काठमाडौं । गत शनिबार त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग(एनपीएल) को फाइनल खेलपछि साम्प्रदायिक सद्भाव बिगार्न खोज्ने दुई जनालाई पक्राउ गरेको छ ।
जनकपुर बोल्टस र सुदूरपश्चिम रोयल बीचको फाइनल खेलपछि केही व्यक्तिले अपमानजनक शब्द प्रयोग गर्ने, साम्प्रदायिक सद्भाव बिगार्न खोज्ने तथा विभिन्न व्यक्तिहरुलाई अभद्र व्यवहार गरेको आरोपमा काठमाडौं प्रहरी परिसरले दुई जनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा डोटीको आदर्श गाउँपालिका वडा नम्बर दुई घर भई कीर्तिपुर बस्ने वर्ष २१ का अशोक साउद र डोटीको सिलगढीका वर्ष १९ का गणेश साउद छन् । उनीहरुले जनकपुर बोल्टसका समर्थकलाई कुटपिटसमेत गरेका थिए ।
सियोल । दक्षिण कोरियाले अमेरिकी अन्तरिक्ष केन्द्रबाट तेस्रो स्वदेशी जासूस उपग्रह प्रक्षेपण गरेको रक्षा मन्त्रालयले जनाएको छ ।
स्पेसएक्स फाल्कन ९ रकेट सामान्य रूपमा शनिबार राति ८ः३४ मा उड्यो । क्यालिफोर्नियाको भान्डेनबर्ग स्पेस फोर्स बेसबाट राति ९ः२४ बजे (कोरियाली समय) अनुसार उपग्रहलाई कक्षमा प्रक्षेपण गरिएको थियो ।
प्रक्षेपण गरिएको भूउपग्रहले राति ११ः३० बजे विदेशी ग्राउन्ड स्टेशनसँग सञ्चार गर्न सफल भएको र यसले भूउपग्रहको सामान्य सञ्चालनको सङ्केत गरेको जनाएको छ ।
दक्षिण कोरियाले सन् २०२५ सम्ममा पाँचवटा जासुसी उपग्रहहरू प्राप्त गर्ने योजनाको भागको रूपमा प्रक्षेपण गरेको यो तेस्रो सैन्य उपग्रह हो । दक्षिण कोरिया यसअघि अमेरिकाले उपलब्ध गराएको स्याटेलाइट इमेजरीमा ठूलो मात्रामा भर परेको थियो ।
पाकिस्तान । खैबर–पख्तुनख्वा (के–पी) सरकारले जन्म, मृत्यु र विवाह प्रमाणपत्रहरू प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य गरेको छ । यो उपाय पोलियो उन्मूलन गर्न प्रान्तको निरन्तर प्रयासलाई बलियो बनाउनको लागि हो ।
यस निर्देशन अन्तर्गत आफ्ना बालबालिकालाई पोलियो थोपा खुवाउन अस्वीकार गर्ने परिवारहरूलाई यी आवश्यक कागजातहरूमा पहुँचबाट वञ्चित गरिनेछ ।
मुख्यतया पेशावर र गाउँ काउन्सिल वरपरका क्षेत्रहरूमा ध्यान केन्द्रित गर्दै, नीतिले व्यापक खोप सुनिश्चित गर्ने र कमजोर समुदायहरूमा पोलियो प्रसारणको जोखिम कम गर्ने लक्ष्य राखेको छ ।
स्वास्थ्य विभागका एक प्रवक्ताले भने,“उक्त निर्णयले प्रत्येक बालबालिकालाई खोप लगाउने सुनिश्चित गर्ने र भविष्यका पुस्तालाई पोलियोबाट जोगाउन आवश्यक सबै कदम चालिरहेका छौं ।”
पोलियो उन्मूलन पाकिस्तानमा निरन्तर चुनौती भएको छ । व्यापक अभियानका बाबजुद पनि केही परिवारहरू विभिन्न कारण देखाउँदै आफ्ना बालबालिकालाई खोप लगाउन हिचकिचाउँछन् ।
सरकारले यस नीतिलाई यस्तो प्रतिरोधलाई हटाउन र खोपको कभरेज सुधार गर्न महत्त्वपूर्ण कदमको रूपमा हेर्छ ।
यस पहललाई स्थानीय र अन्तर्राष्ट्रिय रूपमा स्वास्थ्य संस्थाहरूले नजिकबाट निगरानी गरिरहेको छ ।
महत्वपूर्ण कागजातहरू जारी गर्ने कार्यलाई खोप अनुपालनसँग जोडेर, केपी सरकारले प्रदेशलाई पोलियोमुक्त बनाउने अभियानलाई तीव्रता दिने लक्ष्य राखेको छ ।
वासिङटन । आगामी ट्रम्प प्रशासनका महत्वपूर्ण पात्र एलन मस्क कुनै दिन राष्ट्रपति बन्न सक्ने सम्भावना नरहेको अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले बताएका छन् ।
ट्रम्पले अमेरिकी नियमलाई इङ्गित गर्दै मस्कले अमेरिकी राष्ट्रपति लड्ने सम्भावना नरहेको बताएका हुन् ।
एरिजोनाको फिनिक्समा आयोजित रिपब्लिकन पार्टीको सम्मेलनमा ट्रम्पले भने, “उहाँ राष्ट्रपति हुनुहुने छैन । यो कुरा म तपाईलाई भन्न सक्छु ।”
“तपाईलाई थाहा छ उहाँ किन अमेरिकी राष्ट्रपति हुन सक्नुहुन्न ? उहाँ यो देशमा जन्मनुभएको थिएन”, ट्रम्पले टेस्ला र स्पेस एक्सका मालिकबारे भने उहाँ दक्षिण अफ्रिकामा जन्मिनुभएको थियो ।’
अमेरिकी संविधानमा राष्ट्रपति हुनका लागि अमेरिकामा जन्मेको अमेरिकी नागरिक हुनुपर्ने व्यवस्था छ ।
ट्रम्पले विशेष गरी डेमोक्र्याटिक समूहको आलोचनाको जवाफ दिँदै प्रविधि क्षेत्रका अर्बपति व्यवसायी र विश्वको सबैभन्दा धनी व्यक्तिलाई ‘राष्ट्रपति मस्क’ को रूपमा चित्रण गरेका थिए।
ट्रम्पको ‘दक्षताको शक्ति’ को रूपमा काम गर्ने मस्कको प्रभावले गर्दा डेमोक्र्याटिकहरूले मस्कविरोधी प्रचारलाई केन्द्रित गर्दै एक अनिर्वाचित नागरिकले कसरी यति धेरै शक्ति प्रयोग गर्न सक्छ भन्ने प्रश्नहरू उठाएका देखिन्छ ।
मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा २० करोडभन्दा बढी ‘शुभचिन्तक’ लाई यस हप्ता सरकारी कोषको प्रस्ताव वेकार भनेपछि यसले कतिपय रिपब्लिकनलाई समेत क्रुद्ध पारेको थियो ।
ट्रम्पका साथै मस्कले अन्ततः रिपब्लिकन सांसदलाई अमेरिकी काङ्ग्रेसमा कडा परिश्रम गरी सहमत भएको कोष विधेयक फिर्ता लिन दबाब दिएका थिए । यसले संयुक्त राज्य अमेरिकालाई बजेट अभावको सङ्घारमा धकेल्यो जसको परिणामस्वरूप क्रिसमसको केही दिन अघि सरकारल सेवाहरूलाई नियमित रूपमा अघि बढाउन कठिनाई भयो ।
काङ्ग्रेसले शुक्रबारदेखि शनिबारसम्मको लगातारकोपहलपछि एउटा सहमति गरेको छ र यसले सरकारी सेवाहरू व्यापक अवरोध हुनबाट जोगिएका थिए ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन्
राष्ट्रपति कार्यालयमा सोमबार आयोजित समारोहमा रुसी महाङ्घका लागि नवनियुक्त राजदूत जङ्गबहादुर चौहान, संयुक्त अधिराज्यका राजदूत चन्द्रकुमार घिमिरे, स्पेनका राजदूत शनिल नेपाल, गणतन्त्र कोरियाका राजदूत डा शिवमाया तुम्बाहाङ्फे र गणतन्त्र भारतका राजदूत डा शङ्करप्रसाद शर्माले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
त्यस अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको जनाइएको छ ।
तेह्रथुम। तमोर नदीस्थित तेह्रथुम–पाँचथर जोड्ने लुमुघाट मोटरेबल पुलको पुनर्निर्माण सुरु भएको छ । म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले करिव १३ वर्षपछि लुमुघाट मोटरेबल पुलको पुनर्निर्माण थालिएको जानकारी दिए ।
सडक विभाग मातहतको पुल सेक्टरको रु १७ करोड लागतमा उक्त पुल निर्माण गर्ने ठेक्का पाएको थियो । निर्माण कम्पनीले विसं २०६८ असार २६ गते तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । निर्माण कम्पनीले काम नगरी पुल अलपत्र छाडेको थियो ।
तेह्रथुम र पाँचथरका जनप्रतिनिधि, स्थानीय प्रशासन र सरोकारवालाको दबाबपछि निर्माण कम्पनीले अधुरो छाडेको काम पुनर्निर्माण पुनः सुरु गरेको नगरप्रमुख तुम्बाहाङ्फेको भनाइ छ ।
पुल जग निर्माण गर्ने क्रममा १० मिटर गहिराइमा ढुङ्गा भेटिएपछि पुनः ‘सोइल टेष्ट’ गरेर ‘रिडिजाइन’ गर्ने विषयमा विवाद भएपछि पुल निर्माणको काम रोकिएको सांसद सीता गुरुङले बताइन् ।
गत मङ्सिर २० गते भौतिक पूर्वाधार मन्त्रालयमा बसेको सर्वपक्षीय बैठकमा पुरानै डिजाइनमा पुल बनाउने सहमति भएपछि निर्माण कार्यले निरन्तरता पाएको उनको भनाइ छ ।
सबै पक्षको सहयोग रहे आउने असारसम्ममा पुल निर्माणको काम सम्पन्न गरिसक्ने निर्माण कम्पनीका साइड इञ्चार्ज विजय लामिछानेले बताए। पाँचथरको कुम्मायक गाउँपालिका र तेह्रथुमको म्याङलुङ नगरपालिकालाई जोड्ने उक्त मोटरेबल पुल निर्माण सम्पन्न भएपछि दुई जिल्लाको सदरमुकाम सबैभन्दा छोटो दूरीमा जोडिने छन् ।
पाँचथर सदरमुकाम फिदिमबाट ४५ किलोमिटर र तेह्रथुम सदरमुकाम म्याङलुङबाट १९ किलोमिटरको दूरी रहेको तमोर नदीमाथिको उक्त पुल निर्माण सम्पन्न भएपछि दुवै जिल्लाका नागरिकलाई आवातजावतमा सहज हुने म्याङलुङ–२ का विश्वराज तुम्बाहाङफेले बताए।
पाँचथरको कुम्मायक गाउँपालिकाका भुल्के, खाल्ले, स्यावरुम्बालगायतका गाउँबाट करिब आठ घण्टाको पैदलयात्रा गरी हप्तैपिच्छे पिठ्यूँमा बोकेर कृषिउपज तेह्रथुमको म्याङलुङस्थित शुक्रबारे हटियामा बिक्री गर्न ल्याउनुपर्ने बाध्यता छ ।
पुल निर्माण भएपछि म्याङलुङदेखि लुमुघाट हुँदै तमोर करिडोर भएर छोटो दूरीमै सुनसरीको धरान र प्रदेश राजधानी विराटनगर पुग्न सकिन्छ । तेह्रथुमबाट पूर्वी तराईसँगको दूरी घटाउने भएकाले पनि उक्त मोटरेबल पुल निर्माणले महत्व राख्ने जनाइएको छ ।
काठमाडौँ । महानगरपालिकाबाट निर्माण भएका, मर्मत भएका सडकहरुको गुणस्तर परीक्षणका लागि कोर कटिङ नमूना प्रयोगशालामा पठाउने गरिएको छ ।
यसबाट कालोपत्रे गर्न प्रयोग गरिएको विटुमिनको मात्रा तथा गुणस्तर, कालोपत्रको मोटाइ, कम्प्याक्सन (खँदिलोपना), निर्माण सामग्रीको मिश्रण मात्रा हेरिन्छ ।
सडकको दायाँ भाग, केन्द्र भाग र वायाँ भाग गरी विभिन्न स्थानबाट परीक्षणका लागि कटिङ गरिन्छ । महानगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगोलको नेतृत्वमा योजना अनुगमन गर्न डल्लु आवास क्षेत्रमा पुगेका पदाधिकारीलाई सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले गुणस्तर कायम गराउन अपनाइएको विधिका विषयमा जानकारी दिए ।
‘योजना सम्पन्न भएपछि यसको गुणस्तर सुनिश्चित गर्न प्रचलित कानुनले दिएका सूचकहरुको पूर्ण कार्यान्वयन गर्नुहोला ।’ अनुगमनका क्रममा उपप्रमुख डंगोलले भनिन्, ‘हामीले खोजेको नतिजा योजना कार्यान्वयन हुनु मात्र होइन, यसको दिगो र सुलभ उपयोग पनि हो । सार्वजनिक निर्माण कार्य गर्दा अपाङ्गता भएका, ज्येष्ठ नागरिक, असक्त व्यक्ति, बालबालिका सबैले प्रयोग गर्न सक्ने र सुरक्षित हुनुपर्छ । निर्माण मात्र होइन अव पहुँचयुक्त निर्माणमा काम गर्नुपर्छ ।’
मागका आधारमा तत्काल सडक मर्मत सम्भार गर्न महानगरपालिकाले एउटै प्याकेजमा निर्माण पक्ष आव्हान गरेको थियो । यसमा छानिएको गणेश एण्ड गंगा, रमिला जेभिसँग २०८० फागुन २३ गते सम्झौता भयो । करिब १२ करोड ६५ लाख रुपैयाँ लागत रहेको यो योजना २०८१ फागुन मसान्तसम्मका लागि हो ।
यसअन्तर्गत अहिलेसम्म करिब १२ किलोमिटर मार्गको स्तरोन्नति र मर्मत भएको छ । अनुगमन गरिएको वडा नं. १५ स्वयम्भू क्षेत्रमा पर्ने, आदिकवि मार्ग, स्वयम्भू मार्ग, परिक्रमा मार्ग, सिद्धिचरण मार्ग, विजेश्वरी उकालो, डल्लु चौताराबाट डल्लु पुल, लखतीर्थ मार्ग, ससुख्वाट मार्ग, सैनिक स्कूल मार्ग र धुम्बाखेल विष्णुमती रोड मर्मत सम्भार प्याकेजअन्तर्गतकै हो । यस वडामा करिब ६ किलोमिटर सडकमा काम भइरहेको छ ।
पूर्वाधार सुधार गरेर काठमाडौँलाई धुलोरहित सहर बनाउने महानगरपालिकाको ‘धुलोरहित सडक’ कार्यक्रम ३ वर्षसम्म सञ्चालन हुने वहुवर्षिय योजना हो । यसका लागि हरेक वर्ष करिब १ अर्व रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
महानगरपालिकाको भौगोलिक क्षेत्रलाई ४ भागमा विभाजन गरेर हरेक क्षेत्रका लागि एउटा प्याकेज बनाइएको छ । यसअन्तर्गत पूर्व क्षेत्रमा वडा नं. ६, ७, ८, ९, १०, ३१, ३२ पर्छन् । यी वडामा काम गर्न करिव ९० करोड रुपैयाँको लागत अनुमान गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट यसको कार्यादेश रकम ७९ करोड ५७ लाख रुपैयाँ रहेको छ ।
कामको जिम्मा वल्र्डवाइड–कोहिनुर–रमिता जेभिले पाएको छ । निर्माण पक्षसँग २०८१ असोज १४ गते सम्झौता भएको हो । सम्झौताको अवधि २०८३ असार मसान्तसम्म हो । कार्यक्रमअन्तर्गत वडा नं. ६, ९ र ३२ मा काम भइरहेको छ । करिब ३ सय मिटर ढल निर्माण अहिलेको प्रगति हो, सार्वजनिक निर्माण विभागले जनाएको छ ।
उत्तर क्षेत्रमा वडा नं. १, २, ३, ४, ५, २६, २८, २९ र ३० पर्छन् । यस क्षेत्रको कामका लागि आव्हान गरिएको सार्वजनिक बोलपत्रको सूचनाबाट आएका निर्माण पक्षमध्ये ढुकुछु–आरए जेभिले कामको जिम्मा पाएको छ । निर्माण पक्षसँग २०८१ असार ७ गते सम्झौता भएको हो । सम्झौताको अवधि २०८३ असार मसान्तसम्म हो । करिब ९० करोड रुपैयाँ लागत अनुमान गरिएको योजनाका लागि सार्वजनिक खरिद प्रक्रियाबाट ७३ करोड रुपैयाँमा सम्झौता भएको छ ।
मध्य क्षेत्रमा भित्री वडाहरु, वडा नं. ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ पर्छन् । यस क्षेत्रको कामका लागि करिब ४५ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । यसमा बोलपत्रमार्फत करिब ३४ करोड ३३ लाख रुपैयाँ कबोल गर्ने अर्याल–युएसजी–आरएस लक्ष्मी जेभिले कामको जिम्मा पाएको छ । निर्माण पक्षसँग २०८१ जेठ २९ गते सम्झौता भएको हो । सम्झौताको अवधि २०८४ जेठ मसान्तसम्म हो । यस क्षेत्रमा करिब १ हजार ५ सय मिटर सडक कालोपत्रे भएको छ । यस्तै करिब ८४० वर्गमिटर सडक ढलान गरिएको छ ।
पश्चिम क्षेत्रमा वडा नं. १३, १४, १५ र १६ पर्छन् । यसको खरिद प्रक्रिया टुङ्गिन बाँकी छ । सार्वजनिक निर्माण विभागका प्रमुख शाक्यका अनुसार धुलोरहित सडक कार्यक्रमअन्तर्गत कुनै पनि ठाउँ नछोडी सबै सडक कालोपत्रे हुनेछ । मर्मतसम्भार कार्यक्रम र पूर्वाधार एम्बुलेन्स कार्यक्रमअन्तर्गत भत्किएको, भासिएको वा विग्रिएको ठाउँलाई तत्काल मर्मत गर्ने काम हो । यसमा पनि सडक कालोपत्रे गर्ने काम गरिन्छ । तर, यो खण्ड खण्डमा मात्र हुन्छ ।
अनुगमनका क्रममा धुलोरहित सडक कार्यक्रमअन्तर्गत वडा नं. ४ का सडकहरु हेरिएको थियो । यस वडामा ११ वटा मार्ग (४ हजार ४९१ मिटर) सडकमा काम भइरहेको छ । आनन्दमाया मार्ग, दिपज्योति मार्ग, बराह मार्ग, टुँडालदेवी मार्ग, सरस्वती मार्ग, गीताञ्जली मार्ग, तल्लो टुँडालदेवी मार्ग, शान्तिप्रिय मार्ग, धारा मार्ग, लाम्टाङ् मार्ग, ज्ञानज्योती मार्ग यस क्षेत्रमा काम भइरहेका मार्ग हुन् ।
‘सहरलाई धुलोरहित बनाउन महानगरपालिकाले पूर्वाधार निर्माण गरेपछि यसको उपयोगमा स्थानीयबासीबाट पूरा गर्नु पर्ने दायित्व पनि छन् ।’ वडा नं. ४ का अध्यक्ष दिनेश महर्जन भन्छन्, ‘घर, पसल वा व्यवसायको भुइँ बढारेको उत्पादन भएको धुलो सडक र नालीमा फाल्ने आचरणमा सुधार आउनुपर्छ । धुलोरहित कार्यक्रमको दिगो प्रयास यहीँबाट सुरु हुन्छ ।’
यही कार्यक्रमअन्तर्गत वडा नं. ३ मा ७ वटा मार्ग (कान्ति मार्ग, कपन मार्ग, नर्सरी मार्ग, साइ मार्ग, गोदावरी मार्ग, धापासी मार्ग, धारापाटी मार्ग) मा काम भइरहेको छ । यसको लम्बाइ २ हजार ५४४ मिटर हो ।
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले क्रियाशील सदस्यताको महत्व पार्टी सदस्यहरूलाई बुझाउनुपर्नेमा जोड दिएका छन् । सोमबार नेपाल कांग्रेसको सय दिने विशेष अभियानअन्तर्गत कांग्रेस काठमाडौं महानगर समितिले क्षेत्रपार्टीमा आयोजना गरेको महागरस्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सिंहले पार्टी व्यवस्थापन नै अहिले कांग्रेसको मूल चूनौती रहेको पनि बताए । ‘अहिले कांग्रेसका लागि पार्टीलाई व्यवस्थापन गर्न सक्ने कि नसक्ने भन्ने मुख्य सवाल हो,’ उनले भने, ‘क्रियाशिल सदस्यको संख्या धेरै छ । तर, क्रियाशिल सदस्यहरूलाई सदस्यताको महत्व बुझाउन नसकेको हो कि ? , अब बुझाउनुपर्याे ।’
हरेक क्रियाशिल सदस्यहरूलाई पार्टीको गतिविधिमा संलग्न गराउनुपर्नेमा उनको जोड थियो । देशमा प्रजातन्त्र र प्रजातान्त्रिक मूल्यमान्यता ल्याउन धेरै संघर्ष गरेको र जनताको पटक पटक विश्वास जितेको कांग्रेस पार्टीको क्रियाशिल सदस्यता सामान्य विषय नभएको पनि उनले बताए । पार्टीभित्र समस्या भए बसेर समाधान गर्नुपर्नेमा उनको जोड थियो ।
काठमाडौं महानगर समितिले काठमाडौंवासीले भोगेका पिरमर्का र समस्या समाधानका लागि लाग्न पनि सिंहले आग्रह गरे । १ सय दिने विशेष अभियानले पार्टी संगठन सुदृढीकरण गर्न सहयोग पुग्ने पनि उनले विश्वास व्यक्त गरे । काठमाडौं कांग्रेसको सय दिने विशेष अभियानका लागि पूर्वमन्त्री कृष्णप्रसाद सिटौला खटिएका छन् ।
गण्डकी । सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदैछ। आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित ४४ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरेको थियो।
लामिछानेसहित पाँच जनाविरूद्ध भने सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा दायर भएको छ ।
जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले लामिछाने, छविलाल जोशीसहित अदालतमा उपस्थित गराइएका पाँच जना प्रतिवादीको बयान सुरु हुने जानकारी दिए।
‘गोलामार्फत इजलासको टुङ्गो लागेपछि प्रतिवादीहरुको बयान सुरु हुन्छ, बयान सकिएपछि मात्र थुनछेकको आदेश हुन्छ,’ उनले भने।
सरकारी वकिलको कार्यालयले पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ।
लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिए।
यस्तै लामिछानेसँगै रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको उहाँले बताउनुभयो ।
लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय बिगो दाबीसहित मुद्दा दर्ता गरिएको हो । ७४ करोड ३४ लाख ७१ हजार बढी बिगो दाबी गरी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर गरिएको छ।
प्रतिवादी खनालसँग १४ करोड ३० लाख ९१ हजार ९११ र पछाइसँग २४ करोड ६७ लाख सात हजार २४ बिगो दाबी गरिएको सहायक जिल्ला न्यायाधिवक्ता शर्माले जानकारी दिए।
सहकारी ठगीतर्फ लामिछानेलाई तीन करोड ३७ लाख ६५ हजार र जोशीविरुद्ध पाँच करोड २६ लाख ६५ हजार र दीपेश पुनसँग रु दुई करोड १४ लाख आठ हजार आठ सय ४३ बिगो माग गरिएको छ ।
सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ।
सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक२ गते काठमाडौँबाट पक्राउ पर्नुभएको थियो।
उनमाथि कास्कीसहित अन्य जिल्लामासमेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ। सूर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार जीबी राईलगायत अन्य आरोपी भने अझै पनि फरार छन्।
देशको खेल इतिहासमै पहिलोपटक भएको नेपाल क्रिकेट लिग (एनपीएल) को भव्यताले आम खेल क्षेत्रमा एक प्रकारको उत्साह र उमङ्ग छाएको छ । यो नेपालको सबैभन्दा धेरै धनराशि लगानी गरिएको पहिलो घरेलु प्रतियोगिता हो । यसले देशीय मात्रै नभई अन्तर्राष्ट्रियरुपमा पनि चर्चा बटुल्न सफल भयो । यसले नेपाली खेल र खेलाडीको अन्तर्राष्ट्रिय परिचय उचाइमा पुर्याएको मात्रै छैन, बरु खेल क्षेत्रको विकासमा नयाँ आयाम पनि थपिदिएको छ ।
जसरी नेपाली खेलाडीको अन्तर्राष्ट्रिय परिचय उँचो भएको छ, त्यो भन्दा अग्लो नेपाली क्रिकेटको परिचय अन्तर्राष्ट्रियस्तरका खेलाडीहरूले पनि बनाइदिएका छन् । एनपिएलमा सहभागी आठ फ्रेन्चाइज समूहका लागि विभिन्न देशबाट आएका दर्जन बढी अन्तर्राष्ट्रिय खेलाडीले नेपाल र नेपाली खेलकुदलाई विश्व मञ्चमा पहिचान पुर्याउन सहयोग पुगेको छ । विदेशी खेलाडी नेपालको घरेलु प्रतियोगितामा भाग लिन आउँदा नेपाली खेलाडीमा उत्साह मात्रै सञ्चार भएको छैन, बरु उनीहरूले नेपालको प्राकृतिक र नेपाली भूगोलको समेत परिचय विश्वमाझ पुर्याएका छन् । यसरी हेर्दा क्रिकेटको यो घरेलु महाकुम्भले खेलमात्रै नभएर आर्थिक, सामाजिक र पर्टकीय हिसाबले पनि देशलाई निकै फाइदा पुगेको छ र सँगसँगै क्रिकेटको यो महामेलाले खेलको मनोरञ्जन मात्रै नभएर देशको अर्थतन्त्रलाई एउटा दिगो दिशा पनि दिएको छ । यो सँगै एनपिएलएले सामाजिक एकता तथा साम्प्रदायिक सद्भावको सुगन्ध पनि छरेको छ ।
नेपालमा धेरै प्रकारका खेलहरू छन् । ती सबका आआफ्ना महत्व, मान्यता र इतिहास छन् । तिनले हाम्रो समाजलाई भावना र आत्मीयरुपमा पनि जोडिआएका छन् । कुनै कुनै खेलहरू यस्ता पनि छन्, जसले समुदायको पहिचान बोकेका हुन्छन्, इतिहास बोकेका हुन्छन् । ती आफैँमा हाम्रा समाजिक र सांस्कृतिक पहिचान पनि बनेका छन् । कतिपय खेलले नेपाललाई अन्तर्राष्ट्रियरुपमा चिनाइरहेका छन् । त्यस्तै पछिल्लो समय नेपाललाई चिनाउने एउटा आयाम बनेको छ, क्रिकेट पनि ।
क्रिकेटको विश्व इतिहास सदियौं लामो छ । १६ औं शताब्दीको शुरुआततिर बाहिर खेलिन थालेको यो खेल नेपालमा भने १९औं शताब्दीतिरमात्रै शुरुआत भएको देखिन्छ । त्यो बेलाको राजनीतिक र सामाजिक व्यवस्था अनि अवस्थाका कारण यो खेल कुनै बेला दरबारका पर्खालभित्र मात्रै सीमित थियो । अर्थात् शासकहरूले आफ्नो परिवारको मनोरञ्जनका लागि मात्रै यो खेल खेल्न शुरु गरेका थिए । शासकीय दायराबाट विस्तारै गल्ली र मैदानसम्म आइपुगेको क्रिकेटले अहिले चौतर्फी उत्साह थपिरहेको छ । साँघुरा गल्ली, खेलबारी र अप्ठ्यारा मैदानबाट उठेर नेपाली क्रिकेट अहिले विश्वस्तरीय प्रतिस्पर्धासम्म पुगिसकेको इतिहास छ । यो खेलको साँघुरो इतिहास अहिले यो निकै विराट भइसकेको छ र अझ उज्यालो भविष्यको यात्रामा अघि बढिरहेको छ । १६ औं शताब्दीतिर युरोपबाट सुरु भएको यो खेल अब विश्वभरि फैलिइसकेको छ । र, यो खेल अब मात्रै मनोरञ्जनका लागि मात्रै रहेन, बरु क्रिकेट अब कैयौ राष्ट्रका लागि अर्थतन्त्रको एउटा हिस्सा बनिसकेको छ ।
नेपालमा कुनै बेला बेलायततिरको सिको गरेर राणाहरूले आफ्ना सन्तान र परिवारबीच मनोरञ्जनका लागि पर्खालभित्र शुरु गरेको क्रिकेट अहिले हरेक नयाँ जन्मिने बालकको सपना बनिसकेको छ । त्यसैमा उनीहरूले भविष्य देखिरहेका छन् र खोजिरहेका छन् । नेपालमा राणा शासनकालदेखि नै क्रिकेटको शुरुआत भएको देखिन्छ । २००४ सालमै नेपालमा क्रिकेट सङ्घ गठन भएको थियो तर त्यसले २०५२ सालमा आएर मात्रै अन्तर्राष्ट्रिय क्रिकेट सङ्घबाट मान्यता पायो । यद्यपि, दरबारका पर्खाल नाघेर आम नागरिकस्तरमा क्रिकेट खेल २००६ सालदेखि नै खेल्न शुरु भएको इतिहासहरू भेटिन्छन् ।
सुधार र आधुनिकतातिर झुकाव राख्ने कतिपय राणा शासकहरूले जनस्तरमै त्यो बेलादेखि क्रिकेट खेलाउन शुरु गरेका थिए । १९१९तिर दरबार हाइस्कुलमा क्रिकेट खेलाइएको थियो तर खुल्लारुपमा २०३७ सालतिर मात्रै राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता आयोजना भयो । यस प्रतियोगितामा अञ्चलस्तरीय समूहहरू सहभागी भएका थिए । त्यसपछि विस्तारै गति लिन थालेको क्रिकेटले २०४६ साल तथा २०६३ सालपछि व्यावसायिकरुपमा पनि गति लिन थाल्यो । यसरी शासकको दरबारिया पर्खाल अनि साँघुरा गल्ली र घाँसे मैदानहरू हुँदै अहिले नेपाली क्रिकेट अब अन्तर्राष्ट्रियस्तरसम्म पुगिसकेको छ । नेपाल अब एकदिवसीय क्रिकेटको मान्यता प्राप्त राष्ट्र मात्रै होइन, विश्वकपको प्रतिस्पर्धासम्म पुगिसकेको देश बन्न सफल भएको छ । पुरुष क्रिकेट मात्रै नभएर नेपालको महिला क्रिकेट पनि अहिले विश्वस्तरीय प्रतिष्पर्धामा भाग लिनसक्ने भइसकेको छ ।
खासगरी अहिले क्रिकेट खेल एशियाली राष्ट्रहरूको एउटा ढुकढुकीका रुपमा स्थापित भइरहेको छ । छिमेकी भारतमा त यो खेल हरेक नागरिकको आस्थाजस्तै बनिसकेको छ । यहाँ क्रिकेटलाई मनोरञ्जन, आर्थिकोपार्जन अनि व्यवसाय मात्रै होइन, यसलाई त धेरै भारतीयले आफ्नो राष्ट्रियताको मानकसमेत बनाइसकेका छन् । अर्थतन्त्रका हिसाबले हेर्ने हो भने त विश्व क्रिकेटको आधाभन्दा बढी हिस्सा भारतकै देखिन्छ । यसमा लगानी गर्नेहरूको तँछाडमछाँड मात्रै होइन, त्यसले गर्दा धेरै खेलाडीको जीवनस्तर पनि उकासिएको छ । अहिले भारतमा ससाना प्रतियोगिताहरू मात्रै होइन, टोलटोलका क्रिकेट खेलाडीहरूको समेत प्रमुख आर्थिक र जीवनको आधार यही खेल बनेको छ र विस्तारै नेपालमा पनि अब हरेक खेलाडीले क्रिकेट खेलेरै जीवन धान्ने आधारहरू तयार भइरहेका छन् । भर्खरै सम्पन्न एनपिएलको पहिलो संस्करण त्यसकै एउटा जीवन्त उदाहरण हो । एनपिएलको पहिलो संस्करणमै देखिएको लगानीको उत्साहले नेपालको अर्थतन्त्रलाई चलायमान बनाएको छ । यसको शुरुआती भव्यताले एकातिर क्रिकेटमाथि लगानी सम्भावनाका ढोकाहरू खुलेका छन् भने यसबाट अरु व्यापार व्यवसायमा पनि फाइदा नै पुगेको छ । नयाँ पुस्ताका खेलाडीहरूलाई आकर्षित गर्न मदत गरेको छ भने स्थापित खेलाडीहरूलाई पनि अब भविष्यका लागि देशै छोड्नुपर्ने बाध्यता हट्दैछ भन्ने सन्देश दिएको छ । खेल खेलेरै नेपालमा पनि आरामदायी जीवन बाँच्न सकिन्छ भन्ने एनपिएलले छोडेको छ ।
हरेक खेल जति व्यक्ति वा उसको व्यक्तिगत स्वास्थ्य तथा मनोरञ्जनका लागि आवश्यक छ, त्यत्तिकै राष्ट्र र राष्ट्रियताका लागि पनि खेलक्षेत्र सबल हुन जरुरी छ । तर हाम्रो राज्यको नीतिगत तहमै खेल क्षेत्रलाई उतिसारो प्राथमिकता दिएको देखिँदैन । त्यसमा पनि खेल अनि खेलाडीको वृत्तिविकासका लागि गठन भएका सङ्घसंस्थाहरूमै राजनीति घुस्दा अझ तहसनहस हुँदै गइरहेको अवस्था छ । टोलका गल्लीहरू हुँदै अन्तर्राष्ट्रिय मैदानसम्म पुगिसकेको नेपाली क्रिकेटको अवस्था पनि त्यो भन्दा फरक छैन । क्रिकेटमात्रै होइन, अहिलेसम्म जति पनि खेलमा नेपालको नाम गाँसिएको छ, त्यो सब मात्रै खेलाडीको आफ्नो मेहनत र परिश्रमबाट मात्रै सम्भव भएको देखिन्छ । राज्यले न खेल क्षेत्रमा लगानी गरेको छ न खेलाडीलाई प्रोत्साहन गर्न सकेको छ ।
अन्तर्राष्ट्रियस्तरसम्म पुगिसकेको क्रिकेटको हकमा पनि राज्यको यही र यस्तै उदासिनता छ । अहिलेसम्म नेपालमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको क्रिकेट मैदानसमेत छैन । अन्तर्राष्ट्रिय क्रिकेट संघको आधिकारिक मान्यता पाइसकेपछि २०५५ सालमा नेपालले पहिलोपटक अन्तर्राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिताको आयोजना गर्ने मौका पाएको थियो । त्यही मौकामा कीर्तिपुर र पुल्चोकमा क्रिकेट मैदानहरू बनेका थिए । यद्यपि, पहिलोपल्ट भएको त्यो अन्तर्राष्ट्रियस्तरको एसिसी ट्रफीमा नेपाल सबै खेलहरूमा पराजित भयो । तथापि, त्यसबाट नेपालमा क्रिकेटको व्यावसायिक यात्राको शुरुआत भएको मानिन्छ । त्यो बेला बनेको क्रिकेट मैदान नेपालमा ठूला प्रतियोगिताहरू खेल्ने र खेलाउने एकमात्रै रङ्गशाला हो । यति हुँदासम्म पनि राज्यले रंगशालालगायत खेल क्षेत्रको भौतिक बिकासमा खासै उदार भएको देखिंदैन । ठाउँठाउँमा मैदानहरू बन्न शुरु भए पनि राज्यले त्यसको अपनत्व नलिँदा ती लथिलिङ्ग अवस्थामा छन् ।
खेल क्षेत्रको यो भौतिक दूरावस्थासँगै कैयौं खेलाडीको पनि त्यस्तै अवस्था छ । एनपिएलकै बेला थाहा भयो विश्वभरि थुप्रै त्यस्ता राम्रा नेपाली खेलाडीहरू पनि छन् । यही प्रतियोगिता खेल्नका लागि विश्वका ठूल्ठूला क्लबहरूमा खेल्ने नेपाली मूलका खेलाडीहरू पनि एनपिएलमा सहभागी भए । उनीहरूलाई नेपालमै बस्ने वातावरण बनाउनु राज्यको दायित्व हो । त्यस्तै मैदानहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसारको स्तरोन्नतिले अरु पनि थुप्रै अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरू यहाँ खेलाउन सकिन्छ भन्ने सन्देश पनि एनपिएलले छोडेको छ । एनपिएलको पहिलो संस्करणमा खेलाडी, खेल क्षेत्र वा आर्थिक तथा सामाजिक क्षेत्रमा जुनखालको उत्साह, उमङ्ग र गतिशीलता देखिएको छ त्यसलाई राज्यले अवसरका रुपमा लिनुपर्छ । सबैभन्दा पहिला खेल क्षेत्रमा झाँगिएको राजनीतिको अन्त्य हुनुपर्छ । अनि राज्यले नीतिगत तहमै खेल क्षेत्रको भौतिक विकास र खेलाडीको व्यक्तिगत जीवनका लागि निर्णायक भूमिका खेल्नुपर्छ ।
काठमाडौं । शक्ति समूहकी संस्थापक एवं सामाजिक अभियन्ता सुनिता दनुवारको निधन भएको छ । सोमबार बिहान अचेत अवस्थामा गोकर्णेश्वरस्थित नेपाल मेडिकल कलेज पुर्याइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको शक्ति समूहकी सदस्य उर्मिला श्रेष्ठले जानकारी दिइन् ।
४७ वर्षीया दनुवार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ मा बस्थिन् । उनलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ताको सूचीमा राखेको थियो । दनुवारलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा सम्मान समेत गरेको थियो ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानले २६ जना उपप्राध्यापक मागेको छ । सोमबा सूचना जारी गरी संस्थानले २६ जना उपप्राध्यापकका लागि दरखास्त आह्वान गरेको हो ।
करार अवधि कम्तिमा १ वर्षको हुने छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले २८ दिनभित्र आवेदन फाराम बुझाउनु पर्ने संस्थानले जनाएको छ।
सुनसरी । सशस्त्र प्रहरीले सुनसरीको वराहक्षेत्रबाट ९७ किलो गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ४ गण हेड क्वाटर सुनसरीका अनुसार सुरक्षा वेश चतराको टोलीले पटनाली खोला बगर क्षेत्रबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो ।
रातिको समयमा पटनाली खोलाको बगर हुँदै चतरा–धरान सडकतर्फ झोलामा नाम्लो लगाई बोकी ल्याउँदै गरिएको अवस्थामा मोबाइल गस्ती टोलीले गाँजा बरामद गरेको नम्बर ४ गण हेड क्वाटरले जनाएको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासतमा सुतिरहेको तस्बिर खिचेर सार्वजनिक गर्ने डा. निकोलस भुसाल पक्राउ परेका छन् ।
प्रहरीले भुसाललाई आइतबार काठमाडौंको थलीबाट पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी सानुराम भट्टराईले भुसाललाई थप अनुसन्धानका लागि पोखरा पठाइने जानकारी दिए ।
यसअघि भुसालले लामिछानेको तस्बिर आफूले प्रहरीकै सिसिटिभीमा खिचेको स्वीकार गरेका थिए। गत शनिबार भेट्न जाँदा लामिछाने सुतिरहेको प्रहरीकै सिसिटिभीमा देखेपछि आफूले तस्बिर खिचेको भुसालले बताएका थिए।
काठमाडौं । गायक प्रकाश सपुत र नायिका परीक्षा लिम्बूको मुख्य भूमिका रहेको फिल्म ‘सोल्टिनी’को पोस्टर छायाङ्न अगाडि नै सार्वजनिक गरिएको छ ।
निर्देशक अर्जुन सुवेदीले आइतबार प्रकाश र परीक्षा फिचर्ड पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा यी दुई कलाकार भावुक मुद्रामा छन् । गत मंसिर दोस्रो सातामा यस फिल्मको निर्माण घोषणा, कलाकार र प्रदर्शन मितिबारे जानकारी दिइएको थियो । त्यस समय पुस १५ बाट छायाङ्कनमा निस्कने निर्माण पक्षले बताएको थियो ।
फिल्ममा प्रकाश र परीक्षासहित विल्सनविक्रम राई, सुब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आलेलगायतको अभिनय रहने छ । प्रदर्शन मिति भने २०८२ असोज ३ गतेलाई तोकिएको छ ।
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई निलम्बन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीबाट पठाइएको पत्र संसद सचिवालयमा पुगेको छ ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा लामिछाने संलग्न रहेको भन्दै निलम्बन माग भएको हो । सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ अनुसार मुद्दा दर्तापछि पद स्वतः निलम्बन हुने व्यवस्था छ ।
लामिछाने माथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा जिल्ला अदालत कास्कीमा आइतबार मुद्दा दर्ता भएको छ । सरकारी वकिल कार्यालयले रविसँग सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ को बिगो माग गरेको छ ।
लामिछानेसँग सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा गरी कूल ३० करोड ७१ लाखभन्दा बढी बिगो दाबी भएको छ । गत कात्तिक २ गते पक्राउ परेका लामिछानेविरूद्ध आइतबार अदालतमा मुद्दा दर्ता भएको हो । भ्रष्टाचार निवारण ऐन, २०५९ मा राष्ट्रसेवकको व्याख्या गरिएको छ ।
लागोस । दक्षिणी नाइजेरियामा नागरिकहरूलाई चामल वितरण गर्ने केन्द्र बाहिर भएको भागदौडमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । यो अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको देशमा यस्ता घटनाहरूको शृङ्खलामा पछिल्लो घटना हो ।
सोही दिन राजधानी अबुजामा ‘असहाय र वृद्ध’ लाई खाना दिँदै गर्दा चर्च बाहिर भएको छुट्टै भागदौड हुँदा कम्तीमा १० जनाको मृत्यु भएको थियो । यी दुई दुर्घटनाका कारण नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले आफ्नो कार्यतालिका खाली गरे ।
अनाम्ब्रा राज्य प्रहरीका प्रवक्ताले ओकिजामा मृत्यु भएका परिवार र साथीहरूप्रति समवेदना व्यक्त गरे । “दुर्भाग्यपूर्ण घटनाको अनुसन्धान अझै जारी छ”, अनाम्ब्रा प्रहरी प्रवक्ता तोचुक्वु इकेङ्गाले २२ जनाको मृत्यु भएको पुष्टि गर्दै विज्ञप्तिमा भनेका छन् ।
प्रहरीले पहिले घटनामा ‘धेरै’ को मृत्यु भएको बताएको थियो ।
मैतामा जिल्लाको होली ट्रिनिटी क्याथोलिक चर्च बाहिर अबुजामा भएको भागदौडमा मारिएका १० जनामध्ये चार जना बालबालिका रहेको प्रहरीले जनाएको छ । एक प्रहरी प्रवक्ताका अनुसार भागदौडमा अन्य आठ जना घाइते भएका छन् ।
“आनन्द र उत्सवको मौसममा हामी हाम्रा नागरिकहरूसँग आफ्ना प्रियजनहरूको पीडादायी क्षतिमा शोक व्यक्त गर्दछौँ, ईश्वरीय सान्त्वना र स्वास्थ्य लाभका लागि हाम्रो प्रार्थना उनीहरूसँग छ”, राष्ट्रपति टिनुबुले भने ।
दक्षिणपश्चिमी सहर इबाडनको एक विद्यालय मेलामा बिहीबार भागदौड भएपछि शनिबारका घटनाहरू भएका हुन् । त्यो भागदौडमा ३५ जना बालबालिकाको मृत्यु भएको थियो भने अन्य छ जना गम्भीर घाइते भए ।
काठमाडौँ । साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा भरत जंगम पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले सहकारीको रकम अपचलनबारे अनुसन्धानका लागि उनलाई आइतबार पक्राउ गरेको हो ।
जंगम सो सहकारीको पूर्व अध्यक्ष हुन् । साई स्वागतको निवर्तमान उपाध्यक्ष रास्वपा सभापति निकिता पौडेल हुन् ।
हिमाल लम्साल, वीरगञ्ज । वीरगञ्ज महानगर-१२ मुर्ली नयाँ टोलका मोहम्मद सलाम शेख र समा प्रवीन त्यस्ता भाग्यमानी अभिभावक हुन, जसका दुवै सन्तान प्रथम संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि चुम्ने जनकपुर बोल्ट्सका टिमका सदस्य आसिफ शेख र उपविजेता बन्ने सुदूरपश्चिम रोयल्स टिमका सदस्य आरिफ शेखका बाबुआमा हुन् ।
काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएका आरिफ शेख र आसिफ शेख भने फरक-फरक टिमबाट प्रतिनिधित्व गर्दै उपाधि होडका लागि प्रतिस्पर्धामा उत्रिएका थिए ।
त्यस्तै खालको फरक दृश्य संघीय राजधानीभन्दा दुई सय ७० किलोमिटर टाढा रहेको वीरगञ्जको मुर्ली नयाँटोलस्थित दुवै खेलाडीको घरमा पनि देखिन्थ्यो । उनीहरूको बुबा-आमा पनि फरक-फरक टिमको समर्थक बनेर आफ्ना दुवै छोराका टिमलाई हौसला थप्दै थिए। बुबा मोहम्मद कान्छो छोरा आसिफ शेख खेल्ने जनकपुर बोल्ट्सको समर्थक थिए भने आमा भने जेठो छोरा आरिफले खेल्ने सुदूरपश्चिम रोयल्सको समर्थक थिइन्।
बुबा मोहम्मदले एनपिएल खेलमा दुवै छोरा खेल्ने निश्चित भएसँगै दुवै टिम फाइनलमा प्रतिस्पर्धा गरोस् भन्ने चाहना रहेको सुनाए । ‘एउटै घरका दुई छोरा फरक-फरक टिमबाट खेल खेलेपछि एउटाले जित्ने र अर्कोले हार्ने त निश्चित जस्तै थियो । त्यसैले पनि बाध्य भएर नै एउटाको समर्थक बन्न परेको हो, उनले भने, एनपिएलमा दुवै छोरा फरक फरक टिमबाट प्रतिनिधित्व गरेसँगै आफूलाई दुवै छोराले फाइनल खेलोस् भन्ने चाहना पनि पूरा हुँदा खुसीले गद्गद् भएको छु ।’
शनिबार बेलुकापख आरिफ र आसिफको घर पुग्दा भने बुबा हर्षित मुद्रामा देखिनुहुन्थ्यो भने आमा समा भने केही मलिन मुद्रामा देखिएका थिए। ‘मलाई त दुवै छोराले खेल जितुन् भन्ने लागेको थियो । तर के गर्नु खेलको नियम त एउटाले जित्नुपर्ने रैछ, आमा समा प्रवीनले भनिन, दुवै छोराहरू फरक-फरक टिमबाट खेल्ने भएपछि श्रीमानले जनकपुरको पक्षमा रहनुभयो भने मैले सुदूरपश्चिमको पक्षमा रहेँ ।’
सुदूरपश्चिमले टस जितेर पहिलो ब्याटिङ गर्दै २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो । त्यो बेलासम्म आमा समालाई सुदूरपश्चिमले एनपिएलको उपाधि जित्नेमा कुनै शंका नै थिएन । उनी सुदूरपश्चिमका खेलाडीले चौका र छक्का हिर्काउँदा भने निकै प्रफुल्लित हुने गरेको सुनाइन् । ‘मलाई त पहिलो चरणको ब्याटिङ हेरेपछि त सुदूरपश्चिमले उपाधि जित्नेमा ढुक्क जस्तै थिएँ । तर, पछि जनकपुरले उत्कृष्ट कम ब्याक गर्दै उपाधि जित्यो, उनले भनिन, जुन टिमले जिते पनि नेपाली क्रिकेटको जित भएको अनुभूति गरेको छु ।’
सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८५ रनको लक्ष्य जनकपुर बोल्ट्सलाई दिएको थियो । तर, शुरुआती चरणमै उत्कृष्ट ब्याटिङ गर्दै जनकपुरले १९ दशमलव दुई ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पछ्याएको थियो । फाइनल खेलमा जनकपुरले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गर्दै उपाधि होड रक्षा गरेको थियो ।
शेख परिवारमा आमा र बुबा फरक-फरक टिमका समर्थक भए पनि दुवै खेलाडीका बहिनी मुस्कान प्रविन भने दुवै दाजुको टिमको समर्थक रहेको बताइन्। ‘आमा-बाबा अलगअलग टिमको पक्षमा हुनुहुन्थ्यो । मेरा लागि दुवै दाजुहरू बराबर भएकाले दुवैको फ्यान थिएँ’, उनले दाजुहरूको मेहनत र लगनशील भएर खेलेकाले दुवै टिमको समर्थक रहेको बताइन् ।
बुबा मोहम्मद छोराहरू आरिफ र आसिफ आजको यो स्थानसम्म आइपुग्न भने धेरै नै संघर्ष गरेको स्मरण गर्छन् । ‘छोराहरूको जहाँ-जहाँ खेल हुन्थ्यो । म त्यहीँ पुगेर नै खेल हेरेर हौसला थप्ने काम गर्थेँ, मोहम्मदले भने, क्रिकेट खेल्नका लागि आवश्यक पर्ने सबै खालका खेल सामग्री पनि उपलब्ध गराइदिन्थे ।’
आरिफ शेख नेपाली राष्ट्रिय क्रिकेटका अलराउण्डर खेलाडीका रूपमा परिचित हुन । आरिफले वीरगञ्जको नारायणी रङ्गशाला परिसरमा रहेको वीरगञ्ज क्रिकेट मैदानबाट भएको खेल यात्रालाई अहिलेसम्म अविच्छिन्न अघि बढाउँदै आएका छन् । वीरगञ्जको विद्यासदन सेकेन्डरी विद्यालय हुँदै ‘अन्डर १९’ राष्ट्रिय टिममा खेल्दै सिनियर टिमसम्म पुग्न सफल खेलाडीको रूपमा परिचित छन् उनी ।
नेपाली टिममा एक दशकभन्दा लामो समय खेल्दै आएका आरिफ नेपाली क्रिकेट टिमका भरपर्दा खेलाडीका रूपमा चिनिने गर्छन् । ‘लोभर मिडल अर्डर’मा ब्याटिङ गर्ने गर्छन् । आरिफले एनपिएलमा फाइनल खेलमा पनि त्यति उत्साहजनक खेल पस्किन भने सकेनन् । फाइनल खेलमा आरिफले तीन बलमा एक रन बनाएर आउट भए । सुदूरपश्चिम रोयल्सले आरिफलाई एनपिएलको अक्सनमार्फत १५ लाख रुपैयाँ खर्चेर टिममा भित्राएको थियो ।
आरिफका सहोदर भाइ हुन आसिफ शेख । जनकपुर बोल्ट्सले मार्की खेलाडीका रूपमा आसिफलाई २० लाख रुपैयाँ खर्चेर किनेको थियो । जनकपुर बोल्ट्सका कप्तान अनिल साह घाइते भएसँगै कप्तानको जिम्मेवारी समेत आसिफको काँधमा आइपुगेको थियो । आसिफले फाइनल खेलमा शुरुआती ब्याट्सम्यानका रूपमा क्रिकेट मैदानमा छिरेका थिए । आसिफले फाइनल खेलमा १९ बल खेल्दै चार चौका र दुई छक्कासहित ३३ रन बनाएका थिए । प्रतियोगिताको अन्य खेलमा राम्रो चल्न नसकेका आसिफले फाइनल खेलमा लाहिरु मिलान्थासँग उत्कृष्ट सुरुआत गरेका थिए ।
विश्वकप जितेको हेर्ने बुबाको धोको
मोहम्मदले आफ्ना छोराहरूलाई उनीहरूको रुचि र चाहनाअनुसार नै क्रिकेटमा लाग्न प्रेरित गरेका थिए । ‘मेरो प्रशस्त धन सम्पत्ति भएर छोराहरूलाई खेलाडी बनाएको होइन, उनले भने, असल संस्कार र शिक्षादीक्षाकै कारणले अहिलेको यो स्थानमा आइपुग्न सफल भएका हुन् ।’ उनलाई ‘नेपाली क्रिकेटले विश्वकपको उपाधि जितेको हेर्ने धोको छ ।
आमा प्रवीनले अझै पनि नेपाली क्रिकेट खेलाडी खेल खेलेरै जीविकोपार्जन गर्न नसक्ने अवस्था भएकामा दुःख लागेको बताउँछिन् । ‘क्रिकेट खेलेरै खेलाडीले आफ्नो जीविकोपार्जन गर्न सक्ने अवस्था गराउनुपर्ने हुन्छ, उनले भनिन, त्यसो भएको खण्डमा नयाँ-नयाँ खेलाडीहरू खेलप्रति आकर्षित हुन सक्थे ।’
काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) को फाइनल खेलमा सट्टेबाजी गर्ने दुई भारतीय नागरिक पक्राउ परेका छन् । शनिबार भएको जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सको खेलमा सट्टेबाजी गराएको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले दुई भारतीयलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश आग्रा सिकान्द्रा पञ्चायत घर भई हाल काठमाडौंको टोखा नगरपालिका ३ ग्राण्डी टावरको नेप्चुन बिल्डिङमा बस्ने ४७ वर्षका हरिस जावा र सोही ठाउँका ऋषि मातन रहेको परिसरले जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले सट्टेबाजी गराउन प्रयोग भएका मोवाइल, ल्यापटप बरामद गरेको छ । यसअघि पनि एनपीएलमा बेटिङ गराएको आरोपमा प्रहरीले केही भारतीय नागरिकलाई पक्राउ गरेको थियो।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद निलम्बन हुने भएको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत अदालतमा अभियोगपत्र दर्ता भएकाले लामिछानेको सांसद पद स्वतः निलम्बन हुने भएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले मुद्दाको अन्तिम टुंगो नलागेसम्म ऐनअनुसार लामिछानेको पद निलम्बित हुने बताइन् । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनको दफा २७ मा स्वतः निलम्बन हुने प्रबन्ध रहेको छ ।
उक्त दफामा भनिएको छ, ‘प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ ।’
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको छ ।
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका–३, सिमलडाँडामा रुखको हाँगा झरेर लाग्दा एक जनाको मृत्यु भएको छ ।
स्थानीय जङ्गलमा पानीको कुलो खन्ने क्रममा एक्कासि सिमलको रुखको हाँगा भाँचिएर लाग्दा आज ५२ वर्षीय महादेव प्रजाको मृत्यु भएको प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए । सोही गाउँपालिका–५ ठाडे गाउँमा बस्दै आएका प्रजाको घटनास्थलमै मृत्यु भएको हो ।
काठमाडौं । संसदको अर्थ समितिको आइतबारको बैठकले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ संशोधनसहित पारित गरेको छ ।
विधेयकमाथि राष्ट्रियसभाबाट आएको संशोधन प्रतिवेदन र प्रतिनिधिसभा सांसदहरूबाट परेका संशोधनमाथि छलफलपछि बैठकले विधेयक पारित गरेको समिति सभापति सन्तोष चालिसेले जानकारी दिए । सभापति चालिसेले विधेयकमाथिको संशोधन प्रतिवेदन दुई दिनभित्र तयार पार्न समिति सचिवालयलाई निर्देशनसमेत दिएका छन् ।
राष्ट्रियसभाबाट पारित भएर आएको उक्त विधेयकमा छ जना सांसदको संशोधन प्रस्ताव परेको थियो । सांसदहरू रणेन्द्र बराइली, निशा डाँगी, दामोदर पौडेल बैरागी, माधव सापकोटा, सोबिता गौतम र प्रेम सुवालले संशोधन प्रस्ताव हालेका थिए । संशोधनकर्तामध्येका सांसद सुवाल र डाँगी समितिमा छलफलका लागि उपस्थित नभएको पनि सभापति चालिसेले जानकारी दिए ।
कुनै व्यक्ति तथा निकायबाट राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा गर्ने कारोबारलाई सुरक्षित र व्यवस्थित बनाई सुरक्षित कारोबारसम्बन्धी कानूनी व्यवस्था समयानुकूल बनाउन आवश्यक भएको भन्दै अर्थ मन्त्रालयले विसं २०८० फागुन ४ गते यो विधेयक राष्ट्रियसभामा दर्ता गरेको थियो । सुरक्षित कारोबारका सम्बन्धमा एकीकृत कानुनी व्यवस्था गरी चल तथा अमूर्त सम्पत्तिउपरको दायित्व परिपालना गर्ने गराउने व्यवस्था गर्न हाल सुरक्षित कारोबार ऐन, २०६३ कार्यान्वयनमा छ ।
यस विधेयकले चल, अचल तथा मूर्त र अमूर्त सम्पत्तिउपरको दायित्वबारे पनि व्यवस्था गर्न लागिएको छ । विधेयकले घर, जग्गाबाहेक चल सम्पत्ति पनि धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सक्ने गरी व्यवस्था गर्न लागेको छ । अचल सम्पत्तिबाहेकको जडित सम्पत्ति, उत्खननका लागि अनुमतिप्राप्त खनिजपदार्थ, बौद्धिक सम्पत्ति तथा व्यक्तिको कुनै पनि प्रकारको मूर्त वा अमूर्त सम्पत्तिलाई विधेयकमा चल सम्पत्तिको परिभाषाभित्र राखिएको छ ।
यसअघि बैंक तथा वित्तीय संस्थाले अचल सम्पत्ति मात्र धितो राखेर ऋण दिने गरेकामा यो ऐन लागू भएपछि चल सम्पत्ति पनि धितो राख्न सकिने व्यवस्था विधेयकमार्फत ल्याउन लागिएको छ । पशु, कृषिबाली तथा कृषिजन्य उत्पादन, उक्त उत्पादनबाट तयार पारिएको खाद्यवस्तु र उत्खननका लागि अनुमति लिइएको खनिज पदार्थसमेत धितो राखेर ऋण लिन सकिनेछ ।
उपभोग्य वस्तुबाहेक अन्य कुनै धितो सम्पत्तिको विवरण दिएमा त्यस्तो विवरणलाई पर्याप्त मानिने विधेयकमा उल्लेख छ । ‘जमानत भन्नाले भुक्तानीको दायित्व वा प्रतितपत्रअन्तर्गत जारी गर्ने व्यक्तिको भुक्तानीको दायित्व जस्ता सहायक दायित्व सम्झनु पर्दछ र सो शब्दले बहिखाता, सुरक्षित बिक्री करार, लिखत, अधिकारपत्र वा अन्य चल सम्पत्तिका सम्बन्धमा भुक्तानी गराउन सहयोग पुर्याउने दायित्वलाई समेत जनाउँछ’, विधेयकमा भनिएको छ ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा त्रिभुवन विश्वविद्यालयमा देखिएका विविध समस्या र सुधारका विषयमा विश्वविद्यालयसभाको अनौपचारिक बैठक सम्पन्न भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार करिब तीन घन्टा भएको अनौपचारिक सिनेट बैठकमा विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, विद्यार्थी, पब्लिक क्याम्पसलगायत क्षेत्रका प्रतिनिधिले क्षेत्रगत समस्या र समाधानका उपाय सुझाएका छन् ।
प्रधानमन्त्री ओलीले सबै क्षेत्रका समस्या र मागलाई समेटेर सरोकारवाला पक्षसँग थप छलफल गरी समाधानका उपायसहित निर्णय गर्नुपर्ने विषयहरु प्रस्तावका रुपमा ल्याउन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिए ।
गत मङ्सिर २७ गते कीर्तिपुरमा भएको विश्वविद्यालयको सिनेट बैठकमा प्रस्तुत कार्यसूचीमा पदाधिकारी र सिनेट सदस्यबीचको दूरी बढेको महसुस भएपछि कुलपति ओलीले विस्तृत छलफल गर्न आजका लागि समय निर्धारण गरेका थिए ।
सिनेट सदस्यहरुले कुलपतिस्तरबाट यस प्रकारको बैठक पहिलो पटक राखिएको र आफ्ना कुराहरु खुलेर राख्न पाइएको बताएकामा धन्यवाद दिएका थिए ।
सिनेट सदस्यका सुझाव सुनेपछि प्रधानमन्त्री ओलीले पर्याप्त गृहकार्य र एक प्रकारको सहमति भएपछि औपचारिक बैठकमा प्रस्ताव ल्याउन आग्रह गरे । गत मङ्सिर २७ गतेको सिनेट बैठकका छलफललाई बङ्ग्याएर सामाजिक सञ्जालमा प्रस्तुत गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सिनेटरहरु सार्वजनिक खपतका लागि नभई समस्या समाधान र सुधारको मुख्य मुद्दामा तर्कपूर्णरुपमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री ओलीले आफूलाई विश्वविद्यालयबाट व्यक्तिगतरुपमा लिनुदिनु (लाभहानी) केही नभएको स्पष्ट गर्दै त्रिविको विकास, रक्षा, प्रवद्र्धन र प्रगति नै साझा चिन्ता हुने भएकाले यसको मर्यादा, गरिमा र साखलाई जोगाउन आग्रह सबैलाई गरे ।
कुलपति ओलीले त्रिविको वेवसाइटमा यसका जनशक्ति, गरिएका काम र लक्ष्यहरुलाई सार्वजनिक गर्न आग्रह गर्दै यस खालको पवित्र संस्थामा पारदर्शीता कायम गर्न स्मरण गराए ।
‘विश्वविद्यालयको शैक्षिक क्यालेण्डर पालना हुनुपर्छ । अनौपचारिक बैठक भएपनि यसलाई निर्देशन नै मान्दा हुन्छ । विश्वविद्यालयमा पारदर्शीता हुनुपर्छ । मेरिटोक्रेसी कायम हुनुपर्छ । उत्कृष्ट भएकालाई उत्कृष्ट नम्बर दिइनुपर्छ । फेल भएकालाई फेल गराइनुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘मेरो भनाइ साँच्चैको मेरिटोक्रेसी होस् भन्ने हो । मलाई कुन डीनको कति मेरिटोक्रेसी छ मलाई थाहा छैन । को नियुक्त हुन्छ, त्यो मेरो रुचिको विषय होइन, मेरो रुचिको विषय यो विश्वविद्यालय सबल होस्, सक्षम जनशक्ति उत्पादन हुन् भन्ने हो । नियुक्तिहरुमा मेरो कुनै हस्तक्षेप हुँदैन । निर्णय गर्ने पदाधिकारीले हो, त्यसकारण सफलता र असफलताको जस तपाईँहरुले लिनुपर्छ । कुलपतिका हैसियतले राम्रो गर्नुस् भन्ने मात्रै मेरो चासो हो । यसलाई पनि हस्तक्षेप मानिए त आश्चर्यबाहेक अरु के मान्न सकिन्छ र ?’
उनले त्रिविको चल–अचल सम्पति खोजबिन समितिको प्रतिवेदन अध्ययन तथा कार्यान्वयनका लागि कार्यदल बनाउनुपर्ने र प्रतिवेदन पर्याप्त नभएकाले थप अध्ययन गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले त्रिवि सेवा आयोगले नियमित परीक्षा लिने काम नगर्ने हो भने यसको औचित्यमा पुनः विचार गर्न आग्रह गरे ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराई, उपकुलपति प्रा डा केशरजङ्ग बराल, शिक्षा मन्त्रालयका सचिव डा दीपक काफ्लेलगायतको सहभागिता रहेको थियो ।
काठमाडौँ । कानुन, न्याय तथा मानव अधिकार समितिमा आइतबार केही नेपाल ऐन संशोधन विधेयकमाथि छलफल भएको छ ।
छलफलमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले केही नेपाल ऐन संशोधन विधेयकको दफा ६४ मा भएको व्यवस्था जनहितमा नभएकाले फिर्ता लिएको बताए । उनले तत्कालीन कानुनमन्त्री धनराज गुरुङले उक्त व्यवस्था जनहितमा नभएकाले संसद र समितिबाटै फिर्ता लिइसकेको बताए ।
‘मुलुकी फौजदारी कार्यविधि ऐन, २०६४ मा संशोधनका लागि प्रस्ताव गरिएको सो व्यवस्था संसद् र समितिबाट फिर्ता लिइसकेको अवस्था छ’, मन्त्री चौरसियाले भने, ‘उक्त दफाको व्यवस्थाबारे चौतर्फी विरोध भयो, त्यसैले फिर्ता दिइएको हो, आवश्यक परेमा दलहरुबीच छलफल गरेर अगाडि बढौँँला ।’
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को धारा ६४ मा संशोधनमा शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन मुद्दा फिर्ता लिन सकिने व्यवस्था गरेको थियो ।
उक्त दफामा सशस्त्र द्वन्द्व वा भूमिगत रहेको राजनीतिक शक्ति शान्तिपूर्ण राजनीतिमा आए जुनसुकै अदालतको जुनसुकै तहमा रहेको मुद्दासमेत सरकारले फिर्ता लिनसक्ने प्रावधान थियो । उक्त कानुनको गलत प्रयोग हुन सक्ने आशङ्काले विरोध भएको थियो ।
कानुन मन्त्रालयका सचिव उदयराज सापकोटाले दफा ६४ फिर्ता लिएको र आवश्यक परे दलहरूबीच सहमति गरेर छुट्टै कानुन बनाउन सकिने बताए । सांसदहरूले भने उक्त दफामा भएको व्यवस्था समितिलाई जानकारी नै नदिइ हटाएको भन्दै हटाउनुपर्नाका कारणबारे जानकारी दिनेबारे आफ्नो धारणा राखेका थिए ।
काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आइतबार नेप्से परिसूचक १३ दशमलव ५३ अङ्कले घटेर दुई हजार पाँच सय ८३ दशमलव २९ को बिन्दुमा कायम भएको हो ।
आज तीन सय १९ कम्पनीका ९१ लाख ८० हजार सात सय १८ कित्ता शेयर ५७ हजार आठ सय ६३ पटक खरिदबिक्री हुँदा चार अर्ब ५१ करोड ८३ लाख ८५ हजार एक सय सात बराबरको कारोबार भएको छ ।
जलविद्युत् समूह शून्य दशमलव ६५ र उत्पादन तथा प्रशोधन समूह एक दशमलव ५७ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।
सबैभन्दा धेरै विकास बैंक समूह दुई दशमलव ०५ र वित्त समूह एक दशमलव ४९ प्रतिशतले घटेको छ । बैंकिङ शून्य दशमलव ८७, होटल तथा पर्यटन शून्य दशमलव ०१, लगानी एक दशमलव १८, जीवन बीमा शून्य दशमलव ८१, लघुवित्त शून्य दशमलव ३९, म्युचुअल फन्ड शून्य दशमलव ३५, निर्जीवन बीमा शून्य दशमलव ८२, व्यापार एक दशमलव ३५ र अन्य समू शून्य दशमलव ३७ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, बाहारी हाईड्रोपावर पब्लिक लिमिटेड र न्यादी हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य छ दशमलव ४० प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै रिभर फल्स फावर लिमिटेडको २२ करोड तीन लाख १२ हजार आठ सय ३४ बराबरको दुई लाख ५२ हजार एक सय ४९ कित्ता शेयर किनबेच भएको छ ।
धनगढी । प्रहरीले कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टको कमाण्डमा गएको टोलीले आइतबार धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित ट्राफिक चौराहबाट ५४९ ग्राम सुनसहित दुई भारतीयलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेम भारत उत्तर प्रदेशका वर्ष ४४ का दीपक गुप्ता र वर्ष ३४ का सुमित बर्मा छन् । प्रहरी टोलीले भारतीय नम्बर प्लेटको कार जाँच गर्दा सुन बरामद गरेको हो ।
ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि पाथीभरा क्षेत्र विकास समितिले पहल गर्ने निर्णय लिएको छ।
पाथीभरा क्षेत्र विकास समितिको बैठकले पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न र एक अन्तर्राष्ट्रिय सम्पदाको रूपमा विकास गर्न महत्वपूर्ण कदम चाल्ने निर्णय गरेको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए।
यसका लागि पाथीभरा क्षेत्र विकास समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पुरातत्व विभागसँग समन्वय गर्दै पाथीभरालाई विश्व सम्पदा सूचीमा सूचीकरण गर्नका लागि औपचारिक अनुरोध गर्ने निर्णय गरेको हाङ्बाङले जानकारी दिए।
पाथीभरा मन्दिर नेपालका प्रमुख शक्तिपीठमध्ये एक हो। धार्मिक, ऐतिहासिक र सांस्कृतिक रूपमा महत्वपूर्ण मानिने पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्नु महत्वपूर्ण कार्य भएकाले यसका लागि पहल सुरु गरिएको समितिका अध्यक्ष रक्की थेबेले बताए।
पाथीभरा मन्दिरमा वार्षिक स्वदेशी तथा विदेशी गरि लाखौँको सङ्ख्यामा भक्तजन आउने गरेका छन्। पाथीभराको दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास रहेकाले हरेक वर्ष यहाँ आउने भक्तजनको दर बढ्दै गएको समितिले जनाएको छ।
गवाहटी । भारतको उत्तरपूर्वी क्षेत्रमा अवैध बालविवाहविरुद्ध गरिएको कारबाहीका कारण करिब पाँच हजार व्यक्ति पक्राउ परेका आसाम राज्यका अधिकारीले आइतबार बताएका छन् ।
बालविवाहविरूद्धको अभियानको तेस्रो चरण डिसेम्बर २१ र २२ मा मात्र ४१६ जनालाई पक्राउ गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । बालविवाहको आरोपमा यो बर्ष अहिलेसम्म कूल पाँच हजार व्यक्ति पक्राउ परेका छन् ।
आसाम राज्यका मुख्यमन्त्री हिमन्त बिस्वा शर्माले विज्ञप्ति जारी गरी भनेका छन्, “हामी यस सामाजिक कुरीतिको अन्त्यका लागि साहसिक कदम चाल्नेछौं ।”
“आसामले बालविवाहविरुद्धको लडाइँ जारी राखेको छ”, उनले भने, “रातभर छापा मारिएको छ र पक्राउ परेकालाई आइतबार अदालतमा पेश गरिनेछ।”
संयुक्त राष्ट्रसङ्घका अनुसार भारतमा २२ करोडभन्दा बढी बालदुलही छन् तर यो शताब्दीमा बालविवाहको सङ्ख्यामा नाटकीय रुपमा कमी आएको छ ।
आसाम राज्यले सन् २०२३ को फेब्रुअरीमा सुरु भएको उन्मूलन अभियानका क्रममा विवाहित दम्पतीका अभिभावक र कम उमेरका वैवाहिक बन्धनमा बाँधिएका रजिष्ट्रारसहित हजारौँलाई पक्राउ गरिसकेको छ ।
यो सँगै अहिले पक्राउ पर्नेको सङ्ख्या चार हजार भन्दा बढी पुगेको छ । शर्माले सन् २०२६ सम्ममा आफ्नो राज्यमा बालविवाहलाई पूर्णरूपमा अन्त्य गर्ने अभियान चलाएका छन् ।
भारतमा कानुनीरूपमा विवाहको लागि उमेर १८ बर्ष तोकिएको छ तर विशेष गरी गरीब ग्रामीण क्षेत्रहरूमा लाखौं बच्चाहरु बालविवाहको बन्धनमा बाँधिन बाध्य छन् । थुप्रै आमाबाबुले आफ्नो आर्थिक सुरक्षा सुधार्ने आशामा आफ्ना छोराछोरीको विवाह गर्छन् ।
बालविवाहको कारण भारतीय समाजमा विवाहित किशोरीहरूले खाना पकाउने र अन्य घरायसी धन्दाका लागि विद्यालय जान छोड्ने गरेका पाइन्छ । विवाहपछि सानै उमेरमा बच्चा जन्माउँदा उनीहरूले स्वास्थ्य समस्याहरू पनि भोग्नुपर्छ ।
सन् २०१७ को ऐतिहासिक फैसलामा भारतको सर्वोच्च अदालतले कम उमेरकी किशोरीसँग यौन सम्बन्ध राख्नु बलात्कार भएको बताएको थियो ।
साओ पाउलो । दक्षिणपूर्वी ब्राजिलमा भएको बस दुर्घटनामा परी कम्तीमा ३८ जनाको मृत्यु भएको छ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले शनिबार दक्षिणपूर्वी ब्राजिलमा भएको बस दुर्घटनामा परी कम्तीमा ३८ जनाको मृत्यु भएको बताउँदै मृतकका आफन्तजनप्रति समवेदना प्रकट गरेका छन् ।
ब्राजिलको मिनास गेरैस राज्यमा भएको बस दुर्घटनामा सन् २००७ यताकै सबैभन्दा खराब दुर्घटना भएको संघीय राजमार्ग प्रहरी (पीआरएफ) ले एएफपीलाई जानकारी दिएको छ । नागरिक प्रहरीले ३८ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने नौ जनालाई अस्पताल भर्ना गरिएको छ ।
पीआरएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रारम्भिक जानकारीअनुसार ग्रेनाइटको एउटा ब्लक विपरीत दिशाबाट आउँदै गरेको ट्रकबाट खसेर बसलाई ठक्कर दिएको हुन सक्ने देखिएको छ ।” ट्रक चालक घटनास्थलबाट फरार भएको अग्निनियन्त्रकले बताएका छन् ।
अग्निनियन्त्रकहरूले सुरुमा बिहान ४ बजेतिर बसको टायर पड्किएपछि चालकले नियन्त्रण गुमाएर ट्रकलाई ठक्कर दिएको र पछाडिबाट आएको अर्को गाडीले पनि बसलाई ठक्कर दिएको अधिकारीहरूले बताएका छन् ।
दुर्घटनापछि साओ पाउलोबाट उत्तरपूर्वी बहिया राज्यको भिटोरिया दा कन्क्विस्टातर्फ जाँदै गरेको बसमा आगलागी भएको थियो ।
भग्नावशेषबाट जलेको अवशेष निकालेको दमकल विभागले केही घाइतेहरू भित्र फसेको जनाएको छ। मृत्यु हुनेमा एक बालक, बसका चालकसहित ३८ जना रहेका छन् । गत नोभेम्बरको अन्त्यतिर ब्राजिलको उत्तरपूर्वी राज्य अलागोसमा एउटा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको थियो ।