`

रविको सांसद पद निलम्बनमा राज्यका संयन्त्रको अवाञ्छित दुरूपयोगको संकेत देखिन्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध गत आइतबार सहकारी ठगी, सम्पती शुद्धीकरण र संगठित अपराधमा जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ । मुद्दा दर्ता भएपछि प्रहरीले संसद सचिवालयलाई निलम्बन गर्न पत्राचार गर्यो । प्रहरीको पत्र पठाएपछि सभामुख देवराज घिमिरेले लामिछानेलाई सांसद पदबाट निलम्बन गरेका छन् । संसद सचिवालयले जारी गरेको सूचनामा भनिएको छ, ‘सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ मा ‘प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐन बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ’ भन्ने व्यवस्था रहेकाले सो कानूनी व्यवस्थाको प्रयोजनका लागि यो सूचना प्रकाशित गरिएको छ।’ अब मुद्दाको किनारा नलागेसम्म उनले सांसदका रूपमा कुनै कामकाज गर्न पाउनेछैनन् भने सेवासुविधा पनि पाउनेछैनन्।

निलम्बनको सूचना टाँसेको सोमबार साँझ हो । त्यसअघि दिउँसो रास्वपाका सांसदहरुले सभामुखलाई भेटेर लामिछानेलाई निलम्बन नगर्न ध्यानाकर्षण गराएका थिए । तर रास्वपाका सांसदहरुको आग्रहको कुनै गुञ्जायस रहेन । साँझ संसद सचिवालयले निलम्बनको सूचना टाँस्यो । उनी विरुद्ध मुद्दा दर्ता भएसँगै रास्वपाले पनि कार्यवाहक सभापति तोकेको छ । रास्वपाले उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो ।लामिछानेलाई निलम्बन गरेपछि यतिबेला यसविषयमा पक्ष र विपक्षमा बहस सुरु भएको छ । सत्ता पक्षले निलम्बन सही भएको बताएका छन् भने केहीले निलम्बन सत्ताको दुरुपयोगको रुपमा व्याख्या गरेका छन् ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वको सरकारमा श्रम तथा रोजगार राज्यमन्त्री भएका कांग्रेस सांसद टेकबहादुर गुरुङले काठमाडौँ फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको विशेष अदालतले ठहर गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुरुङको पद निलम्बन गर्न संसद् सचिवालयलाई पत्राचार गरेको थियो । त्यसपछि गतवर्ष पुस १२ गते संसद सचिवालयले गुरुङलाई निलम्बन गरेको थियो । त्यसविरुद्ध गुरुङ निलम्बन फुकुवा गर्न माग गर्दै सर्वोच्च गए । गत चैतमा सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले गुरुङको निलम्बन फुकुवा गर्यो । त्यसपछि मात्र उनले संसदमा प्रवेश पाए ।

गुरुङको तर विशेष अदालतबाट एउटा फैसला आइसकेको विषय हो । तर रविको त भर्खर मुद्दा दर्ता मात्र भएको हो । उनीविरुद्धको मुद्दामा थुनछेक बहस चलिरहेको छ ।

यस्तो अवस्थामा निलम्बन गर्नु गलत भएको बताउँछन् राजनीतिक विश्लेषक डा. सूर्यराज आचार्य । उनको टिप्पणी छ, ‘रवि लामिछानेका गल्ती/कमजोरी छन् नै । उहाँको मुद्दा र संसद पदको निलम्बन बारे कानुनविद्हरूबीच बिमर्श होला नै । तथापी नागरिकको सामान्य नजरबाट हेर्दा नै उहाँका माथिको मुद्दा तथा निलम्बनमा पूर्वाग्रह र राज्यका संयन्त्रको अवाञ्छित दुरूपयोगको संकेत देखिन्छ । कानुनको शासनका लागि यो राम्रो हैन !’

संविधानविद डा. भीमार्जुन आचार्य भने निलम्बन कानुनको आवरणमा गरिएको अत्याचार भएको बताउँछन् । उनको भनाई छ, ‘सभामुखले रवि लामिछानेको सांसद पद निलम्बन गर्नु कानून सम्मत छैन, आपत्तिजनक छ । मुद्दा दर्ता भयो र थुनछेकको आदेश आउन बाँकी छ, थुनामा पठाउने कि नपठाउने । दुनियाँमा सबभन्दा ठूलो अत्याचार भनेको कानुनको आवरणमा गर्ने अत्याचार हुन्छ । फौजदारी मुद्दा दर्ता भएर पनि कतिपय सांसद बाहिर नै हुनुहुन्छ ।’

दलित प्राथमिक विद्यालयका विद्यार्थी बोरा बिछ्याएर पढ्न बाध्य

चन्द्रपुर (रौतहट) । फतुवा विजयपुर नगरपालिका–१ शीतलपुरस्थित दलित प्राथमिक विद्यालयका विद्यार्थी विगत १७ वर्षदेखि बोरामा बसेर अध्ययन गरिरहेका छन् । बकैया नदीको ‘ड्याम’मा स्थानीय समाजसेवी गणेश महराले दान गरेको १० धुर जग्गामा २०६४ सालमा दलित प्राथमिक विद्यालय स्थापना भएको हो ।

विद्यालयमा कुनै किसिमको फर्निचर तथा भवन नभएकै कारण अध्ययन गर्ने बालबालिका भुइँमा बोरा ओछ्याएर पढ्दै आएका छन् । भवनको नाममा दुईवटा स–साना छाप्रो छन् । अहिले पनि सो विद्यालयमा अध्ययन गर्ने बालबालिका भुइँमा नै बसेर अध्ययन गरिरहेका छन् । सो विद्यालयका कक्षा ३ मा अध्ययनरत रबिताकुमारी मुखियाले पढ्ने वातावरण नै नभएको बताएकी छन् । विद्यालयका समस्याप्रति स्थानीय सरकार उदासीन भएका उनको गुनासो छ । स्कुलमा डेस्क, बेञ्च, भवन, शौचालय केही पनि नभएको उनले गुनासो गरे ।

अर्का विद्यार्थी सुवोधकुमार पटेलले पनि फर्निचर अभावमा पढ्न कठिनाइ भएको बताए । अहिले फर्निचर र भवनमात्र भए पनि पढ्न सहज हुने पटेलले बताए । बाल विकास कक्षामा अध्ययन गर्न बालबाललिकाले बोरा लिएर जाने गरेका छन् । घरबाट बोरा नल्याउनेले चिसो भुइँमा बस्नुपर्ने बाध्यता रहेको निमित्त प्रधानाध्यापक हीरालालप्रसाद यादवले बताए ।

हाल उक्त विद्यालयमा चारजना बाल विकास शिक्षिका, दुई सङ्घीयअनुदानका शिक्षक र एक कार्यालय सहयोगी कार्यरत छन् । स्थापना भएको १७ वर्षमा सो विद्यालयमा हालसम्म एक जना पनि स्थायी शिक्षक छैनन् विद्यालयमा अध्ययन र अध्यापन गराउन एकदमै असहज भएको प्रधानाध्यापक यादवले बताए ।

विद्यालय स्थानीय तह मातहत आएको आठ वर्ष बितिसक्दा पनि विद्यालयको अवस्थामा परिर्वतन नहुनु राजनीतिक मतभेद भएको उनको बुझाई छ । सोही विद्यालय स्थानन्तरणका लागि २०७४ सालमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित फतुवा विजयपुर नगरपालिका–१ का तत्कालीन वडाध्यक्ष सञ्जय साहले चार कठ्ठा जमिन खरिद गरेर पाँचकोठे भवन बनाएका थिए ।

तर उक्त जमिन रौतहट क्षेत्र नं ३ का सांसद प्रभु साहको तराई मधेश समृिद्ध प्रतिष्ठानका नाममा खरिद गरेका कारण विद्यालय सार्न नसकिएको प्रधानाध्यापक यादवले जानकारी दिए । विद्यालयका नाममा बजेट लिएर जमिन र भवन विद्यालयको नाममा नगर्दा विद्यार्थीले सास्ती खेप्नुपरेको प्रधानाध्यापक यादवले बताए । विसं २०७९ मा निर्वाचित नगरप्रमुख निलम्बनमा परेको र हालका कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले विद्यालयको अवस्थाबारे चासो नदिएको उनले गुनासो गरे ।

सामान्य वर्षा र प्रचण्ड गर्मीमा पनि विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापक यादवले बताए । मधेश प्रदेश सरकारका अर्थमन्त्री जितेन्द्र यादव सोही नगरका भए पनि विद्यालयको समस्या समाधान नभएकामा ऊनी खिन्न हुन्छन् ।

साउनदेखि खाजा खुवाउन सकेको छैन

पकाउने र भाँडा राख्ने ठाउँको अभाव देखाउँदै विद्यालयले गत साउनदेखि त्यस विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खाजा खुवाउन नसकेको प्रधानाध्यपक यादवले जानकारी दिएका थिए । बाढीले हाजिर रजिष्ट्रर बगाएको स्मरण गर्दै प्रअ यादवले भौतिक पूर्वाधार अभाव झेल्नुपरेको गुनासो गरे । विद्यालयमा एक सय ७५ विद्यार्थी छन् । यो विद्यालयमा ६० प्रतिशत छात्रा र चार शिक्षिका छन् । शौचालय अभावमा उनीहरू दिसापिसाप गर्न आफ्नै घर वा नजिकैको उखुबारी जानुपर्ने बाध्यता छ ।

सात वर्षदेखि तलबविहीन

सोही विद्यालयमा अध्यापनरत एक शिक्षकले सात वर्षदेखि तलबविहीन भएर काम गरिरहेको गुनासो गरे । विसं २०७५ असोज ६ गते आफूले राहत दरबन्दीमा नियुक्त भएको तर हालसम्म एक रूपैयाँ तलब नपाएको शिक्षक रामप्रवेश बैठा धोबीले बताए । फतुवा विजयपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख सञ्जय यादवले तलब दिने आश्वासन दिएको तर कहिले पाउने हो टुङ्गो नभएको शिक्षक धोबीले बताए ।

सोही विद्यालयका प्रधानाध्यापक हीरालाल यादवले भने विद्यालयमा राहत दरबन्दी नै नभएको जानकारी दिए । फतुवा विजयपुर नगरपालिका–१ का वडाध्यक्ष विजयकुमार यादवले चाँडै अर्को ठाउँमा सो विद्यालयका लागि जमिन खरिद गर्ने जानकारी दिएका थिए । वडाध्यक्ष यादवले जमिन खरिद गरेर भवन बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

लेटाङमा व्यावसायिक कफीखेती, एकै वडाका १२० परिवार खेतीमा तल्लीन

बेलबारी । कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर लेटाङका किसान व्यावसायिक कफीखेतीतर्फ लागेका छन् । लेटाङ नगरपालिका–७ समला लाम्टेका राजविक्रम राई विद्यालयमा अध्यापन सकेपछिको बाँकी समय कफी उत्पादनमा गरिरहेका छन् ।

शिक्षक राईले अराविका जातको कफीका वार्षिक ४० हजार बिरूवा आफैँ तयार गरेका छन् । नर्सरीबाट उत्पादित बिरूवा बिक्री गर्नुका साथै ६० रोपनी जमिनमा उनले खेती गरेका छन् ।

“चार वर्षअघि रोपिएका बिरूवाले उत्पादन दिन थालेका छन् यसपटक१० क्विन्टलभन्दा बढी उत्पादन भयो”, राई भन्छन् । कफीको ‘फ्रेस चेरी’ प्रतिकिलो रु ९० का दरले बिक्री हुने गरेको छ । फ्रेस चेरीलाई ‘पल्पिङ’गरी ‘पार्चमेन्ट’ बनाई तयार गर्दा प्रतिकिलो रु चार सय ५० देखि पाँच सय ६० सम्ममा बिक्री हुने गरेको छ ।

राज एग्रीकल्चर फार्म नै सञ्चालन गर्नुभएका राईले “खाली जमिनमा व्यावसायिक ढङ्गले कफी उत्पादन गर्न सक्ने हो भने आकर्षक आम्दानी स्वदेशमा नै गर्न सकिन्छ”, भने, “वैदेशिक रोजगारीमा गर्ने लगानी यस क्षेत्रमा लगानी गर्ने हो भने मनग्गे आम्दानी गर्न सकिन्छ”, राईले जस्तै सोही वडाका एक सय २० परिवारले कफीको व्यावसायिक खेती गरेका लेटाङ– ७ का वडाध्यक्ष खगेन्द्रबहादुर लिम्बूले बताए । जिल्लाको भौगोलिक हिसाबले विकट मानिने यस ठाउँ कफीको उत्पादनसँगै तराई बसाइँ सर्ने क्रम रोकिएको छ अध्यक्ष राईले बताए ।

वडा नम्बर ७ जस्तै वडा १ मा पनि व्यावसायिक कफीखेती सुरू भएको छ । यो वडामा पनि एक हजार रोपनी जमिनमा एक लाखभन्दा बढी कफीका बिरूवा रोपिएको वडाध्यक्ष विष्णुकुमार मगर बताउँछन् । “यस अभियानमा स्थानीय दुई सय घरवपरिवार किसान आबद्ध छन्, जसले कृषि क्षेत्रको विकासमा सघाएको छ”, अध्यक्ष मगर बताउँछन् ।

लेटाङको कफीखेतीले कृषिमा आत्मनिर्भरता र आर्थिक समृद्धिको ढोका खोल्ने लेटाङ नगरपालिका प्रमुख भुपेन्द्रकुमार लावती बताउँछन् । नगरले उच्च प्राथमिकतामा कफीखेतीलाई राखेका उनले बताए । किसानलाई बीउको व्यवस्था, सिँचाइका लागि पोखरी निर्माण गरिदिने बताउँदै नगरप्रमुख लावती कफीको प्रशोधनमा प्राविधिक सहयोग र जैविक मल उत्पादनमा अनुदान दिइने योजना सुनाउँछन् ।

मोरङमा युवतीको सामूहिक बलात्कार घटनामा संलग्न तीन पक्राउ

विराटनगर । प्रहरीले मोरङको जहदा गाउँपालिकाकी २३ वर्षीया युवतीको हातखुट्टा बाँधेर बलात्कार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

बाँसको झाङबाट अर्धअचेत अवस्थामा उद्धार गरिएकी महिलाको बयानका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटहरी गाउँपालिका–२ का १९ वर्षीय मोहम्मद रमजान सोही स्थानका १९ वर्षीय सोनुकुमार साह र भारतको अररीया कुशाकट्टा बस्ने १९ वर्षीय मोहम्मद गुल्जार छन् ।

मंगलबार जहदा गाउँपालिका–३ की २३ वर्षीया युवती घरदेखि करिब दुई किलोमिटर टाढा कटहरी गाउँपालिका–२ मा पर्ने खेतबारीको बीचमा रहेको बाँसको झ्याङमा सलले मुख थुनेर हातखुट्टा बाँधेको अवस्थामा अचेत अवस्थामा फेला परेकी थिइन् । ‘मर्निङ वाक’मा निस्किएकी उनी मंगलबार बलात्कारमा परेकी थिइन् । अहिले उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ ।

एमालेको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको हो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमकाअनुसार आज बस्ने सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको मिति तय गर्नेछ । बैठकमा स्थानीय तह उपनिर्वाचन र सरकारको कामको समीक्षा हुनेछ।

दार्चुला केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्यूडको भूकम्प

काठमाडौं । दार्चुला केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ बजेर २५ मिनेटमा अपी हिमाल केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्यूडको भूकम्प गएको हो ।

पश्चिम नेपालमा पछिल्ला दिनमा भूकम्प गइरहेको छ । पुस ५ गते बाजुरा केन्द्र बनाएर ५ दशमलव २ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यस्तै पुस ३ गते बझाङ केन्द्र बनाएर ४ दशमलव १ र पुस दुई गते बझाङ केन्द्र बनाएर ४ दशमलव ३ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

सहकारीसम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारीसम्बन्धी अध्यादेश ल्याउने भएको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सहकारीसम्बन्धी समस्या समाधान गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।

अध्यादेशमा सहकारीसम्बन्धी समस्या समाधान गर्न ‘राष्ट्रिय सहकारी नियमन आयोग’ बनाउने उल्लेख गरिएको छ । आयोग बनेसँगै सहकारी बोर्ड खारेज हुने छ। आयोगमा चार्टर्ड एकाउन्टेन्ट अध्यक्ष रहने व्यवस्था गरिएको छ ।

अध्यादेशमा कुनै पनि सहकारीमा १० लाख रुपैयाँ बढी राख्दा त्यसको आम्दानीको स्रोत खुलाउनुपर्ने उल्लेख छ । सहकारी पीडितहरूको पैसा फिर्ता गर्ने र सहकारी ठगेकाहरूबाट रकम असुली गर्नेसमेत अध्यादेशमा उल्लेख छ।

सबैभन्दा पहिला ५ लाखसम्म ठगिएकाहरूको रकम फिर्ता गरिने समेत अध्यादेशमा उल्लेख छ ।

गण्डकी प्रदेशसभाकी पूर्वसदस्य मीना गुरुङ पक्राउ

पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गण्डकी प्रदेशसभाकी पूर्वसांसद मीना गुरुङ पक्राउ परेकी छन् । गुरुङलाई कास्की प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले उनीसहित ६३ लाई प्रतिवादी बनाएर आइतबार जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी बसन्तकुमार शर्माले बुधबार उनलाई अदालतमा पेश गर्ने बताए । गुरुङ एमालेको तर्फबाट समानुपातिक सांसद बनेकी थिइन्।

सहकारीका समस्या समाधानका लागि सरकारबाट भए गरेका प्रगति विवरण पेश गर्न सर्वोच्चको आदेश


काठमाडौं । सर्वोच्च अदालतले सहकारीका समस्याहरू समाधान गर्न नेपाल सरकारका विभिन्न निकाय र मन्त्रालयबाट भए गरेका प्रगति विवरण पेश गर्न आदेश दिएको छ ।

मंगलबार न्यायाधीशहरू कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सरकारका नाममा यस्तो आदेश जारी गरेको हो । इजलासले सहकारीको रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन प्रतिवेदन, २०८१ को कार्यान्वयनका सम्बन्धमा भए गरेका काम कारबाहीको प्रगति विवरण झिकाउन आदेश दिएको छ ।

निर्माणाधीन सिद्धबाबा सुरुङमार्गका तीन वटै बाइपास सुरुङको ‘ब्रेक थ्रु’

पाल्पा । सिद्धबाबा सुरुङमार्ग आयोजनाअन्तर्गत तीन वटै बाइपास सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । आयोजनाका अनुसार ‘बाइपास २’ को आइतबार ब्रेक थ्रु सम्पन्न भएसँगै यस आयोजना अन्तर्गत रहेका तीन वटै बाइपास सुरुङ छिचोलिएका छन् ।

बाइपास दोस्रो १ सय ६१ मिटर लम्बाइको छ। यसअघि बाइपास तेस्रोको २६ भदौ र बाइपास प्रथमको ४ असोजमा ब्रेक थ्रु भएको थियो । यी दुई बाइपास क्रमशः १ सय ३० मिटर र १ सय ५१ मिटर लम्बाइका छन् ।

सिद्धबाबा सुरुङको मुख्य सुरुङ भने १ हजार १ सय २६ मिटर लम्बाइको छ। जसको पछिल्लो विवरण अनुसार ८ सय मिटरभन्दा बढी खन्ने काम सम्पन्न भइसकेको छ ।

सुरुङमा लाइनिङको काम भने अझै सुरु भइसकेको छैन । आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको छ ।

यहाँ टनेलसहित दोहोरो लेन, स्लोप प्रोटेक्सन सहित २.५९ किलोमिटर क्षेत्रमा विभिन्न भौतिक संरचना बनिरहेका छन् । बुटवललाई पोखरा र पश्चिम नेपालका विभिन्न गन्तव्यसँग जोड्ने सिद्धार्थ राजमार्गमा सुरुङ निर्माणको काम सम्पन्न भएपछि पहिरोको जोखिम हट्ने र आवागमन सहज हुने अपेक्षा गरिएको छ ।

पोखरामा लगाएको निषेधाज्ञा हटाउन रास्वपाको माग, अदालती प्रक्रियालाई सघाउने वचन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पोखराका केही क्षेत्रमा स्थानीय प्रशासनले लगाएको निषेधित क्षेत्रको आदेश हटाउन माग गरेको छ । रास्वपा कास्कीका सभापति यदुनाथ अधिकारीले मंगलबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाउँदै निषेधित क्षेत्रको आदेश हटाउन माग गरेका हुन् ।

दुई महिनाभन्दा बढी समयदेखि निषेधित क्षेत्र कायम रहँदा पर्यटकहरूको आवागमन तथा व्यापार व्यवसायमा असर परिरहेको र अंग्रेजी नयाँ वर्षको अवसरमा हुन लागेको सडक महोत्सव सहितका कार्यक्रमहरूसमेत प्रभावित हुने अवस्था रहेको रास्वपाको भनाइ छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘सभापति लामिछाने विरुद्ध लगाइएको अभियोगको हकमा अदालती प्रक्रियालाई पूर्ण रुपमा सघाउने पार्टी सचिवालयको पुस ८, २०८१ को निर्णय समेतका आधारमा निषेधित क्षेत्र हटाउनका लागि अनुरोध छ ।’

निगमको आन्तरिक उडान ठप्प

काठमाडौं । विमान अभावले आन्तरिक उडानमा दरिलो उपस्थिति देखाउन नसकेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक उडान ठप्प भएको छ । उडानमा रहेको एक मात्रै ट्वीनअटर विमान पनि ग्राउण्डेड भएपछि निगमको आन्तरिक उडान पूर्ण रूपमा ठप्प भएको हो ।

निगमसँग आन्तरिक उडानमा दुई थान ट्वीनअटर विमान छन् । तीमध्ये एउटा विमान गत जेठदेखि ग्राउण्डेड छ भने अर्को पनि हालै ग्राउण्डेड भएको छ ।

प्राविधिक समस्या आएकाले आइतबारदेखि आन्तरिक उडान हुन नसकेको निगमका प्रवक्ता रमेश पौडेलले बताए । उनले ताकेता गरेर सकेसम्म चाडै विमान उडान सेवा सञ्चालन गरिने बताए ।

“प्राविधिक समस्या आएकाले केही समयलाई विमान ग्राउण्डेड भएको हो”, उनले भने, “समस्या समाधानका लागि आवश्यक प्रक्रियामा सुरु भइसकेको छ । अघिल्लो विमान ग्राउण्डेड भएलगत्तै यो प्रक्रिया सुरु भएको हो ताकेता गरेर छिट्टै काम हुन्छ ।”

निगमले काठमाडौँ र क्षेत्रीय हब विमानस्थलबाट दुर्गम क्षेत्रमा आन्तरिक उडान गर्दै आएको छ । निगमसँग अन्तराष्ट्रिय उडानका लागि दुई थान वाइडबडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० विमान छन् ।

थाइल्याण्डबाट पाँच नेपालीको उद्धार

काठमाडौँ । नेपाली दूतावास, बैंककले म्यानमारको मेवाडीबाट पाँच नेपालीको उद्धार गरेको छ । उद्धार गरी ‘टाक इमिग्रेसन अफिस’ मेसोट हुँदै थाइल्याण्ड ल्याइएका पाँच नेपाली नागरिकमध्ये चार (पुरुष) थाई सरकारी निकाय ‘आइओएम’ थाइल्याण्ड तथा अन्य गैरसरकारी संस्थासहितको सहयोगमा एक साताअघि नेपाल फर्काइएको थियो ।

एकजना महिलालाई भने आज नेपाल फर्काइएको दूतावासले जनाएको छ । नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो धेरै पैसा कमाउने चाहना राखेर कम्बोडिया, लाओस, म्यानमार र थाइल्याणलगायत वैदेशिक रोजगारीमा नआउन पनि दूतावासले अनुरोध गरेको छ ।

प्रेसमाथि अङ्कुश लाग्ने कानुन बन्न नदिने सभामुखको प्रतिबद्धता

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रेसमाथि अङ्कुश लगाउने कानुन बन्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा सभामुखले आफू प्रेस स्वतन्त्रता रक्षा गर्न प्रतिबद्ध रहेको भन्दै प्रेसमाथि अङ्कुुश लगाउनेगरी कानुन नबनाउने बताए ।

“नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ”–सभामुख घिमिरेले भने,“प्रेस स्वतन्त्रतलाई कुण्ठित हुने गरी कुनै पनि कानुन बनाइने छैन ।”

सभामुख घिमिरे र निर्वाचन समितिका प्रमुख प्रा.चिरन्जीवी खनालले नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिका सदस्यलाई प्रमाणपत्र प्रदान गरे ।

महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकार महासङ्घको गरिमालाई कायम राख्दै प्रेस स्वतन्त्रता र पत्रकारको पेशागत सुरक्षाका लागि लडिरहने प्रतिबद्धक्ता व्यक्त गरिन् ।

महासङ्घका पूर्वसभापति हरिहर विरहीले सङ्गठनलाई सबै पत्रकारको साझा संस्थाका रुपमा विकास गर्नु सुझाव दिए ।

श्रीलङ्कामा ५० जङ्गली हात्तीको मृत्यु

कोलम्बो । श्रीलङ्कामा यसवर्ष अहिलेसम्म करिब ५० जङ्गली हात्तीको अनाधिकृत विद्युतीय तारले करेन्ट लागेर मृत्यु भएको सिलोन विद्युत बोर्ड (सीईबी) जनाएको छ ।

सीईबीले देशको जैविक विविधताको प्रतीक जङ्गली हात्ती मानव गतिविधिका कारण लोप हुने खतरा बढ्दै गएको बताएको छ ।

सीईबीले पहिले नै यस अवैध कार्यको सम्बन्धमा धेरै उपयुक्त कदमहरू चालेको छ । जङ्गली हात्तीहरूको संरक्षणको लागि जनताको सहयोगको अपेक्षा सीईबीले गरेको छ । सन् २०२३ मा श्रीलङ्कामा ९० जङ्गली हात्तीको मृत्यु भएको तथ्याङ्कले देखाउँछ ।

पाकिस्तानमा राजनीतिक विवाद समाधान गर्न सत्तारूढ दल र विपक्षीबीच वार्ता

इस्लामाबाद । पाकिस्तान तहरीक–ए–केमा (पीटीआई) र सरकारबीच देशमा राजनीतिक तनाव कम गर्ने उद्देश्यले इस्लामाबादको संसद भवनमा वार्ता प्रक्रिया सुरु भएको छ ।

जियो न्यूजको कार्यक्रममा बोल्दै सरकारी समितिका सदस्य सिनेटर इरफान सिद्दिकीले भने,“जनता देशमा अराजकता र आर्थिक अस्थिरताभन्दा पनि शान्ति र लोकतान्त्रिक मान्यता चाहन्छन् । न्यायिक मामिलामा सरकारको कुनै सरोकार छैन ।”

दुवै समितिको आपसी परामर्शमा आगामी माघ २ गते वार्ता हुने उनको भनाइ छ । सिद्दिकीले वार्ता प्रक्रियालाई निरन्तरता दिन दुवै समितिको पुनः बैठक हुने बताए ।

दुवै पक्षले वार्तामा बाधा पुर्याउने सार्वजनिक अभिव्यक्तिबाट जोगिन सहमत भएको पनि पुष्टि उनले गरे । “हामी वार्ताको तार्किक निष्कर्ष चाहन्छौं । हामीले उनीहरूलाई पीटीआईलाई माग बडापत्रको रूपमा प्रस्तुत गर्न भन्यौं,” उनले थपे ।

यद्यपि, सिद्दिकीले यस प्रारम्भिक चरणमा वार्ताको नतिजाको बारेमा कुनै पनि वाचा गर्नबाट बच्न सावधानी अपनाए । उनले सरकारले तत्काल आश्वासन दिन सक्दैन तर पीटीआईका मागहरू लिखित रूपमा प्रस्तुत गरेपछि विचार गर्नेछ ।

“संवैधानिक र कानुनी विषयमा जानकार वरिष्ठ सदस्य सम्मिलित सरकारी समितिले पूर्व सत्तारुढ दलको माग बुझेर विकल्पमा छलफल गर्नेछ,” उनले भने ।

मजलिस वाहदत–ए–मुस्लिमिनका प्रमुख सिनेटर राजा नासिर अब्बासले पनि वार्तामा आफ्नो विचार राखे । सोही कार्यक्रममा बोल्दै अब्बासले जारी वार्ताप्रति आशावादी रहेको बताए । ‘निवर्तमान सरकारले बोलाएको बैठकमा धेरै सकारात्मक कुराहरु देखेको छु ।’ उनले भने ।

उनले पीटीआई वार्ता समिति गठनको प्रशंसा गर्दै सरकारले आफ्नै वार्ता समिति गठन गर्न ढिलाइ गरेको भन्दै आलोचना गरे ।

अब्बासले पाकिस्तानको राजनीतिक विवादलाई सम्बोधन गर्न यी वार्ताहरूले प्रदान गरेको अवसरको पूरा फाइदा लिन पनि सरकारलाई आग्रह गरे ।

बैठकमा उपप्रधानमन्त्री इशाक दार, प्रधानमन्त्रीका सल्लाहकार राणा सनाउल्लाह र सिनेटर इरफान सिद्दिकीलगायतका प्रमुख व्यक्तित्वहरू सहभागी थिए । विपक्षी तर्फबाट राष्ट्रिय सभाका पूर्व सभामुख असद कैसर, सुन्नी इत्तेहाद परिषद्का अध्यक्ष साहिबजादा हमिद रजा र एमडब्ल्यूएमका राजा नासिर अब्बासले प्रतिनिधित्व गरेका थिए ।

पहिलो चरणको छलफलपछि पीटीआईले आफ्ना मागहरु सरकारी समितिमा लिखित रुपमा बुझाउने प्रतिबद्धता जनाएको छ ।

टर्कीमा कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु

इस्तानबुल । टर्कीको उत्तरपश्चिममा मंगलबार भएको शक्तिशाली विस्फोटमा परी १२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले बताएका छन् । साथै अन्य तीन जना घाइते भएका छन् ।

इस्माइल उस्ताओग्लुले भने, ‘प्रारम्भिक जानकारी अनुसार बालिकेसिरको कारेसी जिल्लामा भएको विस्फोटमा १२ जनाको मृत्यु भएको छ ।’

फुटेजमा प्लान्ट बाहिर छरिएका काँच र धातुका टुक्राहरू देखाइएको थियो । गभर्नरले विस्फोट बिहान ८ः२५ बजे प्लान्टको एक भागमा भएको बताए, जसले गर्दा भवनको केही भाग ध्वस्त भएको थियो । दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ ।

कैलालीमा तीन लाख २४ हजार मेट्रिकटन धान उत्पादन

कैलाली ।  कैलालीमा यस वर्ष तीन लाख २४ हजार ८८४ मेट्रिक टन बर्खे धान उत्पादन भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार गत वर्षको तुलनामा यस वर्ष झिनो मात्रामा बर्खे धान उत्पादनमा वृद्धि भएको हो ।

यस वर्ष ६८ हजार पाँच सय ४१ हेक्टर क्षेत्रफलमा बर्खे धानखेती गरिएकामा ४.७४ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शंकरदत्त अवस्थीले जानकारी दिए।

उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष ०.२ प्रतिशतले बर्खे धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष पनि सोही क्षेत्रफलमा धानखेती गरिएकामा तीन लाख २३ हजार २८० मेट्रिकटन धान उत्पादन भएको उनले जानकारी दिए ।

उनले भने, ‘गत वर्ष र यस वर्ष बराबरी क्षेत्रफलमा बर्खे धानखेती गरिएको थियो, उत्पादन बढ्न सकेन, झिनो मात्रामा बढेको छ ।’ गत वर्ष धानको उत्पादकत्व ४.७२ मेट्रिकटन प्रतिहेक्टर रहेको उनले बताए।

यस्तै, जिल्लामा यस वर्ष ६ हजार ४६१ हेक्टर क्षेत्रफलमा मकैखेती गरिएकामा १५ हजार १९२ मेट्रिकटन मकै उत्पादन भएको उनले जानकारी दिए । सूचना अधिकारी अवस्थीका अनुसार जिल्लामा एक सय तीन हेक्टर क्षेत्रफलमा कोदोखेती गरिएकामा १२७ मेट्रिकटन कोदो उत्पादन भएको छ ।

ज्ञान केन्द्रले उत्पादन बढाउनका लागि किसानलाई ५० प्रतिशत अनुदानमा मेसिनरी औजार, बिउबिजनलगायत उपलब्ध गराउँदै आएको उनको भनाइ छ । त्यस्तै, किसानलाई तालिमसमेत दिने गरिएको सूचना अधिकारी अवस्थीले बताए । रासस

वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने सहमति

काठमाडौं ।  संसदको कानुन, न्याय तथा मानव अधिकार समितिमा वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने विषयमा सहमति भएको छ।

समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ को (१)मा प्रतिष्ठानले स्वास्थ्य सेवामा उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्न आफ्नो छुट्टै अस्पताल स्थापना गरी सञ्चालन गर्न वा सरकारको केन्द्रीय अस्पतालसँग द्विपक्षीय सम्झौता गरी त्यस्तो अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न उक्त सहमति गरेको हो।

समितिकी सभापति विमला सुवेदीले समितिको निर्णय सुनाउँदै भनिन्, ‘दफा १२ मा सरकारले विधेयकमा भएको व्यवस्थाअनुसार पारित गर्ने र दफा ४४ मा भएको व्यवस्थामा वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्टिने विषय समितिले पारित गरेको छ।’

समितिका सदस्य महेश बर्तौला, रञ्जुकुमारी झा, ध्रुवबहादुर प्रधान र रामकुमार राईलगायतले सरकारमातहतमा एउटा केन्द्रीय अस्पताल हुनुपर्ने र सरकारको स्वामित्वमा वीर अस्पताल राख्नुपर्ने धारणा राखेका थिए।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले औषधि ऐन संशोधन गर्नका लागि सरकारले मस्यौदा तयार गरिरहेको र संशोधन नहुँदा काम गर्न व्यावहारिक कठिनाइ भएको बताए। दफा १२ मा औषधि ऐन, २०३५ का विषयमा छलफल थियो। उक्त दफामा औषधि उत्पादन, अनुज्ञापत्र, सिफारिसपत्र र प्रमाणपत्रको अवधि र नवीकणको विषयहरू रहेको थियो।

सरकारले उत्पादन अनुज्ञापत्र पाँच वर्ष, प्रमाणपत्र तीन वर्ष, सिफारिसपत्र तीन वर्ष र प्रमाणपत्र तीन वर्ष तोकिएको र अवधि समाप्त हुनुअघि सम्बन्धित व्यक्तिले तोकिएको दस्तुर तिरेर नवीकरण गर्न सकिने व्यवस्था गरेको थियो। सोही व्यवस्थाप्रति समितिले पनि सहमति जनाएको छ। 

सबै दलसँग सहमति जुटाएर संविधान संशोधनको प्रकृया सुरु हुन्छः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधनले समावेशितालाई कमजोर गर्ने नभई थप सुदृढ बनाउने बताएका छन् ।

मंगलबार नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको नवौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सबै दलहरुसँग सहमति जुटाएर संविधान संशोधनको प्रकृया सुरु गर्ने बताएका हुन् ।

उनले चरणबद्ध रुपमा सबै राजनीतिक दलहरुसँग वार्ता र संवाद गर्ने र त्यसपछि विषयवस्तुमा सहमति गरेर संशोधन हुने बताए ।

उनले भने, ‘संविधान संशोधन छलफल प्रारम्भ गरेका छौं । संविधानको समीक्षा गर्छौं । विषयहरुको पहिचान गर्छौं । चरणबद्ध रुपमा सबै राजनीतिक दलहरुसँग वार्ता र संवाद गर्छौं र त्यसपछि विषयवस्तुमा सहमति गरेर संशोधन हुन्छ । संविधान संशोधन गर्ने भनेको समावेशितालाई कमजोर गर्ने होइन थप सुदृढ बनाउने हो ।’

उनले सरकार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माणमा प्रतिवद्ध रहेको पनि बताए ।

अन्तर्राष्ट्रिय उत्सव र पर्यटकीय गतिविधि पर्यटन प्रवर्द्धनमा उपयोगी

सिबी अधिकारी, काठमाडौं ।  नेपालमा यतिखेर मुख्य पर्यटकीय याम सकिएको छ। हिउँदको याम जाडो हुने भएकाले तुलनात्मक रूपमा विदेशी पर्यटक कमै आउँछन्। डिसेम्बर १५ पछि नेपाल आएका विदेशी पर्यटक बिस्तारै गन्तव्य मुलुक फर्किन्छन्।

अक्टोबर, नोभेम्बर र डिसेम्बरमा उल्लेख्य संख्यामा विदेशी पर्यटक नेपाल आउँछन्। शरद् ऋतु पर्यटनको मुख्य ‘सिजन’ मानिन्छ। वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि ठुलो संख्यामा विदेशी नागरिक आउँछन्। यसरी हेर्दा नेपालमा विशेषगरी शरद् र वसन्त ऋतु पर्यटकका लागि बढी उपयोगी सिजन मानिन्छ।

विदेशी पर्यटक कम आउने याम भएकाले पनि नेपालको पर्यटकीय क्षेत्रमा हुने राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटकीय गतिविधिले पर्यटकलाई आकर्षण मात्रै होइन उनीहरूको बसाइ लम्ब्याउन पनि मद्दत पुग्छ। यसै सन्दर्भमा अहिले पर्यटनको राजधानी पोखरा, पर्यटकीय क्षेत्र चितवन, लुम्बिनीलगायतका गन्तव्यमा पर्यटनसँग जोडिएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता, महोत्सवलगायत गतिविधि भइरहेको छ।

नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा आजदेखि नौदिने अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ। यही पुस १४ गतेदेखि नेपाल-चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिता आयोजना हुँदै छ। त्यस्तै, पुस १३ देखि १७ गतेसम्म २६औँ पोखरा सडक महोत्सव हुन गइरहेको छ। यी उत्सव र मेलाले पर्यटक आकर्षण मात्रै नभई नेपालमा रहेका विदेशी पर्यटकको बसाइ लम्ब्याउन पनि मद्दत पुगेको छ।

पर्यटक कम आउने याममा पर्यटनलाई चलायमान बनाउन हुने अन्तर्राष्ट्रिय उत्सव र गतिविधिले पर्यटन प्रवर्द्धनका महत्त्वपूर्ण सघाउ पुग्ने गरेको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने बताउँछन्। पर्यटक कम आउने ‘लो सिजन’मा पनि नेपालका गन्तव्यमा भइरहेका अन्तर्राष्ट्रियस्तरका ठुला-ठुला ‘इभेन्ट’हरूले पर्यटकीय चहल-पहल बढाएको छ, पर्यटक आगमनमा पनि सघाउ पुगेको छ,’ उनले भने।

डिसेम्बर १५ तारिखपछि नेपालमा पर्यटकको आगमन घट्दै जान्छ। विभिन्न प्रयोजनका लागि नेपाल आएका पर्यटक पनि क्रिसमस र नयाँ वर्ष मनाउन पर्यटक घर फर्किने चलन छ। यही सन्दर्भमा पर्यटक चाँडो घर नफर्किऊन् भनेर नेपालका विभिन्न गन्तव्यमा राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूले ठुला-ठुला ‘इभेन्ट’ सञ्चालन हुन थालेका छन्। विशेषगरी विगत २५ वर्षदेखि रिनन्तर रूपमा पोखरा सडक महोत्सव भइरहेको छ। यो पर्यटक आकर्षण गर्ने महत्त्वपूर्ण माध्यम बनेको छ। यस्तै, अघिल्लो वर्षदेखि सुरु भएको ड्रागन बोट रेस प्रतियोगिता, अन्तर्राष्ट्रिय बेलुन महोत्सव आदि उत्सव र गतिविधिले नेपालको पर्यटन प्रवर्द्धनका साथै पर्यटकीय गतिविधिलाई चलायमान बनाउन ठुलो मद्दत पुगेको व्यवसायीको बुझाइ छ।

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) का अध्यक्ष संघर्ष विष्टले पर्यटकीय गन्तव्यमा भइरहेका महत्त्वपूर्ण इभेन्टले आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए। उनले भन, ‘राम्रो याममा धेरै मिहिनेत गर्नुपर्दैन, अफ सिजनमा बढीभन्दा बढी गतिविधिले पर्यटन प्रवर्द्धनमा मद्दत पुग्छ, अहिले भइरहेका अन्तर्राष्ट्रिय मेला–महोत्सवले नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा पहिचान गराउँछ, यसले विदेशी पर्यटक तान्छ।’

होटेल संघ नेपाल (हान) का महासचिव साजन शाक्य पनि नेपालमा भइरहेका अन्तर्राष्ट्रियस्तरका महोत्सव र राष्ट्रियस्तरका पर्यटकीय गतिविधिले पर्यटन क्षेत्रमा सकारात्मक सन्देश जाने बताउँछन्। ‘पर्यटक घट्ने समयमा हुने पर्यटनका गतिविधि र अन्तर्राष्ट्रिय उत्सवले गन्तव्यको पर्यटनलाई चलायमान बनाउनाका साथै विदेशी पर्यटकलाई आकर्षण गर्न राम्रो भूमिका खेल्छ,’ उनले भने।

महासचिव शाक्यका अनुसार अफ सिजन भएकाले अहिले होटेल क्षेत्रको अकुपेन्स करिब ३० प्रतिशत मात्रै छ। काठमाडौंनजिकका धुलिखेल, नगरकोट तथा पोखरा, चितवन, लुम्बिनीलगायत गन्तव्यमा आन्तरिक र विदेशी पर्यटकको बाक्लो चहल-पहल छ।

अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु

विभिन्न अवसरमा आयोजना हुने पर्यटनसम्बन्धी मेला-महोत्सवले पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याइरहेको छ। अंग्रेजी नयाँ वर्षकै सन्दर्भमा नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय हट एयर बेलुन महोत्सव आयोजना गरिएको छ। पर्यटकीय नगरी पोखरामा आजदेखि सुरु भएको महोत्सवमा २० देशका व्यावसायिक बेलुन कम्पनीको सहभागिता रहेको छ। बेलुन नेपाल प्रालिको आयोजनामा नौ दिनसम्म सञ्चालन हुने महोत्सवमा बेलुन उडाइनुका साथै हरेक साँझ आतिशबाजी प्रदर्शन, बेलुन दौड र क्याम्पिङ पनि आयोजना हुने जनाइएको छ। महोत्सवले आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनका साथै नेपालको अर्थतन्त्रमा टेवा पुर्‍याउने आयोजकको विश्वास छ।

पुस १३ देखि पोखरा सडक महोत्सव

नयाँ वर्ष-२०२५ का अवसरमा यही पुस १३ देखि १७ गतेसम्म २६औँ पोखरा सडक महोत्सव हुँदै छ। रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराको आयोजनामा महोत्सव हुन लागेको हो। ‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने नाराका साथ आयोजना हुने महोत्सवमा पाँच लाखभन्दा बढीले सहभागिता जनाउने आयोजकको दाबी छ।

रेबान सौराह (चितवन) ले १४ फेब्रुअरीमा पाँचदिने सडक महोत्सव गर्दै छ भने रेबान केन्द्रले नेपाली नयाँ वर्षलाई लक्षित गरेर काठमाडौंको दरबारमार्गमा सडक महोत्सव गर्ने जनाएको छ।

रेबानका अध्यक्ष विष्टका अनुसार महोत्सवले स्थानीय पर्यटनमा नेपाली उत्पादनलाई प्रोत्साहन र विश्वबजारमा पुर्‍याउन पनि मद्दत गरेको छ। लेकसाइडको तीन किलोमिटर क्षेत्र (लेकसाइडको फिस्टेल गेटदेखि खहरेसम्म) लाई समेटेर सडक महोत्सव गरिँदै आएको छ। रेबान पोखराका अध्यक्ष विश्वराज पौडेलले सडक महोत्सवको माध्यमबाट पर्यटन प्रवर्द्धनका साथै कला संस्कृति प्रवर्द्धनसँगै स्थानीय सामग्रीलाई बजारीकरण गर्न महोत्सव उपलब्धिपूर्ण बन्दै गएको उल्लेख गरे। नेपालमा आउने विदेशी पर्यटकमध्ये ४० प्रतिशत पोखरा पुग्ने गरेको बताइन्छ। पोखरा महानगरपालिकाले सन् २०२५ लाई पोखरा भ्रमण वर्षका रूपमा मनाउँदै छ। भ्रमण वर्षलाई सफल बनाउन पनि पर्यटकीय मेला महोत्सवले सहयोग पुग्ने बताइएको छ।

पुस १४ देखि नेपाल-चीन मैत्रीपूर्ण ड्रागन बोट रेस

नेपालको पर्यटन प्रवर्द्धन गर्ने नेपाल-चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिता यही पुस १४ र १५ गते आयोजना हुँदै छ। पोखरामा हुने दोस्रो संस्करणको ड्रागन बोट रेसमा नेपालका ११, चीनका आठ र सिंगापुरका एक गरी २० समूहको सहभागिता रहनेछ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सहआयोजनामा ड्रागन बाेट रेस आयोजना हुने भएको हो।

पर्यटक लक्ष्य भेट्टाउन कठिन

कोभिड- १९ (कोरोना भाइरस) महामारीपूर्व १२ लाख हाराहारी विदेशी पर्यटकलाई स्वागत गरेको नेपालले पछिल्लो दुई वर्षमा पर्यटक आगमनको उक्त लक्ष्य भेट्टाउन हम्मे परिरहेको छ। महामारीपछिको दुई वर्षको आँकडाले महामारीपूर्वको अवस्थामा पुग्न अझै मिहिनेत गर्नुपर्ने देखिन्छ।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजार ५३३ विदेशी पर्यटक आएका छन्। पछिल्लो आँकडा हेर्दा सन् २०२४ मा १३ लाख १५ पर्यटक स्वागत गर्ने लक्ष्य भेट्टाउन कठिन हुने देखिएको छ। अब एक महिना मात्र बाँकी छ। एक महिना (डिसेम्बर) मा करिब ७० हजार पर्यटक आउने बोर्डको अनुमान छ। यसरी हेर्दा वर्ष २०२४ मा ११ लाख २५ हजार हाराहारी मात्रै पर्यटक भित्रिने जनाइएको छ।

बोर्डका निर्देशक मणिराज लामिछानेले हालसम्मको पर्यटक आगमन विश्लेषण गर्दा सन् २०२३ को तुलनामा झन्डै १० प्रतिशत मात्रै पर्यटक बढ्ने देखिन्छ। सन् २०२३ मा १० लाख १४ हजार आठ सय ७१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। बोर्डले सन् २०२४ मा कोरोना महामारीपूर्व सन् २०१९ मा आएका पर्यटकभन्दा बढी आउने अनुमान गरेको थियो। सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल आएका थिए।

यद्यपि, एसिया प्यासिफिक क्षेत्रभन्दा नेपालको पर्यटन पुनरुत्थान माथि रहेको बोर्डका निर्देशक लामिछानेको भनाइ छ। संयुक्त राष्ट्र संघ विश्व पर्यटन संगठन (युएनडब्लुटिओ) को ६ महिनाको आँकडाअनुसार विश्वव्यापी रूपमा ९६ प्रतिशतले नेपालको पर्यटन पुनरुत्थान भएको छ । उक्त अवधिमा विश्वव्यापी ९३ प्रतिशत पर्यटन पुनरुत्थान भएको जनाइएको छ।

जुनारले बढायो समृद्धिको यात्रा

राधिका बुढाथोकी, सिन्धुली। आकाश उज्यालिएको छ । पखेटा फैलाएर उडिरहेका छन्, चराचुरुङगी । प्रकृतिले सुशोभित सौन्दर्य पुलकित देखिन्छ पातलो बस्ती । त्यही बस्तीलाई ढाकेर बाक्लो रुपमा फैलिएको छ जुनार बगैँचा। जुनार बगैँचाका प्रत्येक हाँगा–हाँगामा लटरम्म झुन्डिएका छन्, पाकेका फल ।

सिन्धुलीको महाभारत पर्वतको काखमा अवस्थित गोलञ्जोर गाउँपालिका–४ तिनकन्याको दृश्य हो यो । जहाँ, लुकेको छ एउटा कथा—सङ्घर्ष, सम्भावना र सफलताको । केही वर्षअघिसम्म यहाँका स्थानीय बासिन्दाको जीवन दयनीय थियो।

किसानहरू खेतबारीमा परम्परागत बालीहरु दलहन, मकै, कोदो, फापर फलाएर जीवन गुजार्थे । यी बालीहरू उत्पादन गर्न गाहे त थियो नै, पर्याप्त पनि हुन्नथ्यो । गरिबी र अभावका कारण स्थानीय बासिन्दाहरु रोजगारीको खोजीमा भौतारिन्थे । सडक अभावका कारण गाउँमा यातायातका साधन देख्न समेत पाइन्न थियो। पैदल यात्रा गरेर रोजगारी खोज्दै शहर झर्थे।

एक दिन गाउँमा पुगेका कृषि विज्ञहरूले किसानहरूलाई सुल्झाए, ‘यस ठाउँको माटो र मौसम जुनार खेतीका लागि उपयुक्त छ, यसको व्यावसायिक खेती गर्नुस्, मनग्य आम्दानी हुन्छ।’

किसान गुन्डबहादुर ठकुरीले कृषि विज्ञहरूको सुझावलाई आत्मसात गरे । उनले आफ्नो थोरै जमिनमा जुनारका विरुवा रोपेर व्यावसायिक खेतीको यात्रा सुरु गरे । मेहनत र धैर्यताको फलस्वरूप विरुवा रोपेको तीन वर्षदेखि नै जुनारको फलले आम्दानी दिन थाल्यो। जुनारको फलबाट मनग्य आम्दानीको स्वाद चाख्न पाएपछि उनले जुनार बगैँचा २५ रोपनीमा विस्तार गरे ।

उनी अहिले जुनार बेचेर वार्षिक १५ लाख रूपैयाँ आम्दानी गर्न थालेका छन् । किसान गुन्डबहादुरको यो सफलताका पछाडि धर्मपत्नी देविकुमारी ठकुरीको पनि उत्तिकै साथ र सहयोग छ । ७० वर्षको उमेरमा पनि उनी जुनार खेतीमा सक्रिय छिन् । उनले आफ्नो उमेरको तीन दशक बढी जुनार खेतीमा समर्पित गरिसकेकी छिन् ।

अहिले उनको बगैंचामा जुनार लटरम्मै फलेका छन् । हामी जुनार बगैँचामा पुग्दा बोटका जुनार टिपेर बोरामा हाल्दै थिइन् उनी । ‘अघिल्लो वर्षभन्दा यसवर्ष जुनार अलि कम फलेको छ,’ देवीकुमारीले भनिन् ।

ठकुरी दम्पतीले ३५ वर्षदेखि जुनारको व्यावसायिक खेती गर्दै आएका छन् । ‘पाँच लाखदेखि ३५ लाखसम्म वार्षिक रुपमा आम्दानी लिने किसान छन् यहाँ,’ किसान गुन्डबहादुरले भने, ‘जुनार उत्पादन गर्दाको सुरूवाती वर्षमा प्रतिदाना ५० पैसामा बिक्री गरेको जुनार अहिले बगैँचामै प्रतिदाना १० रुपैयाँमा बिक्री हुन्छ। जुनारबाट भएको आम्दानीले काठमाडौँको कपनमा घर घडेरी जोडेका छौँ । हाम्रो पारिवारिक खर्च यसैले धानेको छ।’

ठकुरी दम्पतीले आफ्नो मेहनत र इमान्दारीताबाट केवल आफ्नो सपना मात्रै साकार बनाएनन्, रोजगारी पनि सिर्जना गरिदिदिएका छन् ।

अहिले गाउँका अधिकांश किसानले आफ्नो पाखा र खेतबारीमा जुनार, सुन्तलाको व्यावसायिक खेती गरिरहेका छन् । आफ्नो पाखाबारी नभएकाहरुले जुनारको व्यावसायिक खेती गर्ने किसानको बगैँचामा रोजगारी पाएका छन्। स्थानीय दलबहादुर नेपाली र उनको धर्मपत्नी ज्ञानुलाई रोजगारीका लागि भौंतारिदै शहर पस्न नपर्ने खुसीले हर्षित तुल्याएको छ ।

आफ्नै गाउँको माटोको गन्धमा हुर्किने दलबहादुर दम्पतीलाई शहरको धुलो र चिल्ला सडकले कहिल्यै लोभ्याएन। पाँच वर्षअघि गाउँमै रहेको व्यावसायिक जुनार बगैंचामा काम गर्न पाउने मौका पाउँदा उनीहरूको जीवनले नयाँ मोड लियो ।’शहर जाँदा परिवारसँग टाढिनु पर्थ्यो,’ दलबहादुरले भने, ‘गाउँको जुनारले परिवारसँगै बस्ने वातावरण बनायो।’

नेपाली दम्पतीले बगैंचामा सिँचाई, गोडमेल, र जुनार टिप्नेदेखि बजारसम्म पुर्‍याउने काम गर्छन् । ‘गाउँकै खेतबारीमा पसिना बगाउन पाउनु पौरख नै हो,’ उनले गर्व गर्दै भने ।

जुनार बगैंचाले नेपाली दम्पती जस्ता अरु मजदुरहरुलाई पनि रोजगारी दिएको छ । कुनै बेला विदेश जान लागेकाहरू गाउँ फर्केर व्यवसायिक खेतीप्रति आकर्षित भएका छन् । जुनार खेतीले तिनकन्याका किसानलाई आत्मानिर्भर बनाएको छ नै मजदुर र व्यापारीलाई पनि रोजगारीको अवसर प्रदान गरेको छ ।

बगैँचाका जुनार बजारमा

तीनकन्याका बगैँचामा उत्पादन भएका जुनारले यतिबेला जिल्लाका मुख्य चोक र बजार क्षेत्र भरिएका छन् । किसान र व्यापारीलाई पाकेका जुनार किनबेच गर्न भ्याइनभ्याइ छ । सिन्धुलीको रमणीय दृश्य अवलोकन गर्दै बिपी राजमार्गमा यात्रा गर्ने यात्रुहरूका लागि जिल्लाको जुनार मुख्य कोसेली बनेको छ।

जुनार पकेट क्षेत्रका किसानहरुले आफ्नो बारी, बगैँचामा उत्पादन गरेका जुनार राजमार्गको छेउमा बिक्रीका लागि राखिएको हुन्छ। यात्रुहरु त्यही जुनार किनेर कोसेलीको रुपमा लिएर जाने गर्दछन्। ‘जुनार सबैभन्दा बढी बिक्री हुने स्थान भनेकै बिपी राजमार्ग हो,’ जुनार विकास सङ्घ, सिन्धुलीका अध्यक्ष कर्णबहादुर आलेमगरले भने, ‘जुनार तीनकन्याको मात्रै होइन, सिन्धुलीको पहिचान बनिसकेको छ। यसले आर्थिक लाभसँगै आत्मसन्तुष्टि पनि मिलेको छ।’

राजमार्गमा यात्रा गर्ने अधिकांश यात्रु सिन्धुलीको जुनारसँग परिचित छन्। कतिपय यात्रुहरु जुनारको मुख्य बजार सेल्फिडाँडा, खनियाखर्क, खुर्कोटलगायतका स्थानमा आफू सवार सवारीसाधन रोकेर रसिलो जुनारको स्वाद लिएर मात्रै यात्रालाई अगाडि बढाउँछन्।

झापा-काठमाडौंसम्मको यात्राका क्रममा खनियाखर्क बजारमा भेटिएका गोपाल काफ्लेले भने, ‘म यहाँको जुनार नखाई यात्रा अगाडि बढाउँदिन । श्रीमतीले पनि सिन्धुलीबाट जुनार लिएर आउनु है भनिकी छिन्, लिएर जान्छु।’

मंसिरदेखि माघसम्म जुनारको याम हो । यस समयमा राजमार्ग छेउका पसल र यहाँका बजारहरू जुनारले भरिएका हुन्छन् । ‘हामीलाई किसानले ताजै जुनार उपलब्ध गराउँछन् । दुई दशकदेखि जनारको व्यापार गदैँ आएको छु । यहाँ जुनार किन्ने मुख्य ग्राहक भनेकै बिपी राजमार्गका यात्रुहरु हुन्,’ खनियाखर्ककी जुनार व्यापारी सावित्रा थापामगरले सुनाइन् । किसान कुसुमकुमारी ठकुरी भने जुनार किसानले उचित मूल्य नपाएको गुनासो गर्छिन्। व्यापारीले पसलैपिच्छे फरक-फरक मूल्य लिने गरेकोमा उनको आपत्ति छ।

‘बजारमा जुनारको मूल्यमा एकरूपता छैन । व्यापारीअनुसार फरक-फरक छ। किसानसँग प्रतिकिलो ६० देखि ८० रूपैयाँमा किन्छन् तर व्यापारीले भने ८० देखि १३० रूपैयाँसम्ममा बेचिरहेका छन्,’ उनले भनिन् ।

गोलञ्जोरलाई जुनार गाउँपालिका बनाउने प्रयास

तीनकन्या जिल्लाकै जुनार उत्पादनको मुख्य केन्द्रका रूपमा परिचित छ। गोलञ्जोरका छ वटा वडामा जुनारको व्यावसायिक उत्पादन हुन्छ । रतनचुरा, बितिजोर, भुवनेश्वरी, बाशेश्वर, डुडभञ्ज्याङ जुनारको व्यावसायिक उत्पादन र निर्यातले सबल बन्दै गएको छ । ‘गोलञ्जोरको भूमि जुनार उत्पादनको लागि अत्यन्त उपयोगी मानिन्छ। यसको खेती हाम्रो प्राथमिकतामा छ,’ गाउँपालिका प्रमुख शङ्करराज बरालले भने, ‘गोलञ्जोरको मुख्य चिनारी नै जुनार हो । जुनार गोलञ्जोरको मात्रै होइन, जिल्लाको पहिचान बनिसकेको छ।’

उनले जुनारको प्रचार र प्रवर्द्धनको लागि गाउँपालिकाको नाम परिवर्तन गरेर जुनार गाउँपालिका राख्ने प्रयासमा आफू रहेको समेत बताए । जुनार उत्पादनमा देखा पर्ने रोगकिराका विभिन्न समस्या समाधानका लागि थप पहल आवश्यक रहेको उनको भनाइ छ। ‘प्रत्येक वर्ष विभिन्न रोग र किराको समस्याले जुनार उत्पादनमा असर पुर्‍याइरहेकोछ । यसले किसानहरूको आम्दानीमा प्रत्यक्ष प्रभाव पारेको छ,’ उनले चिन्ता व्यक्त गदैँ भने, ‘रोग र किराको नियन्त्रणका लागि अनुसन्धान र दीर्घकालीन समाधानका लागि प्रदेश सरकार, सङ्घ सरकार र सरोकारवालासँग विनम्र अनुरोध गर्दछु।’

जुनार ढुवानीमा चुनौती

तीनकन्याको जुनारले स्थानीय हुँदै राष्ट्रिय बजारसम्म आफ्नो पहिचान बनाइसकेको छ तर कच्ची सडकका कारण बगैँचाको जुनार बजारसम्म ढुवानी गर्न चुनौती छ।

वर्षा हुँदा सडक हिलोले भरिन्छ भने हिउँदमा धुलाम्मे सडक उत्तिकै जोखिमपूर्ण छ। हरेक वर्ष किसानले उत्कृष्ठ गुणस्तरका जुनार उत्पादन गरे पनि ढुवानी व्यवस्थित नहुँदा मिहेनतअनुसारको फाइदा लिन सकिरहेका छैनन्। ‘मिहेनत गरेर उत्पादन गरेका जुनार बिग्रिने डरले बिचौलियालाई सस्तोमा दिन बाध्य छौँ। आफैँले बजार लगेर बेच्न पाए आम्दानी बढ्ने थियो, सडक राम्रो नभएकाले जुनार ढुवानी खर्च अत्याधिक महँगो पर्छ,’ किसान मञ्जुकुमारी आलेमगरले गुनासो गरिन् ।

खनियाखर्क-कमारेभञ्ज्याङ-तीनकन्या सडक चिसासानीसम्म मात्रै कालोपत्रे भएको छ । जुनार उत्पादनबाट किसानको आर्थिकस्तर माथि उठाउन सबैभन्दा पहिले कच्ची सडकको समस्या समाधान गर्नु पर्नेमा किसानहरुको जोड छ ।

जुनारमा लाग्ने रोगकिरा र सडक समस्याको समाधान गर्नका जिल्ला समन्वय समितिले चासो देखाएको छ। जुनार उत्पादित क्षेत्रको अनुगमन गर्न तीनकन्या पुगेकी उपप्रमुख शान्ता कार्कीले तीनै तहका सरकार र सरोकारवालाहरुसँग छलफल गरेर जुनार किसानका समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

‘जुनार सुपरजोन’ कार्यक्रम कार्यान्वयन

जुनार उत्पादनमा देशकै अग्रणी मानिएको तीनकन्यालाई जुनारको राजधानीका रुपमा पहिचान स्थापित गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई (जुनार सुपरजोन) कार्यक्रमले महत्वपूर्ण टेवा पुर्‍याएको छ ।

गोलञ्जोर गाउँपालिकाको वडा नं १ देखि ६ सम्मका तीनकन्या, रतनचुरा, बितिजोर, भुवनेश्वरी, बाशेश्वर, डुडभञ्ज्याङ, कमलामाई नगरपालिका-३ जलकन्या र तीनपाटन गाउँपालिका–१ तोश्रामखोला जुनार सुपरजोनका क्षेत्र हुन् । जुनार सुपरजोन कार्यक्रम कार्यान्वयन भएका यी आठ वटा वडामा जुनार बढाउने, बचाउने र जुनारको बजारीकरण गर्ने कार्यमा कार्यक्रमले किसानलाई सघाउँदै आएको छ ।

जुनार सुपरजोन सिन्धुलीका प्रमुख यमकुमार श्रेष्ठका अनुसार जुनार सुपरजोन कार्यक्रमले यस क्षेत्रमा हालसम्म २३७ हेक्टरमा जुनार बगैँचा विस्तार गरिसकेको छ। पन्ध्र वटा नर्सरीमार्फत गुणस्तरीय जुनारको विरुवा उत्पादन भइरहेको छ भने जुनारमा लाग्ने रोगकिरा नियन्त्रण, सिँचाइ व्यवस्थामा निरन्तर प्राविधिक सहयोग गर्दै आएको छ।

जुनारको भण्डारणका लागि १४ वटा शीतभण्डार निर्माण गरिएको छ। ‘किसानले मङ्सिर-माघसम्म शीतभण्डारमा जुनार भण्डारण गरेर वैशाखमा दोब्बर मूल्यमा बिक्री गर्न पाउँदा उनीहरूको आम्दानीमा उल्लेख्य सुधार भएको छ,’ सुपरजोन कार्यक्रमका प्रमुख श्रेष्ठले भने ।

जुनारको बजारीकरणलाई थप प्रभावकारी बनाउन जुस, वाइन, जामजेली र जुनारको पातको चियालगायतका प्रशोधित परिकार उत्पादनका लागि सम्भावना अध्ययन भइरहेको उनले बताए । स्थानीय होटलहरूमा जुनारका विभिन्न परिकार बिक्री गर्ने व्यवस्था मिलाइने छ । साथै, जुनार प्रवद्र्धनका लागि होमस्टे सञ्चालन गरेर पर्यटन विकासमा जोड दिइएको उनले सुनाए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई, सिन्धुलीको तथ्याङकअनुसार जिल्लामा हाल एक हजार ३१८ हेक्टरमा जुनार र सुन्तलाको खेती भइरहेको छ । यसमध्ये सात सय ९४ हेक्टरका बोटले उत्पादन दिइरहेको छ ।

जिल्लामा यस वर्ष ५२ करोड बराबरको जुनार, सुन्तला बिक्री हुने आँकलन छ। जिल्ला जुनारको हबका रुपमा विकासित हुँदा समृद्ध सिन्धुली निर्माणमा सहयोग पुग्ने मात्र नभई देशकै आर्थिक आम्दानी बढाउनसमेत योगदान पुग्ने देखिन्छ।

नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४ दशमलव ११ अङ्कले बढेर दुई हजार छ सय २६ दशमलव ३१ को बिन्दुमा कायम भएको छ ।

मंगलबार तीन सय १२ कम्पनीको एक करोड २७ लाख ४६ हजार चार सय १० कित्ता शेयर ६४ हजार नौ सय १७ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब २० करोड २२ लाख ६३ हजार ३८ बराबरको कारोबार भएको छ । कुल बजार पुँजीकरण रु ४३ खर्ब ५६ अर्ब ६० करोड ९८ लाख ६४ हजार कायम भएको छ ।

आजको कारोबारमा उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ३२ प्रतिशत र व्यापार समूह शून्य दशमलव ४५ प्रतिशतले घटेको छभने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैङ्क समूह एक दशमलव ७५ र वित्त समूह एक दशमलव ६२ प्रतिशतले बढेको छ ।

बैङ्किङ शून्य दशमलव ७६, होटल तथा पर्यटन शून्य दशमलव ९४, जलविद्युत् शून्य दशमलव ७१, लगानी शून्य दशमलव ९६, जीवन बीमा शून्य दशमलव २८, लघुवित्त शून्य दशमलव ९५, म्युचुअल फन्ड शून्य दशमलव ११, निर्जीवन बीमा शून्य दशमलव ५६ र अन्य समूह शून्य दशमलव ४९ प्रतिशतले बढेको छ ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छभने सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

जानकी फाइनान्स कम्पनी लिमिटेडको आज सबैभन्दा धेरै रु २० करोड सात लाख ४२ हजार छ सय ५२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को १७ लाख ७३ हजार आठ सय १० कित्ता शेयर किनबेच भएको छ ।

कुशल मल्ल इन्टरनेशनल लिग टी–२० मा अनुबन्ध

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर कुशल मल्लले संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने इन्टरनेशनल लिग टी–२० क्रिकेट खेल्ने भएका छन् ।

कुशललाई लिगको लागि डेजर्ट भाइपर्सले अनुबन्ध गरेको हो । चोटका कारण प्रतियोगिताबाट बाहिरिएका नेदरल्यान्ड्सका अलराउन्डर बास डी लीडेको ठाउँमा कुशल मल्लले मौका पाएका हुन् ।

मल्लले भर्खरै सकिएको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा ८ खेलमा २ सय २७ रन बनाउनुका साथै ९ विकेट लिएका थिए ।

पाँच महिनामा रसुवागढी नाका हुँदै चीनबाट एक खर्ब २४ अर्बका मालसामान आयात

रसुवा ।  नेपालको उत्तरी नाका रसुवागढीबाट चालु आवको साउनदेखि मङ्सिर मसान्तसम्मको पाँच महिनाको अवधिमा आयात भएका मालसमानको मूल्य सार्वजनिक गरिएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म कुल एक सय २४ अर्ब ४२ करोड मूल्य बराबरको तयारी कपडा, विद्युतीय सामग्री, विद्युतीय सवारी साधन, जुत्ता, चप्पल, लसुन, स्याउ, ओखर, जस्ता वस्तु आयात भएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत तुल्सीप्रसाद भट्टराईले जानकारी दिए।

यस्तै उनी गलैँचा, बक्रम कपडा, तयारी कपडा जडीबुटी, अगरबत्ती समेत रु १५ करोड बराबरको विविध सामग्री निर्यात भएको प्रमुख भट्टराईले बताए। आयात सामग्रीको नियमानुसार मूल्यांकनबाट १२ अर्ब ४७ करोड राजस्व दाखिला भइसकेको र आयात मालसामान बोकी भन्सार हातामा प्रवेश गरिसकेका करिब दुई सय कन्टेनरको धमाधम मूल्यांकन कार्य अगाडि बढिरहेको बताइएको छ ।

केरुङबाट आयात भएका सामग्री बोकेका ट्रक सिधै भन्सार हातामा आउने र क्रमिक रूपले कुन कन्टेनर पहिला आएको छ लामबद्ध तवरले परीक्षण एवं जाँचपास गरिँदै आएको भन्सार कार्यालयले जनाएको छ ।

यस्तै, मितेरी पुल नजिक रसुवागढीमा निर्माणाधीन एकीकृत भन्सार भवन ठेकेदार कम्पनीबाट काम ढिला हुँदै गएको छ । भवन विभागमार्फत सात वर्ष अगाडिबाट निर्माण सुरु भएको भवन निर्माणको काम सुस्त गतिमा अगाडि बढिरहेको छ । उता चीन सरकारको सहयोगमा टिमुरेमा निर्माणाधीन अर्को छुट्टै भन्सार कार्यालय भवन भने करिब ८० प्रतिशत पूरा भइसकेको प्राविधिकले बताएका छन् ।

चीनबाट आयात भएका सवारी साधन व्यवस्थित पार्किङ नहुँदा घामपानी र शीतका कारण पोलिसको बाहिरी भाग बिग्रने सम्भावना बढेको देखिएको तथा लामो समयको पार्किङपछि मालधनीले काठमाडौँमा पु¥याई बिक्री गर्दा चाँडै रङ्ग उप्किई त्यसको असर उपभोक्तालाई पर्ने सवारी चालकहरूले बताएका छन् ।

आयात भएका मालसमान बोक्ने कन्टेनर गुडाउन राजमार्गको असहजता निकै बढेको छ । सडक कार्यालयको पहुँच नपुग्दा मर्मत हुन नसकी बढी खाल्डाखुल्डी परेको याङयाङ, स्याफ्रुबेँसी, रसुवागढीका भूभागमा ठूलो समस्या परेको चालकहरूको भनाइ छ ।

सार्कलाई सक्रिय बनाउन पहल गरिरहेको छुः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार भएको भेटमा दुुई पक्षीय सम्बन्ध र हितका विविधि विषय, व्यापार, पर्यटन, कृषि, नवीकरणीय ऊर्जा, विपद् व्यवस्थापन, शिक्षा, संस्कृति आदिमा हुँदै आएको सहयोग आदानप्रदान अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई सक्रिय बनाउन अध्यक्ष मुलुकका नाताले आफूहरुले पहल गरिरहेको र यसमा आबद्ध मुलुकहरुले रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

उनले कुनै दुुई मुलुकबीच आपसी समस्या हुनसक्ने भए पनि त्यसको प्रतिकूल प्रभाव सार्कजस्ता क्षेत्रीय सङ्गठनमा पर्न नहुने उल्लेख गर्दै नेपालले ‘सबैसँग मित्रता र छैन कसैसँग शत्रुुता’ भन्ने भावनाका साथ सार्वभौम तथा स्वतन्त्र मुलुकका हिसाबले न्यायोचित राष्ट्रिय हितलाई ध्यानमा राखेर सम्बन्ध विस्तार र सहकार्य गर्दै आएको स्पष्ट गरे ।

राजदूत हस्मीले आफूहरु पाकिस्तानामा सार्क शिखर सम्मेलन आयोजना गर्न तत्पर रहेको प्रधानमन्त्री ओलीलाई अवगत गराए । उनले आफूहरु आगामी दिनमा नेपालसँग विविध विषयमा थप सहकार्य गर्न इच्छुक रहेको बताए ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘हृदयकी रानी’

काठमाडौं । वरिष्ठ गीतकार चिन्तामणि शिवाकोटीको शब्द रचनामा ‘हृदयकी रानी’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा वरिष्ठ गायक मदनकृष्ण श्रेष्ठ र समीक्षा अधिकारीले स्वर दिएका छन् । गीतमा वरिष्ठ संगीतकार कृति न्यौपानेको संगीत, पुरुषोत्तम सुवेदीको एरेन्ज, किशोर थापाको मिक्सिङ मास्टरिङ राजेश श्रेष्ठको रेकर्डिङ छ ।

म्यूजिक भिडियोमा कलाकार मदनकृष्ण श्रेष्ठ र गायिका कोमल ओली, नायक विमल अधिकारी र स्मारिका ढकालको अभिनय छ । म्यूजिक भिडियोको निर्देशक कृष्णदेव रुपाखेतीले गरेका छन् ।

७४ वर्षको उमेरमा अचानक आफ्नो प्रेमिकालाई भेटेपछि त्यो बेला टुटेको प्रेमको सम्झना गर्दै भिडियो सुरुवात हुन्छ । भिडियोमा ग्रामीण शैलीका सामग्रीहरू पनि प्रस्तुत गरिएको देखिन्छ । भिडियोमा उत्सव दाहालको छायाँकन, राहुल बराइलीको कोरियोग्राफी, विकास दाहालको सम्पादन छ ।

धरहरा सञ्चालनको एक महिनामा ५५ लाख रुपैयाँको टिकट बिक्री

काठमाडौं । पुनःनिर्माण पश्चात् धरहरा सशुल्क सञ्चालन भएको आज एक महिना पुगेको छ। यस अवधिमा प्रवेश शुल्कबापत् रु ५५ लाख सङ्कलन भएको छ। गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट हिजो सोमबारसम्ममा टिकट बिक्रीबापत उक्त रकम सङ्कलन भएको हो।

कामु आयोजना निर्देशक प्रकाश अर्यालले प्रत्येक बुधबार धरहरा बन्द हुने र अन्य दिन दैनिक एक हजार दुई सयले धरहरा चढ्ने गरेको जानकारी दिए।

‘९ गतेदेखि हालसम्म ३१ हजार बढी नागरिकले धरहरा चढिसकेका छन्। जसमा १२ वर्षमुनिका बालबालिकाको तथ्याङ्क राख्ने गरिएको छैन’, उनले भने, ‘बिहान साँढे १० देखि ३ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ। छोटो समयमा नागरिकको उल्लेख्य उपस्थिति देखियो।’ पछिल्लो समय छिमेकीमूलुकका पर्यटक पनि धरहरा अवलोकन गर्न आउने गरेका छन्।

धरहरा चढ्न प्रतिव्यक्ति दुई सय शुल्क तोकिएको छ। विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने व्यवस्था छ। सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति रु एक हजार शुल्क छ।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम शुल्क लिई धरहरा सञ्चालनमा ल्याइएको हो। गत मङ्सिर ६ गतेको मन्त्रीपरिषद् बैठकले धरहरा खुला गर्ने र शुल्क स्वीकृत गर्ने निर्णय गरेको थियो।

यहाँ पार्किङ गर्दा चार पाङ्ग्रे सवारीका लागि प्रतिघण्टा रु २० र दुई पाङ्गे्रलाई रु १० तोकिएको छ। धरहरा परिसरमा प्रवेशका लागि रु ५० निर्धारण गरिएको छ। धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा रु पाँच हजार तोकिएको छ। व्यावसायिक भिडियो छायाङ्कनका लागि प्रतिघण्टा रु पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा रु एक हजार छ निर्धारण गरिएको छ।

स्पेसएक्सद्वारा २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा प्रक्षेपण

लस एन्जलस । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले सोमबार २१ वटा स्टारलिंक उपग्रहहरू प्रक्षेपण गरेको छ।

स्पेसएक्सका अनुसार पूर्वी समयको १२ः३५ बजे फ्लोरिडास्थित नासाको केनेडी स्पेस सेन्टरमा फाल्कन– ९ रकेटमा उपग्रहहरू प्रक्षेपण गरिएको थियो।

स्पेसएक्सले पछि २१ उपग्रहको तैनाथी पुष्टि गर्‍याे, जसमा १३ ‘डायरेक्ट टु सेल’ क्षमता छन्। स्पेसएक्सका अनुसार, स्टारलिंकले अनुपलब्ध क्षेत्रहरूमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पहुँच पुर्‍याउनेछ।

मलेसियामा सवारीसाधन एकआपसमा ठोक्किँदा सात जनाको मृत्यु, ३३ घाइते

क्वालालाम्पुर । मलेसियामा तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ भने अन्य ३३ जना घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार २७ यात्रु बोकेको एउटा टुर बस, ट्रेलर र टोयोटा एकआपसमा ठोक्किएका थिए ।

स्थानीय प्रहरीका अनुसार मृत्यु हुनेमा तीन पुरुष, तीन महिला र एक बालिका रहेका छन् । दुर्घटनाका कारण राजमार्गको दुबै दिशामा १० किलोमिटरभन्दा बढी ट्राफिक जाम भएको थियो । दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ ।