`

पुनर्निर्माण प्रभावकारी बनाउन ‘विपद् पुनर्लाभ कार्ययोजना’ निर्माण

काठमाडौं। सरकारले विपद् पुनर्निर्माणलाई छिटो, छरितो र प्रभावकारी बनाउन ‘विपद् पुनर्लाभ कार्ययोजना’ निर्माण थालेको छ।

विपद् व्यवस्थापनको जिम्मेवारी पाएको गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् पुनर्निर्माणको कामलाई द्रुत र प्रभावकारी बनाउन एकीकृत रुपमा काम गर्ने गरी पुनर्लाभ कार्ययोजना निर्माण थालेको हो।

अहिलेसम्म पुनर्निर्माणको काम सुरु हुन नसकेको भूकम्प गएको क्षेत्र पश्चिम नेपालको जाजरकोट, डोटी, बझाङलगायत जिल्लामा प्राथमिकीकरण गरेर यही पुस मसान्तबाटै कुनै एक ठाउँबाट पुनर्निर्माण कार्य अघि बढाउने गरी उक्त योजना निर्माण थालिएको प्राधिकरणका सहसचिव डा भीष्मकुमार भुसालले जानकारी दिए।

उनका अनुसार अहिलेसम्म उद्धार, राहत तथा अस्थायी आवासका काममा केन्द्रित भएको र त्यो काम सम्पन्न भएकाले अब पुनर्निर्माणलाई तीव्रता दिन लागिएको हो। प्राधिकरणका अनुसार स्थायी आवासका लागि रकम कति दिने भनेर निर्णय हुन लामो समय लागेको थियो।

डा भुसालले भने, ‘अहिले प्राधिकरणले पुनर्निर्माणमा रकम कति दिने भनेर निधो गर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा पेस गरिसकेको छ, त्यो मन्त्रिपरिषद्‌बाट निर्णय हुने बित्तिकै स्थायी आवासको पुनर्निर्माणका लागि कार्यविधि जारी गर्ने अवस्थामा पुग्छौँ र स्थायी आवास पुनर्निर्माण बाटोसमेत खुल्छ।’

त्यसअघि अस्थायी आवास लिएकाहरु वास्तविक लाभग्राही हुन् कि होइनन् भनेर यकीन गनुपर्ने हुन्छ। त्योसँगै स्थायी आवासको किस्ता दिनका लागि के के प्रमाण राख्ने भन्ने विषयमा विस्तृत क्षति आकलनको प्रक्रिया अघि बढाइने पनि उनले बताए।

निजी आवास पुनर्निर्माण तथा स्कुल र सरकारी संरचनाको पुनर्निर्माणका लागि विशेष योजना अघि बढाउनुपर्ने जनाइएको छ। ‘यी सबै काम गर्न योजनाविहीन हुँदा भद्रगोल हुने अवस्था रहेकाले विपद् पुनर्लाभ कार्ययोजना निर्माण गरी एकीकृत र व्यवस्थित रुपमा काम गर्नुपर्ने आवश्यकता ठानेर कार्ययोजना निर्माण गर्न थालिएको हो’, भुसालले भने।

प्राधिकरणमा अहिले विभिन्न मन्त्रालयले बाढी, भूकम्पले क्षति ग¥यो पुनर्निर्माणका लागि पैसा चाहियो भनेर माग गरिरहेका छन्। प्राधिकरणमा यस्ता मागका फाइल आइरहेका छन्। ‘त्यसका लागि योजनाविहीन भएको अवस्थामा कार्य सफल नहुने हुँदा प्राथमिकीकरण गर्नुपर्ने अवस्था रह्यो, पहिले कहाँबाट काम गर्ने भनेर’, उनले भने, ‘पहिलो प्राथमिकता गाउँमा जाने सडक हो कि, विद्यार्थीले पढ्ने स्कुलभन्दा स्कुल नै होला, त्यसअघि मान्छेको छानो होला, निजी आवास, ती सबैको प्राथमिकीकरण गरेर अघि बढ्छौँ।’

कार्ययोजनामा पुनर्निर्माणका लागि पैसा कति चाहिन्छ भनेर हिसाब निकालिन्छ। तीन तहका सरकार भएका कारण कुन तहका सरकारले कति बेहोर्ने भनेर पनि निधो हुन्छ। कतिपय स्थानमा पालिकाहरुले आफै बनाउनसक्ने अवस्था पनि रहेको छ। त्यसका अलावा गैरसरकारी संस्थाले पनि काम गरिरहेका छन्। उनीहरुको भूमिका पनि छुट्याइने छ। उनीहरुले फारमसमेत भरेर पठाउन थालेका डा भुसालले बताए।

यसका लागि सिंहदरबारमा विषयगत मन्त्रालयसँगको छलफल भइसकेको र गैरसरकारी संस्थासँग पनि एक चरणको छलफल सम्पन्न भइसकेको छ। यूएन एजेन्सी र विकास साझेदारसँग समेत छलफल गरेर अघि बढ्ने योजनाका साथ कार्ययोजना बनिरहेको उनले बताए।

उनले भने, ‘सबै रकमको आँकडा आइसकेपछि स्रोत व्यवस्थापन गरेर काम गरेपछि रिपोर्ट एकै ठाउँमा आउने भयो, अहिले गैरसरकारी संस्थाले काम गरे पनि रेकर्ड नआउने अवस्था छ, अब कार्ययोजना बनेपछि एकीकृत विवरण आउने भयो र गरेको काम देखिने हुन्छ।’

योजनाविहीन हुँदा स्रोत जुटाउन पनि समस्या देखिएको प्राधिकरणको भनाइ छ। उनका अनुसार विसं २०७२ को भूकम्पमा एक सय ९७ गैरसरकारी संस्थाले काम गरेका थिए। अहिले एक दर्जन पनि देखिएका छैनन्। त्यो किन भयो भने विपद्लाई प्राथमिकता नपाउनुमा आफ्नो योजना नहुने देखिएकाले एकीकृत कार्यक्रम गरेर अघि बढ्न लागिएको हो।

प्राधिकरणले यही हप्तामा प्रारम्भिक खाका तयार पारेर अघि बढ्नेगरी काम थालेको छ। पुस मसान्तसम्ममा कुनै न कुनै पालिकाबाट काम थाल्ने गरी कार्य योजना अघि बढाइएको डा भुसालले बताए। प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले अब मुख्य केन्द्रित नै पुनर्निर्माणमा रहेको र त्यसलाई प्रभावकारी बनाउन योजना अघि बढाइसकिएको बताए। 

सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब, विकास बजेटभन्दा बढी साँवा ब्याज भुक्तानीमा खर्च

काठमाडौँ । सार्वजनिक ऋणको दायित्व बर्सेनी वृद्धि भएसँगै उक्त ऋणको साँवा ब्याज भुक्तानी खर्च पनि बढ्दै गएको छ । विकास बजेटभन्दा बढी रकम सार्वजनिक ऋणको साँवा ब्याज तिर्नमा खर्च हुन थालेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को गत मङ्सिर मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार सरकारी ऋण करिब २५ खर्ब हाराहारी छ ।

“चालु आर्थिक वर्षको सुरुमा कूल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा मङ्सिर मसान्तसम्ममा ५८ अर्ब ३१ करोड थप भई कूल सार्वजनिक ऋण रू २४ खर्ब ९२ अर्ब ९१ करोड पुगेको छ । जुन कूल गार्हस्थ उत्पादनको ४३ दशमलव ६९ प्रतिशत हुन आउँछ”, प्रतिवेदनमा भनिएको छ, “मङ्सिर महिनामा रू ५८ अर्ब २४ करोड ऋण दायित्व भुक्तानी तथा २१ अर्ब २३ करोडमात्र ऋण प्राप्ति भएको र विनिमय दरमा भएको घटबढको प्रभावले कात्तिक मसान्तसम्मको तुलनामा मङ्सिर मसान्तसम्ममा रू २५ अर्ब ६४ करोड ऋण दायित्व घट्न गएको छ ।”

कार्यालयका अनुसार सरकारले हालसम्म तिर्न बाँकी आन्तरिक ऋणको दायित्व रू १२ खर्ब १७ अर्ब ६६ करोड १८ लाख अर्थात् कूल सार्वजनिक ऋणको २१ दशमलव ३४ प्रतिशत छ । त्यसैगरी बाह्य ऋण दायित्व रू १२ खर्ब ७४ अर्ब ७५ करोड अर्थात् २२ दशमलव ३५ प्रतिशत छ ।

सरकारले चालु आर्थिक वर्षका लागि रू पाँच खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकामा मङ्सिर मसान्तसम्ममा रू एक खर्ब ९२ अर्ब २९ करोड ऋण उठाइसकेको छ । वार्षिक लक्ष्यको तुलनामा पाँच महिनाको कूल सार्वजनिक ऋण प्राप्ति ३५ दशमलव १५ प्रतिशत बराबर हो । चालु आर्थिक वर्षका लागि आन्तरिक ऋणतर्फ रू तीन खर्ब ३० अर्ब उठाउने लक्ष्य रहेकोमा हालसम्म वार्षिक लक्ष्यको ४९ दशमलव ७० प्रतिशत अर्थात् रू एक खर्ब ६४ अर्ब बराबर ऋण उठाइसकेको छ ।

यसैगरी रू दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने लक्ष्य रहेकामा हालसम्म वार्षिक लक्ष्यको १३ दशमलव ०४ प्रतिशत अर्थात् रू २८ अर्ब २९ करोड १८ लाख प्राप्त भएको छ । सार्वजनिक ऋणको साँवा ब्याज तिर्न सरकारले चालु आर्थिक वर्षका लागि रू चार खर्ब दुई अर्ब बजेट छुट्याइएको छ । मङ्सिर मसान्तसम्ममा रू एक खर्ब ७० अर्ब ४९ करोड साँवा ब्याज भुक्तानी भएको कार्यालयले जनाएको छ ।

कूल गार्हस्थ उत्पादनको आधारमा मङ्सिर मसान्तसम्मको कूल ऋण सेवा खर्च दुई दशमलव ९९ प्रतिशत रहेको छ । सरकारले विकास निर्माणमा विनियोजन गर्ने वार्षिक बजेट अर्थात् पुँजीगत शीर्षकको तुलनामा सरकारी ऋणको साँवा ब्याज तिर्न छुट्याइने बजेट बढी छ ।

चालु आर्थिक वर्षका लागि सरकारले पुँजीगत शीर्षकमा रू तीन खर्ब ५२ अर्ब ३५ करोड बजेट विनियोजन गरेको थियो । जबकी सरकारी ऋणको साँवा ब्याज तिर्न चालु आर्थिक वर्षका लागि रू चार खर्ब दुई अर्ब बजेट छुट्याइएको छ ।

यी दुई शीर्षकमा मङ्सिर मसान्तसम्म भएको खर्चको अवस्था हेर्ने हो भने पुँजीगत बजेट खर्च भन्दा ऋणको साँवा ब्याज तिर्न भएको खर्च करिब साँढे चार गुणाले बढी छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार मङ्सिर मसान्तसम्म सरकारको पुँजीगत खर्च रू ४० अर्ब ८० करोड मात्रै छ ।

बालकोटमा बाबु र भाइ हत्या गर्ने मिलनद्वारा प्रहरीमा आत्मसमर्पण

काठमाडौं । भक्तपुरको बालकोटमा बाबु र छोराको हत्या परिवारकै सदस्यले गरेको पाइएको छ । खोटाङको रूपाकोट मजुवागढी नगरपालिका वडा नम्बर १ का कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण आचार्यको हत्या जेठा छोरा मिलन आचार्यले गरेको पाइएको हो ।

बाबु र भाइको हत्यापछि फरार भएका मिलनले मंगलबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । उनले काठमाडौंको महाराजगञ्जस्थित प्रहरी वृत्तमा पुगेर आत्मसर्पण गरेका हुन् । उनले बाबु र भाइको हत्या आफूले गरेको स्वीकार गरेका प्रहरीले जानकारी दिएको छ । सोमबार आचार्यका बाबु छोरा कोठामा मृत भेटिएका थिए ।

आँबुखैरेनीमा ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीखोलामा मंगलबार बिहान इँटा बोकेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

ट्रक चालक उदयपुरका ३० वर्षीय भेषराज पराजुली र सहचालक रौतहटका २८ वर्षीय विजय विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिए

डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा प्र ०१–००१ य १६५९ नम्बरको स्करपियोलाई विपरीत दिशाबाट आउँदै गरेको ए २–०३००–१ केएच २४४८ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

ठक्कर पश्चात् स्करपियो सडकमै रहेको र ट्रक पुलकोबीच भागबाट खसेर दुर्घटनाग्रस्त भएको थियो । स्करपियोमा सवार चार जना सकुसल रहेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त ट्रकलाई क्रेनको सहायताले तानिएको थियो ।

मङ्गोलियाको ६० प्रतिशतभन्दा बढी भूभागमा हिउँ

उलानबटार । मङ्गोलियाको ६० प्रतिशतभन्दा बढी भूभाग हाल हिउँले ढाकेको मौसम विज्ञान तथा वातावरणीय राष्ट्रिय एजेन्सीले जनाएको छ ।

“मङ्गोलियाको कम्तिमा ६४ प्रतिशत क्षेत्र अब हिउँले ढाकेको छ,” मौसम एजेन्सीले जनाएको छ । सोमबार बिहानसम्म देशका २१ मध्ये पाँच प्रदेशमा हिमपात जारी रहेको छ ।

मङ्गोलिया जाडोको लागि प्रसिद्ध छ । गत हिउँदमा देशमा पाँच दशक यताकै सबैभन्दा ठूलो हिमपात भएको थियो, जसका कारण ठूलो बाढी आएको र लाखौं पशुधनको क्षति भएको थियो ।

यस हिउँदमा, एसियाली देशका अधिकांश भागहरूमा दीर्घकालीन औसतभन्दा चिसो तापक्रम बढ्ने मौसमविद्ले जनाएका छन् ।

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित

इटहरी । नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छिन् । इटहरीमा सम्पन्न ५१औं महाधिवेशनबाट अर्का प्रतिस्पधी जीवन कार्कीलाई पराजित गर्दै थापा निर्वाचित भएकी हुन् । अध्यक्षमा थापाले ७६२ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कार्कीले ४५३ मत मात्रै ल्याएका छन् ।

त्यस्तै राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित भएका छन् । महासचिव, कोषाध्यक्षलगायत पद भने मनोनीत हुने व्यवस्था छ। जेसीजमा १७८ शाखा छन् भने एक हजार दुई सयभन्दा बढी मतदाता थिए ।

पुराना घरमा नयाँ पुस्तालाई हुर्काइरहेकी ‘महिला स्वयंसेविका’

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजार छेउमा छ– भगवती टोल। टोलमा परम्परागत घर नै रहेका छन्। तिनै पुराना घरमा हुर्किरहेका छन् ३५ बालबालिका। साथै टोलमा केही गर्भवती पनि रहेका छन्।

ढोरपाटन–१ स्थित सो टोलमा सशक्त आमा समूह छ ‘मिलिजुली’। आमा समूहमा गर्भवती, सुत्केरी र उनीहरूका एकाघरका आमाहरूको जमघट छ। यो समूहको नेतृत्व भने महिला स्वयंसेविका चन्द्रकला भण्डारीले गर्छिन्।

उमेरले हजुरआमा पुस्ताकी उनी आमा पुस्ताभन्दा कम छैनन्। यो समूह गर्भवती, सुत्केरी तथा नवजात शिशुहरूको सुरक्षा र बालबालिका तथा आमाको पोषणका विषयमा छलफल गर्न बनेको हो। त्यसैले यहाँ हरेक महिनाको पहिलो शनिबार आमा जम्मा भएर स्वास्थ्यका विषयमा छलफल गर्छन्। समस्या भएकालाई स्वास्थ्य संस्था जान सल्लाह दिन्छन्। स्वास्थ्य स्वयंसेविकाले ल्याएका सन्देश सुन्छन्, बुझ्छन् र कार्यान्वयन गर्छन्। पोषणयुक्त खाना खान्छन्। तिनै खाना बनाउने अभ्यास गर्छन् र महिनाभरिको तालिका बनाउँछन्।

मिलीजुली स्वास्थ्य आमा समूहकी सदस्यसचिव चन्द्रकलाले हरेक महिना आमा र शिशुका लागि स्थानीय उत्पादनबाट बनेको पोषणयुक्त खाना निःशुल्क खुवाउने गरेकी छिन्। ‘म आफँले कहिले फर्सीको हलुवा त कहिले चना अण्डा बनाउँछु, कोदो, फापर, मकै भटमास गाउँमै फलेका पोषणयुक्त उत्पादनबाट खाना तयार गरेर महिनामा एक दिन निःशुल्क सबैलाई खुवाउँछु,’ उनी भन्छिन्, ‘आमाले शिशुलाई खुवाउने विषयमा सिकुन् भन्ने लाग्छ, उनीहरू सबैले घरमा त्यसैगरी खुवाउने गरेका छन्।’

समूहका आमामध्ये ३५ जनाका स–साना बालबालिका छन्। हरेक महिना एक–दुईजना बाहेक सबै समूहमा आउँछन् र चन्द्रकलाले तयार गरेको खाना खान्छन्। ‘यी सबै मेरा छोराछोरी हुन्, उनीहरू कुपोषणबाट जोगिए हाम्रो समज बलियो हुन्छ,’ उनले भनिन्, ‘धेरथोर खर्च त हुन्छ तर म अन्य व्यवसायबाट त्यसको व्यवस्थापन गर्छु।’

चन्द्रकलाले दिने पोषणयुक्त खानाले आफूहरूलाई बालबालिकाका लागि खुवाउने पोषणयुक्त खाना बनाउन सहज भएको स्थानीय सृजना कुँवरले बताइन्। ग्रामीण स्वास्थ्य सुधार परियोजनाले उहाँलाई प्रारम्भिक तालिम दिएको थियो। प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङका अनुसार उक्त टोलमा कोही पनि बालबालिका कुपोषित छैनन्। आमा समूहमा हुने छलफल, पूर्वतयारी र सक्रियताले आमा तथा बच्चाको स्वास्थ्य रक्षामा सहयोग पुगेको स्वास्थ्य केन्द्रले जनाएको छ।

एकीकृत समाजवादी गण्डकी प्रदेशको अधिवेशन पोखरामा

काठमाडौं ।  नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेशको प्रथम अधिवेशन यही पुस १९ र २० गते पोखरामा हुने भएको छ ।

अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने पार्टीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ बरालले जानकारी दिए ।

उनले अधिवेशनलाई सम्पन्न गर्न प्रदेश कमिटी, सबै उपसमिति र पार्टी सदस्यहरूलाई जिम्मेवारी दिएको जानकारी दिए ।

पार्टीले आगामी फागुनभित्रमा सबै प्रदेश अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ । अहिलेसम्म कर्णाली प्रदेश अधिवेशन सम्पन्न गरिएको छ । पार्टीले हालै नेताहरुको जिम्मेवारी हेरफेर तथा कार्यविभाजन सम्पन्न गरेको छ ।

पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु

पोखरा । पोखरामा पहिलो पटक आजदेखि अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ । पोखराको साहसिक पर्यटनलाई प्रर्वद्धन गर्न महोत्सव आयोजना गरिएको हो ।

महोत्सवमा १५ देशका पाइलट सहभागी भएका छन् । पुस १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा एकै पटक १७ वटा बेलुन नेपाली आकाशमा उड्नेछन् ।

बेलुन साहसिक पर्यटकीय गतिविधि गराउने पर्यटकीय प्रडक्ट हो । बेलुन नेपालले सन् २०१८ देखि पोखरामा हट एयर बेलुनमार्फत पर्यटकलाई पोखराको आकासमा सयर गराउँदै आएको छ ।

बेलुन नेपालका अध्यक्ष बिक्रम बाडेले पोखरामा साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रर्वद्धन गर्न महोत्सव आयोजना गरिएको बताए । बिहान र बेलुकीको समयमा एकैपटक धेरै बेलुनहरु उड्नेछन् ।

पोखरा पर्यटन परिषद् (पिटिसी) र बेलुन नेपाल प्रालिको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगिता फेवातालको सिरान क्षेत्रको पामेमा महोत्सव हुनेछ । हट एयर बेलुनमा एकपटकमा ८ जनासम्म पर्यटक उड्न सक्छन् । महोत्सव अवधिमा बिहान ६ देखि ९ बजे र बेलुकी ४ देखि ६ बजेसम्म बेलुन उडान हुनेछ ।

सरकार तीन बुँदे सहमतिबाट पछि हट्न खोजेको भन्दै विप्लवको आपत्ति

काठमाडौँ । सरकारले संसदमा दर्ता भएको केही नेपाल ऐन (संशोधन) विद्येयकको दफा ६४ फिर्ता लिने सरकारको निर्णयप्रति नेकपाले आपत्ति जनाएको छ । सोमबार विज्ञप्ति जारी गरी नेकपाका महासचिव विप्लव सीले नेपाल सरकारले पुस ७ गते ऐनको दफा ६४ फिर्ता लिन गरेको प्रस्तावप्रति गम्भीर आपत्ति जनाएका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकार आफैँले विगतमा गरेको निर्णय कार्यान्वयन गर्नुको सट्टा राजनीतिक सहमतिबाट राज्य आफैं पछि फर्किनु, छलछाम र षड्यन्त्रबाट गुग्रन खोजेको प्रष्ट भएको विप्लवको जिकिर छ । विज्ञप्तिमा विप्लवले पूर्वकानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राजनीतिक दलमाथि लागेका मुद्धा फिर्ता लिने निर्णय बदर गर्नेगरी वर्तमान कानूनमन्त्री अजयकुमार चौरसियाद्वारा विधेयक प्रस्ताव गर्नुलाई तीन बुँदे सहमतिबाट पछि हट्नु जनविरोधी कार्य भएको ठहर गर्दै राज्यको त्यसप्रकारको पश्चगमनबाट चिन्तित भएको बताएका छन् ।

विज्ञप्तिमा विप्लवले सरकारको धम्कीले जनताको न्यायपूर्ण आन्दोलन नरोकिन बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘न्यायपूर्ण आन्दोलनमा जोसुकैबाट आउने धम्की र विषयान्तर गर्ने प्रयन्तले रोक्न सकिन्न । जनतामाथि हुने दमन र षड्यन्त्रको विरुद्ध विद्रोहको अधिकार सुरक्षित रहन्छ ।’

साथै विप्लवले तीन बुँदे सहमति कार्यान्वयनका लागि सरकारलाई दबाब दिन सम्पूर्ण न्यायप्रेमी व्यक्तित्व, संस्था र राजनीतिक पार्टीहरुसँग अपील गरेका छन् ।

बचत अपचलनको अभियोगमा पोखराको संघर्षशील बचत तथा ऋण सहकारीका अध्यक्ष र सचिव पक्राउ

पोखरा । पोखराको संघर्षशील बचत तथा ऋण सहकारीका अध्यक्ष र सचिव पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारीका अध्यक्ष विक्रम पाण्डे र सचिव कमल सुवेदीलाई पक्राउ गरेको हो ।

सञ्चालक समितिका पदाधिकारीहरू समेतले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरी सहकारीको रकम हिनामिना एवं ठगी गरेको देखिएको भन्दै सहकारी ऐन, २०७४ बमोजिम अनुसन्धान गरी दिन सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराले प्रहरीलाई पत्र पठाएको थियो ।

अध्यक्ष पाण्डेलाई पोखरा १७ बिरौटाबाट र सचिव सुवेदीलाई सहकारीको कार्यालयबाट पक्राउ गरेको डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए । उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट सोमबार ७ दिनको म्याद लिएको छ ।

रवि हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक गर्ने निकोलस भुसाल रिहा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासतभित्र सुतिरहेको तस्बिर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका डा. निकोलस भुसाल रिहा भएका छन् ।

आइतबार साँझ काठमाडौंबाट पक्राउ परेका उनलाई सोमबार बिहानै पोखरा लगिएको थियो । उनलाई बाहिरै राखेर अनुसन्धान गर्नेगरी रिहा गरिएको प्रहरीले जनाएको छ ।

लामिछानेको स्वास्थ्य जाँचका लागि हिरासतमा गएका बेला तस्बिर खिचेको स्वीकार गरेका थिए । साथै यसमा आफ्नो गलत नियत नभएको प्रष्टीकरण पनि उनले दिएका थिए ।

हिरासत कक्षको तस्बिर त्यसरी सार्वजनिक हुनुमा सुरक्षा कमजोरी भएको भन्दै प्रहरीको आलोचना भएको थियो । त्यसपछि प्रहरीले भुसाललाई पक्राउ गरेको हो ।

रविको सांसद पद निलम्बन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद निलम्बन भएको छ । सोमबार साँझ संसद सचिवालयले सूचना टाँस गरी रविको सांसद पद स्वतः निलम्बन भएको जानकारी गराएको हो ।

आइतबार उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय कास्कीले संगठित अपराध, सम्पत्ति शुद्धीकरण र सहकारी ठगीको तीनवटा मुद्दा दायर गरेको थियो । त्यसबारे जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुख देवराज घिमिरेलाई आइतबार नै जानकारी गराएको थियो ।

डीपी अर्याललाई रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ । सोमबार बसेको पार्टी सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति अर्याललाई दिने निर्णय गरेको हो ।

सभापति रवि लामिछानेले पार्टीको कार्यवाहक सभापति अर्याललाई दिने पत्र पठाएको र उक्त प्रस्ताव पार्टीको सचिवालय बैठकले अनुमोदन गरेको रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

कास्की प्रहरीले सम्पत्ति शुद्धीकरण ऐनअनुसार पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन गर्न संसद सचिवालयमा पत्र पठाइसकेको छ । त्यसपछि रास्वपाले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो ।

थाइल्याण्ड र म्यानमार जाने नेपालीका लागि परराष्ट्रद्वारा ट्राभल एडभाइजरी जारी


काठमाडौं । सरकारले विभिन्न प्रलोभन देखाएर नेपाली युवाहरूलाई ठग्ने र अलपत्र पार्ने गरिएको भन्दै थाइल्याण्ड र म्यानमार नजान भन्दै नेपालीहरुका लागि ट्राभल एडभाइजरी जारी गरेको छ ।

परराष्ट्र मन्त्रालयले ट्राभल एडभाइजरी जारी गर्दै ती देशहरूमा जबरजस्ती अवैध काममा लगाइएको पाइएको जनाएको छ । थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधि क्षेत्रमा आकर्षक तलब र सुविधा दिने प्रलोभनहरु देखाई नेपालमा रहेका तथा वैदेशिक रोजगार र अध्ययनको सिलसिलामा युएई लगायतका मुलुकहरुमा रहेका नेपालीहरूलाई थाइल्याण्डको बैंकक र याङ्गुनको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराई विभिन्न माध्यमबाट म्यान्मारको कायिन प्रान्तको म्यावडी पुर्याएर जबरजस्ती अवैध काममा लगाएको विषय यसअघि पनि सार्वजनिक भएको थियो ।

तर त्यही प्रकृतिको गैरकानुनी कार्य भइरहेको पाइएको मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा पुर्याइ अलपत्र पार्ने एवं प्रचलित कानुन बमोजिम निषेध गरिएका कार्यहरुमा संलग्न हुने काम दण्डनीय भएकाले यस्ता गैरकानुनी कार्यहरु नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’

नेपालगञ्ज। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि र स्तरीय उपचारको व्यवस्था गरिने बताएका छन्।

भेरी अस्पताल, नेपालगञ्जमा आज स्थापना गरिएको अत्याधुनिक ‘अपरेसन थिएटर’को उद्घाटन गर्दै मन्त्री पौडेलले सिकलसेल र थालेसेमियाका बिरामीको उपचारमा सरकारले कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘यसका बिरामीका लागि सात प्रदेशका प्रादेशिक अस्पतालहरूमा छुट्टै वार्डको प्रबन्ध गरिनेछ।’

सिकलसेलका बिरामीका लागि भारत सरकारसँग औषधि माग गर्न पत्राचार भएको र अन्तिम चरणमा रहेको जानकारी दिँदै मन्त्री पौडेलले भारतले औषधि दिने सहमति जनाएपछि सबै प्रक्रिया पूरा गरिएको बताए उनले भने, ‘सिकलसेल रोगको उपचारका लागि वार्ड स्थापना गरिएका सबै अस्पतालमा सिकलसेलको औषधि पठाइनेछ, त्यहीँबाट बिरामीलाई आवश्यकताअनुसार वितरण गरिनेछ।’

मन्त्री पौडेलले सरकारले बिरामीको उपचारका लागि विभिन्न काम गरिरहने जनाउँदै रोग लाग्नै नदिन तथा रोगबाट जोगिन विभिन्न चेतनामूलक कार्यक्रमहरू पनि नियमित सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।

बीमालाई व्यवस्थित गर्ने काम पनि सरकारले गरिरहेको उल्लेख गर्दै मन्त्री पौडेलले बीमालाई योगदानमा आधारित बनाउन लागिएको बताए। सिकलसेलका बिरामीका लागि छुट्टै वार्ड स्थापना गरिएपछि अब बिरामीले बेड नपाउने समस्या समाधान भएको उनले उल्लेख गरे।

बर्दियाको बारबर्दियाका बिरामी दीपक थारूले अब औषधिलाई बिमाभित्र पार्नुपर्नेमा जोड दिए। सो अवसरमा सिकलसेल वार्डको निरीक्षण गर्दै मन्त्री पौडेलले बिरामीहरूसँग पनि उपचार र अन्य समस्याका बारेमा जानकारी लिए।

कार्यक्रममा भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदी, सिकलसेल एनिमियाको उपचारमा लामो समयदेखि संलग्न वरिष्ठ चिकित्सक डा राजन पाण्डे, सिकलसेल सोसाइटी नेपालका अध्यक्ष प्रभुराम थारू लगायतले सिकलेलको अवस्था, उपचार र समस्या समाधानको उपायबारे धारणा राखेका थिए।

भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाह, सदस्य डा डक्टप्रसाद धिताल र अस्पतालका प्रमुख नरसिं प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठले अस्पतालमा जनशक्ति थप्नुपर्ने तथा बीमाको रकम तत्काल पठाउन लगाउनुपर्नेमा मन्त्रीको ध्यानाकर्षण गराए। बाँके, बर्दियालगायत पश्चिम नेपालमा सिकलसेल एनिमियाका बिरामीहरू धेरै रहेका छन्।

‘सहकारीको ऋण तिर्दिन भन्नु अराजकता’

गलकोट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव तथा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले सहकारीको ऋण तिर्दिन भनेर सडकमा हुने आन्दोलन अराजकता भएको बताएका छन्।

सम्पत्ति खरिद गर्न र दुःखमा मलम लगाउन सहकारीबाट लगेको ऋण नतिर्दा सहकारीहरू समस्यामा पर्ने बताउँदै उनले ऋण तिर्दिन भन्न नपाइने बताए।

‘सहकारीबाट ऋण लैजाने, तिर्दिन भनेर सडकमा आन्दोलन गर्ने अराजकलाई सरकारले ठेगान लगाउन आवश्यक छ,’ नेता पौडेलले भने।

आज बागलुङ बजारमा सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ वार्षिक साधारणसभालाई उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका पौडेलले एउटा केही बदमासी गर्ने सहकारीका कारण समग्र सहकारीहरू बदनाम भएको बताए।

सहकारीका ऋणीहरूलाई ऋण तिर्ने कसिलो नीति सरकारले बनाउने उनको भनाइ छ।

मराङबेँसीमा कृषिबाट आत्मनिर्भर बन्ने अभियान

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङबेँसीका स्थानीय कृषिबाट आत्मनिर्भर बन्ने अभियानमा लागेका छन् । केही वर्षअघि सम्म अन्नबाली मात्र लगाउने यहाँका स्थानीय अहिले व्यावसायिक रूपमा तरकारी र फलफूल खेतीमा आकर्षित भएका हुन् । बेँसी जडीबुटी तथा कृषि समूह गठन गरेर हिउँदे र बर्खे ‘सिजन’मा व्यावसायिक रूपमा तरकारीखेती गर्न थालेका छन् ।

कृषि उपजको आयात घटाउनाका साथै उत्पादित कृषि उपज बिक्री गरेर आयआर्जन गर्न र आत्मनिर्भर बन्न व्यावसायिक तरकारीखेतीले सहयोग पुगेको स्थानीय कृषक अमर पुनले बताए। दुई वर्षदेखि टनेलमा गोलभेँडा खेती गरेका पुनले उत्पादन भएको कृषि उपज बिक्री गर्न समस्या नभएको बताए।

‘पहिले घरमा खानका लागि मात्र कृषि उपज उत्पादन गर्ने चलन थियो, गाउँमा सडकको पहुँच आएसँगै यहाँ उत्पादन भएको कृषि उपज सजिलै बजारसम्म पुग्ने अवस्था बनेपछि यहाँ धेरैले कृषिलाई पेसाकै रूपमा अघि बढाएका छन्, मैले पनि दुई वर्षदेखि कृषिबाट आफ्नो परिवारको घर खर्च जुटाउँदै आएको छु’, पुनले भने। यहाँका स्थानीयले गोलभेँडा, आलु, बन्दा, काउली, सागलगायत तरकारीखेती विस्तार गरेका छन् ।

छिमेकीगाउँ, मल्कबाङ, मलम्पार, बुल, राम्चेलगायत ठाउँका स्थानीयले यहाँ उत्पादन भएको कृषि उपज करेसाबारीबाटै खरिद गरेर लैजाने गरेका छन् । धेरै उत्पादन भएको कृषि उपज दरबाङ बजारसम्म निर्यात हुने गरेको छ । मराङबेँसीमा चारजनाले टनेलमा गोलभेँडा खेती गरेका छन् । पन्ध्र घरधुरी आलु, बन्दा, काउलीलगायत तरकारीखेतीमा आबद्ध भएका छन् । गाउँका स्थानीय कुनै न कुनै कृषि पेसामा लागेको स्थानीय भक्तबहादुर जुग्जालीले बताए।

“मैले टनेलमा सागखेती गरेको छु, चिसो हावापानीमा उत्पादन भएको साग स्वादिलो हुने भएकाले धेरैले मन पराउने गरेका छन्, गाउँमा उत्पादन भएको कृषि उपज बिक्री नहोला भन्ने पीर हुँदैन”, उनले भने। कृषिसँगै भैँसीपालनबाट समेत स्थानीय आत्मनिर्भरको बाटोमा लागेका छन् । हरेक घरमा तरकारीखेती र दुहुना भैँसीपालन गर्ने यहाँको विशेषता नै बनेको छ ।

गाउँमा यस वर्ष हिउँदे आलुखेतीले व्यावसायिकता पाएको छ । यहाँ करिब २० रोपनीमा हिउँदे आलुखेती गरिएको छ । बेँसीसँगै बुलमा समेत व्यावसायिक आलुखेती हुँदै आएको छ । यस वडाको घण्टीबाङमा खाद्यान्न बाली विस्तार र राम्चेमा लसुन तथा गोलभेँडा विस्तार अभियान चलाइएको छ ।

गाउँका स्थानीयलाई कृषिमा व्यावसायिक बनाउन वडा कार्यालयले समेत कृषि समूह गठन गरेर कृषकलाई बल, बीउ र औषधोपचारमा सघाउन थालेको धवलागिरि गाउँपालिका–६ मराङका वडाअध्यक्ष राजाराम उपाध्यायले जानकारी दिए । परम्परागत कृषिखेतीलाई व्यावसायिकता दिएपछि स्थानीयवासीको आयआर्जन सुधार हुन थालेको वडाअध्यक्ष उपाध्यायले बताए।

मराङमा व्यावसायिक तरकारीबालीसँगै फलफूलखेतीको समेत अभियान चलेको छ । विविध कारणले गाउँमा बसोबास गर्नेहरूको सङ्ख्या घट्दै जाँदा खेतीयोग्य जमिन बाझिने समस्या बढेपछि स्थानीयले नगदेबालीका रूपमा सुन्तलाखेतीलाई विस्तार गरेका छन् ।

गत आर्थिक वर्षमा मराङमा धवलागिरि गाउँपालिकाले दुई हजार दुई बोट सुन्तलाका बिरूवा अनुदानमा वितरण गरेको थियो । यहाँका टोलबस्तीहरू सुन्तला उत्पादनमा समेत पकेट क्षेत्रका रूपमा विकास भइरहेका छन् ।

रवि लामिछानेको सांसद पद निलम्बन नगर्न सभामुखलाई रास्वापाको आग्रह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेलाई प्रतिनिधिसभा सदस्यबाट निलम्बन नगर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएको छ ।

सोमबार रास्वपा सांसद सन्तोष परियार, सोभिता गौतम र गणेश पराजुली लगायतले सभामुखलाई भेटेर सभापति लामिछानेलाई पदबाट निलम्बन नगर्न ध्यानाकर्षण गराएका हुन् ।

सहकारी ठगीसहित तीन अभियोग लगाएर आइतबार रविविरुद्ध मुद्दा दायर भएपछि कास्की प्रहरीले यससम्बन्धी जानकारी संसद् सचिवालयलाई गराइसकेको छ भने निलम्बनबारे सभामुख पनि परामर्शमा छन् ।

गृह मन्त्रालय र केयूबीच आत्महत्या न्यूनीकरण गर्न समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं ।  गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयको मानसिक स्वास्थ्य विभागबीच मानसिक स्वास्थ्य अध्ययन–अनुसन्धानका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार गृह मन्त्रालयका विपद् महाशाखा प्रमुख डा. टोकराज पाण्डे र विश्वविद्यालयका मानसिक स्वास्थ्य विभाग प्रमुख डा. दिपक कुँवरले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

गृहमन्त्री रमेश लेखकले अब गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयको प्रयासमा आत्महत्याको घटानालाई नियन्त्रण र न्यूनीकरणमा काम हुने बताए । गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयको प्रयासमा एक वर्षमा आत्महत्याको घटना ठूलो संख्यामा घट्ने गृहमन्त्री लेखकले विश्वास व्यक्त गरे ।

‘आत्महत्याको विषय गम्भीर भएको छ । प्रत्येक दिनको रेकर्ड हेर्दा म आत्तिन्छु, डराउँछु । पछिल्लो २४ घण्टामा मात्र ३७ जनाले आत्महत्या प्रयास गरेका छन् । जसमध्ये ११ जनाको मुत्यु भएको छ । बचेका २६ जनाले जुन सुकै बेला पनि आत्महत्या गर्ने खतरा हुन्छ,’ उनले भने । आत्महत्याको कारण, कारक र निदानको उपायको खोजीका लागि काठमाडौं विश्वविद्यालयले अध्ययन र अनुसन्धान गर्ने उनको भनाइ छ ।

‘नेपाल प्रहरीले पनि आत्महत्या न्यूनीकरण कार्ययोजना २०८१ जारी गरेको छ । आत्महत्या न्यूनीकरण गर्ने कुरामा हामीले काम राखेकै छौँ । तर, यत्तिले पुगेन । थप अगाडि बढ्नुपर्‍यो । त्यसका लागि काठमाडौं विश्वविद्यालयसँग मिलेर काम गर्दा उपलब्धि प्राप्त गर्छौं,’ मन्त्री लेखकले भने ।

आत्महत्या गर्ने सम्भावना भएका मानिस र आत्महत्या प्रयास गरेका मान्छेको पहिचान गरेर प्रहरीले मानसिक स्वास्थ्य विभागलाई जानकारी गराउने समझदारीपत्रमा उल्लेख छ । गृहमन्त्री लेखकका अनुसार मानसिक स्वास्थ्य विभागले टेलिमेडिसिनमार्फत त्यस्ता मान्छेलाई मनोपरामर्श दिने छ । आत्महत्या नियन्त्रण र न्यनीकरणसम्बन्धी मानसिक स्वास्थ्य विभागले नेपाल प्रहरीलाई पनि आधारभूत तालिम दिने गृहमन्त्री लेखकले बताए ।

यस्तै, मानसिक स्वास्थ्य विभागका प्रमुख कुँवरले गृह मन्त्रालयसँग भएको सम्झौताले आत्महत्या न्यूनीकरणका लागि काठमाडौं बाहिर पनि काम गर्ने अवस्था बनेको बताए । ‘टेलिमेडिसियनमार्फत दुरदराजसम्म पनि पुग्न सकिन्छ । गृह मन्त्रालयसँग मिलेर काम गर्दा राम्रो परिणाम दिन सकिन्छ,’ उनले भने ।

शेयर बजारमा उच्च अंकको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८ दशमलव ९१ अङ्क अर्थात् एक दशमलव ११ प्रतिशतले बढेर दुई हजार छसय १२ दशमलव २० विन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार सोमबार विभिन्न तीन सय २८ कम्पनीका ८९ लाख आठ हजार आठ सय ५१ कित्ता शेयर ५५ हजार नौसय ३८ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ४३ करोड २४ हजार छसय तीनमा कारोबार भएको छ ।

आजको कारोबारपछि सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको नौ दशमलव ९९ प्रतिशत, बलेफी हाइड्रोपावर लिमिटेडको नौ दशमलव ९३ प्रतिशत र नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको शेयर मूल्य आठ दशमलव ८६ प्रतिशतले बढेको छ ।

त्यसैगरी मानुसी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लाग्दा कूल ४२ वटाकम्पनीको शेयर मूल्यमा रातो देखिएको छ ।

नेप्सेका अनुसार आज कर्पोरेट डेभलपमेन्ट बैंकको तीन दशमलव १६ प्रतिशत, पिपुल्स पावर लिमिटेडको दुई दशमलव ३१ प्रतिशत, ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को एक दशमलव ९० प्रतिशत र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य एक दशमलव ८६ प्रतिशतले ओरालो लागेको छ ।

माओवादीले माग्यो लेखा समितिका सभापति पोखरेलको राजीनामा

काठमाडौँ । नेकपा माओवादी केन्द्रले लेखा समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेको छ । सोमबार बसेको लेखा समिति सभापतिको बैठकमा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सभापति पोखरेलको राजीनामा मागेका हुन् ।

सहकारीमा परिवार जोडिएको र लेखा समितिको सभापति प्रमुख प्रतिपक्षीले पाउनु पर्ने भन्दै मोदीले उनको राजीनामा माग गरेका हुन् ।

सांसद मोदीले भने, ‘तपाईंमाथि सहकारीको विषय परिवारमा जोडिएको छ । प्रश्न उठेपछि यसको बारेमा तपाईंले जवाफ दिनुपर्छ । तपाईंले मार्ग प्रशस्त गरिदिए राम्रो हुन्छ ।’

उनले सार्वजनिक लेखा समितिलाई सरकारको छायाँ बनाइएको पनि आरोप लगाए । सभापति पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध मोरङको धनपालथान गाउँपालिका–३ स्थित उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा मुद्दा दायर गरिएको छ ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर –१२ का अध्यक्ष पक्राउ, सहकारी ठगीको आरोप

काठमाडौं । प्रहरीले काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जनलाई पक्राउ गरेको छ । प्रहरीले सहकारी ठगीको आरोपमा महर्जनलाई सोमबार पक्राउ गरेको हो । उनीमाथि हरियाली बचत तथा ऋण सहकारीको बचत रकम अपचलनको आरोप छ।

दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिद्वारा सोधपुछका लागि गरिएको पत्र बुझ्न अस्वीकार

सियोल । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलले सोधपुछका लागि गरिएको परिपत्रलाई दोस्रो पटक अस्वीकार गर्दै अनुसन्धान प्रक्रियामा सहभागी नभएको अनुसन्धान टोलीले सोमबार जनाएको छ ।

योलले ११ दिनअघि दक्षिण कोरियामा सैनिक कानुन (मार्शल ल) को घोषणा गरेका थिए । यद्यपि, उनले विपक्षी डेमोक्र्याटिक पार्टी र दक्षिण कोरियाली नागरिकको व्यापक विरोधका कारण उक्त कदमलाई केही घण्टामा नै फिर्ता लिन बाध्य भएका थिए ।

यसै घटनालाई लिएर गत डिसेम्बर १४ मा दक्षिण कोरियाली संसद्ले उहाँलाई महाभियोग लगाउँदै पदबाट हटाएको थियो ।

दक्षिण कोरियाका विश्वभरका प्रजातान्त्रिक मित्रराष्ट्रहरूलाई स्तब्ध पार्ने नाटकका कारण युनमाथि महाभियोग र विद्रोहको फौजदारी अभियोग लागेको छ । यो अभियोगका कारण उनलाई आजीवन जेल सजाय वा मृत्युदण्डको सजाय समेत हुन सक्छ।

युनको अल्पकालीन सैनिक शासन घोषणाको अनुसन्धान गरिरहेको भ्रष्टाचार विरोधी निकायले उहाँको कार्यालय र निवासमा पत्राचार गर्दै अनुसन्धानका लागि उपस्थित हुन दुई पटकसम्म परिपत्र गरेको जनाएको छ । “हुलाक प्रणालीले राष्ट्रपति कार्यालयले उपस्थितिका लागि गरिएको परिपत्र बुझ्न ‘अस्वीकार’ गरेको देखाउँछ,” अनुसन्धानकर्ताहरूले एक विज्ञप्ति जारी गरी बताएका छन् ।

इलेक्ट्रोनिक रूपमा पठाइएको परिपत्रलाई ‘वेवास्था’ गरिएको हुलाक प्रणालीले देखाएको छ ।

इमेलमार्फत् पाठाइएको परिपत्रमा अनुसन्धानकर्ताहरूले ६४ वर्षीय प्रवै नेतालाई क्रिसमसको दिन बिहान १० बजे बयानका लागि लागि उपस्थित हुन आग्रह गरी पत्राचार गरेका थिए ।

स्थानीय सञ्चार माध्यमका अनुसार ट्राफिक र भीडभाड कम हुने भएकाले युनलाई वयानका लागि बोलाइएकोे हो ।

यदि युन परिपत्र अनुसार हाजिर भई अनुसन्धान प्रक्रियामा सहयोग गरेमा उनी अनुसन्धान एजेन्सीले गरेको सोधपुछको सामना गर्ने दक्षिण कोरियाका पहिलो बहालवाला राष्ट्रपति हुनेछन् । उनी गत बुधबार को प्रारम्भिक सुनवाईमा उपस्थित भएनन् र आफ्नो अनुपस्थितिको लागि कुनै स्पष्टीकरण पनि दिएका छ्रैनन् ।

यदि युन आगामी बुधबार पनि उपस्थित नभएमा भ्रष्टाचार अनुसन्धान कार्यालयले उनलाई उपस्थित हुन बाध्य पार्न पक्राउ पुर्जी जारी गर्न सक्नेछ ।

युन लाई संसद्मा महाभियोगको प्रस्ताव पारित गरेपछि निलम्बित गरिएको छ तर संवैधानिक अदालतले उनको महाभियोगलाई सदर गर्ने वा नगर्ने भन्नेबारे छानविन गरिरहेको छ ।

अदालतलाई फैसला सुनाउन करिब छ महिनाको समय दिइएको छ । अदालतले उनलाई पदबाट हटाउने निर्णय गरेमा निर्णय गरेको दुई महिनाभित्र उपनिर्वाचन गरिसक्नुपर्ने छ ।

रूस र युक्रेनबीचको युद्धमा उत्तर कोरियाका एक हजार १०० सैनिकको मृत्यु

सियोल ।  रूस र युक्रेनबीचको युद्धमा एक हजारभन्दा बढी उत्तर कोरियाली सैनिक हताहत (मृत्यु वा घाइते) भएको दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले दाबी गरेको छ ।

सियोलको जासुसी निकायले गत हप्ता सांसदहरूलाई बुझाएको एक रिपोर्टअनुसार डिसेम्बरमा युद्धमा प्रवेश गरेयता कम्तीमा ११०० उत्तर कोरियाली सैनिक मारिएको बताइएको छ ।

प्योङयाङले रूसी सेनालाई सहयोग गर्न हजारौँ कोरियाली सैनिक पठाएको छ । तीमध्ये अधिकांश सैनिक युक्रेनी सेनाले यसै वर्षको सुरुमा क्षेत्र कब्जा गरेको कुर्स्क सीमा क्षेत्रमा रहेका विश्वास गरिएको छ ।

जेसीएसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सूचना र गुप्तचरका विभिन्न स्रोतहरूमार्फत हामीले हालै युक्रेनी सेनासँगको लडाइँमा संलग्न करिब एक हजार १०० उत्तर कोरियाली सैनिक जना हताहत भएको आकलन गरेका छौँ ।

जेसीएसले भनेको छ, “रूसको युद्ध प्रयासमा सहयोग पुर्याउन उत्तर कोरियाली सैनिकको थप तैनाथीको सम्भावनामा हामी विशेष चासो राख्छौं ।”

जेसीएसका अनुसार प्योङयाङले ‘चक्रानुक्रममा पुरानालाई फिर्ता बोलाई नयाँ सैनिक वा थप सैनिक तैनाथ’ गर्ने तयारी गरिरहेको छ ।

आणविक शक्ति सम्पन्न उत्तर कोरियाले युक्रेनविरुद्धको लडाइँमा मस्कोलाई थप सहयोग पुर्‍याउन ‘ड्रोन उत्पादन र उपलब्ध गराइरहेको’ दक्षिण कोरियाली गुप्तचर निकायले जनाएको छ ।

उत्तर कोरियाले रुसी सेनाका लागि ’२४० एमएम रकेट लञ्चर र १७० एमएम स्वचालित तोप’ पनि उपलब्ध गराइरहेको जेसीएसले जनाएको छ ।

उत्तर कोरियाले रुस–युक्रेन युद्धको अनुभवका आधारमा आफ्नो परम्परागत युद्ध क्षमतालाई आधुनिकीकरण गर्ने लक्ष्य राखेको सियोलले जनाएको छ । “यसले उत्तर कोरियाको सैन्य खतरा हामीप्रति बढ्न सक्छ,” विज्ञप्तिमा भनिएको छ।

पछिल्लो निष्कर्ष राष्ट्रिय गुप्तचर सेवाको एक रिपोर्टसँग मिल्दोजुल्दो छ । दक्षिण कोरियाली सांसदहरूलाई जानकारी गराइएको रिपोर्टमा उत्तर कोरियाको सैन्य योगदानको लागि रूसले प्योङयाङको परम्परागत हतियारको आधुनिकीकरण’ मा सघाउने सहमति भएको उल्लेख छ ।

सन् २०२२ को फेब्रुअरीमा मस्कोले युक्रेनमा आक्रमण गरेपछि उत्तर कोरिया र रूसबीच सैन्य सम्बन्ध बलियो बनेको छ । प्योङयाङ र मस्कोबीच गत जुनमा हस्ताक्षर भएको ऐतिहासिक रक्षा सम्झौता यही डिसेम्बरदेखि लागू भएको छ ।

विज्ञहरुका अनुसार उत्तर कोरियाली नेता किम जोङ उन रुसबाट अत्याधुनिक प्रविधि र आफ्ना सैनिकका लागि युद्धको अनुभव हासिल गर्न इच्छुक छन् ।

प्योङयाङले गत बिहीबार संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूले युक्रेनमा रूसको युद्धमा उत्तर कोरियाको समर्थनको आलोचना गर्दै संयुक्त वक्तव्य जारी गरेकोमा अमेरिका र उसका सहयोगीहरूका आलोचना गरेको छ । प्योङयाङले वक्तब्यलाई ‘लापरबाहीपूर्ण उक्साहट’ को संज्ञा दिएको छ । 

काठमाडौं महानगरपालिकाद्वारा १२ महिनामा १२ रोगको सचेतना अभियान सुरु

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले १२ महिनामा १२ प्रकारका रोगको सचेतना अभियान सञ्चालन गरेको छ। महानगरले निरोधात्मक स्वास्थ्य सेवाको प्रवद्र्धनको उद्देश्यसहित वार्षिक क्यालेन्डर प्रकाशित गरी महानगरभित्र १२ महिनामा १२ किसिमका नसर्ने रोगको सचेतना अभियान सञ्चालन गरेको हो।

महानगरका स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले हरेक महिनालाई स्वास्थ्यको विशेष महिनाका रुपमा सचेतना अभियान सञ्चालन गरिएको जानकारी दिए। उनले सङ्घीय सरकारबाट मात्र नभई स्थानीय तहबाट पनि स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्नका लागि अभियान सञ्चालन गरिएको बताइन्।

महानगरले मङ्सिरमा मात्रै उच्चरक्तचाप, मधुमेह र मिर्गौलासम्बन्धी स्वास्थ्य परीक्षण गरेको छ। महागरका मेडिकल अधिकृत डा दिवस न्यौपानेका अनुसार महागरका सबै वडामा रहेका सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट करिब ३० हजार जनाको उच्चरक्तचाप, मधुमेह र मिर्गौला परीक्षण गरिएको छ।

महागरले पुस महिनालाई श्वासप्रश्वाससम्बन्धी रोग र सुर्तीजन्य पदार्थविरुद्धको सचेतना महिना, माघलाई मादक पदार्थ तथा सडक दुर्घटना सचेतना महिना, फागुनलाई क्यान्सर तथा प्रजनन स्वास्थ्य सचेतना महिना, चैतलाई मानसिक स्वास्थ्य सचेतना महिनाका रुपमा अभियान सञ्चालन गर्दैछ।

यस्तै, वैशाखमा आँखा, जेठ मुख तथा नाक, कान र घाँटी, असारमा ज्येष्ठ नागरिक तथा अपाङ्गता सहायता सचेतना महिना, साउनमा नवजात र बालबालिका स्वास्थ्य पोषण तथा स्तनपान सचेतना महिनाका रुपमा अभियान सञ्चालन गर्न थालेको हो। भदौमा उच्चरक्तचाप र असोजमा मधुमेहलाई समेटेर मङ्सिरमा मिर्गौलासहितको सचेतना अभियान सञ्चालन गरिएको छ । कात्तिक महिनामा स्वस्थकर खानपान तथा आरोग्य जीवन सचेतना अभियान सञ्चालन गरिएको थियो।

मेडिकल अधिकृत डा न्यौपानेले यस वर्षदेखि सुरु गरिएको अभियान दसैँ, तिहार र उपनिर्वाचनका कारणले समयमा नै सञ्चालन गर्न नसकिएको बताए। उनले अबदेखि हरेक वर्ष सचेतना अभियानलाई महाअभियानका रुपमा सञ्चालन गर्ने उल्लेख गरे।

पोर्चुगलमा घुम्ती सेवाबाट तीन हजारभन्दा बढीले लिए सेवा

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा सञ्चालित घुम्ती सेवा शिविरबाट तीन हजारभन्दा बढी नेपालीले सेवा लिएका छन् । फ्रान्सस्थित नेपाली दूतावासको टोलीले राजधानी लिस्बनमा सञ्चालन गरेको घुम्ती सेवाबाट झण्डै तीन हजार तीन सय नेपालीले राहदानीलगायतका कागजात प्रमाणीकरणलसम्बन्धी (कन्सुलर) सेवा लिएको जनाइएको छ ।

घुम्ती सेवाबाट दुई हजार चार सय ५१ वटा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण गरिएको टोलीले जनाएको छ । शिविरबाट छ सय ७८ वटा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट), दुई सय २९ वटा अन्य कागजात प्रमाणीकरण र राहदानी वितरण गरी झण्डै ३३ सय सेवाग्राहीलाई सेवा प्रदान गरिएको फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले जानकारी दिए ।

शिविरबाट ७७ हजार तीन सय ९० युरो अर्थात् रु एक करोड नौ लाख ११ हजार नौ सय राजस्व सङ्कलन भएको राजदूत भट्टराईले बताए । राहदानीको पर्खाइमा रहेका र प्रहरी रिपोर्टलगायतका कागजात प्रमाणीकरणको समस्यामा परेका पोर्चुगलवासी नेपालीको सहजताका लागि घुम्ती शिविरमार्फत सेवा प्रदान गरिएको उनले बताए ।

“दूतावासको साधन र स्रोतले भ्याएसम्म पोर्चुगलवासी नेपालीलाई विशेष प्राथमिकता दिएर सेवा दिन प्रयत्नशील छौँ”, राजदूत भट्टराईले भने, “यस वर्ष २०२४ मा मात्रै पोर्चुगलमा चारपटक घुम्ती शिविर सञ्चालन गर्यौ । पेरिसबाटै पनि छिटोछरितो सेवा दिन लागिपरेका छौँ ।” आगामी दिनमा पनि आवश्यकताअनुसार पोर्चुगलमा टोली खटाएर सेवा प्रवाह गरिने उनले बताए ।

दस दिनसम्म सञ्चालन भएको शिविरबाट राहदानी वितरण र कागजात प्रमाणीकरणसम्बन्धी (कन्सुलर) सेवा प्रवाह गरिएको थियोे । घुम्ती सेवामा दूतावासकी नियोग उपप्रमुख सीता बस्नेत, तृतीय सचिव दिपेन्द्रप्रसाद साह र दूतावासका स्थानीय कर्मचारी खटिएका थिए । टोलीले डिसेम्बर १२ देखि २१ तारिखसम्म लिस्बनबाट कन्सुलर सेवा प्रदान गरेको थियो ।

घुम्ती सेवालाई यहाँ क्रियाशील नेपाली सङ्घ संस्थाले समन्वय र सहजीकरण गरेका थिए । घुम्ती शिविरमार्फत लिस्बनबाटै सेवा पाउँदा राहदानीको पर्खाइमा रहेका र प्रहरी रिपोर्टलगायतका कागजात प्रमाणीकरणको समस्यामा परेका नेपालीलाई राहत मिलेको छ ।

बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा हुने

धरान । अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५औँ संस्करण आगामी माघमा हुनेभएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा आगामी माघ १९ गतेदेखि २६ गतेसम्म प्रतियागिता आयोजना हुने धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए ।

धरान उपमहानगरपालिका–१६ रङ्गशालामा हुने प्रतियोगितामा १० वटा क्लबको सहभागी रहनेछ । प्रतियोगितामा एनआरटी क्लब काठमाडाँै, लिग च्याम्पियन चर्च ब्वाइज क्लब, नेपाल पुलिस क्लब, भुटान फुटबल एकाडेमी, त्रिभुवन आर्मी क्लब, इटहरी जागृती क्लब, युके एफसि भारत, मच्छिन्द्र क्लब काठमाडौँ, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, र धरान फुटबल क्लब रहने जनाइएको छ ।

प्रतियोगिताको विजेताले ट्रफीसहित १० लाख र उपविजेताले नगद पाँच लाख पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडीले नगद रु एक लाख र प्रत्येक खेलको प्लेयर अप दि म्याच हुनेले १५ हजार सर्वाधिक गोलकर्ताले ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफन्स, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही रु २५ हजार पुरस्कार पाउने उनले बताए ।

प्रतियोगिता ८० लाख १० हजार खर्च हुने अनुमान गरिएको छ भने एक करोड दुई लाख २५ हजार आम्दानी हुने लक्ष्य राखिएको क्लबका महासचिव नवीन राईले बताए । प्रतियोगितामा उपविजेताले पाउने पाँच लाख धरान उपमहानगरपालिका–१५ निवासी हाल पोर्चुगलमा रहेका अरुण राईले प्रदान गर्ने अध्यक्ष तामाङले बताए ।

प्रतियोगिताको गत वर्षको संस्करणमा एनआरटी क्लब काठमाडौं विजेता र जिल्ला फुटबल सङ्घ मोरङ उपविजेता भएका थिए ।

भक्तपुरमा बाबुछोरा मृत फेला

काठमाडौं । भक्तपुरको बालकोटमा बाबुछोरा मृत भेटिएका छन् । खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा नवीन मृत भेटिएका जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी माधव बुढाथोकीले जानकारी दिएका छन् ।

दुई फरक कोठामा बाबुछोराको शव भेटिएको छ । प्रहरीका अनुसार आइतबार राति तीन बाबुछोरा खाना खाएर सुतेका थिए । सोमबार बिहान भने दुईवटा ढोकामा बाहिरबाट ताला लगाएको अवस्थामा बाबुछोराको शव भेटिएको हो ।

उनीहरूसँगै रहेका कुलप्रसादका जेठा छोरा मिलन भने अहिले फरार रहेका छन् । प्रहरीले उनको खोजी सुरु गरेको जनाएको छ ।

आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन सुझाव

काठमाडौं । चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा भर्ना हुने आवासीय चिकित्सकको निर्वाह भत्ता सम्बन्धमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गठन गरेको कार्यदलले सुझावसहितको प्रतिवेदन हस्तान्तरण गरेको छ ।

आइतबार साँझ प्रतिवेदन बुझाएको अतिरिक्त सचिव टंक बराकोटी नेतृत्वको कार्यदलले नयाँ शैक्षिक सत्रमा निजी मेडिकल कलेजमा भर्ना हुने आवासीय चिकित्सकलाई सरकारी शिक्षण संस्थाका कार्यक्रममा भर्ना भएका विद्यार्थीलाई उपलब्ध गराइए सरह निर्वाह भत्ता उपलब्ध गराउन मनासिव हुने रायसहितको प्रतिवेदन दिएको छ ।

मन्त्री पौडेलले निर्वाह भत्तामा आवासीय चिकित्सकको असन्तुष्टि समाधान गर्न सुझाव दिन कार्यदल गठन गरेका थिए ।

मन्त्रालय तथा चिकित्सा क्षेत्रका उच्च अधिकारी संलग्न कार्यदलले दिएको प्रतिवेदनमा निजी मेडिकल कलेजमा अध्ययन गर्ने चिकित्सकको निर्वाह भत्ताको विषय कार्यान्वयनका लागि कार्ययोजना तयार गरी अविलम्ब लागु गर्न मनासिव हुने पनि राय दिएको छ ।

२०८२ वैशाख १ गतेदेखि प्रारम्भ हुने भएकोले क्यालेण्डरको परिपालना हुने गरी २०८१ मंसिर ९ गते बसेको चिकित्सा शिक्षा आयोगको पन्ध्रौ बैठकमा छलफल भएका आधारमा चिकित्सा शिक्षाको स्नातकोत्तर तहका कार्यक्रम सञ्चालनका लागि सेल्फ अप्राइजल फाराम भरेका निजी लगानीमा सञ्चालित शिक्षण संस्था लगायतका सबै शिक्षण संस्थाहरूको स्थलगत अनुगमन, सिट निर्धारण तथा विद्यार्थी भर्नाको समग्र प्रक्रिया अविलम्ब सुचारू गर्न मनासिव हुने प्रतिवेदन पनि कार्यदलले दिएको छ ।

चिकित्सा शिक्षाका विभिन्न तह र विधाका शैक्षिक कार्यक्रममा लिइने शुल्कका सम्बन्धमा आयोगबाट कार्यविधि तर्जुमा भइनसकेको अवस्थामा शुल्क निर्धारण सम्बन्धी कार्यविधिको मस्यौदा तयार गर्न शुल्क निर्धारणको आधारहरू सिफारिस गर्ने समेतको कार्यदिश तोकी चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको संयोजकत्वमा कार्यदल गठन भएको छ ।

कार्यदलले आवासीय चिकित्सकको निर्वाह भत्तासम्बन्धी विषय शुल्कसँग समेत अन्तरसम्बन्धित भएकाले चिकित्सा शिक्षा आयोगद्वारा गठित कार्यदललाई नै शुल्क निर्धारण सम्बन्धी कार्यविधि यथाशीघ्र तयार गरी कार्यान्वयन गर्न पनि सुझाव दिएको छ ।

कार्यदलले चिकित्सा शिक्षाको गुणस्तर तथा पहुँच अभिवृद्धि, एकीकृत प्रवेश परीक्षाको सुदृढीकरण, छात्रवृत्तिको व्यवस्था, विद्यार्थीको थप सेवा सुविधा, कार्यअवधि र सहुलियत, विदेशी विद्यार्थीहरूको सिट निर्धारण तथा विद्यमान कानून समयसापेक्ष बनाउन राय सुझावसहितको प्रतिवेदन पेश गर्ने प्रयोजनका लागि एक उच्चस्तरीय कार्यदल गठन गर्नसमेत सुझाव दिएको छ ।

प्रतिवेदन ग्रहण गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले कार्यदलको सुझाव कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका छन् ।