`

एमालेले भन्यो-प्रधानमन्त्रीले छलफलका लागि राज्य व्यवस्था समितिका सदस्यहरुलाई बालुवाटार बोलाउनुभएको छैन

काठमाडौं । नेकपा एमालेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्टाचार निवारणसँग सम्बन्धित विधेयकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वाभाविक चासो राखेको भन्दै समाचार आएको भन्दै आपत्ति जनाएको छ ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले यस विषयमा छलफल गर्न प्रधानन्त्रीले संसदको राज्य व्यवस्था तथा सुशासन समितिका पदाधिकारीलाई बालुवाटारमा बोलाइएको समाचारमा सत्यता नभएको बताएका हुन् ।

उनले भनेका छन्, ‘संसदको राज्य व्यवस्था तथा सुशासन समितिअन्तर्गत छलफलमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्टाचार निवारणसँग सम्बन्धित विधेयकहरूमा सम्माननीय प्रधानमन्त्रीज्यूले अस्वभाविाक चासो राखेर राज्य व्यवस्था समितिमा रहेका सत्तापक्षीय सांसदहरुलाई छलफलका लागि बालुवाटार बोलाएको भन्ने समाचारहरुमा कुनै पनि सत्यता नरहेको तथा बोलावट त परै जाओस् भेट र बिषयका बारेमा समेत स्वयम् प्रधानमन्त्रीलाई कुनै सूचना वा सामान्य जानकारी समेत नभएको स्पस्ट पार्न चाहन्छु ।आधिकारिक स्रोत बिना नै प्रधानमन्त्रीज्यूलाई जानकारी नै नभएको विषयमा प्रधानमन्त्रीको अस्वाभाविक चासो भनेर गलत समाचार आउनु असाध्यै दुःखद र अस्वाभाविक रहेको छ ।’

प्रधानमन्त्रीले आयोग र भ्रष्टाचार निवारणसम्बन्धी संसदीय उपसमितिको प्रतिवेदनप्रति चासो राखेको भन्दै सामाचार आएको थियो । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको दुवै विधेयकमाथि छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिले १२ सदस्यीय उपसमिति बनाएको थियो ।

उपसमितिले दुवै प्रतिवेदन पास गरेर मूल समितिमा बुझाएको छ । सोही उपसमितिका १२ जना सांसदमध्ये सत्तापक्षका सांसदलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको खबर सार्वजनिक भएको थियो ।

उपसमितिले नीतिगत निर्णयको परिभाषा गरेको विषय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेनामे उजुरी दिन पाउने प्रावधान यथावत् राख्ने निर्णय गरेको थियो । यस विषयमा प्रधानमन्त्रीले चासो दिएको बताइएको थियो ।

मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगर अस्पताल थानकोटमा ‘भेन्टिलेटर’ सेवा सञ्चालनमा आउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई जीवन रक्षार्थ उपयोग हुने अतिसंवेदशील सो उपकरण प्रदान गरेको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले बिहीबार आयोजित कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई सो उपकरण हस्तान्तरण गरे ।

चन्द्रागिरि– ४ का वडाध्यक्ष एवं नगरप्रवक्ता कृष्णप्रसाद खड्गीका अनुसार विसं २०७६ वैशाख २८ गतेदेखि चन्द्रागिरि–४ थानकोटामा सञ्चालित १५ श्ययाको अस्पतालले प्रयोगशाला, २४सैँ घण्टा आकस्मिक सेवासहित बर्थिङ सेवा प्रदान गरिराखेको छ ।

साथै अस्पतालले पछिल्लो समय मुटु रोग जाँच, परिवार नियोजन सेवा, ज्येष्ठ नागरिक, विपन्न तथा अपाङ्गता भएकालाई निःशुल्क सेवा एवं मिर्गाैलाका बिरामीका लागि डायलाइसिस सेवा सञ्चालनको तयारी गरेको छ ।

अर्काेतर्फ चन्द्रागिरि नगरपालिकाले नगरक्षेत्रमा सामुदायिक नर्स कार्यक्रम सञ्चालन गरिराखेको छ । यस कार्यक्रमबाट स्क्रिनिङ (मानसिक स्वास्थ्य, स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, पाँच वर्षमुनिका बालबालिकाको पोषणलगायत), परामर्श, गर्भवती, सुत्केरी घरभेट, स्वास्थ्य शिक्षा तथा जनचेतना सेवा प्रदान भइराखेको छ ।

चन्द्रागिरि–४ थानकोटमा नै जर्मन सरकारकोे आर्थिक एवं प्राविधिक सहयोगमा  एक अर्बमा प्रसूति विशेषज्ञ अस्पताल समेत निर्माण हुँदैछ । यसका लागि जर्मन विकास बैंकले बजेट निकासा गरिसकेको जनाइएको छ ।

साउथह्याम्पटनलाई पराजित गर्दै लिभरपुल सेमिफाइनलमा

काठमाडौं । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले लिग कपको सेमिफाइनल यात्रा तय गरेको छ । गएराति भएको खेलमा लिभरपुलले रेलिगेसनबाट बच्न संघर्षरत साउथह्याम्पटनलाई २–१ ले हराएको हो ।

त्यसमा आर्ने स्लटको टिमका लागि डार्विन नुनेज र हार्भे इलिटले गोल गरे। यस्तै आर्सनलले भने क्रिस्टल प्यालेसको चुनौतीलाई ३–२ ले समाप्त पारेको हो । आर्सनलको जितको नायक ग्याब्रिएल जेसस रहे । उनले ह्याट्रिक गरे ।

ब्राजिलियन खेलाडीले तीनै गोल दोस्रो हाफमा गरेका हुन् । न्युकासलले भने ब्रेन्टफोर्डलाई ३–१ ले पराजित गरेको हो । त्यसमा सान्ड्रो टोनालीले दुई गेल गरे। अब बिहीबार हुने अन्तिम क्वाटरफाइनलमा टोटनहमले म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ ।

आपराधिक घटनामा वृद्धि, दैनिक १६२ मुद्दा दर्ता, ११७ जना पक्राउ

काठमाडौं ।  नेपाल प्रहरीको तथ्याङ्कले आपराधिक घटना न्यूनीकरण हुन नसकेको देखाएको छ । हालै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता/सूचना अधिकारी तोकिएका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले प्रहरी प्रधान कार्यालयमा बुधबार सञ्चारकर्मीहरूसँग साक्षात्कार कार्यक्रम आयोजना गर्दै उक्त जानकारी गराएका हुन् ।

वरिष्ठ उपरीक्षक अधिकारीले आर्थिक वर्ष २०८१/०८२ को चार महिनाको अवधिमा नेपाल प्रहरीबाट सम्पादित प्रमुख कार्य तथा उपलब्धिहरू जानकारी गराउँदै आपराधिक घटनाका दैनिक एक सय ६२ वटा मुद्दा दर्ता हुने गरेको जानकारी दिए। ती घटनाहरूमा दैनिक एक सय १७ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको उनले बताए ।

वरिष्ठ उपरीक्षक अधिकारीका अनुसार कर्तव्य ज्यानमा गत वर्षको चार महिनामा एक सय ९३ घटना रहेकामा र अहिले सोही अवधिमा एक सय ९२ घटना भएको छ । सङ्गठित अपराधमा मुद्दा बढेको पाइएको छ । सङ्गठित अपराधमा गत वर्ष पाँच रहेकामा अहिले सोही चार महिनाको अवधिमा ३९ वटा मुद्दा दर्ता भएको छ ।

जबर्जस्ती करणीमा गत वर्षको चार महिनामा आठ सय नौ वटा रहेकामा यस वर्ष आठ सय २३ वटा मुद्दा दर्ता गरिएको वरिष्ठ उपरीक्षक अधिकारीले जानकारी दिए । उनले कर्तव्य ज्यानतर्फ सबैभन्दा बढी कोशी प्रदेशमा २३ दशमलव ९५ र कर्णालीमा जम्मा छ वटा मुद्दा ३ दशमलव २५ प्रतिशत दर्ता भएको जानकारी दिए । उनले आत्महत्यामा पनि कोसीमा बढी र कर्णालीमा कम रहेको बताए ।

जबर्जस्ती करणीमा सबैभन्दा बढी कोसीमा र सबैभन्दा कम गण्डकीमा घटना घटेको जानकारी दिँदै वरिष्ठ उपरीक्षक अधिकारीले करणी उद्योगमा पनि कोसीमा बढी भएको बताए । उनले बैंकिङ कसुरका घटना बढेको र उपत्यकामा मात्रै ५७ दशमलव ७७ प्रतिशत घटना दर्ता भएको जानकारी दिए ।

प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले अपराधमा वृद्धि भएको तथ्याङ्कले देखाएको बताए । प्रविधिको बढ्दो दुरूपयोगबाट सिर्जित अपराधहरू चुनौतीका रूपमा रहेको उल्लेख गर्दै उनले विद्यमान स्रोतसाधनको उच्चतम प्रयोग गरी त्यस्ता अपराध नियन्त्रणमा प्रहरी क्रियाशील रहेको बताए ।

सो क्रममा उनले मानवस्रोत विकास तथा स्रोतसाधन व्यवस्थापनतर्फ प्रहरीको इकाइगत सङ्ख्या, भर्ना छनोटसम्बन्धी हालसम्मको गतिविधि, प्रशिक्षण, नयाँ नियुक्ति÷पदस्थापन, सरूवा, बढुवा, कारबाही तथा पुरस्कृतहरूको तथ्याङ्क, भौतिक संरचनाहरूको सङ्ख्यात्मक विवरण तथा हालको अवस्था, अस्थायी पोष्टमा कार्यरत एवं नयाँ स्थापना तथा स्तरवृद्धिका लागि माग भएका इकाइहरूका बारेमा सङ्ख्यागत विवरण प्रस्तुत गरेका थिए ।

यसैगरी वरिष्ठ उपरीक्षक अधिकारीले उक्त अवधिमा अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषणतर्फ अपराध नियन्त्रण र अनुसन्धानका आधारभूत पक्षहरू, अपराध दर्ता सङ्ख्याको प्रदेशगत तुलनात्मक विवरण, अपराध तथ्याङ्क विश्लेषण, फैसला कार्यान्वयन, बालबालिका खोजतलासबारे जानकारी गराएका थिए ।

यो सरकार ढल्नेवाला छैनः सञ्चारमन्त्री  गुरूङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले मुलुक सङ्कटमा पर्दा नेपालका ठूला दल नेपाल कम्युनिष्ट पार्टी(एमाले) र नेपाली कांग्रेस सधैँ एकजुट भएर निकास दिँदै आएको बताएका छन् ।


राइनास नगरपालिका–८ तार्कुघाटस्थित वीरभक्ति माध्यमिक विद्यालयको ५७औँ वार्षिकोत्सव तथा ५१औँ अभिभावक दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकार ढलिहाल्छ कि भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरे ।


सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरूङले भने, “तपाईंहरूलाई धेरै भ्रम फैलाइएको छ होला, कि सरकार फेरिन्छ, भनेर । मन्त्रीहरू फेरबदल हुन सक्लान् तर, कांग्रेस र एमालेको सरकार रहिरन्छ ।”


उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली दुई वर्ष प्रधानमन्त्री समय पूरा भएपछि कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् । गठबन्धन सरकारबीचको यो समझदारीमा तलमाथि नहुने उनले स्पष्ट पारे । 


“हाम्रो यो गठबन्धनको सरकार तीनै वर्ष चल्छ”, मन्त्री गुरुङले भने, “विसं २०८४ को चुनाव सम्पन्न गरेर मात्रै यो सरकार आ–आफ्नो बाटो लाग्छ ।”


नेपालमा अस्थिरता ल्याउन चाहने शक्तिहरूले सरकारको उद्देश्य बिथोल्न जनतामा भ्रम छर्दै गरेको बताउँदै उनले त्यस्ता भ्रममा नपरी वर्तमान सरकारप्रति विश्वस्त हुन जनतासमक्ष आग्रह गरे । 


सबै पालिका र वडामा इन्टरनेट सुविधा र टेलिफोनको व्यवस्था पुर्याउने कार्य गर्दै सञ्चारमन्त्री गुरूङले पुराना कानुन र ऐन संशोधन गर्ने, सामाजिक सञ्जाल नियमन ऐन, साइबर सुरक्षा ऐन, शिक्षा ऐनलगायत थुप्रै नयाँ ऐन ल्याउन लागिएकोसमेत जानकारी दिए । 

‘नातिकाजी राष्ट्रिय संगीत सम्मान’ १० जना स्रष्टालाई प्रदान गरिने

काठमाडौं । गत वर्षको ‘नातिकाजी राष्ट्रिय संगीत सम्मान’ घोषणा भएको छ । यो सम्मान १० जना स्रष्टा र एउटा संगीत प्रतिष्ठानलाई प्रदान गरिने भएको छ ।

नातिकाजी स्मृति समाजद्वारा आज यहाँ आयोजित घोषणा कार्यक्रममा विभिन्न स्रष्टा, संगीतकर्मी तथा सञ्चारकर्मीलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिने जानकारी दिइएको हो ।

समाजका अध्यक्ष वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटाले नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान गीतकार नगेन्द्र थापा, लोकगायक बोमबहादुर कार्की, कलाकार धन लामा, सङ्गीत प्रवर्द्धक प्रकाश सायमी, शास्त्रीय सङ्गीतकर्मी ज्ञानुराधा गोर्खाली, गीतकारद्वय बुद्धवीर लामा र किरण केसी (क्रोधी), गायक दिवाकर खड्का र गायिका यशोदा पराजुलीलाई प्रदान गरिने जानकारी दिनुभयो । साथै सङ्गीत साधना प्रतिष्ठान (इटहरी) र लेखक विमल भौकाजीलाई नातिकाजी राष्ट्रिय योगदान सम्मान प्रदान गरिने उनले बताए ।

राष्ट्रिय संगीत पुरस्कार गायक हिमाल सागर, गायिका विन्दु परियार, गीतकार बि पाण्डे, संगीतकार आशिष अविरल, एरेञ्जर सम्राट थापालाई प्रदान गरिने भएको उनले बताए ।

साथै नातिकाजी राष्ट्रिय प्रतिभातर्फ रेकर्डिस्ट भोला पौडेल, गायक डेभिड शङ्कर, गायिका स्मिता दाहाल र संगीतकार कल्याण सिंहलाई, शास्त्रीय सङ्गीततर्फ डा रमेश पोखरेललाई पुरस्कार प्रदान गरिने समाजका अध्यक्ष बाँस्कोटाले उल्लेख गरे ।

राष्ट्रिय लोक संगीततर्फ लोक गायकत्रय रामप्रसाद अवस्थी, सुष्मा शाही ठकुरी र कृष्ण विक, कला र पत्रकारितातर्फ पत्रकारद्वय सुशील अर्याल र सुकृत नेपाललाई पुरस्कार प्रदान गरिने समाजले जनाएको छ ।

नातिकाजीको ९९ औं जन्म जयन्तीका अवसरमा विशेष कार्यक्रम आयोजना गरी विभिन्न स्रष्टा, संगीतकर्मी तथा सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान गरिने समाजका अध्यक्ष बाँस्कोटाले बताए । नातिकाजी गीत, संगीतको महासागर भएको उल्लेख गर्दै उनको योगदानलाई जीवन्त समाजले प्रयास गरिरहेको बताए ।

विद्युत प्राधिकरण सञ्चालकमा पराजुली र केसी नियुक्त

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा बलबहादुर पराजुली र लक्ष्मण केसी नियुक्त भएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाका मकालु गाउँपालिका–३ का पराजुली र धादिङ गङ्गाजमुना गाउँपालिका–५ का केसीलाई सञ्चालक समिति सदस्यमा चार वर्षका लागि नियुक्त गरेका मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ ।

लेबनानको पुनर्निर्माणका लागि विश्व बैङ्क तयार

बेरुत । विश्व बैंकका एक वरिष्ठ अधिकारीले हिजबुल्लाह–इजरायल द्वन्द्व अन्त्य भएपछि लेबनानको पुनर्निर्माणमा सहभागी हुन विश्व बैंक तयार रहेको बताएका छन् ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार विश्व बैङ्कका मध्यपूर्व विभागका देशीय निर्देशक ज्याँ क्रिस्टोफ क्यारेटले लेबनानको पुनर्निर्माणमा लेबनानी सरकारसँग सहकार्य गर्ने बैङ्कको इच्छा व्यक्त गरेका हुन् । क्यारेटले लेबनानको संसदसँगको भेटमा उक्त भनाइ राखेका हुन् ।

उक्त अवसरमा सभामुख नाबिह बेरी र विभागका देशीय निर्देशक क्यारेटले पुनर्निर्माण परियोजनाहरू र कार्यक्रमहरू, भग्नावशेष हटाउने, पूर्वाधार पुनर्निर्माण, र औद्योगिक र कृषि सुविधाहरूको पुनस्र्थापनासहितका बिषयमा छलफल गरेका थिए ।

बेरीले ‘इजरायली आक्रमणबाट लेबनानले व्यहोरेको परिणामलाई पुनर्निर्माण र सम्बोधन गर्न लेबनानसँग प्रतिक्रिया र संलग्न हुने विश्व बैङ्कको इच्छा र तत्परता’ को प्रशंसा गरे ।

उनले विश्व बैंकले तयार गरिरहेको योजनाको विवरणका बारेमा पनि जिज्ञासा राख्दै भने, ‘यो योजनामा किसान, उद्योगपति र साना व्यवसायीका लागि भूमि सुधार र ऋण सुरक्षित गर्ने कार्यक्रम समावेश हुनुपर्दछ ताकि उनीहरूलाई यस वर्षको अन्त्यसँगै पुनः वृद्धि गर्न सकियोस् ।’

विश्व बैङ्कका अनुसार लेबनानमा हिजबुल्लाह–इजरायल द्वन्द्वबाट भएको भौतिक तथा आर्थिक क्षति आठ अर्ब ५० करोड अमेरिकी डलर रहेको अनुमान गरिएको छ ।

चिनियाँ शासनको २५ औं वर्षगाँठ मनाउन राष्ट्रपति सी मकाउमा

मकाउ  । चिनियाँ राष्ट्रपति सी चिनफिङ मकाउमा चीनले शासन गर्न थालेको २५ वर्ष पूरा भएको उपलक्ष्यमा तीन दिने भ्रमणका लागि बुधबार मकाउ पुगेका छन् । सी बुधबार अपराह्न मकाउ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको चिनियाँ सरकारी प्रसारक सिसिटिभीले जनाएको छ ।

पोर्चुगलको पूर्व उपनिवेशलाई सन् १९९९ डिसेम्बर २० मा ‘एक देश, दुई प्रणाली’ ढाँचा अन्तर्गत चीनलाई हस्तान्तरण गरिएको थियो जसले चिनियाँ मुख्य भूमिभन्दा स्वायत्तता र व्यापक नागरिक स्वतन्त्रताको प्रतिज्ञा गरेको थियो ।

चीनमा एक मात्र स्थान जहाँ क्यासिनो जुवालाई अनुमति दिइएको मकाउ शहरले लामो समयदेखि विश्वको शीर्ष क्यासिनो हबको रूपमा रहेको लास भेगसलाई उछिनेको छ ।

भ्रमणको क्रममा सी मकाउको नयाँ प्रशासनको उद्घाटनसमारोहमा सहभागी हुनुका साथै निरीक्षण भ्रमण पनि गर्ने सिन्ह्वाले जनाएको छ ।

मकाउको सर्वोच्च अदालतका पूर्वप्रमुख साम होउ–फेईले चीनलाई मकाउ हस्तान्तरणपछिको चौथो नेताका रुपमा शुक्रबार सपथ लिनेछन् ।

मकाउको ८१ प्रतिशत हिस्सा राजस्व सङ्कलन क्यासिनोबाट गर्छ । सामले मकाउले क्यासिनोमा मात्र भर पर्नेभन्दा यसलाई अन्य स्वरूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

‘ग्रेटर बे एरिया’ भनेर चिनिने मकाउको आर्थिक विविधीकरण र चीनको क्षेत्रीय खाकामा एकीकरण राष्ट्रपति सीको भ्रमणको मुख्य विषय हुने विश्लेषकहरूले एएफपीसँग बताएका छन्।

क्यासिनो कन्सल्ट्यान्ट बेन लीले भने, ‘राष्ट्रपति सी सम्भवतः मकाउका व्यवसायीहरूले दुई वर्षअघि वाचा गरेको गैर–खेलजन्य लगानीको लागि प्रोत्साहन गर्न चाहनुहुन्छ ।’

मकाउलाई आंशिक रूपमा विकासको लागि भूमि आपूर्ति बढाउनको लागि भाडामा दिइएको हेङ्किन टापुको पनि भ्रमणको सम्भावना रहेको लीले बताए । सीको यात्रा कार्यक्रमबारे पूर्ण जानकारी भने सार्वजनिक गरिएको छैन ।

अधिकारीहरूले राष्ट्रपति सीको भ्रमणका अवसरमा मकाउमा ड्रोन प्रयोगमा अस्थायी प्रतिबन्ध र रेल सेवाहरूको आंशिक निलम्बनसहितका सुरक्षा उपायहरू बढाएका छन्।

फेरीबाट एक घण्टाको दूरीमा रहेको हङकङबाट आउने आगन्तुकहरू र हङकङ, मकाउ र झुहाई जोड्ने विशाल पुलमा चालकहरूका लागि सुरक्षा जाँच बढाइएको छ।

दक्षिण कोरियाका राष्ट्रपति युन भ्रष्टाचार नियन्त्रण निकायसमक्ष उपस्थित हुन अस्वीकार

सियोल ।   दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले बुधबार देशको भ्रष्टाचार निगरानी निकायसमक्ष उपस्थित हुन अस्वीकार गरेका छन्।

डिसेम्बर ३ मा सैनिक शासनको अल्पकालीन घोषणापछि संसद्ले उनलाई गता साता जिम्मेवारीबाट हटाएको थियो। राष्ट्रपतिको कदमले दक्षिण कोरियालाई दशकौँपछि सबैभन्दा खराब राजनीतिक सङ्कटलाई निम्त्याएको छ।

भ्रष्टाचार अनुसन्धान कार्यालयका अनुसन्धानकर्ताहरूले उनलाई विद्रोह र शक्तिको दुरुपयोगको आरोपमा सोधपुछका लागि स्थानीय समयानुसार बिहान १०ः०० बजे सियोलस्थित आफ्नो कार्यालयमा बोलाएका थिए।

कार्यालयका एक अधिकारीले एएफपीसँग भने, “राष्ट्रपति युनलाई आज अनुसन्धानका लागि बोलाइएको थियो तर उपस्थित भएनन्।” योनहाप समाचार संस्थाका अनुसार युनको कानुनी टोलीले राष्ट्रपतिले अदालतमा मुद्दा लड्ने प्रतिबद्धता जनाएको छ।

“हामीले अनुसन्धान प्रक्रियामा सघाउने कुरामा विमति राखेका छैनौँ, अनुसन्धानमा सघाउने छौँ,” युनको टोलीका सेओक डोङ–ह्योनलाई उद्धृत गर्दै समाचार एजेन्सी योन्हापले जनाएको छ।

भ्रष्टाचार अनुसन्धान कार्यालयले यसै हप्ता युनलाई अनुसन्धानका लागि पठाएको पत्र राष्ट्रपति कार्यालयका एक व्यक्तिले बुझ्न अस्वीकार गरेपछि फिर्ता भएको थियो।

अनुसन्धान कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बुधबार युन अनुपस्थित हुनुलाई अदालतमा हाजिर हुन गरिएको पहिलो परिपत्रलाई उल्लङ्घन गरेको मानिनेछ।

अनुसन्धानकर्ताहरूले दोस्रो परिपत्रका लागि तयारी गरिरहेको बताएका छन्, तर भ्रष्टाचार अनुसन्धान कार्यालयका प्रमुख ओह डोङ–वुनले मङ्गलबार संसदमा भने, “अधिकारीहरूले गिरफ्तारी वारेन्ट जारी गर्ने वा नगर्ने बारे पनि ‘छलफल’ गरिरहेका छन्।

युनमाथि दक्षिण कोरियाली अभियोजकका साथै प्रहरी, रक्षा मन्त्रालय र भ्रष्टाचार विरोधी अनुसन्धानकर्ताहरूको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ।

यो आरोपमा राष्ट्रपति र उनका निकटका केही सदस्यहरू दोषी ठहरिएमा आजीवन कारावास वा मृत्युदण्डको समेत सामना गर्न सक्छन्।

राष्ट्रपतिमाथि अहिले पनि अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध छ। दक्षिण कोरियाको संवैधानिक अदालतले सोमबारदेखि युनविरुद्ध मुद्दा चलाएको छ र उनले महाभियोगलाई कायम राख्ने कि नराख्ने भन्ने विषयमा छुट्टाछुट्टै छलफल गरिरहेको छ।

अदालतले बुधबार युनलाई दुई साताअघि जारी गरेको सैनिक कानुनसम्बन्धी आदेशका साथै घोषणा हुनुअघि र पछि प्रत्यक्ष रूपमा बसेको क्याबिनेट बैठकको अभिलेख पेश गर्न आदेश दिएको थियो।

युनको मुद्दाको फैसला गर्न न्यायाधीशहरूसँग लगभग छ महिनाको समय छ र प्रारम्भिक सुनुवाइ डिसेम्बर २७ का लागि तय गरिएको छ।

जनकपुरलाई पराजित गर्दै सुदूरपश्चिम एनपीएलको फाइनलमा

काठामाडौँ । नेपाल प्रिमियर लिग(एनपीएल) मा जनकपुर बोल्टसलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगेको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा सुदुरपश्चिमले जनकपुरलाई आठ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

जनकपरले दिएको १४० रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । सुदुरपश्चिमका लागि ओपनर विनोद भण्डारीले अर्धसतकीय पारी खेले ।

उनले ५५ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ५८ रन बनाए। यस्तै अर्का ओपनर सेफ जैब २१ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै ३२ रन बनाएर आउट भए ।

सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले २५ रन बनाए । कप्तान दीपेन्द्र सिंह ऐरीले २० रन बनाए । यसअघि टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो ।

जनकपुरले बिहीबार कर्णाली याक्ससँग दोस्रो क्वालिफायर खेल्नेछ। उक्त खेलको विजेताले फाइनलमा सुदूरपश्चिमसँग उपाधिका लागि खेल्नेछन् ।

राजनीतिक स्थायित्व र सुशासन कायम गर्न नयाँ सरकार गठन भएको होः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकार बनाउनुपरेको बताएका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीले राजनीतिक स्थायित्व र सुशासन कायम गर्न नयाँ सरकार गठन भएको बताएका हुन् ।

‘हामी सुशासन र विकास फेरि फर्काएर मुलुकलाई गन्तव्यमा लानेछौँ ।’, प्रधानमन्त्री ओलीले भने, ‘नेकपा एमाले र नेपाली कांग्रेस समाज सुधारको एउटै लक्ष्य बनाएर अघि बढेका छन् । राजाका पालामा अनेक मुद्दा मामिला लगाएर जनतालाई फसाउने, जातीय विद्वेष फैलाउने काम भएका थिए । हामी मानिस हौँ र मानिस भनेको सबै बराबर हुन्छ । जातीय विभेद अन्त्यका लागि हामी विद्यमान कानुनमा संशोधनका निम्ति पनि लाग्नेछौँ ।’

प्रधानमन्त्री ओलीले जातीय छुवाछूत र साम्प्रदायिकतालाई निमिट्यान्न पार्न वर्तमान सरकार तत्पर प्रधानमन्त्रीले बताए । असमानता, अन्याय, छूवाछूत र दुःख भोगेर कोही सुखी हुन सक्दैन भन्दै उनले सुखी हुन असमानता र छुवाछूत हटाउनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समानता सुनिश्चित गर्न संविधानमा नै व्यवस्था गरिएको बताए । ‘मान्छे एउटै हो । जन्मदै कोही पनि श्रेष्ठ हुँदैन । जन्मदै श्रेष्ठ वा ठूलो जातको हो भनिनु मान्य हुँदैन । सरकारले त्यस्ता कुराहरुलाई मान्यता दिँदैन’, उनले भने ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जातीय समानता सुनिश्चित गर्न संविधान र कानुनको पालनाका साथै सामाजिक सुधार पनि आवश्यक भएको बताए ।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबीएस अध्यापन सुरु

जनकपुरधाम । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाममा चिकित्सा शास्त्र अध्ययनअन्तर्गत स्नातक तह (एमबीबीएस) को अध्यापन सुरु भएको छ । सङ्घीय सरकारबाट यस वर्ष एमबिबीएसका ५० विद्यार्थीलाई अध्यापन गराउने अनुमति पाएपछि प्रतिष्ठानले अध्यापन सुरु गरेको हो ।

प्रतिष्ठानले प्राप्त गरेको ५० मध्ये ७५ प्रतिशत सिटमा विद्यार्थीको पूर्ण छात्रवृत्ति र २५ प्रतिशत सिटमा तोकिएको रकमको आधारमा नामाङ्कन गराइने प्रतिष्ठानका उपकुलपति डा अकुर साहले जानकारी दिए । पूर्ण छात्रवृत्तिअन्तर्गत ३८ जनाको नामाङ्कन गरिएको छ । विदेशी विद्यार्थीको हकमा ४५ लाख भारतीय रकम लिने निर्णय भएको उनले बताए ।

पूर्णछात्रवृत्ति नभएका विद्यार्थीको पनि नामाङ्कन सुरु गरिएको उपकुलपति डा साहले बताए । अहिलेसम्म एकजना भारतीय विद्यार्थीको एमबिबीएसमा नामाङ्कन गरिएको छ ।

यही पुस २४ गतेसम्म नामाङ्कनको समयावधि तोकिएको छ । छात्रवृत्ति नपाएका विद्यार्थीसँग प्रतिष्ठानले  ४५ लाख शुल्क तोकेको जनाउँदै उनले उक्त रकम तीन पटकमा बुझाउनुपर्ने उल्लेख गरे ।

एमबिबीएसको अध्ययन जनकपुरधामस्थित प्रादेशिक अस्पतालको पछाडि रहेको एकेडेमी कलेजमा सञ्चालन हुने प्रतिष्ठानले जनाएको छ । यसअघि उक्त भवनमा नर्सिङका  छात्राहरू अध्ययन गर्दै आएका थिए ।

एमबिबीएस अध्यापनका लागि शिक्षकको छनोट र नियुक्ति पहिला नै भइसकेको बताउँदै उपकुलपति डा साहले छनोट भएका शिक्षकहरूलाई प्रशिक्षक प्रशिक्षण दिने कार्य पनि भइसकेको जानकारी दिए ।

विद्यालय शिक्षकको दरबन्दी पुनरावलोकन हुन्छः शिक्षामन्त्री भट्टराई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकको मासिक तलब उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिइसकेको बताएकी छन् ।

बुधबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ‘विद्यालय शिक्षा विधेयक–२०८०’को छलफलमा उनले शिक्षकको नियमित रूपमा शिक्षकहरूलाई तलबको व्यवस्था गरिने बताइन् । “३९ स्थानीय तहले शिक्षकको तलब नदिएको भन्ने मन्त्रालयमा गुनासो आएको थियो”, उनले भनिन्, “हामीले ती स्थानीय तहका प्रमुखलाई नियमित रूपमा तलबको व्यवस्था गर्न निर्देशन दिएका छौँ । ”

साथै उनले विद्यालय शिक्षकको दरबन्दी पुनरावलोकन गरिने बताउनुभयो । बाल विकास शिक्षा कार्यक्रमलाई व्यवस्थित गर्न कार्यदल गठन भएको जानकारी दिए । त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन आयोगले बुझाएको प्रतिवेदन अपूर्ण भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः छानबिन गर्नुपर्नेमा जोड दिएको बताइन् ।

“आयोगको म्याद हामीले दुईपटक थप गर्यौँ । तर आयोगले बुझाएको प्रतिवेदनमा अझ धेरै काम गर्न बाँकी रहेको देखिएको छ”, उनले भने,– “आयोगको प्रतिवेदनका आधारमा धेरै जग्गा खोज्नुपर्ने स्थिति छ । ”

शिक्षा विधेयकमा दफावार छलफल

समितिमा विद्यालय शिक्षा विधेकय,२०८० मा दफावार छलफल पूरा भएको छ । समिति सदस्य सुमना श्रेष्ठले शिक्षण पेसालाई आकर्षक बनाउनुपर्नेमा जोड दिँदै शिक्षकलाई नियमित रूपमा मासिक तलब दिनुपर्ने बताए ।

अर्की सदस्य ज्ञानु बस्नेत सुवेदीले निःशुल्क शिक्षालाई कार्यान्वयन गर्नुपर्ने बताइन् । दफावार छलफलमा समिति सदस्यहरू वीना जैसवाल, विनिताकुमारी सिंह र रामप्रकाश चौधरीले भाग लिएका थिए । विधेयकमा समितिका सदस्यहरुले एक सय नौ वटा संशोधन प्रस्तुत गरेका थिए ।

राष्ट्रपतिद्वारा भारत र मलेसियाका लागि राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र भारत र मलेसियाका लागि नेपालका आवासीय राजदूत नियुक्त गरेका छन् ।

उनले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा शङ्करप्रसाद शर्मालाई भारत र डा नेत्रप्रसाद तिम्सिनालाई मलेसियाका लागि आवासीय राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

नेप्सेमा चार अर्ब २७ करोडको कारोबार

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार नेप्से सामान्य घटेको छ । बुधबार नेप्से पाँच दशमलव ६० अङ्कले घटेर दुई हजार ६ सय २८ दशमलव २६ विन्दुमा झरेको छ ।

आज फाइनान्स, लघुवित्त र व्यापार बाहेक सबै समूहको शेयर घटेको छ । आज कुथेली बुखारी जलविद्युत् कम्पनीको शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन उपकार लघुवित्त र स्मार्ट लघुवित्तको शेयर भने १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

आज कारोबार रकम पनि घटेको छ । मंगलबार चार अर्ब ३४ करोडको शेयर किनबेच भएकोमा आज तीन सय १४ वटा कम्पनीका ८१ लाख ४७ हजार कित्ता शेयर चार अर्ब २७ करोड रुपैयाँमा कारोबार भयो ।

महिला पत्रकारलाई पछाडि पार्ने काम भएको छ, त्यसलाई तोड्नुपर्छः अध्यक्ष सिंह

दाङ। नेपाल वान एचडीकी अध्यक्ष मोनिका सिंहले पत्रकारिता क्षेत्रमा महिला पत्रकारले राम्रो काम गरेपनि महिला पत्रकारलाई पछाडि पार्ने काम गरिएको बताएकी छन् ।

बुधबार दाङको घोराहीमा ग्लोबल एटु जेड कन्सल्टेन्ट प्रालिको आयोजना तथा नेपाल वान एचडी, र मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङको समन्वय र वल्र्ड लिंको मुख्य प्रायोजनमा भएको लैंगिक समानता र सामाजिक समावेशीकरण प्रवद्र्धनका लागि महिला अभिमुखीकरण कार्यक्रममा अध्यक्ष सिंहले अनुसन्धान, खोजमा महिलाहरुलाई लगाएपनि नाम बाहिर ल्याउने बेला उनीहरुलाई छायाँमा पार्ने काम भइरहेको बताएकी हुन् ।

पछिल्लो समय पत्रकारिता क्षेत्रमा पुरुष पत्रकारको तुलनामा महिला पत्रकारको सकृयता कम देखिएको भन्दै महिला पत्रकारहरुलाई लक्षित गर्दै यो अभिमुखीकरण कार्यक्रम गरिएको बताइन् ।

अभिमुखीकरण कार्यक्रमले महिला पत्रकारहरुको सुरक्षा, पारिश्रमिक तथा तालिमका कुराहरुमा पनि विशेष भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

अध्यक्ष सिंहले महिला पत्रकारहरूको हक हित र सुरक्षाको लागि आफू अग्रसर रहेको भन्दै पत्रकारिता क्षेत्रमा लागिरहेका महिला पत्रकारहरुलाई श्रोतको पनि व्यवस्था मिलाउने बताइन् । उनले भनिन्, ‘महिला पत्रकारका लागि कुनै सहुलियत छैन । राज्यले ऋणसमेत दिँदैन । केन्द्रमा त यस्तो अवस्था छ भने मोफसलमा त झनै समस्या छ । त्यसैले महिलाहरु अब नेतृत्वमा आएर यस किसिममा विभेद हटाउनका लागि पहल गर्नुपर्छ ।’

देशकै चौथो अङ्गका रुपमा पत्रकारहरूलाई मानिने भएपनि राज्यबाट दिइने पारिश्रमिक, सुरक्षा तथा तालिमहरुमा पत्रकारको पहुँच नपुगेको भन्दै दाङ जिल्लाबाट सुरु भएको यस कार्यक्रममा ५० जना महिला पत्रकारहरुको सहभागिता रहेको थियो ।

महिलाले काम गर्न खोज्दा पनि काम गर्न नसक्ने अवस्था छः कार्यकारी निर्देशक मजगैयाँ

दाङ । मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङका कार्यकारी निर्देशक प्रदीप मजगैयाँले महिलाहरुले नेतृत्वमा रहेर पनि काम गर्न सक्ने अवस्था नरहेको बताएका छन् ।

बुधबार दाङको घोराहीमा ग्लोबल एटु जेड कन्सल्टेन्ट प्रालिको आयोजना तथा नेपाल वान एचडी, र मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङको समन्वय र वल्र्ड लिंकको मुख्य प्रायोजनमा भएको लैंगिक समानता र सामाजिक समावेशीकरण प्रवद्र्धनका लागि महिला अभिमुखीकरण कार्यक्रममा कार्यकारी निर्देशक मजगैयाँले महिलाका क्षेत्रमा काम गर्न खोज्दा पनि नसकेको अवस्था रहेको बताए ।

उनले पत्रकारले किन महिला जनप्रतिनिधिले काम गर्न नसकेको हो भन्ने विषयलाई अनुसन्धान गरी बाहिर ल्याउनुपर्ने बताए । उनले भने, ‘महिलाका क्षेत्रमा काम गर्न खोज्दा पनि नसकेको अवस्था छ । जस्तो घोराहीको उपमेयरले बजेट बनाउनुहुन्छ, बजेट पढ्नु हुन्छ, तर उहाँले भनेको शीर्षकमा बजेट छुट्याउन गाह्रो हुन्छ । जस्तो मैले दाङमा महिला क्रिकेट गरौं भनें, उहाँले हुन्छ पनि भन्नुभयो, तर बजेट छुट्याउन सक्नुभएन । बजेट भाषण उहाँले गर्ने तर उहाँले भनेको बजेट छुट्याउन नपाउने अवस्था छ । यो त एउटा उदाहरण मात्र हो । सबै ठाउँमा यस्तै समस्या छ । मेयरले हो त उहाँलाई डोमिनेट गरेको ? यस्ता विषयलाई पत्रकारले उठान गर्नुपर्छ ।’

उनले पत्रकारको क्षमता अभिवृद्धिका लागि आफूहरुले १५ जिल्लामा यस्तो कार्यक्रम गर्न लागेको बताए । उनले पत्रकारलाई आवश्यक उपकरण, महिलाहरुलाई पढ्नका लागि छात्रवृत्ति र निःशुल्क इन्टरनेटका लागि वल्र्डलिंकसँग मिलेर काम गर्न लागेको जानकारी दिए ।

जापानको होन्डा र निसानबीच एकीकरणका लागि प्रारम्भिक वार्ता

टोकियो । जापानको अटो कम्पनी होन्डा र निसानबीच एकीकरण (मर्जर)का लागि प्रारम्भिक छलफल सुरु भएको छ । यो सम्झौताले टेस्ला र अन्य विद्युतीय सवारी साधन निर्माता कम्पनी निक्केई, फाइनान्सियल टाइम्स र अन्यसँग प्रतिस्पर्धा गर्न मद्दत पुग्ने बताइएको छ ।

यी दुई कम्पनीबीच गत मार्चमा विद्युतीय सवारी साधनमा रणनीतिक साझेदारी गर्न सहमति भएको विश्लेषकहरूले बताएका छन् । होन्डाका एक प्रवक्ताले बुधबार भने, “सम्भावित एकीकरणको सम्भावनाबारे छलफल भइरहेको छ ।”

“हामी भविष्यमा होन्डा र निसानबीच सहयोगका लागि सम्भावनाहरूबारे छलफल गरिरहेका छौँ तर केही निर्णय गरिएको छैन,” प्रवक्ताले एएफपीसँग भने ।

निशानले भनेको छ, “यस वर्षको मार्चमा घोषणा गरिएअनुसार होन्डा र निसानले भविष्यमा सहकार्यका लागि विभिन्न सम्भावनाको खोजी गरिरहेका छन् ।”

निशानले भनेको छ, “यदि कुनै अद्यावधिकहरू भएमा हामी उपयुक्त समयमा हाम्रा सरोकारवालाहरूलाई सूचित गर्नेछौँ ।”

विशेष गरी निशानले गत महिना नौ हजार रोजगारी कटौतीको घोषणा गरेको थियो र यसको वार्षिक बिक्री पूर्वानुमान घटाएको थियो ।

प्रारम्भिक छलफल सुरु भएको घोषणाले बुधबारको सुरुवाती कारोबारमा निशानको सेयर मूल्य २० प्रतिशतभन्दा बढीले बढेको थियो भने होन्डाको शेयर एक प्रतिशतभन्दा बढीले घटेको थियो । मित्सुबिशी मोटर्सको शेयर मूल्य १४ प्रतिशतले बढेको छ ।

पुस १३ देखि पोखरा सडक महोत्सव हुने

काठमाडौँ । आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटनको राजधानी पोखरामा यही पुस १३ देखि १७ गतेसम्म २६ औँ पोखरा सडक महोत्सव हुने भएको छ ।

रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा महोत्सव आयोजना गर्न लागेको हो । पोखरा सडक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको रेवानले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

रेवानका केन्द्रीय अध्यक्ष सङ्घर्ष विष्टले सडक महोत्सवले आन्तरिक पर्यटन प्रवद्र्धनका साथै विदेशी पर्यटकको बसाई लम्ब्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

महोत्सवले स्थानीय पर्यटनमा नेपाली उत्पादनलाई प्रोत्साहन र विश्व बजारमा पुर्याउन पनि मद्दत पुगेको उनको भनाइ छ । अध्यक्ष विष्टले विभिन्न नेपाली खाना, जातीय वेशभूषा र परम्परागत संस्कृतिको प्रदर्शनले समग्र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने बताए ।

‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ पोखराको लेकसाइड क्षेत्रको करिब तीन किलोमिटर क्षेत्रमा महोत्सव हुँदैछ । कला संस्कृति प्रवद्र्धन गर्न, स्थानीयस्तरमा उत्पादित सामग्रीलाई बजारीकरण र त्यसको प्रचारप्रसार तथा ब्राण्डिङ गराउने एउटै थलोका रुपमा पोखरा सडक महोत्सवलाई लिइन्छ । महोत्सवले पर्यटक आकर्षण गर्नुका साथै लोपोन्मुख सामग्रीको संरक्षण गर्न ‘प्लेटफर्म’ पनि दिँदै आएको ।

समग्रमा सडक महोत्सव स्थानीयस्तरमा आर्थिक गतिविधि चलायमान, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना गर्ने दरिलो माध्यम बनेको महोत्सवका संयोजक विकास भट्टरार्ईले बताए ।

‘पोखरामा महोत्सव आयोजना गर्नुअघि अङ्ग्रेजी नयाँवर्ष मनाउन धेरै नेपाली नागरिक पनि विदेशी जाने चलन थियो, नेपालमा आकर्षक कार्यक्रम नहुँदा विदेशी पर्यटक पनि नेपाल छाडेर घर फर्कन्थे’, उनले भने, ‘तर, विगत २५ वर्षदेखिको निरन्तरताले अब नेपाली पर्यटनलाई मात्र नभएर विदेशीलाई पनि नयाँ वर्ष पोखरामा मनाउने वातावरण सिर्जना गराएको छ, महोत्सवकै कारण पोखरामा आन्तरिक र बाह्य पर्यटकको आगमन निकै बढेको छ ।’

महोत्सवको प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र पोखरा पर्यटन परिषद् रहेका छन् । विगत २५ वर्षदेखि निरन्तर रुपमा हुँदै आएको पोखरा सडक महोत्सव देशकै ठूलो महोत्सवका रुपमा रहँदै आएको छ ।

यो महोत्सवले पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको बसाई लम्ब्याउन सहयोगीसिद्ध भएको छ । गत वर्षमात्र पाँच लाख स्वदेशी तथा विदेशी पर्यटकले सडक महोत्सवको अवलोकन गरेको रेवान पोखराका निवर्तमान अध्यक्ष नरेश भट्टरार्ईले जानकारी दिए ।

यस वर्ष झण्डै पाँच लाख पर्यटकले महोत्सव भ्रमण गर्ने उनको अनुमान छ । महोत्सवले पोखराको मात्र नभई समग्ररुपमा राष्ट्रिय अर्थतन्त्रमा नै महत्वपूर्ण योगदान पुग्ने रेबान पोखराका अध्यक्ष विश्वराज पौडेलले बताए ।

उनका अनुसार महोत्सवको अवसरमा सडक महोत्सवमा रहने रेष्टुराँको मूल्यसूचिमा २० प्रतिशतसम्म छुट दिइने छ । यस्तै होटलमा २० प्रतिशत र प्याराग्लाइडिङ सेवामा १० छुट पाइने छ । स्थानीय उत्पादनको प्रवद्र्धन, वातावरणमैत्री वस्तुहरुको प्रयोग, नेपाली हस्तकलाको प्रवद्र्धनका लागि निःशुल्क व्यापारिक कक्षको व्यस्था गरिएको छ ।

महोत्सवमा मुख्य आकर्षणका रूपमा विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक वेशभूषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुदतर्फ बोट रेस, वेटर रेस, टग अफ वार, मोमो, ससेज खाने प्रतियोगिता रहेका छन् ।

पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुको विकल्प छैनः पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नु पर्नेमा जोड दिएका छन् ।

बुधबार नेपाल हस्तकला महासंघले राजधानीमा आयोजना गरेको नेपाल–चाइना सांस्कृति शिखर सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

उनले भने, ‘पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुको विकल्प छैन । निजी क्षेत्र अघिअघि सरकार पछिपछि भएपछि मात्रै पर्यटन क्षेत्रको विकास सम्पन्न हुन्छ।’

उनले चिनियाँहरूले संस्कृतिभित्र पनि अमूर्त पक्षलाई ‘स्टोरी टेलिङ’को माध्यमबाट पर्यटन क्षेत्रको प्रचार पसार गरिरहेकोप्रति खुसी व्यक्त गरे।

मन्त्री पाण्डेले भौतिक संस्कृतिले मात्रै धेरै कुरा नबोल्ने भएकाले मूर्त र अमूर्त संस्कृतिलाई जोड्न ‘स्टोरी टेलिङ’को महत्व हुने बताए ।

उनले नेपाल र चीनबीच प्राचीन समयदेखि नै चित्रकला, काष्ठ कलालगायतका विषय समेत जोडिएको स्मरण गर्दै नेपाल चाइना शिखर सम्मेलनले दुई देशबीचको सम्बन्ध थप मजबुद हुने विश्वास व्यक्त गरे। उनले स्थलमार्ग र हवाईमार्गमार्फत नेपाल प्रवेश गर्ने पर्यटकहरूको सहजताका लागि सरकारको तर्फबाट कुनै पनि कसुर बाँकी नराख्ने बताए।

प्रतीक्षा घर सञ्चालनमा आएपछि गर्भवतीलाई सहज

बागलुङ । निसीखोला गाउँपालिका-३ को बोहोरा गाउँमा गर्भवती र सुसारेलाई लक्षित गरी प्रतीक्षा घर सञ्चालनमा आएको छ । बोहोरागाउँ स्वास्थ्य चौकी भवनसँगै सञ्चालनमा ल्याइएको प्रतीक्षा घरमा टाढाबाट आउने गर्भवती र सुसारे लाभान्वित भइरहेका छन् ।

गर्भवती सुत्केरी हुनु पूर्व अनिवार्य रूपमा कम्तीमा आठ पटक गर्भ परीक्षण गराउनुपर्ने र स्वास्थ्य संस्थामा गएर सुत्केरी हुनुपर्ने प्रावधान भएकाले टाढाबाट आउने सेवाग्राहीको सहजताका लागि प्रतीक्षा घर सञ्चालनमा ल्याइएको स्वास्थ्य चौकीकी अनमी ताराकुमारी चन्दले बताइन् । “टाढाबाट आउनेहरू यसअघि आफन्त वा होटलमा बस्ने गर्दथे । प्रतीक्षा घर सञ्चालनमा आएपछि गर्भ परीक्षण गराउन, सुत्केरी हुन आउनेहरूलाई खाने, बस्ने समस्या छैन”, उनले भनिन् ।

उक्त प्रसूति प्रतीक्षा घरमा एकपटक चार जनासम्म बस्न मिल्ने शय्यासहित अन्य सामग्रीको व्यवस्थापन गरिएको अनमी चन्दले जानकारी दिइन् । उनका अनुसार यो घरमा खाना पकाउने सामग्री, ग्यासको चुल्हो, स्वच्छ खानेपानीका साथै बाहिर विभिन्न सन्देशमूलक सामग्री लेखिएका छन् ।

गत वर्ष एक सय सात जनाले सेवा लिएका बताउँदै चालु आवको पाँच महिनामा ५२ जनाले सेवा लिइसकेका चन्दले जानकारी दिइन् । “सुत्केरी हुने एक/दुई दिनअघि यहाँ आएर बस्दा जोखिम कम हुने भएकाले गर्भवतीलाई सोहीअनुसार सुझाव दिँदै आएका छौँ”, उनले भनिन् ।

सदरमुकामबाट एक सय २० किमी पश्चिममा पर्ने दुर्गम गाउँ भएकाले गर्भवती र सुरारेको सहजताका साथै स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रोत्साहन गर्ने उद्देश्यले प्रतीक्षा घर सञ्चालनमा ल्याइएको स्थानीय सिनियर अनमी तिला मल्लले बताइन् । प्रसूति व्यथाले च्यापेपछि मात्रै स्वास्थ्य संस्था धाउनुपर्ने समस्या अन्त्य गर्न, प्रसूतिको अवस्थामा आउने जोखिम कम गर्न, आमा र शिशुलाई स्वस्थ राख्न यो भवन उपयोगी बन्दै गएको उनले उल्लेख गरिन् ।

केही समस्या देखिएमा तत्काल सुविधा सम्पन्न अस्पताल पठाउन पाइने भएकाले गर्भवती र सुसारेलाई एक/दुई दिन अगावै प्रतीक्षित घरमा आएर बस्न आग्रह गर्दै आइएको स्वास्थ्य चौकीका प्रमुख टोपबहादुर चन्दले बताए । “नियमित गर्भ परीक्षण गर्नेहरूमा पनि प्रसूतिको समयमा जोखिम आउन सक्ने भएकाले एक/दुई दिनअघि यहाँ आएर बस्न स्वास्थ्यकर्मीमार्फत सुझाव दिन थालेका छौँ”, उनले भने ।

सिनियर अनमी मल्लले यहाँ आउने अधिकांश महिलाको स्वास्थ्य अवस्था जोखिम हुने बताउँदै ती महिलाको स्वास्थ्य जोखिम कम गराउन र समयमा उपचार उपलब्ध गराउन प्रतीक्षा घर प्रभावकारी माध्यम बन्दै गएको उल्लेख गरे ।

“जतिसुकै स्वस्थ भए पनि प्रसूति अवस्थालाई सामान्य मान्न हुँदैन । गर्भवती र सुत्केरी अवस्थामा जुनसुकै बेला पनि जोखिम आउन सक्छ । यसतर्फ सबै सचेत भई स्वास्थ्य प्रोटोकलअनुसार नियमित गर्भ परीक्षण गर्नु र समयमा स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुनु प्रभावकारी उपाय हो”, उनले भने ।

यो स्वास्थ्य चौकीमा आइपुग्न वडाभित्रबाट तीनदेखि चार घण्टासम्म पैदल हिँड्नुपर्ने अवस्था छ । “गत वर्ष समयमा स्वास्थ्य संस्थामा आउन नसकेकी एक जनाले प्रसूतिका क्रममा ज्यान गुमाए। उहाँको समस्या देखेपछि स्थानीय महिला स्वास्थ्य स्वयंसेविकाले नियमित गर्भ जाँच गर्न र प्रसूति गराउन अनिवार्य रूपमा एक/दुई दिनअघि स्वास्थ्य संस्थामा रहेको प्रतीक्षा घरमा आएर बस्न सुझाव दिँदै आएका छन्”, स्वास्थ्य चौकीका प्रमुख चन्दले भने ।

निसीखोला गाउँपालिकाको रु. तीन लाख आर्थिक सहयोग तथा फेयरमेड फाउण्डेसन र विवाइसी बागलुङले सञ्चालन गरेको ग्रामीण स्वास्थ्य सुधार परियोजनाको रु. दुई लाख ५० हजार लगानीमा उक्त प्रतीक्षा घर निर्माण गरी सञ्चालनमा ल्याइएको हो । चार वर्ष अघि निर्मित यो घरमा सुरुमा कोही नआए पनि पछिल्लो समय अधिकांश गर्भवती आउन थालेका स्वास्थ्य चौकीका प्रमुख चन्दले बताए ।

पछिल्लो समय बडिगाड गाउँपालिका-२ को खरवाङ, हटिया स्वास्थ्य चौकी भवनमा एउटा कोठा छुट्टाएर प्रतीक्षा घर बनाइएको छ । अधिकांश स्वास्थ्य संस्थामा यो प्रयास सुरु भएको बताउँदै आगामी दिनमा प्रत्येक स्वास्थ्य चौकीमा प्रतीक्षा घर अनिवार्य गर्ने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले जानकारी दिइन् ।

पछाडि परेको वर्गको हक अधिकारका लागि कलम चलाउन पत्रकारलाई घोराही उपमहानगरकी उपप्रमुख डिसीको आग्रह

दाङ । घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीले पछाडि परेको वर्गको हक अधिकारका लागि कलम चलाइदिन पत्रकारहरुलाई आग्रह गरेकी छन् ।

बुधबार दाङको घोराहीमा ग्लोबल एटु जेड कन्सल्टेन्ट प्रालिको आयोजना तथा नेपाल वान एचडी, र मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङको समन्वय र वल्र्ड लिंको मुख्य प्रायोजनमा भएको लैंगिक समानता र सामाजिक समावेशीकरण प्रवद्र्धनका लागि महिला अभिमुखीकरण कार्यक्रम उपप्रमुख डिसीले गरिब र निमुखा वर्गको हक अधिकारको उत्थानका लागि पत्रकारले कलम चलाउनुपर्ने बताइन् ।

उनले अहिलेसम्म राजनीतिक दलले महिललाई उपको व्यवस्था गरेकोमा अब मेयर तथा अध्यक्षको दाबी गर्नुपर्ने बताइन् । राजनीतिक दलमा पनि महिलाले नेतृत्व गर्न नसक्ने सोच रहेको र उपमा सीमित गर्न खोजेकाले अब महिलाहरुले नेतृत्वमा दाबी गर्नुपर्ने बताइन् ।

उनले भनिन्,‘भन्न चाहिँ राजनीतिमा महिला र पुरुष बराबर भन्ने तर अन्तिममा बाहिर सहमति गरेर निर्णय सुनाउने प्रवृत्ति छ, त्यसलाई तोड्नुपर्छ ।’

प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्लाह अल शम्सीले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवासमा आज भएको उक्त भेटमा राजदूत शम्सीले आगामी फेब्रुअरीको दोस्रो साता दुबईमा आयोजना हुने ‘वल्र्ड गभरमेन्ट्स समिट’मा भाग लिन युएईका उपराष्ट्रपति एवं प्रधानमन्त्री मोहम्मद बिन रसिद अल माक्टुमले पठाएका निमन्त्रणा पत्र हस्तान्तरण गरे ।

त्यस अवसरमा दुई देशबीचको आपसी सम्बन्धका साथै पारस्परिक हित र चासोका साझा विषयमा छलफल भएको थियो । साथै उनीहरुबीच यसअघि भएका द्विपक्षीय सम्झौताको प्रभावकारी कार्यान्वयन र आगामी दिनमा व्यापार, लगानी, कृषि, जलविद्युत्, पर्यटन प्रवर्द्धनबारे पनि छलफल भएको थियो ।

दोहा वार्ता ‘सकारात्मक’ रहेको हमासको भनाई

दोहा । इजरायली प्रतिनिधिमण्डलले मध्यस्थकर्तासँग भेटघाट गर्न गएको एक दिनपछि हमासले युद्धविराम र गाजामा बन्धक बन्दी आदानप्रदान गर्ने उद्देश्यले कतारमा भएको वार्ता ‘गम्भीर र सकारात्मक’ भएको जनाएको छ ।

प्यालेस्टिनी लडाकू समूहले मङ्गलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कतार र इजिप्टको मध्यस्थतामा दोहामा भएको वार्ता गम्भीर र सकारात्मक भएको र छलफलले युद्धविराम र कैदी आदानप्रदानका लागि सहमतिमा पुग्न सम्भव छ भन्नेमा हमास विश्वस्त छ ।”

दुई पक्षबीचको खाडल कम गर्ने उद्देश्यले वार्ताका लागि इजरायली अधिकारीहरू सोमबार दोहा आइपुगेको वार्ताबारे जानकार स्रोतले जानकारी दिएको छ ।

गत बुधबार मोसादका गुप्तचर प्रमुख डेभिड बर्नियाले कतारको राजधानी दोहाको भ्रमण गरेपछि उक्त भेटवार्ता भएको स्रोतले नाम नबताउने शर्तमा जनाएको छ ।

संयुक्त राज्य अमेरिका र इजिप्टसँगै कतारले इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धक रिहाइका लागि महिनौँदेखि मध्यस्थता गर्दै आएको छ ।

तर गत वर्षको अन्त्यमा इजरायली जेलमा रहेका प्यालस्टिनीहरूको बदलामा सयौं बन्धकहरूलाई रिहा गरिएको एक हप्ताको युद्धविरामबाहेक लगातार भएका वार्ताहरू युद्ध रोक्न असफल भएका थिए । सोमबार इजरायली रक्षामन्त्री इजराइल काट्जले आफ्नो देशका वार्ताकारहरू सन् २०२३ को नोभेम्बरमा भएको युद्धविरामपछि सम्झौताको नजिक नपुगेको बताएका थिए ।

दोहास्थित हमासका एक वरिष्ठ अधिकारीले सम्झौताका लागि ‘पहिलेभन्दा निकै नजिक’ भएको तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अझै पनि ‘पहिलेजस्तै सम्झौतालाई बिथोल्न सक्ने’ बताएका छन् ।

हमासनिकट अर्को एक स्रोतले भन्यो, “सबै कुराले हामी सम्झौताको नजिक पुगेको सङ्केत गर्छ, मलाई आशा छ अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथअघि अर्थात् जनवरी २० अघि नै सम्झौता हुने सम्भावना बढेको छ । ”

हमासको सहयोगी इस्लामिक जिहादका उपप्रमुख मोहम्मद अल–हिन्दले गाजामा अझै पनि केही बन्धक रहेको विश्वास गरिएको अवस्थामा आफ्नो समूहद्वारा प्रस्तावित सम्झौताबारे छलफल गर्न इजिप्टका अधिकारीहरूसँग भेट गरेको बताएका छन् ।

वार्ताको बारेमा जानकार एक स्रोतका अनुसार उनीहरू ‘प्यालेस्टिनी कैदीहरूको बदलामा जीवित इजरायली नागरिक कैदीहरूको रिहाईको साथ मानवीय चरणबाट सुरु हुने दुई वा तीन चरणको बन्दी आदान–प्रदान सम्झौतामा पुग्न केन्द्रित छन् । त्यो आदानप्रदान ‘दुई देखि चार हप्ताको अवधिको लागि क्रमिक युद्धविरामको” स्रोतले भन्यो।

हाइटीमा सशस्त्र समूहको आगजनीपछि अस्पताल बन्द

हाइटी  । हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सस्थित एक प्रमुख अस्पतालमा सशस्त्र समूहको आक्रमणपछि आगजनी गरिएको अस्पताल र प्रहरी स्रोतले मङ्गलबार जानकारी दिएको छ । बर्नार्ड मेभ्स अस्पतालमा सोमबार राति भएको आगलागीमा कोही पनि हताहत नभएको अस्पताल स्रोतले जनाएको छ तर आगलागीबाट उपचार कक्षका चार कोठा, प्रयोगशाला, परीषण उपकरण र प्रशासनिक कार्यालय जलेर नष्ट भएका छन् ।


मोलोटोभ ककटेल’ प्रयोग गरेर अस्पतालमा आगो लगाएका संदिग्ध आक्रमणकारीहरू ‘भिभ अन्सानम’ गठबन्धनसँग सम्बन्धित गिरोहका सदस्यहरू थिए । उनले भने, ‘आक्रमणले राजधानीको चिकित्सा क्षमतामा उल्लेखनीय प्रभाव पार्नेछ।’ देशको सबैभन्दा उन्नत ‘मेडिकल इमेजिंग टेक्नोलोजी’ भएको निजी अस्पतालले हाइटीको स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

क्यारेबियन राष्ट्रको राजधानीमा एक महिनाभन्दा बढी समयदेखि सशस्त्र समूहले आक्रमण गरिरहेको अवस्थामा बढ्दो उथलपुथलको यो पछिल्लो उदाहरण हो । संयुक्त राष्ट्रसङ्घ र एक स्थानीय गैरसरकारी संस्थाका अनुसार डिसेम्बरको सुरुमा एक ‘शक्तिशाली गिरोहका नेता’ले ‘भुडू व्यवसायी’ विरुद्ध गरेको नरसंहारमा करिब २०० जनाको मृत्यु भएको थियो । 

चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा प्रवेश

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटरको खेलमा कर्णाली याक्स विजयी भएको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो ।

कर्णालीले दिएको १७६ रनको विशाल लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन मात्रै बनायो । चितवनका लागि ब्याटिङतर्फ रबि बोपराले अर्धशतकीय पारी खेले ।

उनले ३४ बलमा ५३ रन बनाएर आउट भए । त्यस्तै, कप्तान कुशल मल्ल २१, विपिन रावल १८, ल्युक बेन्केनस्टेनले १७ रन बनाए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाएको थियो ।

हारसँगै चितवन एनपीएलबाट बाहिरिएको छ भने कर्णालीले दोस्रो क्वालिफायर सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच पराजित हुने टोलीसँग बिहीबार खेल्नेछ।

६८ लाख नगदसहित काठमाडौंबाट चार जना हुण्डी कारोबारी पक्राउ

काठमाडौं । प्रहरीले हुण्डी कारोबारमा संलग्न चार जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर नौ एयरपोर्ट शम्भुमार्गस्थित सडक खण्डमा अवैध रुपमा हुण्डी कारोबार भई रहेको भन्ने विशेष सूचनाको आधारमा मंगलबार प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले गाडी जाँच गर्दा ६८ लाख रुपैयाँसहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौंका राजकुमार माली, नयाँबानेश्वरका वर्ष १८ का आवाद सिंह, झापाका वर्ष २७ का युवराज सुवेदी र झापाकै वर्ष ३२ का प्रवेश कुमार पौडेल छन् । प्रहरीले उनीहरुको साथबाट एउटा कारसहित रकम उल्लेख गरिएका चेक थान ५ र पाँच थान मोबाइल बरामद गरेको जनाएको छ ।

उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ संसोधित १२५(क) बमोजिम हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूरमा प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

एकीकृत समाजवादीका नेताहरुको जिम्मेवारी हेरफेर

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय महाधिवेशन सम्पन्न गरेको छ महिनापछि पार्टीमा नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजन गरेको छ ।

पार्टीको स्थायी कमिटी बैठकले गरेको कार्यविभाजनमा अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २४ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए ।

सम्मानित नेता झलनाथ खनाललाई स्कुल विभाग प्रमुख सङ्गठन विभाग प्रमुखमा बेदुराम भुसाल, विदेश विभाग प्रमुखमा प्रमेश हमाल, राजकीय मामिला विभाग प्रमुख घनेन्द्र बस्नेत, मोर्चा फाँट प्रमुखमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई जिम्मेवारी दिइएको छ ।

यसैगरी, पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडालाई सङ्घीय तथा प्रादेशिक मामिला प्रमुख, उपाध्यक्ष प्रकाश ज्वालालाई प्रचार विभाग प्रमुख, उपाध्यक्ष जयन्ती राईलाई अखिल नेपाल महिला सङ्घ समाजवादीको इन्चार्ज, उपाध्यक्ष भानुभक्त जोशीलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज, उपाध्यक्ष धर्मनाथप्रसाद साहलाई मधेस प्रदेश इञ्चार्ज, उपाध्यक्ष गङ्गालाल तुलाधरलाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।

महासचिव घनश्याम भुसाललाई अनुगमनको जिम्मा दिइएको छ । उपमहासचिव राजेन्द्र राईलाई कोशी प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।

उपमहासचिव रामकुमार भट्टराईलाई कार्यालय सचिव, उपमहासचिव गरिमा शाहलाई संसदीय इन्चार्ज, उपाध्यक्ष मेटमणि चौधरीलाई लुम्बिनी इञ्चार्जको जिम्मा दिइएको छ ।

सचिव श्रीनाथ बराललाई गण्डकी इन्चार्ज, सचिव चन्द्रबहादुर शाहीलाई कर्णाली इन्चार्जको जिम्मेवारी दिइएको छ । युवा विभागको इन्चार्जको जिम्मेवारी लक्ष्मण केसी र विद्यार्थी विभाग इन्चार्जको जिम्मेवारी रामकुमारी झाँक्रीलाई प्रदान गरिएको उपाध्यक्ष खतिवडाले बताए ।

त्रिविको जग्गा खोजबिन आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको जग्गा हिनामिना गर्ने जोकोही भए पनि कानुनी कारबाहीको दायरामा आउने बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पति खोजबिन गर्न गठित आयोगको प्रतिवेदन बुझेको भोलिपल्ट बुधबार सामाजिक संजालमार्फत प्रधानमन्त्रीले जग्गा हिनामिना गर्नेमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् । आयोगले मंगलबार साँझ प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो ।

प्रधामन्त्रीले भनेका छन्, ‘एउटा संयोग–२०७६ सालमा ललिता निवासको जग्गा खोजबिन गर्न मन्त्रिपरिषदबाट शारदाप्रसाद त्रितालको नेतृत्वमा आयोग गठन गरेका थियौं । ललिता निवासको जग्गा अहिले सरकारको नाममा ल्याउने प्रक्रियामा मुद्दा चलिरहेको छ । त्यसपछि त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पति खोजबिन आयोग पनि त्रितालको नेतृत्वमा नै बन्यो । आयोगको अध्ययन प्रतिवेदन हिजो प्राप्त भएको छ । शारदाप्रसाद त्रिताल अस्वस्थ हुनुहुँदो रहेछ । उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । त्रिविको जग्गा खोजबिन आयोगले प्रतिवेदनमा सिफारिस गरेका तथ्यहरूको थप अध्ययन गर्दै सरकारले यसलाई कार्यान्वयन गर्ने छ। त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा ल्याइने छ र हिनामिना गर्ने जोकोही भए पनि कानुनी कारबाहीको दायरामा आउनेछन् ।’

प्रधानमन्त्रीले आयोगले अध्ययन गर्न नसकेका क्षेत्रलाई पनि थप अध्ययन गरेर खोजिने बताएका छन् । उनले भनेका छन्, ‘आयोगले अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अध्ययन गरेर खोजिने छ। आयोगबाट सिफारिस भएका विषयलाई तत्काल कार्यान्वयन गर्दै खोज्न बाँकी विषयमा थप अध्ययन गरिनेछ । हात हालेपछि यसलाई टुंगोमा पुर्याएरै छाडिने छ ।’

सरकारले गत जेठमा पूर्वसचिव त्रितालको संयोजकत्वमा त्रिविको जग्गा खोजबिन आयोग बनाएको थियो । तर त्रिताल अस्वस्थ भएपछि आयोग सदस्य महेन्द्रकुमार थापालाई संयोजक बनाइएको थियो । आयोगको सदस्यमा जानकीबल्लभ अधिकारी र प्रेम सागर चापागाईँ थिए ।

आयोगकोले काठमाडौं उपत्यकाका त्रिविका २१ क्याम्पसका जग्गाको अवस्था, दुरुपयोग र उपयोगका लागि समाधानका उपायहरुसमेत सुझाएको छ । आयोगले जग्गाको दुरुपयोग भएका सम्बन्धमा अख्तियार दुरुपयोग आयोग र नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा लेखी पठाउन पनि सुझाव दिएको छ ।