`

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र सारंगा सुवेदीको इजलासले प्रसाईंलाई रिहा गर्न आदेश दिएको हो ।

प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनका छोरा निराजन प्रसाईंले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दिएका थिए । साइबर अपराधको मुद्दामा अदालतले उनलाई ४० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

तर धरौटी बुझाएपनि उनलाई प्रहरीले अदालत परिसरबाटै पक्राउ गरेको थियो । प्रसाईंले आफू साइबर अपराधमा धरौटीमा रिहा भए पनि प्रहरीले दुःख दिने मनसाय राखेर पुनः पक्राउ गरेकाले साधारण तारेखमा रिहा गर्न माग गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा करोडौं लगानी गरेको भन्दै अपवाह फैलाएपछि प्रसाई पक्राउ परेका थिए । तर अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपनि व्यापारीलाई धम्क्याएको आरोपमा अदालतबाट जारी भएको अर्को पक्राउ पुर्जीको आधारमा प्रसाईं फेरि पक्राउ परेका थिए ।

डीआईजीद्वय दुर्गा सिंह र भरतबहादुर बोहरा एआईजीमा बढुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका दुईजना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले डीआईजीद्वय दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

उनीहरुालई गत शुक्रबार बढुवा सिफारिस समितिले बढुवाका लागि सिफारिस गरेको थियो । एआईजी भीमप्रसाद ढकाल र केदार ढकालको अवकासपछि रिक्त पदमा उनीहरूलाई बढुवा गरिएको हो ।

सूर्यदर्शन सहकारी ठगीमा जीबी राईसहित १९ जनाविरुद्ध पूरक अभियोग दर्ता, रविविरुद्ध आइतबार मुद्दा दर्ता हुने

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीबी राईसहित १९ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ ।

शुक्रबार  जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले थप अभियोग र बिगो दाबी गर्दै पूरक अभियोग पेस गरेको हो ।

यसअघि १९ जनाविरुद्ध २०८० असोजमा सहकारी ठगीसम्बन्धी कसुरमा मुद्दा चलाइएकोमा यसपटक भने संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत मुद्दा चलाइएको छ ।

१९ जनामध्ये ६ जना पुर्पक्षका लागि थुनामा छन् भने अन्य फरार छन् । रास्वपा सभापति रवि लामिछानेसहित कास्की प्रहरीको हिरासतमा रहेका ५ जनाविरुद्ध भने आइतबार मात्र अभियोपत्र अदालतमा बुझाइने जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन् ।

लामिछानेसहित पाँचै जनालाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अभियोगपत्र दायर गरिने सरकारी वकिलको कार्यालयले जनाएको छ ।

१९ जनाको अभियोगपत्रमा १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ बिगो कायम गरिएको छ । यसअघिको अभियोगमा १ अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ मागदाबी थियो भने सहकारी ठगीको मात्रै मुद्दा दर्ता गरिएको थियो । मुद्दा दर्ता भएपछि जिल्ला अदालतले लामिछानेसहित पाँचै जनाको बयान लिने छ र बयानपछि थुनछेकको बहस हुनेछ ।

घर जग्गा कारोबारलाई थप व्यवस्थित बनाउँछौंः उपप्रधानमन्त्री सिंह

काठमाडौं ।  उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले घर जग्गा कारोबारमा देखिएको शिथिलतालाई हटाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

शुक्रबार जग्गा आवास विकासमा देखिएका समस्या समाधानका लागि सुझाव दिन गठन गरिएको कार्यदलको प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री सिंहले घर जग्गा कारोबारलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता जनाए ।

उनले प्रतिवेदनमा उठेका उपिवषयलाई क्रमिक रूपमा कार्यान्वयन गर्दै लैजाने पनि बताए । ‘जग्गा तथा आवास विकाससँग सम्बन्धित ऐतिहासिक दस्तावेजका रूपमा यो प्रतिवेदन पछिसम्म रहनेछ । जग्गा तथा आवाससम्बन्धी अनुसनधान गर्नेहरूले पनि यो प्रतिवेदनलाई आधार बनाउनेछन् भन्ने विश्वास छ,’ उनले भने, ‘तपाईंहरूले दिनुभएको प्रतिवेदनलाई केलाएर मन्त्रालयले ऐननियम बनाउने क्रममा पनि यसले आधार दिनेछ । प्रतिवेदनमा भएका सुझाव कार्यान्वयनका लागि मन्त्रालयले काम गर्नेछ । यसलाई राम्रो बनाउन अझ सरोकारवालासँग पनि छलफल गर्नेछौँ ।’

उनले घर जग्गा तथा आवास क्षेत्रले नेपालको अर्थतन्त्रमा योगदान पुर्‍याएको भन्दै मन्त्रालयको तर्फबाट यसमा नीतिहरू बनाउँदा थप ध्यान दिने बताए ।

सरकार, निजीक्षेत्रको अन्तर्क्रिया तथा व्यक्तिगत रूपमा कार्यदलले बुझाएको प्रतिवेदनले नेपालको घर जग्गा तथा आवासको कारोबारलाई उकास्न मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे ।

सरकार, निजीक्षेत्रको अन्तर्क्रिया तथा व्यक्तिगत रूपमा कार्यदलले बुझाएको प्रतिवेदनले नेपालको घर जग्गा तथा आवासको कारोबारलाई उकास्न मद्धत पुग्ने भन्दै उनले मध्यम र निम्न वर्गका परिवारलाई पनि ‘हाउजिङ’ आवासमा समेट्न मन्त्रालयले आवश्यक पहल गर्ने बताए ।

शहरी विकास मन्त्रालयका भवन, आवास तथा योजना महाशाखाका प्रमुख दिलीप भण्डारीको संयोजकत्वमा गठन भएको कार्यदलले जग्गा,आवास विकाससँग सम्बन्धित व्यवस्था अध्ययन गरी पुनरावलोकन गर्नुपर्ने विषय पहिल्याई शुक्रबार सुधारसहितको प्रतिवेदन उपप्रधानमन्त्री सिंहलाई बुझाएको हो ।

‘जनयुद्ध’ शब्द प्रयोग नगर्न दिएको सर्वोच्चको आदेशप्रति गुरुङको आपत्ति

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी दस्तावेजमा ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न भनी दिएको आदेशप्रति नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले सर्वोच्चको आदेशप्रति आपत्ति जनाएका हुन् ।

उनले भने, ‘नेपाल सरकार र मधेस प्रदेस सरकारको आर्थिक वर्ष २०८१/८२ को वजेट बक्तव्यमा प्रयुक्त ‘जनयुद्व’ शब्द सम्बन्धमा संविधानमा प्रयुक्त ‘सशस्त्र संघर्ष’ सँग बाझिएको भनि परेको रिट निवेदन सम्बन्धमा हालै सर्वोच्च अदालतको संवैधानिक इजलासबाट ‘जनयुद्व’ शब्द अन्तिम फैसला नहुँदासम्म राज्यका अंगहरुले प्रयोग नगर्नु भनि अन्तरिम आदेश जारी भएको विषयमा ध्यानाकर्षण भएको छ ।’

उनले न्यायालयले त्रुटीपूर्ण व्याख्यालाई सच्याउन आग्रहसमेत गरेका छन् । उनले भनेका छन्, ‘यसरी विश्वव्यापी सर्वमान्य परिभाषा विपरित जनयुद्वलाई शसस्त्र संघर्षसँग बाझिने वा विपरित भनि व्याख्या गर्नु नेपालको संविधानको भावना विपरित मात्र होइन, विश्वव्यापी सर्वमान्य परिभाषाकै अपव्याख्या हुन जान्छ । अतः न्यायालयबाट भएका यसप्रकारका कतिपय त्रुटीपूर्ण व्याख्याहरु न्यायालयकै अन्तिम फैसलाको क्रममा अवश्य सुधार हुनेछ ।’

यस्तो महासचिव देव गुरुङको भनाई 

नेपाल सरकार र मधेस प्रदेस सरकारको आर्थिक वर्ष २०८१/८२ को वजेट बक्तव्यमा प्रयुक्त ‘जनयुद्व’ शब्द सम्बन्धमा संविधानमा प्रयुक्त ‘सशस्त्र संघर्ष’ सँग बाझिएको भनि परेको रिट निवेदन सम्बन्धमा हालै सर्वोच्च अदालतको संवैधानिक इजलासबाट ‘जनयुद्व’ शब्द अन्तिम फैसला नहुँदासम्म राज्यका अंगहरुले प्रयोग नगर्नु भनि अन्तरिम आदेश जारी भएको विषयमा ध्यानाकर्षण भएको छ । नेपालको संविधानले न्यायालयले गरेको व्याख्यालाई अन्तिम मान्ने विधि स्थापित गरेकोले अन्यथा नहुँदासम्म विधिमा त्यसलाई पालना गर्नुको विकल्प नरहला ।

तर आदेशको अन्तर विषयवस्तु ठिक बेठिकबारे विचारको स्वतन्त्रता भने लोकतान्त्रिक संविधानले प्रत्याभुत गरेको छ। अतः निर्णयको अन्तर विषयस्तु हेर्दा उक्त अन्तरिम आदेशमा गम्भीर त्रुटी भएको देखिन्छ। किनभने संविधानको कुनै पनि शब्दबारेको व्याख्यामा विवाद परेमा संविधान निर्माणको बेला गरिएको व्याख्यात्मक टिप्पणी हेर्ने हो । व्याख्यात्मक टिप्पणीमा सशस्त्र संघर्ष भित्र जनयुद्व पनि पर्ने व्याख्या स्पष्टसँग गरिएको छ । संविधानको कुनै पनि विषयको व्याख्यामा विवाद भएमा व्याख्यात्मक टिप्पणी आकर्षित हुने व्यवस्था Common law  भएका मुलुकहरु सबैले गरिरहेको सर्वमान्य अभ्यास हो । यसको अवलम्वन संवैधानिक इजलासमा किन हुन सकेन ?

अर्को कुरा व्याख्यात्मक टिप्पणीमा उल्लेख नभएको विषय रहेछ भने पनि संविधानले मूल सिद्वान्त(theory)र भाव(spirite)बोल्ने हो । राज्यका अंगहरुले संविधानको सिद्वान्त र भाव पक्रने हो र त्यसै अनुरुपका भाषा शब्दावलीहरु प्रयोग गर्ने हो । राज्यका अंगहरुले प्रयोग गर्ने सबै भाषा र शब्दावली संविधानमा उल्लेख गरेर साध्य चल्ने विषय पनि परेन । यस स्थितिमा पनि विवाद पैदा भएमा विश्वव्यापी अभ्यास हेर्ने हो । जनयुद्व, सशस्त्र संघर्ष अन्तरगतकै एउटा स्वरुप रहेको व्याख्यामा विश्वव्यापी सर्वमान्य रहेको छ।

यसरी विश्वव्यापी सर्वमान्य परिभाषा विपरित जनयुद्वलाई शसस्त्र संघर्षसँग बाझिने वा विपरित भनि व्याख्या गर्नु नेपालको संविधानको भावना विपरित मात्र होइन, विश्वव्यापी सर्वमान्य परिभाषाकै अपव्याख्या हुन जान्छ । अतः न्यायालयबाट भएका यसप्रकारका कतिपय त्रुटीपूर्ण व्याख्याहरु न्यायालयकै अन्तिम फैसलाको क्रममा अवश्य सुधार हुनेछ ।

नेपाललाई पराजित गर्दै बंगलादेश यु-१९ एशिया कप क्रिकेटको फाइनलमा

काठमाडौं । नेपाललाई हराउँदै बङ्गलादेश यु- १९ एशिया कप क्रिकेटको फाइनलमा पुगेको छ । शुक्रबार भएको ‘सुपर–फोर’ को खेलमा बङ्गलादेशले नेपाललाई ९ विकेटले हराएको हो ।

नेपालले दिएको ५५ रनको मध्यम लक्ष्य बङ्गलादेशले ९ ओभर ५ बलमा १ विकेट गुमाएर भेटायो । बङ्गलादेशकी फहोमिदा चोयाले नटआउट २६ रन बनाइन् । नेपालकी कुसुम गोदारले १ विकेट लिइन् ।

यसअघि मलेसियाको क्वालालम्पुरमा रहेको बायोमास ओभलमा टस हारेर ब्याटिङ गरेको नेपालले ११ ओभरमा ८ विकेट गुमाएर ५४ रन बनायो । वर्षाले खेल प्रभावित भएपछि खेल ११ ओभरमा झारिएको थियो । बङ्गलादेश ‘सुपर–फोर’ मा दोस्रो स्थानमा रहेर फाइलनमा पुगेको हो । अब बङ्गलादेशले उपाधिका लागि फाइनलमा भारतसँग खेल्नेछ । फाइनल खेल आइतबार हुनेछ ।

बागलुङ कालिका मन्दिरमा एक महिनामा २९ लाख भेटी संकलन

बलेवा । बागलुङ कालिका भगवती मन्दिरमा मङ्सिरमा २९ लाख रुपैयाँ बढी आम्दानी भएको छ । कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अनुसार मङ्सिरमा मन्दिरमा २९ लाख १२ हजार छ सय ९० रुपैयाँ आम्दानी भएकामा १४ लाख ३७ हजार ३९ रुपैयाँ खर्च भएको छ । मङ्सिरमा १४ लाख ७४ हजार छ सय ५१ रुपैयाँ बचत भएको छ ।

गुठीका अध्यक्ष कुमार खड्काका अनुसार मन्दिरमा भक्तजनले समर्पण गरेको भेटीबाट १७ लाख आठ हजार छ सय ४० रुपैयाँ, चामल बिक्रीबाट ३५ हजार एक सय, बोकाबाट एक लाख दुई सय ५० रुपैयाँ, कुखुराबाट सात हजार छ सय, राँगोबाट दुई हजार रुपैयाँ , सटर भाडा तीन लाख नौ हजार पाँच सय ४० रुपैयाँ , विवाहबाट रुपैयाँ, १० हजार पाँच सय रुपैयाँ , वनभोजस्थलबाट एक हजार रुपैयाँ १८ हजार चार सय रुपैयाँ आम्दानी भएको छ ।

कर्मचारीहरूको तलबमा चार लाख पाँच सय रुपैयाँ, बिजुलीमा ३५ हजार नौ सय ३० रुपैयाँ , पूर्वाधार विकासमा पाँच लाख २८ हजार छ सय ९८ रुपैयाँ, पूजा खर्च ५५ हजार, पोशाकमा ५३ हजार रुपैयाँ, विज्ञापन खर्च छ हजार रुपैयाँ, मेसिन तथा उपकरण २८ हजार रुपैयाँ, खाद्यान्न र आवासमा ७८ हजार रुपैयाँ, मर्मतसम्भारमा १७ हजार रुपैयाँ, यातायात तथा भ्रमणमा एक लाख तीन हजार आठ सय रुपैयाँ खर्च भएको गुठीका कोषाध्यक्ष रमेश खड्काले जानकारी दिए ।

देउवासँगको सल्लाहमा सुदूरपश्चिम आएको हुँः शेखर कोइराला

सुदूरपश्चिम । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र आफूबीच कुनै तिक्तता नरहेको बताएका छन् ।

सुदूरपश्चिमका जिल्लाको भ्रमणका लागि शुक्रबार धनगढी पुगेका कोइरालाले पत्रकारहरुसँग कुरा गर्दै पार्टी सभापतिसँग आफ्नो कुनै तिक्तता नरहेको बताएका हुन् ।

कोइरालाले आफू सभापति देउवासँगको सल्लाहमा सुदूरपश्चिमका नेता–कार्यकर्ता भेट्न आएको बताए । उनले भने, ‘म पार्टी सभापतिकै सल्लाहमा सुदूरपश्चिमको भ्रमणमा आएको हुँ । मेरो र उहाँबीचमा केही त्यस्तो छैन ।’

उनले १५ औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहेको बताए ।

कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गुनासो सुनुवाइ एकाइ ‘हेल्लो स्वास्थ्य १११५’ मा कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको र अटेर गरेको पाइए कारबाही गर्न मातहतका अधिकारीलाई निर्देशन दिएका छन् । उनले विद्युतीय हाजिरी अनिवार्य गर्ने व्यवस्था मिलाउनका लागि समेत निर्देश गरेका छन् ।

मन्त्री पौडेलले नियमित रुपमा हेल्लो स्वास्थ्यमा आएका गुनासा सुन्दै सुधारका लागि अधिकारीको ध्यानाकर्षण गराउँदै आएका छन् ।

मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियन्त्रण महाशाखाले मातहतका सबै कार्यालयमा पठाएको पत्रमा चिकित्सक एवं स्वास्थ्यकर्मी कार्यालय समयमा कार्यकक्षमा रही सेवा प्रवाहको व्यवस्था मिलाउन भनिएको छ ।

मन्त्रालयले मातहतका सबै अस्पतालमा पत्राचार गर्दै कार्यालय समयमा सेवा प्रवाह गरेको सुनिश्चितता गर्न भनेको हो । कार्यालय समयमा बाहिर जानु परे लगबुक राखेर मात्र जाने व्यवस्था मिलाउन पत्रमा भनिएको छ । मन्त्रालयले कार्यालयमा आउँदा र जाँदा अनिवार्य रुपमा विद्युतीय हाजिरी गर्ने व्यवस्था मिलाउनसमेत पत्रमा उल्लेख छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले कार्यालय समयमा चिकित्सक तथा स्वास्थ्यकर्मी नभएको बारम्बारको गुनासोपछि पत्राचार गरिएको भन्दै अनुगमन पनि गर्ने बताए ।

‘कार्यालय समयमा सेवामा उपस्थित हुनुपर्ने सबैको कर्तव्य हो’, उनले भने, ‘यसलाई कडाइका साथ लागू गर्न स्मरण गराएका छौँ । अनुगमनमा कोही दोषी भेटिए कारबाही हुनेछ ।’

प्रवक्ता बुढाथोकीले मन्त्रालयले व्यवस्था गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो स्वास्थ्यमा सेवासम्बन्धमा गुनासा भए टिपाउन आग्रह गर्दै त्यसको सुनुवाइ भइरहेको दाबी गरे ।

सिरियाली नयाँ नेतृत्वलाई भेट्न अमेरिकी कूटनीतिज्ञ दमास्कसमा

दमास्कस । सिरियाका नयाँ इस्लामवादी नेतृत्वको शासकलाई भेट्न अमेरिकी कूटनीतिज्ञहरू सिरियामा पुगेको अमेरिकी विदेश मन्त्रालयले शुक्रबार जनाएको छ ।

पूर्व शासक बशर अल असदलाई सत्ताच्यूत गरेपछि दशकौँदेखिको दुव्र्यवहार र वर्षौंदेखिको सिरियाली गृहयुद्ध अन्त्य भएको छ तर यसले अल्पसङ्ख्यकका साथै महिलाको अधिकार र अर्धस्वायत्त कुर्द क्षेत्रको भविष्यबारे चिन्ता बढाएको छ ।

बिहीबार दमास्कसमा सयौँले लोकतन्त्र र महिला अधिकारको माग गर्दै प्रदर्शन गरेका थिए ।

उत्तरपूर्वी सिरियाको कामिश्लीमा टर्की र उसका सहयोगी विद्रोही लडाकुको दबाबमा रहेको अमेरिकी समर्थित कुर्द नेतृत्वको सेनाको समर्थनमा हजारौंले प्रदर्शन गरेका छन् ।

अलकायदाको सिरिया शाखामा जरा गाडेको हयात तहरीर अल–शाम (एचटीएस) ले असदलाई देश छोड्न बाध्य पार्ने आक्रामक आक्रमणको नेतृत्व गरेको थियो।

एचटीएसको राजधानीमा अचानक आगमनले विदेशी सरकारहरू सिरियासँगको नयाँ नीतिबारे अलमलमा परेका छन् । केही देशहरूमा एचटीएसलाई आतङ्कवादी समूह घोषित गरिएको छ ।

सन् २०११ मा असदले सरकार विरोधी प्रदर्शनमा कडाइ गरेपछि सुरु भएको गृहयुद्धको सुरुवाती दिनदेखि नै अमेरिकी कूटनीतिज्ञहरू औपचारिक अभियानसहित दमास्कस गएका छैनन् ।

उनीहरूले वासिङ्टनले आतङ्कवादी समूह घोषणा गरेको एचटीएसका प्रतिनिधिका साथै अधिकारकर्मी, अल्पसङ्ख्यक समूह र नागरिक समाजका प्रतिनिधिसँग भेटवार्ता गर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले सिरियाली नागरिकसँग आफ्नो देशको भविष्यका लागि उनीहरूको दृष्टिकोण र अमेरिकाले उनीहरूलाई कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा कुराकानी गर्ने बताएका छन् ।

उक्त प्रतिनिधिमण्डलमा सन् २०१२ को अगष्टमा सिरियामा अपहरणमा परेका पत्रकार अस्टिन टाइसलगायत हराएका अमेरिकी नागरिकबारे सुराकी खोजिरहेका अमेरिकी नागरिक पनि रहेका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सिरियाका छिमेकीको भ्रमणका क्रममा अमेरिका एचटीएससँग प्रत्यक्ष सम्पर्कमा रहेको बताएको एक सातापछि यो भ्रमण हुन लागेको हो ।

हेटौँडा सिमेन्ट उद्योगले आगाामी सातादेखि उत्पादन थाल्ने

काठमाडौँ । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले यही पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योगको उपकरण मर्मतको काम सकिन लागेकाले पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गरिने तयारी भएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिए ।

उपकरणको कार्य पुसको १० गतेसम्ममा सकिने र त्यस लगत्तैबाट उत्पादन गर्ने तयारीमा रहेको उनले बताए । ‘उद्योगको क्लिनिकलर मेसिन लगायतका उपकरणको मर्मतकार्य अझै भइरहेकै छ’, अध्यक्ष भण्डारीले भने, ‘हामीले तिहारसम्ममा मर्मत सकिन्छ र त्यस लगत्तै पुनः सिमेन्ट उत्पादको कार्य सुरु गर्ने अनुमान गरेका थियौँ, तर उपकरण मर्मतको काम नसकिएकाले उद्योग सञ्चालन गर्न समय लागेको हो ।’

उपकरणको मर्मत गर्नुपर्ने भन्दै उद्योग व्यवस्थापनले गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मत सम्भारमा समय लागेको उनले बताए ।

‘हामीसँग कच्चापदार्थको कुनै अभाव छैन्’, अध्यक्ष भण्डारीले भने, ‘उद्योगलाई चाहिने करिब ४०० मेट्रिक टन कोइला मौज्दात छ ।’

थप कोइला खरिदको प्रक्रिया अघि बढिसकेकाले कोइलाको समस्या नहुने उनको भनाइ छ । आर्थिक अभावका कारण यसअघि दुई महिना सो उद्योग बन्द भएको थियो ।

यही भदौ महिनाको तेस्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरेको सो उद्योगले यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको अध्यक्ष भण्डारीले बताए । विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ देखि सिमेन्ट उत्पादन सुरु गरेको थियो ।

प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले शुक्रबार बिदाइ भेट गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र बङ्गलादेशको आपसी सम्बन्धमा योगदान दिएकामा राजदूत चौधरीलाई धन्यवाद दिए ।

प्रधानमन्त्री ओलीले बङ्गलादेश अन्तरिम राजनीतिक अवस्थाबाट छिटो स्थायित्वमा जाने विश्वास गरे । त्यसक्रममा राजदूत चौधरीले नेपालको शान्ति प्रक्रिया र राजनीतिक परिवर्तनबाट बङ्गलादेशले शिक्षा लिँदै आएको अवगत गराए ।

भेटमा दुुईपक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो ।
राजदूत चौधरी नेपालको कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारीमा छन् ।

बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु

नेपालगञ्ज। बाँके राष्ट्रिय निकुञ्जमा बाघ र बाघको आहारा प्रजातिको सर्वेक्षण सुरु भएको छ । करिब दुई महिनासम्म हुने सर्वेक्षणबाट बाघको सङ्ख्या, बसोबास क्षेत्र र आहारा प्रजातिको अवस्थाको विस्तृत जानकारी प्राप्त हुने बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए ।

‘सर्वेक्षण भनेपछि गणनाको कुरा पनि आउँछ, वास्तविक रुपमा बाघ कति छन् र त्यसको आहारा प्रजातिको अवस्था कस्तो छ भनेर स्पष्ट हुन खोजिएको हो,’ उनले भने ।

प्रमुख संरक्षण अधिकृत कँडेलले बाँकेमा सर्वेक्षण काम सकिएपछि बर्दियामा बाघ र बाघको आहारा प्रजातीको सर्वेक्षण सुरु गरिने बताए ।

सूचना अधिकारी मन्दीप पङ्गेनीले बाँके राष्ट्रिय निकुञ्जमा क्यामेरा ट्र्यापिङ, चिन्ह पहिचान र डिएनए परीक्षण प्रविधिको प्रयोगमार्फत सर्वेक्षण सुरु गरिएको उल्लेख गरे । उनले सर्वेक्षणबाट निकुञ्जमा रहेका बाघको सङ्ख्या, बसोबास क्षेत्र र आहारा प्रजातिको अवस्थाको जानकारी हुने भएकाले त्यसबाट आगामी कार्ययोजना बनाउन सहज हुने बताए ।

प्रविधिको प्रयोगले बाघ र बाघको आहारा प्रजातिको संरक्षण तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको जानकारी दिँदै सूचना अधिकारी पङ्गेनीले बाँकेपछि बर्दियामा सुरु हुने सर्वेक्षणले बाघ संरक्षणमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

उहाँले बाँके राष्ट्रिय निकुञ्जलाई चार ब्लकमा विभाजन गरी दुई किलोमिटर क्षेत्रफलको एउटा ग्रिड बनाएर स्वचालित क्यामेरा जडान गरेर काम गरिएको बताए । क्यामेराको सहयोगले बाघ र आहारा प्रजातिको गतिविधि र दिशासम्बन्धी तथ्याङ्कसमेत सङ्कलन हुने छ । बाघको आहारा प्रजातीमा बाँके राष्ट्रिय निकुञ्जमा चित्तल, बँदेल, चौका, निलगाई, जरायोलगायत पर्छन ।

सर्वेक्षणका लागि निकुञ्जका प्राविधिक कर्मचारी र नेपाली सेनालाई आवश्यक तालिम प्रदान गरिएको निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार यसलाई अझ प्रभावकारी बनाउन बाँके निकुञ्जमा १०९ स्थानमा स्वचालित क्यामेरा जडान गरिएको छ । निकुञ्जको पश्चिम क्षेत्र कोहलपुर, खडकबार, बुचापुरबाट सर्वेक्षण सुरु गरिएको छ । त्यसका लागि १६ देखि २० जना प्राविधिक कर्मचारीले ८० दिनसम्म जङ्गलमै बसेर काम गर्ने बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ ।

पछिल्लो समयमा आएर दुवै निकुञ्जको नजिक रहेका बस्तीमा छिरेर बाघले सर्वसाधारणलाई आक्रमण गर्ने र वन्यजन्तुले घर भत्काउने तथा खाद्यान्न नष्ट गर्ने गरेको स्थानीयले गुनासो गरेका छन् ।

भारतीय उद्यमीलाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्रीकाे आह्वान

नयाँ दिल्ली । परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले भारतका उद्यमी समक्ष नेपालमा ऊर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानीका लागि आह्वान गरेकी छन् ।

काठमाडौँ विश्वविद्यालय र भारतको ‘फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेल्फर’ (ईग्रो फाउन्डेसन)ले आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि सुरु ‘भारत–नेपाल आर्थिक सम्मेलन’ (इन्डो–नेपाल इकोनोमिक कन्फ्रेन्स)मा उनले नेपालले विदेशी लगानी र निजी क्षेत्र प्रवर्द्धनसम्बन्धी नीति नीति उदार बनाएको उल्लेख गर्दै भारतीय उद्यमीलाई लगानीका लागि आह्वान गरेकी हुन् ।


मन्त्री राणाले नेपालमा लगानीको वातावरण बनेको र उच्च प्रतिफलको अवस्था पनि बनेको उल्लेख गरिन् । उनले नेपालले विदेशी लगानी आकर्षणका लागि ‘डबल बी माइनस (बीबी माइनस) रेटिङ प्राप्त गरेको र लगानीका लागि प्रोत्साहनमुखी नीतिहरू लागू गरेको जानकारी गराइन् ।

मन्त्री राणाले नेपाल–भारत सम्बन्धलाई केवल आर्थिक रुपमा मात्र नभई सामाजिक र सांस्कृतिक रूपमा पनि थप मजबुत बनाउनुपर्नेमा जोड दइन् । दक्षिण एशियाको क्षेत्रीय सहकार्यका लागि नेपाल–भारत सम्बन्धलाई एक उदाहरणीय ढाँचाका रूपमा विकास गर्नुपर्ने उनको धारणा थियो ।


उनले नेपाल र भारतबीच कागजी सम्झौताभन्दा बढी हृदयले जोडिएको सम्बन्ध भएको बताउँदै दुई देशबीचको सांस्कृतिक, धार्मिक र ऐतिहासिक सम्बन्धलाई प्राथमिकताका साथ थप मजबुत बनाउँदै लगिनुपर्ने बताइन् ।

त्यस अवसरमा उनले अन्तर्देशीय (क्रस–बोर्डर) पूर्वाधार विकासमा जोड दिइन् । ‘एकीकृत जाँच पास केन्द्र (इन्टिग्रेटेड चेक पोस्ट–आईसीपी), रेलमार्ग, पेट्रोलियम पाइपलाइन, र विद्युत् प्रशारणलाइन जस्ता परियोजना नेपाल–भारत आर्थिक सहकार्यका महत्त्वपूर्ण आधार स्तम्भ हुन्’, उनले भनिन् ।

सम्मेलनमा परराष्ट्रमन्त्री राणाले दुई देशबीच भएको सम्झौता विद्युत् व्यापार सम्झौताले आगामी १० वर्षभित्र १० हजार मेगावाट विद्युत् भारतलाई निर्यात गर्ने योजना अघि सारेको र नेपालले हालै भारतको प्रशारणलाइनमार्फत् बङ्गलादेशलाई ४० मेगावाट विद्युत् बिक्री गर्न सक्षम भएको बताइन् ।

भारत नेपालका लागि सबैभन्दा ठूलो व्यापारिक साझेदार, प्रत्यक्ष वैदेशिक लगानीमा ठूलो योगदानकर्ता र अन्तर्राष्ट्रिय व्यापार र कनेक्टिभिटीका लागि पारगमन देश भएको उनको भनाइ थियो ।

उनले भनिन्, ‘शिक्षादेखि स्वास्थ्य, पूर्वाधार विकास, संस्थागत निर्माण र नेपालको औद्योगीकरणमा भारतको सहयोगले यो सम्बन्ध अझ बलियो बनाएको छ । धार्मिक यात्राहरू, सांस्कृतिक पर्वहरूले हाम्रो सम्बन्धलाई पुस्तौँदेखि नजिक बनाउँदै आएका छन् । पछिल्ला वर्षमा द्विपक्षीय आर्थिक सहकार्यको दायरा बढेका छन् र यस क्षेत्रमा महत्त्वपूर्ण प्रगति भएको छ ।’

मन्त्री डा राणाले दुई देशबीचको व्यापार असमान रहेकोप्रति चिन्ता व्यक्त गरिन् । नेपालको भारतसँगको व्यापार घाटा कुल ग्राहस्थ्य उत्पादनको अनुपातमा निकै बढेको उल्लेख गर्दै यस्तो असमानता कम गर्न व्यापारको विविधिकरण र विस्तारका उपाय खोज्न सम्मेलनमार्फत् आह्वान गरिन्।

नेपाल–भारत व्यापारमा रहेका अवरोध हटाउन अति आवश्यक रहेको पनि उनको भनाइ थियो । गैर–भन्सार अवरोध, सीमा व्यापारका संरचनागत समस्याहरूले दुवै देशको आर्थिक सम्बन्धलाई अवरोध पुर्‍याएको तथ्य उनले राखिन् ।

ईग्रोका प्रमुख कार्यकारी डा चरन सिंहले यस प्रकारको सम्मेलन पहिलोपटक आयोजना गरिएको उल्लेख गर्दै छिमेकी मुलुकहरूसँग सहकार्य, सिक्ने र सिकाउने अभ्यासलाई प्राथमिकता दिनुपर्ने बताए । शैक्षिक अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने महत्त्वपूर्ण भूमिका यो सम्मेलनले खेल्न सक्ने उनले जानकारी दिए ।

काठमाडौँ विश्वविद्यालयका रजिस्टार डा अच्युत वाग्लेले नेपाल र भारतबीचको द्विपक्षीय तथा क्षेत्रीय सहकार्यका सम्भावनाहरू पहिचान गर्न यस सम्मेलन आयोजना गरिएको बताए । उनले यो सम्मेलनलाई ‘ट्रयाक टु डिप्लोमेसी’को उदाहरणका रूपमा उल्लेख गर्दै शैक्षिक क्षेत्रबाट अध्ययन र तथ्याङ्कको प्रयोग गरी नीतिगत सहकार्यमा योगदान पुर्‍याउन सकिने धारणा व्यक्त गरे ।

नेपाल र भारतबीच वैदेशिक व्यापारको असन्तुलनलाई औँल्याउँदै उनले नेपालले भारतबाट आयात गर्ने विप्रेषणभन्दा भारतले नेपालबाट आयात गर्ने विप्रेषण ४० प्रतिशतले बढी रहेको तथ्य प्रस्तुत गरे । रजिष्टार वाग्लेले जलवायु परिवर्तनका साझा समस्याहरूको समाधानमा दुई देशबीच सहकार्यको आवश्यकता औंल्याए ।

जलवायु परिवर्तनका असरले हिमाल पग्लिनु नेपालको मात्र नभई भारत र समग्र विश्वकै समस्या रहेको बताउँदै उनले हरित र दिगो विकासका अवधारणाको लागि सहकार्य अपरिहार्य भएको उल्लेख गरे । त्यसैगरी, युवा पलायनको समस्यालाई गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ छ । साथै, नेपाल र भारतबीच पेमेन्ट गेटवे सञ्चालन गर्ने योजनालाई प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ ।

सम्मेलनमा ईग्रोका निर्देशक डा अशोक विसनदासले यो सम्मेलन शैक्षिक उपलब्धिमा मात्र सीमित नरही क्षेत्रीय एकता र सहकार्य प्रवर्द्धन गर्न महत्त्वपूर्ण रहेको बताए । उनका अनुसार दिगो र समावेशी विकासका लागि नीतिगत तहमा सहकार्य गर्ने विषयमा सुझाव प्रदान गर्ने यो सम्मेलनको महत्त्वपूर्ण भूमिका रहनेछ ।

उनले द्विपक्षीय लगानी, पूर्वाधार निर्माण, व्यापार, पर्यटन लगायतका क्षेत्रमा सहकार्यका सम्भावनाबारे महत्त्वपूर्ण निष्कर्ष निकाल्ने अपेक्षा व्यक्त गरे । साथै, भारतको आर्थिक उदारीकरणबाट नेपालले सिक्न सक्ने सकारात्मक पक्षबारे पनि उनले प्रकाश पारे ।

सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ

वासिङ्गटन । हाल सिरियामा लगभग दुई हजार अमेरिकी सेना तैनाथ रहेका रक्षा विभाग (डीओडी) ले जनाएको छ ।

पेन्टागनका प्रवक्ता प्याट राइडरले नियमित पत्रकार सम्मेलनमा भने, ‘हामीले सिरियामा करिब ९०० अमेरिकी सेना तैनाथ गरिरहेकोमा थप एक हजार १०० सेना त्यहाँ पठाउने सुनिश्चित गरेका छौं । आईएसआईएस मिसनलाई पराजित गर्न मद्दत गर्ने यी सेनाहरू असद शासनको पतन हुनु अघि नै त्यहाँ थिए ।’

नोभेम्बर २७ मा हयात तहरीर अल–शाम (एचटीएस) को नेतृत्वमा सिरियाली सशस्त्र विपक्षीहरूले एलेप्पो र इडलिब प्रान्तहरूमा सरकारी सेनाहरू विरुद्ध ठूलो मात्रामा आक्रमण सुरु गरे ।

आक्रमण लगत्तै डिसेम्बर ७ सम्म राष्ट्रपति बसर असदका विपक्षीहरूले अलेप्पो, हामा, दारा र होम्सलगायत धेरै प्रमुख शहरहरू कब्जा गरेका थिए ।

डिसेम्बर ८ मा तिनीहरू दमस्कस प्रवेश गरे लगत्तै असदले राजीनामा दिए र देश छोडे । यसले सिरियामा अल–असद परिवारको ५० वर्षभन्दा बढी समयको कठोर शासनको अन्त्य भयो ।

डिसेम्बर १० मा मोहम्मद अल–बशीरले सन् २०२५ मार्च १ सम्म सिरियाको अन्तरिम सरकारको प्रमुखको रूपमा आफ्नो नियुक्ति घोषणा गरेका छन् ।

युक्रेन सम्झौताका लागि ट्रम्पलाई भेट्न पुटिन तयार

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुनै पनि बेला वार्ताका लागि आफू तयार रहेको बचाएका छन् ।

जनवरीमा अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न दोस्रो पटक ह्वाइट हाउस फर्कन लागेका ट्रम्पले वार्ता सुरु गर्न आह्वान गरेपछि पुटिनको यो भनाइ आएको हो ।

ट्रम्पको आह्वानले किएभमा उनले युक्रेनलाई मस्कोको अनुकूल शर्तमा शान्ति स्वीकार गर्न बाध्य पार्न सक्ने आशङ्का बढेको छ ।

वर्षको अन्त्यमा आयोजित वार्षिक पत्रकार सम्मेलनमा उनले युद्धभूमिमा आफ्नो सेनाले माथिल्लो भागमा पकड बलियो बनाएको बताएका थिए ।

उत्तरपूर्वी युक्रेनमा रूसी आक्रमणमा तीन जनाको मृत्यु भएको र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ब्रसेल्समा इयूका नेताहरूसँग वार्ता गरिरहँदा उक्त कुरा बताएका हुन् ।

पुटिनले आत्मविश्वसका साथ भने, ‘अगस्टदेखि किएभको कब्जामा रहेको रूसको कुस्र्क क्षेत्रको केही भाग रूसले कहिले फिर्ता लिन्छ भन्ने आफूलाई थाहा नभएको बताउनुभएको छ ।’

सम्भावित शान्ति सम्झौताका बारेमा ट्रम्पको प्रस्तावबारे सोधिएको प्रश्नमा पुटिनले अमेरिकी सत्ता सम्हाल्न लागेको रिपब्लिकन पार्टी र यसका नेतासँग भेटवार्ताको वातावरण बनेमा यसका लागि आफू तयार रहेको बताए ।

पुटिनले भने, ‘निस्सन्देहः कुनै पनि समय म वार्ताको लागि तयार छु तर मलाई थाहा छैन उहाँसँग भेट्ने वातावरण कहिले बन्छ । उहाँले यस विषयमा केही पनि भन्नुभएको छैन । चार वर्षभन्दा बढी समयदेखि मैले उहाँसँग कुरा गरेको पनि छैन ।’

उनले भने, ‘मलाई विश्वास छ, यदि हामीले नवनिर्वाचित राष्ट्रपति ट्रम्पसँग भेट गर्यौं भने हामीले धेरै कुरा गर्नेछौं।’

पूर्वी युक्रेनमा रुसी सेना महिनौंदेखि अघि बढिरहेको छ र पुटिनले युद्धभूमिमा बारम्बार आफ्नो शक्ति प्रदर्शन गरिरहेका छन् ।

तर, युक्रेनी आक्रमणका क्रममा फ्रन्टलाइन एरियाबाट हजारौँलाई बाहिर निकालिएपछि कुस्र्क क्षेत्रका एक महिलाले त्यहाँका बासिन्दालाई आफ्नो घर फर्कन कहिले सकिन्छ भनेर सोधेको प्रश्नमा पुटिनले मिति तोक्न नसकिने बताए ।

उनले भने, ‘बिल्कुल, हामी उनीहरूलाई पूर्ण रूपमा बाहिर निकाल्नेछौँ । यो अरू कुनै तरिका हुन सक्दैन। तर निश्चित मितिबारे मलाई माफ गर्नुहोस्, म अहिले नै भन्न सक्दिनँ।’

पुटिनलाई सैन्य खर्चमा ठूलो वृद्धि र द्वन्द्वका कारण भएको श्रमको गहिरो अभावका कारण रूसले सामना गर्नुपरेको आर्थिक सङ्कटबारे पनि सोधिएको थियो ।

उनले कम बेरोजगारी र औद्योगिक वृद्धिको हवाला दिँदै बाह्य खतराका बावजुद अर्थतन्त्र स्थिर रहेको बताए ।

बढ्दो मुद्रास्फितिबारे सोधिएको प्रश्नमा पुटिनले भने, ‘मुद्रास्फीति चिन्ताजनक संकेत हो ।’ मख्खन र मासुजस्ता खाद्यपदार्थको मूल्य वृद्धि ‘अप्रिय’ भएको उनले स्वीकार गरे ।

भारतमा ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु,३५ घाइते

नयाँदिल्ली ।  भारतको पश्चिमी राज्य राजस्थानमा शुक्रबार बिहानै रसायन बोकेको ट्रक अन्य सवारीसाधनसँग ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै ३५ भन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको छ।

जयपुर–अजमेर राजमार्गको भांक्रोटा क्षेत्रमा दुर्घटना भएको हो। दुर्घटनास्थल वरपर केही पेट्रोल पम्पहरू थिए। घाइतेहरू मध्ये धेरैको अवस्था गम्भीर रहेको छ।

एसएमएस मेडिकल कलेजका प्रिन्सिपल दीपक महेश्वरीले भने, “लगभग २४–२५ जनालाई आईसीयूमा भर्ना गरिएको छ। घटनामा धेरै घाइते भएका छन्। यो एक गम्भीर दुर्घटना हो।”

आगलागीबाट ट्रक र निजी कारसहित करिब ४० सवारीसाधन जलेर नष्ट भएका छन्। दमकललाई आगो निभाउन निकै कठिनाइ भएको थियो। राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले उद्धार र राहतका लागि सक्दो प्रयास भइरहेको बताएका छन्।

मन्त्रालयका तीनवटै स्तम्भलाई नीतिगत रुपान्तरणमा लागेका छौँः पर्यटनमन्त्री पाण्डे

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनसम्बन्धी नयाँ नीति अन्तिम चरणमा पुगेको बताएका छन् ।

शुक्रबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने,’मुलुक सङ्घीय संरचनामा गइसकेपछि पर्यटनसम्बन्धी नयाँ नीति नै बनेको थिएन । नयाँ नीतिको मस्यौदा अन्तिम चरणमा पुगेको छ । यस विषयमा सरोकारवालासँग छलफल भइरहेको छ ।’ पर्यटन नीतिसँगै ऐन पनि बनाउने तयारी भइरहेको उनको भनाइ छ ।

सरकारले भ्रमण दशक भनेर सन् २०२२ मा घोषणा गरिएको भए पनि त्यसको कार्यायोजना बनाएर सन् २०२५ देखि २०३५ सम्मलाई भ्रमण दशक मनाउने तयारी मन्त्रालयले गरेको उनले बताए ।

उनले भने,’यस विषयमा मन्त्रालयमा विषयगत समितिको देस्रो बैठक बसिसकेको छ । उक्त समितिले पर्यटन क्षेलाई कसरी रुपान्तरणमा लिएर जाने, पर्यटकीय क्षेत्रको सम्भावना कसरी बढाउने, यसका माध्यमबाट रोजगारी कसरी सृजना गर्ने, देशको अर्थतन्त्रमा कसरी योगदान बढाउने भन्ने विषयमा छलफल भएको छ ।’

मन्त्रालय नीतिगत सुधारको बाटोमा अघि बढेको उल्लेख गर्दै मन्त्री पाण्डेले त्यसको परिणाम आउन केही समय लाग्ने बताए ।

नागरिक उड्ययन क्षेत्रमा पनि सेवाप्रदायक निकाय र नियमनकारी निकाय अलग-अलग रहने गरी नेपाल उड्डयन प्राधिकरणका दुईवटा विधेयक मन्त्रिपरिषद्मा पुगेको उनले उल्लेख गरे ।

उनले नेपाल एयरलाइन्समा देखिएको समस्या समाधानमा पनि काम भइरहेको जानकारी दिए । नेपाल एयरलाइन्सको एउटा मात्रै ट्वीनअटर उडिरहेको अवस्थामा सात प्रदेशमा सात वटा ट्वीनअटर सञ्चालन गर्नेगरी काम भइरहेको उनको भनाइ थियो ।

तीन वर्षअघि प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल बनाउने निर्णय भएकोमा जम्मा ९ वटा मात्र निर्माण

काठमाडौं ।  सरकारले तीन वर्षअघि मुलुकका प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल बनाउने योजना अघि बढाएको थियो। हालसम्म नौ स्थानीय तहमा मात्र आधारभूत अस्पताल निर्माण गरिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तथ्याङ्क अधिकृत सूर्यबहादुर खड्काका अनुसार हाल चार सय २५ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको काम भइरहेको छ।

मन्त्रालयले अस्पताल नभएका ६ सय ५७ स्थानीय तहमा आधारभूत अस्पताल बनाउने निर्णय गरेको थियो। ‘सतचालिस स्थानीय तहमा सम्झौताअनुसार अस्पताल निर्माण गर्न रकम विनियोजन गरिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा ८४ स्थानीय तहमा रु चार अर्ब ४३ करोड पठाइसकेका छौँ’, अधिकृत खड्काले भने।

सरकारले पहिलो चरणमा तीन सय ९६ र दोस्रो चरणमा दुई सय ६१ स्थानीय तहमा अस्पताल बनाउने निर्णय गरेको थियो। केही पालिकामा जग्गा विवाद र राजनीतिक कारण निर्माण कार्य अघि बढ्न सकेको छैन।

सरकारले तीन सय ९६स्थानीय तहमा निर्माणको स्रोत सुनिश्चित गरिसकेको छ। दुई सय ६१ पालिकामा अस्पताल निर्माण गर्न स्रोत सुनिश्चत भएको छैन।

‘स्रोत सुनिश्चित नभएका स्थानीय तह आफैले अस्पताल बनाइरहेका छन्। सिन्धुपाञ्चोकको सुनकोसी गाउँपालिका आफैले अस्पताल भवन बनाएको छ’, अधिकृत खड्काले भने।

उनका अनुसार अहिलेसम्म तीन सय ९६ पालिकामा अस्पताल बनाउन रु ५१ अर्ब ८४ करोड ५५ लाख र दुई सय ६१ पलिकाका लागि रु तीन अर्ब २० करोड विनियोजन गरिएको छ । विसं २०७७ मा प्रधानमन्त्री केपी शर्मा ओलीले पालिका तहमा पाँच, १० र १५ श्ययाको अस्पताल निर्माण गर्ने निर्णय गरेका थिए।

त्यही अनुसार ८० पालिकामा पाँच श्ययाको, एक सय ५४ पालिकामा १० श्यया तथा चार सय २३ पालिकामा १५ श्ययाका अस्पताल निर्माण गर्न थालिएको हो।

सरकारले पाँच श्ययाका लागि रु सात करोड ११ लाख ९८ हजार, १० श्ययाका लागि रु १० करोड ८३ लाख ३६ हजार र १५ श्ययाका लागि रु १८ करोड ६ लाख ४२ हजार विनियोजन गरेको छ।

लोडसेडिङ गर्‍यो भनेर हल्ला चलाइएको भन्दै कुलमानको आपत्ति

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ हुँदा रमाउने जमात बढेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल पूर्वाधार पत्रकार समाजको साधरणसभामा घिसिङले लोडसेडिङ हुँदा खुसी हुनेहरूले नै लोडसेडिङको हल्ला फैलाएको बताए ।

उनले प्राविधिक समस्याका कारणले उद्योगहरूमा विद्युत कटौती गरेको बताए । डेडिकेटेड र ट्रंक लाइनको पैसा नतिर्नेहरुले लोडसेडिङको हल्ला गरेको उनले बताए ।

उनले भने, ‘तामाकोसीमा पहिरो आयो, कालिगण्डकीको एउटा युनिट बन्द छ । त्यो बनाउनुछ । अहिले बिहान बेलुका केही दिन कम चलाउनु भन्नासाथ सामानहरुको मूल्य बढाउन हुँदैन ।’

उनले केही प्रसारण लाइनहरू मर्मत गर्नुपर्ने भएका कारण उद्योगहरूमा विद्युत आपूर्ति बन्द गर्नुपरेको बताए । उत्पादनभन्दा माग बढी भएका कारण उद्योगहरूमा विद्युत कटौती गर्नुपर्ने बाध्य भएको उनको भनाइ छ ।

उनले माथिल्लो तामाकोशी र कालीगण्डकीबाट पूर्ण क्षमतामा विद्युत प्रवाह भएपछि लोडसेडिङको समस्या समाधान हुने बताए।

‘जनयुद्ध’ शब्द प्रयोगमा प्रतिबन्ध लगाएकोप्रति माओवादीको आपत्ति

काठमाडौं । सर्वोच्च अदालतले ‘जनयुद्ध’ शब्द प्रयोगमा प्रतिबन्ध लगाएकोप्रति माओवादी नेताहरुले आपत्ति जनाएका छन् ।

सर्वोच्च अदलालतको संवैधानिक इजलासले गत मंसिर २६ गते गरेको निर्णयलाई बिहीबार प्रमाणीकरण गरेसँगै सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग गर्न नपाइने भएको हो ।

फैसलामा अब जनयुद्ध शब्द प्रयोग नगर्न भनिएको छ । त्यसप्रति माओवादी नेताहरुले आपत्ति जनाएका छन् । माओवादी उपमहासचिव जनार्दन शर्माले प्रतिबन्ध त लोकतन्त्रको उपहास भएको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्, ‘तिमी प्रतिबन्ध भएको सुनें, हुनसक्छ तिमीलाई सामाजिक न्यायको प्रवक्ता बुझेर चिसो छिँडीमा सडाउन चाहन्छन्। धारालाई तिम्रो प्रतिकुल बनाउनमा आफ्नै आत्मबलको कमी भएको महशुस गरेको छु । तर युगको माग, युवाको दिमाग र प्रविधिको विकाससँगै जनआकाङ्क्षा पूरा गर्न नयाँ स्वरुपमा नयाँ पहिचान बोकेर, पुरानो नाल होइन वेभ बनेर फेरि आउनेछौ। देशको आवश्यकता पूरा गर्ने लक्ष्य बोकेर बाँकी अभिभारा पूरा गर्ने सङ्कल्पसहित नयाँ पुस्ताको चाहना अनुसार एआई मा सवार हुनेछौ । प्रतिबन्ध त लोकतन्त्रको उपहास हो। जनयुद्ध तिमी प्रतिबन्धित भएछौ।’

माओवादीका अर्का नेता शक्ति बस्नेतले पनि जनताको अन्तरहृदयलाई स्पर्श गरेका र जनताले दृढतापूर्वक आत्मसाथ गरेका विषयहरुको वैधता र औचित्य समयक्रमसँगै थप पुष्टि हुँदै जाने बताएका छन् ।

उनले भनेका छन्, ‘एक प्रसिद्ध उखान छ कि ’यदि रेखागणितका स्वयंसिद्ध तथ्यहरुले मानिसको स्वार्थमाथि प्रभाव पार्ने भए तिनीहरुको पनि अवश्य खण्डन गरिन्थ्यो होला ।’ युगीन महत्व बोकेका राजनीतिक, सामाजिक क्रान्तिको सन्दर्भहरुमा पनि मतैक्यता नहुनु आश्चर्यको विषय होइन । यति कुरा भने ढुक्कसँग भन्न सकिन्छ, जनताको अन्तरहृदयलाई स्पर्श गरेका र जनताले दृढतापूर्वक आत्मसाथ गरेका विषयहरुको वैधता र औचित्य समयक्रमसँगै थप पुष्टि हुँदै जानेछ । जनता सार्वभौम छन्।’

सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको इजलासले आर्थिक २०८१–८२ को बजेट वक्तव्यको बुँदा नं. २, विनियोजन ऐन २०८१ मा र मधेश प्रदेशको बजेटमा प्रयोग भएको ‘जनयुद्ध’ शब्द हाललाई प्रयोग नगर्न आदेश दिएको थियो । ‘जनयुद्ध’ शब्द संविधानको प्रस्तावना र धारा ४२(५) प्रतिकूल भएको सर्वोच्चले ठहर गरेको छ।

त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणका लागि फेरि बोलपत्र आह्वान

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणका लागि फेरि बोलपत्र आह्वान गरिएको छ ।

शहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले अन्तर्राष्ट्रिय स्तरको प्यारापिट र फ्लडलाइटका लागि शुक्रबार बोलपत्र आह्वान गरेको हो ।

यसअघि फ्लडलाइट जडानका लागि आह्वान गरिएका बोलपत्र दुई पटक रद्द भएको थियो । बोलपत्र पेश गर्ने म्याद आगामी माघ ६ गतेसम्म तोकिएको छ ।

सोही दिन दिउँसो साढे १ बजे बोलपत्र खोलिने सूचनामा उल्लेख छ । आर्थिक वर्ष २०८१/८२ को बजेटमा त्रिवि मैदानमा फ्लडलाइट जडानका लागि २० करोड रुपैयाँ विनियोजन भएको छ ।

शैक्षिक गुणस्तर सुधारका लागि तातोपानीमा पढाइ मेला

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र बालबालिकाको सिकाइ विकासका लागि पालिका स्तरीयमा शैक्षिक सामग्री प्रदर्शनी तथा पढाइ मेला आयोजना गरेको छ ।

बालबालिकाको सीप र क्षमताको प्रदर्शनलाई प्रोत्साहन गर्न उद्देश्यले बिहीबारदेखि पढाइ मेला सुरु भएको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिए। गाउँपालिकाभित्रका २९ सामुदायिक विद्यालयमध्ये २० विद्यालय सहभागी भएका उक्त मेला बालबालिकाको नियमित पठनपाठन सुधार, पठन सीप विकास र सिर्जनात्मक क्षमताको पहिचान गर्न केन्द्रित रहेको छ ।

शैक्षिक सामग्री निर्माण, यसको प्रयोग प्रभावका विषयमा विद्यालयले प्रदर्शन गरेका छन् । गाउँपालिका अध्यक्ष चौलागाईंले भने, ‘विद्यालयले बालबालिकाद्वारा निर्मित विभिन्न शिक्षण सामग्री राखेका स्टल प्रदर्शनीमा राखेका छन् । ‘

सहभागी विद्यालयको शैक्षिक सामग्री निर्माण, बालबालिकाको प्रस्तुति शैली, र सामग्रीको प्रभावकारिता मूल्याङ्कनका आधारमा चार उत्कृष्ट विद्यालय छानिएको गाउँपालिका अध्यक्ष चौलागाईंको भनाइ छ ।

छनोट भएका विद्यालयमध्ये कालिका आधारभूत विद्यालय, लिताकोट प्रथम, सुन्दरमणि आधारभूत विद्यालय दोस्रो, कालिका आधारभूत विद्यालय, हियाखोला र कालिका मावि, टोप्ला तेस्रो र हिमाली आधारभूत विद्यालय, बाबिरा चौथो भएको गाउँपालिका शिक्षा शाखा प्रमुख सुरत शाहीले जानकारी दिए।

शैक्षिक गुणस्तर सुधार गर्न शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको गाउँपालिका उपाध्यक्ष रेवती रावलको भनाइ छ ।

स्थानीय स्रोतमाथि आधारित शैक्षिक प्रयासले बालबालिकाको सिर्जनशीलता र व्यवहारिक सीपलाई विशेष प्राथमिकतामा राखेर पढाइ मेला सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए।

भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान ’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी

भक्तपुर । भक्तपुर अस्पतालले ‘सिटी स्क्यान’ मेसिन सञ्चालनमा ल्याउने भएको छ ।  यसका लागि बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयले रु आठ करोडमा ‘सिटी स्क्यान’ मेसिन खरिद गरेको थियो । अस्पतालले नयाँ भवन निर्माण गरेर यही पुस महिनादेखि सो उपकरण सञ्चालनमा ल्याउने तयारी समेत गरेको छ  ।

अस्पतालकी कार्यकारी निर्देशक डा सुमित्रा गौतमले भवन निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिँदै अस्पताल स्थापना भएको एक सय २० वर्षपछि यही पुस महिनादेखि ‘सिटी स्क्यान’ मेसिन सञ्चालनमा ल्याउन लागेको जानकारी दिइन् ।

उनले भनिन्,“‘सिटी स्क्यान’ उपकरण सञ्चालनमा ल्याउनकै लागि एकतले भवन निर्माण गरिरहेका छौं”, भवन निर्माण सम्पन्न भएसँगै यसै महिनादेखि उपकरण सञ्चालनमा ल्याउँछौँ, अब यहाँ आउने बिरामीले ‘सिटी स्क्यान’ गर्न अन्य निजी अस्पतालमा महँगो शुल्क तिरेर जानु पर्दैन, यही सहज हुन्छ ।”

यहाँ सञ्चालनमा आउने ‘सिटी स्क्यान’ मेसिन १० वर्षसम्म मर्मतदेखि त्यसका लागि आवश्यक पेपरसमेत कम्पनीले व्यहार्ने सम्झौता भएकाले अब १० वर्षसम्म यो मेसन बिग्रियो भन्दै वा अन्य बाहनामा मेसिन बन्द नहुने उनले बताइन् ।

अस्पतालकी निर्देशक डा गौतमले भनिन्, “‘सिटी स्क्यान’ मेसिन दिने कम्पनीले नै अबको १० वर्षसम्म मेसिन सञ्चालनमा कुनै समस्या नआउने गरी ग्यारेन्टी गरेको छ, मेसिन सञ्चालनका लागि आवश्यक पेपरसमेत १० वर्षसम्मका लागि पुग्ने गरी व्यवस्था गरेको छ, १० वर्षसम्म यो मेसिन सञ्चालनमा अस्पताल ढुक्क भएको छ ।”

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले बागमती प्रदेश सरकारले भक्तपुर अस्पतालमा आठ करोडको लागतमा ‘सिटी स्क्यान’ मेसिन र एक करोड १० लाखको लागतमा ‘मेमोग्राम’ मेसिन सञ्चालनमा ल्याउन लागेको जानकारी दिए ।

उनले भने,“भक्तपुर अस्पतालमा बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले पहिलोपटक ‘सिटी स्क्यान’ मेसिन जडान गर्न मेसिन खरिद गरेको छ । यसै महिना सञ्चालनमा आउँछ । यस अस्पतालका लागि ‘मेमोग्राम’ मेसिन ल्याउन बोलपत्र गरिसकेका छौँ, या मेसिन जडान गरेपछि यहाँका महिलालाई स्तन क्यान्सरको पहिचान एवं स्क्रिनिङ गर्न सजिलो हुन्छ, अन्य अस्पतालमा धाउनुपर्दैन ।” दुवै मेसिन सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति पनि सरकारले व्यवस्थापन गरेको उनले बताए ।

अस्पतालले मिर्गौलाका बिरामीका लागि सहज सेवा दिन १० श्य्याको डायलासिस कक्ष समेत तयार पारेको छ । “अस्पतालको आकस्मिक कक्षसँगै रहेको भवनमा १० श्ययाको डायलासिस कक्ष तयार पारेका छौं, प्रदेश र केन्द्रीय स्वास्थ्य मन्त्रालयले डायलासिस मेसिन दिएलगत्तै हामी यो सेवा पनि सञ्चालन गर्छौं, १० श्ययाको डायलासिस मेसिन सञ्चालनमा ल्यान पाए दैनिक कम्तीमा एक सय बिरामीलाई सेवा दिन सक्छौँ ।”

वामदेव र माधव नेपालबीच पार्टी एकताबारे छलफल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमबीच पार्टी एकताबारे छलफल भएको छ ।

बिहीबार साँझ गौतम निवास भैंसेपाटीमा पार्टी एकताबारे दुई नेताबीच छलफल भएको हो । भेटमा पार्टी एकता प्रक्रिया अघि बढाउने विषयमा छलफल भएको एकीकृत समाजवादीका नेता बलराम बास्कोटाले जानकारी दिए ।

उनले छलफल सकारात्मक रहेको बताए । भेटमा एकीकृत समाजवादीकातर्फबाट अध्यक्ष नेपाल तथा नेता प्रमेश हमाल र बलराम बास्कोटा थिए । त्यस्तै अभियानकातर्फबाट संयोजक गौतम, डिबी कार्कीलगायतका नेता सहभागी थिए । एकीकृत समाजवादीले गौतमलाई पार्टीमा भित्राउने निर्णय गरिसकेको छ ।

जिप दुर्घटनामा परी घान्द्रुकमा एकजनाको मृत्यु

पोखरा । पोखराबाट कास्कीको घान्द्रुक गइरहेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते ४ जनालाई सिम्रिक एयरको हेलिकोप्टरबाट पोखराको मणिपाल शिक्षण अस्पताल ल्याइएको छ ।

पोखराबाट घान्द्रुक जाँदै गरेको ग १ज ६८२१ नम्बरको जिप घान्द्रुकको बतासे डाँडामा दुर्घटना भएको हो । मृतकको पहिचान खुलेको छैन ।

दुर्घटनामा पोखरा बगरकी रिहाना थकाली, मुस्ताङ घर भएकी ज्योति खत्री, बागलुङकी सीमाकुमारी खत्री र नमिता खत्री घाइते भएका ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए ।

मध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–७ नगदेशस्थित गणेश मन्दिर प्राङ्गणमा विभिन्न नवदुर्गा नाचिरहेका छन् । सयौँको सङ्ख्यामा महिलाहरु हातमा पूजाको थाली लिएर नवदुर्गालाई चढाउन लामबद्ध छन् ।

मल्लकालभन्दा अगाडिदेखि तान्त्रिक शक्तिमा चल्ने नवदुर्गा नाच गत आइतबारदेखि मध्यपुरथिमिभित्र विभिन्न टोलमा सञ्चालन भइरहेको छ । आज बालकुमारीबाट नगदेश भित्र्याएर नवदुर्गाको विशेष पूजा एवं द्यो ब्वोकेगु गरियो ।

नगदेशबाट बाजागाजासहित गएको स्थानीयको टोलीले बालकुमारीबाट मलमलको सेतो कपडा बाटोमा ओछ्याएर स्वागत गर्दै नगदेश भित्र्याएपछि नवदुर्गाको भव्य पूजा एवं नवदुर्गा देवगण र नाच प्रदर्शन गरिएको हो ।

नगदेशका ख्वप्रिङ नवदर्गा सङ्कल्प भोजन २०८१ को संयोजन र भक्तपर विकास सहयोग सङ्घको आयोजनामा करिब रु आठ लाखको खर्चमा भगवाण भोजनलगातयका कार्यक्रम आयोजना गरेको हो ।

भक्तपुर, मध्यपुरथिमिदेखि भक्तपुरबाट बसाई सरेर काठमाडौँ, ललितपुर गएर बसेकाहरुले भव्य रुपमा नगदेशमा सञ्चालन गरेको नवदुर्गा नाच एवं द्यो ब्वोकेगु आयोजक भक्तपुर विकास सहयोग सङ्घका अध्यक्ष विजय शङ्कर प्रधानाङ्गले जानकारी दिए ।

करिब  आठ लाख खर्चमा नगदेशमा पहिलो पटक द्यो ब्वोकेगु आयोजना गरेको जानकारी दिँदै उनले नगदेशमा ठूलो लपेसमा ८४ व्यञ्जनका खानेकुरा चढाएर पूजा गरिएको बताए । पूजाका क्रममा दुई वटा बोका र दुईवटा चुच्चे (सुङ्गुर)को बलि दिएर ब्वोकेगु गरिने बताए ।उनले देवगण, नकी, बेताली, बाजा बजाउनेलगायत सबैका लागि शीरदेखि पाउसम्मको जात्रामा देवगणले लगाउने पोशाकसमेत अर्पण गरेको बताए ।

घरघरबाट प्रत्येकले पूजाको सामान ल्याएर मनाइएको या पर्वमा कम्तीमा पनि एक हजार पाँच सयको सहभागिता रहेको उल्लेख गर्दै स्थानीय बिनोद कोजूले नवदुर्गा देवगण आएर नाच प्रदर्शन गर्दा स्थानीयको व्यापार, व्यवसाय, परिवारमा सम्पन्न, आर्थिक उन्नती, स्थानीयमा रोग, भयको नाश हुने, नकारात्मक शक्तिहरु परास्त हुने र सबैमा कल्याण हुने जनविश्वास रहेको बताए ।

नवदुर्गा देवगणमध्येकै कृष्णप्रसाद बनमालाले गत आइतबार मध्यपुरथिमिको दिगुटोलबाट सुरु भएको नवदुर्गा नाच आजसम्म भुलाखेल, बाहखा बजार, चपाचो, बालकुमारीलगायत विभिन्न ठाउँमा प्रदर्शन गरी स्थानीयको पूजा ग्रहण गर्दै आज नगदेशमा आएको बताए ।

देवगणले नवदुर्गा नाच टोलटोलमा प्रदर्शन गरेपनि विशेष पूजाको रुपमा रहेको द्यो ब्वोकेगु पनि नगन्य रुपमा हुने गरेको छ । देवगण वनमालाले आइतबारसम्म मध्यपुरथिमिमा नाच प्रदर्शन गरेर आइतबार माछामार्ने जात्रा सञ्चालन गर्दै साँझ भक्तपर द्यो छे, अर्थात देवता घरमा नवदुर्गा फर्कने बताए ।

नवदुर्गा अन्तर्गत गणेश, कुमारी, सिंह, दुम्भसंगै ब्रम्हायणी, महेश्वरी, कुमारी, वैष्णवी, बाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकालीको पूजा गरिन्छ ।

तस्बिरः रमेश गिरी

महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवद्र्धन एवं लगानी विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बिहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा अध्यक्ष वुवागं कुवान किमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

कोइमा दक्षिण कोरियामा औद्योगिक कच्चा पदार्थ र विशेषगरि त्यहाँ उत्पादन नहुने सामान आयात गरि औद्योगिक वातावरण प्रवद्र्धन र सर्वसाधारणलाई सुलभ रुपमा सामान उपलब्ध गराउन स्थापना भएको संस्था हो ।

आयातलाई नै केन्द्रित गरि स्थापना भएको संस्थासंगको सहकार्यबाट नेपाली उत्पादन कोरियामा विस्तार गर्न सहज हुने महासंघको विश्वास छ । यसबाट नेपाल र दक्षिण कोरियाबीचको व्यापार घाटा कम हुने विश्वास छ । हाल दुइ देश बीचको व्यापार घाटा करिब ७ अर्ब रुपैयाँ छ ।

नेपालबाट हाल फेल्ट, गलैचा, धागो लगायतका परम्परागत सामान बढि गैरहेको सन्दर्भमा कोइमासंगको सहकार्यबाट औद्योगिक कच्चा पदार्थ एवं अन्य समानका लागि पनि बजार खोज्न सकिने महासंघको विश्वास छ ।

नेपाल कोरिया दौत्य सम्बन्ध स्थापनाको ५० बर्ष र समझदारी पत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा महासंघ अध्यक्ष ढकालले नेपाल र कोरियाबीच आर्थिक सम्बन्ध सुदृढ गर्न सकिने अपार सम्भावना रहेको  बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा सोल स्थित नेपाली दुतावासद्वारा आयोजित ‘नेपालमा व्यापार र लगानीका अवसरहरू’ शीर्षकको कार्यक्रममा अध्यक्ष ढकालले नेपालको ऊर्जाशील एवं युवा जनशक्ति, प्राकृतिक स्रोत, ठुला बजारसंगको समिप्यता कोरियाली लगानीकर्ताका लागि महत्वपूर्ण रहने बताए ।

ढकालले नेपालको लगानी वातावरणमा भएका प्रगतिको जानकारी गराउँदै महासंघको सक्रिय संलग्नतामा हालै गरिएका सुधारहरूको चर्चा पनि गरे । उनले सरकारको लगानीसम्बन्धी आठ कानुन संशोधन गरेर लगानीमैत्री वातावरण सिर्जना गर्न चालिएका कदमहरूको जानकारी गराए । साथै, दुईपक्षीय लगानी सम्झौता ढाँचा अनुमोदन गर्नु विदेशी लगानीलाई सहज बनाउने महत्वपूर्ण कदम भएको बताए ।

ढकालले नेपालको अनुकूल आर्थिक सूचकाङ्कहरू पनि प्रकाश पारे । विदेशी मुद्रा सञ्चिति करिब १७ अर्ब अमेरिकी डलर पुगेको र नेपालको पहिलोपटक क्रेडिट रेटिंग भएको जानकारी पनि लगानीकर्तालाई दिए । नेपालको रेटिंग दक्षिण एसियामा सन्तोषजनक रहेको पनि उनको धारणा थियो ।

ढकालले पूर्वाधार विकासको महत्त्व पनि औंल्याउँदै सडक, रेलमार्ग, विमानस्थल, शहरी योजना, होटल रिसोर्ट, केबलकार र स्मार्ट सिटीहरूमा कोरियाली विशेषज्ञता र लगानीका लागि आग्रह गरे ।

ढकालले कोरियाली व्यवसायिक समुदायलाई नेपालमा व्यापार र लगानीका अवसरहरूको खोजी गर्न निमन्त्रणा दिँदै महासंघको विदेशी लगानी सहायता डेस्कमार्फत पूर्ण सहयोगको आश्वासन दिए ।

पूर्वाधार निर्माण र सेवा विस्तारका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी बढाउँदै लैजानुपर्छः पूर्वराष्ट्रपति भण्डारी

पोखरा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाधार निर्माण र सेवा विस्तारका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी बढाउँदै लैजानुपर्नेमा जोड दिएकी छन् ।

त्रिभुवन विश्वविद्यालय र चीनको सिचुवान विश्वविद्यालयअन्तर्गत चाइना सेन्टर फर साउथ एसियन स्टडिजको संयुक्त आयोजनामा बिहीबारदेखि पोखरामा सुरु भएको ‘फेवा संवाद’ को उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारीले मुलुकको अर्थतन्त्र वृद्धि गर्दै विकास, निर्माणमा लगानी बढाउँदै जानुपर्ने उल्लेख गरिन् । उनले विदेशी र स्वदेशी लगानीका क्षेत्र बढाउँदै स्वदेशी उत्पादनमार्फत राजस्वमा वृद्धि गर्नुपर्ने बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको कृषिलाई व्यावसायिक बनाउनुका स्थानीयस्तरमा उद्योग स्थापना गरी स्वदेशी माग पूरा गर्नुपर्नेमा जोड दिइन् । उनले स्वदेशी उत्पादनको निर्यात बढाएर रोजगारी सिर्जना गरी दिगो विकास गर्दै नागरिकको आर्थिकस्तर उकास्न सकिने धारणा राखिन् ।

विकास प्रक्रियालाई तीव्रता दिँदा जलवायु परिवर्तनका प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्ने र त्यसलाई अनुकूल बनाउने किसिमका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक रहेको पूर्वराष्ट्रपति भण्डारीले बताइन् ।

हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान गर्ने नेपालसहित हिमाली र टापु राष्ट्रहरू जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित भएका उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले कार्बन उत्सर्जनमा प्रमुख योगदानकर्ताका रूपमा विकसित र औद्योगिक राष्ट्रहरूले जलवायु सङ्कटको जिम्मेवारी लिनुपर्ने धारणा राखिन् ।

जलवायु परिवर्तनले वातावरणीय चुनौती निम्त्याउन न्यूनतम भूमिकामा रहेका राष्ट्रहरूलाई विकसित राष्ट्रहरूले उचित र पर्याप्त क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेमा जोड दिँदै पूर्वराष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका कारण जोखिममा परेका देशलाई अनुकूलन र हानीनोक्सानी क्षतिपूर्ति उपलब्ध गराउन स्पष्ट रूपमा वित्तीय स्रोत र प्रविधि दिनुपर्ने आवश्यकता औँल्याइन् ।

विश्वव्यापी रूपमा सफल, अनुकरणीय र उपयुक्त विकास अभ्यासबाट सकारात्मक पाठ सिक्नुपर्ने बताउँदै उनले केही दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको अनुभव हाम्रा लागि प्रेरणादायी हुने उल्लेख गरिन् । उत्तरी छिमेकी राष्ट्र चीनले छोटो अवधिमा ठुलो जनसङ्ख्यालाई गरिबीबाट बाहिर निकालेको र आफ्नो अर्थतन्त्रमा आमूलपरिवर्तन गरेकाले चीनबाट नेपालजस्ता मुलुकले चीनको अनुसरण गर्नुपर्ने उनले बताइन् ।

लगानीमैत्री र व्यावसायिक वातावरण, वैदेशिक लगानी आकर्षित गर्न द्रुत नीति र संस्थागत सुधार, औद्योगिक तथा भौतिक पूर्वाधारको विकास र सुशासन र संस्थागत क्षमता वृद्धिलगायत क्षेत्रमा सुधार गरेमा दोहोरो अङ्कको आर्थिक वृद्धि हासिल गर्न सकिने पूर्वराष्ट्रपति भण्डारीले धारणा राखिन् ।

नेपालका लागि चिनियाँ राजदूत छन् सङले सम्मेलनले यहाँको पर्यटन प्रवर्द्धनसँगै जनता–जनताबिच सम्बन्ध स्थापना गर्न महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास उनले व्यक्त गरिन् ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बरालले त्रिभुवन विश्वविद्यालय र सिचुआन विश्वविद्यालयबीचमा शैक्षिक, प्राज्ञिक तथा अनुसन्धानका क्षेत्रमा विभिन्न सहकार्य हुँदै आएको बताउँदै सोहीअन्तर्गत पोखरामा यस किसिमको बौद्धिक बहस गर्न लागिएको जानकारी दिइन् ।

कार्यक्रम संयोजकसमेत रहेका त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा खड्ग केसीले दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुलकको सहकार्यलाई थप प्रगाढ बनाउन, अन्तर आबद्धतालाई अवसरमा रुपान्तरण गर्न, प्रविधि र विकासको साझेदारी अभिवृद्धि गर्न फेवा संवाद आयोजना गरिएको जानकारी दिए ।

सिचुवान विश्वविद्यालयका प्राध्यापक यायो लेलेले अनुभव आदानप्रदानसँगै सांस्कृतिक आदानप्रदान, ज्ञान र सीप हस्तान्तरण, मित्रता अभिवृद्धिलगायत क्षेत्रमा सम्मेलन प्रभावकारी र फलदायी बन्ने विश्वास व्यक्त गरे ।

संसद विद्यालय शिक्षा, निजामति ऐन र प्रहरी समायोजन विधेयक शीघ्र जारी गर्ने पक्षमा छः सभामुख घिमिरे

ललितपुर । सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा, निजामति ऐन र प्रहरी समायोजन विधेयक शीघ्र जारी गर्ने पक्षमा संसद् रहेको बताएका छन् ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र गैरसरकारी संस्था गभर्नेन्स ल्याबले ‘प्रादेशिक एवं स्थानीय शासन सबलीकरण तथा समावेशी आर्थिक विकास’ विषयमा बिहीबार संयुक्त रूपमा अयोजना गरेको गोष्ठीमा उनले ती विधेयक सङ्घीय शासन प्रणालीको सफल कार्यान्वयनका निम्ति अपरिहार्य रहेको बताए । 

सभामुख घिमिरेले सङ्घीयता प्रारम्भ भएसँगै तीन तहका सरकारको कार्यक्षेत्र संविधानले तोकेको, राजनीतिक, प्रशासनिक तथा आर्थिक अधिकारहरूको बाँडफाँट भए अनुरूप तीन वटै तहले नीति निर्माण तथा तिनको कार्यान्वयन गर्दै मुलुकको दिगो विकासका साझा उद्देश्य प्राप्तिमा काम गरिरहेका बताए ।  

सङ्घीयतासँग सम्बन्धित कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै उनले संविधान कार्यान्वयनको एक दशक पुग्न लागेको सन्दर्भमा संविधान पुनरावलोकनको आवश्यकताबारे विचार–विमर्श हुनु स्वभाविक भएको टिप्पणी गरे ।

सभामुखले संविधानलाई जीवन्त र समय–सान्दर्भिक बनाइराख्न संवैधानिक र कानुनी प्रावधानबारे छलफल गर्न आवश्यक भएको विचार व्यक्त गरे । “सबै क्षेत्र, लिङ्ग, भाषा, धर्म, संस्कृति, अल्पसङ्यक, समुदायहरूलाई सम्बोधन हुनेगरी विकास तथा सेवा प्रवाहको ढाँचा निर्माणदेखि कार्यान्वयनमा ध्यान दिनुपर्छ”, उनले भने ।

मुख्यसचिव एकनाराण अर्यालले मुलुकको सार्वजनिक प्रशासनमा सुशासन कायम गर्न सरकारले लिएको ‘सुखी नेपाली समृद्ध नेपाल’ को लक्ष्य प्राप्तिका लागि सबै मिलेर सकारात्मक पक्षलाई अवलम्बन गर्दै जानुपर्नेमा जोड दिए । उनले सङ्घीय सरकारले ल्याउने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा संविधानको मर्म अनुरुप निजी क्षेत्रलाई समेटेर सहकार्य गर्नेगरी व्यवस्था गर्नुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जनकुमार श्रेष्ठले संविधान बनाउँदा लिइएका खुला बजार र तीन खम्बे नीतिका विषयमा छलफल गर्नुपर्ने बताए । उनले वर्तमान समयमा निजी क्षेत्रलाई पनि समेटेर आर्थिक समृद्धि हासिल हुने किसिमका नीति निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका अध्यक्ष डा राजन खनालले सरकारले गर्ने काममा विभिन्न प्राज्ञिक संस्थाहरू र अध्ययन अनुसन्धानमा क्रियाशील संस्थाहरूबीच छलफलको माध्यमबाट प्रशासनिक सुधार र सुशासन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले गोष्ठी आयोजना गरिएको बताए । आजदेखि सुरु भएको गोष्ठी शुक्रबार समापन गरिनेछ ।

कर्णाली याक्सलाई दुई विकेटले हराउँदै जनकपुर एनपीएलको फाइनलमा

काठमाडौँ । नेपाल प्रिमियर लिग(एनपीएल) मा कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्टस फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा जनकपुरले कर्णालीलाई दुई विकेटले हराएको हो । कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर भेट्टायो ।

जनकपुरका जेम्स नीशमले १७ बलमा ४५ रन बनाए । कर्णालीका विपिन शर्माले २ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ९ विकेट गुमाएर ११८ रन बनाएको थियो ।

अब जनकपुरले फाइनलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।

भारतबाट विद्युत आयात गर्ने विषयमा उर्जामन्त्री खड्काद्वारा विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशकहरुसँग छलफल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसँग छलफल गरेका छन् ।

उनले ऊर्जा क्षेत्रको विकासका लागि सरकारले राखेको लक्ष्य पूरा गर्न आज मन्त्रालयमा प्राधिकरणको नेतृत्वमा रहेर लामो समय कार्य अनुभवमा रहेका पूर्वकार्यकारी निर्देशकसँग छलफल गरेका हुन् ।

छलफलमा मन्त्री खड्काले सुक्खा याममा भारतबाट विद्युत् आयात गर्नुपर्ने र भारतीय विद्युतप्रति भर पर्नुपर्ने कारण तथा यसको समाधानका विषयमाथि विज्ञहरूको राय लिएका थिए । उनले विद्युत् चुहावट नियन्त्रण, विद्युत् बक्यौता असुली तथा प्राधिकरणको सुधार र सवलीकरणका लागि के गर्न सकिन्छ भन्ने विषयमा रायसुझाव मागेका थिए ।

मन्त्रालयका सचिव सुरेश आचार्यले मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि अहिले भइरहेका प्रयासका बारेमा जानकारी गराउँदै आगामी दिनमा गर्न सकिने विकासका कार्यका बारेमा सुझाव माग गरेका थिए। छलफलमा प्राधिकरणका पूर्वकार्यकारी निर्देशक डा मुकेशराज काफ्लेले पछिल्लो समय ऊर्जा क्षेत्रको विकासका लागि सरकारले चालेको कदम सकारात्मक रहेको बताए।

छलफलमा सहभागी प्राधिकरणका पूर्वकार्यकारी निर्देशकहरुले सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेकाले उक्त लक्ष्यलाई पूरा गर्नका लागि जलाशययुक्त आयोजना कार्यान्वयनमा लैजान जोड दिएका थिए । उनीहरुले नेपालको ऊर्जा क्षेत्रको विकास जुन गतिमा हुनुपर्ने हो त्यो हुन नसकेको बताएका थिए ।

उक्त छलफल कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङ, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्र शाक्य, उत्तरकुमार श्रेष्ठ, रामेश्वर यादव, हरिशचन्द्र शाहलगायत मन्त्रालयका उच्चपदस्थ कर्मचारीको सहभागिता थियो ।

हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु

हनोई । भियतनामको राजधानी हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । घटनामा अन्य दुई जना घाइते भएका छन् ।

सरकारी सञ्चारमाध्यममा सार्वजनिक भएका तस्वीरमा पश्चिमी हनोईमा कालो रङ्गको एक अग्लो भवनमा आगलागीबाट क्षति पुगेको देख्न सकिन्छ ।

स्थानीय समयअनुसार बुधबार राति ११ बजे आगलागी भएको र त्यहाँ धेरै मानिस फसेको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै उद्धारकर्मीहरू घटनास्थलमा पुगेका र सात जनालाई जीवितै उद्धार गरिएको छ भने दुई जनालाई अस्पताल लगिएको छ । घटनामा ११ जना मृत अवस्थामा फेला परेको प्रहरीले पुष्टि गरेको छ ।

हनोई प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रहरीले आगलागीमा संलग्न रहेको आशङ्कामा केही व्यक्तिलाई नियन्त्रणमा लिइएको छ ।

घटनाको प्रारम्भिक अनुसन्धानबाट उक्त क्याफे जानाजानी जलाइएको थियो ।”

सरकारी सञ्चारमाध्यमले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गरी बताएअनुसार आगो यति ठूलो थियो कि कसैले पनि भित्र फसेकाहरूलाई बचाउने आँट गरेनन् ।

नजिकै रहेका गुयेन मिन्ह हुङले डान ट्राइ पत्रिकासँग भने, “हामी फसेका पीडितहरूका लागि चिच्याइरहेका थियौं, तर हामीले भवनभित्रबाट सहयोगको माग गरेको सुनेका थिएनौँ ।’

काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु

श्रीनगर । भारतीय सुरक्षा बलले बिहीबार काश्मिरमा जारी झडपमा कम्तीमा पाँच जना संदिग्ध बन्दुकधारीको हत्या गरेको भारतीय सेनाले जनाएको छ ।

सन् १९४७ मा ब्रिटिस शासनको अन्त्यमा विभाजन भएदेखि नै काश्मिर आणविक शक्ति सम्पन्न प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच विभाजित छ र दुवै देशले यस क्षेत्रमा पूर्ण रूपमा दाबी गर्दै आएका छन् ।

भारतीय सेनाको चिनार कोरले कारबाहीमा पाँच ‘आतङ्ककारी’को सुरक्षा बलको गोली लागी मृत्यु भएको र दुई जना सैनिक घाइते भएको जनाएको छ ।

सुदूर उत्तरी क्षेत्रमा ५० लाख भारतीय सेना तैनाथ छन्, जुन ३५ वर्ष लामो विद्रोहसँग लडिरहेको छ जसमा दशौं हजार नागरिक, सैनिक र विद्रोहीमारिएका छन् । उक्त षेत्रमा यो बर्ष पनि कम्तीमा १ सय २० जना मारिएका छन् ।

विद्रोही समूहहरूले काश्मिर क्षेत्रको स्वतन्त्रताको माग गर्छन् वा यस क्षेत्रलाई पाकिस्तानमा गाभ्न चाहन्छन् । नयाँ दिल्लीले पाकिस्तानलाई नियमित रूपमा लडाकूहरूलाई हतियार प्रदान गरेको र उनीहरूलाई आक्रमण गर्न मद्दत गरेको आरोप लगाउँदै आएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वकोसरकारले सन् २०१९ मा उक्त क्षेत्रको आंशिक स्वायत्तता खारेज गर्दै यस क्षेत्रलाई आफ्नो प्रत्यक्ष शासनअन्तर्गत ल्याएको थियो ।

करिब एक करोड २० लाख जनसङ्ख्या रहेको यस क्षेत्रमा नयाँ दिल्लीले नियुक्त गरेका गभर्नरको नेतृत्वमा प्रशासनिक काम हुने गरेको छ ।

भ्रष्टाचार मुद्दामा जेलमा रहेका मलेसियाका पूर्व प्रधानमन्त्रीकी पत्नीलाई एक दर्जनभन्दा बढी आरोपमा सफाइ

क्वालालम्पुर । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाककी श्रीमतीविरुद्ध दायर गरिएको एक दर्जनभन्दा बढी सम्पत्ति शुद्धीकरण तथा कर छलीको अभियोगलाई मलेसियाको एक अदालतले बिहीबार खारेज गरिदिएको छ ।

७३ वर्षीया रोसमाह मन्सोरमाथि सन् २०१३ को डिसेम्बर ४ देखि सन् २०१७ को जुन ८ को बीचमा ७१ लाख रिंगिट (झण्डै १६ लाख अमेरिकी डलर) सहित सम्पत्ति शुद्धीकरणसम्बन्धी एक दर्जनभन्दा बढी आरोप लगाइएको थियो ।

उच्च अदालतका न्यायाधीश के मुनिआन्डीले सबै १७ वटा आरोपमा ‘सत्यता, औचित्यता र वैधानिकताको अभाव’ भएको भन्दै खारेज गर्दै ‘सफाइ’ को आदेश दिएको एएफपीलाई प्राप्त भएको निर्णयको प्रतिलिपिमा उल्लेख छ ।

महान्यायाधिवक्ताको कार्यालयले उक्त निर्णयविरुद्ध अपील गर्ने बताएको मलेसियाली सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०२२ को सेप्टेम्बरमा भ्रष्टाचारको अभियोगमा रोसमाहलाई १० वर्षको जेल सजाय सुनाइएको थियो तर उनी उक्त सजायविरुद्ध अपील गरी जमानतमा छुटेकी थिइन् ।

उनीविरूद्ध आफ्नो पतिको शासनकालमा बोर्नियो टापुको मलेशियाली भागमा ग्रामीण विद्यालयहरूको लागि सौर्य ऊर्जा परियोजना सुरक्षित गर्न सहयोग पुर्याएको भन्दै एक कम्पनीसँग घूस लिएको आरोप लगाइएको थियो।

रोस्माहको महङ्गा ह्यान्डब्याग, लुगाफाटा र गहनाको विशाल सङ्ग्रहको लागि मलेसियालीहरूले लामो समयदेखि आलोचना गर्दै आएका छन् ।

सन् २०१८ को चुनावमा पतिको पराजयपछि उनको घरमा प्रहरीले छापा मारेपछि उनका विलासिताका सङ्ग्रहबारे चर्चा भएको थियो ।

उनलाई विलासी जीवनका लागि फिलिपिन्सकी पूर्व प्रथम महिला इमेल्डा मार्कोससँग तुलना गरिएको थियो र सत्ताच्युत गरिएका पूर्व प्रधानमन्त्रीको सत्ताले आर्थिक रूपमा सङ्घर्षरत र मध्यमवर्गीय मलेसियालीहरूसँग सम्पर्क गुमाएको आरोप लगाइएको थियो ।

नजिब सार्वभौम सम्पत्ति कोष वनएमडीबीमा भएको ठूलो आर्थिक घोटालासँग सम्बन्धित भ्रष्टाचारको आरोपमा छ वर्षको जेल सजाय काटिरहेका छन् । उनले नजरबन्दमा बाँकी सजाय भुक्तान गर्न अपील दायर गरेका छन् र जनवरी ६ का लागि सुनुवाइ तय गरिएको छ ।

बन्द अवस्थामा रहेको सरकारी कम्पनीबाट अर्बौं डलर हिनामिना भएको भनिएको वनएमडीबी प्रकरणले उनीविरूद्ध संयुक्त राज्य अमेरिका, स्विट्जरल्याण्ड र सिङ्गापुरमा अनुसन्धान सुरु गरेको छ ।

शेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से ३१ दशमलव ४३ अङ्कले घटेर दुई हजार पाँच सय ९६ दशमलव ८२ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज नारायणी विकास बैंकको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्रमा बजार घटेको दिन सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज कारोबार रकम भने सामान्य बढेको छ ।

आज तीन सय १० वटा कम्पनीका ९८ लाख ३२ हजार कित्ता शेयर चार अर्ब ७६ करोड रुपैयाँमा किनबेच भयो ।

वैद्यखानालाई आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न स्वास्थ्यमन्त्री पौडेलको आग्रह

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबारस्थित वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न आग्रह गरेका छन्।

वैद्यखानाको औषधि उत्पादन अवस्थाबारे बिहीबार अनुगमन गर्दै उनले वैद्यखानाका कर्मचारीहरुलाई भने, ‘बजारमा वैद्यखानाको औषधिको माग छ, उत्पादन बढाउनुस।’

मन्त्री पौडेलले बजारमा सिंहदरबार वैद्यखानाको औषधि किन्न खोज्दासमेत नपाइने अवस्था आएकाले आवश्यक कच्चा पदार्थ उपलब्ध नगराउने ठेकेदारलाई कालोसूचीमा राखेर नयाँ विकल्प खोज्न निर्देशन दिएका छन्।

‘बजारमा बिक्ने चिज हामी किन उत्पादन गर्न सक्दैनौँ ? आवश्यक बजेट अभाव हुन दिन्नौँ तर उत्पादन बढाउनुस्’, उनले भने।

कर्मचारीहरुले स्रोत अभाव भएको गुनासो गरेपछि मन्त्री पौडेलले केही समयअघि वैद्यखानाका लागि बजेट विनियोजन गरेको उल्लेख गर्दै सार्वजनिक संस्थानहरुलाई पुँजीगत सहयोग गर्न सकिने तर तलब ख्वाउने रकम सरकारले दिन नसक्ने प्रष्ट पारेका छन्।

महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे

काठमाडौँ । मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ को नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएपछि एक–एक अङ्क बाँडेका छन् ।

बिहीबारको खेलमा नेपालले श्रीलङ्काविरुद्ध टस जितेर फिल्डिङ गरेको थियो । पहिलो ओभर सकिए लगत्तै सुरु भएको वर्षा नरोकिएपछि खेल रद्द हुन पुगेको हो । नेपालले पहिलो ओभरमै श्रीलङ्काको एक विकेट लिएको थियो । वर्षा नरोकिएपछि दुवै टोलीले समान एक÷एक अङ्क बाँडेका हुन् ।

यसअघि नेपालले पहिलो खेलमा पाकिस्तानलाई छ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो । यसैगरी समूह चरणको अन्तिम खेल पनि वर्षाका कारण रद्द भएपछि नेपाल र भारतले एक–एक अङ्क बाँडेका थिए । सुपर–४ मा नेपालसहित भारत, बङ्गलादेश र श्रीलङ्का छन् । नेपालले शुक्रबार सुपर–४ अन्तर्गत बङ्गलादेशको सामना गर्नेछ ।

रविको तस्बिर सार्वजनिक गर्नेलाई कानुनी कारबाही गर्छौंः कास्की प्रहरी


काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्ने बताएको छ ।

बिहीबार विज्ञप्ति जारी गरी कार्यालयले साइबर अपराध सम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रुपमा सामाग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोहीलाई कारबाही हुने बताएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘सूचनाको हक सम्बन्धी ऐन, २०६४ मा व्यवस्था भए बमोजिम अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनियता कायम गर्नुपर्ने व्यवस्था र प्रचलित साइबर अपराध सम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रुपमा सामाग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानुनी दायरामा ल्याई कानुन बमोजिम अनुसन्धान तथा कारबाही गरिने ।’

प्रहरीले उक्त तस्बिर डा. निकोलस भुसालको फेसबुक पेजबाट प्रकाशित भएको पनि बताएको छ । भुसालले पनि उक्त फोटो आफैंले सार्वजनिक गरेको भन्दै सामाजिक सञ्जालमार्फत माफी मागिसकेका छन् ।

रवि सुतिरहेको तस्बिर सार्वजनिक भएपछि रास्वपाका नेताहरूले यसप्रति आपत्ति जनाएका थिए । गृहमन्त्री रमेश लेखकले पनि प्रहरी प्रमुखलाई तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न निर्देशन दिइसकेका छन् ।

कर्णालीले जनकपुरलाई दियो ११९ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो क्वालिफायरको खेलमा कर्णाली याक्सले जनकपुर बोल्टसलाई ११९ रनको लक्ष्य दिएको छ ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ९ विकेट गुमाएर ११८ रन बनाएको हो । कर्णालीका लागि गुलसन झाले सर्वाधिक २५ रन बनाउँदै ओपनर देव खनालले २४ रन बनाएर आउट भए ।

विलियम बोसिस्टो १४, जिसान मक्सुद र युनसि ठकुरीले समान १२ रन बनाउँदा चार्डविक वाल्टन ११ रनको योग्दान दिए। कर्णाली एलमिनेटरमा चितवनलाई हराउँदै दोस्रो क्वालिफायमा स्थान बनाएको हो भने जनकपुर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित हुँदै दोस्रो क्वालिफायरमा आएको हो ।