाङका महेश कठायतले ‘देश’ शीर्षकको कविताका लागि सान्त्वना पुरस्कार स्वरूप नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

यस पटकको कविता उत्सवका लागि देशभरबाट २ सय २३ कविता प्राप्त भएका थिए। तीमध्येबाट उत्कृष्ट २० कविताको सूची तयार पारिएको थियो। शनिबार आयोजित कार्यक्रममा छनोटमा परेका कविहरूले आफ्ना कविताहरू वाचन गरेका थिए।

प्रतियोगितामा पर्वतका तारानाथ पराजुली र संखुवासभाका सिजन श्रेष्ठ भने कार्यक्रममा सहभागी हुन सकेनन् ।
कार्यक्रममा प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंको अध्यक्षता तथा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनप्रसाद महर्जनको प्रमुख आतिथ्य रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महर्जनले देशभित्रै युवालाई अवसर र सम्भावना प्रदान गर्नतर्फ सरकार प्रतिबद्ध रहेको बताए। कार्यक्रममा चर्चित कवि मोमिला जोशीको एकल कविता वाचन विशेष आकर्षण बन्यो।

उनले ‘भाव समर्पण’, ‘प्रेम’, ‘पीडा’, ‘प्यास र पानी’, ‘सूर्य समय’, ‘एउटा लालीगुराँस हराएको बेला’, ‘मात्र एउटा हाँगा काटिने’, ‘दोभन प्रहारबाट’, ‘नगरबधुको वक्तव्य’, ‘हिउँदको प्रथम वर्षात्’, ‘उकालोमा मेरो तस्बिर’, ‘तिमी र म’, ‘भीमसेन थापाको सुसाइड नोट’ शीर्षकका कविता वाचन गरेर उपस्थित सबैलाई भावविह्वल तुल्याइन्।

एमालेको सचिवालय बैठक आगामी बुधबार बस्ने

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी बुधबार (पुस १० गते) ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक डाकिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनकाअनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल गरिने छ ।

एनपीएलको सन्देश

नारायण गाउँले ।
साधनस्रोत चाहिन्छ, पैसा चाहिन्छ तर सबैभन्दा बढी ‘सही मान्छे सही ठाउँमा’ चाहिन्छ । नेपाल प्रिमियर लिगको भव्य समापनले यही सिकायो । देशमा एउटा गतिलो क्रिकेट स्टेडियम छैन । खेलडीलाई अभ्यास गर्ने मैदान पनि छैन । काठमाडौंबाहिर त अन्तर्राष्ट्रिय स्तरको ग्राउण्ड पनि छैन । न पर्याप्त पैसा छ न ठूला ठूला स्पोन्सर नै छन् । ग्राउण्ड नै पर्याप्त नभएको ठाउँमा होमग्राउण्ड भन्ने त कुरै भएन । अलि महँगो टिकट काटेर दर्शक एकै ठाउँमा हेर्न आउने ग्यारेन्टी पनि छैन, त्यसका लागि पूर्वाधार पनि छैन । यस्तोमा भारतदेखि न्युजिल्याण्डसम्मका अन्तर्राष्ट्रिय खेलाडीलाई ‘अक्सन’मा राखेर यस्तो व्यावसायिक लिग सम्भव हुन्छ भन्ने कल्पना पनि आफैमा स्वैरकल्पनाजस्तो थियो । सम्भव हुन सक्ने कुरा पनि गलत मान्छे हुँदा कल्पना जस्तो लाग्दो रहेछ । सही मान्छे हुँदाचाहिँ असम्भव पनि सम्भव हुँदो रहेछ ! नेपाली क्रिकेटले असम्भव लाग्ने कल्पनालाई सम्भव बनायो ।

स्टेडियम बनाउन लागेको भए केही वर्ष लाग्दो हो । पूर्वाधार जोड्नतिर लागेको भए केही समय पर्खनुपर्दो हो । सरकारको मुख ताकेको भए शायद फाइलमैं अड्केर युग बित्दो हो । हिँड्ने योजनाको मुख्य काम बाटो बनाउन अलमलिनु होइन हिँड्नु नै हो । नेपाली क्रिकेट पनि हिँड्यो । बाटो त अब नबनी सुखै छैन । आफैं बन्दै जान्छ । यो हिँडाइलाई आभार यो पागलपनलाई सलाम !
सन्दीप लामिछानेलाई आइपीएलमा देखेर खुसी हुने हामी शिखर धवनलाई हाम्रो जर्सीमा देख्न पाउने अवस्थामा आयौँ । यसका लागि पारस खड्का र समग्र टीमलाई धन्यवाद, विजेतालाई बधाई ! देश पनि यसै गरी हिँड्न पर्नेछ अब । हामीसँग पूर्वाधार छैन । क्यापिटल पनि छैन र सबैभन्दा ठूलो कुरा सही मान्छे सही ठाउँमा छैन । पूर्वाधार रातारात बन्दैन, पूँजी एक दिनमा निर्माण हुँदैन । तैपनि सही ठाउँमा सही मान्छे पुग्ने हो भने केही त पक्कै हुन सक्ने रहेछ ! अब हिँड्ने कि !

टिकटक बनाउने क्रममा खोलामा खसेर तेह्रथुममा शिक्षक र विद्यार्थीको मृत्यु

तेह्रथुम । खोला किनारामा टिकटक बनाउने क्रममा दुईजनाको मुत्यु भएको छ । शनिबार दिउँसो मेन्छ्यायेम गाउँपालिका–५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको मृत्यु भएको हो ।

विद्यालयका सहायक प्रधानाध्यापक कमल सापकोटाका अनुसार उनीहरु शनिबार बिदा मनाउन खोरङ्वा खोलामा गएका थिए । खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर लडेका उनीहरु खोलामा बगेका थिए ।

शनिबार अपराह्न खोलामा बगेका उनीहरुको शव साँझ भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चिनिमाया तामाङले जानकारी दिइन् । शव मृतकका परिवारलाई आइतबार मात्र हस्तान्तरण गरिने उनले बताइन् ।

उपनिर्वाचनको परिणाम पार्टीको पक्षमा नआएपनि मतमा सुधार भएको राप्रपाको निष्कर्ष

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिर १६ गते भएको उपनिर्वाचनमा भएको कमजोरी अध्ययन गर्न समिति गठन गरेको छ । शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वरिष्ठ नेता बुद्धिमान तामाङको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिमा बागमती प्रदेश कार्यसमितिका अध्यक्ष बिक्रमबहादुर थापा र लुम्बिनी प्रदेश कार्यसमितिका अध्यक्ष प्रदीपकुमार उदय सदस्य छन् । बैठकले पार्टीको केन्द्रीय कार्य समिति बैठक माघ ११ र १२ गते काठमाडौंमा बस्ने निर्णय गरेको पार्टी प्रवक्ता मोहन श्रैष्ठले जानकारी दिए ।

पोखरामा बेलुन महोत्सवमा १५ मुलुकका पाइलट सहभागी हुँदै

पोखरा । पोखरामा पहिलो पटक हुन थालेको अन्तर्राष्ट्रिय बेलुन महोत्सवमा १५ देशका पाइलट सहभागी हुने भएका छन् । पोखराको साहसिक पर्यटनलाई प्रर्वद्धन गर्न आयोजित महोत्सवका लागि विदेशी पाइलट पोखरा आइसकेका छन् । नेपालमै पहिलोपटक पोखरामा बेलुन महोत्सव संचालन हुँदैछ ।

पुस ९ देखी १७ गते सम्म सञ्चालन हुने महोत्सवमा एक पटक १७ वटा बेलुन नेपाली आकाशमा उड्नेछन् । बेलुन साहसिक पर्यटकीय गतिविधि गराउने पर्यटकीय प्रडक्ट हो । बेलुन नेपालले सन् २०१८ देखि पोखरामा हट एयर बेलुनमार्फत पर्यटकलाई पोखराको आकासमा सयर गराउँदै आएको छ ।

बेलुन नेपालका अध्यक्ष बिक्रम बाडेले पोखरामा साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रर्वद्धन गर्न महोत्सव आयोजना गरिएको बताए । बिहान र बेलुकीको समयमा एकैपटक धेरै बेलुनहरु उड्नेछन् ।

पोखरा पर्यटन परिषद् (पिटिसी) र बेलुन नेपाल प्रालिको संयुक्त आयोजनामा हुने प्रतियोगिता फेवातालको सिरान क्षेत्रको पामेमा महोत्सव हुनेछ । हट एयर बेलुनमा एकपटकमा ८ जनासम्म पर्यटक उड्न सक्छन् । महोत्सव अवधिमा बिहान ६ देखि ९ बजे र बेलुकी ४ देखि ६ बजेसम्म बेलुन उडान हुनेछ ।

सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी

दाङ । केही वर्षअघि तुलसीपुर उपमहानगरपालिका-१२ लामिडाँडा निवासी ज्ञानबहादुर विकको घरभित्रै पानी पस्थ्यो । वर्षौँदेखि आजित बनेका उनले अचेल भने त्यसबाट मुक्ति पाएका छन् । पानीको निकासका लागि नालीसहितको सडक बनेपछि समस्या समाधान भएको हो । अब चाँडै सडक कालोपत्र भएमा धुवाधुलोबाट समेत मुक्ति मिल्ने उनको अपेक्षा छ ।

“वर्षामा घरभित्रै पानी आउँथ्यो, पटक-पटक वडालाई भने, यस पटक भने सुनुवाइ भयो, अब घरभित्रै पानी पस्ने अवस्था आउने छैन”, विकले भने ।

वडाले तीन लाख बजेटमा कचेलीदेखि लामिडाँडासम्म तीन सय ३५ मिटर नाला निर्माण गरेको छ ।

यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका-१२ क्वाङी विगतको वर्षादमा डुबानमा पर्थ्यो । गाउँको पानी निकास नहुँदा यसरी डुबान हुने गर्थ्यो । यहाँ पनि ‘पनफकुवा’ नाला निर्माण भएपछि त्यो समस्या पनि हटेको स्थानीय नदीमा चौधरीले बताए । “पहिले वर्षा भयो की डुबानमा पर्थ्यो । अब निकासका लागि पनफकुवा नाला निर्माण भइसकेकाले त्यो समस्या हटेको छ ।”

तुलसीपुर उपमहानगरपालिका-१२ ले चालु आर्थिक वर्षमा रु. तीन लाख बजेटमा यहाँ ७५ मिटर लामो नाला निर्माण गरिएको छ । वडाध्यक्ष खुसीराम चौधरीले सानो बजेटले ठूलो उपलब्धि गर्ने नीतिअनुसार समस्या समाधानका लागि काम भएको बताए । “जनताका समस्या धेरै ठूला पनि हुँदैनन्, ससाना समस्या हल गर्‍यौँ भने पनि त्यसले राम्रो प्रभाव पार्छ”, उनले भने, “तीन लाख बजेटले मात्रै हामीले स्थानीयलाई खुसी दिन सकेका छौँ ।”

गाउँ नै डुबानमा पर्ने समस्या लिएर आएपछि आफूले सोही ठाउँमा बजेट विनियोजन गर्न सहजीकरण गरेको चौधरीले बताए ।

बाँकेमा यसवर्ष एक लाख ५१ हजार मेट्रिकटन धान उत्पादन

बाँके । बाँकेमा गत वर्षको तुलनामा यसवर्ष धानखेती गर्ने क्षेत्रफल घटे पनि उत्पादन भने बढेको छ । यस वर्ष ३४ हजार पाँच सय दुई हेक्टर जमिनमा बर्खे धानखेती गरिएकोमा एक लाख ५१ हजार आठ सय आठ दशमलव ८० मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत अनिश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बाँकेमा यस वर्ष प्रतिहेक्टर धानको उत्पादकत्व चार दशमलव चार मेट्रिकटन रहेको थियो । गत वर्ष बर्खे र चैते धान गरी ३४ हजार छ सय ७५ हेक्टर जमिनमा धानखेती गरिएको थियो ।

जसबाट एकलाख ४५ हजार छ सय ५३ मेट्रिकटन धान उत्पादन भएको थियो । गतवर्षको चैते र बर्खे धानभन्दा यस वर्ष चैतेबाहेक बर्खेधानको उत्पादननै एक लाख ५१ हजार आठ सय आठ दशमलव ८० मेट्रिकटन भएको छ ।

गत आवभन्दा यसवर्ष चार दशमलव २४ प्रतिशतका दरले धान उत्पादनमा वृद्धि भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सिञ्चित क्षेत्र विस्तार, हाइब्रिड जातको खेतीमा वृद्धि, बीउ प्रतिस्थापन दर वृद्धि र उपयुक्त मौसमका कारण धान उत्पादनमा वृद्धि भएको श्रेष्ठले जानकारी दिए ।

गत वर्ष ३४ हजार छ सय ७५ हेक्टरमा धानखेती भएकोमा यस वर्ष ३४ हजार पाँच सय दुई हेक्टर जमिनमा धान रोपाइँ भएको थियो । बाँकेमा ३५ देखि ४० हेक्टर जमिनमा चैते धान खेती हुने गरेको छ । यस वर्ष बेलैमा पानी परेकाले धान उत्पादन बढेको सूचना अधिकारी श्रेष्ठको भनाइ छ ।

कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी श्रेष्ठले भने, ‘यस वर्ष समयमा पानी परेपछि धान उत्पादनमा वृद्धि भएको छ, यसैगरी सिक्टा सिँचाइ आयोजनाबाट किसानले लाभ पाएका छन् ।’

बाँकेमा सिक्टा सिँचाइलगायत विभिन्न योजनाबाट गरी २५ हजार एक सय १५ दशमलव ३० हेक्टर जमिनमा मात्रै सिँचाइ हुने गरेको छ । करिब १० हजार हेक्टर जमिनमा आकाशे पानीको भरमा किसानले धानखेती गरिरहेका छन् ।

एनपीएलका सर्वोत्कृष्ट खेलाडी दीपेन्द्रले पाए कार

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) मा सर्वोत्कृष्ट नेपाली खेलाडी हुँदै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले कार पाएका छन् । एनपीएलमा उत्कृष्ट प्रदर्शनको सहयोगमा टोलीलाई फाइनलसम्म पुर्याएका दीपेन्द्र प्रतियोगिताको सर्वोत्कृष्ट नेपाली खेलाडी भएका हुन् । उनले ओमोडाको कार जितेका छन् ।

दीपेन्द्रले आफ्नो व्यक्तिगतसँगै टीमको प्रदर्शनलाई पनि सुखद् कायम राखे । उनले नौ खेलमा १२ छक्का र १५ चौकासहित दुई सय २७ रन बनाएका छन् । दीपेन्द्रले नौ खेलमा नौ विकेट पनि लिएका छन् । उनले एक सय ६० कोे स्ट्राइक रेटसहित औसत ३७ रनमा ब्याटिङ गरेका छन् ।

देशमा क्रमशः आर्थिक–सामाजिक विकास हुँदैछः प्रधानमन्त्री ओली

सुनसरी । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक व्यवस्थामा भएको परिवर्तनपछि आर्थिक–सामाजिक क्षेत्रमा धेरै सुधार भएको बताएका छन् ।

नेपाल जेसिजको ५१औँ राष्ट्रिय महाधिवेशनको शनिबार इटहरीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनभन्दा अगाडि भएका पूर्वाधार विकास र त्यसपछिका आर्थिक विकास तथा रोजगारीका अवसर सृजनालगायत क्षेत्रमा व्यापक परिवर्तन भएको बताए ।

‘हामीलाई चाहिएको मानव जातिको सुख हो । हाम्रा मेहनतको ध्येय सुख पाउनु हो । ज्ञान र बुद्धि कस्तो छ भन्ने आधारमा मानिसको मूल्याङ्कन हुन्छ । बुद्धि भ्रष्ट भएमा काम लाग्दैन । मानिसमा विनम्रता हुनुपर्छ । घमण्ड हुनु हुँदैन’, मानिसले प्राप्त गरेको ज्ञान र बुद्धिलाई ठीकसँग प्रयोग गर्न सकेमा सुख प्राप्त गर्न सकिने बताउँदै उनले भने, ‘जेसिजले अनुशासन सिकाउँछ, अरुलाई सम्मान दिएर मनोबल सकारात्मक बनाउन प्रेरित गर्छ ।’

विश्व ध्यान दिवसको सन्दर्भ उल्लेख गर्दै उनले यस दिवसलाई सधैं अपनाउन र मानव हितलाई केन्द्रमा राखेर पृथ्वीलाई जोगाउन आग्रह गरे । उनले जेसिजको लक्ष्य विश्व शान्ति, नेतृत्व विकास र उद्यमशीलता भएकाले मुलुकमा जेसिजको विस्तार भएकामा त्यसको सराहना गरे ।

महिला यु–१९ विश्वकप खेल्ने टोलीको बन्द प्रशिक्षण गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने

चितवन । मलेसियामा आगामी जनवरीमा हुने महिला यु–१९ विश्वकपका लागि नेपाली टोलीको बन्द प्रशिक्षण चितवनमा हुने भएको छ ।

भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल मैदानमा प्रशिक्षण हुने चितवन क्रिकेट सङ्घका अध्यक्ष सुदीप पियाले जानकारी दिए ।

यही पुस १० देखि २२ गतेसम्म बन्द प्रशिक्षण हुने प्रशिक्षणमा १८ खेलाडीसहित २३ जना सहभागी हुनेछन् ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले नेपाल क्रिकेट सङ्घ (क्यान) को आग्रहअनुसार मैदान उपलब्ध गराइएको बताइन् । उनले सन् २०२७ मा नेपाल र बङ्गलादेशमा तय भएको महिला यु–१९ विश्वकपका खेल यही रङ्गशालामा आयोजना गर्ने गरी महानगरले तयारी गरिरहेको पनि बताइन् । यसका लागि क्यानसँग पहल भइरहेको महानगर प्रमुख दाहालले जानकारी दिइन् ।

यसअघि नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली चितवन राइनोजले पनि यही रङ्गशालामा प्रशिक्षण गरेको थियो ।

आतंकवादी आक्रमणमा पाकिस्तानमा १६ सैनिकको मृत्यु, ८ घाइते

इस्लामाबाद  । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार बिहान भएको आतङ्कवादी आक्रमणमा १६ सैनिकको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् ।

प्रान्तको दक्षिणी वजिरिस्तान जिल्लामा स्थानीय समय अनुसार बिहान २ः३० बजे आक्रमण सुरु भएको थियो, जहाँ एक समन्वित फायर आक्रमणमा एक चेक पोस्टलाई निशाना बनाइएको थियो ।

१२ जनाको शव सनाखत भएको छ भने थप चार जनाको पहिचान हुन बाँकी छ । स्रोतका अनुसार घाइतेहरूलाई तुरुन्तै अर्धसैनिक बलको फ्रन्टियर कोर ट्रेनिङ सेन्टरमा उपचारका लागि लगिएको थियो ।

सेनाले आक्रमणको जवाफमा रकेट लन्चरहरू र अन्य उपलब्ध हतियारहरू प्रयोग गरेर प्रभावकारी रूपमा जवाफ दिए । पाकिस्तानी सेनाले आक्रमणकारीको बारेमा आधिकारिक बयान जारी गरेको छैन ।

अमेरिका र भारतले पृथ्वी–अवलोकन गर्ने उपग्रह प्रक्षेपण गर्ने

लस एन्जलस । नासा र भारतीय अन्तरिक्ष अनुसन्धान संगठठन (इसरो) ले आगामी मार्च मा शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने लक्ष्य राखेका छन्।

नासा–इसरो सिंथेटिक अपर्चर रडार (निसार) ले ग्रहको पारिस्थितिक प्रणाली, भूमि र समुद्री बरफ र पृथ्वीमा परिवर्तनहरू मापन गर्न प्रत्येक १२ दिनमा दुई पटक पृथ्वीको लगभग सबै जमिन र बरफको सतहहरू स्क्यान गर्नेछ।

निसार स्याटेलाइट भारतको दक्षिणपूर्वी तटमा रहेको सतीश धवन स्पेस सेन्टरबाट प्रक्षेपण हुनेछ।

नासाका अनुसार निसारको अवलोकनले विश्वभरका अन्वेषकहरूलाई ग्रहको सतहमा आइसफिट, हिमनदी र समुन्द्री बरफलगायतका परिवर्तनहरू राम्ररी बुझ्न मद्दत गर्नेछ , जसले मानवतालाई फाइदा पुग्नेछ।

यसले पृथ्वीको वन र सिमसार पारिस्थितिक प्रणालीमा भएका परिवर्तनहरू साथै ग्रहको क्रस्टको आन्दोलन र विकृति जस्तै भूकम्प, पहिरो र ज्वालामुखी गतिविधिलाई पनि कब्जा गर्नेछ।

जापानमा आगलागीमा परी आठ जनाको मृत्यु

टोकियो । जापानमा शनिबार आगलागीमा परी आठ जनाको मृत्यु भएको छ। टोकियोको दक्षिणी भागमा रहेको योकोसुकामा रहेको दुई तले घरमा बिहान आगलागी भएपछि ९२ वर्षीय पुरुष र उनकी ८९ वर्षीया श्रीमतीको मृत्यु भएको क्योडो न्यूजले जनाएको छ।

सोही सहरको दुई तले अपार्टमेन्टमा आगलागी हुँदा ६८ वर्षीया महिलाको मृत्यु भएको छ। दक्षिणपश्चिम जापानको फुकुओकामा रहेको एउटा घरमा बिहानै अर्को आगलागी भएको थियो, जहाँ दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ। घरका पाँच जनामध्ये तीन जना फरार र दुईजना घाइते भएको प्रहरीले बताए।

पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने

अशोक घिमिरे, काठमाडौँ  । नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको छ। निगमले २०७६ सालदेखि पाइपलाइनमार्फत मोतिहारीदेखि अमलेखगन्जसम्म डिजेल आयात गरिरहेको छ।

पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिने गरी निर्माण गरिएको ‘मल्टी प्रोडक्ट पाइपलाइन’बाट पेट्रोल र मट्टितेल ल्याउने काम अन्तिम चरणमा पुगेको निगमको मधेस प्रादेशिक कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यले जानकारी दिए। निगमले परियोजनाको दोस्रो चरणअन्तर्गत पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने कामको परीक्षण सफल गरिसकेको छ।

प्रमुख आचार्यले भने, ‘पाइपलाइनबाट परीक्षणका रूपमा पेट्रोल र मट्टितेल अमलेखगञ्ज ल्याएका छौँ, भण्डारणका लागि डिपोभित्र नयाँ पाइपलाइन र ट्याङ्क निर्माण भएको छ। हाल ती संरचनामा ‘चार्ज’ गर्ने र मिटरको गुणस्तर परीक्षणको काम भइरहेको छ।’

निगमले पाइलपाइनबाट गत असोज १८ गते पाँच हजार पाँच सय किलोलिटर पेट्रोल र गत मङ्सिर २६ गते एक हजार किलोलिटर मट्टितेल अमलेखगन्ज झारेको थियो। अब निरन्तर पाइपलाइनबाट डिजेलका साथै पेट्रोल र मट्टितेल ल्याउन सक्ने स्थितिमा निगम पुगेको छ। पेट्रोलियम पदार्थको संवेदनशीलतालाई मध्यनजर गर्दै हाल विस्तृत परीक्षणको काम भइरहेको छ।

‘स–साना ‘लिकेज’ हुन सक्छ कि भनेर सुक्ष्म रूपमा निगरानी गरिरहेका छौँ यसै महिनाको अन्तिम साता पाइपलाइन परियोजनाको दोस्रो चरणको काम उद्घाटन गर्ने योजना छ। यसपछि क्रमशः पाइपलाइनबाट पेट्रोल र मट्टिटेल अमलेगन्ज आउनेछ,’ कार्यालय प्रमुख आचार्यले भने, ‘ट्रक ट्याङ्करका तुलनामा पाइपलाइनबाट पेट्रोलियम पदार्थको आयात गर्नु धेरै नै सुरक्षित मानिन्छ। पाइपलाइनबाट इन्धन आउन थालेपछि ट्रकट्याङ्कर दुर्घटना, इन्धन चोरी तथा मिसावट र वातावरणीय प्रदूषणलगायत समस्याको अन्त्य हुनेछ।’

पाइपलाइनबाट दैनिक छ हजार किलोलिटर पेट्रोलियम पदार्थ अमलेखगन्ज ल्याउन सकिन्छ तर पेट्रोलियम पदार्थको माग नबढेकाले पूर्ण क्षमतामा पाइपलाइन सञ्चालन हुने अवस्था भने बनेको छैन। ‘दैनिक छ हजार किलोलिटर पेट्रोलियम पदार्थ आयत गर्नुपर्ने अवस्थामा निगम पुगेको छैन,’ प्रमुख आचार्यले भने, ‘डिजेल, पेट्रोल र मट्टितेल पाइपलाइनबाटै आयत हुन थालेपछि भने पूर्ण क्षमतामा सञ्चालन हुन सक्छ।’

यसलाई दक्षिण एसियाको पहिलो अन्तरदेशीय पाइपलाइन परियोजना भनिएको छ, जसको कुल लम्बाइ ६९ दशमलव दुई किमी रहेको छ। यसमध्ये भारततर्फ ३३ किमी र नेपालतर्फ ३६ दशमलव दुई किमी रहेको छ। विसं २०७६ भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले सो परियोजनाको संयुक्त रूपमा उद्घाटन गरेका थिए।

निगमको मधेस प्रादेशिक डिपो अमलेखगन्जबाट विराटनगर, भैरहवा, थानकोट, पोखरा, वीरगन्ज, जनकपुरस्थिति डिपोमा इन्धन आपूर्ति हुँदै आएको छ। अमलेखगन्जबाट स्थानीयस्तरका पम्पका लागि पनि पेट्रोलिमय पदार्थ बिक्रीवितरण हुँदै आएको छ।

पूर्ण ‘अटोमेसन’मा अमलेखगन्ज डिपो

करिब पाँच दशकदेखि सञ्चालित अमलेखगन्ज डिपो पूर्ण ‘अटोमेसन’मा जाँदै छ। पाइपलाइन परियोजनाको दोस्रो चरणअन्तर्गत डिपोमा पेट्रोल, डिजेल र मट्टिटेल भण्डारणका लागि चार वटा नयाँ ‘भर्टिकल ट्याङ्क’ निर्माण गरिएका छन्।

पाइपलाइनबाट ल्याइएको पेट्रोलियम पदार्थको शुद्धता कायम राख्न दुई वटा ‘ट्रान्समिक्स ट्रयाङ्क’ र अग्नि नियन्त्रण प्रणालीको व्यवस्था गरिएको छ।

ट्रक ट्याङ्करमा इन्धन भर्नका लागि थप २४ वटा पूर्णस्वचालित ‘लोडिङ–वे’, अत्याधुनिक प्रयोगशालालगायत संरचना निर्माण गरी परीक्षण सम्पन्न गरिएको परियोजनाका इन्जिनियर प्रशान्त भट्टराईले जानकारी दिए। ‘२४ वटा लोडिङ–वेमा पेट्रोल र डिजल ट्याङ्कर भर्नका लागि टप फिलिङ र बटम फिलिङको व्यवस्था गरिएको छ,’ उनले भने, ‘भण्डारण ट्याङ्क र नयाँ लोडिङ–वे करिब आठ सय मिटरको अन्तरमा छ, यसले डिपोलाई झन् सुरक्षित बनाएको छ।’

मुलुकमा पेट्रोलियम पदार्थको सहज आपूर्ति र वितरण प्रणालीलाई सुनिश्चित गर्न विसं २०३० मा अमलेखगन्ज डिपोको निर्माण सुरु गरिएको थियो। करिब ६७ हजार सात सय २४ वर्गमिटरमा फैलिएको सो डिपो निर्माण सम्पन्न गरी २०३३ माघबाट सञ्चालनमा आएको थियो। यो देशकै सबैभन्दा ठूलो डिपोका रूपमा रहेको छ।

अमलेखगन्जस्थित डिपोमा हाल १५ हजार एक सय १० किलोलिटर पेट्रोल, २४ हजार आठ सय १० किलोलिटर डिजेल र दुई हजार दुई सय ७० किलोलिटर मट्टितेलको भण्डारण क्षमता रहेको छ। सरकारले सातै प्रदेशमा कम्तीमा तीन महिनाको माग धान्न सक्ने गरी भण्डारण क्षमता विस्तारको योजना अघि सारेको छ। सोही योजनाअनुसार निगमले हाल विभिन्न प्रदेशमा भण्डारण क्षमता विस्तारका कार्यक्रम अघि बढाइरहेको छ।

अमलेखगञ्ज–लोथर पाइपलाइन विस्तार छिट्टै
पाइपलाइन परियोजनाको तेस्रो चरणअन्तर्गत अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने योजना कार्यान्वयनका क्रममा छ।

लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार परियोजनामा सहयोग गर्न इण्डियन आयल कर्पोरेशसनको विज्ञ टोली नेपाल आएको छ।

‘परियोजना विस्तारका लागि पुनः सर्भे हुनुपर्ने देखिएको छ, पाइपलाइन जाने मार्गमा रहेका वन र आरक्ष क्षेत्रका बारेमा पनि अध्ययन भइरहेको छ,’ प्रमुख आचार्यले भने, ‘सम्भवतः अर्को महिनादेखि लोथरसम्म पाइपलाइन विस्तार परियोजनाको काम अघि बढ्छ।’