`

पर्यटन प्रवर्द्धन गर्न भेडेटारमा खाना महोत्सव हुने

सुनसरी। आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले यही पुस १६ देखि १८ गतेसम्म सुनसरीको भेडेटारमा खाना महोत्सव हुने भएको छ ।

अंग्रेजी नयाँवर्ष २०२५ को पूर्वसन्ध्यामा कोशी प्रदेशको प्रसिद्ध पर्यटकीयस्थल भेडेटारमा १२औँ भेडेटार ‘फुड फेस्टिभल’ आयोजना गरिने होटेल सङ्घ भेडेटारका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिए ।

महोत्सवमा साँगुरीगढी–६ भेडेटार चोकदेखि काम्फेक, थुम्की नाम्जेसम्म र भेडेटार चोकदेखि नमस्ते झरना सिम्सुवासम्म विभिन्न ‘स्टल’ राखिने अध्यक्ष लिम्बूले बताए । महोत्सवमा साँगुरीगढी क्षेत्रका कृषि तथा घरेलु उत्पादनको बजारीकरण पनि गरिने छ ।

महोत्सवका माध्यमबाट धनकुटाका प्रमुख पर्यटकीयस्थल शैलुङडाँडा, चाल्र्स भ्यु टावर, स्काइ ब्रिज, पाथीभरा मन्दिर, शङ्खेश्वर, भेडेटार पार्क, सूर्योदय बौद्ध पार्क, प्याराग्लाइडिङस्थल, धजेडाँडा, ओख्रे भ्यु टावर, नमस्ते झरना, साँगुरीगढी, नाम्जे गाउँ, अजङ्गको वरको रुख, थाउजेन्ड बिग बुद्ध, कार्कीछाप झरना, चाँदी बजार, आहाले, खुवालुङ त्रिवेणी, धजे पदमार्ग, झण्डीडाँडा र गालखाडीको प्रवद्र्धनमा योगदान पुग्ने अध्यक्ष लिम्बूले विश्वास व्यक्त गरे ।

असद समर्थकहरूको ‘एम्बुस’ मा परी सिरियामा १४ सुरक्षाकर्मीको मृत्यु

बीबीसी । सिरियाका अपदस्थ नेता बशर अल–असदप्रति बफादार समूहको आक्रमणमा परी त्यहाँको विद्रोही–नियन्त्रित नयाँ प्रशासनको आन्तरिक मामिला मन्त्रालयका १४ सुरक्षाकर्मी मारिएका र अन्य १० अन्य घाइते भएका छन् ।

ती अलवाइत समूहका समर्थकहरू पूर्वनेता असदले मान्ने गरेको धार्मिक समूहका सदस्यहरू हुन् । बेलायतमा मुख्यालय रहेको एउटा अधिकारवादी समूह सिरिअन अब्जर्भेटरी फर ह्यूमन राइट्सका अनुसार कुख्यात सैदनाय जेलसँग सम्बन्धित एक जना पूर्वअधिकारीलाई सुरक्षा फौजले टार्टुस सहरमा पक्राउ गर्ने प्रयास गरेपछि यो घटना भएको हो ।

अलवाइत समूहको धार्मिक स्थलमा आक्रमण भएको एउटा भिडियो सार्वजनिक भएपछि अन्य कैयौँ स्थानमा पनि प्रदर्शन भएका छन् । सिरियाको विद्रोही–नियन्त्रित सरकारका अधिकारीहरूले लडाइँ भूमध्यसागरको तटमा रहेको टार्टुस बन्दरगाहनजिकै मङ्गलबार भएको जनाएका छन् ।

दमास्कसनजिकैको कुख्यात सैदनाय जेलमा भएका गतिविधिसँग जोडिएको एक पूर्वअधिकारीलाई पक्राउ गर्ने प्रयास गरेका सुरक्षाकर्मीलाई एम्बुसमा परिएको विवरणहरूमा जनाइएको छ । दुई हप्ता मात्रै अघि राष्ट्रपति असदले सत्ता गुमाएका थिए।

इस्लामवादी हायत तहरिर अल–शाम (एचटीएस) नेतृत्वको विद्रोही समूहले सिरियामा सत्ता चलाइरहेको छ । सिरिअन अब्जर्भेटरी फर ह्यूमन राइट्सका अनुसार तीन जना विद्रोही पनि उक्त झडपमा मारिएका थिए । उसका अनुसार त्यसपछि सुरक्षाकर्मीहरूले थप सहयोग मागेका थिए।

कञ्चनपुरमा नेपाली भूमि अतिक्रमणका विषयमा तुरुन्त कदम चाल्न सरकारलाई खनालको आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले कञ्चनपुरमा भारतीय पक्षले भूमि कब्जा गरेको भन्दै आपत्ति जनाएका छन् ।

बिहीबार बिहान विज्ञप्ति जारी गरी खनालले भारतीय पक्षले कञ्चनपुरमा ६६७ हेक्टर जमिन कब्जा गरेर खेतीपातीसमेत गरिरहेको कुरा जानकारीमा आएको उल्लेख गर्दै यस विषयमा तुरुन्त कदम चाल्न सरकारसँग माग गरेका हुन् ।

उनले भनेका छन्, ‘नेपालको सुदूरपश्चिमको जिल्ला कञ्चनपुरको दक्षिणी सिमानामा रहेको सीमा स्तम्भ २७ र २८ का बीचमा रहेको करिब एक हजार बिघा (करिब ६६७ हेक्टर) जमिन भारतीयहरूले कब्जा गरेर खेतीपाती समेत गरिरहेको कुरा जानकारीमा आएको छ । यो शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको क्षेत्र हो । तर दक्षिणतिरबाट लगातार अतिक्रमणमा भइरहेको कुरा अहिले जानकारीमा आएको छ । यो अत्यन्त गम्भीर घटना हो । यसरी देशको भूभाग र सिमाना खुलेआम अतिक्रमण हुँदा पनि यो देशको सरकार देख्न सक्दैन, थाहा पाउन सक्दैन र मुलुकको सीमा रक्षा गर्न कुनै कदम चाल्न सक्दैन । यो दुई तिहाई भनिने भारी भरकम सरकारको अकर्मण्यता, असक्षमता र लापरवाहीको चरम अभिव्यक्ति हो ।’

जाजरकोट केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । जाजरकोटको नायकवाडा आसपासलाई केन्द्रविन्दु आज बिहान ६ बजेर ३३ मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

शुक्रबारदेखि पुनःबदली र वर्षा हुने

काठमाडौँ  । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः बदली र वर्षाको हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार हाल कायम रहेको पचिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेकाले भोलि बिहीबार र शुक्रबार मौसम सामान्यतया सफा रहे पनि शुक्रबारदेखि अर्को मौसमी प्रणाली भित्रिने भएकाले बदली र वर्षा हुनेछ ।

“आज र भोलि खासै वर्षाको सम्भावना छैन, आज राति कोसी र गण्डकी प्रदेशका पहाडी भेगमा हल्का हिमपात हुने देखिन्छ”, उनले भनिन्,“शुक्रबारदेखि प्रणाली भित्रिने भएकाले रातिबाट बादल लागेर शनिबार वर्षा हुने देखिन्छ । देशैभर बदली रहे पनि वर्षा सुदूरपश्चिम, कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा हुने पूर्वानुमान गरिएको छ ।”

मौसमविद् मानन्धरले पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशभर बदली गराउनुका साथै कतिपय स्थानमा वर्षा हुने उल्लेख गरिन् । आइतबारबाट क्रमिक रुपमा मौसममा सुधार आउनेछ ।

पुसे झरी भएकाले चिसो क्रमशः बढ्दै जाने मौसमविद् मानन्धरको भनाइ छ । उनले भनिन्, “मङ्गलबारको हल्का वर्षाले आकाश खुलेकाले न्यूनतम तापक्रम घटेको छ । घाम लागेपछि अधिकतम तापक्रम वृद्धि हुन्छ । पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएपछि न्यूनतम तापक्रम घटेर विहान र राति बढी चिसो हुनेगर्छ ।”

महाशाखाको रेकर्डमा आज काठमाडौँको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्रिसेल्सियस र अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसकाबीच रहनेछ ।

गत मङ्सिर २९ गते न्यूनतम तापक्रम घटेर २ दशमलव ५ डिग्रीसेल्सियस पुगेको थियो । आज आकाश खुलेकाले बिहीबार र शुक्रबार न्यूनतम तापक्रम घट्ने मौसमविद् मानन्धरले जानकारी दिइन् । मौसम बद्ली हुँदा न्यूनतम तापक्रम नघटे पनि चिसो भइरहन्छ । घाम लागेपछि न्यूनतम तापक्रम घट्ने गरेको महाशाखाले उल्लेख गरेको छ ।

मौसमविद्को भनाइमा अङ्ग्रेजी जनवरी महिना सबैभन्दा चिसो महिना मानिन्छ । माघको दोस्रो र तेस्रो सातापछि दिन विस्तारै लम्बिने र तापक्रम पनि थोरै बढ्दै जान्छ । पुसे झरीले अझै जाडो बढ्ने जनाइन्छ । राति छिटफुट वर्षा भएर बिहान सामान्य बदली रहे पनि मध्याह्नतिर काठमाडौँको आकाशमा पारिलो घाम लागेकाले दिउँसो केही न्यानो महसुस गरिएको थियो ।

निलम्बनपछि उषाकिरणको प्रतिक्रियाः पार्टी नेतृत्वले पञ्चकै नक्कल गर्यो

काठमाडौं । नेकपा एमालेकी नेतृ उषाकिरण तिम्सिनाले आफूविरुद्धको पार्टीले गरेको कारबाहीप्रति आपत्ति जनाएकी छन् । बुधबार पार्टी सचिवालय बैठकले ६ महिना निलम्बन गर्ने निर्णयप्रति उनले आपत्ति जनाएकी हुन् ।

सामाजिक संजालमार्फत उनले कारबाहीलाई ‘पञ्चायतविरुद्ध लडेर आएको नेतृत्वले पञ्चकै नक्कल गरेको टिप्पणी गरेकी छन्। उनले भनेकी छन्, ‘आजै पनि आफ्नो जिम्मेवारी भएको नुवाकोट निर्वाचन क्षेत्र नम्बर एक अन्तरगत शिवपुरी गाँउपालिका कमिटीको सपथ ग्रहण कार्यक्रम थियो । उक्त कार्यक्रम सकेर भर्खर घर आइपुगेको छु । तल्लो तहका आमकार्यकर्ता, तिनको लगाव, मेहनत र चासोको अगाध माया लाग्छ । यता ६ महिना निलम्बनको निर्णय भएछ । पञ्चायतविरुद्ध लडेर आउनु भएको नेतृत्वगणले पञ्चकै नक्कल नगर्नु भएको भए हुन्थ्यो ।’

पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङसँग जग्गा दान लिने निर्णयको उनले विरोध गरेकी थिइन् । त्यसपछि पार्टीले उनलाई स्पष्टीकरण सोधेको थियो । तर स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै एमालेले उनलाई बुधबार ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ ।

विन्दा पाण्डे र उषाकिरणलाई ६ महिना निलम्बन गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिमल्सिनामाथि कारबाही गरेको छ ।

बुधबार बसेको सचिवालय बैठकले पाण्डेलाई स्थायी कमिटी र तिमल्सिनालाई केन्द्रीय कमिटीबाट ६ महिनाका लागि निलम्बित गरेको हो ।

त्यस्तै, बैठकले पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गर्ने निर्णय गरेको छ । भाटभटेनीका संचालक मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन जग्गा दान लिएको भन्दै उनीहरुले विरोध गरेका थिए । त्यसपछि पार्टीले उनीहरुमाथि स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरण चित्तबुझ्दो नभएकाले कारबाही गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । ज्ञवालीले उहाँहरुले गल्ती स्वीकार नगरेकाले कारबाही गरेको बताए ।

एमाले केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गते बस्ने

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । बुधबार बसेको सचिवालय बैठकले पुस २१ र २२ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन, संगठनात्मक कामको जानकारी गराइने बताए । त्यस्तै बैठकमा स्थानीय तह उपनिर्वाचन र सरकारको कामको समीक्षा हुनेछ ।

‘श्री बुकुरोः द होम कलिङ’को टिजर सार्वजनिक

काठमाडौं । सुदीप भुपाल सिंहको निर्देशनमा निर्माण भएको फिल्म ‘श्री बुकुरोः द होम कलिङ’को टिजर सार्वजनिक भएको छ। फिल्मको टिजरमा मुख्य कलाकार लक्ष्मी गिरीले वाचन गरेको कविताको अंशबाट सुरु भएको छ ।

टिजरमा सिनेमाका मुख्य दुई पात्र लक्ष्मी गिरी र आर्शिवाद क्षेत्री गाउँ फर्किरहेको देखाइएको छ । फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको सिनेमामा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मा लगायतको अभिनय छ ।

सञ्जय लामा र राजेश श्रेष्ठले छायाँकन रहेको फिल्मको मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा छायाँकन गरिएको हो।

पाँच महिनामा २५ हजार पर्यटकद्वारा रसुवा भ्रमण,राजस्व सङ्कलन सन्तोषजनक

रसुवा । रसुवाको पवित्र तीर्थस्थल गोसाईकुण्ड र लाङ्टाङ क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या पच्चीस हजार नाघेको छ ।

चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म जम्मा २५ हजार पाँच सय २१ पर्यटकले गोसाईंकुण्ड र लाङटाङ क्षेत्रको भ्रमण गरेको लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख श्यामकुमार साहले जानकारी दिए ।

यसरी रसुवा भ्रमण गर्न आउनेमा स्वदेशी तथा विदेशी गरी महिला नौ हजार एक सय तीन र पुरूष १६ हजार चार सय १८ रहेका छन् । यसैगरी सार्क राष्ट्रका छ हजार एक सय ६७ जना विदेशी पर्यटक रसुवा घुम्न आएको निकुञ्जको विवरणमा उल्लेख छ ।

लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयले पर्यटक, बन पैदवार, न्यायिक दण्ड तथा जरिवाना, सरकारी सम्पतिको वहालबाट रु दुई करोड २८ लाख सात हजार एक सय ८३ राजस्व सङ्कलन गरेको जनाएको छ ।

निकुञ्ज क्षेत्र आसपासमा बसोबास गरिरहेका र अन्य जन्तुबाट अन्नबाली क्षति पुर्याएका ४३ किसानलाई नियमानुसार मुल्याङ्कनका आधारमा रु चार लाख आठ हजार छ सय ५० राहत वितरण गरेको प्रमुख साहले बताए ।

निकुञ्ज संरक्षणलाई प्रभावकारी बनाउन स्थानीय निकुञ्जवासीको साथ सहयोग रहिआएको, शान्तिसुरक्षाको लागि तैनाथ श्रीनाथ गणबाट नियमित गस्ती भइरहेको, सुख्खायाममा लाग्ने डढेलो नियन्त्रणका लागि जनचेतना जगाउने कामलाई प्राथमिकतामा राखेको र अग्नि नियन्त्रणका सामग्रीसहित पूर्वतयारी अवस्थामा रहेको निकुञ्जले स्पष्ट गरेको छ ।

यसैगरी निकुञ्जले समग्र वन तथा वनस्पति एवं जैविक विविधताको संरक्षण गर्न समयसापेक्ष जनचेतना अभिवृद्धि गर्ने, रेडपाण्डा र हिम चितुवाको संरक्षणका लागि थप अध्ययन अनुसन्धान गराउने कामलाई प्राथमिकतामा राखेको छ ।

गोसाईंकुण्ड जादाँ काठे–लौरीको नाममा वनस्पति नकाट्न, पवित्रकुण्डमा स्नान गरेपछि शरीरमा लगाएका कुनै पनि वस्त्र कुण्ड आसपासका क्षेत्रमा नफ्याँक्न, कुण्डतर्फ जानेक्रममा पैदलमार्गमा भेटिने जनावरलाई नजिस्क्याइ संरक्षण अभियानमा साथ दिन र तोकिएको स्थानका भाडामा मात्र फोहर राखी वातावरण संरक्षण कार्यमा साथ दिन सबै यात्रु तथा पर्यटकसमक्ष निकुञ्ज प्रमुख शाहले अनुरोध गरे ।

धार्मिकशास्त्र अनुसार लौरीविनायकमा चढाउने लठ्ठीका लागि निगालोमात्र प्रयोग गर्न अनुरोध गर्दै भगवान शिव निलाद्रि पर्वत जाँदा बेदको लठ्ठी प्रयोग गरेकाले भक्तजनले बाँस या नियालोको लठ्ठी प्रयोग गर्दा उपयुक्त हुने प्रमुख शाहले बताए ।

यसैगरी मालपोत कार्यालय रसुवाले जग्गा जमिनको कारोबारअन्तर्गत चालू आवको साउनदेखि मङ्सिरसम्म पाँच सय १० थान रजिस्टेशन पारित गरेको जनाएको छ । मालपोत अधिकृत गणेश श्रेष्ठका अनुसार जग्गा लेनदेन कारोबारअन्तर्गत एक सय ३९ धितो बन्धकको लिखत पारित भएका छन् ।

रजिस्टेशन, नामसारी, जरिवाना, पूँजीगत लाभकर र अन्य विविध शीर्षकबाट पाँच महिनाको यस अवधिमा ९० लाख चार हजार एक सय ४५ रुपैयाँ राजस्व दाखिला भएको जिल्ला मालपोत प्रवक्ता सविता पौडेलले जानकारी दिइन् ।

हिमाली क्षेत्र भएका कारण चिसोयामलाई मध्यनजर गरी मालपोत कार्यालयभित्र सेवाग्राही विश्राम स्थल बनाइएको, महिला–पुरुषका लागि छुट्टाछुट्टै शौचालय र बालबच्चा लिई आउने महिला सेवाग्राहीलाई स्तनपान गराउने कक्ष, तातोचिसो पानीका लागि डिस्पेन्सर, मालपोतसम्बन्धी जानकारी दिने कक्ष र समाचार तथा मनोरञ्जनका लागि टेलिभिजनको व्यवस्था गरिएको छ । 

कर्णाली डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकद्वारा समस्याग्रस्त घोषणा

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ‘ख’ बमोजिम बैंकलाई ‘समस्याग्रस्त संस्था’ घोषणा गर्ने निर्णय गरेको हो ।

बाँकेको नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको बैंक ‘ख’ वर्गको हो । अब अर्को व्यवस्था नभएसम्मका लागि ऐनको दफा ८६ ‘ग’ बमोजिम कर्णाली विकास बैंक लिमिटेडको व्यवस्थापन नेपाल राष्ट्र बैंकको नियन्त्रणमा लिइएको जनाइएको छ ।

बैंक सञ्चालनका निम्ति बैंक तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरिएको छ । समूहमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उप–निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उप–निर्देशक जुगल किशोर कुशवाहालाई सदस्य तोकिएको छ ।

समूहले पुस ११ देखि उक्त संस्थाको तोकिएको जिम्मेवारी सम्हाल्नेछ । कर्णाली डेभलपमेन्ट बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएकोलगायतका समस्या देखिएका छन् ।

करारमा कर्मचारी नियुक्ति गर्न गण्डकी सरकारद्वारा निजामती सेवा ऐन संशोधनसम्बन्धी अध्यादेश जारी

गण्डकी । गण्डकी प्रदेश सरकारले करारमा कर्मचारी नियुक्ति गर्न अध्यादेश ल्याएको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकबाट प्रदेश निजामती सेवा ऐन संशोधनसम्बन्धी अध्यादेश जारी गरेको हो ।

गण्डकी सरकारले यअसघि आफैंले जारी गरेको प्रदेश निजामती सेवा ऐनविपरीत ज्यालादारी वा करारमा कर्मचारी नियुक्तिको प्रक्रियाअगाडि बढाउन अध्यादेश ल्याएको हो । दुई वर्षअघि ल्याइएको प्रदेश निजामती सेवा ऐन अस्थायी कर्मचारी नियुक्तिको बाटो पूर्णतः बन्द गरेको थियो ।

अध्यादेश ल्याउने विषयमा प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगसँग परामर्श गरेको थियो। तर, आयोगले प्रदेश निजामती सेवा ऐन र संघीय ऐनले करार, ज्यालादारी, अस्थायी कर्मचारी राख्न स्पष्ट रोक लगाएको बताउँदै सहमति दिएको थिएन । अध्यादेश जारी भएसँगै प्रदेश सरकारलाई करारमा कर्मचारी नियुक्तिको बाटो खोलेको छ।

पोखरामा ‘माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस’ हुने

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही पुस ११ गतेदेखि २१ औँ संस्करणको ‘माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस’ प्रतियोगिता सञ्चालन हुने भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा हुने प्रतियोगिताको सबै तयारी सकिएको आयोजकले बुधबार पत्रकारसम्मेलन मार्फत जनाएको छ ।

यही पुस १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा महिला तथा पुरुषतर्फ ‘सिंगल्स’ र ‘डबल्स’ तथा भेट्रान्सतर्फ ३५, ४५, ५५ र ६५ वर्ष माथि उमेर सूमहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एवं कास्की जिल्ला टेनिस संघका उपाध्यक्ष नवीन चालिसेले जानकारी दिए ।

प्रतियोगितामा सहभागिताका लागि नेपालका विभिन्न प्रदेश र जिल्लाहरुसहित छिमेकी देश भारत, भुटान, बेलायत, जापान, हङकङलगायतका मुलुकहरुबाट खेलाडीहरु पोखरा आइपुगेका छन् ।

खुलातर्फ नेपालका शीर्ष वरियताका प्रदीप खड्कासहित जितेन्द्र परियार, कमल भण्डारी, आरभ सम्राट हाडा, नेहालजंग थापा, रोहित सुनुवार, मनोज राणा र महिलातर्फ सुनिरा थापा, सलोनी तामाङ लगायतका खेलाडीहरुको सहभागिता रहने प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीले बताए।

अधिकारीका अनुसार पुरुष एकलतर्फ ३१ खेलाडी, महिला एकलमा ११ खेलाडी, ३५ वर्षमाथि ३२, ४५ वर्षमाथि २९ खेलाडी, ५५ वर्षमाथि २० जना सहित एक सय बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

महिला तथा पुरुष एकलतर्फ बिजेताले नगद ८० हजार उपबिजेताले ४० हजार सहित ट्रफि तथा सेमिफाइन लिस्टले नगद २० हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने छन् ।

महिला तथा पुरुष डबल्स तर्फ बिजेताले नगद ३० हजार उपबिजेताले १५ हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद रु १० हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक चालिसेले जानकारी दिए ।

यसैगरी ३५ वर्ष माथिको एकलतर्फ बिजेताले नगद ६० हजार उपबिजेताले ३० हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद १५ हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने छन् । यसैगरी ३५ वर्ष माथिको डबल्स बिजेताले नगद २० हजार उपबिजेताले १० हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद १० हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने छन् ।

आयोजकका अनुसार ४५ वर्ष माथिको एकलतर्फ बिजेताले नगद रु ४० हजार उपबिजेताले २० हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद १० हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने छन । ४५ वर्ष माथिको डबल्स बिजेताले नगद २० हजार उपबिजेताले रु १० हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्ने बताइन्छ ।

नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले यो प्रतियोगिता नेपालकै टेनिस इतिहासमा सबैभन्दा लामो समयसम्म निरन्तर रुपमा आयोजना भएको र खेल पर्यटन प्रवद्र्धनका लागि सहयोगी भएको बताए । कास्की टेनिस सङ्घका अध्यक्ष राजकुमार गुरुङले प्रतियोगिताले पोखराको खेल पर्यटनमा पनि महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

भारतका चर्चित गायक सोनु निगम काठमाडौंमा

काठमाडौं । भारतका चर्चित गायक सोनु निगम बुधबार काठमाडौं आइपुगेका छन् । बुधबार ह्यात होटलको चौरमा हुने ‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रममा सहभागी हुन उनी काठमाडौं आइपुगेका हुन् ।

आयोजक संस्था नेपाली टच नेपालका निर्देशक अभिनाश घिमिरेले गायक निगम पछिल्लो समय माग भएका गायकमा पर्ने र उनले नेपाली गीतसङ्गीत पनि प्रस्तुत गर्न सक्ने भएकाले बोलाइएको बताए ।

ह्यात चौरमा बुधबार अपरान्ह सोनुले गीत गाउनेछन् । गायक निगमले स्वर दिएका ‘यो जिन्दगीले’, ‘उकाली ओराली गर्दै’, ‘फुलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायत गीत नेपालीमाझ लोकप्रिय छन्।

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमणमा परी ४६ जनाको मृत्यु

काबुल ।  अफगानिस्तानको पूर्वी सीमावर्ती प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा परी ४६ जनाको मृत्यु भएको तालिबान सरकारका प्रवक्ताले बुधबार एएफपीलाई जानकारी गराएका छन् ।

‘प्रवक्ता जबीहुल्लाह मुजाहिदले भने, ‘मंगलबार राति पाकिस्तानले पत्तिका प्रान्तको बरमल जिल्लामा चार स्थानमा बमबारी गरेको थियो। मृत्यु हुनेको कुल सङ्ख्या ४६ पुगेको छ । मृतकमध्ये अधिकांश बालबालिका र महिला रहेका छन्।’

 उनका अनुसार घटनामा अन्य छ जना घाइते भएका छन् । अफगानिस्तानको रक्षा मन्त्रालयले मगलबार एक विज्ञप्ति जारी गर्दै अफगान भूमिमा पाकिस्तानले गरेको पछिल्लो आक्रमणको निन्दा गर्दै यसलाई ‘बर्बर’ र ‘स्पष्ट उत्तेजना’ भनेको छ ।

सरकारमा रहेका तालीवान् अधिकारीहरूको नाममा जारी विज्ञप्तिमा भनिएको छ, ‘इस्लामिक इमिरेट्स (अफगानिस्तान)ले यो कायरतापूर्ण कार्यलाई अनुत्तरित छोड्ने छैन, अफगानिस्तान आफ्नो भूभाग र सार्वभौमिकताको रक्षालाई आफ्नो अविभाज्य अधिकार ठान्छ।’

गत मार्चमा अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानी सेनाले गरेको हवाई आक्रमणमा आठ जना सर्वसाधारणको मृत्यु भएको तालीवान् अधिकारीले जनाएका थिए । बरमालनिवासी मलीलले मंगलबारको आक्रमणमा एकै परिवारका १८ जनाको मृत्यु भएको बताए।

ऐतिहासिक परिवर्तनमा कांग्रेस र एमाले एकताबद्ध छन् : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ऐतिहासिक परिवर्तनका साथै मुलुकमा सङ्कट उत्पन्न भएका बेला कांग्रेस र एमाले एकताबद्ध भएर अघि बढेका बताएका छन्।

नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालद्वारा बुधबार संयुक्त रूपमा आयोजित नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकमा भएका ऐतिहासिक परिवर्तनमा कांग्रेस र कम्युनिष्ट पार्टी एकढिक्का भएर लागेका इतिहास साक्षी रहेको उल्लेख गरे।

उनले कांग्रेस र कम्युनिष्ट मिलेर काम गर्दा ऐतिहासिक जित हासिल भएका उदाहरणहरू रहेका जिकिर गरे। ‘मुलुकमा सङ्कट आउँदा दुवै पक्ष एकताबद्ध भएर मिलेर काम गरेका छन् र ऐतिहासिक जित हासिल गरेका छन्। तर आवश्यकता अनुसमर कतिपय अवस्थामा कांग्रेस र एमाले प्रतिस्पर्धी पनि बनेका छन्’, वरिष्ठ उपाध्यक्ष पोखरेलले भने।

वरिष्ठ उपाध्यक्ष पोखरेलले कुनै पनि राजनीतिक दलबीच स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिँदै कांग्रेस र कम्युनिष्टबीच पनि अस्वस्थ प्रतिस्पर्धा नरहोस् भनेर सावधानी अपनाउने गरिएको धारणा राखे। उनले राजनीतिक पार्टी फरक–फरक भए पनि आधारभूत विषय देश भक्ति र मुलुकको पूर्वाधार विकास रहेको जिकिर गरे।

पोखरेलले नेपाल, भारत र चीनबीच घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध रहेको बताउँदै त्यसमा सबै संवेदनशील हुनुपर्नेमा जोड दिए। ‘हामी नेपालीबीच देशको प्रेम र देशभक्तिको भाव अत्यधिक छ’, उनले भने, ‘राजनीतिक पार्टी फरक भए पनि नागरिकलाई प्राथमिकतामा राखी मुलुकको विकासमा सबै दल केन्द्रित छौँ। हामी दुई ठूला मुलुक भारत र चीनको बीचमा छौ, यो सम्बन्ध प्रगाढ बनाउन सबै संवेदनशील हुनु जरुरी छ।’

९२ लाख रुपैयाँसहित काठमाडौंबाट तीनजना पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको ९२ लाख रुपैयाँसहित तीनजनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई मंगलबार राति जोरपाटीबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रसुवाका जितबहादुर तामाङ, संखुवासभाका सन्तोष खाती र सिन्धुपाल्चोकका रविन धमला छन् । उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त अजरबैजानको जहाजमा रहेका ६७ मध्ये २५ यात्रु बच्न सफल

बीबीसी । काजाकस्तानमा दुर्घटनाग्रस्त अजरबैजानको यात्रुवाहक जहाजका २५ यात्रु बच्न सफल भएका छन् । जहाज काजाकस्तानको अक्ताउ क्षेत्रनजिकै खसेको थियो ।

जहाजमा ६२ जना यात्रु र ५ जना चालकदलका सदस्यहरू थिए । काजाकस्तानको आकस्मिक सेवासम्बन्धी मन्त्रालयले दुर्घटनामा केही मानिसहरू बच्न सफल भएको जनाएको छ । प्रारम्भिक जानकारीअनुसार २५ जना यात्रु बच्न सफल भएका छन्। त्यसमध्ये २२ जनालाई अस्पताल पुर्याइएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

अजरबैजान एयरलाइन्सको उक्त जहाज खसेपछि आगो लागेको थियो । पछि जहाजमा लागेको आगो निभाइएको छ । अजरबैजान एयरलाइन्सको जहाज अजरबैजानको राजधानी बाकुबाट चेचन्याको ग्रोज्नीतर्फ गइरहेको थियो । कुहिरोका कारण उक्त जहाजलाई काजाकस्तानतर्फ मोडिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

व्यावसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी

रामपुर। पाल्पाको रामपुर नगरपालिका–५ सानीअमराईका पुरुषोत्तम ढुंगानाले पशुपालन व्यवसायबाट वार्षिक १२ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । उनले गाउँमा कृषिकर्मबाट स्वरोजगार बन्ने लक्ष्यसहित दुई वर्ष अघि व्यावसायिक गाईपालन सुरु गरेका हुन् ।

ढुंगाना ले फार्ममा अहिले ११ वटा उन्नत जातका गाई र तीनवटा भैँसी रहेका बताउँदै सात वटा गाई दुहुना रहेका जानकारी दिए । उनकाअनुसार दैनिक ५० लिटर दूध उत्पादन भइरहेको छ ।

‘घरमा पहिलेदेखि चार-पाँचवटा गाई नियमित रूपमा पालिन्थ्यो, दुई वर्ष यता भने व्यावसायिक रूपमा ‘रामपुर फार्म’ दर्ता गरी गाईभैँसी थपेर व्यवसाय विस्तार गरेको हुँ’, ढुंगाना ले भने, ‘आगामी दिनमा पशुचौपाया थप गरेर फार्म आधुनिक बनाउने योजना छ, अहिले संरचना थप्ने कार्य हुँदैछ।’

फार्मको रेखदेख, घाँस व्यवस्थापनलगायत कामका लागि तीन जना कामदार राखेर रोजगारीसमेत दिइरहेको ढुंगाना ले बताए । वार्षिक रूपमा सरदरमा रु १२ लाख आम्दानी हुने गरेको बताउँदै उनले व्यवसाय सञ्चालन गर्न भारत र नवलपरासीबाट गाई खरिद गरेर ल्याएको जानकारी दिए ।

ढुंगानाले फार्ममा अहिले होलस्टिन, जर्सी जातका गाई रहेका बताए। घाँस व्यवस्थापनका लागि तीस रोपनी जग्गा भाडामा लिएको भन्दै उनले करिब २१ रोपनी जग्गामा स्टाइलो, नेपियर जातका घाँस लगाएको उल्लेख गरे ।

ढुंगाना का अनुसार एकवटा गाईलाई रु ७३ हजारदेखि रु एक लाख ३० हजार मुल्य परेको छ । गाई खरिद र फार्म व्यवस्थापनमा करिब रु ३८ लाख लगानी परेको बताउँदै उनले पाँचवटा लैनो गाई थप्ने तयारीमा रहेको जानकारी दिए ।

पशुपालनमा पर्याप्त घाँसपातको व्यवस्था नहुँदा चुनौती थपिएको ढुंगाना ले बताए । पशुका लागि घाँसपात प्रशस्त आवश्यक पर्ने भएकाले घाँसपात व्यवस्थापनमा लगानी बढी खर्चिनुपरेको उनको अनुभव छ । उनले विज्ञान र ज्योतिषशास्त्रमा स्नातकोत्तर गरे । एमफिलको तयारीमा रहेका ढुंगाना गाउँमा बसेर केही उद्यम गर्ने लक्ष्य रहेकाले व्यावसायिक पशुपालनमा लागेका हुन् ।

‘कसैको अधिनमा नरहेर व्यवसाय गर्ने मनसायले पशुपालन थालनी गरेको हुँ, यसबाट जीविकोपार्जन गर्न सकिने, आम्दनी पनि हुने र स्थानीयलाई रोजगारी पनि दिन सकिन्छ । घाँसपात व्यवस्थापन मिलाउन सकियो भने आम्दानी मनग्ये हुने रहेछ’, उनले भने ।

रामपुरको बेझाड बजारमा दूध बिक्री गर्दै आएको बताउने ढुंगानाले भने, ‘पढेर जागिर खानुपर्छ भन्ने छैन, घरमा बसेर विभिन्न व्यवसाय गरेर जीविकोपार्जन गर्न सकिन्छ, स्वरोजगार बनेर उदाहरणीय काम गर्न सकिन्छ।’

पछिल्लो समय गाउँघरमा पशुपालनमा युवाको आकर्षण बढेको रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले बताए। नगरपालिकाले युवा स्वरोजगार कार्यक्रममार्फत प्रोत्साहनमूलक कार्यक्रम गरिररहेकाले व्यावसायिक रूपमा कृषि, पशुपालन तथा विभिन्न पेसा गर्ने युवाको उत्साह बढेको उनले उल्लेख गरे।

६७ जना यात्रु सवार अजरबैजानको विमान काजाकस्तानको अक्ताउ क्षेत्रनजिक दुर्घटना

बीबीसी । अजरबैजानको एउटा यात्रुवाहक जहाज काजाकस्तान दुर्घटनामा परेको छ । उक्त जहाज काजाकस्तानको अक्ताउ क्षेत्रनजिकै खसेको बताइएको छ। जहाजमा ६७ जना यात्रुहरू यात्रारत रहेको बताइएको छ ।

अजरबैजान एयरलाइन्सको उक्त जहाजतर्फ आकस्मिक सेवाका अधिकारीहरू जाँदै गर्दा त्यसमा आगो लागेको थियो। पछि जहाजमा लागेको आगो निभाइएको छ । काजाकस्तानका आकस्मिक सेवासम्बन्धी मन्त्रालयले दुर्घटनामा केही मानिसहरू बच्न सफल भएको जनाएको छ ।

प्रारम्भिक जानकारीअनुसार १२ जना यात्रु बच्न सफल भएका छन्। अजरबैजानको राजधानीबाट चेचन्यातर्फ उडेको उक्त जहाज कुहिरोका कारण काजाकस्तानतर्फ मोडिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सहकारी ठगीमा संलग्न कुनै पनि व्यक्तिलाई सरकारले छाड्दैनः संचारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारीको विषयमा आफ्नो पार्टीका मानिसलाई बचाउने र रास्वपालाई मात्र अनुसन्धान गरियो भन्ने गलत प्रचार भएको बताएका छन् ।

बुधबार काठमाडौँमा तमू(गुरुङ) सञ्चारकर्मी सङ्घ नेपालले आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले सहकारी ठगीमा जोसुकै संलग्न भएपनि कारबाही हुने बताएका हुन् ।

उनले अहिले सहकारी व्यवस्थापनको समस्या एकदमै धेरै देखिएकाले एकैपटक सबैलाई कारबाही गर्न समस्या रहेको बताए ।

उनले भने, ‘एकथरी राजनीतिक दलहरुलाई के भ्रम छ भने हाम्रोलाई मात्र गरयो, आफ्नोलाई गरेन भन्नेछ । समितिको प्रतिवेदनमा उल्लेख भएको सहकारीका कुनै पनि व्यक्ति कोही पनि छुट्दैन । त्यो सत्तामा रहेको कांग्रेसको होस् कि एमालेको होस् कि माओवादीको होस् । खाली रास्वपालाई मात्र गर्यो भन्ने गतल प्रचार भयो । हाम्रो अनुसन्धान र न्याय दिने कुरालाई ओझेलमा पार्न खोजेको हो ।’

उनले मूलुकको सुरक्षा, आर्थिक विकास र राजनीतिक प्रतिवद्धताको लागि गर्नुपर्ने धेरै काम अझै बाँकी रहेको बताए ।

बाह्रै महिना शुद्ध खानेपानी उपलब्ध गराउने तयारीमा मन्त्रालय

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई बाह्रै महिना मेलम्चीको शुद्ध, सफा खानेपानी उपलब्ध गराउने वातावरण तयार गर्न मन्त्रालयले पहल गरिरहेको बताएका छन् ।

मन्त्रालयका कर्मचारी तथा पदाधिकारीसँग बुधबार भएको छलफलमा मन्त्री यादवले काठमाडौँ उपत्यकामा चौबीसै घण्टा मेलम्चीको शुद्ध खानेपानी उपलब्ध गराउने गरी काम गर्नुपर्नेमा जोड दिए ।

“नागरिकल महसुस गर्नेगरी काम अगाडि बढाऔँ, मन्त्रालयबाट आवश्यक सहयोग र समन्वय हुनेछ, अधुरा कामलाई तीव्र रूपमा सम्पन्न गर्नुपर्छ”, उनले भने, “काठमाडौँवासीले बाह्रै महिना शुद्ध र सफा खानेपानी पाउनुपर्छ, सोहीअनुसार वातावरण तयार गरौँ ।”

मन्त्री यादवले मेलम्चीको खानेपानी काठमाडौँ उपत्यकामा ल्याउने विषयमा सिन्धुपाल्चोकको हेलम्बुबासीका साथै त्यहाँका सङ्घर्ष समिति र मन्त्रालयबीचमा भएको सहमति कार्यान्वयनका लागि आवश्यक पहल गर्न मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिए ।

उनले भने, “नागरिकका समस्या समाधान गर्नु हाम्रो दायित्व हो, काठमाडौँमा मेलम्चीको पानी ल्याउने समयमा हेलम्बुका नागरिकसँग विगतमा भएका सहमति कार्यान्वयनका लागि आवश्यक पहल गर्नुपर्छ ।”

जनतालाई स्वच्छ, सफा पानी वितरण गर्नु मन्त्रालयको पहिलो प्राथमिकतामा रहेको बताउँदै मन्त्री यादवले यसका लागि मन्त्रालयले योजनाबद्ध रूपमा काम गरिरहेको उल्लेख गरे । साथै आवश्यकता अनुसार सम्बन्धित मन्त्रालय र अन्य सरोकार भएका निकायसँग पनि छलफल गरी काम गरिरहेको उनले बताए ।

गत असोज ११ गतेदेखि आएको बाढीबाट क्षतिग्रस्त ललितपुरको धोबीघाट फोहर पानी प्रशोधन केन्द्र यथाशीघ्र सञ्चालनमा ल्याउन मन्त्री यादवले निर्देशन दिए । उनले उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयसहित मातहतका निकायलाई बाढीका कारण क्षति पुगेको उक्त केन्द्र यथाशीघ्र मर्मत गरी सञ्चालन ल्याउन निर्देशन दिएका हुन् ।

उनले भने, “खानेपानीका चुहावट भएका पाइप मर्मत गरौँ, अत्यावश्यक रूपमा रहेको धोबीघाट फोहर पानी प्रशोधन केन्द्र यथाशीघ्र सञ्चालनमा ल्याऔँ ।” मन्त्री यादवले खानेपानीको समस्या उत्पन्न भएका ठाउँमा तत्काल जनशक्ति खटाएर समस्या समाधान गर्न मातहतका सबै निकायलाई आग्रह गरे । उनले भने, “पानीको समस्याका विषयमा गुनासो आएका ठाउँमा तत्काल थप जनशक्ति परिचालन गरी समस्या समाधान गर्नु होला ।”

ललितपुरको धोबीघाटस्थित प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेर हस्तान्तरण गर्ने तयारी भएकामा गत असोज ११ गते आएको बाढीले त्यहाँ रहेका भौतिक संरचना तथा उपकरणमा क्षति पुगाएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रशासन प्रमुख राजेन्द्रबहादुर बमले जानकारी दिए ।

उनले भने, “धोबीघाटमा निर्माणाधीन प्रशोधन केन्द्र अन्तिम चरणमा पुगेर हस्तान्तरण गर्ने तयारीमा थियो । असोजमा आएको बाढीले संरचना र उपकरणका क्षति पुगाउँदा अहिले समस्या भएको हो ।”

सीमाविद् श्रेष्ठलाई ‘रेमण्ड माइलफस्की अवार्ड’

काठमाडौँ। बेलायतस्थित डरहम विश्वविद्यालयको सेन्टर फर इन्टरनेसनल बाउन्ड्री रिसर्च युनिट (आइब्रु) ले नेपालका सीमाविद् वुद्धिनारायण श्रेष्ठलाई ‘रेमण्ड माइलफस्की अवार्ड–२०२४’ प्रदान गरेको छ।

फोटोसहित केन्द्रको वेबसाइटमा उल्लेख गरिएको छ। श्रेष्ठले दक्षिण एसियाको पहाडी, विवादित भूभागमा रहेको सिमानाको व्याख्या र उजागर गर्न समर्पित जीवनचर्या निर्माण गर्दै सर्वेक्षणको आफ्नो पृष्ठभूमि प्रयोग गरेका छन्।

सन् १९९२ मा नेपालको नापी विभागको महानिर्देशकको रूपमा काम गरेपछि श्रेष्ठले ‘बोर्डर म्यान अफ नेपाल’ को रूपमा दोस्रो जीवनचर्या सुरु गरे। सीमा व्यवस्थापन र सीमा क्षेत्र पुनःप्राप्तिका कानुनी मुद्दाहरूमा आफूलाई शिक्षित गरेपछि श्रेष्ठले सीमा अध्ययनमा व्यापक मुद्दाहरूप्रति आफ्नो सर्वेक्षण पृष्ठभूमि लागू गर्न, सीमाङ्कनमा विशेषज्ञ बन्न, ऐतिहासिक सन्धि र मानचित्रको जटिलता र समकालीन विवाद समाधानका लागि तिनीहरूको प्रभावबारे सरकारलाई सल्लाह दिन यस विषयमा १४ वटा पुस्तक प्रकाशित गरेका थिए।

सिमानावालाले राष्ट्रको सीमा रक्षकको रूपमा काम गर्दछ। श्रेष्ठ सीमा रेखा, सीमा स्तम्भ र सीमा चिन्हहरूमा आफ्नो आँखा पुर्‍याउने गर्छन्। उनले आफ्नो देशको राष्ट्रिय सीमाको सुरक्षाका लागि तीन दशकभन्दा बढी समयदेखि सीमा रक्षक, सीमा सूचनाकर्ता, सीमा संरक्षक, भौगोलिक सीमाप्रति दृष्टि पुर्‍याउने व्यक्तिका रूपमा विभिन्न गतिविधि र कर्तव्य निर्वाह गर्दै आएका छन्। त्यसैले उनलाई द बोर्डर म्यान अफ नेपाल भनिन्छ।

पुरस्कार प्रदान गरिएको कुरा उजागरगर्दै आइब्रुका निर्देशक फिलिप स्टाइनबर्गले उल्लेख गरेका छन्, ‘बुद्धि नारायण श्रेष्ठले आफ्नो देशप्रति समर्पित गर्ने चाहनाका साथसाथै शान्ति र स्थिरता ल्याउनका लागि सीमा क्षेत्रमा आफूलाई समर्पित गर्न रोजेका छन्। उहाँले नेपाल र सीमा पारसीमा निर्माणमा महत्वपूर्ण योगदान दिएका छन्। हामी उहाँलाई माइलफस्की अवार्डले मान्यता दिन पाउँदा गर्व गर्दछौँ।’

माइलफस्की पुरस्कार प्रत्येक वर्ष सीमा निर्माण वा सीमापार सहयोग गर्ने व्यक्ति वा संस्थालाई दिइन्छ। माइलफस्की अवार्ड प्रदान गर्न अमेरिकी विदेश विभागमा लामो समय सीमा विशेषज्ञ रहेका रेमण्ड माइलफस्कीको सम्पत्तिबाट प्राप्त वसीयतबाट सम्भव भएको हो। जो आइब्रु प्रशिक्षण कार्यशालामा प्रशिक्षक रहेका थिए। पुरस्कारमा सात सय ४५ स्टर्लिङ पाउण्ड नगद रहेको छ।

दुग्ध बिक्रीबाट मासिक ९० हजार बचत

इनरुवा। जिल्ला सदरमुकाम इनरुवा–२ का रवीन्द्र यादवले इनरुवा–२ मा दुग्ध डेरी सञ्चालन गरी मासिक ९० हजार बचत गर्दै आएका छन् ।

रोजगारीको खोजीमा दैनिक रूपमा मोटो रकम खर्च गरेर विदेशतर्फ जाने युवालाई उनले उक्त रकम स्वदेशमा लगानी गरी स्वरोजगार बन्ने सकिने सन्देश दिएका हुन् ।

मधेस आन्दोलनका बेलामा नेतृत्वदायी भूमिका निर्वाह गरेका यादवले कुनै ठाउँमा अवसर नपाएपछि ॐ शिवम दुग्ध तथा डेरी उद्योग सञ्चालन गरे। उनले स्थानीय तथा ग्रामीण क्षेत्रका किसानबाट दूध संकलन गरी बिक्री गर्नुका साथै बचेको दूधबाट दही, पनिर र खुवा बनाएर बिक्री गर्दै आएका हुन् ।

यादवले अहिले सबै खर्च कटाएर मासिक ९० हजारसम्म आम्दानी भइरहेको जानकारी दिए । हरिनगर गाउँपालिकाबाट दैनिक तीन सय लिटर र देवानगञ्ज गाउँपालिकाबाट दुई सय लिटर दूध संकलन हुँदै आएको उनले उल्लेख गरे ।

दैनिक रूपमा पाँच सय लिटर दूध, एक सय किलो, दही, दुई किलो खुवा र पाँच किलो पनिर बिक्री हुँदै आएको यादवले जानकारी दिए । उनका अनुसार मासिक रूपमा एक लाख २० हजार आम्दानी हुनेमा सबै खर्च कटाउँदा ९० हजार बचत भइरहेको छ ।

‘साँझ र बिहान गरी दैनिक पाँच सय लिटरसम्म दूध बिक्री गर्दै आएको छु’, यादवले भने, ‘मासिक रूपमा बिजुली, घर भाडा, कर्मचारीलाई तलबलगायत अन्य खर्च ३० हजार हुँदै आएको छ ।’

रोजगारीका लागि विदेश जानुभन्दा स्वदेशमा स्वरोजगारका अवसर सृजना गर्नुपर्नेमा उनले जोड दिए । युवालाई विदेश पलायन हुनबाट रोक्न स्थानीय सरकारले तालिम, सीप प्रदान, अनुदान वितरणलगायत सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

हरितगृह ग्यास उत्सर्जन कटौती गर्ने जापानको प्रतिवद्धता

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०३५ सम्ममा ६० प्रतिशतले हरितगृह ग्यास उत्सर्जन कम गर्ने योजनालाई स्वीकृत गरेको छ ।

वातावरण मन्त्रालय तथा अर्थ, व्यापार तथा उद्योग मन्त्रालयको संयुक्त बैठकमा आर्थिक वर्ष सन् २०४० सम्म ७३ प्रतिशतले न्यूनीकरण गर्ने दीर्घकालीन लक्ष्यमा पनि अधिकारी तथा विज्ञहरू सहमत भएका छन् ।

बैठकमा केही विज्ञहरूले विश्वव्यापी जलवायु लक्ष्य पूरा गर्न अपर्याप्त भनी वर्णन गरिएका लक्ष्य तयारीको अन्तिम चरणमा छन् । यी लक्ष्यहरू फेब्रुअरी सन् २०२५ सम्म संयुक्त राष्ट्र सङ्घमा पेश हुने छन् ।

सरकारले आर्थिक वर्ष सन् २०४० का लागि क्षेत्रगत उत्सर्जन न्यूनीकरणको लक्ष्य तय गरेको छ । यसमा आर्थिक वर्ष सन् २०१३ को तुलनामा व्यापार क्षेत्रमा ७४ देखि ८३ प्रतिशत, यातायातमा ६४ देखि ८२ प्रतिशत र घरपरिवारमा ७१ देखि ८१ प्रतिशत समावेश छ ।

उत्तर कोरियाको सेनाले युद्धमा अहिलेसम्म उल्लेख्य प्रभाव नपारेको युक्रेनको भनाइ

किएभ । रूसी क्षेत्र कुस्र्कमा रूसी सेनासँगै उत्तर कोरियाली सैनिकको उपस्थितिले युद्धको क्रममा अहिलेसम्म ठूलो असर नपरेको युक्रेनी सैन्य गुप्तचर अधिकारीले एएफपीलाई बताएका छन् ।

किएभका अनुसार करिब ५०० अधिकारी र तीन जना जनरलसहित १२ हजार उत्तर कोरियाली सैनिक सीमा क्षेत्रमा कार्यरत छन् । रूस र उत्तर कोरिया दुवैले फ्रन्टलाइनमा आफ्नो संलग्नताको पुष्टि गरेका छैनन् ।

“युद्धमा उत्तर कोरियालीहरूको संलग्नताले स्थितिमा खासै प्रभाव पारेको छैन”, युक्रेनी सैन्य गुप्तचर सेवा (जीयूआर)का प्रवक्ता येवगेन येरिनले एएफपीसँग भने,‘यो त्यति सैनिकहरूको ठूलो सङ्ख्या होइन ।’

उत्तर कोरियाली सेनालाई आधुनिक युद्ध, विशेषगरी ड्रोनको बारेमा थोरै मात्र अनुभव भएको उनले बताए । उत्तर कोरियाली सेना परम्परागत हतियारको प्रयोग र शैलीको युद्धमा भने पोख्त बरहेको पाइएको छ ।

उनले अगाडि भने “उनीहरूले पनि सिकिरहेका छन् र हामी शत्रुलाई कम आँक्न सक्दैनौं। हामी देख्न सक्छौँ, उनीहरूले पहिले नै आफ्ना गतिविधिहरूमा केही चीजहरू ध्यानमा राखिरहेका छन् ।”

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसै हप्ता उत्तर कोरियाका करिब तीन हजार सैनिक मारिएको र घाइते भएको बताएका थिए ।

दक्षिण कोरियाले सोमबार एक हजार १०० जना मारिएको वा घाइते भएको जानकारी दिएको थियो । दक्षिण कोरियाका अनुसार उत्तर कोरियाले रूसमा सैन्य सुदृढीकरणको लागि नयाँ समूहहरू पठाउने वा पहिले नै लडिरहेकाहरूलाई राहत दिन र ड्रोनहरू पठाउने तयारी गरिरहेको देखिन्छ।

वार्षिक पूर्वाधार निर्यात ४५ ट्रिलियन येन पुर्‍याउने जापानको लक्ष्य

टोकियो। जापान सरकारले ऊर्जा र खाद्य क्षेत्रहरूमा आपूर्ति शृङ्खला वृद्धि गर्ने लक्ष्य राख्दै सन् २०३० सम्ममा देशको वार्षिक पूर्वाधार निर्यात ४५ ट्रिलियन येन (लगभग २८६ बिलियन अमेरिकी डलर) पुर्याउने निर्णय गरेको छ।

सरकारले मंगलबार नयाँ निर्यात रणनीति जारी गरेको हो। यसले आफ्नो सन् २०२५ लक्ष्य ३४ ट्रिलियन येनमा पुग्ने लक्ष्य राखेको छ । सन् २०२२ मा जापानको विदेशी पूर्वाधार ३१ ट्रिलियन येनको मूल्यको थियो, जुन सन् २०१४ को तुलनामा लगभग ६० प्रतिशतले बढेको छ ।

रणनीतिले जापानी कम्पनीहरूलाई ऊर्जा र खाद्य जस्ता प्रमुख आर्थिक सुरक्षा क्षेत्रहरूमा पूर्वाधार निर्यात विस्तार गर्न मद्दत गर्नेछ । देश यी महत्त्वपूर्ण स्रोतहरूको लागि आयातमा अत्यधिक निर्भर रहन्छ ।

प्रधानमन्त्री शिगेरु इसिबाले आफ्नो कार्यालयमा भएको भेटमा भने, ‘सरकारले थप प्रगतिका लागि दृढताका साथ काम गरिरहनेछ भन्ने मलाई आशा छ ।’

कांग्रेस-एमालेको कार्यदलले संविधान संशोधनका लगि सबै राजनीतिक दलसँग छलफल गर्छः उपप्रधानमन्त्री सिंह

रुपन्देही । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरूसँग छलफल गरेरै संविधान संशोधनको प्रक्रिया अघि बढाउने बताएका छन् ।

बुधबार रूपन्देहीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले संविधान संशोधनका लागि कांग्रेस, एमालेको कार्यदल बनिसकेको र कार्यदलले आन्तरिक रूपमा काम गरिरहेको बताए ।

‘संविधान संशोधनको प्रक्रियालाई अगाडि बढाउन कांग्रेस र एमालेको कार्यदल गठन भइसकेको छ । कार्यदलले सबै राजनीतिक दलसँग छलफल गर्छ । सबै दलहरूसँग गरेर नै संविधान संशोधनको प्रक्रिया अगाडि बढ्छ ।’ उनले भने ।

उपप्रधानमन्त्री सिंहले कोभिडपछिको धरायशी अर्थतन्त्रलाई चलायमान बनाउन र लयमा ल्याउन सरकारले काम गरिरहेको र अहिले सुधारको संकेत देखिन थालेको बताए ।

‘कोभिडपछिको अर्थतन्त्र उकास्न सरकारले काम गरिरहेको छ । अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको ध्यान केन्द्रित छ’ उपप्रधानमन्त्री सिंले भने, ‘अर्थतन्त्र सुधार्न उच्च स्तरिय संयन्त्र बनाएका छौँ । अर्थतन्त्र चलायमान र लयमा ल्याउन सरकारले काम गरिरहेको छ ।’

उपप्रधानमन्त्री सिंहले बुधबार रूपन्देहीको सियारी गाउँपालिकामा सियारी पर्यटन करिडोरको शिलान्यास र दयानगर दानव लिफ्ट सिञ्चाई योजनाको उद्घाटन गरेका छन् ।

पर्यटन करिडोर र लिफ्ट सिञ्चाइ आयोजनाले सियारी गाउँपालिकाका नागरिकको आर्थिक अवस्था परिवर्तन गराउने उनले विश्वास व्यक्त गरे । लिफ्ट सिञ्चाई आयोजनाले १०५ हेक्टर क्षेत्रफलमा सिञ्चाई सुविधा हुनेछ ।

नेपाल–कोरिया सम्बन्धको नयाँ मार्गचित्र

-डा. शिवमाया तुम्बाहाम्फे

नेपाल कोरियाबीचको सम्बन्ध ऐसतहासिक रहेको छ । सन् ३७२ मा कोरियामा बौद्ध धर्म प्रवेशसँगै लुम्बिनीसँग भावनात्मक र धार्मिक सम्बन्ध विकास भएको मानिन्छ । सन् ७१९ मा कोरियाली गुरु हेछो लुम्बिनी पुगेको अभिलेख छ । यद्यपि दुई मुलुकबीच कूटनीतिक सम्बन्ध भने १५ मे १९७४ मा भएको थियो । त्यसैवर्ष गणतन्त्र कोरियाले काठमाडौंमा आफ्नो दूतावास खोलेको थियो भने नेपालले सन् २००७ मा मात्रै सियोलमा दूतावास स्थापना ग¥यो । कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सद्भाव, मित्रता र पारस्परिक सहयोगमा आधारित छ । नेपाल र कोरियाबीच ३० मार्च २००५ मा भएको सांस्कृतिक सम्झौताले दुई देशबीचको संस्कृति, कला, शिक्षा, युवा, खेलकुद र पर्यटनका क्षेत्रमा सहयोगको प्रवद्र्धन र विकास गर्ने उद्देश्य राखेको छ ।

सन् २०२४ दुई मुलुकबीचको सम्बन्धको एक ऐतिहासिक स्वर्ण उत्सव मनाइरहेका छौंँ । केही वर्षयता कोरिया नेपाली कामदारहरुको मुख्य गन्तव्य मुलुक बनेको छ । यस वर्षको जुलाईको अन्त्यसम्म कोरियामा नेपालीको संख्या ६९ हजार ४३८ रहेको छ, जसमध्ये कामदारको संख्या ५३ हजार ४८४ (इ ७) भिसा अर्थात दक्ष कामदार छ हजार ५५४ र रोजगार अनुमति प्रणाली (एपिएस) अन्र्तगत कामदारहरू अर्थात् (इ ९) भिसामा ४६ हजार ९३० रहेका छन् । यस्तै उहाँ अध्ययनका लागि गएका विद्यार्थीको संख्या छ हजार ३३४ रहेको छ ।

नेपाल र कोरियाबीच परामर्श संयन्त्र स्थापना गर्न २००१ अक्टोबरमा विदेश मन्त्रालयहरूबीच सम्झौता भएको थियो । संयन्त्रले दुबै पक्षलाई द्विपक्षीय सम्बन्धका विभिन्न आयामहरूमा छलफल गर्न र आगामी दिनमा द्विपक्षीय सहयोगलाई अझ प्रवद्र्धन गर्न योगदान दिएका छन् । समयसमयमा संयन्त्रका बैठक बस्ने गरेको छ । दुबै देशमा उच्चस्तरीय भ्रमणहरू भइएका छन् । नेपालमा पनि कोरियाबाट उच्चस्तरीय भ्रमण भएका छन् । कोरिया गणतन्त्रबाट पनि सन् २००९ मा परराष्ट्रमन्त्री यु म्युंग–ह्वानसहित विभिन्न समयमा उप–परराष्ट्रमन्त्रीहरू, संसदको माथिल्लो सदनका सभामुखलगायतको भ्रमण भएको छ ।

नेपालको आर्थिक समृद्धिमा कोरियाली सहयोग

नेपालको आर्थिक समृद्धिमा कोरिया सरकारले महत्वपूर्ण सहयोग गर्दै आएको छ । कोरिया नेपालका शीर्ष पाँच लगानीकर्ताहरूमा पर्दछ । कोरियाली लगानीकर्ताहरूले नेपालमा मुख्यतः जलविद्युत्, निर्माण र सेवा क्षेत्रमा लगानी गरेका छन् । नेपालमा कोरियाली बहुराष्ट्रिय कम्पनी सामसङ र हुन्डाईले उत्पादन शुरु गरेका छन् । नेपाल र कोरियाबीचको राजनीतिक, आर्थिक र सांस्कृतिक सम्बन्धहरू छन् । दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको शुरुआती चरणदेखि नै अर्थतन्त्र, पूर्वाधार विकास र रोजगारीलगायतका क्षेत्रमा पारस्परिक सहयोग आदानप्रदान हुँदै आएको छ ।

नेपाल र कोरियाबीच २३ जुलाई २००७ मा एपिएस सम्झौतामा हस्ताक्षर गरिएको थियो, जसले नेपाली कामदारहरूलाई कोरियामा काम गर्ने प्रणालीको व्यवस्था गरेको छ । दुई देशबीच अनुदान सहायतासम्बन्धी फ्रेमवर्क सम्झौता, नेपाल–कोरिया आर्थिक/प्राविधिक सहयोगजस्ता द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । त्यस्तै कोरिया गणतन्त्रले सन् १९७६ देखि नेपाललाई आफ्नो विकास सहयोग प्रदान गर्दै आएको छ । कोरियाले अनुदान सहायता र प्राविधिक सहयोग गर्दै आएको छ । कोरियाले मध्यमस्तरका प्राविधिक जनशक्तिलाई स्वयंसेवकको रूपमा नेपालमा खटाउने गरेको छ ।

नेपालले कोरियाबाट विभिन्न लाभ लिनसक्ने स्थिति छ । तर, हाम्रा नीतिगत र योजना कार्यान्वयनमा भएका समस्याका कारण सोचेजति लाभ लिन नसकिरहेको अवस्था विद्यमान छ । खासगरी उच्चस्तरीय भ्रमण हुन नसक्नु, कोरियालीहरूले नेपालमा लगानीको इच्छा राखे पनि लगानी भित्र्याउन नीतिगत र लगानीको वातावरण दिन नसक्नु तथा नेपालले सहकार्य गर्न खोजेको क्षेत्रको बारेमा रणनीतिक योजना र स्पष्ट दृष्टिकोण दिन नसक्दा पनि सोचेजस्तो लगानी भित्र्याउन सकिएको छैन ।

अगामी मार्गचित्र

दुई सार्वभौम मुलुकबीच संवाद र सहयोगलाई सहज बनाउन राजदूतले कूटनीतिक सहजकर्ताको रुपमा काम गर्नुपर्दछ । राजदूत विदेशी राष्ट्रहरूमा कूटनीतिक प्रतिनिधि हुन्, उनीहरूको काम दुई देशबीच सकारात्मक सम्बन्ध कायम राख्न मद्दत गर्ने हो । नेपाल सरकारले मलाई गणतन्त्र कोरियाको राजदूतको जिम्मेवारी दिँदै गर्दा दुई देशबीचको कुटनीतिक सम्बन्धलाई अझै व्यवस्थित र उचाइमा पुर्याउन मेरा केही प्राथमिकताहरु रहेका छन् ।

क. उच्चस्तरीय भ्रमणमा जोड : नेपाल र कोरियाबीच कुटनैतिक सम्बन्ध स्थापना भएको स्वर्ण
वर्षको अवसर पारेर दुई मुलुकबीचको सम्बन्धलाई थप दरिलो बनाउन र कोरियाबाट विकासका लागि ज्ञान, प्रविधि र लगानी भित्र्याउनका लागि उच्चस्तरीय भ्रमण गराउन सकिन्छ । दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन उच्चस्तरको भ्रमणको आदानप्रदान अपरिहार्य हुन्छ । साथै, कोरियाली लगानीकर्तासँग नियमित भेटघाट, सम्पर्क र उनीहरूको नेपालमा लगानीप्रतिको विश्वास बढाउनका लागि नेपालबाट सरोकारवाला मन्त्री वा उच्चस्तरीय अधिकारीहरूको नियमित भ्रमण हुन आवश्यक देखिन्छ ।

ख. नेपालमा लगानी तथा निर्यात वृद्धि : नेपाल र कोरियाबीचको बढ्दो व्यापार असन्तुलन कम गर्न द्विपक्षीय लगानीसम्बन्धी साझेदारीमा जोड दिनुपर्ने अवस्था छ । कोरियाबाट नेपालतर्फ हुने आयातको तुलनामा नेपालको निर्यात निकै कम रहेकाले व्यापार सन्तुलन कायम गर्न नेपालमा कोरियाली लगानी आवश्यक छ । ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधिजस्ता क्षेत्रमा लगानी साझेदारी बढाउन सकिन्छ । नेपाली अर्थतन्त्रको मेरुदण्ड पनि ऊर्जा, कृषि, पर्यटन नै प्रमुख हो ।
नेपाल उद्योग वाणिज्य महासंघका अनुसार ३ सय ५० भन्दा बढी कोरियालीले नेपालमा उद्यम गरिरहेकाले नेपालमा लगानीको वातावरण बनाउन सम्भव देखिएको छ । कृषिको यान्त्रीकरणका लागि पहल गरिनेछ । कृषि उत्पादनका लागि आवश्यक कारखाना, मल उत्पादन एवं सूचना प्रविधिमा लगानीका लागि अधिकतम पहल गर्नेछु । नेपालमा लगानी गर्न इच्छुक मझौला उद्योगहरूलाई सहजिकरण गर्ने तथा नेपालको निजी क्षेत्रसँग समन्वयको कार्य गर्नेछु । चक्रपथसहित सडक निर्माण, ठूला पूर्वाधार, लगायत सूचना प्रविधिको क्षेत्रमा, फोहोर व्यवस्थापन, अर्गानिक मल उत्पादन कारखाना खोल्नेलगायतका विषयमा सहयोगको प्रस्ताव लैजाने योजना बनाएको छु ।

नेपाल कोरियाको सहायता सूचीमा रहेकोले आर्थिक सहयोग विकास कोष (इडिसिएफ) मार्फत प्राप्त हुने रकम न्यून ब्याजमा लिने र यहाँको पूर्वाधार क्षेत्रमा लगानी गर्न मेरो पहल रहनेछ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को लगानीलाई अझै व्यापक र विस्तार गर्न सकिन्छ । नेपाली उत्पादनहरूको माग, प्रतिस्पर्धा र बजारको अवस्था अध्ययन गर्दै निर्यात गर्न सकिने उत्पादनहरूको पहिचान तथा नेपालका कृषिजन्य उत्पादन तथा हस्तकलाका सामग्रीको निर्यात सम्भावना बढी रहेकाले ती सामग्रीको प्रवद्र्धनका लागि आवश्यक पहलको खाँचो रहेको छ । दुई देशबीच भएका व्यापार सम्झौताको कार्यान्वयन, भन्सार प्रक्रियाको सहजीकरण, व्यावसायिक भ्रमणको आयोजना गर्नुपर्नेछ ।

ग. पर्यटन प्रवर्द्धन : लुम्बिनीलाई विश्व शान्ति केन्द्र बनाउन सकिएमा यहाँ पाँच सय मिलियन बौद्धमार्गीको आस्थाको केन्द्र बनाउने लक्ष्यसहित कम्तिमा ०.५ प्रतिशत बौद्धमार्गीलाई नेपाल ल्याउन सकिन्छ । लुम्बिनीलाई विश्व शान्ति सहरको रुपमा विकास गर्न कोरियन प्रोफेसर डा. क्वाक योङ हुनले तयार पारेको गुरुयोजना कार्यान्वयनको खाँचो छ ।  अत्याधुनिक सहरको परिकल्पना गरिएको उक्त गुरुयोजनाले लुम्बिनीलाई शान्ति र आध्यात्मिकसँगै अत्याधुनिक शहरको रुपमा विकास गर्ने उल्लेख छ । दुवै देशमा बौद्ध धर्मका आदर्शहरूमा आधारित सांस्कृतिक मूल्यहरूको समानता छ ।

नेपाल कोरियाली पर्यटकहरूको लागि सबैभन्दा रुचाइएको गन्तव्यमध्ये एक हो । सगरमाथा र लुम्बिनी–बुद्धको जन्मस्थल कोरियाली पर्यटकहरूको लागि मुख्य आकर्षण हुन् । हाल कोरियाबाट नेपाल भित्रिने पर्यटकको संख्या १० औँ स्थानमा रहेको छ । सन् २०२३ मा २३ हजार सात सय ४३ र कोरोना महामारीअघि ४७ हजारभन्दा बढी कोरियाली पर्यटकले नेपाल भ्रमण गरेका थिए । साहसिक पर्यटन र परोपकारी गतिविधि कोरियाली नागरिकहरूको ठूलो योगदान रहेको छ । झन्डै दुई करोड कोरियाली नागरिकले विदेश भ्रमण गर्ने गरेकामा नेपालमा ३० हजार मात्र आउने गरेका छन् । तथ्याङ्कअनुसार कोरियाली नागरिकले सन् २०२३ मा विदेशमा क्रेडिट कार्डबाट मात्रै १४.३२ विलियन अमेरिकी डलर खर्च गरेका छन् । त्यो भनेको नेपालको वार्षिक बजेट बराबर हो । तर, नेपालमा त्यसको नगण्यमात्रै भित्रिएको अवस्था छ ।

नेपालमा बढीभन्दा बढी दक्षिण कोरियाली पर्यटक भित्र्याउन काठमाडौँ–कोरिया सिधा उडान गर्न जरुरी छ । कोरियाली पर्यटकको आगमन दर बढाउन नेपाल वायुसेवा निगमको काठमाडौँ–कोरिया सिधा उडानबाट उल्लेखनीय कोरियाली पर्यटक नेपाल भित्र्याउन सकिनेछ । कोरियन एयरले सोल–काठमाडौं हप्ताको तीनदेखि चार उडान गर्ने र भाडा समेत महङ्गो भएका कारण पर्यटक आवागमनमा कमी आएको छ । कोरियन एयरसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउन, कोरियन पर्यटकलाई नेपाल भित्र्याउन, नेपाली नागरिकका सस्तो मूल्यमा कोरिया उडान हुने वातावरण तयार गर्न नेपाल वायुसेवाको उडान अनिवार्य शर्त हो । उडान सञ्चालन भएमा कामदारको भाडा कम हुने, पर्यटकको संख्या बढ्ने तथा नेपाल वायुसेवा निगमको ब्यापार बढ्नेछ ।

घ. श्रम तथा रोजगार : दक्षिण कोरिया नेपाली श्रमिकको आकर्षक रोजगार गन्तव्य मुलुक हो । इमान्दार र मेहनती श्रमिकको मान्यता पाएका नेपाली श्रमिकको छवि कोरियामा राम्रो देखिएको छ । करार अवधि सकिएसँगै स्वदेश फर्कने, अवैधानिक बसोबास नगर्ने कारण पनि नेपाली कामदार कोरियाली रोजगारदाताको रोजाइमा छन् । यसका कारण इपिएसमा नेपाली श्रमिकको कोटा वर्षेनि वृद्धि हुँदै आएको छ । इपिएस प्रणालीमा नेपालले दर्साएको निष्पक्षतालाई अझै प्रचार गर्दै कामदारको कोटा वृद्धिका लागि आवश्यक पहल लिनेछु । मानसिक तनाव, कामको चाप, खानपिन, हावापानीलगायत कारण कोरियामा रहेका नेपाली डिप्रेसनको शिकार, मानसिक तनाव तथा आत्महत्याको घटना न्यूनीकरणका लागि तनाव व्यवस्थापनका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने देखिएको छ ।

ङ. शिक्षा : दक्षिण कोरियामा अध्ययन गर्न जाने विदेशी विद्यार्थीको संख्यामा वृद्धि भएसँगै त्यहाँको सरकारले भिसा नीतिमा कडाइ गरेको छ । नेपाली युवायुवतीलाई पनि विद्यार्थी भिसामा कामको लोभ देखाउँदै कोरिया लैजाने प्रवृत्तिविरुद्ध आवश्यक रणनीति निर्माण गर्नु पर्नेछ । नेपाली विद्यार्थीलाई आफ्नो सीप सिकेर स्वदेश फर्कन र नेपालमै उद्यम गर्ने वातावरण निर्माण गर्ने विशेष भूमिका निर्वाह गर्नेछु ।

च. संसदीय आदानप्रदान  : दक्षिण कोरियाली संसदमा नेपालसम्बन्धी संसदीय मैत्री समूह गठन गरिसकेको छ भने नेपालको सङ्घीय संसदले पनि नेपाल कोरिया मैत्री समूह निर्माण गरेको छ । मैत्री समूहमार्फत संसदीय कुटनीतिका लागि आवश्यक पहल गर्नुपर्ने देखिन्छ । नेपाललाई कोरियाली नीति निर्माता र बौद्धिक समूहसँग जोड्न आवश्यक छ ।  महत्वपूर्ण निकाय (सरकारी कार्यालय, विश्वविद्यालय, बौद्धिक समूह, स्थानीय सरकार, सङ्घसंस्थाहरूबीचको सहकार्यमा सहजीकरण गरेर बलियो समन्वय स्थापित गर्ने मेरो पहल रहनेछ । कोरियाले अनुसन्धान र विकासका क्षेत्रमा हासिल गरेको उपलब्धिबाट हामीले पनि धेरै कुरा सिक्न सकिन्छ ।

छ. प्रविधि र नवप्रवर्तन : दक्षिण कोरिया विश्वभरि प्रविधिको क्षेत्रमा अत्यन्त उन्नत र प्रभावशाली देशको रूपमा चिनिन्छ । कोरियाका कम्पनीहरू सामसङ, एलजीदेखि अटोमोबाइलको उत्पादनमा पनि कोरिया अग्रपंतिमा छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायतका प्रविधिको विकास र प्रयोगमा कोरिया अग्रणी छ । रोबोटिक्स र अन्य आधुनिक प्रविधिमा व्यापक लगानी छ । प्रविधि नवप्रवर्तन र दीर्घकालीन प्रविधि विकासमा कोरियाली लगानी र भित्र्याउन सकिएमा नेपालको समृद्धिमा ठूलो योगदान पुग्नेछ ।

अन्त्यमा, राजदूतले सिङ्गो राष्ट्रको प्रतिनिधित्व गर्ने भएकाले पदमा रहँदा नेपालको इज्जत, गरिमालाई वृद्धि गर्न इमान्दार भएर कर्तव्य निर्वाह गर्नु मेरो कर्तव्य हुनेछ । राजदूतको सफलता त्यस देशको सरकार, नागरिक समाज र प्रवुद्ध वर्गसँग गरिने अन्तक्र्रियामा समेत निर्भर रहने गर्दछ । दक्षिण कोरियामा नेपालप्रतिको चासो वृद्धि गर्न, अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्न भूमिका निर्वाह गर्ने मेरो प्रतिबद्धता रहेको छ ।

(प्रस्तुत विचार दक्षिण कोरियाका लागि नवनियुक्त राजदूत डा तुम्बाहाम्फेसँग गरिएको कुराकानीमा आधारित)

ग्रीनल्यान्डमाथि अमेरिकी नियन्त्रणको इच्छा ट्रम्पले दोहोर्याएपछि डेनमार्कद्वारा रक्षा खर्च वृद्धि

बीबीसी । अमेरिकी राष्ट्रपति–निर्वाचित डोनल्ड ट्रम्पले समग्र ग्रीनल्यान्ड खरिद गर्ने आफ्नो चाहनालाई दोहोर्याएपछि डेनमार्कको सरकारले उत्तरी ध्रुवस्थित आफ्नो उक्त भूभागको रक्षा खर्चमा ठूलो वृद्धि गरेको छ । डेनमार्कका रक्षा मन्त्री ट्रोल्स लुन पाउलसनले उक्त प्याकेज डेनिश मुद्रा क्रोनमा ‘दोहोरो अङ्कको अर्बमा’ वा कम्तीमा १.५ अर्ब डलर बराबरको भएको उल्लेख गरे । उनले उक्त घोषणा गर्नु परेको समयलाई ‘भाग्यको विडम्बना’का रूपमा व्याख्या गरे ।

सोमबार ट्रम्पले उक्त विशाल द्वीपमाथिको स्वामित्व र नियन्त्रण अमेरिकाका लागि ‘अपरिहार्य आवश्यकता’ बनेको बताएका थिए । ग्रीनल्यान्ड डेनमार्कको स्वायत्त भूभाग हो र त्यहाँ संयुक्त राज्य अमेरिकाको ठूलो अन्तरिक्ष केन्द्र रहेको छ। अमेरिकाका लागि उक्त भूभागको रणनीतिक महत्त्व छ किनभने त्यो उत्तर अमेरिकाबाट युरोप पुग्ने सबैभन्दा छोटो मार्ग पनि हो। ग्रीनल्यान्डमा प्रमुख खनिजहरूको ठूलो भण्डार छ ।

पाउलसनले आफूले घोषणा गरेको खर्च सम्बन्धी उक्त प्याकेजले दुई वटा नयाँ निगरानी जहाजहरू खरिद गर्न, दुईवटा लामो दुरीका ड्रोनहरू किन्न र बरफ भएको क्षेत्रमा तैनाथ गरिने दुईवटा थप कुकुरसहितको निगरानी टोली स्थापना गर्न सकिने बताए ।

उक्त बजेटबाट ग्रीनल्यान्डको राजधानी नुकमा अवस्थित आर्कटीक कमान्डको मुख्यालयमा कर्मचारीहरू थपिने र ग्रीनल्यान्डमा रहेको ३ वटा प्रमुख गैरसैनिक विमानस्थलमध्ये एउटाको स्तरोन्नति गरेर त्यसलाई एफ–३५ सुपरसोनिक लडाकु विमान तैनाथ गर्न मिल्ने बनाइने पनि जनाइएको छ । रक्षा मन्त्रीले खर्च गर्न लागिएको रकम खुलाएका छैनन् तर डेनमार्कका सञ्चारमाध्यमहरूले त्यो १२ देखि १५ अर्ब क्रोन हुने जनाएका छन्।