`

‘जनयुद्ध’ शब्द प्रयोगमा प्रतिबन्ध लगाएकोप्रति माओवादीको आपत्ति

काठमाडौं । सर्वोच्च अदालतले ‘जनयुद्ध’ शब्द प्रयोगमा प्रतिबन्ध लगाएकोप्रति माओवादी नेताहरुले आपत्ति जनाएका छन् ।

सर्वोच्च अदलालतको संवैधानिक इजलासले गत मंसिर २६ गते गरेको निर्णयलाई बिहीबार प्रमाणीकरण गरेसँगै सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग गर्न नपाइने भएको हो ।

फैसलामा अब जनयुद्ध शब्द प्रयोग नगर्न भनिएको छ । त्यसप्रति माओवादी नेताहरुले आपत्ति जनाएका छन् । माओवादी उपमहासचिव जनार्दन शर्माले प्रतिबन्ध त लोकतन्त्रको उपहास भएको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्, ‘तिमी प्रतिबन्ध भएको सुनें, हुनसक्छ तिमीलाई सामाजिक न्यायको प्रवक्ता बुझेर चिसो छिँडीमा सडाउन चाहन्छन्। धारालाई तिम्रो प्रतिकुल बनाउनमा आफ्नै आत्मबलको कमी भएको महशुस गरेको छु । तर युगको माग, युवाको दिमाग र प्रविधिको विकाससँगै जनआकाङ्क्षा पूरा गर्न नयाँ स्वरुपमा नयाँ पहिचान बोकेर, पुरानो नाल होइन वेभ बनेर फेरि आउनेछौ। देशको आवश्यकता पूरा गर्ने लक्ष्य बोकेर बाँकी अभिभारा पूरा गर्ने सङ्कल्पसहित नयाँ पुस्ताको चाहना अनुसार एआई मा सवार हुनेछौ । प्रतिबन्ध त लोकतन्त्रको उपहास हो। जनयुद्ध तिमी प्रतिबन्धित भएछौ।’

माओवादीका अर्का नेता शक्ति बस्नेतले पनि जनताको अन्तरहृदयलाई स्पर्श गरेका र जनताले दृढतापूर्वक आत्मसाथ गरेका विषयहरुको वैधता र औचित्य समयक्रमसँगै थप पुष्टि हुँदै जाने बताएका छन् ।

उनले भनेका छन्, ‘एक प्रसिद्ध उखान छ कि ’यदि रेखागणितका स्वयंसिद्ध तथ्यहरुले मानिसको स्वार्थमाथि प्रभाव पार्ने भए तिनीहरुको पनि अवश्य खण्डन गरिन्थ्यो होला ।’ युगीन महत्व बोकेका राजनीतिक, सामाजिक क्रान्तिको सन्दर्भहरुमा पनि मतैक्यता नहुनु आश्चर्यको विषय होइन । यति कुरा भने ढुक्कसँग भन्न सकिन्छ, जनताको अन्तरहृदयलाई स्पर्श गरेका र जनताले दृढतापूर्वक आत्मसाथ गरेका विषयहरुको वैधता र औचित्य समयक्रमसँगै थप पुष्टि हुँदै जानेछ । जनता सार्वभौम छन्।’

सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको इजलासले आर्थिक २०८१–८२ को बजेट वक्तव्यको बुँदा नं. २, विनियोजन ऐन २०८१ मा र मधेश प्रदेशको बजेटमा प्रयोग भएको ‘जनयुद्ध’ शब्द हाललाई प्रयोग नगर्न आदेश दिएको थियो । ‘जनयुद्ध’ शब्द संविधानको प्रस्तावना र धारा ४२(५) प्रतिकूल भएको सर्वोच्चले ठहर गरेको छ।

त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणका लागि फेरि बोलपत्र आह्वान

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणका लागि फेरि बोलपत्र आह्वान गरिएको छ ।

शहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले अन्तर्राष्ट्रिय स्तरको प्यारापिट र फ्लडलाइटका लागि शुक्रबार बोलपत्र आह्वान गरेको हो ।

यसअघि फ्लडलाइट जडानका लागि आह्वान गरिएका बोलपत्र दुई पटक रद्द भएको थियो । बोलपत्र पेश गर्ने म्याद आगामी माघ ६ गतेसम्म तोकिएको छ ।

सोही दिन दिउँसो साढे १ बजे बोलपत्र खोलिने सूचनामा उल्लेख छ । आर्थिक वर्ष २०८१/८२ को बजेटमा त्रिवि मैदानमा फ्लडलाइट जडानका लागि २० करोड रुपैयाँ विनियोजन भएको छ ।

शैक्षिक गुणस्तर सुधारका लागि तातोपानीमा पढाइ मेला

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र बालबालिकाको सिकाइ विकासका लागि पालिका स्तरीयमा शैक्षिक सामग्री प्रदर्शनी तथा पढाइ मेला आयोजना गरेको छ ।

बालबालिकाको सीप र क्षमताको प्रदर्शनलाई प्रोत्साहन गर्न उद्देश्यले बिहीबारदेखि पढाइ मेला सुरु भएको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिए। गाउँपालिकाभित्रका २९ सामुदायिक विद्यालयमध्ये २० विद्यालय सहभागी भएका उक्त मेला बालबालिकाको नियमित पठनपाठन सुधार, पठन सीप विकास र सिर्जनात्मक क्षमताको पहिचान गर्न केन्द्रित रहेको छ ।

शैक्षिक सामग्री निर्माण, यसको प्रयोग प्रभावका विषयमा विद्यालयले प्रदर्शन गरेका छन् । गाउँपालिका अध्यक्ष चौलागाईंले भने, ‘विद्यालयले बालबालिकाद्वारा निर्मित विभिन्न शिक्षण सामग्री राखेका स्टल प्रदर्शनीमा राखेका छन् । ‘

सहभागी विद्यालयको शैक्षिक सामग्री निर्माण, बालबालिकाको प्रस्तुति शैली, र सामग्रीको प्रभावकारिता मूल्याङ्कनका आधारमा चार उत्कृष्ट विद्यालय छानिएको गाउँपालिका अध्यक्ष चौलागाईंको भनाइ छ ।

छनोट भएका विद्यालयमध्ये कालिका आधारभूत विद्यालय, लिताकोट प्रथम, सुन्दरमणि आधारभूत विद्यालय दोस्रो, कालिका आधारभूत विद्यालय, हियाखोला र कालिका मावि, टोप्ला तेस्रो र हिमाली आधारभूत विद्यालय, बाबिरा चौथो भएको गाउँपालिका शिक्षा शाखा प्रमुख सुरत शाहीले जानकारी दिए।

शैक्षिक गुणस्तर सुधार गर्न शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको गाउँपालिका उपाध्यक्ष रेवती रावलको भनाइ छ ।

स्थानीय स्रोतमाथि आधारित शैक्षिक प्रयासले बालबालिकाको सिर्जनशीलता र व्यवहारिक सीपलाई विशेष प्राथमिकतामा राखेर पढाइ मेला सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए।

भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान ’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी

भक्तपुर । भक्तपुर अस्पतालले ‘सिटी स्क्यान’ मेसिन सञ्चालनमा ल्याउने भएको छ ।  यसका लागि बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयले रु आठ करोडमा ‘सिटी स्क्यान’ मेसिन खरिद गरेको थियो । अस्पतालले नयाँ भवन निर्माण गरेर यही पुस महिनादेखि सो उपकरण सञ्चालनमा ल्याउने तयारी समेत गरेको छ  ।

अस्पतालकी कार्यकारी निर्देशक डा सुमित्रा गौतमले भवन निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिँदै अस्पताल स्थापना भएको एक सय २० वर्षपछि यही पुस महिनादेखि ‘सिटी स्क्यान’ मेसिन सञ्चालनमा ल्याउन लागेको जानकारी दिइन् ।

उनले भनिन्,“‘सिटी स्क्यान’ उपकरण सञ्चालनमा ल्याउनकै लागि एकतले भवन निर्माण गरिरहेका छौं”, भवन निर्माण सम्पन्न भएसँगै यसै महिनादेखि उपकरण सञ्चालनमा ल्याउँछौँ, अब यहाँ आउने बिरामीले ‘सिटी स्क्यान’ गर्न अन्य निजी अस्पतालमा महँगो शुल्क तिरेर जानु पर्दैन, यही सहज हुन्छ ।”

यहाँ सञ्चालनमा आउने ‘सिटी स्क्यान’ मेसिन १० वर्षसम्म मर्मतदेखि त्यसका लागि आवश्यक पेपरसमेत कम्पनीले व्यहार्ने सम्झौता भएकाले अब १० वर्षसम्म यो मेसन बिग्रियो भन्दै वा अन्य बाहनामा मेसिन बन्द नहुने उनले बताइन् ।

अस्पतालकी निर्देशक डा गौतमले भनिन्, “‘सिटी स्क्यान’ मेसिन दिने कम्पनीले नै अबको १० वर्षसम्म मेसिन सञ्चालनमा कुनै समस्या नआउने गरी ग्यारेन्टी गरेको छ, मेसिन सञ्चालनका लागि आवश्यक पेपरसमेत १० वर्षसम्मका लागि पुग्ने गरी व्यवस्था गरेको छ, १० वर्षसम्म यो मेसिन सञ्चालनमा अस्पताल ढुक्क भएको छ ।”

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले बागमती प्रदेश सरकारले भक्तपुर अस्पतालमा आठ करोडको लागतमा ‘सिटी स्क्यान’ मेसिन र एक करोड १० लाखको लागतमा ‘मेमोग्राम’ मेसिन सञ्चालनमा ल्याउन लागेको जानकारी दिए ।

उनले भने,“भक्तपुर अस्पतालमा बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले पहिलोपटक ‘सिटी स्क्यान’ मेसिन जडान गर्न मेसिन खरिद गरेको छ । यसै महिना सञ्चालनमा आउँछ । यस अस्पतालका लागि ‘मेमोग्राम’ मेसिन ल्याउन बोलपत्र गरिसकेका छौँ, या मेसिन जडान गरेपछि यहाँका महिलालाई स्तन क्यान्सरको पहिचान एवं स्क्रिनिङ गर्न सजिलो हुन्छ, अन्य अस्पतालमा धाउनुपर्दैन ।” दुवै मेसिन सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति पनि सरकारले व्यवस्थापन गरेको उनले बताए ।

अस्पतालले मिर्गौलाका बिरामीका लागि सहज सेवा दिन १० श्य्याको डायलासिस कक्ष समेत तयार पारेको छ । “अस्पतालको आकस्मिक कक्षसँगै रहेको भवनमा १० श्ययाको डायलासिस कक्ष तयार पारेका छौं, प्रदेश र केन्द्रीय स्वास्थ्य मन्त्रालयले डायलासिस मेसिन दिएलगत्तै हामी यो सेवा पनि सञ्चालन गर्छौं, १० श्ययाको डायलासिस मेसिन सञ्चालनमा ल्यान पाए दैनिक कम्तीमा एक सय बिरामीलाई सेवा दिन सक्छौँ ।”

वामदेव र माधव नेपालबीच पार्टी एकताबारे छलफल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमबीच पार्टी एकताबारे छलफल भएको छ ।

बिहीबार साँझ गौतम निवास भैंसेपाटीमा पार्टी एकताबारे दुई नेताबीच छलफल भएको हो । भेटमा पार्टी एकता प्रक्रिया अघि बढाउने विषयमा छलफल भएको एकीकृत समाजवादीका नेता बलराम बास्कोटाले जानकारी दिए ।

उनले छलफल सकारात्मक रहेको बताए । भेटमा एकीकृत समाजवादीकातर्फबाट अध्यक्ष नेपाल तथा नेता प्रमेश हमाल र बलराम बास्कोटा थिए । त्यस्तै अभियानकातर्फबाट संयोजक गौतम, डिबी कार्कीलगायतका नेता सहभागी थिए । एकीकृत समाजवादीले गौतमलाई पार्टीमा भित्राउने निर्णय गरिसकेको छ ।

जिप दुर्घटनामा परी घान्द्रुकमा एकजनाको मृत्यु

पोखरा । पोखराबाट कास्कीको घान्द्रुक गइरहेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते ४ जनालाई सिम्रिक एयरको हेलिकोप्टरबाट पोखराको मणिपाल शिक्षण अस्पताल ल्याइएको छ ।

पोखराबाट घान्द्रुक जाँदै गरेको ग १ज ६८२१ नम्बरको जिप घान्द्रुकको बतासे डाँडामा दुर्घटना भएको हो । मृतकको पहिचान खुलेको छैन ।

दुर्घटनामा पोखरा बगरकी रिहाना थकाली, मुस्ताङ घर भएकी ज्योति खत्री, बागलुङकी सीमाकुमारी खत्री र नमिता खत्री घाइते भएका ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए ।

मध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–७ नगदेशस्थित गणेश मन्दिर प्राङ्गणमा विभिन्न नवदुर्गा नाचिरहेका छन् । सयौँको सङ्ख्यामा महिलाहरु हातमा पूजाको थाली लिएर नवदुर्गालाई चढाउन लामबद्ध छन् ।

मल्लकालभन्दा अगाडिदेखि तान्त्रिक शक्तिमा चल्ने नवदुर्गा नाच गत आइतबारदेखि मध्यपुरथिमिभित्र विभिन्न टोलमा सञ्चालन भइरहेको छ । आज बालकुमारीबाट नगदेश भित्र्याएर नवदुर्गाको विशेष पूजा एवं द्यो ब्वोकेगु गरियो ।

नगदेशबाट बाजागाजासहित गएको स्थानीयको टोलीले बालकुमारीबाट मलमलको सेतो कपडा बाटोमा ओछ्याएर स्वागत गर्दै नगदेश भित्र्याएपछि नवदुर्गाको भव्य पूजा एवं नवदुर्गा देवगण र नाच प्रदर्शन गरिएको हो ।

नगदेशका ख्वप्रिङ नवदर्गा सङ्कल्प भोजन २०८१ को संयोजन र भक्तपर विकास सहयोग सङ्घको आयोजनामा करिब रु आठ लाखको खर्चमा भगवाण भोजनलगातयका कार्यक्रम आयोजना गरेको हो ।

भक्तपुर, मध्यपुरथिमिदेखि भक्तपुरबाट बसाई सरेर काठमाडौँ, ललितपुर गएर बसेकाहरुले भव्य रुपमा नगदेशमा सञ्चालन गरेको नवदुर्गा नाच एवं द्यो ब्वोकेगु आयोजक भक्तपुर विकास सहयोग सङ्घका अध्यक्ष विजय शङ्कर प्रधानाङ्गले जानकारी दिए ।

करिब  आठ लाख खर्चमा नगदेशमा पहिलो पटक द्यो ब्वोकेगु आयोजना गरेको जानकारी दिँदै उनले नगदेशमा ठूलो लपेसमा ८४ व्यञ्जनका खानेकुरा चढाएर पूजा गरिएको बताए । पूजाका क्रममा दुई वटा बोका र दुईवटा चुच्चे (सुङ्गुर)को बलि दिएर ब्वोकेगु गरिने बताए ।उनले देवगण, नकी, बेताली, बाजा बजाउनेलगायत सबैका लागि शीरदेखि पाउसम्मको जात्रामा देवगणले लगाउने पोशाकसमेत अर्पण गरेको बताए ।

घरघरबाट प्रत्येकले पूजाको सामान ल्याएर मनाइएको या पर्वमा कम्तीमा पनि एक हजार पाँच सयको सहभागिता रहेको उल्लेख गर्दै स्थानीय बिनोद कोजूले नवदुर्गा देवगण आएर नाच प्रदर्शन गर्दा स्थानीयको व्यापार, व्यवसाय, परिवारमा सम्पन्न, आर्थिक उन्नती, स्थानीयमा रोग, भयको नाश हुने, नकारात्मक शक्तिहरु परास्त हुने र सबैमा कल्याण हुने जनविश्वास रहेको बताए ।

नवदुर्गा देवगणमध्येकै कृष्णप्रसाद बनमालाले गत आइतबार मध्यपुरथिमिको दिगुटोलबाट सुरु भएको नवदुर्गा नाच आजसम्म भुलाखेल, बाहखा बजार, चपाचो, बालकुमारीलगायत विभिन्न ठाउँमा प्रदर्शन गरी स्थानीयको पूजा ग्रहण गर्दै आज नगदेशमा आएको बताए ।

देवगणले नवदुर्गा नाच टोलटोलमा प्रदर्शन गरेपनि विशेष पूजाको रुपमा रहेको द्यो ब्वोकेगु पनि नगन्य रुपमा हुने गरेको छ । देवगण वनमालाले आइतबारसम्म मध्यपुरथिमिमा नाच प्रदर्शन गरेर आइतबार माछामार्ने जात्रा सञ्चालन गर्दै साँझ भक्तपर द्यो छे, अर्थात देवता घरमा नवदुर्गा फर्कने बताए ।

नवदुर्गा अन्तर्गत गणेश, कुमारी, सिंह, दुम्भसंगै ब्रम्हायणी, महेश्वरी, कुमारी, वैष्णवी, बाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकालीको पूजा गरिन्छ ।

तस्बिरः रमेश गिरी

महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवद्र्धन एवं लगानी विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बिहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा अध्यक्ष वुवागं कुवान किमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

कोइमा दक्षिण कोरियामा औद्योगिक कच्चा पदार्थ र विशेषगरि त्यहाँ उत्पादन नहुने सामान आयात गरि औद्योगिक वातावरण प्रवद्र्धन र सर्वसाधारणलाई सुलभ रुपमा सामान उपलब्ध गराउन स्थापना भएको संस्था हो ।

आयातलाई नै केन्द्रित गरि स्थापना भएको संस्थासंगको सहकार्यबाट नेपाली उत्पादन कोरियामा विस्तार गर्न सहज हुने महासंघको विश्वास छ । यसबाट नेपाल र दक्षिण कोरियाबीचको व्यापार घाटा कम हुने विश्वास छ । हाल दुइ देश बीचको व्यापार घाटा करिब ७ अर्ब रुपैयाँ छ ।

नेपालबाट हाल फेल्ट, गलैचा, धागो लगायतका परम्परागत सामान बढि गैरहेको सन्दर्भमा कोइमासंगको सहकार्यबाट औद्योगिक कच्चा पदार्थ एवं अन्य समानका लागि पनि बजार खोज्न सकिने महासंघको विश्वास छ ।

नेपाल कोरिया दौत्य सम्बन्ध स्थापनाको ५० बर्ष र समझदारी पत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा महासंघ अध्यक्ष ढकालले नेपाल र कोरियाबीच आर्थिक सम्बन्ध सुदृढ गर्न सकिने अपार सम्भावना रहेको  बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा सोल स्थित नेपाली दुतावासद्वारा आयोजित ‘नेपालमा व्यापार र लगानीका अवसरहरू’ शीर्षकको कार्यक्रममा अध्यक्ष ढकालले नेपालको ऊर्जाशील एवं युवा जनशक्ति, प्राकृतिक स्रोत, ठुला बजारसंगको समिप्यता कोरियाली लगानीकर्ताका लागि महत्वपूर्ण रहने बताए ।

ढकालले नेपालको लगानी वातावरणमा भएका प्रगतिको जानकारी गराउँदै महासंघको सक्रिय संलग्नतामा हालै गरिएका सुधारहरूको चर्चा पनि गरे । उनले सरकारको लगानीसम्बन्धी आठ कानुन संशोधन गरेर लगानीमैत्री वातावरण सिर्जना गर्न चालिएका कदमहरूको जानकारी गराए । साथै, दुईपक्षीय लगानी सम्झौता ढाँचा अनुमोदन गर्नु विदेशी लगानीलाई सहज बनाउने महत्वपूर्ण कदम भएको बताए ।

ढकालले नेपालको अनुकूल आर्थिक सूचकाङ्कहरू पनि प्रकाश पारे । विदेशी मुद्रा सञ्चिति करिब १७ अर्ब अमेरिकी डलर पुगेको र नेपालको पहिलोपटक क्रेडिट रेटिंग भएको जानकारी पनि लगानीकर्तालाई दिए । नेपालको रेटिंग दक्षिण एसियामा सन्तोषजनक रहेको पनि उनको धारणा थियो ।

ढकालले पूर्वाधार विकासको महत्त्व पनि औंल्याउँदै सडक, रेलमार्ग, विमानस्थल, शहरी योजना, होटल रिसोर्ट, केबलकार र स्मार्ट सिटीहरूमा कोरियाली विशेषज्ञता र लगानीका लागि आग्रह गरे ।

ढकालले कोरियाली व्यवसायिक समुदायलाई नेपालमा व्यापार र लगानीका अवसरहरूको खोजी गर्न निमन्त्रणा दिँदै महासंघको विदेशी लगानी सहायता डेस्कमार्फत पूर्ण सहयोगको आश्वासन दिए ।

पूर्वाधार निर्माण र सेवा विस्तारका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी बढाउँदै लैजानुपर्छः पूर्वराष्ट्रपति भण्डारी

पोखरा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाधार निर्माण र सेवा विस्तारका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी बढाउँदै लैजानुपर्नेमा जोड दिएकी छन् ।

त्रिभुवन विश्वविद्यालय र चीनको सिचुवान विश्वविद्यालयअन्तर्गत चाइना सेन्टर फर साउथ एसियन स्टडिजको संयुक्त आयोजनामा बिहीबारदेखि पोखरामा सुरु भएको ‘फेवा संवाद’ को उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारीले मुलुकको अर्थतन्त्र वृद्धि गर्दै विकास, निर्माणमा लगानी बढाउँदै जानुपर्ने उल्लेख गरिन् । उनले विदेशी र स्वदेशी लगानीका क्षेत्र बढाउँदै स्वदेशी उत्पादनमार्फत राजस्वमा वृद्धि गर्नुपर्ने बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको कृषिलाई व्यावसायिक बनाउनुका स्थानीयस्तरमा उद्योग स्थापना गरी स्वदेशी माग पूरा गर्नुपर्नेमा जोड दिइन् । उनले स्वदेशी उत्पादनको निर्यात बढाएर रोजगारी सिर्जना गरी दिगो विकास गर्दै नागरिकको आर्थिकस्तर उकास्न सकिने धारणा राखिन् ।

विकास प्रक्रियालाई तीव्रता दिँदा जलवायु परिवर्तनका प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्ने र त्यसलाई अनुकूल बनाउने किसिमका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक रहेको पूर्वराष्ट्रपति भण्डारीले बताइन् ।

हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान गर्ने नेपालसहित हिमाली र टापु राष्ट्रहरू जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित भएका उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले कार्बन उत्सर्जनमा प्रमुख योगदानकर्ताका रूपमा विकसित र औद्योगिक राष्ट्रहरूले जलवायु सङ्कटको जिम्मेवारी लिनुपर्ने धारणा राखिन् ।

जलवायु परिवर्तनले वातावरणीय चुनौती निम्त्याउन न्यूनतम भूमिकामा रहेका राष्ट्रहरूलाई विकसित राष्ट्रहरूले उचित र पर्याप्त क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेमा जोड दिँदै पूर्वराष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका कारण जोखिममा परेका देशलाई अनुकूलन र हानीनोक्सानी क्षतिपूर्ति उपलब्ध गराउन स्पष्ट रूपमा वित्तीय स्रोत र प्रविधि दिनुपर्ने आवश्यकता औँल्याइन् ।

विश्वव्यापी रूपमा सफल, अनुकरणीय र उपयुक्त विकास अभ्यासबाट सकारात्मक पाठ सिक्नुपर्ने बताउँदै उनले केही दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको अनुभव हाम्रा लागि प्रेरणादायी हुने उल्लेख गरिन् । उत्तरी छिमेकी राष्ट्र चीनले छोटो अवधिमा ठुलो जनसङ्ख्यालाई गरिबीबाट बाहिर निकालेको र आफ्नो अर्थतन्त्रमा आमूलपरिवर्तन गरेकाले चीनबाट नेपालजस्ता मुलुकले चीनको अनुसरण गर्नुपर्ने उनले बताइन् ।

लगानीमैत्री र व्यावसायिक वातावरण, वैदेशिक लगानी आकर्षित गर्न द्रुत नीति र संस्थागत सुधार, औद्योगिक तथा भौतिक पूर्वाधारको विकास र सुशासन र संस्थागत क्षमता वृद्धिलगायत क्षेत्रमा सुधार गरेमा दोहोरो अङ्कको आर्थिक वृद्धि हासिल गर्न सकिने पूर्वराष्ट्रपति भण्डारीले धारणा राखिन् ।

नेपालका लागि चिनियाँ राजदूत छन् सङले सम्मेलनले यहाँको पर्यटन प्रवर्द्धनसँगै जनता–जनताबिच सम्बन्ध स्थापना गर्न महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास उनले व्यक्त गरिन् ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बरालले त्रिभुवन विश्वविद्यालय र सिचुआन विश्वविद्यालयबीचमा शैक्षिक, प्राज्ञिक तथा अनुसन्धानका क्षेत्रमा विभिन्न सहकार्य हुँदै आएको बताउँदै सोहीअन्तर्गत पोखरामा यस किसिमको बौद्धिक बहस गर्न लागिएको जानकारी दिइन् ।

कार्यक्रम संयोजकसमेत रहेका त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा खड्ग केसीले दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुलकको सहकार्यलाई थप प्रगाढ बनाउन, अन्तर आबद्धतालाई अवसरमा रुपान्तरण गर्न, प्रविधि र विकासको साझेदारी अभिवृद्धि गर्न फेवा संवाद आयोजना गरिएको जानकारी दिए ।

सिचुवान विश्वविद्यालयका प्राध्यापक यायो लेलेले अनुभव आदानप्रदानसँगै सांस्कृतिक आदानप्रदान, ज्ञान र सीप हस्तान्तरण, मित्रता अभिवृद्धिलगायत क्षेत्रमा सम्मेलन प्रभावकारी र फलदायी बन्ने विश्वास व्यक्त गरे ।

संसद विद्यालय शिक्षा, निजामति ऐन र प्रहरी समायोजन विधेयक शीघ्र जारी गर्ने पक्षमा छः सभामुख घिमिरे

ललितपुर । सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा, निजामति ऐन र प्रहरी समायोजन विधेयक शीघ्र जारी गर्ने पक्षमा संसद् रहेको बताएका छन् ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र गैरसरकारी संस्था गभर्नेन्स ल्याबले ‘प्रादेशिक एवं स्थानीय शासन सबलीकरण तथा समावेशी आर्थिक विकास’ विषयमा बिहीबार संयुक्त रूपमा अयोजना गरेको गोष्ठीमा उनले ती विधेयक सङ्घीय शासन प्रणालीको सफल कार्यान्वयनका निम्ति अपरिहार्य रहेको बताए । 

सभामुख घिमिरेले सङ्घीयता प्रारम्भ भएसँगै तीन तहका सरकारको कार्यक्षेत्र संविधानले तोकेको, राजनीतिक, प्रशासनिक तथा आर्थिक अधिकारहरूको बाँडफाँट भए अनुरूप तीन वटै तहले नीति निर्माण तथा तिनको कार्यान्वयन गर्दै मुलुकको दिगो विकासका साझा उद्देश्य प्राप्तिमा काम गरिरहेका बताए ।  

सङ्घीयतासँग सम्बन्धित कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै उनले संविधान कार्यान्वयनको एक दशक पुग्न लागेको सन्दर्भमा संविधान पुनरावलोकनको आवश्यकताबारे विचार–विमर्श हुनु स्वभाविक भएको टिप्पणी गरे ।

सभामुखले संविधानलाई जीवन्त र समय–सान्दर्भिक बनाइराख्न संवैधानिक र कानुनी प्रावधानबारे छलफल गर्न आवश्यक भएको विचार व्यक्त गरे । “सबै क्षेत्र, लिङ्ग, भाषा, धर्म, संस्कृति, अल्पसङ्यक, समुदायहरूलाई सम्बोधन हुनेगरी विकास तथा सेवा प्रवाहको ढाँचा निर्माणदेखि कार्यान्वयनमा ध्यान दिनुपर्छ”, उनले भने ।

मुख्यसचिव एकनाराण अर्यालले मुलुकको सार्वजनिक प्रशासनमा सुशासन कायम गर्न सरकारले लिएको ‘सुखी नेपाली समृद्ध नेपाल’ को लक्ष्य प्राप्तिका लागि सबै मिलेर सकारात्मक पक्षलाई अवलम्बन गर्दै जानुपर्नेमा जोड दिए । उनले सङ्घीय सरकारले ल्याउने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा संविधानको मर्म अनुरुप निजी क्षेत्रलाई समेटेर सहकार्य गर्नेगरी व्यवस्था गर्नुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जनकुमार श्रेष्ठले संविधान बनाउँदा लिइएका खुला बजार र तीन खम्बे नीतिका विषयमा छलफल गर्नुपर्ने बताए । उनले वर्तमान समयमा निजी क्षेत्रलाई पनि समेटेर आर्थिक समृद्धि हासिल हुने किसिमका नीति निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका अध्यक्ष डा राजन खनालले सरकारले गर्ने काममा विभिन्न प्राज्ञिक संस्थाहरू र अध्ययन अनुसन्धानमा क्रियाशील संस्थाहरूबीच छलफलको माध्यमबाट प्रशासनिक सुधार र सुशासन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले गोष्ठी आयोजना गरिएको बताए । आजदेखि सुरु भएको गोष्ठी शुक्रबार समापन गरिनेछ ।

कर्णाली याक्सलाई दुई विकेटले हराउँदै जनकपुर एनपीएलको फाइनलमा

काठमाडौँ । नेपाल प्रिमियर लिग(एनपीएल) मा कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्टस फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा जनकपुरले कर्णालीलाई दुई विकेटले हराएको हो । कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर भेट्टायो ।

जनकपुरका जेम्स नीशमले १७ बलमा ४५ रन बनाए । कर्णालीका विपिन शर्माले २ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ९ विकेट गुमाएर ११८ रन बनाएको थियो ।

अब जनकपुरले फाइनलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।

भारतबाट विद्युत आयात गर्ने विषयमा उर्जामन्त्री खड्काद्वारा विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशकहरुसँग छलफल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसँग छलफल गरेका छन् ।

उनले ऊर्जा क्षेत्रको विकासका लागि सरकारले राखेको लक्ष्य पूरा गर्न आज मन्त्रालयमा प्राधिकरणको नेतृत्वमा रहेर लामो समय कार्य अनुभवमा रहेका पूर्वकार्यकारी निर्देशकसँग छलफल गरेका हुन् ।

छलफलमा मन्त्री खड्काले सुक्खा याममा भारतबाट विद्युत् आयात गर्नुपर्ने र भारतीय विद्युतप्रति भर पर्नुपर्ने कारण तथा यसको समाधानका विषयमाथि विज्ञहरूको राय लिएका थिए । उनले विद्युत् चुहावट नियन्त्रण, विद्युत् बक्यौता असुली तथा प्राधिकरणको सुधार र सवलीकरणका लागि के गर्न सकिन्छ भन्ने विषयमा रायसुझाव मागेका थिए ।

मन्त्रालयका सचिव सुरेश आचार्यले मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि अहिले भइरहेका प्रयासका बारेमा जानकारी गराउँदै आगामी दिनमा गर्न सकिने विकासका कार्यका बारेमा सुझाव माग गरेका थिए। छलफलमा प्राधिकरणका पूर्वकार्यकारी निर्देशक डा मुकेशराज काफ्लेले पछिल्लो समय ऊर्जा क्षेत्रको विकासका लागि सरकारले चालेको कदम सकारात्मक रहेको बताए।

छलफलमा सहभागी प्राधिकरणका पूर्वकार्यकारी निर्देशकहरुले सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेकाले उक्त लक्ष्यलाई पूरा गर्नका लागि जलाशययुक्त आयोजना कार्यान्वयनमा लैजान जोड दिएका थिए । उनीहरुले नेपालको ऊर्जा क्षेत्रको विकास जुन गतिमा हुनुपर्ने हो त्यो हुन नसकेको बताएका थिए ।

उक्त छलफल कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङ, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्र शाक्य, उत्तरकुमार श्रेष्ठ, रामेश्वर यादव, हरिशचन्द्र शाहलगायत मन्त्रालयका उच्चपदस्थ कर्मचारीको सहभागिता थियो ।

हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु

हनोई । भियतनामको राजधानी हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । घटनामा अन्य दुई जना घाइते भएका छन् ।

सरकारी सञ्चारमाध्यममा सार्वजनिक भएका तस्वीरमा पश्चिमी हनोईमा कालो रङ्गको एक अग्लो भवनमा आगलागीबाट क्षति पुगेको देख्न सकिन्छ ।

स्थानीय समयअनुसार बुधबार राति ११ बजे आगलागी भएको र त्यहाँ धेरै मानिस फसेको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै उद्धारकर्मीहरू घटनास्थलमा पुगेका र सात जनालाई जीवितै उद्धार गरिएको छ भने दुई जनालाई अस्पताल लगिएको छ । घटनामा ११ जना मृत अवस्थामा फेला परेको प्रहरीले पुष्टि गरेको छ ।

हनोई प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रहरीले आगलागीमा संलग्न रहेको आशङ्कामा केही व्यक्तिलाई नियन्त्रणमा लिइएको छ ।

घटनाको प्रारम्भिक अनुसन्धानबाट उक्त क्याफे जानाजानी जलाइएको थियो ।”

सरकारी सञ्चारमाध्यमले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गरी बताएअनुसार आगो यति ठूलो थियो कि कसैले पनि भित्र फसेकाहरूलाई बचाउने आँट गरेनन् ।

नजिकै रहेका गुयेन मिन्ह हुङले डान ट्राइ पत्रिकासँग भने, “हामी फसेका पीडितहरूका लागि चिच्याइरहेका थियौं, तर हामीले भवनभित्रबाट सहयोगको माग गरेको सुनेका थिएनौँ ।’

काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु

श्रीनगर । भारतीय सुरक्षा बलले बिहीबार काश्मिरमा जारी झडपमा कम्तीमा पाँच जना संदिग्ध बन्दुकधारीको हत्या गरेको भारतीय सेनाले जनाएको छ ।

सन् १९४७ मा ब्रिटिस शासनको अन्त्यमा विभाजन भएदेखि नै काश्मिर आणविक शक्ति सम्पन्न प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच विभाजित छ र दुवै देशले यस क्षेत्रमा पूर्ण रूपमा दाबी गर्दै आएका छन् ।

भारतीय सेनाको चिनार कोरले कारबाहीमा पाँच ‘आतङ्ककारी’को सुरक्षा बलको गोली लागी मृत्यु भएको र दुई जना सैनिक घाइते भएको जनाएको छ ।

सुदूर उत्तरी क्षेत्रमा ५० लाख भारतीय सेना तैनाथ छन्, जुन ३५ वर्ष लामो विद्रोहसँग लडिरहेको छ जसमा दशौं हजार नागरिक, सैनिक र विद्रोहीमारिएका छन् । उक्त षेत्रमा यो बर्ष पनि कम्तीमा १ सय २० जना मारिएका छन् ।

विद्रोही समूहहरूले काश्मिर क्षेत्रको स्वतन्त्रताको माग गर्छन् वा यस क्षेत्रलाई पाकिस्तानमा गाभ्न चाहन्छन् । नयाँ दिल्लीले पाकिस्तानलाई नियमित रूपमा लडाकूहरूलाई हतियार प्रदान गरेको र उनीहरूलाई आक्रमण गर्न मद्दत गरेको आरोप लगाउँदै आएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वकोसरकारले सन् २०१९ मा उक्त क्षेत्रको आंशिक स्वायत्तता खारेज गर्दै यस क्षेत्रलाई आफ्नो प्रत्यक्ष शासनअन्तर्गत ल्याएको थियो ।

करिब एक करोड २० लाख जनसङ्ख्या रहेको यस क्षेत्रमा नयाँ दिल्लीले नियुक्त गरेका गभर्नरको नेतृत्वमा प्रशासनिक काम हुने गरेको छ ।

भ्रष्टाचार मुद्दामा जेलमा रहेका मलेसियाका पूर्व प्रधानमन्त्रीकी पत्नीलाई एक दर्जनभन्दा बढी आरोपमा सफाइ

क्वालालम्पुर । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाककी श्रीमतीविरुद्ध दायर गरिएको एक दर्जनभन्दा बढी सम्पत्ति शुद्धीकरण तथा कर छलीको अभियोगलाई मलेसियाको एक अदालतले बिहीबार खारेज गरिदिएको छ ।

७३ वर्षीया रोसमाह मन्सोरमाथि सन् २०१३ को डिसेम्बर ४ देखि सन् २०१७ को जुन ८ को बीचमा ७१ लाख रिंगिट (झण्डै १६ लाख अमेरिकी डलर) सहित सम्पत्ति शुद्धीकरणसम्बन्धी एक दर्जनभन्दा बढी आरोप लगाइएको थियो ।

उच्च अदालतका न्यायाधीश के मुनिआन्डीले सबै १७ वटा आरोपमा ‘सत्यता, औचित्यता र वैधानिकताको अभाव’ भएको भन्दै खारेज गर्दै ‘सफाइ’ को आदेश दिएको एएफपीलाई प्राप्त भएको निर्णयको प्रतिलिपिमा उल्लेख छ ।

महान्यायाधिवक्ताको कार्यालयले उक्त निर्णयविरुद्ध अपील गर्ने बताएको मलेसियाली सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०२२ को सेप्टेम्बरमा भ्रष्टाचारको अभियोगमा रोसमाहलाई १० वर्षको जेल सजाय सुनाइएको थियो तर उनी उक्त सजायविरुद्ध अपील गरी जमानतमा छुटेकी थिइन् ।

उनीविरूद्ध आफ्नो पतिको शासनकालमा बोर्नियो टापुको मलेशियाली भागमा ग्रामीण विद्यालयहरूको लागि सौर्य ऊर्जा परियोजना सुरक्षित गर्न सहयोग पुर्याएको भन्दै एक कम्पनीसँग घूस लिएको आरोप लगाइएको थियो।

रोस्माहको महङ्गा ह्यान्डब्याग, लुगाफाटा र गहनाको विशाल सङ्ग्रहको लागि मलेसियालीहरूले लामो समयदेखि आलोचना गर्दै आएका छन् ।

सन् २०१८ को चुनावमा पतिको पराजयपछि उनको घरमा प्रहरीले छापा मारेपछि उनका विलासिताका सङ्ग्रहबारे चर्चा भएको थियो ।

उनलाई विलासी जीवनका लागि फिलिपिन्सकी पूर्व प्रथम महिला इमेल्डा मार्कोससँग तुलना गरिएको थियो र सत्ताच्युत गरिएका पूर्व प्रधानमन्त्रीको सत्ताले आर्थिक रूपमा सङ्घर्षरत र मध्यमवर्गीय मलेसियालीहरूसँग सम्पर्क गुमाएको आरोप लगाइएको थियो ।

नजिब सार्वभौम सम्पत्ति कोष वनएमडीबीमा भएको ठूलो आर्थिक घोटालासँग सम्बन्धित भ्रष्टाचारको आरोपमा छ वर्षको जेल सजाय काटिरहेका छन् । उनले नजरबन्दमा बाँकी सजाय भुक्तान गर्न अपील दायर गरेका छन् र जनवरी ६ का लागि सुनुवाइ तय गरिएको छ ।

बन्द अवस्थामा रहेको सरकारी कम्पनीबाट अर्बौं डलर हिनामिना भएको भनिएको वनएमडीबी प्रकरणले उनीविरूद्ध संयुक्त राज्य अमेरिका, स्विट्जरल्याण्ड र सिङ्गापुरमा अनुसन्धान सुरु गरेको छ ।

शेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से ३१ दशमलव ४३ अङ्कले घटेर दुई हजार पाँच सय ९६ दशमलव ८२ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज नारायणी विकास बैंकको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्रमा बजार घटेको दिन सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज कारोबार रकम भने सामान्य बढेको छ ।

आज तीन सय १० वटा कम्पनीका ९८ लाख ३२ हजार कित्ता शेयर चार अर्ब ७६ करोड रुपैयाँमा किनबेच भयो ।

वैद्यखानालाई आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न स्वास्थ्यमन्त्री पौडेलको आग्रह

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबारस्थित वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न आग्रह गरेका छन्।

वैद्यखानाको औषधि उत्पादन अवस्थाबारे बिहीबार अनुगमन गर्दै उनले वैद्यखानाका कर्मचारीहरुलाई भने, ‘बजारमा वैद्यखानाको औषधिको माग छ, उत्पादन बढाउनुस।’

मन्त्री पौडेलले बजारमा सिंहदरबार वैद्यखानाको औषधि किन्न खोज्दासमेत नपाइने अवस्था आएकाले आवश्यक कच्चा पदार्थ उपलब्ध नगराउने ठेकेदारलाई कालोसूचीमा राखेर नयाँ विकल्प खोज्न निर्देशन दिएका छन्।

‘बजारमा बिक्ने चिज हामी किन उत्पादन गर्न सक्दैनौँ ? आवश्यक बजेट अभाव हुन दिन्नौँ तर उत्पादन बढाउनुस्’, उनले भने।

कर्मचारीहरुले स्रोत अभाव भएको गुनासो गरेपछि मन्त्री पौडेलले केही समयअघि वैद्यखानाका लागि बजेट विनियोजन गरेको उल्लेख गर्दै सार्वजनिक संस्थानहरुलाई पुँजीगत सहयोग गर्न सकिने तर तलब ख्वाउने रकम सरकारले दिन नसक्ने प्रष्ट पारेका छन्।

महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे

काठमाडौँ । मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ को नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएपछि एक–एक अङ्क बाँडेका छन् ।

बिहीबारको खेलमा नेपालले श्रीलङ्काविरुद्ध टस जितेर फिल्डिङ गरेको थियो । पहिलो ओभर सकिए लगत्तै सुरु भएको वर्षा नरोकिएपछि खेल रद्द हुन पुगेको हो । नेपालले पहिलो ओभरमै श्रीलङ्काको एक विकेट लिएको थियो । वर्षा नरोकिएपछि दुवै टोलीले समान एक÷एक अङ्क बाँडेका हुन् ।

यसअघि नेपालले पहिलो खेलमा पाकिस्तानलाई छ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो । यसैगरी समूह चरणको अन्तिम खेल पनि वर्षाका कारण रद्द भएपछि नेपाल र भारतले एक–एक अङ्क बाँडेका थिए । सुपर–४ मा नेपालसहित भारत, बङ्गलादेश र श्रीलङ्का छन् । नेपालले शुक्रबार सुपर–४ अन्तर्गत बङ्गलादेशको सामना गर्नेछ ।

रविको तस्बिर सार्वजनिक गर्नेलाई कानुनी कारबाही गर्छौंः कास्की प्रहरी


काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्ने बताएको छ ।

बिहीबार विज्ञप्ति जारी गरी कार्यालयले साइबर अपराध सम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रुपमा सामाग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोहीलाई कारबाही हुने बताएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘सूचनाको हक सम्बन्धी ऐन, २०६४ मा व्यवस्था भए बमोजिम अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनियता कायम गर्नुपर्ने व्यवस्था र प्रचलित साइबर अपराध सम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रुपमा सामाग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानुनी दायरामा ल्याई कानुन बमोजिम अनुसन्धान तथा कारबाही गरिने ।’

प्रहरीले उक्त तस्बिर डा. निकोलस भुसालको फेसबुक पेजबाट प्रकाशित भएको पनि बताएको छ । भुसालले पनि उक्त फोटो आफैंले सार्वजनिक गरेको भन्दै सामाजिक सञ्जालमार्फत माफी मागिसकेका छन् ।

रवि सुतिरहेको तस्बिर सार्वजनिक भएपछि रास्वपाका नेताहरूले यसप्रति आपत्ति जनाएका थिए । गृहमन्त्री रमेश लेखकले पनि प्रहरी प्रमुखलाई तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न निर्देशन दिइसकेका छन् ।

कर्णालीले जनकपुरलाई दियो ११९ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो क्वालिफायरको खेलमा कर्णाली याक्सले जनकपुर बोल्टसलाई ११९ रनको लक्ष्य दिएको छ ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ९ विकेट गुमाएर ११८ रन बनाएको हो । कर्णालीका लागि गुलसन झाले सर्वाधिक २५ रन बनाउँदै ओपनर देव खनालले २४ रन बनाएर आउट भए ।

विलियम बोसिस्टो १४, जिसान मक्सुद र युनसि ठकुरीले समान १२ रन बनाउँदा चार्डविक वाल्टन ११ रनको योग्दान दिए। कर्णाली एलमिनेटरमा चितवनलाई हराउँदै दोस्रो क्वालिफायमा स्थान बनाएको हो भने जनकपुर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित हुँदै दोस्रो क्वालिफायरमा आएको हो ।

हिरासतभित्रको रविको तस्बिर सार्वजनिक गर्नेमाथि कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक गर्नेमाथि कारबाही गर्न निर्देशन दिएका छन् ।

बिहीबार प्रहरी प्रमुख वसन्त कुँवरलाई गृहमन्त्री लेखकले यस विषयमा यथार्थ छानबिन गरी दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।

बुधबार रास्वपाका कार्यकर्ताले सामाजिक सञ्जालमा हिरासत कक्षभित्रको तस्बिर भन्दै सार्वजनिक गरेपछि गृहमन्त्रीले यसबारेमा चासो राखेका हुन् । उक्त तस्बिर रास्वपाका समर्थक डा. निकोलस भूसालले आफूले खिचेको र सार्वजनिक गर्नु गलत भएको भन्दै माफी मागेका छन् ।z

विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैनः खतिवडा

काठमाडौँ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमा उपसमितिले पेस गरेको प्रतिवेदनमाथि प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै हस्तक्षेप नरहेको स्पष्ट गरेका छन् ।

सभापति खतिवडाले समिति स्वतन्त्र रूपमा आफ्नो काममा क्रियाशील रहेको तथा यसका काममा ‘प्रधानमन्त्री ओलीको चासो’ भन्ने आधारहीन प्रचार भएकामा त्यसको प्रतिवाद गरे । ‘कसले दुष्प्रचार गरेको हो जानकारी छैन’, उनले भने ।

उपसमितिले नीतिगत बाहेकका विषयमा मन्त्रिपरिषद्ले गरेको निर्णयमाथि पनि आयोगले अनुसन्धान गर्न सक्ने गरी संशोधन गर्न सुझाव दिएको थियो ।

अफगानिस्तानमा बस दुर्घटनामा कम्तीमा ५२ जनाको मृत्यु

काबुल । अफगानिस्तानको मध्य भागमा रहेको राजमार्गमा इन्धन ट्याङ्कर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु हुनुका साथै ६५ जना घाइते भएका छन् ।

राजधानी काबुल र दक्षिणी कान्दाहार शहरको बीचमा रहेको गजनी प्रान्तमा बुधबार राति दुर्घटना भएको प्रान्तीय सूचना तथा संस्कृति प्रमुख हमिदुल्लाह निसारले बताए ।

“काबुल–कान्दाहार राजमार्गमा दुई छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना भएको र घटनामा ५२ जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन्,” सरकारका मुख्य प्रवक्ता जबीहुल्लाह मुजाहिदले भने ।

मध्य गजनीको शाहबाज गाउँ नजिकै एउटा बस इन्धन ट्याङ्करसँग ठक्कर खाँदा दुर्घटना भएको थियो भने अर्को बस पूर्वी जिल्ला अन्दरमा एउटा ट्रकसँग ठोक्किएको निसारले बताए ।

उद्धार टोली घटनास्थलमा पुगेको र घाइतेलाई अस्पताल पुरयाएको तथा केहीको अवस्था गम्भीर रहेको उनले बताए ।

दशकौँ लामो द्वन्द्व खेपेको अफगानिस्तानमा कमजोर सडक, राजमार्गमा तीब्र गति गुड्ने सवारी साधन र नियमनको अभावका कारण अफगानिस्तानमा सवारी दुर्घटना हुने गरेको छ ।

गत मार्चमा दक्षिणी हेल्मान्ड प्रान्तमा एउटा बस र इन्धन ट्याङ्कर ठोक्किँदा २० जनाभन्दा बढीको मृत्यु भएको थियो भने ३८ जना घाइते भएका थिए।

सन् २०२२ को डिसेम्बरमा अफगानिस्तानको उचाइमा रहेको सलाङ पासमा इन्धन ट्याङ्कर पल्टिएर आगलागी हुँदा ३१ जनाको मृत्यु हुनुका साथै दर्जनौँ मानिस जलेर घाइते भएका थिए ।

नेपाल र दक्षिण कोरियाबीच टिआइपीएफ सम्झौतामा हस्ताक्षर

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र दक्षिण कोरियाका समकक्षी इन्क्यो च्योङबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन फ्रेमवर्क (टिआइपीएफ) सम्झौतामा हस्ताक्षर भएको छ । गणतन्त्र दक्षिण कोरिया र नेपालको द्विपक्षीय सम्बन्ध स्थापित भएको ५० वर्ष पूरा भएका अवसरमा बिहीबार दक्षिण कोरियाको राजधानी सोलमा  सम्झौतामा हस्ताक्षर गरिएको हो ।


मन्त्री भण्डारीले टिआइपीएफ सम्झौताले दुई देशबीचको कूटनीतिक, सांस्कृतिक र आर्थिक सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे । उनले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको मन्त्री भण्डारीका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिए ।


उनका समकक्षी मन्त्री च्योङले दक्षिण कोरियाली कम्पनीहरुद्वारा नेपालमा जलविद्युत्, अटोमोबाइल एसेम्बललगायत क्षेत्रमा लगानी गरेको बताए । उनले टिआइपीएफ सम्झौताले दुई देशबीचको सम्बन्ध र आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने बताए । साथै विगतका सौहार्दपूर्ण सम्बन्धको स्मरण गर्दै दुई देश एकअर्काका सहयात्री बन्नुपर्नेमा जोड दिए ।


नेपाल र कोरियाका निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको सहभागिता रहेको उक्त कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा लगानीको वातावरण र अवसरहरुबारे प्रस्तुतीकरण गरेका थिए । 


यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय द्विपक्षीय व्यापार महाशाखा प्रमुख तथा प्रवक्ता बाबुराम अधिकारीले नेपालको व्यापारसम्बन्धी विद्यमान नीति तथा सो सम्बन्धमा हाल भइरहेका सुधारका विषयमा प्रस्तुतीकरण गरे ।


कोरिया नेपाल विजनेश फोरमको उक्त कार्यक्रममा नेपालको सरकारी पक्षबाट मन्त्रालय, लगानी बोर्ड, सोलस्थित नेपाली राजदूतावास र नेपालको निजी क्षेत्रका उद्योगी तथा व्यवसायीहरुका तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रढकालसहित करिब ३० जना उद्योगी व्यवसायीको सहभागिता रहेको मन्त्री भण्डारीका स्वकीय सचिव भट्टले जानकारी दिए ।

काठमाडौंको सतुंगलमा युवती हत्या गरी फरार भएको आरोपमा एक युवक पक्राउ

काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर १० सतुंगल खरिबोटमा डेरा गरी बस्ने १७ वर्षीया सरिता तामाङको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गत मंसिर २९ गते रातिदेखि सम्पर्कविहीन धादिङको गजुरीकी सरिता खोजतलासका क्रममा पुस ३ गते सतुंगल खरिबोटस्थित आफ्नै डेराकोठाभित्र मृत फेला परेकी थिइन् ।

सरिताका दाइ नवीन रुम्बा तामाङले पुस १ गते दिउँसो सरिताको हुलियासहित प्रहरी वृत्त थानकोटमा निवेदन दिएपछि प्रहीले खोजी थालेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको अनुसन्धान टोलीले घटनास्थलको अध्ययन, विश्लेषण तथा विभिन्न प्रविधिको प्रयोग गरी घटनामा संलग्न व्यक्तिलाई खोजतलास गर्ने क्रममा काठमाडौँ महानगरपालिका वडा नम्बर १४ खड्कागाउँस्थित डेरा कोठाबाट पुस ३ गते २४ वर्षीय विश्वास तामाङलाई पक्राउ गरिएको परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

उनको घर भने धादिङको गजुरी गाउँपालिकाकै वडा नं. ३ मा रहेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार विश्वासको साथमा सरिताले बोक्ने गरेको रियलमी मोबाइल बरामद भएको छ । के कति कारण हत्या गरियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वर्षाका कारण महिला यु–१९ एसिया कपको खेल अवरुद्ध

काठमाडौँ ।  मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ को नेपाल र श्रीलङ्काबीचको खेल वर्षा कारण रोकिएको छ ।

मलेसियाको क्वालालम्पुरस्थित वेयुमास ओभल क्रिकेट मैदानमा केही बेर अघि सुरु भएको खेल वर्षाले रोकिएको हो । नेपालले श्रीलङ्काविरुद्ध टस जितेर फिल्डिङ थालेको थियो । पहिलो ओभर सकिएलगत्तै वर्षा सुरु भएपछि खेल रोकिएको हो ।

नेपाल पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउदैँ सुपर–४ मा प्रवेश गरेको थियो ।

यसैगरी, समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारतले एक–एक अङ्क बाँडेका थिए । रनरेटको आधारमा भारत समूह ‘ए’ को विजेता बन्दा नेपाल उपविजेता बनेको थियो ।

श्रोत नखुलेको २६ लाख ५० हजार नगदसहित काठमाडौंबाट चारजना पक्राउ

काठमाडौं । प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा २६ लाख ५० हजार नगदसहित काठमाडौंबाट चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं र गौशाला वृत्तिबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–९ बत्तिसपुतलीस्थित श्री बालाजी इम्पोर्ट प्रालिबाट बुधबार चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिएका छन् ।

पक्राउ पर्नेम उक्त प्रालिका सञ्चालक गुल्मीका ५२ वर्षीय भेषराज पाण्डे, भारतको राजस्थान बस्ने ५२ वर्षीय वसन्तकुमार राठी, कमलपोखरी बस्ने ३५ वर्षीय प्रनिश थापा र ५२ वर्षीय सुरेश अधिकारी छन् । प्रहरीले यसबारे थप अनुसन्धान अघि बढाएको छ ।

प्रहरीले यसअघि मंगलबार पनि काठमाडौं महानगरपालिका वडा नम्बर नौ एयरपोर्ट शम्भुमार्गस्थित सडक खण्डबाट ६८ लाख रुपैयाँसहित चार जना हुण्डीकारोबारीलाई पक्राउ गरेको थियो ।

गाजामा युद्धविराम हुनेमा अमेरिकी विदेशमन्त्री आशावादी

न्यूयोर्क । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजामा इजरायल र हमासबीच युद्धविराम हुनेमा आफू आशावादी रहेको बताएका छन् ।

विदेशमन्त्री ब्लिन्केनले प्यालेस्टिनी भूमिमा १४ महिनादेखि जारी क्रूर युद्ध अन्त्य गर्ने आफ्नो सरकारको पटक–पटक प्रयास विफल भएको भन्दै युद्धविरामले गमजामा स्थायी शान्तिको वातावरण बनाउनेमा भने उनी विश्वस्त छैनन् ।

‘हेर्नु, म आशावादी छु । तपाई पनि हुनुपर्छ ।’ उनले भने, ‘हामीले जिम्मेवारीबाट विदा लिनुअघि युद्धविरामका लागि प्रत्येक हप्ताको हरेक दिनको पलपल प्रयोग गर्नेछौँ ।’

वैदेशिक सम्बन्ध परिषद्को बैठकमा उनले भने, ‘हामीले युद्धविरामको सम्भावना के हो भनेर अनुमान लगाउनु गलत हुनेछ।’

उनले युद्धविराम सम्झौताअन्तर्गत केही बन्धकहरूलाई मुक्त गरिएको तर्फ सङ्केत गर्दै भने, ‘युद्ध विराम हुनुपर्छ । यो हुन आवश्यक छ । हामीले बन्धकलाई घर फर्काउनु आवश्यक छ ।’

युद्ध सुरु भएयता मध्यपूर्वको १२औँ भ्रमणका क्रममा गत हप्ता गरेको मूल्याङ्कन दोहोर्याउँदै हमासले आफ्नो संरक्षक इरानलाई भएको क्षतिका कारण थप लचकता देखाएको ब्लिन्केनले बताए ।

मेलम्चीको पानी आपूर्तिका लागि ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न मन्त्री यादवको निर्देशन

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मेलम्चीको पानी आपूर्ति गर्न बिच्छ्याइएका ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन दिएका छन् ।

स्थानीय इन्द्रचोक, जनवहाल, नयाँसडक, असनलगायत स्थानमा जारी पाइपलाइनको कामको बिहीबार निरीक्षण गरेपछि उनले त्यस्तो निर्देशन दिएका हुन् । साथै उनले चुहावट नियन्त्रण गर्नुपर्नेमा जोड दिए । गुणस्तर सुनिश्चित नहुँदा धेरै स्थानमा पानी चुहिएको र पानी चुहिएका स्थानमा यथाशीघ्र मर्मतसम्भार गर्न उनले निर्देशन दिए ।

मन्त्री यादवका साथ खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका वरिष्ठ अधिकारी थिए ।

स्टन्ट र प्रपोगण्डावाट राजनीतिमा उदाएकाहरु त्यसकै चरम दुरुपयोगवाट विस्थापित हुने बाटोमा : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सोसल मिडियाको स्टन्ट र प्रपोगण्डाबाट राजनीतिमा उदाएकाहरू त्यसैको दुरुपयोगबाट विस्थापित हुने बाटोमा अग्रसर देखिएका बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित गर्दै सामाजिक संजालमार्फत महासचिव पोखरेलले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘सोसल मिडियाको स्टन्ट र प्रपोगण्डावाट राजनीतिमा उदायकाहरु त्यसकै चरम दुरुपयोगवाट विस्थापित हुने बाटोमा अग्रसर देखिन्छन् । अति सर्वत्र वर्जयेत् ।’

रास्वपाका सभापति रवि लामिछानेको हिरासतमा सुतेको तस्बिर सार्वजनिक भएपछि रास्वपाका कार्यकर्ताले सरकारको विरोध गरेका थिए । यसै सन्दर्भमा महासचिव पोखरेलेको यस्तो टिप्पणी आएको हो । तर उक्त तस्बिर रास्वपाका समर्थक डा निकोलस भुसालले खिचेको स्वीकार गरिसकेका छन् ।