`

पाकिस्तानलाई पराजित गर्दै एसिया कपमा नेपालको जित

काठमाडौं । एसीसी महिला यु–१९ एसिया कपमा नेपालले पाकिस्तानमाथि जित निकालेको छ । मलेसियाको बायोमास क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले पाकिस्तानाई ६ विकेटले पराजित गरेको हो ।

नेपालले कुनै पनि स्तरमा पहिलोपटक पाकिस्तानलाई हराएको हो । पकस्तिानले दिएको १०५ रनको लक्ष्य नेपालले ९.१ ओभरमा चार विकेट युमाएर पूरा गर्यो । नेपालका लागि कप्तान पूजा महतोले ४७ बलमा तीन चौकाको मद्दतले अविजित ४७ रनको योगदान गरिन्।

यसैगरी सोनी पाख्रिले १३, सिमान केसीले अविजित १२ र सान प्रविनले १० रन बनाइन् । पाकिस्तानका लागि फतिमा खान र क्वारातुलियनले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०४ रनको योगफल तयार पारेको थियो ।

अङ्गदान र प्रत्यारोपणसम्बन्धी जानकारी अब अनलाइनबाटै

काठमाडौँ । नेपालमा अङ्ग प्रत्यारोपण गर्नुपर्ने बिरामी तथा दान गर्ने दाताले अब अनलाइनबाटै जानकारी लिनसक्ने भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा विभाग टेकु तथा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको संयुक्त नियन्त्रणमा रहनेगरी थालेको अनलाइन सेवाको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।

उनले यस सेवाबाट देशभरका नागरिक लाभान्वित हुने गरी सेवा विस्तार गर्न मन्त्रालयले आवश्यक काम गरिरहेको बताए । ‘देशमा मिर्गौला प्रत्यारोपण गरेका ९८ प्रतिशत तथा फोक्सो प्रत्यारोपणपछि ९० प्रतिशत नागरिक सामान्य जीवन बाँचिरहेका छन् । हामी प्रत्यारोपण सेवा अझ विस्तार गर्न प्रतिबद्ध छौँ । त्यसका लागि हाल भक्तपुरस्थित केन्द्रका अलावा सरकारीस्तरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुर्खेत प्रादेशिक अस्पतालले अङ्ग प्रत्यारोपण सेवा दिइरहेकामा भेरी अस्पताल घोराही दाङ, सुदूरपश्चिम प्रदेशमा धनगढीस्थित सेती प्रादेशिक अस्पताल तथा बागमतीको भरतपुर अस्पतालमा समेत मानव अङ्ग प्रत्यारोपण सेवा विस्तार गर्ने लक्ष्य छ’, मन्त्री पौडेलले भने ।

अनलाइनमार्फत अङ्गदान गर्नेले दर्ता गराउन सक्ने र लिन चाहनेले त्यसबारे जानकारीसमेत पाउने व्यवस्था गरिएको छ । मस्तिष्क मृत्युपश्चात् तत्काल जानकारी अनलाइनमा राखिने भएकाले यसले प्रत्यारोपणका लागि बिरामी उपचाररत अस्पतालले समेत तत्काल जानकारी प्राप्त गर्ने सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुख डा पुकारचन्द्र श्रेष्ठले बताए ।

नेपालमा १२ वर्षमा सहिद धर्मभक्त केन्द्रमार्फत एक हजार ३३५ मा मिर्गौला तथा ३० जनामा फोक्सो प्रत्यारोपण भइसकेको छ । देशको सरकारी प्रत्यारोपणसम्बन्धी एक मात्र विशिष्टीकृत यस केन्द्रले बर्सेनि तीन हजार अपेक्षितमध्ये दुई सयलाई मात्र मिर्गौला प्रत्यारोपण सुविधा दिन सकेको छ ।

दाता अभावमा अन्य अस्पतालले एक सय जनालाई मात्र अङ्ग प्रत्यारोपण गर्न सकेका छन् । जीवित व्यक्तिले परिवारलाई मात्र दिन पाउने तर मस्तिष्क मृत्यु भएपछि दान गर्ने दाता कम भएका कारण कैयौँले दाता अभावमा ज्यान गुमाउनु परिरहेको त्यस अवसरमा जानकारी दिइयो ।

दाता, लिन चाहने बिरामी र अस्पताल बढ्दै जाँदा अनलाइन प्रणालीले ताजा जानकारी दिने भएकाले यसले धेरैको ज्यान बचाउन मद्दत गर्ने विश्वास गरिएको केन्द्रकी मिर्गौला रोग विशेषज्ञ डा कल्पना श्रेष्ठले बताए ।

‘एकीकृत अनलाइन प्रणालीले अस्पताल र बिरामी दुवैलाई धेरै सजिलो बनाउँछ । यसबाट धेरैजना लाभान्वित हुने हाम्रो विश्वास छ’, उनले भने । 

पीएल सिंहको निधनको शोकमा तीन दिन पार्टीको आधा झण्डा झुकाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधनको शोकमा तीन दिनसम्म देशभरका पार्टी कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

आइतबार बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले शोक प्रस्ताव पारित गर्दै पुस १, २ र ३ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

त्यस्तै बैठकले मंगलबार पार्टीको केन्द्र, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने निर्णय पनि भएको छ । सिंहको सामबार बिहान निधन भएको थियो ।

माथिल्लो अरूणको काम अघि बढ्यो, पहुँचमार्ग निर्माण गरिँदै

काठमाडौँ । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाट विद्युत् उत्पादन क्षमताको माथिल्लो अरूण अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरू भएको छ । भौगोलिक रूपमा विकट र जटिल रहेको आयोजनाको विद्युतगृहबाट बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँच सडक निर्माण धमाधम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

भोटखोला गाउँपालिका–४ गोलाबजार नजिक छोङराङमा प्रस्तावित विद्युतगृहबाट माथिल्लो तटीय क्षेत्रमापर्ने सोही गाउँपालिका– २ चेपुवा गाउँ नजिक बाँध निर्माणस्थलसम्म पुग्ने पहुँच सडक निर्माणाधीन छ । छोङराङसम्म कोशी राजमार्ग पुगेको छ । कोशी राजमार्गलाई छोडेर आयोजनास्थलतर्फ जान आयोजनाले अरूण नदीमा ७० मिटर लम्बाइ भएको स्टिल आर्क पुल निर्माण गरिरहेको छ ।

भोटखोला गाउँपालिका–४ नामासे र सोही गाउँपालिका–२ रूकुमा जोड्ने २ किलोमिटर सुरूङ मार्ग निर्माणका लागि आवश्यक बुमर, जेसिबी, लोडर, रोबोटिक सटक्रिट, सटक्रिट मेसिन, कङक्रिट पम्प, जेनेरेटरलगायतका हेभी उपकरणहरू एवं निर्माण सामग्री हेलिकप्टरबाट ढुवानी भइरहेको प्राधिकरणले जनाएको छ । दुवै स्थानसम्म पुग्न सडक नभएकाले कोशी राजमार्ग हुँदै गोलाबजार पु¥याइएका उपकरणलाई खोलेर एमआई–१७ तथा अन्य साना हेलिकप्टरमार्फत ढुवानी गरिएको हो । हालसम्म तीन सय खेपभन्दा बढी ढुवानी भइसकेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक एवं आयोजनाको प्रवर्द्धक अपर अरूण हाइड्रो–इलेक्ट्रिक लिमिटेड सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङ, कम्पनीका प्रबन्ध–सञ्चालक फडिन्द्रराज जोशीलगायतको टोलीले शनिबार र आइतबार निर्माणस्थलको अनुगमन गरी निर्माणमा संलग्न आयोजना व्यवस्थापन, परामर्शदाता, निर्माण व्यवसायी र स्थानीय बासिन्दासँग छलफल गरेको छ ।

कार्यकारी निर्देशक घिसिङले पहुँच मार्ग निर्माणमा हालसम्म भएको प्रगतिबाट उत्साहित भएको र यसबाट अपर अरूण आयोजना अगाडि बढेको सन्देश गएको बताए । सुरूमा पहुँच मार्गको ट्रयाक खोल्न सकिएमा त्यसपछि निर्माण सामग्री ढुवानी गर्न सजिलो हुनेभएकाले एक आपसमा समन्वय गरी सोही बमोजिम काम अगाडि बढाउन आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीलाई निर्देशन दिए ।

कम्पनीका प्रबन्ध–सञ्चालक जोशीले निजी जग्गा अधिग्रहण भइसकेको र वन क्षेत्रको जग्गा उपभोग तथा रूख कटान स्वीकृति पाइसकेकाले पहुँच मार्ग निर्माण तीव्र गतिमा अगाडि बढाउन समस्या नरहेको बताए ।

पहुँच मार्ग निर्माणका लागि भारतीय कम्पनी गायत्री प्रोजेक्ट लिमिटेड र नेपालको कन्काई इन्टरनेशनल बिल्डर्सको संयुक्त उपक्रम (जेभी)बीच २०७९ फागुन ११ गते सात अर्ब ९१ करोडमा ठेक्का सम्झौता भएको थियो । उक्त ठेक्का सम्झौता २०८० वैशाख २८ गतेदेखि कार्यान्वयनमा आएको थियो । पहुँचमार्ग २०८२ को माघभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

‘विश्व बैंकपछि हटे स्वदेशी लगानीमै आयोजना निर्माण’

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले यो आयोजनामा लगानीका लागि विश्व बैंक तयार नभएमा माथिल्लो तामाकोशीकै लगानी ढाँचामा निर्माण गरिने बताए ।

उनले गाउँपालिका र अपर अरूण जलविद्युत् आयोजना अदिवासी जनजाति सल्लाहकार परिषद्का पदाधिकारीसँगको छलफलका क्रममा आकर्षक र मुलुकको ऊर्जा क्षेत्र एवं समग्र अर्थतन्त्रलाई नै रूपान्तरण गर्न सक्ने आयोजना नेपालले निर्माण गर्नुपर्नेमा जोड दिए । विश्व बैंकले लगानी नगर्ने अवस्था आएमा देशभित्रका बैंक तथा वित्तीय संस्था र स्वदेश तथा विदेशमा रहेका नेपालीहरूको लगानीमा अपर अरूणलाई अगाडि बढाइने उनले प्रष्ट पारे ।

“विश्व बैंकले आफ्नो नेतृत्वमा एसियाली विकास बैंक (एडिबी), जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)लगायतकालाई सहभागी गराएर करिब दुई अर्ब अमेरिकी डलर लगानी जुटाउन उच्च प्राथमिकतामा राखेर अगाडि बढाएको छ । अन्तिम चरणमा आएर वित्तीय व्यवस्थापनमा केही ढिलाइ भएको हो ।

विश्व बैंकको लगानीका लागि प्रशासनिक तथा कूटनीतिक रूपमा छलफल भइरहेको छ”, घिसिङले भने, “यदि यी विकास साझेदार लगानी नगर्ने अवस्था आएमा देशभित्रका बैंक तथा वित्तीय संस्था र स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शेयर निष्कासनमार्फत रकम जुटाएर आयोजना अगाडि बढाउँछौँ ।”

प्राधिकरणले नेपाल सरकार, प्रदेश सरकार, आयोजना प्रभावित जिल्लाका स्थानीय तह, आयोजना प्रभावित जिल्लावासी, देशभरिका सर्वसाधारणको शेयर लगानी, अन्तर्राष्ट्रिय बहुपक्षीय विकास साझेदारको सहुलितपूर्ण ऋण र स्वदेशी बंैक तथा वित्तीय संस्थाको ऋण लगानी रहने गरी समिश्रित लगानी (ब्लेन्डेड फाइनान्सिङ)को नमूना परियोजनाको रूपमा अगाडि बढाउन लागिएको छ ।

निर्माण अवधिको ब्याज, मूल्यवृद्धिलगायतसहित एक अर्ब ७५ करोड डलर (करिब दुई खर्ब १४ अर्ब) अनुमानित लागत रहेको अपर अरूणमा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी (इक्विटी)बाट जुटाइने छ । विश्व बैंकको नेतृत्वको सहवित्तीयकरणमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट र स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट जुटाएर वित्तीय व्यवस्थापन गरिने योजना बनाइएको छ ।

यसका लागि हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलप्मेन्ट कम्पनी (एचआइडिसिएल)को नेतृत्वमा ५३ अर्ब स्वदेशी बैंक तथा वित्तीय स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट सहवित्तीयकरणमार्फत लगानी जुटाउन समझदारीपत्र (एमओयू) भइसकेको छ । इक्विटीमध्ये ५१ प्रतिशत आयोजनाको प्रवद्र्धक अपर अरूण हाइड्रो इलेक्ट्रिक कम्पनीका संस्थापक शेयरबाट र ४९ प्रतिशत सर्वसाधारण शेयरबाट सङ्कलन गरिने छ ।

जनताको जलविद्युत् कार्यक्रममा समावेश माथिल्लो अरूणमा प्रदेश सरकार, आयोजना रहेको जिल्ला सङ्खुवासभाका स्थानीय तह, नेपाल विद्युत प्राधिकरणलगायतका संस्थापक शेयर रहने छ । आयोजना प्रभावित बासिन्दा, देशभरका सर्वसाधारण लगायतको ४९ प्रतिशत साधारण शेयर रहने छ ।

प्राधिकरणका अनुसार आयोजनाको निर्माण सुपरिवेक्षणका लागि परामर्शदाता नियुक्त भई डिजाइन पुनरावलोकन तथा बोलपत्रसम्बन्धी कागजात तयारीका काम भइरहेका छन् । सन् २०२६ देखि निर्माण सुरू गर्ने लक्ष्यका साथ निर्माण पूर्वका काम भइरहेका छन् । आयोजनाको निर्माण सन् २०३१ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आयोजनालाई आवश्यक पर्ने दुई सय ३२ हेक्टर निजी जग्गा प्राप्ति सम्पन्न भएको छ । अधिग्रहण गरिने जग्गाको करिब ९९ प्रतिशत मुआब्जा तथा क्षतिपूर्ति वितरण गरिसकिएको छ ।

आयोजनाबाट विस्थापितको पुनःस्थापना कार्य जारी छ । आयोजनाबाट करिब २२ घरधुरी भौतिक रूपमा विस्थापित हुने छन् । आयोजनाको निर्माणबाट वातावरणीय तथा सामाजिक प्रभाव तुलनात्मक रूपमा न्यून रहने अध्ययनले देखाएको छ ।

आयोजनालाई विद्युत् बढी माग हुने हिउँदका छ महिनामा दैनिक छ घण्टा पूर्ण क्षमतामा चलाउने गरी डिजाइन गरिएको छ । आयोजनाबाट वार्षिक चार अर्ब ५३ करोड युनिट ऊर्जा उत्पादन हुने छ । यसमध्ये करिब ३० प्रतिशत ऊर्जा हिउँदमा उत्पादन हुने छ ।

उत्पादित विद्युतलाई करिब ६ किलोमिटर ४०० केभीको प्रसारण लाइनमार्फत सङ्खुवासभाको हाइटारमा प्रस्तावित सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिनेछ । प्राधिकरणले माथिल्लो अरूणकै अङ्ग रहने गरी ४० मेगावाटको इखुवा जलविद्युत् आयोजना अगाडि बढाएको छ । इखुवा पनि जनता जलविद्युत् कार्यक्रममा समावेश भएको आयोजना हो ।

गणपूरक सङ्ख्या नपुगेपछि अर्थसमितिको बैठक स्थगित

काठमाडौँ । गणपूरक सङ्ख्या नपुगेपछि अर्थ समितिको आजको बैठक स्थगित भएको छ । सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्न समितिको बैठक डाकिएको थियो । तर गणपूरक सङ्ख्या नपुगेपछि अर्को सूचना नभएसम्मका लागि आजको बैठक स्थगित भएको सभापति सन्तोष चालिसेले जानकारी दिए ।

प्रतिनिधिसभा नियमावली २०७९ ले संसदीय समितिको गणपूरक सङ्ख्या समितिको तत्काल कायम रहेको सदस्य सङ्ख्याको ५१ प्रतिशत हुनुपर्ने व्यवस्था राखेको छ । समितिको बैठकमा गणपूरक सङ्ख्या नपुगेसम्म समितिको सभापतिले बैठकको कार्य स्थगित गर्न वा अर्को कुनै समय वा दिनसम्मको लागि बैठक स्थगित गर्नसक्ने व्यवस्था नियमावलीमा छ ।

अर्थ समितिमा तत्काल कायम सदस्यको सङ्ख्या २३ रहेकोमा आजको बैठकमा सभापति चालिसेसहित आठ जनाको मात्रै उपस्थिति थियो । सुरक्षित कारोबार विधेयकमाथि छलफलका लागि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई पनि बोलाइएको थियो । तर अर्थमन्त्री पौडेल पनि बैठकमा उपस्थित भएनन् ।

प्रहरीले बुझायो रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान गरी तयार पारिएको प्रतिवेदन प्रहरीले सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको हो । अनुसन्धान अधिकृत डीएसपी वसन्त शर्माले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको जानकारी दिए ।

प्रहरीले लामिछानेलाई कात्तिक २ गते काठमाडौंमा पक्राउ गरेको थियो । सुरुमा सहकारी ठगीमा पक्राउ परेका उनीमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरीले अनुसन्धान गरेको छ ।

अब जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी प्रतिवेदन अध्ययन गरी मुद्दा अदालतमा पेश गर्नेछ । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको अभियोगमा लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङ प्रहरी हिरासतमा छन् ।

लामछिानेमाथि पोखराको सूर्यदर्शनसँगै बुटवलको सुप्रिम, वीरगंजको सानोपाइला, काठमाडौंको हाम्रो कृषि सहकारी र चितवनको साहारा सहकारीको रकम अपचलनबारे अनुसन्धान गरेको थियो । उनलाई सबै ठाउँमा लगेर प्रहरीले बयान लिएको थियो ।

संसदीय अभ्यासलाई समृद्ध बनाउन पत्रकारको भूमिका महत्वपूर्णः सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय अभ्यासलाई समृद्ध बनाउन संसदीय पत्रकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

संसदीय मामिला पत्रकार समाजले सोमबार आयोजना गरेको कार्यक्रममा ‘संसदीय पत्रकारिताः अवधारणा र अभ्यास’ विमोचन गर्दै सभामुख घिमिरेले संसदीय गतिविधिलाई जनतामाँझ पुर्याउन सञ्चार क्षेत्रको भूमिका अहम् रहेको उल्लेख गरे ।

‘हामीले सञ्चार क्षेत्रको यही महत्वलाई आत्मसाथ गर्दै लबी पत्रकारिताका लागि नियमावलीमा प्रबन्ध गरिसकेका छौँ, त्यही आधारमा कार्यविधिसमेत बनाइ’, सभामुख घिमिरेले भने ।

शासन प्रणालीका केही कमजोरीलाई देखाएर व्यवस्थामाथि नै प्रश्न उठाइएका बेला यसबारे जनतालाई स्पष्ट पार्ने जिम्मेवारी सञ्चार क्षेत्रको पनि भएको उनको भनाइ थियो ।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले समाजद्वारा प्रकाशित पुस्तक संसदीय विषयमा जानकारी राख्ने र स्वयम् सांसदका लागि पनि उपयोगी रहेको बताए ।

उनले भने, ‘पुस्तकमा नेपालको संसदीय प्रणालीको खुलापन र विश्वमा यसको अभ्यासबारे थप विषय आउन सकेको भए अझ राम्रो हुने थियो ।’

अध्यक्ष दाहालले आलोचना जहिले पनि रचनात्मक हुनुपर्ने र त्यसले दिने सन्देश पनि सकारात्मक हुनुपर्ने बताए ।

उपसभामुख इन्दिरा रानाले सञ्चार क्षेत्रले सत्य र सकारात्मक सन्देश दिने गरी समाचार सम्प्रेषण गर्नुपर्ने र जनतालाई दिने सूचना दुरुस्त हुनुपर्ने उल्लेख गरिन् ।

सङ्घीय संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले नेपालको संसदीय इतिहासलाई समृद्ध बनाउन सचिवालयले अनुसन्धानका कार्य सुरु गरेको जानकारी गराए ।

कार्यक्रममा वरिष्ठ पत्रकार हरिबहादुर थापा र जगत नेपाल, राष्ट्रियसभाका पूर्वसचिव राजेन्द्र फुँयाल, समाजका अध्यक्ष मनोज सत्याल, समाजका पूर्वअध्यक्ष नारायण काफ्ले र संसद् सहयोग परियोजनाका राष्ट्रिय परियोजना व्यवस्थापक दिलादत्त पन्तले नेपालको संसदीय अभ्यास, इतिहास, पुस्तक समीक्षा, संसदीय गतिविधि र सञ्चार क्षेत्रको भूमिकालगायत विषयमा आफ्ना धारणा राखेका थिए ।

बङ्गलादेशमा एक वर्षभित्र निर्वाचन हुने

ढाका । बङ्गलादेशमा आगामी एक बर्षभित्र निर्वाचन हुने सोमबार अन्तरिम नेतृत्वले जनाएको छ । बङ्गलादेशमा अगष्टमा विद्यार्थी आन्दोलनले तत्कालिन प्रधानमन्त्री शेख हसिना वाजेदलाई अपदस्थ गरी बनेको कामचलाउ सरकारको नेतृत्व गरिरहेका अन्तरिम नेता मोहम्मद युनुसले आगामी वर्षको अन्त्य वा सन् २०२६ को सुरुमा आम निर्वाचन हुने बताएका हुन् ।

गत अगस्टमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गर्ने विद्यार्थी नेतृत्वको विद्रोहपछि नोबेल शान्ति पुरस्कार विजेता युनुसलाई बङ्गलादेशको सरकारको नेतृत्व सुम्पिएको थियो ।

उनले करिब १७ करोड जनसङ्ख्या रहेको बङ्गलादेशमा लोकतान्त्रिक संस्थाहरूको पुनस्र्थापना गर्ने ‘अत्यन्त कठिन’ चुनौतीको सामना गर्ने र निर्वाचन गर्ने जिम्मेवारीलाई स्वीकार्दै अस्थायी प्रशासनको नेतृत्व गरिरहेका छन् ।

“सन् २०२५ को अन्त्य वा सन् २०२६ को पूर्वाद्र्धसम्ममा निर्वाचनको मिति तय गर्न सकिन्छ,” उनले सरकारी टेलिभिजनमा भएको एक कुराकानीमा भने ।

गत अगस्टमा ढाकास्थित प्रधानमन्त्रीको कार्यालयमा हजारौँ प्रदर्शनकारीले आक्रमण गरेपछि ७७ वर्षीया हसिना हेलिकप्टरबाट छिमेकी मुलुक भारततर्फ भागेकी थिइन् । हसिनालाई सत्ताच्युत गर्ने आन्दोलनका क्रममा केही हप्ता मासयाँै मानिसहरूको मृत्यु भएको र अधिकांशको प्रहरीको गोलीबाट मृत्यु भएको थियो ।

हसिनाको अवामी लिग पार्टीका प्रमुख समर्थकहरूविरुद्ध प्रतिशोधपूर्ण हत्यामा उनको पलायन पछिको केही घण्टामा कैयौँ अवामी लिग समर्थक कार्यकर्ताको पनि मृत्यु भएको थियो ।

उनको सरकारमाथि अदालत र निजामती सेवाको राजनीतिकरण गर्नुका साथै आफ्नो शक्तिमाथिको लोकतान्त्रिक नियन्त्रणलाई ध्वस्त पार्न एकतर्फी निर्वाचन गराएको आरोप पनि लागेको थियो।

हसिनाको १५ वर्षे शासनकालमा व्यापक रूपमा मानव अधिकार उल्लङ्घन भएको थियो, जसमा उनका राजनीतिक विरोधीहरूलाई सामूहिक हिरासतमा राख्नु र गैरन्यायिक हत्याहरू पनि समावेश थिए।

दलहरूको सहमतिमा मिति तय गरिने

युनुसले आवश्यक सुधारको अनुगमनका लागि आयोगहरू गठन गरेका छन् । निर्वाचनको मिति तोक्ने कुरा राजनीतिक दलहरूको सहमतिमा निर्भर गर्नेछ । युनुसले भने “निर्वाचनको व्यवस्था गर्नुअघि नै मैले सुधार गर्नुपर्छ भन्ने कुरामा जोड दिँदै आएको छु ।”

तर निर्वाचन सुधारको पूर्ण सूची समावेश गर्दा केही महिना ढिला हुने उनको भनाइ छ ।

प्रधानमन्त्री युनुसले भने, “आवश्यक सुधारमध्ये एक अद्यावधिक मतदाता सूची हो, जुन वर्षौँको अस्थिर लोकतान्त्रिक प्रक्रियापछि ‘जटिल’ चुनौती हो । यसले सूचीबाट गैर–मतदाताको नामहरू हटाउनुका साथै द्रूत गतिमा बढ्दो युवा जनसङ्ख्याले पहिलो पटक मतदाता नामावली दर्ता गर्नु आवश्यक छ ।’

युनुसले चुनावमा शतप्रतिशत मतदान सुनिश्चित गर्ने सपना देखेको बताए । बङ्गलादेशमा पछिल्लो पटक गत जनवरीमा आम निर्वाचन भएको थियो । निर्वाचन स्वतन्त्र र निष्पक्ष हुने कुरामा आशङ्का व्यक्त गर्दै विपक्षी दलहरूले उक्त निर्वाचनलाई बहिस्कार गरेका थिए भने निर्वाचनमा हसिनाको दल अवामी लिगलाई दुर्य तिहाई सीट प्राप्त भएको थियो ।

बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) जस्ता पूर्व विपक्षी समूहहरू हसिनाको नेतृत्वमा वर्षौंको दमनपछि अहिले सङ्गठनको पुनर्निर्माण गरिरहेका छन्।

हिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या

ललितपुर ।  ललितपुरको सानेपास्थित बागमती करिडोरअन्तर्गत कालोपुलमा सवारी प्रयोगकर्तालाई सचेत गराउन एक सूचना टाँस गरिएको छ। सूचनाको व्यहोरा यसप्रकार छ– ‘यो पुलमुनि बर्सातको समयमा पानी जम्ने भएकाले वैकल्पिक बाटो प्रयोग गरी सुरक्षित यात्रा गर्नुहुन अनुरोध छ।’

काठमाडौं उपत्यकामा अत्यधिक ट्राफिक जामको समस्या झेलिरहेका यात्रुहरुलाई वाग्मती करिडोरले ठूलो राहत त दिएको छ। तर कुपण्डोल–सानेपा खण्डअन्तर्गत कालोपुलमुनि वाग्मती नदीको देब्रेपट्टिको लेनमा बर्खादेखि नै पानी जम्ने समस्याले सवारी आवागमनमा समस्या थपेको छ।

पुलमुनिको एकतर्फी सडकमा हिँउद–बर्खे पानी जमेपछि सवारी चालक र पैदलयात्रीले सास्ती व्यहोर्दै आइरहेका छन्। बर्खाका बेला जमेको पानी अझै हटेको छैन। दुईतर्फी सडकको एकातर्फ पोखरी जमेको छ। उक्त सडक हुँदै ओहोरदोहोर गर्ने सवारी सधान एकै लेनबाट ‘पास’ हुने गरेका छन्।

पुलमुनि जमेको पानीलाई नालीमा पठाउन ‘लेबल’ नमिलेका कारण हालसम्म पानी जमिरहेको ललितपुर महानगरपालिका–१ का वडाध्यक्ष निर्मल तण्डुकार बताउँछन्। उनले भने, ‘बागमती कारिडोरको स्तरोन्नति र वाग्मती सभ्यता संरक्षणको जिम्मा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको हो, तर समितिले समस्याको समाधान गर्न कुनै पहल गरेको छैन।’

कालोपुलमुनिको एकतर्फी सडकमा पानी जमेको कारण जहिल्यै जामको समस्या झेल्नु परेको मोटरसाइकल चालक रत्नकुमार श्रेष्ठ सुनाउँछन्। उनले भने, ‘वर्षौंदेखि बागमती करिडोरको बल्खु पुल र सानेपाको कालो पुलमुनि पानी जम्ने समस्या देखिँदै आएको छ, तर जिम्मेवार निकायले ध्यान नदिँदा सवारी चालक र पैदलयात्रीले झन्झट व्यहोर्नु परिरहेको छ।’

सुदूरपश्चिमसँग पराजित भएर पनि कर्णाली प्लेअफमा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सलाई सुदूरपश्चिम रोयल्सले ६ विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।

सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्र सिंह ऐरीले ३८ रन बनाएर आउट भए। उनले चौथो विकेटका लागि इशानसँग ६७ रनको साझेदारी गरे। इशान पाण्डेले ३८ रन अविजित रहे ।

ओपनर सेफ जईब ११, बिनोद भण्डारीले चार, ब्रान्डम म्याक मुलेनले तीन रन बनाए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले १९.५ ओभरमा सबै विकेट गुमाएर १०१ रन बनाएको थियो ।

योसँगै जारी प्रतियोगितामा प्लेअफ पुग्ने टोलीको टुंगो लागेको छ। जनकपुर बोल्टससँगै, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स प्लेअफमा प्रवेश गरेका छन् ।

पाँच महिनामा पुँजीगत खर्च ११ प्रतिशत, २८ प्रतिशत राजस्व सङ्कलन

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को शुरुवाती पाँच महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । मङ्सिर मसान्तसम्म सरकारले वार्षिक लक्ष्यको २८ प्रतिशत राजश्व उठाएको छ भने करिब ३० प्रतिशत बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

कार्यालयको तथ्याङ्कअनुसार सरकारको विकास खर्च कमजोर देखिएको छ । चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख विनियोजन भएकोमा हालसम्म ११ दशमलव ५८ प्रतिशत अर्थात्  ४० अर्ब ८० करोड छ लाख मात्रै खर्च भएको छ ।

चालुगत शीर्षकमा मङ्सिर मसान्तसम्मको खर्च ३१ दशमलव ८७ प्रतिशत छ । यो वर्ष चालु शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख विनियोजन भएकोमा हालसम्म तीन खर्ब ६३ अर्ब ५५ करोड १४ लाख बराबर खर्च भएको हो ।

त्यस्तै, वित्तीय व्यवस्था शीर्षकमा छुट्याइएको बजेट वार्षिक लक्ष्यको ४१ दशमलव ३२ प्रतिशत खर्च भएको छ । मुख्यगरी सार्वजनिक ऋणको साँवा र ब्याज तीर्न खर्च हुने वित्तीय व्यवस्था शीर्षकमा चालु आर्थिक वर्षका लागि तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख विनियोजन भएको थियो । उक्त शीर्षकमा हालसम्म एक खर्ब ५१ अर्ब ७६ करोड ५७ लाख बराबर खर्च भएको हो ।

मङ्सिर मसान्तसम्ममा वार्षिक लक्ष्यको २७ दशमलव ५७ प्रतिशत अर्थात् रू चार खर्ब पाँच अर्ब ७७ करोड ३० लाख राजश्व सङ्कलन भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख राजस्व उठाउने लक्ष्य राखेको छ ।

त्यस्तै, यसवर्ष ५२ अर्ब ३२ करोड ६५ लाख वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले हालसम्म कुनै पनि अनुदान लिएको देखिँदैन ।

भ्वाइस रेकर्ड सार्वजनिक गर्न प्रधानमन्त्रीलाई वामदेवको चुनौती

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो भ्वाइस रेकर्ड सार्वजनिक गर्न चुनौती दिएका छन् ।

सोमबार विज्ञप्ति जारी गरी गौतमले आफूले बोल्दै नबोलेको कुरा प्रधानमन्त्रीले बोलेको बताएका हुन् । उनले भनेका छन्, ‘क.केपी म तपाईंलाई चुनौती दिन्छु, मेरो भ्वाइस रेकर्ड सार्वजनिक गरिदिनोस् ! पीएमको नाताले भ्वाइस रेकर्ड निकाल्न सकिहाल्नु हुन्छ ।’

उनले प्रधानमन्त्रीको स्वर भएको लिंक आफ्नो मोबाइलमा आएको र त्यो राजेश बज्राचार्यलाई पठाएको बताएका छन् । उनले भनेका छन्, ‘तपाईँको स्वर र तपाइकै शैलीमा राष्ट्र नेता मदन भण्डारी हत्यासम्बन्धी कथित निष्कर्ष भएको लिंक मेरो फोन र नम्बरमा आयो । हेरेपछि म छांगाबाट खसेजस्तो भएँ ! त्यसपछि मैले आफ्नो पहिलो कर्तव्य तपाईँबाटै जानकारी लिने हो भन्ने ठानेँ । त्यसपछि मैले मेरोमा भएको तपाईँको फोनमा कल गरेँ, तर फोन लागेन । त्यसपछि मैले क। राजेशलाई वहाँकै फोनमा लिंक पठाइदिएँ र तुरुन्तै कल गरेँ । वहाँले कल रिसिभ गर्नु भयो र सदा झैँ ‘नमस्कार कमरेड’ भन्नुभयो ।’

शुक्रबार प्रधानमन्त्री ओलीले वामदेव गौतमले फोन गरी आफूलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिन आग्रह गरेको बताएका थिए । प्रधानमन्त्रीकाअनुसार संवादका क्रममा वामदेवले मदन भण्डारी कांग्रेसले मारेर र त्यो कुरा आफूलाई त्यतिबेलै थाहा भएको बताएका थिए । वामदेवले आफूलाई आफ्ना स्वकीय सचिव राजेश बज्राचार्य सम्झिएर त्यो कुरा बताएका थिए । तर वामदेवले प्रधानमन्त्रीसँग कुरा गरिरहेका थिए ।

प्रधानमन्त्रीले वामदेवका कुरा सुनाउँदै भनेका थिए,‘अहिले भर्खर म गाडीमा आउँदै थिएँ । वामदेवजीले फोन गर्नुभयो । मदन भण्डारी कांग्रेसले मारेको हो । मलाई पहिला नै थाहा थियो । तर म चुप लागेँ । अब म बुढो पनि भइसकें जेसुकै भएपनि मलाई केही छैन, त्यसकारण म कुरा भन्दैछु । मेरै स्वरमा छ । अब केपी ओलीले प्रधानमन्त्रीबाट पनि राजीनामा गर्नुपर्छ, पार्टी अध्यक्षबाट पनि गर्नुपर्छ, यस्तो भनेर बस्न पाइन्छ ? भन्देऊ तिम्रो ठूलो बालाई भनेर कुरा मसँग गर्दै हुनुहुन्थ्यो तर राजेश भनेर । तर वामदेवजीको फोन आएको देखेपछि राजेशबाट फोन लिएर मैले उठाएँ । कमरेड के छ हालखबर भनेँ ठिक छ भन्नुभयो । कुरा गर्दै गइयो तर अन्तिममा त तिम्रा ठूला बालाई भन्देऊ । प्रधानमन्त्री र अध्यक्षबाट पनि राजीनामा गर्नु भन्देऊ भनेर एकछिन पड्किनुभयो । हस् म भन्दिउँला भनेँ राखिदिए।’

प्रधानमन्त्री ओलीले गौतमलाई समेत भ्रम पर्नेगरी आवाज बनाएर युट्यबमा राखिएको बताए । उनले भने, ‘एआइको जमाना छ बनाए होला कसैले ।’

यस्तो छ वामदेवको जवाफ

प्रिय क. केपी ओली !

अभिवादन !!

तपाईँको स्वर र तपाइकै शैलीमा राष्ट्र नेता मदन भण्डारी हत्यासम्बन्धी कथित निष्कर्ष भएको लिंक मेरो फोन र नम्बरमा आयो । हेरेपछि म छांगाबाट खसेजस्तो भएँ ! त्यसपछि मैले आफ्नो पहिलो कर्तव्य तपाईँबाटै जानकारी लिने हो भन्ने ठानेँ । त्यसपछि मैले मेरोमा भएको तपाईँको फोनमा कल गरेँ, तर फोन लागेन । त्यसपछि मैले क। राजेशलाई वहाँकै फोनमा लिंक पठाइदिएँ र तुरुन्तै कल गरेँ । वहाँले कल रिसिभ गर्नु भयो र सदा झैँ ‘नमस्कार कमरेड’ भन्नुभयो ।

त्यसपछि मैले वहाँलाई भनेँ- एउटा सिरियस लिंक मेरोमा आयो, केपी कमरेडको फोन उठेन र तपाईँलाई पठाइदिएको छु । तु वहाँलाई पठाइदिनोस् । मलाई यो धेरै सिरियस लागेको छ । प्रधानमन्त्री र पार्टी अध्यक्षबाट पनि हट्नुपर्ने हुन सक्छ ।

योभन्दा बढी मैले एक शब्द पनि बोलेको छैन । फोन नम्बर राजेश कै हो । राजेशलाई धुलोमा खेल्ने अवस्थादेखि मैले जान्दछु । यसलाई केपीले प्रचारको विषय बनाएर मेरो बदनाम गर्ने तुच्छ कोसिस गर्नुहोला भन्ने मलाई लागेको थिएन ।

क। केपी, म तपाइलाई चुनौती दिन्छु, मेरो भ्वाइस रेकर्ड सार्वजनिक गरिदिनोस् ! पीएमको नाताले भ्वाइस रेकर्ड निकाल्न सकिहाल्नु हुन्छ ।

वामदेव गौतम

१ पुस २०८१

सुदूरपश्चिमलाई कर्णालीले दियो १०२ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई १०२ रनको लक्ष्य दिएको छ । सोमबार बिहान त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले १९.५ ओभरमा सबै विकेट गुमाएर १०१ रन बनायो ।

कर्णालीका लागि जिसन मक्सुदेले सर्वाधिक ३० रन बनाए। यस्तै, विलियम बोस्सिटो १६, ओपनर बाबर हायत १३, चार्डविक वाल्टनले ११ रनमा आउट भए ।

यता, सुदूरपश्चिमका लागि बलिङतर्फ हर्मित सिंहले तीन, कप्तान दिपेन्द्र सिंह ऐरीले चार ओभर बलिङ गर्दै २० रन खर्चिएर दुई विकेट लिए। स्कट कुगेलिन र सेफ जइबले समान एक एक विकेट हात पारे । यो खेलमा जितेमा कर्णाली प्लेअफमा पुग्ने छ ।

लमहीमा गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु

दाङ । दाङमा गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउखोला बक्सकटिङ नजिकै सोमबार बिहान लु१ज ४२९८ नम्बरको विङ्गर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मृत्यु हुनुेमा सिवराज नगरपालिका–३ का ४२ वर्षीया प्रिथी थारु र सोही ठाउँका ६० वर्षीया फुलसी थारु रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिए ।

कपिलवस्तुको चद्रौटाबाट बर्दियातर्फ जाँदै गरेको गाडी आज बिहान दुर्घटनामा परेको थियो । प्रहरी नायब उपरीक्षक थापाका अनुसार दुर्घटनामा घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार गाडीमा १४ जना सवार रहेका थिए । तीव्र गतिका कारण गाडी दुर्घटनामा परेको हुनसक्ने प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाले पूर्वमेयर पीएल सिंहको निधनमा दियो सार्वजनिक बिदा

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना पूर्वमेयर पीएल सिंहको निधन भएको शोकमा आज सार्वजनिक बिदा दिएको छ ।

महानगरपालिकाले सोमबार बिहान विज्ञप्ति जारी गरी महानगर क्षेत्रमा आज शोक बिदा दिइएको जानकारी गराएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौँ नगरपालिकालाई संवत् २०५२ मंसिर २९ गते महानगरपालिका घोषणा गर्नुहुने पूर्वप्रमुख पीएल सिंहको आज बिहान निजी निवासमा असामियक निधन भएकोमा काठमाडौँ महानगरपालिका परिवार उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । प्रमुखका रूपमा काठमाडौँ महानगरपालिकामा रहँदा र समाज सेवामा सक्रिय हुँदा उहाँले पुर्याउनुभएको योगदानको उच्च सम्मान गर्दै आज मिति २०८१ पुस १ गते अत्यावश्यक सेवाबाहेक काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा रहने निर्देशानुसार अनुरोध गरिन्छ।’

सिंहको सोमबार बिहान ८५ वर्षको उमेरमा निधन भएको हो । २०४९ मा स्थानीय निर्वाचन जितेर सिंह काठमाडौँ महानगरपालिकाका मेयर बनेका थिए।

श्रमदान गरेर तमोर नदीमा काठे पुल निर्माण

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले श्रमदानको माध्यमबाट तमोर नदीमा अस्थायी काठे मोटरेबल पुल निर्माण गरेको छ । स्थायी पक्की पुल निर्माणका लागि बजेट अभाव भएपछि पुल निर्माण गर्न श्रमदान गरिएको हो ।

फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूका अनुसार फक्ताङलुङ गाउँपालिका तमोर नदीको दुवै किनारामा फैलिएको छ । गाउँका विभिन्न बस्तीलाई जोड्न नदी पार गर्नुपर्ने बाध्यता छ । सबै स्थानमा एकै पटक स्थायी पुल निर्माण गर्ने बजेट अभाव भएकाले अस्थायी काठे पुल निर्माण गरिएको हो । तापेथोक र छिरुवामा तमोर नदीमाथि काठे पुल निर्माण गरिएको छन् । अन्य ठाउँमा समेत आवश्यक हेरेर अस्थायी काठे पुल निर्माण गर्ने योजना रहेको अध्यक्ष लिम्बूले बताए।

प्रत्येक वर्ष मङ्सिर महिनामा पानीको सतह घटेपछि पुल निर्माण थाल्ने गरिएको छ । हालै निर्माण सम्पन्न काठे पुल जेठ महिनासम्म सञ्चालन हुनेछ । यसपछि वर्षा याम सुरु भएसँगै नदीमा पानीको सतह बढ्ने र पुल बगाउने अवस्था आउँछ ।

विगतमा यस क्षेत्रमा चारदेखि पाँच अस्थायी काठे मोटरेबल पुल बनाइने गरेकामा अहिले केही स्थानमा स्थायी पक्की पुल निर्माण भइसकेका छन् । केही पुलको निर्माण प्रक्रिया जारी रहेको अध्यक्ष लिम्बूले जानकारी दिए । उनका अनुसार विगतमा एउटा अस्थायी पुल निर्माण गर्न झन्डै रु चार लाखदेखि पाँच लाख खर्च लाग्ने गर्थ्यो तर, यसपटक श्रमदानमार्फत जनशक्ति जुटाएर निर्माण सामग्री खरिद गर्न मात्र रु ६० हजार खर्च भएको गाउँपालिकाले जनाएको छ ।

स्थानीय तहमा विकासका गतिविधि सञ्चालन गर्न सीमित बजेटको बाध्यता रहेकाले श्रमदानको उपयोग गरिएको हो । गाउँपालिकाले आवश्यक सामग्री उपलब्ध गराएको छ भने पुल निर्माणका लागि श्रमदानमार्फत जनशक्ति जुटाइएको छ । गाउँपालिकाले मङ्सिर महिनामा पुल निर्माण गरेर हिउँदभरि स्थानीयलाई यातायातको सुविधा दिने प्रयासलाई निरन्तरता दिइरहेको छ ।

पुल निर्माणसँगै स्थानीय बासिन्दाको जीवन सरल भएको छ । दैनिक आवतजावत र आवश्यक सामग्री ढुवानीमा सहजता आएको छ । ग्रामीण क्षेत्रका बासिन्दाले यस्तो पहलले आफूहरूको दैनिकीमा सकारात्मक प्रभाव पारेको बताएका छन् । तमोर नदीले गाउँपालिकाको भूगोललाई दुई भागमा विभाजित गरेको छ । यसले शिक्षा, स्वास्थ्य, व्यापार, तथा अन्य आवश्यक कार्यका लागि एक ठाउँबाट अर्को ठाउँ जाने क्रममा स्थानीयलाई कठिनाइ झेल्नुपर्ने अवस्था सिर्जना गरेको थियो । अस्थायी काठे पुलले यी चुनौतीलाई केही हदसम्म समाधान गरेको छ ।

गाउँपालिकाले स्थायी पुलहरू निर्माण गर्न दीर्घकालीन योजना बनाएको भए पनि सीमित बजेटका कारण यो प्रक्रिया ढिलो भइरहेको छ । हाल गाउँपालिकाले स्थायी पक्की पुल निर्माणका लागि प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गर्दै केही स्थानमा काम अघि बढाइरहेको छ । तर, बाँकी स्थानमा भने हालका लागि अस्थायी पुल नै विकल्प बनेको छ ।

श्रमदानले बजेट बचत गर्न सहयोग पुर्‍याएको छ, यसले सामुदायिक एकताको भावना पनि बलियो बनाएको छ । स्थानीय बासिन्दाले स्वेच्छाले दिएको श्रमदानको माध्यमबाट पुल निर्माण हुनु ग्रामीण विकासमा जनसहभागिता कस्तो प्रभावकारी हुनसक्छ भन्ने उदाहरण बनेको छ ।

तमोर नदीजस्ता ठूला नदीमा स्थायी पुल निर्माण गर्न ठूलो बजेट र प्राविधिक जनशक्तिको आवश्यकता पर्छ । यस्तो अवस्थामा अस्थायी पुलले तत्कालका लागि आवतजावतको समस्यालाई समाधान गरे पनि दीर्घकालीन रूपमा यस्ता अस्थायी पुलहरूले टिकाउ समाधान दिन सक्दैनन् । गाउँपालिकाले प्रदेश र संघीय सरकारको सहयोगमा थप स्थायी पुलहरू निर्माणको योजना बनाउँदैछ ।

श्रमदानमार्फत स्थानीय स्रोत-साधनको अधिकतम उपयोग गर्दै सीमित बजेटमा पनि विकास निर्माण सम्भव छ भन्ने देखाएको छ । अस्थायी काठे पुलले ग्रामीण बासिन्दालाई यातायातको सहजता दिनुका साथै आर्थिक गतिविधि प्रवर्द्धनमा पनि योगदान पुर्‍याएको छ ।

काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन

काठमाडौं । काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन भएको छ । सिंहको चाक्सीबारीस्थित निवासमा सोमबार बिहान निधन भएको हो ।

२०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए । ८५ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ थिए ।

गत वर्ष उनको पेटको शल्यक्रिया गरिएको थियो । उनले लौहपुरुष गणेशमान सिंहका प्रमुख सहयोगी भएर पनि काम गरेका थिए । तर पछिल्लो समय राजनीतिबाट उनी निष्कृय बनेका थिए ।

पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित

काठमाडौँ । नेपाल पत्रकार महासंघको अध्यक्ष निर्मला शर्मा विजयी भएकी छन् । आइतबार राति महासंघ केन्द्रीय निर्वाचन समितिले शर्मा अध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो ।

प्रेस चौतारी नेपाल र प्रेस युनियन गठबन्धनबाट अध्यक्षको उम्मेदवार रहेकी शर्मा ४ हजार २८२ मतसहित अध्यक्षमा निर्वाचित भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले ३ हजार २०३ मत प्राप्त गरेका छन् ।

विष्टले प्रेस सेन्टर नेपाल, प्रेस युनियन असन्तुष्ट समूह लगायत संगठनबाट श्रमजीवी पत्रकारको प्यानल खडा गरेर चुनाव लडेका थिए । त्यस्तै महासंघको महासचिवमा रामप्रसाद दाहाल निर्वाचित भएका छन् ।

उनी निकटम प्रतिद्वन्द्वी लेखनाथ न्यौपानेलाई पराजित गर्दै महासंघको महासचिवमा निर्वाचित भएका हुन् । दाहालले ४ हजार ८४ मत प्राप्त गरे भने न्यौपानेले १ हजार ९२९ मत प्राप्त गरको निर्वाचन समितिका संयोजक चिरञ्जिवी खनालले जानकारी दिए ।

यसैगरी जन्मदेव जैशीले १ हजार १५८ मत प्राप्त गर्दा गरे । यस्तै वरिष्ठ उपाध्यक्षमा ४ हजार २ सय ३० मत ल्याएर दीपक आचार्य विजयी भए भने निकटतम प्रतिद्वन्द्वी रोशन पुरीले २ हजार ८८६ मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्ष महिलातर्फ नितु पण्डित विजयी भएकी छन् । उनले ४ हजार ७०५ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

समावेशी उपाध्यक्ष उमेद बागचन, उपाध्यक्ष नितु पण्डित, सचिव रमेश खतिवडा, महिला सचिव सोनी शर्मा, जनजाती सचिव सविन प्रियासन, मधेश सचिव अशोक तिवारी, दलित सचिव प्रकाश धौलाकोटी, एसोसिएट बैकुण्ठराज पराजुली, कोषाध्यक्ष रामकृष्ण अधिकारी निर्वाचित भएका छन् ।

पद्म ज्योतिद्वारा अलग्गै समूह घोषणा

काठमाडौं । एक सय ४ वर्ष पुरानो ज्योति गु्रप औपचारिकरुपमा अलग भएको छ । भाइ रुप ज्योतिसँगको विवादपछि पद्म ज्योतिले आइतबार अलग्गै समूह सुरु गरेको घोषणा गर्का हुन् ।

उनले आफ्नै नाममा पद्म ज्योति समूह घोषणा गरेका छन् । समूहको लोगो पनि सार्वननिक गरिएको छ । पद्म ज्योति अध्यक्ष रहेको समूहमा मीरा ज्योति संस्थापक सदस्य, सौरभ ज्योति, सुहृद ज्योति, सिर्जना ज्योति र आरती ज्योति निर्देशक छन् । यसअघि ज्योति समूहका प्रमुख सदस्यहरूमा पद्म ज्योति र रूप ज्योति रहेका थिए ।

समूहका अध्यक्ष पद्म ज्योतिले ज्योति परिवारको नयाँ पुस्ताको नेतृत्वमा संचालन हुने पद्यम ज्योति गु्रप रोजगारी सिजर्ना गरी नेपालको भविष्यलाई समृद्ध बनाउन सदैव प्रतिबद्ध रहने बताए ।

अध्यक्ष ज्योतिले पारिवारिक कलह बढेका कारण अलग समूह बनाउनका लागि ५ वर्ष अगाडि नै विधान तयार गरेको पनि खुलाएका छन् । उनले भने, ‘हाम्रो पद्यम ज्योति परिवारमा हामीले पाँच वर्ष अगाडी नै पारिवारिक विधान बनाएका थियौं । जसले हामीलाई उचित मार्गदर्शन दिन महत्वपूर्ण भूमिका खेल्छ ।’

समूह अन्तर्गत सञ्चालनमा रहेका उद्योग र कम्पनीको नाम पनि घोषणा गरिएको छ । यो समूहको नाममा हिमाल स्टिल, भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्स, हिमाल सिमेन्ट, हिमाल अक्सिजन, हिमाल वायर्स, ज्योति स्पिनिङ मिल्स, भाजुरत्न फार्मास्युटिकल्स र होन्डा मोटरसाइकल छन् ।

बर्दियामा स्कुटर दुर्घटनामा बाबु छोरीको मृत्यु, आमाछोरा घाइते

बर्दिया । बर्दियामा स्कुटर दुर्घटना हुँदा बाबु छोरीको मृत्यु भएको छ । आइतबार गुलरिया जिल्ला अस्पतालस्थित हुलाकी सडकमा रोकिएको भे १ त ९०६२ नम्बरको ट्याक्टरमा बा ६८ प ७०३६ नम्बरको स्कुटर ठोक्किएर २ जनाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी केदार खनालका अनुसार दुर्घटनामा सप्तरीका ३२ वर्षका रामकुमार साह र छोरी ६ वर्षकी विद्याको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

साहका पत्नी र छोरा घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्कुटरमा चार जना सवार रहेका थिए ।

ओपन एआईको कमजोरी बाहिर ल्याउने अनुसन्धानदाता मृत फेला

बीबीसी ।ओपन एआईको कमजोरी बाहिर ल्याउने एक अनुसन्धानदाता अमेरिकाको सान फ्रान्सिस्कोमा मृत फेला परेका छन् । २६ वर्षका सुचिर बालाजीको शव नोभेम्बर २६ मा एउटा अपार्टमेन्टमा फेला परेको अधिकारीहरूले बताएका छन् ।

उनको अवस्थाबारे बुझिदिन फोन आएपछि खोजी गर्ने क्रममा बालाजी मृत अवस्थामा भेटिएको प्रहरीले बताएको छ । सान फ्रान्सिस्कोमा भएको चिकित्सकीय जाँचमा उनको मृत्यु आत्महत्याका कारण भएको पहिचान भएको छ ।

प्रहरीले उनको मृत्यु पछाडी कुनै षड्यन्त्र भएको प्रमाण फेला नपरेको जनाएको छ । पछिल्ला महिनाहरूमा बालाजीले ओपन एआईका केही अभ्यासविरुद्ध सार्वजनिक रूपमा आवाज उठाइरहेका थिए । ओपन एआईले डेटा सङ्कलन गर्ने आफ्नो अभ्यासविरुद्ध कैयौँ कानुनी लडाइँ सामना गरिरहेको छ ।

अक्टोबरमा न्यूयोर्क टाइम्सले प्रकाशित गरेको बालाजीसँगको एक अन्तर्वार्तामा उनले ओपन एआईले उसको लोकप्रिय अनलाइन च्याटबोट च्याट जीपीटी बनाउने क्रममा अमेरिकाको प्रतिलिपि अधिकार उल्लङ्घन गरिरहेको बताएका थिए । चार वर्षसम्म उक्त कम्पनीमा काम गरेका बालाजीले ‘ओपन एआईले च्याट जीपीटी जस्ता प्रविधि बनाउने क्रममा अर्कैको प्रतिलिपि अधिकार भएका विवरणको प्रयोग गरेर कानुनको उल्लङ्घन गरेको’ दाबी गरेका थिए ।

च्याट जीपीटीजस्ता प्रविधिले इन्टरनेटमा क्षति पुर्याइरहेको उनको दाबी थियो । ओपन एआईले भने आफूले तयार गरेका मोड्युलहरूले ‘सार्वजनिक रूपमा उपलब्ध विवरणको प्रयोग गर्ने’ दाबी गर्दै आएको छ ।

बालाजीले गएको अगस्टमा कम्पनी छोडेका थिए। उनले त्यसपछि आफू केही निजी परियोजनाहरूमा काम गरिरहेको न्यूयोर्क टाइम्ससँग बताएका थिए ।

अमेरिकाको क्यालिफोर्निआमा हुर्किएका उनले क्यालिफोर्निआ विश्वविद्यालयमा कम्प्युटर साइन्स पढेका थिए । सीएनबीसीले ओपन एआईका प्रवक्ताले जारी गरेको एक विज्ञप्ति उदृत गर्दै ओपन एआईले सुचिरको मृत्युबाट स्तब्ध भएको जनाएको उल्लेख गरेको छ ।

कागेश्वरी मनोहरामा आगो लगाएर घाइते भएकी महिलाको मृत्यु

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित किरातचोक नजिकको वाग्मती नदीकिनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको आइतबार मृत्यु भएको छ ।

चितवनको रत्ननगर नगरपालिका–१२ घर भई बौद्ध नारायणटार बस्ने ३८ वर्षीया कमला आचार्यले शनिबार दिउँसो आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाइ गम्भीर घाइते भई उपचारका क्रममा आइतबार उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “शनिबार दिउँसो बा३५प ५८१८ नम्बरको स्कुटरमा आएर वाग्मती खोला किनार नजिकको खाली जग्गामा आचार्यले आफूमाथि पेट्रोल छर्केर आगो लगाएको र  गम्भीर घाइते भएकी उनको उपचारका क्रममा आज साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।”

मृतक आचार्यको शव परीक्षणका लागि अहिले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज टिचिङमा पठाइएको प्रवक्ता अधिकारीले बताए ।

सुदूरपश्चिमद्वारा पोखरा पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई पाँच रनले हराएको छ । 


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सुदूरपश्चिमले दिएको एक सय ५४ रन लक्ष्य पछ्याएको पोखराले १९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ४८ रनमा समेटियो । 


पोखराका लागि एन्ड्रिज गौसले सर्वाधिक ३६ रन बनाए । उनले २१ बलमा दुई छक्का र चार चौकाको मद्दतले ३६ रन बनाएका हुन् । त्यस्तै, रेमन रेफरले ३३, किरण ठगुन्नाले ३२, दिनेश खरेलले १५ र जेन मलिकले १० रन बनाए । 


पोखराका लागि माइकल लिस्कले पाँच, सागर ढकाल र दिलीप नाथले समान एक/एक रन जोडे । यो खेलमा पोखराले अतिरिक्त १५ रन पाएको छ ।


बलिङतर्फ सुदूरपश्चिमका स्कट कुग्गेलिजनले सर्वाधिक पाँच विकेट लिए । हरमित सिंहले तीन र सैफ जैबले एक विकेट हात पारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ५३ रन बनाएको थियो । योसँगै सुदूरपश्चिम रोयल्स एनपिएलको ‘प्लेअफ’ चरणमा प्रवेश गरेको छ । 

कम्बोडिया–भैरहवा सिधा उडानका लागि कम्बोडियाली समक्ष प्रस्ताव

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका छन् ।

कम्बोडियाका संस्कृति तथा धार्मिक मामिलामन्त्री चाई बोरिनसँग आइतबार भएको भेटमा मन्त्री पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका हुन् ।

मन्त्री पाण्डेले सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई दिएको सहुलियतसमेत जानकारी गराएका थिए । भेटमा दुवै देशका प्रमुख बौद्ध तीर्थस्थललाई जोड्ने गरी ‘बौद्ध सर्किट’ को रूपमा विकास गर्न सकिने, पर्यटन प्रवर्द्धनका लागि दुवै देशबीचमा कला, सङ्गीत र साहित्यमा सहकार्य तथा सांस्कृतिक महोत्सव कार्यक्रम र पर्यटन बोर्डबीच साझेदारी गर्न सकिने विषयमा छलफल भएको थियो । 

दुवै देशका युनेस्को विश्व सम्पदा क्षेत्रको संरक्षण र प्रवर्द्धनमा सहकार्यको सम्भावना, सांस्कृतिक समझदारी र सद्भावलाई गहिरो बनाउने उद्देश्यले युवा र शैक्षिक आदानप्रदानलगायत विषय पनि छलफल भएको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ ।

पारस्परिक पर्यटनलाई प्रोत्साहित गर्न प्रत्यक्ष उडान र भिसा प्रक्रियामा सहजीकरणको आवश्यकताबारे दुई मन्त्रीबीच विचार विमर्श भएको थियो । भेटमा संस्कृति तथा धार्मिक मामिलामन्त्री बोरिनले मन्त्री पाण्डेलाई कम्बोडियाको औपचारिक भ्रमणको निम्तासमेत दिएको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ ।

देशलाई विकृतिबाट सुकृतितर्फ लान अहिलेको सरकार : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतितर्फ लानका लागि वर्तमान संयुक्त सरकार बनेको दाबी गरेका छन्।

ज्यापु संस्कृति विकास कोषद्वारा आइतबार वसन्तपुरमा आयोजित २१ औँ राष्ट्रिय ज्यापु दिवसको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा भएको राजनीतिक परिवर्तनलाई धरापमा पार्ने र परिवर्तनमा योगदान गरेका दललाई अनावश्यक भ्रम फैलाएर बद्नाम गर्ने कोशिश भएकाले ठुई ठुला दलको सहकार्यमा सरकार बनेको बताएका हुन्। यो सरकार केवल सरकार बनाउनका लागि नभई मुलुकका समृद्धि र स्थिरताको यात्रालाई अगाडि बढाउन गठन भएको उनको दाबी थियो।

‘गुठीको संरक्षण गर्न कानुन बनाउनुपर्छ भन्दा मविरुद्ध भ्रम फैलाइएर विरोध गरियो। प्रहार गरियो। भ्रष्टाचारमा उजुरी परेका माथि २० औँ वर्षसम्म होइन सकेसम्म छिटो र बढीमा पाँच वर्षभित्र छिनोफानो हुनुपर्छ भन्दा भ्रष्टाचार गरेकालाई बचाउन खोज्यो भनेर गलत प्रचार गरियो। यस्ता हल्लाहरु नेपालमा भाँडभैलो मच्याउने प्रयासका उपज हुन्’, प्रधानमन्त्री ओलीले भने, ‘नेपाल भाँड्नका लागि र हाम्रो एकता भत्काउनका लागि कतिपयले हल्ला गर्ने गरेका छन् तर हामी साम्प्रदायिक विद्षका पछाडि होइन, सामाजिक सद्भावमार्फत राष्ट्रिय एकता ल्याउन चाहान्छौं। यो जातलाई खेद, अर्काे जातलाई खेद भन्दैनौं। बैँकको ऋण नतिर भन्दैनौं। नयाँ नेपाल निर्माणको महान अभियानमा हामी छौं। नेपाललाई गरिबीबाट समृद्धि र सुखी बनाएरै छाड्नेछौं।’

प्रधानमन्त्री ओलीले अहिले आफूहरुले जे दःख भोगेका छौं त्यस्ता दुखः हाम्रा छोरानातिहरुले दुःख भोग्नु नपरोस् भनेर सरकारले गम्भीरताका साथ काम गरिरहेको जनाउँदै सबै जाति, भाषी, आस्था र विश्वासका मानिस एकजुट भएर समाजलाई सभ्य र एकताबद्ध बनाउन आवश्यक रहेको बताए।

सामाजिक सञ्जालमा सुन्न र हेर्न नसकिने भाषा होइन, सभ्य र सुसंस्कृत हुँदै आत्मीयता र भात्रृत्वका साथ नेपाल र नेपालीको एकता बचाउन पनि आग्रह गरे।

‘नेवारी संस्कृतिले विश्वमा पहिचान दिएको छ’

नेपालका सबै संस्कृतिभन्दा नेवारी संस्कृति इतिहास, निरन्तरता र मौलिक संस्कृति भएको संस्कृति भएको उल्लेख गर्दै उनले ज्यापु संस्कृतिलाई अगाडि बढाउन सफलता मिलोस् भनी कामना गरे।

राज्यकोषमा धेरै रकम नभए पनि ज्यापु दिवस मनाउन नेपाल सरकार, मन्त्रिपरिषद्बाट १० लाख सहयोगको निर्णय गरेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले ज्यापु गुठीका लागि अक्षयकोषमा सक्दो रकमवृद्धि गर्ने विश्वास दिलाए।

उनले नेवारी संस्कृति र परम्परताले विश्वमा बेग्लै पहिचान दिएर राष्ट्रिय गौरव बढाउन योगदान दिएको बताए। आफ्नो मर्यादित संस्कृति र परम्परालाई निरन्तरता दिएकामा धन्यवाद दिँदै धार्मिक र सांस्कृतिक सम्पदालाई प्रोत्साहन गर्न सरकार तत्पर रहेको बताए।

कार्यक्रममा प्रधानमन्त्री ओलीले विभिन्न पुरस्कार तथा सम्मान वितरणका साथै वार्षिक जात्रासम्बन्धी डिजिटल सामग्री र पुस्तक विमोचन गरे। कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरी, काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललगायत उपस्थित थिए।

कर्णाली समृद्धिको आधार बन्दै सडक, स्याउ र जडीबुटीले पाउन थाल्यो बजार

 सुर्खेत । पछिल्लो समय कर्णाली चारवटा सडकले जोडिएको छ । विकासको पहिलो शर्त कर्णालीका लागि सडक नै हो । दश वर्ष अघिसम्म आफ्नो तौलभन्दा बढी सामान बोकेर थप, थप आँशु चुहाउँदै नुन, चामलको जोहो गर्ने कर्णालीका ग्रामीण क्षेत्रका स्थानीयवासीले अहिले यातायातको साधनमा दैनिक उपभोग्य सामग्री ढुवानी गरेर लिने गरेका छन् ।


आफ्नो खेतबारीमा उत्पादन भएको कृषिजन्य वस्तु बजारसम्म लिनका लागिसमेत सहजै सवारी साधनको प्रयोग हुँदै आएको छ । तीन तहका सरकारको सक्रिया पहलकदमीका कारण गाउँगाउँमा सडक पुग्दा कर्णालीवासीको जीवनस्तरमा समेत सुधार आएको छ ।

कर्णालीका १० वटा पालिकामा अझै सडक पुग्न नसकेको सडक विभागको तथ्याङ्कले बताउँछ । यस्तै, कर्णाली प्रदेशका १० स्थानीय तहको केन्द्रमा सडक सञ्जाल पुगेको छैन । त्यसमा डोल्पाको ६ स्थानीय तह से–फोक्सुन्डो, मुड्केचुला, जगदुल्ला, छार्का ताङ्सोङ, अदानचुली र ताजाकोट गाउँपालिकाको केन्द्र पनि सडकको पहुँच छैन । से–फोक्सुन्डोमा ३५ दशमलव ४ किमि, मुड्केचुलामा १० किमि, जगदुल्लामा २६ किमि, छार्का ताङ्सोङ ७५ किमि, अदानचुलीमा २४ र ताजाकोटमा २६ किमि नयाँ सडक निर्माण गर्नुपर्ने विभागको अनुमान छ ।

यसैगरी, कालीकोटका चार स्थानीय तह पचालझरना, नरहरिनाथ, महावै र शुभकालिका गाउँपालिकाको केन्द्रमा पनि सडक पुगेको छैन । पचालझरनामा आठ किमि, नरहरिनाथमा १६ किमि, महावैमा नौ किमि र शुभकालिकामा १२ किमि नयाँ सडक निर्माण गर्नुपर्ने देखिएको छ । प्रदेश सरकारले सडक सञ्जाल नपुगेका स्थानीय तहमा यही आर्थिक वर्षभित्र सडक पुर्‍याउने लक्ष्यका साथ काम गर्ने योजनाका साथ अगाडि बढेको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले जानकारी दिए ।

कर्णालीमा कति बन्यो त सडक

कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा नौ हजार छ सय ८६ दशमलव ६२ किलोमिटर सडक बनेको छ । जुन, नेपालको कूल सडकको १२ दशमलव ०४ प्रतिशत हो । कर्णालीका सडकमा ३० हजार तीन सय ६७ सवारीसाधन गुड्छन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सूचना अधिकारी प्रवीण कार्कीका अनुसार कर्णालीमा सङ्घीयतापछि मात्र पनि सडकमा राम्रो प्रगति भएको छ ।

प्रदेश सरकार गठन भएपछि एक सय ५६ दशमलव ७६ किलोमिटर सडक कालोपत्र गरिएको छ । ग्राभेल सडक ६ सय १ दशमलव ०५ किलोमिटर खनिएको छ । कच्ची सडक दुई हजार आठ सय २२ दशमलव ३३ किलोमिटर निर्माण भएको छ । नालासहितको स्तरोन्नति गरिएको सडक चार सय ६८ दशमलव ४१ किलोमिटर छ ।

यस प्रदेशमा प्रदेश सरकारले ३९ वटा मोटरेबल निर्माण गरेको छ । पालिकासँग जोड्ने अधिकांश सडक स्थानीय सरकारले गर्दै आएका छन् । डोल्पामा जाने मुख्य सडक कुनै पनि कालोपत्रे भएका छैनन् । त्रिपुरासुन्दरी नगरपालिकाको प्रशासकीय केन्द्र बगरबाट बाला त्रिपुरासुन्दरी मन्दिरसम्म पुग्नका लागि झण्डै दुई किलोमिटर सडक पिच गरिएको छ ।

कर्णालीमा सबैभन्दा बढी सडक भएको जिल्लामा दैलेख अग्रिणी स्थानमा रहेको छ । यहाँ पक्की सडक चार सय ५२ दशमलव २ किलोमिटर छ । ग्राभेल सडक एक सय ८५ दशमलव ७ किलोमिटर र कच्ची सडक दुई हजार तीन सय १० दशमलव आठ किलोमिटर गरी जम्मा सडक दुई हजार नौ सय ४८ दशमलव ७ किलोमिटर छ ।

यस्तै सुर्खेतमा पक्की दुई सय ७८ दशमलव २१, ग्राभेल पाँच सय ८३ दशमलव ९३ र कच्ची नौ सय ३४ दशमलव ६६ गरी जम्मा एक हजार सात सय ९६ दशमलव ८२ किलोमिटर सडक छ । जाजरकोट जिल्लामा पक्की एक सय ११, ग्राभेल ४० दशमलव ५ र कच्ची नौ सय ७१ गरी एक हजार एक सय २२ दशमलव ५ किलोमिटर सडक छ ।

यस्तै रूकुम–पश्चिममा पक्की एक सय ३३, ग्राभेल ५७ र कच्ची एक हजार दुई सय ५२ गरी जम्मा एक हजार चार सय ४२ किलोमिटर सडक छ । सल्यानमा पक्की एक सय ६२, ग्राभेल नौ र कच्ची तीन सय ९२ गरी जम्मा पाँच सय ६३ किलोमिटर सडक सञ्जाल रहेको छ । हुम्लामा पक्की दुई र कच्ची दुई सय ८३ गरी जम्मा दुई सय ८५ किलोमिटर सडक छ ।

कालीकोटमा पक्की ७४ र कच्ची तीन सय ७५ दशमलव ५ गरी जम्मा चार सय ४९ दशमलव ५ किलोमिटर सडक छ । यस्तै, जुम्लामा पक्की ४९, ग्राभेल ९२ दशमलव ५ र कच्ची तीन सय ८२ दशमलव ६ गरी जम्मा पाँच सय २४ दशमलव १ किलोमिटर सडक छ । मुगुमा पक्की चार, ग्राभेल ५२ र कच्ची तीन सय १५ गरी जम्मा तीन सय ७१ किलोमिटर सडक छ ।

डोल्पामा भने पक्की सडक नै छैन । हालसम्म जम्मा एक सय ८५ किलोमिटर कच्ची सडक निर्माण भएको छ । यसरी कर्णाली प्रदेशमा पक्की एक हजार दुई सय ६५ दशमलव ४१, ग्राभेल एक हजार २० दशमलव ६५ र कच्ची सात हजार चार सय १ दशमलव ५६ गरी जम्मा नौ हजार ६ सय ८७ दशमलव ६२ किलोमिटर सडक निर्माण भइसकेको छ । सङ्घीयतापछि मुलुकका तीनवटै तहका सरकारले सडक निर्माणलाई तीव्रता दिइरहेका छन् ।

कर्णालीको ७९ वटै स्थानीय सरकारले पनि हरेक आर्थिक वर्षको बजेटमा सबैभन्दा धेरै बजेट सडक निर्माणमा खर्चिंदै आएका छन् । सङ्घ सरकारले कर्णालीमा कर्णाली करिडोर, भेरी करिडोर, मध्यपहाडी लोकमार्ग तथा मदनभण्डारी सडकले कर्णालीलाई छोएका छन् ।

भेरी करिडोरले सुर्खेत, सल्यान, जाजरकोट, रूकुम पश्चिम हुँदै डोल्पाबाट चीनको तिब्बत जोड्ने लक्ष्य लिएको छ । यसलाई त्रिदेशीय सडकको रूपमा विकास गर्ने लक्ष्य समेत लिइएको छ । लुम्बिनी प्रदेशको नेपालगञ्ज जमुनाह र भारतको उत्तर प्रदेशको रोपैडियासँग यो सडक जोडिएको छ ।

नेपाल–भारत सिमाना जमुनादेखि नेपाल–चीन सिमाना हिल्सासम्म जोड्ने सडक कर्णाली राजमार्गको नामले चिनिन्छ । बाँकेको जमुनाह–नेपालगञ्ज–कोहलपुर–सुर्खेत, दैलेख–कालीकोट (खुलालु)–बाजुरा, हुम्लाको सिमकोट–हिल्सा गरी जम्मा पाँच सय ३८ किलोमिटर लामो यो सडक कर्णालीको मुख्य समृद्धिको मार्ग हो । सुर्खेत–तल्लो डुङ्गेश्वर, सातखम्ब–दुल्लु पिपलकोट, खुलालु–मान्म–नाग्म–जुम्ला हुँदै मुगुसम्म सडक तीन सय दुई किलोमिटर सडक छ । यी दुई सडकले साविकका कर्णालीको लागि समृद्धिको मार्गका रूपमा स्थापित हुँदै आएको छ ।

मध्यपहाडी लोकमार्ग रूकुम पूर्वबाट रूकुम पश्चिम हुँदै जाजरकोट दैलेख जोड्ने गर्दछ । त्यस्तै रूकुम पश्चिम र सल्यानलाई जोड्नका लागि राप्ती लोकमार्गको रहेको छ । जसले दाङबाट सल्यान हुँदै रूकुम पश्चिम जोड्ने काम गर्दछ । अर्को लुम्बिनीबाट रूकुम हुँदै जाजरकोट, जुम्ला मुगुको रारासम्म जोड्न लुम्बिनी–रारा राजमार्गको कामसमेत चालु अवस्थामा रहेको छ । यो सडक जाजरकोटको कुशे गाउँपालिकामा चालु अवस्थामा छ । कर्णालीमा निर्माण हुने अधिकांश सडक आयोजनालाई प्रर्याप्त बजेट नहुँदा काममा बाधा पुग्दै आएको यहाँका जनप्रतिनिधि बताउँदै आएका छन् ।

निर्माण भएका सडक समयमै काम गराएर अपेक्षित लक्ष्य हासिल गर्न सके कर्णालीलाई सडक समृद्धि गर्न धेरै समय नलाग्ने देखिन्छ । हाल यिनै निर्माण भएका सडकबाट कर्णालीका स्याउदेखि अन्य भारी मात्रामा जडीबुटी निर्यात हुँदै आएको छ । छिन्चु–जाजरकोट–दुनै–मरिम तीन सय १७ किलोमिटर सडकलाई भेरी करिडोरले चिनिन्छ । यो साविकको भेरी अञ्चलबाट जोडिएर साविकको कर्णालीको डोल्पा हुँदै चीनसँग जोड्ने कर्णालीको अर्को महत्त्वपूर्ण सडक हो ।

कहिले हुन्छ त सुधार

कच्ची कटानले भारी मात्रामा फड्को मारेको कर्णालीका सडक अब पक्की कहिले होलान त ? यो प्रश्नले सबैको ध्यान तान्छ । भेरी करिडोर हुँदै उपल्लो डोल्पाको फोक्सुण्डो ताल हुँदै सात सय वर्ष पुरानो शे गुम्बामा पुग्नेको दैनिक प्रश्न यही हुन्छ ।

पर्यटकीय मार्गको रूपमा रहेको यो मार्गमा दैनिक धुलाम्य भएर तराईबाट हिमालको टुप्पोमा पुग्दा सबैको साझा गुनासो भनेकै पक्की सडकको लागि हो । प्रत्यक वर्ष प्रदेश सरकारले ल्याउने बजेट तथा सङ्घीय सरकारले ल्याउने बजेटमासमेत यही कुरामा भारी बहस हुँदै आएको छ । त्यस्तै अर्को कर्णाली करिडोरका दुई भागमा समेत अझैँ पक्की बन्न नसकेको अवस्था छ । कर्णाली करिडोर हुँदै रारा पुग्नेदेखि अर्को मार्गबाट हुम्लाको सिमकोट हिल्सा, मानसरोबर पुग्नेको कथा उही सडककै रहेको छ ।

धुलाम्य सडकमा मृत्युलाई जित्दै मानसरोबार पुग्ने तथा रारा पुग्नेले सडक नै पहिलो आधारका रूपमा माग राख्दै आएका छन् । प्रदेश सरकारले आफ्नो औकातले सकेसम्म काम गरिरहेको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढा बताउँछन् । तीन तहका सरकारसँग समन्वय गरेर कर्णालीमा सडक सम्मृद्धि ल्याउने काममा लागिरहेको उनको भनाइ छ ।

व्यापार प्रवर्द्धन र कृषक लाभान्वित

कर्णाली करिडोर साविकको कर्णालीका जुम्ला र मुगुमा पुग्दा त्यहाँ उत्पादन भएको स्याउले हाल बजार पाएको छ । विदेशी भूमिबाट आउने स्याउ विस्थापित भएको उद्योग वाणिज्यसँग सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलले जानकारी दिए ।

उद्योगी तथा व्यवसायीलाई सङ्घले कर्णालीकै उत्पादनलाई जोड दिन पटकपटक पत्राचार गरेको उनी बताउँछन् । उत्ता डोल्पामा उत्पादन हुने स्याउसमेत सडक मार्गबाट देशका ठूला सहरमा पुग्ने गरेको छ । कर्णाली प्रदेश सरकारले कृषि क्षेत्रमा लगानी गर्दै अर्गानिक उत्पादनलाई जोड दिएका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग मिलेर आफ्नै मिल निर्माण गरेर कर्णालीलाई चिनाउने काममा लागेको छ ।

कर्णालीकै मूल्यवान लोगो बनाइ खाद्यान्नलाई विश्वमा चिनाउने काम कर्णालीबाट सुरू भइसकेको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले बताए । कर्णालीमा उत्पादन भएको जडीबुटीसमेत सडक मार्गहुँदै सजिलै प्रशोधन केन्द्रमा पुग्न थालेको छ ।

जाजरकोटकोमा रहेको प्रशोधन केन्द्रदेखि अन्य ठाउँमा समेत सडक मार्गबाटै आउने गरेको छ । सडक मार्ग अधिकांश ठाउँमा पुगेकै कारण दैनिक खाद्यान्नको ढुवानी हुँदा भान्सासमेत सस्तो भएको छ । खाद्यान्न अभाव भयो भन्दै विगत जस्तो आन्दोलन गर्नुपर्ने अवस्थाको अन्त्य भइसकेको मन्त्री शाहको भनाइ छ ।

त्यस्तै सडक मार्ग हुँदै अधिकांश ठाउँमा आयोडिनयुक्त नून पुग्ने गरेको छ । भनेकै समयमा पालिकास्तरबाट नुन पाउने गरेको छ । सडकले व्यापक रूपमा गतिलिएसँगै विकास निर्माण काममासमेत सहज भएको छ । कर्णालीमा जनयुद्धपछि मात्र विकासले गति लिएको देखिन्छ ।

बङ्गलादेशमा व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लागेको एउटा प्रहरी एकाइ बन्द गर्न सिफारिस

ढाका । अपदस्थ नेत्री शेख हसिनाको शासनकालमा भएको दुव्र्यवहारको छानबिन गरिरहेको बङ्गलादेशको एक आयोगले बहुचर्चित सशस्त्र प्रहरी एकाइ भंग गर्न सिफारिस गरेको छ ।

गत अगष्ट ५ मा विद्यार्थीको नेतृत्वमा भएको विद्रोहका कारण ढाकास्थित प्रधानमन्त्रीको कार्यालयबाट ७७ वर्षीया हसिना हेलिकप्टरबाट छिमेकी मुलुक भारततर्फ भागेपछि छानविनका लागि बनेको आयोगले उक्त सिफारिस गरेको हो ।

उनको सरकारमाथि सयौँ राजनीतिक विरोधीहरूको गैरन्यायिक हत्या र सयौँको गैरकानुनी अपहरण र बेपत्ता पार्नेलगायत व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लगाइएको छ ।

कामचलाउ सरकारले गठन गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले रेपिड एक्सन बटालियन ९आरएबी० ले बेपत्ता पार्ने कार्यमा हसिना र अन्य पूर्ववरिष्ठ अधिकारीहरू संलग्न रहेको प्रारम्भिक प्रमाण फेला पारेको जनाएको छ।

सन् २०२१ मा हसिनाको १५ वर्ष लामो शासनकालमा भएका केही सबैभन्दा खराब मानव अधिकार उल्लङ्घनमा दोषी ठहरिएको रिपोर्टको जवाफमा संयुक्त राज्य अमेरिकाले आरएबी अर्धसैनिक प्रहरी बललाई यसका सात वरिष्ठ अधिकारीहरूसहित प्रतिबन्ध लगाएको थियो।

आयोगका सदस्य नुर खान लिटनले एएफपीसँग भने, “आरएबीले कहिल्यै पनि कानूनको पालना गरेको छैन र बलपूर्वक बेपत्ता पार्नु, गैरन्यायिक हत्या र अपहरणका घटना समावेश यसको ज्यादतीका लागि विरलै जवाफदेही ठहरिएको छ ।

आयोगले आफ्नो प्रारम्भिक प्रतिवेदन अन्तरिम सरकारका नेता मोहम्मद युनुसलाई बुझाएको छ ।

बङ्गलादेशको सबैभन्दा ठूलो राजनीतिक दलमध्येको एक बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले पनि आरएबीको खारेजीको माग गरेको छ ।

बीएनपीका वरिष्ठ नेता एम. हफिजुद्दिन अहमदले पत्रकारहरूलाई भने, “आरएबी यति विकृत छ कि छ कि यसलाई सुधार गर्न नै सकिँदैन ।

उनले भने, “मेडिकल अध्ययनअनुसार कुनै बिरामीलाई ग्यागरिन हुन्छ तब त्यसको एक मात्र उपाय भनेको प्रभावित अङ्ग काट्नु हो ।”

सन् २००४ मा न्यायिक प्रणाली निकै सुस्त भएको देशमा द्रुत परिणाम प्रदान गर्ने उपायका रूपमा ‘एलिट पुलिस युनिट’को सुरुवात गरिएको थियो ।

यो एकाइले गैरन्यायिक हत्याका लागि गम्भीर प्रतिष्ठा कमाएको थियो र अपहरण र हत्याको माध्यमबाट असहमतिलाई दबाएर हसिनाको राजनीतिक महत्वाकाङ्क्षालाई समर्थन गरेको आरोप लगाइएको थियो । 

बुर्किना फासोनजिकै नाइजरमा भएको आक्रमणमा ३९ जनाको मृत्यु

 नाइजर । बुर्किना फासोको सीमा नजिकै पश्चिमी नाइजरमा हालैका दिनमा भएका दुई आक्रमणमा परी ३९ जनाको मृत्यु भएको नियामीको रक्षा मन्त्रालयले शनिबार जनाएको छ ।

’लिबिरी र कोकोरोउ समुदायमा दुई भयानक आक्रमण भएका छन् । रक्षा र सुरक्षा बलहरूको निरन्तर अपरेसनबाट घेरिएका अपराधीहरूले रक्षाविहीन नागरिकहरूमाथि आक्रमण गर्दा ३९ जनाको मृत्यु भएको छ,” रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

“बर्बर आक्रमणमा लिबिरीमा २१ जना र कोकोरोउका बालबालिकासहित १८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । उक्त सशस्त्र आक्रमणमा डिसेम्बर १२ देखि १४ सम्म चलेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हालैका दिनहरूमा विशेष गरी रक्तपातपूर्ण जिहादी आक्रमणहरूको शिकार भएका यी समुदायहरू तेरा सीमा क्षेत्रमा अवस्थित छन् । यस क्षेत्रलाई सशस्त्र जिहादी लडाकू समूहको आश्रयस्थल मानिन्छ ।

नाइजर, माली र बुर्किना फासोबीचको सीमावर्ती भूमि लामो समयदेखि इस्लामिक स्टेट समूह र अलकायदासँग सम्बन्धित जिहादीहरूका लागि लुकेर बस्ने स्थानका रूपमा परिचित छ ।

स्थानीय स्रोतहरूले डिसेम्बर ७ मा एएफपीलाई दिएको जानकारीअनुसार पछिल्लो आक्रमणमा बन्दुकधारीहरूले मालसामान बोकेर गएका गाडीहरूको समूहमाथि आक्रमण गर्दा २१ जना सर्वसाधारणको मृत्यु भएको थियो।

बिबिसी र आरएफआई दुवैले बुधबार तेराको चाटौमानेमा जिहादीले ९० सैनिक र ४० भन्दा बढी सर्वसाधारणको हत्या गरेको जनाएका थिए ।

नाइजरको जुन्टा सरकारले आक्रमण र मृत्युका समाचारलाई ‘आधारहीन दाबी’ भन्दै खण्डन गरेको छ । एएफपीले स्वतन्त्र स्थानीय स्रोतबाट ती सङ्ख्यापुष्टि गर्न नसके पनि पश्चिमी सुरक्षा स्रोतले एएफपीलाई मङ्गलबारको आक्रमणमा ९० देखि १०० जनाको मृत्यु भएको जनाएको छ । 

काठमाडौँ–टीकापुर उडान सुरू

टीकापुर । २७ वर्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ । आइतबार तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित छ कर्मचारी र १२ यात्रु बोकेको विमान दिउँसो १ः४४ बजे टीकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा नियमित हवाई उडान सुरू भएको हो ।

यसअघि  विसं २०४१ असोज २५ गतेदेखि सञ्चालनमा आएको विमानस्थल सशस्त्र द्वन्द्व सुरु भएसँगै २०५३ साल माघदेखि बन्द अवस्थामा रहेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र  भुलले जानकारी दिए ।

पहिलो उडानमार्फत टीकापुर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीलगायतलाई टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा, उद्योग वाणिज्य सङ्घ टीकापुरका उपाध्यक्ष कृष्ण बजगाइँलगायतले स्वागत गरेका थिए । विमान अवतरणका क्रममा सयौँको सङ्ख्यामा उपस्थित स्थानीयले भव्य स्वागत गरेका थिए ।

त्यसअवसरमा राज्यमन्त्री चौधरीले टीकापुर विमानस्थलको छिट्टै स्तरोन्नति गरी आगामी दिनमा काठमाडौँ–टीकापुर सिधा हवाई उडान सञ्चालन गरिने बताए । “गत निर्वाचनमा पनि मैले टीकापुर विमानस्थल सञ्चालनको प्रतिबद्धता जनाएको थिएँ, आजदेखि टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ, यसको निरन्तरताका लागि मेरो प्रयास रहनेछ ।”

टीकापुर नगरपालिकाको विशेष पहलमा काठमाडौँदेखि नेपालगञ्जसम्म यति एयरलाइन्समार्फत र नेपालगञ्जबाट ‘कनेक्टिङ फ्लाइट’ मार्फत टीकापुर विमानस्थलसम्म तारा एयरले उडान गर्ने गरी व्यवस्थापन गरिएको टीकापुरका नगरप्रमुख डगौरा थारूले जानकारी दिए ।

विमानस्थलमा प्रत्येक साता आइतबार र बिहीबार काठमाडौँ–नेपालगञ्ज–टीकापुर र टीकापुर–नेपालगञ्ज–काठमाडौँ उडान हुनेछ । टीकापुर नगरपालिका र तारा एयरबीच प्रत्येक उडानमा न्यूनतम १५ सिटको रकम सुनिश्चित गर्ने गरी सम्झौता भएको नगरप्रमुख डगौरा थारूले जानकारी दिए । “यति एयरलाइन्सले काठमाडौँ–नेपालगञ्ज र त्यहाँबाट कनेक्टिङ फ्लाइटमार्फत तारा एयरले नेपालगञ्ज–टीकापुर उडान भर्नेछ । यसका लागि एकमुष्ट काठमाडौँ–टीकापुरको एकतर्फी भाडा रू नौ हजार निर्धारण गरिएको छ”, उनले भने ।

उनले लामो प्रयासपछि विमानस्थल सञ्चालन सम्भव भएको उल्लेख गर्दै यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डे, पर्यटन राज्यमन्त्री चौधरी, नेपाल नागरिक उड्डयन प्राधिकरण, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरोकारवाला, उद्योग वाणिज्य सङ्घ टीकापुर, व्यावसायी तथा सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीलगायतलाई विशेष भूमिका निर्वाह गरेकामा धन्यवाद व्यक्त गरे ।

उक्त उडानको टिकट बिक्रीका लागि आधिकारिक बिक्रेतामा पथिल होलिडेजलाई नियुक्त गरिएको छ । टीकापुरस्थित सिद्धार्थ होटल र काठमाडौँको तीनकुनेमा रहेको पथिल होलिडेजबाट पनि टिकट काट्न मिल्ने गरी व्यवस्था गरिएको छ । साथै यात्रुहरूले यति एयरलाइन्सको एप, विभिन्न ट्राभल एजेन्सी, खल्ती, इसेवालगायतका माध्यमबाट टिकट खरिद गर्न पनि सक्नेछन् ।

विमानस्थल सञ्चालनमा आएपछि धनगढी र नेपालगञ्ज विमानस्थल धाइरहेका टीकापुर नगरपालिका आसपासका कैलाली, सुर्खेत र बर्दियाका स्थानीयलाई सहज हुने अपेक्षा गरिएको छ । टीकापुर विमानस्थलमा हाल धावनमार्गमा ग्राभेल गरिएको छ ।

सिद्धार्थ बिजनेस ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले विमानस्थल सञ्चालनमा आएपछि टीकापुरलाई पर्यटकीय सहरका रूपमा विकास गर्न थप सहज हुनेमा विश्वास व्यक्त गरे ।

तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार काठमाडौँबाट विहान १० बजे यति एयरलाइन्सको विमान नेपालगञ्जका लागि उडान भर्नेछ भने त्यहाँबाट दिउँसो १२ः३० बजे तारा एयरले यात्रु लिएर टीकापुर पुग्नेछ । सोही दिन दिउँसो १ः२० बजे तारा एयरको विमान नेपालगञ्जका लागि प्रस्थान गर्नेछ भने दिउँसो २ः०५ बजे यति एयरलाइन्सको विमानले यात्रु लिएर काठमाडौँ आउने तालिका छ ।

त्यसैगरी काठमाडौँदेखि अछामको साँफेबगरस्थित विमानस्थलमा उडानका लागि पनि साँफेबगर नगरपालिका र तारा एयरबीच सहमति भइसकेको छ । यद्यपि साँफेबगरस्थित विमानस्थलमा परीक्षण उडानपछि मात्रै नियमित उडान हुनेछ । साँफेबगर नगरपालिकाले पनि तारा एयरसँग न्यूनतम १५ सिटका लागि सुनिश्चित गर्ने सम्झौता गरिसकेको छ अर्थात् न्यूनतम १५ सिट नभएमा नगरपालिकाले सो बराबरको रकम उपलब्ध गराउनेछ ।

भालुले बाख्रा मार्न थालेपछि किसान चिन्तित

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित खुमखानीमा भालुले बाख्रा खान थालेपछि किसान चिन्तित भएका छन्। राति बाख्रा खोरमा पसेर बाख्रा मारिदिने र खाइदिने गरेको किसानले बताएका छन्। त्यहाँ अहिलेसम्म पाँच घरका २१ बाख्रा मारिदिएको स्थानीयले बताएका छन्।

स्थानीय निर्मला थापाका सातवटा, थम्मन विकका पाँचवटा, विकास घर्तीका पाँच र पोकबहादुर थापाका चारवटा बाख्रा मारिदिएको छ। भालुले बाख्रा खोर भत्काउन थालेपछि खाना खाने कोठामा बाख्रालाई राख्ने गरिएको स्थानीय पोकबहादुर थापाले बताए।

‘हामीले पालेका बाख्रा भालुले खोरमा गएर मारिदिने गरेको छ’, उनले भने, ‘अहिले त हामीले खाना बनाउने कोठामा बाख्रा राख्ने गरेका छौँ।’ खुमखानी सोही वडाको विकट क्षेत्र हो। त्यहाँ प्रहरी पोष्ट नहुँदा पनि यसरी असुरक्षित हुनु परेको उनको भनाइ छ।

विगत एक महिनायता भालुले यसरी सताउने गरेको हो। अहिले बाख्रालाई मार्ने गरेको भए पनि मानिसलाई पनि क्षति हुनसक्ने भन्दै यसमा सचेत हुनुपर्ने स्थानीय अगुवा जीतबहादुर थापाले बताए।

सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई दियो १५४ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १५३ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि आरिफ शेखले अविजित ४२ र दीपेन्द्र सिंह ऐरीले २० रन बनाए । ब्राण्डन म्याकमुलनले २३ रन बनाए । विनोद भण्डारीले १४ र हर्मित सिंहले १३ रन बनाए ।

तनहुँ जलविद्युत् आयोजनाको एक हजार चार सय ९३ मिटर लामो सुरूङ निर्माण

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक) बाट सुरू भई पेनस्टक पाइप रहने स्थानसम्मको एक हजार चार सय ९३ मिटर लामो सुरूङ ‘ब्रेक थ्रो (छिचोलेको) छ । मुख्य सुरूङबाट गएको पानीलाई दुई सय १३ मिटर लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युतगृहमा खसाली विद्युत् उत्पादनका लागि कङ्क्रिट लाइननिङ कार्य भइरहेको छ ।

उक्त कार्यका लागि पेनस्टक पाइप जडानकार्य अन्तिम चरणमा पुगेको आयोजनाका सञ्चारविज्ञ सचिन गौतमले जानकारी दिए । आयोजनाको सुरूङ, विद्युतगृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत प्याकेज–२ को निर्माणकार्य सिनो हाइड्रो कर्पोरेसन चीनले गरिरहेको छ ।

विद्युतगृहका सिभिल संरचना निर्माणकार्य पनि अन्तिम चरणमा रहेको आयोजनाले जनाएको छ । स्वीजयार्ड निर्माण, विद्युतगृहमा रहने उपकरण जडानलगायतका कार्य भइरहेका छन् ।

टेलरेस निर्माण सम्पन्न भएको छ । यस प्याकेजको समग्र भौतिक प्रगति करिब ६२ प्रतिशत छ । प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी इन्टरनेशनल लिमिटेड, भारतले गरिरहेको छ ।

सञ्चारविज्ञ गौतमका अनुसार ३४ दशमलव ७ किमी प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ७८ वटा टावरको जग हालिएको छ भने ६९ वटा टावर खडा गरिएको छ । उक्त प्याकेजको समग्र निर्माण प्रगति ७४ प्रतिशत रहेको छ । एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँस्थित सेती नदीमा निर्माणाधीन एक सय ४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको निर्माणकार्यले गति लिइरहेको छ ।

मुख्य संरचनालाई तीन प्याकेजमा विभाजन गरी निर्माणाधीन आयोजनाको समग्र प्रगति ६३ प्रतिशत रहेको छ ।

समग्र निर्माण २०८३ असारभित्र (सन् २०२६ मे) सक्ने लक्ष्य राखिएको आयोजनाका म्यानेजिङ डाइरेक्टर किरणकुमार श्रेष्ठले बताए । उनका अनुसार ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ को सिमाना भएर बग्ने सेती नदीमा १४० मिटर उचाइको मुख्य बाँध निर्माण गर्न लागिएको छ ।

प्याकेज–१ अन्तर्गत मुख्य बाँधको तल्लो तह क्षेत्रमा ग्राउटिङ भइरहेको छ”, उनले भने, “क्रसर तथा चिस्यान प्लान्ट स्थापना गरी तयारी अवस्थामा राखिएको छ ।”

मुख्य बाँध निर्माण छिट्टै सुरू गर्न लागिएको छ । प्याकेज–१ को निर्माण प्रगति करिब ३६ प्रतिशत छ । प्याकेज–१ को निर्माण सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल, जेभीले गरिरहेको छ ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ ।

यसका लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोेर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

ट्रम्पको गुप्तचर सल्लाहकार समितिमा डेभिन नुन्स नियुक्त

वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसलका प्रमुख कार्यकारी अधिकृत डेभिन नुन्सलाई राष्ट्रपतिको गुप्तचर निकायको सल्लाहकार समितिको अध्यक्षमा नियुक्त गरेका छन् ।

हाउस इन्टेलिजेन्स कमिटीको पूर्व अध्यक्षको रूपमा नुन्सको अनुभव र सन् २०१६ को अमेरिकी चुनावमा रूसी हस्तक्षेपको पर्दाफास गर्न उनको महत्वपूर्ण भूमिकाको लागि समितिको प्रमुखका लागि योग्य रहेको ट्रम्पले बताए ।

ट्रुथ सोसल प्लेटफर्ममा पोस्ट शेयर गर्दै अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पले लेखेका छन्, ‘म ट्रुथ सोसलका कार्यकारी प्रमुख नुन्सलाई राष्ट्रपतिको ‘इन्टेलिजेन्स एडभाइजरी बोर्ड’को अध्यक्षमा नियुक्त गर्ने कुरा घोषणा गर्न पाउँदा खुसी छु । यस समितिमा सङ्घीय सरकार बाहिरका प्रतिष्ठित नागरिकहरू समावेश छन् ।’

पोस्टमा भनिएको छ, ‘ट्रम्पको सञ्चार तथा प्रविधि समूहको नेतृत्व जारी राख्दै नुन्सले ‘हाउस इन्टेलिजेन्स कमिटी’का पूर्व अध्यक्षको रूपमा आफ्नो अनुभव र रूसी षड्यन्त्रबारे लागेका आरोपको पर्दाफास गर्न उहाँको महत्वपूर्ण भूमिकाको आधारमा मलाई अमेरिकी गुप्तचर समुदायको गतिविधिको प्रभावकारिता र औचित्यको स्वतन्त्र मूल्याङ्कन प्रदान गर्नुहुनेछ । नुन्सलाई बधाई छ।’

मनकामना केबलकारको सेवा दुई दिन बन्द हुने

चितवन ।  गाेरखाकाे मनकामना केबलकारको सेवा दुई दिन बन्द हुने भएको छ। मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले मर्मत सम्भारका लागि पुस १ र २ गते सेवा बन्द गरिने जानकारी दिए।

टावरको मर्मत सम्भारका लागि दुई दिन केबलकार सेवा बन्द गर्न लागिएको उनकाे भनाइ छ। आगामी पुस ३ गते बुधबारदेखि भने केबलकार सेवा नियमित सञ्चालन गरिने नायब प्रबन्धक शेरचनले बताए। सो अवधिभर ‘वटम स्टेशन’स्थित रेष्टुरेन्ट सेवा भने यथावत् रूपमा सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहज बनाउने उद्देश्यले नेपालमा पहिलो पटक विसं २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो।

केबलकारको प्रवेशद्वार वटम स्टेशन चितवनको इच्छकामना गाउँपालिका-४ चेरेसमा पर्छ।

जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सिङ्गो पार्टी परिचालित हुनुपर्छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनका लागि सक्रियताका साथ एकढिक्का भई अघि बढ्न समग्र पार्टी पङ्तिलाई आग्रह गरेका छन् ।

एमाले पार्टीको केन्द्रीय सङ्गठन विभागद्वारा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुईदिने राष्ट्रिय कार्यशालालाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश र जनताका पक्षमा स्थापना भएको पार्टीका नेता तथा कार्यकताका हैसियतले जनताको जीवनस्तर सुधार गर्ने राष्ट्रिय अभियानमा सक्रियताका साथ एकताबद्ध भई लाग्न अनुरोध गरे ।

चिनियाँ कम्युनिष्ट पार्टीको सङ्घर्ष, सफलता र हाल चीनको तीव्र आर्थिक विकासलाई दृष्टान्तका रुपमा प्रस्तुत गर्दै अध्यक्ष ओलीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन पार्टी पङ्ति एक हुनुपर्ने बताए ।

पार्टीभित्र वैचारिक स्पष्टता र एकता कायम गरेर समाजवादको यात्रामा अग्रसर हुनुपर्ने बताउँदै उनले कार्यशालामा सहभागी हरेक सदस्यले यसको सन्देश आम जनमसुदायमा पुर्याउनुपर्नेमा जोड दिए ।

चिनियाँ कम्युनिष्ट पार्टीले केही पनि नभएको ठाउँबाट राज्यसत्तामा पुगेर श्रेष्ठता हासिल गर्दै अहिले चीनलाई आर्थिकरुपमा महाशक्ति राष्ट्र बनाएको उदाहरण प्रस्तुत गर्दै अध्यक्ष ओलीले चीनमा कुनै पनि नेताले पार्टी नेतृत्वको विरोध नगर्ने परिपाटी रहेको स्मरण गराए ।

चीनले अन्य समाजवादी मुलुकको नक्कल नगरी आफ्नै विशेषताको समाजवादको यात्रा थालेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले एमालेले पनि नेपालमा समाजवाद स्थापनाको लक्ष्यमा आफूलाई अग्रसर गराउँदै आएको बताए ।

‘हाम्रो पार्टी केवल राजनीति गर्न जन्मेको होइन । समाजवाद र राष्ट्रवादको उद्देश्य बोकेर देश बनाउन र सकारात्मक परिवर्तन ल्याउन जन्मेको पार्टी हो । यसले सामाजिक परिस्थितिलाई उच्चतम रुप दिन सुरुवातदेखि नै लाग्दै आएको छ’, अध्यक्ष ओलीले भने, ‘जनताले सजिलोसँग खान, लाउन, बस्न पाउने तथा छोराछोरी पढाउन पाउने, बिरामी हुँदा उपचार गर्न पनउने आधारभूत आवश्यकताको परिपूर्ति तथा राजनीतिक अधिकार पाउनुपर्ने भन्ने उद्देश्यले कम्युनिष्ट पार्टीको स्थापना भएको हो । राजनीतिक अधिकार प्राप्त भएको छ, अब स्थिरता र स्थायित्व कायम गरेर आर्थिक उत्पादन र समृद्धितर्फ लाग्नुपर्नेछ ।’

इतिहासकालदेखि पार्टीमा वैचारिक स्पष्टता र एकता हुन नसक्दा वाञ्छित उपलब्धि हासिल हुन नसकेको बताउँदै उनले पार्टीभित्र बिमति जनाउने तर सही बाटो के हो भनेर पहिल्याउन नसक्ने प्रवृत्ति देखापर्दै आएकाले अब त्यसबाट मुक्त हुनुपर्ने धाराणा व्यक्त गरे ।

प्रतिक्रियावादीले कम्युनिष्ट पार्टीलाई विभाजन गराएर राज गर्ने नीति लिए पनि संस्थापक नेता पुष्पलालले पार्टी एकताको प्रयास गरेको स्मरण गर्दै अध्यक्ष ओलीले आफूलाई जे लाग्यो त्यही सही भन्ने प्रवृत्तिबाट मुक्त भई सही कुरा अपनाएर देश र जनताको हितमा काम गर्न सबैसँग अनुरोध गरे ।

शनिबार सुरु भएको कार्यशालामा एमालेका सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्ष, सचिव, सङ्गठन विभागका प्रमुख, प्रदेश कमिटीबाट थप दुई महिला, जनसङ्गठनका केन्द्रीय अध्यक्ष तथा महासचिव र महानगर/उपमहानगर पालिकामा एमालेबाट निर्वाचित प्रमुख/उपप्रमुहरूको सहभागिता रहेको छ ।

संविधान संशोधन सबैदलको सहमतिमा हुन्छ : गृहमन्त्री लेखक

चितवन । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन सबै दलहरूको सहमतिमा हुने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले संविधान संशोधन सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था र समावेशीतालाई बलियो बनाउनका लागि गर्न लागिएको बताए ।

उनले भने, ‘संविधान संशोधनको विषयमा प्रारम्भिक छलफल सुरू भएको छ । संशोधन दुईवटा दलले मात्रै गर्ने होइन ।’ 

संविधानको अभ्यासको विषयमा समीक्षा, संविधानको अभ्यास गर्ने क्रममा देखिएका सबल पक्ष र दुर्वल पक्षलाई हेरेर सबै राजनीतिक पक्षसँग वार्ता छलफल गरेर सबैको सहमतिका साथ संविधान संशोधन गर्ने उनले बताए ।

उनले भने,’संविधान संशोधनका लागि कसै न कसैले त पहल गर्नुपर्यो । प्रारम्भिक छलफल भएको छ । सबै दललाई समेटेर संविधान संशोधन गर्छौँ ।’

सरकारको स्थायित्वनै कमजोर भएको अवस्थामा स्थिर सरकार गठन, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक गतिविधिलाई अघि बढाउने, मुलुकको अर्थतन्त्र लयमा ल्याउन, विकास निर्माणलाई गति दिन नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनेको मन्त्री लेखकले बताए ।

यो सरकार परिवर्तन हुने कुनै सम्भावना नभएको भन्दै उनले भने, ‘कांग्रेस र एमालेबीचमा सहमति भएको छ, २०८४ सालसम्म त्यही सहमतिअनुसार हामी अघि बढ्छौँ ।’ दुई दलबीचमा कुनै समस्या नरहेको उनको भनाइ छ । सरकार परिवर्तन हुने भन्ने हल्ला हल्ला मात्रै भएको उनले स्पष्ट पारे । राष्ट्रिय आवश्यकता र महत्त्वका मुद्दा सम्बोधन गर्न संसद्का ठूला दल मिलेको उनले बताए ।

फरक प्रसङ्गमा बोल्दै उनले अहिलेको सरकार सबै जनताको मानव अधिकार रक्षाका लागि सचेत रहेको बताए । मन्त्री लेखकले भने, ‘प्रत्येक नागरिकको मानव अधिकारको रक्षाप्रति सरकार सचेत छ । चाहे थुनामा रहेको होस्, चाहे हिरासतमा रहेको होस् । सबै नागरिकप्रति मानव अधिकारका विषयमा हामी सचेत छौँ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रति सरकारको कुनै प्रतिशोध नरहेको भन्दै उनले संसदीय छानबिन समितिले गरेको निर्णय कार्यान्वयनका सरकारले काम गरेको बताए ।

कानुनी रूपमा अनुसन्धान सुरू गरिएको उल्लेख गर्दै उनले कानुन अनुसार भइरहेको अनुसन्धानमा प्रश्न उठाउनु अनुसन्धानलाई प्रभावित गर्नु गलत भएको बताए ।

सहकारीको रकम अपचलन गर्ने सबैमाथि अनुसन्धान हुने भन्दै उनले व्यक्ति विशेषलाई अनुसन्धान गर्ने र कसैलाई छुट दिने कुरा नहुने बताए । अपराध गर्ने मानिस सबैमाथि अनुसन्धान हुने उनको भनाइ थियो ।

अमेरिकाको दक्षिण कोरियासँगको गठबन्धन क्षेत्रीय शान्तिका लागि ‘महत्वपूर्ण’: बाइडेन

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रधानमन्त्री हान डक सोसँग शनिबार भएको टेलिफोन वार्तामा दक्षिण कोरियासँगको अमेरिकी सम्बन्ध मजबुत रहेको र यो क्षेत्रीय शान्तिका लागि महत्वपूर्ण रहेको बताएका छन् ।

दक्षिण कोरियाली नेता युन सुक योलविरूद्ध महाभियोग लगाई पदच्युत गरिएपछि कार्यवाहक राष्ट्रपति बनेका प्रधानमन्त्री हानसँग समसामयिक बिषयमा भएको कुराकानीका क्रममा उनले दक्षिण कोरिया र अमेरिकाबीच सम्बन्ध मजबुत रहेको र यो आगामी दिनमा अझ प्रगाढ रहने बताए ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति बाइडनले कार्यवाहक राष्ट्रपति हानको कार्यकालमा हिन्द–प्रशान्त क्षेत्रमा शान्ति र समृद्धिका लागि गठबन्धन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।’

राष्ट्रपति बाइडेनले गणतन्त्र कोरियामा लोकतन्त्र र विधिको शासनको लचिलोपनको लागि आफ्नो प्रशंसा व्यक्त गरे र गणतन्त्र कोरियाका जनताप्रति संयुक्त राज्य अमेरिकाको कसिलो सहयोगको प्रतिबद्धतालाई दोहार्याए ।

दक्षिण कोरियाका सांसदहरूले शनिबार युनमाथि महाभियोग लगाउने पक्षमा मतदान गरेका थिए । महाभयोग प्रस्ताव पारित भएपछि पदच्युत भएका पिपुल्स पावर पार्टी (पिपिपी) नेता युनको ‘मार्शल ल’ लागु गर्ने निर्णय (यद्यपि, यो निर्णय केही घण्टामा नै फिर्ता लिइएको थियो) ले दशकौँ यताकै सबैभन्दा खराब राजनीतिक उथलपुथलमा फसेको थियो।

एक संवैधानिक अदालतले युनलाई स्थायी रूपमा पदबाट हटाउने कि नहटाउने भन्ने विषयमा छलफल गरिरहेका बेला टेक्नोक्रेट हानले अन्तरिम नेताको रूपमा सत्ताको वागडोर सम्हाल्नेछन् ।

अदालतलाई युनको भविष्यबारे फैसला गर्न १८० दिनको समय दिइएको छ । यदि उनलाई पदबाट हटाइयो भने युन दक्षिण कोरियाको इतिहासमा सफलतापूर्वक महाभियोग लगाइने दोस्रो राष्ट्रपति बन्नेछन् ।

पुसमा दुई स्वदेशी चलचित्र प्रदर्शन हुने

काठमाडौँ । गत दसैँदेखि मङ्सिरसम्म नेपाली चलचित्र प्रदर्शनमा भिडभाड देखिए पनि चिसो बढेसँगै कमी आएको छ । विदेशी चलचित्रको प्रभाव, चिसो अत्यधिक भएकाले पुसमा कम नेपाली चलचित्र प्रदर्शन हुने गर्दछन् । 

यसपटक पुस ५ गते ‘बम बहादुर’ र २६ गते ‘कार्साङ’ प्रदर्शन हुने घोषणा गरिएको छ । गतवर्ष विसं २०८० को पुसमा एक मात्र नेपाली चलचित्र प्रदर्शन हुँदा यसपटक दुई भएको छ । यसअघि सातामा दुईदेखि तीन चलचित्रसम्म प्रदर्शन गर्ने निर्माताले पुसलाई खासै रोजाइमा पारेका देखिँदैनन् । 

आगामी पुस ५ मा प्रदर्शन तय गरिएको चलचित्र ‘बम बहादुर’ मा भारतको दार्जिलिङ र पहाड तथा आसपास क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षको विषयलाई समेटिएको निर्देशक जोन राईले जानकारी दिए ।

उनकाअनुसार सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्याण्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह–अवरोहलाई चलचित्रमार्फत पर्दामा प्रस्तुत गरिएको छ । 

‘चलचित्रको विशेष प्रदर्शनी र सार्वजनिक गरिएका प्रचार सामग्रीले हामीलाई उत्साहित बनाएको छ । चलचित्रको मुख्य पात्र बम बहादुरको सङ्घर्षमय जीवनको कथा हो । कथावस्तुसँगै संवाद आकर्षक, मार्मिक र जीवन्त रहेको प्रतिक्रिया पाएका छौँ । सोही कारण हाम्रो चलचित्रको प्रचार दर्शकले गर्नेमा विश्वस्त छौँ’, निर्देशक राईले भने ।

चलचित्रमा अभिनेता सौगात मल्ल, अभिनेत्री निशा रसाइली, अजय प्रधान, शान्तिला तामाङ, बाल कलाकार वशिस्ट कार्की, प्रभात पाख्रिन, बादल क्षेत्रीलगायतले अभिनय गरेका छन् । 

यस्तै, माघे सङ्क्रान्तिलाई लक्षित गर्दै पुस २६ मा प्रदर्शन तय गरिएको चलचित्र ‘कार्साङ’ शेर्पा समुदायको कथामा आधारित रहेको निर्देशक यम शेर्पाले जानकारी दिए ।

उनले भने, ‘चलचित्रमा निकै कम स्थान पाएको शेर्पा समुदायको संस्कृति र कथालाई देखाउने कोसिस गरेका छौँ । यसको कथा गाउँले जीवन र परिवेशका भए पनि हामीले देखिरहेका भन्दा भिन्न छ, सोही कारण यसमा दर्शकले नयाँ स्वाद पाउनुहुनेछ ।’

निर्देशक शेर्पा दर्शकलाई चलचित्र मन पर्नेमा विश्वस्त हुनुहुन्छ । चलचित्रमा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, वुद्धि तामाङलगायत कलाकारले अभिनय गरेका छन् । 

पुस जाडोको समय भएकाले विगतदेखि नेपाली चलचित्र प्रदर्शनका लागि रोजाइमा नपर्ने गरेको चलचित्र वितरणमा सक्रिय करण श्रेष्ठले बताए ।

‘पुसमा ठूला विदेशी चलचित्र प्रदर्शन हुने गरेका छन् । नेपालमा जाडोको समयमा चलचित्र भवनसम्म दर्शक कम पुग्छन् भन्ने मान्यता छ, सोही कारण निर्माताले चलचित्र प्रदर्शनका लागि यो महिना रोजेको पाइँदैन’, उनले भने, “विदेशी चलचित्रले भने यो समयमा बढी व्यापार गरिरहेका हुन्छन् ।’

दक्षिण कोरियाली कार्यवाहक राष्ट्रपतिविरुद्ध महाभियोग नलगाइने

सियोल । दक्षिण कोरियाली प्रतिपक्षी दलले कार्यवाहक राष्ट्रपति हान डक सोविरुद्ध महाभियोग प्रस्तावमाथि तत्कालका लागि विचार नगर्ने बताएका छन्।

दक्षिण कोरियाको प्रमुख प्रतिपक्षी दलका नेता तथा डेमोक्र्याटिक पार्टीका ली जे–म्युङले आइतबार आयोजित पत्रकार सम्मेलनमा आफ्नो पार्टीले देशको कार्यवाहक राष्ट्रपति हान डक सोविरुद्ध महाभियोग प्रस्ताव लगाउने तत्कालका लागि कुनै सोच नभएको बताए ।

लीले शनिबार फोनमार्फत् दिएको जानकारीमा राज्य मामिलालाई तटस्थ रूपमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए ।

राष्ट्रपति युन सुक योललाई शनिबार राष्ट्रिय सभाले महाभियोग लगाउने पक्षमा मतदान गरेपछि उनलाई राष्ट्रपतिको जिम्मेवारीबाट निलम्बित गरिएको छ ।

राष्ट्रपतिविरूद्धको महाभियोग प्रस्ताव संसदबाट पारित भएसँगै सोलको सडकमा शनिबार युनको पक्ष र विपक्षमा हजारौंको सङ्ख्यामा र्याली निकालिएको थियो । मतदानपछि टेलिभिजनमा सम्बोधन गर्दै महाभियोग लागेका युनले आफू ‘पदबाट हट्ने’ तर सैनिक शासन लागू गर्ने असफल प्रयासका लागि माफी नमागेको बताए ।

कूल ३०० संसद् सदस्य रहेको कोरियाली संसद्मा २०४ सांसदले विद्रोहको आरोपमा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने पक्षमा मतदान गरेका छन् भने ८५ जनाले विपक्षमा मतदान गरेका छन् ।

काठमाडौंद्वारा विराटनगर किंग्स एक विकेटले पराजित

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा काठमाडौँ गुर्खाजले विराटनगर किङ्ग्सलाई एक विकेटले हराएको छ । 


त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विराटनगरले दिएको एक सय १८ रनको लक्ष्य काठमाडौँले १८ दशमलव एक ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो । 


काठमाडौँका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन बनाए । उनले ३४ बलमा दुई छक्का र दुई चौकाको मद्दतले ३९ रन बनाएका हुन् । शङ्कर रानाले अविजित रहँदै १६, रासिद खानले १४, गेर्हार्ड इरास्मसले १२, दिपेश कँडेलले अविजित ११ र माइकल लेविट १० रनको योगदान दिए । 


यस्तै, काठमाडौँको लागि शाहब आलमले दुई रन जोड्दा स्टीफन एस्किनाजी, भीम सार्की र डेन डउथवेटले समान एक/एक रन बनाए । काठमाडौँले अतिरिक्त १३ रन प्राप्त गर्यो । 


बलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट हात पारे । यस्तै, क्रिस सोल, बसिर अहमद र अनिल खरेलले समान दुई/दुई विकेट हात पारे । 


त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर एक सय १७ रन बनाएको थियो । विराटनगरको लागि राजेश पुलामीले सर्वाधिक २५ रन बनाए । उनले २१ बलमा एक छक्का र एक चौकाप्रहार गर्दै २५ रन बनाएका हुन् । यस्तै, दिपक बोहराले २०, स्कट एडवर्ड्सले १५, बसिर अहमदले १३ र निकोलस किर्टनले १२ रन जोडे । 


विराटनगरका लागि लोकेश बमले ८, सुवास भण्डारीले ६, इस्मत आलमले ५ र क्रिस सोलले एक रनको योगदान दिए । विराटनगरले अतिरिक्त १२ रन प्राप्त गर्‍यो । 


बलिङतर्फ काठमाडौँको लागि गेर्हार्ड इरास्मसले सर्वाधिक ३ विकेट हात पारे । यस्तै, दिपेश कँडेलले २ विकेट लिँदा कप्तान करण केसी, शाहब आलम र डेन डउथवेटले एक/एक विकेट लिएका थिए ।