`

पोखरामा लगाएको निषेधाज्ञा हटाउन रास्वपाको माग, अदालती प्रक्रियालाई सघाउने वचन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पोखराका केही क्षेत्रमा स्थानीय प्रशासनले लगाएको निषेधित क्षेत्रको आदेश हटाउन माग गरेको छ । रास्वपा कास्कीका सभापति यदुनाथ अधिकारीले मंगलबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाउँदै निषेधित क्षेत्रको आदेश हटाउन माग गरेका हुन् ।

दुई महिनाभन्दा बढी समयदेखि निषेधित क्षेत्र कायम रहँदा पर्यटकहरूको आवागमन तथा व्यापार व्यवसायमा असर परिरहेको र अंग्रेजी नयाँ वर्षको अवसरमा हुन लागेको सडक महोत्सव सहितका कार्यक्रमहरूसमेत प्रभावित हुने अवस्था रहेको रास्वपाको भनाइ छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘सभापति लामिछाने विरुद्ध लगाइएको अभियोगको हकमा अदालती प्रक्रियालाई पूर्ण रुपमा सघाउने पार्टी सचिवालयको पुस ८, २०८१ को निर्णय समेतका आधारमा निषेधित क्षेत्र हटाउनका लागि अनुरोध छ ।’

निगमको आन्तरिक उडान ठप्प

काठमाडौं । विमान अभावले आन्तरिक उडानमा दरिलो उपस्थिति देखाउन नसकेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक उडान ठप्प भएको छ । उडानमा रहेको एक मात्रै ट्वीनअटर विमान पनि ग्राउण्डेड भएपछि निगमको आन्तरिक उडान पूर्ण रूपमा ठप्प भएको हो ।

निगमसँग आन्तरिक उडानमा दुई थान ट्वीनअटर विमान छन् । तीमध्ये एउटा विमान गत जेठदेखि ग्राउण्डेड छ भने अर्को पनि हालै ग्राउण्डेड भएको छ ।

प्राविधिक समस्या आएकाले आइतबारदेखि आन्तरिक उडान हुन नसकेको निगमका प्रवक्ता रमेश पौडेलले बताए । उनले ताकेता गरेर सकेसम्म चाडै विमान उडान सेवा सञ्चालन गरिने बताए ।

“प्राविधिक समस्या आएकाले केही समयलाई विमान ग्राउण्डेड भएको हो”, उनले भने, “समस्या समाधानका लागि आवश्यक प्रक्रियामा सुरु भइसकेको छ । अघिल्लो विमान ग्राउण्डेड भएलगत्तै यो प्रक्रिया सुरु भएको हो ताकेता गरेर छिट्टै काम हुन्छ ।”

निगमले काठमाडौँ र क्षेत्रीय हब विमानस्थलबाट दुर्गम क्षेत्रमा आन्तरिक उडान गर्दै आएको छ । निगमसँग अन्तराष्ट्रिय उडानका लागि दुई थान वाइडबडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० विमान छन् ।

थाइल्याण्डबाट पाँच नेपालीको उद्धार

काठमाडौँ । नेपाली दूतावास, बैंककले म्यानमारको मेवाडीबाट पाँच नेपालीको उद्धार गरेको छ । उद्धार गरी ‘टाक इमिग्रेसन अफिस’ मेसोट हुँदै थाइल्याण्ड ल्याइएका पाँच नेपाली नागरिकमध्ये चार (पुरुष) थाई सरकारी निकाय ‘आइओएम’ थाइल्याण्ड तथा अन्य गैरसरकारी संस्थासहितको सहयोगमा एक साताअघि नेपाल फर्काइएको थियो ।

एकजना महिलालाई भने आज नेपाल फर्काइएको दूतावासले जनाएको छ । नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो धेरै पैसा कमाउने चाहना राखेर कम्बोडिया, लाओस, म्यानमार र थाइल्याणलगायत वैदेशिक रोजगारीमा नआउन पनि दूतावासले अनुरोध गरेको छ ।

प्रेसमाथि अङ्कुश लाग्ने कानुन बन्न नदिने सभामुखको प्रतिबद्धता

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रेसमाथि अङ्कुश लगाउने कानुन बन्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा सभामुखले आफू प्रेस स्वतन्त्रता रक्षा गर्न प्रतिबद्ध रहेको भन्दै प्रेसमाथि अङ्कुुश लगाउनेगरी कानुन नबनाउने बताए ।

“नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ”–सभामुख घिमिरेले भने,“प्रेस स्वतन्त्रतलाई कुण्ठित हुने गरी कुनै पनि कानुन बनाइने छैन ।”

सभामुख घिमिरे र निर्वाचन समितिका प्रमुख प्रा.चिरन्जीवी खनालले नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिका सदस्यलाई प्रमाणपत्र प्रदान गरे ।

महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकार महासङ्घको गरिमालाई कायम राख्दै प्रेस स्वतन्त्रता र पत्रकारको पेशागत सुरक्षाका लागि लडिरहने प्रतिबद्धक्ता व्यक्त गरिन् ।

महासङ्घका पूर्वसभापति हरिहर विरहीले सङ्गठनलाई सबै पत्रकारको साझा संस्थाका रुपमा विकास गर्नु सुझाव दिए ।

श्रीलङ्कामा ५० जङ्गली हात्तीको मृत्यु

कोलम्बो । श्रीलङ्कामा यसवर्ष अहिलेसम्म करिब ५० जङ्गली हात्तीको अनाधिकृत विद्युतीय तारले करेन्ट लागेर मृत्यु भएको सिलोन विद्युत बोर्ड (सीईबी) जनाएको छ ।

सीईबीले देशको जैविक विविधताको प्रतीक जङ्गली हात्ती मानव गतिविधिका कारण लोप हुने खतरा बढ्दै गएको बताएको छ ।

सीईबीले पहिले नै यस अवैध कार्यको सम्बन्धमा धेरै उपयुक्त कदमहरू चालेको छ । जङ्गली हात्तीहरूको संरक्षणको लागि जनताको सहयोगको अपेक्षा सीईबीले गरेको छ । सन् २०२३ मा श्रीलङ्कामा ९० जङ्गली हात्तीको मृत्यु भएको तथ्याङ्कले देखाउँछ ।

पाकिस्तानमा राजनीतिक विवाद समाधान गर्न सत्तारूढ दल र विपक्षीबीच वार्ता

इस्लामाबाद । पाकिस्तान तहरीक–ए–केमा (पीटीआई) र सरकारबीच देशमा राजनीतिक तनाव कम गर्ने उद्देश्यले इस्लामाबादको संसद भवनमा वार्ता प्रक्रिया सुरु भएको छ ।

जियो न्यूजको कार्यक्रममा बोल्दै सरकारी समितिका सदस्य सिनेटर इरफान सिद्दिकीले भने,“जनता देशमा अराजकता र आर्थिक अस्थिरताभन्दा पनि शान्ति र लोकतान्त्रिक मान्यता चाहन्छन् । न्यायिक मामिलामा सरकारको कुनै सरोकार छैन ।”

दुवै समितिको आपसी परामर्शमा आगामी माघ २ गते वार्ता हुने उनको भनाइ छ । सिद्दिकीले वार्ता प्रक्रियालाई निरन्तरता दिन दुवै समितिको पुनः बैठक हुने बताए ।

दुवै पक्षले वार्तामा बाधा पुर्याउने सार्वजनिक अभिव्यक्तिबाट जोगिन सहमत भएको पनि पुष्टि उनले गरे । “हामी वार्ताको तार्किक निष्कर्ष चाहन्छौं । हामीले उनीहरूलाई पीटीआईलाई माग बडापत्रको रूपमा प्रस्तुत गर्न भन्यौं,” उनले थपे ।

यद्यपि, सिद्दिकीले यस प्रारम्भिक चरणमा वार्ताको नतिजाको बारेमा कुनै पनि वाचा गर्नबाट बच्न सावधानी अपनाए । उनले सरकारले तत्काल आश्वासन दिन सक्दैन तर पीटीआईका मागहरू लिखित रूपमा प्रस्तुत गरेपछि विचार गर्नेछ ।

“संवैधानिक र कानुनी विषयमा जानकार वरिष्ठ सदस्य सम्मिलित सरकारी समितिले पूर्व सत्तारुढ दलको माग बुझेर विकल्पमा छलफल गर्नेछ,” उनले भने ।

मजलिस वाहदत–ए–मुस्लिमिनका प्रमुख सिनेटर राजा नासिर अब्बासले पनि वार्तामा आफ्नो विचार राखे । सोही कार्यक्रममा बोल्दै अब्बासले जारी वार्ताप्रति आशावादी रहेको बताए । ‘निवर्तमान सरकारले बोलाएको बैठकमा धेरै सकारात्मक कुराहरु देखेको छु ।’ उनले भने ।

उनले पीटीआई वार्ता समिति गठनको प्रशंसा गर्दै सरकारले आफ्नै वार्ता समिति गठन गर्न ढिलाइ गरेको भन्दै आलोचना गरे ।

अब्बासले पाकिस्तानको राजनीतिक विवादलाई सम्बोधन गर्न यी वार्ताहरूले प्रदान गरेको अवसरको पूरा फाइदा लिन पनि सरकारलाई आग्रह गरे ।

बैठकमा उपप्रधानमन्त्री इशाक दार, प्रधानमन्त्रीका सल्लाहकार राणा सनाउल्लाह र सिनेटर इरफान सिद्दिकीलगायतका प्रमुख व्यक्तित्वहरू सहभागी थिए । विपक्षी तर्फबाट राष्ट्रिय सभाका पूर्व सभामुख असद कैसर, सुन्नी इत्तेहाद परिषद्का अध्यक्ष साहिबजादा हमिद रजा र एमडब्ल्यूएमका राजा नासिर अब्बासले प्रतिनिधित्व गरेका थिए ।

पहिलो चरणको छलफलपछि पीटीआईले आफ्ना मागहरु सरकारी समितिमा लिखित रुपमा बुझाउने प्रतिबद्धता जनाएको छ ।

टर्कीमा कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु

इस्तानबुल । टर्कीको उत्तरपश्चिममा मंगलबार भएको शक्तिशाली विस्फोटमा परी १२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले बताएका छन् । साथै अन्य तीन जना घाइते भएका छन् ।

इस्माइल उस्ताओग्लुले भने, ‘प्रारम्भिक जानकारी अनुसार बालिकेसिरको कारेसी जिल्लामा भएको विस्फोटमा १२ जनाको मृत्यु भएको छ ।’

फुटेजमा प्लान्ट बाहिर छरिएका काँच र धातुका टुक्राहरू देखाइएको थियो । गभर्नरले विस्फोट बिहान ८ः२५ बजे प्लान्टको एक भागमा भएको बताए, जसले गर्दा भवनको केही भाग ध्वस्त भएको थियो । दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ ।

कैलालीमा तीन लाख २४ हजार मेट्रिकटन धान उत्पादन

कैलाली ।  कैलालीमा यस वर्ष तीन लाख २४ हजार ८८४ मेट्रिक टन बर्खे धान उत्पादन भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार गत वर्षको तुलनामा यस वर्ष झिनो मात्रामा बर्खे धान उत्पादनमा वृद्धि भएको हो ।

यस वर्ष ६८ हजार पाँच सय ४१ हेक्टर क्षेत्रफलमा बर्खे धानखेती गरिएकामा ४.७४ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शंकरदत्त अवस्थीले जानकारी दिए।

उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष ०.२ प्रतिशतले बर्खे धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष पनि सोही क्षेत्रफलमा धानखेती गरिएकामा तीन लाख २३ हजार २८० मेट्रिकटन धान उत्पादन भएको उनले जानकारी दिए ।

उनले भने, ‘गत वर्ष र यस वर्ष बराबरी क्षेत्रफलमा बर्खे धानखेती गरिएको थियो, उत्पादन बढ्न सकेन, झिनो मात्रामा बढेको छ ।’ गत वर्ष धानको उत्पादकत्व ४.७२ मेट्रिकटन प्रतिहेक्टर रहेको उनले बताए।

यस्तै, जिल्लामा यस वर्ष ६ हजार ४६१ हेक्टर क्षेत्रफलमा मकैखेती गरिएकामा १५ हजार १९२ मेट्रिकटन मकै उत्पादन भएको उनले जानकारी दिए । सूचना अधिकारी अवस्थीका अनुसार जिल्लामा एक सय तीन हेक्टर क्षेत्रफलमा कोदोखेती गरिएकामा १२७ मेट्रिकटन कोदो उत्पादन भएको छ ।

ज्ञान केन्द्रले उत्पादन बढाउनका लागि किसानलाई ५० प्रतिशत अनुदानमा मेसिनरी औजार, बिउबिजनलगायत उपलब्ध गराउँदै आएको उनको भनाइ छ । त्यस्तै, किसानलाई तालिमसमेत दिने गरिएको सूचना अधिकारी अवस्थीले बताए । रासस

वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने सहमति

काठमाडौं ।  संसदको कानुन, न्याय तथा मानव अधिकार समितिमा वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने विषयमा सहमति भएको छ।

समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ को (१)मा प्रतिष्ठानले स्वास्थ्य सेवामा उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्न आफ्नो छुट्टै अस्पताल स्थापना गरी सञ्चालन गर्न वा सरकारको केन्द्रीय अस्पतालसँग द्विपक्षीय सम्झौता गरी त्यस्तो अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न उक्त सहमति गरेको हो।

समितिकी सभापति विमला सुवेदीले समितिको निर्णय सुनाउँदै भनिन्, ‘दफा १२ मा सरकारले विधेयकमा भएको व्यवस्थाअनुसार पारित गर्ने र दफा ४४ मा भएको व्यवस्थामा वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्टिने विषय समितिले पारित गरेको छ।’

समितिका सदस्य महेश बर्तौला, रञ्जुकुमारी झा, ध्रुवबहादुर प्रधान र रामकुमार राईलगायतले सरकारमातहतमा एउटा केन्द्रीय अस्पताल हुनुपर्ने र सरकारको स्वामित्वमा वीर अस्पताल राख्नुपर्ने धारणा राखेका थिए।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले औषधि ऐन संशोधन गर्नका लागि सरकारले मस्यौदा तयार गरिरहेको र संशोधन नहुँदा काम गर्न व्यावहारिक कठिनाइ भएको बताए। दफा १२ मा औषधि ऐन, २०३५ का विषयमा छलफल थियो। उक्त दफामा औषधि उत्पादन, अनुज्ञापत्र, सिफारिसपत्र र प्रमाणपत्रको अवधि र नवीकणको विषयहरू रहेको थियो।

सरकारले उत्पादन अनुज्ञापत्र पाँच वर्ष, प्रमाणपत्र तीन वर्ष, सिफारिसपत्र तीन वर्ष र प्रमाणपत्र तीन वर्ष तोकिएको र अवधि समाप्त हुनुअघि सम्बन्धित व्यक्तिले तोकिएको दस्तुर तिरेर नवीकरण गर्न सकिने व्यवस्था गरेको थियो। सोही व्यवस्थाप्रति समितिले पनि सहमति जनाएको छ। 

सबै दलसँग सहमति जुटाएर संविधान संशोधनको प्रकृया सुरु हुन्छः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधनले समावेशितालाई कमजोर गर्ने नभई थप सुदृढ बनाउने बताएका छन् ।

मंगलबार नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको नवौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सबै दलहरुसँग सहमति जुटाएर संविधान संशोधनको प्रकृया सुरु गर्ने बताएका हुन् ।

उनले चरणबद्ध रुपमा सबै राजनीतिक दलहरुसँग वार्ता र संवाद गर्ने र त्यसपछि विषयवस्तुमा सहमति गरेर संशोधन हुने बताए ।

उनले भने, ‘संविधान संशोधन छलफल प्रारम्भ गरेका छौं । संविधानको समीक्षा गर्छौं । विषयहरुको पहिचान गर्छौं । चरणबद्ध रुपमा सबै राजनीतिक दलहरुसँग वार्ता र संवाद गर्छौं र त्यसपछि विषयवस्तुमा सहमति गरेर संशोधन हुन्छ । संविधान संशोधन गर्ने भनेको समावेशितालाई कमजोर गर्ने होइन थप सुदृढ बनाउने हो ।’

उनले सरकार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माणमा प्रतिवद्ध रहेको पनि बताए ।

अन्तर्राष्ट्रिय उत्सव र पर्यटकीय गतिविधि पर्यटन प्रवर्द्धनमा उपयोगी

सिबी अधिकारी, काठमाडौं ।  नेपालमा यतिखेर मुख्य पर्यटकीय याम सकिएको छ। हिउँदको याम जाडो हुने भएकाले तुलनात्मक रूपमा विदेशी पर्यटक कमै आउँछन्। डिसेम्बर १५ पछि नेपाल आएका विदेशी पर्यटक बिस्तारै गन्तव्य मुलुक फर्किन्छन्।

अक्टोबर, नोभेम्बर र डिसेम्बरमा उल्लेख्य संख्यामा विदेशी पर्यटक नेपाल आउँछन्। शरद् ऋतु पर्यटनको मुख्य ‘सिजन’ मानिन्छ। वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि ठुलो संख्यामा विदेशी नागरिक आउँछन्। यसरी हेर्दा नेपालमा विशेषगरी शरद् र वसन्त ऋतु पर्यटकका लागि बढी उपयोगी सिजन मानिन्छ।

विदेशी पर्यटक कम आउने याम भएकाले पनि नेपालको पर्यटकीय क्षेत्रमा हुने राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटकीय गतिविधिले पर्यटकलाई आकर्षण मात्रै होइन उनीहरूको बसाइ लम्ब्याउन पनि मद्दत पुग्छ। यसै सन्दर्भमा अहिले पर्यटनको राजधानी पोखरा, पर्यटकीय क्षेत्र चितवन, लुम्बिनीलगायतका गन्तव्यमा पर्यटनसँग जोडिएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता, महोत्सवलगायत गतिविधि भइरहेको छ।

नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा आजदेखि नौदिने अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ। यही पुस १४ गतेदेखि नेपाल-चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिता आयोजना हुँदै छ। त्यस्तै, पुस १३ देखि १७ गतेसम्म २६औँ पोखरा सडक महोत्सव हुन गइरहेको छ। यी उत्सव र मेलाले पर्यटक आकर्षण मात्रै नभई नेपालमा रहेका विदेशी पर्यटकको बसाइ लम्ब्याउन पनि मद्दत पुगेको छ।

पर्यटक कम आउने याममा पर्यटनलाई चलायमान बनाउन हुने अन्तर्राष्ट्रिय उत्सव र गतिविधिले पर्यटन प्रवर्द्धनका महत्त्वपूर्ण सघाउ पुग्ने गरेको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने बताउँछन्। पर्यटक कम आउने ‘लो सिजन’मा पनि नेपालका गन्तव्यमा भइरहेका अन्तर्राष्ट्रियस्तरका ठुला-ठुला ‘इभेन्ट’हरूले पर्यटकीय चहल-पहल बढाएको छ, पर्यटक आगमनमा पनि सघाउ पुगेको छ,’ उनले भने।

डिसेम्बर १५ तारिखपछि नेपालमा पर्यटकको आगमन घट्दै जान्छ। विभिन्न प्रयोजनका लागि नेपाल आएका पर्यटक पनि क्रिसमस र नयाँ वर्ष मनाउन पर्यटक घर फर्किने चलन छ। यही सन्दर्भमा पर्यटक चाँडो घर नफर्किऊन् भनेर नेपालका विभिन्न गन्तव्यमा राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूले ठुला-ठुला ‘इभेन्ट’ सञ्चालन हुन थालेका छन्। विशेषगरी विगत २५ वर्षदेखि रिनन्तर रूपमा पोखरा सडक महोत्सव भइरहेको छ। यो पर्यटक आकर्षण गर्ने महत्त्वपूर्ण माध्यम बनेको छ। यस्तै, अघिल्लो वर्षदेखि सुरु भएको ड्रागन बोट रेस प्रतियोगिता, अन्तर्राष्ट्रिय बेलुन महोत्सव आदि उत्सव र गतिविधिले नेपालको पर्यटन प्रवर्द्धनका साथै पर्यटकीय गतिविधिलाई चलायमान बनाउन ठुलो मद्दत पुगेको व्यवसायीको बुझाइ छ।

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) का अध्यक्ष संघर्ष विष्टले पर्यटकीय गन्तव्यमा भइरहेका महत्त्वपूर्ण इभेन्टले आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए। उनले भन, ‘राम्रो याममा धेरै मिहिनेत गर्नुपर्दैन, अफ सिजनमा बढीभन्दा बढी गतिविधिले पर्यटन प्रवर्द्धनमा मद्दत पुग्छ, अहिले भइरहेका अन्तर्राष्ट्रिय मेला–महोत्सवले नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा पहिचान गराउँछ, यसले विदेशी पर्यटक तान्छ।’

होटेल संघ नेपाल (हान) का महासचिव साजन शाक्य पनि नेपालमा भइरहेका अन्तर्राष्ट्रियस्तरका महोत्सव र राष्ट्रियस्तरका पर्यटकीय गतिविधिले पर्यटन क्षेत्रमा सकारात्मक सन्देश जाने बताउँछन्। ‘पर्यटक घट्ने समयमा हुने पर्यटनका गतिविधि र अन्तर्राष्ट्रिय उत्सवले गन्तव्यको पर्यटनलाई चलायमान बनाउनाका साथै विदेशी पर्यटकलाई आकर्षण गर्न राम्रो भूमिका खेल्छ,’ उनले भने।

महासचिव शाक्यका अनुसार अफ सिजन भएकाले अहिले होटेल क्षेत्रको अकुपेन्स करिब ३० प्रतिशत मात्रै छ। काठमाडौंनजिकका धुलिखेल, नगरकोट तथा पोखरा, चितवन, लुम्बिनीलगायत गन्तव्यमा आन्तरिक र विदेशी पर्यटकको बाक्लो चहल-पहल छ।

अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु

विभिन्न अवसरमा आयोजना हुने पर्यटनसम्बन्धी मेला-महोत्सवले पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याइरहेको छ। अंग्रेजी नयाँ वर्षकै सन्दर्भमा नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय हट एयर बेलुन महोत्सव आयोजना गरिएको छ। पर्यटकीय नगरी पोखरामा आजदेखि सुरु भएको महोत्सवमा २० देशका व्यावसायिक बेलुन कम्पनीको सहभागिता रहेको छ। बेलुन नेपाल प्रालिको आयोजनामा नौ दिनसम्म सञ्चालन हुने महोत्सवमा बेलुन उडाइनुका साथै हरेक साँझ आतिशबाजी प्रदर्शन, बेलुन दौड र क्याम्पिङ पनि आयोजना हुने जनाइएको छ। महोत्सवले आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनका साथै नेपालको अर्थतन्त्रमा टेवा पुर्‍याउने आयोजकको विश्वास छ।

पुस १३ देखि पोखरा सडक महोत्सव

नयाँ वर्ष-२०२५ का अवसरमा यही पुस १३ देखि १७ गतेसम्म २६औँ पोखरा सडक महोत्सव हुँदै छ। रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराको आयोजनामा महोत्सव हुन लागेको हो। ‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने नाराका साथ आयोजना हुने महोत्सवमा पाँच लाखभन्दा बढीले सहभागिता जनाउने आयोजकको दाबी छ।

रेबान सौराह (चितवन) ले १४ फेब्रुअरीमा पाँचदिने सडक महोत्सव गर्दै छ भने रेबान केन्द्रले नेपाली नयाँ वर्षलाई लक्षित गरेर काठमाडौंको दरबारमार्गमा सडक महोत्सव गर्ने जनाएको छ।

रेबानका अध्यक्ष विष्टका अनुसार महोत्सवले स्थानीय पर्यटनमा नेपाली उत्पादनलाई प्रोत्साहन र विश्वबजारमा पुर्‍याउन पनि मद्दत गरेको छ। लेकसाइडको तीन किलोमिटर क्षेत्र (लेकसाइडको फिस्टेल गेटदेखि खहरेसम्म) लाई समेटेर सडक महोत्सव गरिँदै आएको छ। रेबान पोखराका अध्यक्ष विश्वराज पौडेलले सडक महोत्सवको माध्यमबाट पर्यटन प्रवर्द्धनका साथै कला संस्कृति प्रवर्द्धनसँगै स्थानीय सामग्रीलाई बजारीकरण गर्न महोत्सव उपलब्धिपूर्ण बन्दै गएको उल्लेख गरे। नेपालमा आउने विदेशी पर्यटकमध्ये ४० प्रतिशत पोखरा पुग्ने गरेको बताइन्छ। पोखरा महानगरपालिकाले सन् २०२५ लाई पोखरा भ्रमण वर्षका रूपमा मनाउँदै छ। भ्रमण वर्षलाई सफल बनाउन पनि पर्यटकीय मेला महोत्सवले सहयोग पुग्ने बताइएको छ।

पुस १४ देखि नेपाल-चीन मैत्रीपूर्ण ड्रागन बोट रेस

नेपालको पर्यटन प्रवर्द्धन गर्ने नेपाल-चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिता यही पुस १४ र १५ गते आयोजना हुँदै छ। पोखरामा हुने दोस्रो संस्करणको ड्रागन बोट रेसमा नेपालका ११, चीनका आठ र सिंगापुरका एक गरी २० समूहको सहभागिता रहनेछ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सहआयोजनामा ड्रागन बाेट रेस आयोजना हुने भएको हो।

पर्यटक लक्ष्य भेट्टाउन कठिन

कोभिड- १९ (कोरोना भाइरस) महामारीपूर्व १२ लाख हाराहारी विदेशी पर्यटकलाई स्वागत गरेको नेपालले पछिल्लो दुई वर्षमा पर्यटक आगमनको उक्त लक्ष्य भेट्टाउन हम्मे परिरहेको छ। महामारीपछिको दुई वर्षको आँकडाले महामारीपूर्वको अवस्थामा पुग्न अझै मिहिनेत गर्नुपर्ने देखिन्छ।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजार ५३३ विदेशी पर्यटक आएका छन्। पछिल्लो आँकडा हेर्दा सन् २०२४ मा १३ लाख १५ पर्यटक स्वागत गर्ने लक्ष्य भेट्टाउन कठिन हुने देखिएको छ। अब एक महिना मात्र बाँकी छ। एक महिना (डिसेम्बर) मा करिब ७० हजार पर्यटक आउने बोर्डको अनुमान छ। यसरी हेर्दा वर्ष २०२४ मा ११ लाख २५ हजार हाराहारी मात्रै पर्यटक भित्रिने जनाइएको छ।

बोर्डका निर्देशक मणिराज लामिछानेले हालसम्मको पर्यटक आगमन विश्लेषण गर्दा सन् २०२३ को तुलनामा झन्डै १० प्रतिशत मात्रै पर्यटक बढ्ने देखिन्छ। सन् २०२३ मा १० लाख १४ हजार आठ सय ७१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। बोर्डले सन् २०२४ मा कोरोना महामारीपूर्व सन् २०१९ मा आएका पर्यटकभन्दा बढी आउने अनुमान गरेको थियो। सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल आएका थिए।

यद्यपि, एसिया प्यासिफिक क्षेत्रभन्दा नेपालको पर्यटन पुनरुत्थान माथि रहेको बोर्डका निर्देशक लामिछानेको भनाइ छ। संयुक्त राष्ट्र संघ विश्व पर्यटन संगठन (युएनडब्लुटिओ) को ६ महिनाको आँकडाअनुसार विश्वव्यापी रूपमा ९६ प्रतिशतले नेपालको पर्यटन पुनरुत्थान भएको छ । उक्त अवधिमा विश्वव्यापी ९३ प्रतिशत पर्यटन पुनरुत्थान भएको जनाइएको छ।

जुनारले बढायो समृद्धिको यात्रा

राधिका बुढाथोकी, सिन्धुली। आकाश उज्यालिएको छ । पखेटा फैलाएर उडिरहेका छन्, चराचुरुङगी । प्रकृतिले सुशोभित सौन्दर्य पुलकित देखिन्छ पातलो बस्ती । त्यही बस्तीलाई ढाकेर बाक्लो रुपमा फैलिएको छ जुनार बगैँचा। जुनार बगैँचाका प्रत्येक हाँगा–हाँगामा लटरम्म झुन्डिएका छन्, पाकेका फल ।

सिन्धुलीको महाभारत पर्वतको काखमा अवस्थित गोलञ्जोर गाउँपालिका–४ तिनकन्याको दृश्य हो यो । जहाँ, लुकेको छ एउटा कथा—सङ्घर्ष, सम्भावना र सफलताको । केही वर्षअघिसम्म यहाँका स्थानीय बासिन्दाको जीवन दयनीय थियो।

किसानहरू खेतबारीमा परम्परागत बालीहरु दलहन, मकै, कोदो, फापर फलाएर जीवन गुजार्थे । यी बालीहरू उत्पादन गर्न गाहे त थियो नै, पर्याप्त पनि हुन्नथ्यो । गरिबी र अभावका कारण स्थानीय बासिन्दाहरु रोजगारीको खोजीमा भौतारिन्थे । सडक अभावका कारण गाउँमा यातायातका साधन देख्न समेत पाइन्न थियो। पैदल यात्रा गरेर रोजगारी खोज्दै शहर झर्थे।

एक दिन गाउँमा पुगेका कृषि विज्ञहरूले किसानहरूलाई सुल्झाए, ‘यस ठाउँको माटो र मौसम जुनार खेतीका लागि उपयुक्त छ, यसको व्यावसायिक खेती गर्नुस्, मनग्य आम्दानी हुन्छ।’

किसान गुन्डबहादुर ठकुरीले कृषि विज्ञहरूको सुझावलाई आत्मसात गरे । उनले आफ्नो थोरै जमिनमा जुनारका विरुवा रोपेर व्यावसायिक खेतीको यात्रा सुरु गरे । मेहनत र धैर्यताको फलस्वरूप विरुवा रोपेको तीन वर्षदेखि नै जुनारको फलले आम्दानी दिन थाल्यो। जुनारको फलबाट मनग्य आम्दानीको स्वाद चाख्न पाएपछि उनले जुनार बगैँचा २५ रोपनीमा विस्तार गरे ।

उनी अहिले जुनार बेचेर वार्षिक १५ लाख रूपैयाँ आम्दानी गर्न थालेका छन् । किसान गुन्डबहादुरको यो सफलताका पछाडि धर्मपत्नी देविकुमारी ठकुरीको पनि उत्तिकै साथ र सहयोग छ । ७० वर्षको उमेरमा पनि उनी जुनार खेतीमा सक्रिय छिन् । उनले आफ्नो उमेरको तीन दशक बढी जुनार खेतीमा समर्पित गरिसकेकी छिन् ।

अहिले उनको बगैंचामा जुनार लटरम्मै फलेका छन् । हामी जुनार बगैँचामा पुग्दा बोटका जुनार टिपेर बोरामा हाल्दै थिइन् उनी । ‘अघिल्लो वर्षभन्दा यसवर्ष जुनार अलि कम फलेको छ,’ देवीकुमारीले भनिन् ।

ठकुरी दम्पतीले ३५ वर्षदेखि जुनारको व्यावसायिक खेती गर्दै आएका छन् । ‘पाँच लाखदेखि ३५ लाखसम्म वार्षिक रुपमा आम्दानी लिने किसान छन् यहाँ,’ किसान गुन्डबहादुरले भने, ‘जुनार उत्पादन गर्दाको सुरूवाती वर्षमा प्रतिदाना ५० पैसामा बिक्री गरेको जुनार अहिले बगैँचामै प्रतिदाना १० रुपैयाँमा बिक्री हुन्छ। जुनारबाट भएको आम्दानीले काठमाडौँको कपनमा घर घडेरी जोडेका छौँ । हाम्रो पारिवारिक खर्च यसैले धानेको छ।’

ठकुरी दम्पतीले आफ्नो मेहनत र इमान्दारीताबाट केवल आफ्नो सपना मात्रै साकार बनाएनन्, रोजगारी पनि सिर्जना गरिदिदिएका छन् ।

अहिले गाउँका अधिकांश किसानले आफ्नो पाखा र खेतबारीमा जुनार, सुन्तलाको व्यावसायिक खेती गरिरहेका छन् । आफ्नो पाखाबारी नभएकाहरुले जुनारको व्यावसायिक खेती गर्ने किसानको बगैँचामा रोजगारी पाएका छन्। स्थानीय दलबहादुर नेपाली र उनको धर्मपत्नी ज्ञानुलाई रोजगारीका लागि भौंतारिदै शहर पस्न नपर्ने खुसीले हर्षित तुल्याएको छ ।

आफ्नै गाउँको माटोको गन्धमा हुर्किने दलबहादुर दम्पतीलाई शहरको धुलो र चिल्ला सडकले कहिल्यै लोभ्याएन। पाँच वर्षअघि गाउँमै रहेको व्यावसायिक जुनार बगैंचामा काम गर्न पाउने मौका पाउँदा उनीहरूको जीवनले नयाँ मोड लियो ।’शहर जाँदा परिवारसँग टाढिनु पर्थ्यो,’ दलबहादुरले भने, ‘गाउँको जुनारले परिवारसँगै बस्ने वातावरण बनायो।’

नेपाली दम्पतीले बगैंचामा सिँचाई, गोडमेल, र जुनार टिप्नेदेखि बजारसम्म पुर्‍याउने काम गर्छन् । ‘गाउँकै खेतबारीमा पसिना बगाउन पाउनु पौरख नै हो,’ उनले गर्व गर्दै भने ।

जुनार बगैंचाले नेपाली दम्पती जस्ता अरु मजदुरहरुलाई पनि रोजगारी दिएको छ । कुनै बेला विदेश जान लागेकाहरू गाउँ फर्केर व्यवसायिक खेतीप्रति आकर्षित भएका छन् । जुनार खेतीले तिनकन्याका किसानलाई आत्मानिर्भर बनाएको छ नै मजदुर र व्यापारीलाई पनि रोजगारीको अवसर प्रदान गरेको छ ।

बगैँचाका जुनार बजारमा

तीनकन्याका बगैँचामा उत्पादन भएका जुनारले यतिबेला जिल्लाका मुख्य चोक र बजार क्षेत्र भरिएका छन् । किसान र व्यापारीलाई पाकेका जुनार किनबेच गर्न भ्याइनभ्याइ छ । सिन्धुलीको रमणीय दृश्य अवलोकन गर्दै बिपी राजमार्गमा यात्रा गर्ने यात्रुहरूका लागि जिल्लाको जुनार मुख्य कोसेली बनेको छ।

जुनार पकेट क्षेत्रका किसानहरुले आफ्नो बारी, बगैँचामा उत्पादन गरेका जुनार राजमार्गको छेउमा बिक्रीका लागि राखिएको हुन्छ। यात्रुहरु त्यही जुनार किनेर कोसेलीको रुपमा लिएर जाने गर्दछन्। ‘जुनार सबैभन्दा बढी बिक्री हुने स्थान भनेकै बिपी राजमार्ग हो,’ जुनार विकास सङ्घ, सिन्धुलीका अध्यक्ष कर्णबहादुर आलेमगरले भने, ‘जुनार तीनकन्याको मात्रै होइन, सिन्धुलीको पहिचान बनिसकेको छ। यसले आर्थिक लाभसँगै आत्मसन्तुष्टि पनि मिलेको छ।’

राजमार्गमा यात्रा गर्ने अधिकांश यात्रु सिन्धुलीको जुनारसँग परिचित छन्। कतिपय यात्रुहरु जुनारको मुख्य बजार सेल्फिडाँडा, खनियाखर्क, खुर्कोटलगायतका स्थानमा आफू सवार सवारीसाधन रोकेर रसिलो जुनारको स्वाद लिएर मात्रै यात्रालाई अगाडि बढाउँछन्।

झापा-काठमाडौंसम्मको यात्राका क्रममा खनियाखर्क बजारमा भेटिएका गोपाल काफ्लेले भने, ‘म यहाँको जुनार नखाई यात्रा अगाडि बढाउँदिन । श्रीमतीले पनि सिन्धुलीबाट जुनार लिएर आउनु है भनिकी छिन्, लिएर जान्छु।’

मंसिरदेखि माघसम्म जुनारको याम हो । यस समयमा राजमार्ग छेउका पसल र यहाँका बजारहरू जुनारले भरिएका हुन्छन् । ‘हामीलाई किसानले ताजै जुनार उपलब्ध गराउँछन् । दुई दशकदेखि जनारको व्यापार गदैँ आएको छु । यहाँ जुनार किन्ने मुख्य ग्राहक भनेकै बिपी राजमार्गका यात्रुहरु हुन्,’ खनियाखर्ककी जुनार व्यापारी सावित्रा थापामगरले सुनाइन् । किसान कुसुमकुमारी ठकुरी भने जुनार किसानले उचित मूल्य नपाएको गुनासो गर्छिन्। व्यापारीले पसलैपिच्छे फरक-फरक मूल्य लिने गरेकोमा उनको आपत्ति छ।

‘बजारमा जुनारको मूल्यमा एकरूपता छैन । व्यापारीअनुसार फरक-फरक छ। किसानसँग प्रतिकिलो ६० देखि ८० रूपैयाँमा किन्छन् तर व्यापारीले भने ८० देखि १३० रूपैयाँसम्ममा बेचिरहेका छन्,’ उनले भनिन् ।

गोलञ्जोरलाई जुनार गाउँपालिका बनाउने प्रयास

तीनकन्या जिल्लाकै जुनार उत्पादनको मुख्य केन्द्रका रूपमा परिचित छ। गोलञ्जोरका छ वटा वडामा जुनारको व्यावसायिक उत्पादन हुन्छ । रतनचुरा, बितिजोर, भुवनेश्वरी, बाशेश्वर, डुडभञ्ज्याङ जुनारको व्यावसायिक उत्पादन र निर्यातले सबल बन्दै गएको छ । ‘गोलञ्जोरको भूमि जुनार उत्पादनको लागि अत्यन्त उपयोगी मानिन्छ। यसको खेती हाम्रो प्राथमिकतामा छ,’ गाउँपालिका प्रमुख शङ्करराज बरालले भने, ‘गोलञ्जोरको मुख्य चिनारी नै जुनार हो । जुनार गोलञ्जोरको मात्रै होइन, जिल्लाको पहिचान बनिसकेको छ।’

उनले जुनारको प्रचार र प्रवर्द्धनको लागि गाउँपालिकाको नाम परिवर्तन गरेर जुनार गाउँपालिका राख्ने प्रयासमा आफू रहेको समेत बताए । जुनार उत्पादनमा देखा पर्ने रोगकिराका विभिन्न समस्या समाधानका लागि थप पहल आवश्यक रहेको उनको भनाइ छ। ‘प्रत्येक वर्ष विभिन्न रोग र किराको समस्याले जुनार उत्पादनमा असर पुर्‍याइरहेकोछ । यसले किसानहरूको आम्दानीमा प्रत्यक्ष प्रभाव पारेको छ,’ उनले चिन्ता व्यक्त गदैँ भने, ‘रोग र किराको नियन्त्रणका लागि अनुसन्धान र दीर्घकालीन समाधानका लागि प्रदेश सरकार, सङ्घ सरकार र सरोकारवालासँग विनम्र अनुरोध गर्दछु।’

जुनार ढुवानीमा चुनौती

तीनकन्याको जुनारले स्थानीय हुँदै राष्ट्रिय बजारसम्म आफ्नो पहिचान बनाइसकेको छ तर कच्ची सडकका कारण बगैँचाको जुनार बजारसम्म ढुवानी गर्न चुनौती छ।

वर्षा हुँदा सडक हिलोले भरिन्छ भने हिउँदमा धुलाम्मे सडक उत्तिकै जोखिमपूर्ण छ। हरेक वर्ष किसानले उत्कृष्ठ गुणस्तरका जुनार उत्पादन गरे पनि ढुवानी व्यवस्थित नहुँदा मिहेनतअनुसारको फाइदा लिन सकिरहेका छैनन्। ‘मिहेनत गरेर उत्पादन गरेका जुनार बिग्रिने डरले बिचौलियालाई सस्तोमा दिन बाध्य छौँ। आफैँले बजार लगेर बेच्न पाए आम्दानी बढ्ने थियो, सडक राम्रो नभएकाले जुनार ढुवानी खर्च अत्याधिक महँगो पर्छ,’ किसान मञ्जुकुमारी आलेमगरले गुनासो गरिन् ।

खनियाखर्क-कमारेभञ्ज्याङ-तीनकन्या सडक चिसासानीसम्म मात्रै कालोपत्रे भएको छ । जुनार उत्पादनबाट किसानको आर्थिकस्तर माथि उठाउन सबैभन्दा पहिले कच्ची सडकको समस्या समाधान गर्नु पर्नेमा किसानहरुको जोड छ ।

जुनारमा लाग्ने रोगकिरा र सडक समस्याको समाधान गर्नका जिल्ला समन्वय समितिले चासो देखाएको छ। जुनार उत्पादित क्षेत्रको अनुगमन गर्न तीनकन्या पुगेकी उपप्रमुख शान्ता कार्कीले तीनै तहका सरकार र सरोकारवालाहरुसँग छलफल गरेर जुनार किसानका समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

‘जुनार सुपरजोन’ कार्यक्रम कार्यान्वयन

जुनार उत्पादनमा देशकै अग्रणी मानिएको तीनकन्यालाई जुनारको राजधानीका रुपमा पहिचान स्थापित गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई (जुनार सुपरजोन) कार्यक्रमले महत्वपूर्ण टेवा पुर्‍याएको छ ।

गोलञ्जोर गाउँपालिकाको वडा नं १ देखि ६ सम्मका तीनकन्या, रतनचुरा, बितिजोर, भुवनेश्वरी, बाशेश्वर, डुडभञ्ज्याङ, कमलामाई नगरपालिका-३ जलकन्या र तीनपाटन गाउँपालिका–१ तोश्रामखोला जुनार सुपरजोनका क्षेत्र हुन् । जुनार सुपरजोन कार्यक्रम कार्यान्वयन भएका यी आठ वटा वडामा जुनार बढाउने, बचाउने र जुनारको बजारीकरण गर्ने कार्यमा कार्यक्रमले किसानलाई सघाउँदै आएको छ ।

जुनार सुपरजोन सिन्धुलीका प्रमुख यमकुमार श्रेष्ठका अनुसार जुनार सुपरजोन कार्यक्रमले यस क्षेत्रमा हालसम्म २३७ हेक्टरमा जुनार बगैँचा विस्तार गरिसकेको छ। पन्ध्र वटा नर्सरीमार्फत गुणस्तरीय जुनारको विरुवा उत्पादन भइरहेको छ भने जुनारमा लाग्ने रोगकिरा नियन्त्रण, सिँचाइ व्यवस्थामा निरन्तर प्राविधिक सहयोग गर्दै आएको छ।

जुनारको भण्डारणका लागि १४ वटा शीतभण्डार निर्माण गरिएको छ। ‘किसानले मङ्सिर-माघसम्म शीतभण्डारमा जुनार भण्डारण गरेर वैशाखमा दोब्बर मूल्यमा बिक्री गर्न पाउँदा उनीहरूको आम्दानीमा उल्लेख्य सुधार भएको छ,’ सुपरजोन कार्यक्रमका प्रमुख श्रेष्ठले भने ।

जुनारको बजारीकरणलाई थप प्रभावकारी बनाउन जुस, वाइन, जामजेली र जुनारको पातको चियालगायतका प्रशोधित परिकार उत्पादनका लागि सम्भावना अध्ययन भइरहेको उनले बताए । स्थानीय होटलहरूमा जुनारका विभिन्न परिकार बिक्री गर्ने व्यवस्था मिलाइने छ । साथै, जुनार प्रवद्र्धनका लागि होमस्टे सञ्चालन गरेर पर्यटन विकासमा जोड दिइएको उनले सुनाए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई, सिन्धुलीको तथ्याङकअनुसार जिल्लामा हाल एक हजार ३१८ हेक्टरमा जुनार र सुन्तलाको खेती भइरहेको छ । यसमध्ये सात सय ९४ हेक्टरका बोटले उत्पादन दिइरहेको छ ।

जिल्लामा यस वर्ष ५२ करोड बराबरको जुनार, सुन्तला बिक्री हुने आँकलन छ। जिल्ला जुनारको हबका रुपमा विकासित हुँदा समृद्ध सिन्धुली निर्माणमा सहयोग पुग्ने मात्र नभई देशकै आर्थिक आम्दानी बढाउनसमेत योगदान पुग्ने देखिन्छ।

नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४ दशमलव ११ अङ्कले बढेर दुई हजार छ सय २६ दशमलव ३१ को बिन्दुमा कायम भएको छ ।

मंगलबार तीन सय १२ कम्पनीको एक करोड २७ लाख ४६ हजार चार सय १० कित्ता शेयर ६४ हजार नौ सय १७ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब २० करोड २२ लाख ६३ हजार ३८ बराबरको कारोबार भएको छ । कुल बजार पुँजीकरण रु ४३ खर्ब ५६ अर्ब ६० करोड ९८ लाख ६४ हजार कायम भएको छ ।

आजको कारोबारमा उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ३२ प्रतिशत र व्यापार समूह शून्य दशमलव ४५ प्रतिशतले घटेको छभने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैङ्क समूह एक दशमलव ७५ र वित्त समूह एक दशमलव ६२ प्रतिशतले बढेको छ ।

बैङ्किङ शून्य दशमलव ७६, होटल तथा पर्यटन शून्य दशमलव ९४, जलविद्युत् शून्य दशमलव ७१, लगानी शून्य दशमलव ९६, जीवन बीमा शून्य दशमलव २८, लघुवित्त शून्य दशमलव ९५, म्युचुअल फन्ड शून्य दशमलव ११, निर्जीवन बीमा शून्य दशमलव ५६ र अन्य समूह शून्य दशमलव ४९ प्रतिशतले बढेको छ ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छभने सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

जानकी फाइनान्स कम्पनी लिमिटेडको आज सबैभन्दा धेरै रु २० करोड सात लाख ४२ हजार छ सय ५२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को १७ लाख ७३ हजार आठ सय १० कित्ता शेयर किनबेच भएको छ ।

कुशल मल्ल इन्टरनेशनल लिग टी–२० मा अनुबन्ध

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर कुशल मल्लले संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने इन्टरनेशनल लिग टी–२० क्रिकेट खेल्ने भएका छन् ।

कुशललाई लिगको लागि डेजर्ट भाइपर्सले अनुबन्ध गरेको हो । चोटका कारण प्रतियोगिताबाट बाहिरिएका नेदरल्यान्ड्सका अलराउन्डर बास डी लीडेको ठाउँमा कुशल मल्लले मौका पाएका हुन् ।

मल्लले भर्खरै सकिएको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा ८ खेलमा २ सय २७ रन बनाउनुका साथै ९ विकेट लिएका थिए ।

पाँच महिनामा रसुवागढी नाका हुँदै चीनबाट एक खर्ब २४ अर्बका मालसामान आयात

रसुवा ।  नेपालको उत्तरी नाका रसुवागढीबाट चालु आवको साउनदेखि मङ्सिर मसान्तसम्मको पाँच महिनाको अवधिमा आयात भएका मालसमानको मूल्य सार्वजनिक गरिएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म कुल एक सय २४ अर्ब ४२ करोड मूल्य बराबरको तयारी कपडा, विद्युतीय सामग्री, विद्युतीय सवारी साधन, जुत्ता, चप्पल, लसुन, स्याउ, ओखर, जस्ता वस्तु आयात भएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत तुल्सीप्रसाद भट्टराईले जानकारी दिए।

यस्तै उनी गलैँचा, बक्रम कपडा, तयारी कपडा जडीबुटी, अगरबत्ती समेत रु १५ करोड बराबरको विविध सामग्री निर्यात भएको प्रमुख भट्टराईले बताए। आयात सामग्रीको नियमानुसार मूल्यांकनबाट १२ अर्ब ४७ करोड राजस्व दाखिला भइसकेको र आयात मालसामान बोकी भन्सार हातामा प्रवेश गरिसकेका करिब दुई सय कन्टेनरको धमाधम मूल्यांकन कार्य अगाडि बढिरहेको बताइएको छ ।

केरुङबाट आयात भएका सामग्री बोकेका ट्रक सिधै भन्सार हातामा आउने र क्रमिक रूपले कुन कन्टेनर पहिला आएको छ लामबद्ध तवरले परीक्षण एवं जाँचपास गरिँदै आएको भन्सार कार्यालयले जनाएको छ ।

यस्तै, मितेरी पुल नजिक रसुवागढीमा निर्माणाधीन एकीकृत भन्सार भवन ठेकेदार कम्पनीबाट काम ढिला हुँदै गएको छ । भवन विभागमार्फत सात वर्ष अगाडिबाट निर्माण सुरु भएको भवन निर्माणको काम सुस्त गतिमा अगाडि बढिरहेको छ । उता चीन सरकारको सहयोगमा टिमुरेमा निर्माणाधीन अर्को छुट्टै भन्सार कार्यालय भवन भने करिब ८० प्रतिशत पूरा भइसकेको प्राविधिकले बताएका छन् ।

चीनबाट आयात भएका सवारी साधन व्यवस्थित पार्किङ नहुँदा घामपानी र शीतका कारण पोलिसको बाहिरी भाग बिग्रने सम्भावना बढेको देखिएको तथा लामो समयको पार्किङपछि मालधनीले काठमाडौँमा पु¥याई बिक्री गर्दा चाँडै रङ्ग उप्किई त्यसको असर उपभोक्तालाई पर्ने सवारी चालकहरूले बताएका छन् ।

आयात भएका मालसमान बोक्ने कन्टेनर गुडाउन राजमार्गको असहजता निकै बढेको छ । सडक कार्यालयको पहुँच नपुग्दा मर्मत हुन नसकी बढी खाल्डाखुल्डी परेको याङयाङ, स्याफ्रुबेँसी, रसुवागढीका भूभागमा ठूलो समस्या परेको चालकहरूको भनाइ छ ।

सार्कलाई सक्रिय बनाउन पहल गरिरहेको छुः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार भएको भेटमा दुुई पक्षीय सम्बन्ध र हितका विविधि विषय, व्यापार, पर्यटन, कृषि, नवीकरणीय ऊर्जा, विपद् व्यवस्थापन, शिक्षा, संस्कृति आदिमा हुँदै आएको सहयोग आदानप्रदान अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई सक्रिय बनाउन अध्यक्ष मुलुकका नाताले आफूहरुले पहल गरिरहेको र यसमा आबद्ध मुलुकहरुले रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

उनले कुनै दुुई मुलुकबीच आपसी समस्या हुनसक्ने भए पनि त्यसको प्रतिकूल प्रभाव सार्कजस्ता क्षेत्रीय सङ्गठनमा पर्न नहुने उल्लेख गर्दै नेपालले ‘सबैसँग मित्रता र छैन कसैसँग शत्रुुता’ भन्ने भावनाका साथ सार्वभौम तथा स्वतन्त्र मुलुकका हिसाबले न्यायोचित राष्ट्रिय हितलाई ध्यानमा राखेर सम्बन्ध विस्तार र सहकार्य गर्दै आएको स्पष्ट गरे ।

राजदूत हस्मीले आफूहरु पाकिस्तानामा सार्क शिखर सम्मेलन आयोजना गर्न तत्पर रहेको प्रधानमन्त्री ओलीलाई अवगत गराए । उनले आफूहरु आगामी दिनमा नेपालसँग विविध विषयमा थप सहकार्य गर्न इच्छुक रहेको बताए ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘हृदयकी रानी’

काठमाडौं । वरिष्ठ गीतकार चिन्तामणि शिवाकोटीको शब्द रचनामा ‘हृदयकी रानी’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा वरिष्ठ गायक मदनकृष्ण श्रेष्ठ र समीक्षा अधिकारीले स्वर दिएका छन् । गीतमा वरिष्ठ संगीतकार कृति न्यौपानेको संगीत, पुरुषोत्तम सुवेदीको एरेन्ज, किशोर थापाको मिक्सिङ मास्टरिङ राजेश श्रेष्ठको रेकर्डिङ छ ।

म्यूजिक भिडियोमा कलाकार मदनकृष्ण श्रेष्ठ र गायिका कोमल ओली, नायक विमल अधिकारी र स्मारिका ढकालको अभिनय छ । म्यूजिक भिडियोको निर्देशक कृष्णदेव रुपाखेतीले गरेका छन् ।

७४ वर्षको उमेरमा अचानक आफ्नो प्रेमिकालाई भेटेपछि त्यो बेला टुटेको प्रेमको सम्झना गर्दै भिडियो सुरुवात हुन्छ । भिडियोमा ग्रामीण शैलीका सामग्रीहरू पनि प्रस्तुत गरिएको देखिन्छ । भिडियोमा उत्सव दाहालको छायाँकन, राहुल बराइलीको कोरियोग्राफी, विकास दाहालको सम्पादन छ ।

धरहरा सञ्चालनको एक महिनामा ५५ लाख रुपैयाँको टिकट बिक्री

काठमाडौं । पुनःनिर्माण पश्चात् धरहरा सशुल्क सञ्चालन भएको आज एक महिना पुगेको छ। यस अवधिमा प्रवेश शुल्कबापत् रु ५५ लाख सङ्कलन भएको छ। गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट हिजो सोमबारसम्ममा टिकट बिक्रीबापत उक्त रकम सङ्कलन भएको हो।

कामु आयोजना निर्देशक प्रकाश अर्यालले प्रत्येक बुधबार धरहरा बन्द हुने र अन्य दिन दैनिक एक हजार दुई सयले धरहरा चढ्ने गरेको जानकारी दिए।

‘९ गतेदेखि हालसम्म ३१ हजार बढी नागरिकले धरहरा चढिसकेका छन्। जसमा १२ वर्षमुनिका बालबालिकाको तथ्याङ्क राख्ने गरिएको छैन’, उनले भने, ‘बिहान साँढे १० देखि ३ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ। छोटो समयमा नागरिकको उल्लेख्य उपस्थिति देखियो।’ पछिल्लो समय छिमेकीमूलुकका पर्यटक पनि धरहरा अवलोकन गर्न आउने गरेका छन्।

धरहरा चढ्न प्रतिव्यक्ति दुई सय शुल्क तोकिएको छ। विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने व्यवस्था छ। सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति रु एक हजार शुल्क छ।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम शुल्क लिई धरहरा सञ्चालनमा ल्याइएको हो। गत मङ्सिर ६ गतेको मन्त्रीपरिषद् बैठकले धरहरा खुला गर्ने र शुल्क स्वीकृत गर्ने निर्णय गरेको थियो।

यहाँ पार्किङ गर्दा चार पाङ्ग्रे सवारीका लागि प्रतिघण्टा रु २० र दुई पाङ्गे्रलाई रु १० तोकिएको छ। धरहरा परिसरमा प्रवेशका लागि रु ५० निर्धारण गरिएको छ। धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा रु पाँच हजार तोकिएको छ। व्यावसायिक भिडियो छायाङ्कनका लागि प्रतिघण्टा रु पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा रु एक हजार छ निर्धारण गरिएको छ।

स्पेसएक्सद्वारा २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा प्रक्षेपण

लस एन्जलस । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले सोमबार २१ वटा स्टारलिंक उपग्रहहरू प्रक्षेपण गरेको छ।

स्पेसएक्सका अनुसार पूर्वी समयको १२ः३५ बजे फ्लोरिडास्थित नासाको केनेडी स्पेस सेन्टरमा फाल्कन– ९ रकेटमा उपग्रहहरू प्रक्षेपण गरिएको थियो।

स्पेसएक्सले पछि २१ उपग्रहको तैनाथी पुष्टि गर्‍याे, जसमा १३ ‘डायरेक्ट टु सेल’ क्षमता छन्। स्पेसएक्सका अनुसार, स्टारलिंकले अनुपलब्ध क्षेत्रहरूमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पहुँच पुर्‍याउनेछ।

मलेसियामा सवारीसाधन एकआपसमा ठोक्किँदा सात जनाको मृत्यु, ३३ घाइते

क्वालालाम्पुर । मलेसियामा तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ भने अन्य ३३ जना घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार २७ यात्रु बोकेको एउटा टुर बस, ट्रेलर र टोयोटा एकआपसमा ठोक्किएका थिए ।

स्थानीय प्रहरीका अनुसार मृत्यु हुनेमा तीन पुरुष, तीन महिला र एक बालिका रहेका छन् । दुर्घटनाका कारण राजमार्गको दुबै दिशामा १० किलोमिटरभन्दा बढी ट्राफिक जाम भएको थियो । दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ ।

पुनर्निर्माण प्रभावकारी बनाउन ‘विपद् पुनर्लाभ कार्ययोजना’ निर्माण

काठमाडौं। सरकारले विपद् पुनर्निर्माणलाई छिटो, छरितो र प्रभावकारी बनाउन ‘विपद् पुनर्लाभ कार्ययोजना’ निर्माण थालेको छ।

विपद् व्यवस्थापनको जिम्मेवारी पाएको गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् पुनर्निर्माणको कामलाई द्रुत र प्रभावकारी बनाउन एकीकृत रुपमा काम गर्ने गरी पुनर्लाभ कार्ययोजना निर्माण थालेको हो।

अहिलेसम्म पुनर्निर्माणको काम सुरु हुन नसकेको भूकम्प गएको क्षेत्र पश्चिम नेपालको जाजरकोट, डोटी, बझाङलगायत जिल्लामा प्राथमिकीकरण गरेर यही पुस मसान्तबाटै कुनै एक ठाउँबाट पुनर्निर्माण कार्य अघि बढाउने गरी उक्त योजना निर्माण थालिएको प्राधिकरणका सहसचिव डा भीष्मकुमार भुसालले जानकारी दिए।

उनका अनुसार अहिलेसम्म उद्धार, राहत तथा अस्थायी आवासका काममा केन्द्रित भएको र त्यो काम सम्पन्न भएकाले अब पुनर्निर्माणलाई तीव्रता दिन लागिएको हो। प्राधिकरणका अनुसार स्थायी आवासका लागि रकम कति दिने भनेर निर्णय हुन लामो समय लागेको थियो।

डा भुसालले भने, ‘अहिले प्राधिकरणले पुनर्निर्माणमा रकम कति दिने भनेर निधो गर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा पेस गरिसकेको छ, त्यो मन्त्रिपरिषद्‌बाट निर्णय हुने बित्तिकै स्थायी आवासको पुनर्निर्माणका लागि कार्यविधि जारी गर्ने अवस्थामा पुग्छौँ र स्थायी आवास पुनर्निर्माण बाटोसमेत खुल्छ।’

त्यसअघि अस्थायी आवास लिएकाहरु वास्तविक लाभग्राही हुन् कि होइनन् भनेर यकीन गनुपर्ने हुन्छ। त्योसँगै स्थायी आवासको किस्ता दिनका लागि के के प्रमाण राख्ने भन्ने विषयमा विस्तृत क्षति आकलनको प्रक्रिया अघि बढाइने पनि उनले बताए।

निजी आवास पुनर्निर्माण तथा स्कुल र सरकारी संरचनाको पुनर्निर्माणका लागि विशेष योजना अघि बढाउनुपर्ने जनाइएको छ। ‘यी सबै काम गर्न योजनाविहीन हुँदा भद्रगोल हुने अवस्था रहेकाले विपद् पुनर्लाभ कार्ययोजना निर्माण गरी एकीकृत र व्यवस्थित रुपमा काम गर्नुपर्ने आवश्यकता ठानेर कार्ययोजना निर्माण गर्न थालिएको हो’, भुसालले भने।

प्राधिकरणमा अहिले विभिन्न मन्त्रालयले बाढी, भूकम्पले क्षति ग¥यो पुनर्निर्माणका लागि पैसा चाहियो भनेर माग गरिरहेका छन्। प्राधिकरणमा यस्ता मागका फाइल आइरहेका छन्। ‘त्यसका लागि योजनाविहीन भएको अवस्थामा कार्य सफल नहुने हुँदा प्राथमिकीकरण गर्नुपर्ने अवस्था रह्यो, पहिले कहाँबाट काम गर्ने भनेर’, उनले भने, ‘पहिलो प्राथमिकता गाउँमा जाने सडक हो कि, विद्यार्थीले पढ्ने स्कुलभन्दा स्कुल नै होला, त्यसअघि मान्छेको छानो होला, निजी आवास, ती सबैको प्राथमिकीकरण गरेर अघि बढ्छौँ।’

कार्ययोजनामा पुनर्निर्माणका लागि पैसा कति चाहिन्छ भनेर हिसाब निकालिन्छ। तीन तहका सरकार भएका कारण कुन तहका सरकारले कति बेहोर्ने भनेर पनि निधो हुन्छ। कतिपय स्थानमा पालिकाहरुले आफै बनाउनसक्ने अवस्था पनि रहेको छ। त्यसका अलावा गैरसरकारी संस्थाले पनि काम गरिरहेका छन्। उनीहरुको भूमिका पनि छुट्याइने छ। उनीहरुले फारमसमेत भरेर पठाउन थालेका डा भुसालले बताए।

यसका लागि सिंहदरबारमा विषयगत मन्त्रालयसँगको छलफल भइसकेको र गैरसरकारी संस्थासँग पनि एक चरणको छलफल सम्पन्न भइसकेको छ। यूएन एजेन्सी र विकास साझेदारसँग समेत छलफल गरेर अघि बढ्ने योजनाका साथ कार्ययोजना बनिरहेको उनले बताए।

उनले भने, ‘सबै रकमको आँकडा आइसकेपछि स्रोत व्यवस्थापन गरेर काम गरेपछि रिपोर्ट एकै ठाउँमा आउने भयो, अहिले गैरसरकारी संस्थाले काम गरे पनि रेकर्ड नआउने अवस्था छ, अब कार्ययोजना बनेपछि एकीकृत विवरण आउने भयो र गरेको काम देखिने हुन्छ।’

योजनाविहीन हुँदा स्रोत जुटाउन पनि समस्या देखिएको प्राधिकरणको भनाइ छ। उनका अनुसार विसं २०७२ को भूकम्पमा एक सय ९७ गैरसरकारी संस्थाले काम गरेका थिए। अहिले एक दर्जन पनि देखिएका छैनन्। त्यो किन भयो भने विपद्लाई प्राथमिकता नपाउनुमा आफ्नो योजना नहुने देखिएकाले एकीकृत कार्यक्रम गरेर अघि बढ्न लागिएको हो।

प्राधिकरणले यही हप्तामा प्रारम्भिक खाका तयार पारेर अघि बढ्नेगरी काम थालेको छ। पुस मसान्तसम्ममा कुनै न कुनै पालिकाबाट काम थाल्ने गरी कार्य योजना अघि बढाइएको डा भुसालले बताए। प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले अब मुख्य केन्द्रित नै पुनर्निर्माणमा रहेको र त्यसलाई प्रभावकारी बनाउन योजना अघि बढाइसकिएको बताए। 

सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब, विकास बजेटभन्दा बढी साँवा ब्याज भुक्तानीमा खर्च

काठमाडौँ । सार्वजनिक ऋणको दायित्व बर्सेनी वृद्धि भएसँगै उक्त ऋणको साँवा ब्याज भुक्तानी खर्च पनि बढ्दै गएको छ । विकास बजेटभन्दा बढी रकम सार्वजनिक ऋणको साँवा ब्याज तिर्नमा खर्च हुन थालेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को गत मङ्सिर मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार सरकारी ऋण करिब २५ खर्ब हाराहारी छ ।

“चालु आर्थिक वर्षको सुरुमा कूल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा मङ्सिर मसान्तसम्ममा ५८ अर्ब ३१ करोड थप भई कूल सार्वजनिक ऋण रू २४ खर्ब ९२ अर्ब ९१ करोड पुगेको छ । जुन कूल गार्हस्थ उत्पादनको ४३ दशमलव ६९ प्रतिशत हुन आउँछ”, प्रतिवेदनमा भनिएको छ, “मङ्सिर महिनामा रू ५८ अर्ब २४ करोड ऋण दायित्व भुक्तानी तथा २१ अर्ब २३ करोडमात्र ऋण प्राप्ति भएको र विनिमय दरमा भएको घटबढको प्रभावले कात्तिक मसान्तसम्मको तुलनामा मङ्सिर मसान्तसम्ममा रू २५ अर्ब ६४ करोड ऋण दायित्व घट्न गएको छ ।”

कार्यालयका अनुसार सरकारले हालसम्म तिर्न बाँकी आन्तरिक ऋणको दायित्व रू १२ खर्ब १७ अर्ब ६६ करोड १८ लाख अर्थात् कूल सार्वजनिक ऋणको २१ दशमलव ३४ प्रतिशत छ । त्यसैगरी बाह्य ऋण दायित्व रू १२ खर्ब ७४ अर्ब ७५ करोड अर्थात् २२ दशमलव ३५ प्रतिशत छ ।

सरकारले चालु आर्थिक वर्षका लागि रू पाँच खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकामा मङ्सिर मसान्तसम्ममा रू एक खर्ब ९२ अर्ब २९ करोड ऋण उठाइसकेको छ । वार्षिक लक्ष्यको तुलनामा पाँच महिनाको कूल सार्वजनिक ऋण प्राप्ति ३५ दशमलव १५ प्रतिशत बराबर हो । चालु आर्थिक वर्षका लागि आन्तरिक ऋणतर्फ रू तीन खर्ब ३० अर्ब उठाउने लक्ष्य रहेकोमा हालसम्म वार्षिक लक्ष्यको ४९ दशमलव ७० प्रतिशत अर्थात् रू एक खर्ब ६४ अर्ब बराबर ऋण उठाइसकेको छ ।

यसैगरी रू दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने लक्ष्य रहेकामा हालसम्म वार्षिक लक्ष्यको १३ दशमलव ०४ प्रतिशत अर्थात् रू २८ अर्ब २९ करोड १८ लाख प्राप्त भएको छ । सार्वजनिक ऋणको साँवा ब्याज तिर्न सरकारले चालु आर्थिक वर्षका लागि रू चार खर्ब दुई अर्ब बजेट छुट्याइएको छ । मङ्सिर मसान्तसम्ममा रू एक खर्ब ७० अर्ब ४९ करोड साँवा ब्याज भुक्तानी भएको कार्यालयले जनाएको छ ।

कूल गार्हस्थ उत्पादनको आधारमा मङ्सिर मसान्तसम्मको कूल ऋण सेवा खर्च दुई दशमलव ९९ प्रतिशत रहेको छ । सरकारले विकास निर्माणमा विनियोजन गर्ने वार्षिक बजेट अर्थात् पुँजीगत शीर्षकको तुलनामा सरकारी ऋणको साँवा ब्याज तिर्न छुट्याइने बजेट बढी छ ।

चालु आर्थिक वर्षका लागि सरकारले पुँजीगत शीर्षकमा रू तीन खर्ब ५२ अर्ब ३५ करोड बजेट विनियोजन गरेको थियो । जबकी सरकारी ऋणको साँवा ब्याज तिर्न चालु आर्थिक वर्षका लागि रू चार खर्ब दुई अर्ब बजेट छुट्याइएको छ ।

यी दुई शीर्षकमा मङ्सिर मसान्तसम्म भएको खर्चको अवस्था हेर्ने हो भने पुँजीगत बजेट खर्च भन्दा ऋणको साँवा ब्याज तिर्न भएको खर्च करिब साँढे चार गुणाले बढी छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार मङ्सिर मसान्तसम्म सरकारको पुँजीगत खर्च रू ४० अर्ब ८० करोड मात्रै छ ।

बालकोटमा बाबु र भाइ हत्या गर्ने मिलनद्वारा प्रहरीमा आत्मसमर्पण

काठमाडौं । भक्तपुरको बालकोटमा बाबु र छोराको हत्या परिवारकै सदस्यले गरेको पाइएको छ । खोटाङको रूपाकोट मजुवागढी नगरपालिका वडा नम्बर १ का कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण आचार्यको हत्या जेठा छोरा मिलन आचार्यले गरेको पाइएको हो ।

बाबु र भाइको हत्यापछि फरार भएका मिलनले मंगलबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । उनले काठमाडौंको महाराजगञ्जस्थित प्रहरी वृत्तमा पुगेर आत्मसर्पण गरेका हुन् । उनले बाबु र भाइको हत्या आफूले गरेको स्वीकार गरेका प्रहरीले जानकारी दिएको छ । सोमबार आचार्यका बाबु छोरा कोठामा मृत भेटिएका थिए ।

आँबुखैरेनीमा ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीखोलामा मंगलबार बिहान इँटा बोकेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

ट्रक चालक उदयपुरका ३० वर्षीय भेषराज पराजुली र सहचालक रौतहटका २८ वर्षीय विजय विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिए

डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा प्र ०१–००१ य १६५९ नम्बरको स्करपियोलाई विपरीत दिशाबाट आउँदै गरेको ए २–०३००–१ केएच २४४८ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

ठक्कर पश्चात् स्करपियो सडकमै रहेको र ट्रक पुलकोबीच भागबाट खसेर दुर्घटनाग्रस्त भएको थियो । स्करपियोमा सवार चार जना सकुसल रहेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त ट्रकलाई क्रेनको सहायताले तानिएको थियो ।

मङ्गोलियाको ६० प्रतिशतभन्दा बढी भूभागमा हिउँ

उलानबटार । मङ्गोलियाको ६० प्रतिशतभन्दा बढी भूभाग हाल हिउँले ढाकेको मौसम विज्ञान तथा वातावरणीय राष्ट्रिय एजेन्सीले जनाएको छ ।

“मङ्गोलियाको कम्तिमा ६४ प्रतिशत क्षेत्र अब हिउँले ढाकेको छ,” मौसम एजेन्सीले जनाएको छ । सोमबार बिहानसम्म देशका २१ मध्ये पाँच प्रदेशमा हिमपात जारी रहेको छ ।

मङ्गोलिया जाडोको लागि प्रसिद्ध छ । गत हिउँदमा देशमा पाँच दशक यताकै सबैभन्दा ठूलो हिमपात भएको थियो, जसका कारण ठूलो बाढी आएको र लाखौं पशुधनको क्षति भएको थियो ।

यस हिउँदमा, एसियाली देशका अधिकांश भागहरूमा दीर्घकालीन औसतभन्दा चिसो तापक्रम बढ्ने मौसमविद्ले जनाएका छन् ।

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित

इटहरी । नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छिन् । इटहरीमा सम्पन्न ५१औं महाधिवेशनबाट अर्का प्रतिस्पधी जीवन कार्कीलाई पराजित गर्दै थापा निर्वाचित भएकी हुन् । अध्यक्षमा थापाले ७६२ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कार्कीले ४५३ मत मात्रै ल्याएका छन् ।

त्यस्तै राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित भएका छन् । महासचिव, कोषाध्यक्षलगायत पद भने मनोनीत हुने व्यवस्था छ। जेसीजमा १७८ शाखा छन् भने एक हजार दुई सयभन्दा बढी मतदाता थिए ।

पुराना घरमा नयाँ पुस्तालाई हुर्काइरहेकी ‘महिला स्वयंसेविका’

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजार छेउमा छ– भगवती टोल। टोलमा परम्परागत घर नै रहेका छन्। तिनै पुराना घरमा हुर्किरहेका छन् ३५ बालबालिका। साथै टोलमा केही गर्भवती पनि रहेका छन्।

ढोरपाटन–१ स्थित सो टोलमा सशक्त आमा समूह छ ‘मिलिजुली’। आमा समूहमा गर्भवती, सुत्केरी र उनीहरूका एकाघरका आमाहरूको जमघट छ। यो समूहको नेतृत्व भने महिला स्वयंसेविका चन्द्रकला भण्डारीले गर्छिन्।

उमेरले हजुरआमा पुस्ताकी उनी आमा पुस्ताभन्दा कम छैनन्। यो समूह गर्भवती, सुत्केरी तथा नवजात शिशुहरूको सुरक्षा र बालबालिका तथा आमाको पोषणका विषयमा छलफल गर्न बनेको हो। त्यसैले यहाँ हरेक महिनाको पहिलो शनिबार आमा जम्मा भएर स्वास्थ्यका विषयमा छलफल गर्छन्। समस्या भएकालाई स्वास्थ्य संस्था जान सल्लाह दिन्छन्। स्वास्थ्य स्वयंसेविकाले ल्याएका सन्देश सुन्छन्, बुझ्छन् र कार्यान्वयन गर्छन्। पोषणयुक्त खाना खान्छन्। तिनै खाना बनाउने अभ्यास गर्छन् र महिनाभरिको तालिका बनाउँछन्।

मिलीजुली स्वास्थ्य आमा समूहकी सदस्यसचिव चन्द्रकलाले हरेक महिना आमा र शिशुका लागि स्थानीय उत्पादनबाट बनेको पोषणयुक्त खाना निःशुल्क खुवाउने गरेकी छिन्। ‘म आफँले कहिले फर्सीको हलुवा त कहिले चना अण्डा बनाउँछु, कोदो, फापर, मकै भटमास गाउँमै फलेका पोषणयुक्त उत्पादनबाट खाना तयार गरेर महिनामा एक दिन निःशुल्क सबैलाई खुवाउँछु,’ उनी भन्छिन्, ‘आमाले शिशुलाई खुवाउने विषयमा सिकुन् भन्ने लाग्छ, उनीहरू सबैले घरमा त्यसैगरी खुवाउने गरेका छन्।’

समूहका आमामध्ये ३५ जनाका स–साना बालबालिका छन्। हरेक महिना एक–दुईजना बाहेक सबै समूहमा आउँछन् र चन्द्रकलाले तयार गरेको खाना खान्छन्। ‘यी सबै मेरा छोराछोरी हुन्, उनीहरू कुपोषणबाट जोगिए हाम्रो समज बलियो हुन्छ,’ उनले भनिन्, ‘धेरथोर खर्च त हुन्छ तर म अन्य व्यवसायबाट त्यसको व्यवस्थापन गर्छु।’

चन्द्रकलाले दिने पोषणयुक्त खानाले आफूहरूलाई बालबालिकाका लागि खुवाउने पोषणयुक्त खाना बनाउन सहज भएको स्थानीय सृजना कुँवरले बताइन्। ग्रामीण स्वास्थ्य सुधार परियोजनाले उहाँलाई प्रारम्भिक तालिम दिएको थियो। प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङका अनुसार उक्त टोलमा कोही पनि बालबालिका कुपोषित छैनन्। आमा समूहमा हुने छलफल, पूर्वतयारी र सक्रियताले आमा तथा बच्चाको स्वास्थ्य रक्षामा सहयोग पुगेको स्वास्थ्य केन्द्रले जनाएको छ।

एकीकृत समाजवादी गण्डकी प्रदेशको अधिवेशन पोखरामा

काठमाडौं ।  नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेशको प्रथम अधिवेशन यही पुस १९ र २० गते पोखरामा हुने भएको छ ।

अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने पार्टीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ बरालले जानकारी दिए ।

उनले अधिवेशनलाई सम्पन्न गर्न प्रदेश कमिटी, सबै उपसमिति र पार्टी सदस्यहरूलाई जिम्मेवारी दिएको जानकारी दिए ।

पार्टीले आगामी फागुनभित्रमा सबै प्रदेश अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ । अहिलेसम्म कर्णाली प्रदेश अधिवेशन सम्पन्न गरिएको छ । पार्टीले हालै नेताहरुको जिम्मेवारी हेरफेर तथा कार्यविभाजन सम्पन्न गरेको छ ।

पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु

पोखरा । पोखरामा पहिलो पटक आजदेखि अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ । पोखराको साहसिक पर्यटनलाई प्रर्वद्धन गर्न महोत्सव आयोजना गरिएको हो ।

महोत्सवमा १५ देशका पाइलट सहभागी भएका छन् । पुस १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा एकै पटक १७ वटा बेलुन नेपाली आकाशमा उड्नेछन् ।

बेलुन साहसिक पर्यटकीय गतिविधि गराउने पर्यटकीय प्रडक्ट हो । बेलुन नेपालले सन् २०१८ देखि पोखरामा हट एयर बेलुनमार्फत पर्यटकलाई पोखराको आकासमा सयर गराउँदै आएको छ ।

बेलुन नेपालका अध्यक्ष बिक्रम बाडेले पोखरामा साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रर्वद्धन गर्न महोत्सव आयोजना गरिएको बताए । बिहान र बेलुकीको समयमा एकैपटक धेरै बेलुनहरु उड्नेछन् ।

पोखरा पर्यटन परिषद् (पिटिसी) र बेलुन नेपाल प्रालिको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगिता फेवातालको सिरान क्षेत्रको पामेमा महोत्सव हुनेछ । हट एयर बेलुनमा एकपटकमा ८ जनासम्म पर्यटक उड्न सक्छन् । महोत्सव अवधिमा बिहान ६ देखि ९ बजे र बेलुकी ४ देखि ६ बजेसम्म बेलुन उडान हुनेछ ।

सरकार तीन बुँदे सहमतिबाट पछि हट्न खोजेको भन्दै विप्लवको आपत्ति

काठमाडौँ । सरकारले संसदमा दर्ता भएको केही नेपाल ऐन (संशोधन) विद्येयकको दफा ६४ फिर्ता लिने सरकारको निर्णयप्रति नेकपाले आपत्ति जनाएको छ । सोमबार विज्ञप्ति जारी गरी नेकपाका महासचिव विप्लव सीले नेपाल सरकारले पुस ७ गते ऐनको दफा ६४ फिर्ता लिन गरेको प्रस्तावप्रति गम्भीर आपत्ति जनाएका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकार आफैँले विगतमा गरेको निर्णय कार्यान्वयन गर्नुको सट्टा राजनीतिक सहमतिबाट राज्य आफैं पछि फर्किनु, छलछाम र षड्यन्त्रबाट गुग्रन खोजेको प्रष्ट भएको विप्लवको जिकिर छ । विज्ञप्तिमा विप्लवले पूर्वकानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राजनीतिक दलमाथि लागेका मुद्धा फिर्ता लिने निर्णय बदर गर्नेगरी वर्तमान कानूनमन्त्री अजयकुमार चौरसियाद्वारा विधेयक प्रस्ताव गर्नुलाई तीन बुँदे सहमतिबाट पछि हट्नु जनविरोधी कार्य भएको ठहर गर्दै राज्यको त्यसप्रकारको पश्चगमनबाट चिन्तित भएको बताएका छन् ।

विज्ञप्तिमा विप्लवले सरकारको धम्कीले जनताको न्यायपूर्ण आन्दोलन नरोकिन बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘न्यायपूर्ण आन्दोलनमा जोसुकैबाट आउने धम्की र विषयान्तर गर्ने प्रयन्तले रोक्न सकिन्न । जनतामाथि हुने दमन र षड्यन्त्रको विरुद्ध विद्रोहको अधिकार सुरक्षित रहन्छ ।’

साथै विप्लवले तीन बुँदे सहमति कार्यान्वयनका लागि सरकारलाई दबाब दिन सम्पूर्ण न्यायप्रेमी व्यक्तित्व, संस्था र राजनीतिक पार्टीहरुसँग अपील गरेका छन् ।

बचत अपचलनको अभियोगमा पोखराको संघर्षशील बचत तथा ऋण सहकारीका अध्यक्ष र सचिव पक्राउ

पोखरा । पोखराको संघर्षशील बचत तथा ऋण सहकारीका अध्यक्ष र सचिव पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारीका अध्यक्ष विक्रम पाण्डे र सचिव कमल सुवेदीलाई पक्राउ गरेको हो ।

सञ्चालक समितिका पदाधिकारीहरू समेतले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरी सहकारीको रकम हिनामिना एवं ठगी गरेको देखिएको भन्दै सहकारी ऐन, २०७४ बमोजिम अनुसन्धान गरी दिन सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराले प्रहरीलाई पत्र पठाएको थियो ।

अध्यक्ष पाण्डेलाई पोखरा १७ बिरौटाबाट र सचिव सुवेदीलाई सहकारीको कार्यालयबाट पक्राउ गरेको डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए । उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट सोमबार ७ दिनको म्याद लिएको छ ।

रवि हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक गर्ने निकोलस भुसाल रिहा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासतभित्र सुतिरहेको तस्बिर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका डा. निकोलस भुसाल रिहा भएका छन् ।

आइतबार साँझ काठमाडौंबाट पक्राउ परेका उनलाई सोमबार बिहानै पोखरा लगिएको थियो । उनलाई बाहिरै राखेर अनुसन्धान गर्नेगरी रिहा गरिएको प्रहरीले जनाएको छ ।

लामिछानेको स्वास्थ्य जाँचका लागि हिरासतमा गएका बेला तस्बिर खिचेको स्वीकार गरेका थिए । साथै यसमा आफ्नो गलत नियत नभएको प्रष्टीकरण पनि उनले दिएका थिए ।

हिरासत कक्षको तस्बिर त्यसरी सार्वजनिक हुनुमा सुरक्षा कमजोरी भएको भन्दै प्रहरीको आलोचना भएको थियो । त्यसपछि प्रहरीले भुसाललाई पक्राउ गरेको हो ।

रविको सांसद पद निलम्बन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद निलम्बन भएको छ । सोमबार साँझ संसद सचिवालयले सूचना टाँस गरी रविको सांसद पद स्वतः निलम्बन भएको जानकारी गराएको हो ।

आइतबार उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय कास्कीले संगठित अपराध, सम्पत्ति शुद्धीकरण र सहकारी ठगीको तीनवटा मुद्दा दायर गरेको थियो । त्यसबारे जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुख देवराज घिमिरेलाई आइतबार नै जानकारी गराएको थियो ।

डीपी अर्याललाई रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ । सोमबार बसेको पार्टी सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति अर्याललाई दिने निर्णय गरेको हो ।

सभापति रवि लामिछानेले पार्टीको कार्यवाहक सभापति अर्याललाई दिने पत्र पठाएको र उक्त प्रस्ताव पार्टीको सचिवालय बैठकले अनुमोदन गरेको रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

कास्की प्रहरीले सम्पत्ति शुद्धीकरण ऐनअनुसार पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन गर्न संसद सचिवालयमा पत्र पठाइसकेको छ । त्यसपछि रास्वपाले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो ।

थाइल्याण्ड र म्यानमार जाने नेपालीका लागि परराष्ट्रद्वारा ट्राभल एडभाइजरी जारी


काठमाडौं । सरकारले विभिन्न प्रलोभन देखाएर नेपाली युवाहरूलाई ठग्ने र अलपत्र पार्ने गरिएको भन्दै थाइल्याण्ड र म्यानमार नजान भन्दै नेपालीहरुका लागि ट्राभल एडभाइजरी जारी गरेको छ ।

परराष्ट्र मन्त्रालयले ट्राभल एडभाइजरी जारी गर्दै ती देशहरूमा जबरजस्ती अवैध काममा लगाइएको पाइएको जनाएको छ । थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधि क्षेत्रमा आकर्षक तलब र सुविधा दिने प्रलोभनहरु देखाई नेपालमा रहेका तथा वैदेशिक रोजगार र अध्ययनको सिलसिलामा युएई लगायतका मुलुकहरुमा रहेका नेपालीहरूलाई थाइल्याण्डको बैंकक र याङ्गुनको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराई विभिन्न माध्यमबाट म्यान्मारको कायिन प्रान्तको म्यावडी पुर्याएर जबरजस्ती अवैध काममा लगाएको विषय यसअघि पनि सार्वजनिक भएको थियो ।

तर त्यही प्रकृतिको गैरकानुनी कार्य भइरहेको पाइएको मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा पुर्याइ अलपत्र पार्ने एवं प्रचलित कानुन बमोजिम निषेध गरिएका कार्यहरुमा संलग्न हुने काम दण्डनीय भएकाले यस्ता गैरकानुनी कार्यहरु नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’

नेपालगञ्ज। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि र स्तरीय उपचारको व्यवस्था गरिने बताएका छन्।

भेरी अस्पताल, नेपालगञ्जमा आज स्थापना गरिएको अत्याधुनिक ‘अपरेसन थिएटर’को उद्घाटन गर्दै मन्त्री पौडेलले सिकलसेल र थालेसेमियाका बिरामीको उपचारमा सरकारले कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘यसका बिरामीका लागि सात प्रदेशका प्रादेशिक अस्पतालहरूमा छुट्टै वार्डको प्रबन्ध गरिनेछ।’

सिकलसेलका बिरामीका लागि भारत सरकारसँग औषधि माग गर्न पत्राचार भएको र अन्तिम चरणमा रहेको जानकारी दिँदै मन्त्री पौडेलले भारतले औषधि दिने सहमति जनाएपछि सबै प्रक्रिया पूरा गरिएको बताए उनले भने, ‘सिकलसेल रोगको उपचारका लागि वार्ड स्थापना गरिएका सबै अस्पतालमा सिकलसेलको औषधि पठाइनेछ, त्यहीँबाट बिरामीलाई आवश्यकताअनुसार वितरण गरिनेछ।’

मन्त्री पौडेलले सरकारले बिरामीको उपचारका लागि विभिन्न काम गरिरहने जनाउँदै रोग लाग्नै नदिन तथा रोगबाट जोगिन विभिन्न चेतनामूलक कार्यक्रमहरू पनि नियमित सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।

बीमालाई व्यवस्थित गर्ने काम पनि सरकारले गरिरहेको उल्लेख गर्दै मन्त्री पौडेलले बीमालाई योगदानमा आधारित बनाउन लागिएको बताए। सिकलसेलका बिरामीका लागि छुट्टै वार्ड स्थापना गरिएपछि अब बिरामीले बेड नपाउने समस्या समाधान भएको उनले उल्लेख गरे।

बर्दियाको बारबर्दियाका बिरामी दीपक थारूले अब औषधिलाई बिमाभित्र पार्नुपर्नेमा जोड दिए। सो अवसरमा सिकलसेल वार्डको निरीक्षण गर्दै मन्त्री पौडेलले बिरामीहरूसँग पनि उपचार र अन्य समस्याका बारेमा जानकारी लिए।

कार्यक्रममा भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदी, सिकलसेल एनिमियाको उपचारमा लामो समयदेखि संलग्न वरिष्ठ चिकित्सक डा राजन पाण्डे, सिकलसेल सोसाइटी नेपालका अध्यक्ष प्रभुराम थारू लगायतले सिकलेलको अवस्था, उपचार र समस्या समाधानको उपायबारे धारणा राखेका थिए।

भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाह, सदस्य डा डक्टप्रसाद धिताल र अस्पतालका प्रमुख नरसिं प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठले अस्पतालमा जनशक्ति थप्नुपर्ने तथा बीमाको रकम तत्काल पठाउन लगाउनुपर्नेमा मन्त्रीको ध्यानाकर्षण गराए। बाँके, बर्दियालगायत पश्चिम नेपालमा सिकलसेल एनिमियाका बिरामीहरू धेरै रहेका छन्।

‘सहकारीको ऋण तिर्दिन भन्नु अराजकता’

गलकोट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव तथा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले सहकारीको ऋण तिर्दिन भनेर सडकमा हुने आन्दोलन अराजकता भएको बताएका छन्।

सम्पत्ति खरिद गर्न र दुःखमा मलम लगाउन सहकारीबाट लगेको ऋण नतिर्दा सहकारीहरू समस्यामा पर्ने बताउँदै उनले ऋण तिर्दिन भन्न नपाइने बताए।

‘सहकारीबाट ऋण लैजाने, तिर्दिन भनेर सडकमा आन्दोलन गर्ने अराजकलाई सरकारले ठेगान लगाउन आवश्यक छ,’ नेता पौडेलले भने।

आज बागलुङ बजारमा सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ वार्षिक साधारणसभालाई उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका पौडेलले एउटा केही बदमासी गर्ने सहकारीका कारण समग्र सहकारीहरू बदनाम भएको बताए।

सहकारीका ऋणीहरूलाई ऋण तिर्ने कसिलो नीति सरकारले बनाउने उनको भनाइ छ।

मराङबेँसीमा कृषिबाट आत्मनिर्भर बन्ने अभियान

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङबेँसीका स्थानीय कृषिबाट आत्मनिर्भर बन्ने अभियानमा लागेका छन् । केही वर्षअघि सम्म अन्नबाली मात्र लगाउने यहाँका स्थानीय अहिले व्यावसायिक रूपमा तरकारी र फलफूल खेतीमा आकर्षित भएका हुन् । बेँसी जडीबुटी तथा कृषि समूह गठन गरेर हिउँदे र बर्खे ‘सिजन’मा व्यावसायिक रूपमा तरकारीखेती गर्न थालेका छन् ।

कृषि उपजको आयात घटाउनाका साथै उत्पादित कृषि उपज बिक्री गरेर आयआर्जन गर्न र आत्मनिर्भर बन्न व्यावसायिक तरकारीखेतीले सहयोग पुगेको स्थानीय कृषक अमर पुनले बताए। दुई वर्षदेखि टनेलमा गोलभेँडा खेती गरेका पुनले उत्पादन भएको कृषि उपज बिक्री गर्न समस्या नभएको बताए।

‘पहिले घरमा खानका लागि मात्र कृषि उपज उत्पादन गर्ने चलन थियो, गाउँमा सडकको पहुँच आएसँगै यहाँ उत्पादन भएको कृषि उपज सजिलै बजारसम्म पुग्ने अवस्था बनेपछि यहाँ धेरैले कृषिलाई पेसाकै रूपमा अघि बढाएका छन्, मैले पनि दुई वर्षदेखि कृषिबाट आफ्नो परिवारको घर खर्च जुटाउँदै आएको छु’, पुनले भने। यहाँका स्थानीयले गोलभेँडा, आलु, बन्दा, काउली, सागलगायत तरकारीखेती विस्तार गरेका छन् ।

छिमेकीगाउँ, मल्कबाङ, मलम्पार, बुल, राम्चेलगायत ठाउँका स्थानीयले यहाँ उत्पादन भएको कृषि उपज करेसाबारीबाटै खरिद गरेर लैजाने गरेका छन् । धेरै उत्पादन भएको कृषि उपज दरबाङ बजारसम्म निर्यात हुने गरेको छ । मराङबेँसीमा चारजनाले टनेलमा गोलभेँडा खेती गरेका छन् । पन्ध्र घरधुरी आलु, बन्दा, काउलीलगायत तरकारीखेतीमा आबद्ध भएका छन् । गाउँका स्थानीय कुनै न कुनै कृषि पेसामा लागेको स्थानीय भक्तबहादुर जुग्जालीले बताए।

“मैले टनेलमा सागखेती गरेको छु, चिसो हावापानीमा उत्पादन भएको साग स्वादिलो हुने भएकाले धेरैले मन पराउने गरेका छन्, गाउँमा उत्पादन भएको कृषि उपज बिक्री नहोला भन्ने पीर हुँदैन”, उनले भने। कृषिसँगै भैँसीपालनबाट समेत स्थानीय आत्मनिर्भरको बाटोमा लागेका छन् । हरेक घरमा तरकारीखेती र दुहुना भैँसीपालन गर्ने यहाँको विशेषता नै बनेको छ ।

गाउँमा यस वर्ष हिउँदे आलुखेतीले व्यावसायिकता पाएको छ । यहाँ करिब २० रोपनीमा हिउँदे आलुखेती गरिएको छ । बेँसीसँगै बुलमा समेत व्यावसायिक आलुखेती हुँदै आएको छ । यस वडाको घण्टीबाङमा खाद्यान्न बाली विस्तार र राम्चेमा लसुन तथा गोलभेँडा विस्तार अभियान चलाइएको छ ।

गाउँका स्थानीयलाई कृषिमा व्यावसायिक बनाउन वडा कार्यालयले समेत कृषि समूह गठन गरेर कृषकलाई बल, बीउ र औषधोपचारमा सघाउन थालेको धवलागिरि गाउँपालिका–६ मराङका वडाअध्यक्ष राजाराम उपाध्यायले जानकारी दिए । परम्परागत कृषिखेतीलाई व्यावसायिकता दिएपछि स्थानीयवासीको आयआर्जन सुधार हुन थालेको वडाअध्यक्ष उपाध्यायले बताए।

मराङमा व्यावसायिक तरकारीबालीसँगै फलफूलखेतीको समेत अभियान चलेको छ । विविध कारणले गाउँमा बसोबास गर्नेहरूको सङ्ख्या घट्दै जाँदा खेतीयोग्य जमिन बाझिने समस्या बढेपछि स्थानीयले नगदेबालीका रूपमा सुन्तलाखेतीलाई विस्तार गरेका छन् ।

गत आर्थिक वर्षमा मराङमा धवलागिरि गाउँपालिकाले दुई हजार दुई बोट सुन्तलाका बिरूवा अनुदानमा वितरण गरेको थियो । यहाँका टोलबस्तीहरू सुन्तला उत्पादनमा समेत पकेट क्षेत्रका रूपमा विकास भइरहेका छन् ।

रवि लामिछानेको सांसद पद निलम्बन नगर्न सभामुखलाई रास्वापाको आग्रह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेलाई प्रतिनिधिसभा सदस्यबाट निलम्बन नगर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएको छ ।

सोमबार रास्वपा सांसद सन्तोष परियार, सोभिता गौतम र गणेश पराजुली लगायतले सभामुखलाई भेटेर सभापति लामिछानेलाई पदबाट निलम्बन नगर्न ध्यानाकर्षण गराएका हुन् ।

सहकारी ठगीसहित तीन अभियोग लगाएर आइतबार रविविरुद्ध मुद्दा दायर भएपछि कास्की प्रहरीले यससम्बन्धी जानकारी संसद् सचिवालयलाई गराइसकेको छ भने निलम्बनबारे सभामुख पनि परामर्शमा छन् ।

गृह मन्त्रालय र केयूबीच आत्महत्या न्यूनीकरण गर्न समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं ।  गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयको मानसिक स्वास्थ्य विभागबीच मानसिक स्वास्थ्य अध्ययन–अनुसन्धानका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार गृह मन्त्रालयका विपद् महाशाखा प्रमुख डा. टोकराज पाण्डे र विश्वविद्यालयका मानसिक स्वास्थ्य विभाग प्रमुख डा. दिपक कुँवरले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

गृहमन्त्री रमेश लेखकले अब गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयको प्रयासमा आत्महत्याको घटानालाई नियन्त्रण र न्यूनीकरणमा काम हुने बताए । गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयको प्रयासमा एक वर्षमा आत्महत्याको घटना ठूलो संख्यामा घट्ने गृहमन्त्री लेखकले विश्वास व्यक्त गरे ।

‘आत्महत्याको विषय गम्भीर भएको छ । प्रत्येक दिनको रेकर्ड हेर्दा म आत्तिन्छु, डराउँछु । पछिल्लो २४ घण्टामा मात्र ३७ जनाले आत्महत्या प्रयास गरेका छन् । जसमध्ये ११ जनाको मुत्यु भएको छ । बचेका २६ जनाले जुन सुकै बेला पनि आत्महत्या गर्ने खतरा हुन्छ,’ उनले भने । आत्महत्याको कारण, कारक र निदानको उपायको खोजीका लागि काठमाडौं विश्वविद्यालयले अध्ययन र अनुसन्धान गर्ने उनको भनाइ छ ।

‘नेपाल प्रहरीले पनि आत्महत्या न्यूनीकरण कार्ययोजना २०८१ जारी गरेको छ । आत्महत्या न्यूनीकरण गर्ने कुरामा हामीले काम राखेकै छौँ । तर, यत्तिले पुगेन । थप अगाडि बढ्नुपर्‍यो । त्यसका लागि काठमाडौं विश्वविद्यालयसँग मिलेर काम गर्दा उपलब्धि प्राप्त गर्छौं,’ मन्त्री लेखकले भने ।

आत्महत्या गर्ने सम्भावना भएका मानिस र आत्महत्या प्रयास गरेका मान्छेको पहिचान गरेर प्रहरीले मानसिक स्वास्थ्य विभागलाई जानकारी गराउने समझदारीपत्रमा उल्लेख छ । गृहमन्त्री लेखकका अनुसार मानसिक स्वास्थ्य विभागले टेलिमेडिसिनमार्फत त्यस्ता मान्छेलाई मनोपरामर्श दिने छ । आत्महत्या नियन्त्रण र न्यनीकरणसम्बन्धी मानसिक स्वास्थ्य विभागले नेपाल प्रहरीलाई पनि आधारभूत तालिम दिने गृहमन्त्री लेखकले बताए ।

यस्तै, मानसिक स्वास्थ्य विभागका प्रमुख कुँवरले गृह मन्त्रालयसँग भएको सम्झौताले आत्महत्या न्यूनीकरणका लागि काठमाडौं बाहिर पनि काम गर्ने अवस्था बनेको बताए । ‘टेलिमेडिसियनमार्फत दुरदराजसम्म पनि पुग्न सकिन्छ । गृह मन्त्रालयसँग मिलेर काम गर्दा राम्रो परिणाम दिन सकिन्छ,’ उनले भने ।